Category: समाज चित्र

  • सिलाई मेसिनबाट सुरु गरेको व्यापारलाई ब्रान्ड बनाएका कृष्णबहादुर

    सिलाई मेसिनबाट सुरु गरेको व्यापारलाई ब्रान्ड बनाएका कृष्णबहादुर

    रुपन्देही । पश्चिम पाल्पाको रिब्दीकोट गाउँपालिका–हार्थोकस्थित हिरापोखरामा जन्मेका कृष्णबहादुर दर्नाल आफू साक्षर मात्रै हुन् । तर, उनले छोराछोरीलाई डक्टर, नर्स र सिए बनाए ।

    २०१५ सालमा खुमलाल र देवकुमारी दर्नालका पाँच सन्तानमध्ये माइलो सन्तानका रूपमा जन्मिएका कृष्णबहादुरले आफूले पढ्न नपाए पनि आफ्ना सन्तानहरूलाई भने पढाइभन्दा पर राखेनन् । दैनिकी गुजाराका लागि १५ वर्षको उमेरमै उनी गाउँ छाडेर बुटवल पसे । अनि भविष्य बनाउने निधो गरे ।
    पाल्पाबाट बुटवल आएका दर्नालले सुरुमै सिलाई पेशालाई रोज्ने निधो । तर त्यसको कुनै जानकारी उनलाई थिएन । यो उनले गाउँमा देखेका र सुनेका मात्रै थिए ।
    उनले कपडा पसलको छेउमै मेसिन राखेर सिलाई सिक्न थाले । मेहनती थिए, धैर्यशील पनि थियो । सीपमा निखार आउँदै गयो । एकपछि अर्को काम सिक्दै उनी आत्मनिर्भर बन्न थाले । यो सिलाई पेशा नै पछि उनको जीवन बदल्ने आधार बन्यो । र अहिलेसम्म यसैलाई उनले अङ्गालेका छन् ।

    २१ वर्षको उमेरमा कमला दर्नालसँग विवाह गरेपछि दर्नाल पारिवारिक जिम्मेवारीमा पनि बाँधिए । दुई छोरा र चार छोरीको बाबु बनेका उनले आफूले त्यो समयमा पढ्न नपाएकाले भोग्नुपरेको समस्यालाई देखेर आफ्नो पहिलो उद्देश्य नै सन्तानको शिक्षालाई दिएको बताउँछन् । ‘आफूले नपाएको शिक्षा आफ्ना सन्तानलाई दिलाउने सपना देखेको थिएँ, पूरा भएको छ ।’ उनी भन्छन् ।

    सिलाइबाटै कमाएको पैसाले उनले सबै छोराछोरीलाई नर्सरीदेखि नै बोर्डिङ स्कुलसम्म पढाए । पारिवारिक जीवन र व्यवसाय सँगसँगै अघि बढिरहेका दर्नालले २०४३ सालमा छोराको नाममा “दिनेश टेलर्स” खोल्दै व्यवसायलाई थप व्यवस्थित रूपमा अघि बढाए । एक जना कालिगड र एउटा मेसिनबाट सुरु भएको व्यवसाय बिस्तार हुँदै गयो । सिलाई पेशा मै रहेर उनले आफ्नो जेठो छोरा डाक्टर बनाउने सपना पनि पूरा गरे ।

    जेठो छोरा डा. दिनेश दर्नालले २०७३ सालमा चितवनको पुरानो मेडिकल कलेजबाट एमडी क्लिनिकल माइक्रोबायोलोजी विषयमा अध्ययन पूरा गरे । उनले युनिभर्सल मेडिकल कलेज भैरहवा र हेटौँडास्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा काम गरिसकेका छन् ।

    हाल उनी देवदह मेडिकल कलेजमा कार्यरत छन् । डाक्टर बनाउँदा लागेको खर्चबारे बोल्दै उनी भन्छन्, ‘बाबुआमाको कडा मेहनत र त्याग नहुँदो हो त म आज यो स्थानमा पुग्दैनथेँ । त्यसबेलै ५० लाख जति खर्च भयो होला ।’

    उनकी श्रीमती अनिता सुन्दास दर्नाल तिलोत्तमा नगरपालिका–१७ स्थित बरबलिया माविमा स्थायी शिक्षिकाका रूपमा कार्यरत छन् ।

    दर्नालकी जेठी छोरी निर्मला दर्नाल ल्याब टेक्निसियनको अध्ययन गरी केही समय बुटवलमै काम गरिन्, अहिले काठमाडौंमा कार्यरत छिन् । कान्छो छोरा सुरेन्द्र दर्नाल चाटर्ड एकाउन्टेन्ट (सिए) को परीक्षापछि राजधानीमै छन् । सबै सन्तानलाई राम्रो शिक्षा दिनु र त्यसका लागि सिलाई पेशा मै टेकेर त्यो सम्भव पार्नु कृष्णबहादुरको लगनशीलताको जिउँदो उदाहरण हो ।

    सामान्य सिलाई पेशाबाट सुरु भएको उनको सङ्घर्ष आज प्रेरणादायी कथामा परिणत भएको छ । ‘हामीलाई साना जातको भन्थे । समाजमा अवसर पनि कम थियो । तर, मसँग सपना थियो । छोराछोरीलाई राम्रो बनाउने । आफूले नपाएको शिक्षा उनीहरूलाई दिनुपर्छ भन्ने अठोटले कहिल्यै पछि हटिनँ,’ कृष्णबहादुर सम्झिन्छन् ।
    सामान्य तलब र आम्दानी भएको सिलाई पेशाबाट घर चलाउनु, सन्तानको पढाइ जोहो गर्नु सजिलो थिएन । सुरुमा कपडा बिक्री नभएर ग्राहकले ल्याएका कपडा मात्र सिलाउने समय थियो ।

    ‘दिनदिनै खर्च धान्दै छोराछोरीलाई डाक्टर, शिक्षक र सिए बनाउने काम आफैँमा साहसिक थियो । अहिले उनका सन्तानको सफलता देख्दा त्यो बेलाको उनले भोगेको दुःखको सार्थकता महसुस भएको देखिन्छ, सम्पन्न परिवारका छोराछोरीले उचित तरिकाले पढ्न नसकेको धेरै उदाहरण आइरहेको बेला यो निकै उदाहरणीय सन्देश बनेको छ’ दर्नालका आफन्त कृष्ण रणपाल भन्छन् ।

    त्यो त दर्नालले यो बिचमा आफू मात्र होइन धेरैलाई रोजगारीको बाटो देखाएका छन् । दर्नालले आफू मात्र होइन, अरूलाई पनि सशक्त बनाउने काम गरेका छन् । उनका अनुसार उनले अहिलेसम्म करिब १ सय ३० जनालाई सिलाई पेशाको सीप सिकाएका छन् । तीमध्ये १० जनाले त बुटवल र काठमाडौं मै आफ्ना पसल सञ्चालन गरेका छन् ।

    नारायण रणपालले थापाथलीमा ‘पाल्पाली टेलर्स’, रामबहादुर परियारले बुटवलको देवीनगरमा ‘गुल्मेली टेलर्स’, कृष्ण रणपालले बुटवलको अमरपथमा ‘कुमारी टेलर्स’ सञ्चालन गरेका छन् । त्यस्तै सिताराम रणपालले बुटवलको तीनकुनेमा ‘न्यू सगरमाथा टेलर्स’, शालिकराम दर्नालले बुटवलको दीपनगरमा ‘न्यू मोर्डन टेलर्स’, राजु परियारले होराइजनचोकमा ‘श्री जी टेलर्स एन्ड बुटिक’ र रमेश आब्जुले ‘जनसेवा टेलर्स’ सञ्चालन गर्दै आएका छन् । महेन्द्र दर्नाल र विनोद दर्नालजस्ता कारीगढले ‘दिनेश टेलर्स’ बाट सीप लिएर आफ्नै व्यवसाय सुरु गरेका छन् ।

    दर्नालको तालिमले उनीहरू मात्र होइन, उनीहरूका कामदार र परिवारहरू पनि जीवनयापन गर्न सक्षम भएका छन् । सिलाई पेशालाई कर्मभूमि बनाएका दर्नाल अहिले पनि उस्तै उत्साहका साथ सक्रिय छन् ।

    ६५ वर्ष उमेर पुगे पनि उनी बिहान ४ बजे उठ्छन्, मर्निङ वाक जान्छन्, र ७ बजे पसल खोल्छन् । पसलमा अहिले उनी आफैँ कपडा काट्छन्, नाप मिलाउँछन् र सिलाउँछन् । ‘पहिले १५ जना कारीगढले एकैपटक काम गर्थे, अहिले त एक्लै चलाइरहेको छु,’ उनी भन्छन् । सीप सिकेर धेरैजसो कारीगढ आफ्नै व्यवसायमा लागे, कोही विदेशिए । अहिलेको पुस्ता सीप लिएपछि पनि स्थायित्वमा बस्न चाहँदैन भन्ने उनको अनुभव छ ।

    समय बदलिएको छ । व्यापारमा प्रतिस्पर्धा बढेको छ । यद्यपि, व्यवसायमा चिन्ताभन्दा सन्तुष्टि बढी छ उनको अनुहारमा । ‘सबैले भन्छन्, अब त रिटायर हुने बेला भयो, छोराछोरी कमाउँछन् । तर म भन्छु, आफ्नो कमाइ आफैँ गर्नुपर्छ, सक्दासम्म काम गरिरहनु पर्छ ।’ उनी थप्छन्, ‘आफ्नो श्रमबाट कमाएकोमा नै आनन्द छ ।’

    उनका दाजुभाइ पनि यही सिलाई पेशामा छन् । दर्नालको सोचमा काम, श्रम, अनुशासन र इमान्दारी सबैभन्दा ठुलो पुँजी हो । दर्नालको जीवनले देखाएको छ – सीप, श्रम र निष्ठाले मानिसलाई आत्मनिर्भर मात्र होइन, अरूका लागि प्रेरणाको पात्र पनि बनाउँछ । एउटा सिलाई पसलबाट सुरु भएको जीवनको यात्रा अहिले बुटवलको एउटा ‘ब्रान्डेड कथा’ बनेको छ, जसमा सङ्घर्ष, सपना र सफलता छ ।

    आफूले सानोमा पढ्न नपाएपनि छोराछोरीको उच्चशिक्षाका लागि जीवनभर सङ्घर्ष गरेका कृष्णबहादुर दर्नाल र उनलाई सधैँ साथ दिने उनकी श्रीमती कमला तथा बुवाआमाको सङ्घर्षलाई बुझेर पारिवारिक अवस्थालाई देखेर कडोर मेहनतका साथ अध्ययनपछि सेवामा लागेका छोराछोरीहरू समाजका उदाहरणीय पात्र बनेका छन् ।

  • घरमै खुलेको ‘थ्री एल’ ग्यालरी, सुमित्राको समर्पण पोखिने थलो

    घरमै खुलेको ‘थ्री एल’ ग्यालरी, सुमित्राको समर्पण पोखिने थलो

    रूपन्देही । काठमाडौंमा ललितकलामा स्नातकोत्तर पास गरिसकेपछि सुमित्रा राना सुत्पराईले आफ्नो जीवनलाई चित्रकला र सिर्जनात्मक कलासँग बाँध्ने निर्णय गरिन् ।

    काठमाडौंमा यसको भविष्य बढी थियो तर उनले त्यहाँको व्यस्त जीवन छाडेर रुपन्देहीलाई कर्मथलो बनाएकी हुन् । विशेषतः २०७२ सालको विनाशकारी भूकम्पपछि काठमाडौं छाडेर बुटवल आएकी सुमित्राले सपना देखेकी थिइन् आफ्नै नाममा आफ्नै घरमा एउटा कला ग्यालरी खोल्ने ।

    त्यो सपना २०८२ साल बैसाख १७ गते पूरा गरेकी हुन् । उनले सैनामैना नगरपालिका–१, वनकट्टा, नमूना पथस्थित आफ्नै ढाईतले घरमा ‘सुमित्रा थ्री एल ग्यालरी’ सञ्चालन गरेर आफ्नो सोखलाई व्यावसायिक रूप दिएकी हुन् ।

    उमेरले चार दशक पुगेकी सुमित्रा अहिले कालिका कलेज, दीप बोर्डिङ स्कुलमा आफ्नै विषयको अध्यापनसँगै लुम्बिनी फाइन आर्ट्सको सञ्चालनसँगै काठमाडौं बाहिर पोखरापछि पहिलो ग्यालरी हाउस सञ्चालनमा ल्याएर यो क्षेत्रको संरक्षणमा लागेकी हुन् ।

    श्रीमान् लीलबहादुर सुत्पराई रोजगारीको लागि लामो समयदेखि बहराइनमा छन् यता सुमित्राले अध्यापनसँगै आफ्नो सीपलाई व्यावसायिक रूपमा अघि बढाएकी छन् । ‘धेरै कमाउन त अरू क्षेत्रमा लागेको भए पनि हुने थियो होला तर आफ्नो जीवनको उद्देश्य पूरा गर्नका लागि यसमा लागेकी हुँ, विद्यालय तहबाटै म यसमा आबद्ध थिएँ, यसमै प्रतिबद्ध थिएँ, यसैलाई व्यवस्थित र व्यावसायिक बनाउन लागेकी हुँ’ ग्यालरी उद्घाटनको दिन सुमित्रा जीवनकै सर्वाधिक खुसी भएको बताउँछिन् ।

    यसको लागि उनका सहकर्मी कलाकारहरूले घरको आँगनमै चित्रकला कार्यशाला सञ्चालन गरेर साथ दिएका छन् । यहाँ  आउने साहित्यकार र कविहरूले कविता रचना सुनाउँछन्, आफन्त, साथी र छिमेकीहरूले शुभकामना दिन्छन् । यो देखेर सुमित्रा मात्र होइन, उनका सबै शुभचिन्तकलाई खुसी बनाएको छ । सुमित्राको कर्म र उद्यममा हर्षित बनेका छन् उनीहरू ।

    सुमित्राले आफ्नै र श्रीमान्को कमाइले ठड्याएको ढाईतले घरको पहिलो तलामा आफ्ना सिर्जनालाई सजाएकी छन् । त्यसै गरी, अन्य कलाकारका कृतिलाई पनि स्थान दिएकी छन् । उनका योजनामा पूरै घरलाई कलाले सजाउनु छ । यही घरमा सुरु भएको ग्यालरी ‘सुमित्रा थ्री एल ग्यालरी’ नामले चिनिन्छ । ’मेरो चाहना यो ग्यालरीमा यो क्षेत्रका सबै कलाकारको सामग्रीलाई सजाउने हो, बिस्तारै सबैतिरबाट साथ पाएको छु, १५ वर्षको छोरा एलिसले पनि यो विषयलाई चासो दिएर अध्ययन गरेकाले निकै खुसी छु’ उनले भनिन् ।

    ‘बच्चादेखि सिनियर आर्टटिस्हरुको कला एक ठाउँमा हेर्न पाइने ठाउँ कतै थिएन, राजधानीमा यसको व्यावसायिक सुरुवात भए पनि पोखराबाहेक अन्त रहेको मलाई जानकारी छैन, सरकारले पनि कतै बनाएको छैन, नयाँ पुस्तालाई यसको जानकारी दिने मेरो मुख्य उद्देश्य हो’ उनले भनिन् ‘मेरो सपना नै मैले सिकेको सीपलाई कसरी समाजलाई देखाउन सकूँ र यसलाई कसरी व्यावसायिक बनाउने भन्ने हो, यो क्षेत्रमा नयाँ पुस्ताको आकर्षण बढेकाले पनि यो गर्न जरुरी थियो ।’

    ललितकलामा पेन्टिङ, मूर्ति सँगै व्यवहारिक शिक्षा पनि पढाइने भएकाले यो विषय पढेकाहरू सबैजसो काममा पहिले नै पूर्ण भएर व्यवस्थित भएर बसेको सुमित्रा बताउँछिन् ।

    सुमित्राका अनुसार उनले नामकरण गरेको ‘थ्री एल’ नाममा पनि गहिरो अर्थ लुकेको छ । पहिलो एल ‘लुम्पेक’ हो– सुमित्राको जन्मथलो, गुल्मीको सत्यवती गाउँपालिका । दोस्रो एल ‘लम्करा’– उनको विवाहपश्चात्को कर्मथलो, गुल्मीकै काली गण्डकी गाउँपालिका । तेस्रो एल ‘लुम्बिनी’– जहाँ अहिले उनी बस्छिन्, सिर्जना गर्छिन्, गौतम बुद्ध जन्मिएको पवित्र भूमि । यी तीनै ‘एल’ले सुमित्राको जीवनयात्रा र सिर्जनात्मक कर्मलाई प्रतिनिधित्व गर्छन् ।

    कलाकारको उद्यमशीलतामा यहाँ आउने हरेकको ध्यानाकर्षण गर्दछ । यहाँ आएका पाहुना, साथी र आफन्तहरूले ग्यालरीप्रति प्रोत्साहन स्वरूप चित्रकला खरिद गरेर उनलाई उत्साहित बनाउँछन् । यसले सुमित्रालाई उत्साह थपिदिएको छ । उनी कालिका कलेजसँगै बुटवलको दीप आवासीय विद्यालयमा अध्यापन गरेर पनि आफ्नो सीप बाँड्दै आएकी छन् । तर उनको मन भने ग्यालरीमै चौबीसै घण्टा घोप्टिन, क्यान भाससँग रमाउन चाहन्छिन् । उनको लक्ष्य छ– ग्यालरीलाई संसारकै सुन्दर कला–घर बनाउने ।

    छोरा एलिसलाई पनि उनले ललितकलाको ज्ञान दिएकी छन् । आमा–छोरा मिलेर ग्यालरीको प्रचारप्रसारमा जुटिरहेका छन् । सामाजिक सञ्जाल, युट्युव च्यानलमार्फत ग्यालरीलाई चिनाउने प्रयास भइरहेको छ ।

    सुमित्राको भनाइमा काठमाडौं बाहिर पोखरापछि सम्भवतः यो पहिलो निजी ग्यालरी हो । उनले नयाँ सिकाइयादेखि वरिष्ठ कलाकारसम्मका मौलिक र सिर्जनात्मक कृतिलाई स्थान दिने सोच बनाएकी छन् । मौलिक नेपाली कलालाई संरक्षण, सम्वद्र्धन र प्रवर्द्धन गर्दै अर्थोपार्जनसँग जोड्ने संकल्प गरेकी छन् । ग्यालरीलाई कलाकारहरूको साझा सिर्जनात्मक कर्मथलो बनाउने योजनामा उनी दृढ छन् ।

    तर यो सजिलो निर्णय थिएन । उनले भनिन्,–‘नेपालमा सृजनशील कलाकार बाँच्न सक्दैन भन्ने अवस्था छ । तर सङ्कटको बेला समाधान खोज्नुपर्छ । अहिले ग्यालरी नखोले कहिले खोल्ने ? मैले नखोले को खोल्छ ? भन्ने लागेर हिम्मत गरेर सुरु गरेकी हुँ ।’

    ‘अहिले पनि केही पालिकाले यसको सुरुवात गरेका छन् तर सबैलाई यसको जानकारी दिन सकिएको छैन, तर बुटवलको कालिकामा यस वर्षबाट यसको औपचारिक विषय समावेश गर्न सकियो, अब यसको भविष्य बढ्दै जानेछ’ सुमित्राले भनिन्, ‘विद्यालय तहमा यसमा रमाउनेहरूले बाहिर पढ्न पाएका थिएनन् काठमाडाै‌ं पढ्न सबैलाई सम्भव थिएन ।’

    करिब १० वर्षदेखि सुमित्रा बुटवल दीप नगरमा ‘लुम्बिनी फाइन आर्ट्स’ सञ्चालन गर्दै नयाँ कलाकार उत्पादनमा लागेकी छन् । उनले कला सिकाउने मात्र होइन, कलाकारलाई उद्यमशीलतासँग जोड्नुपर्नेमा जोड दिँदै आएकी छन् । कलामा मरिमेट्ने उनको स्वभावले उनले जीवन रहुन्जेल कलामा नै जीवन व्यतीत गर्ने लक्ष्य बनाएकी छन् ।

    सुमित्राको जीवनमा कला मात्र रुचि होइन, त्यो उनको कर्म हो, अस्तित्व हो । यही कारण उनले व्यक्तिगत सपना मात्र होइन, सामूहिक साझा सिर्जनात्मक स्थल बनाउने साहस देखाइन् । उनको उद्यमले नेपाली कला र कलाकारलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ ।

    सुमित्राको ‘थ्री एल ग्यालरी’ एक साधारण ग्यालरी मात्र होइन, एक महिलाको सपना, सङ्घर्ष र उद्यमशीलताको प्रतीक रहेको यहाँ पुगेका कलाकार दलबहादुर गुरुङ बताउँछन् । आफ्नो जीवनका तीन ‘एल’लाई ग्यालरीमार्फत अमर बनाएकी सुमित्रा अब कलाको यात्रामा अझ दृढतापूर्वक अघि बढेको र यो सबै कलाको उच्च सम्मान भएको उनको भनाइ छ ।

    ‘कलाले जीवनलाई सुन्दर बनाउँछ । यो ग्यालरी मेरो मात्र होइन, सबै कलाकारहरूको साझा कर्मथलो हो । यसबाट सबै सृजनशील प्रेमीलाई उत्साह थपेको छ’ उनले भने ।

    उनको ग्यालरी उद्घाटन गरेका लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डा. डिल्लीराज अर्यालले नीजि स्तरबाट आफ्नै घरमा आफ्नै ज्ञान, सीप र कला प्रदर्शन गर्नका लागि उदाहरण भएको बताए । कलाले मानिसलाई शान्त, धैर्यवान् र जीवन बुझ्न सक्ने बनाउने बताउँदै उनले सुमित्राको उद्यमशीलतामा प्रशंसा गर्दै कलाप्रति समर्पणले सफलतामा पुर्‍याउने विश्वास व्यक्त गरेका छन् ।

    ललितकलामा धेरै जनशक्ति छैन तर यसको माग सबैतिर रहेको छ । यस कारण पनि नयाँ पुस्तामा यसको आकर्षण बढेको र भविष्य रहेको सुमित्रा बताउँछिन् । अहिले लुम्बिनी प्रदेशमा करिब डेढ सय यस्ता कलाकार रहेको तथ्य भए पनि अनौपचारिक रूपमा लागेकाहरू धेरै रहेको हुनसक्ने उनको भनाइ छ ।

       

  • श्रीमानको हौसलामा सुशीलाले समातिन् अटोको स्टेयरिङ

    श्रीमानको हौसलामा सुशीलाले समातिन् अटोको स्टेयरिङ

    सुर्खेत । वीरेन्द्रनगर–११ गाग्रेतालकी सुशीला सापकोटाले केही वर्षअघिसम्म आफू अटो चलाउने कल्पना पनि गरेकी थिइनन्। तर, वीरेन्द्रनगर नगरपालिकाले महिलालाई स्वरोजगार बनाउन सञ्चालन गरेको कार्यक्रममार्फत एक महिनाको तालिम लिएपछि उनले अटो यात्रा सुरु गरिन्।

    नगरपालिकाले दुई लाख रुपैयाँ अनुदान उपलब्ध गराएको थियो। त्यसमा एक लाख रुपैयाँ एक वर्षपछि फिर्ता गर्नुपर्ने र एक लाख रुपैयाँ नगरपालिका आफैंले लगानी गरेको सापकोटाले बताइन्।

    ‘कार्यक्रमले हौसला पनि दियो’ उनले भनिन् ,’घरपरिवार र श्रीमानले पनि साथ दिनुभयो। तिमी सक्छौ भनेर श्रीमानले हौसला दिनुभयो। अनि मैले पनि आट गरेँ।’

    सुरुवाती दिनमा दैनिक तीन हजारसम्म कमाई हुने सापकोटाको भनाइ छ। तर, अहिले बढ्दो अटो संख्याका कारण आम्दानी घटेर तेललगायत खर्च कटाउँदा दैनिक करिब एक हजार रुपैयाँ मात्र बच्ने गरेको उनले बताइन्।

    घरधन्दा र छोराछोरीको जिम्मेवारीसँगै बिहान ९ बजेदेखि बेलुकी ६ बजेसम्म उनी बजारमा अटो चलाउँछिन्।

    ‘पहिले सामान किन्दा श्रीमान वा सासुससुरासँग पैसा माग्नुपर्थ्यो’ उनले भनिन्,’अहिले आफ्नै आम्दानी भएपछि धेरै फरक परेको छ। उनका एक छोरा विज्ञान संकायमा अध्ययनरत छन् भने छोरी कक्षा १० मा पढ्छिन्।’

    सापकोटाले अटो चलाउने क्रममा विभिन्न खालका ग्राहक भेटिने अनुभव सुनाइन्। कसैले महिलाले राम्रो काम गर्नुभयो, अझ राम्रो गर्नुहोस् भन्ने गर्छन् उनले भनिन्,‘कतिपय भने श्रीमानले छोडेपछि मात्र अटो चलाउन थालेकी हो कि भन्ने प्रश्न गर्छन्।’

    श्रीमान ट्राफिक प्रहरीमा कार्यरत भएकाले उनको यात्रामा थप हौसला मिलेको उनले उल्लेख गरिन्। उनले भनिन्,‘श्रीमानले महिलाले चुलाचौकमा मात्रै सिमित हुनुपर्छ भन्ने सोच राख्नुभएन।’

    महिलाले अटो चलाउन थालेपछि समाजमा रहेको धारणामा पनि परिवर्तन भएको वीरेन्द्रनगर नगरपालिकाकी प्रमुख मोहनमाया ढकाल बताउँछिन्।

    उनले भनिन्,‘महिलाले सिलाई बुनाइजस्ता सजिलो काम मात्र गर्न सक्छन् भन्ने सोचलाई चुनौती दिँदै अटो र अन्य पेशामा महिलाको उपस्थिति बढाउनु नै हाम्रो उद्देश्य हो।’

    अहिले धेरै दिदीबहिनी यो पेशा अंगालेर आत्मनिर्भर हुनुभएको छ उनले भनिन्,‘यसले हामीलाई खुसी बनाएको छ।

    नगरपालिकाले हाल अटो व्यवसायसँगै कृषिमा समेत महिलालाई प्रोत्साहित गर्दै स्वरोजगार र आत्मनिर्भर बनाउन थालेको छ।

  • शून्यबाट शिखरमा सुलभ: खाडीको ठक्करपछि सैलुनले दिलाएको सम्मान

    शून्यबाट शिखरमा सुलभ: खाडीको ठक्करपछि सैलुनले दिलाएको सम्मान

    चितवन । २०६२/०६३ सालको जनआन्दोलन भर्खरै सकिएको थियो । लामो आन्दोलनका कारण निराश मान्छेहरू देशको शासन व्यवस्था फेरिने भएपछि उत्साहित थिए ।

    त्यही समय चितवनका एक युवक भने निराश थिए । उनले कक्षा १२ पास गर्न सकेनन् । परिवारको जेठो छोरा उनलाई कि पढाइ कि कमाइको दबाब थियो । पश्चिम चितवनको पार्वतीपुर घर भएका ती युवक थिए, रामप्रसाद सिग्देल ‘सुलभ’ । भर्खरै किशोरावस्था पार गरेका सुलभले परिवारले दिएको दुई विकल्पमा कमाइ रोजे ।

    तर, नेपालमा कमाउन हातमा सीप थिएन । लगानी गर्ने आँट थिएन । बरु विदेश गए कमाइन्छ भन्ने लहर थियो छरछिमेक वरपर । सुलभको परिवार पनि त्यही विश्वासमा परे । ऋण खोजिदिए । अनि, सुलभ कमाउने अभिलासामा मलेसिया उडे । वर्षदिन मलेसिया बस्दासम्मा कमाइ धमाइ गर्न नसकेपछि अन्ततः उनी स्वदेश फर्किए ।

    मलेसिया गएको ऋण बाँकी नै थियो । यता पनि कमाउने राम्रो ठाउँ थिएन । रौतहटबाट २०६० सालमा चितवन आएको परिवार । आम्दानीको स्रोत खेती किसानी मात्रै थियो । सुलभलाई ऋण तिर्नै भए पनि कमाउनै पर्ने बाध्यता थियो । फेरि कमाउने थलोकै खोजीमा कतार हान्निए । कतार जाँदा तीन लाख रूपैयाँ ऋण लागिसकेको थियो । दुई वर्ष कमाउन उतै बसे । तर, कतारले पनि ऋण निखन्ने कमाइ दिएन । फेरि बिना कमाइ, ऋणको भार थपेर खाली हात फर्किए सुलभ ।

    २४ वर्षको उमेरमा ३ वर्ष खाडीमा ऊर्जाशील समे खर्चिएर खाली हात भइसकेका थिए उनी । नेपाल फर्किएपछि पनि सुलभलाई भरपर्दो टेक्ने थलो भएन । भाइ र चार दिदीबहिनी बुबाआमा सहितको परिवार थियो । विदेश जाँदा लागेको ऋण तिर्न कमाइको विकल्प खोज्न थाले र पुनः ४ लाख ऋण खापेर फेन्सी व्यवसाय थाले ।

    जताजतै असफलताले घेरिरहेका सुलभलाई फेन्सी पसल पनि फापेन । त्यसैबेला उनको मनमा आयो, सीप हातमा भए यति दुःख पक्कै हुँदैन ।

    २०६९ सालतिर ब्यूटीपार्लरको बजार राम्रो भए पनि ब्यूटीसियन भने महिला हुने प्रचलन थियो । पुरुषहरूको दाह्री-कपाल काट्ने व्यवसायमा भारतबाट नेपाल आएर सैलुन चलाइरहेका नाईहरू धेरै भेटिन्थे । सुलभले पनि चितवन र काठमाडौंमा ब्यूटीपार्लरको सीप सिके ।

    पुरुष र महिला दुवैको कपालदेखि ब्यूटीसँग सम्बन्धित सीपहरू सिकेर पोख्त भएका सुलभले यही पेशामा भविष्य खोज्ने निर्णय गरे । चितवनको चौबीसकोठी नजिकै १ लाख ५० हजार लगानी गरेर सुरू गरे- पपुलर युनिसेक्स सैलुन ।

    सैलुन सुरू गरेपछि केही लाख ऋण तिर्न टाउको समाउनु परेन । त्यो समय औँलामा गनिनेको संख्यामा नेपाली पुरुष ब्यूटी पार्लर व्यवसायमा थिए । त्यहीमध्येमा सुलभ एकजना थपिए । कतिपयले ‘नेपाली भैया’ को उपमा दिएको सम्झिँदै उनी आफू कहिल्यै हतोत्साही नबनी व्यवसाय बढाउन लागिपरेको बताउँछन् ।

