Category: नेकपा एस

  • मन्त्री झाँक्रीद्वारा सय दिनको काम सार्वजनिक, ६ महिनामा मन्त्रालयको पुँजीगत खर्च १७ प्रतिशत

    मन्त्री झाँक्रीद्वारा सय दिनको काम सार्वजनिक, ६ महिनामा मन्त्रालयको पुँजीगत खर्च १७ प्रतिशत

    काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले कार्यभार सम्हालेपछिका एक सय दिनमा गरेका कामको फेहरिस्त सार्वजनिक गरेकी छन् ।

    मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री झाँक्रीले ३७ बुँदे कार्यप्रगति विवरण सार्वजनिक गरेकी हुन् । उनले नीतिगत व्यवस्थापन, विभिन्न आयोजना र कार्यक्रममा भएको काम पनि सार्वजनिक गरेकी छन् ।

    कार्यक्रममा चालु आर्थिक वर्षमा मन्त्रालयको कुल बजेट ३० अर्ब ८४ करोडमध्ये चालुतर्फ ३५ र पुँजिगततर्फ १७ प्रतिशत खर्च भएको कार्यक्रममा जानकारी दिइयो । ६ महिनामा मन्त्रालयको समग्र प्रगति १८ दशमलब ९१ प्रतिशत छ ।

  • नेकपा एसनिकट कर्मचारी संगठनका अध्यक्षसहित केन्द्रीय र जिल्ला समिति एमालेमा फर्किए

    नेकपा एसनिकट कर्मचारी संगठनका अध्यक्षसहित केन्द्रीय र जिल्ला समिति एमालेमा फर्किए

    काठमाडौं । नेकपा एकीकृत समाजवादीनिकट नेपाल निजामति कर्मचारी संगठनका अध्यक्षसहितका पदाधिकारी र सदस्य एमाले निकट मूल संगठनमै फर्किएका छन् ।

    एमाले विभाजनलगत्तै नेपाल कर्मचारी संगठन विभाजित भएको थियो । विभाजित भएको संगठनका अध्यक्ष रेवन्त गौतमसहित वरिष्ठ उपाध्यक्ष मोहन गिरी र अधिकांश पदाधिकारीसहित सो संगठन नेपाल निजामति कर्मचारी संगठनमा विलय भएको हो ।

    नेपाल निजामति कर्मचारी संगठन ११ औं राष्ट्रिय महाधिवेशन आयोजक समितिका संयोजक केदार प्रसाद देवकोटा र एसनिकट संगठनका अध्यक्ष तथा हाल सचिवालय सदस्य गौतमले संयुक्त विज्ञप्ति जारी गर्दै माघ १४ र १५ मा हुने महाधिवेशन सम्पन्न गर्न आह्वान गरेका छन् ।

    एस निकट संगठनका संस्थापक अध्यक्ष गौतम, वरिष्ठ उपाध्यक्ष मोहन गिरी, उपमहासचिव रामचन्द्र अधिकारी, सचिव ओम कठायत एमाले निकट संगठनमै फर्किएका छन् ।

    त्यस्तै केन्द्रीय सदस्यहरु अमर गिरी, पदमराज जोशी,रामचन्द्र पण्डित, शान्ति विष्ट, लक्ष्मी योगी, अमृता रावत, जयदेश जोशी लगायत २१ जना केन्द्रीय सदस्य र जिल्ला अध्यक्ष तथा विभागीय सदस्यसमेत ३०१ जनाले नेकपा एस परित्याग गरेको गौतमले बताए ।

  • माधव नेपाललाई कोरोना पुष्टि

    माधव नेपाललाई कोरोना पुष्टि

    काठमाडौ. । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाललाई कोरोना पुष्टि भएको छ ।

    मंगलवार नेता नेपाललाई कोरोना पुष्टि भएको नेकपा एसका उपमहासचिव तथा प्रचारविभाग प्रमुख जगन्नाथ खतिवडाले बताए ।

    कोरोना पुष्टि भएपछि नेपाल आफ्नै निवासमा आइसोलेसनमा बसिरहेका छन् ।

    उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

  • लुम्बिनीमा एमाले जिल्ला अधिवेशनका बाछिटा : असन्तुष्ट नेताहरु धमाधम पार्टी छाड्दै

    लुम्बिनीमा एमाले जिल्ला अधिवेशनका बाछिटा : असन्तुष्ट नेताहरु धमाधम पार्टी छाड्दै

    रुपन्देही । नेकपा एमालेको जिल्ला अधिवेशन जारी रहेको छ । शुक्रबारबाट जारी अधिवेशनमा आधाभन्दा बढी जिल्लामा अधिवेशनले नेतृत्व समेत चयन गरिसकेको छ ।

    अधिकांश जिल्लामा सर्वसम्मतिले नेतृत्व चयन भएको छ । केही ठाउँमा सहमतिका नाममा पेलेरै नेतृत्व चयन गरिएको भन्दै असन्तुष्टि पनि जनाइरहेका छन् । सहमतीय चुनावी प्रकृयाले लुम्बिनी प्रदेशमा सो पार्टी केही क्षमतावान नेताहरुले पार्टी जिम्मेवारी छाडेका छन् ।

    पार्टी केन्द्रले नै सकेसम्म सहमतिमै नेतृत्व छान्न दिएको निर्देशनले नेकपा एकताका समयमा जोडिएका पूर्व माओवादी खेमाबाट आएका नेताहरुको व्यवस्थापन तथा १० बुँदे सहमति गरेर आएका नेताहरुको भावनाको कदर गर्ने अपेक्षा गरिएपनि लुम्बिनीमा त्यो पूर्ण देखिएन ।

    निर्वाचन प्रकृयामै नगएका कारण माओवादी खेमाबाट आएकाहरुमा कुनै समस्या नदेखिएपनि १० बुँदे सहमतिबाट आएका समूहमध्येबाट धेरै असन्तुष्टि देखिएको छ । १२ जिल्ला रहेको लुम्बिनीमा १० जिल्लामा अधिवेशन सकिँदा ७ वटामा सर्वसम्मत नेतृत्व छानिएको थियो भने ३ जिल्लामा निर्वाचन प्रकृयाबाट नेतृत्व छनौट भएको छ ।

    निर्वाचनबाट नेतृत्व छानिएका जिल्लामा धेरै नेता कार्यकर्ताको गुनासो आएन तर जहाँ सर्वसम्मत छानियो ती जिल्लामा केही शीर्ष नेताहरुले पार्टीबाटै अलग्गै बसेको घोषणा गरेका छन् ।

    नयाँ नेतृत्व सर्वसम्मत घोषणा भएको दाङ एमाले निवर्तमान अध्यक्ष टिकाराम खड्काले त्यहाँको चुनावी प्रकृयाबाट पूर्ण असहमति जनाउँदै आफ्नो लामो राजनीतिक जिम्मेवारीबाट नै अलग्गै रहेको घोषणा गरेका छन् ।

    एमाले महासचिव शंकर पोखरेलको गृहजिल्लाका निवर्तमान अध्यक्षले पार्टी छोड्ने अवस्था आउनु सामान्य विषय लिन नहुने एमाले नेताहरुले बताउन थालेका छन् । उनी माधव नेपाल समूहमा रहेर १० बुँदे सहमतिपछि एमालेमै रहेका नेता हुन् ।

    उनले सामाजिक सञ्जालमा लेखेका छन् :-

    दाङ कम्युनिष्ट आन्दोलनको उर्वर भूमि हो । नेपालको कम्युनिष्ट आन्दोलनको इतिहासलाई अध्ययन गर्दा दोस्रो तेस्रो स्थानमा पर्दछ । दाङको किसान आन्दोलन पनि जेठो छ । यस्तो जिल्लामा जन्मिएर हुर्केर सामाजिक मुक्ति आन्दोलनको सहयात्री हुन पाउँदा गर्व अनुभूति भएको छ । म २०३५।३५ सालको पंचायतविरोधी आन्दोलनको रापचापले परिवर्तनको पक्षमा आकर्षण भएँ । सुरूमा अनेरास्ववियु अनेकिसंघको माध्यमबाट सामेल हुने अवसर मिलेको थियो २०३९देखि भूमिगत गतिविधि पार्टी सम्पर्कमा रहि राजनीतिमा उमेरको १६ वर्षमै होमिएँ । २०४२ सालमा अनेरास्ववियु दाङ जिल्ला कमिटी सदस्य र सहसचिव हुँदै गर्दा आठ महिना जेल बस्नुपर्यो । त्यसपछि २०४४ साल देखि २० वर्ष उमेरमा पार्टी राजनीतिमा कृयाशील भएँ । दाङ, रोल्पा, रुकुम, सल्यान र प्युठानमा पार्टी र जनसंगठनको जिम्मेवारी लिएर काम गर्ने मौका मिलेको थियो । दाङमा पनि २०५७ सालदेखि पार्टी जिल्ला कमिटीमा आजका दिनसम्म सकृय राजनीतिमा कृयाशिल रहें । त्यो पूर्व २०४७ सालमा बैशाख ९ गतेदेखि २०५६ माघसम्म रोल्पामा पूर्ण पेशेवर कार्यकर्ताको रुपमा पार्टी संगठनको जिम्मेवारी लिएको थिएँ । आज म ज्यादै खुसी छु संगठनको काम गर्दा सबै मित्र को निकै ठूलो सहयोग पाएँ । म सबैलाई धन्यावाद र कृतज्ञता प्रकट गर्दछु । नेकपा एमाले दाङको १३ औ जिल्ला अधिवेशनलाई भव्यरूपमा सफल पार्न सहयोग गर्ने सहयोगी मित्रहरुलाई आयोजकका नाताले धन्यावाद दिन चाहन्छु । आराम गर्ने अवसर प्राप्त भएको छ । अब सांगठनिक जिम्मेवारीबाट विश्राम लिने मनस्थितिमा छु ।

