Category: खेल प्रेस

  • कहाँसम्म पुग्ला ‘विनिङ मेसिन’ इटाली ?

    कहाँसम्म पुग्ला ‘विनिङ मेसिन’ इटाली ?

    काठमाडौं । मुख्य प्रशिक्षक रोबर्टो मान्सिनीको नेतृत्वको इटालियन टोली युरो २०२० का नकआउटमा स्थान सुरक्षित गर्ने पहिलो टोली बन्यो । र, ‘इनफर्म’ ‘अज्जुरी’को यो नतिजा कुनै अप्रत्याशित सफलता भने होइन । अन्तिम पटक गोल खाए यता ३० गोल गरिसकेको इटालीले बुधबार राति स्वीटजरल्यान्डलाई पराजित गरेसँगै लगातार १० खेलमा जित निकालेको छ ।

    त्यति मात्र होइन, उत्कृष्ट लयमा रहेको इटालीले पछिल्ला १९ खेलमा ५९ गोल ठोकेको छ भने तीन गोल मात्रै खाएको छ । अहिले इटाली पछिल्ला २९ खेलमा अपराजित छ भने ती खेलमा ८० गोल ठोकिसकेको छ । र, उपाधिका लागि उनीहरूको भोक स्वभाविक छ । सबै ‘स्ट्याट्स’ उनीहरूको पक्षमा भए पनि प्रतियोगिता अगाडि बढ्दै जाँदा रोबर्टो मान्सिनिको टोली कहाँसम्म पुग्छ भन्ने सवाल पैदा भएको छ ।

    ‘अज्जुरी ‘विनिङ मेसिन’ हुन्’

    युरो २०१२ को फाइनलमा पराजित भए यता विश्व फुटबलका ठूला प्रतियोगितामा खासै प्रभाव पार्न नसकेको इटालीले पहिलो पटक युरोपियन च्याम्पियनसिपका सुरुआती दुई खेलमा ३-०, ३-० को जित निकाल्न सफल भयो । युरोको उद्घाटन खेलमा टर्कीविरुद्ध शानदार सुरुआत गरेका इटालीले दोस्रो खेमला स्वीटजरल्यान्डविरुद्ध पनि सोही नतिजा दोहोर्‍याएको थियो ।

    लगातार दुई खेलमा शानदार सुरुआत गरेको इटालीले प्रतियोगिता अगाडि नै पाएको उपाधि दाबेदारको उपमालाई आत्मसातसमेत गरेको छ ।

    ‘उनीहरूले खेलको सुरुआतदेखि अन्त्यसम्म खेल नियन्त्रणमा लिइरहेका छन्,’ एभर्टनका पूर्व मिडिफिल्डर लियोन ओस्मानले भने, ‘उनीहरू बल पोसेसन नहुँदा के गर्छन् भन्ने विषयमा ठूला देशहरू छक्क पर्छन् । तर, आक्रामक पक्षमा भने उनीहरू एकदमै राम्रो टोली छन् ।’

    ‘उनीहरू ‘विनिङ मेसिन’ हुन् । तर, उनीहरूलाई यथार्थ रूपमा जाँच्नका लागि इटालीले साँच्चै बलिया टोलीसँग खेलेको छैन । यदि तपाई इटालीलाई प्रतियोगिताको सम्बन्धलाई लिएर मुल्याङ्कन गर्नुहुन्छ भने उनीहरूको परीक्षण हुन बाँकी छ । ठूला टोलीसँग अज्जुरीले कस्तो खेल्छन्, त्यो हेर्न बाँकी छ ।’

    यस्तै म्यानचेस्टर युनाइटेड तथा आयरल्यान्डका मिडफिल्डर रोए किनले इटालियन टोलीको प्रशंसा गरेका छन् ।

    ‘यो टोलीको बारेमा सबैभन्दा मलाई मन परेको पक्ष भनेको उनीहरूको अगाडि बढेर आक्रमण गर्ने शैली हो । तर, बल पोसेसन बिना उनीहरू जे गरिरहेका छन् र टोली पछाडि झरेर खेलिरहेका छन्, त्यो इच्छाशक्तिको नमुना हो,’ किनले भने, ‘जब उत्ृकष्ट खेलाडीहरू टोलीमा हुन्छन्, भोक र तिव्र इच्छा हुन्छ, गन्तव्यमा पुग्नु पर्ने ठाउँमा पुगिन्छ ।’

    इटालीबाट युरो २००० को फाइनलसम्म पुगेका जियानलुका जाम्ब्रोटा भन्छन्, ‘स्वीटजरल्यान्डविरुद्धको खेलअघि टोलीबाट धेरै अपेक्षा थिए । तर, अब झन् धेरै अपेक्षा बढेका छन् । गाइज! यही ‘एटिच्युड’सहित खेलेर हाम्रो सपना पूरा गरिदेऊ ।’

    ‘उनीहरू आनन्द लिइरहेका छन् र जोखिम पनि मोलिरहेका छन्’

    सहजतापूर्वक समूह ‘ए’ शीर्ष स्थान कब्जा गरेको इटालीका प्रशिक्षक मान्सिनीले आफ्नो टोलीको प्रदर्शनप्रति सकारात्मक टिप्पणी गर्दै अगाडि अझ कठिन चुनौतीको सामना गर्नुपर्ने बताएका छन् ।

    ‘युरोपियन च्याम्पियनसिपमा फ्रान्स, पोर्चुगल, बेल्जियम जस्ता टोली छन् । तीमध्ये एक टोली विश्वकप विजेता हो र अर्को युरोपियन च्याम्पियन,’ उनले भने, ‘र, अर्को टोली विश्व बरियताकै शीर्ष स्थानमा छ । यी टोलीहरू वर्षौँ लगाएर बनेका छन्, र उनीहरू हामीभन्दा अझै अगाडि छन् । तर, यो फुटबल हो, यहाँ जे पनि हुनसक्छ । केही कुरा पनि निश्चित हुन सकिँदैन ।’

    ‘सबै खेल चुनौतीपूर्ण छन् । फिल्डमा गएर खेल्नैपर्छ । म यो मानेमा भाग्यशाली छु कि मेरो टोलीमा धेरै राम्रा खेलाडी छन् । उनीहरू खेल्न रुचाउँछन्, उनीहरू आनन्द लिन्छन् र जोखिम मोल्ने हिम्मत राख्छन्,’ मान्सिनी भन्छन्, ‘यी सबै कुराको श्रेय खेलाडीलाई जान्छ । मैले मेरो सोचाई र प्रक्रिया उनीहरूलाई बुझाउने कोसिस गरेँ र अगाडि अझै लामो बाटो बाँकी छ ।’

    सबै योजना अनुसार भइरहेको छ ?

    नकआउटमा पनि इटालीसँग त्यस्तै आक्रामक क्षमता बाँकी रहन्छ ? त्यो समयले बताउने छ तर एउटा सानो कुरा मान्सिनीको टोलीको विरुद्धमा देखिएको थियो ।

    सिरो इम्मोबिलेले इटालीबाट खेलेका पछिल्ला तीनै खेलमा लगातार गोल गरेका छन् । र, उनले प्रतियोगिताअघि उनको अन्तर्राष्ट्रिय स्तरमा गोल स्कोरिङ रेकर्डलाई लिएर उठेका सबै सवाल बन्द गरिदिएका छन् । त्यस्तै, भरपर्दा मिडफिल्डर मार्को भेराटी चोटग्रस्त भएपछि मान्सिनीलाई टाउको दुखाइको विषय बनेको थियो । तर, भेराटीको स्थानमा मौका पाएका म्यानुएल लोकाटेली स्वीटजरल्यान्डविरुद्धको खेलमा दुई गोलसहित ‘स्टार अफ दी शो’ साबित भए ।

    ‘डोमिनेन्ट’ इटालियन टोलीका लागि एउटा मात्रै दुःखद् पक्ष रह्यो, कप्तान जर्जियो केलिनीको इन्जुरी र फोस्र्ड सब्स्टिच्युसन रह्यो । केलिनीले स्वीटजरल्यान्डविरुद्धको खेलमा २४ मिनेट बिताएर सम्भावित ‘ह्यास्ट्रिङ’ इन्जुरीका कारण मैदानबाट बाहिरिनु परेको थियो ।

    ‘यो एकदम चिन्ताको विषय हो । आशा गरौं उनलाई जटिल समस्या देखिएको होइन । तर, ३६ वर्षको उमेरमा चोटिल भएर मैदानबाट बाहिरिनु समग्र प्रतियोगिताका लागि राम्रो कुरा होइन,’ फ्रान्सका पूर्वमिडफिल्डर प्याट्रिक भिएराले भने ।

    बिबिसीबाट
  • युरो २०२०: अब बेन्चमा थन्क्याउन नहुने ५ खेलाडी

    युरो २०२०: अब बेन्चमा थन्क्याउन नहुने ५ खेलाडी

    एजेन्सी । एक वर्ष ढिलो सुरु भएको युरो २०२० को पहिलो चरणमा प्राय देशले टिम छनोटमा रिस्क लिन चाहेनन् । तर, केही टोलीले सुरुआती-११ मा नयाँ प्रयोग गर्न खोज्दा चाहेजस्तो नतिजा निकाल्नबाट चुके ।

    हुनत खेलाडी छनोट र टोली निर्माणको सम्पूर्ण निर्णय र स्वामित्व पनि फुटबल संघले मुख्य प्रशिक्षकलाई सुम्पिएको हुन्छ । र, प्रशिक्षकहरूले आफ्नो टोली हरतरहले बलियो बनाउन कुनै कसर बाँकी राख्दैनन् ।

    यद्यपि, युरोका सुरुआती खेल हेर्ने हो भने सुरुआती-११ छनोटमा प्रशिक्षकहरू चुकेको स्पष्ट हुन्थ्यो । जसको ज्वलन्त उदाहरण स्पेनका प्रशिक्षक लुइस इनरिके हुन् । २४ जनाको टोली घोषणा गर्दा केही अपेक्षित नाम समावेश नगरेपछि चौतर्फी आलोचनाको शिकार भएका इनरिकेले पुन: एक पटक स्वीडेनविरुद्धको सुरुआती-११ लाई लिएर आलोचित हुनुपर्‍यो ।

    युरो २०२० मा सहभागी सबै टोलीले कम्तिमा एक खेल खेलिसकेका छन् । र, समूह चरणको पहिलो खेल खेलिसकेपछि केही प्रशिक्षकले यदि आफ्नो टोलीलाई नक आउटमा पुर्‍याउन सुरुआती-११ को छनोटमा पुनर्विचार गर्नुपर्ने देखिन्छ । पहिलो चरणको समाप्तिसँगै यसरी बेन्चमा राख्न नहुने पाँच खेलाडी यसरी सूचीकृत गर्न सकिन्छ ।

    गेरार्ड मोरोनो, स्पेन

    बार्सिलोनाका कप्तान लियोनेल मेसीले (३०) मात्रै स्पेनिस लालिगामा गत सिजन स्पेनिस फरवार्ड जेरार्ड मोरोनो (२३) भन्दा धेरै गोल गरेका थिए । आफनो करियरकै उत्कृष्ट फर्ममा रहेका मोरोनोले अप्रत्यासित रूपमा युरो २०२० को पहिलो खेलमा स्वीडेनविरुद्ध सुरुआती-११ मा मौका पाएनन् । मुख्य प्रशिक्षक लुइस इनरिकेले उनको स्थानमा युभेन्टसका फरवार्ड अल्भारो मोराटालाई स्ट्राइकरको जिम्मेवारी दिएका थिए । मोरेनोभन्दा मोराटालाई सुरुआती-११ मा नराख्नु उनका लागि घाटा भयो । घरेलु मैदानमा भएको खेलमा पनि फिनिसिङमा चुक्दा स्पेन स्वीडेनसँग गोलरहित बराबरीमा रोकिँदा ६६ मिनेट मौका पाएका मोराटाले तीन पटक मात्रै पोस्टमा आक्रमण गर्न सफल भएका थिए । तीमध्ये कुनै पनि प्रहारले विपक्षी गोलकिपरलाई अप्ठेरोमा पार्न सकेनन् ।

    यद्यपि, एक पटक गोल गर्नसके अल्भारो मोराटा आत्मविश्वासी खेलाडी हुन् । एक पटक उनले गोल गर्नसके गोलले नै उनलाई पछ्याउने छ । स्विडेनविरुद्धको बराबरीसँगै इनरिकेले पक्कै मोरोनोलाई छनोट गर्नेछन् ।

    ज्याक ग्रेलिस, इङ्ल्यान्ड

    आइतबार क्रोएसियामाथि १-० को जित हासिल गरेको इङ्ल्यान्डले विश्वकप २०१८ को बदलामात्रै लिएन, युरोपियन च्याम्पियनसिपमै पहिलो पटक उद्घाटन खेलमा पूरा तीन अंक लिन सफल भयो । वेम्ब्लीमा इङ्ल्यान्डले ऐतिहासि जित निकालेसँगै प्रतियोगितामा उत्कृष्ट सुरुआत पनि गर्‍यो । निरन्तर गोलका अवसरको खोजीमा रहे पनि इङ्लिस खेलाडीले गोल गर्नका लागि उचित मौकाका लागि धेरै समय पर्खनु परेको थियो ।

