Category: खेल प्रेस

  • मच्छिन्द्रसँग रन्जित धिमालको सम्झौता नवीकरण

    मच्छिन्द्रसँग रन्जित धिमालको सम्झौता नवीकरण

    काठमाडौं । डिफेन्डर रन्जित धिमालले ए डिभिजन लिग च्याम्पियन मच्छिन्द्र क्लबसँगको सम्झौता नवीकरण गरेका छन् । शहीद स्मारक ए डिभिजन लिगको तयारीमा रहेको मच्छिन्द्रले २०२१/२२ का लागि रन्जितसँग सम्झौता गरेको हो ।

    राष्ट्रिय टोलीका नियमित सदस्य रहँदै आएका रन्जित अहिले बन्द प्रशिक्षणमा छैनन् । राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले रन्जितलाई ३८ जनाको टोलीमा समेटे पनि २८ जना घोषणा गर्दा उनलाई बाहिर राखेका थिए । थ्री स्टार, एपीएफ तथा एनआरटीबाट खेलिसकेका ३० वर्षीय रन्जित गत संस्करणमा मच्छिन्द्र लिग च्याम्पियन बन्दा महत्त्वपूर्ण सदस्य थिए ।

    उनले गत वैशाखमा भएको नेपालकै पहिलो फुटलब फ्रेन्चाइज- नेपाल सुपर लिग (एनएसएल) मा विराटनगर सिटी फुटबल क्लबको कप्तानीसमेत गरेका थिए ।

    ए डिभिजन लिग आगामी कार्तिक २९ गतेदेखि सुरु गर्ने अखिल नेपाल फुटबल संघ (एन्फा) को तयारी छ ।

  • त्रिकोणात्मक सिरिज खेल्न नेपाली क्रिकेट टिम ओमान प्रस्थान (भिडियो)

    त्रिकोणात्मक सिरिज खेल्न नेपाली क्रिकेट टिम ओमान प्रस्थान (भिडियो)

    काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत नेपाल, अमेरीका र ओमान सम्मिलित एकदिवसिय त्रिकोणात्मक सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली आज (विहान) ओमान प्रस्थान गरेको छ ।

    सेप्टेम्बरमा हुन आइसिसि विश्वकप क्रिकेट लिग टु को त्रिकोणात्मक सिरिजका लागि नेपाली टोली आज सलाम एयरबाट ओमान प्रस्थान गरेको हो ।

    नेपाल क्रिकेट संघ (क्यान) ले सिरिजकै लागि गत शनिबार घोषणा गरेको १७ सदस्यी खेलाडी र पाँच अफिसियल्सलाई आईएमई ट्राभल्स प्राइभेट लिमिटेडले विदाई गरेको हो ।

    टोलीलाई आईएमई ग्रुपका प्रवन्ध निर्देशक हेमराज ढकालले विदाई गरे । १७ सदस्यीय नेपाली टोलीमा रोहित कुमार पौडेल लामो समयपछि सिनियर टोलीमा कमब्याक गरेका छन् भने शरद भेषवाकर र विक्रम शोबले टोलीमा पुनरागमन गरेका छन । गुल्सन झाले राष्ट्रिय टोलीबाट पहिलो पटक भ्रमणको मौका पाएका छन् ।

    त्रिकोणात्मक सिरिजमा नेपालले ओमान र अमेरिका सँग २/२ खेल खेल्ने छ । क्रिकोणात्मक सिरिज पूर्व नेपालले पपुवा न्युगिनी (पिएनजी) सँग भदौ २० गते र भदौ २३ गरी दुई एक दिवसीय खेल खेल्ने तालिका रहेको छ । ओमानमा नै हुने पिएनजीसँगको खेलपछि पछि नेपाली टोलीलले त्रिकोणात्मक सिरिज खेल्नेछ ।

    आइसीसी विश्वकप क्रिकेट लिग टु मा नेपालले अहिलेसम्म चार खेल खेलेको छ । जसमा दुई जित निकाल्दा दुई खेलमा नजित सुम्पिएको छ । घरेलु मैदानमा ओमान र अमेरिकासँग नेपालले ४ खेल खेलिसकेको छ ।

    लिगमा नेपालले ४ खेलमा ४ अंक जोडेको छ । नेपाल छैटौं स्थानमा रहेको छ । ओमान १० खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । १२ खेलमा १२ अंक जोडेको अमेरिका दोस्रो स्थानमा रहेको छ । पिएनजीले ८ खेल खेल्दा अंकको खाता खोल्न सकेको छैन् ।

     

  • प्रिमियर लिगले कोरोनाको उच्च जोखिम देशका खेलाडीलाई छुट्टी नदिने

    प्रिमियर लिगले कोरोनाको उच्च जोखिम देशका खेलाडीलाई छुट्टी नदिने

    एजेन्सी । अन्य युरोपियन क्लबहरुले जस्तै प्रिमियर लिगले पनि कोरोनाको उच्च जोखिममा रहेको देशका खेलाडीलाई अन्तर्राष्ट्रिय टिमका लागि पठाउन अस्वीकार गरेको छ ।

    सेप्टेम्बरमा सबै महादेशमा विश्वकप छनोटका खेलहरु आयोजना हुँदैछन्, प्रमुख खेलाडीको अनुपस्थिति ती देशका लागि महंगो पर्नसक्छ ।

    क्वारेन्टीन अवधिमा पुनर्विचार नगर्ने हो भने अन्य देशका खेलाडीहरु राष्ट्रिय टोलीबाट खेलेर बेलायत फकँदा १० दिनको अजिवार्य क्वारेन्टाइनमा रहनुपर्छ । जसकारण घरेलु लिगका खेल उनीहरुले गुमाउनेछन् ।

    फुटबल एशोसियसन र प्रिमियर लिगले क्वारेन्टाइन नियम परिवर्तन गर्नका लागि बेलायतको डिजिटल, संस्कृति, मिडिया र खेल विभागका अधिकारीहरुसँग छलफल गरिरहेका छन् । समाचारमा जनाइएअनुसार यो समस्या पूरै युरोपका क्लबहरुले सामना गर्नुपर्नेछ ।

    लिभरपुल ती क्लबहरुमध्येको एक हो, जसले अन्तर्राष्ट्रिय खेलका लागि खेलाडीहरुलाई छुट्टी दिन अस्वीकार गरेको छ । यो नियमले लिभरपुलका चार खेलाडी प्रत्यक्ष प्रभावित हुनेछन् । इजिप्टका मोहम्मद सलाह र ब्राजिलका एलिसन, फाविन्हो र रोवर्टो फिर्मिनो । किनभने इजिप्ट र ब्राजिललाई बेलायतले अहिलेसम्म कोरोनाको उच्च जोखिम क्षेत्र अर्थात रेड लिष्टमा राखेको छ ।

    इजिप्ट फुटबल एशोसियसनले आफ्नो वेवसाइटमा उल्लेख गरेअनुसार सलाहलाई नबोलाउन लिभरपुलले संघलाई आग्रह गरेको छ र त्यसका लागि माफी पनि मागेको छ ।

    तर लिभरपुलले इजिप्ट र गावोनबीचको खेलका लागि भने सलाह उपस्थित हुनसक्ने जनाएको छ । किनभने त्यो देश बेलायतको रेड लिष्टमा छैन ।

  • टोकियो पाराओलम्पिक आजदेखि शुरु हुँदै

    टोकियो पाराओलम्पिक आजदेखि शुरु हुँदै

    काठमाडाैं । टोकियो पाराओलम्पिक आजदेखि सुरु हुँदैछ । ओलम्पिक सकिएको एक महिनाभित्रमा अपांगता भएकाहरुका लागि पाराओलम्पिक खेल आयोजना हुँदै आएको छ ।

    यो प्रतियोगिता १३ दिनसम्म चल्नेछ । ओलम्पिकमा २२ खेल समावेश गरिएको छ भने १ सय ६० देशका खेलाडीको सहभागिता छ ।

    यस संस्करणमा ब्याडमिन्टन र तेक्वान्दो पहिलोपल्ट समावेश गरिएको हो । पारा ओलम्पिकका लागि ४ हजार ५ सयभन्दा बढी खेलाडीहरु टोकियोको ओलम्पिक भिलेजमा जम्मा भएका छन् ।

    पाराओलम्पिकमा नेपालबाट एकजना खेलाडीको सहभागिता रहेको छ । पारा तेक्वान्दोकी पलेशा गोवद्र्धनले प्रतिस्पर्धा गर्नेछिन्

  • नेपाली क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

    नेपाली क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार राष्ट्रिय पुरुष क्रिकेट टोलीको नयाँ जर्सी सार्वजानिक गरेको छ ।

    क्यानले केही समयअगाडि जर्सी डिजाइनका लागि खुल्ला प्रतिस्पर्धा आव्हान गरेको थियो । डिजाइनरले एसीसी र आईसीसीको जर्सी प्रोटोकललाई ध्यान राख्दै नेपाली राष्ट्रिय झन्डासँग मिल्ने रंग संयोजनमा जर्सी डिजाइन गर्नुपर्ने सर्त अघि सारिएको थियो ।

    प्रतिस्पर्धामार्फत प्राप्त ५ सयभन्दा बढी डिजाइनबाट आदर्श पोखरेलले डिजाइन गरेको जर्सी सार्वजानिक गरिएको हो ।

    जर्सी छनोटका लागि क्यानले बोर्ड सदस्य छुम्बी लामा, जनरल म्यानेजर रौनक मल्ल, क्रिकेट म्यानेजर विनोद दास र माइ सेकेन्ड टिचरका आशिष सिग्देल सम्मिलित चारजनाको समिति बानाएको थियो

    नेपाली क्रिकेट टोली ओमानमा हुने पपुवा न्यूगिनीसँगको २ एकदिवसीय र अ‍ेमेरिका र ओमानसँग हुने त्रीकोणात्मक टी-२० सिरिजका लागि मंगलबार ओमान प्रस्थान गर्दैछ ।

