हेटौँडा । नेपालीको संसदीय राजनीतिमा बिरोध खतिवडा निकै चर्चामा आइरहने नाम हुन् । खतिवडाले बोल्दा प्रतिनिधिसभामा चर्चा मात्र हुँदैनथ्यो, राष्ट्रिय मिडियाले पनि महत्वको साथमा स्थान दिने गर्दथे । उनको चर्चाको कारण अर्को पनि थियो ।
एमालेले जति पटक टिकट थियो उनले त्यतिपटक जितेर देखाईदिएका थिए । अर्थात जतिञ्जेल उनको साथमा चुनाव चिन्ह ‘सूर्य’को साथ रह्यो त्यतिन्जेल उनले हारको सामना गर्नु परेन ।
बहुदल स्थापनापछि नेपालमा भएको पहिलो आम निर्वाचन–२०४८ सालमा उनले एमालेबाट पहिलो पटक प्रतिनिधिसभा सदस्यको चुनाव जिते । मकवानपुरबाट चुनाव जितेर काठमाडौँ पुगेका उनलाई त्यसयताको तीनवटा निर्वाचनमा एमालेले विश्वास गर्यो । २०४८ पछि २०५१ र २०५६ मा भएको निर्वाचन पनि उनले टिकट पाए र जितेर देखाईदिए ।
त्यसपछि एमाले राजनीतिमा सक्रिय नभएको आरोप लागेको उनलाई २०६४ र २०७० को दुवै संविधानसभा सदस्यको निर्वाचनमा एमालेले टिकट दिएन । दुई पटक लगातार टिकट नपाएका खतिवडाले आफ्नो राजनीति सक्रियता बढाए र एमालेको केन्द्रीय सदस्य बने ।
संविधान जारी भएको दुईवर्षपछि भएपछि २०७४ मा भने एमालेले पुनः खतिवडालाई मकवानपुर-२ बाट टिकट दियो । बाम गठवन्धनबाट चुनाव लडेका उनले कांग्रेसकी नेतृ महालक्ष्मी उपाध्यय ‘डिना’लाई फराकिलो अन्तरले पराजित गर्दै चौथो पटक सांसद बने ।
तर २०७४ पछि नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपमा भएको विवाद, गुटवन्दीसँगै सर्वोच्च अदालतले ओली र प्रचण्ड नेतृत्वको नेकपालाई वैधानिकता नभएको ठहर गरेसँगै पुनः पुरानै अवस्थामा फर्किएको एमालेमा उनी माधवकुमार नेपालतिर लागे ।
नेकपा विभाजनमा माधवकुमार नेपाललाई साथ दिएकोमा उनलाई नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादीले स्थायी कमिटि सदस्य बनाउनुको साथै संघीय मन्त्रीसमेत बनाईदियो ।
एमालेबाट चार पटक विजयी हुँदासमेत मन्त्री हुन नसकेको उनलाई मन्त्री बन्न मात्र समाजवादीमा लागेको आरोप उनको गृहजिल्ला मकवानपुरमा लाग्यो । समाजवादी भएसँगै खतिवडा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सबैभन्दा धेरै गाली गर्ने पात्र बने । मन्त्री बनेसँगै उनलाई कोरोना खोप घोटला लगायतको आरोप पनि लाग्यो ।
सर्वोच्च अदालतको परमादेशबाट निर्माण भएको सरकारले आम निर्वाचन घोषणा गर्यो र सत्ता गठवन्धनको घटकहरु मिलेर निर्वाचनमा जाने निर्णय पनि गर्यो । फलस्वरुप मकवानपुरमा जनाधारनै नभएको समाजवादीको भागमा मकवानपुर-२ पर्न गयो ।
नेकपा एमालेको तर्फबाट सोहि क्षेत्रमा पटक-पटक विजयी भएका खतिवडालाई नेपाली कांग्रेस र माओवादी केन्द्रको सहयोगले यो पटक पनि जित्छु भन्ने पुरापुर ‘कन्फिडेन्ट’ थियो । स्थानीय तहको मत विश्लेषणमा पनि २० हजार धेरै मत गठवन्धनको पक्षमा धेरै थियो ।
तर चार पटक ‘सूर्य’ लिएर चुनाव लडेको उनको साथमा यो पटक ‘कलम’ थियो । ‘सूर्य’ भने उनको प्रतिस्पर्धी तथा उनकै राजनीतिक चेला एमालेका महेश बर्तौलाको साथमा थियो ।
सहज जितको अनुमानको साथमा मैदानमा ओर्लिएका खतिवडाले यो पटक नमिठो हार बेहोर्नुपर्यो । अर्थात जबसम्म खतिवडाको साथमा ‘सुर्य’ थियो तबसम्म उनले जिते, जब उनले ‘कलम’ समाए तब हारे ।
काठमाडौं । प्रतिनिधिसभाको समानुपातिकतर्फ अग्रता लिइरहेको नेकपा (एमाले)ले प्रदेश सभामाको समानुपातिकतर्फ पनि ६ प्रदेशमा अग्रता लिइरहेको छ । निर्वाचन आयोगका अनुसार मधेशमा मात्रै नेपाली कांग्रेसले अग्रता लिएको हो ।
मधेश प्रदेशमा नेपाली कांग्रेसले अग्रता लिदाँ दोस्रोमा एमाले रहेको छ । एक प्रदेशमा मात्रै सबैभन्दा अगाडी रहेको कांग्रेस पाँच वटा प्रदेशमा दोस्रो स्थानमा रहेको छ । जसमा प्रदेश एक, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा कांग्रेस दोस्रोमा रहेको हो ।
एमालेले अग्रता लिएको कर्णाली प्रदेशमा नेकपा (माओवादी केन्द्र) दोस्रो स्थानमा रहेको छ । आयोगका अनुसार माओवादी केन्द्रले कर्णाली प्रदेशमा मात्रै दोस्रो स्थानमा रहेको हो । सुरुवाती चरणमा कर्णाली प्रदेशमा माओवादी केन्द्रले अग्रता लिइरहेको थियो ।
प्रदेश एकमा राप्रपा तेस्रो स्थानमा रहदाँ मधेश प्रदेशमा भने जनता समाजवादी पार्टी तेस्रो स्थानमा रहेको छ । बामगती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा भने माओवादी केन्द्र तेस्रो स्थानमा छ ।
काठमाडौं । माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीलाई सत्ता गठबन्धनबाट लाभ मिलेको छ । एमालेबाट अलग भएको एक वर्षमै चुनावमा होमिएको नेकपा एसलाई गठबन्धनबाट प्रत्यक्ष लाभ मिलेको हो ।
नेकपा एस कांग्रेस नेतृत्वको माओवादी केन्द्र, लोसपा र राष्ट्रिय जनमोर्चा सम्मिलित गठबन्धनमा छ । प्रतिनिधिसभातर्फ प्रत्यक्षमा १६५ सीटमध्ये नेकपा एसले २० सीट पाएको थियो । तर, रुपन्देही २ मा उम्मेदवार बनाएको राजु गुरुङको उम्मेदवारी खारेज गरेपछि १९ सीटमा झरेको थियो ।
एक्लाएक्लै निर्वाचनमा जाँदा रौतहट १ मा पार्टी अध्यक्ष माधवकुमार नेपालबाहेक अन्त जित्न नसक्ने अवस्था थियो । तर, गठबन्धनको आडमा चुनावमा होमिँदा एसले प्रत्यक्षमा १० सीटमा जीत हासिल गरेको छ ।
अछाम १ मा शेरबहादुर कुँवरले एमालेका झपट बोहोरा, बारा ४ कृष्णकुमार श्रेष्ठले एमालेका एकवाल मियाँ र दैलेख १ मा अमरबहादुर थापाले एमालेकै रवीन्द्रराज शर्मालाई हराएका छन् ।
यस्तै सल्यानमा प्रकाश ज्वाला स्वतन्त्र राजेन्द्रबहादुर शाहलाई हराएर विजयी बने । त्यहाँ एमालेका राजेन्द्रवीर राय तेस्रोमा सीमित रहे ।
डोटीमा प्रेमबहादुर आलेले एमालेकी गौरीकुमारी ओली, बझाङमा भानुभक्त जोशीले एमालेका एेनबहादुर महर, रौतहट १ मा अध्यक्ष नेपालले एमालेका अजयकुमार गुप्तालाई हराए ।
डोल्पामा धनबहादुर बुढाले एमालेकै गणेशबहादुर शाही, धादिङ १ मा राजेन्द्र पाण्डेले भूमिप्रसाद त्रिपाठी र दाङ १ मा मेटमणि चौधरीले पनि एमालेकै शान्ता चौधरीलाई हराए ।
१९ सीटमा उम्मेदवारी दिँदा १० सीट जित्दासमेत अध्यक्ष नेपाल निर्वाचन परिणामदेखि सन्तुष्ट छैनन् । उनले बिहीबार रौतहट १ मा निर्वाचित भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै निर्वाचनबाट आफूहरुले सोचेजस्तो नतिजा ल्याउन नसकेको बताएका थिए ।
उनले भनेका थिए, ‘नतिजा सोचेजस्तो भएन, कमजोरी सुधार्दै अघि बढ्छौं । निर्वाचनका नतिजाले शिक्षा दिएको छ । आगामी दिनमा निर्वाचनको परिणामको मूल्याङ्कन गर्दै भएका कमिकमजोरी सुधार गरी अघि बढ्छौं ।’
निर्वाचनको परिणामले अब कसको सरकार बन्छ भनेर भन्न नसक्ने अवस्था रहेको उनले टिप्पणी गरे । तर, अधिकांश नेताहरुले आगामी सरकार पनि गठबन्धनकै बन्ने दाबी गर्दै आइरहेका छन् ।
यी भए पराजित भए
नेकपा एसका १० उम्मेदवारले जित्दा सम्मानित नेता झलनाथ खनाललाई चुनाव जित्न हम्मेहम्मे परेको छ । पछिल्लो मत परिणामअनुसार इलाम १ मा एमालेका महेश बस्नेतले १२ हजार २७५ मत ल्याएर अग्रता कायमै राख्दा नेता खनालले १० हजार ६३३ मत ल्याएर पछ्याइरहेका छन् ।
पार्टीका वरिष्ठ नेता सोमप्रसाद पाण्डे पाल्पा २ मा पराजित भएका छन् । पाण्डेले एमाले छाडेपछि पहिलोपटक अवसर पाएका ठाकुर गैरेसँग उनी पराजित भएका हुन् । मकवानपुर २ विरोध खतिवडालाई एमालेकै महेशकुमार बर्तौलाले हराए । काठमाडौं ८ मा जीवनराम श्रेष्ठलाई राष्ट्रिय स्वतन्त्र पार्टीका विराज भक्त श्रेष्ठले हराउँदा उदयपुर २ मा जगन्नाथ खतिवडा एमालेका अम्वरबहादुर रायमाझीसँग पराजित भए ।
कास्की २ मा श्रीनाथ बराललाई एमालेकी विद्या भटटराईले हराइन् । त्यहाँ गठबन्धनबाट उम्मेदवार बनेका बराल तेस्रोमा सीमित रहे ।
ललितपुर २ मा कृष्णलाल महर्जनलाई एमालेका प्रेमबहादुर महर्जनले, गुल्मी २ मा रामकुमारी झाँक्रीलाई एमालेकै गोकर्ण विष्टले, सिराहा ४ मा धर्मनाथप्रसाद साहलाई जनता समाजवादी पार्टीका वीरेन्द्रप्रसाद महतोले हराए ।
धनुषा २ मा मित्रवत प्रतिस्पर्धा गरेका रामचन्द्र झालाई कांग्रेसका रामकृष्ण यादवले फराकिलो मतान्तरले हराए ।
समानुपातिकमा कन्तबिजोक
प्रत्यक्षतर्फ १० सीट जितेको नेकपा एसको समानुपातिकतर्फ कन्तबिजोक भएको छ । समानुपातिकतर्फ नेकपा एस ९ नम्बरमा छ। पछिल्लो मत परिणामअनुसार एमालेले १० लाख ४८ हजार ४५७ मत पाएको छ । दोस्रोमा रहेको नेपाली कांग्रेसले १० लाख ३ हजार ४४३ मत पाएको छ ।
तेस्रोमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले चार लाख ९३ हजार २३३ मत मत ल्याएको छ । माओवादी केन्द्रले चार लाख ६३ हजार ९४१ मत ल्याएको छ ।
राप्रपाले दुई लाख ६५ हजार ७६०, जसपाले एक लाख ३० हजार ५७९, जनमत पार्टीले ७८ हजार ६१४ र नागरिक उन्मुक्ति पार्टीले ७८ हजार ५४७ ल्याउँदा नेकपा एसको ७४ हजार ७०४ पुगेको छ ।
प्रत्यक्षमा १० सीट जिते पनि नेकपा एस राष्ट्रिय दल बन्ने सम्भावना कमजोर बनेको छ । प्रत्यक्षतर्फ कम्तिमा एक सीट जितेर समानुपातिकतर्फ खसेको मतको तीन प्रतिशत कटाएपछि मात्रै राष्ट्रिय दल बन पाउने कानूनी व्यवस्था छ ।
कैलाली । सुदूरपश्चिम प्रदेशका १६ प्रतिनिधिसभा क्षेत्रमध्ये १५ वटाको मत परिणाम आइसकेको छ । बाजुरामा मतगणना अनिश्चित छ । अन्य सबै जिल्लाका निर्वाचन क्षेत्रमा मतगणना भइसकेको हो ।
मत गणना सम्पन्न भएका क्षेत्रमध्ये ७ क्षेत्रमा कांग्रेस विजयी भएको छ । सत्तागठबन्धनमा कांग्रेसलाई ९ क्षेत्र भाग परेको थियो । एक क्षेत्रमा पराजय भोगेको छ । बाँकी एक क्षेत्रमा मत गणना हुन सकेको छैन ।
कांग्रेसबाट कैलाली ४ मा वीरबहादुर बलायर, ५ डिल्लीराज पन्त, कञ्चनपुर २ मा एनपी साउद र ३ मा रमेश लेखक विजयी भएका छन् । डडेल्धुरामा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा,अछाम २ मा पुष्प शाह र दार्चुलामा दिलेन्द्र बडू निर्वाचित भइसकेका छन् ।
यहाँ नेकपा एकीकृत समाजवादीलाई तीन क्षेत्र भागमा परेको थियो । तीनै क्षेत्रमा नेकपा एस विजयी भएको छ । डोटीमा प्रेम आले, अछाम १ मा शेरबहादुर कुँवर र बझाङमा भानुभक्त जोशी विजयी भएका छन् ।
नागरिक उन्मुक्तिबाट कैलाली १ मा रन्जिता श्रेष्ठ र ३ मा गङ्गा चौधरी निर्वाचित भएका छन् । २ मा नागरिक उन्मुक्तिका अरुण चौधरी भारी मतसहित अग्रता बनाइरहेका छन् । उनको जीत करिब निश्चित छ ।
सुदूरपश्चिमका १५ स्थानमा उम्मेदवार खडा गरेको एमालेले प्रतिनिधिसभा तर्फ २ स्थानमा मात्र जीत निकाल्न सक्यो । एमालेबाट कञ्चनपुर १ मा तारा लामा तामाङ र बैतडीमा दामोदर भण्डारी निर्वाचित भएका छन् ।
बाजुरामा एमालेका कर्ण थापा र कांग्रेसका बद्री पाण्डे निर्वाचनमा छन् । थापाले जिते एमालेको संख्या प्रदेशमा ३ पुग्ने छ भने पाण्डेले जिते कांग्रेसको संख्या ८ पुग्नेछ ।
प्रदेशमा को अगाडि ?
