Category: नेकपा एस

  • व्याख्यात्मक घोषणालाई समर्थन गर्दै एमसीसी अनुमोदन गर्ने नेकपा एसको निर्णय

    व्याख्यात्मक घोषणालाई समर्थन गर्दै एमसीसी अनुमोदन गर्ने नेकपा एसको निर्णय

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले एमसीसी अनुमोदनको पक्षमा उभिने निर्णय गरेको छ ।

    भर्खरै बसेको स्थायी कमिटी बैठकले एमसीसीमाथि व्याख्यात्मक घोषणालाई सर्मथन गर्दै अनुमोदनका पक्षमा उभिने निर्णय गरेको हो ।

    नेकपा एसको स्थायी कमिटी बैठकपछि सचिव रामकुमारी झाँक्रीले गठबन्धनमा बनेको सहमतिअनुसार अगाडि जाने निर्णय भएको जानकारी दिइन् ।

    आज बिहान बालुवाटारमा बसेको गठबन्धन बैठकले व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने निर्णय गरिसकेको छ ।

  • देउवाको हाउभाउ देखेर माधव नेपालको आशंका- केपी ओलीसँग ‘प्याक्ट’ भइसकेछन्

    देउवाको हाउभाउ देखेर माधव नेपालको आशंका- केपी ओलीसँग ‘प्याक्ट’ भइसकेछन्

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच घातक समझदारी बनिसकेको आशंका गरेका छन् । त्यसैले व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्नुपर्ने बाध्यतासमेत उनले सुनाएका छन् ।

    पार्टीको स्थायी कमिटी बैठकमा बालुवाटारको दृष्य ब्रिफिङ गर्दै अध्यक्ष नेपालले आफूले संसद बैठक आज पनि स्थगित गरौं भन्दा देउवाले नमानेको जानकारी दिए । आजै आफूहरूबाट पोजेटिभ निर्णय नआए ओलीसँग सम्झौता गर्न लागेको हाउभाउ देउवाले देखाएको नेपालले बताए ।

    बैठकमा नेपालको भनाइ उदृत गर्दै एक स्थायी कमिटी सदस्यले भने, ‘आजसम्म हामीबाट पोजेटिभ आयो भने ठीक छ, नत्र ओलीसँग प्याक्ट गरेर जाने खालको देखियो । ओलीसँग केही अन्डरस्ट्यान्डिङ भएको होला । हामीसँग नमिले गठबन्धत तोड्ने, सभामुख हटाउने, हामीलाई (१४ सांसद) कारबाही गर्ने, महाअभियोग निष्क्रिय बनाउने, केपीलाई तलका सरकारमा सहभागी गराउने, माथि पनि केपीले भने बमोजिम गर्ने, महन्थ ठाकुरलाई लैजाने यस्तै यस्तै भएको जस्तो लाग्यो ।’

    नेकपा एसको स्थायी कमिटी बैठक बानेश्वरको एक पार्टी प्यालेसमा अहिले पनि जारी छ ।

  • नेकपा एसको स्थायी कमिटी जारी, एमसीसी अनुमोदनबारे निर्णय लिने

    नेकपा एसको स्थायी कमिटी जारी, एमसीसी अनुमोदनबारे निर्णय लिने

    काठमाडौं । नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक जारी छ ।

    बैठकमा संसदबाट एमसीसी अनुमोदन गर्ने विषयमा निर्णय हुने बताइएको छ । सत्तारुढ गठबन्धनमा ‘व्याख्यात्मक टिप्पणी’ सहित एमसीसी अनुमोदन गर्ने सहमति भइसकेको छ । स्थायी कमिटी बैठकमा अध्यक्ष माधवकुमार नेपालले गठबन्धनमा भएको सहमतिबारे जानकारी गराउनेछन् ।

    बैठकले गठबन्धनको मर्म र भावनाअनुसार नै व्याख्यात्मक टिप्पणीसहित एमसीसी पारित गर्ने निर्णय लिने बताइएको छ । केही नेताहरूले भने नोट अफ डिसेन्ट लेख्ने तयारी गरेको बताइन्छ ।

  • आज पनि संसद बैठक रोक्ने माधव नेपालको प्रस्ताव, प्रधानमन्त्रीद्वारा अस्वीकार

    आज पनि संसद बैठक रोक्ने माधव नेपालको प्रस्ताव, प्रधानमन्त्रीद्वारा अस्वीकार

    काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक चलिरहेका बेला नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बालुवाटारबाट बाहिरिएका छन् ।

    बैठकमा नेपालले आफ्नो पार्टीमा निर्णय नभइसकेको भन्दै आजको संसद बैठक पनि रोक्न आग्रह गरेका थिए । तर, प्रधानमन्त्री शेरवहादुर देउवाले नेपालको आग्रह अश्वीकार गरेका छन् ।

    नेपाल स्थायी कमिटी बैठकका लागि बाहिरिएका हुन् ।

    नेपाल बाहिरिए लगत्तै सत्ता गठबन्धनको बैठक पनि केहीबेरमै टुंगिएको छ । व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने निर्णय माओवादीको मात्र भएको भन्दै नेपालले पार्टीमा छलफल गर्न बाँकी रहेका बताएका छन् ।

    प्रधानमन्त्रीको हाउभाउ हेर्दा एमालेसँग भित्रभित्रै सहमति भइसकेको र गठबन्धनप्रति रुची नदेखिएको पाइएको ब्रिफिङ नेपालले आफू निकट नेताहरुसँग गरेका छन् ।
    आफूहरुलाई पनि एमसीसीमा फसाउने र कुनै पनि बेला एमालेका माग सम्बोधन गर्ने डर माधव नेपालमा देखिएको एक नेताले बताए ।
  • प्रचण्ड-माधवलक्षित बाबुरामको कटाक्ष- भेडाको खोल ओढ्ने ब्वाँसाहरू

    प्रचण्ड-माधवलक्षित बाबुरामको कटाक्ष- भेडाको खोल ओढ्ने ब्वाँसाहरू

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा), नेपालका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रचण्ड र माधवतर्फ संकेत गर्दै ‘भेडाको खोल ओढ्ने ब्याँसा’ को संज्ञा दिएका छन् ।

    गठबन्धन जोगाउन एमसीसी पारित गराउने पक्षमा उनीहरू उभिएसँगै भट्टराईले दोहोरो भूमिका खेल्ने समाजको दुस्मन भन्दै कटाक्ष गरेका हुन् ।

    ‘कुनैपनि राजनीतिक/सामाजिक मुद्दामा पक्ष र विपक्ष हुनु स्वाभाविक कुरा हो । पक्ष र विपक्षमा हुने दुवैले आफ्नो सोंच/निष्ठाको धर्म निर्वाह गर्छन्,’ भट्टराईले आज बिहान सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘तर आफ्नो निजी/दलीय/गुटीय स्वार्थनिम्ति दोहोरो भूमिका खेल्नेहरू समाजका दुश्मन हुन् ! भेडाको खोल ओढ्ने ब्वाँसाहरू बढी खतरनाक हुन्छन् भन्ने बुझौं !’

    एमसीसीलाई सत्तारुढ दलहरु विभाजित भएपछि भट्टराईले निजी स्वार्थको लागि नेताहरूले दोहोरो भूमिका खेलेको आरोप लगाएका हुन् ।

  • प्रचण्ड-माधवको ‘फेस सेभ’ का लागि एमसीसीको व्याख्यात्मक ड्राफ्ट बन्दै

    प्रचण्ड-माधवको ‘फेस सेभ’ का लागि एमसीसीको व्याख्यात्मक ड्राफ्ट बन्दै

    काठमाडौं । एमसीसीकै कारण गठबन्धन टुट्ने भएपछि सत्ता गठबन्धनका घटक नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी अन्तत: संसदबाट पारित गर्ने पक्षमा पुगेका छन् ।

    नेपाली कांग्रेसले गठबन्धन तोडेर प्रमुख विपक्षी नेकपा एमालेका माग सम्बोधन गर्ने दिशामा पहल अघि बढाएपछि प्रचण्ड-माधव ‘व्याख्यात्मक घोषणा’ सहित अनुमोदन गर्न सहमत भएका छन् ।

    यद्यपि नेकपा माओवादी केन्द्रका कृष्णबहादुर महरा, नारायणकाजी श्रेष्ठ, देव गुरुङलगायतका नेता र नेकपा एसमा झलनाथ खनाल एमसीसीको विपक्षमा छन् ।

    एमसीसीले पछिल्लोपटक नेपाललाई पठाएका जवाफ र स्पष्टीकरणलाई समेत अनुसूचीमा राखेर विशेष घोषणा गर्ने र संसदबाट पारित गर्ने उपायसहित प्रचण्ड र माधवको ‘फेस सेभ’ का लागि कांग्रेस यसमा तयार भएको बताइएको छ । तर, नेपालले गर्ने घोषणा वा संकल्प प्रस्तावको मान्यता भने हुने छैन ।

    सत्ता गठबन्धनका दल एमसीसीमा युटर्न भएसँगै व्याख्यात्मक ड्राफ्टको काम अगाडि बढेको छ ।

    यसको नेतृत्व अन्तर्राष्ट्रिय कानुनका ज्ञाता गोविन्द वन्दीले गरिरहेका छन् । ‘एमसीसी सम्झौतामा रहेका प्रावधानको व्याख्या गर्नेगरी ड्राफ्ट बनिरहेको छ,’ बन्दीले भने ।

    कांग्रेसबाट महामन्त्री गगन थापा, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, माओवादीबाट अर्थमन्त्री जनार्दन शर्मा र शक्ति बस्नेत, नेकपा (एस) बाट स्वास्थ्यमन्त्री विरोध खतिवडा र सहरी विकासमन्त्री रामकुमारी झाँक्रीलगायतका दोस्रो तहका नेताले तयार पारिरहेको ‘ड्राफ्ट’मा गठबन्धनको बैठकमा छलफल गरे पछि १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा सैद्धान्तिक छलफल सुरु गराउने योजनामा सरकार लागेको छ ।

