Category: नेकपा एस

  • रूसबाट फर्किए माधव नेपाल, नयाँ नेतृत्वपछि नेताहरूलाई जिम्मेवारी तोक्ने तयारी

    रूसबाट फर्किए माधव नेपाल, नयाँ नेतृत्वपछि नेताहरूलाई जिम्मेवारी तोक्ने तयारी

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल स्वदेश फर्किएका छन् । यही भदौ १६ गते रुस प्रस्थान गरेका नेपाल शनिबार दिउँसो काठमाडौं ओर्लिएका हुन् ।

    मल्टी पोलारिटी फोरम विषयक अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन नेपाल रुस गएका थिए । सम्मेलन सेप्टेम्बर ३ देखि ६ तारिखसम्म चलेको थियो । साथै अध्यक्ष नेपालले साउथ एसियन इकोनोमिक फोरमको समूहगत छलफलमा पनि भाग लिएका थिए ।

    रुसमा सम्पन्न कम्युनिष्ट नेताहरुको बैठकमा भाग लिन पुगेका अध्यक्ष नेपालले चीन, रुसलगायत देशका कम्युनिष्ट नेताहरुबीचको बैठकमासमेत भाग लिएका थिए ।

    स्वदेश फर्किएपछि अध्यक्ष नेपालले आफूलाई स्वागत गर्न पुगेका नेता तथा कार्यकर्तालाई आफ्नो भ्रमण सफल भएको बताए ।

    भ्रमणबाट नेपालको पहिचान तथा विशेषतालाई अन्तर्राष्ट्रिय जगतसम्म पुर्‍याउन र समाजवादी तथा कम्युनिष्ट पार्टीहरूबीच आफ्नो पार्टीको सम्बन्ध विस्तार गर्न सहयोग पुगेको उनले सुनाए ।

    अध्यक्ष नेपाल स्वदेश फर्किएसँगै पार्टीका विभिन्न केन्द्रीय विभाग, इन्चार्जसहितको जिम्मेवारी तोकिने तयारी रहेको उपाध्यक्ष जगन्नाथ खतिवडाले बताए ।

    नेकपा एसले हालैमात्र निर्वाचन प्रक्रियाबाट पदाधिकारी र पोलिटब्युरोलाई पूर्णता दिएको थियो । पार्टीका सबै कमिटीले पूर्णता पाएपछि अब बैठक राखेर नेताहरुलाई जिम्मेवारी दिने नेकपा एसको तयारी छ ।

  • ओलीले चुच्चे रेल र टावरहरूसँग जोडेर समाजवादको भाष्य बिगारेको घनश्याम भुसालकाे आरोप (भिडिओ)

    ओलीले चुच्चे रेल र टावरहरूसँग जोडेर समाजवादको भाष्य बिगारेको घनश्याम भुसालकाे आरोप (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीले चुच्चे रेल र टावरहरुसँग जोडेर समाजवादको भाष्य बिगारेको आरोप लगाएका छन् ।

    हरि रोकाद्वारा लिखित ‘वैकल्पिक अर्थतन्त्र’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले पछिल्लो दुई वर्षयता पपुलिजम हावी भएको बताए ।

    उनले भने, ‘पछिल्लो दुई वर्षमा पपुलिजमले हाम्रो समाजवाद बिगार्‍यो । व्यक्तिगत दोषारोपण पनि सुनिनसक्छ । हाम्रो समाजवादको सबैभन्दा बढ्ता भाष्य त ओलीजीले नै बिगार्नुभयो। चुच्चे रेल आउँछ, दुई वर्षमा काठमाडौंमा आउँछ, अर्को वर्ष बेनी जान्छ, उहाँले चुच्चे रेल र टावरहरुसँग जोडेर भाष्य बिर्गादिनुभयो ।

    महासचिव भुसालले ४०-५० करोडभन्दा ठूला भ्रष्टाचारको मुद्दामा राष्ट्रिय सहमति हुने गरेको जिकिर गरे । कांग्रेस, एमाले, माओवादीसहित आफ्नै पार्टी पनि त्यसमा सहभागी हुने उनको भनाइ छ ।

    उनले भने, ‘हाम्रो जस्तो समाजमा सबै मान्छे प्युअर हुँदैन, तर मूलभूत रुपले दलाल पुँजीवादबाट मुक्त भएको नेता होस्, त्यस्तो पार्टी होस् । घुस खाने मान्छे उत्पादन नगर्ने पार्टी निर्माण नगरेसम्म कुनै कुरामा आत्मनिर्भर हुन सक्दैन । भ्रष्टहरु पालितपोषित भएर नेताहरु बनिरहेका छन् ।’

  • ‘एमालेबाट एकताको प्रस्ताव आए वार्ताको टेबलमा बस्न माधव नेपाल तयार हुनुहुन्छ’

    ‘एमालेबाट एकताको प्रस्ताव आए वार्ताको टेबलमा बस्न माधव नेपाल तयार हुनुहुन्छ’

    काठमाडौं । नेकपा एकीकृत समाजवादीमा हालै भएको पदाधिकारी र पोलिटब्युरो सदस्यको निर्वाचनपछि असन्तुष्टि बढ्दो छ । निर्वाचनले पार्टीभित्र सुषुप्त अवस्थामा रहेको गुटबन्दीलाई एकै पटक छताछुल्ल बनाइदिएको छ ।

    १७ पदाधिकारी र पोलिटब्युरो सदस्यका लागि भएको निर्वाचनमा अध्यक्ष नेपाल र महासचिव भुसाल पक्षधरले आ-आफ्नो टीमको नाम लिस्ट बाँडेका थिए । निर्वाचित पदाधिकारीमा महासचिव भुसालको लिस्टबाट ७ जना विजयी भए । निर्वाचनमा अध्यक्ष नेपाल र महासचिव भुसाल खेमाबीच खुलेआम गुटगत प्रतिस्पर्धा भएको थियो । महासचिव भुसाललाई सम्मानित नेता झलनाथ खनालको पनि साथ रह्यो ।

    यो विषयले अहिले नेकपा एसभित्र जिल्ला तहमा पनि विवाद पुगेको छ । यो निर्वाचनपछि पार्टीभित्र देखिएको असन्तुष्टि र त्यसबारे छानबिनको अवस्था, पार्टीको आगामी कार्ययोजना, समाजवादी मोर्चाको लक्ष्यलगायतको विषयमा केन्द्रित रहेर नेकपा एसका सचिव सोमप्रसाद पाण्डेसँग नेपाल प्रेसले गरेको कुराकानीः

    – महाधिशेनको दुई महिनापछि पार्टीले नेतृत्व चयन गर्‍यो । त्यसले पार्टीमा असन्तुष्टि चर्काएको हो ?

    बाहिर चर्चा भए जस्तो त्यस्तो ठूलो असन्तुष्टि भएको होइन । केही केही साथीहरुले आवाज उठाउनुभएको छ। केही संख्यामा देखिए पनि ठूलो संख्यामा पार्टीभित्र असन्तुष्टि देखिन्न ।

    – यो निर्वाचनले त पार्टीभित्र अध्यक्ष र महासचिवको स्पष्ट गुट नै देखियो नि !

    त्यस्तो छैन, सुरूमा अध्यक्ष नै चयन गर्नुअघि केही लागेका थिए, तर बाहिर आएको जस्तो गुटबन्दी छैन ।

    – तर, आफू अनुकूलको टीम ल्याउन अध्यक्ष र महासचिवको निर्देशनमा बेग्लाबेग्लै चीट बाँडिएको भन्ने नेताहरूको आरोप छ नि ?

    यो एकदम गलत कुरा हो । चीट एउटामात्रै होइन साथीहरूले आफूलाई भोट माग्न बेग्लाबेग्लै दिनुभएको रहेछ । त्यहाँ सात वटा चीट भएको देखियो, तर त्यस्तो कुनै माधव नेपाल, घनश्याम भुसाल, झलनाथ खनाल, राजेन्द्र पाण्डेलगायत कसैले पनि गराएका होइनन् ।

    – रामकुमारीदेखि जीवनराम श्रेष्ठहरूले अध्यक्षकै निर्देशनमा चिट दिएर हामीलाई हराइयो भन्ने बाहिरै बोलिरहनु भएको छ त ?

    उहाँहरू आफैंले चीट दिनुभएको छ । उहाँहरूको पनि नाम छ । कुन कसको छ, कुनमा कसको छ ? जस्तो म पनि सचिवको उम्मेदवार थिएँ, तर, मेरो नाम चीटमा छैन । मैले लोकप्रिय भोट ल्याएर जितेँ । केहीमा मात्रै देखिन्छ ।

    त्यो साथीहरूले आफूखुसी आफू जित्न बाँडेको हो । त्यसमा माधव नेपाल, घनश्याम भुसालले कुनै तयारी गरेर बनाएको होइन । त्यो बाहिर आएपछि हामीले पनि माधव नेपाललाई सोधेका थियौं । त्यसैले त्यसमा शीर्ष नेताहरूको संलग्नता देखिँदैन । उहाँहरुको निर्देशनमा भएको भए टीमको एउटै चीट हुन्थ्यो, तर त्यहाँ बेग्लाबेग्लै छ ।

    – यो विषयमा अध्यक्षले छानबिन गर्छु भन्नुभएको थियो । त्यो प्रक्रिया सुरू भयो ?

    अनुशासन आयोगले छानबिनको प्रक्रिया अगाडि बढाएको छ । ज-जसले बाँडे, त्यसले आफू उम्मेदवार भएको पदमा आफ्नो नाम पहिलो नम्बरमा राखेको जस्तो हामीले प्रारम्भिक रूपमा बुझेका छौं । हामीले त्यही शंका गरेका छौं, तर त्यसलाई आधिकारिक रूपमा कुनै प्रभाव पार्दैन ।

    केन्द्रीय सदस्यहरूलाई बाँडेको चीटले केही प्रभाव पार्दैन । सबैले आफूले भोट हाल्नेलाई पहिले नै तय गरिसकेका हुन्छन् । प्रश्न उठेपछि खोजीको विषय बन्छ, तर शीर्ष नेताहरूको संलग्नता देखिँदैन । माग आएपछि खोजी गर्न अनुशासन आयोगले काम गरिरहेको छ ।

    – तर खल्तीबाट आएका केन्द्रीय सदस्यहरू आफू अनुकूल टीम नेतृत्वमा ल्याउन प्रयोग भए भन्ने आरोप छ नि ?

    त्यो सम्भव हुँदैन । कसैले पनि आफू अनुकूल बनाउने भनेर प्रक्रिया अगाडि बढाएको होइन । यो विषयमा माधव नेपाल पनि असन्तुष्ट हुनुहुन्छ, कसले र किन बनायो भनेर ? उहाँले हामीहरूसँग पनि कडा रूपमा नै कुरा गर्नुभएको थियो । मसँग अस्तिमात्रै कुरा गर्दा पनि कसले गर्‍यो यो, खोजीको विषय बन्नुपर्छ भन्नुभएको छ ।

    यो आफू अनुकूल नेतृत्व ल्याउन चीट बाँडिएको होइन, हामी त्यसमा प्रस्ट छौं । अब केन्द्रीय सदस्य पनि पार्टीभित्र मापदण्ड बनाएर सर्वसम्मत रूपमा ल्याएकोलाई कसैको अनुकूल भन्ने हुँदैन ।

    – महाधिवेशनपछि असन्तुष्ट नेताहरू एमालेमा फर्किन संवादमा रहेको बताइन्छ । पार्टीमा केही सूचना आएको छ ?

    यो महाधिवेशनपछि मात्रै होइन, केही केही साथीहरूको चाहना पहिले पनि अभिव्यक्त हुन्थ्यो । जानेहरू कसैले कसैलाई रोक्न सक्दैन, तर यो महाधिवेशनमा पदाधिकारी छनोट प्रक्रियाकै असन्तुष्टिको कारणले चाहिँ एमाले फर्किने हुनुहुन्छ जस्तो लाग्दैन । पहिलादेखि नै एमालेसँग नजिक भएकाहरूको मनसाय हुनसक्छ, तर कोही पनि अहिले जानुहुन्छ जस्तो लाग्दैन ।

    – नेकपा एसका केही सांसदसहित नेताहरूलाई पार्टीमा फर्काउन एमालेका नेताहरू सक्रिय रहेको बताइन्छ नि !

    एमालेका नेताहरू अहिले त्यसरी सक्रिय भए जस्तो लाग्दैन । त्यसो त एमाले र बाहिरका साथीहरूलाई संगठित बनाउन त हामी पनि लागेका छौं । उहाँहरू पनि लाग्नु त स्वाभाविक नै हो, तर यो महाधिवेशनपछि एमालेको कुनै त्यस्तो शक्ति बनेर नेकपा एसका नेताहरूलाई फिर्ता ल्याउँछौं भनेर लागेको लाग्दैन ।

    – अहिले भीम रावल र वामदेव गौमतलाई पनि पार्टीमा भित्र्याउने प्रयास भइरहेको छ ?

    उहाँहरूलाई पनि पार्टीमा प्रवेश गराउन अलिअलि छलफल भएको छ, तर घनीभूत रूपमा कुनै विषयवस्तु राखेर छलफल भएको छैन ।

    – उहाँहरूले खास माग चाहिँ के राख्नुभएको छ ?

    त्यस्तो मूर्त रूपमा त केही आएको छैन । वामदेव गौतमले चाहिँ केही पदीय जिम्मेवारी पनि पाए हुन्थ्यो भन्नुभएको थियो । त्यो त अब सम्भावना छैन । अरु थप छलफल भएको छैन । हामी वाम एकताको निम्ति छलफल चलाइरहेका छौं । माधव नेपालले वाम एकताको लागि विप्लव, नारायणमान बिजुक्छे, मोहनविक्रम सिंह, मोहन वैद्य, सीपी मैनालीसँग पनि पछिल्लो समय छलफल गर्नुभएको छ । त्यसैले प्रारम्भिक छलफल भएको छ, तर ल्याउने गरी कुनै छलफल भएको छैन ।

    – वामदेव गौतमले आफू आउन तयार रहेको बताउँदै आइराख्नुभएको छ । तपाईंहरूले ल्याउन नचाहेको हो ?

