Category: खेल प्रेस

  • व्यक्तिगत प्रयासमा तिलोत्तमाको मैदानमा फ्लडलाइट झलमल, कीर्तिपुरमा सरकारकाे अझै अलमल

    व्यक्तिगत प्रयासमा तिलोत्तमाको मैदानमा फ्लडलाइट झलमल, कीर्तिपुरमा सरकारकाे अझै अलमल

    रुपन्देही । नेपालमै पहिलोपटक क्रिकेट मैदानमा फ्लड लाइट जडान भएपछि क्रिकेट खेलको संरचनामा नयाँ आयाम थपिएको छ । निजी क्षेत्रबाट बन्दै गरेको मैदानमा करोडौं लगानी गरेर केही समयमा नै यो लाइट जडान भएपछि काठमाडाैंको कीर्तिपुरस्थित मैदानमा थप दवाव श्रृजना भएको छ ।

    अष्ट्रेलिया बस्ने गुल्मीका विनोद कुँवरले निजी लगानीमा निर्माण गरेको रुपन्देहीको तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा फ्लड लाइट जडानको काम सकिएको हाे । स्टेडियमका प्रबन्ध निर्देशक विनोद कुँवरले फ्लडलाइट जडान सम्पन्न भएको जनाएर यसको भौतिक पूर्वाधारमा नयाँ कामको सुरुवात भएको जनाएका छन् ।

    नेपालमै पहिलो पटक रातको समयमा पनि प्रतियोगिता सञ्चालन गर्ने गरी करिब ७ करोड लागतमा ५ वटा फ्लड लाइट जडान गरिएको उनले जनाएका छन् । यद्यपि यसको सबै कामको खर्च विवरण नजोडिएकाले र क्यानबाट यसको पूरै स्वीकृत नभइसकेकाले खर्चको विवरण अहिले भन्न नमिल्ने जनाएका छन् ।

    ‘अहिलेसम्म करिब ७ करोड यसको लागि खर्च भइसकेको छ, तर सबै जाँचपास नभएकोले खर्च केही बढ्नपनि सक्छ’ उनले भनेका छन् । नेपालमा रहेका कुनैपनि क्रिकेट मैदानमा फ्लड लाइट अहिलेसम्म जडान नगरिएको उनले जनाएका छन् । यो लाइट जडानसँगै सोमबारदेखि लाइट टेस्टिङको काम सुरु हुने उनको भनाइ छ ।

    २०८० साल जेठ २९ गते शिलान्यास भई ०८० फागुनमै खेल्न योग्य मैदान तयार भएर फागुन २८ मा मैदानको उद्घाटनसहित लिजेण्ड्स कप क्रिकेट प्रतियोगिता आयोजना भएको थियो । यसको परीक्षण तत्काल सकिए अब केही समयमै यहाँ हुने प्रधानमन्त्री कप छनौट प्रतियोगिता पनि रातको समयमा खेलाउन सकिने कुँवरले बताए ।

    ‘अहिले यो मैदानको ५ क्षेत्रमा यस्तो लाइट जडान भएको छ, यहाँ कुनै पनि खेलाडी, अम्पायर र क्यानले लाइट कम भएको जनाए अर्को राख्न मिल्नेगरी स्पेस राखिएको छ’ उनले भने–‘हामीले अन्य अन्तर्राष्ट्रिय स्तरका मैदान हेरेर त्यसैका आधारमा लगानी गरेर निर्माण गरेकाले धेरै समस्या आउँदैन भन्ने लागेको छ, सबैको माया र सद्भावले काम अघि बढेको छ, हामीले लक्ष्य राखेको १ वर्षअघि नै यो मैदान तयार गर्ने सोँचमा छौं, म र मेरो श्रीमति अष्ट्रेलिया बसेर कमाएर यहाँ लगानी गरिरहेका छौं ।’

    नेट प्राक्टिसका लागि पनि पिच अन्तिम चरणमा रहेको स्टेडियमका निर्देशक सूर्य कुँवरले बताए । चार तलाको २ वटा भवन भीआईपी बक्स प्लेयर बक्स , चेञ्जिङ रुम र मिडिया बक्स निर्माण अन्तिम चरणमा पुगेको उनले बताए । २५ हजार दर्शक क्षमताको प्यारापिटसहित करिब ५० करोड लागतको परियोजनाको ५० प्रतिशत बढी वित्तीय प्रगति भइसकेको कुवरले बताए ।

    ५ वर्षमा पूरा गर्ने लक्ष्य रहेकोमा अब २ वर्षभित्र सबै काम सम्पन्न हुने उनले बताए । यो मैदानमा गत वर्षको फागुनयता एक सयभन्दा बढी खेल भैसकेका छन् । नेपालको १९ वर्ष मुनिको विश्वकप खेलेको महिला टोली र नेपाल प्रिमियर लिग टिम लुम्बिनी लायन्सले यो मैदानमा अभ्यास गरेको थियो । भारतबाट पनि केही क्लब स्तरीय टीम आएर खेलेको उनले बताए । नेट प्राक्टिसका लागि पनि छुट्टै पिच तयार गर्ने काम भैरहेको उनले बताए ।

    ‘मैदानका साथसाथै अरू भौतिक संरचना निर्माणको काम पनि अघि बढिरहेको छ। चार–चार तलाको २ वटा भवन भीआईपी बक्स प्लेयर बक्स चेजिङ रुम र मिडिया बक्ससहित बनाइरहेका छौं । अहिले तेस्रो तलाको काम भैरहेको छ तत्काल कुनै प्रतियोगिता आयोजना भए भीआईपी बक्सबाट बसेर खेल हेर्न सकिने अवस्थामा हामी छौं,’ उनले भने, ’यसपछि हामी प्याराफिट निर्माणको कामलाई तीव्रताका साथ अघि बढाउने छौं ।’

    कुँवरको लगानीमा तिलोत्तमा नगरपालिका– १७ मा निर्माणाधीन एक्ट्राटेक ओभल निजी क्षेत्रबाट बनेको देशकै पहिलो व्यावसायिक क्रिकेट मैदान हो ।

    सामाजिक सन्जालमा विनोदले मैदानमा फ्लड लाइट जडान भएको खबर राखेपछि निकै धेरै खेलप्रेमीले उनलाई सम्मान गरेका छन् । उनीहरुले सरकारले यति धेरै वर्ष लगाएर गर्न नसकेको काम गरेर खेल क्षेत्रमा ठूलो गुन लगाएको जनाएका छन् ।

    खेलकुद पत्रकार संघ रुपन्देहीका अध्यक्ष सुमन अधिकारीले नेपालमै पहिलो पटक यो मैदानमा रातीमा पनि सहजै खेल्नमिल्नेगरी गरिएको व्यवस्थापनले खेललाई उज्यालोतर्फ लगेको बताउँछन् ।

    नेपाली क्रिकेटका पूर्व अन्र्तराष्ट्रिय खेलाडी अहिलेका प्रशिक्षक शक्ति गौचनले एक्ट्राटेकमा भपिएको भौतिक प्रगतिले समस्त क्रिकेटप्रेमीलाई उत्साह थपेको र यो सहित लुम्बिनीमा हुने प्रधानमन्त्री कप छनौटले अब यो क्षेत्रलाई अझै राम्रो गर्ने जनाएका छन् ।

    ‘यहाँ संरचनाले नै क्यानलाई यहाँ खेल राख्न सहज भएको हो, खेलका लागि पहिलो आवश्यकता भौतिक संरचना हो, रुपन्देहीमा ती आधार बन्दै गएका छन्’ उनले भनेका छन् ।

    कीर्तिपुरमा पटक पटक टेण्डर स्थगित

    यसअघि सरकारले नै कीर्तिपुरस्थित टियु खेलमैदानमा फ्लड लाइट गर्ने धेरै पटकको घोषणा कार्यान्वयनमा जान सकेको छैन । यसका लागि धेरै पटक नेपाल सरकार, खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद (राखेप) लागि परेका छन् । तीन वर्ष पहिला नेपालले आईसीसी विश्वकप लिग–२ को खेल खेल्दै गर्दाबाट नै यसको कार्य सुरु भएको थियो तर अहिलेसम्म कार्यान्वयनमा जान सकेको छैन ।

    टेण्डरका लागि बोलपत्र आव्हान गरेपनि दुई पटक रद्द भएर तेस्रोपटक माघ ६ गतेसम्मका लागि खोलिएको थियो । पहिले राखेपले हेरेपनि अहिले सहरी विकास मन्त्रालय अन्तर्गतको संघीय सचिवालय निर्वाण तथा व्यवस्थापन कार्यालयले अन्तर्राष्ट्रिय स्तरको प्यारापिट र फ्लडलाइटका लागि बोलपत्र आह्वान गरेको हो । प्यारापिटका लागि १ करोड ६२ लाख र फ्लडलाइटका लागि १ करोड ७३ लाख रुपैयाँ धरौटी तोकिएको थियो ।

    आर्थिक वर्ष २०७९/८० को बजेटमा कीर्तिपुर मैदानको स्तरोन्नति र फ्लडलाइट जडानको प्रक्रिया अघि बढाउन २० करोड रुपैयाँ बजेट विनियोजन गरेका थिए । मैदान स्तरोन्नतिका लागि १० करोड र फ्लडलाइट जडानका लागि १० करोड छुट्याएकामा फ्लडलाइटको १० करोड खर्च नभई फिर्ता भएको थियो ।

    आर्थिक वर्ष २०८१र८२ को बजेटमा त्रिवि मैदानमा फ्लडलाइट जडानका लागि २० करोड रुपैयाँ विनियोजन भएको छ । तर किर्तिपुरको मैदानमा यो लाइट जडानका लागि धेरै लागत लागेपनि यही प्रकृतिको मैदानमा त्योभन्दा निकै कम मूल्यमा रुपन्देहीमा जडान भएपछि सरकारलाई चुनौती थपिएको हो ।

