Category: राप्रपा

  • रविलाई ज्ञानेन्द्रको सुझाव- काम गर्न सकिएन भन्नुस्, झुटो नबोल्नुस्

    रविलाई ज्ञानेन्द्रको सुझाव- काम गर्न सकिएन भन्नुस्, झुटो नबोल्नुस्

    काठमाडौं । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले गृहमन्त्री रवि लामिछानेले जीबी राई पक्राउ नगरी बिदा हुन लागेको बताएका छन् ।

    शुक्रबारको संसद बैठकमा बोल्दै शाहीले लामिछानेलाई नै सम्बोधन गर्दै भने, ‘तपाईंले सुशासनको कुरा गर्नुभयो तर तपाईंको अभिन्न मित्र जीबी राई पक्राउ नगरेरै बिदा हुनुभयो । अझै समय छ पक्राउ गर्नुस् ।’

    उनले पूर्वउपसभामुख निर्दोष रहेको, पूर्वराष्ट्रपतिका छोरा सुन प्रकरणमा अडियो आउँदा पनि निर्दोष भएको सीआईबीको दाबीलगायतको उदाहरण दिँदै कसरी सुशासन भएको भन्न सकिन्छ भन्दै प्रश्न गरे ।

    उनले लामिछानेलाई झुटो नबोल्न आग्रह गरे । ‘एउटा आशा र अभिलाषा हुन्छ’, उनले भने, ‘तर झुटो नबोल्नुस् । योे रोष्ट्रम झुटका लागि होइन । झुटका लागि प्रयोग नगरौं सत्य बोल्नुस् ।’

    शाहीले लामिछानेलाई काम गर्न नसकेको, नपाइएको भनेर स्वीकार्न पनि सुझाए ।

    ‘काम गर्न पाइएन, सकिएन भन्नुस्’, शाहीले भने ।

    त्यस्तै, गृहमन्त्री लामिछानेले फाइल खोल्न थालेकाले सरकार बदल्ने खेल सुरु भएको भन्नेमा पनि शाहीले जवाफ दिए । वेचन झालाई ब्राण्डिङ गरिएको प्रति पनि आपत्ति जनाए । ‘के बेचन झा भन्नुहुन्छ, को हो उहाँ ? पूर्व उपप्रधानमन्त्री, सांसद टोपबहादुर रायमाझीभन्दा ठूलो हो ?’, उनले भने, ‘उहाँलाई पक्राउ गर्दा सरकार नढल्ने जाबो वेचेनेका वैचन गर्दा सरकार ढल्ने ? गलत भाष्य निर्माण नगरौं न ।’

    ठूला नेताहरुमा लेनदेन नमिलेर सरकार ढलेको शाहीको तर्क छ ।

     

  • ज्ञानेन्द्र शाहीको गर्जन- प्रधानमन्त्रीज्यू ! जातजातिलाई भड्काएर आफ्नो स्वार्थको रोटी सेक्न बन्द गर्नुस् (भिडिओ)

    ज्ञानेन्द्र शाहीको गर्जन- प्रधानमन्त्रीज्यू ! जातजातिलाई भड्काएर आफ्नो स्वार्थको रोटी सेक्न बन्द गर्नुस् (भिडिओ)

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता तथा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई जातजाति भड्काएर राजनीति नगर्न सुझाव दिएका छन् । संसदमा प्रधानमन्त्रीले दलित र जनजातिलाई आफूहरूले दिलाएको अधिकार खोस्ने षड्यन्त्र भइरहेको टिप्पणी गरेको प्रति शाहीले कडा जवाफ फर्काए ।

    प्रधानमन्त्रीले दलितको कुरा गरिरहँदा आफ्नो मन्त्रिपरिषदलाई फर्केर हेर्न उनले सुझाव दिए । प्रधानमन्त्रीको पार्टीमा दलित/जनजाति अध्यक्ष कहिले हुन्छन् भन्ने प्रश्न पनि गरे ।

    शाहीको सम्बोधनको एक अंश-

    आज संसदमा रमाइलै छ । सबैजना हुनुहुन्छ । मलाई बडो अचम्म लागेका चाहीँ सरकारका तर्फबाट प्रधानमन्त्री र गृहमन्त्रीले बोल्नुभो । उहाँहरूको कुरा सुन्दा देश त कायापलट भइसकेछ भन्ने लाग्यो । तर, याद राख्नुस्, आज पनि आठ लाख युवाले एक वर्षमा देश छोड्दै छन् । हुन त हामी गृहमन्त्रीसँग बोल्न सक्दैनौं । उहाँले बोलेर गिनिजबुकमै नाम लेखाएको हो ।
    प्रधानमन्त्रीले आदिवासी, जनजाति, दलितको कुरा गर्नुभयो । तपाईंको बोलीको स्वागत गर्छु । तर एकछिन तपाईंको पार्टीलाई फर्केर हेर्नुस् न । एकपटक जनजाति, दलितको छोरा यो पार्टीको अध्यक्ष भएमा हामी पनि पर बसेर ताली पड्काउथ्यौं । तर, राप्रपामा आदिवासी जनतातिको छोरालाई अध्यक्ष बनाइसक्यौं । हामी बोल्दैनौं ।

