एजेन्सी । चिलीलाई १–० गोलअन्तरले पराजित गरी साविक विजेता ब्रजिलले कोपा अमेरिकाको अन्तिम चारमा स्थान सुरक्षित गरेको छ । दोस्रो हाफको सुरुमै गाव्रियल जेससले रातो कार्ड पाएपछि ब्राजिलले १० खेलाडीमा रहेर कठिन प्रतिस्पर्धा पार गरेको हो ।
रियो दि जेनेरियोको स्टाडियो निल्टोन सान्तोषमा भएको खेल पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । रोवर्टो फिर्मिनोलाई प्रतिस्थापन गरी दोस्रो हाफको सुरुमै मैदान छिरेका लुकास पाक्वेटाले एक मिनेटभित्रै गोल गरे । चिलीको बक्सभित्र कप्तान नेइमारसँगको सुन्दर समन्वयसँगै पाक्वेटाले शानदार फिनिसिङ गरे ।
त्यसको २ मिनेटपछि नै गाव्रियल जेससले रातो कार्ड पाएसँगै ब्राजिल १० खेलाडीमा समेटियो । त्यसयता रक्षात्मक बनेको आयोजक टोलीले अग्रतालाई अन्तिमसम्म कायम राख्न निकै कठिन भएको थियो ।
सेमिफाइनलमा ब्राजिलले पेरुसँग खेल्नेछ । आजै विहान भएको खेलमा पाराग्वेलाई पेनाल्टी शुटआउटमा ४–३ गोलअन्तरले पराजित गरी पेरुले अन्तिम चारमा स्थान बनाएको हो ।
निर्धारित समयमा ३–३ गोलको बराबरी खेलेपछि खेल पेनाल्टीमा पुगेको हो । समूह चरणमा ब्राजिलले पेरुलाई ४-० गोलअन्तरले पराजित गरेको थियो ।
काठमाडौं । आठ महिनाभन्दा अगाडिदेखि तयारी गरेर तीन साता बाँकी रहँदा ओलम्पिक खेल्न नपाउने भएका म्याराथन धावक गोपीचन्द्र पार्कीको पसिनाको अवमुल्यन भएको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपीए) ले बताएको छ ।
गत मंसिरमा आयोजना भएको नेपालगञ्ज म्याराथनलाई टोकियो ओलम्पिकको छनोटको मान्यता दिइएको थियो । १३औं दक्षिण एसियाली खेलकुद र नेपालगञ्जमा पनि स्वर्ण जितेका गोपीले ओलम्पिक खेल्ने पक्का भएको ठानिएको थियो । र, उनी त्यसपछि लगातार ओलम्पिकको तयारीमा थिए ।
तर, बिहीबार नेपाल ओलम्पिक कमिटी, राष्ट्रिय खेलकुद परिषद् र नेपाल एथ्लेटिक्स संघले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै गोपी ओलम्पिकमा सहभागी हुन नपाउने जानकारी गराएको थियो ।
सोही विषयप्रति ध्यानाकर्षण भएको जानकारी दिँदै एनएनआइपीएले यसको भत्सर्ना गरेको बताएको छ । जुनसुकै बहानामा पनि खेलाडीलाई सहभागी हुनबाट वञ्चित गराउनुको कारण खुलाउन पनि एनएनआइपीएले बताएको छ ।
काठमाडौं । जर्मन मिडफिल्डर टोनी क्रुसले अन्तर्राष्ट्रिय फुटबलबाट सन्याासको घोषणा गरेका छन् । जारी युरो २०२० को अन्तिम १६ मा इङ्ल्यान्डसँग २–० गोलको नतिजामा पराजित हुँदै जर्मनी प्रतियोगिताबाट बाहिरिएको थियो ।
प्रतियोगिताबाट बाहिरिएसँगै रियाल मड्रिडका ३१ वर्षीय मिडफिल्डर क्रुसले सन्यासको घोषणा गरेका हुन् ।
सन् २००९ मा जर्मन टोलीबाट डेब्यू गरेका क्रुसले देशको प्रतिनिधित्व गर्दै १०६ खेल खेलेका छन् । उनले जर्मनीबाट १७ गोल गरेका छन् ।
सन् २०१४ मा जर्मनीले विश्वकप जित्दा क्रुस टोलीका महत्वपूर्ण सदस्य थिए । बार्यन म्युनिखबाट व्यावसायिक फुटबल सुरु गरेका क्रुसले २००९ देखि २०१० सम्म बायर लेभरकुसेनमा लोनमा बिताएका थिए । २०१० देखि १०१४ सम्म बार्यनबाट १७९ खेल खेलेका क्रुसले २२ गोल गरेका थिए ।
२०१४ विश्वकपपछि रियाल गएका क्रुसले ३४५ खेलमा २२ गोल गरिसकेका छन् ।
काठमाडौं । नर्विच सिटीले चेल्सीका युवा मिडफिल्डर बिली गिल्मोरलाई आगामी सिजन भरका लागि लोनमा अनुबन्ध गरेको छ । स्कटल्यान्डको प्रतिनिधित्व गर्दै अहिले जारी युरो २०२० मा उत्कृष्ट प्रदर्शन गरेका गिल्मोरले गत सिजन चेल्सीबाट सबै प्रतियोगितामा गरी ११ खेल खेलेका थिए ।
सन् २०१७ मा रेन्गर्सबाट चेल्सीको युवा टोलीसँग जोडिएका गिल्मोरले लन्डन साइडबाट २०१७-१८ मा यु १८ प्रिमियर लिग तथा एफए कप पनि जितेका थिए । गिल्मोर २०१९-२० सिजनमा पनि उत्कृष्ट प्रदर्शन गर्दै चेल्सीको एकेडेमी वर्ष खेलाडी घोषित भएका थिए ।
‘ म नर्विचसँग जोडिन पाउँदा एकदमै खुशी छु,’ गिल्मोरले भने , ‘म नयाँ सिजनलाई लिएर एकदमै उत्साहित छु । म सम्भव भएसम्म धेरै खेल खेल्दै नर्विचलाई प्रिमियर लिगमा फाइट गर्नका लागि सहयोग गर्नेछु ।’
नर्विच गत सिजन प्रिमियर लिगबाट घटुवा भएर फेरि यो सिजन प्रिमियर लिगमा बढुवा भइसकेको छ ।
काठमाडौं । राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण एक सातापछि सु्रु हुने भएको छ । आजदेखि प्रारम्भ हुने तय भएको प्रशिक्षण यही असार २३ गतेदेखि सुरु हुने अखिल नेपाल फुटबल संध (एन्फा)ले जनाएको छ । साफ फुटबल च्याम्पियनसिप र एएफसी एशियन कपको छनोटको तयारी गर्न बन्द प्रशिक्षणका लागि ५० खेलाडी छनोट गरिएको थियो । राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले प्रारम्भिक टोली घोषणा गरेका हुन् ।
प्राविधिक कारणले आजदेखि हुने भनिएको प्रशिक्षण एक साता स्थगन गरिएको एन्फाले जनाएको छ । प्रशिक्षण एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ । प्रशिक्षण दुई चरणमा हुनेछ । एउटा टोलीले बिहान तथा अर्को टोलीले अपराह्न अभ्यास गर्ने छ । बन्द प्रशिक्षणका लागि अर्पण कार्की, विकेश कुथु, विशाल श्रेष्ठ, विशाल सुनार, दीप कार्की, किरणकुमार लिम्बू, आशिष लामा, अभिषेक रिजाल, अमित तामाङ र अनन्त तामाङ छनोट भएका छन्।
यसैगरी अन्जन विष्ट, एरिक विष्ट, आयुष घलान, भरत खवास, विवेक बस्नेत, विशाल राई, दर्शन गुरुङ, दिनेश राजवंशी, दोना थापा, गौरव बुढाथोकी, गौतम श्रेष्ठ, जर्जप्रिन्स कार्की, कमल थापा, मनिष डाँगी, मिक्चेन तामाङ, नवयुग श्रेष्ठ, नीरज बस्नेत र निशान खड्का पनि बन्द प्रशिक्षणका लागि छनोटमा परेका छन् ।
यस्तै छनोट गरिएका अन्य खेलाडीमा नितिन थापा, प्रकाश बुढाथोकी, प्रिजन तामाङ, पुजन उपरकोटी, राजन गुरुङ, रजीन धिमाल, राजीव लोप्चन, रन्दीप पौडेल, रवि पासवान, रोहित चन्द, सन्जोक राई, सन्तोष तामाङ, सेसेहाङ आङ्देम्बे, शिशिर लेखी, सुदील राई, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनील बल, सुरजज्यू ठकुरी, तेज तामाङ र त्रिदेव गुरुङ रहनुभएको एन्फाले जनाएको छ । साफ च्याम्पियनसिप आगामी सप्टेम्बर १४ देखि २५ तारिखसम्म बङ्गलादेशमा हुनेछ भने एशियन कपको अन्तिम छनोट सन् २०२२ को फेब्रुअरीमा हुनेछ । रासस
काठमाडौं । टोटेनह्यामले वुल्भ्सका पूर्व प्रशिक्षक नुनो स्पिरितोलाई क्लबमा भित्र्याएको छ । गत सिजनको बीचमै जोसे माउरिन्होलाई बर्खास्त गरेको टोटेनह्याले रायन म्यासनलाई केयर टेकर प्रशिक्षकमा नियुक्त गरेको थियो ।
चार सुन्दर सिजन वुल्भ्समा बिताएका नुनोले क्लबलाई युरोपा लिगमा छनोट गराएसँगै गत मे महिनामा क्लब छाडेका थिए । उनले वुल्भ्सलाई इङ्लिस फुटबलको दोस्रो डिभिजनदेखि बढुवा गराएर युरोपा लिगको क्वार्टरफाइनलसम्म पुर्याएका थिए ।
‘टोटेनह्यामको प्रशिक्षकको हुनु मेरालागि एकदमै खुशीको कुरा हो,’ नुनोले भनेका छन्, ‘म एकदमै खुशी छु, र काम सुरु गर्नका लागि पनि तयार छु ।’
‘हामीले गुमाउनका लागि एक दिन पनि छैन, प्रि-सिजन सुरु भएसँगै काम थाल्नुपर्छ,’ उनले भने ।
नुनोले आफूले छोडेर आएको वुल्भ्सविरुद्धको खेलका लागि धेरै कुर्नुपर्ने छैन । टोटेनह्यामले २२ अगस्टमा वुल्भ्सको मैदानमा खेल्ने छ ।
काठमाडौं । एभर्टनले लिभरपुलका पूर्व प्रशिक्षक राफाएल बेनिटेजलाई क्लबमा भित्र्याएको छ । स्पेनिस नागरिक ६१ वर्षीय बेनिटेजले एभर्टनसँग तीन वर्षका लागि सम्झौता पत्रमा हस्ताक्षर गरेको बिबिसीले बताएको छ ।
‘एभर्टनसँग जोडिन पाउँदा म खुसी छु,’ बेनिटेजले भनेका छन्, ‘म यो क्लब नयाँ उचाईमा पुग्नेमा म विश्वस्त छु । म यो क्लबले आफ्नो लक्ष्य हासिल गर्दा महत्त्वपूर्ण भूमिका निर्बाह गर्न तयार छु ।’
बेनिटेजले प्रिमियर लिगमा अन्तिम क्लब न्युक्यासल युनाइटेडको नेतृत्व सम्हालेका थिए । उनले २०१९ मा न्युक्यासलसँगै प्रिमियर लिग छाडेका थिए । त्यसपछि उनी चीन पुगेर १८ महिना डलियन प्रोफेसनल फुटबल क्लबको नेतृत्व गरेका थिए ।
एक दर्जनभन्दा धेरै क्लबको नेतृत्व गरिसकेका बेनिटेज युरोपेली फुटबलमा सेलेब्रिटी नाम हो । उनले चेल्सी, लिभरपुल, इन्टर मिलान, रियाल मड्रिड, नापोलीलगायतका क्लबमा मुख्य प्रशिक्षकको रूपमा काम गरिसकेका छन् ।
पूर्वप्रशिक्षक कार्लो एन्सेलोटी रियाल गएसँगै एभर्टन प्रशिक्षकविहीन थियो ।
काठमाडौं । कप्तान लियोनेल मेसीको दुई गोलप्रेरित अर्जेन्टिनाले कोपा अमेरिका २०२१ को समूह चरणको अन्तिम खेलमा बोलिभियालाई ४-१ गोलको नतिजामा पराजित गरेको छ ।
एरिना पन्तनालमा भएको खेलको छैठौं मिनेटमा अलेजान्ड्रो गोमेजले गरेको गोलसँगै अर्जेन्टिनाले अग्रता लिएको थियो । बोलिभियामाथि निरन्तर आक्रमण गरेको अर्जेन्टिनाका लागि ३३औं मिनेटमा पेनाल्टीमार्फत् र ४२औं मिनेटमा ओपन प्लेमा कप्तान मेसीले गोल गरेका थिए ।
पहिलो हाफमा ३-० ले पछि परेको बोलिभियाका लागि एर्विन साभेड्राले ६०औं मिनेटमा एक गोल फर्काएका थिए । त्यसको पाँच मिनेट नबित्दै अर्जेन्टिनाका लागि लौटारो मार्टिनेजले चौथो गोल गरे ।
यस्तै मंगलबार बिहान नै भएको अर्को खेलमा इन्डिसन कभानीको निर्णायक गोलप्रेरित उरुग्वेले पाराग्वेलाई १-० को नतिजामा पराजित गरेको छ ।
कभानीले २१औं मिनेटमा पेनाल्टीमार्फत् गरेको एक मात्र गोल निर्णायक बन्यो ।
जितसँगै समूह विजेता बनेको अर्जेन्टिनाले क्वार्टरफाइनलमा इक्वेडरको सामना गर्नेछ । त्यस्तै उरुग्वेले कोलम्बियासँग खेल्ने छ ।
काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग २०२१ असोज ३ गतेदेखि सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जानकारी दिएको छ । सोमबार दिउँसो एन्फा कम्प्लेक्समा बसेको ए डिभिजन लिग र एन्फाबीचको बैठकले लिग सेप्टेम्बर १९ तथा असोज ३ गतेदेखि गर्ने निर्णय गरेको हो ।
ए डिभिजन लिगका लागि खेलाडी दर्ता जुलाई ३० अर्थात् यही बुधबारदेखि सुरु हुनेछ । मच्छिन्द्र क्लबले गत सिजनको ए डिभिजन लिगगको उपाधि उचालेको थियो ।
यो वर्ष बी डिभिजन लिगबाट बढुवा भएको सातदोबाटो युथ क्लबले पनि लिगमा प्रतिस्पर्धा गर्नेछ । गत सिजनको समाप्तिमा लिग तालिकाको अन्तिममा रहेर लिग टुङ्ग्याएको सरस्वती क्लब भने बी डिभिजन लिगमा घटुवा भएको थियो ।
काठमाडौं । कोपा अमेरिका २०२१ को समूह बी अन्तर्गत सोमबार बिहान भएको खेलमा साविक विजेता ब्राजिलले इक्वेडरसँग १-१ गोलको बराबरी खेलेको छ ।
घरेलु मैदानमा भएको खेलको ३७औं मिनेटमा एडर मिलाटो गरेको गोलसँगै ब्राजिलले अग्रता लिएको थियो । पहिलो हाफमा १-० ले पछि परेको इक्वेडरका लागि ५३औं मिनेटमा सब्स्टिच्युट खेलाडी एन्जल मेनाले बराबरी गोल फर्काएका थिए ।
बाँकी समयमा दुवैतर्फबाट गोलका लागि निरन्तर प्रयास भए पनि फिनिसिङमा चुक्दा खेल १-१ गोलको बराबरीमा टुङ्गिएको हो ।
यस्तै समूह चरणको अन्तिम खेलमा पेरुसँग १-० गोलको नतिजामा पराजित भएसँगै भेनेजुएला समूह चरणबाटै बाहिरिएको छ ।
सोमबार बिहान ब्रासिलियामा भएको खेलमा पेरुलाई विजयी बनाउन एन्द्रे क्यारिलो एक मात्र गोल गरे ।
यसअघि नै समूह बीबाट ब्राजिल पेरु, कोलम्बिया र इक्वेडर क्वार्टरफाइनलमा पुगिसकेका छन् भने भेनेजुएला बाहिरिसकेको छ ।
काठमाडौं । करिब ३० वर्षअघि डेनमार्कले असम्भवलाई सम्भव पार्दै पहिलो पटक युरोपियन च्याम्पियनसिपको उपाधि जितेको थियो । र, अहिले त्यो समयका खेलाडीहरू गन्य-मान्य सेलेब्रिटीको रूपमा प्रतिष्ठित छन् । त्यो टोलीलाई देशको सपना बुझेका लिजेन्डहरूको समूह पनि भनिन्छ ।
र, अहिले त्यो सफलता दोहोर्याउनका लागि डेनमार्कसँग नयाँ हिरोहरू छन् । युरो २०२० को पहिलो खेलका दौरान प्लेमेकर क्रिस्टयन एरिकसन मैदानमै ढलेपछि भावविह्वल बनेको डेनिस टोली उनको स्वास्थ्यमा भइरहेको सुधारसँगै उनीप्रति समर्पित र पुनर्जिवितझैँ भएको छ ।
शनिबार युरो २०२० को पहिलो नकआउटमा डेनमार्कले वेल्सको सामना गर्दैछ । तर, के डेनिस टोलीले १९९२ को त्यो प्रसिद्ध सफलता दोहोर्याउलान् ?
