Category: नेकपा एस

  • नेकपा एसको कार्यालयमा समाजवादी मोर्चाको बैठक

    नेकपा एसको कार्यालयमा समाजवादी मोर्चाको बैठक

    काठमाडौं । समाजवादी मोर्चाको बैठक जारी छ । पछिल्लो समसामयिक राजनीतिक परिवेशका बारेमा छलफलका लागि बैठक बसेको बताइएको छ ।

    आलोकनगरस्थित नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालयमा जारी बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एसका अध्यक्ष माधव नेपाल, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलगायत नेताहरुको सहभागिता रहेको छ ।

    लामो समयदेखि निष्क्रिय रहेको मोर्चा नेकपा माओवादीका अध्यक्ष प्रचण्ड र नेकपा एसका अध्यक्ष माधव नेपालको सक्रियतमा ब्यूँताइएको हो । मोर्चा ब्यूँत्याइएपछि सक्रियता बढ्न थालेको छ ।

    यद्यपि नेकपा एसकै सम्मानित नेता झलनाथ खनालले यसको औचित्य नरहेको टिप्पणी गरेका थिए ।

     

  • अखिल अध्यक्ष आरती लामा र युवा संघका कृष्ण विकलाई पदमुक्त गर्ने नेकपा एसको निर्णय

    अखिल अध्यक्ष आरती लामा र युवा संघका कृष्ण विकलाई पदमुक्त गर्ने नेकपा एसको निर्णय

    काठमाडौं । नेकपा एससम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियूकी अध्यक्ष आरति लामा र युवा संघ अध्यक्ष कृष्ण विक पदमुक्त भएका छन् ।

    पार्टीद्वारा जारी अन्तर पार्टी निर्देशन- ४ मा उनीहरूको जिम्मेवारी खोसिएको उल्लेख छ । पार्टीको केन्द्रीय सदस्य तथा भौगोलिक जिम्मेवारीसामेत पाएको कारण उनीहरू जिम्मेवारीमुक्त भएका हुन् ।

    लामालाई पार्टीको केन्द्रीय सदस्यसँगै सर्लाहीको सहइन्चार्ज र विकलाई म्याग्दी जिल्लामा जिम्मेवारी दिइएको छ । सोही आधारमा उनीहरू जनसंगठनका जिम्मेवारीबाट मुक्त भएका हुन् ।

    तर, उनीहरू जस्तै पार्टीको केन्द्रीय सदस्य र भौगोलिक जिम्मेवारी प्राप्त अन्य नेतामाथि कुनै कारवाही भएको छैन ।

    गत असारमा सम्पन्न महाधिवेशनमा लामा र विक उक्त पार्टीका सम्मानित नेता झलनाथ खनालको पक्षमा थिए । नेकपा एसस्रोतका अनुसार अध्यक्ष माधवकुमार नेपालले आफू निकटस्थबाहेकका जनसंगठनका अध्यक्षलाई जिम्मेवारीमुक्त गर्ने योजनाअनुसार लामा र विकलाई पदमुक्त गरेका हुन् ।

    लामा पदमुक्त भएपछि अखिल अध्यक्षको जिम्मेवारी महासचिव महेश श्रेष्ठले पाउने भएका छन् । मंगलबार आलोकनगरस्थित पार्टी कार्यालयमा आयोजित कार्यालय बैठकमा लामा उपस्थित थिइनन् । उक्त बैठकमा अखिल इन्चार्ज रामकुमारी झाक्री र सहइन्चार्ज भीम राई उपस्थित थिए ।

    यसअघि प्रेस संगठनका अध्यक्ष विश्वमणि सुवेदीलाई नेपाल प्रेसमा प्रकाशित लेखको बहानामा २४ घण्टे स्पष्टीकरण सोध्दै निष्कासनको तयारी थियोे । तर, निर्णयअगावै उनले पार्टी परित्याग गरे ।

     

  • नेकपा एसले तोक्यो जिल्ला र निर्वाचन क्षेत्र इञ्चार्ज तथा सहइञ्चार्ज, को कहाँ ? (सूचीसहित)

    नेकपा एसले तोक्यो जिल्ला र निर्वाचन क्षेत्र इञ्चार्ज तथा सहइञ्चार्ज, को कहाँ ? (सूचीसहित)

    काठमाडौं । नेकपा एकीकृत समाजवादी नेताहरूको कार्य विभाजनसहित अन्तर पार्टी निर्देशन (अपानि) जारी गरेको छ। अध्यक्ष माधव नेपालले १० औँ राष्ट्रिय महाधिवेशनपछि नेताहरूको कार्यविभाजनसहितको अपानि पठाएका हुन्।

    अपानिमा भनिएको छ, ‘दशौँ राष्ट्रिय महाधिवेशनपछि नयाँ कार्य विभाजनलगायतका काममा हामी केही ढिलो भएका छौँ । यसबारे पार्टी पङ्क्तिमा चासो र जिज्ञासा प्रकट हुनु स्वाभाविक छ । तर, यही समयमा हामीले आन्तरिक रूपमा समाधान गर्नैपर्ने कतिपय विषयलाई समाधान गरेका छौँ र पार्टी पङ्क्तिलाई महाधिवेशनको फैसला मुताबिक अगाडि बढ्न एकताबद्ध बनाएका छौँ ।’

    स्थायी कमिटी विस्तार गर्ने, पार्टीको केन्द्रीय सचिवालय र केन्द्रीय कार्यालयको गठन गर्ने, केन्द्रीय आयोगहरू र केन्द्रीय सल्लाहकार परिषद्का साथै ज्येष्ठ कम्युनिष्ट मञ्चको गठन गर्ने र केन्द्रीय कमिटी सदस्यहरूको कार्यविभाजन गरेको उल्लेख छ।

    केन्द्रीय विभागहरूको गठन प्रक्रिया आरम्भ गर्नुका साथै पार्टी पङ्तिलाई गतिशील बनाउँदै, एजेन्डामा आधारित भएर स्थानीय जनजागरण तथा जनपरिचालनको विस्तार गर्दै र राष्ट्रिय आन्दोलनको विकास गर्दै पार्टीलाई राष्ट्रिय राजनीतिको केन्द्रमा स्थापित गर्ने ठोस कार्ययोजना पनि बनाउनको उल्लेख छ।

    नेकपा एसले जिल्ला र संघीय निर्वाचन क्षेत्र इञ्चार्ज तथा सहइञ्चार्ज, मोर्चा तथा फाँटका प्रमुख, उपप्रमुख र इञ्चार्ज तथा सहइञ्चार्ज, केन्द्रीय आयोगहरूलाई पूर्णता, विभागीय प्रमुख तथा उपप्रमुख पनि तोकेको अपानिमा उल्लेख छ।

  • नेकपा एसको समीक्षा- भित्रैबाट फुटाउने अनेक षड्यन्त्र हुँदैछन्

    नेकपा एसको समीक्षा- भित्रैबाट फुटाउने अनेक षड्यन्त्र हुँदैछन्

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले नेकपा (एमाले) सैद्धान्तिक जडता र विसङ्गतिबाट सङ्गठनात्मक निराशा, उकुसमुकुस र पलायनतर्फ उन्मुख भएको निष्कर्ष निकालेको छ ।

    अध्यक्ष माधव नेपालले जारी गरेको अन्तरपार्टी निर्देशनमा एमाले नेतृत्वको सरकार र नेतृत्व सार्वजनिक जीवनमा पनि बदनाम हुँदै गएको उल्लेख छ ।

    अपानीमा भनिएको छ, ‘नेकपा (माओवादी केन्द्र) मा सैद्धान्तिक गतिरोध जस्ताको तेस्तै छ । आजकै अवस्था रहन दिनु कम्युनिष्ट आन्दोलनका लागि खतरनाक हुनसक्छ । यस परिस्थितिमा मुलुकको कम्युनिष्ट आन्दोलनले एउटा जिम्मेवार र शक्तिशाली हस्तक्षेपको माग गरिरहेको छ । त्यसका लागि समय कम हुँदै गएको छ ।’

    दक्षिणपन्थी अवसरवादका विरुद्ध विद्रोह र पार्टीको पुनर्गठनलाई नेपालको कम्युनिष्ट आन्दोलनकै पुनर्गठन र रूपान्तरणमा बदल्ने दायित्वलाई मध्यनजर राख्दै पार्टी निर्माणको संकल्प गरिएको अपानीमा उल्लेख छ ।

    अपानीमा भनिएको छ, ‘हामीलाई बाहिरबाट आक्रमण गर्ने र भित्रबाट विभाजित गर्ने अनेक षड्यन्त्रहरू हुँदै आएका छन्, जसलाई हामीले सामना गर्दै आएका छौँ । आन्तरिक एकता, जनजागरण तथा जनपरिचालन र आन्दोलनद्वारा ती सबैको उत्तर दिँदै पार्टीलाई मुलुकको अपरिहार्य क्रान्तिकारी शक्तिका रूपमा विकास गर्न अघि बढौँ । अनेक चुनौतीहरू छन्, तर हाम्रा कमजोरी र सामर्थ्यलाई पहिचान गरेर अगाडि बढदा हाम्रा अगाडि झन् धेरै सम्भावना छन भन्ने तथ्यलाई आत्मसात गर्दै अगाडि बढौँ ।’

  • नेकपा एसको अपानी- अराजनीतिक साँठगाँठको ओली सरकार आफ्नै अयोग्यताको दुश्चक्रमा फस्दैछ

    नेकपा एसको अपानी- अराजनीतिक साँठगाँठको ओली सरकार आफ्नै अयोग्यताको दुश्चक्रमा फस्दैछ

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले अहिलेको सत्ता गठबन्धन केबल अराजनीतिक साँठगाँठ भएको पुष्टि भएको बताएको छ ।

    अध्यक्ष माधव नेपालले हालै अपानी जारी गर्दै सरकारको अयोग्यताले आम असन्तुष्टि बढ्ने र सत्ताको नालायकी अझ गम्भीर बन्दै जाने दुश्चक्रमा यो गठबन्धन फस्दै गएको जनाएका छन् ।

    अपानीमा भनिएको छ, ‘त्यसले हाम्रो पहलकदमीका लागि अनुकुलता नै थपेको छ । वर्तमान गठबन्धन सरकारले जनअपेक्षा अनुरूप कुनै पनि काम गर्न सकेको छैन । यो सरकार देश र जनताको हित् प्रतिकूल निरङ्कुश ढङ्गले अगाडि बढ्दैछ । संसदलाई छलेर अध्यादेशमार्फत सत्ता सञ्चालन गर्दैछ । यसले भ्रष्टाचार नियन्त्रण गर्ने होइन भ्रष्टाचारीहरूलाई संरक्षण गर्ने काम गरेको छ ।’

    देशमा महंगी अकासिएको तर सरकार मूल्य नियन्त्रण गर्ने होइन व्यापारीले आफूखुसी मूल्य निर्धारण गर्न पाउने प्रावधान राखिएको अध्यादेश ल्याएर दलाल व्यापारीको पक्षमा उभिएको उल्लेख छ ।

    अपानीमा भनिएको छ, यसले किसानका समस्या समाधान गर्ने होइन भूमाफियाले हदभन्दा बढी जमीन प्लटिङ गरेर बेच्न पाउने प्रावधान राखिएको अध्यादेश ल्याएर जग्गा दलाल र भूमाफियाको हितमा काम गर्दैछ ।

    ओली सरकारले अन्तराष्ट्रिय सम्बन्ध सन्तुलित राख्न पनि नसकेको आरोप छ ।

    अपानीमा भनिएको छ, ‘सरकारका यस किसिमका गतिविधिले गर्दा आम जनतामा राज्य र सरकारप्रति चरम निराशा उत्पन्न भएको छ । हाम्रोसमेत पहलकदमीमा संसदमा रहेका प्रतिपक्षी दलहरू सरकारका उपयुक्त गलत क्रियाकलापका विरुद्ध उभिएका छन् र बैठक बसी छलफल गरेर संयुक्त वक्तव्यमार्फत् साझा धारणा सार्वजनिक गरेका छन् ।’

  • नेकपा एसले बोलायो केन्द्रीय कमिटी बैठक, त्यसअघि स्थायी र पोलिटब्युरो बस्ने

    नेकपा एसले बोलायो केन्द्रीय कमिटी बैठक, त्यसअघि स्थायी र पोलिटब्युरो बस्ने

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टीको बैठक बोलाएको छ। पार्टी स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक बोलाएको हो।

    महासचिव घनश्याम भुसालका अनुसार माघ २८ गते स्थायी कमिटी, २९ गते पोलिटब्युरो र माघ ३० देखि फागुन २ सम्म केन्द्रीय कमिटी बैठक बस्नेछ।

    बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रम, पार्टीको अवस्था, आगामी रणनीतिबारे छलफल हुने जनाइएको छ। पछिल्लो समय असन्तुष्ट नेताहरूले पार्टी छाड्ने क्रम बढेको छ।

    अधिकांश सांसदहरूले पार्टी विभाजन गर्न सहज हुनेगरी अध्यादेश ल्याइदिने बालुवाटारदेखि शीतल निवासम्म धाइरहेका छन्। बैठकमा पार्टीको यी विषयमा पनि छलफल हुने जनाइएको छ।

  • वामदेव गौतम आलोकनगरबाट किन मोडिए च्यासल ? नेकपा एसका नेताले देखाए चार कारण

    वामदेव गौतम आलोकनगरबाट किन मोडिए च्यासल ? नेकपा एसका नेताले देखाए चार कारण

    काठमाडौं । माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीसँग एकता गर्न ठिक्क परेका राष्ट्रिय एकता अभियानका संयोजक तथा एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतम सम्भवतः भोलि एमालेमा फर्किनेछन्।

    आज ४ बजे एमाले सचिवालयको बैठक राखिएको छ । पार्टी मुख्यालय च्यासलमा बस्ने बैठकको एजेण्डामा गौतमलाई पार्टीमा भित्र्याउने र दिने जिम्मेवारी पनि रहेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतम बताउँछन् ।

    यसअघि गौतमको प्रस्तावलाई बेवास्ता गर्दै आइरहेका ओलीले एकीकृत समाजवादीले भित्र्याउने तयारी गरेपछि तत्परता देखाएका हुन् ।

    ओलीसँग संवाद हुनुअघि गौतम नेकपा एसका अध्यक्ष माधव नेपालसँग पटक पटक छलफल गरेर वार्ता समिति–समिति बनाएर एकताको तयारी गरेका थिए। नेकपा एसको कार्यालय आलोकनगरमै पुगेर नेकपा एसमा फर्किने निश्चित भएको बताएका थिए । यद्यपि, अन्तिम समयमा गौतम आलोकनगर छाडेर च्यासलतिर मोडिएका छन्।

    नेता गौतमलाई भित्र्याउने तयारी अन्तिम समयमा किन भाँडियो ? हामीले एकीकृत समाजवादीका प्रचार विभाग उपप्रमुख दामोदर अर्याललाई सोध्यौँ।

    उनले नेता गौतमको चरित्रकै कारणले नेकपा एसमा भित्र्याउने प्रयास विफल भएको बताए ।

    उनले भने, ‘उहाँले २७ गते बैठक बसेर निर्णय गर्छौ भनेर जानुभएको थियो। माओवादी, एमाले र एकीकृत समाजवादीसँग पनि वार्ता गर्ने निर्णय गराउनुभएछ। त्यसैले उहाँमा कुनै विचार देखिएन। अहिले तीन कम्युनिष्ट पार्टीको कार्यनीति नै फरक छ। माओवादीले माओवाद भन्छ, एमालेले जनताको बहुदलीय जनवाद र नेकपा एसले समाजवादी कार्यदिशा भनेको छ। उहाँलाई जे भए पनि हुने देखियो।’

    उनले नेता गौतममा अझै व्यक्तिवादी राजनीति, महत्वाकांक्षा रहेको टिप्पणी गरे ।

    अर्यालले थपे, ‘हिजो एमाले हुँदा पनि नेकपाकालमा पनि कहिले कुन नेता उचाल्ने कहिले कसलाई उचाल्ने प्रवृत्ति थियो । उहाँको धमिलो पानीमा माछा मार्न खोज्ने कार्यशैली छ ।’

    नेता गौतमलाई अध्यक्ष नेपालले १० औँ महाधिवेशनले पारित गरेका प्रस्तावहरूलाई नि:शर्त स्वीकार्दै सहकार्य गर्न प्रस्ताव राखेको उनले बताए । गौतमसँग भएका नेताहरूको विगतको कामको मूल्याङ्कन हेरेर जिम्मेवारी दिन अध्यक्ष नेपाल तयार भइसके पनि एकता विफल हुनुको चार कारण खुलाए ।

    पहिलो, वामदेवजीसँग दुईतीन जनाबाहेक अहिले पूर्वएमालेका नेताहरू छैनन् । पहिले एमालेमा काम गरेका उहाँको श्रीमती र डिबी कार्की मात्रै हुनुहुन्छ। उहाँहरूबाहेक पूर्वएमालेमा काम गरेका कोही पनि हुनुहुन्न। अहिले उहाँले युट्युबरहरुलाई पछि लगाएर हिँड्नुभएको छ । उनी उहाँले ती सबै २६ जनालाई केन्द्रीय सदस्य बनाउनुपर्छ भनेर लिस्ट लिएर आउनुभएको थियो। तर, हाम्रो जग एमाले हो नि। एमालेमा कहिलेदेखि काम गरेको छ त्यसलाई मूल्याङ्कन गरेर जिम्मेवारी दिइरहेका छौँ। त्यो उहाँको प्रस्ताव हामीले मान्ने कुरा भएन ।

    दोस्रो, उहाँले प्रत्यक्ष राष्ट्रपति वा प्रधानमन्त्री मानेर जानुपर्छ एकीकृत समाजवादीले भन्ने प्रस्ताव राख्नुभयो। त्यो हाम्रो पार्टीको अहिलेसम्म माग छैन । त्यो नेपालीहरूको मौलिक एजेन्डा होजस्तो हामीलाई लागेको नै छैन। त्यसले उहाँको त्यो प्रस्ताव मान्न सकिएन ।

    तेस्रो, उहाँ जहिले पनि व्यक्तिवादी राजनीति गर्नुहुन्छ। उहाँले माधव नेपालबाहेक कसैलाई नेता नै मान्दिनँ भन्नुहुन्छ। सार्वजनिक रूपमै भन्नुभयो। हामी त सामूहिक नीति र जिम्मेवारीमा चल्छौँ। कमिटी मान्नुपर्‍यो नि व्यक्ति होइन ।

    चौथो, उहाँले अर्को आफूलाई संगठन विभागको अडान राख्नुभयो । उहाँले देशैभरि संगठनमा उथलपुथल ल्याइदिन्छु भन्नुभयो । त्यस्तो क्षमता भए त्यही अभियानमा गर्न सकिहाल्नुहुन्थ्यो नि । उहाँले तेस्रो वरियतामा मान्नुभएको थियो मान्न चाहिँ ।

  • नेकपा एस झण्डै ३३ लाख घाटामा, यस्तो छ आम्दानी खर्च विवरण

    नेकपा एस झण्डै ३३ लाख घाटामा, यस्तो छ आम्दानी खर्च विवरण

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले वार्षिक लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गरेको छ ।

    पार्टी केन्द्रीय कार्यालयका लेखाप्रमुख खेमराज पौडेलले केन्द्रीय कार्यालयको सूचना पाटीमा टाँस गरी लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गरेका हुन् ।

    अडिट रिपोर्टअनुसार गत आर्थिक वर्षमा ४ करोड २४ लाख ५३ हजार ६ सय ९१ रूपैयाँ आम्दानी भएको छ । त्यस्तै खर्चतर्फ ४ करोड ५७ लाख ४० हजार ८ सय ५४ रूपैयाँ छ । ३२ लाख ८७ हजार १६४ रूपैयाँ पार्टी घाटामा रहेको लेखापरीक्षण प्रतिवेदनमा उल्लेख छ ।

    पार्टीको यस आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदनमा २०८० असोजमा सञ्चालित मेची-महाकाली जागरण अभियान, २०८१ जेठमा सम्पन्न पार्टीको दशौँ राष्ट्रिय महाधिवेशन र यसैवर्ष सम्पन्न स्थानीय तहको उपनिर्वाचनमा भए/गरेको खर्च विवरण उल्लेख छ ।

    सदस्यता, लेबी, प्रकाशन बिक्री, महाधिवेशन प्रतिनिधि शुल्क, अन्य नियमित सहयोग रकम पार्टीको मुख्य आम्दानीको स्रोत रहेको उल्लेख छ ।

  • नेकपा एस निकट समाजवादी प्रेस संगठन विघटन ! अध्यक्षसहितको टीम प्रेस चौतारीमा प्रवेश

    नेकपा एस निकट समाजवादी प्रेस संगठन विघटन ! अध्यक्षसहितको टीम प्रेस चौतारीमा प्रवेश

    काठमाडौं । समाजवादी प्रेस संगठन नेपालका अध्यक्ष विश्वमणि सुवेदीसहितको बहुसंख्यक पदाधिकारीको टोली नेकपा एमाले निकट प्रेस चौतारी नेपालमा प्रवेश गरेका छन् ।

    एमाले महासचिव शंकर पोखरेल, प्रचार विभाग प्रमुख राजेन्द्र गौतम र चौतारीका अध्यक्ष गणेश बस्नेतले सुवेदीसहितको टीमलाई मूलधारमा स्वागत गरेका हुन् ।

    माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को भ्रातृ संगठनका रुपमा रहेको समाजवादी प्रेस संगठनको २०८० जेठमा सम्पन्न महाधिवेशनबाट सुवेदी अध्यक्षमा निर्वाचित भएका थिए ।

    २०७७ पुस ५ मा संसद विघटन भएपछि तत्कालीन नेकपा सम्बद्ध प्रेस संगठनमा प्रचण्ड-समूहअन्तर्गत प्रेस चौतारी पृष्ठभूमिका पत्रकारको नेतृत्व सुवेदीले गरेका थिए । पार्टी विभाजन भएपछि प्रेस चौतारीको उक्त समूहले समाजवादी प्रेस संगठन स्थापना गरेका हुन् ।

    सुवेदीसँगै संगठनका उपाध्यक्ष सविन शर्मा, महासचिव रामकुमार एलन, सचिव नेपोलियन चेपाङ, कोषाध्यक्ष कृपा भण्डारी, केन्द्रीय सदस्यहरू आशिष गुरागाईं, सौगात मिश्र, नरेन्द्र विष्ट पनि प्रेस चौतारीमा प्रवेश गरेका छन् ।

    अध्यक्ष सुवेदीले प्रेस चौतारीमा केन्द्रीय सदस्य, कोषाध्यक्ष र उपाध्यक्षको जिम्मेवारी बहन गरिसकेका छन् । २०५० सालमा छलफल साप्ताहिकबाट पत्रकारिता शुरु गरेका उनले २०५५ सालदेखि गत साउन महिनासम्म जनआस्था साप्ताहिकका विभिन्न जिम्मेवारीमा रहेर काम गरिसकेका छन् । उनी हाल नेपाल प्रेसमा आवद्ध छन् ।

  • विपक्षी दलहरूले आज संयुक्त पत्रकार सम्मेलन गर्दै

    विपक्षी दलहरूले आज संयुक्त पत्रकार सम्मेलन गर्दै

    काठमाडौं । संघीय संसदका विपक्षी दलहरूले आज संयुक्त पत्रकार सम्मेलन गर्दै छन् ।

    आज ६ विपक्षी दलहरूको बैठक पश्चात् दिउँसो ३ बजे संघीय संसद् भवनको ल्होत्से हलमा पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

    विपक्षी दलको संयुक्त बैठकले संसद्को हिउँदे अधिवेशन बोलाउन सरकारसँग माग गर्ने सहमति जुटाएसँगै पत्रकार सम्मेलनको तयारीका लागि नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन र नेकपा एसका नेता बेदुराम भुषालको २ सदस्यीय कार्यदल बनाएको थियो ।

    पत्रकार सम्मेलनमा विपक्षी दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने भनिएको छ ।

  • प्रचण्ड-माधवको जोडबलमा ब्यूँतियो समाजवादी मोर्चा, आलोकनगरमा बैठक जारी

    प्रचण्ड-माधवको जोडबलमा ब्यूँतियो समाजवादी मोर्चा, आलोकनगरमा बैठक जारी

    काठमाडौं । समाजवादी मोर्चाको बैठक सुरू भएको छ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बैठक केही समयअघिबाट जारी छ ।

    मोर्चामा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, विप्लव नेतृत्वको नेकपा र महेन्द्रराय यादव नेतृत्वको नेसपा सहभागी छन् ।

    लामो समयदेखि निष्क्रिय रहेको मोर्चा नेकपा माओवादीका अध्यक्ष प्रचण्ड र नेकपा एसका अध्यक्ष माधव नेपालको सक्रियतमा ब्यूँताइएको हो ।

    बैठकमा माओवादीबाट प्रचण्डसहित वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देव गुरुङ, उपमहासचिव वर्षमान पुन, नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालसहित वरिष्ठ नेता प्रमेश हमाल, महासचिव घनश्याम भुसाल, नेकपाका महासचिव विप्लव र प्रवक्ता खड्गबहादुर विश्वकर्मा र नेपाल समाजवादी पार्टीका अध्यक्ष यादव र सहअध्यक्ष गङ्गानारायण श्रेष्ठ सहभागी छन् ।

