Category: खेल प्रेस

  • मेसी दुई वर्षका लागि पीएसजीमा अनुबन्धित

    मेसी दुई वर्षका लागि पीएसजीमा अनुबन्धित

    काठमाडौं । अर्जेन्टिनी कप्तान तथा स्टार फरवार्ड लियोनेल मेसी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी)मा अनुबन्धित भएका छन् ।

    इटालियन पत्रकार फ्याब्रिजियो रोमानोका अनुसार बार्सिलोनाबाट बाहिरिएका मेसीले दुई वर्षका लागि फ्रेन्च हेभिवेटसँग सम्झौता गरेका छन् ।

    ‘मेसी पीएसजीसँग अनुबन्धित भएका छन् । सम्झौता भइसकेको छ ।  र, सम्झौतामा थप्न सकिने अप्सन पनि छ,’ फुटबल समाचारका लागि सबैभन्दा विश्वासिला पत्रकार रोमानोले ट्वीट गरेका छन्, ‘प्रतिसिजन तलब करिब ३५ मिलियन हुनेछ ।’ मेसी केही घण्टापछि पेरिस पुग्नेसमेत रोमानोले बताएका छन् ।

     

  • पूर्व च्याम्पियन वावरिन्काले युएस ओपन नखेल्ने

    पूर्व च्याम्पियन वावरिन्काले युएस ओपन नखेल्ने

    काठमाडौं । सन् २०१६ का च्याम्पियन स्टान वावरिन्काले वर्षको अन्तिम ग्रान्डस्लाम-युएस ओपनको आगामी संस्करण नखेल्ने भएका छन् । देब्रे खुट्टामा लागेको चोटबाट रिकभर भइरहेकाले आफूले प्रतियोगिताबाट नाम फिर्ता लिएको वावरिन्काले बताएका छन् ।

    पूर्व विश्व नम्बर तीन वावरिन्काले पाँच वर्षअघि अन्तिम ग्रान्डस्लाम उपाधि जितेका थिए । उनले विश्व नम्बर एक नोभाक जोकोभिचलाई पराजित गर्दै युएस ओपनको उपाधि जितेका थिए ।

    वावरिन्काले खेलेका पछिल्ला नौ संस्करणमध्ये ६ पटक युएस ओपनमा कम्तिमा क्‍वार्टरफाइनलमा पुगेका छन् । पछिल्लो पटक उनी दुई वर्षअघि अन्तिम आठसम्म पुगेर ड्यानियल मेड्भेडेभसँग पराजित भएका थिए ।

  • अमेरिकी स्ट्राइकर सर्जेन्टलाई नर्विच सिटीले भित्र्यायो

    अमेरिकी स्ट्राइकर सर्जेन्टलाई नर्विच सिटीले भित्र्यायो

    काठमाडौं । नर्विच सिटीले अमेरिकी स्ट्राइकर जोस सर्जेन्टलाई चार वर्षका लागि क्लबमा अनुबन्ध गरेको छ ।

    सर्जर्न्टले यसअघि जर्मन क्लब वेडर ब्रेमेनबाट खेलेका थिए । उनले ब्रेमेनका लागि ६९ खेलहरूमा १५ गोल गरेका छन् । र, पाँच अन्तर्राष्ट्रिय गोल गरेका छन् । उनलाई कति रकममा अनुबन्ध गरेको भने क्लबले खुलाएको छैन ।

    सर्जेन्टले भने,‘मैले सँधै प्रिमियर लिग खेल्न चाहन्थेँ, त्यसैले मेरो लागि यो एक रोमाञ्चक अवसर हो । मैले सुनेको छु, यो खेलाडीहरूको उत्कृष्ट समूह हो । मैले मुख्य प्रशिक्षक सँग पहिले नै कुरा गरिसकेको छु, उनीहरूले यहाँ जे गर्न प्रयास गरिरहेका छन्, त्यो मलाई मनपर्छ ।

    नर्विच सिटीले २०२१-२२ सिजनको पहिलो खेल अगस्ट १४ मा लिभरपुलसँग खेल्दै छ ।

  • मैदानमा पुन: दर्शकलाई स्वागत गर्ने प्रिमियर लिगको तयारी

    मैदानमा पुन: दर्शकलाई स्वागत गर्ने प्रिमियर लिगको तयारी

    काठमाडौं । विश्वको सबैभन्दा प्रतिष्ठित राष्ट्रिय लिग(इङ्लिस प्रिमियर लिग)को नयाँ सिजन अर्को सातादेखि सुरु हुँदैछ । र, कोरोना भाइरसको महामारी कारण गत सिजन बन्द रंगशालामा सीमित भएको लिगको नयाँ सिजनमा समर्थकको पनि उपस्थिति रहने छ ।

    र, नयाँ सिजन सुरु हुनै लाग्दा प्रिमियर लिग र क्लबहरूले दर्शकको उपस्थितिका लागि तयारी गरिरहेका छन् ।

    प्रिमियर लिगको २०२१-२२ सिजनका लागि खेलमा उपस्थित हुने समर्थकहरुलाई सुरक्षित राख्न स्वास्थ्य मापदण्डहरू बनाइएको छ । जसमा ४८ घण्टा अगाडिको नेगेटिभ आएको कोरोना परीक्षणको रिपोर्ट वा कोरोनाविरुद्धको खोपको पूरा डोज लगाएको प्रमाण अनिवार्य गरिएको छ ।

    कम उमेरका समर्थकको उपस्थितिको सम्बन्धमा भने क्लब वा प्रिमियर लिगको वेबसाइटमा परामर्श गरेर निश्चित हुन सकिने क्लबले बताएको छ ।

  • आयुस घलान थ्री-स्टारमा अनुबन्धित, अनन्तले लम्ब्याए बसाई

    आयुस घलान थ्री-स्टारमा अनुबन्धित, अनन्तले लम्ब्याए बसाई

    काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य आयुस घलानले थ्री-स्टार क्लबबाट ए डिभिजन लिग खेल्ने भएका छन् । अघिल्लो सिजन खुमलटार क्लबबाट बी डिभिजन लिग खेलेका आयुसलाई आइतबार थ्री-स्टार क्लबले अनुबन्ध गरेको छ ।

    उनले जुनमा भएको फिफा विश्वकप छनौट अन्तर्गत अस्ट्रेलिया विरुद्धको खेलमा राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए । आयुसले नेपाल सुपर लिग (एनएसएल)मा पोखरा थन्डर्सबाट प्रभावशाली प्रदर्शन गरेका थिए ।

    नेपाली राष्ट्रिय फुटबल टोलीका नियमित सदस्य अनन्त तामाङले आगामी सिजनको ए डिभिजन लिग थ्री(स्टार क्लबबाटै खेल्ने भएका छन् । शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत् अनन्त थ्री(स्टार मै बस्न खुसी रहेको क्लबले बताएको छ ।

    उनले २०१८ यता थ्री-स्टारबाटै घरेलु फुटबल खेल्दै आएका छन् । अनन्तले गत वैशाखमा भएको नेपालको पहिलो फुटबल फ्रेन्चाइज लिग एनएसएल चोटका कारण गुमाएका थिए ।

  • अन्तिम ओभरमा ४ छक्का हान्दै वेस्ट-इन्डिजलाई विश्वकप जिताउने ब्रेथवेटले ईपीएल खेल्ने

    अन्तिम ओभरमा ४ छक्का हान्दै वेस्ट-इन्डिजलाई विश्वकप जिताउने ब्रेथवेटले ईपीएल खेल्ने

    काठमाडौं । वेस्टइन्डिजका स्टार अलराउन्डर कार्लोस ब्रेथवेट र पाकिस्तानका अनुभवी ब्याट्सम्यान शोएब मलिक असोजमा हुने चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग(इपीएल) खेल्न नेपाल आउने भएका छन् ।

    सन् २०१६ मा भारतमा भएको टी-२० विश्वकपमा इंग्ल्याण्ड र वेस्ट-इन्डिजबीचको फाइनल खेलमा वेस्ट इन्डिजका अलराउण्डर ब्रेथवेटले अविश्वसनीय इनिङ खेलेका थिए ।

    इंग्लिस बलर बेन स्टोक्सले फालेको अन्तिम ओभरमा वेस्ट-इन्डिजलाई १९ रन चाहिएको थियो । र, सुरुवाती ४ बलमा लगातार छक्का प्रहार गर्दै ब्रेथवेटले वेस्ट इन्डिजलाई टी-२० विश्वकपको उपाधि दिलाएका थिए ।

