Category: नेकपा एस

  • माधव नेपालमाथि प्रतिशोध राखेर भ्रष्टाचारको मुद्दा लगाएको नेकपा एसको आरोप

    माधव नेपालमाथि प्रतिशोध राखेर भ्रष्टाचारको मुद्दा लगाएको नेकपा एसको आरोप

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले सरकारले राजनीतिक प्रतिशोध राखेर अध्यक्ष माधव नेपालमाथि मुद्दा दर्ता गर्न लगाएको आरोप लगाएका छन् ।

    अख्तियारले पतञ्जली योगपीठ तथा आयुर्वेद विद्यालयको नाममा दिइएको जमिन अनियमितता प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि १८ करोड ५८ लाख ५० हजार बिगो मागदाबीसहित भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    पाण्डेले यो जग्गा प्रकरणमा भ्रष्टाचारसँग जोडिने अध्यक्ष नेपालले कुनै अपराध नगरेको दाबी गरे ।

    उनले भने, ‘अहिले यो मुद्दा दर्ता हुनु, आउँदो २८ गतेभित्र अख्तियारलगायत सबै संवैधानिक निकायहरूको म्याद सकिने फैसला पनि हुनाले यही छोटो अवधिमा के-के गर्नुपर्ने गरिभ्याउनुपर्ने बाध्यता भएकाले नै यो सबै भएको हो कि जस्तो लाग्छ ।’

    यसअघि नै मुद्दा नचलाउने भनेर तामेलीमा राखिएको निर्णय उल्ट्याएर सरकारले मुद्दा चलाउनले प्रतिशोध भएको देखिएको दाबी गरे ।

    उनले भने, ‘योमात्रै होइन गिरीबन्धुमा पनि यस्तै नीतिगत निर्णय भएका छन्, नीतिगत निर्णयलाई यसैगरी भ्रष्टाचार हो भन्दै मुद्दा लगाउने हो भने संसदमा रहेका धेरै मान्छेहरू बिदा हुन्छन् ।’

  • माधव नेपालमाथि भ्रष्टाचार मुद्दा दायर भएकोबारे झलनाथः तथ्य राम्ररी बुझेर मात्र बोल्नुपर्छ

    माधव नेपालमाथि भ्रष्टाचार मुद्दा दायर भएकोबारे झलनाथः तथ्य राम्ररी बुझेर मात्र बोल्नुपर्छ

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टी अध्यक्ष माधव नेपालविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएकाबारे तथ्य अध्ययन गरेर मात्रै पार्टीले धारणा तय गर्ने बताएका छन् ।

    अख्तियारले पतञ्जली योगपीठ तथा आयुर्वेद विद्यालयको नाममा दिइएको जमिन अनियमितता प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि १८ करोड ५८ लाख ५० हजार बिगो मागदाबीसहित भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    अख्तियारले मुद्दा दायर गरेपछि यो विषयमा पार्टीमा छलफल गरेर धारणा तय गर्ने बताए ।

    उनले भने, ‘मुद्दा दर्ता भएको हामीले पनि थाहा पायौँ, यसमा अब आधार के हुन् ? तथ्य के हुन् ? केही थाहा छैन । पार्टीभित्र पनि छलफल भएको छैन । पार्टीले तुरुन्त बैठक बसेर छलफल गर्नुपर्ने आवश्यकता देखेको छु । पार्टीभित्र छलफल गरिसकेपछि मात्रै हाम्रो औपचारिक प्रतिक्रिया आउँछ ।’

    यो मुद्दा दर्ता हुनुमा राजनीतिक प्रतिशोध देख्नुहुन्छ ? भन्ने नेपाल प्रेसको जिज्ञासामा उनले थपे, ‘प्रतिशोध नै छ भनेपनि त्यसरी टिप्पणी गर्ने बेला होइन, पूर्वप्रधानमन्त्रीमाथि लागेको मुद्दा हो । त्यसैले घटनाक्रमलाई राम्रोसँग बुझेर मात्रै बोल्नु उपयुक्त हुन्छ ।’

    उनले मुद्दा दर्ता भएपछि अध्यक्ष नेपाल गौरबाट काठमाडौं फर्किँदै गरेको भन्दै आइसकेपछि पार्टीमा छलफल हुने बताए ।

  • माधव नेपालसँग साढे १८ करोडबढी बिगो दाबी, यी हुन् पतञ्जली जग्गा प्रकरणका ९३ प्रतिवादी

    माधव नेपालसँग साढे १८ करोडबढी बिगो दाबी, यी हुन् पतञ्जली जग्गा प्रकरणका ९३ प्रतिवादी

    काठमाडौं । पतञ्जली योगपीठ तथा आयुर्वेद विद्यालयको नाममा दिइएको जमिन अनियमितता प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि १८ करोड ५८ लाख ५० हजार बिगो मागदाबीसहित भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

    अख्तियारले छुट्टाछुट्टै कसुर किटान गरी नेपालसहित ९३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

    तत्कालीन कानूनमन्त्री प्रेमबहादुर सिंह, भूमिसुधारमन्त्री स्व.डम्बर श्रेष्ठ, तत्कालीन मुख्यसचिव स्व. माधवप्रसाद घिमिरे (पछि गृह/परराष्ट्रमन्त्री, तत्कालीन भूमिसुधार सचिव  छविराज पन्तलाई पनि प्रतिवादी बनाइएको छ ।

    अख्तियारका अनुसार पतञ्जली योग पीठ तथा आयुर्वेद कम्पनीलाई हदबन्दी छुट दिने सम्बन्धी मन्त्रिपरिषद्, विधेयक समितिको मिति २०६६।१०।१८ गतेको निर्णय कार्यान्वयनको लागि मालपोत कार्यालय, काभ्रेपलाञ्चोकमा मिति २०६६।१२।२४ गते मात्र पत्राचार भएको देखिएको छ ।

    त्यसअघि नै तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको निर्देशानुसार विभागीय मन्त्रालयबाट उक्त कम्पनील गैरकानूनी तवरबाट प्राप्त गरेको हदभन्दा बढी जग्गा भूमिसम्बन्धी ऐन बमोजिम जफत तथा सरकारी सार्वजनिक कायम हुने जग्गा बेचविखन तथा सट्टापट्टासम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा ठाडो प्रस्तावको रूपमा पेश गरे गराएको देखिएको छ ।

    उक्त प्रस्तावमाथि २०६६।१२।०६ गतेको मन्त्रिपरिषद्को बैठकबाट पतञ्जली योग पीठ तथा आयुर्वेद कम्पनीलाई ०६६।१०।१८ गते भन्दा अघि खरिद गरेको चलालगणेशस्थान, साँगा, महेन्द्रज्योति गाविसका हदभन्दा बढी जग्गाहरु विक्री तथा सट्टापट्टाको लागि स्वीकृति दिने निर्णय गरे गराएको अख्तियारको विज्ञप्तिमा उल्लेख छ ।

    सोही निर्णय बमोजिम तत्कालीन मुख्यसचिव माधव प्रसाद घिमिरेले निर्णय कार्यान्वयनको लागि पत्राचार गरे गराएको साथै । मन्त्रिपरिषद् विधेयक समिति र मन्त्रिपरिषद्को निर्णयअघि नै २०६५ चैत १५ गते सनराइज बैंक लिमिटेडबाट उक्त हदभन्दा बढी जग्गा धितो दृष्टिवन्धक राखी कर्जा प्रवाह भएको पाइएको छ ।

    कसुर, बिगो मागदाबी र मुद्दाका प्रतिवादीबारे अख्तियारको विज्ञप्ति

  • माधव नेपालको सांसद पद निलम्बन

    माधव नेपालको सांसद पद निलम्बन

    काठमाडौं । पतन्जलीको जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेसँगै नेकपा एसका अध्यक्ष माधव कुमार नेपालको सांसद पद निलम्बन भएको छ ।

    पतन्जलीको जग्गा सट्टापट्टा प्रकरणमा पूर्वप्रधानमन्त्री समेत रहेका नेपालविरुद्ध आज मुद्दा दर्ता भएसँगै सांसद पद स्वतः निलम्बनमा परेको हो ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोग, २०४८ साथै भ्रष्टाचार निवारण ऐन, २०५८ मा सार्वजनिक पदमा भएको व्यक्तिविरुद्ध मुद्दा दर्ता भए स्वतः निलम्बन हुने प्रावधान छ ।

    नेपाल निलम्बनमा परेको आधिकारिक पत्र प्राप्त भएपछि सभामुखले सदनलाई जानकारी गराउने छन् । तर, पत्र आइनसकेको साथै समय पनि घर्किसकेकाले भोलिको बैठकमा जानकारी हुने संसद सचिवालय स्रोतले बतायो ।

  • पूर्वप्रधानमन्त्री माधव नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    पूर्वप्रधानमन्त्री माधव नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एसका अध्यक्ष माधवकुमार नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    अख्तियारले विहीबार विशेष अदालतमा पतञ्जली जग्गा हिनामिना प्रकरणमा माधव कुमार नेपालसमेत ९३ जना उपर सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर गरेको हो ।

    पतञ्जली योग पीठ तथा आयूर्वेद कम्पनी नेपालले काभ्रेपलाञ्चोक जिल्लाको नासिकास्थान साँगा, महेन्द्रज्योतिमा कम्पनी संचालनको लागि हदबन्दीभन्दा बढी जग्गा खरिद गरेको, उक्त जग्गा कम मूल्यमा किनेर बढी मूल्यमा बेचबिखन गर्दा तत्कालीन प्रधानमन्त्री माधव नेपालको संलग्नता रहेको अख्तियारको आरोपदाबी रहेको विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले बताए ।

    आरोपपत्रमा ५ सय ९४ रोपनी ५ आना १ पैसा खरिद गरेको र जग्गाको मूल्याङ्कन रकम १८ करोड ५८ लाख ५० हजार रहेको देखिएको रेग्मीले बताए । त्यस्तै हदबन्दी भन्दा बढी बेचेको जग्गा ३ सय १४ रोपनी १५ आना दुई पैसा १ दाम रहेको देखिएको छ ।

    नेता नेपालविरुद्ध १८ करोड ५८ लाख रुपैयाँ बिगो दाबी गरिएको विशेष अदालतले जनाएको छ । त्यस्तै अख्तियारले गुठी संस्थान, शाखा कार्यालय काभ्रेपलाञ्चोकले जग्गाधनी गुठी संस्थान हिटीचोक सदावर्त गुठी र मोही पतञ्जली योग पीठ तथा आयूर्वेद कम्पनी नेपालको नाममा भएको हदभन्दा बढी जग्गाहरुको धितो बन्धक राजीनामा पारित समेत गर्न सहमति प्रदान गरी गलत लिखत तयार भएको अख्तियारले जनाएको छ ।

    के हो पतञ्जली जग्गा प्रकरण
    २०६६ सालमा माधव नेपाल प्रधानमन्त्री भएको बेला नेपाल नेतृत्वको सरकारले मन्त्रिपरिषदबाट निर्णय गरेर पतन्जलीलाई हदबन्दी छुटमा जग्गा खरिद गर्न स्वीकृति दिएको थियो । सोही जग्गा विक्री गर्न अनुमति दिने निर्णय पनि नेपाल नेतृत्वकै सरकारले गरेको थियो ।

    आयुर्वेद कम्पनीलाई व्यावसायिक प्रयोजनका लागि दिइएको जग्गामा पतन्जलीले आयुर्वेद कम्पनी चलाएन । जग्गा खरिद गरी जग्गा खण्डित गरेर बिक्रीका लागि ‘काष्ठमण्डप बिजनेश होम्स’लाई दिइएको पाइएको छ । प्लटिङ गर्ने व्यवसायीको निजी कम्पनीमा ३५३ रोपनी जग्गा पुगेको पाइएपछि अख्तियारले छानबिन थालेको थियो ।

