Category: खेल प्रेस

  • अर्जुन ट्रफी टी-२०: भीम र विवेक चम्किँदा बैतडीमाथि अत्तरियाको जित

    अर्जुन ट्रफी टी-२०: भीम र विवेक चम्किँदा बैतडीमाथि अत्तरियाको जित

    कैलाली । अर्जुन ट्रफी राष्ट्रिय टी– २० क्रिकेट प्रतियोगितामा सीवाईसी अत्तरियाले विजयी सुरुवात गरेको छ । धनगढीस्थित फाप्ला मैदानमा भएको आइतबारको पहिलो खेलमा दशरथ चन्द एकेडेमी बैतडीलाई हराउँदै अत्तरियाले सुखद् सुरुवात गरेको छ । अत्तरियाले बैतडीलाई २६ रनले पराजित गरेको हो ।

    अत्तरियाले दिएको १ सय ६५ रनको लक्ष्य पछ्याएको दशरथ चन्द एकेडेमीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३८ रन बनायो । उसका लागि हिमाल दुलियाले ३९, वसन्त खत्रीले २३ तथा सुमित बडालले १८ रन जोडे । अत्तरियाका लागि विवेक यादवले उत्कृष्ट बलिङ गरे ।

    अत्तरियाको जितको लागि भीम सार्की र विवेक यादव नायक बने । चार ओभरमा २५ रन दिएका यादवले चार विकेट लिएका थिए । साहब आलम र कमल गुप्ताले समान दुई–दुई तथा दिपेश कँडेलले एक विकेट लिए ।

    टस हारेर ब्याटिङको निम्तो पाएको अत्तरियाले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर एक सय ६४ रन बनाएको थियो । अत्तरियाका लागि भीम सार्कीले ७० रनको अविजित पारी खेले । उनले ३३ बलमा छ चौका र चार छक्का प्रहार गरे ।

    यस्तै, तृतराज दासले ३०, शङ्कर रानाले २५ रन जोड्दा विवेक यादव १७ बलमा २५ रन बनाएर अविजित रहे । बैतडीका अमर रौतेलाले दुई तथा रुपेश सिंहले १ विकेट लिए ।

    खेलका म्यान अफ द म्याच अत्तरियाका विवेक यादव भए । प्रतियोगिताअन्तर्गत अहिले डीसीए धनगढी र घोडाघोडी– ११ बिच खेल भइरहेको छ । शनिवारदेखि गो ड्रिमर्सको आयोजनामा सुरु भएको प्रतियोगिताको विजेताले १० लाख नगद तथा उपविजेताले ५ लाख नगदसहित ट्रफी पाउनेछन् ।

    प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई नगद एक लाख प्रदान गरिनेछ । उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदीयमान खेलाडीले जनही ५०्५० हजार रुपैयाँ पाउनेछन् । प्रत्येक खेलका म्यान अफ द म्याचलाई नगद १० हजार प्रदान गरिनेछ ।

    प्रतियोगितामा देशभरका ८ वटा क्लब तथा टिमको सहभागिता रहेको छ ।

    धनगढी र सुदूरपश्चिम प्रदेशको क्रिकेटका सारथि रहेका स्वर्गीय अर्जुन खड्कालाई समर्पित गर्दै उनैको नाममा प्रतियोगिता आयोजना गरिएको हो ।

  • नेपालको लगातार तेस्रो हार, नेदरल्यान्डसँग १५ रनले पछि पर्‍याे

    नेपालको लगातार तेस्रो हार, नेदरल्यान्डसँग १५ रनले पछि पर्‍याे

    काठमाडौं । त्रिकोणात्मक टी ट्वान्टी सिरिजको तेस्रो खेलमा नेपालले लगातार तेस्रो हार व्यहोरेको छ ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान आज भएको खेलमा नेपाल नेदरल्याण्डसँग १५ रनले पराजित भएको हो ।

    नेपालले टस हारेर पहिले फिल्डिङ गरेको थियो । नेदरल्यान्ड्सले नेपाललाई १४१ रनको कठिन लक्ष्य दियो । नेपालका लागि सिता रानामगरले उत्कृष्ट बलिङ गर्दै ३ ओभरमा ५ विकेट लिएकी थिइन् ।

    दोस्रो इनिङमा नेपालले स्थिर सुरुवात गर्यो । पहिलो विकेटका लागि सम्झना खड्का र ममता चौधरीले ५.५ ओभरमा ३१ रनको साझेदारी गरेका थिए । ममता १३ बलमा सात रन बनाएर आउट भइन् । लगत्तै सम्झना पनि २३ रनमा पेभिलियन फर्किइन् ।

    तेस्रो नम्बरमा आएकी पूजा महतो र कप्तान इन्दु बर्माबीच आशालाग्दो साझेदारी भयो । उनीहरुले ३७ रन थप्दै नेपाललाई १२.३ ओभरमा ७१ रनमा पुर्‍याए । तर, पूजा महतो १८ रनमा आउट भएसँगै नेपाललाई ठूलो झट्का लाग्यो । पूजाले १८ बलकै सामना गरेर १ चौका प्रहार गरेकी थिइन् ।

    रन गति बढाउन नसक्दा नेपालमाथि दवाव बढ्दै गयो । कप्तान इन्दुले ३० रनमा विकेट गुमाइन् । रुबिना क्षेत्री आज पनि चलिनन् । उनी पहिलो बलमै आउट भइन् । नेपालले पूरा २० ओभर खेलेर ८ विकेट क्षतिमा १२५ रन मात्र जोड्न सक्यो । नेपालले १६ अतिरिक्त रन पाएको थियो ।

    आजको हारसँगै नेपालको उपाधि होड कमजोर बनेको छ । यसअघि नेपालले नेदरल्यान्ड्स र थाइल्यान्डसँग एक–एक हार व्यहोरेको थियो ।

  • नेदरल्यान्डस्‌ले नेपाललाई दियो १४१ रनको लक्ष्य, सीताको कीर्तिमानी बलिङ

    नेदरल्यान्डस्‌ले नेपाललाई दियो १४१ रनको लक्ष्य, सीताको कीर्तिमानी बलिङ

    काठमाडौं । त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत नेदरल्यान्डस्‌ले नेपाललाई १४१ रनको लक्ष्य दिएको छ ।

    टीयू क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेदरल्यान्डस्‌ले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४० रन बनायो । नेदरल्यान्डस्‌की कप्तान बाबेट डि लिडेले सर्वाधिक ४१ रन बनाइन् ।

    बलिङमा नेपालकी सीता रानामगरले कीर्तिमानी बलिङ गरिन् । उनले ३ ओभर बलिङ गर्दै १२ रन खर्चेर ५ विकेट लिइन् ।

    त्रिकोणात्मक सिरिजमा नेपाल पहिलो जितको खोजीमा छ ।

  • एपीएफलाई हराउँदै आयोजक टोलीले जित्यो टाइगर कपको उपाधि

    एपीएफलाई हराउँदै आयोजक टोलीले जित्यो टाइगर कपको उपाधि

    पोखरा । सशस्त्र प्रहरी बल (एपीएफ) क्लबलाई पराजित गर्दै आयोजक टोली टाइगर ग्रुपले पोखरामा जारी एनसेल पाँचौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको महिलातर्फको उपाधि जितेको छ ।

    पोखरा रंगशालामा भर्खरै सकिएको फाइनल खेलमा एपीएफलाई ३-२ को सेटमा पराजित गर्दै आयोजक टोली टाइगर ग्रुपले पहिलो पटक महिलातर्फको उपाधि जितेको हो ।

    पहिलो सेट १७-२५ ले गुमाएको आयोजक टोलीले दोस्रो सेट २९-२७ ले आफ्नो पक्षमा पारेको थियो । पुनः तेस्रो सेट २१-२५ ले एपिएफलाई सुम्पिएको आयोजक टोलीले चौथो सेट २५-१६ ले जित निकाल्दा खेल पाँचौँ सेट धकेलिएको थियो ।

    पाँचौँ सेटमा आयोजक टोलीले उत्कृष्ट प्रदर्शन गर्दै १५-१३ को जित निकाल्दै उपाधि चुम्न सफल रह्यो । पहिलो पटक सहभागिता जनाएको आयोजक टोलीले पहिलो पटकमै उपाधि चुमेको हो ।

    उपाधि जितेको टाइगर ग्रुपले ५ लाख ८५ हजार ५५५ रुपैयाँ प्राप्त गर्‍यो । फाइनलमा पराजित भएको एपीएफले २ लाख ८५ हजार ५५५ रुपैयाँमा चित्त बुझायो ।

    अब पुरुषतर्फको उपाधिका लागि नेपाल पुलिस क्लब र गण्डकी प्रदेशबिच प्रतिस्पर्धा हुनेछ ।

  • मोन्टी देसाईको दुई वर्षे कार्यकाल : आधा भरिएको गिलास !

    मोन्टी देसाईको दुई वर्षे कार्यकाल : आधा भरिएको गिलास !

