Category: नेकपा एस

  • ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत नेकपा एसले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र

    ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत नेकपा एसले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को ७७ वटै जिल्ला कमिटीले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन्।

    केन्द्रीय निर्देशनअनुसार ‘सुशासन र रोजगारी, समाजवादको तयारी’ का सन्दर्भमा प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाएका हुन्।

    पार्टीका प्रदेश र जिल्ला कमिटीले जिल्ला र प्रदेशका समस्या, बस्तुस्थिति, बाटो, बिजुली, उत्पादन, कृषि, शिक्षा, स्वास्थ्य, रोजगार, सुशासन, पारदर्शीता, जवाफदेहीता लगायतका विषयहरु ज्ञापनपत्रमा समेटिएको जनाइएको छ।

    केन्द्रीय कमिटीका तर्फबाट पार्टी अध्यक्ष माधव नेपाल नेतृत्वको टोलिले बैशाख १७ गते प्रधामनन्त्री केपी शर्मा ओलीलाई बालुवाटारमै पुगेर ज्ञापनपत्र बुझाएको थियो।

    पालिका र वडा पालिका कमिटीले बैशाख २२ गते ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको छ। आन्दोलनद्धारा पार्टी निर्माण र मुलुकको समृद्धिका निम्ति पार्टीले गत चैत १ गते पत्रकार सम्मेलन गरेर धारणा सार्वजनिक गरेको थियो।

  • संसदको संयुक्त बैठक-नेकपा एसको लहरमा बसे वामदेव गौतम

    संसदको संयुक्त बैठक-नेकपा एसको लहरमा बसे वामदेव गौतम

    काठमाडौं । सरकारको नीति तथा कार्यक्रम पेश गरिने संघीय संसदको संयुक्त बैठकमा राष्ट्रिय सभाका मनोनित सांसद वामदेव गौतम नेकपा एसका सांसदहरुको लहरमा बसेका छन् ।

    राष्ट्रपतिबाट नीति तथा कार्यक्रम वाचन हुने बैठकको शुरुमै गौतम नेकपा एसका अध्यक्ष माधवकुमार नेपालसँगैको कुर्सीमा बसेका हुन् । नेकपा एमाले विभाजनपछि कतै नलागेका गौतम दुवै पार्टीसँग वार्तामा छन् ।

    उनले एमालेमा समाहित हुन वार्ता गरेपनि कुरा नमिलेपछि नेकपा एससँग पनि संवादमै छन् । राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनित भएका सांसदमध्ये अन्जान शाक्य एमालेकै सांसदहरु बसेको लहरमा बसेकी छन् । अर्का मनोनित सांसद नारायण दाहाल राष्ट्रिय सभा अध्यक्ष छन् ।

  • माधव नेपालले प्रधानमन्त्रीलाई भेटेर बुझाए सुशासन र रोजगारी सवालका पार्टीको माग (पूर्णपाठ)

    माधव नेपालले प्रधानमन्त्रीलाई भेटेर बुझाए सुशासन र रोजगारी सवालका पार्टीको माग (पूर्णपाठ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले सरकारसमक्ष राजनीतिक, आर्थिक, सामाजिकलगायतका क्षेत्रमा सुधारको विषय समेटेर मागपत्र पेश गरेको छ ।

    अध्यक्ष माधवकुमार नेपालसहितका नेताले बालुवाटारमा प्रधानमन्त्री केपी ओलीलाई भेटेर मागपत्र बुझाएका हुन् ।

    नेकपा एसले ‘सुशासन र रोजगारी, समाजवादको तयारी’ को नारासहित कृषि, उद्योग, शिक्षा, स्वास्थ्य, पर्यटन, सूचना प्रविधि, पूर्वाधार, सुशासन, विदेश नीति, संविधानको पुनरावलोकनका लागि विभिन्न सुझाव दिएको छ ।

    नेकपा एसले मुलुकको राष्ट्रिय एजेण्डा बनाउन सरकारले ‘रोजगारी र सुशासनका लागि राष्ट्रिय सम्मेलन’ आयोजना गर्नुपर्ने प्रस्ताव अघि सारेको छ ।

    ‘सम्मेलनमा सबै राजनीतिक पार्टीहरूले गणतन्त्रको अभ्यासमा रहेका कमी तथा कमजोरीको आत्मसमीक्षा गर्दै आगामी १० वर्षमा कृषि, उद्योगलगायत उत्पादनका क्षेत्रहरूको विकास, शिक्षा/स्वास्थ्यलगायत सामाजिक क्षेत्रको विकास र भ्रष्टाचार ढिलासुस्ती रहित पारदर्शी राजनीतिक, न्यायिक तथा प्रसाशनिक व्यवस्थाका लागि आआफ्ना योजनाहरू पेश गर्नेछन् । त्यसले राजनीतिलाई जनताको दैनिक जीवन र राष्ट्रको दीर्घकालीन भविष्यमा केन्द्रित गर्नेछ’, मागपत्रमा भनिएको छ ।

    पटक-पटक एउटै बाटो हिँडेर नयाँ गन्तव्यमा पुगिँदैन भन्ने स्वयंसिद्ध तथ्यलाई राजनीतिक इतिहासले धेरै पटक पुष्टि गरेको उक्त पार्टीले ठहर गरेको छ । लोकतान्त्रिक गणतन्त्रमा मुलुक पुगिसकेके पनि आर्थिक जीवन र प्रणालीको हिसाबले पुरानै बाटो पच्छ्याइरहेकोले धेरै कुरा गुमाएको चिन्ता व्यक्त गरिएको छ ।

    बालुवाटारमा मागपत्र लिएर नेपालसहित वरिष्ठ नेता प्रवेश हमाल, वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, उपाध्यक्षहरू प्रकाश ज्वाला, डा गंगालाल तुलाधर, भानुभक्त जोशी, महासचिव घनश्याम भुसाललगायत पुगेका थिए ।

    प्रधानमन्त्री ओलीले आगामी नीति तथा कार्यक्रम र बजेटमा माग र सुझावलाई समेट्ने प्रतिवद्धता जनाए ।

    यस्तो छ नेकपा एसको मागपत्र

  • शिक्षक आन्दोलनमा घुसपैठ गर्न प्रधानमन्त्रीले कार्यकर्ता खटाएको मेटमणिको आरोप (भिडिओ)

    शिक्षक आन्दोलनमा घुसपैठ गर्न प्रधानमन्त्रीले कार्यकर्ता खटाएको मेटमणिको आरोप (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपमहासचिव मेटमणि चौधरीले प्रधानमन्त्री केपी ओलीले शिक्षक आन्दोलनलाई कमजोर बनाउन कार्यकर्ता खटाएको आरोप लगाएका छन् ।

    प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्री ओलीले शिक्षकहरूसँग विगतमा भएका सम्झौता कार्यान्वयन नगरेर खिसीट्यूरी गरेको टिप्पणी गरे ।

    उनले भने, ‘विगतमा शिक्षकहरूसँग तीन पटक सम्झौता भएको थियो। सम्झौता कार्यान्वयनको कुरा त परै जाओस्, सम्झौता कार्यान्वयनको आवाज उठाउँदा, आन्दोलनलाई खिसीट्यूरी गर्ने, होच्याउने, घुसपैठ गराउने, आन्दोलनलाई कमजोर बनाउन सरकार र सरकारसँग जोडिएका राजनीतिक दलका कार्यकर्ता लगाउनेलगायतका नीच स्तरका काम सरकार र प्रधानमन्त्रीज्यूबाट भयो त्यो खेदजनक छ।’

    उनले शिक्षकहरूको आन्दोलनप्रति समर्थन जनाउँदै तत्काल माग पूरा गर्नुपर्ने बताए ।

  • प्रेम आलेको प्रष्टीकरण- संसदमा अश्लील शब्द बोलेको छैन, मिडियाले मेरो हुर्मत लिन खोजे (भिडिओ)

    प्रेम आलेको प्रष्टीकरण- संसदमा अश्लील शब्द बोलेको छैन, मिडियाले मेरो हुर्मत लिन खोजे (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद प्रेम आलेले आफूले संसद बैठकमा अश्लील शब्द नबोलेको प्रष्टीकरण दिएका छन् । हिजोको बैठकमा आफूले गरेको सम्बोधनलाई मिडियाले तोडमोड गर्न खोजेको उनले गुनासो गरे ।

    आलेले हिजो संसदमा गरेको सम्बोधन सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । त्यसमा उनले अश्लील शब्द प्रयोग गरेको दाबी कतिपयले गरेका छन् । यही आधारमा एकाध मिडियामा समाचार पनि बनेका थिए ।

    हिजोको बैठकमा आलेले आफू मन्त्री छँदा नागरिक उड्डयन प्राधिकरणमा आफ्नो इच्छा विपरीत जुनियर मान्छेलाई डीजी बनाइएको सुनाएका थिए ।

    उनको भाषणको अंश यस्तो थियो:

    जुनियर मान्छेलाई ल्याएर डिजी बनाइयो, हो बनाइयो । मेरै पालामा हो । निधारमा लेखेको हुँदैन नि, यो चोर हो कि साधु हो भनेर । मैले धेरै पटक जुनियर मान्छेलाई नबनाऊँ भनेको हो, तर पार्टीको दबाब झेल्न नसकेर जुनियर मान्छेलाई बनाइयो ।

    अन्तिम पटक उनले ‘मान्छे’ भन्दा ‘मु…’ भनेको जस्तो सुनिएको थियो । त्यसैलाई लिएर आलेले संसदमै अश्लील शब्द बोलेको चर्चा भयो । र, आज उनी प्रष्टीकरण दिन बाध्य भएका हुन् । यद्यपी उनको आफ्नो लबज अनुसार बोल्दा त्यो मुन्छे भनेका हुन् ।

    आलेले आज भने:

    मैले हिजो बोलेको कुरालाई अश्लील शब्द भनेकोमा गम्भीर ध्यानाकर्षण भएको छ । राम्रोसँग सुनेर मात्र समाचार सम्प्रेषण गर्न अनुरोध गर्छु । हिजो संसदमा कुरा राख्दा ‘पार्टीको दबाब झेल्ने नसकेर त्यो मान्छेलाई डीजी बनाइयो’ भनेको थिएँ ।

    राज्यको चौथो अंग भन्ने मिडियाले यसलाई तोडमोड गर्‍यो । २५ सय वाटको स्पिकर राखेर राम्रोसँग सुन्न अनुरोध गर्छु । यसरी जनप्रतिनिधिको हुर्मत लिनु भएन ।

    यस्ता विषयलाई ध्यान दिएर मात्र समाचार सम्प्रेषण गरियोस् । मैले पटक-पटक पोखरा र भैरहवामा विमानस्थलमा भ्रष्टाचार भएको विषय उठाइरहेकाले त्यसलाई डाइभर्ट गर्नका लागि त मेरो हुर्मत लिएको होइन ?’