    इङ्लिस टोलीको उक्त प्रतिक्षाको फल स्वरूप राहिम स्टर्लिङ गरेको गोलसँगै पाएको थियो । गेराथ साउथगेटको आलोचना गर्न त कठिन छ । तर, पहिलो खेलको प्रदर्शन हेर्ने हो भने विपक्षी टोलीविरुद्ध फाउल जित्न र फ्रि-किकको मौका सिर्जना गर्न इङ्लिस खेलाडी त्यति सफल रहेनन् ।

    र, इङ्ल्यान्डको यो कमी पूरा गर्न ग्रेलिस एकदम उचित विकल्प हुने अनुमान सहजै गर्न सकिन्छ । किनभने, चोटका कारण १२ खेल गुमाएका ग्रेलिसले गत सिजन प्रिमियर लिगमा सर्वाधिक ११० पटक फाउल जितेका थिए । त्यस्तै, प्रभावशाली पासमा भने म्यानचेस्टर सिटीका केभिन डी ब्रुयनाले मात्रै उनलाई उछिनेका थिए ।

    फिल फोडेन इङ्लिस टोलीका युरो २०२० मा ‘गोल्डेन ब्वाइ’ हुनसक्छन् । तर, क्रोएसियाविरुद्धको खेलमा भने उनको प्रभाव देखिएन । साउथगेटले शुक्रबार हुने स्कटल्यान्डविरुद्धो खेलमा टोलीमा धेरै परिवर्तन गर्ने सम्भावना त देखिँदैन, यद्यपि, उनले ग्रेलिसलाई एक मौका दिनु उपयुक्त हुन्छ ।

    निकोला भ्लासिच, क्रोएसिया

    वेम्ब्लीमा आइतबार इङ्ल्यान्डसँग पराजित भएसँगै क्रोएसियाको खराब लयले निरन्तरता पाएको छ । विश्वकप २०१८ को उपविजेता क्रोएसियाले पछिल्ला १० मध्ये दुई खेलमा मात्र जित निकाल्न सकेको छ । र, ती दुई जित पनि युरोपेली फुटबलमा स्थापित भइनसकेका साइप्रस र माल्टाविरुद्ध निस्किएको थियो ।

    विश्वकपको उपविजेता पहिलो खेलमै पराजित भएसँगै क्रोएसियालाई शुक्रबार हुने खेलमा चेक गणतन्त्रसँग जित्नै पर्ने दबाब बढेको छ । क्रोएसियाली प्रशिक्षक ज्लाट्को डालिचलाई ह्याम्पडेनमा सशक्त प्रदर्शन गर्न निकोला भ्लासिचको उपस्थितिले पक्कै सहयोग पुग्नेछ ।

    मार्सेलो ब्रोजोभिच, माटेओ कोभासिच र लुका मोड्रिकले मिडफिल्डबाट फाइनल थर्डसम्म प्रभावकारी बल सप्लाई गर्न समस्या भइरहेको देखिन्छ । यस्तो अवस्थामा आवश्यक देखिएको मिडफिल्ड र अट्याकबीचको पुल भ्लासिच बन्न सक्छन् ।

    इङ्ल्यान्डविरुद्धको खेलमा २० मिनेट मौका पाएका भ्लासिचले क्षमताअनुसारको प्रदर्शन गर्न पर्याप्त समय थिएन । गत सिजन रसियन प्रिमियर लिगमा ११ गोल र पाँच असिस्ट गरेका भ्लासिचले २३ वटा ठूला मौका सिर्जना गरेका थिए । पहिलो खेलमा जित हासिल गरेको चेक गणतन्त्रले स्कटल्यान्डविरुद्ध १९ प्रहार सहनु परेको थियो ।

    यस्तै मौका सिर्जना भए क्रोएसियाका लागि भ्लासिचले गोल गर्ने सम्भावना पनि देखिन्छ । त्यसैले चेक गणतन्त्रविरुद्धको खेलमा उनलाई मौका दिनु उचित देखिन्छ ।

    चे आडम्स, स्कटल्यान्ड

    चेक गणतन्त्रविरुद्धको पराजयमा एन्डी रोबर्टसनले मात्रै चे आडम्सको भन्दा धेरै पास खेलेका थिए । जबकी आडम्स पहिलो हाफपछि मात्रै मैदानमा प्रवेश गरेका थिए । उक्त खेलमा स्कटल्यान्डले प्रहार गरेका १९ मध्ये १३ प्रहार आडम्सको उपस्थितिपछि मात्रै सम्भव भएका थिए ।

    गत वर्ष आडम्सले स्कटल्यान्डबाट खेल्ने घोषणा गरेपछि उनले स्कटिस टोलीको अट्याकिङ थर्डमा ल्यान्डन डाइक्ससँग सहकार्य गर्ने सम्भावना थियो । तर, प्रशिक्षक स्टिभ क्लार्कको निर्णय यसको विपरीत रह्यो ।

    यसअघिका सात खेलमा एक गोल मात्रै खाएको इङ्ल्यान्डविरुद्ध स्कटल्यान्डलाई कम चुनौती हुनेछैन । र, प्रिमियर लिगमा व्यावसायिक फुटबल खेल्ने आडम्स इङ्लिस डिफेन्डरसँग परिचित छन् । त्यसैले आडम्सको उपस्थिति स्कटल्यान्डका लागि फाइदाजनक हुन सक्छ ।

    एन्ड्रे सिल्भा, पोर्चुगल

    साविक विजेता पोर्चुगलले मंगलबार राति समूह चरणको पहिलो खेलमा हंगेरीलाई ६७ हजार दर्शकसामु उसकै मैदानमा ३-० ले पराजित गर्‍यो । उक्त खेलमा पोर्चुगलका लागि राफाएल गुरेरो र कप्तान क्रिस्टियानो रोनाल्डोले गरेका तीनै गोल सिल्भाको आगमनपछि सम्भव भएका थिए ।

    सिल्भा मैदानमा प्रवेश गरेसँगै रोनाल्डो सेन्ट्रल स्ट्राइकरबाट लेफ्ट फ्लान्कमा स्वीच भएका थिए । जसको कारण पोर्चुगिज टोली हंगेरियन डिफेन्स ब्रेक गर्न सफल भएको थियो ।

    आइनट्राच्ट फ्रान्कफर्टमा उत्कृष्ट सिजन बिताएका सिल्भाले गत सिजन बुन्डेसलिगामा २८ गोल गरेका थिए । उत्कृष्ट फर्ममा रहेका सिल्भालाई मैदानमा उतार्नु पोर्चुगिज प्रशिक्षक फर्नान्डो सान्तोषका लागि फाइदाजनक रह्यो । उनको अट्याकिङ हाफमा उपस्थितिसँगै हंगेरियन डिफेन्डर व्यस्त हुँदा रोनाल्डोले गोल गर्ने मौका पाएका थिए ।

    त्यसैले, शनिबार हुने खेलमा जर्मनीविरुद्ध सिल्भाको उपस्थितिले रोनाल्डोका लागि जर्मनीको डिफेन्सिभ हाफमा धेरै ठाउँ उपलब्ध हुन सक्छ । यसका कारण गोल स्कोरिङ र विपक्षी डिफेन्डरलाई व्यस्त राख्न पनि सिल्भा प्रभावकारी हुने भएकाले उनी सुरुआती-११ मा स्थान बनाउन डिजर्भ गर्छन् ।

    दी गार्जियनबाट
  • कोपा अमेरिकामा नेइमार प्रेरित ब्राजिलको लगातार दोस्रो जित, क्वाटरफाइनल प्रवेश

    कोपा अमेरिकामा नेइमार प्रेरित ब्राजिलको लगातार दोस्रो जित, क्वाटरफाइनल प्रवेश

    एजेन्सी । कोपा अमेरिकामा समूह बी बाट लगातार दोस्रो जित हासिल गर्ने क्रममा साविक विजेता ब्राजिलले पेरुमाथि ४–० गोलको प्रभावशाली विजय हासिल गरेको छ । दुई जितसँगै ब्राजिल क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

    अघिल्लो संस्करणमा फाइनलिस्ट टोलीबीचको प्रतिस्पर्धामा घरेलु टोली ब्राजिलले एकपक्षीय खेल प्रदर्शन गरेको थियो । खेलको १२ औं मिनेटमै गाव्रियल जेससको पासमा एलेक्स सान्द्रोले ब्राजिललाई अग्रता दिलाएका थिए ।

    बाँकी तीनै गोल दोस्रो हाफमा सम्भव भएको थियो । ६८ औं मिनेटमा नेइमारले बक्स बाहिरबाट आकर्षक गोल गरी अग्रता दोब्बर पारेका थिए । उनलाई फ्रेडले बल उपलब्ध गराएका थिए ।

    ८९ औं मिनेटमा एभर्टन रिबेरोले गोल गरी ३–० को अग्रता दिलाउँदा अप्रत्यक्ष रुपमा नेइमारको संग्लग्नता रह्यो । नेइमारले निकालिदिएको चलाखीपूर्ण पासमार्फत रिचर्डलिसनले गोल असिस्ट गरेका थिए ।

    त्यसको तीन मिनेटपछि उनै रिचर्डलिसनले गोल गरी ४–० को जित निश्चित गरे । यसअघि उद्घाटन खेलमा ब्राजिलले भेनेजुएलामाथि ३–० को विजय पाएको थियो ।

  • विम्बल्डन र ओलम्पिक नखेल्ने नाडालको घोषणा

    विम्बल्डन र ओलम्पिक नखेल्ने नाडालको घोषणा

    काठमाडौं । विश्व नम्बर तीन राफेल नाडालले वर्षको तेस्रो ग्रान्डस्लाम- विम्बल्डन र टोकियो ओलम्पिक नखेल्ने घोषणा गरेका छन् ।

    २० पटकका ग्रान्डस्लाम च्याम्पियन नाडालले ट्वीट गर्दै आफूले यो शरीरको अवस्था र टीमसँगको छलफलपछि यो एक कठिन निर्णय लिएको बताएका छन् ।

    ‘मैले यस पटकको विम्बल्डन र ओलम्पिकमा भाग नलिने निर्णय लिएको छु’, उनले लेखेका छन्, ‘यो सजिलो निर्णय दिएन । तर, मैले मेरो शरीरको अवस्था बुझेर आफ्नो टीमसँग सल्लाह गरेर यो निर्णय लिएको हुँ । मलाई विश्वास छ मेरो टीमलाई के उचित निर्णय हो भन्ने थाहा छ ।’

     

  • १६ वर्षपछि रियल मड्रिड छाड्दै सर्जियो रामोस

    १६ वर्षपछि रियल मड्रिड छाड्दै सर्जियो रामोस

    एजेन्सी । सर्जियो रामोसले रियल मड्रिड छाड्ने निश्चित भएको छ । क्लबले लामो समयदेखिको कप्तानको विदाई पत्रकार सम्मेलन विहीबार आह्वान गरेको छ ।

    सन् २००५ मा सेभियाबाट अनुबन्धित भएयता ३५ वर्षीय रामोसले रियलमा ५ ला लिगा, ४ च्याम्पियन्स लिग उपाधि जितेका छन् । उनले रियलका लागि ६ सय ७१ खेलमा १ सय १ गोलसमेत गरेका छन् । सेन्टर डिफेण्डरका रुपमा उनी सर्बाधिक गोल गर्ने खेलाडीसमेत हुन् ।

    क्लबले आफ्नो विधानअनुसार सम्मान र विलाईका लागि पत्रकार सम्मेलनको आयोजना गरेको बताएको छ । रामोसको रियलसँगको सम्झौता जुनको अन्तिममा सकिँदैछ ।

    सेभियाबाट करिअर सुरु गर्न थालेका यी स्पेनिस डिफेण्डरलाई फ्लोरेन्टिनो पेरेजले पहिलोपल्ट रियलको अध्यक्षता संहालेपछि कीर्तिमानी रकममा अनुबन्ध गराएका थिए । त्यसपछि उनी आफ्नो समयको महान सेन्टर डिफेण्डर बने । रामोसले सान्टियागो बर्नबाउमा रहेर २२ उपाधि जिते ।

    सन् २०१४ को च्याम्पियन्स लिग फाइनलमा चीर प्रतिद्वन्द्वी एट्लेटिको मड्रिडविरुद्ध ९३ औं मिनेटमा गरेको बराबरी गोलका लागि रामोसलाई सबैभन्दा धेरै सम्झिइन्छ । रियलले दशौंपल्ट च्याम्पियन्स लिग जित्ने क्रममा अतिरिक्त समयमा ४–१ को जित पाएको थियो ।

    रियलको प्रस्तावमा सहमत नभएपछि फ्री ट्रान्सफरमार्फत रामोस बाहिरिन लागेका हुन् । उनी कुन क्लबबाट खेल्नेछन् भन्ने नश्चित भएको छैन ।

    रामोसलाई फिटनेसको कारण देखाउँदै लुइस इनरिकेले युरो २०२० का लागि स्पेनिस टिममा राख्न अस्वीकार गरिदिएका थिए । यी डिफेण्डरले स्पेनका लागि पनि १ सय ८० खेल खेलेका छन् र सन् २००८ र २०१२ को युरो तथा सन् २०१० को विश्वकप उपाधि जितेका छन् ।

