Category: खेल प्रेस

  • ओलम्पिक फुटबलमा सर्वाधिक गोलकर्ता को हुन् ? सूचीमा टेभेजदेखि नेइमारसम्म

    ओलम्पिक फुटबलमा सर्वाधिक गोलकर्ता को हुन् ? सूचीमा टेभेजदेखि नेइमारसम्म

    काठमाडौं । सन् १९९२ देखि ओलम्पिक गेम्समा यु-२३ फुटबल टोलीले खेल्न थालेको हो । जुनसुकै टोलीमा पनि बढीमा तीन जना खेलाडी मात्रै २३ वर्षभन्दा माथिका समावेश गर्न पाइने नियम छ ।

    ओलम्पिक फुटबलको इतिहासका सर्वाधिक सफल टोली- हंगेरी र संयुक्त अधिराज्य हुन् । ओलम्पिकको पुरुष फुटबलतर्फ दुवै देशले तीन/तीन पटक स्वर्ण जितेका छन् । हंगेरीले दुई रजत र एक कास्यसमेत जितेको छ ।

    विश्व फुटबलको ‘ट्र्याडिसनल जायन्ट’ अर्जेन्टिनाले पनि दुई पटक स्वर्ण पदक जितेको छ । अर्जेन्टिनाको चरम प्रतिद्वन्दी तथा पाँच पटकको विश्वकप विजेता ब्राजिलले एक पटक मात्र (२०१६)मा स्वर्ण पदक जितेको छ ।

    डेनमार्कका सोफुस नेलसन र हंगेरीका अन्तल दुनाई ओलम्पिकमा पुरुष फुटबलका सर्वकालीन सर्वाधिक गोलकर्ता हुन् । यी दुवै खेलाडीले आफ्नो देशको प्रतिनिधित्व गर्दै ओलम्पिकमा १३/१३ गोल गरेका छन् ।

    अर्जेन्टिनाका कार्लोस टेभेज र ब्राजिलका बेबेटोले समान ८ गोल गरेका छन् । यस्तै, दक्षिण अमेरिकी सुपर पावर- ब्राजिलकै नेइमार र रोमारियोले ७/७ गोल गरेका छन् ।

    ओलम्पिकको इतिहासकै सबैभन्दा छिटो गोल भने नेइमारको नाममा छ । २०१६ मा घरेलु मैदानमा भएको रियो ओलम्पिकमा ब्राजिलले स्वर्ण जित्दा नेइमारले होन्डुरसविरुद्ध १६ सेकेन्डमै गोल गरेका थिए ।

    १६ सेकेन्डमै नेइमारको कीर्तिमानी गोलसँगै अग्रता लिएको ब्राजिलले त्यो खेलमा ६-० को सहज जित निकालेको थियो ।

    ओलम्पिकमा पुरुष फुटबलतर्फ सर्वाधिक गोलकर्ताको सूची यस्तो छ:

    पोजिसन खेलाडी देश गोल संस्करण
    सोफुस नेलसन डेनमार्क १३ १९०८, १९१२
    अन्तल दुनाई हंगेरी १३ १९६८, १९७२
    फेरेन्च बेने हंगेरी १२ १९६४
    डोमिङ्गो तारास्कोनी अर्जेन्टिना ११ १९२८
    पेड्रो पेट्रोन उरुग्वे ११ १९२४, १९२८
    गोटफ्रिड फुच्स जर्मनी १० १९१२
    काजिमिरेज डेना पोल्यान्ड १० १९७२, १९७६
    हारोल्ड वाल्डेन ग्रेट ब्रिटेन १९१२
    भिल्हेल्म वोल्फागेन डेनमार्क १९०८, १९१२
    १० यान भोस नेदरल्यान्ड्स १९१२
    १० कार्लोस टेभेज अर्जेन्टिना २००४
    १० हराल्ड नेलसन डेनमार्क १९६०
    १० इब्राहिम रियाद इजिप्ट १९६४
    १४ हेक्टर स्कारोन उरुग्वे १९२४, १९२८
    १४ बेबेटो ब्राजिल १९८८, १९९६
    १६ जोन हान्सेन डेनमार्क १९४८
    १६ एन्थोन ओल्सेन डेनमार्क १९१२
    १६ गुनार नोर्दल स्वीडेन १८४८
    १६ एनिबेल फ्रोसी इटाली १९३६
    १६ हबर्ट काल्सेन स्वीडेन १९२०
    १६ ब्रान्को जेबेक युगोस्लाभिया १९५२
    १६ मिलन गालिच युगोस्लाभिया १९६०
    १६ कुनिसिङ्गे कामामोटो जापान १९६८
    १६ आान्द्रेज जुस्कोवाक पोल्यान्ड १९९२
    १६ रोमारियो ब्राजिल १९८८
    १६ नेइमार ब्राजिल २०१२, २०१६

     

  • टोकियो ओलम्पिकः पदक तालिकामा चीनको अग्रता, आज २१ स्पर्धाको फाइनल

    टोकियो ओलम्पिकः पदक तालिकामा चीनको अग्रता, आज २१ स्पर्धाको फाइनल

    एजेन्सी । ३२ औं ग्रिष्मकालीन ओलम्पिकमा छैटौं दिनको समाप्तीसम्म पदक तालिकामा चीनको अग्रता भएको छ । सुरुआती अग्रतापछि जापान अगाडी आए पनि विहीबार चीनले ३ स्वर्ण थप्दा जापानले २ स्वर्णमात्र जित्यो ।

    पछिल्लो पदकतालिका अनुसार चीन र जापानको समान १५ स्वर्ण भए पनि चीनको ४ रजत र १० कांस्य छ भने जापानले ४ रजत र ६ कांस्य जितेको छ । तेस्रो स्थानमा रहेको अमेरिकाले १४ स्वर्ण, १४ रजत र १० कांस्य जितेको छ । पदकको हिसावमा अमेरिका अगाडि छ ।

    यी बाहेक रुश ओलम्पिक कमिटी र अस्ट्रेलियाले ८–८ स्वर्ण जितेका छन् । संयुक्त अधिराज्यले ५ र दक्षिण कोरियालले ४ तथा फ्रान्स, जर्मनी र क्यानडाले ३–३ स्वर्ण जितेका छन् । सात राष्ट्रले २–२ स्वर्ण जितेको छ भने २३ देशले एक एक स्वर्ण जितेका छन् । अहिलेसम्म १ सय १५ स्वर्ण पदकको छिनोफानो भएको छ ।

    यसैगरी ओलम्पिकमा आज शुक्रबार १३ खेलका २१ स्पर्धाको फाइनल हुँदैछ । आर्चरीको महिला एकल, एथलेटिक्सको पुरुष १० हजार मिटर, ब्याडमिन्टनको मिक्स्ड डवल्स, क्यानोई स्लालोमको पुरुष टिम, साइक्लिङको महिला र पुरुष बीएमएक्स रेसिङ, फेन्सिङको पुरुष टिम ईपी तथा जुडोको महिला ७८ केजीमाथि र पुरुष १ सय केजीमाथि स्पर्धाको फाइनल हुँदैछ ।

    त्यस्तै रोइङको महिला र पुरुष एकल, महिला र पुरुषको आठजनाको टिमबीचको फाइनल हुनेछ । शुटिङमा महिलातर्फ २५ मिटर पेस्तोल, पौडीको महिला २ सय मिटर ब्रेष्टस्ट्रोक, पुरुष २ सय मिटर ब्याकस्ट्रोक, महिला १ सय मिटर फ्रिस्टाइल र पुरुष २ सय मिटर मिड्लेको फाइनल खेल हुनेछ । टेवलटेनिसमा पुरुष एकल, टेनिसमा पुरुष युगल र ट्राम्पोललाईनमा महिलातर्फको फाइनल खेल आज हुनेछ ।

  • ओलम्पिक एथलेटिक्सको सुरुआती चरणबाटै बाहिरिइन् सरस्वती

    ओलम्पिक एथलेटिक्सको सुरुआती चरणबाटै बाहिरिइन् सरस्वती

    काठमाडाैं । टोकियो ओलम्पिक अन्तर्गत आजबाट सुरु भएको एथलेटिक्सको १ सय मिटर स्पर्धामा नेपाली धाविका सरस्वती चौधरी पहिलो चरणबाटै बाहिरिएकी छन् । योसँगै ओलम्पिकका खेल्ने अवसर पाएका नेपालका पाँचै खेलाडीको खेल सकिएको छ ।

    आज विहान भएको प्रतिस्पर्धामा दोस्रो हिटमा परेकी सरस्वतीले १ सय मिटर दूरी पूरा गर्न १२.९१ सेकेण्ड लगाइन् । ९ खेलाडी सम्मिलित त्यो चरणमा उनी आठौं भइन् । म्याराथनका लागि छनोट गरिएका गोपी चन्द्र पार्कीले अन्तिम समयमा खेल्न नपाएपछि सो स्थानमा सरस्वतीलाई पठाइएको हो ।

    मुस्किलले २ साताको तयारीमा उनी टोकियो उडेकी थिइन् । सायद त्यही कारण उनले आफ्नो लक्ष्यअनुसार राष्ट्रिय कीर्तिमान कायम गर्न सकिनन् ।

    यसअघि शुटिङकी कल्पना परियारले १० मिटर एयर राइफलमा राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । जुडोकी सोनिया भट्ट पहिलो खेलमै पराजित भएकी थिइन् । पौडीतर्फ १ सय मिटर फ्रिस्टाइलमा गौरिका सिंह र एलेक्स शाह दुवैले आफ्नो कीर्तिमान सुधार गरेका थिए । पाँचै जना खेलाडी पहिलो चरणबाट माथि उक्लन सकेनन् ।

  • प्रशिक्षक र पत्रकारबीचको चुरोट काण्डः के भएको थियो एन्फा कम्प्लेक्समा ?

    प्रशिक्षक र पत्रकारबीचको चुरोट काण्डः के भएको थियो एन्फा कम्प्लेक्समा ?