    असोज ९ गतेदेखि त्रिवि क्रिकेट मैदानमा सुरु हुने ईपीएलमा विश्वकप विजेता ब्रेथवेट र मलिकलले खेल्ने पक्का भएको आयोजकले जानकारी दिएको छ ।उनले कुन टोलीबाट खेल्छन् भन्ने सार्वजनिक गरेको छैन ।

    पाकिस्तानका सोएब मलिकले राष्ट्रिय टोलीबाट ३५ टेस्ट, २ सय ८७ ओडीआई, १ सय १६ टी-२० आई र ४ सय २५ टी-२० खेल खेलेका छन् ।

  • ला लिगामा डेब्यू गर्नै नपाई एग्युरो चोटग्रस्त

    ला लिगामा डेब्यू गर्नै नपाई एग्युरो चोटग्रस्त

    एजेन्सी ।  इंग्लिस च्याम्पियन म्यानचेस्टर सिटीबाट यही सिजन बार्सिलोना अनुबन्ध भएका अर्जेन्टिनी स्ट्राइकर सर्जियो एग्युरो काफ इन्जूरीका कारण कम्तिमा साढे २ महिना मैदान बाहिर रहने भएका छन् ।

    बार्सिलोनाले एग्युरोको परीक्षणपछि वक्तव्य जारी गर्दै उनको टेन्डन इन्जुरी रहेको जानकारी दिएको छ । ३३ वर्षीय एग्युरोले गएको जुन महिनामा बार्सिलोनासँग २ वर्षको सम्झौता गरेका थिए ।

    १० सिजन सिटीमा विताएका उनी क्लबका लागि सर्बाधिक गोलकर्तासमेत हुन् । एग्युरोले सिटीका लागि ३ सय ९० खेलमा २ सय ६० गोल गरेका छन् ।

     

  • मेसीलाई पीएसजी जान रोक्ने बार्सिलोनाको प्रयास, युरोपियन कमिसनमा उजुरी

    मेसीलाई पीएसजी जान रोक्ने बार्सिलोनाको प्रयास, युरोपियन कमिसनमा उजुरी

    काठमाडौं । बार्सिलोना हालै अलग भएका अर्जेन्टिनी सुपरस्टार लियोनल मेसीलाई फ्रान्सेली क्लव पेरिस सेन्ट जर्माइन (पीएसजी) जानबाट रोक्ने प्रयास शुरू भएको छ । यो प्रयास अरु कसैले नभएर बार्सिलोनाले नै गरेको हो ।

    डेलीमेलका अनुसार बार्सिलोनाले एउटा ल फर्ममार्फत युरोपियन कमिसनमा मेस्सीलाई पीएसजी जानबाट रोक्न उजुरी गरेको छ ।

    ल फर्मले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘फुटबल क्लव बार्सिलोनाका साझेदारहरूको तर्फबाट मेरो ल फर्मले युरोपियन कमिसनमा एउटा उजुरी तयार गरेको छ, र मेस्सीलाई पीएसजीसँग हस्ताक्षर गराउनबाट रोक्न फ्रान्सका नागरिक र प्रशासकीय अदालतहरुबाट अस्थायी प्रतिबन्धको माग गरेको छ ।’

    फाइनान्सियल फेयर प्लेको अनुपातमा पीएसजीको अवस्था बार्सिलोनाको भन्दा खराब भएको भन्दै यो सम्झौता हुन नसक्ने दावी गरिएको हो । बार्सिलोनाले आफ्नो फेयर प्ले अनुपात खराब रहेकै कारण मेसीलाई गुमाउनुपरेको बताएको थियो ।

    ‘सन् २०१९-२० मा पीएसजीको तलब-आम्दानी अनुपात ९९ प्रतिशत थियो भने बार्सिलानोको ५४ प्रतिशत थियो । यसबीचमा यो अन्तराल बढेको छ ।’

    बार्सिलोनाले आफ्नो युरोपेली प्रतिद्वन्द्वी पीएसजीमा मेस्सीलाई पठाउन चाहँदैन । त्यसैले उसले यो सम्झौता रोक्न हरसम्भव प्रयास गर्ने बताइएको छ ।

    मेस्सी बार्सिलोनाबाट अलग भएसँगै पीएसजीले उनलाई ल्याउन प्रक्रिया अघि बढाएको थियो । मेस्सीका एजेन्ट तथा बुबासँग पीएसजीको कुराकानी भइसकेको छ । यद्यपि, यस विषयमा औपचारिक जानकारी दिइएको छैन ।

  • साफ च्याम्पियनसिप फुटबल नेपालमा नहुने

    साफ च्याम्पियनसिप फुटबल नेपालमा नहुने

    काठमाडौं । साफ च्याम्पियनसिप फुटबलको १३ औं संस्करण माल्दिभ्समा आयोजना हुने भएको छ । आगामी अक्टोबर १ देखि शुरु हुने साफसाफ च्याम्पियनसिप फुटबल माल्दिभ्समा हुने भएको हो ।

    सोमबार बसेको दक्षिण एसियाली फुटबल महासंघ (साफ) को कार्यकारी समितिको बैठकले प्रतियोगिता आयोजनाको जिम्मा माल्दिभ्सलाई दिने निर्णय गरेको अखिल नेपाल फुटबल संघ(एन्फा)का महासचिव इन्द्रमान तुलाधारले जानकारी दिए ।

    १३ औं साफ च्याम्पियनसिपमा नेपाल, भारत, बंगलादेश, माल्दिभ्स र श्रीलंकाले खेल्ने पक्का भईसकेको छ भने भुटानले तीन दिनपछि निर्णय दिने जनाएको एन्फाले जानकारी दियो ।

    वर्ष दिन पछि धकेलिएको प्रतियोगिता यस अघि सेप्टेम्बर १४ देखि २५सम्म ढाकामा हुने तालिका रहेको थियो । तर आयोजक बंगलादेशले कोभिड–१९ महामारीका कारण आयोजना नगर्ने जानकारी गराएपछि आयोजकको अनिश्चित भएको थियो । अन्तत माल्दिभ्समा हुने पक्का भएको हो । बंगलादेशले कोरोना महामारीका कारण आयोजना गर्न नसक्ने जनाएपछि नेपाल र माल्दिभ्सले आयोजनाका लागि चासो देखाएका थिए ।

    साफ च्याम्पियनसिप अहिले सम्म नेपालमा दुई पटक आयोजना भएको छ । १९९७ मा पहिलो पटक र २०१३ मा नेपालले आयोजना गरेको थियो । दुबै संस्करणमा नेपाल अफगानिस्तानसँग सेमिफाइनलमा पराजित भएको छ । प्रतियोगिताका लागि नेपाली टोली बन्द प्रशिक्षणमा रहेर अभ्यास गरिरहेको छ । अभ्यासका लागि नेपाली टोली मंगलबार पोखरा प्रस्थान गर्ने तालिका छ ।

    अक्टोटर १ देखि १३ गते सम्म जारी रहने साफ च्याम्पियनसिप नेपालमा गर्ने प्रस्ताव अखिल नेपाल फुटबल संघ (एन्फा) लाई दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले गरेको थियो ।

    बंगलादेश फुटबल महासंघले देशमा बढ्दो कोरोना भाइरस संक्रमणका कारण आयोजना नगर्ने भएपछि सदस्य देशहरूबीच २३ जुलाइमा आयोजक देशको बारेमा बैठक भएको थियो ।

    २०१३ मा नेपाल अफगानिस्तानसँग सेमिफाइनलमा पराजित भएको थियो । भारत अहिलेसम्म सातपटक उपाधि जितेर च्याम्पियनसिपको सबैभन्दा सफल देश भएको छ भने नेपाल अझै फाइनल पुग्न सकेको छैन ।

     

  • एभरेष्ट प्रिमियर लिगको ट्रफी सार्वजनिक (भिडियो)

    एभरेष्ट प्रिमियर लिगको ट्रफी सार्वजनिक (भिडियो)

    काठमाडौं । आगामी असोज ९ गते २३ सम्म हुने एभरेष्ट प्रिमियर लिग (ईपीएल)को उपाधि सार्वजनिक भएको छ । आयोजक ईपीएल प्रालिले सोमबार पत्रकार सम्मेलनमार्फत् ट्रफी सार्वजनिक गरेको हो ।

