Category: खेल प्रेस

  • २१ वर्षपछि बार्सिलोनामा मेस्सीको यात्रा समाप्त

    २१ वर्षपछि बार्सिलोनामा मेस्सीको यात्रा समाप्त

    काठमाडौं । अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सीले स्पेनिस फुटबल क्लव बार्सिलोना छाड्ने निश्चित भएको छ । सो क्लवले आधिकारिक वक्तव्य जारी गरी यसको पुष्टि गरेको हो ।

    ३४ वर्षीय मेस्सी र बार्सिलोनाबीचको सम्झौता जुलाई १ देखि सकिएको थियो । ब्राजिलमा कोपा अमेरिका जारी रहँदा आधा तलव घटाएर मेस्सी बार्सिलोनामै रहन सहमत भएको बताइएको थियो । तर अन्तिममा ला लिगाको नियम उल्लंघन हुनसक्ने भएकाले दुवै पक्षले चाहे पनि सम्झौता हुन नसकेको बार्सिलोनाको वक्तव्यमा उल्लेख छ ।

    ‘मेस्सी अब फुटबल क्लव बार्सिलोनामा रहने छैनन्,’ विज्ञप्तिमा भनिएको छ, ‘खेलाडी र क्लव दुवैको सम्झौता गर्न मनसाय रहे पनि यो हुन सकेन ।’

    बार्सिलोनाले मेस्सीलाई आजसम्म गरेको योगदानका लागि आभार व्यक्त गरेको छ । साथै भविष्यमा उनको व्यक्तिगत र व्यवसायिक जीवनका लाग शुभकामना दिएको छ ।

    ‘यस्तो अवस्था आउनुमा हामी दुवै पक्षलाई नराम्रो लागेको छ । हामी खेलाडीलाई भविश्यको शुभकामना दिन चाहन्छौं र उनको कमी बार्सिलोनामा सधैं रहिरहनेछ,’ क्लबले भनेको छ ।

    बार्सिलोनाले विहीबार नयाँ सम्झौताको तयारी गरिरहेको थियो । किनभने सोही दिन मेस्सी बार्सिलोनामा आबद्ध भएको २१ वर्षगाँठ गियो । र, यो अवस्था आउनुमा क्लबले ला लिगालाई दोष देखाएको छ ।

    उनी सन् २०२६ सम्म बार्सिलोनामै रहन सहमत भएका थिए । तर ला लिगाले मेस्सी वा अन्य नयाँ खेलाडीसँग सम्झौता गर्नुअघि पारिश्रमिक घटाउनुपर्ने अडान राखेको थियो ।

    ‘बार्सिलोना र मेस्सीबीच आज सम्झौता हुँदै थियो । तर ला लिगाको आर्थिक र संरचनागत नियमका कारण हामी नयाँ सम्झौतामा हस्ताक्षर गर्न सकेनौं,’ क्लबले भनेको छ, ‘क्लबमा रहेर उनले गरेको योगदानप्रति हामी मनैदेखि आभार व्यक्त गर्छौं । र उनको व्यवसायिक जीवनका लागि शुभकामना दिन चाहन्छौं ।’

    २१ वर्ष बार्सिलोनामा रहँदा मेस्सीले क्लवका लागि कीर्तिमानी ६ सय ७२ गोल गरेका छन् । उनले बार्सिलोनालाई १० पल्ट ला लिगा च्याम्पियन बनाएका छन् भने चारपल्ट च्याम्पियन्स लिगा सातपल्ट, कोपा डेल रे दिलाएका छन् । उनले प्रतिष्ठित बेलोन डी’ओर अवार्ड ६ पल्ट जितेका छन् ।
    मेस्सीलाई बार्सिलोनामै राख्नका लागि अध्यक्ष जोआन लापोर्टाले हदैसम्मको प्रयास गरेका थिए । सम्झौताका लागि तयारसमेत गरेका थिए ।

    मेस्सी सन् २००० देखि बार्सिलोनाकाे युवा एकेडेमी ला मासियामा आवद्ध थिए । २१ वर्षपछि उनी  क्लवबाट बाहिरिएका छन् ।

  • पारस ! तिमीबिना मैदानमा प्रवेश गर्न कठिन हुनेछ

    पारस ! तिमीबिना मैदानमा प्रवेश गर्न कठिन हुनेछ

    काठमाडौं । नेपाली क्रिकेट समर्थकहरूलाई स्तब्ध बनाउँदै पारस खड्काले अचानक सन्न्यास घोषणा गरे । उनको सन्न्यासको खबर समर्थकहरूका लागि मात्रै नभएर राष्ट्रिय टिमका सहकर्मी खेलाडीहरूका निम्तिसमेत अप्रत्याशित थियो ।

    अन्तरमुर्खी स्वभावका पारस आफ्ना निजी कुराहरू निकै कम साथीहरूलाई मात्रै सेयर गर्छन् । त्यसैले राष्ट्रिय टिमका धेरै सदस्यलाई उनले यति चाँडै सन्न्यास लिनेछन् भन्ने आँकलन थिएन । सन्न्यास घोषणापछि उनीहरूले सामाजिक सञ्जालमार्फत पारसप्रति आफ्ना भावना पोखेका छन् ।

    हेरौं पारसको सन्न्यासलाई लिएर क्रिकेटरहरूले के-के लेखे :

    ज्ञानेन्द्र मल्ल

    तिमीले क्रिकेट टोलीलाई मात्रै हैन देशका लाखौँ जनतालाई प्रेरणा दिएका छौँ । तिमी साँच्चै माहन लिडर र च्याम्पियन खेलाडी हौ । क्रिकेटमा तिम्रो योगदान अतुलनीय छ । तिमीबिना क्रिकेटको मैदानमा प्रवेश गर्न एकदमै कठिन हुनेछ । सबै कुराको लागि धन्यवाद पारस । हामीले पक्कै पनी तिमीलाई याद गरिरहनेछौँ ।

    सन्दीप लामिछाने

    टी-२० विश्वकप २०१४ मा हङ्ककङविरुद्ध तपाईंको ४१ रन र विकेटले एउटा बच्चालाई नेपालको प्रतिनिधित्व गर्ने सपना दियो । ऊ त्यो खेल हेरेर क्रिकेट एकेडेमी भर्ना भयो । हिजोजस्तै लाग्छ तपाईँले त्यो बच्चालाई नेपालको नामिवियाविरुद्धको खेलमा मिड विकेटबाट आफ्नो पहिलो ओभरको लागि बोलाउनुभयो ।

    साथै उसलाई रमाउन र आराम गर्न भन्नुभयो । यो सबैभन्दा यादगार पल हो । र, ऊ अझै भगवानप्रति कृतज्ञ छ कि उसले नेपालको माहान खेलाडीको कप्तानीमा डेब्यु गर्‍यो । तपाईँले आफू पछाडि एक महान विरासत छोड्नुभएको छ ।

    एक व्यक्तित्व जसले नेपाल क्रिकेटलाई सबैथोक दियो । तपाईंले अलि चाँडै छोड्नुभएकोमा म दु:खी छु, तर तपाईंको निर्णयको कदर गर्छु । जीवनको दोस्रो अध्यायका लागि शुभकामना । तपाईंको यादको सुगन्ध सधैँ वरिपरि हुनेछ । म साँच्चै निशब्द छु । नेपालको सेवा गर्नु भएकोमा धन्यवाद । हामी तपाईं र तपाईंको निस्वार्थ स्वभावप्रति सदैव ऋणी रहनेछौँ ।

    वसन्त रेग्मी

    शब्दबिनाको संसार छैन, तर आज मेरो मुखमा कुनै शब्द छैन । तिमीले क्रिकेटमा गरेको योगदान सबैलाई अविस्मरणीय छन् साथी । हेप्पि रिटायरमेन्ट ।

    दीपेन्द्रसिंह ऐरी

    एक दाइ, संरक्षक, कप्तान र सबैभन्दा माथि नेपाली क्रिकेटको इतिहास । तपाईंप्रति कृतज्ञता व्यक्त गर्न मसँग कुनै शब्द छैन । तपाईं मेरो जिवनको हरेक उतारचढावमा सधैँ सँगै हुनुहुन्छ । तपाईंले दिनुभएको साथ र मार्गदर्शनका लागि धेरै-धेरै धन्यवाद दाइ ।

    नेपाली क्रिकेटमा तपाईंको योगदानका लागि र वर्षौंदेखि दिनुभएको सुझाव-सल्लाहका लागि धन्यवाद पारस दाइ । एक उल्लेखनीय कार्यजीवनका लागि बधाई तथा आगामी यात्राको लागि शुभकामना ।

    विनोद भण्डारी

    तपाईंलाई थाहा नै छ, मैले तपाईंको कप्तानीमा राष्ट्रिय टोलीमा डेब्यू गरेदेखि तपाईंको पाइलाहरू पछ्याइरहेको छु । तपाईंको निर्णयको म सम्मान गर्दछु्, तर तपाईंलाई बिदाई गर्दा मेरो मन दुखेको छ ।

    मैदानभित्र होस् या बाहिर तपाईं मेरो प्रेरणाको स्रोत बन्नुभएको छ । यो साथ र मार्गदर्शनका लागि धन्यवाद । तपाईंबिना मैदान प्रवेश गर्नु पहिलेजस्तो सजिलो हुने छैन ।

    करण केसी

    २०१५ मा तपाईंको कप्तानीमा खेल्न शुरू गरेदेखि मैले धेरै कुरा सिकेको छु । मभित्रको ‘राम्रो म’ हुनको लागि तपाईंले सधैँ प्रोत्साहन र मद्दत गर्नुभएको छ । वर्षौंदेखिको प्रेरणा र एक महान व्यक्तित्व हुनुभएकोमा धन्यबाद । तपाईंले अवकाश लिनुभएकोमा म अझै स्तव्ध छु । तर, तपाईंको निर्णयको सम्मान गर्छु । तपाईंले नेपाल क्रिकेटका लागि गर्नुभएको सबै कुराको लागि धन्यवाद । तपाईं धेरै मिस हनुहुने छ ।

    आसिफ सेख

    तपाईं हाम्रो लागि एक अद्भुत मार्गदर्शक हुनुभयो । तपाईंले मलाई सिकाएको कुरा जीवनमा कहिल्यै बिर्सने छैन । तपाईं एक महान प्रेरणा स्रोत हुनुहुन्छ । तपाईंको जीवनको नयाँ अध्यायले तपाईंलाई जे गर्दा रमाइलो लाग्छ, त्यसका लागि असीमित समय प्रदान गरोस् ।

    आरिफ सेख

    दाइ, तपाईं धेरैका लागि प्रेरणाको स्रोत हुनुभएको छ । मैले तपाईंबाट धेरै कुरा सिकेको छु । आफ्नो व्यक्तिगत र व्यवसायिक जीवनमा उत्कृष्ट तपाईं जस्तो दाइ पाएकोमा म र नेपाल क्रिकेट भाग्यशाली छौँ । तपाईंले कार्यजीवनमा धेरै कुरा प्राप्त गर्नुभयो । तपाईंले निसन्देह राष्ट्रको सेवा गर्नुभयो । आगामी दिनमा पनि तपार्इँले धेरै कुरा प्राप्त गर्नु हुनेछ भन्नेमा म विश्वस्त छु । तपाईं आफू जस्तो हुनुहुन्छ, त्यस्तै भइरहनुस् । ह्याप्पी रिटायरमेन्ट ।

    अविनाश बोहरा

    सबै कुराको लागि धन्यवाद पारस दाइ । हामीजस्ता युवाहरूका लागि सधैँ तपाईं प्रेरणाको स्रोत हुनुहुन्छ । तपाईंको नेतृत्वमा खेल्नु मेरो लागि एउटा सु-अवसर थियो जुन म कल्पना पनि गर्दिन थिएँ । सधैँ मार्गदर्शनको अपेक्षा गर्छु । तपाईं सधैँ मेरो कप्तान रहनुहुनेछ । नेपालको सबैभन्दा महान क्रिकेटरलाई बिदाई ।

    कुशल भुर्तेल

    सबै कुराको लागि धन्यवाद पारस दाइ । वर्षौंदेखिको समर्पण र प्रतिबद्धताका लागि धन्यवाद । नयाँ शुरूआतको शुभकामना ।

  • ओलम्पिक महिला फुटबलमा कांस्यका लागि अमेरिका र अष्ट्रेलिया भिड्दै

    ओलम्पिक महिला फुटबलमा कांस्यका लागि अमेरिका र अष्ट्रेलिया भिड्दै

    एजेन्सी । ३२ औं ग्रिष्मकालीन ओलम्पिकको आज १३ औं दिन १२ खेलका २७ स्पर्धाको फाइनल हुँदैछ । महिला फुटबलमा क्यानडासँग अप्रत्यासित हार ब्यहोरेको पूर्व च्याम्पियन अमेरिकाले तेस्रो स्थानका लागि आज अष्ट्रेलियासँग खेल्दैछ । अष्ट्रेलिया भने सेमिफाइनलमा स्वीडेनसँग हारेको हो ।

    आज एथलेटिक्सको पुरुष ट्रिपल जम्प, शटपुट, ११० मिटर हर्डल्स, २० किलोमिटर रेस वाक, ४०० मिटर र डेकाथोलन तथा महिलातर्फ पोलभल्ट र हेप्टाथोलनमा स्वर्णका लागि प्रतिस्पर्धा हुँदैछ ।

    बक्सिङमा पुरुष फिदरमा फाइनल खेल हुनेछ । क्यानोई स्प्रिन्टतर्फ पुरुष के–वान २०० मिटर, महिला सी–वान २०० मिटर, महिला के–वान ५०० मिटर र पुरुष के–टू १००० मिटरमा स्वर्णको प्रतिस्पर्धा हुनेछ ।

    डाइभिङमा महिला १० मिटर प्ल्याटफर्म, पुरुष हकी, कराँते महिला काता, महिला कुमुते ५५ केजीमूनि र पुरुषतर्फ ६७ केजीमूनिको फाइनल आजै हुँदैछ । पुरुषको म्याराथन पौडी, स्केटबोर्डिङमा पुरुष पार्क, स्पोर्ट क्लाइम्बिङमा पुरुषतर्फको फाइनल पनि आज हुनेछ ।

    टेवल टेनिसको महिला टिमm तथा कुस्तीको महिला तर्फ ५७ केजी र पुरुषतर्फ ५७ र ८६ केजीको फाइनल स्पर्धा आज हुनेछ ।