    अर्को दलितको कुरा गर्नुभो । आज आफ्नो मन्त्रिपरिषद् पल्टाएर हेर्नुस न एकजना दलित मन्त्री छ ? छैन शून्य । यो रोष्टममा उभिएर काम नगर्ने, कुरा ठूलो गर्ने गर्नु भएन । दलितका छोराछोरी राजाका पालामा केही थिएनन् भन्नुभयो । हीरालाल विश्वकर्माको नाम सुन्नुभएको छ ? शिक्षामन्त्री हुनुहुन्थ्यो राजाको पालामा, जसले बूढानीलकण्ठ स्कुलको स्थापना गर्नुभयो । त्यहाँ गरिब धनी सबैका छोराछोरी समानस्तरमा पढ्न सक्छन् । आज पनि जातीय छुवाछूतविरुद्धको कानून तपाईंहरूले बनाएको हो ? २०२०/२१ मा महेन्द्रले बनाएको हो । केही बुँदा तपाईंहरूले संशोधन गर्नुभएको होला ।
    सबैलाई खुल्ला छ राजनीति गर्नुस् । चुनाव जितेर आउनुस् । खुला छ मैदान । तर, जातजातिलाई फेरि भड्काएर आफ्नो रोटी सेक्ने काम संसदको रोष्टमबाट नहोस् । अति भइसक्यो । जातिकै कुरा गर्ने हो भने रुकुममा नवराज विकको हत्या राजाको पालामा भएको हो ? यही गणतन्त्र हुँदा हो । माओवादी सरकारमा थियो । त्यतबेला भएको हो । अहिलेसम्मकै जातीयताका लागि मान्छे मारेको ठूलो घटना हो ।

    हाम्रो जात एउटा छ, नेपाली । देश एउटामात्रै छ, नेपाल । हामीले जात-जातिलाई टुक्र्याएर राजनीति गर्नु छैन । जातजातिका नाममा फेरि सडकमा आगो बालेर, सुरक्षाकर्मी दाजुभाइको रगत बगाएर राजनीति गर्न नखोज्नुस् । । बरु राजनीतिकबाट सन्नयास लिनुस् ।

  • राप्रपाले प्रचण्ड सरकारलाई विश्वासको मत नदिने

    राप्रपाले प्रचण्ड सरकारलाई विश्वासको मत नदिने

    काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीले पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत दिने वा नदिने भनेर निर्णय गर्न आज संसदीय दलको बैठक राखेको छ ।

    स्रोतका अनुसार संसदीय दलमा सबैजसो सांसदहरु विश्वासको मत नदिने पक्षमा रहेका छन् । एमाले र माओवादीको गठवन्धन सरकार हुँदा राप्रपा प्रतिपक्षमा थियो ।

    पछिल्लो समय कांग्रेससँग नजिएको राप्रपाले अहिले कांग्रेस–एमालेको नयाँ गठवन्धनमा सामेल हुने नहुने निर्णय लिइसकेको छैन ।

    तर, भोलि प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत नदिनेमा भने कुनै विवाद नरहेको स्रोत बताउँछ । यद्यपि, आजको वैठकले यस विषयमा निर्णय लिने अधिकार अध्यक्ष राजेन्द्र लिङ्देनलाई दिन सक्छ ।

    राप्रपालाई एमाले–कांग्रेस गठवन्धनमा सामेल हुन निम्ता आइसकेको छ । तर, यस विषयमा पार्टी नेताहरु विचाराधीन अवस्थामा छन् । यदि आफ्ना केही एजेण्डा पनि संवाेधन हुने गरी संविधान संसाेधन गर्न नयाँ गठवन्धन तयार भएमा सरकारमा जान पार्टी नेतृत्व लचिलाे बनेकाे छ । यद्यपि केही नेताहरू भने कुनै पनि शर्तमा सरकारमा सामेल हुनु नहुने र सडक आन्दोलन चर्काउनुपर्ने पक्षमा रहेका छन् ।

  • राप्रपा संसदीय दलको बैठक बस्दै

    राप्रपा संसदीय दलको बैठक बस्दै

    काठमाडौंं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)को आज संसदीय दलको बैठक बस्दैछ । सरकारलाई विश्वासको मत दिने वा नदिने विषयमा निर्णय गर्न आज संसदीय दलको बैठक बोलाएको हो ।

    पार्टीको संसदीय दलको कार्यालयमा बस्ने बैठकले संसदीय दलका नेताहरुसँग छलफल गरी उनीहरुको सुझावका आधारमा पक्ष वा विपक्षमा निर्णय लिने राप्रपाका नेता राजाराम श्रेष्ठले जानकारी दिए।

    सरकारमा रहेका नेकपा ९एमाले०लगायतका केही दलहरू सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही असार २८ गते विश्वासको मत लिने भएका छन् । मुलुकलाई हिन्दू राष्ट्र कायम गर्नुपर्ने, सङ्घीयता खारेजीलगायत माग राख्दै आएको राप्रपाको प्रतिनिधिसभामा १४ सिट छ ।

  • राप्रपा महिला संगठनकी अध्यक्ष अन्जना रावलको राजीनामा फिर्ता

    राप्रपा महिला संगठनकी अध्यक्ष अन्जना रावलको राजीनामा फिर्ता

    काठमाडौं । राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनकी अध्यक्ष अन्जना शाह रावलले राजीनामा फिर्ता लिएकी छन् ।

    उनले फेसबुकमार्फत राजीनामा फिर्ता लिने निर्णय लिएको जानकारी दिएकी छन् । रावलले महामन्त्री राजेन्द्र गुरुङलाई आफनो राजीनामा फिर्ता गरिदिन पत्र पठाएकी छन् ।