    हामीले नचाहेको पनि छैन । बाहिर जसरी आएका छन्, त्यसरी प्रस्ताव पनि आएको छैन । म पनि पार्टी एकता र नेताहरूसँग संवाद गर्नेमध्येको एक हुँ । पार्टी र कम्युनिष्ट आन्दोलन बचाउनुपर्छ भनेर लागिरहेको छु ।

    एमालेमै हुँदा पनि पार्टी नफुटोस् भनेर धेरै कोसिस गरेको हुँ त्यसबेला पनि । अहिले पनि वामदेव गौतम र भीम रावलजीसँग अनौपचारिक कुरा भएको छ । औपचारिक भएको छैन ।

    – भीम रावललाई भित्र्याउन तपाईंहरू उहाँले रोजेको जिम्मेवारी दिन तयार हुनुभएको हो ?

    उहाँलाई ठाउँ दिन हामीलाई कुनै हिचकिचाहत छैन । कुनै समस्या छैन । उहाँले कस्तो खालको जिम्मेवारी लिने भन्ने उहाँको पनि प्रस्ताव आउनुपर्‍यो ।

    – तपाईंहरू वाम एकताको पक्षमा हुनुहुन्छ केही समयअघि माओवादीसँगको एकता भइहाल्छ भन्ने ढंगले चर्चा चलेको थियो । त्यो अहिले के हुँदैछ ?

    माओवादीसँग एकताको विषयमा कुनै तार्किक निष्कर्षमा पुग्नेगरी छलफल भएको होइन । अस्ति घनश्याम भुसालले पनि त्यसबारेमा भन्नुभयो, हावा नलागी पात हल्लिनँ भनेर, तर यो विषयमा हावा नलागी पात हल्लियो भनेर उदाहरण दिनुभएको थियो ।

    त्यसैले एजेण्डा र प्रस्तावसहित कुनै छलफल भएको होइन । नेताहरूबीच वाम एकता गर्नुपर्छ, अब बेग्लाबेग्लै बसेर हुँदैन भन्ने ढंगबाट कुरा भएको हो, तर औपचारिक रूपमा माओवादीसँग एकता गर्ने विषयमा कुनै छलफल भएको छैन ।

    – समाजवादी मोर्चा आगामी निर्वाचनसम्म पुग्दा एउटै पार्टी वा एउटै चुनाव चिन्ह लिएर जाने सम्भावना छ ?

    राजनीतिमा असम्भव भन्ने कुरा त हुँदैन । आजको स्थितिबाट त्यो सम्भावना देखिएको छैन । नयाँ खालको सम्भावना भयो भने त जे पनि हुनसक्छ ।

    विगतमा पनि केपी ओली र प्रचण्डबीच मुखामुख पनि गर्दैनथे, तर एकाएक २०७४ असोज १७ गते कार्यगत एकता भयो । २०७५ जेठ ३ गते पार्टी एकता नै भयो । त्यसकारणले सम्भावना हुन्न भन्न सक्दनौं, तर तत्काल त्यो परिस्थिति बनेको छैन ।

    – चुनाव आउन त धेरै समय बाँकी छ, तर कांग्रेस एमालेले आगामी निर्वाचन एक्लै लड्छौं भनिरहेका छन् । त्यसो हुँदा तपाईंहरू के गर्नुहुन्छ ?

    हामीले यो मोर्चा २०८४ को निर्वाचनलाई हेरेर बनाएको होइन । नेपालको वाम आन्दोलनलाई सशक्त बनाउँदै उचाइमा पुर्‍याउन चाहन्छौं । अहिले माधव नेपालले वाम एकताको प्रयास गरिराख्नु भएको छ । भएसम्म एकता नै गरौं कुनै एउटा निश्चित पार्टीसँग नभई सबै वामपन्थीलाई सँगै लिएर अगाडि बढ्नुपर्छ भन्ने उहाँको प्रस्ताव हो ।

    त्यहीअनुसार अहिले छलफल पनि गरिराख्नु भएको छ, तर यो मोर्चालाई विचार मिल्ने त्यसमा सहभागी हुनसक्ने खालको, हिजो वामपन्थी पृष्ठभूमिका उपेन्द्र यादव, हिजो परिवर्तनका लागि बन्दुक उठाएर हिँडेका विप्लव, सीपी मैनाली, मोहनविक्रम सिंहसँग कुरा भइरहेकाे छ हाम्रो । उहाँहरूलाई मोर्चामा ल्याउने कुरा भइरहेको छ । उपेन्द्र हिजोको वामपन्थी नै हो, त्यसकारण एकाकार भएर जाऔं भनेर बनाइएको हो । यो मोर्चा कसैप्रति विरोधको भावना र प्रतिशोध गर्न बनाइएको होइन ।

    यो मुलुकको संघीय लोकतान्त्रिक गणतन्त्र छ, त्यसलाई सदृढ गर्दै संविधानको रक्षा र पूर्ण रूपमा कार्यान्वयन गर्न बनाएका हौं । यो कुनै कसैसँग प्रतिशोधको भावनाले प्रतिस्पर्धा गर्न होइन, मुलुकको हितको निम्ति बनाएका हौं । अब चुनाव आउन अझै तीन वर्ष तीन महिना बाँकी छ । त्यति बेलासम्मको परिस्थिति के विकास हुन्छ, त्यहीअनुसार अगाडि बढ्छ । अहिले यसलाई चुनाव र पार्टी एकतासँग जोड्न उपयुक्त हुँदैन । पछि जे पनि हुनसक्छ ।

    – वामपन्थी एकताको कुरा गर्नुहुन्छ अनि सबैभन्दा ठूलो पार्टी एमालेलाई बाहिर राखेर कसरी सम्भव देख्नुहुन्छ ?

    हामी त्यसमा क्लियर छौं, खुला छौं । माधव नेपालले भन्नुभएको हामी कुनै पनि वामपन्थी पार्टीसँग एकताको छलफल र कार्यगत एकताको बहस चलाउन तयार छौं । एमाले त अहिलेसम्म त्यो प्रस्ताव गर्ने पक्षमा तयार भएको देखिँदैन, तर नेकपा एसले मुलुकको हित, अग्रगमन र समृद्धिको बाटो लिएर सुशासन कायम गर्दै समाजवादमा पुग्ने लक्ष्यका साथ प्रस्ताव गरेका छौं । त्याे संविधानको प्रस्तावनामा पनि उल्लेख छ ।

    अहिले हाम्रो १० औं महाधिवेशनले पनि त्यही कुरा पास गरेको छ । नेपालको माटो सुहाउँदो नेपाली विशेषताको समाजवाद भनेर अहिलेसम्म कुनै पार्टीले पारित गरेको छैन ।

    हाम्रो पार्टीले प्रमुख कार्यक्रम नै नेपाली विशेषताको समाजवाद भनेका छौं । त्यसका लागि हामीले आवश्यक पूर्वाधार विकासमा लाग्नुपर्छ भनेर त्यो प्रस्ताव पारित गरेका छौं । त्यो प्रस्ताव हामी एक्लैले लागू गर्न सक्दैनौं । त्यसैले सबैसँग सहकार्य र सहयात्रा आवश्यक छ । त्यसैले हामीले एमालेसँग वार्ता नै नगर्ने, छलफल नै नगर्ने कुनै खालको सम्बन्ध नै नराख्ने भन्ने पनि छैन । उहाँहरू ठूलो दल भएकाले पहिला प्रस्ताव आउनुपर्‍यो । अहिलेसम्म एमालेबाट त्यस्तो कुनै प्रस्ताव आएको पनि छैन, तर हामी प्रस्ताव आएको खण्डमा छलफल गर्न तयार छौं ।

    – तपाईंहरूले चाहिँ यो प्रस्ताव लग्नुहुन्न ?

    अहिले वातावरण नदेखेकाले हामी प्रस्ताव लैजाने पक्षमा छैनौं । ठूलो पार्टी भएकाले उताबाट प्रस्ताव आओस् भन्ने हो ।

    – भनेपछि एमालेबाट पार्टी एकतासहितको प्रस्ताव आए छलफलमा बस्न तयार हुनुहुन्छ ?

    उताबाट प्रस्ताव आयो भने हामी छलफल गर्न तयार छौं, तर हामी सत्ताको निम्तिमात्रै त जाँदैनौं । मुलुकको समृद्धि, अग्रगमन, सुशासनसहित नेपाली विशेषको समाजवादलाई अगाडि बढाउने कुरामा हामी सबैसँग सहकार्य गर्छौं । आवश्यक परे एकता पनि गर्नसक्छौं ।

  • अनफलो अभियानप्रति रामकुमारीको टिप्पणी- अध्यक्षलाई एमालेका संगठित सदस्यले मात्रै फलो गर्दा पनि दोब्बर हुन्छ

    अनफलो अभियानप्रति रामकुमारीको टिप्पणी- अध्यक्षलाई एमालेका संगठित सदस्यले मात्रै फलो गर्दा पनि दोब्बर हुन्छ

    काठमाडौं । नेकपा एकीकृत समाजवादीकी पोलिटब्युरो सदस्य रामकुमारी झाँक्रीले एमालेका संगठित सदस्यहरूले मात्र फलो गर्दा पनि एमाले अध्यक्ष केपी शर्मा ओलीको फलोअर्स अहिलेको भन्दा दोब्बर हुने प्रतिक्रिया दिएकी छन् ।

    काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका समर्थकले प्रधानमन्त्री ओलीको फेसबुकमा अनफलो अभियान चलाएपछि झाँक्रीले यस्तो प्रतिक्रिया दिएकी हुन् ।

    उनले फेसबुकमा लेखेकी छन्, ‘एमाले पार्टीका संगठित सदस्यहरूले मात्र फलो गर्दा पनि अध्यक्षको फलोअर्स अहिलेको भन्दा दोब्बर हुन्छ ।’

    माधव नेपालले एमाले फुटाएर नेकपा एकीकृत समाजवादी गठन गर्दा अग्र भागमा खटिएकी झाँक्री अहिले एमालेप्रति नरम छिन् । हालै भएको नेकपा एसको उपाध्यक्षमा पराजित झाँक्री पार्टी नेतृत्वप्रति असन्तुष्ट छन् ।

    त्यसो त यसअघि पनि झाँक्री एमालेमा फर्किने चर्चा चलिरहे पनि निरन्तर वार्तामै भएको बताइन्छ ।

    मंगलबार ओलीलाई आलोचना गर्दै लेखेको स्टाटसलाई फेसबुकले हटाइदिएपछि बालेनले एमाले नेता कार्यकर्ताले रिपोर्ट गरेकै कारण हटाइदिएको आरोप लगाएका थिए ।

    स्टाटस हटाएपछि बालेनले पोष्ट हटाउने होइन, दोषीलाई कारबाही गर्नुपर्‍यो भन्दै लेखेका थिए । बालेनको यो स्टाटसपछि उनका समर्थकहरूले ओलीको फेसबुक पेजलाई अनफलो अभियान चलाइरहेका छन् ।

    मंगलबार ६ लाख ६६ हजार फलोअर्स रहेको पेजमा अहिले ५ लाख ९० हजारमा झरेको छ । यो घट्ने क्रम जारी छ ।

    निरन्तर फलोअर्स घटेपछि ओलीले एकछिनको प्रशंसामा खुसी र एकछिनको विरोधमा दुःखी हुनुपर्ने आवश्यकता नभएको टिप्पणी गरेका छन् ।

    एक भिडिओ अपलोड गर्दै भनेका छन्, ‘एकछिनको प्रशंसामा खुसी र एकछिनको विरोधमा दुःखी हुनुपर्ने आवश्यकता नै छैन । सत्यबाहेक अरु केहीको पनि आयु लामो हुँदैन ।

  • चुनावलगत्तै गिर्‍यो नेकपा एसको ‘एक विकेट’- साइनबोर्ड निकालेर जिल्ला इन्चार्ज र सिंगो कमिटी एमालेमा

    चुनावलगत्तै गिर्‍यो नेकपा एसको ‘एक विकेट’- साइनबोर्ड निकालेर जिल्ला इन्चार्ज र सिंगो कमिटी एमालेमा

    पोखरा । गत असारमा भएको नेकपा एकीकृत समाजवादीको महाधिवेशनपछि जिल्ला फर्किएर बागलुङका नेताले एउटा निर्णय गरेर केन्द्रमा पठाए । दुई विषयमा निर्णय नै गरेर जिल्ला कमिटीले पार्टी नेतृत्वलाई पठायो- पार्टी विभाजनको मर्मअनुसार अगाडि जान सकेन र केन्द्रीय कमिटीमा सक्षमभन्दा आफ्ना मान्छे राखियो ।

    उनीहरूको चाहनाअनुसार नेतृत्व आउन सकेन र केन्द्रीय कमिटीमा आएका व्यक्तिहरूप्रति पनि उनीहरू सन्तुष्ट भएन र सोही कुरा निर्णयमार्फत पार्टी नेतृत्वलाई जानकारी गरायो ।

    उसो त बागलुङका नेताहरूसँग महाधिवेशनकै क्रममा पार्टी अध्यक्ष माधवकुमार नेपाल चिढिएका थिए । बागलुङका अधिकांश नेता अहिलेका महासचिव घनश्याम भुसाललाई नेतृत्वमा लग्न चाहन्थे । तर, माधव नेपाल नै नेतृत्वमा आएपछि उनीहरू असन्तुष्टि भएका त थिए नै उनीहरूसँग अध्यक्ष नेपाल पनि कड्किएका थिए । त्यसपछि पार्टी नेतृत्वले बागलुङलाई हेर्ने नजर नै फेरियो ।

    ‘महाधिवेशनबाट केही गर्न सकौँला की नयाँ तन दिने हिसाबले, रक्तसञ्चार गराउने हिसाबले हामीले महासचिव कमरेडलाई अनुहार बदलिँदा जनतामा आशा सिर्जना हुन्छ अब नेतृत्व तपाईँले नै गर्नुपर्छ है भन्यौँ । तर, परिस्थिति घनश्याम कमरेड अगाडी बढ्ने अवस्था बनेन । पुरानै नेतृत्व आउने स्थिति बन्यो । त्यसले हाम्रो ठुलो अपेक्षामा तुसारापात गर्ने काम भयो,’ एस छोडेर एमाले फर्किएका श्रीप्रसाद शर्माले भने ।

    महाधिवेशनपछि उनीहरूले निर्णय गरेरै असन्तुष्टि जनाएपछि भने पार्टी नेतृत्व उनीहरूप्रति झनै असन्तुष्ट बढेको थियो । भदौ ११ गते पार्टीको पदाधिकारी निर्वाचन भयो । केन्द्रीय सदस्य तथा बागलुङ जिल्ला इन्चार्ज श्रीप्रसाद शर्मासहितका नेता पदाधिकारी निर्वाचनमा सहभागी भएर फर्किए । त्यहाँबाट फर्किएको भोलिपल्टै नेकपा एस बागलुङले पुनः अर्को निर्णय गर्‍यो । त्यो निर्णय भने पार्टी नेतृत्वप्रतिको असन्तुष्टि थिएन । जिल्ला कमिटीलाई नै एमालेमा समाहित गराउने निर्णय थियो । विद्रोहको तात्त्विक फरक हुन नसक्दा पुनः एमालेमै फर्कने स्थिति बनेको शर्मा बताउँछन् ।

