Category: खेल प्रेस

  • पोखरा स्पोर्टस् अवार्डः अरुणा र विश्वास बने वर्ष उत्कृष्ट खेलाडी

    पोखरा स्पोर्टस् अवार्डः अरुणा र विश्वास बने वर्ष उत्कृष्ट खेलाडी

    पोखरा । नवौं पोखरा स्पोर्टस् अवार्डमा भलिबलका अरुणा र विश्वास वर्ष उत्कृष्ट खेलाडी घोषित भएका छन् ।

    नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले शुक्रबार पोखरा इभेन्ट सेन्टरमा आयोजना गरेको समारोहमा मनोनयनमा परेका उत्कृष्ट ३ मध्ये वर्ष खेलाडी महिलातर्फ अरुणा र पुरुषतर्फ भलिबलका विश्वास वर्ष उत्कृष्ट खेलाडी बनेका हुन् । दुवैले पुरस्कारस्वरुप टेलजी इलेक्ट्रिक स्कुटर साथमा अवार्ड प्राप्त गरे ।

    वर्ष उत्कृष्ट महिला खेलाडी विधामा अरुणासहित आइटिएफ तेक्वान्दो सुस्मिता थापा मगर र फेन्सिङकी कृपा गुरुङ मनोनयनमा परेका थिए । पुरुषतर्फ विश्वाससहित टेनिसका प्रदीप खड्का र फुटबलका सुमित श्रेष्ठ थिए ।

    लाइफटाइम अचिभेमेन्ट अवार्डबाट शुटिङकी प्रशिक्षक भगवती खत्री केसीलाई सम्मान गरेको छ । उनलाई चाँदीको करुवासहित अवार्ड प्रदान गरिएको थियो । उदीयमान खेलाडीतर्फ क्रिकेटकी रचना चौधरी उत्कृष्ट बनिन् ।

    सो विधामा भलिबलका जितबहादुर सार्की र एथ्लेटिक्सका बादल कार्की समेत उपाधि होडमा थिए । टेनिसका नीरज थापा र भलिबलका रमेश केसीलाई पछि पार्दै उत्कृष्ट प्रशिक्षक फुटबलका राजेन्द्र तामाङ बने ।

    उत्कृष्ट खेल संस्थाको अवार्ड म्याग्दी जिल्ला भलिबल संघले प्राप्त गर्‍यो भने वर्ष उत्कृष्ट खेल पत्रकारको अवार्ड बिजय नेपाललाई प्रदान गरियो । उनीहरूलाई ३५ हजारसहित अवार्ड प्रदान गरिएको छ ।

  • जाभी अलोन्सो रियल माड्रिडको नयाँ हेड कोच बन्ने, मे २५ मा घोषणा हुने

    जाभी अलोन्सो रियल माड्रिडको नयाँ हेड कोच बन्ने, मे २५ मा घोषणा हुने

    काठमाडौं । स्पेनिस क्लब रियल माड्रिडले पूर्व खेलाडी र बायर लेभरकुसेनका हेड कोच जाभी अलोन्सोलाई नयाँ प्रशिक्षकको रूपमा नियुक्त गर्न लागेको छ ।

    चर्चित फुटबल पत्रकार फाब्रिजियो रोमानोको अनुसार, क्लबले हालका कोच कार्लो एन्सेलोटीलाई प्रतिस्थापन गर्दै आगामी मे २५ मा यसको आधिकारिक घोषणा गर्ने तयारी गरेको छ ।

    बुन्डेसलिगा क्लब बायर लेभरकुसेनमा अलोन्सोको कार्यकाल अत्यन्तै सफल रहेको थियो । उनले क्लबलाई पहिलो पटक बुन्डेसलिगा उपाधि जिताएका थिए भने यस वर्ष घरेलु डबल (लीग र कप) जित्न सफल भएका थिए ।

    उनको रणनीतिक ३–४–३ फर्मेसन, पोजेसन–आधारित खेल र निर्माणमूलक आक्रमणात्मक शैलीले फुटबल विश्लेषक तथा प्रशंसकहरूको ध्यान आकर्षित गरेको थियो । अलोन्सोले रियल माड्रिडसँग ३ वर्षे सम्झौतामा हस्ताक्षर गर्ने तयारी गरेका छन् ।

    उनका सहायक कोच सेबास्टियन पारिल्ला र अल्बर्टो एनसिनास पनि उनको साथमा रियल माड्रिड आउनेछन् । कार्लो एन्सेलोटीले सन् २०२१ देखि रियल माड्रिडको जिम्मेवारी सम्हाल्दै आएका थिए । उनी ब्राजिल राष्ट्रिय फुटबल टोलीको कोच बन्ने तयारीमा छन् ।

    इटालियन कोचले क्लबलाई ला लिगा र च्याम्पियन्स लिग उपाधि जिताएका थिए । अलोन्सोको आगमनसँगै रियल माड्रिडले नयाँ युगको सुरुवात गर्ने तयारी गरेको छ । क्लबले लिभरपुलका स्टार डिफेन्डर ट्रेन्ट अलेक्जेन्डर–आर्नोल्डलाई निःशुल्क ट्रान्सफर (फ्री एजेन्ट) मार्फत आबद्ध गरिसकेको छ ।

    यसैगरी, गिरोनाका मिगुएल गुटिएरेज, रियल सोसाइदादका मार्टिन जुबिमेन्दी, बोर्नमाउथका डीन हुइजेन र आर्सनलका विलियम सालिबालाई पनि टार्गेट गरिएको छ । सन् २००९ देखि २०१४ सम्म रियल माड्रिडका मध्यपंक्ति खेलाडी रहेका अलोन्सोले क्लबका लागि धेरै उपाधिहरू जितेका थिए ।

    उनको युवा खेलाडी विकासमा ध्यान केन्द्रित गर्ने र आक्रामक फुटबल खेलाउने शैली क्लबको दीर्घकालीन योजनासँग मेल खान्छ । रियल माड्रिडको गौरवशाली इतिहास र आधुनिक फुटबलको मिश्रणसहित अलोन्सोको नेतृत्वमा क्लबले नयाँ सफलताको युग सुरु गर्ने अपेक्षा गरिएको छ ।

     

  • भारत-पाक तनावले आइपीएल स्थगित, पीएसएलका बाँकी खेल यूएइमा हुने

    भारत-पाक तनावले आइपीएल स्थगित, पीएसएलका बाँकी खेल यूएइमा हुने

    काठमाडौं । भारत र पाकिस्तानबीच चुलिएको तनावको प्रभाव दुवै देशको क्रिकेट लिगमा परेको छ । भारतले आयोजना गरिरहेको आइपीएल अनिश्चितलकालका लागि स्थगित गरिएको छ ।

    हिजो आइपीएलको खेल चल्दाचल्दै फ्लड लाइट बन्द गरिएको थियो । त्यसपछि प्राविधिक कारणले खेल स्थगन गरिएको सूचना निकालियो । यद्यपि, मुख्य कारण सुरक्षाको थियो । पाकिस्तानले ड्रोन आक्रमण गरेको हल्लापछि खेल रोकिएको सञ्चारमाध्यमहरूले जनाएका छन् ।

    दिल्ली क्यापिटल्स र पञ्जाब किङ्सबीचको खेल १०.१ ओभरमा पुग्दा अचानक फ्लडलाइट निभेको थियो । त्यसपछि रंगशाला पूर्णरुपमा खाली गरियो । खेलाडीहरू र अफिसियलहरुलाई स्पेसल ट्रेनबाट दिल्ली पुर्‍याइयो ।

    आज आइपीएलमा लखनउ र बैंगलोरबीचको खेल लखनउमा हुने सेड्यूल थियो । तर, बीसीसीआइले अर्को निर्णय नभएसम्मका लागि प्रतियोगिता स्थगन गरेको हो । यसको आधिकारिक घोषणा हुन बाँकी छ ।

    आइपीएलमा अहिलेसम्म ५८ खेल भइसकेका छन् । अब समूह चरणमा १२ खेल मात्रै खेलाउन बाँकी छ ।

    यता, पाकिस्तानमा भइरहेको पीएसएल पनि स्थगन गरिएको छ । क्रिकइन्फोका अनुसार पीएसएलका बाँकी खेलहरु यूएईमा हुनेछन् ।

    पाकिस्तानी क्रिकेट बोर्डले बाँकी ८ खेलको नयाँ तालिका चाँडै घोषणा गर्ने बताए । हिजो कराँची किङस र पेशावर जाल्मीबीचको खेल थियो । तर आकस्मिक बैठकपछि उक्त खेललाई रिसेड्यूल गरिएको छ । पाकिस्तानमा रहेका विदेशी खेलाडीहरू युएई जान थालिसकेका छन् ।

  • विश्वकप एसिया छनोट : नेपाल र हङ्कङबीचको खेल रद्द

    विश्वकप एसिया छनोट : नेपाल र हङ्कङबीचको खेल रद्द

    काठमाडौं । आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गत आज हुने भनिएको नेपाल र हङ्कङबीचको खेल रद्द भएको छ ।

    थाइल्यान्डमा आजदेखि सुरु भएको क्वालिफायर खेलअन्तर्गत नेपाल र हङ्कङबीचको खेल बिहीबार परेको पानीले मैदान भिजेपछि टससमेत नभई रद्द भएको हो । यससँगै दुवै टोलीले समान एक/एक अङ्क बाँडेका छन् ।

    नेपालले अब आफ्नो दोस्रो खेल यही वैशाख २९ गते हङ्कङसँग खेल्नेछ । क्वालिफायरमा आयोजक थाइल्यान्डसहित नेपाल भुटान, कुवेत, कतार, मलेसिया, हङ्कङ, बहराइन र युएई सहभागी छन् । जसलाई तीन समूहमा विभाजन गरिएका छन् ।

    नेपाल समूह ‘सी’ मा परेको छ । नेपालको समूहमा हङ्कङ र बहराइन छन् । यसैगरी समूह ‘ए’ मा आयोजक थाइल्यान्डसँगै भुटान र कुवेत छन् । समूह ‘बी’ मा संयुक्त अरब इमिरेट्स (युएई), मलेसिया र कतार छन् ।

    समूह चरण डबल राउन्ड रोबिनका आधारमा हुनेछ । सबै टोलीले आआफ्नो समूहमा रहेका टिमसँग दुई पटक खेल्नेछन् । समूहको शीर्ष टोली सुपर तीनमा प्रवेश गर्नेछन् । सुपर तीनबाट लिग चरणको खेलपछि शीर्ष दुई स्थानमा रहने टोली ग्लोबल छनोटमा स्थान बनाउनेछन् ।

  • अदालतको आदेशविपरीत साधारणसभामा रोकिएपछि गणेश थापा धर्नामा, सदस्यसचिवलाई दिए ज्ञापन

    अदालतको आदेशविपरीत साधारणसभामा रोकिएपछि गणेश थापा धर्नामा, सदस्यसचिवलाई दिए ज्ञापन

    काठमाडौं । अदालतले गरेको आदेश विपरित अखिल नेपाल फुबटल संघ (एन्फा) को साधारणसभामा भाग लिन रोकिएपछि पूर्वअध्यक्ष गणेश थापा धर्नामा बसेका छन् ।