    संगठनभित्र चरम असहयोग र काम गर्ने अवस्था नभएको भन्दै गत असार ५ गते अन्जनाले महिला संगठनको अध्यक्षसहित राप्रपाको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएकी थिइन् ।  साथै आफू र आफ्नो परिवार राप्रपाको मतदाता समेत नरहने घोषणा गरेकी थिइन् ।

    याे पनि पढ्नुहाेस्: अन्जनाको राजीनामाले राप्रपामा ध्रुविकरण, स्वीकृत गरिए अन्य संगठनबाट समेत पार्टी छाड्ने चेतावनी

    उनले पार्टीकाे शीर्ष नेताहरुकाे निर्देशनकाे कारण राजीनामा फिर्ता लिएकाे बताएकी छन् । आफूले दिएकाे राजीनामा विधान अनुसार नभएकाे र  फेसबुकबाट दिएकाे राजीनामा फेसबुकबाटै नै फिर्ता लिनुपर्ने भएकाले फेसबुकमार्फत फिर्ता लिएकाे प्रष्ट पारेकी छन् ।

    रावलले आफ्नाे राजीनापत्रले पार्टीलाई पुग्न गएकाे क्षति प्रति पनि माफी मागेकी छन् ।

    उनले लेखेकी  छन्,’मेराे उदेश्य मेरो पार्टीलाई हानी पुर्याउने कदापि थिएन । शीर्ष नेताज्युहरुको निर्देशन , मेरा साथीहरूको आग्रह , सङ्गठनका मेरो प्यारा दिदिबहिनीहरुको माया , स्नेह, अपनत्व अनि सद्भावका कारण म जिम्मेवारीबाट पन्छिन नसक्ने भएकीछु । मैले दिएको राजीनामा बिधान अनुसार नभएको र जहाँ दिएको त्यहाबाट स्वीकृत गर्न नमिल्ने भन्ने कुराको जानकारी प्राप्त भएको साथै जसरी फेसबुकबाट राजीनामा सार्वजनिक भएको थियो त्यसरी नै फिर्ता लिनुपर्ने भन्नेकुरा आएकोले मैले मेरो राजीनामा फिर्ता लिएको जानकारी गराउन चाहन्छु । आगामी दिनमा मेरो पार्टी प्रतिको निष्ठामा कुनै पनि सम्झौता नगरी पार्टी लाई थप उचाइ दिन म अहम भुमिका निर्वाह गर्ने प्रतिवद्दता ब्यक्त गर्दछु । मेरो राजीनामा पत्रले पार्टी लाई पुग्न गएको क्षति प्रती म क्षमा चाहन्छु ।’

  • लडाकु शिविर घोटालाको फाइल खोल्न गृहमन्त्रीलाई राप्रपाको चुनौती (भिडिओ)

    लडाकु शिविर घोटालाको फाइल खोल्न गृहमन्त्रीलाई राप्रपाको चुनौती (भिडिओ)

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले लडाकु शिविर (क्यान्टोनमेन्ट) को फाइल अगाडि बढाउन गृहमन्त्री रवि लामिछानेलाई चुनौती दिएका छन् ।

    भ्रष्टाचारका फाइल खोल्दा सरकार परिवर्तन गरिएको भन्ने गृहमन्त्री लामिछानेको भनाइ लक्षित गर्दै उनले क्यान्टेमन्टको घोटालामा संलग्न व्यक्तिको नाम रोष्ट्रमबाट बताए आफ्नो समर्थन रहने बताए ।

    उनले भने, ‘क्यान्टोनमेन्टको घोटलामा कसको नाम छ । उसलाई अगाडिको रोस्टममा आएर बताउनुहोस् हामी तपाईँलाई समर्थन गर्छोँ ।’

    जीवी राईलाई पक्राउ गरेर ल्याए संसदमा फूलमालाले गृहमन्त्रीलाई स्वागत गर्ने उनले बताए । जनता पूराना दलका प्रताडित भएर नयाँलाई देशका लागि निर्वाचित गरेको भन्दै पद र प्रतिष्ठाका लागि काम नगर्न पनि उनले आग्रह गरे ।

    आफ्नो पद धरापमा पर्दा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जस्तै गरी गृहमन्त्रीको अभिव्यक्ति पनि आउन थालेको उनको भनाइ छ ।

    उनले भने, ‘एकजना सम्माननीय नेता नै हुनुहुन्छ यो संसदमा । उहाँ आफू पदमा हुँदा सबै सहि भन्नुहुन्छ । जब पदबाट जान लाग्नुभयो तब गणतन्त्र खतरामा पर्‍यो धर्म निरपेक्षमता खतरामा पर्‍यो भन्नुहुन्छ । अहिले गृहमन्त्री ज्यूको भाका त्यही भएको छ । हुन त सरकारमा पनि सँगै हुनुहुन्छ । फाइल खोल्ने थेँ त्यही भएर सरकार ढाले भन्नुहुन्छ । अझै साथ दिन्छ फाइल खोलौँ झ्यामकी झ्यामा यहाँबाट पक्राउ गरेर जेल हाल्नुस् हामी साथ दिन्छौँ । खोल्नुहोस् न फाइल कसले रोकेको छ ।’

    उनले भने, ‘मलाई मेरा गृहमन्त्रीज्यूबाट केही माग्नु छैन । जीवी राई पक्राउ गरेर ल्याउनुहोस् यहि संसदमा फूलमालाले स्वागत गर्छौँ । ७२ घण्टामा निर्मलाको हत्यारा पत्ता लगाउँछु भन्नुभयो सबैले पत्यायोँ । आज १२४ दिन भयो गृहमन्त्री हुनुभएको खोई ?’