    हदबन्दी’ छुट पाएको जग्गा जुन प्रयोजनको लागि खरिद गरिएको हो, त्यो प्रयोजन पूरा गर्न नसकिए वा प्रयोजन समाप्त भएमा उक्त जग्गा नै ‘सरकार’को हुने प्रावधान छ । तर, कानूनले नै बन्देज लगाएको विषयभित्र प्रवेश गरी तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल, भूमिसुधारमन्त्री डम्बर श्रेष्ठ, सचिव छविराज पन्त लगायतले उक्त जग्गा ‘पतञ्जली’ बाट जग्गा किनबेच गर्ने कम्पनीका नाममा ‘ट्रान्सफर’ गर्नेसमेतको अनुमति दिएको पाइएको थियो ।

    ललिता निवास अनियमितता प्रकरणलाई समेत ‘माथ’ गर्नेगरी लिइएको ‘नीतिगत निर्णय’को ‘पतञ्जली जग्गा प्रकरण’ ले हलचल मच्चिएको छ ।

    पतञ्जली योगपीठले जडीबुटी खेती र आयुर्वेद अस्पताल निर्माणका लागि हदबन्दी छुटमा जग्गा खरिद गरेको थियो । तत्कालीन सरकारको निर्णयबाट हदबन्दी छुटमा पाएको जग्गा पछि मन्त्रिपरिषदकै निर्णयबाट बिक्री गरेको भेटिएपछि अख्तियारले छानबिन थालेको अख्तियारको भनाइ छ ।

    पतञ्जलीले काभ्रेमा आयुर्वेद शिक्षालय र जडीबुटी फार्म सञ्चालन गर्न २०६४ सालमा कम्पनी दर्ता गरेको थियो । हदबन्दीभित्रको जग्गाले नपुग्ने भएपछि उसले सरकारलाई हदबन्दी छुटमा जग्गा राख्ने अनुमति दिन आग्रह गरेको थियो ।

    नेपाल नेतृत्वको सरकारले २०६६ माघमा ८१५ रोपनी जग्गा किन्न अनुमति दिएकोमा त्यसमध्ये ३५३ रोपनी नगरकोट क्षेत्रको जग्गा प्लटिङ भएको हो । हदबन्दी छुटको जग्गा बिक्री गर्न दिने निर्णय पनि तहगत रुपमा मन्त्रीपरिषदबाटै भएको थियो ।

    तत्कालीन मन्त्रीले मन्त्रिपरिषदमा उठाएर लैजाने फाइलमै ‘सम्माननीय प्रधानमन्त्रीज्यूको मौखिक आदेश अनुसार हदबन्दी छुटको जग्गा बेच्न अनुमति दिने’ भनेर प्रस्ताव अघि बढाएको आधारमा तत्कालीन प्रधानमन्त्री नेपाल यसमा तानिएका हुन् ।

  • सुदूरपश्चिमका पूर्व मुख्यमन्त्री सोडारी निलम्बन सम्बन्धी पत्र प्रदेश सभा पुग्यो, २३ गते सभामुखले संसद्लाई जानकारी दिने

    सुदूरपश्चिमका पूर्व मुख्यमन्त्री सोडारी निलम्बन सम्बन्धी पत्र प्रदेश सभा पुग्यो, २३ गते सभामुखले संसद्लाई जानकारी दिने

    कैलाली । सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री दीर्घ सोडारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता भएको र पद निलम्बन भएको पत्र प्रदेश सभामा पठाएको छ ।

    पदको दुरुपयोग गरेर अकूत सम्पत्ति आर्जन गरेको ठहर गर्दै अख्तियारले सोडारीविरुद्ध एक करोड ८ लाखको बिगो माग दाबी लिएर विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो । भ्रष्टाचार सम्बन्धी कसुरमा विशेष अदालतमा आरोप पत्र दायर भएलगत्तै सोडारी स्वतः निलम्बनमा परेका हुन् ।

    भ्रष्टाचार निवारण ऐन, २०५९ मा सार्वजनिक पद धारण गरेका व्यक्तिविरुद्ध मुद्दा दर्ता भएपछि उक्त मुद्दाको किनारा नलाग्दासम्म पद निलम्बन हुने व्यवस्था छ । सोही व्यवस्था अनुसार सोडारीको सांसद पदबाट स्वतः निलम्बन भएको पत्र प्रदेश सभा सचिवालयमा आइसकेको छ ।

    नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता समेत रहेका सोडारीको सांसद पद निलम्बन भएको पत्र सभामुख भीमबहादुर भण्डारीले आगामी बैठकमा पढेर सुनाउने बताएका छन् ।

    ‘मुद्दा दर्ता भएको विषय र मुद्दा दर्ता भएपछि निलम्बनका परेको विषय उल्लेख गरेर अख्तियारको पत्र आइसकेको छ ’ सभामुख भण्डारीले भने ‘हाम्रो आगामी बैठक २३ गते बस्दै छ सोही बैठकमा उक्त पत्र म संसद्मा पढेर सुनाउँछु ।’

    सभामुखले प्रदेश सभाको बैठकमा उक्त पढेर सुनाएपछि प्रदेश सभा सदस्यको हैसियतमा उनले कुनै काम गर्न पाउने छैनन् भने प्रदेश सभा सचिवालयले तलब लगायतका सेवा सुविधा पनि रोक्का गर्नेछ ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोडारीले मुख्यमन्त्री, भौतिक पूर्वाधार विकास मन्त्री र सामाजिक विकास मन्त्रीको हैसियतमा बहाल रहँदा पदीय मर्यादा विपरीतका कार्य गरेर अकुत सम्पत्ति आर्जन गरेको ठहर गर्दै विशेष अदालतमा सोमबार मुद्दा दायर गरेको थियो ।

    सोडारीका आम्दानीका स्रोत पारिश्रमिक, बैङ्क ब्याज, कृषि आय, श्रीमती तथा छोराछोरीको पारिश्रमिक, सामाजिक सुरक्षा भत्ता आदिबाट जम्मा ८५ लाख ५१ हजार ३३४ रुपैयाँ ९२ पैसा मात्र रहेको पाइएको छ। तर सो अवधिमा सोडारीले जग्गा खरिद, घर निर्माण, भित्री सजावट, छोरीको अध्ययन खर्च, छोराको विवाह खर्च, शेयर लगानी, चुनाव खर्च लगायतका शीर्षकमा कुल १ करोड ९३ लाख ८९ हजार ६३७ रुपैयाँ ४९ पैसा खर्च गरेका थिए।

    कुल आय र व्ययको तुलना गर्दा सोडारीको स्रोत नखुलेको रकम १ करोड ८ लाख ३८ हजार ३०२ रुपैयाँ ५७ पैसा रहेको आयोगको दाबी छ। सोडारीले सार्वजनिक पदमा रहँदा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) र (२), दफा १६ को उपदफा (२), दफा २४, दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ ख बमोजिमको कसुर गरेको आयोगको दाबी छ ।

    आयोगले पूर्वमुख्यमन्त्री सोडारीले गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति जफत गर्न समेत माग गरेको छ। उनले आयोगसमक्ष पेश गरेको सम्पत्ति विवरणमा वास्तविक सम्पत्तिको विवरण उल्लेख नगरी सम्पत्ति लुकाइ छिपाई झुट्टा विवरण पेश गरेको अख्तियारको ठहर छ।

  • भोजपुरमा ‘अखिल आइकन’ को तयारीमा अनेरास्ववियू- वक्तृत्वकला गरिँदै

    भोजपुरमा ‘अखिल आइकन’ को तयारीमा अनेरास्ववियू- वक्तृत्वकला गरिँदै

    भोजपुर । नेकपा एसनिकटको विद्यार्थी संगठन अनेरास्ववियूले यही जेठ ३० गते जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगिता गर्ने भएको छ ।

    ‘अखिल आइकन २०८२’ नाम दिइएको वक्तृत्वकलाको विषय भने ‘भोजपुरको शिक्षाको अवस्था : चुनौती र सुधारको उपाय’ राखिएको छ ।

    मंगलबार पत्रकार सम्मेलन गर्दै अनेरास्ववियूले वक्तृत्वकला प्रतियोगिताको तयारी र उद्देश्यबारे जानकारी गराएको छ ।

    अनेरास्ववियू भोजपुरका अध्यक्ष प्रकाशसिं राईले जिल्लाभरका माविलाई खबर गरिएको बताउँदै एक विद्यालयबाट ५ जनासम्म विद्यार्थी प्रतिस्पर्धी बन्नसक्ने बताए ।

    सामुदायिक विद्यालयको गुणस्तरसमेत खस्किएको बेला आफूहरूले गर्न लागेको कार्यक्रमले नीति निर्माण तहमा सुधारका उपाय सुझाउने उनले विश्वास जनाए ।

    वक्तृत्वकलाका प्रथम, द्वितीय र तृतीयलाई क्रमश: १५ हजार, १० हजार र ७ हजार नगदसहित मेडल दिइनेछ ।

    प्रतिभा पहिचान सँगै विद्यार्थीको क्षमता विकासका लागि प्रतियोगिता गर्न लागिएको अध्यक्ष राईले बताए । अखिल आइकनको निरन्तरताका लागि अक्षय कोष स्थापना गर्ने अनेरास्ववियूको योजना छ ।

  • प्रकाश ज्वालाको आरोप- सरकार यातायात व्यवसायीको सिण्डिकेटसामू झुक्यो

    प्रकाश ज्वालाको आरोप- सरकार यातायात व्यवसायीको सिण्डिकेटसामू झुक्यो

    काठमाडौं । नेकपा एसका उपाध्यक्ष तथा पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले सरकार र यातायात व्यवसायीबीच सोमवार राति भएको सम्झौता संघीयताविपरीत र आपत्तिजनक रहेको बताएका छन् ।

    प्रतिनिधि सभा पूर्वाधार विकास समितिको मंगलवारको बैठकमा बोल्दै ज्वालाले यातायात व्यवसायीहरूसँग सोमबार मध्यरात भएको सहमति आपत्तिजनक भएको बताएका हुन् । उनले यातायात व्यवसायीहरूसँग झुकेर सरकारले यसअघि हटिसकेको सिन्डिकेटलाई संरक्षण गरेको आरोप लगाए ।

    गण्डकी प्रदेश सरकारले ल्याएको राइड शेयरिङ नियमावली स्थगन गर्ने सम्झौता आपत्तिजनक र असंवैधानिक रहेको भन्दै उनले प्रदेश सरकारलाई यातायात सञ्चालनको अधिकार संविधानले दिएको बताए ।

    उनले यातायात क्षेत्रको सिण्डिकेट ब्युँताउने र राइड सेयरिङ रोक्ने कुरा गलत भएको र यात्रुले आफ्नो सुविधा अनुसार यातायात साधन प्रयोग गर्न पाउनुपर्ने बताए ।

    ज्वालाले भने, ‘पहिले तोडिएको सिन्डिकेट फेरि कायम गर्ने सम्झौता भएको छ । जनताले जे प्रयोग गर्न चाहन्छ, त्यही प्रयोग गर्नु पाउनुपर्‍यो नि । निश्चित वर्गको फाइदाका निम्ति मात्रै काम गरेको छ ।’

  • ओली-देउवा भेट्न जानुअघि प्रचण्डले गरे माधव नेपालसँग छलफल

    ओली-देउवा भेट्न जानुअघि प्रचण्डले गरे माधव नेपालसँग छलफल

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न जानुअघि नेकपा एसका अध्यक्ष माधव नेपाललाई भेटेका छन् । माओवादी संसदीय दलको बैठकलगत्तै प्रचण्डले सिंहदरबारमा नेपालसँग भेट गरेका हुन् ।