    पदक तालिकामा चीनको अग्रता यथावत छ । चीनले ३२ स्वर्णसहित ७० पदक जितेको छ भने अमेरिकाले २५ स्वर्णसहित ७९ पदक जितेको छ । जापानले २१, बेलायत र अष्ट्रेलियाले १५–१५ स्वर्ण जितेका छन् । रुस ओलम्पिक कमिटीले १४ स्वर्ण जितेको छ ।

  • युरो फाइनलपछि खेलाडीमाथि नस्लीय दुर्व्यवहार गर्ने ११ जना पक्राउ

    युरो फाइनलपछि खेलाडीमाथि नस्लीय दुर्व्यवहार गर्ने ११ जना पक्राउ

    एजेन्सी । अघिल्लो महिना सम्पन्न युरो–२०२० को फाइनलपछि इंग्लयाण्डला खेलाडीहरुलाई सामाजिक सन्जाल वा अनलाइनको माध्यमबाट नस्लीय भेदभावजन्य टिप्पणी गर्ने ११ जनालाई लण्डन प्रहरीले पक्राउ गरेको छ ।

    बेलायतको फुटबल पोलिसिङ युनिटले दुर्व्यवहारको ६ सय भन्दा बढी निवेदन पाएको थियो । युरो फाइनलमा इटलीसँग पेनाल्टीमा पराजित भएपछि गोल गर्न नसक्ने तीन इंग्लिस काला खेलाडीमाथि रंगभेद भएको थियो । सामाजिक सन्जालमा प्रशारित १ सय २३ पोष्टमध्ये ३४ वटा बेलायतबाटै भएको थियो ।

    गल्ती गर्नेहरुले सामाजिक सन्जालको एकाउन्ट बन्द गर्दैमा उन्मुक्ति पाउँछु भनेर नसोच्न प्रहरीले चेतावनी दिएको छ ।

    इंग्ल्याण्डका मार्कस राशफोर्ड, जाडोन सान्चो र बुकायो साकाले युरो–२०२० को फाइनलमा इटलीविरुद्ध पेनाल्टीमा गोल गर्न नसकेपछि सामाजिक सन्जालमा अत्याधिक रुपमा नस्लीय दुर्व्यवहारका सन्देशहरु पोष्ट भएका थिए ।

    यस घटनाको इंग्ल्याण्डको फुटबल एशोसियसन, इंग्लिस प्रशिक्षक ग्यारेथ साउथगेट र प्रधानमन्त्री बोरिस जोन्सनले भर्त्सना गर्दै निश्पक्ष छानविनको अपील गरेका थिए ।

     

  • मेरो खास करिअर अब सुरु भयो, फेयरवेलको इच्छा छैन

    मेरो खास करिअर अब सुरु भयो, फेयरवेलको इच्छा छैन

    रिजर्भ स्वभावका पारस खड्का हम्मेसी आफ्नो निजी जीवनबारे खुल्दैनन् । क्रिकेटका बारेमा जति पनि गफिन तयार हुने उनी जब व्यक्तिगत प्रश्न आउँछ, मौन बनिदिन्छन् ।

    हिजो अचानक अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएर समर्थकहरुलाई खिन्न बनाएका पारस आज पत्रकारमाझ पेश भए  । आजको सवालजवाफ भने उनको निजी जीवनमा केन्द्रित रह्यो । खासगरी आफ्ना भावि योजनाहरुबारे पारस खुलेर प्रस्तुत भए ।

    खेलाडीका रुपमा १७ वर्षसम्म क्रिकेटमा योगदान दिएका पारस अब व्यवस्थापनमा उक्लिने मनस्थितिमा छन् । उनले आफ्नो यो मनस्थितिलाई आज पत्रकारमाझ स्पष्टसँग राखे । साथै, अन्य केही योजनाहरु पनि सुनाए ।

    प्रस्तुत छ, नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारससँग पत्रकारको सवाल-जवाफः

    अहिले एकाएक क्रिकेटबाट सन्न्यास लिनुको कारणबारे बताइदिनुस न ?

    मैले दुई बर्ष अगाडी कप्तानी छोड्ने बेलामा पनि अब क्रिकेट खेल्नेकी नखेल्ने भनेर मनमा आएको थियो । दश बर्षसम्म नेपाली राष्ट्रिय क्रिकेट टोली मेरो नेतृत्वमा रहयो । त्यसैले टोलीलाई केही सहयोग हुन्छ भनेर दुई बर्ष टोलीमा बसेँ ।

    मैले धेरै सोचेर यो निर्णय लिएको हुँ । त्यत्तिकै सुतेर उठ्दा ‘ल, क्रिकेट नखेलौँ अब’ भनेर हैन । मलाई क्रिकेटले सबै कुरा दिएको छ । पहिचान, माया, शुभचिन्तकहरु र आशिर्वाद पाएको छु । यो सबै कुरा हुँदाहुँदै मैले यो सही समय हो भनेर नखेल्ने निर्णय लिएको हुँ ।

    अहिले युवा टोली छ । ओडिआईको म्याद दुई बर्ष बाँकी छ । यो दुई वर्षको समय टोलीलाई तयार पार्न एकदम उपयुक्त समय हो । र, मेरो भुमिका भनेको एकदमै फरक तरिकाले हुन सक्छ अब । क्रिकेट खेलाडीहरुसँग राम्रो सम्वन्ध छ । अहिले पनि उनीहरुलाई चाहिने सहयोग, प्रशिक्षण म जुनसुकै बेला पनि दिन सक्छु । त्यो बाहेक, म क्रिकेटबाट टाढिएको हैन र टाढिने पनि छैन । मेरो भूमिका मात्रै फरक हुने छ ।

    लामो समय क्रिकेट खेल्नुभयो, अहिले यस्तो निर्णय लिँदा दिमागमा के आउँदो रैछ ? परिवारसँग सल्लाह गर्नुभयो कि ?

    म परिवार, क्रिकेट टिमको साथिभाई सबैको साथ र सहयोगबिना यहाँ आइपुग्दिन थिएँ । यो सबै कुरा हुँदाहुँदै पनि क्रिकेटलाई चाहिँ मैले आफ्नो निर्णय भनेर छुट्याएको छु । अरु सबै कुरा म साथिभाई, परिवारले भनेको मानुँला, तर क्रिकेट चाहिँ आफ्नै हिसाबले अगाडी बढाउँदै आएँ । मैले आफ्नै व्यक्तिगत हिसाबले यो निर्णय गरेको हुँ ।

    मेरो श्रीमती, जसको मेरो पुरै क्रिकेट यात्रामा महत्वपूर्ण भुमिका छ, उनको र एक-दुई जना नजिकको साथिहरुको सल्लाह लिएको छु । परिवारसँग पनि कुरा त गरेँ, तर मैले उहाँहरुलाई सुचना मात्रै दिएँ । यो सोधिनँ कि अब क्रिकेट खेलौं या नखेलौँ । तर आफुलाई चाहिँ २४-४८ घण्टासम्म दिमागमा आउँदो रैछ, के गर्ने कसो गर्ने भनेर ।

    मान्छेमा के छ भने पारस खड्का नै क्यानमा आउनुपर्छ, पारस खड्काले नै यो गर्नुपर्छ त्यो गर्नुपर्छ । तर, पारस खड्काले गर्दा मात्र यो टिम र क्रिकेट यहाँ आइपुगेको होइन । मलगायत अघि र पछिका खेलाडी, सरोकारवाला सबैको उत्तिकै भूमिका छ । आगामी दिनमा मेरो अनुभव र ज्ञानलाई एकै ठाउँमा ल्याएर नेपालका लागि केही गर्नुपर्छ भने म त्यसका लागि तयार छु ।

    क्रिकेटबाट सन्न्यास लिएपछि तपाईंका आगामी योजनाहरु के छन् ?

    मैले क्रिकेट छोड्दा कुनै प्लान बेगर यसरी नै छोड्छु भनेको थिएँ । तपाईहरुको मायाले गर्दा नै आज म यहाँ आएर आफ्नो कुरा राख्दैछु । मेरो उमेर अहिले ३३ हो । मैले धेरै अनुभव र ज्ञान हसिल गरेको छु । मैले साथी, क्याप्टेन र खेलाडी सबै भएर खेलेको छु । यसैले अब त्यत्रो पिर लिनु पर्दैन ।

    अब के त अगाडि भन्ने कुरा हो । म आगामी दिनका लागि एक्साइटेड छु । पहिल्यैदेखि राम्रोभन्दा राम्रो गर्न सकुँ भन्ने नै हो । अहिले अन्तराष्ट्रिय क्रिकेट यात्रा सकिएको छ । आगामी दिनमा पनि बाटो सजिलो भने छैन । तर, अहिलेसम्म जसरी मलाई यतिले माया गर्नुभएको छ, आगामी दिनमा पनि गर्दिनु हुनेछ भन्ने अशा लिएको छु । साथै नेपालको क्रिकेटलाई सबैले सहयोग गर्नु नै हुनेछ भन्ने मलाई लागेको छ ।

    अहिलेको खेलाडीसँग एक्स्पोजर बढी छ । र, ट्यालेन्ट पनि बढी नै छ । हामीले उनीहरुलाई मिलाएर ‘पुस’ गर्ने हो भने रिजल्ट राम्रो निकाल्न सक्छौं । मेरो लागि चाहिँ राम्रो सिस्टम भइदिएको भए हुन्थ्यो ।

    मेरो सपना हो नेपालले टेस्ट स्टाटस पाओस् । तर, यो मेरो सपना मात्र भएर हुँदैन । यसमा पूरा मेहनत चाहिन्छ । यसमा टिमको ‘पर्फमेन्स’ भएर मात्र पुग्दैन, हाम्रो स्ट्रक्चर पनि सम्हाल्नु पर्छ । भोली गएर मेरो भूमिका धेरै हुन सक्छ । त्यो भूमिकामा म आफै बाँध्न कोशिस गर्नेछु । मेरो पर्फमेन्सभन्दा टिमको पर्पमेन्सलाई हेनु पर्छ ।

    तपाईले बारम्बार क्यानमा आउने भन्नुभएको छ, तपाई किन क्यानमा आउन चाहनु हुन्छ ?

    म २००९ मा टिमको क्याप्टेन भएँ । त्यसको एक-डेढ वर्षपछि मलाई पोजिसनको महत्व अनुभव भयो । यो पोजिसनमा के-के गर्न सकिन्छ भन्ने आफूलाई पनि आइडिया भयो । मलाई लाग्यो कि हुनसक्छ भोली क्रिकेट संघको भूमिकामा आउन सकियो भने केही गर्न सकिन्छ । म क्रिकेट खेलाडी भएकाले आगामी दिनमा के गर्ने भन्दा क्रिकेट व्यवस्थापनमा योगदान गर्न सक्छु ।
    भोली म गएर क्रिकेट संघको पदाधिकारी हुँला, तर म मात्र भएर पुग्दैन । अहिलेको क्रिकेट स्टेकहोल्डर को-को हुनुहुन्छ उहाँहरुले पनि उत्तिकै जिम्मेवारी लिनुपर्ने छ । यो बाटो कठिन पनि र सजिलो पनि छ । सबैजना आएर क्रिकेटलाई अघि बढाउने भनेर राम्रो ‘स्ट्राटेजी’ बनाउने हो भने मलाई लाग्छ धेरै कुरा अझै गर्न सकिन्छ । सबै मैले भनेका कुरा हुनुपर्छ भन्ने पनि छैन । वादविवाद हुनसक्छ । कति कुरा फेल हुन सक्छन् । कति कुरा सही हुन सक्छन् । तर, व्यवस्थापनले सपोर्ट गर्ने हो क्रिकेट अझ राम्रो हुनेछ ।

    क्रिकेटबाट सन्न्यास लिने निर्णय गरेको क्षण कत्तिको गाह्रो भयो ?

    गाह्रो त हुन्छ नै । मलाई याद छ हामी विहानै खेलिरहेका थियौं । म कहिल्यै पनि जित्दा ग्राउण्डमा कुदेको थिइँन । तर, त्यस दिन कुदेँ । मेरो त खेल जीवन त्यो प्रतियोगिताबाट सकिदै थियो । त्यसैले गाह्रो त हुन्छ नै ।

    मेरो सबैभन्दा ठूलो उपलब्धी नै सबैको माया पाउनु हो । यो विश्वासलाई म खेर जान दिन्न । हाम्रो देशमा पनि अहिले खेल मन पराउने जमात ठूलो भइसकेको छ र, स्पोट्र्स मिडिया पनि छ । हाम्रो देशका विभिन्न खेललाई ग्रुमिङ गर्ने हो र मिडियाले कभरेज गर्ने हो भने देशको खेल पनि निकै माथि पुग्नेछ ।

    खेलबाट पनि हामीले देशलाई चिनाउन सक्छौं । क्रिकेट जहिल्यै पनि राम्रो होस भनेर लडिरहने छु । ठ्याक्क दुई वर्षपछि क्यानको चुनाव छ । अन्तर्राष्ट्रिय क्रिकेट छोडेको दुई वर्ष पुगेपछि चुनाव लड्न पाइन्छ ।

    पूर्वखेलाडीलाई विश्वभरि नै अवसर नै छन् अहिले । कोचिङका अवसर छन् । कमेन्ट्री पनि गर्न सकियो । व्यवस्थापनमा आउन सकियो । राम्रो खेलाडी भयो भने राम्रो व्यवस्थापक हुन्छ भन्ने चाहिँ छैन । राम्रो काम गर्नु प¥यो । मेरो इच्छा भनेको नेपालमा चारैतिर क्रिकेट फैलियोस भन्ने हो । हाम्रो स्कुल, कलेजदेखि प्रदेशलगायतका जुन–जुन तहहरु छन्, त्यसमा क्रिकेट रेगुलर र व्यापक तरिकाले हुनुपर्छ । यसका लागि क्यानमा आएर हुनसक्छ वा क्यान बाहिर बसेर हुन्छ, यसैलाई राम्रो गर्नु पर्यो ।

    क्रिकेटमा केही गर्छु भनेर अघि बढ्ने हो भने मलाई लाग्छ राम्रो गर्न सकिन्छ । यदि मलाई कसैले जिम्मेवारी दिन्छ भने म राम्रोसँग काम गर्न सक्छु । मसँग निकै इमोसन र मिहिनेत छ ।

    राष्ट्रिय क्रिकेट छोडेपछि तपाईंले सबैभन्दा बढी के मिस गर्नुहुन्छ ?