    धुलिखेल स्थित साधारणसभा स्थलबाहिर उनले प्लेकार्ड बोकेर समर्थकहरुसहित धर्ना दिएका हुन् ।आज एन्फाको साधारणसभामा भाग लिन गएका थापालाई गेटमा रोकिएको थियो ।

    अदालतले थापालाई साधारणसभामा नरोक्न अन्तरिम आदेश दिइसकेको छ । सो आदेशको प्रतिलिपिसमेत बोकेर जाँदा पनि रोकिएपछि थापा आक्रोशित बनेका थिए । उनीसँगै छोरा गौरव थापालाई पनि विनाकारण रोकिएको छ ।

    यसैबीच, थापाले साधारणसभामा सहभागी हुन आएका खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङलाई ज्ञापनपत्र बुझाएका छन् । आफूले साधारणसभामा भाग लिन पाउनुपर्ने माग गर्दै उनले ज्ञापनपत्र दिएका हुन् ।

    थापाले एन्फाका पदाधिकारीहरुसँग कुरा गर्न खोजिरहेका छन् । तर, अध्यक्ष पंकजविक्रम नेम्वाङसहित कुनै पनि पदाधिकारी उनीसँग संवाद गर्न तयार छैनन् । उनीहरु सबै थापाभन्दा पहिल्यै साधारणसभामा छिरेका थिए । गेटमा लफडा भइरहँदा पनि कोही बाहिर निस्किएनन् ।

  • अदालतको आदेश लिएर एन्फा साधारणसभामा पुगेका गणेश थापा र गौरव गेटमै रोकिए

    अदालतको आदेश लिएर एन्फा साधारणसभामा पुगेका गणेश थापा र गौरव गेटमै रोकिए

    काठमाडौं । अदालतले दिएको आदेश अटेर गर्दै नेपाल फुटबल संघ (एन्फा) ले पूर्वअध्यक्ष गणेश थापालाई साधारणसभा प्रवेश गर्न रोक लगाएको छ । आज धुलिखेलमा हुन लागेको साधारण सभामा सहभागी हुन छोरा गौरवसहित पुगेका थापा गेटमै रोकिएका हुन् ।

    उच्च अदालत पाटनले थापाका बाबुछोरालाई साधारण सभामा सहभागी हुन पाउने अन्तरिम आदेश गरेको थियो । सो आदेशको प्रतिलिपिसमेत बोकेर उनीहरू धुलिखेल पुगेका थिए । तर, गेटमा रहेका सुरक्षाकर्मी र स्वयम् सेवकले आफूहरूलाई भित्र पस्न नदिएको थापाले नेपाल प्रेससँग बताए । ‘हामीलाई गेटमा रोकिएको छ । प्रवेश पास चाहिने बताइरहेका छन् । तर, एन्फाले प्रवेश पास दिन मानेको छैन,’ उनले भने ।

    यो पनि पढ्नुहोस्- १० वर्षपछि एन्फाको साधारणसभामा भाग लिँदै गणेश थापा, अदालतले खोलिदियो बाटो

    गणेश थापा आरसी ३२ क्लबको प्रतिनिधिका रूपमा एन्फाको साधारणसभामा जान लागेका हुन् । उक्त क्लबले वैशाख १५ गते थापालाई प्रतिनिधि चयन गरेको थियो ।

    यस्तै, गौरव थापा काठमाडौं जिल्ला फुटबल संघले साधारणसभामा प्रतिनिधि चयन गरेको छ । उनीहरू दुवैले साधारण सभामा भाग लिन पाउने अन्तरिम आदेश उच्च अदालत पाटनले गरिसेकेको छ ।

  • सुरक्षाका कारण पञ्जाब र दिल्लीबीचको खेल रद्द 

    सुरक्षाका कारण पञ्जाब र दिल्लीबीचको खेल रद्द 

    काठमाडौं । सुरक्षा कारण इन्डियन प्रिमियर लिग (आइपिएल) को पञ्जाब किंग्स र दिल्ली क्यापिटल्सबीचको खेल रद्द गरिएको छ।

    हिमाञ्चल प्रदेशको धर्मशालामा भैरहेको खेल फ्लडलाइटमा समस्या आएपछी खेल रोकिएको थियो । भारत पाकिस्तान  सीमामा सुरक्षा चिन्ताका अहिले स्टेडियम खाली गरिएको छ ।

    पञ्जाबले १० ओभर १ बलमा १ विकेट गुमाएर १२२ रन बनाएको अवस्थामा खेल रोकिएको थियो । खेल रद्द भएसंगै दुवै टोलीले एकएक अंक बाढेका छन् ।

    उक्त क्षेत्रमा बिजुली आपूर्ति बन्द भएको र रंगशालामा ठूलो क्षति भएको कारणले गर्दा यो निर्णय गरिएको भारतीय सन्चारमाध्यमले जनाएका छन् ।

  • १० वर्षपछि एन्फाको साधारणसभामा भाग लिँदै गणेश थापा, अदालतले खोलिदियो बाटो

    १० वर्षपछि एन्फाको साधारणसभामा भाग लिँदै गणेश थापा, अदालतले खोलिदियो बाटो

    काठमाडौं । फिफाको १० वर्षे प्रतिवन्ध अन्त्य भएसँगै एन्फा पूर्वअध्यक्ष गणेश थापा फुटबल गतिविधिमा पुन सक्रिय हुन थालेका छन् । भोलि धुलिखेलमा हुने नेपाल फुटबल संघ (एन्फा) को साधारणसभामा उनी सहभागी हुने निश्चित भएको छ ।

    एन्फाले थापालाई १६ अप्रिल २०१५ देखि लगाएको प्रतिवन्ध १५ अप्रिल २०२५ मा समाप्त भएको थियो । यो अवधिमा उनी फुटबलका तमाम गतिविधिहरुबाट टाढा थिए । प्रतिवन्धको अवधि गुजारेपछि उनी फेरि सक्रिय हुन लागेका हुन् । तर, एन्फाको वर्तमान नेतृत्व उनलाई रोक्ने प्रयासमा छ ।

    प्रतिवन्ध अवधिमा थापाले सामाजिक सञ्जालमार्फत एन्फाभित्रका विसंगति र अनियमितताहरुबारे लेख्दै र बोल्दै आएका थिए । अब भने उनी प्रत्यक्षरुपमा भण्डाफोर अभियानमा जुटेका छन् । त्यही रणनीति अन्तरगत उनले भोलिबाट काठमाडौंमा सुरु हुने सभामा भाग लिन आँटेका हुन् ।

    थापालाई एन्फाको साधारण सभामा भाग लिन  अदालतले पनि बाटो खोलिदिएको छ । एन्फाले आफूलाई रोक्न सक्ने आशंकामा थापाले अन्तरिम आदेश माग गर्दै उच्च अदालत पाटनमा रिट निवेदन दिएका थिए । उच्चले उनको पक्षमा निर्णय लियो । गत वैशाख २१ गते सुदर्शनदेव भट्टको इजलासले एन्फाको साधारण सभामा सहभागी हुन निवेदकलाई कुनै वाधा व्यवधान र अवरोध नगर्न नगराउन अन्तरिम आदेश दिएको छ ।

    तर, अदालतको यो आदेश रद्द गराउन एन्फाले भ्याकेटको निवेदन दिएको दियो । थापालाई साधारण सभामा प्रवेश दिन नमिल्ने अडान लिँदै एन्फाले सो निवेदन दिएको हो । तर,  उच्च दालतले आज एन्फाको भ्याकेट निवेदन अस्वीकार गरेको छ ।

    न्यायाधीसद्वय टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले निवेदक एन्फाको विपक्षमा आदेश गरेको हो । यसअघि २१ गते भएको अन्तरिम आदेशलाई नै आजको इजलासले निरन्तरता दिएपछि थापा एन्फाको साधारण सभामा जान पाउने भएका छन् ।

    आजको आदेशमा भनिएको छ, ‘कुनै पनि संस्थाको संस्थागत सुशासन तथा सुदृढीकरणका लागि सम्बन्धित सदस्य संस्थाले भाग लिन पाउने तथा आफ्नो विचारहरु व्यक्त गर्न पाउने कार्य आफैमा एक महत्वपूर्ण अभ्यासका रुपमा सर्वस्वीकार्य पद्दति रहेको पाइन्छ । सोही अर्थमा सुविधा र सन्तुलनको दृष्टिकोणबाट विपक्षी गणेश थापाको सहभागिताले एन्फाको २६ गते हुने साधारण सभाको सञ्चालनमा प्रतिकुल असर पर्ने अवस्था देखिएन । तसर्थ, मिति २०८१/०१/२१ मा भएको आदेशलाई परिवर्तन गरिरहन परेन ।’

    अदालतकाे यो आदेश बुझ्न एन्फा अध्यक्ष नेम्वाङले अस्वीकार गरेका छन् । आज आदेशको प्रतिलिपि लिएर सर्वोच्च कर्मचारीहरु एन्फा कार्यालय पुगेपछि उनी कुलेलाम ठोकेका थिए । पत्र दिन खोज्दा उनले ‘म होइन।। म होइन।। ’ भन्दै कार्यालयबाट बाहिरिएको स्रोतले बतायो । यद्यपि, यो निर्णय कार्यान्वयनमा आउन निवेदकले आदेशको प्रतिलिपि बुझिरहनु नपर्ने अदालत स्रोतको भनाइ छ ।

    ‘उहाँहरु आफैं निवेदक भएकाले आदेश नबुझे पनि कुनै फरक पर्दैन, थापाले साधारण सभामा भाग लिन पाउनुहुन्छ,’ अदालत स्रोतले भन्यो ।
    अदालतमा थापाको तर्फबाट कानून व्यवसायीहरु सुरेन्द्र भण्डारी, भीमार्जुन आचार्य, राजु बस्नेत र बिष्णु भट्टराईले बहस गरेका थिए । यस्तै, एन्फाले सिताराम केसी, दिनमणी पोखरेल, यदुनाथ खनाल, कुमार भट्ट र अशोकराज पाण्डेलाई उतारेको थियो ।

    थापाले आरसी ३२ क्लवको प्रतिनिधिका रुपमा एन्फाको साधारणसभामा भाग लिन लागेका हुन् । उक्त क्लवले गत वैशाख १५ गते थापालाई साधारणसभामा सहभागी हुन पठाउने निर्णय गरेको थियो ।

    छोरा गौरवलाई पनि नरोक्न आदेश

    उच्च अदालतले गणेश थापाका छोरा गौरव थापालाई पनि साधारण सभामा नरोक्न छुट्टै आदेश गरेको छ । गौरवले पनि आफू साधारणसभामा भाग लिन पाउनुपर्ने मागसहित उच्चमा रिट निवेदन हालेका थिए ।

    उच्च अदालतका न्यायाधीश सुर्यप्रसाद पराजुलीको एकल इजलासले हिजो गौरवको पक्षमा अन्तरिम आदेश दिएको हो । काठमाडौं जिल्ला फुटबल संघको प्रतिनिधिका रुपमा गौरवले एन्फाको साधारणसभामा भाग लिनेछन् ।

