Category: नेकपा एस

  • नेकपा एसले पार्टी एकता गर्न नचाहेको हो कि नपाएको ?

    नेकपा एसले पार्टी एकता गर्न नचाहेको हो कि नपाएको ?

    काठमाडौं । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले तत्काल कुनै पार्टीसँग नमिसिने निष्कर्षमा पुगेको छ । नेकपा एस माओवादी केन्द्रसहित समाजवादी मोर्चामा आबद्धसहित अन्य साना वामपन्थी दलसँग छलफल गरिरहेको भए पनि दलीय एकताको सम्भावनालाई नकारेको हो ।

    पाँच दिनसम्म बसेको स्थायी कमिटीको बैठकले तत्काल कुनै पार्टीसँग एकता नगर्ने र यसभन्दा पछिका सबै निर्वाचनमा एक्लै चुनाव लड्नेसमेत निर्णय लिएको छ । नेकपा एसका अध्यक्ष माधव नेपाल माओवादीसँग पार्टी एकता गर्न लचक देखिन्थे ।

    केही समयअघि पार्टी एकता गर्ने विषयलाई केन्द्रमा राखेर अध्यक्ष नेपालले माओवादीका अध्यक्ष प्रचण्डसँग पटक पटक वार्ता गरेका थिए । तर, नेकपा एसका अधिकांश नेताहरु माओवादीसँग एकताको पक्षमा नउभिएपछि तत्काल कुनै पार्टीसँग एकता नगर्ने मुडमा माधव पनि पुगे ।

    माओवादीमा लगेर पार्टी बिसाउँदा असन्तुष्ट अधिकांश नेताहरु एमालेमै फर्किने देखेपछि तत्काललाई एकताको प्रक्रिया रोकेको बताइन्छ । बैठकपछि पार्टीको निर्णय सुनाउँदै उपाध्यक्ष जगन्नाथ खतिवडाले अब वामपन्थी एकताको नाममा अल्झिएर नबस्ने पार्टीको निष्कर्ष रहेको सुनाएका थिए ।

    उनको भनाइ थियो, ‘आजको दिनमा कुनै पनि कम्युनिष्ट पार्टीसँग एकता गर्ने सम्भावना नरहेको निष्कर्ष निकालिएको छ । वामपन्थीहरुसँग विभिन्न एजेण्डाको आधारमा सहकार्य गर्न सकिने तर, पार्टी एकताको सम्भावना नरहेको हुँदा त्यतातिर ध्यान नदिने, पार्टी सुदृढीकरणको लागि पहल गर्ने निर्णय भएको छ ।’

    नेकपा एसले महासचिव घनश्याम भुसालको नेतृत्वमा अब जनसंघर्षबाट पार्टी निर्माणमा लाग्न गाउँ फर्किने निर्णय पनि गरेको छ ।

    गएको निर्वाचनमा कांग्रेस र माओवादीसँग चुनावी गठबन्धन गरेर प्रत्यक्षतर्फ १० सीट जितेका नेकपा एसलाई पार्टीमा नेता कार्यकर्ता जोगाउन चुनौती बनिरहेको छ । गठबन्धनबाट चुनाव लड्दा प्रत्यक्षमा १० सीट जितेपनि राष्ट्रिय पार्टी नै बन्न नसकेपछि एमाले फोडेर एकीकृत समाजवादी गठन गर्नुको औचित्य पुष्टि नभएको भन्दै एमालेसँगै एकताको प्रयास गर्नुपर्ने पक्षमा केही नेता देखिएका छन् ।

    केही नेताहरुले नेकपा एसमा बस्न नसकिने भन्दै प्रधानमन्त्री ओलीलाई भेटेर नै पार्टी विभाजन सम्बन्धि अध्यादेश ल्याइदिन केही समयअघि आग्रह गरेका थिए । अध्यादेश ल्याउने विषयमा सत्तारुढ दल कांग्रेस सहमत नहुँदा तत्काललाई रोकिएको छ ।

    असारमा भएको महाधिवेशनबाट असन्तुष्ट नेताहरु एमालेमा फर्किने तयारी गरेपछि अध्यक्ष नेपालले बेग्लै छलफल गरेर कार्यविभाजनमार्फत नेताहरुलाई तत्काललाई रोकेका छन् । महाधिवेशनमा पराजित भएपछि असन्तुष्ट नेताहरु डा. विजय पौडेल, जीवनराम श्रेष्ठ, रामकुमारी झाँक्री, विरोध खतिवडासहित १७ नेतालाई नेकपा एसले स्थायी कमिटीमा बढुवा गरेको छ ।

    अध्यक्ष नेपाल मोर्चामा आबद्धसहित वामपन्थी पृष्ठभूमिका उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल, सीपी मैनाली, मोहनविक्रम सिंहलगायतसँग पनि केही समयअघि संवादमा थिए । उनले पार्टी एकता सम्भव नभए कार्यगत एकता गरेर अघि बढ्नुपर्नेमा जोड दिँदै आएका छन् । यद्यपी, कुनै दलसँग पनि ठोस निष्कर्षमा पुगेको अवस्था छैन ।

    ‘हल्काफुल्का ढंगले पार्टी एकता हुँदैन’

    प्रचण्डको जोडबलमा मोर्चा गठन गरिएको भएपनि नेकपा एसका सम्मानित नेता झलनाथ खनालले त्यसलाई एउटा अपरिपक्व अभ्यासको संज्ञा दिएका छन् ।

    दशौँ राष्ट्रिय महाधिवेशन र तत्कालिक कार्ययोजनाबारे झनालले पेश गरेको दस्तावेजमा भनिएको छ, ‘वाम समूहहरूलाई एकताबद्ध गर्नुपर्छ भन्ने नाउँमा केही समयअघि समाजवादी मोर्चा बनाउने प्रयत्न पनि देखापर्‍यो । त्यो एउटा अपरिपक्व अभ्यास बाहेक केही थिएन । समाजवादी मोर्चा नै बनाउने हो भने सबैभन्दा पहिले वैज्ञानिक समाजवादको कार्यक्रममा त सहमति हुनै पर्‍यो नि ।’

    कुनै पनि मोर्चा वा कार्यगत एकता निश्चित लक्ष्यका आधारमा बन्ने भएकाले समाजवादी मोर्चा बन्ने बित्तिकै समाजवादी कार्यक्रम र त्यसलाई प्राप्त गर्ने मुख्य कार्यदिशामा एकरुपता हुनैपर्ने दस्तावेजमा उल्लेख छ ।

    ‘यतिबेला समाजवादी मोर्चा बनाउने आत्मगत परिस्थिति विकसित भएको देखिँदैन । परिस्थिति परिपक्व भयो भने फेरि बनाउन नसकिने भन्ने पनि हुँदैन,’ दस्तावेजमा भनिएको छ, ‘पार्टी एकीकरण एउटा गहन प्रकृया हो । त्यसलाई हल्काफुल्का ढङ्गले हेर्नु हुँदैन । सम्बन्धित समूहहरू बीच वैचारिक, राजनीतिक, सैद्धान्तिक र संगठनात्मक कार्यदिशामा एकरुपताबिना पार्टी एकीकरण सम्भव हुँदैन ।’

    आजको आवश्यकता सबै वामपन्थीहरू बीच साझा सवालमा कार्यगत एकता गर्नु भएको उल्लेख गर्दै उनले त्यस्ता एकताबाट नै पार्टी एकीकरणको उचाइतिर क्रमिक रुपले अघि बढ्न सकिने बताएका छन् ।

    अहिले विभिन्न वामपन्थी समूहहरूमा नीतिहिन, सिद्धान्तहिन र स्वार्थपूर्ण ढंगले जो पायो त्यहीसँग कार्यगत एकता गर्ने प्रवृत्ति देखापरेको उनले विश्लेषण गरेका छन् ।

    नेकपा एसका उपाध्यक्ष प्रकाश ज्वालाले पार्टी एकताको विषयमा कुनै निर्णय नभएको बताए ।

    उनले भने, ‘अहिले हामीले पार्टी एकताबारे कुनै निर्णय गरेका छैनौं । अहिले कुनै दलसँग एकतामा जानेगरी छलफल चलेको पनि छैन । हामी पार्टी निर्माणको प्रक्रियामा अघि बढ्नुपर्छ भन्ने निष्कर्ष निकालेका छौं ।’

    किन देखेन एकताको सम्भावना ?

    पार्टीले तत्काल कुनै दलसँग एकताको सम्भावना नरहेको निष्कर्ष निकालेको भएपनि विचार मिल्नेसँग एकताको ढोका बन्द नगरेको उपमहासचिव रामकुमार भट्टराईले बताए । उनले आफूहरु वामपन्थी एकताको विपक्षमा नउभिएको जिकिर गरे ।

    उनले भने, ‘पार्टी एकताको पहिलो शर्त भनेको राजनीतिक र वैचारिक एकता हो । अहिले हामीले लिएको नीति भनेको वैज्ञानिक समाजवादी कार्यक्रम हो । वैज्ञानिक समाजवादी कार्यक्रम स्वीकार गर्ने दलहरुसँग चाँडोभन्दा चाँडो एकता गर्न हामी तयार नै छौं ।’

    अहिले भइरहेका कम्युनिष्ट दलहरुले वैचारिक रुपमा समाजवादी कार्यक्रम स्वीकार गरिरहेको स्थिति नभएको उनको भनाइ छ ।

    उनले थपे, ‘सबैले आआफ्नो कार्यक्रम बोकिराख्नुभएको छ । त्यसैले हामी विचार मिल्नेहरुसँग एकताको लागि २४ घण्टै तयार छौं । विचार नमिली पार्टी एकता हुँदैन, त्यो दुर्घटना मात्रै हुन्छ भन्ने बुझाइलाई मध्यनजर गरेर अहिले कुनै सम्भावना देखिएको छैन मात्रै भनिएको हो । सम्भावनाका सबै ढोका खुला छन् । कुनै भ्रममा नहोस् तर, वैचारिक एकता नभइकन पार्टी एकता सम्भव छैन भन्न खोजेका हौँ ।’

    उनले माओवादीसँग अहिले एकताको कुनै सम्भावना नभएको बताए ।

    उपमहासचिव भट्टराईले भने, ‘उहाँहरुसँग त राजनीतिक रुपमै कुरा मिलेको छैन । उहाँहरुको अहिलेको कार्यक्रम पनि २१ औं शताब्दीको जनवाद भन्नुहुन्छ । उहाँले पुरानो एजेण्डा छाड्न सक्नुभएकै छैन । नयाँ वैज्ञानिक समाजवादी कार्यक्रमलाई स्वीकार गरेर आए त पार्टी एकताको सम्भावना त बढिहाल्छ नि । अहिलेकै स्थितीमा हामीले माओवादीसँग वैचारिक रुपमा पार्टी एकताको सम्भावना छैन।’

    उनले पार्टी एकता नै गर्ने तहमा पार्टीले अहिले कुनै दलसँग पनि छलफल नगरेको बताए ।

    नेकपा एसको निर्णयबारे के भन्छ माओवादी ?