    उनले संविधान संशोधन गरेर प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गर्नुपर्ने पनि बताए ।

    उनले भने, ‘जसलाई जे मन लाग्यो त्यही गरेको छ । त्यही भएर संविधान संशोधन गरौँ । यो संविधान गीता होइन । यो संविधान कुरान होइन यो संविधान बाइबल होइन । यो संविधान देशको हितमा छ भने संशोधन गरेर अगाडि बढौँ छैन भने धाराहरु कटौँती गरौँ ।

  • ज्ञानेन्द्र शाहीको चुनौती- जीवी राईलाई पक्राउ गर्नुस् गृहमन्त्री ज्यू, संसदमै फूलमालाले स्वागत गर्छौ (भिडिओ)

    ज्ञानेन्द्र शाहीको चुनौती- जीवी राईलाई पक्राउ गर्नुस् गृहमन्त्री ज्यू, संसदमै फूलमालाले स्वागत गर्छौ (भिडिओ)

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले उपप्रधान एवं गृहमन्त्री रबी लामिछानेलाई जिबी राईलाई पक्राउ गरेर ल्याउन चुनौती दिएका छन् ।

    प्रतिनिधि सभाको आइतबारको बैठकको विशेष समयमा उनले गृहमन्त्री लामिछानेले जीवी राई पक्राउ गरेर ल्याए संसदमै फूलमाला हालेर सम्मान गर्ने बताए ।

    उनले भने, ‘अचम्म लाग्छ, कहिलेकाहीँ सुन्दाखेरि । पुरानाले त गरे, गरे, नयाँ आएका साथीहरूले गरेको देख्दा पनि अचम्म लाग्छ । हामीलाई किन जिताएको जनताले ? गाउँमा स्याल पस्यो भनेर हुइई ओहोई गर्नलाई गरेको होइन । यी पुराना दलले ३३ वर्षदेखि देशलाई लुटे, यिनीहरूका विरुद्ध सडक र सदनबाट खडा हुनुपर्छ भनेर जनताले जनमत दिएर पठाएका हुन् । पद र प्रतिष्ठाका लागि होइन । सम्माननीय सभामुख महोदय, मलाई बढी केहि माग्नु छैन मेरा गृहमन्त्री ज्यूबाट । जीवी राई पक्राउ गरेर ल्याउनुस्, यसै संसदमा हामी फूलमालाले स्वागत गर्छौ । अरू केहि पनि गर्नु पर्दैन । अबको ७२ घण्टामा बलात्कारपछि भएको निर्मला हत्याकाण्ड पत्ता लगाउँछु भन्नुभयो, हामी सबैले पत्याएर, नेपालका सबै जनताले पत्याएर उहाँलाई भोट हालेको हो । आज सरकारमा गएको १२४ दिन भयो, देशको गृहमन्त्री हुनुहुन्छ । सत्ता उहाँकै हातमा छ र सरकार उहाँकै हातमा छ । आज के भयो ?’

  • अन्जनाको पक्षमा स्टाटस लेख्दा राप्रपा सैनिक संगठनका अध्यक्षलाई स्पष्टीकरण

    अन्जनाको पक्षमा स्टाटस लेख्दा राप्रपा सैनिक संगठनका अध्यक्षलाई स्पष्टीकरण

    काठमाडौं । राप्रपानिकट भूपू सैनिक संगठनका अध्यक्ष प्रकाशजंग कार्कीलाई पार्टीले स्पष्टीकरण सोधेको छ ।

    कार्कीले असार १५ गते आफ्नो फेसबुक वालमा लेखेको स्टाटसले केन्द्रीय कार्य सम्पादन समितिलाई दबाब दिने, पार्टीप्रति नकारात्मक धारणा सृजना गर्न मद्दत गरेको किन नमान्ने ? र सो आधारबाट किन कारबाही गर्नु नपर्ने हो ? भनी सोधिएको छ ।

    महामन्त्री राजेन्द्र गुरुङ्गले कार्कीलाई ४८ घण्टाभित्र स्पष्टीकरण पेश गर्न भनेका छन् ।

    कार्कीले राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनकी अध्यक्ष अन्जना शाह रावलले दिएको राजीनामा फिर्ता गराउन पार्टी नेतृत्वलाई दबाब दिँदै यदि राजीनामा स्वीकृत गरिए सैनिक संगठनका सबै पदाधिकारी र शाखाले राजीनामा दिने भन्दै फेसबुकमा स्टाटस लेखेका थिए ।

  • संविधान संशोधनका लागि कांग्रेस-एमाले सहकार्यको राप्रपाले गर्‍यो स्वागत (भिडिओ)

    संविधान संशोधनका लागि कांग्रेस-एमाले सहकार्यको राप्रपाले गर्‍यो स्वागत (भिडिओ)

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले संविधान संशोधनका लागि कांग्रेस-एमालेबीच भएको सहकार्य स्वागतयोग्य रहेको निष्कर्ष निकालेको छ ।

    पार्टी कार्यालय धुम्वाराहीमा मंगलबार बसेको केन्द्रीय पदाधिकारी बैठकपछि अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस-एमालेबीच संविधान संशोधन गर्ने मूख्य बुँदामा सहमति भएको खबर सुनेको भन्दै त्यसो हो भने नयाँ सहकार्य स्वागतयोग्य रहेको निष्कर्ष निकालेको बताए ।

