Category: खेल प्रेस

  • लेभान्टेसँग बराबरीमा रोकिएपछि बार्सिलोनालाई ला लिगाको उपाधि लक्ष्यमा धक्का

    लेभान्टेसँग बराबरीमा रोकिएपछि बार्सिलोनालाई ला लिगाको उपाधि लक्ष्यमा धक्का

    एजेन्सी । बार्सिलोनाले २–० को अग्रता जोगाउन नसक्दा गएराति ला लिगामा लेभान्टेसँग ३–३ गोलको बराबरी खेलेको छ । यो बराबरीले सिजनको अन्त्यतिर लिगको उपाधि जित्ने बार्सिलोनाको लक्ष्यमा गम्भीर धक्का लागेको छ ।

    लियोनल मेस्सीले लो भलीमार्फ अग्रता दिलाएका थिए । मेस्सीले जारी सिजन सबै प्रतियोगितामा गरी ३७ औं गोल गरेका हुन् । ओस्मान डेम्बेलेको क्रसमा पेड्रीले अर्को गोल गरी पहिलो हाफमा बार्सिलानालाई दोहोरो अग्रता दिलाएका थिए ।

    तर दोस्रो हाफमा सानदार प्रदर्शन गरेको लेभान्टेका लागि गोन्जालो मेलेरो र जोसे लुइस मोरालेसले गोल गरेपछि खेल २–२ को बराबरीमा आयो ।

    डेम्बेलेको शक्तिशाली प्रहारमार्फत बार्सिलोनाले पुनः अग्रता बनाए पनि अन्तिम समयमा सर्जियो लियोनले लेभान्टेका लागि बराबरी गोल फर्काए ।

    यो जितले बार्सिलोनाले दोस्रो स्थानमा त उक्लिएको छ भर शीर्षमा पुग्ने अवसर गुमाएको छ । बार्सिलोनाको ३६ खेलबाट ७६ अंक छ । एक खेल कम खेलेको शीर्ष स्थानको एट्लेटिको मड्रिडको ७७ र रियल मड्रिडको ७५ अंक छ ।

  • लिसेस्टरले म्यानचेस्टर युनाइटेडलाई हराएपछि म्यानचेस्टर सिटी प्रिमियर लिग च्याम्पियन

    लिसेस्टरले म्यानचेस्टर युनाइटेडलाई हराएपछि म्यानचेस्टर सिटी प्रिमियर लिग च्याम्पियन

    एजेन्सी । लिसेस्टर सिटीले म्यानचेस्टर युनाइटेडलाई उसकै मैदानमा २-१ गोलअन्तरले पराजित गरेपछि म्यानचेस्टर सिटी चार वर्षको अन्तरमा तेस्रोपल्ट इंग्लिस प्रिमियर लिगको च्याम्पियन बनेको छ ।

    ओल्ड ट्राफोडमा सन् १९९८ पछि पहिलोपल्ट युनाइटेडलाई पराजित गरेको लिसेस्टरले यो सिजन च्याम्पियन्स लिग छनोटको लक्ष्यमा महत्वपूर्ण सफलता हासिल गरेको छ ।

    युनाइटेडको यो हारले तीन खेल बाँकी रहँदा सिटीसँग उसको अंक अन्तर १० भएको छ । समान ३५ खेलबाट युनाइटेडको ७० र सिटीको ८० अंक छ । ६६ अंकसहित लिसेस्टर तेस्रो स्थानमा उक्लिएको छ ।

    क्याग्लर सोयुन्कुले दोस्रो हाफमा गरेको निर्णायक हेड गोलले लिसेस्टरका प्रशिक्षक ब्रेन्डन रोजर्सको मुहारमा हासो मात्र ल्याएन सिटीका प्रशिक्षक पेप ग्वार्डिओलालाई पनि फुरुंग बनाइदियो ।

    १९ वर्षीय लुक थोमसले १० औं मिनेटमै गोल गरेपछि पाहुना टोलीले अग्रता लिएको थियो । तर मासोन ग्रिनउडले पाँच मिनेटपछि नै बराबरी गोल फर्काउन सफल रहे ।

    सिटीले इंग्लिस फुटबलको शीर्ष डिभिजनको उपाधि जितेको यो समग्रमा सातौंपल्ट हो भने पछिल्लो ९ वर्षमा पाँचौंपल्ट हो । ‘यो सिजन र प्रिमियर लिगको उपाधि अरुका लागि थिएन,’ सिटीका प्रशिक्षक ग्वार्डिओलाले भने, ‘यो निकै कठिन सफलता हो । हामीले सिजनभर कसरी खेल्यौं र कसरी जित्यौं भन्ने कुरा सधैं सम्झिनेछौं । म्यानेजरको नाताले म मेरा खेलाडीको समूहप्रति गर्व गर्छु ।’

    ‘म स्पेनिस लिगमा पनि रहेँ, जर्मन लिगमा पनि रहेँ र त्यसैले यसअघिदेखि नै बारम्बर भनिरहेको छु– प्रिमियर लिग विश्वकै सबैभन्दा कठिन लिग हो । त्यसैले यसको छुट्टै महत्व छ,’ ग्वार्डिओलाले थपे ।

    ५० वर्षीय प्रशिक्षक ग्वार्डिओलाले सन् २०१६ मा सिटीको जिम्मेबारी संहालेयता ८ घरेलु उपाधि जितेका छन् । सिटीले गत शनिबार नै घरेलु मैदानमा उपाधि जित्ने अवसर पाएको थियो । तर त्यस खेलमा चेल्सीसँग २–१ ले पराजित रह्यो ।

    प्रिमियर लिगको उपाधि ओल्ड ट्राफोटमा निर्णायक भएको यो छैटौंपल्ट हो । र, अन्य कुनै रंगशालामा भन्दा धेरै हो ।

    सिटीले दुई साताको बीचमा दुई उपाधि जितेको छ । यसअघि उसले टोटनह्यामलाई हराएर लिग कपको उपाधि जितेको थियो । मे २९ मा सिटीले चेल्सीसँग च्याम्पियन्स लिग फाइनल खेल्दैछ ।

    सन् २००८ को सेप्टेम्बरमा आबुधावी समूहले सिटीको स्वामित्व किनेयता १२ उपाधि जितेको । उनीहरुले मे २३ मा एभर्टनसँग हुने लिगको अन्तिम खेलमा प्रिमियर लिग उपाधि उचाल्नेछन् । त्यस खेलमा १० हजार समर्थकले प्रवेश पाउनेछन् ।

  • एक सिजन पूरा खेल्न नपाइ प्रिमियर लिगबाट घटुवा भयो फुलह्याम

    एक सिजन पूरा खेल्न नपाइ प्रिमियर लिगबाट घटुवा भयो फुलह्याम

    एजेन्सी । बर्नलीसँग पराजित भएपछि फुलह्याम प्रिमियर लिगबाट यस सिजन रेलिगेसनमा पर्ने तेस्रो तथा अन्तिम टोली बनेको छ । वेष्टव्रुम र शेफिल्ड युनाइटेड यसअघि नै रेलिगेसनमा पर्ने निश्चित भइसकेको छ ।

    जितपछि बर्नलीले भने कम्तिमा अर्को सिजनसम्म प्रिमियर लिगमै रहन निश्चित गरेको छ । प्रिमियर लिगको आधुनिक युग सुरु भएपछि पहिलोपल्ट सिजनको तीन खेल अगावै रेलिगेसनमा पर्ने तीनवटै टोलीको टुंगो लागेको हो । रेलिगेसनमा पर्नेहरुले इंग्लयाण्डको दोस्रो डिभिजनको लिग– च्याम्पियनसिप खेल्नेछन् ।

    पहिलो हाफको अन्तिम १० मिनेटभित्र २–० ले पछि परेपछि नै फुलह्यामको रेलिसेगनको सम्भावना प्रवल बनिसकेको थियो । बर्नलीका लागि एस्ले वेष्टउड र क्रिस उडले गोल गरेका हुन् ।

    तीन खेल बाँकी रहँदा फुटलह्याम १७ औं स्थानको साउथह्याम्प्टनभन्दा १० अंकले पछाडि छ । फुलह्याम यसै सिजन प्रिमियर लिगमा बढुवा भएको थियो ।

  • एनएसएलको पहिलो क्वालिफायरमा आज काठमाडौं र धनगढी भिड्दै

    एनएसएलको पहिलो क्वालिफायरमा आज काठमाडौं र धनगढी भिड्दै

    काठमाडौं । नेपाल सुपर लिग एनएसएलको पहिलो क्वालिफायरका रुपमा फाइनल प्रवेशका लागि शीर्ष स्थानमा रहेर लिग चरण टुंग्याएको काठमाडौं रेजर्स र दोस्रो स्थानको धनगढी एफसीबीच प्रतिस्पर्धा हुँदैछ ।

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ साढे ५ बजेदेखि सुरु हुनेछ । यो खेलको विजेताले सिधै फाइनल खेल्नेछ भने पराजित हुने टोलीले दोस्रो क्वालिफायरको विजेतासँग इलिमिनेटर खेल खेल्नेछ । यसको अर्थ आजको खेलमा पराजित भए पनि फाइनल प्रवेशका लागि दोस्रो अवसर हुनेछ ।

    लिग चरणमा ४ जित, १ बरारबरी र १ हारसँगै १३ अंकका साथ शीर्ष स्थानमा रहेको काठमाडौं उच्च लयमा छ । विकेश कुथु मार्की खेलाडी तथा राष्ट्रिय टोलीको प्रशिक्षक हुँदाहुँदै जिम्मेबारी संहालेका बालगोलपाल महर्जनको चतूर रणनीतिले काठमाडौंलाई एकपछि अर्को खेलमा सफल बनाउँदै लगेको छ ।

    काठमाडौंका विदेशी स्ट्राइकर मेसोउके ओलोमोउ उच्च लयमा छन् । प्रतियोगितामा उनले ह्याट्रिकसहित सर्बाधिक ५ गोल गरेका छन् । लिगका पछिल्ला २ खेल काठमाडौंको उच्च लयको सूचक रह्यो ।

    जहाँ उसले विराटनगरलाई २–० ले पछि परेको स्थितिबाट पुनरागमन गरी ५–४ गोलअन्तरको जित हासिल ग¥यो । अन्तिम खेलमा मार्की तथा गोलरक्षक विकेशसहित अधिकांश पहिलो रोजाइका खेलाडीलाई आराम दिएर पनि चितवनलाई २–१ ले हरायो ।

    लिगको आफ्नो पहिलो खेलमा विराटनगर सिटी एफसीसँग ३–० गोलले पराजित भएयता लगातार सुधारिएको प्रदर्शनसहित धनगढी पनि काठमाडौंजस्तै लिगको एक खेल अगावै प्लेअफमा स्थान सुरक्षित गर्ने टोली हो ।