    अर्घाखाँचीका एमाले नेता खुबिराम आचार्यले सर्वसम्मत नेतृत्व छनौटको विषयलाई यस्तै असन्तुष्टि जनाएका छन् । उनले निर्विरोध निर्वाचित ९० जनाको कमिटी खारेज नगरे सामुहिक राजीनामा दिने नेता खुबिराम आचार्यले बताएका छन् ।

    एमाले अर्घाखाँचीको अधिवेसन निरंकुशताको पराकाष्ट भएको बताएका नेता आचार्यले सामाजिक संजालमा असन्तुष्टि पोख्दै माग गरेका छन्, ‘इमान्दार कार्यकर्ता बाहिर राखेर नेता विशेषका मान्छे भर्ती केन्द्र पार्टी नबनाउ, यो गल्ती तुरुन्त सच्चाउ, केही समय पर्ख र हेरमा बसौ नत्र सबैले एक साथ राजीनामा दिने तिर सोचौला ।’

    उनले लेखेका छन् :-

    एमाले अर्घाखाँची जिल्ला अधिवेशनको नाम दिएर हिजो इमान्दार कार्यकर्ताहरुमाथि गरिएको प्रहार कुनै दिन पनि क्षम्य हुने छैन । इमान्दार कार्यकर्ता पाखा लगाएर हिजो नेता विशेषले मनगणन्ते आफ्ना मान्छे जिल्ला कमिटीमा भर्ती गरिएकोप्रति घोर आपत्ति जनाउँदै नेता भनाउदाले आफ्नो पकेटमेन भर्ती गरे पनि हामी इमान्दार कार्यकर्ताले बनाएको पार्टी नेकपा एमाले भएकाले यो कमिटी नेता विशेषको गुटको कमिटी मात्र हो । यस कमिटीबाट निरुत्साहित भएर पार्टीबाट राजीनामा दिनुहुन सम्पूर्ण युवासाथीहरुमा हार्दिक अनुरोध गर्दछु । पार्टी अहिलेका नेता भनाउँदा भजन मण्डलीको मात्र होइन, हामी सबैइमान्दार कार्यकर्ता तथा सबै युबा कमरेडहरुको लगानी रगत पसिना भिजाएर बगाएको पार्टी भएकाले अहिलेको यो अधिबेशन नाम दिएको कमिटी नेता विशेष को मात्र हो । इमान्दार कार्यकर्ता बाहिर राखेर नेता विशेषका मान्छे भर्ती केन्द्र पार्टी नबनाउ यो गल्ती तुरुन्त सच्चाउन अपिल गर्दै म सधै पार्टीप्रति इमान्दार कार्यकर्ता र युबा साथीहरुको साथमा म रहने छु । नेता बिशेषको पकेटमेनको बिरोध गरौं केही समय पर्ख र हेरको अबस्थामा बसौ । म सधै तपाईंहरुको सुख दुख दुखमा साथमा छु अहिले राजीनामा नगरौं ।

    जिल्ला उपाध्यक्षका आकांक्षी खुबिराम आचार्यले पार्टीभित्र इमान्दार कार्यकर्तालाई पाखा लगाएर गरेको अधिवेशन निरंकुशताको पराकाष्ठा भएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् । उनले उम्मेदवारीका लागि दिएको दरखास्त च्यातिदिएर अन्तिममा दिएको दस्तुर फिर्ता र दरखास्त कागज डस्टबिनमा फाल्ने काम गरिदिएको बताए ।

    उता नेकपा एमाले पाल्पाका निवर्तमान उपाध्यक्ष मोहन थापा मगर पार्टीबाट अलग रहेको घोषणा गरेका छन् । नवौं जिल्ला अधिवेशनमा अध्यक्ष पदमा दाबी गरेका थापा मगरले अबको जीवन राजनीति नभै समाजिक रुपमा अगाडि बढ्ने बताउँदै सामाजिक रुपमा अगाडि बढ्दा जस्तैसुकै अफ्ट्यारो परिस्थिति आए पनि सधै जनताको बीचमा रहिरहने बताएका छन् ।

    उनले लेखेका छन् :-
    २०४६ सालको जनआन्दोलन सफलता सङ्गै पार्टी खुल्ला हुँदै गर्दा मेरो खुला राजनीति जीवन ४२ वर्षपछि आज २०७८÷०९÷२५ गते आजकै मितिदेखि अलग रहने निर्णय गरेको छु, मैले मेरो राजनीतिक जीवनमा धेरै जनताको घरदैलो गरेको छु धेरैले मेरो विश्वास र वचनलाई नकार्न नसकेर नेकपा (एमाले) लाई माया गर्नु भयो सूर्य चिन्हमा मतदान गर्नुभयो मलाई यहाँसम्म आउदा तपाईहरुले माया स्नेह प्रदान गर्नुभयो यहाँहरुप्रति हृदयदेखि आभार व्यक्त गर्दछु अबको मेरो जीवन राजनीति नभै समाजिक रुपमा अगाडि बढ्दा जस्तोसुकै अफ्ट्यारो परिस्थिति आइ परे यहाँहरुको बीचमा रहिरहने छु । बाँकी अधुरो काम सामाजिक क्षेत्रबाटै पूरा गर्ने वचनबद्धता व्यक्त गर्दछु । धन्यवाद ।

    त्यसैगरी अधिवेशन प्रकृयाबाट असन्तुष्ट राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सचिव गोबिन्द प्रसाद भुसालले एमाले परित्याग गरेका छन् ।

    पार्टीभित्र चरम गुटबन्दी, व्यक्तिगत मनोमानी, चरम अवसरबाद, नातावाद कृपावाद र नेतृत्वमा देखिएको निरंकुशता देखिको आरोप लगाउँदै साधारण सदस्यसमेत नरहने गरी एमाले परित्याग गरेको सचिव भुसालले बताएका छन् ।

    युवासंघ अर्घाखाँचीका इन्चार्ज रहेका भुषालले भनेका छन :-

    नेकपा एमालेका वडा, नगर हुँदै हालै सम्पन्न राष्ट्रिय महाधिवेशन तथा जिल्ला अधिबेशनसम्म आइपुग्दा पार्टीभित्र चरम गुटबन्दी, व्यक्तिगत मनोमानी, चरम अवसरवाद, नातावाद कृपाबाद र नेतृत्वमा देखिएको निरंकुशता जस्ता प्रवृत्तिबाट हामीजस्ता इमानदार र निष्ठावान नेता तथा कार्यकर्ताहरु एमाले पार्टी र यसका जनवर्गीय संगठनहरुमा रहेको निरन्तर काम गर्नसक्ने अवस्था नदेखिएकाले आजका मितिदेखि राष्ट्रिय युवासंघ नेपालको केन्द्रीय सचिवलगायतका सम्पूर्ण जिम्मेवारीबाट राजीनामा गर्दै नेकपा एमालेको साधारण सदस्यसमेत नरहने गरी एमाले परित्यागको घोषणा गर्दछु ।’

    नेकपा एमाले रुपन्देहीका सदस्य तथा युवा नेता देवराज पोखरेलले अधिवेशन प्रकृयाबाट असन्तुष्ट हुँदै राजनीतिबाटै अलग्गै भएको घोषण गरेका छन् ।

    पार्टीभित्र गलत प्रवृद्धिको खरो आलोचना गर्ने नेता पोखरेलले सामाजिक सन्जालमा लेखेका छन् :-
    लेटरप्याडको नाम र दराजमा थन्काएको दस्तावेजबाहेक व्यवहारमा सबै पार्टी उस्तै उस्तै हुन ! त्यसैले नेपालमा सबभन्दा धेरै विकल्प भएको क्षेत्र नै राजनीति हो ! कुनै दुःखेसो छैन ! एमालेलाई आफ्नो ऊर्जाशील जीवनको २८ वर्ष दिए ! कोभिडबाट बाहिर निस्किएपछि बिभिन्न विकल्पसहित दृढतापूर्वक अगाडि बढिन्छ !