  • शिक्षक आन्दोलनबाट फर्किएपछि नेकपा एसको दाबी- उहाँहरू उत्साहित बन्नुभयो, नाराबाजी भएको थिएन

    शिक्षक आन्दोलनबाट फर्किएपछि नेकपा एसको दाबी- उहाँहरू उत्साहित बन्नुभयो, नाराबाजी भएको थिएन

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले शिक्षकहरूको आन्दोलनलाई ऐक्यबद्धता जनाएको छ । सोमबार २७ दिनदेखि राजधानीको बानेश्वर क्षेत्रमा आन्दोलनरत शिक्षकहरूको बीचमा पुगेर पार्टी अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनालसहित नेताहरू पुगेर समर्थन जनाएका हुन् ।

    समर्थन जनाउन पार्टीका वरिष्ठ नेता प्रमेश हमाल, पार्टीका पदाधिकारीहरू वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, उपाध्यक्ष प्रकाश ज्वाला, डा.गंगालाल तुलाधर, जगन्नाथ खतिवडा, भानुभक्त जोशीलगायत शीर्ष नेताहरू पनि पुगेका थिए ।

    जारी शिक्षक आन्दोलनमा साथ दिन पुगेको नेकपा एकीकृत समाजवादीको शीर्ष टोलीमाथि शिक्षकहरूले उल्टै उनीहरूविरुद्ध नाराबाजी गरेका थिए । ‘कोही नेता यहाँ आउनु पर्दैन, सक्ने भए संसदमा बोल’ भन्दै शिक्षकहरू कराएका थिए ।

    तर, पार्टी उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख ज्वालाले अध्यक्षसहित कुनै पनि नेताले भाषण गर्ने कार्यक्रम नरहेको र सोही अनुसार ऐक्यबद्धता जनाएर फर्किएको बताए ।

    उनले भने, ‘पार्टी अध्यक्षलगायतका नेताहरू आन्दोलन स्थलमा पुगेपछि शिक्षक साथीहरू अत्यन्तै उत्साहित बन्नुभएको थियो। कुनै नाराबाजी भएको थिएन ।’

  • सरकारलाई झलनाथले भने- भ्रष्टाचार गर्न पैसा हुने, शिक्षकहरुको माग पूरा गर्न नहुने भन्ने कुरै हुँदैन

    सरकारलाई झलनाथले भने- भ्रष्टाचार गर्न पैसा हुने, शिक्षकहरुको माग पूरा गर्न नहुने भन्ने कुरै हुँदैन

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले शिक्षकहरुको माग सरकारले पूरा गर्नुपर्ने बताएका छन् । २७ दिनदेखि काठमाडौंमा आन्दोलनरत शिक्षक आन्दोलनको समर्थन जनाउन पुगेका खनालले सरकारले शिक्षकहरुको माग सम्बोधन नगरे ठूलो जनआन्दोलन सिर्जना हुने चेतावनी दिए ।

    उनले भने, ‘शिक्षकहरुको आन्दोलनको मागलाई नसुनी जसरी तानाशाही दमनचक्रमा उत्रिन खोजिरहेको छ सरकार, यसको हामी भर्त्सना गर्छौं, विरोध गर्छौं, शिक्षकहरु भनेको यो देशका बालबालिकालाई शिक्षित गर्ने गुरुहरु हुन्, गुरुआमाहरु हुन्। उहाँहरुको मागलाई पहिलो प्राथमिकताको साथ यो सरकारले पूरा गर्नुपर्छ । अन्यथा योभन्दा ठूलो जनआन्दोलनको प्रतिक्षामा बस्छ सरकार ।’

    सरकारले शिक्षकहरुको माग सम्बोधन गर्नभन्दा पनि जनविरोधी र शिक्षाविरोधी चरित्र देखाउँदै वर्तमान सरकार काण्डैकाण्डको माला लगाउन जुरेको टिप्पणी गरे । उनले सरकारले बजेटको २० प्रतिशत शिक्षा क्षेत्रमा छुट्याउनैपर्ने बताए ।

    नेता खनालले भने, ‘बजेट नहुने भन्ने कुरै छैन । जनताले दिएको राजस्व छ । जनताले दिएको राजस्व ठीक ढंगले परिचालन भएको छैन । भ्रष्टाचारको काण्डैकाण्डको माला लगाउन जुरेको छ सरकारलाई, तर किन यसलाई बजेट दिन सक्दैन ।’

    उनले नेकपा एसले शिक्षकको माग पूरा नभएसम्म समर्थन गर्ने जनाए ।

    पार्टीकी नेतृ रामकुमारी झाँक्रीले शिक्षक आन्दोलनको विरोध गरेकोबारे सोधिएको प्रश्नमा उनले भने, ‘जसले आलोचना गर्नुभएको छ, त्यो गलत कुरा हो । नेकपा एस शिक्षक आन्दोलनलाई सुरुदेखि अन्तिमसम्म समर्थन गर्छ ।’

  • शिक्षक आन्दोलनमा मिसिने नेकपा एसको प्रयास असफल, नाराबाजीपछि फर्किए माधव-झलनाथ (भिडिओ)

    शिक्षक आन्दोलनमा मिसिने नेकपा एसको प्रयास असफल, नाराबाजीपछि फर्किए माधव-झलनाथ (भिडिओ)

    पार्टीका अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनालसहितको टोली आन्दोलन स्थलमा पुगेको थियो । शिक्षकहरूको समर्थनमा भाषण गर्ने योजनासहित गरेका नेताहरु त्यतिबेला हिस्स परे, जब शिक्षकहरूले नै उनीहरुलाई त्यहाँबाट फर्किहाल्न भने ।

    ‘कोही नेता यहाँ आउनु पर्दैन, सक्ने भए संसदमा बोल’ भन्दै शिक्षकहरू कराएपछि नेताहरू लज्जित भएर फर्किनु परेको थियो । फर्किने क्रममा उनीहरूलाई प्रहरीले गाडीसम्म स्कर्टिङ गर्‍यो ।

    पञ्चायती ऐन खारेज गर, शिक्षा ऐन जारी गर । पुलिसको दादागिरी बन्द गर भन्दै औंलो ठड्याउँदै एकहोरो नारा लगाएर नेताहरूलाई आन्दोलनकारी शिक्षकहरूले बिजुलीबजारसम्म लखेटे ।

    महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने, ’आन्दोलन विभाजन गर्न अनेकथरी प्रचार भइरहेको छ । सचेत रहनुहोला । हामीले ढाँट्नुपर्ने केही छैन । २४ बुँदे कार्यसूची जारी गरेका छौं त्यो नै हाम्रो आधिकारिक डकुमेन्ट हो । यहाँ ९ बुँदे ७ बुँदेका कुरा पनि आइरहेका छन् । त्यस्तो केही होइन ।’

  • शिक्षक आन्दोलनबारे राजेन्द्र राईको ९ बुँदे ब्रिफिङ- सरकारले उत्तेजित पार्ने र रमिता हेर्ने नगरोस्

    शिक्षक आन्दोलनबारे राजेन्द्र राईको ९ बुँदे ब्रिफिङ- सरकारले उत्तेजित पार्ने र रमिता हेर्ने नगरोस्

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपमहासचिव एवं कोशी प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्रकुमार राईले जारी शिक्षक आन्दोलनलाई लिएर आफ्नो धारणा सार्वजनिक गरेका छन् ।

    शिक्षक आन्दोलनका २-४ कुरा भन्दै राईले ९ बुँदे धारणा व्यक्त गरेका हुन् । रहर र लहडमा कसैले आन्दोलन नगर्ने भन्दै उनले शिक्षक आन्दोलन बाध्यता भएको बताएका छन् ।

    आन्दोलनमा सारिने माग सबै पूरा गर्न नसकिने खालका पनि हुने सम्झाउँदै राईले जति पूरा गर्न सकिन्छ त्यति पूरा गरेर बाँकीलाई थाती राखेर जानुपर्ने सुझाव दिएका छन् ।

    २० वटा पूरा गर्न सकिने र जायज माग भएको अवस्थामा पूरा गर्न नसकिने २ वटा नाजायज मागलाई देखाएर आन्दोलनलाई उडाउने, नजरअन्दाज गर्नाले समस्याको समाधान नहुने उनको तर्क छ ।

    अहिले एमाले र कांग्रेसको संयुक्त सरकार रहेको र विगतमा यी पार्टीले शिक्षक, विद्यार्थी, कर्मचारी, मजदुर, किसान आन्दोलनलाई संगठित गरी उनीहरूकै आन्दोलनको सहयोगमा पञ्चायत, राजतन्त्र समाप्त भएर गणतन्त्रसम्म आइपुगेको उनले सम्झिएका छन् ।

    राईले भनेका छन्, ‘तर अहिले तिनै पार्टीले समेत शिक्षक आन्दोलनलाई अपराध जस्तो । गर्नै नहुने कुकृत्य जस्तो व्याख्या गरिरहेछन् यो किमार्थ उचित, स्वीकार्य र सह्य छैन ।’

    शिक्षक आन्दोलन बारे दुई चार कुरास्

    १. कुनै पनि आन्दोलन सजिलो काम होइन त्यसैले रहरमा, लहडमा आन्दोलन कसैले पनि गर्दैन, अन्य सबै विकल्प समाप्त भएपछि आन्दोलन गरिने गरिन्छ त्यसैले भन्ने गरिन्छ ‘आन्दोलन रहर होइन बाध्यता हो ।’ यसको मतलब शिक्षकहरूले पनि रहरले आन्दोलन गरेका होइनन् ।

    २. आन्दोलनमा सारिने मागहरू सबै पूरा गर्न सकिने, गर्नुपर्ने खालका नहुन पनि सक्छन्, माग्नेले अलि बढी नै माग्न सक्छन् तर जति पूरा गर्न सकिन्छ त्यति पूरा गरेर बाँकीलाई थाती राखेर जानुपर्छ । तर, २० वटा पूरा गर्न सकिने । गरिनुपर्ने । जायज माग भएको अवस्थामा २ वटा पूरा गर्न नसकिने एक हिसाबले नाजायज माग छन् भने त्यो २ वटा नाजायज मागलाई देखाएर आन्दोलनलाई उडाउने, नजरअन्दाज गर्ने गर्दा एकातिर अन्याय पनि हुन्छ र अर्कोतिर समस्याको समाधान पनि हुँदैन ।

    ३. देशमा एमाले र कांग्रेस संयुक्त सरकार छ, विगतमा यी दुई पार्टीले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा शिक्षक, विद्यार्थी, कर्मचारी, मजदुर, किसान आन्दोलनलाई सङ्गठित गरे, अगाडि बढाए, सहयोग गरे, यस्तै आन्दोलनको सहयोगमा पञ्चायत, राजतन्त्र समाप्त भएर अहिलेको व्यवस्था आयो तर अहिले तिनै पार्टीले समेत शिक्षक आन्दोलनलाई अपराध जस्तो । गर्नै नहुने कुकृत्य जस्तो व्याख्या गरिरहेछन् यो किमार्थ उचित, स्वीकार्य र सह्य छैन ।