    धनगढीले ३ जित, १ बराबरी र २ हारको नतिजाले १० अंक जोडेर लिग चरणमा दोस्रो स्थानमा रह्यो । लिगको अन्तिम खेलमा अधिकांश दोस्रो रोजाईका खेलाडी उतारेको उसले बुटवल लुम्बिनीसँग १–० को पराजय ब्यहोरेको थियो ।

    राष्ट्रिय टोलीका कप्तानसमेत रहेका गोलरक्षक किरण चेम्जोङ प्रेरित धनगढीले अग्रपंक्तिमा ओलावाले अफिजको प्रदर्शनमा निर्भर देखिएको छ ।

  • खेलकुद पत्रकार मञ्चलाई राखेपद्धारा स्वास्थ्य सामाग्री प्रदान

    खेलकुद पत्रकार मञ्चलाई राखेपद्धारा स्वास्थ्य सामाग्री प्रदान

    काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नेपाल खेलकूद पत्रकार मञ्च (एनएसजेएफ)लाई सहयोगस्वरुप आज स्वास्थ्य सामग्री प्रदान गरेको छ ।

    कोभिड-१९को जोखिम नियन्त्रण र रोकथामका लागि गरिएको निषेधाज्ञामा पनि सञ्चारकर्मीले अग्रपङ्क्तिमा रहेर काम गर्नुपर्ने अवस्थालाई ध्यानमा राखी राखेपले स्वास्थ्य सामग्री सहयोगस्वरुप प्रदान गरेको हो ।

    राखेपका सदस्य-सचिव रमेशकुमार सिलवालले एनएसजेएफका पूर्वअध्यक्ष निरञ्जन राजवंशीलाई १ सय थान सेनिटाइजर र २०० थान सर्जिकल मास्क हस्तान्तरण गरे ।

    यसअघि २०७६ साल चैतमा गरिएको लकडाउन अवधिमा पनि राष्ट्रिय खेलुकुद परिषद्ले एनएसजेएफलाई स्वास्थ्य सामग्री उपलब्ध गराएको थियो ।

  • चेल्सीसँग हारेपछि सिटीलाई प्रिमियर लिगको उपाधि जित्न अर्को खेल कुर्नुपर्ने

    चेल्सीसँग हारेपछि सिटीलाई प्रिमियर लिगको उपाधि जित्न अर्को खेल कुर्नुपर्ने

    सर्जियो एग्युरोले पेनाल्टीमा गोल गर्न असफल भएपछि इंग्लिस प्रिमियर लिगको उपाधिका लागि म्यानचेस्टर सिटीलाई अर्को खेल कुर्नुपर्ने भएको छ ।

    यो सिजनको प्रिमियर लिग उपाधिका लागि सिटी एक जित टाढा छ । तर चेल्सीले उसकै मैदान इथिहाड रंगशालामा २–१ गोलअन्तरको हार चखाएपछि न्युकाशल युनाइटेडसँग हुने अर्को खेलसम्म कुर्नुपर्ने भएको छ ।

    चेल्सीविरुद्ध सिटीले पहिलो हाफमा अग्रता बनाएको थियो भने अग्रता दोब्बर पार्ने अवसर पनि खेर फालेको थियो । एग्युरोकै पासमा रहिम स्टर्लिङले गोल गरेपछि ४४ औं मिनेटमा सिटीले अग्रता बनायो । पहिलो हाफको इन्जूरी समयमा विल्ली गिलमोरले गाव्रियल जेससलाई फल गरेपछि पाएको पेनाल्टीमा एग्युरोको प्रहार चेल्सीका गोलरक्षक एडवार्ड मेन्डीले सजिलै बचाएका थिए ।

    दोस्रो हाफमा चेल्सीले शानदार पुनरागमन गर्‍यो । ६३ औं मिनेटमा हामिक जियाजको गोलबाट बराबरी गरेको चेल्सीले खेलको इन्जूरी समयमा मार्कस एलन्सोले गोल गरेपछि नाटकीय जित हासिल गरेको हो ।

    यो जितले चेल्सीलाई शीर्ष तीनभित्र पुर्‍याएको छ । ३५ खेलबाट चेल्सीको ६४ अंक भएको छ । शुक्रबार न्युकाशलसँग हारेको लिसेस्टर सिटी ६३ अंकसहित चौथो स्थानमा झरेको छ ।

    लिगको अन्तिमतिर बलिया प्रतिस्पर्धीबिरुद्धको यो जितले चेल्सी यस सिजन च्याम्पियन्स लिगमा छनोट हुने सम्भावना प्रवल लगभग निश्चित बनेको छ ।

  • नेइमार पेरिस सेन्ट जर्मेनमा थप चारवर्ष अनुबन्धित

    नेइमार पेरिस सेन्ट जर्मेनमा थप चारवर्ष अनुबन्धित

    काठमाडौं । ब्राजिलियन फुटबलर नेइमार जुनियर पेरिस सेन्ट जर्मेन क्लबमा थप चार वर्षको लागि अनुबन्धित भएका छन् ।

    सन् २०२५ को जुन ३० सम्म नेइमार अनुबन्धित भएको क्लबले जनाएको छ । सम्झौताबारे घोषणा गर्न पाउँदा क्लबले खुशि व्यक्त गरेको छ ।

    थप तीन सिजनका लागि नेइमार अनुबन्धित भएका हुन् ।

  • नेपाल सुपर लिगमा पोखरा र चितवन भिड्दै, दुवैलाई जितको दबाब

    नेपाल सुपर लिगमा पोखरा र चितवन भिड्दै, दुवैलाई जितको दबाब

    काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)मा आज अंकतालिकाको पुछारमा रहेका दुई टिम पोखरा थन्डर्स र एफसी चितवनबीच प्रतिस्पर्धा हुँदैछ । दशरथ रंगशालामा साँझ साढे ५ बजे सुरु हुने खेलमा दुवै टोलीलाई जितको दबाब छ ।

    राष्ट्रिय टोली र त्रिभुवन आर्मी क्लबका टिममेट नवयुग श्रेष्ठको कप्तानीमा रहेको पोखरा र भरत खवासको कप्तानीमा रहेको चितवन एनएसएलमा राम्रो लय भेट्टाउन संघर्षरत छन् । चितवनको ४ खेलबाट २ अंक छ भने पोखराले ५ खेलबाट ५ अंकमात्र जोडेको छ ।

    आजको खेल बराबरी वा पराजित भएको अवस्थामा दुवै टोलीको प्लेअफ प्रवेशको सम्भावना सकिनेछ । यसैले आजको खेल दुवै टोलीका लागि गर या मरको अवस्थामा हुनेछ । चितवनले त आजको खेल जितेको अवस्थामा पनि प्लेअफ प्रवेशका लागि अन्य टोलीको नतिजामा भर पर्नुपर्ने हुन्छ ।

    यसअघि हिजो भएका खेलमा ललितपुर सिटी एफसी र काठमाडौं रेजर्सले आआफ्नो खेलमा जित हासिल गरेका थिए । दशरथ रंगशालामा भएका दुवै खेलमा ललितपुरले बुटवल लुम्बिनी एफसीलाई १-० तथा काठमाडौंले विराटनगर सीटी एफसीलाई ५-४ गोलअन्तरले पराजित गरे ।

    प्रतियोगितामा पहिलो जीतपछि ललितपुरले प्लेअफमा पुग्ने सम्भावनालाई कायमै राखेको छ । लगातार खराव प्रदर्शनपछि प्रशिक्षक प्रदीप हुमागाईंलाई बर्खास्त गरेपछिको पहिलो खेलमा ललितपुरको प्रदर्शन उच्च रह्यो ।

    बुटवलले अन्तिम चारमा स्थान बनाउन एक खेल जित्नुपर्ने छ । बुटवलले अरु टोलीको खेलका नतिजामा समेत भर पर्नुपर्नेछ । काठमाडौं प्लेअफमा प्रवेश गरेको छ ।

    ललितपुरका लागि खेलको छैटौं मिनेटमा विदेशी नुर्लान जाहिदले निर्णायक गोल गर्नुभयो । खेलको २२औं मिनेटमा बुटवलका आशिष लामाको प्रहार गलत सावित भयो । पहिलो हाफको इञ्जुरी समयमा बुटवलका सुमन लामाको प्रहार गोलमा परिणत हुन सकेन ।

    मध्यान्तरपछिको खेलमा पनि ललितपुरले गोलको राम्रो प्रयास गरेको थियो । खेलको ६५ औं मिनेटमा डोना थापाले प्रहार गरेको बल गोल पोष्ट बाहिर गयो । खेलको ७३ औंँ मिनेटमा ललितपुरकै कमल श्रेष्ठले हानेको बल गोल पोष्टमा पस्न सकेन ।

    ललितपुरले प्रतियोगितामा पाँच खेलमा ६ अंक जोडेको छ । बुटवलले पाँच खेलमा पाँच अंक छ ।

    अर्को खेलमा काठमाडौंँ रेजर्सका लागि विदेशी मेसुकेले ह्याट्रिक गरे । जारी प्रतियोगितामा ह्याट्रिक गर्ने उनी पहिलो खेलाडी बने। विराटनगरले खेलको छैटौं मिनेटमा नै पहिलो गोल गरेको थियो ।

    उक्त गोल विदेशी एडिलाजाले गरेका हुन । खेलको २५ औं मिनेटमा सुनिल बलको प्रहार काठमाडौंका गोलकिपर विकेश कुथुले बचाए । खेलको ३४ औं मिनेटमा विराटनगरका लागि विदेशी पेड्रो माञ्जीले गोल गरे ।

    खेलको ३५ औं मिनेटमा काठमाडौंका लागि विदेशी मेसुकेले पहिलो गोल गरे । लगत्तै उनले नै दोस्रो गोल गरे । खेलको ४१ औं मिनेटमा काठमाडौंका लागि स्टेफेन विनोङले तेस्रो गोल गरे ।

    मध्यान्तरपछिको खेलमा काठमाडौंका लागि ६७ औं मिनेटमा मेसुकेले व्यक्तिगत तेस्रो गोल गरे। खेलको ७९ औं मिनेटमा विराटनगरका लागि रजिन धिमालले गोल गरे ।

    यस्तै खेलको ८२ औं मिनेटमा काठमाडौंका लागि छिरिङ गुरुङले पाँचौ गोल गरे । खेलको इञ्जुरी समयमा माञ्जीले व्यक्तिगत दोस्रो गोल गर्दै विराटनगरलाई ५-४ गोलको अवस्थामा पुर्‍याए । जीतसँगै काठमाडौं पाँच खेलमा १० अंक जोड्दै लिगको दोस्रो स्थानमा उक्लिएको छ ।

