रुपन्देही । सातौँ संस्करणको पीएम कप क्रिकेट प्रतियोगिता–२०८१ का सबै खेल लुम्बिनी प्रदेशका ३ वटा क्रिकेट मैदानमा आजबाट हुने भएसँगै खेल प्रेमी हौसिएका छन् ।
सन् २०१७ सालबाट सुरु भएको प्रधानमन्त्री कप पुरुष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता (पीएम कप) आयोजनाको सातौँ संस्करण पुगेपछि पहिलो पटक सबै खेल काठमाडौँ बाहिर हुन लागेको हो । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पिएम कप यस पटक काठमाडौं बाहिर लुम्बिनी प्रदेशका दुई जिल्ला रुपन्देही र दाङमा गर्ने निर्णय गरेसँगै आजबाट ती मैदानमा खेल सुरु हुँदैछन् ।
फागुन २५ गतेदेखि चैत १६ गतेसम्म सञ्चालन हुने प्रतियोगिता रुपन्देहीको भेरहवास्थित सिद्धार्थ अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला र तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल अन्तर्राष्ट्रिय क्रिकेट मैदान र दाङको लमहीस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुँदैछ ।
प्रतियोगिता अन्तरगत हुने ४६ खेलहरूमध्ये सिद्धार्थ रंगशालामा १७, एक्स्ट्राटेकमा १५ र लमहीमा १४ खेल खेलाइने क्रिकेट सङ्घ लुम्बिनीका अध्यक्ष संजय गुरुङले बताए ।
प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोली गरी कुल १० टोलीहरूको सहभागिता रहेको छ । खेलहरू सिंगल राउन्ड रोबिनका आधारमा खेलाइने छ । लिग चरणमा सबै टोलीले एक आपसमा खेलेपछि शीर्ष २ टोलीका बीच फाइनल खेल हुनेछ ।
प्रतियोगिताको पहिलो दिन फागुन २५ गते एकै पटक तिन वटै मैदानमा उद्घाटन खेल हुनेछन् । आइतबार सिद्धार्थ रंगशालामा कोशी प्रदेश र लुम्बिनी प्रदेश, एक्स्ट्राटेकमा वागमती प्रदेश र एपिएफ तथा लमहीमा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशवीच खेल हुनेछ ।
प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, नेपाल एपीएफ क्लब, गण्डकी प्रदेश, कोशी प्रदेश, कर्णाली प्रदेश, नेपाल पुलिस क्लब, बागमती प्रदेश, लुम्बिनी प्रदेश, मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशको सहभागिता रहेको छ ।
उता प्रधानमन्त्री कप एक दिवसीय महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना गरी आफ्नो क्षमता देखाएको लमही क्रिकेट मैदानमा पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका १४ वटा खेल हुँदैछ ।
पूर्वपश्चिम राजमार्गसँग दाङको लमहीमा रहेको देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा प्रतियोगिता सफल बनाउन आवश्यक तयारीको कामहरू मैदान सम्म्याउने, पिच निर्माण, दर्शक दीर्घा व्यवस्थापन, भौतिक पूर्वाधार मर्मत सम्भारकासंगै सुरक्षाको प्रबन्धसहितको कार्य सकिएको छ ।
प्रतियोगितालाई लक्षित गर्दै मैदान मर्मत सम्भारका काम सकिएको बताउँदै नेपाल क्रिकेट सङ्घ दाङ जिल्ला अध्यक्ष प्रदीप मजगैँयाले प्रतियोगिताका खेलहरू हेर्नका लागि टिकट लाग्ने व्यवस्था गरिएको बताएका छन् । उक्त मैदानमा पहिलो दिन कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशकावीच खेल हुनेछ ।
रुपन्देही तिलोत्तमा नगरपालिकामा निमार्णाधीन एक्स्ट्राटेक ओभल अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पिएम कपका १५ खेलहरू हँुदैछन् । यस मैदानमा प्रतियोगिताको उद्घाटनको दिन बागमती प्रदेश र एपिएफकावीच खेल हुनेछ ।
प्रधानमन्त्री कप क्रिकेटका लागि एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियम तयार भएको प्रबन्ध निर्देशक विनोद कुँवरले बताएका छन् । उनी मैदानमा आएर खेल हेर्न र क्रिकेटरको हौसला बढाई दिन क्रिकेटप्रेमीलाई अपिल गर्दै पहिलो पटक पीएम कपका सबै खेल लुम्बिनीमा हुनु गौरवको कुरा भएको बताउँछन् ।