    भेटमा माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेकपा एसका नेता प्रमेश हमाल पनि सहभागी थिए । माओवादीले गृहमन्त्रीले राजीनामा नदिएसम्म संसद नखोल्ने बताइसकेको छ ।

    तर, नेकपा एसका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले पार्टीबाट गृहमन्त्रीको राजीनामा माग्ने निर्णय नभएको र सदनमा बोल्न दिनुपर्ने बताएका छन् । यसबारे थप निर्णय गर्न भोलि विपक्षी दलको बैठक पनि बोलाइएको छ ।

  • ‘गृहमन्त्रीको कुरा नसुनी राजीनामा माग्न मिल्दैन, हामी माओवादी र रास्वपाको पुच्छर हुँदैनौँ’

    ‘गृहमन्त्रीको कुरा नसुनी राजीनामा माग्न मिल्दैन, हामी माओवादी र रास्वपाको पुच्छर हुँदैनौँ’

    काठमाडौं । विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा बटमलाइन बनाएको छ । जेठ १५ गते संवैधानिक बाध्यताअनुसार बजेट पेस गर्न दिएपनि अब चल्न नदिने अडानमा उनीहरू छन् ।

    गृहमन्त्री लेखकको राजीनामा, प्रधानमन्त्री केपी ओलीको जवाफ र उच्चस्तरीय छानबिन आयोग बनाउनुपर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको बटमलाइन छ । छानबिन समितिको पक्षमा नखुले पनि गृहमन्त्रीको राजीनामा र प्रधानमन्त्रीको जवाफ दिनुपर्ने माओवादीको भनाइ छ । राप्रपाले पनि यी मागमा साथ दिएको छ ।

    प्रचण्डले आन्तरिक बैठकमा गृहमन्त्री राजीनामाको लागि तयार भइसके पनि प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको आड पाएर ब्याक भएको ब्रिफिङ गरेका थिए ।

    गृहमन्त्रीको राजीनामा नआएसम्म सदन नखोल्ने बताउँदै आएको माओवादी र रास्वपाले भोलिदेखिको सदनमा रणनीति बनाउन संसदीय दलको बैठक डाकेका छन् ।

    यद्यपि, माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी यो प्रकरणमा अहिलेसम्म सदन अवरोध गर्न साथ दिए पनि गृहमन्त्रीले बोल्न पाउनुपर्ने पक्षमा उभिएको छ ।

    रास्वपाले पार्टी सभापति रवि लामिछानेको सहकारी प्रकरणमा कांग्रेसको व्यवहारलाई जोडेर अहिले बदला लिन खोजेको कतिपयको बुझाइ छ ।

    नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले यो प्रकरणमा गृहमन्त्रीको राजीनामा माग्ने पार्टीले कुनै निर्णय नगरेको बताए । गृहमन्त्रीको राजीनामाबारे विपक्षी दलले उठाइरहेको विषयको वरिपरि रहेर नेकपा एसका संसदीय दलका उपनेता समेत रहेका पाण्डेसँग गरिएको संक्षिप्त कुराकानी-

    – भिजिट भिसा प्रकरणमा अन्य विपक्षी दलले गृहमन्त्रीको राजीनामा बटमलाइन बनाउँदा तपाईँहरूको भनाइ के ?

    हाम्रो पार्टीले अहिलेसम्म गृहमन्त्रीको राजीनामा माग्ने निर्णय गरेको छैन । हामीलाई हाम्रो कुरा राख्नलाई सभामुखले दिइराखेका छैनन्, १३ गतेको बैठकमा माओवादी र रास्वपाले आफ्नो कुरा राख्यो, हामीले समय माग्दा सभामुखले दिएनन् । उल्टो सत्तापक्षका श्याम घिमिरेलाई समय दिन खोजेका थिए ।

    रास्वपाले आफ्नो बैठक राखेर राजीनामा बटमलाइन भनेर निर्णय गर्‍यो । प्रतिपक्षको बीचमा छलफल गरेर निर्णय गर्नुपर्छ भनेर धैर्यता पनि राखेन । संसदमा रहेका पार्टीहरू त आ-आफ्नो अस्तित्वमा रहन्छन् नि !

    उनीहरूले निर्णय गर्ने हामी पछि लाग्ने भन्ने हुँदैन । माओवादीको निर्णयको पछि लाग्ने पनि कुरा हुँदैन । आन्दोलन सुरू गर्नुअघि के गर्ने भनी उनीहरूले भन्नुपर्‍यो ।

    मैले प्रचण्डजीको संसदीय दलको कार्यालय बैठकमा बस्दा हामी तपाईँहरूको पुच्छर हुन सक्दैनौँ भनिसकेको छु । यही निर्णय पनि तपाईँहरूले निर्णय नगरी विचार हुनसक्थ्यो, प्रस्ताव गर्न सक्नुहुन्थ्यो, सबैले बसेर निर्णय गर्दा हुन्थ्यो, अहिले तपाईँहरू मार्केट लिने, अहिले रास्वपा मार्केट लिने दाउमा छ । त्यसैले तपाईँहरूको मार्केट लिने दाउमा हामी मिसिन सक्दैनौँ भनेको छु ।

    – विपक्षी दलको बैठक त बसेको थियो, भनेपछि राजीनामा बटमलाइन भनेर कुनै निर्णय भएको होइन ?

    राजीनामा बटमलाइन उनीहरूले भने । हामीले संसदमा मन्त्रीबारे प्रश्न उठेपछि उत्तर दिन पाउनुपर्छ भनेका छौँ । राजीनामाको कुरा त पछि गरौँ, अहिले त मन्त्रीले उत्तर दिन पाउनुपर्‍यो नि !

    प्रश्न उठाउने उत्तरै दिन नपाउने भन्ने हुँदैन । त्यसो भए सबै मन्त्रीहरूलाई एउटा एउटा सांसदले राजीनामा गर भनेर बोल्ने अनि, संसदमा राजीनामा नगरी नआइज भनेर हुन्छ कि हुँदैन ।

    – रास्वपाले त गृहमन्त्रीको राजीनामा, प्रधानमन्त्रीको जवाफ र छानबिन आयोगको कुरा उठाएको छ नि !

    छानबिन त हामीले पनि हुनुपर्छ भनिरहेका छौँ । यो कुरा अहिले रमेश लेखकको पालामा मात्रै भएको छ कि विगतमा पनि भएको छ ? त्यो त छानबिन भएपछि मात्रै थाहा हुन्छ।

    अर्को कुरा मन्त्री बदल्दैमा सधैँका लागि यो कुरा बन्द हुन्छ र ? मानव तस्करी र भ्रष्टाचारको लहरो त टुटाउनै पर्‍यो नि ! त्यो लहरो टुटाउने काम पहिला छानबिनबाट गर्नुपर्छ, त्यसपछि मन्त्रीले राजीनामा गर्नपर्ने लेबलको अवरोध हो कि नपर्ने भन्ने त्यसपछि छलफल हुन्छ ।

    – माओवादीले पनि गृहमन्त्रीको राजीनामा नआई भोलिदेखि सदन अघि बढ्दैन भनिसक्यो ?

    माओवादीले आफ्नो पार्टीको निर्णय गरेको हो, हामी हाम्रो कुरा गर्ने हो । हामीले अहिलेसम्म गृहमन्त्रीको राजीनामा माग्ने निर्णय गरेका छैनौँ ।

  • ओली र प्रचण्ड लक्षित घनश्यामको टिप्पणी- जित्ने मनपरी बोल्दै हिँडेको छ, हार्ने अर्को रुँदै कराउँदैछ

    ओली र प्रचण्ड लक्षित घनश्यामको टिप्पणी- जित्ने मनपरी बोल्दै हिँडेको छ, हार्ने अर्को रुँदै कराउँदैछ

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले गणतन्त्रमा शुद्धीकरण आवश्यक रहेको बताएका छन् ।

    एकीकृत समाजवादी पोखरा महानगरको अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले आजकै अवस्थामा मुलुक लामो समय जान नसक्ने बताए । उनले राजनीतिक अस्थिरताको कारणले आज मुलुकमा उकुसमुकुस रहेको बताए ।

    एमालेका अध्यक्ष केपी ओली लक्षित गर्दै महासचिव भुसालले भने, ‘आज गणतन्त्रको खासगरी नेतृत्वका तहमा हेर्नुहुन्छ भने यी जुवाडे जस्ता भए, गणतन्त्रको नेतृत्व वास्तवमा जुवाडेहरूको एउटा समुदाय जस्तो भयो । आज एउटाले जित्यो, चौका-छक्का हान्यो, उसले दुनियाँसँग गफ गर्दै, दुनियाँलाई हेप्दै, मनपरी बोल्दै हिँडेको छ ।’

    उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई लक्षित गर्दै अहिले सत्ताबाट हटायो भनेर रुँदै कराउँदै हिँडेको टिप्पणी गरे ।

    महासचिव भुसालले भने, ‘अर्को जुवामा हार्‍यो, रुँदैछ कराउँदैछ, बलिन्द्र धारामा आँसु चुहाउँदै मलाई सत्ताबाट निकाले, मलाई सत्तामा जान दिएनन् भनेर ऊ त्यही सत्ताको लागि रुँदैछ । सत्ताबाट हटेकाले पनि यो जिम्मेवारी महसुस गरेको छैन । सत्तामा पुगेका त त्यो झन् घमन्डी भएको छ । गणतन्त्रको नेतृत्वको कुरा गर्ने हो भने हारेर र जितेकाहरूको समूह जस्तो भयो ।’

    गणतन्त्र आएपछि अपेक्षित काम गर्न नसकेकाले पुरानो दरबारमा रहेकाहरूले प्रश्न उठाउन थालेको उनले बताए ।

  • पूर्वराजा ज्ञानेन्द्रलाई माधवको चुनौती- आँट भए चुनाव जितेर प्रधानमन्त्री बनेर देखाउनुस् (भिडिओ)

    पूर्वराजा ज्ञानेन्द्रलाई माधवको चुनौती- आँट भए चुनाव जितेर प्रधानमन्त्री बनेर देखाउनुस् (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले कम्युनिस्ट पार्टीभित्र पनि आँट, हिम्मत र दृष्टिकोण नभएकाहरू पनि हुने बताएका छन्।

    गणतन्त्र दिवसका अवसरमा पार्टीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै समयअनुसार चल्न नसक्ने मान्छे निराशाको सिकार हुने बताए। उनले भने, ‘तत्कालीन एमालेभित्र देखिएको विचार प्रवृत्तिहरू विरुद्ध हामी दृढताका साथ जुट्यौँ। त्यसैले जहिले पनि चुनौती आइरहेका हुन्छ, र अवसर पनि आइरहेका हुन्छन्।’

    उनले अहिले केही पनि भएको छैन भनेर गलत भाष्यको प्रचार भइरहेको बताए। भ्रष्टाचारविरुद्ध सरकारले कदम नचालेसम्म परिणाम प्राप्त हुन नसक्ने बताए। उनले भने, ‘हामीले कम्युनिस्ट पार्टीप्रति आम जनतामा विश्वास दिलाउने काम गरौँ। गलत प्रवृत्तिका विरुद्धमा जुध्ने काम गरौँ। राम्रो संस्कृति र संस्कार अवलम्बन गरौँ। गणतन्त्रको विकल्प राजतन्त्र होइन, बाबु भएन भने छोरा, छोरा भएन भने नाति, अब कुनै दिन पनाति जन्माएर त्यसलाई राजा बनाइदिऊ भन्ने कुरा आउँला। त्यसैले हामीलाई वंशको शासन चालिएको छैन।’

    उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई शासन गर्ने मन भए जनताको मन जितेर चुनाव जितेर आएर प्रधानमन्त्री बनेर देखाउन चुनौती दिए। उनले भने, ‘प्रतिस्पर्धाबाट जनताको मन जितेर अगाडि बढ्ने आँट गर्नुपर्‍यो। मुलुकलाई प्रतिगामी दिशामा लगेर इतिहासको पाङ्ग्रालाई पछाडि धकेलेर सम्भव छैन र हुन पनि दिँदैनौँ। हिजो पनि गणतन्त्रको लागि अग्रगामी भूमिका खेलेको थियौँ। हामीले अन्तिम समयसम्म दृढताका साथ उभिएर आम जनताको चाहना बमोजिम परिवर्तन ल्याएका हौँ।’

  • झलनाथको टिप्पणी- राजतन्त्रलाई अन्त्य गरेर गणतन्त्र ल्याएपनि जनताको बन्न सकेन (भिडिओ)

    झलनाथको टिप्पणी- राजतन्त्रलाई अन्त्य गरेर गणतन्त्र ल्याएपनि जनताको बन्न सकेन (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले गणतन्त्र आम जनताको बन्न नसकेको टिप्पणी गरेका छन्। गणतन्त्र दिवसका अवसरमा पार्टीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै गणतन्त्र सामन्त पुँजीपतिहरूको बनिरहेको बताए।

    उनले भने, ‘गणतन्त्र काला बजारिया र तस्करहरूको बनिरहेको छ जनताको गणतन्त्र बन्न सकेको छैन। गणतन्त्रसँग हामीले नयाँ संविधान बनायौँ, त्यसपछि निर्वाचनमा वामपन्थीहरूलाई विजयी बनाएपछि देशमा आमूल परिवर्तन आउँछ भन्ने विश्वास राखेका थिए। तर त्यो शक्ति हाम्रो नेतृत्वलाई बाँदरको हातमा नरिवल बन्न पुग्यो।’

    उनले एउटा व्यक्तिको हातमा भएको सार्वभौम सत्ता जनताको हातमा ल्याएको उपलब्धिलाई ठूलो मान्नुपर्ने बताए। जनतामाथि बुर्कुसी मारेर, अधिकार खोसेर बसेको राजतन्त्रलाई अन्त्य गरेको पनि स्मरण गरे।

  • बझाङमा प्रधानमन्त्रीमाथि घनश्याम भुसालकाे प्रहार– ओली त्याग्यौं, जनता अपनायौं

    बझाङमा प्रधानमन्त्रीमाथि घनश्याम भुसालकाे प्रहार– ओली त्याग्यौं, जनता अपनायौं

    बझाङ । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि कडा प्रहार गरेका छन् । बझाङको झोता बजारमा आजदेखि सुरु भएको पार्टीको नवौं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले ओलीको राजनीतिक निर्णयहरू संविधान र जनभावनाविपरीत रहेको टिप्पणी गरे।

    भुसालले संसद विघटनको घटनालाई स्मरण गर्दै भने, ‘त्यो बेला हामीमाथि प्रश्न थियो- ओलीको साथ दिने कि जनताको ? हामी जनताको पक्षमा उभियौं । हामीले ओलीलाई छोड्यौं, तर जनतालाई कहिल्यै छोडेनौं ।’

    ओलीको विकास मोडेललाई ‘जनविरोधी’ र ‘अवास्तविक’ भन्दै आलोचना गर्दै उनले संसद विघटन, जनमतको दमन र राज्य स्रोतको दुरुपयोग जस्ता कदमहरूले संविधानको मर्यादा हनन् गरेको आरोप लगाए ।

    वर्तमान सत्ता गठबन्धन जनताको हित होइन, सत्ता संरक्षणको सौदाबाजी भएको महासचिव भुसालले बताए ।

    ‘जनताको अधिकारको निम्ति होइन, सत्ता टिकाउने सौदाबाजीका लागि यो गठबन्धन गरिएको हो’, भुसालले आरोप लगाए ।

    महासचिव भुसालले एकीकृत समाजवादी पार्टीले कम्युनिष्ट आन्दोलनको मूल मर्म जोगाउँदै जनमुखी राजनीति अघि बढाइरहेको उल्लेख गरे । पार्टी विचार, मूल्य र सिद्धान्त बेच्ने होइन, जनताको पक्षमा अडिने शक्ति भएको उनले स्पष्ट पारे ।

    अब पार्टीको प्राथमिकता संगठन सुदृढीकरण र जनस्तरसँगको सम्बन्ध विस्तारमा हुने उनको भनाइ थियो।

    कार्यक्रममा उपाध्यक्ष तथा सुदूरपश्चिम इन्चार्ज भानुभक्त जोशी र सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री दीर्घ सोडारी पनि सहभागी थिए ।

  • घनश्यामको टिप्पणी- सत्ताधारीहरू नालायक बन्दा समाजको निराशाले अझ भयावह रूप लिँदैछ

    घनश्यामको टिप्पणी- सत्ताधारीहरू नालायक बन्दा समाजको निराशाले अझ भयावह रूप लिँदैछ

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले मुख्य दलहरूले राजनीतिलाई सत्ता भोगको औजार बनाउँदा समाजमा चौतर्फी निराशा फैलिँदै गएको बताएका छन्।

    राष्ट्रिय निराशाको समाधानलाई राष्ट्रिय एजेन्डा नबनाउँदा मौका पर्खेका पुनरुत्थानवादी शक्तिहरूले जनताको निराशालाई उत्तेजक बनाएर मुलुकलाई चौतर्फी अराजकतातर्फ धकेल्न प्रयास गरिरहेको उनको भनाइ छ ।

    सत्ताधारीहरू नालायक बन्दै र सडक अराजक बन्दै जाँदा समाजको निराशाले अझ भयावहरुप लिने उनको बुझाइ छ।

    उनको भनाइ जस्ताको त्यस्तै:-

    राष्ट्रको नयाँ जीवनका लागि हामीले लोकतान्त्रिक गणतन्त्र स्थापना गरेका थियौँ । वंश, लिङ्ग, जात वा धर्मका आधारमा कसैसँग विशेषाधिकार नहुने अर्थात् सबै नागरिक समान हुने र समावेशीताका आधारमा सबै जातजाति, भूगोल र लिङ्गलाई समेटेर यस व्यवस्थाले राज्यलाई वास्तविकरुपले राष्ट्रिय बनाएको छ । यो नेपाली इतिहासको गौरवपूर्ण पक्ष हो । तर गणतन्त्र आउँदासम्म पनि बेरोजगारी र कुशासन रहिरहनु हाम्रो इतिहासको कलङ्कको, अपमानको पाटो हो ।

    मुख्य दलहरूले राजनीतिलाई केवल सत्ता भोगको औजार बनाउँदा समाजमा चौतर्फी निराशा फैलिँदै गएको छ । यो राष्ट्रिय निराशाको समाधानलाई राष्ट्रिय एजेन्डा नबनाउँदा मौका पर्खेका पुनरुत्थानवादी शक्तिहरूले जनताको निराशालाई उत्तेजक बनाएर मुलुकलाई चौतर्फी अराजकतातर्फ धकेल्न प्रयास गरिरहेका छन् ।

    सत्ताधारीहरू नालायक बन्दै र सडक अराजक बन्दै जाँदा समाजको निराशाले अझ भयावहरुप लिनेछ । नागरिकलाई नयाँ जीवनको बाटो नदेखाउने कुनै पनि व्यवस्था संसारभरि कहीँ पनि सुरक्षित छैनन् । यसलाई राष्ट्रिय एजेन्डा बनाउन ढिलो भइसकेको छ ।

    नागरिकका लागि नयाँ जीवन भनेको रोजगारी र सुशासन हो । भ्रष्टाचार नगर्ने राजनीतिक नेतृत्वका साथ कृषि, उद्योग, पर्यटन, जलविद्युत तथा पूर्वाधारको योजनाबद्ध विकास, गुणस्तरीय शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर सङ्कल्प गर्ने हो भने १० वर्षमा सबै युवालाई रोजगार बनाउन र सबै क्षेत्रमा व्याप्त भ्रष्टाचार–ढिलासुस्तीलाई हटाउन सकिन्छ, मुलुकले कोल्टे फेर्छ । अपमानको इतिहासबाट मुलुकले मुक्ति पाउँछ । त्यसैले आउनु होस् छलफल गरौँ ।

    ‘सुशासन र रोजगारी, समाजवादको तयारी !’

  • अमेरिकाको राजधानीमा भएको गोली प्रहारमा इजरायली दूतावासका दुई कर्मचारीको मृत्यु

    अमेरिकाको राजधानीमा भएको गोली प्रहारमा इजरायली दूतावासका दुई कर्मचारीको मृत्यु

    काठमाडौं । अमेरिकाको राजधानी वासिङटन डीसीका स्थानीय समयअनुसार ९ बजे भएको गोलाबारीमा परेर दुई इजरायली दूतावासका कर्मचारीको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा यारोन लिस्चिन्की र सारा मिल्ग्राम छन् । उनीहरुको राजधानीको यहुदी संग्रहालय नजिकै भएको गोलाबारीमा परेर मृत्यु भएको बेलायती विश्व सेवा बीबीसीले उल्लेख गरेको छ ।

    बीबीसीका अनुसार घटनामा संलग्न भएको आशंकामा ३० वर्षका एक युवा इलियास रोद्रिगेज पक्राउ परेका छन् । उनी सिकागोका भएको बताइएको छ ।

    उनलाई प्रहरी नियन्त्रणमा लिँदा ‘प्यालेस्टानलाई मुक्त गर’ भनेर बताइएको छ । घटनामा संभावित ‘आतंकवाद’को अनुसन्धान गरिने बीबीसीले बताएको छ ।

    घटनाको बेलायती प्रधानमन्त्री केइर स्टार्मर पनि निन्दा गरेका छन् । यहुदी बिरोधी कर्म भन्दै उनले निन्दा गरेका हुन् । अमेरिकी उपराष्ट्रपति जेडी भेन्सले घटनालाई हृदय बिदारक भनेर चित्रित गरेको बीबीसीले उल्लेख गरेको छ ।

  • नेकपा एस बझाङको अधिवेशन मिति तय

    नेकपा एस बझाङको अधिवेशन मिति तय

    बझाङ । नेकपा एस बझाङको जिल्ला अधिवेशन यही जेठ ११-१२ गते झोता बजारमा तय गरिएको छ ।

    चैनपुरमा पत्रकार सम्मेलनमार्फत् पार्टीले अधिवेशनको तयारीबारे जानकारी गरायो । अधिवेशनका लागि संघीय सांसद तथा पार्टी उपाध्यक्ष भानुभक्त जोशी पनि जिल्ला आएका छन् । उद्घाटनका महासचिव घनश्याम भुसालसहितका शीर्ष नेता आउने बताइएको छ ।

    जिल्लाका १२ वटा पालिकाबाट २५१ जना प्रतिनिधि र १६१ जना आयोजकसहित ४१२ जना प्रतिनिधि अधिवेशनमा सहभागी हुने छन् । दलित, महिला, युवा र समावेशी प्रतिनिधित्व सुनिश्चित गरिने जिल्ला सचिव लक्ष्मी जोशीले बताए ।

    पत्रकार सम्मेलनमा नेता भानुभक्त जोशीले झण्डै दुई तिहाइको सरकारले जनअपेक्षा अनुसारको काम नगर्दा जनतामा निराशा बढेको बताए ।

    ‘गर्भनर नियुक्तिमा समय खेर गयो, संवैधानिक निकाय र विश्वविद्यालयमा अझै प्रभावकारी नियुक्ति हुन सकेको छैन । रोजगारी सिर्जना, उत्पादन वृद्धि र सुशासनका क्षेत्रमा सरकार पूर्ण असफल देखिएको छ’, उनको टिप्पणी थियो ।