किनाराबाट फर्किएर युरोपियन च्याम्पियन बन्दा
डेनमार्कको वर्तमानमा होइन, इतिहास हेर्ने हो भने पनि अविश्वसनीय सफलता भेट्टाइन्छ । करिब २९ वर्ष अगाडि स्वीडेनमा भएको युरो १९९२ मा डेनिस टोली च्याम्पियन बनेको थियो । त्यो पनि छनोट नभई ।
डेनमार्क छनोट चरणमा युगोस्लाभियाभन्दा पछाडि परेको थियो । र, युरो १९९२ मा छनोट भएको थिएन । युरोमा छनोट हुन नसकेपछि डेनिस खेलाडी छुट्टी मनाउन निस्किने तयारीमा थियो । तर, मुलुक युद्धमा होमिएकाले युगोस्लाभिया आठ टोलीको प्रतियोगिताबाट निष्कासित भयो र अन्तिम समयमा डेनमार्कले प्रतियोगिता खेल्ने निम्तो पायो ।
तयारी कम हुनका बाबजुद पनि आयोजक स्वीडेन, इङ्ल्यान्ड, फ्रान्ससमेत रहेको टोलीबाट डेनमार्कले सेमिफाइनलमा स्थान बनायो । अन्तिम खेलमा जर्मनीलाई पराजित गर्दै डेनिस टोली त्यहाँसम्म पुगेको थियो ।
त्यो समयमा डेनमार्कको टोली बलियो थियो । गोलकिपर पिटर स्माइकल, मिडफिल्डर जोन जेन्सेन र ब्रियान लौड्रुप टोलीमा थिए । त्यो वर्ष सेमिफाइनलमा स्टार खेलाडीले भरिएको नेदरल्यान्ड्सलाई डेनमार्कले हराउँदा गोलकिपर स्माइकल देशका हिरो बनेका थिए । उनले मार्को भान बास्टेनको पेनाल्टी बचाएसँगै २-२ को बराबरीपछि डेनमार्क सुटआउटमा विजयी हुँदै फाइनल पुगेको थियो ।
विश्वकप विजेता जर्मनीविरुद्धको फाइनलमा पुन: एक पटक स्माइकल नायक सावित भएका थिए । उनले जर्मनीका कार्ल-हेन्ज रिड्ले, स्टेफन रोएट र गुइदो बुच्वाल्डको प्रहार असफल बनाएका थिए । खेलमा कमै मात्र मौका सिर्जना गर्ने अवसर पाएको डेनमार्कले जेन्सेन र किम भिल्फोर्टको गोलमा सनसनीपूर्ण २-० को जित निकालेको थियो ।
अहिले पनि डेनमार्कको गोलपोस्टमा एक स्काइकल नै छन् । कास्पर स्माइकल, डेनिस गोलकिपरले आफ्ना बुबाको करिअर फलो गर्दै लेस्टर सिटीबाट प्रिमियर लिग र एफए कप जितिसकेका छन् । उनका बुबा पिटरले म्यानचेस्टर युनाइटेडबाट ती उपाधि जितेका थिए ।
अब उनले युरोपियन च्याम्पियनसिप जित्न बाँकी छ ।
‘म डेनमार्कबाट सफल हुन चाहन्छु, म युरोपियन च्याम्पियनसिप जित्न चाहन्छु,’ स्माइकलले भनेका थिए, ‘म डेनमार्कबाट केही ‘वाइल्ड’ गर्न प्रयास गर्छु ।’
युवा जोस, अनुभव र एरिकसनको प्रेरणा
केही हदसम्म १९९२ को युरो जित्ने टोली र अहिलेको डेनिस टोलीमा मिल्दाजुल्दा कुरा छन् ।
डेनिस टोलीमा अहिले पनि गोलपोस्टमा लेस्टरका अनुभवी गोलकिपर स्माइकल छन् । चेल्सीका बलिया डिफेन्डर एन्द्रेस क्रिस्टियनसेन र फरवार्डलाइनमा बार्सिलोनाका मार्टिन ब्रेथवेट छन् ।
डेनमार्कको टोलीमा एरिकसनको पनि मुख्य भूमिका छ । पिचमा उनको प्रभाव देखिँदैन । तर, खेलाडीको मनोबलमा भने एरिकसनको प्रभाव स्पष्ट देखिन्छ ।
त्यस्तै, डेनमार्कसँग टोलीमा एक उदीयमान युवा खेलाडी मिक्केल ड्याम्सगार्ड छन् । इटालियन क्लब साम्पडोरियाबाट व्यावसायिक फुटबल खेल्ने २० वर्षीय ड्याम्सगार्डले रुसविरुद्ध प्रतियोगिताकै सम्भावित उत्कृष्ट गोल गरेका थिए ।
डेनिस टोली त्यो खेलमा जितका लागि उत्रिएको थियो र शानदार जितसँगै समूह उपविजेताको रूपमा अन्तिम १६ मा स्थान सुरक्षित गर्यो ।
ब्राजिलियन जोसमा फुटबल खेल्ने भएकाले ‘ड्यासिन्हो’ उपनाम पाएका ड्याम्सगार्डले ठूला प्रतियोगितामा डेनमार्कका लागि गोल गर्ने सबैभन्दा कान्छो खेलाडीको कीर्तिमान बनाइसकेका छन् । रुसविरुद्धको खेलमा गोल गर्दा उनी २० वर्ष ३३५ दिनका थिए ।
रोलिगन्सको गर्जन
इङ्ल्यान्डसँग बार्मी आर्मी छन्, स्कटल्यान्डसँग टार्टन आर्मी छन् भने डेनमार्कसँग पनि रोलिगन्स छन् । सन् १९८० को दशकमा डेनमार्क राष्ट्रिय टोलीलाई ‘डेनिस डायनामाइट’ भनिन्थ्यो । जसको कारण थियो- अल्ट्रा अट्याकिङ शैलीको फुटबल । त्यसै समयदेखि डेनिस फुटबल टोलीले विश्वभरबाट सर्मथक कमाउन थालेको थियो ।
डेनमार्क समर्थकले युरो २०२० मा पनि एक सम्झिनलायक भूमिका खेलिरहेका छन् । एरिकसनलाई अस्पताल लगिएपछि डेनिस समर्थकहरूले फिनल्यान्डका समर्थकहरूसँग मिलेर च्यान्ट गाएका थिए ।
त्यसपछि पनि डेनमार्क अन्तिम १६ सम्म पुग्नमा डेनिस समर्थकले महत्त्वपूर्ण भूमिका खेलका छन् । उनीहरूको समर्थनले डेनिस खेलाडीलाई एकदमै कठिन परिस्थितिमा पनि सहयोग गरेको थियो ।
तर, आम्सटरड्याममा शनिबार हुने वेल्सविरुद्धको प्रि-क्वार्टरफाइनलमा डेनिस समर्थक हुनेछन् । तर, वेल्सका समर्थकलाई भने कोरोना भाइरसका कारण प्रतिबन्ध लगाइएको छ ।
‘समर्थकले के गरे भनेर ठ्याक्कै भन्न सकिँदैन, तर उनीहरूले खेलमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका हुन्छन्,’ एक डेनिस फुटबल समर्थकले भने, ‘खेलाडीले उनीहरूप्रतिको माया महसुस गर्नका लागि समर्थकहरूको उपस्थिति र साथ जरुरी हुन्छ । देशले नै एकअर्काको साथ पाउँछ ।’
काठमाडौं । युरोपियन च्याम्पियनसिप (युरो २०२०)को नकआउट चरण आजदेखि सुरु हुँदैछ । जुन १२ देखि युरोपका ११ शहरमा जारी प्रतियोगिताको पहिलो चरणबाट १६ टोलीले प्रि-क्वार्टरफाइनलमा स्थान बनाइसकेका छन् ।
सहभागी २४ टोलीलाई ६ समूहमा विभाजन गरी लिग चरणबाट शीर्ष दुई र उत्कृष्ट नतिजा भएका चार टोलीले अन्तिम १६ मा स्थान बनाइसकेका छन् । बाँकी ८ टोली भने समूह चरणबाटै बाहिरिसकेका छन् ।
पहिलो चरणको समूह एबाट इटाली, वेल्स र स्वीट्जरल्यान्डले नकआउटमा स्थान बनाएका छन् । त्यस्तै, समूह बीबाट बेल्जियम र डेनमार्क तथा सीबाट नेदरल्यान्ड्स, अस्ट्रिया र युक्रेनले नकआउटमा स्थान बनाउँदा समूह डीबाट इङ्ल्यान्ड, क्रोएसिया र चेक रिपब्लिक छनोट भएका छन् ।
समूह ईबाट स्वीडेन र स्पेन तथा समूह एफबाट फ्रान्स जर्मनी र पोर्चुगलले नकआउटमा स्थान बनाएका छन् ।
क्वार्टरफाइनल प्रवेशका लागि शनिबार राति हुने खेलमा ९:४५ बजे वेल्स र डेनमार्क भिड्ने छन् । त्यस्तै, राति १२:४५ मा हुने खेलमा इटाली र अस्ट्रिया भिड्नेछन् ।
आइतबार राति नेदरल्यान्ड्स र चेक रिपब्लिक तथा बेल्जिम र पोर्चुगल भिड्नेछन् । सोमबार राति भने क्रोएसिया र स्पेन तथा फ्रान्स र स्वीट्जरल्यान्ड भिड्नेछन् ।
मंगलबार राति भने इङ्ल्यान्ड जर्मनी तथा स्वीडेन र युक्रेन भिडेसँगै क्वार्टरफाइनल समीकरण सकिनेछ ।
काठमाडौं । नेपाली राष्ट्रिय जुडो खेलाडी सोनिया भट्टले टोकियो ओलम्पिकका लागि वाइल्डकार्ड प्राप्त गरेकी छन् । सन् २०१९ को डिसेम्बरमा नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुदमा कास्य पदक जितेकी सोनियाले विश्व जुडो च्याम्पियनसिपमा एक बाउट पनि जितेकी थिइन् ।
नेपालबाट विश्व च्याम्पिपयनसिपमा एक बाउट जित्ने पहिलो खेलाडीसमेत रहेकी सोनियाले जुलाई २३ देखि अगस्ट ८ सम्म हुने टोकियोमा ओलम्पिकमा सहभागी हुने निश्चित भएको नेपाल ओलम्पिक कमिटीले जानकारी दिएको छ ।
सोनियाको सहभागिता निश्चित भएसँगै नेपालबाट पाँच जनाले ओलम्पिक खेल्ने भएका छन् । यसअघि नै सुटिङकी कल्पना परियार, पौडीका गौरिका सिंह र एलेक्स साह र म्याराथनका गोपिचन्द्र पार्कीले ओलम्पिक खेल्ने तयारी भइसकेको छ ।
भोजपुर । राष्ट्रियस्तरका खेलाडी जन्माउने जिल्ला हो भोजपुर । यही जिल्लामा जन्मिएका खेलाडीले नेपाललाई विश्वसमक्ष चिनाएका छन् । अन्तर्राष्ट्रिय जगत्मा नेपाललाई चिनाउने अल्ट्राधाविका मीरा राईदेखि राष्ट्रियस्तरका ख्यातिप्राप्त ब्याडमिन्टन र उसु खेलाडीलाई पनि यो भूमिले जन्माएको छ ।
यद्यपि खेल क्षेत्रमा यति धेरै योगदान पुर्याउने भोजपुरमा खेलको विकासका लागि विगतका दिनमा दीर्घकालीन योजनाका साथ काम नहुँदा खेलाडीले भने समस्या झेल्दै आएका छन् । देश संघीय प्रणालीमा गएपछि भने यहाँ खेल क्षेत्रको विकासका लागि कामको थालनी भएको देखिन्छ । जिल्लाका ९ वटा स्थानीय तहले खेल क्षेत्रको विकासका लागि लगानी गरिरहेका छन् । भोजपुरमा कुनै ठूलो खेलको आयोजना गर्दा विद्यमान अवस्थामा पनि खेल मैदानको अभाव नै छ ।
यहाँको समस्यालाई ध्यानमा राख्दै भोजपुर रंगशालाको निर्माण सुरु भएपछि भने खेलाडी तथा खेलप्रेमीमा उत्साह थपिएको छ । जिल्लामा ढिलै भए पनि अन्तर्राष्ट्रियस्तरको रंगशाला बनिरहेको छ । यसले खेल क्षेत्रको विकाससँगै खेलाडीमा उत्साहको रङ भरेको छ । मापदण्डानुसारका खेल मैदान नहुँदा सोचेजस्तो खेलाडीको वृत्तिविकास हुन सकिरहेको छैन ।
पाँच हजार मानिस अट्न सक्ने क्षमताको अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माणले भोजपुरवासीमा उत्साह थपिएको छ । प्रदेश-१ सरकारको १४ करोड पाँच लाखमा गत मङ्सिरदेखि तीव्रगतिमा रंगशाला बनिरहेको छ । विसं २०८० सम्ममा सम्पन्न गर्नुपर्ने अवधि भए पनि तोकिएको समयअघि नै सक्ने लक्ष्यका साथ काम भइरहेको निर्माणको जिम्मा लिएको रायमाझी मार्सेली निर्माण जेभीले जनाएको छ ।
विसं २०७६ कात्तिक ७ गतेदेखि सुरु भएको निर्माण समयमै रकम निकासा हुनसके समयावधिभन्दा झण्डै डेढ वर्ष अगाडि नै काम सम्पन्न गरिने ठेकेदार कम्पनीका प्रमुख श्याम श्रेष्ठले बताए । श्रेष्ठले भने, ‘तोकिएको मापदण्डानुसार निर्माणको काम भइरहेको छ । बजेटलगायत अन्य कुनै समस्या नआएमा यो आर्थिक वर्षभित्र काम सम्पन्न गर्ने लक्ष्य छ ।’
भोजपुरको फुटबल क्षेत्रमा टेवा पुर्याउने लक्ष्यले विसं २०६४ मा पहिलो पटक जिल्ला विकास समिति बोर्डले ५५ लाख मूल्यमा जिल्ला खेलकुद परिषद्मार्फत रंगशालाको जग्गा खरिद गरेको थियो । जिविसबाट छुट्याइएको केही रकमबाट रंगशालाको स्तरोन्नति गर्ने काम थालिए पनि बजेट अभावमा अगाडि बढ्न सकेन । हालसम्म कार्यालय भवन, फाउण्डेशन लगाउनेलगायत स्ट्रक्चरको काम अन्तिम चरणमा पुगेको छ भने प्यारापिट, बनाउने, रिटेनिङवाल लगाउनेलगायतका काम भइरहेको निर्माण कम्पनीले जनाएको छ । त्यस्तै खेल मैदानमा दुबो लगाउने काम पनि भइरहेको छ ।
