काठमाडौं । नेपाल र वेस्ट इन्डिजबीच टी २०आई सिरिज हुने भएको छ । नेपाल क्रीकेट संघ क्यानले आगामी सेप्टेम्बरमा वेस्ट इन्डिजसंग ३ खेलको टी(२०आई सिरिज हुने घोषणा गरेको हो ।
Category: खेल प्रेस
-

नेपाल र वेस्ट इन्डिजबीच टी २० आई सिरिज हुने
उक्त सिरिज सेप्टेम्बर २७, २८ र ३० मा यूएईको शारजाह क्रिकेट रंगशालामा हुनेछ । नेपालले पहिलोपटक वेस्ट इन्डिजसंग अन्तर्राष्ट्रिय सिरिज खेल्न लागेको हो । वेस्ट इन्डिजले दुईपटक टी-२० विश्वकप क्रीकेटको उपाधी जितेको थियो । -

टीबी स्मृति यु १६ राष्ट्रिय क्रिकेट प्रतियोगिता, कर्णाली र बागमतीको शानदार जीत
सुर्खेत । वीरेन्द्रनगरमा जारी १६ वर्षमुनिको टीबी स्मृति प्रथम राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत दशौं दिन भएका खेलमा घरेलुटोली कर्णाली र बागमतीले शानदार जीत हात पारेका छन् ।
वीरेन्द्रनगर मैदानमा भएको खेलमा कर्णालीले गण्डकीलाई १ सय ५८ रनले घर फर्काउँदा कालुंगचोक मैदानमा बाग्मतिले ७ विकेटको फारकिलो जीत निकाल्दै आप्mनो प्रभाव कायम राखेको हो ।
प्रतियोगिताकै सबैभन्दा कमजोर मानिएको गण्डकीलाई दशौं दिन प्रतिद्धन्द्धी पाएको घरेलु टोली कर्णालीले प्रतियोगिताअन्तर्गत भएका आप्mनो खेल अवधिको सर्वाधिक २ सय ३३ रन जोडेको हो । पहिला टस जितेर ब्याटिंग गरेको कर्णालीले निर्धारित ५० ओभरको खेलमा जम्म ३६ ओभरसम्म खेल्दा सबै विकेट गुमाएको कर्णालीले बनाएको स्कोरमा विजय बोहोराको नटआउट ८८ रनको सम्झनलायक योगदान रह्यो ।
क्रिजमा खास्सै जम्न नसकेको कौस्तुभ खडका र नेत्रविक्रम खत्रीको ओपनर जोडी क्रमशः ११ र १ रनमा पवेलियन फर्किएपछि तेश्रो नम्बरमा आएका नवीन न्यौपानेले अर्धशतकीय पारी खेल्दै टिमलाई सम्हाले ।
रिदम पाण्डेको बलमा विनय कार्कीको हातबाट स्टम्प्ड हुनुअघि नवीनले १ सय ३४ को स्ट्राईक रेटमा ९ चौका र १ छक्कासहित ३८ बलमा ५१ रनको अर्धशकीय पारि खेल्दै जीतको पहिलो कोशेढुंगा खडा गरे ।
त्यसपछि क्रिजमा आएका भूपेन्द्रजंग शाही २ रन र रोशन शाहीले १७ रन बनाउँदै डगआउट फर्किपछि मिर्डर सम्हाल्न आएका नमनसिंह थापाले ४९ बलमा ४२ रन जोडेर टिमलाई मजबुत स्थितितर्फ डोर्याए ।
मिडल अर्डर सम्हाल्न आएका नमनको दर्हो साथ पाएका कर्णालीका विजय बोहोराले ५८ बलको सामना गर्दै १ सय ५१ को स्ट्राईक रेटमा ८ चौका र छ छक्कासहित अविजित ८८ रन बटुल्दै टिमलाई जीत नजिक पुर्याए ।
खेललाई १५ औं ओभरबाट सम्हालेका विजय र नमनले २८ दशमलव ३ ओभरसम्म डोर्याउँदै छैठौं विकेटका लागि ८४ रनको महत्वपूर्ण साझेदारी गरे ।
गण्डकीका लागि टाउको दुखाई बन्दै गएको यो साझेदारी तोड्न सफल भएका शुशील भट्टराईले ६चौका र १ छक्का ठोकेका नमनलाई बोल्ड गर्दै टिमलाई राहत दिलाए ।
गण्डकीका लागि ८ ओभर बलिंग गरेका शुशील भट्टराईले २ मेडन ३४ डटसहित ४४ रन दिएर ४ विकेट लिए भने अनिश राउते २ मेडन ३७ डटसहित ३ विकेट लिंदा करन गैरेको नाममा १ विकेट रह्यो ।
विनय कार्की विजय बोहोराको एलब्यूडब्ल्यूको शिकार भएका विनय कार्की गोल्डेन डक भएर फर्किए लगत्तै कप्तान विपिन शर्माले ११ बलसम्म डट खेलाउँदै अर्का ओपनर रोज श्रेष्ठलाईपनि खाता खोल्ने मौकै नदिई बोल्ड गराए ।
अर्को ओभरमा जम्मा ५ रन जोडेका प्रतिक रावललाई एलबीडल्यूको शिकार बनाएका विपिनलाई उछिन्दै विजयले फेरि सुप्रिम सुनारलाई १ रनमा एलबीडब्ल्यू र भुवन भट्टराईलाई ६ रनमा बोल्ड गराए ।
त्यसपछिका ब्याटरहरुमध्ये क्रमशः अनिश रावतलाई रोशन शाहीले कौस्तुभको हातमा ५ रनको स्कोरमा क्याच गराउँदा रमित कंडेल र रिदम पाण्डेले खाता खोल्ने मौका पाएनन् ।
राज परियाले ३३ बलमा २३ रन र करन गैरेले सान्तन्वनास्वरुप २१ रन जोडेपनि जीतको लागि पर्याप्त भएन । उता कालुंगचोक मैदानमा भएको अर्को खेलमा बाग्मतिले लुम्विनीमाथि शानदार रुप्मा ७ विकेटको जीत निकाल्दै प्रतियोगितामा आप्mनो दवदबा कायमै राखेको छ ।
टस जितेर पहिला ब्याटिंग गर्न आएको लुम्विनीलाई शुरुदेखि दवाबमा राखेको बाग्मितले निर्धारित ५० ओभरको खेलमध्ये जम्मा २१ दशमलव ५ ओभरमा १ सय १३ रनको सामान्य स्कोरमा लुम्विनीलाई अलआउट गरायो ।
लुम्बिनीका ओपनर समिर अली मुसलमानले ५८ बलमा १० चौकासहित ५५ रनको गतिलो शुरुवात दिलाएपनि तेश्रो नम्बरका रोजन कुमालले १२, आठौं क्रमका देव्यांश वर्माले १० रन जोड्दा लुम्विनीका हिटरको छवि बनाएका रौनक श्रीवास्तव शुशील साउँदको बलमा अभी थपलियालाई ९ रनको व्यक्तिगत स्कोरमा क्याच थमाएपछि लुम्विनी ठाडो उठ्नै सकेन ।
बाग्मतिका बलर सामू निरिह देखिएका लुम्बिनीका बाँकी रहेकामध्ये ३ जनाले ५ रनभन्दा बढि जोड्न सकेनन भने ४ जना शून्यैमै सीमित भए । १ सय १४ रनको सहज लक्ष्य लिएर जवाफी ब्याटिंगमा उत्रिएको बाग्मतिले २५ ओभर १ बलमा जम्मा ३ विकेट गुमाउँदै सजिलै लक्ष्य पूरा गरेर आप्mनो वर्चश्व कायम राख्यो ।
बाग्मतिका लागि ओपनिंग गरेका सूर्यांशु कोइरालाले ५७ बलमा ७ चौका र २ छक्कासहित ५४ रनको बलियो पारी खेल्दै टीमको जीतको मजबुत जग बसाले ।
१६ ओभर ३ बलसम्म क्रिजमा टिकेका सूर्यांशुलाई शुभम कोइरालाले फालेको बलमा प्रेम सागर यादवले क्याच आउट गर्नुअघि सूर्यांशुले टिमका लागि आप्mनो जिम्मेवारी पूरा गरिसकेका थिए । २६बलमा ११ रन जोडेका दोश्रो नम्बरका ब्याटर प्रशिद्ध जैसीलाई लक्ष्मण कुमालले प्रेम सागरमार्फत नै क्याच गराएपछि क्रिजमा आएका जोय थापाले २८ रन जोड्दै टिमलाई जीतको मुखैमा पुर्याए ।
१२ रन अतिरिक्त पाएको बाग्मितका लागि शिवशक्ति महतोले ९ रनसहित फिनिसिंग गरे । राउण्ड रोविन चरणको करिव करिव अन्तिमतिर आईपुग्दा खेलिएका जम्मा ६ खेलमध्ये १ मा मात्र हारेको बाग्मति १० अंकसहित पहिलो अंकमा रहँदा ६खेलमा ४ खेल जितेको मधेश ८ अंकसहित दोश्रोमा छन् ।
समान खेल खेलेको कोशी नेट रनरेटका आधारमा तेश्रो स्थानमा रहँदा खेल भोलि सुदूर र लुम्विनीबीच हुनेछ ।
-

खेलकुद महासङ्घ सुदूरपश्चिमको अध्यक्षमा पुनः चन्द निर्वाचित, यस्तो बन्यो प्रदेश कमिटी
धनगढी । नेपाल खेलकुद महासङ्घ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा प्रकाश चन्द पुनः सर्वसम्मत चयन भएका छन्। धनगढीमा सम्पन्न दोस्रो प्रदेश अधिवेशनले चन्दको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।
उक्त अधिवेशनमा उपाध्यक्षमा हिक्मत रावल र प्रकाश बिक, सचिवमा कोपिला सिंह, उप–सचिवमा घनश्याम डाँगी र अमित रोकाया तथा कोषाध्यक्षमा दुर्गा शर्मा भण्डारी सर्वसम्मत चयन भएका छन्।
महासङ्घको प्रदेश सदस्यहरूमा यज्ञराज बिनाडी, उपेन्द्र बहादुर शाही, कृष्णा सिराडी, योगेन्द्र बहादुर साउँद, लोकेन्द्र बहादुर साउँद, कृष्णा कुमारी विष्ट, तिलक कुमार मौनी, हेमकृष्ण रञ्जितकार, गणेश बहादुर कुँवर, टेक बहादुर थापा, मिना कुमारी जोशी, भरत महत, विष्णु थापा, राकेश थापा, राज बहादुर कार्की, लक्ष्मी चन्द, नमराज धामी, दीपेन्द्र भण्डारी, हर्क बहादुर दौल्याल, सन्तोष खड्का, आशिष रोकाया, सुवास चन्द, योगेश जोशी, वीरेन्द्र विष्ट, तपेन्द्र खड्का, नरेश सिंह, हेमन्त मिश्र, महेश विष्ट, कृष्ण ओली, अशोक कुमार बोहरा र जेनिशा ओझा रहेका छन्।
अधिवेशनको उद्घाटन नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले गरेका थिए। उनले उद्घाटन सत्रमा सर्वसम्मत नेतृत्व चयनको सुझाव दिएका थिए।
कार्यक्रममा नेपाल खेलकुद महासङ्घका केन्द्रीय उपाध्यक्ष दीपेन्द्र दाहाल, एमाले पोलिटब्युरो सदस्य तथा सुदूरपश्चिमका पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावल, प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशी, खेलकुद महासङ्घका केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज विष्णु चन्दलगायतले सुदूरपश्चिमको खेलकुद विकासमा महासङ्घको भूमिका महत्त्वपूर्ण रहेको बताएका थिए।
सो अवसरमा खेलकुद पत्रकार मञ्च कैलालीका उपाध्यक्ष दिनेश बिस्टसहित विभिन्न खेल क्षेत्रका व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो। छैटौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिमलाई फुटबलमा स्वर्ण दिलाउने दिपेश खड्का डेभिट, क्रिकेट प्रशिक्षक ज्ञानेन्द्र दडिमाना क्षेत्री, भलिबल प्रशिक्षक प्रेमराज जोशी, उसु प्रशिक्षक रतन खाती, कराँते प्रशिक्षक ललित खत्री, बक्सिङ प्रशिक्षक बम बहादुर बोगटी र राष्ट्रिय खेलकुद परिषद्का सदस्य जगत धामीलाई सम्मान गरिएको थियो।
त्यसैगरी, उत्कृष्ट जिल्लाको रूपमा नेपाल खेलकुद महासङ्घ कञ्चनपुरका अध्यक्ष भूपेन्द्र चन्द र साङ्गीतिक क्षेत्रबाट सजल कला केन्द्रकी सञ्चालिका पुष्पा बडैलालाई पनि विशेष सम्मान प्रदान गरिएको थियो।
-

एन्ड्रयू लियोनार्डले भने- मेरो घोषणाका लागि अझै एक दिन पर्खिनुस्
काठमाडौं । नेपालमा लोकप्रिय आयरल्यान्डका क्रिकेट कमेन्टेटर एन्ड्रयू लियोनार्डले आज गर्ने भनेको ‘ठूलो घोषणा’ एक दिन पछि धकेलेका छन् । यो आफ्नो कमेन्ट्रीसँग सम्बन्धित रोमाञ्चक व्यक्तिगत समाचार भएको जानकारी उनले दिए ।
लियोनार्डले अस्ति नेपाली क्रिकेट कप्तान रोहित पौडेलसँगको तस्बिरलाई आफ्नो फेसबुकको कभर फोटोमा राख्दै बुधबार ठूलो घोषणा हुन लागेको बताएका थिए । आज उनको घोषणा सुन्न क्रिकेटप्रेमीहरु प्रतीक्षारत रहेकोमा थप एक दिन पर्खिनुपर्ने भएको छ ।
लियोनार्डले कमेन्ट्रीबाट सन्न्यास लिन आँटेको अफवाह पनि सामाजिक सञ्जालमा फैलिएको थियो । त्यसलाई उनले खण्डन गरेका छन् ।