    नेपालगञ्जका पुराना पत्रकार झलक गैरे एकताका क्रममा ठूलो जिल्ला कमिटी निर्माण भएपनि अहिले घटाउँदा समस्या आएको बताउँछन् । नेतृत्व चयनमा आकांक्षीहरुलाई एक ठाउँमा राखेर कुरा गर्न सके भए यस्तो समस्या समाधान हुने सम्भावना हुने उनको भनाई छ ।

    उनी भन्छन्, ‘अधिवेशनमा सबै नेताहरुलाई पद पुग्दैन, पहिले ठूलो संख्यामा जिल्ला कमिटी बनाइएको थियो एकताको क्रममा, अहिले घटाउँदा सबै अटाउने कुरा भएन तर नेतृत्वले आकांक्षीहरुलाई राखेर कुरा गरेकाले बाँकेमा त्यति धेरै समस्या आएन सर्वसम्मत भएपनि अन्य जिल्लामा आकांक्षीहरुलाई नै वेवास्ता गरी नाम घोषणा गर्दा समस्या आएको सुनिएको छ ।’

    उनले शीर्ष नेताहरुले थकाउने, गलाउने र आकांक्षीहरुलाई निरन्तर संवाद गरेका कारण बाँकेमा धेरै समस्या नआएको बताए ।

    विश्लेषक ऋषि आजादले सहमतिका नाममा नेतृत्वले नेताहरुलाई आफ्नो परीक्षण गर्न नदिएका कारण एमालेमा दशकौं बिताएका सादगी नेताहरु बाहिरिनुपर्ने अवस्था आएको बताएका छन् ।

    उनी भन्छन्, ‘सर्वसम्मत बनाउने प्रयासमा थकाउने, गलाउने, आफ्नो नजिककालाई मात्र अगाडि बढाउने गरिँदा एमालेलाई भयानक क्षति हुनसक्छ, नेतृत्वमा जान चुनावमा जान डराउने तर दशकौं एउटै पद छोपेर बस्ने प्रवृतिले पार्टी बलियो बनाउँदैन ।’

  • नेकपा एसले भन्यो– नेपाली भूमिमा भारतले सडक बनाउनु अवैधानिक

    नेकपा एसले भन्यो– नेपाली भूमिमा भारतले सडक बनाउनु अवैधानिक

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले नेपाली भूमि लिम्पायाधुरा–लिपुलेक क्षेत्रमा सडक बनाउनु अवैधानिक भएको बताएको छ ।

    हालै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कालापानी क्षेत्रबाट मानसरोवर क्षेत्रमा पुग्ने सडक बनाइरहेको बताएका थिए ।

    नेकपा एसका विदेश विभाग प्रमुख झलनाथ खनालले एक विज्ञप्ति जारी गर्दैै यो नेपालको सर्वभौमिकतामाथि हस्तक्षेप भएको बताएका छन् ।

    खनालले विज्ञप्तिमा नेपाली भूमि रक्षा गर्न आवश्यक कदम चाल्न समेत नेपाल सरकारसँग आग्रह गरेका छन् ।

  • एमालेले निष्कासन गरेका १४ सांसदको मुद्दा पेसीमा, आज पनि हेर्न नभ्याइने सम्भावना

    एमालेले निष्कासन गरेका १४ सांसदको मुद्दा पेसीमा, आज पनि हेर्न नभ्याइने सम्भावना

    काठमाडौं । पटक-पटक पेसीमा चढेर पनि सुनुवाइ नहुन नसकेको नेकपा एमाले विभाजनको कानूनी मान्यतासम्बन्धी मुद्दा आज पुनः पेसीमा चढे पनि धेरै तल रहेकाले हेर्न नभ्याइनेमा पर्ने देखिएको छ । न्यायाधीश आनन्दमोहन भट्टराई र ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासमा सो मुद्दाको पेसी परेको छ ।

    नेकपा एमालेले साधारण सदस्य र सांसद सदस्यबाट निष्कासन गरेका १४ जनालाई पदमुक्त नगरी सभामुखले गैरकानूनी काम गरेको तथा तीनै व्यक्तिको सनाखतबाट नयाँ दल दर्ता भएको भन्दै परेको मुद्दामा आज सुनुवाइ हुँदैछ ।

    एमालेले साउन २५ को केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार माधव नेपालसहित १४ सांसदलाई निष्कासन गरेको पत्र भदौ १ गते संसद सचिवालय र निर्वाचन आयोगमा पठाएको थियो ।

    तर, सचिवालयले सो सूचना टाँस नगरेपछि माधव नेपालले एमालेबाट विभाजनका लागि निर्वाचन आयोगमा निवेदन दिए । आयोगले नेकपा एकीकृत समाजवादीलाई दलको मान्यता दिइसकेपछि मात्र संसद सचिवालयले नयाँ दल दर्ता भइसकेकाले कारबाही गर्नु नपर्ने सूचना टाँस्यो ।

    कानूनबमोजिम पार्टीले प्रक्रिया पूरा गरेर निष्कासन गरेका सांसदहरुलाई सभामुखले पदमुक्त गरेको सूचना टाँस्नुपर्ने भन्दै एमालेले उनीहरुलाई सांसदको रूपमा संसदमा प्रवेश दिएको विरोधमा सदन अवरोध गरिरहेको छ ।

    अदालतले ओलीको मागअनुसार अन्तरिम आदेश दियो भने नेकपा एसका सांसदहरू माधव नेपाल, मुकुन्द न्यौपाने, भवानी खापुङ, कृष्णलाल महर्जन, जीवनराम श्रेष्ठ, रामकुमारी झाँक्री, विरोध खतिवडा, मेटमणी चौधरी, निरा जैरु, सरला यादव, पुष्पा कर्ण कायस्थ, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी र कलिला खातुनको सांसद पद रहने छैन ।

    त्यस्तै लुम्बिनी प्रदेशका एमालेको सूर्य चिन्हबाट निर्वाचित प्रदेशसभा सदस्य अजयवहादुर शाही र विमला वलीलाई निष्कासन गरेको निर्णय कायन्वयन नभएकोमा पनि ओलीले प्रदेश सभामुखलाई विपक्षी बनाएर मुद्दा दायर गरेका थिए । सो पनि सँगै पेसीमा चढेको छ ।

  • दुई राउटे युवतीसँग मन्त्री झाँक्रीले लाइन् मीत

    दुई राउटे युवतीसँग मन्त्री झाँक्रीले लाइन् मीत

    काठमाडौं । फिरन्ते जीवनशैली बिताउँदै आएका राउटे समुदाय स्थायी बसोबासमा मन बसाल्दैनन् । तर, सरकारले उनीहरुलाई स्थायी बासस्थानमै बसाल्ने भन्दै चालु आर्थिक वर्षमा दुई करोड बजेट विनियोजन गरेको छ ।

    त्यसलाई कार्यान्वयनमा ल्याउन शुक्रबार सहरी विकासमन्त्री रामकुमारी झाँक्रीसहितको सरकारी टोली सुर्खेतको सिम्ता गाउँपालिका–४ कालीखोलामा पुग्यो ।

    राउटे समुदायकाबीच पुगेर चाहेकै जस्तो भवन, चाहेकै स्थानमा बनाइदिने प्रस्ताव मन्त्री झाँक्रीले राखिन् । तर, उनको प्रस्ताव राउटे अगुवाहरुले मानेनन् ।

    त्यसपछि सरकारी टोलीले एउटा जुक्ति निकाल्यो, ‘मितेरी साइनो गाँस्ने’ । झाँक्रीले सम्झना शाही र गाजलु शाहीसँग मितेरी साइनो गाँसिन् भने भवन विभागका महानिर्देशक पदमकुमार मैनालीले प्रकाश शाहीसँग मित लगाए ।

    त्यहाँ टोपी, कपडा र सरसामान आपसमा साटासाट गरी मित लगाइयो । यसले राउटे समुदायमा पनि खुशीयाली छायो । त्यसपछि राउटे अगुवाहरूले अस्थायी भवनमा बस्न सहमति जनाए । अब सहरी विकास मन्त्रालयले अस्थायी आवासको प्राविधिक डिजाइन तयार गरी भवन बनाइदिने छ ।

    राउटे समुदायसँग मितेरी गाँसेकी मन्त्री झाँक्रीले व्यक्तिगत खर्चमा ७० थान ब्ल्याङ्केट र एक थान त्रिपाल राउटे समुदायलाई प्रदान गरिन् । राउटे महिलाहरुसँग मितेरी गाँसेकी झाँक्री छुट्दा भने भावुक बनिन् ।

    ‘साईनो वास्तवमै प्रिय हुने रहेछ,’ उनले सामाजिक संजालमा लेखेकी छिन्, ‘गाजलु र सम्झनालाई अंगालोमा बेरेर धेरै टाढा नजानु म फेरी आउनेछु भनेर छुट्टिदा साहै नमिठो लाग्यो ।’

    झाँकीको भनाइ छ, ‘मलाई त साच्चै माया पनि लागेर आयो । प्रकाश शाहीले तिमी मेरो बहिनी हो भन्दा अझै रमाईलो लाग्यो । दाई शब्दमा पनि जिम्मेवारी हुने रहेछ । उहाँले त्यो पनि दर्शाउनु भयो ।’

    राउटे समुदायलाई हस्तान्तरण गर्ने भवनको डेमो छिट्टै तयार पार्ने मन्त्री झाँकीको भनाइ छ ।