    सामान्य लगानीबाट थालेको सैलुनको बिजनेश बढ्दै गयो । कामहरू थपिँदै गए, ग्राहक बढ्दै गए । उनले तालिम पनि सञ्चालन गर्न थाले । २०७१ सालमा बिहेपछि उनकी श्रीमती पनि यही व्यवसायमा आवद्ध भइन् । दुवैजना मिलेर व्यवसायलाई जुरुक्क उठाए । अहिले चौबीसकोठीबाट सुलभको पसलले फड्को मारेर सिजी मलको महंगो सटरमा पुगेको छ । दैनिक ५ देखि १० हजारसम्म कमाइ हुने उनी सुनाउँछन् ।

    सुलभले अहिले १० जनालाई रोजगारी दिएका छन् । रोजगारीसँगै सीप सिक्ने युवाको लहर हुन्छ सुलभको सैलुनमा । २०७१ साल साउन ६ गते जन्मदिनकै दिन पारेर सुलभले सुरू गरेका पपुलर युनिसेक्स सैलुनमा बसेर अहिले उनी सम्झिन्छन्, ‘विदेशको चक्करमा सम्पत्ति सिध्याएर शून्यमा पुगेर थालेको सैलुनले आज करोडमाथिको हैसियतमा पुर्‍याएको छ ।’

    व्यवसायसँगै सीप प्रवर्द्धन

    सुलभ अहिले व्यवसायसँगै सामाजिक काममा पनि सक्रिय छन् । उनले आफूले सिकेको सीप हस्तान्तरण साथै विद्यालयहरूमामा निःशुल्क कपाल काट्ने अभियान नै चलाएका छन् ।

    सामुदायिक विद्यालयका विद्यार्थीलाई कपाल निःशुल्क काट्दै आएको उनले बताए । आफ्नो सीपलाई व्यवसायमा मात्रै होइन सामाजिक उत्तरदायित्व बहनमा पनि लगाउनको लागि अहिलेसम्म १० हजारजतिलाई निःशुल्क कपाल काटिदिएको सुलभ बताउँछन् ।

    ‘विद्यालय, समुदाय तथा विभिन्न सामाजिक संघ संस्थामा आश्रित व्यक्तिहरूका कपाल निःशुल्क काटिदिने गरेका छौँ । मेरो सीपबाट प्राप्त हुने लाभ समाजका हरेक व्यक्तिसम्म पुगोस् भन्ने चाहन्छु’, उनी भन्छन् ।

    नेपालमा नै बसेर व्यवसाय गर्न प्रेरित गर्ने उद्देश्यले उनले नि:शुल्क सीप पनि सिकाउँछन् । यसवर्ष पनि सय जना युवालाई स्वरोजगार सीप तालिम सञ्चालन गर्न लागेको उनको भनाइ छ ।

    विदेशमा ठक्कर, हण्डर खाएर ऋण थपेर नेपाल फर्किएका थिए सुलभ । सानो लगानीबाट थालेको सैलुनले सफलता दिँदै गएपछि सुलभले आफूले भोगेका कष्टका दिन सम्झिए । विदेशमा पुगेर गर्ने श्रम नेपालमा गर्दा दोब्बरमाथिको हैसियतमा पुग्ने आत्मविश्वास उनलाई दियो । त्यसैले अहिले युवालाई विदेश होइन स्वदेशमा नै बस्न प्रेरित गरिरहेको उनी बताउँछन् ।

    निःशुल्क हेयर कटिङ तालिम उनको विज्ञता अन्तर्गतको सीप हो । आफू पनि तालिम दिन्छन् । त्यससँगै आफ्नो सेफजोन बाहिर निस्किएर उद्यमी बढाउने अभियानमा लागेका छन् सुलभ । यसवर्ष विदेश नगई स्वदेशमा नै उद्यम गर्न चाहने व्यक्तिहरूमध्ये महिलामा केन्द्रित भएर झोला बनाउने तालिम सिकाउँदै छन् उनी ।

    त्यतिमात्रै होइन विद्यार्थीमाझ परम्परागत सीप हस्तान्तरणमा पनि उनी लागेका छन् । अघिल्लो साता भरतपुरको चितवन माध्यामिक विद्यालयका कक्षा ८ पढ्ने एक सय जना बढी विद्यार्थीलाई दुना टपरी बनाउने तालिमको संयोजन सुलभले नै गरे ।

    उनले घरमा बसेर परम्परागत सीपमा पोख्त गृहिणीहरूलाई तालिमको प्रशिक्षक बनाए । तालिम सञ्चालन पछि विद्यालयका प्रधानाध्यापक विश्वप्रकाश बास्तोलाले भने, विद्यार्थीलाई परम्परासँग जोड्ने गज्जबको सीपको विकासले उनीहरूमा जीवनउपयोगी सीप विस्तार हुन मद्दत गरेको छ ।

    अहिले पनि सुलभसँग हरेक दिन २० जनाको समूहमा कपाल काट्ने तथा ब्यूटीपार्लर सिक्ने युवा छन् । उनले आफ्नो सैलुन स्थापनाको अवसर पारेर २० जनालाई निःशुल्क कपाल काट्ने सीप सिकाइरहेका छन् ।

    सीप सिकेर थालेको व्यवसायबाट स्थापित चितवनका व्यवसायी सुलभ भन्छन्, ‘हातको सीपले पैसामात्रै होइन देशमा सम्मानका साथ बाँच्ने आत्मबल पनि दियो ।’

  • कमलामा डुङ्गासँगै बगिरहेको पुस्तौँको जिन्दगी

    कमलामा डुङ्गासँगै बगिरहेको पुस्तौँको जिन्दगी

    ‘माझी दाईले जुनीभरी डुङ्गा तारिरहे,
    अरुलाई तार्दातार्दै आफूचाहिँ वारि रहे ।
    कतै पारि जाने रहर उनको पनि थियो,
    त्यहि पानीले लग्यो सलल…’

    गायक उदित नारायण झाको सुमधुर स्वरमा गुञ्जिने यस पुरानो नेपाली गीतले आज पनि कमला नदीमा डुङ्गा चलाउने माझीहरूको जिन्दगीलाई सजीव बनाउँछ । क्षेत्रप्रताप अधिकारीको शब्द र आलोक श्रीको सङ्गीतमा सजिएको यो गीत जति कर्णप्रिय छ, उति नै कटु यथार्थ समेटिएको छ माझीहरूको । अरूलाई पार लगाउँदै गर्दा, आफ्नो जिन्दगी नदी किनारामै अड्किने कमलाका माझीहरूको पीडा–जुन सदियौँदेखि बगिरहेकै छ, कमलाको पानीझैं ।

    जब–जब कमला नदीले आकार बढाउँदै जान्छ, नदी किनारका बस्तीमा त्रास थपिँदै जान्छ । वर्षायाममा नदीको रौद्र रूपको आशंकाले मानिसहरू चैनले बस्न सकेका छैनन् । नदीको वारिपारि घरजग्गा हुनेले खेतबारी छाड्न थालेका छन् । ठाउँ सरेका छन्, सुरक्षित स्थान रोजेका छन् । तर, यिनै किनारमा एक जना माझी ‘बा’ अझै पनि आफ्नो डुङ्गासँग बाँधिएर बस्नुभएको छ, ७२ वर्षीय रामसेवक सहनी ।

    उमेरले बुढ्यौलीले थिचे पनि बाध्यताले उनलाई अझै बिहान सबेरै डुङ्गा चलाउन नदीमा पुर्‍याउँछ । जसरी डुङ्गा नदीको धारसँगै बगिरहन्छ, सहनीको जीवन पनि समयको वहाबमा रोकिएर होइन, बगेर बाँचिरहेको छ । कमला नगरपालिका—५ का सहनीको यो पेशा रहरको होइन, बाध्यता बन्न पुगेको छ । सहनी जस्तै कमला नदीको किनारमा जीवन बिताइरहेका माझीहरूको दिनचर्या नदीको बगाइसँगै चल्छ । जसको जीवन, समय, आशा र प्रतीक्षा सबै कमलाकै बहावसँग बाँधिएको छ । बिहान झिसमिसे नहुँदै घाटछेउ पुग्ने र घाम डुबेपछि मात्रै घर फर्कने उनीहरुको जीवनचक्र वर्षौँदेखि उस्तै छ, कहिल्यै नथाक्ने नदी जस्तै ।

    वर्षा लागेपछि नदीको आकार बढ्छ, जोखिम बढ्छ, यात्रु घट्छन्, तर सहनी ‘बा’ चाहिँ त्यसै जोखिमलाई आफ्नो दैनिकी बनाएर बाँचेका छन् । “के गर्नु, वर्षाका दुई/चार महिना त हो डुङ्गा चलाउन पाउने”, उनको स्वरमा थकाइ छैन, बरु जीवनले सिकाएको सहनशीलता छ । केही बेरको मौनतापछि विस्तारै उनी अगाडि थप्छन्, “सानैदेखि गर्दै आएको काम हो यो । यही घाटमा डुङ्गा खियाउँदै जिन्दगी बित्यो ।” हरेक वर्ष, हरेक वर्खा, उहाँको जिन्दगी नदीसँगै बगिरहेको छ, जहाँ न त पुरानो जीवन बाँकी छ, न नयाँ विकल्प खुलेको छ । बाँकी छ त केबल घाट, डुङ्गा र जीवनको अन्तहीन यात्रा ।

    कमलाको अधुरो पक्की पुल कहिले आउला, कसैलाई थाहा छैन । बाटोहरू सुनसान बन्दैछन्, हुलाकी सडक हुँदै हिँड्ने गाडीहरू घट्दैछन् । तर नदी किनारमा खियाउने डुङ्गाहरू चलाउन थाल्ने माझीहरूको संख्या बढ्दै छ । किनकी विकल्प छैन र जस्तो डुङ्गा नदीमा बग्छ, माझीहरुको जीवन पनि त्यसैगरी बगिरहेको छ, अस्थिर, जोखिमपूर्ण, तर अनवरत ।

    सिरहा–५ का ५२ वर्षीय छेदी मुखियाको दैनिकी पनि बिहानदेखि बेलुकासम्म डुङ्गा चलाउँदै बित्छ । कहिले घाम, कहिले पानी, कहिले नदीको उर्लंदो बहाव सामना गर्नु उनको दैनिकी बनेको छ । आँखाले देखुञ्जेल डुङ्गा खियाउन उनी व्यस्त हुन्छन् । बाउबाजेदेखि चल्दै आएको डुङ्गा चलाउने पेसालाई अझै निरन्तरता दिइरहेका छन् । उनी भन्छन्, “तीन दशकदेखि यही घाटमा डुङ्गा चलाइरहेको छु । यो त हाम्रो पुर्खाले छोडेको पेसा हो । व्यवसायभन्दा पनि सामाजिक सेवा जस्तो लाग्छ । जुनीभर यही डुङ्गा चलाउँदै बित्यो ।”

    वर्षायामका करिब चार महिना डुङ्गा चलाएर प्रतिमहिना १५ देखि २० हजार आम्दानी हुने माझीहरु बताउँछन् । त्यसका लागि उनीहरुले डुङ्गाबाट नदी पार गर्दा यात्रुहरूले मोटरसाइकलको रु सय र व्यक्तिको रु ५० शुल्क उठाउँदै आएका छन् । त्यही आम्दानीले घर खर्चको साथै डुङ्गा मर्मत गर्नमा खर्च गर्नुपर्ने माझीहरु बताउछन् । अनुभवी माझी मुखियाका अनुसार पछिल्ला तीन दशकमा उनले पाँचवटा डुङ्गा फेरिसकेका छन् । “एउटा डुङ्गा बनाउन चारदेखि पाँच लाख रुपैयाँसम्म खर्च लाग्छ”, उनी सुनाउछन्, “पाँच वर्ष जति त काम गर्छ, त्यसपछि त काम नलाग्ने थोत्रो हुन्छ ।” डुङ्गा फेरिने क्रम र जीवन चलाउने सङ्घर्ष सँगसँगै चलिरहेको छ माझीहरुको । आधुनिक प्रविधिको विकाससँगै अन्य पेसा रोज्ने अवसर भए पनि उनीहरू यो परम्परागत पेसाबाट विमुख भएका छैनन् ।

    “नौ–दश वर्षको थिएँ, तबदेखि यही घाटमा छु”, अर्का माझी रामेश्वर सहनी भन्छन्,“बाउबाजेले त महेन्द्र राजमार्ग बन्नुभन्दा पहिले बन्दिपुरतिर डुङ्गा चलाउनुहुन्थ्यो । पुल बनेपछि त्यहाँबाट हटेर हामी यता आएका हौँ ।” उनको स्वरमा चिन्ता र अनिश्चितता मिसिएको छ । एकातिर पुर्खाबाट चल्दै आएको पेसा छोड्न सकिन्न भन्ने भाव, अर्कोतिर आधुनिकताले विस्तारै धकेलिरहेको वास्तविकता । कमला नदीमा अहिले स्थायी पुल छैन । बन्दै गरेको पक्की पुल निर्माण सम्पन्न नहुँदै भासिएको छ । पुल नहुँदा स्थानीयहरूका लागि डुङ्गा नै आवतजावतको मुख्य माध्यम बनेको छ । रामेश्वर भन्छन्, “यहाँ पनि कहिलेसम्म चलाउन पाउने हो थाहा छैन । त्यो भासिएको पुल नउठेसम्म त होला !”

    कमला नदीको साररश्वरनाथ घाटमा दैनिक चार वटा डुङ्गाले यात्रुहरूलाई वारपार गराउँदै आएका छन् । त्यस्तै, हुलाकी सडकअन्तर्गत भासिएको पुलको नजिक बसबिट्टामा दुई वटा डुङ्गा नियमित रूपमा चल्छन् । वर्षायाममा नदीको वहाब बढ्दा माझीहरूलाई ज्यानको जोखिम मोलेर यात्रु पार गराउनुपर्ने बाध्यता हुन्छ । यही कारण माझी समुदायको भूमिका स्थानीयहरूका लागि अत्यन्तै महत्वपूर्ण छ । सेवा भावनाले प्रेरित सहनी र मुखिया जस्ता माझीहरू नाफा भन्दा पनि मानवीय कर्तव्यलाई प्राथमिकता दिँदै वर्षौंदेखि यो पेसामा समर्पित छन् । यात्रुका लागि उनीहरु केबल डुङ्गा चालक मात्र होइनन्, दैनिक जीवनका सहजकर्ता हुन् । स्थानीय सोनु यादव भन्छन्, “सरकारले वर्षौ बित्दासमेत पुल सम्पन्न गर्न सकेन । तर उहाँहरू (माझी) ले भने एक दिन पनि सेवा रोक्नुभएन । सरकारभन्दा बढी जिम्मेवारी पूरा गरिरहनुभएको छ उहाँहरूले । हामी गाउँलेहरु त उहाँहरूमै भर पर्छौं ।”

    हुलाकी सडकअन्तर्गत कमला नदीमाथि पक्की पुल बन्ने सपना देखाएको पनि १४ वर्ष नाघिसकेको छ । २०६८ मा सुरु गरिएको चार सय ६९ मिटर लामो पुल निर्माण कार्य तीन वर्षमा सकिने भनिएको थियो । तर त्यो सपना अझै अधुरै छ । हरेक वर्ष बर्खायाम आउँछ, नदीको बहाव बढ्छ, अनि माझीहरूको डुङ्गा जीवन र मृत्युको बीचमा यात्रुहरूलाई पार लगाउनुपर्ने वर्षौदेखिको नियति दोहोरिरहन्छ ।

    पुल निर्माणको जिम्मा सुरुमा पप्पु–लुम्बिनी जेभीलाई दिइएको थियो । तर पटक–पटक म्याद थपेर करिब १० वर्ष लाग्यो । निर्माण कम्पनीले ९५ प्रतिशतभन्दा बढी काम सम्पन्न भई उद्घाटनको तयारी गरिरहेकै बेला २०७८ असार र कात्तिकमा आएको बाढीले पुल भासिएपछि पुनःनिर्माणको काम तत्काललाई अनिश्चित भयो । बीचमै काम अलपत्र परेपछि पप्पु कन्स्ट्रक्सन कालोसूचीमा पर्‍यो ।

    पप्पु कन्स्ट्रक्सन कालोसूचीमा परेपछि बाँकी जिम्मेवारी लुम्बिनी बिल्डर्सले पाएको थियो । यसबीचमा पनि पटक–पटक म्याद थप्ने काम गरियो । अन्तिम पटकलाई भन्दै गत असार मसान्तसम्म पुल पुनःनिर्माण सम्पन्न गर्ने सर्तमा ठेक्का सम्झौता गरिए कम्पनीले जेठदेखि नै काम रोकिएको छ । हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय, जनकपुरका योजना प्रमुख कृष्णकुमार महतोका अनुसार निर्माण कम्पनीले न म्याद थपको निवेदन दिएको छ, न काम नै अघि बढाएको छ । यसअघि निर्माण कम्पनी र बिमा कम्पनीबीचको विवाद उच्च अदालत पाटनसम्म पुगेको थियो । पुल निर्माणको क्रममा पुलको दुईवटा पाएर भासिएपछि निर्माण कम्पनीले बिमावापतको रकम दाबी गरेको थियो । बिमा कम्पनीबाट आठ करोड रुपैयाँको क्षतिपूर्ति दाबी गरे पनि मुद्दा अझै विचाराधीन अवस्थामा रहेकाले हाल कानुनी परामर्शसहित अगाडिको प्रक्रिया अघि बढाइएको निर्देशनालयका प्रमुख महतोको भनाइ छ ।

    कमला नदीमाथि निर्माणाधीन पक्की पुल अलपत्र पर्दा त्यसको असर केबल यातायातमै सीमित छैन, अब यसले स्वास्थ्य सेवामा गम्भीर प्रभाव पारेको छ । उपचारका लागि सिरहाबाट जनकपुर पठाइएका बिरामीहरू झनै जोखिममा परिरहेका छन् । प्रादेशिक अस्पताल सिरहाबाट पठाइएका बिरामीहरूलाई सामान्यत ३१ किलोमिटर टाढा रहेको जनकपुर पुग्न चोहर्वा, मिर्चैया, ढल्केवर हुँदै झण्डै ९० किलोमिटर लामो बाटो घुमेर जानुपर्ने बाध्यता रहेको छ ।

    पुल निर्माणका लागि स्थानीयले पछिल्लो दशकमा पटकपटक सङ्घर्ष गरेका छन् । प्रधानमन्त्रीदेखि मुख्यमन्त्री, विभागीय मन्त्री र सांसदहरूसम्मको ध्यानाकर्षण गराए । सबैबाट स्थानीयले आश्वासन त पाए, तर ती आश्वासन अझै पनि कागजमै सीमित छन् । विडम्बना, वर्षा लाग्नासाथ स्थानीयवासीहरूलाई उही जोखिमपूर्ण डुङ्गा यात्रा गर्नुपर्ने बाध्यता दोहोरिइरहेको छ । बाढीको समयमा नदीको उर्लदो बहाव र डुङ्गामा यात्रा गर्दा हुने दुर्घटनाको डरले त्रसित स्थानीयहरू सरकारका आश्वासन होइन, आफ्नै माझीहरूको भरोसामा बाँचेका छन् । पुल बन्ला र एकदिन सुरक्षित यात्रा गरौँला भन्ने यहाँका जनताको सपना पुस्तौदेखि अधुरै छ । देशकै पुरानो हुलाकी मार्ग ओझेलमा पारिएको र जोखिमपूर्ण डुङ्गा यात्रा अझै जारी हुनु यसको प्रत्यक्ष प्रमाण हो । वर्षा लाग्नासाथ, नदी पार गर्ने अन्तिम विकल्प फेरि पनि डुङ्गा नै रहन्छ । नदी, डुङ्गा र जोखिमको यो चक्र माझीहरूको जीवनकै अभिन्न अंश बनिसकेको छ । जबसम्म त्यो भासिएको पुल उठ्दैन, कमलाको किनारमा डुङ्गा चलिरहनेछ । र माझीहरूको जीवन पनि त्यही डुङ्गासँगै नदीजस्तै बगिरहनेछ –अबिराम, अनवरत ।

    -सुदीप राउत

  • विदेशको मोह त्यागेर स्वदेशमै व्यवसाय गरिरहेकी ऐश्वर्या

    विदेशको मोह त्यागेर स्वदेशमै व्यवसाय गरिरहेकी ऐश्वर्या

    कैलाली । एसएलसी र प्लस–टु सकेलगत्तै ऐश्वर्यालाई नजिकका केही साथिहरुले एउटै प्रश्न सोध्थे- ‘अब तिमी के गर्ने ?’ उनको जवाफ छोटो हुन्थ्यो, ‘यही बस्छु, अझै पढ्छु, केही नयाँ गर्छु ।’

    त्यो बेला केहीले उनलाई विदेश जान सुझाव दिए, केही आफैं गए, केही गएनन् । तर ऐश्वर्य विष्टले भने आफ्नै योजनामा अडिग रहिन् र आफैं व्यवसाय सुरु गरिन् ।

    बुवा डम्बर विष्टले झन्डै तीन दशकदेखि धनगढी–५ तारानगरमा चलाइरहेको ज्ञान निकेतन बोर्डिङ स्कुल कोभिड–१९ संक्रमणपछि थला पर्न थाल्यो । सस्तोमा गुणस्तरीय शिक्षा दिइरहेका उनीहरूले शुल्क बढाएर विद्यार्थी र अभिभावकको बोझ बढाउन चाहेन । बरु, विद्यालय नै बन्द गर्ने निर्णयमा पुगे ।

    २०५४ सालमा सुरु भएको विद्यालय २०७८ मा बन्द भयो ।

    विद्यालय बन्द गर्ने बुबाको निर्णयसँगै ऐश्वर्याको ‘रिसोर्ट सुरु गर्ने’ योजना मूर्तरूप लिन थाल्यो । विद्यालयकै लागि बनाइएका शान्त संरचना, हरियाली र रुख–विरुवालाई विस्तार गर्दै उनले नयाँ नाम दिइन्, ‘द रेजिडेन्सी इन वैभव प्यालेस एण्ड रिसोर्ट ।’

    ‘बुबाले पहिले नै रिसोर्ट वा अस्पताल खोल्ने योजना बनाउनु भएको थियो । यहाँका संरचना पनि त्यही अनुसार बनेका हुन्’, उनले भनिन्, ‘अब म बुबाको योजनालाई अगाडि बढाइरहेकी छु । ’

    झन्डै एक बिघा क्षेत्रमा थप ३ करोड रुपैयाँ लगानी गरेर उनले नयाँ शैलीमा व्यापार सुरु गरिन् । बाहिरी पक्षमा बुबाले साथ दिने भए पनि भित्री व्यवस्थापन उनी आफैं गर्छिन् । अहिले ९ जनालाई नियमित रोजगारी दिएकी छिन् । आवश्यक पर्दा होटल म्यानेजमेन्ट पढिरहेका विद्यार्थीहरूलाई पनि अवसर दिन्छिन् ।

    पार्टी प्यालेस, क्याफे र लज सञ्चालन गरिरहेकी ऐश्वर्यको लक्ष्य केवल पैसा कमाउनु मात्र होइन युवाहरू विदेश गए मात्र सफल हुन्छन् भन्ने धारणा तोड्नु हो । ‘हामी जस्ता सबै युवा विदेश गए देशमा को बस्छ? देशमै भविष्य बनाउन सकिन्छ भन्ने देखाउनु मेरो चाहना हो’, उनले भनिन् ।

    सुदूरपश्चिममा अझै पनि कतिपय अभिभावक छोरीलाई जिम्मेवारी दिन हिच्किचाउँछन् । ऐश्वर्या यो सोच बदल्न चाहन्छिन् ।

    ‘छोरीले अर्काको घर मात्र सम्हाल्छे भन्ने मानसिकता हटाउनुपर्छ। बुवाले छोरीलाई पनि विश्वास गर्नुपर्छ—छोरीहरू कमजोर हुँदैनन्’, उनले स्पष्ट पारिन् ।

    एक वर्षदेखि पार्टी प्यालेस र लज सञ्चालन गरिरहेकी उनले युवामुखी क्याफे पनि खोलेकी छिन् । सुदूरपश्चिमका विभिन्न ठाउँमा वैभव प्यालेसको शाखा खोल्ने उनको योजना छ ।
    ‘वैभव’ उनको दाजुको नाम हो । केही वर्षअघि दाजुको निधन भएपछि बुबाले छोराको सम्झनामा, र ऐश्वर्याले दाजुको सम्झनामा यो व्यवसायको नाम राखिन् ।

    २०५७ सालमा सेती प्रादेशिक अस्पतालमा जन्मिएकी ऐश्वर्याको जीवन संघर्षमै सुरु भएको हो ।

    ‘अस्पतालमा शैया नपाएर घरको खाट लगेर जन्मिएकी हुँ रे । एम्बुलेन्स नपाएर स्कुलको भ्यानमा अस्पताल ल्याइएकी थिएँ । नर्स नहुँदा स्कुलकै स्टाफले सघाएका थिए’, उनी सम्झिन्छिन्, ‘त्यसैले संघर्ष जीवनको अङ्ग हो भन्नेमा म दृढ छु ।’

    दाजुको निधनपछि घरको जेठो छोराको भूमिकामा उनी छिन् । ठूलो जिम्मेवारी सानो उमेरमै आएको छ । कहिलेकाहीँ दाजुको यादले उनी भावुक हुन्छिन् ।

    ‘बुबाले धेरै गर्नुभएको छ । उहाँलाई दुःख दिन चाहन्न। दाइ भएको भए मलाई धेरै सहज हुने थियो’, उनी भन्छिन्, ‘दाइ नभएकाले उहाँको नामको सहारामा दाइको जिम्मेवारी पनि म नै वहन गरिरहेकी छु ।’

    विवाह, व्रतबन्धदेखि सेमिनारसम्म सेवा दिँदै आएकी उनी अहिलेको व्यापारबाट उत्साहित छिन् । पहिले विदेश जान सुझाउने साथिहरू अहिले भन्छन्, ‘नेपालमै राम्रो गरिरहेकी छ्यौ ।’

    ‘विदेशमा बुबा–आमा हुँदैनन्, बिरामी हुँदा पानी दिने मान्छे पनि हुँदैन । काममा जानै पर्ने बाध्यता हुन्छ’, उनी साथिहरूको अनुभव सुनाउँदै भन्छिन्, ‘त्यसैले विदेशभन्दा यतै बस्नु राम्रो रहेछ ।’

    घरको आम्दानीको स्रोत बन्द भएपछि विदेश जाने सोच बनाएकी ऐश्वर्यालाई बुबाले भने, ‘म आट्छु, तिमी साथ देऊ ।’ त्यसपछि उनी यतै रोकिइन् । अब उनी भन्छिन्, ‘यो व्यवसाय केही वर्षअघि सुरु गरेको भए अझ राम्रो हुने थियो ।’

  • १७ वर्ष साउदी बसेर फर्केका लोकप्रसादः जनै उद्योग चलाउन ज्योतिषको साथ, युराेप-अमेरिकामा निर्यात (भिडिओ)

    १७ वर्ष साउदी बसेर फर्केका लोकप्रसादः जनै उद्योग चलाउन ज्योतिषको साथ, युराेप-अमेरिकामा निर्यात (भिडिओ)

    रुपन्देही । १७ वर्ष खाडी मुलुकमा बसेर फर्केका लोकप्रसाद काफ्लेलाई नेपालमै टिकाउन ज्योतिष जर्नादन न्यौपाने र सुन्दर भण्डारीले नयाँ योजना बनाए । पूजा सामग्रीको व्यवसायसमेत गरेका उनीहरुलाई नेपालीले प्रयोग गरिरहेको जनैसमेत भारतबाट ल्याएर बेच्नुपरेको पीडाले सताइरहेको थियो ।

    भारत तथा चीनबाट आउने जनैमा कुनै शास्त्रीय विधि पूरा गरिएको हुँदैन र यहाँजस्तै ५४ सरा भएको पनि हुँदैन तर खुद्रा पसलमा रहेका यस्ता जनै किन्नुपर्ने बाध्यता रहेको छ ।

    आफन्तसमेत रहेका काफ्लेलाई स्वदेशमै राख्नका लागि उनीहरुले कम लगानीमा संचालन हुने उद्योग संचालनको प्रस्ताव गरे ।

    एकछिन त काफ्लेलाई विश्वास लागेको थिएन तर लगानी पनि कम लाग्ने र यसको संभावना पनि राम्रो भएको बजार मूल्यांकन पछि न्यौपाने र भण्डारीको योजनामा सहकार्य गर्न तयार भएका हुन् काफ्ले ।

    ‘विदेशमा खुरुखुरु तलब त बुझ्न पाइन्छ तर त्यहाँको पीडा असैह्य हुन्छ’ काफ्ले भने, ‘उहाँहरुको प्रस्तावले मेरो मन मोडियो, म विदेश छाडेर यही काम थालेको हुँ, निकै सन्तुष्ट छु, पहिलो त परिवारसँग बस्न पाइयो अर्को बाहिरबाट आयातित वस्तुलाई रोक्ने अभियान थालियो र केही रोजगारी पनि दिन सकियो ।’

    यहीँ योजनाका साथ सुरु भएको संस्कार जनै उद्योगको उत्पादन अहिले यहाँ मात्रै नभएर विभिन्न देशहरुमा पुग्न थालेको छ ।

    नेपालमा हरेक वर्ष करोडौँ जनै खपत भए पनि यसको ठूलो हिस्सा भारत र चीनबाट आयात हुने गरेको छ। अब यस निर्भरता घटाउने लक्ष्यका साथ बुटवलमा सञ्चालित संस्कार जनै उद्योगले स्वदेशमै उत्पादन विस्तार गर्दै निर्यातसम्मको यात्रा सुरु गरेको छ ।

    हरि ऊँ पूजा सामग्री उद्योगले सञ्चालन गर्ने यस उद्योगमा शास्त्रीय विधिअनुसार पूर्ण सरा र शिखासहितको ५४ सरे जनै तथा रक्षाबन्धन उत्पादन हुन्छ। पण्डित जनार्दन न्यौपानेका अनुसार, विदेशी जनैको आयात रोक्ने, धर्मसंस्कृतिको संरक्षण गर्ने र स्वदेशमै रोजगारी सिर्जना गर्ने उद्देश्यका साथ उद्योग सञ्चालनमा ल्याइएको हो ।

    जनै लगाउँदा संस्कार समेत झल्किनुपर्छ भन्ने मान्यताका साथमा उद्योग स्थापना गरिएको उनले बताए । जनैपूर्णिमामा मात्र नभएर पितृ कार्य र अन्य पूजाआजामा समेत जनैको माग अत्यधिक हुने भएकाले नेपाली बजारको माग पूरा गर्न कठिन रहेको पनि न्यौपानेको भनाई छ ।

    ’जनै मन्त्रँदा सप्तऋषिलाई तर्पण दिई प्रत्येक डोरामा हुने नौ सराका तन्तुदेवताहरु र शिखामा ब्रह्मा, विष्णु, महेश र जगत्जननीको पूजा गरी गायत्री मन्त्रद्वारा मन्त्रित गरिन्छ,’ न्यौपानेले भने ।