फेसबुकमा लियोनार्डले लेखेको स्टटासको नेपाली भावार्थ यस्तो छः
सबैलाई यो हप्ताको सन्देशहरूको लागि धन्यवाद । यो २०२५ को सबैभन्दा अविस्मरणीय हप्ता भएको छ, निश्चित रूपमा अविस्मरणीय १ माफी चाहन्छु, तर कृपया मेरो घोषणाको लागि एक दिन अझै पर्खनुहोस्, जुन आगामी कमेन्ट्रीसँग सम्बन्धित एकदमै रोमाञ्चक व्यक्तिगत समाचार हो ।
कृपया म सन्यास लिँदैछु भन्ने कुनै पनि गलत हल्लालाई बेवास्ता गर्नुहोस्, कसले यो सुरु गर्यो थाहा छैन १ त्यसमा कुनै सत्यता छैन, यदि मैले नेपाल फ्यान फोरममा भएको पोस्टको अनुवाद ठीक गरेको छु भने । विश्वभर पूर्णकालिन कमेन्ट्री गर्नु मेरो लागि गर्व र सपना हो ।
र सधैंझैं सबै समर्थन, माया र दयालुपनको लागि धन्यवाद । नेपाललाई एकदिवसीय खेलमा अविश्वसनीय पुनरागमनको लागि धन्यवाद र बधाई । २१० दिनको प्रतिक्षा पूर्ण रूपमा सार्थक भयो ।
-

नेपाली क्रिकेटको नयाँ ‘बेन्चमार्क’ कायम गरेको सिरिज
काठमाडौं । नेपालले आईसीसी विश्वकप लिग २ अन्तर्गत स्कटल्यान्डमा जारी त्रिकोणात्मक श्रृंखलाको सुखद समापन गर्दै नेदरल्यान्ड्सलाई १६ रनले हराएको छ । पेनाल्टीस्वरूप नेपालबाट उपहारमा पाएको १० रन पनि नेदरल्यान्ड्सका लागि पर्याप्त भएन ।
स्लो पीचमा नेपालले पूरा ५० ओभर ब्याटिङ गर्दै २३६ रनको ठीकठाक स्कोर खडा गरेको थियो, जहाँ मध्यक्रमका ब्याटर आरिफ शेख फेरि एक पटक नेपालका ‘विघ्नहर्ता’ बने । उनले ८५ बलमा ८४ रनको उत्कृष्ट पारी खेल्दै एक्लो बलबुतामा नेपाललाई सम्मानजनक स्थितिमा पुर्याएका थिए । यो सिरिजमा आरिफ दोस्रो पटक प्लेयर अफ दि म्याच बनेका छन्, जसका उनी हकदार पनि थिए ।
आफ्ना प्रमुख दुई अलराउन्डर गुल्शन झा र सोमपाल कामीविना खेलिरहेको थियो नेपाल । इन्जुरीका कारण उनीहरू दुवैले स्कटल्यान्डमा हुने बाँकी खेलहरू गुमाएका छन् । नेदरल्यान्ड्विरुद्ध ब्याटिङमा नेपाललाई उनीहरूको अभाव खट्कियो । अन्तिम १० ओभरमा नेपालले चाहे जति रन बटुल्न सकेन । गुल्शनको प्रतिस्थापनमा आएका बसिर अहमद चलेनन् । उनले ११ रनमात्रै जोड्न सके । त्यसमा पनि १० रन हर्जाना तिर्नुपर्यो, उनी पिचमा कुदेका कारण । यद्यपि यही एउटा असफलताले बसिरको क्षमतामाथि भने प्रश्न उठ्दैन । उनी नेपालको राष्ट्रिय टीममा थप अवसरहरू पाउनुपर्ने युवा खेलाडी हुन् ।
नेपालका लागि भीम सार्की र कप्तान रोहितकुमार पौडेलले उपयोगी इनिङहरू खेले । दुवैले समान ३५-३५ रन बनाएका थिए, तर फरकफरक लयमा । भीम चुस्त देखिए भने रोहित सुस्त । ३५ रनका लागि भीमले ३८ बल र रोहितले ६० बल खेलेका थिए । यद्यपि तत्कालीन परिस्थितिमा दुवैको इनिङ महत्वपूर्ण थियो नेपालका लागि । पछिल्लो क्रमका ब्याटरहरूले ठोस योगदान दिन नसक्दा नेपाल बलियो स्कोरबाट चुकेको थियो । कम्तीमा एक जनाले ‘केमियो’ खेलेको भए नेपालको स्कोरकार्ड मजबुत हुन सक्थ्यो ।
नेपालले २५० रन छुन नसक्दा अधैर्य फ्यानहरूले खेलाडीलाई सामाजिक सञ्जालमा गाली गर्न सुरु गरिसकेका थिए, तर क्रिकेटमा कति स्कोर बलियो र कति कमजोर भन्ने चाहिँ धेरै हदसम्म पीचको कन्डिसनले निर्धारण गर्छ । जति बलियो ब्याटिङ पंक्ति भए पनि सबै कन्डिसनमा ३०० माथि रन बनाउन सम्भव हुँदैन । हिजोको पीचमा नेपालले दिएको लक्ष्य प्रतिस्पर्धात्मक नै थियो र बलरहरूले त्यसलाई सावित गरिदिए ।
बलिङमा हिजो सबैभन्दा प्रभावशाली प्रदर्शन गरे युवा फास्ट बलर नन्दन यादवले । नेपाललाई लामो समयदेखि एउटा यस्तो फास्ट बलरको कमी महसुस हुँदै आएको छ, जसले नयाँ बल र पुरानो बल दुवैबाट विकेट निकाल्न सक्छ । सोमपाल कामी र करण केसीले लामो समयदेखि नेपालको फास्ट बलिङ धान्दै आएका छन्, तर उनीहरूको प्रदर्शनमा एकरूपता पाइँदैन । कन्डिसनले सपोर्ट नगर्दा उनीहरू खर्चिला बन्ने गरेका छन् । खासगरी डेथ बलिङमा नेपालको फास्ट बलिङले धोका दिँदै आएको छ ।
नेपालको यो कमजोरीलाई मल्हमपट्टि गर्नसक्ने संकेत देखाइरहेका छन् नन्दनले पछिल्ला राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलहरूमा । नेपालमा करिअर नदेखेर अस्ट्रेलिया पलायन भएका नन्दन गत वर्ष एनपीएल खेल्न आएका थिए । एनपीएलमा आफ्नो उत्कृष्टता देखाएपश्चात उनले फेरि अस्ट्रेलिया फर्किनु परेन । नन्दनको उत्कृष्टताबारे अहिल्यै निष्कर्षमा पुग्नु हतारो हुनसक्छ, तर उनले निकै आशालाग्दो सुरुवात भने गरेका छन् ।

हिजो अनुभवी बलर करण केसी नचल्दा नन्दनले नेदरल्यान्ड्सको ब्याटिङलाई घुँडा टेकाए । ‘नेक टु नेक’ को स्थितिबाट खेल अघि बढिरहँदा ४७औं ओभरमा उनले दुई विकेट लिएर नेपालको जित निश्चित गरेका थिए । नेपालका तीन स्पिनर सन्दीप लामिछाने, ललितनारायण राजवंशी र कुशल भुर्तेलको बलिङको पनि तारिफ नगरिरहन सकिन्न । सन्दीपले आफ्नो वास्तविक स्तर देखाउँदै १० ओभरमा ३९ रन खर्चेर तीन महत्वपूर्ण विकेट हात पारे । ललितले कसिलो बलिङ गर्दै १० ओभरमा २९ रनमात्र खर्चेर दुई ब्याटरलाई पेभिलियन फर्काए । यस्तै पार्ट टाइम बलर कुशलले पनि पूरा १० ओभर बल फ्याँक्दा मात्र ३४ रनको खर्चमा एक विकेट लिए ।
श्रृंखलामा नेपालले नेदरल्यान्ड्सविरुद्ध दोस्रो जित निकालेको हो । आयोजक राष्ट्र स्कटल्यान्डविरुद्ध भने नेपालले एक जित र एक हारको नतिजा स्वीकार्यो । स्कटल्यान्डविरुद्धको दोस्रो म्याचमा नेपाल जितको नजिकै पुगेर पनि २ रनले चुकेको थियो । यद्यपि ३-१ को नतिजा यो श्रृंखलामा नेपालले सोचेभन्दा धेरै राम्रो हो ।

सिरिज रिभ्यू
धेरै हिसाबले नेपालका लागि अविस्मरणीय र ऐतिहासिक बन्यो यो सिरिज । नेपाली क्रिकेटको स्तर नयाँ उचाइमा पुगेको शंखघोष यो स्कटल्यान्डबाट भएको छ । अब नेपाललाई कुनै पनि टीमले कम आँक्न सक्ने छैनन्, चाहे ती टेस्ट राष्ट्र नै किन नहून् ।
हुन त नेपालले टी-२० विश्वकपमा दक्षिण अफ्रिकालाई झण्डै हारको संघारमा पुर्याएको इतिहास ताजै छ, तर यो श्रृंखलामा जस्तो प्रदर्शनमा एकरूपता र आत्मविश्वास यसअघि सायदै देखिएको थियो । चार वटै खेलमा नेपालले विपक्षी टीमलाई आफूमाथि हावी हुन दिएन । जस्तोसुकै कठिन स्थितिमा पनि हार नमान्ने ‘विजेता मनोविज्ञान’ प्रदर्शन गर्यो ।
प्रतिस्पर्धीहरू चानचुने थिएनन् । एसोसिएट्समा सबैभन्दा बलियो टीमका रूपमा नेदरल्यान्ड्सलाई हेरिन्छ, जसले अहिलेसम्म ५ पटक ओडीआई विश्वकप र ६ पटक टी-२० विश्वकप खेलिसकेको छ । सन् २०२३ मा भएको एक दिवसीय विश्वकपमा नेदरल्यान्ड्सले दक्षिण अफ्रिकालाई हराएको थियो । यस्तै स्कटल्यान्ड पनि तीन पटक एक दिवसीय विश्वकप र ६ पटक टी २० विश्वकप खेलिसकेको राष्ट्र हो । टी २० विश्वकपमा स्कटल्यान्डले बंगलादेश र वेस्ट इन्डिज जस्ता टीमहरूलाई हराएको इतिहास छ । त्यसैले यो त्रिकोणात्मक प्रतिस्पर्धामा अन्य दुई टीमको तुलनामा नेपाललाई कमजोर आँकिएको थियो ।
विदेशी भूमिमा नेपालको रेकर्ड त्यति राम्रो पनि छैन । खासगरी फास्ट बलरलाई सपोर्ट गर्ने पिचहरूमा नेपालको ब्याटिङ बारम्बार धर्मराउने गर्छ । त्यसले गर्दा दुई बलिया टीमविरुद्ध नेपाल प्रतिस्पर्धामा खडा नै हुन नसक्ने हो कि भन्ने चिन्तासमेत थियो, तर खेलाडीहरूले त्यसलाई गलत सावित गरिदिए । नेपालको ब्याटिङ नयाँ स्तरमा पुगिसकेको आभास भयो ।

पहिलो खेलमै नेपालले स्कटल्यान्डलाई उसकै मैदानमा एक विकेटको हार चखाएर बलियो सन्देश दियो कि हामीलाई कमजोर नआँक्नू । नेपालले २९६ रनको बलियो लक्ष्य पछ्याएर अहिलेसम्मकै सर्वाधिक स्कोर पछ्याएको नयाँ बेन्चमार्क राख्यो । उक्त म्याचमा नवौं नम्बरका ब्याटर करण केसीले नेपालको नैया पार लगाएका थिए । १९२ रनमा ७ विकेट गुमाएर लगभग आश मारिसकेको स्थितिबाट उनले नेपाललाई अन्तिम बलमा रोमाञ्चक जित दिलाए । स्कटल्यान्डविरुद्धको यो जितले नै लिग २ गुमेको नेपालको आत्मविश्वास फिर्ता ल्यायो र बाँकी तीन वटा म्याचमा नेपालले उच्च मनोबलका साथ खेल्यो ।
दोस्रो म्याचमा नेदरल्यान्ड्सलाई नेपालले ५ विकेटको हार चखायो, जसमा हिरो बने आरिफ शेख । २२६ रनको औसत लक्ष्य पछ्याउने क्रममा आरिफले ७८ रनको उत्कृष्ट पारी खेल्दै नेपालको जित निश्चित गरेका थिए । यो जितले नेपालको हौसला थप बुलन्द भयो ।

स्कटल्यान्डविरुद्धको तेस्रो म्याचमा नेपालले आफ्नो ब्याटिङको गहिराइ प्रदर्शन गर्यो । भलै अन्तिममा सम्हालिन नसक्दा जित हासिल भएन । पराजय व्यहोर्नुपरे पनि नेपालको खेल गर्व गर्न लायक थियो । जब स्कटल्यान्डले ३२३ रनको पहाड खडा गर्यो, त्यसबेला खेल नेपालको हातबाट गयो भन्ने ठानिएको थियो । हुन पनि विगतमा नेपाललाई २०० भन्दा माथिको स्कोर नै भारी पर्थ्यो । ३०० माथिको रन चेज त सम्भव नै लाग्थेन, तर यसपालि नेपालले विशाल लक्ष्य पछ्याउन सक्ने क्षमता, धैर्यता र साहस देखायो । नेपालको प्राविधिक हार भए पनि यो खासमा मानसिक जित नै हो ।
उक्त म्याचलाई अलिकति फर्केर हेरौं न ! १८३ रनमा ६ विकेट गुमाउँदा नेपाली फ्यानहरूले लगभग हार स्वीकारिसकेका थिए । फेसबुकमा गालीगलौज सुरु भइसकेको थियो, तर खेलाडीले आत्मसमर्पण गरेनन् । नेपालको ब्याटिङ पंक्ति यति लामो छ कि १० नम्बरसम्म आउने जोसुकै ब्याटरले खेल पल्टाइदिन सक्छन् । दीपेन्द्रसिंह ऐरी र सोमपाल कामीले नेपालको मरिसकेको आशालाई व्युँताइदिए । उनीहरूले केवल ६५ बलमा १०५ रनको विस्फोटक साझेदारी गरे ।