    यसअघि संशोधनबिना एमसीसी परियोजना अनुमोदन नगर्ने अडान राख्दै आएका सत्तारुढ पाँच दलीय गठबन्धनका प्रमुख तीन दल अन्ततः लचिलो देखिएपछि नयाँ प्रक्रिया अगाडि बढेको हो ।

  • एमसीसी अनुमोदनको निर्णय गर्न माओवादी र समाजवादीको बैठक बस्दै

    एमसीसी अनुमोदनको निर्णय गर्न माओवादी र समाजवादीको बैठक बस्दै

    काठमाडौं। निर्णायक चरणमा प्रवेश गरेको एमसीसी अनुमोदन प्रक्रियाबारे औपचारिक निर्णय लिन सत्तारुढ दलहरु नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको बैठक आज बस्दैछन् ।

    एमसीसीको विपक्षमा उभिदा सत्ता गठबन्धन भंग हुने निश्चित भएपछि गठबन्धन जोगाउनेगरी निर्णय लिन दुवै पार्टीको बैठक बस्न लागेको हो । गठबन्धनको शीर्ष तहमा एमसीसीबारे प्रश्न उठेका विषयमा अन्तर्राष्ट्रिय अभ्यास अनुसार व्याख्यात्मक घोषणा गरेर एमसीसी अनुमोदन गर्ने सहमति बनिसकेको बताइन्छ ।

    यद्यपि प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी र समाजवादीले औपचारिक निर्णय नलिए प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग सहकार्यको संकेत गरेका छन् । यहीकारण गठबन्धन जोगाउने गरी निर्णय लिन माओवादीको केन्द्रीय सचिवालयको विस्तारित बैठक बस्न लागेको हो ।

    नेकपा एसको भने स्थायी कमिटी बैठक बस्दैछ । आजको प्रतिनिधिसभा बैठक अघि नै दुवै दलले औपचारिक निर्णय लिए गठबन्धन जोगाएरै एमसीसी अनुमोदन हुने दावी नेताहरुले गरेका छन् ।

  • गठबन्धन जोगाउन एमसीसी पास गर्नैपर्ने बाध्यतामा प्रचण्ड-माधव

    गठबन्धन जोगाउन एमसीसी पास गर्नैपर्ने बाध्यतामा प्रचण्ड-माधव

    काठमाडौं । नेपाली कांग्रेसले सत्ता गठबन्धत तोडेर प्रमुख विपक्षी नेकपा एमालेका माग सम्बोधन गर्ने दिशामा पहल अघि बढाएपछि नेकपा माओवादी केन्द्र र नेकपा एसले एमसीसी अनुमोदनमा सघाउने वचन दिएका छन् ।

    शनिबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवा बालकोट गएर एमालेसँग सहमति गर्ने र त्यसअघि दुवै दलका दोस्रो तहका नेताहरुबीच सहमतिको मस्यौदा बन्न लागेको खबर पाएपछि सिंहदवारमा माओवादी र नेकपा एसका नेताहरुको आकस्मिक छलफल भएको थियो ।

    छलफलमा झलनाथ खनालले कुनै हालतमा एमसीसी पारित गर्न नहुने भने पनि गठबन्धन भत्किने र केपी ओली पुनः हाबी हुने भन्दै प्रचण्ड-माधव संसदमा एकतर्फी घोषणा वा संकल्प प्रस्तावसहित एमसीसी पारित गरेर गठबन्धन जोगाउनुपर्ने पक्षमा सहमत भएका हुन् ।

    नेकपा एसले एमसीसीबारे निर्णय गर्न आइतबार बिहान स्थायी कमिटी बैठक बोलाएको छ । सिंहदबारबाट निस्कने क्रममा पनि प्रचण्डले गठबन्धन नटुट्ने र एमसीसी पनि सहमतिमा अघि बढ्ने बताएका थिए ।

    सत्ता गठबन्धनका नेताहरु शनिबर बसेर टुंगो लगाउने भएपछि अन्तिममा प्रधानमन्त्री देउवाले बालकोट जाने कार्यक्रम रद्द गरेका थिए । कांग्रेस र एमालेबीचको वार्ता निष्कर्षविहीन भएको र आफूहरु पूर्ववत अडानमा रहेको एमाले उपाध्यक्ष विष्णु पौडेलले बताए ।

    यो पनि पढ्नुहोस्ः एमसीसी अनुमोदनमा कांग्रेसले लिखित निर्णय मागेपछि गठबन्धन जोगाउन प्रचण्डको अन्तिम कसरत

    कांग्रेसले माओवादी अध्यक्ष प्रचण्डलाई एमसीसी अनुमोदन गर्ने पार्टीको संस्थागत निर्णय ल्याउन शुक्रबार नै दबाब दिएको थियो । सांसदले बहिस्कार गरेर उपस्थितिको बहुमतले पारित गर्ने अप्सनमा कांग्रेस सहमत नभएपछि प्रचण्डमाथि अनुमोदनको दबाब बढ्यो ।

    प्रधानमन्त्री देउवा गठबन्धन भत्काएर एमालेसँग सम्झौता गर्ने तयारीमा अघि बढेका थिए । त्यसपछि माओवादी र नेकपा एसभित्र संसदबाट संकल्प प्रस्ताव वा कुनै नामको एकतर्फी घोषणा गरेर भने पनि एमसीसी अनुमोदन गर्नुपर्ने र गठबन्धन जोगाउनुपर्ने दबाब बढ्यो ।

    यो पनि पढ्नुहोस्ः माधवसँगको छलफलपछि प्रचण्ड भन्छन्- गठबन्धन टुट्दैन, एमसीसी सहमतिमै अघि बढ्छ

    आज बिहानको कार्यक्रममा पनि प्रचण्डले एमसीसीको समस्या समाधान हुने र गठबन्धन पनि जोगाउने अन्तिम प्रयास भइरहेको बताएका थिए । तर कांग्रेसले एमसीसी अनुमोदन गर्ने लिखित र संस्थागत निर्णय प्रचण्डसँग मागेका कारण उनी पार्टीभित्र सके सर्वसम्मत नभए बहुमतको निर्णय भने पनि देखाएर लिखत बुझाउनेसम्मको मनस्थितिमा पुगेका थिए ।

    माओवादीले निर्णय गरेमा नेकपा एसमा समस्या हुन्न । एसमा झलनाथको विरोधकाबीच वहुमतले निर्णय गर्ने अवस्था छ । माओवादीमा नारायणकाजी श्रेष्ठ, कृष्णवहादुर महरा, मात्रिका यादव, लिलामणी पौडेल, देव गुरुङ लगायतका नेताहरु एमसीसीको विपक्षमा मतदान गर्नुपर्ने पक्षमा छन् । तर मन्त्रीहरु र अन्य नेताले मध्यमार्ग खोज्न प्रचण्डलाई सुझाएका थिए ।

    स्रोतले भन्यो- एमसीसी अनुमोदन नगर्दा गठबन्धन भत्किने, केपी ओली शक्तिमा फर्किने, आउने चुनावहरुमा माओवादीलाई सिध्याउने र जनयुद्धका उपलब्धी नै गुम्ने खतरा देखाएर प्रचण्डले पार्टीभित्र मिलाउनेछन्। एमसीसी हामीले नै पास गर्छौं,गठबन्धन जोआऔं भनिसक्नुभएको छ ।

    बालकोट पुगेका कांग्रेस नेताहरुलाई पनि एमाले नेताहरुले पहिले सत्ता गठबन्धनको एउटै धारणा बनाउन वा गठबन्धन टुटेको घोषणा गरेर आउन आग्रह गरेको बताइन्छ । एमसीसीले पछिल्लो पटक नेपाललाई पठाएका जवाफ र स्पष्टीकरणलाई समेत अनुसूचीमा राखेर विशेष घोषणा गर्ने र संसदबाट पारित गर्ने उपायमा छलफल भएको छ ।

    तर नेपालले गर्ने घोषणा वा संकल्प प्रस्तावको मान्यता भने हुने छैन ।

  • माधव नेपालको दावीः केपी ओलीले देश झण्डै सिध्याएका थिए, हामीले बचायौं

    माधव नेपालको दावीः केपी ओलीले देश झण्डै सिध्याएका थिए, हामीले बचायौं

    काठमाडाैं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमसीसी सम्झौता यथास्थितिमा पारित हुन नसक्ने अडान दोहोर्‍याएका छन् ।

    एमसीसीलाई इन्डो प्यासेफिक रणनीतिको अंग बनाउने गरी केपी ओलीको सरकारले सम्झौता गरेको र आफूहरुले त्यो षडयन्त्रलाई भत्काएको उनले दावी गरे ।

    पार्टीनिकट प्राध्यापकहरुको संगठनलाई सम्वोधन गर्दै विशुद्ध आर्थिक सहयोगको परियोजनाका रूपमा मात्रै एमसीसी स्वीकार गर्न सकिने बताए । सरकारभन्दा देश र जनताको स्वाभिमान ठूलो कुरा हुने उनको भनाइ छ ।

    नेपालले भने, ‘एमसीसीलाई इन्डो प्यासेफिकको अंग बनाएको केपी ओलीको सरकारले हो । ओली सरकारका मन्त्री प्रदिप ज्ञवालीले यस्तो कागजमा सही गरेर आएका हुन् । हामीले जोडदार विरोध गरिसकेपछि अहिले बाइडेनको सरकारले त्यसबाट नेपालको नाम काट्न लगाए । नत्र त केपी ओलीले सिध्याइसकेका थिए नेपाललाई ।’

    नेपाल कुनै पनि देशको सुरक्षा रणनीतिको अंग बन्न नसक्ने नेपालले स्पष्ट पारे । छिमिकी राष्ट्रको सुरक्षामा आँच आउने गरी नेपालले कुनै पनि काम गर्न नसक्ने पनि उनको भनाइ थियो ।