    ‘फेरी भेट्ने केही बाचा हाम्रा सामुहिक छन्, केही वाचा मेरा, केही बाचा हाम्रो टिमका छन्,’ उनको भनाइ छ, ‘केही बाचा राउटेतर्फ मेरा आफन्तका छन् । छिट्टै हामीले केही डिजाइन सहित डेमो प्रस्तुत गर्नेछौं ।’

    ‘यसमा मेरा केही मौलिक अवधारणा छन् । हाम्रो प्राविधिक साथीहरुलाई यो अवधारणा भनेको छु । अब आफ्ना आफ्ना कन्सेप्टहरू अगाडी लिएर छलफल गछौँ र एउटा निष्कर्षमा पुग्नेछौं,’ उनको भनाइ छ ।

  • ओलीमाथि नेपालको गाली– विचरा बालकोट पुगेर भुक्दैछन्, कोही डाक्टर भए उपचार गर्दिनुस् (भिडिओ)

    ओलीमाथि नेपालको गाली– विचरा बालकोट पुगेर भुक्दैछन्, कोही डाक्टर भए उपचार गर्दिनुस् (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति आक्रामक रुपमा प्रस्तुत हुन थालेका छन् ।

    ओलीलाई गाली गर्ने क्रममा उनले शब्दका बौछार नै चलाइरहेका छन् ।

    शनिवार आफ्नो निर्वाचन क्षेत्रमा आयोजित कार्यक्रममा ओलीलाई भुक्ने कुकुरको संज्ञा दिदै कोही डाक्टर भए उनको उपचार गर्न सुझाव समेत दिए । ओली दम्भी, अहंकारी र खराब प्रवृतिको मान्छे भएको उनको आरोप थियो ।

    नेपालले भने– बालुवाटारबाट बालकोट पुग्दा पनि भुक्न छाडेको होइन । विचराको त्यो हालत,बालकोट पुग्नेबित्तिकै भुक्नुपर्ने । कोही डाक्टर हनुुहुन्छ भने उपचार गर्दिनुस् ।

    ओलीलाई आफ्ना पूराना नेता कार्यकर्ताभन्दा राप्रपा र महन्थ ठाकुरहरु प्यारा लागेको टिप्पणी गरे । उनले ओलीमाथि गालीका कुनै शब्द बाँकी राखेनन् ।

    प्रचण्डको पिठ्युँलाई सिँढीको रुपमा प्रयोग गरेर अग्लो बन्ने योजना अनुसार ओलीले नेकपा एकता गरेको समेत नेपालले आरोप लगाए ।

    उनले भने– कमरेड प्रचण्डको टाउकोमा चढेर अग्लो हुने सोच रहेछ,प्रचण्डको पिठ्युँलाई सिँढीको रुपमा प्रयोग गरेर अग्लो हुने योजना रहेछ । पार्टी एकतापछि उनले पार्टीलाई हेप्न थाले । बैठक नै नगर्ने,छलफल नगर्ने र भाग्ने गर्न थाले । हामीमाथि अपमान गरे ।

  • माधव नेपाल भन्छन्- केपीले राष्ट्रियसभामा हार स्वीकार गरे, दम्भी स्वभावले कसरी दियो होला (भिडिओ)

    माधव नेपाल भन्छन्- केपीले राष्ट्रियसभामा हार स्वीकार गरे, दम्भी स्वभावले कसरी दियो होला (भिडिओ)

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभा निर्वाचनमा आफ्नो हार स्वीकार गरेको बताएका छन् ।

    शुक्रबार काठमाडौं महानगर कमिटीको घोषणा सभालाई सम्बाधोन गर्दै नेपालले त्यो ओलीको स्वभावविपरीतको स्वीकारोक्ति भएको समेत बताए ।

    ‘केपीले हार स्वीकार गरेका छन्, पराजय स्वीकार गरेका छन्,’ नेपालले भने, ‘कसरी स्वीकार गरे छन्, उनको दम्भी स्वभावले त दिँदैन ।’

    आजै एमाले जिल्ला अधिवेशनको उद्घाटन गर्दै ओलीले राष्ट्रियसभाको चुनावी परिणाम आफूहरुका लागि प्रतिकुल हुन सक्ने भन्दै त्यो पुरानो जनमतको दुरुपयोग भएकोको बताएका थिए।

    एमालेले एकैपटक देशभरका अधिवेशन उद्घाटन गरेको प्रति पनि टिप्पणी गरे। यसबाट नेतृत्व विकास नहुने उनको भनाइ छ। ‘देशैभरी एकैपटक जिल्ला अधिवेशन उद्घाटन गर्ने रे,’ नेपालले भने, ‘यसरी नयाँ नेतृत्व स्थापित हुँदैन । त्यसरी नगरेको भए नेताहरु जिल्ला-जिल्ला जाने थिए । कार्यकर्ता परिचालित हुने थिए ।’

    नेपालले ओलीसँग देवत्वकरण गर्नेहरू मात्रै रहेको आरोप लगाए । ‘देवत्वकरण गर्ने मात्रै छन्,’ नेपालले भने, ‘भजनमण्डली छन् । त्यहाँ सिद्दान्त निष्ठ, आलोचनात्मक चेत भएका मानिस छैनन् । त्यहाँ पुजक प्रवृत्ति बोकेका, हनुमान प्रवृत्ति बोकेका मात्रै छन् ।’

    त्यसकै कारण एमालेमा जिल्ला जिल्लामा विद्रोहको ज्वाला फैलिँदै गएको र एकीकृत समाजवादीमा प्रवेश गर्ने लहर चलिरहेको नेपालको दाबी छ।

  • मन्त्रिपरिषदमा आलेको प्रश्न : राजाको सम्पत्ति ब्यापारीलाई कौडीको भाउमा दिन गणतन्त्र ल्याएको हो ?

    मन्त्रिपरिषदमा आलेको प्रश्न : राजाको सम्पत्ति ब्यापारीलाई कौडीको भाउमा दिन गणतन्त्र ल्याएको हो ?

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेलाई प्रधानमन्त्री शेरबहादुर देउवाले पछिल्ला एक्सनको लागि स्याबासी दिएका छन् ।

    मन्त्रिपरिषदको बुधवारको बैठकमा मन्त्री आलेले सरकारी सम्पत्ति संरक्षण र सम्पदाहरुमा बनाउन लागिएका संरचनाहरु बन्न नदिने अडान लिएपछि प्रधानमन्त्रीले ‘स्याबास’ भनेका हुन् ।

    आलेले मौखिक आदेशबाट नारायणहिटी संग्रहालयभित्र क्याफ्टेरिया निर्माणको कार्य रोकिएको छ ।

    मन्त्रिपरिषद बैठकमा आलेले मन्त्रिपरिषद बैठकबाट हुने कुरा बाहेक मन्त्रीस्तरबाटै निर्णय गरेर सार्वजनिक सम्पत्तिहरुको संरक्षणका कदम चाल्ने जानकारी गराएका थिए ।

    ‘गणतन्त्र ल्याएको राजाका करोडौका सम्पत्ति कौडीको भाउमा व्यापारीलाई दिनको लागि हो ? नारायणहिटी संग्राहलयमा आज कसैले क्याफ्टेरिया खोल्छ,भोलि वाइन सप खोल्छु भनेर अर्को आउला यसरी दिने हो कि संरक्षण गर्ने हो’ मन्त्री आलेको भनाइ थियो ।

    अरु मन्त्रीले पनि उनका पछिल्ला कदमको प्रशंसा गरेका थिए । आलेले पर्यटन बोर्डका सिइओ हटाउन छानविन समिति गठन गरेका छन् ।

  • राष्ट्रियसभा निर्वाचन : प्रदेश १ मा गठबन्धनकाे मनाेनयन दर्ता

    राष्ट्रियसभा निर्वाचन : प्रदेश १ मा गठबन्धनकाे मनाेनयन दर्ता

    विराटनगर । राष्ट्रियसभा निर्वाचनका लागि प्रदेश १ मा जसपाबाट हेमराज राई, नेकपा एसबाट जयन्ती राई र कांग्रेसबाट गोपाल बस्नेतले उम्मेदवारी दिएका छन् ।

    राष्ट्रियसभाका १९ जना निर्वाचित सदस्य र एक जना मनोनित सदस्यको आगामी २० फागुनबाट कार्यकाल सकिने भएकाले १२ माघमा निर्वाचन हुँदै छ ।

  • नेकपा एसकी अर्घाखाची सहइन्चार्ज तथा गाउँपालिका उपाध्यक्ष गौतम कांग्रेसमा प्रवेश

    नेकपा एसकी अर्घाखाची सहइन्चार्ज तथा गाउँपालिका उपाध्यक्ष गौतम कांग्रेसमा प्रवेश

    काठमाडौं । नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सदस्य तथा पाणिनी गाँपालिका उपाध्यक्ष लक्ष्मी गौतम नेपाली कांग्रेसमा प्रवेश गरेकी छन् । गौतम नेकपा एसको अर्घाखाची जिल्ला सहइन्चार्ज समेत थिइन् ।