  • पीएम कप : सन्दीपलाई बाहिर राख्दै बागमतीको टोली घोषणा, पृथुले कप्तानी गर्ने

    पीएम कप : सन्दीपलाई बाहिर राख्दै बागमतीको टोली घोषणा, पृथुले कप्तानी गर्ने

    काठमाडौं । बागमती प्रदेशले लुम्बिनी प्रदेशमा हुने प्रधानमन्त्री (पीएम) कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट खेल्ने टोलीको घोषणा गरेको छ । बागमती क्रिकेट संघले बिहीवार पृथु बास्कोटाको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो ।

    कप्तान सन्दीप लामिछानेलाई बाहिर राख्दै बागमतीले टोलीको घोषणा गरेको हो । प्रधानमन्त्री कप लुम्बिनीका तीन मुख्य मैदानमा फागुन २५ देखि चैत १६ गतेसम्म हुनेछ । रुपन्देहीको दुई र दाङमा पिएम कपमा खेल हुनेछन् ।

    प्रतियोगितामा ७ प्रदेश, ३ विभागीय गरि १० टोलीको सहभागिता छ । सबै टोलीले एकअर्कासँग खेल्नेछन् । शीर्ष दुईमा रहने टोलीले फाइनल खेल्नेछन् ।

    बागमतीको टोली

    पृथु बास्कोटा (कप्तान), रिजन ढकाल, नन्दन यादव, प्रतिश जिसी, सूर्य तामाङ, रित गौतम, सुमन सुनार, गौतम केसी, विपिन आचार्य, शौरभ शखाकर्मी, आशुतोष घिरैया, शुभ कसांकार, इशान पाण्डे, सोनु देवकोटा र विवेक राना मगर ।

  • सैनामैना गोल्डकप फुटबल : महाबीर क्लब सेमीफाइनलमा, शुक्रबार सिक्कीम र आयोजकबीच प्रतिस्पर्धा

    सैनामैना गोल्डकप फुटबल : महाबीर क्लब सेमीफाइनलमा, शुक्रबार सिक्कीम र आयोजकबीच प्रतिस्पर्धा

    रुपन्देही । रुपन्देहीको सैनामैनामा भैरहेको प्रथम सैनामैना गोल्डकप फुटबल प्रतियोगितामा महाबीर क्लब काठमाडौं सेमीफाइनलमा प्रवेश गरेको छ ।

    सैनामैना फुटबल क्लबको आयोजनामा बिहीबार भएको खेलमा हनामी विएफसी चितवनलाई २-० गोलअन्तरले पराजित गर्दै महाबीर क्लव सेमीफाइनल प्रवेश गरेको हो ।

    महाबीरका तर्फबाट पहिलो र दोश्रो हाफमा भएको दुबै गोल महाबीरका जर्सी नंं १७ का खेलाडी सुरज चौधरीले गरेका थिए ।

    उनी बिहीबारको खेलको म्यान अफ दि म्याच घोषित भए । खेलको पहिलो र दोश्रो हाफमा सुरुदेखि नै खेललाई आफ्नो नियन्त्रणमा लिएको महाबीरले एक दर्जन बढी अवसरलाई गोलमा सदुपयोग गर्न सकेनन् ।

    उता हनामी बिएफसीको तर्फबाट दुईवटा राम्रा अवसर खेलाडीको मिस पासको कारण गोल पोष्ट चुम्न सकेनन् । प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ । भोली शुक्रबारको खेल आयोजक मुर्गिया फुटबल क्लब र भारतको सिक्कीम क्लबबीच हुनेछ ।

    प्रतियोगितामा पहिलो स्थान हासिल गर्ने टिमले नगद ७ लाख रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र र दोश्रो स्थान हासिल गर्ने टिमले नगद ४ लाख रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल फागुन २८ गते हुनेछ ।

     

  • अल नेपाल ओपन स्नुकर च्याम्पियनसिपको फाइनलमा हेटौँडाका सोम र बिर्तामोडका सरोज भिड्दै

    अल नेपाल ओपन स्नुकर च्याम्पियनसिपको फाइनलमा हेटौँडाका सोम र बिर्तामोडका सरोज भिड्दै

    रुपन्देही । हेटौँडाका सोम लामा र बिर्तामोडका सरोज गौतम बुटवलमा जारी सर्वाधिक पुरस्कार राशिको अल नेपाल ओपन स्नुकर च्याम्पियनसिपको फाइनलमा पुगेका छन् । बुधवार राति सम्पन्न सेमिफाइनलमा बुटवलका रेगन श्रेष्ठलाई ६–४ अंकले पछि पार्दै बिर्तामोडका सरोज गौतम फाइनलमा पुगेका हुन् ।

    यस्तै पहिलो सेमिफाइनल खेलमा काठमाडौंका वाङ्चू तामाङलाई ६–३ अंकले पछि पार्दै हेटौँडाका सोम लामा फाइनल प्रवेश गरेका खेल संयोजक शिशिर गुरुङले जानकारी दिए ।

    सोम र सरोजबीच फाइनल खेल बुटवलको सिंह कम्प्लेक्सस्थित खस्यौली स्नुकर क्लबमा आज हुँदैछ । नेपाल विलियर्डस स्नुकर तथा पुल संघ रुपन्देही र खस्यौली स्नूकर क्लबको संयुक्त आयोजनामा फागुन १२ देखि जारी प्रथम अल नेपाल बुटवल मेयर कप ओपन स्नुकर च्याम्पियनसिपमा देशभरबाट १२८ जना खेलाडीले भाग लिएका थिए ।

    प्रतियोगिताको विजेता खेलाडीले ३ लाख ३ हजार, उपविजेताले १ लाख १ हजार रुपैयाँ, हाइएस्ट ब्रेकरले ५५ हजार रुपैयाँ,सेमिफाइनलमा पुग्ने खेलाडीहरूलाई नगद ३०–३० हजार रुपैयाँ, राईजिङ स्टार र अनुशासित खेलाडीलाई स्नुकर स्टिकबाट पुरस्कृत गरिने नेपाल विलियर्डस स्नुकर तथा पुल संघ रुपन्देहीका अध्यक्ष सुजन पुनले बताए ।

    स्नुकरमा हालसम्मकै सर्वाधिक पुरस्कार राशिको यो प्रतियोगितालाई बुटवल उपमहानगरपालिकाबाट मुख्य आर्थिक सहयोग भएको छ भने बुटवल उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तथा सिंह कम्प्लेक्सका सञ्चालक महेशमान सिंहबाट ३ लाख ३ हजार र आवास ग्रुपका महेश थैवबाट एक लाख रुपैयाँ आर्थिक सहयोग भएको संघका सचिव प्रकाश क्षेत्रीले बताए ।

    प्रतियोगिताको समापन र पुरस्कार वितरण दिउसो ३ बजेदेखि शुरु हुने र समापनमा प्रतियोगिता सम्पन्न गर्न सहयोग गरेका संघसंस्था र व्यक्तिलाई सम्मान गरिने आयोजकले जानकारी दिएका छन् ।

  • दोस्रो मुख्यमन्त्री कपिलवस्तु (तिलौराकोट) गोल्डकपको उपाधि मछिन्द्रलाई

    दोस्रो मुख्यमन्त्री कपिलवस्तु (तिलौराकोट) गोल्डकपको उपाधि मछिन्द्रलाई

    रुपन्देही । दोस्रो मुख्यमन्त्री कपिलवस्तु (तिलौराकोट) गोल्डकप नकआउट फुटबल प्रतियोगिताको उपाधि मच्छिन्द्र फुटबल क्लब, काठमाडौंले जितेको छ ।

    बिहीबार सम्पन्न भएको फाइनलमा मच्छिन्द्रले थ्रीस्टार क्लब, ललितपुरलाई १–० ले पराजित गर्दै उपाधि उचालेको हो ।

    मच्छिन्द्रको जितमा देवेन्द्र तामाङले निर्णायक गोल गर्दै मच्छिन्द्रलाई विजयी बनाएका थिए । उनले खेलको ६२ औं मिनेटमा गोल गर्दै आफ्नो टोलीलाई उपाधिको नजिक पुर्‍याएका थिए ।

    विजेता मच्छिन्द्र फुटबल क्लबलाई नगद ११ लाख ११ हजार १११ रुपैयाँसहित उपाधि प्राप्त भयो। उपविजेता थ्रीस्टार क्लबलाई ५,लाख ५५ हजार ५५५ रुपैयाँ नगद र ट्रफी, मेडलसहित सम्मानित गरियो ।

    प्रतियोगितामा विशेष पुरस्कारहरू पनि वितरण गरिएको थियो । जय अन्तर्गत उत्कृष्ट गोलरक्षकको पुरस्कार मच्छिन्द्रका सन्तोष महतलाई, उत्कृष्ट डिफेन्डरको पुरस्कार मच्छिन्द्रका सिमोन डेनियललाई, उत्कृष्ट मिडफिल्डरको पुरस्कार मच्छिन्द्रका अनिल खड्कालाई र उत्कृष्ट फरवार्डको पुरस्कार थ्रीस्टारका आशिष गुरुङलाई प्रदान गरियो। यी उत्कृष्ट खेलाडीहरूलाई जनही ३० हजार रुपैयाँ र ट्रफी पुरस्कारका रूपमा प्रदान गरियो।

    कपिलवस्तु गोल्डकपको सर्वश्रेष्ठ खेलाडीको सम्मान मच्छिन्द्रका सौरभ सुब्बाले जिते। उनले आफ्नो उत्कृष्ट प्रदर्शनको उपाधि नगद ५०,००० रुपैयाँ र ट्रफी प्राप्त गरेका थिए ।

    थ्रीस्टार क्लबका प्रशिक्षक गंगाराम देउजालाई उत्कृष्ट प्रशिक्षकको पुरस्कार प्रदान गरियो।

