Category: खेल प्रेस

  • ला-लिगा : एट्लेटिकोविरुद्ध बार्सिलोनाको जित

    ला-लिगा : एट्लेटिकोविरुद्ध बार्सिलोनाको जित

    हेटौँडा । स्पेनिस ला लिगाको आइतबार राती सम्पन्न खेलमा एट्लेटिको मड्रिडलाई पराजित गर्दै बार्सिलोना पुनः पहिलो स्थानमा पुगेको छ ।

    तेस्रो स्थानको एट्लेटिकोलाई बार्सिलोनाले ४-२ ले पराजित गरेको हो । बार्सिलोनाको जितमा फेरन टोरेसले दुई गोल गर्दा रोबर्ट लेबन्डोस्की र लामिने यामलले समान एक-एक गोल गरे ।

    एट्लेटिकोको तर्फबाट भने जुलियन अल्भारेज र अलेक्जेन्डर सोरलोथले गोल गरे ।

    जितपछि २७ खेलबाट ६० अङ्क सहित बार्सिलोना पुनः पहिलो स्थानमा उक्लिएको छ । २८ खेल खेलेको रियल मड्रिडको पनि ६० नै अङ्क छ तर गोल अन्तरको आधारमा उ दोस्रो स्थानमा छ । पराजित एट्लेटिको भने ५६ अङ्क सहित तेस्रो स्थानमा छ ।

  • ७० वर्षमा पहिलो पटक न्युक्यासलले जित्यो प्रमुख घरेलु ट्रफी

    ७० वर्षमा पहिलो पटक न्युक्यासलले जित्यो प्रमुख घरेलु ट्रफी

    हेटौँडा । लिभरपुललाई हराउँदै न्यूक्यासल युनाइटेडले ७० वर्षमा पहिलो पटक घरेलु प्रमुख ट्रफी काराबाओ कप जितेको छ । आइतबार राती वेलम्बी रंगशालामा भएको फाइनल प्रतिस्पर्धामा इपीएल लिग लिडर लिभरपुललाई २-१ ले पराजित गर्दै न्युक्यासलले इतिहास रचेको हो ।

    १९५५ को एफए कप फाइनल जितेदेखि इङ्ल्याण्डको उत्तर-पूर्वी टोलीले घरेलु प्रतियोगितामा कुनै पनि प्रमुख ट्रफी जितेको थिएन, तर आइतबार त्यो दौड अन्ततः समाप्त भएको छ ।

    एडी होवे सन् २००८ पछि प्रिमियर लिग क्लबसँग प्रमुख ट्रफी जित्ने पहिलो अंग्रेजी प्रशिक्षक बने । न्युक्यासललाई उपाधि जिताउन ड्यान बर्न र अलेक्ज्याण्डर इसाकले गोल गरे ।

    ३२ हजार दर्शकबीच भएको खेलमा न्युक्यासलले आफ्नो ७० वर्षको उपाधि भोक मेटाउँदै लिभरपुललाई निराश बनाउन सफल बन्यो ।

    पेरिस सेन्ट-जर्मेन विरुद्धको युइएफए च्याम्पियन्स लिगको हारको पाँच दिनपछि अर्को निराशाजनक प्रदर्शन गरेको लिभरपुल इङ्लिस फुटबलको सबैभन्दा प्रतिष्ठित इपीएल उपाधिको लागि केन्द्रित हुनेछ । आर्ने स्टल्सको टोली इपीएलको उपाधि दौडमा उल्लेख्य रूपमा अघि छ ।

  • लण्डन डर्बीमा आर्सनलको जित

    लण्डन डर्बीमा आर्सनलको जित

    हेटौंडा । इंग्लिस प्रिमियर लिग(ईपीएल)को आइतबार सम्पन्न लण्डन डर्बीमा दोश्रो स्थानको आर्सनलले चौथो स्थानको चेल्सीलाई पराजित गरेको छ । आर्सनलको घरेलु मैदान इमिरेट्स स्टेडियममा भएको खेलमा एकमात्र विजयी गोल मिकेल मेरिनोले पहिलो हाफको २० औं मिनेटमा गरे ।

    आइतबारको जितसङ्गै आर्सनल अझै पनि उपाधि होडमा रहेको छ । २९ औं चरणको खेल सकिदासम्म आर्सनल पहिलो स्थानको लिभरपुलभन्दा १२ अंकले पछि छ । उसको ५८ अङ्क भएको छ भने समान खेलबाट लिभरपुलको ७० अङ्क छ ।

    पराजित चेल्सीको भने आगामी सिजन च्याम्पियन्स लिग खेल्ने संभावनालाई आजको हारले थप समस्या बनाएको छ । हाल च्याम्पियन्स लिगको लागि आवश्यक चौथो नम्बरमा रहेपनि उ भन्दा पछि अर्को शसक्त टोली म्यान्चेस्टर सिटीले उस्लाई पछ्याउँदै छ । आर्सनलको ४९ अंक हुँदा सिटी ४८ अंक सहित पाँचौ स्थानमा छ ।

    आइतबारनै भएको अर्को खेलमा टोटनह्याम्पलाई २-० ले हराउँदै फुलहमले पनि आगामी सिजन च्याम्पियन्स लिग खेल्ने आफ्नो संभावनालाई जिवित राखेको छ ।

    २९ खेलबाट ४५ अङ्क सहित आठौं स्थानमा रहेको फुलहम चौथो स्थानको चेल्सीभन्दा जम्मा ४ अंक मात्र पछि छ । पराजित टोटनह्याम्प भने ३४ अंक सहित १४ औं स्थानमा छ ।

  • पीएम कप क्रिकेट : मंगलबार एपीएफ, लुम्बिनी र कोशी प्रदेश विजयी

    पीएम कप क्रिकेट : मंगलबार एपीएफ, लुम्बिनी र कोशी प्रदेश विजयी

    रुपन्देही । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा आइतबार भएका तीन खेलमा नेपाल एपीएफ क्लब, लुम्बिनी प्रदेश र कोशी प्रदेशले जित निकालेका छन् । भैरहवाको सिद्धार्थ रंगशालामा भएको खेलमा एपीएफले कर्णालीलाई ५ विकेटले पराजित गर्दै जित हात पार्यो ।

    १ सय ९० रनको लक्ष्य एपीएफले ३९ ओभर २ बलमा ५ विकेट गुमाएर १ सय ९३ रन बनाउँदै पूरा गर्यो । एपीएफको जितमा दीपक बोहराले नटआउट सर्वाधिक ७० रन जोडे । यस्तै, सुमित महर्जनले नट आउट ३४, ओपनर आसिफ शेखले २५ तथा लोकेश बम र रोहित पौडेलले समान २२–२२ रन बनाए ।

    कर्णालीका दिवान पुन र दीपेन्द्र रावतले समान २–२ तथा प्रकाश जैसीले १ विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङ गरेको कर्णाली ४७ ओभरमा सबै विकेट गुमाएर १ सय ८९ रन बनाएको थियो ।

    उसका लागि सुनिल धमलाले४७, दिनेश अधिकारीले ३३, दीपेन्द्र रावतले ३० र प्रकाश जैसीले २० रन बनाए । एपीएफका अभिषेश गौतमले ४, कमलसिंह ऐरीले २ तथा किशोर महतो, दीपक बोहरा, रोहित पौडेल र भुवन कार्कीले समान १–१ विकेट लिए ।

    यस्तै, दाङको लमहीस्थित देउखुरी क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनी प्रदेशले बागमती प्रदेशमाथि ४८ रनको जित हात पारेको हो । टस जितेर ब्याटिङ गरेको लुम्बिनीले ३२ ओभर ४ बलमा सबै विकेट गुमाएर १ सय १५ रन बनायो ।

    लुम्बिनीका लागि आकाश त्रिपाटीले सर्वाधिक ३३, कप्तान देव खनाल र मनिष थापाले समान १५–१५ रन बनाए । बागमतीका गौतम केसीले ४, सूर्य तामाङ र इशान पाण्डेले समान २–२ तथा सोनु देवकोटा र रिजन ढकालले १–१ विकेट लिए ।

    १ सय १६ रनको लक्ष्य पछ्याएको बागमती २२ ओभर ५ बलमा ६७ रन जोड्दा अलआउट भयो । उसका लागि कप्तान पृथु बाँस्कोटाले सर्वाधिक १५, आशुतोष घिरैया र सुमन सुनारले समान ११–११ रन जोडेर पेभेलियन फर्किए ।

    बागमतीका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । लुम्बिनीका अजय चौहान र विप्रशन केसीले समान ३–३ तथा रमेश कुर्मी र निर्मल गुरुङले २–२ विकेट लिए ।

    यस्तै, आइतबार नै रुपन्देहीको तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा भएको खेलमा कोशी प्रदेशसँग गण्डकी प्रदेशले लज्जास्पद हार भोगेको हो ।

    प्रतियोगितामा कोशीले भने पहिलो जित हात पारेको छ । आफ्नो पहिलो जित निकाल्ने क्रममा कोशीले गण्डकीलाई ९ विकेटले पराजित गर्यो ।

    गण्डकीले दिएको ३२ रनको झिनो लक्ष्य कोशीले ८ ओभर २ बलमा १ विकेट गुमाएर सहजै पूरा गर्यो । कोशीका सकिब हकले नटआउट रहँदै सर्वाधिक १६ र चिराग साहले १० रन बनाए । गण्डकीका सुवास भण्डारीले १ विकेट लिए ।

    त्यसअघि टस जितेर ब्याटिङ रोजेको गण्डकी २० ओभर ४ बलमा ३१ रन बनाउँदा अलआउट भयो । यो पीएम कपको इतिहासकै कम रन बन्ने पहिलो इनिङ बन्यो । कोशीविरुद्ध गण्डकीका कुनै ब्याटरले पनि दोहोरो अंकमा रन जोड्न सकेनन् ।

    गण्डकीका अर्जुन कुमालले बनाएको ९ रन नै सर्वाधिक बन्यो । गण्डकीका ४ ब्याटरले रनको खाता खोल्न नै सकेनन् । कोशीका विपिन महतोले ८ ओभर बलिङ गर्दै १७ रन खर्चिएर ६ विकेट लिए । फिर्दोस अन्सारीले ३ तथा दीपेश कंडेलले १ विकेट लिए ।

    एपीएफ खेलेका ४ खेलमध्ये ३ मा जितकासाथ तेस्रो स्थानमा उक्लिएको छ । कर्णाली ५ खेलमा चौथो हारका साथ २ अंकमा छ । ४ खेलमा तेस्रो जित हासिल गरेको लुम्बिनी चौथो स्थानमा छ । चौथो खेलमा तेस्रो हार बेहोरेको बागमती नवौं स्थानमा छ । यस्तै, एक–एक खेल जितेका कोशी र गण्डकीको २–२ अंक छ ।

  • ओलम्पिक कमिटीको अहिलेका गतिविधि अवैध : खेलकुदमन्त्री चौधरी

    ओलम्पिक कमिटीको अहिलेका गतिविधि अवैध : खेलकुदमन्त्री चौधरी

    काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले नेपाल ओलम्पिक कमिटीको नयाँ कार्यसमितिका गतिविधि गैरकानुनी रहेको जनाएको छ ।

    आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै खेलकुद मन्त्री तेजुलाल चौधरीले ओलम्पिक कमिटीको अहिलेको कार्यसमिति अवैधानिक रहेकाले कार्यसमितिका गतिविधि गैरकानुनी रहेको बताए ।

    नयाँ कार्यसमिति चयनका लागि चुनाव नभएसम्म ओलम्पिक कमिटीले गर्ने कुनै पनि काम कानुन बमोजिम नहुने उनले बताए । उनले ओलम्पिक कमिटीको कार्यसमिति अवैधानिक भएपनि खेलाडीलाई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न जान राष्ट्रिय खेलकुद परिषद् र मन्त्रालयले सहजीकरण गर्ने बताए ।