सुदूरपश्चिमका ३२ प्रदेशसभा सीटमध्ये एमालेले ३० स्थानमा उम्मेदवार खडा गरेको थियो । कैलाली र कञ्चनपुरको एक÷एक क्षेत्र खाली राखेर ३० स्थानमा दिएको उम्मेदवारीमध्ये एमालेले कैलाली ५ (१) बाहेक ३ क्षेत्रमात्रै जितेको छ । यहाँ एमालेका उम्मेदवारले अग्रता बनाइरहेका छन् । त्यसबाहेक एमालेले डोटी, बैतडी र कञ्चनपुरको एक एक क्षेत्र जितेको हो । डोटीमा एमालेका चक्र मल्ल, बैतडीमा सुरेन्द्र पाल र कञ्चनपुरमा वीरबहादुर थापा पाताल विजयी भएका छन् ।
सत्ता गठबन्धनमा माओवादी केन्द्रले प्रतिनिधिसभातर्फ एक क्षेत्र पनि जित्न सकेन । तर, उसले प्रदेशसभामा ८ सीट जितिसकेको छ । प्रदेशसभामा सत्ता गठबन्धनमा माओवादीलाई १२ क्षेत्र भाग लागेको थियो ।
कैलालीबाट रमेश धामी, डडेल्धुरामा खगराज भट्ट, कञ्चनपुरमा ओमविक्रम भाट, बझाङमा भीमबहादुर भण्डारी, डोटीमा शिवसिंह ओली, अछाममा झपटबहादुर साउद र अक्कल रावल, दार्चुलामा मानबहादुर धामी विजयी भएका छन् ।
सत्ता गठबन्धनमा कांग्रेसलाई १८ क्षेत्र भाग लागेको थियो । कांग्रेसले प्रदेशमा ११ क्षेत्रमा जीत हासिल गरेको छ । कैलालीमा कमल शाह, प्रकाश बम, प्रकाश देउवा विजयी हुँदा कञ्चनपुरमा बेलबहादुर राना मगर, बहादुरसिंह थापा, देवानसिंह विष्ट विजयी भएका छन् ।
दार्चुलामा विक्रम धामी, बझाङमा पृथ्वीबहादुर सिंह, बैतडीमा शिवराज भट्ट र अछाममा मेघराज खड्का र मानबहादुर रावल विजयी भएका छन् ।
सत्ता गठबन्धनमा नेकपा एकीकृत समाजवादीलाई प्रदेशमा २ क्षेत्र भाग लागेको थियो । गठबन्धनमा भाग परेकोमध्ये कैलाली ४ (१) मा दीर्घ सोडारी विजयी हुँदा ३ (२) मा अमर साउद पराजित भए । कञ्चनपुर ३ (१) मा प्रकाश रावल मित्रवत प्रतिस्पर्धामा विजयी भए ।
सुदूरपश्चिममा नागरिक उन्मुक्तिले ५, नेकपा एकीकृत समाजवादीले २ र स्वतन्त्र एक उम्मेदवार पनि विजयी भएका छन् । नागरिक उन्मुक्तिका पाँचै जना कैलालीबाट विजयी भएका हुन् । नागरिक उन्मुक्तिबाट घनश्याम चौधरी, खुसीराम थारु, लक्ष्मणकिशोर चौधरी, कैलाश चौधरी र रामेश्वर चौधरी विजयी भए ।
यस प्रदेशमा स्वतन्त्र उम्मेदवार ताराप्रसाद जोशी पनि विजयी भएका छन् । डडेल्धुरा प्रदेशसभा २ नेकपा एसलाई भाग नदिएपछि उनले सत्ता गठबन्धनविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
रुपन्देही । दाङ क्षेत्र नं १ मा प्रतिनिधि सभा सदस्यमा निर्वाचित नेकपा एसका मेटमणि चौधरीलाई प्रमुख प्रतिस्पर्धी नेकपा एमालेकी उम्मेदवार शान्ता चौधरीले पहिलो शुभकामना तथा बधाई दिँदै जनता बीचमा सांसद आएनन् भन्ने गुनासो हटाउन र धेरै पार्टी नफेर्न आग्रह गरेकी छन् ।
मत परिणाम सार्वजनिक भएलगत्तै नेतृ चौधरीले विजयी मेटमणिलाई बधाई दिन पुग्दा आफैले अबिर लगाएर गएकी थिइन् ।
तत्काल अबिर उपलब्ध नभएपनि शान्ताले आफ्नै निधारको अबिर हातले निकालेर मेटमणिलाई लगाइदिँदै भनिन् ‘कतै मेरो भाग्य नि जाने त होइन, यो पराजित भएकाले लगाएको अबिर नभन्नु, जनताले जितेपछि गुनासो सुन्न आउँदैनन् भन्ने नपार्नु, मन्त्री बन्नु र आफ्नो क्षेत्रकाे विकास गर्नु, धेरै पार्टी फेरेर नहिंड्नु ।’
मेटमणिसँगै रहेको उनका समर्थकहरुले प्रधानमन्त्री, उपप्रधानमन्त्री बन्नु भन्नुस न दिदी भन्दा शान्ताले भनिन्–‘उनी अहिले त्यो अवस्थामा पुगेका छैनन्, नहुने कुरा म गर्दिन, मन्त्री बनेकै छन् मन्त्री बनेर आफ्नो क्षेत्रमा राम्रो काम गर्नु, राजधानी कार्यान्वयन गर्नु अब धेरै भन्नुपर्र्दैन ।
काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा खसेको करिब सवा करोड मतमध्ये समानुपातिकतर्फ बिहीबार दिउँसोसम्म साढे २५ लाख मतगणना हुँदाको रुझान विश्लेषण गर्दा ६ वटा दलले थ्रेसहोल्ड कटाउने देखिएको छ ।
समानुपातिक निर्वाचन प्रणालीमा ४७ वटा दलले भाग लिएका थिए । हालसम्म गणना भएको २५ प्रतिशत मतलाई शतप्रतिशत आधार मानेर हिसाब गर्दा ३ प्रतिशतको थ्रेसहोल्ड कटाउन ७३ हजार मत पाउनुपर्छ । अहिलेसम्म ४७ दलले प्राप्त गरेको मतलाई जम्मा मत मानेर हिसाव गर्दा ६ दलले मात्रै ३ प्रतिशत थ्रेस होल्ड कटाएका छन् ।
जसमा नेकपा एमाले, नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टी नेपाल रहेका छन् ।
थ्रेस होल्ड कटाउने ती ६ दलको जम्मा मत हिसाब गर्दा २४ लाख ३४ हजार १६० हुन आउँछ । यसबाट प्रतिशत निकाल्दा सबैभन्दा धेरै नेकपा एमालेले ३० प्रतिशत, नेपाली कांग्रेसले २८, राष्ट्रिय स्वतन्त्र पार्टीले १५, नेकपा माओवादी केन्द्रले १३, राष्ट्रिय प्रजातन्त्र पार्टीले ८ र जनता समाजवादी पार्टीले ३ प्रतिशत मत प्राप्त गरेका छन् ।
यसै प्रतिशतअनुसार थ्रेस होल्ड कटाएका राजनीतिक दललाई प्रतिनिधिसभाको समानुपातिकतर्फको सीट बाँडफाँट गर्दा सबैभन्दा नेकपा एमालेले ३३ देखि ३४ सीट पाउनसक्छ । दोस्रोमा रहेको नेपाली कांग्रेसले ३१ देखि ३२ सीट पाउनसक्छ ।
यस्तै तेस्रोमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले १६ देखि १७ सीट पाउने देखिन्छ । चौथो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले १५ देखि १६ सीट प्राप्त गर्नेछ । पाँचौंमा रहेको राप्रपाले ९ देखि १० सीट पाउँदा जसपाले ४ देखि ५ सीट पाउने देखिन्छ ।
कसरी हुन्छ समानुपातिकतर्फको सीट बाँडफाँट ?
समानुपातिकतर्फको मतगणना भइरहँदा अधिकांशलाई समानुपातिकतर्फको निर्वाचनमा कसरी सीट बाँडफाँट हुन्छ र कसले कति सीट पाउँछ भन्नेबारेमा जिज्ञासा छ । यसैलाई मध्यनजर गरेर हामीले प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फ सीट बाँडफाँट हुने विधिबारे यहाँ उल्लेख गरिएको छ ।
समानुपातिक निर्वाचन निर्देशिका २०७४ अनुसार उम्मेदवार छनोट प्रक्रिया परिच्छेद ५ मा गरिएको छ । निर्देशिकाको दफा ३१ मा सीटको बाँडफाँट गर्ने व्यवस्था गरिएको छ । जसको दफा १ अनुसार १६५ वटै निर्वाचन क्षेत्रबाट समानुपातिक निर्वाचन प्रणालीबमोजिम हुने निर्वाचनको मतगणना तालिका प्राप्त भइससकेपछि निर्वाचन अधिकृतले दलले प्राप्त गरेको सदर मत जोडिन्छ । ती दलले प्राप्त गरेको जम्मा मत संख्या एकिन हुन्छ ।
दलले प्राप्त गरेको जम्मा मतको आधारमा निर्वाचन अधिकृतले मत परिणाम विभाजक सूत्रको आधारमा दलले प्राप्त गर्ने सीट संख्या निर्धारण गरी निर्वाचन आयोगमा पेश गर्नुपर्नेछ ।
दलले प्राप्त गर्ने सीट संख्या निर्धारण गर्दा त्यस्तो दलले प्राप्त गरेको सीट संख्याको आधारमा महिला तथा अन्य समावेशी समूहबाट प्रतिनिधित्व गराउनुपर्ने संख्यासमेत निर्धारण गर्नुपर्नेछ ।
दलले प्राप्त गरेको सीट संख्यामध्ये विभिन्न समावेशी समूहबाट प्रतिनिधित्व गराउनैपर्ने संख्या निर्धारण गर्दा दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, थारु र मुस्लिमको जनसंख्या प्रतिशतको आधारमा प्रतिनिधित्व हुने गरी उम्मेदवारको नाम समावेश गर्नुपर्नेछ । जसमा सबैभन्दा धेरै खस आर्यबाट ३१.२, दोस्रोमा आदिवासी-जनजातिबाट २८.७, मधेसीबाट १५.३, दलितबाट १३.८, थारुबाट ६.६ र मुस्लिमबाट ४.४ प्रतिशत समावेश गर्नुपर्नेछ ।
समानुपातिक निर्वाचन प्रणालीबमोजिम हुने निर्वाचनबाट प्रतिनिधित्व गराउनुपर्ने महिलाको संख्या निर्धारण गर्दा त्यस्तो दलको तर्फबाट प्रत्यक्षमा निर्वाचित र समानुपातिकबाट प्रतिनिधित्व गर्ने जम्मा सदस्य संख्याको कम्तिमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व हुने गरी निर्धारण गर्नुपर्छ ।
सीट संख्या निर्धारण गर्दा त्यस्तो दलले प्राप्त गरेको सीट संख्याको कम्तीमा ४.३ प्रतिशत पिछडिएको क्षेत्रबाट प्रतिनिधित्व हुने गरी संख्या निर्धारण गर्नुपर्छ । समानुपातिक निर्वाचन प्रणालीबमोजिम हुने निर्वाचनको निर्धारण गरिएको जम्मा सदस्य संख्याको १० प्रतिशत वा त्योभन्दा बढी सीट प्राप्त गर्ने दलको तर्फबाट प्रतिनिधित्व गराउनुपर्ने विभिन्न समावेशी समूहका उम्मेदवारको संख्या तोकिएको प्रतिशतअनुसार हुनुपर्नेछ ।
समानुपातिक निर्वाचन प्रणालीबमोजिम हुने निर्वाचनको निर्धारण गरिएको जम्मा सदस्य संख्याको १० प्रतिशतभन्दा कम सीट प्राप्त गर्ने दलको तर्फबाट प्रतिनिधित्व गराउनुपर्ने विभिन्न समावेशी समूहका उम्मेदवारको संख्या तोकिएको प्रतिशतअनुसार नै हुनुपर्नेछ । निर्धारण गरिएको सम्बन्धित दलले प्राप्त गर्ने सीट संख्या र विभिन्न समावेशी समूहबाट प्रतिनिधित्व गराउनुपर्ने संख्या आयोगले नै स्वीकृत गर्नेछ ।
यस्तो छ मत परिणाम विभाजक सूत्र
निर्वाचनको प्रत्येक दलले प्राप्त गरेको मत परिणामलाई क्रमशः १, ३, ५, ७, ९ आदि (कुल उम्मेदवार संख्या अनुसारको हुने) भाजकले भाग गरिन्छ । त्यसरी भाग गरी प्राप्त हुने नतिजालाई भागफल भनिन्छ । यसरी मत परिणामलाई भाग गरी प्राप्त हुने भागफल संख्यालाई क्रमशः ठूलो भागफलबाट सानो भागफलसम्म बाँडफाँट गरिन्छ । त्यसपछि सीट वितरण गर्ने प्रयोजनका लागि भागफलको बाँडफाँट गर्दा अन्तिम सीटको भागफल बराबर भएमा गोलाप्रथाबाट निर्णय गरिन्छ ।
गोलाप्रथाबाट वितरण गरिने सीटको निर्धारण गर्दा उक्त सीटको सन्दर्भमा बराबर भागफल रहेका दलका प्रतिनिधिलाई रोहवरमा राखेर गर्नुपर्छ । तर, आयोगले तोकेको मिति, समय र स्थानमा त्यस्तो दलका प्रतिनिधि उपस्थित नभएको कारणले गोलाप्रथाद्वारा निर्णय गर्न आयोगलाई कुनै बाधा नपर्ने निर्देशिकामा उल्लेख छ ।
समानुपातिक निर्वाचन प्रणालीबमोजिम हुने निर्वाचनमा दलले प्राप्त गरेको जम्मा सदर मतको ३ प्रतिशत वा त्योभन्दा बढी मत प्राप्त गर्ने दलको तर्फबाट मात्र उम्मेदवार निर्वाचित हुनेछन् । दलले प्राप्त गरेको जम्मा सदर मत गणना गर्दा ३ प्रतिशतभन्दा कम मत प्राप्त गर्ने दलले प्राप्त गरेको मत दलले प्राप्त गरेको जम्मा मतमा गणना गरिनेछैन ।
त्यसपछि दलले प्राप्त गर्ने सीट संख्या र विभिन्न समावेशी समूहबाट प्रतिनिधित्व गराउनुपर्ने संख्याबमोजिम उम्मेदवार छनोट गरी पठाउन निर्वाचन अधिकृतले अवधि तोकेर सम्बन्धित दललाई जानकारी गराउनेछन् । प्रत्येक दलले मत परिणामको आधारमा प्राप्त गरेको सीट संख्या सर्वसाधारणको जानकारीका लागि सार्वजनिक गरिन्छ ।
उम्मेदवार छनोट गर्ने तरिका
राजनीतिक दलले जानकारी प्राप्त गरिसकेपछि उम्मेदवारको अन्तिम बन्दसूचीमा नाम समावेश भएका उम्मेदवारमध्येबाट समावेशी समूहको प्रतिनिधित्व हुने गरी उम्मेदवारको नाम छनोट गरी दलको केन्द्रीय समितिको निर्णयबाट स्वीकृत गराई ३ दिनभित्र समानुपातिक निर्वाचन प्रणालीबमोजिम भएको निर्वाचनबाट छनोट भएका उम्मेदवारको सूची पेश गर्नुपर्छ ।
एकल चुनाव चिन्ह लिई संयुक्त निर्वाचनमा सहभागी हुने गरी आयोगमा दर्ता भएका दलको तर्फबाट निर्णय गर्दा सबै दलको केन्द्रीय समितिले संयुक्त वा अलग-अलग रुपमा निर्णय गरी स्वीकृत गर्नुपर्छ । कुनै समावेशी समूहको उम्मेदवारको नाम छनोट गर्दा त्यस्तो समावेशी समूहको माथिल्लो क्रममा भएको उम्मेदवारको नाम छनोट नगरी तल्लो क्रममा भएको उम्मेदवारको नाम छनोट गर्न पाइनेछैन । दलले उम्मेदवार छनोट गरी पठाउँदा यथासम्भव अपांगता भएको व्यक्तिको प्रतिनिधित्व हुने गरी पठाउनुपर्छ ।
उम्मेदवार छनोट गरिएको सूची पेश गर्दा महिला तथा अन्य समावेशी समूहको प्रतिनिधित्व नभएमा निर्वाचन अधिकृतले सम्बन्धित दललाई नामावली सच्याई त्यसैबमोजिम प्रतिनिधित्व हुने गरी उम्मेदवारको छनोट गरी दुई दिनभित्र पेश गर्न लेखी पठाउनुपर्छ । यद्यपि १० प्रतिशतभन्दा कम सीट प्राप्त गर्ने दलले कुनै समावेशी समूहबाट तोकिएको संख्यामा उम्मेदवार छनोट गर्न नसकेको विशेष कारण पेश गरेमा आयोगले उक्त संख्याबमोजिम कुनै समावेशी समूहको उम्मेदवारको नाम समावेश नभएको सूचीलाई समेत मान्यता दिनसक्छ । तर, त्यस्तो दलको तर्फबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने जम्मा संख्याको कम्तीमा ३३ प्रतिशत महिला उम्मेदवारको नाम अनिवार्य रुपमा छनोट गरी पेश गर्नुपर्छ ।
