काठमाडौं । एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतम आजदेखि विधिवत रुपमा माधवकुमार नेपाल नेतृत्वको नेकपा एसमा प्रवेश गर्दैछन् । तर, उनले सञ्चालन गरेको ‘नेकपा एकता राष्ट्रिय अभियान’ नामको दलका प्रवक्ता तोकिएका उपमहासचिव तथा वरिष्ठ पत्रकार निमकान्त पाण्डेले एसमा प्रवेश गर्ने सूचीमा आफ्नो नाम राख्न अस्वीकार गरेका छन् ।
२०७७ पुस ५ मा संसद विघटन भएपछि ‘पर्ख र हेर’ को नीति अबलम्बन गर्दै गौतमले ‘पार्टी एकता राष्ट्रिय अभियान’ को नाममा एउटा समूह बनाएका थिए । पछि ‘नेकपा एकता राष्ट्रिय अभियान’ नाममा उनले निर्वाचन आयोगमा दल दर्ता गरेका थिए ।
आज कोषाध्यक्षको जिम्मेवारीमा रहेकी पत्नी कुमारी तुलसी थापासहित उक्त दलको केन्द्रीय समितिका ७१ जनालाई लिएर नेकपा एसमा प्रवेश गर्ने तयारी रहेको महासचिव डीबी कार्कीले नेपाल प्रेसलाई बताए ।
यद्यपि, आजको कार्यक्रममा सशरीर उपस्थित हुनका निम्ति यो पंक्ति प्रकाशन भइरहँदा १५ जनामात्रै तयार भएको गौतमको सचिवालयका एक सदस्यले बताए । ‘कतिपय साथीहरु आउन नभ्याए पनि सहमति छ भन्नुभएको हुँदा नाम घोषणा हुन्छ’, कार्कीले भने ।
गौतमले केही महिनाअघि पार्टी एकताका नाममा नेकपा एससँग चलिरहेको वार्ता भंग गरेर एमालेतिर कुरा चलाउन थालेपछि विद्रोह गरेका ५ मध्ये ४ जना पनि नेकपा एसमै जाँदैछन् । तर, गौतमभन्दा ३ घण्टा पहिल्यै, अलग्गै जाने भएका हुन् ।
पाण्डे भन्छन्, ‘भ्रष्टाचार मुद्दाको बचावमा लाग्दिनँ’
गौतमको पार्टीका प्रवक्ता एवं उपमहासचिव निमकान्त पाण्डेले उनको राजनीतिक र व्यक्तिगत जीवनको सफलताका लागि आफू हरदम साथमा रहने, तर नेकपा एसमा जाने कुरामा सहमति नभएको बताए ।
नेपाल प्रेससँग कुरा गर्दा उनले भने, ‘उहाँलाई पोलिटिकल स्पेश पनि चाहिएको हुँदा उहाँ जानुभयो, त्यसमा मेरो कुनै विमति छैन, तर मचाहिँ जान सकिनँ ।’ माधव नेपालका विरुद्ध अहिले भ्रष्टाचार मुद्दा विचाराधीन रहेको अवस्थामा उनको पार्टीमा जाँदा भ्रष्टाचारी जोगाउन गयो भन्ने सन्देश जाने कारण आफू एकतामा सरिक नभएको उनले बताए ।
एकतालाई अनुमोदन गर्न गौतमले बिहीबार बोलाएको केन्द्रीय समितिको बैठकमा पनि पाण्डे गएनन् । ‘मलाई आउनुस् भन्नुभएको थियो’, उनले भने, ‘एकता गर्ने निर्णयमा मेरो सहमति हुन्छ, सही गर्नुपरे गरिदिन्छु, त म अहिले माधव नेपालको पार्टीमा जान्नँ भनेको थिएँ ।’
‘एकता अभियान’ को पृष्ठभूमि
गौतमले एकता अभियान घोषणा गर्दा एमाले र माओवादीबीच एकता भई ‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा)’ नाममा एकीकृत पार्टी सञ्चालनमा थियो । तत्कालीन प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले संसदको विघटन गरेपछि उक्त पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालको समूहले ओलीविरुद्ध समानान्तर गतिविधि सञ्चालन गरेको थियो ।
तर, गौतम कतै लागेनन्, एकता अभियानका नाममा समूह निर्माणमा जुटे । शुरुमा उक्त समूहको ६०१ सदस्यीय ‘केन्द्रीय कमिटी’ थियो । नेकपा नाममा त्यसअघि नै अलग्गै दल दर्ता गरेका ऋषिराम कट्टेलले २०७५ मंसिर २१ गते सर्वोच्चमा रिट दायर गरी आफ्नो दल आफूसँग रहनुपर्ने माग गरेका थिए ।
उक्त रिटमाथि २०७७ फागुन २३ गते सर्वोच्च अदालतले निर्णय सुनाउँदा ओली र दाहाल अध्यक्ष रहने गरी निर्वाचन आयोगमा दर्ता भएको दल ‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा)’ लाई बदर गरिदिएको थियो । सर्वोच्चले एमाले र माओवादी केन्द्रको पूर्वअस्तित्व कायम रहने र एकताका लागि नयाँ नाम र निर्णयका साथ उपस्थित हुन आदेश दिएको थियो ।