  • पाँचौं भजहर कपको उपाधि गौरीगंगा ११ लाई

    पाँचौं भजहर कपको उपाधि गौरीगंगा ११ लाई

    कैलाली । कैलालीको कैलारी गाउँपालिका वडा नम्बर–८ लोहरपुरमा भएको निसर्ग हस्पिटल पाचौं भजहर कप फुटबल प्रतियोगिताको उपाधि गौरीगंगा–११ स्पोर्टस क्लबले जितेको छ ।

    लोहरपुर खेल मैदानमा भएको फाईनल खेलमा आयोजक जनहित क्लब बी लाई हराउँदै गौरीगंगा च्याम्पीयन भएको हो ।

    थारुहरुको पर्व भजहरको अवसरमा हरेक वर्ष हुदैं आएको भजहर कपको पाचौं संस्करणको फाईनलमा गौरीगंगाले आयोजक बी लाई २–० ले हराएको हो ।

    विजेता भएसँगै गौरीगंगाले नगद एक लाख सहित ट्रफी पाएको छ । उपविजेता बनेको आयोजक जनहित क्लब बी ले ५० हजार नगद सहित ट्रफीमा चित्त बुझाएको छ ।

    प्रतियोगिताका विजयी खेलाडीहरुलाई एक समारोहका बीच पुरस्कार वितरण गरिएको छ । सुदुरपश्चिम चिकित्सक संघका निवर्तमान अध्यक्ष तथा बरिष्ठ बालरोग विशेषज्ञ डाक्टर प्रदीप मिश्र लगायतले विजयी खेलाडीहरुलाई पुरस्कार गरेका थिए ।

    प्रतियोगितामा विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई पनि पुरस्कार वितरण गरिएको आयोजक जनहित युवा क्लबका अध्यक्ष मणिराम चौधरीले जानकारी दिए ।

    थारु समुदायको पर्व भजहरलाई नयाँ पुस्तामा संरक्षण गर्दै अगाडि बढाउनका लागि गरिँदै आएको प्रतियोगितामा फुटबल प्रतियोगिताका साथै पौराणिक खेलहरुको पनि आयोजना गरिएको थियो । त्यसका साथै थारु कला संस्कृतिहरु पनि प्रस्तुत गरिएको थियो ।

     

  • पाकिस्तानमाथि भारतले गरेको ‘अप्रेशन सिन्दूर’लाई नेसपाद्वारा समर्थन

    पाकिस्तानमाथि भारतले गरेको ‘अप्रेशन सिन्दूर’लाई नेसपाद्वारा समर्थन

    काठमाडौं । नेपाल समाजवादी पार्टीले भारतले पाकिस्तानका ९ वटा आतंककारीस्थलमा सुरु गरेको अपरेशन सिन्दुर अन्तर्गत आतंकारीहरूमाथि गरेको आक्रमणलाई समर्थन गरेको छ ।

    महेन्द्र राय यादव अध्यक्ष रहेको नेसपाले आज एक विज्ञप्ति जारी गर्दै भारतले सुरु गरेको अपरेशन सिन्दुरको समर्थन गरेको हो ।

    बैशाख ९ गते आतंकवादी हमलामा नेपाली नागरिक सुदीप न्यौपानेको ज्यान समेत गएको हुँदा भारतले सुरु गरेको आतंकवादविरुद्धको कार्वाहीको समर्थन जनाएको नेसपाले बताएको छ ।

    महासचिव रमेश प्रसाद यादवले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘भारतले पाकिस्तानका ९ वटा आतंककारी स्थलमा शुरु गरेको अपरेशन सिन्दुर अन्तर्गत आतंकारीहरू माथि गरेको आक्रमणलाई नेपाल समाजवादी पार्टीले समर्थन गर्दछ । बैशाख ९ मा आतंकवादी हमलामा नेपाली नागरिक सुदीप न्यौपानेको ज्यान समेत गएको हुँदा भारतले सुरु गरेको आतंकवाद विरुद्धको कार्वाही अन्तर्गत पाकिस्ता आतंकवादीको आश्रय स्थललाई ध्वस्त पार्ने कार्य मानवतालाई संरक्षण सम्बर्धन तथा आतंकवादलाई निस्तेज गर्ने कार्य सराहनीय छ ।’

  • रोहित शर्माले टेस्ट क्रिकेटबाट लिए सन्यास

    रोहित शर्माले टेस्ट क्रिकेटबाट लिए सन्यास

    काठमाडौं । भारतीय क्रिकेट टिमका कप्तान रोहित शर्माले टेष्ट क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका छन्। ३८ वर्षीय रोहितले सामाजिक सञ्जालमार्फत टेष्ट क्रीकेटबाट सन्यास लिएको घोषणा गरेका हुन् ।

    उनले भारतका लागि ६७ टेस्ट खेलेका छन् । उक्त खेलमा उनले १२ शतक र १८ अर्धशतकसहित ४३०१ रन बनाएका हुन् ।

    टेष्टमा रोहितले सन् २०१३ मा वेष्ट इन्डिजविरुद्ध डेब्यु गरेका थिए । उनले टी(२०आई क्रीकेटबाट भने यसअघि सन्यास लिइसकेका छन् । ओडिआई क्रीकेटमा भने निरन्तरता दिने रोहितले बताएका छन् ।

  • योजना आयोगमा बजेट छलफल- तत्काल सम्पन्न गर्न सकिने आयोजनालाई प्राथमिकतामा राख्न जोड

    योजना आयोगमा बजेट छलफल- तत्काल सम्पन्न गर्न सकिने आयोजनालाई प्राथमिकतामा राख्न जोड

    काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारीले तत्काल सम्पन्न गर्न सकिने आयोजनालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । बुधबार आयोगको आयोजनामा आगामी आर्थिक वर्षको वार्षिक विकास कार्यक्रम तथा मध्यमकालीन खर्च संरचना तर्जुमा एवं राष्ट्रिय आयोजना बैंक सम्बन्धी छलफल तथा अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

    आयोगका उपाध्यक्ष प्राडा अधिकारीले आयोजनालाई अध्ययन र कार्यान्वयन हुने किसिमका गरी दुई प्रकारमा विभाजन गरिने बताउनुभयो । उहाँले कार्यान्वयन गरिने खालका आयोजना ३ करोड रुपैयाँ भन्दा कमको नहुने बताए । उनले ३ करोड भन्दा कमको आयोजना राष्ट्रिय आयोजना बैंकमा प्रविष्ट गर्न नमिल्ने बनाइएको समेत छलफलका क्रममा स्मरण गराए ।

    सरकारको नीति तथा कार्यक्रममा उल्लेख भए अनुसार नै आयोजनाको प्राथमिकता र पुनः प्राथमिकता गर्नु पर्ने उल्लेख गर्नुभयो । छिटो सम्पन्न हुने आयोजनालाई पहिलो प्राथमिकता दिनुपर्ने उनले जोड दिए । उनले प्रोजेक्ट बैंकमा पनि नजाने डिपिआरमा पनि नजाने आयोजना माथि प्रश्न उठ्ने र उठ्नु जायज पनि भएको भन्दै विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) नभएको आयोजना अध्ययनकोक्रममा राखिने समेत उल्लेख गरे ।

    उपाध्यक्ष अधिकारीले सिस्टममा आएको परियोजनालाई जुन अनुसार आएको र जुन जुन चरण पुरा भएका छन् सोही अनुरूप प्रविष्ट गरिदिन र नमिल्ने भए नपुगेको ठाउँमा औँल्याइदिन समेत आग्रह गरे । छलफलका क्रममा विभिन्न मन्त्रालयका सचिव एवं सहसचिवहरूले बजेटको सिलिङका कारणले मध्यमकालीन खर्च संरचना तयार गर्न कठिन भएको बताए ।

    मध्यमकालिन खर्च संरचना विद्यमान अवस्था र अगामी कार्यदिशा सम्बन्धी प्रस्तुतीकरण गर्दै सहसचिव खोमराज कोइरालाले हालसम्म ४४ वटा निकायमा ४० वटाले मात्र इन्ट्री भएको र ३२ प्रतिशत मात्र पुँजीगत खर्च भएको बताए ।

    सहसचिव अर्जुन भण्डारीले राष्ट्रिय आयोजना बैंक प्रणाली सम्बन्धमा प्रस्तुतीकरण गर्दै हालसम्म ७ हजार ३ सय ३७ आयोजना, आयोजना बैंकमा प्रविष्ट भएको र त्यसमध्ये कतिपय आयोजना ड्राफ्टमा रहेको समेत जानकारी दिए ।

  • नवौं पीएम कप एनभीए भलिबल लिग पोखरामा हुने

    नवौं पीएम कप एनभीए भलिबल लिग पोखरामा हुने

    काठमाडौं । नवौं प्रधानमन्त्री (पीएम) कप एनभीए पुरुष तथा महिला भलिबल लिग पोखरामा हुने भएको छ । नेपाल भलिबल संघको आज बसेको कार्यसम्पदान समितिको बैठकले नवौं एनभीए भलिबल लिग पोखरामा गर्ने निर्णय गरेको संघका महासचिव रोशन श्रेष्ठले जानकारी दिए ।

    काठमाडौंको कभर्ड हल स्तरोन्नतीको अवस्था रहेको कारण पहिलो पटक एनभिए लिग काठमाडौं बाहिर गर्ने लागिएको श्रेष्ठले बताए ।
    उक्त निर्णयसँगै एनभीए लिग पोखरा रंगशालास्थित बहुउद्देश्यीक कभर्ड हलमा जेठ ८ देखि १५ गतेसम्म हुनेछ ।

    महासचिव श्रेष्ठकाअनुसार पुरुषतर्फ ८ टिम र महिलातर्फ ६ टिमले सहभागिता जनाउनेछन् । प्रतियोगितातर्फ विजेता हुने टोलीले समान ८ लाख पाउनेछन् । उपविजेता हुने टोलीले ४ लाख र तेस्रो हुने टोलीले समान २ लाख पाउने संघले जनाएको छ ।

    सर्वोत्कृष्ट खेलाडीलाई समान ५० हजार र विधागततर्फ उत्कृष्ट हुने खेलाडीलाई समान २५ हजार प्रदान गरिने संघका उपाध्यक्ष यामबहादुर गुरुङले जानकारी दिए । यसअघि पोखराको इन्डोर हलमा बैशाख १८ देखि २२ गतेसम्म पहिलोपटक प्रथम लायन्स कप भलिबल प्रतियोगिता भएको थियो ।

  • गुजरातविरुद्धको थ्रिलर खेलमा मुम्बईका कप्तान हार्दिक पान्ड्यालाई २४ लाख जरिवाना

    गुजरातविरुद्धको थ्रिलर खेलमा मुम्बईका कप्तान हार्दिक पान्ड्यालाई २४ लाख जरिवाना

    काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा गएराति भएको खेलमा मुम्बई इन्डियन्सका कप्तान हार्दिक पान्ड्यालाई २४ लाख भारतीय रुपैयाँको जरिवाना तोकिएको छ ।