     

  • महिला भलिबलको प्रशिक्षण आजदेखि सुरु

    महिला भलिबलको प्रशिक्षण आजदेखि सुरु

    काठमाडौं । राष्ट्रिय महिला भलिबल टोलीको प्रशिक्षण मंगलबारदेखि सुरु हुँदैछ । कोरोना महामारीका कारण गत जेठ २१ गतेदेखि सुरु हुनुपर्ने प्रशिक्षण स्थगन गरिएको थियो ।

    प्रशिक्षणका लागि टोलीका अधिककांश खेलाडी काठमाडौँ आइसकेको नेपाल भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्दले जानकारी दिए । बन्द प्रशिक्षणका लागि टोलीमा परेका केही खेलाडी काठमाडौँ आउने क्रममा छन् । संघले गत चैतमा सम्पन्न एनभीए क्लब भलिबल लिगबाट ३० खेलाडी छनोट गरी प्रशिक्षणमा सहभागी गराउने निर्णय गरेको थियो ।

    जेठ १४ गते बसेको संघको बैठकले जगदीशप्रसाद भट्टलाई प्रशिक्षणको जिम्मेवारी सुम्पेको हो । संघका उपाध्यक्ष निरोज मास्के, प्रशिक्षक भट्ट र प्रज्वलबहादुर सिंह सम्मिलित छनोट समितिले खेलाडी छनोट गरेको हो । आगामी भदौ १३ देखि २० गतेसम्म फिलिपिन्समा आयोजना हुने एसियन महिला भलिबल च्याम्पियनसिपका लागि बन्द प्रशिक्षण थालिएको हो ।

    बन्द प्रशिक्षणका लागि नेपाली सेनाको त्रिभुवन आर्मी क्लबबाट ८, नेपाल प्रहरीको पुलिस क्लब, सशस्त्र प्रहरी बलको एपीएफ क्लब र न्यू डायमण्ड क्लबबाट ७-७ तथा भरतपुर मेट्रोबाट एउटा खेलाडी छनोटमा परेका छ ।

    आर्मीबाट सुनिता खड्का, सोफिया पुन, शान्ति थारु, जानकी भण्डारी, सरस्वती जैसी, कृपा अधिकारी, संगम महतो र सृष्टि खड्का, पुलिसबाट कमला पुन, उषा भण्डारी, पुनम चन्द, कामना बिष्ट, लक्ष्मी चन्द, मनिषा चौधरी र शान्तिकला तामाङ, एपीएफबाट सरस्वती चौधरी, निरुता ठगुन्ना, हिरा केसी, उषाकुमारी बिष्ट, पुजा चौधरी, रेश्मा भण्डारी र कविता भट्ट, न्यू डायमण्ड स्पोर्ट्स क्लबबाट प्रतिभा माली, अरुणा शाही, सलिन श्रेष्ठ, वाल्मिका आचार्य, झरना श्रेष्ठ, रिया कुँवर र रिमा कुवँर तथा भरतपुरबाट सरस्वती कट्टेललाई छनोट गरिएको छ ।

    यस्तै वैकल्पिक खेलाडीका रूपमा भरतपुरका आरती सुवेदी र निशा चौधरी, डायमण्डकी प्रगति नाथ, ढोरपाटनकी पुष्पा शाही र पुलिसकी पुष्पा चौधरी रहेका छन् । संघले महिला टोलीका व्यवस्थापकमा उपाध्यक्ष मास्केलाई चयन गरेको छ । टोलीको ट्रेनरको जिम्मेवारी अञ्जु श्रेष्ठले पाएकी छिन् ।

    -रासस

  • कोपा अमेरिकामा बोलिभियामाथि पाराग्वेको पुनरागमन जित

    कोपा अमेरिकामा बोलिभियामाथि पाराग्वेको पुनरागमन जित

    एजेन्सी । कोपा अमेरिका अन्तर्गत समूह ए को खेलमा १० खेलाडीमा समेटिएको बोलिभियामाथि पाराग्वेले ३–१ गेलअन्तरको प्रभावशाली जितसहित विजयी सुरुआत गरेको छ ।

    ब्राजिलमा जारी प्रतियोगिताको केहिबेर अघि सम्पन्न खेलमा बोलिभियाले खेलको दशौं मिनेटमै इरभिन सावेद्राको पेनाल्टी गोलमार्फत अग्रता बनाएको थियो ।

    अग्रतासहित पाराग्वेलाई दवावमा राखेको बोलिभिया पहिलो हाफको अन्त्यतिर १० खेलाडीमा समेटियो । उसका स्ट्राइकर जुमी मेन्डोजा १० मिनेटको अन्तरमा दुई पहेँलो कार्ड खाँदै मैदान बाहिरिनुपरेपछि बोलिभियाको कठिन समय सुरु भयो ।

    ६२औं मिनेटमा अलेजान्द्रो रोमेरोले बराबरी गोल गरेको तीन मिनेटपछि एंगेल रोमेरोले पाराग्वेलाई अग्रता दिलाए । ८० औं मिनेटमा एंगेलले नै व्यक्तिगत दोस्रो गोल गर्दा पाराग्वे सहज जितसहित समूह ए को शीर्ष स्थानमा पुग्यो ।

  • म्याराडोनाप्रति समर्पित खेलमा अर्जेन्टिना फेरि चिलीसँग रोकियो

    म्याराडोनाप्रति समर्पित खेलमा अर्जेन्टिना फेरि चिलीसँग रोकियो

    एजेन्सी । कोपा अमेरिका अन्तर्गत चिलीसँग १–१ को बराबरीमा रोकिएको खेलमा अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सीले शानदार फ्रिकिक गोलमार्फत आफ्ना लिजेन्ड डिएगो म्याराडोनाको सम्मान र स्मरण गरेका छन् ।

    समूह ए को सुरुआती खेलमा मेस्सीले पहिलो हाफमा उत्कृष्ट फ्रिकिक गोल गरे । ३३ औं मिनेटमा गरेको गोलले पहिलो हाफमा अर्जेन्टिनालाई अग्रता दिलाएको थियो । उनले आफ्नो अन्तर्राष्ट्रिय गोलसंख्या ७३ पुर्‍याए ।

    तर दोस्रो हाफको सुरुमै इडोउरो भार्गासले बराबरी गोल फर्काए । ५७ औं मिनेटमा पेनाल्टी अवसर पाएपछि अटूरो भिडालको पेनाल्टी प्रहार अर्जेन्टिनाका गोलरक्षकले रोकिदिए । रिबाउण्ड बललाई नै भार्गासले सदुपयोग गर्न भ्याए ।

    खेल सुरु हुनुअघि लाइट र इफेक्टको प्रयोगद्वारा विश्व फुटबलकै सर्वकालीन महान खेलाडी अर्जेन्टाइन डिएगो म्याराडोनाको स्मरण गरिएको थियो ।

    सन् १९८६ को विश्वकप जित्दाको म्याराडोनाको प्रदर्शनको भिडियो क्लिपहरु इफेक्टमार्फत मैदानमा देखाइएको थियो । महान फुटबलर म्याराडोनाको गत नोभेम्बरमा ६० वर्षको उमेरमा निधन भएको थियो ।

    महादेशीय प्रतियोगितामा अर्जेन्टिनाका लागि चिली टाउको दुखाइ बनेको धेरै भइसकेको छ । सन् २०१५ र २०१६ मा आयोजित कोपा अमेरिकाको फाइनलमा चिली नै अर्जेन्टिनाको बाधक बनेको थियो । गत सातामात्र विश्वकप छनोट अन्तर्गतको खेलमा पनि चिलीले अर्जेन्टिनालाई बराबरीमै रोकेको थियो ।

  • कोपा अमेरिका: आज राति अर्जेन्टिना र चिली भिड्दै

    कोपा अमेरिका: आज राति अर्जेन्टिना र चिली भिड्दै

    काठमाडौं । कोपा अमेरिकाको समूह ‘ए’ अन्तर्गत सोमबार राति हुने खेलमा अर्जेन्टिनाले चिलीको सामना गर्दैछ । स्टाडियो ओलिम्पिको निटोत सान्तोषमा हुने खेलमा दुवै टोली जितसहित प्रतियोगिताको सुरुआत गर्न चाहन्छन् ।

    २०१५ र २०१६ मा अर्जेन्टिनालाई पराजित गर्दै दुई पटकको च्याम्पियन बनेको चिली यो संस्करणमा पनि अर्जेन्टिनालाई हराउँदै यात्रा सुरु गर्न चाहन्छ । यस्तै, चिलीविरुद्धको बदल लिँदै प्रतियोगिताको सुरुआत गर्ने लक्ष्यसहित लियोनेल मेसीको अर्जेन्टिना मैदानमा उत्रिने छ । नेपाली समयअनुसार यो खेल राति २:४५ बजे सुरु हुनेछ ।

    यस्तै समूह ‘ए’ कै अर्को खेलमा पाराग्वेले बोलिभियाको सामना गर्नेछ । नेपाली समयअनुसार बिहान ५:४५ बजे हुने खेलमा दुवै टोली जितसहित प्रतियोगिताको सुरुआत गर्ने लक्ष्यमा हुनेछन् ।

  • फुटबल कप्तान भन्छन् : अस्ट्रेलियासँग मरेर खेल्यौं, अरु एसियन पावरहाउससँग पनि खेल्न पाऊँ

    फुटबल कप्तान भन्छन् : अस्ट्रेलियासँग मरेर खेल्यौं, अरु एसियन पावरहाउससँग पनि खेल्न पाऊँ

    काठमाडौं । कतार विश्वकप छनोट र एसियन कप छनोटका क्रममा नेपाली फुटबल टिमले कुवेत भ्रमण गरेर आइतबार साँझ स्वदेश फर्किएको छ । अघिल्ला भ्रमणभन्दा यो पटकको भ्रमण उपलब्धिमूलक रहेको टोलीका कप्तान किरण चेम्जोङले बताएका छन् । सधै रक्षात्मक रणनीति अपनाउने नेपालले यो भ्रमणमा आक्रामक खेल्न सक्छ भन्ने उदाहरण दिएको कप्तान चेम्जोङले उल्लेख गरे ।

    नेपाल समूह तालिकाको चौंथो स्थानमा रहँदै कतार विश्वकप छनोट यात्रा समाप्त हुँदा २०२३ सालमा चीनमा एसियन कपको झिनो आशा प्लेअफ मात्रै बाँकी छ । तटस्थ स्थल कुवेत भ्रमण गरेको नेपालले कोरोना महामारी नेपालमा नभएको भए कुवेतमा खेलेका खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल्ने थियो ।

    कुवेतका प्रशिक्षक अबदुल्लाह अलमुताइरीले राष्ट्रिय टोली सम्हालेपछि नेपालको शैली विगतकोभन्दा फरक देखियो । प्रशिक्षक अलमुताइरीले नेपाली टोली बलिया टोलीसँग पनि भिड्न सक्छ भन्ने मानिसिकता थपिदिएका छन् ।

    नेपाल फर्किएपछि कप्तान चेम्जोङसँग गरिएको कुराकानीः

    कुवेत भ्रमण समग्रमा कस्तो रह्यो ?

    कुवेतको तीनवटै खेल हेर्दा, टिमले धेरै सकारात्मक खेलेको छ । धेरै कुरा सुधारिएको छ ।

    चाइनिज ताइपेइसँगको खेलमा हामीले विगतको नतिजालाई निरन्तरता दिन सक्यौं । जोर्डन र अस्ट्रेलियासँगको खेलमा भने क्रमभंग गर्ने लक्ष्य पूरा हुन सकेन । नसक्नुमा हामी कहाँ चुक्यौं ?

    कुवेत जानुअघि इराक भ्रमण गरेर प्राप्त उपलब्धिले हाम्रो मनोबल बढ्यो । पहिलो खेल चाइनिज ताइपेइसँग थियो । ताइपेइको घरेलु मैदानमा खेल्न जाँदा टोली निकै बलियो थियो । दोस्रो लेगमा पनि सुखद नतिजा निकाल्न हामी पूर्णरुपमा तयार थियौं ।

    तयारी राम्रो भएकाले नतिजालाई निरन्तर दिन सक्यौं । भ्रमणमा रहेका कोच र एसिस्टेन्ट कोचले हाम्रो खेललाई राम्रोसँग नियाल्नु भएको थियो । उनीहरुको खेललाई पनि । जित्नुको विकल्प हामीसँग थिएन । सोहीअनुसार कोचले दिएको निर्देशनलाई खेल अवधिभर पालाना गर्‍यौं ।

    पेनाल्टीबाट अग्रता लिएसँगै खेलाडीमा हौसला मिल्यो । पछि दोस्रो गोल पनि निस्कियो । बलमा पकड जमाउँदै दबाब दिएर खेल्यौं । राम्रो खेल्यौं ।

    दोस्रो खेल जोर्डनविरुद्ध उसैको मैदानमा खेलेका थियौ । टफ म्याच थियो । पहिलो खेलमा गोलको मार्जिन धेरै थियो । त्यसबेला पेनाल्टीबाट हामी पछि परेका थियो । दोस्रो लेगमा पनि सोही अवस्था भयो । नचाहँदा नचाहँदै गल्ती भयो । मानवीय त्रुटि फुटबलको पाटो हो ।

    जोर्डनसँगको खेलमा पनि पुरानो गल्ती भयो । सामान्य गल्तीले खेल गुमाउन पुग्यौं । सुधारको प्रयास गरे पनि अलमलमा पर्‍यौं । जोर्डनसँगका कमजोर पक्ष केलाउँदै खेल्ने प्रयास गरे पनि सफल हुन सकेनौं । अंक खोस्ने लक्ष्यका साथ मैदानमा उत्रिएका थियौं । ३-० ले नै हार्ने सोचेका थियौं । तर खेलमा सोही नतिजा दोहोरियो ।

    एसियाली पावर हावस र विश्वकपको अनुभव लिएको अस्ट्रेलियासँगको खेललाई कसरी नियाल्नु भयो त ?

