Category: नेकपा एस

  • झलनाथको दाबी- सबैतिर पराजित भएपछि ओलीले राजीनामा दिन्छन्, अनि एमालेसँग एकता

    झलनाथको दाबी- सबैतिर पराजित भएपछि ओलीले राजीनामा दिन्छन्, अनि एमालेसँग एकता

    घोराही । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमाले अध्यक्ष केपी शर्मा ओलीले अध्यक्षबाट राजीनामा दिएपछि मात्रै एकता सम्भव हुने बताएका छन् ।

    दाङमा जिल्ला स्तरीय कार्यकर्ता प्रशिक्षणमा बोल्दै उनले स्थानीय तह निर्वाचनमा एमाले पराजित भएपछि ओलीले राजीनामा दिने र त्यसपछि मात्रै एकता हुने बताए ।

    उनले भने, ‘स्थानीय तहको चुनावमा चारैतिरबाट हारेपछि एमाले अध्यक्ष ओलीले राजीनामा दिन्छन् र ओलीले राजीनामा दिएपछि एमालेसहितका वामपन्थी दलबिच पार्टी एकता हुन्छ ।’

    स्थानीय निर्वाचनमा एमालेलाई देशभरिबाटै बढार्नुपर्ने उल्लेख गर्दै खनालले संविधान च्यात्ने र संसद् विघटन गर्ने केपी ओली र उनको समूहलाई स्थानीय चुनावको बाकस खालि गराएर जनताले सजाय दिनुपर्छ भने ।

    उनले एमालेलाई औपचारिक र अनौपचारिक रूपमा दक्षिणपन्थीहरूसँग मिलेर साँठगाँठ र तालमेल गर्न खोजेको आरोप पनि लगाए ।

    एमालेले राप्रपाका दाहिने र देब्रे समुहसंग चुनावी तालमेल गरेर दरबारियाहरुसँग मिलेर जनताको अभिमतविरुद्ध जाने खोजेको उल्लेख गर्दै खनालले लोसपा र सिके राउतसँगको समूहसँग चुनावी तालमेल गर्न ओलीले वार्ता टोली नै बनाएको बताए ।

  • सुदूरपश्चिमको नेतृत्वमा एसको दाबी स्वाभाविकः नेपाल

    सुदूरपश्चिमको नेतृत्वमा एसको दाबी स्वाभाविकः नेपाल

    धनगढी । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्वमा आफ्नो पार्टीको दाबी हुनु स्वाभाविक रहेको बताएका छन् ।

    धनगढीमा बिहान आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘सबभन्दा ठूलो दल हामी यहाँ छौं । प्रदेशसभाको सदस्य संख्याको हिसाबले प्रदेश सरकारको मुख्यमन्त्री हामीले दाबी गर्नु स्वाभाविक हो । त्यो हाम्रो दावा छदैछ, सबैमा प्याकेजमै हुन्छ ।’

    नेपाली कांग्रेस सुदूरपश्चिमका सभापति वीरबहादुर बलायरले कांग्रेस एक्लै चुनाव लड्ने भनेर सार्वजनिक मन्तव्य दिइरहेको विषयलाई उनले ‘व्यक्तिको बोली’ भनेर टारिदिए ।

    यसमा सांकेतिकरूपमा एमाले अध्यक्ष केपी शर्मा ओलीको जस्तो दम्भ र अहंकार देखाए आफैंलाई क्षति पुग्ने भनेर घुमाउरो जवाफ दिएका थिए ।

  • माधव नेपालको दाबी- गठबन्धन हुने भएपछि विरोधीको मुख चाउरिएको छ, दिमाग बिग्रेको छ

    माधव नेपालको दाबी- गठबन्धन हुने भएपछि विरोधीको मुख चाउरिएको छ, दिमाग बिग्रेको छ

    धनगढी । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पाँच दलबीच चुनावी तालमेल हुने भएपछि जनतामा उत्साह थपिएको बताएका छन् । नेकपा एमालेतर्फ लक्षित गर्दै उनले त्यसले जनविरोधी शक्तिहरू छट्पटाउन थालेको दाबी गरे ।

    ‘वामपन्थी र लोकतान्त्रिक शक्तिहरू मिलेर चुनावमा जाने सहमति भएको छ । यसले जनतामा उत्साह थपेको छ,’ धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले भने, ‘यसले जनविरोधीहरूको मुख चाउरिएको छ । निद्रा हराम भएको छ । दिमाग बिग्रेको छ । बेहोस हुन बेर छैन ।’

    नेता नेपालले चुनावी तालमेलको निर्णयले उनीहरू जे पायो त्यही बोलेर बर्बराउन थालेको टिप्पणी गरे ।

    ‘अब उनीहरूको काम बर्बराउने हो उनीहरूको काम भनेको जथाभावी बोल्ने हो । हामी अगाडि बढ्छौं । अब हात्ती हिँड्दै गर्छ । अरु कल्ले भुक्ने हो, भुक्ने काम जति भुक्छ चिन्ता नगर्नुस्,’ उनले थपे ।

    नेपालले भने, ‘समयको प्रवाह हाम्रो पक्षमा छ । यो प्रवाहले हामीलाई अगाडि बढ्न उप्रेरित गरिरहेको छ ।’ त्यसको कारण आफूहरूले लिएको सही विचार, सही नीति, सही मूल्य र मान्यता र सही संस्कार रहेको उनले बताए ।

    त्यसको ठीक उल्टो प्रतिगामी शक्तिहको ध्वंस गर्ने प्रवृत्ति छताछुल्ल भएकाले कमजोर हुन पुगेको उनको भनाइ छ ।

    नाम नलिए पनि एमाले अध्यक्ष केपी शर्मा ओलीतर्फ ईंगित गर्दै उनले ‘दिमाग खुस्केको’ भन्नसम्म भ्याए । उनले भने, ‘दिमाग खुस्के जस्तै जे मुखमा आयो त्यहीँ बोलेको छ । बकबक गर्‍या छ । हामी त्यस्तो बाटो लिँदैनौँ । त्यस्तो प्रवृत्तिबाट सिक्दैनौँ । हामी सुसंस्कार दिन्छौ । त्यसैबाट उत्प्रेरित गर्छौं ।’

    गलत ट्रयाकमा गएको राजनीतिलाई ठीक ट्रयाकमा ल्याउनका नेकपा एसले नै पहल गरेको नेपालको जिकिर थियो ।

  • पूर्ण सुनुवाइ स्थगित गर्न माधव नेपाल पक्षको निवेदन

    पूर्ण सुनुवाइ स्थगित गर्न माधव नेपाल पक्षको निवेदन

    काठमाडौं । करिब सात महिनादेखि पटक-पटक सर्दै आएको एमालेबाट निष्कासित १४ सांसदविरुद्धको मुद्दामा आज पूर्ण सुनुवाइका लागि पेसी तोकिएकोमा विपक्षीको तर्फबाट स्थगनको निवेदन पेस भएको छ ।

    न्यायाधीश अनिलकुरमा सिन्हा र नहकुल सुवेदीको संयुक्त इजलासमा तोकिएको पूर्ण सुनुवाइ स्थगन गर्न माधव नेपालसहित १४ सांसद पक्षका वकिलबाट निवेदन पेस भएको छ ।

    पूर्ण सुनुवाइका लागि तोकिएको इजलास ‘कम्फटेबल’ नभएपछि आजको सुनुवाइ स्थगित गर्न खोजिएको हो ।

    कुनै एउटा पक्षले स्थगनको माग गर्दा सुनुवाइ रोकिन सक्छ ।

    एमाले अध्यक्ष केपी शर्मा ओलीले सभामुख र निर्वाचन आयोगलाई विपक्षी बनाएर दायर गरेको रिटका पक्षधर वकिलले भने इजलास छनोटका लागि विपक्षी वकिलले विपक्षीको तर्फबाट स्थगनको निवेदन दिएको आरोप लगाएका छन् ।

  • एमालेले निष्कासन गरेका १४ सांसदको मुद्दा ७ महिनापछि पूर्ण सुनुवाइ हुँदै, आज आउला त आदेश ?

    एमालेले निष्कासन गरेका १४ सांसदको मुद्दा ७ महिनापछि पूर्ण सुनुवाइ हुँदै, आज आउला त आदेश ?

    काठमाडौं । नेकपा एमालेले निष्कासन गरेका प्रतिनिधिसभाका १४ र लुम्बिनी प्रदेशका दुई सांसदलाई सभामुखले पदमुक्त नगरेको भन्दै अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको रिटमाथि आज पूर्ण सुनुवाइ हुँदैछ ।

    करिब ७ महिनापछि सो मुद्दा पूर्ण सुनुवाइमा गएको हो । मुद्दाको सुनुवाइ अनिलकुमार सिन्हा र नहकुल सुवेदीको संयुक्त इजलासमा तोकिएको छ ।

    न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार चुँडालको संयुक्त इजलासले सो मुद्दालाई पूर्ण सुनुवाइका लागि पेस गर्न गत फागुन २९ गते आदेश दिएको थियो ।

    ओलीले अन्तरिम आदेश माग गरेपनि पटक पटक सुनुवाइका लागि पेसी तोकिँदै मुद्दा धकेलिदै आएको थियो । आजको पूर्णसुनुवाइपछि १४ सांसदको पद कायम रहने वा पदमुक्त हुने टुंगो लाग्नेछ ।

  • नेकपा एस छाडेर एमालेमै फर्किए भगवतीमाई गाउँपालिका अध्यक्ष

    नेकपा एस छाडेर एमालेमै फर्किए भगवतीमाई गाउँपालिका अध्यक्ष

    सुर्खेत । दैलेखको भगवतीमाई गाउँपालिकाका अध्यक्ष दानबहादुर थापा एमालेमा फर्किएका छन् । थापा २०७४ सालको निर्वाचनमा एमालेबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् ।

    उनी पछिल्लो समय नेकपा एकीकृत समाजवादीको प्रदेश कमिटी सदस्य तथा भगवतीमाई गाउँपालिका इन्चार्ज थिए । थापालाई एमाले कर्णाली प्रदेश अध्यक्ष विनोदकुमार शाहले स्वागत गरेका छन् ।

    प्रदेश सभा सदस्य सुशिल थापाका अनुसार विभिन्न वडाका जनप्रतिनिधिहरु सेतु खडका, कमला खत्री, मान बहादुर नेपाली, बाल बहादुर थापा, सुशिला विकलगायत १२५ जना एमालेमा प्रवेश गरेका छन् ।

    ‘म मूलघरमै फर्किएको छु । लामो समय लगानी गरेको दल त्यागेर समाजवादीमा जानुपर्ने बाध्यात्मक अवस्थाको सिर्जना गरिएको थियो । अब एमालेमै फर्केर जनताको सेवामा खट्छु’, पार्टी प्रवेशपछि उनले भने, ‘एमाले नै जनताको वास्तविक साथी भएको र एमालेकै नेतृत्वमा सुखी नेपाली समृद्ध नेपाल बन्ने पक्का छ । त्यसैले केही दिन बाटो बिराए पनि मूलघरमै आज फर्किएको हो ।’