    काठमाडौं । मोन्टी देसाई नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारीबाट मुक्त भएका छन् । २०७९ को माघबाट जिम्मेवारी सम्हालेका मोन्टीको दुई वर्षे दुई वर्षको कार्यकाल सकिएपछि उनी बिदा हुने भएका हुन् ।

    नेपाल क्रिकेट संघ (क्यान) ले मोन्टीसँगको सम्झौता नवीकरण नगर्ने निर्णय गरिसकेको छ । योसँगै क्यानले नयाँ प्रशिक्षक नियुक्तिको तयारीसमेत गरेको छ ।

    मोन्टीको २ वर्षे कार्यकाल मिश्रित रह्यो । मोन्टी आउनुअघि नेपाल एकदिवसीय मान्यता जोगाउनसमेत मुस्किल अवस्थामा थियो । आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले २४ खेलमा ८ मात्र जित निकालेको थियो । एकदिवसीय मान्यता जोगाउन नेपाललाई बाँकी खेलमा जित निकाल्नु आवश्यक थियो ।

    लगातार हार व्यहोरिरहँदा खेलाडीदेखि समर्थकसम्म निराश थिए । तर, त्यसपछि मोन्टीको आगमनसँगै नेपाली क्रिकेटको प्रदर्शनमा नसोचेको बदलाव आयो ।

    लिग–२ का बाँकी १२ खेलमा अविश्वसनीय प्रदर्शन गर्दै नेपालले ११ खेलमा जित निकाल्न सफल रह्यो । यो प्रदर्शनबाट ४ वर्षका लागि एकदिवसीय मान्यता मात्र जोगिएन, नेपालले विश्वकपको ग्लोबल छनोटमा पनि स्थान सुरक्षित ग¥यो । वेष्ट इन्डिज, जिम्बाब्बे जस्ता देशहरूसँग ग्लोबल छनोट खेल्ने अवसर मिल्यो ।

    उनकै प्रशिक्षणमा नेपाली टोलीले घरेलु मैदानमा भएको एसिसी प्रिमियर कपको उपाधि जित्दै पहिलो पटक एसिया कपमा छनोट भयो । एसिया कपमा भारत र पाकिस्तानजस्ता बलिया राष्ट्रविरुद्ध नेपालले गौरव गर्न लायक प्रदर्शन गर्‍यो ।

    नेपालले घरेलु मैदानमा युएईलाई पराजित गर्दै १० वर्षपछि टी–२० विश्वकपमा स्थान सुरक्षित ग¥यो । उनकै प्रशिक्षणमा अमेरिका र वेष्ट इन्डिजमा भएको उक्त विश्वकपमा पनि नेपालले बलिया टोलीविरुद्ध शानदार प्रदर्शन गर्न सक्यो । विश्वकपमा उपविजेता बनेको दक्षिण अफ्रिकासँगको एक रनको नमिठो हार अझै नेपाली क्रिकेटका लागि ताजै छ ।

    देसाईको पछिल्लो कालखण्ड भने त्यति सुखद रहन सकेन । गत वैशाखमा भएको एसिसी प्रिमियर कपको सेमिफाइनलमा युएईसँग पराजित हुँदा नेपाल एसिसी इमर्जिङ टिम्स कप र एसिया कप २०२५ मा छनोट हुन असफल भएको थियो ।

    टी–२० विश्वकपपछि आइसिसी लिग–२ मा पनि नेपालले राम्रो नतिजा निकाल्न सकेको छैन । लिग–२ का १२ खेल खेल्दा नेपालले मात्र २ खेलमा जित निकालेको छ । अहिले नेपाल पुछारबाट दोस्रो स्थानमा छ । लिग–२ मा राम्रो प्रदर्शन नहुँदा प्रशिक्षक मोन्टी आलोचित बनेका थिए ।

    बिदा हुनुअघि मोन्टी निकै समय खाली रहे । नेपाली राष्ट्रिय टिमको कुनै अन्तर्राष्ट्रिय खेल वा प्रतियोगिता नहुँदा उनलाई कुनै पनि कार्यभारबिना तीन महिना तलव मात्रै खुवाउनु परेको थियो ।

    कार्यकाल सकिने बेला क्यानको आग्रहमा मोन्टीले ‘ब्याटिङ क्लीनिक’ सञ्चालन गरे । मोन्टीको निगरानीमा नेपालका २० जना युवा ब्याटरका लागि माघ ४ देखि १२ गतेसम्म ब्याटिङ क्याम्प सञ्चालन भएको छ ।

    मोन्टीले आफ्नो कार्यकालमा ‘ह्याप्पी ड्रेसिङ रुम’ को अवधारणा लागू गर्न खोजेका थिए । त्यसबाहेक उनले नेपाली टिममा ठोस परिवर्तन ल्याउन भने सकेनन् । भारतीय नागरिक देसाईले विश्वकै क्रिकेट महाशक्ति भारतबाट नेपाली क्रिकेटका लागि ठोस सहयोग दिलाउन चुके ।

    उनको कार्यकालमा भारतको कम्तीमा ए टिमसँग नेपाली टिमको प्रतियोगिता आयोजना हुन सक्ने आशा लिइएको थियो । तर, त्यो सम्भव भएन भारतले नेपाली क्रिकेटलाई टेवा दिने भन्दा पनि प्रचारमुखी सहयोग मात्रै गरिरहेको छ ।

    नेपाली राष्ट्रिय टिमलाई भारतको एकेडेमीमा राखेर केही दिन प्रशिक्षण गराइएको थियो भने त्यहाँको लोकल क्लबहरूसँग भिडाइएको थियो ।
    देसाईले नेपाली फ्यानहरूबाट निकै माया पाए । उनले खेलाडीहरूप्रति देखाएको प्रेम र सद्भाव अनुकरणीय नै थियो ।

    सन्दीप लामिछाने अप्ठेरो स्थितिबाट राष्ट्रिय टिममा फर्किँदा देसाईंले निरन्तर प्रेरणा हौसला दिएका थिए । उनी कुनै विवादमा पनि मुछिएनन् । आफ्नो सकारात्मक छाप छोडेर देसाई बिदा हुँदैछन् ।

  • महिला अन्तर्राष्ट्रिय क्रिकेट : टस हारेर पहिले बलिङ गर्दै नेपाल

    महिला अन्तर्राष्ट्रिय क्रिकेट : टस हारेर पहिले बलिङ गर्दै नेपाल

    काठमाडौं । त्रिकोणात्मक महिला अन्तर्राष्ट्रिय टि–ट्वान्टी शृङ्खलाअन्तर्गत आजको खेलमा नेपालले टस हारेर नेदरल्याण्ड्सविरुद्ध पहिले बलिङ गर्नेभएको छ ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भर्खरै भएको टसमा नेदरल्याण्ड्सकी कप्तान बाबेट डी लिडेले टस जितेर ब्याटिङ रोजिन ।

    जारी प्रतियोगितामा नेपालले यसअघि खेलेको दुवै खेलमा हार बेहारेको थियो ।

    नेपाल आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्ससँग २० रनले पराजित भएको थियो भने दोस्रो खेलमा थाइल्यान्डसँग चार विकेटको पराजित भएको थियो ।

    पहिलो खेलमा नेपाललाई पराजित गरेको नेदरल्याण्ड्स आफ्नो दोस्रो खेलमा थाइल्यान्डसँग आठ विकेटको पराजित भएको थियो ।

  • मोन्टी देसाईको बिदाइ नोट- क्यानदेखि फ्यानसम्मलाई गरे यस्तो सम्बोधन

    मोन्टी देसाईको बिदाइ नोट- क्यानदेखि फ्यानसम्मलाई गरे यस्तो सम्बोधन

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकबाट मोन्टी देसाईले बिदा लिएका छन् ।

    नेपाल क्रिकेट संघ (क्यान) ले उनको करार नवीकरण नगर्ने निर्णय लिएपछि देसाईको कार्यकाल समाप्त भएको हो ।

    बिदा हुँदै गर्दा देसाईले सामाजिक सञ्जालमार्फत नेपाली क्रिकेटप्रति आफ्ना भावनाहरू पोखेका छन् । नेपाललाई आफ्नो ‘घरबाहिरको घर’ भन्दै उनले आफूलाई दिइएको जिम्मेवारीप्रति आभार प्रकट गरेका छन् ।

    फेसबुकमा स्टाटस लेख्दै देसाइले क्यान, खेलाडी, फ्यान सबैलाई धन्यवाद दिएका हुन् ।

    देसाइले लेखेका छन्, ‘यी दुई वर्ष मेरोलागि अविस्मरणीय रह्यो, जुन मनमोहक पलहरू र साझा कोशेढुंगाले भरिएको छ ।’

    उनको स्टाटसको नेपाली उल्था:

    प्यारो नेपाल

    यो एउटा गुड बाइ होइन, हार्दिक धन्यवाद हो ।

    १० जनवरी २०२३ मा मैले नेपाली क्रिकेटमा दिगो प्रभाव पार्ने आशामा उत्साह र उद्देश्यका साथ अज्ञातमा कदम चाल्दै नेपाल क्रिकेट एसोसिएसनसँगको अवसरलाई अँगालेँ ।

    यी दुई वर्ष अविस्मरणीय रहे, जुन मनमोहक पलहरू र साझा कोशेढुंगाले भरिएको छ । टियू मैदानमा भएको एसिया कप छनोट, जहाँ फ्यानहरू कोही रुखमा चढेर त कोही छाता लिएर उभिएका थिए, र मुलपानीमा भएको विश्वकप छनोट जहाँ थामिनसक्नु भिड थियो, ले नेपालको जोश र लगावलाई प्रतिबिम्बित गर्थ्यो ।

    यो यात्रामा आरोह अवरोहहरू थिए, र म क्यान व्यवस्थापन, छनोटकर्ता, खेलाडी, प्रशिक्षक, अफिसियल, स्कोरर, ग्राउन्ड्समेन, क्यामरामेन, कमेन्टेटर र मेरो कप्तान रोहित पौडेलसँग मिलेर सानो भूमिका निभाउन पाएकोमा आभारी छु । प्रत्येकले आफ्नो तर्फबाट योगदान दिए र हामीले निर्माण गरेको सौहार्दतालाई म गहिरो मूल्यांकन गर्छु ।

