Category: खेल प्रेस
-

प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता धनगढीमा सुरु
धनगढी । ‘तेस्रो सुदूरपश्चिम प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता २०८२’ धनगढीमा रूपमा सुरु भएको छ। तीन दिनसम्म चल्ने प्रतियोगिता चैतन्य पाठशालाको फुटसल मैदान, शिव नगरमा आयोजना भइरहेको छ।प्रतियोगिताको उद्घाटन ओलम्पियन तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप)का राष्ट्रिय टिम तयारी निर्देशक दीपक विष्ट र नेपालको राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रमुख प्रशिक्षक जगत टमटाको प्रमुख आतिथ्ययतामा गरिएको थियो।‘ चैतन्य तेक्वान्दो डोजाङ’को आयोजनामा प्रतियोगिता सेन्सर सिस्टममार्फत सञ्चालन भइरहेको छ। प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका सबै जिल्लाका करिब २०० भन्दा बढी खेलाडीहरूको सहभागिता रहेको छ।चैतन्य पाठशालाका निर्देशक कटक बहादुर सिंहले विगतमा नगर तथा जिल्ला स्तरमा सफल प्रतियोगिता आयोजना गरेको अनुभवका आधारमा यस वर्ष प्रदेशस्तरीय प्रतियोगिता ल्याइएको जानकारी दिए।‘ चैतन्य पाठशालाले समाजका विभिन्न क्षेत्रहरूलाई उजागर गर्दै आएकोमा यसपछिको कार्यक्रम अझ वृहत् रूपमा आयोजना गरिने छ’ उनले भने ।कार्यक्रममा प्रमुख अतिथि विष्टले वर्तमान समय तेक्वान्दो खेलमा पर्याप्त अवसर रहेको उल्लेख गर्दै यस्ता प्रतियोगिताले खेलाडीहरूलाई थप हौसला प्रदान गर्ने बताए । ‘ हाम्रो देशमा विभिन्न स्तरका खेलाडीहरू रहेका छन्। र उनीहरूले अवसर नपाउँदा मात्रै समस्या भइरहेको छ । यसरी विद्यालय स्तरमा कार्यक्रमहरू आयोजना गर्न सकेमा खेलाडीहरूमा रहेको क्षमता प्रदर्शन हुने छ‘ उनले भने ।चैतन्य पाठशालाका अध्यक्ष गणेशप्रसाद जोशीले चैतन्यलाई शिक्षा र संस्कारको सङ्गम र वेद तथा विज्ञानको संयोजनका रूपमा परिभाषित गर्दै समाजको समग्र विकासमा चैतन्यले उल्लेखनीय योगदान दिँदै आएको बताए। उनले चैतन्यका हरेक गतिविधि समाजसँग जोडिँदै आएको र विद्यालयले सक्षम र सचेत नागरिक उत्पादन गर्दै आएको उल्लेख गरे ।कार्यक्रममा तेक्वान्दो क्षेत्रमा विशिष्ट योगदान पुर्याएका वरिष्ठ तेक्वान्दो प्रशिक्षक गोविन्द विष्ट, शेरबहादुर सिंह र मोहन प्रताप गुरुङलाई जनही १०००० सहित दीपक विष्ट र जगत टमटाले खादा माला, सम्मान पत्र र नगदसहित सम्मान गरेका थिए ।प्रतियोगितामा विजयी हुने टिमले ५०,०००, दोस्रोले ३०,००० र तेस्रोले रु २०,००० प्राप्त गर्नेछ। साथै, ‘वेस्ट फाइटर’ पुरुष तथा महिला खेलाडीलाई जनही ५,००० पुरस्कार प्रदान गरिनेछ।चैतन्य पाठशालाले आफ्नै चैतन्य स्पोर्टस एकेडेमीको माध्यमबाट विद्यार्थीहरूलाई वृहत् खेलकुदको अवसर प्रदान गर्ने लक्ष्य लिएको छ ।कार्यक्रमको अवसरमा राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रमुख प्रशिक्षक जगत टमाटाले चैतन्य पाठशालाको चैतन्य स्पोर्टस एकेडेमीलाई खेल सामग्री समेत हस्तान्तरण गरेका थिए । -

त्रिवि क्रिकेट रंगशालाको स्तरोन्नतिको लागि ४० करोड बजेट विनियोजन
काठमाडौं । सरकारले त्रिवि क्रिकेट रंगशालाको स्तरोन्नतिको लागि ४० करोड बजेट विनियोजन गरेको छ।
बिहीबार संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै उनले त्रिवि रंगशाला स्तरोन्नतिकाे लागि ४० करोड बजेट छुट्याएकाे बताएका छन् ।
स्तरोन्नति भइरहेको किर्तिपुरस्थित क्रिकेट रंगशालाका लागि संघीय सरकारले ४० करोड बजेट विनियोजन गरेको हो।
चितवनमा बन्दै गरेको गौतम बुद्ध क्रिकेट रंगशालाका सिर्जित सम्पत्ति खरिद गर्न सशर्त अनुदानको व्यवस्था गरिएको उनले बताए।
-

युरोपको तीनै उपाधि जित्ने पहिलो क्लब बन्यो चेल्सी
युरोप । रियल बेटिसलाई पराजित गर्दै इङ्लिस क्लब चेल्सीले युएफए कनफरेन्स लिगको उपाधि जितेको छ ।
ब्रोकलामा भएको फाइनल खेलमा उपाधि विजेता चेल्सीले बोटिस माथि ४-१ को जित निकाल्यो ।
खेलको सुरुवातमै १-० ले पछि परेको अवस्थालाई उल्ट्याउँदै चेल्सीले ४-१ को पुनरागमन जित निकालेको हो ।
खेलको ६५ औँ मिनेटसम्म पछि परेको अवस्थामा एनजो फर्नान्डेसले गोल गरेपछि चेल्सीले आफूलाई खेलमा फर्काउन सक्यो ।
त्यसपछि निकोलस ज्याक्सन, जाडोन सान्चो र मोइसेस काइसेडोले गोल गर्दै चेल्सीलाई उपाधि जिताए ।
यो सङ्गै चेल्सी युरोपका तीन प्रमुख ट्रफी जित्ने पहिलो टोली बनेको छ । उसले यस अघि युरोपको प्रतिष्ठित च्याम्पियन्स लिग र युरोपा लिगको उपाधि जितिसकेको थियो । यो सिजन कन्फरेन्स लिग जितेर उसले एउटा दुर्लभ रेकर्ड कायम गरेको हो ।
जितपछि चेल्सीका प्रशिक्षक एन्जो मरेस्काले चेल्सी यो जितको साँच्चै हकदार रहेको बताए ।
उनले भने, ‘म धेरै कारणले धेरै गर्व गर्छु र धेरै खुसी छु। व्यक्तिगत रूपमा मलाई राम्रो लाग्छ तर फ्यानहरू पनि जुन यसको हकदार छन्, उनीहरूले केही वर्षदेखि यसको लागि पर्खिरहेका थिए, त्यसैले तिनीहरू यसको हकदार छन्।
-

प्रदेशस्तरीय यु-१६ क्रिकेटः दाङ र रुपन्देही फाइनलमा
रुपन्देही । रुपन्देहीमा जारी लीला सेन्चुरी मेमोरियल यु-१६ लुम्बिनी प्रदेशस्तरीय क्रिकेट प्रतियोगितामा दाङले बाँकेलाई ६ विकेटले पराजित गरेको छ ।
जितसँगै समूह ‘बी’को विजेता बन्दै दाङ फाइनल पुगेको छ । यसअघि रुपन्देही समूह ‘ए’ को विजेता बन्दै फाइनल पुगिसकेको छ । यी दुई टीमबीच १६ गते उपाधिका लागि स्पर्धा हुनेछ ।
बुधबार भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा टस जितेर ब्याटिङ गरेको बाँकेले निर्धारित ३५ ओभरमा सबै विकेट गुमाएर १ सय ४५ रन बनायो ।
उसका लागि भुवन शाहीले २९ र फर्दिन अली भाटले २२ रन बनाए । बलिङमा दाङका शुभम खनालले ३, करण जीएमले २ तथा दक्ष ठाकुर र सन्दीप थापाले समान १–१ विकेट लिए ।
जवाफी ब्याटिङ गरेको दाङले २२ ओभर ५ बलमा ४ विकेट गुमाएर १ सय ४७ रन बनाउँदै जित निकाल्यो । उसको जितमा शुभम खनालले अविजित ३३, मनोज केसीले नटआउट २७, अमिस सेन्चुरीले २७, योगेश्वर कुंवरले १६ र करण जीएमले १० रन बनाए ।
बलिङमा बाँकेका दिव्यान्स बर्माले ३ तथा निखिल धनकुट्टाले १ विकेट लिए । खेलमा दाङका शुभम खनाल प्लेयर अफ द म्याच भएको लुम्बिनी प्रदेश क्रिकेट संघका सदस्य एवं खेल संयोजक प्रथम पराजुलीले जानकारी दिए ।
लुम्बिनी प्रदेश क्रिकेट संघको आयोजना र रुपन्देही क्रिकेट संघको समन्वयमा राष्ट्रिय यु–१६ क्रिकेटका लागि लुम्बिनी प्रदेशस्तरीय टिम छनोट गर्न प्रतियोगिता आयोजना गरिएको हो ।
-

चेल्सी-रियल बेटिसबीच युएएफए कन्फरेन्स लिग फाइनलको निर्णायक भिडन्त
काठमाडाैं । युरोपेली फुटबलमा रोमाञ्चक पल आउने तयारीमा छ । बुधबार, २०७८ साल जेठ १४ गते राति १२:४५ बजे नेपाल समय मा चेल्सी र रियल बेटिसबीच युएएफए कन्फरेन्स लिगको फाइनल खेल हुने छ । यो खेल पोल्यान्डको व्रोक्लावस्थित टारचिन्स्की एरिनामा हुनेछ ।
चेल्सीका प्रशिक्षक एन्जो मारेस्काले यो फाइनललाई इतिहास रच्ने सुनौलो अवसर भनेका छन् ।
उनले भने, ‘यो प्रतियोगिता हाम्रो लागि विश्वकै सबैभन्दा महत्वपूर्ण छ। यदि हामी जित्यौं भने चेल्सी युरोपका चार प्रमुख क्लब प्रतियोगिताहरू जित्ने पहिलो क्लब बन्नेछ ।’
चेल्सीले प्रिमियर लिगमा चौथो स्थान हासिल गर्दै पुनः च्याम्पियन्स लिग प्रवेश पक्का गरिसकेको छ । यद्यपि, मारेस्काले यस फाइनलमा जितलाई आफ्नो टोलीको जीत्ने मानसिकता निर्माण गर्ने मौका भनेका छन् ।
उनले थपे, ‘हाम्रो टोली यद्यपि प्रिमियर लिगकै सबैभन्दा कम उमेरको छ, तर हामी परिपक्व छौं र शीर्ष स्थानमा प्रतिस्पर्धा गर्न तयार छौं ।’
रियल बेटिसले पनि यस सिजन उत्कृष्ट प्रदर्शन गर्दै फाइनलमा स्थान बनाएको छ। दुबै टोलीका समर्थकहरू उत्साहित छन् र यो फाइनलले दर्शकलाई विश्वस्तरीय फुटबलको मजा दिने अपेक्षा गरिएको छ ।
चेल्सीले फाइनलका लागि कम समय पाएको भए पनि प्रशिक्षक मारेस्काले टिमको फोकस कहिल्यै नघटेको बताएका छन् ।
उनले भने, ‘हामीले महत्वपूर्ण उपलब्धि हासिल गरेका छौं, तर यो उपाधि जित्न अझै बढी मेहनत र चाहना देखाउनु जरुरी छ ।’
यो युएएफए कन्फरेन्स लिग फाइनलले चेल्सी र रियल बेटिस दुवैलाई युरोपेली फुटबलको उत्कृष्टतामा आफ्नो नाम लेखाउने अवसर प्रदान गर्ने छ ।
-

