Category: खेल प्रेस

  • आरिफकाे प्रेरणामा नेदरल्यान्ड्समाथि नेपालकाे शानदार जित

    आरिफकाे प्रेरणामा नेदरल्यान्ड्समाथि नेपालकाे शानदार जित

    काठमाडौं । विश्वकप लिग २ अन्तरगत स्कटल्याण्डमा जारी श्रृंखलामा नेपालले लगातार दाेस्राे जित हात पारेकाे छ ।

    मध्यक्रमका ब्याट्सम्यान आरिफ शेखकाे प्रेरणादायी ब्याटिङमा नेपालले बलियाे नेदरल्यान्ड्सलाई पाखा लगायाे । ब्याटिङका लागि कठिन पीचमा २२६ रनकाे मध्यम लक्ष्य पछ्याएकाे नेपाललाई ५ विकेटकाे जित दिलाउन आरिफले ७८ रनकाे उत्कृष्ट इनिङ खेले ।

    उनले २ छक्का र ७ चाैका प्रहार गरेका थिए । आरिफलाई दीपेन्द्रसिंह ऐरीले बलियाे साथ दिए । आरिफ र दीपेन्द्रबीच भएकाे ८९ रनकाे साझेदारी नै नेपालका लागि निर्णायक बन्याे ।

    संयमित ब्याटिङ गरेका दीपेन्द्रले ५१ बलमा ३ चाैकासहित ३८ रन बनाए । ४७.१ ओेभरमा गुल्शन झाले छक्का हान्दै नेपाललाई मिठाे जित दिलाएका थिए ।

    नेपालले ब्याटिङमा मध्यम सुरूवात गरेकाे थियाे । ओपनर जाेडी आसिफ शेख र कुशल भुर्तेलले पहिलाे विकेटका लागि ३२ रनकाे साझेदारी गरे । आसिफ १९ र कुशल २५ रन बनाएर आउट भए । त्यसैगरि भीम सार्की र राेहित पाैडेलले क्रमशः ११ र २३ रन जाेडे । राेहित दुर्भाग्यपुर्ण रनआउट हुँदा नेपाल केही दवावमा देखिएकाे थियाे । तर त्यसपछि आरिफ र दीपेन्द्रले नेपाललाई सम्हाले ।

  • विश्वकप लिग-२ : नेपाललाई नेदरल्यान्ड्सले दियो २२६ रनको लक्ष्य

    विश्वकप लिग-२ : नेपाललाई नेदरल्यान्ड्सले दियो २२६ रनको लक्ष्य

    काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गतको खेलमा नेदरल्यान्ड्सले नेपाललाई २२६ रनको लक्ष्य दिएको छ ।

    स्कटल्यान्डको फोर्थिल डण्डीमा टस जितेर पहिला ब्याटिङ गरेको नेदरल्यान्ड्स ४९ ओभर १ बलमा २२५ रनमा समेटियो ।

    नेदरल्यान्ड्सका लागि नूह क्रोसले सर्वाधिक ४८ रन बनाए । उनले रोएलफ भ्यान डेर मेर्वेसँग आठौं विकेटका लागि ५५ रनको साझेदारी गरे । मेर्वे २० रनमा आउट भए । कप्तान स्कट एडवड्र्सले ४६, विक्रमजीत सिंहले ३८, ज्याक लायन क्याचेटले २७ र तेजा निदामानरुले १३ रनको योगदान दिए ।

    बलिङमा नेपालका सोमपाल कामीले सर्वाधिक ३ विकेट लिए । करण केसी, सन्दीप लामिछाने र ललित राजवंशीले दुईदुई विकेट लिए ।

     

  • विश्वकप लिग-२ : वर्षाका कारण नेपाल र नेदरल्याण्ड्सबीचको खेल प्रभावित

    विश्वकप लिग-२ : वर्षाका कारण नेपाल र नेदरल्याण्ड्सबीचको खेल प्रभावित

    काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गतको खेलमा नेदरल्यान्ड्स र नेपालबिचको खेल वर्षाका कारण प्रभावित बनेको छ । स्कटल्यान्डको फोर्थिल डण्डीमा टस जितेर पहिला ब्याटिङ गरेको नेदरल्यान्ड्सले ४७ ओभर ३ बलमा ७ विकेट गुमाएर २१९ रन बनाएर खेलिरहेको बेला वर्षा हुँदा खेल रोकिएको हो ।

    नेदरल्यान्ड्सका लागि नूह क्रोस ४६ र रोएलफ भ्यान डेर मेर्वे २० रनमा अविजित छन् । उनीहरुले आठौं विकेटका लागि ५३ रनको साझेदारी गरिसकेका छन् ।

    स्कट एडवड्र्सले ४२, विक्रमजीत सिंहले ३८, ज्याक लायन क्याचेटले २७, तेजा निदामानरुले १३ रन बनाएर आउट भए । बलिङमा नेपालका करण केसी, सन्दीप लामिछाने र ललित राजवंशीले दुईदुई तथा सोमपाल कामीले एक विकेट लिए ।

     

  • आईसीसीको दुई अवार्डको मनोनयनमा नेपाल

    आईसीसीको दुई अवार्डको मनोनयनमा नेपाल

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का दुई फरक विधाको अवार्डको मनोनयनमा परेको छ ।

    क्यान ‘आईसीसी डेभलपमेन्ट अवार्ड’ अन्तर्गत ‘डिजिटल फ्यान इनगेजमेन्ट अफ दि इयर’ र ‘एक्स रेक्सोना क्रियो फेस्टिभल अफ दि इयर’ अवार्डको मनोयनमा परेको हो ।

    डिजिटल फ्यान इनगेजमेन्ट विधामा एसियाली क्षेत्रको विजेता बन्दै ग्लोबल मनोनयनमा परेको हो । उक्त मनोनयनमा नेपालसहित नामिबिया, बर्मुडा, र इन्डोनेसिया छन् । एक्स रेक्सोना क्रियो फेस्टिभल विधाको ग्लोबल मनोनयनमा नेपालसहित तान्जानिया, युएई, इन्डोनेसिया र साउदी अरेबिया परेका छन् ।

  • नेदरल्यान्ड्सलाई दबाबमा राख्दै नेपाल, सन्दीप र ललितले लिए दुई-दुई विकेट

    नेदरल्यान्ड्सलाई दबाबमा राख्दै नेपाल, सन्दीप र ललितले लिए दुई-दुई विकेट

    काठमाडाैं । विश्वकप लिग २ अन्तर्गत स्कटल्यान्डमा भइरहेको खेलमा पहिले बलिङ गरेको नेपालले नेदरल्यान्ड्सलाई दबाबमा राखिरहेको छ । कठिन ब्याटिङ कन्डिसनमा नेदरल्यान्ड्सका ब्याटरहरुले खुलेर खेल्न सकिरहेका छैनन् ।

    नेपालका लागि दुई स्पिनर सन्दीप लामिछाने र ललित राजवंशीले नेदरल्यान्ड्सको दुई दुई विकेट लिएका छन् । सन्दीपले आफ्नो पहिलो ओभरमा र ललितले पहिलो बलमै विकेट निकालेका थिए । यस्तै, सोमपाल कामी र करण केसीले एक एक विकेट लिए ।

    टस जितेर पहिले ब्याटिङ रोजेको नेदरल्यान्ड्सले १ रनमै पहिलो विकेट गुमाएको थियो । सोमपालले नेदरल्यान्ड्सका ओपनर मिचेल लेभिटलाई आउट गर्दै नेपालको खाता खोलेका थिए । त्यसपछि नेदरल्यान्ड्सले खेलमा आक्रामकता देखाउन सकेको छैन । मैदानमा बेस्सरी हावा चलेकाले पनि ब्याटिङ गर्न कठिनाइ भइरहेको छ ।

    यो समाचार तयार पार्दासम्म नेदरल्यान्ड्सले ३८ ओभरमा ६ विकेट गुमाउँदै १६६ रन जोडेको छ । नेदरल्यान्ड्सका कप्तान स्कट एडवड्र्सले ४६ रन बनाउँदै टिमको स्कोर अघि बढाएका थिए । उनलाई ललितले आउट गरेपछि नेदरल्यान्ड्स थप दबाबमा आएको हो ।

     

  • पोखरामा प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुने

    पोखरामा प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुने

    पोखरा । पोखरामा प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुने भएको छ । नेसनल स्पोर्टस्  एकेडेमीको आयोजनामा पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा जेठ २७ देखि ३१ गतेसम्म उक्त प्रतियोगिता हुन लागेको हो ।

    प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बल, गण्डकी प्रदेश, न्यु डायमण्ड युथ स्पोट्र्स क्लब र एभरेष्ट भलिबल क्लबले सहभागिता जनाउने छन् । खेलहरु राउण्ड रोविन लिगका आधारमा सञ्चालन हुनेछन् ।

    प्रतियोगिताका विजेताले ६ लाख र उपविजेताले ३ लाख पुरस्कार पाउने एकेडेमीका अध्यक्ष दीपक कोइरालाले जानकारी दिए । तेस्रो हुने टोलीले एक लाख पुरस्कार पाउनेछ ।

    सर्वोत्कृष्ट खेलाडीले ३० हजार र विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरूले समान २० हजार पुरस्कार पाउने आयोजकले जनाएको छ । सहभागी टीममा विदेशी खेलाडीको हकमा ३ जनासम्म खेलाडी खेलाउन पाउने व्यवस्था गरिएको छ ।

    नेपालको लोकप्रिय र गतिशील हुँदै गएको खेलको रूपमा रहेको भलिवलको विकासमा एउटा इटा थप्ने प्रयास स्वरूप प्रतियोगिता गरिएको एकेडेमीका अध्यक्ष कोइरालाले जानकारी दिए ।

     

  • नेदरल्यान्ड्सविरुद्ध पहिले बलिङ गर्दै नेपाल, सोमपालले दिलाए पहिलो सफलता

    नेदरल्यान्ड्सविरुद्ध पहिले बलिङ गर्दै नेपाल, सोमपालले दिलाए पहिलो सफलता

    काठमाडौं । विश्वकप लिग २ अन्तरगत नेपाल र नेदरल्यान्ड्सबीचको एकदिवसीय म्याच सुरु भएको छ । टस जितेर नेदरल्यान्ड्सले पहिले ब्याटिङ रोज्यो ।

    स्कटल्यान्डको फोर्थिल डण्डीमा भइरहेको म्याचमा नेपाललाई सोमपाल कामीले पहिलो सफलता दिलाएका छन् । उनले नेदरल्यान्ड्सका ओपनर मिचेल लेभिटलाई कप्तान रोहित पौडेलको हातबाट क्याचआउट गराए । १ रन जोडेको अवस्थामा नेदरल्यान्ड्सले पहिलो विकेट गुमाएको हो ।

    नेपालले आज प्लेइङ ११ मा एक परिवर्तन गरेको छ । फास्ट बलर रिजन ढकालको ठाउँमा स्पिनर ललित राजवंशी आएका छन् ।

  • नेपालविरुद्ध नेदरल्यान्डसले टस जितेर पहिला ब्याटिङ गर्दै

    नेपालविरुद्ध नेदरल्यान्डसले टस जितेर पहिला ब्याटिङ गर्दै

    काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गतको सिरिजमा नेदरल्यान्डसविरुद्ध नेपालले पहिला फिल्डिङ गर्ने भएको छ । नेपालविरुद्ध नेदरल्यान्डसले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो ।

    सिरिजअन्तगतको पहिलो खेलमा नेपालले स्कटल्याण्डमाथि एक विकेटको रोमान्चक जित निकालेको थियो ।

    नेपालको प्लेइङः ११ रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), भीम सार्की, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र ललितनारायण राजवंशी ।

     

  • नेदरल्यान्ड्सविरुद्धको म्याचअघि क्यानले दर्शकलाई भन्यो- मैदानभित्र नपस्नुस्

    नेदरल्यान्ड्सविरुद्धको म्याचअघि क्यानले दर्शकलाई भन्यो- मैदानभित्र नपस्नुस्

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले अन्तर्राष्ट्रिय क्रिकेट म्याच भइरहेका बखत मैदानभित्र नपस्न दर्शकहरूलाई अनुरोध गरेको छ ।

    आज विश्वकप लिग २ अन्तरगत नेपाल र नेदरल्यान्ड्सविरुद्धको खेलको पूर्वसन्ध्यामा क्यानले सामाजिक सञ्जालबाट सो अनुरोध गरेको हो ।

    क्यानको फेसबुक पोस्टमा भनिएको छ, ‘सबैको सुरक्षाका खातिर र अन्तर्राष्ट्रिय खेलको नियम अनुरूप हामी फ्यानहरूलाई कुनै पनि समय, खेलका क्रममा वा खेलपछि पनि, मैदानभित्र प्रवेश नगर्न अनुरोध गर्छौँ ।’

    अस्ति भएको नेपाल र स्कटल्यान्डबीचको खेलमा नेपालले रोमाञ्चक जित हात पारेपछि नेपाली दर्शकहरू खुशी मनाउँदै मैदानभित्र प्रवेश गरेका थिए । सोही घटनालाई लिएर क्यानले आज सूचना जारी गरेको हो ।