    क्रिकेट टिमभित्रको वातावारण, एकआपसमा भएको रमाइलो मिस गर्नेछु । सबैले हाम्रो बाहिरको परफरमेन्स मात्र हेर्नुहुन्छ । तर, त्योभन्दा पनि भित्र धेरै रमाइलो हुने गर्छ । त्यहाँ यति धेरै सम्झनाहरु छन् ।

    ट्राई सिरिजमा म घाइते भएँ तर नेपालले राम्ररी खेल्यो । यो ब्राण्डको क्रिकेट पनि खेल्न सक्ने रहेछौं जस्तो लाग्यो । मसँग धेरै सम्झनाहरु छन् ।

    तपाईंले सन्न्यास घोषणा भएपछि क्रिकेट संघसँग केही कुराकानी भयो ?

    मैले क्यानको सोसल मिडिया पोष्ट देखेँ । मैले क्रिकेट संघलाई नराम्रो देखाएर क्रिकेट छोडेको होइन । यो मेरो व्याक्तिगत निणर्य हो । भोली म क्रिकेट व्यवस्थापनमा आएँ भने सबैसँग मिलेर काम गर्नुपर्छ । मैले संघलाई इमेल लेखेर जानकारी गराइदिए । मलाई अध्यक्षले फोन गरेर पुनर्विचार गर्नुहुन्छ कि भन्नु भएको थियो ।

    योभन्दा अघि मैले क्याप्टेन छोड्दा पनि पुनर्विचार गर्ने प्रस्ताव राख्नु भएको थियो । तर, म आफू कुनै पनि निर्णय गर्नुअघि धेरै नै सोचविचार गर्ने किसिमको मानिस भएका कारण मेरो निर्णय फिर्ता लिइनँ । अहिले पनि मैले गलत गरेँ वा सही भन्ने कुरा समयले बताउँला ।

    तपाईंसँग दुई वर्ष खाली समय छ, त्यसलाई कसरी सदुपयोग गर्नुहुन्छ ?

    म त अहिले सानो तरिकाले स्टार्ट गर्दैछु । एक–दुई महिनामा क्रिकेट एकेडेमी लन्च गर्न लागेको छु । अबको ३–४ वर्षमा अधिराज्यभरि नै यसलाई लिएर जाने योजना छ । सात प्रदेश छन् । यतिधेरै जिल्ला छन् । ठाउँ-ठाउँमा गएर क्यानको प्रतिनिधिहरुसँग कुराकानी गरेर स्कुल लेभल क्रिकेट प्रतियोगिताहरु आयोजना गर्ने विषयमा पहल गर्नेछु । अहिलेको लागि अरु धेरै ठूलो सोच छैन । एकेडेमीलाई राम्रो तरिकाले सञ्चालन गरुँ भन्ने हो ।

    भोलीको दिनमा पारस खड्कालाई राजनीतिमा दैख्ने सम्भावना चाहिँ कति छ ?

    (मुस्काउँदै) मलाई क्रिकेटरका रुपमा, क्याप्टेका रुपमा, पोजिसनमा पुगेपछि कति कुरा गर्न सकिन्छ भन्ने भित्र फिल भएको हो । आगामी दिनमा अवसर आउँछ भने ह्वाइ नट ? तर त्यो अवसर त्यतिबला लिन्छु जब क्रिकेट व्यवस्थापनलाई एउटा ठाउँमा पुर्याउन सकेँ भने ।

    क्रिकेट बाहेकको राजनीतिक लाइनमा सही अवसर आयो भने सोच्न सक्छु । म कुनै संस्था, पार्टीसँग जोडिएर नेपाललाई कुनै तरिकाले ‘भ्यालु एड’ गर्न सक्छु भने म तयार छु । तर अहिलेका लागि मेरो प्राथमिकता क्रिकेट नै हो ।

    क्यानमा पनि राजनीतिक लविङ हुने गरेको छ । तपाईं क्यानमा आउनका लागि कस्तो रणनीति अपनाउनुहुन्छ ?

    देशैभरि त्यस्तै राजनीति छ, क्यानमा मात्रै होइन । मैले त्यति लामो रणनीति सोचेको छैन । राजनीतिले हरेक क्षेत्रलाई प्रत्यक्ष–अप्रत्यक्ष छुन्छ । राजनीतिको राम्रो र नराम्रो पक्षलाई कसरी लिने भन्ने हो । सही राजनीतिले कुनै संघ–संस्था वा व्यक्तिलाई सपोर्ट गर्छ भने स्वागत गर्नुपर्छ ।

    तपाईहरुले धेरै पहिले ‘नयाँ क्यान’को बहस सुरु गर्नुभएको थियो । निलम्बनपछि क्यानमा परिवर्तनको अपेक्षा थियो, तर पूरा भएन । म व्यवस्थापनमा जान्छु भनिरहँदा आफूले बनाउन चाहेको व्यवस्थापनको अलिकति चित्र प्रस्तुत गरिदिनुस न ?

    सबैभन्दा सरल तरिकाले वर्णन गर्दा जिल्ला, प्रदेश र केन्द्रमा संघ छ । जिल्लाबाटै क्रिकेटको सुरुवात गर्नुपर्छ । सबैजना केन्द्रले के गर्छ, कति फन्ड आउँछ, कसरी विभाजन हुन्छ भन्ने सोचले क्रिकेट संघ चलिरहेको हो । सात प्रदेशको हिसाबले प्रदेश र जिल्ला क्रिकेट संघलाई बलियो बनाउनुपर्छ । त्यो गर्ने हो भने धेरै कुरा आफैं समाधान हुन्छ । पुरै उलटफेर गर्नुपर्ने देख्दिनँ । भएका मान्छेलाई जिम्मेवार बनाउनुपरो । कामका आधारमा मूल्यांकन हुनुपर्यो । कुनै जिल्लाले राम्रो क्रिकेट प्रतियोगिता गर्छ भने उसलाई बढी फन्ड दिउँ । भएको सिस्टमलाई एक्टिभ गराउने हो भने अहिलेकै रिसोर्स पनि काफी हुन्छ । तर, एक दिन र दुई दिनको प्रयासले हुन्न । अठाेट चाहियो ।

    तपाईंलाई अब घरेलु क्रिकेटमा कति देख्न पाइएला ?
    डोमेस्टिक क्रिकेट खेल्न मन अझै छ । १० वर्षमा डोमेस्टिक क्रिकेटको परिभाषा नै चेन्ज भइसक्यो । लिगहरु खेल्ने अवसर धेरै छन् । म हेर्छु । मलाई लाग्छ अझै केही घरेलु क्रिकेट खेल्न सक्छु । त्यति ठूलो दायित्व नहोला । खेलिसकेपछि सिरियस त भइहाल्छ । कहिलेदेखि भन्न सक्दिनँ । तर, आगामी दिनमा खेल्छु होला जस्तो लाग्छ ।

    ज्ञानेन्द्र मल्लले एउटा अन्तरवार्तामा भन्नुभएको थियो, पारस खड्का बाहिर रिजर्भ भए पनि एकदम रमाइलो गर्नुपर्ने स्वभावको हुनुहुन्छ । एकपटक त खेलाडीहरुले कम्बल ओढाएर कुटेका छौं । त्यो घटना सम्झिदिनुस न ?

    हामी फाइनल जितेपछि सेलिब्रेट गर्छौं । त्यो मलेसियामा भएको डिभिजन ३ को फाइनलमा थियो । फाइनल जितेपछि राति १–२ बजेसम्म सेलिब्रेट गरिएको थियो । क्रिकेटरहरुले प्लान बनाएका रहेछन् । स्पिकरको ब्याट्री सकियो भनेर म रुममा गएँ । एकजना भित्रै रहेछ, सागर कि को हो । म भित्र जानासाथ खोइ कसले कम्बल ओढाएर कुटेको हो हँसिमजाक तरिकाले । एक दुई लात खाएको थिएँ ।

    यस्ता रमाइला अनुभवहरुलाई किताबको रुपमा प्रकाशित गर्दै हुनुहुन्छ भन्ने चर्चा छ नि ?
    छैन, छैन । आजसम्म छैन । इच्छा चाहिँ छ । जुन अनुभवहरु छन्, कति कुराहरु सेयर गर्न, भन्न नसकेको कुराहरु किताबमा लेख्न पाउँछु होला । जब हुन्छ, यहाँहरुलाई खबर गर्छु नै ।

    क्रिकेट खेलेर कति पैसा कमाउनुभयो ?

    मैले कति कमाएँ भन्दा पनि अवसरहरु अब धेरै छन । ब्रान्ड इन्डोर्समेन्टभन्दा पनि लिगहरुको आकर्षण नेपालप्रति छ । तर, लास्ट २ वर्षमा कोरोनाले गर्दा धेरै क्रिकेट भएको छैन । आगामी वर्षमा लिगहरुमा मौका आउँछ । त्यसमा आफूलाई स्थापित गर्ने हो भने राम्रो हुन सक्छ ।

    त्यो सबै कुन बेला हुन्छ भने जब नेपालले जित्छ । कुनै खेलाडीले जितायो भने त्यो संसारको आँखामा पर्ने हो । त्यसैले नेपालले जितिराखोस ।

    जहाँसम्म मेरो व्यक्तिगत कुरा छ, मिहिनेत गर्दै जाँदा धेरै मौकाहरु आयो । राम्रै छ मेरो लागि । तर, मैले मात्र केही पैसा कमाएर नेपालको क्रिकेट सफल भयो भन्न मिल्दैन । मभन्दा सन्दिप लामिछानेले नेम, फेम कमाउनुभएको छ । सबैका लागि अपर्चुनिटी छ । त्यो बाटोमा सबै खेलाडी लागुन् ।

    टिम नेपाललाई केही भन्न चाहनुहुन्छ ?
    भन्नुपर्ने केही छैन । मलाई आशा छ कि उहाँहरुले नेपाली क्रिकेटलाई योभन्दा माथिल्लो स्थानमा पुर्याउन सक्नुहुन्छ । मलाई विश्वास छ । मेरो चाहिँ हिजोबाट प्यासन सकियो । आजबाट करिअर स्टार्ट भयो । प्यासनले यहाँसम्म ल्यायो मलाई । खेल्दाखेल्दै करिअर बन्यो । आजबाट खास करिअरको सुरुवात गर्नेछु । त्यो करिअर क्रिकेटमा छ ।

    तपाईंलाई अनु्शासित र कठोर व्यक्तिको रुपमा लिने गरिन्थ्यो, पछिल्लो समयमा बढी इमोसनल बन्नुभएको हो ?

    होइन म (कठोर) छैन । म सबैभन्दा सरल व्यक्तित्व मान्छु आफूलाई । खेलाडीलाई सौध्नुभए हुन्छ । रिजर्भ छु । ०.०१ प्रतिशतले पनि कडा व्यक्तित्वको मान्छे भन्दैन मलाई । सही र गलत छुट्याउने कुरामा कहिलेकाहीँ कडारुपले प्रस्तुत हुन्छु होला ।

    कुनै पनि खेलाडीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिँदै गर्दा शानदार फेयरवेलको अपेक्षा गरेको हुन्छ । तपाईंलाई त्यस्तो लोभ छैन ?

    मेरो च्वाइस यो थियो, यो मैले गरिसकँे । अरु धेरै खेलाडी छन् जो यस्तो फेयरवेलको हकदार छन् । जस्तो शक्ति गौचन । उहाँको धेरै ठूलो योगदान छ । महबुबको बारेमा हालै पढेँ । उहाँको चाहना पनि छ सम्मानका साथ बिदाइ होस भन्ने ।
    जसले देशको लागि यति धेरै गर्नुभएको छ, उहाँहरुको लागि संघले, सरकारले फेयरवेल म्याचहरु गरिदिनुपर्छ । कसरी गर्ने भन्ने विभिन्न तरिका हुन सक्छ । मेरो चाहिँ यही तरिका थियो । यसमा दुख छैन । मैले कमाएको भनेको माया, इज्जत र विश्वास हो । त्यो जीवनभर कायम राख्न कोशीस गर्छु ।

    फेयरवेलभन्दा पनि लेट्स सेलिब्रेट क्रिकेटिङ जर्नी । आगामी दिनमा धेरे मौका आउनेछन् । म नेपाली क्रिकेटँसग जोडिने नै छु । देयर इज नो फेयरवेल फर मी ।

    करिअरको सबैभन्दा खुशी र दुखको क्षण ?
    हरेकचोटि जित्दा खुशी भइन्छ । वल्र्ड कपमा क्वालिफाइ हुँदा र ओडिआइ स्टाटस पाउँदा सबैभन्दा बढी खुशी भएको थिएँ

  • पारसका भावी योजना : क्यानको नेतृत्वदेखि राजनीतिसम्म

    पारसका भावी योजना : क्यानको नेतृत्वदेखि राजनीतिसम्म

    काठमाडौं । नेपाली क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले सन्न्यास घोषणापछि नेपाली क्रिकेटको व्यवस्थापनमा आउने चाहना व्यक्त गरेका छन् । सन्न्यासपछि पहिलोपटक पत्रकारहरूसँग प्रस्तुत भएका उनले आफ्ना अरु पनि भावी योजना सुनाए ।

    पारसका अनुसार तत्काल उनले आफ्नो क्रिकेट एकेडेमीलाई अघि बढाउने सोचेका छन् । यो एकेडेमीलाई ३-४ वर्षमा देशभर विस्तार गर्ने लक्ष्य रहेको उनले बताए । दुई वर्षपछि नेपाल क्रिकेट संघको नेतृत्वमा आउने उनको योजना छ ।

    ‘अहिले आफ्नो एकेडेमीलाई राम्रो तरिकाले लैजाने सोचेको छु, भविष्यका लागि अरु पनि विकल्पहरू छन्,’ पारसले भने । आफूले पहिलेदेखि नै क्रिकेट व्यवस्थापनमा आउने योजना बनाएको उनले सुनाए ।

    पारसले भने, ‘सन्न्यासपछि के गर्ने भन्दा यही नै विकल्प देखेको थिएँ । तर, म आएर मात्रै सबै ठीक हुने होइन । सबैको साथ चाहिन्छ ।’

    राष्ट्रिय क्रिकेट खेलाडीले खेलबाट सन्न्यास लिएको दुई वर्षपछि मात्रै क्यानको चुनाव लड्न सक्ने प्रावधान रहेकाले आफूसँग केही समय रहेको पारसले बताए ।