    मन्त्री चौधरीले सरकारले खेलकुद क्षेत्रमा हस्तक्षेप गरेको भन्दै ओलम्पिक कमिटीले लगाएको आरोपको खण्डन गरे। उनले खेल क्षेत्रलाई मर्यादित बनाई राष्ट्रको गरिमा उच्च राख्न र खेलाडीको प्रोत्साहन सहितका कार्यका लागि सदैव प्रतिवद्ध रहेको स्पष्ट पारे ।

    यसअघि शुक्रबार ओलम्पिक कमिटीले पत्रकार सम्मेलन गर्दै सरकारले खेलाडी र पदाधिकारीलाई अन्तराष्ट्रिय प्रतियोगितामा भाग लिन अवरोध गरेको आरोप लगाएको थियो । मन्त्री चौधरीले गलत सूचनामा आधारित भएर कुनै पनि धारणा नवनाउन आग्रह गरे ।

    उनले स्वयत्तता र स्वतन्त्रतताको नाममा देशको कानूनी शासनको धज्जी उडाउने र सरकारी हस्तक्षेपको बहनामा देशको खेल क्षेत्र मनपरि गर्ने कार्य तत्काल बन्द गर्नुपर्ने बताए ।

     

  • लुम्बिनीका स्पिनर चम्किँदा बागमती प्रदेश ६७ रनमा अलआउट

    लुम्बिनीका स्पिनर चम्किँदा बागमती प्रदेश ६७ रनमा अलआउट

    रुपन्देही । लुम्बिनीका स्पिनर चम्किएसँगै लो स्कोेरिङ लक्ष्य बचाउँदै बाग्मती प्रदेशविरुद्ध ४८ रनको सानदार जीत हासिल गरेको छ ।

    दाङको देउखुरीमा जारी नेपाल टेलिकम प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता २०८१ अन्तरगत लुम्बिनी प्रदेशले दिएको ११६ रनको सामान्य लक्ष्य पछ्याएको बाग्मती प्रदेश २२ दशमलव ५ ओभरमा अलआउट हुँदै ६७ रनमा समेटियो ।

    लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा प्रतियोगिताको आठौँ दिनको २० औँ खेलमा जवाफी ब्याटिङ गरेको वाग्मतीले पहिलो पावर प्लेमा ४ विकेट गुमाएर ३६ रन बनाएको थियो ।

    दोस्रो पावर प्लेमा आई पुग्दा बाग्मती अलआउट भयो । बागमतीलाई लो स्कोर टारगेटमा पनि रोक्न लुम्बिनीका स्पिनरले उत्कृष्ट बलिङ गर्दै ६ ब्याटरलाई बोल्डआउट गरे । एक ब्याटर एलबीडब्लूको सिकार हुँदा २ ब्याटर क्याचआउट हुँदा १ जना स्टम्पिङ आउट भए ।

    ११६ रनको विजयी लक्ष्य पछ्याएको वाग्मती प्रदेशका लागि कप्तान पृथु बास्कोटाले २६ बलमा २ चौकासहित १५ रन बनाउँदा विप्रसन केसीको बलमा बोल्ड भए । पहिलो विकेटका रुपमा रित गौतमलाई दोस्रो ओभरको अन्तिम बलमा स्पिनर निर्मल गुरुङ शून्य रनमा आउट गरेपछि शुरु भएको विकेट पतनको सिलसिला स्पिनरको धारिलो बलिङले कायम राख्यो ।

    ओपनर आशुतोष घिरैया १५ बलमा २ चौकाको मद्दतमा ११ रन बनाएर रमेश कुर्मीको बलमा आउट भए । शुभ कंशाकार निर्मल गुरुङको बलमा २ रनमा बोल्ड भए । ईशान पाण्डे शून्य रनमा रमेश कुर्मीको बलमा थापाले स्टम्पिङ आउट गरे । सूर्य तामाङ १० बलमा ६ रन बनाएर अजय चौहानको बलमा बोल्ड हुँदा विवेक मगरलाई विप्रसन केसीले ३ रनमा बोल्ड गरे । सुमन सुनार ११ रन बनाएर अजय चौहानको बलमा नरबहादुर सार्कीको हातबाट मिडअनका उत्कृष्ट क्याचआउट भए ।

    गौतम केसी ८ रनमा अविजित रहँदा सोनु देवकोटालाई विप्रसन केसीले शून्य रनमा आउट गर्दा र रिजन ढकाललाई अजय चौहानले अन्तिम विकेटका रुपमा शुन्य रनमा पेभेलियन फर्काएपछि २२ दशमलव ५ ओभरमा लुम्बिनीले खेल आफ्नो पक्षमा पार्यो । लुम्बिनीका अजय चौहानले ५ दशमलव ५ ओभरमा २ मेडनसहित १४ रन दिएर ३ विकेट लिए ।

    विप्रसन केसीले पनि ६ ओभर बलिङ गर्दै १३ रन खर्चेर ३ विकेट लिए । निर्मल गुरुङले ५ ओभरमा २ मेडनसहित १९ रन खर्चेर २ विकेट लिँदा रमेश कुर्मीले ५ ओभरमा ३ मेडनसहित १५ रन खर्चेर २ विकेट लिए ।

    प्रतियोगितामा कसिलो बलिङ गर्दै जीतको आधार तय गरेका लुम्बिनीका विप्रसन केसी प्लेयर अफ द म्याच भए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनी प्रदेश ३२ दशमलव ४ ओभरमा अलआउट हुँदै ११५ रन बनाएको थियो ।

    लुम्बिनीलाई सस्तैमा समेट्न वाग्मतीका सबै बलरले उत्कृष्ट बलिङ गरे । पाँच बलर प्रयोेग गरेको वाग्मतीका सबै बलरले विकेट लिए । छैठौं ओभरबाट शुरु भएको विकेट पतन ३३ ओभरमा पुगेर टुंगियो । आकाश त्रिपाठीले ३३ रन जोड्नु बाहेक अरु खेलाडीले धैर्यता देखाउन सकेनन् ।

    छैठौं ओभरको पाँचौं बलमा रिजन ढकालले ओपनर मृनाल गुरुङलाई व्यक्तिगत ५ रनमा पेभेलियन फर्काए । स्लो रन शुरुवात गरेको लुम्बिनी प्रदेशका खेलाडीले पहिलो पावर प्लेमा २ विकेटको क्षतिमा ३५ रन जोडेका थिए । अर्को ओपनर मनिष थापा ३५ बलको सामना गर्दै १ चौकाको मद्दतमा १५ रन बनाउँदै ईशान पाण्डेको बलमा ढकालको हातबाट क्याच आउट भए ।

    लुम्बिनीका कप्तान देव खनालले २७ बल खेल्दै १ चौकासहित १५ रन बनाएर सूर्य तामाङको बलमा तेस्रो विकेटका रुपमा आउट भए । प्रज्वल थापा ६ रन जोडेर ईशान पाण्डेको बलमा बोल्डआउट भए ।

    विप्रसन केसी २० बल खेलेर जम्मा ९ रन बनाउँदै गौतम केसीको बलिङमा विकेट किपर विबेक मगरबाट क्याच आउट भए । कृष्ण कार्की १५ बल खेल्दै १ छक्कासहित ७ रन बनाएर गौतम केसीको बलमा लङअनमा सोनु देवकोटाको उत्कृष्ट क्याचमा पेभेलियन फर्किए । निर्मल गुरुङ पाँच बल डट खेलेर शुन्य रनमा आउट हुँदा नरबहादुर सार्की सूर्य तामाङको बलमा रित गौतमको हातबाट क्याच आउट भए ।

    रमेश कुर्मी ८ बल खेलेर गौतम केसीको बलमा बोल्ड भए । लुम्बिनीलाई लो स्कोरमा समेट्न गौतम केसीले पाँच दशमलव ४ ओभरमा २१ रन खर्चेर ४ विकेट लिए । सूर्य तामाङले ८ ओभरमा १ मेडनसहित जम्मा १४ रन दिएर २ विकेट लिँदा ईशान पाण्डेले पनि ७ ओभरमा १ मेडनसहित १९ रन खर्चेर २ विकेट लिए ।

    रिजन ढकालले २४ रन दिएर १ विकेट लिँदा सोनु देवकोटाले ३७ रन खर्चेर १ विकेट लिए । जारी प्रतियोगितामा लुम्बिनी ४ खेलमा ३ मा जीत निकाल्दै ६ अंकका साथ चौथो स्थानबाट तेस्रो स्थानमा उक्लिएको छ । उता, वाग्मती प्रदेश चार खेलमा १ मा जीत निकाल्नु बाहेक अरु खेलमा सुखद नतिजा निकाल्न सकेको छैन ।

    अब प्रतियोगिता अन्तरगत भोली सोमबार लमहीमा लुम्बिनी प्रदेश र मधेश प्रदेशबीच बिहान ९ बजेपछि खेल हुनेछ । नेपाल क्रिकेट संघ क्यानको आयोजना, प्रदेश क्रिकेट संघको समन्वय तथा दाङ क्रिकेट संघको व्यवस्थापनमा जारी प्रतियोगितामा ३ विभागीय टीम आर्मी क्लब एपीएफ क्लब र नेपाल पुलिस क्लबसहित सात प्रदेश टीमले खेलीरहेका छन् ।

    फागुन २५ गतेबाट लुम्बिनी प्रदेशको रुपन्देही र दाङमा प्रतियोगिता जारी छ । दाङसहितमा रुपन्देहीको सिद्धार्थ क्रिकेट रंगशाला र एक्स्ट्राटेक ओभल मैदानमा एकैसाथ शुरु भएको प्रतियोगिताका खेलहरु राउण्ड रोविनका आधारमा भइरहेका छन् । हरेक टीमले एक अर्को टीमसँग खेल्नेछन् । आगामी चैत १६ गतेसम्म चल्ने प्रतियोगिता अन्तरगत दाङमा १४ वटा खेल हुने तालिका रहेको छ ।

  • अन्तर उपत्यकाव्यापी क्लब स्तरीय व्हीलचियर बास्केटबल प्रतियोगिता हुने

    अन्तर उपत्यकाव्यापी क्लब स्तरीय व्हीलचियर बास्केटबल प्रतियोगिता हुने

    काठमाडौं । नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघको आयोजना तथा बागमती प्रदेश सरकार युवा तथा खेलकुद मन्त्रालयको सहयोगमा अन्तर उपत्यका व्यापी क्लब स्तरीय व्हीलचियर बास्केटबल प्रतियोगिता हुने भएको छ ।

    २०८१ चैत्र ४ र ५ गते दशरथ रंगशालाको कबर्डहलमा हुने उक्त प्रतियोगितामा पुरुषका ७ टिम र महिलाको ६ टिम बीच आआफ्नो विधामा प्रतिस्पर्धा हुने नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघका अध्यक्ष देवी आचार्यले बताए ।

    अध्यक्ष आचार्यले प्रथम हुने क्लबलाई ५० हजार द्वतीय हुने क्लबलाई ४० हजार र तृतीय हुने क्लबलाई ३० हजारका दरले नगद पुरस्कार राशि रहेको बताए । त्यसै गरी प्रतियोगिताभरि उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी र सबैभन्दा धेरै स्कोर गर्ने खेलाडीलाई पनि छुट्टै नगद पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष आचार्यले बताए ।

    अन्तर उपत्यकाव्यापी क्लब स्तरीय व्हीलचियर बास्केटबल प्रतियोगिताका मुख्य रेफ्री समेत रहेका वरिष्ठ रेफ्री प्रेम सुन्दर होनाका अनुसार प्रतियोगिता लिग चरणमा हुने र प्रत्येक पोलका विजेता र उपविजेता सेमिफाइनलमा पुग्ने बताए ।

    रेफ्री होनाका अनुसार लिग चरणका खेलहरू ६ मिनेट सेमिफाइनल र तेस्रो स्थानका लागि हुने खेलहरू ७ मिनेट अनि फाइनल खेलहरू ८ मिनेटमा खेलाइने छ ।

    प्रतियोगितामा महिला र पुरुष गरी १५० जना भन्दा बढी खेलाडीहरूको सहभागिता रहने आयोजक संस्थाले जानकारी दिएको छ ।