    फ्यानहरूको साथ र समर्थन भने निरन्तर रहने अपेक्षा क्यानले व्यक्त गरेको छ ।

  • आइसीसी क्रिकेट विश्वकप लिग-२ : नेपाल र नेदरल्यान्ड्स भिड्दै

    आइसीसी क्रिकेट विश्वकप लिग-२ : नेपाल र नेदरल्यान्ड्स भिड्दै

    काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा आज नेपालले नेदरल्यान्ड्ससँग खेल्दै छ ।

    स्कटल्यान्डको डुन्डेस्थित फोर्थहिल क्रिकेट मैदानमा हुने उक्त खेल नेपाली समयअनुसार आज दिउँसो ३ः४५ मा सुरु हुने छ ।

    लिग टुको आफ्नो चौथो चरणअन्तर्गत त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपाल लगातार दोस्रो जितको लक्ष्यमा रहेको छ । यसअघि सोमबार भएको पहिलो खेलमा नेपालले घरेलु टोली स्कटल्यान्डलाई एक विकेटले पराजित गर्दै विजयी भएको थियो ।

    यस शृङ्खलाको उद्घाटन खेलमा नेदरल्यान्ड्स पनि सुखद् सुरुआतको लक्ष्यमा रहेको छ । नेपाल र नेदरल्यान्ड्सबीच हालसम्म पाँच एकदविसीय अन्तर्राष्ट्रिय खेल भएका छन् । जसमा नेदरल्यान्ड्सले तीन खेलमा जित हासिल गर्दा नेपालले दुई खेलमा जित हासिल गरेको छ ।

    विश्वकप लिग-२ मा २० खेल खेलेको नेदरल्यान्ड्स २६ अङ्कका साथ दोस्रो स्थानमा छ । तेह्र खेल खेलेको नेपाल आठ अङ्कका साथ सातौँ स्थानमा छ । आठ टोली सहभागी लिग-२ आइसिसी विश्वकप २०२७ को छनोट प्रतियोगिता हो ।

    सन् २०२७ सम्म चल्ने यस लिगको अन्तिममा शीर्ष चारमा रहने टोलीले विश्वकपको ग्लोबल छनोटमा सिधै स्थान बनाउने छ । पुछारमा रहने चार टोलीले भने विश्वकप छनोट प्लेअफ खेल्नुपर्ने छ ।

    नेपाली टोलीमा कप्तान रोहितकुमार पौडेलसहित उपकप्तान दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, अनिलकुमार शाह, भीम सार्की, आरिफ शेख, गुलशन झा, बसीर अहमद, ललितनारायण राजवंशी, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, नन्दन यादव र रिजन ढकाल छन् ।

  • आरसीबीले पहिलो पटक जित्यो आईपीएलको उपाधि

    आरसीबीले पहिलो पटक जित्यो आईपीएलको उपाधि

    काठमाडौं । रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) ले पहिलोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि जितेको छ।

    फाइनलमा पन्जाब किग्संलाई ६ रनले हराउँदै आइसीबीले पहिलोपटक आईपीएलको उपाधि जितेको हो ।

    आरसीबीले दिएको १ सय ९१ रनको लक्ष्य पछ्याएको पन्जाबले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८४ रन मात्र बनाउन सक्यो।

    पञ्जाबका जस इङ्लिसले ३९ रन बनाएपनि जितका लागि पर्याप्त हुन सकेन । ओपनर प्रियांश आर्याले २४, प्रविसिमरन सिंहले २६ र नेहाल वाडेरा १५ रनको योगदान दिए ।

    अहमदाबादको नरेन्द्र मोदी रङ्गशालामा टस हारेर पहिला ब्याटिङ गरेको आरसीबीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १९० बनाएको थियो ।

    आरसीबीका लागि विराट कोहलीले सर्वाधिक ४२ रन बनाए । उनले ३५ बलमा ३ चौका प्रहार गरे । ओपनर फिल साल्टले १६, मायक अग्रवालले २४, कप्तान रजत पाटिदारले २६, लिअम लिभिङस्टनले २५, जितेश शर्माले २४ र रोमारियो शेफर्डले १७ रनको योगदान दिए ।

    बलिङमा पञ्जावका काइल जेमिसन र अर्शदीप सिंहले समान ३ विकेट लिए । युजवेन्द्र चाहल, अज्मतुल्लाह ओमारजाई र वैशाख विजय कुमारले एकएक विकेट लिए ।

  • आईपीएलको उपाधि जित्न पञ्जाबलाई १९१ रनको लक्ष्य

    आईपीएलको उपाधि जित्न पञ्जाबलाई १९१ रनको लक्ष्य

    काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)को फाइनलमा रोयल च्यालेन्जर्स बैंग्लुरले पन्जाब किङ्सलाई १९१ रनको लक्ष्य दिएको छ ।

    अहमदाबादको नरेन्द्र मोदी रङ्गशालामा टस हारेर पहिला ब्याटिङ गरेको बैंग्लुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १९० बनायो ।

    बैंग्लुरका लागि विराट कोहलीले सर्वाधिक ४२ रन बनाए । उनले ३५ बलमा ३ चौका प्रहार गरे । ओपनर फिल साल्टले १६, मायक अग्रवालले २४, कप्तान रजत पाटिदारले २६, लिअम लिभिङस्टनले २५, जितेश शर्माले २४ र रोमारियो शेफर्डले १७ रनको योगदान दिए ।

    बलिङमा पञ्जावका काइल जेमिसन र अर्शदीप सिंहले समान ३ विकेट लिए । युजवेन्द्र चाहल, अज्मतुल्लाह ओमारजाई र वैशाख विजय कुमारले एकएक विकेट लिए ।

  • यू–१६ राष्ट्रिय क्रिकेटमा कर्णालीको पहिलो जित, सुदूरपश्चिम ५ विकेटले पराजित

    यू–१६ राष्ट्रिय क्रिकेटमा कर्णालीको पहिलो जित, सुदूरपश्चिम ५ विकेटले पराजित

    सुर्खेत। पाहुना टोली सुदूरपश्चिमलाई ५ विकेटले पराजित गर्दै कर्णाली प्रदेशले टि.बी.शाह यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगीतामा पहिलो जित निकालेको छ । कर्णालीका कप्तान विपिनप्रसाद शर्माले उत्कृष्ट बलिङ गरेपछि सुदूरपश्चिम सस्तैमा समेटिएको थियो ।

    ५० ओभरको खेलमा सुदूरपश्चिमले १६ ओभर खेल्दा ५५ रन बनाएर अलआउट भयो । कर्णालीका कप्तान शर्माले आफ्नो दोस्रो खेलमा पनि उत्कृष्ट प्रदर्शनलाई जारी राखे । चार ओभर बलिङ गरेका विपिनले दुई ओभर मेर्डन राख्दै दुई रन खर्चिएर पाँच विकेट लिन सफल भए ।

    १० औं ओभरमा बलिङ गर्न आएका उनले एक रन मात्रै खर्चिए । बाह्रौं ओभरमा एक रन दिएर एक विकेट लिएका उनले चौधौं ओभरमा मेर्डनसहित एक विकेट लिए भने १६ औं ओभरमा मेर्डनसहित तीन विकेट लिए ।

    सुदूरपश्चिमका ओपनर विक्रम बोहोराले २१ बलमा पाँच चौकासहित २१ रन बनाउनुबाहेक अन्यले दोहोरो अंक छुन सकेनन् । सुदूरपश्चिमका अविरल विकले नौ, आहन थलालले पाँच र हिमाल दुयालले दुई तथा सचिन भट्टले एक रन बनाए ।

    सुदूरपश्चिमले १७ अतिरिक्त रन बनाएको थियो । कर्णालीका कप्तान विपिनले पाँच विकेट लिदा विजय बोहराले तीन तथा नवीन न्यौपानेले दुई विकेट हात पारे ।

    जवाफी व्याटिङ थालेको कर्णालीले १८.३ ओभरमा पाँच विकेट गुमाएर लक्ष्य पूरा गर्यो । कर्णालीका नेत्रविक्रम खत्रीले १५ रन बनाए भने नमनसिंह थापा र भूपेन्द्रजंग शाहीले नटआउट समान नौ रन बनाए । नवीन न्यौपानेले सात रन बनाउँदा ओपनर कस्तुप खड्काले चार रन बनाए भने कैलाश खड्का र रोशन शाहीले समान एक–एक रन बनाए ।

    यो सुदूरपश्चिम प्रदेशको लगातार दोस्रो हार हो । यसअघि सोमबार भएको खेलमा सुदूरपश्चिम कोशी प्रदेशसँग सात विकेटले पराजित भएको थियो ।

  • यू-१६ राष्ट्रिय क्रिकेट: लुम्बिनीका रौनक श्रीवास्तवले बनाए दोहोरो शतक

    यू-१६ राष्ट्रिय क्रिकेट: लुम्बिनीका रौनक श्रीवास्तवले बनाए दोहोरो शतक

    काठमाडौं । सुर्खेतमा जारी यू -१६ राष्ट्रिय क्रिकेटमा लुम्बिनी प्रदेशका रौनक श्रीवास्तवले दोहोरो शतक बनाएका छन् ।

    विरेन्द्रनगर रंगशालामा जारी प्रतियोगितामा गण्डकी प्रदेशविरुद्ध लुम्बिनीका रौनकले २१७ रनको दोहोरो शतक प्रहार गरेका हुन् । उनले ११७ बलमा १६ चौका र १६ छक्का प्रहार गरे ।

    रौनकको दोहोरो शतकको मद्दतमा लुम्बिनीले ४५ ओभर ४ बलमा सबै विकेट गुमाएर ४०३ रन बनाएको छ ।

  • करणको ‘सुपरपावर’ मा नेपालको शान

    करणको ‘सुपरपावर’ मा नेपालको शान

    काठमाडौं । नेपालले आइसीसी विश्वकप क्रिकेट लिग २ अन्तरगतको त्रिकोणात्मक सिरिजमा अविस्मरणीय सुरूवात गर्दै स्कटल्यान्डलाई उसकै भूमिमा मात दिएको छ । स्कटल्यान्डविरुद्ध १ विकेटको रोमाञ्चक जित निकाल्दा करण केसीले प्रेरणादायी अलराउन्ड प्रदर्शन गरे ।

    नेपालका एक प्रमुख बलर हुन् करण, जसले ब्याटिङमा प्राय ९-१० नम्बरमा मात्र पालो पाउँछन् । तर, यसको अर्थ उनी ‘टेल इन्डर’ भने होइनन् । उनी एक पावर हिटरका रूपमा चिनिन्छन्, जोसित ठूला-ठूला छक्काहरू प्रहार गर्ने क्षमता छ । यदि करणको ब्याट चल्यो भने टीमलाई हारको मुखबाट निकालेर एक्लैले जितसम्म पुर्‍याउने ल्याकत राख्छन् । हिजो उनले त्यही गरे ।

    नेपालले १९२ रनमा ७ विकेट गुमाएपछि करण नवौं ब्याटरका रूपमा क्रिजमा आएका थिए, जतिबेला जित नेपालको हातबाट फुत्किइसकेको प्रतीत हुन्थ्यो । अर्को इन्डमा थिए युवा अलराउन्डर गुल्शन झा । तीन विकेटमात्र हातमा हुँदा नेपालले ७० बलमा १०५ रन जोड्नुपर्ने थियो, जुन लगभग असम्भव प्रतीत हुन्थ्यो । तर, पनि गुल्शन क्रिजमा हुँदासम्म उनले कुनै चमत्कार गरिहाल्छन् कि भन्ने झिनो आशामा बसेका थिए दर्शक ।

    गुल्शनले पनि निराश बनाएनन् । आफ्नो शैलीअनुसार काउन्टर अट्याक गर्दै उनले एकतर्फी बनिरहेको खेलमा रोमाञ्चकता भरिदिए । गुल्शन र करणबीच आठौं विकेटका लागि ६० रनको आक्रामक साझेदारी भयो, केवल ४२ बलमा । यो साझेदारीले नेपाललाई खेलमा फर्कायो । तर, ४५.२ ओभरमा गुल्शन आउट भएसँगै नेपाल फेरि धर्मरायो । आउट हुनुअघि उनले ३० बलमा ३ छक्का र तीन चौकासहित ४२ रन बनाएका थिए । नेपालले अझै जितका लागि २८ बलमा ४५ रन जोड्नुपर्ने थियो भने हातमा थिए दुई विकेट । त्यसपछि करणले निकाले आफ्नो ‘सुपरपावर’ ।

    करणलाई साथ दिन आए स्पिनर सन्दीप लामिछाने । यो जोडी क्रिजमा रहँदा दर्शकहरूलाई सम्झना भइरहेको थियो, ८ वर्षअघिको एउटा खेलको । विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गतको खेलमा नेपालले क्यानाडालाई एक विकेटले हराउँदा करण यसैगरि नायक बनेका थिए, र उनलाई क्रिजमा साथ दिएका थिए सन्दीपले । यो जित नेपाली क्रिकेटकै एउटा कोशेढुंगा मानिन्छ, जसले नेपाललाई विश्वकप छनोटमा पुर्‍याउनका साथै ओडीआई मान्यता दिलाउन महत्वपूर्ण भूमिका खेलेको थियो ।