  • तालिवानले सत्ता कब्जा गरेपछि अफगानिस्तान क्रिकेट बोर्डको नेतृत्व हेरफेर

    तालिवानले सत्ता कब्जा गरेपछि अफगानिस्तान क्रिकेट बोर्डको नेतृत्व हेरफेर

    एजेन्सी । अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी)को अध्यक्षमा अजिजुल्लाह फाजली नियुक्त भएका छन् । पश्चिमा देशको सैनिक फिर्ता भएसँगै निर्वाचित सरकारलाई अपदस्त गरी तालिवानले सत्ता संहालेपछि पहिलोपल्ट क्रिकेट बोर्डमा नेतृत्व हेरफेर गरिएको हो ।

    फाजलीले यसअघि एक कार्यकाल एसीबीको अध्यक्ष भइसकेका छन् । तत्कालीन अध्यक्ष अतिफ माशलले राजीनामा गरेपछि सन् २०१८ को सेप्टेम्बरमा उनी अध्यक्ष बनेका थिए ।

    तर सन् २०१९ को एकदिवशीय विश्वकपमा अफगानिस्तान अन्तिममा रहेपछि उनलाई फरहान युसुफजाईले प्रतिस्थापन गरेका थिए ।

    तालिवानले एसीबी अफिसियलहरुसँग छलफलपछि फजलीलाई अध्यक्षमा नियुक्त गरिएाको हो । फाजली दुई दशकदेखि अफगानी क्रिकेटसँग जोडिएका छन् । उनी देशमा क्रिकेट खेल स्थापना गर्ने समयमा खेलाडीको सुरुआती समूहमा सहभागी थिए ।

    उनलाई यसअघि एसीबीको उपाध्यक्ष र सल्लाहकारका रुपमा पनि जिम्मेबारी दिइएको थियो । उनी घरेलु क्रिकेटको क्षेत्रीय संरचना तयार गर्ने टिममा पनि सहभागी थिए ।

    फाजलीले पाकिस्तानविरुद्ध श्रीलंकामा हुन लागेको आसन्न एकदिवशीय शृंखलाका समस्याहरुलाई तत्कालै समाधान गर्नुपर्नेछ ।

    तालिवानले सत्ता कब्जा गरेपछि काबुल अन्तर्राष्ट्रिय विमानस्थलबाट अहिलेसम्म व्यवसायिक उडान सुरु भएको छैन । यस्तो अवस्थामा राष्ट्रिय टोलीलाई स्थल मार्गबाट पाकिस्तान हुँदै श्रीलंकाको उडान भर्नुपर्ने हुन्छ ।

    श्रीलंकामा पछिल्लो समय कोरोना भाइरस संक्रमणको दर उच्च हुन थालेपछि १० दिनको लकडाउन घोषणा भएको छ । यसले पनि अफगानिस्तान र पाकिस्तानबीचको शृंखला प्रभावित हुन सक्छ ।

  • लुकाकुको गोलमा चेल्सीद्वारा आर्सनल पराजित, सिरी ‘ए’मा युभेन्टस बराबरीमा रोकियो

    लुकाकुको गोलमा चेल्सीद्वारा आर्सनल पराजित, सिरी ‘ए’मा युभेन्टस बराबरीमा रोकियो

    एजेन्सी । १० वर्षपछि क्लब कीर्तिमानी मूल्यमा चेल्सी फर्किएका बेल्जियन स्ट्राइकर रोमेलु लुकाकुले पहिले खेलमै गोल गर्दा इंग्लिस प्रिमियर लिगमा आर्सनल २–० गोलले पराजित भएको छ ।

    आर्सनलको इमिरेट्स रंगशालामा खेल सुरु भएको १५ औं मिनेटमै लुकाकुले गोल गरेका थिए । यो लुकाकुको १ सय १४ औं प्रिमियर लिग गोल हो । यसअघि उनले म्यानचेस्टर युनाइटेड र एभर्टनबाट पनि खेलिसकेका छन् । योसँगै लुकाकु प्रिमियर लिगमा होम र अवे दुवै खेलमा ५०–५० गोल पूरा गर्ने आठौं विदेशी (इंग्ल्याण्डबाहिर)खेलाडी बनेका छन् ।

    ३५ औं मिनेटमा मासोन माउन्सको पासमा रिसी जेम्सले गोल गरेपछि पहिलो हाफमै पाहुना टोलीले २–० को अग्रता बनाएको थियो । यो नतिजा प्रिमियर लिगको नयाँ सिजनमा चेल्सीका लागि लगातार दोस्रो जित हो भने आर्सनलका लागि लगातार दोस्रो हार हो ।

    इटलीको सिरी ए मा क्रष्टियानो रोनाल्डोले खेलको अन्त्यतिर गरेको गोल भिडियो असिस्टेन्ट रेफ्रीले अफसाइड करार गरेपछि युभेन्टस बराबरीमा रोकिएको छ ।

    सिजनको पहिलो खेलमा युभेन्टसले उड्निसीसँग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । युभेन्टसले २–० को अग्रता जोगाउन नसक्दा बराबरीमा रोकिएको हो ।

    पाउलो डिवालाले तेस्रो मिनेटमै गोल गरेका थिए भने २३ औं मिनेटमा डिवालाको पासमा हुवान क्वार्डाडोले गोल गरेका थिए ।

    दोस्रो हाफमा छायामा परेको युभेन्टसले सुरुआतमै गोल खान पुग्यो । ५० औं मिनेटमा पेनाल्टीमार्फत उड्निसीका रोवर्टो म्याक्सिमिलियानोले गोल गरे । ८३ औं मिनेटमा जेरार्डले गोल गरेपछि खेल बराबरीमा आयो ।

    ६० औं मिनेटमा अल्भारो मोराटालाई प्रतिस्थापन गरी मैदान छिरेका क्रिष्टियानो रोनाल्डोले इन्जूरी समयको अन्तिम मिनेटमा शानदार हेड गोल गरे पनि भारले मान्यता दिएन ।

    युभेन्टस बराबरीमा रोकिए पनि सिरी ए को साविक विजेता इन्टर मिलान, लाजियो, एटालान्टा र सासोउलोले भने आआफ्नो खेलमा जित निकाल्दै सिजनको सुरुआत गरेका छन् ।

     

  • राष्ट्रिय क्रिकेट टोलीमा पारस खड्काको ठूलो ठाउँ खाली छ : प्रशिक्षक वाटमोर

    राष्ट्रिय क्रिकेट टोलीमा पारस खड्काको ठूलो ठाउँ खाली छ : प्रशिक्षक वाटमोर

    काठमाडौं । लामो समय नेपाली राष्ट्रिय क्रिकेट टोलीको नेतृत्व गर्दै नयाँ उचाईमा पुर्याएका पारस खड्काबिना नेपाल पहिलो अन्तर्राष्ट्रिय सिरिजको तयारी गर्दै छ । सन् २००२ मा उमेर समूहबाट नेपाली क्रिकेटमा उदाएका पारसले एक सफल, सक्षम र आदर्श क्रिकेटर तथा कप्तानको रूपमा विदाई लिए ।

    गत साउन १९ गते अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका थिए, पारसले ।

    ‘पारसको अनुपस्थितिले टोलीमा ठूलो खाडल परेको छ,’ नेपाली टोलीका मुख्य प्रशिक्षक डेभ वाटमोर भन्छन्, ‘तर, मलाई आशा छ उनले आफ्नो प्रतिस्थापन भएको देख्न पाउनेछन् ।’

    प्रशिक्षक वाटमोरले यसो भन्दै गर्दा टोलीमा पारसकै स्थान लिनसक्ने अन्य खेलाडी छन् र उनीहरूमा पनि त्यो क्षमता छ भन्ने संकेत गर्दै थिए ।

    पारसको अभाव

    ‘पारसको उपस्थितिले नै पिचमा छुट्टै वातावरण सिर्जना हुन्छ,’ कप्तान ज्ञानेन्द्र मल्ल भन्छन्, ‘पारसको कमी त टोलीमा सँधै हुन्छ, तर अब नयाँ खेलाडीलाई एक म्याच विनर बनेर त्यो स्थान लिने मौका छ ।’

    राष्ट्रिय टोलीले हासिल गरेका उचाईहरूसम्म नेपाललाई पु¥याउने सफल कप्तान हुन्, पारस । टी–२० विश्वकप खेल्नु, पहिलोपटक ओडीआई स्ट्याटस हासिल गर्नु लगायत नेपाली टोलीका ठूला सफलता पारसकै कप्तानीमा सम्भव भएका थिए । र उनको अनुपस्थितिले टोलीमा ठूलो खाडल बन्छ ।

    ‘सबै खेलाडी एकदिन रिटायर्ड हुन्छन्,’ राष्ट्रिय टोलीका प्रमुख खेलाडी सन्दीप लामिछाने भन्छन्, ‘अब हामीले ‘मुभअन’ पनि हुनुपर्छ । उहाँलाई मैदानभित्र पनि र बाहिर पनि हामी मिस गछौं ।’

    यस्तै, लामो समय पारससँगै खेलेका शरद भेसावकर पनि पारसको अनुपस्थिति टोलीका लागि ठूलो क्षति हुने बताउँछन् ।

    ‘जुन तरिकाले पारसले पिचमा सबैलाई मोटिभेट गथ्र्यो, इन्करेज गथ्र्यो, लिड गथ्र्यो त्यो कुरा मिस हुन्छ,’ उनले भने ।

    नेपाली टोली कोरोना भाइरसको महामारीपछि पहिलोपटक एकदिवसीय अन्तर्राष्ट्रिय श्रृंखलाको तयारी गर्दैछ । नेपालले ओमानामा सेप्टेम्बर १३ देखि २० सम्म विश्वकप क्रिकेट लिग डिभिजन २ अन्तर्गत घरेलु टोली र अमेरिकासँग ट्राई नेसन सिरिज खेल्ने छ । त्यसअघि सेप्टेम्बर ५ र ८ मा पपुवा न्यूगिनीसँग दुई एकदिवसीय खेल्ने तय भइसकेको छ ।