  • च्याम्पियन्स लिग खेल्ने नटिंघमको सम्भावना बलियो, कमजोर भयो सिटी

    च्याम्पियन्स लिग खेल्ने नटिंघमको सम्भावना बलियो, कमजोर भयो सिटी

    हेटौँडा । रेलिगेसन जोनमा रहेको इस्विच टाउन विरुद्ध महत्त्वपूर्ण जित निकाल्दैनटिङ्घम फरेस्टले आगामी सिजनको च्याम्पियन्स लिग खेल्ने आफ्नो सपनालाई थप मजबुत बनाउँदा प्रिमियर लिगको डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटी भने ब्राइटनसँग बराबरी खेल्दै च्याम्पियन्स लिग खेल्न पनि संघर्ष गर्नुपर्ने अवस्थामा पुगेको छ ।

    गए राती भएको खेलमा इस्विचमाथि ४–२ को जित हासिल गर्दै नटिंघमलेअर्को सिजन च्याम्पियन्स लिग फुटबल जित्ने आशालाई बढायो । जसले नटिंघमको तेस्रो स्थान थप मजबुत बन्न पुगेको छ । उसले चौथो स्थानको चेल्सी भन्दा स्पष्ट पाँच अंक र पाँचौँ स्थानको सिटीभन्दा ६ अंकको अग्रता हासिल गरेको छ ।

    यता सिटीले ब्राइटनसँगको बराबरीपछि ४८ अंक जोडेको छ । उसले २९ खेल खेलेको छ । सिटी भन्दा एक खेल कम खेलेको न्युक्यासल युनाईटेडको ४७ अंक छ । यदि उसले आगामी २९ औँ खेलमा जित हासिल गरेमा सिटी छैटौँ स्थानमा धकेलिने निश्चित छ ।

    इपिएलमा आज एउटा महत्त्वपूर्ण खेल हुनेछ । आज हुने खेलमा दोस्रो स्थानको आर्सनलले चौथो स्थानको चेल्सीसँग खेल्दैछ । यो नतिजाले पनि च्याम्पियन्स लिग खेल्ने टीमहरुको अंकमा उलटफेर नहुने भए पनि स्थान मजबुतीमा भने अर्थ राख्नेछ ।

    छैटौँ स्थानमा रहेको न्युक्यासलले आजै प्रिमियर लिगको लिग लिडर लिभरपुलसँग काराबाओ कप फाइनलमा भिड्दै छ । न्युक्यासल जस्तै ब्राइटनको पनि ४७ अंक छ भने बर्नमाउथको पनि त्यो अंक बराबरी गर्ने आशा घरेलु मैदानमा ब्रेन्टफोर्डसँग २–१ ले पराजित भएपछि कमजोर बनेको छ।

  • रुपन्देही र दाङमा पीएम कप क्रिकेटका तीन खेल हुँदै

    रुपन्देही र दाङमा पीएम कप क्रिकेटका तीन खेल हुँदै

    रुपन्देही । रुपन्देही र दाङमा जारी पीएम कप क्रिकेट प्रतियोगितामा आज तीन खेल हुँदै छन् ।

    कोशी प्रदेश र गण्डकी प्रदेशबीच हुँदै एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा बिहान ९ बजेदेखि खेल शुरु हुनेछ ।

    जारी प्रतियोगितामा कोशी प्रदेशले अहिलेसम्म खेलेका चारै खेलमा हार बेहोरेर पहिलो जितको खोजीमा रहेको छ भने गण्डकी प्रदेशले ३ खेलमा एक जित र २ खेलमा हार बेहोरेको छ ।

    त्यस्तै आज अर्को खेल एपीएफ क्लब र कर्णाली प्रदेशबीच हुँदैछ । सिद्धार्थनगर रंगशालामा हुने यो खेल बिहान ९ बजेदेखि शुरु हुने छ ।

    जारी प्रतियोगितामा एपीएफले ३ खेलमा २ जित र एक हार बेहोरेको छ भने कर्णाली प्रदेशले ३ खेलमा एक जित र २ हार बेहोरेको छ ।

    त्यस्तै आज अर्को खेल लुम्बिनी प्रदेश र बागमती प्रदेशबीच देउखुरी क्रिकेट स्टेडियममा बिहान ९ बजेदेखि खेल शुरु हुँदै छ ।

    जारी प्रतियोगितामा लुम्बिनी प्रदेशले ३ खेलमा २ जित र एक हार बेहोरेको छ भने बागमती प्रदेशले ३ खेलमा एक जित र २ हार बेहोरेको छ ।

  • ला लिगा- रियल पुनः पहिलो स्थानमा

    ला लिगा- रियल पुनः पहिलो स्थानमा

    हेटौँडा । स्टार फर्वाड केलियन एम्बाप्पेले दुई गोल गरेपछि स्पेनिस ला-लिगामा रियल रियल म्याड्रिडले भिल्ला रियललाई पराजित गर्दै तालिकाको पहिलो स्थानमा पुगेको छ ।

    आइतबार राति भएको खेलमा सातौँ मिनेटमा भिल्लाको तर्फबाट हुवा फोयथले गोल गर्दै घरेलु टोलीलाई पहिलो अग्रता दिलाएका थिए ।

    तर फ्रेन्च स्टार एम्बाप्पेले १७ र २३ औँ मिनेटमा गोल गरेपछि रियल विजयी भएको हो ।

    जितपछि २८ खेलबाट ६० अङ्क सहित रियल पहिलो स्थानमा उक्लँदा २६ खेल खेलेको बार्सिलोना ५७ अङ्क सहित दोस्रो स्थानमा छ ।

    गएराति नै भएको अर्को खेलमा गिरोना र भ्यालेन्सिया १-१ को बराबरीमा रोकिएका छन् भने मालोर्काले स्पानियोललाई २-१ ले पराजित गरेको छ ।

  • प्रधानमन्त्री कप क्रिकेटः आर्मी र पुलिसको लगातार चौथो जित

    प्रधानमन्त्री कप क्रिकेटः आर्मी र पुलिसको लगातार चौथो जित

    रुपन्देही । प्रधानमन्त्री कप पुरुष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा ओपनर तृतराज दासको शतकमा त्रिभुवन आर्मी क्लबले लगातार चौथो जित निकालेको छ ।

    आर्मीले शनिबार भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा कोशी प्रदेशलाई ७ विकेटले हराएको हो । उसले २३१ रनको लक्ष्य ४७.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो ।

    आर्मीको जितमा ओपनर तृतराज दासले नटआउट सर्वाधिक ११२ रन जोडे । यस्तै बसिर अहम्मदले अविजित ६१ र विनोद भण्डारीले २७ रन बनाए ।

    कोशीका लागि प्रकाश कार्की, सन्दीप ढुगांना र भुपाल लुइँटेलले समान १-१ विकेट लिए ।

    त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कोशीले ४९.३ ओभरमा २३० रन बनाएको थियो । कोशीका लागि सुभान गहतराजले सर्वाधिक ५१ रन जोडे । यस्तै सोनु अन्सारीले ४४ र सुजन थपलियाले ४२ रन जोडे ।

    आर्मीका लागि सोमपाल कामीले ४, शाहब आलम र आकाश चन्दले समान २-२ तथा कुशल मल्लले १ विकेट लिए । आर्मी अहिलेसम्मका ४ वटै खेलमा अपराजित रहँदै ८ अंक बटुलेको छ । खेलेका सबै चारै खेलमा पराजित कोशी अंकतालिकाको पुछारमा छ ।

    त्यस्तै उपाधि दावेदारी देखाइरहेको नेपाल पुलिस क्लबले मधेश प्रदेशलाई १९३ रन अन्तरले हराउँदै प्रतियोगितामा लगातार चौथो जित निकालेको छ ।

    लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज पुलिस क्लबले दिएको २८९ रनको विशाल लक्ष्य पछ्याएको मधेश प्रदेश ९५ रन बनाउँदै २६.१ ओभरमै अलआउट भयो ।

    मधेशलाई सस्तैमा समेट्न आजको खेलमा पनि ललितनारायण राजवंशीले सानदार बलिङ गरेर महत्त्वपूर्ण ५ विकेट लिए । पहिलो ओभरको पाँचौं बलमा कप्तान अनिलकुमार साहलाई करण केसीले बोल्ड गर्दै ४ रनमा पेभेलियन फर्काएपछि शुरु भएको विकेट पतन २६.१ ओभरमा सकिएको थियो ।

    मधेशका दीपेश दासले ५९ बल खेल्दै १ छक्का र २ चौकाको मद्दतमा ३१ रन बनाए । रुपेश सिंहले १६, विशाल पटेलले १३, हरिशंकर शाहले ३, रोशन बिकले ८, पवन सर्राफले ३, निखिल सिंहले ७ र कमल गुप्ताले १ रन बनाए । अरु खेलाडीले खाता नै खोल्न सकेनन् ।

    ललितले ९.१ ओभर बलिङ गरेर २ मेडनसहित २८ रन खर्चेर पाँच विकेट लिए । उनले मयन यादव, हरिशंकर शाह, रोशन बिक, दीपेश दास र पवन सर्राफको विकेट लिए । यस्तै कुशल भुर्तेलले ३ ओभर बलिङ गर्दै २ मेडनसहित १२ रन दिएर २ विकेट लिए । पुलिसका करण केसी, सागर ढकाल र कप्तान दीपेन्द्रसिंह ऐरीले समान १-१ विकेट लिए ।

    टीमलाई भारी रन अन्तरले जिताउन महत्त्वपूर्ण भूमिका खेलेका ललित प्लेयर अफ द म्याच भए ।

    टस जितेर पहिले ब्याटिङ गरेको नेपाल पुलिस क्लबले ४९.५ ओभरमा सबै विकेट गुमाउँदै २८८ रन रन बनायो । कप्तान दीपेन्द्रसिंह ऐरीले विस्फोटक पारी खेले । उनले ३६ बल खेल्दै ४ छक्का र ५ चौकाको मद्दतमा ६३ रन बनाउँदै विशाल पटेलको बलमा निखिल सिंहको हातबाट क्याच आउट भए ।

    यसैगरी आरिफ शेखले ५४ बलमा १ छक्का र ४ चौकाको मद्दतमा ५५ रन बनाउँदै विशाल पटेलकै बलमा कप्तान अनिल साहको हातबाट क्याच आउट भए ।

    दिलीप नाथ ४५ रनमा कमल गुप्ताको बलमा एलबीडब्लूको शिकार भए । ओपनर अर्जुन साउदले ४७, शंकर रानाले २७, रसिद खानले १४ र कुशल भुर्तेलले ११ रन बनाए ।

    मधेश प्रदेशका लागि रुपेश सिंहले ४, विशाल पटेलले ३, कमल गुप्ताले २ र रञ्जितकुमारले १ विकेट लिए ।

    आजको जितसँगै पुलिस चार खेलमा अपरााजित हुँदै ८ अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ । मधेश प्रदेश भने ३ खेलमा १ मा जित र दुईमा हार व्यहोर्दै २ अंकका साथ छैटौं स्थानमा झरेको छ ।

  • चोटको कारण नेइमार पुनः टिमबाट बाहिर

    चोटको कारण नेइमार पुनः टिमबाट बाहिर

    काठमाडाैं । ब्राजिलियन स्टार नेइमार जुनियर ब्राजिलियन राष्ट्रिय फुटबल टिमबाट पुनः बाहिरिएका छन् ।

    अक्टोबर २०२३ देखि आफ्नो स्टार खेलाडी बिनानै मैदानमा उत्रिरहेको नेइमारलाई गत महिनाको अन्तिममा ब्राजिलले आफ्नो टिममा राखेको थियो ।

    बायाँ घुँडामा रहेको चोट पूर्ण ठीक भइनसकेको भन्दै सान्तोसका स्टार नेइमार पुनः विश्वकप छनोटबाट बाहिरिएका हुन् ।

    यद्यपि, मार्च २ मा ब्रागान्टिनो विरुद्ध सान्तोसको २-० को जितमा उनको मांसपेशीमा समस्या देखिएको थियो र ब्राजिलियन फुटबलकन्फेडेरेसनले शुक्रबार पुष्टि गर्‍यो कि नेयमारलाई म्यानचेस्टर सिटीका गोलकिपर एडर्सन र फ्लेमेन्गोका डानिलोसँगै टोलीबाट हटाइएको छ।

