Category: खेल प्रेस

  • बुटवलमा रात्रिकालीन अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता सुरु

    बुटवलमा रात्रिकालीन अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता सुरु

    रुपन्देही । बुटवलमा आजदेखि रात्रिकालीन अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता सुरु भएको छ ।
    प्रतियोगितामा सहभागी टोलीहरूमा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, गण्डकी भलिबल सङ्घ, कोशी प्रदेश भलिबल सङ्घ, गलकोट भलिबल क्लब बागलुङ, मणिमुकुन्द भलिबल क्लब, सुदूरपश्चिम खेलकुद परिषद् र भारत गुजरातको साग भलिबल एकेडेमी रहेका छन् ।

    No description available.
    प्रतियोगिताको विजेता टिमले ३ लाख ११ हजार १ सय ११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेताले २ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ । तेस्रो स्थान हासिल गर्ने टिमले १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ ।
    त्यस्तै, सान्त्वना स्थान प्राप्त गर्ने टिमलाई ६६ हजार ६ सय ६६ रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताका अन्य ८ विधामा पनि नगद पुरस्कार प्रदान गरिने क्लबका अध्यक्ष लोकेन्द्र भण्डारीले जानकारी दिए ।
    वेस्ट प्लेयरलाई १५ हजार रुपैयाँसहित कप र प्रमाणपत्र प्रदान गरिनेछ । वेस्ट सटर र वेस्ट ब्लकरलाई पनि १० हजार रुपैयाँ प्रदान गरिने जनाइएको छ ।
    लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले १०औं मणिमुकुन्द कप पुरुष भलिबल प्रतियोगिताको शुभारम्भ गरेका हुन् ।
    इन्डो नेपाल क्लब च्याम्पियनसिप–२०८२ अन्तर्गत प्रतियोगिता सुरु गरिएको हो । उद्घाटन कार्यक्रममा मुख्यमन्त्री आचार्यले खेल पर्यटनको विकासप्रति खुशी व्यक्त गर्दै खेलकुदलाई पर्यटनसँग जोड्न जरुरी रहेको धारणा राखे ।
    खेल हेर्नका लागि विदेशी पर्यटकलाई धेरै दिन राख्न सकिने अवस्था छ उनले भने-प्रदेश सरकारले खेल पर्यटनको विकासका लागि ध्यान दिनेछ ।
    उनले खेल पूर्वाधारको विकास, खेलाडीहरूमा क्षमता अभिवृद्धि र प्रतिस्पर्धाको वातावरण निर्माणमा प्रदेश सरकारले भूमिका बढाएको पनि स्पष्ट पारे । सबै प्रकारका खेलकुदलाई समान रूपमा अघि बढाउने नीति सरकारले लिएको जानकारी उनले दिए ।
    प्रदेशमा भलिबल खेलाडी उत्पादन गर्न तथा राष्ट्रिय स्तरमा पहिचान स्थापित गर्न मणिमुकुन्द भलिबल क्लब सफल भएकोमा पनि उनले खुशी व्यक्त गरे । आजदेखि सुरु भएको प्रतियोगिता  १३ गतेसम्म सञ्चालन हुनेछ । यो प्रतियोगिता साँझ ६ बजेदेखि राति १० बजेसम्म चल्नेछ । प्रतियोगितामा नेपाल, भारत र इरानका खेलाडीहरूको सहभागिता रहेको छ ।

    No description available.

  • वर्षा रोकिएको ५ घण्टासम्म पनि किन खेल्न तयार भएन मूलपानी मैदान ?

    वर्षा रोकिएको ५ घण्टासम्म पनि किन खेल्न तयार भएन मूलपानी मैदान ?

    काठमाडौं । आईसीसी यु–१९ विश्वकप क्रिकेटको एसिया क्षेत्रको छनोटमा निर्णायक खेल नेपाल र अफगानिस्तानबिच हुँदै थियो ।

    मूलपानीको तल्लो मैदानमा बिहान साढे ९ बजेबाट खेल सुरु हुने तालिका भए पनि बिहानैदेखि वर्षा भएपछि तोकिएको समयमा खेल सुरु हुने सम्भावना थिएन । बिहान पौने ९ बजे वर्षा रोकियो । त्यसपछि मैदानको कभर हटाउन थालियो ।

    वर्षा रोकिएसँगै धेरैलाई लागेको थियो- ओभर घटाएर पनि खेल हुन्छ । वर्षा रोकिएपछि सबै ग्राउन्ड स्टाफ मैदानको कभरसँगै पानी हटाउन थाले । सामान्यता क्रिकेटमा वर्षा रोकिएको १ देखि २ घन्टाभित्र मैदान खेल्नका लागि तयार हुन्छ । सोहीअनुसार मूलपानी मैदान पनि ११ बजेभित्र तयार हुने धेरैको अनुमान थियो । तर, मैदान २ बजेसम्म तयार भएन । ग्राण्ड स्टाफको हरसम्भव प्रयास सफल हुन सकेन । अम्पायरले ३ पटकसम्म मैदानको निरीक्षण गरे ।

    पछिल्लो पटक दिउँसो २ बजे निरीक्षणपछि मैदान भिजेको कारण खेल हुन नसक्ने जारी अम्पायरले गराए । त्यसपछि दुवै टोलीले एक-एक अंक बाँडे । रनरेटमा नेपाललाई पछि पार्दै अफगानिस्तानले सन् २०२६ मा हुने यु–१९ विश्वकपमा छनोट भयो ।

    नवौँ पटक विश्वकप खेल्ने नेपालको सपनामा तुषारापात लाग्यो । अम्पायरले मैदानमा निरीक्षण गर्न जाँदा बाउन्ड्रीको भागमा पानी सुकाउने काम भइराखेको थियो ।

    मैदानका भित्री भाग खेल्नका लागि योग्य भए पनि बाहिरी भाग भने सुकेको थिएन । त्यस कारण पनि अम्पायर खेल हुन नसक्ने निर्णयमा पुगे । बाउन्ड्रीको भागमा पानी जम्नका कारण उक्त समस्या आएको हो ।

    मूलपानीको तल्लो मैदानमा यसै प्रतियोगिताबाट अन्तर्राष्ट्रिय खेल खेलाउने थालिएको हो । उद्घाटन भएको १७ वर्षपछि मूलपानीको तल्लो क्रिकेट मैदानमा पहिलो अन्तर्राष्ट्रिय खेल भएको हो ।

    ग्राण्ड छोप्ने कुरामा म्यानेजमेन्टको तयारी नपुगेको क्यानका एक सदस्य स्वीकार्छन् । ‘तयारी नपुगेको जस्तो देखियो । पुरै ग्राण्डलाई कभरलाई छोप्न पाएको भए खेल हुन सक्थ्यो की भन्ने हो,’ ती सदस्यले भने, ‘ग्राण्ड स्टाफले त मिहेनत गर्नुभएकै हो ।’

    पानीको मात्रा धेरै हुँदा खेल नहुन नसकेको नेपाल क्रिकेट संघ क्यानका प्रवक्ता छुम्बी लामाले बताए । ‘धेरै नै पानी परेको हो नि त । घरेलु खेल होइन, अन्तर्राष्ट्रिय खेल हो । कसैको करकावमा गर्ने कुरा रहँदैन नि त । खेल हुने स्थिति नहुँदै अम्पायरहरूले खेल रद्द गर्नुभएको हो,’ उनले भने ।

    लामाले मैदानमा लेभलिङको पाटोमा काम गर्नुपर्ने अवस्था रहेको बताए । उनले भने, ‘कति भागमा पानी जम्दो रैछ । त्यसको टेक्निकल कुराहरूमा ध्यान दिनुपर्‍यो । लेभलिङको पाटोमा, पानी किन जमिरहेको छ रु भन्ने कुरामा काम गर्नुपर्ने छ ।’

  • वर्षाका कारण गोल्डेन चान्स मिस भयो : प्रशिक्षक शक्ति गौचन

    वर्षाका कारण गोल्डेन चान्स मिस भयो : प्रशिक्षक शक्ति गौचन

    काठमाडौं । नेपाली यु–१९ टोलीका प्रशिक्षक शक्ति गौचनले वर्षाका कारण गोल्डेन चान्स मिस भएको बताएका छन् । खेल रद्द भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रशिक्षक गौचनले वर्षाका कारण विश्वकपमा छनोट हुने अवसर गुमाएको बताएका हुन् ।
    वर्षापछि मैदानमा पानी जम्दा नेपाल र अफगानिस्तानबिचको खेल रद्द भएको थियो । खेल रद्द हुँदा नेपाल विश्वकप छनोट हुन असफल भयो ।
    प्रशिक्षक गौचनले अफगानिस्तानसँगको खेलअघि हराउन सक्छौ भन्ने विश्वास रहेको सुनाए । ‘यसअघि भएको शृंखलामा राम्रो कमब्याक गरेको थियौं, हराउन सक्छौं भन्ने थियो,’ उनले भने ।
    भाग्यले साथ नदिँदा विश्वकप खेल्ने सपना पूरा नभएको गौचनले बताए ।
  • टीम राम्रो थियो, तर फाइनल खेल्न पाइएन : कप्तान भट्ट

    टीम राम्रो थियो, तर फाइनल खेल्न पाइएन : कप्तान भट्ट

    काठमाडौं । नेपाली यू-१९ टोलीका कप्तान नरेन भट्टले टीम राम्रो भए पनि पानी आफ्नो कन्ट्रोलमा नरहेको बताएका छन् ।

    अफगानिस्तानसँगको खेल रद्द भएर विश्वकपमा छनोट हुन असफल भएपछि कप्तान भट्टले तयारी राम्रो भए पनि खेल्न नपाउनु दु:खद भएको बताए ।

    ‘पानीको बारेमा हामीले सोचेका थिएनौँ । पानी आइदियो । अब के भन्ने त्यसमा,’ उनले भने ।

    टिमका खेलाडीले क्याम्पदेखि राम्रो प्रदर्शन गर्दै आएको भट्टले सुनाए ।

    उनले भने, ‘क्याम्पदेखि नै सबैले राम्रो गरिराखेको थिए । यसअघिका खेलमा राम्रो प्रदर्शन गरिरहेका थियौँ । एकदम टिम राम्रो थियो । तर,फाइनल खेल्न पाइएन ।’

  • खेल हुन नसकेपछि अंक बाडे दुवै टोलीले, अफगानिस्तान विश्वकपमा छनोट

    खेल हुन नसकेपछि अंक बाडे दुवै टोलीले, अफगानिस्तान विश्वकपमा छनोट

    काठमाडौं । आईसीसी यू–१९ विश्वकप क्रिकेटको एसिया छनोटअन्तर्गतको नेपाल र अफगानिस्तान बीचको निर्णायक‌ खेल रद्ध भएको छ ।

    मौसमका कारण नेपाल र अफगानिस्तानको खेल हुन नसकेको हो । शनिबार बिहान ९ बजेबाट प्रतियोगिता सुरु हुने तालिका रहेको थियो ।