    तयारीका लागि चाँडै ओमान जाँदै टोली

    सिरिज र न्युगिनीविरुद्धको खेलका लागि नेपाली टोली मंगलबार बिहान नै ओमानतर्फ प्रवेश गर्दै छ । खेल सुरु हुन झण्डै १५ दिन बाँकी रहँदै नेपाली टोली ओमान जानुको कारण स्वदेशमै बसेर भइरहेको तयारी प्रभावकारी नहुनु हो ।

    ‘मौसमको कारणले गर्दा तयारी सोचजस्तो राम्रो भइरहेको छैन,’ कप्तान ज्ञानेन्द्र मल्ल भन्छन्, ‘त्यसैले हामी ओमानमै गएर बाँकी अभ्यास गर्छौं ।’ अहिले पानी पर्ने मौसम भएकाले प्राक्टिस म्याच भइरहेको र नेटमा मात्रै अभ्यास गरेर प्रतियोगिताको तयारी नुहुने कप्तान ज्ञानेन्द्रले बताए ।

     

    गुल्सनको इन्ट्री

    भोलिको ओमान भ्रमणका लागि तयारी गरिरहेको टोलीका नयाँ सदस्य हुन्, गुल्सन झा । गत चैत भएको मेयर्स कपमा राम्रो प्रदर्शन गरेका १७ वर्षीय तिव्र गतिका बलर गुल्सन पहिलोपटक बन्द प्रशिक्षणका लागि बोलाइएका थिए । र, ओमान जाने टोलीमा पनि समावेश भएका छन् ।

    घरेलु प्रतियोगितामा अब्बल बलिङ गरेका गुल्सन ‘ब्याटिङमा पनि राम्रो रहेको कप्तान ज्ञानेन्द्रले बताए ।

    ‘धेरैलाई थाहा छैन, गुल्सनको ब्याटिङ पनि राम्रो छ,’ कप्तान ज्ञानेन्द्र मल्लले भने, ‘लो अर्डरमा आएर ब्याटिङ पनि गर्छ । र, अझै उ युवा छ । धेरै सुधार गर्ने ठाउँछ ।’

    त्यस्तै, प्रशिक्षक वाटमोरले पनि गुल्सन क्षमतावान् रहेको र अझै उत्कृष्ट बन्न सक्ने बताए ।

  • खेलाडीको रक्षाका लागि प्रिमियर लिगको नियम परिवर्तन गर्न क्लोप आग्रह

    खेलाडीको रक्षाका लागि प्रिमियर लिगको नियम परिवर्तन गर्न क्लोप आग्रह

    एजेन्सी । लिभरपुलका प्रशिक्षक जर्गेन क्लोपले नयाँ नियमबारे पुनर्बिचार गरी खेलाडीको रक्षा गर्न प्रिमियर लिगसमक्ष आह्वान गरेका छन् । नयाँ नियमले लिगलाई १० देखि १५ साल पछाडि धकेलेको उनको तर्क छ ।

    शनिबार बर्नलीमाथि २–० को जित निस्किएको खेलका दौरान भएका ट्याकलको संख्यामा क्लोप खुसी थिएनन् ।

    लिगको नयाँ सिजन अगाडि अफिसियलले सामान्य ट्याकलमा फल दिने वा कार्ड देखाउन बन्द गर्ने नियम क्लबहरुलाई सुनाइएको थियो ।
    क्लोपले बीटी स्पोर्टससँगको कुराकानीमा भनेका छन्, ‘यदि तपाईलाई यस्तो मन पर्छ भने कुस्ती हेर्न सक्नुहुन्छ ।’

    पूर्ण क्षमतामा समर्थक उपस्थित एनफिल्डमा शनिबार रेफ्री माइक डिनले एउटा पनि कार्ड देखाएनन् । जवकि लिभरपुलले १२ पल्ट फ्रिकिकको अवसर पाएको थियो ।

    बर्नलीका एस्ले बार्नेस र क्रिश उडको खराव ट्याकलहरुबाट प्रशिक्षक क्लोप निराश थिए । उनले प्रश्न गरेका छन्, ‘परिवर्तिन नियमले खेलको भावनामा नकारात्मक असर परेको छैन त ?’

    ‘हामी सधैं एउटा उचित लडाईको लागि तयार हुनुपर्छ, जस्तो आज थियौं,’ क्लोपले भने, ‘तपाईले पनि एशलेद्वारा भिर्गिल भान डाइक र क्रिशद्वारा जोएल माटिपलाई गरिएको ट्याकल देख्नुभयो । यदि अफिसियलले यसमा सही निर्णय गरेका हुन् भने म शतप्रतिशत त्यसको विपक्षमा छु ।’

    ‘नयाँ नियमले प्रिमियर लिगलाई १० देखि १५ वर्ष पछाडि धकेलिदिएको छ । नयाँ नियमलाई खेलको तीव्रता र माहोललाई अगाडि बढाइरहनका लागि भनिएको छ । तर यो उचित तर्क होइन । यो हामीले हेर्न चाहेको फुटबल होला तर धेरै खतरनाक छ,’ उनले थपे ।

    १८ औं मिनेटमा डिएगो जोटाको हेडर गोल र दोस्रो हाफमा साडियो मानेको शानदार गोलले लिभरपुल लिगका सुरुआती दुई खेलमा विजयी भएको छ । क्लोपले आफ्ना खेलाडीलाई धन्यबाद दिए ।

    ‘मेरो विचारमा यो नियम आक्रामक फुटबलका लागि हो, ठीक छ,’ यी जर्मन प्रशिक्षकले भने, ‘तर हामीले खेलाडीको रक्षा पनि गर्नुपर्छ । थुप्रै क्षणमा हामीले गोल नगरीकनै शानदार फुटबल खेलेका छौं । तर धेरैजसो क्षणमा हामीले अविश्वसनीय रुपमा कठिन संघर्ष गर्नुपर्‍याे । हामीले यो खेल जित्यौं र भाग्यबस कोहि पनि घाइते भएनौं ।’

     

  • आईसीसी सीडब्लूसी लिग-२ का लागि राष्ट्रिय टोलीको घोषणा, गुल्सन पहिलो पटक टोलीमा

    आईसीसी सीडब्लूसी लिग-२ का लागि राष्ट्रिय टोलीको घोषणा, गुल्सन पहिलो पटक टोलीमा

    काठमाडौं । युवा बलर गुल्सन झालाई समेटेर आईसीसी सीडब्लूसी लिग-२ अन्तर्गत ओमानमा हुने नेपाल, ओमान र अमेरिकाबीचको ट्राईसिरिजका लागि १७ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टिमको घोषणा भएको छ ।

    नेपाल क्रिकेट संघ (क्यान)ले दिएको जानकारीअनुसार भदौ ८ गते मंगलबार बिहान ८ बजे नेपाली टोली सलाम एयरबाट ओमान प्रस्थान गर्नेछ ।

    खेलाडीहरू: ज्ञानेन्द्र मल्ल (कप्तान), आसिफ शेख, कुशल मल्ल, सोमपाल कामी, अविनाश बोहरा, शरद भेषावकर, दीपेन्द्र सिंह ऐरी (उप-कप्तान), गुलशन झा, विनोद भण्डारी, सन्दीप लामिछाने, रोहित पौडेल, विक्रम सोव, कुशल भुर्तेल, आरिफ शेख, करण केसी, पवन सर्राफ, सुशन भारी

  • पोखरा फुटबल रङ्गशालामा ‘फ्लड लाइट’ राखिने

    पोखरा फुटबल रङ्गशालामा ‘फ्लड लाइट’ राखिने

    पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट (बत्ती) राखिने भएको छ । अन्तर्राष्ट्रिय मापदण्डको रङ्गशालामा रात्रिकालिन प्रतियोगिता सञ्चालनका लागि ‘फ्लड लाइट’ अनिवार्य रहेकाले राष्ट्रिय खेलकुद परिषद्ले यस वर्ष रु पाँच करोड बजेट विनियोजन गरेर काम सुरु गर्ने भएको हो ।

    रङ्गशालाको काम तीन वर्षअघिदेखि सुरु भएकामा हाल अन्तिम चरणमा पुगेको छ । रु एक अर्ब २८ करोड लागतमा निर्माण सुरु भइरहेको रङ्गशालामा सुरुआतमा ‘फ्लड लाइट’ र ‘स्कोर बोर्ड’ राख्ने योजना थिएन । अन्तर्राष्ट्रियस्तरका फुटबल प्रतियोगिताका लागि रङ्गशालामा लाइट अनिवार्य छ । पोखराका खेलकर्मीले सुविधासम्पन्न फुटबल रङ्गशालामा बत्ती राख्ने व्यवस्था गर्न पटक पटक राखेपको ध्यानाकर्षण गराएका थिए ।

    क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण नाथ योगीले रु पाँच करोड बजेट विनियोजन भएकाले यसै वर्ष बोलपत्र आह्वान भएर ‘फ्लड लाइट’ जडानको काम सुरु हुने बताए । रङ्गशालाको चारै कुनामा बत्ती राखिने छ । उनले भने, ‘फिफाको नियमानुसार अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि लाइट अनिवार्य छ, यस वर्ष सोका लागि राखेपको रातो किताबमा बजेट विनियोजन भएर आएको छ, यसै वर्ष काम हुन्छ ।’

    जिल्ला फुटबल सङ्घका अध्यक्ष मिलन गुरुङले ‘फ्लड लाइट’ जडानसँगै पोखरा रङ्गशालामा अन्तर्राष्ट्रियस्तरका प्रतियोगिताका लागि ढोका खुल्ने बताए । साँझ तथा रातिका खेलका लागि बत्ती अनिवार्य रहेको र सो नहुँदासम्म फिफाले स्वीकृति प्रदान नगर्ने भएकाले दूर्तगतिमा काम हुनुपर्ने उनी बताउँछन् ।

    उनले भने, ‘फ्लड लाइट’ भएपछि रङ्गशालामा धेरै अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल र अन्य प्रतियोगिता गर्न बाटो खुल्नेछ ।’ अन्तर्राष्ट्रिय फुटबल रङ्गशालाको हालसम्म ९० प्रतिशत काम सकिएको छ । १६ हजार ५०० दर्शक क्षमताको प्यारापिट तयारी अवस्थामा छ ।