सात हजार वर्ग मिटरको रङ्गशालामा पाँच हजार मानिस अट्न सक्ने गरी सातवटा प्यारापिट निर्माण हुने शहरी विकास तथा भवन निर्माण कार्यालय धनकुटाले जनाएको छ । कूल २५ रोपनी क्षेत्रफलमा फैलिएको रंगशालाको दक्षिणतर्फ ८० मिटरको चौडाइ, उत्तरतर्फ ५५ मिटरको चौडाइ, पूर्वतर्फ १०२ मिटरको लम्बाइ र पश्चिमतर्फ १०५ मिटरको लम्बाइमा मैदान सम्याइएको छ । कामलाई गुणस्तरीय बनाउनका लागि इञ्जीनियरहरूले नियमित अनुगमन तथा जाँचसमेत गर्दै आएका छन् । निर्माणमा प्रयोग भएका सामग्री मापदण्डानुसारको रहेको शहरी विकास तथा भवन निर्माण कार्यालयका इञ्जीनियर रजनिशकुमार झाले बताए ।
रंगशाला निर्माणका क्रममा विस्तृत परियोजना प्रतिवेदनमा छुट भएका केही संरचनाको विषयमा भोजपुर जिल्ला फुटबल संघले ध्यानाकर्षण गराउँदै आएको जनाएकोे छ । ‘भोजपुरको खेल क्षेत्रको विकासमा रंगशालाले निकै ठूलो टेवा पुग्ने देखिन्छ । प्रदेश नं १ सरकारले जुन योजनाका साथ काम थालेको छ, यसले जिल्लावासी तथा खेलाडी र खेलप्रेमीमा उत्साह बढेको छ’, भोजपुर जिल्ला फुटबल संघका अध्यक्ष प्रविन सुवालले भने, ‘विभिन्न समयमा हामीले अन्तर्राष्ट्रियस्तरको खेल खेलाउँदै आएको भए पनि मापदण्डानुसारको खेल मैदान नहुँदा धेरै समस्या झेल्नुपरेको छ । रंगशाला निर्माण सम्पन्न भएपछि त्यो समस्या समाधान हुनेमा हामी आशावादी छौँ ।’
विश्व अल्ट्रा धावक मीरा राईको सम्मानमा निर्माण भइरहेको अन्तर्राष्ट्रियस्तरको ‘मीरा राई रंगशाला’ निर्माणको काम पनि तीव्रगतिमा भइरहेको पौवादुङमा गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए । भोजपुर रंगशालासँगै पूर्वी पौवादुङमा गाउँपालिकाको च्याङ्ग्रेमा निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको ‘मीरा राई रंगशाला’को काम पनि तीव्रगतिमा भइरहेको छ ।
गाउँपालिकाको क्रमागत बजेटअन्र्तगत ५५ लाख र प्रदेश सरकारको एक करोड ३५ लाख गरी झण्डै दुई करोडको लागतमा सो रंगशाला निर्माण भइरहेको छ । यस्तै प्रदेश सरकारकै क्रमागत योजनाअन्तर्गतकै ६ करोड लागतमा षडानन्द नगरपालिकाको दिङ्ला रंगशाला पनि निर्माण काम भइरहेको छ ।
यस्तै प्रदेश सरकारकै ५० लाखको लागतमा टेम्केमैयुङ गाउँपालिकाको छिनामखु खेल मैदान र २५ लाख लागतमा हतुवागढी गाउँपालिका–१, रानीबासको सल्लेमा क्षेत्रीयस्तरको खेलकुद रंगशाला निर्माण क्रम जारी छ । अन्य दर्जनौं खेलकुद आयोजना सञ्चालनमा छन् । यसले खेलकुद मैदान अभावमा पलायन हुने युवा खेलाडीलाई उत्साह थपिदिएको छ ।
वर्षौदेखि बजेट अभाव झेल्दै आएको रंगशालाको झण्डै १२ वर्षमा ४० लाख बराबर लागतमा केही प्रतिशत स्तरोन्नतिको काम सम्पन्न भएको थियो । स्थानीय सरकार आएपछि भोजपुर नगरपालिकाले वडाअन्तर्गत स्तरोन्नतिमा केही रकम छुट्याउँदै आएको छ । प्रदेश १ कै उत्कृष्ट रंगशालाका रूपमा भोजपुर रंगशाला बन्ने भएपछि सिङ्गो जिल्लाका लागि ९ खेलाडी उत्पादनका लागि उर्वरभूमि बन्ने भोजपुर नगरप्रमुख कैलाशकुमार आले बताउछन् । थोरै बजेटले पर्याप्त नभएपछि बेवारिसजस्तै बन्दै आएको रंगशाला जिल्लाकै प्रतिष्ठा बोक्ने किसिमको हुनेमा भोजपुरवासी विश्वस्त रहेको उनले बताए ।
भोजपुर जिल्ला फुटबल संघले आधिकारिकरूपमा सम्बन्धित निकायसामु पहल गरे पनि रंगशाला निर्माणका लागि आवश्यक बजेटको माहोल बन्न सकेको थिएन । जिल्ला फुटबल संघले पटकपटक रंगशालाका लागि सरोकारवाला निकायदेखि मन्त्रालयसम्म बजेटका लागि ताकेता गर्दै आएको थियो । प्रदेश सरकार बनेपछि ठूला आयोजनाअन्तर्गत प्रदेश सरकारले नमूना रंगशाला बनाउने लक्ष्यले बजेट विनियोजन गरेपछि सहज बाटो खुलेको संघका कोषाध्यक्ष विनम श्रेष्ठले बताए । उनले भने, “वर्षै पछि रंगशालाले नयाँ रूप लिने सपना पूरा हुने भएको छ । स्तरोन्नतिका लागि पर्याप्त बजेट र उपकरण सामग्री पनि पर्याप्त हुने भएको छ । यसभन्दा अगाडिका समयमा विविध प्राविधिक कारणवश बजेटको माहोल सिर्जना हुन सकेको थिएन ।”
काठमाडौं । शुक्रबार बिहान चिलीलाई २-० गोलको नतिजामा पराजित गरेसँगै पाराग्वेले कोपा अमेरिकाको प्रि-क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ ।
समूह ए अन्तर्गत ब्रासिलियामा भएको खेलमा दुई पटकको चिलीविरुद्ध पाराग्वलाई जित दिलाउन ब्रायन सामुदियो र मिग्वेल अल्मिरनले एक/एक गोल गरे ।
सामुदियोले गरेको पहिलो अन्तर्राष्ट्रिय गोलसँगै पाराग्वेले ३३औं मिनेटमा अग्रता लिएको थियो । पहिलो हाफमा १-० ले पछि परेको चिलीले दोस्रो हाफमा १३ मिनेट नबित्दै दोस्रो गोल खायो ।
चिलीका कप्तान ग्यारी मोडेलले फरवार्ड कार्लोस गोन्जालेजमाथि पेनाल्टी एरियामा गरेको फाउलसँगै पाराग्वेले अग्रता दोब्बर पार्ने मौका पाएको थियो । सोही पेनाल्टीको सदुपयोग गर्दै अल्मिरनले ५८औं मिनेटमा पाराग्वेको अग्रता दोब्बर पारेका थिए ।
प्रशिक्षक मार्टिन लसार्तेको नेतृत्वमा अपराजित यात्रा कायमै राख्ने लक्ष्यसहित मैदानमा उत्रिएको थियो । उनको नेतृत्वमा खेलेका पछिल्ला ६ खेलमा चिलीले पराजय बेहोरेको थिएन । तीमध्ये तीन खेलमा जित र तीनमा बराबरीको नतिजा निकालेको चिलीले उनको नेतृत्वमा बेहोरेको यो पहिलो हार हो ।
यद्यपि, पराजयका बाबजुद चिलीले क्वार्टरफाइनलमा स्थान बनाइसकेको छ । समूह चरणका चार खेलमा ५ अंक हासिल गरेको चिलीसँगै अर्जेन्टिना, पाराग्वे र उरुग्वे समूह चरणबाट क्वार्टफाइनलमा पुगिसकेका छन् ।
समूह एबाट बोलिभिया मात्रै समूह चरणबाट बाहिरिसकेको छ । १० टोली सहभागी प्रतियोगिताको पहिलो चरणका दुई समूहबाट ४/४ टोली क्वार्टफाइनलमा पुग्नेछन् ।
काठमाडौं । शुक्रबार बिहान भएको समूह ए अन्तर्गतको खेलमा बोलिभियालाई २-० ले पराजित गर्दै उरुग्वेले एक खेल अगावै कोपा अमेरिकाको नकआउटमा स्थान सुरक्षित गरेको छ ।
ब्राजिलको पान्तानल एरिनामा भएको खेलमा कार्लोस ल्याम्पेले गरेको आत्मघाती गोलसँगै अग्रता लिएको उरुग्वेका लागि इडिन्सन कभानीले एक गोल थपे । पहिलो खेलमा अर्जेन्टिनासँग पराजित भएको ओस्कार ताबारेजको उरुग्वे दोस्रो खेलमा चिलीसँग १-१ गोलको बराबरीमा रोकिएको थियो ।
तर, आजको जितसँगै ३ खेलबाट चार अंक जोडेको उरुग्वेले एक खेल अगावै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको हो ।
पहिलो हाफमा सिजर फ्यारियासको बोलिभियाविरुद्ध संघर्षरत उरुग्वेले बोलिभियाका गोलकिपर ल्याम्पेले गरेको आत्मघाती गोलसँगै १-० को अग्रता लिएको थियो ।
दोस्रो हाफको सुरुआतदेखि खेलमा पकड बनाएको ला केलेस्तेका लागि फरवार्ड कभानीले निर्धारित समयको खेल सकिन ११ मिनेट बाँकी रहँदा दोस्रो गोल गरे । त्यसअघि उत्कृष्ट मौका गुमाएका कभानीको सोही गोलमार्फत् उरुग्वेले २-० को सन्तोषजनक जित दर्ता गर्न सफल भयो ।
पराजयसँगै सुरुआती तीन खेलमा अंकविहीन बनेको बोलिभियाको कोपा अमेरिका २०२१ को उपाधि यात्रामा एक खेल अगावै पूर्णविराम लागेको छ । अन्तिम खेलमा बोलिभियाले मंगलबार अर्जेन्टिनाको सामना गर्नेछ ।
यससँगै समूह ए बाट क्वार्टरफाइनलमा पुग्ने चारै टोलीको टुङ्गो लागेको छ । अर्जेन्टिना, पाराग्वे, चिली र उरुग्वे अर्को चरणमा पुग्ने निश्चित छ । तर, कुन स्थानमा रहेर अर्को चरणमा कोसँग खेल्छन् भन्ने तय हुन पहिलो चरणको समाप्ति कुर्नुपर्नेछ ।
काठमाडौं । भारतमा एएफसी महिला एसिया कप २२ को छनोटमा नेपालले फिलिपिन्स र हङकङसँग खेल्ने निश्चित भएको छ ।
एएफसीले बिहीबार जारी गरेको खेल तालिकाअनुसार चार समूहमा चार/चार टोली र अन्य चार समूहमा तीन/तीन टोली परेका छन् । जसअनुसार समूह एफमा परेको नेपालको समूहमा फिलिपिन्स र हङकङ छन् ।
छनोट चरणका खेलबाट समूह विजेता बन्ने सबै टोलीले एएफसी एसियन कपमा स्थान बनाउने छन् । छनोट खेलहरू सेप्टेम्बर १३ देखि २५ सम्म र प्रतियोगिता जनवरी २० देखि फेब्रुअरी ६ तारिखसम्म हुने एएफसीले बताएको छ ।
फिफा बरियतामा फिलिपिन्स ६८औं तथा हङकङ ७६औं स्थानमा छ । दुवै टोली १०१औं स्थानको नेपालभन्दा माथि छन् ।
नादिया नदिम, विश्व फुटबलमा एक औसत फुटबलर मात्रै होइनन् । उनी विश्व फुटबल विशेष गरी महिला फुटबलमा चर्चित क्बलहरू- पोर्टल्यान्ड थ्रोन्स, म्यानचेस्टर सिटी र अहिले पेरिस सेन्ट जर्मन (पिएसजी) की एक ‘प्रोलिफिक’ गोलस्कोरर हुन् । नादिया आफ्नो अधिकांश समय संयुक्त रास्ट्रसंघको सद्भावना दूतको रूपमा, समाजसेवामा र नयाँ भाषा सिक्नमा बिताउँछिन् । त्यसैले त नदिया अहिले विश्वका नौ भाषा फरर बोल्न सक्छिन् ।
यसका अतिरिक्त उनी आफूलाई भविष्यमा ‘कन्सट्रक्टिब’ सर्जन बनाउने योजनामा छिन्, नदिया । र, त्यसका लागि पनि आफूलाई समय दिइरहेकी छन् । फुटबलबाट सन्यास लिएपछि नदियाले आफ्नो कोर्ष पूरा गर्नेछिन् । अनि, आफूलाई क्वालिफाइड सर्जनको रूपमा पाउनेछिन् ।
नदियाको मैदान बाहिरका पछिल्ला काम पिएसजी र केएलएबियु नामक च्यारिटी संस्थाबाट गरिरहेकी छन् । उनी विश्वभरका शरणार्थी शिविरहरूमा खेलकुद क्लब बनाउन लागि परेकी छिन् । उनको नयाँ सम्झौताले १० हजार शरणार्थी बालबालिकाहरूलाई खेलकुदमा जोड्ने आशा गरिएको छ ।
यो नदियाको हृदयमा गडिएर बसेको विषय हो । र, शरणार्थी बालबालिकासम्म खेलकुदको पहुँच पुर्याउनु नउको उद्देश्य पनि । अफगानिस्तानमा जन्मिएकी नदियाका बुबालाई तालिबानले मारेका थिए । जब उनका बुबा मारिए, उनी त्यसबेला ११ वर्षकी थिइन् । त्यसपछि नदियासामु आमा र आफ्ना चार दिदीबहिनीहरूसँगै नक्कली पासपोर्ट बनाएर छिमेकी मुलुक पाकिस्तान हुँदै देश त्याग्नु पर्ने बाध्यता आयो । उनीहरू देश छोडर डेनमार्क आए । र, अहिले डेनमार्कलाई नै नदिया आफ्नो घर भन्छिन् ।
‘म कसरी बाँच्ने भन्ने मात्रै सोचिरहेकी थिएँ । कसरी भोलिसम्म ज्युँदै रहने मात्र मेरो सोच थियो’, सिएनएन स्पोर्ट्ससँग कुराकानी गर्दै नदिया भन्छिन्, ‘म हेरिरहेकी थिएँ । यहाँ के भइरहेको छ ? अहिले के भइरहेको छ ? म भोलि बिहानसम्म कसरी बाँच्न सक्छु ?’