    नेकपा एसले तत्काल कुनै पार्टीसँग एकता नगर्ने निष्कर्ष निकाल्दै गर्दा माओवादीले भने समान विचार भएका वाम घटकहरूसँग पार्टी एकता र ध्रुविकरण गर्ने प्रयास भइरहेको सर्कुलर पार्टीपंक्तिलाई पठाएको छ । गत साता एक कार्यक्रममा बोल्दै प्रचण्डले तीन कम्युनिष्ट घटकबीच एकताको प्रक्रियामा रहेको सुनाएका थिए ।

    मंसिर २८ गते बसेको स्थायी कमिटी बैठकको निर्णयसहित अध्यक्ष प्रचण्ड र महासचिव देव गुरुङले पठाएको सर्कुलरमा मुलुकको विद्यमान परिस्थितिमा वाम एकता र ध्रुविकरण आवश्यक भएको निष्कर्ष निकालिएको छ ।

    सर्कुलरमा भनिएको छ, ‘विगतमा एकीकरण/ समायोजन/ पार्टी प्रवेश भएका कतिपय कमरेडहरूको सन्दर्भमा सांगठनिक जिम्मेवारी व्यवस्थापनमा उपेक्षा भएको भनि आएका गुनासोलाई ध्यानमा राखि एकिकरण/समायोजन /प्रवेश हुँदाका बखत स्थापित वाम घटकहरूमा जुन जुन स्तरमा कार्यरत रहेको थियो सोही स्तरमा समायोजन गर्ने र गैरवाम घटकहरूबाट पार्टी प्रवेश हुँदा सम्बन्धित पार्टी समितिहरूको निर्णय अनुसार समायोजन गर्ने निश्चित गरिएको छ ।’

    माओवादीले पछिल्लो समय माओवादी घटकसँगको एकतालाई प्राथमिकता राखेको छ । माओवादीसँग एकता गर्नको लागि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा, महेन्द्र राय यादव नेतृत्वको नेसपा तयार छन् । तर, उनीहरु प्रचण्डकै कारणले एकता प्रक्रियामा विलम्व भएको निष्कर्षमा पुगेका छन् । त्यसबाहेक नेकपा एस, प्रभु साह नेतृत्वका आमजनता पार्टीलगायत दलसँग पनि एकता गर्ने प्रचण्डको दाउ छ ।

    माओवादी केन्द्रका सचिव दिनानाथ शर्माले पनि विचार मिल्नेहरुसँग पार्टी एकता गर्ने आफूहरुको पार्टीको नीति नै रहेको बताए ।

    उनले भने, ‘विभिन्न पार्टीहरुसँग एकताको बिषयमा छलफल चलिरहेको छ । कुनै निर्णय गरेका छैनौं । अब यही २१ गतेबाट केन्द्रीय कमिटीको बैठक बस्दैछ । पार्टी एकताको बिषयमा पार्टीले निर्णय लिन्छ ।’

    माओवादीले एकताको कुरा गरिरहँदा नेकपा एकीकृत समाजवादीले कुनै पार्टीसँग एकताको सम्भावना नरहेको निष्कर्ष निकाल्यो नि ? भन्ने जिज्ञासामा उनले भने, ‘त्यो उहाँहरुको पार्टीको कुरा हो । आफ्नो पार्टीको निर्णय गर्न उहाँहरु स्वतन्त्र नै हुनुहुन्छ । त्यसलाई हामीले अन्यथा लिएका छैनौं ।’

  • के गर्लान् वामदेव ? एकीकृत समाजवादीलाई भित्र्याउन हतार, एमाले अलमल्याउँदै

    के गर्लान् वामदेव ? एकीकृत समाजवादीलाई भित्र्याउन हतार, एमाले अलमल्याउँदै

    काठमाडौं । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले मंगलबार एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतमलाई पार्टीमा भित्र्याउने निर्णय गर्‍यो । त्यसअघि नै एमालेले गौतमलाई खबर गरेको थियो, ‘धैर्य गर्नुस्, नआत्तिनुस्, हतारमा निर्णय नगर्नुस् है ।’

    गौतम नेतृत्वको पार्टी एकता राष्ट्रिय अभियानका नेता डीबी कार्कीका अनुसार अहिले एस र एमालेसँग बराबर संवाद चलिरहेको छ । कुरा कोहीसँग पनि मिलेको छैन ।

    ‘हामीले दुईचोटि एकताको निर्णय गर्दा पनि माधव नेपालले वास्ता गर्नुभएन’, उनले भने, ‘हिजो उहाँहरुले निर्णय गरेको सुनेर आज बिहान मैले फोन गर्दा भोलि भेटौं भन्नुभएको छ ।’

    कार्कीका अनुसार भैंसेपाटीस्थित गौतमको घरमै रहेको उनको पार्टी कार्यालयमा बिहीबार बिहान नेपालले आइपुग्ने भनेका छन् ।

    ‘आउनुभयो भने कुरा हुन्छ, अनिमात्रै एसमा जाने कि एमालेमा जाने भन्ने टुंगो लाग्छ’, कार्कीले भने ।

    कार्कीका अनुसार यसअघि एमाले महासचिव शंकर पोखरेल र उपमहासचिव पृथ्वीसुब्बा गुरुङमार्फत कुरा हुँदा गौतमले पार्टी एकताको आह्वानसहित एउटा निर्णय गरिदिन माग गरेका थिए ।

    ‘हामीले फ्ल्याट टाइपको डिसिजन गरिदिनुस् भनेका थियौं’, कार्की भन्छन्, ‘तर उहाँहरुले केही निर्णय गर्नुभएन, बरु कतै नजानुस्, जाने हतारोमा गलत निर्णय नलिनुस् भन्नुभयो ।’

    गौतम निकट नेकपा एसका स्थायी कमिटी सदस्य हरि पराजुली कार्कीले भने जस्तो कुरा नभएको भन्छन् ।

    ‘उहाँ विद्या भण्डारीमार्फत एमालेतिर जान खोज्दै हुनुहुन्थ्यो, केपी ओलीले यो कुरा थाहा पाएपछि धपाउन थाल्नुभयो’, पराजुलीले भने, ‘त्यसपछि हामीले त्यस्तो नगर्नुस्, फेरि ओलीको शिकार बन्नुहुन्छ भनेर यता ल्याउने सल्लाह गरेका हौं ।’

    उनका अनुसार पूर्वराष्ट्रपति भण्डारीका सहयोगी भेषराज अधिकारीमार्फत गौतमले भेटघाट गरेका थिए । त्यो कुरा एमाले अध्यक्ष ओलीले थाहा पाएपछि कुरा बिग्रिएको थियो ।

    ‘हिजोको निर्णयअनुसार उहाँलाई आइहाल्नुस् भनिएको छ, कहिले आउने भन्ने चाहिँ उहाँको कुरा हो’, पराजुलीले भने ।

  • एकीकृत समाजवादीको प्रवक्तामा प्रकाश ज्वाला, जगन्नाथलाई कुन जिम्मेवारी ?

    एकीकृत समाजवादीको प्रवक्तामा प्रकाश ज्वाला, जगन्नाथलाई कुन जिम्मेवारी ?

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले उपाध्यक्ष प्रकाश ज्वालालाई प्रवक्ता बनाउने निर्णय गरेको छ। स्थायी कमिटीको बैठकले ज्वालालाई प्रवक्ताको जिम्मेवारी दिएको हो।

    यसअघि प्रवक्तामा जगन्नाथ खतिवडा थिए। उनले आजबाट प्रचार विभागबाट बिदा भएको बताए। अब आफू संघीय तथा प्रादेशिक विभागको प्रमुखको जिम्मेवारीमा रहने बताए।

  • वामदेव एकीकृत समाजवादीमा जान ‘तयार’, वरिष्ठ नेता बनाइने

    वामदेव एकीकृत समाजवादीमा जान ‘तयार’, वरिष्ठ नेता बनाइने

    काठमाडौं । पूर्वएमाले नेता वामदेव गौतम नेकपा एकीकृत समाजवादीमा भित्रिन तत्पर देखिएका छन् । एकीकृत समाजवादीले उनलाई भित्र्याउन पहल गर्ने निर्णय गरेसँगै उनले सकारात्मक प्रतिक्रिया दिएका हुन् ।

    आज बसेको पार्टी स्थायी कमिटीको बैठकले गौतमसँग कुराकानी अगाडि बढाउने निर्णय लिएको हो । त्यसलगत्तै नेपाल प्रेसलाई प्रतिक्रिया दिँदै गौतमले ‘आफू तयार रहेको’ बताए ।

    उनले भने, ‘म तयार नै छु । भोलि नै कुराकानी हुनसक्छ ।’

