Category: नेकपा एस

  • बाजुरामा कांग्रेस र नेकपा एसका कार्यकर्ताबीच कुटाकुट, कार्यालय तोडफोड भएपछि प्रहरीद्वारा हवाई फायर

    बाजुरामा कांग्रेस र नेकपा एसका कार्यकर्ताबीच कुटाकुट, कार्यालय तोडफोड भएपछि प्रहरीद्वारा हवाई फायर

    कैलाली । बाजुरामा चुनाव प्रचारप्रसारको क्रममा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीका कार्यकर्ताबीच झडप भएको छ । जिल्लाको बुढीनन्दा नगरपालिका- ९ मा झडप भएको हो ।

    एकीकृत समाजवादीका कार्यकर्ताले कुकुरलाई हिर्काएको आरोपमा झडप सुरू भएको बताइएको छ । कांग्रेसका कार्यकर्ताको कुटाइबाट उनी नेकपा एसका कार्यकर्ता पाण्डुसेन प्रहरी कार्यालय पुगेका थिए ।

    एकीकृत समाजवादीका कार्यकर्ता पसेपछि नेपाली कांग्रेसका कार्यकर्ताहरूले प्रहरी कार्यालय तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक गिन्द्र बोगटीले नेपाल प्रेसलाई बताए । प्रहरीले घटना नियन्त्रणमा लिन हवाई फायरसमेत गरेको छ ।

    प्रहरीतर्फ तीनजना र नेपाली कांग्रेसका तीनजना घाइते भएको प्रहरी निरीक्षक बोगटीले जानकारी दिए ।

  • गठबन्धनका उम्मेदवारलाई विजयी गराउन जनता आतुर छन् : नेपाल

    गठबन्धनका उम्मेदवारलाई विजयी गराउन जनता आतुर छन् : नेपाल

    चितवन । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनको पक्षमा राम्रो माहोल बनेको बताएका छन् । सत्तापक्षीय गठबन्धनले आज चितवनमा आयोजना गर्न लागेको जनसभालाई सम्बोधन गर्न आएका अध्यक्ष नेपालले गठबन्धनले धेरै स्थानमा निर्वाचन जित्नेसमेत दावी गरे।

    नेपालले भने,‘राम्रोसँग व्यवस्थापन गरेका छौँ ।’ ‘सबै स्थानमा गठबन्धन भए राम्रो हुन्थ्यो’ भन्ने प्रतिक्रिया जनताबाट आएको भन्दै उनले गठबन्धनलाई निर्वाचन जिताउने अभियानमा लाग्न सबैलाई आग्रह गरे। चुनावको माहोल अनुकूल बनाउने भन्दै उनले गठबन्धनका उम्मेदवारलाई विजयी गराउन जनता आतुर रहेको बताए ।

    भरतपुर महानगरपालिकामा बागी उम्मेदवारी रहेको सन्दर्भमा फिर्ता गराउने कोसिस भइरहेको अध्यक्ष नेपालले बताए । राजनीतिक मान्छेले राजनीतिकरूपमा सोच्छ भन्दै उनले आफूलाई केन्द्रविन्दुमा राख्दैन, सिङ्गो पार्टीलाई केन्द्रमा राख्छ भने ।

    ‘हामीले नेपालको राजनीतिक परिवर्तनमा सबै पार्टीबीचमा सहकार्य गर्दै आएका छौँ, सहकार्यबाटै सफलता मिल्छ’ अध्यक्ष नेपालले भने, ‘गठबन्धनका दलका नेताले स्वतन्त्र उम्मेदवारी फिर्ता लिनुपर्छ र गठबन्धनको उम्मेदवारको समर्थनमा लाग्नु पर्छ ।

  • भोट माग्दै झलनाथले भने- वृद्धभत्तादेखि ‘आफ्नो गाउँ आफैं बनाऔं’ ल्याउने पार्टीको साँचो उत्तराधिकारी हामी

    भोट माग्दै झलनाथले भने- वृद्धभत्तादेखि ‘आफ्नो गाउँ आफैं बनाऔं’ ल्याउने पार्टीको साँचो उत्तराधिकारी हामी

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले मनमोहन अधिकारी नेतृत्वको एमाले सरकारको पालामा वृद्धभत्तादेखि ‘आफ्नो गाउँ आफैं बनाऔंको अवधारणा सारेकाले त्यसको उत्तराधिकारी नेकपा एस नै भएको जिकिर गरेका छन् ।

    भिडिओ सन्देशमार्फत भोट माग्दै नेता खनालले भनेका सुरुङ युङ र देशलाई आत्मनिर्भरतातर्फ पहल गर्ने पार्टी पनि नेकपा एस नै भएको दाबी गरे ।

    ‘कम्युनिष्ट पार्टीको सरकार बन्यो भने ६० वर्षभन्दा माथिकालाई गोली हान्छ भनेर विरोधीले प्रचार गर्ने गर्थे । तर, मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा वृद्धभत्ताको व्यवस्था गर्‍यौं, ज्येष्ठ नागरिकको सम्मान र हक अधिकारलाई स्थापित गर्‍यौं, आफ्नो गाउँ आफैं बनाऔंको अवधारणा अगाडि ल्यायौं ९ सलाई अघि सार्‍यौं । त्यो अगाडि सार्ने पार्टीको साँचो उत्तराधिकारी नेकपा एस नै हो ‘, भोट माग्दै खनालले भनेका छन् ।

  • रत्ननगरमा नेकपा एसको वडा कमिटी नै एमालेमा समाहित

    रत्ननगरमा नेकपा एसको वडा कमिटी नै एमालेमा समाहित

    रत्ननगर । नेकपा एकीकृत समाजवादी रत्ननगर- ३ को वडा कमिटी नै नेकपा एमालेमा समाहित भएको छ ।

    अध्यक्ष अशोक भुसालको नेतृत्वमा एमाले प्रवेश गरेका नेता-कार्यकर्तालई एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले स्वागत गरे छन् । एमालेमै फर्किनेमा सुबास भुसाल, दिपेश श्रेष्ठ, संजय चौधरी, नवराज अधिकारी, लक्ष्मण रानाभाट, ईश्वर लामा, लालबहादुर तामाङसहित छन् ।

    कांग्रेसका नवराज श्रेष्ठ पनि एमालेमा प्रवेश गरेको एमाले नगर कमिटी अध्यक्ष इश्वरी अर्यालले जानकारी दिए ।

  • नेकपा एसको निर्णय- गठबन्धन नभएका र आफ्ना उम्मेदवार पनि नउठेका स्थानमा एमालेविरुद्ध मतदान गर्ने

    नेकपा एसको निर्णय- गठबन्धन नभएका र आफ्ना उम्मेदवार पनि नउठेका स्थानमा एमालेविरुद्ध मतदान गर्ने

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले पाँच दलीय गठबन्धन नभएको र आफ्नो पार्टीको एकल उम्मेदवार पनि नभएका स्थानीय तहमा एमालेविरुद्ध मतदान गर्न कार्यकर्तालाई निर्देशन दिएको छ ।

    अध्यक्ष माधवकुमा नेपालको अध्यक्षतामा मंगलबार साँझ बसेको सचिवालय बैठकले नेकपा एससँग गठबन्धन नभएका तथा आफ्ना उम्मेदवार पनि नभएका पालिकामा ‘दक्षिणपन्थी अवसरवादी एवं प्रतिगामी शक्तिका विरुद्ध मतदान गर्ने’ निर्णय गरेको महासचिव डा. बेदुराम भुसालले विज्ञप्तिमार्फत जनाएका छन् ।

    नेकपा एसले एमालेको नाम नलिइ गठबन्धनमा आफूहरु नभएका ठाउँमा पनि उसका विरुद्ध मतदान नगर्न भनेको हो । बैठकले गठबन्धन दलबीच सहमति कायम गर्न अझै पनि अन्तिमसम्म प्रयत्न गर्ने निर्णय गरेको छ ।

    महानगरपालिका तथा उपमहानगरपालिकामा गठबन्धनका उम्मेदवारलाई जिताउन सम्पूर्ण शक्ति केन्द्रित गर्ने निर्णय भएको भुसालले बताएका छन् ।

  • पालिका अध्यक्षदेखि सदस्यसम्म ३५३ जना निर्विरोध: एमाले पहिलो, दोस्रोमा कांग्रेस (सूचीसहित)

    पालिका अध्यक्षदेखि सदस्यसम्म ३५३ जना निर्विरोध: एमाले पहिलो, दोस्रोमा कांग्रेस (सूचीसहित)

    काठमाडौं । गाउँपालिका अध्यक्षदेखि वडा सदस्यसम्म देशभर ३५३ जनप्रतिनिधि निर्विरोध निर्वाचित हुँदा दलगत आधारमा एमाले पहिलो र कांग्रेस दोस्रो स्थानमा रहेका छन् ।

    निर्वाचन आयोगले दिएको विवरणअनुसार गाउँपालिका अध्यक्षमा एमालेबाट एकजना निर्विरोध हुँदा नेकपा एसका दुई जना निर्विरोध भएका छन् । यी तीनवटै गाउँपालिका अध्यक्ष डोल्पाका हुन् ।

    त्यस्तै उपाध्यक्षमा एमालेबाट दुईजना निर्विरोध निर्वाचित भएका छन् । उनीहरु डोल्पा र मनाङका हुन् । नेपाली कांग्रेसबाट एकजना र नेकपा एसबाट एकजना उपाध्यक्ष निर्विरोध भएका छन् ।

    वडाध्यक्षतर्फ एमाले र कांग्रेसका १४-१४ जना उम्मेदवार निर्विरोध हुँदा नेकपा एसका ६ जना र माओवादी केन्द्रका ३ जना उम्मेदवार निर्विरोध भएका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार ६ जना निर्विरोध भएका छन् ।

    सदस्यतर्फ एमालेका २६ जना, कांग्रेसका ३१ जना, माओवादीका ५ जना, नेकपा एसका १२ जना र स्वतन्त्र १६ जना निर्वाचित भएका छन् ।

    त्यस्तै महिला सदस्यमा एमालेबाट २३ जना, कांग्रेसका १५ जना, माओवादी र नेकपा एसका ७-७ जना निर्वाचित भएका छन् । स्वतन्त्र उम्मेदवार ८ जना निर्विरोध भएका छन् ।

    दलित महिला वडा सदस्यमा एमालेका ५७ जना निर्विरोध भएका छन् । कांग्रेसका ४० र माओवादी केन्द्रका ३९ जना निर्विरोध भएका छन् ।

    त्यस्तै नेकपा एसका ६ जना, नेपाल मजदुर किसान पार्टीका २ जना, लोसपा र जसपाका १-१ जना तथा स्वतन्त्र ४ जना निर्विरोध भएका छन् ।

    एमालेका कूल १२३ जना उम्मेदवार निर्विरोध भएको आयोगले जनाएको छ । त्यस्तै कांग्रेसका १०१ जना, माओवादीका ५४ जना, नेकपा एसका ३४ जना निर्विरोध भएका छन् ।

