Category: खेल प्रेस

  • आज मेसीले पीएसजीमा डेब्यू गर्लान् ?

    आज मेसीले पीएसजीमा डेब्यू गर्लान् ?

    काठमाडौं । यसै सिजन अप्रत्याशित रूपमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी)सँग अनुबन्ध भएका अर्जेन्टाइन कप्तान लियोनेल मेसीले आज राति डेब्यू गर्ने सम्भावना छ । बार्सिलोनामै बस्न चाहे पनि क्लबको आर्थिक समस्याका कारण मेसीले बाध्य भएर २१ वर्ष लामो स्पेन बसाई टुङ्ग्याउनु परेको थियो ।

    स्पेन बसाई लम्ब्याउन असफल भएसँगै मेसी दुई वर्षका लागि फ्रेन्च क्लब पीएसजीमा आवद्ध भए पनि डेब्यू भने अहिलेसम्म गरेका छैनन् । मेसी पेरिस पुगेयता पीएसजीले लिगवानमा दुई खेल खेलिसकेको छ । र, ती दुवै खेलमा सतप्रतिशत नतिजासहित पीएसजी लिग तालिकाको शीर्ष स्थाानमा छ ।

    बार्सिलोनबाट खेल्दा क्लब फुटबलका सर्वकालिन महान् खेलाडीमध्ये एक बनेका मेसीले ६ पटक बालोन डी’अर जितेका थिए । बाल्यावस्थादेखि नै बार्सिलोनामा रहेका मेसीले अहिलेसम्म अन्य क्लबको जर्सी लगाएर मैदानमा उत्रिएका छैनन् ।

    अन्ततः आइतबार राति हुने पीएसजी र रेइम्सबीचको खेलमा भने मेसीले डेब्यू गर्ने बुझिएको छ । विश्व फुटबलका सुपर स्टार फरवार्ड मेसीलाई आजको खेलमा डेब्यू गराउने पीएसजीका प्रशिक्षक माउरिसो पोचेटिन्होले बताएका छन् ।

    उक्त खेल नेपाली समयअनुसार राति १२ः३० बजे स्टेड अगस्टे डेलाउनेमा हुनेछ ।

  • एनफिल्डमा चेल्सीको बहादुरीपूर्ण प्रदर्शन

    एनफिल्डमा चेल्सीको बहादुरीपूर्ण प्रदर्शन

    एजेन्सी । तीव्र र सानदार प्रदर्शनमार्फत चेल्सीले लिभरपुललाई उसकै मैदान एनफिल्डमा कठिन चुनौति पेश गरेको छ । खेलको मध्यान्तरमै १० खेलाडीमा समेटिए पनि चेल्सीले लिभरपुलबाट अंक खोस्न सफल रह्यो ।

    प्रिमियर लिगका महाशक्तिबीचको प्रतिस्पर्धामा लिभरपुल पूर्ण रुपमा दवावमा देखिएको थियो । तर, च्याम्पियन्स लिग विजेता चेल्सीभन्दा संगठित प्रदर्शन गर्न सफल रहे । सायद यो बराबरीले लिभरपुल सन्तुष्ट रहनेछ । दुवै टोलीलाई यो सिजन लिगको मुख्य दावेदारका रुपमा हेरिएको छ ।

    २२ औं मिनेटमा काई हाभेर्टर्जले गोल गरेपछि पाहुना टोली चेल्सीले अग्रता बनाएको थियो । पहिलो हाफको इन्जूरी समयमा चेल्सीका रिस जेम्सले रातो कार्ड पाए भने लिभरपुललाई पेनाल्टीको अवसर दिइयो ।

    जोएल माटिपको प्रहार बारमा लागेर फर्किएपछि रिबाउण्ड बलमा साडियो मानेले गरेको प्रहारलाई जेम्सले हातले रोकेर गोल बचाएका थिए । भिडियो असिस्टेन्ट रेफ्रीको सहायताबाट रेफ्री एन्थोनी टेलरले पेनाल्टी र रातो कार्डको प्रयोग गरेका हुन् ।

  • रोहित चन्दले भारतविरुद्धका मैत्रीपूर्ण खेल गुमाउने

    रोहित चन्दले भारतविरुद्धका मैत्रीपूर्ण खेल गुमाउने

    काठमाडौं । नेपाली राष्ट्रिय टोलीका भरपर्दा डिफेन्डर रोहित चन्द भारतविरुद्धका मैत्रीपूर्ण खेलमा अनुपस्थित रहने भएका छन् । पर्सिजा जकार्ताबाट इन्डोनेसियन लिग खेल्न जकार्ता पुगेका रोहित साफ च्याम्पियनसिपका लागि नेपाल आउने छन् ।

    ‘रोहित नेपालमै छैनन् । र, उनी भारतविरुद्धका खेलमा पनि अनुपस्थित रहनेछन्’ अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव इन्द्रमान तुलाधरले भने, ‘साफ (च्याम्पियनसिप)का लागि उनी टोलीमा हुनेछन् ।’

    माल्दिभ्समा अक्टोबरमा हुने साफ च्याम्पियनसिपको तयारी स्वरुप नेपालले भारतसँग आगामी १७ र २० गते दशरथ रंगशालामा दुई मैत्रीपूर्ण खेल खेल्दै छ ।

  • युभेन्टसमा रोनाल्डोको स्थान हाजार्डले लिने चर्चा

    युभेन्टसमा रोनाल्डोको स्थान हाजार्डले लिने चर्चा

    काठमाडौं । पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डोले युभेन्टस छाडेसँगै उनको स्थानमा इडेन हाजार्डलाई भित्र्याउन इटालियन क्लबले तयारी थालेको चर्चा सुरु भएको छ ।

    सन् २०१८ मा रियाल मड्रिडबाट १०० मिलियन पाउन्डमा टुरिन पुगेका रोनाल्डो शुक्रबार नै आफ्नो पूर्व क्लब म्यानचेस्ट युनाइटेड फर्किसकेका छन् । इङ्लिस फुटबलमा १२ वर्षपछि फर्किएका रोनाल्डो स्थानमा हाजार्डलाई भित्र्याउन युभेन्टसले चाहेको मार्काले बताएको छ ।

    बेल्जियमका कप्तानसमेत रहेका हाजार्ड युभेन्टसले रोनाल्डोको प्रतिस्थापनका लागि भित्र्याउने खेलाडीको सूचीको शीर्ष स्थानमा रहेको मार्काले दाबी गरेको छ ।

    पेरिस सेन्ट जर्मन (पीएसजी)बाट किलियान एम्बाप्पे रियाल जाने चर्चा पनि अहिले शिखरमा छ । स्पेनिस मिडियाहरूले एम्बाप्पे रियाल सरुवा कुनै हालतमा पनि नरोकिने जिकिर गरिरहेका बेला हाजार्डको पनि चर्चा चुलिएको हो ।

    हाजार्डले केही हप्ताअघि आफू रियालमै बस्न चाहेको बताएका थिए । तर, एम्बाप्पेको सरुवा भयो भने हाजार्ड रेगुलर प्लेइङ टाइमका लागि युभेन्टस जान सक्ने मार्काको दाबी छ ।

    हाजार्ड इङ्लिस क्लब चेल्सीबाट १०० मिलियन पाउन्डमा रियाल मड्रिड गएका थिए । यद्यपि, निरन्तर चोटको शिकार बनेका हाजार्ड दुई सिजनमा ४५ खेल मात्रै खेलेका छन् । हाजार्डले रियालबाट पाँच गोल र ९ असिस्ट मात्रै गर्न सकेका छन् ।

  • १४ बलमा रसेलको कीर्तिमानी अर्धशतक

    १४ बलमा रसेलको कीर्तिमानी अर्धशतक

    काठमाडौं । जमैका तल्लावाजका अलराउन्डर एन्ड्रे रसेलले क्यारेबियन प्रिमियर लिग (सीपीएल)कै सबैभन्दा कम १४ बलमा कीर्तिमानी अर्धशतक बनाएका छन् ।

    विस्फोटक ब्याट्सम्यान रसेलले शुक्रबार राति भएको सेन्ट लुसिया किङ्ग्सविरुद्ध भएको खेलमा यसअघि जेपी डुमिनीले बनाएको १५ बलको कीर्तिमान तोडेका हुन् ।

    डुमिनीले बार्बाडोस ट्रिडेन्ट्सबाट ट्रिन्बागो नाइट राइडर्सविरुद्ध २०१९ मा १५ बलमा अर्धशतकको कीर्तिमान बनाएका थिए ।

    तल्लावाजले शुक्रबार रातिको सोही खेलमा सीपीएल इतिहासकै दोस्रो सर्वाधिक योगफल तयार गरेको थियो । सन् २०१९ मा सबिना पार्कमा भएको खेलमा नाइट राइडर्सले २ विकेट गुमाएर २६७ रन बनाएको थियो ।

    शुक्रबा राति तल्लावाजले ४ विकेट गुमाएर २४१ रनको योगफल तयार गरेको थियो ।

    रसेलले दुई ओभरमा ४९ रन जोडेका थिए । कूल १४ बल खेलेका रशेलले ३ चौका र ६ छक्कासहित ठीक ५० रनको अविजित इनिङ खेलेका थिए ।

