Category: खेल प्रेस

  • सक्कारी पहिलो पटक ग्रान्डस्लामको सेमिफाइनलमा

    सक्कारी पहिलो पटक ग्रान्डस्लामको सेमिफाइनलमा

    काठमाडौं । ग्रीक खेलाडी मारिया सक्कारी एक पटककी च्याम्पियन इथा स्वाटेकलाई ६–४, ६–४ को नजितामा पराजित गर्दै फ्रेन्च ओपन टेनिसको सेमिफाइनलमा पुगेकी छन् ।

    बुधबार भएको क्वार्टरफाइनलको पहिलो सेटमा पछाडि परेकी २५ वर्षीया सक्कारीले उत्कृष्ट पुनरागमन गर्दै पहिलो पटक ग्रान्डस्लामको सेमिफाइनल यात्रा तय गरेकी हुन् ।

    सक्कारीले पहिलो चरणमा कट्रिना जाभात्स्का, दोस्रो चरणमा ज्यास्मिन पाओलिनी, तेस्रो चरणमा एलिस मर्टेन्स र चौथो चरणमा सोफिया केनिनलाई पराजित गरेकी थिइन् ।

    उनले सेमिफाइनलमा पहिलो पटक सेमिफाइनल पुगेकी चेक गणतन्त्रकी बार्बोरा क्रेसिकोभासँग प्रतिस्पर्धा गर्नेछिन् ।

  • फ्रेन्च ओपन: गौफलाई हराउँदै क्रेसिकोभा पहिलो पटक ग्रान्डस्लामको सेमिफाइनलमा

    फ्रेन्च ओपन: गौफलाई हराउँदै क्रेसिकोभा पहिलो पटक ग्रान्डस्लामको सेमिफाइनलमा

    काठमाडौं । बार्बोरा क्रेसिकोभा फ्रेन्च ओपन टेनिसको सेमिफाइनलमा पुगेकी छन् । अमेरिकी युवा किशोरी कोको गौफलाई ७-६ (८-६), ६-३ को सेटमा पराजित गर्दै चेक खेलाडी युवती क्रेसिकोभा पहिलो पटक ग्रान्डस्लामको सेमिफाइनलमा पुगेकी हुन् ।

    गत वर्ष चौथो चरणबाटै बाहिरिएकी क्रेसिकोभाले पहिलो चरणमा क्यारोलिना प्लिस्कोभालाई ५-७, ६-४, ६-२ को नतिजामा पराजित गर्दै प्रतियोगिताको सुरुआत गरेकी थिइन् ।

    दोस्रो चरणमा एकाटेरिना अलेक्जान्ड्रोभालाई ६-२, ६-३ को नतिजामा हराएकी क्रेसिकोभाले तेस्रो चरणमा पाँचौं बरियताकी एलिना स्भितोलिनाविरुद्ध ६-३, ६-२ को जित निकालेकी थिइन् ।

    चौथो चरणमा अमेरिकी खेलाडी स्लोएन स्टेफन्सलाई ६-२, ६-० को सोझो सेटमा पराजित गर्दै क्रेसिकोभा क्वार्टरफाइनलमा आइपुगेकी थिइन् । पाँचौं पटक पटक ग्रान्डस्लाम टेनिस खेलिरहेकी क्रेसिकोभाले महिला डबलतर्फ २०१८ मा फ्रेन्च ओपनको उपाधि जितेकी थिइन् ।

  • फ्रान्सले बुल्गेरियालाई हरायो, लिथुवानियामाथि स्पेन हावी

    फ्रान्सले बुल्गेरियालाई हरायो, लिथुवानियामाथि स्पेन हावी

    एजेन्सी । युरो च्याम्पियनसिपअघिको अभ्यास खेलहरुमा विश्वविजेता फ्रान्सले बुल्गेरियामाथि ३–० गोलको जित हासिल गर्दा युवा खेलाडीलाई अवसर दिएको स्पेनले लिथुवानियालाई ४–० ले हराएको छ ।

    फ्रान्सको जितमा एन्टोइन ग्रिजमनले सानदार बाइसाइकल किकमार्फत गोल गरे भने ओलिभर जिरोडले २ गोल गरे ।

    यो खेलमा फ्रान्सले केलियन एम्बाप्पे, करिम बेन्जेमा र ग्रिजमनलाई अग्रपंक्तिको जिम्मेबारी दिँदै आफूलाई युरो दावेदारका रुपमा प्रस्तुत गरेको छ ।

    ग्रिजमनले पहिलो हाफमा सानदार एक्रोब्याटिक प्रहारमार्फत गोल गरेका थिए । सब्स्टिच्युडका रुपमा आएर जिरोडले खेलको अन्त्यतिर २ गोल गरे ।

    युरोमा फ्रान्सले समूह एफबाट जर्मनीसँग पहिलो खेल खेल्दैछ । ग्रुप अफ डेथमा रहेको उसले दोस्रो खेल हंगेरी र तेस्रो खेल साविक विजेता पोर्चुगलसँग खेल्नेछ । अघिल्लो संस्करणको फाइनलमा उसले पोर्चुगलसँगै हारेपछि उपाधि जित्न सकेको थिएन ।

    युरोअघिको अन्तिम मैत्रीपूर्ण खेलमा लिथुवानियाविरुद्ध स्पेनले नयाँ प्रयोग गर्दै २१ वर्षमूनिका मात्र खेलाडीलाई अवसर दिएको थियो । आइतबार कप्तान सर्जियो बुस्केटलाईसमेत कोरोना संक्रमण देखिएपछि स्पेनमा यसै पनि युवा खेलाडीको बाहुल्यता छ ।

    यति हुँदा पनि स्पेनको निकै नै युवा टोली विपक्षीविरुद्ध पर्याप्त बन्यो । उसले ह्युगो गुलामोन र ब्राहिम डियाजको गोलमार्फत पहिलो हाफमा २–० को अग्रता बनायो । दोस्रो हाफमा जुहान मिरान्डा र जाभी पुआदोले एक एक गोल थपे । स्पेनले १० खेलाडी डेब्यू गराएको थियो । इवारबाट खेलेका ब्रायन गिलमात्र यसअघि खेलिसकेका खेलाडी थिए ।

    र यो स्पेनिस फुटबलको इतिहासमै सबैभन्दा कम औषत उमेरको टोली रह्यो । लिथुवानियाविरुद्ध सुरुआती ११ मा परेका खेलाडीको औषत उमेर २२ वर्ष १ सय २ दिन थियो ।

    युरोको समूह ई मा रहेको स्पेनले पहिलो खेल स्वीडेन, दोस्रो खेल पोल्याण्ड र तेस्रो खेलमा स्लोभाकियासँग प्रतिस्पर्धा गर्नेछ ।

  • मेदभेदेवलाई हराउँदै सितसिपास फ्रेन्च ओपनको अन्तिम चारमा, फाइनल प्रवेशका लागि भेरेभसँग खेल्ने

    मेदभेदेवलाई हराउँदै सितसिपास फ्रेन्च ओपनको अन्तिम चारमा, फाइनल प्रवेशका लागि भेरेभसँग खेल्ने

    एजेन्सी । पाँचौं वरियताका ग्रिक खेलाडी स्टेफानोस सितसिपासले क्लेकोर्टमा आफ्नो विशेष क्षमता पुनः एकपल्ट प्रमाणित गरेका छन् ।

    वर्षको दोस्रो ग्राण्डस्लाम टेनिस फ्रेन्च ओपनमा उनले रुसी प्रतिस्पर्धी ड्यानिएल मेदभेदेवलाई पराजित गरी सेमिफाइनलमा स्थान बनाएका छन् ।

    सितसिपासले ६–३, ७–६ र ७–५ को सेटमा खेल आफ्नो पक्षमा पारेका हुन् । सितसिपास लगातार तेस्रोपल्ट ग्राण्डस्लामको सेमिफाइनलमा पुगेका हुन् । २२ वर्षीय उनले फाइनल प्रवेशका लागि छैटौं वरियताका जर्मन खेलाडी अलेक्जान्दर भेरेभसँग खेल्नेछन् ।

    स्पेनका अलेजान्द्रो डेभिटोभिचलाई ३–० को सहज सेटमा पराजित गरी भेरेभ करिअरमा पहिलोपल्ट ग्राण्डस्लामको सेमिफाइनलमा पुगेका हुन् ।

    सितसिपासजस्तै भेरेभ पनि फ्रेन्च ओपनको उपाधि उचालेर करिअरको पहिलो ग्राण्डस्लाम जित्न चाहन्छन् । ‘सेमिफाइनलमा पुगेको छु भनेर सोच्दा मलाई धेरै खुसी मिलेको छ तर म यसमै सन्तुष्ट छैन,’ २४ वर्षीय भेरेभले भने, ‘मैले राम्रो खेलिरहेको छु र यस्तै लयलाई आगामी खेलमा पनि कायम राख्न चाहन्छु ।’

     

  • जोकोभिच र नाडाल फ्रेन्च ओपनको क्वाटरफाइनलमा

    जोकोभिच र नाडाल फ्रेन्च ओपनको क्वाटरफाइनलमा

    एजेन्सी । सुरुआती दुई सेट हारेर शानदार पुनरागमन गर्दै नोभाक जोकोभिचले वर्षको दोस्रो ग्राण्डस्लाम टेनिस फ्रेन्च ओपनको चौथो चरणबाटै अप्रत्यासित बाहिर्गमनको खतरा टारेका छन् ।

    विश्व नम्बर एक सर्बियाली खेलाडीको प्रदर्शन सुरुआती दुई सेटमा कमजोर थियो । उनले दुवै सेट टाइब्रेकमा गुमाएका थिए ।