    कपिलवस्तु जिल्ला फुटबल संघको आयोजनामा भएको यो प्रतियोगिता अन्तर्राष्ट्रिय स्तरको रहे पनि नेपालका प्रमुख फुटबल क्लबहरू सहभागी थिए। प्रतियोगिताले नेपालको फुटबल विकासमा योगदान पुर्‍याउने मात्र होइन, देशका उत्कृष्ट क्लबहरूको सहभागिता र प्रतिस्पर्धाले स्थानीय खेलाडीहरूलाई थप प्रेरणा दिएको थियो ।

    कपिलवस्तु गोल्डकपको सफल आयोजनाले आगामी वर्षहरूको लागि नेपाली फुटबलको स्तर अझ उच्च बनाउने अपेक्षा गरिएको प्रदेश सांसद विष्णु पन्थीले बताए ।

  • च्याम्पियन्स लिग : लिभरपुलको रोमाञ्चक जित

    च्याम्पियन्स लिग : लिभरपुलको रोमाञ्चक जित

    हेटौँडा । इङ्लिस क्लब लिभरपुलले फ्रेन्च क्लब पीएसजीमाथि रोमाञ्चक जित निकाल्दै च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा सुखद सुरुवात गरेको छ ।

    बुधवार बिहान भएको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई उसैको घरमा १–० ले पराजित गर्दै प्रिमियर लिग लिडर लिभरपुलले सुखद सुरुवात गरेको हो ।

    पीएसजीको मैदानमा भएको खेलमा दबाब भने पीएसजीले दिएको थियो । घरेलु मैदानको फाइदा उठाउँदै लिभरपुललाई दबाबमा राखेको पीएसजीले गोल भने गर्न सकेन ।

    पीएसजीको एक दर्जन प्रहारलाई लिभरपुलका गोलकिपर एलिसनले सुन्दर बचाउ गरेका थिए ।

    निकै रोमाञ्चक प्रतिस्पर्धा बराबरीमा सकिने सम्भावनाबीच मोहम्मद सलाहको ठाउँमा मैदान प्रवेश गरेका हर्वी इलियटले खेल सकिन ३ मिनेटमा गोल गरेपछि घरेलु मैदानका दर्शक निराश बनेका थिए ।

    खेलमा ७१ प्रतिशत बल आफ्नो पोजिसनमा पार्दा समेत लिभरपुलसँग हार्नु परेको पीडा दर्शकहरूलाई थियो । अब दोस्रो लेग मंगलवार लिभरपुलको आफ्नो मैदानमा हुनेछ।

  • च्याम्पियन्स ट्रफीः फाइनल प्रवेशका लागि न्यूजिल्यान्डले दक्षिण अफ्रिकालाई दियो ३६३ रनको लक्ष्य

    च्याम्पियन्स ट्रफीः फाइनल प्रवेशका लागि न्यूजिल्यान्डले दक्षिण अफ्रिकालाई दियो ३६३ रनको लक्ष्य

    काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफीको फाइनल प्रवेशका लागि न्यूजिल्यान्डले दक्षिण अफ्रिकालाई ३६३ रनको लक्ष्य दिएको छ ।

    पाकिस्तानको गद्दाफी स्टेडियममा जारी दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकाविरुद्ध टस जितेर पहिला ब्याटिङ गरेको न्यूजिल्यान्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३६२ रन बनाएको हो ।

    न्यूजिल्यान्डका दुई खेलाडीले शतक प्रहार गरे । रचिन रवीन्द्र र केन विलियम्सनले शतक प्रहार गरेका हुन् । रचिन १०८ र केन १०२ रनमा आउट भए । उनीहरुले दोस्रो विकेटका लागि १६४ रनको साझेदारी गरेका थिए । ग्लेन फिलिप्स र डेरिल मिचेलले समान ४९-४९ रन बनाए ।

    बलिङमा दक्षिण अफ्रिकाका लुंगी निडीले ३, कागिसो रबाडाले २ र वियन मुल्डरले एक विकेट लिए ।

    यो खेलको विजेताले उपाधिका लागि भारतसँग खेल्नेछ ।

  • युगान्डामा हुने चारदेशीय टी-२०आई खेल्ने नेपाली टोलीको बिदाई

    युगान्डामा हुने चारदेशीय टी-२०आई खेल्ने नेपाली टोलीको बिदाई

    काठमाडौं । युगान्डामा हुने चारदेशीय महिला टी-२०आई खेल्ने नेपाली टोलीको बिदाई गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार एक कार्यक्रम गर्दै फागुन २४ देखि हुने सिरिजका लागि नेपाली टोलीको विदाई गरेको हो ।

    टी–२०आई सिरिजमा नेपालसहित घरेलु टोली युगान्डा, नामिबिया र हङकङ सहभागी छन् । सबै टोलीले एकअर्कासँग दुईदुई पटक खेल्नेछन् । शीर्ष दुईमा रहने टोलीले फाइनल खेल्नेछन् । फाइनल खेल मार्च १६ मा हुनेछ ।

    नेपालले फागुन २४ मा नामिबिया, फागुन २५ मा युगाण्डा, फागुन २६ मा हङकङसँग खेल्नेछ । पुनः फागुन २८ मा नामिबिया, २९ मा युगाण्डा र ३० मा हङकङसँग खेल्ने तालिका छ ।

    सिरिज खेल्न जाने नेपाली टोली

    इन्दु बर्मा (कप्तान), विन्दु रावल, रिया शर्मा, सम्झना खड्का, ममता चौधरी, पूजा महत्तो, राजमती ऐरी, कविता जोशी, रुविना क्षेत्री, अलिसा कुमारी यादव, रोमा थापा, रचना चौधरी, साना प्रविन र इश्वरी विष्ट ।

  • मसँग पूर्वाग्रह छैन, मेरा लागि खेल र खेलाडीको प्रदर्शन महत्वपूर्ण हो : मुख्य प्रशिक्षक म्याट (भिडिओ)

    मसँग पूर्वाग्रह छैन, मेरा लागि खेल र खेलाडीको प्रदर्शन महत्वपूर्ण हो : मुख्य प्रशिक्षक म्याट (भिडिओ)

    काठमाडौं । नेपाली राष्ट्रिय पुरुष टोलीका नवनियुक्त मुख्य प्रशिक्षक म्याट रोसले खेल र खेलाडी प्रदर्शन महत्वपूर्ण रहेको बताएका छन् ।

    नियुक्तपछि पहिलो प्रशिक्षणका क्रममा पत्रकारसँग कुराकानी गर्दै मुख्य प्रशिक्षक म्याटले सबै खेलाडीसँग काम गर्नु चुनौतीपूर्ण रहेको बताएका हुन् ।

    ‘मेरो लागि जुनसुकै खेलाडीसँग काम गर्नु चुनौतीपूर्ण हो । मसँग पूर्वाग्रह छैन । मेरा लागि खेल कस्तो हो र त्यसमा खेलाडीको प्रदर्शन कस्तो हो भन्ने कुरा महत्वपूर्ण हो’, उनले भने ।

     

    सामान्य मिस्टेकबाट ठूलो मिस्टेक हुन सक्ने हुनाले नयाँ रणनीतिका साथ काम गर्ने मुख्य प्रशिक्षक म्याटले सुनाए ।

    उनले भने, ‘पहिलो गरेको जस्तै बलको पोजिसन महत्वपूर्ण हो । फुटबलमा अति सामान्य मिस्टेकबाट ठूलो मिस्टेक हुन सक्छ । तसर्थ हामीले नयाँ रणनीतिका साथ काम गरिरहेका छौं ।’

    सिंगापुरविरुद्धको मैत्रीपूर्ण खेलमा उत्साहपूर्ण र शक्तिशाली प्रदर्शनको अपेक्षा गरेको म्याटले बताए ।

    ‘तपाईंको देशको रंगशालामा आउन पाउँदा निकै राम्रो महशुस गरिरहेको छु’, उनले भने, ‘उत्साहपूर्ण र शक्तिशाली प्रदर्शनको अपेक्षा गरेको छु । जसले जितको नतिजा निकाल्न सक्नेछ ।’

     

  • म्याट रोस मुख्य प्रशिक्षक बनेपछि नेपाली फुटबल टोलीको पहिलो प्रशिक्षण(तस्बिरहरु)

    म्याट रोस मुख्य प्रशिक्षक बनेपछि नेपाली फुटबल टोलीको पहिलो प्रशिक्षण(तस्बिरहरु)

    काठमाडौं । अष्ट्रेलियाका म्याट रोस मुख्य प्रशिक्षक बनेपछि नेपाली टोली प्रशिक्षणमा उत्रिएको छ ।

    मुख्य प्रशिक्षक म्याटले बुधबार पहिलोपटक नेपाली टोलीलाई प्रशिक्षणमा उतारेका हुन् ।

    उनले सिंगापुरविरूद्धको मैत्रीपूर्ण खेल र एएफसी एसियन कप क्वालिफायर अन्तर्गत मलेसियाविरुद्धको खेलका लागि ३० खेलाडीलाई प्रशिक्षणमा बोलाएका थिए ।

    तस्बिरः उमेश कार्की /नेपाल प्रेस

  • बलियो टोलीसँग खेल्दा डोमिनेट हुन्छौं तर, केही चिजहरु सिक्छौंः कप्तान किरण चेम्जोङ (भिडिओ)

    बलियो टोलीसँग खेल्दा डोमिनेट हुन्छौं तर, केही चिजहरु सिक्छौंः कप्तान किरण चेम्जोङ (भिडिओ)

    काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले टोलीको प्रदर्शन सुधार गर्न एक्पोजर आवश्यक रहेको बताएका छन् ।

    बुधबार दशरथ रंगशालामा पत्रकारसम्म कुरा गर्दै कप्तान किरणले बलिया टोलीसँग खेल्न आवश्यक रहेको बताएका हुन् ।