    ४. शिक्षकहरू शान्तिपूर्ण आन्दोलन वा प्रदर्शनमा छन्, एक हिसाबले सडक धर्नामा छन् र त्यस्तो प्रदर्शनी । धर्नाको क्रममा उनीहरूले ‘गाउँ गाउँबाट उठ भन्ने गीतमा जे छ त्यै लिएर उठ केही नहुनेहरू आवाज लिएर उठ…’ भने जस्तै गरी जसले जे जानेको छ (जादु, कविता, नाच, गीत आदि) सत्यै प्रस्तुत गरिरहेका छन्, हिजो लामो समय चलेको ०६२/०६३ आन्दोलनका सुरुका दिन वा निर्णायक अन्तिम १९ दिन अगाडि हरेक दिन एकसरो जुलुस घुम्ने र रातो घरअगाडि बदाम खाँदै भाषण सुन्ने काम हुन्थ्यो, तसर्थ शान्तिपूर्ण आन्दोलनका क्रममा गरिएका त्यस्ता कृत्यहरूलाई उडाउनु कुनै जरुरी छैन ती सबै शान्तिपूर्ण आन्दोलनको सृजनात्मक रूपहरू हुन, सत्याग्रह, अनशन जस्तै ।

    ५. आन्दोलनले पढाई छुटेको, परीक्षा समयमा हुन नसकेको, परीक्षाको रिजल्ट समयमा हुन नसक्ने आदि कुरा अगाडि सारेर पनि आन्दोलनलाई बदनाम गरिँदै छ, यस्तो होला पनि तर यसको मुख्य दोष सरकारलाई जान्छ किनकि सरकारले नै समस्या आउनै नदिएर वा समयमै आन्दोलनकारीसँग वार्ता सफल पारेर आन्दोलन रोक्न सक्नुपर्छ । अर्कोतिर शिक्षकहरूले पनि बढी समय दिएर अहिले आन्दोलनका क्रममा भएका शैक्षिक क्षतिलाई पूर्ति गर्न सक्छन् ।

    ६. सरकारी स्कुलका शिक्षक, पढाई चाहिँ कामै नलाग्ने जस्तो भाष्य पनि खडा गरिँदै छ, यस विषयमा त छोटकरीमा छलफल गर्न सकिन्न १ तर, यसको मापन के हो रु पास फेललाई आधार मान्ने हो भने परीक्षा नै नलिने। कसैलाई फेल नै नगर्ने परीक्षा प्रणाली पनि सन्सारमा प्रचलित छ त्यो पनि हाम्रो भन्दा विकसित मुलुकमा र वास्तविक जीवनमा जे पढायो त्यो भएकै छन्, जानेकै छन् वा डाक्टर पढाउँदा डाक्टर, इन्जिनियर पढाउँदा इन्जिनियर, कानुन पढाउँदा वकिल, शिक्षा पढाउँदा शिक्षक, गणित पढाउँदा हिसाब जान्ने, नेपाली पढाउँदा शुद्ध नेपाली लेख्न, बोल्न जानेकै छन् आदि ।

    ७. शिक्षकहरूको मुख्य माग शिक्षा ऐनको छ, यस विषयमा सरकार र आन्दोलन विरोधी पक्षको भनाई छ, शिक्षा ऐन आजको भोलि दिन सकिने कुरा होइन । निश्चित हो कुनै पनि ऐन आजको भोलि दिन सकिन्न तर शिक्षा ऐन आज मागिएको विषय होइन र संसदमा पनि आजभोलि प्रवेश गरेको विषय होइन तर यतिका समय र वर्ष शिक्षा ऐन किन ल्याइएन रु आफूलाई चाहिएको ऐन रातारात अध्यादेशको बाटोबाट ल्याउन सक्ने, अन्य छोटो विधि प्रयोग गरेर ल्याउन सक्ने, सरकारले शिक्षा ऐन ल्याउन त्यस्तो विधि किन प्रयोग गर्न चाहँदैन रु अहिले आन्दोलन चलेकै बेला शिक्षा ऐन ल्याउन नसके पनि अन्य माग पूरा गरेर ऐन ल्याउने विश्वसनीय सम्झौता गर्ने कोसिस किन गर्दैन रु

    ८. लोकतन्त्रमा जन आवाज सुन्नुपर्छ कि पर्दैन, शिक्षकहरूको यस्तो एकता, यत्रो उपस्थितिमा सडक कब्जा यो देख्नु, सुन्नु पर्छ कि पर्दैन ? के फाइट एन्ड फिनिस् गरेर राज्यलाई परास्त गर्दा मात्र सरकारले सुन्ने र माग पूरा गर्ने हो र ? किमार्थ यस्तो होइन ।

    ९. बिट मार्दै भन्नुपर्दा सरकार गार्जेन हो, सरकारले उत्तेजित पार्ने कुरा गर्ने, रमिता हेरेर बस्ने गर्न मिल्दैन सकेसम्म छिटो वार्ता गरी कुरा टुंगोमा पुर्‍याएर सबै शैक्षिक गतिविधि सुचारु गराउनुपर्छ ।

  • भारतले ४० रोपनी नेपालको भूमि कब्जा गरेको झलनाथको दाबी

    भारतले ४० रोपनी नेपालको भूमि कब्जा गरेको झलनाथको दाबी

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले महाकालीमा भइरहेको सीमा अतिक्रमणलाई रोक्न माग गरेका छन्। भारतीय पक्षले करिब ४० रोपनी नेपालको भूमिलाई एकलौटी ढंगले कब्जा तटबन्ध बनाइरहेको उनको भनाइ छ।

    विज्ञप्तिमा भनिएको छ, ‘उक्त भूमि नेपालकै नाप नक्सामा रहेको छ। त्यसैले दार्चुलाको खलङ्गास्थित आम जनता र स्थानीय जिल्ला प्रशासनले समेत उक्त भूभाग नेपालको हो भन्दाभन्दै, तथ्यका आधारमा दाबी गर्दागर्दै, स्थानीय प्रशासनले रोक्दा रोक्दै भारतीय पक्षले सुनेको नसुन्यै अटेर गरेर उक्त नेपाली भूभागलाई कब्जै गर्ने ढंगले अघि बढिरहेको छ।’

    नेपालको उक्त अभिन्न भू-भागमाथि स्थानीय जनता र प्रशासनको समेत बेवास्ता गरेर भारतीय पक्षबाट त्यहाँ ठाडै सीमा अतिक्रमण गरिरहेको अवस्था रहेको उल्लेख गरे।

    यस घटनाका बारेमा स्थानीय प्रशासनले संघीय सरकारलाई सुसूचित समेत गरिसकेको भएपनि अहिलेसम्म सरकार कानमा तेल हालेर बसेको आरोप लगाए।

    विज्ञप्तिमा भनिएको छ, ‘यो आफ्नै देशको भूभाग र सिमाना प्रति सरकारको घोर लापरबाही हो। त्यसैले गर्दा उक्त सीमा क्षेत्रमा तनाव बढ्दै गएको छ र त्यहाँका जनता आफै प्रतिरोधमा उत्रने अवस्था आउन थालेको छ। यस्तो अवस्थामा सरकारले तुरुन्त केन्द्रीय नाप जाँच टोली उक्त सीमा क्षेत्रमा पठाओस्। हाम्रो सिमानालाई वैज्ञानिक रूपले प्रष्ट पारोस्। भारतीय पक्षसँग आवश्यक कूटनीतिक वार्ता गरोस्।’

    त्यहाँ भइरहेको तटबन्ध निर्माणको कार्यलाई अविलम्ब रोक लगाएर स्थानीय जनता, प्रशासन र जनप्रतिनिधि समेतलाई पूर्ण रूपले संलग्न र सुसूचित गरी नेपाली भूभागको रक्षा गर्न आग्रह गरेका छन्।

  • झलनाथको दाबी- प्रधानमन्त्रीले शिक्षकको माग कुल्चिँदा शिक्षामन्त्रीले राजीनामा दिनुपर्‍यो

    झलनाथको दाबी- प्रधानमन्त्रीले शिक्षकको माग कुल्चिँदा शिक्षामन्त्रीले राजीनामा दिनुपर्‍यो

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले प्रधानमन्त्रीका कारण शिक्षामन्त्रीले राजीनामा दिनुपरेको बताएका छन् ।

    नेपाल कम्युनिष्ट पार्टीको ७६ औँ स्थापना दिवसका अवसरमा नेकपा एकीकृत समाजवादीले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा खनालले शिक्षकहरुको माग पूरा गर्नुपर्ने शिक्षामन्त्रीको प्रस्तावलाई प्रधानमन्त्रीले अटेर गर्दा बाध्यताका कारण राजीनामा दिनुपरेको बताएका हुन् ।

    समाजवादी शिक्षा स्थापित गर्छु भन्ने पार्टीका नेता अहिले प्रधानमन्त्री भएपछि लाखौं शिक्षकहरुको मागलाई कुल्चिएर हिँडेको उनले बताए ।

    त्यस्तै, उनले कम्युनिष्ट पार्टीले घोषणापत्रमा उल्लेख गरेका विषयलाइ सत्तामा पुगेपछि वेवास्ता गरेका कारण जनताले नपत्याउने अवस्था सिर्जना भएको धारणा राखे । खनालले कांग्रेसको पिठ्युँमा बसेर एमालेले आगामी निर्वाचनमा बहुमत ल्याउने घमण्ड गरेको तर्क गरे ।

    कांग्रेसको पिठ्युँमा बसेर केहिदिनअघिसम्म कराइरहेका प्रचण्ड बाहिर आएपछि क्रान्तिकारी जस्तो कुरा गर्न लागेको उनले तर्क गरे । उनले कांग्रेस दलाल पूँजीपति वर्गको पार्टी भएको धारणा राखे ।

    खनालले कम्युनिष्ट पार्टीबाट बिगतमा भएका गल्ती कमजोरीलाई सुधार गर्दै अघि बढाउने दिशामा आफु बढेको जिकिर गरे ।

  • माधवबारे ओली- किर्नाजस्तो टुम्म भएपछि एमालेलाई टर्च बालेर खोज्दा पनि नभेट्ने बनाइदिन्छौं भन्दै हिँडे (भिडिओ)

    माधवबारे ओली- किर्नाजस्तो टुम्म भएपछि एमालेलाई टर्च बालेर खोज्दा पनि नभेट्ने बनाइदिन्छौं भन्दै हिँडे (भिडिओ)

    काठमाडौं । प्रधानमन्त्री केपी ओलीले कम्युनिष्ट पार्टीलाई एकताबद्ध हुन नदिने षड्यन्त्र भइरहेको बताएका छन् ।

    नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई लक्षित गर्दै कम्युनिष्ट आन्दोलनलाई अगाडि बढ्न नदिने पार्टी सधैं झमेला गरेर पार्टी फुटाएर हिँडेको आरोप लगाए ।

    उनले भने, ‘दुई तिहाईमा पुगेको पार्टीलाई टर्च बालेर खोज्दा पनि नभेट्ने बनाइदिन्छौं एमालेलाई भनेर, एमालेमै पसेर अगाएका किर्नाजस्ता टुम्मटुम्म भएकाहरु एमालेलाई टर्च बालेर खोज्दा पनि नभेट्ने बनाइदिन्छौं भन्दै हिँडे ।’

    उनले एमाले फुटाएर शहीद र योद्धाहरुको पसिनालाई कुल्चिएको आरोप लगाए । १५ वर्ष पार्टीको नेतृत्वमा बसेर त्यही पार्टीको अस्तित्व नै राख्दिनँ भनेर अपराधिक क्रियाकलापमा लागेको आरोप लगाए ।

  • माओवादीबारे घनश्याम- क्रान्ति गर्छ भन्नु नै बेकार

    माओवादीबारे घनश्याम- क्रान्ति गर्छ भन्नु नै बेकार

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले नेकपा माओवादी केन्द्र आफ्नो पार्टीसँग सहकार्यमा भएपनि कुनै सिद्धान्त नभएको टिप्पणी गरेका छन् ।

    कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले माओवादीले क्रान्ति गर्ने कुरा बेकारको भएको दाबी गरे ।

    उनले भने, ‘माओवादीले हाम्रो बलमा गणतन्त्र आयो, हामीले ल्याएको हो । त्यसैले यसको भोग पनि हामीले नै गर्नुपर्छ भन्ने उसको तर्क छ । मधेश दर्गुदैछ । आँखा काठमाडौंमा छ, यो तरिकाले हुँदैन । अहिले यो सरकार गएर कांग्रेस आओस् भन्छ, अहिले कांग्रेसको नेतृत्वमा सरकार बनेर यो मुलुकको समस्याको समाधान हुन्छ ?’