    उनलाई गुजरात टाइटन्सविरुद्ध ‘स्लो ओभर’ का कारण जरिवाना तोकिएको हो । यसका साथै मुम्बईका प्लेइङ-११ र इम्प्याक्ट भएका खेलाडीहरुलाई पनि म्याच शुल्कको २५ प्रतिशत जरिवाना गरिएको छ ।

    गुजरातका मुख्य प्रशिक्षक आशिष नेहरलाई पनि म्याच शुलकको २५ प्रतिशत जरिवार गरिएको छ । साथै आईपीएल आचारसंहिता उल्लंघन गरेको भन्दै एक डिमेरिट अंक पनि दिइएको छ । जसको कारण भने खुलाइएको छैन ।

    वर्षाका कारण प्रभावित भएको उक्त खेलमा गुजरातले मुम्बईविरुद्ध अन्तिम बलमा जित निकालेको थियो । अन्तिम ओभरमा १५ रन जोड्दै गुजरातले जित निकालेको हो ।

     

  • भारतका प्रशिक्षक गौतम गम्भीरले भने- भारतले पाकिस्तानसँग खेल्नु हुँदैन

    भारतका प्रशिक्षक गौतम गम्भीरले भने- भारतले पाकिस्तानसँग खेल्नु हुँदैन

    काठमाडौं । पहलगाम आतंकवादी हमलापछि भारतीय क्रिकट टिमका मुख्य प्रशिक्षक गौतम गम्भीरले पाकिस्तानसँगको क्रिकेट गतिविधि, तटस्थ स्थलहरूसहित, पूर्ण रूपमा रोक्न आह्वान गरेका छन् ।

    मंगलबार दिल्लीमा एक कार्यक्रममा बोल्दै भारतले बहु–टोली प्रतियोगिताहरूमा पाकिस्तानसँग खेल्न जारी राख्नुपर्छ कि भनेर सोध्दा गम्भीरले जबसम्म आतंकवादी बन्द हुँदैन, तबसम्म भारत र पाकिस्तानबीच केही हुन नहुने बताएका हुन् ।

    ‘यसको लागि मेरो व्यक्तिगत जवाफ बिल्कुल छैन,’ उनले भने, ‘जबसम्म यो सबै आतंकवाद बन्द हुँदैन, भारत र पाकिस्तानबीच केही हुनु हुँदैन ।’अप्रिल २२ मा कश्मीरको पहलगाममा भएको आतंकवादी हमलामा २६ जनाको मृत्यु भएको थियो । त्यसयता भारत र पाकिस्तानबीच तनाव बढेको छ । भारत र पाकिस्तानले हालै २०२५ मा दुबईमा भएको च्याम्पियन्स ट्रफीमा एकअर्कासँग खेलेका थिए ।

    यसलाई राजनीतिकरण गर्न नहुने गम्भीरले बताए । ‘यो मेरो अधिकार क्षेत्रको कुरा होइन, यो मेरो क्षेत्राधिकारमा पर्दैन, यो बीसीसीआई र अझ महत्त्वपूर्ण कुरा, सरकारले निर्णय गर्ने कुरा हो कि हामीले उनीहरूलाई खेलाउने कि नखेलाउने,’ उनले भने, ‘उनीहरूले जे निर्णय गरे पनि, हामी यसमा पूर्ण रूपमा सहमत हुनुपर्छ र यसलाई राजनीतिकरण गर्नु हुँदैन ।’

    भारतीय नागरिकको जीवनभन्दा क्रिकेट महत्त्वपूर्ण नभएको गम्भीरले सुनाए । ‘यो सरकारको निर्णय हो कि हामीले उनीहरूलाई खेल्ने कि नखेल्ने,’ उनले भने, ‘मैले पहिले पनि भनेको छु, कुनै पनि क्रिकेट खेल वा बलिउड वा अन्य कुनै पनि अन्तरक्रिया भारतीय सैनिक र भारतीय नागरिकको जीवन भन्दा महत्त्वपूर्ण छैन। खेलहरू भइरहनेछन्, चलचित्रहरू बन्नेछन्, गायकहरूले प्रस्तुति दिइरहनेछन्, तर आफ्नो परिवारमा प्रियजन गुमाउनुको नजिक केही पनि हुँदैन ।’

  • क्रिकेट रंगशालाको १८ करोड बक्यौता फरफारक गर्न नयाँ पहल, अब निस्केला हल ?

    क्रिकेट रंगशालाको १८ करोड बक्यौता फरफारक गर्न नयाँ पहल, अब निस्केला हल ?

    चितवन । निर्माणाधीन गौतमबुद्ध क्रिकेट रंगशालाको १८ करोडभन्दा बढी बक्यौता फरफारकका लागि भरतपुर महानगरपालिकाले संघीय सरकारलाई पत्राचार गरेको छ । केही दिनअघि बसेको महानगरको कार्यपालिका बैठकबाट निर्णय गरेर संघीय सरकारलाई अनुदानका लागि पत्र पठाइएको हो ।

    रंगशालाका लागि उधारोमा निर्माण सामग्री उपलब्ध गराएका व्यवसायीहरूले लामो समयसम्म भुक्तानी पाएका छैनन् । महानगरले धुर्मुस सुन्तली फाउन्डेसनबाट रंगशालाको स्वामित्व लिए पनि ऋण/उधारो सकार्न आनाकानी गरिरहेको थियो । पछिल्लो समय व्यवसायीहरूले लगातार ताकेता गरेपछि महानगरले नयाँ शिराबाट पहल सुरु गरेको हो । भुक्तानी नपाएको खण्डमा आफूहरू महानगरविरुद्ध अदालत जाने चेतावनी व्यवसायीहरूले दिइरहेका छन् ।

    भरतपुर महानगरपालिकाले गरेको अडिट रिपोर्ट अनुसार रंगशालाका लागि उधारोमा ल्याइएका निर्माण सामग्रीहरूको १८ करोड ४३ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ । उक्त रकम भुक्तानीका लागि महानगरकै सिफारिसमा संघीय मन्त्रिपरिषदले दुई पटक निर्णय गरिसकेको छ । मन्त्रिपरिषदको निर्णय अनुसार २०८१ असार १६ गते १२ करोड रुपियाँ निकासा गरेर महानगरलाई पठाइएको पनि थियो । तर, महानगरले सरकारको सो रकम समयमै भुक्तानी नगरेर यत्तिकै फ्रिज भयो र आर्थिक वर्ष सकिएपछि केन्द्रमै फर्कियो । त्यसयता उक्त बक्यौता रकमबारे कुनै निर्णय हुन सकेको छैन ।

    भरतपुर महानगरसँगको समन्वयमा जनस्तरबाट रंगशाला निर्माणको पहल गरेको धुर्मुस सुन्तली फाउन्डेसनले आर्थिक समस्याका कारण बीचमै हात झिक्नु परेको थियो । फाउन्डेसनले निर्माणलाई निरन्तरता दिन नसकेपछि आपसी सम्झौता अनुसार महानगरले स्वामित्व लिएको छ । करिब ६३ करोडको निर्माणाधीन संरचनाको स्वामित्व लिए पनि महानगरले १८ करोड ४३ लाखको बक्यौता तिरेको छैन । यसका लागि धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मुस वर्षौंदेखि सिंहदरबार धाइरहेका थिए ।

    व्यवसायीहरूले सुरुमा रकम भुक्तानीका लागि धुर्मुस सुन्तली फाउन्डेसनलाई दबाब दिँदै आए पनि अहिले उनीहरूले महानगरलाई नै जिम्मेवार ठहर्‍याएका छन् । केही दिनअघि उनीहरूले ज्ञापनपत्र बुझाएर उधारो भुक्तानीका लागि अल्टिमेटम दिएका थिए

    व्यवसायीले लगातार ताकेता गरेपछि पछिल्लो पटक गत चैत २८ गते बसेको महानगरको कार्यपालिका बैठकले सरकारसँग रकम माग गर्ने निर्णय गरेको हो । सो निर्णयमा टेकेर वैशाख ४ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पत्र पठाइएको छ ।

    महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ, ‘महानगरपालिकाको वडा नं. १५ मा हाल निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला विगतमा महानगरपालिकासँग एमओयू गरी आफैँले आर्थिक स्रोत जुटाई धुर्मुस–सुन्तली फाउण्डेसनले निर्माण शुरु गरेको थियो । कोभिड महामारीका कारण विशेष परिस्थिति परी आर्थिक स्रोत जुटाउन नसकी निर्माण कार्य अघि बढाउन नसकेकोले रङ्गशाला निर्माण परियोजनाको स्वामित्व महानगरपालिकालाई हस्तान्तरण गरी जिम्मेवारीबाट मुक्त भएको छ । हाल महानगरले बोलपत्र गरी रङ्गशाला निर्माण कार्य भइरहेको छ ।’

    बाँकी दायित्वको भुक्तानीका लागि फाउन्डेसनले निवेदन दिएको तथा आपूर्तिकर्ताहरू पनि बारम्बार महानगरपालिकामा धाउने गरेको पत्रमा उल्लेख गरिएको छ ।

    पत्रमा थप भनिएको छ, ‘विगतमा २ पटक नेपाल सरकारबाट रकम निकासा भएकोमा विभिन्न प्राविधिक कारणले सो रकम फाउण्डेसनलाई उपलब्ध गराउन सकिएन । रङ्गशाला निर्माण गरी महानगरपालिका मार्फत राज्यलाई नै हस्तान्तरण गरेको अवस्था रहेकोले बाँकी दायित्व फरफारक गर्न नेपाल सरकारबाट अनुदान उपलब्ध गराउने व्यवस्थाका लागि अनुरोध गरिन्छ ।’

    महानगरको पत्र अनुसार संघीय मामिला मन्त्रालयबाट टिप्पणी उठाएर युवा तथा खेलकुद मन्त्रालयमा पठाइएको थियो । खेलकुद मन्त्रालयबाट टिप्पणी उठाएर फेरि अर्थ मन्त्रालयमा फाइल पुगेको छ । यसलाई अब संघीय सरकारको बजेटबाटै सम्बोधन गर्ने तयारी गरिएको अर्थ मन्त्रालय स्रोतले बतायो ।

    ‘रंगशालाको १८ करोड ४३ लाख रुपैयाँ बक्यौता भुक्तानीका लागि बजेटमै रकम विनियोजन गर्ने गरी छलफल भइरहेको छ,’ स्रोतले भन्यो ।

    भरतपुर महानगरपालिकाका आर्थिक प्रशासन तथा राजस्व व्यवस्थापन महाशाखा प्रमुख जगन्नाथ अर्यालले चैत २६ गते फाउन्डेसनले पुनः ऋण तिर्नुपर्ने विवरणसहितको कागपत्र निवेदन दिएपछि संघीय सरकारसँग पहल गरिएको बताए ।

    ‘आगामी बजेटबाट नै सम्बोधन हुनेगरि गौतमबुद्ध रंगशालाको ऋण फरफारक गर्ने भनेर आएमा हामीले भुक्तानी दिन मिल्छ,’ अर्यालले नेपाल प्रेससँग भने, ‘त्यही आधारमा कार्यपालिका बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत गौतमबुद्ध क्रिकेट रंगशालाको दायित्व भुक्तानी अनुदान धुर्मुस सुन्तली फाउण्डेशनलाई उपलब्ध गराउन माग गर्ने निर्णय गरेको हो ।’