    यद्यपि, एमसीसी सम्झौता निशर्त हुनुपर्छ भनेर आफूहरुले नभनेको नेपालले बताए । उनले भने, ‘जुन उद्देश्यका लागि अनुदान दिइएको छ, त्यसमै खर्च हुनुपर्छ भन्ने कुरालाई चाहिँ अनुचित मान्नु हुँदैन ।’

    नेपालले एमसीसी सम्झौताको विषयलाई जोडेर एमालेले सभामुख र आफूसहित पार्टीका नेताहरुलाई अपदस्थ गर्न खोजेको भन्दै आपत्ति जनाए । उनले यसलाई अपराधिक मानसिकताको संज्ञासमेत दिए । आफूहरुका लागि सरकारभन्दा देश र जनता ठूलो हुने उनको भनाइ छ ।

     

  • प्रचण्ड-माधव भेटमा गठबन्धन जोगाउन मध्यमार्गी समाधानको खोजी

    प्रचण्ड-माधव भेटमा गठबन्धन जोगाउन मध्यमार्गी समाधानको खोजी

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच गठबन्धन जोगाउन मध्यमार्गी समाधान खोज्ने विषयमा छलफल भएको छ ।

    शुक्रबार अपरान्ह दाहाल-नेपालबीच सिंहदरबारस्थित नेकपा एसको संसदीय दल कार्यालयमा भेटवार्ता भएको हो । नेपाल आफ्नो पार्टीका मन्त्रीहरु तथा उपलब्ध सांसदहरूसँग छलफल गरिरहेका बेला प्रचण्ड पुगेका थिए ।

    भेटमा वर्तमान राजनीतिक अन्यौलताको समाधान गर्ने विषयमा छलफल भएको एकीकृत समाजवादीका सचेतक जीवनराम श्रेष्ठले बताए । गठबन्धनलाई कायम राख्ने र एमसीसीमा भएका राष्ट्रहित विरोधी दफाहरुलाई सच्याउन सकिन्छ कि भन्ने सम्बन्धमा नेताहरूबीच कुराकानी भइरहेको उनले जानकारी दिए ।

    सचेतक श्रेष्ठले भने, ‘यो जुनखालको अन्योलतालाई कसरी चिर्ने ? नेकपा (एमाले)को षड्यन्त्रलाई कसरी परास्त गर्ने ? जुन राष्ट्रिय आवश्यकताले बनेको गठबन्धन हो त्यसलाई कसरी कायम गर्ने ? एमसीसीको सन्दर्भमा जे जति सडकबाट उठेका विषयहरु, आन्दोलनमार्फत् उठाइएका विषयहरू र एमसीसीका राष्ट्रहितविपरीतका दफाहरु छन्, कसरी यसलाई करेक्शन गर्न सकिन्छ, र यथास्थितिमा हामी पास गर्न सक्दैनौँ भन्ने नेकपा एसको निर्णय नै हो ।’

    एमसीसीलाई विशुद्ध विकासको योजनाको रूपमा मात्र कसरी अगाडि बढाउनेमा छलफल भइरहेको श्रेष्ठले बताए । ‘त्यसका उपायहरू खोजी गर्दैछौँ । त्यही विषयमा हामी अनौपचारिकरुपमा विभिन्न ढंगबाट गठबन्धनका दलहरुका बीचमा छलफलहरू बढाइरहेका छौँ ।’

    देशलाई राजनीतिक अस्थिरतामा लैजाने षड्यन्त्र भइरहेकाले त्यसका विरुद्ध गठबन्धन आवश्यक रहेको श्रेष्ठको जिकिर छ ।

  • छिमेकीलाई रुष्ट बनाएर टाढाका मित्रलाई इष्ट बनाउँदा देशको भलो हुँदैन: नेता खनाल (भिडिओ)

    छिमेकीलाई रुष्ट बनाएर टाढाका मित्रलाई इष्ट बनाउँदा देशको भलो हुँदैन: नेता खनाल (भिडिओ)

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) नेता झलनाथ खनालले छिमेका मित्रहरुलाई चिढाएर देशको भलो नहुने बताएका छन् । शुक्रबार एकीकृत समाजवादीले एमसीसीविरुद्ध आयोजना गरेको खबरदारी कार्यक्रममा खनालले भने, ‘हामीले छिमेकका मित्रलाई रुष्ट बनाएर टाढाका मित्रलाई इष्ट बनायौं भने हामी भलाइ हुँदैन ।’

    खनालले छिमेकी रुसको संवेदनशिलता ख्याल नगर्दा युक्रेन अहिलेको हालतमा पुगेको भन्दै खनालले नेपाल पनि तटस्थ नबस्दा त्यस्तै हुने खतरा रहेको टिप्पणी गरे। ‘रुसको अत्यन्तै संवेदनशिल छिमेकी युक्रेनले पश्चिमा देशको पछि लागेर रुसको संवेदनशितलामा हेलचेक्र्याइँ गर्‍यो,’ खनालले भने, ‘त्यहाँको राष्ट्रिय सुरक्षामा चुनौती दिने काम गर्‍यो । र, अहिले यो दुरदशा खेप्नुपर्‍यो । हामी तटस्थ रहन्छौं भनेको भए अहिले यस्तो हुँदैनथ्यो ।’

    खनालले एमसीसी ल्याउन आफूले चिठी लेखेको भनेर प्रचार गरिएको भन्दै आपत्ति प्रकट गरे। ‘झलनाथ खनालले चिठी लेखेर एमसीसी बोलाएको हो भनेर केही मुर्ख र पूर्वाग्रहीले प्रचार गरिरहेका छन्,’ खनालले भने, ‘त्यो सतप्रतिशत झुट हो । म सरकार हुँदा एमसीसीबारे त्यस्तो केही कुरा भएको छैन । हामीले एसमीसीलाई अगाडि बढाउने एउटा कदम पनि चालिएको होइन ।’

    शुक्रबार पोखरामा आयोजित पार्टी कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमसीसी नेपालमा ल्याउन झलनाथ खनालले चिठी लेखेर निवदेन हालेको दाबी गरेका थिए। खनालले आफ्नो सरकार त्यस्तो हैसियतमै नरहेको बताए। ‘हाम्रो सरकार त्यो हेसियतमै थिएन,’ उनले भने, ‘म मेरो सरकारलाई दुई कार्यभार पूरा गर्नुपर्ने छ भन्थे । एउटा संविधान निर्माण, अर्को शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने । म जति सरकारमा बसेँ, त्यही गरेँ ।’

    खनालले आफूले एमसीसी ल्याउन चिठी लेखेको दस्तावेज ल्याएर आउनसमेत चुनौती दिए । उनले भने, ‘डा. बाबुराम भट्टराईको पालाबाट चिठी लेखेर सुरू भएको कुरा घामजत्तिकै छर्लङ्ग छ । मेरो पालाबाट सुरू भएको भए त्यस्तो दस्तावेज ल्याएर आउन चुनौती दिन्छु ।

  • प्रधानमन्त्रीलाई माधव नेपालको आग्रह- केपी ओलीसँग हतारमा अनैतिक सम्झौता नगर्नुस्

    प्रधानमन्त्रीलाई माधव नेपालको आग्रह- केपी ओलीसँग हतारमा अनैतिक सम्झौता नगर्नुस्

    काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमसीसी पास गर्ने नाममा एमालेसँग अनैतिक सम्झौता नगर्न प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् ।

    नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भइरहेकाे छलफलतर्फ संकेत गर्दै अध्यक्ष नेपालले एमसीसी पास गर्न अनैतिक सम्झौता गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।

    संसद भवन बाहिर पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले एमालेले एमसीसीमा आफ्नो पार्टीको सहयोग चाहिए सभामुख १४ जना सांसद र सभामुखलाई बर्खास्त गर्ने सर्त राख्नु दुःखद भएको बताए ।

    उनले भने, ‘मैले सूचना पाएसम्म विरुद्धमा मूभ गर्ने, त्यस्तो पनि कोसिस भइरहेको छ । त्यो पनि शर्त राखेर मात्रै । त्यो पनि कुनै शर्त होइन, हाम्रा पार्टीका कार्यकर्ता, नेताहरुलाई सांसदबाट बर्खास्त गर्नुपर्ने, सभामुखलाई बर्खास्त गर्नुपर्ने, महाअभियोग लगाउनु पर्ने यस्ता शर्त राखेर त्यसपछि मात्रै एमसीसीमा समर्थन गर्ने भन्ने कुराको प्रश्ताव केपी ओलीबाट आएको भन्ने कुराहरु छन् । यसले हामीलाई पनि चिन्तित बनाएको छ ।’

    अध्यक्ष नेपालले नेकपा एमालेले एमसीसीको बारेमा स्पष्ट धारणा नराखेर अहिलेसम्म न पोथी न भालेको चाल देखाइरहेको पनि बताएका छन् ।

    उनले भने, ‘मुख्य कुरा के हो भने केपी ओलीले एमसीसीलाई समर्थन गर्ने । तर समर्थन गर्छु पनि नभन्ने, समर्थन पनि नगर्ने । न भाले न पोथीको चाल देखाइरहनु भएको छ ।’

    उनले प्रधानमन्त्री देउवालाई हतारमा निर्णय नलिन र एमसीसीका केही प्रावधानहरु नसच्याएसम्म आफूहरु विपक्षमा रहने स्पष्ट पारेको पनि बताए ।

  • सिंहदरबारमा प्रचण्ड-माधव भेट

    सिंहदरबारमा प्रचण्ड-माधव भेट

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटघाट भएको छ ।

    दुई नेताबीच सिंहदरबारमा अहिले भेटघाट जारी छ ।

    एमसीसीका कारण संकटमा परेको सत्ता गठबन्धन जोगाउन अन्तिम कोसिस गर्ने निर्णयसँगै प्रचण्डले दौडधुप बढाएका छन् । माओवादी केन्द्रको निर्णयअघि नै शीर्ष तहमा एमसीसी पारित पनि गर्ने र गठबन्धन पनि नटुटाउने समझदारी बनेको छ ।