यो जोडीको पार्टनरसीप पनि विशेषखालको थियो । चौका-छक्काको वर्षाविना नै उनीहरूले विस्फोटक साझेदारी गरेका थिए, उत्कृष्ट रनिङ विटविन द विकेटको बलमा । सिंगल र डबल लिएरै उनीहरूले स्कटल्यान्डलाई आच्छुआच्छु बनाइदिए । दीपेन्द्रले ५१ बलमा ५६ रन बनाउँदा केवल २ चौका प्रहार गरेका थिए । उनले तेज गतिमा दौडिएरै ४८ रन लिए ।
सोमपालले फेरि एक पटक आफूलाई ब्याटबाट प्रमाणित गरे । आठौं नम्बरमा आएका उनले ४४ बलमा ६७ रन हान्दै नेपाललाई खेलमा फर्काएनन् मात्र, जितकै संघारमा पुर्याएका थिए । एक समय नेपाललाई जितका लागि १५ बलमा १६ रन चाहिएको थियो भने हातमा सोमपालसहितका तीन विकेट थिए । नेपाली खेमा जितको सेलिब्रेसन गर्न ठीक परिसकेको थियो, तर ४७.६ ओभरमा सोमपाल आउट भएसँगै खेलमा ट्विस्ट आयो । लगातार दुई सर्ट बल खेल्न नसक्दा दबाबमा आएका सोमपालले तेस्रो बललाई हिट गरेर क्याच थमाउन पुगे ।
त्यसो त सोमपाल आउट भएपछि पनि नेपालको हातबाट जित टाढा थिएन । अन्तिम ओभरमा नेपाललाई सात रनमात्र चाहिएको थियो । क्रिजमा थिए करण केसी र सन्दीप लामिछाने । उनीहरू दुवै राम्रैसँग ब्याट चलाउन सक्छन् । कुनै रिस्क नलिइकन सिंगल-डबलबाटै लक्ष्य भेटिन सक्थ्यो, तर ओभरको तेस्रो बलमा करणले बाउन्ड्री निकाल्ने प्रयास गर्दा आउट हुन पुगे । पाँचौं बलमा सन्दीप स्ट्राइकमा आए । उनले सिंगल रनका लागि दौडिनु पनि अर्को त्रुटि थियो । अन्तिम बल उनी आफैंले फेस गरेको भए बाउन्ड्री लाग्ने आशा गर्न सकिन्थ्यो, तर अन्तिम बल ललित राजवंशीको भागमा पर्यो । कहिल्यै ब्याटिङमा जिम्मेवारी लिनु नपरेका ललितलाई एक बलमा ३ रन बटुल्ने चुनौती भारी भयो र उनले विकेट गुमाए ।
यो खेलमा नेपाललाई हराएको चाहिँ खासमा डेथ बलिङले हो । यदि डेथ बलिङ नेपालको राम्रो हुन्थ्यो भने स्कटल्यान्डले ३०० को आँकडा कटाउन सक्थेन । नेपालका दुई मुख्य फास्ट बलरहरू करण केसी र सोमपाल कामी अन्तिम ओभरहरूमा नराम्ररी चुटिए, जसले गर्दा स्कटल्यान्डले विशाल स्कोर खडा गर्न सक्यो ।
हुन त खेलमा इफ वा बटको कुनै अर्थ हुँदैन भन्ने गरिन्छ । जित हासिल हुँदा सबै कमी कमजोरीहरू बिर्सिइन्छन् भने हारेपछि अनेक ठाउँमा गल्तीहरू भेटिन्छन्, तर पनि हारका कारणहरूको विश्लेषण यसकारण आवश्यक हुन्छ कि आगामी खेलमा सुधार गर्न सकियोस् ।
जे भए पनि यो श्रृंखलाले नेपालको लिग २ यात्रालाई अलिकति लिकमा ल्याइदिएको छ । यसअघि १२ वटा म्याच खेल्दा केवल २ जित निकालेको नेपालले थप ४ म्याच खेल्दा ३ जित थप्न सफल भयो, त्यो पनि विदेशी भूमिमा । नेपालले अझै आधाभन्दा बढी खेल खेल्न बाँकी नै छ । त्यसैले बाँकी खेलहरूमा उत्कृष्ट प्रदर्शन गर्दै नेपाल अंक तालिकाको टप ४ मा अटाउन सक्नेमा फ्यानहरू आशावादी छन् ।

नेपाली टीमसँग अहिले नयाँ प्रशिक्षक छन् स्टुअर्ट लका रूपमा । यी अस्ट्रेलियन प्रशिक्षकले आउँदाआउँदै भनेका थिए कि मलाई हारसँग घृणा छ । नभन्दै उनको सुरुवात उत्कृष्ट ढंगबाट भएको छ । स्टुअर्टले नेपाल आउनेबित्तिकै कुनै चमत्कार गरेका त पक्कै होइनन्, तर खेलाडीको माइन्ड सेट र खेल रणनीतिमा भने उनको हात हुन्छ नै । त्यसमा उनी सफल देखिए ।
नेपाली क्रिकेटको स्तर यहाँसम्म पुग्नुमा भने लामो प्रक्रिया र लगानी परेको छ । पछिल्लो समय नेपाल क्रिकेट संघ (क्यान) ले बनाएको अनुकूल वातावरण पनि एउटा प्रमुख तत्व हो । लिग २ भन्दा अगाडि नै नेपाली टीमलाई बेलायत पुर्याएर त्यहाँको पीच र वातावरणसँग अभ्यस्त गराउने काम क्यानले गरेको थियो । त्यसले पनि पक्कै सहयोग गर्यो । खेलाडीहरूले पनि उचित वातावरण पाएमा जतिसुकै बलिया टीमलाई पनि घुँडा टेकाएर देशको शिर उँचो राख्नसक्ने अठोट देखाएका छन् । सबैलाई बधाई छ ।
-

सुदूरपश्चिमबाट यू-१४ को खेलाडी छनोटमा मनोमानी गरिएको आरोप
बैतडी । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा काठमाडौंमा सुरु भएको १४ वर्षमुनिको राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशबाट खेलाडी छनोटमा पक्षपात गरिएको आरोप लागेको छ ।
सुदूरपश्चिमको टिममा पठाइएका ज्यादातर खेलाडी बैतडी जिल्लाबाट मात्र चयन भएका छन् ।
आन्तरिक प्रतिस्पर्धा, परीक्षण मापदण्ड र निष्पक्ष छनोट प्रक्रिया अवलम्बन नगरी, सिधै ‘नाम टिपेर’ खेलाडी पठाइएको पाइएको हो । प्रदेशका सबै जिल्लाबाट प्रारम्भिक छनोट गरेर प्रदेशस्तरीय छनोट गरिनुपर्ने नियम पालना गरिएको छैन ।
क्यानका एक जिल्ला अध्यक्ष भन्छन्, ‘छनोट प्रक्रिया हेर्दा प्रतिभा भन्दा पहुँचले काम गरेको देखियो ।’
सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघले जिल्लाअनुसार कोटा वितरण गर्दै खेलाडी छान्ने नयाँ तरिका अवलम्बन गरेको छ, जुन आफैँमा अनुपयुक्त हो । प्रदेश क्रिकेट संघले ‘कोटा’ प्रणाली लागू गर्दै जिल्लाहरूलाई खेलाडी संख्या निर्धारण गरेको थियो ।
तराईकै जिल्ला कैलालीलाई ४ जना दिँदा कञ्चनपुरलाई ५ जना र अन्य अधिकांश पहाडी जिल्लालाई ३-३ जनाको कोटा दिइँदा बैतडीलाई ४ जनाको कोटा दिइयो । तर, अन्तिम छनोट भने मनोमानी ढङ्गले गरिएको खेलाडीको आरोप छ ।
बैतडी र कञ्चनपुरको पक्षमा अनावश्यक भेगिय पक्षपात भन्दै अन्य जिल्लाका खेलाडी र प्रशिक्षक आक्रोशित छन् ।
खेलाडी छनोटका लागि गठित वैधानिक समिति बेखवर छ । छनोट समिति संयोजक दीपेन्द्र भण्डारी भन्छन्, ‘म बुटवलमा छु । मलाई छनोटबारे कुनै जानकारी नै छैन ।’
समितिका अन्य दुई सदस्यले समेत छनोटमा भाग नलिएको र नामहरू कसरी तय गरियो भए भन्नेबारे जानकारी नभएको बताएका छन् । सुदूरपश्चिमबाट क्रिकेट प्रतियोगीताका लागि गठित समिति नै खेलाडी छनोटका विषयमा बेखवर रहनुले खेलाडी छनोटको अपारदर्शिता स्पष्ट परेको छ ।
छनोट प्रक्रियाको नेतृत्व प्रदेश क्रिकेट संघका सचिव लक्ष्मण भट्टले गरेका छन् । भट्ट क्यानका अध्यक्ष चतुरबहादुर चन्दका निकट मानिन्छन् । भट्टले केन्द्रीय अध्यक्ष चन्दको आडमा स्वेच्छाचारी ढङ्गले यस्ता निर्णयहरूमा गर्दै आएको आरोप लाग्दै आएको छ ।
यस पटकको छनोटमा कञ्चनपुर क्रिकेट संघ अध्यक्ष विरेन्द्र चन्द, संघका कर्मचारी राजेन्द्र चन्द र क्यानका प्रदेश सचिव भट्टको मुख्य भूमिका रहेको बताइन्छ, संयोगवश तीनैजना बैतडी मूलका हुन् ।
प्रदेश अध्यक्ष वासुदेव जोशीले पनि आफूलाई छनोट प्रक्रियाबारे जानकारी नदिएको भन्दै असन्तुष्टि जनाएका छन् ।
यसअघि भएको १६ वर्षमुनिको राष्ट्रिय प्रतियोगितामा पनि मनपरी छनोट र उत्कृष्ट खेलाडी छुटाइएका भन्दै आलोचना भएको थियो । उत्कृष्ट व्याटिङ र बलिङ गरेका खेलाडी छनोटमा नपरेको तथ्याङ्कले देखाउँछ ।
यस्तै भैरहवामा भएको प्रतियोगितामा त झन् टसका लागि दुई कप्तान एकैसाथ मैदानमा पुगेका थिए । क्यानका केन्द्रीय अध्यक्ष चन्द स्वयम् उपस्थित उक्त प्रतियोगितामा उनले ब्याक गराउन चाहेका कप्तानले ब्याक हुन नमानेपछि उनी असन्तुष्ट भएका थिए ।
प्रदेशबाट प्रक्रिया विपरीत खेलाडी छनोट गरिएको विषयमा बुझ्न प्रदेश सचिव लक्ष्मण भट्टलाई फोन गर्दा रिसिभ भएन ।
-

ब्राजिल लगातार २३ औं पटक विश्वकपमा छनोट
काठमाडौं । मंगलबार राति भएको खेलमा पाराग्वेलाई १-० गोलले पराजित गर्दै ब्राजिल २०२६ विश्वकपका लागि छनोट भएको छ । गत बिहीबार ब्राजिलले इक्वेडरसँग गोलरहित बराबरी खेलेको थियो ।
नयाँ प्रशिक्षक कार्लो एन्सेलोट्टीले टिम सम्हालेपछि ब्राजिलको यो ब्राजिलको पहिलो जित हो । रियल म्याड्रिडका स्ट्राइकर भिनिसियस जुनियरले खेलको पहिलो हाफमा गरेको एक गोल नै निर्णायक गोल बन्यो । ब्राजिलका लागि यही गोल नै क्यानडा, मेक्सिको र अमेरिकामा हुने आगामी विश्वकपका लागि छनोट हुन पर्याप्त रह्यो ।
जितपछि ब्राजिलको २५ अंक पुगेको छ भने अब दुई चरणका खेल मात्रै बाँकी छन् । पाँच पटकको विश्वकप विजेता ब्राजिलसँगै अर्जेन्टिना, इक्वेडरले पनि दक्षिण अमेरिकाको १८ खेलको छनोट चरणबाट विश्वकपमा स्थान सुरक्षित गरिसकेका छन् । विश्वकपमा पछिल्ला संस्करणमा राम्रो प्रदर्शन गरेको चिली भने आगामी विश्वकपमा छनोट नहुने लगभग निश्चित भएको छ ।
-