  • हारेर पनि म्यानचेस्टर युनाइटेड फाइनलमा, बराबरी खेले पनि बाहिरियो आर्सनल

    हारेर पनि म्यानचेस्टर युनाइटेड फाइनलमा, बराबरी खेले पनि बाहिरियो आर्सनल

    एजेन्सी । दोस्रो लेगमा इटालियन प्रतिस्पर्धी रोमासँग ३–२ गोलअन्तरले पराजित भए पनि म्यानचेस्टर युनाइटेडले युरोपा लिगको फाइनलमा प्रवेश गरेको छ । युनाइटेडले पहिलो लेग घरेलु मैदानमा ६–१ ले जितेको थियो । समग्रमा उसले ९–४ को जित निकाल्यो ।

    अर्को सेमिफाइनलमा आर्सनलले घरेलु मैदानमा स्पेनिस प्रतिद्वन्द्वी भिल्लारियलसँग गोलरहित बराबरी खेलेपछि फाइनलमा पुग्न असफल रह्यो । पहिलो लेगमा भिल्लारियल आफ्नो मैदानमा २–१ गोलअन्तरले विजयी थियो ।

    इडिन्सन काभानीले ३९ औं मिनेटमा गोल गरी पहिलो हाफमा युनाइटेडलाई अग्रता दिलाएका थिए । तर दोस्रो हाफमा रोमाले कडा टक्कर दियो । इडेन जेकोले ५७ र बर्यान क्रिष्टान्टले ६० औं मिनेटमा गोल गरेपछि रोमाले अग्रता बनायो ।

    ६८ औं मिनेटमा बुर्नो फर्नान्डेजले सानदार हेड गोलमार्फत खेल बराबरीमा ल्याए । खेलको अन्त्यतिर एउटा उपहार गोलका कारण युनाइटेड पराजित हुनुपरेको हो । निकोला जालेस्क्वीको प्रहार डिफ्लेक्ट हुँदा एलेक्स टेल्लेसले आफ्नै पोष्टमा गोल गर्न पुगेका थिए ।

    आर्सनलले इमिरेट्स रंगशालामा कमजोर फुटबल खेल्दा यस सिजन युरोपेली प्रतियोगिताको फाइनलमा पुग्ने अवसर गुमायो । यो आर्सनलका लागि निकै घाटाको कुरा किन पनि हो भने यस सिजन प्रिमियर लिगमा उसले युरोपाका लागि छनोट हुने सम्भावना छैन । यस्तोमा साविक विजेताका रुपमा युरोपा खेल्ने सम्भावना पनि सकियो ।

    यदि आर्सनलले जितेको भए यस सिजन युरोपेली क्लब प्रतियोगितामा चारै फाइनलिष्ट प्रिमियर लिगबाट हुने थिए । चेल्सी र म्यानचेस्टर युनाइटेड यसअघि नै च्याम्पियन्स लिगको फाइनलमा पुगिसकेका छन् ।

  • आईसीसी महिनाको उत्कृष्ट खेलाडीमा कुशल भुर्तेल मनोनयन

    आईसीसी महिनाको उत्कृष्ट खेलाडीमा कुशल भुर्तेल मनोनयन

    काठमाडौं । नेपाली युवा क्रिकेट खेलाडी कुशल भुर्तेल अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को महिनाको उत्कृष्ट खेलाडीको पुरस्कारका लागि मनोनयनमा परेका छन् । आइसीसीले अप्रिलको उत्कृष्ट खेलाडीका लागि उनलाई मनोनयन गरेको हो ।

    पहिलो पटक नेपाली क्रिकेट खेलाडी सो पुरस्कारको मनोनयनमा परेका हुन् । भुर्तेलसँगै पाकिस्तानका फखर जमान र बाबर आजमलाई सो पुरस्कारका लागि मनोनयन गरिएको आइसीसीले जनाएको छ । यही वैशाख पहिलो साता नेपालमा भएको त्रिदेशीय टी-२० सिरिजमा नेपालका लागि २४ वर्षीय भुर्तेलले उत्कृष्ट खेल प्रदर्शन गरेका थिए ।

    नेपाल, मलेसिया र नेदरल्याण्डस सम्मिलित सो सिरिजको उपाधि नेपालले जितेको थियो । सिरिज जिताउनमा उनको ठूलो योगदान थियो । भुर्तेलले टी २० क्रिकेटको डेब्यू खेलमै लगातार तीन अर्धशतक बनाउने विश्व कीर्तिमानसमेत बनाएका थिए ।

    उनले सो प्रतियोगिताभर ५ अर्धशतकसहित सर्वाधिक २७८ रन बनाएका थिए । भुर्तेल प्लेअर अफ दी सिरिज घोषित भएका थिए । उनले नेदरल्याण्डसविरुद्धको पहिलो खेलमा ६२, मलेसियाविरुद्धको खेलमा ६१, नेदरल्याण्डसविरुद्धको दोस्रो खेलमा ६२ तथा नेदरल्याण्डससितको फाइनल खेलमा ७७ रन बनाएका थिए ।

    सिरिजमा गरिएको प्रदर्शनका आधारमा उनी पहिलो पटक आइसीसीको टी–२० वरियतामा ९३ औँ स्थानमा पर्न सफल भएका थिए । आइसीसीले जारी गरेको अर्को वरियतामा भुर्तेल ६१औँ स्थानमा उक्लेका थिए। यसैगरी पुरस्कारका लागि मनोनीत पाकिस्तानका जमानले दक्षिण अफ्रिकाविरुद्धको एकदिवसीय सिरिजमा ३०२ रन बनाएका थिए ।

    सोक्रममा उनले दुई शतकसमेत बनाएका थिए । मनोनयनमा परेका आजमले दक्षिण अफ्रिकाविरुद्ध सोही एकदिवसीय सिरिजमा २२८ रन बनाएका थिए । पुरस्कारको घोषणा यही वैशाख २७ गते गरिने छ ।

  • कोरियाबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई चार लाख ५० हजार सहयोग

    कोरियाबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई चार लाख ५० हजार सहयोग

    सोल । कलाकार सीताराम कट्टेल र कुञ्जना घिमिरेको सक्रियतामा जनस्तरबाट निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि दक्षिण कोरियाबाट चार लाख ५२ हजार ६३० रुपैयाँ सहयोग गरिएको छ ।

    यहाँ रहेका नेपालीहरूबाट ‘एक घण्टाको कमाइ, गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई’ भन्ने सहयोग अभियान सञ्चालन गरी पहिलो चरणमा सङ्कलित उक्त रकम धुर्मुस सुन्तली फाउन्डेशनलाई प्रदान गरिएको हो ।

    उक्त रकम कोरियामा रहेका १०७ नेपालीको सहभागितामा जम्मा भएको थियो । रकम फाउन्डेसनको खातामा प्राप्त भएको धुर्मुस सुन्तली फाउन्डेशनले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएको छ ।

    पहिलो चरणको उक्त रकम पठाए पनि सहयोग अभियान भने निरन्तर रहने र रकम जम्मा गरी पुनः पठाउने जानकारी यहाँका अभियानकर्मीहरूले बताएका छन् । अभियानकर्मीहरूले कोरियाबासी सम्पूर्ण खेलप्रेमी दाजुभाइ तथा दिदीबहिनीमा सहयोगको अपिलसमेत गरेका छन् ।

    क्रिकेट रङ्गशाला निर्माणमा विविध अवरोधहरू देखिए पनि नेपालमा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण सम्पन्न गराई छाड्ने अठोट लिएर अगाडि बढिरहेको धुर्मुस सुन्तली फाउन्डेसनलाई सहयोग गर्नुपर्ने कुरामा एकजुट हुन आह्वान समेत गरिएको छ ।।

  • च्याम्पियन्स लिगको उपाधिका लागि चेल्सी र म्यानचेस्टर सिटी भिड्ने

    च्याम्पियन्स लिगको उपाधिका लागि चेल्सी र म्यानचेस्टर सिटी भिड्ने

    एजेन्सी । स्टाम्फोर्ड ब्रिजमा स्पेनिस महारथी रियल मड्रिडमाथि  २-० को सहज जितका साथ समग्रमा ३-१ काे नतिजा निकाल्दै चेल्सीले यस सिजनको च्याम्पियन्स लिग फाइनलमा इंग्लिस प्रिमियर लिगमा आफ्नो प्रतिद्वन्द्वी म्यानचेस्टर सिटीको सामना गर्ने भएको छ । फाइनल मे २९ मा टर्कीको इस्तानबुलमा हुनेछ ।

    थोमस टचेलको आगमनसँगै चामत्कारिक परिवर्तन देखिएको चेल्सीका लागि गोलरक्षक एडोवार्ड मेण्डीको प्रदर्शन शानदार रह्यो । पहिलो हाफमा उनले करिम बेन्जेमाको शशक्त दुई प्रहारलाई रोकेका थिए ।

    अघिल्लो साता सान्टियागो वर्नबाउमा १-१ को बारबरी खेलेको चेल्सीले २८ औं मिनेटमा टिमो वेर्नरको गोलबाट अग्रता बनायो । काई हाभेर्टजले गरेको प्रहार बारमा लागेर फर्किएपछि वेर्नरले लगभग गोललाइनबाट हेड गोल गरेका थिए ।

    दोस्रो हाफ पूर्णतः चेल्सीको नियन्त्रणमा थियो । उसले आफ्ना पूर्व गोलरक्षक थियावट कोर्टवालाई पछि पार्न कठिन भइरहेको थियो । हाभेर्टज्, एनगोलो कान्टे लगायतको प्रहार कोर्टवाले रोकेका थिए ।

    ८५ औं मिनेटमा मासोन माउन्टले गोल गरेपछि चेल्सीको फाइनल यात्रा निश्चित बन्यो । चेल्सी सन् २०१२ पछि पहिलोपल्ट च्याम्पियन्स लिगको फाइनलमा पुगेको हो ।

    जनवरीमा क्लबका लिजेन्ड फ्र्यांक लाम्पार्डलाई बर्खास्त गरिएपछि आएका थोमस टचेलले क्लबमा उल्लेख्य परिवर्तन गरेका छन् । उनले लगातार दोस्रोपल्ट च्याम्पियन्स लिगको फाइनलमा पुग्ने अवसरसमेत पाएका छन् । अघिल्लो सिजन पेरिस सेन्ट जर्मेइन (पीएसजी)मा रहँदा उनको टोली फाइनलमा बायर्न म्यूनिखसँग पराजित रहेको थियो ।

  • म्यानचेस्टर सिटी पहिलोपल्ट च्याम्पियन्स लिगको फाइनलमा

    म्यानचेस्टर सिटी पहिलोपल्ट च्याम्पियन्स लिगको फाइनलमा

    एजेन्सी  । इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी आफ्नो इतिहासमा पहिलोपल्ट युरोपेली क्लब प्रतियोगिता च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ ।

