Category: खेल प्रेस

  • आइपिएलमा १४ वर्षीय ब्याटर वैभवले बनाए ३५ बलमा शतक

    आइपिएलमा १४ वर्षीय ब्याटर वैभवले बनाए ३५ बलमा शतक

    काठमाडौं । इन्डियन प्रीमियर लिग आइपिएलमा राजस्थान रोयल्सका १४ वर्षीय ब्याटर वैभव सुर्यवंशीले शतक प्रहार गरेका छन् । जारी खेलमा गुजराट टाइटन्सविरुद्ध ३५ बलमा शतक पूरा गरेका हुन् ।

    आइपिएलमा कम उमेरमा शतक पूरा गर्ने खेलाडी बनेका छन् । यस्तै आइपिएलमा सर्वाधिक छिटो शतक पूरा गर्ने खेलाडीको सूचिमा वैभव दोस्रो स्थानमा छन् ।

    पहिलो स्थानमा क्रीस गेल छन् । उनले ३० बलमा शतक पूरा गरेका थिए । २१० रनको लक्ष्य पछ्याएको राजस्थान जित नजिक पुगेको छ ।

  • एनएसएलमा आयुषको उडान

    एनएसएलमा आयुषको उडान

    पोखरा । नेपाल सुपर लिग (एनएसएल) को पहिलो सिजनअघि आयुष घलानलाई धेरैले चिन्दैनथे । विसं. २०७८ गत वैशाख–जेठमा भएको पहिलो सिजनमा आयुषले ट्यालेन्ट हन्टमार्फत एनएसएलमा प्रवेश पाएयता भने उनी फुटबलका एक नक्षत्र बनेका छन् । त्यसयता उनी नियमित राष्ट्रिय टोलीबाट खेलिरहेका छन् ।

    राष्ट्रिय लिगहरूमा पनि जबरजस्त प्रदर्शन गरिरहेका छन् । ‘बी’ र ‘सी’ डिभिजन लिग खेल्दै आएका आयुष पोखरा थन्डर्सबाट पहिलो सिजनबाट एनएसएलमा इन्ट्री पाएका थिए । उक्त सिजनमा पोखरा प्लेअफमा पर्न नसके पनि ट्यान्लेन्ट हन्टमार्फत आएका आयुष भने सबैको नजरमा परे । उनले पहिलो सिजनमा पोखराबाट ६ खेल खेलेका थिए ।

    तेस्रो सिजनमा आइपुग्दा उनी पोखराको कप्तानको जिम्मेवारी मात्रै लिएनन् । टोलीलाई पहिलो पटक फाइनलमा पुर्‍याए । आफू सिजनकै ‘मोस्ट भ्यालुएबल प्लेयर’ बने ।

    पहिलो सिजनको प्रदर्शनबाट राष्ट्रिय पुरुष फुटबल टोलीका तत्कालीन मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको रोजाइमा पर्न सफल भएका थिए ।

    एनएसएल लगत्तै आयुषलाई १७ वर्षकै उमेरमा प्रशिक्षक अलमुताइरीले राष्ट्रिय टोलीबाट डेब्यु गराए । आयुषले कुवेतमा भएको विश्वकप छनोटमा अस्ट्रेलियाविरुद्ध अन्तिम समयमा मैदान प्रवेश गर्दै अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरे । त्यसयता उनी निरन्तर राष्ट्रिय टोलीबाट खेलिरहेका छन् । उनले यु–२० राष्ट्रिय टोलीको कप्तानीसमेत गरिसकेका छन् ।

    विसं. २०७९ मा एनएसएल हुन सकेन । २०८० मङ्सिरमा भएको दोस्रो संस्करणको एनएसएलमा पोखराले पहिलो सिजनमा ट्यालेन्ट हन्टमार्फत प्रवेश पाएका आयुषलाई मार्की खेलाडी बनायो ।

    पहिलो सिजनमा आयुषले देखाएको सम्भावना र क्षमतालाई मूल्याङ्कन गर्दै पोखराले आयुषलाई मार्की खेलाडीको जिम्मेवारी प्रदान गर्‍यो । त्यसपछि आयुषको चर्चा झनै चुलिँदै गयो । उनले आफूलाई झनै विकास गर्न थाले ।

    बल कन्ट्रोल र ड्रिब्लिङ क्षमताका कारण पनि आयुष सधैँ दर्शकको नजरमा परिरहेका हुन्छन् । सोही कारण पनि पोखराले आयुषलाई थप जिम्मेवारी थपिदियो । पोखराले आयुषलाई तेस्रो सिजनमा कप्तानीको जिम्मेवारी प्रदान गर्‍यो । उक्त जिम्मेवारीले आयुषलाई थप परिपक्व बनाउन सहयोग पुग्यो । तेस्रो सिजनमा उनकै नेतृत्वमा पोखराले पहिलो पटक फाइनलसम्मको यात्रा तय गर्‍यो ।

    पोखरालाई फाइनलसम्म पुर्‍याउन आयुषले उत्कृष्ट प्रदर्शन गरे । सिजनभर नै उत्कृष्ट प्रदर्शन गरेका आयुष ‘मोस्ट भ्यालुएबल प्लेयर’ बने । उनी ट्रफीसहित साढे २ लाख हात पारे ।

    एनएसएलबाट उदाएका आयुष खेलाडी उत्पादन र स्तर वृद्धि गर्न यस्तो खालको प्रतियोगिता धेरै नै आवश्यक हुने बताउँछन् । यसले खेलाडीलाई ‘सस्टेन’ हुनसमेत सहयोग गर्ने उनको विश्वास छ । ‘एनएसएल जस्ता प्रतियोगिता खेलाडीका लागि धेरै नै चाहिन्छ,’ उनी भन्छन्, ‘राष्ट्रिय टिममा भएका खेलाडीहरू त प्रायजसो क्याम्पमा भइराखेका हुन्छन् । तर, अरू ए डिभिजन प्लेयरहरूलाई सस्टेन हुन धेरै गाह्रो हुन्छ जस्तो लाग्छ । यस्ता प्रतियोगिता जति धेरै भयो । प्लेयरलाई पनि राम्रो, राष्ट्रिय टोलीलाई पनि राम्रो हुन्छ जस्तो लाग्छ ।’

    यस पटक फाइनलमा गएर असफल भए पनि अर्को सिजनमा ट्रफी ल्याउन भरपुर प्रयास गर्ने कप्तान आयुषले प्रतिबद्धता व्यक्त गरे ।

  • राष्ट्रिय महिला तथा पुरुष हक्की प्रतियोगिता हुँदै

    राष्ट्रिय महिला तथा पुरुष हक्की प्रतियोगिता हुँदै

    काठमाडौं । राष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगिता हुने भएको छ । नेपाल हक्की संघको आयोजनामा वैशाख १७ गतेदेखि पुरुष र बैशाख १८ गतेदेखि महिलातर्फको राष्ट्रिय हक्की प्रतियोगिता हुन लागेको हो ।

    ललितपुरको च्यासल फुटबल मैदानमा हुने प्रतियोगितामा पुरुषतर्फ ८ र महिलातर्फ ४ टोलीले प्रतिष्पर्धा गर्ने संघकी महासचिव सुवर्ण श्रेष्ठले जानकारी दिइन् । पुरुषमा कोशी, मधेश, बागमती, गण्डकी र कर्णाली प्रदेशसहित तिन विभागीय टोलीले सहभागिता जनाएका छन् ।

    महिलातर्फ मधेश, बागमती, गण्डकी प्रदेश र आर्मी सहभागी भएका छन् । ८ टोलीलाई दुई समूहमा विभाजन गरी लिगकम नकआउटका आधारमा खेलाइने छ ।

    महिलातर्फ कर्णाली प्रदेश, नेपाल आर्मी, गण्डकी प्रदेश, कोशी प्रदेश वागमती प्रदेश, नेपाल पुलिस क्लब र एपीएफ क्लब सहभागी हुनेछन् । ४ टोलीलाई राउन्ड रोविन लिगमा खेलाइनेछ । त्यसबाट शीर्ष दुईमा रहने टोलीले फाइनल खेल्नेछन् ।

    दुवैतर्फ विजेताले ७५ हजारसहित ट्रफी पाउनेछन् । दोस्रो हुनेलाई ५० हजार र तेस्रो हुनेलाई २५ हजार प्रदान गरिने आयोजकले जनाएको छ । विधागततर्फ उत्कृष्ट हुनेले जनही ५ हजार र प्लेयर अफ द म्याचले २ हजार पाउनेछन् । प्रतियोगिता बैशाख २६ गतेसम्म चल्नेछ ।

    प्रतियोगिता आयोजना गर्दा पुरुषतर्फ ३५ लाख र महिलातर्फ २५ लाख खर्च लाग्ने आयोजकको अनुमान छ । संघकी महासचिव श्रेष्ठले हक्कीको वार्षिक क्यालेन्डर नै तयार गरी कार्यक्रमहरु सञ्चालन गरिरहेको बताइन् ।

    उनले हक्कीको पूर्वाधार नभइरहेको अवस्थामा हामीले पूर्वाधार निर्माणका लागि धुलिखेलमामा जग्गा समेत प्राप्त गरिसकेको र २ वर्षभित्र पूर्वाधार निर्माण गरिसक्ने उल्लेख गरिन् ।

  • रियललाई पराजित गर्दै बार्सिलोना कोपा डेल रे च्याम्पियन

    रियललाई पराजित गर्दै बार्सिलोना कोपा डेल रे च्याम्पियन

    हेटौँडा । रियल मड्रिडलाई पराजित गर्दै बार्सिलोनाले कोपा डेल रे को उपाधि जितेको छ ।

    शनिवार रातिको निकै रोमाञ्चक फाइनल भिडन्तमा बार्सिलोनाले रियल माथि ३-२ गोलको जित हासिल गर्दै च्याम्पियन बनेको हो ।

    निर्धारित समयमा २-२ को बराबरीमा खेल सकिएपछि अतिरिक्त समयको ११६ औँ मिनेटमा गोल गर्दै बार्सिलोनाले रोमाञ्चक जित हासिल गरेको हो ।

    खेलमा पेड्रीले गोल गर्दै २८ औँ मिनेटमा बार्सोलोनालाई पहिलो अग्रता दिलाएका थिए । तर दोस्रो हाफ मैदान छिरेका रियल स्टार केलियन एम्बाप्पेले ७० औँ मिनेटमा गोल गर्दै टिमलाई बराबरीतर्फ लगेका थिए ।

    लगत्तै सात मिनेटपछि औरेलियन टुआमनीले गोल गरेपछि ७७ औँ मिनेटमा आइपुग्दा रियल २-१ को अग्रतामा पुगेको थियो ।

    खेलमा फरान टोरेसले ८४ औँ मिनेटमा बार्सालाई २-२ को बराबरीमा ल्याउन सफल बने । निर्धारित समयमा २-२ मा खेल सकिएपछि अतिरिक्त समयको ११६ औँ मिनेटमा जुल्स कोउन्डेले गोल गर्दै बार्सिलोनालाई कोपा डेल रेको उपाधि दिलाए ।