    लिङ्देनले राप्रपाले लामो समयदेखि संविधानमा आमूल परिवर्तन गर्नुपर्ने अडान राखिरहेको अवस्थामा संविधान संशोधनलाई नै आधार बनाएर भएको नयाँ सहमति स्वागतयोग्य रहेको बताए । बैठकमा अहिले विकसित राजनीतिक घटनाका क्रममा विषयमा प्रारम्भिक छलफल भएको भन्दै तत्काल ठोस धारणा बनाएर जान उपयुक्त नहुने ठहर गरेको बताएका छन् ।

    संविधान संशोधनको प्रक्रिया, नयाँ गठबन्धनको स्वरूप हेर्न बार्की रहेकाले सरकारका बारेमा आगामी दिनमा आवश्यक धारणा तय गर्ने लिङ्देनको भनाइ छ ।

    अहिलेको जस्तो राजनीतिक प्रणाली, संसदीय गणित र दलहरुको चरित्रमा गठबन्धन फेरबदलको घटना भइरहने भन्दै उनले कांग्रेस-एमालेको गठबन्धन हेर्दा तीन वर्ष चल्नसक्ने जस्तो लागेपनि ६ महिनामा पनि परिवर्तन हुन सक्ने आशंकासमेत गरे ।

  • संविधान संशोधनको पक्षमा उभिएका लिङ्देनलाई प्रश्न : कांग्रेस-एमाले सरकारलाई समर्थन गर्नुहुन्छ ?

    संविधान संशोधनको पक्षमा उभिएका लिङ्देनलाई प्रश्न : कांग्रेस-एमाले सरकारलाई समर्थन गर्नुहुन्छ ?

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस र एमालेले संविधान संशोधनसहित सरकार बनाएर अघि बढ्ने सहमति गरेको कदम सकारात्मक भएको बताएका छन्।

    आज बसेको पदाधिकारी बैठकमा ठूला दुई दलले चालेको कदमपछिको परिस्थितिबारे छलफल भएको बताए।

    उनले भने, ‘उहाँहरूले संविधान संशोधनको कुरा उठाउनुभएको छ त्यसलाई हामीले सकारात्मक रूपमा लिएका छौं। राप्रपाले नै संविधानमा संशोधन र नयाँ सहमतिको विषय उठाएका थियौँ, त्यसलाई सकारात्मक रूपमा लिएका छौँ।’

    त्यसो भए यो सरकारमा समर्थन गर्छ कि गर्दैन भन्ने नेपाल प्रेसको जिज्ञासामा उनले भने, ‘उहाँहरूको धारणा डिटेलमा आओस् त्यसपछि मात्रै हामी धारणा बनाउँछौँ।

  • राप्रपाले बोलायो पदाधिकारी बैठक

    राप्रपाले बोलायो पदाधिकारी बैठक

    काठमाडौं । राप्रपाले परिवर्तित राजनीतिक परिस्थितिका सन्दर्भमा समीक्षा गर्न पदाधिकारी बैठक बोलाएको छ । आज दिउॅसो २:०० बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बैठक बस्ने प्रवक्ता मोहन श्रेष्ठले बताए ।

    उनका अनुसार बैठकले पार्टीको धारणा तय गर्नेछ ।

    नयाँ सरकार गठन गर्नेबारे दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीच सहमति भएपछि राजनीति परिस्थिति मोडिएको छ । दुई दलले संविधान संशोधनलगायतका मुद्दा अघि सारेपछि राप्रपा पनि सकारात्मक छ ।

  • निलम्बित मुख्य सचिवबारे सदनमा उठ्यो प्रश्न, मागियो प्रधानमन्त्रीको जवाफ (भिडिओ)

    निलम्बित मुख्य सचिवबारे सदनमा उठ्यो प्रश्न, मागियो प्रधानमन्त्रीको जवाफ (भिडिओ)

    काठमाडौं । राप्रपाकी सांसद विना लामाले निलम्बित मुख्य सचिव बैकुण्ठ अर्यालको नियुक्तिबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सदनमा जवाफ दिनुपर्ने माग गरेकी छन् ।

    प्रतिनिधिसभाको बैठक बोल्दै अवकाशको तीन दिन बाँकी रहेका व्यक्तिलाई मुख्यसचिव बनाएर राज्यलाई थप आर्थिक दायित्व बोकाउन नेतृत्व गर्ने प्रधानमन्त्रीलाई नैतिक प्रश्न हो कि होइन ? भन्दै प्रश्न गरिन् ।

    त्यसबारे उनको भनाइ जस्ताको तस्तै-

    वर्तमान प्रधानमन्त्री नेतृत्वकै सरकारले २०८० असोज १४ गतेसम्म पदावधि भएका तत्कालीन मुख्यसचिव शंकरदास बैरागीलाई हुँदै नभएको दरबन्दी निर्माण गरेर राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा मन्त्रीसरहको सुविधा पाउनेगरी २०८० असार २ गतेबाट अवकाशमा जान लागेका बैकुण्ठ अर्याललाई २०८० जेठ ३२ गते मुख्यसचिव किन नियुक्त गरियो? तीन दिनमा राज्यलाई के नोक्सान हुनेवाला थियो र के फाइदा भयो ? त्यसैले यो नियुक्ति अस्वाभाविक, अनैतिक र शंकास्पद छ भनेर त्यतिबेला धेरैबाट आएका थिए । सरकारले यतिधेरै महत्व दिएका तीनै मुख्यसचिव अहिले भ्रष्टाचार मुद्दामा निलम्बित छन् । अवकाश पाउन तीन दिन बाँकी रहेका व्यक्तिलाई मुख्यसचिव बनाएर राज्यलाई थप आर्थिक दायित्व बोकाउन नेतृत्व गर्ने प्रधानमन्त्रीलाई नैतिक प्रश्न हो कि होइन ? प्रधानमन्त्रीले जवाफ दिनुपर्छ ।