    तर त्यसपछि १९ वर्षीय इटालियन किशोर खेलाडी लोरेन्जो मुसेट्टीले पूरा खेल खेल्न सकेनन् । तेस्रो र चौथो सेट क्रमसः ६–१ र ६–० जे जितेका जोकोभिचले पाँचौं सेटमा ४–० को अगता लिँदा मुसेटुटी चोटग्रस्त हुन पुगे ।

    कोर्टबाट बाहिरिँदै गर्दा मुसेट्टीलाई उपस्थित सबै दर्शकले उभिएर सम्मान गरेका थिए ।

    ग्राण्डस्लाम टेनिसमा जोकोभिचले दुई सेटमा हारेर पुनरागमन जित निकालेको यो पाँचौंपल्ट हो ।

    रफायल नाडाल भने जान्निक सिन्नरलाई ७–५, ६–३ र ६–० को सेटमा सहजै पराजित गरी क्वाटरफाइनलमा पुगेका छन् ।

    सुरुआती सेटमा दुईपल्ट सर्भ फल्ट गरे पनि नाडालले पुनरागमन गरी १८ औं वरियताका इटलीयन खेलाडीलाई पराजित गरेका हुन् ।

  • विश्वकप छनाेटमा जाेर्डनले नेपाललाई हरायाे

    विश्वकप छनाेटमा जाेर्डनले नेपाललाई हरायाे

    काठमाडौं । पहिलो लेगकै नतिजालाई कायम राखि विश्वकप तथा एसिया कप छनोटमा नेपालले जोर्डनसँग ३-० गोलअन्तरकोे पराजय व्यहोरेको छ ।

    समूहको चौथो स्थानमा रहेको नेपालले जोर्डनसँग उसकै मैदानमा खेलिएको अवे खेलमा पनि ३-० ले नै हारेको थियो ।

    कोरोना महामारीका कारण तथस्ट मैदानका रुपमा कतारको जुवेर अलअहमद अन्तर्राष्ट्रिय रंगशालामा खेलाइएको होम खेलमा नेपाल पहिलो हाफ पेनाल्टीमा गोल खाँदै १-० ले पछि थियो ।

    २२ औं मिनेटमा रोहित चन्दले मोउसा मोहम्मद सुलेमनलाई बक्सभित्र फल गरेपछि पाएको पेनाल्टीमा जोर्डनका बाहा फैजालले गोल गरे ।

    दोस्रो हाफको सुरुमै फैजालले नै गोल गरी अग्रता दोब्बर पारे । ६७ औं मिनेटमा याजान अलनैमातको क्रसमा याजान अल अरवले शानदार हेडर गोल गरे ।

    फिफा वरियतामा आफूभन्दा ७६ स्थान माथि रहेको जोर्डनको पोष्टमा नेपालले एउटै शशक्त आक्रमण गर्न सकेन । प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले पेनाल्टी नभएको भए खेलको नतिजा अर्कै हुनसक्ने अनुमान गरे । तर उनले आफ्नो योजनाअनुसार नै खेलेकोमा टिमको प्रदर्शनबाट पूर्ण सन्तुष्ट रहेको बताए ।

    नेपालले अघिल्लाे खेलमा चार दिनअघि चाइनिज ताइपेईलाई २–० गाेलले पराजित गरेकाे थियाे । समूहचरणकाे अन्तिम खेलमा नेपालले शुक्रबार सबैभन्दा बलियाे प्रतिस्पर्धी अस्ट्रेलियासँग खेल्नेछ ।

     

  • फ्रेन्च ओपन: गौफ पहिलो पटक ग्रान्डस्लामको क्वार्टरफाइनलमा

    फ्रेन्च ओपन: गौफ पहिलो पटक ग्रान्डस्लामको क्वार्टरफाइनलमा

    काठमाडौं । अमेरिकी किशोरी कोको गौफ फ्रेन्च ओपन टेनिसको क्वार्टरफाइनलमा पुगेकी छन् । सोमबार भएको चौथो चरणको खेलमा ओन्स जाबेरलाई ६-३, ६-१ को सोझो सेटमा पराजित गर्दै १७ वर्षीया गौफ पहिलो पटक ग्रान्डस्लामको क्वार्टरफाइनलसम्म पुगेकी हुन् ।
    उनले सेमिफाइनल प्रवेशका लागि बार्बोरा क्रेसिकोभासँग खेल्ने छिन् । क्रेसिकोभा  सोमबार भएको चौथो चरणको खेलमा अमेरिकी खेलाडी स्लोएन स्टेफन्सलाई ६-२, ६-० को सोझो सेटमा पराजित गर्दै २५ वर्षीया क्रेसिकोभा ग्रान्डस्लामको महिला सिङ्गल्समा पहिलो पटक क्वार्टरफाइनलमा पुगेकी हुन् ।
    गौफ गत वर्ष दोस्रो चरणबाटे बाहिरिएकी थिइन् ।
  • फ्रेन्च ओपन: क्रेसिकोभा पहिलो पटक ग्रान्डस्लामको क्वार्टरफाइनलमा

    फ्रेन्च ओपन: क्रेसिकोभा पहिलो पटक ग्रान्डस्लामको क्वार्टरफाइनलमा

    काठमाडौं । बार्बोरा क्रेसिकोभा फ्रेन्च ओपन टेनिसको क्वार्टरफाइनलमा पुगेकी छन् । सोमबार भएको चौथो चरणको खेलमा अमेरिकी खेलाडी स्लोएन स्टेफन्सलाई ६-२, ६-० को सोझो सेटमा पराजित गर्दै २५ वर्षीया क्रेसिकोभा ग्रान्डस्लामको महिला सिङ्गल्समा पहिलो पटक क्वार्टरफाइनलमा पुगेकी हुन् ।

    गत वर्ष चौथो चरणबाटै बाहिरिएकी क्रेसिकोभाले पहिलो चरणमा क्यारोलिना प्लिस्कोभालाई ५-७, ६-४, ६-२ को नतिजामा पराजित गर्दै प्रतियोगिताको सुरुआत गरेकी थिइन् । दोस्रो चरणमा एकाटेरिना अलेक्जान्ड्रोभालाई ६-२, ६-३ को नतिजामा हराएकी क्रेसिकोभाले तेस्रो चरणमा पाँचौं बरियताकी एलिना स्भितोलिनाविरुद्ध ६-३, ६-२ को जित निकालेकी थिइन् ।

    क्रेसिकोभाले क्वार्टरफाइनलमा कोको गौफ र ओन्स जाबेरबीचको विजेतासँग खेल्नेछिन् ।

  • एसिया कप हाम्रो लक्ष्य हो, त्यसका लागि जोर्डनलाई हराउनु जरूरी छ: प्रशिक्षक अब्दुल्लाह

    एसिया कप हाम्रो लक्ष्य हो, त्यसका लागि जोर्डनलाई हराउनु जरूरी छ: प्रशिक्षक अब्दुल्लाह

    काठमाडौं । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नेपाली राष्ट्रिय फुटबल टोली विश्वकप तथा एएफसी एसिया कप छनोटमा सोमबार हुने जोर्डनविरुद्धको खेलका लागि तयार रहेको बताएका छन् ।

    जोर्डन नेपालभन्दा माथिल्लो स्तरको टोली भए पनि नेपाल भोलिको खेलमा जितको अपेक्षासहित मैदानमा उत्रिने अल्मुताइरीले बताए । ‘धेरैले हामीलाई अन्डरडग्स सोचेर जोर्डनविरुद्ध सम्भावना नभएको बताइरहेका छन्,’ उनले भने ‘तर, प्रत्येक खेल ०-० मा सुरु हुन्छ र नतिजा फिल्डमा भएको प्रदर्शनमा निहीत हुन्छ । भोलिको खेलमा सुरुआतदेखि नै हाम्रो लक्ष्य जित हुनेछ ।’

    नेपाली टोलीको लक्ष्य एसिया कपमा छनोट हुनु भएको बताउँदै अल्मुताइरीले त्यसका लागि नेपाललाई जोर्डनविरुद्ध जित आवश्यक रहेको बताए ।

    अब्दुल्लाहले भने- जोर्डनविरुद्धको खेलका लागि हामीले चाइनिज ताइपेइविरुद्धको खेल जस्तै तयारी गरेका छौं । ।

    अल्मुताइरीको नेतृत्वमा पहिलो पटक विदेश भ्रमणमा निस्किएको नेपाली टोलीले गत साता इराकसँग मैत्रीपूर्ण फुटबल खेलेको थियो ।

    आफूभन्दा १०३ स्थानमा माथिको टोलीविरुद्ध उच्च मनोबलका साथ मैदानमा उत्रिएको नेपाली टोलीले सुरुआतमा १-२ को अग्रता लिए पनि अन्तत: ६-२ को पराजय बेहोरेको थियो ।

    मैत्रीपूर्ण खेलपछि विश्वकप तथा एएफसी एसिया कप छनोटका बाँकी खेल खेल्न कुवेत पुगेको नेपालले गत बिहीबार चाइनिज ताइपेइलाई २-० को नतिजामा पराजित गरेको थियो । नेपाली फुटबललाई नयाँ शैलीमा ढाल्ने संकल्प गरेका अब्दुल्लाहको आगमनसँगै नेपाली टोलीले पनि आक्रामक फुटबल खेल्न सक्ने अनुभूति भएको छ । नेपालका कप्तान किरण चेम्जोङले समेत टोलीको माहौल परिवर्तन भएको प्रतिक्रिया दिएका थिए ।

    अप्रिलमा नेपालमै भएको थ्री नेसन्स कपको विजेता टोलीबाट १३ खेलाडी परिवर्तन गरेर ६ नयाँ खेलाडीसहित भ्रमणमा निस्किएका अब्दुल्लाहले भोलिको खेलमा पनि आक्रामक फुटबल खेल्ने बताएका छन् ।