    यसैगरी अति विशिष्ट कक्षको प्यारापिटमा छानो छाउने काम सकिएको निर्माण कम्पनी भारतीय ग्रेट स्पोर्टस् एण्ड एमएम कन्स्ट्रक्सनका इञ्जिनियर पुरुषोत्तम बरालले बताए ।

    रङ्गशालामा अहिले खेलाडी बस्ने कक्ष(प्लेयर बक्स),चेञ्जिङ रुम र प्रि इञ्जिनियरिङ भवनको फिनिसिङ तथा रङरोगनको काम भइरहेको छ । इञ्जिनियर बरालले भने, ‘आगामी अक्टोबरभित्रमा फुटबल रङ्गशालाको सम्झौताअनुसारको सबै काम सम्पन्न गरेर हस्तान्तरणको तयारीमा छौँ ।’

    पोखरामा चार दशकअघि निर्माण गरिएको फुटबल रङ्गशालाको प्यारापिट विसं २०७२ को भूकम्पले क्षति पुगेपछि नयाँ निर्माण सुरु गरिएको थियो ।

    रासस

  • च्यासलले फुटबल एकेडेमी सञ्चालन गर्ने

    च्यासलले फुटबल एकेडेमी सञ्चालन गर्ने

    काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिगको टोली- च्यासल युथ क्लबले युवा खेलाडी विकास र उथानका लागि एकेडेमी सञ्चालन गर्ने भएको छ । च्यासल युथ क्लब, अखिल नेपाल फुटबल संघ (एन्फा) र कीर्तिपुर स्थित पुष्पसदन बोर्डिङ हाई स्कुलबीचको सहकर्यमा फुटबल एकेडेमी स्थापना हुने क्लबले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

    एकेडेमी सञ्चालनका लागि च्यासल युथ क्लबका अध्यक्ष रमेश ब्यञ्जनकार र पुष्पसदन बोर्डिङ हाई स्कुलको तर्फबाट प्रिन्सिपल राम धन राईद्वारा सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । एन्फाका उपाध्यक्ष तथा ग्रासरुट तथा युवा संयोजक उपेन्द्रमान सिंहले एन्फाकोतर्फबाट सम्झौतामा हस्ताक्षर गरे ।

    एकेडेमी च्यासल-पुष्पसदन युथ फुटबल एकेडेमीको नामबाट सञ्चालन हुने क्लबले बताएको छ । क्लबका ७ खेलाडी र स्कुलका ७ जना गरी जम्मा १४ जना खेलाडीहरू पहिलो वर्ष एकेडेमीमा सामेल हुनेछन् भने क्लबले दोस्रो वर्षमा अन्य सात जना खेलाडीहरू थपेर कूल २१ खेलाडीलाई प्रशिक्षण दिने क्लबको तयारी छ ।

  • चेल्सीका पुलिसिकलाई कोरोना संक्रमण पुष्टि, आर्सनलविरुद्धको खेल गुमाउने

    चेल्सीका पुलिसिकलाई कोरोना संक्रमण पुष्टि, आर्सनलविरुद्धको खेल गुमाउने

    काठमाडौं । चेल्सीका अमेरिकी फरवार्ड क्रिस्टियन पुलिसिकलाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना भाइरस परीक्षणको नतिजा पोजिटिभ आएसँगै उनले आइतबार हुने लन्डन डर्बी- आर्सनलविरुद्धको खेल गुमाउने निश्चित भएको छ ।

    अमेरिकी स्टार पुलिसिकले यो हप्ता ट्रेनिङ नगरेको र सेल्फ आइसोलेसनमा बसेको चेल्सीका मुख्य प्रशिक्षक थोमस टुकेलले पुष्टि गरेका छन् ।

    ‘उनले ट्रेनिङ पनि गरका छैनन् र आगामी खेलका लागि उपलब्ध हुने छैनन्,’ टुकेलले भनेका छन् ।

    पुलिसिकले इन्स्टाग्राममा आफूले भ्याक्सिनको पूरा डोज लगाइसकेको र कुनै लक्षण नदेखिएको बताएका छन् । पुलिसिकले गत साता भएको क्रिस्टल प्यालेसविरुद्धको खेलमा एक गोल गरेका थिए । उक्त खेलमा चेल्सी ३-० ले विजयी भएको थियो ।

    इङ्लिस प्रिमियर लिगमा जारी सिजनको पहिलो खेलमा अनुपस्थित हाकिम जिएच र एन्गोलो कान्टै दुबै चेल्सीको अभ्यासमा फर्किएका छन् ।

  • चोटका कारण नाडालले युएस ओपन गुमाउने

    चोटका कारण नाडालले युएस ओपन गुमाउने

    काठमाडौं । राफेल नाडालले खुट्टामा लागेको चोटका कारण आफ्नो सिजन समाप्त भएको घोषणा गरेका छन् । उनको यो घोषणासँगै वर्षको अन्तिम ग्रान्डस्लाम- युएस ओपनमा पनि उनी अनुपस्थित हुने निश्चित भएको छ ।

    २० पटकका ग्रान्डस्लाम च्याम्पियन नाडालले चोटकै कारण गत साता सिनिसनाटी मास्टर्स र क्यानडियन ओपन गुमाएका थिए ।

    युएस ओपनमा साविक विजेता डोमिनिक थिम र पाँच पटकका च्याम्पियन रोजर फेडेरर पनि यो वर्ष अनुपस्थित हुने निश्चित भइसकेको छ ।

    चार पटकका च्याम्पियनसमेत रहेका ३५ वर्षीय नाडालले इन्स्टाग्राममा लेखेका छन्- ‘साँच्चै, म खुट्टामा लागेको चोटका कारण खराब अवस्थाबाट गुज्रिरहेको छ । त्यसैले मैले ठीक हुनका लागि समय दिनुपर्छ । मैले परिवार र टिमसँग छलफल गरेर निर्णय लिएको हुँ ।’

    नाडालले फ्रेन्च ओपन यता विम्बल्डन र ओलम्पिक पनि चोटका कारण गुमाएका थिए । जुनमा भएको फ्रेन्च ओपनको सेमिफाइनलमा नोभाक जोकोभिचसँग पराजित भएसँगै नाडाल २०१६ पछि पहिलो पटक उपाधि रक्षा गर्न असफल रहेका थिए ।

    वर्षको अन्तिम ग्रान्डस्लाम- युएस ओपन अगस्ट ३० बाट सुरु हुनेछ ।

  • मेसी-नेइमार बिनाको पीएसजीसँग ब्रिस्ट पराजित

    मेसी-नेइमार बिनाको पीएसजीसँग ब्रिस्ट पराजित

    काठमाडौं । स्टार खेलाडीहरू नेइमार र लियोनेल मेसी बिनाको पेरिस सेन्ट जर्मन (पीएसजी)ले शुक्रबार राति फ्रेन्च लिग वानमा ब्रिस्टलाई २-४ गोलको नतिजामा पराजित गरेको छ । ब्रिस्टको घरेलु मैदानमा भएको खेलमा पीएसजीको जितमा किलियान एम्बाप्पे, एन्ड्रे हरेरा, गेन ग्युए र एन्जल डी मारियाले गोल गरे ।

    त्यस्तै, ब्रिस्टका लागि फ्रान्क होनोरत र स्टिभ मोनीले एक/एक गोल फर्काएका थिए । हरेराले २३औं मिनेटमा गरेको गोलसँगै भ्रमणकारी पीएसजीले अग्रता लिएको थियो । त्यसको १३ मिनेट नबित्दै एम्बाप्पेले पीएसजीको अग्रता दोब्बर पारेका थिए ।

    पहिलो हाफको खेल सकिन तीन मिनेट बाँकी रहँदा होनोरतले ब्रिस्टका लागि एक गोल फर्काएका थिए । दोस्रो हाफको पनि सुरुआतदेखि नै आक्रमक बनेको पीएसजीले ७३औं मिनेटमा ग्युएको गोलसँगै अग्रता १-३ मा लम्ब्याएको थियो ।

    निर्धारित ९० मिनेटको खेल सकिन पाँच मिनेट बाँकी रहँदा मुनीले ब्रिस्टका लागि गोल गर्दै स्कोरलाइन पुन: २-३ मा छोट्याएका थिए । यद्यपि, इन्जुरी समयमा डी मारियाले गरेको गोलसँगै पीएसजीले सहज जित हासिल गर्‍यो ।

    पीएसजीको टोलीमा अर्जेन्टिनी कप्तान लियोनेल मेसी, नेइमार तथा सर्जियो रामोस भने सामेल थिएनन् । नेइमार पीएसजीका पुराना खेलाडी भए पनि रामोस र मेसी यसै सिजन स्पेनिस ला लिगासाइडबाट पेरिस आएका हुन् ।

  • बजाज पल्सर एभरेष्ट प्रिमियर लिग हिमालय टिभी र ओएसआर स्पोर्ट्समा प्रत्यक्ष प्रशारण

    बजाज पल्सर एभरेष्ट प्रिमियर लिग हिमालय टिभी र ओएसआर स्पोर्ट्समा प्रत्यक्ष प्रशारण

    काठमाडौं । आगामी असोजमा हुने बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल)को प्रत्यक्ष प्रशारण हिमालय टेलिभिजन र ओएसआर स्पोट्स युट्युब च्यानलबाट हुने भएको छ । कोरोना भाइरसका कारण दुई वर्षपछि धकेलिएको ईपीएलको चौथो संस्करण असोज ९ गतेदेखि २३ गतेसम्म त्रिवि क्रिकेट मैदानमा हुनेछ ।

    यसअघि २०१९ को डिसेम्बरमा हुने तय भएको ईपीएलको चौथो संस्करणको प्रत्यक्ष प्रशारण डी–स्पोर्ट्सले गर्ने बताइएको थियो ।