    कोरोना भाइरसका कारण गत वर्ष हुन नसकेको ईपीएलको चौथो संस्करण यो वर्ष हुन लागेको हो । देशभरका ६ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्ने ईपीएलको साविक विजेता ललितपुर प्याट्रिओट्स हो । सन् २०१८ मा भएको अन्तिम संस्करणको फाइनलमा ललितपुरले भैरहवा ग्लाडिएटर्सलाई पराजित गर्दै उपाधि उचालेको थियो ।

    त्यसपछि २०२० मा तय भएको अर्को संस्करण कोरोना भाइरसका कारण स्थगित भएको थियो । त्यो समयमा वेस्ट–इन्डिजका सुपर स्टार ब्याट्सम्यान क्रिस गेल आउने तय भएको थियो । तर, यो वर्ष भने गेल आउने सम्भावना कम छ ।

    तर, पाकिस्तानी पूर्व कप्तान साहिद अफ्रिदी लगायतका ठूला खेलाडीको उपस्थिति रहने निश्चित भइसकेको छ ।

  • ईपीएलको टाइटल स्पोन्सर–बजाज पल्सर

    ईपीएलको टाइटल स्पोन्सर–बजाज पल्सर

    काठमाडौं । असोजमा हुने एभरेष्ट प्रिमियर लिग (ईपीएल)को टाइटल स्पोनसर बजाज पल्सरले गर्ने भएको छ । आगामी सेप्टेम्बरदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने ईपीएल १४ दिनसम्म चल्ने छ ।

    ईपीएलमा ६ फ्रेन्चाइज टोलीहरू– विराटनगर वारियर्स, काठमाडौं किङ्ग्स–११, पोखरा राइनोज, ललितपुर प्याट्रिओट्स, चितवन टाइगर्स र भैरहवा ग्लाडिएटर्सले प्रतिस्पर्धा गर्नेछन् ।

    आइतबार म्यारिओट होटेलमा ईपीएल र बजाज पल्सरबीच सम्झौता भएको छ । सम्झौतापछि गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छाले नेपाली युवाले क्रिकेटलाई माया गरिदिएको र पछिल्लो समयमा क्रेज पनि बढेको र नेपालको सबैभन्दा ठूलो क्रिकेट प्रतियोगितालाई प्राियेजन गरेको बताए ।

    ‘यो एसोसिएसनले पक्कै पनि देशभरीबाट धेरै गुणस्तरीय खेलाडीहरूलाई जन्म दिनेछ’ उनले भने, ‘बजाज पल्सर नेपालमा खेलकुदको विकासका लगि हरदम प्रतिबद्ध छ ।’

    यस्तै, ईपीएलका प्रबन्ध निर्देशक आमिर अख्तरले बजाज उत्कृष्ट ब्रान्ड रहेको बताए । ‘बजाज ब्रान्ड उत्कृष्टताको एक उदाहरण हो । र सत्य यो हो कि हामी ईपीएलमा लगातार उत्कृष्टताका लागि प्रयास गरिरहेका हुन्छौं ।’

  • नेपालले एएफसी महिला एसियन कप-२०२२ का छनोट खेल उज्वेकिस्तानमा खेल्ने

    नेपालले एएफसी महिला एसियन कप-२०२२ का छनोट खेल उज्वेकिस्तानमा खेल्ने

    काठमाडौं । नेपालमा तय भएको एएफसी महिला एसियन कप-२०२२ छनोट खेल अन्तर्गत समूह एफको खेल तटस्थ स्थल उज्वेकिस्तानमा हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव इन्द्रमान तुलाधरले कोरोनाका कारण नेपालमा तय भएको छनोट खेल तटस्थ स्थल उज्वेकिस्तानमा हुने जानकारी दिए ।

    ‘एसियाली फुटबल महासंघ (एएफसी) ले कोरोना बढ्दो क्रममा रहेको भन्दै नेपालमा हुने प्रतियोगिता उज्वेकिस्तानमा सारेको जानकारी एन्फालाई गराएको छ’ महासविच इन्द्रमान तुलाधरले भने । यसअघि जारी गरेको तालिका अनुसार नेपालले समूह एफको छनोट खेल दशरथ रंगशालामा आयोजना गर्ने तालिका थियो । नेपाल सम्मिलित समूहमा हङकङ र फिलिपिन्स छन् ।

    छनोट खेलका लागि नेपाली राष्ट्रिय महिला टोली अहिले अभ्यासमा रहेको छ । घरेलु मैदानमा हुने अभिलासाका साथ बलिया राष्ट्रविरुद्ध राम्रो गर्ने लक्ष्यसहित नेपाली टोलीले अभ्यास गरिरहेको थियो । तर, परिवर्तन भएको तालिकाले टोली केही निराश भएको छ । एन्फाले महिला टिमलाई बन्द प्रशिक्षणमा राखेर छनोटको तयारी गरिरहेको छ । मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले ४५ खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाएका छन् । एन्फाले बंगलादेश लगायतका देशसँग मैत्रीपूर्ण फुटबलको तयारी समेत गरेको छ ।

    आयोजक एएफसीले २८ टोलीलाई चार समूहमा चार-चार र अर्को चार समूहमा तीन-तीन टोलीलाई समावेश गरेर छनोट खेलाउँदै छ । समूह शीर्ष टोली अघिल्लो चरण प्रवेश गर्नेछन् । प्रतियोगिता २०२२ मा भारतका तीन शहरमा हुँदैछ । त्यसका लागि भारतले आयोजना स्थलको पनि टुङ्गो लगाएको छ भने लोगो पनि सार्वजनिक गरिसकेको छ ।

  • मेसी बिनाको बार्सिलोनासँग ३-० ले हार्‍यो युभेन्टस

    मेसी बिनाको बार्सिलोनासँग ३-० ले हार्‍यो युभेन्टस

    काठमाडौं । पूर्व कप्तान तथा क्लबका सर्वकालिन महान् खेलाडी लियोनेल मेसीले छोडेपछिको पहिलो खेलमा बार्सिलोनाले युभेन्टसलाई ३-० गोलको नतिजामा पराजित गरेको छ । बार्सिलोनास्थित योहान क्रुयिफ स्टेडियममा भएको खेलको तेस्रो मिनेटमै घरेलु टोलीले अग्रता लिएको थियो ।

    क्लबका नयाँ फरवार्ड मेम्पिस डिपेले तेस्रो मिनेटमा गरेको गोलसँगै पहिलो हाफमा १-० को अग्रता लिएको बार्सिलोनाले दोस्रो हाफमा थप दुई गोल गर्‍यो ।

    डेनिस फरवार्ड मार्टिन ब्रेथवेटले ५७औं मिनेटमा गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारेका थिए । निर्धारित ९० मिनेटसम्म गोल गर्न असफल रहेको युभेन्टसले इन्जुरी समयमा थप एक गोल खायो ।

    भ्रमणकारी टोलीमाथि हाबी बनेको बार्सिलोनाका लागि रिकार्ड पुजले तेस्रो गोल गर्दै टोलीको सहज जित सुनिश्चित गरे । बार्सिलोनाले १५ अगस्टदेखि सुरु हुने स्पेनिस ला लिगाको पहिलो खेलमा रियाल सोसिडाडसँग घरेलु मैदानमा खेल्ने छ ।

  • ओलम्पिक २०२० : यसरी भयो समापन (तस्बिरहरु)

    ओलम्पिक २०२० : यसरी भयो समापन (तस्बिरहरु)

    काठमाडौं । तीन वर्षपछि फ्रान्सको पेरिसमा भेट्ने वाचासहित टोकियो ओलम्पिक-२०२० आइतबार सकिएको छ । विश्व खेलकुदको महाकुम्भ- ओलम्पिकमा सर्वाधिक स्वर्ण र कूल पदकसहित संयुक्त राज्य अमेरिकाले बाजी मार्‍यो ।

    अमेरिकाले ३९ स्वर्ण, ४० रजत र ३३ कास्य गरी कूल ११२ पदक जितेर शीर्ष स्थान हासिल गर्दा चीन ८८ पदकसहित दोस्रो भयो । चीनले ३८ स्वर्ण, ३२ रजत र १८ कास्य पदक जितेको थियो ।