    महानगरले कार्यापालिका बैठकको भोलिपल्ट चैत २९ गते नै कागजपत्रसहितको सिफारिस मन्त्रालयलाई पठाइसकेको जनाएको छ ।

    स्वामित्व लिएपश्चात भरतपुर महानगरले नयाँ टेन्डर गरेर रंगशाला निर्माण कार्यलाई निरन्तरता दिएको छ । व्यवसायीहरूले अदालत जाने तयारी गरेपछि रंगशालामा कानूनी व्यवधान उत्पन्न हुन सक्ने चिन्ता बढेको थियो । यदि संघीय बजेटबाटै यसको सम्बोधन भएमा रंगशालाको थप काम निर्विवाद अघि बढ्न सक्ने छ ।

  • निलम्बन फुकुवापछि आदिलले भने- फेरि क्रिकेट खेल्नेछु

    निलम्बन फुकुवापछि आदिलले भने- फेरि क्रिकेट खेल्नेछु

    काठमाडौं । २ वर्षभन्दा लामो समयको निलम्बन फुकुवापछि क्रिकेटर आदिल अन्सरीले माया, दुआ र आशीर्वादले फेरि क्रिकेट खेल्ने बताएका छन् । निलम्बन फुकुवापछि सामाजिक सन्जालमार्फत अन्सरीले आफ्नो परिवार, क्रीकेट समर्थक र नेपाल क्रिकेट संघ क्यानलाई धन्यवाद दिएका हुन् ।

    नेपाल क्रिकेट संघ(क्यान)ले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताहरुमा सहभागिता जनाउन पाउने आइतबार २१ गतेदेखि आलमको प्रतिबन्ध फुकुवा गरेको हो ।

    २०७९ पुस ९ गतेदेखि २७ गतेसम्म त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान, कीर्तिपुर, काठमाडौंमा क्यानले आयोजना गरेको नेपाल टी२० क्रिकेट लिग प्रतियोगिता दौरान स्पट फिक्सिङको आरोप लागेको आलमलाई एन्टी करप्सन कोडबमोजिम कुनैपनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन नपाउने गरी प्रतिबन्ध लगाइएको थियो ।

    उक्त मुद्दामा उनलाई जिल्ला अदालत काठमाडौंले सफाइ दिइसकेको छ ।

     

  • पुलिसलाई हराउँदै इरानी टोलीले जित्यो प्रथम लायन्स कप भलिबलको उपाधि

    पुलिसलाई हराउँदै इरानी टोलीले जित्यो प्रथम लायन्स कप भलिबलको उपाधि

    पोखरा । नेपाल पुलिस क्लबलाई हराउँदै इरानी टोलीले पोखरामा भएको प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।

    लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको फाइनल खेलमा पुलिसलाई ३–१ को सेटमा पराजित गर्दै इरानी टोलीले उपाधि जितेको हो । पहिलो सेट २५–१८ ले आफ्नो पक्षमा पारेको इरानी टोलीले दोस्रो सेट २४–२६ ले गुमाएको थियो ।

    तेस्रो र चौथो सेटमा पुनरागमन गर्दै इरानी टोलीले उपाधि रक्षा गर्यो । इरानले तेस्रो सेट २५–१८ र चौथो सेट २५–१७ ले आफ्नो पक्षमा पारेको हो । उपाधि जितेको इरानी टोलीले ४ लाख ४४ हजार ४४४ हात पार्यो । उपविजेता बनेको २ लाख ४४ हजार ४४४ मा चित्त बुझायो ।

    यसअघि सशस्त्र प्रहरी बल (एपीएफ) लाई ३–१ को सेटमा पराजित गर्दै त्रिभुवन आर्मी क्लबलले तेस्रो स्थान हासिल गरेको थियो । पहिलो सेट २९–२७ र दोस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको आर्मीले तेस्रो सेट एपिएफलाई सुम्पिएको थियो । तेस्रो सेट २२–२५ ले गुमाएको आर्मीले चौथो सेट २५–२३ ले जित निकाल्दै तेस्रो हुन सफल भयो । तेस्रो हुने आर्मीले १ लाख ४४ हजार ४४४ प्राप्त गर्यो ।

    इरानी टोलीका आमिर होसेन सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले १४ हजार ४ सय ४४ रुपैयाँ र ट्रफी प्राप्त गरे । इरानी टोलीका अफ्सिन फतेह उत्कृष्ट सर्भर, इरफान नरोइजु उत्कृष्ट ब्लकर, दीपक थापा उत्कृष्ट डिफेन्डर, पुलिसका बलराम गुरुङ उत्कृष्ट सेटर, आर्मीका धनबहादुर भट्ट उत्कृष्ट स्पाइकर र इरानी टोलीका सुरेन्द्र केसी उत्कृष्ट प्रशिक्षक बने । उनीहरूले ८ हजार ४ सय ४४ रुपैयाँ र ट्रफी पुरस्कार पाए ।

     

  • क्रिकेटर आदिल आलममाथिको प्रतिबन्ध फुकुवा

    क्रिकेटर आदिल आलममाथिको प्रतिबन्ध फुकुवा

    काठमाडौं । क्रिकेटर मोहमद आदिल आलमको प्रतिबन्ध फुकुवा भएकाे छ ।

    नेपाल क्रिकेट संघ(क्यान)ले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताहरुमा सहभागिता जनाउन पाउने आइतबार २१ गतेदेखि आलमको प्रतिबन्ध फुकुवा गरेकाे हो ।

    २०७९ पुस ९ गतेदेखि २७ गतेसम्म  त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान, कीर्तिपुर, काठमाडाैंमा क्यानले आयोजना गरेकाे  नेपाल टी-२० क्रिकेट लिग प्रतियोगिता दौरान स्पट फिक्सिङको आरोप लागेकाे आलमलाई  एन्टी करप्सन काेड  बमोजिम कुनैपनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन नपाउने गरी प्रतिबन्ध लगाइएको थियाे ।

     

  • चेल्सीसँग लिभरपुल ३-१ ले पराजित

    चेल्सीसँग लिभरपुल ३-१ ले पराजित

    काठमाडौं । प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको खेलमा चेल्सीले लिग विजेता लिभरपुललाई ३–१ को फराकिलो अन्तरले पराजित गर्दै युइएफए च्याम्पियन्स लिगको छनोटमा पुग्ने सम्भावना बलियो बनाएको छ ।

    स्ट्यामफोर्ड ब्रिजमा घरेलु टोलीका लागि एन्जो फर्नान्डेजले खेलको तेस्रो मिनेटमै गोल गर्दै चेल्सीलाई उत्कृष्ट सुरुवात दिलाए । दोस्रो हाफको ५६औँ मिनेटमा लिभरपुलका जारेल क्वान्साहको आत्मघाती गोलका कारण चेल्सीले अग्रता दोब्बर बनायो ।

    खेलको ८५औँ मिनेटमा भर्जिल भान डाइकले हेडरमार्फत एक गोल फर्काए पनि, इन्ज्युरी समयको छैटौँ मिनेटमा कोल पाल्मरले पेनाल्टीमार्फत गोल गर्दै चेल्सीको जित सुनिश्चित गरे ।

    यो जितसँगै चेल्सी ६३ अंकसहित लिगको पाँचौँ स्थानमा यथावत् छ। छैटौँ स्थानमा रहेको नटिङ्घम फरेस्टभन्दा चेल्सी तीन अंकले अगाडि छ । फरेस्टले सोमवार क्रिस्टल प्यालेससँग प्रतिस्पर्धा गर्नेछ ।

    त्यस्तै, चेल्सी अब चौथो स्थानको न्युक्यासल युनाइटेडसँग अंक बराबरीमा पुगेको छ। यी दुई टोलीबीचको खेल अर्को साता सेन्ट जेम्स पार्कमा हुनेछ, जुन च्याम्पियन्स लिग स्थानको लागि निर्णायक हुनसक्छ ।

    त्यसैगरी, म्यानचेस्टर युनाइटेड फेरि पराजित भएको छ । बेन्टफोर्डसँग ४–३ को हार बेहोरेको युनाइटेडको लिगमा संकट थपिएको छ । अन्य खेलमा ब्राइटन र न्युक्यासल तथा वेस्टह्याम र टोटेनहमबीच १–१ को बराबरी भएको छ ।

  • ला-लिगा : रियल अझै उपाधी होडमा

    ला-लिगा : रियल अझै उपाधी होडमा

    हेटौंडा । स्पेनिस ला–लिगाको उपाधी होडमा रियल मेड्रिडले आफुलाई कायम राख्न सफल भएको छ । आइतबार साँझ सम्पन्न खेलमा सेल्टाभिगोलाई ३–० ले पराजित गर्दै रियलले आफुलाई उपाधी होडमा कायम राख्न सफल भएको हो ।

    खेलमा रियलको तर्फबाट स्टार खेलाडी केलियन एम्बाप्पेले २ तथा आर्दा गुलरले एक गोल गर्दा सेल्टा भिगोको तर्फबाट जाभि र विलन्टले समान १–१ गोल गरे ।

    खेलमा रियलको तर्फबाट गुलरले खेलको ३३ औँ मिनेटमा गोल गर्दै टिमालाई पहिलो अग्रता दिलाएका थिए ।

    आक्रमक शैलिको खेल खेलेको रियलको लागि खेलको ३९ र ४८ औँ मिनेटमा एम्बाप्पेले गोल गर्दै टिमालाई ३–० को अग्रता दिलाए । कुनै समय विशमल जिततर्फ लम्केको रियलाई दोश्रो हाफपछि सेल्टाभिगोले रोक्ने प्रयास गरेको थियो । तर भिगोको प्रयास पूर्ण रुपमा सफल हुन भने सकेन र खेल रियलले जित्यो ।

    जितपछि ३४ खेलबाट रियलको ७५ अंक पुगेको छ र उ पहिलो स्थानको बार्सिलोना भन्दा ४ अंकले पछि छ । पराजित सेल्टाभिगोको समान खेलबाट ४६ अंक पुगेको छ र उ तालिकाको सातौँ नम्बरमा छ ।

    आइतबारको जितसँगै रियलले बार्सिलोनासँग आफुलाई पनि उपाधि दाबेदारमा प्रस्तुत गरेको छ । यो सिजन तीनवटा उपाधिबाट हात धोईसकेको रियलको लागि ला–लिगानै उपाधिको अन्तिम आशा हो ।

  • आइपीएल : रियान परागले हाने लगातार ६ बलमा ६ छक्का

    आइपीएल : रियान परागले हाने लगातार ६ बलमा ६ छक्का

    काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल) राजस्थान रोयल्सका कप्तान रियान परागले लगातार ६ बलमा ६ छक्का प्रहार गरेका छन् । कोलकत्ता नाइट राइडर्स विरुद्धको खेलमा उनले यो दुर्लभ किर्तिमान रचेका हुन् ।