    जसपा र लोसपाका एक-एकजना निर्विरोध हुँदा नेपाल मजदुर किसान पार्टीका २ जना जनप्रतिनिधि निर्विरोध भएका छन् । स्वतन्त्र उम्मेदवार ३४ जना निर्विरोध भएका छन् । उनीहरुलाई निर्वाचित भएको प्रमाणपत्र भने सोही पालिकाको मतगणना सकिएपछिमात्र दिइने आयोगका प्रवक्ता सूर्यप्रसाद अर्यालले बताए ।

    प्रमुख दल कसका कति निर्विरोध
    नेकपा एमाले
    गाउँपालिका अध्यक्ष –१
    गाउँपालिका उपाध्यक्ष –२
    वडाध्यक्ष –१४
    खुल्ला सदस्य –२६
    महिला सदस्य –२३
    दलित महिला सदस्य –५७
    जम्मा –१२३

    नेपाली कांग्रेस
    गाउँपालिका उपाध्यक्ष –१
    वडाध्यक्ष –१४
    खुला सदस्य –३१
    महिला सदस्य –१५
    दलित महिला सदस्य –४०
    जम्मा –१०१

    नेकपा माओवादी केन्द्र
    वडाध्यक्ष –३
    खुल्ला सदस्य –५
    महिला सदस्य –७
    दलित महिला सदस्य –३९
    जम्मा –५४

    नेकपा एकीकृत समाजवादी
    गाउँपालिका अध्यक्ष –२
    गाउँपालिका उपाध्यक्ष –१
    वडाध्यक्ष –६
    खुल्ला सदस्य –१२
    महिला सदस्य –७
    दलित महिला सदस्य –६
    जम्मा – ३४

  • किन नेकपा एसका अध्यक्ष उम्मेदवारलाई कान समातेर उठबस गराए स्थानीयले ? (भिडिओसहित)

    किन नेकपा एसका अध्यक्ष उम्मेदवारलाई कान समातेर उठबस गराए स्थानीयले ? (भिडिओसहित)

    सुर्खेत । कालिकोटको नरहरीनाथ गाउँपालिकाका निवर्तमान अध्यक्ष एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष उम्मेदवार धिरबहादुर विष्टलाई स्थानीय युवाले कान समातेर उठबस गराएका छन् । विष्टले सरकारी गाडी दुरुपयोग गरेको र सार्वजनिक स्थलमा मदिरापान गरेको भन्दै स्थानीय युवाले माफी मगाउँदै उठबस गर्न लगाएका हुन् ।

    विष्टसँगै मदिरा सेवनमा सहभागी नरहरीनाथ– ७ का वडाअध्यक्ष दलबहादुर विश्वकर्मालाई पनि स्थानीयले उठबस गराएका छन् । उनीहरुले उठबस गराएको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल छ ।

    भिडिओमा देखिन्छ– सुर्खेतको एक होटलमा सरकारी गाडीसहित उनीहरु मदिरा सेवन गरिरहेको अवस्थामा केही युवा फेला पार्छन् । विष्टले माफी माग्छन् । र पनि उठबस गराएरै छाड्छन् ।

    २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेबाट निर्वाचित विष्टले केही दिनअघि अध्यक्ष पदबाट राजीनामा दिएका थिए ।

    अध्यक्ष विष्टले आफूमाथि सुनियोजित रुपमा प्रहार गर्न थालिएको बताए । ‘भिडियो कहाँ खिचेका हुन् थाहा भएन, को–को हुन् भन्ने पनि म चिन्दिनँ’, उनले नेपालप्रेससँग भने, ‘अहिले मेरो पक्षमा माहोल बन्दै गएको छ । त्यसैले सुनियोजित प्रहार भयो ।’

    उनले आफूसँग पैसा मागेको र नदिएपछि भिडिओ सार्वजनिक गरेको बताए ।

  • नेकपा एस स्याङ्जाका सचिव र अखिल उपमहासचिवसहित दर्जनौं एमालेमा प्रवेश

    नेकपा एस स्याङ्जाका सचिव र अखिल उपमहासचिवसहित दर्जनौं एमालेमा प्रवेश

    काठमाडौं । नेकपा एस स्याङ्जाका पार्टी सचिव टीकाराम नेपाली र अनेरास्ववियूका केन्द्रीय उपमहासचिब मेघनाथ चापागाईँसहित दजनौं नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।

    हिजो एक कार्यक्रमबीच नेकपा एसका गण्डकी प्रदेश समिति सदस्य नेत्रबहादुर थापासहितको टोलीको एमालेमा प्रवेश गरेको हो । एमाले प्रवेश गर्नेहरुमा नेकपा एस स्याङ्जाका सचिवालय सदस्य मनोज बराल, जिल्ला कमिटी सदस्यहरु मिलन सुवेदी र दिपक नेपाली, एस निकट युवा संघका केन्द्रीय सदस्य बरुण चौधरी, युवा संघ नेपाल चापाकोट नगर कमिटी अध्यक्ष कमल परियार, सचिव बुद्धीमान श्रेष्ठ, संगम कुमाल, नेपाली कांग्रेस स्याङ्जाका क्रियाशील सदस्य दीपक नेपालीलगायत रहेको एमालेले जनाएको छ ।

    उनीहरुलाई एमाले उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङ, केन्द्रीय सदस्य सीता सुन्दासलगायतले पोखरामा आयोजित एक कार्यक्रममा स्वागत गरेका थिए ।

  • माधव नेपाल भन्छन्- एमाले सम्पूर्ण हिसाबले कुहिएपछि नयाँ पार्टी खोल्यौँ (भिडिओ)

    माधव नेपाल भन्छन्- एमाले सम्पूर्ण हिसाबले कुहिएपछि नयाँ पार्टी खोल्यौँ (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले सम्पूर्ण हिसाबले कुहिएपछि नयाँ पार्टी खोल्नुपरेको बताएका छन् ।

    नेकपा एससँग माओवादीबाट बहिर्गमित पूर्वलडाकाहरूसँग पार्टी एकता कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    ‘पुरानो पार्टी सबै हिसाबले कुहिने, दक्षिणपन्थी भासमा भासिने, व्यक्तिवादको अत्यन्तै दलदलमा फस्ने र सबै हिसाबले कम्युनिस्ट आदर्शलाई परित्याग गर्ने स्थितिमा पुगिसकेपछि हामीले कम्युनिस्ट आन्दोलनको रक्षा गर्न, आन्दोलनलाई जोगाउन,’ उनले भने, ‘आदर्शलाई साकार पार्न क्रान्तिकारी स्पिरिटलाई जोगाउँदै अघि बढ्न र नेपाली समाजको आमूल परिवर्तन गर्ने उद्देश्यका साथ हामीले नेकपा एस गठन गरेका हौँ ।’

    उनले आफ्नो पार्टीले निर्माणको आठ महिनामै धेरै सफलता हासिल गरेको उनले दाबी गरे ।

  • नेकपा एसको मकवानपुर जिल्ला अध्यक्ष छाडेका पोखरेल एमालेमै फर्किए

    नेकपा एसको मकवानपुर जिल्ला अध्यक्ष छाडेका पोखरेल एमालेमै फर्किए

    हेटौंडा । नेकपा एकीकृत समाजवादी मकवानपुर जिल्ला अध्यक्षबाट राजीनामा दिएको भोलिपल्ट नै श्रीधर पोखरेल नेकपा एमालेमा प्रवेश गरेका छन् ।

    एमाले विभाजन भएपछि पोखरेल समाजवादीतर्फ लागेका थिए । उनी फेरि एमालेमा फर्किएका हुन् ।

    उनलाई बिहीबार काठमाडौंमा भएको कार्यक्रममा एमाले अध्यक्ष केपी ओलीले पार्टी प्रवेश गराएका हुन् । निर्वाचनपछि पार्टी कमजोर हुने भन्दै बुधबार उनी सहित सचिवालय सदस्यले समेत पार्टी परित्याग गरेको घोषणा गरेका थिए ।

    नेकपा एसबाट उनी हेटौंडा उपमहानगरको मेयरका लागि पनि सिफारिस भएका थिए । उनले राजीनामा दिएपछि नेकपा एसको मकवानपुर अध्यक्षमा सूर्यचन्द्र न्यौपाने चयन भएका छन् ।

  • भोजपुरमा नेकपा एसका उपाध्यक्षसहित १०५ जना एमाले प्रवेश (तस्बिरहरू)

    भोजपुरमा नेकपा एसका उपाध्यक्षसहित १०५ जना एमाले प्रवेश (तस्बिरहरू)

    भोजपुर । सत्ता गठबन्धनको भागबन्डामा भोजपुरको दुई स्थानीय तहमा उपमेयर र उपाध्यक्ष पाएको नेकपा एसलाई चुनावी अभियानको सुरुवातमै झट्का लागेको छ ।

    आज नेकपा एस जिल्ला कमिटी उपाध्यक्ष चक्र तामाङ, केही जिल्ला कमिटी सचिवालय सदस्यसहितका नेता-कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् ।

    नेकपा एमाले पार्टी कार्यालयमा आयोजित कार्यक्रममा एसका उपाध्यक्ष तामाङ, प्रदेश १ अनेरास्ववियूका वरिष्ठ उपाध्यक्ष/ जिल्ला कमिटी सचिवालय सदस्य प्रताप तामाङ, सचिवालय सदस्य /कार्यालय सचिव कृष्ण बस्नेतलगायत प्रवेश गरेका हुन् । प्रताप जिल्लाका जुझारु युवा नेता हुन् ।

    सँगै भोजपुर नगरपालिका-५ बोखिमको सिंगो कमिटी एमालेमा समाहित भएको एमाले जिल्ला कमिटी अध्यक्ष मक्कर खड्काले बताए । उनका अनुसार आज १०५ जनाले एमाले प्रवेश गरेका हुन् ।

    भोजपुर नगरपालिकामा गठबन्धनबाट नेकपा एसकी ममिता राई उपमेयरको उम्मेदवार बनेकी छन् । त्यस्तै टेम्केमैयुङको उपाध्यक्ष पनि एसले पाएको छ । त्यहाँ इन्द्रावती राईलाई अघि सारिएको छ ।

    नेकपा एससहित विभिन्न पार्टी छाडेर एमाले रोजेकालाई प्रदेश १ का पूर्वमुख्यमन्त्री एवं पोलिटब्यूरो सदस्य शेरधन राई, उपाध्यक्ष खड्का, भोजपुरका मेयर उम्मेदवार भरत तामाङलगायतका नेताहरूले स्वागत गरे ।

    भोजपुर नेकपा एस केन्द्रीय उपाध्यक्ष जयन्ती राई र सचिव एवं प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई, अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीको जिल्ला हो ।