    यसअघि अब्दुल्लाहले नर्थ मेसिडोनियाले जर्मनीलाई हराउन सक्छ भने नेपालले अस्ट्रेलियालाई आक्रामण गर्न सक्ने बताएका थिए । यसबाट पनि नेपालले जोर्डनविरुद्धको खेलमा आक्रामक शैली अपनाउने अनुमान लगाउन सकिन्छ ।

    नेपालविरुद्ध खेल जोर्डनका लागि महत्त्वपूर्ण रहेको बताउँदै मुख्य प्रशिक्षक भिटाल बोर्केल्म्यान्सले यसका लागि कडा मेहेनत गरेको बताएका छन् ।

    ‘सबैले हामी तीन अंक हासिल गर्ने आशा गरेका छन्,’ उनले भने, ‘तर, यो फुटबल हो । यहाँ जे पनि हुनसक्छ ।’

    नेपालले खेलेका इराक र ताइपेइविरुद्धको खेल आफूले हेरेको र नेपालको प्लेयिङ सिस्टम परिवर्तन भएको भिटालले बताए । उनले फिल्डमा प्रदर्शन गर्नुपर्ने र प्रदर्शन राम्रो भए नतिजा पनि आफ्नो पक्षमा पर्ने बताए ।

    नेपालले भोलि (सोमबार) राति ९:४५ बजे कुवेतको जाबेर अल अहमद अन्तर्राष्ट्रिय रंगशालामा खेल्ने छ ।

    बिहीबार भएको खेलमा चाइनिज ताइपेइलाई २-० ले पराजित गर्दा अञ्जन विष्ट र नवयुग श्रेष्ठले १-१ गोल गरेका थिए ।

  • सेरेना विलियम्स फ्रेन्च ओपनको चौथो चरणबाट बाहिरिइन्

    सेरेना विलियम्स फ्रेन्च ओपनको चौथो चरणबाट बाहिरिइन्

    एजेन्सी । कीर्तिमानी टेनिस स्टार सेरेना विलियम्स ग्राण्डस्लाम टेनिस फ्रेन्च ओपनको क्वाटरफाइनलमा पुग्न असफल भएकी छन् ।

    गएराति भएको चौथो चरणको खेलमा ३९ वर्षीया सेरेना आफूभन्दा झण्डै आधा उमेरकी एलिना रिबाकिनासँग ६-३ र ७-५ को सेटमा पराजित भइन् ।

    रोमान्चक खेलमा २३ पल्टकी ग्राण्डस्लाम विजेता सेरेनालाई काजाखस्तानकी यी युवा खेलाडीले नियन्त्रणमा राखिन् । उनी महिला एकलमा आफ्नो थप सफलताको खोजीमा हुनेछिन् ।

    सेरेनाले आफ्नो स्तर फर्काउने प्रयास नगरेकी होइनन् । असफल भएपछि उनी अघिल्लो वरियतामा शीर्ष १० बाट बाहिरिने भएकी छन् । मार्गरेट कोर्टको २४ ग्राण्डस्लाम उपाधिको कीर्तिमान बराबरी गर्ने अवसर अब २८ जुनबाट सुरु हुने विम्बल्डनमा हुनेछ ।

    ‘निश्चित रुपमा म जितनजिक थिएँ,’ सेरेनाले भनिन्, ‘खेलका क्रममा एउटा क्षण आउँछ त्यसले पूरै खेलको परिस्थिति नै परिवर्तन गरिदिन्छ ।’

  • कोरोनाले प्रभावित बनेको त्रिकोणात्मक सिरिज स्पेनमा हुने

    कोरोनाले प्रभावित बनेको त्रिकोणात्मक सिरिज स्पेनमा हुने

    काठमाडौं । विश्वकप लिग–२ अन्तर्गत नेपाल, नामिबिया र स्कटल्यान्डबीचको एकदिवसीय त्रिकोणात्मक सिरिज स्पेनमा हुने भएको छ । यसअघि स्कटल्यान्डमा हुने भनिएको सिरिज कोरोना भाइरसका कारण अनिश्चित भएको थियो ।

    शुक्रबार बसेको नेपाल क्रिकेट संघ (क्यान)को बैठकमा यसबारे बैठक भएको र अन्योलमा परेको सिरिज स्पेनमा हुने निश्चित भएको एक सदस्यले जानकारी दिए ।

    ‘त्रिकोणत्मक सिरिज स्पेनमा हुने निश्चित भएको छ,’ उनले भने, ‘यसका लागि आवश्यक ट्रेनिङको विषयमा सिरिजको मिति सार्वजनिक भएपछि निर्णय हुन्छ ।’

    स्पेन सरकारले प्रतियोगितका लागि अनुमति दिएसँगै खेलाडीहरूको क्वारेन्टाइन बस्ने स्थान लगायत कुरा निश्चित भएपछि मात्रै सिरिजको तालिका सार्वजनिक हुने छ ।

  • फ्रेन्च ओपनको तेस्रो चरणमा फेडेररको संघर्षपूर्ण जित, जोकोभिच र नाडाललाई एकपक्षीय सफलता

    फ्रेन्च ओपनको तेस्रो चरणमा फेडेररको संघर्षपूर्ण जित, जोकोभिच र नाडाललाई एकपक्षीय सफलता

    एजेन्सी । क्ले कोर्टमा खेलिने वर्षको दोस्रो ग्राण्डस्लाम टेनिस फ्रेन्च ओपनमा स्वीस सुपरस्टार रोजर फेडेररले तेस्रो चरणमा जर्मनीका डोमिनिक कोफरमाथि कठिन जित निकालेका छन् । जितका बाबजुद उनको प्रदर्शन भने खराव थियो ।

    ३९ वर्षीय फेडेररसँग आफ्नो खेल सन्तुलनमा विश्वासको कमी देखिन्थ्यो । पेरिसको लगभग खाली रोनाल्ड ग्यारोसमा उनले ३-१ को सेटमा खेल जितेका थिए । कीर्तिमानी २० पल्टका ग्राण्डस्लाम विजेता फेडेररले डोमनिकलाई हराउन ३ घण्टा ३५ मिनेट खर्चिएका थिए । चारमध्ये तीन सेट टाइब्रेकमा पुगेको थियो । पहिलो सेट टाइब्रेकमा ७-६ ले जितेका उनले दोस्रो सेट ६-७ ले गुमाए । तेस्रो सेटमा पुनः ७-६ ले जितेपछि निर्णायक सेटमा ७-५ ले आफ्नो पक्षमा पारेका हुन् ।

    प्रिक्वाटरफाइनल चरणमा उनले नवौं वरियताका इटलीयन खेलाडी माट्टेओ बेरेट्टिनीसँग खेल्नेछन् । २५ वर्षीय बेर्रेट्टिनी दक्षिणकोरियाली कोन सुन वोलाई ३-० को सेटमा पराजित गरी करिअरमा पहिलोपल्ट फ्रेन्च ओपनको चौथो चरणमा पुगेका हुन् ।

    बेर्रेट्टिनीले क्ले कोर्टमा अफ्नो उत्कृष्ट लयलाई कारम राख्न सफल रहे । यसअघि उनी मड्रिड ओपनमा फाइनल पुगेका थिए । अब उनले सन् २००९ को च्याम्पियन फेडेररमाथि पर्याप्त तयारी गर्नेछन् ।

    आठौं वरियताका फेडेररले सन् २०२० पछि तेस्रो प्रतियोगिता खेल्दैछन् भने दुईपल्ट घुँडाको शल्यक्रिया गरिसकेका छन् । उनले आफ्नो फ्रेन्च अ‍ोपन सहभागिता विम्बल्डनको तयारीका लागि भएको बताइसकेका छन् । घाँसे कोर्टमा खेलिने विम्बल्डन यही महिनाको अन्तिममा हुनेछ ।

    इंग्ल्याण्डका क्यामरुन नुरीलाई ३-० को सहज सेटमा पराजित गरी साविक विजेता रफायल नाडाल पनि अन्तिम १६ मा पुगेका छन् । १३ पल्टका फ्रेन्चओपन विजेता नाडालले क्लेकोर्टमा आफ्नो प्रभाव यो खेलमा पनि प्रस्तुत गरे । उनले क्वाटरफाइनल प्रवेशका लागि जान्निक सिन्नरसँग खेल्नेछन् ।

    शीर्ष वरियताका नोभाक जोकोभिचले लिथुवानियाका रिचार्ड बेरान्किसमाथि एकपक्षीय जित निकाले । करिअरको १९ औं ग्राण्डस्लामको लक्ष्यमा रहेका जोकोभिचले ६-१, ६-४ र ६-१ को सहज जित निकालेका हुन् ।

  • विश्वकप छनोटः चिलीसँग बराबरीमा रोकियो अर्जेन्टिना

    विश्वकप छनोटः चिलीसँग बराबरीमा रोकियो अर्जेन्टिना

    एजेन्सी । फिफा विश्वकप अन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिना र चिलीले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । यो बराबरीले अर्जेन्टिनालाई छनोट प्रतियोगिताको शीर्ष स्थानमा उक्लिने अवसर गुमेको छ ।

    नेपाली समयअनुसार आज विहान घरेलु मैदानमा भएको खेलमा अर्जेन्टिनाले कप्तान लियोनल मेस्सीको पेनाल्टी गोलमार्फत २४ औं मिनेटमा अग्रता बनाएको थियो ।

    तर चिलीका सुपरस्टार तथा कुनै समय बार्सिलोनामा मेस्सीका टिममेट रहेका एलेक्सिस सान्चेसले ३६ औं मिनेटमा बराबरी गोल फर्काएका थिए । त्यसपछि दुवै टोलीबाट गोल हुन सकेन ।