निर्वाचन अधिकृतले लेखी पठाएको २ दिनभित्र सम्बन्धित दलले केन्द्रीय समितिको निर्णयबाट स्वीकृत गराई संशोधित नामावलीको सूची पेश गर्नुपर्छ । एकल निर्वाचन चिन्ह लिई संयुक्त रुपमा निर्वाचनमा सहभागी हुने गरी आयोगमा दर्ता भएका दलको तर्फबाट निर्णय गर्दा सबै दलको केन्द्रीय समितिले संयुक्त वा अलग-अलग रुपमा निर्णय गरी स्वीकृत गर्नुपर्छ । दलले पेश गरेको संशोधित नामावली तोकिएको प्रतिशत नसमेटिएसम्म त्यस्तो दलको तर्फबाट कुनै उम्मेदवार निर्वाचित हुनेछैन ।
दलले प्राप्त गरेको मतको अनुपातमा प्राप्त हुने सीटभन्दा त्यस्तो दलले पेश गरेको उम्मेदवारको बन्दसूचीमा सूचीकृत उम्मेदवारको संख्या कम भई सबै सीट पूर्ति हुन नसक्ने भएमा त्यस्तो सीट विभाजक सूत्र अपनाई बढी भागफल प्राप्त गर्ने अर्को दललाई प्रदान गरिन्छ । यसरी प्रदान गरिएको सीट प्राप्त गर्ने दलले त्यस्तो सीटमा सोही समावेशी समूहको प्रतिनिधित्व हुने गरी उम्मेदवारको छनोट गरी पठाउनुपर्नेछ । दलले छनोट गरी सूची पेश गरेका उम्मेदवारलाई निर्वाचन अधिकृतले निर्वाचन भएको घोषणा गर्नेछ । निर्वाचित भएको उम्मेदवारलाई निर्वाचन अधिकृतले प्रमाणपत्र दिनेछन् ।
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले निर्वाचनमा अपेक्षा गरेभन्दा फरक नतिजा आएको बताएका छन् ।
रौतहटको निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले निर्वाचनमा आफूले सोचेको भन्दा कम नतिजा आएको र नतिजाले शिक्षा दिएको बताए । उनले आगामी दिनमा निर्वाचनको परिणामको मुल्याङन गर्दै भएका कमिकमजोरी सुधार गरि अघि बढ्ने धारणा राखे । उनले अवको सरकार कसको बन्छ भनेर अहिले नै भन्न नसकिने भन्दै समयको माग अनुसार बन्न सक्ने बताए ।
जनताले आफूलाई ईमान्दारीता र निष्ठापूर्वक नै हेरेकाले जनताको विश्वासलाई पूरा गर्ने जिकिर गरे ।
अध्यक्ष नेपालले ३३ हजार ५२२ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका अजयकुमार गुप्ताले २६ हजार नौ सय २२ मत प्राप्त गरेका छन् । यसअघि विसं २०४८ देखि २०५६ सम्म राष्ट्रियसभा सदस्य तथा प्रमुख विपक्षी दलका नेता रहेका नेपाल २०५६, २०६५, २०७० र २०७४ मा पनि प्रतिनिधिसभा सदस्यमा निर्वाचित बनेका थिए ।
विराटनगर । प्रदेश १ का प्रतिनीधि सभाका २८ निर्वाचन क्षेत्रमध्ये ६ वटाको नतिजा आइसकेको छ ।
अन्तिम परिणाम आइसकेकामध्ये एमालेले ४ र कांग्रेसले २ सीट जितेको छ ।
एमालेबाट अध्यक्ष केपी ओली झापा ५ बाट, झापा २ बाट देवराज घिमिरे, उदयपुर २ बाट अम्बरबहादुर रायमाझी र ताप्लेजुङबाट योगेश भट्टराई विजयी भएका छन् ।
कांग्रेसबाट झापा १ बाट विश्वप्रकाश शर्मा र ओखलढुंगाबाट रामहरी खतिवडा विजयी भएका छन् ।
गणना भइरहेका २२ क्षेत्रमध्ये १० ठाउँमा एमालेका उम्मेदवारले लिड गरेका छन् ।
नेपाली कांग्रेसका उम्मेदवार ५ क्षेत्रमा अगाडि हुँदा माओवादी केन्द्र ३ ठाउँमा अगाडि छ । राष्ट्रिय स्वतन्त्र पार्टी २, राप्रपा र स्वतन्त्र उम्मेदवार एक-एक ठाउँमा अगाडि छन् ।
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पैसा खर्च गरेर चुनाव जित्न खोज्नेहरु यसपटक अत्तालिएको टिप्पणी गरेका छन् ।
वुधबार रौतहट–१ मा जारी मतगणनाको अवस्थामा बुझ्न पुगेका अध्यक्ष नेपालले सञ्चारकर्मीसँग कुरा गर्दै जनताको मत किनेर चुनाव जित्न खोज्नेहरु यसपटक अत्तालिएको टिप्पणी गरेका हुन् ।
अहिलको चूनाव पैसा खर्च नगरिकनै आफूले जितेको उनले बताए । जनतालाई लुटेर पैसा कमाउन चाहनेहरु पैसा खर्च नगरी कुनै काम गर्न नै नसक्ने भन्दै उनले आफ्नो ढेउवासम्बन्धी अभिव्यक्तिले उनीहरु लुटको राज्य सकिन्छ कि भनेर डराएको जिकिर गरे ।
अध्यक्ष नेपाले आफू र आफ्ना पार्टीले देशको विकासका साथै जनताको समस्यामा समाधानका लागि गरेको प्रतिवद्धता पुरा गर्ने बताए ।
काठमाडौं । बारा क्षेत्र नम्बर ४ बाट नेकपा एसका कृष्ण कुमार श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले २० हजार २९१ मतका साथ विजय हासल गर्दा एमालेका एकवाल मियाँ १३ हजार ८६३ मतमा रोकिएका छन् । यसअघि तनहुबाट चुनाव जितेका श्रेष्ठ सो क्षेत्र रामचन्द्र पौडेललाई छाडेर बारामा गएका थिए । ्
प्रदेश सभातर्फ भने एमालेका देवनारायण चौधरी र लोसपाका जितेन्द्र सोनाल बिजयी भएका छन् ।
रुपन्देही । गुल्मी २ मा नेकपा एमालेका सचिव गोकर्ण विष्ट २०३४ मतान्तरका साथ विजयी भएका छन् । विष्टले २८४७६ मत ल्याउँदा गठबन्धनबाट उम्मेदवार बनेकी नेकपा एसकी सचिव रामकुमारी झाँक्री २६४४२ मा रोकिइन् ।
५६ सालदेखि यो क्षेत्रमा विष्ट निरन्तर निर्वाचन लड्दै आएका छन् । ५६ मा निर्वाचित उनी ६४ मा थोरै मतले पराजित भएका थिए । ७० र ७४ मा पनि गोकर्णले जितेका थिए ।
काठमाडौं । पूर्व शहरी विकास मन्त्री तथा नेकपा एसकी सचिव रामकुमारी झाँक्री गुल्मी २ मा २ हजार भन्दा बढी मतले पछि परेकी छन् ।
इस्मा र मदाने गाउँपालिकाको मतगणना सम्पन्न हुँदा नेकपा एमालेका गोकर्ण विष्ट १० हजार १२४ मतका साथ अगाडि छन् ।
गठबन्धनकी साझा उम्मेदवार रामकुमारी झाँक्रीले ८ हजार ८ मतले पछ्याइरहेकी छन् । मत गणना सम्पन्न भएका दुवै गाउँपालिकामा गत स्थानीय चुनावमा गठबन्धनले जितेको थियो ।
रुपन्देही । दुई निर्वाचन क्षेत्र रहेको गुल्मीको क्षेत्र नम्बर २ मा एमाले सचिव गोकर्ण विष्टले अग्रता बढाउँदै लगेका छन् ।
पछिल्लो मत परिणाम अनुसार विष्टले ७ हजार ७५६ मत ल्याएका छन् भने सत्ता गठबन्धनबाट उम्मेदवार रहेकी एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले ५ हजार ५९१ मत ल्याएकी छन् ।
क्षेत्र नं १ को अर्वेनी माविमा स्थगित भएको मतदान आज हुँदैछ । क्षेत्र नं १ मा अर्वेनीको निर्वाचन सकिएपछि गणना हुनेछ ।
जनकपुरधाम । सिरहाको कर्जन्हा नगरपालिका-६ जनता माध्यमिक विद्यालय बडहरामाल मतदान केन्द्रमा झडप भएको छ ।
मतदान गर्ने व्यक्तिको औँलामा लगाइने संकेत (रंग) कुन ठाउँमा राख्ने विषयमा विवाद भएपछि जसपा र एकीकृत समाजवादी पार्टीका कार्यकर्ताबीच झडप भएको हो । सो क्रममा प्रहरीले हवाई फायर गरेका छन् ।
सिरहाका एसपी अर्जुनप्रसाद तिमल्सिनाले रंग राख्ने विषयमा मतपेटिका तानातान भएपछि प्रहरीले तीन राउण्ड हवाइ फायर गरेको जानकारी दिए ।
उनका अनुसार मतदान सुरू हुनुअगावै तनाव सृजना भएपछि प्रहरीले हवाइफायर गरेको थियो । १५ मिनेटमै मतदान सुरू भयो । अहिले मतदान जारी छ ।
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले लोकतान्त्रिक व्यवस्थालाई संस्थागत गर्न निर्वाचन नै महत्वपूर्ण माध्यम भएको बताएका छन् ।
रौतहट सदरमुकाम गौरस्थित श्रीराम जानकी कन्या आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गर्दै अध्यक्ष नेपालले निर्वाचनका माध्यमबाट आफैंलाई शासन गर्ने व्यक्ति जनता आफैंले रोज्नुपर्ने भएकाले ध्यानपूर्वक मतदान गर्नुपर्ने बताए ।
‘सत्ताको आडमा निरंकुश लादेर जनताले सामना गर्न पर्ने दिनहरू अब फर्केर आउँदैनन् । मुलुकमा निरंकुश व्यवस्था लागू गर्ने प्रयासहरू हामीले असफल पारिसकेका छौं ।’
आफ्नै जिल्लामा मतदाताको बीचमा मत खसाल्न पाउँदा खुसी लागेको बताए ।
हेटौंडा । सरकारी सेवा सुविधा लिइरहेका व्यक्ति कुनै दलको प्रतिनिधि बनेर मतदान केन्द्र जान नपाउने भएपनि मकवानपुरमा राष्ट्रिय भूमि आयोगका जिल्ला अध्यक्ष विष्णुप्रसाद दाहाल उम्मेदवारको मतदान केन्द्र प्रतिनिधि बनेका छन् । उनीविरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरीसमेत परेको छ ।
दाहाल मकवानपुर २ मा गठबन्धनबाट नेकपा एसका उम्मेदवार विरोध खतिवडाका प्रतिनिधिको रूपमा मकवानपुरगढी-५ स्थित शारदा मावि केन्द्रमा पार्टीका प्रतिनिधीका रूपमा नियुक्त भएका छन् ।
दाहालले पदको दुरुपयोग गर्दै पार्टी प्रतिनिधि बसेको भन्दै उजुरीमा कारबाहीको माग गरिएको छ ।
मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले दाहालको प्रतिनिधि खारेज हुने नेपाल प्रेसलाई बताए ।
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आह्वान गरेका छन् । उनले स्थिर समय सुरु हुनु अघि केहि घण्टा अघि बिहीबार साँझएक विज्ञप्ति जारी गर्दै प्रत्यक्षमा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आह्वान गरेका हुन् ।
उनले पार्टीले समानुपातिक तर्फमा चुनाव चिन्ह कलममा मतदान गर्न आग्रह गरहेका छन् । यही मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा प्रत्यक्षतर्फ गठबन्धन र समानुपातिकमा कलम चिन्हमा मतदान गर्न अध्यक्ष नेपालले विज्ञप्तीमार्फत आग्रह गरेका हुन् ।
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले शनिबार नेपाल प्रेससँगको अन्तर्वार्तामा भनेका थिए, ‘माधव नेपालले पार्टीले बनाइदिएको हैसियत बिर्सेर एउटा पसल खोल्नुभएको छ । एमाले, कांग्रेस, माओवादी, जसपा, राप्रपा भएपछि एकदेखि पाँचौंसम्म त आउने उहाँको सम्भावना नै भएन । उहाँको प्रतिस्पर्धा राष्ट्रिय पार्टीभन्दा बाहिरकै हो ।’
ओली यतिमा रोकिएनन् । उनले नेकपा एसको आयु मंसिर ४ गतेसम्म मात्रै भएको भन्दै गल्ती स्वीकारेर फर्किनेलाई क्षमा दिएर पार्टीभित्र उचित जिम्मेवारी दिनेसमेत बताए ।
‘देश, जनता र पार्टीलाई विजयी बनाउने काममा लाग्नुस् । ४ गते माधव नेपालको पार्टीमा खिस्रिक पर्नुपर्ला । हिजो गल्ती गरेको भए पनि तपाईंहरुलाई क्षमा दिएर यथोचित जिम्मेवारी दिएर अगाडि बढ्छ’, उनको भनाइ थियो ।
ओलीले पछिल्लो समय चुनावी सभालाई सम्बोधन गर्दै माधव नेपाल नेतृत्वको नेकपा एस आगामी निर्वाचनमा राष्ट्रिय पार्टी बन्न नसक्ने दाबी गर्दै आइरहेका छन् ।
एमालेबाट विद्रोह गरेर पहिलोपटक नेकपा एस प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा भाग लिँदैछ । सो पार्टी गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा पाँचदलीय गठबन्धनको आडमा चुनाव लडेको थियो । गठबन्धनकै सहयोगमा पोखरा महानगर र हेटौंडा उपमहानगरको नेतृत्वमा जितेर चार लाख २२ हजार ७३७ मत ल्याएको थियो ।
स्थानीय तह निर्वाचनमा गठबन्धनले धोका दिएको भन्दै अध्यक्ष नेपाल, सम्मानित नेता झलनाथ खनाललगायत नेताहरु असन्तुष्ट बनेका थिए । तर, उनीहरुले पार्टीको अस्तित्व जोगाउन भए पनि गठबन्धनको विकल्प खोज्न सकेनन् ।
आगामी निर्वाचनअन्तर्गत १९ सीटमा उम्मेदवारी दिएको नेकपा एसले २० लाखभन्दा धेरै मत ल्याउने अध्यक्ष नेपालको दाबी छ । सत्ता गठबन्धनसँगको सीट बाँडफाँटका क्रममा प्रतिनिधिसभामा २० सीट पाए पनि रूपन्देही २ का उम्मेदवारको मनोनयन खारेज भएको थियो । राष्ट्रिय दल बन्न प्रत्यक्षतर्फ एक सीट जितेर समानुपातिकतर्फ खसेको मतको तीन प्रतिशत कटाउनुपर्छ ।
‘चौंथो शक्ति बन्नेछौं’
नेकपा एसका उपमहासचिव गंगालाल तुलाधर आफ्नो पार्टी संसदको चौथो शक्ति बन्ने दाबी गर्छन् ।
उनी भन्छन्, ‘गठबन्धन भएपछि हामी प्रत्यक्षमा पनि कमजोर हुने अवस्थामा छैनौं । हामीले देशभर चुनावी माहोलबारे बुझिरहेका छौं । समानुपातिकमा पनि राम्रो मत ल्याउँछौं ।’
पहिलो पटक चुनावमा सहभागी हुन लागेको भए पनि पार्टीको देशभर बलियो संगठन निर्माण भइसकेको उनको दाबी छ । ओलीले राष्ट्रिय पार्टी बन्दैन भनेर भन्नुको अर्थ नभएको उनले बताए ।
स्थानीय तहमा जस्तो अहिले ‘भोट ट्रान्सफर’ मा समस्या नहुने कांग्रेसका प्रवक्ता प्रकाशशरण महत बताउँछन् ।
उनले भने, ‘हामीले गठबन्धनबारे देशभरको अवस्थाबारे बुझेको छौं । अहिले गठबन्धन मजबुत भएको छ । भोट ट्रान्सफरमा कुनै समस्या छैन । त्यसैले गठबन्धनको बहुमत आउनेमा ढुक्क छौं ।’
गठबन्धन तल्लो तहसम्म बलियो भएकाले कुनै दलको पनि कमजोर नतिजा नआउने उनको विश्वास छ ।
माधव नेपाल ढुक्क, कहाँ कहाँ सहजता ?