    खेलाडीहरूका लागि

    तिमीहरूले लाखौँको सपनाहरू बोकेका छौँ । मैदानमा अविचलित रहनु, एक–एक बल खेल्ने मानसिकता बनाउनु र बाउन्ड्रीहरु निकालिराख्नु । सम्बन्ध, खुलापन, एकता र उत्तरदायित्वमा निर्मित ‘हेप्पि ड्रेसिङ रुम’ को आदर्श सधैँ तिमीहरूको शक्ति हुने छ ।

    सपोर्ट स्टाफहरूका लागि

    पर्दा पछाडि तपाईँहरूको अथक प्रयास अमूल्य छ । मेरो चाहना हामीलाई उत्कृष्टतातर्फ धकेल्ने मात्र थियो । मेरो साथमा उभिनुभएकोमा धन्यवाद ।

    फ्यानहरूलाई

    तपाईँहरूको अटल समर्थन हाम्रो सबैभन्दा ठूलो शक्ति भएको छ । यो टोलीमा विश्वास राख्नुस् ।

    क्यान म्यानेजमेन्टलाई

    मलाई नेतृत्वको अवसर दिनुभएकोमा धन्यवाद । आधारशिला खडा भएको छ । एकताबद्ध रहनुस् र नेपाललाई गौरवान्वित राख्नुस् ।

    नेपाली जनतालाई

    नेपाल मेरो लागि घरभन्दा बाहिरको घर हो । यहाँ क्रिकेट कुनै खेलभन्दा बढी छ, यो एउटा भावना हो, जसले देशलाई एकजुट बनाउँछ ।
    जय नेपाल

  • इपीएल : लिभरपुलको अग्रता थप फराकिलो

    इपीएल : लिभरपुलको अग्रता थप फराकिलो

    काठमाडौं । इङ्लिस प्रिमियर लिग (इपीएल) मा लिभरपुलले पहिलो स्थानमा थप अग्रता कायम गरेको छ ।

    मोहमद सलाहले गरेको दुई गोलको मदतले लिभरपुलले इङ्ग्लिस प्रिमियर लिगमा बर्नमाउथलाई शनिवार २-० ले पराजित गरेको छ ।

    तेस्रो स्थानमा रहेको नटिङघम फरेस्टले ब्राइटनलाई ७-० ले हराएको छ ।
    प्रिमियर लिगको इतिहासमा सलाह उच्च गोलकर्ता सूचीको छैटौँ स्थानमा पनि उक्लेका छन् ।

    गए राति भएको अन्य खेलहरूमा एभरटनले लेस्टर सिटीलाई ४–० ले हराएर छ भने उल्भ्सले एस्टन भिल्लालाई २–० ले हराएर रेलिगेसन क्षेत्र छाडेको छ ।

    अन्य खेलमा फुलहमले न्युकासल युनाइटेड र साउथह्याम्पटनले इपस्विच टाउनलाई समान २–१ ले हराएको छ ।

    गएरातिको खेलसँगै लिभरपुल ५६ अङ्क सहित पहिलो स्थानमा रहँदा ४७ अङ्क सहित आर्सनल दोस्रो र नटिङ्घम फरेस्ट ४७ अङ्क सहित तेस्रो स्थानमा छ ।

  • त्रिकोणात्मक सिरिजमा आज नेपाल र नेदरल्याण्ड्स खेल्दै

    त्रिकोणात्मक सिरिजमा आज नेपाल र नेदरल्याण्ड्स खेल्दै

    काठमाडौं । महिला त्रिकोणात्मक टी ट्वान्टी आई सिरिजको चौथो खेलमा आज नेपाल र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा हुँदैछ ।

    कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा खेल दिउँसो १२ः१५ बजे सुरु हुनेछ ।

    यस सिरिजमा भने दुवै टोलीको यो तेस्रो खेल हो । नेपाल अझै पनि पहिलो जितको खोजीमा छ । नेदरल्याण्ड्स भने दोस्रो जितको खोजीमा छ । सिरिजको पहिलो खेलमा नेपाल नेदरल्याण्ड्स र शनिबार थाइल्याण्डसँग पराजित भएको थियो ।

    पहिलो खेलमा नेपाललाई पराजित गरेको नेदरल्याण्ड्स दोस्रो खेलमा थाइल्याण्डसँग पराजित भएको थियो । दुवै टोली सिरिजमा दोस्रो पटक आमने सामने हुँदैछन् ।

  • अर्जुन ट्रफी टी-२०: कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनले डडेल्धुरा विजयी, चलेनन् ललित राजवंशी

    अर्जुन ट्रफी टी-२०: कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनले डडेल्धुरा विजयी, चलेनन् ललित राजवंशी

    कैलाली । कैलालीको धनगढीमा आज अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु भएको छ । प्रतियोगितामा डडेल्धुराको फ्रेन्डस् क्लबले विजयी सुरुवात गरेको छ ।

    नेपाली क्रिकेट टोलीका सदस्य कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनले फेण्ड्स क्लब डडेल्धुराले जितबाट प्रतियोगिताको सुरुवात गरेको छ । उद्घाटन खेलमा डीसीए धनगढी डडेल्धुरासँग ८ विकेटले पराजित भएको हो ।

    टस हारेर पहिले ब्याटिङ गरेको धनगढीले २० ओभरमा ९ विकेट गुमाउँदै १३२ रन बनायो । सुरुवाती विकेट सस्तैमा गुमाएर दबाबमा आएको धनगढीलाई सम्मानजनक योगफलतर्फ पुर्‍याउन अमित श्रेष्ठले सर्वाधिक ३२ रनको योगदान दिए ।

    निर्धारित २० ओभर सकिन दुई बल बाँकी रहँदा आउट भएका अमितले ३२ बलको सामना गर्दै एक छक्का प्रहार गरे । सातौं नम्बरमा ब्याटिङ गर्न आएका निरज ऐरले २७ रन र कप्तान नारायण जोशीले १६ रन बनाए ।

    डडेल्धुराका लागि राहुल लुनियाले ३, कुशल भुर्तेल र रवि विष्टले २-२ तथा हेमन्त धामीले १ विकेट लिए ।

    धनगढीस्थित फाप्ला मैदानमा १३३ रनको लक्ष्य पछ्याएको डडेल्धुराले १५.५ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य भेट्टायो । डडेल्धुराका लागि कुशल भुर्तेलले अर्धशतक बनाउँदै आफ्नो टीमलाई जित दिलाए । ५१ बलको सामना गरेका उनले ८७ रनको अविजित पारी खेले ।

    यस्तै विनोद भण्डारीले ४२ रन बनाए । धनगढीका ललित राजवंशी र अमित श्रेष्ठले १-१ विकेट लिए । खेलमा डडेल्धुराका भुर्तेल म्यान अफ द म्याच भए । उनले नगद १० हजारसहित ट्रफी पाए ।

    प्रतियोगिताअन्तर्गत आइतबार दुई खेल हुनेछन् । पहिलो खेलमा सीवाईसी अत्तरिया र दशरथ चन्द एकेडेमी बैतडीले प्रतिस्पर्धा गर्नेछन् । दोस्रो खेलमा डीसीए धनगढी र घोडाघोडी- ११ सुख्खडबीच प्रतिस्पर्धा हुनेछ ।

    अर्जुन ट्रफीमा झण्डै २० लाख नगद पुरस्कारको व्यवस्था गरिएको छ । रनिङ ट्रफीको रुपमा टी-२० प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले ५ लाखसहित ट्रफी पाउनेछन् ।

    प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई नगद एक लाख प्रदान गरिनेछ । उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदीयमान खेलाडीले जनही ५०-५० हजार रुपैयाँ पाउनेछन । प्रत्येक खेलका म्यान अफ द म्याचलाई नगद १० हजार प्रदान गरिनेछ ।

    प्रतियोगितामा देशभरका ८ वटा क्लब तथा टीमको सहभागिता रहेको छ । दुई समूहमा विभाजन गर्दै लिगकम नकाउटका आधारमा भएको प्रतियोगिताको समूह ‘ए’ मा डीसीए धनगढी, फ्रेन्डस् युथ क्लब डडेल्धुरा, घोडाघोडी-११ सुख्खड र बोस्टन क्रिकेट झापा रहेका छन् ।

    यस्तै समूह ‘बी’मा सीवाईसी अत्तरिया, क्रिकेट एक्सिलेन्स सेन्टर काठमाडौं, न्यू होराइजन बुटवल र दशरथ चन्द एकेडेमी बैतडी रहेका छन् ।

    प्रतियोगिताको शनिबार सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री मेघराज खड्काले उद्घाटन गरेका थिए । नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द विशिष्ट अतिथि रहेको उद्घाटन समारोहमा चर्चित गायक चक्र बमले सांगीतिक प्रस्तुति दिएका थिए ।

    धनगढी र सुदूरपश्चिम प्रदेशको क्रिकेटका सारथि रहेका स्वर्गीय अर्जुन खड्कालाई समर्पित गर्दै उनैको नाममा प्रतियोगिता आयोजना गरिएको हो ।

  • मोन्टी देसाईलाई क्यानले गर्‍याे नेपाली राष्ट्रिय क्रिकेटको मुख्य प्रशिक्षकबाट बिदाई

    मोन्टी देसाईलाई क्यानले गर्‍याे नेपाली राष्ट्रिय क्रिकेटको मुख्य प्रशिक्षकबाट बिदाई

    काठमाडौं । नेपाल क्रिकेट एसोसियसन क्यानले नेपाली राष्ट्रिय टीमका मुख्य प्रशिक्षक मोन्टी देसाईलाई बिदाई गरेको छ ।