    अस्ट्रेलियासँग पहिलो लेग नै टप टोली र खेलाडीसँग खेल्न पाउनु हाम्रोलागि राम्रो मौका रह्यो । पहिलोभन्दा दोस्रो लेग फरक थियो । पहिलो लेगमा फिल्ड सेयर गर्न पाउनु हामीलाई उपलब्धिमूलक थियो । दोस्रो लेगमा प्रतिस्पर्धात्मक फुटबल खेल्ने लक्ष्य राखेका थियौं । सोहीअनुसार तयारी पनि गरेका थियौं ।

    पहिलो हाफमै १० खेलाडीमा सिमित भए पनि समग्र टोली एक बनेर बनेर खेल्न सफल भयौं । वान म्यान डाउनमा पनि हामीले बलियो अस्ट्रेलियालाई रोक्यौं । अस्ट्रेलियासँगको खेलमा टिममेट्सले गरेको प्रदर्शनमा निकै सन्तुष्ट छु । तारिफ गर्न चाहन्छु । देशका लागि मरेर खेलेका थिए ।

    आउँदा दिनमा अब एसियाका अन्य पावरहाउससँग खेल्नु पर्छ र खेल्नपाउँ भन्ने हाम्रो अपेक्षा छ । कोरिया, जापान, इरानजस्ता टोलीसँग खेल्न पाउँ । नतिजा जे होला केही फरक पर्दैन । पहिलो खेल गुमाए पनि दोस्रो खेलमा सुधारको अवसर पाउँछौं । यसरी आउँदा दिनमा बलियो टोलीसँग खेल्न पाउँदा नेपाली फुटबलको स्तर सुधारिन्छ भन्ने मेरो विश्वास छ ।

    जितका लागि खेल्नुभन्दा पनि अनुभव महत्वपूर्ण हो । हार्ने आँकलन भए पनि नेपालले पनि प्रतिस्पर्धात्मक फुटबल खेल्न सक्छ भन्ने सन्देश विश्वभर जान्छ । ठूलो अन्तरले हारेको भए पनि दोस्रोपटक आमनेसामने हुने अवसर पाउँदा सुधारिएको खेल देखाएका छौं ।

    अस्ट्रेलियाको प्रशिक्षकले पनि हाम्रो खेलको तारिफ गरेका छन् । अब यस्तै बलियो अस्ट्रेलियासँग आउँदा दिनमा पनि खेल्न पाए स्कोर गर्न सकिन्छ भन्ने विश्वास छ । समग्रमा अन्तिम खेल पनि राम्रो मान्छु ।

    छोटो समय टोलीलाई सम्हालेका प्रशिक्षक अल्मुताइरीको रणनीति भ्रमणमा सफल भएको हो ? अनि यस्तो सम्भव कसरी भयो ?

    कोचले मात्र सम्भव हुँदैन । टोलीले एकजुट भएर खेल्दा नतिजा निक्लने हो । कोचको निर्देशनले धेरै अर्थ राख्छ । नयाँ कोचले बाटो देखाउने हो ।

    नेपाली टोलीलाई सम्हाल्नुभएका नयाँ प्रशिक्षक अब्दुल्लाहले सबै खेलाडीको माइन्डमा ‘वि क्यान प्ले फुटबल’ भरिदिनुभएको छ । यस्तो वातावरण सबै खेलाडीको दिमागमा राख्दिनु भएको छ । जति बलियो प्रतिद्वन्द्वी भए पनि हामीले फुटबल खेल्न सक्छौं भन्ने मानसिकता भरिदिनु भएको छ ।

    उहाँको प्रेरणाले नयाँ खेलाडीमा प्रतिस्पर्धात्मक खेल खेल्न सक्छौ भन्ने मानसिकता विकास भएको छ । अन पिच, अफ पिचमा सबै खेलाडीलाई मोटिभेसन दिनु भएको छ । नयाँ खेलाडीमा फाइटिङ स्पिरिट विकास भएको छ ।

    तर प्रशिक्षकको मात्र भन्दा पनि समग्र टिमको प्रदर्शन रह्यो । प्रशिक्षकको फुटबललाई एक स्टेप माथि लग्ने लक्ष्य रहेको छ । सोही अनुसार उहाँले परीक्षण गर्नु भएको छ । त्यसका लागि हामीले उहाँलाई साथ दिएका छौं । सोहीअनुसार हामीले पालना गरेका छौ ।

    नेपालले एट्याकिङ फुटबल खेलेको छ । युवा र पाका खेलाडी पनि टोलीमा रहेका छन् । आउँदा दिनमा नेपाली टोलीले कुवेत भ्रमणमा गरेको प्रदर्शनलाई निरन्तरता दिन कस्तो किसिमको योजना आवश्यक छ ?

    खेलाडीहरु वर्षभरि नै व्यस्त हुनु पर्‍यो । व्यस्त तालिका पनि हुनु पर्छ । शीर्ष डिभिजनका लिगहरु निरन्तर हुनु पर्‍यो । पहिलोपटक फ्रेन्चाईज फुटबल प्रतियोगिता सम्पन्न भएको छ । एनएसलले खेलाडीमा राम्रो सन्देश दिएको छ । खेलाडीलाई एनएसएल राम्रो भएको छ ।

    यस्ता प्रतियोगिताले नेपाली खेलाडीलाई व्यस्त रहन र अवसर खोज्नका लागि निकै मद्दत गर्छ । लिगहरु लामो समयसम्म हुनु पर्छ । व्यावसायीक हिसाबले लिगहरु सञ्चालन हुनुपर्छ । राष्ट्रिय खेलाडीलाई अन्तर्राष्ट्रिय भ्रमण गराएर व्यस्त गराउनु पर्छ । फुटबल खेलाडीलाई फुटबलमा नै व्यस्त बनाउनु पर्छ ।

    हामीभन्दा माथिल्लो र तल्लो स्तरका देशहरुसँग बारम्बार मैत्रिपूर्ण खेल धेरैभन्दा धेरै मिलाएर खेलाडीलाई धेरै अनुभव दिनु पर्छ । सबैभन्दा ठूलो कुरा खेलाडीलाई व्यस्त राख्नु पर्छ । खेलाडीलाई फुर्सद हुने किसिमको वातारण भन्दा पनि व्यस्त बनाउँदै फुटबल मात्र सोच्न वातावरण जरुरी छ । यसले गर्दा नेपाली फुटबलको नतिजा राम्रो हुन्छ । खेलाडीका लागि पनि यस्ता योजनाले हौसला मिल्छ । ठूलो टोलीसँगको पटक-पटक खेल्न पायौं भने अवश्य नै हामीले सुधारिएको खेल देखाउन सक्छौं । कमी-कमजोरीहरुलाई नियाल्न सक्छौ ।

    नेपालको तुलनामा विदेशतिर लामो समयसम्म लिग सञ्चालन हुन्छ । एन्फा र नेपाल सरकारले खेलाडीलाई व्यस्त बनाइराख्ने तालिका बनाउनु पर्छ । बलियो टोलीसँग पटक-पटक मैत्रिपूर्ण खेल खेल्दै कमी कमजोरी सुधार्दै समग्र खेल सुधारको बाटो अंगाल्न सकिन्छ ।

  • पब्जी मोबाइल प्रो लिगमा डीआरएस गेमिङ्गले जित्यो २१ लाख

    पब्जी मोबाइल प्रो लिगमा डीआरएस गेमिङ्गले जित्यो २१ लाख

    काठमाडौं । साउथ एसिया च्याम्पियनशिप पब्जी मोबाइल प्रो लिगमा ‘द रियल सोल्जर्स’ (डीआरएस) गेमिङ्गले १८ हजार अमेरिकी डलर पुरस्कार प्राप्त गरेको छ ।

    डीआरएसले पब्जी मोबाइल प्रो लिग (पीएमपीएल) मा तेस्रो स्थान हात पार्दै १८ हजार अमेरिकी डलर अर्थात करिब २१ लाख राशीको पुरस्कार प्राप्त गरेको हाे ।

    कोरोना महामारीका कारण यस वर्षको साउथ एसिया च्याम्पियनशिप पब्जी मोबाइल प्रो लिग भर्चुअल माध्यमबाटै आयोजना गरिएको थियो ।
    प्रतिस्पर्धामा डीआरएसले ८८ किलसहित कुल २२३ अंक हात पारेको थियो ।

    लिगमा प्रथम स्थान हासिल गरेको मंगोलियन स्क्वाड अस्त्र एकेडेमी (२ए) ले ट्रफीसँगै ४०,००० अमेरिकी डलर अर्थात ४६ लाख ६५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ ।

    लिगमा प्रथम स्थान हासिल गरेको मंगोलियन स्क्वाड अस्त्र एकेडेमी (२ए) ले ट्रफीसँगै ४०,००० अमेरिकी डलर अर्थात ४६ लाख ६५ हजार रुपैयाँ र दोस्रो स्थानमा रहेको ज्युजले २८ हजार अमेरिकी डलर अर्थात ३२ लाख ६५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ।

    टिममा हाल युगेन लामा (माफिया निन्जा), अजय श्रेष्ठ (एजें), निमा तामाङ् (निमा), पेम्बा ग्याल्जेन लामा (ग्याल्जेन), अञ्जन राई (एमआरबोरो) रहेका छन् । टोलीको व्यवस्थापकको भूमिकामा सङ्गीन भट्टराई रहेका छन्।

    पछिल्लो समय ठुला प्रतियोगिताहरुमा पहिलो ,दोस्रो र तेस्रो स्थान हासिल गर्दै आईरहेको डीआरएस गेमिङ्गको प्रदर्शन हेरेर अन्य प्रतियोगिताहरुको समेत निमन्त्रणा आइरहेको डीआरएस गेमिङ्गका प्रमुख कार्यकारी अधिकृत भिक्टर पौडेलले बताए ।

  • कोपा अमेरिकामा इक्वेडरमाथि कोलम्वियाको जित

    कोपा अमेरिकामा इक्वेडरमाथि कोलम्वियाको जित

    एजेन्सी । दक्षिण अमेरिकी महादेशीय फुटब प्रतियोगिता कोपा अमेरिकाको आफ्नो पहिलो खेलमा कोलम्बियाले इक्वेडरलाई पराजित गरेको छ ।

    केहिबेरअघि सम्पन्न खेलमा कोलम्बियाले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । कमजोर इक्वेडरमाथि पहिलो हाफको अन्त्यतिर इडविन कार्डोनाले गोल गरेका थिए ।

    अर्जेन्टिनी क्लब बोका जुनियर्सका २८ वर्षीय मिडफिल्डर कार्डोनाले मिगुल बोर्जाको पास सदुपयोग गरेका हुन् ।

    एक जितसँगै समूह ए बाट कोलम्बिया र ब्राजिल क्वाटरफाइनलमा पुग्ने सम्भावना प्रवल छ । १० टोली रहेको कोपा अमेरिकामा दुई समूहबाट चार/चार टोलीले क्वाटरफाइनलमा स्थान बनाउँछन् ।

  • कोरोना प्रभावित भेनेजुएलामाथि ब्राजिलको विजयी सुरुआत

    कोरोना प्रभावित भेनेजुएलामाथि ब्राजिलको विजयी सुरुआत

    एजेन्सी । कोरोना प्रभावित भेनेजुएलामागि ३–० गोलअन्तरको सहज जितसँगै आयोजक राष्ट्र ब्राजिलले कोपा अमेरिकामा विजयी सुरुआत गरेको छ ।

    समूह बी अन्तर्गतको उद्घाटन खेलको एक दिनअघि भेनेजुएलाका खेलाडी र अफिसियल गरी १२ जनामा कोरोना संक्रमण देखिएको थियो ।

    सुपरस्टार स्ट्राइकर नेइमारले एक गोल र अर्को गोलका लागि सहयोग गरेपछि ब्राजिलले सहज जित भेट्टाएको हो ।

    पेरिस सेन्ट जर्मेइन (पीएसजी)का स्टार नेइमारले दोस्रो हाफमा पेनाल्टीमार्फत गोल गरेका थिए भने खेलको अन्तिम मिनेटमा गाव्रियल बार्बोसाको गोलका लागि बल उपलब्ध गराएका थिए ।