    बुझिएअनुसार गौतमलाई एकीकृत समाजवादीमा ‘वरिष्ठ नेता’ पद दिने समझदारी छ । उनी अध्यक्ष माधव नेपाल र ‘सम्मानित नेता’ झलनाथ खनालपछि तेस्रो वरियतामा रहनेछन् । नेकपा एसको विधानमै ‘वरिष्ठ नेता’ को व्यवस्था छ ।

    वामदेव निकट नेताहरु केशवलाल श्रेष्ठ, बलराम बास्कोटा, हरि पराजुली, सावित्रा भुसाललगायतका नेता पहिल्यैदेखि नेकपा एसमा विभिन्न जिम्मेवारीमा छन् । वामदेवकी पत्नी तुलसा थापामगर भने एमालेमा छिन् ।

    तत्कालीन नेपाल कम्युनिष्ट पार्टीमा विभाजन आएर नेकपा एमाले र नेकपा माओवादी बौरिएपछि गौतम दुवैतिर लागेनन् । नेकपा एमाले विभाजन भएर बनेको नेकपा एसतिर पनि उनी लागेनन् ।

    गौतमले पार्टी एकता राष्ट्रिय अभियानको घोषणा गरेका थिए, तर उनको यो अभियान पनि खासै अगाडि बढ्न सकेन । यो अभियानमा रहेका ७२ जनासहित गौतम नेकपा एसमा भित्रिनेछन् ।

  • माओवादीसँगको एकता चर्चापछि नेकपा एसले भन्यो- तत्काल कुनै पार्टीसँग एकता सम्भव छैन (भिडिओ)

    माओवादीसँगको एकता चर्चापछि नेकपा एसले भन्यो- तत्काल कुनै पार्टीसँग एकता सम्भव छैन (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले तत्काल कुनै पार्टीसँग एकता सम्भव नभएको निष्कर्ष निकालेको छ । माओवादी केन्द्रसँग एकताको चर्चा चलिरहेको बेलामा स्थायी कमिटीको बैठकले अब वामपन्थी एकताको नाममा अल्झिएर नबस्ने निष्कर्ष निकालेको उपाध्यक्ष जगन्नाथ खतिवडाले बताए ।

    उनले भने, ‘आजको दिनमा कुनै पनि कम्युनिष्ट पार्टीसँग एकता गर्ने सम्भावना नरहेको निष्कर्ष निकालेको छ । वामपन्थीहरुसँग विभिन्न एजेण्डाको आधारमा सहकार्य गर्न सकिने तर, आज पार्टी एकताको सम्भावना नरहेको हुँदा त्यतातिर ध्यान नदिने, पार्टी सुदृढीकरणको लागि पहल गर्ने निर्णय भएको छ ।’

    उनले अब जनसंघर्षबाट पार्टी निर्माणमा लाग्न गाउँ फर्किने अभियान पार्टीले तय गर्ने बताए ।

    उनले केही शीर्ष नेताहरु पार्टीमा आउन संवाद चलिरहेको भन्दै आवश्यक छलफल गरेर निर्णय लिने पनि बताए ।

    उपाध्यक्ष खतिवडाले भने, ‘वामदेव गौमतमसँगको छलफल सकारात्मक भइरहेको छ । त्यसबारे कुनै निर्णय भने भएको छैन । आवश्यक निर्णय छलफलपछि हामीले लिन्छौं ।’

  • नेकपा एसमा २४ सदस्यीय सचिवालय गठन

    नेकपा एसमा २४ सदस्यीय सचिवालय गठन

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले केन्द्रीय सचिवालय गठन गरेको छ। स्थायी कमिटीको बैठकले २४ सदस्यीय सचिवालय गठन गरेको उपाध्यक्ष जगन्नाथ खतिवडाले बताए।

    उनका अनुसार सचिवालमा अध्यक्ष, सम्मानित नेता, वरिष्ठ नेता, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिव रहने बताए।

    यस्तै पार्टीलाई जनतासँग जोड्नको लागि पार्टीले विभिन्न अभियानहरु चलाउने निर्णय पनि गरेको बताए।

    यस्तै, महासचिवको नेतृत्वा उपमहासचिवसहित केन्द्रीय कार्यालय गठन गरेको पनि बताए। उनले कार्यविभाजनको विषयमा आएको प्रस्तावमा अध्ययन गरि दुई दिनपछि टुंग्याउने पनि बताए।

  • अबको कुनैपनि चुनावमा गठबन्धन नगर्ने नेकपा एसको निर्णय (भिडिओ)

    अबको कुनैपनि चुनावमा गठबन्धन नगर्ने नेकपा एसको निर्णय (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले आगामी हुने सबै निर्वाचनमा एक्लै चुनाव लड्ने निर्णय गरेको छ।

    स्थायी कमिटीको बैठकले अब हुने सबै निर्वाचनमा एक्लै लड्न प्रयास गर्ने निर्णय भएको उपाध्यक्ष जगन्नाथ खतिवडाले बताए।

    उनले भने, हामीले कमल चुनाव चिन्हका उम्मेदवार प्रत्येक भागमा उठाउने तयारी गर्नको लागि तयार भएका छौं। हामी एक्लै चुनाव लड्ने निष्कर्ष निकालेका छौं।

  • नेकपा एसले प्रकाश ज्वालाको नेतृत्वमा बनायो संविधान संशोधन सुझाव कार्यदल (भिडिओ)

    नेकपा एसले प्रकाश ज्वालाको नेतृत्वमा बनायो संविधान संशोधन सुझाव कार्यदल (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले संविधान संशोधन गर्नको लागि सुझाव कार्यदल गठन गरेको छ।

    स्थायी कमिटीको बैठकले संविधान संशोधनबारे अध्ययन गरेर सुझाव दिनको लागि उपाध्यक्ष प्रकाश ज्वालाको संयोजकत्वमा ७ सदस्यीय कार्यदल गठन गरेको उपाध्यक्ष जगन्नाथ खतिवडाले बताए।

    कार्यदलमा ज्वालासहित गरिमा साह, गणेश विक, बलदेव चौधरी, रामचन्द्र यादव, घनप्रसाद गौतम र राजन राई रहेको बताए।

  • यस्तो छ नेकपा एसका नेताहरुको कार्य विभाजन प्रस्ताव, कसलाई कुन जिम्मेवारी ?

    यस्तो छ नेकपा एसका नेताहरुको कार्य विभाजन प्रस्ताव, कसलाई कुन जिम्मेवारी ?

    काठमाडौं । नेकपा एकीकृत समाजवादीको महाधिवेशन सकिएको ५ महिनापछि केन्द्रीय कमिटीको कार्य विभाजन प्रस्ताव पेश भएको छ । स्थायी कमिटीको जारी बैठकमा लामो रस्साकस्सीपछि नेताहरुको कार्य विभाजन प्रस्ताव पेश भएको हो ।

    एकजना पदाधिकारीले नेपाल प्रेसलाई दिएको जानकारी अनुसार तीन नेताको बलियो दाबी रहेको संगठन विभाग प्रमुख पूर्व महासचिव बेदुराम भुसालले पाएका छन् । यो विभागमा महासचिव घनश्याम भुसाल र बरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेको समेत दावी थियो ।

    अध्यक्ष माधवकुमार नेपालले बेदुरामलाई संगठन विभाग दिन लागेका हुन् । बरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे मोर्चा संगठनको इन्चार्ज बन्ने भएका छन् । प्रचार विभाग प्रमुख प्रकाश ज्वाला प्रस्ताव गरिएका छन् । तर ज्वालाले पनि मोर्चा संगठनमा दावी नछाडेका कारण यसको अन्तिम टुंगो भने लागेको छैन ।

    सम्मानित नेता झलनाथ खनाल विदेश विभाग र स्कुल विभाग प्रमुखमा प्रमेश हमाल प्रस्ताव भएको स्रोतले जनाएको छ । त्यस्तै नेकपा एसले ७ वटा प्रदेशका इन्चार्ज पनि बैठकमा प्रस्ताव गरेको छ ।

    प्रस्ताविक इन्चार्जमध्ये कोशीमा जगन्नाथ खतिवडा,मधेशमा धर्मनाथ साह,वागमतीमा डा।गंगालाल तुलाधर,गण्डकीमा श्रीनाथ बराल,लुम्बिनीमा सोम प्रसाद पाण्डे,कर्णालीमा चन्द्रवहादुर शाही र सुदूरपश्चिममा भानुभक्त जोशी छन् ।

    महासचिव घनश्याम भुसालले प्रस्ताव गरेको कार्य विभाजन प्रस्तावमा अध्यक्ष माधव नेपालले व्यापक हेरफेर गरेका कारण नेताहरुबीच अझै सहमति बन्न नसकेको बताइएको छ ।

  • वामदेव भित्र्याउन नेकपा एसको औपचारिक प्रस्ताव, आज निर्णय हुँदै

    वामदेव भित्र्याउन नेकपा एसको औपचारिक प्रस्ताव, आज निर्णय हुँदै

    काठमाडौं । माधव नेपाल नेतृत्वको नेकपा एसले एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतमलाई पार्टीमा भित्र्याउनका लागि आज औपचारिक निर्णय गर्दैछ ।

    पार्टी केन्द्रीय कार्यालय, आलोकनगर, मीनभवनमा जारी स्थायी कमिटीको बैठकमा सोमबार नै दर्ज भएको उक्त प्रस्तावमाथि आज छलफल र निर्णय हुने पार्टी स्थायी कमिटी सदस्य बलराम बाँस्कोटाले बताए ।

    सोमबार अर्का स्थायी कमिटी सदस्य हरि पराजुलीले उक्त प्रस्ताव दर्ज गरेका हुन् । बैठकको अन्त्यमा उठेका विषयको जवाफ दिने क्रममा अध्यक्ष नेपालले वामदेवलाई भित्र्याउनेबारेको प्रस्तावमाथि छलफल गरेर मंगलबार निर्णय गर्ने भनेका थिए ।

