Category: खेल प्रेस

  • २० वर्षपछि आज इराकसँग भिड्दै नेपाल, ‘ब्युटिफुल फुटबल’को अपेक्षा

    २० वर्षपछि आज इराकसँग भिड्दै नेपाल, ‘ब्युटिफुल फुटबल’को अपेक्षा

    काठमाडौं । सन् २००१ को विश्वकप छनोटपछि नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो पटक आज एसियाली फुटबलको एक महारथी इराकसँग खेल्दै छ । मंगलबार मात्रै जारी भएको फिफाको बरियता हेर्ने हो भने आफूभन्दा १०३ स्थान माथि रहेको इराकविरुद्ध नेपालको कठिन परीक्षा हुने निश्चित छ ।

    त्यसमाथि नेपाली राष्ट्रिय टोलीको स्तर र शैली बदल्ने सोच लिएर नेतृत्व लिएका मुख्य प्रशिक्षकको पहिलो परीक्षा पनि आजैको खेल हुनेछ । अप्रिलमा घरेलु मैदानमा भएको थ्री नेसन्स कपको उपाधि जितेको टोलीबाट १३ खेलाडी हटाएर उनीहरूको स्थानमा युवा खेलाडीलाई मौका दिँदै इराकको बसेरा पुगेका अब्दुल्लाह अल्मुताइरीले ब्युटिफुल फुटबलको वाचा गरेका छन् ।

    चैतदेखि राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेका अब्दुल्लाहले नेपालले अब ३-४-३ फर्मेसनमा अट्याकिङ फुटबल खेल्ने बताएका थिए । सोही अनुसारको युवा टोली तयार गरेर इराकको बसरा पुगिसकेका अब्दुल्लाहले आजको खेलको नतिजा खराब आए पनि खेलाडीलाई दोष नदिन र त्यसको जिम्मेवारी आफूले लिने बताएका छन् ।

    नेपाली समयअनुसार राति १०:१५ बजे इराकको दोस्रो ठूलो शहर बसेरास्थित अल्फायहा रंगशालामा हुने खेलमा नेपालले कस्तो प्रदर्शन गर्छ, त्यो बहुप्रतिक्षित विषय हो । तर, फुटबलको प्रिमियम लेभल-विश्ककप खेलिसकेको तथा एसियन च्याम्पियनसमेत भइसकेको इराकविरुद्ध जितको अपेक्षा गर्नु सान्दर्भिक हुँदैन । तर, प्रशिक्षक अब्दुल्लाह आफैँले वाचा गरेको झैँ ३-४-३ फर्मेसनमा अट्याकिङ फुटबल हेर्ने सबै नेपाली फुटबलप्रेमीको दृढ इच्छा छ ।

    यसअघि भएका तीन भेटमा एकलौटी नतिजा निकालेको इराकले नेपालविरुद्ध १३ गोल गरेको छ भने ३ गोल खाएको छ ।

    विश्वकप छनोटका बाँकी ३ खेलको तयारी स्वरुप खेल्न लागेको आजको खेलले कुवेतमा हुने बाँकी खेलका लागि सहयोग हुनेछ ।

    आजको खेलपछि विश्वकप तथा एएफसी एसियन कपको छनोटका बाँकी तीन खेल खेल्न नेपाली टोली कुवेत जानेछ । कुवेतमा नेपालले पहिलो खेल जुन ३ मा चाइनिज ताइपेइविरुद्ध खेल्ने छ । पहिलो लेगमा चाइनिज ताइपेइलाई उसकै मैदानमा हराउँदा नेपाली फरवार्ड अञ्जन विष्ट नायक बनेका थिए ।

    उनले गरेको दुई उत्कृष्ट गोलमा नेपाल २-० ले विजयी भएको थियो । त्यस्तै, नेपालले जुन ७ मा जोर्डनसँग खेल्ने छ । पहिलो लेगमा ३-० को पराजय भोगेको नेपाली टोली यसपटक प्रदर्शन सुधार्ने ध्याउन्नमा छ ।

    विश्वकप तथा एसियन कप छनोटको अन्तिम खेल जुन ११ मा अस्ट्रेलियाविरुद्ध खेल्ने छ । पहिलो लेगमा ५-० ले पराजित भएको नेपालले यो भ्रमणको अन्तिम खेलमा उही हेभिवेट अस्ट्रेलियाको सामना गर्नेछ ।

    अहिलेको नेपाली टोली:

    गोलकिपर्स: किरण चेम्जोङ, विशाल सुनार, दीप कार्की

    डिफेन्डर्स: रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, सुमन अर्याल, विकाश खवास

    मिडफिल्डर्स: विशाल राई, मनिष डाँगी, एरिक विष्ट, कमल थापा, सन्तोष तामाङ, सुमन लामा, सुनिल बल, सुरज जेउ ठकुरी, पुजन उपरकोटी, आयुष घलान

    अट्याकर्स: अभिषेक रिजाल, अञ्जन विष्ट, नवयुग श्रेष्ठ, आशिष लामा

  • युवा जोश र बोल्ड बोससहित २० वर्षपछि इराकविरुद्ध मैदानमा उत्रिँदै नेपाल

    युवा जोश र बोल्ड बोससहित २० वर्षपछि इराकविरुद्ध मैदानमा उत्रिँदै नेपाल

    काठमाडौं । नेपाली राष्ट्रिय टोलीले २० वर्षपछि भोलि इराकसँग मैत्रीपूर्ण फुटबल खेल्दै छ । आफ्नो नेतृत्वमा पहिलो अन्तर्राष्ट्रिय खेलका लागि नयाँ स्वरूपको नेपाली टोलीसहित कुवेती प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी बसरा पुगिसकेका छन् ।

    विश्वकपका छनोटका बाँकी खेलको तयारी स्वरूप भोलि नेपालले फिफा बरियतामा आफूभन्दा १ सय ३ स्थानमाथि रहको इराकसँग खेल्न लागेको हो । चार खेलको तालिका बोकेर भ्रमणमा निस्किएको नेपाली टोलीले इराकविरुद्धको मैत्रीपूर्ण खेलपछि विश्वकप तथा एसियन कप छनोटका बाँकी तीन खेल कुवेतमा खेल्ने छ ।

    समूह ‘बी’ मा रहेको नेपालले यसअघिका पाँच खेलबाट ३ अंक मात्रै जोडेको छ । अबका खेलको नतिजामा धेरै आशावादी हुन नसकिए पनि प्रशिक्षक अब्दुल्लाहले गरेको वाचा र खेलाडी छनोटमा गरेको बोल्ड निर्णयले नेपाली फुटबलमा केही न केही फरक पर्ने अपेक्षा नेपाली फुटबलप्रेमीले गरेका छन् ।

    यसअघि नेपालले इराकसँग तीन खेल खेलेको छ र तीनैवटामा हार व्यवहारेको छ । नेपाल र इराकको पछिल्लो भिडन्त विश्वकप छनोट २००१ मा भएको थियो । पहिलो खेल ९-१ को नतिजामा नेपाल हारेको थियो । इराकको राजधानी बगदादस्थित अल साहब रंगशालामा भएको खेलमा नेपालका लागि निराजन रायमाझीले गोल गरेका थिए ।

    सोही वर्ष कजाखस्तानमा भएको खेलमा नेपालले ४-२ को साँघुरो हार बेहोरेको थियो । उक्त खेलमा नेपालका लागि निराजनसँगै हरि खड्काले पनि १-१ गोल गरेका थिए । त्यसभन्दा अगाडि नेपालले इराकसँग १९८२ मा खेलेको थियो । उक्त खेलमा पनि नेपाली टोली ३-० ले पराजित भएको थियो ।

    प्रशिक्षक अब्दुल्लाहको परीक्षा

    इराकविरुद्धको खेल नयाँ प्रशिक्षक अब्दुल्लाहका लागि एउटा कठिन एवम् महत्त्वपूर्ण परीक्षा यसकारण पनि हुने छ कि उनले नेपाल आएलगत्तै ठूला वाचाहरू गरेका छन् । जितको अपेक्षा कम भए पनि आफूले भनेजस्तो ‘सुन्दर फुटबल’ नेपाली टोलीबाट निकाल्ने चुनौति उनलाई छ ।

    नेपाली राष्ट्रिय टोलीको प्रशिक्षकको रूपमा चैत २२ गते सार्वजनिक भएका अब्दुल्लाहले नेपालले अब डिफेन्सिभ फुटबल नखेल्ने बताएका थिए । उनले पहिलो पटक मिडियामा सार्वजनिक हुँदै नेपाली खेलाडीहरूमा धेरै सम्भावना रहेको र आफूले त्यसलाई निखार्ने दृढ लक्ष्य लिएको सुनाएका थिए । उनी आफ्नो रणनीतिमा स्पष्ट देखिएका थिए र बारम्बार नेपालले अब सुन्दर फुटबल खेल्नेमा जोड दिएका थिए ।

    अरू केही वाचा नगरे पनि सबै नेपालीले आफ्नो टिममा गर्व गर्ने वातावरण सिर्जना गर्ने संकल्प गरेका अब्दुल्लाहले टोली छनोटमा आफ्नो ‘बोल्डनेस’ को छनक दिएका छन् । तर, उनको छनोट र प्रभावको मुल्याङ्कन अबका खेलले मात्रै प्रष्ट्याउने छ ।

    प्रशिक्षक अब्दुल्लाहले ३-४-३ फर्मेसेनमा ब्युटिफुल-अट्याकिङ फुटबल खेल्ने बताएका थिए । नेपालका लागि तीन वर्षयता राष्ट्रिय टिम, अन्डर-१९ र यु २३ मा ५१ जनाले खेलेको र ती खेलाडीको एक-एक रिपोर्ट आफूसँग भएको दाबी गरेका अब्दुल्लाहले अहिले आफूसँग भएको टोलीबाट पनि त्यो प्रमाणित गरिसकेका छन् ।

    नेपाल र इराकबीच करिब दुई दशकमा खेल हुने गरेको छ र यसपटक पनि यस्तै भयो । २००७ मा एसियन कप च्याम्पियन बनेको इराक अहिले फिफा बरियतामा ६८औं स्थानमा छ भने नेपाल १७१ स्थानमा छ ।

    तर, यसअघिको तुलनामा नेपाल र इराक फरक अवस्थामा मैदानमा भिड्दैछन् । यद्यपि, दुवै टोली विश्वकप छनोटको तयारीमा छन् । नेपाल इराकविरुद्धको खेलपछि विश्वकप-एसियन कप छनोटका लागि कुवेत जानेछ । तर, त्यसअघि कुवेतसँग मिल्दो-जुल्दो वातावरण भएको इराकविरुद्धको खेलले नेपाललाई विश्वकप छनोटका लागि फाइदा हुनसक्छ ।

    नेपाली राष्ट्रिय टोलीका कप्तान किरण कुमार लिम्बुले पनि यो मैत्रीपूर्ण खेल नेपालका लागि एक अवसर भएको बताउँदै यसले फाइदा हुने बताएका छन् । ‘इराकविरुद्ध खेल्न पाउनु नेपालका लागि राम्रो अवसर हो,’ गोलकिपर किरणले भने, ‘यो खेलबाट हामीलाई विश्वकप छनोटमा पनि फाइदा हुन्छ ।’