    यसअघि दुवै दलका शीर्ष नेताहरूको बैठक बसेर मोर्चालाई सक्रिय बनाउने सहमति गरेको थिए । कांग्रेस नेतृत्वको गठबन्धनमा हुँदा प्रचण्डले सरकार टिकाउने अस्त्रका रूपमा चार दललाई समेटेर मोर्चा गठन गरेका थिए ।

    प्रचण्ड सरकारमै हुँदा उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल विभाजित भएपछि सो दल मोर्चाबाट बाहिरिएको छ । यद्यपि, प्रचण्ड-माधवले मोर्चामा फेरि जोड्ने प्रयास जारी राखेका छन् ।

     

  • माधव नेपालको टिप्पणी- कम्युनिष्ट भनिएकाहरुले मुलुक चलाएपनि जनता सन्तुष्ट छैनन् (भिडिओ)

    माधव नेपालको टिप्पणी- कम्युनिष्ट भनिएकाहरुले मुलुक चलाएपनि जनता सन्तुष्ट छैनन् (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले कम्युनिष्ट भनिएकाहरुले मुलुक चलाइरहेपनि जनता सन्तुष्ट हुन नसकेको टिप्पणी गरेका छन् ।

    पिस्कर स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीलाई लक्षित गर्दै अध्यक्ष नेपालले नामको मात्रै कम्युनिष्ट भएर नहुने बताए ।

    ‘हाम्रो पार्टीले बेठिक कुराहरुको विरोध गर्छ, राम्रो कुरालाई प्रोत्साहित गर्छ। सबैलाई विश्वास दिलाउँछ न्याय र निमुखाको आवाज बन्ने पार्टी हुन्छ भनेर । इमान्दार र असल चरित्रलाई प्रोत्साहन गर्छौँ’, उनले भने, ‘कम्युनिष्ट भनिएका पार्टीहरुले मुलुक चलाइरहेका छन् । तर, जनता सन्तुष्ट हुन सकिरहेका छैनन् । कम्युनिष्ट भनेर मात्रै पनि हुँदो रहेनछ। त्यसैले कम्युनिष्टको नाममा गैर कम्युनिष्ट काम गर्न भएन। कम्युनिष्टको नाम र मर्यादा राख्न सक्नुपर्छ । त्याग तपस्या र बलिदानमा कीर्तिमान राख्न सक्नुपर्छ ।’

    उनले श्रीलंकाको कम्युनिष्ट पार्टीको उदाहरण दिँदै निराश हुने र अल्छि गर्नेहरुले केही गर्न नसकेको सुनाए ।

  • अहिल्यै समाजवादीमा गइन्न, एमालेसँग पनि कुरा हुँदैछ : वामदेव

    अहिल्यै समाजवादीमा गइन्न, एमालेसँग पनि कुरा हुँदैछ : वामदेव

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) सँग पार्टी एकता गर्ने करिब करिब निश्चित भएको भनिए पनि वामदेव गौतम नेतृत्वको पार्टी एकता राष्ट्रिय अभियानले अहिल्यै उक्त पार्टीसँग एकता नगर्ने भएको छ ।

    नेपाल प्रेससँग कुरा गर्दै अभियानका संयोजक तथा एमालेका पूर्वउपाध्यक्ष गौतमले एमाले र अन्य वाम घटकसँग पनि कुराकानी चलिरहेका कारण तत्काल कोहीसँग एकता गरिहाल्ने कार्यक्रम नरहेको बताए ।

    ‘कतै न कतै एकता नगरी त हुन्नँ, तर एकीकृत समाजवादीसँगै गर्ने भन्ने कुरा पनि अहिल्यै हुँदैन’, उनले भने, ‘साथीहरूले अरूसित पनि कुराकानी चलाइरहनुभएको छ, जता गर्दा वामपन्थीबीचको सुदृढ एकता सम्भव हुन्छ, हामी त्यतै जाने हो ।’

    गौतमले एकीकृत समाजवादीसँग संगठन विभाग प्रमुखको जिम्मेवारी माग गरेका थिए । तर, अध्यक्ष माधवकुमार नेपालले उक्त जिम्मेवारी पाउनुपर्ने पार्टी महासचिव घनश्याम भुसाललाई पनि नदिई आफ्नो भित्री समूहका नेता बेदुराम भुसाललाई दिएका छन् ।

    ‘माधवले अरू कुरा मान्नुहोला, संगठन विभागमा मान्नुहुन्न’, एकीकृत समाजवादीबाट वामदेवसँग वार्ता गर्न खटाइएका एक नेताले बताए ।

    तर, गौतम भने राजनीतिक, सैद्धान्तिक र कार्यगत विषयहरूलाई परिपक्व ढंगले निम्ट्यारा नलगाई गरिने एकता दिगो र उपलब्धिमूलक नहुने भन्छन् ।

    ‘पद, जिम्मेवारीका कुरा पनि आउँछ, तर मुख्य कुरा राजनीतिक, सैद्धान्तिक र कार्यनीतिका हुन्छन्’, उनले भने, ‘त्यो कुरामा जो लचिलो हुन्छ, उहीसँग एकता हुन्छ ।’

  • प्रचण्ड- माधवलाई भेटेपछि राजेन्द्र लिङ्देनको प्रतिक्रिया: यो नेतृत्व र व्यवस्थाले देश बन्दैन (भिडिओ)

    प्रचण्ड- माधवलाई भेटेपछि राजेन्द्र लिङ्देनको प्रतिक्रिया: यो नेतृत्व र व्यवस्थाले देश बन्दैन (भिडिओ)

    काठमाडौं । नेकपा माआवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एसका अध्यक्ष माधव नेपाललाई भेटेर बाहिरिएका राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन अहिलेको नेतृत्व र व्यवस्थाले देश नबन्ने बताएका छन्।

    सिंहदरबारमा भएको भेटपछि बाहिरिने क्रममा सञ्चाकर्मीहरुसँग कुरा गर्दै संविधान संशोधन गरेर अहिलेको व्यवस्था परिवर्तन गर्नुपर्ने बताए।

    उनले भने, ‘यो नेतृत्व र व्यवस्थाले देश बन्दैन। हामीले संविधान संशोधनको बिषय उठाइरहेका छौं। दुई ठूला दलले संविधान संशोधनको बिषय भन्नको लागि मात्रै भनिएको रहेछ भन्ने प्रमाणित भएको छ।’

    उनले देशलाई भ्रष्टाचार मुक्त बनाएर समृद्ध बनाउनको लागि अहिलेको नेतृत्व र व्यवस्था फ्याक्नुपर्ने बताए।

  • माओवादी र नेकपा एसबीच समाजवादी मोर्चालाई सक्रिय बनाउने सहमति

    माओवादी र नेकपा एसबीच समाजवादी मोर्चालाई सक्रिय बनाउने सहमति

    काठमाडौं । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच समाजवादी मोर्चालाई सक्रिय बनाउने सहमति भएको छ।

    सिंहदरबारमा भएका नेकपा माआवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधव नेपालसहितको भेटमा मोर्चालाई सक्रिय बनाउने सहमति भएको हो।

    माघ २ गते समाजवादी मोर्चामा भएका चारवटा घटकहरुसँग छलफल गरेर अघि बढ्ने बताए। दुई ठूला सहित विप्लव नेतत्वको नेकपा र महेन्द्रराय यादव नेतृत्वको नेसपा सहभागी छन्।

    उनले अन्य पार्टीहरुसँग पनि छलफल चलिरहेको बताए। आजको बैठकमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र अशोक राई नेतृत्वको जसपाका नेता राजेन्द्र श्रेष्ठ पनि सहभागी थिए।

  • एमालेको आह्वान अस्वीकार गर्दै नेकपा एसले भन्यो- हामी पार्टी एकताको मूडमा छैनौं

    एमालेको आह्वान अस्वीकार गर्दै नेकपा एसले भन्यो- हामी पार्टी एकताको मूडमा छैनौं

    काठमाडौं । नेकपा एमालेले पार्टी विभाजन भएर गएकाहरुलाई फर्किन गरेको आग्रहलाई माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले अस्वीकार गरेको छ ।

    एमालेको आज टुंगिएको केन्द्रीय कमिटीको बैठकले निर्णायक राष्ट्रिय शक्ति निर्माण अभियानलाई सफल बनाउन पार्टी विभाजनलगायतका कारणले पार्टी बाहिर रहेका सबै नेता र स्वतन्त्र ढङ्गले क्रियाशील रहेकाहरूलाई एमालेमा फर्कन आग्रह गरेको थियो ।

    एमालेले पार्टी फोडेर अलग भएकाहरुलाई फर्किन आग्रह गरेपछि हामीले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीका प्रचार विभाग उपप्रमुख दामोदर अर्याललाई सोध्यौं ।

    उनले आफूहरु वामपन्थी एकताको पक्षमा सधैं खुला रहे पनि एमालेको प्रस्तावलाई अस्वीकार गर्ने बताए ।

    उनले भने, ‘उहाँहरुले अहिले फर्की भन्दैमा फर्किने कुरा हुँदैन । अहिले हामी पार्टी एकता गर्ने मूडमा पनि छैनौं । भोलि पार्टीको एकता नै भएछ कुनै कालखण्डमा भने नहोला भन्न सकिँदैन, तर घर फर्की भन्दैमा हामी विद्रोह गरेर हिँडेका फर्किने कुरा सम्भव छैन ।’

    उपप्रमुख अर्यालले आफूहरु समाजवादको आधार तयार गर्न सबै वामपन्थी शक्तिहरु एकजुट हुनुपर्छ भन्ने पक्षमा रहेको सुनाए ।

    उनले एमालेको आह्वानबारे भने, ‘हामी एकताको विरोधी होइनौं । त्यस्तो आह्वान त हामी पनि एमालेलाई गर्छौं नि ! तपाईंहरु हाम्रो पार्टीमा आउनुस्, हामीले नै वामपन्थी एकताको नेतृत्व गर्ने हो । एमालेको जस्तो प्रस्ताव त एमालेका सबै केन्द्रीय सदस्यहरुलाई हाम्रो पार्टीमा आउन आह्वान गर्छु ।’

  • नेकपा एसका केन्द्रीय सदस्य गोविन्द चेपाङ एमालेमा फर्किए, बैठकस्थलमै गरियो स्वागत

    नेकपा एसका केन्द्रीय सदस्य गोविन्द चेपाङ एमालेमा फर्किए, बैठकस्थलमै गरियो स्वागत

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य गोविन्दराम चेपाङ आज नेकपा एमालेमा फर्किएका छन् ।

    च्यासलमा जारी केन्द्रीय कमिटीको बैठकबीचमै उनी एमालेमा भित्रिएका हुन् । अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेताहरूले चेपाङलाई स्वागत गरे । संविधानसभा सदस्यसमेत रहेका चेपाङ नेकपा एसनिकट आदिवासी जनजाति फाँटका सहइञ्चार्ज थिए ।

    नेकपा एसको महाधिवेशनपछि पार्टी छाडेर एमाले फर्किने चेपाङ दोस्रो केन्द्रीय सदस्य हुन् । उपचुनावअघि अर्का केन्द्रीय सदस्य जंगवहादुर शाही एमालेमा फर्किएर महाबु गाउँपालिका अध्यक्ष निर्वाचित भइसकेका छन् । चेपाङ संविधानसभाका सदस्य समेत हुन् ।

    बैठकमा अहिलेसम्म ६४ केन्द्रीय सदस्यले अध्यक्षको राजनीतिक प्रतिवेदनमाथि बोलेका छन् । स्थायी र पोलिटब्युरोका ५२ जनाले बोल्न बाँकी छ ।

  • वामदेवलाई नेकपा एसमा भित्र्याउने कुरा कहाँ पुग्यो ? गौतम भन्छन्- एमालेबाट पनि कुरा आएको छ

    वामदेवलाई नेकपा एसमा भित्र्याउने कुरा कहाँ पुग्यो ? गौतम भन्छन्- एमालेबाट पनि कुरा आएको छ

    काठमाडौं । एमालेका पूर्वउपाध्यक्ष एवं पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमलाई माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा भित्र्याउने कुरा अझै टुंगोमा पुगेको छैन ।

    गत साता एकीकृत समाजवादीको नेतृत्वले गौतमसँग गरेको वार्तामा उनका सम्पूर्ण माग र चाहनालाई पूरा गर्ने जिम्मेवारी महासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य बलराम बास्कोटालाई दिइएको थियो । त्यसअनुसार सम्पूर्ण तयारी सकिएको बास्कोटाले नेपाल प्रेसलाई बताए । तर, गौतमले आफू नेतृत्वको एकता अभियानको बैठकबाट केही पनि निर्णय नभएको र २७ गते निर्णय गर्ने बताए । आइतबार महासचिव भुसाल र स्थायी कमिटी सदस्य बास्कोटा आफूलाई भेट्न आएको पनि उनले बताए ।