  • आयुष घलान बने एनएसएलको सर्वोत्कृष्ट खेलाडी

    आयुष घलान बने एनएसएलको सर्वोत्कृष्ट खेलाडी

    काठमाडौं ।पोखरा थन्डर्सका आयुष घलान तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) को सर्वोत्कृष्ट खेलाडी बनेका छन् । टोलीलाई उपविजेता बनाउन महत्त्वपूर्ण भूमिका खेलेका घलान मस्ट भ्यालुएभल प्लेयर चुनिए । उनले साढे २ हात पारे ।

    उत्कृष्ट गोलकिपर पोखराका एभेस प्रीसो र सर्वाधिक गोलकर्ता धनगढी एफसीका अहमद हिजाजी बने । दुवैले समान साढे १ लाख पाए । ललितपुरका सन्तोष खत्री इमर्जिङ प्लेयर र ललितपुरकै मनिकुमार लामा मस्ट इनर्जेटिक प्लेयर बन्न सफल भए ।

    उनीहरुले समान १-१ लाख प्राप्त गरे । फेयर प्लेको अवार्ड झापा एफसीले पाउदा राष्ट्रिय महिला फूटबल खेलाडी प्रीति राई गुड विल एम्बाष्डर बनिन् ।

    दशरथ रंगशालामा शनिबार बेलुका भएको फाइनल खेलमा पोखरा थन्डर्सलाई २-१ ले हराउँदै डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी पुनः च्याम्पियन बनेको थियो ।

  • ललितपुर सिटी दोस्रो पटक एनएसएल च्याम्पियन

    ललितपुर सिटी दोस्रो पटक एनएसएल च्याम्पियन

    काठमाडौं । ललितपुर सिटी फुटबल क्लव दोस्रो पटक नेपाल सुपर लिग (एनएसएल) च्याम्पियन भएको छ ।

    एनएसएलको तेस्रो संस्करणको आज भएको फाइनलमा पोखरा थन्डर्स फुटबल क्लवलाई २-१ गोलले पराजित गर्दै ललितपुरले उपाधि रक्षा गरेको हो ।

    दशरथ रंशगालामा भएको खेलमा लिगदेखि अपराजित ललितपुरले पहिलो हाफमा एक गोलको अग्रता लिएको थियो । दोस्रो हाफमा पोखराले एक गोल फर्काए पनि खेलको ७४ औं मिनेटमा दोस्रो गोल गर्दै ललितपुरले जीत सुनिश्चित गर्‍यो ।

    ललितपुरका लागि खेलको ४२औं मिनेटमा इमोह इजेकेलले गोल गर्दै पहिलो अग्रता दिलाएका थिए । खेलको ६३औं मिनेटमा पोखराका सुदील राईले गोल गर्दै टोलीलाई बराबरी गोल फर्काएका थिए । खेलको ७४औं मिनेटमा पापा इबोउ केबेले गोल गर्दै ललितपुरलाई उपाधि दिलाए ।

    दाेस्राे पटक विजेता बनेकाे ललितपुरले ८० लाख रुपैयाँ नगद पुरस्कार पाउनेछ । उपविजेता पाेखराले भने ३० लाख रुपैयाँ नगद पुरस्कारमा चित्त बुझाउनेछ ।

  • नेपाल सुपर लिग फाइनलः ललितपुर र पोखराको खेल जारी (तस्बिरहरु)

    नेपाल सुपर लिग फाइनलः ललितपुर र पोखराको खेल जारी (तस्बिरहरु)

    काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को उपाधिका लागि ललितपुर सिटी र पोखरा थन्डर्स फुटबल क्लवबीचको खेल दशरथ रंशगालामा भइरहेको छ ।

    तेस्रो संस्करणअन्तर्गत आजको खेल साँझ ६ बजे सुरु भएको हो ।

    ललितपुर सिटी साविक विजेता टीम हो । पोखरा भने पहिलो पटक फाइनलमा पुगेको हो । ललितपुर दोस्रो पटक उपाधि जित्ने लक्ष्यमा छ ।

  • भक्तपुरमा पहिलो पटक फुल कन्ट्याक्ट किकबक्सिङकाे राष्ट्रव्यापी प्रतियाेगिता हुने

    भक्तपुरमा पहिलो पटक फुल कन्ट्याक्ट किकबक्सिङकाे राष्ट्रव्यापी प्रतियाेगिता हुने

    भक्तपुर । राष्ट्रिय किकबक्सिङ संघ भक्तपुरले जिल्लामा पहिलो पटक राष्ट्रव्यापी किकबक्सिङ प्रतियोगिता गर्ने भएको छ । संघले शनिबार पत्रकार सम्मेलन गर्दै यही बैशाख १९ र २० गते राष्ट्रव्यापी फुल कन्ट्याक्ट किकबक्सिङ प्रतियोगिता गर्न लागेको जानकारी दिएको हो ।

    प्रतियोगितामा महिला र पुरुषतर्फका विभिन्न ११ वटा तौल समूहमा स्पर्धा गराइने राष्ट्रिय किकबक्सिङ संघ भक्तपुरका अध्यक्ष कृष्णराम जाकिबञ्जारले जानकारी दिए । उनका अनुसार पुरुषतर्फ ५१, ५४, ५७, ६३.५, ६७ र ७५ केजी तथा खुला गरी सात र महिलातर्फ ५२, ५७ र ६० केजी तथा खुला गरी चार समूहमा प्रतिस्पर्धा हुनेछ ।

    विश्व किकबक्सिङ महासंघको के-१ नियमावलीअनुसार प्रतियोगिताको प्रत्येक बाउट ३ राउन्डको हुनेछ । जसमा प्रत्येक राउन्ड २ मिनेटको हुने संघले जनाएको छ ।

    अध्यक्ष जाकिबञ्जारले प्रतिशयोगितामा २० भन्दा बढी जिल्लाका करिब २०० खेलाडी सहभागी हुने अनुमान गरिएको बताए । जसमा काठमाडौं उपत्यकाका खेलाडीहरुलाई आयोजकले खाने तथा बस्ने व्यवस्था गरिएको छ । प्रतियाेगितामा भाग लिने खेलाडीहरुकाे ताैल जाँच बैशाख १८ गते हुने र साेही दिन खेल तालिका सार्वजनिक गरिने उनले बताए ।

    संघका महासचिव राजुसिं बजिकोले प्रतियोगिता अवधिभरका लागि सहभागी सबै खेलाडीको २ लाख रुपैयाँको बीमासमेत गरिएको बताए ।

    उनका अनुसार प्रतियोगितामा २ वटा व्यावसायिक प्रो-फाइट खेलसमेत हुने जानकारी दिए । जसमा भक्तपुरका २ जना बाँकी भक्तपुर बाहिरका व्यवसायिक किकबक्सिङ खेलाडी रहनेछन् ।

    प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीहरू स्वर्ण, रजत र काँस्य पदकसहित नगद पुरस्कारको व्यवस्था गरिएको छ । त्यस्तै सर्वाधिक पदक जित्ने जिल्ला टीमलाई छुट्टै विशेष पुरस्कार व्यवस्था गरिएको अध्यक्ष जाकिबञ्जारले जानकारी दिए ।

    नगद पुरस्कार र व्यवसायिक प्रो-फाइट गर्ने खेलाडीहरुबारे प्रतियोगिता सुरु भएपछि जाानकारी दिइने उनले बताए ।

  • विश्व केम्पो च्याम्पियनशिपमा नेपाललाई पहिलो ऐतिहासिक सफलता, विपेश र अञ्जनाले जिते पदक

    विश्व केम्पो च्याम्पियनशिपमा नेपाललाई पहिलो ऐतिहासिक सफलता, विपेश र अञ्जनाले जिते पदक

    लिस्बन । युरोपको पोर्चुगलमा जारी २१औं विश्व केम्पो च्याम्पियनशिपमा नेपालले पहिलो पटक पदक जितेको छ । अन्तर्राष्ट्रिय केम्पो फेडेरेसनको आयोजनामा भएको प्रतियोगितामा नेपाली खेलाडी विपेश थापाले पहिलो पटक नेपालका लागि पदक दिलाएका हुन् ।

    पाँच डान श्रेणी प्राप्त थापाले प्रतियोगिताको तेस्रो दिन काँस्य पदक जितेका हुन् । त्यसैगरी प्रतियोगिताको चौथो दिन उनै थापाले थप एक काँस्य पदक जितेका छन् । महिला खेलाडी अञ्जना शाहीले पनि एक काँस्य पदक जितेकी छन् ।

    नेपाल केम्पो खुकुरी महासंघका अध्यक्ष पाभेल शाहले नेपाली खेलाडीले प्राप्त गरेको यो सफलताले अन्तर्राष्ट्रिय जगतमा नेपालको पहिचान थपिएको बताए ।

    नेपाल केम्पो खुकुरी महासंघका प्रमुख सल्लाहकार बलदेव तिमल्सिनाले केम्पो, खेलकुद र समग्र नेपालको इतिहासमा स्वर्णिम पृष्ठ थप्नुका साथै नेपालको राष्ट्रिय पहिचानको लागि पनि महत्त्वपूर्ण कोशेढुंगा भएको बताए ।

    प्रतियोगितामा सहभागिताका लागि महासंघका प्रमुख सल्लाकार तिमल्सिना, अध्यक्ष शाह, विदेश विभाग प्रमुख तथा ग्रान्ड मास्टर विकास सुवेदी तथा महासचिव शर्मिला कार्कीसहितको टोली गत २२ अप्रिलमा पोर्चुगल पुगेका थिए ।

    पोर्चुगलको काल्दास रैन्हामा गत अप्रिल २२ बाट जारी प्रतियोगितामा विश्वभरका ७४ टीमले प्रतिस्पर्धा गरिरहेका छन् ।

  • एनएसएलको उपाधिका लागि ललितपुर र पोखरा भिड्दै

    एनएसएलको उपाधिका लागि ललितपुर र पोखरा भिड्दै

    काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२५को तेस्रो संस्करणको उपाधिका लागि आज  ललितपुर सिटी र पोखरा थन्डर्स एफसी भिड्दै छन् ।

    रोमाञ्चक फाइनलमा अपराजित रहँदै फाइनलमा पुगेको ललितपुर सिटीले उपाधिका लागि आज (शनिबा)र साँझ दशरथ रंशगालामा पोखरा थन्डर्स एफसीसँग प्रतिस्पर्धा गर्दैछ ।

    साविक विजेता ललितपुर सिटी र एफसीले पोखरा थन्डर्ससँग उपाधिका लागि भिड्नेछन् । पोखराका लागि यो पहिलो फाइनल हो भने ललितपुर दोस्रो पटक उपाधि जित्ने लक्ष्यमा छ ।

    यस्तोमा पोखराले पहिलो पटक फाइनल पुगेर उपाधि जित्ने लक्ष्य लिएको छ । पोखराका प्रशिक्षक सुमन श्रेष्ठले फाइनलका लागि तयार भएको र राम्रो रणनीति बनाएर उपाधि जित्ने विश्वास गरे ।

