Category: नेकपा एस

  • जेनजी पुस्ताको आन्दोलनमा सरकारले हिंसात्मक दमन गर्‍यो–नेकपा एस

    जेनजी पुस्ताको आन्दोलनमा सरकारले हिंसात्मक दमन गर्‍यो–नेकपा एस

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले जेन जी पुस्ताको आन्दोलनमा सरकारले हिंसात्मक दमन गरेको आरोप लगाएको छ।

    महासचिव घनश्याम भुसालले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘सामाजिक सञ्जाल नियन्त्रण गर्ने सरकारको अविवेकी निर्णयबाट नौजवान युवाहरू (जेन–जी पुस्ता) मा उत्पन्न असन्तुष्टिले भ्रष्टाचार तथा कुशासन विरोधी आन्दोलनको रूप लिएको छ । अर्को तर्फ सरकार हिंसात्मक दमन तर्फ उत्रिएको छ ।’

    सुशासन र रोजगारी लागि लामो समयदेखि जनताले गरेको अपेक्षाका विपरीत सरकार तथा राजनीतिक नेतृत्वले देखाएको नालायकीका सन्दर्भमा सडकमा यस्ता आवाज देखा पर्नु स्वाभाविक भएको विज्ञप्तिमा उल्लेख छ।

    विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो पार्टी आन्दोलन माथि सरकारको हिंसात्मक दमनको निन्दा तथा भर्त्सना गर्दछ । साथै, युवाहरूको भ्रष्टाचार तथा कुशासन विरुद्धको जागरणलाई सम्मान गर्दै उनीहरूका जायज माग सम्बोधन गर्न र उनीहरूमाथि कुनै पनि दमनकारी गतिविधि नगर्न सरकारसँग जोडदार माग गर्दछ ।’

    आन्दोलनलाई उत्तेजना र मुठभेडतर्फ मोडेर यस आन्दोलनको गरिमा र यसले पाएको जनसमर्थनलाई दुरुपयोग गर्ने कुनै पनि प्रयासबाट सतर्क रहन देशभरिका आन्दोलनकारीहरूलाई आह्वान पनि गरेको छ।

  • एकताकाे चर्चाबीच माधवसँग प्रचण्डकाे बाक्लियाे भेटवार्ता, आज पनि महासचिव गुरुङ लिएर पुगे आलोकनगर

    एकताकाे चर्चाबीच माधवसँग प्रचण्डकाे बाक्लियाे भेटवार्ता, आज पनि महासचिव गुरुङ लिएर पुगे आलोकनगर

    काठमाडौं । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरुबीच पछिल्लो समय भेटवार्ता बाक्लिएको छ । आज पनि माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड महासचिव देव गुरुङ लिएर नेकपा एसको कार्यालय आलोकनगर पुगे ।

    बैठकमा नेकपा एसका तर्फबाट अध्यक्ष माधव नेपाल, वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेलगायत नेताहरू सहभागी थिए। दुई पार्टीका शीर्ष नेताहरुबीच समाजवादी मोर्चालाई प्रभावकारी बनाएर जानेबारे छलफल भएको नेकपा एसका उपमहासचिव रामकुमार भट्टराईले बताए ।

    उनले भने, ‘समाजवादी मोर्चाको कामलाई व्यवस्थित बनाउने, दुई पार्टी वैचारिक दृष्टिकोणलाई एकमत बनाएर अघि बढ्नेलगायतको विषयमा कुराकानी भयो ।’

    उनले दुई पार्टीबीच मात्रै नभएर मोर्चामा आबद्ध रहेका दलहरूबीच वैचारिक एकता गर्नमा आफूहरू केन्द्रित रहेको बताए ।

    माओवादीसँगको एकताको चर्चाबारे उनले भने, ‘दुई पार्टीबीच मात्रै होइन, मोर्चामा रहेका पार्टीहरूका बीचमा वैचारिक छलफल गर्ने र विचारमा एकरूपता पहिला गर्ने भन्नेमा छलफल केन्द्रित छ ।’

    पछिल्लो समय प्रचण्ड र माधव नेपाल पार्टी एकतालाई केन्द्रित बनाएर निरन्तर संवादमा छन् । अध्यक्ष नेपाल माओवादीसँग एकता गर्न नरम भएपछि सम्मानित नेता खलनाथ खनाल, महासचिव घनश्याम भुसालसहित उनी पक्षधर नेताहरू विपक्षमा छन् ।

  • ‘कसैले हतारिएर माओवादीसँग एकता गरे त्यो पार्टी प्रवेश मात्रै हुन्छ’

    ‘कसैले हतारिएर माओवादीसँग एकता गरे त्यो पार्टी प्रवेश मात्रै हुन्छ’

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनालीबीच अन्तरसंघर्ष चलिरहेको बेलामा आइतबार असन्तुष्ट नेताहरूले छुट्टै भेला गरे । पार्टीका पूर्वसचिव जीवनराम श्रेष्ठले अगुवाइ गरेको भेलामा करिब ५० जना नेता सहभागी भएको दाबी गरिएको छ ।

    सम्मानित नेता खनाल र महासचिव घनश्याम भुसालसँग निकट रहेका नेताहरू भेलामा गएका थिए । पार्टीले सञ्चालन गरेको ‘सुशासन र रोजगारी समाजवादको तयारी’ शीर्षकको आन्दोलन कार्यक्रमबारे छलफल गरिएको बताइयो ।

    तर, भेलाले माओवादीसँग तत्काल एकता नगर्ने निष्कर्ष निकालेको छ । अध्यक्ष माधव नेपाल माओवादीसँग एकता गर्न नरम सुनिन्छन् । एकता गरिहालेमा आफूहरू त्यसमा सहभागी नहुने भेलाको निष्कर्ष छ ।

    भेलामा सहभागी स्थायी कमिटी सदस्य डा. विजय पौडेल, पोलिटब्युरो सदस्य रामकुमारी झाँक्री, धर्मराज निरौलाले विशेष महाधिवेशनको आयोजना गर्नुपर्ने पक्षमा आफ्ना कुरा राखेका थिए । उनीहरूले भ्रष्टाचार मुद्दा लागेको अध्यक्ष रहेसम्म जनताबीच जान समस्या भएको भन्दै विशेष महाधिवेशनको समेत माग गरेका थिए ।

    यो भेलालाई निरन्तरता दिने उनीहरूको तयारी छ । यो भेला बस्नुको कारण, भेलाको निष्कर्ष, माओवादीसँग एकताको चर्चालगायत विषयमा केन्द्रित रहेर नेकपा एसका प्रचार विभाग उपप्रमुख समेत रहेका दामोदर अर्यालसँग गरिएको कुराकानी-

    – पार्टीभित्र अन्तरसंघर्ष चलिरहेको बेलामा आइतबार पार्टीका केही नेताहरूको भेलाको किन बस्यो ?

    हाम्रो र माओवादीका बीचमा समान धारणा विकास गर्ने, समाजवादी मोर्चालाई अझै प्रभावकारी कसरी बनाउने भनेर प्रदेशस्तरमा केन्द्रीय र पोलिटब्युरो सदस्यहरूबीच छलफल भएको थियो । त्यसको उद्देश्य दुई पार्टीका बीचमा सम्बन्ध सुधार गर्ने र समाजवादी मोर्चालाई अझ राम्रो कसरी बनाउने भन्ने नै हो ।

    प्रदेश स्तरको भेलामा विभिन्न कारणले भाग लिन नपाएका पोलिटब्युरो र केन्द्रीय सदस्यहरूले छुट्टै बसेर त्यही विषयमा छलफल गर्नुभएको हो । समाजवादी मोर्चालाई कसरी राम्रो गर्ने, माओवादी र एकीकृत समाजवादीको बीचमा सम्बन्ध अझ कसरी राम्रो बनाउने भन्ने सन्दर्भमा छुट्टै बसेर छलफल गर्नुभएको हो ।

    – त्यो भेलालाई सम्मानित नेता खलनाथ खनाल र महासचिव घनश्याम भुसालनिकट नेताहरूको भनिएको छ नि ?

    होइन, त्यो कुरामा सत्यता छैन । बाहिर अनेक खालका चित्रण गरिन्छन् । माओवादीका प्रदेश स्तरको नेता र एकीकृत समाजवादीका प्रदेश स्तरको नेताहरूको सातै प्रदेशमा भेलाहरू भए, त्यसमा भाग लिन नपाएका साथीहरूले छलफल गर्नुभएको मात्रै हो । समाजवादी मोर्चालाई प्रभावकारी बनाउन योगदान दिन नपाएकाहरूले अब कसरी अघि बढ्ने भन्नेबारे करिब ५० जना जति बस्नुभएको हो ।

    – यो भेलाको निष्कर्ष चाहिँ के रह्यो ?

    भेलाको निष्कर्ष समाजवादी मोर्चालाई अझ बलियो बनाउने भन्ने नै हो । माओवादीसहित विभिन्न वामपन्थी पार्टीहरूबीचको सहकार्यलाई अझ राम्रो, क्रान्तिकारी बनाउनुपर्छ भन्ने ५० जनाको भेलाले निष्कर्ष निकाल्यो ।

    – भनेपछि तपाईँहरूको भेलाले माओवादीसँग एकतामा जानु हुँदैन भन्ने निष्कर्ष निकालेको हो ?

    माओवादीसँग तत्काल एकता प्रक्रियामा जान हुँदैन भन्ने हाम्रो पार्टीकै नीति छ । त्यो कुनै छुट्टै भेला राख्नै पर्दैन नि । माओवादीसँग तत्काल एकता प्रक्रियामा जानको लागि अहिलेसम्म औपचारिक रूपमा कुनै पत्र पनि पठाएको छैन । हामीले पनि अहिलेसम्म केही पत्र पठाएका छैनौँ । त्यही पनि अहिले माओवादीसँग एकता गर्ने कुनै वातावरण नै छैन । विचार, सिद्धान्तका कुरा छन्, माओवाद भन्ने नै हामी मान्दैनौँ ।

    हाम्रो १० औँ महाधिवेशनले समाजवादी कार्यक्रम भनेको छ । माओवादीहरूले गाउँबाट सहर घेर्ने भन्ने विचार अझै बोकेरै हिँडिरहेका छन् । त्यसैले हाम्रो पार्टी तत्काल एकता गर्ने मुडमै छैन । दुवै पार्टीबाट अहिलेसम्म एकताको प्रस्ताव नै नगरेकाले तत्काल एकता हुने कुरा छँदै छैन । त्यो भेलाले पनि माओवादीसँग एकता गर्ने कि नगर्ने भन्नको लागि बसेको पनि होइन ।

    – तर, अध्यक्ष माधव नेपाल माओवादीसँग एकता गर्न हतारिएको बुझिन्छ ?

    त्यो उहाँको मनमा लागेको कुरा हुनसक्छ। अहिलेसम्म पार्टीको कुनै कमिटीको बैठकमा यो कुरा भन्नुभएको पनि छैन । तर, उहाँको मनमा के छ भन्ने कुरा नभनी थाहा हुने कुरा भएन। तर, माओवादीसँग एकता गरेर जाऔँ भनेर अहिलेसम्म पार्टी बैठकमा भन्नुभएको छैन । यो सबै अनुमानको कुरा हुन् ।

    – माओवादीसँग एकता गर्दा अधिकांश नेता एमालेमै फर्किन्छ भन्ने तपाईँहरूको बुझाइ हो ?

    एमालेबाट विद्रोह गरेर आएको हुन्, एमालेमा नै फेरि किन फर्किन्छन् ? कुनै भुँइचालो आएर माओवादीसँग एकता भइहालेछ भनेपनि जाँदैनन् । एक त त्यो छलफल बहसको विषय नै भइसकेको छैन पार्टीमा ।

    विचार, सिद्धान्त र इतिहासलाई हेर्ने दृष्टिकोण नमिलीकन एकता गरेछन् भने त्यो एकता होइन, पार्टी प्रवेश हुन्छ। एकीकृत समाजवादी पार्टी आफ्नो बाटोमा निरन्तर अगाडि बढ्छ। र यही पार्टीलाई बलियो बनाउनको लागि एकीकृत समाजवादीका मान्छेहरू लागिरहन्छन् ।

    – भेलामा पार्टीभित्र अध्यक्ष र सम्मानित नेताबीचको अन्तरसंघर्षबारे पनि छलफल भयो ?