    ऐतिहासिक फाइनल प्रवेश निश्चित गर्नका लागि घरेलु मैदान इथिहाड रंगशालामा सिटीले फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेइन् (पीएसजी)लाई २–० ले हरायो । पहिलो लेगमा २–१ को जित हासिल गरेको सिटी समग्रमा ४–१ ले विजयी भयो ।

    बेमौसमी हिउँले प्रभावित खेलको सुरुमै गोलरक्षक एडर्सनले ६० यार्ड परदेखि दिएको पास सदुपयोग गरी रियल मेहेरेजले शानदार गोल गरी पहिलो लेगको अग्रतालाई बढाएका थिए ।

    पीएसजीलाई खेल सुरु हुनुभन्दा अगाडि नै एउटा ठूलो झड्का लागेको थियो । उसका विश्वस्तरीय स्ट्राइकर केलियन एम्बाप्पे चोटका कारण बेन्चमै सीमित हुन पुगेका थिए ।

    यद्यपी अलेक्जान्दर जिनचेन्कोले बक्सभित्र ह्याण्ड गरेपछि पेनाल्टी दिने रेफ्रीको निर्णय भिडियो अडियो असिस्टेन्ट रेफ्री (भार)ले उल्टाउनुअघिको समयमा पीएसजीले शानदार फुटबल खेलेको थियो र कडा टक्कर दिएको थियो ।

    तर ६३ औं मिनेटमा मेहेरेजले सिटीलाई २–० को अग्रता दिलाउन फिल फोडेनको क्रसलाई उपयोग गरी व्यक्तिगत दोस्रो गोल गरे ।

    त्यसपछि पीएसजीले खेल शैली त्यस्तै हुन थल्यो जुन कारण पहिलो लेगमा इद्रिस गुयेले रातो कार्ड पाएका थिए । फर्नान्डिन्होमाथिको अनावश्यक फलका कारण एंगेल डी मारियाले रातोकार्ड पाए ।

    २९ मे मा इस्तानबुलमा हुने फाइनलमा सिटीले चेल्सी र रियल मड्रिडबीचको विजेतासँग खेल्नेछ । यो खेल आज राती हुनेछ । पहिलो लेगमा चेल्सीले घरेलु मैदानमा रियलसँग १–१ गोलको बराबरी खेलेको थियो ।

  • आइपीएल स्थगित गर्ने निर्णय

    आइपीएल स्थगित गर्ने निर्णय

    दिल्ली । भारतीय क्रिकेटको नियामक निकाय बीसीसीआइले जारी इन्डियन प्रिमियर लिग (आइपीएल)लाई रोक लगाउने निर्णय गरेको छ ।

    कोरोना महामारीको कारण आइपीएलको २०२१ संस्करण अनिश्चितकालका लागि स्थगित भएको इएसपीएनले उल्लेख गरेको छ ।

    भारतमा पछिल्लो समय लगातार १३ औं दिन पनि ३ लाखभन्दा बढी संक्रमित भेटिएका छन् । कोरोनाको कारण कतिपय खेलाडीले खेल नै छाडिरहेका छन् ।

  • नेपाल सुपर लिग: चितवनलाई हराउँदै विराटनगर शीर्ष स्थानमा

    नेपाल सुपर लिग: चितवनलाई हराउँदै विराटनगर शीर्ष स्थानमा

    काठमाडौं । एफसी चितवनमाथि रोमाञ्चक जित निकाल्दै विराटनर सिटी फुटबल क्लब राजधानीमा जारी नेपाल सुपर लिग (एनएसएल)को शीर्ष स्थानमा उक्लिएको छ ।

    त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा सम्पन्न खेलमा विराटनगर सिटीले चितवनमाथि २–० को जित निकाल्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।

    पहिलो हाफमा गोल रहित बराबरी खेलेको विराटनगरले दोस्रो हाफमा आक्राम खेल पस्किएको थियो । काउन्टर गर्दै चितवनलाई दबाब दिएको विराटनगरका लागि पेड्रो मान्जी क्रुजले ७३ औं मिनेटमा गोल गर्दै टोलीको अग्रता निकालेका थियो ।

    त्यसपछि ८९ औं मिनेटमा सन्तोष तामाङले गोल गर्दै टोलीको जितको निश्चित गरे । १० मिनेट इन्जुरी समयमा चितवन खेलमा फर्किन प्रयास गरे पनि सफल हुन सकेन ।

    पहिलो हाफमा विराटनगरलाई दबाबमा राखेको चितवनले केही राम्रा अवसर पाएको थियो । तर चितवनको अग्रपंत्तिले अवसरलाई सदुपयोग गर्न असफल रहेको थियो । दोस्रो हाफमा भने विराटनगर हावी हुँदै चितवनलाई दबाब दिएर खेल पस्किँदा जित निकाल्न सफल भएको थियो ।

    जितबाट शीर्ष स्थानमा उक्लिएको विराटनगरले ४ खेलबाट ७ अंक जोडेको छ । गोल अन्तरका आधारमा विराटनगरले धनगढी फुटबल क्लबलाई पछि पार्र्दै शीर्षता कायम गरेको हो । उता अंक गुमाएको चितवनले चार खेलबाट मात्र २ अंक जोडेको छ ।

    दुई खेलमा बराबरी र दुई खेलमा अंक गुमाएको चितवनले जारी लिगमा जित विहिन छ । यस्तै ललितपुर सिटी पनि जारी लिगमा जितविहिन टोली हो ।

    प्रतियोगितामा मंगलबार बुटवल लुम्बिनी फुटबल क्लब र काठमाडौं रेजर्सबीच खेल हुनेछ । बुटवलले तीन खेलबाट ५ अंक जोडेको छ भने काठमाडौं रेजर्सको समान तीन खेलबाट ४ अंक छ । मंगलबार हुने खेलमा दुबै टोली अघिल्लो चरण प्रवेश गर्न स्पष्ट जितका लागि प्रतिस्पर्धा गर्नेछन् ।

  • क्रिकेट वरीयतामा नेपाल एक स्थान माथि उक्लियो

    क्रिकेट वरीयतामा नेपाल एक स्थान माथि उक्लियो

    काठमाडौँ  । नेपाल ट्वान्टी-२० क्रिकेटको अन्तराष्ट्रिय वरीयतामा एक स्थान माथि उक्लिएको छ । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)ले सार्वजनिक गरेको नयाँ वरियतामा नेपालले आफ्नो स्थानमा सुधार गर्दै १३ औं स्थान उक्लिएको हो ।

    आइसिसीले सोमबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल माथि उक्लिएको हो । यसअघि नेपाल १४औँ स्थानमा रहेको थियो। बैशाखमा नेपालले घरेलु मैदानमा त्रिकोणात्मक टी-ट्वान्टी सिरिजको उपाधिसमेत जितेको थियो।

    टी-ट्वान्टीको नयाँ वरियताको पहिलो स्थानमा इङग्ल्यान्ड छ भने दोस्रोमा भारत तथा तेस्रो स्थानमा न्युजिल्यान्ड छ। त्यसैगरी चौथो स्थानमा पाकिस्तान छ भने पाँचौँ स्थानमा अष्ट्रेलिया छ।

    नेपालले एक दिवसीय वरियतामा समेत सुधार गरेको छ। एकदिवसीय वरियतामा नेपाल १६औँ स्थानमा छ। एक दिवसीयको नयाँ वरियतामा न्युजिल्यान्ड शीर्ष स्थानमा छ भने अष्ट्रेलिया दोस्रो तथा भारत तेस्रो स्थानमा छ।

  • भ्यालेन्सियामाथि बार्सिलोनाको जितमा मेस्सीको २ गोल

    भ्यालेन्सियामाथि बार्सिलोनाको जितमा मेस्सीको २ गोल

    एजेन्सी । लियोनल मेस्सी पेनाल्टीमा चुके पनि उनैको २ गोलको सहयोगमा भ्यालेन्सियालाई हराउँदै बार्सिलोनाले शीर्ष स्थाको एट्लेटिको मड्रिडसँगको दूरी छोट्याएको छ ।

    बार्सिलोनाले पछि परेको स्थितिबाट पुनरागमन गरेको हो । गाव्रियल पुलिस्टाको हेड गोलमार्फत भ्यालेन्सियाले ५० औं मिनेटमा अग्रता बनाएको थियो । पहिलो हाफ गोलरहित बराबरी रह्यो ।

    तर ५७ औं मिनेटमै मेस्सीले बराबरी गोल फर्काए । पेनाल्टीमा असफल भए पनि रिबाउण्डमा उनैले गोल गरेपछि खेल बराबरीमा आएको हो । त्यसपछिको १२ मिनेटभित्र बार्सिलोनाले थप २ गोल गर्‍यो ।

    ६३ औं मिनेटमा एन्टोइन ग्रिजम्यानले गोल गरे । ६९ औं मिनेटमा मेस्सीलेनै फ्रिकिकमार्फत शानदार गोल गरी ३–१ को अग्रता दिलाए । ८३ औं मिनेटमा भ्यालेन्सियाका कार्लोस सोलरले एक गोल फर्काए पनि पर्याप्त बनेन ।

    अर्को साता बार्सिलोनाले लिग लिडर एट्लेटिको मड्रिडलाई नोउ क्याम्पमा आतिथ्य गर्नेछ । यो खेल ला लिगाको उपाधि होडमा निर्णायक बन्न सक्छ । अहिले समान ३४ खेलमा एट्लेटिको ७६ तथा रियल मड्रिड र बार्सिलोनाको समान ७४ अंक छ ।

  • आईपीएल- पोलार्डको विष्फोटक पारीमा चेन्नाईमाथि मुम्बईको सनसनी जित

    आईपीएल- पोलार्डको विष्फोटक पारीमा चेन्नाईमाथि मुम्बईको सनसनी जित

    एजेन्सी । किरोन पोलार्डले ३४ बलमा विष्फोटक ८७ रनको अविजित इनिङ खेलेपछि मुम्बई इण्डियन्सले चेन्नाई सुपर किंग्समाथि २ सय १९ को लक्ष्य अन्तिम ओभरमा भेट्टाएको छ ।

    पाँचौं नम्बरमा पोलार्ड ब्याटिङमा आउँला मुम्बईलाई जितका लागि ६२ बलमा १ सय ३८ रनको आवश्यकता थियो । यस्तोमा उनले ८ छक्का र ६ चौका प्रहार गरी टिमलाई ४ विकेटको जित दिलाए ।

    मुम्बईलाई अन्तिम ओभरमा १६ रन आवश्यक थियो । पोलार्डले दुई चौका र एक छक्का प्रहार गरे । अन्तिम बलमा २ रन लिँदै टिमलाई सनसनी जित दिलाए । यो आईपीएल इतिहासमै दोस्रो सर्बाधिक रनचेज हो ।