    ‘घनश्याम र बलराम आउनुभयो, तपाईँका सबै माग पूरा गरिदिएका छौँ भन्नुभयो’, गौतमले नेपाल प्रेससँग भने । तर, आफ्नो पार्टीको बैठक पुस २७ मा बोलाइएको र उक्तको निर्णयअनुसार कुन पार्टीसँग एकता गर्ने भन्ने टुंगो लाग्ने उनले बताए । ‘धेरै कुरा एकीकृत समाजवादीसँगै भएको छ, छलफल पनि राम्रोसँग भएको छ’, उनले भने, ‘केही साथीहरूले एमालेसँग पनि कुरा भएको भन्नुभएको छ, उहाँहरूको पनि कुरा सुनेपछि निर्णय गर्ने हो ।’

    वामदेवलाई एकीकृत समाजवादीमा भित्र्याउने काममा निरन्तर लागि परेका स्थायी कमिटी सदस्य बास्कोटा भने सबै कुरा टुंगिसकेको बताउँछन् ।

    ‘हामीलाई दिइएको जिम्मेवारी पूरा गरेका छौँ, त्यो कुरा पार्टी अध्यक्षलाई रिपोर्टिङ गर्न बाँकी छ’, उनले भने ।

    गौतमको एकता अभियानका नेता डीबी कार्कीले आफूहरूले एकीकृत समाजवादीसँग एकता गर्ने कुरालाई करिब करिब पक्कापक्की गरिसकेको र २७ गते बैठकबाट औपचारिक निर्णय गरिने बताए । तर, एमालेको जारी केन्द्रीय कमिटीको बैठकले विश्व र राष्ट्रिय कम्युनिष्ट आन्दोलनलाई हेर्ने दृष्टिकोण कसरी बनाउँछ भन्ने कुराको प्रतीक्षा गरेको उनले बताए ।

    ‘उसले एकताको पहल लिने, कम्युनिष्ट आन्दोलनलाई एकीकृत गरेर लैजानुपर्छ भन्ने कुरा पास गर्‍यो भने हामी मात्र हैन, एकीकृत समाजवादीलाई पनि सँगसँगै जाऔँ भन्छौँ’, उनले भने, ‘एमालेले नै एकताप्रति रुचि देखाएन भने उसको बाटो हेरेर हामी बस्दैनौँ ।’

  • भीम रावलको अभियानलाई झलनाथको शुभकामना, दिए तीन बुँदे सुझाव

    भीम रावलको अभियानलाई झलनाथको शुभकामना, दिए तीन बुँदे सुझाव

    काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले एमालेका पूर्वउपाध्यक्ष भीम रावलले सञ्चालन गरेको ‘मातृभूमि जागरण अभियान’ लाई ‘औचित्यपूर्ण’ भन्दै शुभकाना दिएका छन् ।

    ‘क. झलनाथ खनालको सचिवालय’ नाम दिइएको ह्वाट्स एप ग्रुपमा शनिबार खनालले त्यस्तो अभिव्यक्ति दिएका हुन् । उक्त ह्वाट्सएप ग्रुपका एड्मिन उनका स्वकीय सचिव कृष्ण भट्टराई हुन् ।

    शुभकामना दिँदै खनालले लेखेका छन्, ‘उहाँ एउटा प्रवल देशभक्त नेता हो । उहाँका विचार, दृष्टिकोण र धारणाहरू मार्क्सवाद-लेनिनवादका वैज्ञानिक सिद्धान्तबाट नै बनेका छन् । त्यस्तो व्यक्तिलाई भर्खरै एउटा ‘कम्युनिष्ट पार्टी’ बाट निष्कासन गरिएको छ । अब उहाँ कसरी अघि बढ्नु हुन्छ ? त्यसले आकार लिन एउटा समय लाग्न सक्छ । केही दिन त पर्खेरै हेर्नै पर्छ ।’

    रावलको पछिल्लो गतिविधिलाई केही व्यक्तिले ‘कम्युनिष्टको खोल उतारे’ भनी गरिएको टिप्पणीप्रति खनालले आक्रोश व्यक्त गरेका छन् । लेखेका छन्, ‘यो देशका बुर्जुवा नेता र आफूलाई कम्युनिष्ट नेता भन्नेहरू समेत एकपछि अर्को साम्राज्यवाद र प्रभूत्ववादका जालमा फंसेर राष्ट्रघाती काम गरिरहेको वर्तमान अवस्थामा भीम रावलले ‘मातृभूमि जागरण अभियान’ सञ्चालन गर्नु सर्वथा औचित्यपूर्ण देखिन्छ । कम्युनिष्टको खोल ओडेर साम्राज्यवादको दलाली गर्नु भन्दा मात्र देशभक्तिपूर्ण अभियान पनि प्रगतिशील हुन्छ । त्यसैले म कमरेड रावलको यो अभियानलाई अभिवादन गर्न चाहन्छु ।’

    खनालले रावलको अभियानका लागि तीन बुँदे शुभकामना पनि दिएका छन् ।

    पहिलो नम्बरमा उनले लेखेका छन्, ‘नेपालका सबैभन्दा अग्रगन्य देशभक्त भनेका सच्चा कम्युनिष्टहरू नै हुन । तर नक्कली कम्युनिष्टहरू होइनन । त्यसैले मार्क्सवाद र देशभक्तिका बीच वैज्ञानिक समन्वय आवश्यक छ ।’

    दोस्रो बुँदाको सुझाव दिँदै खनालले मार्क्सवाद नेपाली समाजको उत्पत्ति, विकास, वर्तमान अवस्था र यसको भविष्यको बाटो देखाउँछ भन्दै त्यसलाई नेपाली समाजको विकासको ऐतिहासिक प्रवाहसँग एकाकार नगरी नेपाली समाजलाई रूपान्तरण गर्नै सकिन्न भन्ने सुझाव दिएका हुन् ।

    तेस्रो बुँदामा लेखेका छन्, ‘यतिबेला नेपाली समाज समाजवादी क्रान्ति र रूपान्तरणको युगबाट अघि बढ्दै छ । आजको राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिको गहन विश्लेषणका आधारमा यो समाजवादी क्रान्तिलाई सम्पन्न गर्न सहि क्रान्तिकारी कार्यदिशा, नीति, सिद्धान्त, कार्यक्रम र रणनीति कार्यनीति लिएर अघि बढ्नु पर्छ । त्यसैले मार्क्सवाद र नेपाली क्रान्तिको प्रवाहका बीचमा एकता हुनैपर्छ ।’

    हेर्नुहोस्, शुभकामनाको पूर्णपाठ

    क. भीम रावललाई शुभकामना

    कमरेड भीम रावल ५० वर्षभन्दा लामो राजनीतिक इतिहास कम्युनिष्ट आन्दोलनमा बिताएर आउनु भएको नेता हो । नेकपा (एमाले) को निर्माण, विकास, विस्तार र समृद्धिमा उहाँको समेत महत्वपूर्ण भूमिका रहीआएको हो ।

    तर, उहाँलाई नै पार्टी सदस्यबाट समेत निर्ममतापूर्वक हटाइएको छ । त्यसले गर्दा उहाँ अहिले मातृभूमि जागरण अभियान सञ्चालन गर्न थाल्नुभएको छ ।

    मलाई सम्झी सम्झी दुःख लागेर आउँछ । नेकपा (एमाले) निर्माण र विकासमा त्यो पार्टीको कार्यदिशा, नीति र सिद्धान्तहरू निर्माणमा, पार्टीका कार्यशैली र कार्यपद्धति निर्माणमा, त्यो पार्टीलाई देशको श्रमिक जनतासँग एकाकार बनाउने काममा, ठूल्ठूला जनसंघर्षहरू सञ्चालन र विकास गर्ने प्रक्रियामा र पार्टीभित्र उत्पन्न भएका अनेकौं राजनीतिक-सैद्धान्तिक सवालहरूको समाधानमा हामी सबैले सँगसँगै भूमिका खेलेका थियौँ । नेकपा (एमाले) एउटा उदीयमान क्रान्तिकारी शक्तिका रूपमा विकसित भइरहेको थियो । जनता र राष्ट्रको आशाको केन्द्र बन्दै थियो ।

    तर, पार्टीभित्र पछिल्लो कालमा त्यसको नेतृत्वले अघि सारेको दक्षिणपन्थी औसरवादी भड्काउले गर्दा त्यो पार्टी आफैँभित्र विवादग्रस्त बन्दै गयो । पार्टीभित्र गुटबन्दी, नीतिहिनता, पद्धतिहीनता, अराजकता, कमिसन खोरी, भ्रष्टाचार, नैतिक पतन जस्ता अकल्पनीय विकार र विकृतिले त्यो पार्टीलाई ग्रस्त गर्दै लग्यो । नेतृत्वमा रहेका विचलनहरूले पार्टी कार्यकर्ताहरूमा असन्तोष, विरोध र आक्रोश बढ्दै गयो । नेतृत्वले वर्ग दृष्टिकोण, वर्ग अडान र वर्ग आधारलाई छोड्दै लग्यो । जनता र देशका निम्ति काम गर्न दिएको दुईतिहाइको बहुमत भएको संसदलाई कालिदास शैलीमा विघटन गरियो ।

    आफूभन्दा अग्रज नेताहरूलाई पार्टीबाट निष्कासन गरियो र एक वा अर्का घोर दक्षिणपन्थी पार्टीहरूसँग साँठगाँठ गरेर सत्ताको कुर्सी हत्याउने खेलतिर नेतृत्व लाग्यो । त्यसले पार्टीलाई नराम्ररी खुल्याउने र खुम्च्याउने काम त गर्दै नै थियो । पछिल्लो अवधिमा आएर नेपाली कांग्रेससँग पूर्ण रुपले वर्गीय आत्मसमर्पण गरेर जुन गठबन्धन सरकार बनाएको छ, त्यसले त एमाले नेतृत्वलाई क्रान्तिकारी धारबाट पूर्णरूपले दक्षिणपंन्थी औसरवादी धारतिर पुर्‍याएको छ । यस्तै नेतृत्व र कार्यदिशा रहिरहने हो भने यो पार्टी या त एउटा उदारवादी संसदीय पुँजीवादी पार्टीमा अधपतित हुन्छ वा यो आफैंभित्रका अन्तर्विरोधहरुले त्यो विभाजित र विखण्डित हुँदै जान्छ ।

    कमरेड भिम रावललाई पार्टीबाट निष्कासनसम्म आइपुग्दा यो पार्टी एउटा दुःखद घडीमा आइपुगेको छ । वर्तमान पार्टी नेतृत्व र उसका नीतिका कारणले पार्टी गहिरो संकटतिर धसिँदै गएको छ । अरु धेरै कुरा हेर्नै पर्दैन, प्रधानमन्त्रीका प्रायः प्रत्येक कार्यक्रममा युवाहरू कठोर विरोधमा नारा लगाउन थालेका देखिन्छन् । त्यसले गर्दा एकथरी एमाले साथीहरु वैकल्पिक नेतृत्वको खोजीमा समेत लागेको देखिन्छन् । उनीहरू कति सफल हुन्छन् त्यो त हेर्न बाँकी नै छ ।

    यस्तो अवस्थामा कमरेड भिम रावल ‘मातृभूमि जागरण अभियान’ लिएर मैदानमा उपस्थित हुनुभएको छ । उहाँ एउटा प्रवल देशभक्त नेता हो । उहाँका विचार, दृष्टिकोण र धारणाहरू मार्क्सवादी-लेनिनवादका वैज्ञानिक सिद्धान्तबाट नै बनेका छन् । त्यस्तो व्यक्तिलाई भर्खरै एउटा ‘कम्युनिष्ट पार्टी’ बाट निष्कासन गरिएको छ । अब वहाँ कसरी अघि बढ्नु हुन्छ रु त्यसले आकार लिन एउटा समय लाग्न सक्छ । केही दिन त पर्खेरै हेर्नै पर्छ ।

    तर, केही उरन्ठेउला बुद्धिजीवीहरू ‘भीम रावलले कम्युनिष्टको खोल उतारे’ भन्ने जस्ता कठोर नकारात्मक टिप्पणी पनि गर्न पुगेका छन । तर, यो देशका बुर्जुवा नेता र आफुलाई कम्युनिष्ट नेता भन्नेहरु समेत एकपछि अर्को साम्राज्यवाद र प्रभूत्ववादका जालमा फंसेर राष्ट्रघाती काम गरिरहेको वर्तमान अवस्थामा भीम रावलले ‘मातृभूमि जागरण अभियान’ सञ्चालन गर्नु सर्वथा औचित्यपूर्ण देखिन्छ । कम्युनिष्टको खोल ओडेर साम्राज्यवादको दलाली गर्नु भन्दा मात्र देशभक्तिपूर्ण अभियान पनि प्रगतिशील हुन्छ । त्यसैले म कमरेड रावलको यो अभियानलाई अभिवादन गर्न चाहन्छु ।