    उनले आज प्रचण्डले क्रान्तिकारी कम्युनिष्ट पार्टीको हस्तक्षेपले देशको समस्याको समाधान हुने बताएको भएपनि भोलि के भन्छन् भन्ने थाहा नहुने टिप्पणी गरे ।

    उनले मधेशवादीहरु क्षेत्रीय पार्टी भएकाले राष्ट्रिय समस्याको समाधान गर्न नसक्ने दाबी गरे ।

  • राजा महाराजाको कुनै काम छैन : अध्यक्ष नेपाल

    राजा महाराजाको कुनै काम छैन : अध्यक्ष नेपाल

    रौतहट । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले देशमा राजा ल्याए बरबाद हुने भन्दै राजा महाराजाको कुनै काम नभएको बताएका छन् । उनले जनता भन्दा माथि कोही नरहेको पनि दाबी गरे ।

    रौतहटको गरुडामा बिहीबार पार्टीको नवौँ जिल्ला अधिवेशनको उद्घाटन गर्दै उनले राजवादीहरूको तीनकुने आन्दोलन हिंस्रक भएको जिकिर गरे ।

    उनले राजावादीहरूद्वारा आफ्नो पार्टी कार्यालय तोडफोड, नागरिकका सम्पत्तिमा आगजनी, मानिस मार्ने, चोरी गर्ने र सार्वजनिक सम्पत्ति जलाउने लगायतका कार्य गरेको उल्लेख गरेका छन् ।

    उनले भने, ‘चैत्र १५ गते राजावादीहरुले तीनकुनेमा जताततै कार्यालय तोडफोड गरे, पसल चोरी गर्ने काम गरे, आगजनी, मानिस मार्ने काम गरे यसले देश बरबाद हुनेवाला छ । अव राजामहाराजाको कुनै काम छैन । अव जनता नै सवै थोक हो । हामी सबैको सामु भनिरहेका छौ । हामी जनताको सेवामा लागिरहेका छौ । समाज परिवर्तनमा लागिरहेका छौ ।’

    पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले काठमाडौंमै समाजवादी मोर्चाको आमसभा भने शान्तिपूर्ण रूपमा सम्पन्न भएको दाबी गरेका छन् ।

    पार्टीका नवौँ जिल्ला अधिवेशनको पूर्ण सफलताको कामना गर्दै असल नेतृत्वको चयन गरेर जिल्लामा नेकपा एसको संगठनलाई बलियो बनाउन उनले शुभकामना दिए । सो कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का नेता राजेन्द्र पाण्डे , रामकुमार भट्टराई लगायतको उपस्थिति रहेको थियो ।

  • शिक्षकहरुको माग सम्बोधन नगरे सरकारविरुद्ध जनआन्दोलन उठ्ने झलनाथको चेतावनी

    शिक्षकहरुको माग सम्बोधन नगरे सरकारविरुद्ध जनआन्दोलन उठ्ने झलनाथको चेतावनी

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले शिक्षकहरूका माग पूरा गर्न सरकारसँग माग गरेका छन्।

    विगत ७ दिनदेखि काठमाडौंको सडकमा देशभरका शिक्षकहरू आन्दोलन उत्रिँदा पनि सरकारले सुनेको नसुन्यै गरिरहेको भन्दै आपत्ति जनाए।

    विज्ञप्तिमा भनिएको छ, ‘आन्दोलनरत शिक्षकहरूका मागहरूलाई अभिलम्ब सम्बोधन गर्न, शिक्षा ऐन ल्याउने कुराको ग्यारेन्टी गर्न, शैक्षिक क्षेत्रका सम्पूर्ण समस्याहरू समाधान गर्न र शिक्षकहरूलाई अभिलम्ब आ–आफ्ना विद्यालयमा फर्केर नियमित पठनपाठनमा संलग्न हुने सहज वातावरण तयार पार्न वर्तमान सरकारसँग जोडदार माग गर्दछु । साथै सरकारले आदरणीय शिक्षकहरूका मागहरू सम्बोधन नगरेको खण्डमा सरकारका विरुद्ध अझ फराकिलो दायराबाट जनआन्दोलन उठ्ने कुराको चेतावनी दिन चाहन्छु ।’

    उनले शिक्षकहरूको जायज र न्यायपूर्ण आन्दोलनप्रति समर्थन जनाएका छन्।

  • नेकपा एसले गर्‍यो आन्दोलनका कार्यक्रमको कार्यतालिका परिवर्तन, अब कहिले के ? (परिपत्रसहित)

    नेकपा एसले गर्‍यो आन्दोलनका कार्यक्रमको कार्यतालिका परिवर्तन, अब कहिले के ? (परिपत्रसहित)

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) केन्द्रीय आन्दोलन संयोजन कमिटीले यसअघि तय गरेको आन्दोलनको कार्यक्रमको कार्यतालिका परिवर्तन गरेको छ।

    विकसित राजनीतिक घटनाक्रमलाई दृष्टिगत गरेर कमिटीले ‘सुशासन र रोजगारी, समाजवादको तयारी’ भन्ने नाराका साथ चैत्र १ गते पत्रकार सम्मेलन गरेर पहिलो चरणको आन्दोलन घोषणा गरेको थियो।

    महासचिव घनश्याम भुसालले पार्टी पङ्क्तिमा परिपत्र जारी गर्दै राजावादीहरूले पार्टी कार्यालयमा गरेको आगजनी र तोडफोड यसअघि घोषणा गरिएको कार्यतालिकामा केही संशोधन गरिएको बताएका छन्।

    परिपत्रमा भनिएको छ, आन्दोलनकै क्रममा हामीले पार्टीको वैचारिक तथा साङ्गठानिक विस्तार गर्दै अगाडि बढ्ने सङ्कल्प गरिसकेका छौँ । यो एउटा लामो प्रक्रिया हो । सम्पूर्ण पार्टीलाई त्यसतर्फ अगाडि बढाउने क्रममा कतिपय नयाँ समस्याहरू आउनु र कतिपय अन्योलहरू देखा पर्नु स्वाभाविक हुन्छ । त्यस अवस्थामा हामीले हाम्रा कार्यक्रमलाई पुनर्संयोजन गर्दै अगाडि बढ्नु पर्ने हुन्छ ।

    संशोधन गरिएको कार्यतालिका

    चैत्र १ गते पत्रकार सम्मेलन गर्ने

    -पत्रकार सम्मेलनमा मुलुकको अर्थ राजनीतिक सङ्कट र त्यसको समाधान सम्बन्धी हाम्रो अभियानबारे धारणा राख्ने र त्यसबारे सार्वजनिकरुपमा सुझावहरू आह्वान गर्ने यो कार्यक्रम सम्पन्न भइसकेको छ।)

    -चैत्र २–७ सम्म प्रदेशका आधारमा जिल्ला कमिटीहरूको संयुक्त भर्चुअल बैठक गर्ने (यो कार्यक्रम सम्पन्न भइसकेको छ।)

    -२०८२ वैशाख १० गते संघीय सरकारमा माग पत्र पेश गर्ने ।

    -२०८२ वैशाख १४ गते प्रदेश सरकार र जिल्ला प्रशासन कार्यालयमा सम्बन्धित प्रदेश र जिल्लाका माग पत्र बुझाउने ।

    – वैशाख २२ र २३ गते पालिका र वडा कार्यालयहरूमा सम्बन्धित पालिका र वडाका माग पत्र बुझाउने ।

    – वैशाख २५ गते दोस्रो चरणको कार्यक्रम घोषणा

  • नेकपा एस कोशी अध्यक्षमा ८ जना दाबेदार, सहमतिको सम्भावना क्षीण

    नेकपा एस कोशी अध्यक्षमा ८ जना दाबेदार, सहमतिको सम्भावना क्षीण

    विराटनगर । नेकपा एकीकृत समाजवादीको कोशी प्रदेश अध्यक्ष हुन आकाङ्क्षीको लर्को लागेको छ ।

    एकीकृत समाजवादी कोशी प्रदेशको पहिलो अधिवेशन हिजोबाट सुरु भएको हो । पार्टी अध्यक्ष माधव कुमार नेपालले उद्घाटन गरेको अधिवेशनबाट सर्वसम्मत नेतृत्व छान्न खोजे पनि आकंक्षी धेरै भए पनि निर्वाचनमा जाने देखिएको छ ।

    आज बिहान नौ बजेटबाट सुरु हुने बन्द सत्रमा आर्थिक र सांगठनिक प्रतिवेदन पेस भएपछि सर्वसम्मतको प्रयास हुने एकीकृत समाजवादीका उप महासचिव राजेन्द्र राईले बताए ।

    उनका अनुसार त्यो भन्दा पहिला आजै विभिन्न ८ वटा टोलीले प्रतिवेदन माथि छलफल गरी प्रतिवेदनमा राय सुझाव सहित प्रतिवेदन पास हुने छ । प्रतिवेदन पास भएपछि सहमतिको प्रयास थालिने राईले बताए ।

    उनले भने हामी सर्वसम्मत नेतृत्व चयनको प्रयास गर्ने छ । सर्वसम्मत नभए निर्वाचनबाट भए पनि नेतृत्व छान्ने तयारी छ । प्रदेशको अध्यक्ष बन्न पोलिटब्युरो सदस्य महेश रेग्मी, धर्म निरौलाले बलियो दावे दारी पेस गरेका छन् ।