  • सरकारमा बस्ने-नबस्ने निर्णय लिन माओवादी नेताहरू खुमलटारमा, माधवसँग पनि छलफल गर्ने

    सरकारमा बस्ने-नबस्ने निर्णय लिन माओवादी नेताहरू खुमलटारमा, माधवसँग पनि छलफल गर्ने

    काठमाडौं । एमसीसीको विषयलाई लिएर गठबन्धन टुट्न लागेपछि रणनीति बनाउन नेकपा माओवादी केन्द्रका नेता रणनीति बनाउन छलफलमा जुटेका छन् ।

    ललितपुरको खुमलटारस्थित प्रचण्ड निवासमा शीर्ष नेताहरू बैठक बसिरहेका छन् । छलफल सरकारमा बस्ने वा नबस्नेबारे निर्णयमा केन्द्रित रहेको बताइएको छ ।

    ‘सरकारमा बस्ने या नबस्ने भन्ने विषयमा अहिले छलफल भइरहेको छ,’ प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

    तर, अन्तिम टुंगो भने नेकपा (एकीकृत समाजवादी) का नेताहरूसँगको छलफलपछि लाग्ने बताइएको छ । यसका लागि माओवादी नेताहरूले नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई कुरेर बसेका छन् ।

    पार्टीको पूर्वनिर्धारित कार्यक्रममा धनगढी पुगेका नेपाल प्रचण्डको टेलिफोनपछि फर्किसकेका छन् । सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबीच सहमति हुने करिब निश्चित भएपछि प्रचण्डले माधवसहित संयुक्त रणनीति बनाउन लागेको स्रोतले बतायो ।

    संसद बैठकमा एमसीसी टेबलसँगै नेपाली कांग्रेस एमसीसी अनुमोदनको पक्षमा छ । एमसीसीको विपक्षमा उभिएका कारण सत्ता गठबन्धनका घटकहरू माओवादी र नेकपा एसलाई सरकार छाड्न दबाब परेको छ ।

  • नेकपा एस एमसीसीमाथिको छलफलमा सहभागी हुने

    नेकपा एस एमसीसीमाथिको छलफलमा सहभागी हुने

    काठमाडों । माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को सैद्धान्तिक छलफलमा सहभागी हुने भएको छ ।

    आजबाट प्रतिनिधिसभा बैठकमा एमसीसीका बारेमा हुने सैद्धान्तिक छलफलमा नेकपा एसले आफ्नो धारणा राख्ने तर पूर्ववतः मान्यताअनुसार संसोधनबिना अनुमोदन गराउन नहुने तर्क राख्ने पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले बताए ।

    उनले भने– तर, यसरी छलफलमा सहभागी भए पनि संसोधनबिना एमसीसी पारित गर्न हुँदैन भन्ने पार्टीको धारण स्पष्ट राख्ने छौं ।

  • गठबन्धन भत्किनु ठूलो कुरा होइन, सडक तताउने मात्रै होइन बाल्छौं पनि : झलनाथ (भिडिओ)

    गठबन्धन भत्किनु ठूलो कुरा होइन, सडक तताउने मात्रै होइन बाल्छौं पनि : झलनाथ (भिडिओ)

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले एमसीसीबारे जति छलफल भए पनि कुरा नमिल्ने दाबी गरेका छन् ।

    विहीबारको प्रतिनिधिसभा बैठक स्थगित भएपछि संवाददाताहरूसँग कुरा गर्दै खनालले भने, ‘एमसीसीको कुरा कहिल्यै मिल्दैन । एकथरी महाशक्तिका पछि लागेका छन्, हामी देशको सार्वभौमिकता जोगाउन लागेका छौं ।’

    खनालले गठबन्धन बन्ने र भत्किने कुरा ठूलो नभएको भन्दै आवश्यक परे सडक तताउने समेत चेतावनी दिए । खनालले भने, ‘आवश्यक परे सडक तताउने मात्रै होइन, बाल्छौं पनि ।’

  • एमसीसीविरुद्ध नेकपा एसका विद्यार्थीको लालटिन जुलुस (तस्बिरहरू)

    एमसीसीविरुद्ध नेकपा एसका विद्यार्थीको लालटिन जुलुस (तस्बिरहरू)

    काठमाडौं । नेकपा एसनिकट विद्यार्थी संगठन अनेरास्ववियूले आज पनि एमसीसीको विरोधमा प्रदर्शन गरेको छ ।

    संसद भवनअगाडि मिनभवन क्याम्पस आसपास विद्यार्थीहरूले सिठ्ठी फुकेर लालटिन जुलुस निकालेका छन् । अध्यक्ष सुदेश पराजुली नेतृत्वको आन्दोलनकारी समूहले एमसीसी खारेजीको माग गर्दै नाराबाजी गरेका छन् ।

    आज बिहानमात्र गृहमन्त्री खाणले पराजुलीलगायत आन्दोलनकारी संगठनका नेतृत्वलाई फोन गरेर गठबन्धनलाई असर नपर्ने गरी शान्तिपूर्ण आन्दोलन गर्न आग्रह गरेका थिए ।

    आजको संसद बैठकमा एमसीसी छलफलका लागि पेस हुँदैछ ।

  • प्रचण्डसँगको भेटपछि झलनाथले भने- एमसीसीको विपक्षमा मतदान गर्न ह्वीप लाउँछौं

    प्रचण्डसँगको भेटपछि झलनाथले भने- एमसीसीको विपक्षमा मतदान गर्न ह्वीप लाउँछौं

    काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का शीर्ष नेताहरूबीच एमसीसीबारे संसदमा प्रस्तुत हुने रणनीतिबारे छलफल भएको छ ।

    नेकपा एसको संसदीय दलको कार्यालय सिंहदरबारमा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीच भेटघाट भएको हो ।

    छलफलमा एमसीसीको बारेमा आफ्नो पार्टीले बिनासंशोधन पास हुन नदिने धारणा बनाएको र पार्टीका नेताहरूलाई अहिलेकै स्थितिमा पास गर्ने भए एमसीसीको विपक्षमा मतदान गर्ने ह्वीप दिने खनालले बताए भयो ।

    उनले भने, ‘सामाजवादीको स्ट्याण्ड सुरूदेखि अन्तिमसँग क्लियर छ नो एमसीसी । विथ आउट एनि चेन्ज अर एमेनमेण्ट नो एमसीसी । हामी दुई पार्टीहरू जहिलेसुकै पनि एउटै स्ट्याण्डमा छौँ । त्यो भनेको परिमार्जनबिना संशोधन बिना हामी एमसीसी पास गर्दैनौँ ।’

    बैठकमा सहभागी नेकपा (माओवादी केन्द्र) का नेता देव गुरुङले एमसीसीको विपक्षमा मतदान गर्ने कुरामा छलफल भएको जानकारी दिए । संसदमा हुने एमसीसीको छलफलमा भाग लिने भन्दै उनले भने’,‘एमसीसीको विपक्षमा मतदान गर्ने भन्ने कुरा छँदैछ । तर, अहिले सदन अवरुद्ध भइरहेको अवस्थामा छलफल गर्ने वातावरण छैन । डेमोक्रेसी नम्सको प्रक्रियाअनुसार नै छलफल गर्नुपर्छ । राष्ट्रिय विषयमा सबै संसदहरूले बोल्ने चान्स पाउनु पर्ने हुन्छ । यही विषयमा सबैसँग सभामुखलगायतसँग छलफल गर्ने कुरा भएको छ ।’

  • युवा र विद्यार्थी नेतालाई गृहमन्त्रीको फोन- गठबन्धन र शान्ति सुरक्षामा असर पर्ने गरी आन्दोलन नगरौं

    युवा र विद्यार्थी नेतालाई गृहमन्त्रीको फोन- गठबन्धन र शान्ति सुरक्षामा असर पर्ने गरी आन्दोलन नगरौं

    काठमाडौं । अमेरिकी सहायता परियोजना एमसीसीविरुद्ध सत्तामा रहेका दलकै भ्रातृ संगठनले आन्दोलन चर्काउन थालेपछि गृहमन्त्री बालकृष्ण खाणले चासो दिएका छन् ।

    सत्तारुढ गठबन्धना आबद्ध नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका भ्रातृ संगठनहरू एमसीसीविरुद्ध आन्दोलित छन् ।

    एमसीसीलाई आज संसद बैठकमा छलफलका लागि पेस गरिने भएपछि उनीहरूले कडा प्रदशनको तयारी थालेका छन् ।

    संसद घेर्न लागेका उनीहरुलाई गृहमन्त्री खाणले बिहान फोन गरेर एमसीसीविरुद्धको प्रदर्शन हिंसात्मक नबनाउन आग्रह गरेका छन् ।

    खाणले वाईसीएल अध्यक्ष सुमन देवकोटा, अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह, अनेरास्ववियू अध्यक्ष सुदेश पराजुली, युवा संघ नेपालका अध्यक्ष नरेश शाहीलगायतलाई आज बिहान फोन गरेका थिए ।

    ‘आन्दोलन शान्तिपूर्ण गर्नुपर्‍यो, क्षति धेरै भयो,’ गृहमन्त्री खाणको आग्रह उद्धृत गर्दै अखिल क्रान्तिकारीकी अध्यक्ष सिंहले नेपाल प्रेससँग भनिन्, ‘तपाईंहरूले पनि दुःख पाउनुभयो, प्रहरीले पनि दुःख पायो ।’

    सिंहले आफूहले पहिलेदेखि शान्तिपूर्ण प्रदर्शन गरेको र अब पनि गर्ने भन्दै प्रहरीलाई संयमित राख्न गृहमन्त्रीलाई आग्रह गरेको बताइन् ।