    वर्षाका कारण खेल हुन नसकेपछि दुवै टोलीले एकएक अंक बाँडे । छनोटमा दुवैले समान ७ अंक जोडे । तर, रनरेट धेरै हुँदा अफगानिस्तान विश्वकपमा छनोट हुन सफल भयो ।

    नेपालले युएईलाई ५ रन, ओमनलाई ८ विकेट र हङकङलाई ९ विकेटले पराजित गरेको थियो । अफगानिस्तानले ओमन र हङकङलाई समान ८ विकेट र युएईलाई १ सय ८० रनले पराजित गरेको थियो ।

    आफ्ना पछिल्ला तीन वटा खेलमा विजयी भएका दुवै टोली आज आफ्नो अन्तिम खेल जितेर विश्वकपमा छनोट हुने आशामा थिए । तर मौसमले साथ नदिएपछि रनरेटका आधारमा अफगानिस्तान छनोट भएको हो ।

     

  • यू–१९: अफगानिस्तानसँग भिड्दै नेपाल, वर्षा बाधक बन्न सक्ने

    यू–१९: अफगानिस्तानसँग भिड्दै नेपाल, वर्षा बाधक बन्न सक्ने

    काठमाडौं । आईसीसी यू–१९ विश्वकप क्रिकेटको एसिया छनोटअन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले आज अफगानिस्तानसँग खेल्दैछ । खेल मुलपानी क्रिकेट मैदानमा शनिबार बिहान ९ बजेबाट सुरु हुँदैछ । आजको यो खेल विश्वकप छनोटका लागि निर्णायक हुनेछ ।

    पछिल्ला ३ वटै खेलमा जित निकालेका दुवै टोलीलाई विश्वकपमा छनोट हुन यो खेल जित्नैपर्ने हुन्छ । यो खेलमा जो विजेता हुन्छ, उहीँ टोली सन् २०२६ मा जिम्बावे र नामिबियामा हुने विश्वकपमा छनोट हुनेछ ।

    छनोट प्रतियोगितामा ३ खेलबाट दुवै टोलीले ६ अंक जोड्दै शीर्ष दुईमा छन् । रनरेटमा अघि हुँदा खेल रद्द भएको खण्डमा पनि अफगानिस्तान विश्वकपमा छनोट हुनेछ ।

    नेपालका लागि भने जितको विकल्प हुने छैन । नेपालले युएईलाई ५ रन, ओमनलाई ८ विकेट र हङकङलाई ९ विकेटले पराजित गरेको थियो । अफगानिस्तानले ओमन र हङकङलाई समान ८ विकेट र युएईलाई १ सय ८० रनले पराजित गरेको हो ।

    छनोट प्रतियोगिताअघि नेपाल र अफगानिस्तानविच ३ खेलको एकदिवसिय सिरिज भएको थियो । उक्त सिरिजको दुई खेलमा अफगानिस्तान र एक खेलमा नेपाल विजयी भएको थियो । तर आजको खेलमा वर्षा बाधक बन्ने देखिएको छ ।

  • अफगानिस्तानसँग भोलि भिड्दै नेपाल, यु १९ विश्वकपको ढोका खोल्न अन्तिम खड्गो

    अफगानिस्तानसँग भोलि भिड्दै नेपाल, यु १९ विश्वकपको ढोका खोल्न अन्तिम खड्गो

    काठमाडौं । आईसीसी यू–१९ विश्वकप क्रिकेटको एसिया छनोटअन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले भोलि अफगानिस्तानसँग खेल्दैछ । मुलपानी क्रिकेट मैदानमा शनिबार बिहान ९ बजेबाट सुरु हुने खेल विश्वकप छनोटका लागि निर्णायक हुनेछ ।

    पछिल्ला ३ वटै खेलमा जित निकालेका दुवै टोलीलाई विश्वकपमा छनोट हुन यो खेल जित्नैपर्ने हुन्छ । यो खेलमा जो विजेता हुन्छ, उहीँ टोली सन् २०२६ मा जिम्बावे र नामिबियामा हुने विश्वकपमा छनोट हुनेछ ।

    छनोट प्रतियोगितामा ३ खेलबाट दुवै टोलीले ६ अंक जोड्दै शीर्ष दुईमा छन् । रनरेटमा अघि हुँदा खेल रद्द भएको खण्डमा पनि अफगानिस्तान विश्वकपमा छनोट हुनेछ ।

    नेपालका लागि भने जितको विकल्प हुने छैन । नेपालले युएईलाई ५ रन, ओमनलाई ८ विकेट र हङकङलाई ९ विकेटले पराजित गरेको थियो । अफगानिस्तानले ओमन र हङकङलाई समान ८ विकेट र युएईलाई १ सय ८० रनले पराजित गरेको हो ।

    छनोट प्रतियोगिताअघि नेपाल र अफगानिस्तानविच ३ खेलको एकदिवसिय सिरिज भएको थियो । उक्त सिरिजको दुई खेलमा अफगानिस्तान र एक खेलमा नेपाल विजयी भएको थियो ।

    पहिलो खेलको ब्याटिङमा अफगानिस्तानका ब्याटर हाबी भए । त्यसपछिका दुई खेलमा भने अफगानिस्तानका ब्याटर खुलेर खेल्ने सकेनन् । पहिलो खेलमा ३०० को आँकडा पूरा गरेको अफगानिस्तानले दोस्रो र तेस्रो खेलमा १६८ रन कटाउन सकेनन् ।

    दोस्रो खेलमा १६८ र तेस्रो खेलमा ४६ रन जोड्दा ६ विकेट गुमाएको थियो । नेपाली पेस बलरसामु खुलेर खेलेका अफगानी ब्याटर स्पिनरसामु भने निरिह बन्न पुगेका थिए । त्यसकारण पनि शनिबार हुने खेलमा नेपालले प्रमुख हतियारको रुपमा स्पिनरलाई प्रयोग गर्नेछ ।

    अफगानिस्तानसँगको सिरिजमा टोलीबाहिर रहेका युवराज खत्री नेपालका प्रमुख हतियार हुनेछन् । उनले छनोटअन्तर्गत पछिल्लो दुई खेलमा ९ विकेट लिइसकेका छन् । उनलाई विपिन शर्मा, सन्तोष यादव, अशोक धामीले साथ दिनेछन् । पेस बलिङमा अभिषेक तिवारी र कप्तान नरेन भट्ट रहनेछन् ।

    अफगानिस्तानको बलिङसामु पनि नेपाली ब्याटर खुलेर चल्न सकेका छैनन् । नेपाली ब्याटर पहिलो खेलमा १७०, दोस्रो खेलमा १६७ र तेस्रो खेलमा १९१ रनमा समेटिए । छनोट प्रतियोगिताको पछिल्ला तिन खेलमा राम्रो सुरुआत पाएको नेपालले अफगानिस्तानविरुद्ध पनि ब्याटिङमा राम्रो सुरुआत पाउने अपेक्षा गरेको छ ।

    शाहिल पटेल र निरज यादवले नेपालको ओपनिङ गर्नेछन् । उनीहरुलाई टपअर्डरमा कप्तान नरेन भट्टले सघाउनेछन् ।

    सन्तोष यादव, रोशन विश्वकर्मासहितका खेलाडीले नेपालको मिडलअर्डर सम्हाल्नेछन् । अभिषेक तिवारी, हर्ष सोनारसहितका खेलाडीले नेपालको लोअर्डरमा रहनेछन् । नेपालका लागि बलिङमा घातक हुन सक्ने खेलाडीमा हाफिज जादरन, नुरिस्तानी ओमर्जाई र जैतुल्लाह शाहीनसहित खेलाडी छन् ।

    अफगानिस्तानको ब्याटिङमा ओपनर खालिद अहमदजाई, फैसल खान शिनोजादा र कप्तान महबुब खानलाई रोक्न नेपाललाई चुनौती हुनेछ । अहमद जारी छनोट प्रतियोगितामा सर्वाधिक रन बनाउने ब्याटर हुन् । उनले ३ खेलबाट २०२ रन बनाएका छन् ।

    युएईविरुद्ध १३२ रनको शतकीय इनिङ खेलेका थिए । युथ ओडिआई सिरिजमा नेपालविरुद्ध एक खेलमा ७६ रन बनाएका थिए । फैसल खान पनि नेपालका लागि घातक हुन सक्ने अर्का ब्याटर हुन् ।

    उनले युथ ओडिआईमा नेपालविरुद्ध ९७ रनको उत्कृष्ट इनिङ खेलेका थिए । एक खेलमा ब्याटिङ गर्ने पालो नपाएका अफगानी कप्तान महबुबले दुई खेलबाट ८१ रन बनाएका छन् । उनले नेपालविरुद्ध पनि एक अर्धशतक प्रहार गरेका थिए ।

    २०८० को माघमा भएको यू–१९ विश्वकपमा अफगानिस्तानलाई एक विकेटले हराउँदै नेपालले सुपर सिक्सको यात्रा तय गरेको थियो ।

  • सरकारको असहमतिको बाबजुद ओलम्पिक कमिटीको नयाँ समितिले आइओसीबाट पायो मान्यता

    सरकारको असहमतिको बाबजुद ओलम्पिक कमिटीको नयाँ समितिले आइओसीबाट पायो मान्यता

    काठमाडौं । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) ले नेपाल ओलम्पिक कमिटी (एनओसी) मा निर्वाचित नयाँ कार्यसमितिलाई मान्यता दिएको छ । आइओसीले पत्र लेख्दै एनओसीका नवनिर्वाचित अध्यक्ष जीवनराम श्रेष्ठ र महासविच राजीव श्रेष्ठसहितको समितिलाई मान्यता दिएको जनाएको छ ।

    एनओसीले गत पुस १३ गते अनलाइनमार्फत निर्वाचन गरेको थियो । उक्त निर्वाचनमा अध्यक्षमा जीवनराम श्रेष्ठ निर्वाचित भएका थिए । एनओसी सम्बन्ध, ओलम्पिक सोलिडारिटी र ओलम्पिज्म ३६५ का डाइरेक्टर जेम्स म्याक्लोडले हस्ताक्षर गरेको पत्रमा नवनिर्वाचित एनओसीलाई मान्यता दिँदै समावेशी र एकतावद्ध रुपमा सबै सदस्यहरुसँग सहकार्य गर्न र सम्बन्धित सरकारी निकायहरुसँग ओलम्पिक चार्टर अनुसार पारस्परिक समझदारी, सम्मान र विश्वासका साथ सुमधुर सम्बन्ध पुनस्र्थापित गर्न आग्रह समेत गरिएको छ ।

    नेपाल सरकारले भने एनओसीको निर्वाचनलाई अवैधानिक ठहर गरेको छ । सर्वोच्च अदालत र सरकारको निर्देशनविरुद्ध एनओसीले अनलाइनबाट निर्वाचन गरेको सरकारको दाबी छ । सरकारले एनओसी अवैधानिक भएको भन्दै मान्यता नदिन आइओसीलाई पत्राचारसमेत गरेको थियो । यसअघि नै राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले एनओसीको भवनमा तालाबन्दी गरिसकेको छ ।