    यसअघि इंग्ल्याण्डका अनराउण्डर मोइल अलीले ३६ बलमा ५८ तथा अम्बाती रायडुले २७ बलमा ७२ रको विफोटक इनिङ्स खेलेपछि प्रतियोगिताको शीर्ष स्थानमा रहेको चेन्नाईले २१८-४ को योगफल खडा गरेको थियो ।

    ‘यो मैले अहिलेसम्म देखेको ट्वान्टी–२० खेलमध्येको उत्कृष्ट हो,’ मुम्बईका कप्तान रोहित शर्माले भने, ‘मैले यसरी लक्ष्य पछ्याएको देखेको छैन । पोलार्कका लागि पनि यो करिअरकै उत्कृष्टमध्येको एक इनिङ हुनुपर्छ ।’

    यो जितपछि साविक विजेता मुम्बई ७ खेलबाट ४ जितका साथ चौथो स्थानमा उक्लिएको छ । शीर्ष तीन स्थानमा रहेका क्रमसः चेन्नाई, दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बैंग्लोरको समान १० अंक छ ।

  • युरोपा लिग सेमिफाइनल- रोमाको पोष्टमा युनाइटेडको आधा दर्जन गोल

    युरोपा लिग सेमिफाइनल- रोमाको पोष्टमा युनाइटेडको आधा दर्जन गोल

    एजेन्सी । बुर्नो फर्नान्डेज र इडिन्सन काभानीले २-२ गोल गरेपछि पछि परेकोको स्थितिबाट पुनरागमन गरी म्यानचेस्टर युनाइटेडले अर्को महिना हुने युरोपा लिग फाइनलका लागि स्थान लगभग सुरक्षित गरेको छ ।

    घरेलु मैदान ओल्ड ट्राफोटमा युनाइटेड पहिलो हाफमा २–१ ले पछि थियो । तर दोस्रो हाफमा एकतर्फी प्रदर्शन गरेको उसले ६–२ को फराकिलो जित हासिल गरेको हो । अर्को साता हुने दोस्रो लेगमा यो फराकिलो गोलअन्तरलाई उल्ट्याउनु रोमाका लागि लगभग असम्भवजस्तै छ ।

    फर्नो फर्नान्डेजले नवौं मिनेटमै घरेलु टोलीलाई अग्रता दिलाए पनि लोरेन्जो पेलेग्रिनीले पेनाल्टीमा गोल गरेपछि खेल बराबरीमा आयो । पाउल पोग्वाले बक्सभित्र ह्याण्ड गरेपछि रोमाले पेनाल्टी पाएको थियो । ३३ औं मिनेटमा बोस्नियाका स्ट्राइकर इडेन जेकोले गोल गरी पहिलो हाफमा २–१ को अग्रता बनाएका थिए ।

    तर दोस्रो हाफमा युनाइटेड सुधारियो । ४८ औं मिनेटमै काभानीले गोल गरी खेल बराबरीमा ल्याए । ६४ औं मिनेटमा काभानीले व्यक्तिगत दोस्रो गोल गर्दा ७१ औं मिनेटमा फर्नान्डेजले पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो गोल गरे । ७५ औं मिनेटमा पोग्वा र ८६ औं मिनेटमा काभानीको पासमा ग्रिनउडले गोल गरी ६–२ को जित निश्चित गरे ।

    युरोपेली स्तरको सेमिफाइनल खेलमा सन् १९६४ पछि पहिलोपल्ट ६ गोल सम्भव भएको हो । यसअघि रियल मड्रिडले तत्कालीन युरोपियन कपमा ६ गोल गरेको थियो ।

    आर्सनल पराजित

    अर्को सेमिफाइनल पहिलो लेगमा इंग्लिस टोली आर्सनलले स्पेनको भिल्लारियलसँग २–१ को पराजय ब्यहोरेको छ । खेलमा दुवै टोली १० खेलाडीमा समेटिएका थिए ।

    भिल्लारियलले घरेलु मैदानमा प्रभावशाली प्रदर्शन गरेको थियो । खेलको अन्त्यतिर निकोलास पेपेले पेनाल्टीमार्फत महत्वपूर्ण अवे गोल गरेपछि आर्सनलको आशा फर्केको छ । उनीहरुलाई लागेको छ कि दोस्रो लेगमा पुनरागमन गर्न सकिनेछ ।

    ट्रिगुरोस मुनोजले पाँचौं र अविडोलले २९ औं मिनेटमा गोल गरेपछि पहिलो हाफमै भिल्लारियल २–० ले अगाडि थियो । ड्यानी सेबालोसले दोहोरो पहेँलो कार्ड पाएपछि ५७ औं मिनेटमै आर्सनल १० खेलाडीमा समेटिएको थियो ।

    तर ७३ औं मिनेटमा भिल्लारियलका डिफेण्डरले बुकायो साकालाई बक्सभित्र फल गरेपछि पाएको पेनाल्टीमा पेपेले गोल गरेका हुन् । दोस्रो लेग इमिरेट्स रंगशालामा अर्को साता हुनेछ ।

  • क्रिकेट रंगशालाबारे उपप्रधानमन्त्री पोखरेलको चासो, धुर्मुसलाई भेटेर लिए जानकारी

    क्रिकेट रंगशालाबारे उपप्रधानमन्त्री पोखरेलको चासो, धुर्मुसलाई भेटेर लिए जानकारी

    काठमाडौं । उप-प्रधानमन्त्री ईश्वर पोखरेलले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाबारे चासो लिएका छन् ।

    रंगशाला निर्माणका अभियन्ता एवं धुर्मस-सुन्तली फाउन्डेशनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’लाई विहिबार सिंहदरबारस्थित कक्षमा भेट्दै पोखरेलले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा भइरहेका प्रगति र सरकारले गर्न सक्ने सहयोगका विषयका छलफल गरेका थिए ।

    उपप्रधानमन्त्रीले प्रेरणादायी, प्रसंशनीय कार्य गरेको भन्दै धुर्मस-सुन्तली फाउन्डेशनको प्रशंसा गरे । ‘अनुकरणीय काम गर्नुभएको छ, जुन सपना देख्नुभयो, त्यसमा चुनौती पनि आउँछन्, तर दृढतापूर्वक लाग्नुपर्छ, सबै उठेका प्रश्नको जवाफ कामले दिनुपर्छ’ पोखरेलले भने ।

    उनले राज्यका तर्फबाट रंगशालालाई सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि यसबारे छलफल गर्ने जनाए ।

    उप-प्रधानमन्त्रीले भेट्न बोलाएर रंगशालाको बारेमा चासो लिएपछि धुर्मुस भावुक बनेका थिए । आफू राज्यलाई सघाउने अभियन्ता भएको भन्दै धुर्मुसले टुहुरो जस्तो भएको बेला आफैले बोलाएर चासो लिएकामा उपप्रधानमन्त्रीलाई धन्यवाद दिए ।

    ‘बल्ल सरकार छ, राज्य छ भन्ने महसुस भयो, नत्र साँच्चिकै टुहुरो महसुस भएको थियो । हामीले निकै पीडा भोग्यौं, धेरैपटक बुढाबुढी रोएका छौं’’ धुर्मुसले पीडा सुनाए ।

    अहिलेसम्म बिभिन्न क्षेत्र र दाताबाट ३३ करोड संकलन भएकोमा ४६ करोड भन्दा बढी खर्च भइसकेकाले १३ करोड ऋण रहेको जानकारी धुर्मुसले दिए । रकमको जोहो भए ६ महिनादेखि एक बर्षसम्ममा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तयार हुने उनले बताए ।

    ‘हाम्रो कुनै स्वार्थ छैन्, हामी विशुद्ध कलाकार हौं । जे गरेका हौं, राष्ट्रका लागि गरेका हौं । अन्तर्राष्ट्रियस्तरको सबै मापदण्ड पालना गरेर रंगशाला निर्माण गरिरहेका छौं । सहयोगी मनहरुको सदभावले अगाडि बढ्न धेरै ठूलो ऊर्जा लिइरहेको छ । त्यसैले कोरोनाको विषम परिस्थितिमा पनि काम रोकिएको छैन्’ धुर्मुसले भने ।

  • च्याम्पियन्स लिग सेमिफाइनल पहिलो लेगमा पीएसजीमाथि सिटीको पुनरागमन जित

    च्याम्पियन्स लिग सेमिफाइनल पहिलो लेगमा पीएसजीमाथि सिटीको पुनरागमन जित

    एजेन्सी । पछि परेको स्थितिबाट पुनरागमन गदै इंग्लिस टोली म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगको फाइनलमा पुग्ने सम्भावना बलियो पारेको छ । सेमिफाइनल पहिलो लेगमा सिटीले फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेइन (पीएसजी)लाई उसकै मैदानमा २–१ गोलले हरायो ।

    पेप ग्वार्डिओला प्रशिक्षित म्यानचेस्टर सिटी खेल सुरु भएको १५ औं मिनेटमै पछि परेको थियो । एंगेल डी मारियाको कर्नरमा माक्वीनोजले हेडमार्फत अग्रता दिएका थिए । पूरा पहिलो हाफमै पीएसजीले खेल पूर्ण नियन्त्रणमा राखेको थियो ।

    दोस्रो हाफको सुरुमै फिल फोडेनेले शानदार अवसर गुमाउँदा बराबरी गर्न चुकेको सिटीले निरन्तर आक्रमणहरु कायमै राख्यो । ६४ औं मिनेटमा केभिन डी ब्रुयेनले पेनाल्टी एरियाबाट गरेको प्रहारमा पीएसजीका गोलरक्षक केलर नाभास हलचल गर्नै भ्याएनन् ।

    त्यसको ७ मिनेटपछि सिटीका लागि रियाद मेहेरेजले फ्रिकिकमार्फत अर्को गोल गरे । यो महत्वपूर्ण २ अवे गोल म्यानचेस्टर सिटीका लागि कीर्तिमानी सफलताको सुत्र बन्न सक्छ ।

    म्यानचेस्टर सिटी अहिलेसम्म च्याम्पियन्स लिगको फाइनलमा पुग्न सकेको छैन । यसपल्ट दोस्रो लेगमा २ अवे गोलको अग्रतासहित उसले पीएसजीलाई इथिहाड रंगशालामा स्वागत गर्नेछ ।

    ७७ औं मिनेटमा इद्रिसा गुये रातो कार्ड पाउँदै मैदान छाडेपछि अन्तिम १३ मिनेछ पीएसजी १० खेलाडीमा समेटिएको थियो । इलके गुण्डोगानलाई डरलाग्दो फल गरेपछि उनले सिधै रातो कार्ड पाएका थिए ।

  • आइसीसी वरियतामा कुशल भुर्तेलको फड्को, ६३ औं स्थानमा उक्लिए

    आइसीसी वरियतामा कुशल भुर्तेलको फड्को, ६३ औं स्थानमा उक्लिए

    काठमाडौं । हालै भएको त्रिकोणात्मक सिरिजमा शानदार प्रदर्शन गरेका युवा ब्याट्सम्यान कुशल भुर्तेलले आइसीसीको टि–२० वरियतामा उच्च सुधार गरेका छन् । आइसीसीले सार्वजनिक गरेको पछिल्लो वरियताक्रमअनुसार उनी ६१ औं स्थानमा उक्लेका हुन् ।