    गृहमन्त्री खाणले नेकपा एसनिकट अनेरास्ववियूका अध्यक्ष पराजुलीलाई आन्दोलन शान्तिपूर्ण बनाउन र गठबन्धनलाई असर नपरोस् भनेर सचेत हुन विशेष आग्रह गरेका थिए । पराजुली फिल्डमा देखिएपछि प्रहरी अफिसरहरू दबाबमा पर्ने गरेकाले पनि गृहमन्त्रीले उनलाई सचेत गराएका हुन् ।

    जवाफमा उनले गठबन्धनलाई असर पर्न नदिन आफूहरू सचेत रहेको बताएका थिए । गठबन्धन कुनै हालतमा तोडिन हुँदैन भन्नेमा आफूहरू पनि रहेको उनले बताए ।

    ‘आन्दोलन नै त नगर्नुहोस् भन्दिनँ तर गठबन्धनाई समेत असर पार्ने गरी गर्नु भएन,’ गृहमन्त्री खाणले पराजुलीलाई भनेका थिए ।

    माओवादीका वाईसीएल, अखिल (क्रान्तिकारी) तथा एकीकृत समाजवादीनिकट युवासंघ नेपाल र अनेरास्ववियूले संसद भवन नयाँ बानेश्वर वरपर प्रदर्शन गर्दै आएका छन् ।

    खाणको आग्रह बाबजुद सत्तारुढ दुई दलका भ्रातृ संगठनले आजको प्रदर्शन सुरू गरिसकेका छन् । आजको प्रदर्शनमा माओवादीका सबै जनवर्गीय संगठनहरुको सहभागिता हुने बताइएको छ ।

    त्यस्तै नेकपा एसनिकट अन्य भ्रातृ संगठनहरू पनि सामेल छन् । एमसीसी आज निर्णाक अवस्थामा पुग्ने भएकाले त्यसविरुद्धको प्रदर्शन पनि चर्किने ठानिएको छ ।

  • नेकपा एसका शीर्ष नेताहरूको बैठक बस्दै

    नेकपा एसका शीर्ष नेताहरूको बैठक बस्दै

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का शीर्ष नेताहरूको बैठक बस्न लागेको छ । भोलिको प्रतिनिधिसभा बैठकका लागि रणनीति तय गर्न आज दिउँसो आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा शीर्ष नेताको अनौपचारिक बैठक बस्न लागेको हो ।

    अमेरिकी सहयोग परियोजना एमसीसीको विपक्षमा उभिने निर्णय गरेको एकीकृत समाजवादीले यसबारे थप छलफल गरेर संसदमा प्रस्तुत हुने तयारी गरेको पार्टीका उपमहासचिव गंगालाल तुलाधारले जानकारी दिए ।

    आज शीर्ष नेताको छलफलपछि भोलि बिहान संसदीय दलको बैठक बोलाउने एकीकृत समाजवादीको तयारी छ । एमसीसीलाई लिएर एकीकृत समाजवादी दुई धारमा उभिएको छ ।

    अध्यक्ष माधवकुमार नेपाल यसको समर्थन र सम्मानित नेता झलनाथ खनाल विपक्षमा उभिएका छन् ।

  • कांग्रेसको निष्कर्ष : माओवादी र समाजवादीले एमसीसीको विपक्षमा मत दिए गठबन्धन टुट्छ

    कांग्रेसको निष्कर्ष : माओवादी र समाजवादीले एमसीसीको विपक्षमा मत दिए गठबन्धन टुट्छ

    काठमाडौं । प्रतिनिधिसभामा टेबल भएको एमसीसी सम्झौताको विपक्षमा रहने निर्णय गरेका सत्तारुढ गठबन्धनका दलहरूसँग नेपाली कांग्रेसले थप सहकार्य नहुने प्रष्ट पारेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका नेताहरूसँग आन्तरिक छलफलका दौरान एमसीसीको पक्षमा मत नदिने दलसँग सत्ता सहकार्य हुन नसक्ने बताएका छन् ।

    सत्तारुढ गठबन्धनका ५ दलमध्ये कांग्रेसमात्रै एमसीसी पारित गर्ने पक्षमा उभिएको छ । नेकपा माओवादी केन्द्रले संसदमा टेबल हुनै नदिने, टेबल गरिए सरकार छाड्ने निर्णय संसदीय दलको बैठकबाट गरिसकेको छ । यद्यपि एमसीसी संसदमा टेबल भएको ३ दिन बितिसक्दा माओवादीले सरकारबाट बाहिरिने कदम चालेको छैन ।

    अर्को सत्तारुढ दल नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकले पनि एमसीसी सम्झौताको विपक्षमा उभिने निर्णय गरेको छ । जनता समाजवादी पार्टीभित्र डा.बाबुराम भट्टराई समर्थनमा भएपनि जसपाले औपचारिक निर्णय गरिसकेको छैन । जसपा अध्यक्ष उपेन्द्र यादव लगायतका नेताहरू एमसीसीको विपक्षमा रहँदै आएका छन् । सत्ता गठबन्धनको अर्को घटक राष्ट्रिय जनमोर्चाले एमसीसी टेबल हुँदा नै संसदबाट विपक्षमा उभिने घोषणा गरिसकेको छ ।

    माओवादी र समाजवादीले गठबन्धन जोगाउने उद्देश्यले एमसीसीमा निर्णय हुने बेला संसदमा अनुपस्थित हुने सम्भावना यथावत छ । संसदमा अनुपस्थित हुँदा गठबन्धन र पार्टीको अडान दुवै जोगिने उनीहरूको बुझाइ छ । कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महत भने अनुमानमै भरमा कांग्रेसले धारणा नदिने बताउँछन् ।

    सहयात्री दलहरूको साथ नपाएपनि एमसीसी पारित गराउनेमा दृढ देखिएको कांग्रेसले निर्णय प्रक्रियामा विपक्षमा उभिने छुट माओवादी र समाजवादीलाई नदिने भएको छ । गठबन्धनमा रहेको कुनैपनि दलले एमसीसीको विपक्षमा मतदान गर्नुअघि सरकार र गठबन्धन छाड्नुपर्ने कांग्रेसको भनाइ छ ।

    कांग्रेस महामन्त्री गगन थापा नैतिक र राजनीतिक दुवै हिसाबले सत्तारुढ दलहरूले एमसीसीको विपक्षमा मतदान गर्न नमिल्ने बताउँछन् । एमसीसीमा ‘राष्ट्रघात’ देख्नेहरूले एमसीसी पारित गराउनुपर्छ भन्ने कांग्रेससँग कुम जोड्न जरुरी नरहेको गगनको भनाइ छ ।

    ‘एमसीसीमा राष्ट्रघात छ भनेर एमसीसी पक्षधरलाई राष्ट्रघाती करार गरिसकेपछि राष्ट्रघातीहरूसँग कुम जोडेर सरकारमा बसिरहन उहाँहरूलाई लाज हुन्छ कि हुँदैन ?’, थापाको प्रश्न छ । एमसीसी संसदको प्रक्रियाबाट टुंगिने निश्चित भएपनि सत्तारुढ दलहरूबीच साझा दृष्टिकोण नबने गठबन्धन निरन्तर नरहने उनले बताए ।

    ‘एमसीसी सामान्य प्रस्ताव मात्रै होइन राजनीतिक दृष्टिकोण पनि हो । हाम्रो दृष्टिकोण नै फरक भइसकेपछि एकै ठाउँमा उभिने अवस्था बन्दैन । उहाँहरू सरकारमा नरहने मात्रै होइन यो सहकार्य नै अगाडि नबढ्ने अवस्था बन्नसक्छ’, थापाले नेपाल प्रेससँग भने । कांग्रेसले गठबन्धनको निरन्तरता चाहेपनि गठबन्धनभित्रका दलहरूको व्यवहारमा भर पर्ने थापाको भनाइ छ ।

    सहयात्री दलहरूको साथ नपाएपनि एमसीसी पारित गराउनेमा दृढ देखिएको कांग्रेसले निर्णय प्रक्रियामा विपक्षमा उभिने छुट माओवादी र समाजवादीलाई नदिने भएको छ । गठबन्धनमा रहेको कुनैपनि दलले एमसीसीको विपक्षमा मतदान गर्नुअघि सरकार र गठबन्धन छाड्नुपर्ने कांग्रेसको भनाइ छ ।

    कांग्रेस नेता मीन विश्वकर्मा पनि एमसीसीको विपक्षमा मतदान गर्नु अघि माओवादी-समाजवादीलगायतका दलले सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने बताउँछन् ।

    ‘सरकारले ल्याएको प्रस्तावको पक्षमा नउभिने हो भने उहाँहरूले पहिले सरकार छाड्नुपर्‍यो । सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्यो’, विश्वकर्माले नेपाल प्रेससँग भने । कांग्रेस र प्रधानमन्त्री देउवा एमसीसी पारित गर्नुपर्ने पक्षमा दृढ रहेको भन्दै विश्वकर्माले माओवादी र समाजवादीको अन्तिम निर्णय आएपछि आवश्यक कदम लिइने बताए ।

    ‘एमसीसी संसदमा निर्णयार्थ पेश हुने बेला उहाँहरूले लिने निर्णयका आधारमा कांग्रेस अगाडि बढ्छ’, उनले भने ।

    एमसीसी सम्झौता फागुन ८ गतेको प्रतिनिधिसभा बैठकमा टेबल भएको थियो । प्रतिनिधिसभाको अर्को बैठक फागुन १२ गते विहीबार बस्दैछ । एमसीसीबारे फागुन १६ गतेभित्रै टुंगोमा पुग्नुपर्ने दबाब सरकारलाई रहेको छ ।

    कांग्रेसभित्र एमसीसीको पक्षमा नउभिने दलहरूसँग गठबन्धन गर्न नहुने मत बलियो छ । यद्यपि कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसीसी पनि पारित गर्ने र गठबन्धन पनि टुट्न नदिने भन्दै छलफल थालेका छन् ।