    कोलकत्ताले पहिलो ब्याटिङ गर्दै २०६ रनको विशाल स्कोर खडा गरेको थियो । जवाफी ब्याटिङ गरिरहेको राजस्थान परागको विष्फोटक इनिङ लक्ष्य पछ्याइरहेको छ । ताजा स्थितिमा राजस्थानले १६ ओभरको समाप्तिमा १६४ रन जोडेको छ ।

    रियान परागले १३ औं ओभरका पाँच बलमा ईंग्ल्यान्डका अलराउन्डर मोइन अलिलाई लगातार ५ बलमा ५ छक्का प्रहार गरेका थिए ।

    पहिलो बलमा सिम्रोन हेटमेयरले एक रन लिएपछि बाँकी ५ बललाई परागले डाँडा कटाइदिएका हुन् । यो ओभरमा अलीले एउटा वाइड बल पनि फ्याँकेका थिए ।

    लगत्तैको १४ औं ओभरको पहिलो बलमा फेरि हेटमेयरले एक रन लिए । बाँकी दोस्रो बलमा छक्का हान्दै परागले लगातार बलमा छ छक्का हानेका हुन् ।

    यो समाचार बनाउँदासम्म पराग ४२ बलमा ९२ रन बनाएर खेलिरहेका छन् । उनले ५ चौका र ८ छक्का प्रहार गरिसकेका छन् ।

  • लायन्स कप भलिबलः एपीएफलाई हराउँदै पुलिस फाइनलमा, उपाधिका लागि इरानी टोलीसँग खेल्ने

    लायन्स कप भलिबलः एपीएफलाई हराउँदै पुलिस फाइनलमा, उपाधिका लागि इरानी टोलीसँग खेल्ने

    पोखरा । पोखरामा जारी प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेको छ ।

    लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको दोस्रो सेमिफाइनल खेलमा सशस्त्र प्रहरी बल (एपिएफ) लाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिसले फाइनलमा स्थान पक्का गरेको हो ।

    दोेस्रो सेमिफाइनलमा पुलिसले एपिएफलाई पहिलो सेट २५–१७, दोस्रो सेट २५–१८ र तेस्रो सेट २५–१५ को सोझो सेटमा पराजित गर्न सफल रह्यो । पुलिसले अब उपाधिका लागि इरानी टोलीसँग खेल्नेछ ।

    यसअघि भएको पहिलो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गर्दै इरानी टोलीले फाइनलमा स्थान बनाइसकेको छ । पहिलो सेट २०–२५ ले गुमाएको इरानी टोलीले दोस्रो, तेस्रो र चौथो सेटमा जित निकाल्दै फाइनलमा पुगेको हो । इरानी टोलीले दोस्रो सेट २५–२०, तेस्रो सेट २८–२६ र चौथो सेट २६–२४ को पुनरागमन जित दर्ता ग¥यो । चौथो सेटमा १८–२१ को अवस्थालाई उल्टाउँदै इरानी टोलीले २६–२४ को जित निकाल्न सफल रहेको थियो ।

    तेस्रो स्थानका लागि र फाइनल खेल सोमबार हुनेछ । पुलिस र इरानी टोलीबिचको फाइनल खेल दिउँसो ४ बजेबाट सुरु हुनेछ । यस्तै तेस्रो स्थानका लागि आर्मी र एपिएफबिचको खेल दिउँसो १ बजे सुरु हुने आयोजकले जनाएको छ ।

    प्रतियोगिताको विजेताले ४ लाख ४४ हजार ४४४ र उपविजेताले २ लाख ४४ हजार ४४४ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ । तेस्रो हुने टोलीले १ लाख ४४ हजार ४४४ पाउनेछ । सर्वोत्कृष्ट खेलाडीलाई १४ हजार ४४४ र विधागततर्फ उत्कृष्ट हुनेलाई समान ८ हजार ४४४ रुपैयाँ प्रदान गरिनेछ ।

  • लिग- २ को २५ सदस्यीय स्क्वाडमा अटाएनन् कुशल मल्ल

    लिग- २ को २५ सदस्यीय स्क्वाडमा अटाएनन् कुशल मल्ल

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी विश्वकप लिग- २ अन्तर्गत त्रिकोणात्मक एक दिवसीय सिरिज र टी-२० सिरिजका लागि दोस्रो चरणको बन्द प्रशिक्षणमा २५ खेलाडी बोलाएको छ ।

    आउँदो जेठ तेस्रो साता स्कटल्यान्डमा हुने सिरिजका लागि क्यानले ५३ खेलाडीबाट छानेर २५ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो । नेपालले लिग- २ अन्तर्गत स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग ओडीआई र टी-२० सिरिज खेल्नेछ ।

    क्यानले ५३ खेलाडीलाई चार टोली बनाएर कोर क्याम्पसँगै अभ्यास खेल खेलाएको थियो । उक्त क्याम्पपछि क्यानले दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २५ खेलाडी छनोट गरेको हो ।

    उक्त टोलीमा पछिल्लो समय खराब लयमा रहेका कुशल मल्ल पर्न असफल भएका छन् । उनीसँगै राष्ट्रिय टोलीबाट खेलिसकेका विवेक यादव, सन्दीप जोरा, सागर ढकाल जस्ता खेलाडी पनि दोस्रो चरणको बन्द प्रशिक्षणमा पर्न सकेका छैनन् ।

    युवराज खत्री, शुभ कंशाकार, किरण ठगुन्ना जस्ता युवा खेलाडी भने टोलीमा समेटिएका छन् ।

    बन्द प्रशिक्षणमा परेका २५ खेलाडी

    रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, अनिलकुमार साह, भीम सार्की, दीपेन्द्रसिंह ऐरी, गुल्शनकुमार झा, अर्जुन साउद, बसीर अहमद, दिलीपनाथ, आरिफ शेख, युवराज खत्री, किरण ठगुन्ना, सन्दीप लामिछाने, ललितनारायण राजवंशी, शाहव आलम, सोमपाल कामी, करण केसी, नन्दन यादव, प्रतिश जीसी, रिजन ढकाल, आकाश चन्द, रुपेश सिंह, लोकेश बम र शुभ कंशाकार ।

  • साविक विजेता आर्मीलाई हराउँदै पुलिसले जित्यो मनमोहन कप

    साविक विजेता आर्मीलाई हराउँदै पुलिसले जित्यो मनमोहन कप

    विराटनगर । मोरङमा भएको तेस्रो संस्करणको मनमोहन स्मृति एक दिवसीय क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । साकिक विजेता त्रिभुवन आर्मी क्लवलाई २४ रनले पराजित गर्दै पुलिस क्लबले उपाधि जितेको हो ।

    पुलिस तीन वटै संस्करणको फाइनलमा पुगेको थियो, तर आर्मीसँगै पराजित हुँदै आएको थियो । जितसँगै पुलिसले नगद ४ लाख र ट्रफी तथा उपविजेता आर्मीले नगद २ लाख र ट्रफी हात परेका छन् ।

    शनिबार भएको फाइनलमा टस हारेर ब्याटिङ गरेको पुलिसले निर्धारित ५० ओभरमा सबै विकेट गुमाई २३९ रनको योगफल खडा गरेको थियो । पुलिसका लागि अरुण ऐरी र कप्तान शंकर रानाले अर्धशतक पूरा गरेका थिए । ऐरीले ६४ र रानाले ५१ रन बनाएका थिए । त्यस्तै श्रवण यादवले ३२ र दीपक डुम्रेले ३६ रनको योगदान दिए ।

    आर्मीका नरेन साउदसँगै दुर्गेश गुप्ता र तुलबहादुर थापाले २-२ विकेट लिए ।

    पुलिसले दिएको २४० रनको लक्ष्य पछ्याएको आर्मीले ४८ ओभरमा सबै विकेट गुमाई २१५ रनमात्र बनाउन सक्यो । आर्मीका विकेटकिपर हिमांसु दत्तले अर्धशतकीय पारी खेल्दा पनि आर्मीलाई जित दिलाउन सकेनन् ।

    दत्तले ६३ रन बनाउँदा निश्चल क्षेत्रीले ३६, इमरान शेखले २४, नरेन साउदले २१, जितेन्दूसिंह ठकुरीले २० र विशाल सुस्लिङले १८ रनको योगदान दिए ।

    पुलिसका प्लेयर अफ फाइनल श्रवण यादवले ४ विकेट लिँदा चित्र विष्टले २ विकेट लिए ।

    प्रतियोगिताको उत्कृष्ट खेलाडी आर्मीका नरेन साउद भए । उनले नगद २५ हजार र ट्रफी हात पारे । त्यस्तै उत्कृष्ट ब्याटर पुलिसका शंकर राना र उत्कृष्ट बलर कोशीका प्रेम कामत घोषित भए । उनीहरुले जनही नगद १५-१५ हजार र ट्रफी हात पारे ।

    बैशाख १३ गते सुरु भएको प्रतियोगितामा भारतको असाम क्रिकेट टीम, घरेलु टीम कोशी प्रदेश, बागमती प्रदेश, विभागीय टोली नेपाल पुलिस क्लब, आर्मी क्लब र सशस्त्र प्रहरी क्लब सहभागी रहेका थिए ।

  • एस्टन भिल्लाको च्याम्पियन लिग खेल्ने सम्भावना जीवितै

    एस्टन भिल्लाको च्याम्पियन लिग खेल्ने सम्भावना जीवितै

    हेटौंडा । इङ्लिस प्रिमियर लिग (ईपीएल)को ३५औं चरणको खेल समाप्त हुँदा एस्टन भिल्लाले आगामी सिजन च्याम्पियन्स लिग खेल्ने सम्भावनालाई जीवित राखेको छ ।

    शनिबार साँझ सम्पन्न खेलमा फुलहमलाई १-० ले पराजित गर्दै भिल्लाले आगामी खेलमा च्याम्पियन्स लिग खेल्ने आफ्नो सम्भावनालाई जीवित राखेको हो ।

    ३५औं खेल सम्पन्न हुँदा एस्टन भिल्लाले ६० अङ्कसहित सातौं स्थान कायम गरेको छ । फुलहमले भने ५१ अङ्कसहित आठौं स्थान कायम गरेको छ ।

    यो सिजन लिभरपुल लिग च्याम्पियन भैसकेको छ । च्याम्पियन्स लिगको लागि आर्सनल, म्यान्चेस्टर सिटी, न्युक्यास्टल, चेल्सी, नटिङ्घम फरेस्ट र एस्टन भिल्लामध्ये चार टोली प्रतिस्पर्धामा छन् ।

  • लायन्स कप भलिबलः तीन विभागीयसहित इरानी टोली सेमिफाइनलमा

    लायन्स कप भलिबलः तीन विभागीयसहित इरानी टोली सेमिफाइनलमा

    पोखरा । विभागीय टोलीहरू सबैले पोखरामा जारी प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिताको अन्तिम चारमा स्थान बनाएका छन् ।
    शनिबारको दोस्रो खेलमा विभागीय टोली त्रिभुवन आर्मीसँग हारे पनि नेपाल पुलिस क्लव सेमिफाइनल प्रवेश गरेको हो ।