    छनोट प्रतियोगिताको दोस्रो स्थानमा रहेको अर्जेन्टिनाले बराबरीपछि ५ खेलबाट ११ अंक पु¥याएको छ । शीर्ष स्थनमा रहेको ब्राजिलको १२ अंक छ भने उसले एक खेल कम खेलेको छ ।

    यता चिली भने कठिन स्थितिमा छ । उसले ५ खेलबाट ५ अंक भएको छ । चिली छनोट प्रतियोगिताको छैटौं स्थानमा छ ।

    दक्षिण अमेरिकाबाट छनोट प्रतियोगितामा १० देशको प्रतिस्पर्धा छ । राउण्ड रोविन प्रतियोगितामा शीर्ष ४ टोलीले सिधै विश्वकप खेल्नेछ भने पाँचौं स्थानमा रहने टोलीले इन्टरकन्टिनेन्टल प्लेअफ खेल्नेछ ।

    यसअघि आज विहान नै भएको अर्को खेलमा उरुग्वे र पाराग्वेले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । समान ५ खेलबाट ७ अंकसहित पाराग्वे चौथो र उरुग्वे पाँचौं स्थानमा छन् ।

    अर्को खेलमा बोलिभियाले भेनेजुएलालाई ३–१ गोलले हराएको छ । छनोट प्रतियोगितामा बोलिभियाको यो पहिलो जित हो । ५ खेलबाट बोलिभियाको ४ र भेनेजुएलाको ३ अंक छ ।

  • फेडेरेर र जोकोभिच फ्रेन्च ओपनको तेस्रो चरणमा प्रवेश

    फेडेरेर र जोकोभिच फ्रेन्च ओपनको तेस्रो चरणमा प्रवेश

    एजेन्सी । स्वीस स्टार रोजर फेडेरर र सर्वियन नोभाक जोकोभिच ग्राण्डस्लाम टेनिस फ्रेन्च ओपनको तेस्रो चरणमा प्रवेश गरेका छन् ।

    आठौं बरियताका फेडेररले क्रोएसियाका मरिन किलिकमाथि ३–१ को सेटमा कठिन जित निकाले । पसिना पुछ्ने नाममा धेरै समय लिएको भन्दै विपक्षीले प्रश्न गरेपछि अम्पायरबाट चेतावनी पाएका ३९ वर्षीय फेडेररले सुरुआती सेट ६–२ ले जितेर पनि दोस्रो सेट २–६ ले गुमाएका थिए ।

    निकै आक्रामक खेलको तेस्रो सेटमा फेडेररले जित निकाल्ट टाइब्रेकको साहरा लिनुप¥यो । चौथो सेट भने उनले सहजै ६–२ ले जिते । फेडेररले तेस्रो चरणमा जर्मनीका डोमिनिक कोफरसँग खेल्नेछन् ।

    शीर्ष वरियताका नोभाक जोकोभिचले उरुग्वेका पाब्लो क्युभासलाई ६–३, ६–२ र ६–४ को सेटमा हराएर तेस्रो चरणमा प्रवेश गरे । उनले आफ्नो करिअरमै पहिलोपल्ट पाब्लोसँग खेलेका हुन् । जोकोभिच लगातार १६ औं वर्ष फ्रेन्च ओपनको तेस्रो चरणमा पुगे ।

    शीर्ष ३२ मा जोकोभिचले लिथुवानियाका रिकार्डास बेरान्किससँग खेल्नेछन् । उनी विश्य वरियतामा ९३ औं स्थानमा छन् । १८ पल्टका ग्राण्डस्लाम विजेता जोकोभिच दोस्रोपल्ट फ्रेन्च ओपनको उपाधि जित्ने लक्ष्यमा छन् । यसअघि उनले सन् २०१६ मा यो उपाधि जितेका थिए ।

  • नवयुग र अञ्जनको गोलमा नेपालको जित

    नवयुग र अञ्जनको गोलमा नेपालको जित

    काठमाडौं । अञ्जन विष्ट र नवयुग श्रेष्ठको गोल मद्दतमा नेपालले विश्वकप तथा एएफसी एसियन कपको संयुक्त छनोटमा चाइनिज ताइपेइलाई २-० को नतिजामा पराजित गरेको छ ।

    जाबेर अल अहमद रंगशालामा भएको खेलको चौथो मिनेटमा अञ्जनले पेनाल्टीमार्फत गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । सन्तोष तामाङले प्रहार गरेको फ्रि-किकमा विपक्षी टोलीका खेलाडीले पेनाल्टी एरिया भित्र  ह्यान्ड गरेसँगै नेपालले पेनाल्टी पाएको थियो ।

    सोही अवसरको सदुपयोग गर्दै अञ्जनने नेपाललाई सुरुआतमै अग्रता दिलाए ।

    अञ्जनको गोलसँगै पहिलो हाफमा १-० अग्रता लिएको नेपालले दोस्रो हाफमा केही डिफेन्सिभ मनस्थिति देखाए पनि सुन्दर गोल गर्न सफल भएको थियो ।

    निर्धारित ९० मिनेटको खेल सकिन १० मिनेट बाँकी रहँदा बायाँतर्फबाट सुमन अर्यालले दिएको क्रसमा नवयुगले ट्याप-इन फिनिस गर्दै नेपालको अग्रता दोब्बर पारे । सोही अग्रताको सुखद् बचाउ गर्दै नेपालले जित सुनिश्चित गर्‍यो ।

    जितसँगै नेपालले विश्वकप तथा एसियन कप छनोटका ६ खेलबाट ६ अंक जोडेको छ ।

  • अञ्जनको गोलमा नेपाललाई अग्रता

    अञ्जनको गोलमा नेपाललाई अग्रता

    काठमाडौं । अञ्जन विष्टको गोलमा नेपालले विश्वकप तथा एएफसी एसियन कपको संयुक्त छनोटअन्तर्गत चाइनिज ताइपेइविरुद्ध जारी खेलमा नेपालले १-० को अग्रता लिएको छ ।

    कुवेतस्थित जबर अल अहमद अन्तर्राष्ट्रिय रंगशालामा जारी खेलको तेस्रो मिनेटमा मिडफिल्डर सन्तोष तामाङले प्रहार गरेको फ्रि-किकमा विपक्षी टोलीका खेलाडीले पेनाल्टि एरियामा ह्यान्ड गरेपछि नेपालले पेनाल्टी पाएको थियो । सोही अवसरलाई सुन्दर गोलमा परिणत गर्दै अञ्जनले नेपाललाई अग्रता दिलाएका हुन् ।

  • चाइनिज ताइपेइविरुद्ध शानदार प्रदर्शनको अपेक्षा

    चाइनिज ताइपेइविरुद्ध शानदार प्रदर्शनको अपेक्षा

    काठमाडौं । नेपाली राष्ट्रिय टोलीले विश्वकप तथा एएफसी एसियन कपको संयुक्त छनोटमा चाइनिज ताइपेइविरुद्ध खेल्दैछ ।

    पहिलो लेगमा ताइपेइलाई उसकै मैदानमा २-० ले पराजित गरेको आज कुवेतको जाबेर अल्-अहमद अन्तर्राष्ट्रिय रंगशालामा हुने खेलमा उच्च मनोबलसहित मैदानमा उत्रिँदैछ । छनोटको तयारी स्वरूप गत हप्ता भएको इराकविरुद्धको खेलमा सुन्दर फुटबल खेलेको नेपाल आजको खेलमा पनि सोही लक्ष्यसहित मैदानमा उत्रिनेमा विश्वस्त हुनसकिन्छ ।

    गत चैतमा नेपाली राष्ट्रिय टोलीको नेतृत्व सम्हालेका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको आजको खेल पहिलो प्रतिस्पर्धात्मक खेल हुनेछ । सुरुआतदेखि नै नेपालले अब आक्रामक फुटबल खेल्ने बताएका अल्मुताइरीले इराकविरुद्धको खेलमा सावित पनि गरेका थिए ।

    आफूभन्दा १ सय ३ स्थानमाथिको इराकलाई केही समय दबाबमा राखेर २-१ को अग्रतासम्म लिएको नेपालले अन्तत: ६-२ ले खेल हारेको थियो । तर, विश्वकप खेलिसकेको टोलीसँग त्यो स्तरको प्रदर्शन गर्नुलाई नेपाली फुटबल प्रेमीले सकारात्मक रूपमा  लिएका छन् । त्यसैको आधारमा आज नेपालले ताइपेइविरुद्ध शानदार प्रदर्शन गर्ने अपेक्षासमेत धेरैले गरेका छन् ।

    छनोटमा यसअघिका ५ मध्ये एक खेल उही ताइपेइविरुद्ध मात्र जित निकाल्न सफल भएको नेपालले आजको खेलमा नतिजाको अपेक्षा गरेको छ । यसअघि ताइपेइविरुद्ध नेपालको जितमा अञ्जन विष्टले दुई गोल गरेका थिए ।

  • सेरेना विलियम्स फ्रेन्च ओपनको तेस्रो चरणमा

    सेरेना विलियम्स फ्रेन्च ओपनको तेस्रो चरणमा

    एजेन्सी । कीर्तिमानी २४ औै पल्ट ग्राण्डस्लाम उपाधिको खोजीमा रहेकी सेरेना विलियम्सले रोमानियाकी मिहाला बुजारेस्कुलाई २–१ को सेटमा पराजित गरी फ्रेन्च ओपन टेनिसको तेस्रो चरणमा प्रवेश गरेकी छन् ।

    ३९ वर्षीया विलियम्सले पहिलो सेट ६–३ ले जितेर दोस्रो सेट ५–७ ले गुमाएकी थिइन् । अन्तिम सेटमा उत्कृष्ट पुनरागमनसहित ६–१ को जितका साथ तेस्रो चरणमा अमेरिकाकै ड्यानेली कोनिल्ससँग प्रतिस्पर्धा गर्ने भएकी छन् ।