  • एमालेको पालामा भएका राम्रा कामको स्वामित्व हाम्रो हो,ओलीको कुनै भूमिका थिएन- माधव नेपाल (भिडिओ)

    एमालेको पालामा भएका राम्रा कामको स्वामित्व हाम्रो हो,ओलीको कुनै भूमिका थिएन- माधव नेपाल (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले वृद्ध भत्ता,सामाजिक सुरक्षा र आफ्नो गाउँ आफैं बनाउँ जस्ता लोकप्रिय कार्यक्रमको स्वामित्व एमालेले लिन नपाउँने दावी गरेका छन् ।

    विहीबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले एमालेको तत्कालीन ९ महिने सरकारको पालामा शुरु भएका लोकप्रिय कार्यक्रममा केपी ओलीको कुनै भूमिका नरहेको बताए ।

    नेपालले भने,’एमालेको ओली गुटले ती सबै कार्यक्रम हामीले गरेको भनेका छन् । उनको त भूमिका नै थिएन । मनमोहन अधिकारी, माधव नेपाल र भरतमोहन अधिकारीको भूमिका थियो । कुरालाई दावाका साथ तपाईहरुले तलसम्म भन्नुपर्छ ।’
    एमालेको पालामा भएका राम्रा कामको स्वामित्व आफ्नो रहेको नेपालले बताए ।

  • तालमेल नभएका ठाउँमा पनि साझा उम्मेदवार तय गर्न गठबन्धनको बैठक बस्दै

    तालमेल नभएका ठाउँमा पनि साझा उम्मेदवार तय गर्न गठबन्धनको बैठक बस्दै

    काठमाडौं । सत्ता गठबन्धनबीच तालमेल नभएका स्थानीय तहमा साझा उम्मेदवार तय गर्न शीर्ष नेता र कार्यदलका अलग अलग बैठक आज बस्ने भएको छ ।

    जुनजुन ठाउँमा तालमेल भएको छैन ती ठाउँमा पनि सहमतिका आधारमा साझा उम्मेदवार तोक्नेबारे छलफल गर्न पाँच दलीय कार्यदलको बैठक बसिरहेको र शीर्ष तहमा पनि छलफल तय भएको नेकपा एसका अध्यक्ष माधव कुमार नेपालले बताए ।

    विहीवार आयोजित एक कार्यक्रममा नेपालले भने, ‘सकेसम्म देशभर सबै स्थानीय तहमा साझा उम्मेदवार तय गरेर जाने प्रयास हुनेछ । त्यसका लागि कार्यदल र शीर्ष तहको छलफलको समय तोकिएको छ । भोलिसम्म धेरै ठाउँमा सहमति हुन्छ, नभएका ठाउँमा स्वच्छ प्रतिस्पर्धा गर्ने प्रयास हुनेछ ।’

    नेपालले यो चुनावमा नेकपा एसले राम्रो हैसियत प्राप्त गरेमात्र पार्टीको मूल्य र मान बढ्ने भएकाले चुनावमा राम्रो परिणाम ल्याउनुपर्ने बताए ।

  • गठबन्धनले कम्युनिष्ट आन्दोलन सिध्याउने भन्दै नेकपा एसका मकवानपुर अध्यक्षले पार्टी छाडे

    गठबन्धनले कम्युनिष्ट आन्दोलन सिध्याउने भन्दै नेकपा एसका मकवानपुर अध्यक्षले पार्टी छाडे

    हेटौंडा । सत्ता गठबन्धनको भागबन्डामा हेटौंडा उपमहानगरपालिकाको नेतृत्व पाएको नेकपा एकीकृत समाजवादीलाई चुनावी अभियान सुरू नहुँदै धक्का लागेको छ ।

    गठबन्धन कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्ने र निर्वाचित निकायलाई केही दलको सिण्डिकेटबाट भ्रष्टाचारको अखडा बनाउने नियत देखिएको भन्दै नेकपा एसका मकवानपुर जिल्ला अध्यक्ष श्रीधर पोखरेलले राजीनामा दिएका छन् ।

    पोखरेलले बुधबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै ८ महिनाअघि एमालेबाट भएको विद्रोह कसैको कुण्ठा र केही व्यक्तिको छिट्टै अवसर प्रापितको महत्वाकांक्षा तथा पद प्राप्तिको चरम इच्छामात्र रहेछ भन्ने पुष्टि भएको बताएका छन् ।

    उनले भनेका छन्, ‘नत यो विद्रोहले पार्टी निर्माण गर्न सक्छ र निर्वाचन पश्चात देशव्यापी रुपमा पार्टी कमजोर हुने र नेपालको कम्युनिष्ट आन्दोलनसमेत क्षत विक्षत हुने ठहरका साथ मलाई ८ महिना नेकपा (एस) मकवानपुर जिल्लाको अध्यक्ष मै रहदा साथ सहयोग गर्ने सम्पूर्णप्रति धन्यवाद दिँदै कम्युनिष्ट आन्दोलनको रक्षाका लागि विद्रोह गर्न र व्यक्तिवादी प्रालिको विरुद्ध आवाज उठाउन हार्दिक अनुरोधसहित सबैप्रति आभार व्यक्त गर्दै आजका मितिबाट पार्टीको सदस्य समेत नरहने गरी पार्टीको सबै जिम्मेवारीबाट यो राजीनामा गर्ने निधो गरेको छु ।

    नेकपा एसबाट हेटौंडा मेयरमा पोखरेल पनि आकांक्षी थिए । तर, केही नेताले आफूलाई हुन नदिएको भन्दै उनी असन्तुष्ट थिए । पोखरेलसँगै नेकपा एसका जिल्ला सचिवालय सदस्य देवेन्द्र कोइराला, उत्तम शर्मा, विरेन्द्र किसी र गोपालबहादुर स्याङ्तानले पनि पार्टी छाडेका छन् ।

    ‘आज गठबन्धनको नाममा जे जसरी अँध्यारो कोठामा बसेर नेपालको कम्युनिष्ट आन्दोलनलाई समाप्त पर्ने गरी आफ्नो कुन्सित मनसाय पूरा गर्न जे षड्यन्त्र भइरहेको छ र एउटा निर्वाचित निकायलाई भोलि भ्रष्टाचारको अखडा बनाउने नियतप्रति मेरो असहमति जनाउँदै ८ महिना आगाडि भएको विद्रोह केवल कसैको कुण्ठा र केही व्यक्तिको छिट्टै अवसर प्राप्ति को महत्वकांक्षा र पद प्राप्तिको चरम इच्छा र सोचमात्र रहेछ’, पोखरेलले विज्ञप्तिमा भनेका छन् ।

  • कैलालीमा एकीकृत समाजवादीका यी हुन् उम्मेदवार

    कैलालीमा एकीकृत समाजवादीका यी हुन् उम्मेदवार

    कैलाली । कैलालीका १३ पालिकामध्ये तीन दलीय तालमेलका क्रममा दुई पालिका प्रमुख र एक उपप्रमुख पाएको एकीकृत समाजवादीले ती पालिकाहरूका लागि उम्मेदवारहरूको टुङ्गो लगाएको छ ।

    घोडाघोडी नगरपालिका
    प्रमुख : खडक रावत

    चुरे गाउँपालिका
    अध्यक्ष : स्लोकबहादुर सारू मगर

    गोदावरी नगरपािलका
    उपप्रमुख : रत्ना कडायत

  • काठमाडौंको उपमेयरमा नेकपा एसबाट रामेश्वर श्रेष्ठ, तालमेल नभएका सबै ठाउँमा उम्मेदवारी

    काठमाडौंको उपमेयरमा नेकपा एसबाट रामेश्वर श्रेष्ठ, तालमेल नभएका सबै ठाउँमा उम्मेदवारी

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले काठमाडौं महानगरपालिकाको उपमेयरमा रामेश्वर श्रेष्ठलाई उम्मेदवार बनाएको छ । केन्द्रीय सचिवालय बैठकको निर्णयअनुसार महासचिव डा. बेदुराम भुसालले महानगरपालिका र उपमहागरपालिकामा नेकपा एसले पाएका पदको उम्मेदवारको नाम सार्वजनिक गरेका हुन् ।

    नेकपा एसबाट काठमाडौं महानगरपालिकाको उपमेयरमा अहिलेका वडाध्यक्ष ईश्वरमान डंगोल, सर्वोत्तम डंगोललगायत आकांक्षी थिए । तर सम्मानित नेता झलनाथ खनालको दबाबमा श्रेष्ठलाई अघि सारिएको हो ।

    उनीसँग जनप्रतिनिधि बनेको अनुभव भने छैन । नेकपा एसले पोखराको मेयरमा धनराज आचार्य र हेटौंडाको मेयरमा मीना लामालाई निर्णय गरिसकेको छ । त्यस्तै इटहरीको उपमेयरमा केशवकुमार विष्टलाई उम्मेदवार बनाएको छ ।

    नेकपा एसले आफ्नो पार्टीबाट प्रमुख उपप्रमुख तथा वडाध्यक्ष तथा सदस्यहरु सबैले कलम चिह्नबाटै चुनाव लड्ने निर्णय गरेको छ। कांग्रेसले पोखरामा रुख चिह्न लिएर लड्न दबाब दिइरहेका बेला पार्टीले कलम चिह्नबाटै चुनाव लड्ने निर्णय गरेको हो ।

    सो पार्टीले पाँच दलीय गठबन्धनमा सहमति नभएका सबै स्थानमा पार्टीले उम्मेदवारी दिने निर्णय समेत गरेको छ ।

  • सिन्धुली, मकवानपुर र काभ्रेमा गठबन्धनले टुंग्यायो भागबन्डा (सूचीसहित)

    सिन्धुली, मकवानपुर र काभ्रेमा गठबन्धनले टुंग्यायो भागबन्डा (सूचीसहित)

    काठमाडौं । वागमती प्रदेशस्तरीय गठबन्धनले सिन्धुली, मकवानपुर र काभ्रेपलाञ्चोक गरी तीन जिल्लाको भागबन्डा पनि टुंग्याएको छ ।

    सहमतिअनुसार सिन्धुलीमा नेपाली कांग्रेसले पाँच र माओवादीले ४ स्थानीय तहको नेतृत्व बाँडेका छन् ।

    त्यस्तै मकवानपुरमा एकीकृत समाजवादीलाई २, माओवादीलाई ३ र नेपाली कांग्रेसलाई ५ वटा स्थानीय तहको नेतृत्व दिइएको छ ।

    काभ्रेमा १३ स्थानीय तहमध्ये नेकपा एसलाई २, माओवादीलाई ४ र कांग्रेस वटाको नेतृत्व भाग लगाइएको छ ।

    यस्तो छ तीन जिल्लाको गठबन्धनमा भएको भागबन्डा

     

  • काठमाडाैंकाे गोकर्णेश्वरमा कांग्रेसविरुद्ध नेकपा एस र माओवादीको तालमेल

    काठमाडाैंकाे गोकर्णेश्वरमा कांग्रेसविरुद्ध नेकपा एस र माओवादीको तालमेल

    काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रले चुनावी तालमेल गरेका छन् ।  मेयरमा नेकपा एस र उपमेयरमा माओवादी केन्द्र लड्ने गरी तालमेल भएको हो ।

    महानगरपालिकाबाहेक काठमाडौं जिल्लाका अन्य स्थानीय तहहरूमा एक्लै निर्वाचन लड्ने घोषणा गरेको नेकपा एसले गोकर्णेश्वरमा माओवादीबाट नेतृत्व पाएपछि तालमेल गरेको छ । दुबै पार्टीले आज सहमतिपत्रमा हस्ताक्षर गरिसकेका छन् ।

    सहमतिपत्रमा मेयर र उपमेयरका उम्मेदवारका नाम नै उल्लेख छन् । मेयरमा नेकपा एसका तर्फबाट गोपाल बराल र उपमेयरमा माओवादी केन्द्रका तर्फबाट पेमा छिरी शेर्पाको नाम उल्लेख भएकाे हाे ।

    यस्तै वडातर्फ ६ अध्यक्ष माओवादी केन्द्रले लिएको छ । जसमा १, २, ३, ५, ७ र ९ छन । नेकपा एसले ४, ६ र ८ गरी ३ वटा वडा लिएको छ ।
    यसअघि यो नगरपालिकामा नेपाली कांग्रेसले जितेको थियो । यही कारण यहाँ कांग्रेसले छाड्न मानेको थिएन ।

  • धादिङमा कांग्रेस-माओवादी-एसबीच भागबन्डा, कसलाई कहाँ ?