    त्यस म्याचलाई सम्झिनुपर्दा १४४ रनमा नवौं गुकेट गुमाएर लगभग हार स्वीकार गरिरहेको अवस्थामा थियो नेपाल । १९५ रनको लक्ष्य थियो । अन्तिम जोडी करण र सन्दीप दुवैजना ब्याटिङका लागि चिनिँदैनथे त्यसबेला । उनीहरूले ४७ बलमा ५२ रन जोडेर नेपाललाई जित दिलाउने कल्पनै थिएन । तर, करणले ‘असम्भव’लाई सम्भव बनाइदिएका थिए ।

    करण र सन्दीपबीचको अविजित साझेदारीमा नेपालले सेलिब्रेसन गर्न ठिक्क परेको क्यानडालाई स्तब्ध तुल्यायो र विश्वकप छनोटमा स्थान बनायो । करणले ३१ बलमा ४ छक्का र तीन चौकासहित ३८ रन बनाएका थिए भने सन्दीपले अन्तिमसम्म क्रिज ओगटेर ५ रन बनाउँदै उनलाई साथ दिएका थिए । यही म्याचपछि करणले बलरबाट बलिङ अलराउन्डरको छवि बनाएका हुन् ।

    हिजो पनि यो जोडीले त्यही म्याचको झल्को दियो । स्कटल्यान्डविरुद्ध नवौं विकेटका लागि करण र सन्दीपले ३८ रनको बहुमूल्य साझेदारी गरे, जहाँ अधिकांश स्ट्राइक करणले आफ्नो हातमा राखेका थिए । ४९ ओभरसम्म पुग्दा नेपालले २९० रन जोडिसकेको थियो । अन्तिम ओभरमा ७ रन मात्रै चाहिएको अवस्थामा नेपाल जितको नजिकै देखियो । तर, अन्तिम ओभरको पहिलो बलमै सन्दीप आउट भएपछि नेपाललाई झट्का लाग्यो । एक रन लिएर करणलाई स्ट्राइकमा तान्ने प्रयास गर्दा उनी प्वाइन्ट फिल्डरबाट समातिएका थिए ।

    अन्तिम विकेटका लागि आए रिजन ढकाल, जो वास्तविक ‘टेल इन्डर’ हुन् । करण स्ट्राइकमा थिएनन् । स्कटल्यान्डका स्पिनर मार्क वाटले पहिलो बल वाइड फ्याँके । दोस्रो बलमा रिजन ढकालले रन लिन सकेनन् । तेस्रो बलमा उनी एक रनका लागि दौडिन सफल भए । अब अन्तिम तीन बलमा ५ रन जोड्नुपर्ने सामान्य चुनौती करणसामु आयो । अर्थात्, नेपाललाई उनको एउटा ठूलो सट काफी थियो ।

    करणले योभन्दा अगाडि ४  वटा छक्का प्रहार गरिसकेका थिए । अन्तिम ओभरको चौथो बलमा उनले स्ट्रेट सिक्स हान्ने प्रयास गरे । तर, सफल भएनन् । बाउन्ड्री नजिक बल खस्यो र उनले दुई रन लिन भ्याए । अर्को बललाई स्वीप गर्दै करणले फेरि दुई रन निकाले र स्कोर भयो टाइ ।

    अन्तिम बल नाटकीय भयो । नेपाललाई एक रन चाहिएको थियो । बलरले लेग स्टम्पबाहिर हानेको बललाई करणले सर्ट फाइन लेगतर्फ फ्लीक गर्ने प्रयास गरे । बल ब्याटमा लागेन तर स्वभाविकरूपमा ब्याटरहरू रनका लागि दौडिए ।स्कटिस विकेटकिपरले एकैपटकमा बल समात्न सकेनन् । सुरुमा ड्रप गरे । त्यसपछि समातेर स्टम्प ढाले जतिबेलासम्म ब्याटरहरुले रन पूरा गरेका थिएनन्। स्कटिस खेलाडीहरू रन आउट  गरेकाे भन्दै सेलिब्रेसन गर्न थाले । खेल बराबरीमा रोकिएको र सुपरओभरबाट निर्णय हुने ठानेर उनीहरूले खुशी मनाएका थिए ।

    तर, नन स्ट्राइततिर रहेका अम्पायर मरीमरी वाइड इशारा गरिरहेका थिए । पछाडि हेर्दै दौडिरहेका करणले पनि सुरूमा रन आउट नै सोचे । जब अगाडि हेरे, अम्पायरले दुवै हात फैलाइरहेको देखे । त्यसपछि भने बल्ल उनले ब्याट उठाएर जितको सेलिब्रेसन गरे । यद्यपि अतिरिक्त उमंग देखाएनन् । उनी शान्त नै थिए । मैदानबाहिरबाट दर्शकहरू धुइरिएर उनीतिर आए र प्रेम दर्शाउन थाले । नदर्शाउन् पनि किन, जसले नेपाललाई हारबाट जोगाएर एउटा मीठो जितको स्वाद चखाएका थिए ।

    यो जित नेपालका लागि धेरै अर्थमा महत्वपूर्ण छ । यसलाई ऐतिहासिक, रोमाञ्चक, अविस्मरणीय जे नाम दिँदा पनि हुन्छ । नेपालले विदेशी भूमिमा अहिलेसम्मकै सबैभन्दा ठूलो स्कोर चेज गर्‍यो । तर, यो जितको आयाम यतिमा मात्र सीमित छैन ।

    लिग २ मा नेपाल कठिन स्थितिमा छ । योभन्दा अघि १२ खेल खेल्दा नेपालले दुईवटा मात्रै जित निकाल्न सकेको थियो । ओडीआई मान्यता समेत धरापमा पर्न लागेको स्थितिमा यो सिरिजले नेपालको भाग्य निर्धारण गर्न सक्छ । सम्भवत: लिग २ मै सर्वाधिक कठिन श्रृंखला पनि हो यो नेपालका लागि । किनकी स्कटल्यान्ड र नेदरल्यान्ड्स दुवै नेपालभन्दा बलिया प्रतिस्पर्धी हुन् ।

    विदेशी भूमिमा नेपालले गतिलो ब्याटिङ गर्न नसक्ने आरोप लाग्दै आएको छ विगतदेखि नै । खासगरी फास्ट बलरलाई सहयोग गर्ने ‘स्वीङ एन्ड बाउन्स’ भएको पीचमा नेपाली ब्याटरहरू बारम्बार लड्खडाउने गर्छन् । स्कटल्यान्डको पीचमा पनि यही क्याटेगोरीमा पर्छ । तर, नेपाली ब्याटरहरूले देखाइदिए कि अब उनीहरू जस्तोसुकै कन्डिसनका लागि पनि तयार छन् । यद्यपि, स्कटल्यान्डको टिममा केही प्रमुख खेलाडी अनुपस्थित रहेकाले पनि नेपाललाई फाइदा मिलेको पक्कै हो ।

    २९६ रनको चुनौती पछ्याउने क्रममा नेपालले सुरूबाटै ‘इन्टेन्ट’ देखाएको थियो । ओपनर कुशल भुर्तेलले ११ चौका हान्दै आफ्नो आक्रामकता प्रस्तुत गरे । उनले ४४ बलमा ५३ रनको अर्धसतकीय पारी खेल्दै नेपाललाई उत्कृष्ट सुरूवात दिलाएका थिए । यद्यपि, सिंगल-डबलमा पनि ध्यान दिएको भए उनको स्ट्राइक रेट अझै राम्रो हुन सक्थ्यो । अर्को इन्डबाट ‘स्लो’ ब्याटिङ गर्दै आसिफ शेखले ३३ बलमा २० रन जोडे ।

    कुशल र आसिफ आउट भएपछि भीम सार्की र कप्तान रोहितकुमार पौडेलले आफ्नै गर्दै नेपाललाई डोहोर्‍याए । उनी क्रिजमा हुँदासम्म नेपाल बलियो स्थितिमा थियो । तर, मध्यक्रमका आरिफ शेख र उपकप्तान दिपेन्द्र सिंह ऐरी नचल्दा नेपाल दबाबमा पर्‍यो । उनीहरू दुवैले संयुक्तरूपमा ३८ बल खपत गर्दा १५ रनमात्रै जोड्न सके ।

    आठौं नम्बरमा आएका सोमपाल कामी पनि फ्लप भएपछि नेपाल १९२ रनमा सात विकेटको दयनीय अवस्थामा खस्कियो । लगभग हारको संघारमा देखियो । तर, करण आएपछि फेरि खेलले अर्को मोड लियो, जुन माथि नै वर्णन गरियो । गुल्शन र करणले नेपाललाई जोगाए । अन्तिममा ‘हिरो’ करण भए । उनले ४१ बलमा ६५ रनको अविजित इनिङ खेले, जसमा ४ छक्का र तीन चौका सामेल थियो । यो उनको जीवनकै अर्को अविस्मरणीय म्याच हुनेछ ।

    सायद हिजो करणको दिन थियो । उनी ब्याटिङमा मात्र नभएर बलिङमा पनि चम्किए । उनले १० ओभरमा ४३ रन खर्चेर दुई विकेट लिएपछि स्कटल्यान्ड विशाल लक्ष्य बनाउन चुकेको थियो । करणसँगै अन्य दुई फास्ट बलर रिजन ढकाल र सोमपाल कामीले पनि दुई-दुई विकेट बाँडे । यद्यपि, उनीहरू केही महंगा बनेका थिए । स्पिनर सन्दीप लामिछानेले किफायति बलिङ गर्दै १० ओभरमा ४४ रन खर्चेर एक विकेट लिए । स्पिनरलाई खासै सहयोग नरहेको पिचमा उनको यो प्रदर्शनलाई पनि सन्तोषजनक प्रदर्शन नै मान्नुपर्छ ।

    अब लिग २ को चर्चा गरौं, जहाँ नेपाल अलिकति अप्ठेरो स्थितिमा छ । ८ देश सहभागी रहेको श्रृंखलामा पुछरबाट दोस्रो स्थानमा छ नेपाल । यसअघि १२ खेल खेल्दा नेपालले केबल दुई जित निकाल्न सकेको थियो भने ८ हार व्यहोरेको थियो । दुई खेल नतिजाविहीन बनेका थिए । आफ्नै घरेलु मैदानमा समेत राम्रो नतिजा निकाल्न नसकेकाले नेपाल बढी दबाबमा परेको हो ।

    लिग २ को यात्रामा स्कटल्यान्डविरुद्धको जित नेपालका लागि एउटा टर्निङ प्वाइन्ट बन्न सक्ने आशा गरिएको छ । भोलि नेपालले अर्को बलियो प्रतिद्वन्द्वी नेदरल्यान्ड्ससँग खेल्दैछ । अहिले अंकतालिकामा अमेरिकापछि दोस्रो स्थानमा रहेको नेदरल्यान्डसँग नेपालले उच्च मनोबलका साथ पेश हुने छ । यद्यपि, नेपालले केही कमीकमजोरी सुधार्नुपर्ने स्थिति छ ।

    नेपालको फास्ट बलिङ अझै पनि धारिलो हुन सकिरहेको छैन । हिजोको म्याचमा अनुभवी सोमपाल कामी र उदियमान रिजन ढकाल महंगा बने । उनीहरूले क्रमशः १० ओभर बलिङ कोटा पूरा गर्दा ६६ र ७८ रन खर्चिएका थिए । फास्ट बलिङलाई सहयोग गर्ने पिचमा उनीहरूले अझै उत्कृष्टता देखाउनुपर्ने छ । यद्यपि, नेदरल्यान्डविरुद्धको खेलमा नेपालले रिजनको ठाउँमा नन्दन यादवलाई स्थान दिन पनि सक्छ ।

    नेपालको अर्को चिन्ताको विषय भनेको उपकप्तान दिपेन्द्रको ओडीआई फर्म हो । हिजो उनको ब्याटिङ बिर्सनलायक नै थियो । झण्डै तीन सयको रन पछ्याउनुपर्ने म्याचमा उनले २३ को दयनीय स्ट्राइक रेटमा ब्याटिङ गर्दै २३ बलमा ८ रन जोडेर आउट भए । दीपेन्द्रको क्षमतामा शंका होइन, उनी नेपालका एक प्रमुख ब्याटर हुन्, तर अहिले फर्म कमजोर छ ।

    त्यसैले एक-दुई खेलमा उनलाई रेस्ट दिएर बसिर अहमदलाई प्लेइङ ११ मा इन्ट्री गराउने अप्सन नेपालसँग छ । बसिर पछिल्लो समय मध्यक्रमका उत्कृष्ट ब्याटरका रूपमा उदाइरहेका छन् र उनलाई आगामी खेलमा मौका दिइनैपर्छ । बरु आरिफ शेखलाई बाहिर राख्न सकिन्छ । साथै, ओपनिङमा अहिले आसिफ शेखभन्दा अनिल साहलाई राख्दा राम्रो हो । किनकी पछिल्लो समय आसिफले खासै कन्फिडेन्सका साथ ब्याटिङ गर्न सकिरहेका छैनन् ।