आरिफको फर्म- नेपालले खेलेका पाँच ओडीआईमा तेस्रोपटक ‘प्लेयर अफ द म्याच’
काठमाडौं । नेदरल्यान्ड्सविरुद्धको हिजोको म्याचमा नेपालका मध्यक्रमका ब्याटर आरिफ शेख फेरि एक पटक चम्किए ।
समस्याग्रस्त अवस्थामा रहेको नेपालको ब्याटिङलाई उनको ८४ रनको उत्कृष्ट इनिङले जोगाएको थियो ।
आइसीसी विश्वकप लिग २ अन्तरगत स्कटल्यान्डमा भएको त्रिकोणात्मक सिरिजमा आरिफ दोस्रोपटक प्लेयर अफ द म्याच भएका छन् । नेदरल्यान्ड्सविरुद्धका दुवै म्याचमा उनले म्याच विनिङ पारी खेले । यी दुवै म्याच लो स्कोरिङ थिए ।
अघिल्लो म्याचमा नेदरल्यान्ड्सले पहिलो ब्याटिङ गर्दै नेपाललाई जितका लागि २२६ रनको सामान्य लक्ष्य दिएको थियो । सो लक्ष्य पछ्याउने क्रममा नेपाल अलिकति लडखडाएको थियो ।
१२३ रनमा ४ विकेट गुमाएको स्थितिबाट सम्हाल्दै आरिफले नेपाललाई जितनजिक पुर्याएका थिए । उनले ९९ बलमा २ छक्का र ७ चौका सहित ७८ रन प्रहार गरे । आरिफ र दीपेन्द्र सिंह ऐरीसित गरेको ८९ रनको साझेदारीले खेलको नतिजा निश्चित गरेको थियो ।
हिजो भएको नेदरल्यान्ड्सविरुद्धकै दोस्रो म्याचमा आरिफले अझै सुधारिएको प्रदर्शन गरे । यसपालि उनको स्कोरिङ रेट पनि उच्च थियो । १३८ रनमा ५ विकेट गुमाएर कमजोर स्थितिमा रहेको नेपाललाई आरिफले आफ्नो उत्कृष्ट ब्याटिङ देखाउँदै उद्धार गरे र सम्मानजनक स्कोरमा पुर्याए ।
शृङ्खलामा पहिलो पटक नेपालले पहिलो ब्याटिङ गरेको थियो । नेदरल्यान्ड्सका बलरहरूले सुरुदेखि नेपालका ब्याटरहरुमा दबाबमा राखिरहेका थिए र विकेट पनि निकालिरहेका थिए । तर एउटा इन्डबाट आरिफ डटिरहे ।
अन्तिम ओभरको तेस्रो बलमा आउट हुनु अघि उनले ८५ बलमा ८४ रन जोडिसकेका थिए । आरिफले हानेका चौका र छक्काको संख्या भने दुवै खेलमा एउटै छ । हिजो पनि उनले २ छक्का र ७ चौका नै प्रहार गरे । तर, यसपटक उनले धेरै डट बलहरू नखाएकाले करिब सयकै रनरेट कायम गर्न सके ।
नेपालका बलरहरूले उत्कृष्ट प्रदर्शन गर्दै नेदरल्यान्ड्सलाई २२० बलमा रोक्न सफल भए । यद्यपि, प्लेयर अफ दि म्याचको वास्तविक हकदार भने आरिफ नै थिए । कारण उनी एक्लैले नेपालको ब्याटिङ धानेर सम्मानजनक स्कोरमा पुर्याएका हुन् । अन्यथा नेपालले २०० रनको आँकडा पार गर्न पनि कठिन हुन सक्थ्यो ।
यो सिरिजमा नेपालका लागि सर्वाधिक रन बनाउने ब्याटरको सुचीमा शीर्षस्थानमा छन् आरिफ । उनले चार खेलमा ५२ को औसतमा २०८ रन जोडे । यति मात्र होइन, लिग २ को यो शृङ्खलामा नै नेपालका लागि सर्वाधिक रन उनैले बनाएका छन् । १० वटा म्याचमा मात्र ब्याटिङ गरेका उनले ३८४ रन जोडिसकेका छन् । दोस्रो स्थानमा रहेका उनै भाइ आसिफ शेखको नाममा ३०१ रन छ । आसिफले १४ म्याच खेलेका छन् ।
नेपालले खेलेका पछिल्ला ५ ओडिआइमा तेस्रोपटक आरिफ प्लेयर अफ द म्याच बनेका हुन् । यसले पनि उनको उच्च फर्मको संकेत गर्छ । लिग २ कै अघिल्लो शृङ्खलाको अन्तिम खेलमा उनले स्कटल्यान्डविरुद्ध आक्रामक अर्धशतक बनाउँदै नेपाललाई जित दिलाएका थिए र प्लेयर अफ द म्याच चुनिएका थिए ।
-

आज अन्तरराष्ट्रिय खेल दिवस
काठमाडौं । ‘हरेक दिन खेल रोजौँ’ भन्ने नाराका साथ आज विश्वभर अन्तरराष्ट्रिय खेल दिवस मनाइँदैछ । यस दिवसका अवसरमा खेललाई बालबालिकाको समग्र विकासको मेरुदण्डका रूपमा स्वीकार्दै त्यसको प्रवर्द्धन, संरक्षण र प्राथमिकता दिन सबै सरोकारवालालाई आह्वान गरिन्छ ।
खेल केवल मनोरञ्जन मात्र नभई, सबै उमेर समूहका मानिसहरूबीचको साझा भाषा भएको हो । यसले सामाजिक समावेशीकरण, मानसिक स्वास्थ्यलाई प्रवर्द्धन गर्छ ।
अझ बालबालिकाका लागि खेलले विशेष गरी सम्बन्ध निर्माण, समस्या समाधान र विभिन्न सीप विकासमा महत्वपूर्ण भूमिका खेल्छ ।
संयुक्त राष्ट्रसङ्घको बालअधिकारसम्बन्धी महासन्धिको अनुच्छेद ३१ अनुसार, खेललाई प्रत्येक बालबालिकाको आधारभूत अधिकारको रुपमा मानिएको छ । शिक्षा प्रणालीमा खेलमूलक शिक्षाले सिकाइ प्रक्रियालाई थप प्रभावकारी बनाएको प्रमाणित भएको छ ।
-

खेलकुद महासंघ सुदूरपश्चिमको दोस्रो अधिवेशन आज, लेखराज भट्टले उद्घाटन गर्ने
कैलाली । नेकपा एमालेको जनसंगठन नेपाल खेलकुद महासंघ सुदूरपश्चिम प्रदेशको दोस्रो अधिवेशन आज धनगढीमा हुँदैछ। अधिवेशनको उद्घाटन एमाले केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले गर्ने भएका छन्।
महासंघका प्रदेश अध्यक्ष प्रकाशकुमार चन्दका अनुसार अधिवेशनको उद्घाटन समारोह बिहान ११ बजे धनगढीस्थित रिद्धिसिद्धि पार्टी प्यालेसमा हुनेछ। कार्यक्रममा पार्टीका प्रदेश तथा जिल्ला तहका शीर्ष नेताहरूको पनि उपस्थिति रहनेछ।
नेपाल खेलकुद महासंघका केन्द्रीय उपाध्यक्ष दीपेन्द्र प्रसाद दाहाल, महासचिव धरम लामा लगायतका केन्द्रीय नेताहरू अधिवेशनका लागि धनगढी पुगिसकेको जानकारी प्रदेश इन्चार्ज विष्णु चन्दले दिए। उद्घाटन सत्रमा विभिन्न दलका खेलकुद विभाग प्रमुखहरूको समेत उपस्थिति रहनेछ।
अधिवेशनमा २२३ जना प्रतिनिधिहरू सहभागी हुनेछन्, जसले नयाँ नेतृत्व चयन गर्ने कार्यक्रम रहेको छ। उद्घाटन सत्रमा विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिनेछ भने खेलकुद क्षेत्रमा योगदान दिएका व्यक्तित्वहरूलाई सम्मानित पनि गरिनेछ।
-

विश्वकप लिग–२: नेदरल्यान्ड्सलाई १६ रनले हराउँदै नेपाल विजयी
काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गतको सिरिजमा नेपाल १६ रनले विजयी भएकाे छ । स्कटल्याण्डमा भएको खेलमा नेपालले नेदरल्यान्ड्सलाई १६ रनले पराजित गरेकाे हाे ।
नेपालले दिएको २ सय ३७ रनको लक्ष्य पछ्याउने क्रममा नेदरल्यान्ड्स २ सय २० रन बनाउँदै अलआउट भयो । नेपालका लागि सन्दीप लामिछाने र नन्दन यादवले समान ३/३ विकेट लिए । ललित राजवंशीले २ विकेट लिए ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले नेदरल्याण्ड्सलाई २ सय ३७ रनको मध्यम लक्ष्य दिएको थियो । नेपालका लागि आरिफ शेखले सर्वाधिक ८४ रन बनाए । नेपाललाई आफ्नो इनिङमा १० रन घाटा लागेको थियो।
मध्यक्रमका ब्याट्सम्यान बसिर अहमद नियम विपरित पिचमा दौडिएको भन्दै अम्पायरले दुई पटक गरी ५–५ रन सजाय गरेका थिए । यो श्रृङखलामा नेपालले ४ खेलमध्ये ३ खेलमा जित निकालेको छ ।
-

एएफसी एसियन कप छनोट: नेपाल लाओससँग पराजित
काठमाडौं । एएफसी एसियन कप छनोट अन्तर्गतको खेलमा नेपाल लाओसँग पराजित भएको छ । लाओसको न्यु लाओस स्टेडियममा भएको खेलमा नेपाल घरेलु टोलीसँग २-१ गोल अन्तरले पराजित भएको हो ।
पहिलो हाफमा एक र दोस्रो हाफको सुरुआतमा एकएक गोल खाएको नेपालले दोस्रो हाफको मध्येतिर एक गोल मात्र फर्काउन सक्यो ।
लाओसले खेलको १३औं मिनेटमा गोल गर्दै पहिलो अग्रता ल्याएको थियो ।पुनः खेलको ४९औं मिनेटमा गोल गर्दै लाओसले अग्रतालाई दोब्बर बनायो । नेपालका लागि मनिष डागीले खेलको ७३ औं मिनेटमा पेनाल्टीमार्फत एक गोल फर्काएका हुन् ।
-

बसिर अहमदले नियम तोडेको भन्दै नेदरल्यान्ड्सलाई अम्पायरले दिए १० रन उपहार
काठमाडौं । विश्वकप लिग २ अन्तरगतको जारी खेलमा नेपाललाई आफ्नो इनिङमा १० रन घाटा लागेको छ । मध्यक्रमका ब्याट्सम्यान बसिर अहमद नियम विपरित पिचमा दौडिएको भन्दै अम्पायरले दुई पटक गरी ५–५ रन सजाय गरेका हुन् ।
अब दोस्रो इनिङमा नेदरल्यान्ड्सको रन गन्ति सिधै १० रनबाट सुरु हुने छ । अर्थात नेपालले बनाएको स्कोरभन्दा १० रन कममै नेदरल्यान्ड्सले लक्ष्य भेट्टाउन सक्ने छ । सम्भावित लो स्कोरिङ म्याचमा नेपाललाई यो ठूलो क्षति हो ।
श्रृंखलाको अन्तिम म्याचमा अवसर पाएका बसिरले ११ रन जोडेर आउट भएका थिए ।
-

आरिफ शेखकाे ८४ रन मद्दतमा नेपालले नेदरल्यान्ड्सलाई दियो २३७ रनको लक्ष्य
काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गतको सिरिजमा नेपालले नेदरल्यान्डससामु २३७ रनको लक्ष्य प्रस्तुत गरेको छ । स्कटल्याण्डमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २३६ रन बनाउन सक्यो ।
नेपालका लागि आरिफ शेखले अर्धशतकीय इनिङ खेले । आरिफले ८५ बलमा ८४ रनको योगदान दिए । उनले ७ चौका र २ छक्का प्रहार गरे । अन्य ब्याटर खासै चल्न नसक्दा नेपालको ब्याटिङलाई आरिफले उकासे ।
कुशल भुर्तेल १८, अनिल शाह २, भीम सार्की ३५, कप्तान रोहित पौडेल ३५, दीपेन्द्रसिंह ऐरी १६, बसिर अहमद ११ , सन्दीप लामिछाने २ र करन केसी ११ रन बनाएर आउट भए । नन्दन यादव १० रनमा अविजित रहे ।
बलिङमा नेदरल्यान्डसका पल भ्यान मीकेरेनले ४ र माइकल लेभिटले ३ विकेट लिए । स्कटल्याण्डमा जारी सिरिजमा नेपालले २ खेलमा जित र एक खेलमा हार बेहोरेको हो ।
-

रोहितले कप्तानी त्याग्ने अफवाह मात्र, के होला लियोनार्डले भनेको ‘ह्यूज डिसिजन’ ?
काठमाडौं । नेपाली क्रिकेटसँग एकदमै निकट रहेका आयरल्यान्डका कमेन्टेटर एन्ड्र्यू लियोनार्डले हिजो एउटा खुल्दुली जगाउने पोस्ट गरे ।
नेपालको राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलसँगको तस्विरलाई आफ्नो फेसबुकको कभरमा राख्दै उनले लेखेका थिए– बुधबार एउटा विशाल निर्णय हुनेवाला छ ।
लियोनार्डले लेखेको ‘ह्युज अनाउन्सपेन्ट’ पक्कै पनि नेपाली क्रिकेटसँगै सम्वन्धित हो भन्नेमा दुईमत छैन । यसलाई लिएर क्रिकेट समर्थकहरुले अनेक अडकलवाजी गरिरहेका छन् । रोहित पौडेलले कप्तानी त्याग्न लागेकोदेखि लिएर नेपाललाई टेस्ट राष्ट्र घोषणा गर्न लागिएकोसम्मका अफवाहहरु फैलाइएको छ ।
रोहितको कप्तानीमा प्रश्नहरु नउठेका होइनन् । सन्दीप लामिछानेमाथि मुद्दा दायर भएपछि तात्कालीक परिस्थितमा क्यानले कम उमेरमै कप्तानीको गह्रुंगो जिम्मेवारी सुम्पिएको थियो । उनको कप्तानीमा नेपालले धेरे उपलब्धी पनि हासिल गरेको छ ।
उनी प्राविधिकरुपमा नेपालका सर्वोत्कृष्ट ब्याटर हुन् भने परिआउँदा राम्रो स्पिन बलिङ पनि फ्याक्न सक्छन् । रोहितको फिल्डिङ र ‘रनिङ बिटविन द विकेट’ पनि उत्कृष्ट छ । समग्रमा एक प्याकेज क्रिकेटर हुन् ।
कप्तानीमा भने रोहिते धेरै सुधार गर्न बाँकी छ । खासगरि बलिङ परिवर्तनमा उनी अलिकति अल्मलिएको पाइन्छ । नेपालसँग बलरहरुको धेरै अप्सन भएकाले चतुरतापूर्वक सबैको उपयोग गर्ने कुरा सजिाले पछि छैन ।
यसमा रोहित अलिकति चुकिरहेका छन् र समर्थकहरुले बारम्बार औंला उठाउने गरेका छन् । कतै यही प्रेसरका कारण रोहितले कप्तानी त्याग्न आँटेका त होइनन् ? भन्ने प्रश्न उठ्नु स्वभाविक भइहाल्यो ।
यो विषयमा नेपाल प्रेसले क्यानका प्रवक्ता छुम्बी लामासँग जिज्ञासा राख्दा उनले यस्तो सम्भावनालाई खारेज गरिदिए ।
‘यो हल्ला पूर्णरुपमा असत्य हो । रोहितले कप्तानी त्याग्ने मनसाय बनाएको भन्ने क्यानको जानकारीमा छैन,’ लामाले प्रष्ट पार्दै भने ।
लियोनार्डले उल्लेख गरेको ‘ह्यूज अनाउसमेन्ट’ को वास्तविक आशयप्रति उनले अनभिज्ञता दर्शाएका छन् ।नेपाल प्रेसले थुप्रै स्रोतहरुसँग यस विषयमा बुझ्न खोज्दा पनि विषयको निक्र्यौल हुन सकेन । यद्यपि, नेपालले कुनै टेस्ट राष्ट्रसँग पहिलोपटक सिरिज खेल्ने घोषणा हुन सक्ने केही स्रोतको दावी छ ।
एक स्रोतले भन्यो, ‘क्यानले लामो समयदेखि विभिन्न टेस्ट राष्ट्रहरुसँग सिरिज खेल्नका लागि पहल गर्दै आएको छ । मलाई थाहा भएसम्म आयरल्यान्डसँगको छलफल लगभग टुंगिएको अवस्था थियो । उनले त्यसैलाई ईंगित गरेका हुन् कि ?’
नेपालले आयरल्यान्डसँग वान डे र टि २० सिरिज खेल्न प्रस्ताव गरेको दुई वर्ष भइसकेको छ । २०८० साल असारमा नेपाली टिम जिम्बाबेमा विश्वकप क्वालिफायर खेल्न गएको बेलादेखि नै कुराकानी सुरु भएको थियो । पछिल्लो समय आयरल्यान्ड नेपालमा आएर खेल्न तयार पनि भइसकेको छ । तर सेड्यूल मिलिरहेको छैन ।
क्यानको उच्च स्रोतले अब भने लगभग फाइनल भएको बतायो । यसको औपचारिक घोषणा एक–दुई दिनमै हुन सक्ने दावी स्रोतको छ ।
नेपालले पाकिस्तान, अफगानिस्तान लगायतका राष्ट्रहरुसँग पनि सिरिज खेल्नका लागि प्रयास गरिरहेको छ । उनीहरुसँग पनि कुराकानी सकारात्मक रहेको बताइन्छ ।पछिल्लो समय नेपाली क्रिकेट टीमको स्तरोन्नती र नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करणको सफलताले गर्दा धेरै टेस्ट राष्ट्रहरुको ध्यान आकर्षित भएको छ । समस्या भनेको पूर्वाधारको हो ।
किर्तिपुर क्रिकेट मैदानमा अहिले स्तरोन्नितिको काम भइरहेको हुँदा त्यहाँ तत्काल कुनै राष्ट्रिय/अन्तर्राष्ट्रिय म्याच हुन सक्ने अवस्था छैन । फ्लड लाइटसहित उक्त मैदानको काम सकिएपश्चात भने राम्रो टिमहरु आउने बाटो खुल्ने क्यानका पदाधिकारीहरुले बताउँदै आएका छन् ।
-