    ‘एक्पोजरका लागि खेल खेल्नुपर्ने हुन्छ जति सक्दो हामीभन्दा बलियो टोलीसँग । नतिजा जे भएपनि बलियो टोलीसँग खेल्दा डोमिनेट हुन्छौं तर, त्यहाँबाट केही चिजहरु सिक्छौं,’ उनले भने ।

    फुटबलको स्तर वृद्धि गर्न खेलाडीलाई आर्थिक सर्पोटदेखि संरचना विकास गर्नुपर्ने किरणले बताए ।

    ‘खेलाडीका लागि आर्थिक रुपमा पनि सर्पोट होस् । संरचना निर्माणमा पनि ध्यान दिइओस्,’ उनले भने, ‘मुख्यतया खेलाडीलाई एक्पोजर नै चाहिन्छ जस्तो लाग्छ । अन्तर्राष्ट्रिय स्तरमा एउटा बलियो टोलीसँग हारजितले फरक पार्दैन । तर, बलिया टोलीसँग खेल्न पायौं भने राम्रो फाइदा गर्छ ।’

    नयाँ मुख्य प्रशिक्षकसँग काम गर्न उत्साहित रहेको उनले सुनाए ।

  • एउटै प्रशिक्षक लामो समयसम्म भए खेलाडीलाई सजिलो हुन्छः अनन्त तामाङ (भिडिओ)

    एउटै प्रशिक्षक लामो समयसम्म भए खेलाडीलाई सजिलो हुन्छः अनन्त तामाङ (भिडिओ)

    काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी अनन्त तामाङले एउटै कोच लामो समयसम्म भए खेलाडीलाई खेल्न सजिलो हुने बताएका छन् ।

    दशरथ रंगशालामा बुधबार पत्रकारहरुसँग कुरा गर्दै तामाङले छोटो समयमा कोच आउँदा ट्याक्टिस र प्लेइङ स्टाइल बुझ्न समय लाग्ने बताए ।

    ‘जति सक्दो राम्रो कोचसँग ट्रेनिङ गरेर बस्न पाए हामीले कोचको त्यही स्टाइलअनुसार खेल्न पाउँदाखेरि हामीलाई पनि सजिलो हुन्थ्यो । छोटो समयमा कोच आउँदाखेरि फरक कोचको फरक ट्याक्टिस, फरक प्लेइङ स्टाइल हुन्छ’, उनले भने, ‘त्यसमा भिज्न हामीलाई समय लाग्छ । लामो समयसम्म भए हामीलाई पनि सहज हुन्थ्यो ।’

    उनले नयाँ प्रशिक्षक आउँदा उत्साहित रहेको बताए । ‘जति पनि नयाँ कोच आउनुहुन्छ । उहाँहरुको फरकफरक फिलोसोफी हुन्छ । फरक स्टायल हुन्छ । हामीले पनि नयाँ सिक्ने मौका पाउँछौं । त्यसकारण पनि उत्साहित छु’, उनले भने ।

    आगामी खेल पनि नजिकै आइराखेकाले पनि उत्साहित रहेको उनले सुनाए ।

    नेपाल राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकमा अस्ट्रेलियाका म्याट रोस एक वर्षका लागि नियुक्त भएका छन् ।

  • स्टिभ स्मिथले एक दिवसीय क्रिकेटबाट लिए सन्न्यास

    स्टिभ स्मिथले एक दिवसीय क्रिकेटबाट लिए सन्न्यास

    काठमाडौं । अष्ट्रेलियाका लिजेन्ड ब्याट्सम्यान स्टिभ स्मिथले एक दिवसीय क्रिकेटबाट सन्न्यास लिएका छन् ।

    च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा भारतसँग अष्ट्रेलियाले हार व्यहोरेलगत्तै उनले सन्न्यासको घोषणा गरेका हुन् ।

    च्याम्पियन्स ट्रफीमा नियमित कप्तान प्याट कुमिन्सको अनुपस्थिति स्मिथले अष्ट्रेलियाको कप्तानी गरेका थिए । तर, उपाधि दावेदार अष्ट्रेलियाले फाइनलसम्मको यात्रा तय गर्न सकेन ।

    ३५ वर्षीय स्मिथले अष्ट्रेलियाको राष्ट्रिय टिमबाट १७० वटा एकदिवसीय म्याच खेलेका छन् । उनले ४३.२८ को औसतमा कुल ५ हजार ८ सय रन जोड्दा १२ शतक र ३५ अर्धशतक जोडे ।

    सन् २०१० मा वेस्ट इन्डिजविरुद्धको म्याचमा स्मिथले एक दिवसीय डेब्यू गरेका थिए ।

    हिजो च्याम्पियन्स ट्रफीमा भारतविरुद्धको सेमिफाइनल नै उनको अन्तिम म्याच बनेको छ । सो म्याचमा उनले ९६ बलमा ७३ रन जोडेका थिए ।

    एक दिवसीयबाट हात झिकेका स्मिथले टेस्ट क्रिकेटलाई भने निरन्तरता दिने छन् ।

  • अल नेपाल ओपन स्नुकर प्रतियोगितामा आज सेमिफाइनल खेल

    अल नेपाल ओपन स्नुकर प्रतियोगितामा आज सेमिफाइनल खेल

    रुपन्देही । बुटवलमा जारी सर्वाधिक पुरस्कार राशिको अल नेपाल ओपन स्नुकर प्रतियोगितामा आज सेमिफाइनलका दुई खेल हुँदैछन् ।

    बुटवलको सिंह कम्प्लेक्सस्थित खस्यौली स्नुकर क्लबमा पहिलो सेमिफाइनल खेल बिहान १० बजे काठमाडौंका वाङ्चू तामाङ र हेटौँडाका सोम लामाबीच फाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने खेल संयोजक शिशिर गुरुङले जानकारी दिए ।

    यस्तै अन्तिम सेमिफाइनल खेल बुटवलका रेगन श्रेष्ठ र बिर्तामोडका सरोज गौतमबीच दिउसो ३ बजे शुरु हुने गुरुङले बताए । रेगन श्रीलंकामा सम्पन्न सागस्तरीय स्नुकर प्रतियोगितामा नेपाललाई पहिलो पदक दिलाउन सफल नेपालकै उत्कृष्ट खेलाडी हुन् ।

    नेपाल विलियर्डस स्नुकर तथा पुल संघ रुपन्देही र खस्यौली स्नुकर क्लबको संयुक्त आयोजनामा फागुन १२ देखि जारी प्रथम अल नेपाल बुटवल मेयर कप ओपन स्नुकर च्याम्पियनसीपमा देशभरबाट १२८ जना खेलाडीले भाग लिएका थिए ।

    प्रतियोगिताको विजेता खेलाडीले ३ लाख ३ हजार, उपविजेताले १ लाख १ हजार रुपैयाँ, हाइएस्ट ब्रेकरले ५५ हजार रुपैयाँ,सेमिफाइनलमा पुग्ने खेलाडीहरूलाई नगद ३०–३० हजार रुपैयाँ, राईजिङ स्टार र अनुशासित खेलाडीलाई स्नुकर स्टिकबाट पुरस्कृत गरिने नेपाल विलियर्डस स्नुकर तथा पुल संघ रुपन्देहीका अध्यक्ष सुजन पुनले बताए ।

    स्नुकरमा हालसम्मकै सर्वाधिक पुरस्कार राशिको यो प्रतियोगितालाई बुटवल उपमहानगरपालिकाबाट मुख्य आर्थिक सहयोग भएको छ भने बुटवल उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तथा सिंह कम्प्लेक्सका सञ्चालक महेशमान सिंहबाट ३ लाख ३ हजार र आवास ग्रुपका महेश थैवबाट एक लाख रुपैयाँ आर्थिक सहयोग भएको संघका सचिव प्रकाश क्षेत्रीले बताए । फागुन २२ गते फाइनल प्रतिस्पर्धा हुने प्रतियोगिता निःशुल्क हेर्न पाइने आयोजकले व्यवस्था गरेका छन् ।

  • सैनामैना गोल्डकपमा आज एपीएफ र अभिषेक नवलपुरबीच प्रतिस्पर्धा हुँदै

    सैनामैना गोल्डकपमा आज एपीएफ र अभिषेक नवलपुरबीच प्रतिस्पर्धा हुँदै

    रुपन्देही । रुपन्देहीको सैनामैनामा जारी प्रथम सुनगाभा सैनामैना गोल्डकप फुटबल प्रतियोगिता अन्तरगत आजको खेलमा विभागीय टोली एपीएफ नेपाल र अभिषेक चर्च रजहर नवलपुर बीच प्रतिस्पर्धा हुँदै छ । खेल सैनामैना ४ मुर्गियास्थित सैनामैना फुटबल रंगशालामा दिउँसो ३ बजे हुने भएको हो ।

    मुर्गिया फुटबल क्लबले आयोजना गरेको प्रतियोगिता अन्तरगत मङ्गलवार फर्साटिकर क्लबले जीत हासिल गरेको छ । फर्साटिकरले नेपाल पुलिसलाई २-० ले हराउँदै क्वाटर फाइनलमा प्रवेश गरेको हो ।

    पहिलो हाफको २९ औँ र दोस्रो हापफको ६४ औँ मिनेटमा टिमका लागि फर्साटिकरका गणेश हमालले एक्लै २ गोल प्रहार गरि टिमलाई विजयी बनाउन सफल भए । फर्साटिकर क्लबका गणेश हमाल म्यान अफ द म्याद घोषित भए । उनले नगद पाँच हजार प्राप्त गरेको खेल संयोजक अशोक खड्काले जानकारी दिए ।

    सुनगाभा पब्लिक स्कुलको टाइटल स्पोन्सर तथा सैनामैना नगरपालिकाको आर्थिक सहयोग र संरक्षकत्वमा जारी प्रतियोगिताको विजेताले नगद ७ लाख पुरस्कार राशीसहित गोल्डकप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यसैगरी उपविजेताले नगद ४ लाख तथा अन्तिम चारमा पुग्ने अन्य २ समूहले समान ८० हजार नगद प्राप्त गर्ने आयोजकले जनाएको छ ।