    नेपाल, नेदरल्यानड्स र मलेसिया सहभागी त्रिकोणात्मक सिरिजमा कुशलले सर्वाधिक स्कोर गर्दै म्यान अफ दि सिरिज बनेका थिए । ५ म्याचमा २ सय ७८ रन बनाएका उनले चार अर्धसतक प्रहार गरेका थिए । सोही प्रदर्शनले उनलाई आइसीसी वरियतामा माथि उकालेको हो ।

    अघिल्लो सुचीमा पहिलोपटक टप १०० भित्र अटाएका कुशल ९३ औं स्थानमा थिए । तर, नयाँ सूचीमा उनले ३२ स्थान सुधार गरेका छन् । उनले अष्ट्रेलियाका स्टिभ स्मिथ, भारतका रिसभ पन्त, न्यूजिल्यान्डका रोज टेलर, ईंग्यान्डका जोय रुट जस्ता ब्याट्सम्यानहरुभन्दा उनी अगाडि छन् ।

    टप १०० मा कुशलसहित नेपालका तीन ब्याट्सम्यान छन् । पूर्व कप्तान पारस खड्का ८८ स्थानमा रहँदा हालका कप्तान ज्ञानेन्द्र्र मल्लको ९४ औं स्थान छ ।

    दिपेन्द्रको पनि फड्को

    त्रिकोणात्मक सिरिजमा उच्च प्रदर्शन गरेका ब्याट्सम्यान दिपेन्द्रसिंह ऐरीले पनि बरियतामा निकै प्रगति गरेका छन् । एक सय ६४ आंै स्थानबाट फड्को मार्दै उनी एक सय ८ औं स्थानमा उक्लेका हुन् ।

    बलिङतर्फ नेपालका सन्दिप लामिछाने मात्रै टप १०० भित्र परेका छन् । उनी ७७ औ स्थानमा छन् ।

  • त्रिकोणात्मक फुटबल  जित्ने टोलीका २३ खेलाडीलाई ४–४ लाख दिइने

    त्रिकोणात्मक फुटबल जित्ने टोलीका २३ खेलाडीलाई ४–४ लाख दिइने

    काठमाडौं । हालै त्रिकोणात्मक फुटबलकाे  उपाधि जितेको नेपाली फुटबल टोलीका सदस्यलाई जनही ४ लाख रुपैयाँ प्रदान गरिने भएको छ ।

    टोलीका २३ जना खेलाडीलाई सो नगद पुरस्कार दिने निर्णय मन्त्रीपरिषदले गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिए ।

    गुरुङका अनुसार राष्ट्रिय टोलीका ३ प्रशिक्षकले भने जनही २ लाख रुपैयाँ पाउनेछन् । काठमाडौंमा नेपाल, वंगलादेश र किर्गिस्तानबीच भएको त्रिकोणात्मक फुटबल भएको थियो । नेपालले  उपाधि जितेको थियो ।

    (*यसअघीकाे समाचारमा तथ्यगत त्रुटी भएकाले सच्याइएको)

  • च्याम्पियन्स लिग सेमिफाइनलमा रियल मड्रिडबिरुद्ध चेल्सीलाई अवे गोलको अग्रता

    च्याम्पियन्स लिग सेमिफाइनलमा रियल मड्रिडबिरुद्ध चेल्सीलाई अवे गोलको अग्रता

    एजेन्सी । चेल्सीले रियल मड्रिडबिरुद्ध च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा आशाजनक नतिजा हासिल गरेको छ । रियलसँग उसकै मैदान सान्टियागो बर्नबाउमा १–१ गोलको बराबरी खेल्नु चेल्सीका लागि अवे गोल निर्णायक बन्न सक्छ ।

    थोमस टचेल प्रशिक्षित चेल्सी टिम रियल मड्रिडबिरुद्ध सबै पक्षमा सवल थियो । अर्को साता स्टाम्फोर्ड ब्रिजमा चेल्सीलाई गोलरहित बराबरी नै काफी हुनेछ । मे २९ मा हुने फाइनलमा यसको विजेता र म्यानचेस्टर सिटी तथा पेरिस सेन्ज जर्मेइनबीचको दोस्रो सेमिफाइनलको विजेताबीच प्रतिस्पर्धा हुनेछ ।

    खेलको सुरुआतदेखि नै चेल्सीले माथिल्लोस्तरको प्रदर्शन गरेको थियो । उसले टिमो वेर्नरको गोलमार्फत अग्रता लिने अवसर गुमाएको थियो । वेर्नरले ६ यार्ड बक्सभित्रबाट गरेको प्रहार रियलका गोलरक्षक थियावट कोर्टवाले रोकेका थिए । तर १४ औं मिनेटमा क्रिष्टियन पुलिसिचको गोलमार्फत उसले अग्रता बनायो ।

    घरेलु मैदानमा पछि परेपछि दवावमा आएको रियल मड्रिडका लागि सदावहार खेलाडी करिम बेन्जिमा संकटमोचक बनेर निस्किए । अरिकरको ७१ औं च्याम्पियन्स लिग गोल गर्दै उनले २९ औं मिनेटमा खेल बराबरीमा ल्याए ।

    चेल्सीले दोस्रो हाफमा अझै राम्रो प्रदर्शन गरेको थियो तर अवसरलाई सदुपयोग गर्न सकेन । प्रशिक्षक टचेल टिमको प्रदर्शनबाट पूर्ण सन्तुष्ट देखिएका छन् ।

  • क्रिष्टल प्यालेसलाई हराएपछि लिसेस्टर च्याम्पियन्स लिग छनोट नजिक

    क्रिष्टल प्यालेसलाई हराएपछि लिसेस्टर च्याम्पियन्स लिग छनोट नजिक

    एजेन्सी । इंग्लिस प्रिमियर लिगमा क्रिष्टल प्यालेसमाथि पुनरागमन जितसँगै लिसेस्टर सिटीले च्याम्पियन्स लिगमा छनोट हुने सम्भावना उच्च पारेको छ ।

    १२ औं मिनेटमै प्यालेसका लागि विल्फ्राइड जाहाले गोल गरेसँगै घरेलु मैदानमा लिसेस्टर पछि परेको थियो । टिमका लागि पहिलो गोल गरेका जाहाले इबेरेची इजेको पासलाई उपयोग गरेका थिए ।

    तर दोस्रो हाफ सुरु भएको पाँचौं मिनेटमा तिमोथी क्यासेनले बराबरी गोल फर्काए । ८० औं मिनेटमा हेनाचोले लिसेस्टरका लागि विजयी गोल गरे । उच्च लयमा देखिएका उनले नौ खेलमा १२ गोल पूरा गरे ।

    यो नतिजाले लिसेस्टरलाई तेस्रो स्थानमा चार अंकको अग्रता दिएको छ । समान ३३ खेलबाट लिसेस्टरको ६२ र चौथो स्थानको चेल्सीको ५८ अंक छ । प्रिमियर लिगका शीर्ष चार टोलीले स्वतः च्याम्पियन्स लिग खेल्न पाउँछन् । त्यसबाहेक पाँचौं हुने टोलीले पनि प्लेअफ खेल्न पाउँछ ।

    लिसेस्टर सन् १९६९ यता पहिलोपल्ट एफए कप फाइनल पनि खेल्दैछ । यसअघि सन् २०१६/१७ को सिजनमा उसले च्याम्पियन्स लिगको क्वाटरफाइनलसम्म पुगेको थियो । त्यो भन्दा अघिल्लो सिजन उनीहरुले ऐतिहासिक प्रिमियर लिगको उपाधि उचालेका थिए ।

  • कोरोना महामारीका कारण तीन अष्ट्रेलियन खेलाडीले आइपीएल छोडे

    कोरोना महामारीका कारण तीन अष्ट्रेलियन खेलाडीले आइपीएल छोडे

    एजेन्सी । भारतमा कोरोना महामारीको दोस्रो लहर उत्कर्षमा पुगेपछि जारी इन्डियन प्रिमियर लिग (आइपीएल) मा प्रभाव पर्न थालेको छ । केही खलाडीहरुले आइपीएल बीचमै छोडेर घर फर्किने निर्णय लिएका छन् ।

    अहिलेसम्म तीन अष्ट्रेलियन र एक भारतीय खेलाडीले खेल छोडेर घर फर्किने निर्णय लिएको बीबीसीले जनाएको छ ।

    अष्ट्रेलियाका खेलाडीहरु एडम जाम्पा, केन रिचार्डसन र एन्ड्रू टाइका साथमा भारतीय खेलाडी रविचन्द्र आश्विनले आइपीएलका आगामी म्याचहरु खेल्ने छैनन् ।

    राजस्थान रोयल्सका खेलाडी टाइ आइतबार भारतबाट सिड्नी प्रस्थान गरे । यसअघि रोयल च्यालेन्जर्स बैंगलोरका लग स्पिनर जाम्पा र फास्ट बलर रिचार्डसनले व्यक्तिगत कारण देखाउँदै आइपील छोडेको क्लवले जनाएको छ ।

    अष्ट्रेलियाका स्टिभन स्मिथ, डभिड वार्नर र प्याट कुमिन्सजस्ता खेलाडीहरु भने भारतमै छन् । कोराना महामारीले देश आक्रान्त भए पनि आइपीएल स्थगित भएको छैन । दर्शकविहिनरुपमा आइपीएलका खेलहरु भइरहेका छन् ।

  • म्यानचेस्टर सिटीलाई लगातार चौथोपल्ट लिग कप उपाधि

    म्यानचेस्टर सिटीलाई लगातार चौथोपल्ट लिग कप उपाधि

    एजेन्सी । टोटनह्यामलाई पराजित गरी म्यानचेस्टर सिटीले इंग्लिस नकआउट फुटबल प्रतियोगिता लिग कपको उपाधि लगातार चौथोपल्ट जितेको छ ।

    गएराति वेम्बली राष्ट्रिय रंगशालामा भएको फाइनलमा म्यानचेस्टर सिटीले १–० गोलअन्तरको जित हासिल गरेको हो । सिटीका लागि निर्णायक गोल ८२ औं मिनेटमा डिफेण्डर एमरिक लापोर्टेले गरेका हुन् ।

    केभिन डी ब्रुएनको फ्रिकीकमा पेनाल्टी एरिया नजिकैबाट टोटनह्यामका सब्स्टिच्युड स्ट्राइकर मोउसा सिसिकोभन्दा माथि चढेर लापोर्टाले गरेको हेडिङ विश्वविजेता फ्रान्सेली गोलरक्षक ह्युगो लोरिसले पत्तै पाउन सकेनन् ।