    सन् २०१६ को संस्करणयता सेरेना फ्रेन्च ओपनको क्वाटरफाइनलसम्म पनि पुग्न सकेकी छैनन् । त्यस संस्करणमा उनले फाइनल खेलेकी थिइन् ।

    दशौं वरियताकी स्वीस खेलाडी बेलिन्डा बेन्किकलाई अप्रत्यासित रुपमा पराजित गरी रुसकी डारिया कासाकिना पनि तेस्रो चरणमा पुगेकी छन् ।

    तेस्रो वरियताकी अर्यना साबालेन्का, १५ औं वरियताकी भिक्टोरिया आजारेन्का र सन् २०१९ को संस्करणको फाइनल खेलेी मार्केटा भोन्ड्रोसोभा पनि तेस्रो चरणमा पुगेका छन् ।

  • एभर्टन छाडेर रियल मड्रिड फर्किए एन्सेलोटी

    एभर्टन छाडेर रियल मड्रिड फर्किए एन्सेलोटी

    एजेन्सी । रियल मड्रिडमा दोस्रोपल्ट मुख्य प्रशिक्षकको जिम्मेबारी पाउने भएपछि कार्लो एन्सेलोटीले इंग्लिस क्लब एभर्टनको जिम्मेबारीबाट राजीनामा दिएका छन् ।

    ६१ वर्षीय इटालियन प्रशिक्षकले सन् २०१३ देखि २०१५ सम्म दुई वर्ष स्पेनिस महारथीको प्रशिक्षण संहालेका थिए । एभर्टनको जिम्मेबारी लिएको १८ महिनामै उनी बाहिरिने निर्णयमा पुगेका हुन् ।

    उनले जिनेदिन जिदानेलाई प्रतिस्थापन गनेछन् । यता एभर्टनले पाँच वर्षको अन्तरमा छैटौं प्रशिक्षक खोज्नुपर्नेछ । एन्सेलोटीले रियलमा तीन वर्षको सम्झौता गरेका छन् र यसलाई अप्रत्यासित अवसर भनेका छन् ।

    ‘मेरो मनमा एभर्टनसँग जोडिएका सबै व्यक्तिहरुप्रति सम्मान छ र आशा गर्छु सबै अवसरहरुमा टिमले सफलता पाओस,’ उनले भने, ‘म एभर्टनमा रमाइरहेको थिएँ । तर एउटा अप्रत्यासित अवसर ल्याइयो जुन मेरो र मेरो परिवारका लागि यो समय निकै जरुरी र सही कदम थियो ।’

    रियलले बुधबार नै एन्सेलोटीलाई मिडियामा प्रस्तुत गर्नेछ । यता एभर्टनले भने आफूहरुले छिट्टै नयाँ प्रशिक्षक नियुक्ति प्रक्रिया सुरु गर्ने बताएको छ ।

  • विश्व नम्बर पाँच स्भितोलिना फ्रेन्च ओपनको दोस्रो चरणमा

    विश्व नम्बर पाँच स्भितोलिना फ्रेन्च ओपनको दोस्रो चरणमा

    काठमाडौं । विश्व नम्बर पाँच एलिना स्भितोलिना फ्रेन्च ओपन टेनिसको दोस्रो चरणमा प्रवेश गरेकी छन् । मंगलबार भएको पहिलो चरणको खेलमा ओसिएन बाबेललाई ६-२, ७-५ को सोझो सेटमा पराजित गर्दै २६ वर्षीया युक्रेनी खेलाडी स्भितोलिना दोस्रो चरणमा पुगेकी हुन् ।

    गत वर्ष क्वार्टरफाइनल सम्म पुगेकी स्भितोलिना वर्षको पहिलो ग्रान्डस्लाम- अस्ट्रेलियन ओपनको चौथो चरणबाट बाहिरिएकी थिइन् । उनले फ्रेन्च ओपनको तेस्रो चरण प्रवेशका लागि ७५औं बरियताकी अमेरिकी खेलाडी एन् लीसँग प्रतिस्पर्धा गर्नेछिन् ।

    ली पहिलो चरणमा रुसी खेलाडी मार्गरिता गास्पर्‍यानलाई ६-०, ६-१ को सोझो सेटमा पराजित गर्दै दोस्रो चरणमा आइपुगेकी हुन् ।

    यस्तै, जेनिफर ब्राडी र सेरेना विलियम्स पनि यसअघि नै दोस्रो चरणमा प्रवेश गरिसकेका छन् ।

  • २३ पटककी ग्रान्डस्लाम च्याम्पियन सेरेना फ्रेन्च ओपनको दोस्रो चरणमा

    २३ पटककी ग्रान्डस्लाम च्याम्पियन सेरेना फ्रेन्च ओपनको दोस्रो चरणमा

    काठमाडौं । २३ पटककी ग्रान्डस्लाम च्याम्पियन सेरेना विलियम्स फ्रेन्च ओपन टेनिसको दोस्रो चरणमा प्रवेश गरेकी छन् ।

    सोमबार राति भएको पहिलो चरणको खेलमा ७४औं बरियताकी इरिना क्यामेलियालाई ७-६ (८-६), ६-२ को नतिजामा पराजित गर्दै आठौं बरियताकी विलियम्स दोस्रो चरणमा पुगेकी हुन् ।

    सेरेनाले तेस्रो चरण प्रवेशका लागि १७४औं बरियतकी माहेला बुजारनेस्कुसँग प्रतिस्पर्धा गर्नेछिन् । तीन पटककी फ्रेन्च ओपन च्याम्पियन सेरेना गत वर्ष दोस्रो चरणबाटै बाहिरिएकी थिइन् ।

    चार पटक फाइनलमा पुगेकी ३९ वर्षीया सेरेनाले २०१५ मा अन्तिम पटक वर्षको दोस्रो ग्राण्डस्ला- फ्रेन्च ओपनको उपाधि जितेकी थिइन् ।

  • मिडियासँग कुरा नगर्ने, बरु फ्रेन्च ओपन छाड्ने ओसाकाको निर्णय

    मिडियासँग कुरा नगर्ने, बरु फ्रेन्च ओपन छाड्ने ओसाकाको निर्णय

    एजेन्सी । विश्व नम्बर दुई टेनिस स्टार नामोमी ओसाकाले पत्रकारहरुसँग कुरा नगरेका कारण आयोजकबाट चेतावनी खेप्नु परेपछि जारी फ्रेन्च  ओपन बीचैमा छाड्ने निर्णय गरेकी छन् ।

    ट्वीटरमार्फत ग्राण्डस्लाम छाड्ने घोषणासँगै उनले यो पनि भनेकी छन्, ‘सन् २०१८ मा पहिलोपल्ट ग्राण्डस्लाम जितेयता लामो समयदेखि डिप्रेसनकाे सामना गरिरहेकी छु ।’

    २३ वर्षीया ओसाकाले अघिल्लो साता आफ्नो मानसिक स्वास्थ्यका कारण रोनाल्ड ग्यारोसमा पत्रकार सम्मेलन गर्न नसकेको प्रष्ट पारेकी थिइन् । ‘म कहिल्यै पनि आफ्नो ध्यान बिकेन्द्रित गर्न चाहँदिन’ चारपल्टकी ग्राण्डस्लाम विजेताले भनिन् ।

    आइतबार रोमानियाकी प्याट्रिसिया मारियालाई सोझो सेटमा पराजित गरेपछि पत्रकार सम्मेलनमा अनुपस्थित भएकी उनलाई आयोजकले १५ हजार अमेरिकी डलर जरीवाना लगाएका थिए ।

    त्यसको एक दिनपछि चारै ग्राण्डस्लाम आयोजकले संयुक्त वक्तव्य जारी गरी सन्चारमाध्यमसँग कुरा गर्न नचाहनेलाई प्रतियोगिताबाट निष्कासन गर्ने तथा भविश्यका ग्राण्डस्लामबाट पनि निलम्बित गर्ने चेतावनी दिएका थिए ।

    यही कारण सोमबार ओसाकाले प्रतियोगिता छाडेको घोषणा गर्दै भनेकी छन्, ‘अबको केहि समय कोर्ट छाड्नुपर्नेछ । सबैकुरा सही भइदिएको भए म वास्तवमा टूर गरिरहन चाहन्छु । हामी खेलाडी, पत्रकार र समर्थकहरु मिलेर सबै कुरा परिवर्तन गर्ने प्रयासस्वरुप कुराकानी गर्नेछौं ।’

    फ्रेन्च टेनिस फेडेरेसनका अध्यक्ष जिलेस मोरेट्टोनले दोस्रो वरियताको खेलाडीले प्रतियोगिता छाड्नुलाई ‘दुर्भाग्यपूर्ण’ भनेका छन् । उनले ओसाकाको स्वास्थ्यलाभको कामनासमेत गरे ।

  • अर्जेन्टिनाले महामारीको कारण ‘कोपा अमेरिका’ आयोजना नगर्ने

    अर्जेन्टिनाले महामारीको कारण ‘कोपा अमेरिका’ आयोजना नगर्ने

    ब्यूनर्स आयर्स । अर्जेन्टिनाले देशभरि कोरोनाभाइरस सङ्क्रमणको समस्या कम हुन नसकेको भन्दै खेल आयोजना गर्न नसक्ने बताएपछि कोपा अमेरिकाका लागि नयाँ आयोजकको खोजी भइरहेको दक्षिण अमेरिकी फुटबल महासंघले आइतवार जानकारी गराएको छ ।

    कोलम्बिया र अर्जेन्टिनाले संयुक्त रुपमा आयोजना गर्ने उक्त ‘फुटबल प्रतियोगिता’ यही जुन १३ देखि सुरू गर्ने कार्यतालिका सार्वजनिक गरिएको छ ।