    यस्तै केशव कुमार विष्ट र सरिता खड्का थापाले पनि अध्यक्षको दाबी गरेका छन् । यसै गरी धनकुटाका धर्म पौडेल पाँचथरका जिल्ला अध्यक्ष कमल जबेगु, जलेश्वर राईले पनि अध्यक्षको दाबी गरेका छन् ।

    अध्यक्षको दाबी गरेका मध्ये महेश रेग्मी र धर्म निरौला सबैभन्दा सिनियर हुन् । अधिवेशनमा ६ सय भन्दा बढी प्रतिनिधि छन् । मनोनीत गर्न अझै बाँकी रहेकाले सङ्ख्या बढ्न सक्नेछ ।

  • राप्रपाको बल्खु सभाबारे माधव- लाखौं ल्याउलान् भनेको त आफ्नै व्यवहारले नांगिएछन् (भिडिओ)

    राप्रपाको बल्खु सभाबारे माधव- लाखौं ल्याउलान् भनेको त आफ्नै व्यवहारले नांगिएछन् (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले राप्रपाले आज बल्खुमा गरेको सभाले राजावादीहरु नांगिएको पुष्टि भएको टिप्पणी गरेका छन् । कोशी प्रदेश कमिटी प्रथम अधिवेशन समुद्घाटन समारोहलाई सम्बोधन गर्दै राजतन्त्र फर्किने कुनै सम्भावना नरहेको बताए ।

    त्यसबारे उनको भनाइ यस्तो थियो

    चैत १५ गते हामीले कार्यक्रम गर्दा कतै फोहोर भए सबै सफा थियो । तर, राजावादीहरूलाई आर्थिक जरिवाना पत्र काटिएको छ । आज कति मान्छे जुटाउलान् बल्खुमा भन्ने लागेको थियो । ७ हजार मान्छे ल्याए रे ! तपाईंहरू पनि हेर्नुहोला ।

    राजेन्द्र लिङ्देनले राप्रपाले बल्खुमा अहिले जम्मा गरे रे ! प्रतिस्पर्धामा हामीले ६० हजार मान्छे ल्याएका थियौं भने उनीहरूले डेढ-दुई लाख मान्छे ल्याउँछन् कि भन्ने लागेको थियो सकेनन् । जनता हाम्रो साथमा छन् ।

    उनीहरूले आफ्नो वास्तविक स्वरूप देखाए राम्रै भयो । आफ्नै व्यवहारले गर्दा नांगिए । नकारात्मक सन्देश दियो । हाम्रो पार्टीमाथि आक्रमण गरे । आगो लगाए, कम्युटर, प्रिन्टर, पंखा चोरेर भागे । मेरो घरमा पनि आक्रमण गरे । तोडफोड र आक्रमणमा उत्रिएपछि तीनिहरू नांगिएका छन् ।

  • ओलीबारे झलनाथ- कांग्रेसको बुई चढेर म्याउँम्याउँ गर्दैछन्, गर्नसक्ने केही होइन

    ओलीबारे झलनाथ- कांग्रेसको बुई चढेर म्याउँम्याउँ गर्दैछन्, गर्नसक्ने केही होइन

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमाले अध्यक्ष केपी ओलीले आफू प्रधानमन्त्री भएपछि कांग्रेसको सहमतिविना केही पनि गर्न नसक्ने टिप्पणी गरेका छन् ।

    कोशी प्रदेश कमिटी प्रथम अधिवेशन समुद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले ओली अहिले कांग्रेसको बुई चढेर म्याउँम्याउँ गरिरहेको बताए ।

    उनले भने, ‘अहिले एमालेको नेतृत्वले कांग्रेससँग साँठगाँठ गरिरहेको छ । जसले कांग्रेसको बुईमा चढेर म्याउँम्याउँ गर्छ । कुनै सुधार र प्रगतिशील नीति कार्यक्रम ल्याउन सकेको छैन । कांग्रेसको सहमतिविना केही पनि गर्न सक्दैन । कांग्रेस यथास्थितिवादभन्दा बाहिर जानै सक्दैन । त्यसैले कम्युनिष्ट पार्टीहरूले पनि यथास्थितिवादमा रहेर कतै जान सकिँदैन ।’
    उनले हिजो माओवादीले पनि सरकारमा हुँदा केही गर्न नसकेको भन्दै तर्क गरे।

    नेता खनालले थपे, ‘हिजो माओवादी पनि कांग्रेसको बुई चढेर सत्तामा बसेको हो, त्यही म्याउँम्याउँबाहेक केही गर्न सकेको होइन । के ल्यायो केही पनि भएन ? अरू त्यहाँबाट ओर्लिएपछि अहिले साथीहरू कराउँदै हिँडिरहेका छन्, त्यो इखले पनि होला । हेरौँ, अब सच्याए राम्रो प्रगति गरे भने राम्रै कुरा पनि हो । खालि नपाएर बदलाको भावनाले कराएको हो भने त्यसको कुनै अर्थ छैन । त्यसरी हामी पनि एक पटक गयौँ नि, तर केही पनि छैन हातमा लाग्यो शून्य ।’

  • एमालेसँग एकता हुँदैन, औचित्य समाप्त भइसकेको राजतन्त्र पनि फर्किँदैन: माधव नेपाल

    एमालेसँग एकता हुँदैन, औचित्य समाप्त भइसकेको राजतन्त्र पनि फर्किँदैन: माधव नेपाल

    काठमाडों । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमालेसँगको एकताको कुनै सम्भावना नरहेको बताएका छन्।

    विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमालेसँग एकता कुनै हालतमा सम्भव नभएको बताए।
    उनले औचित्यहीन राजतन्त्र पुनःस्थापना रहेको बताए।

    उनले भने, यो पूर्वराजा ज्ञानेन्द्रको सहमतिमा नै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था लागु भएको हो। औचित्य समाप्त भएको राजतन्त्र फेरि फर्काउने दिवास्वप्नबाट मुक्त हुनुपर्छ।

    उनले राजतन्त्रवादीहरु धेरै चुरीफुरी नदेखाउन चेतावनी दिए।

  • ‘कांग्रेस, एमाले र माओवादीकोमा ट्रकमा प्रहरी पठाइयो, हाम्रोमा तोडफोड गर्न गए हुन्थ्योजस्तो गरियो’ (भिडिओ)

    ‘कांग्रेस, एमाले र माओवादीकोमा ट्रकमा प्रहरी पठाइयो, हाम्रोमा तोडफोड गर्न गए हुन्थ्योजस्तो गरियो’ (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चैत्र १५ गतेको घटनामा राज्यले आफ्नो पार्टी कार्यालयको उचित सुरक्षा गर्न नसकेको गुनासो गरेका छन् ।

    आइतबार काठमाठौंमा नेपाल आदिवासी जनजाति महासंघ (समाजवादी) को बागमती प्रदेश भेला उद्घाटन गर्दै उनले कांग्रेस, एमाले र माओवादीको पार्टी कार्यालयमा पर्याप्त सुरक्षाकर्मी तैनाथ गरेपनि आफ्नो पार्टी कार्यालयतर्फ उल्टै आन्दोलनकारीलाई खुल्ला छाडिदिएको आरोप लगाए ।

    ‘सरकारले कांग्रेस, एमाले, माओवादीको अफिसमा ट्रकसहित सुरक्षाको व्यवस्था गर्‍यो । तर, हाम्रो पार्टी अफिसनजिकै सुरूदेखि चर्कोचर्को भाषण गरेको सुन्दासुन्दै मान्छे (आन्दोलनकारी) लाई पुलको छेउबाट यता गए हुन्थ्यो भन्ने चाहना राखेर छाडियो’, उनको जिकिर थियो ।

    आफ्नो कार्यालयमा तोडफोड गर्दै कम्प्युटर, मोबाइल, पंखा साथै फाइल समेत चोरी भएको भन्दै उनले क्षतिपूर्ति माग गरेका छन् ।

    चैत १५ गतेको घटनामा जोडिएका सवैले जिम्मेवारी लिनुपर्ने र दोषीलाई सरकारले कारवाही गर्नुपर्नेमा उनले जोड दिए । अराजक व्यक्ति बोकेर राजतन्त्र पुनर्वहाली नहुने नेपालले बताए ।

  • ज्ञानेन्द्रका सचिवले ‘राजा ल्याउने कुरा छैन’ भनेपछि अलिकति मन शान्त भयो : माधव नेपाल

    ज्ञानेन्द्रका सचिवले ‘राजा ल्याउने कुरा छैन’ भनेपछि अलिकति मन शान्त भयो : माधव नेपाल

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पूर्वराजा ज्ञानेन्द्रसमेतको सहमतिमा देशमा गणतन्त्र ल्याएको दाबी गरेका छन् । माओवादी पछि मात्रै आफूहरुसँग मिसिएको उनको भनाइ छ ।

    आज पार्टी निकट आदिवासी जनजाति महासंघको भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गर्दै नेपालले यस्तो बताएका हुन् ।

    उनले भने, ‘ज्ञानेन्द्रले (राजतन्त्र) उहिले छोडिसकेको हो । हामी तीनजना नेता (आफू, राजा ज्ञानेन्द्र र गिरिजाप्रसाद कोइराला) ले यो जम्मै कुराहरु गरेका हौं । प्रचण्डजी पछि मात्रै आएका हुन् । हामी तीनजनाले पहिल्यै सहमति गरिसकेका थियौं ।’

    नेपालले अहिले राजा फर्काउने कुरा नभएको र पूर्वराजाको पनि इच्छा नभएको आफूले सुनेको भन्दै खुशी व्यक्त गरे ।

    उनले भने, ‘एउटा राम्रो कुरा मैले सुनेँ । त्यो उनको पूर्वराजाको सचिव एकजनाले बोलेको कुरा सही हो भने… मलाई थाहा छैन….उनले राजालाई फर्काउने कुरा छैन, राजाको इच्छा पनि छैन, बाहिर चलेको हल्ला मात्रै हो भनेपछि अलिकति मन शान्त भएको छ । अरुले पो फाइदा उठाउन खोजेका रहेछन् ।’

    हालै एक अन्तरवार्तामा पूर्वराजा ज्ञानेन्द्रका स्वकीय सचिव फणिराज पाठकले ‘राजाले यो व्यवस्था उल्टाउने नभनेको’ बताएका थिए ।

    नेपालले राजनीति गर्ने भए पार्टी खोल्न र बहुमत ल्याउन पूर्वराजालाई सुझाव दिए । ‘उहिलेदेखि मैले भन्दै आएको छु राजनीति गर्ने भए पार्टी खोल्नुस्, मैदानमा आउनुस्, जनताको बीचमा जानुस्, चुनावमा जितेर बहुमत ल्याउनुस्, देश र जनताको कल्याण गर्नुहुन्छ भने खुशीकै कुरा हो,’ उनले थपे ।

     

     

  • एकीकृत समाजवादी मोरङको अधिवेशनः चन्द्रवीरको अध्यक्षतामा पदाधिकारीको नाम टाँस्ने तयारी

    एकीकृत समाजवादी मोरङको अधिवेशनः चन्द्रवीरको अध्यक्षतामा पदाधिकारीको नाम टाँस्ने तयारी