  • योगेशलाई प्रेम आलेको प्रश्न- वनमन्त्रीले ईआईए नदिएर प्लेन उडाउने अनुमति दिउँला त ? (भिडिओ)

    योगेशलाई प्रेम आलेको प्रश्न- वनमन्त्रीले ईआईए नदिएर प्लेन उडाउने अनुमति दिउँला त ? (भिडिओ)

    काठमाडौं । वनमन्त्री भएपछि ईआईएको अनुमति नदिएर के प्लेन उडाउने अनुमति दिऊँ ? भन्दै नेकपा एसका सांसद प्रेम आले मगरले एमाले सांसद सांसद योगेश भट्टराईलाई प्रश्न गरेका छन् । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिमा पोखरा विमानस्थलको उपसमिमितको प्रतिवेदनमा भट्टराईको भनाइमा लक्षित गर्दै उनले प्रश्न तेर्स्याएका हुन् ।

    सांसद आलेमगरले भने, ‘उहाँले मलाई वन तथा वातावरणमन्त्री हुँदा ईआइए गर्‍यो भनेर प्रश्न गर्नुभयो । जबकी एयरपोर्टको काम सकिने अवस्थामा थियो । त्यतिबेलाका पर्यटनमन्त्री भानुभक्त ढकालले पटक-पटक मेरो मन्त्रालयमा आएर ल प्रेम भाइ यो ईआईए छिटो गरिदिनुपर्‍यो भनेर दबाब दिनुभयो । मलाई मेरो पार्टीले ६ महिने मन्त्रीको कार्यकाल तोकेर पठाएको थियो । अनि मैले रातदिन गरेर मैले एयरपोर्टको मात्रै नभएर वनमन्त्री हुँदा धेरै ईआईए गरेँ । अब म वनमन्त्री भएपछि ईआईएको अनुमति नदिएर प्लेन उडाउने अनुमति दिउँला त ? दिनैपर्‍यो नि !’

    सांसद आलेले आफूले ईआइए अनुमति दिएकै कारण कुनै पनि कठघरामा उभिन तयार रहेको भन्दै, ‘सभापतिज्यू ! यसलाई नोट गर्नुहोस्, र ईआईए अनुमति दिएबापत प्रेम आलेलाई कठघरामा उभिनुपर्छ भने पनि तयार छु ।’

    विमानस्थलको भ्रष्टाचारको प्रतिवेदन कुनै डस्टबिनबाट नउठाएको उनको प्रष्टीकरण थियो ।

    ‘यहाँ लम्बा चौडा बहस गर्न जरुरी छैन । हामीले कुनै डस्टबिनबाट उठाएर ल्याएको प्रतिवेदन होइन । अध्ययन गरेर, विज्ञसँग छलफल गरेर ल्याएको हो । ट्रेलर त पोखरा भयो, अब फिलिम अलिकति भैरहवामा पनि हेरौं न !’

  • जेठ महिनाभरि आन्दोलनमा नेकपा एस, पार्टीका तल्लो कमिटीले तयारी कमजोर गरेको निष्कर्ष

    जेठ महिनाभरि आन्दोलनमा नेकपा एस, पार्टीका तल्लो कमिटीले तयारी कमजोर गरेको निष्कर्ष

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले आन्दोलनको दोस्रो चरणको कार्यक्रमसहित परिपत्र जारी गरेको छ। महासचिव घनश्याम भुसालले जेठ ३१ गतेसम्मको आन्दोलनको कार्यसूचीसहित पार्टी पङ्क्तिमा परिपत्र पठाएका हुन्।

    गत चैत्र १ गतेदेखि सुरु गरेको आन्दोलनको कार्यक्रमअन्तर्गत सबै प्रदेश कमिटीहरूको जुम बैठक, विभिन्न क्षेत्रका विज्ञहरूसँग छलफल तथा सुझाव सङ्कलन र केन्द्रदेखि स्थानीय तहसम्म ज्ञापन पत्र बुझाउने काम सम्पन्न भएको परिपत्रमा उल्लेख छ।

    परिपत्रमा भनिएको छ, ‘गत चैत्र १५ गते समाजवादी मोर्चा, नेपालको आयोजना पनि यसै आन्दोलनको अङ्गका रूपमा प्रभावकारी तरिकाले सम्पन्न भएको छ । यसले पार्टीको सबै पङ्क्तिमा आन्दोलनबारे जानकारी गराएको छ, सरोकार उत्पन्न गरेको छ र केही हदमा पार्टी बाहिर पनि चासो उत्पन्न गरेको छ । खास गरी हाम्रो आन्दोलन १० वर्षमा मुलुकलाई बेरोजगारीबाट मुक्त गर्ने र सुशासन युक्त मुलुक बनाउने विषयमा केन्द्रित रहने कुराले धेरैको ध्यान आकर्षित गरेको छ ।’

    कमिटीहरूमा आन्दोलनबारे आवश्यक छलफल नभएको, सुझाव सङ्कलनका कामहरू अझ व्यवस्थित हुन नसकेको, तयारी कमजोर हुँदा ज्ञापन पत्र बुझाउने काम समयमै र प्रभावकारी हुन नसकेकोजस्ता कमजोरी देखिएको उल्लेख छ।

    परिपत्रमा भनिएको छ, ‘अझै पनि कमिटीका इन्चार्ज, सहइञ्चार्ज, कमिटीका अध्यक्ष र अन्य पदाधिकारी र सदस्यहरूका बिचमा सजीव सूचना प्रणाली व्यवस्थित हुन सकेको छैन । कमिटीमा निर्णय गर्ने, सबैले स्वामित्व लिने र प्रभावकारी कार्यान्वयन गर्ने कुरामा कमजोरीहरू रहेका छन् । तर पनि पार्टी पङ्क्तिलाई आन्दोलनको कार्यक्रमले क्रमशः आबद्ध गर्दै गएको छ र आन्दोलनलाई व्यवस्थित गर्ने क्रममा अन्य कमजोरीहरू पनि हटाउँदै जाने प्रक्रिया अगाडि बढ्ने छ ।’

    जेठ महिनाको कार्यक्रमले पार्टी पङ्क्तिलाई सम्पूर्णरुपले आन्दोलनको वरिपरि गोलबन्द गर्ने नेकपा एसको विश्वास छ।

    जिल्ला, पालिका अधिवेशनहरू पनि आयोजना गर्दै असार र साउन महिना आन्दोलनद्वारा पार्टी निर्माण भन्ने मुख्य विषयमा पार्टीव्यापी रूपमा प्रशिक्षण आयोजना गर्ने र भदौदेखि आन्दोलनको तेस्रो चरण सुरु हुने उनले बताए।

  • घनश्यामको टिप्पणी- बिचौलियातन्त्रले गणतन्त्रमा पनि रोजगारी र सुशासन दुवैलाई अपहरण गरिरह्यो

    घनश्यामको टिप्पणी- बिचौलियातन्त्रले गणतन्त्रमा पनि रोजगारी र सुशासन दुवैलाई अपहरण गरिरह्यो

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले टिप्पणी बिचौलियातन्त्रले गणतन्त्रमा पनि रोजगारी र सुशासन दुवैलाई अपहरण गरिरहेको टिप्पणी गरेका छन् ।

    सरकार बनाउन वा भत्काउन बन्ने गठबन्धनको नालायकी जनतामा निराशा र आक्रोशको उकुसमुकुस बढ्दै गएको उनको बुझाइ छ ।

    त्यसबारे उनको भनाइ जस्ताको त्यस्तै

    आजको मुद्दा:

    आजको हाम्रो लोकतान्त्रिक गणतन्त्रका दुईवटा मुख्य जिम्मेवारी थिए: कृषि, उद्योग, पर्यटन, सूचना–प्रविधि, जलविद्युतलगायत उत्पादक पूर्वाधारमा लगानी गरेर बेरोजगारी उन्मुलन गर्नु र शिक्षा तथा स्वास्थ्यमा सबै जनताको पहुँचलाई ग्यारेन्टी गर्दै सबै खालका विभेद, ढिलासुस्ती र भ्रष्टाचारको अन्त्य गरेर सुशासनको ग्यारेन्टी गर्नु । अर्थात्, रोजगारी र सुशासन नै राज्यको/राजनीतिको/राजनीतिक दलको वा दलका नेताको नीति, कार्यक्रम र योजना हुनुपर्थ्यो, तिनका योग्यता-अयोग्यताको कसी हुनु पर्थ्यो ।

    दुर्भाग्यवश, उद्यम नगर्ने तर अकूत नाफा थुपार्दै जाने पुँजीपति र भ्रष्ट राजनीतिक नेतृत्वको मिलीभगतबाट जन्मिने दलाल पुँजीवाद (चल्तीमा भाषाको ‘बिचौलियातन्त्र’) ले गणतन्त्रमा पनि हाम्रो रोजगारी र सुशासन दुवैलाई अपहरण गरिरह्यो । आज नेपालमा त्यही भएको छ ।

    जसरी पनि सरकार बनाउने वा जसरी पनि भत्काउने भो/जुवाको खालमा गणतन्त्रको चीरहरण हुँदै गयो, एकपछि अर्को गठबन्धनको नालायकी उदाङ्गो बन्दै गयो र जनतामा निराशा र आक्रोशको उकुसमुकुस बढ्दै गयो । हेर्दाहेर्दै, पुरानो दरबारका हुक्के–बैठकेहरू दिनदहाडै राजतन्त्रको मृतात्माका पुनरुत्थानको सपना देख्न थाले । सङ्क्षेपमा, हाम्रो राजनीतिले एजेन्डा गुमाउँदै गयो, समाज बरालिँदै गयो।

    वास्तवमा, दश वर्षमा बेरोजगारी उन्मुलन गर्न र विभेद, ढिलासुस्ती तथा भ्रष्टाचार मुक्त मुलुक बनाउन सकिन्थ्यो, सकिन्छ । राष्ट्रले खोजेको राजनीतिको एजेन्डा यही हो, राष्ट्रिय एकता र स्वाधीनताको रक्षाको मूलबाटो यही हो, संविधानले बोकेको सपना पनि यही हो ।

    हाम्रो प्रयत्नले राजनीतिलाई सही बाटोमा हिँडाउन र त्यस्तो पार्टी तथा नेतृत्व निर्माण गर्न सकिन्छ । जति हन्डर ठक्कर खाए पनि यो मुलुक आज वा भोलि वा पर्सी यही ठाउँमा आउनै पर्छ । त्यसैले आउनु होस्, छलफल गरौँ । ‘सुशासन र रोजगारी, समाजवादको तयारी !’

  • ‘सगरमाथा संवादमा एकजना पनि सरकार प्रमुख किन उपस्थित गराउन नसकेको ?’

    ‘सगरमाथा संवादमा एकजना पनि सरकार प्रमुख किन उपस्थित गराउन नसकेको ?’