    अध्यक्ष थापालाई पार्टी प्रवेश गराउँदै एमाले प्रदेश कमिटी अध्यक्ष शाहले देशभक्त, क्रान्तीकारी, समाज परिवर्तनका अगुवाहरु एमालेमै बस्नुपर्नेमा जोड दिए ।

    ‘अध्यक्ष थापाजस्ता होनहार नेताहरु एमालेमा फर्किनु भएको छ । अब अन्य साथीहरु पनि आफ्नै मुलघरमा फर्कने वातावरण बनाउन हामी तल्लीन छौं ।’ उनले भने, ‘अब स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै गाउँघरमा केन्द्रीत हुन आवश्यक छ । यहाँहरु सबै जना पालिका निर्वाचनको तयारीमा लाग्नुस् ।’

  • माओवादी र एसले एक सिट पनि जिते भने मेरो सबै सम्पत्ति त्यागेर वृन्दावन जान्छु : दुर्गा प्रसाईं (भिडिओ)

    माओवादी र एसले एक सिट पनि जिते भने मेरो सबै सम्पत्ति त्यागेर वृन्दावन जान्छु : दुर्गा प्रसाईं (भिडिओ)

    काठमाडौं । नेकपा एमालेनिकट व्यवसायी दुर्गा प्रसाईंले आगामी निर्वाचनमा माओवादी र नेकपा एसले एक सिट पनि जिते आफू सन्न्यास लिएर वृन्दावन जाने घोषणा गरेका छन् । उनले विरोधी पार्टीहरूलाई एक्लाएक्लै एमालेविरुद्ध चुनाव लड्न चुनौती दिए ।

    सूर्यविनायकमा आफैंले स्थापना गरेको नेपालकै सबैभन्दा ठूलो तरकारी बजार उद्घाटन समारोहमा प्रसाईं आफ्ना विरोधीहरूमाथि खनिएका थिए ।

    उनले भने, ‘अरुको त भन्दिनँ, माओवादी र अर्को एस कि के भन्ने नक्कली पार्टीले नेपालको कुनै पनि निर्वाचन क्षेत्रबाट एक मात्र पनि सिट जिते भने मेरो सम्पूर्ण सम्पत्ति तिनीहरूको इच्छाएको व्यक्तिको नाममा राजीनामा पास गरेर सन्न्यास ग्रहण गरेर वृन्दावन जाने छु । मेरो यही भनाइलाई प्रमाण मानेर दाबी लिए पुग्छ ।’

    प्रसाईंले माओवादीका बारेमा वर्णन गर्न प्रकाश सपूतको एउटा गीत नै काफी हुने बताए ।

    उनले भने, ‘न्यूनतम राजनीतिक नैतिकता पनि नराखी टाउकोको मूल्य तोक्ने वर्गसत्रुसँग घाँटी जोड्नेलाई मैले धेरै टिप्पणी गर्नु छैन, उनीहरूलाई जवाफ दिन प्रकाश सपूतको गीतका १६ मिनेट नै काफी छन् । राज्यकोषबाट अनुदान लिएका असफल वाख्रापालक थापाकाजी र बर्दिबासमा सर्प पाल्ने खनाल बाजेहरू गठबन्धनको भीख माग्दै कांग्रेसको पुच्छर समातेर राजनीतिको वैतरणी तर्न खोजेका प्रचण्ड, १५ वर्ष पार्टी हाँक्दा पार्टीलाई घर न घाटको बनाउने कम्युनिष्ट पार्टीमा अपमान…. भयो भनेर गधाको पुच्छर समातेर गंगा नदी तर्न हिँडेका माधव नेपाल बाजे आगामी निर्वाचनमा एक्लाएक्लै आउनुस्, उनीहरू कहाँ छन् भनेर हेर्न निर्वाचनपछि केपी शर्मा ओलीले बनाएको धरहराको सबैभन्दा माथ्लो तलाको बार्दलीमा चढ्नुपर्ने हुन्छ ।’

  • भोजपुरको लेखर्कमा नेकपा एसको सिंगो कमिटी एमालेमा समाहित

    भोजपुरको लेखर्कमा नेकपा एसको सिंगो कमिटी एमालेमा समाहित

    भोजपुर । टेम्केमैयुङ गाउँपालिका-९ लेखर्कमा नेकपा एसको पूरै कमिटी नेकपा एमालेमा समाहित भएको छ ।

    वडा कमिटीका अध्यक्ष सन्तोष चाम्लिङ नेतृत्वको २१ सदस्यीय कमिटी एमालेमा प्रवेश गरेको एमाले भोजपुरका अध्यक्ष शरणकुमार राईले बताए ।

    नेकपा एसको वार्ड कमिटी गठनको क्रममा । फाइल तस्बिर ।

    वडास्तरीय कार्यकर्ता भेलामा अध्यक्ष राई, गाउँपालिका अध्यक्ष एवं प्रदेश कमिटी सदस्य ध्रुव राईलगायतका नेताहरूले उनीहरूलाई स्वागत गरे । स्थानीय निर्वाचन नजिकिँदै जाँदा भोजपुरमा माओवादी, कांग्रेस र एसबाट नेता-कार्यकर्ता प्रवेश गरिरहेका छन् ।

    यसअघि टेम्केमैयुङ गाउँपालिकाकै वडा नम्बर ६ कोटमा माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्ष सूर्य नेपालसहितका जनप्रतिनिधि र सम्पूर्ण वडा कमिटी एमालेमा समाहित भएको थियो ।

  • माधव नेपालको अभिव्यक्तिप्रति पूर्वप्रधानसेनापतिको आपत्ति, भन्छन्- ‘टोटल्ली फल्स’ कुरा हो

    माधव नेपालको अभिव्यक्तिप्रति पूर्वप्रधानसेनापतिको आपत्ति, भन्छन्- ‘टोटल्ली फल्स’ कुरा हो

    काठमाडौं। नेपाली सेनाका पूर्वप्रधानसेनापति पूर्णचन्द्र थापाले सत्तारुढ नेकपा एसका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।

    नेपालले आइतबार नेकपा एसनिकट समाजवादी प्रेस संगठनको विस्तारित बैठक समापनका अवसरमा बोल्ने क्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानसेनापतिसँग धेरैपटक बसेर गोप्य कुराकानी गरेको र बंगलादेशको मोडलमा चुनाव गराएर सत्ता कब्जा गर्ने षडयन्त्र गरेको सूचना सरकारी एजेन्सीहरुबाट आफूहरुले थाहा पाएको बताएका थिए ।

    नेपालले राष्ट्रपति र प्रधानसेनापतिसँग धेरैपटक गोप्य कुराकानी गरेको र चोलेन्द्र शमसेरसँग मिलेर अदालत कब्जामा लिन खोजेको बताएका थिए । नेपालले सरकारी एजेन्सीबाट ओलीको दिमागमा के चलिरहेको थियो भन्ने सूचना पाएपछि यो सरकारले त्यसलाई असफल पारेको बताएका थिए ।

    नेपालको अभिव्यक्तिप्रति नेपाली सेनासमेत गम्भीर भएको उच्च अधिकारीहरुले बताएका छन् । ओली प्रधानमन्त्री भएका बेलाका सेनापति थापाले भने नेपालको भनाइ निराधार र आपत्तिजनक रहेको प्रतिक्रिया दिएका छन् । नेपालले बोलेको भिडिओ नेपाल प्रेसमा आएको थियो ।

    थापाले नेपाल प्रेससँग भने– मेरो स्वभाव पनि सबैलाई थाहा छ । उहाँले जुन अभिव्यक्ति दिनुभएको छ त्यो टोटल्ली फल्स छ । यस्ता कुराको कुनै जस्टिफिकेसन छैन । राष्ट्रपतिज्यू र प्रधानमन्त्रीज्यूसँग म त्यसरी कहिल्यै बसिँन र मलाई तत्कालीन सरकार वा प्रधानमन्त्रीले कहिल्यै त्यसो भन्नु पनि भएन । यो कुरा किन र कुन उद्देश्यले आएको हो जिम्मेवार व्यक्तिहरुले नेपाली सेनालाई यसरी विवादमा तान्न हुँदैन ।

    के भनेका थिए नेपालले ?

    त्यसबेला केपी ओलीले प्रधानसेनापतिसँग, राष्ट्रपतिसँग धेरैपटक गोप्य कुराकानी गरेका थिए । उनको दिमागमा बंगलादेश चलिरहेको थियो । चुनाव गराउने, ठटाउने, जम्मै सेटिङ मिलेकै थियो, निर्वाचन आयोगले चुनाव घोषणा गर्ने अनि कब्जा गर्ने ।

    चोलेन्द्र शमसेरसँग हप्ताका दुई दिन बालुवाटारमा भेटेर स्थानीय चुनावम कुन कुन न्यायाधीश कहाँ खटाउने, अर्को प्रहरीका मान्छे बोलाएर कुन प्रहरी कहाँ खटाउने ? त्यो सबै वर्कआउट भएको थियो । सबै कुरा सरकारको एजेन्सीबाट थाहा पाइयो । मैले पनि सरकारका एजेन्सीबाट थाहा पाएँ । उनको त्यो दिमागमा चलिरहेको थियो ।

    पुस ५ मा संसद विघटन गर्छु, दुईतिहाई बढी ल्याउँछु । कसैले चित्त नबुझे अदालत जान्छ । अदालत आफ्नै छ, उल्ट्याइदिन्छु । निर्वाचन आयोग आफ्नै छ, त्यसले नभए सम्पत्ति शुद्धीकरण लगाइदिन्छु । राजश्व अनुसधान लगाउँछु । व्यापारी छन् भने त्यहिँ सकिन्छन् । अरु कोही छन् भने छानबिनबाट त्यहीं झुण्डिरहेका हुन्छन् । साइबर स्याल खडा गरेकै छ, साइबर स्यालले हो हो भन्ने यस्तोसम्म थियो ।

    हेर्नुहोस् भिडिओ

     

  • माधव नेपाल भन्छन्- हामी तीन प्रदेशमा एमालेभन्दा अगाडि, केपी ओली बिचराको बेहाल छ (भिडिओ)

    माधव नेपाल भन्छन्- हामी तीन प्रदेशमा एमालेभन्दा अगाडि, केपी ओली बिचराको बेहाल छ (भिडिओ)

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी सशक्तरूपमा अगाडि बढिरहेको बताएका छन् । उनले स्थापनाकालमै आफ्नो पार्टी सुदूरपश्चिम, मधेस प्रदेश र कर्णाली प्रदेशमा एमालेभन्दा अगाडि रहेको बताए ।

    ‘सुदूरपश्चिममा त हाम्रो पार्टी एक नम्बरमा छ । केपी ओलीको पार्टी भुइँमा पछारिएको छ,’ पार्टीनिकट मुस्लिम इत्तेहाद संगठनको भेलामा सम्बोधन गर्दै उनले भने,‘माओवादी २ नम्बर, कांग्रेस ३ नम्बर, केपी ओली बिचरा बेहाल !’