प्रदेशस्तरीय यु–१६ क्रिकेटः रूपन्देही ७ र बाँके ३ विकेटले विजयी
रुपन्देही । रुपन्देहीमा जारी लीला सेन्चुरी मेमोरियल यु–१६ लुम्बिनी प्रदेशस्तरीय क्रिकेट प्रतियोगितामा रुपन्देही र बाँके विजयी भएका छन् । रुपन्देहीले कपिलवस्तुलाई ७ विकेट र बाँकेले बर्दियालाई ३ विकेटले पराजित गरेका हुन् ।
भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा जितका लागि पाएको खेलमा १ सय १२ रनको लक्ष्य रुपन्देहीले १० ओभर ५ बलमा ३ विकेट गुमाउँदै १ सय १३ रन बनाई पूरा गर्यो र जित निकाल्यो ।
रुपन्देहीका लागि कप्तान समीर अली मुसलमानले अविजित ७० रन बनाए । ३७ बलको सामना गरेका उनले १२ चौका र २ छक्का प्रहार गरे । यस्तै, आरिफ खानले २१ र सिद्धार्थ ढकालले ११ रन जोडे । बलिङमा कपिलवस्तुका सुरज यादवले २ र कमरन अहमदले १ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको कपिलवस्तुले निर्धारित ३५ ओभरमा २८ ओभर २ बल खेल्दै सबै विकेट गुमाएर १ सय ११ रन बनाएको थियो । उसका लागि सुरज यादवले ४६ र रौनक श्रीवास्तवले २३ रन बनाए । बलिङमा रुपन्देहीका प्रिन्स पालले ३, सोइब हसन मुसलमान र सुरज रानाभाटले २–२ तथा तुषार चौहानले १ विकेट लिए । खेलमा रुपन्देहीका समीर अली मुसलमान प्लेयर अफ द म्याच भए ।
यस्तै, तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा भएको खेलमा टस जितेर ब्याटिङ गरेको बर्दियाले २५ ओभर २ बलमा सबै विकेट गुमाउँदै जम्मा ९६ रन बनायो । उसका लागि केशव विष्टले १७ तथा हेमन्त आचार्य र निराजन थापाले समान १४ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन छुन सकेनन् । बलिङमा बाँकेका निखिल धनकुट्टा र आषिश नाउले ३–३, भुवन शाहीले २ तथा निराजन चन्दले १ विकेट लिए ।
जवाफी ब्याटिङ गरेको बाँकेले १९ ओभर ४ बलमा ७ विकेट गुमाएर ९७ रन बनाउँदै जित निकाल्यो । उसको जितमा दियान्स बर्माले ४७ र निराजन चन्दले अविजित १२ रन जोडे । बलिङमा बर्दियाका सक्षम बुढाथोकीले ३ तथा हेमन्त आचार्य, संयक जंग थापा र आयुष न्यौपानेले समान १–१ विकेट लिए ।
खेलमा बाँकेका निखिल धनकुट्टा प्लेयर अफ द म्याच भएको लुम्बिनी प्रदेश क्रिकेट संघका सदस्य एवं खेल संयोजक प्रथम पराजुलीले जानकारी दिए । लुम्बिनी प्रदेश क्रिकेट संघको आयोजना र रुपन्देही क्रिकेट संघको समन्वयमा राष्ट्रिय यु–१६ क्रिकेटका लागि लुम्बिनी प्रदेशस्तरीय टिम छनोट गर्न प्रतियोगिता आयोजना गरिएको हो ।
प्रतियोगितालाई भैरहवाका व्यवसायी रामकिसन विकले आफ्नी स्वर्गीय श्रीमती लीला सेन्चुरीको नाममा मुख्य प्रायोजन गरेका छन् । प्रतियोगितामा रुपन्देही, पश्चिम नवलपरासी, पाल्पा, कपिलवस्तु, दाङ, बाँके र बर्दियाका टिम सहभागी छन् । जेठ १६ गतेसम्म चल्ने प्रतियोगिता सिद्धार्थ क्रिकेट मैदान र तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानामा संचालन भइरहेको छ ।
-

राेयल च्यालेन्जर्सको प्लेअफ यात्रा टुंग्याउने निर्णायक खेल आज लखनऊविरुद्ध
लखनऊ । इंडियन प्रिमियर लिग (आईपीएल ) को अन्तिम लिग खेलमा लखनऊ सुपर जायन्ट्सलाई हराउन सकेमा राेयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) ले बिहीबारको क्वालिफायर १ खेल्न पाउनेछ । तर यदि पराजित भए, उनीहरूले शुक्रबार एलिमिनेटर खेल्नु पर्नेछ ।
जे भए पनि, आरसीबीका लागि प्लेअफ चरण सजिलो हुने छैन, किनभने उनीहरूलाई अरू तीन टीमहरू- पञ्जाब किंग्स, मुम्बई इन्डियन्स र गुजरात टाइटन्स- भन्दा विश्रामको समय कम हुनेछ । ती तीन टिमहरूले निर्णायक खेल अघि केही दिनको विश्राम पाउनेछन् ।
यद्यपि, आरसीबीका बलिङ प्रशिक्षक मलोलन रंगराजन यस बारेमा धेरै चिन्तित देखिएनन् । ‘हामीले २७ तारिखमा लखनऊमा अन्तिम लिग खेल खेल्नेछौं र त्यसपछि २९ तारिखमा सम्भावित क्वालिफायर १ छ। हामी ढिलो सुत्नेछौं, २८ मा चाँडै यात्रा गर्नुपर्नेछ र २९ मा खेल खेल्नेछौं। यो अवस्थालाई स्विकार गरेर त्यसअनुसार तयारी गर्नु नै उत्तम हो’, रंगराजनले भने ।
आईपीएल पुनः सुरु भएयता मुम्बई इन्डियन्सबाहेक अरू सबै क्वालिफाइड टिमहरूले लय गुमाएका छन् । आरसीबीले अन्तिम जित ३ मे मा हासिल गरेको थियो र शुक्रबार सनराइजर्स हैदराबादसँग हार बेहोरेपछि अब उनीहरू चण्डीगढ़ जाने बेलामा जितको साथ जान चाहन्छन् ।
आरसीबीले यस सिजनमा सबै ६ बाहिरी खेल जितेको छ (बेंगलुरुबाट लखनऊ सारिएको खेलबाहेक) र यदि उनीहरूले एलएसजीलाई हराए, भने उनीहरूले आईपीएल इतिहासमा पहिलोपटक सातै बाहिरी खेल जित्ने कीर्तिमान राख्नेछन् ।
‘हामी बाहिरी कन्डिसनमा राम्रो खेल्न सफल भएका छौं, र म हाम्रो टिमलाई फेरि यस्तै प्रदर्शन गर्नेमा विश्वास गर्छु’, प्रशिक्षक रंगराजनले थपे ।
लखनऊका विराट कोहली प्रशंसकहरूका लागि यो उनलाई प्रत्यक्षमा हेर्ने अन्तिम अवसर हुनसक्छ । हालै टेस्ट क्रिकेटबाट सन्यास लिएका कोहलीले ठूलो पारी खेलुन् भन्ने अपेक्षा गरिएको छ ।
अर्कोतर्फ, प्लेअफ दौडबाट बाहिर भइसकेको एलएसजी आफ्नो सिजन सुखद अन्त्य गर्न चाहन्छ, जसरी चेन्नई सुपर किंग्सले आइतबार गुजरात टाइटन्सलाई हराएर गरेको थियो ।
भारतको नयाँ टेस्ट उपकप्तान ऋषभ पन्त पनि इंग्ल्यान्ड जानुअघि केही रन जोड्ने प्रयासमा हुनेछन् । उनको यो सिजन कप्तान र ब्याट्सम्यानको रूपमा निकै निराशाजनक रहेको छ ।
-

रोनाल्डो अल-नस्र छोडेर क्लब विश्वकप खेल्न लागेका हुन् ?
काठमाडौं । फिफा अध्यक्ष जियानी इन्फान्टिनोले फरवार्ड क्रिस्टियानो रोनाल्डोले क्लब विश्वकपमा खेल्ने विषयमा छलफल भइरहेको बताएका छन् । त्यसपछि रोनाल्डोले आफ्नो भविष्यलाई लिएर एउटा रहस्यमय सन्देश पनि इन्स्टाग्राममा पोस्ट गरेका छन् ।
४० वर्षका रोनाल्डो हाल साउदी प्रो लिग क्लब अल–नस्रका लागि खेलिरहेका छन् । यस वर्ष संयुक्त राज्य अमेरिकामा हुने ३२ टिमको विस्तारित फिफा क्लब विश्वकपको लागि अल–नस्र छनोट हुन सकेन ।
यो ग्रीष्ममा रोनाल्डोको अल–नस्रसँगको सम्झौता सकिँदैछ । क्लब विश्वकपमा खेल्नका लागि उनी नयाँ कुनै क्लबसँग सम्झौता गर्न चाहन्छन्, जसका लागि पुरानो सम्झौताबाट छुटकारा पाउन आवश्यक छ । उक्त प्रतियोगिता आगामी जुन १४ मा सुरु हुनेछ ।
रोनाल्डोले आफ्ना ६५४ मिलियन इन्स्टाग्राम फलोअर्सलाई आफ्नो नवीनतम पोस्टमा लेखेका छन्ः
‘यो अध्याय सकियो । कथा अझै लेखिँदैछ । सबैलाई धेरै धन्यवाद ।’पोस्टसँगै उनले अल–नस्र (ब्–िल्बककच) को जर्सीमा प्रि–म्याच लाइनअपमा देखिएका आफ्नो तस्वीर पनि राखेका छन्, जसले केहीलाई उनको विदाई घोषणा भएको आशय दिएको छ ।
त्यस्तै, लियोनेल मेसी यस पटक एमएलएस क्लब इन्टर मियामीको लागि क्लब विश्वकप खेल्न तयारीमा छन् ।
गत हप्ता, फिफा अध्यक्ष इन्फान्टिनोले भने, ‘रोनाल्डो र मेसी दुबै क्लब विश्वकपमा खेल्ने सम्भावना छ । केही क्लबहरूसँग रोनाल्डोको खेलाडी भर्नाको विषयमा छलफल जारी छ । यदि कुनै क्लबले उनलाई भर्ना गर्न चाहन्छ भने के हुन्छ, त्यो त हेर्न बाँकी छ ।’
फिफाले यस वर्षको क्लब विश्वकपका लागि अतिरिक्त स्थानान्तरण अवधि जुन १ देखि जुन १० सम्म खुला राखेको छ, जसबाट नयाँ खेलाडी भर्ना गर्न सकिन्छ ।
-

प्रदेशस्तरीय यू-१६ क्रिकेटः दाङ र नवलपरासी विजयी
रुपन्देही । दाङ र पश्चिम नवलपरासीले रुपन्देहीमा जारी लीला सेन्चुरी मेमोरियल यू-१६ लुम्बिनी प्रदेशस्तरीय क्रिकेट प्रतियोगितामा जित निकालेका छन् । भैरहवास्थित सिद्धार्थ रंगशालामा भएको खेलमा दाङले बर्दियालाई र तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा भएको खेलमा नवलपरासीले पाल्पालाई ६९ रनले पराजित गरेको हो ।
सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा टस जितेर ब्याटिङ रोजेको दाङले निर्धारित ३५ ओभरमध्ये ३३ ओभर २ बल खेल्दै अलआउट भई १७० रन बनायो । उसका लागि योगेश्वर कुँवरले ४२, सन्दीप थापाले २४, शुभम खनालले १९, चन्द्र थापाले १७ र दक्ष ठाकुरले १६ रन बटुले ।
बलिङमा बर्दियाका आकाश थापाले ३, हेमन्त आचार्य र सक्षम बुढाथोकीले २-२ तथा निराजन थापा र श्रीजन भुजेलले १-१ विकेट लिए ।
प्रत्युत्तरमा बर्दिया ३० ओभर ४ बलमा अलआउट हुँदै १४० रनमै रोकियो । उसका लागि केशव विष्टले ४० र हेमन्त आचार्यले ३० रन बनाए ।
बलिङमा दाङका दक्ष ठाकुरले ३, सन्दीप थापा र शुभम खनालले २-२ तथा करण घर्तीमगर र रिजन बुढाथोकीले १-१ विकेट लिए । खेलमा दाङका दक्ष ठाकुर प्लेयर अफ द म्याच भए ।
एक्स्ट्राटेक ओभलमा भएको अर्को खेलमा टस जितेर ब्याटिङमा आएको नवलपरासीले निर्धारित ३५ ओभरमा २८ ओभर ५ बल खेल्दै सबै विकेट गुमाएर १३२ रन बनायो । उसका लागि आरोनजंग गिरीले २८, तिलक सापकोटाले २२, मनिष तिवारीले १४ र अजय चाईले ११ रन बनाए ।
बलिङमा पाल्पाका अमृत अर्यालले ४, दिवस अर्यालले ३, उपसन विक्रम जीसीले २ तथा कोसिस न्यौपानेले १ विकेट लिए ।
जवाफी ब्याटिङ गरेको पाल्पाले २१ ओभर २ बलमा सबै विकेट गुमाएर ६३ रनमात्रै बनायो । उसलाई सस्तैमा रोक्न नवलपरासीका आर्यन अली, तिलक सापकोटा र प्रेमसागर यादवले ३-३ तथा अजर्य चाईले १ विकेट लिए ।
पाल्पाका अमृत अर्यालले १३ र उज्ज्वल पाठकले १० रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन छुन सकेनन् । खेलमा नवलपरासीका तिलक सापकोटा प्लेयर अफ द म्याच घोषित भएको प्रदेश क्रिकेट संघका सदस्य एवं खेल संयोजक प्रथम पराजुलीले जानकारी दिए ।
लुम्बिनी प्रदेश क्रिकेट संघको आयोजना र रुपन्देही क्रिकेट संघको समन्वयमा राष्ट्रिय यू-१६ क्रिकेटका लागि लुम्बिनी प्रदेशस्तरीय टीम छनोट गर्न प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितालाई भैरहवाका व्यवसायी रामकिसन विकले आफ्नी स्वर्गीय श्रीमती लीला सेन्चुरीको नाममा मुख्य प्रायोजन गरेका छन् ।
प्रतियोगितामा रुपन्देही, पश्चिम नवलपरासी, पाल्पा, कपिलवस्तु, दाङ, बाँके र बर्दियाका टीम सहभागी छन् । प्रतियोगिता जेठ १६ गतेसम्म चल्नेछ ।
-