    विराटनगर । एकीकृत समाजवादी मोरङको अधिवेशनमा नेतृत्व चयनमा सकस भएपछि अध्यक्षमण्डलले जबरजस्ती नेतृत्वको नाम टाँस्ने तयारी गरेको छ । अध्यक्षका आकाङ्क्षीहरूले आफ्नो दाबी नछाडेपछि अध्यक्षमण्डलले आयोजक समितिका संयोजक चन्द्रवीर राईलाई नै अध्यक्ष घोषणा गर्ने तयारी गरेका छन् ।

    तर अध्यक्षमण्डलको घोषणालाई अध्यक्षमा दाबी गरेकाहरूले अस्वीकार गरेपछि नयाँ कार्यसमितिको घोषणा गर्न सकेको छैन । स्रोतका अनुसार चन्द्रवीरलाई नै अध्यक्ष बनाउने अन्तिम तयारी भएको छ । अध्यक्षमण्डलले अध्यक्षको दाबी गरेका डा. उद्धव पोख्रेल र दीपक ढकाललाई उपाध्यक्षमा राख्ने गरी तयारी गरेको छ ।

    सचिवमा तुलसी ढकाललाई घोषणा गरेर जाने तयारी छ । ‘मोटामोटी यही हो’, समाजवादीका एक नेताले भने, ‘बन्दसत्रले सर्वसम्मत नेतृत्वको म्यान्डेट दिएकाले चन्द्रवीरकै नेतृत्वमा कमिटी घोषणा हुन लागेको छ ।’

    अध्यक्षमण्डलले चन्द्रवीरको नेतृत्वको कार्यसमिति घोषणा गर्ने तयारी भए पनि उपाध्यक्षमा राख्ने भनिएका दुवैले उपाध्यक्षमा बस्न अस्वीकार गरेपछि अध्यक्षमण्डलले नाम घोषणा गर्न सकेको छैन ।

    अध्यक्षमण्डलका एक सदस्यले भने, ‘सिनियर भएका हिसाबले चन्द्रवीरकै अध्यक्षतामा नयाँ कार्यसमिति घोषणा गर्ने तयारी भएको छ । अध्यक्षका अन्य दुई आकंक्षीलाई उपाध्यक्ष बनाउने तयारी गरेको छ ।’

    उनका अनुसार अध्यक्षमण्डलका अध्यक्ष एवं एकीकृत समाजवादीका सचिव बलदेव चौधरी नै नेतृत्व टुङ्ग्याउन छाडेर हिँडेपछि नाम घोषणा हुन सकेको छैन । उनी प्रदेश अधिवेशनको तयारी भन्दै हिँडेका छन् ।

    अध्यक्षमण्डलका सदस्य तथा पोलिटब्युरो सदस्य महेश रेग्मीले नेतृत्व छनोटको प्रक्रिया अझै टुङ्गो नलागेको बताए । उनले भने, ‘हामी छलफलमै छौं । सम्भवतः आजसम्ममा नेतृत्व टुङ्गो लगाउँछौं ।’

    अध्यक्षका आकांक्षी डा. उद्धव पोख्रेलले आफू अध्यक्षबाहेक अन्य पदमा नबस्ने बताए । उनले भने, ‘मैले अध्यक्षको दाबी गरेको हो । हिजो लुकी लुकी संयोजकको रूपमा काम गरेको हो । अहिले अधिवेशनमा आइसकेपछि सहमतिका नाममा पाखा लगाउने काम भइरहेको छ ।’

    नेकपा एकीकृत समाजवादी मोरङको अधिवेशनको उद्घाटन अध्यक्ष माधव नेपालले गरेका थिए । अधिवेशनमा निर्वाचनका लागि मनोनयन दर्ता भएपछि अध्यक्षमण्डलले सहमतिका नाममा निर्वाचनका सबै कागजात पार्टी कार्यालय लगेको थियो । अधिवेशनले ८२ जना सदस्य निर्विरोध रूपमा चयन गरेको छ ।

  • ‘राजा चाइयो’ भन्नेलाई झलनाथको चुनौती- दुई तिहाइ बहुमत ल्याएर संविधानमै व्यवस्था गरेर देखाउनू

    ‘राजा चाइयो’ भन्नेलाई झलनाथको चुनौती- दुई तिहाइ बहुमत ल्याएर संविधानमै व्यवस्था गरेर देखाउनू

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले राजतन्त्रको पक्षमा चैत १५ गते भएको हिसात्मक घटनाको जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाह नै भएको दाबी गरे।

    काठमाडौं स्थित काँडाघारीमा भएको कार्यकर्ता भेटघाट तथा विद्यालयको बार्षिक उत्सव कार्यक्रममा बोल्दै कसैलाई राजा चाहिएको हो भने ‘राजा चाइयो’ भन्ने पार्टी बनाएर आउन चुनौती दिए।

    उनले भने, ‘अनि त्यो पार्टीले संविधान अनुसार चुनाव पनि लड्नुपर्छ । चुनावमार्फत दुई तिहाई बहुमत ल्याउनुपर्छ र संविधान संशोधन गरेर राजा राख्ने व्यवस्था गर्नुहोला । त्यो संवैधानिक हकको कुरा हो । त्यो वाहेक अर्को बाटोबाट नेपालमा राजा आउने सम्भावना छैन् ।’

    उनले एमाले अध्यक्ष केपी ओली सरकार यथास्थितिवादको बाटोमा हिँडेको टिप्पणी गरे। सरकार यथास्थितिवादको बाटोमा हिडिरहेकाले पुनरुत्थानवादीहरु अहिले जुर्मुराएको उनको बुझाइ छ।

    उनले थपे, ‘देशमा संविधान जारी भइसकेपछि आमूल परिवर्तन गर्नुपर्छ भन्ने आम जनआकांक्षा थियो, राष्ट्रको आकांक्षा पनि त्यही थियो । पार्टीका कार्यकर्ताहरु र सम्पूर्ण वामपन्थीहरुको आकांक्षा थियो तर नेतृत्वमा वा सत्तामा पुगेपछि वामपन्थी साथीहरु यथास्थितिको बाटोमा हिड्नुभयो । सामान्य सुधारका कुराहरु अर्थात यति सडक बनाए उति बनाए भन्ने खालका क्रियाकलापमा अल्झिनुभयो ।’

    उनले सरकारले मुलुकको आर्थिक सामाजिक रुपान्तरण गर्ने कुराहरुमा केहीपनि गर्न नसकेको दाबी गरे। उनले भने, ‘भूमि सुधार गर्नुपर्छ, कृषि क्रान्तिका कार्यक्रमहरु ल्याउनुपर्छ भनेर हामीले आवाज उठाइरहयौ, कृषिलाई आधुनिकीकरण गर्नुपर्यो, यन्त्रिकीकरण गर्नुपर्यो भनिरहेका छौं । हरेक किसानले जे उत्पादन गर्छन त्यसको मूल्य पाउनुपर्ने, उत्पादित वस्तुले बजारको ज्ञारेन्टी पाउनुपर्ने भनिरहेका छौं । त्यसको व्यवस्था सरकारले गर्नुपर्छ तर केही गर्न सकिरहेको छैन् ।’

    स्थानीय वार्डका बजारदेखि लिएर पालिका, क्षेत्रीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारको समन्वय गर्ने काम सरकारको भएकाले आफूहरुले आवाज उठाइरहेको बताए।

  • गणतन्त्रवादीहरुको राजनीतिक सम्मेलन गर्न नेकपा एसको प्रस्ताव

    गणतन्त्रवादीहरुको राजनीतिक सम्मेलन गर्न नेकपा एसको प्रस्ताव

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले गणतन्त्रवादीहरुको राजनीतिक सम्मेलन गर्ने प्रस्ताव अघि सारेको छ । राजावादीहरुले अराजक र हिंसात्मक ढंगले व्यवस्थाविरुद्ध आन्दोलन गर्न खोजेको भन्दै गणतन्त्रवादी शक्तिहरुको गोलमेच सम्मेलन प्रस्ताव गरेको हो ।

    शुक्रबार मूलधारका मिडियाका सम्पादकहरुसँगको छलफलमा नेकपा एसका महासचिव घनश्याम भुसालले राजनीतिक दलकै कमजोरी र नेतृत्वको नालायकीमा टेकेर प्रतिगामी तत्वहरु देशलाई पछि धकेल्ने प्रयत्नमा लागेकाले राजनीतिक सम्मेलनको प्रस्ताव गरेको बताए ।

    भुसालले भने- गणतन्त्रमाथि ऐठन देखिएको छ । हाम्रा नालायकीले पनि काम गरेका होलान् । तर समाजलाई यहाँबाट अगाडि बढाउने हो, पछाडि फर्काउने प्रयत्नविरुद्ध सबै गणतन्त्रवादीहरुको राजनीतिक सम्मेलन गरौं भन्ने प्रस्ताव हामी चाँडै सरकारसमक्ष औपचारिक रुपमा राख्नेछौं । सबै पक्षसँग छलफल गरेर साझा धारणा बनाएपछि पार्टीको तर्फबाट वैशाख ५ गतेसम्म लिखित सुझावसहितको प्रस्ताव पेश गर्ने सोचमा छौं ।

    महासचिव भुसालले सार्वजनिक पद धारण गरेका र राजनीतिक दलका नेताहरुको सम्पत्ति छानविन गर्ने आयोग गठनको प्रस्ताव समेत राख्न लागिएको बताए । उनले रोजगारी र सुशासनको लागि अब नयाँ ढंगको आन्दोलन आवश्यक रहेको समेत बताए ।

     

  • नेकपा एस मोरङको नेतृत्व चयनमा अलमल, प्रतिनिधि घरतिर लागे

    नेकपा एस मोरङको नेतृत्व चयनमा अलमल, प्रतिनिधि घरतिर लागे

    विराटनगर । नेकपा एकीकृत समाजवादी मोरङको अधिवेशनमा नेतृत्व चयनमा अलमल भएपछि प्रतिनिधि घर फर्किएका छन् ।

    ४ दिनअघि अध्यक्ष माधवकुमार नेपालले उद्घाटन गरेको अधिवेशनमा अध्यक्ष मण्डलले सर्वसम्मत नेतृत्व चयन गर्ने भनेपनि त्यो सफल हुन सकिरहेको छैन । बुधबार राति छलफलविनै एकैपटक नाम टाँस्ने तयारी भएको थियो ।

    प्रतिनिधिले विरोध जनाएपछि निर्वाचन समितिले मनोनयन फाराम वितरण गरेको थियो । निर्वाचनमार्फत नेतृत्व चयन गरिनुपर्ने मत बलियो भएपछि मनोनयनको कार्य अघि बढाएर सहमतिको प्रयास स्वरूप वार्ता थालिएको एक नेताले बताए ।

    अध्यक्षका निम्ति आयोजक समितिका संयोजक चन्द्रवीर राई, उद्धव पोखरेल, दिपक ढकाल, कविराज घिमिरे, पुरुषोत्तम सुवेदी, हितबहादुर थापा, पदम सुब्बा र ध्रुव डाँगी गरी ९ जनाले मनोनयन गरेका छन् । तर, अध्यक्षमा पोखरेल र ढकालबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