    चार वर्षअघि २५ लाखको लगानीमा सुरु भएको उद्योगले वार्षिक १५ लाखभन्दा बढी जनै उत्पादन गर्छ। नेपालमा मात्रै नभई युरोप, अमेरिका लगायतका मुलुकमा रहेका नेपाली समुदायका लागि पनि जनै निर्यात हुँदै आएको छ ।

    उद्योगका व्यवस्थापक लोकनाथ काफ्लेका अनुसार, अहिले १२५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । उनले जनै उत्पादनका लागि केही कच्चा पदार्थ भारतबाट ल्याए पनि उत्पादन र गुणस्तर भने पूर्ण रूपमा नेपाली संस्कारअनुसार भएको बताए। अर्का सञ्चालक सुन्दर भण्डारीका अनुसार, बाहिरबाट आउने जनैमा नेपालमा पालन हुने विधि र संस्कारको अभाव हुन्छ, त्यसैले स्वदेशी जनैको प्रयोग आवश्यक छ ।

    नेपालमा वार्षिक करिब ५ करोड जनैको माग भए पनि अहिले स्वदेशमा केवल १ करोड मात्र उत्पादन हुने तथ्याङ्क छ। उद्योगका सञ्चालकहरूका अनुसार, यदि सबै नेपालीले नेपाली जनै प्रयोग गर्न सुरु गरे भने यस क्षेत्रमा पूर्ण आत्मनिर्भरता हासिल गर्न सकिन्छ र ठूलो मात्रामा वैदेशिक मुद्रा बचत हुनेछ ।

    हिन्दू धर्मालम्बी समक्ष संस्कारसहितको जनै पुर्याउन र आयातित जनैलाई प्रतिस्थापना गर्ने उद्देश्यसहित उद्योगले शास्त्रीय विधि परम्पराअनुसार पूर्ण सरा र शिखा भएको जनै र रक्षाबन्धन उत्पादनगरी नेपाली र विदेशमा रहेका नेपालीसम्म पुर्याउन थालेको हो ।

    उद्योगका बजार व्यवस्थापक लोकप्रसाद काफ्लेले भने ‘नेपाली बजारमा बिक्री भइरहेका धेरैजसो जनै अहिले सांस्कार र विधिसम्मत छैनन्’, काफ्लेले भने, ‘आयातित जनैलाई रोक्ने र नेपालीले हातबाट शिखा पारेका जनै नेपालीमा पु¥याउन हामी लागेका छौं ।’

    चारैतिरबाट माग बढेकाले उद्योगमा अहिले लगानी र उत्पादन क्षमता दुवै बढाइएको हो । उद्योगका जनै अमेरिका, अष्ट्रेलिया, भारत, यूएई, क्यानडा, जापानलगायत आधा दर्जन देशमा जान थालिसकेको छ । उद्योगका सञ्चालक तथा ज्योतिषी न्यौपानेले विस्तारै उद्योगले सबै आयात प्रतिस्थापन गर्ने लक्ष्य लिएको बताए ।

    जनै परमात्मा यज्ञपुरुषको आराधनाको साधान हो । त्यसैले यसलाई देववाणी नाम अति प्राचीन संस्कृत भाषामा अज्ञोपवित भनिएको छ । जनै निर्माणका क्रममा शुद्ध कपासको सुत्र संकलन गरी पवित्रिकृत र एकरूपता कायम गरिएको हुन्छ । यो वर्षको जनैपूर्णिमा शनिबार परेको छ ।

    तागाधारीले किन लगाउँछन् जनै ? कसरी बनाइन्छ जनै ? यस्तो छन् विज्ञका सुझावः

    नेपाली भाषाभाषीहरूले भन्ने गरेको जनै परमात्मा यज्ञपुरुषको आराधनाको साधन हो। त्यसैले यत्लासई देववाणी नामक अति प्राचीन संस्कृत भाषामा यज्ञोपवीत भनिएको हो । संस्कार यज्ञोपवीत नामकृत यी जनैको निर्माण प्रक्रियामा शास्त्रोक्त विधिको शुद्धतालाई सर्वोपरि महत्त्व दिइएको छ ।

    यी जनै निर्माणका क्रममा शुद्ध कपासको सूत्र संकलन गरी पवित्रीकृत स्थानमा शुद्ध आचरण विधिसम्मत पद्धतिअनुसार पवित्र धागोलाई भूःशब्द उच्चारण गरी बाटिन्छ र त्यसपछि तेब्य्राएर एकरुपता कायम गरिएको भने प्रत्येक तन्तुको टुप्पामा ब्रह्मग्रन्थि अर्थात् शिखा बनाइएको छ। यसरी नवतन्तु (नौसरा) संयुक्त विधिसम्मत यज्ञोपवीत तमार गरिन्छ। मी यज्ञोपवीतको शुद्धतामा विश्वस्त हुन ज्योतिष न्यौपानेले आग्रह गरेका छन् ।

    यज्ञोपवीत विशेष परिस्थिति तथा समयको अन्तरालमा फेनुपर्दछ । हरेक सुतक र आशौचबाट उम्केको दिन यज्ञोपवीत अनिवार्य रुपम फेर्नुपर्दछ । यसबाहेक नयाँ जनै लगाएको चार महिना व्यतीत भएको छ भने पनि अनिवार्य रुपमा फेर्नुपर्छ । यसरी नै धार्मिक पितकार्य यज्ञ अनुष्ठान आदि र श्राद्धकर्म गर्नुभन्दा अगाडि जनै फेर्न अनिवार्य हुन्छ ।

    जनैको कुनै सरा चुँडेमा वा कारणवश शरीरबाट बारिर खसेमा पनि नयाँ जनै फेर्नपर्दछ । एकपटक शरीरबाट खसेको जनै फेरि धारण गर्नु हुँदैन । अनजानमा वा जानीबुभो कुनै अशुद्ध निषिद्ध कर्म गरिएको भए जानकारी भएपछि जनै फेर्नुपर्छ। आशौच नलाग्ने मृतकको शवयात्रा (मलामी) मा सहभागी भएर फर्केपछि पनि जनै फेर्नुपर्दछ ।

    जनै फेर्दा गनुपर्ने विधिः

    सर्वप्रथम नयाँ जनैलाई शुद्ध जलले पखाल्नुपर्छ। त्यसपछि जल आचमन गरेर पचालेको जनै दायाँ हातमा लिई १० पटक गायत्रीमन्त्र अभिमन्त्रित गर्नुपर्दछ । पढेलेखेका विद्वान्ले त संकल्पसमेत लिनुपर्दछ । यसपछि मात्र तल उल्लेख गरिएको बज्ञोपवीत परम् पवित्रं मन्त्र उच्चारण गरी नूतन बज्ञोपवीत धारण गर्नुपर्दछ ।

    नूतन यज्ञोपवीत धारण गरिसकेपछि यथाशक्ति गायत्री मन्त्र जप गर्नुपर्दछ। ज्ञातव्य–नेपाली परम्पराअनुसार ऋषितर्पणीमा विधिवत रुपमा अभिमन्त्रित जनैहरू वर्षभरका लागि धारण गर्न सकिन्छ । यदि ऋषितर्पणीमा विधिवत् रुपमा अभिमन्त्रित गरिएको जनै होइन भने तत्काल सम्पूर्ण विधि पूरा गरेर मात्र धारण गर्नुपर्छ ।

    त्यसैगरी, जीर्ण वा पुरानो यज्ञोपवीत हटाउने तरिका पनि अलग्यै छ । नतन यज्ञोपवीत धारण गरिसकेपछि स्वभावत जीर्ण पुरानो यज्ञोपवीतलाई शिरतर्फबाट हटाउनु पर्दछ भनिएको छ। कतैकतै पाउतिरबाट निकाल्नुपर्छ भन्ने पनि उल्लेख भएको पाइन्छ ।

    एतावद्विनपर्यन्त ब्रहमत्वं धारितं मया ।
    जीर्णत्वातत्परित्यागे मच्छसूत्र यथा सुखम् ।।

  • अष्ट्रेलियाबाट फर्केका दाजुभाइकाे रैथाने भान्सा- जंगलभित्र बूढानीलकण्ठ क्याम्पिङको बेग्लै आनन्द

    अष्ट्रेलियाबाट फर्केका दाजुभाइकाे रैथाने भान्सा- जंगलभित्र बूढानीलकण्ठ क्याम्पिङको बेग्लै आनन्द

    काठमाडौं । भात नपाक्ने नेपालीका घर बिरलै छन् । तर, घरको स्वादभन्दा फरक र स्थानीय स्वादको परख गर्नेको घुइँचो छ, बूढानीलकण्ठस्थित दुलाल गाउँभन्दा माथिको डाँडामा । जहाँ स्कोन (राधाकृष्ण) मन्दिरको छेउबाट पनि पुग्न सकिन्छ ।

    त्यहीँ २० महिनादेखि बूढानीलकण्ठ नेचर क्याम्प (बूढानीलकण्ठ क्याम्पिङ, बीएनसी) सञ्चालनमा छ, जहाँ शहरको कोलाहलयुक्त वातावरणबाट मुक्त भएर झ्याउकिरीका धुनको मीठाससँगै मन र तनलाई विश्राम दिनेको अर्को घुइँचो छ ।

    पैसा कमाउन विदेश जानुपर्छ भन्ने सामाजिक प्रवृत्ति हावी भइरहेको समयमा अष्ट्रेलियाको आवासीय सुविधा (पीआर) समेत त्यागेर एक जोडी दाजुभाइ यो व्यवसायमा तल्लीन छन् । रैथाने शैलीमा आफैँ भात, दाल, तरकारी पकाउँछन् । ती दाजुभाइ हुन्, पोषण र पूजन नेपाल ।

    यसअघि सफल ब्राण्डका रूपमा स्थापित भइसकेको हाँडी बिर्यानीको सञ्चालन र व्यवस्थापनले दिएको अनुभवकै आधारमा बूढानीकण्ठको डाँडा र जंगलको कुनाकाप्चा पुगेर दाजुभाइले सेवाग्राहीलाई टेण्टभित्र मस्तको जीवनशैली (क्याम्पिङ) मात्रै व्यवस्थापन गरेनन्, अहिले त्यहीँ रैथाने भान्सा चलाए । विभिन्न डिजिटल प्लेटफार्मबाट गरिएको प्रमोशनपछि त्यहाँ पुग्ने सेवाग्राहीको घुइँचो छ ।

    रैथाने भान्साको एउटै सूत्र छ, बजारको रेडिमेड सामान हैन, मौलिक उत्पादनमा आधारित खाद्यान्नको उपयोग । यो सूत्रअन्तर्गत त्यहाँ बजारबाट किनेको ‘रिफाइनरी’ तेल र मसला चल्दैन । त्यहीँ सिलौटोमा पिसेर मसला बनाइन्छ । खानालाई स्वादिष्ट बनाउने नाममा अजिनोमोटो लगायतका कुनै पनि बजारु चिजको प्रयोग हुँदैन । ग्यासमा हैन, दाउरामा हरेक चिज पाक्छ ।

    भात खाने ग्राहकका निम्ति रैथाने भन्साको मेन्यु यस्तो छ- चामल कुट्ने मिलनबाटै ढुवानी हुने, अर्थात् कुनै किसिमको पालिस नगरिएको पोखरेली बासमती चामलको भात । सिजनअनुसारको तरकारी । जिम्मु र घ्यूले झानेको कालो बोडीको दाल । गोलभेँडा र मुलाको अचार । आलु र तीतेकरेलाको डिप फ्राई । मासंहारीका निम्ति घरपालुवा (लोकल) कुखुराको सुप साथै मासु वा खसीको मासु र सुप ।

    खानाबाहेकका परिकार पनि त्यही किसिमका छन् । सितन (स्न्याक्स) मा आलुचप, चिसो ठाउँमा फलेको आलु (मुस्ताङे हैन, तर त्यस्तै) उसिनेको र साँधेको उपलब्ध छ । लोकल चिकेनको पोलेको-मोलेको (साँधेको), खसीको कटिया पक्कु, भुटन, कुखुराको पांग्रा (जाँते) र फ्राइड चिकेन (लोकलमा) मुख्य मेन्यू हुन् ।

    अहिले खानाका निम्ति नेपाली बजारमा थकाली भान्साको दबदबा छ । तर, रैथाने थकाली भान्सा हैन । खानाको स्वाद वृद्धिका नाममा बजारका मसला र केमिकल प्रयोग नहुने, घरको चुलोमा जे र जसरी पाक्छ, त्यसलाई ‘रैथाने’ का रूपमा चलाइएको बताउँछन्, सञ्चालक पोषण नेपाल ।

    यसबाहेक मम, चाउमिन, फ्रेञ्च फ्राइड, बर्गर, पिज्जाजस्ता बजारका चल्तीका परिकार पनि त्यहाँ उपलब्ध छ । तर, रैथान शैलीमा नभएर बजारकै शैलीमा ।

    रैथाने भान्छाले वैधानिक रूपमा बिक्री गर्न नपाउने कारण चाहेर पनि तीनपाने रक्सी, जाँड, निगार, छ्याङजस्ता मौलिक मदिरा बिक्री गर्न सकेको छैन । यद्यपि, बजारमा उपलब्ध सबै किसिमका स्वदेशी र विदेशी मदिरा उपलब्ध छ । विभिन्न किसिमका ककटेल्स, मकटेल्स पाइन्छ । फ्रेस जुस पनि बिक्री गरिन्छ ।

    हुक्कामा रमाउने ग्राहकका निम्ति विभिन्न फ्लेवर र आकारका हुक्का राखिएका छन् ।

    ठेकी र मदानीको ब्राण्डिङ

    अहिले ४५-५० उमेर समूहसम्मको पुस्ताले ठेकीमा मोही पारेको, मदानीबाट ध्यूको नौनी निकालेको देखेको छ । तर, त्यसपछिको पुस्ता ठेकीको आकार, प्रकारदेखि प्रयोजनसम्म जानकार छैन । त्यसैले रैथाने भान्साले भदौदेखि ठेकी र मदानीलाई ब्राण्डिङ गर्न ग्राहकलाई दही विक्रि गर्ने र ग्राहक आफैँले ठेकीमा मोही पार्ने, नौनी निकाल्ने गरी योजना अगाडि सारेको छ ।

    यो योजना बालबालिकाका लागि मनोरञ्जनसँगै पुरानो संस्कार सिक्ने मौकाका रूपमा रहने अर्का सञ्चालक पूजन नेपाल बताउँछन् ।

    बूढानीलकण्ठ क्याम्पिङ

    २०८० मंसिरदेखि सञ्चालनमा आएको बूढानीलकण्ठ नेचर क्याम्प ( बूढानीलकण्ठ क्याम्पिङ) भित्रै गत जेठबाट रैथान भान्सा शुरु भएको हो । रैथाने भान्साको लोकप्रियताले बूढानीलकण्ठ क्याम्पिङलाई ओझेलमा पारे पनि उक्त क्याम्पिङका ग्राहकमा कमी आएको छैन ।

    पिकनिक प्याकेज २ हजारमा

    पिकनिक कार्यक्रमका लागि क्याम्पिङले प्रतिव्यक्ति २ हजार रूपैयाँदेखिको प्याकेज बनाएको छ । त्यसभित्र विहानको खाजा, दिउँसो र बेलुकीको खाना पर्छ । त्यसअन्तर्गत चिया, कफी, सादा पेय पदार्थ (सफ्ट ड्रिक्स), सितन (स्न्याक्स) र डेजर्ट (खानापछि खाने) रहन्छन् । अन्य ठाउँमा पिकनिक गएजस्तो अलग्गै क्याटरिङ र साउण्ड सिस्टमको व्यवस्था गर्नुपर्दैन, सबै त्यहीँ उपलब्ध छ । नाचगानका लागि त्यहीँको मञ्च र खालि ठाउँ उपयोग गर्न पाइने सुविधा छ । त्यसका लागि अलग्गै शुल्क लाग्दैन ।

    पिकनिक आयोजकले क्याम्पिङको नियमित मेन्यूभन्दा फरक परिकार माग गरेमा त्यसअनुसार मूल्य बढ्नसक्ने सञ्चालक नेपालले बताए ।

    रात बस्ने प्याकेज २ हजारको

    बूढानीलकण्ठ क्याम्पिङ परिसरमा बास बस्न मिल्ने १२ वटा टेण्ट छन् । ८ वटा कोठा छन् । टेण्टमा डबल बेडदेखि ग्रूपमा १२ जनासम्म बस्ने ठाउँ बनाइएको छ । यदि कुनै ग्रूपले त्यहीँ खाने र सँगै बस्ने भनेमा १२ जनासम्म अट्ने टेण्ट वा अलग अलग टेण्ट उपलब्ध हुन्छ ।

    जोडी वा परिवारले रात बस्ने गरी टेण्ट र कोठा बुक गरेमा प्रतिव्यक्ति २ हजारका दरले उपलब्ध हुने नेपाल बताउँछन् ।

    २ हजारभित्र बेलुकीको खाना, बिहानको ब्रेकफास्ट राखिएको छ । जानेबित्तिकै वेलकम ड्रिंक्सका रूपमा जुसको व्यवस्था छ ।

    को हुन् दाजुभाइ ?

    धनकुटाबाट उत्तरी मोरङको मधुमल्लामा बसाइँ सरेको नेपाल परिवारका सदस्य हुन्, यी दाजुभाइ । ठूला पोषण विराटनगरको कोभास कलेजमा प्लस टु सिध्याएर नेपाल कमर्श क्याम्पस, मीनभवनमा व्यवस्थापन संकायअन्तर्गत लेखा व्यवस्थापनमा स्नातक गर्न काठमाडौं छिरे । त्यसपछि थप अध्ययनका निम्ति सन् २००९ मा अष्ट्रेलिया पुगे ।

    त्यहाँ युनिभर्सिटी अफ टेक्नोलोजी, सिड्नी (यूटीएस) मा भर्ना भएर प्रोफेसनल अकाण्टमा स्नातकोत्तरसम्मको अध्ययन गरे । सँगै रोजागरीमा पनि लागे । उनले सन् २०१६ मा त्यहाँको आवासीय सुविधा (पिआर) पाए ।

    त्यही साल भाइ पूजन नेपाल सेन्ट्रल क्विन्सल्याण्ड युनिभर्सिटीमा अध्ययनका निम्ति अष्ट्रेलिया पुग्छन् । काठमाडौंस्थित कलेज अफ अप्लाइड बिजिनेशन (क्याम्प), गहनापोखरीमा स्नातक सिध्याएर उनी अष्ट्रेलिया पुगेका थिए ।

    आखिर पढ्नमात्रै त को विदेश जान्छ र ? केही न केही सीप गर्नैपर्छ, किनभने पैसा कमाउने मुख्य उद्देश्य हुन्छ । यी दाजुभाइले पनि त्यसै गरे । पढे, पढाइसँगै काम गरे । पढाई सिध्याएर काममा मात्रै लागे । त्यहाँ गरेको कामले धेरै कुरा सिके । केही पैसा पनि जोगाए ।

    भाइ पूजनले सिड्नीको टारामारास्थित फ्रेञ्च रेष्टुराँ दी कुक्स गार्डेनमा काम गरे, सेफका रूपमा । प्रख्यात माष्टर सेफ कुजिन पिटरसँग पकवानसम्बन्धी अनगिन्ती ज्ञान हासिल गरे । नेपालमा छँदैदेखि उनी पकाउनका शौखिन । छोरीले झैँ छोराले भान्साको माया गरेको देखेर घरमा उनले कैयौँ पटक गाली खाए, भान्साबाट निकालिए । तर, मन जेमा तल्लिन हुन्छ, मान्छे त्यसैमा मग्न हुन्छ । अष्ट्रेलियामा कुजिन पिटरबाट सिकेको ज्ञानलाई पर्याप्त मानेनन् । चामलका परिकामध्ये विश्वभर रुचाइने बिर्यानीतिर मन गयो । दिल्लीमा प्रयोगात्मक तवरले अनुसन्धान गरे । र, मनमा लाग्यो, अब देशमै गएर यो काम गर्नुपर्छ ।

    दाजु पोषण पीआर लिएर परिवार नै त्यतै सेटल गर्ने तयारीमा थिए । जान त पूजन पनि पत्नीसहित अष्ट्रेलिया गएका थिए । उनले पनि केही वर्षमै पिआर पाउनेमा कुनै शंका थिएन । टेम्पोररी कार्ड (टीआर) पाइसकेका थिए । तर, अर्काको देशमा, अर्काको काम गरेर, कर तिरेर आफ्नोमात्रै पेट पाल्नुमा पूजनलाई सन्तुष्टि भएन । आफ्नो देशमै फर्किने, आफ्नै काम गर्ने, कर पनि विदेशीलाई किन ? आफ्नै देशलाई तिर्ने र आफ्नोमात्र हैन, सयौँ नेपालीलाई रोजागरी दिने- यो थियो पूजनको प्रतीज्ञा ।

    तर, आफूले मात्रै गरेर हुने थिएन । अभिभावक भने पनि, साथी भने पनि उनी दाजु पोषणलाई नै सबभन्दा माथिको मान्छन् । दाजुबिना उनी केही गर्न नचाहने । तर, ती दाजु पिआर पाएर अष्ट्रेलियामा सेटल भइसकेका । त्यस्तो दाजुलाई ‘देश फर्कौं, उतै केही गरौँ’ कसरी भन्ने ? त्यही पनि भने । दाजु पनि एक्ला थिएनन्, भाउजू साथमा । भाउजुभन्दा पनि एउटी भतिजीको भविष्यको कुरा थियो ।

    एक किसिमले जिद्दी नै गरे । भाइ मेहेनती छ, गरिखान्छ भन्नेमा त दाजु पोषण ढुक्क थिए । तर, नेपालमा आर्थिक दुरावस्थाका कारण आफूसहित भएभरका युवा पलायन भएर विश्वका विभिन्न मुलुकमा पुगेको । फेरि नेपालै फर्किने कुरा कत्तिको जायज हो ? पोषणले मनभरि यो प्रश्न साँचीराखे, भाइको जिद्धीमा ‘नाइँ’ भन्न पनि सकेनन् । नेपाल फर्किए ।

    नेपाल फर्किएर नेपालमा म्याक डोनलजस्तो नेपाली मेन्यूमा फास्टफुट चलाउने योजना थियो । त्यसको अध्ययन गर्न दाजुभाइ दिल्ली पुगे । त्यहाँ नेपालका एकजना हुमागाइँले चलाएको ‘वाऊ मम’ को प्रगति हेरे । फर्किएर नेपालको स्थानीय बजारलाई हेर्दा फास्टफुट उपयुक्त देखेनन् ।

    त्यसपछि दिल्ली घुम्ने क्रममा खाँदै हिँडेको बिर्यानीतिर मन गयो । त्यसको मौलिकतासहित नेपालमा प्रवद्धर्न गर्ने सोच बनाए । र, ‘हाँडी बिर्यानी’ चलाउने कुरा भयो ।
    पोषणको मनमा कुरा खेलिरह्यो, ‘खाना त मीठो छ, व्यापारचाहिँ के गर्ला ?’ प्रश्नैप्रश्नका बीचमा हाँडी बिर्यानी शुरु भयो । दाजुभाइ मात्रै यसमा लागेनन्, पत्नीहरू पनि संघर्षमा समेल भए । अहिले पनि पोषणकी पत्नी दीपना प्याकुरेल र पूजनकी पत्नी आशिका दाहाल पतिहरूको नभनी आफ्नै व्यवसायका रूपमा काममा तल्लीन छन् ।

    डिल्लीबजारको राघे मार्गमा ठाउँ पाए । कति अप्ठेरो ठाउँ भने, कालिकास्थानतिरबाट छिर्नलाई वान वे पर्छ । कमलपोखरी चोकबाट ज्ञानेश्वरतिर जाँदा दाहिनेतिर एउटा पेट्रोल पम्प आउँछ । पम्प कट्नेबित्तिकै भित्र छिर्ने एक लेनको एउटा बाटो छ । त्यहाँबाट छिरेर डिल्लीबजारको कालिकास्थन मोडभन्दा सय मीटर वर, चारखाल जेलको पछाडि पुग्नुपर्छ ।

    सुन्दा पनि टाउको दुख्ने यो लोकेशन थियो, हाँडी बिर्यानीको । त्यसमाथि रेष्टुरेण्ट राम्रोसँग शुरु नहुँदै कोभिड संक्रमणका कारण लकडाउन भइदियो । तर, विपतको त्यही घडी यी दाजुभाइका निम्ति बरदान सावित भयो । मान्छेहरूले घरमा बसेर खानका निम्ति प्याकिङ मगाउने भए । आज पनि हाँडी बिर्यानी रेष्टुरेण्ट पुगेर खानेभन्दा घरमा प्याकिङ मगाउने ग्राहकको संख्या बढी छ ।

    होम डेलिभरीको माग बढेपछि डिल्लीबजारसँगै गत वर्षदेखि ललितपुरको कुमारीपाटीमा हाँडी बिर्यानीको अर्को आउटलेट खुल्यो । राम्रोसँग चलेको छ ।

    आफ्ना लागि आफैँ

    यी दाजुको सफलताको सूत्र हो, ‘आफ्ना लागि आफैँ ।’ कसैले ‘गरिखाओस्’ भनेर कृपा गर्ने जमाना अहिले छैन । त्यसैले आफूसँग भएको ज्ञान, सीप र क्षमतालाई आफ्नै मेहेनतले उपयोग गरे सफलता हात लाग्ने मान्यता राख्छन्, पोषण र पूजन दाजुभाइ ।

    अहिले बजारमा उनीहरूका विभिन्न किसिमका ६ वटा कम्पनी सञ्चालनमा छन् । सबै ‘होटल एण्ड हस्पिटालिटी’ मा आधारित व्यवसाय हुन् । बजारमा अहिले १० करोड रूपैयाँ छरिएको छ । अष्ट्रेलियामा कमाएर ल्याएको दाजु भाइको एक-एक करोड रूपैयाँबाट शुरू भएको व्यवसायले लगानी उठाएर पनि अहिले बजारमा १० करोडको लगानी वृद्धि गरेको हो ।

    उनीहरू औसत परिवार (खान, लाउन पुग्ने) का सदस्य हुन् । अर्थात्, जन्मँदैमा करोडपतिको घरमा परेनन् । तर, मेहेनतले आज उनीहरूलाई अगाडि बढायो ।

    बुबा, आमा नै मोरङ, मधुमल्लामा शिक्षण पेशामा थिए । अवकाशपछि काठमाडौं बसाइँ सरेका बुबाकै घरमा बसेर उनीहरूले संघर्षका दिन शुरू गरे । आज पनि उनीहरू बिहानै रैथाने भान्सामा आगो फुक्न पुग्छन्, हाँडी बिर्यानीको मसला मिलाउँछन् र संघर्षमै छन् ।

  • भारतीय सेनाबाट निवृत्त ९३ वर्षे गेरु पुनः विलासी जीवन छाडेर बने लेखक र शैक्षिक अगुवा

    भारतीय सेनाबाट निवृत्त ९३ वर्षे गेरु पुनः विलासी जीवन छाडेर बने लेखक र शैक्षिक अगुवा

    रुपन्देही । ९३ वर्षे निवृत्त सैनिक जो औँठाछापबाट जागिर यात्रा थालेका थिए, अहिले उनीे संस्कृत, हिन्दी, नेपाली र अङ्ग्रेजी किताबहरू सजिलै पढ्ने लेख्ने मात्र होइन यसलाई किताबकै रूपमा निकाल्न सक्षम भए। यो सुन्दा अहिलेको पुस्तालाई कल्पनै गर्न गाह्रो पर्छ ।

    अझै रोचक कुरा त उनी अहिले कर्मकाण्डका १० अध्यायमा आधारित एउटा विशाल धार्मिक पुस्तक लेखिरहेका छन् र त्यसलाई अन्तिम रूप दिइरहेका छन् । यस्ता प्रेरक पात्र हुन्, म्याग्दीको नाङ्गीमा जन्मेका गेरु पुन मगर । जसको जीवन आफ्नै ढङ्गको विश्वविद्यालय बनेको छ । धेरै भूपूहरू निवृत्तपछि विलासी जीवनमा दैनिकी बिताउने र अध्ययन तथा लेखन निकै कम हुने भए पनि गेरु यसलाई पछ्याए समाजमा आफ्नो फरक पहिचान दिन सफल भएका छन् ।

    एउटा आँखामा कमजोरी र सामान्य रोग भए पनि उनले ती सबै पचाउँदै आफ्नो दैनिकीमा अध्ययन र लेखनलाई निरन्तरता दिएका छन् ।
    ‘पहिलेजस्तो लड्नभिड्न, दिनभर हिँड्न, बलियो सामान बोकेर हिँड्न त सकिन्न हजुर, कान पनि अलिकति कम सुन्ने भएको छु तर आफ्नो दैनिकी काम, अध्ययन तथा लेखनलाई निरन्तरता दिएको छु, एउटा आँखामा समस्या भएकोले कम उज्यालो र साना अक्षर देख्न गाह्रो हुन्छ’ उनले सुनाए ।उनको उमेरसम्म यो अवस्थाको दैनिकी देखेर उनका आफन्त र चिन्ने अधिकांशले अचम्मको लोभलाग्दो जीवनशैली रहेको बताउँछन् ।
    भूतपूर्व भारतीय सैनिक गेरु पुनमगर अहिले पनि अध्ययन, लेखन र धार्मिक अनुष्ठानमा आफ्नो अधिकांश समय व्यतीत गर्छन् । १८ वर्षको उमेरमा साथीहरूको लहैलहैमा नौ दिन हिँडेर भारत पुगे र त्यहीँ सेना भर्ना भए ।

    ‘संयोगले भारत पुगेर दौडियो, नापियो, छानियो र भर्ती भइयो, भरखर १८ पुगेको थिएँ, भर्तीका लागि ठ्याक्कै त्यही उमेर उपयुक्त हो रहेछ, त्यो बेला मेरा साथीहरूले तलब बुझ्दा हस्ताक्षर गर्थे, म चाहिँ ल्याप्चे लगाउँथेँ । त्यहीँबाट मलाई पढ्नुपर्ने रहेछ भन्ने थाहा भयो, भित्रै भित्रै ठुलो कमजोरीको पश्चाताप हुने गर्दथ्यो तर विकल्प थिएन, हाकिमले जहाँ ल्याप्चे लगाउन भन्छन् त्यही लगाउनुपर्दथ्यो पैसा भनी चिनिन्थ्यो’ उनी सम्झन्छन् ।

    औँठाछापको अपमानले उत्प्रेरणा बन्यो स्वअध्ययन
    गेरुलाई सेनामा भर्ती भएपछि बल्ल थाहा भयो कि शिक्षा नभएकै कारण अनेक अवसर गुम्ने रहेछन् भनेर ।
    ‘सँगै भर्ती भएका साथीहरूले धमाधम हस्ताक्षर गरेर तलब लिन थाले, मैले ल्याप्चे लगाउनुप¥यो, त्यो बेला हाकिमले मलाई निकै अपमान गरेको महसुस गरेँ अर्थात् मलाई सामान्य साक्षर भएको भए यो पीडा भोग्नुपर्ने थिएन भन्ने लाग्यो, त्यो अवधिमा भर्ती भएपछि कडा तालिममै बस्नुप¥यो पढ्न सम्भव नि भएन, साथीहरूको ग्रुप पनि मिलेन’ उनले भने–‘अलिक केही समयपछि साथीहरूसँगको सङ्गत छाडे बिस्तारै सामान्य अक्षर कसरी सिक्ने प्रयास थालेँ, केही किताब खोजेर ल्याउन थालेँ तर सुरुमै कसरी सिक्ने निकै समस्या प¥यो ।’