  • अन्नपूर्ण ‘ट्रेल रेस’को उपाधि घराम्दीका कुशललाई

    अन्नपूर्ण ‘ट्रेल रेस’को उपाधि घराम्दीका कुशललाई

    म्याग्दी । अन्नपूर्ण हिमाल आरोहण भएको ७५औँ वार्षिकोत्सवका अवसरमा आज म्याग्दीमा भएको अन्नपूर्ण ‘ट्रेल रेड’ दौड प्रतियोगिताको उपाधि अन्नपूर्ण गाउँपालिका–७ घराम्दीका कुशल पुर्जाले जितेका छन् ।

    चार हजार ९१ मिटर उचाइको अन्नपूूर्ण आधार शिविरदेखि अन्नपूर्ण–४ नारच्याङ गाउँसम्म मौरिस हर्जोग पदमार्गमा भएको प्रतियोगितामा दुुई घण्टा ४७ मिनेट ३७ सेकेन्डमा ३६ किलोमिटर दूरी पार गरेर पुर्जा विजयी भएका हुन् ।

    अन्नपूर्ण–६ घारका लोकबहादुर बरुवालले दुुई घण्टा ५२ मिनेट ५१ सेकेण्ड र सञ्जयबहादुर बरुवालले तीन घण्टा आठ मिनेट ३७ सेकेन्डमा निर्धारित दूरी पार गरेर दोस्रो र तेस्रो हुनुभएको प्रतियोगिताको व्यस्थापन गरेको भूतपूर्व खेलाडी मञ्चका संस्थापक अध्यक्ष खड्ग रानाभाटले जानकारी दिए ।

    अन्नपूर्ण आधार शिविरबाट आज बिहान ६।३० बजे सुरु भएको प्रतियोगितामा म्याग्दीका ४० जना धावकहरूको सहभागिता थियो । विजयी २४ वर्षीय पुर्जा भारतीय गोर्खा सैनिक र उपविजेता २४ वर्षीय बरुवाल नेपाली सेनाका जवान हुन् ।

    विजेता, उपविजेता र तेस्रो हुनेलाई आज दिउँसो नारच्याङ बेँसीमा आयोजना हुने समारोहमा प्रमाणपत्रको साथमा क्रमश नगद रु ५० हजार, ३० हजार र २० हजार पुुरस्कार प्रदान गरिने अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले जानकारी दिए ।

    अन्नपूर्ण आधार शिविर जोड्ने मौरिस हर्जोग पदमार्गको प्रर्वद्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको उनले बताए ।  सन् १९५० जुन ३ का दिन फ्रान्सका मौरिस हर्जोगले पहिलोपटक अन्नपूर्ण हिमाल आरोहण गरेको ७५ वर्ष पूरा भएको अवसरमा आज महोत्सव मनाइँदैछ ।

  • अन्तिम बलको ड्रामा : स्कटिस खेलाडी ‘सेलिब्रेसन’ गर्दै थिए, अम्पायरले वाइड दिए

    अन्तिम बलको ड्रामा : स्कटिस खेलाडी ‘सेलिब्रेसन’ गर्दै थिए, अम्पायरले वाइड दिए

    काठमाडौं । विश्वकप लिग २ अन्तरगत नेपाल र स्कटल्यान्डबीच हिजो भएको खेल निकै रोमाञ्चक बन्यो । हारको संघारमा पुगेको नेपाललाई करण केसीले एक विकेटको अविस्मरणीय जित दिलाए ।

    १९२ रनमा ७ विकेट गुमाएको अवस्थाबाट उक्सिएर नेपालले २९६ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको थियो । करणले ६५ रनको विष्फोटक पारी खेले । गुल्शन र सन्दीप लामिछानेसँग उनको महत्वपूर्ण दुई साझेदारी भएको थियो । अन्तिम ओभरसम्म आइपुग्दा नेपाललाई सात रन चाहिएको थियो र दर्शकले जितको आभास गरिसकेका थिए । यद्यपि, अन्तिम ओभर नाटकीय बन्यो ।

    ओभरको पहिलो बलमै सन्दीप आउट भए । एक रन लिएर करणलाई स्ट्राइकमा तान्न खोज्दा उनी प्वाइन्ट फिल्डरबाट क्याच भए, जसले नेपाललाई झट्का लाग्यो । खेलमा अर्को ट्विस्ट आयो । अन्तिम विकेटका लागि आए रिजन ढकाल, जो ‘टेल इन्डर’ मात्र हुन् ।

    स्कटल्यान्डका स्पिनर मार्क वाटले पहिलो बल वाइड फ्याँके । दोस्रो बल रिजन ढकालले रन लिन सकेनन् । तेस्रो बलमा उनी एक रनका लागि दौडिन सफल भए । अब अन्तिम तीन बलमा ५ रन जोड्नुपर्ने चुनौती करण सामु आयो । अर्थात्, नेपाललाई उनको एउटा ठूलो सट चाहियो । करणले योभन्दा अगाडि ३ वटा छक्का प्रहार गरिसकेका थिए । अन्तिम ओभरको चौथो बलमा उनले स्ट्रेट सिक्स हान्ने प्रयास गरे । तर सफल भएनन् । बाउन्ड्री नजिक बल खस्यो र उनले दुई रन लिन भ्याए । अर्को बललाई स्वीप गर्दै करणले फेरि दुई रन निकाले र स्कोर भयो टाइ ।

    अन्तिम बल नाटकीय भयो । नेपाललाई एक रन चाहिएको थियो । बलरले लेग स्टम्पबाहिर हानेको बललाई करणले फ्लीक गर्ने प्रयास गरे । बल ब्याटमा लागेन तर स्वभाविकरुमा ब्याटरहरु रनका लागि दौडिए । उनीहरूले रन पुरा नगर्दै स्कटिस विकेटकिपरको हातमा बल आइपुग्यो र उनले स्टम्प ढाले । रिजन ढकालले क्रिज छुन भ्याएका थिएनन् । स्कटिस खेलाडीहरू सेलिब्रेसन गर्न थाले । खेल बराबरीमा रोकिएको र सुपरओभरमा जाने भनेर उनीहरूले खुशी मनाएका थिए । नेपाली क्याम्पमा निराशा छायो । तर, यता अम्पायरले वाइडको इशारा गरिरहेका थिए ।

    पछाडि हेर्दै दौडिरहेका करणले पनि सुरुमा खेल टाइ भएको नै ठानेका थिए । जब अगाडि हेरे, अम्पायरले दुई हात फैलाइरहेको देखे । त्यसपछि भने उनले ब्याट उठाएर सेलिब्रेसन भए । नेपाली क्याम्पमा हर्षोल्लास छायो । मैदानबाहिरबाट दर्शकहरू भित्र धुइरिएर करणलाई प्रेम दर्शाउन थाले । नदर्शाउन् पनि किन, जसले नेपाललाई हारबाट जोगाएर एउटा मिठो जित दिलाएका थिए ।

  • कराते-१ प्रिमियर लिगमा ऐतिहासिक पदक जितेकी एरिका गुरुङ स्वदेश फिर्ता

    कराते-१ प्रिमियर लिगमा ऐतिहासिक पदक जितेकी एरिका गुरुङ स्वदेश फिर्ता

    काठमाडौं । मोरक्कोमा भएको वर्ल्ड कराते फेडेरेसन कराते-१ प्रिमियर लिगमा ऐतिहासिक पदक जितेकी एरिका गुरुङ स्वदेश फर्किएकी छन् ।

    उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारीहरुले स्वागत गरे ।

    महिला ६८ केजी तौल समूहमा भएको प्रतिस्पर्धामा फ्रान्सकी पिए क्लेमेन्सलाई हराउँदै एरिकाले नेपाललाई ऐतिहासिक कास्य पदक दिलाएकी थिइन् ।

    विश्वका उत्कृष्ट ३२ खेलाडीहरूको प्रतिस्पर्धामा नेपालकी एरिका तेस्रो भएकी हुन् ।

  • आईपीएलको फाइनल खेलमा आरसीबी र पन्जाब भिड्दै

    आईपीएलको फाइनल खेलमा आरसीबी र पन्जाब भिड्दै

    काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)को फाइनल खेल आज हुँदै छ ।

    मङ्गलवार हुने फाइनलमा रोयल च्यालेन्जर बंगलोर (आरसिबी) र पन्जाब किङ्स भिड्दैछन् ।

    यो खेल मङ्गलवार साँझ ७ः४५ बजे अहमदाबादको नरेन्द्र मोदी रङ्गशालामा हुनेछ ।

    यसअघि यी दुई टोली चार पटक फाइनल प्रवेश गरेका भएता पनि उपाधि हासिल गरेको छैनन।

  • करणको शानदार ब्याटिङमा स्कटल्याण्डमाथि नेपालको रोमाञ्चक जित

    करणको शानदार ब्याटिङमा स्कटल्याण्डमाथि नेपालको रोमाञ्चक जित

    काठमाडौं । आईसीसी विश्वकप लिग-२ क्रिकेट अन्तर्गतको सिरिजको पहिलो खेलमा नेपालले स्कटल्यान्डमाथि रोमाञ्चक जित निकालेको छ ।

    स्कटल्याण्डमा घरेलु टोलीले दिएको २९७ रनको लक्ष्य पछ्याएको नेपालले ४९ ओभर ५ बलमा ९ विकेट गुमाएर पूरा गर्‍यो ।

    नेपालको जितमा करण केसी नायक बने । उनले ४१ बलमा ६५ रनको अविजित इनिङ खेले । २५२ रनमा ८ विकेट गुमाएको नेपालका लागि करण र सन्दीप लामिछानेले ३८ रनको साझेदारी गरे । ओपनर कुशल भुर्तेलले ५३, गुल्शन झाले ४२, भीम सार्कीले ४०, कप्तान रोहित पौडेलले ३७ र आसिफ शेखले २० रनको योगदान दिए ।

    बलिङमा स्कटल्याण्डका ब्रान्डन म्याकमुलेनले ३, ज्याक जार्भिस र माइकल लिस्कले समान २ तथा जास्पर डेभिडसन र मार्क वाटले एक-एक विकेट लिए ।

    त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको स्कटल्याण्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २९६ रन बनाएको थियो ।

    स्कटल्याण्डका चार्ली टियरले सर्वाधिक ८० रन बनाए । उनले ७२ बलमा १२ चौका र एक छक्का प्रहार गरे । फिनले म्याकक्रियाथले ५५, रिची बेरिंटनले ४० र म्याथ्यू क्रसले ३९ रनको योगदान दिए ।

    बलिङमा नेपालका रिजन ढकाल, करण केसी र सोमपाल कामीले समान २ र सन्दीप लामिछानेले एक विकेट लिए । स्कटल्याण्ड, नेपाल र नेदरल्याण्ड्सबीचको सिरिज अन्तर्गत नेपालले दोस्रो खेल बुधबार नेदरल्याण्ड्ससँग खेल्नेछ ।

    यो जितपछि नेपाल लिग(२ मा अंकतालिकाको पुछारबाट एक स्थान माथि उक्लिएको छ । १३ खेलमा ८ अंक जोड्दै नेपाल सातौँ स्थानमा उक्लिएको हो ।

  • स्कटल्याण्डविरुद्ध नेपालको राम्रो सुरुआत, कुशल भुर्तेल अर्धशतक लगत्तै आउट

    स्कटल्याण्डविरुद्ध नेपालको राम्रो सुरुआत, कुशल भुर्तेल अर्धशतक लगत्तै आउट

    काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको सिरिजमा स्कटल्याण्डविरुद्ध नेपालले राम्रो सुरुआत गरेको छ ।

    स्कटल्याण्डले दिएको २९७ रनको लक्ष्य पछ्याएको नेपालले १२ ओभर ३ बलमा १ विकेट गुमाएर ७८ रन बनाएको छ । नेपालका ओपनर कुशल भुर्तेलले

    उनले ४१ बलमा अर्धशतक पूरा गरेका हुन् । अर्का ओपनर आशिफ शेख ३३ बलमा २० रन बनाएर आउट भए ।

  • नेपाललाई स्कटल्यान्डले दियो २९७ रनको लक्ष्य

    नेपाललाई स्कटल्यान्डले दियो २९७ रनको लक्ष्य

    काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको सिरिजमा स्कटल्यान्डले नेपालसामु २९७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

    नेपालविरुद्ध घरेलु मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २९६ रन बनायो ।

    स्कटल्यान्डका चार्ली टियरले सर्वाधिक ८० रन बनाए । उनले ७२ बलमा १२ चौका र एक छक्का प्रहार गरे । फिनले म्याकक्रियाथले ५५, रिची बेरिंटनले ४० र म्याथ्यू क्रसले ३९ रनको योगदान दिए ।