    उनीहरूको ठाउँमा, ब्राजिलले रियल म्याड्रिडका किशोर फरवार्ड एन्ड्रिक, साथै लियोनका गोलकिपर लुकास पेरी र फ्लेमेन्गोका डिफेन्डर एलेक्स सान्ड्रोलाई बोलाएको छ।

    पहिलो पटक बोलाइएपछि, ब्राजिल राष्ट्रिय टोलीको मेडिकल विभागले हामीलाई सबै खेलाडीहरूको अवस्थाको बारेमा अद्यावधिक गराउँदै आएको छ, विशेष गरी फ्लेमेन्गोका डानिलो, सान्तोसका नेमार र म्यानचेस्टर सिटीका एडरसन,’ब्राजिलका प्रशिक्षक डोरिभल जुनियरलेको एक विज्ञप्ति मार्फत भने।

    ‘मूल्याङ्कन गरिसकेपछि, हामीले घाइते खेलाडीहरूको स्थानमा लियोनबाट लुकास पेरी, फ्लेमेन्गोबाट एलेक्स सान्ड्रो र रियल म्याड्रिडबाट एन्ड्रिकलाई बोलाउने निर्णय गर्यौं।’

  • एनसेल नेपाल सुपर लिगको खेल तालिका सार्वजनिक, पहिलो खेल भ्याली डर्बी काठमाडौं र ललितपुर भिड्ने

    एनसेल नेपाल सुपर लिगको खेल तालिका सार्वजनिक, पहिलो खेल भ्याली डर्बी काठमाडौं र ललितपुर भिड्ने

    काठमाडौं।  प्रतीक्षित एनसेल नेपाल सुपर लिग (NSL) २०२५ ले नेपाली फुटबलप्रेमीहरूलाई रोमाञ्चित पार्ने गरी तेश्रो सिजनको खेलतालिका सार्वजनिक गरेको छ ।

    चैत्र , १६ २०८१ मा सुरु हुने यो सिजन एक महिना लामो कडा प्रतिस्पर्धाको फाइनल खेल भने बैशाख १३ २०८२ मा महा भिडन्तका साथ समापन हुनेछ। एनसेल शीर्ष प्रायोजक रहेको यस सिजनमा ललितपुर सिटी एफसी, काठमाडौं रेजर्स एफसी, पोखरा थन्डर्स एफसी, बुटवल लुम्बिनी एफसी, धनगढी एफसी, झापा एफसी र चितवन गरी नेपालका सात उत्कृष्ट टोलीहरू एनसेल एनएसएल उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।

    एनसेल एनएसएल २०२५ को पहिलो खेल सिजन १ को बिजेता काठमाडौं रेजर्स एफसी र सिजन २ को बिजेता ललितपुर सिटी एफसी बीचको भ्याली डर्बी रहनेछ। यो बहुप्रतीक्षित खेलले फुटबलप्रेमीहरूलाई रोमाञ्चित बनाउनेछ, यो भिडन्तले थप उत्साह र प्रतिस्पर्धात्मक भावना सिर्जना गर्नेछ र सिजन भर नै यो उत्साहलाई कायम राख्नेछ ।

    यो रोमाञ्चक खेलसँगै सिजनको यात्रा सुरु हुनेछ, जहाँ प्रत्येक टोलीले च्याम्पियन बन्ने लक्ष्य राख्नेछ। अप्रिल २६, २०२५ को फाइनल खेलमा यस सिजनको विजेता घोषणा गरिनेछ।

    नेपालको अग्रणी फुटबल मञ्च
    नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्ट (NSEM) द्वारा आयोजित र अखिल नेपाल फुटबल संघ (ANFA) को प्राविधिक सहयोगमा सञ्चालित एनसेल एनएसएल नेपालको प्रमुख व्यावसायिक फुटबल लिग बनिसकेको छ। यो लिगले नेपाली फुटबलको स्तर उकास्ने, नयाँ प्रतिभा निखार्ने र दर्शकहरूलाई अविस्मरणीय क्षणहरू प्रदान गर्ने कार्यमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ।

     

  • प्रधानमन्त्री कप क्रिकेट : पुलिसद्वारा एपीएफविरुद्ध २ विकेटको जित, मैदानमै होली मनाए खेलाडीले

    प्रधानमन्त्री कप क्रिकेट : पुलिसद्वारा एपीएफविरुद्ध २ विकेटको जित, मैदानमै होली मनाए खेलाडीले

    रुपन्देही । दाङमा जारी नेपाल टेलिकम प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता २०८१ मा शुक्रबार भएको खेलमा विभागीय टीम नेपाल पुलिस क्लबले एपीएफ क्लबलाई २ विकेटले पराजित गरेको छ ।

    लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा एपीएफ क्लबले दिएको ९५ रनको लक्ष्य पुलिस क्लबले २६ दशमलव २ ओभरमा ८ विकेटको क्षतिमा पूरा गर्याे । सामान्य लक्ष्य पछ्याएको पुलिसले जित निकाल्न संघर्ष गर्याे ।

    आठ विकेट गुमाई सकेकोे अवस्था दवावमा पुगेको पुलिस क्लबलाई गुल्सन झाले चौका प्रहार गर्दै जित दिलाए । अभिशेष गौतमको बललाई लेगसाईडको दिशा देखाउँदै बाउन्ड्री लगाउँदै एपीएफ विरुद्ध जित निकाले ।

    गुल्सनले २ चौकासहित अविजित १२ रन बनाए । कुशल भुर्तेलले २ चौकासहित ३१ रन बनाउँदा अर्जुन साउदले ११ रन, रासिद खानले १० रनको योगदान दिए । एपीएफका लागि भुवन कार्कीले ७ ओभरमा ३ मेडनसहित ३३ रन खर्चेर ३ विकेट लिए ।

    यसैगरी, कप्तान रोहित पौडेल र अभिशेष गौतमले समान २–२ विकेट लिए । कमल ऐरीको नाममा १ विकेट रह्यो । यसअघि, विभागीय टीम एपीएफ क्लबले नेपाल पुलिस क्लबलाई ९५ रन बनाएको थियो । टस जितेर पहिले ब्याटिङ गरेको एपीएफ क्लब २७ दशमलव ४ ओभरमा अलआउट हुँदै जम्मा ९४ रन बनायो ।

    नेपाल पुलिस क्लबका ललित नारायण राजवंशीले महत्त्वपूर्ण ६ विकेट लिएपछि एपीएफ ९४ रनमा समेटिएको थियो । ललितले ७ दशमलव ४ ओभरमा जम्मा १८ रन खर्चेर ३ मेडनसहित ६ विकेट लिएपछि एपीएफको टीम सस्तैमा समेटियो ।

    एपीएफका लागि लोकेश बमले २२ रन, आसिफ शेखले १८ रन, सन्दीप जोराले २६ रन, अमर रौतेलाले १० रन जोड्नु बाहेक अरु खेलाडी क्रिजमा टिक्न सकेनन् ।

    ललितले आसिफ शेख, सन्दीप जोरा, सुमित महर्जन, भुवन कार्की, कमलसिंह ऐरी र अभिशेष गौतमलाई सिकार बनाउँदै ६ विकेट लिँदा सागर ढकाल, करण केसी, गुल्सन झा, कुशल भुर्तेलले समान १–१ विकेट लिए ।

    पुलिसको जीत आधार तयार पार्न १८ रन दिएर ६ विकेट लिएका ललित नारायण राजवंशी प्लेयर अफ द म्याच भए । पछिल्लो पाँच खेलमा पुलिस क्लब अपराजित टीम हो भने एपीएफले चारमा जित र २ मा हार व्यहोरेको छ । एपीएफ विरुद्ध जित हासिल गर्दै पुलिस क्लबले अंक तालिकामा पनि सुधार गरेको छ ।

    जितसँगै पुलिस क्लब तीन खेलमा सतप्रतिशत जित निकाल्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ भने एपीएफ क्लब तेस्रो स्थानमा झरेको छ । अंक तालिकाको शीर्ष स्थानमा त्रिभुवन आर्मी क्लब रहेको छ ।

    जारी प्रतियोगितामा अब शनिबार मधेश प्रदेश र नेपाल पुलिस क्लब बिच बिहान ९ बजेपछि देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुनेछ । नेपाल क्रिकेट संघ क्यानको आयोजना, प्रदेश क्रिकेट संघको समन्वय तथा दाङ क्रिकेट संघको व्यवस्थापनमा जारी प्रतियोगितामा ३ विभागीय टीम आर्मी क्लब एपीएफ क्लब र नेपाल पुलिस क्लबसहित सात प्रदेश टीमले फागुन २५ गतेबाट लुम्बिनी प्रदेशको रुपन्देही र दाङमा प्रतियोगिता खेलीरहेका छन् ।

    मैदानमै होली मनाए खेलाडीले

    रुपन्देही । सबैतिर होलीको माहोल थियो र प्रधानमन्त्री कप क्रिकेट खेल चलिरहेकाले यसमा आवद्ध खेलाडीहरुले पहिले खेललाई नै प्राथमिकता दिनुपर्यो । शुक्रबार यही मेसोमा देउखुरीमा क्रिकेट संघका केन्द्रीय सदस्य प्रदीप मजगैयाले खेलाडीहरुलाई यो पर्वको उत्साह थप्न खेल मैदानमै होली मनाउने व्यवस्था गरे ।

    शुक्रबार विभागीय टीम नेपाल पुलिस क्लबले एपीएफ क्लबको खेल थियो दाङको लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा । खेल सकिएसँगै उनीहरुलाई मजगैयाले रमाइलो वातावरण तयार गरेका थिए ।

    नेपाल क्रिकेट संघ दाङले त्यहाँ उपस्थित खेलाडी तथा खेलप्रेमीहरुको उत्साह थप्न होली मिलन कार्यक्रम आयोजना गरेको जनायो । फागु पूर्णिमा/होली पर्वका अवसरमा संघले मैदानका ग्राउण्ड स्टाफहरु संग होली मिलन कार्यक्रम मनाएको हो ।

    शुक्रबार पीएम कप पछि देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदान परिसरमा नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य प्रदिप मजगैयाले फागु पूर्णिमा/होली पर्वका अवसरमा संघले मैदानका ग्राउण्ड स्टाफहरु लाई टिका फागु विशेष शुभकामना आदान–प्रदान गरे ।

    केन्द्रीय सदस्य मजगैँयाले नेपाल क्रिकेट संघ दाङका सम्पूर्ण पदाधिकारी, खेलाडीहरू, देउखुरी क्रिकेट क्लव, पत्रकारहरूलाई टिका लगाइ दिदैँ वसन्त ऋतुको आगमनसँगै आउने फागु पर्व आपसी मेलमिलाप र सद्भावनाको पर्व रहेको उल्लेख गरेका थिए ।

  • उमन्स डे कपः नेपालले हङकङलाई ६ विकेटले हरायो

    उमन्स डे कपः नेपालले हङकङलाई ६ विकेटले हरायो

    काठमाडौं । युगान्डामा जारी चार देश सम्मिलित उमन्स डे कप टी- २० श्रृंखलामा आज नेपालले हङकङलाई पराजित गरेको छ । समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले ६ विकेटको जित निकालेको हो । नेपाल फाइनल दौडबाट बाहिरिइसकेको छ ।

    हङकङले टस जितेर ब्याटिङ गर्दै निर्धारित २० ओभरमा १०४ रन जोड्न सफल भएको थियो । नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर लक्ष्य भेट्यो । नेपालका लागि ओपनर सम्झना खड्काले आक्रामक ब्याटिङ गर्दै ४७ रन बनाइन् । उनले ४३ बल खेल्दा ३ चौका प्रहार गरेकी थिइन् ।

    ओपनिङमै आएकी कप्तान इन्दु वर्माले ३२ बलको सामना गर्दै १८ रन बनाएर आउट भइन् । पूजा महतो २६ बलमा २० रन बनाएर अविजित रहिन् । आज पनि नेपालले दुई ब्याटरलाई रनआउटका रुपमा गुमाएको थियो । रोमा थापा ४ रन र विन्दू रावल ४ रनमा रनआउट भएका थिए ।