  • अन्जनाको राजीनामाले राप्रपामा ध्रुविकरण, स्वीकृत गरिए अन्य संगठनबाट समेत पार्टी छाड्ने चेतावनी

    अन्जनाको राजीनामाले राप्रपामा ध्रुविकरण, स्वीकृत गरिए अन्य संगठनबाट समेत पार्टी छाड्ने चेतावनी

    काठमाडौं । राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनकी अध्यक्ष अन्जना शाह रावलको राजीनामाले राप्रपा नेताहरु नै विभाजित भएका छन् ।

    संगठनभित्र चरम असहयोग र काम गर्ने अवस्था नभएपछि अन्जनाले महिला संगठनको अध्यक्षसहित राप्रपाको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएकी छन् ।

    उनले राजीनामा पत्रमा आफू र आफ्नो परिवार राप्रपाको मतदाता समेत नरहने घोषणा गर्नुले उनको अवस्था झल्काएको छ । यद्यपी अन्जनाको राजीनामा स्वीकृत भएको छैन । अध्यक्ष राजेन्द्र लिङ्देनले महामन्त्री राजेन्द्र गुरुङमार्फत अन्जनालाई राजीनामा फिर्ता लिन सन्देश पठाएका छन् ।

    अन्जनाले भने राजीनामा फिर्ता नलिने भन्दै मोबाइल अफ गरेर बसेकी छन् । उनको राजीनामाको कारण र संगठनभित्रको समस्या समाधान मुख्य कुरा रहेको भन्दै पार्टीका नेताहरु राजीनामा फिर्ता गराउनुपर्ने पक्षमा उभिएका छन् ।

    पशुपति शमसेर जबरा,डा.प्रकाशचन्द्र लोहनी,बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र,विक्रम पाण्डे,महामन्त्री धवल शमसेर जबरा,कुन्ति शाहीलगायतका नेताहरु अन्जनाको राजीनामा फिर्ता गराएर महिला संगठनभित्रको असहयोगको वातावरण पार्टीले हस्तक्षेप गर्नुपर्ने पक्षमा देखिएका छन् ।

    नेताहरुकै कारण शुक्रवार झापाबाट आएर राजीनामा स्वीकृत गर्ने तयारीमा रहेका अध्यक्ष लिङ्देन दबाबमा परेका छन् । उनले आफ्नो राजीनामापत्रमा पार्टी नेता वा कसैमाथि दोषारोपण गरेकी छैनन् । तर संगठनभित्र उनले मनोनित गरेकै पदाधिकारीले केही नेताको आडमा काम गर्न नदिएपछि राजीनामा दिएको चर्चा छ ।

    महिला संगठनका नेताहरुले वक्तव्य निकाल्दै अन्जनाको राजीनामा स्वीकृत भएमा ९० प्रतिशत निर्वाचित कार्य समितिले सामुहिक राजीनामा दिने भनेका छन् । त्यस्तै राप्रपाभित्र बलियो भातृ संगठन मानिने भुपु सैनिक संगठनका अध्यक्ष प्रकाश सिंह कार्कीले वक्तव्य निकाल्दै अन्जनाको राजीनामा स्वीकृत भएमा सैनिक संगठनका सबै पदाधिकारी र सदस्यहरुले पार्टी छाड्ने चेतावनी दिएका छन् ।

    राप्रपाको महिला संगठनका ५२ जिल्ला अधिवेशन भएकामा ४० जिल्ला अध्यक्षले अन्जनाको राजीनामा फिर्ता गराउनुपर्ने माग नेतृत्वसमक्ष राखेका छन् । नत्र उनीहरुले पनि राजीनामा दिने र पार्टी छाड्ने भनेपछि राप्रपा नेतृत्व अप्ठेरोमा परेको छ ।

  • लिङ्देनको प्रस्ताव- सांसदलाई मन्त्री नबनाउन निर्वाचन प्रणाली फेरौं, प्रधानमन्त्रीको प्रत्यक्ष निर्वाचन गरौं (भिडिओ)

    लिङ्देनको प्रस्ताव- सांसदलाई मन्त्री नबनाउन निर्वाचन प्रणाली फेरौं, प्रधानमन्त्रीको प्रत्यक्ष निर्वाचन गरौं (भिडिओ)

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन यो राज्य संरचना र निर्वाचन प्रणाली देशले धेरै थेग्न नसक्ने बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै निर्वाचन प्रणाली परिवर्तन गर्न प्रस्ताव गरे ।

    उनले भने, ‘सांसदले मन्त्री हुने व्यवस्था जब रहीराख्छ अर्को चुनाव जित्नुपर्ने पिर र दबाब हुन्छ । फेरि मन्त्री हुनुपर्ने हुन्छ । त्यसको लागि निर्वाचन क्षेत्रमा केन्द्रित हुनुपर्‍यो । प्रधानमन्त्री पनि निर्वाचन क्षेत्रमै केन्द्रित हुनुपर्‍यो । त्यसैले मन्त्री र प्रधानमन्त्री एउटा निर्वाचन क्षेत्रको हुन्छ । त्यसैले सांसद मन्त्री हुने होइन, विधि निर्माता भएर बस्ने, र जनताले सोझै निर्वाचित गर्ने प्रत्यक्ष निर्वाचित प्रणालीमा जानुपर्छ ।’