    के कमरेड भीम रावलले ‘कम्युनिष्टको खोल’ उतारेको हो ? मलाई त्यस्तो लागेको छैन । कतिपय वैचारिक कमजोरीका बाबजुद जतिबेला नेकपा बन्यो, दुई तिहाई बहुमत संसदमा प्राप्त भयो, ६ प्रदेश सभामा बहुमत प्राप्त भयो, ७५३ पालिकामध्ये ६० प्रतिशतमा बहुमत प्राप्त भएको थियो । नेपालको कम्युनिष्ट आन्दोलनको विकासको चुली त्यही हो । त्यसपछि कम्युनिष्ट पार्टी फेरि फुट, विभाजन र बिनासतिर गइरहेको छ । त्यसलाई सहि कार्यदिशा, नीति र सिद्धान्तका आधारमा पुनर्गठन नगर्ने हो भने कम्युनिष्ट आन्दोलनलाई एमाले नेतृत्वले भयानक संकटमा पुर्‍याएको छ । यस्तो अवस्थामा कमरेड को कदम एउटा सकारात्मक कदम हुन सक्छ । त्यसका निम्ति कमरेड भीम रावलले निम्न कुरालाई पक्कै ध्यान दिनुहुनेछ भन्ने आशा गरौं–

    १. नेपालका सबैभन्दा अग्रगन्य देशभक्त भनेका सच्चा कम्युनिष्टहरू नै हुन । तर नक्कली कम्युनिष्टहरू होइनन । त्यसैले मार्क्सवाद र देशभक्तिका बीच वैज्ञानिक समन्वय आवश्यक छ ।

    २. मार्क्सवादले नेपाली समाजको उत्पत्ति, विकास, वर्तमान अवस्था र यसको भविष्यको बाटो देखाउँछ । मार्क्सवादलाई नेपाली समाजको विकासको ऐतिहासिक प्रवाहसँग एकाकार नगरी नेपाली समाजलाई रूपान्तरण गर्नै सकिन्न ।

    ३. यतिबेला नेपाली समाज समाजवादी क्रान्ति र रूपान्तरणको युगबाट अघि बढ्दै छ । आजको राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिको गहन विश्लेषणका आधारमा यो समाजवादी क्रान्तिलाई सम्पन्न गर्न सहि क्रान्तिकारी कार्यदिशा, नीति, सिद्धान्त, कार्यक्रम र रणनीति कार्यनीति लिएर अघि बढ्नु पर्छ । त्यसैले मार्क्सवाद र नेपाली क्रान्तिको प्रवाहका बीचमा एकता हुनैपर्छ ।

    म आशा गर्छु, कमरेड भीम रावलले यी ३ कुरालाई पनि ध्यान दिएर अघि बढ्नु हुनेछ ।

    मिति : २० पुस, २०८१
    झलनाथ खनाल
    पूर्वप्रधानमन्त्री
    तथा
    सम्मानित नेता, नेकपा (एकीकृत समाजवादी)

  • पूर्वी नेपालका राजावादीसँगको भेटघाटमा भीम रावल, रोक्ने प्रयास गर्दै नेकपा एसका नेताहरु

    पूर्वी नेपालका राजावादीसँगको भेटघाटमा भीम रावल, रोक्ने प्रयास गर्दै नेकपा एसका नेताहरु

    विराटनगर । एमालेबाट निष्कासनमा परेका भीम रावलले अहिले मातृभूमि जागरण अभियानका नाममा राजावादीहरुसँग हिमचिम बढाएका छन् । उनले सुनसरी र मोरङमा भएको कार्यक्रममा राजसंस्था फर्काइनुपर्छ भन्ने अभियानमा लागेकाहरूसँग बाक्लो भेटघाट गरेका छन् ।

    उनीहरूसँगको भेटमा रावल २०६२/६३ सालको आन्दोलनको म्यान्डेट र लक्ष्य गणतन्त्र र सङ्घीयता नभएको भन्दै राजवादीहरुसँग नरम देखिएका छन् । उनले आफूले मातृभूमि जागरण अभियान सुरु गरेकाले सो अभियानमा राजावादी, गणतन्त्रवादी सबैको एकता रहनुपर्ने बताएका छन् ।

    रावलले इटहरीमा शनिबार राति राप्रपाका नेताहरूलाई समेत भेटेका छन् । इटहरीका विष्णु रिजालको घरमा भएको भेटघाटमा राप्रपाका पूर्वकेन्द्रीय सदस्य रामु पोख्रेल र राप्रपा इटहरी उपमहानगर कमिटीका उपाध्यक्ष घनश्याम श्रेष्ठले समेत भटेका थिए ।

    रिजाल इटहरीका व्यवसायी हुन् । उनी राजसंस्था फर्काइनुपर्छ भन्ने अभियानमा छन् । रावलसँग दुर्गा प्रसाईंको अभियानमा लागेकाहरूले पनि भेटघाट गरेका छन् । इटहरीमा राप्रपाका स्थानीय नेताहरूसँग भएको भेटघाटमा रावलले २०६२/६३ को आन्दोलनको एजेन्डा गणतन्त्र नभएको बताए ।

    उनले बाहिरकाले गणतन्त्रको एजेन्डा प्रवेश गराएको भन्दै राजसंस्थाप्रति विश्वास रहेको बताए ।

    रावलले भने, ‘२०६२/६३ मा गणतन्त्र ल्याउने भन्ने थिएन, यो म तपाईंहरुलाई जानकारी गराउँछु, धर्मनिरपेक्षता पनि थिएन, सङ्घीयता पनि थिएन । हामीले सङ्गठन गर्ने अभिव्यक्ति दिने सङ्गठन बनाउने यो राजतन्त्रबाटै हुन्छ भनेर आन्दोलन सुरु गर्‍यौं । जब आन्दोलन उत्कर्षमा पुग्यो, घुसाउनेहरूले धर्मनिरपेक्ष र सङ्घीयता घुसाए ।’

    उनले कोशी नदी उर्लेर आएपछि कहिले नछेके जस्तै आन्दोलनले राजतन्त्र जोगाउन नसकेको बताए । अहिले आफू कानून र राजनीतिशास्त्रको विद्यार्थी भएको भन्दै रावलले जनताले निर्वाचनमार्फत संविधान संशोधन गरेर राजतन्त्र फर्काउनसक्ने बाटो रहेको बताए ।

    उनले त्यो बाटोबाट मात्रै छिटो परिवर्तन हुनसक्ने नदेखेको भन्दै राजवादीहरूलाई आन्दोलनका लागि समेत उक्साए ।

    उनले भने, ‘निर्वाचनको माध्यमबाट मात्रै सबै कुरा हुन्छ जस्तो लाग्दैन । जनतालाई पनि परिचालित गर्नुपर्छ । २०४७ सालमा संवैधानिक राजतन्त्र भयो, एमालेले पनि मानेको हो, त्यहीअन्तर्गत म पहिलो चोटी मनमोहनजीको पालामा मन्त्री भएको हो, राजाकै अगाडि उभिएर शपथ लिएको हो ।

    उनले इटहरीमा भएको कार्यक्रममा भने, ‘जनताले अहिले सङ्गठित भएर आवाज नउठाउने हो भने परिवर्तन सम्भव छैन ।’

    राजावादीसँगको निकटता रोक्ने प्रयासमा समाजवादी

    कोशी प्रदेशको दौडाहामा निस्किएका भीम रावलसँग एकीकृत समाजवादीका केन्द्रीय सचिव राजेन्द्र राईले भेटेका छन् ।

    भोजपुरमा रहेका कोशी प्रदेशका पूर्वमुख्यमन्त्री समेत रहेका राई रावल विराटनगर आएपछि उनैलाई भेट्न धरान आए । एमालेबाट कारबाहीमा परेका रावल र राईका बिचमा धरानमा भेटघाट भएको हो ।

    भेटघाटका क्रममा रावलले आफ्नो अभियानको बारेमा बताएका थिए । उनले मातृभूमि जागरण अभियान सुरु गरेकाले साथीहरुसँगको सल्लाह लिँदै हिँडेको बताए ।

    रावल कोशी प्रदेशमा आउँदा विभिन्न भेटघाटको चाँजोपाँजो भने एकीकृत समाजवादीका केन्द्रीय सदस्य वसिम आलामले मिलाएका हुन् । उनले राजेन्द्र राई मुख्यमन्त्री हुँदा जनसम्पर्क सल्लाहकारको रूपमा काम गरेका थिए ।

    आलाम रावललाई हिजो विराटनगर विमानस्थलमै भेट्न पुगेका थिए । विराटनगर विमानस्थलमा रावललाई राजावादीहरूले समेत स्वागत गरेका थिए ।

    रावललाई राजसंस्था फर्काउनुपर्छ भन्ने अभियानमा लागेका सतिश पोख्रेलले आफ्नो गाडीमा चढाएर वराह क्षेत्र लान खोजेका थिए । सेतो कलरको प्राडो गाडी लिएर विमानस्थल पुगेका पोख्रेलको गाडीमा रावल चढ्न ठिक्क परेपछि एकीकृत समाजवादीका नेता आलामले रावललाई गाडीमा चढ्नबाट रोकेका थिए ।

    पोख्रेलले रावलको झोलासमेत बोकेर गाडीमा हालेको अवस्थामा आलामकै कारण रावल अर्कै गाडीमा चढेको विमानस्थल स्रोतले जनाएको छ ।

    अहिले पूर्वएमालेका कार्यकर्ता झापाका डम्बर गिरीसमेत रावलसँगै हिँडिरहेका छन् । उनले रावललाई झापा लैजाने योजना बनाए पनि रावल झापा भने गएनन् ।

    गिरी २०७४ को निर्वाचनमा एमालेका तर्फबाट हल्दिवारी गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित भएका थिए । २०७९ को निर्वाचनमा एमालेका तर्फबाट टिकट नपाएपछि बागी उठेका थिए । त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टीमा लागेको गिरी अहिले भने भीम रावलको अभियानमा हिँडिरहेका छन् ।

    रावलले धरानका पूर्वमेयर मनोज मेन्याङ्वोलाई समेत भेट्न खोजेका थिए, तर मेन्याङ्वोले रावललाई भेट्न मानेनन् । मेन्याङ्वोले नेपाल प्रेससँग भने, ‘मैले कसैलाई भेटिनँ । भेट्न जरुरी पनि ठानिनँ ।’

    २०७९ को निर्वाचनमा पार्टीले धरानको मेयरको टिकट नदिएपछि उनी बागी उठेका थिए । त्यसयता उनी कुनै पनि पार्टीमा आबद्ध नभई बसेका छन् ।

  • भीम रावललाई स्वागत गर्न नेकपा एस र दुर्गा प्रसाईँका कार्यकर्ता विमानस्थलमा

    भीम रावललाई स्वागत गर्न नेकपा एस र दुर्गा प्रसाईँका कार्यकर्ता विमानस्थलमा

    विराटनगर । नेकपा एमालेको साधारण सदस्य समेत नरहने गरी कारवाहीमा परेका भीम रावललाई विराटनगरमा स्वागत गर्न एकीकृत समाजवादीका नेता तथा कार्यकर्ता र राजावादीहरू विराटनगर विमानस्थलमा पुगेका छन् ।

    केही दिन अघि एमालेबाट कारवाहीमा परेका रावललाई स्वागत गर्न एकीकृत समाजवादीका नेता वसिम आलाम नेतृत्वको समूह विमानस्थल पुगेको हो । आलाम एकीकृत समाजवादीका केन्द्रीय सदस्य हुन् ।

    रावललाई विमानस्थलमा स्वागत गर्न सतिस पोख्रेलको समूह पनि विराटनगर पुगेको छ । उनी राजसंस्था फकाइनुपर्छ भन्दै अभियान सञ्चालन गर्दै आएका छन् ।

    सतिस पोख्रेलको समूह

    उनी दुर्गा प्रसाईँले नेतृत्व गरेको राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ अभियानमा समेत आबद्ध छन् ।

    सतिस पोख्रेल को समूह

    उनी शिव सेना मोरङको अध्यक्ष समेत भएका थिए । अहिले भने उनी शिव सेनामा आबद्ध छैनन् । विमानस्थलबाट रावल भरौल भेट्रान गोल्ड फुटबल प्रतियोगिताकाे आयाेजककाे गाडी चढेर सुनसरी गएका छन् । सुनसरीमा भरौल भेट्रान क्लबले आयोजना गर्ने अन्तर्राष्ट्रिय आमन्त्रण भरौल भेट्रान गोल्ड फुटबल प्रतियोगिताको उद्घाटन गर्न रावल सुनसरी आएका हुन् ।