    उनी भन्छन्, ‘विद्रोहको चेतबाट निर्माण भएको पार्टी राजनीतिक हिसाबले जुन क्रान्तिकारी, लक्ष्य, उद्देश्यसहित आफूलाई जसरी लिएर आउनुपर्ने थियो । तर, त्यसको रवैया तात्वुक हिसाबले फरक शैली, तरिका अवलम्बन गर्न सकेन । त्यस कारण हामी एमालेमा समाहित भएको हो ।’

    नेकपा एस बागलुङ इन्चार्ज शर्मा, जिल्ला अध्यक्ष लालबहादुर थापासहित उपाध्यक्ष, सचिव, उपसचिवसहित सबै कमिटी बिहीबार एमालेमा समाहित भएको घोषणा गरे । उनीहरूले एकीकृत समाजवादीको माइन्यूट एमालेलाई बुझाए । माइन्यूट बुझाएको विषयमा भने एमाले बागलुङ जिल्ला अध्यक्ष हीरा केसीले दुईटा पार्टी एउटै भएको भन्ने सांकेतिक रूपमा मात्र भएको बताए ।

    सिंगै जिल्ला कमिटी एमालेमा समाहित भएपछि नेकपा एस जिल्ला कमिटीको साइन बोर्ड नै हटाइएको छ ।

    ‘एमालेको नेतृत्वसँग विमति भएर त्यसैको गर्भबाट जुन पार्टी निर्माण गरेका थियौँ । अहिले हामीले एमालेमै योगदान दिने हिसाबले वातावरणका लागिरहेका छौँ । हिजो हामीले एमालेमा लगाएका कयौँ दागहरू अब असान्दर्भिक भइसके भन्ने सन्देश जान्छ,’ उनले भने ।

    तत्कालीन समयमा नेतृत्वप्रति असमझदारी भए पनि पार्टीप्रति कुनै विमति नरहेको शर्माले बताए । ‘तत्कालीन समयमा गर्न नहुने र अराजनीतिक घटना क्रम भयो । त्यो आपत्तिजनक छ भनेर हामी फरक पार्टीमा उभिएका हौँ । मूलभूत रूपमा एमाले पाटीसँगको त्यो किसिमको विमति आधारभूत हिसाबले थिएन,’ उनले भने ।

    पुरानै सरहको पद दिइने

    एकीकृत समाजवादी बागलुङको सिङ्गो टोलीलाई फर्काउने प्रयास तत्कालको पहलले मात्र सम्भव भएको होइन । यसअघि पनि पटक-पटक एमाले र एसबीच छलफल भइराखेको थियो । यी दुई दलले ३-३ जनाको कार्यदल नै बनाएर वार्तासमेत गरेका थिए । निरन्तर वार्तामा रहेका नेकपा एस बागलुङका नेताहरू महाधिवेशनपछि झनै चिढिएका थिए ।

    निरन्तरको छलफल र वार्तापछि उनीहरूलाई एमालेमा फर्काउन सफल भएको एमाले बागलुङ अध्यक्ष हिराबहादुर केसीले जानकारी दिए । उनले बागलुङमा नेकपा एसमा गएका सबै पुरानो र अगुवा नेता एमालेमा फर्किसकेको बताए ।

    ‘सबैसँग कुरा गर्दा निष्कर्ष निकाल्न सकिँदैन भनेर कार्यदल बनाएर निरन्तर छलफल, भेटघाट, कुराकानी गर्ने भइरह्यो । कार्यदलमा भएका कुरा दुवैतर्फ सचिवालय बैठक राखियो । बैठकमा सकारात्मक रूपमा लियो,’ उनले भने ।

    निरन्तर छलफल भए पनि गत असारमा भएको महाधिवेशनपछि छलफल सकारात्मक भएको थियो । महाधिवेशनबाट आफूले चाहेको नेतृत्व नआइसकेपछि उनीहरू पार्टी गतिविधिबाट टाढिएका थिए ।

    ‘महाधिवेशनमा गएर आइयो । महाधिवेशनमा पनि राम्रा सङ्केत देखिएनन् । जे उद्देश्यले विद्रोह गरिएको हो । नेतृत्वले त्यो उद्देश्य पूरा गर्ने देखिएन । बार्गेनिङ गरेर सत्तामा जान सकिन्छ की भन्ने दाउपेचमा छ । हिजो हामीले नेतृत्व रोजियो पार्टी छोडियो । अब हामीले नेतृत्व छाडेर पार्टी रोज्ने मुडमा छौँ । निष्कर्षमा पुराऊ भन्नुभो,’ एमाले प्रवेश गरेको नेतालाई उद्द्धृत गर्दै बागलुङ अध्यक्ष केसीले भने ।

    पार्टी प्रवेश गरेका नेतालाई व्यवस्थापन गर्न एमाले बागलुङले एउटा कार्यदल बनाएको छ । कार्यदलमा एमालेबाट जिल्ला इन्चार्ज मनकुमारी केसी, हीराबहादुर केसी, इन्द्रलाल सापकोटा र डा. सूर्य पाठक छन् । प्रवेश गरेकाहरूबाट श्रीप्रसाद शर्मा, लालबहादुर थापा र भरत पूरी छन् । अध्यक्ष केसीकाअनुसार पार्टी प्रवेश गरेकालाई एमालेमै भएका बेलाको अथवा सोसरहको पदमा व्यवस्थापन गरिनेछ ।

  • घनश्यामको आरोप- ठूल्ठूला भ्रष्टाचारमा भागशान्ति राष्ट्रिय सहमतिअनुसार वितरण हुन्छ

    घनश्यामको आरोप- ठूल्ठूला भ्रष्टाचारमा भागशान्ति राष्ट्रिय सहमतिअनुसार वितरण हुन्छ

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले दलाल पुँजीवादले कम्युनिष्ट, कांग्रेस, राजावादी, विखण्डनवादी सबैलाई एउटै टेबुलमा डिनर गराउने भएकाले ठूल्ठूला भ्रष्टाचारमा भागशान्ति राष्ट्रिय सहमतिअनुसार वितरण गर्ने गरेको दाबी गरेका छन् ।

    काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले दलाल पुँजीवादले कम्युनिष्ट, कांग्रेस, राजावादी, विखण्डनवादी सबैलाई एउटै टेबुलमा डिनर गराउने बताए ।

    उनले भने, ‘सबैलाई एउटै भाषा सिकाउँछ । एउटै कुरा सोच्न लगाउँछ । तीनलाई विभिन्न रूपमा प्रस्तुत गर्दिन्छ । कुनै पनि ठूला भ्रष्टाचार काण्ड छन् भने ती भागशान्ति राष्ट्रिय सहमतिअनुसार वितरण हुन्छ । त्यसले सबै कब्जा गरिन्छ । हामी कहाँ त्यस्तै भएको छ ।’

    दलाल कोठरीका डिनर पार्टीले मात्रै जित्न नसकेको भन्दै महासचिव भुसालले स्वाधीनता, इतिहासप्रतिको गौरवले जनताले प्रश्न उठाइराखेको बताए ।

    उनले एमसीसीमाथि संसदीय अनुगमन समिति बनाउनुपर्ने माग गरे ।

    उनले थपे, ‘व्याख्यात्मक टिप्पणीअनुसार लागू भइराखेको छ कि छैन, त्यसमा के समस्या छ ? अनुगमन समितिले स्पष्ट पारेपछि जनता हल्लाको पछाडि लाग्नुपर्दैन । एमसीसीलाई नेपालविरुद्ध प्रयोग हुन नदिन कमसेकम एउटा भरपर्दो माध्यम चाहिन्छ ।’

    उनले अमेरिकी अधिकारीहरूले नै एमसीसी इन्डोप्यासेफिक स्ट्राटेजी (आईपीएस)को अंग हो भनेपछि विवाद बढेको सुनाए । आईपीएस अमेरिकीको चीनविरोधी घोषित मोर्चाबन्दी भएको उनले दाबी गरे ।

  • उपनिर्वाचनबारे नेकपा एसको सर्कुलर- उम्मेदवारदेखि चुनावी तालमेल हुनसक्ने अवस्था खोजी गर्नू

    उपनिर्वाचनबारे नेकपा एसको सर्कुलर- उम्मेदवारदेखि चुनावी तालमेल हुनसक्ने अवस्था खोजी गर्नू

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले आगामी उपनिर्वाचनको तयारी गर्न पार्टी पंक्तिलाई सुर्कलर पठाएको छ । उपनिर्वाचनको मिति घोषणा नहुँदै नेकपा एसले उपनिर्वाचन लड्नको लागि रिक्त स्थानमा पार्टीको अवस्थाबारे खोजी गरेको हो ।

    महासचिव घनश्याम भुसालले सर्कुलर पठाउँदै भनेका छन्, ‘विगत संसदीय निर्वाचनमा प्रयोग भएको मतदाता नामावली पार्टी कार्यालय वा पार्टीका जिम्मेवार कमरेडहरूको साथमा हुन सक्छ तत्काल सोको अध्ययन गरी सूचीमा नाम समावेश गराउने विषयमा ध्यान दिनु हुनेछ ।’

    उपनिर्वाचनको तयारीका सम्बन्धमा महासचिव भुसालले चार बुँदे निर्देशन पनि जारी गरेका छन् ।

    १) निर्वाचन हुने स्थानीय तहमा हाम्रो पार्टीको अवस्था र वस्तुस्थितिको कस्तो छ ?

    १) निर्वाचनमा खडा गरिने उम्मेदवारको खोजी र घोषणा साथै निर्वाचनमा अन्य पार्टीसँग तालमेल हुन सक्ने अवस्था छ छैन ? त्यसको तथ्य परक विश्लेषण गरी पठाउने ।

    ३) निर्वाचन केन्द्रित (दशैँ, तिहार, छठ आदि) कार्यक्रम गरी जनता माझ पार्टीलाई पुर्‍याउने ।

    ४) निर्वाचन तयारीसम्बन्धी अन्य आवश्यक तयारी गर्ने ।

    निर्वाचन आयोगले निर्वाचन हुने मिति घोषणा गर्नुअघिसम्म हालको मतदाता सूचीमा नाम नभएकाहरूको नाम समावेश गर्न पाइने हुँदा तुरुन्त जिल्ला निर्वाचन कार्यालयमा सम्पर्क गरी मतदाता सूचीमा पार्टी समर्थकहरूको नाम समावेश गराउन ध्यान दिन भनिएको छ ।

    उपनिर्वाचनको लागि नेकपा एसले वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेको नेतृत्वमा उपनिर्वाचन परिचालन कमिटी गठन गरेको छ ।

  • एकीकृत समाजवादीद्वारा उपनिर्वाचन परिचालन कमिटी गठन

    एकीकृत समाजवादीद्वारा उपनिर्वाचन परिचालन कमिटी गठन

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेको संयोजकत्वमा उपनिर्वाचन परिचालन कमिटी गठन गरेको छ ।

    स्थानीय तहमा रिक्त रहेका स्थानमा आगामी मङ्सिरमा हुने उपनिर्वाचनका लागि पार्टीले भूगोललाई केन्द्रित गरेर उपनिर्वाचन परिचालन कमिटी गठन गरेको पोलिटब्यूरो सदस्य मोहन गौतमले जानकारी दिए ।

    आसन्न उपनिर्वाचन लक्षित उक्त कमिटीमा पार्टीका उपाध्यक्ष, उपमहासचिव, सचिव छन् ।

    कोशी प्रदेशको संयोजकमा उपाध्यक्ष जगन्नाथ खतिवडा, मधेशको संयोजकमा धर्मनाथप्रसाद साह, बागमतीको संयोजकमा डा. गङ्गालाल लुलाधर, गण्डकीको संयोजकमा पार्टी सचिव श्रीनाथ बराल रहेका छन् ।

    यस्तै, लुम्बिनीको संयोजकमा उपमहासचिव मेटमणि चौधरी, कर्णालीको संयोजकमा पार्टी उपाध्यक्ष प्रकाश ज्वाला र सुदूरपश्चिम प्रदेशको संयोजकमा भानुभक्त जोशीलाई जिम्मेवारी तोकिएको छ ।

    पार्टीका विभिन्न विभाग, इन्चार्जसहितका विभिन्न नेतालाई जिम्मेवारी छिट्टै तोकिने जनाइएको छ ।

  • माधव नेपाल रुस प्रस्थान, पाण्डेलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी

    माधव नेपाल रुस प्रस्थान, पाण्डेलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल रुस प्रस्थान गरेका छन् ।

    ‘मल्टी पोलारिटी फोरम’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन उनी त्यसतर्फ गएका हुन् । सम्मेलन सेप्टेम्बर ३ देखि ६ तारिखसम्म हुनेछ ।

    अध्यक्ष नेपालले भ्रमणका क्रममा त्यहाँस्थित उच्च तहका नेताहरुसँग भेटघाट तथा छलफल गर्ने कार्यक्रम समेत रहेको छ ।

    नेकपा एसले वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको छ ।

  • नेकपा एसभित्र कसरी भुमरीमा परिन् रामकुमारी ? आफैंले गरिन् पराजयको यस्तो विश्लेषण

    नेकपा एसभित्र कसरी भुमरीमा परिन् रामकुमारी ? आफैंले गरिन् पराजयको यस्तो विश्लेषण

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टी महाधिवेशनको डेढ महिनापछि पदाधिकारी, पोलिटब्युरो र केन्द्रीय कमिटीलाई पूर्णता दिँदै गर्दा चर्चामा आइन् नेतृ रामकुमारी झाँक्री । उनी पदाधिकारीमा निर्वाचित हुन नसकेपछि कसैले सहानुभूति जनाए त कसैले कटाक्ष गरे ।

    नेकपा एमालेबाट अलग भएर नेकपा एकीकृत समाजवादी निर्माणमा महत्वपूर्ण भूमिका निभाएकी झाँक्री उपाध्यक्षमा लडेकी थिइन् । तर, जयन्ती राईसँग पराजित भइन् । यो पराजयले उनको राजनीतिक करिअरमै एउटा धक्का लागेको छ । कतिपयले अब उनले बाटो बदल्नसक्ने अनुमान पनि गरेका छन् ।