    महामारीको कारण उक्त प्रतियोगितालाई अघिल्लो वर्ष स्थगित गरी यो बर्ष आयोजना गर्ने तयारी भइरहेका समय आयोजकले नै स्वास्थ्य सङ्कटका कारण खेल सञ्चालन गर्न कठिनाई भएको जानकारी गराएको बुभिएको छ ।

    “वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै अर्जेन्टिनामा गरिने कोपा अमेरिकाको सञ्चालनलाई अन्यत्र लग्ने प्रयास भइरहेको छ,” दक्षिण अमेरिकी फुटबल महासंघले आफ्नो आधिकारिक ट्वीटर पेजमार्फत् सार्वजनिक विज्ञप्तिमा उल्लेख गरेको छ ।

    विज्ञप्तिमा भनिएको छ, “आयोजक अर्जेन्टना पछिहटेपछि महाद्वीपीय प्रतियोगिताको आयोजना गर्न चासो देखाएको अन्य देशहरूबाट प्राप्त भएका प्रस्तावहरूको हामी विश्लेषण गरिरहेका छौं । यस सम्बन्धमा समाचार छिट्टै घोषणा गरिनेछ ।”

    अर्जेन्टिनाको स्वास्थ्य मन्त्रालयले अहिलेसम्म त्यहाँ सङ्क्रमितको सङ्ख्या ३७ लाख पुगेको बताएको छ भने ७७ हजार सङ्क्रमित व्यक्तिको मृत्यु भएको जनाएको छ । अर्जेन्टिनामा महामारी नियन्त्रण गर्न सरकार विफल भएको भन्दै भएको १० दिनदेखि सरकार विरोधी व्यापक प्रदर्शन भइरहेका समय सरकारले खेल आयोजन गर्न नसक्ने जनाएको हो । रासस

  • पत्रकारसँग कुरा गर्न अस्वीकार गर्ने ओशाकालाई ग्राण्डस्लामबाटै निष्कासन गर्ने चेतावनी

    पत्रकारसँग कुरा गर्न अस्वीकार गर्ने ओशाकालाई ग्राण्डस्लामबाटै निष्कासन गर्ने चेतावनी

    एजेन्सी । विश्व नम्बर २ टेनिस खेलाडी नाओमी ओसाकालाई पत्रकारहरुसँग कुराकानी गर्न अस्वीकार गरिरहे फ्रेन्च ओपन र भविश्य सबै ग्राण्डस्लामबाट निष्कासन गर्ने चेतावनी आयोजकले दिएको छ ।

    जापानी सुपरस्टार ओसाकाले गत साता फ्रेन्च ओपनको क्रममा रोनाल्ड ग्यारोसमा आफूले कुनै पनि पत्रकार सम्मेलनमा सहभागी नहुने घोषणा गरेकी थिइन् । त्यसको कारणको रुपमा उनले आफू मानसिक स्वास्थ्यको रक्षा गर्न चाहेको बताएकी थिइन् ।

    प्रतियोगिताको पहिलो चरणअन्तर्गत आइतबार रोमानियाकी प्याट्रिसिया मारिया टिगलाई २–० को सेटमा पराजित गरेपछि पत्रकारसँग कुरा गर्न नमानेपछि उनलाई १५ हजार अमेरिकी डलर जरीवाना लगाईको छ ।

    चारै ग्राण्डस्लाम आयोजकहरुको संयुक्त वक्तव्यमा पनि ओसाकाले मिडियालाई अस्वीकार गर्दै गए जरीवाना रकम बढ्ने र भविश्यमाद ग्राण्डस्लामबाट निलम्बनसम्म गर्नुपर्ने स्थिति आउने बताएका छन् ।

    यो वक्तव्यपछि ओसाकाले ट्वीटमार्फत भनेकी छन्, ‘मानिसहरुलाई परिवर्तन असहज लाग्छ ।’

     

  • पूर्व खेलाडीलाई सहुलियत ऋण दिने निर्णय स्वागतयोग्य: एन्एन्आइपीए अध्यक्ष श्रेष्ठ

    पूर्व खेलाडीलाई सहुलियत ऋण दिने निर्णय स्वागतयोग्य: एन्एन्आइपीए अध्यक्ष श्रेष्ठ

    काठमाडौं । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले पूर्व खेलाडीलाई सहुलियत ऋण दिने निर्णय र नवौं राष्ट्रिय खेलकुदको लागि बजेट विनियोजन स्वागत योग्य रहेको प्रतिक्रिया दिएका छन् ।

    ‘लामो समयदेखि खेलाडीले उठाइरहेको सामाजिक सुरक्षाको माग केहि हदसम्म अप्रत्यक्ष सम्बोधन हो कि भन्ने भान भएको छ,’ उनले भनेका छन्, ‘खेल जीवनपछि व्यवसायका लागि सहुलियत ऋण दिने निर्णय खेलाडीका लागि खुशीको विषय हो ।’

    तर बजेट भाषणमार्फत भएको यो घोषणाको प्रभावकारी कार्यान्वयन भयो र वास्तविक रूपमा नै पूर्वखेलाडीले लाभ लिन सके भने मात्रै मनोबल बढ्ने उनले बताएका छन् ।

  • ब्रेन्टफोर्ड पहिलोपल्ट प्रिमियर लिगमा

    ब्रेन्टफोर्ड पहिलोपल्ट प्रिमियर लिगमा

    एजेन्सी । च्याम्पियनसिप प्लेअफ फाइनलमा स्वान्सी सिटीलाई पराजित गरी ब्रेन्टफोर्ड क्लब पहिलोपल्ट इंग्ल्याण्डको शीर्ष डिभिजनको प्रतियोगिता प्रिमियर लिगमा बढुवा भएको छ ।

    इभान टोनीले दशौं मिनेटमै पेनाल्टीमा गोल गरी अग्रता दिलाएकोमा २० औं मिनेटमा इमिलियोनो मार्कोदेसले सानदार गोल थपे । ६५ औं मिनेटमा स्वान्सी १० खेलाडीमा समेटिएको थियो । सन् १९४६÷४७ पछि ब्रेन्टफोर्डले पहिलोपल्ट शीर्ष डिभिजनमा प्रतिस्पर्धा गर्ने भएको छ ।

    ‘साँच्चिकै म धेरै भावुक भएँ,’ ब्रेन्टफोर्डका प्रशिक्षक थोमस फ्र्यांकले भने, ‘हामीले जुन अवस्थाबाट यो सफलता हासिल गर्‍यौं । मेरोमात्र होइन अधिकांश खेलाडी र अन्य अफिसियलले पनि आफ्नो आँसु थाम्न सकेनन् ।’

    ब्रेन्टफोर्ड अघिल्लो वर्षको प्लेअफ फाइनलमा फुलह्यामसँग २–१ ले पराजित भएको थियो । प्लेअफको दशौं प्रयासमा उसले सफलता हासिल गरेको हो । ब्रेन्टफोर्ड प्रिमियर लिग खेल्ने ५० औं क्लबसमेत बनेको छ ।

    स्वान्सीका लागि भने लगातार दुई सिजन निराशाजनक रह्यो । स्वान्सी अघिल्लो सिजन प्लेअफ सेमिफाइनलमा पराजित भएको थियो ।

  • म्यानचेस्टर सिटीलाई हराउँदै चेल्सीले जित्यो च्याम्पियन्स लिग

    म्यानचेस्टर सिटीलाई हराउँदै चेल्सीले जित्यो च्याम्पियन्स लिग

    काठमाडौं । म्यानचेस्टर सिटीलाई १-० को नतिजामा पराजित गर्दै चेल्सीले दोस्रो पटक युइएफए च्याम्पियन्स लिगको उपाधि उचालेको छ ।

    पोर्चुगलको पोर्टोमा भएको फाइनलमा चेल्सीका लागि एक मात्र गोल जर्मन युवा खेलाडी काइ हाभर्ट्जले गरेका थिए । पहिलो हाफको खेल सकिन ३ मिनेट बाँकी हुँदा म्यासन माउन्टले दिएको पासलाई गोलमा परिणत गर्दै हाभर्ट्जले चेल्सीलाई अग्रता दिलाएका थिए ।

    सोही अग्रताको सफल बचाउ गर्दै चेल्सीले ९ वर्षपछि दोस्रो पटक उपाधि उचालेको हो । यसअघि चेल्सीले २०१२ मा जर्मन हेभिवेट बायर्न म्युनिखलाई पराजित गरेर पहिलो पटक च्याम्पियन्स लिगको उपाधि उचालेको थियो ।

  • इराकसँग ६-२ ले हार्‍यो नेपाल

    इराकसँग ६-२ ले हार्‍यो नेपाल

    काठमाडौं । डिफेन्समा निरीह बनेको नेपाल मैत्रीपूर्ण फुटबलमा इराकसँग ६-२ गोलको नतिजामा पराजित भएको छ । विश्वकप तथा एएफसी एसियन कपको तयारी स्वरूप इराकको बसरामा शनिबार भएको खेलमा युवा खेलाडीको बाहुल्यता भएको नेपालले सुरुआतमा लिएको अग्रता जोगाउन सकेन ।

    इराकको दोस्रो ठूलो शहर बसरास्थित अल्फाहया रंगशालामा भएको खेलको सातौं मिनेटमा घरेलु टोलीका कप्तान अला अब्दुल जहर खासिनले फ्रि-किकमा नेपाली कप्तान किरण चेम्जोङलाई बिट् गर्दै उत्कृष्ट गोल गरेका थिए ।

    त्यसको एक मिनेट नबित्दै अञ्जन विष्टको प्रहारमा हमद इब्राहिम खलाफले गरेको बचाउने असफल प्रयास आत्मघाति गोलमा परिणत भएको थियो । उपहार गोलसँगै बराबरीमा फर्किएको नेपालका लागि डेब्युट्यान्ट मनिष डाँगीले गोल गर्दै अद्भूत अग्रता दिलाएका थिए ।