    ‘मसँग दुई वर्ष समय छ । यो बीचमा अरु पनि विकल्प छन् । क्रिकेट प्रशिक्षकका रूपमा हुन सक्छ वा कमेन्ट्रीमा पनि हुन सक्छ,’ उनले भने । क्रिकेट संघमा आउने चाहना भए पनि यो चुनौतिपूर्ण रहेको पारसले स्वीकारे ।

    उनले भने, ‘पक्कै पनि सजिलो छैन । चुनावी प्रक्रियाबाट आउनुपर्ने हुन्छ । जिल्लादेखि प्रदेश हुँदै केन्द्रसम्म आउनुपर्ने हुन्छ । आएर पनि एक्लैले गर्न सक्छु भन्ने होइन । सबैको सहयोग चाहिन्छ ।’

    आगामी दिनमा घरेलु प्रतियोगिता खेल्ने भए पनि त्यसमा धेरै फोकस नहुने पारसले संकेत गरे । ‘घरेलु प्रतियोगिता अलिकति खेल्छु होला, अहिलेसम्म खेल्छु नै भन्ने छ,’ उनले भने ।

    पछि राजनीतिमा जम्प गर्ने सम्भावना छ कि छैन भन्ने पत्रकारको प्रश्नमा पारसले पूर्ण इन्कार गरेनन् । राम्रो अवसर पाएमा राजनीतिमा जान सक्ने उनले बताए ।

    ‘यदि राम्रो अवसरहरु आउँछ भने ह्वाइ नट । तर त्योभन्दा पहिले मैले क्रिकेट व्यवस्थापनमा आफूलाई प्रमाणित गर्न पर्‍यो । त्यसपछि भविष्यमा  कुनै संस्थासँग वा कुनै पार्टीसँग जोडिएर राम्रो गर्न सकिन्छ भन्न लाग्यो भने त्याे पनि सोच्ने छु,’ पारसले भने ।

    आफ्नो किताब लेख्ने इच्छा रहेको उनले बताए । क्रिकेट करिअरमा धेरै स्मरणीय क्षणहरु रहेको भन्दै उनले यसलाई किताबमा उतार्ने चाहना रहेको प्रष्ट पारे ।

    आफूले सन्न्यास घोषणा गरेपछि क्यानका अध्यक्षले पुनर्विचार गर्न सुझाएको भन्दै उनले आफ्नो निर्णय परिवर्तन नगर्ने बताए । ‘म धेरै सोचेर निर्णय लिन्छु र निर्णय गरेपछि ब्याक हुन्न,’ उनले भने, ‘मैले निकै साेचविचार गरेर निर्णय लिएको हुँ ।’

    उनले आजसम्म आफ्नो प्यासनले काम गरेको भन्दै आजबाट करिअरको शुरूवात भएको बताए । त्यो करिअर क्रिकेटमा नै खोज्ने उनकाे भनाइ छ ।

  • म क्रिकेटबाट टाढिएको होइन, अब भूमिका बदलिने छः पारस खड्का

    म क्रिकेटबाट टाढिएको होइन, अब भूमिका बदलिने छः पारस खड्का

    काठमाडौं । हालै सन्न्यास घोषणा गरेका क्रिकेटर पारस खड्काले आफू क्रिकेटबाट टाढा नहुने बताएका छन् । उनले आफफ्नो भूमिका भने अब बदलिने स्पष्ट पारे ।

    सन्न्यास घोषणापछि पहिलोपटक पत्रकारहरूसँग प्रस्तुत हुँदै पारसले आफ्नो रुची व्यवस्थापनमा रहेको बताए । उनले भने, ‘म क्रिकेटबाट टाढिएको होइन, अब बेग्लै भूमिका हुन सक्छ । यो मैले धेरै सोचेर लिएको निर्णय हो ।’

    पारसले अरु विषयमा सबैसँग सल्लाह लिने गरेको भए पनि क्रिकेट सम्वन्धी निर्णय आफू एक्लैले लिने गरको बताए । अहिले सन्न्यास लिन सही समय आफूले ठानेको उनको भनाइ छ । उनले भने, ‘मैले आफ्नो श्रीमती र परिवारलाई भनेको थिएँ । तर सल्लाह गरेको होइन कि जानकारी गराएको हुँ ।’

    उनले क्रिकेटबाट यही तरिकाले सन्न्यास लिन्छु भन्ने पहिले देखि नै सोचेको बताए । नेपाली क्रिकेट यहाँसम्म आउनुमा आफ्नो मात्रै भूमिका नरहेको उनको भनाइ थियो । नेपालले टेस्ट स्टाटस पावस् भन्ने आफ्नो सपना रहेको पारसले बताए । उनले भने, ‘मेरो लाइफटाइममा नेपाल टेस्ट क्रिकेट खेल्ने राष्ट्र बनोस् भन्ने चाहन्छु ।’

  • ओमानमा हुने ट्राइ सिरिजका लागि  १९ जना बन्द प्रशिक्षणमा छनौट

    ओमानमा हुने ट्राइ सिरिजका लागि १९ जना बन्द प्रशिक्षणमा छनौट

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी विश्व कप लिग -२ अन्तर्गत नेपालले ओमान र अमेरिकासँग खेल्न १९ जना खेलाडीलाई बन्द प्रशिक्षणका  लागि बाेलाएकाे  छ ।

    ओमानमा हुने नेपाल, ओमान र अमेरिका बीचको त्रिकोणात्मक एकदिवशीय अन्र्तराष्ट्रिय सिरिजमा सहभागी हुने नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षणको १९ खेलाडीलाई बोलाएको हो ।

    त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजका लागि क्यानले ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरि , कुशल भुर्तेल , आसिफ सेख , गुलशन झा, आरिफ सेख , कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, कमल सिंह ऐरि, अविनाश बोहरा, साहब आलम, सुशान भारी, शरद भेषवाकर,विक्रम सोव , पवन सर्राफ, र रोहित कुमार पौडेललाई बन्द प्रशिक्षणको लागि बोलाएको छ ।

    पूर्व कप्तान पारस खडकाको नाम बन्द प्रशिक्षणमा समाबेश भएतापनि उनले मंगलबारअन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेकोले बन्द प्रशिक्षणमा सहभागी नहने क्यानका सचिव अशोकनाथ प्याकुरेलले बताए ।

     

  • ओलम्पिकमा २ सयभन्दा बढी स्पर्धाको फाइनल सकियो, चीनको अग्रता

    ओलम्पिकमा २ सयभन्दा बढी स्पर्धाको फाइनल सकियो, चीनको अग्रता

    एजेन्सी । टोकियोमा जारी ३२ औं ग्रिष्मकालीन ओलम्पिक उत्तराद्र्धतिर आएको छ । चार दिनको प्रतिस्पर्धा बाँकी रहँदा अहिलेसम्म २ सय २७ स्वर्ण पदकको छिनोफानो भइसकेको छ ।

    समूहगत खेलका फाइनल हुन बाँकी रहे पनि बाँकी सबै खेलमा कुनै न कुनै स्पर्धाको फाइनल भइरहेको छ ।

    आज बुधबार पनि १० खेलका १७ स्पर्धाको फाइनल हुँदैछ । अर्टिस्टिक जिम्न्यास्टिकको युगल, एथलेटिक्समा महिला ४ सय मिटर हर्डल्स र ३ हजार मिटर स्टिपलचेस, पुरुष ह्याम्मर, ८ सय मिटर र २ सय मिटर दौडमा स्वर्णको छिनोफानो हुनेछ । बक्सिङमा पुरुष लाइटहेवीको फाइनल हुनेछ ।

    साइक्लिङमा पुरुष टिम पर्सुइट, घोडचढीमा एकल, म्याराथन पौडी (१० किमि)मा महिलतर्फ, सेलिङमा पुरुष र महिला, स्केटबोर्डिङमा महिला पार्क, भारोत्तोलनमा पुरुष १ सय ९ केजीमाथि, कुस्तीमा महिला ६२ केजी, पुरुष ६७ र ८७ केजी तौलसमूहको फाइनल आजै हुनेछ ।

    यता पदकतालिकामा चीनको अग्रता यथावत छ । चीनले अहिलेसम्म ३२ स्वर्ण, २१ रजत र १६ कांस्य गरी ६९ पदक जितेको छ । चीनभन्दा ८ स्वर्ण कम जितेको अमेरिकाले २८ रजत र २१ कांस्य गरी ७३ पदक जितेको छ ।

    आयोजक जापान १९ स्वर्णसहित तेस्रो र अस्ट्रेलिया १४ स्वर्णसहित चौथो स्थानमा छन् । कुल ५२ पदक जितेको रुस ओलम्पिक कमिटीले स्वर्ण भने १३ वटामात्रै जितेको छ । बेलायतले पनि समान १३ स्वर्ण जितेको छ ।

    जर्मनीले ८ स्वर्ण जितेको छ भने फ्रान्स,नेदरल्याण्ड्स, दक्षिण कोरिया र न्युजिल्याण्डले ६–६ स्वर्ण जितेका छन् । इटलीले ५ स्वर्ण जितेको छ ।

    हंगेरी ब्राजिल, क्युबा र चेक रिपब्लिकले ४–४ तथा क्यानडा, स्वीट्जरल्याण्ड र क्रोएसियाले ३–३ स्वर्ण जितेका छन् ।

    अहिलेसम्म १२ देशले २ स्वर्ण जितेका छन् भने एउटामात्र स्वर्ण जित्ने देशको संख्या २६ छ ।

  • माओको ब्याच लगाएको पाइएपछि चिनियाँ पदकधारीमाथि आईओसीको अनुसन्धान

    माओको ब्याच लगाएको पाइएपछि चिनियाँ पदकधारीमाथि आईओसीको अनुसन्धान

    एजेन्सी । टोकियोमा जारी ओलम्पिकमा साइक्लिङमा स्वर्ण जितेका दुई चिनियाँ खेलाडीले पदक ग्रहण समारोहमा देशका महान नेता माओ त्से तुङको तस्बिरअंकित ब्याच लगाएकोबारे अनुसन्धान सुरु भएको छ ।

    अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी)का प्रवक्ताले जानकारी दिए अनुसार उनीहरु घटनाको बिस्तृत विवरणका लागि चिनियाँ ओलम्पिक कमिटीसँग सम्पर्कमा छन् ।

    चिनियाँ जोडी बाओ शन्जु र होङ तियान्सीले सोमबार साइक्लिङको मिक्स्ड स्प्रिन्टमा स्वर्ण जितेका थिए । उनीहरुकाे याे गतिविधि राजनीतिक सन्देशलाई प्रतिबन्ध लगाउने ओलम्पिक नियमको उल्लंघन हुनेछ ।

    ओलम्पिक चार्टरको धारा ५० मा भनिएको छ, ‘कुनै पनि ओलम्पिक स्थल वा पूरा क्षेत्रमै कुनै पनि किसिमको राजनीतिक, धार्मिक वा नस्लीय प्रचार गर्न पाइने छैन ।’

  • क्रिकेट संघका महासचिव भन्छन्- पारसको निर्णय अनपेक्षित, तर सम्मान गर्छौं

    क्रिकेट संघका महासचिव भन्छन्- पारसको निर्णय अनपेक्षित, तर सम्मान गर्छौं

    काठमाडौं । पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणालाई नेपाल क्रिकेट संघ (क्यान) ले ‘अनपेक्षित’ बताएको छ । क्यानका महासचिव अशोकनाथ प्याकुरेलले मिडियाबाट खबर थाहा पाएको भन्दै यसबारे बुझ्ने बताए ।

    उनले भने, ‘हिजोसम्म उहाँ ट्रेनिङमा नै हुनुहुन्थ्यो । आज अचानक सन्न्यासको कुरा मिडियामा आयो । यसबारे के-कसो हो भन्ने बुझ्दैछौं ।’ सन्न्यास फिर्ता गराउन पहल गर्नुहुन्छ ? भन्ने प्रश्नमा उनले स्पष्ट जवाफ दिएनन् ।

    प्याकुरेलले भने, ‘उहाँले अझै नेपालका लागि योगदान दिन सक्नुहुन्थ्यो भन्ने हो । हामीले निर्णय फिर्ता लिन आग्रह गर्ने एउटा पार्ट भयो । तर पनि उहाँको व्यक्तिगत निर्णयका सम्मान गर्नुपर्छ । मुख्य कुरा उहाँले के कारणले सन्न्यास घोषणा गर्नुभएको हो भन्ने बुझ्नुपर्छ ।’
    लामो समय राष्ट्रिय क्रिकेटमा योगदान दिएका खेलाडीको सम्मानजनक विदाइ हुनुपर्ने विषयमा क्यान सचेत रहेको उनले बताए ।

    ‘उहाँले नेपालको क्रिकेटमा उच्च योगदान दिनुभएको छ । उहाँको बिदाइ सम्मानजनक गराउनका निम्ति हामी कुनै कञ्जुस्याइ गर्दैनौं । तर त्यो अलि परको कुरा हो अहिले चाहिँ ओमान जाने टिममा पारसको प्रतिस्थापन कसरी गर्ने भन्ने चिन्ता छ । ओमान टुरको लागि हामीले सबै खेलाडीको भिसा एप्लाइ गरिसकेका छौं ।’

    पारसको क्यानसँग कुनै असन्तुष्टिको विषय रहेको आफूलाई जानकारी नरहेको प्याकुरेलले बताए । केही दिनअघि एभरेष्ट प्रिमियर लिगका संस्थापक आमिर अख्तरले दिएको उजुरीको विषयमा उनले यो उनीहरूको आन्तरिक भएको बताए ।

    ‘यदि आइसीसीको कोड अफ कन्डक्ट उल्लंघन भएको छ भने त्यहाँ हामीले हेर्ने कुरा हुन्छ । यसमा त्यस्तो केही देखिएको छैन । मलाई लाग्दैन कि उहाँको सन्न्यास यो विषयसँग जोडिएको छ,’ प्याकुरेलले भने ।

  • नेपाली क्रिकेटमा ‘पारस युग’ को समापन

    नेपाली क्रिकेटमा ‘पारस युग’ को समापन

    काठमाडौं । नेपाली क्रिकेटका लागि पारस खड्का एक खेलाडी मात्र होइनन्, एक ‘आइकन’समेत हुन् । अब उनलाई नेपाली राष्ट्रिय टिमको जर्सीमा देख्न पाइने छैन ।