    यस्तै आयोजक जापानले पनि घरेलु मैदानको फाइदा उठाउँदै ओलम्पिकमा सर्वकालिन उत्कृष्ट नतिजा निकाल्यो । हालसम्म कै सर्वाधिक (२७) स्वर्ण पदक जितेको जापानले १४ रजत र १७ कास्य जित्यो ।

    कोरोना भाइरसको महामारीका कारण एक वर्ष पछाडि सरेको टोकियो ओलम्पिकमा नेपाल सदाझैँ सहभागितामै सीमित भयो । नेपालको प्रतिनिधित्व गर्दै चार खेलका पाँच खेलाडीले ओलम्पिकमा सहभागिता जनाएका थिए ।

    पौडीका गौरिका सिंह र एलेक्जेन्डर साह, सुटिङकी कल्पना परियार, एथ्लेटिक्सकी सरस्वती चौधरी र जुडोकी सोनिया भट्ट यसअघि नै सहभागिता जनाएर फर्किसकेका छन् ।

    टोकियो ओलम्पिकमा यो वर्ष ८३ टोलीले फाइनलमा स्थान बनाएका थिए । त्यस्तै, ४३ टोली पोडियममा उपस्थित थिए ।

    फाइनल पुगेका ८३ मध्ये २३ मुलुकले मात्रै स्वर्ण पदक जिते । यस्तै, टोकियो ओलम्पिकमा एथ्लेटिक्सतर्फ ३ विश्व कीर्तिमान, १२ ओलम्पिक कीर्तिमान, २८ एरिया रेकर्ड्स र १५१ राष्ट्रिय कीर्तिमान बने ।

    नेपालका पनि तीन खेलाडीले राष्ट्रिय कीर्तिमान बनाएका थिए । पौडीका गौरिका र एलेक्ससँगै सुटिङकी कल्पनाले आफ्नै कीर्तिमान सुधार गरेका थिए ।

    दक्षिण एसियाको पावरहाउस भारतले भने ओलम्पिकमा एक स्वर्ण पदकसहित सात पदक जित्यो । एथ्लेटिक्सको ज्याब्लिङ थ्रोमा भारतका निरज चोप्राले स्वर्ण जितेका थिए । त्यसबाहेक भारतले २ रजत र ४ कास्य जित्यो ।

    पूर्वी एसियाबाट आइतबार विदा भएको ओलम्पिकको अर्को संस्करण २०२४ को जुलाई २६ देखि अगस्ट ११ सम्म फ्रान्सको पेरिसमा हुनेछ ।

    कोरोना महामारीका बीच आयोजिच विश्व खेलकुदको कुम्भमेला आम्सिक दर्शकको भव्यरुपमा समापन गरिएको छ ।

    हेर्नुस् केही तस्बिर :

    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
  • सकियो ओलम्पिकः अमेरिका शीर्ष स्थानमा

    सकियो ओलम्पिकः अमेरिका शीर्ष स्थानमा

    काठमाडौं । जुलाई २३ देखि जापानको टोकियो सुरु भएको टोकियो ओलम्पिक २०२० आइतबार सकिएको छ । ह्यान्डबल, साइक्लिङ, बास्केटबल, भलिबल लगायतको फाइनलसँगै सबै स्पर्धा सकिएका हुन् ।

    अहिले टोकियोमा ओलम्पिकको समापन समारोह चलिरहेको छ । यो ओलम्पिकमा ३९ स्वर्ण, ४१ रजत र ३३ कास्य पदकसहित अमेरिका शीर्ष स्थानमा रहँदा चीन दोस्रो भयो ।

    चीनले ३८ स्वर्ण, ३२ रजत र १७ कास्य पदक जितेको थियो । आयोजक राष्ट्र जापानले २७ स्वर्ण, १४ रजत र १७ कास्यसहित तेस्रो स्थान हासिल गर्दा नेपालको ओलाम्पिक यात्रा सहभागितामै सीमित भएको थियो ।

  • राष्ट्रिय पुरुष फुटबल टोलीको प्रशिक्षण बुधबारदेखि पोखरामा

    राष्ट्रिय पुरुष फुटबल टोलीको प्रशिक्षण बुधबारदेखि पोखरामा

    काठमाडौं । राष्ट्रिय पुरुष फुटबल टोलीको बन्द प्रशिक्षण बुधबारबाट शुरू हुँदैछ ।

    राष्ट्रिय टोली अहिले आसन्न साफ च्याम्पियनसिप र (एएफसी) एसियन कप चाइना छनौट को अन्तिम चरणको तयारीमा छ ।
    प्रकाश बुढाथोकी र एरिक विष्ट प्रशिक्षणमा सहभागी नहुने भएकाले उनीहरूको ठाउँमा शिशिर लेखी, सेसेहाङ् आङ्देम्बे र गोल रक्षक विशाल सुनारले प्रशिक्षण गर्ने छन् ।

    प्रशिक्षणमा सहभागी हुने खेलाडीहरू

    किरणकुमार लिम्बु, विशाल श्रेष्ठ, दीप कार्की, विकेश कुथु, अर्पण कार्की, विशाल सुनार, रजिन धिमाल, सुमन अर्याल, रन्दीप पौडेल, दिनेश राजवंशी, गौतम श्रेष्ठ, राजिभ लोप्चन, अनन्त तामाङ, रोहित चन्द, सुरज जेउ ठकुरी, सुमन लामा, कमल थापा मगर, नितिन थापा, तेज तामाङ, पुजन उपरकोटी, विशाल राई, सन्तोष तामाङ, सान्जोक राई, विक्रम लामा, सुजल श्रेष्ठ, त्रिदेव गुरुङ, सुनिल बल, मनिष डाँगी, अन्जान विष्ट, आयुष घलान, नवयुग श्रेष्ठ, आशिष लामा, भरत खवास, अभिषेक रिजाल, सेसेहाङ् आङ्देम्बे, शिशिर लेखी ।

  • पाकिस्तानी ड्यानिश अजिजले चितवनबाट ईपीएल खेल्ने

    पाकिस्तानी ड्यानिश अजिजले चितवनबाट ईपीएल खेल्ने

    काठमाडौं । पाकिस्तानी क्रिकेटर ड्यानिश अजिज एभरेष्ट प्रिमियर लिग (ईपीएल)को आगामी सिजन चितवन टाइगर्सबाट खेल्ने भएका छन् ।

    असोज ९ गते देखि त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा हुने ईपीएलका लागि अजिज चितवनले घोषणा गरेका पहिलो विदेशी खेलाडी हुन् ।

    स्टाइलिस युवा देब्रे हाते ब्याट्सम्यानले यसै वर्ष पाकिस्तानबाट क्रमशस् दक्षिण अफ्रिका र जिम्बावेविरुद्ध खेल्दै एकदिवसीय र ट्वान्टी(२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका थिए । २५ वर्षे अजिजलाई भारतका अलराउन्डर युवराज सिंहसँग पनि तुलना गरिने गरिन्छ । अजिजको स्ट्रोक प्ले, सन्तुलन र टेक्निक शैली उनका रोल मोडल युवराजको जस्तै रहेको छ ।

    अजिजले युवराजलाई क्रिकेटमा आफ्नो प्रेरणाको रूपमा लिने गरेका छन्। अजिजले नेसनल टी(२० कपमा असाधरण प्रर्दशन देखाएका थिए । विशेष गरी म्याच फिनिसिङमा उनले विशेष इनिङ्स खेलेका थिए ।

    अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट मान्यता प्राप्त ईपीएल २०२१ को आयोजना मितिलाई नेपाल क्रिकेट संघ (क्यान) ले स्वीकृत गरिसकेको छ । र, नेपालको सबैभन्दा ठूलो खेलकुद इभेन्ट आयोजनाका लागि तयार रहेको आयोजकले बताएको छ ।

    ुनयाँ सिजनको ईपीएलका लागि ड्यानिशलाई भित्र्याउँदा हामी उत्साहित छौं, पाकिस्तानको भविष्यको ब्याट्सम्यानको रुपमा उनलाई हेरिएको छ । उनको बिग हिटिङ र फिनिसिङ क्षमताले हाम्रो युवा ब्याटिङ लाइनअपलाई नयाँ आयाम दिने छ,ु चितवनकी अप्रेसन्स डाइरटेक्टर विनिता चौधरीले भनिन् ।