    प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री भएपछि सरकार ढाल्ने खेलको पनि अन्त्य हुने बताए ।

    उनले अगाडि भने, ‘अहिले मन्त्रीज्यूहरूले जुन काम गर्नुभएको छ । हामीले यो प्रणालीमाथि पहिल्यैदेखि औंला ठड्याउने काम गरिरहेका थियौं त्यसलाई पुष्टि गर्छ । बजेट बनाउन जुन प्रकारको मनपरी गर्नुभो त्यसको कुनै आपत्ति छैन । तपाईंहरूलाई त धन्यवाद दिनुपर्छ, किनभने यो व्यवस्था, निर्वाचन प्रणाली, यो राज्य संरचना काम लाग्दैन भनेर हामीले भनिरहेका छौं पुष्टि गर्नुभएको छ । यसलाई चाँडो भत्काउन सहयोग गरिराख्नुभएको छ ।’

    उनले खर्चको भारी प्रदेश खारेज गरेर स्थानीय तहलाई बलियो बनाउन माग गरे ।

  • ‘रविजीको पार्टीका मन्त्रीले राजीनामा खल्तीमा बोकेर हिँड्नुपर्ने यो कस्तो बजेट ?’

    ‘रविजीको पार्टीका मन्त्रीले राजीनामा खल्तीमा बोकेर हिँड्नुपर्ने यो कस्तो बजेट ?’

    काठमाडौं । राप्रपाका सांसद दीपकबहादुर सिंहले बजेटमा सत्तापक्षकै सांसदहरूले विरोध गरेकोप्रति कटाक्ष गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै बजेट सत्ता गठबन्धनका शीर्ष नेताहरू र मन्त्रीहरूको जिल्लामा मात्रै खन्याएको दाबी गरे ।

    उनले भने, ‘बजेटको बारेमा सरकार बनाउने ठूलो पार्टी पनि विरोधमा छ । रविजीको पार्टी राजीनामाको मिति लेख्नबाहेक खल्तीमा बोकेर हिँडेको आइरहेको छ ? यो कस्तो बजेट ? योभन्दा पहिलाको सरकारले ४ वटा जिल्लामा ३५ प्रतिशत बजेट हालेको थियो । अहिलेको सरकारले नेताहरूको मात्रै होइन मन्त्रीहरूले पनि पुग्दो मात्रामा हालेको छ ।’

  • चुनावमा एमालेसँग सहयोग माग्दा ओलीले खिस्याएर बोलेका थिए- अब राप्रपाले एक्लै जित्छ: राजेन्द्र लिङदेन (भिडिओ)

    चुनावमा एमालेसँग सहयोग माग्दा ओलीले खिस्याएर बोलेका थिए- अब राप्रपाले एक्लै जित्छ: राजेन्द्र लिङदेन (भिडिओ)

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले जनताको आशा र भरोषाको पार्टी राप्रपाबाहेक अरु कुनै हुन नसक्ने जिकिर गरेका छन् । पार्टीको प्रशिक्षण कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै उनले राप्रपाको सदस्य भन्न अहिले लाज मान्नुपर्ने अवस्था नरहेको बताए ।

    उनले भने, ‘साढे तीन दशकदेखि कर्णालीको मत लिइरहेका छन्, तर त्यहाँको जनताको जीवनस्तर जहाँको तहीँ छ । मतदाताले अहिले विकल्प खोजिरहेका छन् । त्यहाँको विकल्प हामी हौं भनेर क्रियाशील बनायौं भने, लाग्यौं भने हामीलाई चुनाव जित्न कठिनाइ छ भन्ने लागेको छैन ।’

    उनले गएको चुनावमा जुम्लामा एमालेसँग सहयोग माग्दा अध्यक्ष ओलीले आफूलाई खिस्याएर बोलेको स्मरण गरे ।

    उनले भने, ‘ज्ञानेन्द्र शाही पार्टीमा जोडिएपछि मैले उहाँलाई जुम्लामा चुनाव लड्नुपर्छ भनें । उहाँले स्वीकार्नुभयो । उहाँको व्यक्तित्व र हाम्रो विश्लेषणले काम गर्‍यो । सहकार्यको विषयमा कुरा गर्दा हामीले केपी ओलीसँग कुरा गर्‍यौं । कांग्रेस र माओवादी गठबन्धनको ३६ हजार मत छ । हाम्रो ५०० मात्रै छ । तपाईंहरुको १२ हजारमात्रै छ । एमालेले जित्दैन, दुइटा प्रदेश लिएर सहयोग गरिदिनुस् भन्दा उहाँले कडा खिस्याएर ५०० लाई केको लागि सहयोग गर्ने भन्नुभयो । मान्नुभएन । तर, परिणाम आयो ।’

    उनले प्रचण्ड नेतृत्वको सरकारको उपलब्धि भनेकै १०० दिन टिक्नु भएको बताए । सरकार भ्रष्टाचारीको रक्षाकवच बनेको उनले आरोप लगाए ।

  • क्रान्तिकारीहरूले ‘पुजार सार्की’ हेरेर आफूलाई समीक्षा गर्नुस्: राजेन्द्र लिङदेन