    त्यसैगरी मधेस प्रदेशमा पनि नेकपा (एस) भन्दा एमाले धेरै पछाडि परेको उनले दाबी गरे । उनले भने, ‘दुई नम्बर प्रदेशमा हामी सशक्त भएर अगाडि छौं । केपी ओलीको पार्टी त कहाँ हो कहाँ ।’

    राष्ट्रियसभाको निर्वाचनमा एमालेलाई धुलिसात बनाएको पनि नेता नेपालले दाबी गरे ।
    ‘पहिलो चुनावमा एकसिटमा धुलो चटायौं,’ उनले भने,‘दोस्रोपटक १९ सिटमा भएको चुनावमा एक सिटमा सीमित पारेर धुलिसात पारिदियौं ।’

    कर्णाली प्रदेशको विषयमा बोल्दै उनले भने,‘कर्णाली प्रदेशमा पनि हाम्रो पार्टी अगाडि सशक्त ढंगबाट अगाडि बढिरहेको छ, एमाले पछारिएर अर्धबेहोस अवस्थामा छ ।’

    जिल्लाहरूको विषयमा बोल्दै उनले आफ्नो पार्टी अधिकांश जिल्लामा एमालेभन्दा अगाडि रहेर सशक्त ढंगले संगठित भएर अघि बढिरहेको बताए ।

  • नेकपा एसको मुखपत्र ‘कलमन्यूज डटकम’ सञ्चालनमा

    नेकपा एसको मुखपत्र ‘कलमन्यूज डटकम’ सञ्चालनमा

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले मुखपत्रको रूपमा ‘कलमन्यूज डटकम डट एनपी’ नामक समाचार पोर्टल सुरू गरेको छ । पार्टीनिकट पत्रकारको संगठन समाजवादी प्रेस संगठनले आधिकारिक पोर्टलस्वरूप डिजिट प्रकाशनको रूपमा उक्त अनलाइन सञ्चालनमा ल्याएको हो ।

    नेकपा (एस) को निर्वाचन चिन्ह ‘कलम’ को नामबाट ल्याइएको पोर्टलको उद्घाटन समाजवादी प्रेस संठगनको विस्तारित बैठकबीच अध्यक्ष माधवकुमार नेपालले गरे ।

    पोर्टलबाट निरन्तर समाचार सामाग्रीहरू अपडेट गरिने समाजवादी प्रेस संगठनले जनाएको छ ।

    यस्तै प्रत्येक १५/१५ दिनमा छापा संस्करण पनि प्रकाशन गर्ने संगठनले जानकारी दिएको छ ।

  • केपी ओली रावण र कंसजस्तै इतिहासका कुपात्र : माधव नेपाल(भिडिओ)

    केपी ओली रावण र कंसजस्तै इतिहासका कुपात्र : माधव नेपाल(भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली इतिहासकै एक कुपात्र भएको टिप्पणी गरेका छन् । उनले ओलीलाई रावण, कंस, शिशुपाल र हिटलरसँग तुलना गरे ।

    नेकपा एसनिकट पत्रकारहरूको संगठन समाजवादी प्रेस संगठन नेपालको विस्तारित बैठक समापन कार्यक्रममा नेपालले ओलीको कटु आलोचना गरेका हुन् । उनले पौराणिक साहित्यको अध्ययन गर्दै ओलीको भर्त्सना गर्न पार्टी पंतिलाई निर्देशन दिए ।

    नेपालले भने, ‘ठ्याक्कै रावणको प्रवृत्ति केपी ओलीमा देखिएको छ । पौराणिका साहित्यको अध्ययन पनि गर्नुपर्छ । रावण, कंस, शिशुपालदेखि हिटलरसम्मले के-के गरे ? हिटलरले कतिवटा कुकृत्य थिए ? ठ्याक्कै तुलनात्मक अध्ययन गरेर केपी ओलीलाई देखाउनुस् ।’

    कम्युनिष्टहरू सबै तानाशाह नहुने नेपालले बताए । तर, कम्युनिष्टको आवरणमा पनि तानाशाहरू जन्मिनसक्ने भन्दै उनले ओलीको उदाहरण दिए ।

    ‘कांग्रेसलाई के भन्नुपर्‍यो भने कम्युनिष्टलाई अधिनायकवादी भन्छन्, त्यस्तो होइन । कम्युनिष्टको आवरणमा तानाशाहहरू जन्मिन सक्दा रहेछन् । यो पात्र विशेषमा उत्पन्न भएको विकृति हो । यस्ता कुपात्रहरू इतिहासको कालखण्डमा देखिन्छन् । केपी ओली त्यस्तै एक कुपात्र हुन्, राजनीतिमा लागेका सबैलाई चेतना भया ।’ नेपालले भने ।

    समयमै सचेत नभए पछि पछुताउनुको विकल्प नहुने भन्दै उनले कांग्रेसलाई चेतावनी दिए ।

    ‘मैले कांग्रेसका नेताहरूलाई पनि भनेँ । तपाईंहरूले जानीजानी त्यस्ता कुपात्रलाई विश्वास गर्नुभयो भने देशको प्रजातन्त्र, संघीयता, संविधान सबै खतम हुन्छ । अनि पछुताएर हुन्छ के ? केपी ओलीले जम्मै सिध्याएपछि टाउकोमा हात नराखेर के गर्ने ?’

  • पार्टीका पत्रकारसँग माधव नेपालको गुनासो- खादा र टीका लाउन भ्याइनभ्याइ छ, प्रचार नै छैन (भिडिओ)

    पार्टीका पत्रकारसँग माधव नेपालको गुनासो- खादा र टीका लाउन भ्याइनभ्याइ छ, प्रचार नै छैन (भिडिओ)

    काठमाडौं । नेकपा एसका नेता माधवकुमार नेपालले जताततै पार्टी प्रवेश गर्नेहरूको लहर चलेको बताएका छन् । तर, उनले पत्रकारहरूले गर्नुपर्ने जति प्रचार भने नगरेको गुनासो गरे ।

    पार्टीनिकट पत्रकारहरूको संगठन समाजवादी प्रेस संगठनको विस्तारित बैठकलाई सम्बोधन गर्दै नेता नेपालले जिल्ला जिल्लाका समाजवादीका पत्रकारहरूले समाचार र फोटोहरू तत्काल पठाउन निर्देशनसमेत दिए ।

    ‘म विभिन्न ठाउँमा गइराको छु । २ हजार ३ हजारले हल टनाटन छ । मान्छे बाहिर बसिरहेका हुन्छन् । त्यहाँ के भएको थियो । फोटा आउनुपर्‍यो । समाचार प्रसारण गर्ने कुरामा कार्यक्रम र भाषणका सकारात्मक पक्षहरूलाई इमिडियट पठाउनुपर्‍यो’, अध्यक्ष नेपालले भने ।

    समाचार हेर्दा, पढ्दा हेरौं हैरौं र पढौं पढौं लाग्ने गरी लेख्न पनि उनको आग्रह थियो ।

    नेता नेपालले पार्टी प्रवेश गराउन भ्याइनभ्याइ भएको पनि सुनाए । उदाहरण दिँदै उनले भने, ‘गुल्मीमा म गएको थिए । मान्छे यति धेरै ओइरिन थाले कि मैले नभ्याएर रामकुमारी झाँक्रीलाई टीका लगाउन पालो दिएँ । त्यहाँ उत्साह । जबकि एमालेका दुई नेता त्यहीँ कब्जा गरेर बसेका छन् । खसी काटेर भोज गरेर हाम्रोतिर आउन रोकेका छन् । दुईवटा बसमा आएकालाई रोकेका छन् । तर, मान्छे आउन रोकिएका छैनन् । हल भरिएर । जहाँ गयो आकर्षण बढ्दो छ । हाम्रो पार्टीको प्रभाव विस्तार हुँदैछ । यो पोजिटिभ पक्ष हो । जति प्रचार हुनुपर्ने भएको छैन ।’

    धादिङको धुनिबेँसीमा अढाई हजारलाई प्रवेश गराएको भन्दै उनले नेकपा एसको कार्यक्रमलाई माओवादीले आफ्नो कार्यक्रम भनेर फोटो हालेको बताए ।

    नेपालले भने, ‘मैले प्रचण्डलाई सोधेँ । किन यो लेखेको ? उहाँहरूलाई पनि लाग्यो कि के हो हाम्रा पनि मान्छे गए’ भनेर ।

    चुनावमा पार्टीलाई विजयी गराउन लाग्न भन्दै उनले पत्रकारले फोटो खिच्दा र समाचार लेख्दा ध्यान दिनुपर्ने विषय पनि सिकाउन भ्याए ।

  • भीम रावल-घनश्याममाथि नेकपा एसको प्यारोडी, नाचे माधव नेपाल (भिडिओ)

    भीम रावल-घनश्याममाथि नेकपा एसको प्यारोडी, नाचे माधव नेपाल (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीनिकट पत्रकार संगठनको एउटा कार्यक्रममा नेकपा एमालेमा रहेका असन्तुष्ट नेताहरूलाई प्यारोडीमार्फत घोचपेच गरिएको छ ।

    एमाले अध्यक्ष केपी ओलीविरोधी नेताहरू भीम रावल र घनश्याम भुसाललाई तारो बनाइएको प्यारोडी गीतमा नेकपा एसका अध्यक्ष माधव नेपाल पनि रमाएर नाचे ।

    समाजवादी प्रेस संगठन नेपालको प्रथम विस्तारित बैठक समापन कार्यक्रममा नेपाल प्रमुख अतिथि थिए । कार्यक्रमका बीच कलाकारले प्यारोडी गीत गाएका थिए ।

    जेबी टुहुरेको चर्चित जनवादी गीत ‘आमा दिदी बहिनी हो…’ माथि बनाइएको प्यारोडीको बोल थियो, ‘भीम रावल, घनश्याम कति बस्छौ लाछी भइ बार्दलीको दासी बनेर…’

    कलाकारले गीत प्रस्तुत गरिरहँदा नाचिरहेकी एक युवतीले आफ्नै आसनमा बसेर रमाइरहेका अध्यक्ष नेपालसहितका नेताहरूलाई तानेर अगाडि ल्याइन् ।

    नेपाल मुस्कुराउँदै आए र थपडी बजाउँदै कलाकारको गीतमा साथ दिए । एकछिनमा युवतीले हातै समातेर नचाएकी थिइन् ।