  • मेसी पीएसजी जाने निश्चित

    मेसी पीएसजी जाने निश्चित

    काठमाडौं । लियोनेल मेसी आगामी सिजनका लागि पीएसजी जाने निश्चित भएको ईएसपीएनले दाबी गरेको छ।

    क्लबको आर्थिक समस्याका कारण बार्सिलोना छाड्न बाध्य भएका मेसीले आइतबार पत्रकार सम्मेलन गरेर बिदा मागेका थिए ।

    मेसीले स्पेनिस क्लब छाड्ने भएसँगै पीएसजीले उनलाई भित्र्याउने तयारी शुरू गरेको थियो । आइतबार क्याम्प नोउमा आयोजित पत्रकार सम्मेलनमा भने मेसीले आफ्नो भविष्यबारे केही निश्चित नभइसकेको प्रतिक्रिया दिएका थिए ।

  • मेसी भन्छन्- म एक दिन बार्सिलोना फर्किन्छु

    मेसी भन्छन्- म एक दिन बार्सिलोना फर्किन्छु

    काठमाडौं । लियोनेल मेसीले फेरि एक दिन बार्सिलोना फर्किने बताएका छन् । क्लबको आर्थिक समस्याका कारण बार्सिलोना छाड्नु पर्ने अवस्थामा पुगेका मेसीले पत्रकार सम्मेलनमा आफू एक दिन बार्सिलोना फर्किनेमा आशावादी रहेको बताएका हुन् ।

    ‘एकदिन म फर्किनेमा आशावादी छु । मैले मेरा छोराछोरीलाई बचन दिएको छु । म यो क्लबलाई उत्कृष्ट बन्नका लागि मद्दत गर्छु,’ उनले भने, ‘म यो वर्ष बिदाईका लागि तयार थिइँन ।’

  • रुँदै मेसीले भने- म बार्सिलोना छाड्न तयार थिइनँ

    रुँदै मेसीले भने- म बार्सिलोना छाड्न तयार थिइनँ

    काठमाडौं । बार्सिलोनाबाट बिदा हुने निश्चित भएका क्लबका पूर्वकप्तान लियोनेल मेसीले आफू यसका लागि तयार नभएको बताएका छन् ।

    क्लबबाट बिदा हुने निश्चित भएपछि आफैँले आयोजना गरेको पत्रकार सम्मेलनलाई भावुक हुँदै सम्बोधन गरेका मेसीले यो एकदमै कठिन क्षण भएको बताए ।

    ‘यो एकदमै कठिन छ, म यो परिस्थितिका लागि तयार थिइँन,’ उनले भने, ‘गत वर्ष म क्लब छोड्नका लागि तयार थिएँ । तर, यो वर्ष मेरो परिवार र म बार्सिलोनामै आफ्नो बसाइ लम्ब्याउने योजनामा थियौं ।’

    ‘आज मैले ‘गुड-बाई’ भन्नुपर्छ, म यहाँ १३ वर्षको हुँदा आइपुगेको थिएँ,’ उनले भने, ‘र, २१ वर्षपछि आज मेरी श्रीमती र छोराछोरीसँग बिदा हुँदैछु ।’

    म कहाँ जान्छु निश्चित भएको छैन

    अर्जेन्टिनी कप्तान तथा ६ पटकका बालोन डी’अर विजेता लियोनेल मेसीले आफ्नो आगामी गन्तब्य निश्चित भइनसकेको बताएका छन् । क्लबको आर्थिक समस्याका कारण बार्सिलोना छाड्नु पर्ने बाध्यतामा पुगेका उनले पत्रकार सम्मेलनमा अबको यात्रा निश्चित भइनसकेको बताए ।
    ‘अहिलेसम्म मैले कसैसँग कुनै पनि सम्झौता गरेको छैन’ उनले भने, ‘यो एक वर्ष कठिन रह्यो । आधा वर्ष समर्थक बिना रह्यो । म राम्रोसँग बिदाई भन्न चाहन्छु ।’
  • पत्रकार सम्मेलन शुरू नहुँदै रोए मेसी (तस्बिरहरू)

    पत्रकार सम्मेलन शुरू नहुँदै रोए मेसी (तस्बिरहरू)

    काठमाडौं । बार्सिलानोबाट बिदा हुने निश्चित भएका क्लबका पूर्वकप्तान लियोनेल मेसी आफैँले बोलाएको पत्रकार सम्मेलन शुरू हुनुअघि नै भावुक बनेका छन् ।

    नेपाली समयअनुसार ३ः ४५ बजे बार्सिलोनाको स्टेडियम क्याम्प नोउमा पत्रकार सम्मेलनको आयोजना गरेका मेसी पोडियममा आइपुग्दै भावविह्वल बनेर रूँदै गरेका देखिए ।

    उनी रोएको देखेर हलमा रहेका पत्रकार र समर्थकको आँखाभरि आँशु देखिएको छ ।

  • पारस खड्काको सम्मानमा ७७ नम्बर जर्सी प्रयोगमा नल्याउने क्यानको निर्णय

    पारस खड्काको सम्मानमा ७७ नम्बर जर्सी प्रयोगमा नल्याउने क्यानको निर्णय

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले गत साता अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका पूर्वकप्तान पारस खड्काले लगाउने ७७ नम्बरको जर्सी सम्मानस्वरूप प्रयोगमा नल्याउने  निर्णय गरेको छ ।

    दुई वर्षअघि कप्तानबाट राजीनामा दिएका पारसले केही दिनअघि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका थिए ।

    पारसले नेपाली क्रिकेटलाई पुर्‍याएको योगदानको कदर गर्दै क्यानले उनले लगाउने गरेको ७७ नम्बरको जर्सी प्रयोग नगर्ने बताएको हो ।

  • टोकियो ओलम्पिकः अमेरिकी महिला भलिबल टोलीले जित्यो पहिलो स्वर्ण पदक

    टोकियो ओलम्पिकः अमेरिकी महिला भलिबल टोलीले जित्यो पहिलो स्वर्ण पदक

    काठमाडौं । दुई पटकको च्याम्पियन ब्राजिलमाथि ३-० को सोझो सेटमा पराजित गर्दै अमेरिकी राष्ट्रिय महिला भलिबल टोलीले ओलम्पिकमा पहिलो स्वर्ण पदक जितेको छ ।

    जापानमा जारी टोकियो ओलम्पिकको आइतबार भएको फाइनलमा ब्राजिलमाथि हाबी बनेको अमेरिकी महिला टोलीले पहिलो पटक ओलम्पिकमा स्वर्ण पदक जितेको हो ।

    पहिलो सेट २१-२५ ले आफ्नो पक्षमा पारेको अमेरिकाले दोस्रो सेटमा २०–२५ को नजिता निकालेको थियो । तेस्रो सेटको सुरुआतदेखि नै हाबी बनेको अमेरिकाले १४–२५ को जितसँगै ऐतिहासिक स्वर्ण पदक जित्यो ।

    अमेरिकी महिला टोली यसअघि तीन पटक फाइनलमा पुगेर पनि स्वर्ण पदक जित्न असफल रहेको थियो । सन् १९९२ मा चीनसँग सोझो सेटमा पराजित भएको अमेरिका २००८ र २०१२ मा ब्राजिलसँगै पराजित हुँदा स्वर्ण जित्न असफल रहेको थियो ।

    जारी ओलम्पिकमा अमेरिकाले जितेको यो ३९औं स्वर्ण पदक हो । ३९ स्वर्ण, ४० रजत र ३३ कास्य गरी १११ पदकसहित अमेरिका पदक तालिकाको शीर्ष स्थानमा छ ।

  • क्याम्प नोउमा आज मेसीले पत्रकार सम्मेलन गर्दै

    क्याम्प नोउमा आज मेसीले पत्रकार सम्मेलन गर्दै

    काठमाडौं । बार्सिलोना बसाई औपचारिक रूपमा टुङ्ग्याएका अर्जेन्टिनी कप्तान लियोनेल मेसीले आज क्याम्प नोउमा पत्रकार सम्मेलन गर्दैछन् ।

    क्लबको आर्थिक समस्याका कारण आगामी सिजनका लागि बार्सिलोनासँग अनुबन्ध हुन नसकेका मेसीले आज आफ्नो भविष्यसँग सम्बन्धित प्रश्नको उत्तर दिने सम्भावना छ ।