नेकपा एसले आगामी निर्वाचनका लागि १९ ठाउँमा उम्मेदवारी दिएको छ । उसले आफूले उम्मेदवारी दिएको सबै क्षेत्रमा जीत सुनिश्चित भएकोसमेत दाबी गर्दै आएको छ ।
गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा वडाध्यक्षले प्राप्त गरेको मतअनुसार १९ उम्मेदवारमध्ये रौतहट १ मा अध्यक्ष नेपाल सुरक्षित देखिएका छन् । उनीविरुद्ध एमालेले गौर नगरपालिकाका पूर्वमेयर अजयकुमार गुप्तालाई मैदानमा उतारेको छ ।
गठबन्धनको मतले नेकपा एसका उम्मेदवार बलिया देखिए पनि भारी मात्रामा ‘भोट ट्रान्सफर’ गर्नुपर्ने चुनौती छ । इलाम १ मा नेकपा एसका सम्मानित नेता खनालविरूद्ध एमालेका महेश बस्नेत भिड्दैछन् । यहाँ कांग्रेस र एमालेको हाराहारी मत छ । तर, नेता खनाललाई जीत सुनिश्चत गर्न एमालेसँगै कांग्रेसको भारी मात्रामा भोट ट्रान्सफर गर्नुुपर्नेछ ।
मकवानपुर २ मा विरोध खतिवडा सुरक्षित देखिन्छन् । आफ्नो मत कम भए पनि गठबन्धनको मत भने एमालेको भन्दा अत्यधिक छ । उनीविरुद्ध एमालेका महेश बर्तौला चुनावी मैदानमा छन् ।
सत्ता गठबन्धनको साथ पाउँदा धादिङ १ मा पनि बागमतीका मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई जित्न सहज भएको आँकलन गरिएको छ । उनीविरुद्ध भूमि त्रिपाठी एमालेका उम्मेदवार छन् ।
दाङ १ मा मेटमणि चौधरीलाई केही सहज देखिएको छ । त्यहाँ एमालेले शान्ता चौधरीलाई अगाडि सारेको छ । उनीहरु पुराना सहकर्मी हुन् ।
सल्यानमा नेकपा एसका प्रकाश ज्वाला एमालेका गुलाबजंग शाहसँग प्रतिस्पर्धामा छन् । त्यहाँ पनि गठबन्धन धेरै मतले अगाडि देखिन्छ ।
अछाम १ मा शेरबहादुर कुँवरविरुद्ध एमालेका झपट बोहोरा प्रतिस्पर्धामा छन् । भीम रावलले टिकट नपाएपछि एमालेको तीव्र असन्तुष्टि र गठबन्धनको अग्रताको कारणले कुँवरको जीतलाई सहज आँकलन गरिएको छ । एमाले उम्मेदवार बोहोरा माओवादी पृष्ठभूमिका भएकाले एमालेमा तीव्र असन्तुष्टि छ ।
यस्तै डोटीमा प्रेम आलेलाई पनि गठबन्धनको आडमा केही सहज देखिएको छ । पूर्वमन्त्रीसमेत रहेका आलेसँग एमालेकी गौरी वली मैदानमा छिन् । डोटीमा गठबन्धन अगाडि भए पनि आलेलाई बागी उम्मेदवारको डर कायमै छ ।
डोल्पामा पनि नेकपा एसका धनबहादुर बुढालाई सहज देखिएको छ । त्यहाँ एमालेका गणेशबहादुर शाही उम्मेदवार छन् ।
कहाँ-कहाँ चुनौती ?
काठमाडौं ८ नेकपा एसका जीवनराम श्रेष्ठ चुनावी मैदानमा छन् । यसअघि पनि यही क्षेत्रबाट जितेका श्रेष्ठ एमाले छाडेपछि गठबन्धनबाट चुनावी मैदानमा होमिएका छन् । उनलाई पनि मत ट्रान्सफर गर्न मुस्किल देखिएको छ । त्यहाँ एमालेका शिवसुन्दर राजवैद्य प्रतिस्पर्धामा छन् ।
बझाङमा नेकपा एसका भानुभक्त जोशीलाई एमालेका ऐन महरले चुनौती दिँदैछन् । त्यहाँ पनि कांग्रेसकै भर पर्नुपर्ने भएकाले सहज परिस्थिति देखिँदैन । दैलेख १ मा पनि अत्यधिक मात्रामा कांग्रेसकै मत चाहिने भएकाले अम्मरबहादुर थापालाई सहज छैन । उनीविरुद्ध एमालेका रवीन्द्रराज जोशी मैदानमा छन् ।
पाल्पा २ बाट पटक-पटक निर्वाचित हुँदै आएका सोमप्रसाद पाण्डेलाई एमालेका ठाकुर गैरेले चुनौती दिँदैछन् । पाण्डे एमालेमा हुँदा अवसर नपाएका गैरेले पहिलो पटक संसदीय चुनावमा भाग लिएका हुन् । एमालेको पकड भएकाले नेकपा एसबाट पाण्डेलाई दोहोरिन सहज नभएको विश्लेषण हुने गरेको छ ।
यस्तै गुल्मी २ मा पनि सहकर्मीबीच नै प्रतिस्पर्धा हुँदैछ । नेकपा एसकी सचिव रामकुमारी झाँक्रीले पहिलो पटक एमाले सचिव गोकर्ण विष्टसँग प्रतिस्पर्धा गर्दैछिन् । यो क्षेत्रमा एमालेका विष्टले निरन्तर जित्दै आएका छन् ।
कास्की २ मा नेकपा एसका श्रीनाथ बरालले एमालेकी विद्या भट्टराईसँग प्रतिस्पर्धा गर्दैछन् । भट्टराई यसअघि सोही क्षेत्रबाट निर्वाचित भएकी थिइन् ।
२०७४ मा एमालेबाट तनहुँमा जितेका किसान श्रेष्ठ अहिले नेकपा एसमा छन् । उनी अहिले आफ्नो क्षेत्रमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई छाडेर बारा ४ मा गएका छन् । त्यहाँ एमालेका एकवाल मियाँसँग प्रतिस्पर्धा गर्दैछन् । मियाँ हालैमात्र लोकतान्त्रिक समाजवादी पार्टी त्यागेर एमाले प्रवेश गरेका हुन् ।
यस्तै ललितपुर २ मा यसअघि जितेका कृष्णलाल महर्जनलाई यसपटक गठबन्धनबाट पनि चुनाव जित्न सहज छैन । त्यहाँ एमालेका प्रेमलाल महर्जन उम्मेदवार छन् ।
उदयपुर २ मा एकीकृत समाजवादीले उपमहासचिव जगन्नाथ खतिवडालाई उम्मेदवार बनाएको छ । यहाँ खतिवडाविरुद्ध अम्बरबहादुर रायमाझी र सिराहा ४ मा धर्मनाथप्रसाद साहसँग जसपाका वीरेन्द्र महतो चुनावी मैदामा छन् । दुवै क्षेत्रमा नेकपा एसलाई जीत निकाल्न हम्मेहम्मे पर्ने आँकलन छ ।
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले मित्रवत् प्रतिस्पर्धा गर्ने भनिएका ठाउँमा समझदारी बनाएर उम्मेदवारी निष्क्रिय पार्न निर्देशन दिएको छ । पार्टी महासचिव डा. बेदुराम भुसालले एक विज्ञप्ति जारी गर्दै यस्तो निर्देशन दिएका हुन् ।
जारी विज्ञप्तिमा भनिएको छ, ‘यस निर्वाचनमा पार्टी निर्णय विपरित स्वतन्त्ररुपमा उम्मेदवार दिएका हाम्रो पार्टी सम्वद्ध सबै व्यक्तिहरूलाई पहिले नै कारबाही गरिसकिएको छ । गठबन्धनका साझा उम्मेदवार रहेका कतिपय स्थानमा पार्टी टिकटबाटै उम्मेदवार बनेका कमरेडहरूलाई सम्बन्धित क्षेत्रमा समझदारी कायम गरी उम्मेदवारी निस्क्रिय गर्न निर्देशन दिइएको छ ।’
गठबन्धनमा सहमति भएअनुसार प्रत्यक्षतर्फ गठबन्धनका साझा उम्मेदवारलाई मतदान गर्न तथा समानुपातिकतर्फ पार्टीको चुनाव चिन्ह ‘कलम’मा मतदान गर्न/गराउन आह्वान गरेका छन् ।
काठमाडौं । चुनावी अभियानको सुरुदेखि नै केपी ओलीप्रति व्यक्तिगत आक्रोश व्यक्त गर्दै आएका नेकपा एसका अध्यक्ष माधव कुमार नेपालले अन्तिम चुनावी सभामा अझ बढी घृणा व्यक्त गरेका छन् ।
विगतमा आफू निर्वाचित भएको काठमाडौं २ को अन्तिम चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीलाई जन्म दिएको धर्तीप्रति समेत आक्रोश व्यक्त गरे । उनले अोलीलाई कंस र रावणसँग तुलना गर्दै बिर्सेर पनि यस्ता व्यक्तिलाई भोट नदिन आग्रह गरे ।
नेपालले भने- यस्ता व्यक्तिलाई जन्म दिने कस्तो होला यो धर्ती ? हुन त रामसँगै रावण पनि जन्मिए, कृष्णले कंसको सामना गर्नुपरेको थियो । त्यही कंस र रावण प्रवृतिको जन्म भयो, के गर्ने । म कसैको विरोध त गर्दिन तर यस्ता व्यक्ति पनि भेल्नुपर्यो ।
विगतमा काठमाडौं २ को विकासमा आफूले अघि सारेका योजनाहरुलाई माधव नेपालले जस लिन्छ भनेर ओलीलेले अवरोध गरेको आरोपसमेत उनले लगाए । नेपालले देशमा शान्ति स्थापना गर्ने र गणतन्त्र ल्याउने कुरामा समेत ओलीको विरोध रहेको बताए ।
भाषणको सुरुदेखि अन्त्यसम्म ओलीप्रति चरम घृणा व्यक्त गरेका नेपालले ओलीका कुनै पनि कुरामा विश्वास नगर्न मतदातलाई आग्रह गरे । उनले सुर्यमा ग्रहण लागिसकेकाले काठमाडौं २ मा गठबन्धनकी उम्मेदवार ओनसरी घर्तिलाई जिताउन आग्रह गरे । उनले आफ्नै आग्रहमा ओनसरीलाई काठमाडौं २ मा उम्मेदवार बनाइएको बताए ।
उनले मतदानको दिन नजिकिँदै गर्दा गठबन्धनप्रति जनता उत्साहित बनेको दाबी गरेका छन् । गठबन्धनलाई परमादेशीको सरकार भनेर विज्ञापन गरेको भन्दै नेपालले बहुमत सदस्यले कागजमा हस्ताक्षर गरेर ओलीलाई अल्पमतमा पारेर देउवालाई प्रधानमन्त्री बनाएको बताए ।
‘संसदमा बहुमत सदस्यले समर्थन नगरेको भए यसलाई सर्वोच्चले स्वीकार गर्ने अवस्था थिएन । राष्ट्रपतिबाट संसदको हस्ताक्षरलाई कदर नगरेर संविधानको मर्यादामा आँच पुर्याइयो, संसदहरूको अवमुल्यन भयो । परमादेशी केपी ओली एण्ड कम्पनीले पराजयको पीडाबाट आएको अभिव्यक्ति मात्र हो’, नेपालले भने ।
७४ को चुनावमा त्यतिखेर एमाले-माओवादी गठबन्धनलाई दुईतिहाइ नजिक पुर्याएको भन्दै नेपालले ओलीले त्यसलाई नस्वीकारको टिप्पणी गरे ।
नेपालले भने, ‘सत्य कुरालाई स्वीकार गर्न सक्नुपर्छ । ओलीले यसलाई ढाकछोप र अवमूल्यन गरे । ओली र एमालेले जनताको मतलाई अपमान गरेको हुनाले यो पटक सजाय दिनैपर्छ । ५ वर्षको सरकार चलाउन नसक्ने पार्टीका मान्छे समेट्न नसक्नेले अबका दिनमा गल्ती सुधार्लान भन्ने आशा गर्न सकिन्न । हावादारी कुरा गर्ने घरघरमा ग्यास ल्याउने, रेलको टिकट काट भनेर झुक्याए ।’
राजावादी र देश विखण्डनकारी तत्वसँग गठबन्धन गर्नेलाई सजाय दिनुपर्ने उनको भनाइ थियो ।
काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मौन अवधि अघि सत्ता गठबन्धनले बिहीबार काठमाडौंमा अन्तिम चुनावी सभाको आयोजना गरेको छ ।
गठबन्धनका कांग्रेस, माओवादी र एकीकृत समाजवादी दलहरुले आज २ बजे काठमाडौंको कोटेश्वरमा चुनावी सभा आयोजना गरेका हुन् ।
गठबन्धनको काठमाडौं क्षेत्र नम्बर-२ चुनाव परिचालन समितिको आयोजनामा हुने सभालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेस महामन्त्री गगन थापालगायतले सम्बोधन गर्नेछन् ।
आज मध्यरातिबाट मौन अवधि सुरु हुँदैछ, मौन अवधिमा चुनावी गतिविधि गर्न पाइँदैन ।
काठमाडौं । आगामी मंसिर ४ गते हुने निर्वाचनमा सत्तागठबन्धनले आफूहरूको जित सुनिश्चित भएको दाबी गरेको छ ।
विहीबार कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संयुक्त अपिल जारी गठबन्धनलाई जिताउन आग्रह गरेका हुन् ।
आगामी निर्वाचनबाट विघटनकारी तथा प्रतिगमनका पक्षधरहरूको गठवन्धनलाई उदाङ्गो पार्दै परास्त गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ ।
अपिलमा भनिएको छ, ‘देशको संविधान, कानून, विधि र प्रक्रिया उल्लंघन गरी दुई-दुई पटक गरेको प्रतिनिधि सभा विघटन र कोरोना महामारीमा परेका नागरिकलाई खोप दिलाउनु सट्टा भ्रष्टाचारमा निर्लिप्त हुदै अनेकन स्वेच्छाचारी र प्रतिगामी कदम चालेपछि तत्कालीन सरकारविरुद्ध २०७८ असारमा यो गठबन्धन बनाउनु परेको विदितै छ ।’
गठबन्धनको सरकार बनेपछि पनि प्रतिगमनकारी र अधिनायकवादी आक्रमणको खतरा कायम रहेका कारण स्थानीय निर्वाचन र यो आम निर्वाचनमा समेत संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिएको उनीहरूले उल्लेख गरेका छन् ।
काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आउन एक साता मात्रै बाँकी छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) वाम लोकतान्त्रिक गठबन्धन बनाएर निर्वाचनमा होमिएका छन् ।
वाम लोकतान्त्रिक गठबन्धनले प्रतिनिधिसभाका १६५ निर्वाचन क्षेत्रमा भागबन्डा गरेर उम्मेदवार उठाएको छ । गठबन्धनभित्र माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीले देशभर २१ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएको छ ।
काठमाडौंका १० वटा निर्वाचन क्षेत्रमध्ये एकीकृत समाजवादीले एउटा मात्रै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएको छ । उसले संघीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई यसअघि निर्वाचित भएकै काठमाडौं क्षेत्र नम्बर ८ मा उम्मेदवार बनाएको हो । नेपाली कांग्रेसका नेता स्व. नवीन्द्रराज जोशी र श्रेष्ठबीच दुई पटक प्रतिस्पर्धा हुँदा पहिलो पटक जोशीले र दोस्रो पटक श्रेष्ठले निर्वाचन जितेका थिए ।
यस पटक भने कांग्रेससँगै गठबन्धन भएका कारण श्रेष्ठको प्रतिस्पर्धा नेकपा एमालेका उम्मेदवार शिव सुन्दर राजवैद्यसँग हुने देखिएको छ । यहाँ श्रेष्ठ र राजवैद्यसँगै प्रतिस्पर्धामा लौरो निर्वाचन चिह्न रहेका हाम्रो नेपाली पार्टीका सुमन सायमी र राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठसहित १९ जना प्रतिस्पर्धामा छन् । जसमा १६ जना विभिन्न राजनीतिक दलबाट र ३ जना स्वतन्त्रबाट उम्मेदवार छन् ।
नेकपा एमालेसहितका दलबाट खासै चर्चामा रहेका व्यक्ति उम्मेदवार नरहेकाले जीवनरामलाई निर्वाचनमा प्रतिस्पर्धा गर्न केही सहज देखिएको छ । एमालेको उम्मेदवारबाट खासै चुनौती नदेखिए सुमन र विराजभक्तले जीवनरामलाई निर्वाचन जित्न चुनौती थपेका छन् । उनै जीवनराम श्रेष्ठसँग नेपाल प्रेसकर्मी केशव भुलले गरेको कुराकानी प्रस्तुत छ :
– निर्वाचन नजिकै आइसक्यो । के मा व्यस्त हुनुहुन्छ ?