    उक्त खेलमा जमैकाले सेन्ट लुसियालाई १२० रनले पराजित गरेको थियो ।

  • इङ्ल्यान्डविरुद्ध तेस्रो टेस्टको दोस्रो इनिङमा भारतले जोड्यो २१५ रन

    इङ्ल्यान्डविरुद्ध तेस्रो टेस्टको दोस्रो इनिङमा भारतले जोड्यो २१५ रन

    काठमाडौं । हेडिङ्ग्लेमा जारी इङ्ल्यान्डविरुद्धको तेस्रो टेस्टको दोस्रो इनिङमा भारतले २ सय १५ रन बनाएको छ । ३ सय ५४ रनले पछाडि परेर ब्याटिङमा उत्रिएको भारतका लागि रोहित शर्मा ५९ रन बनाएर आउट हुँदा केएल राहुल ८ रनमा सीमित भए ।

    यद्यपि, चेतेश्वर पुजार र कप्तान विराट कोहलीले सम्हालिएर ब्याटिङ गरेसँगै भारतले २ सय १५ रन जोडेको हो । पुजारले १५ चौकासहित अविजित ९१ रन बनाउँदा कोहलीले ६ चौकासहित ४५ रन जोडेका छन् ।

    टेस्टको तेस्रो दिन सकिँदा भारत अझै १३९ रनले पछाडि छ । जो रुटको शतकप्रेरित इङ्ल्यान्डले यसअघि पहिलो इनिङमा ४ सय ३२ रन बनाएको थियो ।

    त्यस्तै भारत पहिलो इनिङमा ७८ रनमा सीमित भएको थियो । पाँच खेलको श्रृंखलामा भारत १–० ले अगाडि छ ।

    पहिलो टेस्ट वर्षाले प्रभावित हुँदा दोस्रो टेस्ट भारतले जितेको थियो ।

  • डर्टमन्डको जितमा बेलिङ्घम नायक

    डर्टमन्डको जितमा बेलिङ्घम नायक

    काठमाडौं । जुडे बेलिङ्घमको एक गोल र एक असिस्टप्रेरित बोरुसिया डर्टमन्डले जर्मन बुन्डेसलिगामा शुक्रबार राति होफेनहेमलाई ३–२ गोलको नतिजामा पराजित गरेको छ ।

    डर्टमन्डको घरेलु मैदानमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा रोकिएका पनि दोस्रो हाफमा पाँच गोल सम्भव भएको थियो ।

    सुरुआतदेखि नै बल पोसेसजनमा प्रभुत्व जमाएर आक्रामक फुटबल खेलिरहेको डर्टमन्डका लागि जियोभानी रेयनाले गोल गर्दै ४९औं मिनेटमा टोलीलाई अग्रता दिलाएका थिए । उनले बेलिङ्घमको पासलाई गोलमा परिणत गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।

    तर, डर्टमन्डका घरेलु समर्थकअघि प्रतिस्पर्धात्मक प्रदर्शन गरेको होफेनहेमले ६१औं मिनेटमा बराबरी गोल फर्काएको थियो । क्रिस्टोफर बौमगार्टनरलेले डेनिस गिजरको पासमा भ्रमणकारी टोलीका लागि गोल गरेका थिए ।

    पुनः अग्रताका लागि प्रयासरत डर्टमन्डका लागि बेलिङ्घमले ६९औं मिनेटमा गोल गरे । उनको गोलसँगै २–१ ले खेल डर्टमन्डको पक्षमा थियो । तर, निर्धारित समयको अन्तिम मिनेटमा मुनास डाबुरले गोल गर्दै पुनः होफेनहेमलाई २–२ गोलको बराबरीमा ल्याएका थिए ।

    अन्ततः एर्लिङ हालान्डले इन्जुरी समयमा गोल गर्दै डर्टमन्डको जित सुनिश्चित गरे । जितसँगै ३ खेलमा ६ अंक जोडेको डर्टमन्ड अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । दुई खेलमा ६ अंक जोडेको वुल्फ्सबर्ग दोस्रो स्थानमा छ ।

    यस्तै तीन खेलमा ४ अंक जोडेको होफेनहेम बुन्डेसलिगाको चौथो स्थानमा छ ।

  • च्याम्पियन इन्टरको लगातार दोस्रो जित, कोरेयाको दुई गोल

    च्याम्पियन इन्टरको लगातार दोस्रो जित, कोरेयाको दुई गोल

    काठमाडौं । योहाक्विन कोरेयाको दुई गोलप्रेरित इन्टर मिलानले इटालियन सिरी एमा शुक्रबार राति भेरोनाविरुद्ध १–३ गोलको नतिजामा जित निकालेको छ ।

    भेरोनाको मैदानमा भएको खेलको १५औं मिनेटमा घरेलु टोलीले अग्रता लिएको थियो । इभान इलिचले गोल गर्दै भेरोनालाई अग्रता दिलाएका थिए । पहिलो हाफसम्म १–० को अग्रता कायमै राखेको भेरोनाले दोस्रो हाफमा अग्रता बचाउन नसक्दा पराजित हुनुपर्यो ।

    दोस्रो हाफको सुरुआतमै लौटारो मार्टिनेजले गोल गर्दै इन्टरलाई बराबरीमा ल्याएका थिए । भ्रमणकारी टोलीको निरन्तर दबाबमा रहेको भेरोनाले थप दुई गोल अन्तिम १० मिनेटको समयमा खाएको थियो ।

    माटेओ डर्मियानले दिएको पासमा कोरेयाले ८३औं मिनेटमा व्यक्तिगत पहिलो र टोलीका लागि दोस्रो गोल गरेका थिए । खेलको इन्जुरी समयमा व्यक्तिगत दोस्रो गोल गर्दै कोरेयाले इन्टरको पक्षमा १–३ को रोमाञ्चक जित सुनिश्चित गरे ।

    जितसँगै साविक विजेतासमेत रहेको इन्टर मिलान दुई खेलबाट ६ अंक जोड्दै लिग तालिकाको शीर्ष स्थानमा छ । पराजित भेरोना भने दुई खेलमा अंकविहीन रहँदै १९औं स्थानमा छ ।

  • सहज जितसहित भ्यालेन्सिया ला लिगाको शीर्ष स्थानमा

    सहज जितसहित भ्यालेन्सिया ला लिगाको शीर्ष स्थानमा

    काठमाडौं । शुक्रबार राति स्पेनिस ला लिगामा भ्यालेन्सियाले डिपोर्टिभो एलाभेसमाथि ३–० को नतिजामा सहज जित निकालेको छ ।

    घरेलु मैदानमा भएको खेलको तेस्रो मिनेटमै ड्यानियल वासको गोलसँगै भ्यालेन्सियाले अग्रता लिएको थियो । उनले डेनिस चेसिरेभको पासमा भ्यालेन्सियालाई सुरुआतमै अग्रता दिलाएका थिए ।

    भ्रमणकारी एलाभेसमाथि हाबी बनेको भ्यालेन्सियाका लागि पहिलो हाफको इन्जुरी समयमा कार्लेस सोलेरले दोस्रो गोल गरेका थिए । उनले गोन्कालो गुइडेजको पासलाई जाली चुमाउँदै पहिलो हाफमा भ्यालेन्सियाको अग्रता २–० मा पुर्याएका थिए ।

    दोस्रो हाफमा सम्हालिने प्रयासरत एलाभेसले पुनः एक गोल खायो । म्याक्सिमिलानो गोमेजले दिएको पासमा गुइडेजले गोल गर्दै भ्यालेन्सियाको पक्षमा ३–० को जित सुनिश्चित गरे ।

    जितसँगै ३ खेलबाट ७ अंक जोडेको भ्यालेन्सिया ला लिगाको अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । समान खेलमा अंक जोड्न असफल एलाभेस तालिकाको पुछारमा छ ।

    समान तीन खेलबाट ७ अंक जोडेको मायोर्का दोस्रो स्थानमा छ । दुई खेलमा ४÷४ अंक जोडेका रियाल मड्रिड र बार्सिलोना क्रमशः पाँचौं र छैठौं स्थानमा छन् ।

  • १२ वर्षपछि म्यानचेस्टर युनाइटेड फर्किए रोनाल्डो

    १२ वर्षपछि म्यानचेस्टर युनाइटेड फर्किए रोनाल्डो

    काठमाडौं । पोर्चुगिज कप्तान तथा सुपर स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो १२ वर्षपछि इङ्लिस क्लब म्यानचेस्टर युनाइटेड फर्किएका छन् । पाँच पटकका बालोन डी’अर विजेता रोनाल्डो सन् २००३ देखि २००९ सम्म युनाइटेडमा बिताएर स्पेनिस क्लब रियाल मड्रिड गएका थिए ।

    सन् २०१८ मा स्पेन बसाई टुङ्ग्याउँदै इटालियन क्लब युभेन्टस गएका रोनाल्डो म्यानचेस्टर सिटी आउने चर्चाले शिखर चुमेको थियो । तर, अन्तिम समयमा सम्झौता हुन नसकेपछि रोनाल्डो युनाइटेडसँग अनुबन्धित भएका हुन् ।

    युनाइटेडले पनि वक्तव्य जारी गर्दै रोनाल्डोलाई क्लबमा भित्र्याएको पुष्टि गरिसकेको छ भने उनी आफैँले पनि सामाजिक सञ्जालमार्फत युभेन्टस छाडेका जानकारी दिइसकेका छन् ।

  • राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकबाट वाटमोरको राजीनामा

    राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकबाट वाटमोरको राजीनामा

    काठमाडौं । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका मुख्य प्रशिक्षक डेभ वाटमोरले पदबाट राजीनामा दिएका छन् ।

    अमेरिका र ओमानसँगको त्रिदेशीय श्रृंखलाका लागि राष्ट्रिय टोली लिएर ओमान पुगेका वाटमोरले इमेलमार्फत राजीनामा पठाएको बुझिएको छ । वाटमोरले राजीनामा दिएको क्यान स्रोतले पुष्टि गर्यो ।

    ‘इमेल आएको छ, सेप्टेम्बर १९ पछि लागु हुनेगरी वाटमोरले राजीनामा दिनु भएको छ ,’ स्रोतले भन्यो ।

    अस्ट्रेलियन सञ्चारमाध्यमले सामाजिक सञ्जाल ट्वीटरमार्फत वाटमोरले राजीनामा दिएको खुलासा गरेका थिए ।

    ‘डेभ वाटमोरले नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकबाट राजीनामा दिएका छन्,’ न्युज नाइनले भनेको छ, ‘वाटमोरले यसबारे केही नबोले पनि उनको व्यवस्थापन टोलीले फर्स्ट स्पोर्ट्स इभेन्टले न्युज नाइनसँग पुष्टि गरेको छ ।’

  • ‘नजिक छ एम्बाप्पेको रियाल ट्रान्सफर’

    ‘नजिक छ एम्बाप्पेको रियाल ट्रान्सफर’

    काठमााडौं । पेरिस सेन्ट जर्मन (पीएसजी)का फरवार्ड किलियन एम्बाप्पे रियाल मड्रिड जाने चर्चा अहिले शिखरमा छ । पीएसजीका अध्यक्षले एम्बाप्पेलाई नबेच्ने बताइरहे पनि रियालले लगातार यसमा कुरा भइरहेको बताएको छ ।

    रियालले एम्बाप्पेका लागि सुरुमा १ सय ७० मिलियन युरोको प्रस्ताव राखेको थियो । र, सम्भावित बोनसको रूपमा १० मिलियन युरोको प्रस्ताव गरेको छ । एम्बाप्पे आफैँले पीएसजीमा जाने तीव्र इच्छा जनाइरहेकाले यो प्रस्ताव स्वीकार हुन सक्ने देखिएको छ । यदि पीएसजीले त्यो प्रस्ताव स्वीकार गर्‍यो भने एम्बाप्पेले खुलेआम व्यक्त गर्दै आइरहेको रियाल मड्रिडबाट खेल्ने इच्छा पूरा हुनेछ ।

    फ्रेन्च स्टार फरवार्ड एम्बाप्पे राष्ट्रिय टोलीसँग अन्तर्राष्ट्रिय खेलका लागि तयार हुनु अगाडि नै मड्रिडसँग अनुबन्धित हुन सक्ने सम्भावना देखिएको छ । यो सम्झौताको औपचारिक घोषणा शुक्रबार सम्म हुनसक्ने मार्काले बताएको छ ।

    पिएसजीका अध्यक्ष नासेर एल खेलाइफीले बिहीबार च्याम्पियन्स लिगको ‘ड्र’ सार्वजनिक समारोहमा भनेका थिए,‘रियाल मड्रिडले एम्बाप्पे भित्र्याउने तीव्र चाहना देखाइरहेकाले ‘अन्कम्फोर्टेबल’ परिस्थिति सृजना भएको छ, र एम्बाप्पेले पेरिस छोड्न चाहिरहेका छन् ।’

    रियाल एम्बाप्पेलाई क्लबमा भित्र्याउन फुटबलको ट्रान्सफर नियममा भएजति सबैकुरा पूरा गरेकोमा विस्वस्त छ । त्यसमाथि एम्बाप्पेले नै क्लब छोडेर रियाल जान चाहेको तीव्र इच्छा देखाइरहेकाले पीएसजीले ग्रिन सिग्नल दिने बित्तिकै एम्पाप्पे स्पेन जानेमा विश्वस्त हुन सकिन्छ ।

    ट्रान्सफर घोषणा भइसकेको छैन । तर, पीएसजीले यो विकेन्डमा रेम्ससँग खेल्ने छ । सम्भवत: एम्बाप्पेले त्यो खेलमा माउरिसियो पोचेटिन्होको टोलीभन्दा बाहिर हुनेछन् ।

    एम्बाप्पे नयाँ ‘ग्यालेक्टिको’

    ‘ग्यालेक्टिको’- फ्लोरेन्टिनो पेरेज रियाल मड्रिड भइसकेपछि उनले क्लबमा भित्र्याउने खेलाडीलाई बुझाउने उपनाम हो । तर, पछिल्ला वर्षहरूमा रियाल ‘ग्यालेक्टिको’ भित्र्याउन असफल झैँ देखिन्छ ।

    अहिले किलियान एम्बाप्पेलाई पेरेजले नयाँ ग्यालेक्टिको बनाउने प्रयास निरन्तर गरिरहेका छन् । र, एम्बाप्पे ती खेलाडी हुन सक्छन्, जसको पेरिफेरिमा रियाल मड्रिडको टोली निमार्ण हुन्छ । जुन उनी पीएसजीमा बन्न सकिरहेका छैनन् ।

    पीएसजीले चार वर्ष अगाडि लस ब्लान्कोसलाई हराउँदै एम्बाप्पेलाई टोलीमा भित्र्याएको थियो । र, उनी अहिले विश्वमा नेइमार पछिको दोस्रो महंगो फुटबल खेलाडी भएका थिए ।

    मार्काबाट

  • न्युजिल्यान्डका पूर्व क्रिकेटर क्रिस केर्न्सलाई प्यारालाइसिस

    न्युजिल्यान्डका पूर्व क्रिकेटर क्रिस केर्न्सलाई प्यारालाइसिस

    काठमाडौं । न्युजिल्यान्डका पूर्वअलराउन्डर क्रिस केर्न्सलाई खुट्टाको प्यारालाइसिस भएको छ । आकस्मिक मुटुको शल्यक्रियापछि उनको स्पाइनमा स्ट्रोक लागेसँगै खुट्टामा प्यारालाइसिस भएको न्युजिल्यान्डका सञ्चारमाध्यमहरूले लेखेका छन् ।

    ५१ वर्षीय केरन्स आफ्नो घर क्यानबेरा फर्किए पनि उनको अवस्था गम्भीर रहेको उनका वकिल आरोन ल्लोएडलाई उद्धृत गर्दै रिपोर्टहरू जारी भएका छन् ।

    ‘जीवन बचाउन आपतकालिन शल्यक्रिया गर्ने क्रममा केरन्सको स्पाइनमा स्ट्रोक भयो जस्ले गर्दा उनको खुट्टा प्यारालाइस भएको छ,’ वक्तव्यमा भनिएको छ, ‘त्यसैले अब उनले अष्ट्रेलियाको विशेष स्पाइनल अस्पतालमा उनको उपचारका लागि बस्नुपर्ने छ ।’

    केर्न्सले सन् १९८९ र २००६ सम्म न्युजिल्यान्डबाट ६२ टेस्ट र २ सय १५ एकदिवसीय खेलेका थिए ।

  • सन्दीप बीबीएलमा आवद्ध भएपछि सन्दीपलाई अष्ट्रेलियन राजदूतले भनिन्- मेलबर्नमा आफ्नो जादु देखाऊ

    सन्दीप बीबीएलमा आवद्ध भएपछि सन्दीपलाई अष्ट्रेलियन राजदूतले भनिन्- मेलबर्नमा आफ्नो जादु देखाऊ

    काठमाडौं । नेपालका अन्तर्राष्ट्रिय स्टार सन्दिप लामिछाने अष्ट्रेलियाको बिग ब्यास लिग (बीबीएल) मा आवद्ध भएपछि नेपालका लागि अष्ट्रेलियन राजदूत फेलिसिटी भोल्कले सामाजिक सञ्जालमा बधाइ दिएकी छन् ।

    सन्दिपलाई हेर्न आफूहरु उत्साहित रहेको उनको भनाइ छ ।

    ट्विटरमा उनले लेखेकी छन्, ‘बीबीएलमा हुरिकान्सका लागि खेल्न सम्झौता गरेकोमा बधाइ छ । हामी तिम्रो बलिङ हेर्न आतुर छौं । मेलबर्नमा केही जादु देखाऊ ।’

    भोल्कले बीबीएलको फ्रेन्चाइज होबार्ट हुरिकान्सको पोस्ट सेयर गर्दै उक्त ट्विट गरेकी हुन् । होबार्टले दुई दिनअघि टिममै यस सिजनको पहिलो अन्तर्राष्ट्रिय खेलाडीका रुपमा सन्दिपलाई हस्ताक्षर गराएको जानकारी दिएको थियो ।

    सन्दिप अघिल्लो सिजनमा पनि यही टिमबाट खेलेका थिए । बीबीएलको उक्त १० औं संस्करणमा सन्दिपले ८ खेलमा ८ विकेट लिएका थिए । बीग ब्यासयता उनले कुनै पनि अन्तर्राष्ट्रिय लिग खेलेका छैनन् ।