लेभरकुसेनको प्रशिक्षकमा एरिकले गरे सम्झौता
काठमाडौं । गत सिजन वायर लेभरकुसेनलाई पहिलो पटक बुन्डेस लिगाको उपाधि जिताएका प्रशिक्षण जाभी ओलोन्सोले क्लबबाट बिदा लिएपछि लेभरकुसेनले एरिक टेन ह्यागलाई नयाँ प्रशिक्षकमा नियुक्ति गरेको छ ।
५५ वर्षीय डच प्रशिक्षकले सन् २०२७ जुन ३० सम्मको लागि सम्झौतामा हस्ताक्षर गरेका छन् । अन्तिम पटक प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडमा मुख्य प्रशिक्षकको रूपमा काम गरेका टेन ह्यागले सन् २०२३ मा काराबाओ कप र २०२४ मा एफए कप जितेका थिए । २०२५/२६ सिजनको तयारीको लागि जुलाई १ मा बायरमा उनले प्रशिक्षण सुरु गर्नेछन्।
‘एरिक टेन ह्यागको साथ हामीले पिचमा प्रभावशाली सफलता हासिल गर्ने अनुभवी प्रशिक्षकलाई भित्र्याएका छौं। अजाक्समा उनको ६ वटा उपाधि जित असाधारण थियो’, बायरका खेलकुद प्रबन्ध निर्देशक साइमन रोल्फ्सले भने, ‘तीन लिग उपाधि र दुई घरेलु कप जितका साथ उनले र अजाक्सले २०१८ देखि २०२२ सम्म डच फुटबलमा प्रभुत्व जमाए । एरिकले कहिलेकाहीँ कठिन परिस्थितिहरूमा म्यानचेस्टर युनाइटेडमा सफलतासँगै प्रशिक्षकको रूपमा आफ्नो गुणस्तर प्रदर्शन गरे ।’
रोल्फ्सले थपे, ‘फुटबलको हाम्रो विचार मिल्छ । प्राविधिक रूपमा माग गर्ने र प्रभावशाली फुटबलसँग, हामी वेर्कसेल्फ शैलीमा अगाडि बढ्न चाहन्छौं र बुन्डेसलिगा, डीएफबी पोकल र च्याम्पियन्स लिगमा उच्चतम लक्ष्यहरू प्राप्त गर्न लक्ष्य राख्छौं।’
टेन ह्याग आफ्नो नयाँ भूमिका, लेभरकुसेन र बुन्डेसलिगाको लागि पनि उत्सुक छन् ।
‘बायर जर्मनीको उत्कृष्ट क्लबहरूमध्ये एक हो र युरोपका शीर्ष क्लबहरूमध्येमा पर्छ । क्लबले उत्कृष्ट अवस्थाहरू प्रदान गर्दछ, म व्यवस्थापनको छलफलबाट धेरै प्रभावित भएको छु’, डचम्यानले भने, ‘म हालैका वर्षहरूमा देखाइएको महत्वाकांक्षालाई निरन्तरता दिन लेभरकुसेन आएको हुँ । परिवर्तनको यस अवधिमा सँगै केही सेटअप गर्नु र महत्वाकांक्षी टोली विकास गर्नु एक आकर्षक चुनौती हो ।’
-

पंजाब किङ्स र मुम्बई इन्डियन्स भिड्दै
काठमाडाैं । आईपीएल २०२५ को टप २ मा स्थान पक्का गर्न सोमबार साँझ ७:३० बजे सवाई मानसिंह स्टेडियम, जयपुरमा पंजाब किङ्स र मुम्बई इन्डियन्स भिड्ने छन् ।
दुवै टोलीले प्लेअफको टिकट कटाइसकेका छन् तर अन्तिम स्थान निर्धारणका लागि यो म्याच निर्णायक हुनेछ । पञ्जाब अहिले १७ अंकसहित दोस्रो स्थानमा छ, तर मुम्बईसँग हारले उनीहरूको स्थान तेस्रो वा चौथोमा झर्न सक्छ जसले क्वालिफायर १ को सट्टा एलिमिनेटरमा पर्नुपर्ने जोखिम बढ्छ।
पंजाबको टिममा श्रेयस अय्यरको नेतृत्वमा प्रियांश आर्य र प्रभसिमरन सिंहले आक्रामक प्रदर्शन गरिरहेका छन् भने बलिङमा अर्शदीप सिंह, युजवेन्द्र चहल र मार्को जेन्सनले राम्रो प्रदर्शन गरेका छन्।
मुम्बईले खराब सुरुवात पछि शानदार रूपमा फर्केर रोहित शर्मा र रयान रिकेल्टनको ओपनिङ जोडी र सुर्यकुमार यादवको लगातार बलियो प्रदर्शन देखाएको छ। बलिङमा जसप्रीत बुमराह, ट्रेन्ट बोल्ट र दीपक चाहरको आक्रमण प्रभावकारी छ।
हालसम्म आईपीएलमा दुई टोलीले ३२ म्याच खेलेका छन्, जसमा मुम्बईले १७ र पंजाबले १४ जित हात पारेका छन्। पछिल्लो भेटमा मुम्बईले ९ रनले जीत हासिल गरेको थियो।
यो म्याच अत्यन्त प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ र टप २ को लागि दुवै टोलीले आफ्नो सबै क्षमता देखाउनेछन्।
अनुभव र गतिका आधारमा मुम्बई इन्डियन्सले अलिकति बढी बलियो देखिन्छ, तर पंजाबले पनि टप फार्ममा रहँदै जीत निकाल्ने प्रयास गर्नेछ।
-

लिभरपुल बन्याे प्रिमियर लिग विजेता
काठमाडौं । इंग्ल्यान्ड प्रिमियर लिग २०२४–२५ सिजनको उपाधि लिभरपुल फुटबल क्लबले चार खेल बाँकी रहँदा नै सुरक्षित गर्दै आफ्नो प्रतिष्ठित इतिहासमा २० औं शीर्ष स्तरको उपाधि थपेको छ। लिभरपुलले यस सिजन उत्कृष्ट प्रदर्शन गर्दै ८४ अंक जोडेको छ, जुन दोस्रो स्थानको आर्सनललाई १० अंकले पछि पार्ने रिकर्ड हो।
अन्तिम खेलमा एनफिल्डमा क्रिस्टल प्यालेससँग १–१ को बराबरी खेले पनि मोहम्मद सलाहले बराबरी गोल गर्दै आफ्नो सिजनको २९ औं गोल पुरा गरे। यस गोलले उनलाई सिजनको सर्वाधिक गोलकर्ता (गोल्डन बुट) बन्न मद्दत गर्यो। साथै, सलाहले १८ गोलमा असिस्ट पनि गरेका थिए जुन उनको प्रभावशाली खेल कौशललाई देखाउँछ।
यो उपाधि लिभरपुलका प्रशिक्षक अर्ने स्लटको कुशल नेतृत्व र टोलीका सबै खेलाडीहरूको मेहनतको परिणाम हो। यसै सिजन लिभरपुलका डिफेन्डर ट्रेन्ट अलेक्ज्यान्डर-आर्नोल्डले क्लबबाट बिदा लिएर आगामी सिजन रियल म्याड्रिडमा जाने तयारी गरेका छन्।
प्रिमियर लिग जित्दै लिभरपुलले आफ्नो गौरवशाली इतिहासमा थप उज्यालो पारेको छ र विश्व फुटबल प्रेमीहरूमा उत्साह थपिएको छ।
-

किलियन एम्बाप्पेले रियल म्याड्रिडमा पहिलो सिजनमै युरोपियन गोल्डन बुट जिते
काठमाडौं । किलियन एम्बाप्पेले २०२४/२५ को सिजनमा ला लिगामा ३१ गोल गरेर युरोपको शीर्ष लिग गोलकर्ता बनेर युरोपियन गोल्डन बुट जितेका छन्।
युएफएको गुणांक प्रणालीअनुसार स्पेनिश लिगका प्रत्येक गोल २ अंकको हुन्छ। एम्बाप्पेले ३१ गोल गरेर ६२ अंक हासिल गरे। उनी स्पोर्टिङ सीपीका भिक्टर ग्योकेरेस (३९ गोल, ५८.५ अंक) लाई पछि पार्दै शीर्ष स्थानमा पुगे। लिभरपुलका मोहम्मद सलाहले प्रिमियर लिगको अन्तिम म्याचमा ह्याट्रिक गर्नुपर्ने थियो तर उनले १ गोल मात्र गरे र ५६ अंकमै सीमित भए।
एम्बाप्पेको यो उपलब्धिले उनको स्पेनमा पहिलो सिजनलाई ऐतिहासिक बनायो। उनले ५५ म्याचमा ४२ गोल गरेका छन्। ला लिगामा मात्र ३४ खेलमा ३१ गोल गरेर उनले ‘पिचिची ट्रफी’ (ला लिगाको शीर्ष गोलकर्ता) जिते। रियल म्याड्रिडमा डेब्यु सिजनमै यो उपलब्धि हासिल गर्ने उनी २००७ मा रुड भ्यान निस्टेल्रोय पछि पहिलो खेलाडी बने। साथै, उनले विश्वभरिको क्लब स्तरमा एक सिजनमा सबैभन्दा धेरै गोल गर्ने खेलाडीलाई दिइने ‘गेर्ड मुलर ट्रफी’ पनि जिते।
एम्बाप्पेले यसैगरी धेरै रेकर्ड तोडे। उनले अल्फ्रेडो डि स्टेफानोको ७१ वर्ष पुरानो (डेब्यु सिजनमा धेरै गोल गर्ने) रेकर्ड र इभान जामोरानोको ३३ वर्ष पुरानो (क्लबका लागि डेब्यु सिजनमा कुल गोल) रेकर्ड तोडे। उनी ला लिगा इतिहासमा डेब्यु सिजनमै ३०+ गोल गर्ने प्रुडेन, रोमानो र रोनाल्डो नाजारियोपछि चौथो खेलाडी बने।
२०२४ को सुरुमा फ्री ट्रान्सफरमा आएका एम्बाप्पेले फुटबल इतिहासको सबैभन्दा प्रत्याशित ट्रान्सफर भएको दाबीलाई सार्थक बनाए। अब उनको सिजन अझै सकिएको छैन। अर्को महिना फिफा क्लब विश्वकप खेल्ने रियल म्याड्रिडले उनलाई अझ धेरै गोल गर्ने अवसर दिनेछ।
-

सूर्यविनायक नगरपालिकाले जित्यो बागमती प्रदेशस्तरीय मेयर कप कराँतेको उपाधि
भक्तपुर । जिल्लास्थित सूर्यविनायक नगरपालिकाले बागमती प्रदेशस्तरीय मेयर कप कराँते प्रतियोगिताको उपाधि जितेको छ । बागमतीका १३ जिल्लाका १५ स्थानीय तहका खेलाडीहरूको सहभागिता रहेको प्रतियोगितामा समग्रमा ५ स्वर्ण र १ रजत पदक जित्दै सूर्यविनायक नगरपालिकाले उपाधि जितेको हो ।
काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले ३ स्वर्ण, १ रजत र ३ काँस्य पदक जित्दै दोस्रो स्थान हासिल गर्दा काठमाडौं महानगरपालिका २ स्वर्ण, १ रजत र ५ काँस्य पदकसहित तेस्रो भयो ।
प्रतियोगिता संयोजक एवं भक्तपुर जिल्ला सितेरियो कराँते संघका वरिष्ठ उपाध्यक्ष रामशरण त्वातीका अनुसार स्पर्धामा पुरुषतर्फ ललितपुरको गोदावरी नगरपालिकाका राज ब्लोन र महिलातर्फ सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाकी आशिका तामाङ उत्कृष्ट खेलाडी घोषित भए ।

दोस्रो पुरस्कार ग्रहण गर्दै गोकर्णेश्वर नगरपालिकाकाे टीम । सूर्यविनायक नगर सितोरियो कराँते सङ्घको आयोजनामा दुई दिनसम्म भएको प्रतियोगिताका विजयी खेलाडी तथा टीमलाई सूर्यविनायक नगरपालिकाका मेयर वासुदेव थापाले कप, मेडल तथा प्रमाणपत्रसहित पुरस्कार वितरण गरेका थिए ।
प्रतियोगितामा १२० पुरुष र ९० महिला खेलाडी गरी २१० जना खेलाडी सहभागी भएको कार्यक्रम संयोजक त्वातीले जानकारी दिए । प्रतियोगिता पुरुषतर्फ ३५ देखि ६७ प्लस केजी र महिलातर्फ ३५ देखि ६१ केजी तौल समूहका छुट्टाछुट्टै स्पर्धा गराइएको थियो । महिला–पुरुषतर्फ व्यक्तिगत तथा टीम कातामा पनि स्पर्धा गराइएको थियो ।
-