    उहाँहरूको बीचमा त्यस्तो ठूलो अन्तरसंघर्ष नै छैन नि । उहाँले (झलनाथ) ले हामीले जुन औचित्यका साथ विद्रोह गरेको थियौँ त्यो उद्देश्य अझै पूरा भएको छैन भन्ने सन्दर्भमा कतै बोल्नुभयो । अध्यक्षले त्यसको जवाफमा औचित्य पूरा भएको छ भनेर कतै बोल्नुभयो ।

    बाहिर बोलेका कुराहरू न हुन् । यसबारे पार्टीको कुनै कमिटीमा आएका छैनन् । कमिटीमा नै नआइसकेपछि त्यसमा छलफल, बहस हुने कुरा नै भएन नि आधिकारिक ढङ्गले। मिडियामा आ-आफ्नो ढङ्गले बोलेको कुरालाई के अन्तरविरोध हुन्छ र ? छलफल बहस हुनको लागि त कमिटीमा आउनुपर्‍यो होला नि !

    – अन्तरसंघर्षसँगै अध्यक्षमाथि मुद्दा चलिरहेको बेलामा विशेष महाधिवेशनको माग भेलाले गरेको हो ?

    अहिलेसम्म विशेष महाधिवेशनको औपचारिकरूपमा कसैले पार्टीमा माग गरेको छैन । कसैले मनमा लागेको कुरा बाहिर भन्दै हिँडेको छ भने थाहा छैन । त्यो भेलाले त्यसबारे छलफल गरेको पनि होइन ।

    जहाँसम्म पार्टी अध्यक्षको नैतिकताको प्रश्न हो, नैतिकता भनेको त पार्टीले निर्णय गर्ने कुरा होइन । व्यक्ति आफैँले महसुस गर्ने कुरा हो । कसैमाथि नैतिकताको प्रश्न उठेको छ भने त्यो पार्टीमा छलफल किन हुन्छ ? त्यो आफैँले प्रदर्शन गर्ने होला नि । त्यो कुनै बहुमत र अल्पमतको विषय पनि होइन । त्यो नितान्त व्यक्तिगत कुरा हो ।

    – भनेपछि अध्यक्षले नैतिकताको आधारमा अध्यक्षले पद छाड्दा हुन्छ भन्ने तपाईँहरूको बुझाइ हो ?

    अहिलेसम्म पार्टीभित्र औपचारिक रूपमा कसैले राखेको छैन । आउने बैठकहरूमा उठ्न पनि सक्छ। अहिले नै उठ्छ उठ्दैन भन्न सकिँदैन। अब पार्टी कमिटीमा कुरा उठे छलफल होला ।

  • नेकपा एस राई नेतृत्वको युवा संघको सरकारलाई १३ बुँदे ज्ञापन पत्र

    नेकपा एस राई नेतृत्वको युवा संघको सरकारलाई १३ बुँदे ज्ञापन पत्र

    काठमाडौं । नेकपा एससम्बद्ध युवा संगठन सञ्जीव राई नेतृत्वको युवा संघले कार्यवाहक प्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहसमक्ष १३ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ ।

    संघले सरकारले लागू गरेको इम्बोस्ड नम्बर, लिपुलेक विवादलगायतका छन् । संविधानको मर्मविपरीत अङ्ग्रेजी भाषामा लेखिने इम्बोस्ड नम्बर र उक्त नम्बर प्लेटहरुमा हुने आरएआइडि ( रेडियो फ्रिक्वेनसि आइडेनडिटि ) चिप्सलाई रिड गर्ने प्राविधिक पूर्वधारको व्यवस्था नगरी कार्यान्वयन गरिएको सूचना जनहित विपरीत भनिएको छ ।

    त्यस्तै लिपुलेक पासबाट व्यापार गर्ने भारत-चीनको सहमतिले नेपाली जनताको स्वाभिमानमा ठेस पुगेको भन्दै सम्झौता अस्वीकार गरी उच्चस्तरीय कूटनितिक तहबाट वार्ता र छलफल गरी निर्णय सच्याउन माग गरिएको छ ।

    युवाहरूको विदेश पलायन रोक्न यथाशीघ्र युवा लक्षित कार्यक्रम ल्याई कृषि उत्पादन, युवा उद्यमशिल्ता, महिला तथा युवा सहुलीयत कर्जा र बीमाको क्षेत्रमा काम गर्ने गरी अलग्गै बैंक तथा बीमा कम्पनीको माग गरिएको छ ।

    ऋण तथा अनुदानमा युवाको पहुँच विकास, युवालाई व्यवसायका लागि विनाधितो ऋण, साना तथा मझौला उत्पादकलाई आवश्यक ऋण, अनुदान, सीप हस्तान्तरण, उत्पादनको बीमालगायतका सुविधाका लागि ध्यानाकर्षण गरिएको छ ।

    विदेशमा उच्चशिक्षा तथा सीप हासिल गरेका दक्ष जनशक्तिलाई स्वदेशमा नै योगदान गर्न सक्ने अवसरको सृजना गर्न पनि माग गरिएको छ ।

  • रुपन्देही ३ मा नेकपा एसबाट महासचिव घनश्याम भुसालसहित ७ जनाको नाम सिफारिस

    रुपन्देही ३ मा नेकपा एसबाट महासचिव घनश्याम भुसालसहित ७ जनाको नाम सिफारिस

    रुपन्देही । नेकपा एसले रुपन्देही ३ को उपनिर्वाचनका लागि महासचिव घनश्याम भुसालसहित सात जनाको नाम सिफारिस गरेको छ ।

    रुपन्देही क्षेत्र नम्बर ३ मा आगामी कार्तिक १७ मा हुने उपनिर्वाचनका लागि पार्टी जिल्ला कमिटी रुपन्देहीको भैरहवामा बसेको बैठकले पार्टीका महासचिव घनश्याम भुसालसहित सात जनाको नाम सिफारिस गरेको प्रदेश उपाध्यक्ष कमल भण्डारीले नेपाल प्रेसलाई बताए ।

    उम्मेदवारका लागि सिफारिस हुने अन्य नेताहरुमा लुम्बिनी प्रदेश उपाध्यक्ष कमल भण्डारी, रुपन्देही जिल्ला अध्यक्ष हिराध्वज शाह, प्रदेश सदस्य आनन्दप्रसाद गुप्ता, आशा चौधरी, थानेश्वर खरेल र रुपन्देही एकका सहईन्चार्ज विजयलक्ष्मी राय छन् ।

    समाजवादीले उम्मेदवार छनोट गर्न यसअघि नै कार्यदल बनाएको छ । लुम्बिनी प्रदेश इन्चार्ज तथा केन्द्रीय कमिटी उपमहासचिव मेटमणि चौधरी, प्रदेशका सहइन्चार्ज तथा केन्द्रीय सचिव सोमप्रसाद पाण्डे, लुम्बिनी प्रदेश अध्यक्ष अब्दुल हुसेन खाँ, रुपन्देही जिल्ला इन्चार्ज नन्दलाल बन्जाडे, जिल्ला अध्यक्ष हिराध्वज शाह सदस्य रहेको कार्यदल छ ।

    जिल्लाले पठाएको नाम प्रदेशले पनि केन्द्रमा पठाएको भण्डारीले जनाए ।

    रुपन्देही ३ महासचिव भुसालको आफ्नो क्षेत्र हो । पूर्वमन्त्रीसमेत रहेका उनी यसअघि एमालेबाट यो क्षेत्रमा निर्वाचित भएपनि ०७९ मा एमालेले राप्रपालाई टिकट दिएपछि छाडेर माओवादीको चुनाव चिन्ह लिएर १ नम्बर क्षेत्रमा उठेर पराजित भएका थिए ।

  • नेकपा एसका असन्तुष्ट नेताहरूको निचोड- माओवादीसँग एकतामा नजाने, विशेष महाधिवेशनको माग

    नेकपा एसका असन्तुष्ट नेताहरूको निचोड- माओवादीसँग एकतामा नजाने, विशेष महाधिवेशनको माग

    काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी (एस) पार्टीले माओवादीसँग एकता गरिहालेमा आफूहरू त्यसमा सहभागी नहुने निष्कर्षमा अर्को पक्षका नेता पुगेका छन् ।

    सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालसँग निकट केन्द्रीय नेताले आइतबार शान्तिनगरस्थित बानेश्वर क्याम्पसमा अलग्गै छलफल कार्यक्रम आयोजना गरेका थिए । पार्टीले सञ्चालन गरेको ‘सुशासन र रोजगारी समाजवादको तयारी’ शीर्षकको आन्दोलन कार्यक्रमका सचिवसमेत रहेका पूर्वमन्त्री जीवनराम श्रेष्ठ उक्त भेलाका सूत्रधार थिए । उनैले ‘माओवादीसँग एकता हुन लागेको बेला एकताको वार्तामा सहभागी नभएका साथीहरुको धारणा के हो ?’ भन्ने मुख्य शीर्षकमा छलफल गर्नका निम्ति नेताहरुलाई बोलाएको सहभागी एक केन्द्रीय सदस्यले बताएका छन् ।

    आन्दोलनद्वारा पार्टी निर्माणको अभियानमा जाने, ‘सुशासन र रोजगारी’ का नारा बोक्ने, तर पार्टीको अध्यक्षलाई भ्रष्टाचारको मुद्दा लागिदिँदा आन्दोलनको बेहाल भएको नेता श्रेष्ठले छलफलमा सहभागी नेताबीच बताए ।

    श्रेष्ठको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘आन्दोलनको त कुरै नगरौँ, पार्टीका सम्पूर्ण गतिविधि ठप्प छ, त्यसमाथि भ्रष्टाचार मुद्दा लाग्दासमेत अध्यक्षले उक्त मुद्दाको सुनुवाईसम्मका लागि भए पनि जिम्मेवारी मुक्त हुनुपर्नेमा छोड्नुभएको छैन, बरु भित्रभित्रै माओवादीमा लगेर पार्टी बुझाउने हल्ला सुनिन्छ ।’

    भेलाका सहभागी स्थायी कमिटी सदस्य डा. विजय पौडेल, पोलिटब्युरो सदस्य रामकुमारी झाँक्री, धर्मराज निरौलाले विशेष महाधिवेशनको आयोजना गर्नुपर्ने पक्षमा आफ्ना कुरा राखेका थिए । उनीहरूले भ्रष्टाचार मुद्दा लागेको अध्यक्ष रहेसम्म जनताबीच जान समस्या भएको भन्दै विशेष महाधिवेशनबाट नयाँ म्याण्डेटसहितको केन्द्रीय कमिटी निर्वाचित हुनुपर्ने धारणा राखेका हुन् ।

    उनीहरूले १०औँ महाधिवेशन कर्मकाण्डी र अध्यक्ष नेपालले केन्द्रीय पदाधिकारी र सिंगो कमिटीलाई आफू पक्षका व्यक्तिको भर्ती केन्द्र बनाएको आरोप लगाए । ‘अध्यक्ष, सम्मानित नेता र महासचिवसहित ९३ जना केन्द्रीय सदस्यलाई हलबाट अनुमोदन गर्ने, ती ९३ जनाले छानेर पूर्ण केन्द्रीय सदस्य बनाउने र त्यसरी छानिएका केन्द्रीय सदस्यका बीचबाट पदाधिकारीको चुनाव गराउने जादुगरी शैलीको कर्मकाण्ड हामीलाई स्वीकार्य छैन, त्यसैले विशेष महाधिवेशन हुनुपर्छ’, सहभागी एक नेताको भनाइ थियो ।

    पार्टी एकता, आन्दोलन र पार्टी निर्माणका एजेण्डामा संस्थागत छलफल नहुनु विसर्जनउन्मुख स्थिति भन्दै सहभागी नेताले यदि माओवादी केन्द्र वा कोहीसँग पार्टी एकता गरेमा त्यसलाई स्वीकार नगर्ने साझा निष्कर्ष निकालेका छन् । स्रोतका अनुसार, यदि अध्यक्ष नेपालले माओवादीसँग एकताको औपचारिक प्रस्ताव ल्याए पनि त्यसमा सहभागी नभई एकीकृत समाजवादीलाई नै अगाडि बढाउने उनीहरूको भनाइ थियो ।

    बोलाएको बैठकसमेत सारेर अध्यक्ष नेपालले निरंकूशता प्रदर्शन गरेको उनीहरूको भनाइ थियो । भदौ ४ गते स्थायी, ५ गते पोलिटब्युरो र ८ गते केन्द्रीय कमिटी बैठकको सूचना जारी भएको थियो । त्यस्तो सूचना जारी हुनासाथ युवा संघको समानान्तर केन्द्रीय कमिटी गठन भयो । त्यसपछि बैठक सारेर भदौ अन्तिम साता पुर्‍याइएको छ ।