  • माधव नेपालको दाबी- बालुवाटारमा बंकर बनाएर ओलीले चोलेन्द्रसँग भेट्थे, सेटिङ गर्थे (भिडिओ)

    माधव नेपालको दाबी- बालुवाटारमा बंकर बनाएर ओलीले चोलेन्द्रसँग भेट्थे, सेटिङ गर्थे (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीको अहंकारवादी प्रवृत्ति सत्तामा पुगेपछि फस्टाएर गएको टिप्पणी गरेका छन् ।

    पार्टीनिकट पत्रकार संगठन समाजवादी प्रेस संगठन नेपालको प्रथम विस्तारित बैठकलाई सम्बोधन गर्दै नेता नेपालले बालुवाटारमा हुँदा ओलीले बंकर बनाएर प्रधानन्यायाधीश चोलेन्द्रसँग बारम्बार भेट्दै संसद विघटन र त्यसपछिका योजना तयार पारेको दाबी गरेका छन् ।

    उनले भने, ‘संसद विघटन गर्छु भन्ने ओलीको दिमागमा पहिलेदेखि थियो, बालुवाटारमा बंकर बनाएर ओली चोलेन्द्रसँग बारम्बार भेट गर्थे । कुन न्यायाधीशलाई कहा-कहाँ पुर्‍याउने, कोही बोल्यो भने अदालत आफ्नै छ निर्वाचन आयोग आफैं छु । सम्पत्ति शुद्धीकरण लगाउँछु तह साइबर स्याल लगाउँछु भन्ने उनको योजना थियो ।’

    सम्बोधनको अधिकांश समय ओलीविरुद्ध खर्चिएका नेपालले मुलुकमा परिवर्तन ल्याउने उद्देश्य भन्दा पनि हावादारी कुरा गरेर वरिपरि ‘एस म्यान’ राखेर कम्युनिष्टहरूको आवरणमा तानाशाही निस्किएको टिप्पणी गरे ।

  • तीनै तहको निर्वाचनमा गठबन्धन कायम रहन्छ : माधव नेपाल

    तीनै तहको निर्वाचनमा गठबन्धन कायम रहन्छ : माधव नेपाल

    रुपन्देही । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धन तीनै तहको निर्वाचनसम्म कायम रहने बताएका छन् ।

    गठबन्धन कायम नै रहने उल्लेख गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले गठबन्धनबाट नै एमाले नराम्रोसँग पछारिने बताए ।

    नेकपा एमालेमा सूर्य ग्रहण लागिसकेको बताउँदै नेता नेपालले एमालेभित्रका अहङ्कारी नेताहरूकै कारण अहिलेको अवस्था आएको तर्क गरेका छन् ।

    आज गुल्मीको तम्घासमा एकीकृत समाजवादी पार्टीको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले एमाले अध्यक्ष केपी ओलीको अहङ्कारी सोचका कारण पार्टीमा सूर्य ग्रहण लागेको बताएका हुन् ।

    ओलीले नेतृत्व गरेको पार्टीमा विचार, सिद्धान्त केही नभई ओलीका आसेपासेहरू मात्र रहेको आरोप लगाउँदै उनले एमाले कहिल्यै पनि जनताको पार्टी बन्न नसक्ने जिकिर गरे । हुँदा खादाको झन्डै दुई तिहाइको सरकारमा हुँदा व्यक्तिवादी सोचका कारण सत्ताबाट बाहिर रहनुपरेको बताउँदै एमाले अब धुलोमा मिल्ने समेत उनले दाबी गरे ।

    नेता नेपालले नेकपा एमाले पार्टी आफूले निर्माण गरेको दाबी गर्दै अहिले ओलीले कब्जा जमाएको समेत बताए । पार्टी निर्माणमा आफ्नो भूमिका रहेको भन्दै तानाशाही तवरले पार्टी चलाउन खोजेकाले आफूहरू नयाँ पार्टी निर्माणमा लागेको समेत उनले दाबी गरे ।

    ओलीको व्यक्तिवादी र अतिवादी सोचका कारण नै सिंहदरबारबाट बालकोट जानुपरेको, सरकारमा रहँदा सत्ता र शक्तिको समेत दुरुपयोग गरी भ्रष्टाचारमा लिप्त रहेको उनले आरोप लगाए ।

    सम्बोधनकै क्रममा नेता नेपालले गुल्मेली जनताले जिताएर पठाएका नेता गफाडी भएको आरोप लगाएका छन् ।

    कसैको नाम नलिई अध्यक्ष नेपालले गुल्मीबाट संसद्मा प्रतिनिधित्व गर्ने नेकपा एमालेका नेताहरू प्रदीपकुमार ज्ञवाली र गोकर्ण विष्टप्रति लक्षित गर्दै भने, ‘अहिले जितेर गएका नेताहरू केबल जनतालाई झुट्टा आश्वासन मात्रै दिने नेता भएका छन् ।’

    ‘म गुल्मी आएपछि यहाँबाट जितेर गएका नेताको बारेमा सोधेँ, तिनीहरू त आफैले पढेको स्कुल भवन जीर्ण हुँदासमेत बजेट माग नगर्ने,चुनावको समयमा झुटा आश्वासन दिने नेता पो रहेछन्’, उनले भने ।

  • झलनाथको आरोप – केपी ओली गुटले हामी पूरानै एमाले हौं भनेर देशभरी भ्रम छरिरहेको छ

    झलनाथको आरोप – केपी ओली गुटले हामी पूरानै एमाले हौं भनेर देशभरी भ्रम छरिरहेको छ

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले केपी ओली नेतृत्वको नेकपा एमाले उत्प्रेषणको आदेशबाट बनेको गुट भन्दै आफूहरुले बनाएको एमाले नेकपा एकतासँगै विघटन भइसकेको बताएका छन् ।

    नेकपा एस निकट समाजवादी प्रेस संगठनको विस्तारित बैठकलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै नेता खनालले एमालेहरुले अहिले देशभरी आफूहरु पूरानै एमाले भएका भनेर भ्रम छरिरहेको बताए ।

    खनालले भने– त्यो गुटले देशभरी भ्रम छरिरहेको छ, एमाले भनेर । त्यो एमाले त नेकपा एकीकरणसँगै विघटन भइसकेको हो । यो त सर्वोच्च अदालतको उत्प्रेषणको आदेशबाट जन्मिएको गुट हो । तर त्यसभित्र हामीले तन्त्रमन्त्र गरेका र शिक्षित गरेका थुप्रै साथीहरु त्यहाँभित्र हुनुहुन्छ । उहाँहरु भ्रममुक्त भएर आउनुपर्छ ।

  • नेकपा एसका केन्द्रीय विभाग र प्रदेश कमिटीले पाए पूर्णता (सूचीसहित)

    नेकपा एसका केन्द्रीय विभाग र प्रदेश कमिटीले पाए पूर्णता (सूचीसहित)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टीका विभिन्न केन्द्रीय विभाग र प्रदेश कमिटीहरूलाई पूर्णता दिएको छ ।

    नेकपा एसका महासचिव डा. बेदुराम भुसालले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै विभाग र प्रदेश कमिटीमा रहने पदाधिकारी तथा सदस्यहरूको नामावली सार्वजनिक गरेका हुन् ।

    केन्द्रीय सचिवालयका विभिन्न बैठकबाट भएका पार्टीका केन्द्रीय विभागहरू र प्रदेश कमिटीहरू गठनका निर्णयहरूलाई हालै काठमाडौंमा सम्पन्न पार्टी केन्द्रीय कमिटीको तेस्रो पूर्णबैठकले अनुमोदन गरेको भुसालले जनाएका छन् ।

  • तालमेल नभए माधवलाई तनाव, भन्छन्- माओवादीको भर छैन, कांग्रेसलाई डर छैन

    तालमेल नभए माधवलाई तनाव, भन्छन्- माओवादीको भर छैन, कांग्रेसलाई डर छैन

    काठमाडौं । वैशाख ३० मा हुने स्थानीय निर्वाचनमा तालमेल गर्ने वा नगर्ने भन्नेमा सत्तारुढ गठबन्धनमा रहेका दलका नेताहरूको जुहारी जारी छ । गठबन्धनमा रहेकामध्ये नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका नेताहरू चुनावी तालमेलको पक्षमा उभिँदै आएका छन् । सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसभित्र भने चुनावी तालमेलबारे दुई थरी धारणा रहेको छ ।

    सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका नेताहरू चुनावी तालमेलका पक्षमा छन् । नेता डा. शेखर कोइराला र उनीनिकट अन्य नेताहरू भने तालमेलको विपक्षमा छन् । तालमेलबारे निर्णय लिन कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दैछ । कांग्रेसले शर्तसहित चुनावी तालमेलको पक्षमा निर्णय लिने सम्भावना रहेको छ । कांग्रेस चुनावी तालमेलबारे निर्णय लिने चरणमा पुगिसक्दा गठबन्धनको मुख्य घटक नेकपा एकीकृत समाजवादी भने ढुक्क छैन ।

    नेकपा एमाले विभाजित भएर बनेको नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल गठबन्धनमा सबैभन्दा सकस व्यहोर्नुपर्ने अवस्थामा छ । हालै प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको छलफलमा नेपालले ‘एमालेले जितेका स्थानीय तहमा आफ्नो दाबी रहने’ बताएका थिए ।

    नेकपा एमाले विभाजित भएर बनेको नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल गठबन्धनमा सबैभन्दा सकस व्यहोर्नुपर्ने अवस्थामा छ । हालै प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको छलफलमा नेपालले ‘एमालेले जितेका स्थानीय तहमा आफ्नो दाबी रहने’ बताएका थिए ।

    गठबन्धनमा चुनावी तालमेल निश्चित नभएपछि अध्यक्ष नेपालले एमालेको तागतसँग आफूलाई तुलना गर्दै आएका छन् । यद्यपि आफ्नो पार्टी नयाँ भएकाले एक्लै चुनाव लडेर ‘उपलब्धी’ जोगाउने सम्भावना नेपालले देखेका छैनन् । अर्कोतिर चुनावी तालमेलबारे कांग्रेस र माओवादी नेताहरूको ‘दन्तबझान’ ले नेपाललाई दिक्क बनाएको छ ।

    निकटस्थहरूसँग नेपालले कांग्रेस र माओवादीको गतिविधिका कारण एमालेले नै लाभ लिने अवस्था बन्न खोजेको बताउने गरेका छन् । कांग्रेसका केही पदाधिकारीको अभिव्यक्तिले त गठबन्धनलाई झन् समस्यामा पार्ने माधवको निष्कर्ष छन् । अर्कोतिर कांग्रेसको व्यवहारका कारण माओवादीपनि बिच्कने खतरा उनले देखेका छन् ।