    समूह ‘बी’ मा रहेको अर्को भारतीय टीम भने बाहिरिएको छ । समूह ‘ए’ बाट अर्को विभागीय टीम एपीएफ पनि सेमिफाइनल पुगिसकेको छ ।

    लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको अन्तिम खेलमा आर्मीले पुलिसलाई ३-१ को सेटमा पराजित गरेको हो ।

    पहिलो सेट २५-१९ ले गुमाएको आर्मीले पछिल्ला ३ सेटमा उत्कृष्ट पुनरागमन गर्दै जित निकाल्न सफल रह्यो । आर्मीले दोस्रो सेट २५-१४, तेस्रो सेट २५-१७ र चौथो सेट २५-२१ ले जितेको हो । आर्मी र पुलिससँग समान अंक रहेको भारतीय टोली सेटका आधारमा प्रतियोगिताबाट बाहिरिएको छ । सेट र अंकका आधारमा पुलिस विजेता र आर्मी उपविजेताको रुपमा सेमिफाइनल पुगेको हो ।

    समूह ‘बी’अन्तर्गत पहिलो खेलमा पुलिसले भारतीय टोलीलाई ३-० को सोझो सेटमा पराजित गरेको थियो । दोस्रो खेलमा भारतीय टोलीले आर्मीलाई ३-१ को सेटमा पराजित गरेको थियो । आज भएको खेलमा आर्मीले पुलिसलाई ३-१ को सेटमा पराजित गरेको हो ।

    यसअघि समूह ‘ए’ बाट सशस्त्र प्रहरी बल (एपीएफ) र इरानी टोलीले सेमिफाइनलमा स्थान सुरक्षित गरेका छन् । इरानी टोली समूह विजेता र एपीएफ उपविजेताको रुपमा सेमिफाइनलमा पुगेको हो । दुवै खेलमा पराजित भएको गण्डकी प्रदेश प्रतियोगिताबाट बाहिरियो ।

    सेमिफाइनलका खेल आइतबार हुनेछन् । पहिलो सेमिफाइनल समूह ‘ए’ को विजेता इरानी टोली र समूह ‘बी’को उपविजेता टीम त्रिभुवन आर्मीबीच हुनेछ । उक्त खेल दिउँसो १ बजे सुरु हुनेछ ।

    दोस्रो सेमिफाइनल खेल समूह ‘बी’ विजेता नेपाल पुलिस र समूह ‘ए’ उपविजेता टोली एपीएफबीच हुनेछ । उक्त खेल दिउँसो ३ बजे सुरु हुनेछ । फाइनल सोमबार हुनेछ ।

  • रूपन्देहीमा जिल्लास्तरीय यू-१६ क्रिकेट टीम छनोट सुरु

    रूपन्देहीमा जिल्लास्तरीय यू-१६ क्रिकेट टीम छनोट सुरु

    रुपन्देही । यू-१६ प्रदेशस्तरीय क्रिकेट टीम छनोटका लागि रुपन्देही जिल्लास्तरीय खेलाडी छनोट सुरु भएको छ ।

    भैरहवास्थित सिद्धार्थ रंगशालामा शनिबारदेखि जिल्लास्तरीय टीम छनोट सुरु भएको रुपन्देही क्रिकेट संघका उपाध्यक्ष धीरज अधिकारी क्षेत्रीले जानकारी दिए ।

    एसियन क्रिकेट काउन्सिल (एसीसी)को कार्यक्रमअनुसार यही जुन महिनामा ‘एसीसी पुरुष यू-१६ इस्ट जोन कप २०२५’ प्रतियोगिता हुँदैछ । उक्त प्रतियोगितालाई मध्यनजर गरी नेपाल क्रिकेट संघले आउँदा जेठ दोस्रो सातादेखि यू-१६ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता गर्दैछ । त्यसका लागि भैरहवामा जिल्लास्तरीय छनोट सुरु भएको हो ।

    क्षेत्रीका अनुसार सार्वजनिक सूचना आह्वानपछि यू-१६ का १२४ खेलाडी छनोट खेलमा सहभागी छन् । यी खेलाडीहरुबाट उत्कृष्ट छनोट गरी ४ टीम बनाई मंगलबारदेखि प्रतिस्पर्धा गराइने छ ।

    प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई समेटेर रुपन्देही जिल्लास्तरीय टीम बनाइने क्षेत्रीले बताए । खेलाडीहरुलाई प्रशिक्षक शंकर राना, दुर्गा सेन र मानबहादुर थापाले प्रशिक्षण दिनेछन् ।

    प्रशिक्षक रानाले रुपन्देही क्रिकेटको उर्बरभूमि रहेकाले छनोट खेलमा सहभागिता राम्रो भएको बताए । धेरै खेलाडीहरु सहभागी भएकाले आफूहरुको प्रयास राम्रो गर्नेहरुलाई टीममा राख्ने भएको उनको भनाइ छ ।

    रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापाका अनुसार जिल्लाका विभिन्न एकेडेमी र विद्यालयमा प्रशिक्षण लिइरहेका खेलाडीहरु टीममा समावेश हुन प्रतिस्पर्धामा छन् । संघले सञ्चालन गरेको रुपन्देही क्रिकेट एकेडेमी र सिद्धार्थ क्रिकेट मैदानमा खेलाडीहरुलाई स्पर्धा गराइने उनले बताए ।

  • लायन्स कप भलिबलः इरानी टोली सेमिफाइनल, भारतीय टोलीसँग आर्मी पराजित

    लायन्स कप भलिबलः इरानी टोली सेमिफाइनल, भारतीय टोलीसँग आर्मी पराजित

    पोखरा । पोखरामा जारी प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगितामा इरानी टोलीले सेमिफाइनलमा स्थान बनाएको छ ।

    लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा शुक्रबार भएको पहिलो खेलमा गण्डकी प्रदेशलाई ३—१ को सेटले पराजित गर्दै इरानी टोलीले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।

    पहिलो सेट १४–२५ ले गुमाएको गण्डकीले दोस्रो सेट पुनरागमन गर्दै २५–१७ को जित निकालेको थियो । तर, तेस्रो र चौथो सेटमा लय गुमाउन पुग्दा गण्डकीले हार बेहोर्नुपर्यो । इरानी टोलीले तेस्रो सेट २५–१८ र चौथो सेट २७–२५ ले आफ्नो पक्षमा पार्यो ।

    इरानी टोलीले यसअघि शसस्त्र प्रहरी बल (एपीएफ) लाई ३–१ को सेटले पराजित गरेको थियो । समूह ‘ए’ अन्तर्गत अन्तिम खेल गण्डकी प्रदेश र एपिएफबीच हुनेछ । उक्त खेलको विजेताले सेमिफाइनलमा स्थान सुरक्षित गर्नेछ ।

    आजको दोस्रो खेल समूह ‘बी’ अन्तर्गत भारतीय टोलीले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ । दोस्रो खेलमा भारतीय टोलीले आर्मीलाई ३–१ को सेटमा पराजित गरेको हो । पहिलो सेट २३–२५ ले गुमाएको भारतीय टोलीले दोस्रो, तेस्रो र चौथो सेटमा उत्कृष्ट पुनरागमन गर्दै जित हासिल गर्न सफल रह्यो । भारतीय टोलीले दोस्रो सेट २५–२१, तेस्रो सेट २५–२१ र चौथो सेट २८–२६ ले आफ्नो पक्षमा पार्यो । समूह ‘बी’ अन्तर्गत अब नेपाल पुलिस क्लब र त्रिभुवन आर्मीबीच खेल हुनेछ । उक्त खेलको नतिजाले सेमिफाइनल जाने टोलीको टुंगो लाग्नेछ ।

    भोलि हुने पहिलो खेल दिउँसो साढे १२ बजेबाट गण्डकी र एपिएफबिचको खेल सुरु हुनेछ । दोस्रो खेल नेपाल पुलिस र आर्मीबिचको खेल हुनेछ ।

    प्रतियोगिताको विजेताले ४ लाख ४४ हजार ४४४ र उपविजेताले २ लाख ४४ हजार ४४४ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ । तेस्रो हुने टोलीले १ लाख ४४ हजार ४४४ पाउनेछ । सर्वोत्कृष्ट खेलाडीलाई १४ हजार ४४४ र विधागततर्फ उत्कृष्ट हुनेलाई समान ८ हजार ४४४ रुपैयाँ प्रदान गरिनेछ ।

  • पोखरामा लायन्स कप भलिबल सुरु

    पोखरामा लायन्स कप भलिबल सुरु

    पोखरा । पोखरामा प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा सुरु प्रतियोगिताको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले उद्घाटन गरे ।

    उद्घाटन खेलमा इरानी टोलीले विजयी सुरुआत गरेको छ । प्रतियोगिताको समूह ‘ए’ अन्तर्गतको पहिलो खेलमा इरानी टोलीले सशस्त्र प्रहरी बल (एपिएफ)लाई ३–१ को सेटमा पराजित गर्यो । पहिलो सेट २५—२० ले आफ्नो पक्षमा पारेको इरानी टोली दोस्रो सेटमा पछि प¥यो । प्रतिस्पर्धात्मक दोस्रो सेटमा एपीएफले ३१–२९ ले इरानी टोलीलाई हरायो । २९—२९ को अवस्थामा रहेको बेला लगातार दुई अंक ल्याउँदै एपिएफले ३१–२९ ले आफ्नो पक्षमा पा¥यो ।

    तेस्रो सेट र चौथो सेटमा इरानी टोलीले पुनरागमन गर्दै ३—१ सेटमा जित निकाल्यो  । इरानी टोलीले एपीएफलाई तेस्रो सेट २५–२३ र चौथो सेट २५–१९ ले पराजित गरेको हो ।

    आजै भएको दोस्रो खेलमा समूह ‘बी’ अन्तर्गत नेपाल पुलिस क्लबले भारतीय टोलीलाई ३—० को सोझो सेटमा पराजित गरेको छ । प्रतिस्पर्धात्मक भएको पहिलो सेटमा पुलिसले भारतीय टोलीमाथि २५—२३ ले जित हासिल गर्यो । दोस्रो सेट र तेस्रो सेट भने पुलिसले सहज जित निकाल्यो । पुलिसले दोस्रो सेट २५—१६ र तेस्रो सेट २५—२० ले आफ्नो पक्षमा पार्यो ।

    प्रतियोगिताको दोस्रो दिन भोलि पहिलो खेल इरानी टोली र गण्डकी प्रदेशबिच हुनेछ । उक्त खेल बिहान ११ बजे सुरु हुनेछ । भोलिको दोस्रो खेल भारतीय टोली र त्रिभुवन आर्मी क्लबबिचको खेल दिउँसो एक बजेबाट सुरु हुनेछ ।

    प्रतियोगिताको विजेताले ४ लाख ४४ हजार ४४४ र उपविजेताले २ लाख ४४ हजार ४४४ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ । तेस्रो हुने टोलीले १ लाख ४४ हजार ४४४ पाउनेछ । सर्वोत्कृष्ट खेलाडीलाई १४ हजार ४४४ र विधागततर्फ उत्कृष्ट हुनेहरूलाई ८ हजार ४४४ रुपैयाँ प्रदान गरिने गरिनेछ ।