    यसअघि बलिङमा नेपालका लागि राजमती ऐरीले उत्कृष्ट प्रदर्शन गरिन् । उनले ४ ओभरमा १७ रन खर्चेर तीन विकेट लिएकी थिइन् । यस्तै कप्तान इन्दुले ४ ओभरमा १२ रन खर्चेर दुई विकेट लिइन् । पूजा र ईश्वरी विष्टले १-१ विकेट बाँडे ।

    हङकङकी ओपनर साहजीन साहजादले ५४ रनको अर्धशतकीय पारी खेल्दै टीमलाई सम्मानजनक स्कोरमा पुर्‍‍याएकी थिइन् ।

  • हङकङविरुद्ध टस हारेर बलिङ गर्दै नेपाल

    हङकङविरुद्ध टस हारेर बलिङ गर्दै नेपाल

    काठमाडौं । युगान्डामा जारी महिला टी-२० अन्तरराष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज हङकङविरुद्धको खेलमा नेपालले टस हारेर पहिले बलिङ गर्ने भएको छ ।

    युगान्डाको इन्टेबे क्रिकेट मैदानमा भर्खरै भएको टसमा हङकङले टस जितेर पहिल ब्याटिङ गर्ने निर्णाय लियो । जारी प्रतियोगितामा पाँच खेल खेलेको नेपालले एकमा मात्रै जित निकालेको छ ।

    यसअघि नेपाल नामिबियासँग ६ विकेट र २३ रनले पराजित भएको थियो भने हङकङसँग दुई रनले पराजित भएको थियो । त्यसैगरी नेपाललले युगान्डालाई पहिलो खेलमा एक विकेटले हराएको थियो भने अर्को खेलमा ४१ रनले पराजित भएको थियो ।

  • फर्नान्डिसले ह्याट्रिक गरेपछि म्यानचेस्टर युनाइटेडको जित

    फर्नान्डिसले ह्याट्रिक गरेपछि म्यानचेस्टर युनाइटेडको जित

    हेटौँडा । स्पेनिस क्लब रियल सोसिडाड विरुद्ध उत्कृष्ट जित निकाल्दै इङ्लिस क्लब म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनल प्रवेश गरेको छ ।

    म्यान यु स्टार ब्रुनो फर्नान्डिसले ह्याट्रिक गरेको खेलमा युनाइटेडले सोसिडाडलाई ४-१ले पराजित गर्दै समग्रमा ५-२ को जित निकाल्दै सेमिफाइनल प्रवेश गरेको हो ।

    फर्नान्डिसले खेलको १६ र ५० औँ मिनेटमा पेनाल्टी मार्फत तथा ८७ औँ मिनेटमा थप गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरे ।

    गए राति भएको अन्य खेलहरूमा एट्लेटिको क्लब बिल्बाओले रोमालाई पराजित गरेको छ भने अन्य खेलहरूमा लायन, रेङ्गर्स , टोटनह्याम्प विजयी भएका छन् । यो सङ्गै युरोपा लिगको क्वाटरफाइनलमा पुग्ने टोलीको टुंगो लागेको छ ।

  • चारदेशीय टी-२०आई सिरिज : नेपालको चौथो हार, फाइनल खेल्ने सम्भावना सकियो

    चारदेशीय टी-२०आई सिरिज : नेपालको चौथो हार, फाइनल खेल्ने सम्भावना सकियो

    काठमाडौं । चार देशीय महिला टी-२० सिरिजमा नेपालले चौथो हार बेहोरेको छ । भर्खरै सकिएको चौथो खेलमा नेपाल युगाण्डासँग ४० रनले पराजित भयो । घरेलु टोली युगाण्डाले दिएको ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७ ओभर एक बलमा ५१ रनमा समेटियो ।

    नेपालका लागि कविता जोशी १२ र कप्तान इन्दू बर्माले ११ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । बलिङमा युगाण्डाका आइरिन मुटोनी र निष्कलंक नाकिसुयीले समान ३-३ विकेट लिए ।

    त्यसअघि युगान्डाको एन्टेब्बे क्रिकेट ओभल मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै ९१ रन बनाएको थियो । युगाण्डाकी रिता मुसमालीले सर्वाधिक ३८ रन बनाइन् । बलिङमा नेपालकी रिया शर्माले २, पूजा महतो, इश्वरी विष्ट र रुविना क्षेत्रीले एकएक विकेट लिएका थिए ।

    चौथो हारसँगै नेपालको फाइनल पुग्ने सम्भावना सकिएको छ । पहिलो खेलमा नामिबियासँग ६ विकेटले पराजित भएको नेपालले दोस्रो खेलमा युगाण्डालाई एक विकेटले पराजित गरेको थियो । तेस्रो खेलमा भने नेपाल नामिबियासँग २३ रनले पराजित भएको थियो । नेपालले अब पाँचौं तथा अन्तिम खेल भोलि हङकङसँग खेल्नेछ ।

  • पहिलोचोटि देउखुरी क्रिकेट मैदान टेकेका कप्तान पौडेल गदगद्, सरकारलाई यस्तो आग्रह

    पहिलोचोटि देउखुरी क्रिकेट मैदान टेकेका कप्तान पौडेल गदगद्, सरकारलाई यस्तो आग्रह

    रुपन्देही । क्यानको आयोजनामा दाङको लमहीमा रहेको देउखुरी अन्तर्राष्ट्रिय क्रिक्रेट मैदान, सिद्धार्थ रंगशाला र तिलोत्तमा एक्स्ट्राटेक ओभल मैदानमा अहिले प्रधानमन्त्री कप क्रिकेट भइरहेको छ ।

    प्रतियोगितामा सात प्रदेश तथा तीन विभागीय टोली सहभागी छन् । राष्ट्रिय खेलकुद परिषद्को आर्थिक सहयोगमा सञ्चालन गरिएको । काठमाडौं बाहिर रहेका विभिन्न प्रदेशका क्रिकेट मैदानको अवस्था र पूर्वाधारको तयारीबारे यो प्रतियोगिताले सरकारलाई झकझकाउने खेलप्रेमीहरू बताउँछन् । टीयु मैदान कीर्तिपुरमा मात्रै सीमित प्रतियोगिता काठमाडौं बाहिर लुम्बिनीका तीनवटा मैदानमा भएपछि क्रिकेट फ्यानहरू उत्साहित छन् ।

    नेपाली क्रिक्रेट टिमका कप्तान रोहित कुमार पौडेलले राष्ट्रिय क्रिकेट प्रतियोगिता लुम्बिनीका ३ वटा क्रिकेट मैदानमा सञ्चालन भइरहेकोमा खुसी व्यक्त गरेका छन् । उनले देउखुरी अन्तर्राष्ट्रिय क्रिक्रेट मैदान परिसरमा पत्रकार सम्मेलनमार्फत यस्तो कुरा बताएका हुन् । टीयू मैदान कीर्तिपुरबाहेक लुम्बिनी प्रदेशमा रहेका तीनवटै सुविधा सम्पन्न मैदानमा प्रतियोगिता खेल्न पाउँदा आफुलाई गर्व लागेको विचार उनले राखे ।

    उनले भने,‘लमहीमा रहेको देउखुरी अन्तर्राष्ट्रिय क्रिक्रेट मैदान यति सुविधा सम्पन्न होला भनेर कल्पनासमेत गरेको थिएन । मैदान पनि उतिकै राम्रो र भौतिक संरचनाले पनि सम्पन्न रहेको यो मैदानको एरिया पनि ठूलो र उतिकै राम्रो रहेको छ । हामीले खेल्ने मैदानको एरियाकै बराबर रहेको छ ।’

    ‘म योभन्दा अगाडि यो मैदानमा पाइला टेकेको पनि थिइनँ । तर, मलाई यो देउखुरी अन्तर्राष्ट्रिय क्रिक्रेट मैदान निकै मन पर्‍यो’, पौडेलले यो मैदानको भविष्य ठूलो रहेको बताए ।

    ‘दुई वर्ष लगातार काठमाडौं भ्यालीभित्र खेल खेल्यौँ त्यसपछि काठमाडौं बाहिर रहेका विभिन्न खेल मैदानहरूमा पनि हामीले खेल खेलिरहेका छौं’, उनले भने,‘काठमाण्डौं भ्यालीभन्दा बाहिर भइरहेका विभिन्न ट्रफीका खेलहरू पनि खेलिरहेका छौँ । काठमाडौं भ्यालीभन्दा बाहिर खेलहरू जानु भनेको खुसीको कुरा हो ।’

    उनले देउखुरी अन्तर्राष्ट्रिय क्रिक्रेट मैदान आन्तरिक खेलहरुको लागि निकै राम्रो रहेको बताउँदै अन्तर्राष्ट्रिय क्रिक्रेट प्रतियोगिताको सञ्चालन गर्नको लागि मैदानलाई थप मर्मतसम्भार र व्यवस्थित बनाउन आवश्यक रहेको बताए ।

    सरकारले चासो दिए मैदानको पूर्वाधार व्यवस्थितमा समय नलाग्ने उनले बताए ।

    ‘मलाई लाग्छ नेपाल क्रिक्रेट संघ केन्द्रको नजरमा परेको यो मैदान हो । नेपाल सरकारको नजरमा पर्न जरुरी छ । यो मैदानमा सरकारले लगानी लगाउन आवश्यक रहेको छ । सरकारले चाहे एकवर्षमा यस मैदानलाई थप व्यवस्थित गर्न सकिन्छ । नेपाली क्रिकेटको भविष्य उज्ज्वल देखिन्छ । युवा प्रतिभाको प्रस्फूटन, व्यावसायिक लिगको सुरूवात र अन्तर्राष्ट्रियस्तरमा राम्रो प्रदर्शनले नेपाललाई आगामी वर्षहरूमा उत्कृष्ट क्रिकेट राष्ट्रका रूपमा चिनाउने सम्भावना छ’, पौडेलले भने ।

    राज्यले दीर्घकालीन खेलकुद रणनीति बनाउनु, बजेटको उचित व्यवस्थापन गर्नु, स्थानीय तहहरूमा खेल सुविधाहरू बिस्तार गर्नु, र विभिन्न सफलता दिन सक्ने खेलहरूको पहिचान गरी ती खेलहरूको विकासका लागि विशेष कार्यक्रमहरू सञ्चालन गर्नु आवश्यक रहेको पौडेलले बताए ।

    उनले खेलाडीहरूको भविष्य सुरक्षित गर्न सामाजिक सुरक्षा र व्यवसायिक अवसरहरू पनि थप्नुपर्ने विषयमा सरकार गम्भीर बन्न आवश्यक रहेको विचार व्यक्त गरे ।

  • ऐरीको अलराउण्डर प्रदर्शनमा एपीएफ क्लब २ विकेटले विजयी

    ऐरीको अलराउण्डर प्रदर्शनमा एपीएफ क्लब २ विकेटले विजयी

    रुपन्देही । दाङको लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी नेपाल टेलिकम प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगितामा विभागीय टीम एपीएफ क्लबले २ विकेटको जित निकालेको छ । कमलसिंह ऐरीको अलराउण्डर प्रदर्शनमा एपीएफले मधेश प्रदेशविरुद्ध २ विकेटको जित दर्ता गर्याे ।

    बिहीबार भएको खेलमा मधेश प्रदेशले दिएको १६९ रनको लक्ष्य एपीएफले ३६ दशमलव ५ ओभरमा ८ विकेटको क्षतिमा पूरा गर्याे । एपीएफलाई जित दिलाउन कमलसिंह ऐरीले विजयी छ्क्का प्रहार गरे । उनले ३ छक्काको सहयोगमा अविजित २८ रन बनाए ।

    समान्य लक्ष्य पछ्याउने क्रममा सुमित महर्जन ३५ रनमा पेभेलियन फर्किए पछि केही दवावमा परेको एपीएफलाई कमलसिंह ऐरीले उत्कृष्ट पारी खेल्दै जित दिलाए । ३१ औँ ओभरमा हरिशंकर शाहको बलमा कमलसिंह ऐरीले लगातार दुई छक्का प्रहार गर्दै मधेश प्रदेशलाई दबाब सिर्जना गरेका थिए ।