    आइतबारको छलफलका सहभागीले भदौ अन्तिम साता पनि बैठक बस्ने सम्भावनाप्रति शंका व्यक्त गरेका छन् । स्रोतका अनुसार बैठक नबसी माओवादीसँग पार्टी मिलाउने खतरा रहेको उनीहरुको आशंका छ ।

  • पुराना भ्रष्ट नेताविरुद्ध नयाँ भ्रष्टलाई रोज्न बाध्य भए जनता, असन्तुष्ट जनमत तान्ने योजना बनाऔं -भुसाल

    पुराना भ्रष्ट नेताविरुद्ध नयाँ भ्रष्टलाई रोज्न बाध्य भए जनता, असन्तुष्ट जनमत तान्ने योजना बनाऔं -भुसाल

    रुपन्देही । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले पुराना दलका भ्रष्ट नेताहरु र गुट उपगुटको पेलाईमा परेका कार्यकर्ता नयाँ भ्रष्टलाई रोज्न बाध्य भएको जनाएका छन् ।

    बिहीबार बुटवलमा सहिद वेपत्ता स्मृति प्रतिष्ठान नेपालले गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘पुराना भ्रष्टको विरोधमा नयाँ भ्रष्टहरुले ती कार्यकर्तालाई तानेका हुन्, नयाँ पनि उस्तै छन् । राम्रो भएर रोजाईमा परेका होइनन्, जनताले विकल्प नभएकाले नयाँ खोजेका हुन्। अब हामीले त्यो असन्तुष्ट जनमतको सुरक्षा गर्नेगरी जानुपर्दछ ।’

    नेता भुसालले नयाँ पार्टीको नाम र नेताको नाम नभनी नयाँ दल र यसका नेताहरुको कटाक्ष गरेका थिए ।

    उनले देउवा, ओली, प्रचण्ड, माधव नेपालदेखि रविसम्म असन्तुष्टि रहेकाले अब नयाँ निकास आवश्यक रहेको बताए। उनले वर्तमान राजनीतिमा देखिएको समस्याबारे साउन ६ गतेदेखि बहस सुरु भएकोे बताउँदै बुटवलमा आएपछि यसले गति लिने विश्वास व्यक्त गरे।

    उनले नेपालमा घुस नखाने नेताको कम्युनिष्ट पार्टी आवश्यक भएको बताउँदै कम्युनिष्ट पार्टीहरु दलाल पूँजीवादको कब्जामा रहेकाले अब जनतामा देखिएको निराशा र छटपटी चिर्न सुशासनको ग्यारेन्टी दिने क्रान्तिकारी कम्युनिष्ट पार्टी चाहिएको तर्क गरे ।

    भुसालले नेपालमा व्यवस्था र संविधान बदलिए पनि दलहरुको ढाँचा, संरचना र तरिका उस्तै रहेको बताए। उनले राजाकै पालादेखिको दलाल पूँजीवाद प्रभावमा दलहरु फसेको टिप्पणी गरे।

    भुसालले राजनीतिक रुपमा नेपाली जनतामाथि भयंकर अत्याचार भएको समेत बताए। ‘जनतामा विकल्प छैन, सत्ता, सरकार, प्रधानमन्त्री, नेताहरुको गुटले जनतालाई धेरै अपमानित गरेको छ, झुटबाट मान्छे तरंगित छ’ भुसालले भने, ‘म त भन्छु समाज बौलाएको छ, यसबाट निकास दिन अब धु्रवीकरण जरुरी छ।’ उनले मुलुक वर्तमान छटपटीबाट नयाँ इतिहास बनाउने प्रसव पीडामा रहेको बताए। भुसालले वामपन्थी आन्दोलनलाई ध्रुवीकरण गर्नुपर्ने बेला आएकाले आफूहरु वर्तमान राजनीतिको संकट र निकासबारे बहसमा आएको बताए।

    परिस्थिति धेरै पाकिसकेको बताउँदै उनले अब केन्द्रदेखि वडासम्मै वामपन्थी ध्रुवीकरण आवश्यक रहेको बताए। उनले पुरानोले काम नगरेको तर नयाँ नबसिकेकोले सर्पले काँचुली फेर्ने अवस्थामा जस्तै छटपटी भएकाले नयाँ इतिहास बनाउन बहस जरुरी रहेको बताए।

    ‘पुराना मान्यता भत्केका छन्, तिनका नालयी भत्केका छन्’, उनले भने ‘स्वार्थ र भ्रमहरु भत्काएर नयाँ मानक बनाउनुपर्छ।’

    उनले क्रान्तिका लागि कसम खाएको व्यक्तिको हिसाबले सपनाले थिचिएर ऐठन हुने अवस्थामा आएको बताए। माओवादीभित्र जनयुद्ध र एमालेभित्र बहुदलीय जनवादको संकल्प दलाल पूँजीवादको भित्तामा ठोक्किएर घाईते भएकाले मुलुकको भाग्य र भविष्यका लागि एकजुट भएको बताए।

    ‘मूलभूतरुपमा युद्ध र शान्तिपूर्ण हुकाई र अनुभवको विभाजन छन्, त्यो बाहेक अरु कृत्रिम नक्कली लक्ष्मण रेखाहरु भत्काउनुपर्छ’ भुसालले भने।

    उनले पछिल्लो समय नेकपाका महासचिव विप्लव, नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले बहस र छलफल गरेको प्रसंगमा आफूहरु कुनै नयाँ पार्टी बनाउनका लागि बहसमा नआएको बताए।

    ‘तीन जना मिलेर अलग पार्टी बनाउने होइन, अर्को पार्टी बन्दैन,’ भुसालले भने, ‘हामीले सही सिद्धान्त बुझाउने र विभाजन नभई जुटाउने अभियानमा छौँ।’ उनले समाजमा उकुसमुकुस तीब्र रुपमा रहेकाले विमर्श जरुरी रहेको बताए।

  • माधवलाई झलनाथको प्रश्न- महाधिवेशनले पारित गरेको दस्ताबेज किन प्रकाशित भएन ? (भिडिओ)

    माधवलाई झलनाथको प्रश्न- महाधिवेशनले पारित गरेको दस्ताबेज किन प्रकाशित भएन ? (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टी निर्माणको लागि नयाँ अठोट आवश्यक रहेको बताएका छन्।

    पार्टी पुनर्गठन दिवसका सन्दर्भमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी निर्माणका लागि नयाँ संकल्पका साथ अगाडि बढ्नुपर्ने बताए।

    उनले सँगै कार्यक्रममा रहेका अध्यक्ष माधव नेपाललाई १० औँ महाधिवेशनले पारित गरेको दस्ताबेज किन सार्वजनिक नगरेको भन्दै प्रश्न समेत गरे।

    उनले भने, ‘१० औँ महाधिवेशनले नेपाली समाजवादको कार्यक्रम अघि सारेका छौँ। त्यो कार्यक्रमलाई हामीले अहिलेसम्म प्रकाशित गरेका छैनौँ। यो कसको कमजोरीले हो बुझ्न बाँकी छ। यो प्रकाशित गर्नुपर्छ। यसले हाम्रो देशको समाजवादी कार्यक्रममा रूप अगाडि आउँछ। र त्यो नै हाम्रो लक्ष्य हो।’

    उनले नेपाली समाजवादको रूपमा मार्सवादले लिने भन्दै त्यसलाई पार्टीले जोड्नुपर्ने बताए।

    उनले भने, ‘अहिले हामी पूँजीवादी समाजमा छौँ। यसलाई ध्वस्त पारेर हामीले समाजवाद निर्माण गर्ने हो। त्यो समाजवादको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक संरचनाहरूको छलफल गरेर अघि बढ्न सकिन्छ। ठोस लक्ष्य तय गरेर नेपाली भएको सबै ठाउँमा पुर्‍याउनुपर्छ। त्यो कार्यदिशा, नीति र सिद्धान्त तय गर्नुपर्छ।’

    उनले पार्टीको प्रधान अन्तर्विरोध किटान गरेर प्रहार गर्नुपर्ने बताए।

  • असन्तुष्ट नेताहरूलाई माधव नेपालले भने- पार्टी कमिटीभित्र सबै कुरा छलफल गर्न पाइन्छ

    असन्तुष्ट नेताहरूलाई माधव नेपालले भने- पार्टी कमिटीभित्र सबै कुरा छलफल गर्न पाइन्छ

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नेपालको कम्युनिस्ट आन्दोलन सङ्कटको अवस्थामा रहेको बताएका छन्।

    पार्टी पुनर्गठन दिवसका सन्दर्भमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कम्युनिस्ट आन्दोलनमा मात्रै भई राजनीतिक दलहरूमाथि नै चुनौती बढिरहेको बताए।

    उनले भने, ‘हामी चुनौतीलाई पन्छाउँदै अघि बढिरहेका छौँ। त्यसलाई समाधान गर्ने आँट राख्नुपर्छ। पार्टीभित्र समस्या पनि छन्, पार्टीमा काम गर्ने साथीहरू पनि छन्, सबै यहाँ धाउने मात्रै होइन, जिल्ला सदरमुकाममा गएर मात्रै बस्न पनि पाइँदैन। जिम्मेवारी लिएपछि पूरा गर्नुपर्छ।’

    उनले पार्टीका नेता कार्यकर्तालाई निराशालाई हटाएर सकारात्मक ढङ्गले अघि बढ्न आग्रह गरे। उनले नेपालको कम्युनिस्ट आन्दोलन र राजनीतिमा आफ्नो पार्टीको महत्त्वपूर्ण भूमिका रहेको बताए। पार्टीमा विचारको कुनै समस्या नै नरहेको बताए।

    उनले भने, ‘मुलुकलाई वैज्ञानिक समाजवादको दिशामा अघि बढाउने नीति अघि बढाउनुपर्छ भनेका छौँ। हामीले त्यो बेलामा विद्रोह गरेको भए, आँट नगरेको भए त्यही पार्टीभित्र पनि विद्रोही चेत भएका मानिसहरू तयार हुने थिएनन्। हामी सुनिरहेका छौँ, ती पार्टीहरूको समस्या।’

    उनले निराश मानिसहरू पलायन भएर जाने बताए।

    उनले भने, ‘गर्न सक्नेहरू अगाडि बढेर गरेर देखाउँछन्। पार्टीपंक्तिले सकारात्मक सन्देश दिनुपर्छ। पार्टी कमिटीभित्र बसेर सबै कुरा छलफल गर्न पाइन्छ। त्यो आन्तरिक मामिला बनाउनुपर्छ। छलफल गर्न सकिन्छ। कुनैलाई हामीलाई सम्झाउनुपर्ने हुन्छ।’

  • एमालेमा शक्तिशाली जिम्मेवारीमा थिएँ, नेकपा एसमा पनि २० लाख पार्टी सदस्य बनाउन सकिन्छ : वामदेव गौतम (भिडिओ)

    एमालेमा शक्तिशाली जिम्मेवारीमा थिएँ, नेकपा एसमा पनि २० लाख पार्टी सदस्य बनाउन सकिन्छ : वामदेव गौतम (भिडिओ)

    काठमाडौं । हालै मात्रै नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका नेता वामदेव गौतमले आफू एमाले विभाजन भएर पार्टी गठन हुने बेलामै आउन चाहेको बताएका छन्। पार्टी पुनर्गठन दिवसका सन्दर्भमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै आफ्नै कारणले नमिलेको पनि बताए।

    उनले भने, ‘एमालेको शक्तिशाली जिम्मेवारी थिए, पार्टी निर्माणसम्बन्धी काम उत्साहपूर्वक गरेको थिएँ। त्यसबेला मैले मसँग त्यही शक्ति छ भन्ने सोचेको थिएँ, म लागे भने फुटेका पार्टी जुटाउन सक्छु भन्ने लागेको थियो। केही त गर्नुपर्‍यो, साँच्चिकै केही त गर्नुपर्‍यो भन्नेमै सीमित भइयो।’

    उनले शक्तिबिना अरू पार्टी मिलाउन नसक्ने निष्कर्षमा पुगेको बताए।

    उनले थपे, ‘म सानो टुक्रा लिएर गएर ठुला पार्टीहरूलाई तपाईँहरू जुट्नुपर्छ भन्दा मेरो शक्ति नहुँदो रहेछ। मेरो आवाज हराउँदो रहेछ। त्यसपछि पार्टी निर्माण गर्न लाग्दा पनि भएन। बनेको पार्टीमा पहिला यहीमा खोजेँ।’