    बलिङमा नेपालका रिजन ढकाल, करण केसी र सोमपाल कामीले समान २–२ र सन्दीप लामिछानेले एक विकेट लिए ।

    स्कटल्यान्ड, नेपाल र नेदरल्यान्ड्सबीचको सिरिजअन्तर्गत नेपालले दोस्रो खेल बुधबार नेदरल्यान्ड्ससँग खेल्नेछ ।

  • टीबी स्मृति यू-१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु, कोशीको शानदार जित

    टीबी स्मृति यू-१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु, कोशीको शानदार जित

    सुर्खेत । नेपाल क्रिकेट संघका पूर्ववरिष्ठ उपाध्यक्ष स्व. तारिणीविक्रम (टीबी) शाहको स्मृतिमा पहिलो पटक आयोजना गरिएको १६ वर्षमुनिको राष्ट्रिय क्रिकेट प्रतियोगिता सोमबार सुरु भएको छ । उद्घाटन खेलमा कोशी र मधेश प्रदेशले प्रभावशाली प्रदर्शन गर्दै विजयी सुरुवात गरेका छन् ।

    वीरेन्द्रनगर रंगशालामा भएको खेलमा कोशीले सुदूरपश्चिमलाई ७ विकेटले पराजित गर्‍यो । कालुचोक मैदानमा मधेशले घरेलु टोली कर्णालीलाई ९२ रनले हराउँदै ३ अंक जोड्यो ।

    टस जितेर फिल्डिङ रोजेको कोशीले बलिङ र फिल्डिङमा पूर्ण नियन्त्रण राख्दै सुदूरपश्चिमलाई १८ ओभर ३ बलमा १०१ रनमै समेट्न सफल भयो । सुदूरका लागि अविरल विकले २२ बलमा ४ चौकासहित २८ रन र विक्रम बोहोराले ३० बलमा २० रन बनाए । बाँकी ब्याटर भने दोहोरो अंकमा पुग्न सकेनन् ।

    कोशीका लागि राजीव महतोले ५ ओभर ३ बलमा २१ रन खर्चिएर ५ विकेट लिँदै खेलको ‘प्लेयर अफ दि म्याच’ घोषित भए । महतोले २ ओभर मेडन राख्दै २३ बल डट गराए । हरेराम सिंहले ३ र सुयोग भट्टराईले १ विकेट लिए ।

    १०२ रनको लक्ष्य पछ्याएको कोशीका लागि शिवांश बजगाईंले २६ बलमा ६ चौकासहित ३४ रन बनाए । राजीव महतोले नटआउट ३० रन जोडेर टीमको जित पक्का गरे ।

    कालुचोक मैदानमा मधेशले कर्णालीलाई हराउँदै प्रतियोगिताको दोस्रो खेलमा ९२ रनको फराकिलो जित निकालेको हो । टस जितेर पहिले ब्याटिङ गरेको मधेशले ४७ ओभरमा सबै विकेट गुमाउँदै २१४ रनको लक्ष्य प्रस्तुत गर्‍यो ।

    मधेशका कप्तान परिमर्जन यादवले २५ बलमा २६ रन बनाउँदै टीमलाई तीव्र सुरुवात दिलाए । सलमान अली मनसुरीले सर्वाधिक ४२, सन्तु मण्डलले २८, रोहन यादव र अभय यादवले समान २०-२० रनको योगदान दिए ।

    कर्णालीका कप्तान विपीनप्रसाद शर्माले १० ओभरमा ७ मेडन राख्दै २ विकेट लिएर सानदार प्रदर्शन गरे । कैलाश खड्का, विजय बोहरा र निश्चल हमालले समान २-२ विकेट लिए पनि मधेशलाई ठूलो स्कोर बनाउनबाट रोक्न सकेनन्।

    २१५ रनको लक्ष्य पछ्याउने क्रममा कर्णालीका ओपनर कौस्तुभ खड्काले ३१ बलमा २५ रन बनाए, तर अन्य ब्याटरहरू क्रमशः धराशायी भइरहँदा टोली २५ ओभर ४ बलमै १२२ रनमा अलआउट भयो। विजय बोहरा र विजय शाहीले क्रमशः १५ र १९ रनको योगदान दिए।

    नेपाल क्रिकेट संघ (क्यान)को आयोजना, प्रदेश क्रिकेट संघको सहआयोजना र जिल्ला क्रिकेट संघको व्यवस्थापनमा कर्णालीमा पहिलो पटक राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गरिएको हो।

  • हेनरिच क्लासेनले ३३ वर्षकै उमेरमा गरे अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा

    हेनरिच क्लासेनले ३३ वर्षकै उमेरमा गरे अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा

    जोहानेसबर्ग । दक्षिण अफ्रिकी क्रिकेट टोलीका स्टार विकेटकिपर- ब्याट्सम्यान हेनरिच क्लासेनले ३३ वर्षको उमेरमा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने घोषणा गरेका छन् । उनको यो अप्रत्यासित निर्णयले विश्व क्रिकेट जगतमा तरंग ल्याएको छ ।

    क्लासेन, जो सीमित ओभरको क्रिकेटमा विस्फोटक ब्याटिङ र उत्कृष्ट विकेटकिपिङका लागि परिचित छन्, सन् २०१८ मा दक्षिण अफ्रिकाबाट अन्तर्राष्ट्रिय डेब्यू गरेका थिए । उनले सन् २०२४ मा टेस्ट क्रिकेटबाट सन्न्यास लिएका थिए, तर छोटो समयमै उनले एकदिवसीय र टी–२० क्रिकेटबाट पनि विदा लिने निर्णय गरे ।

    ‘यो मेरो लागि निकै भावनात्मक निर्णय हो । मलाई मेरो देशको प्रतिनिधित्व गर्न पाउँदा सधैं गर्व महसुस भएको छ’, क्लासेनले एक विज्ञप्तिमा भनेका छन् ।

    ‘तर, अब म मेरो परिवारसँग समय बिताउन र नयाँ अवसरहरू खोज्न चाहन्छु’, उनले आफ्नो भविष्यमा फ्रेन्चाइज क्रिकेट र अन्य व्यक्तिगत योजनाहरूमा ध्यान केन्द्रित गर्ने संकेत गरेका छन् ।

    क्लासेनले ८५ एकदिवसीय खेलमा ३,२११ रन र ५४ टी–२० खेलमा १,१५७ रन बनाएका छन् । उनको आक्रामक ब्याटिङ शैलीले उनलाई विश्वभरका फ्रेन्चाइज लिगहरूमा लोकप्रिय बनाएको थियो । विशेषगरी, उनको दक्षिण अफ्रिकाको घरेलु टोली र विश्वभरका टी–२० लिगहरूमा प्रभावशाली प्रदर्शनले उनलाई प्रशंसकहरूको मनमा विशेष स्थान बनाएको छ ।

    दक्षिण अफ्रिकी क्रिकेट बोर्डले क्लासेनको योगदानको प्रशंसा गर्दै उनको भविष्यका लागि शुभकामना व्यक्त गरेको छ । क्रिकेट विश्लेषकहरूले उनको सन्न्यासलाई दक्षिण अफ्रिकी क्रिकेटका लागि ठूलो क्षति मानेका छन्, विशेषगरी सीमित ओभरको क्रिकेटमा उनको भूमिका अपूरणीय मानिन्छ ।

    क्लासेनको अन्तिम अन्तर्राष्ट्रिय खेल गत महिना भएको थियो, र उनले आफ्नो सन्न्यासको घोषणालाई भावुक विदाइको रूपमा प्रस्तुत गरेका छन् । अब उनको ध्यान विश्वभरका टी-२० लिगहरूमा केन्द्रित हुने अपेक्षा गरिएको छ ।

     

  • स्कटल्याण्डविरुद्ध पहिला फिल्डिङ गर्दै नेपाल

    स्कटल्याण्डविरुद्ध पहिला फिल्डिङ गर्दै नेपाल

    काठमाडौं । नेपालले आईसीसी विश्वकप लिग-२ अन्तर्गत स्कटल्याण्डसँग पहिला फिल्डिङ गर्ने भएको छ । स्कटल्याण्डमा नेपालका रोहित पौडेलले घरेलु टोलीविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

    नेपालले ७ महिनापछि आडिआई खेल खेल्न लागेका हो । यसअघि पछिल्लो पटक स्कटल्याण्डसँग नै ओडिआई खेल खेलेको थियो । उक्त खेल नतिजाविहीन बनेको थियो ।

    सन् २०२४ को नोभेम्बरमा भएको नेपाल, अमेरिका र स्कटल्याण्डबिचको त्रिकोणात्मक सिरिजअन्तर्गतको उक्त खेलमा दुवै टोलीले एकएक अंक बाँडेका थिए । त्यसयता नेपालले कुनै पनि ओडिआई खेल खेलेको छैन ।

    यो सिरिजमा नेपालले ४ खेल खेल्नेछ । अंक तालिकाको पुछारमा रहेको नेपाललाई यो सिरिज निकै महत्वपूर्ण हुनेछ ।

    दुवै टोली आईसीसीको ओडिआई वरियतामा माथि हुँदा आफ्नो पक्षमा नतिजा निकाल्न नेपाललाई चुनौती हुनेछ । यस्तै राम्रो नतिजा निकाल्दै अंकतालिकाको पुछारबाट उक्लिने अवसर पनि नेपाललाई हुनेछ ।

  • कराते-१ प्रिमियर लिगमा नेपालकी एरिका गुरुङलाई ऐतिहासिक पदक

    कराते-१ प्रिमियर लिगमा नेपालकी एरिका गुरुङलाई ऐतिहासिक पदक

    काठमाडौं । मोरक्कोमा भएको वर्ल्ड कराते फेडेरेसन कराते-१ प्रिमियर लिगमा नेपालकी एरिका गुरुङले ऐतिहासिक पदक जितेकी छन् ।

    महिला ६८ केजी तौल समूहमा भएको प्रतिस्पर्धामा फ्रान्सकी पिए क्लेमेन्सलाई हराउँदै एरिकाले नेपाललाई ऐतिहासिक कास्य पदक दिलाएकी हुन् ।

    आइतबार कास्य पदकका लागि भएको प्रतिस्पर्धामा एरिकाले फ्रान्सकी क्लेमेन्सलाई ६-२ ले पराजित गर्न सफल भइन् ।

    विश्वका उत्कृष्ट ३२ खेलाडीहरूको प्रतिस्पर्धामा नेपालकी एरिका तेस्रो भएकी हुन् ।

  • ७ महिनापछि ओडीआई क्रिकेट खेल्दै नेपाल, लिग-२ मा पुछारबाट माथि उक्लिने अवसर

    ७ महिनापछि ओडीआई क्रिकेट खेल्दै नेपाल, लिग-२ मा पुछारबाट माथि उक्लिने अवसर

    काठमाडौं । नेपालले आईसीसी विश्वकप लिग–२ अन्तर्गत भोलि स्कटल्याण्डसँग खेल्दैछ । लिग–२ को नेदरल्याण्ड्स र स्कटल्याण्डसँगको त्रिकोणात्मक सिरिजअन्तर्गत नेपालले घरेलु टोलीसँग पहिलो खेल खेल्न लागेको हो । उक्त खेल सोमबार दिउँसो पौनै ४ बजेबाट सुरु हुनेछ ।

    नेपालले ७ महिनापछि आडिआई खेल खेल्न लागेका हो । यसअघि पछिल्लो पटक स्कटल्याण्डसँग नै ओडिआई खेल खेलेको थियो । उक्त खेल नतिजाविहीन बनेको थियो । सन् २०२४ को नोभेम्बरमा भएको नेपाल, अमेरिका र स्कटल्याण्डबिचको त्रिकोणात्मक सिरिजअन्तर्गतको उक्त खेलमा दुवै टोलीले एकएक अंक बाँडेका थिए । त्यसयता नेपालले कुनै पनि ओडिआई खेल खेलेको छैन ।

    यो सिरिजमा नेपालले ४ खेल खेल्नेछ । अंक तालिकाको पुछारमा रहेको नेपाललाई यो सिरिज निकै महत्वपूर्ण हुनेछ । दुवै टोली आईसीसीको ओडिआई वरियतामा माथि हुँदा आफ्नो पक्षमा नतिजा निकाल्न नेपाललाई चुनौती हुनेछ । यस्तै राम्रो नतिजा निकाल्दै अंकतालिकाको पुछारबाट उक्लिने अवसर पनि नेपाललाई हुनेछ ।

    नेपाल १७औं स्थानमा रहँदा स्कटल्याण्ड १३औं र नेदरल्याण्ड्स १४औं स्थानमा छन् । लिग–२ मा पनि उत्कृष्ट प्रदर्शन गरिरहेका छन् यी दुई टोलीले । २० खेल खेलेको नेदरल्याण्ड्स १२ जितसहित दोस्रो स्थानमा छ । १६ खेलबाट ९ जित निकालेको स्कटल्याण्ड २० अंकसहित चौथो स्थानमा छ ।