    नेपाली राष्ट्रिय टोलीबाट पहिलो पटक मैदानमा उत्रिएका मनिषले २९औं मिनेटमा काउन्टर अट्याकमा सुन्दर फिनिसिङ गरेका थिए ।

    त्यसपछि सम्हालिन नसकेको नेपालले ३९औं मिनेटमा दोस्रो गोल खायो । इराकका लागि मोहमद अब्दुलझाराले गोल गर्दै २-२ को बराबरीमा ल्याएका थिए । त्यसको एक मिनेट नबित्दै नेपालले पुन: गोल खायो । ४० औं मिनेटमा एमेन हुसेनले गोल गर्दै इराकलाई पुन: ३-२ को अग्रता दिलाएका थिए ।

    अन्तिम समयमा सम्हालिन नसकेको नेपाली रक्षापंक्तिमाथि निरन्तर आक्रमण गरेको इराकका लागि इन्जुरी समयमा हुसेनले व्यक्तिगत दोस्रो गोल गर्दै घरेलु टोलीका लागि ४-२ को अग्रता निश्चित गरे ।

    दोस्रो हाफको सुरुआतमा सम्हालिने प्रयास गरेको नेपाल रक्षात्मक देखिएको थियो । यद्यपि, नेपालले थप दुई गोल खायो ।इराकका लागि ६८औं मिनेटमा वैकल्पिक खेलाडी मोहमद अलि अलसम्मारीले डिफेन्सिभ इररको फाइदा उठाउँदै इराकको अग्रता ५-२ मा पुर्‍याएका थिए ।

    त्यसको ६ मिनेट नबित्तै सज्जाद जसिम इराकका लागि गोल गर्दै ६-२ गोलको जित सुनिश्चित गरे ।

  • इराकविरुद्ध पहिलो हाफमा नेपाल ४-२ ले पछाडि

    इराकविरुद्ध पहिलो हाफमा नेपाल ४-२ ले पछाडि

    काठमाडौं । डेब्युट्यान्ट मनिष डाँगीको गोलसँगै लिएको अग्रता जोगाउन नसक्दा इराकविरुद्धको मैत्रीपूर्ण खेलको पहिलो हाफमा नेपाल ४-२ को नतिजामा पछिपरेको छ ।

    इराकको दोस्रो ठूलो शहर बसरास्थित अल्फाहया रंगशालामा जारी खेलको सातौं मिनेटमा घरेलु टोलीका कप्तान अला अब्दुल जहर खासिनले फ्रि-किकमा नेपाली कप्तान किरण चेम्जोङलाई बिट् गर्दै उत्कृष्ट गोल गरेका थिए ।

    त्यसको एक मिनेट नबित्दै अञ्जनको प्रहारमा हमद इब्राहिम खलाफले गरेको बचाउने कोसिस असफल हुँदा नेपाल बराबरीमा पुगेको थियो ।

    नेपालका लागि पहिलो पटक मैदानमा उत्रिएका मनिषले २९औं मिनेटमा गोल गर्दै नेपाललाई २-१ अग्रता दिलाएका थिए ।

    त्यसपछि सम्हालिन नसकेको नेपालले ३९औं मिनेटमा दोस्रो गोल खायो । इराकका लागि मोहमद अब्दुलझाराले गोल गर्दै २-२ को बराबरीमा ल्याएका थिए । त्यसको एक मिनेट नबित्दै नेपालले  पुन: गोल खायो । ४० औं मिनेटमा एमेन हुसेनले गोल गर्दै इराकलाई पुन: ३-२ को अग्रता दिलाएका थिए ।

    अन्तिम समयमा सम्हालिन नसकेको नेपाली रक्षापंक्तिमाथि निरन्तर आक्रमण गरेको इराकका लागि इन्जुरी समयमा हुसेनले व्यक्तिगत दोस्रो गोल गर्दै घरेलु टोलीका लागि ४-२ को अग्रता निश्चित गरे ।

  • डेब्युट्यान्ट मनिषको गोलमा नेपाललाई अग्रता

    डेब्युट्यान्ट मनिषको गोलमा नेपाललाई अग्रता

    काठमाडौं । डेब्युट्यान्ट मनिष डाँगीको गोलमा नेपालले इराकविरुद्धको मैधीपूर्ण खेलमा २-१ को अग्रता लिएको छ । इराकको दोस्रो ठूलो शहर बसरास्थित अल्फाहया रंगशालामा जारी खेलको सातौं मिनेटमा घरेलु टोलीका कप्तान अला अब्दुल जहर खासिनले फ्रि-किकमा नेपाली कप्तान किरण चेम्जोङलाई बिट् गर्दै उत्कृष्ट गोल गरेका थिए ।

    त्यसको एक मिनेट नबित्दै अञ्जनको प्रहारमा हमद इब्राहिम खलाफले गरेको बचाउने कोसिस असफल हुँदा नेपाल बराबरीमा पुगेको थियो ।

    नेपालका लागि पहिलो पटक मैदानमा उत्रिएका मनिषले २९औं मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका हुन् ।

     

  • इराकविरुद्ध नेपालको लाइन अप: मनिष र गौतमको डेब्यू

    इराकविरुद्ध नेपालको लाइन अप: मनिष र गौतमको डेब्यू

    काठमाडौं । इराकविरुद्ध १०:१५ बजे सुरु हुने मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले लाइन अप सार्वजनिक गरेका छन् ।

    युवा टोलीसहित विश्वकप छनोट र मैत्रीपूर्ण खेलका लागि विदेश भ्रमणमा निस्किएका अब्दुल्लाहले आफ्नो नेतृत्वमा पहिलो खेल खेलाउन लागेका हुन् ।

    ६ जना नयाँ खेलाडीसहित इराक पुगेका अब्दुल्लाहले मनिष डाँगी र गौतम श्रेष्ठलाई डेब्यू गराएका छन् ।

    नेपाली टोली:

    गोलकिपर: किरण चेम्जोङ (कप्तान)

    डिफेन्डर्स: गौमत श्रेष्ठ, रोहित चन्द, अनन्त तामाङ, सुमन अर्याल

    मिडफिल्डर्स: मनिष डाँगी, पुजन उपरकोटी, सन्तोष तामाङ

    फरवार्ड: अञ्जन विष्ट, नवयुग श्रेष्ठ, सुमन लामा

  • पोखरा रङ्गशाला आगामी वर्ष निर्माण सम्पन्न गरिने

    पोखरा रङ्गशाला आगामी वर्ष निर्माण सम्पन्न गरिने

    काठमाडौं । पोखरामा निर्माणाधीन देशकै सबैभन्दा ठूलो फुटबल रङ्गशाला आगामी वर्षभित्र निर्माण सम्पन्न गरिने भएको छ । आगामी वर्ष २०७८/०७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले रङ्गशाला आगामी वर्ष निर्माण सम्पन्न गरिने जानकारी दिए ।

    अन्तरर्राष्ट्रिय मापदण्डको निर्माणाधीन रङ्गशालाको हालसम्म ८५ प्रतिशत काम सकिएको छ । रङ्गशालाका कतिपय पूर्वाधार बजेट अभावमा अघि बढ्न सकेको छैैन । हाल १६ हजार ५०० दर्शक क्षमताको प्यारापिट तयार भए पनि २० हजार पुर्‍याउने गरी अहिले काम भइरहेको छ । रङ्गशालामा भिआइपी प्यारापिटमा छानो छाउने काम शुरु भएको छ ।

    यसैगरी अर्थमन्त्री पौडेलले गण्डकी प्रदेशमा तय भएको नवौँ राष्ट्रिय खेलकूद प्रतियोगिता आगामी वर्ष आयोजना गरिने जानकारी दिए । गत वर्ष तय भएको राष्ट्रिय खेलकूद कोरोनाका कारण निर्धारित मितिमा आयोजना हुन सकेको थिएन ।

  • गत वर्षको तुलनामा ३८ करोडले बढ्यो खेलकुदमा बजेट

    गत वर्षको तुलनामा ३८ करोडले बढ्यो खेलकुदमा बजेट

    काठमाडौं । चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि खेलकुदको बजेट ३८ करोडले वृद्धि भएको छ । शनिबार अर्थमन्त्रीले बजेट भाषणमार्फत युवा तथा खेलकुद मन्त्रालयका लागि २ अर्ब ७४ करोड रूपैयाँ विनियोजन गरेको जानकारी दिए ।

    यसअघि चालु आर्थिक वर्षमा ४०% प्रतिशतले कटौती भएर २ अर्ब ३६ करोड मात्र बजेट विनियोजन भएको थियो । त्यसअघि घोषित ३ अर्ब ९९ करोड बजेटबाट ४० प्रतिशत कटौती भएको थियो ।

    सक्रिय खेल जीवनबाट निवृत भएका खेलाडीलाई सहुलियत कर्जा उपलब्ध गराउने, प्रादेशिक रंगशाला, हाइ अल्टिच्युड स्पोर्ट्स सेन्टर तथा नवौं राष्ट्रिय खेलकुदको आयोजना लगायतका विषयलाई समेटेर उक्त रकम विनियोजन गरिएको मन्त्री पौडेलले जानकारी दिए ।

    ‘झापाको दमकमा अन्तर्राष्ट्रिय स्तरको मदन भण्डारी रंगशाला दुई वर्षभित्र सञ्चालनमा ल्याउने गरी निर्माण प्रारम्भ गरिने छ,’ उनले भने, ‘मोरङको वैदनाथपुर, काठमाडौंको मूलपानी, दाङको लमही, रूपन्देहीको भैरहवा, बाँकेको नेपालगञ्ज र कञ्चनपुरको महेन्द्रनगरमा क्रिकेट मैदान निर्माण सम्पन्न गर्न आवश्यक बजेट विनियोजन गरेको छु ।’