‘यो शरणार्थी शिविरमा बस्ने प्राय धेरैले भोग्ने कुरा हो । यस्तो क्षणमा जो कोहीले पनि सम्भव भएसम्म राम्रो होस् भन्ने सोच्छन् र ज्युँदो रहने हरसम्भव प्रयास गर्छन् । र, राम्रो भविष्यको कल्पना गर्छन् ।’
नदिया नदिमले अन्तर्राष्ट्रिय फुटबलमा सन् २००९ देखि डेनमार्कको प्रतिनिधित्व गरिरहेकी छन् ।
जब नदिया आफ्नी आमासँग डेनमार्क पुगिन् र शरणार्थी क्याम्पमा बस्न थालिन्, उनले फुटबलप्रतिको आफ्नो प्रेम पनि त्यही क्याम्पमा भेट्टाइन् ।
उनी बसिरहेको शिविर नजिकै केही बच्चाहरू… नदिया सम्झिन्छिन्, ‘एक गोलो बल खेल्दै थिए ।’
‘त्यो बेला देखेको दृष्य एकदमै गज्जब थियो । मैले पनि अरू बच्चा जस्तै गर्न चाहेँ,’ उनी भन्छिन्, ‘त्यसै बेलादेखि मैले फुटबल छाडेकी छैन । हेर्नु यसले मलाई पिएसजीसम्म ल्याएको छ ।’
नदियाले फुटबल खेल्दा पाएको पहिलो ‘एक्सपोजर’ उनले अहिले खेल्ने जस्तो थिएन भन्नु न्यायसम्मत् हुन्छ ।
‘सुरुआतमा त्यो केही अनौपचारिक जस्तो थियो’, नादिया हाँस्छिन, ‘सबैले बललाई पालैपालो लात्तीले हिर्काउने, सबैले एक अर्कालाइ पच्छ्याउने र सबैका विरुद्ध सबैजना खेले जस्तो लाग्थ्यो ।’
‘तर क्रमशः मैले फुटबल कसरी खेल्ने भन्ने बारेमा पत्ता लगाएँ । किनभने, शिविर नजिकै फुटबल क्लब थियो । त्यहाँबाट मैले फुटबलमा फर्मेसन पनि हुन्छन् भन्ने थाहा पाएँ । बल आउट हुँदा म त्यो अभ्यास गर्थेँ । र, मैले बिस्तारै त्यहाँ खेलिने जस्तै फुटबल खेल्ने कोसिस गरेँ।’
‘म फेरि बच्चा भए हुन पाए’
नदियालाइ मानव जातीलाई जिज्ञासुको प्राणीको रूपमा व्याख्या गर्छिन् । केहि देखेमा त्यहि प्रयास गर्छन्, खासगरी बच्चाहरू अझै जिज्ञासु हुने उनको विश्वास छ । र, नदियाका लागि शरणार्थी शिविरका बच्चाहरूको पहुँचमा खेलकुद पुर्याउनु पर्ने बुझाइको कारण पनि यही जिज्ञासु पन हो ।
‘सोच्नुस् त! विश्वको सबैभन्दा ठूलो शरणार्थी शिविर– कक्स बजारमा दश लाख शरणार्थीहरू छन् । हामीले सुरु गरेको यो परियोजना त्यहाँसम्म फुटबल पुर्याउनका लागिा हो । कल्पना गरौँ दुई, तीन, चार जना खेलाडी बनुन् ।’
नदियाले आफू शरणार्थी शिविरमा बिताएको समय सुनाउँदा धेरै मान्छे अचम्ममा पार्छिन् । ‘मेरो जीवनको सबैभन्दा रमाइलो क्षण थियो,’ नदिया भन्छिन् ।
युद्धले क्षतविक्षत् अफगानिस्तानमा जन्मिएकी नादियाले अन्य बालबालिकाले जस्तो सामान्य बाल्यकाल बिताउन पाइनन् । तर, डेनमार्क पुगेपछि त्यो सबै परिवर्तन भएको उनी बताउँछिन् ।
नदिया आफ्नो करियरभरी ‘प्रोलिफिक गोलस्कोर’ हुन् ।
‘बिस्तारै म शरणार्थी शिविरमा आएँ । त्यो शिविरमा खेलकुद र पढ्ने सुविधा पनि थिए । मलाईँ यस्तो लाग्छ कि म फेरि म बच्चा हुन पाउँ’, नदिया भन्छिन् ।
‘त्यसैले, शरणार्थी शिविरमा हुँदाका साँच्चै–साँच्चै नै ‘प्रिय’क्षण अनुभवहरू मसँग छन् । मलाइ थाहा छ यो अनौठो सुनिन्छ, मान्छेहरूले के रे भन्छन् ? तर, मैले त्यो बेला त्यस्तै महसुस गरेँ । त्यसैले मलाई केएलएबियु र पिएसजीले त्यहि प्रयास गरिरहेको लाग्छ ।’
‘यो कठिन समय हो । शरणार्थी शिविर बच्चाहरूलाई हुर्किन बढ्नका लागि उचित स्थान होइन, र हुँदैन पनि । तर, हामी यसलाई केहि सकारात्मक बनाउन लागिरहेका छौँ ।’
नदियालाई लाग्छ, शरणार्थीहरूलाई लिएर मानिसको धारणा बास्तविकता भन्दा फरक छ । केही समाचारहरूमा घरबारविहीन बनाइएका शरणार्थीहरूको अवस्था देखाउने कोसिस गर्छन् । हेर्नेहरूले त्यो कठोर अवस्था बुझ्न सक्दैनन् ।
‘उनीहरूको अवस्था तपाईँले कल्पना गर्ने भन्दा पनि दयनीय हुन्छ’, नदिया भन्छिन् ।
केएलएबियुका अनुसार हाल विश्वभर ८ करोड शरणार्थी छन् । यो संख्या दोस्रो विश्व युद्धपछिकै सबैभन्दा धेरै हो । तीमध्ये आधा संख्या त बालबालिकाहरूको नै छ ।
केएलएबियुका अनुसार नदिया जस्ता धेरै शरणार्थी बालबालिकाले शिक्षा र सामान्य बाल्यकालमा आवश्यक हुने आधारभूत कुरा पनि पाँउदैनन् ।
यो साझेदारीको पहिलो परियोजना बंगलादेशको कक्स बजारमा आधारित हुनेछ । जहाँ केएलएबियु र पिएसजीले ‘क्लब सेन्टर’ बनाउनेछन्, जसलाई स्पोर्ट्स लाइब्रेरीको रूपमा प्रयोग गरिनेछ । त्यहाँबाट बालबालिकाहरूले खेल सामग्री तथा तालिमहरू पाउनेछन । त्यति मात्र नभएर कुनै प्रतियोगिता खेल्न जानका लागि आवश्यक तालिम तथा आवश्यक सामग्री पनि उपलब्ध गराइनेछ ।
यो परियोजनाले बालबालिकासँगै उनीहरूका आमाबुबालाई पनि सहयोग हुनेमा नदिया आशावादी छिन् । जब आमा–दिदीहरूसँगै नदियाले डेनमार्कको शरणार्थी शिविर छोड्यो, तब उनकी आमालाइ कत्ति गाह्रो थियो ? र, आफ्नो भविष्य कति अनिश्चित छ भन्ने बुझिन् ।
‘शारिरीक रूपमा गाह्रो थियो,’ नदिया भन्छिन्, ‘तर, मानसिक रूपमा झन्–झनै गाह्रो थियो ।’
गत सिजन आर्सनल र पिएसजीबीचको खेलमा नदिया ।
जब नदियाको खेलकुद करिअर सकिन्छ, तब उनलाई मैदानमा हासिल गरेका उपलब्धीहरू भन्दा धेरै उनका मानविय सहायताका कामहरूको याद आइरहने छ । यस्तो परियोजनामा सहभागी भएर आफूले भोगे जस्तो अवस्थाबाट गुज्रिरहेका, आफूले जस्तै संघर्ष गरिरहेकालाई सहयोग गर्दा नदियालाई गर्वान्वत महसुस हुन्छ ।
‘मानव भएको कारण कहिले काहीँ आफू स्वयमले नभोगेको कुरा बुझ्न धेरै कठिन हुन्छ,’ नदिया भन्छिन् ।
‘त्यसैले उस्तै परिस्थितिबाट गुज्रिएका मान्छेहरूलाई बुझाउन सजिलो हुन्छ । हामी शरणार्थी शिविरहरूको अवस्थामाथ बनाइएका समाचार र तस्बिरहरू हेर्छौं । जलवायु परिवर्तन वा अन्य केहि कारणबाट मान्छेहरू घरबारबाट विस्थापित भएको सुन्छौँ । तर, के साच्चिकै हामी त्यो बुझ्छौँ त ? मलाइ लाग्छ बुझ्दैनौँ । जसले त्यो अवस्थाको सामना गरेको हुँदैन उसले बुझ्दैन,’ नदिया भन्छिन्, ‘यदि तपाईँ शरणार्थी शिविर पुग्नु भएको छ भने त्यहाँ कति खराब अवस्था हुन्छ र कतिसम्म खराब हुनसक्छ भन्ने महसुस गर्न सक्नु हुन्छ । मलाइ यो थाहा छ । मैले आफू स्वयमले यो सबै महसुस गरेको छु । र, अहिले मैले यो देखेकी पनि छु । यदि तपाईँ केन्या, बंगलादेश र कोक्स बजार पुग्नुभयो भने त्यो मजाक होइन भन्ने बुझ्नु हुनेछ, महसुस गर्नु हुनेछ ।’
उनीहरू साँच्चिकै बिगोज अवस्थामा बाँचिरहेका छन् । त्यस्ता ठाँउमा स्पोर्ट्स पुर्याउन सके कम्तिमा एक वा दुई घन्टा भए पनि कहाली लाग्दो बास्तविक जीवनका पीडा र दुःख भुलाउन सजिलो हुनसक्छ । र, कसैलाई आफ्नो भविष्य आफूले चाहेको जस्तो बनाउने मौका पनि हुनसक्छ । त्यो एकदमै राम्रो र सराहनीय कुरा हो ।’
काठमाडौं । स्पेनमा हुने तय भएको नेपाल, नामिबिया र स्कटल्यान्डबीचको एकदिवसीय सिरिज कोरोना भाइरसको महामारीका कारण २०२२ को जुलाईसम्मका लागि स्थगित भएको छ ।
एजेन्सी । रियल मड्रिडका स्टार मिडफिल्डर कासिमेरोले इन्जूरी समयको अन्त्यतिर गोल गरेपछि कोपा अमेरिकामा साविक विजेता ब्राजिलले कोलम्बियामाथि २–१ गोलअन्तरको रोमाञ्चक जित निकालेको छ ।
बराबरीतर्फ उत्मुख खेलको अन्त्यतिर नेइमारको कर्नरमा प्रहारमा कासिमेरोले पोष्ट जनिकैबाट हेड गोल गरेपछि कोलम्बियाको हार निश्चित भएको हो । ब्राजिलले भने शतप्रतिशत जितयात्रा कायम राखेको छ । उसले यसअघि इक्वेडर र पेरुलाई पराजित गरेको थियो ।
घरेलु मैदानमा ब्राजिल सुरुआतमै पछि परेको थियो । अघिल्ला २ खेलमा सन्तुलित प्रदर्शन गरेको ब्राजिलले कोलम्बिया अपेक्षाभन्दा कमजोर प्रदर्शन गरेको थियो ।
१० औं मिनेटमा जुहान कार्डडोको पासमा लुइस डियाजले गोल गरेपछि कोलम्बियाले पहिलो हाफमा अग्रता बनाएको हो । त्यसयता रक्षात्मक रणनीति सुरु गरेको कोलम्बियाले ७८ औं मिनेटमा गोल खान पुग्यो ।
रेनन लोडीले दिएको क्रस उपयोग गरी फिर्मिनोले पेनाल्टी क्षेत्रबाट गरेको हेडर कोलम्बियाका गोलरक्षक डेभिड ओस्मिनाको हातबाट फुत्किएर गोल हुन पुगेको हो ।
समूह बी मा रहेको ब्राजिलले तीन खेलबाट ९ अंक बनाएको छ र शीर्ष स्थानमा यथावत छ । कोलम्वियाका लागि भने समूह चरणको खेल सकिएको छ । उसले ४ खेलबाट ४ अंक बनाएको छ । दुवै टोली क्वाटरफाइनलमा छनोट भइसकेका छन् ।
कोपा अमेरिकामा १० टोलीलाई २ समूहमा बाँडेर खेलाइएको छ । हरेक समूहबाट शीर्ष चार टोलीले क्वाटरफाइनल खेल्नेछन् । यसअघि आज विहान नै भएको अर्को खेलमा यही समूहबाट इक्वेडर र पेरुले २–२ गोलको बराबरी खल्दै अंक बाँडेका छन् ।
काठमाडौं । पहिलो टेस्ट च्याम्पियनसीपको उपाधि न्यूजिल्यान्डले जितेको छ । आज भएको फाइनलमा भारतमाथि ८ विकेटको जितसहित न्यूजिल्यान्डले उपाधि उचालेको हो ।
भारतले दिएको १३९ रनको लक्ष्य न्यूजिल्यान्डले २ विकेटको क्षतिमा पुरा गरेको थियो । न्यूजिल्यान्डका लागि कप्तान केन विलियम्सनले महत्वपूर्ण अर्धसतक बनाए । उनलाई अनुभवी ब्याट्सम्यान रोज टेलरले बलियो साथ दिएपछि न्यूजिल्याण्डलाई लक्ष्यसम्म पुग्न खासै समस्या भएन ।
बलरहरु हावी भएको खेलमा भारत पहिलो इनिङमा २१७ रनमा र दोस्रो इनिङमा १७० रनमा अलआउट भएको थियो । न्यूजिल्याण्डले पहिलो इनिङमा २४९ रन बनाउँदै ३२ रनको अग्रता लियो । भारतलाई धराशयी बनाउन न्यूजिल्याण्डका फास्ट बलर किल जेमिसनले महत्वपूर्ण भूमिका खेले । उनले पहिलो इनिङमा ५ विकेट र दोस्रो इनिङमा २ विकेट लिएका थिए ।
उपाधिका लागि सामान्य लक्ष्य पछ्याएको न्यूजिल्याण्ड दुवै ओपनरलाई गुमाएपछि केही दवावमा आएको थियो । तर विलियम्सन र टेलरले तेस्रो विकेटको लागि अविजित ९६ रनको साझेदारी गर्दै टिमलाई जितसम्म डोहोर्याएका छन् ।
काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले ‘पाँचौँ पोखरा स्पोर्टस् अवार्ड २०७६/०७७’ भर्चुअलमार्फत आयोजना गर्ने भएको छ । विश्वभर फैलिएको कोरोनाभाइरस संक्रमण प्रभावका कारण गत वर्ष र यस वर्ष पनि अवार्ड समारोह स्थगन भएकामा मञ्चले यही असार १८ गते अवार्ड समारोह आयोजना गर्ने निर्णय गरेको हो ।
मञ्चको मंगलबार बसेको बैठकले सो दिन विश्व खेलकूद पत्रकार दिवससमेत परेकाले भर्चुअलबाटै भए पनि अवार्ड वितरण समारोह गरिने मञ्चका अध्यक्ष एकराज गिरीले जानकाी दिए । उनका अनुसार जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरा रङ्गशालाको ब्याडमिन्टन हलमा सेमिभर्चुअलमार्फत अवार्ड समारोह गर्न स्वीकृत दिएबमोजिम अवार्ड कार्यक्रम तयारी अघि बढाइएको हो ।