    त्यसअघि खेल सुरु भएको २३ औं मिनेटमै घरेलु टोली ब्राजिलले अग्रता बनाएको थियो । पीएसजीकै डिफेण्डर माक्र्वीनोस बोन्डलेडले गोल गरेका हुन् । भेनेजुएलाले क्लियर गर्न नसकेको कर्नरलाई उनले सदुपयोग गरेका हुन् ।

    ब्राजिलले पहिलो हाफमै गोलका अन्य दुई अवसर खेर फालेको थियो । एभर्टनका स्ट्राइकर रिचर्डलिसनले गरेको गोल भिडियो असिस्टेन्ट रेफ्रीले मान्यता दिएन भने नेइमारले क्लोज रेन्जबाट गोलको एउटा उत्कृष्ट अवसर खेर फाले ।

    भेनेजुएलाका योहान क्युमानाले ड्यानिलोलाई फल गरेपछि पाएको पेनाल्टी उपयोग गर्दै नेइमारले आफ्नो अन्तर्राष्ट्रिय गोलसंख्या ६७ पु¥याएका छन् । उनी पेलेको ७७ गोलको कीर्तिमान नजिक पुगेका छन् ।

    ४७ औं संस्करणको कोपा अमेरिका कोरोना महामारीका कारण १ वर्ष ढिलामात्र भएन पूर्व निर्धारित आयोजक कोलम्बिया र अर्जेन्टिना भए पनि उनीहरुले हात उठाएपछि अन्तिम समयमा ब्राजिल सारिएको हो ।

  • जोकोभिचले जिते १९औं ग्रान्डस्लाम: दोस्रो पटक फ्रेन्च ओपन च्याम्पियन

    जोकोभिचले जिते १९औं ग्रान्डस्लाम: दोस्रो पटक फ्रेन्च ओपन च्याम्पियन

    काठमाडौं । विश्व नम्बर एक नोभाक जोकोभिचले करियरको १९औं ग्रान्डस्लाम जितेका छन् । आइतबार भएको फ्रेन्च ओपनको फाइनलमा ग्रीक खेलाडी स्टेफानो सित्सिपसलाई ६-७ (६-८), २-६, ६-३, ६-२, ६-४ को नतिजामा पराजित गरेसँगै ३४ वर्षीय जोकोभिचले करियरको १९औं ग्रान्डस्लाम उपाधि सुनिश्चित गरेका हुन् ।

    सेमिफाइनलमा १३ पटकका च्याम्पियन राफेल नाडाललाई पराजित गरेका जोकोभिच दोस्रो पटक रोलान्ड गारोस च्याम्पियन बनेका हुन् ।

    यसअघि उनले २०१६ मा पहिलो पटक फ्रेन्च ओपनको उपाधि उचालेका थिए । जोकोभिचले २ पटक फ्रेन्च ओपन, ९ पटक अस्ट्रेलियन ओपन, ५ पटक विम्बल्डन र २ पटक युएस ओपन जितेका छन् ।

  • कोपा अमेरिका: १२ जना भेनेजुएलाका खेलाडी र अफिसियललाई कोरोना संक्रमण

    कोपा अमेरिका: १२ जना भेनेजुएलाका खेलाडी र अफिसियललाई कोरोना संक्रमण

    काठमाडौं । कोपा अमेरिकाका लागि ब्राजिल पुगेका भेनेजुएलाका १२ जना खेलाडी तथा अफिसियललाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आइतबार आयोजक ब्राजिलले दिएको जानकारीअनुसार १२ जनामा संक्रमण पुष्टि भएको हो ।

    भेनेजुएलाले आज राति २: ४५ बजे आयोजक ब्राजिलसँग उद्घाटन खेल खेल्ने तालिका छ । ब्रासिलियाका स्वास्थ्य सेक्रेटरीले जारी गरेको वक्तव्यमा ‘भेनेजुएलाका ब्याकरूम स्टाफ, खेलाडी र सदस्य गरी १२ जनामा कोरोना संक्रमण पुष्टि भएको’ बताएको छ ।

    भेनेजुएलाको टोली शुक्रबार राति ब्राजिल आइपुगेसँगै दक्षिण अमेरिकी फुटबल महासंघले उनीहरूको परीक्षण गरेको थियो ।

  • कोपा अमेरिकाको उद्घाटन खेलमा ब्राजिल र भेनेजुएला भिड्दै

    कोपा अमेरिकाको उद्घाटन खेलमा ब्राजिल र भेनेजुएला भिड्दै

    काठमाडौं । आइतबार रातिदेखि कोपा अमेरिकाको २७औं संस्करण सुरु हुँदैछ । कोलम्बिया-अर्जेन्टिना-अर्जेन्टिना हुँदै ब्राजिल पुगेको कोपा अमेरिका २०२१ को पहिलो खेलमा घरेलु टोलीले उत्तरी छिमेकी मुलुक भेनेजुएलाको सामना गर्नेछ ।

    सन् २०१९ मा १२ वर्षपछि नवौं पटक च्याम्पियन बनेको ब्राजिल आजको खेलमा जित हासिल गर्दै उपाधि रक्षा अभियान सुरु गर्नेछ । दक्षिण अमेरिकी फुटबलमा पछिल्लो साता अचम्मको कुरा त के भयो भने: दक्षिण अमेरिकी फुटबल महासंघले अन्तिम क्षणमा ब्राजिललाई आयोजनाको जिम्मेवारी दियो । कोलम्बियामा आन्दोलन चर्किने र अर्जेन्टिनामा कोरोना भाइरसको संक्रमण ह्वात्तै बढेपछि त्यहाँ नहुने निश्चित भएको थियो ।

    परिणाम स्वरूप ब्राजिल पुगेको कोपा अमेरिकाको विरुद्धमा नेइमार र क्यासिमिरोले खुलेर आलोचना गरेका थिए । कोरोना भाइरसको महामारी बेला फुटबल प्रतियोगिताको आयोजना भन्दा प्राथमिकताको विषय स्वास्थ्य हुनुपर्ने बताएका थिए । तर, यी विभिन्न परिस्थितिका बाबजुद पनि आज राति देखि प्रतियोगिताको सुरुआत हुँदैछ ।

    पछिल्ला ६ खेलको नतिजा हेर्ने हो भने ब्राजिलले सतप्रतिशत जित निकालेको छ । अर्का तिर भेनेजुएलालले ४ खेलमा हार र एक जित-एक बराबरीको नतिजा निकालेको छ । 11vs11 को डेटाअनुसार ब्राजिलविरुद्ध भने २२ पटक खेलेको भेनेजुएलाले ३ खेलमा बराबरी र २ खेलमा जित निकालेको छ । ब्राजिलले भने १७ खेलमा जित हासिल गरेको छ ।

    भेनेजुएलाले २००८ मा भएको मैत्रीपूर्ण खेलमा ब्राजिलविरुद्ध अन्तिम पटक २-० को जित निकालेको थियो । त्यस्तै २०१२ को कोपा अमेरिकामा भने गोलरहित बराबरी खेलेको थियो । यी दुई टोलीबीच २०२० मा भएको विश्वकप छनोटमा ब्राजिलले १-० को जित निकालेको थियो ।

    उत्कृष्ट फर्ममा रहेको ब्राजिलविरुद्ध आज अंक हासिल गर्नु भेनेजुएलाका लागि निकै कठिने हुने निश्चित छ ।

  • नचाहँदा नचाहँदै कोपा अमेरिका आयोजना गर्दै ब्राजिल

    नचाहँदा नचाहँदै कोपा अमेरिका आयोजना गर्दै ब्राजिल

    काठमाडौं । दुई वर्षअघि कोपा अमेरिकाको तयारी गरिरहँदाभन्दा अहिले ब्राजिलका प्रशिक्षक टिटेको जागिर सुरक्षित छ । घरेलु मैदानमा भएको कोपा अमेरिका जिताएका टिटेले ब्राजिलियन फ्यानले खेपेको १२ वर्षे उपाधि खडेरीमा पूर्णविराम लगाइदिए र सेलिब्रेसनको मौका दिए ।

    आज रातिदेखि घुमिफिरी फेरि ब्राजिल आइपुगेको कोपा अमेरिकाको ४७औं संस्करण सुरु हुँदैछ । अहिलेसम्म ९ पटक च्याम्पियन बनिसकेको ब्राजिल यसपटक पनि बाजी मार्दै उपाधि घरैमा राख्ने योजनमा छ । र, ब्राजिलको उपाधि रक्षा यात्रा आज राति २:४५ बजे हुने भेनेजुएलाविरुद्धको खेलबाट सुरु हुनेछ ।

    यसपटकको कोपा अमेरिका कोलम्बिया र अर्जेन्टिनामा हुने तय भएको थियो । तर, कोलम्बियामा आन्दोलन चर्किँदै गएपछि अर्जेन्टिनामा हुने भनिएको थियो ।

    त्यहाँ पनि कोरोना भाइरसको संक्रमण ह्वात्तै बढेपछि अन्तिम अवस्थामा आएर प्रतियोगिता हुने कि नहुने नै अन्योल सिर्जना भएको थियो । तर, दक्षिण अमेरिकी फुटबल महास‌ंघले ब्राजिलमा गर्ने निर्णय गरेसँगै प्रतियोगिता आज रातिबाट सुरु हुँदैछ ।

    यद्यपि, ब्राजिल भने यी दुवै समस्याबाट गुज्रिरहेको देश हो । ब्राजिलमा हालसम्म कोरोना भाइरसको संक्रमणबाट ४ लाख ८० हजार जनाले ज्यान गुमाइसकेका छन् । करिब सोही संख्यामा अन्य मानिसहरू महामारीमा उचित तरिकाले नेतृत्व गर्न राष्ट्रपति जेर बोल्सोनारो असफल भएको विरोध गर्न सडकमा उत्रिएका छन् ।

    टिटे र उनका खेलाडीहरू कोपा अमेरिका ब्राजिलमा सरेकोमा सन्तुष्ट छैनन् । कप्तान क्यासिमिरो तथा नेइमारले देशमा स्वास्थ्य संकट आइपरेका बेला प्रतियोगिता आयोजना हुनु सान्दर्भिक नहुने प्रतिक्रिया दिएका थिए ।

  • को हुन् क्रिस्टिएन एरिकसन जसका लागि विश्वभरका फुटबलप्रेमी प्रार्थनारत छन् ?

    को हुन् क्रिस्टिएन एरिकसन जसका लागि विश्वभरका फुटबलप्रेमी प्रार्थनारत छन् ?

    काठमाडौं । युरो २०२० को समूह ‘बी’ अन्तर्गत शनिबार राति फिनल्यान्डविरुद्धको खेलमा डेनमार्क १-० गोलको नतिजामा पराजित भयो । पहिलो पटक विश्व फुटबलका आधिकारिक ठूला प्रतियोगिताको रूपमा युरो २०२० खेलिरहेको फिनल्यान्डले जितको खुशी खुलेर मनाउन पाएन । न त फिनल्यान्डका लागि ठूलो प्रतियोगितामा पहिलो ऐतिहासिक गोल गरेका जोइल पोजान्पालोले त्यो खुशी मनाउन पाए ।

    जसको कारण रह्यो- डेनिस प्लेमेकर क्रिस्टियन एरिकसन एकाएक मैदानमा ढल्नु । शुक्रबार रातिदेखि सुरु भएको ‘मिनि विश्वकप’ अर्थात युरो २०२० को समूह ‘बी’ अन्तर्गत पहिलो खेलमा डेनमार्क र फिनल्यान्डको भेट निश्चित थियो ।

    नव प्रवेशी फिनल्यान्ड डेनमार्कले गरेको निरन्तर आक्रमण खेपिरहेको थियो । पहिलो हाफको खेलसकिन ३ मिनेट बाँकी रहँदासम्म पनि डेनमार्कले गोलका लागि निरन्तर प्रयास गरिसकेको थियो । सोही क्रममा २९ वर्षीय डेनिस प्लेमेकर एरिकसन जोकिम मेहेलको ‘थ्रो-इन’ पर्खिरहेका थिए ।

    मेहेलले बल थ्रो इन त गरे तर एरिकसनले रिसिभ गर्न सकेनन् । उनी बल रिसिभ गर्न खोज्दा-खोज्दै २-३ पाइला अगाडि बढेर भुइँमा घोप्टो परेर ढले । बल इन प्लेमै रहँदा मेहेलले बल अगाडि बढाउने लागेका थिए । तर, फिनल्यान्डका खेलाडी जुक्का राइतालाले एरिकसनतर्फ देखाउँदै उपचारका लागि गुहारेको देखिन्छ । राइतालापछि खेलका रेफ्री एन्थोनी टेलरले तुरुन्तै मेडिकल टोलीलाई बोलाए मैदानमा बोलाएका थिए ।

    त्यसपछि मेडिकल टीमले करिब २० मिनेटसम्म एरिकसनको मैदानमै उपचार गर्‍यो । उनलाई डेनमार्कका खेलाडीहरूले घेरेर उभिएका थिए भने बीचमा उनलाई कार्डियोपोल्मोनरी रिससिटेसन (सीपीआर) गरिँदै थियो । एरिकसनको मैदानमै त्यो अवस्था देखेर त्यहाँ उपस्थित दुवै टोलीका खेलाडी तथा दर्शक रोएका थिए । मैदानमा सन्नाटा छाएको थियो ।