    सोमवार कांग्रेस महामन्त्री गगन थापाले गौतमलाई कांग्रेसमा स्वागत गरेका हुन् । उनले एमाले विभाजनपछि नेकपा एस रोजेकी थिइन् ।

    पार्टी प्रवेश कार्यक्रममा कांग्रेस नेता पुष्पा भुसाल, सन्जय गौतम, डिल्लीराम सुवेदी लगायतले सम्बोधन गरेका थिए ।

  • नेकपा (एस)ले क-कसलाई बनायो राष्ट्रियसभा उम्मेदवार ? (सूचीसहित)

    नेकपा (एस)ले क-कसलाई बनायो राष्ट्रियसभा उम्मेदवार ? (सूचीसहित)

    काठमाडौ । नेकपा एकीकृत समाजवादीले राष्ट्रियसभा सदस्यका लागि उम्मेदवार तय गरेको छ ।

    सत्ता गठबन्धनमा भएको भागबण्डा अनुसार नेकपा एसले ५ सदस्य पाएको छ ।

    जस अनुसार नेकपा एसले प्रदेश १ बाट जयन्ती राई, बागमतीबाट गोमा तिमल्सिना, लुम्बिनीबाट राजेन्द्रलक्ष्मी गैरे, कर्णालीबाट उदयवहादुर बोहोरा र सुदूरपश्चिमबाट गरिमा शाहलाई उम्मेदवार बनाइएको प्रचार विभाग प्रमुख तथा उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए ।

  • नेकपा एसका पोलिटव्यूरो सदस्य यदुवंश झा एमाले फर्किए

    नेकपा एसका पोलिटव्यूरो सदस्य यदुवंश झा एमाले फर्किए

    काठमाडौं । पूर्वमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का पोलिटव्यूरो सदस्य यदुवंश झा नेकपा (एमाले)मा फर्किएका छन् । एमाले विभाजन हुँदा समाजवादीतिर लागेका झालाई एमाले अध्यक्ष केपी ओलीले पुनः पार्टीमा प्रवेश गराएका हुन् ।

    प्रदेश २ मा प्रभावशाली नेताका रुपमा रहेका झालाई एमालेमा ल्याउन स्थायी कमिटी सदस्य प्रभु साह र केन्द्रीय सदस्य सन्जीव कुमार झाले भूमिका खेलेका थिए ।

    झा तत्कालीन नेकपाका केन्द्रीय सदस्य थिए । उनी २०७० मा माले समाजवादीका सहअध्यक्ष थिए । एमालेका तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालले झालाई पार्टी प्रवेश गराएका थिए ।

  • एमाले पाल्पाका पूर्वअध्यक्ष रायमाझी नेकपा एस प्रवेश

    एमाले पाल्पाका पूर्वअध्यक्ष रायमाझी नेकपा एस प्रवेश

    रुपन्देही । पाल्पाका पुराना एमाले नेता यादवबहादुर रायमाझी नेकपा एसमा प्रवेश गरेका छन् । नेकपा एमाले पाल्पाका पूर्वजिल्ला अध्यक्ष एवं पूर्व सांसद रायमाझी नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् ।

    तानसेनमा पत्रकार सम्मेलन गरी रायमाझीले एमाले अध्यक्ष केपी ओलीले पार्टीलाई विधि विधान र कम्युनिष्ट आचारणविपरीत अधिनायकवादी सोंचअनुसार सञ्चालन गरेकाले एकीकृत समाजवादी रोज्न बाध्य भएको बताए ।

    पाल्पामा एमालेको दुई कार्यकाल अध्यक्ष रहेका रायमाझी तत्कालीन नेकपामा विवाद हुँदा माधव नेपाल–प्रचण्ड पक्षमा थिए । तर एमाले विभाजनपछि भने उनी एमालेमै रहेका थिए । उनी एमालेका केन्द्रीय सल्लाहकार परिषद सदस्य थिए ।

    विगतदेखि नै पार्टीमा चरम विकृति र बिसंगति बढेको र त्यसलाई सच्याउन प्रयास गरे पनि असफल भएको रायमाझीले उल्लेख गरे । रायमाझीले एकीकृत समाजवादीले दिने जिम्मेवारी इमान्दारिपूर्वक निभाउने बताएका छन् ।

    उनीसंँगै एमाले जिल्ला कमिटी सदस्यहरु धनबहादुर रायमाझी, देवीप्रसाद पौडेल, महेश बराल पवि एकीकृत समाजवादीमा प्रवेश गरेको पार्टीका लुम्बिनी प्रदेश सचिव राजु गुरुङले जानकारी दिए ।

  • एमालेमा केन्द्रीय सदस्य नपाएका कर्माचार्यलाई नेकपा एसले पोलिटब्यूरो सदस्य बनाउँदै

    एमालेमा केन्द्रीय सदस्य नपाएका कर्माचार्यलाई नेकपा एसले पोलिटब्यूरो सदस्य बनाउँदै

    काठमाडौं । नेकपा एमालेसँगको ४० वर्ष लामो आबद्धता त्यागेको घोषणा गरेका पूर्वसांसद सुवास कर्माचार्यलाई नेकपा एकीकृत समाजवादीले केन्द्रीय सदस्यमा मनोनीत गरेको छ ।

    नेकपा एसको सचिवालय बैठकले सिन्धुपाल्चोकका नेता कर्माचार्यलाई केन्द्रीय सदस्य मनोनीत गरेको हो । उनलाई अब बस्ने बैठकबाट पोलिटब्यूरो सदस्य बनाएर सिन्धुपाल्चोकको इन्चार्जको जिम्मेवारी दिने तयारी भइरहेको नेकपा एसका एक नेताले बताए ।

    नेकपा एमालेमा केन्द्रीय सदस्य नपाएपछि कर्माचार्यले विद्रोहको बाटो रोजेका थिए । उनको पार्टी प्रवेश कार्यक्रम भने केही पछि सिन्धुपाल्चोकमै हुने नेकपा एसका नेता गम्भीरलाल श्रेष्ठले बताए ।

  • ओलीलाई ‘एमसीसीको मतियार’ भन्दै साध्यवहादुर भण्डारी नेकपा एससँग एकताको तयारीमा

    ओलीलाई ‘एमसीसीको मतियार’ भन्दै साध्यवहादुर भण्डारी नेकपा एससँग एकताको तयारीमा

    काठमाडौं । राष्ट्रवादी धारका पुराना कम्युनिष्ट नेता साध्यबहादुर भण्डारी नेकपा (एकीकृत समाजवादी) मा जाने भएका छन् ।

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ‘अमेरिकी साम्रान्यवादको दलाल’ ठहर गर्दै उनले नेकपा एस रोजेका हुन् ।

    जनमोर्चा पृष्ठभूमिका भण्डारी पछिल्लोपटक एमालेमा थिए । तर, एमसीसीको विरुद्धमा एमालेले स्पष्ट अडान नलिएकोमा उनी सन्तुष्ट भएनन् ।

    एमालेमा विभाजन आएसँगै अध्यक्ष ओलीलाई ‘एमसीसीको दलाल’ भन्दै उनी पार्टीबाट बाहिरिए । तर, नेकपा एसमा पनि नगई तटस्थ बसिरहेका थिए ।

    अहिले माधव नेपालले एमसीसी जस्ताको तस्तै पारित हुनु नहुने अडान लिएको भन्दै भण्डारीले नेकपा एस रोजेको उनीनिकट स्रोतले बतायो ।

    भण्डारीले नेतृत्व गरेको राष्ट्रिय जागरण परिषद नामक संगठन पनि नेकपा एसमा मिलाउने भएका छन् । स्रोतका अनुसार आगामी १६ गते पार्टी एकता कार्यक्रम राखिएको छ ।

  • नेकपा जनवादीसँग एकतापछि छमछमी नाचे माधव नेपालसहितका नेताहरु (भिडिओ)

    नेकपा जनवादीसँग एकतापछि छमछमी नाचे माधव नेपालसहितका नेताहरु (भिडिओ)

    काठमाडौं । चार महिना अगाडि मात्रै निर्वाचन आयोगमा दर्ता भएको नेकपा एकीकृत समाजवादी पार्टीमा ‘नेकपा जनवादी नामको पार्टी पार्टी एकीकृत भएको छ ।

    आज आयोजना भएको एकीकरण घोषणा समारोहमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल निकै खुशी देखिए ।

    एकता घोषणा कार्यक्रममा भाषण मात्रै नभएर कलाकारहरुले विभिन्न प्रस्तुति पनि दिएका थिए । यसक्रममा माधव नेपालसहितका नेताहरु स्टेजमा छमछमी नाचे ।

    पार्टीनिकट कलाकारले ‘आयो समाजवादी…’ बोलको गीत प्रस्तुत गरिरहँदा नेताहरुले आफ्नो ‘नृत्यकला’ प्रस्तुत गरेका थिए ।

    श्रम मन्त्रीसमेत रहेका नेकपा एसका नेता किसान श्रेष्ठ अध्यक्ष नेपाललाई नाच्न सिकाइरहेको देखियो । मन्त्री श्रेष्ठ आफैंमा राम्रो दोहोरी गायक हुन् ।