    तर, शुक्रबार आयोजकले पत्रकार सम्मेलन गर्दै आगामी संस्करण हिमालयन टेलिभिजन र ओएसआरले प्रत्यक्ष प्रशारण गर्ने जानकारी दिएको हो ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा १५ दिनसम्म चल्ने प्रतियोगितामा ६ फ्रेन्चाइज–भैरहवा ग्लाडिएटर्स, चितवन टाइगर्स, विराटनगर वारियर्स, ललितपुर प्याट्रिओट्स, पोखरा राइनोजले प्रतिस्पर्धा गर्नेछन् । अन्तिम संस्करणको फाइनलमा भैरहवा ग्लाडिएटर्सलाई पराजित गर्दै ललितपुर प्याट्रिओट्सले उपाधि उचालेको थियो ।

  • फिफाको महिला वरीयतामा नेपाल एक स्थान तल झर्‍यो, दक्षिण एशियाली वरीयतामा दोस्रो

    फिफाको महिला वरीयतामा नेपाल एक स्थान तल झर्‍यो, दक्षिण एशियाली वरीयतामा दोस्रो

    काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय विश्व फुटबल महासङ्घ (फिफा) ले जारी गरेको महिला वरीयतामा नेपाल एक स्थान तल झरेको छ ।

    फिफाद्वारा आज जारी सार्वजनिक प्रतिवेदनमा नयाँ वरीयतामा नेपाल एक स्थान तल झर्दै १०१औँ स्थानमा पुगेको हो । यसअघि नेपाल १००औँ स्थानमा थियो । एशियाली राष्ट्रको वरीयतामा भने नेपाल २१औँ स्थानमा रहेको छ भने दक्षिण एशियाली राष्ट्रको वरीयता नेपाल दोस्रो स्थानमा छ । नेपालभन्दा अघि रहेको भारत ५७औँ स्थानमा छ ।

    विश्व वरीयतामा अमेरिका शीर्ष स्थानमा रहँदा स्विडेन दोस्रो स्थानमा छ । त्यसैगरी जर्मनी तेस्रो, नेदरल्यान्ड्स चौथो, फ्रान्स पाँचौँ, क्यानडा छैठौं, ब्राजिल सातौँ, इङ्गल्यान्ड आठौँ, उत्तर कोरिया नवौँ र स्पेन १०औैँ स्थानमा रहेको छ । रासस

  • सी डिभिजन लिग छनोटको तालिका सार्वजनिक, ७८ टोलीको सहभागिता

    सी डिभिजन लिग छनोटको तालिका सार्वजनिक, ७८ टोलीको सहभागिता

    काठमाडौं । शहीद स्मारक सी डिभिजन लिग छनोटको पहिलो खेलमा सतासीधाम स्पोर्टिङ क्लब र च्याम्पियन ब्वाइज एफसी भिड्ने भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार निकालेको टाइ-सीटअनुसार भदौ १० गतेदेखि छनोट सुरु हुनेछ ।

    असोज २० गतेसम्म चल्ने छनोटमा कूल ७८ टोली सहभागी हुनेछन् । यसअघि ७९ टोली सहभागी हुने भनिए पनि काठमाडौं युनाइटेडले आफ्नो नाम फिर्ता लिएपछि ७८ टोलीले मात्रै छनोट खेल्ने भएका छन् ।

    सहभागी ७८ टोलीलाई २६ समूहमा विभाजन गरी तीन चरणमा छनोट हुने एन्फाले शुक्रबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।

    प्रत्येक समूहमा ३ टोली रहेको र ती टोलीले दुई चरणमा छनोट खेल्नेछन् । पहिलो चरणबाट समूह विजेता दोस्रो चरणमा प्रवेश गर्नेछन् भने समूहका फाइनल विजेता सी डिभिजन लिगका लागि छनोट हुनेछन् ।

  • अब्दुल्लाह भन्छन्- भारतसँगको मैत्रीपूर्ण खेल साफ च्याम्पियनसिपको राम्रो तयारी

    अब्दुल्लाह भन्छन्- भारतसँगको मैत्रीपूर्ण खेल साफ च्याम्पियनसिपको राम्रो तयारी

    काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले भारतविरुद्ध हुने दुई मैत्रीपूर्ण खेल साफ च्याम्पियनसिपका लागि राम्रो तयारी हुने बताएका छन् ।

    अक्टोबर १ देखि माल्दिभ्समा हुने साफ च्याम्पियनसिपका लागि अहिले राष्ट्रिय टोली पोखरामा प्रशिक्षण गरिरहेको छ । सोही क्रममा प्रशिक्षक अब्दुल्लाहले अखिल नेपाल फुटबल (एन्फा) मिडियासँग कुरा गर्दै भारतविरुद्ध आगामी १७ र २० गते हुने खेल फाइदाजनक हुने बताएका हुन् ।

    साफ च्याम्पियनसिपको उद्‍घाटन खेलमा नेपाल र आयोजक माल्दिभ्स भिड्ने

    ‘भारतविरुद्धक दुई खेल साफ कपको तयारीका लागि फाइदाजनक छन्,’ उनले भने, ‘विश्वकप छनोट खेलेको टोलीमा धेरै परिवर्तन हुन सक्छ । किनभने, मैले खेलाडीहरूसँग धेरै समय बिताउने मौका पाएँ । हामीले धेरै क्लास गरेका छौं ।’

    नेपालले घरेलु मैदानमा भदौ १७ र २० गते भारतसँग खेल्दै छ । साफ च्याम्पियनसिपको उद्‍घाटन खेलमा नेपालले अक्टोबर १ मा आयोजक माल्दिभ्सको सामना गर्नेछ ।

    ‘नेपालले च्याम्पियनसिपको पहिलो खेलमा माल्दिभ्ससँग खेल्ने छ,’ प्रशिक्षक अब्दुल्लाहले भने, ‘त्यो ठूलो खेल हुनेछ । किनभने, माल्दिभ्स साविक विजेता र आयोजक राष्ट्र पनि हो ।’

    राष्ट्रिय टोलीका खेलाडीहरूलाई प्रशिक्षक एएफसी डी लाइसेन्सका लागि पनि तयार गरिरहेको उनले बताए । राष्ट्रिय टोलीका खेलाडीसँग ए लाइसेन्स हुनुपर्ने र त्यसले रिटायरमेन्टपछि फुटबल बुझ्न अझै सजिलो हुने बताए ।

  • एसियाली टेबलटेनिस प्रतियोगिता खेल्न कतार जाने खेलाडीको टुङ्गो लाग्यो

    एसियाली टेबलटेनिस प्रतियोगिता खेल्न कतार जाने खेलाडीको टुङ्गो लाग्यो

    काठमाडौं । अखिल नेपाल टेबलटेनिस संघले कतारमा हुने २५औं एसियाली टेबलटेनिस प्रतियोगिताका लागि ६ खेलाडी छनोट गरेको छ ।

    लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको दुई दिने छनोट प्रतियोगिताबाट तीन/तीन जना महिला-पुरुष खेलाडी छनोट गरिएको संघका प्रथम उपाध्यक्ष धम्रमान बज्राचार्यले जानकारी दिए ।

    पुरुषमा नेपाल प्रहरीका बिनेश खनियाँ, काठमाडौंका अमरलाल मल्ल र प्रहरीका स्यान्टु श्रेष्ठ छनोट भएका छन् । वैकल्पिकमा एभीएम टेबलटेनिस क्लबका सन्योग कपाली र विलोश श्रेष्ठ रहेको बज्राचार्यले बताए ।

    महिलातर्फ एपीएफकी सिक्का सुवाल, एभीएमकी इभाना थापा मगर र प्रहरीकी एलिना महर्जन छनोट भएका छन् । वैकल्पिकमा नेपाल आर्मीकी रविना महर्जन र एभीएमकी वियंका राई छन् ।

    छनोटमा समान ९/९ पुरुष-महिला खेलाडीले राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिता दोहामा असोज ६ देखि १२ गतेसम्म सञ्चालन हुनेछ ।

  • आर्सनलले भित्र्यायो मार्टिन ओडेगार्ड

    आर्सनलले भित्र्यायो मार्टिन ओडेगार्ड

    काठमाडौं । इङ्लिस क्लब आर्सनलले रियाल मड्रिडबाट मिडफिल्डर मार्टिन ओडेगार्डलाई अनुबन्ध गरेको छ । नर्वेजियन २२ वर्षीय मिडफिल्डर ओडेगार्डले गत सिजन लोनमा लन्डन क्लबबाटै खेलेका थिए ।

    गत जनवरीमा इङ्लिस प्रिमियर लिग साइड आएका ओडेगार्डले आर्सनलका लागि १४ खेलमा १ गोल गरेका थिए । ओडेगार्डसहितको आर्सनलले १४ मध्ये ७ खेलमा जित हासिल गरेको थियो भने ४ पराजय र तीन खेलमा बराबरीको नतिजा निकालेको थियो ।

    प्रतिभावान् युवा खेलाडी ओडेगार्डले रियालमा रहँदा रियला सोसिडाड, भिट्सेलगायत क्लबमा लोनमा खेलेका थिए ।

  • मेस्सीको पीएसजी डेब्यू अझै अनिश्चित

    मेस्सीको पीएसजी डेब्यू अझै अनिश्चित

    एजेन्सी । पेरिस सेन्ट जर्मेइन (पीएसजीले) आज राति ब्रेस्टसँग हुने लिग वान खेलमा आफ्ना सुपरस्टार लियोनल मेस्सीको बहुप्रतीक्षित डेब्यूबारे निर्णय गरिनसकेको बताएको छ ।

    ६ पल्टका बेलोन डी’ओर विजेता ३४ वर्षीय अर्जेन्टिनी खेलाडी मेस्सी बार्सिलोनाबाट गत साता पीएसजीमा अनुबन्ध भएका थिए । आर्थिक समस्याका कारणले उनले बार्सिलोना छाड्नुपरेको थियो ।