नेदरल्यान्ड्सविरुद्ध ब्याटिङमा नेपाल, कुशल भुर्तेल १८ रनमा आउट
काठमाडौं । विश्वकप लिग २ अन्तरगत स्कटल्यान्डमा जारी त्रिकोणात्मक श्रृंखलाको अन्तिम म्याचमा नेपालले नेदरल्यान्ड्सविरुद्ध पहिलो ब्याटिङ गरिरहेको छ । श्रृंखलामा पहिलोपटक नेपाल पहिलो ब्याटिङमा उत्रिएको हो ।
नेपालले ४.४ ओभरमा २० रन बनाउँदा ओपनर कुशल भुर्तेललाई गुमाएको छ । भान मिकेरेनको बलमा इनसाइड एज लागेर बोल्ड हुनुअघि भुर्तेलले १९ बलमा १८ रन बनाए । उनले दुई चौका प्रहार गरेका थिए ।
आज भुर्तेलको ओपनिङ जोडीका रुपमा आसिफ साह आएका छन् । उनले १० बल खेल्दासम्म रनको खाता खोल्न सकेका छैनन् ।
-

गुल्शन र सोमपाल त्रिकोणात्मक टी २० सिरिजबाट पनि बाहिर
काठमाडौं । नेपाली क्रिकेट टीमका महत्वपूर्ण दुई सदस्य सोमपाल कामी र गुल्शन झाले आज नेदरल्यान्ड्स विरुद्धको म्याचका साथै आगामी त्रिकोणात्मक टी २० सिरिज पनि गुमाउने भएका छन् । उनीहरू चोटका कारण खेल्न नसक्ने भएका हुन् ।
नेपाल क्रिकेट संघका प्रवक्ता छुम्बी लामाले प्रेस वक्तव्य जारी गर्दै सो जानकारी दिएका छन् । लामाका अनुसार सोमपाल र गुल्शन दुवै प्रशिक्षणका दौरान घाइते भएका थिए । सोमपालको पाखुरामा र गुल्शनको घुँडामा चोट लागेको छ । चिकित्सकीय परामर्शपछि उनीहरुलाई नखेलाउने निधो भएको हो ।
नेपालले आज लिग २ को जारी श्रृंखलामा अन्तिम म्याच खेल्दैछ भने यसपछि स्कटल्यान्ड र नेदरल्यान्डसँग त्रिकोणात्मक टि २० सिरिज खेल्ने तालीका रहेको छ ।
-

नेदरल्यान्डविरुद्ध नेपाली टीममा तीन परिवर्तन, आसिफलाई विश्राम
काठमाडौं । विश्वकप लिग २ अन्तरगत जारी श्रृंखलाको अन्तिम म्याचमा नेदरल्यान्ड्सविरुद्ध नेपालले टीममा तीन परिवर्तन गरेको छ । दुई परिवर्तन वाध्यकारी हुन् ।
नेपालले ओपनर आसिफ शेखलाई विश्राम दिएर अनिल साहलाई प्लेइङ ११ मा समावेश गरेको छ । यस्तै मध्यक्रममा बसिर अहमदले मौका पाएका छन् भने फास्ट बलर नन्दन यादव पनि समेटिएका छन् ।
आसिफ राम्रो फर्ममा थिएनन् । लाइक टु लाइक रिप्लेसमेन्ट अन्तरगत उनको ठाउँमा अनिल साह ल्याइएको हो । अनिल पनि ओपनर विकेट किपिङ ब्याटर हुन् । यस्तै, घाइते गुल्शन झाको स्थानमा बसिर अहमदले मौका पाएका छन् । उनी मध्यक्रमका प्रतिभाशाली अलराउन्डर हुन् ।
यस्तै अर्का घाइते सोमपाल कामीको स्थानमा नन्दन यादवलाई खेलाइएको छ । नन्दन पनि लाइक टु लाइक रिप्लेसमेन्ट हुन् । उनी सोमपाल जस्तै फास्ट बलिङ र तल्लो क्रममा राम्रो ब्याटिङ गर्न सक्छन् ।
-

नेदरल्यान्ड्सँगको म्याचअघि नेपाललाई झट्का, सोमपाल र गुल्शन चोटका कारण नखेल्ने
काठमाडौं । विश्वकप लिग २ अन्तरगत स्कटल्यान्डमा जारी श्रृंखलाको अन्तिम म्याचअघि नेपाललाई झट्का लागेको छ । टीमका दुई भरपर्दा अलराउन्डर सोमपाल कामी र गुल्शना झा आजको म्याचमा खेल्न नसक्ने भएका छन् ।
क्यान स्रोतले उनीहरु आज प्लेइङ ११ मा नरहने पुष्टि गर्यो । अघिल्लो म्याच खेलेका उनीहरुलाई प्रशिक्षणका क्रममा चोट लागेको थियो ।
सोमपालले स्टटल्यान्ड विरुद्धको म्याचमा नेपालका लागि उत्कृष्ट ब्याटिङ गरेका थिए । स्कटल्यान्डले दिएको ३२३ रनको विशाल लक्ष्य पछ्याउने क्रममा डग्मगाएको नेपालको ब्याटिङलाई सम्हाल्दै उनले जित नजिक पुर्याएका थिए । आठौं नम्बरमा आएर ४४ बलमा ६७ रन हाने पनि सोमपालले खेल जिताउन भने सकेनन् ।
गुल्शनले पनि पहिलो म्याचमा स्कटल्यान्डविरुद्ध रोमाञ्चक जित दिलाउन ब्याटबाट महत्वपूर्ण योगदान दिएका थिए ।
सोमपालको ठाउँमा नन्दन यादवले स्थान बनाउन सक्ने देखिन्छ । उनी सोमपालजस्तै फास्ट बलिङ अलराउन्डर हुन् ।
सोमपालले स्कटल्यान्डविरुद्धको म्याचमा नेपालका लागि उत्कृष्ट ब्याटिङ गरेका थिए । स्कटल्यान्डले दिएको ३२३ रनको विशाल लक्ष्य पछ्याउने क्रममा डग्मगाएको नेपालको ब्याटिङलाई सम्हाल्दै उनले जित नजिक पुर्याएका थिए । आठौं नम्बरमा आएर ४४ बलमा ६७ रन हाने पनि सोमपालले खेल जिताउन भने सकेनन् ।
गुल्शनले पनि पहिलो म्याचमा स्कटल्यान्डविरुद्ध रोमाञ्चक जित दिलाउन ब्याटबाट महत्वपूर्ण योगदान दिएका थिए । सोमपालको ठाउँमा नन्दन यादवले स्थान बनाउन सक्ने देखिन्छ । उनी सोमपालजस्तै फास्ट बलिङ अलराउन्डर हुन् ।
-

रोनाल्डो अन्य क्लबमा नजाने, साउदी क्लब अल-नासरमै रहने
काठमाडाैं । पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डो साउदी प्रो लिग क्लब अल–नासरमै रहने भएका छन् । साउदी प्रो लिगको सिजन सकिएपछि रोनाल्डोले साउदी क्लब छाड्ने आशंका गरिएको थियो । यो आशंकालाई बल दिने गरी उनले सामाजिक सञ्जालमा सिजन सकिए लगत्तै ‘यो अध्याय सकियो’ भनेर समेत लेखेका थिए ।
साथै उनी अर्को महिनादेखि अमेरिकामा सुरु हुने क्लब विश्वकप खेल्न लालयीत भएको र ब्राजिल, अर्जेन्टिनाका लगायतका क्लबहरूमा जाने हल्ला समेत व्यापक रूपमा चलेको थियो । अल नासर यस पटकको क्लब विश्वकपमा छनोट हुन नसकेपछि रोनाल्डोले अन्य क्लबमार्फत क्लब विश्वकप खेल्ने कोसिस गरेको समाचार बाहिरिएका थिए । साउदी प्रो लिग क्लब अल हिलाल जाने हल्ला समेत चलेको थियो । यस किसिमको हल्लापछि अल–नासर क्लबका समर्थकहरूले रोनाल्डो रेकर्डको पछि कुदेको भन्दै आलोचना समेत गरेका थिए ।
तर, हल्लाहरूलाई तत्कालको लागि रोनाल्डोले बन्द गरिदिएका छन् । गत आइतबारमा नेसन्स लिग जितेपछि मिडियासँगको कुराकानीमा आफू अल–नासरमै रहने बताएका हुन् । उनले मिडियाकर्मीले क्लब ट्रान्सफरबारे सोधिएको प्रश्नमा भने, ‘पक्कै पनि अब केही परिवर्तन हुने छैन ।’
उनले आफ्नो उमेरको ख्याल गर्दै अल–नासरमै रहने बताएका हुन् । आफू करियरको अन्त्यतर्फ नजिक रहेको र गम्भीर चोटपटक नलागेको खण्डमा अझैं खेलिरहने समेत बताएका छन् ।
४० वर्षीय रोनाल्डो सन् २०२२ मा म्यानेचेस्टर युनाइटेडबाट अल–नासर पुगेका थिए । यही समरबाट उनको अल–नासरसँगको सम्झौता सकिँदैछ । अल–नासरका सञ्चालक भने रोनाल्डोसँगको सम्झौता थप्ने सोचमा छन् ।
रोनाल्डो गएपछि पनि अल–नासरले साउदी प्रो लिगमा उपाधि जित्न सकेको छैन । तर, रोनाल्डो गएपछि साउदी प्रो लिगको चर्चा संसारभर भयो । नेयमार, करिम बेन्जेमा, साडियो मानेजस्तो प्रख्यात खेलाडीहरु रोनाल्डोपछि साउदी प्रो लिगमा पुगेका थिए ।
यस सिजन अल–नासरले लिगमा तेस्रो स्थानमा सकायो । यससँगै क्लबले एसियन च्याँन्पियन्स लिगको मौका पनि गुमाएको छ । लिगमा अल–नासरको प्रदर्शन सन्तोषजनक नरहे पनि रोनाल्डो भने २४ गोल गर्दै सर्वाधिक गोलकर्ता बनेका थिए ।
-

आज नेपाल र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा हुँदै
काठमाडौं । आइसिसी विश्वकप लिग टु अन्तर्गत त्रिकोणात्मक सिरिजमा आज नेपाल र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा हुँदैछ ।
आजको खेल स्कटल्याण्डको डन्डीमा नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ । सिरिजमा नेपालको यो चौथो तथा अन्तिम खेल हो ।
सिरिजको सुरुवाती २ खेलमा जितेको नेपालले पछिल्लो खेलमा स्कटल्याण्डसँग २ रनको हार बेहोरेको थियो । त्यो खेलमा नेपालले ३ सय २४ रनको लक्ष्य पछ्याएको थियो ।
८ टोली सहभागी लिग टु ओडिआई विश्वकप २०२७ को छनोट प्रतियोगिता समेत हो । सन् २०२७ सम्म चल्ने लिगको अन्तिममा शीर्ष ४ मा रहने टोलीले विश्वकपको ग्लोबल छनोटमा सिधै स्थान बनाउने छ । पुछारमा रहने ४ टोलीले भने विश्वकप छनोट प्लेअफ खेल्नुपर्ने छ ।
नेपाल १५ खेलमा १० अंकका साथ लिगको सातौँ स्थानमा छ । नेदरल्याण्ड्स २२ खेलमा २६ अंकसहित दोस्रो स्थानमा छ । लिग टु का खेलहरू सकिएपछि असार १ गते यी नै तीन टोलीको सहभागितामा त्रिकोणात्मक टी ट्वान्टी आई सिरिज हुनेछ ।
-