    झाँक्रीले पत्रकार जगदीश खरेलसँगको एक टेलिभिजन अन्तर्वार्तामा आफ्नो हारको कारण खोतल्न खोजेकी छन् । उनले गरेको विश्लेषणलाई बुँदागतरूपमा उल्लेख गरिएको छ ।

    माधव नेपालको भूमिका

    झाँक्रीले खुलेर सार्वजनिकरूपमा नभनेपनि अध्यक्ष माधवकुमार नेपालको अरुचिकै कारण आफू पराजित भएको संकेत गरेकी छन् । पार्टीको महाधिवेशनबाट नै आफूलाई अध्यक्ष नेपालले उपाध्यक्ष भएर काम गर्नुपर्छ भनेर आश्वासन दिएको उनले बताइन् । तर, निर्वाचनका बेला ‘क्याम्पेन’ गरेर नै आफूलाई पराजित गराउन नेताहरुको भूमिका रहेको उनको भनाइ छ ।

    झाँक्रीले भनिन्, ‘माधव नेपाल लगायतको टीमले महाधिवेशनको बेला तिमी उपाध्यक्षमा लड्नुपर्छ भन्ने सन्देश दिएको थियो । अध्यक्ष र महासचिवका लागि चुनाव नहुने, अरुमा हुने अवस्था आयो भने लड्नुपर्ला भनेर तयारी गरेको थिएँ । तर निर्वाचनमा चिट नै चोराएर मतदान भएपछि परिणाम यस्तो आयो ।’

    ‘भोट नआएकाले हारेँ’ भन्दै रेडिमेड जवाफ दिए पनि झाँक्रीले चुनावमा शीर्ष नेताहरुको टीमले ‘म्यानुपुलेट’ गरेकै कारण पराजय व्यहोर्नुपरेको उल्लेख गरिन् । पार्टी दर्ताको समयदेखि नै माधव नेपालको साथमा बलियो खम्बा भएर उभिएको मान्छेको हात अहिले अध्यक्षले किन छाडे ? भन्ने प्रश्नमा उनले ‘कसैको निगाहमा पर्न चाहन्नँ’ भनिन् ।

    घनश्यामलाई अध्यक्ष मान्न तयार नहुनु

    एमालेबाट विभाजन भएर नेकपा एस बनेको एक वर्षपछि पार्टीमा आएका घनश्याम भुसालले सुरूमा नै महामन्त्री पद पाएका थिए । महाधिवेशनमा उनले अध्यक्षको च्याखे थापे पनि सफल भएनन् । तर, त्यसो हुन सकेन् । झाँक्री भन्छिन्, ‘हामीले नै अहिले अध्यक्षमा नलड्नुस्, माधव नेपाललाई नै यो कार्यकाल अध्यक्ष दिउँ भनेका थियौँ ।’

    भुसाल र उनको टीमले पटक-पटक आफूलाई आउन आग्रह गरे पनि आफूले नमानेको झाँक्रीको भनाई छ । जित्ने अवस्था नभएको र हार्नकै लागि किन चुनाव लड्नु भन्ने सन्देश आफूले भूसाललाई दिएको उनले बताइन् ।

    उनले भनेकी छन्, ‘महाधिवेशनको चर्चा धनश्याम दाइ आउँदा चल्दै थियो । महाधिवेशन सर्दै आएको थियो । असारमा हुन्छ जस्तो पनि लागेको थिएन । धनश्याम अध्यक्षको क्यान्डिडेट तर जित्ने अवस्था थिएन । मलाई लागौँ भन्नुभएको थियो । मैले जित्ने ग्राउन्ड देखिनँ, त्यही भएर माधव नेपाललाई नै अध्यक्ष बनाउन भूमिका खेलेँ ।’

    लिस्टमा थिएन नाम

    निर्वाचनमा केन्द्रीय सदस्यहरूलाई भोट माग्नका लागि उम्मेदवारहरूको नामसहितको चीट नै बाँडिएको थियो । यो समाचार नेपाल प्रेसले ब्रेक गरेको थियो । झाँक्रीले पनि अध्यक्ष र महासचिवको टीमबाट चीट बाँडेर आफूलाई भोट नहाल्न क्याम्पेन भएको स्वीकार गरिन् ।

    उनले भनिन्, ‘मतदान हुनुभन्दा पहिलेबाट नै चीटहरू पास गरेको भन्ने कुरा आयो । मिस टार्गेट छ भन्ने थाहा पाएँ । भोटिङ हुनुभन्दा पहिले नै थाहा पाएँ । केही मान्छेहरूले लिस्ट बनाइरहेका छन्, तिम्रो नाम छैन भन्ने कुरा गरिरहनुभएको थियो । तर, मैले कुनै मान्छेलाई पनि सोधिनँ मेरो नाम किन छैन भन्ने । कुरा गर्न आवश्यक ठानिनँ । लिस्ट नै बनाएर हराउने टार्गेट भए किन कुरा गर्ने ?’

    चीट वितरण भएको कुरा केन्द्रीय कमिटी बैठकले नै अनुसन्धान गर्न कमिटी बनाउने निर्णय गरिसकेकाले पुष्टि हुने उनको भनाइ छ ।

    केन्द्रीय सदस्य खल्तीबाट आए

    महाधिवेशन सकिएको डेढ महिनापछि केन्द्रीय सदस्य चयन भएका थिए । केन्द्रीय सदस्य चयनका लागि नेकपा एसले अध्यक्ष, महासचिव र सम्मानित नेतालाई जिम्मेवारी दिएको थियो । झाँक्री तीन शीर्ष नेताहरूले चयन गरेका केन्द्रीय सदस्यहरुले आफ्नो टीमले वितरण गरेको चिटअनुसार नै मतदान गरेको बताइन् ।

    उनले भनिन्, ‘केन्द्रीय कमिटी तीनजना नेताहरूले छानेको हो । डेढ महिना लगाएर उहाँहरूले छान्नुभएको थियो । सर्वसम्मत गर्नुहोला लागेको थियो । एक्कासी चुनाव भयो । मनोनीत केन्द्रय सदस्यहरू हुन् । शीर्ष नेताहरूले ल्याएका उनीहरू म्यानुपुलेट मान्छे हुन् ।

    कसका कति छन् भन्ने थाहा छ । मेरो टीमले पनि दिदीको नाम प्रोजेक्सन गरेकाले मैले हार्छु भन्ने त थाहा पाएँ नि ! घनश्यामलाई अध्यक्ष बनाउनुपर्छ भनेर लागिनँ । माधव नेपालले नै महिला उपाध्यक्षमा उठ्नुपर्छ भन्नुभएको थियो । महाधिवेशनको बेला माधव नेपालले पनि जयन्ती राईको चीट पठाउनुभयो ।’

    जिम्मेवारी नपाउनु र सक्रिय नहुनु

    पछिल्लो समय रामकुमारी झाँक्रीलाई संगठन निर्माणका लागि पार्टीमा खासै जिम्मेवारी दिइएको थिएन । झाँक्रीले कुनै जिम्मेवारी नभएका कारण कार्यकर्ताहरूसँग नजिक हुन नसकिएको बताइन् । कार्यकर्ताहरूसँग घुलमिल नहुँदा पनि आफू निष्कृयजस्तै देखिएको उनको भनाइ छ । आफूलाई आएका ११२ मत व्यक्तिगत भएको उल्लेख गर्दै उनले अरु मतहरू टीमको मत नै भएको बताइन् । आफ्नो भनिएको टीमबाट समेत आफूलाई मत नआएको गुनासो गरिन् ।

    एमालेप्रति उदार !

    झाँक्रीले केही समयता एमाले नेताहरूसँग निकटता बढाएको विषयमा नेकपा एसभित्र र बाहिर पनि चर्चा भयो । त्यो पनि उनको पराजयको कारण हो भनेर धेरैले टिप्पणी गरेका छन् । झाँक्री एमाले नेताहरुसँग निकट भएको विषयलाई राजनीतिक रुपमा मात्रै हेर्नुपर्ने बताउँछिन् ।

    उनी भन्छिन्, ‘माओवादीसँग एकता गर्नुभन्दा एमालेसँग नै बेटर हुन्छ । एमाले नै ओरिजन हो नि भन्नु मेरो पोलिटकल स्टेटमेन्ट हो । यो पार्टी माओवादीसँग ध्रुविकरण गर्ने बाटोमा गयो भने मलगायत हामी सबै एमालेमा नै जान्छौँ । एमालेसँग म उदार हुनु र उहाँहरु माओवादीसँग उदार हुनु एउटै होइन र ?’

    झाँक्रीले योभन्दा पनि खतरा दिन आउन सक्छन् भनेर पार्टी छाड्नुपर्ने हुनसक्ने संकेत पनि गरिन् । एमाले नेताहरूसँगको निकटताका कारण शीर्ष नेतृत्वले अविश्वास गरेको उनको ठम्याईँ छ ।

    उनले उपाध्यक्षमा निर्वाचित जयन्ती राई आफूभन्दा सिनियर व्यक्ति भएको भन्दै शुभकामना पनि दिइन् ।

  • अपराधीहरूलाई जनताको बीचमा नांगेझार पार्नुपर्छ, संरक्षण गर्ने होइन: माधव नेपाल (भिडिओ)

    अपराधीहरूलाई जनताको बीचमा नांगेझार पार्नुपर्छ, संरक्षण गर्ने होइन: माधव नेपाल (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले अपराधीहरुको कसैले पनि संरक्षण गर्न नहुने बताएका छन्। शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सबै इमान्दार भएर लागे अपराधजन्य गतिविधि नियन्त्रण गर्न सकिने बताए।

    उनले भने, ‘यो सानो देश हो, तीन करोड जनसंख्या छ । यदी प्रत्येक व्यक्तिहरु आफ्नो ठाउँमा इमान्दार भए भने बद्मासलाई तह लगाउन सकिन्छ । तिनीहरुलाई थुनामा राख्न सकिन्छ । जेल कोच्न सकिन्छ । जनताको बीचमा नांगेझार पार्न सकिन्छ । त्यस्ता अपराधीहरुलाई कसैले पनि संरक्षण गर्ने होइन, तिनीहरु नयाँ पुस्तालाई प्रभाव पार्न, नेपाली समाजलाई खत्तम पार्न, पैसा कमाउने नाममा अत्यन्त अपराधपूर्ण काममा संलग्न हुने अपराधीहरु हुन्। त्यस्ता अपराधीलाई कसैले पनि छुट दिने, सहानुभुति दिने काम गर्नु हुँदैन।’

    उनले कुनै चुनौतिलाई स्वीकार गर्नसके सबैकुरामा सफल हुन सकिने बताए। लागुपदार्थ दुव्र्यसनी र दुव्र्यसनीका व्यापारजन्यहरुको सञ्जाल देखिएको भन्दै त्यसलाई कुनै रुपमा समाप्त पार्नुपर्नेमा जोड दिए।

  • नेकपा एसको नीति- माओवादीसँग तत्काल एकता नगर्ने, समाजादी मोर्चालाई क्रियाशील बनाउने

    नेकपा एसको नीति- माओवादीसँग तत्काल एकता नगर्ने, समाजादी मोर्चालाई क्रियाशील बनाउने

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले समाजवादी मोर्चालाई अझ प्रभावकारी ढंगले क्रियाशील बनाउने निर्णय गरेको छ । केन्द्रीय कमिटी बैठकले पारित गरेको ७ बुँदे प्रस्तावमा समाजवाद, लोकतन्त्र, राष्ट्रिय हित तथा सुशासनका लागि वामपन्थी शक्तिहरूसँग सहकार्य गर्ने नीतिअनुसार समाजवादी मोर्चा नेपालमा आवद्ध भएको उल्लेख छ ।

    उपाध्यक्ष जगन्नाथ खतिवडाका अनुसार बैठकमा मुलुकमा बदलिएको विषम राजनीतिक परिस्थितिलाई गम्भीररूपमा विश्लेषण गरिएको छ ।

    प्रस्तावमा भनिएको छ, ‘विचार, सिद्धान्त, राजनीति तथा संगठनका सबै विषयमा खुल्ला छलफलद्वारा सहमति र सहकार्य गर्दै अगाडि बढेर मात्रै कम्युनिष्ट पार्टीहरूका बीच एकता हुन्छ । हाम्रो पार्टी वाम एकताको पक्षमा सधैं दृढतापूर्वक रहँदै आएको छ । त्यसैले कतिपय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा पार्टी एकताबारे चलेका हलुका प्रचारबाट प्रभावित नहुन सबैलाई आग्रह गर्दछौं ।’

    नेकपा एस र माओवादी केन्द्रबीच पार्टी एकताको चर्चा चलिरहेको छ ।

    साना दलको अस्तित्वमाथि आघात पुर्‍याउने संविधान प्रदत्त अधिकार कुण्ठित गर्ने तथा समावेशी लोकतन्त्रको मूल मर्ममाथि प्रहार गर्ने कुचेष्टाले संविधान संशोधन गर्ने प्रतिगामी चिन्तनहरू प्रकट हुन थालेको निष्कर्ष निकालेको छ ।

    प्रस्तावमा भनिएको छ, ‘यो बैठक संघीय लोकतान्त्रिक गणतन्त्र संविधान, राष्ट्रिय स्वाभिमान तथा सार्वभौमिकता माथि हुन सक्ने षड्यन्त्र र प्रहारप्रति सचेत हुँदै सम्पूर्ण लोकतान्त्रिक र देशभक्त शक्तिलाई एकजुट हुन अपिल गर्दछ ।’

    संसदको राज्य व्यवस्था समितिमा विचाराधीन रहेको भ्रष्टचार नियन्त्रण ऐन-२०५९ को शंशोधन विधेयकमाथि छलफल चलिरहेको बताउँदै भ्रष्टचारको मुद्दामा हदम्याद स्वीकार्य नहुने जनाएको छ ।

    प्रस्तावमा भनिएको छ, ‘यो बैठक नेपालको संसदलाई भ्रष्टाचारको मुद्दामा हदम्याद नराख्ने कानून निर्माण गर्न माग गर्दछ र सम्पूर्ण राजनीतिक दलहरु र नागरिक समाजलाई यो विषयमा सजग बन्न आव्हान गर्दछ ।’

  • नेकपा एस बैठक- झलनाथ छुट्टीमा, चुनावमा चीट बाँड्नेलाई कारवाही गर्ने माधव नेपालको आश्वासन

    नेकपा एस बैठक- झलनाथ छुट्टीमा, चुनावमा चीट बाँड्नेलाई कारवाही गर्ने माधव नेपालको आश्वासन