निर्वाचन आचारसंहिताअनुसार कार्तिक १७ गतेपछि प्रचारप्रसारमा गइरहेका छौं । प्रचारप्रसारअन्तर्गत घरदैलो अभियानमा जुटेका छौं । ८ नम्बर क्षेत्रका दुई वटै प्रदेशका वडामा पुगेर मतदाताका कुरा सुन्ने र गठबन्धनको उम्मेदवारलाई मतदान गर्न अनुरोध गर्ने काम गरिरहेका छौं ।
– यसअघि दुई पटक सूर्यमा भोट मागेको मान्छे यस पटक नेकपा एमाले फुटाएर अलग्गै पार्टीको कलम निर्वाचन चिह्नमा मत मागिरहँदा कस्तो लागिरहेको छ ?
पहिलो कुरा, तपाईंले पार्टी फुटेको भनेकोलाई स्पष्ट पाराैँ । शब्द आ-आफ्नो सुविधाअनुसार प्रयोग गर्न सकिने भयो । हामी फुटेको होइन र टुक्रिएको पनि होइन । हामीले विद्रोह गरेर नयाँ पार्टी बनाएको हो । यो कुरा स्पष्ट पारें मैले । दोस्रो कुरा, मतदाताको बीचमा भेटघाटमा जाँदा उहाँहरुले हामीलाई हार्दिकतापूर्वक स्वागत गर्नुभएको छ । वाम लोकतान्त्रिक गठबन्धनलाई हार्दिकतापूर्वक समर्थन पनि गर्नुभएको छ । मतदाताले हामीलाई उत्साह बढाउने काम गर्नुभएको छ । गठबन्धनको पक्षमा नै उभिनुभएको छ । हामी गठबन्धन दलसँगै गएर प्रतिनिधिसभामा नेकपा (एकीकृत समाजवादी)को कमल निर्वाचन चिह्नमा भोट मागिरहेका छौं । प्रदेशसभामा नेपाली कांग्रेसको रुख निर्वाचन चिह्नमा मत मागिरहेका छौं ।
– यसअघि एमालेबाट भोट मागेको मान्छेले यस पटक एकीकृत समाजवादीलाई भोट माग्दा मतदाताले के भन्नुभयो ?
मतदाताबाट राम्रो प्रतिक्रिया पाएका छौं । कतिपय वामपन्थी पृष्ठभूमि भएका मतदाताको घरमा पुग्दा धेरैले विद्रोह गर्ने आँट गरेर राम्रो गर्नुभयो । वास्तवमा केपी ओली नसुध्रिने मान्छे रहेछ भनेर भन्नुहुन्छ र खुशीका साथ मत दिन्छौं भन्नुभएको छ । तर, कतिपय एकदमै कम मान्छेले मात्र पार्टी किन छोडेर जानुभयो भन्नुभएको छ । यसबाट हामीलाई हौसला नै मिलेको छ ।
– त्यसो भन्दा तपाईंको मनमा चसक्क बिझ्दैन र ?
त्यस्तो केही लाग्दैन । एमाले सुधार भएको भए त्यो लाग्न सक्थ्यो पनि होला । तर, अहिले पनि नेकपा एमाले जसरी पहिले हामी हुँदा चलिरहेको थियो, त्यसरी नै चलिरहेको छ । केपी ओलीको प्रवृत्तिमा सुधार भएको भए हुन्थ्यो पनि होला । नेकपा (एमाले) कम्युनिष्ट आन्दोलनबाट जसरी विचलित भइसकेको छ । पार्टीभन्दा पनि एउटा कम्पनीको रुपमा विकास भइसकेको छ । । सुरुकै ओलीको तानाशाही कायमै छ र हामीले विद्रोह गर्न बाध्य भएका हौं । जुन वर्गीय राजनीतिबाट हामी आएका थियौं । जुन वर्गका लागि काम गर्नुपर्ने हो त्यो गर्न नसकेका कारण हामीले सच्याउने र सरकारलाई जनमुखी बनाउने प्रयास गर्दा पनि असफल भएपछि हामीले विद्रोह गरेको हो । नेकपा एमालेको पहिचान नै गुमाउने काम भएपछि हिजोको निरंकुश तानाशाही अन्त्य गर्न लडेको पार्टी सिध्याउने बाटोमा लागेपछि हामीले जे निर्णय ग¥यौं त्यो ठीक ग¥यौं भन्ने लागिरेको छ ।
विद्रोह नै गरेपछि जो विद्र्रोहमा आए उनीहरु सँगै हुनुहुन्छ । विद्रोह नगर्नेहरु त सँगै हुने कुरै भएन । छुटेका छुटेयै हुने भए । तर, अर्को कुरा के हो भने नेकपा (एमाले) भित्र बसेर जो विद्रोहमा सहभागी हुन सकेनन्, उनीहरु एमालेको प्रवृत्तिमा असन्तुष्ट छन् । केपी ओलीको तानाशाही प्रवृत्तिबाट सारै विरक्तिएका छन् । एमालेभित्र असन्तुष्ट व्यक्ति तथा पक्षको ठूलै पंक्ति छ । जो एमालेभित्र असन्तुष्ट छन् र कम्युनिष्ट आन्दोलनलाई रक्षा गर्नुपर्छ भन्ने चाहनुभएको छ उहाँहरु सबैले नेकपा (एकीकृत समाजावादी)का उम्मेदवारलाई नै भोट दिनुहुन्छ ।
– २०७४ सालको निर्वाचनको नतिजाअनुसार यो क्षेत्रमा नेकपा (एमाले) नै बलियो देखिन्छ नि ?
अब मेरो क्षेत्रको स्थानीय तह निर्वाचनको परिणाम हेर्ने हो भने एमालेको अवस्था राम्रो छैन । नेपाली कांग्रेसको नै राम्रो छ । एक ठाउँमा हामी नै छौं मतको हिसाबले । अर्को कुरा अधिकांश मतदाता भनेको न्युट्रल नै हुन्छन् । पार्टी सदस्य पनि असन्तुष्ट भएकाले मलाई नै भोट दिनुहुन्छ । यो गोप्य कुरा मैले तपाईंलाई भनिहालें । मलाई भनी पनि सक्नुभएको छ । न्युट्रल मतदातालेपरिस्थितिअनुसार आफ्नो निर्णय गर्ने र मत दिने काम गर्नुहुन्छ । अहिले देशको परिस्थितिअनुसार लोकतन्त्रविरोधी पक्षलाई पराजित गर्नुपर्छ भन्ने पक्षमा नै न्युट्रल मतदाता छन् । त्यसो भएकाले राजनीतिक स्थिरता ल्याउने पक्षमा न्युट्रल मतदाता रहेकाले वाम लोकतान्त्रिक गठबन्धनको पक्षमा मतदान गर्नुहुन्छ । सबै ठाउँमा वाम लोकतान्त्रिक गठबन्धनले अत्यधिक मतले जित्छ ।
– काठमाडौं महानगरपालिका प्रमुखमा उम्मेदवारी दिएर राम्रो मत ल्याउनुभएका सुमन सायमी तपाईंकै क्षेत्रमा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ नि ?
म त प्रतिस्पर्धा देख्दिनँ । हिजो स्थानीय तह निर्वाचनको परिवेश एउटा खालको थियो । उहाँले लिएको भनेको ३२ वटा वडाको हो । अहिले महानगरका ६ वटा वडा पर्छन् । अहिले परिस्थिति पनि बदलिएको छ । त्यतिवेलाको जस्तो छैन । जुन वैकल्पिक पार्टीका रुपमा अगाडि आउनुपर्छ भनेका पार्टी पनि ५ वर्ष टिक्न नसकेर छताछुल्ल भएको अवस्था छ । सानो पार्टी पनि छताछुल्ल भएकाले जनताले विश्वास गर्ने भनेको लोकतन्त्रको पक्षमा लड्ने दललाई नै हो । यदि खराब भएको छ भने सच्याउनुपर्छ । साना पार्टी आफैं चुनौतीका रुपमा खडा भइसकेका छन् ।
– यस क्षेत्रका अरु १८ जना उम्मेदवारमध्ये कसलाई प्रतिस्पर्धी ठान्नुभएको छ ?
म जति घरदैलोमा गएँ, मेरो एकदमै आत्मविश्वास बढेको छ । समग्रमा हेर्दा प्रतिस्पर्धी नै देखेको छैन । झन उल्टै मलाई मतदाताले नेकपा एमालेको उम्मेदवार को उठेको हो भनेर सोधिरहनुभएको छ ।
– नेकपा एमालेका उम्मेदवारलाई मतदाताले नचिनेको हो र ?
साँच्चिकै नचिनेर त होला नि मलाई एमालेको उम्मेदवार को छ भनेर सोधिरहनुभएको छ ।
– त्यसो भए नेकपा एमालेको प्रचारप्रसार पनि तपाईंले गरिरहनुभएको छ ?
मैले नै प्रचारप्रसार गरिदिएको छु एमालेका उम्मेदवारको ।
– तपाईंले बितेका ५ वर्षमा काठमाडौं प्रतिनिधिसभा क्षेत्र नम्बर ८ का लागि के गर्नुभयो ?
गरेका काममा नागार्जुन नगरपालिकाको वडा नम्बर ४ मा खानेपनी समस्या भएको ठाउँ हो । यो समस्या समाधान गर्न २ लाख देखि ५ लाख लिटरका रिजर्ब ट्यांक बनाइएको छ उपभोक्तासँग मिलेर । सिंगो क्षेत्रको सडकलाई विस्तार गर्ने भनेर योजना अघि सारेको छु । त्यसैगरी सार्वजनिक जग्गालाई संरक्षण गर्ने र र त्यहाँ समुदायको प्रयोगमा ल्याउने गरी पार्क निर्माण गर्ने, ज्येष्ठ नागरिक पार्क, खेलकुद पार्क, भूकम्प पार्क निर्माण गरेर खुला ठाउँमा बस्ने वातावरण तयार गरेको छु । त्योसँगै स्वयम्भूमा भूकम्पबाट भत्किएका घरलाई स्थानीय वडासँग मिलेर निःशुल्क रुपमा त्यहाँ पुजारीको घर तथा विहार गरेर १९ वटा पुनर्निर्माण गरिएको छ । त्यहाँको मोडलको रुपमा भित्री शहरको कला र मौलिकता कायम गरेर हाउस पुलिङबाट घर निर्माण भएको हो । असफल भइसकेको चनमती जग्गा एकीकृत आयोजना २०७४ सालमा निर्वाचित हुँदा पूरा गर्छु भनेर भनेको थिएँ । त्यो काम पनि सम्पन्न भइसकेको छ ।
मेरो क्षेत्र भनेको संस्कति सम्पदाको केन्द्र नै हो । हनुमान ढोकाको संरक्षण गर्न लागिरहेको छु । भूकम्पबाट क्षति भएका संरचना निर्माणमा जुटिरहेको छु । हनुमान ढोका र स्वयम्भूलाई जोडेर वल्र्ड हेरिटेज ट्रेल बनाउने भनेर लागिरहेको छु । यो क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न पूर्वाधार तयार गर्ने, जनशक्ति तयार गर्ने, होमस्टे तालिम दिने, महिलालाई सचेत गराएर नमुना क्षेत्र बनाउने र पर्यटकीय क्षेत्र बनाएर समुदायको जीवनस्तर अघि बढाउने योजनासहित अघि बढेको छु ।
कुनै पनि आपतविपदको वेलामा मैले घरघरमा गएर चेतना विस्तार गर्ने कार्य गरेको छु । काठमाडौंमा ५० बेडको आइसोलेसन निर्माण गरेर स्वास्थ्यका सबै सुविधा दिने काम पनि गरेको छु । स्थानीयले पनि सहयोग गर्नुभएको थियो त्यतिवेला । साना बालबालिकादेखि ९३ वर्षसम्मका ज्येष्ठ नागरिकको सेवा गर्ने कार्य मेरो नेतृत्वमा भएको छ ।
– प्रतिनिधिसभामा निर्वाचित भएपछि अबको ५ वर्षमा के गर्ने योजना छ त ?