    उनले राष्ट्रिय एकता अभियान चलाउँदा समेत आफूलाई निष्कासन गर्ने गरी दुई घटना घटेको स्मरण गरे। उनले नेताहरू काठमाडौं केन्द्रित भएको भन्दै सबैलाई एउटा न एउटा कार्यक्षेत्र तोकेर पार्टी निर्माणको काममा लगाउनुपर्ने बताए।

    उनले थपे, ‘म नै तल्लो तहमा गएर काम गर्न तयार छु, मसँग अर्को कोही नेता पनि जानुहोला। कम्तीमा देशभरिका ७५३ पालिकामा ५ जनाको कमिटी निर्माण गर्न सक्यौँ भने पनि हुन्छ। १० जनाको कमिटी बनाउन सक्यौँ भने हाम्रो पार्टीको सदस्य सङ्ख्या २० लाख पुग्छ।’

  • नेकपा एस युवा संघको समानान्तर कमिटी बनाएका सञ्जीव राई निलम्बित

    नेकपा एस युवा संघको समानान्तर कमिटी बनाएका सञ्जीव राई निलम्बित

    काठमाडौं । नेकपा एस निकट युवा संघ नेपाल केन्द्रीय अनुशासन आयोगले सह-संयोजक संजीव राईलाई ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको छ ।

    आयोगका अनुसार गत २०८२ साउन ३ गते भित्र स्पष्टीकरण पेस गर्न भनिए पनि राईले लेखित जवाफ पेस नगरी संगठनविपरीत गतिविधि जारी राखेका थिए । विशेषगरी उनले सामाजिक सञ्जालमार्फत संगठन विरोधी प्रचार–प्रसार गरेको, समानान्तर समिति गठन गरेर आन्तरिक जीवनलाई प्रभावित पारेको र संघको एकता तथा अनुशासनमा गम्भीर आघात पुर्‍याएको आयोगले जनाएको छ ।

    संगठनका इन्चार्ज कमरेड लक्ष्मण के.सी.को सिफारिसमा बनेको नयाँ राष्ट्रिय महाधिवेशन आयोजन समिति गठन भएपश्चात राईले समानान्तर समिति बनाएको आरोप लागेको हो।

    संघको विधान २०७८ को धारा १६ (घ) अनुसार, आयोगले राईलाई साधारण सदस्यता समेत नदिई ६ महिनाको लागि निलम्बन गर्ने निर्णय लिएको छ।

    यस विषयमा आयोगका अध्यक्ष विकल के.सी.ले ‘अनुशासन विपरीतका कार्यलाई संगठनले गम्भीरतापूर्वक लिएको छ’ भन्दै आगामी दिनमा यस्ता गतिविधि सहन नसक्ने चेतावनीसमेत दिएका छन् ।

    त्यसैगरी यता संस्थापन पक्ष भने राईलाई समानान्तर कमिटी बनाउन झलनाथ खनालले निर्देशन दिएको र आफ्नो छोरालाई अगाडि बढाउनका लागि पृष्ठभूमि तयार गर्दै गरेको दाबी गर्छ । यता स्वघोषित रूपमा समानान्तर कमिटीमा अध्यक्ष बनेका राई युवा संघमा सह–संयोजक छन् भने उपाध्यक्ष निर्भीक खनालको भने उता युवा संघमा कुनै पनि पद अहिलेसम्म छैनन ।

    साथै, राई र खनाल ठेक्का-पट्टाको व्यवसायमा साझेदार भएको र केही कम्पनी पनि कालो सूचीमा रहेका उनीहरूको दाबी गर्दै आएको छ ।

  • झलनाथ लक्षित माधवको टिप्पणी- यो पार्टीले गरिखाँदैन भन्नेलाई ठाउँ छैन, हाम्रो पार्टीको भविष्य छ

    झलनाथ लक्षित माधवको टिप्पणी- यो पार्टीले गरिखाँदैन भन्नेलाई ठाउँ छैन, हाम्रो पार्टीको भविष्य छ

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पार्टीमै बसेर यो पार्टीले गरिखाँदैन भन्ने मान्छेलाई ठाउँ नभएको बताएका छन्। पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफ्नो पार्टीको भविष्य रहेको जिकिर गरे।

    उनले भने, ‘यो पार्टी सानो छ भनेर कुप्रचार कसैले पनि नगरुन्। ठुलो छ पनि भनिएको होइन। तर हामीले पार्टीलाई सशक्त बनाउनुपर्नेछ। ठुलो पार्टी बनाउनुपर्नेछ। जनताको विश्वास जितेर एउटा निर्णायक भूमिका खेल्नु स्थितिमा पुर्‍याउनुपर्छ भन्ने सोच राखेर अघि बढ्नुपर्नेछ। त्यसैले पार्टीलाई हामीले शक्तिशाली बनाउनुपर्छ, पार्टी शक्तिशाली छैन भने केही हुँदैन। त्यसैले पार्टीको पक्षमा प्रभाव फैलाउनुपर्नेछ।’

    पार्टीभित्रका मान्छेहरूले पार्टी अगाडि बढ्छ भनेर सकारात्मक बहस गर्नुपर्ने बताए।

    उनले पार्टीका नेता सम्मानित नेता झलनाथ खनाललाई लक्षित गर्दै भने, ‘पार्टीमा बसेर यो पार्टीले गरिखाँदैन भन्ने मान्छेलाई यो पार्टीमा ठाउँ छैन। तिनीहरूलाई सम्मान गर्न सकिँदैन, त्यस्ता व्यक्तिहरू काम लाग्दैनन्। हामीले विश्वासको वातावरण बनाएर जनमत तयार पर्ने हो। विश्वास जगाउने हो। यहाँ बसेको मान्छेले पार्टीको पक्षमा जनमत तयार गर्ने हो। भ्रम चिरेर विश्वास जगाउने हो।’

  • झलनाथ खनालको कडा विज्ञप्तिः लिपुलेकमात्र होइन, सुगौली सन्धिअघिका सबै भू-भाग नेपालकै हुन्

    झलनाथ खनालको कडा विज्ञप्तिः लिपुलेकमात्र होइन, सुगौली सन्धिअघिका सबै भू-भाग नेपालकै हुन्

    काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले भारत र चीनबीच भएको लिपुलेक पासबारे भएको सम्झौताको विरोध गरेका छन् । दुई देशको यो सम्झौताले नेपाली भूमिमाथिको अतिक्रमणमात्र होइन नेपालको स्वतन्त्रता, सार्वभौमिकता र राष्ट्रिय अखण्डता माथि नै गम्भीर थिचोमिचो हुन पुगेको बताएका छन् ।

    उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘भारतका शासकहरूले हाम्रा धेरै भूभागहरू कब्जा गर्नुको साथै महाकाली नदीपूर्वका लिम्पियाधुरा, कालापानी र लिपुलेक समेत कब्जा गर्न पुगेका हुन् । हामी अहिले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालका अभिन्न भू-भाग हुन् भनिरहेका छौं । तर कुख्यात सुगौली सन्धि खारेज भइसकेको छ । त्योभन्दा अघिका सबै भू-भागहरू पनि नेपालकै हुन भन्ने ऐतिहासिक तथ्य हो ।’

    उनले भारत र चीनबीच हालै लिपुलेक दर्राबाट व्यापार गर्ने बारेमा दुई देश बीच सम्झौतालाई ठाडै अस्वीकार गर्नुपर्ने बताएका छन् ।

    खनालले, ‘पहिले हाम्रा बीचमा भएका राष्ट्रिय सहमतिलाई समेत ध्यानमा राखेर सबै राजनीतिक पार्टीहरू, सम्पूर्ण देशभक्त संघसंस्थाहरू, आम जनता र सिंगो राष्ट्र एकताबद्ध बनौँ, नेपालको राष्ट्रिय स्वतन्त्रता,सार्वभौमसत्ता, राष्ट्रिय अखण्डताका पक्षमा दृढतापूर्वक खडा बनौं, संसदबाट एउटै आवाजमा सबै दलको तर्फबाट राष्ट्रिय संकल्प प्रस्ताव पारित गरौं, नेपालका भू-भागहरू हडप गर्ने भारतीय विस्तारवादी तर्कहरूलाई खारेज गरौं ।’

    सीमानाको यथार्थबारेमा नेपाली जनता, विश्व जनता र अन्तर्राष्ट्रिय जगतलाई प्रष्ट पार्ने ऐतिहासिक सन्धि, सम्झौता, नक्साहरू, भिडिओ र अन्य तथ्य प्रमाणहरू व्यवस्थित बनाउँदै वार्ता गर्नुपर्ने उनको भनाइ छ ।

    ‘अहिलेसम्म जनवादी गणतन्त्र चीनले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र भारतको भनेको छैन । भारतले भने लामो समयदेखि जबरजस्त कब्जा गदै आएको छ । यो तथ्यलाई समेत ध्यानमा राखेर दुवै छिमेकीहरूसँग कूटनीतिक स्तरमा जिम्मेवारीपूर्वक र दृढतापूर्वक वार्ता गरौं । त्यसका निम्ति अन्य ट्रयाक टु माध्यमहरूलाई पनि प्रयोग गरौँ’ खनालले भनेका छन्, ‘नेपालको सबै भू-भागहरूलाई नेपालमै फर्काउन र हाम्रो अन्तर्राष्ट्रिय सिमानालाई सदाका निम्ति स्थिर र विवादरहित बनाउन ऐतिहासिक पहल कदमी गरौं । नेपाल सरकारले यस ऐतिहासिक कार्यमा ठोस पहल कदमी गर्न जरुरी छ ।’

  • घनश्याम भुसालको टिप्पणी- नयाँ भ्रष्ट जिन्दावाद, पुराना भ्रष्ट मुर्दावाद भन्ने नारा पपुलर हुँदैछ (भिडिओ)

    घनश्याम भुसालको टिप्पणी- नयाँ भ्रष्ट जिन्दावाद, पुराना भ्रष्ट मुर्दावाद भन्ने नारा पपुलर हुँदैछ (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले अहिले राजनीतिमा नैतिकताको खडेरी परेको बताएका छन्।

    राजनीतिमा निष्ठा र नैतिकता विमर्श कार्यक्रमलाई सम्बोधन गर्दै नैतिकताको प्रश्न सत्तासँग जोडिएको बताए।

    उनले भने, ‘अहिले नेपाली राजनीतिमा नयाँ भ्रष्ट जिन्दावाद, पुरानो भ्रष्ट मुर्दावाद भन्ने नारा पपुलर भइरहेको छ। अहिलेको राजनीतिक प्रचारको नारा नयाँ भ्रष्ट जिन्दावाद, अनि हामी पुरानाहरूले रैथाने भ्रष्ट जिन्दावाद भन्न खोजेको हो कि? सहरमा तर्क छैन। अहिले राजनीतिमा तर्क हरायो। यस्ता तर्कले काम गरेर मुलुक विभाजित भएको छ।’

    उनले शितलनिवास, बालुवाटार र सर्वोच्च अदालतमा सेना नभए यिनीहरूको हालत के होला? भन्दै प्रश्न गरे। उनले आजको नैतिकताको व्याख्या पुँजीले गर्ने बताए।

  • एकीकृत समाजवादीको स्थायी कमिटी बैठक भदौ २५ गते आह्वान

    एकीकृत समाजवादीको स्थायी कमिटी बैठक भदौ २५ गते आह्वान

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले आन्तरिक विवाद समाधान गर्न यही भदौ २५ गते स्थायी कमिटी बैठक आह्वान गरेको छ ।

    पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने बैठकमा पार्टी मातहतका प्रदेश, जिल्ला र सम्बन्धित कमिटीको अधिवेशन, पार्टीको आन्तरिक विवाद समाधान, आगामी रणनीतिका विषयमा छलफल हुने पार्टी केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी दिए ।

    उनले बैठकमा समसामयिक राजनीतिक घटनाक्रम,समाजवादी कार्यक्रम, साङ्गठनिक कार्यक्रम, पार्टीले देशभर सञ्चालन गरेको राजनीतिक अभियानअन्तर्गत सुशासन, रोजगारी, समृद्धिलगायत सामाजिक रुपान्तरणका लागि समाजवादी अभियानले देशभर पारेको प्रभावकारिताबारे समीक्षा गरिने जानकारी दिए ।

    जनवर्गीय सङ्गठनका कार्यप्रगति साथै महासचिव घनश्याम भुसालको नेतृत्वमा गठित कार्यदलले गरेका कामको समीक्षा गरी नयाँ चरणको कार्यक्रम तय गरिने उपप्रमुख अर्यालले जानकारी दिए ।