    के भएको होला, अब के हुने होला भन्ने बेचैनीले विश्व फुटबललाई नै पिरोलिरहेको थियो । केही समय मैदानै उपचार गरेर पिचबाट बाहिर निकाल्दै गर्दा केही बेरअघि अचेत भएर ढलेका एरिकसनको अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा उनले आँखा खोलेर होसमा आए झैँ देखिने तस्वीर सार्वजनिक भयो ।

    केही बेरमा युइएफएले खेल स्थगित गरिएको र एरिकसनलाई अस्पताल पठाइएको घोषणा गर्‍यो । त्यसबेलासम्म सामाजिक सञ्जालमा सामान्य फुटबल फ्यानदेखि विश्व फुटबलका स्टारसम्मले उनको स्वास्थ्य लाभको कामना गरिरहेका थिए ।

    उनलाई थप उपचारका लागि कोपनहेगनकै रिग्सहस्पिटलमा पठाइएको डेनमार्क फुटबल संघले जानकारी दियो । त्यसको १५ मिनेट नबित्दै उनी होसमा आएको र खेल ३० मिनेटपछि सुरु हुने पनि युइएफएले पुष्टि गर्‍यो ।

    अहिले पनि एरिकसनको उपचार जारी छ । उनको अवस्था अहिले खतरामुक्त रहेको समाचार अन्तर्राष्ट्रिय माध्यममा आइरहेका छन् । एरिकसन आफैँले अस्पतालबाट भिडियोकल गरेपछि डेनमार्कका खेलाडी ४२ मिनेटसम्म पुगेको खेल टुङ्ग्याउन तयार भए ।

    नेपाली समयअनुसार राति १२:१५ बजे खेल पुन: सुरु भयो । एरिकसनको स्थानमा डेनमार्कले म्याथियास जेन्सेनलाई मैदानमा उतार्‍यो । जोइल पोजान्पालोले ५९औं मिनेटमा गरेको गोलसँगै पहिलो ठूलो प्रतियोगिता खेलिरहेको फिनल्यान्डले अग्रता लिएको थियो । बराबरी गोलका लागि आत्तुर देखिए पनि ७४औं मिनेटमा पिएर एमिल होइबर्ग पेनाल्टीमा गोल गर्न चुकेसँगै डेनमार्कले मौका गुमायो ।

    भलै हिजो खेलमा डेनमार्क पराजित भयो तर एरिकसनको स्वास्थ्य अवस्था त्यो भन्दा चिन्ताको विषय थियो । तर, अहिले उनी खतरामुक्त भन्ने सूचना बाहिर आएसँगै विश्वभरका फुटबलप्रेमी खुशी भएका छन् ।

    को हुन् एरिकसन ?

    डेनमार्कको मिडिलफार्टमा १९९२ मा जन्मिएका एरिकसनले डच क्लब आयाक्सबाट व्यावसायिक फुटबल करियरको सुरुआत गरेका थिए । आयाक्सबाट उनले २०१०/११, २०११/१२ र २०१२/१३ मा एर्डिभिजीको उपाधि जिते र आफूलाई एक सशक्त प्लेमेकरको रूपमा स्थापित गरे ।

    एर्डिभिजीमा तीन वर्ष बिताएका एरिकसनले आयाक्सका लागि १६२ खेलमा ३२ गोल गरेका थिए । त्यसपछि टोटेनह्याममार्फत् इङ्लिस फुटबलमा उदाएका एरिकसनले ७ वर्षमा ३२० खेल खेल्दै ७२ गोल गरेका थिए । सात वर्षको इङ्ल्यान्ड बसाइ टुङ्ग्याएर २०२० मा इटाली लागेका इरिकसनले इन्टर मिलानविरुद्ध ६२ खेलमा १० गोल गरिसकेका छन् ।

    युभेन्टसको ९ वर्षे प्रभुत्व टुङ्ग्याउँदै इन्टरले यसै सिजन इटालियन सिरी ‘ए’को उपाधि जित्दा एरिकसन महत्त्वपूर्ण सदस्य रहे । र, अहिले युरो २०२० का लागि डेनमार्कको टोलीका पनि स्टार र सबैभन्दा भरपर्दा खेलाडी उनै हुन्, क्रिस्टियन एरिकसन ।

  • लुकाकुद्वारा आफ्नो गोल क्रिष्टियनको नाममा समर्पित, बेल्जियम ३–० ले विजयी

    लुकाकुद्वारा आफ्नो गोल क्रिष्टियनको नाममा समर्पित, बेल्जियम ३–० ले विजयी

    एजेन्सी । युरोपियन च्याम्पियनसिपमा रुसविरुद्ध गोल गरी बेन्जियमलाई जित दिलाएपछि रोमेलु लुकाकुले इन्टर मिलानका आफ्ना टिममेट क्रिष्टियन एरिक्सनको स्वास्थ्यलाभको कामना गरेका छन् ।

    डेनमाकका मिडफिल्डर एरिक्सन गएराति समूह बी अन्तर्गत फिनल्याण्डसँगको खेलका क्रममा मैदानमै अचेत भएका थिए । उनको मैदानमै आकस्मिक उपचार भएको थियो ।

    एरिक्सन ढलेपछि खेल प्रभावित हुँदा सोही समूह अन्तर्गत बेल्जियम र रुसबीच सेन्ट पिटर्सवर्गमा हुनुपर्ने खेलको सन्चालनमा पनि अन्यौल भएको थियो । डेनिस फुटबल संघले एरिक्सनको अस्पतालमा होस आएको र खेल सन्चालन गर्ने निर्णय गरेपछि समूहको अर्को खेल पनि निर्धारित समयमै सुरु भयो ।

    लुकाकुले खेलको सुरुमै रुसका गोलरक्षक आन्द्रे सेभेनोभको कमजोरीका कारण बेल्जियमलाई अग्रता दिलाउन सफल रहे । गोलको खुसीयाली मनाउने क्रममा उनले टेलिभिजन क्यामरा अगाडि उभिएर ‘क्रिश क्रिश आइ लभ यू’ भनेका थिए ।

    खेलपछि लुकाकुले पत्रकारसँग कुरा गर्दै लुकाकुले एरिक्सनको अवस्था थाहा पाउँदा आफू रोएको बताएका थिए । ‘म धेरै डराएँ । हामीले थुप्रै बलियो क्षण विताएका छौं । मैले उनीसँग आफ्ने परिवारसँग भन्दा धेरै समय विताएको छु,’ लुकाकुले भने, ‘खेल खेल्न मेरा लागि कठिन थियो । उनी छिट्टै निको होउन् । मेरो यो प्रदर्शन उनकै नाममा समर्पित गर्न चाहन्छु ।

    सन् २०१० मा राष्ट्रिय टोलीमा डेब्यू गरेका लुकाकु अहिले शानदार लयमा देखिन्छन् । उनकै प्रेरणादायी प्रदर्शनमा इन्टर मिलानले यस सिजनको सिरी ए जितेको थियो । उनले बेल्जियमका लागि पछिल्लो १५ खेलमा गोलसंख्या २० पु¥याएका छन् ।

    बेल्जियमका लागि दोस्रो गोल थोमस मुनिरले गरेका थिए । खेलको सुरुमै तिमोथी कास्टन चोटग्रस्त भएपछि मुनिर मैदान छिरेका थिए । खेलको अन्त्यतिर लुकाकुले नै गोल गरी फिफा वरियतामा शीर्ष स्थानमा रहेको बेल्जियमलाई युरोको पहिलो खेलमा सहज जित दिलाए ।

  • युरो २०२०: एरिकसनको स्वास्थ्यमा सुधार

    युरो २०२०: एरिकसनको स्वास्थ्यमा सुधार

    काठमाडौं । युरो २०२० को समूह बी अन्तर्गत जारी खेलमा डेनिस खेलाडी एरिकसन एक्कासी मैदानमा ढलेपछि अनिश्चित बनेको खेल आजै हुने भएको छ ।

    एरिकसन ढलेर अचेत भएपछि युइएफएले खेल स्थगित गरेको घोषणा गरेको थियो । तर, उनको अवस्थामा सुधार आएको र कोपनहेगनकै रिग्सहस्पिटलमा उपचार भइरहेको छ ।

    ‘एरिकसनको होस् खुलेको र उनको स्वास्थ्य अवस्था स्थिर छ, ‘ एरिकसनका एजेन्टलाई उद्धृत गर्दै इटालियन पत्रकार फ्याब्रिजिओ रोमानोले ट्वीट गरेका छन् ।

    त्यस्तै, एरिकसनको होस खुलेको जानकारी दिँदै डेनमार्क फुटबल संघले उनी अन्य परीक्षणका लागि हस्पिटलमै रहने बताएको छ ।

    ‘उनी अस्पतालमै रहनेछन्,’ डेनिस एफले भनेको छ, ‘खेलाडीले तयार रहेको बताएसँगै फिनल्यान्डविरुद्धको खेल आजै स्थानीय समयअनुसार २०:३० बजे सुरु हुनेछ ।’

    यो खेल नेपाली समयअनुसार १२:१५ बजे ४३औं मिनेटबाट पुन:सुचारु हुनेछ ।

  • युरो २०२० मा आज तीन खेल : ६:४५ मा स्वीटजरल्यान्ड र वेल्स भिड्दै

    युरो २०२० मा आज तीन खेल : ६:४५ मा स्वीटजरल्यान्ड र वेल्स भिड्दै

    काठमाडौं । शुक्रबार रातिदेखि सुरु भएको युरो २०२० मा आज शनिबार समूह ‘ए’ र समूह ‘बी’ गरी तीन खेल हुँदैछन् ।

    नेपाली समयअनुसार बेलुका ६:४५ बजे समूह ‘ए’अन्तर्गत हुने खेलमा स्वीटजरल्यान्ड र वेल्स भिड्नेछन् ।

    अजरबैजानको बाकु ओलम्पिक रंगशालामा हुने यो खेलमा दुवै टोली जित निकाल्न चाहन्छन् । शुक्रबार राति भएको उद्घाटन खेलमा इटालीले घरेलु मैदानमा टर्कीलाई ३-० ले पराजित गर्दै शीर्ष स्थान ओगटिसकेको छ ।

    यस्तै, नेपाली समयअनुसार राति ९:४५ बजे हुने समूह बीको पहिलो खेलमा डेनमार्कले फिनल्यान्डको सामना गर्दैछ । यो खेल पार्केन रंगशाला कोपनहेगन- डेनमार्कमा हुनेछ ।

    यस्तै राति १२:४५ बजे हुने समूह बी कै दोस्रो खेलमा बेल्जिमयले रुसको सामना गर्नेछ ।

    प्रतियोगिताको उपाधि दाबेदारको रूपमा हेरिएको बेल्जियमले रुसकै क्रेस्टोभ्स्की रंगशालामा घरेलु टोलीको सामना गर्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।

  • सित्सिपस फ्रेन्च ओपनको फाइनमा

    सित्सिपस फ्रेन्च ओपनको फाइनमा

    काठमाडौं । ग्रीक खेलाडी स्टेफानो सित्सिपस वर्षको दोस्रो ग्रान्डस्लाम- फ्रेन्च ओपन टेनिसको फाइनलमा प्रवेश गरेका छन् । शुक्रबार भएको सेमिफाइनलमा जर्मनीका अलेकजेन्डर जेर्रेभलाई ३-६, ३-६, ६-४, ६-४, ३-६ को नतिजामा पराजित गर्दै २२ वर्षीय सित्सिपस फाइनलमा पुगेका हुन् ।

    उनले शुक्रबार राति नै हुने दोस्रो सेमिफाइनलमा राफेल नाडाल र नोभाक जोकोभिचबीचको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

    क्वार्टरफाइनलमा रुसी खेलाडी ड्यानियल मेड्भेडेभलाई पराजित गरेका सित्सिपसले ग्रान्डस्लाम टेनिसमा पहिलो पटक फाइनल यात्रा तय गरेका हुन् । विश्व बरियताको पाँचौं स्थानमा रहेका सित्सिपस गत वर्ष रोलान्ड गारोसको सेमिफाइनलबाट बाहिरिएका थिए ।

    उनले फाइनलमा तत्कालीन टेनिसका दुईमध्ये एक बादशाहको सामना गर्नुपर्नेछ ।

  • युरो २०२० मा इटालीको शानदार सुरुआत

    युरो २०२० मा इटालीको शानदार सुरुआत

    काठमाडौं । शुक्रबार रातिदेखि सुरु भएको युइएफए युरो २०२० को पहिलो खेलमा टर्कीलाई ३-० ले पराजित गरेसँगै इटालीले प्रतियोगितामा शानदार सुरुआत गरेको छ ।

    इटालीको रोमस्थित स्टाडियो ओलिम्पिकोमा भएको उद्घाटन खेलमा इटालीलाई जित दिलाउन सिरो इम्मोबिले र लोरेन्जो इन्सिग्नेले १/१ तथा टर्कीका डिफेन्डर मेरी डेमिरलले एक आत्मघाती गोल गरे ।