    माओवादी अध्यक्ष दाहालले पौडेलसँग सोमबार भएको भेटमा गठबन्धन जोगाउने प्रतिबद्धता गरेका थिए । कांग्रेसका अन्य नेताहरू भने एमसीसीको विपक्षमा मतदान गर्ने दलसँग कांग्रेसले सहकार्य नगर्ने बताउँछन् ।

    ‘यदि एमसीसीको विपक्षमा कसैले मतदान गर्छ भने त्यो सरकारलाई गरेको असहयोग हो । सरकारलाई असहयोग गर्नेहरूसँग मिलेर सरकार चलाउन सकिदैन । त्यसको विकल्पमा जे पर्छ कांग्रेसले व्यहोर्छ’, एक कांग्रेस नेताको भनाइ छ ।

    माओवादी र समाजवादीले गठबन्धन जोगाउने उद्देश्यले एमसीसीमा निर्णय हुने बेला संसदमा अनुपस्थित हुने सम्भावना यथावत छ । संसदमा अनुपस्थित हुँदा गठबन्धन र पार्टीको अडान दुवै जोगिने उनीहरूको बुझाइ छ । कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महत भने अनुमानमै भरमा कांग्रेसले धारणा नदिने बताउँछन् ।

    ‘माओवादी र समाजवादीले यसो गरे के होला, त्यसो गरे के होला भन्ने अनुमान कांग्रेसले गर्दैन । प्रक्रियामा जाँदा जे आवश्यक पर्छ त्यो निर्णय लिन कांग्रेस तयार छ’, महतले भने ।

    एमसीसी सम्झौता फागुन ८ गतेको प्रतिनिधिसभा बैठकमा टेबल भएको थियो । प्रतिनिधिसभाको अर्को बैठक फागुन १२ गते विहीबार बस्दैछ । एमसीसीबारे फागुन १६ गतेभित्रै टुंगोमा पुग्नुपर्ने दबाब सरकारलाई रहेको छ ।

  • एमालेबाट निर्वाचित वडाध्यक्षसहित डोटीका दजर्नौ नेता कार्यकर्ता नेकपा एसमा प्रवेश

    एमालेबाट निर्वाचित वडाध्यक्षसहित डोटीका दजर्नौ नेता कार्यकर्ता नेकपा एसमा प्रवेश

    काठमाडौं । डोटीमा नेकपा एमालेबाट निर्वाचित वडा अध्यक्षसहित दर्जनौ नेता कार्यकर्ता नेकपा एसमा प्रवेश गरेका छन् ।

    नेकपा एसका अध्यक्ष माधव नेपालले डाेटीको सायल गाउँपालिका-४ का अध्यक्ष टेकबहादुर सिंह, पालिका सचिव मनोज देउवा, उप-सचिव गणेश बिठाडीलाई स्वागत गरेका हुन् ।

    यस्तै नेविसंघ डोटीका हेमन्त मन्नी र केदार गाउँपालिका ३ का वडा अध्यक्ष भिम बहादुर विष्टलाई पनि नेकपा एसमा प्रवेश गरेका छन् ।

    प्रवेश कार्यक्रममा नेकपा एसका प्रमुख सचेतक जीवनराम श्रेष्ठ, पाेलिटब्यूरो सदस्य प्रेमबहादुर आले, पार्टी सचिव रामकुमारी झाँक्री,  जिल्ला कमिटी डाेटी उपाध्यक्ष महेन्द्र थापा तथा उपसचिव भक्तबहादुर साउदकाे उपस्थिति थियो ।

  • ठगहरूलाई ठेगान लाउने चेतावनी दिँदै मन्त्री आलेले भने- यो ट्रेलर मात्रै हो एक साताभित्र पूरा फिल्म देख्नुहुनेछ (भिडिओ)

    ठगहरूलाई ठेगान लाउने चेतावनी दिँदै मन्त्री आलेले भने- यो ट्रेलर मात्रै हो एक साताभित्र पूरा फिल्म देख्नुहुनेछ (भिडिओ)

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेमबहादुर आलेले देशलाई ठग्नेहरुलाई एकसाताभित्रै कारबाहीको दायरामा (ठेगान लगाउने) ल्याउन लागेको बताएका छन् ।

    सोमवार अन्तर्राष्ट्रिय मातृभाषा दिवस–२०२२ का उपलक्ष्यमा नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको मातृभाषा राष्ट्रिय कविता महोत्वस–२०७८ लाई सम्बोधन गर्दै मन्त्री आलेले एक साता भित्रमा देशलाई ठग्नेहरुका विरुद्धमा कडा कदम चाल्न लागेको बताएका हुन् ।

    उनले आजसम्म देशलाई ठग्नेहरुका विरुद्धमा आफूले गरेका काम ट्रेलर मात्रै भएको उल्लेख गर्दै एक साता भित्र पुरा फिल्म देखिने गरी काम गर्ने बताए । उनले भने, ‘जतिपनि मैले कामको थालनी गरेको छु । मातृभुमिलाई साक्षि राखेर म भन्न चाहान्छु, विभिन्न तत्वहरुले अहिलेसम्म देशलाई ठग्दै आएका थिए, तिनलाई ठेगान लगाउने काम मैले गर्दै आएको छु । यो अहिले मैले गरिरहेको काम यो ट्रेलर मात्रै हो ट्रेलर अब तपाईहरु एक साताभित्र पुरा फिल्म पर्दामा देख्नेगरी म काम गर्नेछु ।’

    मन्त्री आलेले विगतका सरकारले गरेका फोहोरका डङ्गुर हटाउन आफु लागिपरिरहेको बताए ।

    उनले हालै सार्वजनिक भएको अडियो टेपको सन्दर्भमा आफूले बोल्दा तलमाथि पर्न गएको स्वीकार गरे । बोल्दा तलमाथि भएको भएपनि आफ्नो मनमा कुनै पाप नभएको उनको भनाई छ ।

    आफूलाई पटक–पटक फोन गरी उत्तेजित बनाएका कारण आवेशमा एक पटक त्यस्तो बोल्न पुगेको भएपनि इडिट गरेर अडियो सार्वजनिक गरिएको उनको भनाई छ । सो अडियो पूर्ण सत्य नभएको प्रष्टिकरण मन्त्री आलेले दिएका छन् ।

    मन्त्री आलेले आफूमा जनजातिको छोरा भएका कारणले भाषा, संस्कृतिमा कमि भएपनि आत्मा पवित्र रहेको बताए ।

  • संसदमा एमसीसीको विपक्षमा उभिने नेकपा एसको निर्णय (भिडिओ)

    संसदमा एमसीसीको विपक्षमा उभिने नेकपा एसको निर्णय (भिडिओ)

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) संसदमा टेबल भएको अमेरिकी सहायता परियोजना (एमसीसी) का विपक्षमा उभिने भएको छ । एमसीसीलाई लिएर पार्टीभित्रै मतभेद भएपछि सोमबार एकीकृत समाजवादीले सचिवालयको बैठक बोलाएको थियो । उक्त बैठकले एमसीसीको विपक्षमा उभिने निर्णय गरेको हो ।

    ‘हामी एमसीसीको विपक्षमा उभिने छौं,’ बैठकका निर्णयबारे जानकारी गराउँदै प्रवक्ता जगन्नाथ खतिवडाले भने, ‘सबैलाई विपक्षमा उभिने भन्ने छौं र त्यसका लागि वतावरण बनाउने छौं ।’

    एमसीसीको प्रक्रियाबारे सामान्य मतभेद भए अरु कुनै विवाद नभएको खतिवडाको भनाइ छ । ‘सामान्य व्यवस्थापकीय कुरामा चर्चा चलेको कुराले हाम्रो एकतालाई काहीँ पनि तोड्न सक्दैन,’ उनले भने, ‘यसमा हाम्रो कुनै मतभेद छैन् ।’

    एमसीसीको विरोध गर्ने कुरा र सरकारमा रहेको विषयलाई जोड्न आवश्यक नरहेको उनको भनाइ छ ।

    ‘सरकारमा जाँदा एमसीसी पास गर्ने शर्तमा गएका थिएनौं,’ खतिवडाले भने, ‘सरकारमा रहने र एमसीसीको विरोध गर्ने कुरालाई जोड्ने कुरा आवश्यक छैन् । यो देशको कुरा हो । यसबारे हामीलाई कुनै पाठ पढाइरहन जरुरी छैन ।’

  • एमसीसीविरुद्ध प्रदर्शनले बानेश्वर अस्तव्यस्त, प्रहरीले हान्यो रबरको गोली (तस्बिरहरू)

    एमसीसीविरुद्ध प्रदर्शनले बानेश्वर अस्तव्यस्त, प्रहरीले हान्यो रबरको गोली (तस्बिरहरू)

    काठमाडौं । एमसीसीको विरोधमा भएको प्रदर्शनको क्रममा बानेश्वर क्षेत्र अस्तव्यस्त भएको छ । संसद भवनभित्र एमसीसी टेबल भइरहँदा सत्ता गठबन्धनमा रहेका दलहरू नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीनिकटका भ्रातृ संगठनले विरोध जारी राखेका छन् ।

    झण्डै ४ घण्टादेखि विरोध जारी छ । आक्रोशित प्रदर्शनकारीले निषेधित क्षेत्र तोडेपछि प्रहरीले बल प्रयोग गरेको छ । आन्दोलनकारीले पेट्रोल छर्केर बीच सडकमा आगो बालेका छन् ।

    पानीको फोहोरा र अश्रुग्याबाट पनि आन्दोलनकारी हटाउन नसकेपछि प्रहरीले रबरको गोली प्रहार गरेको छ । प्रहरीको कुटाइबाट केही विद्यार्थी तेथा युवा नेता घाइतेसमेत भएका छन् ।

    तस्बिरहरू : गौरव पौडेल । 

  • एमसीसीमा असहमति छन् तर संसदमै छलफल हुन्छ : मन्त्री झाँक्री (भिडिओ)