    ‘एकीकृत समाजवादी पार्टी कठिन परिस्थितिमा बनेको हो । केही नेताहरूले धोका दिएकाले एमालेबाट सोचेजति तागत झिक्न सकिएन । त्यसैले एकपटक गठबन्धन गरेर पार्टीको तागत जोगाउनुपर्छ भन्ने कुरा स्वाभाविक हो’, समाजवादीका एक नेता बताउँछन् ।

    ‘कांग्रेसका नेताहरू गठबन्धन विरुद्ध बोलिरहेका छन् । गठबन्धन हुँदा कांग्रेसको पनि भोट बढ्ने होनि तर उनीहरू पपुलर कुरा गर्छन् । कांग्रेसलाई चुनाव हार्ने डर छैन’, नेपालले निकटस्थहरूसँग भन्ने गरेका छन् । अर्कोतिर गठबन्धनकै पक्षमा रहेपनि माओवादीको भर लागेको छैन नेपाललाई । ‘अब कांग्रेसले यस्तै गरिरह्यो भने प्रचण्डले फेरि केपी ओलीसँग हात मिलाउन सक्छन् । प्रचण्डको भर भएन, कांग्रेसलाई डर भएन’, नेपालको धारणा छन् ।

    नेपालनिकट नेताहरू नयाँ पार्टी निर्माणको चरण सुरू हुनासाथ निर्वाचनमा होमिन परेकाले केही कठिनाइ पर्नु स्वभाविक हुने बताउँछन् ।

    ‘एकीकृत समाजवादी पार्टी कठिन परिस्थितिमा बनेको हो । केही नेताहरूले धोका दिएकाले एमालेबाट सोचेजति तागत झिक्न सकिएन । त्यसैले एकपटक गठबन्धन गरेर पार्टीको तागत जोगाउनुपर्छ भन्ने कुरा स्वाभाविक हो’, समाजवादीका एक नेता बताउँछन् ।

    ती नेताका अनुसार चुनावी तालमेल हुनासाथ अधिकांश स्थानीय तहमा एमालेमा प्रभाव भएकै नेताहरू समाजवादीबाट चुनाव लड्न ईच्छुक छन् । यहीकारण अध्यक्ष नेपालले कांग्रेस र माओवादीको भर खोजिरहेका हुन् ।

    ‘देउवाजीलाई प्रधानमन्त्री बनाउन र प्रचण्डलाई राजनीतिक रूपमा जोगाउन सबैभन्दा बढी त्याग र राजनीतिक जोखिम कमरेड माधव नेपालले उठाउनुभएको छ । त्यसैले यो गठबन्धन जोगाउनुपर्छ भन्नेमा उहाँको प्रयास छ’, नेपालनिकट एक नेता भन्छन् ।

  • राप्रपासँग तालमेल गर्न केपी ओली सुटुक्क ज्ञानेन्द्र निवास पुगे : माधव नेपाल (भिडिओ)

    राप्रपासँग तालमेल गर्न केपी ओली सुटुक्क ज्ञानेन्द्र निवास पुगे : माधव नेपाल (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धन दलबीच चुनावी तालमेलका लागि कांग्रेसको निर्णय पर्खेर बसेको बताएका छन् ।

    उनले एमाले पनि गठबन्धनका लागि आतुर रहेको दाबी गरे । केपी ओली राप्रपासँग तालमेल गर्न खोजिरहेको टिप्पणी गर्दै नेपालले भने, ‘हामीलाई कमजोर छ, त्यसैले तालमेल गर्न मरिमेटी लागेको आरोप लगाउँदैछन् तर केपी ओली पनि गठबन्धन गर्दैछन् । सुटुक्क ज्ञानेन्द्रको निवास पुगेका छन्, राप्रपासँग तालमेल गर्न । विदेशीको दलाली गर्ने पार्टीसँग मिल्न खोजेका छन् ।’

    पार्टीनिकट महिला संघको महिला भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले तालमेल गर्ने कुरामा देउवासँग विश्वस्त रहेको बताए ।

    ‘देउवाले एमसीसीका बेला पनि केपी ओलीले कुरा गर्दा म धोकाको राजनीति गर्दिनँ भन्नुभयो । उहाँ सकारात्मक हुनुहुन्छ,’ उनले भने,‘हामी पार्टीको निर्णय के हुन्छ ? पर्खेर बसेका छौ ।’

    यद्यपी जुनसुकै अवस्थाका लागि आफू तयार रहनुपर्ने उनले बताए । ‘देउवाको विश्वास छ, तर केही भन्न सकिन्नँ । आफ्नै बलबुताले चुनाव लड्न तयार रहनुपर्छ,’ उनले भने ।

    यसका लागि पार्टीपंति तयार रहेर बस्न उनले निर्देशन दिए । उनले भने, ‘हामी एक्लै लड्न नि सक्छौं । आफ्नै बुताले कहाँकहाँ जितिन्छ, त्यसको पनि हिसाब गरेका छौं । आफ्नो स्थानबाट तपाईंहरू पनि गर्नुस् ।’

    गठबन्धन दलहरूबीच चुनाव तालमेल हुनु लोकतान्त्रिक पद्धति रहेको उनले बताए ।

  • माधव नेपालको दाबी- ६ महिनामै हलक्क भयौं, म जहाँ जान्छु त्यहीँ भीड छ (भिडिओ)

    माधव नेपालको दाबी- ६ महिनामै हलक्क भयौं, म जहाँ जान्छु त्यहीँ भीड छ (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिले नेकपा एमाले छाड्ने लहर चलेको दाबी गरेका छन् ।

    पार्टीनिकट महिला संघले आयोजना गरेको भेला तथा प्रशिक्षण कार्यक्रममा आफ्नो पार्टीले ६ महिनामै पाएको सफलता अरुले नपाएको बताए । ‘हामी ६ महिनामै ७७ वटै जिल्ला, अधिकांश पालिका र अधिकांश वडाहरूसम्म फैलिएका छौं । अधिकांश ठाउँमा हाम्रो कमिटी विस्तार भइसकेको छ’, नेपालले भने ।

    एमाले छाडेर एसमा आउनेको लहर चलेको भन्दै उनले थपे, ‘अहिले देशभर एमाले छाड्ने लहर चलेको छ, हाम्रो पार्टी प्रवेश गर्ने महाअभियान चलिरहेको छ । अहिले म जहाँ गइरहेको छु त्यहीँ भीड हुन्छ । जहाँका हल पनि साँघुरा हुन्छन्, कुर्ची कम पर्छन् । भुइँमै फम र कार्पेट बिछ्याएर बस्नुपर्छ । हिमाल, पहाड, तराई जताततै भीडैभीड छ ।’

    नेकपा एस क्रान्तिकारीधारमा हिँडेको भन्दै उनले एमाले दक्षिणपन्थी बाटोमा भासिएको आरोप लगाए ‘एमाले दक्षिणपन्थी बाटोमा भासिएको छ, हामी अग्रगामी क्रान्तिकारी बाटोमा छौं । त्यसैले एमाले छाडेर हाम्रो पार्टीमा प्रवेश गर्नेहरू बढ्दै गएका छन् ।’

    एमालेभित्र अध्यक्ष केपी शर्मा ओलीको निरंकुशताविरुद्ध विद्रोह गरेको एकवर्ष पूरा भएको भन्दै नेता नेपालले पार्टी अझ मजबुत बनाउने संकल्प गरे ।

  • गठबन्धन हुँदा काठमाडौं महानगरमा नेकपा एसको दाबी, जीवनरामलाई मेयरमा अघि सार्ने तयारी

    गठबन्धन हुँदा काठमाडौं महानगरमा नेकपा एसको दाबी, जीवनरामलाई मेयरमा अघि सार्ने तयारी

    काठमाडौं । सत्तारुढ नेकपा एकीकृत समाजवादीले स्थानीय चुनावमा सत्ता गठबन्धन हुँदा काठमाडौं महानगरपालिकाको मेयर दाबी गर्ने भएको छ । सत्ता गठबन्धनमा रहेका पाँच दलमध्ये काठमाडौं महानगरमा कांग्रेसपछि आफ्नो शक्ति दोस्रो स्थानमा रहेको नेकपा एसको ठम्याइ छ ।

    नेकपा एसका काठमाडौं जिल्ला अध्यक्ष कुसुम कार्कीले गठबन्धनको निर्णय शीर्ष तहबाटै हुने भएकाले अहिले नै काठमाडौंका कतिवटा स्थानीय तह दाबी गर्ने भन्ने टुंगो नलागेको बताए । तर, काठमाडौं महानगरपालिकामा आफूहरुको दावी हुने उनले नेपाल प्रेसलाई बताए ।

    अध्यक्ष कार्कीले भने, ‘पार्टीले शीर्ष तहमा कुन महानगर लिने भन्ने टुंगो लाग्ला । तर, हामीले काठमाडौं महानगरपालिकामा सशक्त दाबी गरेका छौं । यहाँ एमालेले जितेको हो । एमालेको जनमत हामीले भत्काइसकेका छौं र हाम्रो पक्षमा लहर बढिरहेको छ । समग्रमै काठमाडौंमा नेकपा एसको पक्षमा मान्छेहरुको आकर्षण बढेको छ ।’

    नेकपा एसले गठबन्धनबाट काठमाडौंको मेयर पाएमा प्रतिनिधिसभा सदस्य जीवनराम श्रेष्ठलाई उम्मेदवार बनाउने तयारी रहेको छ । श्रेष्ठ २०७४ मा पनि मेयरको दाबेदार थिए । उनी २०४९ मा काठमाडौं महानगरपालिका वडा नम्बर १५ को वडाध्यक्ष थिए ।

    गठबन्धन भएमा श्रेष्ठ मेयर उठ्ने र नहुँदा उनी अर्को मन्त्रिपरिषद् हेरफेरमा मन्त्री बन्ने लगभग निश्चित छ । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष समेत रहेका श्रेष्ठलाई मेयरमा अघि सार्दा खेलाडीहरू र नेवार समुदाय पनि परिचालित हुने र जित सहज हुने आँकलन नेकपा एसको छ ।

    यदि गठबन्धन हुँदा मेयर नेकपा एसले नपाएको खण्डमा उपमेयरमा ईश्वर डंगोललाई अघि सार्ने तयारी पार्टीको छ । डंगोल हाल वडा नम्बर १५ का वडाध्यक्ष हुन् । महानगरपालिकाका १८ वडा एमालेले जितेको वडा नम्बर ७ का शुद्ध डंगोल र १५ का इश्वर डंगोल नेकपा एसमा छन् ।

    काठमाडौंका ११ नगरपालिकामध्ये नेकपा एसले गठबन्धन हुँदा महानगरसहित कम्तिमा तीनवटामा मेयर दाबी गर्ने भएको छ । नेकपा एसले हालसम्मको अभियानबाट शंखरापुर, कागेश्वरी मनहरा, कीर्तिपुर र बूढानीलकण्ठ नगरपालिकामा आफ्नो शक्ति मजबुत भएको निष्कर्ष निकालेको छ ।