    समस्त नेपाली क्रिकेट समर्थकलाई स्तब्ध तुल्याउँदै पारसले आज अन्तर्राष्ट्रिय अनायास क्रिकेटबाट सन्न्यासको घोषणा गरे । उनलाई सन्न्यास लिन उमेरको दबाब थिएन । हाल ३३ वर्षमा हिँडिरहेका पारस अझै ४-५ वर्ष नेपालका लागि खेल्न सक्थे । उनले कमजोर फर्मका कारण सन्न्यास लिएका पनि होइनन् । कोरोनाले क्रिकेट प्रभावित हुँदा लामो समयदेखि उनले राष्ट्रिय टिमबाट खेलेका नै थिएनन् । अहिले हठात् सन्न्यासको घोषणाले धेरैलाई आश्चर्यमा पारेको छ ।

    गत अप्रिलमा घरेलु मैदानमा भएको नेपाल, नेदरल्यान्ड्स र मलेसियाबीचको थ्रि नेसन्स कप चोटका कारण पारसले गुमाएका थिए । गत वर्षको मार्चमा एसीसी इटर्न रिजन अन्तर्गत थाइल्यान्डविरुद्धको खेल नै पारसको अन्तिम अन्तर्राष्ट्रिय म्याच भएको छ ।

    सामाजिक सञ्जालमार्फम सन्न्यासको घोषणा गरेका पारसले कारण केही खुलाएका छैनन् । यद्यपि, नेपाली क्रिकेटका लागि अझै धेरै गर्न बाँकी रहेको उल्लेख गरेका छन् । अन्तर्राष्ट्रिय क्रिकेटबाट हात झिकेका पारसलाई घरेलु क्रिकेटमा भने अझै देख्न पाइने छ ।

    पछिल्लो डेढ दशक पारस नेपाली क्रिकेटकै पर्यायका रूपमा रहे । उनले नेपाली क्रिकेटलाई आजको उचाइमा पुर्‍याउन निकै योगदान गरेका छन् । सन्दीप लामिछानेको उदयअघि अन्तर्राष्ट्रिय क्रिकेट जगतले चिन्ने नेपाली नाम पारस खड्का नै थिए ।

    पारसले लेखेका छन्, ‘अन्तर्राष्ट्रिय क्रिकेटमा मेरो यात्रा टुंगिएको छ, तर नेपाली क्रिकेटको लागि मेरो सपना भने अझै पनि वामे सर्दैछन् ।’

    आफ्नो सन्न्यास वक्तव्यमा पारसले सबैलाई धन्यवाद दिइँरहँदा नेपाल क्रिकेट संघ (क्यान) को नाम भने कतै उच्चारण गरेका छैनन् । ‘सरोकारवालाहरू’ मात्र भनेका छन् । लामो समयदेखि क्यानसँग उनको सम्बन्ध सुमधुर थिएन । क्यानसँगको असन्तुष्टीकै कारण उनले तीन वर्षअघि कप्तानीबाट राजीनामा दिएका थिए ।

    केही दिनअघि एभरेष्ट प्रिमियर लिगका संस्थापक आमिर अख्तरले पारसलाई समेत जोड्दै एउटा विवाद निकालेका थिए । गैरनाफामूलक अभियान ‘बलियो नेपाल’ को कार्यक्रममा क्रिकेट संघका सदस्यदेखि पारस, कप्तान ज्ञानेन्द्र मल्ललगायतका खेलाडीहरू अनुचित तरिकाले आवद्ध भएको भन्दै उनले अनुसन्धानका लागि क्यान पदाधिकारीलाई इमेल गरेका थिए । उनले यसबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोग र अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) लाई पनि उजुरी गर्ने चेतावनी दिएका थिए ।

    पारसले सामाजिक सञ्जालमार्फत अख्तरले लगाएको आरोपको खण्डन गरेका थिए । कुनै प्रमाणबिना आफूलाई बदनाम बनाउनकै निम्ति कपोलकल्पित आरोप लगाइएको भन्दै उनले दुख व्यक्त गरेका थिए । यसलाई लिएर क्यानले कुनै प्रतिक्रिया जनाएको छैन ।

    अविस्मरणीय यात्रा

    पछिल्लो डेढ दशक पारस नेपाली क्रिकेटकै पर्यायका रूपमा रहे । उनले नेपाली क्रिकेटलाई आजको उचाइमा पुर्‍याउन निकै योगदान गरेका छन् । सन्दीप लामिछानेको उदयअघि अन्तर्राष्ट्रिय क्रिकेट जगतले चिन्ने नेपाली नाम पारस खड्का नै थिए । नेपालमा क्रिकेट समर्थकको सवैभन्दा बढी माया पाएका खेलाडी हुन् उनी ।

    नेपाललाई डिभिजन ५ देखि एक दिवसीय मान्यताप्राप्त राष्ट्रमा उकाल्ने सबैभन्दा ठूलो श्रेय पारसलाई जान्छ । साथै, उनकै नेतृत्वमा नेपालले पहिलोपटक सन् २०१४ मा टी-२० विश्वकप खेल्ने अवसर पायो । उनले आफ्नो १७ वर्ष लामो अन्तर्राष्ट्रिय क्रिकेट यात्रामा कैयन म्याचविनिङ पारीहरु खेलेका छन् । पारसको ब्याटिङ र बलिङ मात्र होइन चतुर कप्तानीले पनि नेपाललाई धेरै म्याच जिताउन मद्दत गरेको छ । संयोगले सन् २०१८ मा आजकै दिन नेपालले एकदिवसीयमा पहिलो जित हासिल गरेको थियो ।

    पारसका नाममा राष्ट्रिय किर्तिमानका चाङ छन् । एकदिवसीय र टी-२० क्रिकेटमा सर्वाधिक रन बनाउने नेपाली ब्याट्यम्सान हुन् उनी । उमेर समूहको क्रिकेटबाटै पारसले आफ्नो प्रभाव देखाउन सुरु गरेका थिए । नेपालले अन्डर-१९ विश्वकप प्लेट च्याम्पियनसीप जित्दा टिमका महत्वपूर्ण सदस्य थिए उनी ।

    सन् २००४ मा राष्ट्रिय टिमबाट डेब्यू गरेका पारस सन् २००९ मा विनोद दासलाई प्रतिस्थापित गर्दै कप्तान नियुक्त भए । उनले अनवरत ९ वर्ष राष्ट्रिय टिमको कप्तानी गरे । उनको कप्तानी भूमिकामा कहिल्यै कुनै प्रश्न उठेन । तथापि, २०१८ मा आईसीसीले नेपाल क्रिकेट संघमाथिको प्रतिबन्ध फुकुवा गरेलगत्तै पारसले कप्तानी त्याग गरेका थिए ।

    भावी योजना ?

    पारसले नेपाली क्रिकेटसँग आफ्ना धेरै सपनाहरू बाँकी रहेको बताएका छन् । अब उनी कुन भूमिकामा नेपाली राष्ट्रिय क्रिकेटसँग जोडिएलान् भन्ने कौतुहल छ ।

    पारस नेपाल क्रिकेट संघकै नेतृत्वमा आउन चाहन्छन् भन्ने पहिल्यैदेखि हुने गरेको छ । यद्यपि, आफ्नो भावी योजनाबारे उनी अहिलेसम्म खुलेका छैनन् । समर्थकहरू उनलाई घरेलु क्रिकेटरका रूपमा मात्रै सीमित रहेको हेर्न चाहँदैनन् ।

    क्रिकेट संघको नेतृत्वमा आउने हो भने पारसले कम्तिमा दुई वर्ष प्रतीक्षा गर्नुपर्ने हुन्छ । क्रिकेट संघको विधानअनुसार राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएको दुई वर्षपछि मात्रै संघको निर्वाचनमा भाग लिन सक्ने प्रावधान छ । क्रिकेट संघको निर्वाचन हरेक तीन वर्षमा हुन्छ ।

    भावी योजना जे भए पनि पारसले लिएको निर्णयलाई हतारकै मान्न सकिन्छ । खेलाडीकै रुपमा उनले नेपाली क्रिकेटलाई अझै केही समय योगदान गर्न सक्थे । उनको अनुपस्थितिले आगामी दिनमा नेपाली क्रिकेटमा विशाल रिक्तता पैदा गर्ने छ ।

    अन्तर्राष्ट्रिय खेल जगतमा कैयन खेलाडीहरूले सन्यास घोषणा फिर्ता लिएर मैदानमा फर्केका उदाहरणहरू छन् । भावुकतावस सन्न्यास घोषणापछि समर्थकको दबाबमा फिर्ता लिनेमा विख्यात फुटबल खेलाडी लियोनल मेस्सी पनि पर्छन् । पारसलाई पनि यस्तो दबाब पर्न सक्छ । उनले आफ्नो भावुक निर्णय परिवर्तन गरुन् भन्ने चाहना आम क्रिकेटप्रेमीले राखेका छन् ।

  • पारस खड्काद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासकाे घाेषणा

    पारस खड्काद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासकाे घाेषणा

    काठमाडौं । नेपाली क्रिकेटका सर्वाधिक सफल खेलाडी तथा पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् ।

    सामाजिक सन्जाल फेसबुकमार्फत उनले समर्थक र सरोकारवालालाई सम्बोधन गरी अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन् । उनले नेपालका लागि खेल्नु आफ्नो जीवनको सर्वश्रेष्ठ उपलब्धी भएको बताएका छन् ।

    सन् २००२ मा १५ वर्षको उमेरदेखि नै क्रिकेट सुरु गरेको स्मरण गर्दै पारसले यो यात्रामा साथ, समर्थन, माया र हौसला दिने प्रशिक्षक, खेलाडी, प्रशंसक, मिडियाकर्मी, अफ्नो परिवार र साथीहरुप्रति ऋणी रहेको बताएका छन् । आफ्नो सन्यास घोषणा वक्तव्यमा उनले नेपाल क्रिकेट संघ (क्यान) को नाम कतै उल्लेख गरेका छैनन् । केवल सरोकारवाला भनेका छन् ।

    उनले भनेका छन्, ‘क्रिकेटरका रुपमा मैले मन, वचन र कर्मले कर्तव्यनिष्ठ भइ देश र नेपाली क्रिकेट जगतको उत्थानका लागि सदैव आफ्नो भूमिका निर्वाह गरेँ । मेरो जीवनमा मैले देखेको सपना भनेको नै नेपाली क्रिकेटको उन्नत्ति हो । तर, यसका लागि सम्पूर्ण क्रिकेट समान र सरोकारवालाहरुको संयुक्त प्रयासको आवश्यकता छ । इमानदारीताका साथ काम गर्ने हो भने हामीले नेपाली क्रिकेटलाई अवश्य पनि नयाँ उचाईमा पुर्‍याउनेछौं ।’

    उनले अन्तर्राष्ट्रिय क्रिकेटरको रुपमा आफ्नो यात्रा टुंगिए पनि नेपाली क्रिकेटको विकासका लागि आफ्नो सपना भने अझै बामे सर्दै गरेको बताएका छन् । उनले टिमबाहिर रहे पनि क्रिकेटकै लागि जीवन अर्पित गर्ने बताएका छन् ।

    करिव डेढ दशकदेखि राष्ट्रिय टोलीबाट खेलिरहेका पारसले सन् २००९ देखि १० वर्षसम्म राष्ट्रिय टोलीको कप्तानी सम्हालेका थिए । सन् २०१९ मा उनले कप्तानबाट राजीनामा दिएपछि ज्ञानेन्द्र मल्ल नयाँ कप्तान बनेका छन् ।

    उनको कप्तानी समयमा नेपाली क्रिकेटले थुप्रै सफलता हासिल गरेको थियो । सन् २०१० मा डिभिजन ५ खेलेको नेपाली टोलीले तीन वर्षको अन्तरमा डिभिजन टू मा पुगेर सन् २०१४ मा ट्वान्टी-२० विश्वकपसमेत खेलेको थियो ।

    नेपालले सन् २०१८ मा एकदिवशीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो । उनी नेपाली क्रिकेटका सबैभन्दा सफल खेलाडी पनि हुन् । उनले नेपालले खेलेका सबै स्वरूपकाे क्रिकेटमा शतक प्रहार गरेका छन् ।

    सन् २०१५ मा नेपाल क्रिकेट संघलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले निलम्बन गर्दा उनी नेपाली क्रिकेट टोलीसँगै अन्तर्राष्ट्रिय समन्वयको जिम्मेबारीमा समेत थिए । आफ्नो करिअरमा सफल रहे पनि उनको सम्बन्ध क्रिकेट संघसँग भने सुमधुर हुन सकेकाे थिएन ।

     

  • टोकियोमा आज २६ स्पर्धाको फाइनल हुँदै, पदकमा चीनको छलाङ

    टोकियोमा आज २६ स्पर्धाको फाइनल हुँदै, पदकमा चीनको छलाङ

    एजेन्सी । टोकियो ओलम्पिकमा आज ९ खेलको २६ स्पर्धाको फाइनल खेलहरु हुनेछन् । यीबाहेक अन्य १२ खेलका सुरुआती चरणका खेलहरु हुनेछन् ।

    आज आर्टिस्टिक जिम्न्यास्टिकको पुरुष पारालल बार, महिला बीम र पुरुष तेर्सो बार स्पर्धाको फाइनल हुनेछ । एथलेटिक्समा महिला लङजम्प, पुरुष ४ सय मिटर हर्डल्स, पुरुष पोलभल्ट, महिला ह्याम्मर थ्रो, महिला ८ सय मिटर र २ सय मिटर दौडका फाइनल खेलहरु हुनेछन् ।

    बक्सिङमा महिला फिदर र पुरुष वेल्टर स्पर्धाको फाइनल हुनेछ । क्यानोई स्प्रिन्टमा मसहला के–वान २ सय मिटर, पुरुष सी–टू १ हजार मिटर, पुरुष के–वान १ हजार मिटर र महिला के–टू ५ सय मिटर स्पर्धाको फाइनल हुनेछ । साइक्लिङमा महिला टिम र पुरुष टिमको स्वर्ण छिनोफानो आज हुनेछ । डाइभिङमा पुरुष ३ मिटर स्प्रिङबोर्डको फाइनल हुँदैछ ।

    सेलिङतर्फ महिलाको २ र पुरुषको २ गरी चार स्पर्धाको फाइनल हुँदैछ । भारत्तोलनमा पुरुष १ सय ९ केजी स्पर्धामा स्वर्ण छिनोफानो हुनेछ भने कुस्तीमा महिला फ्रिस्टाइल ६८ केजी तथा पुरुषतर्फ ७७ केजी र ९७ केजी स्पर्धामा फाइनल खेलहरु हुँदैछन् ।