    सन् २००४ मा बार्सिलोना आएका मेसीले बाध्य भएर १७ वर्ष लामो बार्सिलोना बसाई टुङ्ग्याउनु परेको हो । बार्सिलोनाबाट खेल्दै सर्वाधिक सफलता हासिल गरेका मेसीले ६ पटक बालन डी’अरसमेत जितेका छन् ।

    मेसीले बार्सिलोना बसाइ टुङ्ग्याउने भएसँगै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन ९पीएसजी०ले उनलाई भित्र्याउने चर्चा अहिले शिखरमा छ । यद्यपि, मेसीले र क्लबले भने यसबारे प्रतिक्रिया दिएका छैनन् ।

    बार्सिलोनाका पूर्व सहकर्मी नेइमार तथा अर्जेन्टिनी टिममेट एन्जल डी मारिया लगायतका खेलाडी पनि पीएसजीमै रहेकाले मेसी फ्रान्स जाने सम्भावना प्रवल छ ।

  • ओलम्पिकमा लगातार सातौंपटक महिला बास्केटबलमा अमेरिकालाई स्वर्ण

    ओलम्पिकमा लगातार सातौंपटक महिला बास्केटबलमा अमेरिकालाई स्वर्ण

    काठमाडौं । लगातार सातौंपटक ओलम्पिकमा अमेरिकी महिला बास्केटबल टोलीले स्वर्ण जितेको छ ।

    आइतबार बिहान घरेलु टोली जापानमाथि ९०-७५ को नतिजामा जित निकाल्दै अमेरिकाले आफ्नो प्रभुत्व कायम राख्यो ।

    सन् १९९२ बार्सिलोना ओलम्पिकमा कमनवेल्थले जितेयताका सबै संस्करणमा अमेरिकी महिला टोलीले एक छत्र राज गर्दै आएको छ ।

    सन् १९९६ को एटलान्टा ओलम्पिक, २००० को सिड्नी ओलम्पिक, २००४ को ग्रिस ओलम्पिक, २००८ को बेइजिङ ओलम्पिक र २०१२ को लन्डन ओलम्पिकमा पनि अमेरिकी महिला टोलीले नै स्वर्ण पदक जितेको थियो ।

    हालसम्म अमेरिकाले ९ पटक स्वर्णपदक जितिसकेको छ ।

    पुरुषतर्फ भने अमेरिकाले नै लगातार चौथोपटक स्वर्ण जितिसकको छ ।

  • टोकियो ओलम्पिक- पदक तालिकामा अमेरिकाले चीनलाई उछिन्यो

    टोकियो ओलम्पिक- पदक तालिकामा अमेरिकाले चीनलाई उछिन्यो

    काठमाडौं । टोकियो ओलम्पिक २०२० को पदक तालिकामा संयुक्त राज्य अमेरिकाले चीनलाई पछाडि पारेको छ ।

    आज विहान महिला बास्केटबल र साइक्लिङमा स्वर्ण जितेसँगै चीनसँग स्वर्णमा बराबरी गरेको अमेरिका समग्र पदक तालिकामा अन्य राष्ट्रभन्दा अगाडि नै छ ।

    हालसम्मको नतिजा अनुसार अमेरिकाले ३८ स्वर्ण, ३९ रजत र ३३ कास्य पदकसहति ११० पदक जितेको छ । समान ३८ स्वर्ण, ३१ रजत र १८ कास्य जितेको चीन दोस्रो स्थानमा छ भने २७ स्वर्ण, १४ रजत र १७ कास्य जितेको जापान तेस्रो स्थानमा छ । ओलम्पिक इतिहासमा जापानकाे याे सबैभन्दा राम्राे नतिजा हाे ।

    अमेरिकाले आइतबार पनि महिला भलिबल र बक्सिङको दुई स्पर्धामा फाइनल खेल्दैछ । त्यसैले अमेरिकाले स्वर्ण संख्या अझै बढाउन सक्ने छ ।

  • टोकियो ओलम्पिकको आज समापन, पदकमा चीन-अमेरिका प्रतिस्पर्धा

    टोकियो ओलम्पिकको आज समापन, पदकमा चीन-अमेरिका प्रतिस्पर्धा

    एजेन्सी । आज ३२ औं ग्रिष्मकालीन ओलम्पिकको समापन हुँदैछ । करिव तीन सातासम्म चलेको विश्वकै सबैभन्दा ठूलो खेलकुद मेलामा २ सय ८ देशको प्रतिनिधित्व थियो ।

    विश्वभरबाट ११ हजारभन्दा बढी खेलाडी तथा अफिसियलहरु टोकियोको ओलम्पिक भिलेजमा भेला भएका थिए । आज पुरुष म्याराथनसहित १३ स्पर्धाको फाइनल सकिएपछि समापन समारोह हुँदैछ ।

    ओलम्पिकमा नेपालबाट चार खेलमा पाँच खेलाडीको सहभागिता थियो । सबै खेलाडी पहिलो चरणको स्पर्धाबाटै बाहिरिए । पौडीबाट गौरिका सिंह र एलेक्स शाहले प्रतिस्पर्धा गरेका थिए । शुटिङबाट कल्पना परियार, जुडोबाट सोनिया भट्ट र एथलेटिक्सबाट सरस्वती चौधरीले खेलेका थिए ।

    ओलम्पिक पदक तालिकामा शीर्ष स्थानको चीनलाई अमेरिकाले चुनौति दिइरहेको छ । चीन र अमेरिकाबीच मात्र दुई स्वर्णको अन्तर छ भने समग्र पदक संख्यामा अमेरिका धेरै अगाडि छ । आज हुने स्पर्धामा अमेरिकाले महिला भलिबल, बास्केटबलसहित पाँचवटा फाइनल खेल्दैछ । यसर्थ कम्तिमा तीन स्वर्ण जितेको अवस्थामा पदकतालिकामा चीन दोस्रो स्थानमा झर्नेछ ।

    हिजोसम्मको पदकतालिकामा चीन ३८ स्वर्ण, ३१ रजत र १८ कांस्य गरी ८७ पदकसहित शीर्ष स्थानमा छ । अमेरिका ३६ स्वर्ण, ३९ रजत र ३३ कांस्य गरी १ सय ८ पदकसहित दोस्रो स्थानमा छ । इतिहासमै सबैभन्दा सफलता हासिल गरेको जापानले २७ स्वर्ण जितेर तेस्रो स्थानमा छ । रुस ओलम्पिक कमिटी र बेतायत २० स्वर्णसहित संयुक्त रुपमा तेस्रो स्थानमा छन् ।

  • केन्याली किपचोगेलाई ओलम्पिक म्याराथनमा स्वर्ण

    केन्याली किपचोगेलाई ओलम्पिक म्याराथनमा स्वर्ण

    एजेन्सी । केन्याका इलिउड किपचोगेले जापानको टोकियोमा जारी ३२ औं ग्रिष्मकालीन ओलम्पिकमा पुरुष म्याराथनको स्वर्ण पदक जितेका छन् । उनले सन् २०१६ को रियो ओलम्पिकमा पनि स्वर्ण जितेका थिए ।

    टोकियोको उच्च गर्मीका बीच आज विहान म्याराथन दौड किपचोथेले २ घण्टा ८ मिनेट ३८ सेकेण्डमा पूरा गरे । यो रियो ओलम्पिक भन्दा ६ सेकेण्डले कम हो । उनी म्याराथनमा विश्व कीर्तिमानधारी हुन् । उनको नाममा २ घण्टा १ मिनेट ३९ सेकेण्डको विश्व कीर्तिमान छ ।

    चौथोपल्ट ओलम्पिक खेलिरहेका ३६ वर्षीय किपचोगेले सन् २००४ को एथेन्स ओलम्पिकमा ५ हजार मिटरमा तेस्रो भएका थिए भने त्यसको चार वर्षपछि बेइजिङमा सोही स्पर्धामा दोस्रो भएका थिए ।

    म्याराथनमा नेदरल्याण्ड्सका अबडी नागेयेले २ घण्टा ९ मिनेट ५८ सेकेण्डको टाइमिङसहित रजत तथा बेल्जियमका बाशिर अबडीले २ घण्टा १० मिनेटको टाइमिङसहित कांस्य जिते ।

    १ सय १० जना सहभागी पुरुष म्याराथनमा ७६ जनाले मात्र दौड पूरा गर्न सके । गर्मी र उष्णताका कारण धावकहरुलाई निकै कठिन भइरहेको थियो ।

     