    बिग ब्यासको ११ औं संस्करण आगामी डिसम्बर ५ देखि २०२२ को जनवरी २८ सम्म हुने छ ।

  • रोनाल्डो युभेन्टसबाट सिटी जाने लगभग निश्चित

    रोनाल्डो युभेन्टसबाट सिटी जाने लगभग निश्चित

    काठमाडौं । पोर्चुगिज कप्तान तथा युभेन्टसका सुपर स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले युभेन्टस छाड्ने लगभग निश्चित भएको छ । युभेन्टसका ३६ वर्षीय फरवार्ड रोनाल्डो शुक्रबार भएको युभेन्टसको ट्रेनिङमा ४० मिनेटमात्रै सहभागी भएर निस्किएका छन् ।

    उनी आफ्ना टिममेटहरूसँग बिदा हुन मात्रै त्यहाँ पुगेको र केही घण्टामै क्बल छाड्न चाहिरहेका छन् । रोनाल्डो आज ट्रेनिङ नगर्ने र एजेन्ट जर्ज मेन्डीले म्यानचेस्टर सिटीसँग आधिकारिक सम्झौता गर्ने पर्खिरहेको बताएका छन् ।

    इङ्लिस च्याम्पियन म्यानचेस्टर सिटीले मात्रै रोनाल्डोलाई भित्र्याउने इच्छा देखाइरहेको छ । करिब-करिब रोनाल्डो २००९ पछि पुन: इङ्लिस फुटबलमा फर्किने निश्चित भइसकेको छ ।

    पाँच पटकका बालोन डी’अर विजेता रोनाल्डो सन् २००९ मा म्यानचेस्टर युनाइेडबाट स्पेनिस क्लब रियाल मड्रिड गएका थिए । सन् २००३ देखि युनाइटेडमा खेलेका रोनाल्डोलाई तत्कालीन समयको कीर्तिमानी ८० मिलियन पाउन्डमा रियाल मड्रिडले किनेको थियो ।

    त्यसपछि ९ वर्षको रियाल बसाई टुङ्ग्याएर उनी इटालियन साइड युभेन्टसमा अनुबन्ध भएका थिए । उनलाई क्लबमा भित्र्याउन युभेन्टसले २०१८ मा १०० मिलियन पाउन्ड खर्चेको थियो ।

    अहिले पनि रोनाल्डोका एजेन्ड मेन्डिज र म्यानचेस्टर सिटीबीच उनको तलबबारे छलफल भइरहेको बताइएको छ ।

  • युभेन्टसले भन्यो– रोनाल्डो बेच्छौं तर, हाम्रो सर्तमा

    युभेन्टसले भन्यो– रोनाल्डो बेच्छौं तर, हाम्रो सर्तमा

    एजेन्सी । इटलीयन महारथी क्लब युभेन्टसले पोर्चुचि सुपरस्टार क्रिष्टियानो रोनाल्डोलाई बेच्न तयार रहेको तर आफ्ना सर्तहरु पूरा हुनुपर्ने बताएको छ ।

    ३६ वर्षीय रोनाल्डोको युभेन्टससँगको सम्झौता अझै १ वर्ष बाँकी छ । सिरी ए नयाँ सिजनको पहिलो खेलमै बेन्चमा राखिएपछि उनको भविश्यबारे बिभिन्न अड्कलबाजी सुरु भएको थियो ।

    रोनाल्डोका एजेन्ट जर्ज मेन्डेसले म्यानेस्टर सिटी र पेरिस सेन्ट जर्मेइन् पीएसजीजस्ता युरोपका प्रमुख क्लबहरुसँग कुराकानी भइरहेको संकेत गरेका छन् ।

    म्यानचेस्टर सिटीले रोनाल्डोलाई अनुबन्ध गर्ने सोच त बनाएको छ तर औपचारिक रुपमा कुनै प्रस्ताव गरिसकेको छैन ।

    दुई वर्षअघि स्पेनिस महारथी क्लब रियल मड्रिडबाट ९९.२ मिलियन पाउण्डमा रोनाल्डोले युभेन्टससँग ३ वर्षको सम्झौता गरेका थिए ।

  • जर्जिन्हो बने यूईएफए प्लेयर अफ दी इयर

    जर्जिन्हो बने यूईएफए प्लेयर अफ दी इयर

    काठमाडौं । चेल्सीबाट च्याम्पियन्स लिग तथा इटालीबाट युरो २०२० च्याम्पियन बनेका जर्जिन्हो यूईएफए प्लेयर अफ दी इयर घोषित भएका छन् ।

    गत सिजन चेल्सीलाई च्याम्पियन बनाउन महत्त्वपूर्ण भूमिका निर्बाह गरेका जर्जिन्होले इटालीले गत महिना युरो जित्दा पनि उत्कृष्ट प्रदर्शन गरेका थिए ।

    उनीसँगै फ्रेन्च मिडफिल्डर एनगोलो कान्टे तथा बेल्जियन प्लेमेकर केभिन डी ब्रुयना पनि नोमिनेसनमा परेका थिए ।

    महिलातर्फ बार्सिलोनालाई च्याम्पियन बनाउन महत्त्वपूर्ण भूमिका निर्बाह गरेकी एलेक्सिया पुटेलसले हात पारेकी थिइन । उनीसँगै बार्सिलोनाकै लिके मार्टिन्स र जेनिफर हर्मुसो पनि नोमिनेसनमा परेका थिए ।

    वर्षको उत्कृष्ट गोलकिपरमा पुरुषतर्फ चेल्सीका एडुवार्डो मेन्डी र बार्सिलोनाकी सान्ड्रा पानोसले पाएका थिए । यस्तै वर्षको उत्कृष्ट डिफेन्डर पुरुषतर्फ म्यानचेस्टर सिटीका रुबेन डियाज र महिला तर्फ पेरिस सेन्ट जर्मन (पीएसी)की इरेन पेरेडेजले हातपारे ।

    मिडफिल्डरमा चेल्सीका एन्गोलो कान्टे र बार्सिलोनाकी एलेक्सिया पुटेलस उत्कृष्ट घोषित हुँदा फरवार्ड भने बोरुसिया डर्टमन्डका एर्लिङ हालान्ड तथा बार्सिलोनाकी जेनिफर हर्मोसो बनेका थिए ।

    त्यस्तै महिला टोलीको उत्कृष्ट प्रशिक्षक बार्सिलोनाका लुइस कोर्तेस घोषित हुँदा पुरुषतर्फ चेल्सी थोमस टुकेल वर्ष प्रशिक्षक चुनिएका थिए ।

  • च्याम्पियन्स लिगको समूह चरणमा बार्सिलोना र बायर्न म्युनिख भिड्ने

    च्याम्पियन्स लिगको समूह चरणमा बार्सिलोना र बायर्न म्युनिख भिड्ने

    २०१९/२० मा बायर्नले बार्सिलोनालाई ८–२ ले हराएको थियो ।

    काठमाडौं । यूईएफए च्याम्पियन्स लिगको आगामी संस्करणको समूह चरणमै जर्मन हेभिवेट बायर्न म्युनिख र स्पेनिस जायन्ट बार्सिलोना भिड्ने भएका छन् ।

    बिहीबार राति टर्कीको इस्तानबुलमा जारी च्याम्पियन्स लिगको समूह चरणको तालिका सार्वजनिक हुँदै गर्दा यी दुई टोली एउटै समूह ‘ई’मा परेका हुन् ।

    यसअघि यी दुई टोलीको २०१९/२० सिजनमा भेट भएको थियो । त्यो सिजनको क्वार्टरफाइनलमा बार्सिलोना बायर्नसँग ८–२ गोलको नतिजामा पराजित भएको थियो ।

    आगामी सिजन १४ सेप्टेम्बरदेखि सुरु हुनेछ । बार्यन र बार्सिलोनासँगै पोर्चुगिज क्लब बेन्फिका पनि समूह ‘ई’मा परेको छ ।

    बार्सिलोना १७ वर्षपछि लियोनेल मेसी बिना च्याम्पियन्स लिगको तयारीमा छ ।

     

  • भिरनदीप र प्रसन्नाले चितवनबाट ईपीएल खेल्ने

    भिरनदीप र प्रसन्नाले चितवनबाट ईपीएल खेल्ने

    काठमाडौं । अर्को महिना काठमाडौंमा हुने एभरेष्ट प्रिमियर लिग (ईपीएल)को चौथो संस्करणका लागि चितवन टाइगर्सले श्रीलंकाली सिकुगे प्रसन्ना र मलेसियन ब्याट्सम्यान भिरनदीप सिंहलाई अनुबन्ध गरेको छ ।

    आगामी असोज ९ गतेदेखि २३ सम्म त्रिवि क्रिकेट मैदानमा हुने ईपीएलका लागि दुवै खेलाडी नेपाल आउने निश्चित भएको ईपीएलले सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ ।

    २२ वर्षीया विकेटकिपर ब्याट्सम्यान भिरनदीपले २५ टी–२० आई, ५ लिस्ट ए, २५ टी–२० क्रिकेट खेलिसकेका छन् ।

    यस्तै, ३६ वर्षीया अलराउन्डर प्रसन्नाले १ टेस्ट, ४० ओडीआई, २० टी–ट्वान्टी आर्य, ११३ फस्र्ट क्लास क्रिकेट, १६७ लिस्ट ए क्रिकेट र १७० टी–२० खेलेका छन् ।