    खेल अवधिभर सिटीले धेरै अवसर सृजना गरेको थियो । गएको सोमबारमात्र प्रशिक्षक जोसे माउरिन्होलाई बर्खास्त गरेको टोटनह्यामका खेलाडीहरुले सकारात्मक मानसिकताका साथ खेलेको देखिएन । माउरिन्होलाई र्यान मासोनले प्रतिस्थापन गरेका छन् ।

    फाइनल खेल ८ हजार दर्शकसामू खेलाइएको थियो । ती मध्ये दुवै टोलीका २/२ हजार समर्थकले वेम्बलीमा गएर हेर्ने सौभाग्य पाएका थिए । वेम्बलीमा होहल्लाका लागि ती दुई हजार नै काफी रहे ।

    सिटीले पहिल्ला चार सिजन लिग कपको उपाधि जितेर लिभरपुलको कीर्तिमान बराबरी गरेको छ । लिभरपुलले सन् १९८०/८१ देखि सन् १९८३/८४ मा लगातार चार सिजन लिग कप जितेको थियो । सिटीको यो समग्रमा आठौं लिगकप उपाधि हो ।

  • ‘मरुभूमि’ मा पनि चम्किए नेपाली बलर, सन्दीपको यस्तो कीर्तिमान

    ‘मरुभूमि’ मा पनि चम्किए नेपाली बलर, सन्दीपको यस्तो कीर्तिमान

    काठमाडौं । त्रिवि क्रिकेट मैदानमा पछिल्लो साता रनको वर्षात् भयो । तीन देश सहभागी टी-२० सिरिजमा नेपालका ब्याट्सम्यानहरूले अभुतपूर्व ब्याटीङको प्रदर्शन गर्दै किर्तिमानमाथि कीर्तिमान राखे ।

    ब्याट्सम्यानहरू चम्किएको प्रतियोगितामा बलरहरूले भने खासै चर्चा पाएनन् । खासमा त्रिविको पीच यसपाली ब्याट्सम्यानको लागि स्वर्ग र बलरका लागि मरुभूमि बराबर थियो । थारो भैंसी दुहुनजस्तै कठिन थियो यो पीचमा बलिङ गरेर विकेट निकाल्न ।

    तर, यस्तो ‘मरुभूमि’मा पनि नेपालका स्बलरहरूले आफ्नो उत्कृष्टता देखाउन चुकेनन् । नेदरल्यान्ड्स र मलेसियाका बलरहरूको तुलनामा नेपालका बलरहरूको अर्कै स्तर देखियो । प्रतियोगिताभर सर्वाधिक विकेट लिने बलरहरूको सूचीमा नेपालका बलरहरू हावी छन् ।

    नेपालका सुपरस्टार बलर सन्दीप लामिछानेले प्रतियोगितामा कीर्तिमानी बलिङ गरे । पाँच खेलमा उनले १३ विकेट लिन सफल भए, जुन कुनै पनि टी-२० अन्तर्राष्ट्रिय सिरिजमा नेपाली बलरको उच्च प्रदर्शन हो । प्रतियोगितामा सर्वाधिक विकेट लिने बलर बनेका छन् उनी ।

    सन्दीपले कुल १९.५ ओभर बलिङ गर्दा ८.२१ को इकोनोमीमा १६३ रन खर्चिए । उनी केही महंगा अवश्य भएका हुन् । तर, आफ्नो ‘विकेट टेकर’ छविलाई कायम राख्न उनी सफल भए । उनले १२.५३ को औसत कायम गरेका छन् ।

    विकेट लिनमा सन्दीप अगाडि भए पनि इकोनोमीमा नेपालका फास्ट बलरहरू अगाडि छन् । सामान्यतया स्पिनरभन्दा धेरै रन खाने गरेका फास्ट बलरहरूले यो प्रतियोगितामा निकै कसिलो बलिङ गरे । अग्रपंतिका दुई बलर सोमपाल कामी र करण केसीले विपक्षी ब्याट्सम्यानहरूलाई खुलेर खेल्न दिएनन् । करण फाइनलमा म्यान अफ दी म्याचसमेत बनेका थिए ।

    सर्वाधिक विकेट लिनेमा दोस्रो स्थानमा रहेका करणले ७ विकेट आफ्नो पोल्टामा पारे । उनले ६.५७ को इकोनोमी तथा १६.४२ को औसतमा बलिङ गरेका छन् ।

    नेपालका प्रमुख फास्ट बलर सोमपाल कामीको प्रदर्शन पनि उल्लेख्य रह्यो । विकेट संख्या कम भए पनि उनले मितव्ययी बलिङ गरेका थिए । पाँच म्याचमा उनले पाँचै विकेट लिए । उनको इकोनोमी ५.३१ र औसत १७ छ ।

    यही प्रतियोगिताबाट डेब्यू गरेका नेपाली बलर कमलसिंह ऐरीले पनि छाप छोड्न सफल भए । उनको डेब्यू स्मरणीय बनेको छ । अन्तिम दुईवटा म्याचमा मात्रै मौका पाए पनि उनले आफ्नो क्षमता देखाउन सफल भए ।

    कमलले आफ्नो डेब्यू खेलमै ३ विकेट लिएका थिए । डेब्यू टी-२० म्याचमा सर्वाधिक विकेट लिने राष्ट्रिय कीर्तिमान उनले बताएका छन् । फाइनलमा पनि २ विकेट लिएर उनले आफ्नो विकेट संख्या ५ पुर्‍याए ।

    कमलको इकोनोमी र औसत दुवै उत्कृष्ट छ । उनले ५.३० को इकोनोमी र ७.६० को औसतमा बलिङ गरेका थिए ।

    नेपालका अन्य दुई बलर अविनाश बोहोरा र सहाब आलम भने अपेक्षित सफल हुन सकेनन् । ३ म्याच खेलेका साहब र ४ म्याच खेलेका अविनाशले २-२ विकेट लिएका थिए ।

    नेपालका बलरको तुलनामा अन्य दुई देशका बलरको आँकडा नाजुक छ । अरु कुन पनि देशका बलरले एउटा म्याचमा दुईभन्दा बढी विकेट लिन सकेनन् । सर्वाधिक विकेट लिने पाँच बलरको सूचीमा नेदरल्यान्ड्सका थोमस सेबास्यिान ब्राट मात्रै छन् । ५ विकेट लिएका उनी पाँचौ स्थानमा छन् । तर, उनले ११.५० को इकोनोमीमा खर्चिलो बलिङ गरेका थिए ।

  • आइपीएलको एक ओभरमा जडेजाले बनाए ३७ रन

    आइपीएलको एक ओभरमा जडेजाले बनाए ३७ रन

    काठमाडौं । इन्डियन प्रिमियर लिगमा चेन्नइ सुपर किङ्सका भारतीय ब्याट्सम्यान रवीन्द्र जडेजाले एकै ओभरमा ३७ रन बनाएका छन् ।

    रोयल च्यालेन्जर्स बैंगलोरविरुद्ध उनले अन्तिम ओभरमा ५ छक्का र एक चौका प्रहार गरेका थिए ।

    वेस्ट इन्डिजका ब्याट्सम्यान क्रिस गेलले बनाएको किर्तिमानसँग जडेजाले बराबरी गरेका छन् । गेलले २०११ मा भएको खेलमा एक ओभरमा ३७ रन बनाएका थिए । टि-२० क्रिकेटमा एक ओभरमा ३८ रनसम्म बनेको छ ।

    जडेजाले पहिलो दुई बलमा लगातार छक्का हानेका थिए । तेस्रो बल नो बल भएको थियो र त्यसमा पनि जडेजाले छक्का प्रहार गरे । फेरि फ्याकिएको तेस्रो बल पनि छक्का नै भयो ।

    चौंथो बलमा जडेजाको क्याच ड्रप भयो, जसमा ब्याट्सम्यानले दुई रन लिए । पाचौं बल फेरि छक्का र छैटौं बल चौका भयो ।

    चेन्नइ सुपरकिङ्सका मध्यक्रमका ब्याट्सम्यान जडेजाले २८ बलमा ६२ रन जोड्न सफल भएपछि चेन्नइले १९१ रनको स्कोर खडा गरेको छ । जवाफमा आरसीवीले कमजोर ब्याटिङ गरेर ठूलो हारको नजिक पुगेको छ ।

  • हिमालयन चितुवाले चुमे ‘अन्तरराष्ट्रिय प्रोफेशनल किक बक्सिङ हिट ४८’ को उपाधि

    हिमालयन चितुवाले चुमे ‘अन्तरराष्ट्रिय प्रोफेशनल किक बक्सिङ हिट ४८’ को उपाधि

    काठमाडौं । युवा पुस्ताका बक्सर अविरल घिमिरेले ‘अन्तरराष्ट्रिय प्रोफेशनल किक बक्सिङ हिट ४८’ को उपाधि चुमेका छन् ।

    जापानको नागोया शहरमा अवस्थित नागोया कङ्ग्रेस हलमा आज आयोजित भिडन्तमा हिमालयन चितुवाले पहिलो राउण्डमा नै जापानी खेलाडी योसिदा यइजीलाई परास्त गर्दै ऐतिहासिक जीत हात पारेको हो ।

    विश्वका भेट्रान बक्सरलाई मात्र सो प्रतियोगितामा खेलाइने आयोजकले जनाएको छ ।

    आकर्षक भिडन्तमा सोे प्रतियोगिता जित्ने अविरल कम उमेरका पहिलो बक्सर बनेको छ ।

    घिमिरेले गत चैत १५ गते ‘के वान फेस्टिबल २०२१’ को उपाधि चुमेको थियो । जापानको टोकियो शहरमा सम्पन्न सो अन्तरराष्ट्रिय प्रतियोगितामा उनले जापानी बक्सर खोतेजुलाई पहिलो राउण्डमा परास्त गर्दै नेपालका लागि ऐतिहासिक जीत दिलाएको थियो ।

    विश्वका चर्चित बक्सरलाई मात्र सो महोत्सवमा खेलाइएको थियो ।

    सो प्रतियोगिताको पदक आफ्नो पक्षमा ल्याएसँगै उनी कम उमेरका पदक हात पार्ने पहिलो नेपाली युवा खेलाडीसमेत बनेका छन् ।

    दश हजारभन्दा बढी जापानीले विश्वचर्चित सो भिडन्त हलमा हेरेका थिए भने आबेमा युट्युब च्यानलमार्फत विश्वभर प्रत्यक्ष प्रसारण गरिएको थियो । अन्तरराष्ट्रिय बक्सिङ खेलाडी एवं प्रशिक्षक देवकुमार घिमिरेका छोरो अविरलले बुबाकै विशेष प्रशिक्षणमा महोत्सवको तयारी गरेका थिए ।

     