    काठमाडौं । नेकपा एकीकृत समाजवादीको पदाधिकारी र पोलिटव्युरो निर्वाचनपछि आयोजित पहिलो बैठकमा शीर्ष नेतृत्वले लिस्ट बाँडेर चुनाव जिताउने र हराउने खेल भएको विषय उठेको छ ।

    बैठकमा पोलिटव्युरो सदस्य उर्वादत्त पन्तले उम्मेदवारको लिस्ट बाँडिएको र नेताहरुलाई छानी छानी हराइएको कुरा उठाएपछि श्रीप्रसाद साह,आलोक रायमाझी,शत्रुघन महतोलगायतले पनि सोही विषयमा छानविनको माग गरेका थिए ।

    बैठकमा पार्टीको सचिव र पोलिटव्युरो सदस्यमा समेत पराजित भएका भाष्कर काफ्लेले आफ्नो केन्द्रीय सदस्य पद खारेज गरियोस भन्ने प्रस्ताव राखेका छन् । बैठकका एक सहभागीले उनको भनाइ उदृत गर्दै भने–चुनावमा गुट बनाइयो,पार्टीमा जिम्मेवारी पनि दिइदैन । यस्तो केन्द्रीय सदस्य हुनुभन्दा नहुनु बेश भयो,त्यसैले मेरो केन्द्रीय सदस्य पद खारेज गरियोस् ।

    बैठकमा केन्द्रीय सदस्यहरुले पार्टी अध्यक्ष माधव नेपालकै नाममा गुट बनाएर लिस्ट बाँडिएको बताएका छन् । चिट कसले बाँड्यो भन्ने नाम नलिई उनीहरुले ‘उपमहासचिव हुनुभएको एकजना, एक महिला नेतृ तथा कसैले भान्जा’ भन्ने सांकेतिक नाम लिएको नेताहरुले बताएका छन् ।

    उनीहरुको संकेत रामकुमार भट्टराई,कल्याणी खड्का र नितेश पौडेलतर्फ रहेको बैठकमै सहभागी एक सदस्यले बताए । सदस्यहरुले चुनावमा लिस्ट बाँडेर ब्यापक गुटबन्दी गरिएको आरोप लगाएपछि अध्यक्ष नेपालले चिट प्रकरणमा छानविन समिति बनाउँने र त्यस्तो गर्नेमाथि कारवाही हुने आश्वासन दिएका छन् ।

    बैठकको शुरुमै अध्यक्ष नेपालले सम्मानित नेता झलनाथ खनालले व्यक्तिगत कामका लागि दुई तीन दिनको छुट्टी मागेको जानकारी गराएका थिए । नेपाल संसद बैठकमा गएपछि बरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले बैठक चलाइरहेका छन् ।

  • माधव नेपाललाई डोहोर्‍याउने रामकुमारी नेकपा एसमा किन हारिन् ?

    माधव नेपाललाई डोहोर्‍याउने रामकुमारी नेकपा एसमा किन हारिन् ?

    काठमाडौं । नेकपा एकीकृत समाजवादीको उपाध्यक्ष रामकुमारी झाँक्री पराजित भएपश्चात धेरैले तीन वर्ष अगाडिको दृष्य सम्झिए । नेकपा एमालेबाट फुटेर नेकपा एकीकृत समाजवादी दर्ता गर्न जाँदा रामकुमारीले माधव नेपालको हात समातेर लगेको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

    नयाँ पार्टी निर्माणमा यसरी नेपाललाई बलियो हात दिएकी झाँक्री अहिले उनै नेपालको दरिलो साथ नपाउँदा उपाध्यक्ष बन्न वञ्चित भइन् । पार्टीबाहिर खासै परिचित नरहेकी जयन्ती राईले झाँक्रीलाई हराउँदै महिला उपाध्यक्षको कोटामा निर्वाचित भएकी छन् । र, यो निर्वाचनले नेकपा एकीकृत समाजवादीभित्र सुषुप्त अवस्थामा रहेको गुटबन्दीलाई एकैपटक छताछुल्ल बनाइदिएको छ ।

    खासमा दुई महिना अगाडि भएको महाधिवेशनले पार्टीको पदाधिकारी चयन गर्नुपर्ने थियो । तर, अध्यक्ष, महासचिव र सम्मानित नेतामात्रै घोषणा गरेर महाधिवेशन प्रतिनिधिहरुलाई घर पठाइयो । पदाधिकारी र पोलिटब्युरो चयनको अधिकार महाधिवेशन प्रतिनिधिबाट खोसेर केन्द्रीय समितिमा प्रत्यायोजन गरियो । सोही केन्द्रीय कमिटीमा भएको मतदानमा झाँक्रीले उपाध्यक्षमा हार व्यहोरेकी हुन् । पोलिटब्युरो सदस्यमा भने निर्वाचित भएकी छन् ।

    मंगलबार भएको निर्वाचनमा अध्यक्ष माधव नेपाल र महासचिव घनश्याम भुसाल खेमाबीच खुलेआम गुटगत प्रतिस्पर्धा भएको थियो । महासचिव भुसाललाई सम्मानित नेता झलनाथ खनालको पनि साथ रह्यो ।

    १७ पदाधिकारी र पोलिटब्युरो सदस्यका लागि भएको निर्वाचनमा अध्यक्ष नेपाल र महासचिव भुसाल पक्षधरले आ-आफ्नो टीमको नाम लिष्ट बाँडेका थिए । निर्वाचित पदाधिकारीमा महासचिव भुसालको लिस्टबाट ७ जना विजयी भएका छन् ।

    भुसाल पक्षबाट उपाध्यक्ष जयन्ती राई, धर्मनाथ साह, प्रकाश ज्वाला र भानुभक्त जोशी निर्वाचित भए । ज्वाला र जोशी दुवैको लिस्टमा थिए । त्यस्तै उपमहासचिवमा भुसाल पक्षबाट गरिमा शाहमात्र निर्वाचित भइन् ।

    सचिवमा भुसाल पक्षबाट चन्द्रबहादुर शाही र बलदेव चौधरी निर्वाचित भएका छन् भने गणेश विक दुवै पक्षको टीममा थिए । घनश्याम भुसालको टीममा परेका पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य भने पराजित भए ।

    पोलिटब्युरोमा पनि माधव नेपाल पक्षले बेग्लै लिस्ट बाँडेको थियो भने भुसालको पनि फरक छ । रामकुमारी झाँक्रीसहित धेरै नेता दुवै लिस्टमा छन् । रामकुमारी उपाध्यक्षमा जयन्ती राईसँग फराकिलो मतान्तरले हारिन् । राईले १९९ मत पाउँदा झाँक्रीले ११२ मतमात्रै पाइन् ।

    पछिल्लो समय झाँक्री महासचिव भुसालको पक्षमा थिइन् । तर, पनि भुसालको प्यानलमा अटाउन सकिनन् । अर्कोतर्फ माधव नेपालको प्यानलमा पनि सुरूमा उनको नाम थिएन । फलतः दुवै पक्षका केन्द्रीय सदस्यहरू उनलाई मत हाल्ने/नहाल्ने अलमलमा परेका थिए ।

    माधव नेपालसँग रामकुमारीको सम्बन्ध

    पार्टी विभाजनपछि नेकपा एसकी ‘आइकोनिक फिगर’ बनेकी झाँक्रीलाई नेपालले सचिवको जिम्मेवारीबाट पुरस्कृत गरेका थिए । लगत्तै शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहरी विकासमन्त्री पनि बनाए ।

    ०७८ असोज २२ गते मन्त्री बनेकी रामकुमारीको कार्यकाल लामो भएन । ०७९ असार १२ गते उनले पदत्याग गर्नुपर्‍यो । पार्टीले आफूहरूलाई नसोधी सरकारबाट फिर्ता बोलाएको भन्दै नेतृत्वसँग रुष्ट थिइन् । माधव नेपालसँग उनको दूरी बढेको त्यहीँबाट हो । मन्त्री पदबाट राजीनामा दिँदा रुँदै बाहिरिएकी झाँक्री त्यसपछि पार्टीमा खासै सक्रिय भइनन् । त्यसता अध्यक्ष नेपालसहित नेताहरुको खुलेर आलोचना गर्दै हिँडेकी थिइन् ।

    झाँक्रीलाई गएको निर्वाचनमा पार्टीले गुल्मी २ बाट प्रतिनिधि सभाको टिकट दिएको थियो । सत्ता गठबन्धनको साथ हुँदा पनि एमालेका गोकर्ण विष्टसँग पराजित भइन् ।

    विस्तारै एमालेप्रति नरम बन्दै गइरहेकी झाँक्रीले पार्टीको जिम्मेवारीमा ध्यान दिन छोडिन् । सचिवको महत्वपूर्ण ओहदामा रहँदा कुनै काम नगरी पार्टीको नेतृत्वमाथि नै प्रश्न उठाउँदै हिँडेको आरोप उनीमाथि लागेको थियो । पार्टीका केन्द्रीय सदस्यहरू उनलाई भोट हाल्न सकारात्मक नहुनुको प्रमुख कारण यही मानिएको छ ।

    स्रोतका अनुसार अध्यक्ष माधव नेपाल झाँक्रीलाई पदाधिकारीमा ल्याउन चाहन्थे । तर, नेपालको कोर टीमका सोमप्रसाद पाण्डे, मोहन गौतमलगायत लुम्बिनीका नेताहरूले उनलाई हराउन भूमिका खेलेको स्रोतको दाबी छ ।

    स्रोतले भन्यो, ‘अध्यक्षको चाहनाविपरीत विभिन्न लिस्ट बाँडिएको थियो । त्यहाँ उहाँ निकटकै नेताहरुले खेलेको देखिएको छ । झाँक्रीजी लुम्बिनीमा मात्रै नभएर देशभर प्रभाव भएको लोकप्रिय नेतृ हुनुहुन्छ । उहाँलाई रोक्न लुम्बिनीकै नेताहरु लागेको देखिन्छ । यहाँ गुटभित्र पनि अर्को गुटले काम गरेको हुनुपर्छ ।’

    संस्थापन पक्षबाट बाँडेको एउटा लिस्टमा झाँक्रीको नाम नभए पनि अर्कोमा राखेको अर्का एक नेताले बताए ।

    ती नेताले थपे, ‘महाधिवेशनमा पुगेपछि गुटबन्दी देखियो । उहाँ दुवैपट्टिको साझा बन्नुपर्दा जयन्तीजीलाई फाइदा पुगेको हो । उहाँ हार्नुको पछाडि यसअघि उहाँले पार्टीको महत्वपूर्ण भूमिका पाउँदा पनि एमालेप्रति नरम भएर बोल्दै हिँड्नुले पनि काम गरेको देखिन्छ ।’

    झाँक्रीलाई हराउने राई यसअघि पनि उपाध्यक्ष नै थिइन् । हाल राष्ट्रियसभा सदस्य समेत रहेकी राई पार्टीभित्र लो प्रोफाइलको अनुभवी नेताको रूपमा परिचित छिन् ।

    त्यसो त पार्टी नेतृत्वविरुद्ध खनिँदै हिँडेकी झाँक्री एमालेमा फर्किने चर्चा पनि नभएको होइन । उनी अहिले पनि एमाले नेताहरूसँग बाक्लो संवादमा भएको बताइन्छ ।

    एमालेद्वारा दशैँतिहारको अवसरमार आयोजित चियापान कार्यक्रममा एक वर्षअघि च्यासल पुगेकी झाँक्री ।

    माधवनिकट अर्का एक नेताले बाहिर लोकप्रिय भएपनि पार्टीभित्र आफ्नै बोलीको कारणले झाँक्रीले हारेको तर्क गरे ।

    ती नेताले भने, ‘पार्टी बनाउन लाग्नुपर्ने बेलामा उहाँ पार्टी नेतृत्वको आलोचना गर्दै हिँड्नुभयो । त्यसैले अहिले विकल्पमा राईजस्तो अनुभवी नेतालाई रोजेका हुन् । त्यहाँ कुनै गुट भन्दा पनि आफ्नै कारणले हार्नुभएको हो ।’

    मन्त्रीबाट हटेपछि एमालेको पक्षमा बोल्दै हिँडेको ती नेताको आरोप छ ।

    उपमहासचिवमा पराजित भएका जीवनराम श्रेष्ठले पनि पार्टीभित्र चर्को गुटबन्दी देखिएको दाबी गरे ।

    उनले नेपाल प्रेससँग भने, ‘गुटबन्दी त प्रष्टै देखियो । संस्थापन पक्षबाटै लिष्ट बाँडियो । अनेक खालका फोन गरेर फलानोलाई जिताउ, उसलाई हराउ भन्दै क्याम्पेनहरु भए, गुटबन्दी त स्पष्ट देखियो । दुभार्ग्यपूर्ण नै रह्यो ।’

    संस्थापन पक्षबाट आचारसंहितको उल्लंघन गरेर लिष्ट बाँडेको उनले बताए ।

    श्रेष्ठले थपे, ‘अध्यक्षलाई चाहे अनुसार कम्फर्टेबल हुने ढंगबाट मान्छे ल्याउने काममा विशेष भूमिका भयो । मुख्यगरी त्यहाँको गतिविधि हेर्दा अध्यक्षबाट यस्ता खालका गतिविधि गराइएको देखियो । लिष्ट बाँड्नदेखि सबै कुराहरू त्यहीँबाट भएको हो ।’

    पोलिटब्युरो सदस्य सुदेश पराजुली भने निर्वाचनपछि अब पार्टीलाई एकताबद्ध बनाउन सबै जुट्नुपर्ने बताउँछन् ।

    उनले भने, ‘अब निर्वाचनमा निर्वाचित, सहभागी र सिंगो केन्द्रीय कमिटी एकमना एकताकासाथ निर्वाचनको परिणाम जसको पक्षमा आएपनि पार्टी निर्माणमा जुट्न आवश्यक छ ।’

  • नेकपा एस : पदाधिकारी र पोलिटब्युरोको शपथ ११ बजे, लगत्तै केन्द्रीय कमिटी बैठक बस्ने

    नेकपा एस : पदाधिकारी र पोलिटब्युरोको शपथ ११ बजे, लगत्तै केन्द्रीय कमिटी बैठक बस्ने

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका नवनिर्वाचित पदाधिकारी र पोलिटब्युरो सदस्यहरुको शपथ आज हुने भएको छ ।

    एक नेताका अनुसार विहान ११ बजे शपथग्रहण कार्यक्रम राखिएको छ । त्यसपछि केन्द्रीय कमिटी बैठक बस्नेछ ।

    महाधिवेशनको डेढ महिनापछि मंगला भएको निर्वाचनबाट १७ जना पदाधिकारी र १०५ जना पोलिटब्युरो सदस्य चुनिएका थिए ।