    यता पदकतालिकामा चीनले आफ्नो अग्रता फराकिलो बनाउँदै लगेको छ । १० दिनको खेल सकिँदा चीनले २९ स्वर्णसहित ६२ पदक जितेको छ । चीनलाई पछ्याइरहेको अमेरिकाले २२ स्वर्णसहित ६४ पदक जितेको छ । पदक संख्याका आधारमा अमेरिका अगाडि रहे पनि स्वर्णको गणनामा चीन धेरै अगाडि पुगिसकेको छ ।

    अहिलेसम्म २ सय स्वर्ण पदकको छिनोफानो भएको छ । एउटामात्र स्वर्ण जित्ने देशको संख्या ३१ छ ।

  • सन्दीप काठमाडौं किंग्सको कप्तानमा नियुक्त

    सन्दीप काठमाडौं किंग्सको कप्तानमा नियुक्त

    काठमाडौं । नेपाली स्टार स्पिनर सन्दीप लामिछाने काठमाडौं किङ्स एलेभेनको कप्तान बनेका छन् ।

    आगामी सेप्टेम्बर २५ देखी अक्टोबर ९ सम्म राजधानीमा आयोजना हुने चौथो संस्करण एभरेस्ट प्रिमियर लिग (ईपीएल) मा किङ्स एलेभेनले सन्दीपलाई नियुक्त गरेको हो ।

    सन्दीपले तेस्रो संस्करण इपिएल ललितपुर पेटरियट्सबाट खेलेका थिए । सन्दीपको टोलीबाट पाकिस्तानी महान क्रिकेटर शाहिद अफ्रिदी पनि खेल्ने छन् ।

  • आफ्नो अभिव्यक्तिको गलत अर्थ लागेको भन्दै प्रशिक्षक अल्मुताइरीले माफी मागे

    आफ्नो अभिव्यक्तिको गलत अर्थ लागेको भन्दै प्रशिक्षक अल्मुताइरीले माफी मागे

    काठमाडौं । नेपाली फुटबल टिमका प्रमुख प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले एउटा अन्तरर्वार्तामा बोलेका कुराहरुलाई लिएर माफी मागेका छन् । आफ्ना अभिव्यक्तिको गलत अर्थ लागेको भन्दै उनले फुटबल खेलाडी, फ्यान, तथा नेपाली जनतासमक्ष माफी मागेका हुन् ।

    अल्मुताइरीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मैले कही विषयमा बोलेको थिएँ, जसले नेपाली जनता र खासगरि भुतपूर्व खेलाडी र प्रशिक्षकहरुले गलत बुझे । त्यसका लागि माफी चाहन्छु ।’

    उनले कसैप्रति आफ्नो दोष नरहेको बताएका छन् । नेपाल र नेपाली फुटबलमा गौरव गर्ने भन्दै उनले नेपाली टिमप्रति उच्च सम्मान रहेको उल्लेख गरेका छन् ।

    प्रशिक्षक अल्मुताइरीले केही दिनअघि पदबाट राजीनामा गर्ने घोषणा गरेका थिए । तर, अहिलेसम्म राजीनामा बुझाएका छैनन् ।

    केही दिनअघि एक अन्तरर्वार्तामा उनले नेपालमा खेलाडीसँगै खेलकुद पदाधिकारीहरुको मानसिकता पनि परिर्वतन हुनुपर्ने अभिव्यक्ति दिएपछि विवाद भएको थियो ।

  • एन्फा प्रवक्ताबाट किरण राईले दिए राजीनामा

    एन्फा प्रवक्ताबाट किरण राईले दिए राजीनामा

    काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता किरण राईले पनि पदबाट राजीनामा दिएका छन् ।

    एन्फा मुख्यालयमा वरिष्ठ उपाध्यक्षको रोहवरमा अध्यक्षलाई प्रवक्ताबाट राजीनामा बुझाएको सामाजिक सञ्जालमा लेखेका छन् ।

    राईले आजै ३ बजे एन्फा कम्प्लेक्समा पत्रकार सम्मेलन राखेका छन् । र, राजीनामाको कारण पनि पत्रकार सम्मेलनमै प्रष्ट्याउन उनले बताएका छन् ।

  • एन्फाका सहायक महासचिव वसन्तराज अयार्लले दिए पदबाट राजीनामा

    एन्फाका सहायक महासचिव वसन्तराज अयार्लले दिए पदबाट राजीनामा

    काठमाडौं । एन्फाका सहायक महासचिव वसन्तराज अयार्लले पदबाट राजीनामा दिएका छन् ।अर्यालले एन्फा अध्यक्षलाई सम्बोधन गर्दै आइतबार पदबाट अलग रहने भन्दै निबेदन लेखेका छन् ।

    मुख्य प्रशिक्षक र वरिष्ठ उपाध्यक्ष बीचको सामान्य असमझदारी संस्था भित्रै छलफल गरेर सामाधान गर्न सकिने प्रशस्त मार्ग हुदाँहुँदै छानबिनको लागि मन्त्रालय पठाउनाले संस्थाको क्षेत्राधिकार माथि प्रश्न उठेको र यो कार्य एकदमै दुखद रहेको भन्दै पत्रमा उल्लेख गरेका छन् ।

    उनले मुख्य प्रशिक्षकले पहिले खेलाडीहरु नयाँ ठाउँ घुम्न र कम भन्दा कम गोल खाने लक्ष्य लिएर जाने भानेको अभिव्यक्तिले देशकोलागि विदेशी माटोमा खेलाडीले बगाएको खुन पसिनाको अबमुल्यन गरेको कुरा भदेदा मजाक र टिप्पणी रहेको कुरासमेत पत्रमा लेखेका छन् ।

    २०७७ माघ २६ गते काठमाडौंमा सम्पन्न साधारणसभाले आफ्नो विधान संसोधन गर्दा मनोनित पदहरु खारेज गरेकोले उक्त पदमा रहिरहन विधानत नैतिक संकट परेको हुँदा अध्यक्षलाई विधान अनुसार काम गर्न सजिलो होस भनेर पदबाट अलग रहने निर्णय गरेको उनले जनाएका छन् ।

  • ओलम्पिकमा आज २२ स्पर्धाको फाइनल, पदकमा चीनको अग्रता यथावत

    ओलम्पिकमा आज २२ स्पर्धाको फाइनल, पदकमा चीनको अग्रता यथावत

    एजेन्सी । टोकियो ओलम्पिकको दशौं दिन आज २२ स्पर्धाको फाइनल हुँदैछ । आज महिला फुटबलको सेमिफाइनललगायत २१ खेलका फाइनलबाहेकका स्पर्धाहरु हुँदैछन् ।

    आज एथलेटिक्ससहित ९ खेलका २२ स्पर्धाको फाइनल प्रतिस्पर्धा हुन लागेको हो ।आर्टिस्टिक जिम्न्यास्टिकको रोकिएका खेलहरु आज हुनेछ । पुरुष रिङ, महिला फ्लोर र पुरुष भल्ट स्पर्धाको फाइनल हुन बाँकी छ ।

    एथलेटिक्समा पुरुष लङ जम्प, महिला १ सय मिटर हर्डल्स, महिला डिसकस, पुरुष ३ हजार मिटर स्टिपलचेस र महिला ५ हजार मिटर दौडको स्वर्ण छिनोफानो आज हुनेछ । ब्याडमिन्टनमा महिला डवल्स र पुरुष सिंगल्सको फाइनल आज हुनेछ ।

    साइक्लिङमा महिला टिम स्प्रिन्ट, घोडचढीमा इभेन्टिङ टिम र इभेन्टिङ एकल, सेलिङमा पुरुष र महिला टिम तथा शुटिङमा पुरुष २५ मिटर र्‍यापिड फायर पेस्टोल र पुरुष ५० मिटर राइफलको फाइनल हुनेछ ।

    भारोत्तोलनतर्फ महिला ८७ केजी र ८७ केजीमाथि स्पर्धाको फाइनल आज हुनेछ । आजैदेखि सुरु हुन लागेको कुस्तीमा महिला फ्रिस्टाइल ७६ केजी, पुरुष ग्रेसो रोमन ६० केजी र १ सय ३० केजी स्पर्धाको स्वर्ण छिनोफानो हुनेछ ।

    दशौं दिनसम्म आउँदा चीनले पदकमा आफ्नो अग्रता यथावत राखेको छ । १ सय ८० स्वर्णको छिनोफानो हुँदा चीन २४ स्वर्णसहित शीर्ष स्थानमा छ । २० स्वर्ण जितेको अमेरिका दोस्रो स्थानमा छ । तर पदक संख्याको हिसावमा चीनभन्दा अमेरिका अगाडि छ । १४ रजत र १३ कांस्यसहित चीनले ५१ प्दक जितेको छ भने २३ रजत र १६ कांस्यसहित अमेरिकाले ५९ पदक जितेको छ ।

    आयोजक जापान १७ स्वर्णसहित तेस्रो स्थानमा छ । अष्ट्रेलियाले १४ स्वर्ण जितेको छ । रुस ओलम्पिक कमिटीले १४, ग्रेट ब्रिटेनले १० स्वर्ण जितेका छन् । फ्रान्स र दक्षिण कोरियाले समान ५ स्वर्ण जितेका छन् । पाँचवटा देशले ४ स्वर्ण, तीनवटा देशले ३ स्वर्ण र सातवटा देशले २ स्वर्ण जितेका छन् । एउटा मात्र स्वर्ण जित्ने देशको संख्या ३० छ ।

  • शहीद स्मारक ‘ए’ डिभिजन लिग सर्‍यो, पुरस्कार राशीमा पनि वृद्धि

    शहीद स्मारक ‘ए’ डिभिजन लिग सर्‍यो, पुरस्कार राशीमा पनि वृद्धि

    काठमाडौं । शहीद स्मारका ‘ए’ डिभिजन लिगको मिति सारिएको छ ।

    यसअघि असोज ३ बाट तय गरिएको लिग सञ्चालनको नयाँ मिति कात्तिक २९ गतेबाट निर्धारण गरिएको छ । र, लिग विजेताको पुरस्कार राशी पनि बढाइएको छ ।

    अखिल नेपाल फुटबल संघ (एन्फा) र ‘ए’डिभिजन क्लबहरूबीच सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार भएको बैठकले उक्त निर्णय गरेको हो । अक्टोबरको पहिलो सातादेखि साफ च्याम्पियनसिप आयोजना हुने भएकाले, लिग सारिएको एन्फाले जनाएको छ ।

    यसपटक लिग च्याम्पियनको पुरस्कार ५० लाखबाट बढाएर ७५ लाख बनाएको एन्फाले जनाएको छ । लिगमा दोस्रो र तेस्रोले क्रमश: ५० र २५ लाख नगद प्राप्त गर्नेछन् । सहभागी सबै क्लबहरूलाई तयारि भत्तावापत २० लाख प्रदान गरिने बताइएको छ ।

    एन्फाका अनुसार लिगका लागि खेलाडी दर्ता प्रक्रिया शुरू भइसकेको छ ।

  • भाइरल भयो धोनीको ‘रकस्टार’ लुक

    भाइरल भयो धोनीको ‘रकस्टार’ लुक

    काठमाडौं । महेन्द्रसिंह धोनीको सामाजिक सञ्जालमा चर्चा हुनुको कारण उनको क्रिकेट कौशल हुन्छ । तर, अहिले सामाजिक सञ्जालमा भारतीय पूर्व कप्तान धोनीको चर्चा चुलिनुको नितान्त फरक कारण छ ।

    विश्व क्रिकेटका आइकन धोनीले नयाँ स्टाइलको हेयर कटिङसँगै समर्थकले उनको चर्चा शिखरमा पु¥याएका छन् । उनको नयाँ अबतारसँगै भारतीय समर्थकले धोनीभित्र रहेको ‘रक स्टार’ बाहिर निस्किएको बताएका छन् ।

    सेलेब्रिटी हेयर स्टाइलिस्ट आलिम हाकिमले सार्वजनिक गरेको धोनीको नयाँ स्टाइलको तस्वीर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । हाकिमले त्यो फोटो ट्वीट गर्दै ‘लिजेन्ड’ धोनीलाई त्यस्तो स्टाइल दिन पाउँदा आनन्द भएको बताएका छन् ।

    ‘ड्यासिङ लुकमा लिजेन्ड धोनी’ हाकिमले भनेका छन्, ‘हाम्रा महान् खेलाडी धोनीलाई यो हेयरस्टाइल दिँदै गर्दा रमाइलो भयो । उनले ट्वीट गरेको एक तस्वीरमा हाकिम पनि देखिएका छन् । सो ट्वीटले अहिलेसम्म १७ हजारभन्दा धेरै लाइक पाएको छ ।

    उनको त्यो तस्वीर सार्वजनिक भएसँगै अपेक्षित रूपमै समर्थकहरू यसैमा झुमिएका छन् । एक समर्थकले धोनीको यो नयाँ लुकमा उनलाई कम्तिमा पनि पाँच वर्ष कम उमेरको देखिएको बताएका छन् ।

  • ओलम्पिकमा आज २५ स्पर्धाको फाइनल हुँदै, पदक तालिकामा चीनको फराकिलाे अग्रता

    ओलम्पिकमा आज २५ स्पर्धाको फाइनल हुँदै, पदक तालिकामा चीनको फराकिलाे अग्रता

    एजेन्सी । जापानको टोकियोमा जारी ३२ औं ग्रिष्मकालीन ओलम्पिकको आज नवौं दिन थप २५ वटा स्वर्ण पदकको छिनोफानो हुँदैछ ।

    ओलम्पिकमा समावेश अधिकांश खेलको प्रतिस्पर्धा लगभग अन्तिमतिर आएको छ । फाइनल स्पर्धा नभएका खेलहरुको पनि समूह चरण सकिएर नकआउट चरणमा प्रतिस्पर्धा भइरहेको छ । टेनिसमा नोभाक जोकोभिच फाइनलमा पुगेका छन् भने फुटबलमा ब्राजिल, मेक्सिको, जापान र स्पेनले सेमिफाइनलमा स्थान बनाएका छन् ।

    आज आइतबार ९ खेलको २५ स्पर्धाको फाइनल हुँदैछ । त्यसमध्ये पौडीको ५ र एथलेटिक्सका ४ स्वर्णको छिनोफानो आज हुनेछ । आज २३ खेलकाे प्रतिस्पर्धा हुनेछ ।