यस वर्ष गत वैशाख २० का लागि तयारी गरिएकामा निषेधाज्ञाका कारण अन्तिम समयमा आएर स्थगन गरिएको थियो । समारोहमा विगतमा झैँ यसपटक विभिन्न सात विधामा अवार्ड वितरण गरिनेछ । मञ्चले लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ र उत्कृष्ट खेल पत्रकारलाई नगदसहित अवार्ड वितरण गरिने महासचिव विजय नेपालले जानकारी दिए । वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उदीयमान खेलाडी र उत्कृष्ट प्रशिक्षकको उत्कृष्ट तीन मनोनयन सूची सार्वजनिक भइसकेको छ ।
खेल क्षेत्रको विकासका लागि खेलाडीले गरेको प्रदर्शनका आधारमा मञ्चले अवार्ड वितरण गर्दै आएको छ । दुई वर्षको अवधिमा खेलाडीले प्रस्तुत गरेको आफ्नो प्रतिभा प्रदर्शनका आधारमा अवार्ड प्रदान गरिने छ । मञ्चले कोरोनाका कारण ज्यान गुमाएका पत्रकारप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै संक्रमित पत्रकारको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।साथै स्वास्थ्य मापदण्ड अपनाएर सुरक्षितसाथ सञ्चारकर्ममा लाग्न पनि मञ्चले आग्रह गरेको छ । -रासस
काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले खेलाडीहरुलाई मासिक रुपमा दिइने आर्थिक सुविधालाई निरन्तरता दिन सरकारको ध्यानाकर्षण गराएका छन् ।
बुधबार ओलम्पिक डे २०२१ को अवसरमा नेपाल ओलम्पिक कमिटीले आयोजना गरेको कार्यक्रममा बोल्दै उपराष्ट्रपति पुनले खेलाडीलाई मासिक रुपमा दिइने गरेको आर्थिक सुविधा निरन्तर नभएको गुनासोहरु आइरहेको भन्दै आर्थिक सुविधालाई निरन्तरता दिन सरकारको ध्यानाकर्षण गराएका हुन् ।
उनले फुटबल र क्रिकेटबाहेकका राष्ट्रिय खेलहरुको नियमित प्रशिक्षण नहुनेगरेको भन्दै सबै खालको राष्ट्रिय खेलको नियमित प्रशिक्षणको पूर्वाधार विकास गर्न पनि ध्यानाकर्षण गराए ।
उनले भने,‘खेलकुदको विकासको लागि पूर्वाधार पहिलो शर्त हो । खेलाडीलाई मासिक रुपमा दिइने आर्थिक सुविधा निरन्तर नभएको गुनासो आइरहेको छ । म निरन्तरता दिन ध्यानाकर्षण गराउन चाहान्छु । र फुटबल र क्रिकेट बाहेकका राष्ट्रिय खेलहरु नियमित प्रशिक्षण पनि नभएको चर्चाहरु चल्ने गरेको छ । सबैखाले राष्ट्रिय खेलको नियमित प्रशिक्षण गर्न पूर्वाधार विकासमा ध्यान दिन आग्रह गर्न चाहान्छु ।’
उपराष्ट्रपति पुनले ओलम्पिक खेलको विकासका लागि दिर्घकालीन योजना बनाउनुपर्नेमा पनि जोड दिए । साथै दिर्घकालीन योजना बनाएर ओलम्पिकमा लगानी गर्न उनले आग्रह गरे ।
उनले भने,‘ओलम्पिक यात्राका लागि हामीले दिर्घकालीन योजनाहरु बनाउनुपर्दछ । कतिऔँ ओलम्पिक सम्म पुग्दा हाम्रा खेलाडीहरुले समुह चरण पार गरेर ओलम्पिकमा पुग्ने हो र कतिऔँ ओलम्पिकसम्ममा हामीले पदक जित्ने लक्ष्य राख्ने हो सरकार, ओलम्पिक कमिटी र सम्बद्ध सबै पक्षले दिर्घकालनीन योजना बनाएर लगानी गर्नुपर्छ ।’
नेपाल ओलम्पिक कमिटीको अध्यक्ष जीवनराम श्रेष्ठले ओलम्पिकको अभियानले विश्वलाई खेलकुदमा समावेश गराउने गरेको तथा शारिरीक र मानसिक रुपमा तन्दुरुस्त राखेको बताए । उनले समाजमा शान्ति स्थापना गर्न र विकासका लागि खेल क्षेत्रको महत्वपूर्ण भुमिका हुने पनि बताए ।
काठमाडौं । स्कल्यान्ड, नामिबिया र नेपालबीच हुने क्रिकोणात्मक एक दिवसीय श्रृखंलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले मंगलबारबाट अभ्यास सुरु गरेको छ । श्रृंखलाका लागि स्पेन भ्रमणको तयारीमा रहेको नेपाली टोलीले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा प्रशिक्षण सुरु गरेको हो । एक साता अघि मात्र नेपाल फर्किएका प्रशिक्षक डेभ ह्वाटमोरले नेपाल क्रिकेट संघ (क्यान)ले छनोट गरेका खेलाडीलाई समावेश गरेर तयारी सुरु गरेका हुन् ।
स्पेनमा जुलाई २० देखि ३० तारिखसम्म हुने आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत स्कटल्याण्ड र नामिबियासँगको त्रिकोणात्मक एकदिवसीय श्रृखंलाका लागि नेपाली टोलीले अभ्यास सुरु गरेको हो । जुलाई अन्तिम सात हुने श्रृखंलामा सहभागी हुने खेलाडी र अफिसियलको सोमबार कोरोना परीक्षण नेगेटिभ आएसँगै श्रृखंलाको तयारी सुरु भएको छ ।
पहिलो दिन क्यानले छनोट गरेका २० खेलाडी मध्येबाट १९ खेलाडीले अभ्यास गरेका थिए । तर, पहिलो दिनको ट्रेनिङमा पृथु बास्कोटा सहभागी भएनन् । व्यक्तिगत कारण देखाउँदै पृथुले बन्द प्रशिक्षणमा सहभागी हुन नसक्ने बताएका थिए । कोरोना महामारीपछि अन्तर्राष्ट्रिय भ्रमण गर्ने लक्ष्यमा रहेको टोलीलाई अहिले मौसम प्रतिकुल भएको छ । धेरै समयपछि एक दिवसीय खेल खेल्नका लागि फिल्डमा गर्ने काम मौसमका कारण समयमा नै हुन नसकेको भन्दै कप्तान ज्ञानेन्द्र मल्लले बलिया राष्ट्रहरूसँग हुने प्रतिस्पर्धाका लागि मेहनत गर्नु पर्ने बताए ।
स्कटल्यान्डमा तय भएका खेलहरू विशेषकारण स्पेनको डेजर्ट स्प्रिङ्स क्रिकेट मैदानमा हुनेछन् । आईसीसीले एकदिवसीय मान्यता दिएपछि यो मैदानमा पहिलो पटक सिरिज हुन लागेको हो । सन् २०२३ को विश्वकप छनौटका आधार रहेको लिग-२ प्रतियोगिताको शीर्ष तीनमा अटाउन सकेको खण्डमा नेपालले ग्लोबल छनौट खेल्ने मौका पाउनेछ ।
टोकियो । ओलम्पिक आयोजक समितिले टोकियो ओलम्पिक खेलमा रंगशालामा १० हजारसम्म दर्शकलाई उपस्थित हुन दिने निर्णय गरेको छ ।
रंगशालामा के कति दर्शकलाई उपस्थित हुन दिने भन्नेमा अन्यौल भइरहेको अवस्थामा खेल आयोजनाका मुख्य पाँच पक्षहरु अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी, आइपिसी, टोकियो २०२० आयोजक समिति, टोकियो महानगर र जापान सरकारबीच यस्तो सहमति भएको हो ।
आयोजक समितिका तर्फबाट जारी विज्ञप्तिमा रंगशालाको कूल क्षमताको आधालाई मात्र रंगशालामा उपस्थित हुन दिइने उल्लेख छ । तर विदेशी दर्शकलाई भने यस पटकको ओलम्पिकमा उपस्थित हुनबाट प्रतिबन्ध लगाइएको छ ।
समितिले रंगशालामा खेल हेर्न आउने प्रत्येक दर्शकले मास्क अनिवार्य रुपमा लगाउनु पर्ने तथा स्वास्थ्यका अन्य मापदण्ड पालना गर्नुपर्ने जनाएको छ । रंगशालाभित्र ठुल्ठूलो स्वरले कराउन, चिच्याउन वा हुटिङ गर्न नपाइने पनि समितिले बताएको छ ।
विज्ञप्तिमा दर्शकलाई यताउति नगरी सोझै रंगशालामा जान र रंगशालाबाट बाहिर निस्केर उसैगरी सोझै घरतर्फ जान सुझाइएको छ ।
एजेन्सी । दक्षिण अमेरिकी महादेशीय फुटबल प्रतियोगिता कोपा अमेरिकामा अर्जेन्टिनाले पाराग्वेमाथि १-० को जित हासिल गरेको छ । यो जितले अर्जेन्टिना समूह ए बाट क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
केहिबेरअघि सम्पन्न खेलमा अर्जेन्टिनाका लागि अलेजान्द्रो गोमेजले दशौं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । उनले एंगेल डी मारियाको पासमा गोल गरेका थिए ।
समूह ए को आफ्नो पहिलो खेलमा चिलीसँग बराबरी खेलेको अर्जेन्टिनाले दोस्रो खेलमा उरुग्वेलाई १-० ले हराएको थियो । उसले ३ खेलबाट ७ अंक जोडेको छ ।
दुई खेल खेलेको पाराग्वेको भने ३ अंक छ । उसले पहिलो खेलमा बोलिभियालाई पराजित गरेको थियो ।
आज विहानै भएको यही समूहको अर्को खेलमा चिली र उरुग्वेले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । खेलको २६ औं मिनेटमै इडुरो भार्गासले गोल गरी चिलीलाई अग्रता दिलाएका थिए ।
६६ औं मिनेटमा अटूरो भिडालले आत्मघाती गोल उपहारमार्फत उरुग्वेले बराबरी गर्न सक्यो । चिली ३ खेलबाट ५ अंकसहित समूह ए को दोस्रो स्थानमा छ । उरुग्वेले २ खेलबाट १ अंकमात्र जोड्न सकेको छ ।
१० देश सहभागी कोपा अमेरिकामा २ समूहमा खेलाइएको छ । हरेक समूहको शीर्ष चार टोलीले क्वाटरफाइनल खेल्नेछन ।
एजेन्सी । कोपा अमेरिका अन्तर्गत समूह चरणको खेलमा पेरुले पहिलो जित हासिल गरेको छ । समूह बी को आफ्नो पहिलो खेलमा साविक विजेता ब्राजिलसँग ४-० ले स्तब्ध भएको पेरुले आज विहान भएको खेलमा कोलम्बियालाई २-१ गोलअन्तरले पराजित गरेको हो ।
१७ औं मिनेटमा सर्जियो पेनाले गोल गरी पेरुलाई पहिलो हाफमा १–० को अग्रता दिलाएका थिए । दोस्रो हाफको सुरुमै कोलम्बियाले पेनाल्टी अवसर पायो । मिगुल बोर्जाले गोल गरी खेल बराबरीमा ल्याए ।
तर ६४ औं मिनेटमा कोलम्बियाली स्टार डिफेण्डर यारी मिनाले आत्मघाती गोल गर्न पुगेपछि कोलम्बियाले अप्रत्यासित हार ब्यहोरेको हो । कोलम्बियाले समूहको आफ्नो पहिलो खेलमा इक्वेडरलाई हराएको थियो भने दोस्रो खेलमा भेनेजुएलासँग गोलरहित बराबरी खेलेको थियो ।
समूह बी अन्तर्गत नै आज विहान सम्पन्न अर्को खेलमा समूहको पछारमा रहेका दुई टोलीहरु भेनेजुएला र इक्वेडरले २–२ गोलको बराबरी खेले । समूहको पहिलो खेलमा ब्राजिलसँग हारेको भेनेजुएलाले त्यसयता लगातार दोस्रो बराबरी खेलेको । कोलम्बियासँग पहिलो खेल हारेको इक्वेडरले भने पहिलो अंक जोडेको छ ।
रियो दि जेनेरियो रंगशालामा दुईपल्ट अग्रता लिएर पनि भेनेजुएलाले ३ अंक जोड्न सकेन । ३९ औं मिनेटमा इडोर प्रेसियाडोले गोल गरेपछि पहिलो हाफ भेनेजुएलाले अग्रता बनायो ।
५१ औं मिनेटमा एडसन क्यास्टिल्लोले बराबरी गोल फर्काए । ७१ औं मिनेटमा गोल्जालो प्लाटाले पुनः भेनेजुएलालाई अग्रता दिलाएका थिए । तर खेलको इन्जूरी समयमा भेनेजुएला संहालिन नसक्दा खेल बराबरीमा पुग्यो । इक्वेडरका रोनाल्ड हर्नान्डेजले गोल गरेपछि इक्वेडरले महत्वपूर्ण १ अंक लिन सक्यो ।
कोपा अमेरिकामा भोलि विहान समूह ए अन्तर्गतका दुई खेलहरु हुनेछन् । विहान पौने ३ देखि सुरु हुने खेलमा उरुग्वे र चिली आमने सामने हुँदैछन् भने पौने ६ बजेदेखि सुरु हुने दोस्रो खेलमा पाराग्वेले अर्जेन्टिनाको सामना गर्नेछ ।
काठमाडौं । डच फरवार्ड मेम्फिस डिपे स्पेनिस हेभिवेट बार्सिलोना जाने निश्चित भएको छ । सन् २०१७ मा म्यानचेस्टर युनाइटेडबाट फ्रेन्च साइड लियोन पुगेका डिपे अहिले युरो २०२० मा नेदरल्यान्ड्सको प्रतिनिधित्व गरिरहेका छन् ।
फ्रान्समा ४ वर्ष बिताएका डिपेको लियोनसँगको सम्झौता यसै महिनाको अन्त्यमा सकिँदैछ । लियोनसँगको सम्झौता सकिएसँगै उनले बार्सिलोनासँग सम्झौता गर्नेछन् ।
बार्सिलोनाले एक वक्तव्य जारी गर्दै ‘बार्सिलोना र डिपेबीच सम्झौता भएको छ । र, उनले लियोनसँगको सम्झौता सकिएसँगै बार्सिलोनासँग जोडिने छन् । उनले २०२२/२३ को सिजन समाप्तिसम्मका लागि सम्झौतामा हस्ताक्षर गर्ने निर्णय भएको,’ बताएको छ ।
डिपे बार्सिलोनाले पछिल्लो समय पैसा खर्च नगरी भित्र्याएका तेस्रो खेलाडी हुन् । स्पेनिस हेभिवेटले यसअघि नै म्यानचेस्टर सिटीबाट दुई खेलाडी- सर्जियो अग्वेरो र एरिक गर्सियालाई क्लबमा भित्र्याइसकेको छ ।
काठमाडौं । एसियन महिला भलिबल च्याम्पियनसिपमा १२ देशले खेल्ने भएका छन् । आगामी भदौमा फिलिपिन्समा आयोजना हुने सो च्याम्पियनसिपमा नेपालसहित १२ देशले सहभागिता जनाउने पक्का भएको एसियाली भलिबल महाङ्घले जनाएको छ ।