    गत महिना कोपा अमेरिका जितेयता मेस्सीले कुनै खेल खेलेका छैनन् । तर पीएसजीबाट पर्याप्त प्रशिक्षण गरिसकेका छन् । ‘हामीले टिम बनाइसकेका छैनौं,’ पीएसजीका प्रशिक्षक माउरिसियो पोचेटिनोले भने, ‘हामी अनुमान गर्न सक्छौं कि मेस्सी टिमको हिस्सा हुन सक्छन् । टिममा एउटा राम्रो माहोल बनिसकेको छ । सबै सकारात्मक छ । टिम छोटो समयमा सन्तुलित बनेको छ ।’

    फ्रान्सेली स्ट्राइकर केलियन एम्बाप्पेबारे सार्वजनिक भएका हल्लाहरुलाई पोचेटिनोले खारेज गरिदिएका छन् । ‘एम्बाप्पे हाम्रा खेलाडी हुन् र उनी यो सिजन यहीँ रहुन् भन्ने मेरो चाहना हो,’ पोचेटिनोले भने, ‘उनको सम्झौताको एक वर्ष बाँकी छ ।’

    ‘उनले सम्झौता नवीकरण गरेनन् भने पनि उनले पीएसजीबाटसधैं एक पाउनेछन् । मैले चिनेसम्म उनी सधैं खुसी रहने व्यक्ति हुन् । उनी शान्त छन् र अर्को खेलका लागि राम्रो तयारी गरिरहेका छन् ,’ पाेचेटिनाेले थपे ।

     

  • सातदोबाटो युथ क्लबको ए डिभिजन तयारी (भिडियो)

    सातदोबाटो युथ क्लबको ए डिभिजन तयारी (भिडियो)

    काठमाडौं । सहिद स्मारक बी डिभिजन लिग च्याम्पियन हुँदै सातदोबाटो युथ क्लब २३ वर्ष पछि शीर्ष डिभिजनमा बढुवा भयो । बढुवा भएसँगै अहिले ए डिभिजन लिगको तयारी गरिरहेको छ । लिगकै लागि विभिन्न अन्य क्लबले खेलाडी अनुबन्ध गरिरहँदा सातदोबाट भने मौसमअनुकुल सहिद स्मारक ए डिभिजन लिगको तयारी गरिरहेको छ ।

    बी डिभिजन लिगको सुखद अन्त्य गर्दै शीर्ष डिभिजनमा बढुवा भएको सातदोबाटो युथ क्लब अहिले लिग खेल्न आतुर छ । खेलाडी अनुबन्ध र प्रायोजक भेला पार्ने कामलाई क्लबले तिब्रता दिइरहेको छ । सातदोबाटोले किन भने शीर्ष डिभिजन खेल्न क्लबका लागि स्तरिय र बलिया प्रतिस्पर्धीको चुनौति सामना गर्नु पर्ने हुन्छ । त्यसका लागि क्लबले केही अनुभवि र केही पुराना खेलाडीको संयोजन गरेको छ र समय र मौसम अनुकुल खेलाडीलाई प्रशिक्षण गराइरहेको छ । ए डिभिजनमा उक्लिएका सातदोबाटोको लक्ष्य शीर्ष तीन भित्र रहेर लिग सक्ने योजना रहेको क्लबका अध्यक्ष कपिल राना मगरले बताए ।

    यस अघि बी डिभिजनमा दुई सिजन उपाधि नजिक पुगेर पनि वञ्चित भएको थियो । तीतो अनुभवलाई क्लबले २३ वर्षपछि पूरा गर्दै ए डिभिजनमा उक्लिएको थियो । सातादोबाटो स्थित एन्फा मुख्यालयमा भएको त्यो क्षणमा खेलाडी निकै हर्षित देखिएका थिए ।

    २०५७ मा स्थापना भएको सातदोबाटो सी डिभिजन र त्यसको १० वर्षपछि बी डिभिजनमा उक्लेको थियो । उक्त अवधिमा बिमल केसी क्लबका अभिन्न सदस्य थिए जसले आफ्नो क्लब बढुवा भएसँगै सन्यास लिएका थिए । उनको टोलीले बी डिभिजन लिगमा ११ मध्ये ९ खेल जित निकाल्दै ए डिभिजन लिग खेल्ने यात्रा तय गरेको थियो । बी डिभिजन लिगमा उत्कृष्ट खेल प्रदर्शन गरेका बसन्त तामाङले बलिया क्लबको चुनौतिलाई सामना गर्दै राम्रो नतिजाका लागि ए डिभिजन लिग खेल्ने बताए ।

    क्लबलाई क्लबलाई खेलाडी अनुबन्ध र क्लब सञ्चालन गर्न आर्थिक पाटो निकै महत्वपूर्ण हुन्छ । क्लबको आफ्नो भवन भएकाले बाहलबाट उठ्ने रकम र एन्फाले दिने तयारी खर्च क्लबका केही सहयोग हुनेछ । तर सञ्चालनका लागि पर्याप्त भने हुने छैन । प्रायोजकसँग कुरा भइरहेको र गतिलो प्रायोजक खोज्ने काम भइरहेको क्लबका अध्यक्ष कपिल रानामगरले बताए ।

    त्यसो त एएफसीका क्लब लाइसेन्सिङका मापदण्ड जस्तै आफ्नै अभ्यास मैदान, एकेडेमी सञ्चालन लगायत मापदण्ड पूरा गर्न पनि क्लबका लागि अर्को चुनौति छ । शीर्ष डिभिजनमा उक्लिएको क्लबलाई बलिया क्लबको सामना गर्न पक्कै सहज भने छैन । एएफसी र फिफाका कडा नियम र ए डिभिनजमा हुने ठूलो खर्च धानेर सफलता पाउनु पनि सातदोबाटोका लागि ठूलो चुनौती रहेको छ ।

  • २०२२ को लन्डन म्याराथन अक्टोबरमा हुने

    २०२२ को लन्डन म्याराथन अक्टोबरमा हुने

    काठमाडौं । लन्डन म्याराथन २०२२ अक्टोबर २ मा हुने भएको छ । पहिलेदेखि अप्रिलमा हुँदै आए पनि लगातार तेस्रो पटक अर्को महिनामा हुने भएको हो ।

    प्रतिष्ठित लन्डन म्याराथनका इभेन्ट डाइरेक्टर ह्युज ब्राशेरले पूर्ण क्षमतामा दर्शक आउने धेरै मौका भएकाले अक्टोबरमा गर्न लागिएको प्रतिक्रिया दिएका छन् ।

    गत वर्ष शुरा किताताले पुरुषतर्फको उपाधि जितेका थिए भने महिलातर्फ ब्रिगिड कोस्गेईले आफ्नो उपाधि रक्षा गरेकी थिइन् । तर, दर्शक नभएकाले धावकले पूर्ण रूपमा दौडको आनन्द लिन पाएका थिएनन् ।

    यो वर्षको संस्करण पनि अक्टोबर ३ मा हुने तय भइसकेको छ भने २०२३ को लन्डन म्याराथन भने पहिले जस्तै अप्रिलमै गर्ने तयारी भएको ब्राशेरले जानकारी दिएका छन् ।

  • साविक विजेता डोमिनिक थिमले युएस ओपन गुमाउने

    साविक विजेता डोमिनिक थिमले युएस ओपन गुमाउने

    काठमाडौं । वर्षको अन्तिम ग्रान्डस्लाम- युएस ओपनका साविक विजेता डोमिनिक थिमले चोटका कारण प्रतियोगिताको आगामी संस्करण र पूरा सिजन गुमाउने भएका छन् ।

    गत जुनमा मायोर्का ओपनमा घाइते भएका २७ वर्षीय अस्ट्रियन टेनिस स्टार थिमले विम्बल्डनबाट आफ्नो नाम फिर्ता लिएका थिए ।

    उनले आफ्ना लागि ‘कठिन निर्णय’ भएको र न्यू योर्कमा यो सिजन आफ्नो उपाधि बचाउन असमर्थ हुनु ‘निराशाजनक’ भएको बताएका छन् । युएस ओपन ३० अगस्ट सोमबारदेखि सुरु हुँदैछ ।

    विश्व बरियताको छैठौं स्थानका थिमले ट्वीटमार्फत भनेका छन्- ‘म निरन्तर रूपमा मेडिकल एड्भाइज लिइरहेको थिएँ । राम्रो सुधार भइरहेको थियो । तर, गत साता मैले बल प्रहार गर्दा फेरि उस्तै पीडा महसुस भयो ।’

    ‘केही परीक्षणहरूपछि उनीहरू (चिकित्सक)ले मेरो नाडी पूर्ण रूपमा ठीक हुन समय लाग्ने बताए,’ थिमले भने, ‘र, हामीले त्यसका लागि समय दिने निर्णय गर्‍यौं ।’

    सन् २०२० को युएस ओपनको उपाधि थिमको पहिलो ग्रान्डस्लाम सफलता हो । फाइनलमा उनले दुई सेट पछाडिबाट पुनरागमन गर्दै अलेक्सान्डर जेभ्रेवलाई पराजित गरेका थिए । उनी सोही वर्ष अस्ट्रेलियन ओपनको पनि फाइनलमा पुगेका थिए । तर, विश्व नम्बर एक नोभाक जोकोभिचसँग पराजित भएका थिए ।

    रोजर फेडेररले पनि यो वर्षको अन्तिम ग्रान्डस्लाम- युएस ओपन चोटका कारण गुमाउने छन् ।

  • आठौं सागमा स्वर्ण पदक विजेता राईको कोरोनाबाट निधन

    आठौं सागमा स्वर्ण पदक विजेता राईको कोरोनाबाट निधन

    काठमाडौं । दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)का स्वर्ण पदक धारी कृष्णबहादुर राईको कोरोना भाइरसको सङ्क्रमणबाट निधन भएको छ ।

    नेपालमा सम्पन्न आठौँ सागमा करातेमा स्वर्ण पदक जिनेका कराते खेलाडी राईको बुधबार नेपाल प्रहरी अस्पतालमा निधन भएको नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घका अध्यक्ष दीपक श्रेष्ठले जानकारी दिए ।

    कोरोनाबाट सङ्क्रमित ५३ वर्षीय राईलाई साताअघि उपचारका लागि प्रहरी अस्पताल भर्ना गरिएको थियो ।