    कुवेती प्रो-लाइसेन्स होल्डर प्रशिक्षक अल्मुताइरीले तयार गरेको नेपाली टोलीमा ६ जना नयाँ अनुहार छन् । उनले अप्रिलमा भएको थ्री नेसन्स कप विजेता नेपाली टोलीबाट १३ खेलाडी परिवर्तन गरेका छन् ।

    गोलकिपर दीप कार्कीले अहिलेसम्म राष्ट्रिय टोलीमा डेब्यू गरेका छैनन् । उनीसँगै गोलकिपर विशाल सुनार, डिफेन्डर गौतम श्रेष्ठ, मिडफिल्डर कमल थापा, सुरज जेउ ठकुरी, आयुष घलान र मनिष डाँगी पनि पहिलो पटक राष्ट्रिय टोलीमा परेका हुन् ।

    अहिले विदेश भ्रमणमा निस्किएको नेपाली राष्ट्रिय टोलीका खेलाडीको औसत उमेर २३ वर्षको छ । यो सम्भवत नेपालको अहिलेसम्म कै युवा टोली हो ।

    टोलीमा भएका रोहित चन्द र कप्तान किरण सिनियर खेलाडी हुन् भने विशाल राई, नवयुग श्रेष्ठ, अञ्जन विष्ट र अनन्त तामाङ नेपालका लागि धेरै समयदेखि खेल्दै आएका छन् ।

    नेपालको पछिल्ला ६ खेलको नतिजा

    २०१९ नोभेम्बर १९ कुवेत १-० नेपाल

    २०२० नोभेम्बर १३ बंगलादेश २-० नेपाल

    २०२० नोभेम्बर १७ बंगलादेश ०-० नेपाल

    २०२१ मार्च २५ किर्गिस्तान यु२३ ०-० नेपाल

    २०२१ मार्च २७ बंगलादेश ०-० नेपाल

    २०२१ मार्च २९ बंगलादेश १-२ नेपाल

    विश्वकप छनोटमा नेपालका बाँकी खेल

    जुन ३ नेपाल भर्सेज चाइनिज ताइपेइ

    जुन ७ नेपाल भर्सेज जोर्डन

    जुन ११ नेपाल भर्सेज अस्ट्रेलिया

    इराक-नेपाल हेड टू हेड

    कूल खेल-३

    इराक विजयी-३

    नेपाल विजयी-०

    १९९२ एसियन गेम्समा इराक ३-० नेपाल

    २००१ विश्वकप छनोटमा इराक ९-१ नेपाल

    २००१ विश्वकप छनोटमा इराक ४-२ नेपाल

    इराकले गरेको गोल संख्या- १३

    नेपालले गरेको गोल संख्या- ३

    नेपालका लागि गोल कर्ता खेलाडी निराजन रायमाझी- २, हरि खड्का-१

    भोलि हुने खेल

    शनिबार : इराकविरुद्ध नेपाल ।

    भेन्यु: अल्फायहा रंगशाला ।

    समय: स्थानीय समय साँझ ७ बजेर ३० मिनेट (नेपालमा राति १०:१५ बजे)

    खेल बन्द रंगशालामा खेल हुने ।

    अहिलेको नेपाली टोली:

    गोलकिपर्स: किरण चेम्जोङ, विशाल सुनार, दीप कार्की

    डिफेन्डर्स: रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, सुमन अर्याल, विकाश खवास

    मिडफिल्डर्स: विशाल राई, मनिष डाँगी, एरिक विष्ट, कमल थापा, सन्तोष तामाङ, सुमन लामा, सुनिल बल, सुरज जेउ ठकुरी, पुजन उपरकोटी, आयुष घलान

    अट्याकर्स: अभिषेक रिजाल, अञ्जन विष्ट, नवयुग श्रेष्ठ, आशिष लामा

  • कल्पनालाई ओलम्पिक वाइल्ड कार्ड प्राप्त

    कल्पनालाई ओलम्पिक वाइल्ड कार्ड प्राप्त

    काठमाडौं ।  जापानमा हुने टोकियो ओलम्पिकका लागि नेपालकी सुटिङ खेलाडी कल्पना परियारले शुक्रबार वाइल्ड कार्ड प्राप्त गरेकी छन् ।अब उनले नेपालको प्रतिनिधित्व गर्दै टोकियो ओलम्पिकमा सहभागी हुने निश्चित भएको छ ।

    कल्पनाले १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्ने छिन् । उनी टोकियो ओलम्पिकका लागि वाइल्ड कार्ड प्राप्त गर्ने पहिलो खेलाडी पनि भएकी छन् ।  ‘नेपाल ओलम्पिक कमिटी र नेपाल सुटिङको अथक प्रयासपछि यो वाइल्ड कार्ड प्राप्त भएको छ,’ नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्दराज बैद्यले भने ।

    उनले अन्य खेलमा पनि वाइल्ड कार्डका लागि प्रयास भइरहेको बताए । टोकियो ओलम्पिक जुलाई २३ देखि अगस्ट ८ सम्म हुनेछ र कल्पनासँगै चार खेलाडीले प्रतियोगितामा सहभागी हुने निश्चित भइसकेको छ ।

    सहभागी हुने अन्य तीन खेलाडीमा पौडीका गौरिका सिंह र एलेक्स शाह तथा म्याराथनका गोचीचन्द्र पार्की रहेका छन् ।

  • इराकसँगको मैत्रीपूर्ण खेलअघि नेपाली टोली अभ्यासमा (तस्बिरहरु)

    इराकसँगको मैत्रीपूर्ण खेलअघि नेपाली टोली अभ्यासमा (तस्बिरहरु)

    मैत्रीपूर्ण फुटबल खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोली अहिले इराकको बार्सा शहरमा छ । नेपालले शनिबार इराकसँग अल फेया रंगशालामा मैत्रीपूर्ण फुटबल खेल्नेछ । खेल नेपाली समयअनुसार राती सवा १० बजेदेखि सुरु हुनेछ ।

    त्यसअघि नेपालले बिहीबारदेखि अभ्यास सुरु गरेको छ । विश्वकप र एसियाली कप छनोट अन्तर्गत बाँकी रहेका तीन खेल कुवेतमा खेल्नुअघि नेपालले इराकसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

    नेपालको राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले जिम्मेबारी लिएपछिको यो पहिलो खेल हो । कुवेती प्रशिक्षक अल्मुताइरी कतार फुटबल संघको सहयोगमा नेपाली प्रशिक्षकका रुपमा आएका हुन् ।

    फिफा प्रो लाइसेन्स प्रशिक्षकको मातहतमा नेपाली खेलाडीले पहिलोपल्ट प्रशिक्षण गरेका हुन् । नेपाली टोली बुधबार इराक पुगेको हो । प्रशिक्षक अल्मुताइरीले नतिजा अनुकुल नआएको अवस्थामा खेलाडीलाई होइन आफूलाई गाली गर्न अपीलसमेत गरेका छन् ।

    सो खेलपछि नेपाली टोली कुवेत जानेछ । कुवेतमा नेपालले विश्वकप र एसियन कप छनोट अन्तर्गत चाइनिज ताइपेइ, जोर्डन र अस्ट्रेलियासँगको बाँकी खेल खेल्नेछ । नेपाल विश्वकपको छनोट सम्भावनाबाट बाहिरिइसकेको छ भने एसियन कपको सम्भावना कायम छ ।

  • युभेन्टसको प्रशिक्षक बनेर अलेग्री फर्किने

    युभेन्टसको प्रशिक्षक बनेर अलेग्री फर्किने

    काठमाडौं । म्यासिमिलियानो अलेग्री युभेन्टसको मुख्य प्रशिक्षकको रूपमा टुरिन फर्किने निश्चित भएको छ । साविक विजेता रहेर पनि यो सिजन शीर्ष चारमा रहन संघर्ष गर्नु परेको युभेन्टसले प्रशिक्षक एन्ड्रे पिर्लोलाई बर्खास्त गरेपछि प्रशिक्षकमा अलेग्रीलाई पुन: नियुक्त गर्ने भएको हो ।

    २०१४ देखि २०१९ सम्म युभेन्टसको प्रशिक्षकको रूपमा पहिलो कार्यकाल पूरा गरेका अलेग्रीले टुरिनमा रहँदा पाँच सिरि’ए’, चार कोपा इटालिया जिताएका थिए भने दुई पटक च्याम्पियन्स लिगको फाइनलमा पुर्‍याएका थिए ।

    अलेग्री र युभेन्टसका अध्यक्ष एन्ड्रे एग्नेलीबीच आज भएको छलफल सकरात्मक निष्कर्षमा पुगेसँगै अलेग्री प्रशिक्षकमा नियुक्त हुने निश्चित भएको गोलले बताएको छ ।

  • जिदानले छाडे रियाल मड्रिड

    जिदानले छाडे रियाल मड्रिड

    काठमाडौं । रियाल मड्रिडले मुख्य प्रशिक्षक जिनेदिन जिदानले क्लब छाडेको घोषणा गरेको छ । २०१६ मा पहिलो पटक रियाल मड्रिडको प्रशिक्षक बनेका जिदानले लगातार तीन पटक च्याम्पियन्स लिग जिताएका थिए ।

    त्यसपछि एकाएक राजीनामा दिएका जिदान २०१९ मा पुन: प्रशिक्षकको रूपमा रियाल फर्किएका थिए । उनले सिजनको समाप्तिसँगै क्लब छाड्ने निर्णय गरेपछि क्लबले उनलाई रिलिज गरेको हो ।

    रियालले उनको निर्णयको सम्मान गर्दै क्लबका लागि उनको योगदानको सदैव सम्मान गर्ने बताएको छ ।

  • च्याम्पियन्स लिग फाइनल: मेन्डी र कान्टे ट्रेनिङमा फर्किए

    च्याम्पियन्स लिग फाइनल: मेन्डी र कान्टे ट्रेनिङमा फर्किए

    काठमाडौं । युरोपेली क्लब फुटबलको सबैभन्दा लोकप्रिय प्रतियोगिता- युइएफए च्याम्पियन्स लिगको फाइनलमा शनिबार राति चेल्सी र म्यानचेस्टर सिटी भिड्दै छन् । अल इङ्लिस फाइनलको तयारीमा रहेको चेल्सीका पहिलो रोजाइका गोलकिपर इडुवार्ड मेन्डी र महत्त्वपूर्ण मिडफिल्डर एनगोलो कान्टे घाइते भएका थिए ।

    तर, हालै सार्वजनिक भएको चेल्सीको ट्रेनिङको तस्वीरमा दुवै खेलाडी देखिएका छन् । उनीहरू पूर्ण रूपमा फिट भएर ट्रेनिङमा फर्किएसँगै फाइनलमा खेल्ने लगभगब पक्का भएको छ । उत्कृष्ट फर्ममा रहेका कान्टेले चेल्सीको मिडफिल्ड सम्हालिरहेका छन् भने यसै सिजन फ्रेन्च क्लबबाट लन्डन आएका मेन्डीले च्याम्पियन्स लिगमा ९ क्लिनसिट राखिसकेका छन् ।

    जारी सिजन च्याम्पियन्स लिगमा सबैभन्दा धेरै क्लिनसिट राख्ने गोलकिपरसमेत रहेका मेन्डीले प्रिमियर लिगमा पनि १६ क्लिनसिट राखेका थिए ।