    काठमाडौं । नेपालमा आएदेखि फुटबल समर्थकहरुबाट माया र समर्थन पाइरहेका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीबारे केही दिनअघि एउटा अनलाइनले आलोचनात्मक समाचार छाप्यो । ‘मेरो खेल डटकम’ मा प्रकाशित समाचारमा भनिएको थियो– प्रशिक्षक अल्मुताइरीद्वारा पत्रकारमाथि दु वहार ।

    समाचारमा दावी गरिएअनुसार सोही अनलाइनका दुई पत्रकार बिभा थापा र बिभु श्रेष्ठमाथि अब्दुल्लाहले अपशब्दसमेत प्रयोग गर्दै दुव्र्यवहार गरेका थिए । घटना गत साउन ८ गतेको हो । आज प्रशिक्षक अब्दुल्लाहले एन्फामा दिएको निवेदनमा दुई पत्रकारमाथि छानविन गर्न गरेको माग सोही घटनासँग जोडिएको छ ।

    घटनाविवरण अनुसार त्यस दिन एन्फा कम्प्लेक्समा प्रशिक्षण चलिरहेको थियो । त्यसैबीचमा प्रशिक्षक अब्दुल्लाह एन्फा कम्प्लेक्स बाहिर आएर सडकमा धुम्रपान गर्न थाले । बाहिर प्रशिक्षकले चुरोट पिइरहेको सूचना पाएर कम्प्लेक्सभित्र रहेका दुई पत्रकारहरु क्यामरासहित बाहिर आएका थिए ।

    मेरो खेलको समाचारमा जनाइएअनुसार विभाले प्रशिक्षकलाई ‘सार्वजनिक स्थलमा धुम्रपान गर्न पाइन्छ ?’ भन्दै प्रश्न गरेकी थिइन् । यसबाट आक्रोशित भएर प्रशिक्षकले अपशब्दसहित अंग्रेजीमा गाली गरेको दावी पत्रकारद्वयले गरेका छन् ।

    ‘हु दी ब्लडी हेल आर यु टु क्वेस्चन मि’ भन्दै बिभामाथि जाइलाग्ने प्रयास गरेको उनीहरुले बताएका छन् । बिभुले भिडियो बनाउन लाग्दा प्रशिक्षकले क्यामेरा खोस्ने प्रयत्न गरेको र कुस्ती खेल्ने हो ? भन्दै थर्काएको समेत समाचारमा उल्लेख गरिएको छ । यद्यपि, यस विषयमा प्रशिक्षकका तर्फबाट कुनै बयान सार्वजनिक भएको छैन ।

    नेपाल खेलकुद पत्रकार मञ्च तथा नेपाल पत्रकार महासंघले त्यस सम्बन्धमा छानविन गरी दोषीलाई कारबाही गर्न एन्फासमक्ष माग गरेका थिए । यो स्क्यान्डल साम्य हुन नपाउँदै गत आइतबार अब्दुल्लाहले एन्फा वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङमाथि दोषारोपण गर्दै प्रशिक्षक पदबाट राजीनामा दिने घोषणा सामाजिक सञ्जालमार्फत गरे । यद्यपि, उनले अहिलेसम्म लिखित राजीनामा बुझाएका छैनन् । बरु एन्फामा निवेदन दिएर वरिष्ठ उपाध्यक्ष नेम्वाङ र ती दुई पत्रकारमाथि छानविनको माग राखेका छन् ।

    एन्फाका प्रवक्ता किरण राईका अनुसार यो विषयमा भोलि (शुक्रबार) बस्ने कार्य समिति बैठकमा छलफल हुनेछ । प्रशिक्षकको राजीनामाबारे पनि सोही वैठकले टुंगो लगाउनेछ । उपाध्यक्ष नेम्बाङले आफू दोषी ठहरिए तुरुन्तै पदबाट राजीनामा दिने बताइसकेका छन् ।

    नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षकका रुपमा करिब पाँच महिनाअघि नियुक्त भएका अल्मुताइरीले त्यसयता फुटबल समर्थकहरुबीच निकै लोकप्रियता कमाइसकेका थिए । यसबीचमा राष्ट्रिय टिम छनोटका क्रममा लिएको बोल्ड निर्णय, एनएसएल च्याम्पियन काठमाडौं रेजर्जका खेलाडी टोलीमा नपर्नु, मैदानमा नेपालको आक्रामक शैलीजस्ता कुराले अब्दुल्लाललाई बारम्बार चर्चामा ल्याइरह्यो ।

    स्पष्ट रणनीति, बोल्ड निर्णय र सामाजिक सञ्जालमा सक्रिय अब्दुल्लाहको प्रभाव नेपाली राष्ट्रिय टोलीमा पनि सकारात्मक नै छ । इराकविरुद्धको मैत्रीपूर्ण खेल र विश्वकप तथा एएफसी एसिया कपको संयुक्त छनोट गरी नेपालले उनको नेतृत्वमा चार खेल खेलेको छ । ती चार खेलका लागि ‘मिडिल–इस्ट’ भ्रमणमा जाने नेपाली टोलीमा ६ नयाँ अनुहार समेटेका अब्दुल्लाहले अप्रिलमा दशरथ रंगशालामा थ्री नेसन्स कप जितेका १३ खेलाडी परिवर्तन गरेका थिए ।

    सामाजिक सञ्जालमा सक्रिय अब्दुल्लाहले ‘वान् टिम–जय नेपाल’ स्लोगनलाई नेपाली फुटबल जमातमा स्थापित गरेका छन् । समर्थक तथा आममानिससँग पनि अन्तरक्रिया गर्न रुचाउने उनी आफ्नो पोस्टमा आएका कमेन्टमा रिप्लाइ गर्न समेत समय निकाल्छन् । फ्यान ग्रुपमा पसेर पोस्टसमेत गर्छन् ।

    अहिले नेपाली राष्ट्रिय टोली साफ च्याम्पियनसिप र एसिया कप छनोटका लागि निरन्तर अभ्यासमा छ । प्रशिक्षकले छाडेर हिँडेको खण्डमा नेपाली टिमको तयारी प्रभावित हुन सक्छ ।

  • आगामी सिजनका लागि चेल्सी फुटबल क्लबको ‘अवे किट’ सार्वजानिक

    आगामी सिजनका लागि चेल्सी फुटबल क्लबको ‘अवे किट’ सार्वजानिक

    काठमाडौं । चेल्सी फुटबल क्लबले २०२१/२२ सिजनका लागि पहेँलो रङको ‘अवे किट’ सार्वजानिक गरेको छ । बिहीबार सार्वजनिक भएको पहेँलो किटले चेल्सीको इतिहास बोकेको छ । र, नाइकले आगामी सिजनका लागि यसलाई पुन: तयार गरेको छ ।

    पहेँलो रङले विगतका किटहरूको स्मरण गराउँछ । तर, त्यसमा मिसिएको कालो रङले चेल्सीमा युवा शक्तिले भरिएको नयाँ युगको प्रतिनिधित्व गर्छ ।

    चेल्सीका मिडफिल्डर म्यासन माउन्टले भने, ‘हामीले वषौँ देखिको इतिहासलाई हेर्दा पनि पँहेलो किटमा पूर्व खेलाडीहरूको राम्रो प्रभाव छ । हामीले पनि नयाँ किटमा त्यस्तै विशेष पलहरू सृजना गर्न सक्छौँ भन्ने आस गरेको छु ।’

  • एन्फामा अब्दुल्लाहको निवेदन- उपाध्यक्ष नेम्वाङ र दुई पत्रकारमाथि छानविनको माग

    एन्फामा अब्दुल्लाहको निवेदन- उपाध्यक्ष नेम्वाङ र दुई पत्रकारमाथि छानविनको माग

    काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ र दुई पत्रकारमाथि छानविन गर्न निवेदन दिएका छन् ।

    नेम्वाङले आफूलाई राजीनामा दिन बाध्य पारेको उल्लेख गर्दै प्रशिक्षक अब्दुल्लाहले मंगलबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका थिए । त्यसपछि एन्फा मुख्यालय पुगेका प्रशिक्षक अब्दुल्लाले राजीनामा भने दिएका छैनन् ।

    त्यसअघि एक अनलाइनका दुई पत्रकारले प्रशिक्षकले सार्वजनिक स्थलमा धुम्रपान गरिरहेको विषयमा प्रश्न गर्दा भएको विवादले पनि सामाजिक सञ्जाल तातिएको थियो ।

    यीनै दुई प्रकरणमा आफूसँग जोडिएका दुई पत्रकार र उपाध्यक्ष नेम्वाङमाथि छानविन गर्न माग गर्दै एन्फामा विहीबार निवदेन दिएका छन् ।

    ‘यसअघि नै पत्रकार र उपाध्यक्षले पनि प्रशिक्षकमाथि छानविन गर्नका लागि निवेदन आइसकेको थियो,’ एन्फाका प्रवक्ता किरण राईले नेपाल प्रेससँग भने, ‘भोलि हाम्रो (कार्य समिति) मिटिङ छ । त्यसमा कुरा हुन्छ ।’

  • टोकियो ओलम्पिक: अमेरिकन स्वीमर सेलेब ड्रेसलले बनाए ओलम्पिक रेकर्ड

    टोकियो ओलम्पिक: अमेरिकन स्वीमर सेलेब ड्रेसलले बनाए ओलम्पिक रेकर्ड

    काठमाडौं । अमेरिकन स्वीमर सेलेब ड्रेसलले १०० मिटर फ्रि-स्टाइलमा ओलम्पिक कीर्तिमान बनाएका छन् ।

    उनले निर्धारित दूरी ४७.०२ सेकेन्डमा निर्धारित दूरी पार गर्दै टोकियो ओलम्पिकमा दोस्रो स्वर्ण जितेका हुन् । ड्रेसल १०० मिटर फ्रिस्टाइलका विश्व च्याम्पियनसमेत हुन् ।

    उनले ४ सय मिटर रिलेमा सोमबार पहिलो स्वर्ण जितेका थिए । ड्रेसल व्यक्तिगत खेलमा सबैभन्दा सफल खेलाडी बनेका छन् ।

  • ओलम्पिकमा आज ८ खेलका १७ स्पर्धाको फाइनल हुँदै

    ओलम्पिकमा आज ८ खेलका १७ स्पर्धाको फाइनल हुँदै

    एजेन्सी । ३२ औं ग्रिष्मकालीन ओलम्पिकको छैटौं दिन आज १७ स्वर्ण पदकको छिनोफानो हुँदैछ । विभिन्न ८ खेलका १७ स्पर्धाको फाइनल बाहेक अन्य खेलका प्रतिस्पर्धा पनि जारी रहनेछन् ।

    आज विहीकार समग्रमा २४ खेलमा स्पर्धाहरु हुनेछन् । अन्य खेलहरुको समूह चरण वा नकआउट चरणका प्रतिस्पर्धाहरु भइरहेका छन् ।