    भारतीय सेनामा रहँदासम्म उनले मनमनै पढ्न चाहेपनि त्यो वातावरण नबनेको बताउँछन् । तर रिटायर्ड भएपछि उनी आफैले प्रयास गरेर सम्भव भएको हो । १८ वर्षमा भर्ती भएका उनी २८ वर्ष सेवा गरेर ४६ वर्षको हुँदा बाहिरिएका थिए । त्यसबेला भारतमा सेनामा पेन्सन पाउनेको जीवन शानसहित बित्थ्यो, तर उनले त्यो जीवन विलासितामा नभई ज्ञानमा लगाउने निधो गरे ।
    सेनामा २८ वर्ष बिताएपछि उनले पेन्सनमा निवृत्त भई गाउँ फर्के तर त्यो गाउँ बसाइ लामो टिकेन । आफ्नो अध्ययनको भोक र छोराछोरीलाई शिक्षित बनाउने चाहनाले उनी रुपन्देही झरे । लामो समय त्यहाँ बसेपछि अहिले भने काठमाडौंमा आफ्नो बुहारीसँग बस्दै आएका छन् ।

    गेरु पुन अहिले एक आँखाले नदेख्ने छन्, तर अर्को आँखामा लेन्स प्रत्यारोपण गरिसकेकाले पढ्न–लेख्न सक्छन् । उनी भन्छन्, ‘दैनिक गीता, रामायण पढ्छु । लेखिरहेकै छु, जन्मदेखि मृत्युसम्मका कर्मकाण्डबारे ।’ उनका अनुसार जन्म, न्वारान, भातखुवाइ, व्रतबन्ध, विवाह, मृत्यु संस्कार, श्राद्धलगायतका सबै संस्कार समेटिएको पुस्तक तयार पार्दै छन् । यो पुस्तक उनले आफ्नो ज्ञानको सार सङ्कलन गरी भावी पुस्तालाई दिने उद्देश्यले लेखिरहेका हुन् । उनी भन्छन्, ‘बाँचुन्जेल पढ्ने र बाँड्ने । यत्ति हो मेरो रहर र धर्म । समाजलाई यो विषय सिकाउन पनि मलाई भगवानले तन्दुरुस्त राखेका छन् ।’

    पेन्सन होइन, पाठ्यपुस्तकले दिएको आनन्द
    उनको घरमा कुनै विलासिता छैन । छेउमा किताबको थुप्रो, सामान्य बसाई र ढोकाझ्यालबाट झुल्किने उज्यालो । उनी दिनको ४–५ घण्टा अध्ययन गर्छन्, बाँकी समय बुहारी, नाति नातिनीसँग बिताउँछन् ।
    ‘कुनै दिन म किताब नपढी दिन बिताउन सक्दिन, अचेल त बुहारीले नै विभिन्न सांस्कृतिक विषयका पुस्तकहरू ल्याइदिन्छिन्, नातिनीले पनि ल्याइदिन्छन् मेरो रुचिअनुसार आफन्त, साथीभाइहरूले पनि त्यस्तै प्रकारका पुस्तकहरू पाहुरका रूपमा ल्याइदिन्छन्’ उनी भन्छन् ।
    कर्मकाण्डसँगै धर्मशास्त्र, नेपाली इतिहास, संस्कृत साहित्य, भाषाशास्त्रका किताबहरूसमेत उनी अध्ययन गर्छन् । यद्यपि उनले कुनै औपचारिक डिग्री लिएका छैनन्, तर उनीसँग जुन जीवनानुभव र अध्ययनको गहिराइ छ, त्यो कतिपय पिएचडीधारीसँग नहुन सक्छ । ‘मैले कुनै विद्यालय कलेज गएर पढेको होइन, रिटायर्ड भएपछि सबै पढ्न थालेको हुँ, संस्कृतका श्लोक पढ्न त निकै समय लागेको हो, अहिले सहजै सबै पढ्न सक्छु, निरन्तरको लगावले सक्षम भए होला जस्तो लाग्छ ।’ उनले सुनाए ।

    शिक्षा र संस्कारको अन्तरसम्बन्ध
    गेरुको जीवन एउटा पाठशालाजस्तै छ । उनले आफ्ना बुहारी नातिनातिनाहरूलाई संस्कृत पाठ गराउँछन् । बुहारी प्रतिभालाई पढाएर शिक्षित बनाएका छन् । छोराको मृत्युपछि आफूलाई सम्हाल्दै, बुहारीलाई उच्च शिक्षा दिलाएर समाजमा राम्रो चिनाउन सक्नु उनको लागि गर्वको विषय हो ।
    उनी भन्छन्, ‘शिक्षा भनेको बाँचुन्जेल पढ्ने कुरा रहेछ । म अझै १५–२० वर्ष बाँच्न सक्छु, र बाँचेको सबै समय म किताब पढ्न र ज्ञान बाँड्न चाहन्छु ।’

    ‘लाहुरे’को कथाः चाँदीका डलरदेखि च्यातिएको छालासम्म
    गेरु पुनको जीवनमा ‘लाहुरे’ कहलिने छुट्टै सन्दर्भ छ । उनी भन्छन्, ‘पहिलो छुट्टीमा त म ३ वर्षपछि घर फर्किएँ । चाँदीका हजार डलर बोकेको थिएँ, तर ढाडको छाला गएकै थियो ।’ सुनौलीबाट भरिया गरेर ९ दिन हिँडेर म्याग्दी पुग्थे । भारतीय सेनाले यात्रा समयलाई छुट्टै बिदा दिन्थ्यो ।
    ४७ वर्ष अगाडि उनी ९ सय रुपैयाँ मासिकमा निवृत्त भए, अहिले भने मासिक १ लाख जति पेन्सन आउँछ । धेरैले त्यस्तो रकम विलासितामा खर्च गर्छन्, उनले चाहिँ ज्ञान प्राप्तिमा खर्च गरेका छन् ।
    गाउँमा फर्किएपछि केही वर्ष खेतीकिसानी गरे । तर मन पढाइमै थियो ।

    ‘मैले सेना हुँदा धेरै कुरा बुझेँ, अब बाँकी जीवनमा ती कुरा बाँड्ने चाहन्छु’ उनी भन्छन् । अहिले उनी काठमाडौं बस्छन् तर मन भने अझै गाउँमै रमाउँछ । ‘समाजले मलाई धेरै दियो, अब म समाजलाई केही दिन चाहन्छु’ उनको जीवनदर्शन हो । गेरुको जीवन एउटै सूत्रमा बाँधिएको छ ः पढ, लेख र बाँड । उनले ज्ञानप्रतिको श्रद्धा कहिल्यै घट्न दिएनन् ।
    शारीरिक रूपमा केही कमजोरी भए पनि मानसिक र बौद्धिक सक्रियता आज पनि उच्च छ । ‘अब म बाँच्छु भने १५–२० वर्ष, तर बाँचेको समय समाजका लागि बाँच्छु’ उनी भन्छन् । यस्तो भावना, यस्तो समर्पण, यति गहिरो अनुशासनका कारण उनी आज ९३ वर्षको उमेरमा पनि समाजको मेरुदण्डझैँ बनेका छन् ।

    गेरु पुनलाई चिनेका गाउँका मानिस, पुराना सहकर्मी र विद्यार्थीहरू सबै भन्छन्, ‘उहाँजस्तो जीवन जिउन सकियो भने जीवन नै सफल हुन्छ ।’ उनका बुहारी, छिमेकी, स्थानीय बुद्धिजीवीहरूले समेत उनलाई ‘चला–चल्तीको भूपू होइन, समाजका लागि बाँच्ने भूपू’ भनेर चिन्ने गर्छन् । भारतीय सेनाबाटै निवृत्त बागलुङका भुवनसिंह विश्वकर्माले गेरुको अथक मेहनतलाई समाजले उच्चा सम्मान गर्नुपर्ने र उनीसँग भएको ज्ञानलाई नयाँ पिँढीलाई सिकाउनुपर्ने बताए ।

    ‘म ७३ सालको भएँ म भन्दा २० वर्ष जेठो हुनुहुँदो रहेछ तर उहाँको ज्ञान शैलीलाई संरक्षण गर्न परिवार र समाजले नै योजना बनाउनुपर्ने देखियो, कति धेरै ज्ञान रहेछ’ उनले भने ।
    धेरै भूपू सेनानीहरू पेन्सन र आराममै जीवन बिताउँछन्, उनले भने पढेर समाजमा चेतना फैलाउने उद्देश्य बनाएकाले यसको विषयमा ठुलै कृति बनाएर वृत्त चित्तसमेत बनाउनुपर्ने आवश्यकता देखिएको निवृत्त शिक्षक दलबहादुर गुरुङ बताउँछन् ।

    गेरुकी बुहारी डा. प्रतिभा पुनले ससुरा बुवाकै उत्प्रेरणाले आफूले बिहेपछि अध्ययन गरेर पिएचडी सकाउन पाएको बताउँछिन् ।
    ‘बुवाले प्रेरणा नदिएको भए कसरी बिहे भएका चेलीहरूले पढ्न पाउँथे, तिमी पढ जसरी पनि पास हुनुपर्छ, कहाँ के कति रकम आवश्यकता पर्छ त्यसको म व्यवस्था गर्छु, भन्दै भर्ना गरिदिने, पुस्तकहरू ल्याइदिने गर्नुभयो, श्रीमान् बितेपछि पनि उहाँकै प्रेरणाले पढ्न सक्षम भएकी हुँ’ उनले भनिन् –‘अब बुवाका कृतिहरू प्रकाशन गर्ने, यी ज्ञानहरूलाई सुरक्षित बनाउने मुख्य उद्देश्य बनाउने हो, सबैको सल्लाहमा ।’ काठमाडौँ बस्ने गेरु अहिले आफ्ना विगतका साथीहरू, आफूले सिकेको ठाउँको अवस्था हेर्न केही दिनयता रुपन्देही आएका छन् ।

  • स्वास्थ्य मन्त्रालयलाई हर्क साम्पाङको पत्र- कुलङ्‍घारले अस्पतालको जग्गा दिइ पठाएछ, प्लीज फिर्ता गरिदिनु

    स्वास्थ्य मन्त्रालयलाई हर्क साम्पाङको पत्र- कुलङ्‍घारले अस्पतालको जग्गा दिइ पठाएछ, प्लीज फिर्ता गरिदिनु

    काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नगर अस्पतालको जग्गा फिर्ताका लागि संघीय सरकारको स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरेका छन् । उनले पत्रमा प्रयोग गरेको भाषा शैली भने मर्यादित छैन ।

    अनौपचारिक शैलीमा साम्पाङले लेखेका छन्, ‘उपर्युक्त सम्बन्धमा धरान उपमहानगरपालिकाले आफ्नै नगर अस्पताल बनाउन चाहेको छ । छाता चोकमा रहेको पुरानो अस्पतालको जग्गा कुनचाहिँ कुलङ्घारले दलालीमा भुलेर बीपी अस्पताललाई दिइ पठाएछ थाहा भएन यसरी नगरपालिकाको जग्गा लान पाइँदैन । Please फिर्ता गरिदिनु होला । धन्यवाद ।’

    पत्रको बोधार्थ प्रधानमन्त्रीको कार्यालयलाई पनि पठाइएको छ ।

  • प्यूठानमा एकल महिलाले थाले ‘रातो अबिर’ अभियान

    प्यूठानमा एकल महिलाले थाले ‘रातो अबिर’ अभियान

    प्यूठान । प्यूठानका एकल महिलाले ‘रातो अबिर अभियान’ थालेका छन् ।

    सामाजिक विकास डिभिजन कार्यालयले एकल महिलाका लागि आयोजना गरेको क्षमता विकास कार्यक्रमबाट करिब १ सय ५० जना एकल महिलाले यो अभियान सुरू गरेका हुन् ।

    श्रीमान् गुमाएर एकल जीवन बिताइरहँदा पनि सेतो पहिरनमा हिँड्नुपर्दा समाजमा अपहेलित हुनुपरेको बताउँदै उनीहरूले रातो अबिर अभियान चलाएका हुन् । रातो रंग श्रीमानको उपहार नभएर प्रकृतिको उपहार भएकोले एकल हुँदा रातो रंग प्रयोग गर्न हुँदैन भन्ने सामाजिक कु-संस्कार तोड्न महिलाहरू जुर्मुराएका छन् । कस्तो रंग पहिरन गर्ने भन्ने महिलाहरूलाई स्वतन्त्रता हुनुपर्ने सहभागीहरूले बताए ।

    एकल महिलाहरूको क्षमता विकास गर्ने उद्देश्यले आइतबार र सोमबार प्यूठानको जुम्रीमा आयोजित कार्यक्रममा सहभागी एकल महिलाहरुले आफ्ना दु:ख, कठिनाइ र समाजबाट भएका हेपाइका फेहरिस्त सुनाएका थिए । गाडी चढ्दा समेत साइत बिग्रिने भन्दै चालकले नचढाएको दु:खेसो उनीहरूले पोखे ।

    वैदेशिक रोजगारीको सिलसिलामा श्रीमान गुमाएर एकल जीवन बिताइरहेकी नौबहिनी गाउँपालिकाकी एक महिलाले गहभरी आँसु पार्दै कार्यक्रमकी प्रमुख अतिथि लुम्बिनी प्रदेश सांसद निमा गिरीको अगाडि दु:ख पोखिन् ।

    समाजले एकल महिलाहरूलाई तिरस्कृत गरिरहेको, राजनीतिक दलहरुले पनि महिलाहरूको संवैधानिक हक कुण्ठित गरिरहेकोले `रातो अबिर’ अभियानसँगै अधिकारको उपभोगमा लाग्ने एकल महिलाहरूले उद्घोष गरेका छन् ।

    एकल महिलाको उक्त अभियान अब प्यूठानका ६४ वडा र सिँगो लुम्बिनी प्रदेशभरी पुर्‍याउनुपर्ने लुम्बिनी प्रदेश सभामुख तुलाराम घर्तीमगरले बताए । लुम्बिनी प्रदेश सांसद निमा गिरीले प्रमुख जिल्ला अधिकारीलाई एकल महिलाका समस्यालाई प्रो-एक्टिभ भएर चासो दिन र हिंसा हुन नदिन महत्वपूर्ण भूमिका निर्वाह गर्न अनुरोध गरिन् ।

    कार्यक्रममा सहभागीहरु २१ वर्षमै पति बितेकादेखि ६० वर्षसम्मका थिए । आफूजस्तै थुप्रै महिला भेट्न सबै खुसी भएका थिए ।

    तस्बिरहरु: मधुसुदन भण्डारी/नेपाल फोटो लाइब्रेरी

  • अमेरिका छाडेर रुकुमपूर्व पुगेका युवा डाक्टर खराल- म गाउँमै केही गरेर देखाउन चाहन्छु

    अमेरिका छाडेर रुकुमपूर्व पुगेका युवा डाक्टर खराल- म गाउँमै केही गरेर देखाउन चाहन्छु

    रूपन्देही । अमेरिका जाने धेरै नेपालीको सपना हुन्छ । अमेरिका पुगेपछि स्वदेश फर्कने कमैको चाहना हुन्छ । त्यसमाथि अमेरिकामा अवसर पाएकाहरू सितिमिति फर्किहाल्न तयार नै हुँदैनन्, तर, रूपन्देहीको तिलोत्तमा नगरपालिका- १ नयाँमिलका ३० वर्षीय चिकित्सक डा. कृष्ण खराल स्वदेश फर्किएका छन् ।

    अमेरिका बस्ने सजिलो बाटो हुँदाहुँदै उनी स्वदेश फर्किएर दुर्गम हिमाली जिल्ला रुकुमपूर्वको जिल्ला अस्पतालमा सेवारत छन् । सदरमुकामस्थित अस्पतालमा सेवा भए पनि उनी दुर्गम गाउँमा पुगेका छन्, त्यहाँ स्वास्थ्य सेवा दिइरहेका छन् ।

    किन अमेरिका रोज्नुभएन भन्ने प्रश्नमा उनी विनम्र जवाफ दिन्छन्, ‘देशको मायाले, आफ्नै भूमिमा केही गर्ने उद्देश्यले फर्किएको हुँ ।’

    उनका अनुसार अमेरिका पुग्न अवैध बाटो समाउने रुकुमपूर्वका स्थानीयले पनि यही प्रश्न पटकपटक सोध्ने गरेका छन् । सबैलाई उनले यही जवाफ दिँदै आएका छन् । अधिकांश नेपाली युवाले अमेरिका, अस्ट्रेलिया, क्यानडा र युरोप रोजिरहेका बेला अमेरिका पुगिसकेका एक युवा चिकित्सक त्यहाँको चम्किलो भविष्य त्यागेर रुकुमपूर्वको दुर्गम गाउँ रोजेकोमा धेरै अचम्भित छन् ।

    ‘धेरै यो निर्णय गल्ती भयो भनेको अवस्था छ, तर मैले गल्ती होइन, सही निर्णय लिएको हो । यो मेरो देश हो । यहाँका जनताले पनि सेवा पाउनुपर्छ भन्ने भावना बोकेर आएको हुँ’, उनले सुनाए ।

    डा. खरालका बुवा भागिरथ र आमा शोभा सामान्य पेशा गर्दै तिलोत्तमामै बसोबास गर्छन् । उनका जेठा दाजु नवीन सडक विभाग बुटवलको इन्जिनियर र माइला दाजु लक्ष्मण बुटवल उपमहानगरमा इन्जिनियर छन् ।

    उनले स्नातकसम्मको सम्पूर्ण अध्ययन पूर्ण छात्रवृत्तिमा गरेका थिए । २०६५ सालको एसएलसी परीक्षामा आफू नेपाल तेस्रो भएको उनी बताए ।

    रूपन्देहीकै प्यारामाउन्ट माविबाट एसएलसी गरेका उनले काठमाडौंको पेन्टागन कलेजमा विज्ञान विषय लिएर पढे । त्यसपछि नेपाल सरकारको छात्रवृत्तिमा पोखरास्थित मणिपाल कलेज अफ मेडिकल साइन्सेसमा चिकित्साशास्त्र अध्ययन गरे ।

    पढाइमा अब्बल उनी पढ्दापढ्दै चिकित्सा शिक्षा सुधार आन्दोलन, विभिन्न स्वास्थ्य शिविर, ग्रामीण सेवामा चिकित्सक शिक्षकको भूमिकामा खटिए । कोभिड महामारीका बेला उनी गोरखा जिल्लाको दुर्गम गाउँमा स्वयंसेवी चिकित्सकका रूपमा गए । पहिलो लहरमा त्यहाँ रहे, दोस्रो लहरमा उनी रूपन्देहीको फर्साटिकर गाउँमा महामारी नियन्त्रण अभियानमा जुटे । त्यो बेला थुप्रै निजी अस्पताल बन्द थिए, धेरै चिकित्सक काम गर्न डराइरहेका थिए, तर डा. खरालले जोखिम मोलेर गाउँ-टोलमा पुगेर सेवा गरे ।

    कोभिडपछि डा. खराल अमेरिका लागे । त्यहाँ उनले क्लिनिकल एक्सपोजर, अवलोकन, अनुभव र विश्वस्तरीय स्वास्थ्य प्रणाली अध्ययन गरे । उनलाई मेडिकल परीक्षा दिएर अमेरिकामै जागिर खान सजिलो थियो, तर उनी त्यहा बसेनन् ।

    ‘विदेशमा बस्न सजिलो छ, तर त्यहाँ म नेपाली जनतालाई सेवा गर्न सक्दिनँ । देश हामीले बनाउनुपर्छ । यहाँका जनताले पनि राम्रो स्वास्थ्य सेवा पाउनुपर्छ’, डा. खराल भन्छन् ।

    अमेरिकाबाट फर्किएपछि उनले लोकसेवा आयोगको परीक्षा दिए । कर्णाली प्रदेश लोकसेवामा नाम निकाले पनि । संघीय लोकसेवा आयोगमा पनि उत्कृष्ट अंक ल्याएर उत्तीर्ण भए । लुम्बिनी प्रदेशको हिमाली जिल्ला रुकुमपूर्व छनोट गरेर जिल्ला अस्पताल पोस्टिङ भए । अहिले उनी जिल्ला अस्पताल रुकुमपूर्वको निमित्त मेडिकल सुपरिटेन्डेन्ट (मेसु) छन् ।

    अस्पताल छ, विशेषज्ञ छैनन्

    रुकुमपूर्व दुर्गम हिमाली जिल्लामध्ये एक हो । जिल्ला अस्पतालमा ७० जनाको दरबन्दी भए पनि २५ प्रतिशतभन्दा बढी स्वास्थ्यकर्मी टिक्दैनन् । यहाँ एक जनामात्र विशेषज्ञ चिकित्सक छन् ।

    उनले भने, ‘यहाँ बस्न कसैले मान्दैन । साधन, स्रोत, जनशक्ति सबै अभाव छ, तर म यिनै अभावका बीच आशा देख्न चाहन्छु । स्वास्थ्य सुधारको थालनी दुर्गमबाटै हुनुपर्छ ।’

    उनको नेतृत्वमा रुकुमपूर्वमा अपरेसन, एमर्जेन्सी, सुरक्षित मातृत्व, बाल स्वास्थ्य कार्यक्रम र दैनिक ओपीडी सुधार अभियान सञ्चालनमा छ । उनी भन्छन्, ‘हामीसँग सबै कुरा छैन, तर जहाँ जे छ, त्यसैबाट सुरु गर्नुपर्छ । म यहीबाट उदाहरण देखाउन चाहन्छु, हामीले चाहे सबै कुरा सम्भव छ ।’

    स्वास्थ्य नीतिमा सुधार ल्याउनु, ग्रामीण जनतालाई ‘कम्तीमा न्यूनतम सेवा सुनिश्चित’ गराउनु र जिल्लामा सेवा पुग्ने ढोका खोल्नु आफ्नो लक्ष्य भएको डा. खराल बताउँछन् ।

    उनी भन्छन्, ‘अहिलेको पुस्ताले देश बनाउँछ भने त्यो बनाउने ठाउँ गाउँ हो, अस्पताल हो, स्कूल हो, सहर होइन । म गाउँमै केही गरेर उदाहरण देखाउन चाहन्छु ।’

    आफू रुकुमपूर्व आएको धेरै नभए पनि केही सुधारका काम थालेको उनको भनाइ छ । ‘२ वर्ष बसेर केही नयाँपन दिने हो, म आएपछि अप्रेसन यही सुरु भएको छ, अक्सिजन प्लान्ट बन्द थियो, त्यो अघि बढ्यो’, डा. खराल भन्छन्, ‘भवन निर्माण अलपत्र थियो, अहिले कामको गति बढेको छ । नयाँ एम्बुलेन्सको व्यवस्थापन भयो । ब्लड बैंक छैन, त्यसको पहल भएको छ ।’

    खासगरी डाक्टर नै नबस्ने अवस्था भएको र त्यसको वातावरण बनाउन आफू लागिपरेको उनको भनाइ छ । डा. खरालका अनुसार लामो समय युद्ध भएको क्षेत्र भएकाले यहाँ धेरै मानसिक बिरामी भेटिएका छन् ।

    ‘गाउँगाउँमा मानसिक बिरामी धेरै भेटिएका छन्, मैले नै धेरै ठाउँमा शिविर चलाएर मनोरोग विशेषज्ञमार्फत उपचार थालिएको छ’, उनले भने, ‘यसले नागरिकमा अपनत्वको भावना बढेको छ । उनीहरूले आफ्ना समस्या खुलेर बताउन थालेका छन् ।’

    रुकुमपूर्वबाट रिफर गरेर दाङका अस्पताल पुग्न ११ घन्टा लाग्छ । त्यही भएकाले जटिल विषयबाहेकका उपचार गराउने व्यवस्था रुकुमपूर्वमै गर्नुपर्छ भनेर आफू लागिपरेको उनको भनाइ छ ।

    ‘प्रदेश र संघका स्वास्थ्य मन्त्रालयमा यी विषय उठाइरहेको छु । म आएपछि विस्तारै सम्बोधन भएको ठानेको छु’, डा. खराल भन्छन्, ‘जिल्ला अस्पतालमा अहिलेसम्म पूर्ण रूपमा मेसु बसेका छैनन् । अस्पतालमा मात्रै होइन, सबै कार्यालयमा कर्मचारी नै छैनन् । स्थानीयका समस्या निकै रहेछन् । एक ठाउँबाट अर्को ठाउँमा पुग्नै समस्या, आजमात्रै म मैकोटमा शिविर चलाएर आएको हुँ ।’

  • ३२ वर्षीय अशेष- दिनभर रक्तदान अभियानमा लाग्छन्, रातभर व्यवसायमा खटिन्छन्

    ३२ वर्षीय अशेष- दिनभर रक्तदान अभियानमा लाग्छन्, रातभर व्यवसायमा खटिन्छन्

    रूपन्देही । समकालीन साथीहरू कोही विदेशमा कमाइरहेका छन् भने कोही स्वदेशमै रमाइरहेका छन्, तर बुटवलका अशेष सिलवालको दैनिकी यी साथीहरूको भन्दा फरक छ । ३२ वर्षीय सिलवाल दिनमा नियमित रक्तदानसहित स्वास्थ्य सचेतनाको अभियानमा लाग्छन् र रातको समयमा व्यवसायमा खटिन्छन् ।

    नेपाल नियमित रक्तदाता संघ रूपन्देहीका अध्यक्ष छन् अशेष । त्यसैले सामाजिक अभियानमा लागिपरेका छन् उनी । नेपाल नियमित रक्तदाता संघमा निरन्तर खटिनुमा अशेषसँग दुःखद तर बलियो साइनो छ ।

    उनका बुवा सरोज सिलवाल बन्दीको अगुवाइमा २०६१ सालमा स्थापना भएको उक्त संस्थाले रूपन्देहीमा नियमित रक्तदानको अभियान थालेको हो । यही अभियानमा हिँडेका बेला २०६४ सालमा मोटरसाइकल दुर्घटनामा परेर सरोजको मृत्यु भएको थियो । त्यसबेला अशेष १३ वर्षको मात्रै थिए ।

    ‘रूपन्देहीलाई रक्तदाताको हब बनाउने मेरो चाहना छ, बुवाको कर्म, विचार र प्रेरणालाई अघि बढाउने ढृढ संकल्पका साथ काम गरेको छु’, अशेष भन्छन्, ‘बुवासँग रक्तदान गर्ने अवसर त मिलेन, तर उहाँको अभियानलाई साथ दिएर २५औं पटक रक्तदान गरिसकेको छु । रजत पदकबाट सम्मानित हुँदा बुवालाई सम्झिरहेको छु ।’

    उनले बुवाको १५०औं पटक रक्तदान गर्ने सपना आफूले पूरा गर्ने सुनाए । बुटवल क्षेत्रमा धेरै अस्पताल भए पनि यहाँ बिरामीहरूका लागि आवश्यक पर्ने रगत पाउन समस्या छ । त्यसैले सरोजले केही मनकारी मान्छेहरू जुटाएर यो संस्था सुरु गरेको संस्थाका कानूनी सल्लाहकार दामोदर घिमिरे बताउँछन् ।

    खासगरी माओवादी युद्धको समयमा बुटवलमा सबैतिरबाट केन्द्रमा पर्ने भएकाले पनि धेरै घाइते निजी अस्पतालहरूमा आउने र रगत आवश्यक पर्ने भएकाले संस्था आवश्यक भएको महसुस भएको घिमिरे बताउँछन् ।

    उनका अनुसार अभियानका संयोजक सरोजको मृत्यु भएसँगै संस्था लामो समय अभिभावकविहीन भएको थियो । छोरा अशेष पनि पढ्दै थिए । संस्थाका अरु सदस्यहरू पनि निष्क्रिय भएका थिए ।

    ‘तर अहिले अशेषले नेतृत्व गरेसँगै उनका बुवाको अभियानमात्रै अघि बढेको छैन, संस्था पनि पुनः क्रियाशील भएको छ’, घिमिरेले भने ।

    अहिले यस संस्थामा साढे ३०० सदस्य छन् । जिल्लाका विभिन्न स्थानमा हुने अभियान निरन्तर चलिरहेको छ । रक्तदानलाई पनि त्यसैगरी अघि बढाइएको छ । यसमा सबै सदस्यले सहयोग गरेर संस्थालाई अघि बढाइएको छ । धेरै आजीवन सदस्य बनेका छन् । तीन पटक रक्तदान गरेको मान्छेमात्रै संस्थाको आजीवन सदस्य हुन पाउने प्रावधान छ ।

    आमा, भाइ, बहिनी र श्रीमती रहेका अशेष भन्छन्, ‘पहिलो कुरा त मेरो बुवाको सपना थियो, कसैलाई रगत अभावमा छटपटिन नपरोस्, तर उहाँले नै दुर्घटनामा ज्यान गुमाउनुपर्‍यो । अहिले म त्यही सपना पूरा गर्न खटिएको छु । रातको समयमा परिवारको स्रोत जुटाउन व्यवसाय गरेको छु, दिनभर यही अभियानमा हिँडिरहेको छु ।’

    संघले रक्तदानसँगै जिल्लाका विभिन्न स्थानमा स्वास्थ्य शिक्षासहितका सचेतनामूलक कार्यक्रम अघि बढाएको छ । जिल्लाका १६ पालिकामध्ये ११ वटामा यस्तो कार्यक्रम निरन्तर चलाउँदै आएको उनी बताउँछन् ।

    हरेक मान्छे गम्भीर बिरामी पर्दा रगत चाहिने भए पनि रगत दान गर्नुपर्छ । रगत दानले शरीरलाई कुनै घाटा गर्दैन भन्ने सचेतना बढाउन नसकिएको सिलवालको भनाइ छ ।

    ‘संघसंस्थामात्र होइन, स्थानीय सरकारहरूले पनि नीतिगत तहमै यसलाई अगाडि बढाउनुपर्छ । सचेतनाकै कमी छ । सबै शिक्षण संस्थामा यसलाई अभियानका रूपमा अघि बढाउन जरुरी छ’, उनले थपे ।

    उनका अनुसार यस्ता कार्यक्रम गर्ने संघसँग कुनै नियमित स्रोत छैन । सदस्यहरूबाट सहयोग जुटाएर काम गरिएको छ । कुनै कुनै पालिकाले समन्वय पनि गरेका छन् ।