सुरु भएका विकासका कार्यमध्ये कतिपय अझै बाँकी रहेकाले पूरा गर्नुछ । खानेपानीको समस्या भएको ठाउँमा खानेपानी पु¥याउनुपर्नेछ । जलमग्न हुने बस्तीबाट निकास गर्ने कार्य गर्नुपर्नेछ । अझै बाँकी रहेका खुला क्षेत्रलाई संरक्षण गर्नु आवश्यक छ । कतिपय सम्पदा जीर्ण अवस्थामा रहेकाले पुनर्निर्माण गर्नुपर्नेछ । कतिपय लोप हुन लागेका सम्पदा पनि जोगाउनुपर्नेछ । म त यो क्षेत्रलाई गेम चेन्जरका रुपमा लिन्छु । यो हिसाबले भोलि एउटा त विकासका काम गर्ने, क्षेत्रलाई नमुना क्षेत्रमा विकास गर्ने, जात्रा–पर्वलाई संरक्षण गर्नेछु । पर्यटकीय क्षेत्रलाई विकास गर्ने कार्यमा ध्यान केन्द्रित हुनेछ ।
– प्रतिनिधिसभामा निर्वाचित हुने व्यक्तिले विकास गर्ने हो कि कानुन निर्माण गर्ने हो ?
यो निश्चित रुपमा एउटा सांसदको हैसियतमा विकाससँगै जोडेका कुरामा अपेक्षा राख्नुभएको छ । थोरै मतदातामात्र विधायक हुन् भन्ने खालको सोचाइ राख्नुहुन्छ । हिजो सांसद भएर पनि कानूनलाई जनमुखी बनाउने कार्य गरेको छु ।
अहिले काठमाडौं महानगरपालिकामा विद्यालयमा नेपालभाषामा पढ्न पाउने व्यवस्था गरिएको छ । यसमा मेरो पनि योगदान छ । यसअघि महानगरले नेपालभाषामा निवेदन दिने निर्णय गर्दा सर्वोच्च अदालतले आदेश दिएर बन्द गरेको थियो । त्यसपछि संविधानले नै सबै भाषालाई सम्मान गर्ने भनेपछि त्यसैको भावनाअनुसार स्थानीय मातृ भाषामा पठनपाठन गराउने व्यवस्था गर्न अनिवार्य शिक्षाको ऐन बनाउने वेला म संयोजक थिए । त्यो वेलामा मैले धेरै पहल गरेर त्यो व्यवस्था गरिएको हो ।
त्यसैले राष्ट्र र जनताको पक्षमा काम गर्न पहल गरेको छु । भोलि काठमाडौं उपत्यकासँग जोडिएका कुरामा पनि भूमिका निर्वाह गर्नुका साथै अझै धेरै ऐन–कानून निर्माण गर्दा त्यसलाई जनमुखी बनाउन सक्रिय भूमिका रहनेछ । धेरै ऐन बनाउन बाँकी रहेकाले मेरो सक्रिय भूमिका रहन्छ ।
– तपाईंले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पनि सम्हालिरहनुभएको छ । तपाईंले मन्त्रालयको नेतृत्वमा रहेर केके महत्वपूर्ण कार्य गर्नुभयो ?
खासमा कोभिडबाट धेरै असर गरेको छ पर्यटन क्षेत्रलाई । म आइसकेपछि पर्यटन क्षेत्रमा रहेका जति पनि व्यवसायीमा उत्साह भर्ने काम गरेको छु । पर्यटन क्षेत्रलाई एउटा महत्वपूर्ण गन्तव्य बनाउनुपर्छ भनेर ७३ बुँदे अल्पकालीन, मध्यकालीन र दीर्घकालीन कार्ययोजना अघि सारेको छु । नेपालको पर्यटन क्षेत्रलाई हिमाल र ट्रेकिङमा मात्र नभएर सबै प्रदेशसँग जोड्ने योजना अघि सारेको छु । १२ महिना पर्यटक गन्तव्य मुलुक बनाउन १० वर्षे नेपाल भ्रमण वर्ष दशक भनेर घोषणा गरिसकिएको छ ।
यद्यपि निर्वाचन आचारसंहिताका कारण सार्वजनिक हुन सकेको छैन । पर्यटनको मुख्य आधार भनेको संस्कृति नै हो । स्तरीय पर्यटक आउँदा हामीले उनीहरुलाई बसोबासका लागि पु¥याउनुपर्ने स्टान्डर्ड मापदण्ड पनि बनाउनुपर्नेछ । यसका लागि पूर्वाधार सन् २०२३ देखि २०३२ सम्म भ्रमण दशक मनाउने र यस अवधिमा ३५ लाख पर्यटक भित्र्याउने लक्ष्य अघि सारेका छौं ।
अर्को, नागरिक उड्डयन क्षेत्रलाई विस्तार गर्नुपर्छ । एयरपोर्टमा धेरै सञ्चालन गर्न हामी युरोपियन युनियनले २०१३ बाट लगाएको कालोसूचीबाट हटाउने प्रयास पनि गरिएको छ । ईयूको कालोसूचीबाट हट्दैछ केही समयभित्र । यसैबीचमा पनि नेपाल र अमेरिकाबीचमा हवाई उडान गर्न सम्झौता गर्दैछौं ।
यस्तै युरोपले पनि कालोसूचीमा राखेको अवस्थामा स्विट्जरल्याण्ड र नेपालबीच उडान सम्झौता गर्ने निर्णय पनि भइसकेको छ । मन्त्रिपरिषदबाट निर्णय पनि भइसकेको छ यी दुई देशबीच हवाई उडान गर्ने भनेर । यसरी सीधै पर्यटक आउनसक्ने वातावरण बन्छ । कोरिया, अस्ट्रेलिया र अफ्रिकासँग पनि सीधै उडान गर्न पहल गरिरहेका छौं । संसारका धेरै मुलुकबाट सीधै आउने वातावरण बनाउन खोजिरहेका छौं ।
अर्को, नेपालको एकदमै महत्वपूर्ण भनेको निजगढ विमानस्थल हो । यसलाई प्राथमिकतासाथ अघि बढाइरहेका छौं । अदालतको फैसलाबाट रोकिएको अवस्था थियो । अध्ययन समिति बनाएर अघि बढाउन खोजिएको छ । यो कार्य पनि अघि बढ्दैछ । पोखराको अन्तर्राष्ट्रिय विमानस्थललाई पनि जनवरीबाट अगाडि बढाउने भनेर काम गरिरहेका छौं ।
– तपाईंको कार्यकालमा पनि नेपाल एयरलाइन्स उत्रिन सकेन नि ?
चिन्तित हुँदाहुँदै पनि समस्या भयो । सरकारले योग्य नठानेर हटाउन खोज्दा अदालतले स्टे गरेर रोकिदियो । सरकारले नियुक्ति गरेको व्यक्तिलाई योग्य नठानेर हटाउन खोज्दा अदालतले रोकेपछि व्यवस्थापन कार्य एकदमै प्रभावित भएको छ । यसलाई व्यवस्थित गरेर लैजानुपर्छ भन्ने मान्यतासहित काम अघि बढिरहेको छ ।
– तपाईंले यसअघिको सरकारले गरेका नियुक्ति हटाउने गर्नुभयो नि ?
मैले त्यसरी कसैलाई हटाएको छैन । स्पष्टीकरण आवश्यकताअनुसार सोध्नुप¥यो नै । नेपाल एयरलाइन्समा त पहिले नै हटाउने तयारी थियो । म आएपछि कारबाही प्रक्रियामात्रै अघि बढेको हो । विकास समितिमा पनि विभिन्न समस्या देखिएपछि कारबाही प्रक्रिया अघि बढाइएको हो । गलत भएको छ भनेर आएपछि त्यसलाई स्पष्टीकरण सोध्ने काम त गर्नैप¥यो । यस्ता विषयमा पनि अदालतले स्टे गरेको छ । मलाई अचम्म लागेको छ ।
– अन्तिममा केही छुटेका छन् ?
अन्तिममा मेरो क्षेत्रका मतदातालाई जसरी २०७४ को निर्वाचनमा निर्वाचित गर्नुभयो त्यसरी नै अहिले पनि अमूल्य मत दिएर जिताउनुहुन्छ भन्ने विश्वास लिएको छु । मैले जितेपछि इमानदारीपूर्वक काम गर्दै आएको छु । उहाँहरुको सुखदुःखमा सँगसँगै छु । संकटमा पनि सँगै छु । राष्ट्रिय राजनीतिमा पनि मैले सक्रिय भूमिका निर्वाह गर्दै आएको छु । मैले यो क्षेत्रलाई नमुना बनाउने परिकल्पना गरेको छु । हाम्रा संस्कृति, सम्पदा, जात्रालाई संरक्षण गर्ने कार्यलाई केन्द्रित गरेर विकास गर्ने योजना पूरा गर्न मलाई विश्वास गरेर अमूल्य मत दिनुहोला । वाम लोकतान्त्रिक गठबन्धनबाट निर्वाचन क्षेत्र नम्बर ८ मा उम्मेदवार छु । कलम निर्वाचन चिह्नमा मतदान गरेर सहयोग गर्न विनम्र अनुरोध गर्दछु ।
भोजपुर । भोजपुरबाट प्रतिनिधिसभाका स्वतन्त्र उम्मेदवार दीलिपकुमार खतिवडाले आफूलाई प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईका सल्लाहकार भद्र पराजुलीले आक्रमणको प्रयास गरेको बताएका छन् । राई भोजपुर प्रदेशसभा निर्वाचन क्षेत्र १ बाट चुनावी मैदानमा छन् ।
शनिबार साँझ दोभानेमा घरदैलो सकेर दिङ्लामा पूर्वमेयर वीरबल राईहरूसँग खाना खाइरहेको बेला पराजुलीले आफूमाथि आक्रमण गर्न खोजेको खतिवडाको आरोप छ ।
‘जनतासँगको घरदैलो सकी दिङ्ला बजारको एवान होटलमा पूर्वमेयर वीरबल राईसमेतसँग खाना खाइरहेको अवस्थामा बहालवाला मुख्यमन्त्री राजेन्द्र राईको सल्लाहकार भद्र पराजुलीसमेतले म प्रतिनिधिसभाको स्वतन्त्र उम्मेदवारमाथि सांघातिक आक्रमण गर्ने प्रयास गरेको हुँदा अब यो देशमा सुरक्षित हुने अवस्था नरहेकाले आम जनतासँग मेरो जीवन रक्षाको लागि अनुरोध गर्दछु’, खतिवडाले फेसबुकमा लेखेका छन् ।
पराजुलीले भने शनिबार होटलमा भेट भएको तर आफूले कुटपिट नगरेको बताए । उनले भने, कांग्रेसका केही नेताहरूले मलाई बोलाउनुभएको थियो । माछाको उम्मेदवार त्यहीँ हुनुदो रहेछ । झोले ठग भनेर मलाई तथानाम गर्नुभो । उहाँ मेरो नाताकै मान्छे हो । म बाहिर निस्केँ । अरुले हतेरेर माथिबाट लानुभो ।’
खतिवडा रक्सीले मातेर बसेको भन्दै मान गरिरहँदा उल्टै आफूमाथि दुर्व्यवहार गरेको पराजुलीले बताए ।
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको स्वाभिमान जगाउने पार्टी एमालेमा मात्रै भएको बताएका छन् । सुर्खेतको चुनावी सभालाई सम्बोधन गर्दै उनले देशी विदेशी शक्ति मिलेर एमाले हराउन गठबन्धन गरेको आरोप लगाए ।
उनले भने, ‘देशी विदेशी शक्ति मिलेर एमालेका विरुद्ध गठबन्धन र षड्यन्त्र गरिरहेका छन् । एमालेलाई घेराबन्दी गर्न खोजिरहेका छन् । तर, मैले भन्ने गरेको छु । सयवटा स्यालले पनि एउटा सिंहलाई घेराबन्दी गर्न सक्दैन । एमालेलाई समाप्त पार्ने षड्यन्त्रले मुखमा नअटाउने जवाफ दिन्छन् ।’
गठबन्धनको कुनै लक्ष्य नभएको टिप्पणी गरे । एउटै घोषणापत्र ल्याउन नसक्नेले देशको विकास गर्छु भन्ने भ्रममा नपर्न ओलीको आग्रह थियो । गठबन्धन दलले छुट्टाछुट्टै कार्यक्रम ल्याएर जनतामा भ्रम फैलाउन खोजेको जिकिर गरे ।
उनले आगामी निर्वाचनमा राष्ट्रवादी शक्ति एमालेलाई विजयी गराउन आग्रह गरे । गठबन्धन स्वार्थहरूको जोडजाड भएको भन्दै ओलीले उम्मेदवारसमेत उठाउन नसक्ने दलले देश हाँक्न नसक्ने बताए ।
एमालेले बाहेक देशमा अरु कुनै दलले विकास निर्माणको काम नगरेको उनको दाबी छ ।
सुर्खेत । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कर्णालीमा सत्ता गठबन्धन र एमालेबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतका २ प्रतिनिधिसभा र ४ प्रदेशसभामा समेत यी दुई राजनीतिक शक्तिबीच मुख्य प्रतिस्पर्धा देखिएको हो ।
सुर्खेत क्षेत्र नम्बर १ मा प्रतिनिधिसभामा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का उम्मेदवार छन् । २०७४ को निर्वाचनमा नेकपा माओवादी र नेकपा एमालेको वाम गठबन्धनबाट उम्मेदवार बनेका एमालेका ध्रुवकुमार शाहीसँग झण्डै तीन हजार मतान्तरले पराजित खड्का यसपालि उही माओवादीको आडमा सहज संसद छिर्ने दाउमा छन् ।
गएको स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरुले प्राप्त गरेको मत परिणामअनुसार सुर्खेत क्षेत्र नम्बर १ मा गठबन्धन बलियो देखिन्छ । यहाँ कांग्रेस पहिलो शक्ति देखिन्छ । स्थानीय तह निर्वाचनमा कांग्रेसका वडाध्यक्षहरुले ३६ हजार ९२८ मत प्राप्त गर्दा दोस्रो बनेको एमालेले ३४ हजार ८४३ मत पाएको छ ।
माओवादीले ५ हजार ७५, राप्रपाले ६६४ मत प्राप्त गर्दा नेकपा एकीकृत समाजवादीले ६३४ मत पाएको छ । यो मत परिणामअनुसार सत्ता गठबन्धनका साझा उम्मेदवार खड्काको पक्षमा ४२ हजार ६३७ मत देखिन्छ । जुन मत एमालेको भन्दा ७ हजार बढी हो ।
गठबन्धनमा गडबड नभए खड्काले स्वतः चुनाव जित्ने देखिन्छ । स्थानीय तहमा लेकवेशी नगरपालिका, भेरीगंगा नगरपालिका र सिम्ता गाउँपालिकामा कांग्रेस र माओवादीले गठबन्धन बनाएर चुनावमा गएका थिए ।
गठबन्धनले लेकवेशीबाहेक अन्य दुई पालिकामा जित हात पार्न सकेन । गठबन्धनबाट कांग्रेसले प्रमुख जितेको लेकवेशीमा कांगे्रसका भोट ट्रान्सफर नहुँदा माओवादीले उपप्रमुख जित्न सकेन । अन्य पालिकामा पनि माओवादीलाई अपेक्षाकृत कांग्रेसबाट भोट जान सकेन ।
कर्णालीमा गठबन्धनको मुख्य चुनौती नै भोट ट्रान्सफर नहुनु हो । माओवादीका भोट कांग्रेसमा सहजै जाने तर कांग्रेसका भोट माओवादीमा नजाने डर गठबन्धनमा छ । यो तथ्य स्थानीय तहको मत परिणामले बताइसकेको छ ।