    आगामी वर्ष पोखरा रंगशाला निर्माण सम्पन्न गरिने जानकरी दिँदै उनले भने, ‘सक्रिय खेल जीवनबाट निवृत खेलाडीलाई व्यवसाय सञ्चालन सहुलियत दरको कर्जा उपलब्ध गराउने व्यवस्था मिलाएको छु । धनगढी, विरेन्द्रनगर, नेपालगञ्ज, वीरगञ्ज, जनकपुरधाम र इटहरीमा प्रादेशिक रंगशाला निर्माण कार्य अगाडि बढाइने छ ।’

    आगामी वर्ष सबै स्थानीय तहमा खेल पूर्वाधार निर्माण गरिने मन्त्री पौडेलले जानकारी दिए ।

    आगामी आर्थिक वर्षमा १६८ स्थानीय तहमा खेलग्रामको निर्माण गर्न रकम छुट्याएको र सोलुखुम्बु, मनाङ मुस्ताङ र जुम्लामा हाइ अल्टिच्युड स्पोर्ट्स सेन्टर निर्माण गर्न आवश्यक रकम व्यवस्थासमेत गरिएको उनले बताए ।

    ‘आगामी आर्थिक वर्षमा नवौं राष्ट्रिय खेलकुद आयोजना गरिनेछ । अन्तर्राष्ट्रिय स्तरमा पदक हासिल गर्न सम्भाव्य खेल पहिचान गरी प्रोत्साहन गरिनेछ,’ उनले भने, ‘अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको सहभागिता वृद्धि गरिनेछ । नेपाललाई खेल पर्यटनको उत्कृष्ट गन्तव्यको रूपमा विकास गर्न अन्तर्राष्ट्रिय स्तरको खेल विद्यालयको सम्भाव्यता अध्ययन गरिने छ ।’

  • पूर्वखेलाडीलाई व्यवसाय गर्न सरकारले कर्जा दिने

    पूर्वखेलाडीलाई व्यवसाय गर्न सरकारले कर्जा दिने

    काठमाडौं । पूर्वखेलाडीहरूलाई व्यवसाय गर्न सरकारले कर्जा दिने भएको छ ।  अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट भाषणमार्फत कर्जा दिने जानकरी दिएका हुन् ।

  • च्याम्पियन्स लिग फाइनल: पहिलो फाइनलमै चेल्सीविरुद्ध सिटीले मार्ला बाजी ?

    च्याम्पियन्स लिग फाइनल: पहिलो फाइनलमै चेल्सीविरुद्ध सिटीले मार्ला बाजी ?

    काठमाडौं । युरोपेली क्लब फुटबलको सबैभन्दा लोकप्रिय प्रतियोगिता- युइएफए च्याम्पियन्स लिग, र त्यसको पनि फाइनलमा आज दुई इङ्लिस क्लबहरू चेल्सी र म्यानचेस्टर सिटी भिड्दै छन् । ठूल्ठूला क्लबहरू र राष्ट्रिय लिगका च्याम्पियनहरूका लागि पनि सबैभन्दा ठूलो लक्ष्य भनेको च्याम्पियन्स लिग फुटबलको उपाधि जित्नु हुन्छ ।

    र, झन्डै एक दशकदेखि इङ्लिस फुटबलमा आफूलाई महारथीको रूपमा स्थापित गरेको म्यानचेस्टर सिटी पहिलो पटक फाइनलमा पुगेको हो । तर, सिटीले आफूलाई इङ्लिस फुटबलमा स्थापित गर्दै गर्दा चेल्सीले पहिलो पटक च्याम्पियन्स लिग जितिरहेको थियो । म्यानचेस्टर सिटीले पहिलो पटक इङ्लिस प्रिमियर लिग २०१२ मा जितेको थियो । सोही सिजन चेल्सीले च्याम्पियन्स लिग जितेको थियो ।

    इङ्लिस फुटबलको च्याम्पियन बनेदेखि नै युरोपेली फुटलबको ताज पहिरिन संघर्षरत सिटीले यो वर्ष पहिलो पटक फाइनलसम्मको यात्रा तय गरेको छ । सन् २००८ मा पहिलो पटक फाइनलमा पुगेको चेल्सी स्वदेशी प्रतिद्वन्दी म्यानचेस्टर युनाइटेडसँग पेनाल्टीमा पराजित भएको थियो । त्यसको चार वर्षपछि जर्मन महारथी बायर्न म्युनिखलाई उसैको मैदानमा हराएर चेल्सीले पहिलो पटक च्याम्पियन्स लिगको उपाधि जितेको थियो ।

    आजको फाइनल चेल्सीका लागि जति महत्त्वपूर्ण छ, त्यति नै सिटीका लागि पनि ।  सायद अझै धेरै । किनभने, युरोपमा व्यावसायिक फुटबल खेल्ने सबै खेलाडीको अन्तिम इच्छ्या च्याम्पियन्स लिगको मेडल लगाउने हुन्छ । केही ठूला क्लबहरूको प्रभुत्वकै कारण साना क्लबहरूमा अब्बल भएका खेलाडीको पनि अल्टिमेट गन्तव्य रियाल मड्रिड, बार्सिलोना, बायर्न म्युनिख लगायतका क्लब हुने गरेका छन् ।

    तर, पछिल्ला केही सिजनहरूमा त्यो क्रम कम हुँदैछ । पछिल्लो तीन सिजनको फाइनल हेर्ने हो भने यो दोस्रो फाइनल हो जसमा दुवै इङ्लिस टोली खेल्दै छन् । यसअघि २०१८/१९ को फाइनलमा लिभरपुल र टोटेनह्याम भिडेका थिए । सो फाइनलमा लिभरपुलले पहिलो पटक फाइनलमा पुगेको टोटेनह्यामलाई पराजित गरेको थियो ।

    गत सिजन जर्मन हेभिवेट बायर्नले पनि पहिलो पटक फाइनल पुगेको फ्रेन्च टोली पेरिस सेन्ट जर्मनलाई पराजित गर्दै उपाधि जितेको थियो । च्याम्पियन्स लिगको फाइनलको अर्को चाखलाग्दो विषय नयाँ टोलीको पहिलो फाइनल पनि हुने गरेको छ ।

    २०००/२००१ को सिजन यता हेर्ने हो भने पहिलो पटक फाइनल पुगेका कुनै पनि टोलीले फाइनल जितेका छैनन् । यद्यपि, १९८२ मा इङ्लिस क्लब एस्टन भिल्ला र १९९७ मा जर्मन क्लब बोरुसिया डर्टमन्डले भने पहिलो फाइनलमै उपाधि उचालेका थिए ।

    पछिल्ला दुई सिजनको नतिजा हेर्ने हो भने पनि नयाँ टोली पहिलो फाइनलमा निराश नै हुनुपरेको देखिन्छ । २०१८ मा टोटेनह्याम पहिलो पटक फाइनलमा पुगेर लिभरपुलसँग पराजित भएको थियो भने गत सिजन पिएसजी बायर्नसँग हारेको थियो । आजको फाइनल चेल्सीका लागि तेस्रो फाइनल अनुभव हो भने सिटीका लागि पहिलो हुनेछ ।

    तर, चलाख प्रशिक्षक पेप ग्वार्डिओलाको सिटीले बाजी मार्‍यो भने १९९७ पछि पहिलो फाइनलमै उपाधि जित्ने पहिलो टोली बन्ने छ । तर, पछिल्लो सिजन पिएसजीलाई पनि फाइनलसम्म पुर्‍याएका प्रशिक्षक थोमस टुकेल र पिएसजीका पूर्व कप्तान थिएगो सिल्भा आज चेल्सी टोलीमा छन् । उनीहरू पनि लगातर दुई फाइनलमा पराजय भोग्न चाहँदैनन् ।

    प्रिमियर लिगका प्रतिद्वन्दी यी दुई क्लबबीच यो सिजन भएका तीन भेटमा चेल्सीले दुई खेल जितेको छ । प्रिमियर लिगमा दुवै टोलीले अवे खेल जितेका थिए भने एफए कपको सेमिफाइनलमा चेल्सीले बाजी मारेको थियो । यसै सिजन सेमिफाइनलमा हराएको चेल्सीसँग अर्को फाइनलमा पनि हार्नु सिटीका लागि स्वीकार्य हुनेछैन ।

    अर्कातिर एफएकपमा लेस्टरसँग पराजित भएको चेल्सी लगातार दुई फाइनलमा हार्न चाहँदैन । इङ्लिस फुटबलको पछिल्लो दशकमा दुई सफल क्लब चेल्सी र सिटीबीचको आजको फाइनल पैसा वसूल हुने निश्चित छ ।

    अन्तिम-१६ मा स्पेनिस क्लब एथ्लेटिको मड्रिडविरुद्ध समग्रमा ३-० को जित निकालेको चेल्सी क्वार्टरफाइनलमा पोर्टोविरुद्ध समग्रमा २-१ ले विजयी भएको थियो । सेमिफाइनलमा प्रतियोगिताको सर्वाधिक सफल क्लब रियाल मड्रिडविरुद्ध समग्रमा ३-१ को जित निकाल्दै फाइनलमा स्थान सुरक्षित गरेको थियो ।

    त्यस्तै, अन्तिम-१६ मा बोरुसिया मोन्चेन्ग्लाडबाखविरुद्ध समग्रमा ४-० को जित निकालेको म्यानचेस्टर सिटीले क्वार्टरफाइनलमा बोरुसिया डर्टमन्डविरुद्ध ४-२ जित निकालेको थियो । त्यस्तै,  सेमिफाइनलमा गत सिजनको उपविजेता पिएसजीलाई हराएको सिटीले चेल्सीसँगको भेट निश्चित गरेको थियो ।