    भरौल भेट्रान क्लबकाे  समूह

    तर, उनी उद्घाटनका लागि आए पनि प्रतियोगिता भने अन्तिम समयमा आएर सरेको छ । हिजो साँझ प्राविधिक कारण देखाउँदै प्रतियोगिताको उद्घाटन सरेको आयोजकले जनाएको छ । क्लबका अध्यक्ष पूर्व राष्ट्रिय खेलाडी विमल कार्की हुन् । उनले खेल मैदान व्यवस्थापनको काम नसकिएकाले उद्घाटन सरेको बताए ।

    राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ अभियानका अभियन्ता पोख्रेलले नागरिक बचाउने अभियानमा भीम रावल पनि जोडिएकाले आफू भीम रावलसँग जोडिएको बताए ।

    उनले भने, ‘हाम्रो अभियान मिलेको छ । अब उहाँ पनि हामीसँगै नागरिक बचाउने अभियानमा लाग्नु हुने छ ।’ समाजवादीका केन्द्रिय सदस्य आलामले अहिले उनी कुनै पाटीमा नरहेको र उनले राष्ट्रबादी अभियान शुरु गर्नु भएकाले आफू विमानस्थल गएको बताए ।

  • नेकपा एस नेतृत्व र वामदेवबीचको वार्ता सहमति नजिक (भिडिओ)

    नेकपा एस नेतृत्व र वामदेवबीचको वार्ता सहमति नजिक (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादी र पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमबीच बुधबारको वार्ता सकारात्मक रहेको दुवैतर्फका नेताले बताएका छन् ।

    गौतमका अनुसार छलफल सहमति नजिक पुगेको छ । आज भएका छलफल र जुटेका सहमतिका बारेमा आफूले नेतृत्व गरेको पार्टी एकता राष्ट्रिय अभियानको बैठक बोलाइने र त्यसबाट अनुमोदन गरेपछि बाँकी काम सम्पन्न गर्ने उनले बताए ।

    ‘टुंगिएको नभनौं, तर धेरै सकारात्मक कुरा भएको छ’, उनले भने ।

    एकीकृत समाजवादीको तर्फबाट वार्तामा सहभागी पोलिटब्युरो सदस्य बलराम बास्कोटाले आधारभूत विषयहरु टुंगो लागेको र केही प्राविधिक विषयलाई अन्तिम रूप दिन बाँकी छ ।

    ‘अब जे, जति कुरा बाँकी छन्, ती नमिल्ने र अड्किने खालका छैनन्’, उनले बताए ।

    पार्टीमा नेता गौतमलाई वरिष्ठ नेताको पदसहित तेस्रो वरियता दिने विषयमा सबै नेताबीच मतैक्य रहेको बास्कोटाले बताए । त्यसबाहेक गौतम नेतृत्वको अभियानबाट एकतामा सहभागी हुने नेताको हैसियतअनुसारको पद व्यवस्थापनमा पनि नेताहरुको बीचमा कुरा मिलेको उनले बताए ।

    बुधबारको वार्तामा गौतम एक्लै थिए । एकीकृत समाजवादीका तर्फबाट अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष तथा प्रचार प्रमुख प्रकाश ज्वाला, महासचिव घनश्याम भुसाल, सचिव सावित्रा भुसाल, गणेश विक, चन्द्रबहादुर शाही, स्थायी कमिटी सदस्य बलराम बास्कोटासहितका नेता सहभागी थिए ।

    कुराकानीलाई अन्तिम रुप दिन केही दिनमै फेरि वार्ता गरिने बास्कोटाले बताए ।

  • वामदेव फेरि आलोकनगरमा, माधवसहित नेकपा एसका ७ नेता वार्तामा

    वामदेव फेरि आलोकनगरमा, माधवसहित नेकपा एसका ७ नेता वार्तामा

    काठमाडौं । एमालेका पूर्वउपाध्यक्ष तथा पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमलाई पार्टीमा भित्र्याउनेबारे नेकपा (एकीकृत समाजवादी) को कार्यालय, आलोकनगरमा छलफल सुरू भएको छ ।

    बुधबार दिउँसो १ बजेदेखि भइरहेको उक्त छलफलमा गौतम एक्लै छन् भने एकीकृत समाजवादीका तर्फबाट अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष एवं प्रचार विभाग प्रमुख प्रकाश ज्वाला, महासचिव घनश्याम भुसाल, उपमहासचिव रामकुमार भट्टराई, सचिवहरू सावित्रा भुसाल, गणेश विक, स्थायी कमिटी सदस्य बलराम बाँस्कोटा र निर्वाचन आयोगका अध्यक्ष माधव पौडेल छन् ।

    छलफल सकारात्मक ढंगले चलिरहेको प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले बताए ।

  • बीआरआईबारे कांग्रेसलक्षित झलनाथको टिप्पणी- नयाँ भिजन नहुनेहरूले ऋण लिनै हुँदैन भनिरहेका छन् (भिडिओ)

    बीआरआईबारे कांग्रेसलक्षित झलनाथको टिप्पणी- नयाँ भिजन नहुनेहरूले ऋण लिनै हुँदैन भनिरहेका छन् (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले देशको आवश्यकता बुझ्न नसक्नेहरूले बीआरआई ऋण लिनै हुँदैन भन्ने प्रचार गरेको टिप्पणी गरेका छन् ।

    उनले सत्तारुढ दल नेपाली कांग्रेसलाई लक्षित गर्दै बीआरआई कार्यान्वयनको सम्भावनाबारे अन्तरक्रिया कार्यक्रममा बोल्दै नयाँ भिजन नहुनेहरूले बीआरआई अन्तर्गत अनुदान मात्रै लिनुपर्छ भनेको बताए ।

    उनले भने, ‘लोन लिनै हुँदैन । अनुदानमात्रै लिनुपर्छ भन्ने अवधारणाहरू आफैंमा थोत्रा हुन् । यो चिन्तन गर्न नसक्ने भिजन नभएकाहरू, विषयवस्तुलाई बुझ्न नसक्नेहरूका मात्रै कुरा हो । त्यसैले हामीले देशको आवश्यकता अनुसारको परियोजना अगाडि बढाउनुपर्छ ।’

    उनले राष्ट्रिय हितलाई केन्द्रमा राखेर बीआरआई कार्यान्वयन गर्दै जानुपर्ने बताए ।

  • विभेदविरुद्ध सुदूरपश्चिममा विद्रोहको तयारी, अभियानको नाममा बन्ला त क्षेत्रीय पार्टी ?

    विभेदविरुद्ध सुदूरपश्चिममा विद्रोहको तयारी, अभियानको नाममा बन्ला त क्षेत्रीय पार्टी ?

    कैलाली । राज्यले सुदूरपश्चिम प्रदेशलाई विभेद गरेको भन्दै शालीन विद्रोहको तयारी सुरु गरिएको छ । सुदूरपश्चिम प्रदेशसभा सदस्यसमेत रहेका नेकपा एकीकृत समाजवादी पार्टीका पोलिटब्युरो सदस्य नरेश शाहीको नेतृत्वमा ‘स्वाभिमान सुदूरपश्चिम’ नामक अभियान सुरु गर्ने तयारी गरिएको हो । उनी प्रदेशका पूर्वआर्थिक मामिलामन्त्रीसमेत हुन् ।

    शाहीले प्रदेशमा रहेका विभिन्न पार्टीका नेता कार्यकर्ता, स्वतन्त्र व्यक्ति, नागरिक समाज तथा समाजका प्रबुद्ध व्यक्तिहरूसँगको निरन्तर छलफलपछि स्वाभिमान सुदूरपश्चिम अभियान सुरु गर्ने तयारी गरेका हुन् ।

    ‘सुरुबाटै सुदूरपश्चिम प्रदेशमाथि विभेद गरिएको छ । पूर्वको कुनै जिल्ला बराबरको बजेट पनि प्रदेशमा नआउनु विडम्बना हो’, शाही भन्छन्, ‘अब सुदूरपश्चिममाथि हामी विभेद गर्न दिँदैनौं । हामी विद्रोह गर्दैछौं । सशक्त विरोध गर्छौं । ’

    स्वाभिमान सुदूरपश्चिम नामक अभियानमा सुदूरपश्चिमलाई विशेष प्रदेशको माग गरिएको छ । विशेषाधिकारसहित क्षतिपूर्ति दिइनुपर्ने, आर्थिक उत्पादनबाट रोजगारी सृजना गर्न लगानी प्रवर्द्धन गरी गरिबी निवारण गर्नुपर्ने, स्रोतको बाँडफाँटमा सुदूरपश्चिमले आफ्नो हिस्सा पाउनुपर्ने, राजनीतिक नियुक्तिमा प्रदेशको सम्मानजनक उपस्थिति हुनुपर्ने माग राखिएको छ ।

    भ्रष्टाचार र अकुत सम्पत्ति कमाउने प्रवृत्तिमाथि अधिकार सम्पन्न आयोग बनाएर छानबिन गर्नुपर्ने मागसमेत गरिएको छ । यहाँको गरिबी निवारण, आर्थिक उत्पादन, रोजगारी सृजना र उद्योग क्षेत्रको लगानीका लागि विशेष कार्यक्रम ल्याउनुपर्ने मागसहित शाहीले अभियान थालेका छन् ।

    सुदूरपश्चिमबाट ठूलो संख्यामा सस्तोमा श्रम बेच्न भारत जानेहरू छन् । उनीहरुको न तथ्याङ्क राखिएको छ न त मृत्यु वा घाइते हुँदा राज्यले कुनै चासो दिएको छ । पुस्तौंसम्म भारत बस्दै आएकाबारे राज्य बेखबर जस्तै छ । नयाँ अभियानमा उनीहरुका माग मुद्दा पनि समेट्ने तयारी गरिएको छ ।

    शाहीकै नेतृत्वमा अभियानको मूल समिति तयार गरिएको छ, तर त्यसलाई सार्वजनिक भने गरिएको छैन । त्यसलगत्तै प्रत्येक जिल्लामा समिति बनाउने तयारी गरिएको छ ।

    ‘हामीले आन्तरिक सबै तयारी गरिसकेका छौं । केही समयभित्रै आधिकारिक घोषणा गर्छौं’, उनले भने, ‘हाम्रो समूहमा समाजका विद्वानदेखि गन्यमान्य सबै समेटिनुभएको छ ।’

    सुदूरपश्चिम प्रदेशका विषयलाई लिएर नयाँ अभियान थाल्ने तयारी गरे पनि अहिल्यै राजनीतिक पार्टीको रुपमा अगाडि बढाउने लक्ष्य नरहेको उनी बताउँछन् ।

    अहिले अभियानको रुपमा अगाडि बढाएर आगामी निर्वाचनसम्म दलको स्वरूपमा जाने विषयमा अहिल्यै छलफल नभएको उनी बताउँछन् ।

    तर अभियानमा खटिएकाहरू र शुभेच्छुकहरूको सुझावमा राजनीतिक दल बन्ने विषय पनि नकार्न नसकिने उनी बताउँछन् । नेकपा एकीकृत समाजवादीबाट निर्वाचित भएका शाही आफूले नयाँ अभियान सुरु गर्दा पार्टीले कारबाही गरे पनि स्वीकार गर्ने बताउँछन् ।

  • माधव नेपालसँग वामदेवका २ शर्त, वार्ता निष्कर्षविहीन (भिडिओ)

    माधव नेपालसँग वामदेवका २ शर्त, वार्ता निष्कर्षविहीन (भिडिओ)

    काठमाडौं । पार्टी एकताको विषयमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र वामपन्थी नेता वामदेव गौतमबीच सोमबार भएको कुराकानी निचोडमा पुगेन । आलोकनगरस्थित एकीकृत समाजवादीको पार्टी कार्यालयमा दुई नेताबीच एक घण्टा छलफल भएको थियो ।

    छलफलबाट बाहिरिएपछि नेता गौतमलाई नेपाल प्रेसले सोध्यो, ‘समाजावादीमा कहिले जाने हुनुभयो ?’ उनले भने, ‘टुंगो लागेको छैन, अहिल्यै भन्न सकिन्नँ ।’

    गौतमका अनुसार, प्रत्यक्ष निर्वाचित राष्ट्रपति हुनुपर्ने विषयमा नेपाल सहमत भएनन् । तर, आफ्नो धारणालाई खास खास समयमा राख्ने अनुमति दिएमा आफू उक्त पार्टीमा जानसक्ने बताए ।