    राईले आठौँ सागमा टिम कातातर्फ नेपाललाई स्वर्ण पदक दिलाएका थिए । उनले विसं २०५५ मा बाँकेको नेपालगञ्जमा भएको चौथो राष्ट्रिय खेलकुदमा एकल कातातर्फ समेत स्वर्ण पदक जितेका थिए । उनकी श्रीमती र एक छोरा छन् ।

    रासस

  • बक्सिङ प्रतियोगिताका लागि नेपाली टोली यूएईतर्फ

    बक्सिङ प्रतियोगिताका लागि नेपाली टोली यूएईतर्फ

    काठमाडौं । एएसबीसी युथ तथा जुनियर बक्सिङ प्रतियोगितामा सहभागी हुन नेपाली टोली आज युनाइटेड अरब इमिरेटस् (यूएई) प्रस्थान गरेको छ । उक्त टोलीमा ६ खेलाडीसहित १२ जना रहेका छन् ।

    प्रतियोगितामा पुरुषतर्फ ६० किलो तौलमा इन्द्रबहादुर सुनार, ५४ किलोमा सुलभ माली र ७१ किलोमा सुदेन गिरीले प्रतिस्पर्धा गर्ने टोलीमा रहेका ओलम्पियन एवं बक्सिङ प्रशिक्षक डम्बरदत्त भट्टले जानकारी दिए । यस्तै महिला ५७ किलोमा नारिका राईले प्रतिस्पर्धा गर्ने छिन् ।

    यस्तै पुरुष जुनियरतर्फ ५४ किलोमा छिरिङ वाङदी शेर्पा तथा महिला ५० किलोमा स्वस्तिका तिरुवाले प्रतिस्पर्धा गर्ने प्रशिक्षक भट्टले बताए । गत महिना ललितपुरको सातदोबाटोमा सम्पन्न छनोट प्रतियोगिताबाट यूएईमा भाग लिने खेलाडीको छनोट गरिएको हो । टोलीमा ओलम्पियन एवं प्रशिक्षक दीपक महर्जन, सन्दिप श्रेष्ठ र दुर्गा गहतराज सहभागी छन् ।

    टोलीको व्यवस्थापकको रूपमा नेपाल बक्सिङ संघका सदस्य मानबहादुर भण्डारी र झापा जिल्ला बक्सिङ संघका सदस्य तर्कराज राई रहेका छन् । उक्त प्रतियोगिता असोज १५ गतेसम्म चल्नेछ । नेपाली टोलीलाई नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेलगायतले आज बिदाइ गरेका छन् ।

  • युभेन्टसमा अनुबन्धित लोकाटेली भन्छन्- मेरो सपना पूरा भयो

    युभेन्टसमा अनुबन्धित लोकाटेली भन्छन्- मेरो सपना पूरा भयो

    काठमाडौं । म्यानुएल लोकाटेली युभेन्टससँग अनुबन्धित भएसँगै ‘सपना पूरा भएको’ अभिव्यक्ति दिएका छन् । इटालीबाट गत महिना युईएफए युरो २०२० च्याम्पियन बनेका लोकाटेलीले आफ्नो पूर्व क्लब सासुलोलाई आफूलाई अवसर दिएकोमा धन्यवादसमेत दिएका छन् ।

    इटालीले युरो जित्दाका महत्त्वपूर्ण खेलाडीसमेत रहेका २३ वर्षीय लोकाटेली बुधबार २५ मिलियन युरोमा युभेन्टसमा अनुबन्धित भएका हुन् । युरोपेली फुटबलका प्रतिष्ठित क्लबहरूसँग लोकाटेलीको नाम जोडिए पनि उनी टुरिन जायन्ट्ससँग अनुबन्धित भएका हुन् ।

    ‘यो मेरो सपना पूरा भयो,’ लोकाटेलीले भने, ‘बाल्यकालदेखि नै कडा परिश्रम गर्नेका लागि यो सपना पूरा हुनु हो, जसले पिचमा आफ्नो सबै कुरा दिएको थियो ।’

  • महामारीपछिको पुनरागामन राम्रो हुन नसकेकोमा ओशाका दुखी

    महामारीपछिको पुनरागामन राम्रो हुन नसकेकोमा ओशाका दुखी

    एजेन्सी । विश्व नम्बर दुई टेनिस खेलाडी नाओमी ओशाकाले गत वर्ष महामारीपछि फर्किएकाे खेलकुदमा समर्थक र शुभचिन्तककाे अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेकाेमा नरमाइलो लागेको बताएकी छन् ।

    यी जापानी खेलाडी बुधबार सिनसिनाटी ओपनमा अमेरिकी किशोरी कोको गउफलाई हराएपछि बोलिरहेकी थिइन् । उनले मे महिनामा फ्रेन्च ओपनबाट नाम फिर्ता लिनुको कारणबारे पनि चर्चा गरिन् । फ्रेन्च ओपनका क्रममा सन्चारमाध्यमसँग कुराकानी गर्नु आफ्नो मानसिक स्वास्थ्यका लागि हानिकारक भएको भन्दै उनले प्रतियोगिता छाडेकी थिइन् ।

    ‘मलाई यी सबै कुराले किन असर गरिरहेको छु भनेर म आश्चर्यमा छु । मलाई मिडियाबाट टाढा हुनै दिइएन,’ उनले भनिन्, ‘कहिलेकाहीँ सन्चामाध्यममा खेलाडीहरु हारेपछि ठूला ठूला शीर्षकमा समाचार आउँछ । अझ अर्को दिन त ‘एक पतन’, ‘अव उनी त्यति माहान रहेनन्’ जस्ता समाचार आउँछ, जसले मेरो डर अझै बढाइदिन्छ ।’

    ‘खेलाडीलाई बाहिर निस्केर खेल्ने विकल्प, समर्थकहरुको प्रत्यक्ष उपस्थिति, मानिसहरुले हामीलाई बाहिर निस्केर खेलिरहेको हेर्न थालेका छन् । यो सबै तपाईका लागि उपलब्धी हो । मेरा लागि पनि हो । तर मैले यी उपलब्धीलाई संस्थागन गर्नुको सट्ट उनीहरुलाई निराश बनाउने सुरु गरेकी थिएँ,’ उनले थपिन्, ‘मैले यो उपलब्धीलाई विचार गरिनँ । त्यसैले मलाई नरमाइलो लागिरहेको छ ।’

     

  • साफ च्याम्पियनसिपको उद्‍घाटन खेलमा नेपाल र आयोजक माल्दिभ्स भिड्ने

    साफ च्याम्पियनसिपको उद्‍घाटन खेलमा नेपाल र आयोजक माल्दिभ्स भिड्ने

    काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले अक्टोबरमा माल्दिभ्समा हुने साफ च्याम्पियनसिपको पहिलो खेलमा आयोजकसँग खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले दिएको जानकारी अनुसार अक्टोबर १ मा प्रतियोगिताको उद्‍घाटन खेलमै नेपाल र माल्दिभ्स भिड्ने छन् ।

    माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा हुने प्रतियोगिताको दोस्रो खेलमा नेपालले श्रीलङ्कासँग अक्टोबर ३ मा खेल्नेछ । यस्तै तेस्रो खेलमा नेपालले अक्टोबर ८ मा भारतको सामना गर्नेछ ।

    प्रतियोगिताका सबै खेल राष्ट्रिय रंगशालामा हुनेछन् भने फाइनल अक्टोबर १० तारिखमा हुनेछ ।

    प्रतियोगिताको तयारीका लागि नेपाली टोली अहिले बन्द प्रशिक्षणमा छ । नेपाल अहिलेसम्म प्रतियोगिताको फाइनलसम्म पुग्न सकेको छैन ।

    प्रतियोगितामा नेपाल, बंगलादेश, भारत, श्रीलंका र माल्दिभ्स गरी पाँच टोलीले प्रतियोगितामा सहभागिता जनाउनेछन् ।

    सात पटकको च्याम्पियन भारत प्रतियोगिताको सबैभन्दा सफल टोली हो ।

    यद्यपि, नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले यसपटक इतिहास बनाउने दाबी गर्दै आएका छन् ।

  • केन टोटेनह्यामको ट्रेनिङमा फर्किए

    केन टोटेनह्यामको ट्रेनिङमा फर्किए

    काठमाडौं । इङ्लिस स्ट्राइकर ह्यारी केन टोटेनह्यामको फुल ट्रेनिङमा फर्किएका छन् । उनी नवनियुक्त प्रशिक्षक नुनोको नेतृत्वमा मंगलबार पहिलो पटक ग्रुप सेसनमा सामेल भएका हुन् ।

    प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटी जाने हल्ला चलेका इङ्लिस कप्तान केन यसअघि ट्रेनिङमा थिएनन् । तयारी नपुगेकाले केनले म्यानचेस्टर सिटीविरुद्धको पहिलो खेल पनि गुमाएका थिए ।

    टोटेनह्यामले लिग च्याम्पियन सिटी विरुद्धको खेलमा १–० गोलको नतिजामा जित निकालेको थियो । टोटेनह्यामको जितमा सन हेयुङ मिनले खेलको ५५औं मिनेटमा गोल गरेका थिए । सिटीले अझै केनलाई भित्र्याउने प्रयास गरिरहेको छ । तर, ट्रेनिङमा फर्किएसँगै केन नर्थ लन्डन क्लब टोटेनह्याममै बस्ने सम्भावना बढेको छ ।

    केनले हालसम्म स्पर्सबाट खेलेका २ सय ४५ खेलमा १ सय ६६ गोल गरेका छन् । प्रिमियर लिगमा आफूलाई प्रमाणित गरिसकेका २८ वर्षीय केन तीन पटक गोल्डेन बुट विजेता बनेका छन् ।

    केनको नेतृत्वमा इङ्ल्यान्डले १९६६ पछि पहिलो पटक मुख्य प्रतियोगिता– यूईएफए युरो २०२० को फाइनलसम्मको यात्रा तय गरेको थियो । फाइनलमा इटालीसँग पेनाल्टी सुटआउटमा पराजित हुँदा इङ्लिस टोली उपाधि जित्नबाट वञ्चित भएको थियो ।