  • एकीकृत समाजवादी र नेकपा जनवादीबीच एकता हुँदै

    एकीकृत समाजवादी र नेकपा जनवादीबीच एकता हुँदै

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) र नेकपा (जनवादी) बीच पार्टी एकता हुने भएको छ ।

    मंगलवार काठमाडौंको राष्ट्रिय सभागृहमा एक कार्यक्रमकाबीच पार्टी एकता घोषणा हुन लागेको हो ।

    नेकपा (जनवादी) पार्टीले २०६२ सालमा जुनयुद्धकै बेला तत्कालिन नेकपा माओवादीबाट विद्रोह गरेको

    चुङवाङ बैठकबाट प्रचण्डको कार्यदिशामा असहमति जनाउँदै आफूहरुले विद्रोह गरेको नेकपा जनवादीकी नेतृ जानुका श्रेष्ठले बताइन् ।

    नेकपा जनवादीको नेतृत्व देवन्द्रसिंह महताले गरिरहेका छन् ।

    महतासहित जानुका श्रेष्ठ, हिमालचन्द्र खरेल, साधुराम चौंलागाई, श्यामबहादुर बूढा, छत्र लाखे, विनोद थापा, मिना गिरी लगायतका नेताहरु एकीकृत समाजवादीमा समाहित हुने भएका छन् ।

  • १४ सांसदको मुद्दा पेसीमा, म्याद बुझ्न नमानेका माधव नेपाललाई तामेलदारको यस्तो चेतावनी

    १४ सांसदको मुद्दा पेसीमा, म्याद बुझ्न नमानेका माधव नेपाललाई तामेलदारको यस्तो चेतावनी

    काठमाडौं । नेकपा एमालेले निष्कासन गरेका माधव नेपालसहित १४ सांसदलाई पदमुक्त नगरी नयाँ दल दर्ता गर्ने निर्वाचन आयोग र सभामुखविरुद्ध परेको मुद्दा आज पेसीमा चढेको छ ।

    एमाले अध्यक्ष केपी शर्मा ओलीले आयोग र सभामुखलाई विपक्षी बनाएको सो मुद्दा सुनुवाइका लागि तेजवहादुर केसी र टंकबहादुर मोक्तानको इजलासमा परेको छ । तर, मुद्दाको सूचीमा उक्त पेसी मध्य भागतिर छ ।

    सर्वोच्च अदालतका न्यायाधीश दीपक कार्की र कुमार चुँडालको इजलासले दशैंअघि गरेको सुनुवाइमा अन्तरिम आदेश नदिइ सक्कल कागज माग्ने र विपक्षीबाट लिखित जवाफ मगाउने आदेश दिएको थियो ।

    सर्वोच्चले पटक-पटक लिखित जवाफ पठाउन ताकेता गरेपनि माधव नेपालसहित नेकपा एसका १४ जना सांसदले म्याद बुझ्न नमानेपछि सर्वोच्च प्रशासनले अदालतको अवहेलनामा मुद्दा चलाउन प्रतिवेदन बनाउने चेतावनी दिएको थियो ।

    माधव नेपाल स्वयं र नेपालका वकिल गोविन्द बन्दीलगायतलाई सर्वोच्च प्रशासनले म्याद नबुझेमा अदालतको अवहेलनामा मुद्दा चलाउने चेतावनी तामेलदारले दिएपछि १४ जनाले लिखित जवाफ पेस गरेका छन् ।

    लिखित जवाफ पेस गरेपछि नेकपा एसका अध्यक्ष नेपालले सर्वोच्च अदालतका अधिकांस न्यायाधीशसँग संवाद गरेको न्यायाधीशहरूबीचमै चर्चा चलेको छ । कतिपय न्यायाधीशसँग नेपालले आफैं भेट गरेका थिए ।

    यसैबीच आज पेसी सूचीमा चढेपछि साप्ताहिक पेसी सूचीलगत्तै कतिपय न्यायाधीश बिदामा बस्ने मनस्थितिमा थिए । केही न्यायाधीश बिरामी बिदामा बसेका छन् ।

    नेकपा एमालेले आफ्नो पार्टीका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिएको लगायत अनुशासनको विषय उठाएर साउन २७ गतेको मितिमा नेपालसहित १४ सांसदलाई निष्कासन गरेर सो पत्र निर्वाचन आयोग र संसद सचिवालयमा पठाएको थियो ।

    नेपालसहित मुकुन्द न्यौपाने, भवानी खापुङ, कृष्णलाल महर्जन, जीवनराम श्रेष्ठ, विरोध खतिवडा, पुष्पा कर्ण कायस्थ, लक्ष्मी चौधरी, मेटमणी चौधरी, कल्याणी खड्का, रामकुमारी झाँक्री, कलिला खातुन, निरा जैरु र सरला यादवललाई एमालेले निष्कासन गरे पनि सभामुखले निष्कासको सूचना टाँस गरेनन् ।

    आयोगले नेकपा एसलाई नयाँ दलको मान्यता दिएपछिमात्र सभामुखले अब केही कारवाही गर्नु नपर्ने भन्ने सूचना टाँस गरेका थिए । त्यसका विरुद्ध एमालेले सदन अवरोध जारी राखेको छ भने अदालतमा मुद्दा चलिरहेको छ ।

  • राष्ट्रियताको नाममा जनतालाई दास बनाउन पाइँदैन : नेपाल (भिडि‌ओ)

    राष्ट्रियताको नाममा जनतालाई दास बनाउन पाइँदैन : नेपाल (भिडि‌ओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रियताको नाममा वंश वा व्यक्तिको दास बन्ने कुरा स्वीकार नहुने बताएका छन् ।

    नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनमा शुभकामना मन्तव्य दिँदै नेपालले राष्ट्रियताका सन्दर्भमा जुनसुकै विचार बोकेपनि सहकार्य हुने बताए ।

    ‘राष्ट्रियताको कुरा हो भने सबै दलहरुको एकता अवश्य हुन्छ । तर राष्ट्रियताका नाममा जनतालाई दास बनाउने कुरा स्वीकार्य हुन सक्दैन । कुनै एउटा व्यक्ति वा वंशको दासत्व जनताले स्वीकार गर्दैनन् । त्यसविरुद्ध लडेर लोकतन्त्र सुदृढ बनाउनुपर्छ’, नेपालले भने ।

    उनले राजनीतिक दलहरुको अगुवाईमा राजनीतिक क्रान्तिको काम सम्पन्न भइसकेको बताए । गण्तन्त्र र संघीयतासहितको संविधानको रक्षा गरेर जनतालाई सुशासन दिनुपर्नेमा नेता नेपालको जोड रहेको थियो ।

    ‘हामीले राजनीतिक क्रान्ति पूरा गरेका छौं । जनतालाई अब सुशासन दिनुपर्नेछ । त्यसका लागि भ्रष्टाचारलाई निमिट्यान्न पार्नुपर्छ’, नेपालले भने ।

    उनले नेपालमा वामपन्थी विचारप्रति जनताको आकर्षण बढ्दै गएको भन्दै वास्तविक कम्युनिष्ट पार्टीलाई जनताले विश्वास गर्ने बताए ।

  • इन्जिनियरहरूसँग मन्त्री झाँक्रीको गुनासो – तपाईंहरूले ढलको बिर्को नमिलाएर मैले दुख पाएँ

    इन्जिनियरहरूसँग मन्त्री झाँक्रीको गुनासो – तपाईंहरूले ढलको बिर्को नमिलाएर मैले दुख पाएँ

    काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले आफूलाई ढलको बिर्कोले दु:ख दिएको गुनासो सुनाएकी छन् । सत्तारुढ दलनिकट इन्जिनियरहरूको कार्यक्रममा बोल्दै इन्जिनियरहरुले ढलको बिर्को मिलाउन नसकेको भन्दै आलोचना गरेकी थिइन् ।

    मन्त्री झाँक्री सत्तारुढ दलहरू माओवादी, नेकपा एस र जनता समाजवादीनिकट इन्जिनियहरूको संयुक्त उम्मेदवारी घोषणा कार्यक्रममा बोल्दै थिइन् ।

    उनले भनिन्, ‘हाम्रो देशका इन्जिनियरले जसरी फिनिसिङ गर्नुुहुन्छ नि, त्यसरी नै सर्जनले अपरेसन गरे भने के होला ?’