    २०१२ मा पहिलो पटक च्याम्पियन बनेको चेल्सी ९ वर्षपछि फाइनलमा पुगेको हो भने सिटी पहिलो पटक फाइनलमा पुगेको हो । २०१२ मा जर्मन क्लब बायर्न म्युनिखलाई हराएर च्याम्पियन बनेको चेल्सीले नेपाली समयअनुसार शनिबार राति १२:४५ बजे सिटीसँग खेल्ने छ ।

  • नाटकीय पेनाल्टीमा म्यानचेस्टर युनाइटेडलाई हराउँदै भिल्लारियल बन्यो युरोपा लिग च्याम्पियन

    नाटकीय पेनाल्टीमा म्यानचेस्टर युनाइटेडलाई हराउँदै भिल्लारियल बन्यो युरोपा लिग च्याम्पियन

    एजेन्सी । म्यानचेस्टर युनाइटेडका गोलरक्षक डेभिड गी जिया पेनाल्टीमा चुक्दा स्पेनिस टोली भिल्लारियलले क्लब इतिहासमा पहिलोपल्ट युरोपेली ट्रफी जितेको छ ।

    पोल्याण्डको डान्स्कमा खेलाइएको युरोपा लिग फाइनलमा निर्धारित र अतिरिक्त ३० मिनेटमा पनि दुवै टोलीले एक-एक गोलको बराबरी खेले । त्यसपछि भएको पेनाल्टी शुटआउट झनै नाटकीय रह्यो ।

    पेनाल्टीमा भिल्लारियलका सबै ११ जना खेलाडीले गोल गरे तर, युनाइटेडका गोलरक्षक डी जिया अन्तिममा चुके । २१ जनाले पेनाल्टीमा गोल गरेको खेलमा डी जियाको पेनाल्टी भिल्लारियलका गोलरक्षक गेरोनिमो रुल्लीले रोकिदिए ।

    युरोपेली प्रतियोगिताको फाइनलमा मैदानमा उत्रिएका सबै खेलाडीले पेनाल्टी प्रहार गर्नुपरेको यो पहिलोपल्ट हो । यो भिल्लारियलको पहिलो ठूलो उपाधि पनि हो । आर्सनलका पूर्व प्रशिक्षक उनाइ इमरेले स्पेन गएयता भिल्लारियलको आमूल परिवर्तन गरेका छन् ।

    यसअघि नियमित समयअनुसार खेल सुरु भएको २९ औं मिनेटमा मोरेनोले गोल गरेपछि भिल्लारियल पहिलो हाफमा अगाडि थियो । दोस्रो हाफ सुरु भएको १० मिनेटपछि इडिन्सन काभानीले गोल गरेपछि खेल बराबरीमा आयो ।

  • इराक पुग्यो नेपाली राष्ट्रिय फुटबल टोली

    इराक पुग्यो नेपाली राष्ट्रिय फुटबल टोली

    काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोली इराक पुगेको छ । कतार एयरवेजमार्फत् दोहा हुँदै नेपाली टोली मंगलबार इराकतर्फ प्रस्थान गरेको थियो । स्थानीयसमय अनुसार बिहान १० बजे नेपाली टोली इराकको बस्राह अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

    इराकसँगको मैत्रीपूर्ण खेल र विश्व कप तथा एएफसी एसियन कपको संयुक्त छनोटका लागि भ्रमणमा निस्किएको नपाली टोलीले २९ मेमा इराकसँग मैत्रीपूर्ण खेल खेल्ने छ । त्यस्तै, संयुक्त छनोट अन्तर्गत जुन ३ मा चाइनिज ताइपेइसँग, जोर्डनविरुद्ध जुन ७ मा र अस्ट्रेलियाविरुद्ध जुन ११ मा कुवेतमा खेल्ने छ ।

    मुख्य प्रशिक्षक अब्द्ल्लाह अल्मुताइरीको नेतृत्वमा पहिलो पटक मैदानमा उत्रिन लागेको नेपाली टोलीमा अहिले धेरै युवा खेलाडी समेटिएका छन् ।

    यसअघि घोषित टोलीबाट १० जना खेलाडी मात्र २३ जनाको अन्तिम टोलीमा समावेश गरेका छन् ।

    विश्वकप छनोटको समूह ‘बी’मा रहेको नेपालले यसअघिका पाँच खेलमध्ये एकमा जित निकालेको थियो भने ४ खेलमा पराजय भोगेको थियो । पहिलो खेलमा कुवेतविरुद्ध ७-० को फराकिलो पराजय भोगेको नेपालले दोस्रो खेलमा चाइनिज ताइपेइलाई उसकै मैदानमा ०-२ को नतिजामा पराजित गरेको थियो ।

    तेस्रो खेलमा अस्ट्रेलियासँग ५-० को हार बेहोरेको नेपाल चौथो खेलमा जोर्डनसँग ३-० गोलको नतिजामा पराजित भयो । भूटानमा भएको कुवेतविरुद्धो दोस्रो लेगमा ०-१ ले पराजित भएको नेपालले अझै तीन खेल खेल्न बाँकी छ ।

    २६ सदस्यीय नेपाली टोली:

    गोलकिपर्स: किरण चेम्जोङ, दीप कार्की, विशाल सुनार

    डिफेन्डर्स: अनन्त तामाङ, दीनेश राजवंशी, गौतम श्रेष्ठ, रोहित चन्द, सुमन अर्याल, विकाश खवास

    मिडफिल्डर्स: एरिक विष्ट, विशाल राई, मनिष डाँगी, कमल थापा, सन्तोष तामाङ, सुनिल बल, सुरज जेउ ठकुरी, पुजन उपरकोटी, आयुश घलान

    अट्याकर्स: अभिषेक रिजाल, अन्जन विष्ट, नवयुग श्रेष्ठ, आशिष लामा, सुमन लामा

  • बेलायतको भिसा नआएर चिन्तामा सन्दीप

    बेलायतको भिसा नआएर चिन्तामा सन्दीप

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेटर तथा ग्लोबल आइकन सन्दीप लामिछानेले भिसाका लागि आह्वान गरेको करिब एक महिना बितिसक्दा पनि दूतावासबाट फलोअप नआएपछि ‘भाइटालिटी ट्वान्टी-२० ब्लास्ट’ तथा ‘द हन्ड्रेड’ लिगमा सहभागिता चिन्ताको विषय बनेको छ । एक महिना अगाडि आफूले भिसाका लागि आह्वान गरे पनि अहिलेसम्म नआएपछि निराश बनेका सन्दीपले ट्वीट लेखेका छन् ।

    फलोअपका लागि पटक-पटक फोन गरेर सोध्दा पनि स्पष्ट उत्तर नआएको उल्लेख गर्दै सन्दीपले बेलायती दूतावास, राजदूत निकोला पोलिट, प्रधानमन्त्री र परराष्ट्रमन्त्री लगायतलाई मेन्सन गर्दै सहयोगका लागि अपील गरेका छन् ।

    सन्दीप इंग्ल्यान्डमा जुन ९ देखि सुरु हुने ‘भाइटालिटी ट्वान्टी-२० ब्लास्ट’ तथा जुलाई २२ तारिख देखि हुने ‘द हन्ड्रेड’ लिगमा सहभागी हुन बेलायत जान लागेका हुन् ।

    यसअघि २०१९ मा क्यारेबियन प्रिमियर लिगमा वेस्ट इन्डिज जानका लागि अमेरिका हुँदै जान भिसाका लागि आह्वान गर्दा अमेरिकी राजदूतावासले अस्वीकार गरेको थियो । सन्दीपले सोही समस्या ट्वीटरमा पोखेपछि उनका समर्थक दूतावासविरुद्ध खनिएका थिए । जसको फलस्वरुप दूतावासले सोही दिन सन्दीपलाई बोलाएर भिसा दिएको थियो ।

  • फ्रेन्च लिग जितेको २ दिनपछि लिलीका प्रशिक्षकले राजीनामा दिए

    फ्रेन्च लिग जितेको २ दिनपछि लिलीका प्रशिक्षकले राजीनामा दिए

    एजेन्सी । फ्रान्सको शीर्ष डिभिजन लिग वानको उपाधि लिलीलाई दिलाएका प्रशिक्षक क्रिष्टोफ गाल्टेरले जिम्मेबारीबाट बाहिरिने निर्णय गरेका छन् ।

    आइतबार ८ वर्षदेखिको च्याम्पियन पेरिस सेन्ट जर्मेइन (पीएसजी)लाई १ अंकले पछि पार्दै लिलीलाई एक दशकको अन्तरमा पहिलोपल्ट लिग जिताउँदा ५४ वर्षीय यी प्रशिक्षकको योगदान अतुलनीय थियो । लिलीले अहिलेसम्म चारपल्ट फ्रेन्च लिगको उपाधि जितेको हो ।

    सिजनको मध्यदेखि नयाँ मालिकले स्वामित्व लिएपछि नै उनले क्लब छाड्न सक्ने अनुमान गरिएको थियो । ‘मलाई के लाग्न थाल्यो भने अब यहाँ मेरो समय सकियो,’ गाल्टेरले भनेका छन् । उनले आफ्नो दिनचार्य परिवर्तन गर्नका लागि पनि जिम्मेबारी विहीन हुन लागेको बताएका छन् ।

    उनको यो अभिव्यक्तिपछि लिलीले पनि प्रशिक्षकको निर्णय स्वीकार गरेको छ ।

    उपाधि जितेको खुसियालीमा आफ्ना समर्थकसँग मंगलबारको परेड सम्पन्न भएपछि प्रशिक्षकको यो निर्णय सार्वजनिक भएको हो ।

    मार्सेलो बेल्सालाई प्रतिस्पथापन गर्दै सन् २०१७ को डिसेम्बरमा गाल्टेरले क्लब संहाल्दा टिम रेलिगेसन नजिक थियो ।

    यस्तो अवस्थाबाट टिम संहालेका उनले पछिल्लो दुई सिजन लिलीलाई दोस्रो र चौथो स्थानमा पु¥याएका थिए । गाल्टेर लिग वान क्लबहरु निस वा ल्योनमा आबद्ध हुनसक्ने समाचार आइरहेका छन् ।

  • राष्ट्रिय फुटबल टोली आज इराक जाँदै

    राष्ट्रिय फुटबल टोली आज इराक जाँदै

    काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोली आज इराकतर्फ जाँदैछ । कतार एयरवेजमार्फत् दोहा हुँदै नेपाली टोली मंगलबार राति इराक पुग्ने अखिल नेपाल फुटबल संघ (एन्फा)ले बताएको छ ।

    इराकसँगको मैत्रीपूर्ण खेल र विश्व कप तथा एएफसी एसियन कपको संयुक्त छनोटका लागि भ्रमणमा निस्किएको नपाली टोलीले २९ मेमा इराकसँग मैत्रीपूर्ण खेल खेल्ने छ । त्यस्तै, संयुक्त छनोट अन्तर्गत जुन ३ मा चाइनिज ताइपेइसँग, जोर्डनविरुद्ध जुन ७ मा र अस्ट्रेलियाविरुद्ध जुन ११ मा कुवेतमा खेल्ने छ ।

    मुख्य प्रशिक्षक अब्द्ल्लाह अल्मुताइरीको नेतृत्वमा पहिलो पटक मैदानमा उत्रिन लागेको नेपाली टोलीमा अहिले धेरै युवा खेलाडी समेटिएका छन् ।

    यसअघि घोषित टोलीबाट १० जना खेलाडी मात्र २३ जनाको अन्तिम टोलीमा समावेश गरेका छन् ।