    केनको ट्रेनिङमा पुनरागमनसँगै उनी आगामी आइतबार हुने वुल्भ्सविरुद्धको खेलमा उपस्थित हुने सम्भावना बढेको छ ।

  • आँकडामा नेपालविरुद्ध भारत

    आँकडामा नेपालविरुद्ध भारत

    काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले छिमेकी देश भारतसँग भदौमा दुई वटा मैत्रीपूर्ण खेल खेल्दैछ । भदौ १७ र २० गते हुने खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने तय भइसकेको छ ।

    भारतीय टोली हाल मुख्य प्रशिक्षक इग्लोर स्टिम्याकको नेतृत्वमा कोलकातामा १५ दिनको प्रशिक्षणमा छन् । त्यसपछि उनीहरू नेपाल आउनेछन् । प्रशिक्षणको पहिलो दिन भारतीय टोलीले आफ्नै फुटबल एसोसिएसनसँग मैत्रीपूर्ण खेल खेलेको थियो । उक्त खेलमा १-० गोलको नतिजामा जित निकालेको थियो ।

    नेपाल र भारत विगतमा १९ खेलमा आमनेसामने भएका छन् । जसमध्ये भारतले १३ खेल जितेको छ । र, नेपालले दुई खेल जितेको छ । चार खेल बराबरीमा सकिएको छ । भारतले नेपालविरुद्ध ३३ गोल गरेको छ भने ९ गोल खाएको छ ।

    अन्तिम पटक दुई टोलीबीच सन् २०१७ जुन ६ मा मुम्बई फुटबल एरिनामा खेल भएको थियो । जुन खेलमा सन्देश झिङ्गन र जिजी लेपेखुलाले गोल गर्दै भारतलाई जित दिलाएका थिए ।

    अन्तिम पटक नेपलाले भारतविरुद्ध सन् २०१५/१७ मार्चमा विश्वकप २०१८ छनोट प्लेअफ खेल आयोजना गरेको थियो । उक्त खेल गोल रहित बराबरीमा सकिएको थियो ।

    नेपालविरुद्ध भारतीय खेलाडी सुनिल क्षेत्रीले आठ अन्तर्राष्ट्रिय खेलमा सर्वाधिक पाँच गोल गरेका छन् । त्यस्तै कार्लटन चापमेन र पूर्व खेलाडी आइएम भिजयनले ३/३ गोल गरेका छन् ।

    मिति नतिजा प्रतियोगिता
    १९८५-१२-२० भारत ०-० नेपाल साफ गेम्स
    १९८५-१२-२१ भारत २-० नेपाल साफ गेम्स
    १९८७-११-३० भारत १-० नेपाल साफ गेम्स
    १९८९-१०-२६ भारत २-१ नेपाल साफ गेम्स
    १९९३-७-२१ भारत १-० नेपाल साफ च्याम्पियनसिप
    १९९३-१२-१८ भारत २-२ नेपाल साफ गेम्स
    १९९३-१२-२२ भारत २-२(४-३) नेपाल साफ गेम्स
    १९९८-१२-५ भारत ०-१ नेपाल एसियन गेम्स
    १९९९-९-३० भारत ४-० नेपाल साफ गेम्स
    २००५-१२-८ भारत २-१ नेपाल साफ च्याम्पियनसिप
    २००८-६-३ भारत ४-० नेपाल साफ च्याम्पियनसिप
    २००९-१२-७ भारत १-० नेपाल साफ च्याम्पियनसिप
    २०१२-८-२८ भारत ०-० नेपाल अन्तर्राष्ट्रिय मैत्रीपूर्ण
    २०१३-९-५ भारत १-२ नेपाल साफ च्याम्पियनसिप
    २०१३-११-१९ भारत २-० नेपाल अन्तर्राष्ट्रिय मैत्रीपूर्ण
    २०१५-३-१२ भारत २-० नेपाल विश्वकप छनोट
    २०१५-३-१७ भारत ०-० नेपाल विश्वकप छनोट
    २०१५-१२-२७ भारत ४-१ नेपाल साफ च्याम्पियनसिप
    २०१७-६-६ भारत २-० नेपाल मैत्रीपूर्ण खेल
    goal.com बाट
  • बायर्नले जित्यो जर्मन सुपर कप, लेवाण्डोस्कीको २ गोल

    बायर्नले जित्यो जर्मन सुपर कप, लेवाण्डोस्कीको २ गोल

    एजेन्सी । पोलिस सुपरस्टार रोवर्ट लेवाण्डोस्कीेले २ गोल गरेपछि बोरुशिया डर्टमण्डलाई ३–१ गोलअन्तरले पराजित गरी बायर्न म्युनिखले जर्मन सुपर कपको उपाधि रक्षा गरेको छ ।

    लेवाण्डोस्कीले पहिलोको अन्त्यतिर पहिलो गोल गरेका थिए । दोस्रो हाफको सुरुआतमै थोमस मुलरले गोल गरेपछि बायर्नले दोहोरो अग्रता बनायो । ६४ औं मिनेटमा मार्को रिउसले डर्टमण्डका लागि एक गोल फर्काए पनि ७४ औं मिनेटमा लेवाण्डोस्कीले व्यक्तिगत दोस्रो गोल गरी टिमको अग्रता फराकिलो पारेका थिए ।

    लेवाण्डोस्की सन् २०१४ सम्म डर्टमण्डमै थिए । जर्मन लिगमा चीर प्रतिद्वन्द्वी बायर्न गएका उनले आफ्नो पूर्व क्लबविरुद्ध २४औं गोल गरेका हुन् । जर्मन सुपर कपमा योसहित तीन संस्करणमा यी दुई टिमको प्रतिस्पर्धा छ । सन् २०१९÷२० को संस्करण डर्टमण्डले जिते पनि त्यसयता दुई संस्करण बायर्नले जितेको छ ।

    जर्मन लिग बुण्डेसलिगा विजेता र मुख्य नकआउट प्रतियोगिता डीएफबी पोकलको विजेताबीच जर्मन सुपर कप हुने गरेको छ । खेलअघि जर्मनीका महान खेलाडी गर्ड मुलरप्रति श्रद्धान्जलि अर्पण गरिएको थियो । मुलरको यही साता निधन भएको थियो ।

  • आफ्नो नाममा भ्रमपूर्ण प्रचार नगर्न क्रिष्टियानो रोनाल्डोको आग्रह

    आफ्नो नाममा भ्रमपूर्ण प्रचार नगर्न क्रिष्टियानो रोनाल्डोको आग्रह

    एजेन्सी । इटलियन क्लब युभेन्टसका पोर्चुगिज सुपरस्टार क्रिष्टियानो रोनाल्डोले क्लबबाट बहिर्गमनबारे अनावश्यक र भ्रमपूर्ण प्रचार नगर्न सबैलाई आग्रह गरेका छन् ।

    केहि दिनयता उनको ट्रान्सफर हल्लाहरुले सन्चारमाध्यमदेखि सामाजिक सन्जालमा ठूलो स्थान पाएको थियो । उनलाई रियल मड्रिड फर्कन लागेको, वा म्यानचेस्टर सिटीमा आफैंले आउँछु भनेर प्रस्ताव गरेको, वा पीएसजीमा मेस्सीसँग एउटै टिममा खेल्न लागेकोजस्ता हल्लाहरु सार्वजनिक भएका थिए ।

    ‘सबैलाई थाहा छ म कुराभन्दा बढी काम गर्छु,’ रोनाल्डोले आफ्ना शुभचिन्तकलाई प्रष्ट पार्दै भनेका छन्, ‘सत्य र तथ्यविना नै स्पेनका सञ्चारमाध्यमले भ्रमको खेती गरिरहेका छन् । अनावश्यक हल्लाको पछाडि कोहि पनि नलाग्नुहोला ।’

    उनले रियल मड्रिड र उसका समर्थकप्रतिको सम्मान अहिले पनि उस्तै रहेको बताएका छन् । करिव १० वर्ष रियलमा रहँदा उनले सबैखाले उपलब्धी हासिल गरेका थिए ।

  • वर्षमा तीन प्रतियोगिता गर्ने एथ्लेटिक्स परिवारको घोषणा

    वर्षमा तीन प्रतियोगिता गर्ने एथ्लेटिक्स परिवारको घोषणा

    काठमाडौं । एथ्लेटिक्स परिवार नेपालले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै वार्षिक क्यालेन्डर सार्वजानिक गरेको छ । क्यालेन्डरअुनसार एक वर्षमा तीन वटा प्रतियोगिता गर्ने परिवारको तयारी छ ।

    कोभिडका कारण कुनै अवरोध नआए यस वर्ष तीन प्रतियोगिता आयोजना गर्ने संस्थाले बताएको छ । मंसिरमा युथ एथ्लेटिक्स च्याम्पियनसिप यु-१६ र यु-२० आयोजना गर्ने क्यालेन्डरमा उल्लेख छ ।

    त्यस्तै, माघमा झिन्टुङ्ग क्रसकन्ट्री दौड प्रतियोगिता र फागुनमा गोल्डेन एथ्लेटिक्स मिट–२०२२ आयोजना गर्ने संस्थाले जनाएको छ । वार्षिक क्यालेन्डरमा उल्लेखित प्रतियोगिता सञ्चालनका लागि ४५ लाख बजेट आवश्यक पर्ने परिवारको अनुमान छ ।

    ९ सदस्यीय एथलेटिक्स परिवार नेपाल जिल्ला प्रशासन कार्यालयमा दर्ता गरिएकोसमेत जानकारी दिइएको छ । अध्यक्षमा राजन खत्री, उपाध्यक्ष दिपक कुमार रन्जित, सचिव मन्जु श्रेष्ठ, कोषाध्यक्ष सुष्मा पाण्डे, र सदस्यहरू राजकुमारी पाण्डे, सिताराम महतो, सुन्दर केशर कार्की, बुलाल महर्जन र आसराम गोठे छन् ।