    २ उपाध्यक्ष र १ सचिव पदका लागि ४-४ जनाले उम्मेदवारी दिएका छन् । उपसचिवका लागि ५ जनाले मनोनयन दर्ता गराएका छन् । जिल्ला कमिटीका धेरै सदस्य भने निर्विरोध भइसकेका छन् ।

    अझै पनि अध्यक्ष मण्डलमा रहेका नेताहरूले सहमतिको रटान लाइरहेका छन् । सर्वसम्मत नेतृत्व छान्ने भन्दै कागजात बोकेर अधिवेशनस्थलबाट उनीहरू पार्टी कार्यालय हिँडेपछि प्रतिनिधि पनि अधिवेशनस्थल मनास्लु होटल छाडेर घर फर्किएका छन् । अधिवेशनका लागि ४३६ प्रतिनिधि सहभागी थिए ।

    प्रतिनिधि घर फर्किए पनि नेतृत्व चयन भइनसकेको अध्यक्ष मण्डलका अध्यक्ष तथा नेकपा एसका सचिव बलदेव चौधरीले बताए ।

    उनले भने, ‘हामी आजसम्ममा सर्वसम्मत नेतृत्व छान्छौं । अहिले भने टुंगिसकेको छैन । अध्यक्ष मण्डललाई नेतृत्व छान्ने अधिकार प्रतिनिधिले दिएकाले सर्वसम्मत नेतृत्व छान्ने प्रयास भइरहेको छ । त्यही भएर उहाँहरू घर जानुभएको हो ।’

    अध्यक्ष मण्डलका सदस्य वसिम आलमले आज बेलुकासम्ममा नेतृत्व चयन हुने बताए ।

    उनले भने, ‘हामी आकांक्षी सबैलाई छलफल गराएर नेतृत्व छान्ने प्रयासमा छौं । आज बेलुकासम्ममा नेतृत्व छान्छौं ।’

    अधिवेशनले ९१ जनाको कार्यसमिति चयन गर्नेछ ।

  • नेकपा एस मोरङमा आकांक्षीको लर्को, कागजात बोकेर अध्यक्ष मण्डल बाहिरियो

    नेकपा एस मोरङमा आकांक्षीको लर्को, कागजात बोकेर अध्यक्ष मण्डल बाहिरियो

    विराटनगर । नेकपा एकीकृत समाजवादी मोरङको नेतृत्व चयनमा सकस भएपछि निर्वाचनसँग सम्बन्धित कागजपत्र लिएर नेताहरू अधिवेशन स्थलबाट बाहिरिएका छन् ।

    एकीकृत समाजवादीको मोरङ जिल्ला अधिवेशनमा आकांक्षी धेरै भएपछि नेताहरू कार्यक्रमस्थलबाट पार्टी कार्यालयतर्फ गएका छन् । तीन दिनअघि पार्टी अध्यक्ष माधवकुमार नेपालले अधिवेशन उद्घाटन गरेका थिए । विराटनगरको मनास्लु होटलमा जारी अधिवेशनमा अध्यक्ष पदमा ९ जनाले मनोनयन दर्ता गराएका छन् ।

    नेकपा एसका पोलिटब्युरो सदस्य महेश रेग्मीले हलले अध्यक्ष मण्डललाई सर्वसम्मत नेतृत्व छान्ने अनुमति दिएकाले छलफलका लागि पाटी कार्यालय आएको बताए ।

    उनले भने ‘अध्यक्षसहित पदाधिकारीमा धेरैजना आकांक्षी हुनुभएकोले थप छलफल र सहमतिबाट नेतृत्व टुंग्याउने प्रयास भइरहेको छ । आज बेलुकासम्ममा हामी नेतृत्व छान्छौं ।’

    अधिवेशनस्थलमा गएरातिबाट नै सर्वसम्मत नेतृत्व चयनको प्रयास गरिएको थियो । सर्वसम्मत टीम बनाउने भन्दै केन्द्रीय उपाध्यक्ष जगन्नाथ खतिवडा, वरिष्ठ नेता घनेद्र बस्नेत, केन्द्रीय सचिव बलदेव चौधरी, पोलिटब्युरो सदस्य महेश रेग्मीलगायत नेता मैदानमा खटिएका छन् । तर, हलमा निर्वाचनमा जानुपर्ने माग उठेको छ । निर्वाचनमा जानुपर्ने दबाब आएपछि अध्यक्ष मण्डल नै अधिवेशनस्थल छाडेर हिँडेको प्रतिनिधिले बताएका छन् ।

    हिजो छलफलविनै एकैपटक जिल्ला नेतृत्वको नाम टाँस्ने तयारी भएको थियो । प्रतिनिधिले विरोध जनाएपछि निर्वाचन समितिले मनोनयन फाराम वितरण गरेको थियो । निर्वाचनमार्फत नेतृत्व चयन गरिनुपर्ने मत बलियो भएपछि मनोनयनको कार्य अघि बढाएर सहमतिको प्रयास स्वरूप वार्ता थालिएको एक नेताले बताए ।

    अध्यक्षका निम्ति आयोजक समितिका संयोजक चन्द्रवीर राई, उद्धव पोखरेल, दिपक ढकाल, कविराज घिमिरे, पुरुषोत्तम सुवेदी, हितबहादुर थापा, पदम सुब्बा र ध्रुव डाँगीले मनोनयन गरेका छन् । तर, अध्यक्षमा पोखरेल र ढकालबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

    २ उपाध्यक्ष र १ सचिव पदका लागि ४-४ जनाले उम्मेदवारी दिएका छन् । उपसचिवका लागि ५ जनाले मनोनयन दर्ता गराएका छन् । जिल्ला कमिटीका धेरै सदस्य भने निर्विरोध भइसकेका छन् ।

    क्षेत्रगतरूपमा जिल्ला सदस्य निर्विरोध भइसकेको अहिले अन्य पदमा समेत दुई/तीन वटा नाममा केन्द्रित भई छलफल भइरहेको रेग्मीले बताए ।

    अध्यक्ष मण्डलको अध्यक्षमा बलदेव चौधरी छन् । सदस्यमा ओसिम आलम, महेश रेग्मी, विद्या चाम्लिङ, सीता पौडेल, निलम ढुंगेल र सेमन्तराज भण्डारी छन् । ६ क्षेत्रगत संरचनाबाट आउनेमध्ये अधिकांश जिल्ला सदस्य निर्विरोध निर्वाचित भइसकेको निर्वाचन समितिले जनाएको छ ।

    नेकपा एस मोरङको अधिवेशनमा ४३६ प्रतिनिधि सहभागी छन् ।

  • कांग्रेस, माओवादी र एसको त्यो हस्ताक्षर, जसले गर्‍यो नेपाल रेडक्रसको विश्व बदनाम

    कांग्रेस, माओवादी र एसको त्यो हस्ताक्षर, जसले गर्‍यो नेपाल रेडक्रसको विश्व बदनाम

    काठमाडौं । नेपालमा लोकतन्त्र भन्दा दलतन्त्र हाबी छ भन्ने आरोप लाग्दै आएको छ । र, त्यो आरोप पुष्टि हुने कुरा गैर दलीय संस्थाहरूमा दलीय उपस्थिति तथा हस्तक्षेप हो ।

    गत वर्ष नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा एसको तीन दलीय भागबन्डामा भएको नेपाल रेडक्रसका अनुहारहरूको चलन । त्यही चयनको आधारमा बुधवार इन्टनरनेसनल फेडेरेसन अफ रेड क्रसले पाँच नेपाली रेडक्रस पदाधिकारीहरूलाई कारबाही गरेको छ ।

    टाइप १, टाइप २ र टाइप ७ का तीन खाले कसुरमा कारबाही गरिएको पत्र नेपाल रेडक्रसका अध्यक्ष तथा उपाध्यक्षलाई जेनेभामा मुख्यालय भएको रेडक्रसको कम्प्लायन्स एण्ड मेडिएसन कमिटीकि र्यापोर्टर क्रिस्टिना कुम्पुलाले पठाएकी छिन् ।

    रोचक कुरा नेपाल रेडक्रसका अध्यक्ष प्राध्यापक सुदर्शन प्रसाद नेपालले आफैँलाई टाइप १, टाइप २ र टाइप ७ को कसुरमा कारबाहीमा परेको पत्र बुझ्न बाध्य भएका छन् ।

    उनलाई नेपाली कांग्रेससँग जोडेर रेडक्रसको सिद्धान्त पुरा नगरेको, दायित्व पुरा नगरेको तथा दलीय हस्तक्षेप गरेको कसुर लागेका छन् ।

    उनी बाहेक कारबाहीमा परेका नेपाली कांग्रेसको नाम जोडिएकाहरूमा विनोद कुमार बस्नेत र मनोज कुमार थापा छन् भने नेकपा (माओवादी केन्द्र) र नेकपा एसबाट क्रमशः नारायण तिम्सिना र भूपतिलाल श्रेष्ठ छन् ।

    यी कारबाहीमा परेकाहरूले २०८० मा एक सहमति पत्रमा हस्ताक्षर गरेर दलीय भागबन्डा गरेका थिए । उनीहरूले गरेको सहमति पत्रको अनुसूची १ मा दलीय भागबन्डाको देखिने उदाहरण थियो ।

    ‘निर्वाचनमा निम्न अनुसारको समूहगत प्रतिनिधित्व सुनिश्चित गर्ने’ भनेर गरेका दलीय भागबन्डाका तीन क्लस्टर बुँदा यस्ता थिए:

    – नेपाली कांग्रेसको समूहबाट अध्यक्ष, उपाध्यक्ष (खुला), उपमन्त्रीसहित जम्मा १५ जना

    – नेकपा एस समूहबाट महामन्त्री, उपकोषाध्यक्षसहित जम्मा ६ जना

    – नेकपा (माओवादी केन्द्र) बाट उपाध्यक्ष (महिला), कोषाध्यक्ष सहित जम्मा आठ जना

  • माधव नेपालको दाबी- ज्ञानेन्द्र शाह नेपालका ठूला व्यापारी, राजा बन्ने गुण छैन (भिडिओ)

    माधव नेपालको दाबी- ज्ञानेन्द्र शाह नेपालका ठूला व्यापारी, राजा बन्ने गुण छैन (भिडिओ)

    विराटनगर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राजावादीको आन्दोलन ‘ग्रान्ड डिजाइन’ अनुसार भएको जिकिर गरेका छन् । उनले कहाँबाट डिजाइन भयो भन्ने चाहीँ बताएनन् ।

    विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै नेपालले ज्ञानेन्द्र शाह नेपालका ठूला व्यापारीमध्ये एक भएको बताए ।

    उनले भने, ‘उहाँ नेपालका व्यापारीमध्ये ठूला व्यापारी हुनुहुन्छ, अरू होइन । राजा भनेको त्याग, तपस्या र बलिदान गरेर आउने आदर्श व्यक्ति हुनुपर्छ । कुनै महात्मा वा साधु हुनुपर्छ ।’