    आज आर्टिस्टिक जिम्न्यास्टिकको महिला अलअराउण्ड, क्यानोइ स्लालोमको महिला टिम, फेन्सिङमा महिला टिम फोइल, जुडोमा महिला ७८ केजीमूनि र पुरुष १०० केजीमूनि, रोइङमा पुरुष डवल, महिला डवल, पुरुष लाइटवेट डवल र महिला लाइटवेट डवल विधाको फाइनल हुँदैछ ।

    त्यस्तै शुटिङमा महिला ट्र्याप, पुरुष ट्र्याक तथा टेवलटेनिसमा महिला एकलको स्वर्ण छिनोफानो हुनेछ । पौडीतर्फ आज एकै दिन पाँच स्पर्धाको फाइनल हुनेछ । पुरुष ८ सय मिटर फ्रिस्टाइल, पुरुष २ सय मिटर ब्रेष्टस्ट्रोक, महिला २ सय मिटर बटरफ्लाई, पुरुष १ सय मिटर फ्रिस्टाइल र महिला ४ गुणा २ सय मिटर फ्रिस्टाइल रिलेमा स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।

    छैटौं दिनसम्म पदक तालिकामा जापानले अग्रता बनाइरहेको छ । पावरहाउस टोलीहरु चीन र अमेरिकालाई पछि पर्दै जापानले पदक तालिकामा अग्रता बनाएको छ । उसले अहिलेसम्म १३ स्वर्ण, ४ रजत र ५ कांस्य जितेको छ । चीनले १२ स्वर्णसहित २७ पदक जितेको छ भने तेस्रो स्थानको अमेरिकाले ११ स्वर्णसहित सर्बाधिक ३१ पदक जितेको छ ।

    रुस ओलम्पिक कमिटीले ७, अष्ट्रेलियाले ६, बेलायतले ५, दक्षिण कोरियाले ४, जर्मनी र फ्रान्सले ३–३ स्वर्ण पदक जितेका छन् । नेदरल्याण्ड्स, क्यानडा, हंगेरी, स्लोभेनिया, क्रोएसिया र कोसोभो गरी ६ देशले २–२ स्वर्ण जितेका छन् । एकमात्र स्वर्ण जित्ने देशको संख्या २२ छ । अहिलेसम्म ९८ स्वर्णको छिनोफानो भएको छ ।

  • ‘मेसीले कोपा अमेरिका जित्दा म्याराडोना खुशीले रुने थिए’

    ‘मेसीले कोपा अमेरिका जित्दा म्याराडोना खुशीले रुने थिए’

    काठमाडौं । विश्व फुटबलका सर्वकालिन महान् खेलाडीमध्ये एक- लियोनेल मेसीले यसै महिना पहिलो अन्तर्राष्ट्रिय ट्रफी जिते । सन् २०१४ विश्वकप तथा कोपा अमेरिका २०१५ र २०१६ को फाइनलमा पुगेर पनि पराजित भएको अर्जेन्टिनाले जुलाई ११ मा घरेलु टोली ब्राजिललाई १-० को नतिजामा पराजित गर्दै २८ वर्षपछि कोपा अमेरिकाको उपाधि जित्यो ।

    पटक-पटक असफल सावित भइरहेका मेसीले वर्षौदेखिको अन्तर्राष्ट्रिय उपाधि जित्ने इच्छा यो वर्ष पूरा गरे । यसबाट विश्वभरका फुटबल समर्थक खुशी छन् ।

    यस्तै, अर्जेन्टिनाका पूर्व खेलाडी तथा प्रशिक्षक केसार लुइस मेनोट्टीले गत वर्ष निधन भएका अर्जेन्टिनी पूर्व खेलाडी डिएगो म्याराडोना पनि मेसीको सफलताको साक्षी बन्न पाए खुशी हुने बताएका छन् ।

    ‘यदि म्याराडोना जिवित थिए भने मेसी र अर्जेन्टिनी फुटबल टोलीका लागि धेरै खुशी हुने थिए,’ उनले भने ।

    कोपा अमेरिका मेसीको खेल जीवनको पहिलो अन्तर्राष्ट्रिय उपाधि हो । यद्यपि, उनले २००८ मा भएको बेइजिङ ओलम्पिकमा भने अर्जेन्टिनाको प्रतिनिधित्व गर्दै स्वर्ण पदक जितेका थिए ।

    सन् १९८६ का विश्वकप विजेता तथा महान् अर्जेन्टिनी फुटबलर म्याराडोनाको नोभेम्बर २०२० मा मृत्यु भएको थियो ।

    उनको सम्झना गर्दै मेनोट्टीले भने- ‘यदि म्याराडोना जिवितै थिए । र, अर्जेन्टिनाले कोपा अमेरिका २०२१ को उपाधि चुमेको देखेको भए गर्भान्वित हुन्थे र मेसीसँगै रूने थिए ।’

    मेसी खेल सक्रिय खेल जीवनको अन्त्यतिर छन् । र, ३३ वर्षको उमेरमा जितेको उपाधिसँगै असाध्यै खुसी पनि छन् ।

    मेसीको उपस्थितिले टोलीमा छुट्टै ऊर्जा दिन्छ । र, आफ्नो टोलीलाई जिताउन उनको महत्त्वपूर्ण भूमिका रहन्छ । शारिरीक र मानसिक रूपमा तयार रहन्छन् ।

    ‘मेसी सबै पक्षमा उत्कृष्ट छन्,’मेनोट्टीले थपे ।

    मेनेट्टी अर्जेन्टिना यू-२० को प्रशिक्षक थिए । उनको प्रशिक्षणमा अर्जेन्टिनाले जापानमा सन् १९७९को विश्व यूथ च्यापियनसिपको उपाधि जितेको थियो । अर्जेन्टिना फुटबल टोलीले सन् १९७८ मा नेदरल्यान्डलाई ३-१ गोलको नतिजामा पराजित गरेर विश्व कपको उपाधि जित्दा पनि मेनोट्टी अर्जेन्टिनाका प्रशिक्षक थिए ।

    कोपा अमेरिका २०२१मा कस्तो रह्यो मेसीको प्रदर्शन ?

    मेसीले कोपा अमेरिकामा ४ गोल र ५ असिस्ट गरे । अर्जेन्टिनाले प्रतियोगितामा गरेको १३ गोलमध्ये ९ गोलमा मेसीको प्रत्यक्ष योगदान थियो । प्रतियोगिताको उत्कृष्ट खेलाडीको उपाधि पनि उनै मेसीले जिते ।

    अर्जेन्टिनालाई च्याम्पियन बनाउन आधार स्तम्भ बनेका मेसीले पूर्व कप्तान जाभिएर म्यास्चेरानोको कीर्तिमान तोड्दै राष्ट्रिय टोलीका लागि सर्वाधिक खेल खेल्ने खेलाडी बने ।

  • रियाल मड्रिडका अलाबालाई कोरोना संक्रमण पुष्टि

    रियाल मड्रिडका अलाबालाई कोरोना संक्रमण पुष्टि

    काठमाडौं । स्पेनिस हेभिवेट रियाल मड्रिडका खेलाडी डेभिड अलाबालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    यसै सिजन जर्मन च्याम्पियन बायर्न म्युनिखबाट मड्रिड आएका अलाबालाई कोभिड-१९ को संक्रमण पुष्टि भएको क्लबले जानकारी दिएको छ ।

    अस्ट्रियाका २९ वर्षीय कप्तान अलाबा बायर्नमा ११ वर्ष बिताएर गत सिजनको समाप्तिसँगै फ्रि-एजेन्ट भएका थिए । यसै महिना सम्पन्न युरो २०२० मा अस्ट्रियालाई प्रि-क्‍वार्टरफाइनलसम्म पुर्‍याएका अलाबा त्यसपछि मड्रिड पुगेका थिए ।

    रियालले बुधबार क्लबको वेबसाइटमार्फत् उनलाई कोरोना संक्रमण भएको जानकारी दिएको छ । ‘हाम्रा खेलाडी डेभिड अलाबाको कोभिड-१९ परीक्षणको रिपोर्ट पोजिटिभ आएको छ,’ वेबसाइटमा भनिएको छ ।

  • टोकियो ओलम्पिक: साउदी अरबमाथि ब्राजिलको सहज जित

    टोकियो ओलम्पिक: साउदी अरबमाथि ब्राजिलको सहज जित

    काठमाडौं । दुई पटकको स्वर्ण पदक विजेता ब्राजिलले ओलम्पिकमा पुरुष फुटबलमा साउदी अरबलाई ३-१ गोलको नतिजामा पराजित गरेको छ ।

    समूह डीअन्तर्गत बुधबार भएको खेलमा ब्राजिलका लागि रिचार्लिसनले दुई तथा म्याथ्युज कुन्हाले एक गोल गरे ।

    टोकियोस्थित साइतामा स्टेडियममा भएको खेलको १४औं मिनेटमा कुन्हाको गोलसँगै ब्राजिलले अग्रता लिएको थियो । अब्दुलाह अल अमरीले २७औं मिनेटमा गरेको गोलसँगै बराबरीमा फर्किएको साउदी अरबले दोस्रो हाफमा थप दुई गोल खायो ।

    रिचार्लिसनले ७६औं मिनेटमा व्यक्तिगत पहिलो गोल गर्दै ब्राजिललाई पुन: अग्रता दिलाएका थिए ।

    जित नजिक पुगिसकेको ब्राजिलका लागि इन्जुरी समयमा रिचार्लिसनले थप एक गोल गर्दै ३-१ को सहज नतिजा सुनिश्चित गरे ।

  • अस्ट्रेलियन खेलाडी इम्माले १०० फ्रि-स्टाइलमा बनाइन् ओलम्पिक रेकर्ड

    अस्ट्रेलियन खेलाडी इम्माले १०० फ्रि-स्टाइलमा बनाइन् ओलम्पिक रेकर्ड

    काठमाडौं । अस्ट्रेलियन स्वीमर इम्मा म्याकियोनले ओलम्पिकमा स्विमिङको १०० मिटर फ्रि-स्टाइलमा कीर्तिमान बनाएकी छन् ।

    बुधबार भएको साताौं हिटमा निर्धारित दूरी ५२.१३ समयमा पार गरेकी उनले स्वीस खेलाडी सारा स्योस्ट्रोमको ५२.६२ को कीर्तिमान तोडेकी हुन् ।

    इम्माले रियो ओलम्पिक २०१६ मा २ स्वर्णसहित ६ स्वर्ण पदक जितेकी थिइन् ।

    यो इभेन्टको विश्व कीर्तिमान भने अझै साराको नाममा छ । उनले निर्धारित १०० मिटरको दूरी ५१:१३ मा पार गर्दै विश्व कीर्तिमान बनाएकी थिइन् ।