    ‘आज निर्णय हुन्छ र वामदेव कमरेड भोलि–पर्सिमै पार्टीमा आउँदै हुनुहुन्छ’, पराजुलीले भने । यदि आजको बैठकको कार्यसूचीमा उक्त प्रस्ताव छुटेको भए फेरि आफूले ध्यानाकर्षण गराउने उनले बताए ।

    नेकपा एसले जनताको बहुदलीय जनवादलाई स्वीकार गर्नुपर्ने वामदेवको शर्त नमान्दा उनले लामो समयदेखि पार्टी प्रवेशमा आनाकानी गर्दै आएका थिए । अहिले अध्यक्ष नेपाल र गौतमबीच छलफल भइसकेर जनताको बहुदलीय जनवादलाई अस्वीकार नगर्ने सहमति भएपछि उनी पार्टी प्रवेश गर्न तयार भएका हुन् ।

    उनले सञ्चालन गरेको पार्टी एकता राष्ट्रिय अभियानको ७२ सदस्यीय कमिटीसहित उनी नेकपा एसमा प्रवेश गर्न लागेका हुन् । स्थायी कमिटी सदस्य रहेका पराजुलीले सोमबारको बैठकमा आफूसमेत वामदेवकै निर्देशनमा उक्त पार्टीमा क्रियाशील भएको भन्दै स्वयं वामदेवलाई ल्याउने कुरामा अब ढिलो नगरौं भनेका थिएँ ।

    ‘त्यत्तिको नेतालाई पार्टीमा ल्याउने कुरामा इफ र बट नराखौं भनेको छु’, पराजुलीले भने, ‘अध्यक्ष, महासचिवसहित सबैले हो–हो भन्नुभयो ।’

    आज बिहान ११ बजेदेखि बस्ने भनिएको स्थायी कमिटी बैठक भने केही समय लम्बिएको छ । बैठकअघि नेताहरुको कार्यविभाजन टुंगो लगाउन गठित पाँच सदस्यीय कार्यदलको बैठक लम्बिँदा स्थायी कमिटी बैठक लम्बिएको हो । उक्त बैठक पार्टी अध्यक्ष नेपालको कार्यकक्षमा जारी छ ।

  • नेकपा एसले आज नेताहरूको जिम्मेवारी तोक्ने

    नेकपा एसले आज नेताहरूको जिम्मेवारी तोक्ने

    काठमाडौं । नेकपा एसले आज नेताहरूको जिम्मेवारी तोक्ने भएको छ ।

    मंसिर २६ गतेबाट बैठक जारी छ ।

    पार्टी प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार आज पार्टीको सुदृढीकरण, आगामी निर्वाचनको तयारी, राजनीतिक तथा भूराजनीतिक चुनौतीलगायतका विषयबारे पनि निर्णय सार्वजनिक गरिनेछ।

    बैठकले तत्काल कुनैपनि कम्युनिष्ट पार्टीसँग एकता नगर्ने निर्णय गरिसकेको छ।

  • नेताहरुको कार्यविभाजन गर्न बसेको नेकपा एसको बैठक लम्बियो

    नेताहरुको कार्यविभाजन गर्न बसेको नेकपा एसको बैठक लम्बियो

    काठमाडौं । नेकपा एकीकृत समाजवादीको स्थायी कमिटीको बैठक लम्बिएको छ। नेताहरुको कार्यविभाजन टुंग्याउन मंसिर २६ गतेबाट सुरु भएको बैठक आज चौथो दिनमा पनि नसकिँएको हो।

    आजको बैठकमा ८ नेताहरुले पार्टीको आगामी कार्ययोजना निर्माण गर्ने विषयमा धारणा राखेको उपाध्यक्ष जगन्नाथ खतिवडाले बताए।

    उनले अनुसार पाटी सुदृढीकरणका लागि आगामी कार्ययोजना बनाउने र समसमायिक परिस्थितिबारेमा बेदुराम भुसाल, रामकुमारी झाँक्री, विरोध खतिवडा, हरि पराजुली, शत्रुधन महतो, रामचन्द्र यादव, श्रीप्रसाद साह र घनेन्द्र बस्नेतले आफ्नो धारणा राखेका छन्।

    भोलि बस्ने बैठकमा अध्यक्ष माधव नेपाल, महासचिव घनश्याम भुसालसहित नेताहरु भरत श्रेष्ठ, प्रमेश हमाल, धर्मनाथप्रसाद साहले बोलेर बैठक टुंग्याउने तयारी छ।

    बैठकले विभागीय प्रमुख, जिल्ला इञ्चार्ज, आयोग तथा जनसङ्गठन इञ्चार्जलगायत पदमा नेताहरुलाई जिम्मेवारी दिनुका साथै पार्टी नीतिको प्रचार गर्ने, पार्टीको सुदृढीकरण गर्ने, आगामी निर्वाचनको तयारी, राजनीतिक तथा भूराजनीतिक चुनौतीलगायतको विषयमा पनि निर्णय लिने जनाइएको छ ।

  • नेकपा एसको बैठक: आज बोलेर सकिने, कार्यविभाजन भोलि

    नेकपा एसको बैठक: आज बोलेर सकिने, कार्यविभाजन भोलि

    काठमाडौं । नेकपा एसको स्थायी कमिटी बैठकमा आज पदाधिकारी तथा सदस्यहरुको बोल्ने क्रम सकिने र बाँकी कार्यसूचीमा भोलि प्रवेश गरिने भएको छ ।

    महासचिव घनश्याम भुसालले बताएअनुसार आज साँझ ५ बजेसम्म बैठक जारी हुनेछ । ‘बोल्ने क्रम सकिएपछि अरु काम भोलि गर्छौं’, उनले भने ।

    भोलिको बैठकमा कार्ययोजना तथा पदाधिकारी तथा केन्द्रीय सदस्यको कार्यविभाजन पहिलो सूचीमा राखिने भुसालले बताए ।

    त्यसबाहेक आन्दोलनसम्बन्धी एजेण्डामा छलफल गर्न बाँकी छ । भोलिकै बैठकमा विधान संशोधनको काम पनि सकिने भुसालले बताए ।

    बैठक पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा जारी छ ।

  • नेकपा एस बैठक: पार्टीका शीर्ष नेताहरु धारणा राख्दै (भिडिओ)

    नेकपा एस बैठक: पार्टीका शीर्ष नेताहरु धारणा राख्दै (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीको स्थायी कमिटीको बैठक जारी छ।

    मंसिर २६ गतेदेखि सुरु भएको स्थायी कमिटी बैठकमा नेताहरुले पार्टीको आगामी कार्ययोजना निर्माण गर्ने विषयमा आआफ्ना धारणा राख्ने क्रम चलिरहेको छ ।

    अहिलेसम्म अरु पदाधिकारीहरुले आफ्ना धारणाहरु राखिसकेका छन् । अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेताहरु डा. बेदुराम भुसाल, प्रमेश हमाल, घनेन्द्र बस्नेत र महासचिव घनश्याम भुसालले आफ्नो धारणा राख्न बाँकी छ ।

    भोलिसम्म चल्ने बैठकले पार्टी नीतिको प्रचार गर्ने, पार्टीको सुदृढीकरण गर्ने, आगामी निर्वाचनको तयारी, राजनीतिक तथा भूराजनीतिक चुनौतीलगायतको विषयमा पनि निर्णय गर्ने जनाइएको छ ।

  • रामकुमारी झाँक्रीसहित नेकपा एसको स्थायी कमिटीमा १७ नेता मनोनित

    रामकुमारी झाँक्रीसहित नेकपा एसको स्थायी कमिटीमा १७ नेता मनोनित

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले स्थायी कमिटी सदस्यमा १७ नेता मनोनित गरेको छ । समाजवादीले शुक्रबार स्थायी कमिटी सदस्यमा रामकुमारी झाँक्रीसहित १७ नेता मनोनित गरेको हो ।

    रामकुमारी झाँक्री, डा विजय पौडेल, जीवनराम श्रेष्ठ, केशवराल श्रेष्ठ, हरिप्रसाद पराजुली, नागेन्द्र चौधरी, रामचन्द्र झा, विरोध खतिवडा, कल्याणी खड्का, डा वंशीधर मिश्र, बलराम बाँस्कोटा, शत्रुधन महतो, श्रीप्रसाद साह, विश्वनाथ प्याकुरेल, साध्यबहादुर भण्डारी, रामचन्द्र यादव र लक्ष्मण पौडेललाई थप गरेको छ ।

  • घनश्याम भुसालको प्रतिवेदन- नेकपा एसका नेता कार्यकर्तामा एमालेको सामीप्य खोज्ने प्रवृत्ति बढ्यो (पूर्णपाठ)

    घनश्याम भुसालको प्रतिवेदन- नेकपा एसका नेता कार्यकर्तामा एमालेको सामीप्य खोज्ने प्रवृत्ति बढ्यो (पूर्णपाठ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले पार्टीभित्र हताश, अन्योल, पलायन र निष्क्रियताजस्ता प्रवृत्ति देखिएको बताएका छन् । महासचिव भुसालले स्थायी कमिटी बैठकमा प्रस्तुत गरेको प्रतिवेदनमा पार्टीका कतिपय नेता कार्यकर्तामा एमालेसँग नजिक हुन खोज्ने र कतिपयमा माओवादीसँग नजिकिने प्रवृत्ति बढेको उल्लेख छ ।