    ७९ बल अगावै जित हांसिल गरेकोे एपीएफका लागि २१ रन बनाउँदा तेस्रो ओभरमा लोकेश बमलाई १८ रनमा गुमाएको एपीएफले आसिफ शेखलाई पनि उनको ३४ रनमा गुमाएको थियो । कमल गुप्ताले आफ्नो कसिलो बलिङमा कप्तान रोहित पौडेल १८ रनमा, दीपक बोहरा डकआउटको सिकार भए ।

    सुमित महर्जनले ३५ रनको योगदान दिँदै टीमलाई जीतको आधार तयार पारे । अमरसिंह रौतेलाले १६ रन बनाउँदै प्रदीप पासवानको बलमा बोल्डआउट भए । मधेश प्रदेशका कमल गुप्ताले १० ओभरमा १ मेडनसहित ४० रन खर्चेर ४ विकेट लिए । प्रदीप पासवानले १ मेडनसहित २८ रन दिएर २ विकेट लिए ।

    रुपेश सिंह र हरिशंकर शाहले १–१ विकेट लिए । यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको मधेश प्रदेशले निर्धारित ५० ओभरको खेलमा ४० दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै १६८ रन बनाएको थियो । मधेशले शुरुवात राम्रो गरेपनि मध्यक्रमका ब्याटर क्रिजमा टिक्न नसक्दा एपीएफलाई मध्यम लक्ष्य दिएको थियो ।

    मधेशका कप्तान अनिल कुमार साह र मयन यादवले ३१ रन बनाएर खेलीरहेको बेला भुवन कार्कीको बलमा मयन बोल्ड आउट भएपछि मधेशको विकेट पतन शुरु भएको थियो ।

    यद्यपि, मधेशका पवन सर्राफले पारी उकासेका थिए । ५ छक्का र ८ चौकासहित ७७ रन बनाएर ३४ औं ओभरमा कमलसिंह ऐरीले बोल्ड गर्दै पेभेलियन फर्काएपछि त्यसपछिका ब्याटर एपीएफका बलरको दवावमा खेले । ३४ औँ ओभरमा कमलसिंह ऐेरीले पवन र दिनेश दासलाई आउट गरेपछि एपीएफले विशाल रन हुन रोकेको थियो ।

    मधेसका लागि कप्तान अनिल साहले १७ रन, मयन यादवले ११ रन, रुपेश सिंह र प्रदीप पासवानले समान १०–१० रन बनाउँदा अरु खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् । १६८ रनमा समेट्न एपीएफका कमल सिंह ऐरीले १ मेडनसहित ९ ओभरमा ५५ रन खर्चेर महत्त्वपूर्ण ४ विकेट लिए ।

    यसैगरी, भुवन कार्की, कप्तान रोहित पौडेलले समान २–२ विकेट लिदा अभिशेष गौतमले १ विकेट लिए । प्रतियोगितामा बलिङ तथा ब्याटिङ अलराउण्डर प्रदर्शन गरेका कमलसिंह ऐरी प्लेयर अफ द म्याच भए ।

    नेपाल क्रिकेट संघ क्यानको आयोजना, प्रदेश क्रिकेट संघको समन्वय तथा दाङ क्रिकेट संघको व्यवस्थापनमा जारी प्रतियोगितामा ३ विभागीयसहित सात प्रदेशका टीम सहभागी छन् । दाङसहित रुपन्देहीको सिद्धार्थ क्रिकेट रंगशाला र एक्स्ट्राटेक ओभल मैदानमा एकैसाथ सुरु भएको प्रतियोगिताका खेलहरु राउण्ड रोविनका आधारमा भईरहेका छन् ।

    हरेक टीमले एक अर्को टीमसँग खेल्नेछन् । आगामी चैत १६ गतेसम्म चल्ने प्रतियोगिता अन्तरगत दाङमा १४ वटा खेल हुने तालिका रहेको छ । जारी प्रतियोगितामा बिहीबारको जितसँगै एपीएफ क्लब अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ भने मधेश प्रदेश चौथो स्थानमा छ । शुक्रबार एपिएफ र पुलिस क्लब भिड्नेछन् ।

    पीएम कपमा लुम्बिनी प्रदेशको दोस्रो जित, गण्डकी पराजित

    लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले दोस्रो जित निकालेको छ । सिद्धार्थ रंगशालामा भएको खेलमा लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हराएको हो । लुम्बिनीले दिएको २१८ रनको लक्ष्य पछ्याएको गण्डकीले ५० ओभरमा ९ विकेट गुमाएर २०३ रन मात्र बनाउन सक्यो ।

    अर्जुन कुमालले ६२ रन बनाएपनि जितका लागि पर्याप्त हुन सकेन । सुबास भण्डारीले ३० तथा अमृत गुरुङले अविजित २४ रन बनाए । मुस्कान थापा पनि २४ रनमा आउट भए ।

    सुरुवात राम्रो गरेपनि नियमित अन्तरालमा विकेट गुमाउँदा गण्डकी पराजित हुन पुग्यो । लुम्बिनीका निर्मल गुरुङले ८ ओभरमा ३१ रन दिएर ३ विकेट लिए । बिप्राशन केसीले २ तथा रमेश कुर्मि र नरबहादुर सार्कीले १–१ विकेट लिए ।

    जारी खेलमा लुम्बिनीले गण्डकीलाई २१८ रनको मध्यम लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनी ४९.५ ओभरमा २१७ रनमा अलआउट भयो । मृनाल गुरुङले सर्वाधिक ३८ रन बनाउँदा कप्तान देव खनालले ३३ रन बनाए । बिप्राशन केसीले २५ तथा मनिष थापाले २४ रन बनाए ।

    गण्डकीका अमृत गुरुङले ३ विकेट लिए भने चन्द्र पौडेल र बिपिन खत्रीले २–२ विकेट लिँदा सुवास भण्डारी, कमल परियार र वंश क्षेत्रीले १–१ विकेट लिए । गण्डकी प्रदेशले पहिलो खेलमा सुदूरपश्चिम प्रदेशसँग हार व्यहोरेको थियो भने दोस्रो खेलमा कर्णाली प्रदेशलाई हराएको थियो । लुम्बिनीले पहिलो खेलमा कोशीलाई हराउँदा दोस्रो खेलमा नेपाल पुलिससँग पराजित भएको थियो ।

     

  • युगान्डाविरुद्ध पहिला फिल्डिङ गर्दै नेपाल- जित्नैपर्ने दबाब

    युगान्डाविरुद्ध पहिला फिल्डिङ गर्दै नेपाल- जित्नैपर्ने दबाब

    काठमाडौं । चार देशीय महिला टी-२० सिरिजको आफ्नो पाचौं खेलमा नेपालले युगान्डाविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । युगान्डाको एन्टेब्बे क्रिकेट ओभल मैदानमा नेपालविरुद्ध घरेलु टोलीले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो ।

    जारी सिरिजमा नेपालले एक खेलमा जित र ३ खेलमा हार बेहोरेको छ । फाइनल खेल्ने सम्भावना कायम राख्न नेपाललाई यो खेल जित्नैपर्ने दबाब छ ।

  • विराट गोल्ड कपको उपाधि थ्री स्टार क्लबलाई

    विराट गोल्ड कपको उपाधि थ्री स्टार क्लबलाई

    मोरङ । विराटनगरको सहिद रङ्गशालामा ‘विराट गोल्ड कप’ फुटबल प्रतियोगिताको उपाधि थ्री स्टार क्लब ललितपुरले जितेको छ ।

    प्रतियोगिताअन्तर्गत बुधबार साँझ भएको फाइनल खेलमा चर्च ब्वाइज युनाइटेडलाई २–० गोलले पराजित गर्दै थ्री स्टारले उपाधि जितेको हो ।

    विराट गोल्ड कप ट्रष्टद्वारा आयोजित रात्रिकालीन प्रतियोगितामा थ्री स्टारका १६ नं जर्सीका खेलाडी खेमराज श्रेष्ठले खेलको पाँच मिनेटमा र जर्सी नं ७ का खेलाडी दीपेश घलेले ६३ मिनेटमा एकरएक गोल गरी आफ्नो टोलीलाई उपाधि जिताएका हुन् ।

    थ्री स्टारका खेलाडी श्रेष्ठले ‘बेस्ट प्लेयर अफ टुर्नामेन्ट’ घोषित भई रु ५१ हजार प्राप्त गरे । सोही टोलीका क्याप्टेन एकराज बुढाथोकीलाई ‘म्यान अफ प्लेयर’ वापत रु ११ हजार प्रदान गरियो ।

    प्रतियोगितको विजेता टोली थ्री स्टारले नगद रु ११ लाख र उपविजेता चर्च ब्वाइज युनाइटेडले रु पाँच लाख प्राप्त गरेको छ ।

    कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, विराटनगर महानगरप्रमुख नागेश कोइराला, प्रदेशसभा सदस्य भीम पराजुली, प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव कृष्ण बस्नेतलगायतले विजेता तथा उपविजेता टोलीका खेलाडीलाई गोल्ड कप, सिल्ड तथा प्रमाणपत्र वितरण गरे ।

    प्रतियोगितामा भारतका दुई र नेपालका विभागीयसहित १० वटा टोली सहभागी थिए ।

  • कपिलवस्तु ११ ले जित्यो सैनामैना गोल्डकप

    कपिलवस्तु ११ ले जित्यो सैनामैना गोल्डकप

    रुपन्देही । कपिलवस्तु ११ ले रुपन्देहीको सैनामैनास्थित मुर्गियामा भएको प्रथम सुनगाभा सैनामैना गोल्डकप फुटबलको उपाधि जितेको छ ।

    मुर्गिया फुटबल क्लबको आयोजनामा बुधबार भएको फाइनलमा अभिषेक चर्च रजहर नवलपुरलाई १–० गोल अन्तरले पराजित गर्दै कपिलवस्तु ११ ले उपाधि जितेको हो ।

    पहिलो हाफ बराबरीमा सकिएको खेलको दोस्रो हाफको १० मिनेटमै कपिलवस्तु ११ का मोहम्मदले डी बक्समा पाएको उत्कृष्ट अवसरलाई गोलमा परिणत गरेका थिए । उक्त गोल नै खेलको निर्णायक बन्दा कपिलवस्तु ११ उपाधि विजेता बन्न सफल भएको हो ।

    आजको खेलमा दुवै टोलीले विदेशी खेलाडी मैदानमा उतारेका थिए । दुवै टीमले गोलका थुप्रै अवसर पाए पनि सदुपयोग गर्न सकेनन् । १० दिनसम्म चलेको प्रतियोगितामा १० टीमको सहभागिता रहेको थियो ।

    प्रतियोगिताको विजेता कपिलवस्तु ११ ले नगद ७ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र जितेको छ । दोस्रो भएको अभिषेक चर्च रजहर नवलपुरले नगद ४ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र पायो ।

    प्रतियोगिता समापनमा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सैनामैना– ७ मा बन्दै गरेको गौतम बुद्ध स्टेडियम निर्माण गर्न आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।

  • पुरुष क्रिकेटरको ग्रेडिङ: दुई कुशल खस्किँदा अनिलको फड्को, मयन र लोकेशको इन्ट्री

    पुरुष क्रिकेटरको ग्रेडिङ: दुई कुशल खस्किँदा अनिलको फड्को, मयन र लोकेशको इन्ट्री

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली पुरुष तथा महिला क्रिकेटरहरुको नयाँ बर्गिकरण गर्दा ठूलो हेरफेर केही गरेन । दुवैतर्फ गरी कुल ५२ खेलाडीहरु समेटिँदा अपेक्षित नामहरु नै छन् ।

    पुरुषतर्फ ‘ए’ ग्रेडमा ५ खेलाडीहरुलाई स्थान दिइएको छ । कप्तान रोहितकुमार पौडेलसहित दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, सन्दीप लामिछाने र सोमपाल कामी ‘ए’ ग्रेडमा छन् । अघिल्लो वर्ष ‘ए’ ग्रेडमा अटाएका कुशल भुर्तेल र करण केसी यसपालि ‘बी’मा झरेका छन् ।