    त्यो विश्व कीर्तिमान भने अझै कायम छ । यही इभेन्टमा नेपालको प्रतिनिधित्व गरेकी गौरिका सिंहले पहिलो हिटमा राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् ।

    उनले २०१९ मा आफैँले बनाएको कीर्तिमानमा सयम सुधार गरेकी हुन् । पुरुषतर्फ पनि १०० मिटर फ्रि-स्टाइलमा मंगलबार एलेक्स साहले राष्ट्रिय कीर्तिमान बनाएका थिए ।

  • गौरिका सिंहको राष्ट्रिय कीर्तिमान

    गौरिका सिंहको राष्ट्रिय कीर्तिमान

    काठमाडौं । टोकियो ओलम्पिकमा नेपाली राष्ट्रिय पौडी खेलाडी गौरिका सिंहले १०० मिटर फ्रि-स्टाइलमा राष्ट्रिय कीर्तिमान बनाएकी छन् ।

    बुधबार भएको महिला १०० मिटर फ्रि-स्टाइकलो पहिलो हिटमा तेस्रो बनेकी गौरिकाले निर्धारित दूरी १: ००: ११ मा पूरा गरिन् । उनले २०१९ मा बनाएको आफ्नै कीर्तिमान सुधारेकी हुन् ।

    गौरिकाले सन् २०१९ मा दक्षिण कोरियामा भएको १८ औं फिना वर्ल्ड च्याम्पियनसिपमा १: ००.६२ को समय निकाल्दै राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । हिट-१ मा गौरिकाले नाइजेरिया, मोन्टेनेग्रो र ग्वामका खेलाडीसँग प्रतिस्पर्धा गरेकी थिइन्।

    २०१९ मा नेपालमै भएको १३ औं दक्षिण एसियाली खेलकुदमा कीर्तिमानी चार स्वर्ण पदकसँगै २ रजत र ३ कांस्य जितेकी गौरिकाले रियो ओलम्पिक २०१६ मा पनि नेपालको प्रतिनिधित्व गरेकी थिइन् ।

    ब्राजिलमा भएको ओलम्पिकको अघिल्लो संस्करणकी सबैभन्दा कान्छी खेलाडी बनेर विश्वभर चर्चा कमाएकी गौरिकाले आफ्नो हिटमा प्रथम स्थान हासिल गरेकी थिइन् ।

  • गोल्डेन स्लाम जित्ने तयारीमा रहेका जोकोभिच ओलम्पिकको क्वार्टरफाइनलमा

    गोल्डेन स्लाम जित्ने तयारीमा रहेका जोकोभिच ओलम्पिकको क्वार्टरफाइनलमा

    काठमाडौं । तीन ग्रान्डस्लाम जितिसकेका विश्व नम्बर एक टेनिस स्टार नोभाक जोकोभिच टोकियो ओलम्पिकको क्वार्टरफाइनलमा पुगेका छन् ।

    अस्ट्रेलियन ओपन, फ्रेन्च ओपन र विम्बल्डन जितिसकेका जोकोभिच ओलम्पिकमा पनि सर्बियाका लागि स्वर्ण जित्ने तयारीमा छन् ।

    बुधबार भएको तेस्रो चरणको खेलमा स्पेनिस डेभिडोभिच फोकिनालाई ६-३, ६-१ को सोझो सेटमा पराजित गर्दै जोकोभिच अन्तिम आठमा पुगेका हुन् ।

  • पाव्लुचेन्कोभालाई हराउँदै बेन्सिच सेमिफाइनलमा

    पाव्लुचेन्कोभालाई हराउँदै बेन्सिच सेमिफाइनलमा

    काठमाडौं । स्वीस टेनिस खेलाडी बेलिन्डा बेन्सिच रुसी खेलाडी एनेस्तेसिया पाव्लुचेन्कोभालाई २-१ सेटको नतिजामा पराजित गर्दै टोकियो ओलम्पिक- टेनिसको महिला सिङ्गलतर्फ सेमिफाइनलमा पुगेकी छन् ।

    बुधबार दिउँसो भएको क्वार्टरफाइनलमा पहिलो सेट ६-० ले जितेकी बेन्सिचले एनेस्तेसियाविरुद्धको दोस्रो सेट ३-६ ले गुमाएकी थिइन् ।

    निर्णायक तेस्रो सेटमा ६-३ कै जित निकालेसँगै २४ वर्षीया बेन्चिचले अन्तिम चारमा स्थान सुरक्षित गरिन् ।

  • मेडल लिन जापान आएकी अर्जेन्टिनी फेन्सर ‘इनगेजमेन्ट-रिङ’ लिएर फर्किँदै

    मेडल लिन जापान आएकी अर्जेन्टिनी फेन्सर ‘इनगेजमेन्ट-रिङ’ लिएर फर्किँदै

    काठमाडौं । अर्जेन्टिनी फेन्सर मारिया बेलेन प्रेज मौरिसले टोकियो ओलम्पिकमा सोमबार खेलमा पराजित भइन्, पदक गुमाइन् । तर उनले जीवनको अमूल्य स्वर्ण जितिन् ।

    ३६ वर्षीया मारियाका १७ वर्षदेखिका प्रेमी तथा प्रशिक्षकको ‘सरप्राइज’ विवाह प्रस्ताव स्वीकारेसँगै उनले जापानबाट मेडल नभए पनि ‘इनगेजमेन्ट-रिङ’ लिएर फर्किनेछिन् ।

    हंगेरीकी आना मार्टोनसँग महिला एकल साबेरमा १५-१२ को नतिजामा पराजित भएपछि मौरिस पोस्ट म्याच कन्फरेन्समा थिइन् । त्यतिबेला उनका प्रशिक्षक तथा प्रेमी लुकास ग्युलिरमो साउकेडोले लेखेको लामो पत्र उनीसामु थियो । स्पेनिस भाषामा लेखिएको पत्रमा ‘के तिमी मसँग विवाह गर्न चाहन्छौ ?’

    अनलाइनमा सार्वजानिक भएका दृष्यमा लुकासले प्रस्ताव गरेपछि उनी रनभुल्लमा परेर एक वरीपरी घुमेकी थिइन् । र, प्रस्ताव स्वीकार गर्नु अगाडि चिच्याएकी थिइन् ।

    ‘मिडिया पर्सन’ले मलाई वरीपरी हेर्नु भन्नुभयो । मैले उनको चिठ्ठी देखेँ, त्यो देखेर म छक्क परेँ । र, सबै कुरा बिर्सिए’ मौरिसले रिपोर्टरसँग भनिन् ।

    ‘हामी एकदमै खुशी छौँ, अवस्य पनि हामी एक अर्कासँग झगडा गर्छौं । तर, हामी हाम्रो जीवनसँगै बिताउन चाहान्छौँ ।’

    प्रेज मौरिसले सन् २०१४ को प्यान अमेरिकन च्याम्पियनसिपमा स्वर्ण जितेकी थिइन् । ग्युलिरमो साउकेडोले पहिले २०१० को विश्व फेन्सिङ् च्याम्पियनसिप पछि पेरिसमा विवाहका लागि प्रस्ताव गरेका थिए । तर, मौरिसले कम उमेरका कारण अस्वीकार गरेको बताए ।

    उनले भने- ‘म उनलाई माया गर्छु, जब मौरिसले खेल हारिन्, त्यतिबेला धेरै दु:खी थिइन् । त्यो समयमा उनको ध्यान फेन्सिङमा भोगेको पराजयबाट ध्यान मोड्नका लागि तुरुन्तै चिठ्ठी लेखेँ । मोरिसले यो खेल जितेको भए, म केही समय कुर्ने थिएँ ।’

  • ओलम्पिकमा आज २३ स्वर्णको छिनोफानो हुँदै, पदक तालिकामा जापान अगाडि

    ओलम्पिकमा आज २३ स्वर्णको छिनोफानो हुँदै, पदक तालिकामा जापान अगाडि

    एजेन्सी । ओलम्पिकको पाँचौं दिन आज थप २३ स्वर्ण पदकको छिनोफानो हुँदैछ । अर्थात्, ११ खेलका २३ स्पर्धाको फाइनल खेल आज दिनभरमा हुनेछ ।

    त्यसबाहेक अन्य खेलका फाइनलअघिका प्रतिस्पर्धाहरु पनि जारी रहनेछन् । आज २७ खेलका स्पर्धाहरु भइरहेका छन् ।

    बुधबार आर्टिस्टिक जिम्न्यास्टिकको पुरुष टिम, बास्केटबलमा महिला र पुरुष थ्र अन थ्री, साइक्लिङमा पुरुष र महिला टाइम ट्रायल, डाइभिङको पुरुष ३ मिटर स्यान्च्रो, घोडचढीमा एकल ड्रेसेज, फेन्सिङमा पुरुष टिम, जुडोमा महिला ७० केजीमूनि र पुरुष ९० केजीमूनि, रोइङमा महिला र पुरुष डवल्स स्कल्स, महिला र पुरुष फोर तथा महिला र पुरुष क्वार्डुपल स्कल्स स्पर्धाको फाइनल खेल हुनेछ ।

    रग्वी सेभेनतर्फ पुरुषको फाइनल खेल आज हुनेछ । पौडीमा महिला २ सय मिटर फ्रिस्टाइल, २ सय मिटर इण्डिभिज्युअm मिड्ले र १५ मिटर फ्रिस्टाइलको फाइनल हुनेछ भने पुरुषतर्फ २ सय मिटर बलरफ्लाई र ४ गुणा २ सय मिटर रिलेमा स्वर्ण पदकको छिनोफानो हुनेछ । भारोत्तोलनमा पुरुष ७३ केजीको फाइनल हुनेछ ।

    पदक तालिकामा अहिलेसम्म घरेलु टोली जापानले अग्रता बनाइरहेको छ भने अमेरिका र चीन उसलाई पछ्याइरहेका छन् । जपानले १० स्वर्ण जितेको छ । अमेरिका र चीनले समान ९–९ जितेका छन् भने रुस ओलम्पिक कमिटीले ७ स्वर्ण जितेको छ । अस्ष्ट्रेलिया र संयुक्त अधिराज्यले ४–४, दक्षिण कोरिया र फ्रान्सले ३–३ तथा क्यानडा, जर्मनी र कोसोभोले २–२ स्वर्ण जितेका छन् । अन्य २० देशले १–१ स्वर्ण जितेका छन् ।