    धादिङमा कांग्रेस-माओवादी-एसबीच भागबन्डा, कसलाई कहाँ ?

    काठमाडौं । १३ स्थानीय तह रहेको धादिङमा सत्तारूढ तीन दलबीच भागबन्डा भएको छ ।

    वागमती प्रदेशस्तरीय गठबन्धनको संयन्त्रले सिट बाँडफाँट गरेको हो । जसअनुसार नेपाली कांग्रेसले ८ स्थानीय तहको नेतृत्व पाएको छ भने, नेकपा माओवादी केन्द्रले ३ स्थानीय तह र नेकपा एकीकृत समाजवादीले दुई स्थानीय तहको नेतृत्व लिएका छन् ।

    कांग्रेसले नीलकण्ठ नगरपालिका, खनियाँबास गाउँपालिका, गंगाजमुना गाउँपालिका, नेत्रावती डबजोङ गाउँपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, ज्वालामुखी गाउँपालिका, सिद्धिलेक गाउँपालिका र थाक्रे गाउँपालिकाको नेतृत्व पाएको छ ।

    यस्तै माओवादी केन्द्रले रुवीभ्याली गाउँपालिका, बेनीघाट रोराङ गाउँपालिका र गजुरी गाउँपालिकाको नेतृत्व पाएको छ भने, धुनीवेँशी नगरपालिका र गल्छी गाउँपालिकाको नेतृत्व एकीकृत समाजवादीलाई दिइएको छ ।

    यस्तै नेपाली कांग्रेसले धुनीवेशीको उपमेयर तथा रुबीभ्याली, गजुरी र गल्छीको उपाध्यक्ष पनि लिएको छ । भने माओवादी केन्द्रले नीलकण्ठ नगरपालिकाको उपमेयर तथा खनियाँबास, नेत्रावती डबजोङ, त्रिपुरासुन्दरी र थाक्रे गाउँपालिकाको उपाध्यक्ष पाउँदा एकीकृत समाजवादीले गंगाजमुना, ज्वालामुखी, सिद्धिलेक र वेनीघाट रोराङको उपाध्यक्ष पाएको छ ।

    यस्तै जिल्ला समन्वय समितिको संयोजक माओवादी केन्द्रले पाएको छ भने सहसंयोजक एकीकृत समाजवादीलाई दिइएको छ ।

  • दैलेखको नौमुलेमा कांग्रेसविरुद्ध माओवादी र एसको मात्रै गठबन्धन

    दैलेखको नौमुलेमा कांग्रेसविरुद्ध माओवादी र एसको मात्रै गठबन्धन

    सुर्खेत । दैलेखकाे नाैमुलेमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले नेपाली कांग्रेसको हैकम नमान्ने भन्दै दुईदलीय गठबन्धन बनाएका छन् ।

    उनीहरुले दुई दलबीच तालमेल गरेर स्थानीय तह निर्वाचनमा हाेमिने निर्णयसमेत गरेका हुन् ।

    ‘स्थानीय निर्वाचन बैशाख ३० गते हुन गइरहेको सन्दर्भमा सत्ता गठबन्धनको केन्द्रीय संयन्त्र र प्रदेश संयन्त्रको नीति निर्देशनअनुसार स्थानीय तहमा उम्मेदवारको भागबन्डा गर्ने क्रममा दैलेख जिल्ला नौमुले गाउँपालिकामा वर्तमान जनमतको बेवास्ता गरी नेपाली कांग्रेस पार्टीको विगतको हैकमवाद कायम हुने गरी नीति निर्देशन भएकोमा सो सत्ता गठबन्धनभित्रको हामी दुई घटक नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी नौमुले गाउँपालिका पार्टी कमिटी पूर्ण रुपमा असहमत रहेको छ’, शनिबार जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेस नौमुलेसँग स्वस्थ रुपमा मित्रवत ढङ्गले प्रतिस्पर्धा गर्ने गरी दुई दलीय गठबन्धनको तर्फबाट छुट्टै उम्मेदवार दर्ता गर्ने जानकारीसहित यो संयुक्त प्रेस विज्ञप्ति जारी गरिएको छ ।’

    विज्ञप्तिमा माओवादीका तर्फबाट अध्यक्ष छवि सुवेदी र नेकपा एसबाट अध्यक्ष कृष्णबहादुर सलामीले हस्ताक्षर गरेका छन् ।

  • खाँडादेवी गाउँपालिका अध्यक्ष तामाङ नेकपा एसमा प्रवेश

    खाँडादेवी गाउँपालिका अध्यक्ष तामाङ नेकपा एसमा प्रवेश

    रामेछाप । खाँडादेवी गाउँपालिका अध्यक्ष प्रेम तामाङ स्थानीय तह निर्वाचनको उम्मेदवारी दर्ताको एक दिनअघि नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।

    गाउँपालिका अध्यक्षमा दोहोरिन चाहेका तामाङले टिकट नपाएपछि मन्थलीमा पत्रकार सम्मेलन गरी नेकपा एसमा प्रवेश गरेका हुन् ।

    जिल्ला इन्चार्ज देवशंकर पौडेल, पोलिटव्युरो सदस्य होमaहादुर बुढाथोकीलगायतका नेताहरुको उपस्थितिमा उनी नेकपा एसमा प्रवेश गरेका हुन् ।

    एमालेले खाँडादेवी गाउँपालिकाको अध्यक्षमा ज्ञानकुमार श्रेष्ठ र उपाध्यक्षमा रमा घिसिङलाई उम्मेदवार बनाउँदैछ ।
    नेकपा एसले खाँडादेवीको अध्यक्षमा प्रेम तामाङलाई नै अघि सार्ने गरी पार्टी प्रवेश गराएको हो ।

  • सुदूरपश्चिममा एकीकृत समाजवादीलाई गठबन्धन गर्न समस्या, एक्लै निर्वाचनमा होमिने मुड

    सुदूरपश्चिममा एकीकृत समाजवादीलाई गठबन्धन गर्न समस्या, एक्लै निर्वाचनमा होमिने मुड

    कैलाली । सुदूरपश्चिम प्रदेशमा सबै भन्दा ठुलो दल रहेको एकीकृत समाजवादीलाई सुदूरपश्चिम प्रदेशमा गठबन्धन गर्न समस्या भइरहेको छ । माओवादी केन्द्र र नेपाली कांग्रेसले दाबी धेरै गरेपछि एकीकृत साजवादीलाई समस्या भएको हो ।

    दार्चुलामा एकीकृत समाजवादीलाई बाहिर राखेर सहमति गरेपछि एकीकृत समाजवादी रुष्ट भएको थियो । बझाङमा भने माओवादीले भन्दा धेरै स्थानीय तहमा एकीकृत समाजवादीले पाएको छ । त्यस बाहेक कुनै पनि स्थानीय तहमा अहिले सम्म गठबन्धन हुन सकेको छैन । अहिले अन्य दुई दलले एकीकृत समाजवादीलाई आवश्यकता अनुसारको स्थान दिन नचाहेपछि समस्या भएको बताइएको छ ।

    सुदूरपश्चिम प्रदेश गठबन्धनमा सहमति हुन नसके मित्रवत् प्रतिस्पर्धा तर्फ जाने विषयमा पनि छलफल भइरहेको एकीकृत समाजवादीका सुदूरपश्चिम इन्चार्ज मदन कुमारी शाह गरिमाले जानकारी दिइन् ।

    ‘सधैँ जित्नकै लागि मात्रै चुनाव लडिने कुरा भएन । हार्ने पनि हुन सक्छ’ उनले भनिन् ‘अस्तित्वको लागि एक्लै पनि लड्नु पर्ने हुन सक्छ । ’

    गठबन्धन गरेर जाने र एक्लै निर्वाचनमा होमिने दुवै विकल्पमा तयार रहन निर्देशन जारी गरिएको उनले बताइन् । दार्चुलामा कुनै पनि पालिका नपाएको एकीकृत समाजवादीलाई वडाध्यक्ष पनि दिन तयार नभएपछि समस्या भएको हो ।
    ‘अहिले पनि छलफल भइरहेको छ । तर, ठोस निर्णय भएको छैन’ उनले भनिन्, ‘कतिपय स्थानमा हामीलाई कमजोर भनिएको छ । लुकेको शक्ति कसले देख्छ र ?’