    नेकपा एसको अध्यक्ष, महासचिव र वरिष्ठ उपाध्यक्ष भने सर्वसम्मत चयन भएका थिए ।

  • नेकपा एस छाडेको भोलिपल्टै काठमाडौं उपाध्यक्ष-सचिवलगायतका नेता एमाले प्रवेश (तस्बिरहरू)

    नेकपा एस छाडेको भोलिपल्टै काठमाडौं उपाध्यक्ष-सचिवलगायतका नेता एमाले प्रवेश (तस्बिरहरू)

    काठमाडौं । नेकपा एकीकृत समाजवादी काठमाडौंका प्रभावशाली नेताहरू एमालेमै फर्किएका छन् । जिल्ला कमिटी उपाध्यक्ष बटुकृष्ण थापा र सचिव धुर्वराज न्यौपानेलगायतका नेता-कार्यकर्ता नेकपा एस छाडेको भोलिपल्टै मूलघर फर्किएका हुन् ।

    केन्द्रीय पदाधिकारी र पोलिटव्युरो सदस्यहरूको निर्वाचन भइरहेका बेला उनीहरूले हिजो पार्टी परित्याग गरेका थिए ।

    एमालेमा पुन: प्रवेश गरेका नेता-कार्यकर्तालाई बागमती प्रदेश इन्चार्ज राजन भट्टराई, काठमाडौं जिल्ला इन्चार्ज आनन्द पोखरेललगायतका नेताहरूले स्वागत गरे ।

    पार्टीले विद्रोहको औचित्य पुष्टि गर्न नसकेको र व्यक्तिवादी चरित्र हावी भएकाले आफूहरुले छलफल गरेरै नेकपा एस छाडेको सचिव न्यौपानेले बताए । उनी साविक नेकपा एमालेमा ४ नम्बर क्षेत्रीय सचिव र जिल्ला खेलकुद विकास समितिको अध्यक्षसमेत भएका थिए ।

    त्यस्तै बटुकृष्ण थापा कीर्तिपुर नगरपालिकाको मेयरमा नेकपा एसको मेयर उम्मेदवार बनेका थिए । कीर्तिपुर नगरपालिकाको मेयर राजकुमार नकर्मीको निधन भएका कारण सो पदमा मंसिरमा उपनिर्वाचन हुँदैछ ।

    नेकपा एस परित्याग गर्नेहरूमा काठमाडौं क्षेत्र नम्बर ७ का संयोजक तथा युवा फाँट इन्चार्ज हरिशरण घिमिरे, जिल्ला कमिटी सचिव तथा तारकेश्वर नगर कमिटी सचिव शिवहरि देवकोटा, कीर्तिपुर नगर कमिटी अध्यक्षरोहित महर्जन,सचिव गृश्म महर्जन, उपसचिव नारायणहरी थापा,जिल्ला सचिवालय सदस्य सुशीला खतिवडा, राजकुमार महर्जन, विजय देवकोटालगायत छन् ।

    त्यस्तै बूढानीलकण्ठ नगर कमिटी उपाध्यक्ष विष्णु भट्टराई, सचिव विमल लामा, युवा संघ केन्द्रीय सदस्य रामशरण सापकोटा, जिल्ला सचिवालय सदस्य अशोक युवा संघ बूढानीलकण्ठ अध्यक्ष आकाश श्रेष्ठ, भानु रिजाल, केन्द्रीय सदस्य मेघ कुमार न्यौपाने, दीपेश थापा, कृष्णहरी खड्का, कीर्तिपुर नगर कमिटी नेकपा एसका उपसचिव नारायणहरी थापा, महिला संघ जिल्ला उपाध्यक्ष पुष्पा थापालगायत छन् ।

    काठमाडौं क्षेत्र नम्बर ९ का संयोजक तोरण थापा, चन्द्रागिरी नगर अध्यक्ष प्रदीप रिजाल, काठमाडौं क्षेत्र नम्बर १० (ख)को प्रदेश संयोजक तथा जिक सदस्य राजाराम कार्की पनि एमालेमा भित्रिएका छन् ।

    जिल्ला कमिटी बैठक बोलाइएको पूर्वसन्ध्यामा अधिकांश नेता-कार्यकर्ताले पार्टी छाडेका थिए ।

  • समयले समाजवादी क्रान्तिको अगुवाइ गर्ने अभिभारा हाम्रो पार्टीको काँधमा ल्याएको छ : झलनाथ खनाल

    समयले समाजवादी क्रान्तिको अगुवाइ गर्ने अभिभारा हाम्रो पार्टीको काँधमा ल्याएको छ : झलनाथ खनाल

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले देश समाजवादी क्रान्ति र रूपान्तरणको बाटोमा अघि बढिरहेको बताएका छन्।

    पार्टीबाट नवनिर्वाचित सबै पदाधिकारीहरूलाई बधाई दिँदै पार्टीको दशौँ राष्ट्रिय महाअधिवेशन एकता र अग्रगामी महाधिवेशनका रूपमा सम्पन्न भएको बताएका छन्।

    उनले भनेका छन्, ‘नेपाली समाजवादी क्रान्तिको कार्यक्रम नेपाली विशेषताको समाजवादी कार्यक्रम सर्वसम्मत रूपले पास गरेको छ । त्यो ऐतिहासिक लक्ष्यलाई प्राप्त गर्ने क्रान्तिकारी कार्यदिशा, नीति र सिद्धान्तलाई समेटिएका दस्ताबेजहरू पनि सहमतिको साथ पास गर्नुका साथै पार्टीको केन्द्रीय कमिटी पनि सहमतिका साथ नै निर्वाचित गरेको छ । त्यस पछि हिजो मात्र हामीले केन्द्रीय कमिटीका बाँकी पदाधिकारीहरूको पनि विधिपूर्वक निर्वाचन गरेका छौँ ।’

    देश समाजवादी क्रान्ति र रूपान्तरणको बाटोमा अघि बढिरहेको उल्लेख गर्दै पार्टीले समाजवादी कार्यक्रम र कार्यदिशा पारित गरेको बताए।

    उनले थपेका छन्, ‘त्यसलाई बहन गर्न र सही क्रान्तिकारी दिशामा अघि बढाउन हाम्रो पार्टीका नवनिर्वाचित पदाधिकारीहरूले हर प्रकारले दृढ, सृजनशील र योजनाबद्ध रूपले भूमिका खेल्नुपर्नेछ । इतिहास, समय र परिस्थितिले नेपालको समाजवादी क्रान्ति र रूपान्तरणको अभियानलाई अगुवाइ गर्ने ऐतिहासिक अभिभारा हाम्रो पार्टीको काँधमा नै आएको छ ।’

    नवनिर्वाचित पदाधिकारीहरू र सिङ्गो केन्द्रीय कमिटीका सदस्यहरूले यो जिम्मेवारी संकल्पबद्ध, योजनाबद्ध, दृढ र एकताबद्ध भएर पूरा गर्न आग्रह गरेका छन्।

  • नेकपा एसमा घनश्याम भुसाल पक्षका ७ पदाधिकारी विजयी, यस्तो थियो सूची

    नेकपा एसमा घनश्याम भुसाल पक्षका ७ पदाधिकारी विजयी, यस्तो थियो सूची

    काठमाडौं । नेकपा एकीकृत समाजवादीको पदाधिकारी निर्वाचनबाट कम्तीमा ७ जना नेता महासचिव घनश्याम भुसालको लिस्टबाट विजयी भएका छन् । भुसाल पक्षले मतदानका बेला बाँडेको लिस्टबाट ७ जना पदाधिकारी विजयी भएका हुन् ।

    मतदानका बेला अध्यक्ष माधव नेपाल पक्ष र महासचिव घनश्याम भुसाल पक्षबाट फरक फरक लिस्ट बाँडिएको थियो । केही नेता दुवै लिस्टमा परेका थिए । सम्मानित नेता झलनाथ खनालको समर्थन भुसाल पक्षमा थियो ।

    भुसाल पक्षबाट उपाध्यक्ष जयन्ती राई, धर्मनाथ साह, प्रकाश ज्वाला र भानुभक्त जोशी निर्वाचित भएका छन् । ज्वाला र जोशी दुवैको लिस्टमा थिए । त्यस्तै उपमहासचिवमा भुसाल पक्षबाट गरिमा शाह मात्र निर्वाचित भएकी छन् ।

    सचिवमा भुसाल पक्षबाट चन्द्रबहादुर शाही र बलदेव चौधरी निर्वाचित भएका छन् भने गणेश विक दुवै पक्षको टिममा थिए । घनश्याम भुसालको टिममा परेका पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य भने पराजित भएका छन् ।

    पोलिटब्युरोमा पनि माधव नेपाल पक्षले बेग्लै लिस्ट बाँडेको थियो भने भुसालको पनि फरक छ । धेरै नेता दुवै लिस्टमा परेका छन् । २०२ जना पोलिटब्युरो सदस्यको मतगणना दिउँसो हुँदैछ ।

    यस्तो थियो सूची

    उपाध्यक्ष

    १. उपाध्यक्ष  (महिला)- जयन्ती राई

    २. उपाध्यक्ष (मधेसी)- धर्मनाथ शाह

    ३. उपाध्यक्ष खुल्ला- प्रकाश ज्वाला

    ४. उपाध्यक्ष खुल्ला- डा. विजय कुमार पौडेल

    ५. उपाध्यक्ष खुल्ला- भानुभक्त जोशी

    (ख) उपमहासचिव 

    १. जीवनराम श्रेष्ठ

    २. गरिमा शाह

    ३. हरि पराजुली

    ४. शत्रुघ्न महतो

    (ग) सचिव

    १. धर्मराज निरौला

    २. चन्द्रबहादुर शाही

    ३. धनराज आचार्य

    ४. शिव भण्डारी

    ५. दीर्घ सोडारी

    ६. बलदेव चौधरी (जनजाति)

    यस्तो छ माधव नेपाल पक्षका पोलिटब्युरो सदस्यको लिस्ट

  • सुदूरपश्चिमका निवर्तमान मुख्यमन्त्री सोडारी नेकपा एसको सचिवमा पराजित, पाए ५३ मत

    सुदूरपश्चिमका निवर्तमान मुख्यमन्त्री सोडारी नेकपा एसको सचिवमा पराजित, पाए ५३ मत

    कैलाली । सुदूरपश्चिम प्रदेशका निवर्तमान मुख्यमन्त्री दीर्घ सोडारी नेकपा एकीकृत समाजवादीको सचिव पदमा पराजित भएका छन् । उनले ५३ मत मात्रै पाए।

    उनलाई समर्थकहरूले पार्टी विद्रोहको सुदूरपश्चिम कमान्डरको रूपमा प्रचार गरेका थिए । त्यति हुँदा पनि सोडारीले राम्रो मत पाउन सकेनन् । उनी नेकपा एस सुदूरपश्चिम संसदीय दलका नेता हुन् ।

    दलको नेता भन्दा बढी मत दलका सदस्य नरेश शाहीले पाए । उनी पनि नेकपा एसको खुल्ला पदका उम्मेदवार बनेका थिए ।

    दलको नेताले ५३ मत पाएर पराजित हुँदा शाहीले उनको भन्दा १३ मत बढी पाएर पराजित भएका थिए ।

    सोडारी कैलालीबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् भने शाही बाजुराबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

    ५ सचिवका लागि भएको निर्वाचनमा २६ जना उम्मेदवार रहेका थिए । जसमा श्रीनाथ बराल १०७, शेरबहादुर कुँवर १५३, चन्द्रबहादुर शाही ९१, सोमप्रसाद पाण्डे १४१ र सावित्रीकुमारी भुसाल १०६ ले मत पाएर विजयी भएका छन् ।

  • सुदूरपश्चिम नीति तथा योजना आयोगका पूर्व उपाध्यक्ष नेकपा एसको दलित सचिवमा निर्वाचित

    सुदूरपश्चिम नीति तथा योजना आयोगका पूर्व उपाध्यक्ष नेकपा एसको दलित सचिवमा निर्वाचित

    कैलाली । सुदूरपश्चिम प्रदेशका नीति तथा योजना आयोगका पूर्व उपाध्यक्ष  गणेश विक नेकपा एकीकृत समाजवादीको दलित सचिवमा निर्वाचित भएका छन् ।

    १८० मतसहित उनी विजयी हुँदा निरादेवी जैरु पराजित भइन् । उनले ९८ मत पाएकी थिइन् । उनी डडेल्धुराकी हुन् । अर्का उम्मेदवार कृष्ण बहादुर नेपालीले २६ मत पाएका थिए ।

    अघिल्लो सरकारले गणेश विकलाई नीति तथा योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको थियो ।

    कांग्रेस नेतृत्वको सरकारमा उनले राजीनामा दिएका थिए । तर, राजीनामा स्वीकृत भएको छैन ।

    राजनीतिसँगै सामाजिक न्याय तथा मानव अधिकारको क्षेत्रमा कार्यरत झन्डै साढे दुई दशकदेखि क्रियाशील रहेका उनी यस अघि को पोलिटब्युरो सदस्य थिए ।

  • यी हुन् नेकपा एसको सचिवमा विजयी भएका नेताहरु

    यी हुन् नेकपा एसको सचिवमा विजयी भएका नेताहरु

    काठमाडौं । नेकपा एसको पदाधिकारी चयनका लागि भएको निर्वाचनको अन्तिम मतपरिणाम आएको छ ।

    ५ सविचका लागि भएको निर्वाचनमा २६ जना उम्मेदवार रहेका थिए ।

    जसमा श्रीनाथ बराल १०७, शेरबहादुर कुँवर १५३, चन्द्रबहादुर शाही ९१, सोमप्रसाद पाण्डे १४१ र सावित्रीकुमारी भुसाल १०६ ले मत पाएर विजयी भएका छ्न ।

    अब पोलिब्युरो सदस्यको मतगणना हुन बाँकी रहेको छ ।

  • नेकपा एस : यी हुन् उपमहासचिवमा विजयी हुने नेताहरु, मेटमणिले पाए १५८ मत

    नेकपा एस : यी हुन् उपमहासचिवमा विजयी हुने नेताहरु, मेटमणिले पाए १५८ मत

    काठमाडौं । नेकपा एसको पदाधिकारी चयनका लागि भएको निर्वाचनको मत परिणाम सार्वजनिक भएको छ ।

    परिणाम अनुसार मेटमणि चौधरी १५८ मतसहित विजयी भएका छन् । यो अन्य प्रतिस्पर्धीभन्दा सबैभन्दा बढी मत हो । यस्तै रामकुमार खड्का र गरिमा शाह समान १०७ मत पाएर विजयी भएका छन् । राजेन्द्र राईले १०६ मत पाएका छन् ।