यो क्षेत्रका दुई प्रदेशसभातर्फ प्रदेश १ (१) मा नेपाली कांग्रेसका खड्क पोखरेल र १ (२) मा माओवादीका कृष्ण जिसी उम्मेदवार छन् । एमालेले १ (१) मा पूर्वमाओवादीसमेत रहेका ठम्मर विष्ट र १ (२) मा डण्डीप्रसाद शर्मालाई उम्मेदवार बनाएको छ । पोखरेललाई माओवादीका कारण चुनाव जित्न सहज छ भने जिसीका लागि कांग्रेस निर्णायक छ ।
गठबन्धनभन्दा कमजोर देखिएको एमालेका विष्ट र शर्मालाई गठबन्धनभित्र खेल्न नसके हार्ने निश्चित छ । स्थानीय तहको निर्वाचनमा चिङ्गाड गाउँपालिकामा कांग्रेसलाई हराउन लागेको भन्दै माओवादीप्रति कांग्रेस सन्तुष्ट नरहेको बताउने गरिएको छ ।
यस्तै सुर्खेत २ मा प्रतिनिधिसभामा कांग्रेसका र प्रदेशतर्फ माओवादी र कांग्रेसका उम्मेदवार छन् । कांग्रेसका हृदयराम थानी प्रतिनिधिसभा उम्मेदवार छन् । प्रदेश २ (१) मा कांग्रेसका कालीप्रसाद शाक्य र २ (२) मा माओवादीका विन्दमान विष्ट उम्मेदवार छन् । प्रतिनिधिसभामा एमालेका अमृत बीसी र प्रदेशसभामा यामलाल कँडेल प्रदेश २ (१) र २ (२) मा ताराकेशर गौतम उम्मेदवार छन् ।
प्रतिनिधिसभामा गठबन्धनलाई सघाउने तर, प्रदेशसभामा मित्रवत प्रतिस्पर्धा गर्नै भन्दै समाजवादीले क्षेत्र नम्बर २ का दुइटै प्रदेशसभामा आफ्ना उम्मेदवार उठाएको छ । समाजवादीले २ (१) मा शिवप्रसाद उपाध्याय र २ (२) मा जिल्ला अध्यक्ष मोहनसिंह बडुवाललाई उम्मेदवार बनाएको छ ।
दुवै क्षेत्रमा गठबन्धनबाटै बागी उम्मेदवारी परेपछि प्रदेशसभामा रोचक चुनावी भिडन्त हुँदैछ । स्थानीय तह निर्वाचनमा वीरेन्द्रनगर नगरपालिकाको प्रमुखमा एमालेले पाएको मत १६ हजार ३८ छ भने कांग्रेसले १५ हजार ४८४ पाएको छ ।
यद्यपि वडाको मतलाई आधार मान्ने हो भने १४ वडामध्ये ५ वडा जितेको कांग्रेससँग १६ हजार १६३ मत छ । १० वटा वडा जितेको एमालेसँग १८ हजार ६१५ मत छ । यस्तै माओवादीसँग ३ हजार ५५८ मत छ ।
यहाँ माओवादी-कांग्रेसको मत जोड्दा १९ हजार ७२१ हुन्छ । वीरेद्रनगर नगरपालिकामा गठबन्धन गरेका माओवादी र कांग्रेसले हार व्यहोर्नुपरेको थियो । तत्कालीन समयमा टिकट वितरणलाई लिएर कांग्रेसभित्र हावी भएको गुटबन्दीले संस्थापन इतर पक्षको असहयोगका कारण कांग्रेसले प्रमुखमा झिनो मतान्तरले पराजित हुनुपरेको थियो । माओवादीले उपप्रमुखमा कांग्रेसले पाएको मतको आधा पनि पाएन ।
गठबन्धन भएकै कारण कांग्रेसलाई सुर्खेतमा चुनाव जित्न सजिलो देखिए पनि माओवादीका उम्मेदवार भने कांग्रेसबाट नै असुरक्षित छन् । प्रतिनिधिसभामा उम्मेदवार बनेका हृदयराम थानी २०७४ को निर्वाचनमा एमालेका नवराज रावतसँग हारेका थिए । सहकारीमन्त्री भइसकेका थानीलाई सहकारीकर्मी रहेका एमालेका नयाँ अनुहार अमृत बीसीले चुनौती दिइरहेका छन् ।
स्थानीय तहको मत परिणामले थानीलाई चुनाव जित्न सहज हुने देखिन्छ । माओवादी र कांग्रेसको मत ४१ हजार ३६६ छ । गठबन्धनलाई चुनाव जित्न सहज हुने अर्को पक्ष कांग्रेसभित्रको सन्तुलन हो । टिकट वितरणमा स्थानीय तहको निर्वाचनमा रुष्ट भएका थानीलाई प्रतिनिधिसभाको उम्मेदवार बनाइएपछि तत्कालका लागि कांग्रेसको आन्तरिक किचलो अन्त्य भएको बताइएको छ ।
यस्तै एमालेका बीसी पनि बलिया उम्मेदवार हुन् । स्थानीय तहमा एमालेका वडाध्यक्षहरुले पाएको मत ३० हजार ४६९ छ । बीसीको मुख्य चुनौती एमालेका सांगठनिक भोट जोगाउनु र गठबन्धनभित्र खेल्नु हो । पश्चिम कांग्रेसमा जिल्ला समन्वय समितिमा माओवादीले दिएको धोका र गठबन्धनभित्र टिकट वितरणलाई लिएर असन्तुष्ट बनेको पक्षको भोट काट्न सके बीसी उदाउनसक्ने सम्भावना छ ।
यस्तै प्रदेशसभा २ (१) मा गठबन्धनबाट कांग्रेसका कालीप्रसाद शाक्य र एमालेका यामलाल कँडेलबीच मुख्य प्रतिस्पर्धा हुनेछ । २०४९ सालमा वीरेन्द्रनगर नगरपालिकाको मेयरमा चुनावी भिडन्त गरेका शाक्य र कँडेल ३ दशकपछि पुनः चुनावी मैदानमा देखापरेका छन् । कँडेल २०७४ मा प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।
शाक्य कांग्रेसका पुराना नेता हुन् । पार्टीभित्र समन्वयकारी भूमिका खेल्दै आएका शाक्य गठबन्धनको बलमा बाजी मार्ने दाउमा छन् । कँडेलले चुनाव जित्ने मुख्य आधार बलियो संगठन र लोकप्रियता भएको बताउँदै आएका छन् । गठबन्धनमा कुनै टसल नभए कँडेलको दोस्रो पटकको प्रदेशसभा यात्रामा ब्रेक लाग्ने निश्चित छ ।
कँडेलको अर्को चुनौती समाजवादीका शिवप्रसाद उपाध्याय हुन् । तत्कालीन एमालेभित्र विद्रोही छवि बनाएका उपाध्यायले कँडेलविरुद्ध दुई पटक बागी लडेर हराइसकेका छन् । एमाले फुटपछि बनेको समाजवादीमा लागेका उपाध्याय तेस्रो पटक कँडेलको चुनौती बनेर देखापरेका छन् ।
यस्तै प्रदेशसभा २ (२) मा यसपालि दुई पूर्वसहकर्मी र गठबन्धनबीच रोचक प्रधिस्पर्धा हुने भएको छ । एमालेमा लामो समय मिलेर काम गरेका पूर्वसहकर्मीहरु एमालेका ताराकेशर गौतम र समाजवादीका मोहनसिंह बडुवाल तथा गठबन्धनबाट माओवादीका विन्दमान विष्टबीच मुख्य प्रतिस्पर्धा हुँदैछ । तुलनात्मक रुपमा यो क्षेत्रमा पनि गठबन्धन बलियो हुँदा मित्रवत प्रतिस्पर्धा गर्ने भन्दै समाजवादीका बडुवालको उम्मेदवारीले गौतम र विष्ट रेड जोनमा छन् ।
बडुवाललाई भेगीय र लोकप्रिय मत आउने आँकलन गरिएको छ । उनले एमालेको मात्रै होइन गठबन्धनकै मत काट्न सक्ने बताइएको छ । कमजोर संगठन भएको समाजवादीका बडुवालले गठबन्धन र एमालेभित्र खेलेर चुनावी परिणाम आफ्नो पोल्टामा पार्न सक्ने सम्भावना रहेको बताइन्छ ।
प्रदेश २ (२) का तीन पालिकामा गत स्थानीय तहको मत परिणामअनुसार माओवादीले वडामा पाएको मत ८ हजार १०३ छ । कांग्रेसको सबैभन्दा बढी १३ हजार ५४२ छ । यस्तै एमालेसँग ११ हजार ८५४ मत हुँदा समाजवादीसँग जम्मा १ हजार १८४ मत छ । यो आधारमा कांग्रेस-माओवादीबीचमा मात्रै गठबन्धन हुँदा पनि माओवादी नेता विन्दमान विष्ट अगाडि आउने देखिन्छ । यी दुई दलको मत जोड्दा २१ हजार ६४५ हुन्छ ।
रुपन्देही । अख्तियारको कारबाही सूचीमा परेपछि तनाबमा रहेका नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य शेषकान्त गौतम केही दिनअघि एमालेका उम्मेदार रहेका गोकर्ण विष्टलाई सहयोग नगरी सत्ता गठबन्धनको उम्मेदार रहेकी नेकपा एसकी सचिव रामकुमारी झाँक्रीलाई सहयोग गर्ने घोषणा गरे ।
अख्तियारले कारबाही गर्ने भएपछि सत्ता गठबन्धनको साथ लागेको रहस्य खुलेको छ । नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले नेता गौतमको एमालेमा संरक्षण नभएकैले आफ्नो पार्टीमा आएको बताएका छन् ।
एमाले सत्तामा रहँदा निरन्तर लाभको पदमा रहेका गुल्मीका गौतमले पत्रकार सम्मेलन गरेर ‘म एमालेमै छु तर रामकुमारी झाँक्रीलाई जिताउन सघाउँछु’ भनेपनि अध्यक्ष नेपालले पार्टीमा आएको बताए । ‘एमाले सुधार्न गौतमले खोज्नुभएको थियो तर के संभव हुन्थ्यो र अब सकिएन भनेर हामीसँग आउनुभयो’ नेता नेपालले भने ।
उनको यो घोषणासँगै गौतम एमाले छोडनुको मुख्यकारण अख्तियारको कारबाहीबाट उम्कने योजनाका साथ भएको एमाले कार्यकर्ताहरुले बताएका छन् ।
अख्तियारले अदालतमा मुद्दा दायर गरेपछि सत्ताको शरण खोजिरहनु भएको थियो भने एमाले गुल्मीले स्थानीय तहको निर्वाचनको बेला पार्टीका उम्मेदवार हराउन लागेको भन्दै कारबाहीको लागि सिफारिस गरेकोले एमालेकाविरुद्ध लाग्नु भएको हो ‘ एमाले गुल्मीका एक नेताले भने ।
बिगतमा बामदेव गौतम एमालेको तर्फबाट नेतृत्व गरेर सरकारमा जाँदा राष्ट्रिय अनुसन्धान विभाग तथा गृहमन्त्रालय मातहतको लागूऔषध नियन्त्रणको प्रमुखसमेत रहेका गौतम पछिल्लो पटक ओली नेतृत्वको सरकार बनेपछि कफी विकास बोर्डको कार्यकारी निर्देशक थिए ।
गौतम चिया तथा कफी विकास बोर्डको कार्यकारी निर्देशक रहेका बेला अधिकारको दुरुपयोग गरी कर्मचारी नियुक्तिमा बदनियतपूर्ण कार्य गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
अख्तियारले अदालतमा मुद्दा दायर गरेसँगै तनावमा रहेका गौतम एमाले नेताहरुसँग आफूलाई जोगाउन निरन्तर आग्रह गर्दै आएकोमा एमाले नेताहरुले अख्तियारको बिषयमा हात नहाल्ने बताएपछि एमालेसँग असन्तुष्ट थिए ।
गौतमकाविरुद्ध गएको जेठ २६ गते आफै पदपूर्ति समितिको संयोजक भई पदको दुरुपयोग गरी योग्यता नपुगेको व्यक्तिलाई कर्मचारी नियुक्ति गरेको भन्दै मुद्दा दायर गरिएको थियो ।
अख्तियारले गौतमले कर्मचारी नियुक्तिमा आर्थिक लाभ लिई योग्यता नपुगेको व्यक्तिको फारम स्वीकृत गर्ने र योग्यता नपुगेका व्यक्तिहरुको तथ्यलाई लुकाईछिपाई बदनियतपूर्ण कार्य गरेको भन्दै गौतमकाविरुद्ध अभियोग पत्र दायर गरेको छ ।
रुपन्देही । दाङमा प्रतिनिधिसभातर्फ तीनवटै निर्वाचन क्षेत्रमा प्रभावशाली पुरूष उम्मेदवारसँग चर्चित नेतृहरू प्रतिस्पर्धामा छन् ।
क्षेत्र नम्बर १ मा नेकपा एसका नेता तथा मन्त्री मेटमणि चौधरीसँग एमालेकी शान्ता चौधरी मैदानमा छिन् । उम्मेदवार बन्न नपाएपछि पार्टीबाट विद्रोह गरेर स्वतन्त्र उठेकी गंगा चौधरीले भने शान्तालाई चुनौती थपेकी छन् । यो लुम्बिनी प्रदेशको स्थायी राजधानी तोकिएको क्षेत्र हो । यो क्षेत्रमा लमही नगरपालिका, राप्ती, गढवा र राजपुर गाउँपालिका पर्छन् ।
क्षेत्र नम्बर २ मा नेकपा एमालेका महासचिव तथा पूर्वमुख्यमन्त्री शंकर पोखरेलसँग गठबन्धनबाट माओवादी नेतृ रेखा शर्मा मैदानमा छन् । ३ मा कांग्रेसका प्रभावशाली नेता दीपक गिरीविरुद्ध एमालेले कोमल वलीलाई अघि सारेको छ ।
प्रमुख दलमध्ये नेकपा एमालेले २ वटा निर्वाचन क्षेत्रमा महिला उम्मेदवार बनाएको छ । सत्तागठबन्धन दल माओवादी केन्द्रले एउटा क्षेत्रमा महिला उम्मेदवार खडा गरेको छ । योसँगै तीनै निर्वाचन क्षेत्रमा महिला नेतृहरू ‘हेभिवेट’ पुरूष उम्मेदवारसँग प्रतिस्पर्धामा रहेकाले दाङ चर्चामा छ ।
शान्ता भर्सेस मेटमणि
क्षेत्र नम्बर १ मा लामो समय एकै पार्टीमा बसेका शान्ता र मेटमणिबीच प्रतिस्पर्धा रहेको छ । एमालेले शान्ता चौधरीलाई उम्मेदवार बनाएको छ । कमलरी आन्दोलनले जन्माएकी नेतृ चौधरीलाई यसअघि एमालेले समानुपातिकबाट सांसद बनाएको थियो । सत्ता गठबन्धनका साझा उम्मेदवार मेटमणि हालका शहकारी विकास मन्त्रीसमेत हुन् । २०७४ सालको निर्वाचनमा एमालेका तर्फबाट यहीँ निर्वाचन क्षेत्रबाट चुनाव जितेका मेटमणि तत्कालीन एमालेका जिल्ला इञ्चार्ज तथा केन्द्रीय सदस्य थिए । पार्टी विभाजन भएसँगै माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा लागेका मेटमणिको राजनीतिक पृष्ठभूमि हेर्दा शान्ताभन्दा अगाडि छन् ।
निर्वाचन क्षेत्र नं. १ थारू बाहुल्यता भएको क्षेत्र हो । कमलरी आन्दोलनदेखि पछाडि पारिएको वर्ग थारू समुदायमा राजनीतिक चेतना जगाउन दुबैले सँगै मिलेर काम गरेकाले पनि पूर्वसहकर्मीबीच हुने प्रतिस्पर्धालाई चासोको साथ हेरिएको छ ।