कोरोनाभाइरसको महामारीका कारण चीन, श्रीलङ्का, भियतनाम, इन्डोनेसिया र न्यूजिल्याण्डले प्रतियोगिताबाट नाम फिर्ता लिएका छन् । सुरुवातमा सो प्रतियोगिता चीनमा आयोजना गरिने तय भएको थियो । पछि कोरोनाका कारण चीनले प्रतियोगिता आयोजना गर्न अस्वीकार गरेपछि फिलिपिन्समा गर्ने निधो भएको हो ।
एसियन च्याम्पियनसिपमा नेपालसहित भारत, थाइल्याण्ड, फिलिपिन्स, जापान, दक्षिण कोरिया, कजाकिस्तान, उज्वेकिस्तान, चाइनिज ताइपेई, इरान, अस्ट्रेलिया र हङकङले प्रतिष्पर्धा गर्ने छन् । नेपाली महिला भलिबल टोली पहिलो पटक एसियन च्याम्पियनसिपमा सहभागी हुन लागेको नेपाल भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्दले जानकारी दिए । प्रतियोगिता आगामी भदौ १३ देखि २० गतेसम्म आयोजना हुनेछ ।
नेपालको महिला टोलीले २०७६ सालमा भएको पहिलो एभीसी सेन्ट्रल जोन भलिबल प्रतियोगिताको उपाधि जितेको थियो भने २०७६ मंसिरमा नेपालमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) मा फाइनलमा भारतसित पराजित हुँदै रजत पदक प्राप्त गरेको थियो । प्रतियोगिताका लागि नेपाल भलिबल संघले ३० खेलाडी छनोट गरेको छ । हाल खेलाडीहरू बन्द प्रशिक्षणमा सहभागी छन् ।
बन्द प्रशिक्षणका लागि नेपाली सेनाको त्रिभुवन आर्मी क्लबबाट ८, नेपाल प्रहरीको पुलिस क्लब, सशस्त्र प्रहरी बलको एपीएफ क्लब र न्यू डायमण्ड क्लबबाट ७-७ तथा भरतपुर मेट्रोबाट एउटा खेलाडीलाई छनोट गरिएको छ ।
आर्मीबाट सुनिता खड्का, सोफिया पुन, शान्ति थारु, जानकी भण्डारी, सरस्वती जैसी, कृपा अधिकारी, संगम महतो र सृष्टि खड्का, पुलिसबाट कमला पुन, उषा भण्डारी, पुनम चन्द, कामना बिष्ट, लक्ष्मी चन्द, मनिषा चौधरी र शान्तिकला तामाङ, एपीएफबाट सरस्वती चौधरी, निरुता ठगुन्ना, हिरा केसी, उषाकुमारी बिष्ट, पुजा चौधरी, रेश्मा भण्डारी र कविता भट्ट, न्यू डायमण्ड स्पोर्ट्स क्लबबाट प्रतिभा माली, अरुणा शाही, सलिन श्रेष्ठ, बाल्मिका आचार्य, झरना श्रेष्ठ, रिया कुँवर र रिमा कुवँर तथा भरतपुरबाट सरस्वती कट्टेललाई छनोट गरिएको छ । प्रशिक्षकमा जगदिशप्रसाद भट्ट रहेका छन् ।
एजेन्सी । विश्व फुटबलमा एउटा पावरहाउस हो स्पेन । युरोपेली लिगहरुमा सबैभन्दा धेरै खेलाडी आपूर्ति गर्ने देशमा पनि अग्रस्थानमा आउँछ । तर युरो २०२० मा स्पेनले निराशाजनक प्रदर्शनको शृंखला जारी राख्दा नकआउट चरण प्रवेशको सम्भावना कमजोर बन्दै गएको छ ।
लुइस इनरिके नेतृत्वको स्पेनले घरेलु मैदानमा गएराति पोल्याण्डसँग १-१ गोलको बराबरी खेल्यो । उसले समूह ई को सुरुआती खेलमा स्वीडेनसँग गोलरहित बराबरी खेलेको थियो ।
तीनपल्टको युरो च्याम्पियन स्पेन समूहको अन्तिम खेलमा स्लोभाकियालाई हराउन सके मात्र नकआउट चरणमा पुग्ने स्थितिमा आएको छ । यो खेल बुधबार हुनेछ ।
‘हामीलाई भाग्यले पनि साथ दिएको छैन,’ स्पेनिस डिफेण्डर जोर्डी अल्बाले भने, ‘हामीले राम्रो गरिरहेका छौं र त्यसको नतिजा सकारात्मक आएको छैन । मैले यसरी बुझेको छु ।’
अल्भारो मोराटाले २५ औं मिनेटमै स्पेनलाई अग्रता दिलाएका थिए । गोलको गतिरोध अन्त्य गरे पनि रक्षापंक्ति कमजोर देखियो । दोस्रो हाफको सुरुमै बार्यन म्युनिखका सुपरस्टार रोवर्ट लेवाण्डोस्कीले बराबरी गोल फर्काए । ५८ औं मिनेटमा जेरार्ड मोरेनो पेनाल्टीमा चुक्दा स्पेनले अग्रता लिने अवसर गुमाएको थियो ।
काठमाडौं । युरो २००८ को छनोट अन्तर्गत २००६ को सेप्टेम्बर ६ मा विन्सडोर पार्कमा १४ हजार ५ सय समर्थक अगाडि उत्तरी आयरल्यान्डसँग स्पेन ३-२ गोलको नतिजामा पराजित भयो । र, फेरि एक पटक असफलताको श्रृंखला लम्बियो । कोही पनि समर्थक ‘सरप्राइज्ड’ नभई घर फर्किए । किनभने, त्यो हार १९६४ मा जितेको एउटा मात्रै उपाधि- युरोपियन च्याम्पियनसिप पछिको विश्व फुटबलमा आफूलाई स्थापित गर्न नसकेको स्पेनको एउटा अंश मात्र थियो । सन् १९६४ मा युरोपियन च्याम्पियन बनेको स्पेनले त्यस यता ठूला प्रतियोगिता (युरो वा विश्वकप)मा एक पटकमात्र क्वार्टरफाइनल पार गरेको थियो ।
२००७ सेप्टेम्बर ६ मा स्पेनविरुद्ध गोल गरेपछि उत्तरी आयरल्यान्डका डेभिड हेली ।
लालिगा भेटेरान लुइस एरागोनेस २००४ मा स्पेनिस राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए । र, उनले आफ्नो कार्यकाल २५ खेलको अपराजित यात्रा तय गर्दै सुरु गरेका थिए । तर, फेरि एक पटक स्पेनिस टोलीमा देखिएको ‘ओप्टिजम’ हरायो, जब २००६ को विश्वकपमा फ्रान्सको ‘बुढो’ टोलीसँग अन्तिम १६ मा पराजित भयो । पराजित पनि यस्तो टोलीसँग भयो, जुन फ्रेन्च साइडलाई स्पेनले सहजै परास्त गर्ने आंकलन थियो । त्यसमाथि २८औं मिनेटमा लिएको अग्रता बचाउन नसकेर १-३ गोलको नतिजामा ।
लुइस एरागोनेस ।
तीन महिनापछि एरागोनेसले अठोट गरे- केही त गर्नुपर्छ । उत्तरी आयरल्यान्डमा बितेको त्यो रातले उनलाई बुझायो- ‘परिवर्तन आवश्यक छ।’ त्यो एक असाधारण क्षणको सुरुआत थियो । त्यसको ६ वर्षपछि स्पेन विश्व फुटबलको सबैभन्दा सफल टोली कहलियो । र, विश्व फुटबलमा राज गर्न निस्किएको स्पेनको तयारी आयरल्यान्डमा बितेको रात सुरु भएको थियो ।
०००
त्यसबेला स्पेनिस टोलीमा विभिन्न क्लबबाट व्यावसायिक फुटबल खेल्ने र फरक स्थानबाट आएका खेलाडीहरूबीच विवाद र खटपट भएको हल्ला चलेको थियो । जब स्पेनले १९८४ को युरोपियन च्याम्पियनसिपको फाइनलमा भरपर्दा गोलकिपर लुइस एर्कोनाडाले गरेको असाधारण गल्तीका कारण फ्रान्ससँग पराजित भयो । त्यसबेला झनै यस्ता हल्लाले चर्चा पाएका थिए । यतिसम्म ‘रुमर’ चले कि एर्कोनाडाले आफू बस्क (स्पेनको एक अटोनोमस समुदाय/राज्य)बाट भएका कारणले स्पेनले नजितोस् भनेर जानेर नै गोल खाएकोसम्म भनिएको थियो ।
‘त्यो समयममा स्पेनिस टोलीमा धेरै खेलाडी रियाल मड्रिड र बार्सिलोनाबाट व्यावसायिक खेल्ने गरेका थिए । र, जब हामीसँगै मैदानमा जान्थ्यौं तपाईंले दुई खेलाडीबीच केही हदसम्म दूरी महसुस गर्नुभएको थियो ?,’ एरागोनेसको नेतृत्वमा स्पेनिस टिमबाट खेलेका स्ट्राइकर फर्नान्डो मोरिएन्तेसले भन्छन्, ‘तर, त्यस्तो केही थिएन । अहिले हामी स्पेनिस टोलीमा जुन साथ र आत्मीयता देखिन्छ, त्यो बेला पनि उस्तै थियो ।’
स्पेनिस टोलीको सफलताको बाधक राजनीति थिएन । सबैभन्दा पहिलो रणनीति थियो, ‘ट्याकटिस’ थियो ।
आयरल्यान्डविरुद्धको खेल विश्वकप २००६ पछिको दोस्रो प्रतिस्पर्धात्मक खेल थियो । र, त्यो खेलपछि एरागोनेसले बुझेका थिए कि उनका पूववर्ती प्रशिक्षकहरूले अपनाएको ‘डाइरेक्ट फुटबल’ र लामो पासको रणनीतिले काम गरिरहेको छैन ।
०००
उनले चाहेको परिवर्तनका लागि खेलाडी छनोटमा एक कठोर निर्णय लिनु आवश्यक थियो । र, उनले त्यो निर्णय पनि गरे । उनको त्यो कठोर निर्णयको मूल्य झण्डै प्रशिक्षकबाट बर्खास्त भएर चुकाउनु परेको थियो ।
त्यो समयमा रियाल मड्रिडका सुपरस्टार राउल एक सामान्य खेलाडी मात्र थिएनन् । उनी स्पेनिस फुटबलका आइकनसमेत थिए । धेरै स्पेनिसले सोच्ने आइडियल फुटबलको मानक उनै राउल थिए । उत्तरी आयरल्यान्डको राजधानी बेलफास्टमा भोगेको त्यो ३-२ गोलको पराजयपछि एरागोनेसले राउल उनी त्यो स्टाइलमा फिट नभएको बुझिसकेका थिए ।
परिणाम स्वरुप उनले स्टार स्ट्राइकर राउललाई ‘ड्रप’ गरे । त्यो समयमा मड्रिडका मिडियाहरूले एक लिजेन्डको अपमान भएको बताउँदै एरागोनेसको चर्को आलोचना गरेका थिए । राउल टोलीमा पर्नका लागि योग्य नभए पनि उनलाई व्यक्तिगत रूपमा खबर गरेर मात्रै टोलीको घोषणा गरिनुपर्ने माग थियो ।
राउल त्यो बेला २९ वर्षका थिए । र, आयरल्यान्डविरुद्धको हारमा उनले स्पेनका लागि खेलेको १०२औं खेल थियो । त्यो नै उनको अन्तिम हुने थियो । तर, एरागोनेसले कुनै पनि पश्चाताप गरेनन् ।
‘मैले राउललाई भनिनँ र आफू छनोट नभएको आफैंलाई थाहा पाउन छाडिदिएँ,’ एरागोनेसले भनेका थिए, ‘उनी मात्रै अपवाद होइनन् । सामान्य सत्य के हो भने मैले टोलीमा आवश्यकता अनुसार खेलाडीलाई बोलाएको छु ।’
जुन समयमा प्रशिक्षक एरागोनेस स्पेनका लागि उपयुक्त खेल शैलीको विकास गर्ने मार्गतर्फ अग्रसर थिए, त्यो समयमा स्पेनिस मिडियाले उनको खोइरो उतारेका थिए ।
स्वीडेनसँग पराजित भएसँगै युरो २००८ गुमाउने सम्भावना बढेको थियो । र, सन् २००७ को अक्टोबर १३ तारिखमा युरोपियन च्याम्पियनसपिको छनोटका लागि जित्नै पर्ने बाध्यतासहित स्पेनिस टोली डेनमार्क उडेको थियो । त्यो खेलको एक नतिाजामा स्पेनिस फुटबलको मुहार फेर्ने मार्गमा रहेका प्रशिक्षक एरागोनेसको भाग्य निहित थियो ।
तर, डेनमार्कविरुद्ध ३-१ को जितसहित स्पेनिस फुटबलको पुनर्जन्म भयो ।
०००
बार्सिलोनाका पूर्व स्ट्राइकर डेभिड भिया त्यो खेल सम्झिँदै भन्छन, ‘हाम्रा लागि त्यो खेल सबैथोक थियो । सबै थोकका लागि हामीले त्यो खेल जित्नु थियो । यदि हामीले हारेका भए प्लेअफको भर पर्नु पर्थ्यो । र, प्लेअफमा नपुग्न पनि सक्थ्यौं ।’
एरागोनेसका लागि ‘युरेका’ मोमेन्ट डेनमार्कविरुद्धको ३९औं मिनेटमा आयो । जब स्पेनका फुलब्याक सर्जियो रामोसले स्पेनका लागि दोस्रो गोल गरे । र, स्पेन समूह विजेताको रूपमा युरो २००८ का लागि छनोट भयो ।
त्यति मात्रै होइन, स्पेनको त्यो यात्राले नयाँ स्पेनिस फुटबलको उदय भएको संकेत दियो । जुन स्पेनिस टोलीमा पास र ‘कलेक्टिभ वर्क’नै मुख्य शुत्र बन्यो ।
त्यसबेला स्पेनिस फुटबलका स्पोटिङ डाइरेक्टर रहेका फर्नान्डो हिएरो सम्झिन्छन्, ‘त्यो खेलअघि एकदमै धेरै तनाव थियो । र, तनावको कारण त्यो खेलको महत्त्व थियो ।’
‘डेनमार्क त्यो बेला एकदमै बलियो टोली थियो । तर, हामी एकदमै शान्त थियौं र लुइस एरागोनेसमाथिको विश्वास त्यो शान्तिको कारक थियो,’ फिएरो भन्छन्, ‘लुइसले- चिन्ता नगर… हामी भोलिको खेल ३-१ ले जित्छौं…’ भनेका थिए । र, अविश्वसनीय तरिकाले हामीले त्यसै स्कोरलाइनमा खेल पनि जित्यौं ।’
खेल शैली परिवर्तन भएकोबारे मिडफिल्डर मार्कोस सेन्नाले भने, ‘पहिलो पटक एरागोनेसले बीचमा छोटो पास खेल्ने खेलाडीलाई छनोट गरेका थिए ।’
प्रशिक्षक एरागोनेसले आफ्नो विदाइमा प्रशस्त मिडफिल्डर दिए । बल पासल गर्ने खेलाडी दिए । यो प्रशंगमा उनले कयौं पटक मसला पनि थपिदिएका थिए । उनले धेरै स्थान र समयमा जाभी, एन्द्रेस इनिएस्टा र सान्टी कार्जोलासँग सोधेका थिए- तिमी कसरी खेल जित्छौ ? गोल गरेर ? होइन ? किन तिमी धेरै गोल गर्दैनौ ?