  • गण्डकी हिरोजले जित्यो केपी ओली कप क्रिकेटको उपाधि

    गण्डकी हिरोजले जित्यो केपी ओली कप क्रिकेटको उपाधि

    पोखरा । दोस्रो संस्करणको केपी ओली कप टी–२० राष्ट्रिय पुुरुष क्रिकेटको उपाधि गण्डकी हिरोजले जितेको छ । मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा पोखरा रंगशालास्थित क्रिकेट मैदानमा शुक्रबार भएको फाइनल खेलमा सिइसी काठमाडौंलाई ५ विकेटले हराउँदै गण्डकी हिरोजले उपाधि जितेको हो । उपाधि जितेको गण्डकीले १० लाखसहित ट्रफी हार पा¥यो । फाइनलमा पराजित भएको काठमाडौंले ५ लाखमा चित्त बुझायो ।

    काठमाडौंले दिएको १ सय ८३ रनको लक्ष्य पाएको गण्डकीले १७ ओभर ३ बलमा ५ विकेट गुमाउँदै १८५ रन बनायो । गण्डकीका बसन्त कार्की २७ र नारायण जोशी १३ रनमा अविजित रहँदै टोलीलाई जित दिलाए ।

    किरण ठगुनाले ५२ रनको उत्कृष्ट अर्धशतकीय पारी खेल्दै आउट भए । सुजन थपलिया ३५ रनमा आउट भए । दिपक डुुम्रे २६ रनमा आउट भए । ओपनर साकिव हुकले २४ रन बनाए । बलिङमा काठमाडौंका लागि दिपेन्द्र रावतले ३ विकेट लिदाँ मनोज यादव र सुुर्य तामाङले १–१ विकेट लिए ।

    त्यसअघि टस जितेर ब्याटिङ थालेको काठमाडौंले १९ ओभर ४ बलमा १८२ रनमा समेटिएको थियो । अर्जुन घर्तीले ६८ रनको उत्कृष्ट पारी खेल्दै क्याचआउट हुन पुुगे । यस्तै पृथु बास्कोटाले अर्धशतकीय पारि खेल्दै आउट भए । सिवम तिवारीले २३ रन जोड्नु बाहेक अन्य ब्याटरले दोहोरो अंक जोड्न सकेनन् ।

    गण्डकीका लागि अमृत गुरुङ र कृष्ण पौडेलले समान ३–३ विकेट लिए भने विपिन खत्री र मिलन बोहोराले २–२ विकेट लिए । गण्डकी हिरोजका किरण ठगुुना प्लेयरअफ दी म्याच घोषित भए ।

    यस्तै काठमाडौंका दिपेन्द्र रावत प्लेयर अफ दी टुर्नामेन्ट घोषित भए । उनले ३० हजार रुपैयाँ प्राप्त गरे । उत्कृष्ट ब्याटर अत्तरियाका विपिन रावल र उत्कृष्ट बलर लुम्बिनीका अजय कुमार चौहान घोषित हुँदै समान २०–२० हजार रुपैयाँ प्राप्त गरे ।

  • दशौँ राष्ट्रिय खेलकुद स्थगनमा संघीय सरकार दोषी: मुख्यमन्त्री कँडेल

    दशौँ राष्ट्रिय खेलकुद स्थगनमा संघीय सरकार दोषी: मुख्यमन्त्री कँडेल

    सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश सकारको नभई संघीय सरकारकै कारण दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित भएको बताएका छन्।

    खेलकुद क्षेत्रसँग सम्बन्धित संघ र प्रशिक्षकहरुसँगको आज भेटघाट कार्यक्रममा मुख्यमन्त्री कँडेलले प्रतियोगिता स्थगित हुनुमा प्रदेश सरकारको कुनै संलग्नता नरहेको समेत स्पष्ट पारे ।

    दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी जेठ ३ देखि १० गतेसम्म कर्णालीमा आयोजना हुने तय भएको थियो ।

    दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको पटक पटक मिति सार्दासमेत आफूले खेल सुनिश्चित हुने गरि काम गर्न संघीय खेलकुद मन्त्रालयलाई सुझाव दिएको मुख्यमन्त्री कँडेलले बताए ।

    प्रतियोगिता गर्ने भन्ने तर प्रतियोगिताको लागि आवश्यक तयारीका सम्बन्धमा अलमल गर्ने खेलकुद मन्त्रालयको समस्या आफूले अनुभव गरेको पनि मुख्यमन्त्री कँडेलले जानकारी दिए ।

    पछिल्लो समय प्रतियोगिताको लागि सुर्खेतमा सचिवालय स्थापना भएपनि देखिने गरि काम नभएको मुख्यमन्त्री कडेलले असन्तुष्टी जनाँउदै आएका थिए ।

    खेलकुद प्रतियोगिता कर्णाली हुने भएपनि त्यसको मुख्य आयोजक संघीय सरकार भएकोले पूर्वाधारमा प्रदेशलाई सहयोग गरिएको आग्रहको समेत सुनुवाई नभएको मुख्यमन्त्री कँडेलले जानकारी दिए ।

    मुख्यमन्त्री कँडेलले भने, ‘विगतमा अन्यन्त्र आयोजना गरिएका राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि पूर्वाधारमा लागि करोडौँ खर्च गर्ने संघीय सरकारले कर्णाली प्रदेशमा निर्माण हुने पूर्वाधारमा पनि लगानी गर्नुपथ्र्यो, तर पूर्वाधारमा कुनै पनि लगानी भएन ।’

    मुख्यमन्त्री कँडेलले प्रदेश दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न प्रदेश सरकारबाट कुनै कमी हुन नदिने पनि जानकारी दिए ।

    उनले भने, ‘आयोजक केन्द्र भएपनि कर्णालीको भविष्यसँग जोडिएको प्रतियोगिता सम्पन्न गर्न प्रदेश सरकारको तर्फबाट पुरै सहयोग र सहकार्य हुन्छ । ’

    एक अर्को प्रसङगमा मुख्यमन्त्री कडेलले प्रदेश रंगशालाको काम सकेर हन्तान्त्रण भएको दिन भुक्तानीको लागि कुनै समस्या नहुने बताए । उनले भने, निर्माण कम्पनीले कतिबेला १ प्रतिशत काम बाँकी छ भन्ने कतिबेला सम्पन्न भयो भन्ने खालका कुरा गरिरहेको छ तर रंगशाला हस्तान्त्रण भएको छैन् ।

    ‘काम सम्पन्न भएर हस्तान्त्रण भयो भने बाँकी रकम दिन प्रदेश सरकार तयार छ, हामीलाई कुनै समस्या छैन् ।’ मुख्यमन्त्री कँडेलले निर्माण व्यवसायीले काम सकेर रंगशाला हस्तान्त्रण गर्नुभन्दा बाहानबाजी गर्दे हिडेको पनि बताए ।

    रिक्त रहेको प्रदेश खेलकुद विकास समिति र जिल्ला खेलकुद विकास समितिमा नियुक्तिबारे छलफल गरेर चाडै टुंगोमा पुग्ने तयारी भएको मुख्यमन्त्री कँडेलले जानकारी दिए ।

    खेल पदाधिकारीहरुलाई मुख्यमन्त्री कँडेलले प्रदेश खेलकुद नहुँदा पनि खेलकुदका गतिविधि नरोक्न र प्रतियोगिताको मिति घोषणा हुनासाथ बन्द प्रशिक्षणमा रहने खेलाडीहरुको लागि आवश्यक व्यवस्था गर्ने पनि बताए । उनले दोहोरो अंकको पदक हासिल गर्ने गरि तयारी गर्ने खेलकुदका प्रशिक्षकहरुलाई निर्देशन दिए ।

  • लिग चरणमा अपराजित हुने एकमात्र टोली ललितपुर सिटी एफसी

    लिग चरणमा अपराजित हुने एकमात्र टोली ललितपुर सिटी एफसी

    काठमाडौं । लगातार दोस्रो उपाधिका निम्ति दृढ ललितपुर सिटी एफसीले नेपाल सुपर लिग (एनएसएल) २०२५ को लिग चरण शीर्ष स्थानमा रहँदै टुंग्याएको छ ।

    भाटभटेनी ग्रुपको स्वामित्वमा रहेको ललितपुर सिटी एफसीले नेपाल सुपर लिग (एनएसएल) २०२५ को लिग चरणमा अपराजित रहदै पहिलो स्थान सुरक्षित गर्‍यो । ललितपुर सिटी एफसी लिग चरणमा अपराजित हुने एकमात्र टोली हो ।

    लिग चरणका ६ खेलमा ललितपुर सिटीले १० गोल गरेको थियो भने ६ गोल खाएको थियो ।लिग चरणमा ६ खेल खेलेको ललितपुर सिटी एफसीले तीन जित र तीन बराबरसहित १२ अंक जोडेको छ । जारी प्रतियोगिताका सहभागी सात टिममध्येमा ललितपुर नै लिग चरणमा सबैभन्दा धेरै अंक जोड्ने टोलीसमेत हो ।

    यो उत्कृष्ट प्रदर्शनले क्लबको निरन्तरता, रणनीति, र जुझारुपनलाई प्रतिबिम्बित गर्ने क्लबको धारणा छ । एनएसएल–२०२३ को विजेता ललितपुर सिटी एफसी अब प्लेअफमा प्रवेश गर्दै दोस्रो उपाधि जित्ने लक्ष्यका साथ अघि बढेको छ ।

    भाटभटेनी समूहको सशक्त नेतृत्व र प्रतिबद्धताको साथ पाएको क्लबले खेलाडी विकास, प्रशिक्षक टोली र समुदायसँगको सम्बन्धमा निरन्तर लगानी गर्दै आएको छ । जसले नेपाली फुटबलमा नयाँ मापदण्ड स्थापित गरेको छ ।

    अपराजित, अडिग, अविरल रहँदै प्रतियोगितामा अघि बढिरहेको ललितपुर अब उपाधिमा केन्द्रित छ । लिग चरणमा अपराजित रहँदा ललितपुर प्रतियोगितामा ‘अजेय टोली’ को रुपमा उदाएको छ ।

    यो निरन्तरता र साहसी प्रदर्शन क्लब एकाग्रता, परिपक्व रणनीति, र ‘टिम फस्र्ट’ मानसिकताकै कारण सम्भव रहेको क्लबले जनाएको छ ।
    एनएसएल–२०२३ को विजेतासमेत रहेको क्लबले आत्मविश्वास, उत्साह र कुशलतासाथ प्लेअफमा पाइला अघि बढाउँदा सम्पूर्ण देशभरिका फुटबल समर्थकलाई नै प्रेरणा दिइरहेको छ ।

    क्लबलाई एनएसएल–२०२५ मा प्रभु बैंकले मुख्य प्रायोजन गरेको छ । यस्तै, पावर्ड बाईमा एनसेल रहँदा मुख्य साझेदारमा बीवाईडी, सह–साझेदाहरुमा पेप्सी, स्मार्ट एन्ड ह्यान्डसम, अल आउट, युनाइटेड अजोड इन्स्योरेन्स र फ्रुट जेम्स छन् ।