    क्यानले दुई वर्षअघि नेपाली राष्ट्रिय क्रिकेट टीमको मुख्य प्रशिक्षकमा नियुक्त भएका मोन्टीको सम्झौता नवीकरण नगरेर बिदाई गरेको हो ।

    क्यानका प्रवक्ता छुम्बी लामाले प्रेस विज्ञप्ति जारी गर्दै मोन्टीको सम्झौता नवीकरण नगर्ने क्यानले निर्णय गरेको जानकारी दिएका हुन् ।

    क्यानले माेन्टीकाे प्रशिक्षणमा नेपाली पुरुष क्रिकेट टीमले गरेकाे उत्कृष्ट प्रदर्शन र सफलताकाे लागि उनलाई धन्यवादज्ञापनसमेत गरेकाे छ ।

    देसाई २०७९ माघमा मासिक १५ हजार डलर पारिश्रमिक र अन्य सुविधा पाउने गरी नेपाली राष्ट्रिय पुरुष क्रिकेट टीमको प्रमुख प्रशिक्षक नियुक्त भएका थिए ।

    उनी प्रशिक्षक बनेसँगै नेपालले लिग- २ का अन्तिम १२ मध्ये ११ खेल जितेर एक दिवसीय मान्यता जोगाएको थियो, तर पछिल्लो अवधिमा राष्ट्रिय टीमको प्रदर्शन सन्तोषजनक रहेको छैन ।

  • आर्मीलाई पराजित गर्दै गण्डकी टाइगर कप भलिबलको फाइनलमा प्रवेश

    आर्मीलाई पराजित गर्दै गण्डकी टाइगर कप भलिबलको फाइनलमा प्रवेश

    पोखरा । त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै गण्डकी प्रदेश एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको पुरुषतर्फ फाइनलमा प्रवेश गरेको छ ।

    पोखरा रंगशालामा आज भएको दोस्रो क्वालिफायरमा आर्मी ३-१ को सेटले पराजित गर्दै गण्डकीले फाइनल स्थान सुरक्षित गरेको हो ।

    पहिलो सेट २५-१६ ले आफ्नो पक्षमा पारेको गण्डकीले दोस्रो सेट २२-२५ ले आर्मीलाई सुम्पिएको थियो, तर तेस्रो र चौथोमा पुनः उत्कृष्ट प्रदर्शन गर्दै साविक उपविजेता गण्डकी फाइनलमा पुगेको हो । गण्डकीले तेस्रो सेट २५-१५ र चौथो सेट २५-१९ ले आफ्नो पक्षमा पार्‍यो ।

    अब गण्डकीले उपाधिका लागि आइतबार नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ । गण्डकीसँग पराजित भएको आर्मीले तेस्रो स्थानमा चित्त बुझाएको छ । तेस्रो बनेको आर्मीले १ लाख ८५ हजार ५५५ रुपैयाँ पाउनेछ ।

    यसअघि आजै भएको महिलातर्फको दोस्रो क्वालिफायरमा टिपटप न्यू डायमन्ड स्पोर्ट्सलाई ३-१ को सेटले पराजित गर्दै आयोजक टोली फाइलनमा पुगेको थियो । आयोजक टोलीले अब उपाधिका भोलि सशस्त्र प्रहरी बल (एपीएफ) क्लबसँग खेल्नेछ ।

  • त्रिकोणात्मक महिला क्रिकेट श्रृङ्खला: नेपालद्वारा थाइल्यान्डसामु १०२ रनको लक्ष्य

    त्रिकोणात्मक महिला क्रिकेट श्रृङ्खला: नेपालद्वारा थाइल्यान्डसामु १०२ रनको लक्ष्य

    काठमाडौं । त्रिकोणात्मक अन्तर्राष्ट्रिय महिला टी-ट्वान्टी सिरिजअन्तर्गत नेपालले दोस्रो खेलमा थाइल्यान्डसामु जितका लागि १०२ रनको लक्ष्य दिएको छ ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालकी कप्तान इन्दु वर्माले टस जितेर ब्याटिङ गर्ने निर्णय लिइन् । नेपाली महिला टोलीले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १०१ रन बनायो । नेपालका लागि कविता कुँवरले २५ रन बनाइन् । उनले ३२ बल खेल्ने क्रममा दुई चौकासमेत प्रहार गरिन् । यस्तै बिन्दुले २५ बलमा तीन चौका हानिन् । यस्तै कप्तान इन्दु वर्माले १५ रन बनाइन् ।

    बलिङतर्फ थाइल्यान्डका लागि थिपचा पुत्थावोङ्गले तीन, फन्निता माया र नाट्टाया बुचाथमले दुई दुई तथा चानिदा सुत्थीरुआङ्गले एक विकेट लिइन् ।

    अहिले थाइल्याण्डले जवाफी ब्याटिङ गरिरहेको छ । यसअघि नेपाल पहिलो खेलमा नेदरल्यान्डस्सँग २० रनले पराजित भएको थियो । थाइल्यान्डले भने आफ्नो पहिलो खेलमा नेदरल्यान्डस्लाई आठ विकेटले पराजित गरेको थियो ।

  • टाइगर कप भलिबलः न्यू डायमण्डलाई हराउँदै आयोजक टोली फाइलनमा प्रवेश

    टाइगर कप भलिबलः न्यू डायमण्डलाई हराउँदै आयोजक टोली फाइलनमा प्रवेश

    पोखरा ।  टिपटप न्यू डायमण्ड स्पोर्टस क्लबलाई हराउँदै आयोजक टोली पोखरामा जारी एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको महिलातर्फ फाइनलमा प्रवेश गरेको छ ।

    टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशालामा आज भएको दोस्रो क्वालिफायरमा न्यू डायमण्डलाई ३–१ सेटले पराजित गर्दै आयोजक टोलीले फाइलन यात्रा तय गरेको हो ।

    पहिलो सेट १६–२५ ले गुमाएको आयोजक टाइगर ग्रुपले दोस्रो, तेस्रो र चौथो सेटमा उत्कृष्ट पुनरागमन गर्दै फायलन यात्रा सुरक्षित ग¥यो । टाइगर ग्रुपले दोस्रो सेट २५–१९, तेस्रो २५–१५ र चौथो सेट २५–२३ ले आफ्नो पक्षमा पार्‍यो ।

    आयोजक टोलीले अब उपाधिका भोलि सशस्त्र प्रहरी बल एपीएफसँग खेल्नेछ । पराजित भएको न्यू डायमण्ड तेस्रो बनेको छ । तेस्रो बनेको न्यू डायमण्डले १ लाख ८५ हजार ५५५ रुपैयाँ प्राप्त गर्‍यो ।

    अब पुरुषतर्फ दोस्रो क्वालिफायरमा गण्डकी प्रदेश र त्रिभुवन आर्मी क्लबबिच प्रतिष्पर्धा हुनेछ । उक्त खे साढे १ बजेबाट सुरु हुने तालिका छ । यो खेलको विजेताले उपाधिका लागि नेपाल पुलिस क्लबसँग भिड्नेछ ।

  • टी-२० आई सिरिज: थाइल्याण्डविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

    टी-२० आई सिरिज: थाइल्याण्डविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

    काठमाडौं । त्रिदेशीय महिला टी-२० आई सिरिज अन्तर्गतको खेलमा थाइल्याण्डविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने भएको छ ।

    नेपालकी कप्तान इन्दु वर्माले थाइल्याण्डविरुद्ध टस जितेर ब्याटिङ रोजेकी हुन् ।खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा केहीबेरमा सुरु हुँदैछ ।

    बिहीबार भएको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग २० रनले पराजित भएको थियो । आज नेपाल थाइल्याण्डविरुद्ध पहिलो जितको खोजीमा हुने छ ।

    यता, हिजो भएको खेलमा थाइल्याण्डले नेदरल्याण्डलाई ८ विकेटले पराजित गरेको थियो ।

  • आजदेखि अर्जुन ट्रफी सुरु हुँदै, उद्घाटन खेलमा ललित र कुशलको टिम भिड्दै

    आजदेखि अर्जुन ट्रफी सुरु हुँदै, उद्घाटन खेलमा ललित र कुशलको टिम भिड्दै

    कैलाली । अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि धनगढीको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुँदै छ । प्रतियोगिताको उद्घाटन खेलमा डीसीए धनगढी र फेण्ड्स क्लब डडेल्धुरा भिड्दै छन्। खेल दिउँसो १२ः१५ बजे सुरु हुनेछ।

    डीसीए धनगढीबाट नेपाली क्रिकेट टोलीका सदस्य ललित राजवंशी, लोकेश बम, नारायण जोशी, अमित श्रेष्ठलगायत खेलाडी मैदान उत्रिने छन्।

    यस्तै फेण्ड्स क्लब डडेल्धुराबाट नेपाली क्रिकेट टोलीका सदस्य कुशल भुर्तेल, सन्दीप जोरा, विनोद भण्डारी, हेमन्त धामी लगायतका खेलाडीले खेल्नेछन्। समूह ए मा रहेका दुवै टोली जितबाट प्रतियोगिताको शुरूआत गर्ने पक्षमा छन्। प्रतियोगितामा देशभरका ८ वटा क्लबका टिमहरूको सहभागिता रहेको छ।

    सहभागी ८ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा डीसीए धनगढी, फ्रेण्ड्स यूथ क्लब डडेलधुरा, घोडाघोडी–११ सुख्खड र बोष्टन क्रिकेट झापा तथा समूह ‘बी’मा सीवाईसी अत्तरिया, क्रिकेट एक्सिलेन्स सेन्टर काठमाडौं, न्यु होराईजन बुटवल र दशरथ चन्द एकेडेमी बैतडी रहेका छन् ।