    उनले भने, ‘हाम्रो टोलीले राम्रो रणनीति बनाएर उपाधि जित्ने विश्वास लिएका छौं । फाइनलका लागि हाम्रो टोलीको राम्रो तयारी छ । सुरुवाती दुई खेलमा पराजित भए पनि पछिल्ला खेलको लयलाई कामय राखेर हामी उपाधि जित्नेमा आशावादी छौं ।’

    पोखराका कप्तान नवयुग श्रेष्ठले ललितपुरविरूद्ध प्रतिस्पर्धात्मक खेल हुने र व्यक्तिगत रुपमा अर्थपूर्ण खेल हुने बताए ।ललितपुरका प्रशिक्षक साइमन ग्रेसनले पहिलो क्वालिफायर जितेपछि एक साताको तयारी गर्न पाएको र रेस्ट पनि राम्रो भएकाले उपाधि जित्ने विश्वास गरे । उनले आफूहरु आत्मविश्वासी रहेको पनि बताए ।

    ललितपुरका कप्तान अनन्त तामाङले पनि क्वालिफायरपछि एक साताको समय पाएकाले फाइनलका लागि राम्रो तयारी गर्न पाएको बताए ।
    ललितपुरले पहिलो क्वालिफायरमा र पोखराले दोस्रो क्वालिफायरमा धनगढी एफसीलाई हराउँदै फाइनलमा स्थान बनाएका हुन् ।

  • नेपाल आइपुगे मुख्य प्रशिक्षक स्टुअर्ट ल

    नेपाल आइपुगे मुख्य प्रशिक्षक स्टुअर्ट ल

    काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक स्टुअर्ट ल नेपाल आइपुगेका छन् । अस्ट्रेलियन प्रशिक्षक स्टुअर्ट शुक्रबार साझ नेपाल आइपुगेका हुन् ।

    नेपाल क्रिकेट संघ क्यानले स्टुअर्टलाई गत चैत १५ गते नेपाली टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको थियो । ल आगामी २ वर्ष नेपाली टोलीसंग रहनेछन् ।

    ५६ वर्षीय स्टुअर्ट अष्ट्रेलियाका पूर्वक्रिकेटर हुन् । उनले सन् १९९४ देखि १९९९ सम्म अष्ट्रेलियाबाट अन्तर्राष्ट्रिय क्रिकेट खेलेका थिए । उनले अष्ट्रेलियाका लागि एउटा टेष्ट र ५४ ओडिआई खेलेका थिए । उनले थुप्रै घरेलु लिग खेलेका छन् ।

    स्टुअर्टले सन् २०११ बाट श्रीलंकाको सहायक प्रशिक्षकको रुपमा प्रशिक्षणको यात्रा सुरु गरेका थिए । हालसम्म उनले श्रीलंका, वेस्टइन्डिज, बंगलादेश, अफगानिस्तान र अमेरिकामा प्रशिक्षकको रूपमा काम गरिसकेका छन् ।

    उनकै प्रशिक्षणमा अमेरिकाले सन् २०२४ को टी–२० विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै सुपर–८ यात्रा तय गरेको थियो । पाकिस्तानलाई सुपर ओभरमा पराजित गरेको थियो ।

    सन् २०२४ को अक्टोबरमा भएको आइसीसी विश्वकप लिग–२ अन्तर्गत स्कटल्याण्डसँग १० विकेटको हार बेहोरेपछी अमेरिकी क्रिकेट बोर्डले स्टुअर्टलाई मुख्य प्रशिक्षकको पदबाट हटाएको थियो । त्यसपछि उनी नेपाली टोलीको प्रशिक्षक बन्न आइपुगेका हुन् ।

     

  • विश्वकपको एसिया छनोट खेल्ने नेपाली महिला टोलीको घोषणा, पूजालाई उपकप्तानको जिम्मेवारी

    विश्वकपको एसिया छनोट खेल्ने नेपाली महिला टोलीको घोषणा, पूजालाई उपकप्तानको जिम्मेवारी

    काठमाडौं । आउँदो मे महिनामा हुने आईसीसी महिला टी-२० विश्वकप एसिया छनोट खेल्ने नेपाली टोलीको घोषणा भएको छ ।

    नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार ईन्दु वर्माको कप्तानीमा एसिया छनोट खेल्ने १४ सदस्यीय टोलीको घोषणा गरेको हो । उक्त टोलीको उपकप्तानको जिम्मेवारी पूजा महत्तोलाई दिइएको छ । उनकै नेतृत्वमा नेपालले पहिलो पटक यू-१९ विश्वकप क्रिकेट खेलेको थियो ।

    विश्वकपको एसिया छनोट आउँदो मे ९ देखि २० सम्म थाइल्यान्डमा हुनेछ । उक्त छनोटमा ९ देशले सहभागिता जनाउँदैछन् । शीर्ष दुईमा रहने टोलीले विश्वकपमा स्थान बनाउनेछन् ।

    नेपाली टोली

    ईन्दु वर्मा (कप्तान), पूजा महतो (उप-कप्तान), रोमा थापा, रुबिना क्षेत्री, विन्दु रावल, कविता जोशी, सम्झना खड्का, राजमती ऐरी, रुबी पोद्दार, कविता कुँवर, सवनम राई, ईश्वरी विष्ट, मनिषा उपाध्याय र रीया शर्मा ।

  • आइपीएल : हैदरावाद र मुम्बईको म्याचमा फिक्सिङको आरोप, विवादमा मुछिए ईशान किसन

    आइपीएल : हैदरावाद र मुम्बईको म्याचमा फिक्सिङको आरोप, विवादमा मुछिए ईशान किसन

    काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तरगत अस्ति भएका सनराइजर्स हैदरावाद र मुम्बई इन्डियन्सको म्याचमा फिक्सिङको आशंका गरिएको छ ।

    हैदरावादका ब्याटर ईशान किसन फिक्सिङमा संलग्न भएको हुन सक्ने भन्दै फ्यानहरूले छानबिनको माग गरेका छन् । उक्त म्याचमा हैदरावादले पहिलो ब्याटिङ गरेको थियो र ओपनर ट्रभिस हेड शून्य रनमै पेभिलियन फर्किएका थिए ।

    तेस्रो नम्बरमा आएका किसन निकै अपत्यारिलो तरिकाले आउट भए । मुम्बईका दीपक चहरले फ्याकेको दोस्रो ओभरको पहिलो बलमा उनी स्वघोषितरुपमा आउट भएका हुन् ।

    चहरले फ्याकेको लेन्थ बल लेगको दिशामा स्वीङ भएको थियो र किसनले त्यसलाई फाइन लेगको दिशा दिने प्रयास गरेका थिए । तर, उनी चुके । बलले न उनको ब्याटलाई छोयो न प्याडलाई । अम्पायरले वाइडको इशारा गरे । तर, सबैलाई चकित बनाउँदै किसन आफू आउट भएको मानेर लुइँलुइँ पेभिलियनतिर हिँडे ।

    उनलाई मुम्बईका कप्तान हार्दिक पाण्ड्याले ‘स्पोट्सम्यानसिप’ देखाएको भन्दै धाप मारे । ब्याटर नै आउट भएको स्वीकारोक्ति गरेर हिँडेपछि अघि वाइड दिएका अम्पायरले अल्मलिँदै आउटको इशारा गर्न बाध्य भए, जबकि टिभीमा समेत ‘वाइड’ को सिम्बोल आइसकेको थियो । अम्पायरको इशारा बदलिएसँगै टिभीको सिम्बोल पनि बदलिएर ‘विकेट’ लेखियो ।

    उक्त बलमा किसन बिट हुँदा न बलर दीपक चहरले अपिल गरेका थिए, न विकेट किपर रिकेल्टोनले । अम्पायरले आउटको संकेत गर्दै बिस्तारै औँलो ठड्याएपछि चहरले यसो अपिल गरेजस्तो गरे । रिकेल्टोन भने मौन नै बसे । पछि स्किोमिटरबाट हेर्दा बलले ब्याट र प्याड दुवैमा नछोएको पुष्टि भयो ।

    क्रिकेट खेलमा ब्याटरले अम्पायरभन्दा पहिल्यै आफूलाई आउट करार गरेका दृश्यहरू यदाकदा देखिने गर्छन् । आउट भएर पनि अम्पायरले दिएन भने ‘स्पोट्सम्यानसिप’ देखाएर आफैं पेभिलियन फर्किने तरिका हो यो । तर, किसनले जे गरे, त्यसलाई स्पोट्सम्यानसिप मान्न क्रिकेट विज्ञहरू तयार छैनन् । बलले आफ्नो ब्याटमा लागे–नलागेको सबैभन्दा बढी ब्याटरलाई नै थाहा हुन्छ ।

    अम्पायरले वाइडको इशारा गर्दा अनि बलर र विकेटकिपरले आउटको अपिल नै नगर्दा किसनले कसरी आफूलाई आउट माने भन्ने प्रश्न उठेको छ ।

    किसनको विकेट हैदरावादका लागि निकै महत्त्वपूर्ण थियो । उनी आउट भएपछि हैदरावादको ब्याटिङ कोल्याप्स भएको थियो र हेनरिच क्लासेनले जसोतसो सम्मानजनक स्थितिसम्म पुर्‍याएका थिए । तर, म्याच हैदरावादले हार्‍यो ।

    यो घटनालाई लिएर कतिपयले म्याच फिक्सिङको आरोप लगाएका हुन् । भारतका दिग्गज क्रिकेटर वीरेन्द्र शहवागले समेत यो घटनाप्रति सन्देह व्यक्त गरेका छन् ।

    युट्युब र टिकटकमा थुप्रैले भिडिओहरू बनाएर यसबारे छानबिनको माग गरिरहेका छन् । तर, अहिलेसम्म ईशान किसनले कुनै प्रतिक्रिया जनाएका छैनन् ।

  • रात्रिकालीन १० औँ मणिमुकुन्द कप भलिबल : सेमिफाइनलमा गलकोट र गुजरात तथा गण्डकी र आर्मी भिड्दै

    रात्रिकालीन १० औँ मणिमुकुन्द कप भलिबल : सेमिफाइनलमा गलकोट र गुजरात तथा गण्डकी र आर्मी भिड्दै

    रूपन्देही । बुटवलमा पहिलो पटक सुरू भएको रात्रिकालीन १० औँ मणिमुकुन्द कप भलिबल च्याम्पियनसिप २०८२ को सेमिफाइनल समीकरण सकिएको छ । बिहीबार राती सम्पन्न छनौट चरणका २ खेलसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको हो ।

    प्रतियोगिताको सेमिफाइनलमा समूह ए बाट विजेता बन्दै साग भलिबल एकेडेमी गुजरात भारत एवम् उपविजेता बन्दै त्रिभुवन आर्मी क्लब तथा समूह बी बाट गलकोट भलिबल क्लब विजेता एवम् गण्डकी प्रदेश भलिबल क्लब उपविजेता बन्दै प्रवेश गरेका छन् ।

    बिहीबार भएको छनौट चरणको अन्तिम २ खेलमध्ये पहिलो खेलमा साग भलिबल एकेडेमी गुजरात भारत र दोस्रो खेलमा गलकोट भलिबल क्लब विजयी भएका छन् । योसँगै सेमिफाइनलमा पुग्ने ४ टिमको टुङ्गो लागेको हो ।