    क्लबले यी सबै केवल प्रायोजकको रूपमा मात्र नभई फुटबलको शक्ति र नेपाली खेलमा गर्वको भावना जगाउने विश्वास साझेदार भएको जनाएको छ ।भाटभटेनीले फुटबलमात्रै नभई अन्य खेल र खेलाडीलाई पनि प्राथमिकतासाथ सहयोग गर्दै आइरहेको छ ।

    भलिबलकी उषा भण्डारीलाई ब्रान्ड एम्बासडरको रुपमा सम्झौता गरेको छ । यस्तै, टेनिसकी सिवानी गुरुङ, स्विमिङका ओलम्पियन शिरिष गुरुङ, नेपाली राष्ट्रिय बास्केटबलकी पूर्वकप्तान सदीना श्रेष्ठ, राष्ट्रिय महिला टिमकी मिडफिल्डर प्रीति राईसँग पनि खेल कौशल र व्यक्तित्व विकासका निम्ति भाटभटेनीले सहकार्य र सहयोग गर्दै आएको छ ।

     

  • अतिरिक्त समयको थ्रीलरमा युनाइटेड विजयी

    अतिरिक्त समयको थ्रीलरमा युनाइटेड विजयी

    हेटौँडा । युरोपा लिग अन्तर्गतको दोस्रो क्वाटर फाइनल लेगमा सनसनी प्रदर्शन गर्दै इङ्लिस क्लब म्यानचेस्टर युनाइटेड सेमिफाइनल प्रवेश गरेको छ ।

    नियमित समयमा २-२ को बराबरी खेलेको युनाइटेडले अतिरिक्त समयमा फ्रेन्च क्लब लियोनलाई ५-४ ले जित्दै समग्रमा ७-६ को नतिजा सहित सेमिफाइनलमा स्थान बनाएको हो ।

    नियमित समयमा ओल्ड ट्राफोर्डमा २-२ को बराबरीमा रोकिएको युनाइटेडलाई विजयी हुन १२१ मिनेटसम्म कुर्न परेको थियो ।

    ह्यारी म्याग्वायरले खेलको अन्तिम मिनेटमा विजयी गोल गरेपछि खेल ट्राइब्रेकर जानबाट रोकिएको थियो । म्यानयुको जितमा थप चार गोल त्यस अघि म्यानुएल उगार्टे, डिएगो डालोट, ब्रुनो फर्नान्डेज र कोबी मैनूले गरे ।

    लियोनको लागि लियोनका कोरेंटिन टेलिसो, निकोलस ट्यागलियाफिको, रेयान चेर्की र एलेक्जेन्डर लाकाजेट्टीले गोल गरे ।

  • सकियो गणेश थापामाथि फिफाको १० वर्षे प्रतिबन्ध

    सकियो गणेश थापामाथि फिफाको १० वर्षे प्रतिबन्ध

    काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) पूर्व अध्यक्ष गणेश थापामाथि लगाएको प्रतिबन्ध सकिएको छ ।

    फिफाले २०७२ मा एन्फाका तत्कालीन अध्यक्ष थापालाई १० वर्षसम्म फुटबलसम्बन्धी कुनै पनि गतिविधिमा संलग्न हुन प्रतिबन्ध गरेको थियो । भ्रष्टाचार र घुस लिएकोसहित विभिन्न धाराहरू उल्लंघन गरेको भन्दै थापालाई फिफाले प्रतिबन्ध गरेको हो । सो प्रतिबन्ध अप्रिल १५ मा सकिएको हो ।

    थापाले विज्ञप्ति जारी गर्दै प्रतिबन्ध सकिएको जनाएका छन् । ‘म माथि लगाइएको प्रतिबन्ध फुकुवा भएको जानकारी गराउन चाहन्छु। फिफाले सन् २०१५ को १६ अप्रिलमा प्रतिबन्ध लगाएको थियो। त्यो २०२५ को अप्रिल १५ मा आएर टुंगिएको छ,’ उनले लेखेका छन् ।

    प्रतिबन्धमा परेको यो १० वर्ष नै चुनौती पूर्ण भएको थापाले उल्लेख गरेका छन् । ‘कठिन दस वर्षे अवधिपश्चात्, मेरो फुटबल सम्बन्धित सबै गतिविधिबाट भएको निलम्बन अब समाप्त भएको छ। यो यात्रा चुनौतीपूर्ण थियो, तर यस अवधिमा मेरो परिवार, साथीहरू, शुभचिन्तकहरू र समस्त फुटबल प्रेमीहरूले गर्नुभएको सहयोग र अटल समर्थनको लागि म धन्यवाद र आभार व्यक्त गर्न चाहन्छु, विज्ञप्तिमा उल्लेख गरिएको छ ।

  • च्याम्पियन्स लिग : सेमिफाइनल समीकरण पुरा

    च्याम्पियन्स लिग : सेमिफाइनल समीकरण पुरा

    हेटौंडा । युरोपियन क्लब फुटबलको सबैभन्दा प्रतिष्ठित खेल च्याम्पियन्स लिगको सेमिफाइनल समीकरण पूरा भएको छ ।

    बुधवार राती भएको खेलमा १५ पटक च्याम्पियन्स लिग विजेता रहेको स्पेनिस महारथी रियल म्याड्रिडलाई पराजित गर्दै इङ्लिस क्लब आर्सनलले सेमिफाइनलमा स्थान बनाएको छ ।

    पहिलो लेगमा ३-० ले लिड गरेको आर्सनलले दोस्रो लेगमा पनि २-१ को सहज जित निकालेपछि समग्रमा ५-१ को जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएको हो ।

    गएराति नै भएको अर्को सेमिफाइनल प्रतिस्पर्धामा इटालियन इन्टर मिलान च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ।

    जर्मन क्लब बायर्न म्युनिखसँग बुधवार २-२ को बराबरी खेलेपछि समग्रमा ४-३ को अग्रतासहित इन्टर अन्तिम चारमा पुगेको हो ।

    पिएसजी र बार्सिलोना यसअघि नै सेमिफाइनल पुगिसकेका छन्। अब सेमिफाइनलमा बार्सिलोना र इन्टर तथा पिएसजी र आर्सनलबीच प्रतिस्पर्धा हुनेछ।

    यो पटक इपिएलबाट आर्सनल, ला-लिगाबाट बार्सिलोना, लिग वानबाट पिएसजी तथा सिरि एबाट इन्टर मिलानले सेमिफाइनलमा स्थान बनाएका छन् ।

  • रेमोन्टाडा : रियल म्याड्रिडको आत्मा बनेको पुनरागमनको कथा

    रेमोन्टाडा : रियल म्याड्रिडको आत्मा बनेको पुनरागमनको कथा

    फुटबल केवल गोलहरूको खेल होइन, यो भावना, इतिहास, र संघर्षको चित्रण हो। जब हार निश्चित जस्तो देखिन्छ, तर कुनै टोलीले विश्वास, धैर्यता र साहसका साथ खेल पल्टाउँछ, त्यति बेला फुटबलले चमत्कार देखाउँछ। यस्तै चमत्कारलाई स्पेनी भाषामा ‘रेमोन्टाडा’ भनिन्छ—पुनरागमन। र जब ‘रेमोन्टाडा’ भन्ने शब्द उच्चारण गरिन्छ, त्यसको सबभन्दा शक्तिशाली प्रतीक बनेको छ—रियल म्याड्रिड ।

    रियल म्याड्रिडको च्याम्पियन्स लिग इतिहासमा यस्ता थुप्रै रातहरू छन्, जसले विश्व फुटबलका समर्थकहरूलाई हैरान पार्ने किसिमले खेल पल्टिएको देखिएको छ। पछिल्ला वर्षमा खासगरी सन् २०२२ को च्याम्पियन्स लिगमा गरिएका पुनरागमनहरूले यो शब्दलाई रियल म्याड्रिडको आत्मासँगै गाँसेको छ। त्यो वर्ष म्याड्रिडले पेरिस सेन्ट-जर्मेन, चेल्सी र म्यानचेस्टर सिटी जस्ता क्लबहरूसँगको द्वन्द्वमा अन्तिम क्षणसम्म लड्दै, लगभग हराइसकेको खेलमा विश्वासको शक्ति देखाएको थियो। यही शक्ति र आत्मविश्वास म्याड्रिडलाई युरोपको सबैभन्दा सफल क्लब बनाउने मुख्य कारणमध्ये एक हो।

    ‘रेमोन्टाडा’ भनेको केवल एक खेलमा फर्किएको प्रसंग होइन। यो एक मानसिकता हो, जहाँ “असम्भव” भन्ने शब्दको कुनै अस्तित्व हुँदैन। यसमा लुका मोड्रिचको शान्त नेतृत्व, करिम बेन्जेमाको प्रहार क्षमता, भल्भर्डेको जोश र भिनिसियस जुनियरको स्पार्क छ। जब दर्शक निराश हुन्छन्, तब म्याड्रिड पुनः उठेर देखाउँछ—खेल केवल ९० मिनेटको यात्रा होइन, यो भावना हो।

    तर अहिले, यो भावना फेरि एकपटक गम्भीर परीक्षामा परेको छ।

    अर्सेनलसँगको ऐतिहासिक हार: बर्नाबेउमा पुनः एकपटक चमत्कारको अपेक्षा

    २०२५ को च्याम्पियन्स लिग क्वार्टरफाइनलको पहिलो लेगमा रियल म्याड्रिड अर्सेनलसँग लन्डनको एमिरेट्स स्टेडियममा ३–० ले पराजित भयो। यो केवल हार थिएन, यो अपमान थियो—त्यो पनि युरोपका सबैभन्दा ठूला प्रतियोगितामा, सबैभन्दा प्रतिष्ठित क्लबमाथि। अर्सेनलले सुरुदेखि नै उच्च प्रेस, गतिशील पासिङ र साहसी रणनीतिले म्याड्रिडलाई पुरै दबाबमा राख्यो। गेब्रियल मार्टिनेली, बुकायो साका र डेक्लान राइसले म्याड्रिडको रक्षापंक्तिलाई थिचेर खेले। म्याड्रिडका रक्षकहरू एकपछि अर्को गल्ती गर्दै गए र गोलकिपर थिबो कोर्टोआ पनि आत्मविश्वासहीन देखिए।

    खेलको मध्य भागमा नै म्याड्रिडका खेलाडीहरूको अनुहारमा थकान र निराशा देखिन्थ्यो। मध्यान्तरसम्म २–० को स्कोरले म्याड्रिडको ‘रेमोन्टाडा’ इतिहासलाई चुनौति दिएको थियो। दोस्रो हाफमा थपिएको तेस्रो गोलले खेल मात्र होइन, सिङ्गो म्याड्रिड टोलीको मनोबललाई नै झट्का दियो।

    तर… यो म्याड्रिड हो।

    अब दोस्रो लेग सान्टियागो बर्नाबेउमा हुनेछ—जहाँ रातहरू कहिल्यै साधारण हुँदैनन्। जहाँ हजारौँ समर्थकको स्वरले खेलाडीको रक्तचाप बढाउँछ। जहाँ रियल म्याड्रिडले हरेक पटक यस्तो हारको जवाफ गोलमा रूपान्तरण गरेर दिएको छ। प्रशिक्षक कार्लो एन्सेलोट्टीले पत्रकार सम्मेलनमा भनेका थिए, “३ गोलको घाटा ठूलो हो तर असम्भव होइन।” उनले थपे, “हामी घर फर्किरहेका छौं। बर्नाबेउले चमत्कारहरू सृष्टि गर्छ।”

    के पुनः एकपटक ‘रेमोन्टाडा’ सम्भव छ?