यो क्षेत्रमा छिमेकी जिल्ला प्यूठान, अर्घाखाँचीलगायतबाट बसाइँ सरेस आएका छन् । प्यूठानी धेरै रहेको हुँदा यहाँ जनमोर्चाको पनि राम्रो पकड छ । जनमोर्चा गठबन्धन दलमै छ । अर्कोतर्फ विगतमा एमालेकै उम्मेदवार भएर मेटमणिले यही क्षेत्रबाट जितेको हुँदा शान्तालाई अहिले त्यो मत मिल्नसक्छ ।
शान्ताको लागि एमाले नेतृ तथा पूर्वसांसद गंगा चौधरी चुनौतीको रूपमा आएकी छन् । गंगाले शान्ताको नै भोट काट्ने भएकाले मेटमणिलाई सहज हुने आंकलन गरिएपनि मेटमणिको पार्टीको आफ्नो जनमत नरहेकाले सबै अरु पार्टीमा भर पर्नुपर्ने अवस्था छ ।
रेखा भर्सेस शंकर
माओवादी उपाध्यक्ष कृष्णबहादुर महराले यसअघि जितेको क्षेत्र नम्बर २ मा अहिले पूर्वमन्त्री रेखा शर्मालाई प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार बनाएको छ । गठबन्धन दलको साझा उम्मेदार रहेकी शर्माले २०६४ सालको संविधानसभा निर्वाचन पश्चिम दाङबाट जितेकी थिइन् । उतिखेर सबै क्षेत्र माओवादीले क्लिनस्वीप गरेको थियो ।
त्यो समय दाङमा पाँच निर्वाचन क्षेत्र थिए । पूर्वसभामुख महरा प्रतिस्पर्धामा जान नखोजेपछि पार्टीले रेखालाई उम्मेदवार बनाएको हो । यस क्षेत्रमा घोराही उपमहानगरपालिका र बंगलाचुली गाउँपालिका छन् । रोल्पा र प्यूठानसँग सीमा जोडिएको यो क्षेत्रमा अधिकांश रोल्पाबाट बसाइँ सरेर आएका छन् । आस्थाका दृष्टिकोणले रोल्पालीहरू अधिकांश माओवादीनिकट छन् । त्यसको लाभ रेखालाई हुनसक्छ । उनी मन्त्री हुँदा वा राजनीतिकरूपमा पनि कुनै पनि विवादमा नमुछिएकी नेतृ हुन् । त्यसको लाभ उनले उठाउन सक्छिन् । यो नेपाली कांग्रेसको बलियो पडक भएको क्षेत्रसमेत हो । त्यसैले उनलाई थप फाइदा हुनसक्छ । तर, स्थानीय तहमा माओवादी र कांग्रेसबीच भएको विवाद, त्यसअघि त्यहाँका कांग्रेस नेता-कार्यकर्ता र माओवादीको विवादले उनलाई नेकपा एमालेका महासचिव शंकर पोखरेल हराउन सहज हुनेछैन ।
२०७४ सालको निर्वाचनमा शंकर वाम गठबन्धनको तर्फबाट निर्वाचन क्षेत्र नम्बर २ को (क) बाट निर्वाचित भएका थिए । त्यसपछि उनी लुम्बिनी प्रदेशको मुख्यमन्त्री बने ।
त्यो बेला निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनकै कृष्णबहादुर महरा निर्वाचित भएका थिए । पछिल्लो समय शंकरको पक्षमा दंगाली जनताको मनमा एउटा राम्रो छाप छ । उनकै पहलमा र उनी मुख्यमन्त्री हुँदा लुम्बिनी प्रदेशको स्थायी राजधानी रूपेन्देहीबाट दाङ सार्न भूमिका खेलेको जस उनैलाई छ । त्यसैलाई उनले भोट तान्ने प्रमुख अस्त्रको रुपमा प्रयोग गर्ने देखिन्छ । मनोनयन दर्ता गरेपछि उनले त्यो कुरा पनि प्रमुखताका साथ उठाएका थिए । यसका साथै उनको पक्षमा बोल्ने दंगालीले भावी अर्थमन्त्री, प्रधानमन्त्री तथा एमालेको अध्यक्षको समेत दावेदार भएकाले जसरी पनि जिताउनुपर्ने तर्क गरेर मत मागिरहेका छन् ।
गत वैशाख १० मा भएको स्थानीय तह निर्वाचको परिणामपछि पोखरेलले चुनाव सजिलै जित्नेमा ढुक्क देखिन्छन् । गठबन्धन दलका उम्मेदवारलाई हराउँदै घोराही उपमहानगरपालिकासहित बहुमत वडाध्यक्षमा एमालेले जितेका छ स्थानीय तहको निर्वाचनमा । तर, माओवादीमा इमान्दार छबि बनाएकी रेखा र पार्टीभित्र कम्युनिष्ट आन्दोलन र जबजको ब्याख्याता मानिने शंकरबीचमा प्रतिस्पर्धा पेचिलो बन्ने स्थानीयको आंकलन छ ।
कोमल भर्सेस दीपक
राष्ट्रियसभा पूर्वसदस्य कोमल वलीलाई निर्वाचन क्षेत्र नम्बर ३ मा नेकपा एमालेले प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ । दाङ टिकरीकी कोमल कला क्षेत्रबाट उदाएकी नेतृ हुन् । स्थानीय निर्वाचनमा तुलसीपुर उपमहानगरपालिकामा गठबन्धनलाई हराउँदै एमाले उम्मेदवार विजयी हुनुले पनि कोमल हौसिएकी छन् । वली २०७४ सालको निर्वाचनताका राप्रपा छोडेर एमाले प्रवेश गरेकी हुन् ।
उनका प्रमुख प्रतिष्पर्धी नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरी सत्तागठबन्धनबाट मैदानमा छन् । विगतमा शंकर पोखरेलसँग पनि चुनाव लडेका उनी लामो समयदेखि राजनीतिमा सक्रिय छन् । उनकै टीम पार्टीको १४औं महाधिवेशनमा जिल्लादेखि प्रदेशमा बलियो छ । पार्टीभित्र संस्थापन पक्षधरलाई हराएर गिरी लुम्बिनीमा बलियो नेता बनेका छन् ।
तर, स्थानीय निर्वाचनमा यहाँ एमालेले ल्याएको मत, पार्टीभित्रको दुई समूह विवाद, माओवादी-कांग्रेसबीचको अन्तरघुलनमा कमी, नेकपा एसले प्रदेशमा उम्मेदारी नपाएपछिको अन्यौलता गिरीका चुनौती हुन् ।
काठमाडौं । विप्लव समूहका ७५ जना नेता कार्यकर्ता नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका छन् । बिहीबार एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा अध्यक्ष माधवकुमार नेपालले टीका र खादा लगाएर स्वागत गरे ।
कार्यक्रममा नेपालले पार्टीमा समाहित भएका नेता कार्यकर्ताहरुलाई उचित भूमिका दिइने भन्दै आसन्न निर्वाचनलक्षित कार्यक्रममा लाग्न र पार्टीका प्रत्यक्ष तथा समानुपातिकसहित वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरूलाई जिताउन लाग्न निर्देशन दिए ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय प्रतिनिधि सदस्य डिकेश लामा, हरी खड्कासहित ७५ नेता तथा कार्यकर्तालाई नेपालले स्वागत गरेका हुन् ।
कार्यक्रममा लामाले कम्युनिष्ट पार्टीको रक्षा पुनर्एकीकरण एकीकृत समाजवादीबाट मात्र सम्भव भएको निष्कर्षसहित आफूहरू समाहित भएको बताए ।
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीलाई टक्कर दिएपछि जथाभावी बोलेर हिँडेका टिप्पणी गरेका छन् ।
आज बिहान पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले केपी ओलीलाई कसैले ढाल्न सक्दैन भन्नेहरुलाई केपी ओलीलाई ढालेर देखाएको बताए ।
उनले भने,‘केपी ओलीलाई लागेको थियो कसैले टक्कर नै दिन सकिन्दै भनेर । टक्कर दिएपछि अहिले केपी ओली बौलाएको होकी के बोल्छन् बोल्छन् । बरबराएको होकी उटपटयाङ कुरा गर्छन । त्यो सबै संग्रह निकाल्न पर्यो केके बोल्यो सुरु देखि अहिलेसम्म केके गाली गलौजको भाषाहरु बोलेको छ । उनका कुराहरु भनेको आक्रोशले भरिएको छ ।’
उनले स्वार्थी मान्छेहरुले जनतालाई गफले अल्मलाएको बताए । उनले चेतना नभएको र भ्रममा परेको जनतालाई जसले पनि अल्मल्याउन सक्ने बताए ।
नेपालले भने,झूटो प्रचार गरेर अल्मल्याउन सक्छ । हावा गफ गरेर अल्मल्याउन सक्छ । त्यसभित्र केही तत्वहरू हुनसक्छ । जसमा स्वार्थपन रहेको हुन्छ । स्वार्थमा गाजिएका हुन्छन् । केही केही पार्टीहरु देख्नुभएको छ । गफाडीको गफ गर्ने थलो भएको छ । अनि केही मान्छेहरुलाई यतिकै गफ र स्वार्थमा अल्मलाएर राखेको हुन्छ ।’
काठमाडौं । निर्वाचन आयोगले बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे र प्रमुख सचिव मुकुन्द्रप्रसाद निरौलालाई स्पष्टीकरण सोधेको छ । निर्वाचन आचारसंहिता, २०७९ लागू भइसकेपछि बागमती प्रदेश सरकारले ‘प्रदेश हस्तकलाग्राम स्थापना तथा सञ्चालनको सम्बन्धमा व्यवस्था गर्न बनेको अध्याधेश र प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश जारी गरेको भन्दै स्पष्टीकरण सोधेको हो ।
आयोगले पत्र प्राप्त भएको समयले २४ घण्टाभित्र निर्वाचन आयोगमा प्राप्त हुने गरी स्पष्टीकरण पेश गर्न निर्देशनसमेत दिएको आयोगका प्रवक्तासमेत रहेका सहसचिव शालिग्राम पौडेलले नेपाल प्रेसलाई जानकारी दिए ।
पत्रमा भनिएको छ –निर्वाचन आचारसंहिता, २०७९ को दफा ५, नेपाल सरकार, प्रदेश सरकार, मन्त्री र स्थानीय कार्यपालिका तथा सोका पदाधिकारीले पालना गर्नुपर्ने आचरण अन्तर्गत खण्ड ख मा ‘वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत भएका बाहेकका अन्य कार्यक्रम गर्न वा नयाँ नीति, योजना वा कार्यक्रमको घोषणा गर्न, स्वीकृत गर्न वा सञ्चालन गर्न नहुने’ भन्ने व्यवस्था छ ।’
बागमती प्रदेश सरकारले असोज ३० मा ‘प्रदेश हस्तकलाग्राम स्थापना तथा सञ्चालनको सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’ र ‘प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’ जारी गरेको थियो । यो निर्वाचन आचारसंहिता, २०७९ को दफा ५ को खण्ड ख को प्रतिकूल रहेको पाइएको आयोगले जनाएको छ । आयोगले प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई उक्त अध्यादेश राजपत्रमा प्रकाशित नगर्नसमेत निर्देशन दिएको छ ।
आयोगले मुख्यमन्त्रीलाई सोधिएको स्पष्टीकरणमा भनिएको छ– प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि निर्वाचन आचारसंहिता लागू भई सकेको अवस्थामा मिति २०७९ असोज १३ मा बागमती प्रदेश सरकारबाट अध्यादेश जारी गर्ने कार्यबाट निर्वाचन आचारसंहिता, २०७९ को दफा ५ को ख को उल्लंघन भएको देखिएकोले यहाँलाई र मुख्यमन्त्री कार्यालयका प्रमुख सचिवलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा ९३० बमोजिम किन कारवाही हुनु नपर्ने हो ? साथै निर्वाचन आचारसंहिता, २०७९ को दफा ४, सबैले पालना गर्नुपर्ने आचरण अन्तर्गत खण्ड न मा रहेको ‘कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न नहुने’ भन्ने व्यवस्थाको विपरीत हुनेगरी अध्यादेश ल्याउने गरी भएको निर्णयलाई किन बदर गर्नु नपर्ने हो ? स्पष्ट पार्न भनिएको छ ।
त्यस्तै प्रमुख सचिवलाई सोधिएको स्पष्टीकरणमा भनिएको छ– निर्वाचन आचारसंहिता, २०७९ को दफा ४, सबैले पालना गर्नुपर्ने आचरण अन्तर्गत खण्ड न मा रहेको ‘कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न नहुने’ भन्ने व्यवस्थाको विपरीत हुनेगरी अध्यादेश किन ल्याउनु परेको हो ? साथै प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा मिति २०७९ असोज १३ मा बागमती प्रदेश सरकारबाट अध्यादेश ल्याउने कार्यबाट निर्वाचन आचारसंहिता, २०७९ को खण्ड दफा ५ को ख को उल्लंघन भएको देखिएकाले यहाँलाई समेत उक्त निर्णयको लागि जिम्मेवार ठहर्याई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा ९३० बमोजिम किन कारवाही हुनु नपर्ने हो ? जवाफ पेश गर्न भनिएको छ।
काठमाडौं । संयुक्त वाम लोकतान्त्रिक गठबन्धन मकवानपुर मनहरी गाउँपालिकाले नेकपा एसका नेता एवम् मकवानपुर २ का उम्मेदवार विरोध खतिवडामाथि कुटपिट भएको समाचारको खण्डन गरेको छ ।
मनहरीका नेपाली कांग्रेसका सभापति प्रकाश बर्तौला, नेकपा माओवादी केन्द्रका सचिव सञ्जीव पाठक र नेकपा एसका अध्यक्ष नारायण श्रेष्ठले संयुक्त विज्ञप्ति जारी गर्दै समाचारको खण्डन गरेका हुन् ।
विज्ञप्तिमा मनहरी गाउँपालिका वडा नं. ४ स्थित संयुक्त वाम लोकतान्त्रिक गठबन्धनले आयोजना गरेको संयुक्त चुनावी सभामा खतिवडा आएलगत्तै एक स्थानीयले अत्याधिक मदिरा सेवन गरी त्यहाँ पुगेको र आफैं लडेर घाइते भएको उल्लेख गरिएको छ । त्यसपछि मदिरा सेवन गरेका व्यक्ति घाइते भएको र उपचारका लागि अस्पताल पठाइएको विज्ञप्तिमा दाबी भनिएको छ ।
यसै विषयलाई लिएर सञ्चारमाध्यमहरुमा आएका नेता खतिवडामाथि हातपातको घटना नभएको उनीहरुले दाबी गरेका छन् ।