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद शेरबहादुर कुँवरले सगरमाथा संवादमा सार्क मुलुकका समेत एकजना सरकार प्रमुखलाई उपस्थित गराउन नसकेको भन्दै आलोचना गरेका छन् ।

    प्रतिनिधिसभाको बैठकमा बोल्दै यो कार्यक्रमलाई सफल बनाउन कूटनीतिक नियोगहरूलाई किन परिचालन नगरेको ? भन्दै उनले प्रश्न गरे ।

    कुँवरले भने, ‘२ गतेदेखि आयोजना गरिएको सगरमाथा संवाद २५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न गरिएको छ । जलवायुसम्बन्धी हाम्रा आवाज र मुद्दाहरूलाई विश्वसामु हामीले उजागर पनि गर्‍यौं । पाँच वर्षको तयारीसाथ गरिएको सगरमाथि संवाद जनताले रुचिपूर्वक प्रतीक्षा गरेका थिए ।’

    प्रधानमन्त्री स्वयंले आह्वान गरेको संवादमा सार्क मुलुक बाहिरका प्रधानमन्त्री सरकार प्रमुखलाई सहभागी गराउन नसकेपनि सार्क राष्ट्रभित्रकै सरकार प्रमुखहरु सहभागी गराउन नसकेको उनले आलोचना गरे ।

    कुँवरले थपे, ‘आफैं अध्यक्ष भएको सार्क मुलुकका एक जना पनि सरकार प्रमुखलाई उपस्थिति गराउन नसक्नुलाई राष्ट्रिय असक्षमता वा कूटनीतिक असफलता के भन्ने ? सरकारले यो कार्यक्रमलाई सफल बनाउनको लागि कूटनीतिक नियोगहरूलाई किन परिचालन गर्न सकेन ? सरकारको जवाफ चाहिन्छ ।’

  • ड्राइभरको पनि हत्या गरिनाले मदन-आश्रित मृत्यु रहस्यमय छ, सरकारले छानबिन गर्नुपर्छः माधव नेपाल (भिडिओ)

    ड्राइभरको पनि हत्या गरिनाले मदन-आश्रित मृत्यु रहस्यमय छ, सरकारले छानबिन गर्नुपर्छः माधव नेपाल (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमालेका तत्कालीन महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको रहस्यमय मृत्युबारे छानबिन गर्न सरकारसँग माग गरेका छन् ।

    ३२औं मदन-आश्रित स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले दुई नेताहरूको रहस्यमय मृत्युमा प्रतिक्रियावादी पार्टीहरूसँग जोडिएको योजना भएको सुन्नमा आएको बताए ।

    उनले भने, ‘दुवै व्यक्तिलाई रहस्यमय दुर्घटना, सुन्नमा आइरहेको छ, कतिपय नेताहरूले कुरा पनि उठाएका छन् अरे, कुनै प्रतिक्रियावादी पार्टीहरूसँग जोडिएको योजना थियो रे ! हो भने पनि छानबिन गरेर सत्यतथ्य ल्याएर अपराधीहरूलाई नांगेझार परेर कसरी उनीहरूले मदन भण्डारी र जीवराम आश्रितको हत्या गरे, त्यसलाई उजागर गर्न सक्नुपर्छ । त्यसको निम्ति अहिलेको सरकारको ध्यानाकर्षित गर्न चाहन्छु । एउटा प्रमाणको रूपमा रहेको ड्राइभरको पनि पछि हत्या गरियो । त्यो हत्या पनि रहस्यमय छ ।’

    अध्यक्ष नेपालले दुवै नेताहरूको निधनले कम्युनिष्ट र लोकतान्त्रिक आन्दोलनलाई ठूलो क्षति भएको बताए ।

  • विचार मिल्नेहरुसँग मोर्चामात्रै होइन, सम्भव भए पार्टी एकता गर्नुपर्छः माधव नेपाल (भिडिओ)

    विचार मिल्नेहरुसँग मोर्चामात्रै होइन, सम्भव भए पार्टी एकता गर्नुपर्छः माधव नेपाल (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले विचार मिल्नेहरुसँग पार्टी एकता गरेर अघि बढ्नुपर्ने बताएका छन् ।

    ३२औं मदन-आश्रित स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्न लगातार लागिरहेको बताए ।

    उनले भने, ‘ससाना टुक्रामा छरिएका समूहहरुलाई एकताबद्ध बनाउँदै पनि गयौं । कोही एकताबद्ध भए, कोही भएनन् । कोही एकताबद्ध भएर पनि बीचैमा छाडेर पनि गए । यस्तो भइरहन्छ । त्यसैले आत्तिने काम गर्नुहुँदैन । आफ्नो विचार ठीक छ कि छैन भन्ने आत्मविश्वास हुनुपर्छ । त्यही शक्तिमा एकताबद्ध बनाउन जुट्नुपर्छ । विचार, दृष्टिकोण र धारणा मिल्नेहरुसँग हातेमालो गर्नुपर्छ, मोर्चा बनाउनुपर्छ । सहकार्य गर्नुपर्छ । सम्भव हुन्छ भने पार्टी एकता पनि गरेर जानुपर्छ ।’

    अध्यक्ष नेपालले मदन भण्डारीको नेतृत्वमा पनि धेरै समूहलाई एकताबद्ध गर्ने काम भएको स्मरण गरे ।

  • माधव ढुंगेल र सुदेश पराजुलीलाई अनेरास्ववियूले गर्‍यो सम्मान

    माधव ढुंगेल र सुदेश पराजुलीलाई अनेरास्ववियूले गर्‍यो सम्मान

    काठमाडौं । अनेरास्ववियूले ६१औं विद्यार्थी दिवसको अवसरमा विचार गोष्ठी तथा सम्मान कार्यक्रम गरेको छ ।

    कार्यक्रममा नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे, नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेत र नेकपा एमालेका केन्द्रीय सदस्य माधव ढुङ्गेलको उपस्थिति थियो ।

    सो अवसरमा अखिलका पूर्वअध्यक्ष माधव ढुंगेल र सुदेश पराजुलीलाई सम्मान गरिएको थियो । त्यस्तै, अनेरास्ववियूका केन्द्रीय सचिव नारायण शर्मालाई पार्टीको लुम्बिनी प्रदेश सचिवमा निर्वाचित भएकोमा बधाईसहित बिदाई गरिएको थियो ।

    अनेरास्ववियूले विद्यार्थी एकता दिवसलाई ऐतिहासिक दिनको रूपमा मनाएको केन्द्रीय उपाध्यक्ष अशोक थापाले बताए ।

  • समाजवादी मोर्चाप्रति झलनाथको असन्तुष्टि- कोठामा कार्यक्रम गरेर औचित्य पुष्टि हुन्न (भिडिओ)

    समाजवादी मोर्चाप्रति झलनाथको असन्तुष्टि- कोठामा कार्यक्रम गरेर औचित्य पुष्टि हुन्न (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले समाजवादी मोर्चाको कार्यक्रमप्रति असन्तुष्टि जनाएका छन् ।

    निर्मल लामा स्मृति प्रतिष्ठानले विहीबार काठमाडौंमा आयोजना गरेको संघीय लोकतान्त्रिक गणतन्त्र र त्यसका चूनौती विषयक विचार गोष्ठीमा खनालले कोठा-कोठामा कार्यक्रम गरेर समाजवादी मोर्चाको औचित्य पुष्टि हुन नसक्ने भन्दै समाजवादी कार्यक्रम गर्नुपर्ने तर्क गरे ।

    समाजवादी मोर्चाको क्रियाकलाप आफूलाई चित्त नबुझेको उनको भनाइ छ । कतिपयलाई बामपन्थीलाई समाजवादी नामको मोर्चा मन नपरेको भन्दै बाम मोर्चा बनाए अझै धेरै दल समावेश हुनसक्ने खनालको धारणा छ ।

    समाजवादी यात्रालाई अघि बढाउन सडकमार्फत जनतालाई एकीकृत गर्नुपर्ने उल्लेख गर्दैै खनालले संसदीय संघर्षमात्रै भए संसदवादमा टुुंगिने भन्दै उनले कम्युनिष्ट पार्टीलाई क्रान्तिकारी कार्यदिशाका आधारमा पुनर्गठन गर्नुपर्ने  बताए ।

    खनालले बामपन्थी एकता नभए ८४ को निर्वाचनमा बामपन्थी दलहरू थप कमजोर हुने देखिएको बताएका छन् । राजावादीहरूले संविधानलाई कुल्चिएर हिँडिरहेको अवस्थामा क्रान्तिकारी पार्टीहरूले संसद र गणतन्त्रलाई उपयोग गर्छु भन्न सक्नुपर्ने बताए ।

  • कांग्रेस- एमाले गठबन्धन भ्रष्टाचार लुकाउनः राजेन्द्र पाण्डे

    कांग्रेस- एमाले गठबन्धन भ्रष्टाचार लुकाउनः राजेन्द्र पाण्डे

    रूपन्देही । नेपाल समाजवादी पार्टीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले हाल गठन भएको कांग्रेस–एमाले गठबन्धन सरकार आफ्ना भ्रष्टाचार लुकाउन बनेको आरोप लगाएका छन्।

    दाङको घोराहीमा आयोजित लुम्बिनी प्रदेशको प्रथम अधिवेशन उद्घाटन कार्यक्रममा पाण्डेले बालकोट र बुढानिलकण्ठ जोडिनुको एउटै कारण भूटानी शरणार्थी प्रकरण र गिरिबन्धु प्रकरण रहेको दाबी गरे। उनले यो सरकार देश र जनताको हितका लागि नभई नेताहरू र कार्यकर्ताहरूको स्वार्थ पूर्तिका लागि बनेको बताए।

    ‘भ्रष्टाचारका फाइल खोल्न होइन, बन्द गर्न कांग्रेस र एमाले एक भएका हुन्,’ उनले भने। पार्टीका उपाध्यक्ष प्रकाश ज्वालाले पनि सरकारको आलोचना गर्दै सत्तामा रहेका नेता, कार्यकर्ता र कर्मचारीहरूको सम्पत्ति शुद्धीकरण गर्ने हिम्मत देखाउन सरकारलाई चुनौती दिए।

    उनले सोही प्रकृतिका मुद्दामा रवि लामिछानेलाई जेल पठाइने र सत्ता पक्षका व्यक्तिहरू सजिलै उम्किने प्रचलन गलत र प्रतिशोधपूर्ण रहेको टिप्पणी गरे ।

    महासचिव घनश्याम भुसालले दुई तिहाइ बहुमत प्राप्त गरेपनि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन र समावेशी पुनःसंरचनाको अवसर गुमाएको आरोप लगाए। ‘ओलीले संसद विघटन, दल विभाजनजस्ता कार्य गरेर देशलाई पछाडि धकेले,’ भुसालले भने । पार्टीका उपमहासचिव मेटमणि चौधरीले समाजवादी पार्टी मात्र देशको नेतृत्व गर्न सक्षम रहेको दाबी गरे।

    ‘कांग्रेसले प्रजातन्त्रको मुद्दा बोकेको हो, त्यो पूरा भइसकेको छ । अहिलेको गणतान्त्रिक अवस्थामा कांग्रेसको आवश्यकता छैन,’ उनले भने । त्यस्तै उनले एमालेलाई नीति निर्माणको नाममा संस्थागत भ्रष्टाचारमा लिप्त रहेको र जनताप्रति उत्तरदायी हुन नसकेको आरोप पनि लगाए।

    प्रदेश अध्यक्ष सोमप्रसाद पाण्डेले समाजवादी पार्टी संविधानअनुसार जनता समक्ष आफ्ना कार्यक्रम लिएर जान सफल भएको उल्लेख गर्दै नेपाली विशेषताको समाजवादलाई महाधिवेशनबाट पारित गरी समृद्धिको यात्रामा अघि बढिरहेको बताए ।

    कार्यक्रममा सहभागी बृस्पति अधिकारी, अब्दुल हुसेन खाँ लगायत नेताहरूले शिक्षा, स्वास्थ्य र समग्र विकासका लागि समाजवादी पार्टी नै एक मात्र विकल्प भएको धारणा व्यक्त गरे ।

  • नेकपा एसले भन्यो- भारत र पाकिस्तानबीच देखिएको समस्या समाधान गर्न सरकारले कूटनीतिक प्रयास चालोस् (भिडिओ)

    नेकपा एसले भन्यो- भारत र पाकिस्तानबीच देखिएको समस्या समाधान गर्न सरकारले कूटनीतिक प्रयास चालोस् (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले नेपाल सार्क राष्ट्रको विशेष जिम्मेवारी नेपालको रहेकाले भारत र पाकिस्तानबीच शान्ति स्थापनाका लागि नेपालले विशेष कूटनीतिक पहल गर्नुपर्ने बताएका छन्।

    प्रतिनिधि सभाको बैठकमा बोल्दै भारत र पाकिस्तानबीच देखिएको समस्याले युद्ध निम्तिने खतरा बढेको बताए।

    उनले भने, ‘यतिबेला अन्तर्राष्ट्रिय क्षेत्र ठूलो युद्धको भुमरीमा प्रवेश गर्न लागिरहेको देखिएको छ। भारत र पाकिस्तानबीच पनि समस्या सिर्जना भएको छ। हामी सार्क राष्ट्रमा रहेका, सार्क राष्ट्रको विशेष महत्त्वपूर्ण जिम्मेवारीमा रहेको नाताले सरकारले शान्ति स्थापना गर्नको लागि आफ्नो कूटनीतिक प्रयास चालोस्।

  • के भएको हो माधव नेपाललाई ?