    १२ खेलमा मात्र २ खेलमा जित निकालेको नेपाल ६ अंकसहित अंकतालिकाको पुछारमा छ । स्कटल्याण्डसँगको पछिल्लो ५ खेलमा नेपालले ३ मा जित निकाल्दा एक खेलमा हार बेहोरेको छ । एक खेल नतिजाविहीन भएको छ । नेदरल्याण्ड्ससँग नेपालले पहिल्ला २ जित निकाल्दा ३ खेल गुमाएको छ ।

    बेलायतका क्लबबिरुद्ध अभ्यास खेलमा अपराजित रहेको नेपालले स्कटल्याण्डमा भने त्यो यात्रा कायम राख्न सकेन । स्कटल्याण्ड ‘ए’ टोलीसँगको दुई अभ्यास खेलमा नेपाल एक खेलमा पराजित हुँदा एक खेल नजिताविहिन हुन पुग्यो ।

    पहिलो अभ्यास खेलमा २२१ रनको लक्ष्य पछ्याएको नेपाल मात्र ११८ रनमा अलआउट हुन पुग्यो । दोस्रो खेलमा नेपालले निर्धारित ४५ ओभरमा ९ विकेट गुमाएर २५३ रन बनाएको थियो । तर, स्कटल्याण्ड ‘ए’ ले १३ ओभरमा ३ विकेट गुमाएर ६४ रन बनाउँदा वर्षा भएपछि खेल नतिजाविहीन हुन पुग्यो ।

    दुवै खेलको ब्याटिङ कार्ड हेर्दा अहिले नै सन्तुष्ट हुने ठाउँ देखिँदैन । दुवै खेलमा नेपालको ओपनिङ जोडी टिक्न सकेको छैन । पहिलो खेलमा ४ र दोस्रो खेलमा ५ रन जोड्दा पहिलो विकेट गुमाएको छ ।

    नेपालको टाउको दुखाई बनिरहने ओपनिङ ब्याटिङ अहिले पनि चल्ने हो कि होइन भन्नेमा धेरैको आशंका छ । अभ्यास खेलमा टपअर्डर, मिडलअर्डर र लोअर्डरमा पनि नेपालका ब्याटर खासै जम्न सकेका छैनन् ।

    ७ महिनापछि खेल्न लागेको ओडिआईमा भने कस्तो प्रदर्शन गर्नेछन् ? त्यो भने हेर्न बाँकी छ । नयाँ प्रशिक्षकले नेपाली खेलाडीलाई कस्तो रणनीतिमा मैदानमा उतार्छन् त्यो पनि हेर्न बाँकी छ ।

    स्टुआर्ट ल टोलीको मुख्य प्रशिक्षक बनेपछि उनको नेतृत्वमा नेपालले पहिलोपटक अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो । उनी नियुक्त भएपछि नेपालले हङकङमा टी–२०आई सिरिज खेलेपनि प्रशिक्षक ल सहभागी भएका थिएनन् ।

    उक्त समयमा ज्ञानेन्द्र मल्लले नेपाली टोली सम्हालेका थिए । २ वर्षका लागि नेपाली टोली सम्हालेको अष्ट्रेलियन प्रशिक्षक ललाई पुछारमा रहेको नेपाललाई शीर्ष चारमा पुर्याउँदै ओडिआई स्टाटस जोगाउने र ग्लोबल छनोटमा प्रवेश गराउने चुनौती छ ।

     

  • काठमाडौंमा हुने यु–१४ खेलकुदका लागि लुम्बिनी प्रदेशबाट ७८ खेलाडी छनौट

    काठमाडौंमा हुने यु–१४ खेलकुदका लागि लुम्बिनी प्रदेशबाट ७८ खेलाडी छनौट

    रुपन्देही । काठमाडाैंमा हुने चौध वर्षमुनीका यु–१४ विद्यालय खेलकुद प्रतियोगिताका लागि लुम्बिनी प्रदेशबाट ७८ खेलाडी छनौट भएका छन् । बुटवलमा दुई दिनसम्म चलेको प्रतियोगिताबाट विभिन्न विद्याका ७८ जना खेलाडी तथा प्रशिक्षकहरु छानिएका हुन् ।

    लुम्बिनी प्रदेशभरका ४ सय ५० विभिन्न विधाका विद्यार्थी खेलाडीहरुले गरेको प्रतिस्पर्धाका आधारमा विद्यार्थी खेलाडी छनोट भएका हुन् ।

    यहि जेठ महिनाको २२ देखि २६ गतेसम्म काठमाण्डौमा राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा हुने यु–१४ विद्यालय खेलकुद प्रतियोगितामा प्रतिस्पर्धाका लागि सहभागी हुन जाने ७८ खेलाडीहरुको दुई दिनको विभिन्न खेलकुद विधाबाट छनौट भएको नेपाल विद्यालय खेलकुद महासंघ लुम्बिनी प्रदेश अध्यक्ष लेखनाथ पौडेलले जानकारी दिए ।

    छनौट प्रतियोगितामा चौध वर्षमुनीका साढे चार सय विद्यार्थीहरुले ब्याटमिन्टन, टेवलटेनिस, बास्केटवल, एथलेटिक्स, रग्बी र क्रिकेट प्रतियोगिता भएका हुन् ।

    ती प्रतियोगिताबाट छनौट भएका ७८ खेलाडी काठमाण्डौमा हुने यु–१४ विद्यालय खेलकुद प्रातियोगितामा प्रतिस्पर्धा गर्न जानेछन् । उक्त प्रतियोगिता अन्तरगत क्रिकेटका लागि यु–१६ खेलाडिका लागि प्रतियोगिता हुनेछ । क्रिकेटका लागि यु–१६ का खेलाडीहरुलाई छनोट गरिएको र सोही अनुसार प्रतिस्पर्धा पनि हुने अध्यक्ष पौडेलले बताए ।

    नेपाल विद्यालय खेलकुद महासंघ लुम्बिनीका उपाध्यक्ष हेम थापाका अनुसार एथलेटिक्सतर्फ छात्र रिले र लङजम्पबाट ११ खेलाडी छनोट भएका छन् । यस्तै छात्र डवल छात्रा सिंगल टेवलटेनिसबाट ७ जना, छात्रछात्रा बास्केटबलबाट ९ जना, रग्वी छात्रछात्राबाट २६ जना, ब्याटमिन्टन छात्रछात्रा सिंगल डवलबाट ७ जना, क्रिकेट छात्रबाट १६ जना र टोलीनेता र उपनेता एकएक जना गरी ७८ जना छनौटमा परेका हुन् ।

    लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्दै जेठ २२ देखि २६ गतेसम्म हुने राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा हुने चौध वर्षमुनीको यु–१४ विद्यालय खेलकुद प्रतियोगिताका विभिन्न विद्यामा उनीहरुले प्रतिस्पर्धा गर्नेछन् । नेपाल विद्यालय खेलकुद महासंघ लुम्बिनीकोको संयोजनमा बुटवलमा सम्पन्न छनौट प्रतियोगितामा प्याब्सन नेपाल, एन प्याब्सन र नेपाल शिक्षक महासंघले सहकार्य गरेको कोषाध्यक्ष हेमा बेल्बासेले जानकारी दिए ।

  • रियल म्याड्रिड चौथो पटक विश्वकै मूल्यवान क्लबको सूचीमा, अन्यको स्थान कहाँ ?

    रियल म्याड्रिड चौथो पटक विश्वकै मूल्यवान क्लबको सूचीमा, अन्यको स्थान कहाँ ?

    काठमाडौं । फोर्ब्सको प्रतिवेदन अनुसार, स्पेनी ला लिगा क्लब रियल म्याड्रिड ले चौथो वर्षसम्म पनि आफ्नो विश्वकै सर्वाधिक मूल्यवान फुटबल क्लबको उपाधि कायम राखेको छ । क्लबको मौज्दात मूल्य ६.७५ अर्ब अमेरिकी डलर (लगभग ९० अर्ब १७ करोड नेपाली रुपैयाँ) रहेको फोर्ब्सले उल्लेख गरेको छ ।

    क्लबले यसअघि नै इतिहास रचेको थियो । रियल म्याड्रिड नै एक मात्र फुटबल क्लब हो जसले २०२३-२४ को सिजनमा रिकर्ड १.१३ अर्ब अमेरिकी डलर (लगभग १५१ अर्ब नेपाली रुपैयाँ) आम्दानी गर्दै एक वर्षभित्र नै अर्बौं डलर कमाउने उपलब्धी हासिल गरेको छ। फोर्ब्सले शुक्रबार प्रकाशित प्रतिवेदनमा यसको उल्लेख गरेको छ ।

    यसअघि नै डेलोइटले पनि घोषणा गरेको थियो कि स्पेनी क्लब एक सिजनभरिमा १ अर्ब युरो (१.०४ अर्ब अमेरिकी डलर) आम्दानी गर्ने विश्वको पहिलो फुटबल टिम बनेको छ। अमेरिकी एनएफएल क्लब डलास काउबॉयज पछि दस अंकीय (विलियन) आम्दानी गर्ने रियल म्याड्रिड इतिहासको दोस्रो खेलकुद टीम हो ।

    म्यानचेस्टर युनाइटेड दोस्रो स्थानमा छ । इङ्गलिस क्लबको मूल्यांकन ६.६ अर्ब अमेरिकी डलर (लगभग ८८ अर्ब नेपाली रुपैयाँ) रहेको छ। यद्यपि, क्लबले २०२३-२४ सिजनमा प्रिमियर लिगमा निराशाजनक आठौं स्थान बनाए पनि, उनीहरूले ८३.४ करोड अमेरिकी डलर (लगभग ११.१३ अर्ब नेपाली रुपैयाँ) आम्दानी गर्न सफल भएका छन् ।

    अन्य प्रमुख क्लबहरू:

    • तेश्रो: बार्सिलोना (मूल्य: ५.६५ अर्ब अमेरिकी डलर)
    • चौथो: लिभरपुल
    • पाँचौं: म्यानचेस्टर सिटी

    फोर्ब्सको शीर्ष १० मा प्रिमियर लिगको दबदबा:

    फोर्ब्सको शीर्ष १० सर्वाधिक मूल्यवान टिमहरूमा छवटा प्रिमियर लिग क्लबहरू सामेल छन्। बायर्न म्युनिख (जर्मनी) र पेरिस सेन्ट-जर्मेन (फ्रान्स) पछि आर्सनल, टोटनह्याम हट्सपर र चेल्सी ले पनि सूचीमा आफ्नो स्थान बनाएका छन् ।

    फोर्ब्सको प्रतिवेदन अनुसार, “विश्वका ३० सबैभन्दा मूल्यवान फुटबल टीमहरूको जम्मा मूल्य ७२ अर्ब अमेरिकी डलर (लगभग ९६० अर्ब नेपाली रुपैयाँ) भन्दा बढी छ, जुन टिम प्रति औसत २.४ अर्ब अमेरिकी डलर (लगभग ३२ अर्ब नेपाली रुपैयाँ) बन्छ। यो गत वर्षको रेकर्ड २.२६ अर्ब डलर भन्दा ५ प्रतिशतले बढी हो।”

  • मदन भण्डारी कप खुला दौड प्रतियोगिता सुर्खेतमा हुँदै, प्रथम विजेतालाई ५० हजार पुरस्कार

    मदन भण्डारी कप खुला दौड प्रतियोगिता सुर्खेतमा हुँदै, प्रथम विजेतालाई ५० हजार पुरस्कार

    सुर्खेत। मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा सुर्खेतको वीरेन्द्रनगरमा खुला सडक दौड प्रतियोगिता हुने भएको छ।

    ‘मदन भण्डारी कप खुल्ला दौड प्रतियोगिता २०८२’ नाम दिइएको उक्त प्रतियोगिता जेठ २४ गते बिहान ७ बजे घण्टाघरबाट सुरु हुनेछ।

    एकेडेमीले प्रतियोगितालाई १० र ५ किलोमिटर दूरीमा सञ्चालन गर्न लागेको हो। १० किलोमिटरको खुला दौडमा महिला र पुरुष दुवै खेलाडीले भाग लिन सक्नेछन्।

    यसतर्फ पहिलो हुनेलाई ५० हजार, दोस्रोलाई ३० हजार, तेस्रोलाई २० हजार, चौथोलाई १५ हजार र पाँचौं हुनेलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

    ५ किलोमिटर दूरीको दौड भने विद्यालयस्तरीय यु–१८ समूहका छात्र र छात्रामाझ प्रतिस्पर्धा गराइनेछ। यो तर्फ कर्णाली प्रदेशका विद्यार्थी मात्र सहभागी हुन पाउने छन्।

    विजेतालाई २० हजार, दोस्रो हुनेलाई १५ हजार, तेस्रोलाई १० हजार, चौथोलाई ५ हजार र पाँचौं हुनेलाई ३ हजार रुपैयाँ पुरस्कार दिइनेछ। साथै, सहभागीमध्ये उत्कृष्ट दश स्थान प्राप्त गर्ने सबै खेलाडीलाई प्रोत्साहन स्वरूप एक हजार रुपैयाँ दिइनेछ।

