काठमाडौं । लाग्छ नेपाली टीमलाई महत्वपूर्ण खेलमा जित नजिक पुगेर नतिजा सुम्पिने बानी लागिसकेको छ । अष्ट्रेलियामा जारी टप इन्ड टी २० सिरिजमा आज पाकिस्तानविरुद्ध नेपालले अर्को एउटा नमिठो पराजय व्यहोर्यो ।
खेलको अन्तिम चार बल बाँकी हुँदासम्म खेल नेपालको पोल्टामा पर्नै आँटेको प्रतित हुन्थ्यो । जितका लागि चार रन मात्रै चाहिँदा नेपालसँग पाँच विकेट हातमा थिए । दीपेन्द्रसिंह ऐरी आफ्नो ‘टाइगर अवतार’ मा ब्याटिङ गरिरहँदा अर्को इन्डमा थिए विष्फोटक कुशल मल्ल । जितका लागि एउटै सट काफी थियो ।
ओभरको तेस्रो बलमा मल्लले ठूलो सट हानेर नेपालको जित निश्चित गर्न खोजे, तर असफल भए । उनले बललाई ब्याटमा कनेक्ट गराउन सकेनन् र स्टम्पिङको शिकार भए । अझै पनि नेपालसँग ब्याट्सम्यानहरुको कमि थिएन । खासमा आज नेपालसँग एघारैजना ब्याट्सम्यान थिए भन्दा पनि हुन्छ । एघारौं नम्बरमा आउने सन्दीप लामिछाने पनि चाहिएको बेला ब्याटिङ गर्न सक्छन् ।
आठौं नम्बरमा क्रिजमा आए आरिफ शेख । चौंथो बल उनले सामना गरे । स्पिनर फैजल अक्रमलाई स्वीप गर्न खोज्दा उनी चुके । बल खेर गयो । लगातार दुई बलमा रन नआउँदा एक्कासी नेपालमाथि दवाव थोपरियो । अन्तिम दुई बलमा चाहियो चार रन । पाचौं बलमा आरिफको ब्याट कनेक्ट भयो । दुई रन हुन सक्ने अवस्था थियो । तर, ब्याट्सम्यानहरु एक रनमै रोकिए । कारण अन्तिम बलमा दीपेन्द्र क्रिजमा रहन चाहन्थे । वा, आरिफ उनलाई स्ट्राइक दिन चाहन्थे । तर, यो निर्णय नेपालका लागि सही सावित भएन ।
यदि पाँचौं बलमा दुई रन लिएको भए अन्तिम बलमा नेपाललाई जितका लागि दुई रन चाहिने थियो । एक रन आउँदा खेल सुपरओभरमा जान्थ्यो । तर, आरिफले आफूमाथि भर नगर्दा दीपेन्द्रले अन्तिम बलमा तीन रन लिनुपर्ने कठिन अवस्था सिर्जना भयो ।
ग्राउन्ड ठूलो भएकाले बाउन्ड्री निकाल्न सहज थिएन । तैपनि खरायोको गतिमा दौडिन सक्ने दीपेन्द्रले जसोतसो तीन रन चोर्छन् कि भन्ने आशा थियो । यदि दुई रन लिन सकेको भए पनि खेल सुपरओभरमा जान्थ्यो ।
अन्तिम बलमा दीपेन्द्रले जोखिम मोल्दै लिँदै रिभर्स स्वीप गरे । सीधा नहानेर किन रिभर्स खेल्ने निर्णय लिए भन्ने उनलाई थाहा होला । कनेक्ट पनि राम्रै गरेका थिए । तर दुर्भाग्यपूर्णरुपमा बल सिधा फिल्डरको हातमा गयौ । ब्याट्सम्यानहरुले एक रन मात्रै पूरा गर्न सके ।
आजको खेल वास्तवकै रोमाञ्चकारी र उतारचढावपूर्ण रह्यो । टस हारेर पहिले बलिङमा उत्रिएको नेपालले पाकिस्तानलाई सुरुबाटै निरन्तर दवावमा राखेको थियो । दोस्रो ओभरमा बलिङ गर्न आएका दीपेन्द्र सिंह ऐरीले दुई विकट लिँदै पाकिस्तानलाई सुरुवाती झट्का थिए । त्यसपश्चात पाकिस्तानी ब्याटरहरुले खुलेर खेल्न सकेनन् ।