  • आसामलाई पराजित गर्दै पुलिस एमएम कप क्रिकेटको फाइनल प्रवेश

    आसामलाई पराजित गर्दै पुलिस एमएम कप क्रिकेटको फाइनल प्रवेश

    विराटनगर । विभागीय टोली नेपाल पुलिस विराटनगरमा जारी मनमोहन स्मृति एक दिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पाहुना टोली आसामलाई आजको खेलमा हराउँदै फाइनलमा आर्मीसँगको भेट पक्का गरेको हो । यस अघि नै अर्को विभागीय टोली आर्मी एम एम कपको फाइनलमा पुगिसकेको छ ।

    विराटनगरको वैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा बिहीबार भएको समूह वि को अन्तिम लिग खेलमा पुलिसले  पाहुना टोली भारतको आसाम क्रिकेट क्वललाई ६ विकेटले पराजित गर्‍यो ।

    समूहको वी मा रहेका आसाम र घरेलु टाली कोशी प्रदेश थिए । सबैले २ खेलमा १ मा जित र १ खेलमा पराजित हुँदै समान २–२ अंक जोडे पनि नेट रन रेटको आधारमा पुलिस फाइनलमा प्रवेश गरेको हो ।

    पहिला व्याटिंग गरेको पाहुना टोली आसामले  १ सय ५५ रनको चुनौती  थियो । पुलिसले २६ दशमलव १ बलमा ४ विकेट गुमाई जित हात पारेको हो ।

    आसामले निर्धारित ५० ओभरको खेलमा ४२ दशमलव २ बलमा  १ सय ५४ रनको स्कोर बनाएको थियो । आसामका राज विश्वाले ३३ रन बनाउँदा अरुण सोनारले ३१ रन, केभिन सन्जिव क्रिस्टोफरले २३ रन, हियेनकस्यपले १९ रन र कप्तान गोकुल शर्माले १० रनको योगदान दिए । पुलिसका श्रवण यादवले ३ विकेट लिँदा अरुण ऐरीले पनि ३ विकेट लिए ।

    जवाफमा १ सय ५५ रनको लक्ष्य पाएको पुलिसले २६ दशमलव १ बलमा ४ विकेट गुमाएर लक्ष्य ​​पार गरेका छ । पुलिसको जितमा प्लेयर अफ द म्याच कप्तान अमित श्रेष्ठले ७२ बलमा ३ छक्का र ५ चौका प्रहार गर्दै अविजित ७१ रन योगदान दिए । यस्तै शंकर रानाले  अविजित ६३ रनको पारी खेले ।

  • नवौं पोखरा स्पोट्र्स अवार्डः ४ विधाको मनोनयन सार्वजनिक

    नवौं पोखरा स्पोट्र्स अवार्डः ४ विधाको मनोनयन सार्वजनिक

    पोखरा । नवौं पोखरा स्पोट्र्स अवार्डका लागि ४ विधामा मनोनयन सार्वजनिक गरिएको छ । आयोजक खेलकुद पत्रकार मञ्च गण्डकीले बुधबार पत्रकार सम्मेलन गर्दै ४ विधाको मनोनयन सार्वजनिक गरेको हो ।

    सार्वजनिक गरेको सूचिअनुसार वर्ष उत्कृष्ट पुरुष खेलाडी विधामा भलिबलका विश्वास अधिकारी, टेनिसका प्रदीप खड्का र फुटबलका सुमित श्रेष्ठ मनोनयनमा परका छन् । वर्ष उत्कृष्ट महिला खेलाडी विधाको मनोनयनमा भलिबलकी अरुणा शाही, आइटिएफ तेक्वान्दोकी सुस्मिता थापामगर र फेन्सिङकी कृपा गुरुङ गरेकी छन् । वर्ष खेलाडी पुरुष र महिला हुने खेलाडीले इलेक्ट्रिक स्कुटर प्राप्त गर्नेछन् ।

    उदीयमान खेलाडीको विधामा एथलेटिक्सका बादल कार्की, भलिबलका जितबहादुर सार्की र क्रिकेटकी रचना चौधरी परेका छन् । उत्कृष्ट प्रशिक्षकमा टेनिसका निरज थापा, भलिबलका रमेश केसी र फुटबलका राजेन्द्र तामाङ उत्कृष्ट ३ मा परेका छन् ।

    वैशाख २६ गते पोखरा बुलौदीस्थित इभेन्ट सेन्टरमा आयोजना हुने स्पोट्र्स अवार्डमा कुल ७ विधामा अवार्ड प्रदान गरिनेछ । बाँकी विधाहरु लाइफटाइम एचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेल संघ वा क्लब र पत्रकारिता अवार्डको घोषणा केही समय पछि सार्वजनिक गर्ने मञ्चले जनाएको छ ।

    वर्ष उत्कृष्ट उदियमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक,वर्ष उत्कृष्ट खेल पत्रकार र वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लबतर्फका विजेताले नगद ३५ हजार सहित ट्रफी पाउनेछन् २०५७ सालमा स्थापना भएको खेलकुद पत्रकार मञ्च गण्डकीले २०७२ सालदेखि हरेक वर्ष पोखरा स्पोट्र्स अवार्ड गर्दै आएको छ । मञ्चमा हाल ७४ जना पत्रकार आवद्ध छन् ।

  • मजाक गर्दागर्दै कुलदीपले रिंकुको गालामा दुई थप्पड हानेपछि…

    मजाक गर्दागर्दै कुलदीपले रिंकुको गालामा दुई थप्पड हानेपछि…

    काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तरगत हिजो भएको खेलपछि दिल्लीका बलर कुलदिप यादवले कोलकत्ताका ब्याटर रिंकु सिंहलाई सबैका अगाडि दुई थप्पड हानिदिएका छन् ।

    खेलाडीहरुबीच हाँसिमजाक चलिरहँदा कुलदीपले थप्पड हानेपछि रिंकु स्तब्ध देखिए ।

    दिल्ली क्यापिटल्सको होमग्राउन्डमा भएको खेल कलकत्ताले जितेको थियो । कलकत्ताले दिएको २०५ रनको लक्ष्य पछ्याउने क्रममा दिल्ली १९० रनमा रोकियो । कलकत्ताका रिंकुले २५ बलमा ३६ रन बनाएर टिमलाई जिताउन योगदान दिएका थिए । दिल्लीका कुलदीप भने चलेनन् । उनले ३ ओभर बलिङ गर्दा २७ रन खर्चिए भने कुनै विकेट लिन सकेनन् ।

    रिंकु र कुलदीप एकै शहरका खेलाडी हुन् । उनीहरूको आपसी सम्बन्ध राम्रो छ । खेलपछि मैदानबाट निस्किने क्रममा उनीहरुबीच हाँसिमजाक भएको थियो । तर, त्यही क्रममा कुलदीपले अनायास रिंकुको गाला चड्काइदिए । ठट्टाकै भावमा हानेको भए पनि रिंकु ‘सिरियस’ देखिए । यो बीचमा उनीहरुबीच भएको संवाद सुनिएको छैन । तर कुलदीपले फेरि एकपटक गालामा हानेपछि भने रिंकु रिसाएका छन् ।

    दुवै खेलाडी मिल्ने साथी भएकाले यो घटनालाई गम्भीररुपमा लिइएको छैन । अन्यथा मैदानभित्र यसरी थप्पड हान्दा कारबाहीको भागिदार हुनुपर्थ्यो ।

  • हेटौंडामा महिला राष्ट्रिय गोल्डकप फुटबल हुने

    हेटौंडामा महिला राष्ट्रिय गोल्डकप फुटबल हुने

    हेटौंडा । मकवानपुरको हेटौंडामा पहिलो पटक मकवानपुर महिला राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

    मकवानपुर जिल्ला फुटबल संघले नियमित गर्दै आएको स्थानीय तह सहिद स्मृति गोल्डकप अन्तर्गत सातौ चरणमा आईपुग्दा महिला गोल्डकपको आयोजना गर्न लागेको हो । मंगलवार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरि संघले बैशाख १९ गतेबाट प्रतियोगिताको आयोजना गर्न लागेको जनाएको छ ।

    प्रतियोगिताको तयारी पूरा भएको जनाउदै एन्फा केन्द्रीय सदस्य एवम मकवानपुर फुटबल संघका अध्यक्ष टिकाराम लामाले महिला गोल्डकपले देशभर महिला फुटबललाई उत्साह थप्ने विश्वास व्यक्त गरे ।

    हेटौंडा–६ स्थिर गौरीटार रंगशालामा सञ्चालन हुने प्रतियोगितामा ३ विभागीय टोली र ५ वटा जिल्ला क्लबकल सहभागि रहने संघका मकवानपुर महासचिव छवि सुवेदीले बताए ।

    प्रतियोगितामा एपीएफ, नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी फुटबल क्लब, आयोजक मकवानपुर, चितवन, सर्लाही, रौतहट र बाराले प्रतिस्पर्धा गर्नेछन् ।

    प्रतियोगिताको विजेताले ५ लाख र दोस्रो टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ्न भने प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई स्कुटर दिइनेछ । प्रत्येक खेलको प्लेयर अफ द म्याचले १० हजार रुपैयाँ पाउनेछन् ।‌

    विधागत उत्कृष्ट खेलाडीले समान २५ हजार रुपैयाँ पाउने छ्न । प्रतियोगिता संचालनको लागि ६१ लाख रुपैयाँ खर्च हुने अनुमान आयोजकले गरेको छ ।

  • धादिङमा प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता हुने

    धादिङमा प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता हुने

    धादिङ । धादिङमा बागमती प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता हुने भएको छ ।

    जय नेपाल स्पोर्टस धादिङको आयोजना तथा नेपाल तेक्वान्दो संघ धादिङको तथा अन्तर्राष्ट्रिय धादिङ समाजको सह आयोजनामा धादिङबेसीमा बागमती प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता हुने भएको हो ।

    प्रदेश स्तरीय प्रतियोगिता बैशाख २५ देखि २७ गतेसम्म धादिङवेशीको कवर्ड हलमा संचालन हुनेछ ।

    प्रदेशभरिबाट १२०० खेलाडीहरुले यस प्रतियोगितामा प्रतिस्पर्धा गर्ने आयोजकको अनुमान छ ।

    प्रतियोगिताको विजयी टिमलाई १ लाख उपविजेतालाई ६५ हजार, तृतीयलाई ३५ हजार नगद पुरस्कार र विजेता खेलाडीहरुलाई स्वर्ण, रजत र कास्य पदक प्रदान गरिने उतकृष्ट महिला र पुरुष खेलाडीलाई नगद १०र१० हजार पुरस्कार दिइने जय नेपाल स्पोर्ट्सका अध्यक्ष अनिश अधिकारीले जानकारी दिए ।

    उक्त प्रतियोगिताको उत्कृष्ट महिला खेलाडीले  Heartland Academy Centre For Women बाफलमा कक्षा ११ र १२ फुल स्कलरसिपमा अध्ययनको अवसर प्राप्त गर्नेछ । खेलअवधीभर सबै खेलाडीलाई आयोजक कमिटीले बिहान र बेलुकी खानाको व्यवस्था गर्ने जनाइएको छ ।