    ‘बी’मा भुर्तेल र करणसहित गुल्शन झा, ललितनारायण राजवंशी र अनिल साहले स्थान बनाएका छन् । अनिलले ‘डी’ ग्रेडबाट ‘बी’मा फड्को मारेका हुन् । फास्ट बलर अविनाश बोहरा ‘बी’बाट ‘डी’मा झरेका छन् ।

    अघिल्लो पटक ‘बी’मा रहेका कुशल मल्ल यसपालि ‘सी’मा झरेका छन् । उनीसहित आरिफ शेख, भीम सार्की र सन्दीप जोरा ‘सी’ ग्रेडमा छन् ।

    अघिल्लो वर्ष ‘सी’ ग्रेडमा रहेका विनोद भण्डारी र अर्जुन साउद यस पटक सेन्ट्रल कन्ट्राक्टबाटै फ्याकिए । उनीहरु कुनै पनि ग्रेडमा अटाएनन् । यस्तै प्रतिश जीसी भने ‘सी’बाट ‘डी’मा झरेका छन् ।

    ग्रेड ‘डी’मा लोकेश बम, सागर ढकाल, साहब आलम, आकाश चन्द, विवेक यादव, सूर्य तामाङ, रिजन ढकाल, देव खनाल, बसिर अहमद, प्रतिश जीसी, अविनाश बोहरा र मयन यादव अटाएका छन् । अघिल्लो वर्ष ‘डी’ ग्रेडमा रहेका पवन सर्राफ बाहिरिए । लोकेश बम र मयन यादवले पहिलो पटक ग्रेडिङमा इन्ट्री पाएका हुन् ।

    इमर्जिङ क्याटेगोरीमा अर्जुन कुमाल, शुभ कंसाकार र सन्तोष यादवको इन्ट्री भएको छ । अघिल्लो वर्ष इमर्जिङमा रहेका विपीन खत्री यस पटक बाहिरिएका छन् ।

  • बाँसबारी क्लबको मुख्य प्रायोजकमा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स

    बाँसबारी क्लबको मुख्य प्रायोजकमा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स

    काठमाडौं । शहीद स्मारक ‘बी’ डिभिजन लिग क्लब बाँसबारीको मुख्य प्रायोजक आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड बनेको छ । बाँसबारी क्लब र इन्स्योरेन्सबीच बुधबार सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

    सम्झौतापत्रमा क्लबका अध्यक्ष प्रेम थापा र लिमिटेडका चिफ मार्केटिङ म्यानेजर श्रीराम भण्डारीले हस्ताक्षर गरेका छन् ।

    सम्झौताअनुसार मुख्य प्रायोजनस्वरुप आईजीआई प्रुडेन्सियलले क्लबलाई १० लाख रुपैयाँ प्रदान गर्नेछ । क्लबको सहप्रायोजकको रुपमा आइएमई समूह रहेको छ ।

  • क्रिकेट खेलाडीहरुको नयाँ ग्रेडिङः ५२ जना खेलाडी सेन्ट्रल कन्ट्राक्टमा समेटिए

    क्रिकेट खेलाडीहरुको नयाँ ग्रेडिङः ५२ जना खेलाडी सेन्ट्रल कन्ट्राक्टमा समेटिए

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले सेन्ट्र कन्ट्र्याक्टका लागि पुरुष तथा महिला खेलाडीहरुको नयाँ ग्रेडिङ गरेको छ । पुरुषतर्फ ३३ जना तथा महिलातर्फ १९ जना खेलाडी ग्रेडिङमा समेटिएका छन् ।

    पुरुषतर्फ ‘ए’, ‘बी’, ‘सी’, ‘डी’ र इमर्जिङ गरी पाँचवटा समूहमा खेलाडीहरुलाई बाँडिएको छ । ए ग्रेडमा पाँच र बी ग्रेडमा पाँच खेलाडी छन् । यस्तै सीमा चारजना र डीमा १२ जना खेलाडी समेटिएको छ । इमर्जिङमा ७ जना परेका छन् ।

    ए ग्रेडमा परेकाले एक लाख रुपैयाँ पाउने छन् । यस्तै बी, सी डीले क्रमशः ७० हजार, ५५ हजार र ३५ हजार मानसिक पारिश्रमिक पाउने क्यानले जनाएको छ इमर्जिङ खेलाडीलाई २५ हजार मासिक दिइनेछ ।

    महिला तर्फ ए ग्रेडमा चारजना, बी ग्रेडमा एक जना सीमा दुईजना र डीमा १२ जना रहेका छन् । महिलामा इमिर्जिङ खेलाडीको सुची बनाइएको छैन ।
    ए ग्रेडमा परेकाले ५० हजार, बीले ३५ हजार, सीले २५ हजार र डीले २० हजार मासिक पाउने छन् । पुरुष र महिला दुवैतर्फ अघिल्लो वर्षकै पारिश्रमिकलाई निरन्तरता दिइएको हो ।

  • प्रधानमन्त्री कप क्रिकेटः आर्मी र पुलिसको लगातार दोस्रो जित

    प्रधानमन्त्री कप क्रिकेटः आर्मी र पुलिसको लगातार दोस्रो जित

    रुपन्देही । दुई विभागीय टीम त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेका छन् । बुधबार भएको खेलमा आर्मीले सुदूरपश्चिमलाई ८ विकेट र पुलिसले कोशी प्रदेशलाई १५४ रनले पराजित गरेका छन् ।

    भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा जितका लागि पाएको ११८ रनको लक्ष्य पछ्याएको आर्मीले २३ ओभर ५ बलमा २ विकेटको नोक्सानीमा ११९ रनको लक्ष्य भेट्टायो ।

    उसको जितमा सन्तोष कार्कीले अविजित ५५ रनको अर्धशतकीय पारी खेले । यस्तै तृतराज दासले ३१ र कप्तान विनोद भण्डारीले नटआउट २० रन जोडे ।

    बलिङमा सुदूरपश्चिमका शेर मल्ल र मिलन बोहराले १-१ विकेट लिए ।

    यसअघि टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित ५० ओभरमा ४५ ओभर ३ बल खेल्दै सबै विकेट गुमाएर ११७ रन बनाएको थियो । उसलाई सस्तैमा रोक्न प्लेयर अफ द म्याच घोषित आर्मीका शाहब आलमले कसिलो बलिङ गरेर । उनले १० ओभरमा २ मेडनसहित १९ रन खर्चेर ४ विकेट लिए ।

    यस्तै सोमपाल कामीले २ तथा आकाश चन्द, नरेन साउद, बसिर अहम्मद र कुशल मल्लले १-१ विकेट लिए । सुदूरपश्चिमका निश्चल क्षेत्रीले अविजित ४९, सुनिल चन्द र नारायण जोशीले १६-१६ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् ।
    प्रतियोगितामा सुदूरपश्चिमको यो दोस्रो हार हो ।

    त्यस्तै रुपन्देहीको तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको पुलिसले कोशीमाथि सहज जित निकाल्यो । पुलिसले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २८८ रनको बलियो योगफल बनायो ।

    पुलिसका लागि लगातार दोस्रो खेलमा पनि अर्धशतक बनाएका कुशल भुर्तेलले सर्वाधिक ६५ रन जोडे । उनले ७८ बलमा २ चौका र २ छक्का प्रहार गरे । यस्तै दीलिप नाथले ६४ बलमा ४ चौका र १ छक्काको सहयोगमा ६१ रन बनाए । ओपनर अर्जुन साउद र रसिद खानले समान ३८-३८, कप्तान दीपेन्द्रसिंह ऐरीले ३२ तथा गुल्शन झाले २१ रन जोडे ।

    कोशीका लागि भुपाल लुइँटेलले ३, प्रकाश कार्कीले २ तथा श्रवण किस्कु, दीपेश कँडेल र फिर्दोश अन्सारीले समान १-१ विकेट लिए ।

    २८९ रनको लक्ष्य पछ्याएको कोशी ३६ ओभर २ बलमा १३४ रन बनाउँदा अलआउट भयो । कोशीका लागि सुजन थपलियाले ३३, कप्तान अंकित सुवेदीले २१, शकिब हकले १७ र फिर्दोश अन्सारीले १० रन जोडे ।

    पुलिसका लागि करण केसीले ३, कुशल भुर्तेल र लतितनारायण राजवंशीले समान २–२ तथा सागर ढकाल, गुल्शन झा र दीपेन्द्रसिंह ऐरीले १–१ विकेट लिए । कुशल भुर्तेल प्लेयर अफ द म्याच भए । कोशीको यो लगातार तेस्रो हार हो ।

  • चारदेशीय टी-२०आई सिरिजमा नेपालको तेस्रो हार

    चारदेशीय टी-२०आई सिरिजमा नेपालको तेस्रो हार

    काठमाडौं । युगाण्डामा जारी चारदेशीय टी–२० आई सिरिजमा नेपालले तेस्रो हार बेहोरेको छ । युगान्डाको एन्टेब्बे क्रिकेट ओभल मैदानमा आफ्नो चौथो खेलमा नेपाल नामिबियासँग २३ रनले पराजित भएको हो ।

    नामिबियाले दिएको १२६ रनको लक्ष्य पछ्याएको नेपालले १०२ रनमात्र बनाउन सक्यो । नेपालका लागि साना प्रवीणले सर्वाधिक ३१ रन बनाइन् । जारी सिरिजबाट राष्ट्रिय टोलीमा डेब्यू गरेकी सानाले ३७ बल खेल्दै ३१ रन बनाएर आउट भइन् । ओपनर सम्झना खड्का २, पुजा महतो १५, कप्तान इन्दु बर्मा १५, रुविना क्षेत्री ७ रनमा आउट हुँदा कविता जोशी १७ र ममता चौधरी ८ रनमा अविजित रहे । बलिङमा नामिबियाकी एभलिन केजारुकुआले सर्वाधिक २ विकेट लिइन् ।

    त्यसअघि युगान्डाको एन्टेब्बे क्रिकेट ओभल मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नामिबियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२५ रन बनाएको थियो । नामिबियाकी यास्मीन खानले सर्वाधिक ४५ रन बनाइन् । बलिङमा नेपालकी ईश्वरी विष्टले सर्वाधिक ३ विकेट लिइन् । रचनाकुमारी चौधरीले २, रिया शर्मा र कप्तान इन्दु बर्माले एकएक विकेट झारे ।

    त्यसअघि आफ्नो पहिलो खेलमा नेपाल नामिबियासँग ६ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा युगान्डालाई एक विकेटले हराएको नेपाल तेस्रो खेलमा हङकङसँग २ रनले पराजित भएको थियो ।

  • एसपीए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड : सुदूरपश्चिम आइकन पुरुष र महिला विधाको मनोनयन सार्वजनिक

    एसपीए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड : सुदूरपश्चिम आइकन पुरुष र महिला विधाको मनोनयन सार्वजनिक

    धनगढी । चैत ७ गते कैलालीको धनगढीमा हुने ‘छैठौं एसपीए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड २०८१’को दुई विधाको मनोनयन सार्वजनिक गरिएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले सुदूरपश्चिम आइकन पुरुष र महिला विधाको मनोनयन सार्वजनिक गरेको हो ।

    छनोट समितिका संयोजक सीताराम ओझाका अनुसार सुदूरपश्चिम आइकन पुरुष विधामा कबड्डीका खगेन्द्र जोशी, पौडीका अथर्व सिंह र क्रिकेटका हेमन्त धामी मनोनयनमा परेका छन् ।

    जोशी बंगलादेशमा भएको चौथो बंगबन्धु पुरुष अन्तर्राष्ट्रिय कबड्डी प्रतियोगितामा नेपाल उपविजेता बन्दा टोलीका सदस्य थिए । उनी एसियाली खेलकुदअन्तर्गत मिसन २०२६ का लागि बन्द प्रशिक्षणमा छन् ।