  • मौका सदुपयोग गर्न महिला राष्ट्रिय फुटबल टोली तयार

    मौका सदुपयोग गर्न महिला राष्ट्रिय फुटबल टोली तयार

    काठमाडौं । दक्षिण एसियाली स्तरका प्रतियोगितामा खेल्दै आएको नेपाली महिला राष्ट्रिय टोलीले असोजमा एएफसी महिला एसियन कप–२०२२ छनोट खेल्दै छ ।

    दक्षिण एसिया बाहेक विरलै मात्र अन्तर्राष्ट्रिय खेल खेल्ने नेपाली टोलीले छनोट खेललाई अनुभव सगाल्ने सुनौलो मौकाको रुपमा लिएको छ । बलिया प्रतिद्वन्द्वी भएपनि राम्रा नतिजाका लागि खेल्ने लक्ष्यका साथ टोलीले तयारी गरेको छ ।

    उज्वेकिस्तानमा हुने एएफसी महिला एसियन कप–२०२२ छनोटका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोलीले अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा तयारी गरिहेको छ । मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले मंगलबार घोषणा भएका २३ खेलाडीलाई समेट्दै तयारीलाई तिब्रता दिइरहेका छन् ।

    त्यसो त टोलीमा अनुभवी खेलाडी सावित्रा भण्डारी भने हुने छैनन् । घुँडाको शल्यक्रिया गर्न कतारमा रहेकी सावित्रा भण्डारी विना टोली राम्रो नतिजाका निकाल्ने लक्ष्यका साथ मिहिनेत गरिहेको हो । नेपाली टोलीलाई पहिलो पटक विदेशी प्रशिक्षकले प्रशिक्षण गराइरहेका छन् ।

    सिमित खेलाडीबाट घोषणा भएको टोलीले छनोट खेलमा राम्रो नतिजा निकाल्नेमा प्रशिक्षक ग्यारी फिलिप्स आत्मविश्वासी देखिन्छन् । नयाँ र अनुभवि खेलाडीको संयोजन भएको तथा दैनिक रुपमा खेलाडीहरुको प्रशिक्षणको क्रममा सुधार देखिएकाले छनोट खेल राम्रो गर्ने प्रशिक्षक फिलिप्सले बताए ।

    दक्षिण एसियाली स्तरका प्रतियोगितामा खेल्दै आएको नेपाली महिला राष्ट्रिय टोलीले छनोट खेल हङकङ र फिलिपिन्ससँग खेल्न लागेको हो । जुन नेपाली टोलीका लागि अनुभव बटुल्ने ठूलो मौकाको रुपमा हेरिएको छ । नयाँ र अनुभवि खेलाडीको संयोजन रहेको टोलीमा सबैसँग जोश भएकाले राम्रो गर्ने कप्तान रेनुका नगरकोटीले बताइन् ।

    मुख्य प्रशिक्षक फिलिप्सले घोषणा गरेको टोलीमा ६ नयाँ खेलाडीले राष्ट्रिय टोलीमा मौका पाएका छन् । नयाँ अनुहारमा मिडफिल्डर प्रिती राई, फरवार्ड रश्मी घिसिङ, सबिता राना, रजनी थोकर, डिफेन्डर सृजना सिंह र निशा थोकर पहिलो पटक राष्ट्रिय टोलीमा अटाएका छन् ।

    उमेर समूहका प्रतियोगितामा कप्तानी सम्हाली सकेकी प्रिति राईले पहिलो पटक राष्ट्रिय टोलीमा अटाउँदा मिहिनेतको फल प्राप्त भएको प्रतिक्रिया दिइन् ।

    क्लब र राष्ट्रिय टोलीमा अटाउनु फरक भएको भन्दै प्रितिले छनोट प्रतियोगितामा शत प्रतिशत दिएर खेल्ने बताइन् । पहिलो रोजाईमा पर्ने उनको विश्वास छ । यस्तै अर्की खेलाडी सुरु लिम्बूले विदेशी प्रशिक्षकले फिटनेस सँगै बल पोसेसन राखेर खेल्न प्रेरणा दिएको बताइन् ।

    छनोट प्रतियोगिता सुरुमा नेपालमा तय भए पनि कोरोना महामारीका कारण तटस्थ स्थल उज्वेकिस्तानमा सारिएको हो । नेपालले नेपालसँगै समूहमा हङकङ र फिलिपिन्स रहेका छन् ।

    उज्वेकिस्तानको जेएआर स्टेडियममा नेपालले पहिलो खेल फिलिपिन्ससँग असोज २ गते र दोस्रो खेल हङकङसँग असोज ५ गते प्रतिस्पर्धा गर्नेछ । समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कपमा सहभागिता जनाउने मौका पाउनेछ । एसियन कप अर्को वर्ष जनवरी २० देखि फेब्रुअरी ६ सम्म हुँदै छ ।

  • नेपाल र भारतबीचको मैत्रीपूर्ण खेल हिमालय टेलिभिजनले लाइभ गर्ने

    नेपाल र भारतबीचको मैत्रीपूर्ण खेल हिमालय टेलिभिजनले लाइभ गर्ने

    काठमाडौं । आगामी भदौ १७ र २० गते हुने नेपाल र भारतबीच हुने मैत्रीपूर्ण खेलको प्रत्यक्ष प्रशारण हिमालय टेभिभिजनले गर्ने भएको छ । अक्टोबरमा हुने साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली टोलीले दशरथ रंगशालामा दुई मैत्रीपूर्ण खेल खेल्दै छ ।

    सोही खेलका लागि एडप्याड र अखिल नेपाल फुटबल संघ (एन्फा) बीच २५ लाख १० हजार रूपैयाँमा सम्झौता भएको एडप्याडका प्रबन्ध निर्देशक सुरज गिरीले जानकारी दिए ।

    ‘एन्फाबाट ठूलो रकम माग भएको थियो, त्यसैमा मिल्दो रकम हामीले बिड गरेका थियौैं,’ सुरजले भने, ‘आगामी दिनहरूमा पनि फुटबलका लागि एडप्याडले टेलिभिजन राइटका लागि बिड गर्छ ।’

    यस्तै, एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले आम्दानीलाई व्यवस्थित गर्नका लागि ब्रोड्कास्टिङ राइट बेच्ने योजना बनाएको र राम्रो रकम पाएको बताए ।

    ‘टिभि राइट एड प्याडले लिएको छ । दुईटा मात्रै खेलका लागि त्यत्रो रकम फुटबलका लागि राम्रो कुरा हो,’ उनले भने, ‘र, यो अरु जस्तो उधारो सम्झौता होइन । हामीले वर्षमा १÷२ करोड टिभि राइटबाट उठाउने लक्ष्य राखेका छौं ।

  • यूईएफए च्याम्पियन्स लिगको ‘ड्र’ आज राति

    यूईएफए च्याम्पियन्स लिगको ‘ड्र’ आज राति

    काठमाडौं । युरोपेली क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता- यूईएफए च्याम्पियन्स लिग- समूह चरणको लागि बिहीबार राति खेल तालिका जारी हुँदैछ । टर्कीको इस्तानबुलमा हुने च्याम्पियन्स लिगको ‘ड्र’ले ३२ टोलीको खेल तालिकाको टुङ्गो लगाउने छ ।

    गत सिजनको नतिजामार्फत् नै २६ टोलीले आगामी सिजनको च्याम्पियन्स लिगमा स्थान बनाइसकेका थिए भने थप ६ टोलीले पनि छनोटमार्फत् स्थान बनाएका छन् । गत सिजनको फाइनलमा म्यानचेस्टर सिटीलाई १-० ले पराजित गर्दै चेल्सीले च्याम्पियन्स लिगको उपाधि जितेको थियो । नेपाली समयअनुसार बिहीबार राति ९:४५ बजेदेखि ड्र सेरेमोनी सुरु हुनेछ ।

    प्रतियोगितामा सहभागी हुने टोलीहरू:

    इङ्ल्यान्ड: म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड, चेल्सी, लिभरपुल

    स्पेन: रियाल मड्रिड, बार्सिलोना, एथ्लेटिको मड्रिड, भिलारियाल, सेभिया

    जर्मनी: बायर्न म्युनिख, आरबी लाइपजिग, बोरुसिया डर्टमन्ड, वुल्फ्सबर्ग

    इटाली: इन्टर मिलान, एसी मिलान, युभेन्टस, एट्लान्टा

    पोर्चुगल: स्पोर्टिङ लिस्बोन, बेन्फिका, पोर्टो

    फ्रान्स: पेरिस सेन्ट जर्मन, लिले

    नेदरल्यान्ड्स: आयाक्स

    टर्की: बसिक्टस

    रुस: जेनिट सेन्ट पिटर्सबर्ग

    युक्रेन: डाइनामो किभ, साख्तार डोनेस्क

    बेल्जियम: क्लब बर्ग

    स्वीटजरल्यान्ड: योङ ब्वाइज

    स्वीडेन: माल्मो

    अस्ट्रिया: आरबी साल्जबर्ग

    मोल्डोभा: शेरिफ

  • विल्शेर भन्छन्- कुनै क्लबले मलाई चाहँदैनन भनेर छोरालाई कसरी भन्ने ?