एरागानेसले स्पेनमा रोपेको हेर्न सुन्दर लाग्ने त्यो सर्ट पास फुटबलको बीउ स्पेनिस फुटबलमा प्रभावकारी पनि सावित भयो ।
०००
‘अभिसापको अन्त्य– युरो २००८’
युरो २००८ को फाइनल प्रतियोगितामा स्थान सुरक्षित गरेसँगै अस्ट्रिया र स्वीटजरल्यान्डमा स्पेनलाई ४४ वर्ष लामो उपाधिहीन यात्रामा पूर्णविराम लगाउने मौका थियो ।
‘म त्यो अस्ट्रिया पुगेको दिन सम्झिन्छु,’ त्यो टोलीका लेफ्ट-ब्याक जोन क्यापडेभिला भन्छन्, ‘हामी त्यहाँ मध्य दिउँसो पुगेका थियौं । सोझै ट्रेनिङमा जानु सामान्य कुरा थियो । तर, प्रशिक्षक लुइले हामीलाई भोलिसम्मका लागि छुट्टी दिए । कल्पना गर्नुहोस् ! हामी त तीन छक्क पर्यौंः हामी त्यहाँ पुगेका मात्र के थियौं उनले हामीलाई छुट्टी दिए ।’
‘मलाई लाग्छ हामीले त्यसै समयबाट जित्न सुरु गरेका थियौं । किनभने, लुइसलाई थाहा थियो त्यसले हामीलाई अझ नजिक बनाउने छ । जसको प्रत्यक्ष नतिजा खेलमा पनि देखिन्छ,’ उनले भने ।
समूह चरण पार गरेसँगै स्पेनले क्वार्टरफाइनलमा इटालीको सामना गर्नुपर्यो । इटालीलाई त्यस बेलासम्म कहिले पनि ठूला प्रतियोगितामा स्पेनले पराजित गर्न सकेको थिएन ।
‘यसले स्पेनिस फुटबलमा नयाँ आयाम थप्यो,’ क्यापडेभिलाले भने, ‘उनीहरू प्रतिष्ठित टोली थिए र हामीमाझ ठूला टोलीहरूसँग सँधै हार्ने ‘हुडो’ थियो । हामीले राम्रो खेले पनि हारिरहेका थियौं ।’
त्यो खेलमा पनि स्पेनले बल पोसेसन र आक्रमणमा प्रभुत्व जमाएको थियो । तर, गोल हुन सकेन गोलरहित बराबरीमै निर्धारित टुङ्गिएको थियो । र, खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।
एरागोनेसले आफ्ना असिस्टेन्ट जोसे उफार्टेलाई पेनाल्टी सुटआउटको तयारी गर्न अह्राए । त्यो बेला स्पेनको फिटनेस कोच जेसुस पेरेडेस त्यो समय सम्झिँदै भन्छन्, ‘उफार्टेले पेनाल्टीको तयारी गर्न थाले । र, पेनाल्टी लिने खेलाडीको सूची बनाउन थाले । उनी एक/दुई खेलाडीलाई लिएर उनी अन्योलमा थिए र उनले एरागोनेससँग सल्लाह मागे । त्यतिकैमा एरागोनेसले भने ‘देखाऊ मलाई…’ र उनले च्याते र फ्याब्रिगासलाई अन्तिम पेनाल्टी टेकर बनाए ।’
‘म बीचको लाइनमा थिएँ र त्यो गोल हेर्न सकिरहेको थिइँन,’ उनी भन्छन्, ‘जियानलुइजी बुफोन एकदमै ठूला थिए । उनी दानब जस्ता देखिन्थे । मलाई थाहा छैन कसरी सेसले त्यो पेनाल्टीमा गोल गर्न सफल भए । यदि म अन्तिम पेनाल्टी टेकर भएको भए मलाई एकदमै टाउको दुखाइको विषय हुन्थ्यो । म सिनियरमध्ये एक खेलाडी थिएँ ।’
तर, फ्याब्रिगासको गोलसँगै स्पेनले जित्यो र सेमिफाइनलमा पुग्यो ।
फ्याब्रिगासले उफ्रिएर एकदम संयमतासहित बुफानेको बायाँतर्फ प्रहार गरेका थिए । र, सोही पेनाल्टीमार्फत् इटालीलाई पहिलो पटक ठूला प्रतियोगितामा स्पेनले पराजित गर्यो । इटाली चारमध्ये दुई पेनाल्टीमा चुकेको थियो भने स्पेनले एउटा मात्र खेर फालेको थियो ।
पछि ड्रेसिङ रूममा पेरेडेसले फ्याब्रिगासको तारिफ गर्दै भने, ‘ग्रेट पेनाल्टी सेस- तिमी आत्मविश्वासी देखियौ ।’
‘जिजस’ प्रतिउत्तरमा फ्याब्रिगासले भने, ‘यो मैले १४ वर्षको उमेर यता लिएको पहिलो पेनाल्टी थियो ।’
स्पेनको सबैभन्दा प्रभावकारी फुटबल अखबार एएसका पूर्व प्रधानसम्पादक अल्फ्रेडो रेलानो भन्छन्, ‘त्यो समयमा मेरा लागि सबै कुरा परिवर्तन भयो ।’
‘त्यसपछि, कहिल्यै पनि स्पेनिस राष्ट्रिय फुटबल टोलीलाई लिएर मेरो मनमा आशंका रहेन । न युरो २००८ का लागि न त्यसपछि कहिल्यै,’ अल्फ्रेडो भन्छन्, ‘हामीले एउटा अभिसापलाई टारेको जस्तो लाग्यो । हामी एकदमै राम्रो खेलिरहेका थियौं । र, त्यो माहोलले पूरा स्पेन गर्मिएको थियो । हामीले त्यो समयदेखि निराशा छाड्यौं ।’
हिएरो थप्छन्, ‘त्यही समय थियो, जब स्पेन ‘डोमिनेन्ट’ फोर्स बन्यो । त्यो पल थियो- जब हामीले इतिहास बदल्यौं ।’
स्पेनको पुस्ताका लागि नै त्यो एक अविस्मरणीय क्षण रह्यो । तत्कालीन प्रधानमन्त्री जोसे लुइस जापाटेरोका लागि पनि त्यो एक सफलताको क्षण रह्यो ।
२००८ मा युरो जितेपछि प्रशिक्षकसँग खुसी मनाउँदै स्पेनिस टोली ।
‘मेरो उमेर समूहका मानिसको तर्फबाट पनि सेसले सधैं सम्मान पाउनेछन्,’ हिएरो भन्छन्, ‘किनभने त्यो बेलासम्म हामीले स्पेनले क्वार्टरफाइनल पार गर्न सक्छ भन्ने सोचेकै थिएनौं ।’
ठूलो आशंका र द्विविधाबाट मुक्त स्पेनले सेमिफाइनलमा रुसको सामना गर्यो । बदलिएको र उच्च मनोबलसहित मैदानमा उत्रिएको स्पेनिस टोलीले रुसविरुद्ध प्रतियोगिताकै उत्कृष्ट नतिजा ३-० गोलको नतिजामा जित हासिल गर्दै २४ वर्षपछि पहिलो पटक ठूला प्रतियोगिताको फाइनल यात्रा तय गर्यो ।
‘प्रतिक्षाको घढी टुङ्गियो,’ क्यापडेभिला भन्छन्, ‘सेमिफाइनलमा स्पेनिस टोलीको उत्कृष्टताको प्रदर्शन भयो । त्यो समय हामीसँग डरलाग्दो आत्मविश्वास थियो । र, हामीलाई पनि चाहे जे सुकै होस्, हामी फाइनल जित्न सक्छौं भन्ने भान भयो ।’
०००
अन्तिम परीक्षा जर्मनीसँग
जर्मनीविरुद्ध फाइनलको अघिल्लो दिन एरागोनेसले टीमसँग कुरा गरे । र, एरागोनेसले त्यो समय भनेका कुरा त्यो टोलीमा भएका खेलाडीले अहिलेसम्म पनि सम्झिन्छन् ।
‘ट्रेनिङका दौरान एरागोनेसले हामी सबैलाई पिचको बीचमा बोलाए,’ क्पाडेभिला सम्झिन्छन्, ‘एरागोनेसलके भने– वालेसले भोलि खेल्दैनन्…’ यति सुनेर हामी सबै सोचिरहेका थियौं… वालेस ? को वालेस ? यत्तिकैमा जाभीले सोधे– बोस… को वालेस ? तपाईंको मतलब बालाक ?’
‘जेसुकै भए पनि म उनलाई वालेस भन्छु,’ एरागोनेसले त्यसबेला भने, ‘त्यसले फाइनलका लागि भएको चिन्ता हरायो र हामी सबै हाँस्यौं ।’
जुन २९, २००८ को भिएनामा एरागोनेसको प्रभाव फेरि एकपटक महत्त्वपूर्ण सावित भयो ।
युरो २००८ को फाइनलमा टोरेसले जर्मनीविरुद्ध गरेको एक मात्र गोल ।
फाइनल अगाडि ड्रेसिङ रूममा उनले स्ट्राइकर फर्नान्डो टोरेसलाई भने- निनो! दुई सेन्टर ब्याकको बीचमा बस । त्यसो गर्दा उनीहरू पछाडि बस्न बाध्य हुन्छन् । र जब हामीसँग बल हुन्छ, तिमी उक साइड हेरेर दौडेऊ ।’
तत्कालिन लिभरपुलका फरवार्ड टोरेसले उक्त खेलमा जर्मनीवरुद्ध एक मात्र निर्णायक गोल गरेका थिए ।
पछि हेर्दा एरागोनेसको त्यो व्याख्या/निर्देशन जर्मनीको डिफेन्स ब्रेक गर्ने ‘निन्जा टेक्निक’ थियो । र, टोरेसले त्यसरी नै रन बनाएर जाभकिो ‘थ्रु–बल’मा स्पेनका लागि विजयी गोल गरेका थिए ।
डेभिड भिया भन्छन्, ‘कयौं काला रातहरूपछि, जुनसुकै कारणले जहिले युरो र विश्वकपबाट आफ्नो टोली ‘नक्ड आउट’ भइरहेका थियो …. तर त्यो दिन अन्ततः देशले राहतको सास फेर्यो ।
स्पेनका लागि त्यो एउटा सुरुआत मात्र थियो । त्यसपछि पनि स्पेनले त्यो ‘डरलाग्दो आत्मविश्वास’ र विजयी यात्रालाई कायम राख्यो, तर एरागोनेस बिना । तर, उनले नै देखाइदिएको मार्गबाट ।
०००
एरागोनेसले २००७ को सेप्टेम्बरमा नै जिते पनि हारे पनि उनले छाड्ने घोषणा गरेका थिए ।
स्पेनिस फुटबल संघले उनको स्थानमा रियाल मड्रिडका पूर्व प्रशिक्षक भिसेन्ट डेल बोस्कलाई नियुक्त गर्यो । युरो च्याम्पियन बनेर स्पेनिस टोलीको स्वदेश फर्किँदा उनीहरू चढेको विमान एक घण्टा एयर ट्राफिक जामका कारण ढिलो अवतरण भएको थियो । विमानस्थलबाट बाहिर निस्किँदा स्पेनिस टोली ‘लुइस–क्युदते’ अर्थात् ‘लुइस– बस’को ‘नन-स्टप’ च्यान्टमा रुमलियो ।
स्पष्ट रूपमा त्यो समर्थन र माग देखेर एरागोनेसले आफ्नो मनस्थिति परिवर्तन गर्ने सम्भावना थियो । र, स्पेनिस टोलीका धेरै खेलाडी उनको समर्थनमा थिए । तर, यो निर्णय स्पेनका स्पोर्टिङ निर्देशक हिएरोको हातमा रह्यो । हिएरोले अगाडि नै निर्णय भइसकेकाले डेल बोस्कलाई नै प्रशिक्षक बनाउने निर्णय लिए ।
‘मेरो दिमागमा केही पनि आशंका र द्वुविधा थिएनन्, र मलाई मेरो निर्णय सहि छ भन्ने विश्वास थियो,’ उनले भने, ‘मेरो निर्णय क्लियर थियो ।’
विश्व फुटबलमा एक विवादास्पद नाम- लुइस एरागोनेस । जसले फुटबलप्रति पागल देशमा सफलताको बहार ल्याएका थिए । तीनै एरागोनेसको सन् २०१५ को फेब्रुअरी १ तारिखमा ७५ वर्षको उमेरमा मृत्यु भयो ।
क्यापडेभिला भन्छन्, ‘हामी उनले पुर्याएको योगदानप्रति सधैँ कृतज्ञ छौं । पहिलो कुरा क्षमतावान् खेलाडीले भरिएको एउटा मजबुत टोलीको निर्माण र दोस्रो आफ्नो फुटबलको बारेमा भएको ज्ञान प्रमाणित जसरी गरे त्यो सराहनीय छ । हामी सबैसँग उनसँग बिताएका मिठा अनुभवहरू छन् । उनको कमी हामीलाई महसुस हुन्छ ।’
विश्व फुटबलमा राज
सुरुआतदेखि नै डेल बोस्कले आफूसँग सफलताको स्पष्ट- ब्लुप्रिन्ट रहेको बताएका थिए । उनले स्पेनिस टोलीमा २०१० को विश्वकप अगाडि एक चौथाइ र युरो २०१२ अगाडि एक चौथाइ परिवर्तन गरेका थिए ।
केही अनुहार फेरिए पनि स्पेनिस टोलीको ‘स्प्रिन्ट’मा केही तलमाथि भएन । युरोपियन च्याम्पियन स्पेन छनोटमा अपराजित रहँदो २०१० मा विश्वकप खेल्न अफ्रिका पुग्यो । उत्कृष्ट फर्ममा रहँदो अफ्रिका पुगे पनि विश्वकप यात्राको सुरुआत सुखद् रहेन । समूह चरणको पहिलो खेलमा स्वीटजरल्यान्डसँग १-० ले पराजित हुँदै स्पेनले विश्वकप यात्रा सुरु गरेको थियो ।
‘त्यो हाम्रा लागि धेरै पछाडि धकेल्ने कुरा थियो । हामीले त्यस्तो होला भन्ने न सोचेका थियौं, न त्यसका लागि तयारी नै गरेका थियौं,’ प्रशिक्षक डेल बोस्कले भने, ‘हामीले कसैलाई आरोप लगाएनौं । हामी सबैले त्यसको जिम्मेवारी लियौं ।’
त्यसपछि स्पेनिस टोलीको आत्मविश्वासमा कति पनि कमी आउन दिइएन । तर, होन्डुरसविरुद्धको खेलअघिको चिन्ता स्पष्ट थियो । केही समयपछि भियाले भनेका थिए- त्यो स्पेनका लागि विश्वकपकै सबैभन्दा कठिन क्षण थियो ।’
बाँकी दुई खेलमा जित निकाल्दै समूह चरणबाट नकआउटमा पुग्ने मौका बाँकी थियो । तर, होन्डुरसविरुद्धको खेलमा पराजित भए करिब-करिब प्रतियोगितामा अगाडि बढ्ने ढोका बन्द हुने थियो ।
होन्डुरसविरुद्ध स्पेनले २-० को महत्त्वपूर्ण जित हासिल गर्यो । तर, अन्तिम खेलमा चिलीसँग बराबरीमा रोकिए पुन: स्पेन प्रतियोगिताबाट बाहिरिने निश्चित थियो । त्यो खेलअघि दुवै प्रशिक्षकको मौनताले सबैकुरा बयान गरिरहेको थियो ।
डेल बोस्क त्यो वातावरण यसरी सम्झिनछन्- केही वर्ष अगाडि एक प्रशिक्षक थिए, जसलाई खेलको आधा घण्टा अगाडि ड्रेसिङ रुम एकदमै शान्त चाहिन्थ्यो । सबैले एकदमै ध्यान दिनुपर्थ्यो । तर, त्यो टोलीलाई राम्रो मुड बनाउनका लागि ‘इनर्जेटिक’ गीत त्यो पनि ठूलो स्वरमा बजाउनु पर्थ्यो ।’
‘होन्डुरस र चिलीविरुद्धको खेलमा भने हामी प्लेनको आवाज सुन्न सक्थ्यौं’ डेल बोस्क भन्छन्, ‘त्यसबाट पनि टोलीमा कति दबाब छ भन्ने स्पष्ट हुन्थ्यो ।’
०००
समूह चरणको अन्तिम खेलमा चिलीलाई २-१ को नजितामा पराजित गर्दै स्पेनले समूह चरण पार गर्यो । त्यो बेला डेल बोस्कले खेलाडीलाई उनीहरूका अगाडि चार फाइनल रहेको बताएका थिए । अन्तिम १६, क्वार्टरफाइनल, सेमिफाइनल र फाइनल सबै फाइनल नै थिए ।
अन्तिम १६ मा पोर्चुगललाई हराएको स्पेनले ऐतिहासिक क्वार्टरफाइनलमा पाराग्वेलाई पराजित गर्यो । त्यो बेलासम्म कहिले क्वाटर्रफाइनल पार नगरेको स्पेन फेरि एकपटक सफलताको नजिक पुगेको थियो ।
‘सबैले पाराग्वेलाई स्पेनले सहजै हराउने सोचका थिए । तर, त्यति सहज थिएन,’ क्पाडेभिला भन्छन् ।
पाराग्वेले आफ्नो जीवन त्यसै खेलमा अड्किएझैँ ज्यान दिएर खेलेको थियो । डेभिड भियाले खेलपछि भनेका थिए- यस्तो लाग्थ्यो कि उनीहरू ११ होइन २० जना खेलाडी मैदानमा थिए ।