    छनौट चरण अन्तरगत बिहीबार भएको पहिलो खेलमा साग भलिबल एकेडेमी गुजरात भारतले नेपाल सशस्त्र प्रहरीलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । गुजरातले सशस्त्रलाई २५–१८, २५–२३ र २५–२२ को अंकमा पराजित गरेको हो ।

    दोस्रो खेलमा पनि गलकोट भलिबल क्लबले नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित ग¥यो । गल्कोटले २५–२०, २६–२४ र २५–१६ अंक सेटमा पुलिसलाई पराजित गरेको हो । पुलिस आफ्नो अन्तिम खेलमा सोझो सेटमा पराजित भएपछि झिनो अंकका आधारमा सेमिफाइनलमा पुग्न असफल भयो ।

    शुक्रवार सेमिफाइनल अन्तरगत पहिलो खेल समूह ए को विजेता साग भलिबल एकेडेमी गुजरात भारत र समूह वी को उपविजेता गण्डकी प्रदेश भलिबल क्लबवीच हुनेछ भने दोस्रो सेमिफाइनलमा समूह बी को विजेता गलकोट भलिबल क्लब र समूह ए को उपविजेता त्रिभुवन आर्मी क्लब भिड्ने छन् ।

    प्रतियोगिताको विजेताले ३ लाख ११ हजार १११ रुपैयाँ नगद, कप, पदक तथा उपविजेता हुने टीमले २ लाख ११ हजार १ सय ११ प्राप्त नगद, कप र पदक प्राप्त गर्नेछ ।

    तेस्रो हुने टिमले १ लाख ११ हजार १ सय ११ रुपैयाँ र चौथो हुने टीमले पनि प्रोत्साहन स्वरूप ६६ हजार ६६६ रुपैयाँ प्राप्त गर्नेछ भने प्रतियोगितामा विभिन्न ८ विधामा उत्कृष्ट हुने खेलाडीलाई १० हजारदेखि १५ हजार रुपैयाँसम्म पुरस्कार प्रदान गरिने अध्यक्ष लोकेन्द्र भण्डारीले जनाएका छन् ।

    क्लबले २०७२ सालदेखि हरेक वर्ष भलिबल प्रतियोगिता आयोजना गर्दै आएमा क्लबले आठौँ संस्करणसम्म जिल्लास्तरीय गरेकोमा गत वर्षको नवौँ संस्करणबाट राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गरेको थियो ।

    प्रतियोगिताका खेलहरू साँझ ६ बजेदेखि राति १० बजेसम्म सञ्चालन गर्ने गरी कोर्टमा लाइटिङको व्यवस्था गरिएको छ । नवौँ संस्करणको उपाधि नेपाल आर्मी क्लबले जितेको थियो ।

    पहिलो पटक दिन र रातिमा सञ्चालन गरिएको प्रतियोगितामा सहभागी ८ टीम मध्ये समूह एमा मणिमुकुन्द भलिबल क्लब रुपन्देही, साग भलिबल एकेडेमी गुजरात भारत, त्रिभुवन आर्मी क्लब काठमाडौं र नेपाल एपिएफ क्लब काठमाडौं तथा समूह विमा नेपाल पुलिस क्लब काठमाडौं, गण्डकी प्रदेश भलिबल संघ, कोशी प्रदेश भलिबल संघ, गलकोट भलिबल क्लब बाग्लुङ रहेका थिए ।

  • गौतमबुद्ध स्टेडियमको २० प्रतिशत निर्माण सकियो

    गौतमबुद्ध स्टेडियमको २० प्रतिशत निर्माण सकियो

    चितवन । यहाँ निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम २० प्रतिशत सम्पन्न भएको छ । भरतपुर महानगरपालिका–१५ स्थित सङ्घ र प्रदेश सरकारको सहकार्यमा महानगरपालिकाले रङ्गशाला निर्माण गरिरहेको छ ।

    धुर्मस–सुन्तली फाउण्डेसनले काम गर्न नसकेपछि महानगरपालिकाले अपनत्व लिइ काम अघि बढाएको थियो । हिमालयन कालिञ्चोक बिबिआर जेभीले बोलपत्र सकारेर काम गरिरहेको छ ।

    महानगरपालिकाका डिभिजनल इन्जिनियर सन्तोष आचार्यका अनुसार चार वटा ‘प्याराफिट’मध्ये एउटाको ढलाइ सम्पन्न गरिएको छ । अर्को ढलानको तयारीमा छ । दुवै टावरको पहिलो तल्लाको ढलानको तयारी हुँदै छ । अहिले दैनिक १७० जनाभन्दा बढी कामदारले बिहान ०८ बजेदेखि बेलुका ९ बजेसम्म काम गरिरहेको आचार्यले बताए। छड र सिमेन्ट सहज उपलब्धता नहुँदा काममा केही कठिनाइ भए पनि सामग्री जुटाएर काम भइरहेको उनले बताए ।

    गत साउनमा बिबिआर जेभीले निर्माण सुरु गरेको हो । विसं २०८३ पुस २२ गतेसम्ममा रङ्गशाला निर्माण सम्पन्न गर्ने गरी रु ७८ करोड ५० लाख ९१ हजार १८९ मा ठेक्का लगाइएको हो । गत असार २३ मा ठेक्का सम्झौता गरी काम सुरु गरिएको हो । रङ्गशाला निर्माणका लागि सङ्घीय सरकारले रु २५ करोड र प्रदेश सरकारले रु १० करोड उपलब्ध गराइसकेका छन् ।

    प्रदेश सरकारले ७० प्रतिशत र सङ्घीय सरकारले ३० प्रतिशत उपलब्ध गराउने सहमतिअनुसार रङ्गशालाको काम अघि बढेको हो । अन्तरराष्ट्रियस्तरको मापदण्डअनुसार रङ्गशाला निर्माण भइरहेको छ । पहिलो चरणको यो काम सम्पन्न भएसँगै अन्तरराष्ट्रियस्तरका खेल यहाँ आयोजना गर्न सकिने छ ।

    त्रिभुवन विश्व विद्यालयको नाममा रहेर कृषि तथा वन विज्ञान विश्व विद्यालयले उपयोग गरिरहेको २० विघा १९ कठ्ठा जमिनमा रङ्गशाला निर्माण भइरहेको छ । गर्मी भएकाले साँझ र रात्रीकालिन समयमा समेत खेल खेलाउन बत्तिको व्यवस्था गर्न महानगरपालिकाले सङ्घीय सरकारसँग अनुरोध गरेको छ ।

    महानगरपालिका प्रमुख रेनु दाहालले सम्झौताअनुसार तालिकामा काम भइरहेको बताए । महानगरबाट गर्नुपर्ने आवश्यक सहजीकरण महानगरले गरिरहेको उनले जानकारी दिए । सम्झौता अवधिभित्रै काम सम्पन्न हुनेमा विश्वस्त रहेको उनको भनाइ छ ।

  • धनगढीलाई हराउँदै पोखरा एनएसएलको फाइनलमा प्रवेश

    धनगढीलाई हराउँदै पोखरा एनएसएलको फाइनलमा प्रवेश

    काठमाडौं । धनगढी एफसीलाई हराउँदै पोखरा थन्डर्स नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा प्रवेश गरेको छ ।

    दशरथ रङ्गशालामा भएको दोस्रो क्वालिफायर खेलमा धनगढीलाई १–० गोलले पराजित गर्दै पोखराले फाइनलमा स्थान पक्का गरेको हो ।

    पोखराका लागि स्टफेन विलोङले निर्णायक गोल गरे । उनले दोस्रो हाफको इन्जुरी समयमा गोल गरेका हुन् । पोखराले अब उपाधिका लागि ललितपुर सिटी एफसीसंग खेल्नेछ ।

  • एनएसएल : रोबर्टो कार्लाेस आउँदा पनि रंगशाला आधा खाली !

    एनएसएल : रोबर्टो कार्लाेस आउँदा पनि रंगशाला आधा खाली !

    काठमाडौं । दशरथ रंगशाला ब्राजिली फुटबलका लिजेन्डरी खेलाडी रोबर्टो कार्लोस आउँदा पनि आधा खाली देखिएको छ ।

    जारी नेपाल सुपर लिगको दोस्रो क्वालिफायर खेलमा अतिथिको रुपमा लिजेन्डरी खेलाडी रोबर्टो रंगशाला पुग्दा आधा खाली छ ।

    विश्वकप विजेता इटालियन लेजेन्ड गोलकिपर जियालुजी बुफोन आउँदा रंगशाला भरिएको थियो । बुफोन गत फागुनमा भएको केपी ओली कप फुटबलको फाइनल खेलमा चिफ गेष्टको रुपमा नेपाल आएका थिए । उनी आउँदा रंगशाला भरिभराउ थियो ।

    कतिपय दर्शकले टिकट नपाएर घर फर्किनुपरेको थियो । तर, जारी नेपाल सुपर लिगको दोस्रो क्वालिफायर खेलमा अतिथिको रुपमा लिजेन्डरी खेलाडी रोबर्टो दशरथ रंगशालामा पुग्दा रंगशाला भने आधा खाली देखिएको छ ।

    ६ बजेबाट पोखरा थन्डर्स र धनगढी एफसीबिचको खेल सुरु भएको छ । बुफोन आएको राम्रो प्रचार हुँदा रंगशाला भरिएको र रोबर्टाे आउँदा खासै प्रचार हुन नसक्दा दर्शकको संख्या कम हुन पुगेको धेरैको आकँलन छ ।

  • फुटबलर रोबर्टो कार्लोसले भेटे प्रधानमन्त्री ओली

    फुटबलर रोबर्टो कार्लोसले भेटे प्रधानमन्त्री ओली

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र ब्राजिलका चर्चित फुटबल खेलाडी रोबर्टो कार्लोसबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज भेटघाट भएको छ ।

    विश्वविजेता कार्लोस नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनको खेल हेर्न काठमाडौं आएका हुन्। सो अवसरमा प्रधानमन्त्री ओलीले खेलाडी कार्लोसलाई स्वागत गर्दै उनको नेपाल आगमनले यहाँका खेलाडी र युवाहरुलाई उत्साह मिल्ने बताए।

    प्रधानमन्त्री ओलीले नेपाल र ब्राजिलबीच राम्रो कूटनीतिक सम्बन्ध रहेको उल्लेख गर्दै दुवै देशको खेल क्षेत्रले एकार्कामा सिकाइ आदानप्रदान गर्नुपर्नेमा जोड दिए।

    प्रधानमन्त्री ओलीले खेलाडी कार्लोसलाई ‘माउन्टेन फ्ल्याइट’ र जङ्गल सफारी गर्ने योजनासहित पुनः नेपाल भ्रमणमा आउन आग्रह गरे । आफूलाई स्वागत गरिएकामा आभार व्यक्त गर्दै खेलाडी कार्लोसले नेपालका प्रधानमन्त्री, युवा र खेलाडीसँग भेट्न पाउँदा खुसी लागेको बताए ।