मोड्रिच र अन्चेलोट्टीको ऐतिहासिक बिदाइ, स्यान्टियागो बर्नाबेउमा भावुक क्षण
मेड्रिड । स्पेनको राजधानीस्थित स्यान्टियागो बर्नाबेउ रंगशालामा शनिबार एक युगको अन्त्य भएको छ।रियल म्याड्रिड क्लबका दुई महान हस्ती—क्रोएसियन मिड फिल्डर लुका मोड्रिच र इटालियन प्रशिक्षक कार्लो अन्चेलोट्टीले आफ्नो अन्तिम घरेलु खेल खेलेका छन्।
लालिगाको ३८औं तथा अन्तिम चरणमा रियल म्याड्रिडले रियल सोसिडाडको सामना गर्दा मैदानभित्रको प्रतिस्पर्धाभन्दा बाहिरको भावनाले प्रशंसकहरूको हृदय छोएको थियो।
मोड्रिच सन्२०१२ मा टोटन ह्याम हट्स्परबाट रियल म्याड्रिडमा आवद्ध भएका थिए।त्यसपछि उनले क्लबका लागि १३वर्षमा ५९०भन्दा बढी खेल खेलेर २८ उपाधि जितेका छन्।ती उपाधिहरूमा ६युरोपियन कप, ६क्लब विश्वकप, ५ युरोपियन सुपरकप, ४ लालिगा, २ कोपा डेलरे र ५ स्पेनिस सुपर कप छन्।
२०१८ मा उनले बलोन डि ओर जितेर फुटबल इतिहासमा आफ्नो नाम झनै अमर बनाएका थिए।यो खेलपछि उनले आगामी क्लब विश्वकपपछि आधिकारिक रूपमा रियल म्याड्रिडबाट बिदा लिने घोषणा गरेका छन्।
यता प्रशिक्षक कार्लो अन्चेलोट्टीले पनि बर्नाबेउमा अन्तिम पटक टचलाइनमा उभिए।दुई कार्यकालमा उनले १५उपाधि जिते, जसमा ३युरोपियन कप, ३ क्लब विश्वकप, ३ युरोपियन सुपर कप, २ लालिगा, २ कोपा डेलरे र २स्पेनिस सुपर कप समावेश छन्।अन्चेलोट्टी अब ब्राजिलको राष्ट्रिय टोलीको प्रशिक्षकको रूपमा नयाँ अध्याय सुरु गर्ने तयारीमा छन्।
खेलका क्रममा ३७औं मिनेटमा किलियन एमबाप्पेले पेनाल्टीमार्फत रियल म्याड्रिडलाई अग्रता दिलाएका थिए।यद्यपि, खेलको नतिजाभन्दा पनि ध्यान मोड्रिच र अन्चेलोट्टीको बिदाइमा केन्द्रित थियो। मैदानको केन्द्रमा मोड्रिचको नाम र नम्बर १०अंकित विशाल जर्सी बनाइएको थियो भने दर्शकदीर्घामा ‘न्चबअष्बक ऋबचभिततय’ लेखिएको ब्यानर प्रदर्शन गरिएको थियो।
खेलपछि आयोजित बिदाइ कार्यक्रममा दुवै व्यक्तित्वलाई भावुक सम्मान प्रदान गरियो। रंगशालाभरि उपस्थित दर्शकहरूले उभिएर ताली बजाउँदै बिदा गरे।मोड्रिचले संक्षिप्त मन्तव्य दिँदै भने, “म पूर्ण हृदयले बिदा लिन्छु — गर्व, कृतज्ञतारअविस्मरणीय सम्झनाहरूले भरिएको।”
यो खेल केवल लालिगाको अन्तिम खेलमात्र थिएन, यो एक युगको अन्त्य थियो।मोड्रिच र अन्चेलोट्टीको योगदान क्लबका लागिअमूल्य छ र उनीहरूको नाम र स्मृति सधैं बर्नाबेउका प्रत्येक कुना(कुना र समर्थकको हृदयमा जीवित रहनेछ।
-

शुभमन गिल बने भारतको नयाँ टेस्ट कप्तान
काठमाडौं । शुभमन गिल भारतीय टेस्ट टोलीका नयाँ कप्तान नियुक्त भएका छन् । बिसीसीआईले उनलाई नयाँ टेस्ट कप्तान नियुक्त गरेको हो ।
रोहित शर्माले टेस्टबाट सन्यास लिएसंगै टेस्ट टोलीको कप्तान खाली थियो । उनले इङ्ल्याण्डविरुद्धको सिरिजबाट टेष्ट क्रीकेटमा भारतको कप्तानी गर्नेछन् । ऋषभ पन्तले उपकप्तानको जिम्मेवारी पाएका छन् ।
-

प्रदेशस्तरीय यु-१६ क्रिकेट सुरु, उद्घाटन खेलमा रूपन्देही सहज जित
रुपन्देही । भैरहवामा लीला सेन्चुरी मेमोरियल यु-१६ लुम्बिनी प्रदेशस्तरीय क्रिकेट प्रतियोगिता सुरु भएको छ । लुम्बिनी प्रदेश क्रिकेट संघको आयोजना र रुपन्देही क्रिकेट संघको समन्वयमा शुक्रबारदेखि सुरु प्रतियोगिताको उद्घाटन खेलमा समीर अली मुसलमानको शतकीय पारीमा रुपन्देही जिल्ला विजयी भएको छ ।
रुपन्देहीले नवलपरासी जिल्लालाई २ सय ७१ रनको फराकिलो अन्तरले हराउँदै सानदार जित निकालेको हो ।
भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको रुपन्देहीले निर्धारित ३५ ओभरको खेलमा ३३ ओभर ३ बलमा अलआउट हुँदै ३ सय १६ रनको उच्च योगफल बनायो । उसका लागि समीर अली मुसलमानले ७० बलमा १७ चौका र एक छक्काको मद्दतमा १ सय १८ रनको शतकीय पारी खेले ।
यस्तै, सिद्धार्थ ढकालले ५५, आरिफ खानले ४३, रोजन कुमालले ३८, लक्ष्मण कुमालले अविजित १८ र सुजन रानाभाटले १४ रन बनाए । बलिङमा नवलपरासीका प्रेमसागर यादवले ४, विष्णु ठठेर र सागर पाण्डेले २–२ तथा आर्यन अलीले १ विकेट लिए ।
जवाफी ब्याटिङ गरेको नवलपरासी १६ ओभरमा अलआउट हुँदै जम्मा ४५ रनमै समेटियो । उसका लागि प्रेमसागर यादवले १३ र आरोनजंग गिरीले १२ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् ।

बलिङमा रुपन्देहीका लक्ष्मण कुमाल, प्रिन्स पाल र तुसार चौहानले समान २–२ तथा सोइब हसन मुसलमान र सुप्रिम कंडेलले १–१ विकेट लिए । खेलमा रुपन्देहीका समीर अली मुसलमान प्लेयर अफ द म्याच घोषित भएको प्रदेश क्रिकेट संघका सदस्य एवं खेल संयोजक प्रथम पराजुलीले बताए ।
राष्ट्रिय यु–१६ क्रिकेट प्रतियोगिताका लागि लुम्बिनी प्रदेशस्तरीय टिम छनोट गर्न प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितालाई भैरहवाका व्यवसायी किसन विकले आफ्नी स्वर्गीय श्रीमती लीला सेन्चुरीको नाममा मुख्य प्रायोजन गरेका छन् ।
प्रतियोगितामा रुपन्देही, पश्चिम नवलपरासी, पाल्पा, कपिलवस्तु, दाङ, बाँके र बर्दियाका टिम सहभागी छन् । जेठ १६ गतेसम्म चल्ने प्रतियोगिता भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदान र तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानामा चल्नेछ ।

प्रतियोगिता उद्घाटन समारोहमा बोल्दै सिद्धार्थनगर नगरपालिका उपप्रमुख उमा अधिकारी, लुम्बिनी प्रदेश क्रिकेट संघका कार्यबाहक अध्यक्ष विनय राजभण्डारी, रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापा, खेल संयोजक प्रथम पराजुली लगायतले बोल्दै यस्ता प्रतियोगिताले खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
-

सन्दीप लामिछानेसँग दुई घण्टा (भिडिओ)
काठमाडौं । रिपोर्टिङको सिलसिलामा सन्दीप लामिछानेसँग करिब डेढ बर्षअघि मेरो पहिलो भेट भएको थियो, जतिबेला उनी जिल्ला अदालतबाट ८ वर्षको जेल सजाय सुनाइएपश्चात थप कानूनी लडाइँको तयारीमा जुटिरहेका थिए । खेल करिअर बिथोलिएको र भविष्य नै अन्योलपूर्ण बनेको त्यो समयखण्डमा उनको अनुहारबाट मुस्कान हराएकोमात्र थिएन, एकदमै उजाड र भावशून्य देखिन्थे ।
क्रिकेटको माध्यमबाट अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई चिनाउन थोरबहुत योगदान गरेको एउटा प्रतिभावान खेलाडीलाई यस्तो मनोदशामा पाउँदा मलाई भित्रैबाट खिन्नता महसुस भएको थियो । यद्यपि, करिब डेढ-घन्टा लामो कुराकानीमा उनले मसित जसरी आफूमाथि लागेका आरोपहरूको आत्मविश्वासपूर्वक ‘डिफेन्स’ गरेका थिए, त्यसबाट मेरो मनभित्र बलियो आशा जागृत भएको थियो कि उनी चाँडै नै यो दलदलबाट निस्किने छन् ।
तथापि, यो सोचेभन्दा केही चाँडै नै भयो । सर्वोच्चसम्म पुग्ला भन्ने लागेको केस उच्च अदालतमै टुंगिएको छ । उजुरीकर्ता गौशाला-२६ स्वयंले आरोप फिर्ता लिइन् भने महान्यायाधिवक्ताको कार्यालयले मुद्दालाई सर्वोच्च नलैजाने विवेकपूर्ण निर्णय लियो । सन्दीपसँगै उनको लाखौं समर्थक र फ्यानहरूले सन्तोषको सास फेरे । र, आजका दिनसम्म आइपुग्दा ती सबै घटनाचक्रहरू अतितको कुम्भमा विसर्जन भइसकेका छन् । सन्दीप फेरि पहिलेकै दिनचर्या अर्थात् बल र ब्याट समातेर नेपाली क्रिकेटको सेवामा जुटिरहेका छन् ।
यद्यपि, त्यसयता पनि उनी कहिल्यै लाइमलाइटबाट बाहिर भने रहेनन् । अन फिल्ड र अफ द फिल्ड कन्ट्रोभर्सीहरूले उनलाई निरन्तर पछ्याइरहे । खासगरी, सन्दीपले फेसबुकमा लाक्षणिक ढंगले लेख्ने स्टाटसहरू समाचारका हेडलाइन बनिरहे । कहिले राष्ट्रिय मिडियामै उनले सन्न्यास लिन खोजेको चर्चा भयो त कहिले उनको बिहेको खबर सामाजिक सञ्जालमा भाइरल भयो । खैर, अहिले पनि सन्दीप राष्ट्रिय टीमबाट खेलिरहेका छन् र अविवाहित नै छन् ।
अहिले लिग-२ क्रिकेटको सिलसिलामा टिमसँगै बेलायत पुगेका छन् सन्दीप । जानुअघि उनले फेरि एकपटक आफ्नै शैलीमा फेसबुक स्टाटसमार्फत फ्यानहरूलाई झस्काइदिए । युके उड्ने दिन नै उनले आफू क्यानको ‘सेन्ट्रल कन्ट्र्याक्ट’ बाट बाहिरिएको घोषणा गरे, कुनै तार्किक कारण नखुलाइकन । यसले फेरि एकपटक उनका फ्यानहरूलाई अलमल र चिन्तामा पार्यो । आखिर यस्तो अप्रिय निर्णय उनले किन लिए ? के उनी क्यानसँग असन्तुष्ट छन् ? वा के राष्ट्रिय टीमभन्दा फरक केही योजना बनाइरहेका छन् ? यी प्रश्नहरू अहिले पनि नेपाली क्रिकेट जगतभित्र सल्बलाइरहेका छन् ।
प्रहरीमा जाहेरी परेदेखि सन्दीप मिडियाबाट टाढा थिए । यदाकदा आकस्मिक प्रेसमिट वा पोस्टम्याच प्रिजेन्टेसनमा देखापर्ने बाहेक उनले योबीचमा कुनै पनि मिडियामा अन्तर्वार्ता दिएका थिएनन् । आफूले खेपेको मुद्दाको विषयमा अहिलेसम्म उनको कुनै पनि सार्वजनिक प्रतिक्रिया आएको छैन ।