त्यसपछि पूर्वएमाले एकातिर, पूर्वमाओवादी अर्कातिर भए । त्यसक्रममा तत्कालीन एमालेको माधव नेपाल समूहले एमालेकै नाममा समानान्तर गतिविधि गर्दै २०७८ भदौमा दल विभाजन गरेका थिए । उक्त आदेशपछि गौतमसँग रहेको ६०१ सदस्यीय केन्द्रीय कमिटीका सदस्यमध्ये कोही पार्टी संस्थापनतिर लागे, कोही भने माधव नेपाल समूहमा गए । त्यसरी मान्छे घट्दै जाँदा उनीसँग अहिले ७१ जना बाँकी भएका हुन् ।
सर्वोच्चको आदेशपछि एकता अभियानको नाम फेरेर ‘नेकपा एमाले, पार्टी एकता राष्ट्रिय अभियान’ बनाएका थिए । उनको अभियानका कारण एमाले एकीकृत हुन सकेन, बरु विभाजित भयो । त्यसपछि फेरि नाम फेरि ‘एमाले’ ठाउँमा ‘नेकपा’ राखे ।
क्षतिमाथि क्षति
गौतमले एकता अभियानलाई अगाडि बढाउँदा बढाउँदै २०७९ असारमा उक्त अभियानका केन्द्रीय सदस्य रहेका युवराज सफलले वामदेवलाई नै पार्टीबाट कारवाही गरेको घोषणा गरे । त्यसपछि गौतमले सफलसहित ६ जनालाई पार्टीबाट निश्काशन गरेको घोषणा गरे । त्यसमा कृष्णगोपाल बञ्जरा, नीलकण्ठ पौडेल र मीठानाथ देवकोटासहितका थिए ।
क्षतिको क्रम रोकिएन । गत पुस–माघ महिनामा एससँग एकताको कुरा चल्दाचल्दै एमालेसँग पनि कुराकानी शुरु गरेपछि थप ६ जनाले उनको कार्यशैलीको विरोध गर्दै पार्टी छोडे ।
त्यसमध्ये गौतमको पार्टीका तत्कालिन उपाध्यक्षका डिल्ली भट्टराई ५ जनासहित माओवादी केन्द्रमा गए । तीमध्ये ४ जनाले नेकपा एससँग अलग्गै कुरा चलाएर आज वामदेवभन्दा ३ घण्टा पहिल्यै प्रवेश गर्ने तयारीमा छन् । त्यसरी अलग्गै एसमा जान लागेका उनका सहयात्री हुन्, रुपन्देहीका महेन्द्रराज शर्मा, मोरङका इन्द्र सुब्बा, भोजपुरका हरि काफ्ले र सुनसरीकी मेनुका कार्की ।
वामदेवसँग को–को जाँदैछन् ?
महासचिव कार्कीका अनुसार उनीसहित तीन उपाध्यक्ष, उपमहासचिव, सचिव, कोषाध्यक्षसहित गौतम एसमा प्रवेश गर्न लागेका हुन् ।
पार्टीका उपाध्यक्षमध्ये नवलपरासी पश्चिमका दुर्गा भण्डारीमात्रै एमाले पृष्ठभूमिका हुन् ।
उपाध्यक्ष रवीन्द्र बम र ओम शर्मा माओवादी पृष्ठभूमिका हुन् । अर्का उपाध्यक्ष महेन्द्रराज शर्माले चार महिनाअघि नै वामदेवसँग विद्रोह गरी माओवादी केन्द्रमा प्रवेश गरेका थिए । रुपन्देहीका शर्मा अहिले पनि सोही पार्टीमा छन् ।
आज औपचारिक रुपमा नेकपा एसमा समाहित हुन लागेका महासचिव डीबी कार्की भने उक्त पार्टी स्थापनाकालमै केन्द्रीय सदस्य थिए । पछि गौतमलाई साथ दिनका लागि एकता अभियानमा फर्किएका हुन् । उनी २०६४ मा गठित पहिलो संविधानसभामा एमालेको तर्फबाट समानुपातिक सदस्य थिए ।
सचिव भगवती विष्ट पनि एसमा जाने भएकी छन् । प्यूठान घर भई काठमाडौंमा अध्यापन पेशमा संलग्न उनी एमालेसम्वद्ध युवा संघकी पूर्वकेन्द्रीय सदस्य हुन् । कोषाध्यक्ष कुमारी तुलसी थापा पनि पतिसँगै एसमा जाँदै छिन् । उनी २०७४ सालमा एमालेको तर्फबाठ समानुपातिक सांसद थिइन् ।
वामदेवसँगै एसमा प्रवेश गर्ने सूचीमा नाम रहेका स्थायी कमिटी सदस्यमध्ये अधिवक्ता डा.कुमार शर्मा आचार्य, डा.रमेश खरेलसहितका छन् । खरेल एमालेका पूर्वनेता हुन् । स्थायी कमिटी सदस्य इमानसिंह भारतीको नाम पनि एसमा प्रवेश गर्नेमा छ । उनी उद्योग बाणिज्य संघ, प्यूठानका पूर्वअध्यक्ष र लामो समय पत्रकारिता गरेका व्यक्ति हुन् ।
अर्का स्थायी कमिटी सदस्य सञ्जय अधिकारी वाग्लुङ स्थायी घर भई अहिले काठमाडौंमा विम्पी रेष्टुरेन्टसहित विभिन्न व्यवसायमा संलग्न छन् । स्याङ्जाका उदयराज शर्मा पुष्पलाल समूह हुँदै माले र एमाले पृष्ठभूमिका नेता हुन् ।
महासचिव कार्कीका अनुसार, आज काठमाडौं उपत्यका कमिटीका २५, २ वटा प्रदेश कमिटी, ९ वटा जिल्ला कमिटी पनि एसमा समाहित हुँदैछ । जिल्ला कमिटीमध्ये मकवानपुरबाट ४१ सहित बझाङ, नवलपरासी, रुपन्देही, नवलपुर, सुर्खेत, जुम्लालगायत रहेको उनले बताए । पार्टीको युवा र महिलाका ११–११ सदस्यीय कमिटी पनि एसमा जाने भएको उनले बताए ।