    सुदूरपश्चिमका चार जिल्लामा अहिले सबै भन्दा धेरै समस्या छ । डोटी, अछाम कैलाली र कञ्चनपुरमा सबै भन्दा धेरै समस्या रहेको बताइएको छ । अछाममा एकीकृत समाजवादीले दुई पालिका मागेको छ । तर, उनीहरूको जनमत अनुसार एक पालिका लिने मुडमा कांग्रेस देखिएका छ ।

    कञ्चनपुरमा कांग्रेसले पाँच पालिका पाउने सहमति भए पनि माओवादी र एकीकृत समाजवादीले पाउने पालिकाका विषयमा सहमति जुट्न सकेको छैन । केही समय अघि एमालेबाट एकीकृत समाजवादीमा लागेका अशोक चन्दको स्थानीय तह बेदकोट एकीकृत समाजवादीले पाए पनि थप एक स्थानीय तहको दाबी गरेको छ ।

    कञ्चनपुरमा बेदकोट र पुर्नवास नगरपालिकाका नगर प्रमुख एकीकृत समाजवादीमा छन् । पुर्नवास नगरपालिका भने माओवादीले नछाड्ने बताएको छ ।

    कैलालीमा पनि अहिले सम्म कुरा मिलेको छैन । कैलालीका अहिले एकीकृत समाजवादीमा दुई उपप्रमुख मात्रै छन् । तत्कालिन अवस्थामा सात पालिका एमालेले जितेको थियो । ती मध्ये कुनै पनि पालिकाका प्रमुखले एकीकृत समाजवादीमा सनाखत गरेका छैनन् । तर, समाजवादीले चार पालिका दाबी गरेपछि गठबन्धन गर्न समस्या भइरहेको छ ।

  • गठबन्धन दलप्रति माधव नेपालको गुनासो- जिल्लाहरुको रिपोर्ट सुन्दा आशावादी हुने ठाउँ छैन (भिडिओ)

    गठबन्धन दलप्रति माधव नेपालको गुनासो- जिल्लाहरुको रिपोर्ट सुन्दा आशावादी हुने ठाउँ छैन (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले महानगर र उपमहानगरपालिकाको भागबण्डाले गठबन्धनमा राम्रो सन्देश दिए पनि जिल्ला तहको रिपोर्ट आशावादी नरहेको बताएका छन् ।

    नेकपा स्थापना दिवसको अवसरमा शनिवार केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले गठबन्धनमा रहेका अन्य दलले आफूहरुको अपमान गर्न खोजेको बताए ।

    अध्यक्ष नेपालले भने–तल जिल्लाहरुको रिपोर्ट सुन्दा आशावादी र उत्साही हुने अवस्था छैन । देशैभर हाम्रो पार्टीको संजाल छ,न्युनतम कम्तिमा पनि एउटा पालिका हामीले पाउनुपर्छ भन्ने हो । एमालेले जितेका ठाउँमा हाम्रो पहिलो हक रहन्छ । तर यहाँ गडबड गर्न खोजिएको छ ।

    अध्यक्ष नेपालले कांग्रेसमा एकथरी शक्ति गठबन्धन नहोस् भनेर लागेको बताए । उनले दुई दिन उम्मेदवारी मनोनयनको व्यवस्थाप्रति पनि शंका जनाउँदै तिकडम गर्न खोजिएको बताए ।

    ११ गते मनोनयन हेरेर १२ गते विद्रोही खडा गर्ने भनेर तिकडम गर्न खोजेको हुनसक्ने भन्दै केपी ओलीका तिकडमलाई आफूले पछार्ने नेपालले बताए ।

     

  • राखेपका पूर्व उपाध्यक्ष तिम्सिना एमाले छाडेर नेकपा एसमा प्रवेश

    राखेपका पूर्व उपाध्यक्ष तिम्सिना एमाले छाडेर नेकपा एसमा प्रवेश

    काठमाडौं । राष्ट्रिय खेलकुद परिषदका पूर्व उपाध्यक्ष पिताम्बर तिमल्सिना नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । नेकपा एमालेमा क्रियाशील रहँदै आएका तिमल्सिना शनिवार नेकपा एसको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा प्रवेश गरेका हुन् ।

    उनलाई अध्यक्ष माधवकुमार नेपाल,मुख्यमन्त्री राजेन्द्र पाण्डे लगायतका नेताहरुले स्वागत गरेका थिए । खेलकुद परिषदको उपाध्यक्षबाट बाहिरिएपछि उनी लामो समय अमेरिकामा बस्दै आएका थिए ।

    सोही कार्यक्रममा अन्य व्यक्तिहरु पनि एमालेबाट नेकपा एसमा प्रवेश गरेको उपमहासचिव डा.गंगालाल तुलाधरले बताए। सोही कार्यक्रममा पिताम्बरकी बहिनी कल्पना तिमल्सिना पनि नेकपा एसमा प्रवेश गरेकी थिइन् ।

    तस्बिर:  उमेश कार्की

  • सुदूरपश्चिममा एक्लै चुनाव लड्ने नेकपा एसको तयारी, तल्ला कमिटीलाई सर्कुलर

    सुदूरपश्चिममा एक्लै चुनाव लड्ने नेकपा एसको तयारी, तल्ला कमिटीलाई सर्कुलर

    धनगढी । नेकपा एकीकृत समाजवादीले स्थानीय निर्वाचनका लागि सुदूरपश्चिमका सबै पालिकामा एकल उम्मेदवारी दिने भएको छ । उक्त पार्टीले सुदूरपश्चिमका ८८ पालिकासहित सम्पूर्ण वडामा उम्मेदवारी दिने भएको हो ।

    पार्टीको सुदूरपश्चिम प्रदेश कमिटीले तल्ला कमिटीहरूलाई आन्तरिक सर्कुलरमार्फत यस्तो नीति तय गरेको हो ।

    सत्ता गठबन्धनको शीर्ष नेतृत्वले सुदूरपश्चिमको एकमात्र उपमहानगर धनगढीको मेयर कांग्रेसलाई दिने निर्णय गरेको थियो । उपमेयरको स्वाभाविक दाबेदार एकीकृत समाजवादीलाई उक्त उम्मेदवारीबाट वञ्चित गरिएपछि समाजवादीको स्थानीय नेतृत्वमा आक्रोश चुलिएको छ ।

    एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेश संसदको सबभन्दा ठूलो दल हो । उक्त दलले धनगढीमा माओवादीको तुलनामा आफ्नो स्थिति सुदृढ रहेको दाबी गर्दै आएको छ । तर, उपमेयरको उम्मेदवारी माओवादीलाई दिने निर्णयले धनगढीको जनमतमाथि धाबा बोलिएको भन्दै समाजवादीका स्थानीय नेताहरू असन्तुष्ट छन् ।

    जनतामाझ पार्टीको जबर्जस्त उपस्थिति देखाउन सबै ठाउँमा उम्मेदवारी दिन लागिएको प्रदेश कमिटीका एक नेताले बताए ।

    समाजवादीले यस्तो निर्णय लिएपछि कांग्रेस भने झस्किएको छ । गठबन्धनको केन्द्रीय नेतृत्वले सुदूरपश्चिमको एकमात्र उपमहानगरमा कांग्रेसलाई प्रमुख र उपप्रमुख माओवादी केन्द्रलाई दिने निर्णय गरिसकेको छ । वडाहरुमा समाजवादीलाई सम्मानजनक उम्मेदवारी दिने केन्द्रको निर्णय छ ।

    धनगढी उपमहानगरमा जसले जस्तोसुकै गठबन्धन गरे पनि स्वतन्त्र उम्मेदवार गोपाल हमाल हेभिवेट मानिएका छन् ।

  • सिरहाको मेयरमा लड्न मन्त्री पद छाड्दै प्रमोद यादव

    सिरहाको मेयरमा लड्न मन्त्री पद छाड्दै प्रमोद यादव

    जनकपुरधाम । मधेस प्रदेशका कानून, न्याय तथा प्रदेशसभा मामिला मन्त्री प्रमोद यादवले मेयरमा चुनाव लड्न राजीनामा दिने तयारी गरेका छन् ।

    नेकपा एकीकृत समाजवादीले सिरहा नगरपालिकाको मेयर पदका लागि मन्त्री यादवको एकल नाम सिफारिस गरेको हो । मन्त्री यादव मेयरमा लड्न तयार छन् । उनले सकभर आजै सभामुखलाई राजीनामा बुझाउने स्रोतले जनाएको छ ।

    मन्त्री पदबाट राजिनामा दिने विषयमा छलफल गरिरहेका उनले नेपाल प्रेसलाई बताए । उनले भने, ‘पार्टीले मेयरमा चुनाव लड्नुपर्ने निर्णय गरेपछि मन्त्री पद छाड्न तयार छौं ।’

    सिरहा नगरपालिकामा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्र गठबन्धन गर्न तयार छन् । एकीकृत समाजवादीले मेयरमा यादवलाई सारेको छ । माओवादीले उपमेयरको टुंगो लगाइसकेको छैन ।

    नेपाली कांग्रेसका नेताहरू पनि गठबन्धन गर्न सकारात्मक देखिएका छन् । तर, जिल्लामा कांग्रेसको समानान्तर समिति छ । कांग्रेसमा देखिएको आन्तरिक कलहले गठन्धन गर्न समस्या भइरहेको सोही पार्टीका नेताहरू बताउँछन् ।

    यता, सत्ता गठबन्धनमा सहभागी जनता समाजवादी पार्टी (जसपा) एक्लै चुनाव लड्ने तयारी गरिरहेको छ । २०७४ को निर्वाचनमा मेयर जिताउन सफल जसपा अहिले पनि एक्लै अब्बल रहेको भन्दै गठबन्धन गर्ने पक्षमा छैन ।

  • सिन्धुलीमा कांग्रेस-माओवादी गठबन्धन, नेकपा एससहित तीन दलको विरोध

    सिन्धुलीमा कांग्रेस-माओवादी गठबन्धन, नेकपा एससहित तीन दलको विरोध

    सिन्धुली । पाँच दलीय गठबन्धनका अन्य तीन दललाई बाहिर राखेर सिन्धुलीमा प्रमुख दुई दल कांग्रेस र नेकपा माओवादी केन्द्रले ९ वटा स्थानीय तहको भागबण्डा गरेका छन् ।

    माओवादी नेता हरिबोल गजुरेल समेतको उपस्थितिमा भएको दुई दलीय लिखित सहमतिप्रति नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाले भने आपत्ति जनाएका छन ।

    तर, सहमति अनुसार माओवादीले आफूले पाएका पालिकाको प्रमुख र उपप्रमुखमा उम्मेदवार समेत तय गरेर एक एकजनाको नाम प्रदेशमा पठाइसकेको छ । सहमति अनुसार जिल्लाका ९ मध्ये ५ पालिकामा कांग्रेस र ४ वटामा माओवादीले प्रमुख पाएका छन् ।

    कांग्रेसले कमलमाई नगरपालिकासहित गोलन्जोर,फिकल,तीनपाटन,घ्याङलेक र गाउँपालिका पाएको छ । त्यस्तै माओवादीले दुधौली नगरपालिकासहिहत मरिण, हरिहरपुरगढी र सुनकोशी गाउँपालिका पाएको छ । जसले पालिका प्रमुख पाएको छ, उपप्रमुख अर्को दलको हुने भएका छन् ।

    यसअघि एमालेले जितेका पालिका दुई दलले बाँडेका हुन् । सुनकोशी, मरिणा र हरिहरपुरगढी यसअघि माओवादील नै जितेको थियो भने गोलन्जोर, तीनपाटन, घ्याङ्लेक कांग्रेसले जितेको थियो ।

    एमालेले जितेका कमलामाई, दुधौली, फिकल उनीहरूले बाँडेका हुन् ।

  • माधव नेपालको गृहनगरमा गठबन्धन नहुने, कांग्रेस र नेकपा एसबाट छुट्टाछुट्टै नाम सिफारिस