    विल्शेर भन्छन्- कुनै क्लबले मलाई चाहँदैनन भनेर छोरालाई कसरी भन्ने ?

    एजेन्सी। आर्सनलका पूर्व स्टार मिडफिल्डर ज्याक विल्शरले नयाँ क्लब खोज्न आफूले संघर्ष गर्नुपरेको बताएका छन् । कुनै पनि टोलीले उनलाई अनुबन्ध गर्न नचाहेको र आफू घाटामा रहेको कुरा स्वीकारेका हुन् । आर्सनल छाड्नुअघि वेस्ट ह्याम र बर्नमाउथबाट खेलेका विल्शेर आफ्नो खेल जीवनमा दीर्घकालीन योजनाहरू बनाउन असफल भएका छन् ।

    इङ्ल्यान्डबाट २९ वर्षको उमेरमा ३४ खेल खेलिसकेका विल्शेरलाई कुनै पनि टोलीले भित्र्याउन नचाहनु आश्चर्यजनक हो । उनी अहिले फिट रहनका लागि एक्लै प्रशिक्षण गरिरहेका विल्शरले भने, ‘करिअरको यो क्षणमा यहाँ हुनेछु भनेर कल्पना गर्न पनि गाह्रो छ, र यो सोच्दै एउटा एथ्लेटिक्स ट्रयाकमा दौडिरहेको छु ।’

    ‘मेरा छोराछोरी बुझ्ने भइसकेका छन् । विशेष गरी ९ वर्षीय आर्चीले किन एमएलएसमा खेल्नुहुन्न ? ला लिगामा किन नखेल्नु भएको ? भनेर सोध्छन्,’ विल्शेरले एथल्टिकसँग भनेका छन् ।

    ‘उसलाई बुझाउन धेरै गाह्रो छ,’ विल्शरले भने, ‘उसले मलाई तपाईंलाई किन कुनै क्लबले चाहँदैनन् ? भनेर साेध्छ । यो सबै कुरा उसलाई कसरी स्पस्ट पार्ने, कसरी बुझाउने ? मलाई केहि थाहा छैन ।’

    ‘जब म बाहिर निस्कन्छु मान्छेहरूले मलाई चिन्छन् र किन तिमीले इङ्ल्यान्डको क्लबमा साइन नगरेको भनेर सोध्छन् । उनीहरूले गरेको प्रश्‍नको जवाफ दिने प्रयास गर्नु मेरोलागि सबैभन्दा गाह्रो पक्ष हुन्छ,’ उनी भन्छन् ।

    इङ्ल्यान्ड छाड्ने समय आएको हो ?

    सम्पूर्ण करिअर आफ्नै देश- इङ्ल्यान्डमा बिताएका विल्शेरको अर्को व्यावसायिक गन्तव्य कहाँ हुने भन्ने तय गर्न सकेका छैनन् ।

    ‘मैले पहिले नै भनेको छु, अन्य देशमा खेल्नका लागि तयार छु । सायद वास्तवमै म विदेश जान चाहन्छु । म केहि फरक प्रयास गर्न चाहन्छु,’ उनले भने, ‘कतै गएर नयाँ सुरुवात गर्न चाहन्छु जहाँ मानिसहरू,क्लब र समर्थकहरूले यो नसोचुन्- यो ज्याक विल्शेर हो, आज घाइते हुन्छ वा उसले पाँच खेल खेल्छ । यो लगानीको बर्बादी मात्रै हो…’

    ‘मलाई लाग्छ यो देशको ढोका मेरोलागि बन्द गरिएको छ । तर, थाहा छैन किन ?,’ उनी भन्छन्, ‘सायद मेरो चोटले भरिएको इतिहास त्यसको कारण हो… या ठाउँ-ठाउँका मानिसहरूबाट त्यस्तो सुझाव पाएर हो । मलाई यो सबै अन्याय भएझैँ लाग्छ ।’

    ‘अन्तिम पटक म २०२० मा घाइते भएको थिएँ,’ विल्शेर भन्छन्, ‘सबैले ओहो उसको खुट्टा ,उसको खुट्टा तर त्यो मेरो खुट्टा थिएन त्यो हर्निया थियो, एक ठूलो चोट थियो । त्यो १० दिनको प्रतियोगिता थियो । दुभाग्यवश लकडाउन भयो । तर, म ठीक भएँ । आफैलाई शारिरीक रूपमा फिट राखेँ ।’

    ‘मेरो अर्को स्टेप पैसा कमाउनु हुनेछैन । मेरो मनमा जे भरिएको त्यो महत्त्वपूर्ण छ । म बच्चा बेलाको मात्रै कुरा गरिरहेको छैन, आर्सनलका सुरुआती दिनमा म फुटबल खेल्न मन पराउँथेँ । इमिरेट्समा खेल्थेँ,’ उनी भन्छन्, ‘म त्यही कुरा फेरि महसुस गर्न चाहन्छु ।’

  • चोटका कारण सेरेना र भेनस दुवैले युएस ओपनबाट नाम फिर्ता लिए

    चोटका कारण सेरेना र भेनस दुवैले युएस ओपनबाट नाम फिर्ता लिए

    एजेन्सी । वर्षको अन्तिम ग्राण्डस्लाम युएस ओपनले यो संस्करणमा थप दुई हाइ प्रोफाइल खेलाडी गुमाउने भएको छ । अमेरिकी टेनिस सुपरस्टारद्वाय भेनस विलियम्स र सेरेना विलियम्सले चोटका कारण प्रतियोगिताबाट नाम फिर्ता लिएका छन् ।

    ३९ वर्षीय सेरेनाले मंगलबार सामाजिक सन्जालमा पोष्ट गर्दै ह्याम्स्ट्रिङका कारण आफ्नो शरीरले काम कठिन भएको जनाएकी थिइन् । त्यसको केही घण्टापछि ४१ वर्षीय भेनसले पनि खुट्टाको चोटका कारण प्रतियोगिता छाड्ने निर्णय गरिन् ।

    सन् २००३ पछि पहिलोपल्ट घरेलु खेलाडीहरु विलियम्स दिदीबहिनी युएसओपनमा हुने हैनन् । यो प्रतियोगिता चार दिनपछि सुरु हुँदैछ ।

    पुरुषतर्फ साविक विजेता डोमिनिक थिम, रोजर फेडेरर, रफायल नडालजस्ता हस्तीहरु पनि यसपल्टको प्रतियोगितामा खेल्ने छैनन् ।

  • ईंग्ल्यान्डविरुद्ध भारतको लज्जास्पद ब्याटिङ, ७८ रनमै समेटियो

    ईंग्ल्यान्डविरुद्ध भारतको लज्जास्पद ब्याटिङ, ७८ रनमै समेटियो

    काठमाडौं । ईंग्ल्यान्डविरुद्ध तेस्रो टेस्ट अन्तरगत पहिलो इनिङमा भारतले खराब ब्याटिङको नमूना प्रदर्शन गरेको छ । टस जितेर पहिले ब्याटिङ रोजेको भारत ७८ रनको झिनो स्कोरमा समेटियो ।

    भारतले ४ रनको अवस्थामा अग्रपंतिका दुई विकेट गुमाएको थियो । केएल राउल शून्य र चेतेश्वर पुजारा १ रनमा आउट भएपछि भारतीय समर्थकको आशा थियो बिराट कोहलीमाथि । तर कोहलीले पनि कुनै चमत्कार देखाउन सकेनन् । ७ रन बनाएर कोहली पेभिलियन फर्किए ।

    त्यसपछि पनि भारतको विकेट पतनको सिलसिलारोकिएन । ओपनर रोहित शर्मा र मध्यक्रमका अजिन्का रहानेबाहेक कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन् । रोहितले सर्वाधिक १९ र रहानेले १८ रन बनाएका थिए । भारतले १६ अतिरिक्त रन पाएको थियो ।

    ईंग्ल्यान्डका तीव्र र मध्यम गतिका बलरहरु भारतीय ब्याट्सम्यानहरुमाथि पूर्णरुपमा हावी भएका थिए । कुनै पनि ब्याट्सम्यानले ईंग्ल्यान्डका बलरलाई खुलेर खेल्न सकेनन् । जेम्मी एन्डरसन र क्रेग ओभर्टनले आपसमा ३ विकेट बाँडे । ओली रोविन्सन र साम कुरानको खातामा दुई-दुई विकेट रह्यो । एन्डरसनले बिराट कोहली, चेतेश्वर पुजारा र केएल राहुलका महत्वपूर्ण विकेट ढालेका थिए ।

    पाँच टेस्टको श्रृंखलामा भारत १-० ले अगाडि छ । पहिलो टेस्ट बराबरीमा सकिएको थियो भने दोस्रो टेस्टमा भारतले रोमाञ्चक जित हात पारेको थियो ।

  • छानविन समितिले प्रतिवेदन बुझाउनासाथ अल्मुताइरीले लेखे : आइ एम आउट !

    छानविन समितिले प्रतिवेदन बुझाउनासाथ अल्मुताइरीले लेखे : आइ एम आउट !