    ‘सरकारी अस्पतालहरूमा बिरामीलाई निःशुल्क रगत उपलब्ध भए पनि निजी अस्पतालहरूमा त्यो व्यवस्था छैन । रगतको मूल्य नभए पनि यसको व्यवस्थापन खर्च भनेर बुझाउनुपर्छ’, अशेष भन्छन्, ‘रेडक्रस सोसाइटीले रक्तदानको अभियान चलाउन सकेको छैन । प्राविधिक पठाए पनि खर्च दिनुपर्छ । त्यसैले पनि नियमित रक्तदान गर्न स्रोतको व्यवस्थापन चुनौती बनेको छ ।’

    रगत अभावमा मान्छेहरू दौडिरहेको देख्दा मन खिन्न हुने गरेको अशेष बताउँछन् । ‘वार्षिक ३६ हजार युनिट रगत रूपन्देहीमा खपत हुन्छ, हरेक वडामा वर्षमा दुई पटक रक्तदान गर्ने व्यवस्था गर्नसके रगत अभावको समस्या सहजै समाधान हुन्थ्यो । अहिले यही विषय उठाइरहेका छौं’, उनी भन्छन् ।

    यसरी चलेको छ अभियान

    संस्थाले ‘टोलटोलमा रक्तदान, एक घर एक रक्तदाता हाम्रो अभियान’ भन्ने मुख्य नारासहित रूपन्देहीका सबै पालिकामा निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान अभियान सञ्चालन गरेको छ । पुसको दोस्रो हप्तादेखि निरन्तर प्रत्येक शनिबार १६ हप्तासम्म रूपन्देहीका १६ वटै पालिकामा अभियान थालेको उनले जानकारी दिए ।

    कुनै पनि बिरामी रगतको अभावबाट मृत्युवरण गर्न नपरोस् भनी हरेक महिनाको दोस्रो र तेस्रो शनिबार नियमित रक्तदान कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

    त्यस्तै संस्थाले रक्तसञ्चार सेवा केन्द्रमा रगत अभाव हुँदा आकस्मिक रक्तदान कार्यक्रम र समुदायस्तरमा पुगी रगत संकलन, रक्तदानसम्बन्धी उत्प्रेरणा कार्यक्रम, रक्तदान र रक्त तत्वको बारेमा सचेतना कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ । जिल्लामा रगत अभाव हुन नदिन आफ्नो सञ्जाललाई विस्तार गर्ने क्रममा विभिन्न जिल्ला र पालिकास्तरमा समेत शाखा विस्तार गरिएको छ ।

    दिनमा समाज सेवा, रातमा व्यवसाय

    दिनमा सामाजिक काम गर्ने अशेषले परिवारको आर्थिक व्यवस्थापन गर्न रात्रीकालीन व्यवसाय चलाएका छन् । उनले ६ वर्षदेखि बुटवलको मिलनचोकमा सेन्टर किचनमार्फत ‘अजिको भान्सा घर’ चलाएका छन्, जुन दिउँसो ३ देखि राति ३ बजेसम्म मात्रै खुल्छ । यहाँ अर्डरअनुसारका खाजा तथा खाना पाइन्छ ।

    आफूले नयाँ अभ्यासका रूपमा चलाएको व्यवसाय अहिले सफल भएको उनले बताए ।

    ‘सामाजिक सञ्जाल र फोन कलबाटै यो व्यवसाय चलेको छ । अस्पताल, कम्पनी र केही घरमा होम डेलिभरी गर्छौं । यसको लागि ठूलो लगानी पनि नचाहिने रहेछ’, अशेषले भने, ‘तर समय र दौडधुप भने राम्रै हुन्छ । होटलमा बसेर खान पाइँदैन, सबै होम डेलिभरी हो । नेवारी आइटम सबैजसो बन्छ ।’

    व्यवसायमा अशेषलाई आमा र श्रीमतीले साथ दिएका छन् । त्यस्तै अन्य पाँच जनालाई रोजगारी दिएको उनको भनाइ छ ।

    ‘म दिनभर रक्तदान अभियानमा हिँड्छु । व्यवसाय बढ्दै गएकाले अहिले पाँच जनालाई काम दिन सकिएको छ’, उनले भने, ‘आमा र श्रीमतीले तयार पारेपछि कर्मचारीमार्फत अर्डरअनुसार व्यवस्थापन हुन्छ । सुरुमा त म आफैं सबै डेलिभरीमा पुगेको हुँ ।’

  • नवलपुरमा फेरि बगायो डाइभर्सन पूर्वपश्चिम राजमार्ग अवरुद्ध

    नवलपुरमा फेरि बगायो डाइभर्सन पूर्वपश्चिम राजमार्ग अवरुद्ध

    रुपन्देही । नवलपुरको दुम्किबासको विनयी खोलामा डाइभर्सन बगाएपछि पूर्वपश्चिम राजमार्ग आज बिहानबाट अवरुद्ध बनेको छ । अहिले बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

    वैकल्पिक मार्गको रूपमा सञ्चालन गरिएको विनयी त्रिवेणी ३ स्थित खरङ्गे खोलामा वर्षातको कारण पानीको बहाव बढ्न गई सडक अवरुद्ध भएको हो ।

    खोलामा पानीको बहाव बढेपछि खरङ्गे खोलामा कुनै पनि सवारी साधन पास हुन नसकेको हो । पूर्वपश्चिम राजमार्गको नारायणगढ बुटवल सडक खण्ड पछिल्लो १५ दिनयता राम्ररी सञ्चालनमा आउन सकेको छैन ।

    दैनिक जसो सडक अवरुद्ध हुने गरेको छ । दुम्किबासको विनयी खोलामा बनाएको डाइभर्सन पनि बगाएपछि समस्या आइरहेको छ ।

    पाल्पा लगायत नवलपुरका पहाडी क्षेत्रमा पानी पर्नासाथ दुम्किबासको विनयी खोला र त्यसका आसपासका सहायक नदीहरूमा पानीको बहाव बढ्ने त्यहाँस्थित पत्रकार रामकुमार श्रेष्ठले जनाए ।

    पछिल्लो दुई दिन घाम लागेका कारण यस सडक खण्डको दाउन्ने र दुम्किबासमा यात्रा केही सहज भए पनि रातिदेखि परेको पानीले पुन असहज भएको छ ।

    दुम्किबासको विनयी खोलामा पुल भाँचिएको करिब ६ महिना पुगिसक्दा पनि यहाँ नयाँ पुल निर्माण कार्यले अझै पूर्णता पाउन सकेको छैन ।

    दुम्किबासको विनयी खोलामा डाइभर्सन नबन्दा र पुल निर्माण कार्य नसकिएका कारण यो बाटो भएर सञ्चालन हुने सयौँ सवारी साधनहरू दुम्किबास–सर्दी–होङसी गेट आउने २८ किलोमिटर बढी यात्रा गर्न बाध्य छन् । उक्त बाटो पनि आज विहानदेखि अवरुद्ध भएको नवलपुर प्रहरीले जनाएको छ ।

    यता दुम्किबासको विनयी खोलामा पुल निर्माणको काम सकिएको आज २२ दिन कटेको छ तर पनि यो पुल तत्काल खोल्ने पक्षमा बुटवल नारायणगढ सडक विस्तार गरिरहेको ठेकेदार पक्ष चाइना स्टेट कम्पनी देखिएको छैन ।

    असार १४ गते सञ्चालनमा ल्याइने भनेको पुल असार १५ सम्म पनि सञ्चालनमा ल्याइएको छैन । विनयी खोलामा बनेको नयाँ पुल छिटोमा असार २० सम्म सञ्चालनमा ल्याइने पक्षमा ठेकेडार पक्ष चाइना स्टेट कम्पनी देखिएका छन् ।

    चाइना स्टेट कम्पनीका इन्जिनियर राकेश झाले असार २० भन्दा अगाडि पुल सञ्चालनमा आउने कुनै सम्भावना नरहेको बताए ।

  • असार १५ : धान दिवस र दही चिउराको सांस्कृतिक पर्व मनाइँदै

    असार १५ : धान दिवस र दही चिउराको सांस्कृतिक पर्व मनाइँदै

    काठमाडौं । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ ।

    कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन् ।

    हाम्रो संस्कृतिमा दहीको स्थान महत्त्वपूर्ण छ । शुभकार्यका लागि घरबाहिर निस्कने, विदेश जाने आदि महत्त्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ । यस्ता शुभकाममा निस्कनुअघि सगुनका रूपमा पनि दही खुवाएर बिदाइ गरिन्छ । निस्कने बेलामा दही खाएर हिँडे साइत पर्ने जनविश्वास रहिआएको छ ।

    दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवद्र्धक मानिन्छ । गुरु गोरखनाथले नेपालको एकीकरणकर्ता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहलाई दही खान दिएर पराक्रमी हुने भविष्यवाणी गरेको थियो भनिन्छ । आयुर्वेदमा भोजनको अन्त्यमा दही मथेर बनाएको मोही पिएमा औषधि उपचारका लागि स्वास्थ्यकर्मीकहाँ जानु नपर्ने बताइएको छ । ‘‘भोजनान्ते पिबेत् तक्रं वैद्यस्य किं प्रयोजनम्’ भन्नेजस्ता वाक्य पनि आयुर्वेदमा उल्लेख गरिएको छ । दहीले पाचन शक्ति पनि बढाउँछ ।

    पखाला लागेका बेला दही चिउरा खाएमा औषधिको काम गर्छ । यसैले दही चिउरा खाने संस्कारले नेपाली संस्कृतिमा बृहद् रूप लिएको छ । यसरी असार १५ गते नेपाली समाजमा राष्ट्रिय सांस्कृतिक पर्व बन्न सफल भएको छ ।

    धान दिवस

    विसं २०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषिप्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेसा खेतीपाती हो ।

    किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’जस्ता लोकलयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ ।

    मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन् । असारमा एकपटक हिलोमा पस्नैपर्ने मान्यता पनि नेपालीमा समाजमा रहेको छ ।

    यस वर्ष असार मध्यसम्म पनि देशका सबै भागमा पर्याप्त मात्रामा वर्षा नभएका कारण हुनुपर्ने जति धान रोपाइँ हुनसकेको छैन । कति ठाउँमा रासायनिक मलको पनि अभाव भएको गुनासो किसानले गर्ने गरेका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भने पर्याप्त मात्रामा रासायनिक मलको मौज्दात रहेको दाबी गरेको छ ।

  • १३ वर्षको उमेरमै चम्किएको ओजस्वीको ओज

    १३ वर्षको उमेरमै चम्किएको ओजस्वीको ओज

    रूपन्देही । १३ वर्षको उमेरमै ओजस्वी आचार्यको असाधारण प्रतिभाले चर्चा पाएको छ । पाल्पास्थित दमकडा माध्यमिक विद्यालयको कक्षा ९ मा पढ्ने उनले असाधारण क्षमताकै कारण आफ्नो फरक पहिचान बनाउन सकेकी छन् । उनी देशविदेशका कार्यक्रममा सहभागी भएर विषयगत प्रस्तुति दिन अभ्यस्त भइसकेकी छन् ।

    कक्षा ८ पढ्दै उनले थाइल्यान्डमा एनआरएनको कार्यक्रममा अतिथि वक्ताको रूपमा सहभागी भएर सबैलाई आश्चर्यमा पारेकी थिइन् । वाककला, तार्किक क्षमता, अभिव्यक्तिको शैली, आत्मविश्वास र सामाजिक चेतना हेर्दा लाग्छ, उनीसँग ठूलै चमत्कार गर्ने क्षमता छ ।

    आमा मिठ्ठु आचार्य र बुवा जीवन आचार्य दुवै तानसेन नगरपालिका- ९ स्थित दमकडा नमुना माविमा शिक्षक छन् । प्लस टुसम्म पढाउने जीवन अस्थायी दरबन्दीमा छन् । मिठ्ठु स्थायी शिक्षक हुन् । ओजस्वी बुवाआमासँगै विद्यालय जानेआउने गर्छिन् ।

    शिक्षक बाबुआमाकी एक्ली छोरी ओजस्वीको बोली सुन्दा, प्रस्तुति शैली देख्दा कुनै बौद्धिक एवं परिपक्व व्यक्तित्वको भान हुन्छ । कम उमेरमै उनको भाषिक क्षमता र विषयको गहिराइबारे धेरै अचम्भित छन् । उनले विद्यालयको विभिन्न प्रतियोगिता, अन्तरक्रिया, सम्मेलन सक्रिय भूमिका खेलिरहेकी छन् ।

    थाइल्यान्ड र कम्बोडियामा आयोजित एनआरएनको दोस्रो अन्तर्राष्ट्रिय युवा सम्मेलनमा उनी प्रमुख वक्ता भएर सहभागी भएका थिए । अहिले उनी एनआरएनको बाल सद्भावना दूत (ब्रान्ड एम्बेस्डर) पनि हुन् ।

    ओजस्वीको क्षमता विकासमा उनका अभिभावकसँगै विद्यालयको योगदान रहेको छ । उनका अभिभावकका अनुसार ओजस्वीलाई सानैदेखि रेडियो कार्यक्रम चलाउने चासो थियो । अहिले विद्यालयमै रेकर्डिङ स्टुडियो छ । उनले सोही रेकर्डिङ स्टुडियोमा कार्यक्रम तयार गरेर पठाउने गर्छिन् । विद्यालयमा विशेष अतिथि आउँदा आफैंले अन्तर्वार्ता गरेर मिडियामा पठाउने गरेको ओजस्वी बताउँछिन् ।

    उनले तयार गर्ने बालबालिका कार्यक्रम अहिले लोकप्रिय छ । शैक्षिक अन्तर्वार्तादेखि भलाकुसारीसम्म उनी चलाउँछिन् । अतिथिहरूसँग गम्भीर प्रश्न उठान गर्ने क्षमताले उनको प्रस्तुति अझै जनमुखी र अर्थपूर्ण बनाएको विद्यालयका प्रधानाध्यापक मोहनप्रसाद सापकोटा बताउँछन् ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेश अर्यालका अनुसार ओजस्वी शिक्षक, अभिभावक र विद्यार्थी सबैका लागि प्रेरणाको स्रोत बनेकी छन् । उनी पढाइमा पनि अब्बल छन् । कक्षा ८ को परीक्षामा चार जीपीए ल्याएर उत्तीर्ण भएको प्रअ सापकोटाले जानकारी दिए ।

    कला र भाषिक क्षेत्रमा अब्बल ओजस्वीले चिकित्सक बन्ने सपना बोकेकी छन् । उनी भन्छिन्, ‘कहिले वकिल बन्न मन लाग्छ, कहिले शिक्षिका, कहिले डाक्टर, तर मेरो अन्तिम इच्छा भनेको बिरामीको सेवा गर्नु हो ।’

    फुर्सदमा पुस्तक पढ्ने उनी झमक घिमिरेको आत्मकथा ‘जीवन काँडा कि फूल’बाट अत्यधिक प्रभावित भएको बताउँछिन् । उनी थप्छिन्, ‘झमक अपाङ्ग भएर पनि सशक्त व्यक्तित्व हुन् । उहाँबाट मैले संघर्ष र आत्मविश्वास सिकेकी छु ।’

    ओजस्वीलाई बोल्न कुनै पनि विषय दिए पुग्छ । केही क्षण घोत्लिन्छिन्, अनि आफैंभित्र प्रश्न गर्छिन्, त्यसपछि गहिरो अनुभूति र स्पष्ट धारणासहित स्टेजमा उक्लिन्छिन् । त्यतिबेला दर्शकदीर्घाबाट ताली, वाहवाही र प्रशंसाले उनलाई उत्साहित बनाउँछ ।

    ओजस्वीले प्रारम्भदेखि नै बाबुआमाको साथ पाएकी छन् । उनी भन्छिन्, ‘बाबाआमा मेरा उत्प्रेरक हुन् । साथीहरूको हौसला, शिक्षकहरूको सहारा र विद्यालयको परिवेशले म यहाँसम्म पुग्न सम्भव भएको हो ।’

    ओजस्वीको बाल्यकाल हजुरआमा सीता आचार्यसँग बित्यो । हजुरआमाले सुनाएका कथाअनुसार ओजस्वीले बाबालाई परैबाट झिमिकझिमिक बत्ती देखाउँदै चिच्याएर चिन्ने गर्थिन् ।

    ओजस्वी सामान्य किशोरी जस्तै देखिए पनि उनमा केही न केही विशिष्टता रहेको बुवा जीवन सुनाउँछन् । उनका अनुसार पढाइ र गृहकार्यपछि ओजस्वी घरका कुखुरा र कुकुरसँग खेल्दै रमाउने र तिनीहरूसँग हाउभाउमार्फत संवाद गर्ने गर्छिन् ।

    ‘जनावरसँगको सम्बन्धमा उनले एउटा विशिष्ट रमाइलो अनुभूति पाएकी छन् । जनावरसँगको माया निकै अचम्मको छ । एक दिन स्कुल छेउमा ब्याएको कुकुरका बच्चाहरू दिनभर स्याहार गरेर बसेको देख्दा आफैंलाई आश्चर्य लागेको थियो’, बुवा जीवन भन्छन्, ‘हामीले कता हराइन् भनेर खोज्यौं, तर उनी उसको स्याहारमा बसेकी रहिछन् ।’

    ओजस्वीले आफ्नो पहिचानलाई शिक्षक आन्दोलनको समयमा दिएको एउटा प्रवचनले थपे सशक्त बनाएकी छन् । सामाजिक सञ्जालमा चर्चा पाएको उक्त प्रवचनले ओजस्वीको सामाजिक चेतनालाई उजागर गर्छ ।

    शिक्षक आन्दोलनका क्रममा ‘आज मेरो विद्यालय बन्द छ, सरहरूले मलाई घरमै बसेर पढ्न भन्नुभएको छ…’ भन्ने भनाइ रेकर्ड गरेर उनले सामाजिक सञ्जालमा सार्वजनिक गरेको सन्देशले निकै चर्चा पाएको थियो । कक्षा ८ को परीक्षा सकेर नयाँ ऊर्जा र उत्साहसाथ कक्षा ९ सुरु गर्न चाहेको बेला रोकिनुपरेको समयमा आफूले त्यसरी बोलेको उनले बताएकी छन् ।

    ओजस्वीले केही समयअघि पोखरामा भएको गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा विशेष वक्ताको रूपमा गरेको सम्बोधन पनि उस्तै चर्चामा आयो । उनले संस्कार बिर्संदा अस्तित्व नै गुमाउने अवस्थामा सनातन धर्म, संस्कार र समाजको वर्तमान अवस्थामाथि गहिरो संकटका विषयमा बोलेकी थिइन् ।

    प्रधानाध्यापक मोहनप्रसाद सापकोटासँग ओजस्वी ।

    ओजस्वीको उज्यालो भविष्य सुनिश्चित देख्नेहरू थुप्रै छन् । विद्यालयका प्रधानाध्यापक सापकोटा भन्छन्, ‘ओजस्वी हाम्रो विद्यालयकै गौरव हुन् । उनको क्षमता हाम्रा सम्पूर्ण विद्यार्थीका लागि प्रेरणाको स्रोत हो । उनीविहीन हरेक कार्यक्रम अधुरो लाग्छ ।’

    ओजस्वीलाई पछिल्लो समय ‘गुमनाम एक इतिहास: बिसे नगर्ची’ पुस्तकका लेखक दीपक तिम्सिनाले मोरङबाट उपहार पठाएका छन् । यसबाहेक थाइल्यान्ड जानुअघि उनले ‘थाइल्यान्डमा नेपालीको इतिहास’ पनि पढेकी थिइन् ।

    अहिले बेलायतको एक कार्यक्रममा अतिथि वक्ताको रूपमा जान ओजस्वीको भिसा लागिसकेको छ, तर बुवाको भिसा नलागेका कारण उनी रोकिएकी छन् । ‘छोरीको भिसा आयो, मेरो आएन । विशेष कार्यक्रम थियो, म नगई उनी जान मानेकी छैनन् । हेरौं के हुन्छ ?’, बुवा जीवनले भने ।

  • प्राचीन मिथिलाको राजधानी, आहा ! जनकपुरधाम (तस्बिरहरू)

    प्राचीन मिथिलाको राजधानी, आहा ! जनकपुरधाम (तस्बिरहरू)

    जनकपुर । रामायणकालीन इतिहास बोकेको प्राचीन मिथिलाको राजधानी जनकपुरधाम । जसलाई ५२ कुटी ७२ कुण्डको सहर पनि भनिन्छ ।

    जानकी मन्दिर हिन्दूहरुको पवित्रस्थल हो । जनकपुरधाम ऐतिहासिक, धार्मिक, पुरातात्त्विक शहर हो ।

    हेरौँ कस्तो देखिन्छ जनकपुरधाम ड्रोनबाट

  • डेढ दशकभन्दा अगाडिदेखिका आयोजना अधुरै: गाउँभर खानेपानी समस्या

    डेढ दशकभन्दा अगाडिदेखिका आयोजना अधुरै: गाउँभर खानेपानी समस्या

    ढोरपाटन । बागलुङको बडिगाड गाउँपालिका–३ सिसाखानीमा खानेपानी आयोजना सुरू भएको साढे एक दशक बित्यो । तर अहिलेसम्म उक्त आयोजना सम्पन्न हुन सकेको छैन ।

    गाउँमा ‘एक घर, एक धारा’ बनाउने गरी सुरू भएको आयोजना अलपत्र हुँदा स्थानीय निराश छन् । स्थानीयको खानेपानी समस्या समाधानका लागि विसं २०६७ मा ओखरगैंडा खानेपानी आयोजना सुरू भएको थियो ।

    योजनाको दुई किलोमिटर टाढा घिनसिङ खोलाबाट मौरीभिर सम्मो भन्ने ठाउँमा लिफ्टमार्फत ओखरबोट किम्लेमा पानी तानेर वितरण गरिने योजना थियो । तर त्यो योजना १५ वर्ष पुग्दासम्म पनि अधुरै छ । स्थानीयले दैनिक खानेपानीका लागि लाइनमा बस्नु पर्ने बाध्यता छ । सरकारले अपर्याप्त बजेट विनियोजन गर्दा कामा ढिलासुस्ती भएको हो ।

    विसं २०७२ मा सङ्घीयता आएपछि उक्त खानेपानी योजना सशर्त कार्यक्रमअन्तर्गत नेपाल सरकारबाट प्रदेश सरकारको जिम्मेवारीमा आएको छ । प्रदेश सरकारले उक्त आयोजनालाई पुनः डिजाइन गरेर काम गर्दै आएको छ । पहिले निर्माण भएको रिजर्भ ट्याङ्की र सार्वजनिक धारा अहिले काम नलाग्ने भएका छन् । यहाँको झण्डै १०० घरधुरीको घर घरमा धारा निर्माण भएका छन् ।

    घरमा धारा भए पनि पर्याप्त पानी नआउँदा स्थानीयले सास्ती खेप्नुपरेको छ । सिसाखानीको बाघखोरमा रिजर्भ ट्याङ्की निर्माण भएपछि मात्रै सहज रूपमा पानी वितरण गर्न सकिने ओखरगैँडा खानेपानी आयोजनाका अध्यक्ष दिलबहादुर पुनले बताए । एउटा ४५ हजार लिटर र अर्को २० हजार लिटरको ट्याङ्की निर्माण गरेपछि मात्र खानेपानी समस्या समाधान हुने उनको भनाइ छ ।

    अध्यक्ष पुनले भने, ‘यहाँ खानेपानी आयोजना सुरू भएको धेरै भयो तर अहिलेसम्म सम्पन्न नहुँदा हामीहरूले खानेपानीको सक बेहोर्नुपरेको छ, आयोजनाका लागि वर्षमा कहिले पाँच लाख, अहिले १० लाख बजेट आउँछ, त्यो बजेटले अपुरो काम हुन्छ, बजेट अभावका कारण अहिलेसम्म यो खानेपानी आयोजना सम्पन्न हुन सकेन, राज्यको ध्यान नगएको महसुस भएको छ ।’

    करिब ६० लाख बजेट आए मात्रै आयोजना सम्पन्न हुने अध्यक्ष पुन बताउँछन् । ट्याङ्कीसँगै वडा कार्यालय, विद्यालयलगायत स्थानमा सार्वजनिक धारा र केही घरमा निजी धारा निर्माणको काम पनि बाँकी रहेको पुन बताउँछन् ।

    वर्षौंदेखिको आयोजना पूरा नहुँदा अहिले पनि नागरिक पानी बोकेर उपभोग गर्नुपरेको स्थानीय किशोर काउचा घर्तीले बताउनुभयो । अहिले बस्तीभन्दा झण्डै एक किलोमिटर तल रहेको रिजर्भ ट्याङ्कीबाट ओखरबोटमा रहेको २० हजार लिटरको ट्याङ्कीमा झारेर अस्थायी रूपमा पानी वितरण गरिएको छ । बिहान दुई घण्टा र साँझ दुई घण्टा पानी तानेर वितरण भइरहेको उहाँको भनाइ छ । खानेपानी पर्याप्त नहुँदा सरसफाइ गर्न, बस्तुभाउलाई खुवाउन र सागसब्जीखेती गर्न समस्या भएको घर्ती बताउँछन्।

    खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बागलुङका सूचना अधिकारी सागर अधिकारीले अहिले अस्थायी रूपमा यहाँका स्थानीयलाई पानी खुवाउने व्यवस्था मिलाएको बताए । आगामी वर्ष अर्को ट्याङ्की निर्माण गरेपछि हरेक घरमा पानी पुर्‍याउने उनको भनाइ छ । अपर्याप्त बजेटका कारण धेरै योजना सम्पन्न गर्न नसकिएको अधिकारीले सुनाए ।रासस

  • मेहनती मेघनाथ: जसले विदेशमोह त्यागे, शहर छाडेर गाउँकाे उत्पादनलाई ब्रान्ड बनाए

    मेहनती मेघनाथ: जसले विदेशमोह त्यागे, शहर छाडेर गाउँकाे उत्पादनलाई ब्रान्ड बनाए

    रूपन्देही । गुल्मीको धुर्कोट गाउँपालिका- ६ सिस्तुङका मेघनाथ अर्याल विदेशको चकाचौंध र सहरको चमकदमक छोडेर गाउँ फर्किएका छन् । गाउँ फर्किएर माटोमा पसिना बगाएर समृद्धितर्फ लम्किएका छन् ।

    गाउँ फर्कनु अगाडि उनले कोरियामा तीन वर्ष पसिना बगाए, बुटवलमा १६ वर्ष श्रम गरे । अन्ततः विदेशको मोह त्यागे, सहर छाडे र बुटवलबाट गाउँ फर्किएर सुरु गरे कृषि र पशुपालन ।

    गाउँमा मेहनती किसानको परिचय बनाएका उनी स्थानीय उत्पादनलाई ब्रान्डमा रूपान्तरण गर्ने अभियन्ता पनि बनेका छन् । उनको परिश्रमको प्रतिफल हो- ‘धुर्कोटे चामल’ । धुर्कोटे ब्रान्डको चामल पहाडको खेतबारीबाट नेपाली बजारमा आइपुगेको छ ।

    ४०० मुरी धान फलाएर पाए सम्मान

    गत वर्ष मेघनाथले ७२ रोपनी आफ्नो र ४२ रोपनी लिजमा लिएको खेतमा ४०० मुरी धान फलाएर देशभर नै चर्चा बटुले । पहाडी जिल्लामा यो परिमाणको उत्पादन विरलै पाइन्छ । एक दिनमै पञ्चेबाजासहित ९२ खेताला, २७ ठिँगारे र तीन ठूला ट्याक्टरको प्रयोग गरेर १०० रोपनीमा रोपाइँ गर्दा गाउँमात्रै होइन, सिंगो जिल्ला र आसपासका किसानले सम्मान महसुस गरे । विभिन्न मिडियाले त्यो कार्यक्रमको प्रत्यक्ष प्रशारण गरे, विभिन्न क्षेत्रका कलाकारहरू पुगेर दिनभर रमाइलो गरे । स्थानीय जनप्रतिनिधिले मेघनाथको काममा हौसला र उत्साह थपेपछि उनको चर्चा झन् चुलिएको हो ।

    ‘मैले हरेक कुरामा सम्भावना देख्छु, त्यो सम्भावनामा श्रम मिसाउँछु । गाउँमा गरेर खान सकिन्न भन्ने मान्यता मेरो छैन’, अर्याल भन्छन् । त्यसकै परिणामस्वरूप, धुर्कोट गाउँपालिकाले उनलाई ६७ हजार रूपैयाँ नगदसहित सम्मान गर्‍यो ।

    गाउँपालिकाले प्रत्येक वर्ष कृषि क्षेत्रका उत्कृष्ट उत्पादनकर्तालाई विभिन्न विधामा सम्मान गर्दै आएको छ । धानतर्फ अर्यालको योगदानलाई सबैभन्दा उदाहरणीय ठहर गर्दै सम्मान गरिएको गाउँपालिकाले जनाएको छ ।

    गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेल आफ्नो क्षेत्रमा अर्यालको मेहनतलाई सधैँ सम्मान गरेको बताउँछन् ।

    ब्रान्ड बन्दै ‘धुर्कोटे चामल’

    अर्यालको उत्पादन ‘धुर्कोटे चामल’ २५ किलोको प्याकेटमा बजारमा आएको छ । मूल्य २ हजार ५०० रूपैयाँ तोकिएको छ । प्याकेजिङ, ब्रान्डिङ र लेबलिङको कार्यमा धुर्कोट गाउँपालिका र हेफर नेपालले सहयोग गरेका छन् ।

    चामलको गुणस्तर प्रमाणीकरण (नापतौल तथा गुणस्तर विभागको प्रक्रिया) पार गरेर व्यावसायिक बजारमा प्रवेश गरेको मेघनाथ बताउँछन् । उनका अनुसार अहिले सामाजिक सञ्जालबाटै धुर्कोटे चामल अर्डर गर्नेहरूको लाइन लागेको छ ।

    ‘अहिलेलाई आफ्नै खेतबाट उत्पादन भएको धानको मात्रै ब्रान्डिङ गरेको छु । बजारको अवस्था हेरेर बाँकी तयारी गर्ने हो’, उनले नेपालप्रेससँग भने, ‘अर्को वर्ष अरु किसानको किन्ने सोचमा छु, तर माग धेरैतिरबाट आयो ।’

    धुर्कोट गाउँपालिकाका अध्यक्ष पोखरेलले ‘धुर्कोटे चामल’ गाउँको गौरव बनिसकेको सुनाए । ‘यसले केवल कृषकको आत्मबल बढाएको छैन, अब धुर्कोटलाई चामल उत्पादनको ‘हब’को रूपमा पनि चिनाउन सकिने अवस्था बनाउँदैछ’, उनले भने ।

    खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयबाट सबै प्रक्रिया पूरा गरेर चामल बिक्री वितरण सुरु गरिएको पोख्रेलले बताए । उनले पालिकाले प्रविधि, उद्योग सञ्चालनसँगै चामल प्याकेजिङ तथा बजारीकरणमा सहयोग गरेको जानकारी दिए ।