  • नेपाली क्रिकेट टिमलाई प्रधानमन्त्रीको बधाई

    नेपाली क्रिकेट टिमलाई प्रधानमन्त्रीको बधाई

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिदेशीय क्रिकेटको उपाधि जित्न सफल नेपाली राष्ट्रिय क्रिकेट टिमलाई बधाई दिएका छन् । उत्कृष्ट ब्याटिङ र बलिङको नमूना पेस गरेको नेपालले शनिबार नेदरल्यान्ड्समाथि १४२ रनको विशाल जित निकालेको थियो ।

    आइतबार बिहान ट्वीटमार्फट प्रधानमन्त्री ओलीले नेपाली टिमलाई बधाई दिएका हुन् ।

    ‘नेपालले नेदरल्यान्ड्सलाई १४२ रनको विशाल अन्तरले पराजित गरी ११ वर्षको इतिहास तोड्दै शानदार विजय हासिल गरेकोमा नेपाली राष्ट्रिय क्रिकेट टिमलाई हार्दिक बधाई !’, ओलीले लेखेका छन् ।

  • कुशल मल्ल बने ट्वान्टी-२० र एकदिवशीय दुवैमा अर्धशतक हान्ने विश्वकै कान्छा ब्याट्सम्यान

    कुशल मल्ल बने ट्वान्टी-२० र एकदिवशीय दुवैमा अर्धशतक हान्ने विश्वकै कान्छा ब्याट्सम्यान

    काठमाडौं । नेपालका युवा ब्याट्सम्यान कुशल मल्ल ट्वान्टी-२० अन्तर्राष्ट्रियमा अर्धशतक प्रहार गर्ने विश्वकै कान्छा ब्याट्सम्यान बनेका छन् । हिजो भएको त्रिकोणात्मक सिरिजको फाइनलमा नेदरल्यान्ड्सविरुद्ध अर्धशतक प्रहार गर्दै उनले विश्वकीर्तिमान बनाएका हुन् ।

    बायाँ हाते ब्याट्सम्यानले २४ बलमा अर्धशतक बनाएको दिन उनको उमेर १७ वर्ष र ५० दिन थियो । यसअघि युगाण्डाका ब्याट्सम्यान फ्रान्क अकान्कवासाको नाममा यो रेकर्ड थियो । उनले १७ वर्ष ५२ दिनको हुँदा कतारविरुद्ध अर्धसतक प्रहार गरेका थिए । केवल २ दिनले कुशलले उनलाई पछि पारेका हुन् ।

    कान्छा ब्याट्सम्यानको सूचीमा नेपालकै सन्दिप जोरा तेस्रो नम्बरमा छन् । सन्दिपले १७ वर्ष १०३ दिनको छँदा अर्धशतक हानेका थिए । उनले ३१ जनवरी २०१९ मा यूएइविरुद्ध अर्धशतक हानेर कान्छा ब्याट्सम्यानको कीर्तिमानलाई युगण्डाका ब्याट्सम्यानले गत वर्षको फेब्रुअरीमा तोडेका थिए ।

    एकदिवशीय क्रिकेटमा अर्धशतक प्रहार गर्ने विश्वका कान्छा व्याट्सम्यानको रेकर्ड पनि कुशलकै नाममा छ । उनले विश्वकप लिग-२ अन्तर्गत अमेरिकाविरुद्धको खेलमा सो रेकर्ड राखेका थिए । नेपालकै रोहितकुमार पौडेलको रेकर्ड उनले तोडेका थिए । गत वर्षको फेब्रुअरीमा कुशलले सो अर्धशतक हान्दा उनको उमेर १५ वर्ष ३४० दिन थियो ।

  • भारतमा कोरोनाको विकराल रुप: अक्सिजन नपाएर मर्दैछन् विरामी, संक्रमित र मृतक संख्यामा दिनदिनै कीर्तिमान

    भारतमा कोरोनाको विकराल रुप: अक्सिजन नपाएर मर्दैछन् विरामी, संक्रमित र मृतक संख्यामा दिनदिनै कीर्तिमान

    एजेन्सी । भारतका अस्पतालहरुले अक्सिजनको अभावकै कारण आफ्ना विमारीहरु मरिरहेको बताएका छन् । किनभने कोरोना संक्रमित र मृतकको आँकडाले दिनदिनै नयाँ कीर्तिमान बनाइरहेका छन् ।

    भारतमा पछिल्लो तीन दिनको बीचमा करिव १० लाख मानिस संक्रमित भएका छन् । शनिबार २४ घण्टाको अवधिमा ३ लाख ३६ हजार ७८६ नयाँ संक्रमित फेला परेका छन् ।

    दिल्लीको जयपुर गोल्डेन अस्पतालमा शनिबार राती अक्सिजन नपाएर २० जना संक्रमितको निधन भएको अस्पताल प्रशासनले जानकारी दिएको छ । भारत सरकारले भने रेल सेवा र भारतीय वायु सेनालाई आवश्यक उपकरण आपूर्तिका लागि तैनाथ राखिएको बताएको छ ।

    शनिबार २४ घण्टाको अवधिमा भारतभर २६ सय २४ जनाको मृत्यु भएको छ । शुक्रबार यो संख्या २२ सय ६३ थियो । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले भारतको अहिलेको स्थितिलाई ‘महाविनाशकारी अवस्था’को रुपमा चित्रण गरी कोरोनाले कतिसम्म क्षति गर्छ भन्ने उदाहरण बनेको बताएको छ ।

    सन् २०२१ को सुरुआतमा भारतले कोरोनालाई परास्त गरेको ठानेको थियो । फेब्रुअरीको मध्यतिर सवा अर्ब जनसंख्या रहेको भारतमा ११ हजार नयाँ संक्रमित देखिएका थिए । भारतले खोप उत्पादन गरी निर्यातसमेत गर्न थालेको थियो । मार्चमा त्यहाँका स्वास्थ्यमन्त्रीले कोरोनाबिरुद्धको लडाईं अन्त्यतिर पुगेको बताएका थिए ।

    तर त्यतिबेलै देखि नयाँ कोरोना संक्रमित फेला पर्न थालेका थिए । नयाँ भेरिएन्टको प्रवेश भइसकेपछि पनि त्यहाँ सार्वजनिक समारोह, कुम्भमेला लगायतका गतिविधि रोकिएन । यही महिनाको सुरुआतमा हरिद्वारमा आयोजित कुम्भमेलामा लाखौं तीर्थयात्री सहभागी थिए ।

    राजधानी दिल्लीका अस्पतालहरुले आफ्नो सामर्थ्यको अन्तिम अवस्थामा रहेको चेतावनी दिएका छन् । होली फ्यामिली अस्पतालले आईसीयूसहित आफ्ना सबै बेडहरु भरिभराउ रहेको जनाएको छ ।

    ‘लगभग सबै अस्पताल अन्तिम स्थितिमा छन् । अक्सिजन पाइएन भने हामीले कुनै पनि रोगका विरामीको उपचार गर्नै सक्दैनौं,’ दिल्लीका एक चिकित्सकले बीबीसीसँग भने, ‘अक्सिजन नपाएको अवस्थामा १ मिनेटभित्र ती बिरामीको मृत्यु हुन्छ । भेन्टिलेटरमा रहेका बिरामीलाई उच्च प्रवाहको अक्सिजन जरुरी हुन्छ । उनीहरुले त्यो सुविधा पाएनन् भने अधिकांशले मृत्युवरण गर्न बाध्य हुनेछन् ।’

  • बेटिससँग बराबरीमा रोकिएपछि रियल मड्रिडको उपाधि लक्ष्यमा धक्का

    बेटिससँग बराबरीमा रोकिएपछि रियल मड्रिडको उपाधि लक्ष्यमा धक्का

    एजेन्सी । सिजनको अन्त्यतिरका निर्णायकमध्येको खेलमा रियल बेटिससँग गोलरहित बराबरीमा रोकिएपछि रियल मड्रिडको स्पेनिस ला लिगा जित्ने आशामा धक्का पुगेको छ ।

    रियल मड्रिड यो बराबरीपछि शीर्ष स्थानको एट्लटिको मड्रिडभन्दा २ अंकले पछाडि छ भने तेस्रो स्थानको बार्सिलोनाभन्दा ३ अंकले अगाडि छ । तर बार्सिलोनाले २ खेल कम खेलेको छ ।

    रोड्रिगोको एउटा प्रहार क्रसबारमा लागेपछि साविक विजेता रियलले अग्रता बनाउन चुकेको थियो । म्यानुअल पेलेग्रिनीद्वारा प्रशिक्षित रियल बेटिसले यस सिजन उत्कृष्ट प्रदर्शन गरिरहेको छ र उसको युरोपा छनोट हुने सम्भावना प्रवल छ ।

    बेटिसका लागि गुइडो रोड्रिग्वेजले सृजना गरेको एउटा शानदार अवसरलाई रियलका गोलरक्षक थियावट कोर्टवाले असफल पारिदिएका थिए ।

  • नेपालको पहिलो फ्रेन्चाइज फुटबल लिग सुरु, रंगशालामा दर्शकबिना खेल (तस्बीरहरु)

    नेपालको पहिलो फ्रेन्चाइज फुटबल लिग सुरु, रंगशालामा दर्शकबिना खेल (तस्बीरहरु)

     काठमाडौं । नेपालको पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) आजबाट सुरु भएको छ ।
    दशरथ रंगशालामा आयोजित प्रतियोगितिमा कोरोनाका कारण दर्शक भने उपस्थित हुने छैनन् । आज भएको उद्घाटन खेलमा काठमाडौ रेजर्सले ललितपुर सिटी एफसीलाई १–० ले हराएको छ । काठमाडौंका लागि ६६ औं मिनेटमा मेसोकी ओलुमोउले गोल गरेका थिए ।
    नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्टले अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा यो प्रतियोगिता आयोजना गरेको हो ।
    प्रतियोगितामा सात सहरका नामबाट फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्नेछन् । सात फ्रेन्चाइज टिममा विराटनगर सिटी एफसी, काठमाडौं रेजर्स, ललितपुर सिटी एफसी, एफसी चिवतन, पोखरा थण्डर्स, बुटबल लुम्बिनी एफसी र धनगढी एफसी रहेका छन् ।
    यस प्रतियोगिताको विजेताले ३५ लाख र उपविजेताले १५ लाख नगद पुरस्कार पाउने छन् । विभिन्न व्यक्तिगत विधामा पनि १–१ लाख पुरस्कार राखिएको छ । हरेक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने एक खेलाडीलाई १० हजार नगद दिइने छ । सिंगल राउन्ड रोविनका आधारमा हुने एनएसएलको फाइनल आगामी जेठ १ गते आयोजना हुने छ । यस प्रतियोगिताका लागि अक्सनका आधारमा खेलाडी छनोट गरिएका थिए ।
    (तस्वीर सौजन्यः श्रीधर पौडेल)