  • नेकपा एसका प्रवक्ता भन्छन्- कांग्रेसले नचाहे जसपा र माओवादीसँग गठबन्धन गर्छौं (भिडिओ)

    नेकपा एसका प्रवक्ता भन्छन्- कांग्रेसले नचाहे जसपा र माओवादीसँग गठबन्धन गर्छौं (भिडिओ)

    जनकपुरधाम । नेकपा एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले चुनावी तालमेलमा नेपाली कांग्रेस सहभागी नभए जनता समाजवादी पार्टी र माओवादी केन्द्रसँग गठबन्धन हुने बताएका छन् ।

    जनकपुरधामस्थित नेकपा एसको जिल्ला पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता खतिवडाले कांग्रेसका केही नेता गठबन्धनको विपक्षमा रहे पनि सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धनको पक्षमा रहेको बताए ।

    उनले भने, ‘कांग्रेस गठबन्धनको विपक्षमा रहेको पनि भन्न नसकिने अवस्था छ । केन्द्रीय कमिटीको बैठकले आधारभूत निर्णय लिएपछि प्रक्रिया अगाडि बढ्छ ।’

    कांग्रेस गठबन्धन नगर्ने निर्णय गरेमा मधेसमा जसपा र माओवादी केन्द्रसँग गठबन्धन हुने उनको दाबी छ ।

    ‘राजनीतिक स्थिरता, प्रतिगमन विरुद्ध, लोकतन्त्रको पक्ष र संविधानको रक्षाका लागि गठबन्धन बनाएका थियौं’, खतिवडाले भने, ‘अहिले पनि प्रतिगठमनकारीहरू षड्यन्त्र गरिरहेको छ । त्यसैले त्यस्तो षड्यन्त्रकारीलाई परास्त गर्न राष्ट्रका लागि आज पनि गठबन्धनको आवश्यकता छ ।’

    राष्ट्रको हितकै लागि दलहरूबीच एकता कायम राख्न एमसीसी सदनबाट पारित गरेको खतिवडाको जिकिर छ ।

    उनले भने, ‘यदि राष्ट्रहितविपरीत काम गर्न थाल्यो भने त्यो बेला व्याख्यात्मक टिप्पणी पल्टाउछौं । र, एक महिनाको सूचना निकालेर एमसीसी सम्झौता खारेज गर्छौं ।’

  • केपी ओलीको जस्तै दाउपेच गरेर पार्टी बनायौँ : माधव नेपाल

    केपी ओलीको जस्तै दाउपेच गरेर पार्टी बनायौँ : माधव नेपाल

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीले जस्तै दाउपेच गरेर पार्टी गठन गर्न सफल भएको बताएका छन् ।

    उनले ओलीलाई धेरै फुर्ती नदेखाउन चेतावनी दिँदै चुनावमा एमालेलाई धुलिसात पार्न सकिने दाबी गरे । आज एक कार्यक्रममा बोल्ने क्रममा नेपाल ओलीमाथि आक्रामक बनेका हुन् ।

    उनले भने, ‘केपी ओलीको विचारमा क्रान्तिकारी ओज छैन । सिद्धान्तप्रति निष्ठा छैन । उनी दक्षिणपन्थिहरुसँगको साँठगाँठ र विदेशीको आडमा फुरफुर गरिरहेका छन् ।’

    नेपालले अगाडि थपे, ‘४० प्रतिशत,४० प्रतिशत भनेर कुरेर बसिरहेका थिए । हामीले पनि घटाएर २० प्रतिशतमा झारिदियौँ । उनले मात्रै जानेका छन् दाउपेच ? हामीले पनि दाउपेच गर्‍यौँ । (पार्टी फुटाउने संख्या) २० प्रतिशतमा झारेर, अध्यादेश ल्याएर कानून बमोजिम निर्वाचन आयोगमा दर्ता गरेर यो पार्टी बनायौँ । साना दुखले आर्ज्या यो पार्टी होइन ।’

    उनले आगामी निर्वाचनमा केपी ओलीको पार्टीलाई धुलिसात पार्न सकिने बताए ।

    ‘हामी सबै मिलेर अगाडि बढ्ने हो भने ओलीको पार्टीलाई धुलिसात पार्न सक्छौं । ओलीको घमन्ड चकनाचुर पार्नुपर्छ भने कांग्रेसमा त्यो भावना चाहिन्छ,’ उनले भने ।

  • रिपोर्टस क्लबमा गठबन्धनका नेता : तीनवटै चुनावमा तालमेल गर्ने दाबी

    रिपोर्टस क्लबमा गठबन्धनका नेता : तीनवटै चुनावमा तालमेल गर्ने दाबी

    काठमाडौं । सत्तारुढ गठबन्धनमा रहेका दलका नेताहरूले स्थानीयदेखि संसदको निर्वाचनसम्मै चुनावी तालमेल हुने दाबी गरेका छन् ।
    रिपोर्टस क्लबले बुधबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनीहरूले गठबन्धन आफूहरूको बाध्यता भएको जिकिर गरे ।

    नेकपा (एकीकृत समाजवादी) का स्थायी कमिटी सदस्य सोमप्रसाद पाण्डेले आगामी तीनै तहको निर्वाचनमा पाँच दलबीच गठबन्धन हुने बताए । नेपाली जनताको भावनाअनुसार राजनीतिक स्थिरता ल्याउनको लागि गठबन्धन तोड्न नहुने उनको भनाइ छ ।

    नेपाली कांग्रेसका नेता डा. रणबहादुर रावलले अहिले पनि पाँच दलीय गठबन्धनको आवश्यकता रहेको भन्दै निर्वाचनमा पनि गठबन्धन गरेर अघि बढ्ने बताए । गठबन्धन गरेपछि विश्वासका साथ सबै दल अघि बढ्नुपर्नेमा रावलको जोड छ ।

    नेकपा (माओवादी केन्द्र) का नेता हिमाल शर्माले अहिले पनि नेपाली राजनीतिमा सहमति, सहकार्य र एकता हुने कुरा स्वाभाविक नै भएको बताए । सत्ता गठबन्धनबीच स्थानीय तहको निर्वाचनमा सहकार्य गर्नेबारे सकारात्मक रूपमा छलफल चलिरहेको उनको भनाइ छ ।

    त्यस्तै जनता समाजवादी पार्टी, नेपालका नेता नवराज सुवेदीले सबै तहमा पाँच दलीय गठबन्धनबीच चुनावी तालमेल र गठबन्धन हुने दाबी गरे ।

    स्थानीय तहको निर्वाचनको निम्ति आफ्नो पार्टीको तर्फबाट यसको तयारी पर्याप्त रूपले गरिरहेको पनि सुवेदीले बताए ।

  • निर्वाचनमा सत्ता गठबन्धन- पोखरा वा काठमाडौंमध्ये एक महानगरमा नेकपा एसको दाबी

    निर्वाचनमा सत्ता गठबन्धन- पोखरा वा काठमाडौंमध्ये एक महानगरमा नेकपा एसको दाबी

    काठमाडौं । स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धन कायम हुनुपर्ने विषयलाई हकका रूपमा व्याख्या गरिरहेको सत्तारुढ नेकपा एकीकृत समाजवादीले कम्तीमा पनि महानगर र उपमहानगरपालिकामा केन्द्रबाटै तालमेलको निर्णय गराउन पहल थालेको छ ।

    पछिल्लोपटक बालुवाटारमा भएको शीर्ष बैठकमा अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवासँग केन्द्रबाटै तालमेलको निर्णय गर्न प्रस्ताव राखेका छन् । कांग्रेसका केही नेता गठबन्धन भत्काउने प्रयासमा रहे पनि तालमेल गर्न देउवा सकारात्मक रहेको नेपालले शनिबार धादिङमा बताएका थिए ।

    धुनिबेँसीमा आयोजित कार्यक्रममा नेपालले भने, ‘कांग्रेसभित्रका केही नेताहरू गठबन्धन भत्काउन लागिरहेका छन् । तर, प्रधानमन्त्री देउवाजी गठबन्धनको पक्षमा हुनुहुन्छ । उहाँले ती नेताहरूलाई गठबन्धनविरुद्ध नबोल्न चेतावनी पनि दिनुभएको छ । हामी एकचरण हाम्रो शक्ति हेरेर कहाँ एक्लै जितिन्छ, कहाँ गठबन्धन गर्नुपर्छ भन्ने आधारमा छलफल गर्छौं ।’

    गठबन्धनमा औपचारिकरूपमा कसरी तालमेल गर्ने भन्नेबारे छलफल नभएको नेताहरूले बताएका छन् । कांग्रेसले बेवास्ता गरे नेकपा माओवादी केन्द्र, नेकपा एस र जसपाबीच तालमेलको प्रयास पनि भइरहेको छ । तर, गठबन्धनका नेताहरूसँगको अनौपचारिक छलफलमा नेकपा एसले काठमाडौं वा पोखरामध्ये एउटा महानगरपालिकाको मेयर आफूले पाउनुपर्ने दाबी गरेको छ ।

    विगतमा एमालेले जितेका महानगर र उपमहानगरमा स्वाभाविकरूपमा नेकपा एसको दाबी रहे पनि यसबारेमा छलफल नै भइरहेको नेताहरूको भनाइ छ । नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवडाले अहिले कुन-कुन स्थानीय तह कुन दलले पाउने भन्ने तहमा छलफल नभएको बताए ।

    नेकपा एसका गण्डकी इन्चार्ज केशवलाल श्रेष्ठले पोखरा महानगरपालिकाको मेयरमा आफूहरूको दाबी रहेको र गण्डकीका गठबन्धका नेताहरूसँग छलफल पनि भइरहेको बताएका छन् । कास्कीका सबै स्थानीय तहमा पाँच दलीय गठबन्धन गर्ने सहमति यसअघि नै जिल्लास्तरमा भइसकेको छ ।

    पोखरामा एमालेले पाँच वर्षअघि २० हजार बढीको फराकिलो मतान्तरमा कांग्रेस-माओवादी गठबन्धनलाई पराजित गरेको थियो । उक्त चुनावमा एमालेका मानबहादुर जिसी ६० हजार ११८ मतका साथ विजयी हुँदा नेपाली कांग्रेसका रामजी कुँवरले ४६ हजार ४१६मत पाएका थिए । उनलाई माओवादीको समर्थन थियो ।

    पोखराको मेयरमा नेकपा एसले जिल्ला अध्यक्ष धनराज आचार्यलाई अघि बढाउन खोजेको छ । पोखरामा निर्वाचित जनप्रतिनिधि भने नेकपा एसमा सामेल भएका छैनन् ।