    एमसीसीमा असहमति छन् तर संसदमै छलफल हुन्छ : मन्त्री झाँक्री (भिडिओ)

    काठमाडौं । शहरी विकासमन्त्री एवं एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले एमसीसीमा आफूहरुको असहमति भएपनि अब संसदमा नै छलफल हुने बताएकी छन् ।

    संसद बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै नेतृ झाँक्रीले एमसीसीमा केही असहमति भएपनि अब त्यो सबै विषय संसदमा आएको प्रतिक्रिया दिइन् ।

    ‘एमसीसीमा हाम्रा केही असहमति छन्,’ उनले भनिन्, ‘त्यसलाई संशोधन गर्न सक्ने उपयुक्त थलो संसद पनि हो । त्यही अनुसार एकीकृत समाजवादी टेबुल गर्न तयार भएको हो ।’

    के संशोधन गर्ने भन्नेबारे अब सांसदकै हातमा आएको उनको भनाइ छ। झाँक्रीले भनिन्, ‘के कुरा संशोधन गर्ने भन्ने कुरा सांसदकै हातमा आएको छ।

     

  • जबर्जस्ती एमसीसी टेबल गरिनु असंवैधानिक हो : खनाल (भिडिओ)

    जबर्जस्ती एमसीसी टेबल गरिनु असंवैधानिक हो : खनाल (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले संविधान विपरीत जबर्जस्ती रुपमा संसदमा एमसीसी टेबल गरिएको आरोप लगाएका छन् ।

    संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुसँग कुराकानी गर्दै नेता खनालले एमसीसी सम्झौता संसदमा ल्याइनुले मुलुक नै ‘ट्रयापमा परेको’ बताए । ‘एमसीसी सम्झौता संसदमा जबरजस्ती ढंगले ल्याइएको छ । यसलाई संसदमा ल्याउनुले नेपाल फसेको छ । भोलीका दिनमा अझ समस्या थपिने निश्चित छ’, खनालले भने ।

    आर्थिक करार सम्झौता संसदमा ल्याउने संवैधानिक प्रावधान नभएको खनालको दावी थियो ।

    उनले अमेरिकी दबावका कारण मुलुकमा ध्रुवीकरण बढेको भन्दै नेकपा एकीकृत समाजवादी एमसीसीको पक्षमा उभिनै नसक्ने बताए । ‘हाम्रो पार्टीको स्थायी कमिटी बैठकले यथास्थितिमा एमसीसी पारित हुन नदिने निर्णय गरेको छ’, खनालले भने ।

    उनले गठबन्धन र सरकारमा सहभागिताको विषयमा पार्टीभित्र गम्भीर छलफल र समिक्षासमेत हुने बताए ।

  • एमसीसी टेबलप्रति सत्ता पक्षकै आपत्ति : झलनाथ पनि विरोधमा उभिए

    एमसीसी टेबलप्रति सत्ता पक्षकै आपत्ति : झलनाथ पनि विरोधमा उभिए

    काठमाडौं । अमेरिकी सहायता परियोजना एमसीसी टेबल भएकोप्रति सत्ता गठबन्धनमै आवद्ध दलले विरोध गरेका छन् ।

    बैठकको प्रारम्भमै नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले बोल्नका लागि समय लिएका थिए ।

    उनले कार्यसूचीमा एमसीसी उल्लेख भएको विषयमा माओवादीको ध्यानाकर्षण भएको जनाउँदै प्रमुख प्रतिपक्षको अवरोधका बीच बैठक अगाडि नबढाउन आग्रह गरेका छन् ।

    त्यस्तै एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पनि उभिएर त्यसको विरोध गरे। एमसीसी टेबल गर्न नहुने उनको भनाइ छ ।

    एमसीसी टेबल हुँदै गर्दा नेता खनालले उभिएर नाराबाजी गरेका थिए ।

  • भित्र एमसीसी अघि बढाइँदै, बाहिर प्रहरीसँग ठेलमठेल (तस्बिरहरू)

    भित्र एमसीसी अघि बढाइँदै, बाहिर प्रहरीसँग ठेलमठेल (तस्बिरहरू)

    काठमाडौं । सत्ता गठबन्धनले अमेरिकी सहयता परियोजना (एमसीसी) सदनमा टेबल गर्ने सहमति गरेको छ ।

    बानेश्वरमा बसेको कार्यव्यवस्था तथा परामर्श समितिको बैठकले पनि माओवादी केन्द्रको सहमतिका बाबजुत एमसीसी अगाडि बढाउने निर्णय गरेको छ ।

    संसद भवनमा एमसीसी टेबल गर्न अगाडि बढाइदै गर्दा बाहिर भने त्यसको विरोमा प्रदर्शन भइरहेको छ । संसद भवनअघि माओवादी केन्द्र, एकीकृत समाजावदी लगायतका भ्रातृ संगठनले विरोध जनाइरहेका छन् ।

    आक्रोशित प्रदर्शनकारीले निषेधित क्षेत्र तोडेपछि प्रहरीले बल प्रयोग गरेको छ । सोक्रममा पानीको फोहोरा र लाठीचार्जसमेत गरिएको छ । अहिले बानेश्वरको अवस्था तनावग्रस्त छ ।

    हेर्नुहोस् तस्बिरमा बानेश्वरको विरोधः

    तस्बिरहरू : गौरव पौडेल । 

  • संसद भवनअगाडि एमसीसी ‘स्वाहा’ (तस्बिरहरू)

    संसद भवनअगाडि एमसीसी ‘स्वाहा’ (तस्बिरहरू)

    काठमाडौं । अमेरिकी सहायता परियोजना (एमसीसी) ले केही दिनयता देशको राजनीतिक माहोल तताएको छ ।

    एमसीसी खारेजीको माग गर्दै विरोधमा सबैभन्दा अगाडि सरकारमै रहेका दलका भ्रातृ संगठनहरू छन् । एमसीसीको विरोधमा दिनहुँ काठमाडौंका सडकमा प्रदर्शन भइरहेको छ । र, विरोधका शैली पनि फरक-फरक छन् ।

    त्यही क्रममा आज पनि नेकपा एसनिकटका भ्रातृ संगठनले रेखी हाल्ने, अग्नि स्थापना गरी, दुनाटपरीसमेत राखेर धार्मिक कार्यक्रमको झल्को दिएका छन् । केही प्रदर्शनकारी पुजारी बनेर सांकेतिकरूपमा एमसीसीको ‘स्वाहा’ गरिएको छ । पूजाआजामा देवताको तृप्‍तिका निम्ति अग्निमा हवन गर्दा मन्त्रका रूपमा स्वाहा उच्चारण गरिन्छ ।

    प्रदर्शनमा एसनिकट अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीसहितकाले नेतृत्व गरेका थिए ।

    बालुवाटारको आज बिहान बसेको बैठकमा आजकै सदनमा एमसीसी टेबल गर्ने सत्तागठबन्धनबीच सहमति भइसकेको छ ।

  • सत्तारुढ गठबन्धन बैठक : एमसीसीको विरोध गर्ने खनाल र श्रेष्ठलाई बोलाइएन

    सत्तारुढ गठबन्धन बैठक : एमसीसीको विरोध गर्ने खनाल र श्रेष्ठलाई बोलाइएन

    काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरोध गर्ने एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई आइतबार बिहान बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नबोलाएको पाइएको छ । सुरूमा खनाल र श्रेष्ठ आउँदै छन् भनिए पनि दुवै नेतालाई नबोलाएको पाइएको हो ।

    सत्ता गठबन्धनको यसअघिका बैठकमा दुवै नेता उपस्थित हुँदै आएका थिए ।

    पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले बैठकमा आफूलाई नबोलाइएको जानकारी दिए । उनले एमसीसी संसदमा टेबुल गर्ने सहमतिप्रति आफ्नो आपत्ति रहेको उल्लेख गरे । ‘मलाई त बैठकमा बोलाउँदै बोलाइएन, अमेरिकासँग झुक्नेले सम्झौता गरे अरे, तर मेरो यसमा सधैँ विरोध रहन्छ’, खनालले नेपाल प्रेससँग भने, ‘अहिले संसद नै चलिरहेको छैन, कहाँ लगेर टेबल गर्छन् ?’

    माओवादी केन्द्रका नेता श्रेष्ठले पनि बैठकबारे आफूलाई कुनै जानकारी नदिएको उल्लेख गरे । एमसीसी संसदमा टेबुल गर्ने विषयमा पार्टीमा कुनै छलफल नभएको भन्दै उनले आफ्नो विरोध कायमै रहेको उनको भनाइ छ ।

    खनाल र श्रेष्ठ सुरुदेखि नै एमसीसीको विपक्षमा उभिँदै आएका छन् ।

  • झलनाथको प्रतिक्रियाः अमेरिकासँग झुक्नेले सम्झौता गरेछन्, मेरो सधैं विरोध हुन्छ

    झलनाथको प्रतिक्रियाः अमेरिकासँग झुक्नेले सम्झौता गरेछन्, मेरो सधैं विरोध हुन्छ

    काठमाडौं । एमसीसी संसदमा टेबल गर्न सत्तागठबन्धनका शीर्षस्थ नेताबीच भएको सहमतिप्रति नेकपा एसका सम्मानित नेता झलनाथ खनालले आपत्ति जनाएका छन् । पार्टीले यथास्थितिमा एमसीसी टेबल हुन नहुने निर्णय गरेको भन्दै गठबन्धनका नेताहरुबीच भएको सहमतिप्रति खनालले आपत्ति जनाएका हुन् ।

    ‘मलाई त बैठकमा बोलाउँदै बोलाइएन, अमेरिकासँग झुक्नेले सम्झौता गरे अरे, तर मेरो यसमा सधैं विरोध रहन्छ’, खनालले नेपाल प्रेससँग भने, ‘अहिले संसद नै चलिरहेको छैन, कहाँ लगेर टेबल गर्छन् ?’