    प्रतियोगितामा दुई विभागीय, एक भारतीय र आयोजकसहित १० टिमको सहभागिता रहेको खेल संयोजक खड्काले जानकारी दिए ।

    प्रतियोगितामा विधागततर्फ सर्वोत्कृष्ट खेलाडीले नगद २० हजार तथा उत्कृष्ट गोल रक्षक, उत्कृष्ट डिफेन्डर, सर्वाधिक गोल कर्ता तथा उदयीमान खेलाडीले समान १५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रत्येक खेलका म्यान अफ दी म्याचलाई नगद ५ हजार पुरस्कार रहेको छ ।

  • फिफाद्वारा पाकिस्तानी फुटबलको प्रतिबन्ध फुकुवा

    फिफाद्वारा पाकिस्तानी फुटबलको प्रतिबन्ध फुकुवा

    हेटौँडा । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले पाकिस्तान फुटबलमाथि लगाएको सबै खाले प्रतिबन्ध फुकुवा गरेको छ ।

    आफ्नो निर्देशनको अवज्ञा गरेको भन्दै फिफाले गत फेब्रुअरी ६ मा पाकिस्तानी फुटबलमाथि सबै खाले प्रतिबन्ध लगाएको थियो ।

    फुटबलमा राजनीतिक हस्तक्षेप भएको र आफूहरूले पठाएको विधान संशोधनको मस्यौदामा निर्णय नलिएको भन्दै फिफाले प्रतिबन्ध लगाए पनि समस्यामा परेको पाकिस्तानको फुटबलको समस्या अब समाधान भएको फिफाले विज्ञप्ति जारी गरी जनाएको छ ।

    विधान संशोधनको पक्षमा पाकिस्तान फुटबल संघका अधिकांश सदस्यले सहमति जनाएपछि फिफाले प्रतिबन्धको फुकुवा गरेको हो ।

    प्रतिबन्ध फुकुवा भएसँगै अब पाकिस्तानले फिफाद्वारा आयोजना हुने प्रतियोगितामा सहभागिता जनाउन पाउने भएको छ ।

    प्रतिबन्धको कारण एसिया कप छनोट अन्योलमा परेपछि पाकिस्तानले फिफाको निर्देशनलाई तत्कालै कार्यान्वयन गरेको थियो । एसिया कप छनोटमा पाकिस्तानले सिरियाको सामना गर्नेछ ।

    गत हप्ता लाहोरमा सम्पन्न पाकिस्तान फुटबल महासंघको विशेष साधरणसभामा फिफाले निर्देशन गरेको विधान संशोधनको पक्षमा बहुमत आएपछि फिफाले प्रतिबन्ध फुकुवा गरेको हो ।

    विवाद र राजनीतिक हस्तक्षेपको कारण पछिल्लो एक दशकभित्र पाकिस्तानलाई तीन पटक फिफाले प्रतिबन्ध लगाइसकेको छ ।

    फिफाले प्रतिबन्ध फुकुवा गरेसँगै पाकिस्तान फुटबल महासंघले विज्ञप्ति जारी गर्दै आगामी दिनमा फिफा र एसियाली फुटबल महासंघले गर्ने सबै प्रकारको सहयोगको निरन्तरताको अपेक्षा समेत गरेको छ ।

  • आर्सनलको विशाल जित

    आर्सनलको विशाल जित

    हेटौँडा । युरोपियन च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा नेदरल्यान्डको पिएसभीलाई विशाल गोलअन्तरले पराजित गर्दै इङ्लिस क्लब आर्सनल अन्तिम आठ नजिक पुगेको छ ।

    मङ्गलवार राति भएको खेलमा आर्सनलले पिएसभी विरुद्ध ७-१ को विशाल जित निकालेको हो ।

    आर्सनलको जितमा जुरियर टिम्बर र एथन नवानेरीले समान २-२ गोल गर्दा नवानेरी, कालाफियोरी र ट्रेडसले समान १-१ गोल गरे ।

    मङ्गलवार राति नै भएको अर्को खेलमा फ्रेन्च क्लब लिले र जर्मन क्लब बोरुसिया डर्टमन्ट १-१ को बराबरीमा रोकिएका छन् ।

  • च्याम्पियन्स लिग : एट्लेटिकोविरुद्ध रियलको जित 

    च्याम्पियन्स लिग : एट्लेटिकोविरुद्ध रियलको जित 

    हेटौँडा । युरोपियन च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा स्पेनिस क्लब रियल मड्रिडले आफ्नै देशको क्लब एट्लेटिको मड्रिडलाई पराजित गरेको छ ।

     

    मंगलबार राती भएको खेलमा २-१ को जित निकाल्दै रियलले विजयी सुरुवात गरेको हो ।

     

    खेलको चौथो मिनेटमानै रोड्रीगोले गोल गर्दै रियललाई पहिलो अग्रता दिलाएका थिए ।  तर अल्भारेजले गोल गर्दै एट्लेटिकोलाई पहिलो हाफकै ३२ औँ मिनेटमा बराबरी बनाए ।

     

    निकै प्रतिस्पर्धात्मक खेलको ५५ औँ मिनेटमा रियलको लागि ब्राहिम डियाले गोल गरेपछि रियलले खेल २-१ ले जित्न सफल बन्यो । पहिलो लेग २-१ ले जितेपछि अब अन्तिम ८ मा पुग्नको लागि रियललाई सहज भएको छ ।

    अब दोस्रो लेग भने एट्लेटिकोको घरेलु मैदानमा मार्च १३ मा हुनेछ ।

  • अष्ट्रेलियालाई हराउँदै भारत च्याम्पियन्स ट्रफीको फाइनलमा

    अष्ट्रेलियालाई हराउँदै भारत च्याम्पियन्स ट्रफीको फाइनलमा

    काठमाडौं । अष्ट्रेलियालाई हराउँदै भारत आइसीसी च्याम्पियन्स ट्रफीको फाइनलमा प्रवेश गरेको छ । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको पहिलो सेमिफाइनलमा अष्ट्रेलियालाई ४ विकेटले पराजित गर्दै उपाधी भिडन्त पक्का गरेको हो ।

    अष्ट्रेलियाले दिएको २६५ रनको लक्ष्य भारतले ४८ ओभर १ बलमा ६ विकेट गुमाएर पूरा गर्‍यो । भारतका लागि विराट कोहलीले सर्वाधिक ८४ रन बनाए । उनले श्रेयस ऐयरसंग मिलेर तेस्रो विकेटका लागि ९१ रनको साझेदारी गरेका थिए । श्रेयस ४५ रन बनाएर आउट भए ।

    केएल राहुल ४२ रनमा अविजित रहे । हार्दिक पाण्ड्या २८, अक्षर पटेल २७ र कप्तान रोहित शर्मा २८ रन जोडेर आउट भए । बलिङमा अष्ट्रेलियाका नाथन एलिस र एडम जाम्पाले २-२ विकेट लिए ।

    त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको अष्ट्रेलिया ४९ ओभर ३ बलमा २६४ रनमा समेटिएको थियो । अष्ट्रेलियाका लागि कप्तान स्टेभ स्मिथले सर्वाधिक ७३ रन बनाए । एलेक्स क्यारीले ६१, ओपनर ट्राभिस हेडले ३९ र मार्नस लबुसेनले २९ रनको योगदान दिए ।

    बलिङमा भारतका मोहम्मद शामील्े सर्वाधिक ३ विकेट लिए । वरुण चक्रवर्ती र रविन्द्र जडेजाले समान २, अक्षर पटेल र हार्दिक पान्ड्याले एकएक विकेट लिएका थिए ।

    भारतले अब दक्षिण अफ्रिकान्र न्युजिल्यान्डबीचको विजेतासंग फाइनल खेल्नेछ । फाइनल खेल युएईमा हुनेछ ।

  • नेपाल र अफगानिस्तानको यु-१९ टोलीबीच ओडिआई सिरिज हुने

    नेपाल र अफगानिस्तानको यु-१९ टोलीबीच ओडिआई सिरिज हुने

    काठमाडौं । नेपाल र अफगानिस्तानको यु-१९ टोलीबीच ओडिआई सिरिज हुने भएको छ ।

    नेपाल क्रिकेट संघ क्यानले सार्वजनिक गरेको तालिकाअनुसार नेपाल र अफगानिस्तानको यु-१९ टोलीबिच अप्रिल ३ देखि ९ तारिखमा ३ ओडिआई सिरिज हुन लागेको हो ।

    मुलपानी मैदानमा हुने पहिलो खेल अप्रिल ३, दोस्रो खेल अप्रिल ६ र तेस्रो खेल अप्रिल ९ मा हुनेछ

  • चौथो निप्स ताफसा सम्पन्न

    चौथो निप्स ताफसा सम्पन्न

    काठमाडौं । राष्ट्रिय प्रहरी स्पोर्टस क्लब महाराजगुन्जमा चौथो निप्स ताफसा २०२५ सम्पन्न भएको छ ।

    फागुन १७ गते शनिबार भएको खेलमा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, नेपाल ओलिम्पिक कमिटीको उपाध्यक्ष्य चतुरानन्द राजवैद्य, नेपाल कराँते महासंघका महासचिव दावा गुरुङको उपस्थिति थियो ।

    सो खेलमा २१ वटा मन्टेस्सोरी स्कुलका ४२५ बालबालिकाहरुले भाग लिएका थिए । मन्त्री चौधरीले निजीस्तरबाट भव्यरुपमा आयोजना गरिएको यस कार्यक्रमलाई अबका दिनहरुमा सहयोग गर्ने अश्वासन दिए ।

    उनले टीम, सम्पूर्ण आयोजक कमिटी, अभिभावक,नानीबाबुहरु तथा टिचरहरुलाई बधाइ तथा धन्यवाद पनि दिए ।