    उनले विगतमा स्कुटरमा यात्रा गर्दाको अनुभव पनि सुनाइन् ।

    झाँक्रीले भनिन्, ‘म मन्त्री हुनुअघि दुईपांग्रे स्कुटर चढ्थेँ । कालगतिले मन्त्री बनायो, अहिले गाडी चढिरहेको छु । तर, म स्कुटर चढ्ने मान्छेलाई ढलको बिर्कोले जहिल्यै दु:ख दियो । म पटकपटक लडेँ । यो देशका इन्जिनियरले ढलको विर्को मिलाउने दिन महिले आउला ? यो मेरो व्यवसायीक चुनौती हो ।’

  • आउँने सबै चुनाव माओवादी, नेकपा एस र जसपा गठबन्धनले जित्नेछ : झाँक्री

    आउँने सबै चुनाव माओवादी, नेकपा एस र जसपा गठबन्धनले जित्नेछ : झाँक्री

    काठमाडौं । नेपाल इन्जियिरर्स एशोसियसनको आसन्न निर्वाचनमा सत्तारुढ ५ दलीय गठबन्धन विभाजित भएको छ । नेपाली कांग्रेससमर्थित इन्जिनियरभित्रै दुई प्यानल हुने अवस्थामा गठबन्धनका अन्य घटकले आफ्नै प्यानल घोषणा गरेका छन् ।

    नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत र जनता समाजवादी पार्टीनिकट इन्जिनियरको प्यानल घोषणामा तीनवटा विकासे मन्त्रालयको नेतृत्व गरिरहेका भौतिक पूर्वाधार मन्त्री रेणु यादव, ऊर्जामन्त्री पम्फा भुसाल र शहरी विकास मन्त्री रामकुमारी झाँक्रीसहित शीर्ष नेता उपस्थित भएका थिए ।

    उम्मेदवारी घोषणासभालाई सम्बोधन गर्दै मन्त्री झाँक्रीले यो गठबन्धनलाई हार्ने छुट नभएको भन्दै जिताउनका लागि जुनसुकै सहयोग गर्न आफूहरू तयार रहेको बताइन् ।

    मन्त्री झाँक्रीले एमालेप्रति लक्षित गर्दै यो चुनावबाट एकथरी प्रवृत्तिलाई साइजमा राख्नु आवश्यक रहेको भन्दै अब मुलुकमा लगातार चुनाव आउने भएकाले गठबन्धन बलियो बनाउनुपर्नेमा जोड दिइन् ।

    उनले भनिन्, ‘यो गठबन्धनले स्थानीय तह, प्रदेश र संघीय तहमा उल्लेख्य सफलता पाउँनेछ भन्ने मानक तपाईंहरूले बनाउनुपर्छ । हाम्रोतर्फबाट सबै सहयोग हुनेछ ।’

  • ओलीलाई कंस, रावण र हिटलरसँग तुलना गर्दै माधव नेपालले भने – वाक्क भएर विद्रोह गर्‍यौं (भिडिओ)

    ओलीलाई कंस, रावण र हिटलरसँग तुलना गर्दै माधव नेपालले भने – वाक्क भएर विद्रोह गर्‍यौं (भिडिओ)

    सल्यान । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले अब इतिहासको विषय भइसकेको भन्दै सूर्य चिन्हमा ग्रहण लागिसकेको टिप्पणी गरेका छन् ।

    सल्यानमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एमालेमा अब कोही पनि बस्न नसक्ने दाबी गरे । नेपालले एमाले अध्यक्ष केपी ओलीलाई कंस,रावण र हिटलरसँग तुलना गर्दै आफूहरू वाक्क भएर विद्रोह गरेको बताए ।

    नेपालले भने, ‘सूर्यमा ग्रहण लागिसक्यो । अब कलम लिएर आएका छौं, अबको चुनावमा सूर्यमा होइन कलममा भोट हाल्नुपर्छ । एमाले त अब समाप्त भइसक्यो ।’

    ओलीप्रति चरम घृणा प्रकट गर्दै नेपालले देशकै खराब नागरिकको संज्ञा दिए । अब एमालेलाई कसैले पनि भोट नदिने भन्दै सबै जनता नेकपा एसको पक्षमा उभिएको दाबी नेपालले गरे ।

  • झलनाथको दाबी- ‘सुखी नेपाली, समृद्ध नेपाल’ मैले अघि सारेको नारा (भिडिओ)

    झलनाथको दाबी- ‘सुखी नेपाली, समृद्ध नेपाल’ मैले अघि सारेको नारा (भिडिओ)

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले ‘सुखी नेपाली, समृद्ध नेपाल’को नारा आफूले अघि सारेको बताएका छन् । विहीबार राजधानीमा आयोजित पुस्तक विमोचन कार्यक्रममा एमालेको नवौं महाविधेशनमा आफूले सम्पूर्ण नेपालीको सपनाका रूपमा सो नारा अघि सारेको उनको दाबी छ ।

    ‘सुखी नेपाली, समृद्ध नेपाल मैले नेकपा (एमाले) को नवौं महाधिवेशनमा अगाडि सारेको नारा हो,’ खनालले भने, ‘कम्युनिष्ट आन्दोलन त्यति बेला ठ्याक्क ६५ वर्षमा पुगेको थियो । अब ३५ वर्षमा सय वर्षमा पुग्छ । यो अवधिमा हामीले नेपालमा कम्युनिष्ट आन्दोलनका सामु के लक्ष्य राख्ने त भन्दा सुखी नेपाली समृद्ध नेपाल हुनुपर्छ भनेर अगाडि सारिएको थियो ।’

    तत्कालीन केपी शर्मा ओलीको सरकारले पनि त्यसलाई आफ्नो नाराका रूपमा अघि बढाएपछि चर्चामा आएको थियो । खनालले समाजवादमा पुगेर मात्रै यो नारा पूरा हुने बताए । ‘त्यो अहिले पनि म भन्छु- हाम्रो सपना हो। यो पूरा गर्न सम्पूर्ण जनता एकताबद्ध भएर अगाडि बढनुपर्छ । तर, जबसम्म समाजवाद ल्याउन सकिँदैन, त्यो सपना पूरा हुँदैन ।’

    उनले पार्टी निर्माणको चार महिनामै आफूहरूले राष्ट्रव्यापी पार्टी बनाइसकेको समेत बताए। पालिका र वडातहसम्म अहिले समिति निर्माण भइरहेको खनालको भनाइ छ ।

     

  • संसद अवरोध गरेर एमालेले धुन्धुकारि प्रवृत्ति देखायो : झलनाथ खनाल

    संसद अवरोध गरेर एमालेले धुन्धुकारि प्रवृत्ति देखायो : झलनाथ खनाल

    काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एसका सांसद झलनाथ खनालले एमालेले संसद अवरोध गरेर राष्ट्रलाई अराजकताको खाडलतर्फ धकेलेको टिप्पणी गरेका छन् ।

    आजको संसद बैठकपछि संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै खनालले एमालेको अवरोधलाई ‘मुर्खतापूर्ण बल प्रयोग’ को संज्ञा दिए । प्रतिपक्षी पार्टीको नेतृत्व धुन्धुकारि प्रवृत्तिबाट ग्रस्त भएको उनको आरोप छ ।

    ‘यो एउटा अराजकतावादी कुरा हो । जोसँग तर्कहरू सिद्धिन्छन्, शक्ति सिद्धिन्छ । बौद्धिकता सिद्धिन्छ । मर्यादा सिद्धिन्छ । संवैधानिकता सिद्धिन्छ । त्यस्ता मानिसहरू बल प्रयोगमा लाग्छन् । मुर्खतापूर्ण बल प्रयोग । यो मुर्खतापूर्ण बल प्रयोगभन्दा बढ्ता केही पनि होइन’, खनालले भने’, ‘संसद जनताको आवाज उठाउने, राष्ट्रका आवाज उठाउने, जनताका विभिन्न समस्याहरू उठाउने थलो हो । राष्ट्रका नीति, कार्यक्रम, बजेट, ऐन, कानूनहरू, संकल्पहरू निर्माण गर्ने थलो हो यो । यो थलोलाई नै बन्द गरेपछि, बन्धक बनाएर राखेपछि राष्ट्र कसरी चल्छ ? यो राष्ट्रलाई नै चल्न नदिने, राष्ट्रलाई अराजकताको खाडलतर्फ लाने धुन्धुकारि प्रवृत्ति हो । धुन्धुकारि प्रवृत्तिबाट प्रतिपक्षी पार्टीको नेतृत्व ग्रस्त छ ।’

  • माधव नेपालको आरोप- संसदमा मेरो उपस्थितिले ओलीको सातो गएको छ

    माधव नेपालको आरोप- संसदमा मेरो उपस्थितिले ओलीको सातो गएको छ

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले संसदमा आफ्नो उपस्थितिले एमाले अध्यक्ष केपी शर्मा ओलीको सातो गएको आरोप लगाएका छन् ।

    पोखरामा आयोजित पार्टीको गण्डकी प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा उनले एमालेले संसदमा संविधानको सम्मान गर्ने नारा लगाए पनि कहिल्यै सम्मान नगरेको दाबी गरे । एमालेले संसदीय मर्यादाको समेत पालना नगरेको उनको टिप्पणी छ ।