    रियल म्याड्रिडको इतिहासले देखाउँछ- जब सबैले हार मान्छन्, तब उनीहरू उठ्छन्। भिनिसियसको गति, बेलिङहमको नियन्त्रण, र मोड्रिचको अनुभव—यी सबैले दोस्रो लेगमा जादु गर्न सक्छन्। तर अर्सेनलले देखाइसकेको छ कि उनीहरू केवल आक्रामक मात्र होइन, एक संरचित, आत्मविश्वासी टोली पनि हुन्। प्रशिक्षक मिकेल अर्टेटाले आफ्नो योजना सफलतापूर्वक कार्यान्वयन गर्दै म्याड्रिडको कमजोरी चिर्दै अगाडि बढेका छन्।

    राम्रो पक्ष के छ भने, म्याड्रिडका समर्थकहरू अझै आशावादी छन्। किनभने उनीहरूले इतिहासलाई आफ्नै आँखाले देखेका छन्—कसरी एकपटक होइन, पटक–पटक म्याड्रिडले च्याम्पियन्स लिगमा असम्भवलाई सम्भव बनाएको छ।

    फेरि एकपटक सारा विश्वको नजर बर्नाबेउमा हुनेछ। खेल मात्र होइन, भावना पनि हुनेछ। इतिहासले पुनः दोहोरिन खोजिरहेको छ। प्रश्न एकै छ—के यो अर्को ‘रेमोन्टाडा’ को रात हुनेछ? वा अर्सेनलको नयाँ युग सुरु हुनेछ?

    जवाफ… चाँडै आउँदैछ।

     

  • बागमती प्रदेशस्तरीय पावरलिफ्टिङ प्रतियोगिता हुँदै

    बागमती प्रदेशस्तरीय पावरलिफ्टिङ प्रतियोगिता हुँदै

    काठमाडौं । दशरथ रंगशालामा बागमती प्रदेशस्तरीय पावरलिफ्टिङ प्रतियोगिता हुने भएको छ । ललितपुर जिल्ला पावरलिफ्टिङ संघको आयोजना तथा नेपाल पावरलिफ्टिङ संघको सहकार्यमा यहि बैशाख ५ र ६ गते उक्त प्रतियोगिता हुन लागेको हो ।

    यो प्रतियोगिताबाट आगामी अगस्टमा काठमाडौंमा आयोजना हुने एसियन पावरलिफ्टिङ प्रतियोगिताका लागि खेलाडीसमेत छनोट गरिने आयोजकका अध्यक्ष सुन्दर भुसालले जानकारी दिए ।

    प्रतियोगितामा पुरुष ५९, ६६ ७४, ८३ केजीमूनि र ८३ केजीमाथिको तौल समूहको प्रतिष्पर्धा हुनेछ । महिलातर्फ ५७, ६३, ६९ केजीमूनि र ६९ केजीमाथिको तौल समूहका इभेन्ट सञ्चालन हुनेछन् ।

    उमेर समूहतर्फ ५० वर्षमाथि पुरुष, ४० वर्षमाथि महिला, १८ वर्षमूनि र २३ वर्षमूनिका पुरुषबिच छुट्टछुट्टै प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ ।

    प्रतियोगितामा प्रत्येक तौलका प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः २० हजार, १५ हजार र १० हजार प्रदान गरिनेछ । उमेर समूहतर्फ प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ३० हजार, १५ हजार र १० हजार पाउनेछन् । योसँगै पुरुष र महिलातर्फ ओपन श्रेणीका विजेताले नगद एक लाख पाउनेछन् ।

    प्रतियोगिता सम्पन्न गर्न २५ लाख खर्च लाग्ने आयोजकले जनाएको छ ।

  • केपी ओली कप क्रिकेट : सेमिफाइनल समीकरण पूरा

    केपी ओली कप क्रिकेट : सेमिफाइनल समीकरण पूरा

    पोखरा । पोखरामा जारी दोस्रो संस्करणको केपी ओली कप टी २० क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । बुधबार समूह चरणको अन्तिम खेलमा मालपोखरी क्रिकेट क्लबलाई ६ विकेटले हराउँदै अत्तरिया क्रिकेट एकेडेमी समूह ‘डी’ बाट सेमिफाइनल प्रवेश गरेको हो ।

    समूह ‘ए’ बाट सिइसी काठमाडौं, ‘बी’ बाट गण्डकी हिरोज र ‘सी’ बाट हिमाल फ्रेन्ड्स क्रिकेट क्लबले यसअघि नै सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेका छन् ।

    सेमिफाइनलका खेल बिहीबार हुनेछ । पहिलो सेमिफाइनल खेल काठमाडौं र हिमाल क्लबबिच हुनेछ । दोस्रो सेमिफाइनल खेल गण्डकी र अत्तिरियाबिच हुने तालिका छ । मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा पोखरा रंगशालास्थित क्रिकेट मैदानमा जारी प्रतियोगिताको फाइनल खेल शुक्रबार हुनेछ ।

    आज भएको खेलमा १२५ रनको विजयी लक्ष्य पाएको अत्तरियाले १४ ओभर १ बलमा ४ विकेट गुमाउँदै पूरा गर्यो । अत्तरियाको जितमा निश्चल क्षेत्री ३० र अर्जुन विक १२ रनमा नटआउट रहे । अभिषेक पलले ३८ रनको योगदान दिए । मालपोखरीका लागि सन्दिप खड्का, सिराज हावारी, डब्लु मलिकले समान १–१ विकेट लिए ।

    त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको मालपोखरी १२४ रनमा समेटिएको थियो । मालपोखरीका लागि विजय गुप्ताले सर्वाधिक ३८ रन बनाए । ओपनर सोहन कुमार यादव १६, डब्लु मलिक १७ र जितेश मन्डल १७ रनको योगदान दिए । अत्तरियाका लागि अर्जुन विक, हिकमत महर, शौर्या श्रेष्ठ र सुशिल साउदले समान २–२ तथा भोजराज भट्टले १ विकेट लिए ।

    चैत २३ गतेदेखी सञ्चालन भएको प्रतियोगितामा कुल १६ टिमको सहभागिता रहेको थियो । हरेक समूहको विजेताले अन्तिम चारमा स्थान बनाएका हुन् । प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन् ।

  • यू-१९ विश्वकप छनोटका लागि नेपाल र अफगानिस्तानबीचको खेल फाइनल सरह

    यू-१९ विश्वकप छनोटका लागि नेपाल र अफगानिस्तानबीचको खेल फाइनल सरह

    काठमाडौं । सन् २०२६ मा हुने आईसीसी यू-१९ विश्वकप क्रिकेटमा छनोटका लागि नेपाल र अफगानिस्तानबीचको खेल निर्णायक हुने भएको छ ।

    काठमाडौंस्थित मुलपानी क्रिकेट मैदानमा जारी विश्वकपको एसिया छनोटमा नेपाल र अफगानिस्तानबिचको विजेता टोलीले जिम्बावे र नामिबियामा हुने यू–१९ विश्वकप खेल्नेछ । जारी प्रतियोगितामा दुवै टोली अपराजित छन् । ३ खेलबाट दुवै टोलीले ६ अंक जोड्दै शीर्ष दुईमा छन् ।

    नेपालले युएईलाई ५ रन, ओमनलाई ८ विकेट र हङकङलाई ९ विकेटले पराजित गरेको थियो । अफगानिस्तानले ओमन र हङकङलाई समान ८ विकेट र युएईलाई १८० रनले पराजित गरेको हो ।
    आउँदो शनिबार नेपाल र अफगानिस्तानविचको खेल हुनेछ । उक्त खेलमा जुन टोली विजेता हुन्छ । सोही टोलीले विश्वकपमा आफ्नो स्थान सुरक्षित गर्नेछ । पराजित हुने टोली भने विश्वकपमा छनोट हुन असफल हुनेछ । छनोट प्रतियोगिताअघि नेपाल र अफगानिस्तानविच ३ खेलको एकदिवसिय सिरिज भएको थियो ।

    उक्त सिरिजको दुई खेलमा अफगानिस्तान र एक खेलमा नेपाल विजयी भएका थिए । २०८० को माघमा भएको यू–१९ विश्वकपमा अफगानिस्तानलाई एक विकेटले हराउँदै नेपालले सुपर सिक्सको यात्रा तय गरेको थियो ।

  • यू-१९ विश्वकपको एसिया छनोटमा नेपालको लगातार तेस्रो जित, हङकङ ९ विकेटले पराजित

    यू-१९ विश्वकपको एसिया छनोटमा नेपालको लगातार तेस्रो जित, हङकङ ९ विकेटले पराजित

    काठमाडौं । आईसीसी यू-१९ विश्वकपको एसिया छनोटमा नेपालले लगातार तेस्रो जित निकालेको छ।

    बुधबार भएको तेस्रो खेलमा हङकङले दिएको ११६ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले १२ ओभर ३ बलमा १ विकेट गुमाएर पूरा गर्‍यो । नेपालका लागि कप्तान नरेन भट्ट ३९ र शाहील पटेलले ४२ रनको अविजित इनिङ खेले ।

    त्यसअघि मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको हङकङ ४६ ओभर २ बलमा ११५ रनमा समेटिएको थियो ।
    हङकङलाई सस्तोमा समेट्न नेपालका युवराज खत्रीले सर्वाधिक ४ विकेट लिएका थिए ।

    बिपिन शर्माले ३, सन्तोष यादवले २ र अशोक धामीले १ विकेट झारेका थिए । ब्याटिङमा हङकङका लागि शिभ मथुरले सर्वाधिक ६३ रन बनाएका थिए ।

    नेपालले पहिलो खेलमा युएईलाई ५ रन र दोस्रो खेलमा ओमनलाई ८ विकेटले पराजित गरेको थियो । नेपालले अन्तिम खेल अफगानिस्तानसंग खेल्नेछ ।

  • नेपालविरुद्ध हङकङ ११५ मा अलआउट

    नेपालविरुद्ध हङकङ ११५ मा अलआउट

    काठमाडौं । आईसीसी यू-१९ विश्वकपको एसिया छनोटअन्तर्गत नेपाललाई हङकङले ११६ रनको सामान्य लक्ष्य दिएको छ ।

    मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको हङकङ ४६ ओभर २ बलमा ११५ रनमा समेटिएको हो ।