    महासचिव शितल रिजालले सम्पूर्ण सहभागीहरुलाई स्वागत गरिन् भने अध्यक्ष सुश्मा लामाले १७० वटा राष्ट् सदस्य रहेको अन्तरराष्ट्रिय खेल संस्था ताफिसाको म्यान सदस्य रहेको र खेल सम्बन्धी गतिबिधी बारे जानकारी गराउँदै कोषाध्यक्ष अप्सना राणाले सबैलाई आभार व्यक्त गरेकी थिइन् ।

  • च्याम्पियन्स ट्रफीः सेमिफाइनलमा भारतविरुद्ध अस्ट्रेलिया २६४ रनमा अलआउट

    च्याम्पियन्स ट्रफीः सेमिफाइनलमा भारतविरुद्ध अस्ट्रेलिया २६४ रनमा अलआउट

    काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफीको पहिलो सेमिफाइनलमा भारतविरुद्ध अस्ट्रेलिया २६४ रनमा समेटिएको छ ।

    यूएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर पहिला ब्याटिङ गरेको अस्ट्रेलिया ४९ ओभर ३ बलमा २६४ रनमा समेटिएको हो ।

    अस्ट्रेलियाका लागि कप्तान स्टेभिन स्मिथले सर्वाधिक ७३ रन बनाए । एलेक्स क्यारीले ६१, ओपनर ट्राभिस हेडले ३९ र मार्नस लबुसेनले २९ रनको योगदान दिए ।

    बलिङमा भारतका मोहम्मद शामीले सर्वाधिक ३ विकेट लिए । वरुण चक्रवर्ती र रवीन्द्र जडेजाले समान २-२, अक्षर पटेल र हार्दिक पान्ड्याले एक-एक विकेट लिए ।

  • टीयु मैदानको प्यारापिट बढाउन सुरु, ३ सिफ्टमा काम हुने

    टीयु मैदानको प्यारापिट बढाउन सुरु, ३ सिफ्टमा काम हुने

    काठमाडौं । कीर्तिपुरस्थित टीयु क्रीकेट मैदानको प्यारापिट बढाउन सुरु भएको छ । बिकेओआई-केसीडिसी-बिजि जेभिले टीयु मैदानको प्यारापिट बढाउने गरी ४३ करोड ७७ लाख ३० हजार ११३.०३ मा ठेक्का पाएको थियो ।

    उक्त जेभीले आज साइत हेरेर पूजा गरी प्यारापिट बढाउने कार्यको सुरुवात गरेको हो ।

    आगामी वैशाख २४ गतेसम्म काम सक्ने गरी अगाडि बढेको कम्पनीका साइट म्यानेजर प्रेम पौडेलले जानकारी दिए । ३ सिफ्टमा काम हुने पौडेलले बताए ।

     

  • एनएसएलमा धनगढी एफसीबाट ओलावालेको निरन्तरता

    एनएसएलमा धनगढी एफसीबाट ओलावालेको निरन्तरता

    धनगढी । धनगढी एफसीले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि नाइजेरीयन फरवार्ड आफिज ओलावालेलाई पुनः टोलीमा अनुबन्ध गरेको छ।

    ओलावाले यसअघि एनएसएलका दुई संस्करणमा धनगढी एफसीबाट खेल्दै टोलीलाई दुवै सिजनको फाइनलसम्म पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेलेका थिए।

    भारत र बंगलादेशका शीर्ष लिगमा समेत अनुभव हासिल गरिसकेका ३० वर्षीय ओलावालेले नेपालका अधिकांश शीर्ष क्लबबाट खेलिसकेका छन्। उनको आगमनले धनगढी एफसीलाई अझ बलियो बनाउने विश्वास गरिएको छ।

    धनगढी एफसीले यसअघि नै लेबनानी फरवार्ड अहमद हजाजीलाई पनि टोलीमा अनुबन्ध गरिसकेको छ। यसबाहेक, देवेन्द्र तामाङ, जेजस काकी, पासाङ लामा, विवेक पौडेल, विजयारथ शेख, रुद्र फुयाँल, रामचन्द्र वादी, शांतिलाल र अशोक खवासजस्ता खेलाडी टोलीमा रहेका छन्।

    यस सिजनका लागि धनगढी एफसीले स्पेनका जुआन म्यानुएल मार्टिनेज सायेजलाई मुख्य प्रशिक्षकका रूपमा नियुक्त गरेको छ। युइएफए प्रो लाइसेन्स प्राप्त मार्टिनेजले स्पेन, पानामा, थाइल्यान्ड, ओमान, माल्दिभ्स र बंगलादेशका क्लबहरूलाई प्रशिक्षण गराइसकेका छन्।

    भने नेपाली क्रिकेट टोलिका स्टार अलराउण्डर दिपेन्द्र सिंह ऐरी लाई ब्राण्ड एम्बासडर नियुक्त गरिसकेको छ ।

    नाइजेरीयन फरवार्ड ओलावालेले लगातार तेस्रो पटक धनगढी एफसीबाट खेल्न पाउँदा खुशी व्यक्त गरेका छन्। उनले भने, ‘हामी दुई सिजन उपाधिको धेरै नजिक पुगेर चुकेका थियौँ। अधुरो सपना पूरा गर्न यस पटक टोलीसँग पुनः जोडिएको छु।’

    धनगढी एफसीका अध्यक्ष सुवास शाहीले ओलावाले टोलीका मुख्य पहिचान भएकाले उनको आगमनले क्लबलाई थप मजबुत बनाउने बताएका छन्। उनले भने, ‘नेपाली माटोमा राम्रो सँग भिजेका र नेपाली फुटबलमा गोलमेसिनका रूपमा चिनिएका ओलावालेले यस सिजन पनि समर्थकहरूको मन जित्ने विश्वास लिएका छौँ।’

    धनगढी एफसीले चैत १६ गते सुरु हुन गइरहेको एनएसएलको‌ तेस्रो संस्करण‌का लागि बलियो तयारी गरिरहेको छ। विदेशी तथा अनुभवी खेलाडीको आगमनले क्लबलाई उपाधि दाबेदार बनाउने अपेक्षा गरिएको छ ।

  • विश्वविजेता बुफोन २०२५ को पर्यटन दूत नियुक्त

    विश्वविजेता बुफोन २०२५ को पर्यटन दूत नियुक्त

    काठमाडौं । विश्व फुटबल जगतका लिजेण्ड फुटबलर जियानलुइगी बुफोनलाई सन् २०२५ को लागि नेपाल सरकारले पर्यटन दूत नियुक्त गरेको छ ।

    केपी ओली कपको फाइनलमा प्रमुख अतिथिको रूपमा नेपाल आएका बुफोनलाई सरकारले सन् २०२५ को पर्यटन प्रवर्द्धनको लागि पर्यटन राजदूत नियुक्त गरिएको हो ।

    केपी ओली कपको फाइनल पछि भएको पुरस्कार वितरण समारोहमा बुफोनलाई पर्यटन राजदूत नियुक्त गरिएको घोषणा गरिएको थियो ।

    सन् २००६ मा इटालीलाई विश्वकप जिताउँदाका गोलरक्षक बुफेनलाई पर्यटन राजदूत घोषणा गर्नुले नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा आयोजकले राष्ट्रिय युवा संघ नेपालले गरेको छ ।

    तेस्रो संस्करणको प्रतियोगिताको फाइनलमा आइपुगेका बुफोनलाई हेर्न काठमाडौँको दशरथ रंगशाला भरिभराउ भएको थियो ।

  • सनिश श्रेष्ठ बने केपी ओली कपको सर्वोत्कृष्ट खेलाडी

    सनिश श्रेष्ठ बने केपी ओली कपको सर्वोत्कृष्ट खेलाडी

    काठमाडौं । मच्छिन्द्र एफसीका सनिश श्रेष्ठ केपी ओली कप फुटबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बनेका छन् ।

    मच्छिन्द्र एफसीलाई उपाधि जिताउन महत्त्वपूर्ण भूमिका खेलेका सनिस प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बनेका हुन् । उनले नगद एक लाखसहित यमाहा–१२५ मोटरसाइकल हात पारे ।

    उत्कृष्ट गोलरक्षक मछिन्द्रका विशाल श्रेष्ठ र सर्वाधिक गोलकर्ता मच्त्रिन्द्रकै स्टेफन जमाहा चुनिए । आर्मीका निराजन धामी प्रतियोगिताको उदयीमान खेलाडी बने । उत्कृष्ट हुने खेलाडीले ५० हजारसहित यमाहा–१२५ मोटरसाइकल हात पारे ।

    दशरथ रंगशालामा भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै मछिन्द्रले तेस्रोपटक उपाधि जितेको थियो ।

  • धनगढी एफसीले तेस्रो संस्करणका लागि अफ्रिकन खेलाडी ओलावाले

    धनगढी एफसीले तेस्रो संस्करणका लागि अफ्रिकन खेलाडी ओलावाले

    काठमाडौं । धनगढी एफसीले तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल)का लागि विदेशी खेलाडीका रुपमा अफ्रिकन फरवार्ड आफिज ओलावालेलाई निरन्तरता खबर बाड्न पाउँदा उत्साहित छौं ।

    यसअघि दुवै संस्करणमा ओलावालेले धनगढी एफसीबाट खेल्दै टोलीलाई दुवै सिजनको फाइनलमा पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

    भारत र बंगलादेशको शीर्ष लिगसमेत खेलिसकेका उनले नेपालका प्राय सबै शीर्ष क्लबबाट ए डिभिजन लिग खेल्दै आफ्नो प्रभाव छाडेकाे छ । ३० वर्षीया नाइजेरियन यी खेलाडीको आगमनसँगै धनगढी एफसी बलियो बनेको छ ।