  • उपाधि होडमा थप बलियो बार्सिलोना

    उपाधि होडमा थप बलियो बार्सिलोना

    काठमाडौं । स्पेनिस ला-लिगाको उपाधि होडमा थप बलियो बन्दै बार्सिलोनाले मालोर्कासङ्गको खेलमा महत्वपूर्ण तीन अङ्क हासिल गरेको छ ।

    मंगलबार राति भएको खेलमा मालोर्कालाई १-० ले पराजित गर्दै बार्साले महत्वपूर्ण जित निकालेको हो । बार्सिलोनाको जितमा ओल्मोले गोल गरे । उनले दोश्रो हाफको सुरुवातमै गोल गर्दै टिमलाई जित दिलाउन योगदान गरे ।

    खेलमा मलोर्काबिरुद्ध बार्सिलोनाले ४० प्रहार गरेको थियो । यो सिजन विपक्षी पोष्टमा सबभन्दा धेरै प्रहार भएको खेल पनि मंगलबार रातिको बन्न पुगेको छ । बार्साले ४० प्रहार मध्य १२ प्रहार तार्गेट बनाएको थियो ।

    जितपछि ३३ खेलबाट ७६ अङ्क सहित बार्सिलोना पहिलो स्थानमा कायम छ । उ भन्दा पछि रहेको रियलको ६९ अङ्क छ । तर उस्ले एक खेल कम खेलेको छ । पराजित मालोर्का भने ४४ अङ्क सहित सातौं स्थानमा छ ।

  • म्यान्चेस्टर सिटी तेश्रो स्थानमा उक्लियो

    म्यान्चेस्टर सिटी तेश्रो स्थानमा उक्लियो

    काठमाडाैं । संघर्षपूर्ण खेलमा एस्टन भिल्लालाई पराजित गर्दै म्यान्चेस्टर सिटी इङ्लिस प्रिमियर लिग (इपिएल)को तेश्रो स्थानमा उक्लिएको छ ।

    माथियस नुनेसले इन्ज्युरी समयमा गोल गरेपछि सिटीलाई महत्वपूर्ण तीन अङ्क प्राप्त भएको हो । जितसँगै सिटीले आगामी सिजन च्याम्पियन्स लिग खेल्ने सम्भावनालाई बलियो बनाएको छ ।

    खेलको सातौं मिनेटमा सिटीका बर्नार्डो सिल्भाले एमिलियानो मार्टिनेजको गल्तीको फाइदा उठाउँदै गोल गरे ।‌त्यसपछि रुबेन डियासले ज्याकब राम्सेलाई फाउल गरेपछि मार्कस रास्फोर्डले १८औं मिनेटमा पेनाल्टीमा बराबरी गोल गरे।

    जितपछि ३४ खेलबाट ६१ अङ्कसहित सिटी तेश्रो स्थानमा उक्लदा समान खेलबाट भिल्ला ५७ अंकसहित सातौं स्थानमा छ ।

  • कञ्चनपुरले उचाल्यो संस्कार क्रिकेट लिगको उपाधि

    कञ्चनपुरले उचाल्यो संस्कार क्रिकेट लिगको उपाधि

    धनगढी । धनगढीमा सम्पन्न टिम ११ संस्कार क्रिकेट प्रतियोगिताको उपाधि नारायण स्पोर्ट क्लब कञ्चनपुरले जितेको छ । जितसँगै क्लवले नगद १ लाख ११ हजार १११ सहित आकर्षक ट्रफि हात पारेको छ । उप विजेतामा बनेको यूथ अफ टीकापुरले ५५ हजार ५५५ नगद सहित ट्रफि प्राप्त गर्याे ।

    मंगलबार सम्पन्न फाइनल खेलमा यूथ अफ टीकापुरलाई ५ विकेटले पराजित गर्दै उपाधि हात पारेको हो । टस जितेर पहिला ब्याटिङ गरेको यूथ अफ टीकापुर १३ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै ७८ रनमा समेटिएको थियो ।

    यूथ अफ टीकापुरका लागि सुदिप साउँदले १६ तथा दिनेश रावतले १० रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानको प्रदर्शन निराशाजनक रह्यो । टीकापुरलाई सस्तैमा रोक्न नारायणका नेहाल दास र सचिन भट्टले समान ३्३ विकेट लगे ।

    ७९ रनको लक्ष्य नारायण स्पोर्ट क्लवले १२ ओभर खेल्दै ५ विकेट गुमाएर पूरा गर्याे । नारायणका लागि राहुल चन्दले १७ तथा सुनिल चन्दले अविजित १६ रनको पारी खेले । बलिङ तर्फ यूथ अफ टीकापुरका सागर रावलले ३ विकेट लिए ।

    संस्कार विद्याश्रम गोदावरी नगरपालिका–८ स्याउलेको आयोजनामा चैत ३० गते देखि सुरु भएको प्रतियोगितामा डोटी, कैलाली र कञ्चनपुरबाट १३ टोली सहभागी रहेका थिए । प्रतियोगिताको वेस्ट ब्याट्स म्यान नारायण स्पोर्टका सुमित बुढा भए । त्यसैगरी वेस्ट बलर उत्तर त्रिसुलका अनुप छेडाल घोषित हुँदा संस्कार विद्याश्रमका कप्तान रावल ईमर्जिङ प्लेयर बनेका छन् ।

    पुरस्कार वितरण कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले सुदूरपश्चिममा खेलकुदको ठुलो सम्भावना रहेको बताए । समापन समारोहलाई सम्बोधन गर्दै उनले सुदूरपश्चिमको चिनारी क्रिकेटको माध्यमबाट पनि बढिरहेको बताएका थिए ।

    सुदूरपश्चिममा जन्मिएका दीपेन्द्रसिंह ऐरी जस्ता खेलाडीहरू प्रदेशको मात्र नभई देशकै गौरव रहेको प्रदेश प्रमुख मियाँको भनाइ थियो । सीमित संरचना हुँदा पनि खेलकुदमा भइरहेको विकासको प्रशंसा गर्दै उनले फाप्ला क्रिकेट मैदान निर्माण भएपछि प्रदेशको विकासले ठुलो फड्को मार्ने विश्वास व्यक्त गरे ।

    संस्कार विद्याश्रम गोदावरी नगरपालिका–८ स्याउलेको आयोजनामा चैत ३० गते देखि सुरु भएको प्रतियोगितामा डोटी, कैलाली र कञ्चनपुरबाट १३ टोली सहभागी रहेका थिए ।

    कार्यक्रम समापन समारोहका कार्यक्रम संयोजक रामचन्द्र शाहीले पहिलो संस्करणको संस्कार क्रिकेट लिगले सुदूरपश्चिम प्रदेशको क्रिकेटलाई एक स्तरमाथि उठाएको बताएका थिए ।

  • लिग–२ तयारीः ५२ खेलाडीलाई ४ टोली बनाएर अभ्यास खेल खेल्दै

    लिग–२ तयारीः ५२ खेलाडीलाई ४ टोली बनाएर अभ्यास खेल खेल्दै

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आइसीसी विश्वकप लिग–२ को तयारी थालेको छ । लिग–२ का सुरुआती खेलमा कमजोर प्रदर्शन गरेको नेपालले आगामी खेलका लागि तयारी सुरु गरेको हो ।

    लिग–२ अन्तर्गत नेपालले जुन पहिलो हप्ता स्कटल्याण्ड र नेदरल्यान्ड्ससँग यसवर्षको पहिलो सिरिज खेल्नेछ । त्यसको तयारी स्वरुप क्यानले ५२ खेलाडीलाई ‘द कोर क्याम्प’मा बोलाएको छ ।

    ती खेलाडीलाई टिम क्लु, टिम ग्रिन, टिम रेड र टिम एल्लो गरी ४ समूहमा विभाजन गरिएको छ । टिम ब्लूको कप्तानी रोहित पौडेल, टिम ग्रिनको कप्तानी आसिफ शेख, टिम रेडको कप्तानी सन्दीप लामिछाने र टिम एल्लोको कप्तानी दीपेन्द्रसिंह ऐरी गर्नेछन् । एक टिममा १३ खेलाडी समावेश छन् ।

    क्याम्पका लागि यसअघि ४८ खेलाडी बोलाइएको थियो । त्यसमा थप ४ खेलाडीलाई पनि बोलाइएको छ । यू–१९ टोलीका कप्तान नरेन भट्ट, युवराज खत्री, सन्तोष यादव र कमलसिंह ऐरी क्याम्पमा थपिएका छन् ।

    क्याम्प अभ्यास खेलहरु आगामी शनिबारबाट सुरु हुनेछ । त्यसको एक दिनअघि राष्ट्रिय टोलीका नवनियुक्त मुख्य स्टुअर्ट ल नेपाल आइपुग्नेछन् । मुलपानी क्रिकेट मैदानमा हुने अभ्यास खेलमा एक टोलीले ६ खेल खेल्नेछन् ।

  • धनगढीका रामचन्द्रको क्रिकेट मोह- खेल खेलाउँदाको ऋण स्कूल बेचेर तिरे

    धनगढीका रामचन्द्रको क्रिकेट मोह- खेल खेलाउँदाको ऋण स्कूल बेचेर तिरे

    कैलाली । ‘अब म क्रिकेटमा लाग्दिनँ होला सर’ दुई वर्ष पहिले रामचन्द्र शाहीले होटेल इमेजमा सुनाए ।

    २०७३ सालदेखि अनवरतरूपमा उमेर समूहका र सिनियर टीमको प्रत्येक प्रतियोगिता आयोजना गरिरहेका छन् शाही । लिटिल फ्लावर प्रिमियर लिग आठौँ संकरणको तयारी गरिरहेका बेलादेखि भने अलि निराश देखिए ।

    ‘क्रिकेटले नाम र दाम दुवै दिएको छ । किन निराश हुनुहुन्छ ?’