    ‘यसबारेमा उहाँले अरु पाँच-सात जना साथीहरूसँग सल्लाह गर्छु भन्नुभयो’, उनले भने । समय समयमा प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको कुरा उठाउन चाहँदा पनि नेपालले स्पष्ट जवाफ नदिएका कारण पार्टी प्रवेश वा एकताबारे अहिल्यै आफूले केही भन्न नसक्ने उनको भनाइ थियो ।

    ‘यदि बोल्ने कुरामा प्रतिबन्ध लगाइए म त्यो पार्टीमा जाने छैन, मैले माधव कमरेडलाई सकेसम्म बुझाउन खोजेँ, कति बुझ्नुभयो, थाहा छैन’, उनले भने ।

    सोमबारको छलफलमा गौतमले सम्पूर्ण केन्द्रीय सदस्य पूर्णकालीन हुनुपर्ने, पूर्णकालीन हुन तयार नहुनेलाई केन्द्रीय कमिटीमा राख्न नहुने धारणा राखेको बताए ।

    ‘विचारमा गतिशीलताले पार्टी निर्माण हुन्छ’, उनले भने, ‘ विचार भएन, गतिशीलता पनि भएन भने पार्टी निर्माण हुन गाह्रो हुन्छ ।’

    आफूले उठाएका कुरामा नेपालले ठोस ढंगले जवाफ नदिएको र आफ्ना सहकर्मीसँग छलफल गर्ने भनेको गौतमले बताए ।

    ‘त्यसपछि उहाँले सँगै बसेर छलफल गरौं पनि भन्नुभएको छ, कुराकानीको क्रम जारी रहन्छ, अहिल्यै मिलिसकेको छैन’, गौतमले बताए ।

  • माधव नेपालसँग निर्णायक छलफल गर्न आलोकनगर पुगे वामदेव

    माधव नेपालसँग निर्णायक छलफल गर्न आलोकनगर पुगे वामदेव

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र नेकपा एमालेका पूर्वउपाध्यक्ष तथा पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमबीच भेटवार्ता भएको छ ।

    नेकपा एसको केन्द्रीय कार्यालय आलोकनगर पुगेर नेता गौतमले अध्यक्ष नेपालसँग भेट गरेका हुन् । नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने सहमति गरेका गौतम आज निर्णायक छलफलका लागि पार्टी कार्यालयमै पुगेका हुन् ।

    हिजो पनि एकीकृत समाजवादीका तर्फबाट आइतबार स्थायी कमिटी सदस्य बलराम बाँस्कोटा, पोलिट्व्युरो सदस्य ताज मोहम्मद मियाँसहितको टोली गौतम निवास भैंसेपाटीमा पुगेर छलफल गरेको थियो ।

    एकताको लागि दुवै तर्फबाट कार्यदल नै बनाएर काम अघि बढेरहेको छ । गौतमलाई नेकपा एसले वरिष्ठ नेता बनाउने तयारी गरेको छ। यसअघि अध्यक्ष नेपाल पनि गौतम निवास भैंसेपाटीमा पुगेर छलफल गरेका थिए ।

  • भुसाललाई रिमालको कवितात्मक जवाफ- ह्याउ भए बनाऊ आफ्नै घर, अरूको घरको बाल मतलब

    भुसाललाई रिमालको कवितात्मक जवाफ- ह्याउ भए बनाऊ आफ्नै घर, अरूको घरको बाल मतलब

    काठमाडौं । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले छाडेर हिँडेको पार्टीका बारे चासो दिनुभन्दा आफ्नै पार्टी बनाउन सुझाव दिएका छन् ।

    कवितात्मक शैलीमा रिमालले भुसाललाई चुनौती र चेतावनी दिएका हुन् ।

    नेकपा एसका महासचिव भुसालले शनिवार पत्रकार सम्मेलनमा एमालेभित्र उकुसमुकुस बढेको भन्दै अध्यक्ष पद छाड्न केपी शर्मा ओलीलाई सुझाव दिएका थिए ।

    त्यसको जवाफमा रिमालले लामो कविता शैलीमा ह्याउ भए आफ्नै घर बनाएर देखाउन र नेकपा एसभित्रको विवाद समाधान गर्न सुझाव दिएका छन् ।

    इतिहासदेखि नै आफूहरू पार्टी संगठन बनाउन लाग्दा भुसाल सधैँ विवाद झिकेर बस्ने र पार्टी विभाजनमा लाग्ने गरेको दृष्टान्त पेश गर्दै रिमालले आदर्शका गफ र अर्ति उपदेशका पोका बोकेर उनी सधैँ हिँड्ने गरेको बताएका छन् ।

    यस्तो छ घनश्याम भुसाललाई विष्णु रिमालको जवाफ

    उनी पो निसासिए रे !
    उनन्चालीस सालदेखि यता 
    हामी निरन्तर पार्टी संगठन निर्माणमा लागि रह्यौँ,
    पार्टी भित्र सधैँ  उनी—
    विवादका लागि मौकाको खोजीमा रहे,  
    अनवरत ‘किच–किच’ गरेर बसिरहे।
    प्रत्येक चुनौती चिर्दै 
    पार्टीले उचाइ छोएको बेला, 
    सुरु भएको विवादमा,
    हामी एकताको पक्षमा उभियौँ, 
    उनले विभाजनको बाटो रोजे ।
    बाटो मात्र रोजेनन्, 
    त्यस समूहलाई पनि बीचमै छोडे- अन्तै दौडिए।
    ‘आदर्श’का गफ र ‘अर्ति–उपदेश’का पोका बोकेर यताउता गरिरहे ।
    एक समय फेरि आयो, 
    पार्टीमा बहस–विवाद सुरु भयो ।
    ‘जोरीपारी’हरू– 
    ‘एमाले विनाको राजनीति’को खेतीमा लागे,
    उनी ‘ओली विनाको एमाले’ भन्दै उफ्रिए ।
    विभाजनको लागि कसैलाई उचाले– 
    एकता भन्दै आफू अर्कातिर अल्झिए ।
    मौसम छ्याङ्ग भएपछि, 
    फेरि नयाँ चुनौती सामना गर्ने बेलामा—
    छोडे, दौडिए— पार्टीकै विरुद्ध खनिए ।
    सानै सही—
    असहमत ‘अरूहरू’ले दुःखैले बनाएको घरमा
    लुसुक्क छिरे– 
    ‘बन साङ्ला’ले ‘घर साङ्ला’लाई लखेटे झैँ
    उल्टै हाकिम पल्टिए ।
    अहिले फेरि उनलाई लागेछ क्यारे–
    कतै ‘टाँड’ पो पर्छ कि?!
    कतै औँला घुसार्न पो मिल्छ कि?!
    अनि भन्न थाले छन् फेरि–
    ‘ओलीले छोड्नु पर्छ, उकुसमुकुस भएको छ।’
    अरे यार!
    ह्याउ भए बनाएर देखाऊ न आफ्नो घर !
    आफ्नो घरको मझेरीमा, आँगनमा, 
    गन्द्रयाङ, गुन्द्रुङ गरिरहेका तिम्रा ‘हाँडा-भाँडा’हरू 
    बज्न नदेऊ न !
    ढोका खोलुन् कि–– छेस्किनी लाउन्,
    अरूले उनीहरूका घरमा, 
    जे गरुन्–बाल मतलब!

  • अहिलेको सरकारलाई झुकाएरै छोड्छौंः मेटमणि चौधरी (भिडिओ)

    अहिलेको सरकारलाई झुकाएरै छोड्छौंः मेटमणि चौधरी (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरीले अहिलेको सरकार उद्योगी, दलाल र पुँजीपतिहरुको पक्षमा बनेको आरोप लगाएका छन् ।

    काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा उनले दलाल पुँजीपतिहरुको लागि बनेको सरकारले श्रमिकहरुको पक्षमा निर्णय लिन नसक्ने जिकिर गरे ।

    श्रमीकहरुको पक्षमा आफ्नो पार्टीले संसद र सडकमा साथ दिने भन्दै उनले अहिलेको सरकारलाई कुनै पनि हालतमा दलाल, उद्योगी र पुँजीपतिहरुको पक्षमा काम गर्न नदिने बताए ।

    वर्तमान सरकारलाई श्रमिकको पक्षमा झुकाएरै छोड्ने उनको दाबी छ । अनौपाचारिक क्षेत्रमा रहेका श्रमिकलाई औपचारिक क्षेत्रमा ल्याउन आफ्नो पार्टी सदैव तयार रहेको उनको भनाइ छ ।

    ‘एक त यो सरकार त्यसै पनि दलाल पुँजीपतिहरुको लागि बनेको सरकार हो । तपाईंहरु फिल्डमा आन्दोलन गर्नुस्, प्रेसर गर्नुस् । हामी संसदमा गर्छौं, बोल्छौं, सरकारलाई दबाब दिन्छौं’, प्रमुख सचेतक चौधरीले भने, ‘तपाईंहरुको पावरको कारणले हामीलाई पनि त्यो खालको शक्ति संसदभित्र प्राप्त हुनेछ । सरकारलाई कुनै पनि हालतमा दलालको पक्षमा, उद्योगीहरुको पक्षमा, पुँजीपतिहको पक्षमा बनेको सरकारलाई कुनै पनि हालतमा हामीले झुकाउनुपर्छ । यसको लागि हाम्रो पार्टी तयार छ ।’

    उनले अनौपचारिक क्षेत्रमा रहेका श्रमिकलाई औपचारिक क्षेत्रमा ल्याउन आफ्नो पार्टी तयार रहेको औंल्याए ।

    उनले श्रमिकको पक्षमा ध्यान दिन सरकारले नसकेको जिकिर गर्दै श्रमिकहरुलाई आफ्नो ठाउँबाट आन्दोलनको शुरुवात गर्न आह्वान गरे ।

    श्रमिकको आन्दोलनलाई अझ सशक्त बनाउन जरुरी रहेको उनको भनाइ छ ।

  • ओलीलाई घनश्याम भुसालको सुझाव- एमालेमा उकुसमुकुस बढिसक्यो, तपाईंले नेतृत्व छाड्दा राम्रो हुन्छ (भिडिओ)

    ओलीलाई घनश्याम भुसालको सुझाव- एमालेमा उकुसमुकुस बढिसक्यो, तपाईंले नेतृत्व छाड्दा राम्रो हुन्छ (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका घनश्याम भुसालले एमालेभित्र उकुसमुकुस बढ्दै गएको दाबी गरेका छन्। काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई अब पार्टी नेतृत्वबाट बिदा हुन सुझाव दिए।

    उनले भने, ‘भीम रावल त्यहाबाट निकालुनभयो। त्यो अवस्था छँदैथियो, मैले धेरै अगाडिदेखि भन्दै आएको थिए प्रश्न उठाएपछि एमालेभित्र त्यसलाई व्यक्तिगत प्रतिशोधको रुपमा पनि लिइयो। ओलीका नजरमा दुई खालका मान्छे छन्, एकखालका मान्छे उहाँका शत्रु हुन्, अर्का खालका मान्छे उहाँका चाकर हुन्, अझै भन्नुपर्दा जसले उहाँको चाकरी गर्दैन त्यो शत्रु हो। शत्रु होइन भने त्यसले चाकरी गर्छ, यद्यपी भीम रावलले चाकरी गरेनन्। फेरि त्यहाँ बस्ने सबैले चाकरी गर्छन् भन्न पनि होइन।’

    उनले एमाले आफूहरुले लडेर बनाएको पार्टी भएको पनि बताए। उनले थपे, ‘त्यहाँ अहिले उकुसमुकसमा छन् भनेका कसैले छैनन्। त्यसैले ती साथीहरु अहिले यो जुन घटना घट्दैछ। त्यसो बढ्दैजानेछ। कमरेड ओलीको प्रयोग असफल भइसकेको छ। उहाँको प्रयोग निर्वाचन, पार्टी सञ्चालनदेखि अन्तराष्ट्रिय सम्बन्धमा पनि असफल भइसकेको छ। त्यसैले उहाँले छाड्नु हाम्रो लोकतन्त्र र उहाँको लागि पनि राम्रो कुरा हो।’

    उनले आफूहरु वामपन्थी एकताको पक्षमा रहेको भन्दै अब भागबण्डाको आधारमा हुने एकतालाई अस्वीकार गर्ने बताए।

  • भीम रावललाई घनश्याम भुसालको आह्वान- एकीकृत समाजवादीमा आउनुस्

    भीम रावललाई घनश्याम भुसालको आह्वान- एकीकृत समाजवादीमा आउनुस्

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले एमालेबाट निष्कासित भएका नेता भीम रावलले आफ्नो पार्टीमा आउन आग्रह गरेका छन्।

    काठमाडौंमा आयोजित एक अन्तक्रियामा बोल्दै नेता रावललाई आफ्नो पार्टीमा आउन आह्वान गर्नु स्वभाविक भएको बताए।

    उनले भने, ‘अब भीम रावलले के गर्नुहुन्छ म अहिले भन्न सक्दिनँ। एमाले छाडेपछि मैले पनि के गर्ने भनेर सोचेको थिएँ। नेपालले पार्टी नभएर दुख पाएको हो कि राम्रो पार्टी नभएर दुख पाएकोरु भन्दा हामीले राम्रो पार्टी नभएर दुख पाएका हौं। त्यसैले उहाँले कहाँ गएर काम गर्न सकिन्छ भन्ने सोच्नुभयो भने राम्रो हुन्छ। म उहाँलाई हाम्रो पार्टीमा आउन आह्वान पनि गर्छु।

    उनले आफ्नो पार्टीमा नआउने भए अर्को कुनै जसले राम्रो गर्नसक्छ भन्ने सम्भावना भएको पार्टीमा लाग्न सुझाव दिए। तर, एमालेबाट निकालिएपछि नेता रावलले आफ्नो नेतृत्वको पार्टी खोल्ने तयारी गरिरहेको चर्चा छ।

  • भीम रावललाई प्रश्न- वामदेव गौतमपछि तपाईं पनि एकीकृत समाजवादीमा प्रवेश गर्दै हो ?