    विश्वकप छनोटको समूह ‘बी’मा रहेको नेपालले यसअघिका पाँच खेलमध्ये एकमा जित निकालेको थियो भने ४ खेलमा पराजय भोगेको थियो । पहिलो खेलमा कुवेतविरुद्ध ७-० को फराकिलो पराजय भोगेको नेपालले दोस्रो खेलमा चाइनिज ताइपेइलाई उसकै मैदानमा ०-२ को नतिजामा पराजित गरेको थियो ।

    तेस्रो खेलमा अस्ट्रेलियासँग ५-० को हार बेहोरेको नेपाल चौथो खेलमा जोर्डनसँग ३-० गोलको नतिजामा पराजित भयो । भूटानमा भएको कुवेतविरुद्धो दोस्रो लेगमा ०-१ ले पराजित भएको नेपालले अझै तीन खेल खेल्न बाँकी छ ।

    २६ सदस्यीय नेपाली टोली:

    गोलकिपर्स: किरण चेम्जोङ, दीप कार्की, विशाल सुनार

    डिफेन्डर्स: अनन्त तामाङ, दीनेश राजवंशी, गौतम श्रेष्ठ, रोहित चन्द, सुमन अर्याल, विकाश खवास

    मिडफिल्डर्स: एरिक विष्ट, विशाल राई, मनिष डाँगी, कमल थापा, सन्तोष तामाङ, सुनिल बल, सुरज जेउ ठकुरी, पुजन उपरकोटी, आयुश घलान

    अट्याकर्स: अभिषेक रिजाल, अन्जन विष्ट, नवयुग श्रेष्ठ, आशिष लामा, सुमन लामा

  • युरोका लागि घोषित स्पेनिस टोलीमा कप्तान नै परेनन् !

    युरोका लागि घोषित स्पेनिस टोलीमा कप्तान नै परेनन् !

    एजेन्सी । नियमित कप्तान सर्जियो रामोसलाई टिमबाट बाहिर राख्नै प्रशिक्षक लुइस इनरिकेले आसन्न युरो–२०२० का लागि स्पेनिस राष्ट्रिय फुटबल टोलीको घोषणा गरेका छन् ।

    रियल मड्रिडका सेन्टर ब्याक रामोस अहिले चोटसँग जुधिरहेका छन् र यो वर्ष स्पेनिस टोलीका लागि एकमात्र खेल मार्चमा खेलेका छन् ।

    उनको अनुपस्थितिको अर्थ के पनि हो भने बार्सिलोनाका पूर्व प्रशिक्षक इनरिकेले नेतृत्व गरेको स्पेनिस टोलीमा रियल मड्रिडका एकजना पनि खेलाडी समावेश छैनन् ।

    उमेर समूहमा फ्रान्सको राष्ट्रिय टोलीबाट खेलेका म्यानचेस्टर सिटीका डिफेण्डेर एमेरिक लापोर्टे यसपल्ट २४ सदस्यीय स्पेनिस टोलीमा समेटिएका छन् । दुवै देशको नागरिकता रहेका उनले हालै मात्र फिफाबाट अनुमति पाएका थिए ।

    उनी स्पेनिस टोलीमा पुगेका प्रिमियर लिग खेल्ने १० खेलाडीमध्ये एक हुन् । इनरेकेले म्यानचेस्टर सिटीका ४, बार्सिलोनाका ३ खेलाडीलाई राष्ट्रिय टोलीमा समावेश गरेका छन् ।

    रामोसले मार्चमा भएको विश्वकप छनोटअन्तर्गतको खेलमा ग्रिसबिरुद्धको बराबरीमा सब्स्टिच्युडका रुपमा मैदान छिरेका थिए भने कोसोभोविरुद्धको जितका क्रममा सुरुआती टोलीमा रहेका थिए ।

    त्यसयता रामोस मे ५ मा चेल्सीसँगको च्याम्पियन्स लिग दोस्रो लेगमा रियलको टोलीबाट मैदानमा उत्रिएका थिए । त्यो उनको यो सिजनमै क्लबका लागि पाँचौं खेल थियो ।

    रामोससँग उनकै सल्लाहमा टिममा नराखिएको प्रशिक्षक इनरिकेले प्रष्ट पारेका छन् । इनरिकेले रामोस निकै नै व्यवसायिक खेलाडी भएको र टिममा उनको अनुभव तथा नेतृत्व अभाव रहनेसमेत बताए ।

  • लिभरपुल र चेल्सी च्याम्पियन्स लिगमा छनोट, लेस्टर असफल

    लिभरपुल र चेल्सी च्याम्पियन्स लिगमा छनोट, लेस्टर असफल

    एजेन्सी । साडियो मानेले २ गोल गरेपछि अन्तिम खेलमा क्रिष्टल प्यालेसलाई पराजित गरी लिभरपुलले इंग्लिस प्रिमियर लिगको तेस्रो स्थानमा रहँदै च्याम्पियन्स लिगमा छनोट भएको छ ।

    एस्टोन भिल्लासँग २–१ ले पराजित भए पनि चेल्सी चौथो स्थानमा रहेर अर्को सिजन च्याम्पियन्स लिग खेल्ने निश्चित गरेको छ । टोटनह्यामसँग ४–२ गोलले पराजित हुनुकै कारण लेस्टर भने १ अंकले पछि परेर युरोपा लिगका लागि छनोट भएको छ ।

    अघिल्लो सिजनको च्याम्पियन लिभरपुलका लागि यस सिजन सुरुआतदेखि नै राम्रो रहने । मुख्य खेलाडीहरु चोटको समस्यामा पर्दा लिभरपुलले आफ्नो इतिहासमै सबैभन्दा धेरैपल्ट घरेलु मैदानमा पराजित हुनुपर्ने स्थिति आयो ।

    लिगको पछिल्ला १० खेलयता उसले सुधारिएको प्रदर्शन गर्दै तेस्रो स्थानमा रहेर लिग अन्त्य गर्नु उसका प्रशिक्षक जर्गेन क्लोपकै भाषामा आनन्ददायी क्षण हो । ‘निकै नै शानदार । हामी यस्तै माहोल चाहन्थ्यौं । तेस्रो स्थानमा रहेर लिग अन्त्य गर्नु सुखद क्षण हो । यो सबै श्रेय खेलाडीहरुलाई नै जान्छ । पछिल्ला केहि साता हामीले अविश्वसनीय फुटबल खेल्यौं,’ क्लोपले भने ।

    चेल्सीको च्याम्पियन्स लिग छनोट चाहिँ टोटनह्यामले सजिलो बनाइदियो, लेस्टरलाई हराएर । एस्टोन भिल्लासँग पराजित भएको चेल्सी अर्को खेलमा लेस्टर विजयी भएको भए युरोपा लिगमा झर्ने थियो । यी दुईबीच १ अंकको अन्तरमा दुई लिगको छिनोफानो भएको हो ।

    पूरा सिजन उत्कृष्ट प्रदर्शन गर्दै लिगको तेस्रो स्थानमा धेरै समय टिकेको लेस्टरले अन्त्यतिर ३ खेलमा पराजय ब्यहोरेपछि पाँचौंमा झ¥यो ।

    घरेलु टोली एष्टोन भिल्लाका लागि ट्राओरेले पहिलो हाफमा अग्रता दिलाएका थिए । एल घाजीले दोस्रो हाफको सुरुमै गोल गरेपछि उसले अग्रता दोब्बर बनायो । वेन चिलवालले ७० औं मिनेटमा एक गोल फर्काएका थिए । ८९ औं मिनेटमा आच्विलीक्वेयटाले रातो कार्ड पाएपछि चेल्सीले १० खेलाडीमा रहेर खेल अन्त्य गरेको थिया ।

    प्रिमियर लिगको उपाधि यसअघि नै म्यानचेस्टर सिटीले जितिसकेको छ । लिगको अन्तिम खेलमा उसले एभर्टनमाथि ५–० गोलको शानदार जितसिहत ट्रफी उचाल्यो । सिटीले लिगमा ८६ अंक जोड्यो भने दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडलाई १२ अंकले पछि पा¥यो ।

     

  • एट्लेटिको मड्रिड सात वर्षपछि ला लिगा च्याम्पियन

    एट्लेटिको मड्रिड सात वर्षपछि ला लिगा च्याम्पियन

    एजेन्सी । लुइस स्वारेजले विजयी गोल गरेपछि शहरीय प्रतिद्वन्द्वी रियल मड्रिडलाई पछि पार्दै एट्लेटिको मड्रिडले यो सिजनको स्पेनिस ला लिगा उपाधि जितेको छ ।

    डिएगो सिमोनी प्रशिक्षित एट्लेटिकोले भालाडोलिडसँग पहिलो हाफमा पछि परेको थियो । ओस्कार प्लानोले गोल गरेपछि एट्लेटिको सुरुमै दवावमा आयो । तर दोस्रो हाफमा एंगेल कोरिया र स्वारेजले १० मिनेटको अन्तरमा गोल गरेपछि खेल एट्लेटिकोको पक्षमा फर्कियो ।

    रियल मड्रिडले पनि भिल्लारियलमाथि अन्तिम समयमा गरेको दुई गोलमार्फत २–१ को जित हासिल गरेको थियो । तर दोस्रो स्थानमै सीमित रहेर लिग टुंग्यायो ।

    उरुग्वेका ३४ वर्षीय स्ट्राइकर स्वारेजले यस सिजन ला लिगामा २१ गोल गरे । सन् २०१४÷१५ मा स्पेन आएयता उनले पाँच सिजन बीसभन्दा बढी गोल गरेका छन् । उनी डेभिड भिया र आद्रा टुरानपछि बार्सिलोना र एट्लेटिको दुवैबाट ला लिगा जित्ने तेस्रो खेलाडी हुन् ।

    उनको उमेरका कारण स्वारेजले बार्सिलोनामा पछिल्लो सिजन अपमानित हुँदै बाहिरिनुपरेको थियो । प्रशिक्षक रोनाल्ड कोम्यानले स्वारेजका लागि आफूले कुनै योजना नबनाएको सार्वजनिक अभिव्यक्ति दिएका थिए । बार्सिलोना क्लब व्यवस्थापन र कप्तान लियोनल मेस्सीबीचको सबैभन्दा ठूलो दरारको मुख्य कारण यही पनि थियो । मेस्सीले पाका खेलाडीलाई हेप्ने गरिएकोमा असन्तुष्टि व्यक्त गरेका थिए ।

    उपाधि जितेपछि निकै नै भावुक देखिएका स्वारेजले भने, ‘म एट्लेटिकोप्रति अनुग्रहित छु कि उनीहरुले मलाई अवसर दिए र यो स्थितिमा विश्वास गरे । मेरो अप्ठेरो स्थितिमा मसँगै रहेकी मेरी श्रीमती र बच्चाहरुले पनि धेरै सहयोग गरे ।’

  • युरो २०२० का लागि पोर्चुगलको टोली घोषणा, रोनाल्डो पाँचौं पटक खेल्दै

    युरो २०२० का लागि पोर्चुगलको टोली घोषणा, रोनाल्डो पाँचौं पटक खेल्दै

    एजेन्सी । अर्को महिना विभिन्न शहरमा हुने युइएफए युरोका लागि साविक विजेता पोर्चुगलको टोली घोषणा भएको छ । मुख्य प्रशिक्षक फर्नान्डो सान्तोसले पाँच पटकका बालोन डी’अर विजेता क्रिस्टियानो रोनाल्डको कप्तानीमा २६ सदस्यीय टोलीको घोषणा गरेका हुन् ।