    यसअघि नै धनगढी एफसीले लेबनानी स्टार फरवार्ड अहमद हिजाजीलाई पनि क्लबमा फर्काइसकेको छ । क्रितिशरत्न छुन्जु मार्की प्लेयर रहेको धनगढीले देवेन्द्र तामाङ, जर्जप्रिन्स कार्की, पासाङ लामा, विवेक पौडेल, जियारथ शेख, रन्दीप फुंयाल, रामचन्द्र वाजी, प्रशान्त लक्षम र अशोक खवास खेलाडीका रुपमा रहेका छन् ।

    यस्तै धनगढीले स्पेनका जुआन म्यानुएल मार्टिनेज साइजलाई मुख्य प्रशिक्षकमा नियुक्त गरिसकेको छ । युईएफए प्रो लाइसेन्स भएका प्रशिक्षक म्यानुएलले स्पेन, पानामा, थाइल्याण्ड, ओमान, माल्दिभ्स र बंगलादेशमा समेत प्रशिक्षण गराएका छन् ।

    नेपाली क्रिकेट टोलीका स्टार अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई धनगढी एफसीका ब्रान्ड एम्बेसडर छन् ।

    आफिज ओलावाले विदेशी खेलाडीले भने, ‘लगातार तेस्रो सिजनका लागि धनगढी एफसीसँग अनुबन्ध हुन पाउँदा हर्षित छु । लगातार दुई सिजन उपाधिको एकदमै नजिक पुगेर पनि हामी चुकेका थियौं । उपाधि उचाल्ने उत्क अधुरो कामलाई पुरा गर्ने लक्ष्यसहित म यस पाली धनगढीमा आवद्ध भएको छु । मलाई विश्वास गरि पुन टोलीमा आवद्ध गराउनुभएकोमा धनगढी एफसी व्यवस्थापक प्रति आभार व्यक्त गर्दछु ।’

    त्यस्तै, अध्यक्ष सुवाश शाहीले भने, ‘नेपाली माटोमा राम्रोसँग भिजेका र नेपाली फुटबलमा गोलमेसिनका रुपमा चिनिएका आफिजलाई धनगढीको प्रमुख अनुहारमध्येको एकका रुपमा स्वागत गर्न पाउँदा हामी खुशी छौं । अत्यन्तै मिहिनेती र विशिष्ट खेल कौशलका माध्यमबाट यससिजनमा उहाँले धनगढी एफसीका समर्थकको मन जित्नुहुनेछ भन्ने विश्वास व्यक्त गरेका छौं ।’

     

  • कोलकाेताको कप्तानमा रहाने, उप-कप्तानको जिम्मेवारी अय्यरलाई

    कोलकाेताको कप्तानमा रहाने, उप-कप्तानको जिम्मेवारी अय्यरलाई

    हेटौंडा । इण्डियन प्रिमियर लिग (आइपिएल)को डिफेन्डिङ च्याम्पियन कोलकोता नाइट राइडर्सले जिख्य रहानेलाई कप्तानमा चयन गरेको छ ।

    आफ्नो ‘ट्रफि विनिङ’ कप्तान श्रेयस अय्यरलाई रिलिज गरेको कोलकाताले अक्सनबाट जम्मा डेढ करोडमा खरिद गरेको रहानेलाई कप्तानको जिम्मेवारी दिएको हो ।

    लामो समयको पर्खाइपछि आफ्ना फ्यानहरुको खुलदुलीलाई मेट्दै कोलकाताले कप्ताको चयन गरेको हो ।
    केकेआरले वेंकटेश अय्यरलाई उपकप्तान बनाएको छ। ३६ वर्षका रहाने भारतका सफल तथा अनुभवी खेलाडी समेत हुन् ।

    उनले मुम्बई इण्डियन्स, राजस्थान रोयल्स, दिल्ली क्यापिटल्स र चेन्नई सुपर किंग्स जस्ता फ्रेंचाइजीबाट आइपिएल खेलिसकेका छन् । सन् २०२२ मा समेत कोलकाताका खेलाडी रहेका रहाने हाल मुम्बईको रणजी ट्रफिका कप्तान समेत हुन् ।

    कोलकाताले कप्तान को बनाउँछ भन्ने विषयमा सामजिक संजालमा बहस समेत भएको थियो । बहसमा हाल कोलकाताका सबैभन्दा महंगो खेलाडी बनेका रिंकु सिंहसहित सुनिल नारायण तथा आन्द्रे रसेलको पनि चर्चा चलेको थियो । तर यि चर्चा बाहेकका रहाने कप्तान बन्न सफल भएका छन् ।

    यस सिजनको आइपिएल यही मार्च २२ देखि शुरु हुदै छ। कोलकोताले पहिलो दिन नै आफ्नो घरेलु मैदान इडेन गार्डेनमा रोयल च्यालेन्जर्स बैंगलोरको सामना गर्दै उपाधी रक्षाको अभियान थाप्ने छ ।

    आईपिएलमा कोलकाताले हालसम्म तीन पटक उपाधी जितेको छ । चेन्नाई र मुम्बईपछि कोलकाता सबैभन्दा धेरै आईपिएल जिन्ते क्लब हो ।

     

  • मच्छिन्द्रले तेस्रोपटक जित्यो केपी ओली कप फुटबलको उपाधि

    मच्छिन्द्रले तेस्रोपटक जित्यो केपी ओली कप फुटबलको उपाधि

    काठमाडौं । केपी ओली कप फुटबल प्रतियोगिताको उपाधि मच्छिन्द्र एफसीले जितेको छ । दशरथ रंगशालामा भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई २–० गोलले हराउँदै मछिन्द्रले तेस्रोपटक केपी ओली कपकाे उपाधि जितेको छ ।

    केपी ओली कपको पहिलो, दोस्रो संस्करण जितेको मछिन्द्रले तेस्रो संस्करणको उपाधि पनि आफ्नो पक्षमा पार्यो ।

    मछिन्द्रका लागि स्टेफेन जमाहाले एक गोल गर्दा एक गोल उपहार पायो । खेलको २९औं मिनेटमा मछिन्द्रका सनिस श्रेष्ठले प्रहार गरेको गोल रोक्न खोज्दा आर्मीका डिफेन्डर बिमल पाण्डेले आफ्नो गोल पोष्टमा प्रहार गरे ।

    बिमलको आत्मघाती गोलबाट अग्रता लिएको मछिन्द्रका स्टेफेनले खेलको ७३औं मिनेटमा गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । त्यसपछि दुवैतर्फबाट गोल हुन सकेन र मछिन्द्रले तेस्रोपटक केपी ओली कपको उपाधि जित्यो ।

    उपाधि जितेको मछिन्द्रले १५ लाख ११ हजार एक सय ११ प्राप्त गर्यो । फाइनलमा पराजित भएको आर्मीले ५ लाखमा चित्त बुझाउनुपर्यो । राष्ट्रिय युवा संघ नेपालको आयोजनामा भएको प्रतियोगितामा दुई विदेशीसहित ९ टोली सहभागी थिए ।

  • फुटबल टीमका नवनियुक्त प्रशिक्षक भन्छन्- नेपाललाई अन्तर्राष्ट्रिय प्रतियोगिता जिताउँछु (भिडिओ)

    फुटबल टीमका नवनियुक्त प्रशिक्षक भन्छन्- नेपाललाई अन्तर्राष्ट्रिय प्रतियोगिता जिताउँछु (भिडिओ)

    काठमाडौं । नेपाली राष्ट्रिय पुरूष फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक म्याट रोसले नेपाली टीमलाई बलियो बनाउदै अन्तर्राष्ट्रिय प्रतियोगीता जित्नका लागि ध्यान केन्द्रीत गर्ने बताएका छन् ।

    सोमबार अखिल नेपाल फुटबल संघ(एन्फा)ले ललितपुरमा आयोजना गरेको अन्तरक्रिया उनले नेपाललाई एसियन कपमा छनोट गराउनेदेखि साफ च्याम्पियनसिप लगाएतका अन्तराष्ट्रिय प्रतियोगीता जित्नका लागि ध्यान केन्द्रीत गर्ने बताएका हुन् ।

    नेपालमा फुुटबलको प्यासन धेरै देखिएको भन्दै उनले फुटबल खेलको बिकासका लागि आफुले आवश्यक भूमिका खेल्ने जिकिर गरे । स्पष्ट भिजन र योजना भए कुनै पनि खेल जित्नका लािग कठिन नभएको उनले बताए ।

    उनले नेपाली टीममा केहि सुधारको आवश्यकता आफुले देखेको भन्दै जुनसुकै खेलमा पनि उच्च मनोबलका साथ मैदान उत्रन जरुरी रहेको जिकिर गरे । आफ्नो कार्यकालमा दवावमुक्त भएर टीमको विकासमा लाग्ने उनको भनाइ छ ।

    म्याट रोसलाई नेपाली राष्ट्रिय पुरूष फुटबल टोलीको मुख्य प्रशिक्षकका रुपमा एक वर्षको सम्झौता गरिएको एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए । मुख्य प्रशिक्षकका लागि २० जनाको सर्टलिष्टबाट म्याट रोस चयन गरिएको उनले बताए । उनले म्याट रोसको पारिश्रमिकबारे भने खुलाएनन् । शाहले नयाँ प्रशिक्षक चयन भएसंगै नेपाली टीमलाई बलियो रुपमा अघि बढाउने विश्वास व्यक्त गरे ।

    म्याट रोस डेढ महिनादेखि काठमाडौंमा रहेर नेपाली फुटबललाई नियालिरहेका थिए । उनले मार्च २१ मा सिंगापुरसँग मैत्रीपूर्ण खेलमार्फत राष्ट्रिय टोलीमा प्रशिक्षकको भूमिकाको सुरुवात गर्नेछन् । त्यस्तै नेपालले मार्च २५ मा मलेसियाविरुद्धको एएफसी एसियन कप छनोट २०२६ को पहिलो लेग खेल्दैछ ।