    काठमाडौं । राष्ट्रिय खेलकुद परिषदले बनाएको छानविन समितिले प्रतिवेदन दिए लगत्तै नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले सामाजिक सञ्जालमा असन्तुष्टि जनाएका छन् । उनले एक लाइनको स्टाटस लेख्दै आफ्नो असन्तुष्टि पोखेका हुन् ।

    राखेपलाई बुधबार प्रतिवदन बुझाउँदै समितिले मुख्य प्रशिक्षक अल्मुताइरीलाई विवाद सिर्जना हुने गतिविधि नगर्न सचेत गराउन सिफारिस गरेको थियो । लगत्तै फेसबुकमा अल्मुताइरीले लेखेका छन्, ‘आइ एम आउट …. लेट पोलिटिक्स वर्क’ । (म बाहिर भएँ, राजनीतिलाई काम गर्न दिऊँ) ।

    केही समयअघि अल्मुताइरीले राष्ट्रिय फुटबल टिमको प्रमुख प्रशिक्षकबाट राजीनामा दिने घोषणा गरेका थिए । उनले नेपाल फुटबल संघ एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङलाई आरोपित गर्दै राजीनामा दिएपछि विवाद बढेको थियो ।

    एन्फाले विवाद सुल्झाउन नसकेर राखेपको जिम्मा लगाएको थियो । राखेपले यस विषयमा गठन गरेको छानविन समितिले आज प्रतिवेदन दिएको हो ।

    राखेपको प्रतिवेदनमा अल्मुताइरीकै आचरणमाथि प्रश्न उठाइएको छ ।

  • देवेन्द्र तामाङ मच्छिन्द्रमै बस्ने

    देवेन्द्र तामाङ मच्छिन्द्रमै बस्ने

    काठमाडौं । डिफेन्डर देवेन्द्र तामाङले आगामी सिजनको शहीद स्मारक ए डिभिजन लिग पनि मच्छिन्द्र क्लबबाटै खेल्ने भएका छन् । गत सिजन मच्छिन्द्रले पहिलो पटक लिग जित्दाका महत्त्वपूर्ण खेलाडी देवेन्द्रले २०२१/२२ का लागि मच्छिन्द्रसँगको सम्झौता नवीकरण गरेका हुन् ।

    राष्ट्रिय टोलीबाट खेलिसकेका देवेन्द्र अहिले भने बन्द प्रशिक्षणमा छैनन् ।

    देवेन्द्रले यसअघि थ्री स्टार क्लबबाट पनि ए डिभिजन लिग खेलेका थिए । पछिल्लो पटक मच्छिन्द्र लिग च्याम्पियन बन्दा देवेन्द्रले रक्षापंक्ति सम्हालेका थिए । ए डिभिजन लिग आगामी कार्तिक २९ गतेदेखि सुरु गर्ने अखिल नेपाल फुटबल संघ (एन्फा) को तयारी छ ।

    मंगलबार रन्जित धिमालले पनि नयाँ सिजनका लागि सम्झौता नवीकरण गरेको क्लबले बताएको थियो ।

  • मंसिरमा युथ एथलेटिक्स च्याम्पियनसिप हुने

    मंसिरमा युथ एथलेटिक्स च्याम्पियनसिप हुने

    काठमाडौं । एथलेटिक्स परिवार नेपालले आगामी मंसिर १८ गते काठमाडौंमा ‘युथ एथलेटिक्स च्याम्पियनसिप-२०७८’ आयोजना गर्ने घोषणा गरेको छ ।

    पुरुष र महिलातर्फ यू-१६ र यू-२० उमेर समूहमा सञ्चालन हुने च्याम्पियनसिपमा यू-१६ मा १२ र यू-२० मा १६ इभेन्ट गरी कूल २८ इभेन्टमा प्रतिष्पर्धा हुनेछ ।

    वर्षमा तीन प्रतियोगिता गर्ने एथ्लेटिक्स परिवारको घोषणा

    पुरुष तथा महिला यू-१६ तर्फ ६०, १ सय र ८ सय मिटर दौड साथै सटपुट थ्रो, लङ्गजम्प, ४ गुणा १ सय मिटर रिले हुने परिवार नेपालका अध्यक्ष राजन खत्रीले जानकारी दिए ।

    त्यस्तै, यू-२० महिला तथा पुरुषतर्फ १ सय, ४ सय, ८ सय र ३ हजार मिटर दौड साथै लङ्गजम्प, हाईजम्प, सटपुट थ्रो, ४ गुणा १ सय मिटर रिले दौड प्रतियोगिता सञ्चालन गर्ने उनले बताएका छन् ।

  • नेपाललाई बक्सिङमा तीन कास्य

    नेपाललाई बक्सिङमा तीन कास्य

    युनाइटेड अरब इमिरेटस् (यूएई) मा जारी एएसबिसी एशियन युथ एण्ड जुनियर बक्सिङ च्याम्पियनसिपमा नेपालले तीन कास्य पदक जितेको छ ।

    नेपालका लागि पुरुषतर्फ छिरिङ वाङ्दी शेर्पाले जुनियर ५४ किलोमा कुबेतका खेलाडी मोहम्मद अलिनेजीलाई ५-० अंकले पराजित गर्दे कास्य जितेका हुन् । उनी सेमिफाइनलमा किर्गिस्तानका खेलाडी एडाइबेक नियाजबेसित पराजित भएका थिए । प्रशिक्षक डम्बरदत्त भट्टका अनुसार महिलातर्फ ५२ किलोमा स्वस्तिका तिरुवा र ५७ किलोमा नारिका राईले कास्य जिते ।

    आगामी असोज १५ सम्म सञ्चालन हुने प्रतियोगितामा नेपालबाट शेर्पा, तिरुवा र राईसँगै पुरुषतर्फ ६० किलो तौलमा इन्द्रबहादुर सुनार, ५४ किलोमा सुलभ माली र ७१ किलोमा सुदेन गिरीले प्रतिस्पर्धा गरेका थिए ।

    गत महिना ललितपुरको सातदोबाटोमा सम्पन्न छनोट प्रतियोगिताबाट यूएईमा भाग लिने खेलाडीको छनोट गरिएको थियो । टोलीमा ओलम्पियन एवम् प्रशिक्षक दीपक महर्जन, सन्दीप श्रेष्ठ, दुर्गा गहतराज र टोलीको व्यवस्थापकमा नेपाल बक्सिङ सङ्घका सदस्य मानबहादुर भण्डारी र झापा जिल्ला बक्सिङ सङ्घका सदस्य तर्कराज राई छन् ।

    रासस

  • कोरोना संक्रमित भएपछि आइसोलेसनमा छु: गौरिका सिंह

    कोरोना संक्रमित भएपछि आइसोलेसनमा छु: गौरिका सिंह

    काठमाडौं । नेपाली स्विमर गौरिका सिंहलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गौरिकाले मंगलबार सामाजिका सञ्जालमार्फत आफूलाई कोरोना संक्रमण पुष्टि भएको जनकारी दिएकी छन् ।

    ‘सबैमा नमस्ते! म के जनकारि गराउन चाहन्छु भने पुरा डोज खोप लागाएको र केहि लक्षण नदेखिए पनि कोरोना संक्रमित व्यक्तिसँग सम्पर्कमा आएका कारण मलाई कोभिड-१९ संक्रमण पोजेटिभ देखिएको छ,’गौरिकाले लेख्छिन्, ‘म यहाँको सरकारको नियम अनुसार १० दिन आइसोलेसनमा बसेकी छु । हामीले एक समुदाएको रूपमा माक्स लगाएर र नियमित रूपमा परिक्षण गरेर भाइरसको फैलावट रोक्न सक्दो कोसिस गर्नुपर्छ । किनभने मलाई कुनै लक्षण देखिएको थिएन र पीसीआर परीक्षण नगरेको भए संक्रमण पोजेटिभ छ भनेर थाहा हुने थिएन । कृपया सबैजना सुरक्षित रहनुहोला र मलाई शुभ सन्देश पठाउनेहरु सम्पूर्णमा धेरै धेरै धन्यबाद । ’

    गौरिकाले यसै महिना जापानमा भएको टोकियो ओलम्पिकमा १०० मिटर महिला फ्रि-स्टाइलमा राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् ।

  • एरिक्सनको ज्यान बचाउन सहयोग गर्ने डेनिस कप्तान र मेडिकल टिमलाई युईएफए अवार्ड

    एरिक्सनको ज्यान बचाउन सहयोग गर्ने डेनिस कप्तान र मेडिकल टिमलाई युईएफए अवार्ड

    एजेन्सी । युरो–२०२० मा खेलकै क्रममा हृदयघात भएर ढलेका क्रिष्टियन एरिक्सनको ज्यान बचाउन नेतृत्वदायी भूमिका निर्वाह गर्ने डेनमार्कका कप्तान सिमोन जायर र राष्ट्रिय टोलीको मेडिकल टिमलई युरोपेली फुटबल महासंघले युईएफए प्रेसिडेन्ट अवार्ड प्रदान गरेको छ ।

    १२ जुनमा कोपनहेगनमा फिनल्याण्डसँगको खेलका क्रममा २९ वर्षीय एरिक्सनलाई हृदयघात भएको थियो ।

    कप्तान जायरलाई कठिन स्थितिलाई नियन्त्रणमा राखेर आफ्नो शानदार नेतृत्वदायी क्षमता प्रदर्शन गरेको भन्दै सम्मान गरिएको हो ।