    धान खेतीमा सफल अर्यालले भैंसीपालनको दायरा पनि बढाएका छन् । उनको फार्ममा भारतबाट ल्याइएका ४२ वटा मुर्रा जातका भैँसी छन्, जसमा २२ वटा दूध दिने छन् । अहिले दैनिक १०० लिटरभन्दा बढी दूध उत्पादन भइरहेको उनको भनाइ छ ।

    करिब एक करोड रूपैयाँको लगानी भएको फार्ममा स्थानीय २० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । अर्याल भन्छन्, ‘श्रम सही दिशामा लगाउन सके गाउँमै पनि सम्भावना छ । मलाई खुशी यो लाग्छ कि म अरुलाई रोजगारी दिनसक्ने अवस्थामा पुगेको छु ।’

    उत्पादनसँगै बजारीकरण

    अर्याल उत्पादनपछि केवल खेतमा बस्दैनन्, बजारसम्म पुग्न सकेन भने मेहनत खेर जान्छ भन्ने बुझेर क्रियाशील रहे । त्यसैले लेबल डिजाइनदेखि प्याकेजिङ, मूल्य निर्धारण र बजार सञ्जाल विस्तारसम्म आफैं सक्रिय भए । उनले चामलबाहेक मकैको आटा, कोदोको उत्पादन र तयसको बजारीकरण गर्ने योजना बनाइसकेको बताए ।

    ‘हामीले उत्पादन गरेरमात्रै पुग्दैन । त्यसलाई ब्रान्डमा रूपान्तरण गर्नुपर्छ । उपभोक्ताले चिन्नसक्ने बनाउनुपर्छ’, उनी थप्छन् ।

    अर्यालको गाउँ फर्कने यात्रा सजिलो थिएन । कोरियामा काम गरेर फर्किएपछि उनले बुटवलमा व्यावसायिक जीवन सुरु गरे, तर त्यो जीवनको घेराभन्दा बाहिर केही गर्न सकेनन् । ‘बुटवलमा बस्दा दैनिक जीवन धानिन्थ्यो, तर त्यहाँ मलाई सिर्जना, सम्भावना र आत्मसन्तुष्टि थिएन’, उनी भन्छन् ।

    अन्ततः २०७७ सालमा गाउँ फर्किए । सुरुमा आलोचना पनि भयो, तर उनले आफ्नो यात्रालाई रोकेनन् । बाँझो खेत लिजमा लिए । मल, बीउ, औजार र मिस्त्रीको मद्दतमा बाँझो खेतलाई उब्जाउ बनाए । अहिले उनको यो कर्मलाई सबैले सम्मान गरेका छन्, उदाहरण दिएका छन् ।

    बाँदर-बँदेल र चुनौती

    अर्याल भन्छन्, ‘गाउँमा बाँदर र बँदेलको आतंक छ । हामी उत्पादन त गर्छौं, तर त्यो बाली जोगाउन सक्दैनौं । यो समस्या समाधान नगरेसम्म किसानको भविष्य सुरक्षित हुँदैन ।’

    तीन तहको सरकारले किसानको उत्पादन वन्यजन्तुबाट जोगाउने यथार्थपरक योजना बनाउनुपर्नेमा उनले जोड दिए । त्यस्तै बजार सञ्जाल, कोल्ड स्टोरेज, प्याकेजिङ प्लान्ट, ट्रान्सपोर्ट सुविधा जस्ता पूर्वाधार पनि चाहिने अर्यालको भनाइ छ । ‘यदि सरकार र पालिकाले थोरै ध्यान दिनसके गाउँमै युवा टिकाउन सकिन्छ’, अर्याल भन्छन् ।

    उनको मेहनतलाई सम्मान गर्न पुगेका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम भन्छन्, ‘अर्यालले गरेको काम केवल व्यक्तिगत प्रेरणा होइन, यो सिङ्गो कृषक समुदायका लागि ऊर्जा हो । सहर र विदेशको मोह त्यागेर गाउँ फर्केर यति ठूलो काम गर्न सकिन्छ भन्ने उदाहरण हो ।’

    अर्याललाई धुर्कोट गाउँपालिकाले गरेको सम्मान पनि अरू किसानका लागि प्रेरणाको स्रोत बन्ने गौतमको भनाइ छ ।

  • पिटाइ र पीडाबाट उद्यमशीलतासम्म : बालिका ओलीको साहसिक यात्रा

    पिटाइ र पीडाबाट उद्यमशीलतासम्म : बालिका ओलीको साहसिक यात्रा

    रूपन्देही । बालिका ओलीको १५ वर्षको उमेरमै विवाह भयो । श्रीमानसँग खटपट भएपछि १८ वर्षे वैवाहिक जीवनलाई सम्बन्ध विच्छेद गरेर टुंग्याइन् । दुई छोराको लालनपालन आफ्ना काँधमा लिएर बालिकाले गार्मेन्ट उद्यम गरिन् । अहिले सोही उद्यममार्फत उनले तरक्की गरेकी छन् । दाङको लमही नगरपालिका- ३ वनगाउँमा ४ लाख लगानीमा सुरु गरिएको उद्योगमा उनले करिब ४० जनालाई रोजगारी दिएकी छन् ।

    अहिले सफलतामा अघि बढिरहेकी बालिका भन्छिन्, ‘१५ वर्षको अबुझ उमेरमै विवाह भएको थियो । त्यस बेला भविष्यको अर्थ नै बुझ्ने अवस्थामा थिइनँ । बाबुआमाको मायाबाट टाढा, मागी विवाह गरेर कर्मघर गएँ । सुरुका दिनहरूमा श्रीमानप्रतिको आस्था, प्रेम र समर्पण नै मेरो सम्पूर्ण संसार थियो । श्रीमान नै सबथोक लाग्थ्यो ।’

    तर समय बित्दै गएपछि पतिबाट तिरस्कार, दुर्व्यवहार र शारीरिक हिंसा भोग्न परेको उनले सुनाइन् । पतिको व्यवहारले तनमात्र हैन, उनको मनमा पनि नमेटिने गरी घाउ लगायो । एकदुई पटक त जीवनप्रति नै निराश भएर मर्ने प्रयास गरेको बालिका बताउँछिन् ।

    पछि संघर्षको बाटो रोजेको उनको भनाइ छ । उनी भन्छिन्, ‘मृत्यु समाधान हो भन्ने लाग्थ्यो, तर त्यसले केही सुल्झाउने होइन, अझ अँध्यारो बनाउने रहेछ ।’

    अनि सुरु भयो नयाँ अध्याय

    नौ वर्षअघि १८ वर्षे वैवाहिक सम्बन्धलाई चुँडालेर उनी आफूमात्रै अगाडि बढिनन्, छोराहरूलाई पनि सबल बनाइन् । जेठो छोरा योवन जीसी आईटी अध्ययनपछि अस्ट्रेलिया पुगेका छन् । कान्छा छोरा यशवन्त जीसी कक्षा १२ पढ्दैछन् ।

    २०५४ सालमा ९ कक्षामा पढ्दापढ्दै बिहे गरेका बालिकाले पनि विवाहपछि १२ कक्षा उत्तीर्ण गरिन् । अध्ययन गर्ने जाँगरले नै आफूलाई आत्मनिर्भर बनाउने बाटो देखाएको उनको भनाइ छ ।

    उनी भन्छिन्, ‘सम्बन्ध टुटेपछि मात्र मैले आफूलाई चिनेँ । कसैलाई दोष लगाउने कुरा भएन, आफ्नै संघर्षबाट उपलब्धि पाउने हो ।’

    सम्बन्ध विच्छेदपछिको पिरलो र पीडालाई मेहनतमा रूपान्तरण गर्न थालेको उनी बताउँछिन् । उनले माइतीको सहयोगमा टाइगर हिल्सन गार्मेन्ट नामक व्यवसाय सुरु गरेको सुनाइन् । उनका अनुसार सुरुमा ४ वटा सिलाई मेसिन र ५-६ जना श्रमिक थिए । अहिले २८ वटा मेसिन पुगेको छ । महिला श्रमिक पनि ४० भन्दा बढी पुगेको छ ।

    ‘अहिले मेरा लागि दुई छोरा र आफूले चलाएको टाइगर हिल्सन गार्मेन्ट उद्योग मुख्य सहारा भएका छन् । ४ लाखबाट सुरु गरेको उद्योगमा यतिबेला अढाई करोड लगानी पुगेको छ’, बालिकाले भनिन् ।

    उनले पूर्वपतिप्रति आफ्नो कुनै गुनासो नभएको सुनाइन् । बरु सम्बन्ध विच्छेदपछि आफू प्रगति र उन्नतिको बाटो लाग्न पाए बालिका बताउँछिन् । एकल महिलाले प्रगति गर्दा पनि समाजले विभिन्न आरोप र लाञ्छना लगाउने गरेकोमा भने उनले असन्तुष्टि व्यक्त गरिन् । धेरैले सम्बन्ध विच्छेद गर्दा श्रीमानबाट रकम ल्याएको आरोप लगाएको उनको भनाइ छ ।

    ‘श्रीमानको पिटाई सहन नसकेर दुई छोरा लिएर माइत आएको र श्रीमानले अर्को विवाह गरेको सूचना पाएपछि सम्बन्ध विच्छदे गरेकी थिएँ’, बालिकाले स्पष्ट पारिन्, ‘मैले केही ल्याएको छैन, दुई छोरा बोकेर आएकी हुँ, कागजमा छोराहरू बुवाले हेर्ने भन्ने छ, तर १० वर्ष भयो केही कलसमेत आएको छैन, सबै मैले गरेको छु, मलाई कसैको केही चाहिएन, छोराहरूले अधिकार खोजे उनीहरूको कुरा भयो ।’

    पाएको पीडालाई सम्झेर बस्ने होइन, बरु जीवन भोगाइबाट सिकेर भविष्य उज्यालो बनाउने सपना बुनेको र आफूले जस्तो दुःख अरुले नभोगून् भन्ने मात्रै सोचेर आफू अघि बढेको उनले सुनाइन् ।

    उनले सफलताको यहाँसम्मको यात्रामा अनेकौं चुनौती भोगेको बताइन् । उद्यम गर्दा पनि धेरै समस्या आएको उनको भनाइ छ । थ्रीफेज लाइन नपाउँदा सबै मेसिन फुलफेजमा चलाउन नपाइरहेको उनको गुनासो छ ।

    ‘सम्बन्धित निकायमा निवेदन दिँदा पनि कुनै सुनुवाइ भएको छैन’, उनको गुनासो छ, ‘सरकारले साना उद्यमीप्रति ध्यान नदिएसम्म नेपालमा उद्यमशीलताको भविष्य अन्धकारमै रहनेछ ।’

    सरकारले उद्यममैत्री नीति ल्याउनुपर्ने र महिला उद्यमीलाई विशेष प्राथमिकता दिनुपर्नेमा उनले जोड दिइन् ।

    ‘सरकारले स्वदेशी उत्पादनलाई स्वदेशमै प्रयोग गर्ने बाध्यात्मक नीति ल्याउनुपर्छ । नेपाली गार्मेन्ट उद्योगहरू विश्वस्तरीय बनाउन सरकारले उद्यमीलाई सहुलियत कर्जा, बजार विस्तार, तालिम, प्राविधिक जनशक्ति र भौतिक पूर्वाधारमा सहयोग पुग्ने नीति ल्याउनुपर्छ’, उनको सुझाव छ ।

  • सद्भावनासहित नमाज पाठ गरेर मनाइयो पहिलो दिनको बकर इद

    सद्भावनासहित नमाज पाठ गरेर मनाइयो पहिलो दिनको बकर इद

    काठमाडौं । मुस्लिम धर्मावलम्बीको दोस्रो महान पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा सद्भावनासहित नमाज पाठ गरी हर्षोल्लासपूर्वक मनाइएको छ ।

    इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढेका छन् । नमाज पढिसकेपछि एकापसमा सद्भावसहित शुभकामना आदानप्रदान गर्ने गरिन्छ ।

    यस अवसरमा दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मिरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लागेका थियो । हिजरी संवत्अनुसार १४४० वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माइल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको जानकारहरू बताउँछन् ।

    नजिकको प्यारो चीज कुर्वान (बलिदान) दिन अल्लाहको आदेश भए बमोजिम इब्राहिमले छोरा इस्माइल अलेह सलामलाई बलिदान दिन तयार हुँदा अल्लाहले परीक्षामा उत्तीर्ण भएको भन्दै प्रशन्न भई त्यसलाई रोकेको मुस्लिम धर्मावलम्बीको विश्वास छ । यही घटनाका आधारमा यो पर्व मनाउन सुरु भएको ऐतिहासिक पृष्ठभूमि छ ।

    मुस्लिम धर्म गुरु (मौलाना) रहमत अली ऐतिहासिक बकर इद पर्वको आधार बनेको इब्राहिमको वंशमा सन् ५७१ मा मक्कामा मोहम्मद सलल्ला जन्मिई निरन्तरता दिएको बताउँछन् । जसले यो पर्व एवम् धर्मलाई पुस्तान्तर गर्न महत्वपूर्ण योगदान गर्दै हदिस नामक धर्मग्रन्थको रचना गरेको उनको भनाइ छ ।

    ‘जुन ग्रन्थलाई हाल मुस्लिम धार्मिक विद्यालय मदरसामा समेत अध्ययन अध्यापन गराइन्छ । मक्कामा जन्मिनुभएका सलल्ला ५३ वर्षको उमेरपछि मदिनामा सर्नुभएको थियो, यही सम्झनामा हाल पनि साउदी अरबमा पर्ने यी दुवै तीर्थस्थलमा ठूलो मेला लाग्ने गरेको छ’, मौलाना अलीले भने ।

    यस पर्वका अवसरमा मक्का मदिना जानु शुभ मानिन्छ । गृह मन्त्रालयले आउनजान हवाई टिकटको व्यवस्था गरी हज यात्रा गराउने गरेको छ । यस पर्वमा अल्लाहलाई खुसी पार्न मुसलमानले धर्मले जायज मानेका जनावरलाई कुर्बानी (बलि) दिने गरेका छन् ।

    कुर्बानीको मासु तीन भागमा बाँडी वितरण गरिन्छ । एक भाग गरिब एवं विपन्न परिवारलाई, अर्को एक भाग आफ्ना इष्टमित्रलाई र तेस्रो भाग आफैँले खानुपर्ने मुस्लिम धार्मिक मान्यता रहेको नेपाली जामे मस्जिदका सचिव मन्सुर हुसेनले बताए ।

    यसैअनुसार आज पहिलो दिनको बकर इद मनाइएको छ । मुस्लिम धर्मावलम्बीले आजदेखि तीन दिनसम्म अर्थात् सोमबारसम्म यो पर्व मनाउने जनाइएको छ । बकर इदका अवसरमा आज सरकारले सार्वजनिक बिदासमेत दिएको छ ।

  • असईबाट निकालिएका सन्तराम हरिजनः शिक्षणसँगै मजदुरी, दुई छोरी र छोराले शान्त बनाए मन

    असईबाट निकालिएका सन्तराम हरिजनः शिक्षणसँगै मजदुरी, दुई छोरी र छोराले शान्त बनाए मन

    रुपन्देही  । कपिलवस्तुको कृष्ण नगर नगरपालिका वडा नं ९ बहादुर गन्जमा जन्मिएकी स्मृति हरिजन त्यो समुदायबाट शैक्षिक क्षेत्रमा अब्बल बनेर आफ्नो इतिहास बनाएकी छन् ।

    तराईको गाउँमा मधेसी दलित समुदायमा छोरीलाई धेरैले नपढाउने र सानैमा बिहे गरिदिने गलत संस्कार भए पनि उनका बुवा सन्तरामको दृढ सङ्कल्प र उनको मेहनतले सिङ्गो समुदायको प्रतिनिधित्व गर्दै उनले आफ्नो नामको अगाडि डाक्टर लेख्न पाएकी हुन् ।

    जुन समुदायमा सपना देख्नु अपराध मानिने गलत सामाजिक परम्परा बसेकोमा परिवार र आफन्तमा मात्रै होइन सिङ्गो समाजमा उदाहरणीय पात्र बनेकी हुन् उनी । सानैदेखि पढाइमा अब्बल उनी आज हजारौँ दलित युवतीहरूको प्रेरणाको शिखर बनेर आएकी छन् ।

    स्मृति अहिले मधेसी दलित समुदाय (विशेष गरी चमार) की पहिलो महिला चिकित्सक बनेकी छन् । उनी नेपाल सरकारको छात्रवृत्तिमा जनकपुरस्थित जानकी मेडिकल कलेजबाट एमबिबिएस सकेर अहिले इन्टर्नसिप सकाउने चरणमा पुगेकी छन् भने मेडिकल काउन्सिलबाट आफ्नो नाम दर्ता गराइसकेकी छन् ।

    ‘मेरो समुदायमा छोरी पढाउन हुँदैन, छिटो बिहे गरिदिनुपर्छ भन्ने गलत संस्कार छ तर मेरो बुवाको चाहना र प्रेरणाले मलाई यहाँ पुग्न साथ दियो’ उनले भनिन्, ‘त्यो समाजलाई सिकाउने शिक्षा नै त्यसको मुक्ति हो, म समुदायको पहिलो महिला डक्टर हुँ, तर अन्तिम होइन । म त्यो दराज हुँ जसले विभाजनको पर्खाल भत्काउँछु । म त्यो तारा हुँ, जसपछाडि हजारौँ चम्कने छन् ।’

    स्मृतिको सफलता एउटा डाक्टर बन्ने यात्रामा मात्र सीमित छैन । उनले भनेकी छन् –‘सपना देख्न डराउनु हुँदैन । दलित हुनु कमजोरी होइन । महिलाको रूपमा जन्मिनु अभिशाप होइन । शिक्षा सबैभन्दा बलियो हतियार हो, जसले विभेदको पर्खाल चिरेर नयाँ बाटो खोल्न सक्छ । समाजको गलत संस्कार परिवर्तनका लागि मेरो साथ रहिरहने छ ।’ ०७२ सालमा गाउँकै राम गोरखा मावि बहादुर गन्जबाट बी प्लसमा एसएलसी सकेर उनी पेन्टागनबाट बायोमा प्लस टु सकाएर आफ्नो शैक्षिक यात्रा अघि बढेको उनले बताइन् ।

    ‘हाम्रो समुदायमा आठ कक्षा पार गर्नु पनि असाध्यै कठिन छ’ स्मृति भन्छिन् ‘माथिल्लो कक्षामा पढ्न लागेपछि रोक्ने प्रयास हुन्छ । मलाई पनि आफन्तहरू बुवासँग त्यो कुरा धेरै पटक गरेको सुनेकी थिएँ तर बुवाले इन्कार गरेर जसरी नि पढाउने कुरा गरेर अगाडि बढाउनुभयो,  तल्लो जातकी केटी पढ्न हुँदैन भन्ने सोच अझै पनि छ ।’

    उच्च शिक्षा काठमाडौँपछि पर्सा हुँदै जनकपुरमा एमबिबिएस अध्ययन गरेको उनले बताइन् । ‘यात्रामा हजारौँ अवरोध थिए,कहिले आर्थिक, कहिले जातीय, कहिले लैङ्गिक’ उनले भनिन् –‘ती सबै पर्खाल चिरेर यहाँ आएकी हुँ, परिवारको साथले, खास गरी बुवाको प्रेरणाले ।’

    स्मृति नेपाल सरकारको छात्रवृत्तिमा एमबिबिएस अध्ययन गर्न पाउने सौभाग्यशाली थिइन् । जनकपुरको जानकी मेडिकल कलेजबाट डाक्टरको पढाइ सकिन् ।

    अहिले इन्टर्नसिप गर्दै छिन् । नेपाल मेडिकल काउन्सिल (एनएमसी)को परीक्षा उत्तीर्ण गरेपछि सामाजिक सञ्जालमा उनलाई बधाई दिनेहरूको ओइरो लागिरहेको छ । उनका सफलता मात्र उनका लागि होइन, सम्पूर्ण दलित समुदाय, विशेष गरी चमार समुदायका लागि गौरवको विषय बन्यो ।

    स्मृति जब डाक्टर बनिन्, त्यो खबर केवल गाउँमा होइन, कलेजका साथीहरू, शिक्षकहरू, र सामाजिक सञ्जाल हुँदै देशभर फैलियो । पहिलो महिला चमार डाक्टर भनेर उनलाई चिनियो । उनले त्यो पहिचानलाई आफ्नो गौरव बनाइन्, लाज होइन । ‘डाक्टरको लुगा लगाउँदा मलाई लाग्छ, म मेरो आमा–बाबाको सपना बोकिरहेकी छु’ उनी भन्छिन् ‘त्यो लुगाभित्र पसिना, आँसु, अपमान, सङ्घर्ष र माया भरिएको छ ।’

    ‘कहिलेकाहीँ अस्पतालमै पनि मेरो थर देखेर हेप्ने नजर आउँछ । तर म मौन बस्दिन । म मेरो पहिचान लुकाउँदिन । बरु गर्व गर्छु, उनले आफूलाई धेरै पटक ‘तिमी दलित भएर कति पढ्छेस्’, चमारको छोरी डाक्टर कसरी बन्छ ? भन्ने अपमान सुन्नु पर्‍यो । तर मैले कहिल्यै हार मानिनन् ।’ स्मृति भन्छिन्– ‘दुःखले होइन, तिमीभित्रको आत्मबलले तिमी को हो भन्ने चिनिन्छ, सँगै पढेका साथीहरू र शिक्षकले भने कहिल्यै विभेद गर्नुभएन, फिल्डमा त्यो गलत दृष्टिकोण भएका मान्छे भेटिए ।’

    स्मृति अहिले पनि आफ्नो गाउँ फर्किन्छिन् । त्यहाँका किशोरीहरूलाई भेट्छिन् । स्कुल जान डराइरहेका बालबालिकालाई प्रोत्साहन गर्छिन् । उनले एउटा नारा बनाएकी छन्–‘मेरो जात हैन, मेरो ज्ञान हेरेर मलाई सम्मान गर ।’ उनले आफ्ना तिनै गुरुहरूको आभार व्यक्त गर्छिन्, जसले उनलाई हौस्याए, जसले भने– तिमी सक्नेछौ, अगाडि बढ उनीहरूलाई सधैँ सम्मान गरेर अघि पढ्ने उनको सङ्कल्प छ ।

    ‘स्मृतिको उपलब्धिले दलित समुदायका हजारौँ किशोरीलाई नयाँ ऊर्जा दिएको छ । समाजलाई पनि सन्देश दिएको छ, क्षमता जातमा होइन, चेतनामा हुन्छ ।’ दलित अगुवा शिवि गहतराज भन्छन्–‘स्मृति हरिजनको कथा एउटा समुदायको आवाज हो । त्यो आवाज जसले लामो समयदेखि चुपचाप सहँदै आएको थियो, अब बोल्न थालेको छ । उनको आँखा अब भविष्यमा टिकेको छ । जहाँ मेडिकल अफिसर बन्ने, समुदायमा स्वास्थ्य सेवा दिने, अनि अन्य स्मृतिहरूलाई जन्म दिने सपना रहेको छ ।’

    स्मृतिको बहिनी युरोपमा छन् भने दाजु इन्जिनियरिङमा छन् । उनका दाजु सन्दीप भारतको प्रतिष्ठित प्राविधिक संस्था एनआईटी राउरकेलामा कम्प्युटर साइन्स र इन्जिनियरिङ अध्ययनरत छन्, त्यो पनि भारत सरकारको छात्रवृत्तिमा । बहिनी सृजना बेलायतमा एमबिए (फाइनान्स) अध्ययन गर्दै छिन् । गाउँको सानो छाप्रोबाट युरोपको विश्वविद्यालयसम्मको यात्रा आजका धेरै युवाहरूको लागि कल्पनाभन्दा परको विषय हुनसक्छ । तर, सन्तराम हरिजनका सन्तानहरूले त्यो यात्रा सम्भव बनाए ।

    असईबाट निकालिएका सन्तराम: शिक्षणसँगै मजदुरी, दुई छोरी र छोराले यसरी बनाए खुसी 

    स्मृतिका बुवा सन्तरामको सङ्घर्ष उनको भन्दा रोचक छ । ६० वर्षीय सन्तरामका तीन छोरी र एक छोरा हुन् । ठूलो छोरीको बिहेपछि डिभोर्स भएर अहिले घरमै छन् तर बिरामी भएकाले उपचारमै दौडधुप गरिरहनुपरेको छ । माइली छोरी युके एमबिए, छोराले भारतको केरलामा छात्रवृत्तिमै इन्जिनियरिङ पढ्दै छन् भने स्मृति कान्छी हुन् ।

    सन्तराम सानैबाट आफ्नो समुदायमाथि विभेदविरुद्ध बोल्न थालेको पढाइमा पनि अगाडि भएको बताउँछन् । अहिले पनि ५५ वर्षीया श्रीमती राज मति हरिजनले घरको सबै काम सघाउँछिन् उनले छोराछोरीको आर्थिक जोहो गर्नका लागि दौडधुप गरिरहन्छन् ।

    सन्तरामलाई आर्थिक अभावले एसएलसीपछि कसरी पढ्ने चिन्ता थियो त्यही कारणले उनले साँझ बिहान ट्युसन पढाउने र दिनभर इटाभट्टामा काम गरेको स्मरण गर्दछन् । करिब ६ महिना यसरी काम गरेपछि जुटाएको रकम लिएर उनी आइएससी पढ्न काठमाडौँ गएको बताउँछन् ।

    २०३९ सालमा एसएलसी पास गरेका सन्तराम ०४२ सालको १२।३१ प्रहरीमा असईमा भर्ना भएर ०४५।४।१७ मा निकालिएका हुन् । ‘सत्ताको बलमा झुटो आरोप झेल्नुर्‍यो । एक प्रभावशाली व्यक्तिलाई पक्राउ गरेपछि ‘तीन हजार घुस खाएको’ आरोपमा जागिर गुमाउनु परेको हो, निर्दोष थिएँ,तर शक्तिशालीहरूसँग लड्न सकिँदैनथ्यो’ उनले भने ।

    छोराछोरीको सपना नमारेर उनले शिक्षण पेसा रोजेको,गाउँमै विद्यालयमा पढाए पनि साँझ बिहान मजदुरी गरिरहेको ऋण, गहना, र पसिनाको मूल्यमा छोराछोरीको पढाइलाई निरन्तरता दिएका छन् । उनको अहिले जम्मा जग्गा ६ कट्टा मात्रै छ त्यो पनि सबै बैङ्कमा राखेर ऋण लिएर छोरी तथा छोराको खर्च भरिरहेका छन् ।

    ‘असईबाट निकालिएपछि सङ्कल्प गरेँ जसरी पनि छोरी तथा छोराहरू पढाउँछु, त्यसपछि शिक्षण गरे फर्के, एसएलसी पढ्दा इटाभट्टामा काम गरेर पढेको हुँ । ६ महिनामा पढ्ने खर्च जुटाएको थिएँ आफू शिक्षक भएकाले बच्चाले पढ्न पाए । जागिर छाडेपछि १० महिना विदेश बसेर काम गरेर आएको हो ।  मैले छोरी पढाउन थालेपछि मेरो समाजका धेरैले पढाउन थालेका छन् यो भन्दा अरू खुसी के चाहियो र ?’ उनले भने ।

    अहिले स्मृति सफल भएकी छन् । उनका दाजु–बहिनी पनि सफल हुँदै छन् । तर, त्यो सफलता आकाशबाट झरेको होइन । त्यो सफलताको जगमा बाबु सन्तरामको आँसु छ, सङ्घर्ष छ, त्याग छ । उनी भन्छन्, ‘मलाई मेरो जागिरले सम्मान नदिएको होला, तर छोराछोरीको सफलताले मलाई गौरव दिएको छ ।’ सन्तराम अहिले पनि गाउँमै पढाउँछन् । उनी कहिल्यै ठूलो कुरा गर्दैनन् । तर, गाउँका सबै बालकहरू उनलाई आदर्श मान्छन् ।

  • आज बकर ईद मनाइँदै

    आज बकर ईद मनाइँदै

    काठमाडौं। मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ ।

    इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर ईद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदान प्रदान गर्ने गरिएको छ ।

    यस अवसरमा दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मीरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको घुइँचो लाग्छ । हिजरी संवत्अनुसार १४४० वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको हो ।

    मुस्लिम धर्म गुरु (मौलाना)रहमत अली ऐतिहासिक बकर ईद पर्वको आधार बनेका इब्राहिमको वंशमा सन् ५७१ मा मक्कामा मोहम्मद सलल्ला जन्मिई निरन्तरता दिएको बताउँछन् । जसले यो पर्व एवम् धर्मलाई पुस्तान्तर गर्न महत्वपूर्ण योगदान गर्दै हदिस नामक धर्मग्रन्थको रचना गरेकाे थियाे।

    ‘यस ग्रन्थलाई अहिले मुस्लिम धार्मिक विद्यालय ९मदरसा०मा समेत अध्ययन अध्यापन गराइन्छ, मक्कामा जन्मिनुभएका सलल्ला ५३ वर्षको उमेरपछि मदिनामा सर्नुभएको थियो, यही सम्झनामा अहिले पनि साउदी अरबमा पर्ने यी दुवै तीर्थस्थलमा ठूलो मेला लाग्छ,’ उनले भने ।

    यस पर्वका अवसरमा मक्का मदिना जानु शुभ मानिन्छ । मक्का मदिना जान गृह मन्त्रालयले आतेजाते विमान टिकटको व्यवस्था गरी हज यात्रा गराउने गरेको छ । यसका लागि गृह मन्त्रालयअन्तर्गत हज समितिको सचिवालय स्थापना गरिएको छ ।

    मक्का मदिना जान नपाउने हजयात्रीसमेतले घर घरमै बकर ईद मनाउँछन् । यो पर्वको मुख्य उद्देश्य नै हज यात्रा हो । यस पर्वमा अल्लालाई खुशी पार्न मुसलमानले धर्मले जायज मानेका जनावरलाई कुर्बानी (बली)दिन्छन् ।

    धार्मिक मान्यताअनुसार अल्लाहका नवी (दूत)इब्राहिम अलि सलामले ९० वर्षको उमेरमा पत्नी हाजराबाट प्राप्त गरेको सन्तान छोरा इस्माईललाई कुर्बानी गर्नुपर्ने आदेश प्राप्त भयो । जसलाई पालना गर्दा अल्लाह प्रशन्न भएर इस्माईलको कुर्बानी नभएर स्वर्ग (जन्नत)मा पालिएका दुम्बाको कुर्बानी भएको धार्मिक मान्यता छ । यसैकारण अहिलेसम्म कुर्बानी गर्ने प्रचलनलाई कायम राखेको मुस्लिम धर्मावलम्बीको भनाइ छ ।

    निसन्तान इब्राहिमले सन्तान प्राप्तिका लागि अल्लाहसँग मनन्नत मागेका थिए । अल्लाहले मलाई सन्तानको सुख दियो भने म कुर्बानी गर्छु भन्ने इब्राहिमको प्रतिबद्धता थियो । सोहीअनुरुप अल्लाहले निजको परीक्षणस्वरूप सपनामा कुर्बानी गर्न पर्छ भनेका थिए भन्ने मुस्लिम धर्मावलम्बीको विश्वास छ ।