    काठमाडौंमा भने एमालेले १८ वडाध्यक्ष जितेकोमा वडा नम्बर ७ का शुद्ध डंगोल र वडा नम्बर १५ का ईश्वरमान डंगोलले नेकपा एस रोजेका छन् । नेकपा एसले काठमाडौंको मेयरमा ईश्वरमान डंगोलले अघि सारेको छ ।

    त्यस्तै नेकपा एसले धरान र इटहरीमध्ये एउटा उपमहानगरमा आफ्नो नेतृत्व दाबी गर्दैछ भने हेटौंडा उपहानगरपालिकामा पनि एसको दाबी छ । त्यसबाहेक धनगढी वा घोराहीमध्ये एउटा उपमहानगरमा आफूहरूको दाबी रहने नेकपा एसका नेता मेटमणी चौधरीले बताए ।

  • एमाले छाडेका काफ्ले समाजवादीको पोलिटब्यूरोमा, झापामा ओलीविरुद्ध चुनाव लड्ने घोषणा

    एमाले छाडेका काफ्ले समाजवादीको पोलिटब्यूरोमा, झापामा ओलीविरुद्ध चुनाव लड्ने घोषणा

    काठमाडौं । नेकपा एमालेका पूर्वकेन्द्रीय सदस्य एवं पूर्व ताप्लेजुङ जिल्ला इन्चार्ज भाष्कर काफ्ले नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।

    एमालेले लोकतान्त्रिक मूल्यमान्यता त्यागेको र पार्टीभित्र केपी शर्मा ओलीको अधिनायकवाद हाबी भएको भन्दै काफ्लेले एमाले त्यागेको घोषणा गरेका छन् । पार्टीभित्र आन्तरिक एकताका लागि गरिएको प्रयत्न सफल नभएकाले नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेको उनले बताए ।

    ‘एमालेभित्रै रहेर यसलाई लोकतान्त्रिक पार्टी बनाउन कोसिस गरियो तर चितवन महाधिवेशनबाट ओलीले पार्टीलाई अधिनायकवादतिर लगे । जनवर्गीय संगठनमा पनि चुनाव हुन नदिई खल्तीबाट नाम झिकेर पढ्न थालेपछि एमाले कम्युनिष्ट आन्दोलनका लागि अयोग्य भयो भन्ने निष्कर्षका साथ नयाँ यात्रामा लागेको छु’, काफ्लेले नेपाल प्रेससँग भने ।

    एमाले विभाजनका बेला सनाखतमा अनुपस्थित भएर १० बुँदे पक्षधर बन्दै काफ्ले समाजवादीमा लागेका थिएनन् । एकीकृत समाजवादीले उनलाई पोलिटब्यूरो सदस्यको जिम्मेवारी दिने निर्णय गरिसकेको छ ।

    झापा क्षेत्र नम्बर २ का काफ्लेले आगामि निर्वाचनमा ओलीविरुद्ध चुनाव लड्ने घोषणा समेत गरेका छन् । ‘झापामा केपी ओली जुन क्षेत्रबाट चुनाव लडेपनि उनीविरुद्ध उभिने संकल्प गरेको छु’, काफ्लेले भने ।

  • माधवलाई प्रचण्डको प्रस्ताव- कांग्रेसलाई नकुरौं, तालमेलको तयारी गरौं

    माधवलाई प्रचण्डको प्रस्ताव- कांग्रेसलाई नकुरौं, तालमेलको तयारी गरौं

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चुनावी तालमेलका विषयमा कांग्रेसलाई नपर्खी अगाडि बढ्न नेकपा एकीकृत समाजवादीसँग प्रस्ताव गरेका छन् ।

    प्रचण्डले नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई टेलिफोन सम्पर्क गरी कांग्रेसको निर्णय नकुर्न र चुनावी तालमेलको तयारी थाल्न प्रस्ताव गरेका हुन् ।

    प्रचण्डले कांग्रेसभित्र चुनावी तालमेलबारे विवाद रहेको अवस्थामा आफ्नो तर्फको तयारी रोक्न नहुने बताएका हुन् । प्रचण्डले गरेको प्रस्तावबारे नेकपा एसका अध्यक्ष नेपालले आफूनिकट नेता कार्यकर्ताहरूसँग परामर्श गरेका छन् ।

    आजमात्रै साँखुमा आयोजित पार्टीको एक कार्यक्रममा अध्यक्ष नेपालले कांग्रेसले निर्णय नलिए पनि आपसमा मिलेर चुनावी तालमेलबारे तयारी गर्न प्रस्ताव गरेको खुलाएका हुन् ।

    ‘प्रचण्डजीले टेलिफोन गरेर कांग्रेसले निर्णय लिन ढिलो गर्‍यो हामी छलफल गरौं भन्नुभएको छ । कांग्रेस नआएपनि चुनावी तालमेलको खाका बनाउन प्रचण्डीले भन्नुभएको छ’, कार्यकर्तासँग नेपालले भनेका छन् । उनले कांग्रेसभित्र पनि चुनावी तालमेलकै पक्षधर बलियो रहेको बताए ।

    ‘शेरबहादुरजी रामचन्द्रजीहरू चुनावी तालमेलको पक्षमा हुनुहुन्छ । आजैपनि प्रधानमन्त्रीसँग तालमेलबारे कुराकानी हुनसक्छ’, नेपालले भने । उनले प्रधानमन्त्री पूर्वबाट फर्कनासाथ स्थानीय निर्वाचनमा तालमेल गर्नेबारे बैठक बस्नसक्ने बताए ।

    कांग्रेसले चुनावी तालमेलबारे छलफल गर्न चैत ११ गते केन्द्रीय समितिको बैठक बोलाएको छ ।

  • झलनाथलाई नेम्वाङको प्रश्न- चितवन कि सर्लाहीको तरिकाले ओलीको मतपेटिका खाली गर्ने ?

    झलनाथलाई नेम्वाङको प्रश्न- चितवन कि सर्लाहीको तरिकाले ओलीको मतपेटिका खाली गर्ने ?

    काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवास नेम्वाङले पार्टी अध्यक्ष केपी ओलीको मतपेटिका खाली गर्न एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाललाई चुनौती दिएका छन् ।

    आगामी चुनावमा एमालेको बाकसमा जिरो भोट दिएर केपी ओलीलाई दण्डित गर्नुपर्ने अभिव्यक्ति दिएकै भोलिपल्ट एमाले अध्यक्ष ओलीसहितका नेता खनालको निर्वाचन क्षेत्र पुगेका छन् ।

    इलाम क्षेत्र नम्बर १ अन्तर्गत फिक्कलमा आयोजित जनसभा र पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै नेम्वाङले भने, ‘अब यो देशभरि ओर्लिएको एमालेको जनसागर छ । कसरी मतपत्र एमालेको खाली गर्ने होला ? केपी ओलीको मतपेटिका कसरी खाली गर्ने होला ? चितवनको निर्वाचन तयारीको तरिकाले काम लाग्छ कि ? सर्लाहीको निर्वाचन तरिकाले काम लाग्छ ?’ नेम्वाङले प्रश्न गरे ।

    फिक्कलमा उर्लिएको जनसागरले खनाल छक्क परिरहेका होलान् भन्दै नेम्वाङले कटाक्ष गरे ।

    ‘इलाममा मात्र होइन, मेची महाकाली, तराई-मधेसदेखि हिमालसम्म मानिसहरूको जुन ओइरो एमालेमा प्रवेश गरिरहेको छ । त्यो देखेर छक्क परिरहनु भएको होला हाम्रा मित्रहरू’, नेम्वाङले भने, ‘मैलै नाम चाहिँ बिर्सें । उहिलेदेखिको साथी, झलझली अनुहार याद आउँछ । कमरेड जन्तरे हो कि अन्तरे हो नाम चाहिँ थाहा छैन ।’

  • महाभारतको दुर्योधन र नेपालको राजनेता भनाउँदो केपी ओलीमा कुनै भिन्नता छैन : मन्त्री आले (भिडिओ)

    महाभारतको दुर्योधन र नेपालको राजनेता भनाउँदो केपी ओलीमा कुनै भिन्नता छैन : मन्त्री आले (भिडिओ)

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले पहिलोपटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध सार्वजनिक रुपमा खनिएका छन् ।

    शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री आलेले ओली र महाभारतको पात्र दुर्योधनमा कुनै फरक नभएको भन्दै आउने वैशाख ३० गतेको निर्वाचनबाट ओलीले जवाफ पाउने बताए ।

    आलेले भने– अझै त्यो व्यक्तिले आउने वैशाख ३० को निर्वाचनमा ६० प्रतिशत स्थानीय तह जित्छु भन्ने घमण्ड गरेका छन् । महाभारतको दुर्योधन र नेपालको राजनेता भनाउँदो केपी ओलीमा केही फरक छैन । जनताले वैशाख ३० गते जवाफ दिनेवाला छन् ।

    आलेले ओली सरकारका पालामा बतासलाई कौडीको भाउमा नारायणहिटी संग्रहालय र पशुपति धर्मशाला दिएको आरोप समेत लगाए । उनले आफू मन्त्री पदमा रहुन्जेल कसैको शीर निहुरन नदिने समेत बताए ।

  • एमालेको बाकसमा जिरो मत पारेर ओलीलाई ठूलो सजाय दिनुपर्छ : झलनाथ खनाल (भिडिओ)

    एमालेको बाकसमा जिरो मत पारेर ओलीलाई ठूलो सजाय दिनुपर्छ : झलनाथ खनाल (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आउने निर्वाचनमा एमालेको बासमा जिरो मत दिएर केपी ओलीलाई दण्डित गर्नुपर्ने बताएका छन् ।

    नेकपा एसको गुल्मी काठमाडौं सम्पर्क मन्चको भेलालाई काठमाडौंमा सम्बोधन गर्दै नेता खनालले संविधान उल्लंघन गर्ने व्यक्तिलाई जेल सजाय दिनुपर्नेमा ओलीलाई अहिलेसम्म सजाय नमिलेको बताए ।

    खनालले भने- संविधान उल्लंघन गर्ने अपराध गर्ने व्यक्तिलाई खोई सजाय अहिलेसम्म रु त्यसैले आउने निर्वाचनमा ओलीले सबैभन्दा ठूलो सजाय पाउनुपर्छ र उनको बाकसमा जिरो मत दिनुपर्छ ।

    ओलील पटक पटक संसद विघटन गरेको सजाय ओलीलाई दिलाउन नेकपा एसका कार्यकर्ता गाउँ गाउँमा जानुपर्ने बताए ।

  • नेपालको दावी– ओलीले एमसीसीमा सैन्य गठबन्धन मानेका थिए, हामीले व्याख्यात्मक घोषणाबाट सच्यायौं (भिडिओ)