  • ओलम्पिकमा गौरिकाको खेल आज

    ओलम्पिकमा गौरिकाको खेल आज

    काठमाडाैं । टोकियो ओलम्पिकमा आज पौडीतर्फ नेपाली खेलाडी गौरिका सिंहको खेल परेको छ । १ सय मिटर फ्रिस्टाइलको हिट वानमै परेकी उनको खेल नेपाली समयअनुसार पौने चार बजे हुनेछ ।

    गैरिका यो स्पर्धामा दक्षिण एसियाली च्याम्पियन हुन् । उनले दुई वर्षअघि नेपालमै भएको १३ औं दक्षिण एसियाली खेलकुदमा नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेकी थिइन् ।

    एनको उत्कृष्ट टाइमिङ ५८.१३ सेकेण्डको हो । तर त्यो २५ मिटरको सर्ट कोर्षमा खेलिएको थियो । टोकियो आटिकको ५० मिटर लङ कोर्षमा उनले टाइमिङ सुधार गर्ने अपेक्षा गरिएको छ । महिलाको १ सय मिटर फ्रिस्टाइलमा ५२.६२ सेकेण्डको ओलम्पिक कीर्तिमान छ ।

    हिट वानमा गौरिकासँगै नाइजेरिया, मोन्टेनेग्रो र गुआमका खेलाडीहरु छन् ।

    पौडी खेलाडी अजेक्जेन्डर शाहले हिजो १ सय मिटर फ्रिस्टाइलमै राष्ट्रिय कीर्तिमान बनाएका थिए । हिट चरणमा शीर्ष स्थानमा रहे पनि उनको टाइमिङ अर्को चरणका लागि पर्याप्त भएन ।

    शुटिङकी कल्पना परियार र जुडोकी सोनिया भट्टको खेल यसअघि नै सकिसकेको छ भने शुक्रबार एथलेटिक्सकी सरस्वती चौधरीको खेल हुन बाँकी छ । यसपल्ट ओलम्पिकमा नेपालबाट ४ खेलका ५ खेलाडी समावेश थिए ।

  • टोकियो ओलम्पिक: एलेक्सले बनाए राष्ट्रिय कीर्तिमान

    टोकियो ओलम्पिक: एलेक्सले बनाए राष्ट्रिय कीर्तिमान

    काठमाडौं । नेपालको प्रतिनिधित्व गर्दै टोकियो ओलम्पिक २०२० मा स्वीमङमा प्रतिस्पर्धा गर्न जापान पुगेका एलेक्स गडेगार्ड साहले १०० मिटर फ्रि-स्टाइलमा राष्ट्रिय कीर्तिमान बनाएका छन् ।

    एलेक्सले १०० मिटरको दूरी ५३.४१ सेकेन्डमा पूरा गर्दै आफ्नै नाममा रहेको ५५.३८ सेकेन्डको कीर्तिमान सुधारेका हुन् ।

    मंगलबार नौ वटा हिट चरण छन् । यसबाट शीर्ष १६ खेलाडीले सेमिफाइनलमा स्थान बनाउँनेछन् ।
    हिट्-१ मा अन्य ६ खेलाडीसँगै प्रतिस्पर्धा गरेका एलेक्सले प्रथम स्थान हासिल गरेका थिए । यद्यपि, अन्य हिटमा रहेका उत्कृष्ट खेलाडीले उनीभन्दा राम्रो समयको नतिजा निकालेसँगै एलेक्सको सेमिफाइनल प्रवेशको सम्भावना भने टुङ्गिएको छ ।
    हिट वानमा उनीसँगै भुटान, कोसोभो, माल्दिभ्स, सोलोमोन आइल्याण्ड, गुयना र प्यालेस्टिाइनका खेलाडी छन् । पौडीबाट प्रतिस्पर्धा गर्ने अर्की नेपाली खेलाडी गौरिका सिंहको खेल भने बुधबार छ ।
    यसअघि सुटिङकी कल्पना परियार र जुडोकी सोनिया भट्ट आफ्नो सुरुआती चरणबाटै बाहिरिएका थिए । कल्पना भने राष्ट्रिय कीर्तिमान बनाउन सफल भइन् । एथलेटिक्सबाट प्रतिस्पर्धा गर्न लगेकी सरस्वती चौधरीको खेल भने शुक्रबार छ । नेपालबाट टोकियो ओलम्पिकमा ४ खेलका ५ खेलाडीले प्रतिस्पर्धा गर्ने अवसर पाएका थिए ।
  • स्भितोलिना लगातार दोस्रो पटक ओलम्पिकको क्वार्टरफाइनलमा

    स्भितोलिना लगातार दोस्रो पटक ओलम्पिकको क्वार्टरफाइनलमा

    काठमाडौं । मारिया सक्कारीमाथि २-१ सेटको जित निकाल्दै विश्व नम्बर चार एलिना स्भितोलिना टोकियो ओलम्पिक २०२० को टेनिस- महिला सिङ्गलतर्फ क्वार्टरफाइनलमा पुगेकी छन् ।

    विश्व बरियताको १४औं स्थानकी सक्कारीले पहिलो सेटमा ५-७ को जित निकालेकी थिइन् । त्यसपछिका प्रतिस्पर्धात्मक दुई सेटमा भने स्भितोलिनाले ६-३, ६-४ को जित निलकाल्दै लगातार दोस्रो पटक ओलम्पिकमा क्‍वार्टरफाइनल यात्रा तय गरिन् ।

    युक्रेनकी २६ वर्षीया स्भितोलिना २०१६ रियो ओलम्पिकमा पनि क्वार्टरफाइनल सम्म पुगेकी थिइन् ।

  • टोकियो ओलम्पिक: फिलिपिन्सलाई इतिहासकै पहिलो स्वर्ण

    टोकियो ओलम्पिक: फिलिपिन्सलाई इतिहासकै पहिलो स्वर्ण

    काठमाडौं । फिलिपिन्सले भारत्तोलन खेलमा ओलम्पिक इतिहासमै पहिलो पटक स्वर्ण जितेको छ ।

    सोमबार फिलिपिन्सकी ३० वर्षीया हिडिल्यान डाइजले महिला ५५ किलोग्राम भारत्तोलनमा विश्व प्रख्यात चीनको खेलाडी लिआओ क्युयुन लाई हराउँदै स्वर्ण बिजेता बनेकी हुन् ।

    फिलिपिन्सले सन् १९२४ देखि ग्रिष्मकालिन खेलमा सहभागिता जनाउँदै आइरहेको छ । भने सन् १९२८ मा पहिलो ओलम्पिक पदक जितेको थियो । टोफिलो एल्डेफोन्सोले बे्रस्टस्ट्रोकमा काँस्य जितेका थिए ।

    फेदरवेछ बक्सर एन्थोनि भिल्लान्योभाले सन् १९६४ मा पहिलो रजत पदक जितेका थिए ।

  • ओसाका ओलम्पिकको तेस्रो चरणबाट बाहिरिइन्

    ओसाका ओलम्पिकको तेस्रो चरणबाट बाहिरिइन्

    काठमाडौं । विश्व बरियताको दोस्रो स्थानकी नाओमी ओसाका टोकियो ओलम्पिक २०२० को तेस्रो चरणबाट बाहिरिएकी छन् । मंगलबार बिहान भएको तेस्रो चरणको खेलमा चेक रिपब्लिककी मार्केटा भोन्ड्रोसोभासँग ६-१, ६-४ सेटको नतिजामा पराजित हुँदै ओसाका टेनिस महिला सिङ्गल्सबाट बाहिरिएकी हुन् ।

    मानसिक रूपमा तयार नभएको बताउँदै ओसाकाले फ्रेन्च ओपनबीचैमा छाडेकी थिइन् । त्यस्तै विम्बल्डनबाट पनि नाम फिर्ता लिएकी ओसाकाले २०१९ मा अस्ट्रेलियनको उपाधि जितेकी थिइन् ।

    ओसाकाले वर्षको पहिलो ग्रान्डस्लाम अस्ट्रेलियन ओपन जितेकी थिइन् ।

  • ओलम्पिकमा आज २२ स्वर्णको छिनोफानो, पदक तालिकामा जापान, अमेरिका र चीनको प्रतिस्पर्धा

    ओलम्पिकमा आज २२ स्वर्णको छिनोफानो, पदक तालिकामा जापान, अमेरिका र चीनको प्रतिस्पर्धा

    एजेन्सी । जापानको टोकियो शहरमा जारी ३२ औं ग्रिष्मकालीन ओलम्पिकमा आज मंगलबार २२ स्वर्णका लागि प्रतिस्पर्धा हुँदैछ ।

    आज विभिन्न १३ खेलका २२ स्वर्धाको फाइनल हुन लागेको हो । आर्टिस्टिक जिम्न्यास्टिकको महिला टिम, क्यानोई स्लामोमको महिला टिम, साइक्लिङको महिला क्रसकन्ट्री, डाइभिङमा महिला १० मिटर स्यान्च्रो, घोडचढीमा ड्रेसेज टिम र फेन्सिङमा महिला टिममा स्वर्ण छिनोफानो आजै हुनेछ ।

    त्यस्तै जुडोमा महिला ६३ केजीमूनि र पुरुष ८१ क्ेजीमूनि, शुटिङमा १० मिटर एयर रइफल मिक्स टिम र १० मिटर एयर पेस्तोम मिक्स्ड टिम, सफ्टबलमा महिला र पुरुष टिम, पौडीमा पुरुष २ सय मिटर फ्रिस्टाइनल, पुरुष र महिला १ सय मिटर ब्याकस्ट्रोक तथा महिला १ सय मिटर ब्रेष्टस्ट्रोक स्पर्धाको फाइनल आज हुँदैछ ।

    तेक्वान्दोमा महिला ६७ केजीमाथि र पुरुष ८० केजीमाथि, ट्रायथोलन महिला एकल र भारोत्तोलन महिला ५९ केजी र ६४ केजी स्पर्धामा स्वर्णको छिनोफानो पनि आज हुनेछ । त्यसबाहेक समूह चरणका खेलहरुका रुपमा अन्य खेलका प्रतिस्पर्धाहरु पनि जारी रहनेछन् ।

    अहिलेसम्म ५१ स्वर्णको छिनोफानो भएकोमा ८ स्वर्ण जितेर घरेलु टोली जापान शीर्ष स्थानमा छ । ७ स्वर्णसहित अमेरिका र ६ स्वर्णसहित चीनले उसलाई पछ्याइरहेको छ । रुसी ओलम्पिक कमिटीले ४ तथा संयुक्त अधिराज्य र दक्षिण कोरियाले समान ३ स्वर्ण जितेका छन् ।