    साथै समाजवादी विचारधारा भएका दलहरूबीच सहकार्य, समन्वय तथा वामपन्थी शक्तिबीच एकताको प्रस्ताव अनुमोदन गरिने बैठकमा समाजवादी मोर्चालाई थप सशक्त बनाउने विषयमा छलफल गरिने जनाइएको छ ।

  • पार्टी बैठकमा माधव नेपालको ब्रिफिङ- अन्तरपार्टी सम्बन्धलाई सुदृढ गर्न माओवादीसँग छलफलमा छौँ

    पार्टी बैठकमा माधव नेपालको ब्रिफिङ- अन्तरपार्टी सम्बन्धलाई सुदृढ गर्न माओवादीसँग छलफलमा छौँ

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले माओवादी केन्द्र र विप्लव नेतृत्वको नेकपासँग पछिल्ला दिनमा भएको भेटबारे पार्टीलाई ब्रिफिङ गरेका छन्।

    आज बसेको सचिवालय बैठकमा अध्यक्ष नेपालले माओवादी र नेकपासँग अन्तरपार्टी सम्बन्धलाई सुदृढ गर्ने उद्देश्यले छलफल अघि बढाएको जानकारी गराएको प्रवक्ता प्रकाश ज्वालाले बताए।

    अध्यक्ष नेपालको भनाइलाई उदृृत गर्दै उनले भने, ‘हाम्रो पार्टीले माओवादी र विप्लव नेतृत्वको नेकपासहित मोर्चामा रहेका अन्य पार्टीहरूसँग पनि छलफल गरिरहेका छौँ। अन्तरपार्टी सम्बन्धलाई सुदृढ गर्ने, आपसमा रहेका समस्याहरूलाई समाधान गर्ने र सहकार्यलाई सशक्त र बलियो बनाउने, मोर्चालाई प्रभावकारी बनाउने विषयमा केन्द्रित छ।’

    बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले केपी ओली नेतृत्वको सरकारले एकपछि अर्को गर्दै जनविरोधी काम गरिरहेको आरोप लगाएको पनि बताए।बैठकले सरकार सरकार असफल र असक्षम भएको निष्कर्ष निकालेको पनि सुनाए।

    यस्तै, बैठकमा रुपन्देही ३ मा हुने उपनिर्वाचन, सङ्गठन निर्माण, प्रशिक्षण र आन्दोलनका कार्यक्रमबारे पनि छलफल भएको बताए।

  • झलनाथ निवासमा वामपन्थी पार्टीहरूबीच एकताबारे छलफल

    झलनाथ निवासमा वामपन्थी पार्टीहरूबीच एकताबारे छलफल

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल निवासमा विभिन्न वामपन्थी पार्टीका नेता छलफलमा जुटेका छन् । डल्लुस्थित उनको निवासमा कम्युनिष्टहरूबीचको एकता र समसामयिक राजनीतिक विषयमा छलफल भएको हो ।

    छलफलमा नेकपा (एकीकृत समाजवादी) पार्टीबाट नेता खनालसहित स्थायी कमिटी सदस्य साध्यबहादुर भण्डारी, केन्द्रीय सदस्य केदार सन्जेल र रामेश्वर श्रेष्ठ सहभागी छन् ।

    भने अन्य वाम पार्टीकोतर्फबाट अखिल नेपाल कम्युनिस्ट पार्टीका नेता नारायण शर्मा, अखिल नेपाल कम्युनिस्ट पार्टीका नेता लक्ष्मण उप्रेती, क्रान्तिकारी कम्युनिष्ट पार्टीका नेता रामबहादुर बुढा, क्रान्तिकारी कम्युनिष्ट पार्टीका नेता सन्तबहादुर नेपाली लगायतका वामपन्थी नेताहरू सहभागी छन् ।

    नेकपा एकीकृत समाजवादीका नेताहरूले पछिल्लो समय वामपन्थी एकताका लागि छलफल चलाइरहेका छन् । अध्यक्ष माधव नेपालको नेतृत्वमा माओवादी केन्द्रसहित अन्य वामपन्थी घटकहरूबीच पनि निरन्तर छलफल भइरहेको छ ।

  • नेकपा एसमा राजीनामा दिएर बसेका राजुलाई एमालेले बनायो लुम्बिनी प्रदेश कमिटी सदस्य

    नेकपा एसमा राजीनामा दिएर बसेका राजुलाई एमालेले बनायो लुम्बिनी प्रदेश कमिटी सदस्य

    रुपन्देही । नेकपा एसको केन्द्रीय सदस्य तथा रुपन्देही अध्यक्षबाट राजीनामा दिएर बसेका युवा नेता राजु गुरुङ लामो समय यत्तिकै बसेका थिए ।

    पछिल्लो केही समय उनी एमालेसँग नजिकिएको उनले सार्वजनिक गरेका केही तस्बिरहरूले पुष्टि गरे पनि आधिकारिक रूपमा केही सार्वजनिक गरिएको थिएन । तर उनी एमालेका नेताहरूलाई भेटेका तस्बिर सामाजिक सञ्जालमा राखिरहेका थिए ।

    बुधवार मात्रै गुरुङलाई एमालेले लुम्बिनी प्रदेश कमिटी सदस्यको जिम्मेवारी दिइएको हो ।

    उनीसँगै बुधवारै नेकपा एसको केन्द्रीय सदस्य छाडेर आएकी सिनपाकी पूर्व उपमेयर उमा काफ्ले र रोल्पामा माओवादी छाडेर आएका शान्तराज बोहोरालाई पनि प्रदेश कमिटी सदस्यको जिम्मेवारी दिइएको एमाले लुम्बिनीका अध्यक्ष राधाकृष्ण कंडेलले जानकारी दिए । उनका अनुसार प्रदेश कमिटी अब २३८ सदस्यीय बनेको छ ।

  • दोस्रो तहका नेताको मध्यस्थतामा माधव-झलनाथबीच दुई भेट : एकअर्काविरुद्ध नबोल्ने सहमति

    दोस्रो तहका नेताको मध्यस्थतामा माधव-झलनाथबीच दुई भेट : एकअर्काविरुद्ध नबोल्ने सहमति

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनाल वाकयुद्धमा उत्रिएपछि विवाद मिलाउन दोस्रो तहका नेता सक्रिय भएका छन् ।

    वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, महासचिव घनश्याम भुसाललगायत दोस्रो तहको नेताहरूको सक्रियतापछि शनिबारयता उनीहरूबीच दुई चरणको भेट भइसकेको छ ।

    शनिबार अध्यक्ष नेपाल पार्टीको कार्यक्रममा जानुपर्ने भएकाले छोटो भेट मात्रै भएको थियो । तर, सोमबार दुई नेताहरुबीच पार्टीभित्र देखिएको समस्या समाधान गरेर जान सहमत भएका छन् ।

    दुई नेताबीचको भेटबारे उपमहासचिव राजकुमार भट्टराईले भने, ‘पार्टीका दुई शीर्ष नेताहरूबीचको यो नियमित भेट हो । बाहिर चर्चा भएजस्तो पार्टीभित्र विवाद छैन । सबै कुरा मिल्छन् ।’

    दुई नेताबीच अब सार्वजनिक रूपमा एकअर्काविरुद्ध नबोल्ने र बाँकी कुरा पार्टी बैठकमा छलफल गर्न पनि तयार भएका छन् । सम्मानित नेता खनालले एमालेबाट विद्रोह गरेको चार वर्षमा पनि औचित्य पुष्टि गर्न नसकेको अभिव्यक्ति दिएपछि अध्यक्ष नेपाल चिढिएका थिए ।

    विवादका बीच दुई नेताहरूले एकअर्कालाई पार्टी छाडेर एमालेमै जान समेत भन्न भ्याए । दुई नेताबीचका विवादको जड यति मात्रै नभएर सचिवालय बैठकले अध्यक्ष नेपालविरुद्ध खनालले राखेको लिखित प्रस्ताव पनि थियो ।

    भ्रष्टाचारको मुद्दा लागेपछि नेता खनालले अध्यक्ष पद छाड्नुपर्ने र यो मुद्दाको भारी पार्टीले नबोल्ने भन्दै लिखित दस्ताबेज पेस गरेका थिए । उनले त्यो प्रस्तावमाथि पनि छलफलको माग गरिरहेका छन् ।

    दुई नेताबीच सहमतिपछि हिजो केन्द्रीय अनुशासन आयोग शिवबहादुर देउजाले विज्ञप्ति जारी गर्दै पार्टीको विधि र पद्धतिविपरीत जथाभाबी नबोल्न नेता कार्यकर्तालाई निर्देशन दिएका थिए ।

    विज्ञप्तिमा लेखिएको छ, ‘पार्टीमा आफ्ना निजी विचार र सुझावहरू राख्ने विधि र स्थानहरू छन् भन्ने कुराको हेक्का राख्दै पार्टीको आधिकारिक धारणासँग बाझिने कुनै पनि कुरा सार्वजनिक रूपले नबोल्न, नलेख्न सम्बन्धित सबै कमरेडहरूको ध्यानाकर्षण गरिन्छ ।’

    पार्टीको नीतिविपरित धारणा राखे विधान अनुसार अनुशासनको कारबाही प्रक्रिया अघि बढाइने चेतावनी समेत दिएका छन्।

  • नेकपा एसले नेता/कार्यकर्तालाई भन्यो- पार्टीको विधि र पद्धति विपरीत जथाभाबी अभिव्यक्ति नदिनू

    नेकपा एसले नेता/कार्यकर्तालाई भन्यो- पार्टीको विधि र पद्धति विपरीत जथाभाबी अभिव्यक्ति नदिनू

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले पार्टीको विधि र पद्धति विपरीत टीकाटिप्पणी नगर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ ।

    पार्टी अनुशासन उल्लङ्घन हुने गरी अभिव्यक्ति नदिन तथा सामाजिक सञ्जालमा पोष्ट समेत नगर्न पार्टीले आज सो निर्देशन दिएको हो ।

    केन्द्रीय अनुशासन आयोगका अध्यक्ष शिवबहादुर देउजाले पार्टीलाई आँच पुग्ने गरी अभिव्यक्ति नदिन र सामाजिक सञ्जालमा नलेख्न सम्पूर्ण नेता तथा कार्यकर्तालाई आग्रह गरिएको जानकारी दिए ।

    उनले भने ,“पार्टी केन्द्रीय नेताहरूको कार्यविभाजन भइसकेको अवस्थामा पार्टीका धारणा र निर्णयहरूप्रति आफ्ना सुझाव, टिप्पणी वा फरक मतलाई आफू सङ्गठित कमिटीको बैठकमा राख्न म आग्रह गर्दछु । ”

  • नेकपा एस अनुशासन आयोगको चेतावनी- पार्टीको आधिकारिक धारणाविरुद्ध कसैले बोले कारबाही हुन्छ

    नेकपा एस अनुशासन आयोगको चेतावनी- पार्टीको आधिकारिक धारणाविरुद्ध कसैले बोले कारबाही हुन्छ

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय अनुशासन आयोगले पार्टीको अनुशासन उलंघन नगर्ने नेता कार्यकर्तालाई ध्यानाकर्षण गराएको छ।

    अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनालबीच वाकयुद्ध चलिरहेको बेलामा केन्द्रीय अनुशासन आयोग शिबबहादुर देउजाले विज्ञप्ति जारी गर्दै यस्ता गतिविधि रोक्न निर्देशन दिएका हुन्।

    विज्ञप्तिमा भनिएको छ, ‘तसर्थ, पार्टीमा आफ्ना निजी विचार र सुझावहरु राख्ने विधि र स्थानहरु छन् भन्ने कुराको हेक्का राख्दै पार्टीको आधिकारिक धारणासँग बाझिने कुनै पनि कुरा सार्वजनिक रुपले नबोल्न, नलेख्न सम्वन्धित सबै कमरेडहरुको ध्यानाकर्षण गरिन्छ ।’

    सार्वजनिक संचार माध्यम वा भेला, कार्यक्रमहरुमा पार्टीबाट निर्णय नभएका आफ्ना निजी विचारहरु कुनै पनि बाहनामा राखेर अराजक शैलीको अवलम्बन गरी कार्यकर्ता र जनता पंक्तिमा भ्रम र निराशा पैदा गराउने काम नगर्न नगराउन पार्टीको माथिदेखि तलसम्मका सबै नेताहरुलाई निर्देशन पनि दिएको छ।

    विज्ञप्तिमा भनिएको छ, ‘यस्तो प्रबृत्ति पुनः दोहोर्याउने कमरेडहरुमाथि पार्टीको विधान अनुसार अनुशासनको कारबाही प्रकृया अघि बढाइने कुरातर्फ पनि सचेत गराइन्छ ।’