  • म्यानचेस्टर सिटीलाई स्तब्ध पार्दै लेस्टरले जित्यो कम्युनिटी शिल्ड

    म्यानचेस्टर सिटीलाई स्तब्ध पार्दै लेस्टरले जित्यो कम्युनिटी शिल्ड

    एजेन्सी । सब्स्टिच्युड खेलाडी केलेची इहेनेचोले खेलको अन्त्यतिर पेनाल्टीमा गोल गरेपछि म्यानचेस्टर सिटीलाई स्तब्ध पार्दै लेस्टर सिटीले कम्युनिटी शिल्डको उपाधि जितेको छ ।

    पछिल्लो सिजनको प्रिमियर लिग र एफए कप विजेताबीचको यो प्रतिस्पर्धा पेनाल्टी शुटआउटमा पुग्ने अनुमान थियो । तर, नियमित समय सकिनु १ मिनेटअघि सिटीका नाथान अकेले लेस्टरका इहेनाचोलाई बक्सभित्र लडाएपछि पाएको पेनाल्टीलाई उनैले आत्मविश्वासका साथ गोल गर्न सफल रहे ।

    यसै साता कीर्तिमानी १ सय मिलियन पाउण्डमा अनुबन्ध भएका ज्याक ग्रेलिसले खेलको ६५ औं मिनेटमा सिटीका लागि डेब्यू गरे । तर परिवर्तित सिटी टिमबाट खेल्दा उनले स्पष्ट अवसर पाएनन् ।

    अघिल्लो सिजन सिटीले प्रिमियर लिगको उपाधि जितेको थियो भने एफए कपमा लेस्टर च्याम्पियन बनेको थियो ।

  • मेस्सी पीएसजीमा जाने ‘लगभग निश्चित’, वार्षिक तलव ४ करोड युरो

    मेस्सी पीएसजीमा जाने ‘लगभग निश्चित’, वार्षिक तलव ४ करोड युरो

    काठमाडौं । २१ वर्षपछि स्पेनिस क्लव बार्सिलोनाबाट अलग भएका अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सी पेरिस सेन्ट जर्मेन (पीएसजी)मा आवद्ध हुने लगभग निश्चित भएको छ । उनले केही साताभित्र सो क्लवसँग दुई वा तीन वर्षको सम्झौता गर्न सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

    पीएसजीले मेस्सीलाई वार्षिक ४ करोड युरो (करबाहेक) तलव दिने छ, जुन सो क्लवका अर्का स्टार नेयमारको भन्दा ५० लाख युरो बढी हो । मेस्सीलाई यसअघि पीएसजीले नै योभन्दा अलि बढी रकमको प्रस्ताव गरेको थियो ।

    यद्यपि, अहिलेको प्रस्तावमा मेस्सी सन्तुष्ट नै रहेको समाचारमा जनाइएको छ । मेस्सीका बुवा तथा एजेन्ट जर्जले पीएसजीका प्रतिनिधिसँग चाँडै वार्तालाप गर्नेछन् । पीएसजी त्यही क्लव हो जसले २०२०/२१ को च्याम्पिन्यस लिग जित्ने मेस्सीको सपना चकनाचुर पारेको थियो ।

    बार्सिलोनाबाट अलग्गिएपछि मेस्सी भोली पहिलोपटक पत्रकार सम्मेलनमा प्रस्तुत हुँदैछन् । त्यसमा उनले क्लवबाट अलग्गिनुपर्दाका पीडा साथै भावी योजनाका बारेमा पनि जानकारी दिन सक्ने बताइएको छ ।

  • बार्सिलोनाबाट विदाइबारे मेसीले भोलि पत्रकार सम्मेलन गर्दै औपचारिक जानकारी दिने

    बार्सिलोनाबाट विदाइबारे मेसीले भोलि पत्रकार सम्मेलन गर्दै औपचारिक जानकारी दिने

    बार्सिलोनाबाट विदाइबारे आएका सूचनाहरूबारे पहिलोपटक सार्बजनिक प्रतिक्रिया दिन विश्व प्रसिद्ध फुटबल खेलाडी लियोनल मेसीले आइतबार बार्सिलोनामा पत्रकार सम्मेलन गरी जानकारी दिने भएका छन् ।

    क्लबले उनलाई २१ वर्षपछि त्यहाँबाट निस्किँदै गरेको घोषणा गरेको तीन दिनपछि बार्सिलोनाबाट विदाइबारे आएका सूचना तथा बार्सिलोनासँगको लामो सहकार्यबारे लियोनल मेसीले सम्मेलनमा बोल्ने अपेक्षा गरिएको छ ।

    बार्सिलोना क्लबले एक विज्ञप्ति जारी गरी भनेको छ, “चौतीस वर्षीय मेसीले मध्याह्न हुने प्रेस सम्मेलनमा उनको बार्सिलोनासँगको सहकार्य र बिदाइबारे सञ्चारकर्मीले सोधेका प्रश्नहरूको जवाफ दिनेछन् । उनको क्लबबाट विदाइ घोषणा भएदेखि उनका पहिलो सार्वजनिक टिप्पणीहरू हुनेछन् ।

    बार्सिलोनाका अध्यक्ष जोआन लापोर्टाले शुक्रबार मेसीको सम्झौता नवीकरण गरेर आफू ‘क्लबलाई जोखिममा पार्न’ तयार नभएको कुरा बताएपछि मेसीबारे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले अनेक सम्भावनाबारे समाचारहरू लेखेका छन् ।

    बार्साले अगस्त १५ मा ला लिगा सुरु हुनुभन्दा अगाडि ठूलो आर्थिक समस्याको सामना गरिरहेको बताउँदै लापोर्टाले बार्सिलोना अब मेस्सीसँग करार नवीकरण गर्ने सोचमा नरहेको बताउनुभएको छ ।

    अर्जेन्टिनी फरवार्डले अन्य प्रस्तावहरूमा विचार गरिरहेको समाचारहरू आईरहेका समय उनको प्रेस सम्मेलनलाई महत्वका साथ हेरिएको छ ।

    सन् २०१७ मा विश्व कीर्तिमान २२२ मिलियन युरो (२६४ मिलियन अमेरिकी डलर)का लागि बार्सिलोनाबाट नेयमारलाई किनेको पीएसजी फ्रान्सको रिपोर्टअनुसार मेसीसँग उसले करार गर्न चाहेको बुझिएको छ ।

    मेसीले पिएसजीलाई क्लबमा सहभागी हुने इच्छा रहेको र तेस्रो सिजनको विकल्पमा दुई वर्षको सम्झौतामा छलफल चलिरहेको जानकारी दिएको फ्रान्सेली टेलिभिजन आरएमसी स्पोर्टले जनाएको छ । रासस

  • नेपाली मुलकी अस्मिता बेलायतको फुटबल क्लब टोटनह्याम हट्सपरमा आवद्ध

    नेपाली मुलकी अस्मिता बेलायतको फुटबल क्लब टोटनह्याम हट्सपरमा आवद्ध

    काठमाडौं । नेपाली मुलकी किशोरी अस्मिता आले बेलायतको फुटबल क्लव टोटनह्याम हट्सपरमा आवद्ध भएकी छन् । १९ वर्षिया अस्मितासँग सन् २०२३ सम्मका लागि सम्झौता गरेको क्लवले जनाएको छ ।

    बेलायतमै बस्ने अस्मिताले डिफेन्डरको रुपमा खेल्दै आएकी छन् । उनी यसअघि एस्टोन भिल्लाकाे युवा टिमबाट खेल्ने गर्थिन् । अहिले उनी टोटनह्यामकाे पहिलो रोजाइको महिला टिमको एक प्रमुख सदस्य बनेकी छन् । उनले १३ नम्बरको जर्सी लगाउनेछिन् ।

    अस्मिताले बेलायतको युवा टिमबाट पनि खेलेकी छिन् । सन् २०१९ मा स्कटल्यान्डमा आयोजित यूरोपियन च्याम्पियनसीपको फाइनलसम्म पुगेको ईंग्ल्यान्ड अन्डर १९ टिममा उनी महत्वपूर्ण सदस्य थिइन् । टोटनह्याम हट्सपरको सिनियर टिममा मौका पाएपछि अस्मिताले खुशी व्यक्त गरेकी छन् ।