    गो ड्रिमर्सको आयोजनामा सुरु भएको प्रतियोगिता माघ २८ गतेसम्म सञ्चालन हुनेछ। धनगढी र सुदूरपश्चिम प्रदेशको क्रिकेटका सारथि रहेका स्वर्गीय अर्जुन खड्काको स्मृतिमा प्रतियोगिता आयोजना गरिएको हो।

    उनका अनुसार प्रतियोगिताको पहिलो क्याच गर्ने दर्शकले नगद एक लाख रुपैयाँ पुरस्कार जित्नेछन्। धनगढीको ब्रेड बक्सले मैदान बाहिर बसेर छक्का भएको बल क्याच गर्ने दर्शकलाई एक लाख रुपैयाँ दिने घोषणा गरेको छ।

    खल्ती एपले दैनिक रूपमा एक भाग्यशाली क्याच गर्ने दर्शकलाई एयर बडसहितको पुरस्कार दिनेछ।

    धनगढी उपमहानगरपालिकाले फाप्ला क्रिकेट मैदानसम्म बस सेवा सञ्चालन गर्ने व्यवस्था मिलाएको छ। यो टी–२० फर्मयाटको प्रतियोगिता हो, जसमा झन्डै २० लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ। विजेता टोलीलाई १० लाख र उपविजेता टोलीलाई ५ लाख रुपैयाँ नगदसहित ट्रफी प्रदान गरिनेछ।

    प्रतियोगिताको सर्वोत्तम खेलाडीलाई १ लाख रुपैयाँ, उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदयमान खेलाडीलाई ५०/५० हजार दिइनेछ। प्रत्येक खेलको म्यान अफ द म्याचलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।

    अर्जुन ट्रफी प्रतियोगिता धनगढीका क्रिकेट प्रेमी अर्जुन खड्काको सम्झनामा आयोजना गरिएको हो । स्वर्गीय खड्काले सुदूरपश्चिम क्रिकेटको विकासमा महत्त्वपूर्ण भूमिका खेलेका थिए । उनले धेरै नेपाली क्रिकेटर उत्पादन गर्न योगदान पुर्‍याएका थिए ।

  • च्याम्पियन्स लिग: पूर्व च्याम्पियन रियल र सिटी प्लेअफमा भिड्दै

    च्याम्पियन्स लिग: पूर्व च्याम्पियन रियल र सिटी प्लेअफमा भिड्दै

    काठमाडौं । नयाँ ढाँचाको च्याम्पियन्स लिगको अन्तिम १६ को प्लेअफ चरणमा पूर्व च्याम्पियन तथा इपिएलको डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटी र च्याम्पियन्स लिगको सर्वाधिक विजेता स्पेनी टोली रियल मड्रिड भिड्ने भएको छ ।

    नियोनमा गए राति सम्पन्न ड्र मा २०२३ को च्याम्पियन्स लिग विजेता सिटीले फेब्रुअरी १२ मा इतिहाद स्टेडियममा रियललाई स्वागत गर्ने भएको छ । यस्तै २० फेब्रुअरीमा दोस्रो लिगको खेलका लागि रियलले सिटीलाई स्वागत गर्नेछ ।

    १९६७ मा पहिलो पटक च्याम्पियन्स लिग जितेको ब्रिटस क्लब सेल्टिकले फेब्रुअरी १३ मा सेल्टिक पार्कमा बायर्न म्युनिखसँग खेल्नेछ । त्यसपछि बुन्डेसलिगा क्लबले १९ फेब्रुअरीमा दोस्रो लेगमा सेल्टिकलाई स्वागत गर्नेछ ।

    प्लेअफमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी) ले ब्रेस्टले स्वागत गर्दैछ । एटलान्टाले क्लब ब्रगविरुद्ध भिड्दा फेययुडले एसी मिलानको सामना गर्नेछ । प्लेअफमा ब्रुयसिया डर्टमन्टले स्पोर्टिङसङ्ग भिड्ने पक्का भएको छ भने मोनाको र बेन्फिकाको सामना गर्नेछ ।

  • टी-२० आई सिरिज: जितको खोजीमा नेपाल, आज थाइल्याण्डसँग भिड्दै

    टी-२० आई सिरिज: जितको खोजीमा नेपाल, आज थाइल्याण्डसँग भिड्दै

    काठमाडौं । त्रिदेशीय महिला टी-२० आई सिरिज अन्तर्गत आज नेपालले दोस्रो खेल थाइल्याण्डसँग खेल्दै छन् ।

    खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो सवा १२ बजे शुरू हुनेछ । बिहीबार भएको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग २० रनले पराजित भएको थियो ।

    शुक्रबार नेदरल्यान्ड्स र थाइल्याण्डबीच भएको खेलमा नेदरल्यान्ड्स ८ विकेटले पराजित भएको थियो । आज नेपाल थाइल्याण्डलाई हराउँदै पहिलो जितको खोजीमा हुनेछ ।

    नेपाल क्रिकेट स‌ंघ (क्यान)ले  खेल हेर्नकाे लागि प्रवेश नि:शुल्क गरेकाे छ ।

    सिरिजका एक टोलीले ६ खेल खेल्नेछ । नेपालले नेदरल्यान्डस् र थाइल्यान्डसँग ३-३ खेल खेल्नेछ ।

    नेदरल्यान्डस् र थाइल्यान्डले पनि एक आपसमा ३ खेल खेल्नेछन् । यी खेल सकिएपछि अंकतालिकाको शीर्ष स्थानमा रहने टोलीले सिरिजको उपाधि जित्नेछ ।

  • पालिका स्तरीय इन्डोर क्रिकेट प्रतियोगिताको ट्रफी अनावरण

    पालिका स्तरीय इन्डोर क्रिकेट प्रतियोगिताको ट्रफी अनावरण

    काठमाडौं । आगामी शनिवार हुने पालिका स्तरीय इन्डोर क्रिकेट प्रतियोगिता २०८१ को ट्रफी अनावरण गरिएको छ ।

    नेकपा (एमाले) रिब्दिकोट पाल्पा–काठमाडौँ सम्पर्क मञ्चद्वारा आयोजना हुन लागेको पालिका स्तरीय इन्डोर क्रिकेट प्रतियोगिताको बिहीबार काठमाडौँमा एक कार्यक्रमका बिच प्रतिनिधि सभा सदस्य ठाकुर प्रसाद गैरेले ट्रफी अनावरण गरेका थिए ।

    सो अवसरमा प्रतिनिधि सभा सदस्य गैरेले खेलकुदले व्यक्तिको शारीरिक र मानसिक विकाससँगै समाजमा उत्साह र जागरण ल्याउने बताए । उनले खेलको मर्यादालाई आत्मसात् गरेर कार्यक्रमलाई सफल बनाउनेमा आफू आशावादी रहेको बताए ।

    “खेलकुदले व्यक्तिको शारीरिक मात्रै नभएर मानसिक विकाससँगै समाजमा उत्साह र जागरण ल्याउँछ ।” प्रतिनिधि सभा सदस्य गैरेले भने, “खेलको मर्यादालाई आत्मसात् गरेर कार्यक्रमलाई सफल बनाउनुहुन्छ भन्नेमा म आशावादी छु ।”

    सो अवसरमा नेकपा (एमाले) पाल्पा–काठमाडौँ सम्पर्क मञ्चका इन्चार्ज रामहरि शाही समुन्द्रीले ट्रफी देख्दा तामा, पित्तल लगायतका पदार्थहरूले बनेको भए पनि यो सम्मानको एउटा बिम्ब रहेको बताए ।

    मञ्चको आयोजनामा आगामी शनिवार अर्थात् माघ १९ ललितपुरको हात्तिवन स्थित ग्रेट हिमालयन क्रिकेट एकेडेमीमा प्रतियोगिता आयोजना हुँदैछ ।

    प्रतियोगितामा ८ टोली सहभागी हुने एमाले रिब्दिकोट पाल्पा–काठमाडौँ सम्पर्क मञ्चका अध्यक्ष कमल प्रसाद पाण्डेले जानकारी गराए ।

    उनका अनुसार विजेता टोलीले नगद २० हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । यस्तै, उपविजेता टोलीले नगद ११ हजारसहित मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ ।

    खेलमा ‘म्यान अफ द म्याच’ हुनेलाई एक दिनको चन्द्रागिरि हिल्सको टिकटसँगै प्याकेजको व्यवस्था गरिएको छ ।

  • आयोजक टोलीलाई हराउँदै एपीएफ टाइगर कप भलिबलको फाइलनमा प्रवेश

    आयोजक टोलीलाई हराउँदै एपीएफ टाइगर कप भलिबलको फाइलनमा प्रवेश

    पोखरा । आयोजक टाइगर ग्रुपलाई पराजित गर्दै सशस्त्र प्रहरी बल (एपीएफ) पोखरामा जारी एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको फाइलनमा प्रवेश गरेको छ ।

    पोखरा रंगशालामा शुक्रबार बिहान भएको खेलमा आयोजक टोलीलाई ३–१ ले पराजित गर्दै डिफेन्डिङ च्याम्पियन एपिएफ फाइनलमा स्थान सुरक्षित गरेको हो ।

    पहिलो सेट २५–२० ले आफ्नो पक्षमा पारेको एपिएफले दोस्रो सेट २१–२५ ले टाइगर ग्रुपलाई सुम्पिएको थियो । तेस्रो सेट २५–१९ र चौथो २६–२४ ले जित निकाल्दै एपिएफले फाइलन यात्रा तय गरेको हो । खेलको टाइगर अफ द म्याच निरुता ठगुन्ना र स्पाइकर अफ द म्याच सरस्वती चौधरी बनिन् ।