    हङकङलाई सस्तोमा समेट्न नेपालका युवराज खत्रीले सर्वाधिक ४ विकेट लिए ।

    विपिन शर्माले ३, सन्तोष यादवले २ र अशोक धामीले १ विकेट झारे । ब्याटिङमा हङकङका लागि शिभ मथुरले सर्वाधिक ६३ रन बनाए ।

  • फोर नेसन्स कप बक्सिङ च्याम्पियनसिपमा सहभागी नेपाली टोली स्वदेश फिर्ता

    फोर नेसन्स कप बक्सिङ च्याम्पियनसिपमा सहभागी नेपाली टोली स्वदेश फिर्ता

    काठमाडौं । फोर नेसन्स कप बक्सिङ च्याम्पियनसिप २०२५ मा सहभागी भएर स्वदेश फर्किएको नेपाली टोलीलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरिएको छ । प्रतियोगितामा नेपालले चार स्वर्ण, तीन रजत र दुई कांस्य पदक जितेको थियो ।

    उनीहरूको स्वागतको लागी बक्सिङ संघका पदाधिकारीहरू विमानस्थल पुगेका थिए ।

    भुटानको थिम्पुमा सम्पन्न प्रतियोगितामा महिला ५० केजी तौल समूहमा नेपालकी आरती बम्जनले भुटानकी जामो जिग्दाललाई ५-० अंकमा पराजित गरी पहिलो स्वर्ण दिलाइन् । महिला ५२ केजीमा नेपालकी अस्मिता दुवालले भुटानकै डेमो नोर्नुलाई ५-० अंकले आधारमा हराउँदै नेपाललाई दोस्रो स्वर्ण दिलाइन् ।

    त्यसैगरी महिला ५४ केजीमा नेपालकी वर्षा श्रेष्ठले भुटानकै लामो तासीलाई ४-१ अंकको पछि पार्दै स्वर्ण जितिन् भने पुरुष ५१ केजीमा नेपालका लक्ष्मण राईले भारत (सिक्किम) का कृष्ण कैलाश राईलाई ५-० अंकको हराउँदै स्वर्ण जिते ।

    यस्तै पुरुष ४८ केजीमा नेपालका लालप्रसाद उप्रेती भुटानका प्रतिस्पर्धात्मक खेलमा दोर्जे मगरसंग ४-१ अंकले पराजित हुँदै दोस्रो भए ।

    पुरुष ५४ केजीमा चन्द्रबहादुर थापा बंगलादेशका महोमद उन्सोवसँग फाइनलमा ३-२ अंक प्राप्त गरी रजत जिते । महिला ४८ केजीमा रमिशा श्रेष्ठले र बक्समान्डुबाट सहभागिता जनाएका छिरिङ वाङ्दी शेर्पा पुरुष ६० केजीमा कांस्य पदक जिते ।

    भुटान बक्सिङं संघको निमन्त्रणामा प्रतियोगिता खेल चैत्र २९ देखी ३१ सम्म सञ्चालक गरिएको थियो । खेलमा नेपाल, भारत, भुटान र बंगलादेश गरी ४ राष्ट्र सहभागी थिए । यो नेपालको दोस्रो सहभागिता हो ।

  • ६ वर्षपछि बार्सिलोना सेमिफाइनलमा

    ६ वर्षपछि बार्सिलोना सेमिफाइनलमा

    हेटौँडा । दोस्रो लेगमा जर्मन क्लब बोरुसिया डर्टमण्डसँग पराजितको बाबजुद पनि स्पेनिस क्लब बार्सिलोना च्याम्पियन्स लिगको सेमिफाइनल प्रवेश गरेको छ ।

    पछिल्लो छ वर्षमा सेमिफाइनल पुगेको बार्साले समग्रमा ५-३ को जित निकाल्दै सेमिफाइनल स्थान पक्का गरेको हो ।

    पहिलो लेगमा ४-० को जित निकालेको बार्सिलोनाले दोस्रो लेगमा भने ३-१ को हार बेहोरेको थियो । तर समग्रमा ५-३ को नतिजा सहित बार्सिलोना सफल भएको हो ।

    गएराति भएको खेलमा गुइरासीले ह्याट्रिक गरेपछि बार्सिलोना दबाबमा आएको थियो ।

    पहिले लेगमा ४-० को जित सहित मैदानमा ओर्लिएको बार्सा गुइरासीको आक्रमणले समस्या परेको थियो । तर डर्टमण्डले बार्सिलोनालाई एउटा आत्मघाती गोल उपहार दिएपछि बार्सा समग्रमा ५-३ को नतिजा सहित सेमिफाइनलमा प्रवेश गरेको हो ।

    अर्को क्वाटरफाइनलको दोस्रो लेगमा एस्टन भिल्लासँग ३-२ ले पराजित भए पनि पिएसजी ५-४ को अग्रतासहित सेमिफाइनल पुगेको छ।

  • यू-१९ विश्वकपको एसिया छनोट : हङकङविरुद्ध पहिला फिल्डिङ गर्दै नेपाल

    यू-१९ विश्वकपको एसिया छनोट : हङकङविरुद्ध पहिला फिल्डिङ गर्दै नेपाल

    काठमाडौं । आईसीसी यू-१९ विश्वकपको एसिया छनोटअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले हङकङविरुद्ध पहिला फिल्डिङ गर्दैछ ।

    मुलपानी क्रिकेट मैदान हङकङविरुद्ध नेपालका कप्तान नरेन भट्टले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

    नेपालले यसअघि भएका दुवै खेलमा जित निकालेको छ ।

  • राष्ट्रिय युवा संघ कप भलिबल प्रतियोगिताको उपाधि डोटीलाई

    राष्ट्रिय युवा संघ कप भलिबल प्रतियोगिताको उपाधि डोटीलाई

    कैलाली । कैलालीको धनगढी भएको राष्ट्रिय युवा सङ्घ कप भलिबल प्रतियोगिता २०८१ को उपाधि राष्ट्रिय युवा सङ्घ डोटीले जितेको छ ।

    आज भएको फाइनल खेलमा टिम मालिकार्जुनलाई हराउँदै राष्ट्रिय युवा सङ्घ डोटी विजयी भएको हो ।

    विजेता टिमले दुई लाख २५ हजार नगद ट्रफी, मेडल र प्रमाण पत्र पाएको छ भने उपविजेता बनेको टिम मालिकार्जुनले एक लाख २५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । तेस्रो भएको राना थारु आदर्श युवा क्लबले७५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान प्राप्त गरेको थियो । हिजो भएको खेलमा शाह पोल्ट्री फर्मलाई हराउँदै राना थारु आदर्श युवा क्लबले तेस्रो स्थान हासिल गरेको थियो ।

    खेलका उत्कृष्ट खेलाडीहरूलाई पनि नगदसहित सम्मान गरिएको थियो । प्रतियोगितामा वेस्ट डिफेन्डर डोटीका राजेश रावल भए त्यस्तै वेस्ट ब्लकर डोटीकै जितबहादुर ढुङ्गाना हुँदा वेस्ट सर्भर पनि डोटीका विनीत राना भएका थिए ।

    वेस्ट सेटर मालिकार्जुनका लोकेन्द्र गिरी भएका थिए । त्यस्तै वेस्ट स्पाइकर मालिकार्जुनका बलदेव धामी हुँदा वेस्ट पिलियर डोटीका सुरेश मल्ल भए । उनीहरूलाई पनि नगद, ट्रफी, मेडल र प्रमाण पत्रले पुरस्कृत गरिएको थियो ।

    नेकपा एमाले महासचिव शङ्कर पोख्रेलले चैत्र २९ गते उद्घाटन गरेको भलिबल प्रतियोगिताको आज समापन भएको हो । समापन समारोहका प्रमुख अतिथि राष्ट्रिय युवा सङ्घ नेपाल केन्द्रीय इन्चार्ज राजीव पहाडी थिए ।

    समापन समारोहमा उनले नेकपा एमालेको नेतृत्वको सरकारले खेलकुदमा प्रतिफल आउने गरि लगानी गरिरहेको बताएका थिए । राष्ट्रिय युवा सङ्घ नेपाल सुदूरपश्चिम प्रदेश कमिटीले सृजनशील काम गरेको भन्दै अध्यक्ष अरुण कुवरसहितको टिमलाई उनले धन्यवाद दिए ।

    राष्ट्रिय युवा सङ्घ नेपालका केन्द्रीय महासचिव सुमन पुरी, पूर्व अध्यक्ष बचनबहादुर सिंह र स्थायी कमिटी सदस्य समेत रहेका सुदूरपश्चिम सह इन्चार्ज गणेश थापाले पनि भलिबल प्रतियोगिता आयोजना गरेर राष्ट्रिय युवा सङ्घ सुदूरपश्चिमले खेलकुदलाई प्रवर्द्धन गरिरहेको बताए । उनीहरुले केपी ओली नेतृत्वको सरकारले अहिले जनतालाई आसा जगाउने काम गरिरहेको बताएका थिए ।

    पछिल्लो समय समाजमा बढिरहेको लागू पदार्थ दुर्व्यसनी रोक्न सचेतना फैलाउने उद्देश्यले राष्ट्रिय युवा सङ्घ सुदूरपश्चिम प्रदेश कमिटीले भलिबल प्रतियोगिता आयोजना गरेको प्रदेश कमिटी अध्यक्ष अरुण कुवरले बताए ।

    उनले आगामी दिनमा पनि आफूहरूले खेलकुदसहित अन्य विभिन्न माध्यमबाट युवाहरूमा पलाइरहेको निराशा अन्त्य गर्ने र लागू पदार्थ दुर्व्यसनी रोक्न गतिविधि गर्ने बताएका थिए ।

  • एनएसएलः साविक विजेता र उपविजेता प्लेअफमा, अन्य दुई स्थानका लागि ४ टोलीको प्रतिस्पर्धा

    एनएसएलः साविक विजेता र उपविजेता प्लेअफमा, अन्य दुई स्थानका लागि ४ टोलीको प्रतिस्पर्धा

    काठमाडौं । काठमाडौंमा जारी नेपाल सुपर लिग (एनएसएल) को प्लेअफ खेल्ने दुई टोलीको टुंगो लागेको छ । एक खेल खेल्न बाँकी रहेका साविक विजेता ललितपुर एफसी र उपविजेता धनगढी एफसी शीर्ष दुईमा रहँदै प्लेअफ खेल्ने निश्चित भएको हो । अपराजित रहेका दुवै टोलीले ५ खेलबाट समान ११ अंक जोडेका छन् । अन्तिम खेलबाट लिग विजेता र उपविजेताको टुंगो लाग्नेछ ।

    प्लेअफको दुई टोलीका लागि ४ टोलीले सम्भावना कायमै छ । लिग चरणको सबै खेल खेलेको काठमाडौं रेजर्स ८ अंकसहित तेस्रो स्थानमा छ । एक खेल खेल्न बाँकी एफसी चितवन ७ अंकसहित चौथो, पोखरा थन्डर्स एफसी ५ अंकसहित पाँचौं र झापा एफसी ४ अंकसहित छैटौं स्थानमा छ । बुटवल लुम्बिनी एफसी १ अंकसहित अंक तालिकाको पुछारमा छ । बुटवल लुम्बिनीबाहेकका अन्य टोलीको प्लेअफ खेल्ने सम्भावना कायमै छ ।