    एमसीसी राष्ट्रघाती भएको तर्क गर्दै उनले नेताहरुबीच भएको सहमतिलाई स्वीकार्न नसकिने बताए । ‘यो एउटा सामान्य करार सम्झौतालाई संसदमा लैजान जरुरी नै छैन’, उनले भने ।

    नेकपा एसको हिजो बसेको स्थायी कमिटी बैठकले एमसीसी संसदमा टेबल गर्न दिने तर विपक्षमा उभिने निर्णय गरेको भनिएको थियो । तर खनालले पार्टीमा त्यस्तो निर्णय नभएको बताए ।

    सत्तागठबन्धनका शीर्ष नेताबीच आजकै संसदमा एमसीसी टेबल गर्ने सहमति भएको भनिएको छ ।

  • एमसीसी सम्झौता संसदमा टेबल हुन दिनुपर्ने नेकपा एसको निष्कर्ष (भिडिओ)

    एमसीसी सम्झौता संसदमा टेबल हुन दिनुपर्ने नेकपा एसको निष्कर्ष (भिडिओ)

    काठमाडौं । सत्तारुढ नेकपा एकीकृत समाजवादीले संसद सचिवालयमा दर्ता भएको एमसीसी सम्झौता अनुमोदनका लागि प्रतिनिधिसभा बैठकमा टेबल गर्न दिनुपर्ने निष्कर्ष निकालेको छ । यद्यपि यसका कतिपय प्रावधान संशोधन हुनुपर्ने पार्टीको अडान भने यथावत रहेको छ ।

    स्थायी कमिटीको शनिबार बसेको बैठकमा एमसीसीलाई पास वा फेल जे भए पनि छलफलका लागि टेबल गर्न दिनुपर्ने निष्कर्ष निस्किएको प्रमुख सचेतक जीवनराम श्रेष्ठले जानकारी दिए ।

    सार्वभौम संसदमा छलफल भएर देशको हितका पक्षमा निर्णय हुनुपर्ने पार्टीले ठहर गरेको छ । एमसीसीका कारण गठबन्धन टुट्न नहुनेमा समेत नेकपा एसका नेताहरुको जोड छ ।

  • एमसीसी र गठबन्धनबारे छलफल गर्न नेकपा एसले बोलायो स्थायी कमिटी, मध्यमार्गी बाटोको खोजी

    एमसीसी र गठबन्धनबारे छलफल गर्न नेकपा एसले बोलायो स्थायी कमिटी, मध्यमार्गी बाटोको खोजी

    काठमाडाैं । अमेरिकी सहयोग परियोजना (एमसीसी) पास गर्ने वा नगर्ने भन्ने विषयले सत्ता गठबन्धनमा खटपट हुन थालेपछि एकीकृत समाजवादीले स्थायी कमिटीको बैठक बोलाएको छ ।

    भोलि बिहान ११ बजे अर्याल होटेलमा बस्न लागेको स्थायी कमिटिको बैठकले एमसीसी र गठबन्धनबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने बताइएको छ ।

    अहिले सम्म नेतृत्व तहले एमसीसी संशोधनबिना पारित हुन नसक्ने अडान राख्दै आइरहेकाे छ । उक्त अडानले सत्ता गठबन्धन भित्रै विवाद हुन थालेपछि उपयुक्त बाटोका लागि स्थायी कमिटिको बैठक आयोजना गरिएको स्थायी कमिटीका एक नेताले बताए ।

    उनले भोलि नै पार्टीको आधिकारिक धारणा सार्वजनिक हुने पनि जानकारी दिए ।

    बिहीबार नै सरकारले एमसीसी टेबल गर्ने तयारी गरेको थियो । यथास्थितिमा एमसीसी टेबल गरे माओवादीले सरकारबाट फिर्ता हुने निर्णय गरिसकेको छ । तर एकीकृत समाजवादीले भने अहिले सम्म ठोस निर्णय गरेको छैन ।

    केही समय अघि सम्म एमसीसी विरुद्ध खरो रूपमा उत्रिएको एकीकृत समाजवादी पनि गठबन्धन नै भत्किने अवस्था सृजना भएपछि मध्यमार्गी बाटो खोजिरहेको छ ।

    अहिले सरकारमा रहेका केही मन्त्रीहरूले सरकारबाट फिर्ता हुने अवस्था नरेको भन्दै अध्यक्ष माधव कुमार नेपाललाई गठबन्धन जोगाउने गरी पहल गर्न आग्रह गरेका थिए । ‘गठबन्धन जोगिने गरी मध्यमार्गी बाटो पहिचान गर्न नेतृत्वलाई तीव्र दबाब छ’ स्रोतले भन्यो ‘उहाँहरूको पनि माग सम्बोधन हुने गरी भोलि निर्णय हुन सक्छ ।’

    एकीकृत समाजवादी पार्टीका तर्फबाट सरकारमा सहभागी विरोध खतिवडाले भोलिको निर्णय पछि मात्रै एमसीसी र गठबन्धनबारे थाहा हुने बताए ।

    स्थायी कमिटीमा सङ्गठन, निर्वाचन र एमसीसी बारे छलफल हुन सक्ने एकीकृत समाजवादीका सचिव समेत रहेका प्रमुख सचेतक जीवनराम श्रेष्ठले बताए ।

    बिहीबार विना निष्कर्ष टुङ्गिएको सत्ता गठबन्धनको बैठक शुक्रवार बिहान पनि बसेको थियो । एकीकृत समाजवादी पार्टीले शनिवार स्थायी कमिटिको बैठक राखिएको र एमसीसी तथा गठबन्धनबारे साझा धारणा बनाउने भन्दै आइतबार सम्मको समय मागेका थिए ।

    माधव नेपालको प्रस्ताव पछि शुक्रवार एमसीसी टेबल रोकिएको थियो । शनिवार एकीकृत समाजवादीले यस विषयमा प्रस्ट धारणा बनाएपछि गठबन्धनको भविष्य पनि यकिन हुने देखिएको छ ।

    एकीकृत समाजवादीको तर्फबाट सरकारमा सहभागी राम कुमारी झाँक्रीले प्रधानमन्त्री एमसीसीको विषयमा प्रधानमन्त्रीको पक्ष लिएपछि अहिले दल भित्र पनि यस विषयमा बहस सुरु भएको छ । तर, प्रमुख सचेतक श्रेष्ठले भने यो विषयमा प्रस्ट कुरा स्थायी कमिटीको बैठक पनि मात्रै थाहा हुने बताए ।

    ‘पार्टीले अहिले सम्म यो गर्ने भन्ने निर्णय गरेका छैनौँ’ उनले भने ,‘ भोलि मात्रै सबैसँग छलफल गरेर प्रस्ट धारण सार्वजनिक हुने छ । अहिले सम्म पार्टी नेतृत्वले लिएको अडान नै अगाडी बढाउने वा मध्यमार्गी कुनै विकल्प सार्वजनिक गर्ने भन्ने बारे भोलि नै थाहा हुन्छ ।’

    उनले अहिले एमसीसीमा संशोधन गर्न आवश्यक रहेको बताए पनि सरकारबाट फिर्ता हुने भन्ने विषयमा छलफल नै सुरु नभएको उनले दाबी गरे ।

    ‘गठबन्धनमा विवाद भए सरकारबाट फिर्ता हुनुहुन्छ त’ नेपाल प्रेसको जिज्ञासामा उनले भने, ‘अहिले सम्म सरकारबाट फिर्ता हुने विषयमा कुनै छलफल नै सुरु भएको छैन । यस विषयमा पनि भोलीनै निर्णय हुन्छ । ’

  • एमसीसी नेपालको राजनीतिमा अनावश्यक किचलो हाल्न ल्याइएको हो : मन्त्री झाँक्री (भिडिओ)

    एमसीसी नेपालको राजनीतिमा अनावश्यक किचलो हाल्न ल्याइएको हो : मन्त्री झाँक्री (भिडिओ)

    काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले वर्तमान सत्ता गठबन्धन राजनीतिक बाध्यताको उपज भएको बताएकी छन् ।

    शुक्रबार संसद बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री झाँक्रीले एमसीसीजस्ता विषयहरू नेपालको आन्तरिक राजनीतिमा किचलो गर्नका लागि ल्याइएको पनि बताइन् । यस्ता विषयबाट सरकार टाढा रहनु उचित हुने पनि उनको राय छ ।

    आफू मन्त्रिपरिषद्को सदस्य रहेको नाताले एमसीसीप्रति प्रधानमन्त्रीको झैं आफ्नो धारणा रहेको उनको भनाइ छ ।

    मन्त्री झाँक्रीले भनिन्, ‘एमसीसीलगायतका इस्यूहरू पहिलादेखिका सरकारले सिर्जना गरेको दायित्व हो । त्यसमा अन्तर्राष्ट्रिय कमिटमेण्टहरु छन् नेपालको तर्फबाट । प्रधानमन्त्री को भयो, अर्थमन्त्री को भयो, योजना आयोगको उपाध्यक्ष को भयो ? त्यसले धेरै कुराको निर्धारण गर्दैन । नेपालको कमिटमेण्ट हो । त्यसप्रतिको दायित्व नेपाल सरकारले लिनुपर्ने भएकोले प्रधानमन्त्रीले आफ्ना धारण राखिरहनु भएको छ । म प्रधानमन्त्रीको मन्त्रिपरिषद्को एउटा सदस्य भएकोले प्रधानमन्त्रीले राखेको धारणा भन्दा बाहिरको धारणा राख्न उपयुक्त हुँदैन ।’

    उनले थपिन्’ ‘यी विषयहरु नेपालको डोमेस्टिक पोलिटिक्समा अनावश्यक ढंगले किचलो हाल्नका लागि ल्याइएका विषयहरु हुन् । यी विषयबाट अलग रहनु, सचेत हुनु, राष्ट्रको हित र क्रेडिबेलिटीमा सचेत हुनु जरुरी छ ।’