    पौडीका सिंह वर्ल्ड एक्वेटिक्स च्याम्पियनसिपको छनोट प्रतियोगितामा नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्न सफल भएका थिए । सन् २०१३ को दक्षिण एसियाली खेलकुद सागमा बनेको कीर्तिमान उनले भंग गरेका थिए ।

    पौडीतर्फ राष्ट्रिय प्रतियोगिताहरुमा सुदूरपश्चिम प्रदेशलाई पदक जिताउने उनी एक्ला खेलाडी हुन् । उनले वर्ष २०८१ म दुई स्वर्ण, दुई रजत र तीन कास्य गरी ७ पदक जितेका थिए ।

    क्रिकेटका धामी यु–१९ एसिया कपमा अफगानस्थानमाथि जित दर्ता गराउन उत्कृष्ट प्रदर्शन गर्ने नेपाली टिमका कप्तान हुन् । सिनियर टोलीबाट क्यानडाविरुद्ध डेब्यु खेलमा उनले तीन विकेट लिएका थिए ।

    छनोट समितिका सदस्य तथा आयोजक खेलकुद पत्रकार मञ्च कैलालीका कोषाध्यक्ष पनेरुका अनुसार सुदूरपश्चिम आइकन महिला विधामा करातेकी मनिषा बोहरा, कबड्डीकी मनिषा जोशी र क्रिकेटकी सावित्री धामी मनोनयनमा परेका छन् ।

    बोहरा भुटानको थिम्पुमा भएको आठौँ दक्षिण एसियाली कराते प्रतियोगितामा नेपाललाई स्वर्ण पदक जिताउने खेलाडी हुन् । उनी ५६औं राष्ट्रिय कराते प्रतियोगितामा स्वर्ण जित्ने सुदूरपश्चिम प्रदेशको एक मात्रै खेलाडी हुन् ।

    कबड्डीकी जोशी इरानमा भएको छैटौं एसियन महिला कबड्डी च्याम्पियनसिपमा नेपालले कास्य पदक जित्ने टोलीकी सदस्य हुन् । उनी एसियाली खेलकुद अन्तर्गत मिसन २०२६ का लागि बन्द प्रशिक्षणमा पर्न सफल भएकी छिन् ।

    क्रिकेटकै सावित्री धामी १९ वर्षमुनिको सुशील कोइराला मेमोरियल क्रिकेटमा उत्कृष्ट खेलाडी भएकी थिइन् । उनी मैयादेवी महिला क्रिकेटमा उत्कृष्ट ब्याट्सम्यान भएकी थिइन् ।

    आयोजक खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष प्रदीप पाठकका अनुसार दुबै विधाका विजेता खेलाडीलाई नगद २०-२० हजारसहित ट्रफी प्रदान गरिनेछ । छैठौं संस्करणको अवार्डमार्फत वर्ष २०८१ मा उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी र प्रशिक्षकलाई अवार्ड प्रदान गरिने पाठकले जानकारी दिए ।

    उनका अनुसार सुदूरपश्चिम आइकन महिला तथा पुरुषसंगै उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्ड विधामा अवार्ड प्रदान गरिने छ ।

    उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५–३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्डका विजेतालाई २५–२५ हजार नगदबाट पुरस्कृत गरिने छ ।

  • नामिबियाले नेपाललाई दियो १२६ रनको लक्ष्य

    नामिबियाले नेपाललाई दियो १२६ रनको लक्ष्य

    काठमाडौं ।  युगाण्डामा जारी चारदेशीय टी-२०आई प्रतियोगितामा नामिबियाले नेपाललाई १२६ रनको लक्ष्य दिएको छ ।

    युगान्डाको एन्टेब्बे क्रिकेट ओभल मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नामिबियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२५ रन बनायो । नामिबियाकी यास्मीन खानले सर्वाधिक ४५ रन बनाइन् ।

    बलिङमा नेपालकी ईश्वरी विष्टले सर्वाधिक ३ विकेट लिइन् । रचनाकुमारी चौधरीले २, रिया शर्मा र कप्तान इन्दु बर्माले एकएक विकेट झारे ।

    त्यसअघि नेपाल नामिबियासंग ६ विकेटले पराजित भएको थियो । उक्त सिरिजमा नेपालसहित घरेलु टोली युगान्डा, नेपाल, नामिबिया र हङकङ सहभागी छन् । ३ खेल खेलेको नेपालले १ खेलमा जित र २ खेलमा हार बेहोरेको छ ।

  • नामिबियाविरुद्ध नेपालले पहिला फिल्डिङ गर्दै

    नामिबियाविरुद्ध नेपालले पहिला फिल्डिङ गर्दै

    काठमाडौं । चार देशीय महिला टी–२० सिरिजको आफ्नो चौथो खेलमा नेपालले नामिबियाविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।

    युगान्डाको एन्टेब्बे क्रिकेट ओभल मैदानमा नामिबीयाविरुद्ध नेपालकी कप्तान इन्दु बर्माले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएकी हुन् ।
    त्यसअघि नेपाल नामिबियासँग ६ विकेटले पराजित भएको थियो ।

    उक्त सिरिजमा नेपालसहित घरेलु टोली युगान्डा, नेपाल, नामिबिया र हङकङ सहभागी छन् । ३ खेल खेलेको नेपालले १ खेलमा जित र २ खेलमा हार बेहोरेको छ ।

  • सैनामैना गोल्डकपको उपाधिका लागि कपिलवस्तु ११ र अभिषेक चर्च भिड्दै

    सैनामैना गोल्डकपको उपाधिका लागि कपिलवस्तु ११ र अभिषेक चर्च भिड्दै

    रुपन्देही । रुपन्देहीको सैनामैना ४ मुर्गियामा जारी प्रथम सुनगाभा सैनामैना गोल्डकप २०८१ को आज फाइनल प्रतिस्पर्धा हुँदैछ । सैनामैना फुटबल क्लबको आयोजनामा जारी प्रतियोगिताको उपाधिका लागि कपिलवस्तु ११ कपिलवस्तु र अभिषेक चर्च रजहरबीच प्रतिस्पर्धा हुन लागेको हो ।

    सैनामैना फुटबल रंगशालामा दिउँसो २ बजेदेखि हुने उपाधि प्रतिस्पर्धापछिको समापन कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने आयोजकले जनाएको छ ।

    यही फागुन २२ गतेदेखि जारी प्रतियोगितामा भारतीय क्लबसहित नेपालका दुई विभागीय, आयोजक तथा विभिन्न क्लब गरी १० समूहको सहभागिता रहेको थियो ।

    नकआउटका आधारमा खेलाइएको खेलमा कपिलवस्तु ११ ले आयोजक मुर्गिया फुटबल क्लबलाई पराजित गर्दै फाइनल यात्रा तय गरेको हो भने अभिषेक चर्चले काठमाडौंको महावीर क्लबलाई पराजित गरेको थियो ।

    सैनामैनामा नगरपालिकाको संरक्षकत्व तथा आर्थिक सहयोगमा आयोजना गरिएको प्रतियोगितालाई सुनगाभा पब्लिक स्कुलले मुख्य प्रायोजन गरेको थियो । प्रतियोगिताको विजेताले नगद ७ लाख रुपैयाँ पुरस्कार राशीसहित गोल्डकप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

    यसैगरी उपविजेता समूहले नगद ४ लाखसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । नकआउटका आधारमा हुने प्रतियोगिताको अन्तिम चारमा पुग्ने अन्य २ समूहलाई समान ४०९४० हजार रुपैयाँ नगद राशि प्रदान गरिने छ ।

    विधागततर्फ सर्वोत्कृष्ट खेलाडीलाई नगद २० हजार तथा सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोल रक्षक र उदयीमान खेलाडीलाई समान १५ हजार रुपैयाँ नगद राशिले सम्मान गरिँदै छ । यसैगरी प्रत्येक खेलमा म्याद अफ दी म्याचलाई नगद ५ हजार पुरस्कार राशि प्रदान गरिएको थियो ।

    प्रतियोगितामा आयोजक सहित विभागीय टोलीहरु नेपाल पुसिल र एपीएफ, भारतको सिक्किमको डिजोंग्री क्लब, महाविर क्लब काठमाडौं, अभिषेक क्लब रजहर नवलपुर, हनामी बिएफसी चितवन, कपिलवस्तु–११, गोर्खा ब्वाइज रुपन्देही र फर्साटिकर युथ क्लब रुपन्देही सहभागी छन् ।

  • बीपी वाटिकामा कभर्डहल निर्माण

    बीपी वाटिकामा कभर्डहल निर्माण

    दमौली। व्यास नगरपालिका-३ स्थित बिपी वाटिकामा रु ९६ लाख ६३ हजार सात सय ४७ को लागतमा कभर्डहल निर्माण भएको छ । कभर्डहल व्यास नगर ब्याडमिन्टन क्लबले निर्माण गरेको हो ।

    कभर्डहल निर्माणका लागि व्यास नगरपालिकाले रु ८७ लाख ८५ हजार दुई सय ३४ प्रदान गरेको थियो । जिल्ला समन्वय समितिको स्वामित्वमा रहेको जग्गामा कभर्ड हल निर्माण भएको हो ।

    क्लबले जिल्लास्तरीय ब्याडमिन्टन प्रतियोगिता पनि सञ्चालन गर्दै आएको छ । कभर्डहलको मङ्गलबार युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले उद्घाटन गरे ।

  • बायार्न र बार्सिलोना अन्तिम आठमा प्रवेश

    बायार्न र बार्सिलोना अन्तिम आठमा प्रवेश

    हेटौँडा । घरेलु प्रतिस्पर्धी बायर लेभरकुसेनलाई पराजित गर्दै जर्मन क्लब बायर्न म्युनिख च्याम्पियन्स लिगको अन्तिम ८ मा प्रवेश गरेको छ ।

    दोस्रो लेगमा लेभरकुसेनलाई २-० ले पराजित गरेपछि बायार्नले समग्रमा ५-० को अग्रता हासिल गर्दै अन्तिम ८ मा स्थान सुरक्षित गरेको हो ।

    वायार्नको जितमा ह्यारी केन र अल्फोन्सो डेभिसले गोल गरे । यो सिजनको च्याम्पियन्स लिगमा केनको दशौँ औँ हो । एउटै संस्करणमा दोहोरो अंकमा गोल पूरा गर्ने केन पहिलो‌ इङ्गल्यान्ड खेलाडी बनेका छन् ।

    च्याम्पियन्स लिगकै अर्को खेलमा पोर्चुगिज बेनफिकालाई पराजित गर्दै स्पेनिस क्लब बार्सिलोनाले पनि अन्तिम आठमा स्थान सुरक्षित गरेको छ ।

    बार्सिलोनाको जितमा राफिन्हाले दुई गोल गर्दा एमलले एक गोल गरे । समग्रमा बेनफिका विरुद्ध बार्सिलोनाले ४-१ को जित निकालेको हो ।

  • लिभरपुलको च्याम्पियन्स लिग यात्रा समाप्त

    लिभरपुलको च्याम्पियन्स लिग यात्रा समाप्त

    हेटौंडा । घरेलु मैदानमा पेनाल्टी सुटआउटमा पराजित भएपछि इङ्लिस क्लब लिभरपुल युरोपेली च्याम्पियन्स लिगको अन्तिम-१६ बाट बाहिरिन पुगेको छ ।

    अन्तिम-८ को लागि भएको दोस्रो लिगमा फ्रेन्च क्लब पिएसजी सङ्ग लिभरपुलले पेनाल्टी सुटआउटमा हार बेहोर्नुपरेको हो ।

    पहिलो लेगमा १-० ले अघि रहेको लिभरपुलले घरेलु मैदानमा भने १-० ले पछि पर्दै खेल पेनाल्टी सुटआउटमा लगेको थियो । जहाँ लिभरपुल सफल हुन सकेन र पिएसजी अन्तिम आठमा पुग्यो ।

    दोस्रो लेगमा पिएसजीका डेम्बेलेले गोल गर्दै पिएसजीलाई एग्रीग्रेटमा बराबरी बनाएर खेललाई पेनाल्टी मार्फत जित दिलाउन योगदान गरे ।