    सन् २००४ मा पोर्चुगलले नै आयोजना गरेको संस्करणमार्फत् प्रतियोगितामा ‘डेब्यू’ गरेका स्टार फरवार्ड रोनाल्डो लगातार पाँचौं संस्करण खेल्दै छन् ।

    २००४ मा फाइनलमा पुगेर घरेलु मैदानमा ग्रीससँग पराजित भएको पोर्चुगलले २०१६ मा फ्रान्सलाई उसकै मैदानमा पराजित गर्दै पहिलो पटक युरो जितेको थियो ।

    रोनाल्डोको नेतृत्वमा सम्भवत: अन्तिम युरो खेल्ने तयारीमा रहेको पोर्चुगलको टोलीमा युवा खेलाडी जुवाओ फेलिक्सले पनि स्थान बनाएका छन् ।

    समूह एफमा रहेको पोर्चुगलले जुन १५ मा हंगेरीसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । युरोपेली फुटबलका पावर हाउसहरू फ्रान्स र जर्मनीसमेत सोही समूहमा रहेकाले समूह चरणमै सेमिफाइनल समान प्रतिस्पर्धा हुने निश्चित छ ।

    पोर्चुगलको टोली:

    गोलकिपर्स: एन्थोनी लोपेज, रुइ पेट्रिसियो, रुइ सिल्भा

    डिफेन्डर्स: जुवाओ कान्सेलो, नेल्सन सेमेडो, जोसे फोन्ट, पेपे, रुबेन डियाज, नुनो मेन्डेज, राफाइल गुरेइरो

    मिडफिल्डर्स: डानिलो परेइरा, जुवाओ पल्हिन्हा, रुबेन नेभेस, ब्रुनो फर्नान्डेज, जुवाओ माउटिन्हो, रेनाटो सान्चेज, सर्जियो ओलिभेरा, विलियम कार्भल्हो

    अट्याकर्स: प्रेडो गोन्काल्भेस, एन्ड्रे सिल्भा, बर्नार्डो सिल्भा, क्रिस्टियानो रोनाल्डो, डिएगो जोटा, गोन्कालो गुइडेज, जुवाओ फेलिक्स, राफा सिल्भा

  • रंगशालामा राष्ट्रिय फुटबल टोलीको अभ्यास

    रंगशालामा राष्ट्रिय फुटबल टोलीको अभ्यास

    काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले इराकविरुद्धको मैत्रीपूर्ण खेल तथा एएफसी एसियन कप र फिफा विश्व कपको संयुक्त छनोटका तयारी गरिरहेको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले घोषणा गरेको २३ सदस्यीय टोलीसँगै त्यसअघि बोलाइएका खेलाडीले पनि अभ्यास गरिरहेका छन् ।

    बिहीबार दशरथ रंगशालामा भएको ट्रेनिङमा यसअघि प्रारम्भिक टोलीमा परेका खेलाडीहरूसँगै चोटका कारण लामो समयदेखि मैदान बाहिर रहेका बिक्रम लामाले पनि सामान्य अभ्यास गरेको देखियो ।

    आफ्नो नेतृत्वमा पहिलो अन्तर्राष्ट्रिय खेल खेलाउन लागेका प्रशिक्षक अल्मुताइरीले यसअघि घोषित टोलीबाट १० जना खेलाडी मात्र २३ जनाको अन्तिम टोलीमा समावेश गरेका छन् ।

    २६ सदस्यीय नेपाली टोली:
    गोलकिपर्स: किरण चेम्जोङ, दीप कार्की, विशाल सुनार

    डिफेन्डर्स: अनन्त तामाङ, दीनेश राजवंशी, गौतम श्रेष्ठ, रोहित चन्द, सुमन अर्याल, विकाश खवास

    मिडफिल्डर्स: एरिक विष्ट, विशाल राई, मनिष डाँगी, कमल थापा, सन्तोष तामाङ, सुनिल बल, सुरज जेउ ठकुरी, पुजन उपरकोटी, आयुश घलान

    अट्याकर्स: अभिषेक रिजाल, अन्जन विष्ट, नवयुग श्रेष्ठ, आशिष लामा, सुमन लामा

  • लिभरपुललाई शीर्ष चारभित्र पर्न अन्तिम खेलमा जित आवश्यक

    लिभरपुललाई शीर्ष चारभित्र पर्न अन्तिम खेलमा जित आवश्यक

    एजेन्सी । गएराति बर्नलीलाई ३-० गोलले हराएको खेललाई लिभरपुलका प्रशिक्षक जर्गेन क्लोपले शीर्ष चारभित्र पर्न ‘सेमिफाइनल’को संज्ञा दिएका छन् । लिगको अन्तिम चरणको क्रिष्टल प्यालेसविरुद्ध हुने खेल शीष चारको यात्रामा ‘फाइनल’ हुनेछ ।

    अघिल्लो खेलमा वेष्टब्रुममाथिको शानदार जितले लिभरपुललाई च्याम्पियन्स लिगको आशा जगाइदिएको हो । जहाँ अन्तिम सेकेण्डमा गोलरक्षक एलिसन बेकरले गोल गरेपछि लिभरपुलले तीन अंक हासिल गरेको थियो ।

    बर्नलीविरुद्ध भने लिभरपुललाई कठिन भएन । रोवर्टो फिर्मिनोले शानदार गोलमार्फत पहिलो हाफमा पाहुना टोलीलाई अग्रता दिलाएका थिए ।

    दोस्रो हाफमा नाथानियल फिलिम्स र एलेक्स अक्सलेड च्याम्बरलिनले १–१ गोल थपे । दुवैले क्लबका लागि पहिलो गोल गरेका हुन् । अघिल्लो खेलको तुलनामा लिभरपुलको रक्षापंक्ति पनि सुधारिएको थियो ।

    लेस्टर सिटीसँग समान ३७ खेलबाट ६६ अंक रहे पनि गोलअन्तरका आधारमा लिभरपुल अगाडि रहँदै चौथो स्थानमा उक्लिएको छ । उसले तीन दिनपछि एनफिल्डमा रोय हट्सन प्रशिक्षित क्रिष्टल प्यालेसको आतिथ्य गर्दैछ । यस खेलमा १० हजार दर्शक उपस्थित हुनेछन् ।

    अर्कोतर्फ लेस्टरले आफ्नै मैदानमा टोटनह्यामसँग खेल्नेछ भने दुई अंकले अगाडि रहेको तेस्रो स्थानको चेल्सीले एष्टोन भिल्लासँग खेल्नेछ ।

  • युरो २०२० का लागि जर्मनीको टोली घोषणा

    युरो २०२० का लागि जर्मनीको टोली घोषणा

    काठमाडौं । जोचिम लोले अर्को महिना हुने युइएफए युरो २०२० का लागि जर्मनीको २६ सदस्यीय टोली सार्वजनिक गरेका छन् ।

    जर्मनीलाई विश्वकप जिताइसकेका मुख्य प्रशिक्षक लोले युवा र अनुभवी खेलाडी मिश्रित टोलीको घोषणा गरेका हुन् ।

    जर्मनीको टोली

    गोलकिपर्स: म्यानुएल नोएर, बर्न्ड लेनो, केभिन ट्रयाप

    डिफेन्डर्स: रोबिन कोच, एन्टोनियो रुडिगर, मार्सेल हल्सटेन्बर्ग, लुकार क्लोस्टरम्यान, क्रिस्टियन गन्टर, म्याट्स हुमल्स, रोबिन गोसेन्स, म्याथियाज गिन्टरख निक्लस स्युल

    मिडफिल्डर्स: जोसुवा किमिच, लियोन योरेट्ज्का, काई हाभर्ट्ज, थोमस मुलर, टोनी क्रुस, जमल मुसियाला, एम्रे च्यान, जोनस होफम्यान, फ्लोरियान नेउहाउस, इल्काइ गुन्डोगान, लिरोइ साने

    अट्याकर्स: केभिन भोलान्ड, टिमो वेर्नर, सर्ज गिनाब्री

  • ओलम्पिकका लागि निरन्तर अभ्यासमा छन् कराते खेलाडी

    ओलम्पिकका लागि निरन्तर अभ्यासमा छन् कराते खेलाडी

    काठमाडौं । वाइल्ड कार्डबाट टोकियो ओलम्पिक २०२१ मा सहभागिता जनाउने लक्ष्यका साथ अहिले नेपाली कराते खेलाडी ललितपुरस्थित सातदोबाटोको कर्भडहलमा व्यस्त छन् । अनु अधिकारी र नविन रसाइली अहिले स्वास्थ मापदण्ड पूरा गरेर दैनिक अभ्यासमा जुटेका छन् । उनीहरूको प्रमुख लक्ष्य नै नेपालको प्रतिनिधित्व गर्दै ओलम्पिकमा सहभागी हुनु हो ।

    कोरोनाको दोस्रो लहर काठमाण्डौं उपत्यकामा उच्च गतिमा फैलिरहेको छ । तर, पनि टोकियो ओलम्पिक तयारी गरिरहेका कराते खेलाडीले स्वास्थ मापदण्ड पूर्ण रूपमा पालना गर्दै तयारीलाई तीब्रता दिइरहेका छन् । अनु अधिकारी र नविन रसाईली वाइल्ड कार्डमार्फत् सहभागिता जनाउने लक्ष्यका साथ कठोर मेहनत गरिरहेका छन् ।

    खेलाडीलाई अभ्यास दिइरहेका करातेका प्रशिक्षक दीपक श्रेष्ठले महामारीका बीच पनि तयारी गरिरहेको बताए ।

    ‘वाइल्ड कार्डबाट ढोका खोल्ने लक्ष्य राखेका खेलाडीले २०२१ मा जापानमा हुने ओलम्पिकका लागि अभ्यासलाई निरन्तरता दिइरहेका छन्,’ करातेक प्रशिक्षक दीपक श्रेष्ठ भन्छन्,’ नेपाली करातेले इतिहास रचेको सबैमा सर्वविदितै छ । टोकियो ओलम्पिक कोरोनाकै कारण एक वर्षका लागि धकेलिएपछि तयारी गरिरहेका खेलाडीमा महामारीले अन्योल छाएको छ ।’

    करातेका प्रशिक्षक दीपक श्रेष्ठ ।

    नेपाली खेलाडीमा पनि त्यसको असर देखिएको छ । जसका कारण अभ्यास केही समय स्थगित पनि भयो । तर, सरकारले अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी हुने खेललाई पूर्ण रूपमा स्वास्थमापदण्ड पालना गदै अभ्यासको अनुमति दिएसँगै नेपाली खेलाडी पनि अभ्यासमा फर्किएका हुन् । तयारीमा रहेका खेलाडीलाई पारिवारिक रुपमा स्वास्थ्य मापदण्ड अपनाएर अभ्यासलाई निरन्तरता दिन निर्देशन दिएको प्रशिक्षक श्रेठले बताए ।

    टोकियो ओलम्पिक आयोजना हुने नहुने अझै अनिश्चित छ । विभिन्न स्तरमा प्रतियोगिता रोकिने चर्चा चलिरहेका छन् भने आयोजकले स्वास्थ मापदण्डलाई कठोर रूपमा पालना गर्दै प्रतियोगिता सम्पन्न गर्ने जनाइरहेको छ । अन्योलबीच खेलाडीको मनोबललाई उच्च राख्नका लागि अभ्यासलाई निरन्तरता दिइरहेको प्रशिक्षक श्रेष्ठ बताउँछन् ।