१२.३ ओभरको समाप्तिमा पाकिस्तानले ७ विकेट गुमाएर जम्मा ७४ रन जोडेको थियो । नेपालले १०० रनभित्रै पाकिस्तानलाई रोक्छ कि भन्नेमा थिए समर्थक । तर, त्यसपछि पाकिस्तानले उत्कृष्ट काउन्टर अट्याक गर्यो । पछिल्लो ओभरहरुमा नेपालको बलिङको लय र धार पनि बिग्रियो ।
पाकिस्तानले अन्तिम ५ ओभरमा ६१ रन थप्न सफल भयो । कप्तान इरफान खानले २६ बलमा ४२ रन जोड्दै टीमको रेस्क्यू गरे । उनलाई साथ दिए, मोहम्मद वसिम जुनियरले । उनीहरुको पार्टनरसीपले पाकिस्तानलाई फाइटिङ टोटलसम्म पुर्यायो । नेपालका लागि सोमपाल कामीले तीन विकेट लिए भने नन्दन यादव र ऐरीको नाममा दुई–दुई विकेट रह्यो । सन्दीप लामिछाने प्रतियोगितामा पहिलोपटक विकेटविहीन बने ।
मध्यम स्कोर पछ्याउने क्रममा नेपालले पहिलो १० ओभरमा ‘नर्भस ब्याटिङ’ गर्यो । कुशल भुर्तेलले ९ बलमा ४ रन मात्र बनाएर आउट भएपछि नेपालको आत्मविश्वास डगमगाएको थियो । अर्का ओपनर आसिफ शेखले कप्तान रोहित पौडेलसँग मिलेर नेपाललाई अघि बढाए । तर, उनीहरुले आक्रामक ब्याटिङ गर्न नसक्दा रन रेटको दवावले नेपाललाई थिच्दै लग्यो । उनीहरुबीच ५२ रनको ठोस साझेदारी त भयो तर सुस्त गतिमा ।
आसिफ शेख २७ रनको निजी स्कोरमा आउट हुँदा नेपालको रनरेट आकाशिइसकेको थियो । चौंथो नम्बरमा ब्याटिङ गर्न आए गुल्शन झा । नेपालले गुल्शनलाई ब्याटिङ अर्डरमा प्रमोसन गर्ने निर्णय गलत थिएन किनकी पाकिस्तानले स्पिनरहरु उतारिरहेको थियो । गुल्शन स्पिनरमाथि आक्रमण गर्न सक्छन् । उनले केही ठूला सटहरु खेलेर रनरेट उकासुन् भन्ने ध्येयले पठाइएको थियो । तर दुर्भाग्यपूर्णरुपमा उनी रनआउट भए ।
पाँचौं नम्बरमा आए दीपेन्द्र सिंह ऐरी । उनी क्रिजमा आउँदासम्म नेपाललाई आवश्यक रनरेट १० भन्दा माथि पुगिसकेको थियो । कप्तान पौडेल ३२ बलमा २५ रन बनाएर संघर्ष गरिरहेका थिए । उपकप्तान क्रिजमा आएपछि रोहितले हात खोले । त्यसपछि बल्ल सुरु भयो नेपालको टी २० ब्याटिङ । १३ ओभरको अन्तिम दुई बलमा रोहितले छक्का र चौका प्रहार गर्दै आफ्नो रनरेट सुधारे ।
कप्तान र उपकप्तानको जोडीले नेपाललाई १६ ओभरमा १०८ रनको स्थितिमा पुर्यायो । दीपेन्द्रले आज आक्रामक रुप धारण गरेका थिए । परिस्थितिको माग पनि यही थियो । १६ औं ओभरमा दीपेन्द्र र रोहितले दुई चौका र एक छक्कासहित १७ रन बटुल्न सफल भए र खेल नेपालको पक्षमा मोडिएको आभास भयो । यही ओभरमा कप्तान पौडेलले प्रतियोगितामा आफ्नो पहिलो अर्धशतक पूरा गरे । उनले ४३ बलमा अर्धशतक बनाएका थिए ।
अन्तिम ४ ओभरमा नेपाललाई २४ बलमा ३७ रन चाहियो, जुन टी २० मा कठिन होइन । नेपालसँग ब्याट्सम्यानरु टन्नै थिए । १७ ओभरको पहिलो बलमै नेपाललाई झट्का लाग्यो, जब मोहम्मद वसिमले कप्तान पौडेललाई पेभिलियन फर्काए । क्रिजमा आए विष्फोटक लोकेश बम । कुशल मल्लभन्दा अगाडि लोकशलाई विश्वास गरेर पठाइएको थियो ।