    ‘धनगढीको क्रिकेट, लिटिल फ्लावर र म नामबाट त सन्तुष्ट नै छौँ । तर, दाम…’उनी रोकिए ।

    केही बेरको मौनतापछि फेरि भने, ‘८ वर्षसम्म निरन्तर प्रतियोगिता आयोजना गर्दा अहिलेसम्म प्रतियोगिताको स्तर अनुसारको आर्थिक सहयोग पाउन सकेको छैन । सरकारले चासो दिँदैन । तर, क्रिकेट गराउने हुटहुटी नमर्ने रहेछ । अब त म लाग्दिनँ कि’, उनी फेरि रोक्किए ।

    ठूलो धनराशीमा हुने धनगढी प्रिमियर लिग क्रिकेट प्रतियोगिता रोकिएका बेला क्रिकेटका गतिविधि गरिरहन सहज भने थिएन । संरचना अभावको समस्या झेलिरहेको क्षेत्रमा ठूलो लगानी गरेर प्रत्येक वर्ष क्रिकेट प्रतियोगिता आयोजना गरिरहेका शाहीलाई अनेक समस्या आइलाग्दा पनि धनगढीमा क्रिकेटको क्रेज बढाउन उनी लागिरहे ।

    सरकारले खेलकुदको लागि विनियोजन गरेको रकमबाट पनि खेलकुदको गतिविधि गर्न नसकिरहेको बेला उनी सरकारी बजेटविनै धनगढीमा क्रिकेट गराउँदै आए । चरम आर्थिक संकटले क्रिकेट छोड्नेसम्मको योजनामा पुगेका उनलाई क्रिकेट मोहले भने छोड्न सकेन ।

    करिब १० वर्षसम्म लिटिल फ्लावर प्रिमियर लिगबाट ५० लाखभन्दा बढी नोक्सानी बेहोरेका शाही पुन: संस्कार क्रिकेट लिगमार्फत मैदानमा उत्रिएका छन् । संस्कार विद्याश्रम मन्टेश्वरी स्कूलमा सल्लाहकारसमेत रहेका शाहीले फाप्ला क्रिकेट मैदानमा चैत ३० गतेदेखि संस्कार क्रिकेट लिग आयोजना गरिरहेका छन् ।

    विजेतालाई १ लाख ११ हजार १११ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र उपविजेताले ५५ हजार ५५५ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र दिने गरी भइरहेको प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई ५ हजार ५५५ ,उत्कृष्ट बलर, उत्कृष्ट ब्याट्सम्यान, उदीयमान खेलाडीलाई जनही ३ हजार ५५५ नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।

    प्रत्येक खेलको म्यान अफ द म्याच जित्ने खेलाडीलाई १ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान भइरहेको छ । त्यसैगरी प्लेयर अफ द फाइनललाई २ हजारसहित ट्रफी र मेडल प्रदान गरिनेछ ।

    क्रिकेटबाट विश्राम लिने मनस्थितिमा पुगिसक्नु भएको थियो । फेरि आयोजना गर्नु भएछ नि ! यो जिज्ञासामा उनले भने, ‘खेलकुद एउटा नशा रहेछ । आफू सबै सकिएर पनि यो क्षेत्र छोड्न नसकिने रहेछ ’, उनले भने, ‘अहिले यो संस्करण सुरू गर्दा पनि म करिब ८/९ लाख घाटामा छु । तर, प्रतियोगिता भइरदा आनन्द भइरहेको छ ।’

    आफूले आयोजना गरेका प्रतियोगितामै डेब्यू गरेका क्रिकेट खेलाडीहरूले राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट खेल प्रस्तुत गर्दा उनी उत्साहित हुन्छन् ।

    ‘धनगढीमा क्रिकेट सिकेका खेलाडी अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सहभागी हुनु नै हाम्रो उपलब्धी हो’ उनले भने, ‘ती प्रतियोगितामा हाम्रा खेलाडीले राम्रो प्रदर्शन गरेको देख्दा म यहाँ दुखले प्रतियोगिता आयोजना गरेको भुल्छु । ’

    पहिलो पटक २०७३ सालमा ३० हजार पुरस्कार राशिबाट धनगढीमा उमेर समूहको क्रिकेट प्रतियोगिता आयोजना सुरू गरेका शाहले आठौँ संस्करणसम्म पुग्दा पहिलो संस्करण आयोजना गर्दाका कूल खर्च बराबरको पुरस्कार राशी नै राखेका थिए ।

    २०७३ सालमा लिटिल फ्लावर प्रिमियर लिगको पहिलो संस्करण सुरू गर्दा उमेर समूहको खेलमा क्रेज थिएन । बिस्तारै एलपीएलले उचाइ लिँदै गयो शाहीको मनोबल पनि बढ्दै गयो । त्यही मनोबल र केही साथले निरन्तर आठ वर्षसम्म एलपिएल आयोजना गरेर उनले दर्जनौँ राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गरे ।

    सुरूमा कैलाली र कञ्चनपुरका विद्यार्थीबीच क्रिकेट आयोजना गर्ने उनले देशभरबाट विद्यार्थी टीम सहभागी हुने गरी प्रतियोगिता सञ्चालन गर्न थाले ।

    ‘स्कुलमा पढ्नमात्र होइन, हरेक क्षेत्रमा भविष्य बनाउन सकिन्छ भन्ने लागेर खेलकुदसँगै अरू प्रतिभावान् विद्यार्थीसँग काम गर्न थालेँ,’ उनले भने ।

    पहिलो सिजनका प्लेयर अफ दि सिरिज बनेका नारायण जोशी अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका छन् । दोस्रो संस्करणमा प्लेयर अफ दि सिरिज बनेका किरण कुमार ठगुन्ना र तेस्रो संस्करणमा प्लेयर अफ दि सिरिज बनेका शेर मल्ल देशकै उदीयमान खेलाडीका रूपमा चिनिएका छन् ।

    एलपिएलमा शतक हानेका खडक बोहरा राष्ट्रिय टोलीमा छन् । यस्तै लोकेश बमले व्यवसायिक क्रिकेट खेलिरहेका छन् । सुरज तिरुवा, सचिन भट्ट, युवराज कुँवरलगायतका खेलाडीलाई पनि एलपीएलले नै चिनायो ।

    क्रिकेटबाट दुई वर्ष पर रहेका उनले शारदा फुटबल लिग पनि आयोजना गरेका थिए । फुटबलले मन तान्न नसकेपछि फेरि क्रिकेटमा लागेका शाही भन्छन्, ‘मेरो नसामा रगतसँगै क्रिकेटको क्रेज बगेको जस्तो लाग्छ ।’

    क्रिकेट आयोजना गर्दा लागेको ऋण तिर्न लिटिल फ्लावर हाइस्कूल समेत उनले बिक्री गरे । त्यसपछि क्रिकेटबाट टाढा रहने योजना बनाए । तर, क्रिकेट मोहले भने उनलाई टाढा जान दिएन । फेरि यस वर्षदेखि लिएर आए संस्कार क्रिकेट लिग ।

    २०७१ सालमा प्रावि तहको शिक्षक सेवा आयोगबाट स्थायी शिक्षकमा नाम निकालेका शाही सरकारी सेवा त्यागेर क्रिकेटबाट सुदूरपश्चिमलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा चिनाउन लागिपरेका थिए । तर, सरकारी निकायको उदासीनताले उनको उद्देश्य र लक्ष्यलाई मलजल गर्न सकेन ।

    शाही अहिले दुर्गा भवानी मावि जमुनाभाडीमा पढाउँछन् । आफ्नो बचेको समयमा उनी क्रिकेटको क्रेज बढाउन लागिरहेका छन् । सरकारी शिक्षकमा नाम निकालेर पनि सेवामा नगएका उनी १० वर्षपछि फेरि शिक्षक सेवा आयोगको तयारीमा जुटेका छन् ।

    लिटिल फ्लावर बिक्री गरेपछि शाहीले शारदा विद्या निकेतन सुरू गरे । त्यसपछि संस्कार विद्याश्रम मन्टेश्वरी स्कूल । अहिले उक्त मन्टेश्वरी स्कूल उनको धर्मपत्नी लक्ष्मी चन्द शाहीले चलाइरहेकी छन् । रामचन्द्र त्यसको सल्लाहकार हुन् ।

    ‘क्रिकेट मेरो रहर हो । शिक्षण मेरो पेसा हो । अहिले दुबैलाई सँगै लैजाने प्रयास गरिरहेको छु’ उनले भने, ‘मेरो रहर र पेसा दुवैलाई मेरो जीवनसाथीको साथ छ ।’

  • फरेस्टको च्याम्पियन्स लिग खेल्ने सम्भावना बलियो

    फरेस्टको च्याम्पियन्स लिग खेल्ने सम्भावना बलियो

    हेटौंडा । यो सिजनका सुरुवाती चरणमा अविश्वनिय प्रदर्शन गरेर सनसनी मच्चाउन सफल नटिङ्घम फरेस्टले च्याम्पियन्स लिग खेल्ने आफ्नो सम्भावनालाई बलियो बनाएको छ ।

    इङ्लिस प्रिमियर लिग (इपिएल)को सोमबार राती भएको खेलमा टोटनह्याम्पलाई २-१ ले पराजित गर्दै फरेस्टले ३३ औं चरणको खेल सकिदा आफुलाई तेश्रो स्थानमा उभ्याउदै आउँदो सिजन च्याम्पियन्स लिग खेल्ने संभावनालाई मजबुत बनाएको हो ।
    पाँचौँ मिनेटमा इलियट एन्डरसनको गोलमा अग्रता लिएको फरेस्टका लागि १६ औँ मिनेटमा कृश उडले गोल गरे। सानदार फर्ममा रहेका उडले यस सिजनको प्रिमियर सिपमा १९ गोल गरेका छन्।

    खेलमा अन्तिम तिर टोटनह्याम्पले गोल गरेपनि त्यो जितको लागि पर्याप्त भएन । जितपछी यो सिजन ३३ औं खेलपछी ६० अङ्क छुने फरेस्ट तेश्रो टिम पनि बनेको छ ।

  • नेपाल आइपुगे चर्चित फुटबलर रोबर्टो कार्लोस (भिडिओ)

    नेपाल आइपुगे चर्चित फुटबलर रोबर्टो कार्लोस (भिडिओ)

    काठमाडौं । ब्राजिलका चर्चित फुटबलर रोबर्टो कार्लोस नेपाल आइपुगेका छन् ।

    कार्लोस दशरथ रंगशालामा जारी नेपाल सुपर लिग (एनएसएल) को खेल हेर्न नेपाल आएका हुन् ।

    उनी धनगढी एफसी र पोखरा थान्डर्सबीचको दोस्रो क्वालिफायर खेल हेर्न मैदानमा पुग्नेछन् ।

    ५१ वर्षीय कार्लोसले ब्राजिलले सन् २००२ को फिफा विश्वकपको उपाधि जित्दा टिमका महत्त्वपूर्ण सदस्य थिए । उनले ब्राजिलबाट सन् १९९२ देखि २००६ सम्म खेलेका थिए ।

  • टीकापुर र कञ्चनपुर संस्कार क्रिकेट लिगको फाइनलमा, उपाधि भीडन्त भोलि

    टीकापुर र कञ्चनपुर संस्कार क्रिकेट लिगको फाइनलमा, उपाधि भीडन्त भोलि

    धनगढी । धनगढीमा जारी टीम ईलाभेन संस्कार क्रिकेट लिग प्रतियोगिताको फाइनलमा नारायण स्पोर्ट क्लव कञ्चनपुर र युथ अफ टीकापुर पुगेका छन् । सोमबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा नेपाल वेष्ट्रन एकेडेमी धनगढीलाई ४ विकेटले पराजीत गर्दै कञ्चनपुरले फाइनलको यात्रा तय गरेको हो ।

    टस जितेर पहिला ब्याटिङ् गरेको नारायण स्पोर्ट क्लवले २० ओभर खेल्दै ६ विकेटको क्षेतिमा २ सय १४ रन जोडेको थियो ।

    २ सय १५ रनको लक्ष पच्छ्याएको नेपाल वेष्ट्रन एकेडेमी १७ दखमलव ५ ओभरमा अल आउट हुँदै १ सय १९ रनमा समेटिन पुग्यो ।