    पूर्वराजा ज्ञानेन्द्र शाहमा राजामा हुने कुनै गुण नभएको टिप्पणी गर्दै नेपालले राजतन्त्रको वंशाणुगत शासन प्रणालीको आलोचना गरे ।

    ‘किन चाहियो रगतको शासन ? जनताको मनको शासनलाई नमान्ने, जनताको चेतनामा विश्वास नगर्ने राजा हुन सक्दैनन् । यस्ता सोचले नयाँ हिटलर जन्माउन सक्छ’, उनले भने, ‘संसार दास युग वा सामन्ती युगमा फर्कन सक्दैन । अब पुँजीवादी युगमा पनि बस्ने होइन । समाजवादी युगमा जाने हो ।’

    कुनै पनि गाउँको हुलडबाजले मान्छे जम्मा पारेर आन्दोलन गर्नुलाई लोकप्रियता मान्न नसकिने भन्दै उनले राजतन्त्रको पुनर्स्थापनाको सम्भावना नरहेको ठोकुवा गरे ।

  • झलनाथको आरोप- मूर्ति बेचेर बाहिरबाट नेपालमा हेरोइन भित्र्याउने पहिलो व्यक्ति पूर्वराजा ज्ञानेन्द्र हुन् (भिडिओ)

    झलनाथको आरोप- मूर्ति बेचेर बाहिरबाट नेपालमा हेरोइन भित्र्याउने पहिलो व्यक्ति पूर्वराजा ज्ञानेन्द्र हुन् (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले चिहानमा गाडेको राजतन्त्र ब्युँतिने कुनै सम्भावना नभएको बताएका छन् । पार्टी निकट खेलकुद महासंघले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजावादीहरूको चरित्र तीनकुने घटनाबाटै प्रस्ट भइसकेको बताए ।

    उनले पूर्वराजा ज्ञानेन्द्र शाह मूर्तिचोर भएको दाबी गरे ।

    नेता खनालले भने, ‘त्यति बेलाका अधिराजकुमारहरू ज्ञानेन्द्र, धीरेन्द्र नेपालको मूर्ति चोर्ने, बाहिर लाने, उनीहरूसँग डिप्लोमेटिक ब्याग हुन्थ्यो । डिप्लोमेटिक ब्यागमा खानतलासी हुँदैन, त्यो खानतलासी नहुने डिप्लोमेटिक ब्यागमा देशका अमूल्य चिजहरू बाहिर लाने र बाहिरबाट हेरोइन जस्ता चिजहरू ल्याउने काम गर्थे ।’

    उनले नेपालको मूर्ति बेचेर नेपालमा सबैभन्दा पहिलो पटक हेरोइन भित्र्याउने मान्छे पूर्वराजा ज्ञानेन्द्र नै भएको आरोप लगाए ।

  • ओली नेकपा एसको कार्यालयमा आएको फोटो राख्दै प्रकाश ज्वालाले लेखे- आइस ब्रेक !

    ओली नेकपा एसको कार्यालयमा आएको फोटो राख्दै प्रकाश ज्वालाले लेखे- आइस ब्रेक !

    काठमाडौं । पार्टी फुटाएर माधव नेपालले अर्को पार्टी खोलेदेखि एमाले अध्यक्ष केपी ओली र नेपालबीच झण्डै साढे ३ वर्षदेखि पानी बाराबारको अवस्था छ ।

    तर, आज प्रधानमन्त्रीसमेत ओली नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा पुगे । ओली हिजो दिवंगत भएका नेकपा एस सम्वद्ध वरिष्ठ पत्रकार तथा लेखक कमल कोइरालालाई अन्तिम श्रद्धाञ्जली दिन पुगेका थिए ।

    उनी पार्टी कार्यालयभित्रै छिरे, शुक्रबार आगजनीबाट क्षति पुगेको संरचना अवलोकन गरेर आवश्यक जानकारी गरे ।

    ओलीले नेकपा एसका अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाललगायत नेतासँग बसेर कुराकानी पनि गरे । ओली पुगेकै बेला एमालेबाट निकालिएका डा. भीम रावल पनि त्यहाँ थिए ।

    ओली, नेपाल, खनाल र रावलसहितको फोटो राखेर नेकपा एसका उपाध्यक्ष तथा प्रवक्ता प्रकाश ज्वालाले फेसबुकमा लेखेका छन्, ‘आइस ब्रेक !’

  • बालेनलाई धन्यवाद दिँदै माधवले भने- पूर्वराजालाई जरिवाना गरेर हिम्मत देखाए (भिडिओ)

    बालेनलाई धन्यवाद दिँदै माधवले भने- पूर्वराजालाई जरिवाना गरेर हिम्मत देखाए (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई धन्यवाद दिएका छन् ।

    पार्टीनिकट खेलकुद महासंघको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजारको जरिवाना पत्र काटेर बालेनले हिम्मत देखाएको बताए ।

    उनले भने, ‘काठमाडौं महानगरपालिकाका मेयर बालेनलाई धेरै धेरै धन्यवाद छ, तपाईँले हिम्मत देखाउनुभएको छ । ७ लाख ९३ हजारको जरिवाना पत्र काटेर पठाउनुभएछ । बरु तपाईँले अर्को चिठ्ठी पठाउनुपर्थ्यो प्रशंसा पत्र समाजवादी मोर्चा नेपाल भनेर, त्यसले एउटा पनि फोहोर गरेन । सबै सफा गर्‍यौं ।’

    उनले समाजवादी मोर्चाले गरेको कार्यक्रमले नेपालको राजनीतिमा नयाँ सन्देश दिएको सुनाए ।

    उनले थपे, ‘हामीले निर्देशन पनि दिएका थियौं कुनै चिज फोहोर नरहोस्, सानो कागजको टुक्रा, पानी खाएको बोतल पनि नरहोस् भनेका थियौं, हाम्रो कार्यकर्ताले त्यो काम गरे, हाम्रो कार्यक्रम सभ्य, सुसंस्कृत, संस्कारयुक्त, शान्तिपूर्ण ढंगले सम्पन्न भयो। मान्छेको उपस्थिती देखेर सिंगो देशलाई नै तरंगित गर्‍यो । नेपालको राजनीतिमा पनि सन्देश दियो ।’

  • पहिलोपटक नेकपा एसको कार्यालय पुगे प्रधानमन्त्री ओली

    पहिलोपटक नेकपा एसको कार्यालय पुगे प्रधानमन्त्री ओली

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पहिलोपटक आलोकनगरस्थित नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयमा पुगेका छन् ।

    हिजो दिवंगत भएका नेकपा एस सम्वद्ध वरिष्ठ पत्रकार तथा लेखक कमल कोइरालालाई अन्तिम श्रद्धाञ्जली दिन प्रधानमन्त्री त्यहाँ पुगेका हुन् ।

    प्रधानमन्त्री ओली पुग्दा नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल, महासचिव घनश्याम भुसाल लगायतका नेताहरू पनि थिए ।

    ओलीले उनीहरूसँग केही बेर भलाकुसारी गरे । साथै, कार्यालयभित्र पसेर गत चैत १५ गते भएको आगजनीबाट पुगेको क्षतिको पनि अवलोकन गरेको कार्यालय सचिव रामकुमार भट्टराईले बताए ।

    नेकपा एमालेलाई विभाजित गर्दै २०७८ भदौ २ गते नेकपा एस दर्ता भएको थियो । सो पार्टीको कार्यालयमा ओलीले पहिलोपटक पाइला टेकेपश्चात् दुई दलबीच सम्बन्ध सुधारको संकेत देखिएको छ ।

  • शुक्रबारको आगजनी, तोडफोड र लुटपाटको नेकपा एसले देशव्यापी भण्डाफोर गर्ने (भिडिओ)

    शुक्रबारको आगजनी, तोडफोड र लुटपाटको नेकपा एसले देशव्यापी भण्डाफोर गर्ने (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले राजावादीको हिंसात्मक क्रियाकलापको भर्त्सना गर्दै देशव्यापीरूपमा भण्डाफोर गर्ने निर्णय गरेको छ ।

    आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर सो पार्टीले शुक्रबार राजावादीले हत्या, हिंसा, निजी तथा सार्वजनिक सम्पत्तिमा आगजनी, तोडफोड र लुटपाटका उदण्ड, विध्वंसकारी र जनविरोधी क्रियाकपाल गरेको भन्दै उक्त क्रियाकलापको देशव्यापी भण्डाफोर गर्ने जनाएको हो ।

    पार्टी कार्यालय तथा अन्य स्थानमा भएको हिंसात्मक क्रियाकलापविरुद्ध चैत २५ गतेभित्र सबै प्रदेश, जिल्ला, स्थानीय कमिटी र जनसंगठनले सम्बन्धित तहमा विरोध प्रदर्शन गर्ने समाजवादीका केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख प्रकाश ज्वालाले बताए ।

    ‘तथाकथित राजावादी प्रदर्शनका नाममा भएको हत्या, हिंसा, आगजनी, तोडफोड र लुटपाटमा संलग्न व्यक्तिहरूलाई तत्काल कडाभन्दा कडा कानूनी कारवाही गर्न माग गर्छौं’, उनले भने’ ‘उचित समयमा उचित ढंगले सुरक्षाकर्मी परिचालन गरेर शान्ति सुरक्षा कायम गर्न नसक्नु सरकारको असक्षमता र कमजोरी भएकाले सरकारको कमजोरी र गैरजिम्मेवार व्यवहारको विरोध पनि गर्छौं ।’

    ज्वालाले आफ्ना पार्टी प्रतिगामी षडयन्त्र, दरवारिया अराजकता र पश्चगमनविरुद्ध आन्दोलनमा होमिएकै कारण प्रतिक्रियावादीहरूले निशाना बनाएको धारणा राखे । नेकपा एसले प्रदर्शनमा ज्यान गुमाएका व्यक्तिप्रति श्रद्धाञ्जली अर्पण तथा शोकाकुल परिवारमा समवेदना व्यक्त गर्दै मृतकका परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन पनि माग गरेको छ ।

  • नेकपा एसका अध्यक्ष माधव नेपालको घरमा राजवादीले गरे ढुङ्गामुढा

    नेकपा एसका अध्यक्ष माधव नेपालको घरमा राजवादीले गरे ढुङ्गामुढा

    काठमाडौं । राजावादीहरुले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको निवासमा ढुङ्गामुढा गरेका छन् । अध्यक्ष नेपालको कोटेश्वरमा रहेको घरमा आन्दोलनबारीले ढुंगामुढा गरेका हुन् ।

    यसअघि राजावादीहरुले नेकपा एसको केन्द्रीय कार्यालय आलोकनगरमा पुगेर आगजनी र तोडफोट गरेका थिए ।

    तीनकुनेबाट उग्र भएको राजावादीको आन्दोलनको नाममा विभिन्न ठाउँमा पुगेर लुटपाट र तोडफोड गरिरहेका छन् ।