  • असार २३ मै झलनाथले मागेका थिए माधवको राजीनामा, यस्तो छ गोप्य राखिएको लिखित सुझाव

    असार २३ मै झलनाथले मागेका थिए माधवको राजीनामा, यस्तो छ गोप्य राखिएको लिखित सुझाव

    काठमाडौं । पतञ्ज्ली जग्गा प्रकरणमा नेकपा एसका अध्यक्ष माधवकुमार नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि सम्मानित नेता झलनाथ खनालले लिखित सुझाव पेश गर्दै अध्यक्ष पदबाट मुक्त हुन भनेका थिए ।

    गत असार २३ गते चीन प्रस्थान गर्नुपूर्व खनालले पेश गरेको उक्त लिखित सुझावलाई पार्टीले सार्वजनिक नगरेको र त्यसबारे भ्रम छरिएको भन्दै खनालको सचिवालयले उक्त सुझावको पूर्ण अंश नेपाल प्रेसलाई उपलब्ध गराएको छ ।

    सुझावमा खनालले लेखेका थिए, ‘अध्यक्ष पदबाट मुक्त भएर वा नैतिकता देखाएर, राजीनामा दिएर कानुनविद्, बुद्धिजीवीहरूसँग गम्भीरताका साथ भेटवार्ता र छलफल गरी आफ्नो मुद्दालाई दरो बनाउनतिर लाग्नुपर्छ।’ अध्यक्ष पदमा रहिरहँदा नैतिकताको प्रश्न उठिरहने भन्दै खनालले लेखेका थिए, ‘यसले गर्दा वा स्वयंलाई र पार्टीका कार्यकर्तालाई यस प्रश्नको उत्तर दिनका लागि गाह्रो पर्न सक्छ।’

    हेर्नुहोस्, सुझावको पूर्णपाठ-

  • झलनाथ भेट्न डल्लु पुगे नारायणकाजी

    झलनाथ भेट्न डल्लु पुगे नारायणकाजी

    काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ नेकपा एसका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल भेट्न पुगेका छन् ।

    डल्लुस्थित खनाल निवासमा अहिले दुई नेताबीच भेट भइरहेको छ ।

    दुई नेताबीच नेपालको वर्तमान राजनीतिक परिस्थिति र पार्टी एकताको औचित्य र सम्भावलगायतका विषयमा कुराकानी भएको बताइएको छ ।

    श्रेष्ठले पछिल्लो समय राजनीतिक भेटघाटको दौडधुप बढाएका छन् । यसअघि उनले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लाई भेटेका थिए । शुक्रबारमात्र नेकपा एसका महासचिव घनश्याम भुसालसँग छलफल गरेका थिए ।

  • झलनाथ-वामदेव भेटको साइड इफेक्ट : राति ९ बजे बैठक सरेको सूचना, मिति सारेपछि असन्तुष्टि बढ्यो

    झलनाथ-वामदेव भेटको साइड इफेक्ट : राति ९ बजे बैठक सरेको सूचना, मिति सारेपछि असन्तुष्टि बढ्यो

    काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा एसका केन्द्रीय पदाधिकारी र सदस्यका मोबाइलमा शनिवार राति ९ बजे एउटा ह्वाट्सएप म्यासेज बज्यो । त्यसमा पूर्वनिर्धारित केन्द्रीय कमिटी, स्थायी र पोलिटब्युरो बैठक २० दिनपछि बस्ने संशोधित सूचना थियो ।

    पार्टी विभाजनको औचित्य पुष्टि नभएको अभिव्यक्तिपछि चर्चामा आएका सम्मानित नेता झलनाथ खनाललाई भेट्न तेस्रो वरियताका नेता वामदेव गौतम शनिवार खनाल निवास डल्लु पुगेका थिए ।

    उक्त भेटले आफूमाथि घेराबन्दी भएको महसुस गरेपछि अध्यक्ष नेपालले दिउँसै महासचिव घनश्याम भुसाललाई बैठक रद्द गर्न भनेका थिए । तर, उनले राति मिति संशोधन भएको सूचना उक्त पार्टीका केन्द्रीय नेतालाई समेटिएको ह्वाट्सएप ग्रुपमा पठाए ।

    त्यसमा केन्द्रीय सदस्य अम्बिका राईले प्रतिक्रिया दिइन्, ‘यो कस्तो खेलाँची हो, बिहान ७-८ गते भन्ने, बेलुकी २७-२८ ।’

    पोलिटब्युरो सदस्य केशव विष्टले लेखे, ‘अपरिपक्वता देखिन्छ चाडपर्व परे नपरेको त हिजोको सूचना निकाल्दै हेर्नुपर्छ ।’

    झलनाथका स्वकीय सचिव कृष्ण भट्टराई लेख्छन्, ‘अपरिपक् निर्णय।’

    स्थायी कमिटी सदस्य परमानन्द भट्टले शीर्ष नेता नमिलेसम्म बैठक राख्न नहुने धारणा ग्रुपमा व्यक्त गरेका छन् ।

  • झलनाथलाई माधवले भने- ओलीकै सेवा गरेर बसेको भए हुन्थ्यो, किन हामीसँग आको त ? (भिडिओ)

    झलनाथलाई माधवले भने- ओलीकै सेवा गरेर बसेको भए हुन्थ्यो, किन हामीसँग आको त ? (भिडिओ)

    काठमाडौं । नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले पार्टीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाललक्षित फेरि अर्को टिप्पणी गरेका छन् ।

    राजधानीमा आयोजित पार्टीनिकट उद्योगी व्यवसायीको कार्यक्रममा नेपालले पार्टीको निर्णय पार्टीको पक्षमा पार्टीको प्रतिष्ठा बढाउन, पार्टीको हितको रक्षा गर्न, अनुशासनको पालना गर्नका लागि भएको प्रष्ट्याए ।

    एमाले फुटाउनुको औचित्य पुष्टि नभएको खनालको भनाइ लक्षित गर्दै नेपालले भने, ‘मिडियामा जाने पार्टीको बदख्वाइँ गर्ने, मिडियामा जाने विद्रोहको औचित्य छैन भन्ने । किन आउनुपर्‍यो विद्रोह ठिक लागेन भने ? केपी ओलीजीको सेवा गरेर बसे भइहाल्थ्यो नि !’

    उनले आफूहरू एमालेबाट छुट्टिने आँट गरेर ठिक गरेको जिकिर गरे ।

    नेपालले थपे, ‘ हामीले ठिक गर्‍यौं, आँट गर्‍यौं । र, पहिलो गाँसमा ढुंगो हैन, सुनको सिक्का पायौं । संविधान मिच्ने, उल्लंघन गर्ने गलत परम्परा बसाल्ने काम भइरहेको थियो । यसको विरुद्ध विद्रोह गर्‍यौं, खुलेआम सडकमा आयौं, अदालत पनि गयौं, मुद्दा पनि दियौं राजनीतिक लडाइँ पनि लड्यौं । सबै लडाइँमा जित्यौं ।’

  • नारायणकाजी र घनश्यामबीच पार्टी एकतालगायतको विषयमा एक घण्टा छलफल

    नारायणकाजी र घनश्यामबीच पार्टी एकतालगायतको विषयमा एक घण्टा छलफल

    काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पछिल्लो समय राजनीतिक भेटघाट बढाएका छन् ।

    केही दिनअघि नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लाई भेटेका श्रेष्ठको आज नेकपा एसका महासचिव घनश्याम भुसालसँग भेटवार्ता भएको छ ।

    श्रेष्ठको हात्तीवनस्थित निवासमा करिब एक घण्टा चलेको भेटमा नेपालको वर्तमान राजनीतिक परिस्थिति र कम्युनिष्ट क्रान्तिकारी शक्तिहरूको कार्यभारबारे गम्भीर छलफल भएको बताइएको छ ।

    भेटमा दलहरूको वर्तमान अवस्था र भूमिका, एमाले-कांग्रेस गठबन्धन सरकारका गतिविधि, साथै कम्युनिष्ट आन्दोलनको रुपान्तरण र पुनर्गठनका विषयमा विचार-विमर्श भएको छ ।

    यससँगै नेकपा (माओवादी केन्द्र) ले हालै पारित गरेको पार्टी एकताको प्रस्ताव र पार्टी एकताको औचित्य र सम्भावनाबारे पनि दुवै नेताबीच विस्तृत कुराकानी भएको निकट स्रोतले बतायो ।

    विप्लवसँगको भेटमा पनि श्रेष्ठले कम्युनिष्ट आन्दोलनको दिशा र पार्टी एकताबारे छलफल गरेका थिए ।

  • काभ्रे भुम्लु गाउँपालिकाकी पूर्वउपाध्यक्ष श्रेष्ठले गरिन् नेकपा एस छाडेको घोषणा

    काभ्रे भुम्लु गाउँपालिकाकी पूर्वउपाध्यक्ष श्रेष्ठले गरिन् नेकपा एस छाडेको घोषणा

    धुलिखेल । नेकपा एस काभ्रेकी नेतृ कल्पना श्रेष्ठले परिवारसहित पार्टी छाडेकी छन् ।

    फेसबुकमा स्टाटस लेख्दै उनले पार्टी सोचेको भन्दा फरक पाएकोले आजैबाट आफूसहित परिवारका अन्य सदस्यले पार्टी परित्याग गरेको उल्लेख गरेकी छन् ।

    कल्पना २०७४ को स्थानीय तह निर्वाचनमा एमालेको तर्फबाट भुम्लु गाउँपालिका उपाध्यक्ष निर्वाचित भएकी थिइन् । २०७८ को पार्टी विभाजनमा उनले नेकपा एसमा सनाखत गरेकी थिइन् ।

    परिवारका सदस्य शान्ता श्रेष्ठ, मुना श्रेष्ठ, सीतादेवी श्रेष्ठ, लक्ष्मीभक्त श्रेष्ठ, सनिस श्रेष्ठ, विवेश श्रेष्ठ, राजेन्द्रकुमार श्रेष्ठ र रामगोपाल श्रेष्ठले पनि आफूसँगै पार्टी परित्याग गरेको उनले लेखेकी छन् ।

  • प्रचण्डको ब्रिफिङ- माधवजीसँग वार्ता सकारात्मक छ, समाजवादी मोर्चालाई पार्टी एकतामा लैजान्छौँ

    प्रचण्डको ब्रिफिङ- माधवजीसँग वार्ता सकारात्मक छ, समाजवादी मोर्चालाई पार्टी एकतामा लैजान्छौँ

    काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले समाजवादी मोर्चालाई पार्टीमा रूपान्तरण गर्नेगरी छलफल चलिरहेको ब्रिफिङ गरेका छन्।

    आजबाट सुरु भएको स्थायी कमिटीको बैठकमा बोल्दै प्रचण्डले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग वार्ता सकारात्मक रूपमा अघि बढेको बताए।

    उनले बैठकमा भने, ‘अहिले हामी मोर्चामा सँगै छौँ एउटै पार्टी बनाएर जानुपर्छ भन्नेमा एकमत छ। माधव र विप्लवजीसँग कुरा भइरहेको छ। चाँडै एकताको प्रक्रिया अघि बढ्छ। एकता तत्काल हुनुपनि सक्छ, प्रक्रिया लम्बिन पनि सक्छ।’

    उनले मोर्चामा आबद्ध भएका मात्रै नभई पूर्वमाओवादी घटकहरूसँग पनि एकता गर्नेबारे छलफल भइरहेको बताए।

  • नेकपा एसको औचित्य छैन, नेताहरूले एमाले विभाजन गलत थियो भनेर स्वीकारे: शंकर पोखरेल

    नेकपा एसको औचित्य छैन, नेताहरूले एमाले विभाजन गलत थियो भनेर स्वीकारे: शंकर पोखरेल

    काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले माधव नेपालले एमाले विभाजन गरेर नेकपा एकीकृत समाजवादी गठन गर्नुको औचित्य पुरा गर्न असफल भएको दाबी गरेका छन्। पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै नेकपा एसभित्र अहिले निराशा देखिएको टिप्पणी गरे।

    उनले भने, ‘जनताले रोजेको पहिलो पार्टी हुँदा पनि विभाजनको कारणले पहिलो पार्टी बन्न सकेन। एमाले विभाजन गरेर अलग पार्टी बनाउँछौँ र एमालेको विकल्प खडा गर्छौँ भन्ने ठानेका थिए, आज उहाँहरूमा निराशा र हताश देखिन्छ।’