    पराजित भएको आयोजक टाइगर ग्रुपले शनिबार फाइलन प्रवेशका लागि टिपटक न्यू डायमण्ड स्पोर्टस क्लबसँग प्रतिष्पर्धा गर्नेछन् । अब पुरुषतर्फको पहिलो क्वालिफायरको खेल हुनेछ ।

    उक्त खेल त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबिच हुनेछ । आर्मी समूह चरण शीर्ष र पुलिस दोस्रो स्थानमा रहँदै पहिलो क्वालिफायरमा स्थान पक्का गरेका थिए ।

    आजको तेस्रो खेल पुरुषतर्फको एलिमिनेटर हुनेछ । एलिमिनेटरमा गण्डकी प्रदेश र भारतको सुनिल भलिबल क्लब प्रतिष्पर्धा गर्नेछन् । एलिमिनेटरको विजेताले पुलिस र आर्मीबिचको पराजित हुने टोलीसँग दोस्रो क्वालिफायर खेल्नेछ ।

  • नेपाल कबड्डी लिगको फाइनल आज, उपाधिका लागि जनकपुर र काठमाडौं भिड्दै

    नेपाल कबड्डी लिगको फाइनल आज, उपाधिका लागि जनकपुर र काठमाडौं भिड्दै

    काठमाडौं । नेपाल कबड्डी लिग (एनकेएल) को फाइनल खेल शुक्रवार हुँदैछ ।

    आज हुने फाइनल खेलमा जनकपुर नाइट्स र काठमाडौं माभरिक्सबीच प्रतिस्पर्धा हुँदैछ । यी दुई टोली एनकेएलको पहिलो च्याम्पियन बन्ने होडमा छन् ।

    एस्ट्रोनिक्स म्यानेजमेन्टको आयोजनामा भएको एनकेएलमा ६ टिमले प्रतिस्पर्धा गरेका थिए । त्यसमा जनकपुर र काठमाडौं उत्कृष्ट प्रदर्शन गर्दै उपाधि नजिक छन् ।

    फाइनल खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा साँझ ६ः३० बजे सुरु हुनेछ । त्यसअघि गायिका डाक्टर त्रिशला गुरुङले आफ्नो प्रस्तुति दिनेछिन् ।

  • रोनाल्डो बने ७०० क्लब फुटबल जित्ने पहिलो फुटबलर

    रोनाल्डो बने ७०० क्लब फुटबल जित्ने पहिलो फुटबलर

    काठमाडौं । साउदी प्रो लिगको अल नासार स्टार क्रिष्टियानो रोनान्डोले क्लब फुटबलमा अर्को रेकर्ड कायम गरेका छन् ।

    आफ्नो क्लब फुटबल करिअरमा यी पोर्चुगिज स्टारले ७ सय जितको कीर्तिमान बनाउन सफल बनेका हुन् । गएराति भएको खेलमा अल-राइडलाई २-१ ले पराजित गरेपछि क्लब फुटबलमा रोनाल्डो ७ सय खेल जित्ने पहिलो खेलाडी बने ।

    ३९ वर्षीय रोनान्डोले उक्त कीर्तिमान बनाउने क्रममा एक गोलको योगदान समेत दिएका थिए ।

    उक्त उपाधि बनाउन उनले स्पोर्टिङबाट ३३ खेल, रियल म्याड्रीडबाट ३१६, म्यान्चेस्टर युनाइटेडबाट २१४ खेल, युभेन्टसबाट ९१ खेल र अल-नासारबाट ६६ खेलमा जित निकाले ।

    आफ्नो फुटबल करिअरमा ९०० गोल गर्ने पनि उनी पहिलो खेलाडी बनेका थिए ।

    अन्तर्राष्ट्रिय खेल पत्रिका मार्काको अनुसार रोनाल्डोको यो अविश्वसनीय यात्रा अझै जारी छ र यस्ता रेकर्ड थप बन्न सक्नेछ। रोनाल्डोले साउदी टोलीका लागि ९४ खेलमा ८५ गोल गरेका छन् ।

  • बागमतीलाई हराउँदै संकटाले जित्याे सभापति कप फुटबल

    बागमतीलाई हराउँदै संकटाले जित्याे सभापति कप फुटबल

    काठमाडौं । टाइब्रेकरमा आयोजक लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेश (बागमती) लाई पराजित गर्दै ए डिभिजन लिग क्लब संकटाले सभापति कप फुटबल प्रतियोगिता जितेको छ ।

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार सम्पन्न फाइनलको निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएको थियो। योसँगै खेल टाइब्रेकरमा पुगेको हो । टाइब्रेकरमा संकटाले ४–३ ले बाजी मार्यो। उपाधिसँगै संकटाले २६ लाख रुपैयाँ हात पार्यो  ।

    बागमतीले भने १३ लाख रुपैयाँमा चित्त बुझायो। संकटाका राम थापा र रोशन पहारीको प्रहार विकेश कुथुले रोके। तर, लक्ष्छु थापा, साम कार्लोस, दीप कार्की र सुनिल खड्काले गोल गरे । बागमतीका नवीन लामा, फोडे फोफना र सेन्जल एलेक्सले मात्रै गोल गर्न सके। कुलदीप कार्की र गौरव श्रेष्ठको प्रहार गोलरक्षक दीप कार्कीले रोके। रजत तिवारीको प्रहार माथिल्लो बारबाट बाहिरियो।

  • माघ २२ गतेदेखि हुने आहा रारा पोखरा गोल्डकपको खेल तालिका सावर्जनिक

    माघ २२ गतेदेखि हुने आहा रारा पोखरा गोल्डकपको खेल तालिका सावर्जनिक

    पोखरा ।  माघ २२ गतेबाट हुने २४औं आहारारा पोखरा गोल्डकपको खेल तालिका सार्वजनिक भएको छ । । आयोजक सहारा क्लब पोखराको आयोजनामा हुने उक्त प्रतियोगिताको बिहीबार खेल तालिका सार्वजनिक गरिएको हो ।

    उक्त प्रतियोगितामा भारत, युके, उज्वेकिस्तानसहित नेपालका ए डिभिजन क्लब गरी १२ टोलीले सहभागिता जनाउनेछन् । खेल तालिकाअनुसार प्रतियोगिताको पहिलो खेल आयोजक टोली र नेपाल पुलिस क्लबबिच हुनेछ । उक्त खेल माघ २२ दिउँसो साढे २ बजेबाट सुरु हुनेछ ।

    १२ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा आयोजकसहित नेपाल पुलिस, एनआरटी, चर्च ब्वाइज यूनाइटेड, त्रिभुवन आर्मी क्लब र यूकेको ब्रिगेड ब्वाइज क्लब छन् । तीमध्ये यूके र आर्मीले सिधैँ क्रमशः पहिलो र तेस्रो क्वाटरफाइनल खेल्ने छन् ।

    समूह ‘बि’ मा एपिएफ, मच्छिन्द्र, भारतको थन्डरबोल्ट नर्थ यूनाइटेड, संकटा, थ्रिस्टार र उजेकिस्तानको ब्लाक बुल्स फुटबल क्लब छन् । तीमध्ये थिस्टार र उज्वेकिस्तानले सिधैँ क्रमशः दोस्रो र चौथो क्वाटरफाइनल खेल्ने प्रतियोगिता संयोजक पूर्णबहादुर गुरुङले जानकारी दिए ।

    माघ ३० गते पहिलो सेमिफाइल्न र फागुन १ गते दोस्रो सेमिफाइलन खेल हुनेछ । फाइलन खेल माघ ३ गते हुने तालिका छ । गत संस्करणको त्रिभुवन आर्मी क्लब विजेता र थ्रि स्टार कलब उपविजेता बनेका थिए ।

    ‘आत्मा साक्षी राखी मन, वचन र कर्मले सामाजिक सेवा गरौं’ भन्ने उद्देश्यका साथ २०५५ सालमा स्थापित सहारा क्लब पोखराले फुटबलमार्फत सामाजिक कार्य गर्दै आएको छ ।

    आहारारा नेपालमै निरन्तर भइरहेको एकमात्र फुटबल प्रतियोगिता हो । प्रतियोगिताबाट बचत रकम सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा खर्चिने क्लब अध्यक्ष केशवराज बरालले बताए । हाल एकेडेमीमा ३० जना बालक आश्रित छन् ।

  • त्रिकोणात्मक सिरिजमा नेपाल नेदरल्याण्ड्सँग पराजित

    त्रिकोणात्मक सिरिजमा नेपाल नेदरल्याण्ड्सँग पराजित

    काठमाडौं । त्रिकोणात्मक टी ट्वान्टी सिरिजको पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग पराजित भएको छ ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान आज भएको खेलमा नेपाल नेदरल्याण्डसँग २० रनले पराजित भएको हो । नेदरल्याण्ड्सले जितका लागि दिएको एक सय ५८ रनको विजयी लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ३७ रनमा समेटिएको हो ।

    नेपालका लागि सीता रानामगरले सर्वाधिक २८ रनको योगदान दिइन् । उनले ४५ बलमा तीन चौकाको सहयोगमा २८ रन बनाएकी हुन् । त्यसैगरी कविता जोशीले १७ बलमा एक चौका र दुई छक्काको सहयोगमा २७ रन बनाइन् । पुजा महतोले १४ बलमा दुई चौका र दुई छक्काको सहयोगमा २४ रन बनाइन् ।