    यता अहिलेसम्मको पदक तालिकामा तीनले फराकिलो अग्रता बनाएको छ । शीर्ष स्थानमा रहेको चीनले २१ स्वर्ण, १३ रजत र १२ कांस्य गरी जम्मा ४६ पदक जितेको छ । दोस्रो स्थानमा रहेको जापानले १७ स्वर्ण, ५ रजत र ८ कांस्य गरी ३० पदक जितेको छ ।

    १६ स्वर्ण जितेको अमेरिकाले १७ रजत र १३ कांस्य जितेर समग्र पदक संख्या चीनको जत्तिनै बनाएको छ । ११ स्वर्ण जितेको रुस ओलम्पिक कमिटी चौथो स्थानमा छ । अष्ट्रेलियाले १० स्वर्ण जितेको छ भने ग्रेट ब्रिटेनले ८, दक्षिण कोरियाले ५ स्वर्ण जितेका छन् ।

    फ्रान्स, नेदरल्याण्ड्स र न्युजिल्याण्डले ४–४ स्वर्ण जितेका छन् । ५ देशले तीन स्वर्ण तथा ५ देशले नै २ स्वर्ण जितेका छन् । २९ देशले एउटा स्वर्ण जितेका छन् ।

  • मिरको ह्याट्रिकप्रेरित स्पेन यु–२३ ओलम्पिकको सेमिफाइनलमा

    मिरको ह्याट्रिकप्रेरित स्पेन यु–२३ ओलम्पिकको सेमिफाइनलमा

    काठमाडौं । राफा मिरको ह्याट्रिकप्रेरित स्पेन यु–२३ ले टोकियो ओलम्पिक– पुरुष फुटबलको क्वार्टरफाइनलमा आइभरी कोस्ट यु–२३ लाई ५–० गोलको नतिजामा पराजित गरेको छ ।

    शनिबार टोकियोस्थित म्यागी स्टेडियममा भएको खेलको १०औं मिनेटमा एरिक बेलीले गरेको गोलसँगै अफ्रिकी मुलुकले अग्रता लिएको थियो । स्पेन यु–२३ का लागि ड्यानिएल ओल्मोले ३०औं मिनेटमा बराबरी गोल फर्काएका थिए ।

    पहिलो हाफ १–१ गोलको बराबरीमा टुङ्गिएको खेलको ९० मिनेटसम्म थप गोल हुन सकेनन् । यद्यपि, इन्जुरी समयको पहिलो मिनेटमा आइभरी कोस्ट यु २३ का लागि म्याक्स एलेन ग्रडेलले गोल गरेका थिए । तर, त्यसको  २ मिनेट नबित्दै राफा मिरले गोल गर्दैै स्पेन यु–२३ लाई हारबाट जोगाएका थिए ।

    निर्धारित समयमा२–२ गोलको बराबरी भएको खेलको अतिरिक्त समयमा स्पेनले थप तीन गोल गर्यो । मिकेल ओयार्जाबालले ९८औं मिनेटमा पेनाल्टमार्फत् गरेको गोलसँगै स्पेनले ३–२ गोलको अग्रता बनाएको थियो ।

    अतिरिक्त समयको खेल सकिन तीन मिनेट बाँकी रहँदा मिरले स्पेन यु–२३ का लागि व्यक्तिगत दोस्रो गोल गरेका थिए ।

    अतिरिक्त समयको इन्जुरी समयमा आयार्जाबालले दिएको पासलाई पुनः जाली चुमाएका मिरले गरेको ह्याट्रिकसँगै स्पेनले फराकिलो जित सुनिश्चित ग¥यो ।

  • बन्द रंगशालामा खेल्नु, ट्रेनिङमा पेनाल्टी अभ्यास जस्तै: रापिनोइ

    बन्द रंगशालामा खेल्नु, ट्रेनिङमा पेनाल्टी अभ्यास जस्तै: रापिनोइ

    काठमाडौं । अमेरिकी राष्ट्रिय महिला टोलीलाई टोकियो ओलम्पिक- फुटबलको सेमिफाइनलमा पुर्याउन पेनाल्टीमा गोल गरेकी मेगान रापिनोइले बन्द रंगशालामा खेल्नुपर्दा रमाइलो नभएको प्रतिक्रिया दिएकी छन् ।

    कोरोना भाइरसको महामारीका कारण जापानमा जारी टोकियो ओलम्पिक २०२० मा दर्शकलाई प्रतिबन्ध लगाइएको छ । शुक्रबार भएको महिला फुटबलको क्वार्टरफाइनलमा रापिनोइको अमेरिका निर्धारित ९० मिनेटसम्म नेदरल्यान्डविरुद्धक २-२ गोलको बराबरीमा रोकिएको थियो ।

    निर्धारित ९० मिनेटको खेल अनिर्णित बनेसँगै अतिरिक्त समयमा पुगेको खेलमा थप गोल हुन सकेनन् । फलस्वरू खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । विश्वकप विजेता अमेरिकाले सुटआउटमा ४-२ को जित निकाल्दै सेमिफाइनल यात्रा तय गरेको छ ।

    ‘म ५० हजार दर्शकसामु खेल्न चाहान्छु । र, दर्शकसामु खेल्दा धेरै रमाइलो हुन्छ,’ रापिनोइले खेलपछि भनिन्, ‘दर्शक नभएर मिडियाकर्मी मात्रै हुँदा फुटबलको ‘चार्म’ कम हुन्छ । त्यो त हामीले टे«निङमा पेनाल्टीको अभ्यास गरे जस्तै हुन्छ ।

    ‘हामी खाली स्टेडियममा खेल्न बानी परिसकेका छौँ,’ उनले भनिन्, ‘त्यसले पनि खेल जित्नलाई धेरैहदसम्म मद्दत गरेको छ ।’

    फाइनल प्रवेशका लागि अमेरिकाले सोमबार क्यानडासँग खेल्ने छ ।

  • टोकियो ओलम्पिक: जोकोभिचको गोल्डेन स्लाम बनाउने सम्भावना टुङ्गियो

    टोकियो ओलम्पिक: जोकोभिचको गोल्डेन स्लाम बनाउने सम्भावना टुङ्गियो

    काठमाडौं । विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिचको गोल्डेन स्लाम बनाएर कीर्तिमान बनाउने योजना असफल भएको छ ।

    सुरुआती तीन ग्रान्ड स्लाम- अस्ट्रेलियन ओपन, फ्रेन्च ओपन र विम्बल्डन जितिसकेका जोकोभिच टोकियो ओलम्पिकमा बिहीबार भएको सेमिफाइनलमा जर्मन खेलाडी अलेक्जेन्डर जेभ्रेभसँग पराजित भएसँगै गोल्डेन स्लामको सम्भावना टुङ्गिएको हो ।

    जेभ्रेभविरुद्धको खेलमा जोकोभिच १-६ , ६-३ , ६-१ को सेटमा पराजित भए । हालसम्म टेनिसको इतिहासमा एक मात्र खेलाडी -जर्मनीकी स्टेफी ग्राफले सन् १९८८ मा गोल्डेन स्लाम जितेकी थिइन् ।

    जेभ्रेभले फाइनलमा रूसी खेलाडी कारेन खाचानोभसँग प्रतिस्पर्धा गर्नेछन् ।

  • टोकियो ओलम्पिक: २०० मिटर ब्याकस्ट्रोकमा म्याकियोनले जितिन् स्वर्ण

    टोकियो ओलम्पिक: २०० मिटर ब्याकस्ट्रोकमा म्याकियोनले जितिन् स्वर्ण

    काठमाडौं । अस्ट्रेलियन स्वीमर केएली म्याकियोनले टोकियो ओलम्पिक- स्विमिङको महिलातर्फ २०० मिटर ब्याकस्ट्रोकमा स्वर्ण पदक जितेकी छन् ।

    शनिबार बिहान भएको प्रतिस्पर्धामा उनले निर्धारित समय २: ०४. ६८ मा पूरा गर्दै जारी ओलम्पिकमा व्यक्तिगत दोस्रो स्वर्ण पदक जितेकी हुन् ।
    म्याकियोनले यसअघि मंगलबार १०० मिटर ब्याकस्ट्रोकमा ५७:४५ मा निर्धारित समय पार गर्दै पहिलो स्वर्ण जितेकी थिइन् ।

    म्याकियोनले भनिन, ‘मलै प्रतिस्पर्धा गरेका अन्य खेलाडीहरू उत्कृष्ट थिए । र, उनीहरू भएर नै मलाई अझै राम्रो गर्न प्रेरित गरे ।’

  • टोकियो ओलम्पिक: मेड्ले रिलेमा विश्व कीर्तिमान बनाउँदै ग्रेट ब्रिटेनले जित्यो स्वर्ण

    टोकियो ओलम्पिक: मेड्ले रिलेमा विश्व कीर्तिमान बनाउँदै ग्रेट ब्रिटेनले जित्यो स्वर्ण

    काठमाडौं । ग्रेट ब्रिटेनले टोकियो ओलम्पिक २०२० को स्विमिङतर्फ मिक्स्ड ४०० मिटर मेड्ले रिलेमा विश्व कीर्तिमान बनाउँदै स्वर्ण पदक जितेको छ ।

    शनिबार बिहान भएको प्रतिस्पर्धामा ब्रिटेनले ३:३७:५८ समयमा निर्धारित दूरी पार गर्दै विश्व कीर्तिमान बनाएको हो ।

    सोही स्पर्धामा चीनले रजत तथा अस्ट्रेलियाले कास्य पदक जित्यो ।

  • प्रशिक्षकको राजीनामाबारे एन्फा अनिर्णित, विवाद समाधानका लागि खेलकुद मन्त्रालयलाई अनुरोध

    प्रशिक्षकको राजीनामाबारे एन्फा अनिर्णित, विवाद समाधानका लागि खेलकुद मन्त्रालयलाई अनुरोध

    काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ र राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीबीचको विवाद सुल्झाउन खेलकुद मन्त्रालयलाई अनुरोध गरेको छ । उनीहरु दुवैले दिएको निवेदनका सम्वन्धमा कुनै निर्णय लिन नसकेपछि एन्फाको बैठकले मन्त्रालयलाई सो अनुरोध गरेको हो ।

    प्रशिक्षक अल्मुताइरीले पदबाट राजीनमा दिने घोषणा गरेपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न एन्फाको कार्यसमिति बैठक बसेको थियो । सो बैठकमा प्रशिक्षक र नेम्वाङ दुवै एन्फासँग असन्तुष्ट बनेका थिए । बैठक निस्कर्षमा पुग्न नसकेपछि खेलकुद मन्त्रालयमा विवादलाई धकेलिएको छ ।

  • एन्फा बैठकबाट रिसाएर हिँडे प्रशिक्षक अल्मुताइरी

    एन्फा बैठकबाट रिसाएर हिँडे प्रशिक्षक अल्मुताइरी

    काठमाडौं । एन्फाको कार्यसमिति बैठकमा सहभागी भएका फुटबल प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी रिसाएर बीचमै हिँडेका छन् । बैठकमा उनले आफूलाई एन्फाले संरक्षण नगरेको गुनासो गरेका थिए ।

    प्रशिक्षक अल्मुताइरीले सामाजिक सञ्जालमार्फत राजीनामा घोषणा गरेपछि एन्फा कार्यसमिति बैठक बसेको हो । त्यसक्रममा प्रशिक्षक अल्मुताइरीलाई पनि बोलाइएको थियो । बैठकका क्रममा वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ र दुई पत्रकारले एन्फामा दिइएको निवेदन पढिएको थियो ।

    पत्रकारको निवेदन पढ्ने क्रममा अल्मुताइरी आक्रोशित भएर हिँडेको वरिष्ठ उपाध्यक्ष नेम्वाङले बताए ।

    ‘आफूमाथि दुर्व्यवहार हुँदा एन्फाले संरक्षण नगरेको गुनासो गर्नुभएको थियो’ उनले भने, ‘उहाँको भनाइमा पनि एकरुपता थिएन ।’

    नेम्वाङले प्रशिक्षकले अनुशासन तोडेको भन्दै उनको विषयमा एन्फाले बोल्ड निर्णय लिनुपर्ने बताएका छन् । नेम्वाङ पनि बीचमै बैठक छोडेर हिँडेका छन् ।

     

     

  • बैठकबाट निस्कँदै वरिष्ठ उपाध्यक्षले भनेः प्रशिक्षकले अनुशासन तोड्नुभयो, एन्फाले बोल्ड निर्णय गर्नुपर्छ

    बैठकबाट निस्कँदै वरिष्ठ उपाध्यक्षले भनेः प्रशिक्षकले अनुशासन तोड्नुभयो, एन्फाले बोल्ड निर्णय गर्नुपर्छ

    काठमाडौं । फुटबल प्रशिक्षकको राजीनामाका विषयमा छलफल गर्न बसेको एन्फा कार्यसमिति बैठकबाट वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ पनि बाहिरिएका छन् । बाहिरिने क्रममा पत्रकारसँग कुरा गर्दै उनले एन्फाले बोल्ड निर्णय गर्नुपर्ने बताए ।

    नेम्वाङले भने, ‘संस्थाले बोल्ड निर्णय गर्न सक्नुपर्छ । प्रशिक्षकको दवावमा आएर संस्थाका मान्छेहरुले केही नबोल्ने भएपछि नेपाली फुटबलको सर्वोच्च संस्थाको नेतृत्व गर्छौं कसरी भन्ने ?’