    उनले एकीकृत समाजवादीको भविष्य नरहेको भन्दै नेताहरूलाई आफ्नो घर फर्किन आग्रह गरे।

    उनले थपे, ‘एकथरी नेताहरू सार्वजनिक रूपमै पार्टी विभाजन गलत थियो भन्न थाल्नुभएको छ। अर्को थरी नेताहरू अलग पार्टी चलाउन सकिँदैन। माओवादीसँगै एकता गर्नपर्छ भनेर लागिराख्नुभएको छ। उहाँले जुन उद्देश्यले पार्टी विभाजन गर्नुभएको थियो त्यसमा पूर्ण रूपमा असफल हुनुभएको छ।’

  • नेकपा एसको पेशागत महासंघका नेता एमालेमा फर्किए

    नेकपा एसको पेशागत महासंघका नेता एमालेमा फर्किए

    काठमाडौं । नेकपा एसनिकटको पेशागत महासंघका नेताहरू एमालेमा फर्किएका छन् ।

    महासंघ बागमती प्रदेशका कार्यवाहक अध्यक्ष डा. लछी सिंहसहित मकवानपुर इन्द्रसरोवर गाउँपालिकाका नेता मूलघर फर्किएका हुन् । एमालेमा फर्किएकाहरूमा पालिका कमिटी अध्यक्ष मनबहादुर स्याङ्तान, उपाध्यक्ष गुणराज रुम्बा, उपसचिव उमेश बस्नेत, सचिवालय सदस्यहरू जगत स्याङतान, दिपेश थोकर, अनिल रुम्बालगायत छन् ।

    च्यासलमा महासचिव शंकर पोखरेल, बागमती इञ्चार्ज डा. राजन भट्टराई, प्रमुख सचेतक महेश बर्तौलासहितका नेताहरूले उनीहरूलाई स्वागत गरे ।

  • झलनाथप्रति माधवको टिप्पणी- निर्णय नमान्नेमा ‘नम्बर वान’, खुरुक्क राजीनामा दिएर हिँडे हुन्छ  (भिडिओ)

    झलनाथप्रति माधवको टिप्पणी- निर्णय नमान्नेमा ‘नम्बर वान’, खुरुक्क राजीनामा दिएर हिँडे हुन्छ (भिडिओ)

    विराटनगर । एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले वरिष्ठ नेता झालनाथ खनाललाई खुरुक्क राजीनामा दिएर जान सुझाव दिएका छन् ।

    सम्मानित नेता खनालले एक अन्तरवार्तामा एमाले फुटाएर गल्ती गरिएको अभिव्यक्ति दिएपछि नेपालले जवाफमा यस्तो भनेका हुन् ।

    पार्टी भित्र निर्णय नमान्ने नेताहरूको सूचीमा खनाल एक नम्बरमा रहेको भन्दै उनले खनाललाई पार्टीमा बस्ने अधिकार समेत नभएको बताए ।

    उनले भने ‘उहाँले त्यसो भन्नु भएको हो भन्ने कुरा मलाई विश्वास लागेको छैन । अचेल त एआई को जमाना छ । नबालेको कुरा पनि बोलेको जस्तो बनाइन्छ । उहाँले पाटीबाट बिदा लिनुपर्छ ।

    उनले खनाललाई पाटीको निर्णय उलङ्घन गर्ने कुरामा नम्बर वान भएको बताए । उनले माओवादीसँग समाजवादी मोर्चालाई निरन्तरता दिने र दुई पाटी बिचको सम्बन्धलाई विश्वासको जगमा खडा गर्ने र सहकार्यलाई बलियो बनाउने गरी जाम भनेर छलफल भइरहेको बताए ।

    उनले भने, ‘यो हाम्रो पाटीको संस्थागत निर्णय हो । यसमा कसैले विरोध गर्नुको अर्थ छैन ।’

    उनले माओवादीसँग एकीकरणको कुरा नभएको बताए । उनले भने ‘तपाईँहरुलाई कसले भन्यो माओवादीसँग एकीकरणको कुरा भएको ? यो कुरा भएको छैन । अहिले सहकार्य र मोर्चाको मात्रै कुरा भएको छ । दुई पाटी बिच सहकार्यको कुरा अगाडि बढाऔँ ।’

    उनले यो सरकार सबै हिसाबले असफल भएको बताए । उनले भने, ‘एउटा व्यक्ती केपी ओलीको अहङ्कारको दम्भका कारण देश पीडित छ ।’

    उनले आफूलाई लागेको केस भ्रष्टाचारको केस नै नभएको दाबी गरे । उनले भने आफूमाथि लागेको भ्रष्टाचारको मुद्दा राजनीतिक प्रतिसोध भएको दाबी गरे । उनले आफू माथि पूर्वाग्रह भएको कुरा सबैले बुझेको र आफूले एक पैसा पनि तलमाथि नगरेको दाबी गरे ।

    उनले आफूसँग जोडिएको भ्रष्टाचारको केसमा सबै विधि प्रक्रिया तलबाटै पुगेको बताए बताए । उनले भने, ‘मन्त्रालय, उप सचिव सचिव राज्यमन्त्री पूर्ण मन्त्री र क्याविनेटको सबै सम्मत निर्णय भएको छ कसैको फरक मत छैन । त्यसो हुनाले यो काम गर्न ऐन र कानुनले दिएको छ । संविधानले दिएको छ ।

    उनले पताञ्जलीलाई सार्वजनिक जग्गा एक टुक्रा पनि नदिएको दाबी गरे । उनले पताञ्जलीलाई हद बन्दी भन्दा बढी जग्गा किन्न कानुनले नै दिएको बताए ।

  • वामदेवले भने- मलाई संगठन विभाग दिएनन्, के गरौँ-गरौँ भा’छ (अडिओ)

    वामदेवले भने- मलाई संगठन विभाग दिएनन्, के गरौँ-गरौँ भा’छ (अडिओ)

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) मा गत साउन २ गते समाहित भएका वामपन्थी नेता वामदेव गौतमले आफूले मागेबमोजिम संगठन विभाग प्रमुखको जिम्मेवारी नदिइएपछि दिक्दारी व्यक्त गरेका छन् । नेपाल प्रेससँग कुरा गर्दै उनले त्यस्तो दिक्दारी पोखेका हुन् ।

    विगतमा आफू संगठन विभागको सञ्चालन र परिचालनमा प्रमाणित भइसकेको भन्दै उनले पार्टी अध्यक्ष माधवकुमार नेपाल र उक्त विभागको प्रमुख रहेका बेदुराम भुसालसँग कुरा गरेको बताए । तर, जति अनुरोध गर्दा पनि जिम्मेवारी दिन नमानेको उनले सुनाए ।

    ‘संगठन विभागको प्रमुख हुँदा मैले त्यसलाई मात्रै हेरेको छैन, अरु थुप्रै काम गरेको छु । निर्माण गरेको छु । संघर्ष गरेको छु’, उनले अध्यक्ष नेपालसँग भनेको सुनाए । ‘त्यति भन्दा पनि उनीहरूले मानेनन्, अब के गरौँ, के गरौँ भा’छ’, गौतमले भने । तर, यही कारण पार्टी छाड्ने पक्षमा नरहेको गौतमले बताए ।

    ‘भर्खरै गएको पार्टी छोड्न पनि भएन । मैले छोडेँ भने त ‘यो कामै नलाग्ने रहेछ’ भन्छन् नि !’, उनले भने ।

    वामदेवको भनाइ जस्ताको तस्तै

    केही पनि जिम्मेवारी नदिई वरिष्ठ नेता भन्न तुरुन्त सक्ने रे, जिम्मेवारी दिन नसक्ने रे । २ गते त्यत्रो उत्साह थियो । त्यो उत्साह मर्दै गएपछि केही बाँकी रहन्नँ ।

    अरु साथीहरूलाई पनि अहिलेसम्म जिम्मेवारी दिइएन । पदचाहिँ मैलेमात्र खोजेको हो ? संगठन विभाग खोजेको हो । म आएपछि काम गरेर देखाउनुपर्छ भनेर त्यो पद खोजेको हो । किनभने, संगठन विभागबाट एउटा ठूलो शक्ति निर्माण हुन्छ । तर, उहाँहरूले मान्नुभएन । त्यो जिम्मेवारी बेदुराम भुसाललाई दिइएको रहेछ ।

    हिजो बिहान म बेदुरामलाई भेट्न सदनकै उहाँको अफिसमा गएँ । मैले भनेँ, ‘मलाई छोडिदिनुस् कामरेड । म ०८४ को निर्वाचनसम्म यो जिम्मा लिन्छु । उद्देश्यमूलक ढंगबाट काम गर्छु । त्यसपछि हामी निर्वाचनबाट ज्यादै ठूलो शक्तिका साथ बाहिर आउनेछौँ ।’

    उहाँले मान्नुभएन । सोध्नुभयो, ‘तपाईंले संगठन विभागबाट पार्टी चलाउन खोज्नुभएको हो ?’ मैले भनेँ, ‘सिंगो पार्टी चलाउन खोजेको होइन, संगठन विभागमात्रै चलाउन खोजेको हो । पार्टीका कमरेडहरूलाई अत्यन्त शक्तिशाली बनाउन सकिन्छ । मसँग त्यस्तो अनुभव पनि छ ।’

    बेदुरामले मान्नुभएन । उहाँले भन्नुभयो, ‘मेरो पनि अनुभव छ । मैले चाहिँ केही गरेको छैन र ? तपाईंले पो मैले गरेको देख्नुहुन्नँ त । त्यत्रो जेल बसेर आएँ । आएको केही समयमै म कपिलवस्तु गएँ, त्यहाँको जिल्ला कमिटी सदस्य भएँ । सचिव भएर काम गरेँ । इञ्चार्ज भएर काम गरेँ । कत्रो-कत्रो काम गरेको छु ।’

    मैले ‘हो-हो, काम गर्नुभा’छ’ भनेँ । तर, उहाँ संगठन विभाग चलाउन एकदमै असफल हुनुभएको छ भनेर साथीहरूले भन्नुहुन्छ । तर, उहाँले ‘मैले काम गरेको छु, तपाईंले पो देख्नुहुन्नँ’ भन्नुभयो । उहाँले मलाई भन्नुभयो, ‘म कुनै पनि हालतमा संगठन विभागको प्रमुख छोड्ने छैन, तपाईं जानुस्…।’

    ‘झलनाथ खनाल, घनश्याम भुसालले पनि आ-आफ्नो जिम्मा छाड्दैनन्, माधव नेपालले जे जिम्मा दिन्छन्, त्यही लिएर बस्नुस्, रोजेर पाउनुहुन्नँ’ भन्नुभयो ।

    मेरो कार्यक्षमतामा उहाँले किन त्यस्तो शंका गर्नुहुन्छ ? मैले भनेँ कि, ‘म त प्रमाणित भइसकेको मान्छे हुँ । संगठन विभागको प्रमुख हुँदा मैले त्यसलाई मात्रै हेरेको छैन, अरु थुप्रै काम गरेको छु । निर्माण गरेको छु । संघर्ष गरेको छु ।’ त्यति भन्दा पनि उनीहरुले मानेनन् । अब के गरौँ, के गरौँ भा’छ । भर्खरै गएको पार्टी छोड्न पनि भएन । मैले छोडेँ भने त ‘यो कामै नलाग्ने रहेछ’ भन्छन् नि !

    अब त्यो विभाग मैले पाउनैपर्छ भनेर म लडिरहन्छु । म छोड्दिनँ । त्यो विभाग चलाएर नेकपा (एकीकृत समाजवादी) लाई ०८४ को निर्वाचनमा एकल बहुमतको शक्ति बनाउने इच्छा छ । म त्यो गर्न सक्छु । म आन्दोलनका रुपमा हाँक्छु । म पार्टीलाई साँच्चै नै त्यो ठाउँमा पुर्याउन सक्छु भन्ने संकल्प लिएर म त्यो पार्टीमा प्रवेश गरेको हुँ । त्यसैले मलाई त्यो विभाग दिनुपर्छ भन्ने मेरो मान्यता रहिरहन्छ ।

    मैले माधवजीसँग पनि कुरा गरेँ । उहाँले भन्नुभयो, ‘म बेदुरामलाई रुवाएर तपाईंलाई कसरी हँसाउन सक्छु ?’ मैले भनेँ, ‘दुईटै हाँस्ने बनाउनुस् न !’ बेदुरामजीले रुनुपर्ने के आवश्यक छ र, अर्को जिम्मा लिए हुन्छ ।

    मैले बेदुरामजीलाई सोधेँ कि, ‘यो समाजवादी पार्टीमा कुनै नैतिकता भन्ने कुरा हुँदैन ? तपाईँ संगठन विभागको प्रमुख हुनुभयो । तर, गएको निर्वाचनमा राम्रो परिणाम आएन । के तपाईंले आफ्नो मूल्यांकन गर्नुहुन्नँ ? मेरो कमजोरी छ । यसबाट शिक्षा लिनुपर्छ । म असफल भएँ भनेर महसूस गर्नुपर्दैन ?’