    सोमबारनै भएको अर्काे सेमिफाइनल खेलमा सायल गाउँपालिका डोटिलाई पराजीत गर्दै युथ अफ टीकापुर फाइनल प्रदेश गरेको हो ।

    सायलले दिएको १ सय ६ रनको लक्ष्य युथ अफ टीकापुरले १५ दशमलव ३ बलमा पूरा गर्दै फाइनलको लागि स्थान पक्का गरेको हो ।

    प्रतियोतिताको फाइनल खेल मंगलबार दिउसो १ बजे देखि हुने छ । प्रतियोगिता समापन सुदूरपश्चिम प्रदेशक प्रदेश प्रमुख नजिर मियाँले गर्ने छन् ।

    विजेता टोलिले नगद १ लाख ११ हजार १ सय ११ र आकर्षक ट्रफि प्राप्त गर्ने छ । त्यस्तै उप विजेताले ५५ हजार ५ सय ५५ रूपैया नगद संगै आकर्षक ट्रफि प्राप्त गर्ने छ ।

    चैत ३० गते देखि सुरू भएको प्रतियोगितामा १३ टीमको सहभागिता रहेको थियो ।

    पहिलो संस्करणको संस्कार क्रिकेट लिगको फाइनल पुगेका दुवै टोलीले आफ्नो जीत सुनिश्चित भएको दाबी गरेका छन्

    फाइनलको पूर्व सन्ध्यामा सोमबार फाप्ला क्रिकेट मैदानमा आयोजित पत्रकार सम्मेलनमा नारायण स्पोर्ट क्लवका कप्तान लोकेन्द्र चन्दले आफ्नो टीम सन्तुलित रहेकाले ट्रफि जित्ने दाबी गरेका थिएन अर्जुन ट्रफि र प्रधानमन्त्री कप खेलेका खेलाडी सम्मिलित आफ्नो टोली ब्याटिङ् र बलिङ् दुवैमा बलियो भएको उनको दाबी छ ।

    त्यस्तै, युथ अफ टीकापुरका कप्तान डिकेन्द्र शाहले बलिङ सुरू देखिनै बलियो रहेको बताए । पछिल्ला खेलमा ब्याटिङ पनि सुधार भएकाले आफ्नो टोली बलियो रहेको र जीत निश्चित भएको दाबी गरे । पत्रकार सम्मेनलमा क्रिकेट प्रतियोगिताको फाइनल रोमान्चक बन्ने प्रतियोगिताका अध्यक्ष रामचन्द्र शाहीले बताए गरेका छन् ।

    ’दुवै टोली ब्याटिङ र बलिङमा सन्तुलित रहेका कारण रोमाञ्चक प्रतिष्पर्धा हुने छ ’शाहीले भने’ पहिलो संस्कारको सबैभन्दा प्रतिस्पर्धात्मक खेल भोलि हुने छ ।’

  • यू- १४ क्रिकेटको उपाधि वेष्ट्रर्नलाई

    यू- १४ क्रिकेटको उपाधि वेष्ट्रर्नलाई

    रुपन्देही । वेष्ट्रन क्रिकेट एकेडेमीद्वारा आयोजित यू–१४ टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि वेष्ट्रन क्रिकेट एकेडेमीले जितेको छ ।

    प्रतियोगिताको सोमबार भएको फाइनल खेलमा देवदह क्रिकेट युनिटलाई १३ रनले पराजित गर्दै वेष्ट्रर्नले उपाधि हात पारेको हो । उपाधिसँगै वेष्ट्रर्न नगद ४१ हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता देवदह भने नगद २१ हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्र पाएको छ ।

    नरेश्वर खेल मैदानमा भएको फाइनलमा टस जितेर ब्याटिङ गरेको वेष्ट्रर्नले १४।१ ओभरमा सबै विकेट गुमाएर ५५ रन बनाएको थियो । जसमा एक्स्ट्रा रन नै २० थियो । उसका लागि केशव रायमाझीले २० बलमा १५ रनबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन् ।

    देवदहका बलर प्रिन्स शर्माले ४ तथा रोहित कुवरले ३ विकेट लिएका थिए । जितका लागि ५६ रनको झिनो लक्ष्य पछ्याएको देवदहको सुरुवात नै राम्रो हुन सकेन । उसको पहिलो ओभरको पहिलो बलमा नै विकेट गुनाउन पुग्यो । देवदह १६।४ ओभरमा ४१ रनमा अलआउट हुन पुग्यो । देवदहका रोजन काफलेले ३३ बलमा १५ रनको नटआउट तथा सुशान्त विकले १५ बलमा १५ रन जोडका थिए । देवदह कुनै वेला ९ ओभरमा ६ विकेटको क्षतिमा मात्र ९ रन बनाउँदै खेलेको थियो ।

    वेष्ट्रर्नका लागि सुप्रिम कँडेलले ४ तथा निश्चल पौडेलले ३ विकेट लिए । खेलमा सुप्रिम कँडेल प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।

    विधागत तर्फ उत्कृष्ट ब्याट्सम्यान देवदहका रोहित कुवर, बेष्ट्रर्नका सम्राट पोखरेल उत्कृष्ट बलर, गार्गीका अनमोल पुन सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै पुरस्कृत भए । वेष्ट्रनका सुप्रिम कँडेल म्यान अफ ली सिरिज घोषित हुँदै नगद ५ हजारसहित ट्रफीबाट पुरस्कृत भए ।

    विजेता तथा उपविजेता टीम एवं खेलाडीहरुलाई बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्याल, वडा नं.११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्री, रुपन्देही क्रिकेट संघका अध्यक्ष हरि बहादुर थापा, लुम्बिनी प्रदेश क्रिकेट संघका अध्यक्ष सञ्जय गुरुङ, क्लबका अध्यक्ष भुवन पाण्डेले पुरस्कार वितरण गरेका थिए ।

    प्रतियोगितामा सहभागी १२ वटा टिमलाई दुई समूह विभाजन गरी राउण्ड रोविनका आधारमा खेलाउँदै समूहको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गरेका हुन । क्लबले नियमित रुपमा उमेर समूहको प्रतियोगिता आयोजना गर्दै आएको छ । नेपालका यु–१९ का तत्कालीन कप्तान देव खनाल यसै वेष्ट्रर्न क्लबका उत्पादन हुन ।

  • राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकको लागि आवेदन खुला

    राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकको लागि आवेदन खुला

    काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकको लागि आवेदन खुलाएको छ । एन्फाले सोमबार सूचना जारी गर्दै महिला फुटबल टिमको मुख्य प्रशिक्षकको आवेदन खुला गरेको हो ।

    मुख्य प्रशिक्षकमा आवेदन दिन प्रो लाईसेन्स प्राप्त हुनुपर्ने उल्लेख छ । यस्तै सिनियर महिला टोली सम्हालेको वा युथ राष्ट्रिय टोली सम्हालिसकेको र कम्तीमा दुई वर्षको अनुभव भएको हुनुपर्ने एन्फाले जनाएको छ । एन्फाले पर्फमेन्स एनलाइसिसको आवेदन पनि खुला गरेको छ ।

  • उपाधि नजिक पुग्यो लिभरपुल

    उपाधि नजिक पुग्यो लिभरपुल

    हेटौँडा । इङ्लिस प्रिमियर लिग (इपिएल) मा आफ्नो विजयी यात्रा जारी राख्दै लिग लिडर लिभरपुल उपाधि नजिक पुगेको छ ।

    अब उसलाई उपाधिको लागि एक जितको मात्र आवश्यक रहेको छ । आइतबार राती भएको खेलमा लेस्टर सिटीलाई १-० ले पराजित गर्दै लिभरपुलले उपाधि अभियानलाई थप मजबुत बनाएको हो ।

    खेलको ७६ औँ मिनेटमा एलेकजेन्डर अर्नेल्डले गोल गर्दै टिमलाई जित दिलाए ।

    गएराति नै भएको अन्य खेलमा दोस्रो स्थानको आर्सनलले पनि जित निकाल्दै आफूलाई उपाधि होडमा कायम राखेको छ ।

    रेलिगेसन जोनमा रहेको इस्विच टाउनलाई ४-१ ले पराजित गर्दै आर्सनलले पनि उपाधि होड कायम राखेको हो ।

    यो सँगै ३३ चरणको खेलबाट लिभरपुलको ७९ अङ्क पुगेको छ भने समान खेलबाट आर्सनलको ६६ अङ्क छ ।

  • संस्कार क्रिकेट लिगः समूह चरणका खेल सकियो, को-को भिड्दै छन् सेमिफाइनलमा ?

    संस्कार क्रिकेट लिगः समूह चरणका खेल सकियो, को-को भिड्दै छन् सेमिफाइनलमा ?

    कैलाली । धनगढीमा जारी संस्कार क्रिकेट लिग २०८१ अन्तर्गत आइतबार सम्पन्न खेलमा उत्तर त्रिशूल र सायल गाउँपालिका विजयी भएका छन्। आइतबार भएका दुई खेल सँगै समूह चरणको समीकरण पूरा भएको हो ।

    आइतबार सम्पन्न पहिलो खेलमा संस्कार विद्याश्रमलाई दुई विकेटले पराजित गर्दै उत्तर त्रिशूल विजयी भएको हो । टस जितेर पहिला ब्याटिङ गरेको संस्कार विद्याश्रमले १९ दशमलव ४ ओभरमा सबै विकेट गुमाएर १ सय १५ रन जोडेको थियो । संस्कार विद्या आश्रमका लागि विशाल बिष्टले २३ रन जोडेका थिए। बलिङ तर्फ उत्तर त्रिशूलका प्रवेश शाहले चार विकेट लिए । जवाफी ब्याटिङ गरेको उत्तर त्रिशूल धनगढी–४ ले १७ दशमलव तीन ओभरमा आठ विकेट गुमाएर १ सय १९ रन बनाउँदै जित हासिल गरेको हो। संस्कारका लागि अनिल राउतले पाँच विकेट लिए पनि टिमलाई जित दिलाउन सकेनन् ।

    आइतबार नै सम्पन्न अर्को खेलमा आवर ड्रिम सक्सेस ट्रेनिङ सेन्टरलाई १० विकेटले पराजित गर्दै सायल गाउँपालिका विजयी भएको छ ।

    टस जितेर पहिला ब्याटिङ गरेको आवर ड्रिम १६ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै एक सय रनमा समेटिएको थियो। आवर ड्रिमलाई कम स्कोरमा रोक्न सायलका राजेन्द्र बहादुर बमले चार विकेट लिए ।

    एक सय १ रनको लक्ष्य सायल गाउँपालिकाले विना विकेट पूरा गरेको हो । १३ दशमलव दुई ओभर खेल्दै सायलका लागि सुरुवाती ब्याट्सम्यान सचिन साउदले ३४ र मनिस थापा ५३ रनको अविजित पारी खेलेका थिए ।