    ओलम्पिकका लागि नेपालबाट वाइल्ड कार्डका लागि तयारीमा रहेका १२ खेलाडी मध्ये करातेका अनु अधिकारी र नविन रसाइलीले अभ्यास गरिरहँदा अन्यको अभ्यास भने चुस्त हुन सकेको छैन । १२ खेलाडी वाइल्ड कार्डको पर्खाइमा रहँदा नेपालका अन्य तीन खेलाडी भने युनिभर्सल कोटामा छनोट भइसकेका छन् ।

    स्विमिङबाट गौरिका सिंह र एलेक्स शाह तथा एथ्लेटिक्सबाट गोपी चन्द्र पार्कीको सहभागिता निश्चित भइसकेको छ । अन्य खेलाडीको हकमा भने अझै अनिश्चित छ ।

  • लेस्टरलाई हराएपछि चेल्सीको च्याम्पियन्स लिग छनोट सम्भावना प्रवल

    लेस्टरलाई हराएपछि चेल्सीको च्याम्पियन्स लिग छनोट सम्भावना प्रवल

    एजेन्सी । इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटीलाई २–१ गोलअन्तरले पराजित गरी चेल्सी तेस्रो स्थानमा उक्लिएको छ ।

    लिगको अन्त्यतिर हासिल गरेको यो जितले चेल्सीलाई च्याम्पियन्स लिग छनोट सम्भावना बलियो पारेको छ । यो हारले लेस्टरलाई भने च्याम्पियन्स लिग छनोट हुन नसक्ने खतरा बढाएको छ ।

    तीन दिन अगाडि मात्र लेस्टरले चेल्सीलाई हराएर एफए कप उपाधि जितेको थियो । घरेलु मैदानमा ८ हजार दर्शक अगाडि चेल्सीका लागि एन्टोनियो रुडिजर र जोर्जिन्होले गोल गरी लेस्टरबिरुद्ध बदला लिए ।

    केलेची हेनाचोले एक गोल गरेर खेलमा फर्कने प्रयास गरेका थिए । तर उनीहरुले थप गोलको अवसर सृजना गर्न सकेनन् ।

    लिगको अन्तिम खेल बाँकी रहँदा चेल्सी ६७ अंकसहित तेस्रो स्थानमा छ । ६६ अंक रहेको लेस्टर चौथो स्थानमा झरेको छ । ६३ अंक रहेको लिभरपुलले एक खेल कम खेलेको छ ।

    लिभरपुलले बाँकी दुवै खेल जितेको अवस्थामा लेस्टर च्याम्पियन्स लिगबाट बाहिरिन सक्नेछ । प्रिमियर लिगका शीर्ष चार टोलीले आगामी सिजन च्याम्पियन्स लिग खेल्न पाउँछन् ।

    लिगको उपाधि भने यसअघि नै म्यानचेस्टर सिटीले जितिसकेको छ ।

  • विश्वकप छनोटका लागि नेपालको टोलीमा ‘ड्रास्टिक चेन्ज’

    विश्वकप छनोटका लागि नेपालको टोलीमा ‘ड्रास्टिक चेन्ज’

    काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले इराकविरुद्धको मैत्रीपूर्ण खेल तथा एएफसी एसियन कप र फिफा विश्व कपको संयुक्त छनोटका लागि २३ सदस्यीय टोलीको घोषणा गरेका छन् ।

    आफ्नो नेतृत्वमा पहिलो अन्तर्राष्ट्रिय खेल खेलाउन लागेका प्रशिक्षक अल्मुताइरीले यसअघि घोषित टोलीबाट १० जना खेलाडी मात्र २३ जनाको अन्तिम टोलीमा समावेश गरेका छन् ।

    २६ सदस्यीय नेपाली टोली:

    गोलकिपर्स: किरण चेम्जोङ, दीप कार्की, विशाल सुनार

    डिफेन्डर्स: अनन्त तामाङ, दीनेश राजवंशी, गौतम श्रेष्ठ, रोहित चन्द, सुमन अर्याल, विकाश खवास

    मिडफिल्डर्स: एरिक विष्ट, विशाल राई, मनिष डाँगी, कमल थापा, सन्तोष तामाङ, सुनिल बल, सुरज जेउ ठकुरी, पुजन उपरकोटी, आयुश घलान

    अट्याकर्स: अभिषेक रिजाल, अन्जन विष्ट, नवयुग श्रेष्ठ, आशिष लामा, सुमन लामा

  • युरो २०२० का लागि क्रोएसियाको टोली घोषणा

    युरो २०२० का लागि क्रोएसियाको टोली घोषणा

    एजेन्सी । अर्को महिना आयोजना हुने युइएफए युरोपियन फुटबल च्याम्पियनसिपका लागि विश्व कपको साविक विजेता क्रोएसियाले २६ सदस्यीय टोली घोषणाा गरेको छ ।

    ज्लाट्को डालिचले सोमबार घोषणा गरेको २६ सदस्यीय टोलीमा लुका मोडरिच, इभान पेरिसिच लगायतका स्टार खेलाडीहरूले पनि स्थान बनाएका छन् ।

    जुन ११ देखि सुरु हुने युरोको समूह ‘बी’मा रहेको क्रोएसियाले १३ जुनमा इङ्ग्ल्यान्डसँग लन्डनमा खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।

    क्रोएसियाको टोली

    गोलकिपर्स: लोभरे कालिनिच, डोमिनिक लिभाकोभिच, सिमोन स्लुगा

    डिफेन्डर्स: डोमागोज भिदा, डेजान लोभरेन, सिम भ्रस्लाज्को, बर्ना बारिसिच, डुजे कालेटा कार, जोसिप जुरानाभिच, डोमागोज बराडारिच, मिले स्कोरिच, जोस्को जिभार्डिओल

    मिडफिल्डर्स: लुका मोडरिच, माटेओ कोभासिच, मार्सेलो ब्रोजोभिच, मिलान बाडेल, मारियो पासालिच, निकोला भ्लासिच, लुका इभानुसेच

    अट्याकर्स: इभान पेरिसिच, आन्द्रे क्रमारिच, एन्टे रेबिच, जोसिप ब्रेकालो, ब्रनो पेटकोभिच, मिस्लाभ ओरिसिच, एन्टे बुडिमिर

  • अर्को सिजनदेखि टोटनह्याम छाड्न चाहन्छन् ह्यारी केन

    अर्को सिजनदेखि टोटनह्याम छाड्न चाहन्छन् ह्यारी केन

    एजेन्सी । इंग्लिस तथा टोटनह्यामका स्ट्राइकर ह्यारी केनले आगामी सिजनदेखि आफूले क्लब छाड्न लागेको व्यवस्थापनलाई जानकारी गराएका छन् ।

    उनी लामो समयदेखि करिअरको विकासका लागि अन्य ठूला क्लबमा जानेबारे योजनामा थिए । २७ वर्षीय केन उच्चतम तहमा प्रतिस्पर्धा गर्नमा क्लब असफल हुन थालेपछि निराश थिए । मुख्यतः यो सिजन च्याम्पियन्स लिगमा छनोट हुन नसकेपछि उनले अर्को सिजनदेखि ठूला क्लब हेर्ने मनसायमा पुगेका हुन् ।

    टोटनह्याम लामो समयदेखि आफ्ना मुख्य स्ट्राइकरलाई गुमाउन चाहिरहेको छैन । इंग्ल्याण्ड राष्ट्रिय टोलीका कप्तानसमेत रहेका केनको अपेक्षा भने लामो समयसम्म क्लबको सफलतामा योगदान दिएपछि अब आफ्नो चाहनाअनुसार छाड्ने अनुमति पनि पाउनुपर्छ भन्ने छ ।

    केनको टोटनह्यामसँगको सम्झौता सन् २०२४ सम्म छ । त्यसैले क्लबले ट्रान्सफरमा मोटो रकम माग गर्नेछ । क्लबका अध्यक्ष ड्यानियल लेभीले छोड्दा सम्भवतः इंग्ल्याण्डकै क्लबमा जाओस भन्ने चाहन्छन् ।

    म्यानचेस्टर युनाइटेड, म्यानचेस्टर सिटी र चेल्सी केनका सम्भावित गन्तव्यहरु हुन् । तर अहिलेसम्म केहि स्पष्ट भएको छैन कि उनलाई कुन क्लबले प्रस्ताव गरेका छन् ।

    यी तीनै क्लबहरु आर्थिक रुपमा बलिया छन् र स्ट्राइकर खोजिरहेका छन् । तर कोरोना महामारीका कारण केहि आर्थिक क्षति भने दुवै पक्षलाई हुन सक्छ ।

    प्रिमियर लिगको यो सिजन केनले सर्बाधिक २२ गोल गरेका छन् । उनी लिभरपुलका मोहम्मद सलाहसँगै गोल्डेन बुटको दावेदारितामा छन् । केनले टोटनह्यामका लागि योसिजन सबै प्रतियोगितामा गरी ४७ खेलमा ३२ गोल र १६ असिस्ट गरेका छन् ।

  • युरो २०२० का लागि बेल्जियमको टोली सार्वजनिक, यानुजाइ परेनन्

    युरो २०२० का लागि बेल्जियमको टोली सार्वजनिक, यानुजाइ परेनन्

    एजेन्सी । अर्को महिनादेखि सुरु हुने ‘युइएफए युरो २०२०’ का लागि विश्व वरीयताको शीर्ष स्थानको बेल्जियमले २६ सदस्यीय टोली सार्वजनिक गरेको छ ।

    मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले सोमबार सार्वजनिक गरेको २६ खेलाडीको सूचीमा गोलकिपर टिवाउट क्वार्टुवा, केभिन डी ब्रुयना, रोमेलु लुकाकु र कप्तान इडेन हाजार्डले पनि स्थान बनाएका छन् ।

    तर, म्यानचेस्टर युनाइटेडका पूर्व खेलाडी अड्नान यानुजाइले भने स्थान बनाउन सकेनन् ।

    बेल्जियमको टोली

    गोलकिपर: टिवाउट क्वार्टुवा, सिमोन मिन्योलेट, म्याट्ज सेल्स

    डिफेन्डर्स: टोबी अल्डेर्वेरल्ड, डेड्रिक बोयटा, जेसन डेनायर, थोमस भर्मालेन, यान भेट्रोङ्घन

    मिडफिल्डर्स: यानिक कारास्को, टिमोथी क्यासटाइन, नसेर च्याड्ली, थ्रोगन हाजार्ड, थोमस म्युनियर, केभिन डी ब्रुयना, लिएन्डर डेन्डोन्कर, डेन्निस प्राएट, युरी टिलेमान्स, हान्स भेनाकन, एलेक्स विस्टेल

    अट्याकर्स: जरेमी डोकु, इडेन हाजार्ड, द्रिएस मर्टेन्स, लिएन्ड्रो ट्रोस्सार्ड, मिचि बात्सुवायी, क्रिस्टियन बेन्टेके, रोमेलु लुकाकु