करिब अढाइ वर्षको मौनता तोड्दै नेपाल प्रेसमा अन्तरवार्ताका लागि तयार भए सन्दीप । बेलायत प्रस्थान हुनेभन्दा दुई दिन अगाडिको साँझ उनले अन्तर्वार्ताका लागि समय दिए र भनेकै समयमा ट्वाक्क नेपाल प्रेसको कार्यालयमा देखा परे । मैले पहिलोपटक र दोस्रोपटक भेटेको सन्दीपमा आकाश-जमिन फरक थियो । यसपालि उनी एकदम तरोताजा र उत्साही देखिन्थे । उनलाई आफ्नो करिअरका विषयमा पहिलेझैँ संशय थिएन ।
केहीबेरको अनौपचारिक कुराकानीपश्चात हामी क्यामरासामु बस्यौं । अन्तर्वार्ताका क्रममा अधिकांश अभिव्यक्तिमा उनी निकै सन्तुलित, समझदार र संयमित सुनिए । ‘डाउन टु अर्थ’ पनि । खासमा मैले उनीबाट २४ वर्षको उमेरमा यति परिपक्वताको आशा गरेको थिइनँ । यद्यपि, उनको मनभित्रको अन्तरकुन्तरमा अझै पनि केहीकुछ बेचैनी र व्यग्रताको महसुस मलाई नभएको भने होइन, जुन उनले खुलेर पोखेनन् ।
०००
सन्दीपलाई नेपाली क्रिकेट जगतभित्र कतिपयले घमन्डी, सन्की र ‘एटिट्युड बोकेको’ खेलाडीका रूपमा चिन्ने गर्छन् । सम्भवतः यो अन्तर्वार्ता पूरा हेरिसकेपश्चात उनलाई त्यसरी चिन्नेहरुको धारणा बदलिन पनि सक्छ । अन्तरवार्ताभरि कतै पनि ‘घमन्डी’ वा ‘एटिट्यूटवाला’ सन्दीप खोजेर पनि भेटिने छैनन् ।
अन्तर्वार्ताका मूल विषयवस्तु दुईवटा थिए, पहिलो क्रिकेट र दोस्रो उनले खेपेको मुद्दा । आफ्नो क्रिकेट करिअरका विषयमा उनी खुलेर बोले । जुन भन्ने गरिन्छ कि क्यानसँग सन्दीपको खटपट छ, पारस खड्कासँग सम्बन्ध राम्रो छैन, अन्य खेलाडीहरुसँग उनी मिल्दैनन् आदि । तर, उनका अभिव्यक्तिहरु सुन्दा ती सबै भ्रामक लाग्छन् ।
सन्दीपले क्यानको खुलेर प्रशंसा गरेका छन् । पारस खड्का क्यानमा आइसकेपश्चात नेपाली क्रिकेटमा आमूल सुधार भएको उनको अनुभूति छ ।
सन्दीपले भने, ‘अहिले प्लेयरलाई पछाडिबाट सपोर्ट पुगेको छैन, जस्तो लाग्दैन । क्यानले खेलाडीहरूलाई एकदम ब्याक गरिरहेको छ । फेसिलिटीहरू एकदमै राम्रो दिएको छ । गेमहरू धेरै भइरहेको छ । पुरुष क्रिकेट मात्र नभएर महिला क्रिकेट पनि राम्रो भएको छ । अन्डर १९, अन्डर १६, डोमेस्टिक एकदम राम्रो भइरहेको छ । राइट पर्सन राइट ठाउँमा आइसकेपछि यस्तो पनि हुन सक्छ है भन्ने पर्फेक्ट उदाहरण हो यो । यही तरिकाले अगाडि बढिरहोस हाम्रो क्यान ।’
क्यान सचिव पारससँग आफ्नो दाजुभाइजस्तो सम्बन्ध रहेको उनले बताए । पारसलाई आफूले गार्जियनका रूपमा पाएको उनको भनाइ छ ।
सन्दीप भन्छन्, ‘बनावटीरूपमा सन्दीप-पारस, सन्दीप-पारस भनेर द्वन्द्व फैलाउने कुरा मात्र गरिरहेका छन् । भित्रीरुपमा हामी दाजुभाइको रुपमा छौं । म त सानो फुच्चे थिएँ । दाइले गाइड गरेर यहाँसम्म पुर्याइदिनुभएको हो । मैले राम्रो गार्डियन पाएको छु । हामी सबै योङस्टरका लागि आइडल हुनुहुन्छ उहाँ । उहाँहरूको बारेमा हामीले नराम्रो सोच्दा पनि पाप लाग्छ ।’
आफूलाई लागेको मुद्दा र त्यसपछि खेप्नुपरेको हण्डरका विषयमा सन्दीप आंशिक खुले । जाहेरी दिने युवती र उनीसँगका घटनाक्रमबारे उनले केही पनि टिप्पणी गर्न चाहेनन् । तर, मुद्दा परिसकेपछि खेपेको मानसिक यातना र भोगाइहरुलाई उनले केही हदसम्म खुलेर पोखेका छन् । एकपटक आफूमा ‘सुसाइडल थट’ समेत आएको उनले भावुक बन्दै सुनाए ।

‘(मुद्दा परेपछि) धेरै नकारात्मक सोचहरु पनि आयो । के गरौं, लाइफ नै सकाइदिउँजस्तो पनि भयो । कहाँ गएर आफ्नो लाइफलाई नै इन्डिङ प्वाइन्टमा पुर्याइदिउँजस्तो भयो । तर मनलाई दह्रो बनाएँ । मलाई यति माया गर्ने परिवार छ, उहाँहरुको बारेमा सोच्नुपर्ने हुन्थ्यो । शुभचिन्तकहरु हुनुहुन्छ, उहाँहरूका लागि पनि बाँच्नुपर्छ भन्ने लाग्यो । मलाई त्यसबेला मेरो कानूनी टिम, खासगरी सरोज सर (सरोज घिमिरे) ले मलाई धेरै नै मोटिभेसन दिनुभयो,’ उनले भने ।
सन्दीप थप्छन्, ‘मैले सोच्दै नसोचेको फेज आयो लाइफमा । सबै कुरा एकदमै राम्रो भइरहेको थियो । सबै लिगहरुमा मेरो नाम थियो । अचानक रुखको सबैभन्दा माथिबाट हाँगा काटेर तल फ्याँकिदिएको जस्तो लाग्यो । तर, पनि हार मानिनँ ।’
सन्दीपबारे पछिल्लो चर्चाको विषय हो सेन्ट्रल कन्ट्र्याक्टबाट बाहिरिने निर्णय । उनले लिग २ क्रिकेटका लागि बेलायत प्रस्थान गर्नुअघि सामाजिक सञ्जालबाट यो घोषणा गरेका थिए, जसले उनका फ्यानहरूलाई झस्काइदिएको छ ।
यो अन्तर्वार्ता लिँदा सन्दीपको यो घोषणा सार्वजनिक भएको थिएन । त्यसैले अन्तर्वार्तामा यो विषय छुटेको छ । पछि फोनमा कुराकानी हुँदा मैले उनीसँग सोधेको थिएँ । सन्दीपले यसमा त्यति खुल्न चाहेनन् ।
‘फेसबुकमा मैले जे लेखेको छु, त्यही नै हो । यसमा अहिले थप केही छैन,’ उनले भने ।
क्यानको सम्झौताबाट बाहिर रहेर सन्दीपले आफूलाई अलि बढी व्यवसायिक र स्वतन्त्र बनाउन खोजेको अनुमान गर्न सकिन्छ । अर्को अनुमान चाहीँ क्यानसँग कुनै कुरामा चित्त दुखाइ छ कि भन्ने पनि हो । तर, यति चाहीँ मैले ढुक्कसाथ भन्न सक्छु कि निकट भविष्यमा राष्ट्रिय टीमबाट उनी टाढा हुँदै छैनन् ।
-

सन ह्युङ-मिन : जसले प्राप्त गरे एउटा ‘दुर्लभ’ उपलब्धि
युरोप । युरोपमा फुटबल खेल्नु हरेक फुटबलरको एउटा ठूलो सपना हुने गर्दछ । विश्व फुटबलको व्यवसायिक फुटबललाई हेर्ने हो भने युरोपमा हुने लिगहरु सबैभन्दा लोकप्रिय छन् ।
युरोपमा हुने इङ्लिस प्रिमियर लिग (इपिएल), स्पेनिस ला–लिगा, बुन्डेस लिगा, सिरि’एझ, लिग वान क्रमश सर्वाधिक चर्चित लिग हुन् । यी लिगमा रहेका कुनैपनि क्लबबाट फुटबल खेलेर ट्रफी जित्नु हरेक फुटबलरको सबैभन्दा ठूलो सपना हो ।
त्यसमा पनि एसियाको एउटा फुटबलरले संसारको सबैभन्दा लोकप्रिय इपिएलको खेलाडी बन्न पाउनु , त्यसमाथि पनि क्लबको ‘क्याप्टेन’ बनेर युरोपको प्रतिष्ठित लिगको उपाधी जित्नु दुर्लभ अवसरको रुपमा मानिन्छ ।
हो त्यस्तै एउटा दुर्लभ उपाधी उचाल्दै दक्षिण कोरिएन स्टार सन हियुङ मिनले युरोपको क्लब फुटबलको प्रतिष्ठित उपाधी जित्ने पहिलो एसियाली कप्तानको कीर्तिमान बनाए ।
बुन्डेस लिगाको वायर लिभरकुसेनबाट सन् २०१५ मा प्रिमियर लिगको टोटनह्याप हट्सपरमा आवद्द भएका सनले कप्तानको रुपमा बुधबार युरोपको चर्चित लिग मध्यको युरोपा लिगको उपाधी जित्दै इतिहास रचे ।

टोटनह्याम्पम्लाई सन् १९८४–०८५ पछि युरोपा लिग जित्न ४० वर्ष लाग्यो । अर्थात उस्को घरमा ४० वर्षपछि युरोपा लिगको ट्रफी फर्कियो त्यो पनि एउटा एसियायी स्टारको नेतृत्वमा ।
आजभन्दा १७ वर्ष पहिले टोटनह्याम्पले २००७–०८ को सिजनमा लिग कपको उपाधी जितेको थियो । क्लबमा आवद्द भएको १० वर्षसम्म सनको लागि उपाधी अभियान सधै निरासाजनक बन्यो । तर बुधबारको साझ ती सबै खराब रेकर्डलाई बिट मार्दै म्यान्चेस्टर युनाइटेडलाई १–० ले हराउँदै उपाधी उचाल्दा सनको आँखा आसुले भरिएको थियो ।
साथिहरुले सन्नीझ नामले बोलाउदै सनलाई उचालेर खुसी साटेका थिए । सनले पनि ट्रफी उचाल्दै गज्जबको सेलिब्रेसन गरे । म संसारको सबैभन्दा खुसी मान्छे हुँ!“ सन ह्युङ–मिन भन्छन् युरोपा लिग जित्नु ‘सपना साकार हुनु’ जस्तै हो ।
उनले यो सबै उपाधीको भोका खेलाडीहरु, टिम व्यवस्थापन र सपोर्टरहरुको हौसलाको कारण संभव भएको बताए । उनले थपे यो जितले मलाई ‘किंवदन्ती’ र ‘विश्वको सबैभन्दा खुसी मानिस’ जस्तो महसुस गराएको छ ।
१७ वर्षमा स्पर्सलाई पहिलो पटक ट्रफी दिलाएपछि दक्षिण कोरियालीहरूले टोटेनह्यामका कप्तान सन ह्युङ–मिनलको तस्बिर अङ्कित टिसर्ट लगाएर आफ्नै देशमा समेत खुसियाली मनाईएको तस्बिरहरु अन्तरास्ट्रिय खेल म्यागजिनले प्रकाशन गरेका छ्न । उनीहरुले सनलाई एसियाको हिरोको रुपमा व्याख्या समेत गरेका छन् ।

-

१७ वर्षपछि टोटनह्यामले जित्यो युरोपा लिगको उपाधि
काठमाडौं । टोटनह्याम हट्सपरले १७ वर्षपछि युरोपा लिगको उपाधि जितेको छ । फाइनलमा म्यानचेस्टर युनाइटेडलाई १-० गोलले पराजित गर्दै टोटनह्यामले उपाधि कब्जा गरेको हो ।
म्यानचेस्टरलाई हराउन ब्रेनन जोनसनले गोल गरेका हुन् । योसँगै उनी २०१० मा फुलह्यामका साइमन डेभिसपछि युरोपा लिगको फाइनलमा गोल गर्ने पहिलो वेल्श खेलाडी पनि बनेका छन् ।
जितसँगै टोटेनह्यामले अर्को सिजनको च्याम्पियन्स लिगको लागि छनोट पनि भएको छ ।
टोटनह्यामले लगभग १०० मिलियन पाउण्ड (करिब २०८ मिलियन अमेरिकी डलर) बराबरको आर्थिक लाभ पनि प्राप्त गरेको छ।
-