  • प्रधानमन्त्रीसँग बुफोनको भेट, सँगै खाए चियानास्ता

    प्रधानमन्त्रीसँग बुफोनको भेट, सँगै खाए चियानास्ता

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र इटलीका राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान जियानलुइजी बुफोनबीच आज भेट भएको छ ।

    राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनामा जारी तेस्रो केपी ओली कप फुटबल च्याम्पियनसिपको समापन कार्यक्रमका प्रमुख अतिथिका रूपमा नेपाल आएका अन्तर्राष्ट्रिय गोलरक्षक बुफोनलाई प्रधानमन्त्री ओलीले आज बिहान प्रधानमन्त्री निवास बालुवाटरमा भेट गरेका हुन्।

    भेटका अवसरमा प्रथम महिला राधिका शाक्य, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, अखिल नेपाल फुटबल सङ्घका अध्यक्ष पङ्कज राई, राष्ट्रिय युवा सङ्घ नेपालका अध्यक्ष क्षितिज थेबे, बुफोनका परिवारका सदस्यलगायत सहभागी थिए।

    यही फागुन ११ गतेदेखि सुरु भएको उक्त च्याम्पियनसिप आज साँझ दशरथ रंगशालामा समापन हुँदैछ ।‍

  • केपी ओली कपको फाइनल आज

    केपी ओली कपको फाइनल आज

    काठमाडौं । केपी ओली कप फुटबल प्रतियोगिताको उपाधिका लागि मछिन्द्र एफसी र त्रिभुवन आर्मी क्लब भिड्दैछन् । उक्त खेल दशरथ रंगशालामा आज साँझ ६ बजेबाट फाइनल सुरू हुनेछ । सेमिफाइनलमा मछिन्द्रले आयोजक केपी एफसी र आर्मीले संकटा क्लबलाई हराउँदै फाइनलमा स्थान सुरक्षित गरेका थिए ।

    राष्ट्रिय युवा संघ नेपालको आयोजनामा प्रतियोगिताको विजेताले १५ लाख ११ हजार एक सय ११ र उपविजेताले ५ लाखसहित ट्रफी, प्रमाणपत्र र मेडल प्रदान गरिने छ ।

    सर्वोत्कृष्ट खेलाडीले एक लाख, उत्कृष्ट गोलरक्षक, गोलकर्ता र उदीयमान खेलाडीले समान ५० हजार पाउनेछन् । फाइनल खेलमा विश्वचर्चित फुटबल खेलाडी इटलीका लिजेण्ड गोलकिपर जियानलुइजी बुफन प्रमुख अतिथिको रुपमा रहनेछन् । फाइनलअघि कुमा सागर, पुर्ण राईको प्रस्तुती रहनेछ ।

    प्रतियोगितामा दुई विदेशसहित ९ टोलीले सहभागिता जनाएका थिए । फाइनल खेल त्रिपुरेश्वरस्थित वल्डटेड सेन्टरको डिजिटल बोर्डबाट समेत खेलको प्रत्यक्ष प्रशारणको व्यवस्था मिलाइएको आयोजकले जनाएको छ ।

  • ला-लिगा : बार्सिलोना पुनः पहिलो स्थानमा

    ला-लिगा : बार्सिलोना पुनः पहिलो स्थानमा

     

    हेटौँडा । स्पेनिस ला-लिगामा रियल सोसिडाडलाई फराकिलो अन्तरले पराजित गर्दै बार्सिलोनाले पुनः पहिलो स्थान कब्जा जमाएको छ ।

     

    आइतबार राती भएको खेलमा सोसिडाडमाथि ४-० को जित निकाल्दै बार्सिलोना पुनः पहिलो स्थान उक्लन सफल भएको हो ।

     

    बार्सिलोनाको जितमा मार्टिन, लेवन्डोस्की, कासाडो र रोनाल्डले समान १-१ गोल गरे । जितपछि २६ खेलबाट ५७ अङ्क सहित बार्सिलोना पहिलो स्थानमा उक्लन सफल हुँदा पराजित सोसिडाड समान खेलबाट ३४ अङ्क सहित नवौँ स्थानमा छ ।

     

    गएरातिनै भएको अन्य खेलहरूमा लोगानेसले गोटाफेलाई १-० ले पराजित गर्दा मालोर्का र अलाभेसले १-१को बराबरी खेलेका छन्  । गएरातिनै भएको अर्को खेलमा ओसासुना र भ्यालेन्सियाले पनि ३-३ को बराबरीमा खेल टुङ्गाएका थिए ।

  • युगान्डामा हुने टी–२० सिरिजको खेल तालिका सार्वजनिक, नेपालले पहिलो खेल नामिबियासँग खेल्ने  

    युगान्डामा हुने टी–२० सिरिजको खेल तालिका सार्वजनिक, नेपालले पहिलो खेल नामिबियासँग खेल्ने  

    काठमाडौं । युगान्डामा हुने टी–२० महिला सिरिजको खेल तालिका सार्वजनिक भएको छ । मार्च ८ गतेबाट सुरु हुने सिरिजमा नेपालसहित हङकङ, युगान्डा, नामिबियाबिच प्रतिस्पर्धा हुनेछ ।

    सिरिजमा प्रत्येक टोलीले एक अर्कोसँग दुई खेल खेल्नेछन् । त्यसपछि शीर्ष दुईमा रहने टोली फाइनल खेल्नेछन् । फाइनल खेल मार्च १६ मा हुनेछ । नेपालले पहिलो खेल मार्च ८ मा नामिबियासँग खेल्नेछ ।

    नेपाल क्रिकेट संघ क्यानले सिरिजका लागि इन्दु बर्माको कप्तानीमा टोलीको घोषणा गरेको छ । नेपाली टोलीमा बर्मासहित विन्दु रावल, रिया शर्मा, सम्झना खड्का, ममता चौधरी, पूजा महत्तो, राजमती ऐरी, कविता जोशी, रुविना क्षेत्री, अलिसा कुमारी यादव, रोमा थापा, रचना चौधरी, साना प्रविन र इश्वरी विष्ट रहेका छन् ।

  • कैलालीमा राष्ट्रपति रनिङ शिल्डको उपाधि घोडाघोडीलाई, सात पालिका स्वर्णविहीन

    कैलालीमा राष्ट्रपति रनिङ शिल्डको उपाधि घोडाघोडीलाई, सात पालिका स्वर्णविहीन

    कैलाली । कैलालीको घोडाघोडी नगरपालिकामा सञ्चालित १५ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको घोडाघोडी नगरपालिकाले जितेको छ।

    कान्तिराज्य लक्ष्मी माध्यमिक विद्यालय पहलमानपुर र सुखडस्थित राष्ट्रिय माध्यमिक विद्यालयको खेल मैदानमा आइबार सम्पन्न भएको प्रतियोगितामा घोडाघोडी नगरपालिकाले २५ स्वर्ण, १४ रजत र २० कांस्य गरी जम्मा ५९ पदक प्राप्त गरी प्रथम भएको हो।

    प्रतियोगितामा २४ स्वर्ण, ९ रजत र ५ कांस्य गरी ३८ पदक सहित धनगढी उपमहानगरपालिका दोस्रो र १२ स्वर्ण, १५ रजत र १२ कांस्य पदक गरी ३९ सहित गोदावरी तेस्रो भएका छन् । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय पालिकालाई ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

    प्रतियोगितामा सहभागी अन्य पालिकामा गौरीगंगा नगरपालिकाले २९, लम्किचुहा नगरपालिकाले १३,टिकापुर नगरपालिकाले २२, मोहन्याल गाउँपालिकाले ६, जानकी गाउँपालिकाले ३, चुरे गाउँपालिकाले ३, बर्दगोरीया गाउँपालिकाले ३, भजनी नगरपालिकाले १ पदक जितेका छन् भने कैलारी गाउँपालिका पदक विहीन भएको छ ।

    टीकापुर, मोहन्याल, जानकी चुरे बर्दगोरीया भजनी र कैलाली स्वर्णविहीन भए। प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स, तेक्वान्दो र कराँते विधामा प्रतिस्पर्धा गराइएको थियो । प्रतियोगितामा उत्कृष्ट भएका विद्यार्थीहरू मध्येबाट प्रदेशस्तरीय प्रतियोगितामा सहभागी गराइने जिल्ला खेलकुद समितिले जानकारी दिएको छ ।

    गत वर्ष धनगढीमा सम्पन्न भएको १४ औँ कैलाली जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा २२ स्वर्ण, १७ रजत र १७ कांस्य गरी ५६ पदक सहित घोडाघोडी नगरपालिका दोस्रो भएको थियो भने ३० स्वर्ण, ६ रजत र ९ कांस्य गरी ४५ पदक सहित धनगढी उपमहानगरपालिका पहिलो भएको थियो ।

    प्रतियोगितामा विजेता समूहलाई घोडाघोडी नगरपालिकाका नगरप्रमुख खडक बहादुर रावतले पदक तथा नगद पुरस्कार प्रदान गरेका थिए ।
    ‘स्वास्थ्यका लागी खेलकुद,राष्ट्रका लागी खेलकुद’ भन्ने मूल नाराका साथ बिहीबारदेखी कैलाली जिल्ला खेलकुद विकास समितिको आयोजना तथा घोडाघोडी नगरपालिकाको सह–आयोजनामा प्रतियोगिता सुरु भएको थियो ।

    कैलालीका १३ वटा स्थानीय तहबाट छनोट भएर आएका खेलाडीहरू जिल्ला स्तरीय रनिङ शिल्ड प्रतियोगितामा सहभागी भएका थिए । प्रत्येक वर्ष धनगढीमा हुँदै आएको जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता यो वर्ष कैलालीको घोडाघोडी नगरपालिका भित्रमा भएको थियो ।
    उक्त कार्यक्रममा खेलकुद समितिले आगामी वर्ष हुने १६ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बर्दगोरिया गाउँपालिकामा हुने भएको छ