    ‘मलाई सुरु गर्न हतार भइरहेको छ,’ उनले भनिन्, ‘आशा गर्छु कि म यो सिजनमा टिमलाई माथि उठाउन सहयोग गर्न सक्छु ।’ भुपू गोर्खा सैनिकी छोरी अस्मिता ८ वर्षकै उमेरमा एस्टोन भिल्लाको एकेडेमीमा आवद्ध भएकी थिइन् । प्रिमियर लिग खेल्ने टिममा स्थान बनाउने उनी नेपाली मुलकी पहिलो खेलाडी हुन् ।

    (*यसअघि प्रकाशित समाचारमा तथ्यगत त्रुटी भएकाले सच्याइएको)

  • नेपाल र भारतबीच दशरथ रंगशालामा दुई मैत्रीपूर्ण फुटबल म्याच हुने

    नेपाल र भारतबीच दशरथ रंगशालामा दुई मैत्रीपूर्ण फुटबल म्याच हुने

    काठमाडौं । नेपाल र भारतको राष्ट्रिय फुटबल टीमबीच मैत्रीपूर्ण फुटबल खेल हुने भएको छ ।  भदौ १७ र २० गते त्रिपुरेश्वरस्थित दशरथ रंगाशालामा म्याच तय गरिएको छ ।

    अखिल नेपाल फुटबल संघ (एन्फा) र अखिल भारतीय फुटबल महासंघ (एआईएफएफ) बीचको सहमतिमा मैत्रीपूर्ण खेल आयोजना गरिएको हो । दुवै टोली आउदै गरेको साफ च्यापियनसिपको तयारी गरिरहेका छन् ।

    यसअघि नेपालले भारतसँग २०१५ मार्चमा दशरथ रंगाशालामा खेलेको थियो । २०१८ को विश्वकप छनौट खेलमा दुवै टोली गोलरहित बराबरीमा रोकिएका थिए ।

    अहिलेसम्म नेपाल-भारत टिम १९ खेलमा आमने-सामने भएका छन् । त्यसमध्ये भारतले १३ खेल जितेको छ । नेपालले भारतलाई दुईपटक जितेको छ । नेपालले अन्तिमपटक काठमाडौंमा भएको २०१३ को साफ च्याम्पियनसिपमा भारतलाई २-१ गोलले पराजित गरेको थियो ।

  • बार्सिलोनाको निर्णयबाट मेस्सी स्तब्ध ! अझै स्पष्टता खोज्दै

    बार्सिलोनाको निर्णयबाट मेस्सी स्तब्ध ! अझै स्पष्टता खोज्दै

    काठमाडौं । अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सी स्पेनिस क्लव बार्सिलोनाबाट मुक्त भएको खबरले विश्वव्यापी फुटबल जगतमा गतिलै तरंग ल्याएको छ । बार्सिलोनाको निर्णय मेस्सीकै लागि पनि अप्रत्याशित रहेको अर्जेन्टिनाका केही सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

    बार्सिलोनाले हिजो एक विज्ञप्तिमार्फत मेस्सीसँग नयाँ सम्झौता हुन नसक्ने घोषणा गरेको थियो । यसअघि मेस्सी र क्लव दुवै पक्ष जुलाई १ मा सकिएको सम्झौता नवीकरण गर्न तयार रहेको समाचारहरू आएका थिए । हिजो उनीहरूबीच सम्झौता हुने भनिएकोमा एकाएक क्लवको विज्ञप्ति आएपछि विश्वभरका मेस्सीका समर्थकहरू आश्चर्यमा परेका छन् ।

    अर्जेन्टिनाबाट प्रकाशित हुने मुन्डो डिपोर्टिभोले क्लवको निर्णयबाट मेस्सी स्वयम् पनि विष्मयमा परेको उल्लेख गरेको छ । यद्यपि उनले अहिले कुनै सार्वजनिक वक्तव्य जारी नगर्ने समाचारमा जनाइएको छ । मेस्सीले बार्सिलोनाबाट अझै स्पष्टता चाहेका छन् ।

    ‘बार्सिलोनाका अध्यक्ष जोन लापोर्टाले आज गर्ने पत्रकार सम्मेलनमा सबै विषय प्रष्ट्याउने मेस्सीको आशा छ,’ समाचारमा भनिएको छ, ‘उनी क्लवसँग संयुक्त वक्तव्य जारी गरेर आफ्ना समर्थकहरूलाई गुडबाइ भन्न चाहन्छन् ।’

    मेस्सी गत बुधबारमात्र आफ्नो भ्याकेसन सकेर बार्सिलोनामा फर्किएका थिए । उनी क्लवसँग नयाँ पाँच वर्षे करार गर्नेमा ढुक्क थिए । दुई पक्षबीच केही मसिना कुराहरूमात्र सल्टाउन बाँकी रहेको बताइएको थियो । तर, परिस्थितिमा एकाएक उलटफेर भयो ।
    समाचारमा आए अनुसार ला-लिगाको नियमले मेस्सी र बार्सिलोनाबीचको नयाँ करार रोकेको हो ।

    अब कहाँ ?

    बार्सिलोनाबाट अलग भएसँगै अन्य क्लवहरुले मेस्सीलाई आँखा लगाउन थालिसकेका छन् । हिजोसम्म उनले बार्सिलोना छोड्ने कसैको कल्पना नभएकाले क्लवहरूले कुनै पहल गरेका थिएनन् । तर, बार्सिलोनाका विज्ञप्ति आएसँगै चहलपहल शुरू भएको छ ।

    मेस्सीलाई पहिलेदेखि आँखा लगाइरहेको एउटा क्लव पेरिस सेन्ट-जर्मेन (पीएसजी) हो । बार्सिलोनाको निर्णय सार्वजनिक भएसँगै उसले मेस्सीसँग सम्पर्क गरिसकेको ट्रान्सफर गुरु फाब्रिजीओ रोमानोले दावी गरेका छन् ।

    पीएसजीमा मेस्सीका अर्जेन्टिनी टिममेटहरू लियन्ड्रो पारेडस् र एन्जेल डिमारियाका साथै ब्राजिलका नेयमार पनि छन् ।

  • अमेरिका पदकको शतकनजिक, तर चीन अगाडि

    अमेरिका पदकको शतकनजिक, तर चीन अगाडि

    एजेन्सी । टोकियो ग्रिष्मकालीन ओलम्पिकमा अमेरिका पदकको शतक नजिक पुगेको छ । तर, स्वर्णको संख्याका कारण समग्रमा चीनकै अग्रता कायम छ ।

    टोकियो ओलम्पिकको १३ दिनको खेल समाप्त हुँदा अमेरिकाले २९ स्वर्ण, ३५ रजत र २७ कांस्यसहित ९१ पदक जितेको छ ।

    अमेरिकाले भन्दा पाँच स्वर्ण धेरै जितेको चीन समग्र पदक संख्याका आधारमा भने अमेरिकाभन्दा धेरै पछाडि छ । उसले २४ रजत र १६ कांस्य गरी ७४ पदक जितेको छ ।

    पदक संख्याका आधारमा रुस ओलम्पिक कमिटी तेस्रो स्थानमा छ । १६ स्वर्ण, २२ रजत र २० कांस्यसहित ५८ पदक जितेको रुस स्वर्णका आधारमा भने पाँचौं स्थानमा छ ।

    २२ स्वर्णसहित आयोजक टोली जापान तेस्रो स्थानमा छ । ओलम्पिकमा जापानको यो अहिलेसम्मकै सबैभन्दा ठूलो सफलता हो । अष्ट्रेलियाले १७ स्वर्ण जितेको छ भने रुससँगै ग्रेट ब्रिटेनले १६–१६ स्वर्ण जितेका छन् ।

    अहिलेसम्म ६३ देशले स्वर्ण पदक जितेका छन् । एउटा मात्र स्वर्ण जित्ने देशको संख्या २८ छ भने दुईवटा स्वर्ण जित्नेको संख्या १२ छ ।

    ओलम्पिकमा आज शुक्रबार १२ खेलका २३ स्पर्धाको फाइनल खेल हुँदैछ । तीमध्ये ९ स्पर्धामा पदक ल्याए अमेरिकाले पदकको शतक प्रहार गर्नेछ ।

    आज महिला फुटबलको फाइनल हुँदैछ । फाइनलमा स्वीडेन र क्यानडा आमने सामने हुँदैछन् । त्यस्तै पुरुष फुटबलको कांस्य पदकका लागि जापान र मेक्सिको खेल्दैछन् ।