स्पेनका लागि यो खेल यसकारण पनि एकदमै महत्त्वपूर्ण र कठिन भयो कि पाराग्वेविरुद्ध जाभी एलोन्सोले दुई पटक लिइएको पेनाल्टीमा गोल गर्न सकेनन् । त्यसमाथि इकर कासियासले पाराग्वेका खेलाडीले प्रहार गरेको पेनाल्टी रोकेका थिए ।
‘यो एक ‘पागल’ खेल थियो, तपाईँलाई थाहा छ, त्यो खेलमा पहिलो गोल जसले गर्यो त्यसले जित्ने थियो,’ भियाले भने ।
पाराग्वेविरुद्धको खेलमा गोलपछि खुसी मनाउँदै स्पेनिस टोली ।
डेल बोस्क पनि त्यो खेल राम्ररी सम्झिन्छन्- ‘त्यो समयमा मेरा खुट्टा काँपिरहेका थिए । त्यो अवस्थामा कसैले केही कुरा पनि नियन्त्रणमा राख्न सक्दैन ।’
त्यो खेलमा भियाले हेडरमार्फत प्रहार गरेको बल दुवै पोस्टमा ठोकिएर अनौठो तरिकाले गोलमा परिणत भएको थियो । त्यो गोल हेर्दा लाग्थ्यो कि बलले पोस्ट भित्र नपस्नका लागि हरसम्भव प्रयास गरिरहेको थियो । ‘त्यो एक गोल्डेन गोल थियो । मेरो करिअरको सबैभन्दा महत्त्वपूर्ण खेल थियो ।’
०००
सेमिफाइनलमा स्पेनको भेट जर्मनीसँग निश्चित भयो । २००८ युरोको फाइनल जस्तै । स्पेनले प्रतियोगिताको सबैभन्दा उत्कृष्ट प्रदर्शन सेमिफाइनलका लागि साँचेर राखे झैँ खेल्यो । र, बार्सिलोनाका डिफेन्डर कार्लोस पुयोलले एक मात्र निर्णायक गोल गरे ।
जर्मनीविरुद्धको सेमिफाइनलमा पहिलो हाफ गोलरहित बराबरीमा टुङ्गिएको थियो । मध्यान्तरमा स्पेनिस टीम ड्रेसिङ रुमतर्फ जाँदै गर्दा जाभीले पुयोललाई भन्दै थिए- ‘यदि हामीले कर्नर पायौं भने पुयोल तिमी पेनाल्टी स्पटमा बस ।’
जाभीले पुयोललाई पेनाल्टी स्पटमा बस्न र पछिल्लो खेलमा बार्सिलोनाबाट रियाल मड्रिडविरुद्ध गरेको जस्तै गोल गर्ने प्रयास गर्न सल्लाह दिएका थिए ।
र, सोचेजस्तै भयो । पुयोलले दोस्रो हाफमा गरेको गोलसँगै तीन नकआउट स्टेजमा जित निकाल्दै स्पेन पहलिो पटक फाइनलमा पुग्यो । जोहान्नेसबर्गमा हुने फाइनलमा स्पेनको भेट नेदरल्यान्ड्ससँग तय भयो ।
तत्कालीन प्रधानमन्त्री जापाटेरो फाइनल अगाडिको क्षण यसरी सम्झिन्छन्- ‘म मेरी श्रीमती र छोरीसँग थियौं । र, हामीले एक अर्कालाई त्यति चिन्तित कहिले पनि देखेका थिएनौं । एउटा फुटबल म्याचलाई लिएर मेरी श्रीमतीको त्यो चिन्ता मैले कहिल्यै देखेका थिइनँ ।’
डेल बोस्क भन्छन्- ‘हामी हाम्रो देश बचाइरहेका थियौं । त्यति मात्रै होइन हाम्रो स्टाइलको फुटबल पनि हामी बचाइरहेका थियौं ।’
क्यापडेभिला त्यो भन्दा धेरै फिजिकल फुटबल कहिले नभउको बताउँछन् । ‘हामी बल पोसेसनमा उनीहरूभन्दा उत्कृष्ट देखिएका थियौं । र, उनीहरूले हामीलाई रोक्ने एक मात्र तरिका ‘एग्रेसन’ थियो,’ उनी भन्छन्, ‘तर, त्यो अत्यधिक थियो । म चकित भएको थिएँ ।’
सबैले त्यो खेल पेनाल्टी सुटआउटमा जान्छ भन्ने अनुमान गरिरहेका थिए । त्यसअघि दोस्रो हाफमा डच टोलीका लागि आर्जेन रोबिनले एक सुन्दर मौका खेर फालेका थिए । तर, अतिरिक्त समयमा धकेलिएको खेलको ११६औं मिनेटमा एन्द्रेस इनिएस्टाले गरेको गोलले फेरि स्पेनिस फुटबलको इतिहास लेख्यो ।
‘बल मेरो खुट्टामा आउँदा मसँग दुई विकल्प थिए,’ फ्याब्रिगास भन्छन्, ‘एउटा प्रहार गर्ने अर्को पास दिने । म अहिलेसम्म पनि सोच्छु, मैले त्यो प्रहार गरेको भए के हुन्थ्यो ? तर, मैले इनिएस्टालाई उत्कृष्ट पोजिसनमा देखेँ र मेरा लागि त्यो करियरको उत्कृष्ट क्षण थियो । र, मैले इनिएस्टालाई पास दिएँ ।’
‘कर्नर फ्ल्यागसम्मको त्यो ७० मिटरको दौड मेरो जीवनकै सबैभन्दा छिटो थियो,’ क्यापडेभिला भन्छन्, ‘मैले त्यो बेलामा ग्यारेथ बेललाई पनि पछाडि छाड्थेँ होला । तर, त्यो मेरो जीवनको सबैभन्दा सशक्त, सबैभन्दा अविस्मरणीय क्षण थियो । त्यो एकदमै नयाँ क्षण थियो । सम्झिनका लागि त्यो क्षण एकदमै इमोसनल र युनिक थियो ।’
डेभिड भिया भन्छन्- ‘हामीले यो प्रतियोगिता ब्राजिल, इटाल र जर्मनीका लागि रहेछ । हामीले रातो जर्सी लगाएर त्यो ट्रफी उचाल्छौं भन्ने कहिले कल्पना गरेका थिएनौ । र, त्यो उपाधि जित्नु एकदमै गाह्रो र असम्भव लाग्थ्यो ।’
क्यापडेभिला थप्छन्, ‘फुटबल पिचमा मेरो जीवनको सबैभन्दा इमोसनल क्षण विश्वकपको उपाधि उचालेर सम्मानकालागि ल्याप बनाउँदै गर्दाको थियो । म लामो समयदेखि संघर्ष गरिरहेका आमाबुबालाई स्टेडियममा रोएको देखिरहेको थिएँ । मेरी आमाले त्यो खेल हेर्नका लागि एक हजार २ सय युरो तिरेकी थिइन् ।’
‘तपाईंले त्यो बेलामा धेरै कुरा सम्झिनुहुन्छ । जस्तैः धेरै सानो हुँदा उहाँहरूले मलाई हरेक दिन ट्रेनिङमा लैजाने र ल्याउने गर्नुहुन्थ्यो । त्यो बेलामा उहाँहरूले गरेको बलिदानको फल ८० हजार मानिसका अगाडि पाउनु मेरालागि सन्तोषजनक थियो,’ क्यापडेभिला भन्छन्, ‘यो सोचभन्दा बाहिरको कुरा थियो, मेरा बुबाआमाको रुवाइ एकदमै भावनात्मक थियो ।’
लगातार तीन पटक- इतिहास लेखिएको थियो
स्पेन २०१२ युरोको प्रमुख दाबेदारको रूपमा पोल्यान्ड र युक्रेन पुग्यो । तर, स्पेनिस फुटबलका सबै समर्थक थिएनन् ।
‘उनीहरू धेरै प्रहार किन गर्दैनन् ?’ जर्मनीका विश्वकप विजेता पूर्व कप्तान फ्रान्ज बेक्कनबाउरले स्पेनबारे सोध्दा प्रश्न उठाए ।
तर, विभिन्न आलोचनाका बाबजुद स्पेन त्यस अघिभन्दा पनि प्रभावशाली देखियो । पूर्व प्रधानमन्त्री जापाटेरोको शब्दमा ‘युरो २०१२ को फाइनल एरागोनेस र डेल बोस्कले निर्माण गरेको टोलीको सबैभन्दा उत्कृष्ट क्षण थियो । त्यो टोली घडीको ‘क्लबवर्क मेकानिजस’ जस्तो थियो ।’
कसैले पनि त्यो बेलासम्म ४-० को नतिजा निकाल्दै त्यति सहज तरिकाले फाइनल जितेको थिएन । र, त्यो अपत्यारिलो फाइनल विजयसँगै स्पेन लगाता तीन ठूला प्रतियोगिता जित्ने पहिलो टोली बनेको थियो ।
तत्कालीन प्रशिक्षक त्यो फाइनललाई आफ्नो टोलीले खेलेको ‘सबैभन्दा उत्कृष्ट फुटबल म्याच’ भएको दाबी गर्छन् ।
हिएरो भन्छन्, ‘उनीहरूले आफूलाई स्पतेको जर्सीमा विजेता देखेका थिए । र, जब उनीहरूसँगै अन्तर्राष्ट्रिय स्तरमा सँगै उत्रिन्थे आफूलाई विजेता देख्थे । जो जित्न बानी परिसकेका थिए ।’
‘खेलाडीहरू एक-अर्काबीच एकदमै ‘कम्फोर्टेबल’ थिए । र, जितिरहेका बेला यो अझ सहज बन्छ,’ हिएरो भन्छन्, ‘तर, यथार्थमा उनीहरू जुन ‘फिलोसोपी’को फुटबल खेलिरहेका थिए, त्यसमा कम्फोर्टेबल थिए । त्यो फिलोसोपीले स्पेनिस फुटबललाई एकदमै सशक्त बनाएको थियो ।’
२००८ मा स्पेनलाई युरो जिताउन निर्णायक गोल गरेका टोरेस २०१२ मा छोरीहरूसँग खुसी साट्दै ।
‘मैले कस्तो सौभाग्य प्राप्त गरेँ, के-के कुराको अनुभव बटुलेँ ? त्यो मेरा छोराछोरी र नातिनातिनीलाई आगामी वर्षहरूमा कथा सुनाउने छु,’ क्यापडेभिला भन्छन्, ‘म त्यो सुनाउन अहिलेदेखि नै हतारिएको छु । म एकदमै भाग्यशाली रहेँ । मैले विश्वका केही उत्कृष्ट खेलाडीहरूसँग ड्रेसिङ रूम सेयर गर्ने मौका पाएँ ।’
तर, ऐतिहासिक तीन लगातार उपाधि जितेर ब्राजिल पुगेको स्पेसिन टोलीको क्याबिनेटमा अर्को ट्रफी थप्ने सपना त्यति नै छिटो टुट्यो । २०१४ विश्वकपमा त्यो विश्व विजेता स्पेनको प्रभुत्व समाप्त हुँदै गएको संकेत स्पष्ट रूपमा देखियो ।
त्यो खेलाडीहरूको आत्मसन्तुष्टिको नतिजा थियो ? पुराना खेलाडीमाथि देखाइएको बफादारी घातक भयो ? कि, ६ वर्षसम्म विश्व फुटबलमा राज गरेको स्पेनिस फुटबल ‘एरा’को सामान्य समाप्ति थियो ?
२०१४ विश्वकपमा सुरुआती दुई खेलमा पराजित हुँदै समूह चरणबाटै बाहिरिनु सायद यी सबै कुराको मिश्रण थियो ।
प्रशिक्षक डेल बोस्क यो पुस्तालाई एक गिफ्ट दिन चाहन्थे । तर, त्यो एराको समाप्ति सुरुआत पनि त्यसरी नै भयो, जसरी विश्व फुटबलमा राज गर्न निस्केको स्पेनले सुरुआत गरेका थियो । त्यो नेदरल्यान्डविरद्धको खेलमा रोबिन भान पर्सीले गरेको गोल त्यसको ज्वलन्त उदाहरण थियो ।
विश्वकप २०१४ मा समूह चरणको पहिलो खेलमा जाभी एलोन्सोले पेनाल्टीमार्फत गोल गरेसँगै स्पेनले १-० को अग्रता लिएको थियो । तर, भान पर्सीको अविश्वसनीय हेडरमार्फत् बराबरी गरेको नेदरल्यान्ड्सले १-५ को जित निकालेको थियो ।
तर, बिलय जसरी भए पनि स्पेनिस फुटबलको त्यो स्वर्णीम पुस्तालाई विश्व फुटबलको सबैभन्दा सफल टोलीको रूपमा सम्झिइने छ । त्यो टोलीको रूपमा चिनिने छ, जसले फुटबल खेल्ने नयाँ शैलीको प्रतिपादन गर्यो । जितको पार्टी त सकियो । तर, कस्तो पार्टी ६ वर्षसम्म चलेको थियो, त्यो सधैं अविस्मरणीय रहने छ।
काठमाडौं । गुइदो रोडरिग्वेजको निर्णायक गोलप्रेरित अर्जेन्टिनाले कोपा अमेरिकाको समूह ‘बी’ अन्तर्गत शनिबार बिहान भएको खेलमा उरुग्वेलाई १-० को नतिजामा पराजित गरेको छ । पहिलो खेलमा चिलीसँग १-१ गोलको बराबरीमा रोकिएको अर्जेन्टिनाको प्रतियोगितामा यो पहिलो जित हो ।
स्टार फरवार्ड लियोनेल मेसीको कप्तानीमा मंदानमा उत्रिएको अर्जेन्टिनालाई जित दिलाउन १३औं मिनेटमा रोडरिग्वेजले गरेको एक मात्र गोल पर्याप्त भयो ।
कर्नरमार्फत् रोडरिगो डी पौलले मेसीलाई छोटो पास दिएका थिए । सोही बलमा मेसीले दिएको बाँयातर्फबाट गरेको क्रसमा रोडरिग्वेजले हेडरमार्फत् गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए ।
— CONMEBOL Copa América™️ (@CopaAmerica) June 19, 2021
प्रतिस्पर्धात्मक खेलमा बल पोसेसनमा प्रभुत्व जमाएको उरुग्वेले गोलका लागि केही अवसर सिर्जना गरे पनि फिनिसिङ प्रभावकारी नुहँदा प्रतियोगिताको पहिलो खेलमै हार बेहोर्नु पर्यो ।
अर्जेन्टिनाले आफ्नो अर्को खेलमा मंगलबार पारग्वेको सामना गर्नेछ भने उरुग्वेले पनि सोही दिन चिलीसँग खेल्ने छ ।
काठमाडौं । बेन ब्रेरेटोनको निर्णायक गोलप्रेरित चिलीले कोपा अमेरिकामा शुक्रबार राति बोलिभियालाई १-० को नतिजामा पराजित गरेको छ । ब्राजिलको एरिना पान्तानालमा भएको खेलको १०औं मिनेटमा ब्रेरेटोनले गरेको गोलसँगै चिलीले अग्रता लिएको थियो ।
सुरुआती १० मिनेटसम्म ९० प्रतिशत बल पोसेसनमा प्रभुत्व जमाएको चिलीका एडुवार्डो भरगासको पासमा ब्रेरेटोनले गोल गरेका थिए । उक्त गोलसँगै १-० ले पछि परेको बोलिभियाले तीन पटक गोलपोस्टमा प्रहार गरे पनि सफल हुन सकेन ।
जारी प्रतियोगिताको समूह ‘बी’ मा चिलीको यो पहिलो जित हो । पहिलो खेलमा चिली अर्जेन्टिनासँग १-१ गोलको बराबरीमा रोकिएको थियो भने बोलिभिया पाराग्वेसँग ३-१ गोलको नतिजामा पराजित भएको थियो ।
दुई समूहबाट उत्कृष्ट चार टोली क्वार्टरफाइनलमा पुग्ने छन् । यद्यपि, सुरुआती दुई खेलमा अंकविहीन बनेको बोलिभियाको नकआउट प्रवेश सम्भावना कठिन देखिएको छ । बोलिभियाले अर्को खेलमा शुक्रबार उरुग्वेसँग खेल्ने छ ।
काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग डिभिजन-२ अन्तर्गत स्पेनमा हुने नेपाल, नामिबिया र स्कटल्याण्डबीचको ट्राई-सिरिजमा सहभागी हुने नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षणको लागि २० सदस्यीय प्रारम्भिक टोली चयन भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार एक विज्ञप्ति जारी गर्दै खेलाडिको सूची सार्वजनिक गरेको हो ।
काठमाडौं । क्रिस्टियानो रोनाल्डोले कोका–कोलाको बोटल हटाएसँगै सुरु भएको स्पोनसरको बोतल हटाउने लहर चलेपछि युइएफले युरो २०२० मा सहभागी टोलीहरूलाई त्यस्तो नगर्न आग्रह गरेको छ ।
युरो २०२० कै पत्रकार सम्मेलनका दौरान आफ्नो कुर्सी नजिक भएका स्पोनसर ड्रिङ्क्सका बोतल रोनाल्डो, पौल पोग्बा र म्यानुएल लोकाटेलीले हटाएका थिए ।
युरो २०२० का प्रतियोगिता निर्देशक मार्टिन कालेनले भने- हामीले यसबारे टोलीहरूसँग कुरा गरिसक्यौं ।
‘यो आवश्यक थियो, किनभने प्रतियोगिताका लागि प्रायोजकबाट आउने आम्दानी महत्त्वपूर्ण छ,’ कालेनले भने ।