राष्ट्रपति रनिङ शिल्डमा लुम्बिनी प्रदेशबाट ११३ सदस्यीय टोली सहभागी हुँदै
रूपन्देही । लुम्बिनी प्रदेशबाट १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि खेलाडी र प्रशिक्षक गरी ११३ जनाले सहभागिता जनाउने भएका छन् । प्रतियोगितामा सहभागी हुने खेलाडी र प्रशिक्षकहरूलाई लुम्बिनी प्रदेश सरकारले बिदाई गरेको छ ।
लुम्बिनी प्रदेश सरकारको तर्फबाट भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले सोमबार टोलीलाई सामूहिक बिदाई गरेका हुन् ।
भलिबल, उसु, कराते, तेक्वान्दो, कबड्डी र एथलेटिक्स गरी ६ विधामा प्रतिस्पर्धा गर्ने ९८ जना खेलाडी र १३ जना प्रशिक्षकलाई बिदाई गरिएको हो ।
उपाधि जित्ने लक्ष्यसहित प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्न मन्त्री ढकालले खेलाडीहरूलाई हौसला दिएका छन् । उनले लुम्बिनी प्रदेश सरकारले खेल क्षेत्रको विकासलाई प्राथमिकतामा राखेको बताए । साथै, नियमित प्रतियोगिता र संरचनागत सुधारमा विशेष ध्यान दिइएको पनि उनले उल्लेख गरे ।यसपटक लुम्बिनी प्रदेशले उपाधि हात पार्नेगरी प्रतियोगितामा सहभागीता जनाउन थालेको खेलकुद परिषद्का सदस्य–सचिव तिरणदाज गौतमले जानकारी दिए । यसअघि लुम्बिनीले ११ औं, १२ औं र १३ औं राष्ट्रपति रनिङ शिल्डको उपाधि जितेको थियो । १४ औं संस्करणको उपाधि भने सुदूरपश्चिम प्रदेशले जितेको थियो । १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता काठमाडौंमा यही जेठ २८ गतेदेखि सुरु हुँदैछ ।
-

स्पेनलाई हराउँदै पोर्चुगलले जित्यो नेशन्स लिगको उपाधि
काठमाडौं । स्पेनलाई हराउँदै पोर्चुगलले युइएफए नेशन्स लिगको उपाधि जितेको छ। गएराती भएको खेलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ५-३ ले हराउँदै पोर्चुगलले दोस्रोपटक नेशन्स लिगको उपाधि जितेको हो।
नियमित समय २-२ को बराबरीमा सकिपछी खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । पेनाल्टी सुटआउटमा स्पेनका मोराटाको प्रयास विफल हुँदा पोर्चुगलले उपाधी चुम्न सफल भयो ।
त्यसअघि खेलको २१औं मिनेटमा मार्टिन जुबिमेन्दीले गोल गर्दै स्पेनलाई पहिलो अग्रता दिलाएका थिए । त्यसको ५ मिनेट मै पोर्चुगलले बराबरी गोल फर्कायो । पोर्चुगलका नुनो मेंडेसले २६औं मिनेटमा गोल गरेका हुन् ।
स्पेनका मिकेल ओयार्जाबालले ४५औं मिनेटमा गोल गर्दै दोस्रोपटक टोलीलाई अग्रता दिलाए । त्यसपछि खेलको ६१औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै पोर्चुगललाई दोस्रोपटक खेलमा फर्काए ।त्यसपछि दुवैतर्फबाट गोल हुन नसक्दा खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।
-

जितनजिक पुगेर चुक्याे नेपाल, स्कटल्याण्डसँग २ रनकाे हार
काठमाडौं आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको सिरिजको आफ्नो तेस्रो खेलमा नेपाल स्कटल्याण्डसँग २ रनले पराजित भएको छ ।
स्कटल्याण्डले दिएको ३२४ रनको विशाल लक्ष्य पछ्याएको नेपालले ३२१ रनमा समेटियो ।
अन्तिम ओभरमा सम्हालिन नसक्दा नेपाल ऐतिहासिक जित नजिक पुगेर हार बेहोर्नुपर्यो । अन्तिम ओभरमा नेपाललाई जितका लागि ७ रन आवश्यक थियो ।
पहिलो बलमा २ रन ल्याएका करण दोस्रो बलमा कुनै पनि रन जोड्न सकेनन् र तेस्रो बलमा क्याच आउट हुन पुगे। अन्तिम ३ बलमा नेपाललाई ५ रन आवश्यक थियो । चौथो र पाँचौ बलमा एकएक रन जोडेपनि अन्तिम ओभरमा आउट हुने पुगे ।
नेपालका लागि भिम सार्की, दीपेन्द्रसिंह ऐरी र सोमपाल कामीले उत्कृष्ट अर्धशतक बनाए पनि जितका लागि पर्याप्त हुन सकेन । भिम ७३, सोमपाल ६७ र दीपेन्द्र ५६ रनमा आउट भए । आरिफ शेखले ३९ रनको योगदान दिए । ३४ रन जोड्दा ३ विकेट गुमाएको नेपालको इनिङ आरिफ र भिमले उकासेका थिए ।
त्यसपछि पनि लगातार उत्कृष्ट साझेदारी हुँदा नेपाल जित नजिक पुगेको थियो । सातौं विकेटका लागि दीपेन्द्र र सोमपालले सतकीय साझेदारी गरेका थिए । तर, फिनिसिङमा चुक्दा नेपालले हार बेहोर्नुपर्यो ।
यसअघि घरेलु मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको स्कटल्याण्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३२३ रन बनाउदै विशाल लक्ष्य खडा गरेको थियो । स्कटल्याण्डका कप्तान रिची बेरिंटनले शतक प्रहार गरे ।
उनले ११४ बलमा ६ चौका र ४ चौका प्रहार गरे । चार्ली टियरले ६८ र माइकल लिस्कले अविजित ९६ रनको योगदान दिए ।बलिङमा नेपालका करण केसी र दीपेन्द्रसिंह ऐरीले दुई/दुई र ललित राजवंशीले एक विकेट लिए । सिरिजअन्तर्गत नेपालले अब मंगलबार नेदरल्याण्ड्ससँग खेल्नेछ ।
-

नेपाललाई स्कटल्याण्डले दियो ३२४ रनको विशाल लक्ष्य
काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको सिरिजको आफ्नो तेस्रो खेलमा नेपालले ३२४ रनको विशाल लक्ष्य पाएको छ ।
स्कटल्याण्डमा टस जितेर पहिला ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३२३ रन बनायो । स्कटल्याण्डका कप्तान रिची बेरिंटनले शतक प्रहार गरे ।
उनले ११४ बलमा ६ चौका र ४ चौका प्रहार गरे । चार्ली टियरले ६८ र माइकल लिस्कले अविजित ९६ रनको योगदान दिए ।बलिङमा नेपालका करण केसी र दीपेन्द्रसिंह ऐरीले दुईदुई र ललित राजवंशीले एक विकेट लिए ।
-

को हुन् घरेलु राष्ट्रिय क्रिकेटमा पहिलो दोहोरो शतक प्रहार गर्ने रौनक श्रीवास्तव ?
रुपन्देही । कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं १ को मडाह गाउँको सामान्य परिवारमा जन्मेका १५ वर्षीय रौनक श्रीवास्तव अहिले नेपाली क्रिकेटको चर्चामा छन् ।
नेपालको घरेलु राष्ट्रिय क्रिकेटमा पहिलो पटक दोहोरो शतक हानेर चर्चामा आएका रौनकको अहिले अण्डर १६ को क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गरेर खेलिरहेका छन् ।
घरमा ब्याट र बल किन्नसमेत कुनै नियमित स्रोत नभएका श्रीवास्तव साथीहरूको छेउमा बसेर क्रिकेट सिकेको र उनीहरूकै सहयोगमा खेल्न पाएको बताउँछन् ।
आर्थिक अभावमा धेरै पढ्नसमेत नपाएका उनी साथीहरूको साथमा भारतको नौगढमा गएर क्रिकेट सिक्न पाएको स्मरण गर्दछन् । अहिले पनि उनका बुवाआमा गाउँमै सामान्य कृषि खेती गरेर बसेका छन् भने कहिलेकाहीँ ज्याला मजदुरी गरेर घर खर्चको जोहो गरिरहेका छन् । भारतीय सीमा क्षेत्र नजिक भएकाले उनका बुवा अशोक श्रीवास्तव मजदुरीका लागि भारतको नौगढसम्म जाने गरेको छिमेकीहरू बताउँछन् ।

रौनकको मामाका छोरा आलोक श्रीवास्तवका अनुसार उनको पारिवारिक अवस्थाबाट क्रिकेट खेलेर प्रगति गर्ने अवस्था थिएन तर रौनकको लगातारको मेहनत र साहसले त्यो प्रगति पाउन सकेका हुन् ।
‘आर्थिक समस्याको कुरै नगरौँ, आमाबुवा सामान्य खेती र मजदुरी गर्नुहुन्छ, रौनकपछि दुई बहिनी छन्, उनले ८ कक्षासम्म मात्रै पढ्न पाए, बल ब्याट आफै किनेर खेल्न सक्ने अवस्था थिएन, साथीभाइ आफन्तको साथमा यहाँसम्म पुगेका हुन्, उनको लगावले अब पक्कै पनि खेलप्रेमीको ध्यान जानेछ, यसबाट उनले देशलाई केही दिन सक्छन् भन्ने आधार देखाएका छन्’ उनले भने ।
रौनकलाई बसिर अहमदले नै खेलका लागि लगातार प्रोत्साहन गरिरहेको उनको भनाइ छ ।
सुर्खेतमा जारी खेलमा रहेका रौनक नाबालक परिचय पत्र बनाउन शनिवार गाउँमा आएका छन् । उमेर नपुगेकाले नागरिकता, पासपोर्ट बनाउन नपाउने हुनाले नाबालक परिचय पत्र बनाउन आएको उनले सुनाएका छन् । गाउँकै बुद्धपद्म स्कुलबाट ८ कक्षा मात्रै अध्ययन सकाएका उनी त्यसयता नियमित खेलमा मात्रै छन् ।

उनी केही समयअघि भैरहवामा जारी नेपाल टेलिकम क्रिकेट प्रतियोगिता, पोखरामा आयोजना भएको पिएम कप, तौलिहवामा आयोजित टी ट्वान्टी प्रतियोगितामा आफ्नो चमत्कारिक खेल देखाइरहेका छन् ।
श्रीवास्तवले प्रदेशस्तरीय क्रिकेट छनौट प्रतियोगितामा कपिलवस्तु र पाल्पाको छनौट खेलमा ८८ रनमा १६ चौका र १ छक्का गरेर १ सय १० रन बनाएर चर्चामा आएका थिए भने कोशी विरुद्धको खेलमा ७० रन बनाएका थिए । तर त्यो भन्दा चर्चामा सुर्खेतमा जारी यू ९१६ राष्ट्रिय क्रिकेटमा लुम्बिनी प्रदेशको तर्फबाट रौनकले दोहोरो शतक बनाएर आफ्नो इतिहास बनाएका हुन् ।
जेठ २० मा विरेन्द्रनगर रंगशालामा भएको प्रतियोगितामा गण्डकी प्रदेशविरुद्ध लुम्बिनीका रौनकले २१७ रनको दोहोरो शतक प्रहार गरेका हुन् । उनले ११७ बलमा १६ चौका र १६ छक्का प्रहार गरे ।
रौनकको दोहोरो शतकको मद्दतमा लुम्बिनीले ४५ ओभर ४ बलमा सबै विकेट गुमाएर ४०३ रन बनाएको थियो ।नेपालको कुनै पनि घरेलु क्रिकेटको खेलमा बनेको यो सर्वाधिक स्कोरसँगै घरेलु राष्ट्रिय क्रिकेट पनि पहिलो पटक दोहोरो शतक प्रहार भएको हो। दायाँ हाते ब्याटर रौनक श्रीवास्तवले इतिहास रचेसँगै क्यानको नजरमा परिसकेका छन् ।

उनलाई लगातार प्रमोशन गर्दै आएका क्रिकेट संघ कपिलवस्तुका अध्यक्ष प्रकाश गैरे तत्काल जिल्लामा विशेष कार्यक्रम गरेर सम्मान गर्ने र खेलप्रेमीको ध्यानाकर्षण गराउने बताए । ‘खेलप्रेमीका लागि यो निकै राम्रो समाचार हो, उनको पारिवारिक अवस्थाबाट उठेर यहाँ पुगेका छन्, अब सबैले उत्साह दिएर नियमित खेलमा लाग्ने प्रेरणा दिनुपर्दछ, केही दिनमा हामीले जिल्लामा विशेष सम्मान गर्दैछौं, जिल्लामा तत्कालै हुने खेलमा उनलाई बोलाउने तयारी छ’ उनले भने, ‘नाबालक परिचय पत्र बनाउन हिजो आएर केही समय कुरा गरेर फर्केका छन्, हामीले उनलाई उत्साहका लागि योजना बनाएका छौं ।’
उनको छिमेकीसमेत रहेका कृष्णनगर नगरपालिका १ का वडाध्यक्ष तुंगनाथ चौधरीका अनुसार सामान्य परिवारमा जन्मेका उनको परिवारमा दैनिक खर्च चलाउन समस्या परिरहेको परिवारबाट देशलाई नै चिनाउनेगरी खेलमा तरक्की गरेको सुनेर सबैलाई खुसी लागेको छ । ‘मेरै गाउँको भाइ हुन्, घरको अवस्था निकै कमजोर छ, बुवा मजदुरी गर्नुहुन्छ, आमा गृहिणी हो, दुई साना बहिनी छन्, धेरै पढ्न पनि पाएनन् तर क्रिकेटमा उनको प्रगति सुनेर निकै खुसी लागेको छ, सिंगो वडा, गाउँ, पालिका खुसी भएका छौं,’ उनले भने ।
-