    लिगका सबै खेल खेलेको काठमाडौंलाई प्लेअफमा पुग्न एफसी चितवन र पोखरा थन्डर्समध्ये एक टोलीको हारले पुग्नेछ । चितवनले अन्तिम खेलमा धनगढी एफसीलाई हराएमा प्लेअफमा स्थान सुरक्षित गर्नेछ । हार बेहोरमा चितवनलाई प्लेअफमा स्थान बनाउन पोखरा र झापाले बराबरी वा हार्नुपर्ने हुन्छ । पोखरा र झापालाई प्लेअफमा पुग्न जितको विकल्प छैन ।

    पोखराले लिगको अन्तिम खेल जितविहीन रहेको बुटवल लुम्बिनी एफसी र झापाले ललितपुर एफसीसँग खेल्नेछन् । दुवैलाई प्लेअफमा स्थान बनाउन ठूलो जित त आवश्यक पर्छ नै साथै चितवनले धनगढीसँग हार्नुपर्ने हुन्छ । पोखरालाई भने अन्तिम खेलमा जित र चितवनको हारले प्लेअफमा स्थान बनाउन पर्याप्त हुनेछ । झापा प्लेअफमा पुग्न पोखरा र चितवन ठूलो अन्तरले हार्नुपर्ने हुन्छ ।

  • रुपन्देहीमा रात्रीकालीन इन्डो–नेपाल क्लब च्याम्पियनसिप पुरुष भलिबल प्रतियोगिताको तयारी

    रुपन्देहीमा रात्रीकालीन इन्डो–नेपाल क्लब च्याम्पियनसिप पुरुष भलिबल प्रतियोगिताको तयारी

    रुपन्देही । रूपन्देहीमा रात्रीकालीन १० औं मणिमुकुन्द कप पुरुष भलिबल इन्डो–नेपाल क्लब च्याम्पियनसिप २०८२ हुने भएको छ।

    रुपन्देहीमा भलिवलका खेलाडीहरु उत्पादनमा राम्रो मेहनत गरी रहेको मणिमुकुन्द भलिवल क्लबले प्रतियोगिताको दशौं संस्करण भने रात्रीकालिन गराउने जनाएको छ। स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ वैशाख ६ गतेदेखि हुने प्रतियोगितामा एक भारतीय क्लब र तीन विभागीय क्लबसहित ९ टीमको सहभागिता रहने आयोजकले जनाएको छ।

    २०७२ सालदेखि हरेक वर्ष भलिबल प्रतियोगिता आयोजना गर्दै आएको क्लबले आठौं संस्करणसम्म जिल्लास्तरीय र गतवर्षको नवौं संस्करण राष्ट्रियस्तरको आयोजना गरेको थियो। दसौं संस्करणमा भारतीय क्लबलाई समेत सहभागी गरेर आयोजना गरिएको क्लबका अध्यक्ष लोकेन्द्र भण्डारीले जानकारी दिए।

    ’बिगतका आयोजनाहरुलाई हेरेर हामी उत्साहित छौं त्यसैले यसपटक भारतीय भलिबल क्लबलाई पनि सहभागी गराएका छौं’ भण्डारीले भने।
    यसअघिका खेलहरु दिउसोमा आयोजना हुँदै आएकोमा यसपटक भने साँझ ६ बजेदेखि राति १० बजेसम्म चल्नेछन्।

    वैशाख महिनामा बुटवलको चर्को गर्मीमा खेलाडीहरुको स्वास्थ्यलाई ध्यानमा राखेर रातिका लागि खेल्ने व्यवस्था गरिएको खेल संयोजक सुरेन्द्र गुरुङले बताए। क्लबले प्रतियोगितामा हरेक वर्ष पुरस्कार राशीसमेत थप गर्दै गएको छ।

    नवौं संस्करणमा उपाधि विजेता टीमलाई २ लाख १ हजार १११ रुपैयाँ प्रदान गरिएकोमा दसौं संस्करणमा आइपुग्दा राशी बढाएर ३ लाख ११ हजार १११ रुपैयाँ पुर्‍याइएको अध्यक्ष भण्डारीले जानकारी दिए।

    क्लबका अध्यक्ष भण्डारीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल खेलाडीको खेल कौशल प्रदर्शन गर्ने र नेपालको राष्ट्रिय खेलको रुपमा रहेको भलिबलको विकास गर्ने उद्देश्यले हरेक वर्ष प्रतियोगिता आयोजना गर्दै आएको बताए। गतवर्ष सम्पन्न नवौं संस्करणको राष्ट्रिय भलिबलको उपाधि नेपाल आर्मी क्लबले जितेको थियो। तिलोत्तमा–२ स्थित क्लबको आफ्नै ‘कोर्ट’मा आयोजना गरिने प्रतियोगिता बैशाख १३ गतेसम्म संचालन हुनेछ।

    भण्डारीका अनुसार पहिलो पुरस्कारको राशी अमेरिकामा व्यवसाय गर्दै आएका तिलोत्तमा–१ का मोती कंडेलले उपलब्ध गराएका छन्।
    त्यस्तै, उपविजेता हुने टीमले २ लाख, ११ हजार १ सय ११ प्राप्त गर्नेछ भने तेस्रो हुने टीमले १ लाख ११ हजार १ सय ११ रुपैयाँ र चौथो हुने टीमले पनि प्रोत्साहन स्वरुप ६६ हजार ६६६ रुपैयाँ प्राप्त गर्नेछ। साथै प्रतियोगितामा विभिन्न ८ विधामा समेत खेलाडीहरुलाई १० हजारदेखि १५ हजार रुपैयाँसम्म पुरस्कार प्रदान गरिने छ।mबलष्mगपगलमब ज्ञठद्धद्धटद्दडछडट।वउन

  • ओमानविरुद्ध नेपालको सहज जित, १५ ओभरभित्रै भेट्यो लक्ष्य

    ओमानविरुद्ध नेपालको सहज जित, १५ ओभरभित्रै भेट्यो लक्ष्य

    काठमाडौं । यू १९ विश्वकप एसिया छनोटअन्तर्गत घरेलु मैदानमा भएको खेलमा नेपालले ओमानविरुद्ध ८ विकेटको सहज जित दर्ता गरेको छ । ५ देश सहभागी प्रतियोगितामा नेपालको यो दोस्रो जित हो ।

    ओमानले दिएको ११८ रनको झिनो लक्ष्य नेपालले १४.३ ओभरमै दुई विकेट गुमाएर भेट्टायो ।

    पहिलो विकेटका लागि निरज यादव र साहिल पटेलले ८५ रनको साझेदारी गरेपछि नेपाललाई लक्ष्यसम्म पुग्न कुनै कठिनाइ भएन । निरजले २९ बलमा ४५ रन बनाए भने साहिलले २५ बलमा ३१ रन जोडे । कप्तान नरेन भट्ट १२ रन र सन्तोष यादव १० रनमा अविजित रहे ।

    यसअघि टस जितेर बलिङ रोजेको नेपालले ओमानलाई ११७ रनमै अलआउट गरेको थियो । नेपालका बलर युवराज खत्री एक्लैले ५ विकेट लिएपछि ओमानको ब्याटिङ धराशयी बन्यो । ओमानका लागि जित ब्रजेस साहले एक्लै संघर्ष गर्दै ५२ रन बनाए । अन्य ब्याटरले उल्लेख्य रन जोड्न सकेनन् ।

  • यू १९ विश्वकप छनोटः ओमानलाई नेपालले ११७ रनमा रोक्यो

    यू १९ विश्वकप छनोटः ओमानलाई नेपालले ११७ रनमा रोक्यो

    काठमाडौं । काठमाडौंमा जारी आईसीसी यू १९ विश्वकप एसिया छनोटअन्तर्गतको खेलमा नेपाललाई ओमानले ११८ रनको सामान्य लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङमा उत्रिएको ओमान ३८ ओभरमा ११७ रनमा अलआउट भएको हो ।

    नेपालका बलर युवराज खत्री एक्लैले पाँच विकेट लिएपछि ओमान सस्तैमा समेटियो । खत्रीले ७ ओभर बलिङ गर्दा १५ रन खर्चेर ५ विकेट हात पारेका हुन् । सन्तोष यादवले दुई विकेट लिए ।

    ओमानका लागि तेस्रो नम्बरमा आएका जित ब्रजेश साहले ५२ रन हान्दै टीमलाई सम्हाल्ने प्रयास गरेका थिए । तर, अन्य ब्याटरहरूले उल्लेख्य रन जोड्न सकेनन् । ओमानका तीनजना ब्याटरले मात्रै दोहोरो अंकमा रन बनाउन सकेका थिए ।

  • एम्बाप्पेलाई रेड कार्ड, रियलको जित

    एम्बाप्पेलाई रेड कार्ड, रियलको जित

    हेटौँडा । आफ्नो स्टार खेलाडी केलियन एम्बाप्पेले रेडकार्ड खाएको खेलमा रियल मड्रिडले अल्भेस विरुद्ध जित निकाल्दै लिग लिडर बार्सिलोनासँग अंकदूरी कम गरेको छ ।

    स्पेनिस ला-लिगाको आइतबार सम्पन्न खेलमा रियलले आल्भेसलाई १-० ले पराजित गरेको हो । खेलमा एम्बाप्पेलाई ३८ औँ मिनेटमा रातो कार्ड दिइएको थियो । उनी खराब फाउलको सिकार भएका थिए । कार्डपछि उनले अप्रिल २६ मा बार्सिलोनाविरुद्ध हुने एल क्लासिको गुमाउनेछन् ।

    रियाललाई जिताउन इडुआर्डो कामाभिन्गाले ३४औँ मिनेटमा गोल गरेका थिए । ७०औँ मिनेटमा घरेलु टोली डिपोर्टिभो अलाभेसका मुना सान्चेजले पनि रातो कार्ड पाएपछि दुवै टिम १० खेलाडीमा सीमित भएका थिए ।

    जितपछि समान खेलबाट बार्सिलोना ७० अंक जोडेर शीर्ष स्थानमा छ ।

  • उपाधि नजिक पुग्यो लिभरपुल

    उपाधि नजिक पुग्यो लिभरपुल

    काठमाडौं । इङ्लिस प्रिमियर लिग (इपीएल)को उपाधि जित्ने अभियानमा रहेको लिभरपुलले आफ्नो अवस्थालाई थप मजबुत बनाएको छ ।

    आइतबार रातिको खेलमा वेस्टह्याम युनाइटेडलाई २-१ ले पराजित गरेपछि जारी सिजनमा लिभरपुल उपाधि नजिक पुगेको हो ।