    अष्ट्रेलिया र कोसोभोले समान २ स्वर्ण जितेका छन् । टोकियोमा अहिलेसम्म १६ देशले ओलम्पिक स्वर्ण जितेका छन् ।

  • टोकियो ओलम्पिकमा एलेक्सले आज प्रतिस्पर्धा गर्दै

    टोकियो ओलम्पिकमा एलेक्सले आज प्रतिस्पर्धा गर्दै

    काठमाडौं । टोकियो ओलम्पिकमा पौडीबाट प्रतिस्पर्धा गर्न छनोट भएका नेपाली खेलाडी एलेक्स गडेगार्ड शाहको खेल आज छ । १ सय मिटर फ्रिस्टाइलको हिट वानमै परेका एलेक्सको खेल दिउँसाे पौने ४ बजे हुनेछ ।

    पौडीमा विभिन्न हिच चरण पार गरी अन्तिम चरणसम्म पुग्नुपर्ने हुन्छ । हिट चरणमा आठ खेलाडी हुनेछन् । शीर्ष एउटा खेलाडी दोस्रो चरणमा प्रवेश गर्नेछ ।

    अहिलेसम्म नेपालका कुनै पनि खेलाडीले पहिलो हिट नै पार गर्न सकेका छैनन् । यसपल्छ पनि एलेक्सले राष्ट्रिय कीर्तिमान सुधार्ने लक्ष्य लिएका छन् । हिट वानमा उनीसँगै भुटान, कोसोभो, माल्दिभ्स, सोलोमोन आइल्याण्ड, गुयना र प्यालेस्टिाइनका खेलाडी छन् ।

    पौडीबाट प्रतिस्पर्धा गर्ने अर्की नेपाली खेलाडी गौरिका सिंहको खेल भने बुधबार छ । यसअघि शुटिङकी कल्पना परियार र जुडोकी सोनिया भट्ट आफ्नो सुरुआती चरणबाटै बाहिरिएका थिए । कल्पनाले भने राष्ट्रिय कीर्तिमान बनाउन सकिन् ।

    एथलेटिक्सबाट प्रतिस्पर्धा गर्न लगेकी सरस्वती चौधरीको खेल भने शुक्रबार परेको छ । नेपालबाट टोकियो ओलम्पिकमा ४ खेलका ५ खेलाडीले प्रतिस्पर्धा गर्ने अवसर पाएका थिए ।

  • घोषणा गरेको दुई दिनसम्म फुटबल प्रशिक्षकले बुझाएनन् राजीनामा, एन्फासँग संवाद जारी

    घोषणा गरेको दुई दिनसम्म फुटबल प्रशिक्षकले बुझाएनन् राजीनामा, एन्फासँग संवाद जारी

    काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले हिजो फेसबुकमार्फत राजीनामाको घोषणा गरे । वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङलाई आरोपित गर्दै राजीनामा घोषणा गरेका अल्मुताइरीले अखिल नेपाल फुटबल संघ एन्फामा अहिलेसम्म राजीनामा बुझाएका भने छैनन् ।

    एन्फाका प्रवक्ता किरण राईले प्रशिक्षकबाट राजीनामा नआइसकेको बताए । सामाजिक सञ्जालमार्फत राजीनामा घोषणा भएपछि अल्मुताइरीसँग एन्फाको संवाद भइरहेको उनले जानकारी दिए । प्रशिक्षकको असन्तुष्टिका विषयहरुबारे भने उनले बताउन चाहेनन् ।

    राईले भने, ‘अहिले सबै भनेर साध्य हुँदैन । छलफल भइरहेको छ । अध्यक्ष बाहिर हुनुहुन्छ । उहाँ आएपछि निस्कर्षमा पुग्छौं ।’

    प्रवक्ता राईका अनुसार प्रशिक्षकको राजीनामा मात्र नभएर ‘सबै विषयको समाधान खोज्ने गरी’ छलफल भइरहेको छ । अरु विषय के हुन् भन्ने उनले जानकारी दिन चाहेनन् ।

    उनले भने, ‘राजीनामा फिर्ताको कुरा आफ्नो ठाउँमा छ । तर अरु पनि विषयहरु छन् । राजीनामा फिर्ताले मात्रै सबै हल हुँदैन । सबै विषयको अध्ययन र छलफलपछि टुंगोमा पुग्ने कुरा आउँछ ।’

    प्रशिक्षक अल्मुताइरीले उपाध्यक्ष नेम्वाङबाट आफूलाई असहयोग भएको संकेत गरेका छन् । नेम्वाङले भने आफूबाट गलत भएको भए कारवाही भोग्न तयार रहेको बताउँदै आएका छन् ।

    एन्फा अध्यक्ष कर्मा छिरिङि शेर्पा भने पोखरामा छन् । उनी भोली काठमाडौं आउने प्रवक्ता राईले जानकारी दिए ।

  • साहिद अफ्रिदी ईपीएल खेल्न नेपाल आउने (भिडियोसहित)

    साहिद अफ्रिदी ईपीएल खेल्न नेपाल आउने (भिडियोसहित)

    काठमाडौं । पाकिस्तानी अलराउण्डर साहिद अफ्रिदी ईपीएल खेल्न नेपाल आउने भएका छन् ।

    आगामी सेप्टेम्बर २५ देखि अक्टोबर ९ सम्म हुने चौथो संस्करण एभरेस्ट प्रिमियर लिग (ईपीएल) का लागि काठमाडौं किङ्ग्स ११ ले आइकोनिक इन्टरनेसनल स्टारको रूपमा विश्वचर्चित पाकिस्तानी क्रिकेटर साहिद अफ्रिदीलाई सार्वजनिक गरेको छ ।

    ४४ वर्षीय अफ्रिदी पाकिस्तानका पूर्वकप्तान समेत हुन् ।

  • टोकियो ओलम्पिक : ग्रेट ब्रिटेनलाई पहिलो स्वर्ण

    टोकियो ओलम्पिक : ग्रेट ब्रिटेनलाई पहिलो स्वर्ण

    काठमाडौं । ग्रेट ब्रिटेनका आडम पिर्टिले पुरुषतर्फ १०० मिटर ब्रेस्टस्ट्रोकमा स्वर्ण जित्दै इतिहास रचेका छन् । उनी ओलम्पिकामा स्वर्ण जित्ने पहिलो ब्रिटिस स्विमर हुन् ।

    पिर्टिले ५७.३७ सेकेन्डमा दूरि पूरा गर्दै ग्रेट ब्रिटेनको नाममा स्वर्णको खाता खोलेका थिए । नेदरल्यानड्सका अर्नो किमिनगाले रजत र इटालीका निकोलो मार्टिनेगिले कांस्य हात पारे ।

  • ट्युनिसियाली ओलम्पिक च्याम्पियन अहमद हफ्नाउलबारे पाँच तथ्य

    ट्युनिसियाली ओलम्पिक च्याम्पियन अहमद हफ्नाउलबारे पाँच तथ्य

    काठमाडौं । ट्युनिसियन युवा स्वीमर अहमदले आइतबार बिहान ४०० मिटर फ्रि-स्टाइलमा स्वर्ण जित्दै टोकियो ओलम्पिकमा सनसनी मच्चाए । स्वीमिङका खेल भएको पहिलो दिनमै स्वर्ण चुमेका अहमद आठाैं स्थानमा रहँदै फाइनलका लागि छनोट भएका थिए ।

    हिट चरणमा आठाैं स्थानमा रहेर फाइनल चरण पुगेका अहमदले आफ्नो देशका लागि पाँचौं स्वर्ण पदक जितेका हुन् । लन्डन ओलम्पिक २०१२ पछि ट्युनिसियाले ओलम्पिकमा जितेको यो पहिलो स्वर्ण हो । १८ वर्षीय ओलम्पिक गोल्ड मेडलिस्ट अहमदसम्बन्धी पाँच तथ्यः

    १. युथ ओलम्पिक ग्राजुएट

    अहमद ट्युनिसियाको राष्ट्रिय स्वीमिङ प्रोग्रामसँग १२ वर्षमा जोडिएका थिए । उनले २०१८ मा अर्जेन्टिनामा भएको युथ ओलम्पिकको २०० मिटर, ४०० मिटर र ८०० मिटरमा प्रतिस्पर्धा गरेका थिए । जसमध्ये ८०० मिटरमा आठौं र ४०० मिटरमा सातौं भएका थिए ।

    २. ओलम्पिक फाइनलका अन्डरडग

    अहमदले ३ मिनेट ४५.६८ मा ४०० मिटरको दूरी पार गर्दै आठौं स्थानमा रहेर ४०० मिटरको फाइनलमा स्थान सुरक्षित गरेका थिए ।

    र फाइनलमा उनले सोही दूरी ३ मिनेट ४३.३६ मा पार गर्दै अस्ट्रेलियन ज्याक म्याकलोघ्लिनलाई दोस्रो तथा अमेरिकन केइरन स्मिथलाई तेस्रो स्थानमा सीमित राखिदिए ।

    २०१९ मा अहमदले ट्युनिसियन आउटलेट ला प्रेस्सासँग २०२० ओलम्पिकमा ८०० मिटरमा स्वर्ण जित्न चाहेको प्रतिक्रिया दिएका थिए ।

    ३. ट्युनिसियाली इतिहास निर्माता

    अहमदका आइडल आफ्नै देशका लामो दूरीका स्वीमर ओस्सामा मेलोउली हुन् । ओस्सामाले बेइजिङ ओलम्पिक २००८ मा र १० किलो मिटर म्याराथन स्विमिङ २०१२ लन्डन ओलम्पिकमा स्वर्ण जितेका थिए ।

    ट्युनिसियाबाट स्वीमिङमा स्वर्ण जित्ने दोस्रो खेलाडी बनेका अहमद ४०० मिटर फ्रि-स्टाइलमा भने पहिलो स्वर्णधारी खेलाडी हुन् ।

    ४. ओलम्पिकमा ट्युनिसिया

    उत्तर अमेरिकी देश ट्युनिसियाले हालसम्म ओलम्पिकमा पाँच स्वर्ण पदक जितेको छ । सन् १९६८ मा मेक्सिको सिटीमा मोहम्मद गामाउदीले ५ हजार मिटर दौडमा स्वर्ण जितेका थिए । त्यस्तै, हबिबा घिर्बीले २०१२ लन्डन अ‍ोलम्पिकमा ३ हजार मिटर दौडमा पनि स्वर्ण जितेकी थिइन् ।