  • एट्लेटिको मड्रिडलाई ला लिगा जित्न अन्तिम खेल निर्णायक

    एट्लेटिको मड्रिडलाई ला लिगा जित्न अन्तिम खेल निर्णायक

    एजेन्सी । लुइस स्वारेजले नाटकीय रुपमा अन्तिम समयमा गोल गरेपछि एट्लेटिको मड्रिडले ओसासुनामाथि २–१ गोलको सानदार पुनरागमन जित निकालेको छ । सात वषैपछि पहिलोपल्ट ला लिगा उपाधि उचाल्ने एट्लेटिकोको लक्ष्यमा अब एउटा जितमात्र बाँकी छ ।

    डिएगो सिमोनी प्रशिक्षित एट्लेटिकोले लिगको अन्तिम खेल रियल भालाडोलिडको मैदानमा खेल्नेछ र उनीहरुलाई थाहा छ कि त्यो खेलमा जित हासिल गरेको खण्डमा लिग उपाधि उचालिनेछ ।

    पहिलो हाफ प्रतिस्पर्धात्मक बराबरी भए पनि ७५ औं मिनेटमा अन्टे बुदिमिरको गोलमार्फत अग्रता लिएको ओसासुना अप्रत्यासित जिततर्फ उन्मुख थियो । त्यसो भएको भए रियल मड्रिड शीर्ष स्थानमा पुग्ने थियो ।

    ८२ औं मिनेटमा रेनान लोदीले जुवाओ फेलिक्सको पासमा गोल गरेपछि खेल बराबरीमा आयो । ८८ औं मिनेटमा यान्निकद कार्रास्सोको पासमा लुइस स्वारेजले निर्णायक र महत्वपूर्ण गोल गरे ।

    गएराति नै भएको खेलमा दोस्रो स्थानको रियल मड्रिडले एथ्टेलिक विल्वाओलाई १–० ले हराउँदा बार्सिलोना भने सेल्टा भिगोसँग २–१ ले पराजित रह्यो । बार्सिलोनाका लागि उपाधि सम्भावना समाप्त भएको छ । रियल र एट्लेटिको २ अंकको दूरीमा छन् ।

    अन्तिम खेलमा एट्लेटिकोले रियल भालाडोलिडसँग बराबरी वा पराजित भएको अवस्थामा र रियलले भिल्लारियललाई हराएको अवस्थामा ला लिगा उपाधि रियल मड्रिडमा आउन सक्छ ।

  • गोलकिपर अलिसनले ऐतिहासिक गोल गरेपछि लिभरपुलको महत्वपूर्ण जित

    गोलकिपर अलिसनले ऐतिहासिक गोल गरेपछि लिभरपुलको महत्वपूर्ण जित

    एजेन्सी । गोलरक्षक एलिसन बेकरले इन्जूरी समउमा गोलल गरेपछि वेष्टब्रुमलाई २–१ गोलअन्तरले हराउँदै लिभरपुलले इंग्लिस प्रिमियर लिगको शीर्ष चारभित्र रहेर च्याम्पियन्स लिगमा छनोट पाउने सम्भावनालाई कायमै राखेको छ ।

    लिभरपुललाई तीन अंकको अनिवार्य आवश्यकता थियो र खेलको अन्तिम मिनेटसम्म पुग्दा पाहुना टोलीका लागि त्यो सम्भावना समाप्त हुन लागेको थियो । यस्तोमा लिभरपुलले कर्नर पायो र अलिसन आफ्नो पोष्ट छाडेर विपक्षी पोष्टमा पुगे ।

    वास्तवमै त्यो लिभरपुलका लागि अन्तिम अवसर थियो । ट्रेन्ट अलेक्जान्दर आर्नोल्डको कर्नरमा पेनाल्टी एरियामा अनमार्क रहेका एलिसनले सानदार हेडिङमार्फत ऐतिहासिक गोल गर्न सफल भए । एउटा अविश्वसनीय टाइमिङको नमूना थियो त्यो । सन् १८९२ यता लिभरपुलको इतिहासमा प्रतिस्पर्धात्मक खेलमा गोलरक्षकले गोल गरेको यो पहिलोपल्ट हो ।

    यो जितले लिभरपुललाई चौथो स्थानको चेल्सीसँग १ अंकको अन्तरमा ल्याइदिएको छ । लिगमा सबैको दुई खेल बाँकी रहँदा तेस्रो स्थानको लेस्टर सिटीसँग ३ अंकको दूरीमा छ ।

    अर्को चरणमा चेल्सी र लेस्टर आमने सामने हुँदैछन् । लिभरपुलका प्रशिक्षक जर्गेन क्लोप त्यही खेल आफ्नो च्याम्पियन्स लिग आशामा निर्णायक होस भन्ने चाहन्छन्, लिभरपुलले अर्को खेल बर्नलीसँग बुधबार खेल्दैछ ।

    खेलको १५ औं मिनेटमै हल रब्सन कानुको गोलमार्फत घरेलु टोली वेष्ट ब्रुमले अग्रता बनाएको थियो । तर, मोहम्मद सलाहले ३३ औं मिनेटमा गोल गरेपछि पहिलो हाफ बराबरी भयो । अंक बाँड्नुपर्ने स्थिमिा पुगिसकेको खेलमा अलिसनले लिभरपुलको उद्दार गरेका हुन् । वेष्टब्रुम यसअघि नै रेलिगेसनमा पर्ने निश्चित भइसकेको छ ।

  • राष्ट्रिय फुटबल टोलीका सबै खेलाडी बन्द प्रशिक्षणमा

    राष्ट्रिय फुटबल टोलीका सबै खेलाडी बन्द प्रशिक्षणमा

    काठमाडौं । नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षकले मे २९ मा हुने इराकविरुद्धको मैत्रीपूर्ण खेल र विश्वकप तथा एसियन कपको छनोटका लागि बन्द प्रशिक्षणमा बोलाएका सबै खेलाडीले ट्रेनिङ सुरु गरेका छन् ।

    यसअघि नै स्वास्थ्य मापदण्ड पूर्ण रूपमा पालना गरेर आगामी खेलका लागि बन्द प्रशिक्षण सुरु भइसकेको छ ।

    तर, हिजो मात्र सम्पन्न भएको नेपाल सुपर लिगमा सहभागी भएका खेलाडीहरू भने आइतबारदेखि ट्रेनिङमा सहभागी भएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जानकारी दिएको छ ।

    नेपालले २९ मेमा इराकसँग मैत्रीपूर्ण खेल र संयुक्त छनोट अन्तर्गत जुन ३ मा चाइनिज ताइपेइसँग, जोर्डनविरुद्ध जुन ७ मा र अस्ट्रेलियाविरुद्ध जुन ११ मा कुवेतमा खेल्ने छ ।

    राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले ३२ जनाको प्रारम्भिक टोलीलाई बन्द प्रशिक्षणमा बोलाएका छन् ।

    बन्द प्रशिक्षणमा बोलाइएका ३२ खेलाडी: किरण कुमार लिम्बु, दीप कार्की, विशाल सुनार, अभिषेक रिजाल, अन्जन विष्ट, एरिक विष्ट, भरत खवास, दर्शन गुरुङ, विशाल राई, विशाल राई, दिनेश राजवंशी, गौतम श्रेष्ठ, मनिष डाँगी, नवयुग श्रेष्ठ, कमल थापा, रोहित चन्द, नितिन थापा, सन्तोष तामाङ, सेसेहाङ आङ्देम्बे, सुमन लामा, सुनिल बल, सुजर जेउ ठकुरी, निशान खड्का, पुजन उपरकोटी, अमित तामाङ, सुमन अर्याल, आशिष लामा, आयुष घलान, विवेक बस्नेत, विकाश खवास, रवि पासवान, रजिन धिमाल, अनन्त तामाङ ।

  • कराते खेलाडी यादवको कोरोना संक्रमणबाट निधन

    कराते खेलाडी यादवको कोरोना संक्रमणबाट निधन

    जनकपुरधाम । कोरोना भाइरस संक्रमणले एक कराते खेलाडीको निधन भएको छ । जनकपुरधाम उपमहानगर–१९ का ४० वर्षीय बैजनाथ यादवको उपचारका क्रममा गएराति निधन भएको हो ।

    संक्रमण पुष्टि भएपछि खेलाडी यादव काठमाडौं पुगेर बीर अस्पतालमा भर्ना भएका थिए । उपचारकै क्रममा गएराति उनको निधन भएको आफन्तले बताएका छन् ।

    यादव नेपाल क्युकोशिन कान कराते संघ प्रदेश २ का अध्यक्ष थिए । जनकपुरले आज खेलकुद जगतका एक योद्धा गुमाएको भन्दै धेरैले सामाजिक संजालमा दुस्ख व्यक्त गर्दै उनीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

  • लिसेस्टरलाई ऐतिहासिक एफ कप उपाधि

    लिसेस्टरलाई ऐतिहासिक एफ कप उपाधि

    एजेन्सी । युरी टेलिम्यान्सले एफए कप फाइनलमा अहिलेसम्मकै उत्कृष्ट गोल गरेपछि चेल्सीलाई पराजित गरी लिसेस्टर सिटीले आफ्नो इतिहासमा पहिलोपल्ट प्रतियोगिताको उपाधि उचालेको छ ।

    ६३ औं मिनेटमा करिव २५ यार्डबाट यी बेल्जियनले गरेको प्रहार चेल्सीका गोलरक्षक केपा अरिजाबालागाले रोक्ने प्रयास गरे पनि टप कर्नरबाट गोल हुन पुगेको थियो । र, यही गोल निर्णायक बन्यो ।

    यो गोलले प्रशिक्षक ब्रेण्डन रोजर्सलाई पुलकित पारिदियो, वेम्बलीमा रहेका लिसेस्टरका समर्थक पनि खुसीले गदगद थिए । लकडाउन पछि सबैभन्दा धेरै २१ हजार समर्थकलाई शनिबार राती वेम्बलीमा एफए कप फाइनल प्रत्यक्ष हेर्ने अनुमति दिइएको थियो । लिसेस्टरले सन् १९६९ पछि पहिलोपल्ट एफए कपको फाइनल खेलेको हो ।

    लिसेस्टरका गोलरक्षक चेमिचेलको दुई बचाउ उत्कृष्ट थियो । बेन चिलवालले आफ्नै पूर्व क्लबविरुद्ध गरेको हेडर पोष्टमा लाग्यो भने मासोन माउन्टले गरेको शशक्त प्रहार पोष्ट नजिकैबाट बाहिरियो ।

    खेलको अन्त्यतिर खेलमा नाटकीय क्षण देखियो । बक्सभित्रको माथापच्चीबीच लिसेस्टरका वेस मोर्गनले आफ्नै पोष्टमा गोल गर्न पुगे । तर भिडियो असिस्टेन्ट रेफ्री (भार)ले अमान्य गरिदिएपछि उसको भाग्य खुलेको हो ।

    खेल सकिएपछि लिसेस्टरका खेलाडी, अफिसियल तथा समर्थकहरु भावुक बनेका थिए । जसले ऐतिहासिक जितको आनन्द लिए ।

  • नेपाल सुपर लिग फुटबलको उपाधि काठमाडौं रेजर्सलाई

    नेपाल सुपर लिग फुटबलको उपाधि काठमाडौं रेजर्सलाई

    काठमाडौं । मुलुकको पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता खुकुरी नेपाल सुपर लिगको उपाधी काठमाडौं रेजर्सले जितेको छ ।

    शनिबार दशरथ रंगशालामा भएको फाइनलमा काठमाडौं रेजर्सले धनगढी सिटी एफसीलाई १-० गोलले पराजित गर्‍यो ।