    अर्को हप्ता हुने इपीएलको खेलमा दोस्रो स्थानको आर्सनलले इस्विचसँग पराजय भोग्यो र लिभरपुलले लेस्टर सिटीलाई पराजित गर्न सके उपाधि छिनोफानो हुनेछ ।

    आइतबारको खेलको १८ औँ मिनेटमा मोहम्मद सलाहको पासमा लुइस डियाजले गोल गर्दै लिभरपुललाई १-० को अग्रता दिलाएका थिए । तर ८६ औँ मिनेटमा रोबर्टसनको आत्मघाती गोल मार्फत वेस्टह्यामले बराबरी गर्ने मौका पायो ।

    खेल बराबरीतर्फ उन्मुख हुँदै गर्दा ८८ औँ मिनेटमा लिभरपुल कप्तान भान डाइकले उत्कृष्ट हेडर गोल गर्दै टिमलाई महत्त्वपूर्ण तीन अङ्क दिलाए ।

    जितपछि लिभरपुलको ३२ खेलबाट ७६ अङ्क पुगेको छ र उ दोस्रो स्थानको आर्सनल भन्दा १३ अङ्कले अघि छ ।

  • राष्ट्रिय युवा संघ कप भलिबल प्रतियोगिताः सेमिफाइनल पुगे यी टीम

    राष्ट्रिय युवा संघ कप भलिबल प्रतियोगिताः सेमिफाइनल पुगे यी टीम

    कैलाली । कैलालीको धनगढीमा जारी राष्ट्रिय युवा सङ्घ कप भलिबल प्रतियोगिता २०८१ मा चार टीम सेमिफाइनलमा पुगेका छन् । प्रतियोगितामा सहभागी टीम अछाम र ऐश्वर्य बहुमुखी क्याम्पस बाहिरिएसँगै सेमिफाइनल पुग्ने चार टिमको टुङ्गो लागेको हो ।

    शाह पोल्ट्री फर्म, राना थारु आदर्श युवा क्लब , टिम मालिकार्जुन र राष्ट्रिय युवा सङ्घ डोटी सेमिफाइनलमा पुगेका हुन् । भोलि सेमिफाइनलका सबै खेल हुने छन् । राष्ट्रिय युवा सङ्घ नेपाल सुदूरपश्चिम प्रदेश कमिटीले चैत २९ गतेदेखि आयोजना गरेको खुल्ला पुरुष भलिबल प्रतियोगिताको फाइनल वैशाख २ गते हुने छ ।

    प्रतियोगितामा पहिलो हुने टिमले दुई लाख २५ हजार, दोस्रो हुनेले एक लाख २५ हजार र तेस्रो हुने टिमलाई ७५ हजार नगद पुरस्कार, ट्रफि, मेडल र प्रमाण पत्र प्रदान गरिने युवा सङ्घले जनाएको छ । नेकपा एमाले महासचिव शङ्कर पोख्रेलले उद्घाटन गरेको भलिबल प्रतियोगिताको समापन वैशाख २ गते उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री दामोदर भण्डारीले गर्ने छन् ।

    पछिल्लो समय समाजमा बढिरहेको लागू पदार्थ दुव्र्यसनी रोक्न सचेतना फैलाउने उद्देश्यले भलिबल प्रतियोगिता आयोजना गरिएको राष्ट्रिय युवा संघ नेपाल सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष अरुण कुवरले जानकारी दिए ।

  • डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित

    डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित

    काठमाडौं । आईसीसी यु-१९ विश्वकप त्रिकेटको एसिया छनोटअन्तर्गत आफ्ना् पहिलो खेलमा नेपालले युएइलाई डिएसएल पद्धतिबाट पराजित गरेको छ ।

    मुलपानी क्रिकेट मैदानमा नेपालले दिएको २०१ रनको लक्ष्य पछ्याएको युएईले ३६ ओभरको खेल सकिँदा ७ विकेट गुमाएर १७१ बनाएको थियो ।

    सोही समयमा वर्षा भएसँगै खराब प्रकाशका कारण डिएलएस पद्धतिमार्फत नतिजा निकालिएको हो । युएईका लागि यायिन किरण राईले अविजित १०४ रन बनाएपनि जितका लागि पर्याप्त हुन सकेन ।

    त्यसअघि मुलपानी क्रिकेट मैदान पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ४० ओभरमा ९ विकेट गुमाएर २०० रन बनाएको थियो । नेपालका लागि कप्तान नरेन भट्टले अर्धशतकीय इनिङ खेले ।

    नरेनले ७५ बलमा सर्वाधिक ६७ रन बनाए । दिलसाद अलीले ३४ र साहिल पटेलले ३२ रनको योगदान दिए ।

    बलिङमा यूएईका उदिस सुरीले सर्वाधिक ३ विकेट लिए । मैदान भिजेको कारण केही ढिला सुरु भएको खेल ४० ओभरमा छोट्याइएको थियो ।

    पहिलो जितसँगै नेपालले २ अंक जोडेको छ ।

  • नेपालविरुद्ध युएईका यायिनले बनाए शतक

    नेपालविरुद्ध युएईका यायिनले बनाए शतक

    काठमाडौं । आईसीसी यु-१९ विश्वकप त्रिकेटको एसिया छनोटअन्तर्गत नेपालविरुद्ध युएईका यायिन किरण राईले शतक प्रहार गरेका छन् ।

    मुलपानी क्रिकेट मैदानमा जारी खेलमा यायिनले ९२ बलमा शतक पूरा गरेका हुन् । नेपालले दिएको २०१ रनको लक्ष्य पछ्याएको युएईले ३४ ओभर २ बलमा ६ विकेट गुमाएर १६२ रन बनाएर खेलिरहेको छ ।

  • यू-१९ विश्वकपको एसिया छनोट : युएईलाई नेपालले दियो २०१ रनको लक्ष्य

    यू-१९ विश्वकपको एसिया छनोट : युएईलाई नेपालले दियो २०१ रनको लक्ष्य

    काठमाडौं । आईसीसी यू-१९ विश्वकपको एसिया छनोटअन्तर्गत नेपालले युएईसामु २०१ रनको लक्ष्य प्रस्तुत गरेको छ । मुलपानी क्रिकेट मैदान पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ४० ओभरमा ९ विकेट गुमाएर २०० रन बनायो ।

    नेपालका लागि कप्तान नरेन भट्टले अर्धशतकीय इनिङ खेले । मैदान भिजेको कारण केही ढिला सुरु भएको खेल ४० ओभरमा छोट्याइएको थियो ।

    नरेनले ७५ बलमा सर्वाधिक ६७ रन बनाए । दिलसाद अलीले ३४ र साहिल पटेलले ३२ रनको योगदान दिए । बलिङमा यूएईका उदिस सुरीले सर्वाधिक ३ विकेट लिए ।

  • बसिरको साहसिक इनिङ खेर गयो, कुवेतलाई टी २० सिरिजको उपाधि

    बसिरको साहसिक इनिङ खेर गयो, कुवेतलाई टी २० सिरिजको उपाधि

    काठमाडौं । हङकङमा आयोजित टी २० सिरिजको फाइनलमा नेपाल चुकेको छ । बसिर अहमदको साहसिक ब्याटिङलाई पन्छाउँदै कुवेतले उपाधि जित्यो ।

    १७५ रनको बलियो लक्ष्य पछ्याएको नेपालले खराब ब्याटिङ गर्दै ९२ रनमा आठ विकेट गुमाएको थियो । हारको संघारमा पुगिसकेको टिमलाई बसिरले १० औं नम्बरमा आएका नन्दन यादवको सहयोगमा चामत्कारिक उद्दार गर्दै जित नजिक पुर्याएका थिए । तर, अन्तिममा उनी चुके ।

    नेपाललाई अन्तिम ओभरमा जितका लागि ११ रन चाहिएको थियो । पहिलो बल नै नोबल भयो र त्यसमा बसिरले छक्का हाने । एक बलमा सात रन आएपछि नेपाललाई ५ बलमा ४ रन मात्र चाहियो ।

    नेपाली दर्शकले सेलिब्रेसन गर्न थालिसकेका थिए । तर, त्यसपछिका दुई बल डट खेलेर बसिर प्रेसरमा आए । तेस्रो बललाई छक्का हान्न खोज्दा उनी क्याच आउट भए र नेपालको क्याम्प स्तब्ध बन्यो ।

    आउट हुनुअघि बसिरले ४३ बलमा ४ छक्का र ८ चौकासहित ८० रन जोडेका थिए । उनलाई साथ दिँदै नन्दनले १४ बलमा ४ छक्का र दुई चौकासहित ३७ रन जोडे ।

    बसिर र नन्दनले नवौं विकेटका लागि २८ रनमा ७२ रनको अविश्वसनीय साझेदारी भएको थियो । आश मारिसकेको अवस्थाबाट नेपाललाई ब्यूँताउँदै उनीहरुले बलियो स्थितिमा पुर्याएका थिए ।

    १८.४ ओभरमा नन्दन आउट हुँदा नेपाल १६४ रन जोडेको थियो र जितका लागि ८ बलमा ११ रन चाहिएको थियो । अन्तिममा आएका ललित राजवंशीले १९ औं ओभरको छैटौं बलमा सिंगल रन लिने अवसर त्यागेका थिए, ताकि अन्तिम ओभरमा बसिर स्ट्राइकमा आउन सकिन् ।

    अन्तिम ओभरमा बसिरले सिंगल नलिने रणनीति बनाए । जसअनुसार दोस्रो र तेस्रो बल डट हुन पुगेको थियो । एउटा बाउन्ड्री उनले निकालेको भए नेपालले एउटा अविस्मरणीय जित हासिल गर्ने थियो । तर, बसिर आउट भएसँगै नेपालको हार्ट ब्रेक भयो । कुवेतले तीन रनको जित दर्ता गर्यो ।

    यसअघि पहिलो इनिङमा पनि नेपालले सुरुमा खराब बलिङ गर्दै पछि प्रभावशाली कमब्याक गरेको थियो । नेपालका लागि नन्दन यादव र सोमपाल कामीले दुई–दुई विकेट लिए ।

    कुवेतले पावर प्लेका ६ ओभरमा नै ७१ रन जोडेर विष्फोटक सुरुवात गरेको थियो । त्यसपछि लगातार विकेट लिँदै नेपालले कुवेतलाई १७४ रनमा रोक्न सफल भयो, जुन यो पिचमा धेरै कठिन लक्ष्य थिएन । तर, नेपालका प्रमुख ब्याटरहरुले विर्सनलायक ब्याटिङ गरे ।

    नेपालले २४ रनमा पहिलो विकेटका रुपमा इन फर्म कुशल भुर्तेललाई गुमाएको थियो । उनले ७ बलमा ३ रन मात्रै जोड्न सके । आसिफ सेखले केही सुन्दर सटहरु खेल्दै १४ बलमा २१ रन बनाएर आउट भए । त्यसपछि आएका कप्तान रोहित पौडेल, कुशल मल्ल र दिपेन्द्र सिंह ऐरी क्रमशः ७, शून्य र शून्य रनमा आउट भएसँगै नेपालको ब्याटिङ धराशयी बनेको थियो ।