    ‘सबैका लागि खेल’ भन्ने नारासहित सक्रिय रहेको एकेडेमीले स्थानीय, प्रदेश तथा राष्ट्रियस्तरका विभिन्न खेल प्रतियोगिता, तालिम र प्रशिक्षण कार्यक्रम गर्दै आएको छ।

    एकेडेमीका कार्यक्रम संयोजक तेजविक्रम बस्नेतका अनुसार कर्णाली प्रदेशमा पहिलोपटक हुन लागेको दशौं राष्ट्रिय खेलकुदको तयारीलाई ध्यानमा राख्दै यो प्रतियोगिता आयोजना गरिएको हो।

    खेलकुद संस्कृतिको प्रवर्द्धन र प्रतिभावान खेलाडी पहिचानका लागि यो दौड प्रतियोगिता उपयोगी हुने आयोजकको अपेक्षा छ।

  • पीएसजी पहिलो पटक च्याम्पियन

    पीएसजी पहिलो पटक च्याम्पियन

    काठमाडौं। इटालियन प्रतिस्पर्धी इन्टर मिलनलाई पराजित गर्दै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले युइएफए च्याम्पियन्स लिगको उपाधि जितेको छ ।

    शनिवार राती फ्रेन्च लिग वान विजेता समेत रहेको पीएसजीले इन्टरलाई ५-० गोलले पराजित गर्दै पहिलो पटक च्याम्पियन्स लिगको उपाधिमा कब्जा जमाएको हो ।

    पीएसजीलाई जित दिलाउन डिजेर डुबेले २, आक्राफ हाकिमी,ख्विचा क्वारात्स्खेलिया, सेनी मायुलुले समान १-१ गोल गरे।
    हाकिमीले १२ औँ मिनेटमा गोल गर्दै पीएसजीलाई पहिलो अग्रता दिलाए भने डुबेले २० औँ मिनेटमा गोल गरेपछि पीएसजीले खेलको पहिलो हाफसम्म आफूलाई २-० को अग्रतामा राख्न सक्यो ।

    डुवेले नै खेलको ६३ औँ मिनेटमा अर्को गोल गरेपछि पीएसजीको अग्रता थप फराकिलो बन्यो । फ्रेन्च क्लब माथि हरेक हिसाबमा निरीह देखिएको मिलानले ७३ औँ मिनेटमा अर्को गोल बेहोर्‍यो ।

    पीएसजिका क्वारात्स्खेलियाले काउन्टर अट्याकबाट गोल गर्दै टोलीको अग्रतालाई‌ ४-० बनाए । मायुलुले ८६ औँ मिनेटमा टोलीका लागि पाँचौँ गोल गरेपछि पीएसजीले विशाल जित निकाल्दै पहिलो पटक च्याम्पियन्स लिगको ट्रफी घर लग्यो ।

    घरेलु लिगमा वर्चस्व कायम गरेको पीएसजीको लागि च्याम्पियन्स लिगको ट्रफी एउटा सपनाजस्तो थियो । सन् २०२० मा फाइनल खेलेको पीएसजी बायर्नसँग पराजित भएको थियो ।

  • यू-१६ राष्ट्रिय प्रतियोगिताः समीर अलीको कप्तानीमा लुम्बिनी प्रदेशको टीम घोषणा

    यू-१६ राष्ट्रिय प्रतियोगिताः समीर अलीको कप्तानीमा लुम्बिनी प्रदेशको टीम घोषणा

    रुपन्देही । अन्डर-१६ राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताका लागि लुम्बिनी प्रदेशस्तरीय टीम घोषणा गरिएको छ । क्रिकेटर समीर अली मुसलमानको कप्तानीमा लुम्बिनी प्रदेशको टीम घोषणा गरिएको लुम्बिनी प्रदेश क्रिकेट संघका कार्यबाहक अध्यक्ष विनय राजभण्डारीले जानकारी दिए ।

    कर्णाली प्रदेशको सुर्खेतस्थित कालुनचोक क्रिकेट मैदान र वीरेन्द्रनगर क्रिकेट मैदानमा यही जेठ १९ देखि ३१ गतेसम्म यू-१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता हुँदैछ । उक्त प्रतियोगिताका लागि मुसलमानको कप्तानीमा लुम्बिनी प्रदेशका १८ खेलाडी समावेश गरी टीम घोषणा गरिएको हो । मुसलमान प्रदेशस्तरीय यू-१६ क्रिकेट छनोट खेलमा रुपन्देहीका कप्तानसमेत हुन् । छनोट खेलमा उनले एक शतक प्रहार गर्नुका साथै सबैजसो खेलमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।

    संघका कार्यबाहक अध्यक्ष राजभण्डारीका अनुसार प्रदेशको टीममा रोजन कुमाल, रौनक श्रीवास्तव, सिद्धार्थ ढकाल, केशव बिष्ट, लक्ष्मण कुमाल, शुभव खनाल, प्रिन्स पाल, चन्द्र थापा, दिव्यांश वर्मा, प्रेमसागर यादव, शोयब हसन मुसल्मान, दक्ष ठाकुर र आरिफ खान छनोट भएका छन् ।

    यस्तै टीममा करण घर्ती मगर, आदित्य ढकाल, तुसार चौहान र दिवस अर्याललाई रिजर्भ खेलाडीका रुपमा राखिएको छ । प्रदेशको टीम कोचमा सञ्जु क्षेत्री र टीम म्यानेजरमा सिद्धार्थ श्रेष्ठ छन् ।

    संघका प्रदेश सदस्य प्रथम पराजुलीले एक हप्तासम्म रुपन्देहीमा सञ्चालित प्रदेशस्तरीय छनोट खेलमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरुलाई समावेश गरी लुम्बिनीको टीम बनाइएको बताए ।

    ‘छनोट खेलमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरुले टीममा स्थान बनाएकाले यस पटक राष्ट्रिय प्रतियोगिताको उपाधि लुम्बिनी प्रदेशले हात पार्छ भन्ने हाम्रो विश्वास छ’, उनले भने ।

  • यूएफए च्याम्पियन्स लिग फाइनल: पीएसजी र इन्टरमिलानबीच कडा भिडन्त

    यूएफए च्याम्पियन्स लिग फाइनल: पीएसजी र इन्टरमिलानबीच कडा भिडन्त

    काठमाडौं । युरोपियन फुटबलको संसारमा सबैभन्दा प्रतिष्ठित र प्रतीक्षित प्रतियोगिता भनेको यूएफए च्याम्पियन्स लिग हो, जुन हरेक सिजन युरोपका शीर्ष क्लबहरूलाई एकैस्थानमा भेला पार्छ । यो प्रतियोगिता फुटबलप्रेमीहरूका लागि विश्वकै सबैभन्दा उच्चस्तरको क्लबसम्मको प्रतिस्पर्धा मानिन्छ, जहाँ विश्वका उत्कृष्ट खेलाडी र प्रशिक्षकहरूले आफ्नो क्षमता देखाउने मौका पाउँछन् ।

    सन् २०२४/२५ को सिजनमा च्याम्पियन्स लिगको फाइनल म्युनिखस्थित विश्व प्रसिद्ध अलियान्ज एरिना रंगशालामा हुँदैछ ।यो रंगशाला आफ्नो अत्याधुनिक सुविधाहरू, विशाल दर्शक क्षमता र फुटबलको ऐतिहासिक माहोलका कारण विश्वभरि परिचित छ ।

    प्रत्येक वर्ष यहाँ हुने च्याम्पियन्स लिगको फाइनलले मात्र होइन, फुटबलको इतिहासमा पनि अमिट छाप छोड्ने काम गर्छ । यस सिजनको फाइनलमा फ्रान्सको शक्तिशाली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) र इटालीको प्रतिष्ठित इन्टरमिलानबीच सशक्त प्रतिस्पर्धा हुनेछ ।

    पीएसजी आफ्नो युवा र गतिशील टोलीका कारण चर्चित छ भने इन्टरमिलान अनुभवी खेलाडी र सामूहिक समन्वयमा बल राख्ने टोली हो । दुवै क्लबले यस प्रतियोगितामा आफ्नो शीर्षस्तरमा प्रदर्शन गर्दै र अनेकौं चुनौती पार गर्दै फाइनलसम्मको यात्रा तय गरेका छन् ।

    फुटबलको विश्वमा यो भिडन्त केवल एउटा खेल होइन, दुई फरक खेल शैली, अनुभव र युवा ऊर्जाबीचको उत्कृष्ट टक्कर पनि हो । यस फाइनलले फुटबलप्रेमीहरूलाई उत्साहित बनाउनेमात्र होइन, आगामी पुस्ताका लागि प्रेरणाको स्रोत बन्ने छ ।

    खेल शैली र रणनीतिमा विविधता

    फुटबलमा खेलको गति, शैली र रणनीतिले प्रायः खेलको नतिजा निर्धारण गर्ने महत्वपूर्ण भूमिका खेल्छ ।प्रत्येक टोलीले आफ्नो विशेष शैली र रणनीतिमा निर्भर गर्दै मैदानमा फरक तरिकाले प्रदर्शन गर्छ, जुन टीमको बलियो पक्ष, खेलाडीहरूको क्षमता र प्रशिक्षकको रणनीतिक सोचमा आधारित हुन्छ ।

    पीएसजीको टोली छिटो गति र आक्रामक शैलीमा विश्वास राख्छ ।उनीहरूको खेल शैलीमा तीव्र पासिङ, बलको नियन्त्रणमा दक्षता र मैदानभर गतिशीलता प्रमुख हुन्छ । पीएसजीका खेलाडीहरूले मैदानको चौडाइ र फराक दुवैलाई प्रभावकारी रूपमा प्रयोग गरेर विपक्षीलाई दबाबमा राख्ने प्रयास गर्छन् ।

    उनीहरूको आक्रमणमा द्रुत रुपमा स्थान परिवर्तन, तेज ड्रिब्लिङ र छिटो निर्णय लिने क्षमता देखिन्छ, जसले विरोधीको डिफेन्सलाई सजिलै विखण्डन गर्न सहयोग गर्छ । पीएसजीले बललाई छिटो र सटिक र सामूहिक रूपमा घुमाएर विपक्षीलाई थकित पार्ने र मौका सिर्जना गर्ने रणनीति अपनाउँछ ।

    त्यसको विपरीत इन्टरमिलानले खेलमा अनुभव र अनुशासनलाई मुख्य प्राथमिकता दिएको छ । उनीहरूको खेल शैली संयमित, संरचित र धैर्यपूर्ण छ । इन्टरमिलानका खेलाडीहरूले बललाई ध्यानपूर्वक नियन्त्रण गरी खेलको गति आफूमाथि राख्छन् । सही समयमा काउन्टर आक्रमणमार्फत विरोधीलाई प्रभावकारी तरिकाले सामना गर्छन् ।

    उनीहरूको खेलमा सेटपिस (फ्रीकिक, कर्नर, पेनाल्टी) र संयुक्त खेल (टीमवर्क/प्लान्ड मुभमेन्ट)को विशेष महत्व छ, जुन उनीहरूको गोल गर्ने मुख्य स्रोत बन्ने गर्दछ । इन्टरमिलानले आफ्नो डिफेन्सलाई बलियो राख्दै विरोधीलाई निराश बनाउने र मौका मिल्दा कडा आक्रमण गर्ने रणनीति अपनाउँछ ।

    दुवै टोली बहुमुखी छन् । आवश्यकअनुसार खेलको शैली परिवर्तन गर्न सक्छन् । कहिले उनीहरूले बललाई लामो समयसम्म आफ्नो नियन्त्रणमा राख्ने पोजेसन फुटबल खेल्छन् भने कहिले छिटो आक्रमणमा जान प्रत्यक्ष आक्रमणको विकल्प पनि अपनाउन सक्छन् ।
    यो लचिलोपनले फाइनललाई अत्यन्तै प्रतिस्पर्धात्मक र रोमाञ्चक बनाउनेछ, जहाँ खेलाडी र रणनीतिहरूले निर्णायक भूमिका खेल्नेछन् ।

    यस किसिमले पीएसजीको तीव्रता र गतिशीलता र इन्टरमिलानको अनुभव र अनुशासनबीचको टक्करले खेललाई दर्शकहरूको लागि अविस्मरणीय बनाउनेछ । दुबै टोलीले आफ्नो फरक शैलीमार्फत विपक्षीलाई दबाबमा राख्ने र जित हासिल गर्ने प्रयास गर्नेछन् ।

    गोलरक्षकहरूको निर्णायक भूमिका

    यस यूएफए च्याम्पियन्स लिग फाइनलमा गोलरक्षकहरूको भूमिका अत्यन्तै महत्त्वपूर्ण रहनेछ । इन्टरमिलानका यान सोमर र पीएसजीका गियान्लुइगी डोनारुम्मा दुवैले यस सिजनको प्रतियोगितामा उत्कृष्ट बचाउ प्रदर्शन गर्दै आफ्नो टोलीलाई फाइनलसम्म पुर्‍याउन महत्वपूर्ण भूमिका खेलेका छन् ।