दीपेन्द्र र लोकेशले नेपाललाई जितनजिक पुर्याए । ८ बलमा नेपाललाई जितका लागि ९ रन चाहिएको अवस्थामा लोकेशले पनि आफ्नो विकेट गुमाए । र, अन्तिम ओभरमा ८ रन ल्याउनुपर्ने समीकरण बन्यो । त्यसपछिको वर्णनमाथि नै गरिएको छ ।
आजको म्याचमा बलियो प्रतिस्पर्धिविरुद्ध नेपालले कडा टक्कर गरेको हो । तर, जितको संघारमा पुगेर पनि नतिजा आफ्नो पक्षमा पार्न सकेन ।
नेपालका लागि खुशीको कुरा भनेको उपकप्तान ऐरीले आफ्नो डग्मगाएको आत्मविश्वास फिर्ता ल्याएका छन् । नेपाली टिमको अभिन्न हिस्साका रुपमा रहेका दिपेन्द्रको ब्याटिङ फर्म नेपालका लागि एकदमै महत्वपूर्ण छ । खासगरि टि २० मा उनी नेपालको ब्याटिङका मेरुदण्ड नै हुन् ।
यस्तै, कप्तान रोहितकुमार पौडेलले पनि प्रतिकुल कन्डिसनमा फेरि एकपटक आफ्नो क्षमताको प्रदर्शन गरेका छन् । केही म्याचमा खराब प्रदर्शन गर्नासाथ गालीगलौजमा उत्रिहाल्ने ‘अतिवादी फ्यानहरु’ लाई यी दुई भाइले आज ब्याटबाट जवाफ दिए । नेपाललाई जित दिलाउन सकेको भए उनीहरुको जवाफले पूर्णता पाउने थियो ।

नतिजाका हिसाबले यो प्रतियोगिता नेपालका लागि त्यति सुखद रहेन । नेपालले सुरुका तीन म्याच लगातार हार्न पुग्यो । त्यसपछिका दुई म्याचमा उत्कृष्ट पुनरागमन गर्यो । आज जितेर सेमिफाइनलमा स्थान बनाएको भए नेपालका लागि अविस्मरणीय क्षण बन्न सक्थ्यो । तर, भाग्यले साथ दिएन भनौं वा खेलाडीहरुको ससाना गल्तीले नेपाल चुक्यो । फेरि एकपटक नेपाली समर्थकहरुको ‘हार्ट ब्रेक’ भएको छ ।
खैर, नेपालले यो हारमा खेद मान्नुपर्ने अवस्था भने छैन । यो कुनै आइसीसी इभेन्ट थिएन । अनुभवका दृष्किोणले नेपालका लागि प्रतियोगिता धेरै नै फलदायी भएको मान्नुपर्छ । प्रतियोगितामा स्तरीय खेलाडीहरु थिए ।
आज नेपाललाई हराएको पाकिस्तान साहिन्समा एक–दुईजना बाहेक सबैजसो खेलाडीले पाकिस्तानको राष्ट्रिय टीमबाट खेलिसकेका छन् ।
टेस्ट राष्ट्रको मुख्य टीमबाट प्रतिनिधित्व गरिसकेका धेरै खेलाडीहरु सम्मिलित टिमसँग अष्ट्रेलियाको प्रतिकुल कन्डिसनमा नेपालले बहादुरीपूर्वक भिडेको छ । यो नेपालका लागि ठूलो अनुभव हो । यस्तै कठिन प्रतिस्पर्धाले नेपाली टीमलाई निखार्दै जाने छ ।
यो प्रतियोगितालाई नेपालले उपाधि दौड भन्दा पनि अभ्यासका रुपमा लिएको थियो । ओमानमा हुने टि २० विश्वकप छनोट प्रतियोगिताका लागि उत्कृष्ट टिम निर्माण गर्ने हेतु प्रशिक्षकले प्रत्येक खेलमा पालैपालो सबै खेलाडीहरुलाई मौका दिएर हेरेका थिए ।
आजको निर्णायक म्याचमा भने उनले ‘बेस्ट ११’ उतारे । नेपाललाई अलिकति भाग्यले साथ दिएको भए सेमिफाइनलमा स्थान बनान सक्थ्यो । त्यो अवसर भने गुमेको छ ।