    के भएको हो माधव नेपाललाई ?

    काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल अहिले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचारका लागि भर्ना भएका छन् ।

    उनको मुटुमा समस्या आएको छ । त्यहाँ सीसीयूमा भर्ना भएका छन् । उपचार जारी छ ।

    नेकपा एसका नेता लक्ष्मण केसीका अनुसार नियमित स्वास्थ्य परीक्षणका सिलसिलामा उनी विहीबार आफैँ अस्पताल गएका थिए । प्रत्येक महिनामा एक पटक नेपाल स्वास्थ्य परीक्षणका लागि त्यहाँ पुग्ने गरेका छन् ।

    केसीका अनुसार, विहीबार छातीको इको र इसिजी गरिँदा मुटुका भल्भमा केही अवरोध देखिएपछि एन्जियोप्लाष्टी विधिद्वारा सफा गर्नका लागि उनी त्यहाँ भर्ना भएका हुन् । उक्त विधिअन्तर्गत शरीरमा कुनै प्रकारको चिरफार गर्नु नपर्ने उपचार प्रक्रिया हो । जसअन्तर्गत नशामा जमेका अनावश्यक बोसोजन्य तत्त्व फ्याँकिन्छ ।

    अस्पतालका प्रशासन प्रमुख डा. रत्नमणि गजुरेलले नेपाललाई सीसीयूबाट नर्मल वार्डमा सारिएको बताए ।

    ‘नर्मल केस हो, अब २४ घण्टापछि डिस्चार्ज गरिन्छ’, उनले नेपाल प्रेससँग भने ।

    डाक्टरहरूका अनुसार मुटु वरिपरिका नशा र धमनीमा थोरै थोरै गरेर बोसोको मात्रा बढेपछि मानिसलाई हृदयाघात हुने हो । सबैले माधव नेपालले झैँ नियमित स्वास्थ्य परीक्षण गर्ने र बोसो जमेको छ भने एन्जियोप्लाष्टी गर्दा हृदयघातको खतरा घट्छ ।

    नेकपा एसका नेता केसीका अनुसार एन्जियोग्राफी गरेपछि शरीरलाई केही दिन आराम दिनुपर्ने कारण डाक्टरहरूले अस्पतालमै बस्न भनेका कारण शुक्रवार पनि उनी त्यहीँ रहने छन् । ‘उहाँ बाहिर आएपछि फेरि धपेडी हुन्छ, त्यसैले आरामका लागि पनि अस्पताल बस्नुपर्छ भनेर परिवारका सदस्यहरूले पनि सल्लाह दिनुभएको छ’, केसीले बताए ।

  • नेकपा एसको प्रस्ताव- जनप्रतिनिधिको संख्या आधा घटाऔँ, प्रधानमन्त्री र मन्त्रीको पनि कार्यकाल तोकौँ (भिडिओ)

    नेकपा एसको प्रस्ताव- जनप्रतिनिधिको संख्या आधा घटाऔँ, प्रधानमन्त्री र मन्त्रीको पनि कार्यकाल तोकौँ (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष प्रकाश ज्वालाले सरकारले ल्याएको नीति कार्यक्रमले अहिलेका चुनौतीलाई सामना गर्ने र राष्ट्र निर्माणको रोडम्याप (खाका)दिन नसक्ने टिप्पणी गरेका छन्।

    प्रतिनिधि सभाको बैठकमा बोल्दै नीति तथा कार्यक्रमले जनतामा आशा र उत्साह दिनुको साटो निराशा बाँडेको दाबी गरे। नीति तथा कार्यक्रम कागजको पुलिन्दा र परम्परा धान्ने खालको कर्मकाण्डी भएको उनको भनाइ छ।

    त्यसबारे उनको भनाइ जस्ताको तस्तै-
    प्रस्तुत नीति कार्यक्रमले अहिलेका चुनौतीलाई सामना गर्ने र राष्ट्र निर्माणको रोडम्याप (खाका) दिन सकेको छैन । यसले जनतामा आशा र उत्साह दिनुको सट्टा निराशा बाँडेको छ । कागजको पुलिन्दाजस्तो यो नीति कार्यक्रम परम्परा धान्ने खालको कर्मकाण्डी छ ।

    संविधान संशोधनको एक लाइन नीति कार्यक्रममा बोलिएको छ तर त्यसको लागि प्रष्ट सोच र ठोस कार्ययोजना प्रस्तुत गरिएको छैन । संविधान लागु भएको एक दशक पुग्न लागेको अवस्थामा अब संविधानको पुनरावलोकन गर्ने बेला भयो । संविधानको पुनरावलोकन गरी त्यसको कार्यान्वयनमा देखा परेका समस्या पहिचान गरेर समाधान गरौँ । के सरकार साँच्चिकै संविधान संशोधन गर्न तयार छ रु राष्ट्रिय सहमतिका साथ जनमुखी र अग्रगामी एजेन्डा सम्बोधन हुने गरी संविधान संशोधन गरौँ भन्ने हाम्रो प्रस्ताव छ ।

    राजनीतिक स्थिरता दिने गरी शासकीय प्रणालीमा पुनर्विचार गरौँ, गैर सांसद मन्त्री हुने, सङ्घीय र प्रदेश सांसद एवं मन्त्री र स्थानीय तहका जनप्रतिनिधिहरूको संख्या आधा घटाउने, राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सांसद लगायतको कार्यकाल तोकिने व्यवस्था गरौँ ।

    यति बेला सङ्घीयता बोझिलो भयो भन्ने गुनासो आइरहेकोले यसको सबलीकरण हुने गरी, खर्चिलो निर्वाचन प्रणाली परिवर्तन गर्ने गरी, संवैधानिक आयोगहरू लगायतका संरचनाहरू घटाउने गरी, महिला, दलित लगायत पछाडि पारिएका वर्ग, समुदायको अधिकार सुनिश्चित गर्ने गरी संविधानलाई अझै समय सान्दर्भिक, अग्रगामी र जनमुखी बनाउने गरी संशोधनमा प्रक्रिया अघि बढाउने कुरामा विशेष जोड दिन चाहन्छौँ ।

    अहिले राजावादी, दरबारिया, प्रतिगामी शाक्तिहरु गणतन्त्र विरुद्ध राजतन्त्र पुनर्स्थापनाको बेमौसमी बाजा बजाइरहेका छन्। उनीहरूका ती दिवास्वप्न पूरा हुदैनन । जनक्रान्तिले दाहसंस्कार गरिसकेको राजसंस्था पुनर्जीवित हुने कल्पना पनि गर्न सकिँदैन । इतिहासको पाङ्ग्रा पछाडि फर्कँदैन, त्यो अगाडि बढ्छ । गणतन्त्रको विकल्प उन्नत गणतन्त्र अर्थात् समाजवादी गणतन्त्र मात्र हुन सक्छ ।

    तर, जनताले सुशासनको अनुभूति गर्न नसकेको, भ्रष्टाचार व्याप्त भएको, बेरोजगारी समस्याले पिरोलेको कारण सत्तासीनहरू, राजनीतिक दल र नेतृत्वसँग असन्तुष्टि छ त्यसको सम्बोधन गर्न, यस अघि गरेका गल्ती कमी कमजोरी र राम्रा कामहरूको बारेमा श्वेतपत्र जारी गर्न, आत्मालोचना गर्न र भविष्यमा जनता र राष्ट्रको लागि नयाँ ढंगले अघि बढ्ने संकल्प गर्नु जरुरी छ । सरकारले जनतालाई सुशासन, डेलिभरी र खुशी दिन सक्ने हो भने गणतन्त्र विरोधी दरबारिया तथा अराजकतावादी शक्तिहरू आफै किनारा लाग्नेछन्। सरकारले प्रतिगामीको प्रतिवाद गरिरहनै पर्दैन ।

    यति बेला देश भ्रष्टाचारको दलदलमा छ । सबैतिर संस्थागत भ्रष्टाचार मौलाएको छ । जनताले घुस कमिसन नदिएसम्म कुनै सानो तिनो काम पनि हुँदैन । अति भ्रष्टाचार हुने मुलुकको श्रेणीमा सयमा ३४ अंक पाएर नेपाल १०७ औँ स्थानमा छ । सम्पत्ति शुद्धिकरणको दृष्टिबाट नेपाल ग्रे लिस्टमा परेको छ र ब्ल्याक लिस्टमा पर्ने खतरा छ । भ्रष्टाचारका ठूला काण्डहरू छिपाउने र भ्रष्टाचारीहरूलाई उन्मुक्ति दिने काम भइरहेको छ ।

    २०४७ पछि सत्ताका विभिन्न ओहदामा पुगेका पूर्व राजादेखि, राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री लगायत व्यक्तिहरूको सम्पत्ति छानबिन गरेर सत्य तथ्य सार्वजनिक गर्नका लागि संवैधानिक तथा कानूनी प्रबन्धका साथ उच्चस्तरीय शक्तिशाली सम्पत्ति छानबिन आयोग गठन गरौँ । श्रोत देखाउन नसक्ने भ्रष्टाचारीहरूलाई कारबाही गर्ने आँट गरौँ ।

    देशको अहिलेको प्रमुख समस्या बेरोजगारी र कुशासन हो । बेरोजगारीको कारण लाखौँ नेपाली युवाहरू, हाम्रो बौद्धिक र ऊर्जाशील जनशक्ति विदेश पलायन भइरहेको छ । आजका समस्याको समाधान रोजगारी र सुशासन हो । त्यसका निम्ति कृषि, उद्योग, पर्यटन, ऊर्जा र पूर्वाधारको क्षेत्रमा मेघा प्रोजेक्टहरू सुरु गरेर देशभित्र नै रोजगारीका अवसर सृजना गर्ने र जनतालाई हरेक क्षेत्रमा सुशासनको अनुभूति दिनु पर्दछ । त्यसैले हाम्रो अपिल छ, सुशासन र रोजगारी, समाजवादको तयारी भन्ने मूल नाराका साथ सर्वदलीय सर्वपक्षीय राष्ट्रिय सम्मेलन गरौँ ।

  • प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्न नेकपा एसको माग (भिडिओ)

    प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्न नेकपा एसको माग (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्न माग गरेको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रवक्ता समेत रहेका उपाध्यक्ष प्रकाश ज्वालाले सम्पत्ति विवरण सार्वजनिक नगरेकोप्रति असन्तुष्टि जनाए।

    देशमा अनियमित, कुशासन, सरकारी कार्यालयमा ढिलासुस्ती, महंगी बढिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराए। प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति गोप्य राखेर सरकारले कस्तो पारदर्शिता पठाउने खोजेको होरु भन्दै प्रश्न गरे।