    उहाँले मलाई भन्नुभयो, ‘तपाईंले नि, तपाईंले चाहिँ के गर्नुभयो त ? त्यो एकता अभियान चलाएर के गर्नुभयो ? उल्टै त्यो पार्टी त दुलाभित्र पस्यो ।’

    हामीले त्यो पार्टी चुनावमा भाग लिन जाने भनेर बनाएकै होइन । त्यो त दुईटा पार्टीलाई एकीकृत गर्न सकिन्छ कि भनेर एउटा संरचना बनाइएको हो । दर्ता गर्नुपर्छ भनेर निर्वाचन आयोगमा दर्तासम्म गरियो ।

    माओवादीसँग एकताको कुरा

    मंगलबार समाजवादी मोर्चाको बैठकमा म पनि थिएँ । एकता गरेर जानुपर्छ, एउटै पार्टी बनाउनुपर्छ । जबसम्म एउटा पार्टी बन्दैन भने तबसम्म यही मोर्चाबाट जानुपर्छ भन्ने कुरा उठ्यो ।

    मैले भनेँ, ‘यदि समाजवादी मोर्चा एउटा शक्तिका साथ निर्माण हुने हो भने यसले जबरजस्त तहल्का मच्चिने गरी नेपाली धर्तीमा एउटा प्रहार गर्नुपर्छ । ठूलो भूकम्प आएजस्तो प्रहार गरेर जानुपर्छ ।’ मैले यसो भन्दा विप्लवले समर्थन गर्दै ‘हो, यसरी नै जानुपर्छ भन्नुभयो ।’

    तर, माओवादीसँग एकतामा जाने सम्बन्धमा त अहिले भर्खरै त्यस्तो कुरा छैन । एकीकृत समाजवादी पार्टीमा माओवादीसँग एकतामा जानुहुँदैन भन्ने ठूलो पंक्ति छ । अर्कोथरि माओवादीसँग हैन, माओवादी एकीकृत समाजवादीमा, माओवादी एकीकृत समाजवादीमा हुने गरी एकतामा जानुपर्छ भन्ने छन् ।

    हामी एकीकृत समाजवादीसँग समानताका आधारमा एकता गरेर आएको होइन । जबरजस्त प्रवेश गरेका हौँ । भाषा अलिक सम्मानजनक बनाउन एकता भनेका हौँ ।

    माओवादीसँग अहिले भर्खरै एकता गर्नहुन्नँ । एकता गर्ने भए म एकीकृत समाजवादीमा आएको के अर्थ भयो त ? माओवादीहरूले मलाई ‘आइज-आइज’ भनिराखेकै थिए । त्यहाँ त मलाई संगठन विभाग देऊ भन्दा खुशी भएर, उफ्रीउफ्री दिन्थे ।

  • माधवको टिप्पणी- कम्युनिष्ट प्रधानमन्त्री हुँदा पनि देशको अवस्था राम्रो हुन सकेन (भिडिओ)

    माधवको टिप्पणी- कम्युनिष्ट प्रधानमन्त्री हुँदा पनि देशको अवस्था राम्रो हुन सकेन (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट पार्टीका नेताले सरकारको नेतृत्व सम्हाल्दा समेत देशको अवस्था राम्रो हुन नसकेको टिप्पणी गरेका छन् ।

    नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७ औँ स्मृति दिवसको अवसरमा समाजवादी मोर्चाले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले कम्युनिष्ट पार्टीका नेता प्रधानमन्त्री हुँदा पनि देशको अवस्था राम्रो हुन नसकेको र परिणामदायी काम हुन नसकेकाले जनतामा निराशा छाएको बताए ।

    देशको राजनीतिक, सामाजिक र आर्थिक विषयमा बहस हुन जरुरी रहेको भन्दै उनले कम्युनिष्ट आन्दोलनमा चुनौती देखिए सामना गर्ने साहस देखाउनुपर्ने बताए । । कम्युनिष्ट आन्दोलनलाई अघि बढाउन व्यक्तिभन्दा पनि नीति र सिद्धान्त महत्वपूर्ण रहेको नेपालको भनाइ थियो ।

    त्यस्तै जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिलको कम्युनिष्ट आन्दोलन वर्गविश्लेषणबाट नभइ जालझेलबाट अघि बढिरहेको बताए । कम्युनिष्ट आन्दोलनमा देखिएको विकृति विसंगतिलाई अन्त्य गर्न कम्युनिष्ट नेताहरू गम्भीर हुनुपर्नेमा उनको जोड थियो ।

    उनले बद्लिएको परिस्थितिअनुसार सामाजिक न्याय, समानताका आधारित समाज नबनाएसम्म समाजवादको कुनै कल्पना गर्न नसकिने जिकिर गरे ।

  • नेकपा एसलाई रामकुमारीको ‘नो रेस्पोन्स’, माधव नेपाल जनकपुरबाट फर्किएपछि बैठकको टुंगो

    नेकपा एसलाई रामकुमारीको ‘नो रेस्पोन्स’, माधव नेपाल जनकपुरबाट फर्किएपछि बैठकको टुंगो

    काठमाडौं । पार्टी अध्यक्ष माधवकुमार नेपालसहितका नेतालाई लक्षित गर्दै नेकपा एसकी नेतृ रामकुमारी झाँक्रीले दिएको ‘विष्फोटक’ अभिव्यक्तिपछि उनलाई कस्तो कारबाही गर्ने भन्नेमा पार्टीभित्र अन्यौलता छ । स्वयं झाँक्रीले भने यस विषयमा पार्टीलाई कुनै ‘रेस्पोन्स’ दिएकी छैनन् ।

    झाँक्रीले असार १४ गते रुपन्देहीको मणिग्राममा आयोजित युवा संघको प्रदेश भेलालाई सम्बोधन गर्दै पार्टीभित्रका विभिन्न व्यक्तिमाथि कानुनी र नैतिक प्रश्नहरू उठेको र ‘मरेको सिनो’ बोकेर हिँड्न नसकिने अभिव्यक्ति दिएकी थिइन् । त्यसक्रममा उनले ‘अध्यक्षकै विषयमा पनि कुरा उठेको छ’ भनिन् । उनले त्यस्तो नेतृत्वलाई बोकेर हिँड्न नसकिने भन्दै ‘अर्ली महाधिवेशन’ को कुरा उठाएकी थिइन् ।

    उक्त अभिव्यक्तिपछि पार्टीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेसहितका नेताले उनलाई पार्टीबाट निष्कासन गरिने भन्दै आएका थिए । पाण्डेको कुरा सच्याउँदै फेरि अर्का उपाध्यक्ष जगन्नाथ खतिवडाले अनुशासन आयोगबाट सोधिएको स्पष्टीकरणको जवाफ आएपछि कारबाही गरिने भने । तर, झाँक्रीले आफूलाई कोही, कसैले, कुनै स्पष्टीकरण वा सवाल जवाफ पनि नगरेको भन्दै आएकी थिइन् ।

    असार २४ गतेको सचिवालय बैठकले झाँक्रीलाई आफ्नो भनाइ सच्याउन (माफ माग्न) का निम्ति ७ दिनको समय दिने गरी लिखित स्पष्टीकरण सोध्ने जिम्मेवारी महासचिव घनश्याम भुसाललाई दिएको थियो ।

    भुसालले २६ गते स्पष्टीकरण सोधेर एउटा चिठी लेखे, तर झाँक्रीले बुझ्न चाहिनन् । पछि पार्टी कार्यालयका एक सहयोगीले उनको घरमा लगेर छोराको हातमा पत्र थमाए । १२ दिन भयो, झाँक्री ‘नो रेस्पोन्स’ कै स्थितिमा छन् ।

    नेपाल प्रेसले सम्पर्क गर्न खोज्दा झाँक्री सम्पर्कमा आइनन् । पछि उनका एक सहयोगीले सम्पर्क गरेर केही समय कुनै प्रतिक्रिया नदिने सन्देश सुनाए । ‘स्टेटमेण्ट करेक्सन नगर्ने, तर बोलेको विषयमा पार्टीभित्रको जुनसुकै फोरममा छलफल र बहस गर्न तयार हुनुहुन्छ’, उनले भने, ‘स्पष्टीकरणको जवाफ दिनुभएको छैन, दिनुहुन्न ।’

    झाँक्रीलाई स्पष्टीकरणको जवाफ लेख्न पार्टीका विभिन्न तहका नेताले अनुरोध र दबाब दिँदै आएका छन् । तर, उनी निजी काममै व्यस्त भएका कारण ती अनुरोध र दबाबलाई पनि ‘रेस्पोन्स’ गरेकी छैनन् । त्यसपछि साउन २ गते नेकपा एसमा समाहित भएका नेता वामदेव गौतममार्फत सम्झाई–बुझाई गराउन खोज्दा पनि उनले खासै राम्रो ‘रेस्पोन्स’ नगरेको पार्टीस्रोतले जनायो ।

    आजसम्मको स्थितिमा स्पष्टीकरणको कुनै जवाफ नदिएकी झाँक्रीले यसरी नै ‘नो रेस्पोन्स’ को नीति लिइरहिन् भने पार्टीले के गर्ला ? नेपाल प्रेसले एकजना उपाध्यक्षलाई यो प्रश्न गर्दा उनले भने, ‘गर्नुपर्ने निष्कासन नै हो, तर त्यसो गर्दा उहाँसँगै अरूले पनि पार्टी छाडिदिए भने समस्या पर्ला भनेर के गर्ने भन्ने अन्यौलता छ ।’

    झाँक्री भने ‘स्टेटमेण्ट करेक्सन’ नगरेबापत जे भोग्नुपर्ने र व्यहोर्नुपर्ने हो, त्यसका निम्ति तयार रहेकी छन् ।

    पार्टी अध्यक्ष माधवकुमार नेपाल भने निष्कासनकै पक्षमा छन् । उनी केही दिनदेखि पार्टी कामकै सिलसिलामा जनकपुरमा छन् । सोमबार दिउँसो काठमाडौं फर्किने तयारी छ । उनी फर्किएपछि सचिवालय बैठकको टुंगो लाग्ने केन्द्रीय कार्यालयस्रोतले जनायो । स्रोतका अनुसार बुधवार, बिहीबारभित्र बैठक बोलाउने तयारी छ ।

  • एमालेप्रति आशा राखेर लसपस गर्नेलाई मेरो भन्नु केही पनि छैन: माधव नेपाल (भिडिओ)

    एमालेप्रति आशा राखेर लसपस गर्नेलाई मेरो भन्नु केही पनि छैन: माधव नेपाल (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमालेले आफ्नो पार्टीलाई सिद्ध्याउने षड्यन्त्रमा रहेकाले एकताको कुनै सम्भावना नभएको प्रस्ट पारेका छन्।

    राष्ट्रिय एकता अभियानसँगको एकता घोषणा सभालाई सम्बोधन गर्दै एमालेसँग एकता हुन्छ भन्ने भ्रम नपाल्न आग्रह गरे।

    उनले भने, ‘एमालेसँग एकताको कुनै सम्भावना छैन। अहिलेको विन्दुमा उभिएर भन्दाखेरि एमालेसँग एकताको कुनै सम्भावना छैन । त्यहाँभित्रको अवस्था हामीले देखिराखेका छौँ। त्यसप्रति लसपस कसैको छ भने आशा, अपेक्षा ज्यादा छ भने मेरो भन्नु केही पनि छैन। यो पार्टीसँग उसको सम्बन्धको कुरा गर्नुहुन्छ भने उसका नेताहरूको अभिव्यक्तिले नै प्रस्ट पारिसकेको छ।’

    उनले आफ्नो पार्टीलाई सिद्ध्याउने, समाप्त पार्ने ढङ्गले प्रहार भइरहेको बताए। उनले स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीलाई लक्षित गर्दै जिम्मेवारीमा बसेपछि त्यही अनुसारको आचरण हुनुपर्ने बताए।

    उनले थपे, ‘पार्टीमा जिम्मेवारी लिएपछि पूरा गर्नुपर्छ। पद ओगट्ने जिम्मेवारी लिने, तर पद अनुकूलको आचरण नगर्ने काम कसैबाट नहोस्।’