    काठमाडौं रेजर्सले पहिलो हाफमा नै अग्रता लिएको थियो । विश्वास श्रेष्ठले दिएको पासमा मेसौके ओलुमोउले २१ औं मिनेटमा गोल गरेका थिए । जारी लिगमा उनको यो आठौं गोल थियो ।

    च्याम्पियन बनेसँगै काठमाडौंले ३५ लाख रुपैयाँसहित शिल्ड जितेको छ । दोस्रो भएको धनगढीले १५ लाख रुपैया प्राप्त गर्‍यो । नेपाल स्पोर्टस म्यानेजमेन्टको आयोजना र अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा भएको एनएसएलमा ७ शहरका ७ टोलीले भाग लिएका थिए ।

    राउण्ड रोबिन लिगपछि शीर्ष चार टोलीले प्ले–अफ खेल्दै फाइनलसम्म स्थान बनाएका थिए । एनएसएलमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसीले भाग लिएका थिए ।

  • नेपाल सुपर लिग: उपाधि उचाल्ने दुवै टोलीको दावी

    नेपाल सुपर लिग: उपाधि उचाल्ने दुवै टोलीको दावी

    काठमाडौं । नेपालमा पहिलो पटक आयोजना भएको फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसल) मा शनिबार धनगढी फुटबल क्लब र काठमाडौं रेजर्स उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् । ट्रफी सार्वजनिक तथा प्रि–म्याच कन्फरेन्समा बोल्दै दुवै टोलीका कप्तानले उपाधि उचाल्ने दावी गरे ।

    लिग चरणका खेलबाट शीर्ष स्थानमा रहँदै प्ले अफमा प्रवेश गरेको काठमाडांै रेजर्सले इलिमिनेटर खेलमा भाग्यमाथि हुँदै अन्तिम दुईमा स्थान बनाउन सफल भएको थियो । यही टोली शनिबार पहिलो क्वालिफायरमा प्रतिस्पर्धा गरेको टोली धनगढीविरुद्ध उपाधिका लागि प्रतिस्पर्धा गर्दैछ ।

    काठमाडौं मैदान उत्रिदा लिग चरण र पहिलो क्वालिफायरमा हारेको बदला लिने अवसर मिलेको छ । टोलीका प्रशिक्षक बालगोपाल महर्जनले यस अघिका दुई खेलमा भोगेको पराजयमा भएका कमी कमजोरीलाई सुधार गर्दै आफ्नो टोली उपाधिलाई मैदान उत्रिने र उपाधि काठमाडौंमा नै राख्ने प्रतिक्रिया दिए ।

    प्रशिक्षक महर्जनले केही खेलाडीमा चोट भए प्रतिस्पर्धाका लागि टोली पुग्ने भन्दै फाइनल खेलमा सुखद नतिजा निकाल्नेमा आफ्नो टोली तयार रहेको थपे । कप्तान विकेश कुथुले प्रशिक्षकको भनाईलाई साथ दिँदै पहिलो संस्करणको उपाधि जितेर इतिहास रच्ने लक्ष्यका साथ आफ्नो टोली मैदान उत्रिने प्रतिक्रिया दिए ।

    उता पहिलो क्वालिफायरमा काठमाडौंमाथि अतिरिक्त समयमा रोमाञ्चक जित निकाल्दै फाइनलको ढोका खोलेको धनगढीले पनि सहजै उपाधि उचाल्नेमा आत्मविश्वासी देखियो । प्रशिक्षक तोपे फुजाले लिग चरण र क्वालिफयारमा निकालेको जितले खेलाडीमा आत्मविश्वास भएको र फाइनल खेल पनि आफ्नो पोल्टामा पर्ने दावी गरे ।

    यस्तै धनगढीका कप्तान किरण चेम्जोङले सुरुआती खेलमा आफ्नो टोलीले सोचे जस्तो प्रदर्शन गर्न नसके पनि पछिल्ला खेलमा लय समात्न सफल भएको भन्दै फाइनलमा पनि राम्रो गर्ने विश्वास व्यक्त गरे ।

    सोही कार्यक्रममा विजयी टोलीलाई प्रदान गरिने ट्रफी पनि सार्वजनिक गरियो । फाइनल पुगेको धनगढीले लिग चरणका काठमाडौंलाई २–१ ले पराजित गरेको थियो भने काठमाडौंले इलिमेनेटरको विजयी टोली ललितपुर सिटीमाथि दोस्रो क्वालिफायर खेलमा ३–० को जित निकाल्दै धनढीसँगको भिडन्त पक्का गरेको थियो ।

    पहिलो पटक आयोजना भएको फ्रेन्चाई फुटबल प्रतियोगिताको विजेताले नगद ३५ लाख रुपैयाँ प्राप्त गर्नेछ । यस्तै उपविजेताले १५ लाख रुपैयाँ पाउनेछ भने व्यक्तिगत विधाका विजेता तथा एक जना उदीयमान खेलाडीले जनही १ लाख रुपैयाँ पाउनेछन ।

  • ला लिगामा शीर्ष स्थानको एट्लेटिकोलाई दवाव दिँदै रियल मड्रिड

    ला लिगामा शीर्ष स्थानको एट्लेटिकोलाई दवाव दिँदै रियल मड्रिड

    एजेन्सी । ग्रानाडालाई ४–१ गोलअन्तरले पराजित गरी रियल मड्रिडले स्पेनिस ला लिगाको शीर्ष स्थानमा रहेको एट्लेटिको मड्रिडमाथिको दवाव थपेको छ ।

    मिगुल गुटेरेजको पासमा लुका मोड्रिडले १७ औं मिनेटमा रियलको अग्रता दिलाएका थिए । रोड्रिगोले इन्जूरी समयमा गोल गरेपछि पहिलो हाफमा रियल २–० ले अगाडि बढ्यो ।

    भेट्रान जर्ज मोलिनाले एक गोल फर्काएसँगै ग्रानाडाले खेलमा फर्कने प्रयास गरे पनि इडेन हाजार्डको पासमा अल्भारो ओड्रिजोला र त्यसपछि गोलकिपरको कमजोरीको फाइदा उठाउँदै ४० यार्डबाट खाली पोष्टमा गोल गरेपछि मड्रिड सजिलै विजयी भयो ।

    रियलले पहिलो हाफमा गरेको दुवै गोलका लागि पास मिलाउने खेलाडीहरु सन् २००० को दशकमा जन्मिएका हुन् । गुटेरेजले त ला लिगामा डेब्यू खेलमै गोल असिस्ट गरेका हुन् ।

    आइतबार रियलले एथ्लेटिक विल्बाओलाई जित्न सकेन र एट्लेटिको मड्रिडले ओसासुनालाई हरायो भने सोही दिन उपाधि जित्नेछ । एट्लेटिकोसँग चार अंकको दूरीमा रहेको बार्सिलोनाले पनि आइतबार सेल्टा भिगोसँग खेल्दैछ ।

     

  • एनएसएलको फाइनल प्रवेशका लागि आज काठमाडौं र ललितपुर भिड्दै

    एनएसएलको फाइनल प्रवेशका लागि आज काठमाडौं र ललितपुर भिड्दै

    काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा आज भ्याली डर्बी अर्थात् काठमाडौं रेजर्स र ललितपुर सिटी एफसी आमने सामने हुँदैछन् ।

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजेदेखि सुरु हुने खेलको विजेताले शनिबार धनगढी एफसीसँग फाइनल खेल खेल्नेछ ।

    काठमाडौं पहिलो क्वालिफायरमा धनगढीसँग पराजित भएर दोस्रोपल्ट अवसर पाएको टोली हो । ललितपुरले भने हिजो इलिमिनेटर चरणमा बुलवल लुम्बिनी एफसीलाई १-० ले हराएर काठमाडौंसँगको खेल तय भएको हो ।

    यी दुईबीच प्रतियोगिताकै पहिलो खेलमा प्रतिस्पर्धा भएकोमा काठमाडौं १-० ले विजयी भएको थियो । लिग चरणमा चार खेलसम्म जितबिहीन ललितपुरले अन्तिम खेलपछि मात्र प्लेअफको टुंगो लागेको थियो । काठमाडौं भने एक खेल अगावै प्लेअफ पुगेको थियो भने लिगमा सर्बाधिक १३ अंकसमेत जोडेको थियो ।

    २४ घण्टाभन्दा कम समयमा दुई खेल खेल्नुपर्ने अवस्थामा ललितपुरका लागि आजको खेल चुनौतिपूर्ण हुन सक्छ । काठमाडांैले भने करिव ४८ घण्टाको आराम समय पाएको छ ।

    नेपालमै पहिलोपल्ट अक्नसमा आधारित फ्रेन्चाइज फुटबल प्रतियोगिताको उपाधि विजेताले ३५ लाख र उपविजेताले १५ लाख रुपैयाँ पाउनेछ ।

  • एनएसएलको दोस्रो क्वालिफायरमा आज ललितपुर र बुटवल लुम्बिनी भिड्दै

    एनएसएलको दोस्रो क्वालिफायरमा आज ललितपुर र बुटवल लुम्बिनी भिड्दै

    काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को दोस्रो क्वालिफायरमा ललितपुर सिटी एफसी र बुटवल लुम्बिनी एफसीबीच आज प्रतिस्पर्धा हुँदैछ । खेल साँझ साढे ५ बजेदेखि दशरथ रंगशालामा सुरु हुनेछ ।

    लिग चरणमा मिश्रित नतिजासँगै शीर्ष चारभित्र छनोट भएको दुवै टोलीका लागि यो खेल क्वाटरफाइनल सरहको खेल हो ।

    सुरुआती चार खेलमा जितविहनी रहेको ललितपुरले प्रशिक्षक प्रदीप हुमागाईंलाई बर्खास्त गरेपछिको लगातार २ खेल जितेर प्लेअफमा छनोट भएको हो । ललितपुरले लिग चरणमा एक हार, तीन बराबरी र दुई जितको नतिजा निकालेको थियो ।

    अर्कोतर्फ निर्णायक खेलमा धनगढी एफसीलाई पराजित गरी बुटवल लुम्बिनी चौथो स्थानमा रहेर प्लेअफमा पुगेको हो । लिग चरणमा यी दुईबीचको खेलमा ललितपुर १–० ले विजयी थियो ।

    आजको खेलको विजेता टोलीले भोलि नै इलिमिनेटर खेलमा फाइनल प्रवेशका लागि काठमाडौं रेजर्ससँग खेल्नुपर्नेछ ।

    हिजो भएको पहिलो क्वालिफायरमा काठमाडौंलाई अतिरिक्त समयमा पराजित गरी धनगढी एफसीले फाइनलमा स्थान बनाइसकेको छ ।

    निर्धारित समयको खेल १–१ गोलको बराबरी भएपछि थपिएको ३० मिनेटको अतिरिक्त समयको १८ औं मिनेटमा मार्की खेलाडी विशाल राईले गोल गरेपछि धनगढीले फाइनलमा स्थान सुरक्षित गरेको हो ।

    त्यसअघि नियमित खेलको ७५ औं मिनेटमा तेज तामाङले गोल गरी अग्रता दिलाए पनि त्यसको तीन मिनेटपछि नै पुजन उपर्कोटीले शानदार एक्रोब्याटिक प्रहारमार्फत बरारबी गोल फर्काएका थिए ।