    महासचिव भुसालको प्रतिवेदनमा भनिएको छ- महाधिवेशनपछि पार्टी जसरी अगाडि बढ्नुपर्ने थियो त्यो हुन सकेन । त्यसका लागि विभिन्न कारणहरू जिम्मेवार छन् । तर जेसुकै भए पनि त्यो कमजोरी नै हो । अहिले पार्टीमा अनेकौँ प्रकारका समस्या छन् । निराशा,हताश,अन्योल र निष्क्रियताजस्ता प्रवृत्तिहरू देखिएका छन् । जसले गर्दा कतिपयमा नेकपा एमालेसँग सामीप्यता खोज्ने,अरू कतिपयमा नेकपा माओवादीसँग नजिकिन खोज्ने र आमरुपमा अन्योलग्रस्त प्रवृत्तिहरू देखिएका छन् । पार्टी पङ्क्तिलाई एकताबद्ध नबनाउने हो भने पार्टीले गति लिन सक्दैन । यो तितो वास्तविकतालाई बिना हिच्किचाहट स्वीकार गरौँ र अगाडि बढौँ ।

    महासचिव भुसालले अबको निर्वाचनमा कसैसँग गठबन्धन नगरी एक्लै चुनाव लड्नुपर्ने प्रस्ताव समेत पार्टीमा गरेका छन् । उनले गठबन्धनबाट पार्टी नबन्ने र आन्दोलनबाटै पार्टी बनाउनुपर्ने उल्लेख गरेका छन् ।

    महासचिव भुसालले पपुलिस्ट राजनीति मौलाउँदा लफङ्गाहरूले समाजमा अहिलेको व्यवस्थाविरुद्ध माहौल बनाइरहेको विश्लेषण समेत गरेका छन् । ९ पेजको प्रस्तावमा भुसालले आन्दोलनबाट पार्टी निर्माणलाई जोड दिएका छन् ।

     

  • साङ्गठनिक संरचना फेरबदल गर्दै एकीकृत समाजवादी

    साङ्गठनिक संरचना फेरबदल गर्दै एकीकृत समाजवादी

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी० को आजको स्थायी कमिटी बैठकले पार्टी नेताहरूको कार्य विभाजन तथा संरचनामा फेरबदल गर्ने भएको छ ।

    आज अपराह्न केन्द्रीय कार्यालयमा हुने बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा गठित कार्यदलले कार्यविभाजन भएका नेताको नामावली प्रस्तुत गर्ने छ ।

    पार्टीका सचिव सोमप्रसाद पाण्डेयका अनुसार विभागीय प्रमुख, जिल्ला इञ्चार्ज, आयोग तथा जनसङ्गठन इञ्चार्जलगायत पदमा दिइने जिम्मेवारीलाई बैठकले अनुमोदन गर्ने छ । बुधबारको बैठकमा अध्यक्ष नेपालले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

  • एकीकृत समाजवादीको स्थायी कमिटीको बैठक सुरु, टुंग्याउँला नेताहरूको कार्यविभाजन ?

    एकीकृत समाजवादीको स्थायी कमिटीको बैठक सुरु, टुंग्याउँला नेताहरूको कार्यविभाजन ?

    काठमाडौं । नेपाल एकीकृत समाजवादीको स्थायी कमिटी बैठक सुरु भएको छ । भोलिसम्म चल्ने बैठक केही समयअघि पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा सुरु भएको हो ।

    उपमहासचिव रामकुमार भट्टराईका अनुसार बैठकले पार्टीको देशभर साङ्गठनिक गतिविधि, जिल्ला तथा प्रदेशका अधिवेशन, स्थानीय तहको उपनिर्वाचनको समीक्षा, मुलुकको समसामयिक राजनीतिक विषयवस्तु, नेताहरूको कार्यविभाजन तथा संरचनामा फेरबदलसम्बन्धी निर्णय लिनेछ ।

    गत असारमा महाधिवेशन गरेको नेकपा एसले अहिलेसम्म नेताहरूको जिम्मेवारी हेरफेर तथा कार्यविभाजनअन्तर्गत विभिन्न विभागीय प्रमुख, जिल्ला इन्चार्ज, आयोग तथा जनसङ्गठन इन्चार्ज तोक्न सकेको छैन ।

    पार्टी संरचनामा कार्यविभाजन गर्न पार्टी अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा गठित कार्यदलले टुङ्गो लगाएको नामावली बैठकले अनुमोदन गर्ने तयारी छ ।

  • एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै

    एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक आज शुरु हुँदैछ ।

    लामो समयदेखि हुन नसकेको केन्द्रीय नेताको कार्यविभाजन यो बैठकले गर्ने सचिव शेरबहादुर कुवरले बताए ।

    पार्टी केन्द्रीय कार्यालय, आलोकनगर, मीनभवनमा बैठक बस्दैछ । बैठक भोलिसम्म बस्ने कुँवरले बताए ।

  • चीनबाट फर्केपछि झलनाथको प्रश्न- बीआरआई फ्रेमवर्कमा हस्ताक्षर गर्न यत्रो नाटक किन गरेको ? (भिडिओ)

    चीनबाट फर्केपछि झलनाथको प्रश्न- बीआरआई फ्रेमवर्कमा हस्ताक्षर गर्न यत्रो नाटक किन गरेको ? (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले बीआरआईको फ्रेमवर्कमा हस्ताक्षर भएकोप्रति खुसी व्यक्त गरेका छन्।

    चीन भ्रमणबाट फर्किएर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै छिमेकी देशहरुसँग केपी ओली नेतृत्वको सरकारले राम्रो सम्बन्ध बनाउन नसकेको भन्दै असन्तुष्टि जनाए।

    उनले भने, ‘लामो प्रयासपछि बीआरआई सम्झौता भएको छ। आखिर सम्झौता गर्नैपर्ने थियो भने यत्रो नक्कली नाटक किन गर्नुपथ्योरु छिमेकी देशहरुसँग जसले राम्रो सम्बन्ध बनाउँन सक्दैन। संसारसँग कसरी राम्रो सम्बन्ध बनाउँन सक्छरु यो त पहिले नै अध्ययन गरेर राम्रो होमवर्क गरेर गर्नुपर्ने काम हो निरु छिमेकीहरुसँग यो प्रकारको लापरवाही गर्न हुँदैनथ्यो। तर, धेरै पटक घुमाउरो कुरा गरेर भएपनि सम्झौता भएको छ। यो चाहिँ खुसीको कुरा हो।’

    उनले बीआरआई अगाडि बढाउन नेपालले ढिलाइ गरेकोप्रति चिनियाँ पक्षले आफूसँग पनि चासोपूर्वक कुरा गरेको बताए।

  • राजेन्द्र पाण्डेले भने- कीर्तिपुरको चुनाव देशको लागि जनमत संग्रह हो, हँसिया हथौडामा भोट हाल्नुस् (भिडिओ)

    राजेन्द्र पाण्डेले भने- कीर्तिपुरको चुनाव देशको लागि जनमत संग्रह हो, हँसिया हथौडामा भोट हाल्नुस् (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता राजेन्द्र पाण्डेले कीर्तिपूरको चुनाव देशको लागि जमनत संग्रह भएको बताएका छन्।

    कीर्तिपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै कीर्तिपुर हुन लागेको चुनाव देशका लागि जनमतसंग्रह भएको जिकिर गरे।

     

    उनले भने, ‘हामीलाई नेपाली जनताले हेर्दैछन्। आज नेपाली जनता कसको पक्षमा छन् भनेर हेर्दैछन्। यो चुनाव साच्चै भन्नुपर्दा अहिलेको अवस्थामा देशका लागि जनतम संग्रह नै हो। यसमा हसियाँ हथौंडा चिन्हमा भोट हाल्नुस्।’

    उनले पार्टीको निर्णय अनुसार कीर्तिपूरको मेयरमा माओवादीलाई सघाउने सहमति भएको बताए।

  • राजेन्द्र र जगन्नाथको अडानले अड्कियो नेकपा एसको कार्यविभाजन

    राजेन्द्र र जगन्नाथको अडानले अड्कियो नेकपा एसको कार्यविभाजन

    काठमाडौं । नेकपा एकीकृत समाजवादीमा नेताहरू नै अडानमा टसमस नभएपछि कार्यविभाजन विलम्ब भएको छ । वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे संगठन विभाग प्रमुख आफूले पाउनुपर्ने अडानमा छन् ।

    पार्टी अध्यक्ष माधव नेपालको नेतृत्वमा गठित कार्यदलले माथिल्लो कमिटीदेखि तल्लो तहसम्म नेताहरूको ‘एक पद एक व्यक्ति’ प्रणालीका आधारमा कार्य विभाजन गर्ने प्रयास गरेपनि पाण्डेको अडानको कारणले अहिलेसम्म कार्यविभाजनमा ढिलाइ भएको हो ।

    कम्युनिष्ट पार्टीमा संगठन विभागको जिम्मेवारी महासचिवले पाउने प्रचलन छ । नेकपा एसको महासचिव घनश्याम भुसाल छन् । तर, वरिष्ठ उपाध्यक्ष पाण्डेले यो पदमा दाबी गरिरहेका छन् । पाण्डे अहिले संसदीय दलको उपनेता पनि छन् ।

    गएको महाधिवेशनमा अरु पदमा निर्वाचन भएपनि मुख्य चार सर्वसम्मत चयन गरेको थियो । त्यही महाधिवेशनबाट सुरु भएको नेकपा एसभित्रको तरंग अझै साम्य भएको छैन ।

    महाधिवेशनमा आफू अनुकूल नेतालाई जिताउनको लागि नेतृत्व तहबाटै चीट बाँडेको भन्दै असन्तुष्ट नेताहरूले जीवनराम श्रेष्ठ, विजय पौडेल, हरि पराजुली, बलराम बास्कोटालगायत नेताले अध्यक्ष नेपाललाई दुई बुँदे ज्ञापन पत्र समेत बुझाएका थिए ।

    उनीहरूले ३४४ सदस्यीय केन्द्रीय कमिटी अवैध रहेको भन्दै पदाधिकारी र पोलिटब्युरो निर्वाचन खारेज हुनुपर्नेलगायतको माग राखेका थिए । तर, अध्यक्ष नेपालसहित शीर्ष नेताहरूले असन्तुष्ट नेताहरूसँग भेटेर तत्काललाई विवाद समाधान गरेका छन् । यद्यपि, अझै टरेको छैन ।