    माधव नेपालको गृहनगरमा गठबन्धन नहुने, कांग्रेस र नेकपा एसबाट छुट्टाछुट्टै नाम सिफारिस

    रौतहट । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको गृहनगर चन्द्रपुरमा पाँच दलीय गठबन्धनको सम्भावना टरेको छ ।

    नेकपा एसले रौतहटको सबैभन्दा महत्वपूर्ण नगरपालिका चन्द्रपुरमा बाबुराम दाहाललाई मेयर तथा रामरती चौधरीलाई उपमेयर सिफारिस गरेको छ भने कांग्रेसले यसअघि सिफारिस गरेका सातजनाको नामावलीकाबारेमा आज टुंगो लगाउँदैछ ।

    ‘कांग्रेस चन्द्रपुर नगर समितिले गठबन्धन नगर्ने भनेर यसअघि नै निर्णय गरिसकेको छ, सो निर्णयका बारेमा आज जिल्ला समिति बैठकमा आवाश्यक निर्णय हुनेछ,’ चन्द्रपुर नगरसभापति मुकेश गिरीले भने ।

    उनका अनुसार गिरीसहित सपु्तबहादुर कार्की, अनन्त कोइराला, रमेशहरि अधिकारी, रामचन्द्र चौधरीलगायतलाई मेयरका लागि सिफारिस गरिसकेको छ ।

    नेकपा एसले पनि गत बुधबारको बैठकबाट दाहाल र चौधरीलाई मेयर र उपमेयर सिफारिस गरे पनि माओवादी केन्द्रले भने अझै नाम सिफारिस गरिसकेको छैन ।

    ‘जिल्ला तहमा तीनपटकसम्म गठबन्धन बैठक बसेको भए पनि चन्द्रपुरका लागि एकपटक पनि बैठक बस्न सकेको छैन,’ माओवादी केन्द्रीय सदस्य देवेन्द्र पौडेलले भने, ‘कमजोर दलहरूले मेयर र उपमेयरको नाम सिफारिस गरिसकेका छन् । हामी पनि बेलुकासम्म मेयर र उपमेयरको नाम सिफारिस गरिसक्नेछौं ।’

    उनका अनुसार गठबन्धनको बैठक बसाउन खोजे पनि अझैसम्म कुनै प्रयास सफल भएको छैन ।

  • लुम्बिनीका चार उपमहानगरमा एउटै भाग नपाएपछि नेकपा एस रुष्ट, यस्तो छ बदलिएको हिसाब

    लुम्बिनीका चार उपमहानगरमा एउटै भाग नपाएपछि नेकपा एस रुष्ट, यस्तो छ बदलिएको हिसाब

    रुपन्देही । लुम्बिनी प्रदेशका ४ उपमहानगरपालिकामध्ये सत्तागठबन्धनमा रहेका पाँच दलले तीनवटामा नेपाली कांग्रेस र एक माओवादीलाई नेतृत्व दिनेगरी बाँडफाँट गरेका छन् । गत स्थानीय तहमा ३ उपमहानगर प्रमुख र उपप्रमुख नै एमालेले जितेकाले त्यो विरासत तोड्नका लागि गठबन्धन गरिएको उनीहरुको भनाइ छ ।

    रुपन्देहीको बुटवल, दाङको घोराही र तुल्सीपुर तथा बाँकेको नेपालगन्ज चारै उपमहानगरमा अहिले गठबन्धनमा रहेका कुनै दलको नेतृत्व थिएन । बुटवल, घोराही, तुल्सीपुरमा एमालेले प्रमुख उपप्रमुख नै जितेको थियो भने नेपालगन्जमा मेयरमा राप्रपा विजयी भएको थियो ।

    दोस्रो र तेस्रो अर्थात कांग्रेस र माओवादीको मत जोड्दा एमालेभन्दा धेरै भएका कारण पनि यो पटकको चुनावी अंक गणित कस्तो हुनेछ ? भन्ने जोडघटाउ सुरु भएको छ । एमालेले जितेको बुटवलमा कांग्रेस, माओवादी र जनमुक्तिको गठबन्धन रहेको थियो भने दाङमा अलग अलग प्रतिस्पर्धा थियो ।

    बाँकेमा एमालेबाट ०५४ सालमा मेयर बनेका डाक्टर धवलशमशेर राणा राप्रपाबाट जितेका थिए । अहिले एमालेबाट छुटिएर बनेको नेकपा एस, जनमोर्चा, जसपा, र यसअघि अधिकांश पालिकामा गठबन्धन गरेको कांग्रेस र माओवादीसमेतको गठबन्धनले एमालेको विरासत जसरी पनि तोड्ने भनेर योजना बनाइसकेको बताएका छन् ।

    भागवण्डापछि बुटवलबाहेकका उपमहानगरमा दलहरुबीच विवाद बढेको छ । बुटवलको मेयर अन्य पार्टीले खासै बलियो तरिकाले दाबी नगरेपनि नेपालगन्जमा जसपा, घोराहीमा कांग्रेस र तुल्सीपुरमा माओवादी तथा नेकपा एसले अन्तिमसम्म दाबी गरेका थिए । निर्णय भइसकेपछि पनि ती पालिकामा दलका अलग अलग बैठक बसेर गठबन्धनको निर्णय मान्न नसकिने बताइरहेका छन् ।

    अर्कोतिर तत्कालीन अवस्थामा माओवादीमा रहेको अधिकांश नेता कार्यकर्ता र तराईमधेसका धेरै अन्य पार्टीबाट एमालेमा प्रवेश गरेकाले गत निर्वाचनको तथ्यांक जोडेर मूल्यांकन गर्न नहुने विषय अहिले चर्चामा छ । एमालेबाट छुट्टिएको नेकपा एसको जनपरीक्षण नभएकाले एमाले र नेकपा एसले आफ्नो दाबी गरिरहेका छन् । भने तराईमा बढी प्रभाव रहेका जसपा र लोसपाको परीक्षण नभएकाले अहिले आंकलन गर्न बढी कठिन छ ।

    बुटवल उपमहानगरपालिका

    एमाले उपाध्यक्ष विष्णु पौडेलको गृहनगर बुटवलमा गत निर्वाचनमा नेपाली काँग्रेस, माओवादी केन्द्र र जनमुक्ति पार्टीको गठबन्धनलाई पराजित गर्दै बुटबल उपमहानगरको प्रमुख र उपप्रमुख दुवैमा एमाले विजयी भएको थियो । प्रमुखमा एमालेका शिवराज सुवेदी २३ हजार २४९ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खेलराज पाण्डेले २० हजार ८५१ मत प्राप्त गरेका थिए ।

    त्यस्तै उपप्रमुखमा नेकपा एमालेकै गुमादेवी आचार्यले २५ हजार ३०१ मत प्राप्त गरी विजयी हुँदा गठबन्धनमा माओवादीबाट उम्मेदार बनेका जगत पोखरेलले १४ हजार ७९२ मत ल्याएका थिए । अहिले पोखरेल एमालेमा छन् । उनी मात्र होइन बुटवलमा रहेका धेरै माओवादी एमालेमा प्रवेश गरेकाले माओवादीको संगठन कमजोर बनेको छ । यहाँबाट एमालेले आफ्नो विरासत जोगाउन कसलाई पठाउँछ त्यो चासोको विषय छ । अहिलेका मेयर शिवराज सुवेदी दोहोरिन चाहेका छन् भने अघिल्लो पटक मेयरकै अन्तिम तीनमा परेका बाबुराम भट्टराई र गोपाल राना बलिया दावेदार हुन् । बहालवाला उपमेयर गुमादेवी आचार्य पनि मेयरमै दावेदारी गरेकी छन् । तर कसैको निर्णय हुन सकेको छैन ।

    कांग्रेसबाट अघिल्लो निर्वाचनका बलिया प्रतिस्पर्धी खेलराज पाण्डेको नाम नगरबाट सिफारिस भएर गइसकेको छ । तर यो निर्णय एकपक्षीय भन्दै उनकै समूहका हरि लम्सालसहितको ठूलो समूहले विरोध गरेकाले यसलाई कांग्रेसले कसरी मिलाउनसक्ला भन्ने चासोको विषय बनेको छ । यहाँबाट उपमेयर नेकपा एसले पाएपनि कसलाई पठाउने निर्णय गरेको छैन । यहाँबाट राप्रपाले संचारउद्यमी मृगेन्द्र शेरचनलाई उम्मेदवार घोषणा गरिसकेको छ ।

    घोराही उपमहानगरपालिका

    नेपाली कांग्रेसले आफ्नो बलियो क्षेत्र भनेर दावी गरेको घोराहीमा भागवण्डामा माओवादीले पाएको छ । माओवादीले हेमराज शर्मा डायमण्डलाई मेयरमा पठाउने निर्णय गरिसकेको छ । तर उपमेयर पाएको कांग्रेसले कसलाई पठाउने निर्णय गरेको छैन । माओवादीलाई जिताउन नसकिने भन्दै स्थानीय कांग्रेस नेताहरुले सामाजिक सन्जालमा आफ्ना धारणा लेख्न थालेका छन् ।

    एमाले महासचिव शंकर पोखरेल तथा माओवादी नेता कृष्णबहादुर महराको गृहजिल्ला दाङमा दुई उपमहानगर छन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा घोराही उपमहानगरपालिकामा एमालेका नरुलाल चौधरी २२ हजार ३० मतसहित विजयी भएका थिए । सो समयमा कांग्रेसका भुपबहादुर डाँगी क्षेत्री १७ हजार ४८४ प्राप्त गर्दा माओवादी केन्द्रका जीवन गौतमले १२ हजार ८२ मत ल्याएका थिए ।

    घोराहीमा योपटक एमाले एक्लै लडे आफ्नो विरासत जोगाउला त ? भन्ने प्रश्न उठ्न थालेको छ । उपमेयरमा एमालेकै सीता न्यौपाने धेरै मतले विजयी भएकी थिइन् । उनले २० हजार ७९२ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी पुष्पा श्रेष्ठ १७ हजाार ६०३ मा मत ल्याएकी थिइन् । यहाँबाट पनि एमालेका नरुलाल चौधरी दोहोरिने निश्चितजस्तै छ । उनी महासचिव शंकर पोखरेल निकट भएकाले पनि टिकट पाउने धेरैले आंकलन गरेका छन् ।

    कांग्रेस र माओवादी दुवैले यहाँ मेयरको दावी गरेकाले नेताहरुको चर्चा कम भएको छ । यहाँबाट माओवादीको ठूलो समूह नै एमालेमा प्रवेश गरेकाले ऊ कमजोर रहेको कांग्रेसको दाबी छ ।