    ५. स्पोर्टिङ पारिवारिक पृष्ठभूमी

    अहमद परिवारका एक मात्रै एथलिट होइनन् । किशोर ओलम्पिक गोल्डमेडलिस्ट अहमद पूर्व राष्ट्रिय बास्केटबल खेलाडी मोहम्मद हफ्नाउलका छोरा हुन् ।

  • टोकियो ओलम्पिकमा आज २१ स्वर्णको छिनोफानो हुँदै, पदक तालिकामा चीन अगाडि

    टोकियो ओलम्पिकमा आज २१ स्वर्णको छिनोफानो हुँदै, पदक तालिकामा चीन अगाडि

    एजेन्सी । टोकियोमा जारी ३२ औं ग्रिष्मकालीन ओलम्पिकमा आज थप २१ स्वर्ण पदकको छिनोफानो हुँदैछ । अन्य खेलको प्रतिस्पर्धा जारी रहँदा १३ खेलका २१ स्पर्धा भने आज सकिन लागेका हुन् ।

    आज आर्चरीको पुरुष टिम, आर्टिस्टिक जिम्न्यास्टिकको पुरुष टिम, क्यानोई स्लालोमको पुरुष टिम, साइक्लिङको क्रस कन्ट्री माउन्टेन बाइक, डाइभिङको पुरुष १० मिटर स्यान्च्रो, फेन्सिङको महिला साब्रे र पुरुष फोइल विधाका फाइनल खेलहरु हुनेछन् ।

    त्यस्तै जुडोको महिला ५७ केजीमूनि र पुरुष ७३ केजीमूनि, शुटिङको पुरुष र महिला स्कीट, स्केटबोर्डिङको महिला स्ट्रिट, पौडीको महिला १०० मिटर फ्लाई, पुरुष १०० मिटर ब्रेष्टस्ट्रोक, महिला ४ सय मिटर फ्रिस्टाइल र पुरुष ४ गुण ४ सय मिटर फ्रिस्टाइल रिलेमा स्वर्णको छिनोफानो हुनेछ । टेवलटेनिसको मिक्स डवल्र, तेक्वान्दोको महिला ६७ केजीमूनि र पुरुष ८० केजीमूनि तौलसमूह, भारोत्तोलनको महिला ५५ केजी तौलसमूह र ट्रायथोलनको पुरुषतर्फको फाइनल खेलहरु आजै हुनेछन् ।

    शुक्रबार उद्घाटन भएको प्रतियोगितामा शनिबारदेखि स्वर्ण पदकका प्रतिस्पर्धा सुरु भएका थिए । सुरुआती स्वर्ण जितेयता चीनले पदक तालिकामा अग्रता बनाइरहेको छ ।

    आइतबारसम्मको पदकतालिकामा चीनले ६ स्वर्ण १ रजत र ४ कांस्य गरी ११ पदक जितेको छ ।

    आयोजक जापानले ५ स्वर्ण र १ रजत गरी ६ पदक तथा अमेरिकाले ४ स्वर्ण २ रजत र ४ कांस्य गरी ११ पदम जितेको छ ।

    दक्षिण कोरियाले २ स्वर्ण र ३ कांस्य जितेको छ । अहिलेसम्म ११ देशका खेलाडीले स्वर्ण जितेका छन् । अहिलेसम्म ३० स्वर्णको छिनोफानो भएको छ ।

  • टोकियो ओलम्पिक : ग्रेट ब्रिटेनलाई पहिलो पदक

    टोकियो ओलम्पिक : ग्रेट ब्रिटेनलाई पहिलो पदक

    काठमाडौं । टोकियो ओलम्पिकमा चेल्सी गिल्सले जुडोमा ग्रेट ब्रिटेन टोलीका लागि पहिलो पदक जितेकी छन् । उनले महिलातर्फको ५२ के जी तौल समूहमा कास्य पदक जितेकी हुन् ।

    २४ वर्षीया गिल्सले स्विट्जरल्यान्डकी फाबियन्नी कोचेरलाई इप्पोनले हराएकी छन् । गिल्स जापानकी उता आबीसँग सेमिफाइनलमा पराजित भए पनि बेल्जियमकी चार्लिन भ्यान स्निकलाई रिपेचेजमा हराउँदै कास्य बिजेता बनिन् ।

  • ओलम्पिक यात्राको ५७ वर्ष : सहभागितामा मात्र सीमित

    ओलम्पिक यात्राको ५७ वर्ष : सहभागितामा मात्र सीमित

    काठमाडौं । खेलकूदको महाकुम्भ हो ओलम्पिक । यसैले हरेक खेलाडीको ओलम्पिक खेल्ने सपना हुन्छ । यसमा सहभागी हुने मात्र खेलाडीको इच्छा हुन्न । सहभागिता जनाउने खेलाडी हरसम्भव पदक चुम्ने प्रयास गर्छ । सपना देख्दैमा र इच्छा हुँदैमा पदक प्राप्त गर्न भने सम्भव छैन ।

    खेलाडीको आफ्नो मेहनतले मात्र पदक पाउन कठिन छ । यसका लागि राज्यको लगानी आवश्यक छ । नेपाली खेलाडीले सन् १९६४ को टोकियो ओलम्पिकदेखि सहभागिता जनाउन थालेका हुन् । हालसम्म नेपाली खेलाडीले पदक प्राप्त गर्न भने सकेका छैनन् । ओलम्पिक सहभागितामा मात्र सीमित बनेको छ ।

    सन् १९८८ को दक्षिण कोरियाको सिउलमा भएको ओलम्पिकमा सहभागी कञ्चनपुरका बक्सर विष्णुुबहादुर सिंहले भने एउटा बाउट जितेका थिए । सो ओलम्पिकमा उनीसँगै डम्बरदत्त भट्ट पनि सहभागी भएका थिए । हाल सुदूरपश्चिम खेलकुद प्रशिक्षण विभागको नेतृत्वमा रहेका ओलम्पियन सिंहले सिउल ओलम्पिकमा पाराग्वेका खेलाडीलाई पराजित गरेका थिए ।

    सोही संस्करणमा सहभागी तेक्वान्दोका खेलाडी विधान लामाले कास्य पदक जितेका भए पनि त्यो बेला तेक्वान्दो प्रदर्शनी खेलका रुपमा मात्र समावेश भएकाले त्यसले पदकको मान्यता पाउन सकेन् । बक्सिङका वरिष्ठ प्रशिक्षक एवं ओलम्पियन विष्णुबहादुर सिंहले सिउल ओलम्पिकमा पहिलो खेल पाराग्वेका खेलाडीलाई पराजित गरेका थिए । ‘दोस्रो खेल अमेरिकासित परेको थियो’, उनले भने, ‘खेल्दै गर्दा दोस्रो राउण्डमा रेफ्रीले खेल नै रोके ।’ उनले दोस्रो खेलमा रेफ्री अलमलमा पर्दा आफ्नो खेल अधुरैमा रोकिएको बताए । ‘रिङको कर्नरमा लगेर प्रहार गरिरहेको थिए ।’ उनले भने, ‘रेफ्रीले मलाई खेल्न नसक्ने भन्दै खेल नै रोके ।’

    उनले ओलम्पिकमा सहभागी हुनुपुर्व दुई महिना थाइल्याण्डमा बन्द प्रशिक्षणमा बसेको बताए । ‘नेपालबाट बन्द प्रशिक्षणका लागि बक्सिङ खेलका सात जना गएका थियौँ’, सिंहले भने, ‘दुई जना खेलाडीको स्तर नपुगेको भन्दै नेपाल फर्कादिएको थियो ।’ उनले नेपाली खेलाडीले पदक जित्ने आशा लिए पनि स्तर भने नपुगेको बताए ।

    ‘अरुहरुको चार वर्षे, आठ वर्षे तालिम योजनासहित खेलाडी प्रशिक्षणमा हुन्छन्’, उनले भने, ‘हाम्रो तालिमको स्तर नै पुग्दैन ।’ उनले खेलाडीलाई वैदेशिक प्रशिक्षण तथा अन्तरर्राष्ट्रियस्तरका प्रतियोगितामा सहभागी गराइराख्नुपर्नेमा जोड दिए ।

    ‘हरेक खेलाडीले ओलम्पिक खेल्ने चाहना राख्नसक्छन्’, सिंहले भने, ‘तर बक्सिङमा हामीपछि अहिलेसम्म नेपाली बक्सर पुग्न सकेका छैनन् ।’ यसैगरी डडेल्लधुराकी सरस्वती भट्टराई रियो ओलम्पिकमा एथ्लेटिक्समा सहभागी भएकी थिइन् । हाल उनी त्रिभुवन आर्मी क्लबमा आबद्ध छिन् । त्यसैगरी सोल ओलम्पिकमा सहभागी अर्का बक्सर डम्बरदत्त भट्ट नेपाली खेलाडीहरुको स्तर पदक जित्ने अझै भइनसकेको बर्ताए । ‘अहिले सहभागिता मात्रै होला जस्तो छ’, उनले भने, ‘योजना बनाएर खेलाडीलाई प्रशिक्षणमा गराउन सकिएको छैन ।’ उनले खेलाडीलाई सधैँ बन्द प्रशिक्षण आवश्यक रहने बताए ।

    ‘उदायमान खेलाडीलाई छुट्टै राखेर अध्ययापनलगायतका प्रबन्ध मिलाउनुपर्छ’, उनले भने, ‘राष्ट्रियस्तरको प्रदर्शनले मात्रै बाहिरका प्रतियोगितामा पदकको आश गर्नु बेकार कुरो हो ।’ खेलकूदको उर्वरभूमि सुदूरपश्चिम प्रदेशबाट ओलम्पिकसम्मको यात्रा तय गर्ने खेलाडीमा दिपक विष्ट पनि छन् । उनले सन् २००८ को बेइजिङ ओलम्पिकमा तेक्वान्दो खेलमा सहभागिता जनाएका थिए । हाल टोकियो ओलम्पिकमा सहभागी पौडीकी गौरिका सिंहको पुर्खौली घर सुदूरपश्चिमको बझाङ हो ।

    स्वदेशको प्रशिक्षणको मात्र भरपर्नु परिरहेको ओलम्पियन दिपक विष्ट बताउँछन् । स्वदेशको प्रशिक्षणले मात्र पदक प्राप्त सहज नहुने हुँदा सरकारले खेलाडीलाई विदेशमा प्रशिक्षणाको व्यवस्था गर्नुपर्नेमा उनको जोड छ । ओलम्पिक यात्राको ५७ वर्षपछि नेपालका पाँच खेलाडी हाल टोकियोमा जारी ३२औँ गीष्मकालीन ओलम्पिकमा प्रतिस्पर्धा गरिरहेका छन् ।