    धेरै जनावर कुर्बानी गरे तर अल्लााह खुशी भएका थिएनन् । अन्तिममा आफ्ना सबैभन्दा प्यारा छोरालाई नै कुर्बानी गरी अल्लाहलाई राजी गर्न चाहेका थिए । यस घडीमा उनको परीक्षण सफल सावित भएपछि कुर्बानी गर्ने स्थानमा मानिसको होइन त्यही जन्नतमा पालिएर आएका दुम्बाको कुर्बान भएको थियो ।

    कुर्बानीको मासु तीन भागमा बाँडी वितरण गरिन्छ । एक भाग गरिब एवम् विपन्न परिवारलाई, अर्को एक भाग आफ्ना इष्टमित्रलाई र तेस्रो भाग आफैँले खानुपर्ने मुस्लिम धार्मिक मान्यता छ । यसैअनुसार आज पहिलो दिनको बकर ईद मनाइँदै छ । मुस्लिम धर्मावलम्बीले सोमबारसम्म तीन दिन यो पर्व मनाउने गर्छन् ।

    यो पर्व मनाउने तीनै दिन कुर्बानी गर्नुपर्ने मुस्लिम धर्मावलम्बीको विधि रहेको नेपाली जामे मस्जिदका सचिव मन्सुर हुसेनले जानकारी दिए । यस अवसरमा सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ ।

     

  • आज निर्जला एकादशीः तुलसीको दल राखिँदै

    आज निर्जला एकादशीः तुलसीको दल राखिँदै

    काठमाडौं । वैदिक सनातन धर्मावलम्बीले आ–आफ्नो घरको मठमा आज तुलसीको दल राख्दै छन् । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको दल राख्ने गरिन्छ । यस दिनलाई निर्जला एकादशी पनि भनिन्छ । यस दिन रोपेको बीउ एक महिनापछि आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीका दिन रोपिन्छ ।

    आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा गरिन्छ । यसलाई तुलसी हुर्काइबढाई दामोदरसँग विवाह गरिने भन्ने पनि बुझिन्छ । यो चार महिनालाई चतुर्मास पनि भनिन्छ ।

    चतुर्मासमा स्नान, पूजन र दान गर्नाले मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ । निर्जला एकादशीसमेत भनिने भएकाले यस दिन पानीसमेत नपिई व्रत गर्नाले अभीष्ट फल पाइने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्राडा देवमणि भट्टराईले जानकारी दिए ।

    सक्नेले पानी नखाई व्रत गरे पनि नसक्नेका लागि फलफूल खाएर बस्न सकिने पनि उनले जानकारी दिए । आयुर्वेदिक रूपमा पनि लाभकारी औषधि मानिने तुलसी विभिन्न रोगको उपचारसमेतमा प्रयोग गरिन्छ । तुलसीमा धेरै अक्सिजन पाइने आधुनिक विज्ञानसमेतले प्रमाणित गरेको छ । यस अवसरमा देशभरका नारायणस्थान एवम् विष्णु मन्दिरमा भक्तजनको घुइँचो लाग्छ ।

     

  • राउटेले प्रदर्शनीमा पहिलोपटक देखाए हस्त-शिल्पकला

    राउटेले प्रदर्शनीमा पहिलोपटक देखाए हस्त-शिल्पकला

    काठमाडाैं । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको एक छेउमा सुर्खेतबाट आएका राउटे दीपक शाही बसिलाले टुनीको काठमा आकार दिँदै छन् । उनको छेवैमा धयर शाही पनि टुनीको ठेउकोलाई आकारमा ढाल्दै छन् । उनीहरुका साथमा राउटे समुदायकि महिला बाटुली र सुरमानी कपडामा बुट्टा भर्दै छन् ।

    आफ्नै पोसाकमा सजिएका उनीहरु असिनपसिन भएर हस्त–शिल्पकला काठ र कपडामा देखाउँदै छन् । उनीहरुले गरिरहेको काम काठमाडौँ उपत्यकाबासीका लागि नौलो थियो । पुरुषहरु कोसी (आरी) बनाउँदै त महिलाहरु कपडामा बुट्टा सिलाउँदै थिए।

    बिहीबारदेखि यहाँ सुरु भएको राष्ट्रिय ललितलकला प्रदर्शनी, २०८२ का अवसरमा ललितकलाकै इतिहासमा पहिलो पटक राउटेहरु यसरी कला सिर्जनामा सहभागी भएका हुन्। उनीहरुले यहाँ प्रत्यक्ष रुपमा कला कार्यशाला नै गर्नु अर्को नयाँ थियो ।

    प्रदर्शनीमा कला हेर्न आइपुगेका कला पारखीहरु राउटेको प्रस्तुति देख्दा सेल्फीमा रमाएका दृश्य हेर्न लायक थियो । उनीहरुले राउटेले गरेका काम श्रव्यदृश्यमा कैद गर्न भ्याए। मुङ्ग्रोको सहयोगमा बसिलो प्रयोग गरेर उहाँहरुले हस्तकला कोसी बनाए । ‘सानो छिनु ल्याइएन, त्यसैले चिल्लो बनाउन पाएन, बसिलोले काठमा आकार बनाउँदै छु’, दीपक शाहीले  जवाफ दिए।

    उनका अनुसार डाडु, पन्यूँ, कोसी, ढकल, सन्दुक, पिर्का राउटेका मुख्य हस्त–शिल्पकला हो । प्रदर्शनीमा उनीहरुका हस्तकलासमेत राखिएको छ । यो पनि ललितकलाको इतिहासमै पहिलो पटक सरकारी तहबाट राउटेको कला प्रदर्शनीमा समावेश भएको हो ।

    त्यसमाथि हस्त शिल्पकलामा यसपटक उनीहरुले बनाएको कला प्रादेशिक पुरस्कार प्राप्त गर्न समेत सफल भएको छ । उनीहरुले ३० हजार राशिको पुरस्कार पाए । ‘हामी खुसी छम्, यहाँ आएम्, पैसा दिनुभयो, हामीले बनाएका सामान बिक्री भइरहेको छ’, दीपकले थपे।

    उनीहरुको २० वटा कोसी बिक्रीका लागि भनेर यहाँ ल्याइएको थियो । सबै बिक्री भएको प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार काफ्ले थुम्केलीले जानकारी दिए।

    उनले भने, ‘नेपालको लोपोन्मुख समुदाय राउटेका हस्त शिल्पकलालाई हामीले राष्ट्रियस्तरमा जोड्न सफल भएका छौँ,  कलामा पुनःजागरण भनेर हामीले काम गरिरहेका छोँ, यसरी रैथाने मौलिक कला जोगाउनु हाम्रो महत्वपूर्ण उद्देश्य थियो, एक हिसाबले सफल भएको महसुस गरेका छौँ ।’ उनले यसपालि तराईको डोम समुदायको कलासमेत समावेश गरिएको बताए ।

    मुख्यगरी राउटेहरुसँग जोडिएको प्रादेशिक कला प्रदर्शनीले हो । गत फागुन ६ देखि १० गतेसम्म कर्णालीमा प्रादेशिक कला प्रदर्शनी आयोजना गरिएको थियो ।

    राउटे समुदायको कला पनि छ भन्ने थाहा पाएपछि स्थानीयहरुको सहयोगमा उनीहरुको बस्तीमै गएर कला प्रदर्शनीमा सहभागी गराइएको थियो । ‘उहाँहरुले कर्णालीमा पनि प्रत्यक्ष कला कार्यशाला गर्नुभएको थियो । त्यही बेलादेखि उहाँहरु हाम्रो सम्पर्कमै हुनुहुन्थ्यो, उहाँका सहयोगी लालबहादुर खत्रीसँगको समन्वयमा काठमाडौँमा कला सिर्जनाका लागि ल्याउन सफल भयौँ’, कर्णाली कला प्रदर्शनीका संयोजक, प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य पाल्साङ्मो लामाले बताए ।

    प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले प्रतिष्ठानले एउटा प्रयास गरेर रैथाने कलाहरुलाई उजागर गर्ने प्रयास गरेको र आगामी दिनमा यस्ता मौलिक कलाका साथै अनुसन्धान, कलाकारको सर्वेक्षणलगायतका कामलार्ई प्राथमिकता दिने बताए ।

    सूर्यनारायणले काठमाडौँमा कला देखाउन पाएनन्

    कर्णाली प्रदेशमा भएको कला प्रदर्शनीमा राउटे मुखिया सूर्यनारायण शाहीको कला प्रदर्शनी भएको थियो । उनले कला कार्यशालामा समेत आफ्नो कला देखाएका थिए । तर उनको केही समय अघि निधन भएकाले काठमाडौँमा उनले कला देखाउन पाएनन् । यद्यपि उनले बनाएको पिर्का र ढकनसहितको कोसी यहाँ देख्न सकिन्छ ।

    प्रदर्शनीमा लोकेन्द्र शाहीले बनाएको डाडु, बन्दावीर शाहीले बनाएको कोसी र ढकन, दीपक शाहीले बनाएको सन्दुक, खगेन्द्र शाहीले बताएको डाडु, धयर शाहीले बनाएको पन्यूँ राखिएको छ । । उनीहरुका कला प्रदर्शनीको मुख्य आकर्षण पनि रहेको प्रतिष्ठानका उपकुलपति तथा उक्त कला प्रदर्शनी संयोजक लालकाजी लामाले बताए ।

    कला प्रदर्शनी यही जेठ ३१ गतेसम्म जारी रहने छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले ‘सामाजिक रूपान्तरणः ललितकलाको अभियान’ भन्ने मूल भावमा रहेर सम्पन्न भएको ‘प्रादेशिक ललितकला प्रदर्शनी–२०८१’ मार्फत छानिएका कलाकृति समावेश गरी यहाँ राष्ट्रिय कला प्रदर्शनी सुरु गरेको हो ।

    प्रदर्शनीमा देशका ६५ जिल्लाका लोककला, शिल्प–हस्तकला, परम्परागत चित्रकलारमूर्तिकला, वास्तुकला, समसामयिकरआधुनिक चित्रकलारमूर्तिकला, बहुआयामिक तथा अन्य सिर्जनात्मक कला, प्रतिस्थापन, भावभङ्गिमा, फोटोग्राफी, भिडियो आर्ट, डिजिटल, कार्टुनलगायतका विविध विधाका प्रतियोगी, अप्रतियोगी र आमन्त्रित ६०५ कलाकारका ६५० भन्दा बढी कलाकृति समावेश छन् । जसमा मुख्यतः थारू, अवधि, मिथिला, नेवार, पर्वते, भोजपुरी, तामाङ, राउटे, डोम, राई, किरातका कलाको विशेष सहभागिता रहेको छ ।

    नारायण ढुङ्गाना/रासस

  • गणतन्त्र दिवस: टुँडिखेलमा यसरी मनाइयो (तस्बिरहरु)

    गणतन्त्र दिवस: टुँडिखेलमा यसरी मनाइयो (तस्बिरहरु)

    काठमाडौं । काठमाडौंको टुँडिखेलस्थित सैनिक मञ्चमा विशेष कार्यक्रम आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ।

    कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाललगायत विभिन्न विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

    समारोहमा नेपाली सेनाले हेलिकोप्टरबाट पुष्पवृष्टि गर्नुका साथै गणतन्त्र दिवस, २०८२ लेखिएको व्यानर प्रदर्शन गरेको थियो ।

    नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, उपत्यकाका जिविस, नगरपालिका, खेलकुद परिषद्का खेलाडी, स्थानीयले मार्चपास, नृत्य, कवाज व्याण्ड, विविध सांस्कृतिक प्रस्तुति र झाँकी प्रदर्शन गरेका थिए ।

    समारोहमा राष्ट्रपतिलगायत विशिष्ट व्यक्तिबाट शान्तिका प्रतीक परेवा उडाइएको थियो ।

    गणतन्त्र दिवस हरेक वर्ष २०६५ साल जेठ १५ गतेका दिनको सम्झनामा मनाइन्छ। यही दिन जननिर्वाचित पहिलो संविधानसभाबाट निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ गरिएको घोषणा गरिएको थियो।

    गणतन्त्र दिवसको अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ।

  • पढाइमा अब्बल बन्दै चेपाङ बालबालिका : नगरकै उत्कृष्ट विद्यालय बन्यो कान्देश्वरी

    पढाइमा अब्बल बन्दै चेपाङ बालबालिका : नगरकै उत्कृष्ट विद्यालय बन्यो कान्देश्वरी

    भरतपुर । चेपाङ समुदायका बालबालिकाले पछिल्लो समय उत्कृष्ट नतिजा हात पार्न थालेका छन् । चेपाङ बालबालिका मात्रै अध्ययनरत चितवनको राप्ती नगरपालिका-१३ स्थित कान्देश्वरी आधारभूत विद्यालयले यस वर्षको कक्षा ८ को परीक्षामा पालिकाको उत्कृष्ट विद्यालय बनेको छ ।

    कक्षा ८ मा अध्यापन सुरू गरेको पहिलो वर्षमा नै विद्यालय उत्कृष्ट बनेको हो । यहाँ आवासीय सुविधासहितको विद्यालय स्थापना भएपछि चेपाङ समुदायका बालबालिका पढाइमा अब्बल बन्दै गएको विद्यालयका प्रधानाध्यापक बालकृष्ण थपलिया बताउँछन् ।

    शिक्षक, विद्यार्थी, अभिभावक र विभिन्न सङ्घसंस्थाको सहयोगमा विद्यालय उत्कृष्ट बनेको उनको भनाइ छ । थपलियाका अनुसार यस वर्ष १३ जना विद्यार्थीले कक्षा ८ को परीक्षा दिएका थिए । त्यसमध्ये एक जनाले ए प्लस, सात जनाले ए र दुई जनाले बि प्लस ल्याएका छन् ।

    ‘पहिलो वर्षमा नै यसरी उत्कृष्ट नतिजा ल्याउँदा निकै खुसी छौँ । शिक्षक र विद्यार्थीको अथक मेहनतले यहाँसम्म आइपुगेका हौँ’, उनले भने ।

    चेपाङ बालबालिका मात्र अध्ययनरत यस विद्यालयको नतिजाले सबैलाई उत्साहित बनाएको भन्दै प्रअ थपलियाले आवासीय सुविधासहित छात्रावास सञ्चालनले चेपाङ बालबालिकाको शिक्षामा सुधार देखिएको बताए ।

    राप्ती नगरपालिकामा २७ वटा सामुदायिक विद्यालय छन् । त्यसमध्ये कान्देश्वरी आधारभूत विद्यालयसहित तीनवटा स्कुलले कक्षा ८ को परीक्षामा सतप्रतिशत नतिजा हासिल गरेको नगरपालिकाको शिक्षा शाखाकी प्राविधिक सहायक लक्ष्मी लामिछानेले बताइन् ।

    बजार क्षेत्रका विद्यालयसँगै विकटमा रहेको विद्यालयले पनि प्रतिस्पर्धा गर्न सक्छन् भन्ने उदाहरण कान्दाको विद्यालय बनेको उनले बताइन् । कान्दा चितवनको सबैभन्दा विकट ठाउँका रूपमा चिनिन्छ ।

    सवारीसाधन र बिजुली समेत नपुगेको यस ठाउँ शिक्षाको क्षेत्रमा रुपान्तरण हुँदै गइरहेको सीताबहादुर चेपाङ बताउँछन् । पछिल्लो समय बालबालिकामा पढाइप्रति लगाव बढेको भन्दै हरेक अभिभावकमा आफ्ना छोराछोरी स्कुल पठाउनुपर्ने धारणा विकास भएको उनले बताए ।

    यहाँ पुग्न अझै पनि दुई/तीन घण्टा हिँड्नुपर्ने बाध्यता छ । कक्षा ८ उत्तीर्णपछि अन्य ठाउँमा जानुपर्ने बाध्यता छ । गरिबीका कारण यहाँका बालबालिकाले बीचमै पढाइ छाड्ने गर्छन् । पछिल्लो समय ८ कक्षा उत्तीर्ण बालबालिकालाई लक्ष्मी प्रतिष्ठानले काभ्रेमा सञ्चालन गरेको छात्रावासमा कक्षा १२ सम्म पढाउन लैजाने गरेको छ ।

    यहाँ २०७२ साल अगाडि कक्षा ३ सम्ममात्रै अध्यापन हुने गरेको थियो । २०६७ मा एकै घरका आठ जनाले विषालु च्याउ खाएर ज्यान गुमाएपछि विभिन्न सङ्घसंस्था र राज्यको ध्यान केन्द्रित हुन थाल्यो । लक्ष्मी प्रतिष्ठान र मितेरी फाउण्डेशनले चेपाङ समुदायको उत्थान र बालबालिकाको शिक्षाका लागि काम गर्न थाले ।

    स्कुलमा लक्ष्मी प्रतिष्ठानले छात्रावास सञ्चालन गरिदिएको छ भने फाउण्डेशनले दुई शिक्षकको व्यवस्था गरिदिएपछि कक्षा ८ सम्मको पढाइ सम्भव भएको हो । त्यसभन्दा अघि यहाँका अधिकांश बालबालिकाले कक्षा ३ पढेपछि बीचमै पढाइ छाड्ने गरेको प्रअ थपलिया सुनाउँछन् ।

    विभिन्न दाताको सहयोगमा कक्षा ८ सम्मको पढाइ गरे पनि दरबन्दी अभावका कारण कक्षा सञ्चालन गर्न समस्या आएको उनको भनाइ छ । निमावि तहमा १० जना शिक्षकको दरबन्दी भएपनि अहिले ७ जनाको मात्र रहेको साथै शौचालय, पुस्तकालयको अभाव रहेको उनले गुनासो गरे ।

    पचास जना विद्यार्थी पनि नहुने यस विद्यालयमा अहिले १५० जना पढिरहेका छन् ।

  • सुब्बा र अधिकृत सँगसँगै भएका निजामती जोडी- उपसचिवमा श्रीमतीभन्दा पछि परे पति

    सुब्बा र अधिकृत सँगसँगै भएका निजामती जोडी- उपसचिवमा श्रीमतीभन्दा पछि परे पति

    काठमाडौं । रुकुम पूर्वको भूमे गाउँपालिका- ३ काे एक जोडी नेपाली निजामती सेवाकाे उपसचिवसम्म पुगेको छ । खरिदारबाट फरक-फरक समयमा निजामती सेवा प्रवेश गरेका ३६ वर्षीय चन्द्रसिंह श्रेष्ठ र ३२ वर्षीया विमला रोकाकाे युगल यात्रा उपसचिवसम्म पुगेको हाे । शाखा अधिकृतमा एकै पटक सिफारिस भएका उनीहरू उपसचिवमा भने फरकफरक समयमा सिफारिस भए ।

    विमला र चन्द्रसिंहको जोडी नै निजामती सेवाले जुराइदिएको थियो । उनीहरू निजामती सेवामा प्रवेश नगरेको भए सायद आज एकै जोडी हुने थिएनन् होला ! निजामती सेवा प्रवेशसँगै एउटै कार्यालयमा पदस्थापन हुँदा उनीहरूलाई जोडी बाँध्ने सजिलो भने भएको थियो ।

    खरिदार र शाखा अधिकृतमा सँगसँगै सिफारिस भए पनि उपसचिवमा चन्द्रसिंहलाई विमलाले उछिनेकी छन् । चन्द्रसिंहले ३ वर्षपछि मात्रै उपसचिवमा सिफारिस भएर विमलालाई भेट्टाइन् । अब सहसचिवमा कसले कसलाई पछि पार्छ ? त्यो भने हेर्न बाँकी नै छ ।

    विमला २०७९ सालमा आन्तरिक प्रतिस्पर्धामा दोस्रो प्रयासमा सफल भएर अहिले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत पाठ्यक्रम विकास केन्द्रमा कार्यरत छिन् । चन्द्रसिंह पनि आन्तरिक प्रतिस्पर्धाको तेस्रो प्रयासपछि उपसचिव भएर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूह छन् ।

    चन्द्रसिंहको निजामती सेवा यात्रा

    गही बैशाख ३० मा लोकसेवा आयोगले सार्वजनिक गरेको नतिजाअनुसार चन्द्रसिंह नेपाल प्रशासन सेवातर्फ आन्तरिक प्रतिस्पर्धाबाट नवौँ नम्बरमा उपसचिवमा सिफारिस भएका हुन् । २०६७ सालमा लोकसेवा आयोग बुटवलबाट सहायक विविध सेवाअन्तर्गत कम्प्युटर अपरेटर (खरिदार)मा उनी वैकल्पिक सूचीमा परे । त्यसको २ वर्षपछि दोस्रो प्रयासमा चन्द्रसिंह सफल भए ।

    उनको पहिलो पदस्थापन २०६८ फागुन ४ मा जिल्ला हुलाक कार्यालय रुकुम पश्चिममा भएको थियो । त्यतिबेला उनी २२ वर्षको मात्रै थिए । स्नातक तहको अन्तिम वर्षमा अध्ययनरत थिए ।

    जिल्ला हुलाक कार्यालय रुकुममा करिब २ वर्ष काम गरेपछि उनले काठमाडौं पुगेर कम्प्युटर अपरेटर (नायब सुब्बा) मा फारम भरे । यसअघि सोही पदमा सुर्खेतमा लिखित परीक्षा दिएर उत्तीर्ण भए पनि सिफारिस हुन सकेनन् । काठमाडौंबाट दोस्रो पटक प्रयास गरेपछि २०७० असोजमा उनी कम्प्युटर अपरेटर (नायब सुब्बा) पदमा सिफारिस हुन सफल भए । सर्वोच्च अदालतमा उनको पदस्थापन भयो । सर्वोच्चमा साढे २ वर्ष काम गरे ।

    चन्द्रसिंह र विमलाको विवाह

    चन्द्रसिंह सर्वोच्च अदालतमै हुँदा र विमला जिल्ला हुलाक कार्यालय रुकुम पश्चिममै कार्यरत रहँदा उनीहरू वैवाहिक बन्धनमा बाँधिए । त्यसपछि चन्द्रसिंहको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा भयो । त्यहाँ ६ महिना काम गरे ।

    उनले २०७२ सालमा प्रशासन सेवाको शाखा अधिकृत पदमा प्रतिस्पर्धा गरे, तर वैकल्पिकमा परे । दोस्रो प्रयासपछि २०७३ साल कात्तिकमा उनी शाखा अधिकृतमा सिफारिस हुन सफल भए । उनीसँगै विमला पनि शाखा अधिकृतमा सिफारिस भएपछि दुवैको खुसीको सीमा भएन । विमला खुला प्रतिस्पर्धामार्फत खरिदारबाट सीधै शाखा अधिकृतमा सिफारिस भएकी थिइन् ।

    २०७३ साल कात्तिकमा शाखा अधिकृतको नियुक्ति लिएर ६ महिने तालिमपछि उनी गृहजिल्लाको पनि गृहपालिका भूमे गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा पदस्थापन भए । उनकी श्रीमती विमला भने रुकुम पूर्वको सिस्ने गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा पदस्थापन भइन् । स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत टिक्नै नसक्ने समस्यामा चन्द्रसिंहले भूमे गाउँपालिकामा ६ वर्ष जिम्मेवारी सम्हाले ।

    ३ पटकको प्रयासपछि उपसचिव बने चन्द्रसिंह

    चन्द्रसिंह २०८० साउनमा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भए । त्यसको २ वर्षमा आन्तरिक प्रतिस्पर्धाबाट ३ पटकको प्रयासपछि उनी उपसचिवमा बढुवा सिफारिस हुन सफल भए ।

    ढिलोचाँडो भए पनि श्रीमानश्रीमती नै उपसचिव भएपछि अहिले उनीहरू हर्षित छन् । चन्द्रसिंहले शाखा अधिकृत भएसकेपछि नै महिलालाई छोराछोरी जन्माउनेदेखि हुर्काउनेसम्मको जिम्मेवारी बढी हुने भएकाले विमला आफूभन्दा अघि नै उपसचिव भइदिए हुन्थ्यो भन्ने सोचेको र नभन्दै नजिता पनि त्यस्तै आएको बताए ।

    श्रीमती उपसचिव र आफू अधिकृत नै भएकाले आफूले कार्यालयदेखि साथीभाइबाट विभिन्न प्रश्नको सामना गर्नुपरेको चन्द्रसिंह सुनाउँछन्, तर आफूहरू त्यसलाई चिरेर अघि बढेको उनको भनाइ छ ।

    स्कुल जाने छोराः श्रीमान पुर्‍याउने, श्रीमती ल्याउने

    उनीहरूको अहिले ७ वर्षीय एउटा छोरा छन् । दुबै निजामती कर्मचारी भएकाले बिहान चन्द्रसिंह छोरालाई विद्यालय पुर्‍याएर कार्यालय जान्छन् भने साँझ छोरा लिएर विमला कार्यालयबाट घर फर्किन्छिन् ।

    मुख्यसचिव बन्ने युगल सपना !

    निजामती सेवा प्रवेश गर्ने अधिकांश कर्मचारीको लक्ष्य मुख्यसचिव बन्ने हुन्छ । आफूहरूकाे लक्ष्य पनि त्यही रहेको चन्द्रसिंह र विमला बताउँछन् । अहिले उनीहरू दुवैले सहसचिवको प्रतिस्पर्धामा सहभागी हुने योग्यता राख्छन् । त्यही अनुसार चन्द्रसिंहले सहसचिवमा प्रतिस्पर्धा गर्न फारम पनि भरेका थिए, तर परीक्षाको समयमा बुवा बितेपछि उनले जाँच दिएनन् ।

    ‘अब सहसचिवको परीक्षामा प्रतिस्पर्धा गर्ने योजना छ’, चन्द्रसिंहले भने । विमला पनि सहसचिवमा प्रतिस्पर्धा गर्ने योजनामा छिन् ।

    विमलाकाे निजामती यात्रा

    उच्च शिक्षा अध्ययन खर्च जुटाउन आफैंले अध्ययन गरेको विद्यालयमा करार शिक्षक भएर पढाएकी उनी रहरले निजामती सेवामा मोडिएकी थिइन् । उनी खरिदार पदमा दोस्रो पटकको प्रयासमा २०६९ सालमा लोकसेवा परीक्षा सफल भएकी थिइन् । निजामती सेवामा प्रवेश गरेको १ वर्षपछि अहिले उनी नेपाल सरकारको उपसचिव छिन् ।

    ‘विद्यालयमा करारमा पढाइरहेकै बेला साथीको अनुरोधमा लोक सेवा आयोगले लिने खरिदार तहको परीक्षामा सहभागी हुन आवेदन दिएकी थिएँ’, विमला स्मरण गर्छिन्, ‘त्यसबेला राम्रोसँग फारम पनि पनि भर्न जानेको थिएन । अझ लोकसेवाको परीक्षा के हो भन्ने समेत थाहा थिएन । विनातयारी पहिलो पटक परीक्षामा सहभागी पनि भएको थिएँ ।’

    पहिलो प्रयास असफल भएको १ वर्षपछि दोस्रो पटक खरिदार पदकै लागि खुला र समावेशीमा आवेदन दिएको उनी बताउँछिन् ।

    ‘लिखित परीक्षाको नतिजा आउँदा दुवैतर्फ नाम निस्कियो । त्यसपछि आमाले ५ हजार रूपैयाँ सापटी खोजेर मौखिक परीक्षा दिन दाङ पठाउनुभयो’, उनी थप्छिन्, ‘मौखिक परीक्षा दिएको केही दिनमै अन्तिम नतिजा आउँदा समावेशीतर्फ खरिदार पदमा सिफारिस हुन सफल भएँ । नाम निस्किएला भन्ने झिनो आशासमेत गरेकी थिइनँ । खरिदारमा सिफारिस भएपछि खुसी मात्रै भइनँ, ममा जोस, जाँगर र आत्मविश्वाससमेत बढ्यो ।’

    निजामती कर्मचारी भएपछि विमलाले अहिले पछाडि फर्केर हेर्नुपरेको छैन । खरिदार पदमा कार्यरत रहेकै बेला उनले स्नातक तहको अध्ययनसँगै नायब सुब्बाको परीक्षा दिइन्, तर सफलता हात लागेन ।

    स्नातक तहको पढाइ सकेपछि विमलाले निजामती सेवाकै खरिदार पदमा कार्यरत चन्द्रसिंह श्रेष्ठसँग वैवाहिक बन्धनमा बाँधिइन् ।

    बिहेपछि २०७२/७३ सालमा लोकसेवाले लिएको प्रशासनतर्फको शाखा अधिकृत पदको परीक्षामा श्रीमानश्रीमती सँगै सहभागी भए । त्यतिबेला उनीहरू दुबै नायब सुब्बा भइसकेका थिए । दुबै जना पहिलो पटकको प्रयासमै शाखा अधिकृतमा सिफारिस भए ।

    २०७३ साल कात्तिकमा शाखा अधिकृतमा सिफारिस भइसकेपछि ६ महिने तालिम पुरा गरेर विमला रुकुम पूर्वको सिस्ने गाउँपालिका कार्यालयमा र चन्द्रसिंह भूमे गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतमा पदस्थापन भए । विमलाले सिस्ने गाउँपालिकामा करिब ३ वर्ष प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालिन् । त्यसपछि रुकुम पूर्वकै जिल्ला समन्वय समितिमा जिल्ला समन्वय अधिकारीको रूपमा १६ महिना काम गरिन् ।

    त्यहीबीचमा विमलाले छोरालाई जन्म दिइन् । अनि रुकुम पूर्वबाट काठमाडौंस्थित नेपाल ट्रस्टको कार्यालयमा सरुवा भइन् । त्यहाँ विमलाले करिब एक वर्ष काम गरिन् । यसैबीचमा उनले उपसचिवमा प्रतिस्पर्धा गरिन् । पहिलो प्रयासमा असफलता हात लागको उनी बताउँछिन् ।

    २०७९ सालमा भएको आन्तरिक प्रतिस्पर्धामा भने सफल भएको विमलाले बताइन् । उनका अनुसार आन्तरिकमा खुलातर्फको प्रतिस्पर्धामा १७ जनामध्ये विमलामात्रै महिला थिइन् र उनी सफल पनि भइन् ।

    उपसचिव भएपछि विमलाको पहिलो नियुक्ति उपराष्ट्रपतिको कार्यालयमा भएको थियो । त्यहाँ करिब ९ महिना काम गरेपछि अहिले उनी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत पाठ्यक्रम विकास केन्द्र सानोठिमीमा कार्यरत छिन् ।

    अधिकृतको तयारी गर्दा काठमाडौंमा केही महिना तयारी कक्षा लिएकोबाहेक अरू बेला स्वअध्ययन गरेरै लोकसेवा परीक्षामा सफल भएको विमला बताउँछिन् । स्नातक तहसम्म रुकुममै पढेकी विमलाले जनप्रशासन र राजनीतिशास्त्रमा स्नातकोत्तर गरेकी छन् । अहिले कानूनमा स्नातक अध्ययन गरिरहेको उनी बताउँछिन् ।