    उनले उनले सर्वसाधारणलाई सिंहदरबार छिर्नका लागि चाहिने पासको व्यवस्था हटाउन पनि माग गरे। उनले कुशासनको अर्को नमूना सिंहदबार गेटमा देखिने बताए।

  • पतञ्जली जग्गा प्रकरण- माधव नेपालमाथि राजनीतिक प्रतिशोध लिइएको रास्वपाको दाबी (भिडिओ)

    पतञ्जली जग्गा प्रकरण- माधव नेपालमाथि राजनीतिक प्रतिशोध लिइएको रास्वपाको दाबी (भिडिओ)

    काठमाडौं । पतञ्जली योगपीठलाई आयुर्वेद अस्पताल तथा जडिबुटी केन्द्रका नाममा दिइएको हदबन्दी छुटेको जग्गा विक्री भएको प्रकरणमा अख्तियारले माधव नेपालसँग लिएको बयानलाई राष्ट्रिय स्वतन्त्र पार्टीले राजनीतिक प्रतिशोध भनेको छ ।

    रास्वपा प्रवक्ता समेत रहेका सांसद मनिष झाले प्रतिनिधि सभाको मंगलवारको बैठकमा शून्य समयमा बोल्दै रास्वपा सभापति रवि लामिछानेपछि माधव नेपालमाथि पनि राजनीतिक प्रतिशोध साँध्न बयान लिइएको आशंका व्यक्त गरे ।

    अख्तियारले गरेको अनुसन्धान तथा बयानको उल्लेख नगरी सांसद झाले सरकारले राजनीतिक प्रतिशोध साँध्दै नेताहरूलाई पक्राउ गर्ने, थुन्ने र बयानसमेत लिन थालेको बताए ।

    उनले भने–हालसालै भइराखेको राजनीतिक प्रतिशोधको केही घटनाहरूमा पार्टीको तर्फबाट ध्यानाकर्षण भएको, हाम्रो सरोकार रहेको कुरा राख्न चाहन्छौँ। हाम्रो पार्टी सभापतिप्रति भएको भयो, हालसालै रेशम चौधरीप्रति भयो। माधवकुमार नेपालको पनि बयान लिइँदैछ भन्ने सुन्दैछौं। अब के सिके राउतप्रति आक्रमण हुन्छ कि ?

    अख्तियारले हालै पतञ्जली जग्गा प्रकरणमा तत्कालीन प्रधानमन्त्री नेपालको बयान लिइएको सार्वजनिक भएको छ । २०६६ सालमा माधव नेपाल प्रधानमन्त्री भएको बेला पतन्जलीलाई हदबन्दी छुटमा जग्गा खरिद गर्न दिइएको थियो ।

    हदबन्दी छुटको जग्गा विक्री गर्न अनुमति दिने अर्को निर्णय पनि पनि सोही सरकारले गरेको र हदबन्दी छुटको सो जग्गामा ‘काष्ठमण्डप बिजनेश होम्स’ले प्लटिङ गरेको थियो ।

    हदबन्दी’ छुटको जग्गा जुन प्रयोजनका लागि खरिद गर्न दिइएको हो सोही प्रयोजनमा नआए सरकारको हुनुपर्नेमा व्यक्तिमा गएपछि अख्तियारले दुवै निर्णय गर्ने तत्कालीन प्रधानमन्त्रीसँग बयान लिएको हो ।

  • माधव नेपाल भन्छन्– हामीसँग जनताको मतको कमी छैन, एमालेमा विलीन हुँदैनौँ

    माधव नेपाल भन्छन्– हामीसँग जनताको मतको कमी छैन, एमालेमा विलीन हुँदैनौँ

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफ्नो पार्टीलाई नेपालको राजनीतिमा गम्भीर भूमिका खेल्नुपर्ने समयले माग गरिरहेको दाबी गरेका छन् ।

    पार्टी निकट आदिवासी जनजाति महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनलाई शनिबार सम्बोधन गर्दै आफ्नो पार्टी अरू कुनै पार्टीमा गएर विलीन हुने जिकिर गरे ।

    उनले भने, ‘हामीले अरू वामपन्थी शक्तिहरूलाई पनि गोलबन्द गर्नुपर्छ । गोलबन्द हुन चाहनेहरूलाई हामी एकताबद्ध बनाउँछौँ । विभिन्न व्यक्तिहरू हाम्रो पार्टीमा आउन चाहनुभएको छ । आर्इ पनि रहनुभएको छ । त्यसैगरी अरूलाई पनि ल्याइरहेका छौँ, तर हाम्रो पार्टी अर्को पार्टीमा गएर विलीन हुनेछैन । एमालेमा जान्छ कि भनेर कसैले सपना देखेको छ भने त्यो सपना नदेखे हुन्छ । त्यो सम्भावना छैन ।’

    नेता नेपालले पार्टीका नेता कार्यकर्ताहरूलाई निष्क्रिय भएर नबस्न आग्रह गरे । उनले आफ्नो पार्टीमा जनताको मतको कमी नरहेको सुनाए ।

    उनले अगाडि भने, ‘अस्तिमात्रै पनि म कालीकोट पुगेर आएँ, कर्णालीका विभिन्न जिल्लाहरूमा पनि हजारौँ मान्छेहरूको जुलुस र सहभागिता देखेँ । रौतहट र सप्तरीमा पनि यस्तै सहभागिता थियो । तराई, पहाड र हिमालमा पनि अगाडि बढेको छ । त्यसैले अरू पार्टीभन्दा शक्तिशाली बनाउन जुट्नुपर्छ।’

    नेता नेपालले पार्टीको शक्ति बढेको दाबी गर्दै राष्ट्रिय पार्टी बन्न कुनै गाह्रो नहुने बताए ।

  • नीति तथा कार्यक्रममा जनताको हितमा केही छैन: झलनाथ खनाल

    नीति तथा कार्यक्रममा जनताको हितमा केही छैन: झलनाथ खनाल

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले दुइटा हात्ती जस्ता पार्टीहरु मिलेर सरकार बनेको भए पनि केही काम गर्न नसकेको टिप्पणी गरेका छन् ।

    पार्टी निकट आदिवासी जनजाति महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनलाई शनिबार सम्बोधन गदै उनले भने, ‘दुइटा हात्ती जस्ता पार्टीहरु सरकारमा छन्, तर काम चाहिँ मुसाले जस्तो पनि गर्न सकेका छैनन् । यो प्रकारको परिस्थिति छ आज ।’

    देश राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रुपले पनि संकटग्रत रहेको उनले बताए ।

    नेता खनालले थपे, ‘राष्ट्रियता पनि संकटग्रस्त छ, देशका अनेक भागहरुमा बाहिरबाट अनेक ढंगले घोप्ने कामहरु भइरहेको छ । महाकालीको सिमानामा घोप्दैछन् । अनेक ठाउँमा यस्ता कुराहरु भइरहेका छन्, तर यो सरकार कानमा ठेडी राखेर बसिराखेको छ। चाइँचुईं केही गर्दैन, बरु मुसा चाइँचुईं गर्छ । यस्तो अवस्थाबाट देश गइरहेको छ ।’

    सरकारले ल्याएको नीति तथा कार्यक्रम जनताको हितमा केही नभएको बताए । उनले भने, ‘न भूमिसुधारको कुरा न त कृषि क्रान्तिको कुरा छ । जनताले चाहेको केही छैन । परम्परागत खालको मात्रै छ ।’

    नेता खनालले सबै शिक्षक, सहकारी र लघुवित्त पीडितहरुको पनि माग सम्बोधन गर्न सरकारले नसकेको आरोप लगाए ।

  • ओलीले माफी नमागेसम्म एमालेसँग एकता हुँदैन, मिल्न रहर लाग्नेहरूले बाटो तताए हुन्छ: राजेन्द्र पाण्डे (भिडिओ)

    ओलीले माफी नमागेसम्म एमालेसँग एकता हुँदैन, मिल्न रहर लाग्नेहरूले बाटो तताए हुन्छ: राजेन्द्र पाण्डे (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले एमालेसँग एकता हुँदैछ भनेर चलेको हल्लाको कुनै सत्यता नभएको बताएका छन् ।

    पार्टी निकट आदिवासी जनजाति महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनलाई शनिबार सम्बोधन गर्दै उनले एमाले अध्यक्ष ओलीले संसद विघटन गर्ने काम अपराध थियो भनेर माफी नमागेसम्म एकता हुन नसक्ने बताए ।

    एमालेसँगको एकताको चर्चाबारे पाण्डेले यसरी सुनाए

    हामीले बजेट बनाउने बेलामा सुझाव लिएर प्रधानमन्त्रीकहाँ गएका थियौँ । त्यसलाई तोडमोड गरेर केहीले अब माधव नेपालको मिलन हुने भयो भन्दै प्रचार गरे ।

    जुन कारणले हामीले विद्रोह गरेर आयौं, त्यो कारण भनेको के हो भन्दा कम्युनिष्ट पार्टीको अध्यक्षले पार्टीमा विनाकारण कुनै सरसल्लाह नगरी संसद विघटन गरेर नेपालको कम्युनिष्ट आन्दोलनलाई धराशायी बनाउने जुन अपराध गर्‍यो, त्यो अपराधको केपी ओलीले माफी नमागेसम्म हाम्रो बीचमा एकता हुँदैन, कहिल्यै एकता हुँदैन ।

    कोही-कोही नेतालाई मिल्न पाए हुन्थ्यो भनेर रहर लाग्ला, मिल्न पाए हुन्थ्यो भनेर रहर लाग्ने नेताले त्यस्तै ढंगले बाटो तताए हुन्छ । हामी गलत निर्णयसँग सहमत हुन सक्दैनौँ ।

  • ‘व्यक्तिलाई विष्णुको अवतार भनेर पूजा गर्ने व्यवस्था फेरि स्वीकार्य हुँदैन, आवश्यक परे रगत बगाउन तयार रहनू’ (भिडिओ)

    ‘व्यक्तिलाई विष्णुको अवतार भनेर पूजा गर्ने व्यवस्था फेरि स्वीकार्य हुँदैन, आवश्यक परे रगत बगाउन तयार रहनू’ (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले नेपालमा फेरि राजतन्त्र फर्किने सम्भावना नभएको दाबी गरेका छन् । पार्टी निकट आदिवासी जनजाति महासङ्घको दोस्रो अधिवेशनलाई शनिबार सम्बोधन गर्दै उनले राजावादीहरुलाई अपराधीको संज्ञा दिए ।

    उनले चैत १५ गते काठमाडौंमा राजावादीहरुले गरेको प्रदर्शनको नाममा आपराधिक क्रियाकलाप देखाएको सुनाए ।

    नेता पाण्डेले भने, घअहिलेको व्यवस्थामा जनता सबैभन्दा बलियो शक्ति हो । जनतासँग सबैभन्दा ठूलो अधिकार हुन्छ, तर राजतन्त्र हुँदा सबै राजासँगै अधिकार निहित हुन्थ्यो । उसको मुखबाट बोलेको कुरा कानून हुन्थ्यो । त्यस्तो व्यवस्थामा फर्काउने कुरामा हामी सहमत हुन सक्छौं र ? फेरि त्यही राजा, जसलाई गोडा ढोगेर सम्मान गर्नुपर्ने, विष्णुको अवतार भनेर पूजा गर्नुपर्ने व्यवस्था फेरि ल्याउन सक्दैनौं ।’

    राजसंस्था फर्किए संविधानमा भएको समावेशी र समानुपातिक व्यवस्था नै खारेज हुने उनले बताए ।

    उनले व्यवस्थाको रक्षाको लागि बलिदान दिन र रगत बगाउनसमेत तयार भएर बस्न निर्देशन दिए ।