२०२५ युएफा युरोपा लिग फाइनल: म्यान्चेस्टर युनाइटेड र टोटेनहम हट्सपुरबीच रोमाञ्चक टकराव
बिल्बाओ, स्पेन । विश्वभरका फुटबल प्रेमीहरू आगामी २२ मे २०२५ मा हुने युएफा युरोपा लिग फाइनलमा आफ्ना टोलीहरूको प्रदर्शनको प्रतीक्षामा छन् । यो महत्त्वपूर्ण खेल स्पेनको सान मामेस स्टेडियम, बिल्बाओमा हुँदैछ जहाँ इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेड र टोटेनहम हट्सपुरबीच प्रतिद्वन्द्विता हुनेछ।
किन यो खेल अत्यन्त महत्वपूर्ण छ?
युरोपा लिग फाइनलमा विजेताले न केवल प्रतिष्ठित ट्रफी हात पार्नेछ, जुन युरोपियन क्लब फुटबलको सबैभन्दा भारी (१५ किलो) र प्रतिष्ठित उपाधि हो, तर अर्को सिजनको युएफा च्याम्पियन्स लिग समूह चरणको लागि स्थान पनि सुनिश्चित हुनेछ। साथै, यसबाट लगभग १०० मिलियन पाउण्ड (करिब २०८ मिलियन अमेरिकी डलर) बराबरको आर्थिक लाभ पनि प्राप्त हुनेछ।
म्यान्चेस्टर युनाइटेडका लागि यो उपाधि छठो युरोपियन ट्रफी र लगातार तेस्रो सिजनको तेस्रो उपाधि हुने छ, जसले क्लबको पुनरुत्थानको सङ्केत दिनेछ। टोटेनहमका लागि भने यो १७ वर्ष लामो उपाधि सुख्खा अन्त्य गर्ने मौका हो र १९८४ पछिका पहिलो युरोपेली उपाधि हो।
यो सिजन दुबै टोलीको प्रदर्शन कस्तो रह्यो?दुबै टोलीले प्रिमियर लिगमा निराशाजनक प्रदर्शन गरेका छन्। म्यान्चेस्टर युनाइटेड १६ औं स्थानमा छ र क्लब रेकर्ड १८ पटक हार भोगेको छ भने टोटेनहम १७ औं स्थानमा छ, जसले ४५ वर्षपछि सबैभन्दा खराब सिजन खेलेको छ।
तर युरोपियन मञ्चमा भने दुबैले उत्कृष्ट खेल देखाएका छन्। म्यान्चेस्टर युनाइटेड युरोपा लिगमा पूर्ण रूपमा अविजित छ र अन्तिम तीन खेलमा १२ गोल गरेका छन्। टोटेनहमले पनि पछिल्ला पाँच युरोपा लिग खेलमध्ये चार खेल जितेको छ, जसले यसलाई उपाधिको कडा दावेदार बनाएको छ।
फाइनलसम्म कसरी पुगे?
म्यान्चेस्टर युनाइटेडले समूह चरणमा तालिका तेस्रो स्थानमा रही लाजियो र एथ्लेटिक क्लबसँग एक पोइन्टको अन्तर राख्यो। राउन्ड अफ १६ मा रियल सोसिडाडलाई जम्मा ५-२ ले हरायो। क्वार्टरफाइनलमा लायनसँग पुरै दुई चरणमा ७-६ को नजिकको स्कोरले विजयी भयो। सेमिफाइनलमा एथ्लेटिक क्लबलाई ७-१ को फराकिलो अन्तरले हराउँदै फाइनलमा स्थान सुरक्षित गर्यो।
टोटेनहमले समूह चरणमा आठ खेलमध्ये पाँच जित्यो र एजे अल्कमार तथा होफेनहाइम जस्ता टोलीहरूलाई परास्त गर्यो। राउन्ड अफ १६ मा फेरि एजे अल्कमारलाई ३-२ को स्कोरले हरायो। क्वार्टरफाइनलमा आइन्षटाट फ्रान्कफर्टलाई २-१ ले पराजित गर्यो। सेमिफाइनलमा बोदो/ग्लिम्टलाई ५-१ ले पराजित गर्दै इतिहास बनायो।
प्रमुख खेलाडीहरूमा को-को छन्?
म्यान्चेस्टर युनाइटेड
ब्रुनो फर्नान्डेस: निर्णायक समयमा गोल र असिस्टमा निरन्तर योगदान दिइरहेका छन्। अमाद डिआल्लो: गत खेलहरूमा प्रभावशाली प्रदर्शन गर्दै टोलीलाई नयाँ ऊर्जा दिएका छन्। कासेमिरो: अनुभव र डिफेन्सिभ नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्ने मध्यपंक्तिका स्तम्भ।
टोटेनहम हट्सपुर
सोन ह्युङ-मिन: चोटबाट फर्किएर आफ्नो छिटो र निपुण गोल गर्ने क्षमताले खेलको समीकरण बदल्न सक्ने।
रिचार्लिसन: सेमिफाइनलमा उत्कृष्ट प्रदर्शन, टोलीका लागि महत्वपूर्ण गोलकर्त।
य्भेस बिस्सौमा: खेल तोडफोड र टिमको मिडफिल्ड नियन्त्रणमा ऊर्जा र दबाब दिने खेलाडी।प्रशिक्षकहरूको प्रतिक्रिया
रुबेन अमोरिम (म्यान्चेस्टर युनाइटेड):
“फाइनलको वातावरण पूर्णतया फरक हुन्छ। यो सिजन सबैका लागि चुनौतीपूर्ण रह्यो, तर युरोपा लिगको तयारी गर्दा उत्साह फरक हुन्छ। हामीले धेरै खराब नतिजा भोगेका छौं तर यहाँ हामी सबैले उत्साह र एकाग्रता देखाउँदैछौं।”
अन्जे पोस्टेकोग्लु (टोटेनहम):
“हामीले यो स्थान पाउन पक्का योग्य छौं र हामीले च्याम्पियन्स लिगमा जाने अधिकार पाएका छौं। फाइनल उत्कृष्ट खेल हुने विश्वास छ।”
हेड-टु-हेड तथ्याङ्क
यो सिजन टोटेनहमले म्यान्चेस्टर युनाइटेडलाई तीनै खेलमा हराएको छ — प्रिमियर लिगमा ३-०, क्याराबाओ कप क्वार्टरफाइनलमा ४-३, र प्रिमियर लिगको अर्को खेलमा १-०।
तर इतिहास हेर्दा, दुबै क्लबबीच २०४ खेलमध्ये म्यान्चेस्टर युनाइटेडले ९६ जितेको छ भने टोटेनहमले ५७ जितेका छन्। ५१ खेल बराबरीमा सकिएका छन्।
फाइनल कहिले र कहाँ?
यो फाइनल इतिहासकै छठौं सबै-इंग्लिश युरोपेली क्लब फाइनल हो, जसले इंग्लिस फुटबलको जादू र प्रतिस्पर्धालाई पुनः उजागर गर्नेछ । म्यान्चेस्टर युनाइटेड र टोटेनहम हट्सपुरबीचको यो भिडन्त संसारभरका फुटबल प्रेमीहरूले निकै प्रतीक्षा गरिरहेका छन्। कुन टोलीले उपाधि चुम्नेछ र आफ्नो मौजूदा चुनौतीपूर्ण सिजनलाई सफलतामा परिणत गर्नेछ ?
यो उत्तर पाउनका लागि २२ मे राति १:४५ बजे नेपाली समय अनुसार टेलिभिजन र अनलाइन माध्यमबाट प्रत्यक्ष प्रसारण हेर्न सकिनेछ ।
-

प्रधानमन्त्री कप भलिबल बिहीबारदेखि
कास्की । देशको पर्यटकीय राजधानी सहर पोखरामा यही जेठ ८ देखि १५ गतेसम्म नवौँ संस्करणको ‘प्रधानमन्त्री कप–एनभिए महिला तथा पुरुष भलिबल क्लब लिग’ हुने भएको छ ।
नेपाल भलिबल सङ्घको आयोजनामा पहिलोपटक राजधानी बाहिर हुन लागेको यस प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको सङ्घका अध्यक्ष जितेन्द्रबहादुर चन्दले जानकारी दिए । उनका अनुसार पोखरा रङ्गशालाको बहुउद्देश्यीय कभर्डहलमा खेल सञ्चालन हुनेछन् ।
प्रतियोगितामा सहभागी टोलीका खेलाडी पोखरा आउने क्रम सुरु भएको छ । कभर्डहलको आवश्यक मर्मतलगायत काम अन्तिम चरणमा पुगेको अध्यक्ष चन्दले बताए । खेलस्तरमा सुधार ल्याउन सहभागी टोलीले तीन जनासम्म विदेशी खेलाडी राख्न सक्ने प्रावधान रहेको उनले जानकारी दिए ।
प्रतियोगितामा पुरुषतर्फ आठ र महिलातर्फ ६ टोलीको सहभागिता रहनेछ । पुरुषतर्फ हेल्प नेपाल स्पोर्टस क्लब, नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, कोशी प्रदेश, गण्डकी प्रदेश भलिबल सङ्घ, सुदूरपश्चिम प्रदेश र मणिमुकुन्द भलिबल क्लब बुटबलले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
यसैगरी महिलातर्फ नेपाल पुलिस क्लब, नेपाल एपिएफ, न्यू डायमण्ड युथ स्पोर्टस् क्लब, त्रिभुवन आर्मी, एभरेष्ट भलिबल क्बल र कर्णाली प्रदेश भलिबल टोलीको सहभागिता रहने छ ।
“त्रिपुरेश्वरको कभर्डहल मर्मत भइरहेकाले पोखरा नै उपयुक्त विकल्प हो”, अध्यक्ष चन्दले भने । प्रतियोगितामा महिला तथा पुरुष दुबैतर्फका उपाधि विजेताले रु आठ लाखका दरले पुरस्कार पाउनेछन् ।
यसैगरी उपविजेताले रु चार÷चार लाख तथा तृतीय हुने टोलीले रु दुई दुई लाखका दरले पुरस्कार पाउने नेपाल भलिबल सङ्घका महासचिव रोशन श्रेष्ठले जानकारी दिए ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई जनही रु ५० हजार र विधागत उत्कृष्ट खेलाडीले जनही रु २५ हजार प्राप्त गर्नेछन् । सङ्घका अध्यक्ष चन्दले नेपालको राष्ट्रिय खेल भलिबललाई व्यवसायिकरण र युवा पिढीलाई खेलप्रति आकर्षित गर्न प्रतियोगिता सफल हुने विश्वास व्यक्त गरे ।
“गण्डकी प्रदेशको राजधानी पोखरामा भलिबल खेलको लोकप्रियता भलिबल खेलप्रेमीको माया र सद्भाव एवं खेल पर्यटनका मार्फत पोखराको प्रवद्र्धन हुने विश्वास लिएका छौँ”, अध्यक्ष चन्दले भने ।
-

लिभरपुललाई हराएर युरोपेली फुटबलको आशा जीवित राख्दै ब्राइटन
काठमाडौं । ब्राइटनका प्रतिस्थापन खेलाडी ज्याक हिन्सेलवुडले अन्तिम समयमा विजयी गोल गरेका छन्, जसले गर्दा घरेलु टोलीले लिभरपुललाई ३-२ गोलले पराजित गर्दै युरोपेली फुटबल खेल्ने आशा कायम राखेको छ । दुई गोलले पछि पर्दा पनि उसले बराबरी गर्न सफल भएको छ ।
यदि चेल्सीले कन्फरेन्स लिग जित्छ भने आठौं स्थानमा रहेको टोलीले युरोपेली फुटबल खेल्ने मौका पाउनेछ । ब्राइटनले नवौं मिनेटमा हार्वी इलियटले गरेको गोलले पछि पर्नुपरेको थियो, तर ३२ औं मिनेटमा मध्य पंक्तिका यासिन आयारीले बराबरी गोल गरे ।
पहिलो हाफको अतिरिक्त समयमा डोमिनिक स्जोबोस्ज्लाइले गोल गर्दा ब्राइटन फेरि पछि पर्याे, तर म्यानेजर फेबियन हुर्जेलेरे दोस्रो हाफमा सही परिवर्तन गरेर खेलको मोड बदल्न सफल भए ।
६४औं मिनेटमा मैदान प्रवेश गरेका जापानी विङर काओरु मितोमाले ४ मिनेटमै बराबरी गोल गरे । ड्यानी वेलबेकको प्रहारपछि रिबाउन्डबाट उनले गोल गर्न सफल भए ।
वेलबेकले धेरै अवसर गुमाए, तर लिभरपुलले अप्रिल २८ मा उपाधि जितेपछि निराशाजनक प्रदर्शन गर्याे । ब्राइटनले विजयी गोलको लागि प्रयास जारी राख्यो, जसले गर्दा अन्य नतिजाअनुकूल भएमा उसले युरोपेली फुटबल खेल्नसक्छ।
८४औं मिनेटमा मैदान प्रवेश गरेका २० वर्षीय हिन्सेलवुडले म्याटओ’राइलको पासबाट एक मिनेटपछि विजयी गोल गरे । सुरुमा गोल अफसाइड भनेर रद्द भएको थियो, तर लामो भीएआर जाँचपछि गोल मानियो ।
यसले गर्दा ब्राइटन ३७ खेलमा ५८ अंकका साथ आठौं स्थानमा पुग्यो, जुन ब्रेन्टफोर्डभन्दा ३ अंक र फुलह्यामभन्दा ४ अंकले अगाडि हो । बोर्नमाउथ एक खेल कमसाथ १ अंक पछि छ ।
‘बेन्चबाट आएर म खेलमा असर पार्न र पूरा मेहनत गर्न चाहन्थें’, हिन्सेलवुडले भने, ‘बल उत्तिकै राम्रो आयो, मैले छोएर गोल गरें । गोल मानिने समयमा धेरै चिन्ता भयो, तर मानिएपछि राहत महसुस भयो ।’
ब्राइटनले आइतबार आफ्नो अन्तिम खेलमा टोटेनह्याम हटस्परलाई भेट्नेछ, जबकि लिभरपुलले एनफिल्डमा प्रिमियर लिग उपाधि ग्रहण गर्नेछ । उसले अन्तिम खेलमा एफए कप विजेता क्रिस्टल प्यालेससँग प्रतिस्पर्धा गर्नेछ ।
‘हामी उत्सवमा धेरै नबहक्ने प्रयास गर्छौं, हामीले पूरा मेहनत गरेका छौं, हामी जित्न र मज्जा लिन चाहन्छौं’, लिभरपुलका गोलकर्ता इलियटले भने, ‘यस खेलबाट सकारात्मक पक्ष लिएर अन्तिम खेलमा प्रयोग गर्नुपर्छ ।’
-