    असन्तुष्ट नेताहरूलाई पनि सम्बोधन गर्नेगरी अध्यक्षले नेपालले आन्तरिक तयारी गरिरहेका छन् । स्रोतका अनुसार वरिष्ठ उपाध्यक्ष पाण्डे र उपाध्यक्ष जगन्नाथ खतिवडाले पनि मोर्चा संगठन प्रमुखको जिम्मेवारी पाउनुपर्ने अडान राख्नले पनि कार्यविभाजनमा ढिलाइ हुनुको अर्को कारण हो ।

    उपाध्यक्ष खतिवडा अघिल्लो केन्द्रीय कमिटीको जिम्मेवारी अनुसार प्रचार विभाग र समाजवादी प्रेस संगठनको इन्चार्ज थिए । तर, अहिले फेरि प्रेस संगठनको जिम्मेवारी दिए विद्रोह गर्ने समाजवादी प्रेस संगठनको चेतावनीपछि खतिवडालाई अर्को जिम्मेवारी दिने तयारी भइरहेको छ ।

    तर, वरिष्ठ उपाध्यक्ष पाण्डेले आफूलाई संगठन विभाग प्रमुखको अडानसँगै खतिवडालाई मोर्चा संगठन प्रमुख दिनुपर्ने पक्षमा उभिएपछि अध्यक्ष नेपाल अप्ठ्यारोमा परेका छन् ।

    महाधिवेशन भएको लामो समय बितिसक्दा पनि नेकपा एसले पार्टी विभागीय प्रमुख तथा जनवर्गीय सङ्गठन, प्रदेश इञ्चार्जतोक्न सकेको छैन । नेकपा एसका उपमहासचिव राजकुमार भट्टराईले भने कार्यविभाजन चाँडै हुने दाबी गरे ।

    उनले भने, ‘महाधिवेशनपछि बाढीपहिरोको प्रकोप, त्यसपछि चाडपर्वको कारणले छलफल गरेर टुंग्याउन सकेको थिएनौं। अहिले हामी छलफलको चरणमा छौं। हप्ता दशदिनभित्र टुंग्याउने तयारी छ ।’

    उनले केही नेताहरूको आकांक्षाको कारणले ढिलाइ भइरहेको स्वीकारेपनि वार्तामार्फत् सबै नेताहरूलाई पार्टीले उपयुक्ति जिम्मेवारी दिने बताए ।

  • अन्तत: कीर्तिपुरमा नेकपा एसका मेयर उम्मेदवार पछि हटे, माओवादीलाई समर्थन

    अन्तत: कीर्तिपुरमा नेकपा एसका मेयर उम्मेदवार पछि हटे, माओवादीलाई समर्थन

    काठमाडौं । कीर्तिपुर नगरपालिकाको मेयरका माओवादी उम्मेदवारलाई समर्थन गर्दै एकीकृत समाजवादीका उम्मेदवार पछाडि हटेका छन् ।

    यसअघि पार्टी अध्यक्ष माधवकुमार नेपालले विज्ञप्ति जारी गर्दै माओवादी उम्मेदवार प्रा.डा. शिवशरण महर्जनलाई समर्थन गर्दै आफ्ना उम्मेदवार भानु रिजालको उम्मेदवारी निष्क्रिय भएको घोषणा गरेका थिए, तर रिजालसहित पार्टी पंक्तिले अध्यक्षको निर्देशन मानेन, घरदैलो कार्यक्रम जारी राखेको थियो ।

    मंगलबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष नेपालसहितको वार्तापछि एसका उम्मेदवार रिजालले माओवादी उम्मेदवार महर्जनको पक्षमा विज्ञप्ति जारी गरेका हुन् । एसका स्थानीय नेताले मेयरको उम्मेदवारी निष्क्रिय गर्दा वडा नम्बर ४ को वडाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार नारायण विष्ट पनि निष्क्रिय हुनुपर्ने माग गर्दै पार्टी अध्यक्षको घोषणा स्वीकार गरेको थिएन । त्यहाँ एसले रीता खड्कालाई वडाध्यक्ष उम्मेदवार बनाएको छ ।

    मंगलबार सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा दुई पार्टीका नेताबीच छलफल हुँदा प्रचण्डले आफूले निर्देशन दिँदा पनि वडाध्यक्षको उम्मेदवार विष्टले निष्क्रिय हुन नचाहेको बताए ।

    ‘पहिला वडाध्यक्ष छोड्ने नै कुरा थियो, पछि कम्युनिकेशन ग्याप भएर कमजोरी भयो’, वार्तामा प्रचण्डले भनेको कुरा उद्धृत गर्दै एकीकृत समाजवादी काठमाडौंका अध्यक्ष एलबी श्रेष्ठले बताए ।

    ‘दुई पार्टीको शीर्ष तहबाट निर्देशन भएपछि हामी त्यसलाई पालना गर्छौं’, श्रेष्ठले भने, ‘वडाध्यक्ष निष्क्रिय नपारेर माओवादीका साथीहरूले राम्रो गर्नुभएन ।’

    मंगलबारको वार्तामा माओवादीका तर्फबाट प्रचण्डसहित अग्नि सापकोटा, नारायणकाजी श्रेष्ठ, हितमान शाक्य सहभागी थिए । एकीकृत समाजवादीका अध्यक्ष नेपालसहित वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, प्रदेशसभा सदस्य रमा आले, जिल्ला अध्यक्ष श्रेष्ठ र युवा नेता नितेश पौडेल थिए ।

  • वीआरआईबारे प्रधानमन्त्रीलाई माधवको सुझाव- नेपालको हितको विरुद्धमा छैन, लाभ लिनुपर्छ (भिडिओ)

    वीआरआईबारे प्रधानमन्त्रीलाई माधवको सुझाव- नेपालको हितको विरुद्धमा छैन, लाभ लिनुपर्छ (भिडिओ)

    काठमाडौं । पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजनवादीका अध्यक्ष माधव नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई वीआरआई नेपालको हितको विरुद्धमा नभएको सुझाएका छन् ।

    चीन भ्रमणबारे परामर्श लिनको लागि सिंहदरबारमा भएको छलफलपछि नेपालमा वीआरआई पहिलेदेखि नै लागू भइसकेको बताए ।

     

    उनले भने, ‘वीआरआई नेपालको हितको विरुद्धमा छैन । यसबाट नेपालले लाभ लिनुपर्छ । लाभ लिने विषयमा हामीले सबैसँग सम्बन्ध राख्ने गरेका छौं । वीआरआईसँग त हामी उहिले नै आवद्ध भइरहेका छौं ।’

    तर, बीआरआई परियोजनाको विषयमा सत्तारुढ दलहरूबीच मतऐक्यता हुन सकिरहेको छैन । यही विषयले गठबन्धनमा कुनै समस्या नआओस् भनेर दुवै दलको तर्फबाट गठित उच्चस्तरीय संयन्त्रले काम गरिरहेको छ ।

  • प्रधानमन्त्रीको चीन भ्रमण : माधव नेपालले ओलीलाई दिए यस्तो सुझाव (भिडिओ)

    प्रधानमन्त्रीको चीन भ्रमण : माधव नेपालले ओलीलाई दिए यस्तो सुझाव (भिडिओ)

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजनवादीका अध्यक्ष माधव नेपालले चीन भ्रमणको क्रममा देशको हितमा काम गर्न सुझाव दिएका छन् ।

    सिंहदरबारमा भएको छलफलपछि प्रधानमन्त्रीलाई छिमेकी राष्ट्र जसले पहिला निम्तो दिन्छ उसैकोमा भ्रमण गर्नुपर्ने सुझाएको बताए ।

    उनले भने, ‘हामीले राष्ट्रहितलाई हेरेर काम गर्नुपर्छ, छिमेकीहरूको मनमा कुनै शंका छ भने त्यसलाई ध्यानमा राख्नुपर्छ । त्यसलाई ख्यालमा राखेर नेपाल असंलग्न परराष्ट्र नीति अविचलित रूपमा उभिन्छ र कुनै छिमेकी मुलुकहरूको विरुद्धमा नेपालको भूमि प्रयोग हुन दिनु हुँदैन ।’

    उनले सबै देशसँग मित्रतापूर्वक सम्बन्ध राख्नुपर्ने भन्दै शान्तिभूमि हो भन्ने कुरालाई ध्यान दिएर अघि बढ्न आग्रह गरेको बताए ।

  • नेताहरूको कार्यविभाजन टुंगिएको छैन : महासचिव भुसाल

    नेताहरूको कार्यविभाजन टुंगिएको छैन : महासचिव भुसाल

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले नेताहरूको कार्यविभाजन टुंगो नलागिसकेको जनाएको छ ।

    विभिन्न सञ्चारमाध्यममा कार्यविभाजन टुंगो लागेको समाचार आएपनि उक्त पार्टीले यो विषय छलफलकै चरणमा रहेको जनाएको छ ।

    नेपाल प्रेससँग कुरा गर्दै महासचिव घनश्याम भुसालले हालसम्म कार्यविभाजन टुंगो नलागेको र छलफलकै क्रममा रहेको बताए ।

    ‘मस्यौदा बनाइएको छ, त्यसमाथि छलफल भइरहेको छ, तर टुंगो लागेको छैन’, उनले भने ।

    असार १६ देखि २२ गतेसम्म आयोजित पार्टीको दशौं महाधिवेशनले तीन पदाधिकारीसहित ९३ सदस्यीय केन्द्रीय कमिटी गठन गरेको थियो । उक्त कमिटीको बैठकले साउन १८ मा केन्द्रीय सदस्यमा ३४४ जना थपेर २९९ बनाएको थियो । ती केन्द्रीय सदस्यबीचको निर्वाचनबाट ११ मा भएको निर्वाचनबाट १८ पदाधिकारी र ८४ जना पोलिटब्युरो सदस्य निर्वाचित भएका थिए ।