    मेडिकल टिमलाई धन्यबाद दिँदै एरिक्सन आफैंले भनेका थिए, ‘तपाईंहरुले धेरै राम्रो काम गर्नुभयो र मेरो जीवन बचाउनुभयो ।’

  • विमानमा सँगै यात्रा गरेकालाई कोरोना संक्रमण पुष्टि भएपछि क्वारेन्टाइनमा ब्रेथवेट

    विमानमा सँगै यात्रा गरेकालाई कोरोना संक्रमण पुष्टि भएपछि क्वारेन्टाइनमा ब्रेथवेट

    काठमाडौं । आफूसँगै विमानमा यात्रा गरेकालाई कोरोना संक्रमण पुष्टि भएपछि वेस्ट-इन्डिजका क्रिकेटर कार्लोस ब्रेथवेट बाध्य भएर आइसोलेसनमा बसेका छन् ।

    इङ्ल्यान्डमा पहिलो पटक आयोजना भएको दी-हन्ड्रेड खेलेर सेन्ट किट्स एन्ड नेभिस जाने क्रममा उनीसँगै विमानमा यात्रा गरेका एक यात्रुमा कोरोना भाइरस संक्रमण परीक्षणको नतिजा पोजेटिभ आएको थियो ।

    त्यसैले ब्रेथवेट अर्को सूचना नआउनजेलसम्म आइसोलेसनमा बस्न भनिएको छ । उनी क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न इङ्ल्यान्डबाट सेन्ट किट्स एन्ड नेभिस गएका हुन् ।

    शुक्रबार हुने सीपीएलको उद्घाटन खेलमा जमाइका तल्लवाजबाट खेल्छन् वा खेल्दैनन् भन्ने निश्चित भएको छैन ।

    ‘मलाई थाहा भएसम्म मेरो कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ,’ ब्रेथवेटलाई उद्धृत गर्दै क्रिकइन्फोले लेखेको छ, ‘हामीलाई क्वारेन्टाइनमा बस्न भनिएको छ । र, मलाई पहिला होटलको वरिपरि हिँड्न अनुमति थियो । तर, भर्खरै वरिपरि नहिँड्न र क्वारेन्टाइन जारी राख्न भनिएको छ । यसबारे तपाईंलाई मलाई थप केही थाहा छैन ।’

    आगामी बिग ब्यास लिग (बीबीएल)का लागि सिड्नी सिक्सरसँगको सम्झौता नवीकरण गरेको जानकारी पनि ब्रेथवेटले क्वारेन्टाइन बसिरहेकै स्थानबाट दिएका छन् ।

    ‘म शुक्रबार सेन्ट लुसिया किङ्सविरुद्धको उद्घाटन खेल खेल्छु या खेल्दिन अझै अनिश्चित छ,’ उनले भने, ‘पहिलो दिन कहिले थियो र कति दिनको क्वारेनटाइन हो मैले अझै कुनै आधिकारिक जानकारी पाएको छैन । त्यसैले मैले खेल्न पाँए भने शारिरिक रूपमा तयार रहन कोठामै स्किपिङ् र सिट-अप गर्दैछु ।’

    ब्रेथवेट सेप्टेम्बरमा हुने चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) खेल्न नेपाल आउने चर्चा छ । तर, उनले कुन टोलीबाट खेल्ने भने टुङ्गो लागिसकेको छैन ।

  • राष्ट्रिय टिमबाट अभिषेकसहित तीन खेलाडी बाहिरिए

    राष्ट्रिय टिमबाट अभिषेकसहित तीन खेलाडी बाहिरिए

    काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले बन्द प्रशिक्षणबाट तीन खेलाडीलाई रिलिज गरेका छन् ।

    प्रशिक्षक अब्दुल्लाहले आज घोषणा गरेको टोलीबाट गोलकिपर अर्पण कार्की, मिडफिल्डर शिशिर लेखी र फरवार्ड अभिषेक रिजाल बाहिरिएका हुन् ।

    अहिले राष्ट्रिय टोली भारतविरुद्ध यसै महिना हुने दुई मैत्रीपूर्ण खेल र साफ च्याम्पियनसिपको तयारीका लागि पोखरामा छ । नेपालले सेप्टेम्बर २ र ५ मा भारतसँग दशरथ रंगशालामा दुई मैत्रीपूर्ण खेल खेल्ने छ । अक्टोबर १ देखि माल्दिभ्समा हुने साफ च्याम्पियनसिपको तयारी स्वरुप भारतसँग मैत्रीपूर्ण खेल तय भएको हो ।

    बन्द प्रशिक्षणमा रहेको २५ सदस्यीय नेपाली टोली:

    किरण कुमार लिम्बु, दीप कार्की, विशाल सुनार, विकेश कुथु, अनन्त तामाङ, आयुष घलान, दिनेश राजवंशी, गौतम श्रेष्ठ, कमल थापा, आशिष लामा, अञ्जन विष्ट, विशाल राई, मनिस डाँगी, नवयुग श्रेष्ठ, नितिन थापा, पुजन उपरकोटी, राजन गुरुङ, रोहित चन्द, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, सुरज जेउ ठकुरी, तेज तामाङ

  • एएफसी महिला एसियन कप छनोट टोलीमा ७ नयाँ अनुहार

    एएफसी महिला एसियन कप छनोट टोलीमा ७ नयाँ अनुहार

    काठमाडौं । एएफसी महिला एसियन कप २०२२ छनोटको तयारीमा रहेको नेपाली टोलीमा ६ जना नयाँ खेलाडीले स्थान बनाएका छन् ।

    मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले मंगलबार सार्वजनिक गरेको २३ सदस्यी टोलीमा गत वर्ष फागुनमा भएको राष्ट्रिय महिला लिगमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरू विमला विक, प्रीती राई, सविता राना, रश्मी घिसिङ, रजनी थोकर, निषा थोकर र सृजना सिंह समेटिएका छन् ।

    एएफसी महिला एसियन कप छनोटका लागि २३ खेलाडी सार्वजनिक (सूचीसहित)

    अमिशा कार्की, हिमा चौधरी, मनिषा राउत र शर्मिला थापा अन्तिम २३ सदस्सीय टोलीमा परेनन् । नेपाली टोलीले छनोटको पहिलो खेल सेप्टेम्बर १८ मा फिलपिन्ससँग खेल्ने छ । यस्तै दोस्रो खेल हङकङसँग सेप्टेम्बर २१ मा खेल्नेछ । नेपाली सर्वकालिन सर्वाधिक गोलकर्ता सावित्रा भण्डारी भने टोलीमा हुने छैनन् । उनी अहिले खुट्टामा लागेको चोटको उपचारका लागि कतारमा छिन् ।

    नेपाली टोली

    गोलकिपर्स: अन्जना राना मगर, एन्जिला तुमबापो सुब्बा, उषा नाथ

    डिफेन्डर्स: अमृता जैसी, विमला बिक, गिता राई, हिरा कुमारी भुजेल, निशा थोकर, पुजा राना, पुनम जर्घा मगर, सृजना सिंह,

    मिडफिल्डर्स: अनिता बस्नेत, दिपा राई, मन्जली कुमारी योञ्जन, प्रिती राई, रजनी थोकर, रेनुका नगरकोटी, सविता राना

    स्ट्राइकर्स: अनिता केसी, बिमला चौधरी, इन्दिरा राई, रश्मि घिरिङ, सरु लिम्बु

  • एएफसी महिला एसियन कप छनोटका लागि २३ खेलाडी सार्वजनिक (सूचीसहित)

    एएफसी महिला एसियन कप छनोटका लागि २३ खेलाडी सार्वजनिक (सूचीसहित)

    काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले एएफसी महिला एसियन कप-२०२२ को छनोटका लागि २३ सदस्यीय टोली घोषणा गरेका छन् । बन्द प्रशिक्षणमा रहेका २८ खेलाडीबाट पाँच खेलाडीलाई रिलिज गर्दै फिलिप्सले उज्बेकिस्तानमा हुने छनोटका खेल्ने टोलीको टुंगो लगाएका हुन् ।

    अमिशा कार्की, हिमा चौधरी, मनिषा राउत र शर्मिला थापा अन्तिम २३ सदस्सीय टोलीमा परेनन् । नेपाली टोलीले छनोटको पहिलो खेल सेप्टेम्बर १८ मा फिलपिन्ससँग खेल्ने छ । यस्तै दोस्रो खेल हङकङसँग सेप्टेम्बर २१ मा खेल्नेछ । नेपाली सर्वकालिन सर्वाधिक गोलकर्ता सावित्रा भण्डारी भने टोलीमा हुने छैनन् । उनी अहिले खुट्टामा लागेको चोटको उपचारका लागि कतारमा छिन् ।

    नेपाली टोली: अन्जना राना मगर, एन्जिला तुमबापो सुब्बा, उषा नाथ, अम्रिता जैसी, अनिता बस्नेत, अनिता केसी, विमला विके, विमला चौधरी, दीपा राई, गीता राना, हिराकुमारी भुजेल, इन्दिरा राई, मन्जली तामाङ, निषा थोकर, प्रिती राई, पूजा राना, पुनम जर्घा मगर, रजनी थोकर, रश्मी घिसिङ, रेनुका नगरकोटी, सविता राना, सरु लिम्बु, सृजना सिंह