    तुलसीपुर उपमहानगरपालिका

    तुल्सीपुर उपमहानगरपालिकाको मेयर कांग्रेस र उपमेयर नेकपा एसलाई परेको छ । यसअघि मेयर र उपमेयर दुवैमा एमालेले विजयी भएको थियो । एमालेका उम्मेदवार घनश्याम पाण्डे २२ हजार ८ सय ५७ मत प्राप्त गर्दै विजयी हुँदा कांग्रेसका गेहेन्द्र गिरीले १८ हजार ९ सय ३ मतसहित दोस्रो हुँदा नेकपा माओवादी केन्द्रका शेषुराम भण्डारीले ८ हजार ६ सय ९३ मत प्राप्त गरेका थिए ।

    उपमेयरमा एमालेकी माया आचार्य २१ हजार ३७ मत प्राप्त गर्दै विजयी हुँदा उपमेयरका प्रत्यासी कांग्रेसकी देबकी नेपालीले २० हजार १ सय ८५ मत गर्दा नेकपा माओवादी केन्द्रका सीता ओलीले ९ हजार ५१ मत प्राप्त गरेकी थिइन् । यहाँबाट एमालेले यसअघि पार्टीको जिल्ला अध्यक्ष रहेका टिकाराम खड्कालाई उठाउने निश्चितजस्तै छ । यहाँबाट कसलाई पठाउने भनेर निर्णय कुनै पार्टीले गर्न सकेका छैनन् ।

    नेपालगञ्ज उपमहानगरपालिका

    भागबण्डामा जसपाले दाबी गरेको नेपालगञ्ज उपमहानगर पालिका नेपाली कांग्रेसलाई परेपनि यहाँ गठबन्धन नगर्ने जसपाले भनिसकेको छ । भागवण्डामा मेयर नेपाली कांग्रेस तथा उपमेयर जसपालाई परेको हो । यसअघि राप्रपाका धवलशमशेर राणाले १२ हजार ५ सय १५ मत ल्याएर मेयर बनेका थिए । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका सुरेशकुमार कनौडियाले ८ हजार ७३० मत ल्याएका थिए ।

    तेस्रो स्थानमा आएका माओवादीका उम्मेदवारले ७ हजार १९८ मत ल्याएका थिए । एमाले चौथो स्थानमा थियो । हाल राप्रपा र एमालेको गठवन्धनको त्यस्तै कांग्रेस,माओवादी सहितको गठवन्धनका कारण नेपालगञ्ज उपमहानगरपालिकाको चुनावी रौनक बढ्ने देखिन्छ । नेपालगञ्जको उपमेयरमा कांग्रेसकी उमा थापामगर विजयी भएकी थिइन् । उनले राप्रपाकी उम्मेदवारलाई करिब २ हजार मतले पछि पारेकी थिइन् । यहाँका मेयर राणा नदोहोरिने भनिसकेका छन् भने नेकपा एमालेले केही महिना अघि प्रवेश गरेका पशुपतिलयाल मिश्रलाई भावी मेयरका रुपमा प्रचारमा ल्याइसकेको छ ।

    जसपाले गठबन्धन नहुने घोषणा गरेपछि कांग्रेसलाई अन्यौल भएको छ । यही अन्यौलका कारण यहाँ उम्मेदार पनि चयन हुनसकेको छैन ।

    गठबन्धनपछिको टकराव

    केन्द्रबाट भएको अनिवार्य गठबन्धनमा स्थानीय नेताहरु सन्तुष्ट छैनन् । कुन पालिकामा कसलाई अगाडि सार्ने वा नसार्ने निर्णय केन्द्रबाट भएकाले कार्यान्वयनमा चुनौती हुने गठबन्धनमै रहेका दलका नेताहरुले बताउन थालेका छन् ।

    जसपा लुम्बिनी महासचिव यज्ञ पोखरेलले गठबन्धन हुबहु सबै पालिकामा कार्यान्वयनमा चुनौती रहेको बताउँछन् । ‘एकले अर्को पार्टीको अस्तित्व स्वीकार्न समस्या छ, हामीले पहाडमा नटुंगाइ तराईमा गठबन्धन हुँदैन भनिरहेका छौं’, नेपालगन्जमा हाम्रो बटमलाइन थियो नदिएपछि हाम्रो साथीहरु बिच्किनुभयो, तराईमा मित्रवत लड्ने भनेर निर्णय भएको छ, गठबन्धन गर्ने त निर्णय हुन्छ अनि मित्रवत लड्न नि निर्णय गर्नुपर्छ र ?’

    कांग्रेस लुम्बिनीका कोषाध्यक्ष प्रकाश राना सबै पालिकामा गठबन्धन कार्यान्वयनमा चुनौती भएको बताउँछन् । आफ्नो दलको क्षमता कति हो नजाँची माग गरेकाले पनि समस्या भएको उनको भनाइ छ ।

  • झलनाथको आरोप- कांग्रेसले राष्ट्रिय उद्योग र कलकारखाना देख्नै नहुने, बेचेर सिध्याइदियो (भिडिओ)

    झलनाथको आरोप- कांग्रेसले राष्ट्रिय उद्योग र कलकारखाना देख्नै नहुने, बेचेर सिध्याइदियो (भिडिओ)

    इलाम । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले राष्ट्रिय उद्योग र कलकारखानाहरू बेचेर नेपाली कांग्रेसले देशलाई परनिर्भर बनाएको आरोप लगाएका छन् ।

    इलामको माइजोगमाई गाउँपालिकास्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री खनालले सत्य तीतो भए पनि कांग्रेसले देशका उद्योग र कलकारखाना सिध्याएको आरोप लगाए ।

    खनालले भने, ‘कांग्रेसको विरोध गर्‍यो भन्नुहोला तर कांग्रेसका साथीहरूले पनि स्वीकार गर्नुपर्छ । कृषि औजार कारखाना, छालाजुत्ता, कपडा जस्ता राष्ट्रिय कलकारखाना कांग्रेसले देख्नै नहुने । सबै सिध्याएर आज हामीलाई परनिर्भर बनाइएको छ । वास्तवमा यो देश गरिब हुने देश नै होइन,गरीव बनाइएको हो ।’

    खनालले अहिलेको पाँच दलीय गठबन्धन केपी ओलीको तानाशाही प्रवृतिलाई परास्त गर्न बनेको भन्दै आउने चुनाव प्रतिगमनविरुद्धको निर्णायक लडाइँ हुने बताए ।

  • काठमाडौं महानगरको उपमेयरमा नेकपा एसबाट ७ जनाको दाबी

    काठमाडौं महानगरको उपमेयरमा नेकपा एसबाट ७ जनाको दाबी

    काठमाडौं । सत्ता गठबन्धनको भागबन्डामा काठमाडौं महानगरको उपमेयर नेकपा एकीकृत समाजवादीलाई परेपछि उक्त पार्टीमा दाबेदार संख्या बढेको छ ।

    महानगरका ३२ मध्ये १० वडामा उक्त पार्टीको दावी छ । उपमेयर पनि पार्टीको भागमा परेपछि वडाध्यक्ष बनाउन तयार पारिएका व्यक्तिहरु पनि उपमेयरका लागि संघर्ष गर्दैछन् ।

    महानगरको उपमेयरमा सबभन्दा बलियो दावी छ, रामेश्वर श्रेष्ठको । उनी पार्टीको महानगर कमिटीका अध्यक्ष हुन् । कुनै बेला युथ फोर्सको उपत्यका इन्चार्जका रुपमा काम गरेका उनले अहिलेसम्म जनताबीचको चुनावी प्रतिस्पर्धा झेलेका छैनन् ।

    उपमेयरका लागि तीनजना बहालवाला वडाध्यक्षले दावी पेश गरेका छन् । तीमध्ये वडा नम्बर १५ का वडाध्यक्ष ईश्वरमान डङ्गोल तुलनात्मक रुपमा बलियो मानिएका छन् । पार्टीका सम्मानित नेता झलनाथ खनालको बसोबास रहेको डल्लु उनको वडा हो । उनी अहिले महानगरपालिकाका प्रवक्ता हुन् ।

    अर्का दावेदार हुन्, शुद्ध डङ्गोल । उनी ७ नम्बर वडा (चावहिल) का अध्यक्ष हुन् । उक्त वडा तालमेलमा पनि एकीकृत समाजवादीले पाउने करिब निश्चित छ । तर, उपमेयर पार्टीको भागमा आएपछि उनले वडाध्यक्षमा दोहोरिने सपना देख्न छोडेका छन् ।

    त्यस्तै, एक महिनाअघि एमाले परित्याग गरेका २५ नम्बरका वडाध्यक्ष बालकृष्ण श्रेष्ठ पाएदेखि उपमेयर नै राम्रो हुने भनी लविङमा जुटेका छन् । काठमाडौंको ठेट नेवार बस्ती मखनटोलका बासिन्दा श्रेष्ठ बाल दाइका नामले वडामा लोकप्रिय छन् ।

    उपमेयरकै दावेदारी प्रस्तुत गर्ने महिलाको संख्या पनि बढेको छ । चावहिल घर भएकी केन्द्रीय सदस्य सीता श्रेष्ठदेखि कामपा ३० की बासिन्दा एवं पार्टी केन्द्रीय सदस्य रन्जना मास्केसम्मको उपमेयरमा दावी छ ।

    पार्टीको जिल्ला कमिटी उपाध्यक्ष रहेकी ओमकुमारी श्रेष्ठ पनि उपमेयरको दावी गरिरहेकी छन् । पहिला ३१ को वडाध्यक्ष दावी गरेकी उनले मंगलबार महानगरको बाँडफाँटमा पार्टीले उपमेयर पाउने भएपछि वडाध्यक्षको माग छोडेकी छन् ।

  • पोखराको मेयरमा नेकपा एसबाट चारजनाको दाबी

    पोखराको मेयरमा नेकपा एसबाट चारजनाको दाबी

    पोखरा । सत्ता गठबन्धनमा पोखरा महानगरपालिकाको मेयर पाएको नेकपा एकीकृत समाजवादीले सो पदका लागि चारजनाको नाम केन्द्रमा सिफारिस गरेको छ ।

    नेकपा एसबाट पोखराको मेयरका लागि पोलिटव्युरो सदस्य श्रीनाथ बराल, दिलकुमारी पन्त (दिलु), केन्द्रीय लेखा आयोगका सदस्य विजयबाबु बनबासे र कास्की जिल्ला अध्यक्ष धनराज आचार्यले दाबी गरेका छन् ।

    नेकपा एसले महानगरपालिकाको मेयरको निर्णय केन्द्रबाट गर्ने भएको छ । दाबेदारमध्ये दिलु पन्त र धनराज आचार्यमध्ये एकजनाको बढी सम्भावना रहेको नेकपा एसका नेताहरूले बताएका छन् ।

    पाँच दलीय गठबन्धनमा पोखराको मेयर नेकपा एसले पाउने सहमति भइसकेको छ । तर, कांग्रेसका स्थानीय कार्यकर्ताले असहमति जनाएर कार्यालयमा तालाबन्दी गरेका छन् ।

  • भक्तपुरमा उम्मेदवार घोषणा गर्दै नेकपा एस, कहाँबाट को सिफारिस ?