    ‘कमसेकम मेरो उपस्थितिले केपी ओलीको सातो गइरहेको छ नि । सातो जाओस् । केही मतलव छैन । नेपाली जनताको सातो कायम रहनुपर्छ । नेपाल राष्ट्रको गरिमा माथि उठ्नुपर्छ । कम्युनिष्ट आन्दोलन जोगिनुपर्छ । कम्युनिष्ट आन्दोलनलाई लोकप्रिय बनाउनुपर्छ’, नेपालले भने, ‘केपी ओलीको कब्जामा रहेको, उनको प्राइभेट कम्पनीमा रुपान्तरण भएको कथित नेकपा (एमाले) हाम्रो सबैभन्दा पहिलो प्रतिद्वन्द्वी पार्टी बन्न पुगेको छ । उसले हामीलाई शत्रु घोषणा गरेको छ । हाम्रो अनुहार पनि हेर्दिन भनेको छ । तर, कस्तो संयोग, नेपाली कांग्रेसको कार्यक्रममा अनुहार हेर्दै जानु परेको छ । रमाइलो भा’छ । कांग्रेसको कार्यक्रममा आउन हुने, एउटै स्टेजमा बस्न पनि हुने, तर अन्य ठाउँमा हामीलाई छुवाछुतको व्यवहार गर्ने । अहिले आइरहेका छैनन् संसद बैठकहरूमा ।’

    उनले संसदीय मर्यादाको कुरा गरे पनि एमालेले सदनमा अमर्यादित नारा लगाएको आरोप लाए ।

  • नेकपा एसको काठमाडौं जिल्ला कमिटीले पूर्णकालीन सदस्यलाई मासिक १० हजार दिने

    नेकपा एसको काठमाडौं जिल्ला कमिटीले पूर्णकालीन सदस्यलाई मासिक १० हजार दिने

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को काठमाडौं जिल्ला कमिटीले पूर्णकालीन सदस्यललाई मासिक १० हजार भत्ता दिने भएको छ ।

    अध्यक्ष कुसुमकुमार कार्कीका अनुसार काठमाडौं भित्रका पूर्णकालीनलाई सदस्यलाई मासिक १० हजार रुपैयाँ दिने व्यवस्था गर्न लागिएको हो ।

    क्षेत्रीय कमिटीको सिफारिसमा प्रत्येक निर्वाचन क्षेत्रका २ पूर्णकालिन सदस्यले उक्त रकम पाउने भएका हुन ।

  • माधव नेपालले भने : चुनावमा कसैको बहुमत आउँदैन, केपी ओली गफाडी नम्बर १ (भिडिओ)

    माधव नेपालले भने : चुनावमा कसैको बहुमत आउँदैन, केपी ओली गफाडी नम्बर १ (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अब आउने निर्वाचनमा कुनै पार्टीको बहुमत आउने अवस्था नरहेको बताएका छन् । एमाले एक्लैले बहुमत ल्याउने दावी गरिरहेका केपी ओलीलाई उनले गफाडीको संज्ञा दिए ।

    काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपालले सत्तारुढ दलहरुले राष्ट्रिय सभादेखि उपचुनावसम्म मिलेर लड्ने सहमति भइसकेको दावी गरे । संसदीय चुनावमा पनि सहकार्यका लागि छलफल भइरहेको उनको भनाइ छ ।

    नेपालले भने, भने, ‘यो देशमा गठवन्धनको सरकार लामो समय रहने सम्भावना छ । तर, केपी ओलीले एक्लै बहुमत ल्याउँछु भनिरहेका छन् । फुर्ति त कम छैन हेर्नुस । उनलाई गफाडी नम्बर एक भनेर गिनिजबुकमा नाम लेखिदिए हुन्छ । अरुलाई अपमान र तेजोबध मात्रै गर्ने र पिडा दिने उहाँको स्वभाव छ । परपिडक नम्बर एक केपी ओलीलाई भनिदिए हुन्छ ।’

    नेपालले ओलीलाई सुध्रिन र गल्ति महसुस गर्नका लागि आफूहरुले अझै आग्रह गरिरहेको बताए ।

  • केपी ओलीजस्तो ज्याद्रो मान्छेलाई कमलो मनका प्रचण्डले चिन्नुभएन : माधव नेपाल (भिडिओ)

    केपी ओलीजस्तो ज्याद्रो मान्छेलाई कमलो मनका प्रचण्डले चिन्नुभएन : माधव नेपाल (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तत्कालीन नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष प्रचण्डलाई अन्याय गरेको बताएका छन् ।

    कमलो मनका प्रचण्डले ओलीजस्तो ज्याद्रो मान्छेलाई चिन्न नसकेको उनले गुनासो गरे । पुस ५ का सन्दर्भमा आज काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपालले ओलीलाई धुन्धुकारी व्यक्तिको संज्ञा दिए ।

    ओलीले प्रचण्डसँग आलोपालो अध्यक्ष र प्रधानमन्त्रीका लागि गरेको सहमति पालना नगरेको नेपालले बताए ।

    ओली र प्रचण्डबारे नेपालको भनाइ यस्तो थियो :

    ‘पार्टीमा ओलीले मनोमानी गर्न थालेपछि एक अध्यक्षले पार्टी र अर्कोले सरकार सञ्चालन गर्ने जोडदार माग उठ्यो । सरकार र पार्टी आलोपालो चलाउने सहमति पनि भयो । तर कमरेड प्रचण्ड सोझो हुनुभयो । अब मेरो पालो भन्नुपथ्र्यो नि, भन्दै नभन्ने । भर्खरै एकता भएको छ, पार्टी एकता विग्रिन्छ भनेर होला । उहाँको कमलो मनमा त्यही परेछ । केपी ओलीजस्तो ज्याद्रो मानछेलाई उहाँले चिन्नु भएन । मत हत्तुहैरान भएको मान्छे । तर उहाँलाई पनि ओलीले सहन सकेनन् ।’

  • देशलाई समृद्ध बनाउने पर्याप्त आधार मसँग छन् : माधव नेपाल (भिडिओ)

    देशलाई समृद्ध बनाउने पर्याप्त आधार मसँग छन् : माधव नेपाल (भिडिओ)

    नेकपा (एकीकृत समाजवादी ) पार्टीका अध्यक्ष माधव कुमार नेपालले देशलाई समृद्ध बनाउने पर्याप्त आधारहरु आफूसँग रहेको बताएका छन् । उत्कृष्ठ किसान सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले सबै खालका अन्याय, अत्याचार र शोषण, दमनबाट मुक्ति दिलाउन चाहेको बताए ।

    अध्यक्ष नेपालले यो देशलाई पिछडिएको अवस्थाबाट समुन्नत बनाउने पर्याप्त सम्भावना रहेको भन्दै देशमा नै नागरिकलाई खानका लागि चाहिने खाद्यान्नको आवश्यक परिपूर्ति पूरा गर्न सकिने बताए ।

    उनले नेपालमा रहेको अर्थतन्त्रका क्षेत्रहरुमध्ये कृषि अत्याधिक महत्वपूर्ण भएकोले कृषिलाई सबैभन्दा बढी प्राथमिकता दिएर अघि बढ्नुपर्ने बताए ।

    उनले भने, ‘हामी हाम्रो देश नेपाललाई गरिबी, अभाव र बेरोजगारीबाट मुक्त गराउन चाहन्छौँ । नेपाललाई शोषण, दमन, उत्पीडनबाट मुक्त गर्न चाहन्छौँ । देशलाई सबै खालका असहमानताहरुबाट, अन्याय, अत्याचार र थिचोमिचोबाट मुक्त गर्न चाहन्छौँ । हामी हाम्रो देश नेपालाई सुन्दर बनाउन चाहन्छौँ । नेपाली जनतालाई सुखी बनाउन चाहन्छौँ । हामी प्रत्येक नेपालीहरुको अनुहारमा उज्यालोपन देख्न चाहन्छौँ । मधुरमुस्कान देख्न चाहन्छौँ । प्रशन्न हृदयी भएको देख्न चाहन्छौँ । हामी प्राकृतिक सम्पदामा धनी देश हौँ, कृषि, पर्यावरण, वनजंगलको क्षेत्रमा धनी देश हौँ । फलफूलदेखि लिएर माछामासुसम्म सबै उपभोग्य वस्तुहरु, शरीरको निम्ति अत्यन्तै पोषक तत्वहरु, हामी हाम्रै देशमा उत्पादन गर्न सक्छौँ । हाम्रो नागरिकको आवश्यक्तालाई पूरा गर्न सक्दछौँ । साथै उत्पादन गरेर विदेशमा निर्यात पनि गर्न सक्दछौँ ।’

    अध्यक्ष नेपालले कृषिमा लाग्दा इज्जत नघट्ने भन्दै सरकारले कृषिलाई बजारसँग जोड्न भौतिक पूर्वाधारको विकासमा जोड दिनुपर्ने बताए । उनले सरकारले गुणस्तरलाई हेरर छिटो र छरितो विज्ञान प्रविधिलाई कृषिमा जोड्नुपर्ने बताए ।

    अध्यक्ष नेपालले नेपालमा पर्यटन, जलविद्युत र कलकारखानाहरु खोल्न बलियो सम्भावना रहेको तर यसमा गहिरो अध्ययन अनुसन्धान आवश्यक रहेको बताए । उनले प्रविधिको प्रयोगसँगै वातावरण्लाई पनि त्यत्तिकै महत्व दिन आवश्यक रहेको बताए ।