    पहिलो हाफ गोलरहित बराबरीमा टुङ्गिएको खेलको ५२औं मिनेटमा इटालीका डोमेनिको बेराडीले प्रहार गरेको बलमा डेमिरलले आत्मघाती गोल गरेका थिए ।

    आत्मघाती गोलसँगै खेलमा अग्रता लिएको इटालीका लागि ६६औं मिनेटमा इम्मोबिलेले गोल गर्दै अग्रता दोब्बर पारेका थिए । त्यसको १३ मिनेट नबित्दै इन्सिग्नेले इटालीका लागि गोल गर्दै ३-० को जित सुनिश्चित गरे ।

    जितसँगै समूह ‘ए’मा शानदार सुरुआत गरेको इटालीले दोस्रो खेलमा बिहीबार स्वीटजरल्यान्डको सामना गर्नेछ भने टर्कीले बुधबार वेल्ससँग खेल्ने छ ।

  • युरो २०२० को पहिलो गोल नै आत्मघाती

    युरो २०२० को पहिलो गोल नै आत्मघाती

    काठमाडौं । आजदेखि सुरु भएको युइएफए युरोपियन च्याम्पियनसिप (युरो २०२०) को पहिलो गोल नै आत्मघाती गोल भएको छ । रोममा जारी उद्घाटन खेलमा टर्कीका डिफेन्डर मेरी डेमिरलले आत्मघाती गोल गरेका हुन् ।

    पहिलो हाफ गोलरहित बराबरीमा टुङ्गिएको खेलको ५२औं मिनेटमा इटालीका डोमेनिको बेराडीले प्रहार गरेको बलमा डेमिरलले आत्मघाती गोल गरेका हुन् ।

    प्रतियोगिताको पहिलो खेलमा अहिले इटाली र टर्की भिडिरहेका छन् । निर्धारित समयको खेल सकिनै लाग्दा इटालीले ३-० को अग्रता लिइरहेको छ ।

  • हामी डर बिना खेल्यौं: प्रशिक्षक अल्मुताइरी

    हामी डर बिना खेल्यौं: प्रशिक्षक अल्मुताइरी

    काठमाडौं । विश्वकप तथा एएफसी एसियन कपको संयुक्त छनोटमा अस्ट्रेलियाविरुद्ध पराजित नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलेमुताइरीले आफ्नो टोलीले डर बिना खेलेको बताएका छन् ।

    यसअघिका ६ खेलमा सतप्रतिशत नजतिा निकालेको अस्ट्रेलियाविरुद्ध नेपाल ३-० ले पराजित भएको थियो । फिफा बरियतामा आफूभन्दा १३० स्थानमाथिको अस्ट्रेलियाविरुद्ध पहिलो हाफको अन्त्यमा १० जना खेलाडीमा सीमित भएको नेपालले दोस्रो हाफमा राम्रो प्रदर्शन गरेको थियो ।

    ३८औं मिनेटमा २-० ले पछि परेको नेपालले दोसरो हाफमा एक गोल मात्र खाएको थियो । आफूभन्दा धेरै माथिल्लो स्तरको अस्ट्रेलियासँग आधा समय १० जनामा सीमित भएर पनि धेरै गोल नखाएको नेपाली टोलीको प्रदर्शनसँग खुशी रहेको प्रतिक्रिया दिँदै प्रशिक्षक अब्दुल्लाहले खेलाडीलाई हिरो भएको बताए ।

    ‘आजको खेल धेरै कठिन थियो, र मेरा खेलाडीहरूले एकदमै राम्रो खेले, म उनीहरूलाई धन्यवाद दिन्छु,’ उनले भने, ‘पहिलो हाफको सुरुआतमै गोल खाए पनि खेलाडीले हार्डवर्कलाई निरन्तरता दिए ।’

    नेपालले डिफेन्सिभ नभइ मिडफिल्डमा पकड बनाउने रणनीतिसहित आजको खेल खेलेको बताए । आक्रमणका लागि प्रयास गरे पनि अस्ट्रेलियन खेलाडीको शारिरीक बनोट बाधक बनेको उनको भनाइ थियो ।

    यस्तै अस्ट्रेलियाका प्रशिक्षक ग्रहाम आर्नोल्डले नेपालले ९० मिनेटसम्म खेलमा फाइट गरेको प्रतिक्रिया दिए ।

    ‘हामी नेपालको सम्मान गर्छौं, आज नेपालले ९० मिनेटसम्म फाइट गर्‍यो,’ उनले भने, ‘नेपालमा धेरै युवा खेलाडी छन् र राम्रो खेल शैली पनि देखियो ।’

  • १० जनामा सीमित नेपाल ३-० ले पराजित

    १० जनामा सीमित नेपाल ३-० ले पराजित

    काठमाडौं । विश्वकप तथा एसियन कपको छनोटको अन्तिम खेलमा नेपालले हेभिवेट अस्ट्रेलियाविरुद्ध ३-० को हार बेहोरेको छ । कोरोना भाइरसका कारण सेन्ट्रल भेन्यू कुवेतमा भएको खेलको दोस्रो हाफमा नेपालले १० जनामा सीमित भएर खेलेको थियो ।

    कुवेतको जाबेर अल-अहमद रंगशालामा छैठौं मिनेटमा नेपालले पहिलो गोल खाएको थियो । अस्ट्रेलियाका म्याथ्यु लेकीले गोल गर्दै नेपालविरुद्ध अग्रता दिलाएका थिए ।

    पहिलो हाफको खेलसकिन ७ मिनेट बाँकी रहँदा फ्रान काराचिचले पुन: गोल गर्दै अस्ट्रेलियाको अग्रता दोब्बर पारे । विपक्षी खेलाडीलाई गोल गर्ने स्पष्ट मौकामा फाउल गरेसँगै अनुभवी डिफेन्डर रोहित चन्द पहिलो हाफको इन्जुरी समयमा रातो कार्डको सामना गर्दै मैदानबाट बाहिरिए ।

    आफूभन्दा १३० स्थान माथि रहेको टोली अस्ट्रेलियाविरुद्ध नेपालले १० जनामा सीमित भएर पनि पछिल्लो ४५ मिनेट राम्रो डिफेन्सिभ खेल प्रस्तुत गर्‍यो ।

    अस्ट्रेलियाले गरेको लगातार प्रहारमा नेपालका कप्तान तथा गोलकिपर किरण चेम्जोङले धेरै गोल बचाएका थिए । नेपालका लागि पहिलो पटक टोलीमा समावेश भएका आयुष घलान, सुरज जेउ ठकुरी र कमल थापाले डेब्यु गरे ।

  • अस्ट्रेलियाविरुद्ध नेपालले पहिलो हाफमा २ गोल खायो

    अस्ट्रेलियाविरुद्ध नेपालले पहिलो हाफमा २ गोल खायो

    काठमाडौं । विश्वकप तथा एसियन कपको छनोटअन्तर्गत कुवेतमा जारी अस्ट्रेलियाविरुद्धको खेलमा नेपालले पहिलो हाफमा २ गोल खाएको छ ।

    कुवेतको जाबेर अल-अहमद रंगशालामा जारी खेलको छैठौं मिनेटमा नेपालले पहिलो गोल खाएको थियो । अस्ट्रेलियाका म्याथ्यु लेकीले गोल गर्दै नेपालविरुद्ध अग्रता दिलाएका थिए ।

    पहिलो हाफको खेलसकिन ७ मिनेट बाँकी रहँदा फ्रान काराचिचले पुन: गोल गर्दै अस्ट्रेलियाको अग्रता दोब्बर पारे । विपक्षी खेलाडीलाई गोल गर्ने स्पष्ट मौकामा फाउल गरेसँगै अनुभवी डिफेन्डर रोहित चन्द पहिलो हाफको इन्जुरी समयमा रातो कार्डको सामना गर्दै मैदानबाट बाहिरिएका छन् ।

    आफूभन्दा १३० स्थान माथि रहेको टोली अस्ट्रेलियाविरुद्ध नेपालले बाँकी ४५ मिनेट १० जनामा सीमित भएर खेल्नु पर्नेछ ।

  • शुक्रबार ३,७५० संक्रमित थपिए, ६७ जनाको मृत्यु

    शुक्रबार ३,७५० संक्रमित थपिए, ६७ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा ३,७५० जना कोभिड बिरामी थपिएका हुन् । ९,५९८ नमुना पीसीआर र ५,५८४ एन्टीजेन परीक्षण गर्दा शुक्रबार ती संक्रमित थपिएका हुन् ।

    पछिल्लो २४ घण्टामा ६७ जनाको मृत्यु भएको छ । मृत्यु हुने दर १.६ प्रतिशत छ । कूल मृत्यु संख्या ८,३०५ पुगेको छ ।

    थप ५,२२५ जना निको भएका छन् । निको हुने दर ८६.२ प्रतिशत छ । ५ लाख २० हजार ८१६ जना कूल निको भएका छन् ।

    सक्रिय संक्रमित संख्या ७५ हजार २७५ छ । सक्रिय संक्रमित दर १२.४५ प्रतिशत छ ।

  • यी हुन् युरो इतिहासका ४ फराकिला नतिजा

    यी हुन् युरो इतिहासका ४ फराकिला नतिजा

    काठमाडौं । नेपाली समयअनुसार १२:४५ बजे रोममा इटाली र टर्की खेल्दै युरो २०२० को सुरुआत गर्नेछन् । मिनी विश्वकपको नामले समेत परिचित युरोको इतिहासमा सर्वाधिक फराकिलो नतिजा भनेको ५  गोलको छ ।

    युरोको कीर्तिमानी ५ गोल फरकको नतिजामा फ्रान्स, नेदरल्यान्ड्स, डेनमार्क र स्वीडेनको नाम छ । हुनत! युरोमा ६-१ को स्कोरलाइन पनि निस्किएको थियो । तर, फरक भने पाँच गोलको मात्रै छ । यी नतिजामध्ये दुई खेल एकै दिनमा भएका थिए ।

    ५ गोल फरकको नतिजा निस्किएका खेलहरू

    १. १९८४ समूह चरण: फ्रान्स ५-० बेल्जियम

    २. १९८४ समूह चरण: डेनमार्क ५-० युगोस्लाभिया

    ३. २००० क्वार्टरफाइनल: नेदरल्यान्ड्स ६-१ युगोस्लाभिया

    ४. २००४ समूह चरण: स्वीडेन ५-० बुल्गेरिया

  • यस्ता छन् युरोपियन च्याम्पियनसिपका सफल टिम र फाइनल पुगेका देशहरू

    यस्ता छन् युरोपियन च्याम्पियनसिपका सफल टिम र फाइनल पुगेका देशहरू

    एजेन्सी । विश्वकप पछिको सर्वाधिक ठूलो प्रतियोगिता युइएफए युरोपियन च्याम्पियनसिप (युरो २०२०) आजदेखि सुरु हुँदैछ । कोरोना भाइरसको महामारीका कारण एक वर्षपछि धकेलिएको प्रतियोगिताको पहिलो खेलमा आज राति १२:४५ बजे १९६८ को च्याम्पियन इटाली र टर्की भिड्नेछन् ।

    सन् १९६० देखि सुरु भएको प्रतियोगिताको ६० वर्ष पूरा भइसकेको छ । हालसम्मका सर्वाधिक सफल टोली र विजेताहरू यसरी सूचीकृत गरिएको छ ।

    १. जर्मनी
    – च्याम्पियन ३ पटक (१९७२, १९८०, १९९६)
    – उपविजेता ३ पटक (१९७६, १९९२, २००८)

    २. स्पेन
    – च्याम्पियन ३ पटक (१९६४, २००८, २०१२)
    – उपविजेता १ पटक (१९८४)

    ३. फ्रान्स
    – च्याम्पियन २ पटक (१९८४, २०००)
    – उपविजेता १ पटक (२०१६)

    ४. सोभियत युनियन
    – च्याम्पियन १ पटक (१९६०)
    – उपविजेता ३ पटक (१९६४, १९७२, १९८८)

    ५. इटाली
    – च्याम्पियन १ पटक (१९६८)
    – उपविजेता २ पटक (२०००, २०१२)

    ६. चेक गणतन्त्र
    – च्याम्पियन १ पटक (१९७६)
    – उपविजेता १ पटक (१९९६)

    ७. पोर्चुगल
    – च्याम्पियन १ पटक (२०१६)
    – उपविजेता १ पटक (२००४)

    ८. नेदरल्यान्ड्स
    – च्याम्पियन १ पटक (१९८८)

    ९. डेनमार्क
    – च्याम्पियन १ पटक (१९९२)

    १०. ग्रीस
    – च्याम्पियन १ पटक (२००४)

    ११. युगोस्लाभिया
    – उपविजेता २ पटक (१९६०, १९६८)

    १२. बेल्जियम
    – उपविजेता १ पटक (१९८०)

  • युरोपियन च्याम्पियनसिपका सर्वकालीन १० चर्चित ‘हेयर स्टाइल्स’

    युरोपियन च्याम्पियनसिपका सर्वकालीन १० चर्चित ‘हेयर स्टाइल्स’