विश्वकप एसिया छनोटको अन्तिम खेलमा नेपाल थाइल्यान्डसँग ७८ रनले पराजित
काठमाडौं । आइसिसी महिला ट्वान्टी–२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को अन्तिम खेलमा नेपाल थाइल्यान्डसँग ७८ रनले पराजित भएको छ ।
थाइल्यान्डको टेर्डथाइ क्रिकेट मैदानमा आज भएको खेलमा थाइल्यान्डले नेपाललाई जितको लागि १५९ रनको लक्ष्य दिएको थियो । जवाफमा नेपाल निरधारित २० ओभर ९ विकेट गुमाउँदै ८० रनमा समेटियो ।
नेपालका लागि कवितार कुँवरले सर्वाधिक २४ रन योगदान दिइन् । त्यस्तै रजाजमति ऐरीले अविजित २० तथा रूविना क्षेत्रीले १२ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
थाइल्यान्डका लागि ओन्निचा कामचोम्फुले सर्वाधिक चार विकेट लिइन् । यसैगरी थिपाचा पुथावोङले तीन र सुलेपोर्न लाओमीले समान एक एक विकेट हात पारे । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको थाइल्यान्डले निर्धारित २० ओभरमा दुई विकेट गुमाउँदै १५८ रन बनाएको थियो ।
थाइल्यान्डका लागि नन्नापत कोन्चारोएनकाई २८ बलमा आठ चौकाको मद्दतले अविजित ५० रनको योगदान गरिन् । त्यसैगरी नटाया बुचथमले ४२ बलमा पाँच चौकासहित ५० रन बनाइन् । अपिसरा सुवान्चोराथीले २९ तथा नथ्थकन चन्थमले अविजित १५ बनाइन् ।
नेपालका लागि राजमति ऐरी र मनिषा उपाध्यायले समान एक विकेट लिए । नेपाल र थाइल्यान्ड यसअघि नै विश्वकपको ग्लोबल छनोटमा पुगिसकेका थिए । पहिलो खेलमा दुवैले युएईलाई हराउँदै विश्वकपको ग्लोबल छनोटमा पुगेका हुन् ।
-

पूर्वकप्तान मानबहादुरले हेल्प नेपालबाट एनभीए लिग खेल्ने
काठमाडौं । नेपाली राष्ट्रिय भलिबल टोलीका पूर्वकप्तान मानबहादुर श्रेष्ठले हेल्प नेपाल स्पोर्ट्स क्लबबाट प्रधानमन्त्री(पिएम) कप एनभीए भलिबल लिग खेल्ने भएका छन् ।
उनले सामाजिक संजालमार्फत आफुले जेठ ८ देखि १५ गतेसम्म पोखरामा हुने एभिए लिग हेल्प नेपालबाट खेल्न लागेको बताएका छन् ।
राष्ट्रिय टिमबाट सन्यासपछि मानबहादुरले अष्ट्रेलिया बस्दै आएका छन् । सन्यासपछी उनले पहिलो पटक घरेलु प्रतियोगिता खेल्न आएका हुन् ।
यसअघि उनी त्रिभुवन आर्मी क्लबबाट घरेलु प्रतियोगिता खेल्दै आएका थिए । एनभीए भलिबल लिग जेठ ८ देखि १५ गते पोखरा रंगशालामा हुदौछ ।
-

अभ्यास खेलमा नेपालका दुई खेलाडीले हाने शतक
काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत स्कटल्याण्डमा हुने सिरिजको तयारीमा बेलायत पुगेको नेपाली टोलीले दोस्रो अभ्यास खेलिरहेको छ । दोस्रो अभ्यास खेलमा नेपालले एमसिसिविरुद्ध उत्कृष्ट ब्याटिङ गरेको छ ।
नेपालका दुई ब्याटरले शतक पूरा गरेका छन् । उपकप्तान दीपेन्द्रसिंह ऐरी र भीम सार्कीले शतक पूरा गरेका हुन् । भीम ९० बलमा १०४ रन बनाउँदै रिटायर्ड आउट भए । दीपेन्द्र ६७ बलमा ११० रन बनाएर रिटायर्ड आउट भए ।
४५ ओभरको खेलमा नेपालले ४ विकेट गुमाएर ३३५ रन बनाएको छ । बसिर अहमदले ३७ र अनिलकुमार शाहले २७ रन बनाए । यसअघि शनिबार भएको पहिलो अभ्यास खेलमा नेपालले न्यू पोर्ट क्रिकेट क्लबलाई ३ विकेटले हराएको थियो ।
-

कप्तान इन्दुको फर्मले नेपाललाई मिलेको राहत
काठमाडौं । नेपाल महिला क्रिकेटमा कोही बढी आलोचित थियो त कप्तान इन्दु बर्मा । नेपाली टोलीले सुखद नतिजा ल्याउन नसक्दा कप्तान इन्दुलाई सामाजिक सञ्जालमा गालीको वर्षा हुन्थ्यो ।
तर, थाइल्याण्डमा भएको महिला टी-२० विश्वकप एसिया छनोटमा उनकै सुझबुझपूर्ण ब्याटिङकै कारण नेपालले ऐतिहासिक सफलता पायो । नेपालले पहिलोपटक महिला टी-२० विश्वकपको ग्लोबल छनोटमा स्थान पक्का गर्यो ।
छनोटमा नेपालले ३ खेलमा जित निकाल्यो भने एक खेलमा हार बेहोर्दा एक खेल वर्षाका कारण प्रभावित भयो । ४ वटै खेलमा इन्दुको ब्याटिङ उत्कृष्ट रह्यो । उनी ४ वटै इनिङमा नटआउट रहिन् । अन्य ब्याटर क्रिजमा जम्न नसक्दा इन्दुले सुझबुझपूर्ण ब्याटिङ गरिन् ।
बहराइनविरुद्धको पहिलो खेलमा ७ र दोस्रो खेलमा २४ रनमा अविजित रहिन् । बहराइनसँगको दोस्रो खेलमा ७ बलमा अविजित २४ रन बनाउँदै सुपर—३ को ढोका खोलेकी थिइन् । सोमबार भएको युएईविरुद्धको ऐतिहासिक जितमा इ्रन्दु नायक बनिन् ।
उनले २८ बलमा अविजित ३० रन बनाउँदै नेपाललाई ऐतिहासिक उपलब्धी दिलाइन् । उक्त खेलमा उनी प्लेयर अफ द म्याच घोषित भइन् । तर, उक्त अवार्ड उनले ४ विकेट लिएकी मनिषा उपाध्ययलाई सुम्पिइन् ।
-

बोर्नमाउथबाट रियल म्याड्रिड पुगे २० वर्षीय स्पेनिश डिफेन्डर डिन हुइजेन
काठमाडौं । स्पेनिश राष्ट्रिय टीमका २० वर्षीय डिफेन्डर डिन हुइजेन प्रिमियर लिग क्लब बोर्नमाउथबाट रियल म्याड्रिड लागेका छन् ।
सेन्टर–ब्याकको अनुबन्धमा रहेको एक्जिट क्लाजको कारण रियल म्याड्रिडले यो स्थानान्तरण छिटो सम्पन्न गर्न सफल भएको हो । उनीहरूले ५९.५ मिलियन युरो प्राप्त गर्ने घोषणा गरेका छन् । हुइजेन, जसले २०२४ को गर्मीमा १५.२ मिलियन युरोमा जुभेन्टसबाट बोर्नमाउथमा आएका थिए, अहिले रियल म्याड्रिडको इतिहासको सबैभन्दा महँगा डिफेन्डर हुन् ।
हुइजेनले रियल म्याड्रिडको डिफेन्सिव समस्या समाधान गर्ने जिम्मेवारी लिएका छन् । यो सिजनमा उनको बजार मूल्य १० मिलियन युरोबाट बढेर ४२ मिलियन युरो पुगेको छ । डेभिड अलाबा, एन्टोनियो रुडिगर, र एडर मिलिटाओ जस्ता खेलाडीहरूको चोटले गर्दा डिफेन्समा गहिराइ नभएको अवस्थामा हुइजेनले यसलाई मजबुत बनाउने छन् ।
यसैकारण, उनलाई संयुक्त राज्य अमेरिकामा आयोजना हुने फिफा क्लब विश्वकपको लागि दर्ता गरिनेछ । यसअघि रियल म्याड्रिडको सबैभन्दा महँगा डिफेन्डर मिलिटाओ थिए, जसले २०१९ मा पोर्टोबाट ५० मिलियन युरोमा रियल म्याड्रिडमा आएका थिए ।
बोर्नमाउथको लागि पनि यो ऐतिहासिक स्थानान्तरण हो। डोमिनिक सोलान्के मात्र हो जसलाई उनीहरूले २०२४ मा ६४.३ मिलियन युरोमा टोटनह्यामलाई बेचेका थिए, जुन रकम यसभन्दा बढी थियो ।
तर यस पटक उनीहरूले सम्पूर्ण स्थानान्तरण शुल्क पाउने छैनन् । नाफाको १०% (४.४ मिलियन युरो) जुभेन्टसले प्राप्त गर्नेछ । हुइजेनको पूर्व युवा क्लब मालागाले पनि केही प्रतिशत प्राप्त गर्नेछ ।
मालागाबाट म्याड्रिडसम्म- डिन हुइजेनको उल्लेखनीय उदय
१९ वर्षीय डिफेन्डरको लागि यो एक उल्लेखनीय उदय हो । तर, हुइजेनसँग पहिले नै धेरै अनुभव छ । १६ वर्षको उमेरमा उनी मालागा छोडेर जुभेन्टसमा गएका थिए। इटाली क्लबले उनका लागि मात्र ४७०,००० युरो तिरेको थियो ।
‘मैले यो निर्णय गर्न धेरै समय लिएँ, तर यो सबैका लागि उत्तम थियो’, हुइजेनले मार्चमा रेल्भोलाई दिएको अन्तर्वार्तामा भनेका थिए । उनको लक्ष्य उनको डिफेन्सिव खेल सुधार गर्ने थियो । त्यो लक्ष्य पहिले जुभेन्टसमा र त्यसपछि २०२३/२४ सिजनको दोस्रो भागमा रोमामा लोनमा रहँदा हासिल गरिएको थियो ।
‘इटाली जाने मुख्य कारण मेरो डिफेन्सिव खेल सुधार गर्नु थियो,’ हुइजेनले भने, ‘म एक पूर्ण खेलाडी बन्न चाहान्थें । स्पेनमा, बल नियन्त्रणमा ध्यान केन्द्रित गरिन्थ्यो, र इङ्ल्यान्डमा मैले तीव्रताको बारेमा सिकें । उच्च टेम्पो र एक-एक मुकाबलाबाट मैले धेरै सिकें ।’ २० वर्षको उमेरमा उनी विश्वको सबैभन्दा ठूलो क्लबमा पुगिसकेका छन् ।
-

क्रिकेट खेलेर के हुन्छ र ? भन्ने मानसिकताकाबीच हुर्किएर क्रिकेटमा लाग्ने बहिनीहरूप्रति सम्मान : पारस खड्का
काठमाडौं । नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्काले क्रिकेट खेलेर के हुन्छ र ? भन्ने मानसिकताकाबीच हुर्किएर महिला क्रिकेटमा लाग्ने खेलाडीप्रति सम्मान व्यक्त गरेका छन् । नेपाल पहिलो पटक महिला टी-२० विश्वकपको ग्लोबल क्वालिफायरमा प्रवेश गरेपछि क्यानका सचिव पारस खड्काले आजको जित कुनै आकस्मिक परिणाम नभएको बताए ।
‘क्रिकेट खेलेर के हुन्छ र ? भन्ने मानसिकता राख्ने जमातबीच ती सबै चुनौतीहरू पार गर्दै हुर्किएर महिला क्रिकेटमा लाग्नु भएको बहिनीहरूप्रति सम्मान र कृतज्ञता । नेपालमा हाम्रा बहिनीहरूले क्रिकेट खेल्ने इच्छा राख्नु नै ठूलो कुरा हो, र अझै पनि ती सपनाहरू जीवित छन्’, उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
सचिव पारसले समाजमा फैलिएका नकारात्मक धारणा र प्रतिक्रियाहरूलाई एकछिनको लागि बिर्सेर, राष्ट्रको प्रतिनिधित्व गर्दै आफ्नो जीवन यो खेलप्रति समर्पित गर्नु साँच्चै सजिलो नभएको बताए । उनले सामाजिक सञ्जालमा गाली गर्नु जत्तिको सजिलो मैदानमा दौडिन नभएको उल्लेख गरेका छन् ।
उनले लेखेका छन्, ‘नेपाली महिला क्रिकेट टिमको आजको जित कुनै आकस्मिक परिणाम होइन, यो त तपाईंहरूले ब्याट र बल समातेको पहिलो दिनदेखि नै सुनिश्चित भइसकेको भविष्य थियो ।’
-

लमजुङको खुदी बजारको नयाँ नाम साम्बा चोक
काठमाडौं । राष्ट्रिय फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा) को सम्मानमा उनको गृह नगरको मुख्य चोकको नामकरण नै उनको नामबाट भएको छ ।
सशस्त्र प्रहरीकी सहायक हवल्दारसमेत रहेकी साम्बा लमजुङ, मस्र्याङ्दी गाउँपालिका– ९ खुदी बजारकी बासिन्दा हुन् । त्यहाँको गाउँपालिकाले खुदी बजारको प्रमुख चोकको नामकरण सम्बा चोकका रूपमा गरेको छ । त्यहाँ सम्बाको एउटा स्तम्भ पनि बनाइएको छ । त्यसको उद्घाटन गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले सोमबार गरे ।
सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार, उद्घाटन समारोहमा प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेल, मर्स्याङ्दी गाउँपालिका–९ का वडा अध्यक्ष हरिशचन्द्र थापा, आश्रित गुल्म लमजुङका गुल्मपतिसहितका व्यक्ति उक्त कार्यक्रममा उपस्थित थिए । कार्यक्रममा साम्बाका बुबा र आमालाई सम्मान गरिएको छ ।
-