    ‘अहिले सहसचिवको तयारीमा छु । त्यसपछि सचिव हुँदै मुख्यसचिव बनेर निजामती सेवाको नेतृत्व गर्ने सपना छ’, विमला भन्छिन्, ‘औपचारिक शिक्षातर्फ विद्यावारिधि पूरा गर्ने पनि रहर छ ।’

  • जलमग्न जनकपुर: आधा घण्टाको वर्षा, वर्षौंको समस्या

    जलमग्न जनकपुर: आधा घण्टाको वर्षा, वर्षौंको समस्या

    वीरगन्ज । मधेश प्रदेशको राजधानी जनकपुरधाममा आधा घण्टा मात्रै पानी पर्दा सहरका धेरैजसो भाग डुबानमा परेका छन्। यो कुनै नयाँ खबर होइन, बरु वर्षौंदेखि जनकपुरवासीले भोग्दै आएको एउटा तितो यथार्थ हो। उपमहानगरपालिकाका रामचोक, शिवचोक, मिल्स एरिया लगायतका क्षेत्रहरू तालमा परिणत हुँदा जनजीवन अस्तव्यस्त बनेको छ।

    सहरको बर्खे रूपः दुःख र सास्तीको संगम

    वर्षायाम सुरु नहुँदै देखिएको यो दृश्यले जनकपुरधामवासीलाई चिन्तित बनाएको छ। ‘हाम्रो लागि त यो सामान्य भइसक्यो,’ शिव चोकका बासिन्दा पत्रकार विरेन्द्र रमण दुखेसो पोख्छन्, ‘यहाँ राम्रो ढलको निकास नहुँदा आधि घण्टा पनि पानी पर्यो भने सडक जलमग्न हुन्छ । चुनावमा भोट माग्न आउँदा ढल निकासको व्यवस्था मिलाउँछौं भन्छन्, तर जितेपछि कसैले वास्ता गर्दैनन्। हाम्रो भाग्यमै डुबान लेखिएको रहेछ।’

    अर्का स्थानीय भरत रौनियार थप्छन्, ‘अलिकति पानी पर्दा पनि घरभित्र पानी पस्छ, बाहिर निस्कन पनि डराउनुपर्ने अवस्था छ। सडक हो कि खोला छुट्याउनै गाह्रो हुन्छ।’

    अव्यवस्थित विकास र ढलको ‘दम घुटाइ’

    जनकपुरधामको यो नियति अव्यवस्थित सहरीकरण र दीर्घकालीन योजनाको अभावको परिणाम हो। सहर बढ्दै जाँदा कंक्रिटका जंगलहरू त ठडिए, तर पानी निकासको लागि आवश्यक पूर्वाधारमा ध्यान दिइएन।

    भएका ढलहरू पनि साँघुरा छन्, नियमित सफा नगरिँदा फोहोर र माटोले भरिएका छन्। कतिपय ठाउँमा त ढलको मुखै बन्द भएकाले पानी जम्ने समस्या झनै बढेको छ। नालाहरूमाथि जथाभावी संरचना बन्दा पानीले बग्ने बाटो नपाउँदा सडक र घरहरूमा जम्न पुगेको छ।

    कहिल्यै नटुङ्गिने आश्वासन र अपर्याप्त प्रयास

    प्रत्येक वर्ष डुबानको समस्या दोहोरिँदा पनि समाधानका लागि ठोस र स्थायी कदम चालेको देखिँदैन। उपमहानगरपालिकाले वर्षाको समयमा केही ठाउँमा पानी तान्ने मेसिन लगाएर वा नाला सफा गरेर ‘टालटुले’ काम मात्रै गरेको स्थानीयको गुनासो छ। यस्ता क्षणिक उपायले समस्याको जरासम्म पुग्न सकिँदैन भन्ने कुरा स्पष्ट छ।

    यो समस्याको स्थायी समाधानका लागि वैज्ञानिक ढल प्रणालीको विकास, पुराना ढलहरूको स्तरोन्नति, नियमित सरसफाइ र अव्यवस्थित निर्माण रोक्ने जस्ता कदम चाल्न जरुरी छ। सहरका विज्ञ र स्थानीय बासिन्दासँगको सहकार्यमा दीर्घकालीन योजना बनाई कार्यान्वयन गर्नुपर्छ।

    पानीमा डुबेको जनजीवन

    जनकपुरधामको यो ‘बर्खे रूप’ ले जनजीवनलाई नराम्रोसँग प्रभावित पारेको छ। सडकमा पानी जम्दा यातायात आवागमन ठप्प भएको छ, स्कुले बालबालिकालाई विद्यालय जान समस्या भएको छ। पसल र घरहरूमा पानी पसेर करोडौंको क्षति भएको छ।

    यदि यो समस्यालाई गम्भीरतापूर्वक लिइएन भने आउने दिनहरूमा जनकपुरवासीले अझ ठूलो सास्ती भोग्नुपर्ने निश्चित छ। जनकपुरधामवासीले अब वाचा र आश्वासन होइन, समस्याको स्थायी समाधान चाहेका छन्।

    प्रत्येक वर्ष डुबानको समस्या दोहोरिँदा पनि यसको दीर्घकालीन समाधानका लागि ठोस कदम चालिएको देखिँदैन। उपमहानगरपालिकाले बर्खाको समयमा केही ठाउँमा पानी तान्ने मेसिन प्रयोग गर्ने वा नाला सफा गर्ने जस्ता अस्थायी उपायहरू अपनाए पनि त्यो पर्याप्त छैन।

    स्थानीय सरकारले यस विषयलाई गम्भीरतापूर्वक लिई व्यवस्थित ढल प्रणालीको निर्माण, पुराना ढलहरूको स्तरोन्नति र नियमित सरसफाइमा ध्यान दिनुपर्ने आवश्यकता छ।

  • ५ तस्बिरमा हेर्नुहोस् भरतपुर चितवन नजिकको टिकौली जंगल

    ५ तस्बिरमा हेर्नुहोस् भरतपुर चितवन नजिकको टिकौली जंगल

    भरतपुर । चितवन नजिकको टिकौली जंगल प्राकृतिक सौन्दर्य र जैविक विविधताका लागि प्रसिद्ध छ।

    चितवन राष्ट्रिय निकुञ्जको जैविक मार्ग क्षेत्रको रूपमा रहेको यस जंगलमा दुर्लभ वन्यजन्तु, चरा र वनस्पतिहरू पाइन्छन्।

    टिकौली जंगलमा भ्रमण गर्दा पर्यटकहरूले एकसिङ्गे गैंडा, पाटे बाघ, विभिन्न प्रजातिका मृग र चराहरू देख्न सक्छन्।

    यस क्षेत्रको रामसार सूचीमा सूचीकृत विसहजारी ताल जैविक मार्गको महत्त्वपूर्ण हिस्सा हो।

     

  • लिमी चिनाउने टासी

    लिमी चिनाउने टासी

    हुम्लाको नाम्खा गाउँपालिका-६, लिमी भ्यालीमा जन्मिएको म । हाम्रो गाउँमा विद्यालय थिएन । २००७ मा ६ वर्षको उमेरमा लिमीबाट हामी १८ जनाको टोली पढ्नलाई समूह बनाएर काठमाडौं गएका थियौँ । सबैजना त्यहाँको एक निजी स्कुलमा पढ्थ थाल्यौँ ।

    मातृभाषा हाम्रो नेपाली थिएन । काठमाडौंमा निकै गाह्रो भयो । पढ्न पनि निकै गाह्रो हुन्थ्यो । कतिपय साथीहरू नेपालीमा फेल हुने सम्भावना हुन्थ्यो । कक्षा ८ सम्म काठमाडौंमा । अनि त्यसपछि छात्रवृत्तिमा पढ्न भारत गएँ । १२ कक्षा पास त्यहीँ पढेँ । त्यसपछि दिल्ली विश्वविद्यालयको हिन्दू कलेजमा पढेँ, राजनीतिक शास्त्र पढेँ । त्यसपछि छोटो समय नेपालस्थित अमेरिकी दुतावासमा पोलिटीकल र इकोनमिक सेक्सनमा काम गरेँ ।

    म कलेजदेखि नै फिल्ममा पनि काम गर्थे । मेरो पहिलो फिल्म डकुमेन्ट्री-नो मोनास्ट्री नो भिलेज हो । जलवायु परिवर्तन र संस्कृतिसम्बन्धी थियो । यो फिल्म मैले आफ्नै गाउँ अवस्थालाई मध्यनजर गरेर बनाएको हो । यसको छायांकन लिमीमै भएको थियो । गत वर्ष रिलिज भएको हो । यसको निर्देशक पनि म आफैँ हो । हिन्दू कलेजमा एउटा फिल्म निर्देशक थिए । उनले तालिम दिन्थे । त्यहीँबाट मलाई यता पनि रुचि भयो ।

    हाम्रो गाउँमा हिमताल थियो, जलवायु परिवर्तनको कारण त्यो ताल फुट्यो । पटक-पटक । एक पटक घरहरू बगे । फेरि बग्यो भने नजिकै रहेको गुम्बा क्षतिग्रस्त हुने सम्भावना छ । गुम्बा बग्यो भने त्यहाँ बस्ती रहँदैन । मान्छेहरू बस्दैनन् । त्यसैले त्यहाँ अन्तर्राष्ट्रिय सहयोग आवश्यक छ । साथै सरकारले पनि त्यहाँ ध्यान दिनुपर्छ । फिल्म त्यो बारेमा बनाएको हो । लेखन पनि मेरै हो ।

    अहिले नयाँ जलवायु परिवर्तनसम्बन्धी कै अर्को डकुमेन्ट्रीको तयारी भइरहेको छ । त्योबारेमा रिसर्च पनि गरिरहेकी छु । जलवायु परिवर्तनसम्बन्धी विशेष गरेर अध्ययनको विषय बनेको छ, किनकी मेरो गाउँको प्रमुख समस्या हो । काठमाडौंले त्यो देखेको छैन, काठमाडौंका सञ्चारमाध्यमले लिमी र लिमीबासीको समस्या कहिल्यै भन्दैनन् । डकुमेन्ट्रीकै सहायताले मैले आफ्नो गाउँको समस्या उठाउने प्रयास गरिरहेको छु ।

    सन् ०१३ मा हिम पहिरो गएको थियो, हाम्रो गाउँमा । सयौं याकहरू मरे । त्यहाँका याक पालक किसानहरूका लागि ठूलो क्षति भयो । तर, सरकारको तर्फबाट कुनै सुनुवाइ भएन, सहयोग भएन । काठमाडौंका सञ्चार माध्यमले त्यहाँ कुनै सहयोग गरेनन् । हामी हिमालका नागरिकका लागि त राज्य नभएको अनुभूति हुन्छ ।

    आफ्नो ठाउँमा भएको समस्यालाई लिएर म अन्तराष्ट्रिय सम्मेलनमा गइरहेको हुन्छु । जुन महिनादेखि विभिन्न देशमा हुने सम्मेलनहरुमा भाग लिन जाँदै छु, जहाँ मेरो गाउँ र नेपालमा जलवायु परिवर्तनले गर्दा भोग्दै आएको समस्याहरु राख्ने छु ।

    छोरीहरुलाई प्रेरणा

    स्कुलमा पढ्ने मात्र होइन् प्रश्न सोध्न पनि सक्नुपर्छ भनेर मैलै छोरीहरूसँग भन्छु । सपना देख्न सक्नुपर्छ । त्यो सपनाअनुसार लगनशीलता आवश्यक हुन्छ ।

    हुम्लाको लिमीदेखि दिल्लीसम्म पुग्दा निकै संघर्ष गर्नुपर्‍यो । दिल्लीमा हुँदा नेपालीलाई हेपाह जस्तो व्यवहार हुन्थ्यो । तर, लक्ष्यमा दृढ थिएँ । म सानोमा साइन्समा विशेष रुचि राख्थेँ । जब महिले समाजबारे थाह पाएँ, त्यसपछि मैले आफ्नो समाजबारे केही गर्नुपर्छ भन्ने तरिकाले सोचेँ ।

    लिमीको मान्छेबारे सरकारलाई वास्ता हुँदैन । हाम्रो गाउँको मान्छेले पनि सरकार भएको अनुभूति गरेका छैनन् । सरकारले दिएका अधिकारहरु त्यहाँका मान्छेले प्रयोग गर्न पाएका छैनन् । राजनीतिमा हाम्रो मान्छेहरू छैन । मेरो उद्देश्य के हो भने त्यो समाजलाई राज्यबारे जानकारी दिनु, राज्यले जनतालाई दिएका अधिकारहरू छन् भनेर जानकारी गराउनु हो । राज्यमा हाम्रो उपस्थिति होस् भन्ने छ । राज्यमा आफ्नो छुट्टै हुम्लो आदिबासीको हुम्लो समुदाय दर्ज होस् भन्ने छ । अहिले हामीलाई तामाङ वा लामा भनेरमात्रै राखेको छ ।

    मेरो गाउँको भाषा अर्थात् मातृभाषा ‘लिमी के’ हो ।

    हाम्रो गाउँमा पहिला स्कुल थिएन् । अहिले एउटा मातृभाषासम्बन्धी स्कुल छ । तर, अहिले हाम्रो गाउँमा पढाउने व्यक्तिलाई नेपाल सरकारले तलब दिँदैन । एनजिओले दिन्छ । हाम्रो मातृभाषा पढाउने टिचरलाई । त्यहाँ राज्यको उपस्थिति छैन ।

    (नेपाल-अमेरिका फिल्म फेस्टिबलमा बेस्ट डकुमेन्ट्री, नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा बेस्ट नेशनल डकुमेन्ट्री अवार्ड लगायत थुप्रै पुरस्कार पाएकी र अहिले जलवायु परिवर्तनले पारेको असरको अध्ययनमा सक्रिय टासीले कर्णालीको सुर्खेतमा जारी छोरी सम्मेलनमा दिएको मन्तव्य ।)

  • ह्वात्तै बढ्याे गर्मी (तस्बिरहरू)

    ह्वात्तै बढ्याे गर्मी (तस्बिरहरू)

    काठमाडौं । केही दिनयता काठमाडौं उपत्यकालगायत देशभर ह्वात्तै गर्मी बढेको छ । आज काठमाडौं उपत्यकाको तापक्रम २८ डिग्री सेल्सियस पुगेको छ  भने तराईका जिल्लामा ४५ डिग्रीसम्म पुगेकाे छ । केही दिन अघि निरन्तर भएको वर्षापछि देशभर तापक्रम बढेको हो ।

    गर्मीका कारण जनजीवन प्रभावित बनेको छ । चोक तथा सडकमा छहारी, फलफूल पसलमा सर्वसाधारणको भिड छ ।

    उपत्यकालगायत देशभर तापक्रम वृद्धि भएपछि जल तथा मौसम पूर्वानुमान महाशाखाले गर्मीबाट बच्न आवश्यक सतर्कता अपनाउन सार्वजनिक रूपमा आग्रह गरेको छ । तराईलगायत देशभर गर्मी बढ्न सक्ने महाशाखाले जनाएको छ ।

    गर्मीकै कारण चिसो खानेकुराहरुको खपत बढेको छ।

    तस्बिर :बिजेन अमात्य/नेपाल न्यूज बैंक

  • काठमाडौंको ब्रेनब्रिज एजुकेसनको परामर्श अब चितवनमा

    काठमाडौंको ब्रेनब्रिज एजुकेसनको परामर्श अब चितवनमा

    भरतपुर । काठमाडौंमा स्थापित ब्रेनब्रिज एजुकेसनले चितवनमा पनि आफ्नो सेवा विस्तार गरेको छ । विदेश अध्ययनमा जान चाहने विद्यार्थीहरुलाई सही परामर्श तथा सहजीकरण गर्ने उद्देश्यले काठमाडौंको मध्यबानेश्वरमा सन्चालनमा रहेको ब्रेनब्रिज एजुकेसनले यही महिनादेखि चितवनमा शाखा विस्तार गरेको हो ।

    चितवनमा विद्यार्थीहरुलाई सही परामर्श होस् र उच्च शिक्षाका लागि गन्तव्य चयनमा पनि सहजीकरण होस् भन्ने हेतुले चितवनमा आफ्नो शाखा विस्तार गर्न लागेको ब्रेनब्रिज एजुकेसनकी अध्यक्ष अर्चना दवाडीले बताएकी छन् ।

    ‘हामीले काठमाडौंमा जसरी विद्यार्थीहरुलाई सही परामर्श दिइरहेका छौँ’, उनले भनेकी छिन्, ‘चितवनमा पनि विद्यार्थीहरुलाई आफ्नो अध्ययनको सपना पूरा होस् भन्ने हेतुले शाखा सञ्चालनमा ल्याउने निर्णय गरेका हौँ ।’

    उनले ब्रेनब्रिज एजुकेसनले काठमाडौंमा जस्तै चितवनमा निःशुल्क भाषा शिक्षणका कार्यक्रमहरु सन्चालन गर्ने बताइन् ।

    ‘आइइएलटिएस, पिटिई, डिस्याट, ड्युलिङ्गोजस्ता भाषा कक्षाहरु हामीले काठमाडौंमा निःशुल्क गरिरहेका छौँ’, उनले भनिन्, ‘विद्यार्थीहरुलाई आर्थिक भार नपरोस् भनेर हामीले भविष्यमा खुल्ने नेपालका अन्य शाखाहरुमा पनि भाषा शिक्षण निःशुल्क गर्नेछौँ ।’ यस्तो गर्दा विद्यार्थीहरुलाई सहज हुने उनको बुझाइ छ ।

    अष्ट्रेलिया, युके, अमेरिका, क्यानडा, फ्रान्स, जर्मनी, इटाली, न्यूजिल्याण्ड, आयरल्याण्डलगायतका देशमा अध्ययन गर्न चाहने विद्यार्थीलाई परामर्श प्रदान गरिरहेको ब्रेनब्रिज एजुकेसनले चितवनबाट सेवा दिन पाउँदा खुसी भएको जनाएको छ ।

    साथै, ब्रेनब्रिज एजुकेसनले चितवनमा प्लस टु तथा ब्याचलर्समा विभिन्न संकायमा अध्ययन गरिरहेका विद्यार्थीहरुलाई अध्ययनमा सहयोग पुग्ने हिसाबले छात्रवृत्ति उपलब्ध गराउने तयारी पनि गरेको छ ।

    यसका लागि केही समयपछि छात्रवृत्ति आवेदन खुलाउने र यसमा चितवनका विभिन्न शिक्षण संस्थामा अध्ययनरत विद्यार्थीहरुले आवेदन दिनसक्ने ब्रेनब्रिज एजुकेसनले जनाएको छ । यो चितवनमा अहिलेसम्म प्रदान गरिएको सबैभन्दा ठूलो छात्रवृत्ति हुने ब्रेनब्रिज एजुकेसनको दाबी छ ।

    ‘यसमा प्रत्येक वर्ष हामीले एक सय विद्यार्थीको हाराहारीमा विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दैछौँ’, दवाडीले भनिन् ।

     

  • चितवनको कान्दामा दुई घण्टा बोकेर हाते ट्रयाक्टर पुर्‍याउँदा…

    चितवनको कान्दामा दुई घण्टा बोकेर हाते ट्रयाक्टर पुर्‍याउँदा…

    भरतपुर । चितवनको विकट कान्दामा अझै सवारी साधन पुगेको छैन । चेपाङ समुदायको बसोबास रहेको सो स्थानमा सवारी साधान पुगेको ठाउँबाट दुई घण्टा बढी पैदलयात्रा गर्नुपर्ने बाध्यता छ । तर, बोकेरै भए पनि यहाँका चेपाङ समुदायले गाउँमा पहिलोपटक हाते ट्रयाक्टर पुर्याएका छन् ।

    पहिलोपटक बारी जोत्ने ट्रयाक्टर पुग्दा उनीहरु दङ्ग छन् । मितेरी कृषक समूहका अध्यक्ष सीताबहादुर चेपाङ गाउँमै हाते ट्रयाक्टर आइपुग्दा सबै स्थानीय खुसी भएको बताए । उनले भने, “युवाहरु श्रम गर्न बाहिर जाँदा गाउँमा बुढाबुढी र बालबालिकामात्र रहनुपर्ने अवस्था छ, गोरु पाल्ने परम्परा पनि घट्दै जाँदा खेतबारी बाँझै हुने अवस्था थियो । अब हाते ट्रयाक्टरले जोत्न पाउँदा सहज हुने भयो ।”

    राप्ती नगरपालिका–१३ मा पर्ने कान्दा चितवनको सबैभन्दा विकट ठाउँ पनि हो । अहिलेसम्म विद्युतीकरणसमेत नभएको कान्दा पूर्वपश्चिम राजमार्गको भण्डाराबाट चेपाङ मार्ग हुँदै दुई घण्टा गाडीको यात्रा गरेपछि भञ्ज्याङ पुगिन्छ । त्यहाँबाट झण्डै दुई घण्टा हिँडेपछि मात्र कान्दा पुग्न सकिन्छ । उनीहरूले शनिबार बोकेरै हाते ट्रयाक्टर कान्दा पुर्याएका हुन् । हाते ट्रयाक्टर बोक्न सबै गाउँले उपस्थित भएका थिए ।

    यस ठाउँमा १५ वर्षअघि जङ्गली च्याउ खाँदा एकै परिवारका आठ जनाको मृत्यु भएको थियो । त्यसपश्चात यस ठाउँमा विभिन्न सङ्घसंस्थाको सहयोगमा रुपान्तरणका काम भइरहेका छन् । जङ्गली कन्दमूल खाएर जीवनयापन गर्दै आएका यहाँका चेपाङ समुदाय पछिल्लो समयमा आफैँ कृषि पेसा गरेर जीविकोपार्जन गर्दै आएका छन् । कृषि पेसालाई व्यावसायिक बनाउन सहयोग गर्न यस हाते ट्रयाक्टरले धेरै सहयोग पुग्ने विश्वास अध्यक्ष सीताबहादुरको छ ।

    स्थानीय किसान कृष्णबहादुर प्रजाले गाउँमा पहिलोपटक ट्रयाक्टर देख्न पाउँदा नयाँ युगमा प्रवेश गरेको अनुभूति गरेको बताए । उनले सबै कुराले पछाडि परेको कान्दालाई राज्यले ध्यान दिन नसकेको गुनासो गरे ।

    कृषि विकास कार्यालयको ५० प्रतिशत अनुदान र भरतपुरको सेन्ट्रल कलेजको ५० प्रतिशत सहयोगमा विकट कान्दामा हाते ट्रयाक्टर पुगेको हो । पैसठ्ठी घर रहेका कान्दामा मितेरी कृषक समूहमार्फत किसान एकीकृत भएर कृषि पेसा गरिरहेका छन् । यस्तै सोही ठाउँको कान्देश्वरी आधारभूत विद्यालयको छात्राबासको जग्गामा पनि कृषिखेती गरिएको छ । त्यहाँ उत्पादन भएको तरकारी र अन्न छात्राबासमा बसोबास गरेर अध्ययन गर्ने चेपाङ बालबालिकालाई खुवाउने गरिएको छ । हाते ट्रयाक्टर कृषक समूह र छात्राबास दुवैका लागि प्रयोगमा ल्याइने कान्देश्वरी आधारभूत विद्यालयका प्राधानाध्यापक बालकृष्ण थपलियाले बताए । उनले यहाँका किसानलाई हाते ट्रयाक्टर उपलब्ध भएपछि बारी जोत्न र उत्पादन बढाउन सहयोग मिल्ने बताए । “कृषि उत्पादनसँग यहाँ अध्ययनरत चेपाङ बालबालिकालाई जोड्ने गरेका छौँ”, उनले भने, “बालबालिकाकै माध्यमबाट अभिभावकहरू पनि यसतर्फ आकर्षित भइरहनुभएको छ ।”

    सेन्ट्रल कलेजका प्रिन्सिपल यज्ञविलास पौडेलले पछाडि परेका चेपाङ समुदायलाई सहयोग गर्न पाउँदा खुसी लागेको बताए । उनले राज्य र निजी क्षेत्रको सहकार्य र सहयोगबाट नै चेपाङ समुदायमा रुपान्तरण ल्याउन सकिने बताए ।

    कान्दामा लामो समयदेखि काम गरिहेको मितेरी फाउन्डेसनका अध्यक्ष तथा पत्रकार रमेशकुरमार पौडेलले हाते ट्रयाक्टर पुर्याउनका लागि सहजीकरण गरेका थिए । उनले चेपाङ समुदायले लामो समयदेखि परम्परागत कृषि प्रणालीबाट खेती गरिरहेकाले व्यावसायिकताका लागि सहजता ल्याउन किसानको अवस्था देखेर हाते ट्रयाक्टर उपलब्धताका लागि पहल गरिएको बताए । “किसानले चाहना गरे पनि आर्थिक अवस्थाले भ्याउने थिएन, अनुदानको ट्रयाक्टरमा पनि ५० प्रतिशत रकम जुटाउन नसकेपछि सहयोगी हात खोजेका हौँ”, उनले भने । यहाँका चेपाङ समुदायको जीवनस्तर कृषिमार्फत सुधार्न सकिने भन्दै त्यसका लागि राज्यका निकायले ध्यान दिनुपर्ने उजको भनाइ छ । यहाँका किसानले मकै, कोदो, फापर र तरकारीखेती गर्दै आएका छन् । हावापानीका दृष्टिकोणले चिसो मौसम रहेको यस ठाउँमा मौसमअनुसारका फलफूलखेती गर्न सकिन्छ ।

  • विदेशबाट फर्केको एक सातामै परपुरुषको घरमा मृत भेटिइन् धनमाया

    विदेशबाट फर्केको एक सातामै परपुरुषको घरमा मृत भेटिइन् धनमाया

    रुपन्देही । रुपन्देहीको कञ्चन गाउँपालिकामा विदेशबाट फर्किएको एक सातामै एक महिला परपुरूषको घरमा मृत भेटिएकी छन् ।

    कुवेतबाट भर्खरै फर्केकी कञ्चन गाउँपालिका-४ थकालीचोक निवासी ४५ वर्षकी धनमाया विक स्थानीय वरपिपलचोक बस्ने ४७ वर्षीय विनोद विकको घरमा झुन्डिएको अवस्थामा हिजो फेला परेकी हुन् ।

    प्रहरीका अनुसार घरपछाडि रहेको फलामे भर्‍याङको चौथो खुड्किलोमा कपडाको पासो लगाएर झुन्डिएकी थिइन् धनमाया ।

    एक खुट्टाले भुईँमा टेकेको र अर्को खुट्टा भुईँमा लत्रेको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय सालझण्डीले जनाएको छ। विनोद र धनमायाको केही दिन अगाडि लेनदेनसम्बन्धी विवाद भएको थियो।

    धनमायाले आत्महत्या गरेको नभई हत्या गरी झुण्ड्याइएको आशंका स्थानीय र आफन्तले गरेका छन्। मृतकका भिनाजु झविलाल विकले धनमाया र विनोदबीच निकटता रहेकाले घटना शंकाष्पद भएको बताए । विनोद र धनमाया दुवै डिभोर्सी हुन् । पूर्वप्रहरी हवल्दार विनोद हाल एनआइसी बैंक रुद्रपुर शाखामा सुरक्षा गार्डको काम गर्छन् ।

    ‘उनीहरुबीच आउने जाने थियो, विदेश बस्दा नै नानीले बाइक किन्न पैसा पठाएकी रहिछन्,’ विकले भने, ‘विनोदलाई श्रीमतीसँग सम्बन्धविच्छेद गर्न पनि ५ लाख पठाएको रेकर्ड हामीसँग छ, फर्केपछि त्यो रकम फिर्ता मागे पनि नदिएको र पैसा नदिए जे पनि हुनसक्छ भनेर नानीले पटक-पटक भनेको बुझिएको छ,’ उनले भने ।

    विनोदले नै आफ्नो घरमा एक महिलाले आत्महत्या गरेको भनी इलाका प्रहरी कार्यालय रुद्रपुरमा बिहान ६ बजे जानकारी दिएका थिए । सोही सूचनाअनुसार घटनास्थलमा पुग्दा झुन्डिएको अवस्थामा शव फेला परेको हो ।

    धनमाया विदेशबाट फर्किएको एक साता मात्रै भएको थियो। मङ्गलवार राती घरका आफन्त तथा परिवारसँग राति ९ बजेसम्म खानपिन गरी फर्किएको भिनाजु छविलाल बताउँछन्।

    धनमायाको यसअघि पाल्पाका राजन सुनारसँग बिहे भएको थियो । श्रीमानसँग सम्बन्ध विच्छेद भई कञ्चनमा बस्दै आएकी उनी केही समयअघि बिदेसिएकी हुन् ।

    अहिले उनको शव पोस्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पठाइएको इलाका इलाका प्रहरी कार्यालय सालझण्डीले जनाएको छ। इप्रकाले घटनाको अनुसन्धान गरिरहेको छ ।

    प्रारम्भिक अनुसन्धानमा संलग्न प्रहरी कार्यालय रुद्रपुरका सई धर्म खड्काका अनुसार विनोद बुधवार बिहानै आफ्नो घरमा महिला झुण्डिएको सूचना दिन प्रहरीसमक्ष आएका थिए ।

    ‘बाहिरबाट पनि सूचना पाएका थियौँ, विनोद आफैँ पनि आउनुभयो,’ उनले भने ।

    रुपन्देही कन्चन गाउँपालिका वडा न ४ की काबा अध्यक्ष सुशीला थापाले आफू पनि घटनास्थलमा पुगेको र शवको प्रकृति हेर्दा आत्महत्या गरेजस्तो नलागेको बताइन् ।

    ‘घाँटीमा पासोको चोट छ, शरीरमा अन्य घाउ छैन,’ उनले भनिन्, ‘खुट्टा भुईँमा टेकेको अवस्थामा कसरी झुन्डिइन् भन्ने आफन्तको दाबी प्रहरी अनुसन्धानबाट खुल्ला,’ उनले भनिन ।

    थापाका अनुसार मृतक पहिलाको वैवाहिक सम्बन्ध टुटेपछि माइतमै बस्थिन् र राम्रै आर्थिक जोहो गरेकी थिइन् । बच्चाबच्ची थिएनन् ।

    विनोदको भने दुईवटा बिहे भएका थिए । पहिलो श्रीमतीबाट एक छोरी र दोस्रो श्रीमतीतर्फ पनि दुई छोरी छन् । दोस्रो श्रीमतीसँग पनि सम्बन्धविच्छेदको प्रक्रियामा अन्तिम चरणमा पुगेकोले एकलजस्तै भएको वडाध्यक्ष थापाले बताइन् ।

    स्थानीयसमेत रहेका वडासचिव चक्रपाणी पौडेलका अनुसार विनोद प्रहरीसमक्ष विनोदले ज्यानको सुरक्षाका लागि आएको बताएका थिए ।