    प्रत्येक चार वर्षमा हुने ओलम्पिक यसपटक कोरोनाभाइरसको महामारीका कारण एक वर्ष ढिला शुरु भएको हो । कोरोनाका कारण खेल स्थलमा दर्शकलाई प्रतिबन्ध लगाइएको छ । टोकियो ओलम्पिकमा ३३९ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुँदैछ । यसका लागि ११ हजार ९१ खेलाडी खेल मैदानमा छन् । नेपालबाट पौडीमा गौरिका सिंह र एलेक्स शाह, एथ्लेटिक्समा सरस्वती चौधरी, सुटिङमा कल्पना परियार र जुडोमा सोनिया भट्टले सहभागिता जनाएका छन् । रासस

  • साफ च्याम्पियनसिप आयोजना गर्न नेपाललाई एसियाली फुटबल महासंघको प्रस्ताव

    साफ च्याम्पियनसिप आयोजना गर्न नेपाललाई एसियाली फुटबल महासंघको प्रस्ताव

    काठमाडौं । आउँदो अक्टोबरमा हुने साफ च्याम्पियनसिप आयोजना गर्न अखिल नेपाल फुटबल संघ (एन्फा) लाई दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले औपचारिक रूपमा प्रस्ताव गरेको छ ।

    एन्फाले दिएको जानकारी अनुसार साफ महासचिव अनवरुल हकले च्याम्पियनसिप आयोजना गर्न प्रस्ताव गर्दै एन्फा महासचिव इन्द्रमान तुलाधरलाई पत्र पठाएका छन् । तुलाधरले भने, ‘अब हामी च्याम्पियनसिपको विस्तृत प्रस्ताव तयार गर्छौं र स्वीकृतिका लागि साफ पठाउनेछौँ ।’

    स्वीकृतिको अन्तिम निर्णय एन्फाको प्रस्ताव समीक्षा गरेपछि साफ अध्यक्ष र कार्यकारी समितिले लिनेछ ।

    बंगलादेश फुटबल महासंघले देशमा बढ्दो कोरोना भाइरस संक्रमणका कारण आयोजना नगर्ने भएपछि सदस्य देशहरूबीच २३ जुलाइमा आयोजक देशको बारेमा बैठक भएको थियो । नेपालमा यसभन्दा पहिले सन् १९९७ र दोस्रो २०१३ मा दुईपटक साफ च्याम्पियनसिप आयोजना भइसकेको छ ।

    २०१३ मा नेपाल अफगानिस्तानसँग सेमिफाइनलमा पराजित भएको थियो । भारत अहिलेसम्म सातपटक उपाधि जितेर च्याम्पियनसिपको सबैभन्दा सफल देश भएको छ भने नेपाल अझै फाइनल पुग्न सकेको छैन ।

  • एन्फा प्रवक्ता भन्छन्- प्रशिक्षकको राजीनामा फेसबुकबाट थाहा भयो, अध्ययन गर्दैछौं

    एन्फा प्रवक्ता भन्छन्- प्रशिक्षकको राजीनामा फेसबुकबाट थाहा भयो, अध्ययन गर्दैछौं

    काठमाडौं । राष्ट्रिय टिमका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले सामाजिक सञ्जालमार्फत राजीनामाको घोषणा गरेपछि अखिल नेपाल फुटबल संघ (एन्फा) अनौपचारिक छलफलमा जुटेको छ । एन्फाका प्रवक्ता किरण राईले एन्फालाई औपचारिक राजीनामा भने आइनसकेको बताए ।

    नेपाल प्रेससँग उनले भने, ‘उहाँले आफ्नो सामाजिक सञ्जालमा राख्नुभएको छ, हामीले देखेको त्यही नै हो । उहाँले लिखितरूपमा केही बुझाउनुभएको छैन । हामी यस विषयमा बुझिरहेका छौं ।’

    प्रशिक्षकले एन्फामा यसअघि कुनै विषयमा असन्तुष्टि जनाउनुभएको थियो कि भन्ने प्रश्नमा प्रवक्ता राईले भने, ‘अहिलेलाई उहाँले जे पोष्ट गर्नुभयो त्यति नै गरौं । असन्तुष्टिको विषय त उहाँले आफ्नै पोष्टमा लेख्नुभएको छ नि ।’

    उनले एन्फाका उपलब्ध पदाधिकारीहरूले अनौपचारिक छलफल गरिरहेको बताए । औपचारिक राजीनामा आएपछि आवश्यक निर्णय लिने उनको भनाइ छ ।

  • अब्दुल्लाहको राजीनामा घोषणापछि सामाजिक सञ्जालमा नेम्वाङविरुद्ध खनिए समर्थक

    अब्दुल्लाहको राजीनामा घोषणापछि सामाजिक सञ्जालमा नेम्वाङविरुद्ध खनिए समर्थक

    काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको घोषणासँगै नेपाली फुटबल समर्थक पंकजविक्रम नेम्बाङ विवादमा तानिएका छन् । नेपाली फुटबल समर्थहरु सामाजिक सञ्जालमा उनीमाथि खनिएका छन् ।

    प्रशिक्षक अब्दुल्लाहले आइतबार दिउँसो (केही बेरअघि) मात्रै अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष नेम्बाङको कारण राजीनामा दिने घोषणा गरेका थिए ।

    आफूले राजीनामा दिनुको कारण उपाध्यक्ष नेम्बाङ रहेको बताएसँगै समर्थक नेम्बाङमाथि खनिएका हुन् । नेम्बाङको व्यक्तिगत फेसबुक टाइमलाइनमा अपलोड गरिएका फोटोहरूमा अपशब्दसमेत प्रयोग गरेर नकारात्मक कमेन्ट आइरहेका छन् । उनले तुरुन्तै राजीनामा दिनुपर्ने माग पनि गरिएको छ ।

    अल्मुताइरीले फेसबुकमा स्टाटस लेख्दै वरिष्ठ उपाध्यक्ष नेम्वाङले तीन सातादेखि गरिरहेको ‘नाटक’ का कारण राजीनामा दिन गइरहेको बताएका थिए । उनले भनेका छन्, ‘अब तपाईं खुशी हुनुभयो होला नि पंकजविक्रम नेम्वाङ ?’

    को हुन् पंकजविक्रम ?
    २०७५ वैशाख १२ गते शनिबार भएको एन्फाको १६औं साधारणसभाबाट कर्मा छिरिङको प्यानल निर्वाचित भएको थियो । सोही प्यानलबाट उपाध्यक्ष पदमा विजयी भएका नेम्बाङ २०७६ साल वैशाख ३१ गते एन्फाको वरिष्ठ उपाध्यक्ष चुनिएका थिए ।

    पछिल्लो समय एन्फाको राजनीतिसँगै पंकज विक्रम अध्यक्षको कटु आलोचकका रूपमा देखा परेका छन् । कार्यसमिति बैठक बहिस्कार, नोट अफ डिसेन्ट लगायतका विषयका कारण चर्चामा आइरहने नेम्बाङलाई आगामी चुनावमा अध्यक्ष पदको प्रत्याशीका रूपमासमेत हेरिएको छ । तर, प्रशिक्षकको राजीनामापछि उनी विवादित बनेका छन् ।

    यु-१६ टोलीमा योग्य खेलाडीलाई बाहिर राखेर आफ्नो छोरालाई जबरजस्ती टोलीमा घुसाइएको विषयमा पनि नेम्बाङको तिव्र आलोचना भएको थियो ।

    २०७६ को असोजमा जोर्डनमा भएको एएफसी च्याम्पियनसिप छनोट खेल्न जोर्डन गएको नेपाली यु -१६ टोलीको पहिलो रोजाइका गोलकिपर रोशन नेपाललाई टोली बाहिर राख्दै नेम्बाङका छोरा पथ्युहाङ नेम्बाङलाई जोर्डन पठाइएको थियो ।

  • राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षकद्वारा राजीनामा दिने घोषणा

    राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षकद्वारा राजीनामा दिने घोषणा

    काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले राजीनामाको घोषणा गरेका छन् ।

    प्रशिक्षक अब्दुल्लाहले अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङको कारणले राजीनामा दिन लागेको सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

    ‘प्रिय नेपाली समर्थकहरू… म वरिष्ठ उपाध्यक्षले पछिल्लो तीन हप्तादेखि गरिरहेको नाटकका कारण राजीनामा दिन गइरहेको छु’ उनले फेसबुकमा खेलेका छन्, ‘अब तपाईँ खुसी हुनु भयो होला नि पंकजविक्रम नेम्वाङ ?

    अब्दुल्लाह गत चैत २२ गते नेपाली राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकको रूपमा सार्वजनिक भएका थिए । नेपाली फुटबललाई नयाँ उचाईमा पुर्‍याउने अठोटका साथ मैदानमा ओर्लिएका अब्दुल्लाहले घरेलु मैदानमा थ्री नेसन्स कपको उपाधि जितेको टोलीमा १३ खेलाडी परिवर्तन गरेका थिए । उनको नेतृत्वमा नेपालले इराकसँग मैत्रीपूर्ण खेल खेलेको थियो भने विश्वकप र एसिया कप छनोटका बाँकी तीन खेल खेलेको थियो ।

    युवा खेलाडीलाई विशेष स्थान र महत्व दिएका अब्दुल्लाहले नेपाललाई एसिया कपसम्म पुर्‍याउने र साफ च्याम्पियन बनाउने प्रमुख लक्ष्य रहेको बताउँदै आएका थिए । उनको नेतृत्वमा नेपालले इराकविरुद्धको मैत्रीपूर्ण खेलमा ६-२ गोलको पराजय व्यहोरेको थियो । त्यस्तै कुवेतमा भएका विश्वकप तथा एएफसी एसिया कप छनोटअन्तर्गत जुन ३ मा चाइनिज ताइपेइलाई २-० गोलको नतिजामा पराजित गरेको थियो । जुन ७ मा जोर्डनसँग ३-० ले पराजित भएको थियो । अस्ट्रेलियासँग जुन ११ मा दोस्रो हाफ १० जनामा सीमित भएको नेपालले ३-० को सम्मानजनक पराजय बेहोरेको थियो ।

    पछिल्लो समय अब्दुल्लाहले साफ च्याम्पियनसिप र एसियाकप छनोटको अर्को चरणका लागि ५० खेलाडीलाई पहिलो चरणमा बोलाएर प्रशिक्षण गराइरहेका थिए । तीमध्ये अहिले ३६ जना खेलाडी निरन्तर बन्द प्रशिक्षणमा छन् ।