आईसीसी क्रिकेट विश्वकप : नेपाल स्कटल्याण्डसँग खेल्दै
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल स्कटल्याण्डसँग खेल्दैछ ।
आइतबार स्कटल्याण्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा अपराह्न पौने ४ बजे हुने त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपाल स्कटल्याण्डसँग खेल्दैछ ।
यसअघिका शृङ्खलाको पहिलो खेलमा नेपालले घरेलु टोली स्कटल्याण्डमाथि एक विकेटको रोमाञ्चक जितका निकालेको थियो भने दोस्रो खेलमा नेदरल्याण्ड्स पनि पराजित भएको थियो ।
१४ खेल खेलेको नेपाल १० अङ्क सहित सातौँ स्थानमा छ । शृङ्खलामा अमेरिका २० खेलमा २८ अङ्कसहित शीर्ष स्थानमा छ ।
यस्तै, नेदरल्याण्ड्स २२ खेलमा २६ अङ्कसहित दोस्रो तथा ओमान २० खेलमा २४ अङ्कसहित तेस्रो स्थानमा छ ।
स्कटल्यान्ड १८ खेलमा २२ अङ्कका साथ चौथो स्थानमा रहँदा क्यानडाको २० खेलमा २० तथा नामिबियाको २० खेलमा १४ अङ्क छ ।
-

मदन भण्डारी कपको उपाधि बस्नेत र न्यौपानेलाई
कर्णाली । कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा शनिबार सम्पन्न राष्ट्रियस्तरको खुला महिला–पुरुष १० किलोमिटर ‘मदन भण्डारी कप सडक दौड प्रतियोगिता २०८२’को उपाधि रामजी बस्नेत र पूर्णलक्ष्मी न्यौपानेले जितेका छन् ।
मदन भण्डारी स्पोर्टस् एकेडेमीद्वारा आयोजित प्रतियोगितामा प्रथम हुने बस्नेत र न्यौपानेले जनही रु ५०–५० हजार नगद पुरस्कार प्राप्त गरे । प्रतियोगिताका विजयी खेलाडीलाई वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले पुरस्कार प्रदान गरिन् । पुरुषतर्फ बस्नेतले ३१ मिनेट ३२ सेकेन्डमा निर्धारित दूरी पार गरे भने महिलातर्फ न्यौपानेले ३७ मिनेट ४२ सेकेन्डमा निर्धारित दूरी पूरा गरिन् ।
त्यसैगरी, पुरुषतर्फ दोस्रो हुने नरेन्द्रसिंह रावतले ३१ मिनेट ३८ सेकेन्ड, तेस्रो हुने मिङमार सिङ्गी तामाङले ३१ मिनेट ५७ सेकेन्ड, चौथो हुने कर्णबहादुर रोका मगरले ३२ मिनेट सात सेकेन्ड र पाँचौँ स्थान हासिल गर्ने युवकराज बुढाले ३३ मिनेट २६ सेकेन्डमा उक्त दूरी पार गरे ।
महिलातर्फ दोस्रो हुने दीपा परियारले ३७ मिनेट ५३ सेकेन्ड, तेस्रो हुने सिर्जना पाण्डेले ३८ मिनेट २७ सेकेन्ड, चौथो हुने आशा रावतले ३९ मिनेट ५३ सेकेन्ड र पाँचौँ हुने राज्यलक्ष्मी रावतले ४० मिनेट २० सेकेन्डमा निर्धारित दूरी पार गरिन् । प्रतियोगितामा महिला–पुरुषतर्फ दोस्रो, तेस्रो, चौथो र पाँचौँ स्थान प्राप्त गर्नेलाई क्रमशः रु ३० हजार, रु २० हजार, रु १५ हजार र रु १० हजार नगद पुरस्कार प्रदान गरिएको एकेडेमीका उपाध्यक्ष तथा कार्यक्रम संयोजक तेजविक्रम बस्नेतले जानकारी दिए ।
त्यसैगरी अठार वर्षमुनिका विद्यालयस्तरीय बालबालिका सम्मिलित पाँच किलोमिटर दौड प्रतियोगिताको पुरुषतर्फ पहिलो रमेश बुढा, दोस्रो पुरण सिंह, तेस्रो रमेश शाही, चौथो भूपेन्द्र कँडेल र पाँचौँ हेमन्त नेपालीलाई क्रमशः रु २० हजार, रु १५ हजार, रु १० हजार, रु ५ हजार र रु ३ हजार नगद पुरस्कार प्रदान गरियो ।
अठार वर्षमुनिका महिलातर्फ प्रथम हुने कल्पना बुढा, दोस्रो सन्देला बुढा, तेस्रो निरुता ढकाल, चौथो सृष्टि जोशी र पाँचौँ स्थान हासिल गर्ने निर्मलाकुमारी खड्कालाई क्रमशः रु २० हजार, रु १५ हजार, रु १० हजार, रु ५ हजार र रु ३ हजार नगद पुरस्कार प्रदान गरिएको थियो । ‘सबैका लागि खेल’ नारासहित खेलकुदको प्रवर्द्धन र खेलाडीको प्रतिभा उजागर गर्ने उद्देश्यले उक्त प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।
-

खेलकुद महासंघ सुदूरपश्चिमको दोस्रो अधिवेशन हुँदै
कैलाली । नेकपा एमालेको जनसंगठन नेपाल खेलकुद महासंघ सुदूरपश्चिम प्रदेशको दोस्रो अधिवेशनको तयारी तीव्र पारिएको छ ।महासंघका सुदूरपश्चिम प्रदेश अध्यक्ष प्रकाशकुमार चन्दले शनिबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमार्फत यही जेठ २८ गते धनगढीमा अधिवेशन गर्नेगरी तयारी भइरहेको जानकारी दिए ।
अधिवेशनमा महासंघका केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेत प्रमुख अतिथि रहनेछन् । नेकपा एमालेका केन्द्रीय सचिव एवं सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्ट प्रमुख वक्ताको रूपमा सहभागी हुने उनले बताए ।
महासंघका केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज विष्णुकुमार चन्दका अनुसार अधिवेशनमा २२३ प्रतिनिधि सहभागी हुनेछन् । अधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरिनेछ ।
-

गण्डकीमाथि कोशीको १७१ रनको फराकिलो जित
सुर्खेत। बलिङ र ब्याटिङ दुवै विभागमा गम्भीर कमजोरी देखिएको गण्डकी प्रदेश टोली टी.बी. स्मृति यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगितामा शनिबार कोशी प्रदेशसँग १७१ रनको फराकिलो हार बेहोर्न बाध्य भयो।
वीरेन्द्रनगरस्थित कालुंगचोक मैदानमा सम्पन्न प्रतियोगिताको छैठौं दिन कोशीले टस जितेर ब्याटिङ रोज्दै निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २५७ रनको विशाल योगफल खडा गरेको थियो।
प्रतियोगितामै कमजोर मानिएको गण्डकीको बलिङ लाइनअपविरुद्ध कोशीका ब्याटरहरुले सानदार प्रदर्शन गरे। गण्डकीका बलरहरुले मात्रै ५० रन अतिरिक्त रुपमा दिएका थिए, जसले कोशीलाई बलियो स्कोर बनाउन टेवा पुग्यो।
कोशीका लागि सुगम बुढाथोकीले ७५ बलमा अविजित रहँदै ६८ रनको सशक्त पारी खेले भने अफ्फन ताहिर र रविन मण्डलले समान ३९–३९ रनको योगदान दिए। यस्तै, सकुशल श्रेष्ठले ३० रन बनाए।
बलिङमा गण्डकीका शुशील भुसाल सबैभन्दा प्रभावशाली रहे। उनले १० ओभरमा ३ मेडनसहित ४ विकेट झारे। उनले ३६ रन मात्र खर्चिए। यस्तै, रिदम पाण्डे र अनिष राउतले समान २–२ विकेट लिए।
२ सय ५७ रनको लक्ष्य पछ्याउने क्रममा गण्डकीको ब्याटिङ अझै कमजोर देखियो। उनीहरुले २२.४ ओभरमै सबै विकेट गुमाउँदै जम्मा ८५ रनमा सिमित हुनुपर्यो। गण्डकीका लागि विनय कार्कीले १६, भुवन भट्टराईले १४ र सुप्रिम सुनारले अविजित १२ रन बनाए। बाँकी ब्याटर दोहोरो अंकमा प्रवेश गर्न सकेनन्।
दुवै विभागमा उत्कृष्ट प्रदर्शन गरेका कोशीका रविन मण्डल प्लेयर अफ दि म्याच घोषित भए। उनले बलिङमा ७.४ ओभरमा ४ मेडन राख्दै ५ विकेट लिए भने ब्याटिङमा ३९ रनको योगदान दिए।
यो जितसँगै कोशीले ४ खेलमध्ये ३ मा विजय हासिल गर्दै ६ अंकसहित प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको छ। भने लगातार हार खेपिरहेको गण्डकी अंकविहीन अवस्थामा पुछारमै छ।
-

मधेशको नीति तथा कार्यक्रममा खेलकुद: ‘खेली मधेश, जीती मधेश’
वीरगन्ज । मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा खेलकुद क्षेत्रको विकासलाई विशेष प्राथमिकता दिएको छ। ‘खेली मधेश, जीती मधेश’ को नाराका साथ प्रदेश सरकारले खेलाडीहरूको मनोबल बढाउन र खेलकुदलाई व्यवस्थित तथा गतिशील बनाउन विभिन्न नीतिगत तथा कार्यक्रमिक योजनाहरू अघि सारेको छ।
नीति तथा कार्यक्रममा खेलकुदलाई समग्र प्रदेशको विकास र पहिचानसँग जोड्ने प्रयास गरिएको छ। यस अन्तर्गत, प्रदेशका साँस्कृतिक पहिचान बोकेका खेलहरू र खेलाडीहरूको विकास, प्रोत्साहन र प्रशिक्षणमा जोड दिइनेछ। यसले स्थानीय खेलकुदको प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
खेलाडीहरूको हितलाई ध्यानमा राख्दै खेलकुद सामग्री व्यवस्थापन र खेलाडी बीमा जस्ता महत्त्वपूर्ण कार्यक्रमहरूलाई प्राथमिकता दिइएको छ। यसले खेलाडीहरूलाई सुरक्षा र थप सुविधा प्रदान गरी खेलकुदमा लाग्न प्रेरित गर्ने विश्वास लिइएको छ।
खेलकुद क्षेत्रको व्यवस्थित सञ्चालनका लागि मधेश खेलकुद परिषद्, जिल्ला खेलकुद विकास समितिहरू, खेलकुद संघहरू तथा विद्यालय र समुदायस्तरका संघ–संस्थाहरूसँग समन्वय गरी आवश्यक नीतिहरू अवलम्वन गरिने उल्लेख छ। यसबाट खेलकुदको विकासमा सरकारी तथा गैर–सरकारी दुवै क्षेत्रको सक्रिय सहभागिता सुनिश्चित हुनेछ।
विशेषगरी, मधेश प्रदेशको खेलकुद ऐन पारित भएको दिन २८ भाद्रलाई हरेक वर्ष ‘मधेश खेलकुद दिवस’ को रूपमा महोत्सवका साथ मनाइने घोषणा गरिएको छ। यसले खेलकुदलाई सामाजिक पर्वको रूपमा स्थापित गर्न र खेलाडी तथा खेलप्रेमीहरूमा उत्साह जगाउन मद्दत पुग्नेछ।
पूर्वाधार विकासका लागि श्री रामजानकी बहुउद्देशीय रंगशाला र नारायणी रंगशाला लगायत अन्य रंगशालाहरूलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने योजना समावेश गरिएको छ। यसका साथै, खेलग्राम संरचनाहरूको निर्माणलाई पनि प्राथमिकतामा राखिएको छ। यी कार्यहरू सार्वजनिक–निजी साझेदारीमा सञ्चालन गरिने बताइएको छ, जसले खेलकुद पूर्वाधारको दिगो विकासमा योगदान पुर्याउनेछ।
समग्रमा, मधेश प्रदेश सरकारको यो नीति तथा कार्यक्रमले खेलकुदलाई केवल मनोरञ्जनको साधन मात्र नभई सामाजिक विकास, खेलाडी सशक्तिकरण र प्रदेशको पहिचान निर्माणको महत्त्वपूर्ण आधारका रूपमा लिएको देखिन्छ।
-

यु–१४ राष्ट्रिय विद्यालय खेलकुद आइतबारदेखि, ४७६ खेलाडी सहभागी हुने
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजनामा हुने यु–१४ राष्ट्रिय विद्यालय खेलकुद प्रतियोगिता आइतबारदेखि हुने भएको छ ।
विद्यालय तहका प्रतिभाशाली खेलाडीलाई राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्ने उद्देश्यका साथ विद्यालय खेलकुद आयोजना गरिएको राखेपद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
राखेप सदस्य–सचिव टङ्कलाल घिसिङका अनुसार प्रतियोगितामा सात प्रदेशका ४७६ खेलाडीको सहभागिता रहनेछ । प्रतियोगितामा एथलेटिक्स, टेबलटेनिस, छात्र/छात्रा थ्री बाइ थ्री बास्केटबल, छात्र/छात्रा रग्बी सेभेन्स, ब्याडमिन्टन र २० ओभरको छात्र क्रिकेटको प्रतिस्पर्धा हुनेछ । एथलेटिक्समा छात्र/छात्रामा समान ६–६ तथा टेबलटेनिस र ब्याडमिन्टनमा छात्र/छात्रामा समान २–२ स्पर्धामा खेल हुनेछ ।
नेपालय इन्टरनेसनल इभेन्ट म्यानेजमेन्ट प्रालिको सह–आयोजना तथा एक्सपर्ट एजुकेसन भिसा सर्भिसेसको मुख्य प्रायोजनमा हुन लागेको प्रतियोगितामा जम्मा २५ स्वर्ण, २५ रजत र ३३ कास्य गरी ८३ पदकका लागि प्रतिस्पर्धा हुनेछ ।
एथलेटिक्स र रग्बी त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला, टेबलटेनिस लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्र, बास्केटबल राखेप हाता, ब्याडमिन्टन बुढानीलकण्ठस्थित ब्याडमिन्टन एकेडेमी तथा क्रिकेट मूलपानी क्रिकेट मैदानमा खेलाइने छ ।
क्रिकेट जेठ २५ देखि २९ गतेसम्म सञ्चालन हुनेछ । बाँकी ५ खेल जेठ २५ देखि २६ गतेसम्म चल्ने छ । सदस्य–सचिव घिसिङले खेलकुदको जग ग्रासरुट भन्ने धेरै सुनिए पनि व्यहारमा लागू नभएको हुँदा राखेपले जुनियर प्रतियोगिताको अवधारणालाई अघि सारेको बताए ।
-