    भक्तपुरमा उम्मेदवार घोषणा गर्दै नेकपा एस, कहाँबाट को सिफारिस ?

    भक्तपुर । नेकपा (एकीकृत समाजवादी) ले भक्तपुरमा आज उम्मेदवारी घोषणा गर्ने भएको छ । स्थानीय तह निर्वाचनमा नेकपा एसले बुधवार तीन बजे पत्रकार सम्मेलनमार्फत उम्मेदवारी घोषणा गर्न लागेको हो ।

    जिल्लामा नेपाली कांग्रेस, नेकपा एमाले, स्थानीय स्तरमा प्रभुत्व जमाउँदै आएको नेपाल मजदुर किसान पार्टीलगायत कुनै पनि दलले उम्मेदवारी घोषणा गरेका छैनन् । नेपाली कांग्रेस, नेकपा ९एमाले०लगायतका दलहरूले उम्मेदवार हुन चाहनेका सूची सङ्कलन गरी केन्द्रमा पठाएका छन् ।

    जिल्लामा रहेका चार नगरपालिकाको मेयरको उमेदवार घोषणा गर्न लागेको हो ।  चाँगुनारायण नगरपालिका रामप्रसाद न्यौपाने, मध्यपुर थिमी नगरपालिकामा भवानी खड्का, प्रेमनन्द लाल  श्रेष्ठ,  दुर्गा मोहन श्रेष्ठ र पुण्यरत्न रञ्जितको नाम सिफारिस भएको छ ।

    यस्तै गरी भक्तपुर नगरपालिकामा रीता आवल र ओम चरण अमात्यको उमेदवारी घोषाणा गर्न लागेको छ भने  सूर्यविनायक नगरपालिकामा श्याम बस्नेत, अर्जुन बस्नेत र मधुकर थापा मेयर पदमा सिफारिस भएका छन् ।

    यता नेपाल मजदुर किसान पार्टीले भने अरू दलको उम्मेदवार तोकेपछि मात्रै अन्तिममा उम्मेदवारी घोषणा गर्ने जनाएको छ ।

    चार नगरपालिका रहेको भक्तपुरमा पछिल्लो स्थानीय तहको निर्वाचनमा चाँगुनारायण नगरपालिकामा नेकपा ९एमाले०का मेयर सोमपसाद मिश्रले आठ हजार पाँच सय १२ मत र उम मेयर बिना बास्तोलाले आठ हजार सात सय ७९ मत ल्याएका थिए  भने भक्तपुर नगरपालिकामा एमालेका मेयर विष्णुप्रसाद सुवालले चार हजार दुई सय १८, उपमेयर कृष्णमाया त्वानाबासुले चार हजार ६ सय ३१ मत प्राप्त गरेका थिए ।

    यसै गरी सूर्यविनायक नगरपालिकामा नेकपा एमालेका मेयर बासुदेव थापाले १२ हजार एक सय ३५, उपमेयर जुना बस्नेतले १२ हजार आठ सय ३२ र मध्यपुर थिमिमा नेकपा एमालेका मेयर मदनसुन्दर श्रेष्ठले १४ हजार मत पाएका थिए ।

    मध्यपुरमा एमालेले त्यो बेला नेपाल मजदुर किसान पार्टीसँग मिलेर चुनाव लडेका कारण उपमेयरमा नेपाल मजदुर किसान पार्टीको भागमा परेको थियो ।

    एमालेबाट नै फुटेर नेकपा एस बनेकाले अहिले त्यही एमालेको भोट काट्ने अनुमान गरिएको छ । एमालेको भोट काटेर एमाले हराउने अभियानमा नेकपा एस लागेको बताइन्छ ।

     

  • पोखराको मेयर नेकपा एसलाई दिएपछि कास्की कांग्रेस कार्यालयमा ताला

    पोखराको मेयर नेकपा एसलाई दिएपछि कास्की कांग्रेस कार्यालयमा ताला

    पोखरा । सत्तारुढ गठबन्धनबीच पोखरा महानगरपालिकाको मेयर पद एकीकृत समाजवादीलाई दिने सहमतिपछि नेपाली कांग्रेस कास्की कार्यालयमा तालाबन्दी गरिएको छ । कांग्रेसको पोखरा महानगर समितिले जिल्ला कार्यालयमा तालाबन्दी गरेको हो ।

    महानगरका सचिव टुवराज बास्तोला र गणेशबहादुर थापाले संयुक्त विज्ञप्ति जारी गरी जिल्ला कार्यसमितिसँग मात्रै सोधेर पोखराको मेयर एकीकृत समाजवादीलाई सुम्पेको भन्दै आफ्नो आत्मसम्मानमा चोट पुगेको बताएका छन् ।

    ‘प्रदेश र जिल्ला सभापतिलाई किनाराको साक्षी राख्दै नेकपा एसलाई मेयर पदमा प्रस्ताव गरिएको समाचारले महानगर समिति उपेक्षित भएको महसुस भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘हामी पनि विधानअनुसार निर्वाचित भएका हौं । यस्ता निर्णयले कांग्रेसका पहरेदार सिपाहीहरूको आत्मसम्मानमा गम्भीर चोट लागेको छ ।’

    सत्ताभन्दा माथि उठेर आमकार्यकर्ताको मनोभावना उच्च राख्न महानगरले जिल्लाको पार्टी कार्यालयमा तालाबन्दी गरेको थापाले बताए ।

    ‘आगामी दिनमा अपनाइने संघर्षका कार्यक्रममा आमसहमति रहने अपेक्षा गर्दै यो ध्यानाकर्षण पत्र जिल्ला कार्यसमिति एवं गण्डकी प्रदेश कार्य समिति लाई पेस गर्दर्छौं,’ विज्ञप्तिमा भनिएको छ ।

  • ओखलढुंगाको गठबन्धनबाट जसपा र नेकपा एस आउट, यस्तो छ कांग्रेस–माओवादीको भागबण्डा

    ओखलढुंगाको गठबन्धनबाट जसपा र नेकपा एस आउट, यस्तो छ कांग्रेस–माओवादीको भागबण्डा

    काठमाडौं । ओखलढुंगामा कांग्रेस माओवादीले मात्रै चुनावी गठबन्धन गर्ने सहमति भएको छ । नजिकिँदै गरेको स्थानीय तहको निर्वाचनलाई लिएर एकीकृत समाजवादी र जसपालाई थाहै नदिइ कांग्रेस र माओवादीबिच रातारात भागबण्डामा सहमति भएको हो ।

    मंगलबार बिहान मित्रवत् प्रतिस्पर्धा गरेर चुनावमा जाने सहमति भएर सत्तासाझेदार दलहरूको बैठक सकिएको भए पनि माओवादी केन्द्र र कांग्रेसबीच रातारात सहमति भएको छ ।

    दुई दलबीच भएको सहमतिमा कांग्रेसले तीनवटामा प्रमुख, उपप्रमुखसहित नेतृत्व लिने भएको छ भने माओवादीले एक स्थानीय तहमा प्रमुख र तीनवटामा उपप्रमुख लिने भएको बताइएको छ ।

    ओखलढुंगाका ८ स्थानीय तहमध्ये चिशंखुगढी गाउँपालिका माओवादी केन्द्रले नेतृत्व गर्ने छ भने मोलुङ र चम्पादेवी गाउँपालिका र सिद्धिचण नगरपालिकामा उपप्रमुखमा सहमति भएको छ ।

    माओवादीको आधार क्षेत्र भनिएको चम्पादेवीमा पनि माओवादी केन्द्र उपप्रमुखमा चित्त बुझाएर दुई दलीय सहमति गरेकोमा माओवादी कार्यकर्ता भने असन्तुष्ट भएका छन् ।

    जिल्लाको खिजिदेम्बा, सुनकोशी र मानेभञ्ज्याङ्ग गाउँपालिकामा अध्यक्ष उपाध्यक्ष नै नेपाली कांग्रेसलाई दिन माओवादी केन्द्र सहमत भएको छ ।

    माओवादी केन्द्रले ओखलढुंगाको माओवादी उद्गम स्थल भनेर चिनिने लिखु गाउँपालिकामा भने आफ्नो दाबी गरेको छ । यो गाउँपालिकामा नेपाली कांग्रेसले पनि दाबी गरेपछि निर्णय गर्न केन्द्रलाई दिने गरी प्रदेश र संघमा पठाउने सहमति भएको नेकपा माओवादी केन्द्रका जिल्ला समन्वय समिति अध्यक्ष निशान्त शर्माले बताए ।

    यो भागबण्डामा दुईदलबीच भएको र गठबन्धन सहमतिमा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी आएमा उनीहरुलाई १–१ स्थानमा उपप्रमुख पद दिन सकिनेसमेत निर्णय भएको माओवादीका नेता बाबुराम गौतमको भनाइ छ ।

    सहमति नभए  जसपा र समाजवादी एक्लै लड्ने

    दुई दलले गरेको निर्णयमा आफ्नो पार्टीको सहमति नभएको नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य नेत्र भट्टराईले बताए । ‘अहिलेको आवश्यकता देशव्यापी रूपमा गठबन्धनको भए पनि ओखलढुंगामा गठबन्धन नभएर केही पनि असर पर्दैन ।’

    जिल्लामा दुई स्थानीय तहमा आफूहरूले नेतृत्व पाउनुपर्ने बताउँदै भट्टराईले भने ‘सिद्धिचरण नगरपालिका र लिखु गाउँपालिका प्रमुख तथा अन्य एक स्थानमा उपप्रमुखमा हाम्रो दाबी हो । यदि गठबन्धन भएन भने पनि एकीकृत समाजवादीले अधिकांश स्थानीय तहका प्रमुख–उपप्रमुख र ५० भन्दा बढी वडामा वडा अध्यक्षमा उम्मेदवारी उठाउने तयारी गरेको छ ।’

    जनता समाजवादी पार्टीले पनि दुई पार्टीका बीचमा भएको सहमतिलाई अस्वीकार गरेको छ । आफूहरूको दाबीका विषयमा दुई पार्टीले बेवास्ता गरेपछि ओखलढुंगामा गठबन्धनबाट बाहिरिने सम्भावना बढेको जनता समाजवादी पार्टीका नेता नेत्र बहादुर नेम्वाङ ‘नरेशले’ बताए ।

    ‘जनता समाजवादी पार्टी ओखलढुंगामा एक्लै भए पनि चुनावी मैदानमा जाने सम्भावना सँगै तयारी थालेको छ ।’ तर यस विषयमा पार्टीको आधिकारिक निर्णय भने हुन बाँकी रहेको छ’, उनले भने ।

    जसपाले खिजीदेम्बामा भने स्थानीय निर्वाचनका लागि गाउँपालिका अध्यक्षको उमेदवार समेत घोषणा गरेको छ । जिल्लाका मानेभञ्ज्याङ र खिजीदेम्बामा राम्रो पकड रहेको छ भने अन्य स्थानमा पनि संगठन राम्रो रहेको जसपाले जनाएको छ ।