    ४ उपमहासचिवका लागि १९ जनाको उम्मेदवारी परेको थियो ।

  • यी हुन् नेकपा एसको उपाध्यक्षमा विजयी भएका ४ जना (सूची)

    यी हुन् नेकपा एसको उपाध्यक्षमा विजयी भएका ४ जना (सूची)

    काठमाडौं । नेकपा एसको पदाधिकारीका लागि भएको निर्वाचनको मतपरिणाम आएको छ ।

    अन्तिम परिणाम अनुसार माधव नेपाल निकट मानिएका तीन जना विजयी हुँदा चौथो उपाध्यक्षमा भानुभक्त जोशी विजयी भएका छन् ।

    उपाध्यक्षमा नेपाल पक्षका डा. गंगालाल तुलाधर १८९, जगन्नाथ खतिवडा १६१, प्रकाश ज्वाला १४५ र भानुभक्त जोशी १५६ मतले विजयी भएका छन् ।

    जोशी बाहेक अरुलाई मत दिन नेपाल निकट नेताहरुले ‘चिट‘ नै बाँडेका थिए । महिला उपाध्यक्षमा पनि नेपालको ‘चिट’ लिस्टमा रहेकी जयन्ती राई विजयी भएकी छन् ।

  • नेकपा एसका २२ केन्द्रीय सदस्य मतदानमा अनुपस्थित, पदाधिकारीको मतगणना आजै

    नेकपा एसका २२ केन्द्रीय सदस्य मतदानमा अनुपस्थित, पदाधिकारीको मतगणना आजै

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका पदाधिकारी र पोलिटब्युरो सदस्य चयन गर्न मतदानमा २२ जना अनुपस्थित भएका छन्। ३४४ केन्द्रीय सदस्य रहेकाे नेकपा एसमा ३२२ मत मात्रै खसेको छ।

    डेढ महिनाअघि अध्यक्ष, सम्मानित नेता र महासचिव सर्वसम्मत गरेको नेकपा एसले बाँकी पदाधिकारी र पोलिटब्युरो सदस्य चयन गर्न आज मतदान भएको थियाे।

    मतदान सकिएपछि पदाधिकारीको मतगणना आजै हुँदैछ भने पाेलिटब्युराे सदस्यकाे भाेलि गठना हुने जनाइएको छ।

    महिला उपाध्यक्ष एक पदका लागि जयन्तीदेवी राई र रामकुमारी झाँक्रीको उम्मेदवारी परेको छ । मधेशी समुदायको उपाध्यक्षमा धर्मनाथ प्रसाद शाह र रामचन्द्र झाको उम्मेदवारी परेको छ ।

    खुला चार उपाध्यक्षका लागि ११ जनाको उम्मेदवारी परेको छ । चार उपमहासचिव पदमा लक्ष्मण केसीलगायत २० जनाको उम्मेदवारी परेको छ।

    नेकपा एसमा १ अध्यक्ष, १ सम्मानित नेता, वरिष्ठसहित ७ उपाध्यक्ष, १ महासचिव, ४ उपमहासचिव, ७ सचिव रहने व्यवस्था छ ।

  • नेकपा एसको मतदानमा ‘चीट’ लिक, माधव नेपालको लिस्टमा रामकुमारी गायब

    नेकपा एसको मतदानमा ‘चीट’ लिक, माधव नेपालको लिस्टमा रामकुमारी गायब

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका पदाधिकारी र पोलिटव्युरो सदस्यको निर्वाचनका लागि मतदान भइरहेका बेला जिताउनुपर्ने व्यक्ति भन्दै लिस्ट बाँडिएको छ । ३४४ जना केन्द्रीय कमिटी सदस्यले गर्ने मतदानमा समेत फरक फरक चिट बाँडिएपछि मतदाता अलमलमा परेका छन् ।

    अध्यक्ष माधवकुमार नेपाल पक्षबाट जिताउनुपर्ने भनेर बाँडिएको लिस्टमा रामकुमारी झाँक्रीको नाम छैन । महिला उपाध्यक्षमा उम्मेदवारी दिएकी झाँक्रीको ठाउँमा जयन्ती राईलाई मत दिन भनिएको छ ।

    केही नेताले सच्याएर अर्को लिस्ट पनि बाँडेको र त्यसमा झाँक्रीको नाम राखिएको मतदानस्थलबाट एक उम्मेदवारले बताए ।

    संस्थापन पक्ष अर्थात माधव नेपाल पक्षका मतदाता धेरै भएकाले उम्मेदवारले आफूलाई पायक पर्नेगरी लिस्ट बाँडेको समेत बताइएको छ । नेपाल पक्षबाट उपमहासचिवमा राजेन्द्रकुमार राई, लक्ष्मण केसी, रामचन्द्र यादव र रामकुमार भट्टराईलाई आधिकारिक उम्मेदवार बनाइएको छ । उनीहरुको नाम सबै लिस्टमा छ ।

  • नेकपा एसको पदाधिकारी र पोलिटब्युरो सदस्य छान्न मतदान सुरू (तस्विरहरु)

    नेकपा एसको पदाधिकारी र पोलिटब्युरो सदस्य छान्न मतदान सुरू (तस्विरहरु)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका पदाधिकारी र पोलिटब्युरो सदस्य चयन गर्न मतदान सुरु भएको छ ।

    डेढ महिनाअघि अध्यक्ष, सम्मानित नेता र महासचिव सर्वसम्मत गरेको नेकपा एसले बाँकी पदाधिकारी र पोलिटब्युरो सदस्य चयन गर्न आज मतदान गरेको हो ।

    मतदान २ बजेदेखि सुरु हुने भनिए पनि ढिलो गरेपछि केन्द्रीय सदस्यहरु आक्रोशित भएका थिए । आफूहरुलाई लाइनमा राखेर नेताहरुले वास्ता नगरेको भन्दै नेताहरुले विरोध जनाएपछि करिब ४ घण्टापछि मतदान सुरु गरिएको हो ।

    महिला उपाध्यक्ष एक पदका लागि जयन्तीदेवी राई र रामकुमारी झाँक्रीको उम्मेदवारी परेको छ । मधेशी समुदायको उपाध्यक्षमा धर्मनाथ प्रसाद शाह र रामचन्द्र झाको उम्मेदवारी परेको छ ।

    खुला चार उपाध्यक्षका लागि ११ जनाको उम्मेदवारी परेको छ । चार उपमहासचिव पदमा लक्ष्मण केसीलगायत २० जनाको उम्मेदवारी परेको छ।

    नेकपा एसमा १ अध्यक्ष, १ सम्मानित नेता, वरिष्ठसहित ७ उपाध्यक्ष, १ महासचिव, ४ उपमहासचिव, ७ सचिव रहने व्यवस्था छ ।

    आज मतदान सकिएलगत्तै गणना सुरु हुने पार्टीले जनाएको छ । वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे सर्वसम्मत भइसकेका छन् ।

  • नेकपा एसका काठमाडौं जिल्ला उपाध्यक्ष र सचिवसहित नेताहरुद्वारा पार्टी परित्याग

    नेकपा एसका काठमाडौं जिल्ला उपाध्यक्ष र सचिवसहित नेताहरुद्वारा पार्टी परित्याग

    काठमाडौं । नेकपा एकीकृत समाजवादीको काठमाडौं जिल्ला कमिटी उपाध्यक्ष बटुकृष्ण थापा र सचिव धुर्वराज न्यौपानेले पार्टी परित्याग गरेका छन् । केन्द्रीय पदाधिकारी र पोलिटव्युरो सदस्यहरुको निर्वाचन भइरहेका बेला काठमाडौंका प्रभावशाली अन्य नेताहरुले समेत पार्टीबाट राजीनामा दिएका छन् ।

    नेकपा एस परित्याग गर्नेमा काठमाडौं क्षेत्र नम्बर ७ का संयोजक तथा युवा फाँट इन्चार्ज हरिशरण घिमिरे, जिल्ला कमिटी सचिव तथा तारकेश्वर नगर कमिटी सचिव शिवहरि देवकोटा, कीर्तिपुर नगर कमिटी अध्यक्षरोहित महर्जन,सचिव गृश्म महर्जन, उपसचिव नारायणहरी थापा,जिल्ला सचिवालय सदस्य सुशीला खतिवडा, राजकुमार महर्जन, विजय देवकोटालगायत छन् ।

    त्यस्तै नेकपा एस परित्याग गर्नेमा बुढानिलकण्ठ नगर कमिटी उपाध्यक्ष बिष्णु भट्टराई,सचिव बिमल लामा,युवा संघ केन्द्रीय सदस्य रामशरण सापकोटा,जिल्ला सचिवालय सदस्य अशोक युवा संघ बुढानिलकण्ठ अध्यक्ष आकाश श्रेष्ठ,भानु रिजाल,केन्द्रीय सदस्य मेघ कुमार न्यौपाने,दिपेश थापा,कृष्णहरी खड्का,किर्तिपुर नगर कमिटी नेकपा एसका उपसचिव नारायणहरी थापा,महिला संघ जिल्ला उपाध्यक्ष पुष्पा थापालगायत छन् ।

    नेकपा एस परित्याग गर्नेमा काठमाडौं क्षेत्र नम्बर ९ का संयोजक तोरण थापा,चन्द्रागिरी नगर अध्यक्ष प्रदिप रिजाल,काठमाडौं क्षेत्र नम्बर १० (ख)को प्रदेश संयोजक तथा जिक सदस्य राजाराम कार्की

    जिल्ला कमिटी बैठक बुधबार बोलाइएको र त्यसको पूर्वसन्ध्यामा उपाध्यक्ष सचिवसहितका अन्य धेरै सदस्यको राजीनामा आउने क्रममा रहेको उपाध्यक्ष थापाले बताए । एकीकृत समाजवादी शिक्षक संगठन काठमाडौंका अध्यक्ष इन्द्रप्रसाद सिम्खडाले पनि राजीनामा दिएका छन् ।

    पार्टीले विद्रोहको औचित्य पुष्टि गर्न नसकेको र व्यक्तिवादी चरित्र हावी भएकाले आफूहरुले छलफल गरेरै नेकपा एस छाडेको सचिव न्यौपानेले बताए । उनी साविक नेकपा एमालेमा ४ नम्बर क्षेत्रीय सचिव र जिल्ला खेलकुद विकास समितिको अध्यक्षसमेत भएका थिए ।

    न्यौपानेले विज्ञप्ति जारी गर्दै वामपन्थी आन्दोलन मजबुत बनाउन विभाजित नभई एकीकृत कम्युनिष्ट आन्दोलनमा लाग्न आह्वान गर्दै जनताको बहुदलीय जनवादी लाइनमा उभिन आग्रह गरेका छन् । उनीहरु चाँडै एमालेमा समाहित हुने तयारी रहेको बताइएको छ ।

    त्यस्तै बटुकृष्ण थापा कीर्तिपुर नगरपालिकाको मेयरमा नेकपा एसको मेयर उम्मेदवार बनेका थिए । कीर्तिपुर नगरपालिकाको मेयर राजकुमार नकर्मीको निधन भएका कारण सो पदमा मंसिरमा उपनिर्वाचन हुँदैछ ।

  • नेकपा एसको पदाधिकारी र पोलिटब्युरो सदस्य उम्मेदवारको अन्तिम नामावली सार्वजनिक (सूचीसहित)

    नेकपा एसको पदाधिकारी र पोलिटब्युरो सदस्य उम्मेदवारको अन्तिम नामावली सार्वजनिक (सूचीसहित)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले पदाधिकारी र पोलिटब्युरो सदस्यमा उम्मेदवारी दिएकाको अन्तिम नामावली सार्वजनिक गरेको छ ।

    डेढ महिनाअघि अध्यक्ष, सम्मानित नेता र महासचिव सर्वसम्मत गरेको नेकपा एसले बाँकी पदाधिकारी र पोलिटब्युरो सदस्य चयन गर्न आज निर्वाचन गर्न लागेको हो ।

    वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे सर्वसम्मत चयन भइसकेका छन् । घनेन्द्र बस्नेतले आफ्नो उम्मेदवारी फिर्ता लिएसँगै पाण्डे निर्विरोध निर्वाचित भएका हुन् ।

    महिला उपाध्यक्ष एक पदका लागि जयन्तीदेवी राई र रामकुमारी झाँक्रीको उम्मेदवारी परेको छ ।

    त्यसैगरी मधेशी समुदायको उपाध्यक्षमा धर्मनाथ प्रसाद शाह र रामचन्द्र झाको उम्मेदवारी परेको छ । खुला चार उपाध्यक्षका लागि ११ जनाको उम्मेदवारी परेको छ । चार उपमहासचिव पदमा लक्ष्मण केसीलगायत २० जनाको उम्मेदवारी परेको छ ।

    नेकपा एसमा १ अध्यक्ष, १ सम्मानित नेता, वरिष्ठसहित ७ उपाध्यक्ष, १ महासचिव, ४ उपमहासचिव, ७ सचिव रहने व्यवस्था छ ।

  • नेकपा एसको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे निर्विरोध

    नेकपा एसको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे निर्विरोध

    काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे निर्विरोध निर्वाचित भएका छ्न् ।

    घनेन्द्र बस्नेतले आफ्नो उम्मेदवारी फिर्ता लिएसँगै पाण्डे निर्विरोध निर्वाचित भएका हुन् । निर्वाचन आयोगले औपचारिक घोषणा गर्न भने बाँकी छ ।

    डेढ महिनाअघि अध्यक्ष र महासचिव सर्वसम्मत गरेको नेकपा एसले पदाधिकारी र पोलिटब्युरो सदस्य मतदानबाट टुंग्याउन लागेको हो ।

    केन्द्रीय सदस्य मतदाता हुने निर्वाचनबाट अब ६ उपाध्यक्ष, ४ उपमहासचिव र ७ सचिव चुनिने छन् । त्यस्तै १०५ जना पोलिटब्युरो सदस्य निर्वाचित हुने छन् ।

    यो पनि पढ्नुहोस्- यी हुन् नेकपा एसका पदाधिकारी र पोलिटब्युरो सदस्यका उम्मेदवार (सूचीसहित)

  • यी हुन् नेकपा एसका पदाधिकारी र पोलिटब्युरो सदस्यका उम्मेदवार (सूचीसहित)

    यी हुन् नेकपा एसका पदाधिकारी र पोलिटब्युरो सदस्यका उम्मेदवार (सूचीसहित)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले पादधिकारी र पोलिटब्युरो सदस्य चयनका लागि आज निर्वाचन गर्दैछ ।