    केन्द्रीय कमिटी बैठकले प्रदेश, जिल्ला, जनसंगठन, विभाग र प्रवास कमिटीका इञ्चार्ज, सहइञ्चार्ज तोक्नका लागि अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । उक्त कार्यदलमा अध्यक्ष नेपाल, सम्मानित नेता झलनाथ खनाल, वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे, वरिष्ठ नेता बेदुराम भुसाल, प्रमेश हमाल, घनेन्द्र बस्नेत र महासचिव घनश्याम भुसाल छन् ।

    तर, नेताहरूका बीचमा विवाद हुँदा अहिलेसम्म कार्यविभाजन टुंगो लाग्न सकेको छैन ।

    ‘टुंगो लाग्ने चरणमा पुगेको छ, टुंगिसकेको होइन’, महासचिव भुसालले भने ।

  • एकीकृत समाजवादीले नेताहरूको जिम्मेवारी टुङ्ग्यायो

    एकीकृत समाजवादीले नेताहरूको जिम्मेवारी टुङ्ग्यायो

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले पार्टीमा नेताहरूको जिम्मेवारी तथा कार्य विभाजनको टुङ्गो लगाएको छ ।

    पार्टी संरचनामा कार्य विभाजन गर्न पार्टी अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा गठित कार्यदलले माथिल्लो कमिटीदेखि तल्लो तहसम्म नेताहरूको ‘एक पद एक व्यक्ति’ प्रणालीका आधारमा कार्य विभाजन गरेको पोलिटब्यूरो सदस्य आलोक रायमाझीले जानकारी दिए ।

    उनका अनुसार नेताहरूको जिम्मेवारी तथा कार्य विभाजन अन्तर पार्टी निर्देशनमार्फत जारी गरिने छ ।

    कार्यदलद्वारा पार्टीमा फरक विचार पक्षधरलाई जिम्मेवारीमा केन्द्रित गर्ने गरी नेताहरूको कार्य विभाजन गरिएकाले सङ्गठन थप सुदृढीकरण गरी गतिशील बन्ने अपेक्षा गरिएको उनले बताए ।

    पार्टी विभागीय प्रमुख तथा जनवर्गीय सङ्गठन, प्रदेश इञ्चार्ज तोकिएको छ, भने अन्य नेताहरूको कार्य विभाजन पनि गरिएको जनाइएको छ ।

    -रासस

  • माइतीघर मण्डलामा इजरायलविरुद्ध प्रदर्शन (तस्वीरहरु)

    माइतीघर मण्डलामा इजरायलविरुद्ध प्रदर्शन (तस्वीरहरु)

    काठमाडौं । प्यालिस्टिनीमाथि इजरायली आक्रमणको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन सुरु भएको छ ।

    नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी, जनमोर्चा, जसपा नेपाल, नेकपासहितका दलद्वारा गठित ‘प्यालिस्टिनीमाथि इजरायली जनसंहारविरुद्ध संयुक्त अभियान, नेपाल’ ले उक्त प्रदर्शनको आयोजना गरेको हो ।

    प्रदर्शनकारीहरु विभिन्न नारा अङ्कित प्लेकार्डसहित सहभागी भएका छन् । उनीहरुले गाजामा भइरहेकाे  युद्ध राेक्न समेत आग्रह गरेका छन् ।

  • बीआरआईबारे झलनाथ- १५३ देशका लागि हितकर, नेपाललाई कसरी ऋण पासो ?

    बीआरआईबारे झलनाथ- १५३ देशका लागि हितकर, नेपाललाई कसरी ऋण पासो ?

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले विआरआईबारे अनावश्यक विवाद नगर्न आग्रह गरेका छन् ।

    प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जानुअघि बीआरआईबारे बहस चलिरहेको बेलामा नेपालको राष्ट्रिय हितलाई सर्वोपरि राखेर अघि बढ्न आग्रह गरेका छन् ।

    उनले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘नेपालको उत्तरी छिमेकी मुलुक जनवादी गणतन्त्र चीनले करिब १० वर्ष अघि सारेको वेल्ट एण्ड रोड पहलकदमी सुरुमा चीनले अघि सारेको भए पनि अब त्यो एउटा विश्वव्यापी अवधारणा र परियोजना बनेको छ । विगत १० वर्षको अवधिमा बदलिँदो विश्व परिवेशमा वेल्ट एण्ड रोड परियोजनामा विश्वका १५३ मुलुकहरु एक वा अर्को संझौतामा जोडिई सकेका छन । ती मुलुकहरुमा ३००० भन्दा बढी ठूला, मझौला र साना योजनाहरुमा सम्झौता भएका छन र तिनीहरु लागू भइरहेका छन् । यी परियोजनाहरुमा अहिलेसम्म १.४ ट्रीलियन डलरभन्दा बढी लगानी भइसकेको छ र विभिन्न देशमा लाखौं लाख जनताले रोजगारी समेत प्राप्त गरेका छन र गर्दैछन् ।’

    नेपालले पनि २०१७ मा विआरआई सम्झौता भएको उल्लेख गर्दै नेपालका एकपछि अर्का सरकारहरु पश्चिमा शक्तिहरुको चिन विरोधी कुप्रचारको शिकार भएर विआरआई सहयोगलाई ऋण पासोका रुपमा व्याख्या गर्दै नेपाल र नेपालीको भाग्यमाथि खेलवाड गरिरहेको उल्लेख गरेका छन् ।

    विज्ञप्तिमा भनिएको छ, ‘यस पटक प्रधानमन्त्रीको चीन भ्रमण हुँदा यी पूर्वाग्रहहरुलाई तोड्दै बीआरआई लगायत नेपालको राष्ट्रिय हित अनुकूल हुने अन्य अनेकौं विषयमा सम्झौता होला भन्ने आशा जनताले गरेका छन् । तर फेरि पनि बीआरआई गर्ने कि नगर्ने भन्ने विषयमा नै सत्तारुढ दुई दलबीच बहस भइरहनु र ठोस निर्णय गर्न नसक्नु मुलुककै निम्ति बिडम्वना बन्न पुगेको छ ।’

    विआरआई विश्वका १५३ देशहरुका लागि हितकर हुने तर नेपालको निम्ति ऋण पासो कसरी हुन्छ ? यो कहाँको स्ट्यान्डर हो ? सत्तारुढ दलहरु नेपाली बुद्धिले चल्छन् कि पश्चिमाहरुको निर्देशनमा चल्छन् ? भन्दै प्रश्न गरेका छन् ।

    ‘सत्तारुढ दुई दलका नेताहरु सरकार र प्रधानमन्त्रीलाई म के भन्न चाहन्छु भने हामी नेपालको राष्ट्रिय हितलाई सर्वोपरि राखौँ, भूराजनीतिको पासोमा नफसौ, नेपाली बुद्धिले अन्तराष्ट्रिय सम्वन्धलाई हेरौं, छिमेकमा चीन जस्तो विकासवान विश्वकै दोस्रो आर्थिक शक्ति हुनु हाम्रा निम्ति ठूलो अवसर समेत हो’, विज्ञप्तिमा भनिएको छ, ‘त्यो अवसरलाई बुद्धिमतापूर्ण रुपले ग्रहण गरौं, नेपालको राष्ट्रिय हितलाई सर्वोपरि राखेर विआरआई कार्यान्वयन लगायतका विभिन्न सम्झौताहरु गरेर चीनसंग सहयोग र सम्बन्धलाई गहिरो बनाउँदै राष्ट्रिय विकास र निमार्ण कार्यलाई गति प्रदान गरौं ।’

  • कीर्तिपुरको मेयरमा नेकपा एसको उम्मेदवारी निष्क्रिय, प्रदेश सांसदले भनिन्, ‘एकोहोरो नहाेस्’

    कीर्तिपुरको मेयरमा नेकपा एसको उम्मेदवारी निष्क्रिय, प्रदेश सांसदले भनिन्, ‘एकोहोरो नहाेस्’

    काठमाडौं । मंसिर १६ मा हुने स्थानीय तह उपनिर्वाचनका लागि कीर्तिपुर नगरपालिकाको मेयरमा मनोनयन दिएका नेकपा एसका उम्मेदवार भानु रिजालको उम्मेदवारी निष्क्रिय भएको छ ।

    पार्टी अध्यक्ष माधवकुमार नेपाल आफैंले बुधबार विज्ञप्ति जारी गरी रिजालको उम्मेदवारी निष्क्रिय भएको र माओवादी केन्द्रका उम्मेदवार प्रा.डा. शिवशरण महर्जनलाई सघाउने उल्लेख गरेका छन् । सोही नगरपालिकाको वडा नं. ४ को वडाध्यक्षमा भने नेकपा (एस) की उम्मेदवार रिता खड्काको उम्मेदवारी कायम रहने विज्ञप्तिमा उल्लेख छ ।

    तर, उक्त वडामा माओवादी केन्द्रका तर्फबाट उम्मेदवारी दिने नारायण विष्टले उम्मेदवारी निष्क्रिय पार्ने, नपार्नेबारे केही भनेका छैनन् । पार्टीले पनि त्यसबारे केही भनेको छैन ।

    एसको तर्फबाट कीर्तिपुरको निर्वाचन संयोजन गर्ने जिम्मेवारी पाएकी प्रदेश सांसद रमा आलेले वडाध्यक्षमा माओवादी केन्द्रले उम्मेदवारी निस्कृय नपारेसम्म मेयरको उम्मेदवारी एकोहोरो निष्क्रिय पार्नुको अर्थ नहुने बताइन् ।

    ‘माओवादीसँगको पूर्वसहमतिका आधारमा मेयरको उम्मेदवार निष्क्रिय पार्ने कुरा त ठीक छ, तर हामीले पाएको वडाध्यक्षमा उहाँहरु पछाडि हट्नुपर्छ’, उनले भनिन्, ‘नत्र एकोहोरो माया गरेर केही अर्थ छैन ।’