    संस्कार विद्याश्रम गोदावरी नगरपालिका–८ स्याउलेको आयोजनामा वैशाख ३ गतेदेखि सुरु भएको प्रतियोगितामा सोमबार देखि सेमिफाइनल चरणका खेल हुनेछन् । आयोजकका अनुसार सोमबार नेपाल वेष्ट्रन एकेडेमी धनगढी र नारायण स्पोर्ट एकेडेमी बिच पहिलो सेमिफाइनल हुने छ भने सायल गाउँपालिका डोटी र यूथ अफ टीकापुर बिच दोस्रो सेमिफाइनल खेल हुने छ ।

    प्रतियोगिताको फाइनल खेल वैशाख ९ गते (मंगलबार) हुने छ ।

    प्रतियोगिता विजेताले नगद १ लाख ११ हजार १११ नगद सहित ट्रफि प्राप्त गर्ने छ । यसैगरी उप विजेताले ५५ हजार ५५५ नगद सहित आकर्षक ट्रफि पाउने छन् ।

  • चितवनलाई हराउँदै पोखरा एनएसएलको दोस्रो क्वालिफायरमा प्रवेश

    चितवनलाई हराउँदै पोखरा एनएसएलको दोस्रो क्वालिफायरमा प्रवेश

    काठमाडौं । चितवन एफसीलाई हराउँदै पोखरा थन्डर्स नेपाल सुपर लिग (एनएसएल) को दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ ।

    दशरथ रङ्गशालामा भएको एलिमिनेटरमा चितवनलाई ३-० गोलले पराजित गर्दै पोखराले दोस्रो क्वालिफायरमा स्थान पक्का गरेको हो । पोखराले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा धनगढी एफसीसंग प्रतिस्पर्धा गर्नेछ ।

    चितवनविरुद्ध खेलको ६२ औं मिनेटमा गोल गर्दै पोखराले पहिलो अग्रता लिएको थियो । समिर तामाङले हानेको क्रस चितवनका डिफेन्डर अभिषेक लिम्बुलाई डिफ्लेक्ट हुँदै गोलपोस्टमा छिरेको थियो ।

    ७१औं मिनेटमा जो आइडोले गोल गर्दै पोखराको अग्रतालाई दोब्बर बनाए । त्यसको ५ मिनेटपछि जो आइडोलेन व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता तेब्बर बनाए । त्यसपछि दुवैतर्फबाट गोल हुन सकेन र पोखरा ३-० ले विजयी भयो ।

  • मनुकला र सुजित बने बागमती वारियर्स प्रदेशस्तरीय पावरलिफ्टिङको विजेता

    मनुकला र सुजित बने बागमती वारियर्स प्रदेशस्तरीय पावरलिफ्टिङको विजेता

    काठमाडौं । ललितपुर जिल्ला पावरलिफ्टिङ संघको आयोजना तथा नेपाल पावरलिफ्टिङ संघको सहकार्यमा बागमती वारियर्स प्रदेशस्तरीय पावरलिफ्टिङ प्रतियोगिता भएको छ ।

    दशरथ रंगशालास्थित कभर्डहलमा भएको प्रतियोगतामा महिलतर्फ मनुकला राई र पुरुषतर्फ सुजित अवाले ओभरअल विजेता घोषित भए । महिलातर्फ मनुकलाले ४३५.५ केजी तौल र पुरुषतर्फ सुजितले ७४२.५ केजी तौल लिफ्ट गर्दै ओभरअल विजेता बने । उनीहरू दुवैले नगद १ लाख पुरस्कार र ट्रफी हात पारे ।

    २३ वर्षमुनितर्फ आक्रित बानियाँ, १८ वर्षमुनि अंकित योञ्जन विजेता बने । महिलतर्फ ५७ केजीमुनितर्फ शिल्पा अग्रवाल, ६३ केजीमुनितर्फ पुनम चौधरी, ६९ केजीमुनितर्फ महिमा सिंतान र ६९ केजीमाथि अल्बिना रजथला विजयी भए । पुरुषतर्फ ५९ केजीमुनि हिमाल महत, ६६ केजीमुनि अनिकित शाही, ७५ केजीमुनि रुनेश श्रेष्ठ, ८३ केजीमुनि विजय प्रजापति र ८३ केजीमाथि प्रसिद्ध शाक्य विजयी भए ।

    प्रतियोगितामा प्रत्येक तौल वर्गका पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीहरूले क्रमशः नगद रू. २० हजार, १५ हजार र १० हजार प्राप्त गरेका छन् । उमेर समूहका पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीहरूले क्रमशः नगद ३० हजार, १५ हजार र १० हजार पुरस्कार पाए ।

    प्रतियोगिताका विजेता, उपविजेतालाई बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा, राष्ट्रिय खेलकुद परिषद्का कार्यकारी सदस्य शुभर्ण श्रेष्ठ र नेपाल पावरलिफ्टिङ संघका अध्यक्ष सुन्दर भुसालले पुरस्कार हस्तान्तरण गरेका थिए ।

    कार्यक्रममा मुख्यमन्त्री लामाले प्रदेशस्तरीय खेल प्रतियोगिता आयोजना हुनु निकै सकारात्मक कदम रहेको बताए । उनले प्रदेश सरकारले आगामी दिनमा यस्ता खेलहरूलाई थप प्रोत्साहन गर्ने विश्वास व्यक्त गरे ।

  • बार्सिलोनाको रोमाञ्चक पुनरागमन जित

    बार्सिलोनाको रोमाञ्चक पुनरागमन जित

    हेटौँडा । स्पेनिस लिग लिडर बार्सिलोनाले रोमाञ्चक पुनरागमन गर्दै आफूलाई यो सिजनको उपाधि नजिक पुर्‍याएको छ । शनिवार राती सेल्टाभिगोसँगको खेलमा ३-१ ले पछि परेको अवस्थालाई उल्ट्याउँदै बार्साले ४-३ को रोमाञ्चक जित दर्ता गरेको हो ।

    खेलको पहिलो अग्रता भने १२ औँ मिनेटमा टोरेसको गोल मार्फत बार्सिलोनाले गरेको थियो । तर त्यसयता बोर्जा इग्लेसियासले सेल्टाभिगोको लागि आफ्नो ह्याट्रिक पूरा गर्दै बार्सिलोनालाई निराश बनाएका थिए ।

    तर ६४ औँ मिनेटमा ओल्मो र ६८ औँ मिनेटमा राफिन्हाले गोल गरेपछि बार्साले निर्धारित ९० मिनेटमा बराबरी गर्न सफल भयो । ९० मिनेटपछिको इन्जुरी समयमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै राफिन्हाले गोल गरेपछि बार्सिलोनाले महत्त्वपूर्ण ३ अङ्क बटुल्न सफल बन्दै यो सिजनको उपाधिमा बलियो दाबेदारी प्रस्तुत गर्न सफल भएको छ ।

    ३२ खेलबाट बार्सिलोना ७३ अङ्क सहित पहिलो स्थानमा यथावत् छ । रियल मड्रीडको ३१ खेलबाट ६६ अङ्क पुगेको छ । पराजित सेल्टा भिगो ४३ अङ्क सहित आठौँ स्थानमा छ ।

  • टीम ११ संस्कार क्रिकेट लिग: शनिवारको खेलमा सायल गाउँपालिका विजयी

    टीम ११ संस्कार क्रिकेट लिग: शनिवारको खेलमा सायल गाउँपालिका विजयी

    धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा जारी ‘टिम ११ संस्कार क्रिकेट लिग सिनियर प्रतियोगिता’ अन्तर्गत शनिबार सम्पन्न खेलमा सायल गाउँपालिका विजयी भएको छ ।

    टस हारेर ब्याटिङको निम्तो पाएको सायल गाउँपालिकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय ३४ रन जोडेको थियो । सायलका अभिषेक कोइरालाले ३४ रन जोडे । बलिङमा धनगढीका नवीन विक, कुशल धामी, सन्दीप कार्की र कैलाश माझिले समान २\२ विकेल लिए ।

    एक सय ३५ रनको लक्ष्य पच्छ्याएको टिम धनगढी १६.१ ओभरमा अलआउट हुँदै ९२ रनमा समेटियो । धनगढीका लभ माझीले २३ रन बनाउनु बाहेक अन्य ब्याटरको कमजोर रह्यो । सायलका किरण चन्दले ३ तथा अभिषेक कोइरालाले २ विकेट हात पारे ।

    प्रतियोगिता अन्तरगत आइतबार उत्तर त्रशुल र संस्कार विद्याश्रम तथा आवर ड्रिम सक्कसेस ट्रेनिङ सेन्टर र सायल गाउँपालिकाबीच खेल हुनेछ । शनिबार बिहानको खेल वर्षाका कारण खेल रद्द भएपछि नेपाल वेष्टन र टिम वेतालले १\१ अङ्क बाँडेका थिए ।
    प्रतियोगिता विजेतालाई १ लाख ११ हजार १ सय १ रुपैयाँ, उपविजेतालाई ५५ हजार ५ सय ५५ रुपैयाँ, सर्वोत्कृष्ट खेलाडीलाई ५ हजार ५ सय ५५ रुपैयाँको पुरस्कार प्रदान गरिनेछ। उत्कृष्ट बलर, ब्याटर, र राइजिङ प्लेयरलाई ३ हजार ५ सय ५५ रुपैयाँ र प्लेयर अफ द म्याचलाई १ हजार रुपैयाँ दिने व्यवस्था गरिएको छ।

    प्रतियोगिताका संयोजक रामचन्द्र शाही प्रतियोगिताले यहाँको क्रिकेटलाई अझै माथि उठाउन मद्दत गरेको बताउँछन् । शाहीले धनगढीमा विगत १० वर्षदेखि नियमित रूपमा क्रिकेट प्रतियोगिताहरू सञ्चालन गर्दै आएका छन्। ग्रास रुटबाट क्रिकेटको विकासमा उनी लागि परेका छन्।

  • धनगढीलाई हराउँदै ललितपुर नेपाल सुपर लिगको फाइनलमा प्रवेश

    धनगढीलाई हराउँदै ललितपुर नेपाल सुपर लिगको फाइनलमा प्रवेश

    काठमाडौं  । धनगढी एफसीलाई हराउँदै ललितपुर सिटी एफसी नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा प्रवेश गरेको छ ।
    दशरथ रङ्गशालामा भएको पहिलो क्वालिफायरमा धनगढीलाई २-१ गोलले पराजित गर्दै साबिक विजेता ललितपुरले फाइनलमा स्थान सुरक्षित गरेको हो ।
    ललितपुरका क्रेभेन्स बेलफोर्टले खेलको ५७औं मिनेटमा गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाएका थिए । त्यसको ४ मिनेटपछि जर्ज कार्कीले गोल गर्दै धनगढीलाई बराबरी गोल फर्काए । ७९औं मिनेटमा पापा इबाउ केबेले गोल गर्दै ललितपुरलाई दोस्रो पटक अग्रता दिलाए । त्यसपछि दुवैतर्फबाट गोल हुन सकेन र ललितपुर फाइनलमा प्रवेश गर्‍यो ।
    खेलको १६औ मिनेटमा मणि कुमार लामाले रातो कार्ड पाएर बाहिरिएसँगै ललितपुर १० खेलाडीमा समेटिएको थियो ।