    त्यसबाहेक अन्य नेपाली खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । सम्झना खड्काले ९ रन बनाइन् भने कविता कुवँरले ८ तथा कप्तान इन्दु बर्माले ७ रन जोडिन् । बलिङतर्फ नेदरल्याण्डसका इभा लिन्च र क्यारोलिन डे लाङले समान दुई दुई विकेट लिइन भने आइरिस विलिङ र फ्रेडरिक ओभरडाइकले समान एक एक विकेट लिइन् ।

    त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर एक सय ५७ रनको योगफल बनाएको हो ।

    नेदरल्याण्ड्सका लागि रोबिन रिकेले सर्वाधिक ५९ रनको योगदान दिइन् । उनले ४८ बलमा ८ चौकासहित ५९ रन बनाएकी हुन् । त्यस्तै आइरिस विलिङले १३ बलमा ३१ रन बनाइन् । स्ट्री कालिसले ३५ बलमा २९ रन जोडिन भने र हेटर सिगेसर्ले १९ बलमा २३ रन जोड्दै आउट भइन् ।

    नेपालका लागि कविता कुँवर, पुजा महतो, सिता रानामगर र ईश्वरी विष्टले समान एक–एक विकेट लिए । अब नेपाली महिला टोलीले शनिबार थाइल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ ।

     

  • त्रिकोणात्मक टि २० सिरिज: नेदरल्याण्ड्सले नेपाललाई दियो १५८ रनको लक्ष्य

    त्रिकोणात्मक टि २० सिरिज: नेदरल्याण्ड्सले नेपाललाई दियो १५८ रनको लक्ष्य

    काठमाडौं । त्रिकोणात्मक टि ट्वान्टी सिरिजअन्तर्गत नेदरल्याण्ड्सले नेपालसामु १५८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङ गरेको नेदरल्याण्ड्सले पूरा २० ओभर खेल्दै ४ विकेट गुमाएर नेपालसामु १५८ रनको लक्ष्य प्रस्तुत गरेको हो ।

    नेदरल्याण्ड्सकी रोबिनी रिज्केले अविजित ५९ रन बनाइन् । नेपालकी सिता रानामागर, ईश्वरी विष्ट, पूजा महतो र कविता कुँवरले एक एक विकेट लिए।

    घरेलु टोलीको इतिहासमा नै पहिलो पटक नेपाली महिला टोलीले नेदरल्याण्ड्सको सामना गरिरहेको हो । महिला टि ट्वान्टी वरियतामा नेदरल्याण्ड्स १६औंँ स्थानमा रहँदा नेपाल भने २०औं स्थानमा छ ।

    नेपालले अहिले ब्याटिङ गरिरहेकाे छ ।

  • कीर्तिमानी रियल म्याड्रिडलाई नकआउट चरणमा पुग्न प्ले-अफको सहारा

    कीर्तिमानी रियल म्याड्रिडलाई नकआउट चरणमा पुग्न प्ले-अफको सहारा

    काठमाडौं । च्यम्पियन्स लिग फुटबलको कीर्तिमानी विजेता तथा डिफेन्डिङ च्याम्पियन रियल म्याड्रिडले जारी सिजन नयाँ ढाँचाको च्याम्पियन्स लिगमा खराब प्रदर्शन गर्दै नकआउट चरणमा पुग्न प्ले–अफको सहारा लिनुपर्ने भएको छ ।

    नयाँ ढाँचा अनुसार अन्तिम १६ मा सोझै पुग्नको लागि ३६ टिम रहेको लिगको तालिकामा कम्तीमा ८ औँ स्थानमा रहनुपर्ने थियो तर डिफेन्डिङ च्याम्पियन ११ औँ स्थानमा रहँदै लिगको पहिलो चरण समापन गरेपछि अब दोस्रो चरणको लागि प्ले–अफको सहारा लिनुपर्ने भएको छ । लिगमा ९ देखि २४ नम्बरसम्मको टिमले प्ले अफ खेल्नेछन् र विजयी टिम अन्तिम १६ मा पुग्नेछ ।

    यो सिजन स्पेनिस लालिगाको लिग लिडर रहे पनि स्पेनिस क्लब म्याड्रिडले च्याम्पियन्स लिगमा भने निराशाजनक प्रदर्शनलाई जारी राखेको थियो । लिग चरणको ८ खेलमा उसले ५ जित र ३ हारको सामना गरेपछि सोझै नकआउट चरणमा पुग्ने सम्भावनालाई समाप्त पारेको थियो ।

    १५ पटक च्याम्पियन भएको रियलले अब आफ्नो खेललाई ला–लिगामा जस्तै लयमा नल्याउने हो भने प्लेअफबाटै बाहिरिने सम्भावना रहेको अन्तर्राष्ट्रिय खेल पत्रकारहरूले विश्लेषण गरेका छन् । यो पटक स्पेनिस ला लिगाबाट बार्सिलोना र एट्लेटिको म्याड्रिडले मात्र अन्तिम सोझै अन्तिम १६ मा प्रवेश गरेका छन् ।

  • आजदेखि त्रिदेशीय महिला टी-२०आई सिरिज, नेपालले नेदरल्याण्ड्ससँग खेल्दै

    आजदेखि त्रिदेशीय महिला टी-२०आई सिरिज, नेपालले नेदरल्याण्ड्ससँग खेल्दै

    काठमाडौं । आजदेखि नेपाल, नेदरल्याण्ड्स र थाइल्यान्ड सम्मिलित त्रिदेशीय महिला टी-२०आई सिरिज सुरू हुँदै छ ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुने सिरिजको पहिलो खेल नेपाल र नेदरल्याण्ड्सबिच हुनेछ । उक्त खेल मध्यान्ह १२ बजे सुरु हुनेछ ।

    नेपालले महिला क्रिकेटमा पहिलो पटक नेदरल्याण्ड्ससँग भिड्न लागेको हो ।

    सिरिजका एक टोलीले ६ खेल खेल्नेछ । नेपालले नेदरल्यान्डस् र थाइल्यान्डसँग ३-३ खेल खेल्नेछ ।

    नेदरल्यान्डस् र थाइल्यान्डले पनि एक आपसमा ३ खेल खेल्नेछन् । यी खेल सकिएपछि अंकतालिकाको शीर्ष स्थानमा रहने टोलीले सिरिजको उपाधि जित्नेछ ।

  • सभापति कपको फाइनल आज, उपाधिका लागि सङ्कटा र बागमती तयार

    सभापति कपको फाइनल आज, उपाधिका लागि सङ्कटा र बागमती तयार

    काठमाडौं । नेपाली कांग्रेस लोकतान्त्रिक खेलकुद सङ्घ महाधिवेशन निर्देशन समितिको आयोजनामा राजधानीमा जारी पहिलो संस्करणको सभापति कप फुटबलको फाइनल खेल आज हुँदै छ ।

    त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ साढे ५ बजे सुरु हुने खेलमा ए डिभिजन क्लब सङ्कटा र आयोजकले बनाएको लोकतान्त्रिक खेलकुद सङ्घ बागमती प्रदेश (बागमती)बीच प्रतिस्पर्धा हुने छ ।

    माघ १० गतेदेखि सुरु भएको प्रतियोगितामा ८ टिमले सहभागिता जनाएका थिए । पहिलो संस्करणको उपाधि विजेताले २६ लाख र उप विजेताले १३ लाख रुपैयाँ नगदै पाउने छ । यो नेपाली नकआउट फुटबलको सर्वाधिक पुरस्कार राशि हो ।

    बुधवार आयोजित पत्रकार सम्मेलनमा दुवै टोलीका प्रशिक्षक र कप्तानले फाइनल खेल प्रतिस्पर्धात्मक हुने बताउँदै उपाधि जित्ने दाबी गरेका छन् ।

    आयोजक नेपाली कांग्रेस लोकतान्त्रिक खेलकुद सङ्घ महाधिवेशन निर्देशन समितिले बुधवार नै सहिद दिवसको अवसरमा सहिद गेटमै ट्रफी सार्वजनिक गरेको थियो ।

    नकआउट प्रतियोगिताको सेमिफाइनलमा सङ्कटाले मच्छिन्द्र फुटबल क्लबलाई सडनडेथमा ८–७ गोल र बागमतीले एनआरटीलाई टाई ब्रेकरमा ४–२ गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।

    यस्तै प्रत्येक खेलको प्लेयर अफ दि म्याचलाई १५ हजार, सर्वोत्कृष्ट खेलाडीलाई ७५ हजार, उत्कृष्ट गोलरक्षकलाई ५० हजार, सर्वाधिक गोलकर्तालाई ५० हजार र उदीयमान खेलाडीलाई २५ हजार रुपियाँ प्रदान गरिने महाधिवेशन निर्देशन समितिका संयोजक मोहन बहादुर बस्नेतले जानकारी दिए ।

    फाइनल खेलका विजेता र उप विजेतालाई नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पुरस्कार वितरण गर्ने छन् भने फाइनल अघि झाँकी पनि प्रस्तुत गरिने तयारी छ ।

  • च्याम्पियन्स लिग : यी हुन सिधै अन्तिम १६ मा स्थान बनाउने टिम

    च्याम्पियन्स लिग : यी हुन सिधै अन्तिम १६ मा स्थान बनाउने टिम

    काठमाडौं । युरोपेली क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिताको रूपमा रहेको च्याम्पियन्स लिगको लिग चरणको खेलहरु सम्पन्न भएको छ ।

    यो सिजनबाट परिवर्तन भएको नियम अनुसार ३६ टिम सहभागी लिगमा ८ खेल खेल्दा प्रथमदेखि ८ नम्बरसम्मका टिम सोझै दोस्रो चरण पुग्नेछन् भने ९ औँ देखि २४ औँ नम्बरसम्मका टिमले प्लेअप खेल्दै अन्तिम १५ प्रवेश गर्दा बाकी टिम भने पहिलो चरणबाटै घर फर्किने छन् ।