    यानसोमरले सेमिफाइनलमा बार्सिलोनाविरुद्ध ५ वटा उत्कृष्ट बचाउ गरेका थिए, जसले बार्सिलोनाको आक्रमणलाई निस्तेज तुल्यायो र इन्टरमिलानलाई खेलमा स्थिरता प्रदान गर्‍याे ।

    उनका ती बचाउहरूले टोलीलाई डिफेन्समा मजबुत बनाएर अन्ततः फाइनल यात्रा तय गर्न मद्दत पुऱ्याए । सोमरको तीव्र प्रतिक्रिया, उत्कृष्ट पोजिसनिङ र बल सम्हाल्ने क्षमता उनलाई यस सिजनको सर्वश्रेष्ठ गोलरक्षकमध्ये एक बनाएको छ ।

    त्यस्तै गियान्लुइगी डोनारुम्माले पनि सेमिफाइनलमा आर्सेनलविरुद्ध निर्णायक बचाउहरू गरेर पीएसजीलाई फाइनलमा पुर्याए । उनका केही महत्वपूर्ण बचाउले टोलीलाई कमजोर क्षणमा स्थिरता दिएर विपक्षीको गोल गर्ने सम्भावना न्यून बनाए । डोनारुम्माको शान्त स्वभाव, बल सम्हाल्ने कला र पेनाल्टी बचाउको क्षमता निकै प्रभावशाली रहेको छ ।

    यदि खेल पेनाल्टी शुटआउटसम्म पुग्यो भने दुबै गोलरक्षकको क्षमता निर्णायक साबित हुनसक्छ । यानसोमरले विगतमा युरो २०२० मा फ्रान्सका सुपरस्टार किलियन एम्बाप्पेको पेनाल्टी रोकिसकेका छन्, जसले उनको पेनाल्टी बचाउने दक्षतालाई प्रमाणित गर्छ ।

    त्यस्तै डोनारुम्माले त्यही युरो २०२० को फाइनलमा इंग्ल्यान्डका खेलाडीहरूको पेनाल्टी रोक्दै टोलीलाई जितको नजिक पुर्‍याएका थिए ।

    यस किसिमले यो फाइनलमा गोलरक्षकहरूको प्रदर्शनले नतिजामा ठूलो प्रभाव पार्नसक्छ । उनीहरूको स्थिरता, निर्णायक बचाउहरू र दबाबमुनि मानसिक मजबुतीले अन्तिम विजेतालाई निर्धारण गर्नसक्छ ।

    फाइनलसम्मको यात्रा

    पीएसजीले यस सिजन यूएफए च्याम्पियन्स लिगमा कुल १३ खेल खेलेको छ, जसमा उसले १० जित, २ बराबरी र १ हार व्यहोरेको छ। पीएसजीले यस अवधिमा २८ गोल गरेको छ भने १० गोल खाएको छ । उसको आक्रमण निकै बलियो छ र प्रतियोगितामा ४० भन्दा बढी शट हानेको छ । मार्किन्होस टोलीको कर्णधार हुन् । उनले डिफेन्समा महत्वपूर्ण भूमिका खेल्दै ३ क्लियरन्स र ८ ब्लक गरेका छन् ।

    विटेओर लुइसले पनि डिफेन्सलाई मजबुत बनाएका छन् । युवा आक्रमणकर्ता मार्कस थोमसिनले टोलीलाई गतिशीलता प्रदान गरेका छन् ।

    इन्टरमिलानले १३ खेलमा ९ जित, ३ बराबरी र १ हार दर्ता गरेको छ । उसले कुल २५ गोल गर्दा ८ गोल खाएको छ । इन्टरको खेल शैली प्रभावकारी र रणनीतिक छ । लाउटारो मार्टिनेजले ८ गोल र ५ असिस्ट गर्दै टोलीको आक्रमणलाई नेतृत्व दिएका छन् । मिडफिल्डर फेडेरिको दिसीओले खेल नियन्त्रणमा विशेष योगदान दिएका छन् ।

    गोलरक्षक यानसोमरले सेमिफाइनलमा पाँच वटा महत्वपूर्ण बचाउ गर्दै टोलीको रक्षा बलियो बनाएका छन् ।

    काे बन्नेछ च्याम्पियन ?

    फाइनलमा पीएसजीले मैदानको नियन्त्रण गर्ने र खेलको गति आफ्नै पक्षमा राख्ने प्रयास गर्नेछ भने इन्टरमिलानले सही अवसरको प्रतीक्षा गरी त्यसलाई सदुपयोग गर्ने रणनीति अपनाउनेछ । दुवै टोलीमा जित्ने क्षमता छ र यो फाइनल फुटबलप्रेमीहरूका लागि अविस्मरणीय क्षण बन्ने निश्चित छ ।

    यो भिडन्त केवल खेलको प्रतिस्पर्धा होइन, अनुभव र युवा ऊर्जा, रणनीति र गति, कौशल र मानसिकताबीचको तुलना हो । म्युनिखको त्यो रातले विश्व फुटबलको इतिहासमा अर्को सुनौलो अध्याय थप्नेछ ।

  • प्रदेशस्तरीय यु-१६ क्रिकेटमा रूपन्देही च्याम्पियन

    प्रदेशस्तरीय यु-१६ क्रिकेटमा रूपन्देही च्याम्पियन

    रुपन्देही । यु–१६ लुम्बिनी प्रदेशस्तरीय क्रिकेट प्रतियोगितामा घरेलु टोली रुपन्देहीको टिम च्याम्पियन बनेको छ । भैरहवामा सम्पन्न फाइनल खेलमा दाङलाई ६२ रनले पराजित गर्दै रुपन्देही च्याम्पियन बनेको हो । रुपन्देहीको जितमा लक्ष्मण कुमालले उत्कृष्ट बलिङ गरे ।

    भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको फाइनल खेलमा टस जितेर ब्याटिङ गरेको रुपन्देहीले निर्धारित ३५ ओभरमा २४ ओभर ५ बल खेल्दै सबै विकेट गुमाएर १ सय ३१ रनको मध्यम योगफल बनायो । रुपन्देहीका लागि सिद्धार्थ ढकालले ५४ रनको अर्धशतकीय पारी खेले । ४५ बलको सामना गरेका उनले ४ चौका र ४ छक्का प्रहार गरे । रोजन कुमालले २६, समीर अलि मुसलमानले २२ र तुसार चौहानले १० रनको जोडे । बलिङमा दाङका शुभम खनालले ६ ओभरमा १५ रन खर्चेर ५ विकेट लिँदा दक्ष ठाकुरले ३, चन्द्रबहादुर थापा र करण जीएमले १–१ विकेट हात पारे ।

    १३२ रनको लक्ष्य पछ्याएको दाङ २२ ओभर १ बलमा सबै विकेट गुमाएर ६९ रनमै समेटियो । बलिङमा रुपन्देहीका लक्ष्मण कुमालले ७ ओभरमा १ मेडनसहित १४ रन खर्चेर ५ विकेट हात पारे । यस्तै, प्रिन्स पालको नाममा ४ विकेट रह्यो । दाङका अभिजित भण्डारीले सर्वाधिक १८ र शुभम खनालले १४ रन बनाए पनि अन्य खेलाडीले दोहोरो अंकमा रन बटुल्न सकेनन् । प्रतियोगितामा रुपन्देहीका लक्ष्मण कुमाल म्यान अफ द फाइनल घोषित भए । लुम्बिनी प्रदेश क्रिकेट संघको आयोजना र रुपन्देही क्रिकेट संघको समन्वयमा राष्ट्रिय यु–१६ क्रिकेटका लागि लुम्बिनी प्रदेशस्तरीय टिम छनोट गर्न प्रतियोगिता आयोजना गरिएको हो ।

    प्रतियोगितालाई भैरहवाका व्यवसायी रामकिसन विकले आफ्नी स्वर्गीय श्रीमती लीला सेन्चुरीको नाममा मुख्य प्रायोजन गरेका थिए । विजयी टिमलाई सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँ, लुम्बिनी प्रदेश क्रिकेट संघका कार्यवाहक अध्यक्ष विनय राज भण्डारी, रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापा, नेपाल क्रिकेट संघका निवर्तमान कार्यवाहक सचिव प्रशान्तविक्रम मल्ल, प्रतियोगिता संयोजक प्रथम पराजुली लगायतले ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरे ।

  • मलेसियामा म्यान्चेस्टर युनाईटेडको हारले दिएको सन्देश

    मलेसियामा म्यान्चेस्टर युनाईटेडको हारले दिएको सन्देश

    ब्राटिस्लाभा । इङ्लिस प्रिमियर लिग (ईपीएल) को २० पटकको च्याम्पियन, युरोपको पूर्व च्याम्पियन साथै युरोप ल लन्डनमा खेलिने अन्य लिगको बिजेता बनिसकेको म्यान्चेस्टर युनाइटेडले पछिल्लो केही सिजनमा आफ्नो त्यो अद्भूत गतिलाई कायम गर्न नसक्दा हार र निराशाको शृङ्खलालाई कायम राखेको छ ।

    ईपीएलको यो सिजन १५ औं स्थानमा खुम्चिएर दक्षिणपूर्वी एसिया भ्रमणमा निस्केको रुबेन अमोरिमको टोलिले एसिया अल स्टार -११ सामु मलेसियाको क्वालालम्पुरमा निराशाजनक प्रदर्शन गर्दै हार बेहोर्नुपर्‍यो ।

    दक्षिणपूर्वी एसियाका फुटबल स्टार मिलेर बनेको टोलीसामु युनाइटेडको फितलो प्रदर्शले १-० को हार बेहोरेपछि उस्को `पोस्ट सिजन भिजिट ´ पहिलो गाँसमा नै ढुंगा सावित भएको छ । प्रिमियर लिगको यो सिजन आफ्नो छविभन्दा निकै तल्लो स्तरको प्रदर्शन गरेर आलोचना खेपेको युनाइटेडले नयाँ सिजन सुरू हुनुभन्दा अघि गरेको एसिया भ्रमण, त्यो पनि विश्वस्तरीय खेलाडीसहितको टोलीले फुटबलमा उतिसारो बलियो नमानिएको दक्षिणपूर्वी एसियाको टीमसँग हार्नुले अबको सिजन युनाइटेडलाई थप गार्‍हो पर्ने होकि भन्ने शंका गर्ने ठाउँ बढेको छ ।

    थाई लिग १ क्लब लाम्फुन वारियर्सका विंगर माउङ माउङ ल्विनले दोस्रो हाफमा गोल गर्दै अल स्टारालाई जिताएपछि म्यानयुका प्रशिक्षक र खेलाडीमा निराशापन छाएको देखिन्थ्यो ।

    ‘म सधैँ दोषी महसुस गर्छु, मैले अन्तिम खेलमा त्यो भनेको थिएँ । म सधैँ टोलीको प्रदर्शनको लागि दोषी छु,’ म्यान युनाइटेडका प्रशिक्षक अमोरिमले फ्यानहरूको प्रतिक्रियाबारे भनेँ, ‘म दोषी छु ।’

    त्यसपछि फ्यानहरूबाट आएको हाँसो भनेको हामीलाई चाहिने कुरा हो किनभने हामीले प्रिमियर लिगमा हरेक खेल हार्यौं, तिनीहरू सधैँ त्यहाँ थिए । त्यसैले यो यस्तो छ कि यदि उनीहरूले हेर्ने खेल्ने तरिका काम गरिरहेको छैन भने, तिनीहरूले आफ्नो व्यवहार परिवर्तन गर्नेछन् ।’

    ‘अवश्य पनि, हामीले राम्रो प्रदर्शन गर्नुपर्छ । हामी ढिलो थियौँ र प्रशिक्षण र हरेक खेलमा हरेक अभ्यास जित्नको लागि हामीमा यो क्षमता हुनुपर्छ । तर महत्त्वपूर्ण कुरा हामीलाई कुनै चोटपटक लागेन । केही खेलाडीहरू जोखिममा थिए तर हामी सबै फ्यानहरूलाई सम्मान गर्न चाहन्थ्यौं, सबै खेलाडीहरूलाई खेलमा राख्यौं’, अमोरिमले थपे ।

    उनले आउँदो सिजनमा खेलमा व्यापक सुधार गर्दै टीमलाई पहिलेकै हैसियतमा लैजाने बताए ।

    गत मे २१ मा टोटनह्याम्पसङ्ग युरोपा लिगको फाइनलमा पराजित हुँदै यो सिजन रित्तो हात बनेको युनाइटेडको लागि आगामी सिजनको तयारीको लागि भएको भ्रमणको पहिलो खेलनै हारबाट सुरु गर्नु परेपछि उनीहरू दु:खी देखिएका थिए ।

    प्रशिक्षकले घुमाउरो भाषामा आफूहरूमा कमजोरी रहेको र ती कमजोरीलाई पत्ता लगाएर सुधार गर्दै आउँदो सिजनलाई सुखद बनाउने बताएका छ्न ।