यस मैदानमा प्रतियोगिताका लागि सातमध्ये तीन पिचमा खेलाउन लागिएको क्यूरेटर माधव पाठकले जानकारी दिए । ग्रासी पिच बनाइएको हुँदा बलर र व्याटरले आफ्नो क्वालिटी देखाउनसक्ने पाठकको भनाई छ ।
अघिल्लो संस्करणको पिएम कपका केही खेलहरू आयोजना गरिसकेको भैरहवास्थित सिद्धार्थ रंगशाला यस पटकको पिएम कपका खेलहरू आयोजना गर्ने महत्वपूर्ण मैदानका रुपमा चुनिएको छ । प्रतियोगिताको फाइनल खेल यसै मैदानमा हुँदैछ । कुनैबेला मेला महोत्सव र राजनीतिक सभा गर्ने स्थलका रूपमा सीमित रहेको यस रंगशालामा पिएम कपको तयारी भएको रुपन्देही जिल्ला क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापा बताउँछन् । उक्त मैदानमा पहिलो खेल कोशी प्रदेश र लुम्विनी प्रदेशकावीच हुनेछ ।
खेलाडीलाई अवसर, दर्शक उत्साहित
प्रतियोगितामा नेपालका विभिन्न प्रदेश तथा विभागीय टिमका उत्कृष्ट खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन् । प्रधानमन्त्री कपलाई नेपाली क्रिक्रेटमा खेलाडी उत्पादनको मञ्चका रूपमा हेरिन्छ ।
राष्ट्रिय टिमका धेरै खेलाडीहरू यिनै घरेलु प्रतियोगिताबाट उदाएका छन् । नेपाल क्रिकेट सङ्घ क्यानको आयोजनामा हुने यो प्रतियोगिताले नेपाली क्रिकेटमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ ।
स्थानीय तह र खेलप्रेमीहरू पनि प्रतियोगिताप्रति उत्साहित देखिएका छन् । नेपाल क्रिकेट सङ्घ दाङ जिल्ला अध्यक्ष प्रदीप मजगैँयाका अनुसार प्रतियोगितामा दर्शकको सहभागिता उत्साहजनक बनाउन टिकट व्यवस्थापन, सुरक्षा योजना, र स्वास्थ्य सहायता सेवाका तयारी पनि भइरहेको छ ।
प्रतियोगिता हेर्न लमही, भैरहवा, बुटवललगायतका स्थानबाट दर्शकको ठूलो उपस्थिति हुने अपेक्षा गरिएको नेपाल क्रिकेट सङ्घ दाङ जिल्ला उपाध्यक्ष किशोर घर्ती मगरले बताए । लमहीका युवा खेल प्रेमी तथा देउखुरी क्रिकेट क्लवका सदस्य प्रेम पुलामी आफ्नो घरछेउँकै मैदानमा यति ठूलो प्रतियोगिता हुन लागेकोमा धेरै खुसी लागेको बताए ।
प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिता सफल बनाउन स्थानीय तह, खेल प्रेमी, संघसंस्था तथा व्यवसायीहरूसमेतले सक्दो सहयोग गर्न आह्वान गरिएको छ । नेपाल क्रिकेट संघले प्रतियोगिताले नेपाली क्रिकेटलाई थप उचाइमा पु¥याउने विश्वास लिएको छ ।
नेपाल क्रिकेट सङ्घ लुम्बिनीका अध्यक्ष संजय गुरुङले तीनै स्थानमा सबै व्यवस्थान गरिएको र यो अवसर यहाँका खेलप्रेमीलाई ठूलो अवसर भएको बताए ।
प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि लुम्बिनी प्रदेशको टिमको रुपन्देहीका क्रिकेटर देव खनालको कप्तानीमा १५ सदस्यीय टोली रहेको छ ।
संघका अध्यक्ष संजय गुरुङकाअनुसार नेपाली अन्डर–१९ का पूर्वकप्तान समेत रहेका देवको टिममा आकाश त्रिपाठी, मिर्नाल गुरुङ, प्रज्वल थापा, मनिष थापा, सम्राट भुसाल, सुशान्तसिंह थापा, नरबहादुर सार्की, वीरबहादुर घर्ती, रमेश कुर्मी, निर्मल गुरुङ, अजय चौहान, कृष्ण कार्की, सल्लाउद्दिन खान र विपर्शन केसी छन् ।
यस्तै, अतिक्ति खेलाडीमा तुलबहादुर थापा, राजेन्द्र बम, रौनक श्रीबास्तव, दिनेश बोहोरा र मोहम्मद हुसेन छन् । टिमको प्रशिक्षकमा बसन्त शाही, टिम व्यवस्थापकमा शंकर राना र भिडियो एनालिस्टमा कृष्ण भुसाल रहेको संघले जनाएको छ ।
लुम्बिनीले पहिलो खेल कोशी प्रदेशसँग सिद्धार्थ रंगशालामा खेल्ने छ ।