    सोही नियम अनुसार जारी सिजनको लिगमा अन्तिम आठ र प्लेअफमा पुग्ने टिमको टुङ्गो लागेको हो ।

    लिगमा पहिलो स्थानमा रहँदै इङ्लिस क्लब लिभरपुल दोस्रो चरणमा सिधै प्रवेश गर्दा दोस्रो नम्बरको स्पेनिस क्लब बार्सिलोना, तेस्रो नम्बरको इङ्लिस क्लब आर्सनल, चौथो नम्बरको इटालियन क्लब इन्टर मिलान रहेका छन् ।

    यस्तै पाँचौँ नम्बरको स्पेनिस क्लब एट्लेटिको मेड्रिट,छैटौँ नम्बरको जर्मन क्लब वायर लेभरकुसेन, सातौँ नम्बरको फ्रेन्च क्लब लिले र आठौँ नम्बरको इङ्लिस क्लब एस्टनभिल्ला सोझै दोस्रो स्थान प्रवेश गरेका छन् ।

  • केपी ओली कप फुटबल प्रतियोगिता फागुन ११ देखि हुने

    केपी ओली कप फुटबल प्रतियोगिता फागुन ११ देखि हुने

    काठमाडौं । केपी ओली कप फुटबल प्रतियोगिताको तेस्रो संस्करण फागुन ११ गतेदेखि काठमाडौंमा हुने भएको छ । राष्ट्रिय युवा संघले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै तेस्रो संस्करणको केपी ओली कप फागुन ११ देखि १९ गतेसम्म काठमाडौंमा हुने जानकारी दिएको हो ।

    प्रतियोगितामा ‘ए’ डिभिजन, विदेशीसहित १० टोलीको सहभागिता रहने युवा संघले जनाएको छ । प्रतियोगिताको विजेताले १५ लाख ११ हजार १११, दोस्रो टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्ने युवा संघका अध्यक्ष क्षितिज थेबेले जानकारी दिए ।

    प्रतियोगिताको क्वाटरफाइनलसम्मका खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा तथा सेमिफाइनल र फाइनल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने उनले बताए ।

    फुटबल जगतलाई ऊर्जा दिन निरन्तर रुपमा केपी ओली कप फुटबल आयोजना गरिरहेको अध्यक्ष थेबेले जानकारी दिए ।

    प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई १ लाख, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट गोलकर्ता, उत्कृष्ट उदीयमान खेलाडीलाई ५०-५० हजार रुपैयाँ दिइने युवा संघले जनाएको छ ।

  • एपीएफले उचाल्यो एन्फा महिला लिगको ट्रफि

    एपीएफले उचाल्यो एन्फा महिला लिगको ट्रफि

    काठमाडौं । एपीएफ क्लबले नेपाल पुलिस क्लबलाई ४-० ले हराउँदै एन्फा महिला लिगको ट्रफि उचालेको छ ।

    बुधवार भएको फाइनल खेलमा एपीएफको लागि सबिता राणा मगरले २, अनु लामाले १ र सरु लिम्बुले १ गोल गरेका थिए ।

  • सहिद गेटमा सभापति कपको ट्रफी अनावरण

    सहिद गेटमा सभापति कपको ट्रफी अनावरण

    काठमाडौं । नेपाली कांग्रेस लोकतान्त्रिक खेलकुद सङ्घ महाधिवेशन निर्देशन समितिको आयोजनामा राजधानीमा जारी सभापति कप फुटबल प्रतियोगिताको ट्रफी आज अनावरण गरिएको छ ।

    माघ १० गतेदेखि सुरु भएको सर्वाधिक पुरस्कार राशिको नकआउट फुटबल प्रतियोगिताको फाइनलमा सङ्कटा क्लब र आयोजक लोकतान्त्रिक खेलकुद सङ्घ बागमती प्रदेश (बागमती) फाइनलमा प्रवेश गरिसकेका छन् ।

    आयोजक महाधिवेशन निर्देशन समितिले आज सहिद दिवस पनि परेकाले ट्रफी एक कार्यक्रमका बिच सहिद गेटमा अनावरण गरेको हो ।

  • राष्ट्रिय बुद्धिचाल : रुपेश र सिन्दिराको अग्रता कायम

    राष्ट्रिय बुद्धिचाल : रुपेश र सिन्दिराको अग्रता कायम

    हेटौँडा । रौतहटका रुपेश जैसवाल र सिन्दिरा जोशीले हेटौँडामा जारी २५औँ पुरुष तथा १०औँ महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा अग्रता कायम राखेका छन् ।

    प्रतियोगिताको तेस्रो दिन मङ्गलवार पाँचौँ चरणका खेल सम्पन्न भएसँगै पुरुषतर्फ एफएम रुपेशले ४.५ अङ्क जोड्दै एक अङ्कको अग्रता बनाएका छन् । रुपेशले तेस्रो दिन वर्तमान नेपाल च्याम्पियन झापाका राजन सुवेदीलाई हराए ।

    यस्तै मकवानपुरका क्षितिज भण्डारी र झापाका सुश्रुत दाहालले समान ३.५ अङ्कसहित दोस्रो स्थानमा रहेका छन् । एफएम क्षितिजले काठमाडौँका सिएम नवीन तण्डुकार र सिएम सुश्रुतले भक्तपुरका विनय थापालाई पराजित गरे । तीन अङ्क जोडेका दोलखाका आशिष फुयाल, काठमाडौँका पुरुषोत्तम सिलवाल र एफएम रिजेन्द्र राजभण्डारी तेस्रो स्थानमा रहेका छन् ।

    यस्तै महिलातर्फ सिन्दिरा जोशीले ४.५ अङ्क जोड्दै शीर्षस्थानमा छन् । राष्ट्रिय महिला विजेता सिन्दिरा चार जित र एक बराबर खेल्दै अपराजित छन्। पहिलो हार खेपेकी काठमाडौँकी एञ्जल महर्जन र विनीता कपाली समान चार अङ्कसहित दोस्रो स्थानमा रहेका छन् ।

    यस्तै ३.५ अङ्क जोड्न सफल बाँकेकी ईशा गिरी र मोरङकी शान्ति धिमाल संयुक्त तेस्रो स्थानमा छन् । नेपाल बुद्धिचाल महासङ्घले आयोजना गरेको प्रतियोगितामा बुधवार थप दुई चरणको खेल हुनेछ ।

  • एनआरटीलाई टाइब्रेकरमा हराउँदै आयोजक उपाधिनजिक

    एनआरटीलाई टाइब्रेकरमा हराउँदै आयोजक उपाधिनजिक

    काठमाडौं । न्युरोड टिम (एनआरटी)लाई टाइब्रेकरमा पराजित गर्दै आयोजक नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेश (बागमती) उपाधिनजिक पुगेको छ ।

    नेपाली कांग्रेस लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिको आयोजना त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा जारी प्रतियोगिताको दोस्रो सेमिफाइनलको निर्धारित ९० मिनेटको खेल २–२ को बराबरीमा सकिएपछि विजेताको छिनोफानो टाइब्रेकरमा गरिएको हो।

    टाइब्रेकरमा एनआरटीलाई ४–२ ले पराजित गर्दै बागमती फाइनलमा पुग्न सफल भयो। योसँगै बागमतीले उपाधिका लागि संकटा फुटबल क्लबसँग खेल्ने छ। संकटाले पहिलो सेमिफाइनलमा मच्छिन्द्र फुटबल क्लबलाई सडनडेथमा ८–७ ले पराजित गरेको थियो।

    योसँगै बागमतीले कम्तिमा १३ लाख रुपैयाँ पक्का गरेको छ। टाइब्रेकरमा बागमतीका नवीन लामा, फोडे फोफना, राजन तिवारी र कुलदीप कार्कीले गोल गरे। एनआरटीका अविषेक लिम्बू र कृतिशरत्न छुन्जुले गोल गरे। सरोज तामाङको प्रहार विकेश कुथुले रोके। सुमित श्रेष्ठको प्रहार माथिल्लो बारबाट आकासिएको थियो। म्यान अफ द म्याच गोलकिपर विकेश नै घोषित भए।

    खेलको सुरुआतदेखि नै बागमतीले एनआरटीलाई दबाबमा राखेको थियो। फलतः ११औं मिनेटमै सन्दीपले बागमतीलाई सुरुआती अग्रता दिलाए। कमल श्रेष्ठको थ्रो बललाई सन्दीपले पेनाल्टी बक्सबाट सिधै फार पोस्टमा गोल गरे।

    सेनेगाकाइज एलेक्सले त्यसको तीन मिनेटपछि नै अग्रता दोब्बर बनाए। गिदोन नाह केरमेहले दिएको बललाई सिक्स यार्ड बक्सबाट एलेक्सले सोही दिशामा गोल गरे। दोस्रो हाफको सुरुआतमै एनआरटी खेलमा फर्काउने संकेत देखाए। हेनरी पोकुले बक्सबाट दिएको बललाई कृतिशरत्न छुन्जुले सहजै जाली चुमाए। त्यसको तीन मिनेटपछि नै एनआरटीले खेलमा फर्किने अवसर गुमायो। कृतिशको कर्नरमा आएको बललाई पोकुले हेडर गरेका थिए। तर, गोलकिपर विकेश कुथु बाधक बने।

    ६९औं मिनेटमा कृतिशले नै अग्रता दोब्बर बनाए। विविके गुरुङको क्रसलाई उनले वान टचमै गोल गरे। योसँगै खेल २–२ को बराबरीमा गएको थियो।