  • कीर्तिपुरमा माओवादी-एसको गठबन्धनमा मिसियो जसपा

    कीर्तिपुरमा माओवादी-एसको गठबन्धनमा मिसियो जसपा

    काठमाडौं । विपक्षी गठबन्धनका नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा नेपाल)बीच कीर्तिपुर नगरपालिकामा तालमेलको सहमति भएको छ ।

    कीर्तिपुरको मेयरमा माओवादी केन्द्रलाई जसपाले सघाउने सहमति भएको हो ।

    सहमतिअनुसार मेयरमा र वडा नं. ४ का अध्यक्षमा माओवादीका उम्मेदवारलाई जसपाले सघाउने तथा वडा नं. १ का अध्यक्षमा जसपाका उम्मेदवारलाई माओवादीले सघाउने छ ।

    मेयरमा माओवादीका प्रा. डा. शिव शरण महर्जन तथा वडा नं. ४ अध्यक्षमा ई. नारायण विष्ट उम्मेदवार छन् भने वडा नं. १ मा जसपाका सरल गोपाल महर्जन रहेका छन् ।

    सबै उम्मेदवारहरुले नेकपा (माओवादी केन्द्र) को चुनाव चिन्हलाई साझा चुनाव चिन्हका रुपमा लिएर अगाडि बढ्ने उनीहरुबीच सहमति भएको हो ।

  • नेकपा एससँग तालमेल गरेको माओवादीले कीर्तिपुरको मेयरमा दियो उम्मेदवारी

    नेकपा एससँग तालमेल गरेको माओवादीले कीर्तिपुरको मेयरमा दियो उम्मेदवारी

    काठमाडौं । मंसिर १६ को स्थानीय तह उपचुनावका लागि कीर्तिपुरको मेयरमा नेकपा माओवादी केन्द्रका प्रा.डा. शिवशरण महर्जनले मनोनयन दर्ता गरेका छन् । यहाँ एकीकृत समाजवादी र माओवादीबीच चुनावी तालमेलको सहमति भएको छ ।

    हिजो माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटा र नेकपा एसका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले कीर्तिपुरको मेयर र काठमाडौं महानगरपालिका- १६ को अध्यक्षमा तालमेल गर्ने सहमति पत्रमा हस्ताक्षर गरेका थिए ।

    सहमतिअनुसार कीर्तिपुरको मेयरमा माओवादी केन्द्रका उम्मेदवार प्रा. डा. शिवशरण महर्जनलाई नेकपा एसले सघाउनेछ । काठमाडौं महानगरको १६ नम्बर वडाध्यक्षमा नेकपा एसका मीनबहादुर मानन्धरलाई माओवादीले सघाउनेछ ।

    वडा नम्बर ४ को अध्यक्षमा माओवादीबाट नारायण विष्ट उठेका छन् । त्यस्तै १ मा जसपाबाट सरलगोपाल महर्जन अघि सरेका छन् ।

  • कम्युनिष्टहबीचको एकता र सहकार्यले मात्रै मुलुकलाई समाजवादको दिशामा लान सकिन्छ: माधव नेपाल (भिडिओ)

    कम्युनिष्टहबीचको एकता र सहकार्यले मात्रै मुलुकलाई समाजवादको दिशामा लान सकिन्छ: माधव नेपाल (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकलाई समाजवादको दिशातर्फ अघि बढाउन कम्युनिष्टबीचको एकता र सहकार्यमा जोड दिएका छन् ।

    अक्टोबर क्रान्ति दिवसको अवसरमा नेकपा एकीकृत समाजवादीकाे अन्तर्राष्ट्रिय विभागले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले नेपालमा कम्युनिष्टहबीचको एकता र सहकार्यले मात्रै नयाँ समाज निर्माण गर्न र मुलुकलाई समाजवादको दिशातर्फ अघि बढाउन सहज हुने बताए ।

    नेपाललाई कम्युनिष्टहरुको उर्वरभूमिका रुपमा लिनुपर्ने उनको भनाइ छ । अध्यक्ष नेपालले विश्वभरका कम्युनिष्ट पार्टीसँग सम्बन्ध राख्दै नेकपा एस अघि बढिरहेको जानकारी दिए ।

    नेपालमा कम्युनिष्ट आन्दोलनको लामो इतिहास रहेको भन्दै उनले यसलाई थप बलियो बनाउँदै अघि बढ्नुपर्नेमा जोड दिए ।

  • एकीकृत समाजवादीले उपनिर्वाचनका लागि यी क्षेत्रको टुंग्यायो उम्मेदवार (सूचीसहित)

    एकीकृत समाजवादीले उपनिर्वाचनका लागि यी क्षेत्रको टुंग्यायो उम्मेदवार (सूचीसहित)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले मंसिर १६ गते हुने उपनिर्वाचनको लागि १३ उम्मेदवार टुंगो लगाएको छ।

    मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष, जिसस प्रमुख र वडाध्यक्षगरी रिक्त ४४ पदमा हुन लागेको उपनिर्वाचनमा नेकपा एसले अहिलेसम्म १३ उम्मेदवार टुंग्याएको हो।

    तल्लो कमिटीबाट नाम आउने क्रम जारी रहेकाले आज बेलुकासम्ममा उम्मेदवार टुंगो लागिसक्ने नेकपा एकीकृत समाजवादीका उपमहासचिव रामकुमार भट्टराईले बताए।

    उपनिर्वाचनमा समाजवादी मोर्चामा आबद्ध रहेका दलहरुसँग चुनावी तालमेलको छलफल चलिरहेकाले सबै ठाउँमा उम्मेदवार नटुंगाएको उनले बताए।

    मंसिर १६ गते हुने उपनिर्वाचनको लागि भोलि उम्मेदवारी दर्ता हुँदैछ।

    कहाँ को उम्मेदार ?

    कोशी

    मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष- दिलबहादुर विश्वकर्मी

    सुनसरीको गढी गाउँपलिका वडा नं ६ वडाध्यक्ष- डोमी उराव

    उदयपुरको त्रियुगा नगरपालिका वडा नं १२ वडाध्यक्ष- निर्मला चौधरी

    मधेश

    धनुषाको धनुषाधाम नगरपालिका वडा नं १ वडाध्यक्ष- गोपालीसाह

    रौतहटको गढीमाइ नगरपालिका वडा नं ८ वडाध्यक्ष- वजरंगीप्रसाद यादव

    रौतहटको ईशनाथ नगरपालिका वडा नं ७ वडाध्यक्ष- सदरे आलम

    बागमती

    नुवाकोटको ककनी गाउँपालिका वडा नं २, वडाध्यक्ष- मानबहादुर लामा

    मकवानपुरको हेटौँडा नगरपालिका वडा नं १२,वडाध्यक्ष- बलराम बल

    दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्ष- रविना खड्का

    काठमाडौं महानगरपालिका १६ वडाध्यक्ष- मिनबहादुर मानन्धर

    कीर्तिपूर नगरपालिका ४, वडाध्यक्ष- रिता खड्का

    सुदुरपश्चिम

    बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका उपाध्यक्ष- जवा शाही

    कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं ६, वडाध्यक्ष- जीतेन्द्र चन्द्र

  • माओवादी र एकीकृत समाजवादी उपनिर्वाचनमा मिलेर लड्ने तयारी

    माओवादी र एकीकृत समाजवादी उपनिर्वाचनमा मिलेर लड्ने तयारी

    काठमाडौं । मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी चुनावी गठबन्धन गर्नेगरी छलफलमा जुटेका छन्।

    एक्लै लड्ने तर स्थानीय तहमा आवश्यकता अनुसार सहकार्य गर्ने नीति लिएर माओवादी र नेकपा एस मिलेर जान तयार भएका छन्।
    ४४ स्थानमा हुन लागेको उपनिर्वाचनमा समाजवादी मोर्चामा आबद्ध घटकहरुबीच मिलेर जाने प्रयास भएको हो।

    नेकपा एकीकृत समाजवादीका उपमहासचिव रामकुमार भट्टराईले आवश्यकता अनुसार मिलेर जाने भएकाले अहिलेसम्म पार्टीले सबै ठाउँमा उम्मेदवार नटुंग्याएको बताए।

    उनले भने, ‘हामीले अहिले केही ठाउँमा मात्रै उम्मेदवार टुंग्याएका छौं। अरु ठाउँबाट पनि नाम आउँदैन। समाजवादी मोर्चामा आबद्ध दलहरुबीच मिलेर जानुपर्छ भनेर प्राथमिकता राखेका छौं। कुनै ठाउँमा सरकार विपक्षी दलहरुसँग तालमेल हुनसक्छ।’

    नेकपा एसले कीर्तिपूरको ४ को वडाध्यक्ष मात्रै टुंगाएको छ। मेयरमा भने माओवादीलाई सघाएर जाने भन्ने छलफल चलिरहेको भएपनि अहिलेसम्म नटुंगिएको बताए।

    दुई ठूला दल कांग्रेस एमालेले चुनावी गठबन्धन नगर्ने नीति अघि सारेपछि माओवादीले पनि पदाधिकारीका बैठकमा एक्लै चुनाव लड्ने निर्णय गरेको थियो। तर, माओवादीको गढ भएको क्षेत्रमा कांग्रेस एमाले पनि मिल्ने संकेत पाएपनि माओवादीले पनि नेकपा एससहित मोर्चामा आबद्ध दलहरुसँग सहकार्य गर्न लागेको हो।

    समाजवादी मोर्चामा माओवादी, नेकपा एस, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा, महेन्द्रराय यादव नेतृत्वको नेसपा सहभागी छन्। प्रचण्डसँग असन्तुष्ट भएर मोर्चामा निष्क्रिय भएको उपेन्द्र यादव नेतृत्वको जसपा नेपाललाई पनि चुनावी मोर्चामा जोड्ने गरी छलफल चलाइएको छ।