इन्दुले आफूले पाएको ‘प्लेयर अफ द म्याच अवार्ड’ मनिषालाई दिइन्
काठमाडौं । महिला टी-२० विश्वकपको एसिया छनोटअन्तर्गत युएईविरुद्धको निर्णायक खेलमा नेपालकी कप्तान इन्दु बर्माले आफूले पाएको ‘प्लेयर अफ द म्याच अवार्ड’ मनिषा उपाध्यायलाई दिएकी छन् ।
नेपाललाई जित दिलाउन उत्कृष्ट ब्याटिङ गरेकी इन्दुले प्लेयर अफ द म्याचको अवार्ड मनिषालाई दिएकी हुन् । इन्दुले २८ बलमा अविजित ३० रन बनाएकी थिइन् । मनिषा बलिङमा चम्किँदा नेपालले युएईलाई सस्तोमै रोकेको थियो ।
४ ओभर बलिङ गरेकी मनिषाले २० रन खर्चेर ४ विकेट लिइन् । उनले सेट भइसकेका युएईकी कप्तान ईशा ओजा, हीना होटचंदानी, लावन्या केनी र मिशेल बोथालाई आउट गरेकी थिइन् ।
‘सबै खेलाडी जितका लागि योग्य छन् । म प्लेयर अफ द म्याच अवार्ड मनिषा उपाध्यायलाई दिन चाहन्छु,’ कप्तान इन्दुले भनिन् ।
नेपालले युएईलाई हराउँदै पहिलो पटक महिला टी-२० विश्वकपको ग्लोबल क्वालिफायरमा प्रवेश गरेको हो । खेलपछि कप्तान इन्दुले नेपालका लागि यो ऐतिहासिक क्षण रहेको बताइन् ।
-

युएईलाई हराउँदै नेपाल पहिलोपटक विश्वकपको ग्लोबल छनोटमा प्रवेश
काठमाडौं । महिला टी-२० विश्वकपको एसिया छनोटमा युएईलाई पराजित गर्दै नेपाल पहिलोपटक ग्लोबल छनोटमा प्रवेश गरेको छ ।
आज भएको सुपर–३ अन्तर्गतको खेलमा युएईलाई ५ विकेटले पराजित गर्दै नेपालले एक खेल अगावै शीर्ष दुईमा रहँदै ग्लोबल छनोटमा प्रवेश गरेको हो ।
युएईले दिएको ११५ रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभर ३ बलमा ५ विकेट गुमाएर पूरा ग¥यो । नेपालका लागि कप्तान इन्दु बर्माले कप्तानी इनिन्स खेलिन् ।
उनले २८ बलमा अविजित ३० रन बनाइन् । रुविना क्षेत्रीले २३ र सम्झना खड्काले २१ रनको योगदान दिइन् । ६४ रनमा ४ विकेट गएको नेपालका लागि रुविना र इन्दुले उत्कृष्ट साझेदारी गर्दै नेपाललाई जिततर्फ दोहो¥याएका थिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११४ रन मात्रै बनाएको थियो । नेपालका लागि मनिषा कुमारी उपाध्यायले ४ विकेट लिइन् । यस्तै कविता कुँवरले २ र राजमती ऐरीले १ विकेट लिइन् ।
यूएईका लागि कप्तान इशा ओजाले सर्वाधिक ३९ रन बनाइन् । तीर्था सतिशले २१ र हीना होचन्दानीले २० रन बनाएका थिए ।
नेपालले अब सुपर-३ को दोस्रो खेलमा मंगलबार थाइल्याण्डसँग खेल्नेछ । थाइल्याण्डले पनि युएईलाई हराउँदै ग्लोबल छनोटमा स्थान पक्का गरिसकेको छ ।
-

भारतले एसिया कप क्रिकेटबाट हात झिक्ने ! एसीसीको प्रमुख पाकिस्तानी भएको निहुँ
काठमाडौं । भारतले आगामी पुरुष एसिया कप २०२५ र महिला इमर्जिङ टिम्स एसिया कपमा आफ्नो टोली नपठाउने निर्णय गरेको छ । पाकिस्तानसँगको तनावका कारण भारतले एसिया कपबाट हात झिक्ने निर्णय गरेको हो ।
द इन्डियन एक्सप्रेसमा प्रकाशित समाचार अनुसार बीसीसीआइले एसीसीलाई यो निर्णयबारे जानकारी गराइसकेको छ । पाकिस्तानी मन्त्रीले नेतृत्व गरिरहेको एसीसीले गराउने प्रतियोगिता भारतले खेल्न नसक्ने बीसीसीआई स्रोतले बतायो ।
‘पाकिस्तानी मन्त्री मोहसिन नक्वीको नेतृत्वमा रहेको एसीसी (एसियन क्रिकेट काउन्सिल) को प्रतियोगितामा भारतको टोली खेल्न सक्दैन । यो देशको भावना हो । हामीले एसीसीलाई मौखिक रूपमा जानकारी गराइसकेका छौँ कि भारतले महिला इमर्जिङ टिम्स एसिया कपमा भाग लिँदैन र भविष्यमा हुने अन्य प्रतियोगितामा पनि सहभागिता अनिश्चित छ । हामी निरन्तर सरकारको सम्पर्कमा छौँ,’ बीसीसीआई स्रोतले भन्यो ।
रोचक के छ भने यो वर्षको एसिया कप भारतमै आयोजना हुने तय भएको थियो । आगामी वर्ष हुने टी-२० विश्वकपलाई ध्यानमा राखेर टी-२० ढाँचामा खेलाइने तयारी थियो । तर भारतको निर्णयले प्रतियोगिता नै अन्योलमा परेको छ ।
भारतबाहेक यो प्रतियोगितामा श्रीलंका, पाकिस्तान, अफगानिस्तान र बंगलादेश सहभागी हुने तय थियो । सन् २०२३ मा भएको अघिल्लो संस्करण पाकिस्तानले आयोजना गरेको भए पनि भारतले पाकिस्तान भ्रमण गर्न अस्वीकार गरेपछि प्रतियोगिता हाइब्रिड मोडलमा खेलाइएको थियो । भारतका सबै खेलहरू श्रीलंकामा खेलाइएका थिए ।
यसैगरी, सन् २०२५ को सुरुमा भएको आइसीसी च्याम्पियन्स ट्रफी पनि हाइब्रिड मोडलमा नै भएका थिए, जसमा भारतका सबै खेलहरू दुबई मा आयोजना गरिएका थिए ।
बीसीसीआइको पछिल्लो निर्णयसँगै एसिया कप २०२५ को आयोजनामै प्रश्न चिन्ह खडा भएको छ । प्रतियोगिताका प्रमुख प्रायोजकहरू भारतीय कम्पनीहरू भएकाले भारतको अनुपस्थितिले प्रतियोगिता नै रद्द हुने सम्भावना रहेको दाबीसमेत इन्डियन एक्सप्रेसले गरेको छ ।
-

महिला टी-२० विश्वकपको एसिया छनोट : जितका लागि नेपालले पायो ११५ रनको लक्ष्य
काठमाडौं । महिला टी–२० विश्वकपको एसिया छनोटको सुपर–३ अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले जितका लागि ११५ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११४ रन मात्रै बनाउन सक्यो ।
नेपालका लागि मनिषा कुमारी उपाध्यायले ४ विकेट लिइन् । यस्तै कविता कुँवरले २ र राजमती ऐरीले १ विकेट लिइन् ।
यूएईका लागि कप्तान इशा ओजाले सर्वाधिक ३९ रन बनाइन् । तीर्था सतिशले २१ र हीना होचन्दानीले २० रन बनाए ।
-

‘हिमालयन चितुवा’ लाई ‘के वन क्रस १७५’को उपाधि
काठमाडौं । नेपाली युवा बक्सर अविरल घिमिरेले किक बक्सिङ खेलको इतिहासमा नयाँ कीर्तिमान कायम गर्न सफल भएका छन् । ‘हिमालयन चितुवा’को नामले विश्व परिचित बक्सर घिमिरेले पहिलो पटक तीनवटा अन्तरराष्ट्रिय ‘किक बक्सिङ टाइटल’ हात पार्दै अदम्य साहस तथा असाधारण उपलब्धि हासिल गरेका हुन् ।
बक्सर घिमिरेले जापानको ओसाका सहरमा आइतबार सम्पन्न विश्व प्रसिद्ध ‘के वन क्रस १७५’को उपाधि चुम्दै नयाँ कीर्तिमान बनाउन सफल भएका हुन् । अत्यन्त प्रतिस्पर्धात्मक प्रतियोगितामा उनले जापानी किक बक्सिङ ‘च्याम्पियन’ ओडा जिन्कलाई दोस्रो राउण्डमा परास्त गर्दै विश्व ‘च्याम्पियन’ बनेका हुन् ।
‘च्याम्पियन’ जिन्कलाई रिङ्मा ढाल्ने बक्सर घिमिरे पहिलो नेपाली खेलाडी बन्नुभएको बक्सर अविरलका पिता एवं पूर्वअन्तरराष्ट्रिय किक बक्सर तथा फुलकन्ट्र्याक कराँते खेलाडी देव घिमिरेले जानकारी दिए। उनका अनुसार ‘के वन क्रस १७५’ लाई किक बक्सिङ खेलका क्षेत्रमा अन्त्यन्त प्रतिष्ठित प्रतियोगिता मानिन्छ । सो अन्तरराष्ट्रिय खेल हेर्ने जापानमा रहेका नेपाली तथा जापानीको उल्लेखनीय सहभागीता रहेको कराँते खेलाडी देवले बताए ।
प्रतियोगिताका लागि बक्सर अविरलले थाइल्याण्डको फुकेट सहरस्थित टाइगर मोथाई क्लबमा करिब डेढमहिना आफ्नै खर्चमा बन्द प्रशिक्षणसमेत लिएका थिए । ‘के वन क्रस १७५’को उपाधि हात पारेपछि बक्सर अविरलले भने, ‘के वन क्रस १७५’को उपाधि हात पार्नु नेपाल र मेरो लागि ऐतिहासिक क्षण हो । यसका लागि मेरा पिता एवं प्रशिक्षक कराँते खेलाडी देवलाई विशेष धन्यवाद दिन चाहन्छु । मेरो खेल हेर्न हलमा सहभागी भएका नेपाली र जापानी खेलप्रेमीलाई पनि धन्यवाद दिन चाहन्छु । मेरो खेलयात्रा जारी रहने छ ।’
किक बक्सिङ खेल क्षेत्रमा एकपछि अर्को ऐतिहासिक कीर्तिमान बनाउन सफल हुनुभएका बक्सर अविरलले हालै ‘के वान वल्र्ड म्याक्स २०२५’ प्रतियोगिताको उपाधि चुमेका थिए । ‘के वान प्रोफेसनल किक बक्सिङ’द्वाराजापानको टोकियो सहरस्थित नेशनल योयोगी स्टेडियम गत माघको अन्तिम साता आयोजित सो प्रतियोगितामा उनले जापानका बक्सर यसुहितो सिरासुलाई ढाल्दै विजयी हुन सफल भएका थिए ।
यसैगरी गत कात्तिक ११ मा इन्टरनेशनल स्पोर्टस् किक बक्सिङ एसोसिएसनद्वारा जापानको नागोया सहरस्थित नागोया कंग्रेस सेन्टरमा आयोजित ‘इन्टरनेशनल किक बक्सिङ’ (इस्का) प्रतियोगितामा ‘हिमचितुवा’ले विश्वप्रसिद्ध फ्रान्सका बक्सर एन्टोनिन मार्कोनीलाई ढाल्दै ‘वल्र्ड च्याम्पियन’ हुन सफल भएका थिए ।
हालसम्म फ्रान्स, जापान, दक्षिण कोरिया, ब्राजिल, बोलिभिया, नेदरल्याण्ड, थाइल्याण्डलगायत देशका बक्सरलाई पराजित गरिसकेएका युवा पुस्ताका चर्चित खेलाडी अविरलले अन्तरराष्ट्रिय प्रतियोगितामा नेपाली झण्डा फहराउँदै विश्वमा नेपालको पहिचान बनाउन सफल भएका छन् ।
बक्सर अविरल आफ्ना पिता बक्सर देवको साथमा जापानको नागोया सहरमा बस्दै आएका छन् । कराँते खेलाडी देव सन् २००४ मा कोरियाको सोलमा सम्पन्न ‘के वान प्राफेसलन किक बक्सिङ प्रतियोगिता’मा सहभागी हुने पहिलो दक्षिण एसियाली खेलाडी हुन् । चन्द्रागिरि नगरपालिका–१२ गुर्जुधारा बलम्बूका बासिन्दा उनको परिवार हाल जापानको नागोया सहरमा बसोबास गर्दै आइरहेको छ ।