    डेढ महिनाअघि अध्यक्ष र महासचिव सर्वसम्मत गरेको नेकपा एसले पदाधिकारी र पोलिटब्युरो सदस्य चयनका लागि भने निर्वाचन गर्न लागेको हो ।

    विभिन्न पदहरुको मनोनयन सकिएको छ । एक वरिष्ठ उपाध्यक्षका लागि राजेन्द्र पाण्डे र घनेन्द्र बस्नेतको उम्मेदवारी परेको छ ।

    यस्तै १ महिला उपाध्यक्ष पदका लागि जयन्ती देवी राई र रामकुमारी झाँक्रीको उम्मेदवारी परेको छ ।

    त्यसैगरी मधेशी समुदायको उपाध्यक्षका लागि धर्मनाथ प्रसाद शाह र रामचन्द्र झाको उम्मेदवारी परेको छ ।

    ४ खुल्ला उपाध्यक्षका लागि ११ जनाको उम्मेदवारी परेको छ । ४ उपमहासचिव पदका लागि लक्ष्मण केसी लगायत २० जनाको उम्मेदवारी परेको छ ।

  • नेकपा एसको उपमहासचिवमा युवापुस्ताबाट लक्ष्मण केसीको उम्मेदवारी दर्ता

    नेकपा एसको उपमहासचिवमा युवापुस्ताबाट लक्ष्मण केसीको उम्मेदवारी दर्ता

    काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका पदाधिकारी चयनका लागि आज निर्वाचन हुँदैछ । अहिले मनोनयन दर्ताको क्रम जारी छ ।

    उपमहासचिवमा ४५ वर्षमुनिको युवापुस्ताबाट लक्ष्मण केसीले उम्मेदवारी दिएका छन् । ४ उपमहासचिव पदका लागि हुने निर्वाचनमा नयाँ पुस्ताबाट केसीको उम्मेदवारी परेको हो ।

    केसीले उपमहासचिव उम्मेदवारीको १ नम्बर क्रमसंख्यामा उम्मेदवारी दर्ता गराएका छन् ।

    यसअघि केन्द्रीय सदस्य केन्द्रीय संगठन विभागको सचिव रहेका केसीलाई अध्यक्ष माधव कुमार नेपाल र महासचिव घनश्याम भुसालले ग्रिन सिग्नल दिएपछि उपमहासचिवमा उम्मेदवारी दर्ता गराएका हुन् ।

    सल्यानका केसी लामो समयदेखि अध्यक्ष माधव नेपालको निकट सहयोगीका रूपमा काम गर्दै आएका थिए ।

    यस्तै उपमहासचिवका लागि कोशी प्रदेशका पूर्वमुख्यमनत्री राजेन्द्र राई, मेटमणि चौधरी, जीवनराम श्रेष्ठ लगायतको पनि उम्मेदवारी परेको छ ।

     

  • नेकपा एस : वरिष्ठ उपाध्यक्षमा घनेन्द्र बस्नेत र राजेन्द्र पाण्डेको उम्मेदवारी

    नेकपा एस : वरिष्ठ उपाध्यक्षमा घनेन्द्र बस्नेत र राजेन्द्र पाण्डेको उम्मेदवारी

    काठमाडौं । नेकपा एकीकृत समाजवादीको पदाधिकारी चयनका लागि आज निर्वाचन हुँदै छ । अहिले मनोनयन दर्ता गर्ने क्रम जारी छ ।

    नेकपा एसको वरिष्ठ उपाध्यक्षका लागि दुई जनाले मनोनयन दर्ता गराएका छन् ।  वरिष्ठ उपाध्यक्षका लागि घनेन्द्र बस्नेत र राजेन्द्र पाण्डेले उम्मेदवारी दर्ता गराएका हुन् ।

    नेकपा एसको महाधिवेशनले अध्यक्ष र महासचिव सर्वसम्मत गरेपनि डेढ महिनासम्म अन्य पदाधिकारी चयन गर्न सकेको थिएन ।

    सहमति जुट्न नसकेपछि आज निर्वाचनबाट पदाधिकारी चयन हुँदैछन् ।

  • नेकपा एसमा पदाधिकारी र पोलिटब्युरो चुन्न निर्वाचन प्रक्रिया सुरु

    नेकपा एसमा पदाधिकारी र पोलिटब्युरो चुन्न निर्वाचन प्रक्रिया सुरु

    काठमाडौं । नेकपा एसकाले पदाधिकारी चयनका लागि निर्वाचनको प्रक्रिया सुरु भएको छ । अहिले मनोनयन दर्ता भइरहेको छ । बिहान ७ देखि साढे ७ बजेसम्म मनोनयन दर्ताको समय तय गरिएको थियो ।

    यस्तै दिउँसो १२ देखि १ बजेसम्म उम्मेदवारको अन्तिम नामवली प्रकाशन हुनेछ ।

    सर्वसम्मत गराउने प्रयास असफल भएपछि जारी केन्द्रीय कमिटी बैठकमा मतदानको प्रक्रिया अघि बढेको हो । नेताहरूले मतदान प्रक्रियाबाट पदाधिकारी टुंगो लगाउन दबाब बढाएका थिए ।

    केन्द्रीय कमिटीमा मतदानबाट पदाधिकारी टुंगो लगाउने कुरामा सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालको विरोध थियो । पदाधिकारीमा आकांक्षी बढी हुँदा सहमतिमा टुंग्याउन अध्यक्ष नेपाललाई पनि सकस परेको थियो । अन्ततः उनी पनि मतदानमा जान तयार भएका हुन् ।

    १८ पदाधिकारीसहित पोलिटब्युरो सदस्यका लागि निर्वाचनको तयारी थालिएको हो । केन्द्रीय सदस्य मतदाता हुने निर्वाचनबाट वरिष्ठसहित ७ उपाध्यक्ष, ४ उपमहासचिव र ७ सचिव चुनिने छन् । आवश्यक परे वरिष्ठ नेता पद पनि सिर्जना गर्नसक्ने निर्णय यसअघि नै गरेको छ ।

  • नेकपा एसमा पदाधिकारी चुनावको माग कडा, वरिष्ठ उपाध्यक्षमा पाण्डेविरुद्ध हमाल खडा

    नेकपा एसमा पदाधिकारी चुनावको माग कडा, वरिष्ठ उपाध्यक्षमा पाण्डेविरुद्ध हमाल खडा

    काठमाडौं । नेकपा एकीकृत समाजवादीको पदाधिकारी चयन प्रक्रियाको विषयलाई लिएर विवाद भएको छ। जारी केन्द्रीय कमिटीको बैठकमा नेताहरूले मतदान प्रक्रियाबाट पदाधिकारी टुंगो लगाउन दबाब बढाएपछि अझै सर्वसम्मतको प्रयास भइरहेको छ ।

    केन्द्रीय कमिटीमा मतदानबाट पदाधिकारी टुंगो लगाउने कुरामा सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालले विरोध गरेपछि अहिले सर्वसम्मतको प्रयास भइरहेको छ । आज ११ बजे शुरू हुनुपर्ने बैठक दिउँसो १ बजेलाई बोलाइएको छ ।

    पदाधिकारीमा आकांक्षी बढी हुँदा सहमतिमा टुंग्याउन अध्यक्ष नेपाललाई सकस परेको छ । यद्यपि, कुन प्रक्रियाबाट जाने भन्नेबारे उनले मुख खोलेका छैनन् ।

    महाधिवेशनभरि मिलेका अध्यक्ष नेपाल र नेता खनाल पदाधिकारी चयन प्रक्रियाको विषयमा विभाजित भएका छन् । पदाधिकारी सर्वसम्मत गर्न नेता खनाल र महासचिव भुसाल एकैठाउँमा उभिएका छन् । दुईजना मिलेर अध्यक्ष नेपालमाथि दबाब बढाउँदै पार्टीभित्र आन्तरिक रूपमा उनीहरू हाबी हुन खोजेका छन् । बिहानैदेखि पदाधिकारी टुंगो लगाउन पूर्वसचिवालयको बैठक पनि बसिरहेको छ ।

    सचिवको आकांक्षी ताज मोहम्मद मियाले जबर्जस्ती टाँसिएको नाम मान्य नहुने बताए । मतदानबाट पदाधिकारी चयन गर्नुपर्ने उनको माग छ । अर्का नेता केशवकुमार विष्ट पनि पूर्वसचिवालयले पदाधिकारीको टुंगो लगाउने कुरा अस्वीकार गर्छन् ।

    उनले सचिवको आकांक्षी विष्टले भने, ‘केन्द्रीय कमिटीले म्याण्डेट नै नदिई कसरी पूर्वसचिवालयले पदाधिकारी टुंगो लगाउँदो रहेछ, हामी पनि हेर्छौँ ।’

    अर्का केन्द्रीय सदस्य सुदेश पराजुली पनि निर्वाचन प्रक्रियाबाट पदाधिकारी टुंग्याउनुपर्ने पक्षमा छन् । युवा नेता पराजुलीले पनि अहिले सचिव पदको दाबी गरेका छन् ।

    तर, नेताहरूले सहमति गरेर आए मान्नुको विकल्प नभएको नेतृ दीलकुमारी (दिलु) पन्तले बताइन् । उनले भनिन्, ‘नेताहरूले सहमति गर्नुहुन्छ भने हामीले नमान्नुको विकल्प छैन ।’

    असारमा भएको महाधिवेशनले ३ पदाधिकारीसहित ९३ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरेर टुंग्याइएको थियो । महाधिवेशनको एक महिनापछि विधानविपरीत ३४४ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरेको थियो ।

    अहिले नेकपा एसको १८ पदाधिकारी, स्थायी कमिटी र पोलिटब्युरो चयन गर्न बाँकी छ । नेकपा एसमा १ अध्यक्ष, १ सम्मानित नेता, वरिष्ठसहित ७ उपाध्यक्ष, १ महासचिव, ४ उपमहासचिव, ७ सचिव रहने व्यवस्था छ । आवश्यक परे वरिष्ठ नेता पद पनि सिर्जना गर्नसक्ने निर्णय यसअघि नै गरेको छ ।

    नेकपा एसमा वरिष्ठ उपाध्यक्षसमेत छान्न सकस परिरहेको छ । यो पदका लागि राजेन्द्र पाण्डे र वेदुराम भुसालबीच महाधिवेशनकै समयदेखि रस्साकस्सी चल्दै आएको छ । आफू सर्वसम्मत वरिष्ठ उपाध्यक्ष नपाउने परिस्थिति बने नेता पाण्डे चुनावको पक्षमा छन् ।

    वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डेलाई रोक्न झलनाथ खनालले प्रमेश हमाल अघि बढाएको आरोप छ । यसअघि वरिष्ठ उपाध्यक्षमा प्रमुख दाबेदार रहेका वेदुराम भुसाल पछि हटेका छन् ।

    पाण्डेले आफू वरिष्ठ उपाध्यक्षबाट पछि नहट्ने भन्दै केन्द्रीय कमिटीमा चुनाव गराइदिन अध्यक्ष माधव नेपाललाई आग्रह गरेका छन् । उनले वडाको चुनावसमेत नलडेकाहरू अहिले पार्टीभित्र चुनावबाट डराएर टिका लगाएर पदाधिकारी हुन खोजेको बताएका छन् ।

    उपाध्यक्षको आकांक्षीमा पनि नेताहरूको लर्को छ । घनेन्द्र बस्नेत, धर्मनाथप्रसाद साह, केशवलाल श्रेष्ठ, विरोध खतिवडा, प्रकाश ज्वाला, गंगालाल तुलाधर, प्रमेश हमाल, जयन्ती राई, बलराम बास्कोटा, हरि पराजुलीसहितका नेताले उपाध्यक्षमा दाबी गरेका छन् ।

    ७ सचिवका लागि दर्जनबढी आकांक्षी देखिएका छन् । शेरबहादुर कुँवर, हस्त शाही, मेटमणि चौधरी, सुदेश पराजुली, नरेश शाही, अम्बरबहादुर थापा, चन्द्रबहादुर शाही, सोम पाण्डे, दिलकुमारी पन्त, श्रीप्रसाद साह, सुधीर साह, सावित्रा भुसाल, कल्याणी खड्का, रामकुमार भट्टराई, बलदेव चौधरी, राजन राई, केशव विष्टलगायतका नेता सचिवमा दाबी गरिरहेका छन् ।

  • मंसिरमा हुने स्थानीय तहको उपचुनाव हाम्रो पार्टीको लागि परीक्षा हुनेछ : माधव नेपाल (भिडिओ)

    मंसिरमा हुने स्थानीय तहको उपचुनाव हाम्रो पार्टीको लागि परीक्षा हुनेछ : माधव नेपाल (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आगामी मंसिरमा हुने उपनिर्वाचनमा पार्टीको परीक्षण हुने भएकाले सबै शक्ति केन्द्रित गर्न निर्देशन दिएका छन् ।

    नेकपा एसको दशौं महाधिवेशनपछि आयोजित पहिलो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आगामी २०८४ को निर्वाचनलाई समेत ध्यान दिएर जित्ने ठाउँमा फरक रणनीति अपनाउनुपर्ने बताए ।

    नेपालले भने– सम्भवतः आगामी मंसिरमा स्थानीय तहका विभिन्न रिक्त पदमा उपचुनाव हुन गइरहेको छ । त्यो उपचुनावमा हाम्रो परीक्षा हुनेछ । त्यो परीक्षाका आधारमा त्यहाँको हाम्रो पार्टी नेतृत्वको मुल्यांकन हुनेछ । जिम्मेवारी पाएपछि मात्र खट्छु भन्ने होइन कि यो मेरो जिम्मेवारी हो भनेर अहिलेदेखि नै खटिनुपर्छ ।

    नेपालले नेकपा एमालेको जस्तै निर्वाचन क्षेत्र केन्द्रित जिम्मेवारी केन्द्रीय सदस्यहरुलाई दिने संकेतसमेत गरे । नेपालले पार्टीमा अनुशासनहीनता र अराजकता बढेको भन्दै संक्रमणकाल भएका कारण कारबाही गर्न नसकेर निरीह बन्नुपरेको बताए ।

    तत्कालीन केन्द्रीय कमिटीकै सदस्यहरुले पार्टीको निर्वाचनमा पार्टीका उम्मेदवारलाई भोट दिन नगएको समेत बताए । तत्कालीन केन्द्रीय सदस्यहरुमध्ये एक सयजनाले भोट नहालेको सूचनासमेत आएको नेपालले बताए ।