    प्रशिक्षक अल्मुताइरीले नेम्वाङलाई आरोपित गर्दै राजीनामाको घोषणा गरेका थिए । नेम्वाङले आफूविरुद्ध प्रशिक्षकले लेख्नुको कारण थाहा नभएको बताए । प्रशिक्षकले अनुशासन तोडेको आरोप लगाउँदै राजीनामा दिन्छु भनेर नाटक मञ्चन गरेको उनले बताए ।

    ‘कर्मचारीले संस्थाको वरिष्ठ उपाध्यक्षलाई बिना आधार आरोप लगाउनु अनुशासनहिन कुरा हो,’ उनले भने, ‘त्यसैले मैले छानविनको माग गरेको हो । एन्फाले न्यायसंगत निर्णय गर्नुपर्छ ।’

    उनले थपे, ‘अहिलेसम्म राजीनामा दिन्छु भनेर दिनुभएको छैन । उहाँले लेखेको शब्दले मेरो व्यक्तिगत जीवनमा, परिवारले गालीगलौज सुन्नुपरेको छ । यतिका वर्ष फुटबलमा गरेको योगदानमा कालो धब्बा लागेको छ । मैले गल्ति गरेको-नगरेको एउटा ठाउँमा छ । विदेशी प्रशिक्षक हो भन्दैमा जे पायो त्यही गर्न छुट दिनुभएन ।’

    नेम्वाङले यसको समाधान चाँडोभन्दा चाँडो निकाल्नुपर्नेमा जोड दिएका छन् ।

  • एन्फाको बैठक जारी, प्रशिक्षक अब्दुल्लाह निस्किए

    एन्फाको बैठक जारी, प्रशिक्षक अब्दुल्लाह निस्किए

    काठमाडौं । राष्ट्रिय फुटबल टिमका प्रशिक्षकको राजीनामाको विषय टुंगो लगाउन बसेको एन्फा कार्यसमितिको बैठक जारी छ । प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी भने केही समय बैठकमा सहभागी भएर निस्केका छन् ।

    बैठक सुरु भएको एक घन्टापछि प्रशिक्षकको बैठकस्थलमा इन्ट्री भएको थियो । उनी सहायक कोच किरण श्रेष्ठ र गोलकिपिङ कोच विकास मल्लसँगै बैठकस्थलमा प्रवेश गरेका थिए । बीचमा उनी दुईपटक भित्र-बाहिर गरेका थिए । एकपटक बाहिर निस्केर पार्किङसम्म आएका उनलाई इन्द्रमान तुलाधर लगायतले फर्काएका थिए । फेरि दुईपटक उनी तलमाथि गरिरहे ।

    अहिले भने उनी बैठक छाडेर हिँडेका छन् । सहायक कोच श्रेष्ठ र गोलकिपिङ कोच मल्लसँगै उनी गाडी चढेर बाहिरिएका हुन् । एन्फाको कार्यसमिति बैठक भने जारी छ । बैठकको प्रगति सम्वन्धमा केही पनि सूचना बाहिर आएको छैन ।

  • एन्फाको कार्यसमिति बैठकमा प्रशिक्षक अब्दुल्लाहको प्रवेश

    एन्फाको कार्यसमिति बैठकमा प्रशिक्षक अब्दुल्लाहको प्रवेश

    काठमाडौं । राष्ट्रिय फुटबल प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले पदबाट राजीनामा दिने घोषणा गरेपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न अखिल नेपाल फुटबल संघ एन्फाको कार्यसमिति बैठक जारी छ । बैठकमा प्रशिक्षक अल्मुताइरीले पनि सामेल भएका छन् ।

    कार्यसमिति बैठक चल्दाचल्दै अल्मुताइरी बैठकस्थलमा प्रवेश गरेका छन् । एन्फाका महासचिव इन्द्रमान तुलाधरलगायतले पार्किङबाट लिएर उनलाई बैठक कक्षतर्फ लगेका थिए ।

    अब्दुल्लाहले केही दिनअघि एन्फाका वरिष्ठ उपाध्यक्षलाई आरोपित गर्दै सामाजिक सञ्जालमार्फत राजीनामाको घोषणा गरेका थिए । उनले लिखितरूपमा राजीनामा भने बुझाएका छैनन् । आजको एन्फा बैठकले यो विषयलाई निकास दिने अनुमान छ ।

  • ९ महिनापछि मैदानमा फर्किए भान डाइक, लिभरपुल पराजित

    ९ महिनापछि मैदानमा फर्किए भान डाइक, लिभरपुल पराजित

    काठमाडौं । लिभरपुलका डिफेन्डर भर्जिल भान डाइक ९ महिनापछि मैदान फर्किएका छन् । भान डाइक गत सिजन अक्टोबरमा एभर्टनविरुद्धको खेलमा जोर्डन पिकफोर्डसँग ठोकिएर गम्भीर घाइते भएका थिए ।

    उनको दाइने घुँडामा ‘एसिएल इन्जुरी’ भएकाले आधाभन्दा धेरै सिजन गुमाउनु परेको थियो । भान डाइक ९ महिनापछि शुक्रबार राति भएको हेर्था बर्लिनसँगको मैत्रीपूर्ण खेलको ७० मिनेटमा न्याथानियल फिलिप्सलाई सब्सिट्युट गर्दै मैदान प्रवेश गरेका थिए ।

    उनले अस्ट्रियाको टिरोल्स् टिभोली स्टेडियममा ११ हजार दर्शकसामु २१ मिनेट मैदानमा बिताए । भान डाइकले खेलपछि सामाजिक सञ्जालमा ट्वीट गर्दै ‘२८५ दिनपछि मैदान फर्किन पाउँदा खुशी छु । मलाई त्यो समयमा समर्थन गर्ने सबैप्रति कृतज्ञ छु ।’

    इङ्लिस टोली लिभरपुल अस्ट्रियामा भएको मैत्रीपूर्ण खेलमा ४–२ गोलको नतिजामा पराजित भएको थियो । लिभरपुलले इङ्लिस प्रिमयर लिगको सिजन २०२१÷२२ को पहिलो खेल अगस्ट १४ मा नर्विच सिटीसँग खेल्ने छ । गत सिजन भान डाइकको अनुपस्थितिले लिभरपुललाई ठूलो घाटा भएको थियो ।

    यद्यपि, मैत्रीपूर्ण खेलमा मैदान फर्किएसँगै भान डाइकले आगामी सिजन लिभरपुलको रक्षापंक्ति सम्हाल्ने निश्चित भएको छ ।

  • ओलम्पिक २०२० : तीन राष्ट्रिय कीर्तिमान नेपालको सान्त्वना

    ओलम्पिक २०२० : तीन राष्ट्रिय कीर्तिमान नेपालको सान्त्वना

    काठमाडौं । विश्व खेलकुदको महाकुम्भ ओलम्पिकको ३२ औं संस्करणमा पनि नेपाल सहभागितामै सीमित भयो । यद्यपि, यो अपेक्षित नै थियो ।

    सन् १९६४ देखि ओलम्पिकमा सहभागिता जनाउन थालेको नेपालले अहिलेसम्म निराशामात्रै हात पारिरहेको छ । ५७ वर्षपछि अहिले पनि जापानमै जारी ओलम्पिकमा पनि नेपाल उही सहभागितामै सीमित भयो । नेपालको लागि सान्त्वनाको पक्ष भनेको तीन राष्ट्रिय कीर्तिमान तोडिनुमात्रै रह्यो ।

    यो वर्ष नेपालबाट चार खेलमा पाँच खेलाडीले प्रतिस्पर्धा गरेका थिए । पौडीका गौरिका सिंह र एलेक्स साह, सुटिङकी कल्पना परियार, जुडोकी सोनिया भट्ट र एथ्लेटिक्सकी सरस्वती चौधरी ।

    प्रत्यक्ष छनोट नभएर पाँचै खेलाडीले वाइल्ड कार्डमा सहभागिताको अवसर पाएका थिए । तीमध्ये झिनो आशा गरिएको खेल थियो- पौडी । त्यसमा पनि १०० मिटर महिला फ्रि-स्टाइलमा सहभागिता जनाएकी गौरिकासँग अलिकति आशा गरिनु स्वभाविक थियो । किनभने, उनले सन् २०१९ मा नेपालमै भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा चार स्वर्णसहित कुल ९ पदक जितेकी गौरिकाले त्यसअघि पनि एक ओलम्पिकको अनुभव लिइसकेकी थिइन् । तर, उनी पनि दोस्रो राउन्डमा प्रवेश गर्न चुकिन् ।

    कस्तो रह्यो पाँच खेलाडीको ओलम्पिक नतिजा ?

    नेपालको ओलम्पिक यात्रा पूर्णरूपमा समाप्त भइसकेको छ । यस क्रममा नेपाली खेलाडीले व्यक्तिगत प्रदर्शन सुधार्ने र राष्ट्रिय कीर्तिमान भने प्रायले बनाए । तर, ऐतिहासिक उपलब्धी केही भएन ।

    सोनिया भट्ट- जुडो

    गत शनिबार जुडोको प्रतिस्पर्धासँगै नेपालको ओलम्पिक यात्रा सुरु भएको थियो । तर, जुडोको प्रतिस्पर्धामा नेपालको प्रतिनिधित्व गर्दै टोकियो पुगेकी सोनिया भट्ट पहिलो खेलमै पराजित भएसँगै नेपालको एउटा यात्रा त्यही टुंगिएको थियो ।

    रुसकी प्रतिस्पर्धीसँग खेलको दुई मिनेट ४४ सेकेण्डमै सोनिया पराजित हुँदा पहिलो चरणबाटै बाहिरिनु परेको थियो ।

    कल्पना परियार- सुटिङ

    सोही शनिबार भएको अर्को खेलमा नेपालले सुटिङमा प्रतिस्पर्धा गर्दै थियो । र, सुटिङको प्रतिस्पर्धामा कल्पना परियारले पनि पराजय व्यहोर्नुपर्‍यो । उक्त खेलको स्वर्णपदक चीनले हात पार्दा कल्पनाले राष्ट्रिय कीर्तिमान भने कायम गरिन् ।

    महिला १० मिटर एयर राइफल इभेन्टको छनोट चरणमा ६ सय १६.८ स्कोर बनाउँदै उनले आफ्नो नामको राष्ट्रिय कीर्तिमान सुधार गरेकी थिइन् । सागमा कल्पनाले नै ६ सय १४.५ स्कोरसाथ कीर्तिमान राखेकी थिइन् ।

    एलेक्स साह- पौडी

    नेपालबाहिरै बसेर नेपालको प्रतिनिधित्व गरिरहेका एलेक्स साहले पुरुष १०० मिटर फ्रि-स्टाइलमा प्रतिस्पर्धा गरेका थिए । उनले पनि आफ्नो इभेन्टमा नयाँ राष्ट्रिय कीर्तिमान बनाए ।

    आफ्नो हिटमा शीर्ष स्थान हासिल गरेका एलेक्सले आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान सुधारे । उनले ५५.३८ सेकेन्डको कीर्तिमान सुधार गर्दै ५३.४१ को नयाँ कीर्तिमान बनाए ।

    गौरिका सिंह- पौडी

    नेपालको सबैभन्दा धेरै अपेक्षा बोकेकी गौरिकाको प्रदर्शन भने यसपाली औसत मात्रै रह्यो । रियो ओलम्पिक २०१६ मा सबैभन्दा कान्छी खेलाडी बनेर विश्वभर चर्चा बटुलेकी गौरिकाले आफ्नो हिटसमेत जितेकी थिइन् ।

    तर, यो वर्ष भने आफ्नै नामको कीर्तिमान सुधार गरिन् । त्यसबाहेक खासै उपलब्धी हात परेन । उनले २०१९ मा दक्षिण कोरियामा भएको १८औं फिना वर्ल्ड च्याम्पियनसीपमा महिला १०० मिटर फ्रि-स्टाइलमा १:००:६२ समयको कीर्तिमान राखेकी थिइन् ।

    सोही कीर्तिमानलाई १:००:११ मा छोट्याउँदै कीर्तिमान बनाउनुबाहेक उनले हिट पनि जित्न सकिनन् । हिट-१ मै रहेकी गौरिका नाइजेरिया, मोन्टेनेग्रो र ग्वामका गरी चार खेलाडीमध्ये तेस्रो भएकी थिइन् ।

    सरस्वती चौधरी- एथ्लेटिक्स

    लामो समयदेखि ओलम्पिकका लागि भन्दै तयारी गरिरहेका गोपीचन्द्र पार्कीले ओलम्पिक गुमाएसँगै सरस्वतीले १०० मिटर दौडमा प्रतिस्पर्धा गर्ने मौका पाएकी थिइन् । तर, उनको ओलम्पिक अनुभव पनि सहभागितामै सीमित भयो ।

    शुक्रबार बिहान भएको १०० मिटर दौडको पहिलो चरणबाटै बाहिरिएकी सरस्वतीले निर्धारित दूरी पार गर्न १२.९१ सेकेन्ड समय खर्चिएकी थिइन् । ९ खेलाडीले प्रतिस्पर्धा गरेको त्यो इभेन्टमा सरस्वती आठौं स्थानमा सीमित भइन् ।

    दुई साताको मात्रै तयारी गरेर ओलम्पिक खेल्न जापान पुगेकी सरस्वतीले राष्ट्रिय कीर्तिमान बनाउने लक्ष्य राखेकी थिइन् । तर, त्यो सम्भव भएन ।

  • एन्फा कार्यसमिति बैठक ४ बजे, प्रशिक्षक अब्दुल्लाहको राजीनामा र छानविनको मागमा छलफल हुने

    एन्फा कार्यसमिति बैठक ४ बजे, प्रशिक्षक अब्दुल्लाहको राजीनामा र छानविनको मागमा छलफल हुने

    काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठक आज बस्दैछ । प्रशिक्षकको राजीनामा प्रक्ररण, उपाध्यक्ष तथा दुई पत्रकार सम्बन्धी घटनाले पछिल्लो समय हेडलाइन मेकर बनिरहेको एन्फाको कार्यसमिति बैठकमा यीनै विषयमा छलफल हुने बताइएको छ ।

    एन्फा मुख्यालय सातदोबाटोमा अपरान्ह ४ बजे बस्ने बैठकमा मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको राजीनामा र छानविनको मागलगायतमा छलफल हुने प्रवक्ता किरण राईले जानकारी दिएका छन् । सँगै आसन्न साफ च्याम्पियनसीप पनि बैठकको एजेण्डा छ ।

    एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङले आफूसँग तीन हप्तादेखि नाटक गरिरहेको बताउँदै बाध्य भएर प्रशिक्षकबाट राजीनामा दिन लागेको उल्लेख गर्दै स्टाटस लेखेका थिए । उनको त्यो स्टाटससँगै तरङ्गित बनेको नेपााली फुटबल जमात कार्यसमिति बैठकप्रति पनि चासो दिइरहेको छ ।

    त्यसो त उपाध्यक्ष नेम्वाङले छानविनका लागि माग गरिसकेका छन् । त्यति मात्रै नभएर एन्फा मुख्यालय अगाडिको प्रशिक्षक र दुई पत्रकारको चुरोट प्रक्ररणले पनि आजको बैठकमा स्थान पाउने लगभग निश्चित छ ।

    त्यतिमात्रै नभएर बिहीबार प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले पनि उपाध्यक्ष नेम्वाङ र दुई पत्रकारमाथि छानविनको माग गर्दै एन्फालाई पत्र बुझाएका थिए । त्यसैले आजको बैठकले छानविन समितिको बनाउने सम्भावना पनि देखिन्छ ।