रोमाञ्चक भिडन्तमा फ्रान्सलाई ५-४ गोलले हराउँदै स्पेन नेसन्स लिगको फाइनलमा
काठमाडौं । जर्मनीमा आयोजित यूइएफए नेसन्स लिगको सेमिफाइनल खेलमा स्पेनले फ्रान्सलाई ५-४ गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको छ। यो खेललाई वर्षकै एक रोमाञ्चक प्रतिस्पर्धाका रूपमा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले चित्रण गरेका छन् ।
पहिलो हाफमा स्पेनले २-० को अग्रता लिएको थियो। दोस्रो हाफमा स्पेनले थप दुई गोल गर्दै ४-० को अग्रता बनायो। तर, फ्रान्सले उत्कृष्ट पुनरागमन गर्दै खेललाई ४-४ को बराबरीमा ल्याएको थियो। अन्ततः खेलको अन्तिम मिनेटमा स्पेनका लागि निर्णायक गोल आएपछि फ्रान्स पराजित भयो।
स्पेनका तर्फबाट लामिन यामालले दुई गोल गरे भने विलियम्स, मेरिनो र पेड्रीले एक-एक गोल गरे। फ्रान्सका लागि किलियन एमबापे, चर्की, र म्वानीले गोल गरे भने एक गोल स्पेनका खेलाडीको आत्मघाती गोल थियो।
स्पेनले अब फाइनलमा पोर्चुगलसँग प्रतिस्पर्धा गर्नेछ। फ्रान्सका कप्तान किलियन एमबापेले खेलपछि निराशा व्यक्त गरे पनि टिमको प्रयासको प्रशंसा गरे।
-

आरिफको तारिफयोग्य ब्याटिङ, नेपालको गर्विलो जित
काठमाडौं । आइसीसी विश्वकप लिग २ अन्तरगत स्कटल्यान्डमा जारी त्रिकोणात्मक शृङ्खलामा नेपालले आफ्नो उत्कृष्टता प्रदर्शन गर्दै हिजो नेदरल्यान्ड्समाथि ५ विकेटको जित दर्ता गरेको छ । कागजीरुपमा आफूभन्दा बलियो टिमविरुद्ध नेपाल बलिङ र ब्याटिङ दुवैमा हाबी भयो ।
शृङ्खलाको पहिलो म्याचमा आयोजक स्कटल्यान्डलाई अन्तिम बलमा हराएको नेपालले नेदरल्यान्ड्विरुद्ध भने तुलनात्मकरुपमा सहज जित निकाले हो । अघिल्लो म्याचमा नेपालको बलिङ केही फितलो बनेको थियो भने दोस्रोमा बलरहरूले निकै सुधार गरे । साथै, ब्याटरहरुले पनि नेदरल्यान्ड्सलाई कुनै मौका दिएनन् ।
दुई खेलमा नेपालका दुई ब्याटरले म्याचविनिङ प्रदर्शन गरेका छन् । स्कटल्यान्डविरुद्ध करण केसीले नवौँ नम्बरमा आएर नेपाललाई कठिन स्थितिबाट उकास्दै अविस्मरणीय जित दिलाएका थिए । नेदरल्यान्ड्सविरुद्ध नेपालले नयाँ ‘हिरो’ भेट्यो आरिफ शेखका रूपमा । उनले संवेदनशील अवस्थाबाट नेपाललाई सम्हाल्दै जितको नजिक पुर्याएका थिए ।
नेपाली क्रिकेटमा आरिफ शेख नयाँ नाम होइन । अहिलेको नेपाली राष्ट्रिय टिममा उनी सिनियर खेलाडीहरूमध्ये पर्छन्, यद्यपि उनी प्राय ‘लो’ प्रोफाइलमै रहे । प्रदर्शनमा स्थिरता भए पनि ब्याटिङ शैली आक्रामक नहुँदा उनले ‘म्याच विनर’ को छवि बनाउन सकिरहेका थिएनन् । अधिकांश म्याचमा उनले अर्को ब्याट्सम्यानलाई साथ दिएर साझेदारी बिल्ड अप गर्थे । एउटा इन्डबाट विकेट जोगाउने प्रयास गर्थे । हिजो भने उनी आफैँले टिमलाई अगाडि बढाए र आफूलाई ‘म्याच विनर’ साबित गरे ।
आरिफले आफ्नो ब्याटिङमा फरकपनको आभास लिग २ को अघिल्लो श्रृंखलामा स्कटल्यान्डविरुद्धको खेलमा गराएका हुन् । उक्त लो स्कोरिङ म्याचमा उनले आक्रामक अन्दाजमा ब्याटिङ गर्दै नेपाललाई जितसम्म पुर्याएका थिए । १५५ रनको मामूली लक्ष्य पछ्याएको नेपालले ६४ रनमा चार विकेट गुमाएको थियो । तर, आरिफले काउन्टर अट्याक गर्दै सहजरुपमा लक्ष्यभेदन गरिदिए । उक्त म्याचमा उनले ४२ बलमा अर्धसतक बनाएका आरिफ म्यान अफ दि म्याचसमेत बनेका थिए ।
हिजाेकाे म्याचमा अर्का अनुभवी ब्याटर दीपेन्द्र सिंह ऐरीसँग आरिफको पार्टनरसिपले नेपाललाई जित दिलाएको हो । नेपालले १५.४ ओभरमा ६८ रन बनाउँदा तेस्रो विकेटका रूपमा भीम सार्कीलाई गुमाएपछि क्रिजमा आएका थिए आरिफ । स्लो पीच र हावा लागिरहेको अवस्थामा अग्रपंतिका ब्याटरहरुले खुलेर खेल्न सकेका थिएनन् । नेपाललाई विकेट जोगाउनुपर्ने र रनरेट पनि मेन्टेन गर्नुपर्ने दोहोरो प्रेसर थियो । आरिफले परिस्थितिको डिमान्ड अनुसार प्रदर्शन गरे ।
कप्तान रोहितकुमार पौडेल र आरिफबीच ५५ रनको महत्त्वपूर्ण साझेदारी भयो । लक्ष्य धेरै ठूलो नभएकाले उनीहरूले चौका–छक्काभन्दा पनि स्ट्राइक रोटेटमा जोड दिए । तर, ३०.३ ओभरमा रोहित दुर्भाग्यपूर्ण रूपमा रनआउट भएपछि नेपाललाई झट्का लाग्यो । रोहित यस्तो परिस्थिति टिमलाई सम्हाल्न सक्ने ब्याटर थिए । कप्तान आउट भएपछि क्रिजमा आए खराब फर्मबाट गुज्रिरहेका उपकप्तान दीपेन्द्र ।
पछिल्लो समय एकदिवसीय अन्तर्राष्ट्रियमा गतिलो प्रदर्शन गर्न नसक्दा दीपेन्द्र क्रिकेट समर्थकहरूको निशानमा परिरहेका छन् । स्कटल्यान्डविरुद्धको म्याचमा उनले निकै बिर्सनलायक ब्याटिङ गरेका थिए, जसले गर्दा हिजो उनलाई प्रदर्शन गरेर देखाउनै पर्ने चुनौती थियो । र, दीपेन्द्रले आलोचकहरूलाई ब्याटबाट जवाफ दिए । उनले बनाएको अविजित ३८ रन आकारमा ठूलो होइन, तर नेपाललाई खेल जिताउन निकै महत्त्वपूर्ण थियो । यदि उनले चाँडै विकेट गुमाएको भए खेल पल्टिन पनि सक्थ्यो ।
आरिफ र दीपेन्द्रबीच निकै उत्कृष्ट साझेदारी भयो । सामान्य स्थितिमा भए उनीहरूको पार्टनरसीपमा दीपेन्द्र हाबी हुन्थे, र आरिफले सहयोगी भूमिका निभाउँथे । तर, हिजो चाहिँ आरिफले बढी स्कोरिङ गरे भने दीपेन्द्र सहयोगी बने । दीपेन्द्रले सुरुमा थुप्रै डट बलहरू खेलेका थिए, र त्यसको क्षतिपूर्ति गर्दै आरिफले बाउन्ड्री निकाले । उनीहरूले ९२ बलमा ८९ रनको साझेदारी गरेपछि नेदरल्यान्ड्सको हातबाट खेल फुत्कियो ।
आरिफ अन्तिमसम्म टिक्न भने सकेनन् । टिकेको भए उनको इनिङ अझै अविस्मरणीय बन्ने थियो । उनी ४५.५ ओभरमा नेपालले २१२ रन जोड्दा आउट भए । उनी पेभिलियन फर्किँदा जितको औपचारिकता मात्रै बाँकी थियो । नेपालले २५ बलमा १४ रन मात्रै जोड्नुपर्ने स्थितिमा गुल्शन झा क्रिजमा आएर काम तमाम गरे । ४८ औँ ओभरको पहिलो बलमा छक्का हान्दै जित निश्चित गरे ।
हिजोको खेलमा नेपालका बलरहरूको प्रदर्शन पनि तारिफयोग्य रह्यो । फास्ट बलर र स्पिनर दुवैले उत्कृष्ट बलिङ गरे, जसले गर्दा नेदरल्यान्ड्सले नेपालमाथि हाबी भएर खेल्न सकेन । फास्ट बलर रिजन ढकालको स्थानमा स्पिनर ललित राजवंशीलाई ल्याउने निर्णय सही साबित भयो । उनले उत्कृष्ट बलिङ गर्दै दुई महत्त्वपूर्ण विकेट लिए । यद्यपि, ललितलाई ढिला बलिङमा उतार्नु कप्तानको त्रुटि थियो । उनले आफ्नो १० ओभरको कोटा पूरा गर्न पाएनन् । पार्ट टाइम बलर आरिफलाई सात ओभर बलिङ गराउनुको साटो ललितलाई पूरा ओभर बल दिनुपर्थ्यो ।
नेपालका लागि सोमपाल कामीले सर्वाधिक तीन विकेट लिए । करण केसी, ललित राजवंशी र सन्दीप लामिछानेको नाममा २–२ विकेट रह्यो ।
नेपालले नेदरल्यान्ड्सलाई २०० रनभित्रै अलआउट गर्ने अवसर थियो । ३८.३ ओभरमा १६६ रन बनाउँदा ७ विकेट गुमाइसकेको थियो नेदरल्यान्ड्सले । तर आठौँ नम्बरमा आएको किल क्लेनले उत्कृष्ट ब्याटिङ गर्दै टिमलाई सम्मानजनक स्कोरमा पुर्याए । उनले ५५ बलमा सर्वाधिक ४८ रन हाने । यस्तै कप्तान स्कट एड्वर्ड्सल ४६ रनको योगदान दिएका थिए ।
रोचक चाहिँ के भने आक्रामक ब्याटिङका लागि चिनिने नेदरल्यान्ड्सका ब्याटरहरुले खेलभरि एउटा पनि छक्का हान्न सकेनन् । नेपालले आफ्नो इनिङमा ३ छक्का प्रहार गरेको थियो, जसमा दुईवटा आरिफले र एउटा (अन्तिम बलमा) गुल्शनले हानेका हुन् ।
नेदरल्यान्ड्विरुद्धको यो जितले विश्वकप लिग २ शृङ्खलामा नेपालको आत्मविश्वास ह्वात्तै बढाएको छ । हुन त नेपाल अझै पनि अंकतालिकामा पछाडिबाट दोस्रो नै छ, तर नेपालले अरुको तुलनामा कम म्याच खेलेको हुँदा कमब्याकका लागि अवसर प्रशस्त बाँकी छ । यो शृङ्खलामा प्रत्येक टिमले ३६ वटा म्याच खेल्न पाउँछन् । नेपालले अहिलेसम्म १४ वटा म्याच मात्रै खेलेको छ, जसमा हिजोको नतिजासहित ४ जित हासिल भयो । नेदरल्यान्ड्स र स्कटल्यान्डलाई हराएको नेपाललाई कुनै पनि टिमले कम आँक्न सक्ने अवस्था छैन । अब नेपालको लक्ष्य भनेको टप ४ मा पर्नु हो ।
-

नेदरल्याण्ड्सलाई पराजित गरेपछि प्रधानमन्त्री ओलीले दिए नेपाली क्रिकेट टोलीलाई बधाई
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइसिसी विश्वकप लिग–२ एकदिवसीय शृङ्खलामा नेपाल विजयी भएकामा सम्पूर्ण खेलाडीमा हार्दिक बधाई ज्ञापन गरेका छन् ।
गएराति स्कटल्याण्डमा भएको खेलमा नेदरल्यान्ड्सलाई पराजित गर्दै नेपालले आइसिसी विश्वकप लिग–२ एकदिवसीय त्रिकोणात्मक शृङ्खलामा लगातार दोस्रो जित हात पारेकामा प्रधानमन्त्री ओलीले खेलाडीको हौसला बढाउँदै सामाजिक सञ्जालबाट बधाई दिएका हुन् ।
गए राति भएको शृङ्खलाको दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई ५ विकेटले पराजित गरेको हो । त्यसअघि शृङ्खलाको पहिलो खेलमा नेपालले स्कटल्यान्डलाई एक विकेटले हराएको थियो ।