    एजेन्सी । शुक्रबार (आज) राति १२:४५ बजे इटाली र टर्कीले रोममा खेल्दै युइएफए च्याम्पियनसिपको ६०औं संस्करणको सुरुआत गर्दैछन् । कोरोना भाइरसको कारण एक वर्षपछि धकेलिए पनि प्रतियोगिताको नाम भने युरो २०२० नै कायम छ ।
    वर्षौंदेखि व्यावसायिक फुटबलमा मेहेनत गरिरहेका पनि उत्कृष्ट लयमा रहँदा मात्रै आफ्नो देशको प्रतिनिधित्व गर्दै यस्ता ठूला प्रतियोगिता खेल्ने अवसर पाउँछन् । यसै क्रममा खेल कौशलबाहेक आफ्नो आचरण र गेटअपसँगै ‘हेयर स्टाइल’ले पनि आफूलाई पृथक साविक गर्न खेलाडीले कुनै कसर बाँकी राख्दैनन् । यसै क्रममा हालसम्म युरोपियन च्याम्पियनसिपमा देखिएका १० चर्चित हेयर स्टाइल्सलाई यसरी सूचीकृत गरिएको छ ।

    १०. एन्ड्रिए पिर्लो – युरो २०१२

    ९. मारियो गोमेज- युरो २०१२

    ८. फ्रान्सेस्को टोटी- युरो २००

    ७. मारेक हाम्सिक- २०१६

    ६. एड्गर ड्भिड्स- युरो २०००

    ५. इभान पेरिसिच- युरो २०१६

    ४. पौल पोग्बा – युरो २०१६

    ३. अबेल जाभियर- युरो २०००

    २. रूड गलिट- युरो १९८८

    १. फर्नान्डो टोरेस- २०१२

    90min.com बाट

  • युरोपियन च्याम्पियनसिप आजदेखि, उद्घाटन खेलमा इटली र टर्की भिड्दै

    युरोपियन च्याम्पियनसिप आजदेखि, उद्घाटन खेलमा इटली र टर्की भिड्दै

    एजेन्सी । मिनी विश्वकप भनिने गरेको युरोपियन च्याम्पियनसिपको नयाँ संस्करण आजदेखि सुरु हुँदैछ । अघिल्लो वर्ष आयोजना हुनुपर्ने यो प्रतियोगिता कोरोना महामारीका कारण एक वर्ष सरेको हो ।

    युरोपका २४ टोलीबीचको प्रतिस्पर्धालाई फिफा विश्वकपपछिको रोमान्चक फुटबलका रुपमा लिने गरिएको छ । यो प्रतियोगिता पहिलोपल्छ विभिन्न १२ देशमा आयोजना हुँदैछ । उद्घाटन इटलीको रोमस्थित ओलम्पिक रंगशालामा हुनेछ भने समापन इंग्ल्याण्डको वेम्वलीमा हुनेछ ।

    आजको उद्घाटन खेलमा इटली र टर्की आमने सामने हुँदैछन् । सन् २०१२ को फाइनल खेलेको इटली त्यसअघि सन् १९६८ को आफ्नो पहिलो सहभागितामै विजेता बनेको थियो । इटलीले अहिलेसम्म ९ पल्ट युरो खेलेको छ ।

    टर्कीको भने त्यति लामो इतिहास छैन । सन् १९९६ देखि मात्रै उसले युरो खेल्न पाएको हो भने सन् २००८ मा सेमिफाइनलसम्म पुगेको थियो । टर्कीले अहिलेसम्म पाँचपल्ट युरो खेलेको छ ।

  • विश्वकप छनोटमा नेपालले आज अस्ट्रेलियासँग खेल्दै

    विश्वकप छनोटमा नेपालले आज अस्ट्रेलियासँग खेल्दै

    काठमाडौं । विश्वकप तथा एसियन कप छनोट अन्तर्गत दोस्रो चरणको आफ्नो अन्तिम खेलमा आज नेपालले एसियाली पावरहाउस अस्ट्रेलियाको सामना गर्दैछ ।

    पाँचपल्ट विश्वकप खेलिरहेको अस्ट्रेलियाका लागि आजको खेल जितेसँगै समूहको शीर्ष स्थानमा रहेर विश्वकप छनोटको तेस्रो चरणमा स्थान सुरक्षित हुनेछ ।

    फिफा वरियतामा ४१ नम्बरमा रहेको अस्ट्रेलिया नै नेपालले अहिलेसम्म सामना गरेको बरियताका आधारमा सबैभन्दा ठूलो टोली हो । यसअघि २०१९ को अक्टोबर १० मा खेलिएको पहिलो लेगमा नेपाल ५–० ले पराजित रहेको थियो ।

    कुवेतको जावेर अल हमाद अनतर्राष्ट्रिय रंगशालामा यो खेल नेपाली समयअनुसार राती पौने १० बजेदेखि सुरु हुनेछ ।

    दुई सातादेखि मध्यपूर्वमा रहेको नेपालले इराकसँग मैत्रीपूर्ण खेल खेलेको थियो भने विश्वकप छनोट अन्तर्गत नै चाइनिज ताइपेईसँग र जोर्डनसँग खेलिसकेको छ । सबैकुरा सामान्य भइदिएको भए यी तीनै खेल नेपालले आफ्नै मैदानमा खेल्न पाउने थियो ।

    खेलअघिको पत्रकार सम्मेलनमा नेपाली प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नेपालले आफ्नो खेल्ने शैली परिवर्तन गरेको र यसले समर्थकलाई खुसी दिएको बताएका थिए । ‘म अस्ट्रेलियासँग नेपाल टिमको अर्को एउटा सकारात्मक प्रदर्शनको आशा गर्छु । हाम्रो खेल्ने शैली सुधारिएको छ र यसले हाम्रा समर्थकलाई खुसी दिएको छ,’ उनले भने।

    कुवेतका प्रो लाइसेन्सधारी प्रशिक्षक अल्मुताइरीले आफ्नो टिममा रहेका डेब्यू गर्न बाँकी युवा खेलाडीलाई अस्ट्रेलियासँगको खेलमा अवसर दिने संकेतसमेत गरेका छन् । ‘मलाई थाहा छ अस्ट्रेलियासँगको खेल कठिन हुनेछ तर उनीहरुले खेल्न पाउनु पनि त्यत्तिकै महत्वपूर्ण रहनेछ,’ अल्मुताइरीले भने । नेपाली टोलीमा परेर कुवेत उडेका गोलरक्षकबाहेक सुरज ज्यू ठकुरी, आयुश घलान र कमल थापाले डेब्यू गर्न बाँकी छ ।

    अस्ट्रेलियाका मुख्य प्रशिक्षक ग्राहम आर्नोल्डले नेपाली टोली मिहिनेती भएको र उनीहरुसँग खेल्न उत्साहित रहेको प्रतिक्रिया दिए । ‘उनीहरु फरक शैलीमा खेल्छन् । उनीहरुका प्रशिक्षकले राम्रो काम गरिरहेका छन् । हामी नेपाली टिमको सम्मान गर्छौं, उनीहरु मिहिनेती छन्,’ आर्नोल्डले पत्रकार सम्मेलनमा भने ।

  • हेभिवेट अस्ट्रेलियाविरुद्ध नेपालको कठिन परीक्षा

    हेभिवेट अस्ट्रेलियाविरुद्ध नेपालको कठिन परीक्षा

    काठमाडौं । विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ को संयुक्त छनोटमा शुक्रबार नेपालले अस्ट्रेलियाको सामना गर्दैछ । समूह ‘बी’ मा यसअघिका सबै खेलमा सतप्रतिशत जित निकालेको अस्ट्रेलियाविरुद्ध नेपालको कठिन परीक्षा निश्चित छ ।

    कोरोना भाइरसका कारण प्रभावित बनेको छनोटका खेलहरू अहिले सेन्ट्रल भेन्यू कुवेतको जाबेर अल-अहमद रंगशालामा भइरहेका छन् । जसअनुसार नेपालले भोलि नेपाली समयअनुसार ९:४५ बजे फिफा बरियताको ४१औं स्थानको अस्ट्रेलियाको सामना गर्दैछ ।

    यसअघिको खेलमा नेपाल जोर्डनसँग ३-० को नतिजामा पराजित भएको थियो भने अस्ट्रेलियाले चाइनिज ताइपेइविरुद्ध ५-१ को शानदार जित हासिल गरेको थियो । उत्कृष्ट फर्ममा रहेको र विश्वकप खेलिसकेको अस्ट्रेलियाविरुद्ध फिफा बरियताको १७१औं स्थानमा भएको नेपालले नतिजा भन्दा पनि प्रदर्शनका लागि खेल्ने प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी बताउँछन् ।

    संयुक्त छनोटको अन्तिम खेलअघिको पत्रकार सम्मेलनमा नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अल्मुताइरीले नेपालले नतिजाभन्दा पनि राम्रो फुटबल खेल्ने आफ्नो टोलीको लक्ष्य हुने बताए ।

    ‘नतिजाभन्दा पनि राम्रो खेल खेल्ने नेपालको लक्ष्य छ,’ उनले भने, ‘नेपालले पहिले लामो पासकमा फुटबल खेल्थ्यो, अहिले त्यसमा परिवर्तन भएको छ । हामीले शैलीमा फेरबदल गरेका थियौं, त्यो प्रदर्शनमा देखिँदैछ ।’

    खेलमा नतिजा पनि महत्त्वपूर्ण हुने बताउँदै प्रशिक्षक अल्मुताइरीले नेपाली समर्थकलाई खुशी पार्न सकेको र आगामी दिनमा अझै सकारात्मक नतिजा ल्याउनेछौं

    यसअघि जोर्डनविरुद्धको खेलमा रेफ्रीको निर्णय चित्तबुझ्दो नभएको बताउँदै अब्दुल्लाहले भने, ‘गोलरक्षकलाई रातो कार्ड दिएको भए सायद खेलको नतिजा पनि परिवर्तन हुन सक्थ्यो ।’

    केही समयअघि प्रशिक्षक अल्मुताइरीले युरोपेली फुटबलबाट प्रेरित भएको संकेत दिँदै दी वर्ल्ड गेमसँग भनेका थिए- ‘यदि नर्थ मेसिडोनियाले जर्मनीलाई हराउन सक्छ भने नेपालले पनि अस्ट्रेलियामाथि आक्रामण गर्न सक्छ ।

    नेपालको विश्वकप छनोटको तेस्रो चरण पुग्ने सम्भावना समाप्त भइसकेको छ भने एसियनकपको आशा बाँकी छ । भोलिको खेलमा पराजित भए नेपालले प्लेअफ खेल्नुपर्नेछ ।

    नेपालले पहिलो लेगमा २०१९ मा अस्ट्रेलियासँग क्यानेरामा ५-० को पराजय बेहोरेको थियो । उक्त खेलमा अस्ट्रेलियाका लागि जेमी म्याक्लारेनले ह्याट्रिक तथा ह्यारी साउटरले १ गोल गरेका थिए । एक गोल नेपालकै खेलाडी दिनेश राजवंशीले आत्मघाति गोल गरेका थिए ।

  • जोकोभिच र नाडालको भेट फ्रेन्च ओपनको सेमिफाइनलमै

    जोकोभिच र नाडालको भेट फ्रेन्च ओपनको सेमिफाइनलमै

    एजेन्सी । विश्व नम्बर एक नोभाक जोकोभिचले इटलीका माट्टेको बोरेट्टिनीलाई पराजित गरी वर्षको दोस्रो ग्राण्डस्लाम टेनिस फ्रेन्च ओपनको सेमिफानलमा रफायल नाडालसँगको भेट पक्का गरेका छन् । पेरिसमा रातको ११ बजेदेखि कर्फ्यू सुरु हुने भएकाले समर्थकले यो खेल पूरा हेर्न पाएनन् ।

    बर्सियाली जोकोभिचले सुरुआती दुई सेट सजिलै जितेका थिए । रात्रीकालीन खेलमा ५ हजार समर्थक राख्ने अनुमति भएअनुसार उपस्थित समर्थकहरुले खेलको नतिजा हेर्न पाउने अनुमान थियो । तर तेस्रो सेट बेरेट्टिनीले टाइब्रेकमा जित्न सफल भए, जुन ७४ मिनेटसम्म चलेको थियो ।

    पुनरागमनका साथ जोकोभिचले ६–३, ६–२, ६–७ र ७–५ को सेटमा खेल जिते । सुरुआती चरणमा निकै भिड देखिए पनि खेलको अन्तिम सेट एकदमै शान्त र सन्नाटाका बीच खेलिएको थियो ।

    यो जितपछि जोकोभिचले सेमिफाइनलमा आफ्नो पुरानो प्रतिस्पर्धीको सामना गर्नुपर्नेछ । तेस्रो वरियताका स्पेनिस सुपरस्टार नाडाल पनि सेमिफनइनलमा पुगेका छन् र कीर्तिमान विस्तार गर्ने गरी १४ औंपल्ट फ्रेन्च ओपनको उपाधि लक्ष्यमा छन् ।

    यी दुईले आफ्नो करिअरमा ५८औंल्ट आपसमा भिड्दैछन् । यो खेलको विजेताले पाँचौं वरियताका ग्रिक खेलाडी स्टेफानोस सितसिपास र छैटौं वरियताका जर्मन खेलाडी अलेक्जान्दर भेरेभबीच हुने खेलको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।