    भीम रावललाई प्रश्न- वामदेव गौतमपछि तपाईं पनि एकीकृत समाजवादीमा प्रवेश गर्दै हो ?

    काठमाडौं । नेकपा एकीकृत समाजवादीको गत साता बसेको स्थायी कमिटी बैठकले पार्टीसँग संवादमा रहेका नेताहरुलाई भित्र्याउने औपचारिक निर्णय गर्‍यो । त्यसका लागि अध्यक्ष माधव नेपाल आफैं खटिएर एमालेका पूर्वउपाध्यक्षसमेत रहेका वामदेव गौतमसँग संवाद गरे ।

    केही दिनभित्रै नेकपा एसमा प्रवेश गर्न वामदेव तयार भसकेका छन् । त्यहीअनुसारको तयारी दुवै पक्षले थालिसकेका छन् ।

    नेता गौमत नेकपा एसमा जाने निर्णय भएपछि एमालेमा असन्तुष्ट रहेका पूर्वउपाध्यक्षसमेत रहेका नेता भीम रावल पनि एकीकृत समाजवादीमा जाने चर्चा चल्न थालेको छ । यद्यपि यो हल्ला अहिलेमात्रै चलेको होइन ।

    एमालेको १० औं महाधिवेशनमा केपी शर्मा ओलीसँग अध्यक्षमा प्रतिस्पर्धा गरेका रावल अहिले एमालेमा निष्क्रिय जस्तै छन् । पार्टीको साधारण सदस्यबाहेक अन्य कतै अटाएका छैनन् ।

    एमालेले धलेकेर डिलमा पुर्‍याइसकेका रावल अझै पार्टी नछाड्ने अड्डी कसेर बसेका छन् । पछिल्लो समय एकीकृत समाजवादीमा जाने चर्चाबारे हामीले नेता रावललाई सोध्यौं, तर उनले आफू अहिले एमाले छाडेर कतै जाने मनस्थितिमा नरहेको सुनाए ।

    वामदेव गौतम एकीकृत समाजवादीमा जाने भएपछि तपाईंको पनि चर्चा छ नि भन्ने नेपाल प्रेसको जिज्ञासामा उनले भने, ‘म अहिले कहीँ पनि जान्न । मेरोबारेमा गरिएको हल्लामा कुनै सत्यता छैन । म एमालेमै रहन्छु मेरो सदस्यता एमालेमै छ।’

    उनले एकीकृत समाजवादीमा जाँदैछ भनेर चलाएको हल्लामा कुनै सत्यता नभएको दाबी गरे ।

    अहिले एकीकृत समाजवादीका नेताहरुसँग संवादमा हुनुहुन्छ त भन्ने प्रश्नमा उनले थपे, ‘छैन, उहाँहरुले महाधिवेशन गर्नुअघि र महाधिवेशनपछि पनि लगत्तै मसँग कुरा गर्नुभएको थियो, तर अहिले छैन ।’

    नेता रावलले महाधिवेशनअघि नेकपा एसका नेताहरुसँग राजनीतिक र वैचारिक विषयमा कुराकानी भएको बताए ।

    उनले थपे, ‘उहाँहरुले पार्टीमा आउनुपर्‍यो भनेर पनि कुराकानी गर्नुभएको हो, तर त्यसपछि कुनै कुरा भएको पनि छैन । मेरो अहिले एमाले छाडेर जाने सोचविचार छैन ।’

  • म रेस्टमा छु, पार्टीले गरेको कार्य विभाजन चित्त बुझेन : झलनाथ खनाल

    म रेस्टमा छु, पार्टीले गरेको कार्य विभाजन चित्त बुझेन : झलनाथ खनाल

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टीका नेताहरूको कार्य विभाजनप्रति असन्तुष्टि जनाएका छन्। नेताहरूको कार्य विभाजन गर्नको लागि बसेको स्थायी कमिटीको बैठकमा खनाल सहभागी थिएनन्।

    बैठकको निर्णयअनुसार नेताहरूको कार्य विभाजन टुंग्याएपछि सचिवालयको ह्वाट्सयाप ग्रुपमा नेता खनालले लेखेका छन्, ‘म विगत १५ दिनदेखि डाक्टरको सल्लाह बमोजिम आराम गर्दै बसेको छु । यो मेरो विगतको उपचार शृङ्खलाकै एउटा अङ्ग हो । त्यसले गर्दा म यस पटक पार्टीको स्थायी कमिटीको बैठकमा उपस्थित हुन पाइनँ।’

    ६ महिनापछि बैठक गर्दा पनि पार्टीले आफ्नो स्वास्थ्य अवस्था राम्रो नभएको बेलामा पारेको भन्दै के के एजेन्डा प्रस्तुत भए रु के के विषयमा छलफल भयो रु कस्तो छलफल भयो र के निष्कर्ष निकालियो मलाई थाहा नभएको उल्लेख गरेका छन्।

    ‘धेरै कमरेडहरूले देशभरिबाट मलाई सोधिरहनु भएको छ । कतिपय निर्णयहरूका बारेमा चर्को असन्तुष्टि रहेको कुरा पनि केन्द्रीय कमिटीका सदस्यहरूले व्यक्त गरिरहनुभएको छ । यस बीचमा कार्य विभाजन भएछ । त्यस बारेमा पनि धेरै असन्तुष्टि आइरहेको छ’ खनालले भनेका छन्।
    उनले आफूले पार्टीको दशौँ राष्ट्रिय महाअधिवेशन पछि गर्नुपर्ने कामहरूका बारेमा केही प्रस्तावहरू पनि पठाएको बताएका छन्।

    उनले थपेका छन्, ‘त्यसमध्ये दशौं राष्ट्रिय महाअधिवेशन र हाम्रो कार्य योजना शीर्षकमा पार्टीले तत्काल पहल गरेर गर्नुपर्ने कामहरूको योजना पनि पठाएको थिए । स्थायी कमिटीले के निर्णय ग¥यो मलाई थाहा छैन । पार्टीले महाअधिवेशनबाट क्रान्तिको लक्ष्यका रूपमा समाजवादी कार्यक्रम त्यसलाई प्राप्त गर्ने कार्यदिशा, नीति र सिद्धान्तहरू पास गरेको छ । अब ती कुरालाई व्यवहारमा उतार्ने ठोस कार्ययोजना लिएर पार्टी निर्माण, जनआधार निर्माण र जनसंघर्ष निर्माणको दिशामा सिङ्गो पार्टीलाई हाँक्नुपर्ने आवश्यकता छ ।’

    पार्टी केन्द्रीय कमिटीका सदस्यहरूलाई उनीहरूको योग्यता र क्षमताका आधारमा जिम्मेवारी दिँदै सिङ्गो पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुपर्ने आजको आवश्यकता भएको बताएका छन्।

    ‘स्थायी कमिटीले गर्नुपर्ने त्यही नै हो । तर के भएको वा गरिएको छ । मैले बुझ्न पाएको छैन । बुझेर मात्र धेरै कुरा भन्न उपयुक्त हुनेछ । कार्य विभाजन हेरे मलाई कयौँ कुरा चित्त बुझेन’ नेता खनालले भनेका छन्, ‘अब अपानी हेर्छु । अनि आफ्नो कुरा भनौला । पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक हुन बाँकी नै छ नि ।’

  • एकीकृत समाजवादीले ७७ जिल्लामा तोक्यो इन्चार्ज र सहइन्चार्ज, को कहाँ ? (सूचीसहित)

    एकीकृत समाजवादीले ७७ जिल्लामा तोक्यो इन्चार्ज र सहइन्चार्ज, को कहाँ ? (सूचीसहित)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले ७७ वटै जिल्लामा बनायो इन्चार्ज र सहइन्चार्ज तोकेको छ।

    मंसिर २६ देखि पुष २ सम्म बसेको स्थायी कमिटी बैठकले सबै जिल्लामा इन्चार्ज, सहइन्चार्जदेखि संघीय निर्वाचन क्षेत्र इञ्चार्ज तथा सहइञ्चार्जसम्म तोकेको हो।

    सबै केन्द्रीय कमिटी सदस्यहरूको कार्यविभाजन गरेअनुसार नै कार्यान्वयन गर्न÷गराउन पनि निर्देशन दिएको छ। प्रदेशको जिम्मेवारीमा रहने सबै पोलिटब्युरो सदस्यहरूलाई सम्बन्धित प्रदेशका सहइञ्चार्ज राखिएको छ । प्रदेश इञ्चार्जको संयोजनमा समग्र प्रदेशको योजना बनाउन र कार्यान्वयन गर्न नेतृत्व गर्न निर्देशन दिइएको छ।

    प्रदेशस्तरमा किसान, मजुदुर, महिला, युवा, विद्यार्थी, पेशागत बुद्धिजीवी र उद्योग व्यावशायी फाँटको कामलाई व्यवस्थित गर्न केन्द्रीय कमिटीका सदस्यहरूलाई जिम्मेवारी दिइएको छ ।

    यस्तै, प्रदेश इञ्चार्जको संयोजनमा प्रदेशअन्तरगत जिम्मेवारीमा रहेका पोलिटब्युरो सदस्यहरूको परामर्शबाट उपरोक्त फाँटहरूको इञ्चार्जको जिम्मेवारी विभाजन गरिएको छ।

    प्रदेशका कतिपय फाँटहरूमा केन्द्रीय कमिटीका सदस्यहरूलाई जिम्मेवारी तोकिएको छ भने केन्द्रीय कमिटी सदस्यहरूलाई तोकिएको निर्वाचन क्षेत्रको जिम्मेवारी हेरफेर गर्नुपर्ने भएमा इञ्चार्जले सम्बन्धित तहमा छलफल गरी निर्णय गर्न सक्र्नसक्ने अधिकार दिएको छ।

    एउटा मात्र संघीय निर्वाचन क्षेत्र भएका जिल्लामा एकभन्दा बढि सहइञ्चार्ज भएमा जिल्ला इञ्चार्जको संयोजनमा प्रदेश निर्वाचन क्षेत्रमा जिम्मेवारी तोकेर काम गर्न सक्ने जनाइएको छ। बैठकका निर्णयहरूमा आधारित अन्तरपार्टी निर्देशन यथाशिघ्र अध्यक्ष माधव नेपालले जारी गर्ने पनि जनाइएको छ।

  • नेकपा एसले तोक्यो नेताहरुको जिम्मेवारी, कसलाई के ? (कार्यविभाजनसहित)

    नेकपा एसले तोक्यो नेताहरुको जिम्मेवारी, कसलाई के ? (कार्यविभाजनसहित)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटी सदस्यहरुको कार्यविभाजन गरेको छ । मंसिर २६ देखि पुस २ गतेसम्म बसेको पार्टीको स्थायी कमिटीको बैठकले नेताहरुको कार्यविभाजन गरेको हो ।

    अध्यक्ष माधवकुमार नेपालले नेताहरुलाई तोकिएको कार्यविभाजन जारी गरेका हुन् । त्यस्र्तै, बैठकले सातै प्रदेशका इन्चार्ज र सहइन्चार्ज पनि तोकेको छ । जसमा प्रदेशको जिम्मेवारीमा रहने सबै पोलिटब्यूरो सदस्यहरुलाई सम्बन्धित प्रदेशका सहइन्चार्ज राखिएको छ ।

    बैठकले तय गरेको अन्तरपार्टिी निर्देशिका यथाशीघ्र जारी गरिने पनि जनाइएको छ ।

    कसलाई के जिम्मेवारी ?