    नेपालको दावी– ओलीले एमसीसीमा सैन्य गठबन्धन मानेका थिए, हामीले व्याख्यात्मक घोषणाबाट सच्यायौं (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले केपी ओली र शेरबहादुर देउवा मिलेर एमसीसी जस्ताकोत्यस्तै पारित गर्न खोजेपछि आफूहरुले व्याख्यात्मक घोषणामार्फत देशको पक्षमा पारित गरेको दावी गरेका छन् ।

    गोरखामा आयोजित नेकपा एसको कार्यक्रममा अध्यक्ष नेपालले संसदको घोषणाले नेपालको गणतन्त्र र संविधान जारी भएको भन्दै व्याख्यात्मक घोषणा पनि त्यस्तै बाध्यकारी भएको बताए ।

    नेपालले केपी ओलीको पालामा नेपाललाई इण्डो प्यासिफिक सैन्य गठबन्धनको अंग बन्ने भनेर लेखिएकोमा आफूहरुले त्यसलाई सच्याएको दावी गरे ।

    नेपालले भने–केपी ओलीका परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली गएको बेला एमसीसीमा नेपाल सैन्य गठबन्धनको अंग बन्ने लेखिएको थियो । हामीले हुन्न भन्यौं । हामी कुनै सैन्य गठबन्धनमा जान सक्दैनौं भनेपछि अमेरिकाले पनि एमसीसीबाट पत्र लेखेर त्यो स्वीकार गर्यो र व्याख्यात्मक घोषणासहित पारित भयो । कतिपयले व्याख्यात्मक टिप्पणीको अर्थ छैन भन्दैछन् तर संसदले नै गणतन्त्र घोषणा गरेको हो । संविधान जारी गरेको हो ।

    अध्यक्ष नेपालले संसदले पारित गरेको एमसीसी र व्याख्यात्मक घोषणाले मुलुकलाई जोगाएको दावी गरे । नेपालले आउने चुनावमा एमालेलाई धुलो चटाइने दावी समेत गरे ।

  • चुनावमा होमियो एकीकृत समाजवादी, संगठन विस्तारसँगै चुनावी प्रचार गर्ने (भिडिओ)

    चुनावमा होमियो एकीकृत समाजवादी, संगठन विस्तारसँगै चुनावी प्रचार गर्ने (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादी स्थानीय निर्वाचनको अभियानमा होमिने भएको छ । समाजवादीको आज बसेको सचिवालय बैठकले निर्वाचन अभियानको नारा र प्रदेशगत अनुगमनको जिम्मेवारी टुुंगो लगाएको छ ।

    समाजवादीका प्रवक्ता एवं उपमहासचिव जगन्नाथ खतिवडाका अनुसार पार्टीले संगठन निर्माण, सदस्यता वितरण र चुनावी प्रचारको कामलाई एकैसाथ अगाडि बढाउने छ । निर्वाचन अभियानका लागि ‘जनतामा जाऔं, एकीकृत समाजवादीलाई जिताऔं’ नारा तय गरिएको छ ।

    ‘जनतामा जाऔं एकीकृत समाजवादीलाई जिताऔं भन्ने नाराका साथ हामी निर्वाचन अभियानमा होमिदैछौं । अभियानका लागि सातवटै प्रदेशमा केन्द्रीय कार्यालयका नेताहरुलाई अनुगमनका लागि खटाउने निर्णय पनि गरेका छौं’, बैठकपछि प्रवक्ता खतिवडाले पत्रकारहरुसँग भने ।

    समाजवादीले प्रदेश १ मा उपाध्यक्ष प्रमेश हमाल, मधेश प्रदेशमा उपमहासचिव जगन्नाथ खतिवडा, वागमती प्रदेशमा उपमहासचिव गंगालाल तुलाधर, गण्डकी प्रदेशमा उपाध्यक्ष जयन्ती राई, लुम्विनी प्रदेशमा उपमहासचिव विजय पौडेल, कर्णाली प्रदेशमा महासचिव वेदुराम भूसाल र सुदूरपश्चिम प्रदेशमा सचिवालय सदस्य रामचन्द्र झालाई अनुगमनका लागि खटाउने निर्णय गरेको छ ।

    उनीहरुले प्रदेश अन्तर्गतका स्थानीय तहमा संगठन निर्माण, सदस्यता वितरण र निर्वाचन प्रचारका लागि भएका कामहरुको अनुगमन गर्नेछन् । त्यस्तै सम्बन्धित प्रदेशका स्थानीय तहहरुमा पार्टी संगठनको वास्तविक अवस्था र शक्ति परीक्षण गरेर प्रतिवेदनसमेत तयार गर्नेछन् ।

    यसैबीच नेकपा समाजवादीले चुनावी गठबन्धन अपरिहार्य भएको भन्दै तालमेलको बाटो खुला राख्ने निर्णयसमेत गरेको छ । प्रवक्ता खतिवडाले निर्वाचनमा तालमेलका लागि खुला रहने निर्णय भइसकेको भन्दै गठबन्धनमा रहेका अन्य दलहरुपनि तालमेलको पक्षमा रहेको बताए ।

    ‘हामीले चुनावी तालमेलका लागि हात खुला राखेका छौं । माओवादी र समाजवादी पार्टीले पनि तालमेलको पक्षमा निर्णय लिइसकेका छन् । अब कांग्रेसले पनि चाँडै यसबारे निर्णय लिओस् भन्ने हाम्रो सुझाव छ’, खतिवडाले भने ।

  • प्रचण्डको शंका चिर्दै प्रधानमन्त्रीले भने- हल्लाको पछाडि नलाग्नुस्

    प्रचण्डको शंका चिर्दै प्रधानमन्त्रीले भने- हल्लाको पछाडि नलाग्नुस्

    काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय निर्वाचन हुँदैन भन्ने हल्लाका पछाडि नलाग्न सत्तारुढ गठबन्धनका नेताहरूलाई आग्रह गरेका छन् ।

    आज बालुवाटारमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँगको छलफलका क्रममा प्रधानमन्त्री देउवाले निर्वाचन नहुने कुनै सम्भावना नरहेको स्पष्ट पारेका हुन् ।

    बालुवाटारमा भएको छलफलका दौरान माओवादी अध्यक्ष प्रचण्डले नै निर्वाचन नहुने हल्ला चलेको सन्दर्भ झिकेका थिए । ‘चुनाव हुँदैन भन्ने चर्चा चलिरहेको छ । किन हो प्रधानमन्त्रीज्यू’ ? प्रचण्डको प्रश्न थियो ।

    जवाफमा प्रधानमन्त्री देउवाले चुनावको अघिल्लो दिनसम्म हल्ला चलिरहने बताए । ‘यस्तै हो चुनावको अघिल्लो दिनसम्म चुनाव हुदैन भन्ने हल्ला चलिरहन्छ’, देउवाको जवाफ थियो ।

    सो क्रममा स्थानीय निर्वाचनमा तालमेलबारे कुराकानी भएको बताइन्छ । कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले पार्टीभित्र गठनबन्धन विरुद्धमा आवाज उठेपनि आफू सकारात्मक रहेको बताएका थिए । उनले आगामि साता पार्टीको बैठक बोलाएर चुनावी तालमेलबारे ठोस निष्कर्ष दिने जनाएका छन् ।

    ‘प्रधानमन्त्रीले पार्टीभित्र छलफल गरेर चुनावी तालमेलबारे छिट्टै निधो दिन्छु भन्नुभएको छ’, बालुवाटार स्रोतले नेपाल प्रेससँग भन्यो ।

    आजको बैठकमा निर्वाचन आचारसंहिता लागु हुनुपुर्व नै राजदूत र अन्य नियुक्तिहरु गर्ने विषयमा पनि छलफल भएको बताइन्छ ।

    ‘राजदूत नियुक्ति र निर्वाचन आचारसंहिताले प्रभावित हुनसक्ने अन्य कामहरु जतिसक्दो चाँडो गर्नेबारे शीर्ष तहमा छलफल भएको हो’, प्रधानमन्त्रीनिकट स्रोतको भनाइ छ ।

  • नेकपाको लेवीमा एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीकाे दाबी

    नेकपाको लेवीमा एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीकाे दाबी

    जनकपुरधाम । मधेश प्रदेशबाट तत्कालीन नेकपाको नाममा बैंकमा जम्मा भएको लेवी रकमका विषयमा विवाद भएको छ । नेकपाको नाममा काटिएको लेवीमा नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले)र नेकपा (एकीकृत समाजवादी)ले दावी गरेपछि विवाद भएको हो ।

    बैंकमा नेकपाको नाममा करिब १९ लाख रकम जम्मा भएको बताएको छ । तर, नेकपा विघटन हुन लाग्दा तत्कालीन नेकपा प्रदेश अध्यक्ष प्रभु साहले हतार हतार पार्टीको खाताबाट एकमुष्ठ १० लाख रकम झिकेका थिए । माओवादी केन्द्रका सांसद जगत यादवले बाँकी रहेको रकम माओवादी केन्द्र र नेकपा एसले पाउनुपर्नेमा एमाले विवाद गरेको बताए । पार्टीबीच विवाद हुँदा करिब ९ लाख रकम अझै नेकपाकै नाममा बैकमा रहेको उनले बताए ।

    यसैबीच, जनता समाजवादी पार्टी (जसपा)ले प्रदेश सभासदस्यबाट लिँदै आएको लेवी फागुनदेखि लिन छोडेको छ । फागुनको सांसदहरूको तलब खातामा जानुअघि नै जसपाले प्रदेशसभामा पत्र पठाई आफूहरूका सांसदको तलबबाट पार्टीको लागि काट्दै आएको लेवी नकाट्न प्रदेशसभा सचिवलाई जानकारी गराएको छ ।

    मधेश प्रदेश सभामा जसपाका ३८ जना सांसद रहेका छन् । जसपाले सांसदले पाउने तलबको १५ प्रतिशत रकम लेवी लिदै आएको थियो । प्रदेश सांसदको तलब ६१ हजार २० रुपैयाँको १५ प्रतिशत अर्थात नौ हजार १५३ रुपैयाँ कम गरिर सांसदहरूले तलब पाउँदै आएको थियो ।

    त्यसैगरी, संसदीय समितिका सभापतिको तलब ६५ हजार पाँच सय ३० रहेकोमा १५ प्रतिशत लेवी नौ हजार आठ सय २९, प्रमुख सचेतकको तलब ६७ हजार २५ रहेकोमा १५ प्रतिशत १० हजार ५४ रुपैयाँ लेवी काटिने गरिएको थियो ।

    त्यसैगरी, नेपाली कांग्रेसले आफ्ना सांसदहरूबाट लेवी लिइरहेका छैन् भने एमाले, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले प्रत्येक सांसदबाट मासिक पाँच हजार लेवीको रुपमा पैसा लिँदै आएको छ ।