    क्रान्तिकारीहरूले ‘पुजार सार्की’ हेरेर आफूलाई समीक्षा गर्नुस्: राजेन्द्र लिङदेन

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले चलचित्र ‘पुजार सार्की’ विभेद अन्त्यको नाममा देशलाई द्वन्द्वमा लैजानेहरूलाई हेर्न आग्रह गरेका छन् । चलचित्र हेरेपश्चात् संक्षिप्त प्रतिक्रिया दिँदै लिङदेनले क्रान्तिकारीहरूले एक पटक फिल्म हेरेर आफूलाई समीक्षा गर्न अनुरोध गरेका हुन् ।

    ‘समाजमा छुवाछूत र विभेद छ । पहिले त्यसको समाधान शस्त्र हो भन्ने भाष्य बन्यो । त्यसले देशले लामो द्वन्द्व र क्षति व्यहोर्नुपर्‍यो । त्यो समाधान होइन है भन्ने पनि यो चलचित्रले सन्देश दिएको छ’, उनले भने, ‘खासगरी क्रान्तिकारी महानुभावहरू, जसले देशलाई विभेद अन्त्यको नाममा द्वन्द्वमा लानुभयो, एक पटक हेरेर आफूलाई समीक्षा गर्न अनुरोध गर्दछु ।’

    अध्यक्ष लिङदेनले यो चलचित्र शिक्षामूलक भएकोले सबैले हेर्नुपर्ने बताए । ‘अघिल्लो पुस्ता र मेरो पुस्तासम्मले देखेको सामाजिक विभेदलाई यसले स्मरण गराउँछ र हामीले कसरी सुधार गर्नुपर्दछ भन्ने देखाउँछ । हामीभन्दा पछिल्लो पुस्ताले समाज कसरी अगाडि आइरहेको छ, कसरी परिवर्तित भइराखेको छ र समाजमा कस्ता प्रकारका समस्याहरू थिए । त्यसको समाधान के हो त भन्ने पनि यसमा रहेको छ’, उनले भने ।

    चलचित्रका लेखक विकास सुवेदीले राजनीतिक स्तरबाट नै गलत भाष्यहरूलाई निर्मूल पार्दै जाने कुरामा लिङदेनले प्रतिबद्धता जनाएको बताए ।

    सुवेदीले भने, ‘चलचित्र हेरेपश्चात् मसँग कुरा गर्दै उहाँले विभिन्न धर्मशास्त्रमा उल्लेख छुवाछूतसम्बन्धी गलत भाष्यहरूलाई क्रमशः सच्याउँदै लैजानुपर्ने विचार राख्नुभएको छ । आफ्नो दलको मुख्य मुद्दा नै धार्मिक बनाउनु भएका उहाँले शास्त्रबाटै सच्याउँदै जानुपर्ने विचार राख्नु आफैंमा हामीले चलचित्रमार्फत दिन खोजेको सन्देशले मूर्त रूप पाउँदै जानु हो ।’

    गत जेठ १० गते रिलिज भएको ‘पुजार सार्की’ चौथो हप्तामा प्रदर्शन भइरहेको छ । सुवास भुसालको निर्माण तथा दिनेश राउतले निर्देशन गरेको यस चलचित्रमा आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अञ्जना बराइली, परीक्षा लिम्बूलगायतको प्रमुख अभिनय रहेको छ ।

  • ‘उच्चस्तरीय भ्रष्टाचार नियन्त्रण नागरिक आयोग’ गठन गर्न राप्रपा नेपालको माग

    ‘उच्चस्तरीय भ्रष्टाचार नियन्त्रण नागरिक आयोग’ गठन गर्न राप्रपा नेपालको माग

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा नेपाल)को राष्ट्रिय महाधिवेशन आगामी फागुनमा हुने भएको छ। काठमाडौंमा फागुन ७ देखि ९ गतेसम्म महाधिवेशन चल्नेछ।

    हालै बसेको राप्रपा नेपालको केन्द्रीय कार्यसमितिको बैठकले महाधिवेशनको मिति तय गरेको नेता सुरेश आचार्यले बताए।

    समान विचारधारा भएका शक्तिहरूका बीचमा बृहत् राष्ट्रिय मोर्चा बनाउने निर्णय गरेको बैठकले अध्यक्ष कमल थापाद्वारा प्रस्तुत ‘समसामयिक परिस्थिति र राप्रपा नेपालको कार्यदिशा र कार्यक्रम’ पारित गरेको छ ।

    महङ्गी भ्रष्टाचारबिरुद्ध देशव्यापीरुपमा अभियान सञ्चालन गर्ने निर्णय गरेको बैठकले ‘उच्चस्तरीय भ्रष्टाचार नियन्त्रण नागरिक आयोग’ गठनको माग गरेको छ ।

    पार्टी सङ्गठन सुदृढीकरण लागि देशभर राजनीतिक गतिविधिको समीक्षा गरिएको बैठकमा वडादेखि केन्द्रसम्मको राजनीतिक कार्यसूची सार्वजनिक गरेको छ ।

    मुलुकको समसामयिक विषयवस्तु, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक अवस्थाबारे छलफल गरिएको बैठकमा पार्टीको भावी कार्ययोजना तथा रणनीतिबारे समीक्षा गरिएको छ ।

  • राप्रपाले गर्‍यो नेताहरूको जिम्मेवारी हेरफेर

    राप्रपाले गर्‍यो नेताहरूको जिम्मेवारी हेरफेर

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेताहरूको जिम्मेवारी हेरफेर गरेको छ।

    राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधान बमोजिम विभाग प्रमुखको जिम्मेवारी हेरफेर गरेको प्रवक्ता मोहन श्रेष्ठले बताए।

    उनका अनुसार अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुखको जिम्मेवारी पार्टी अध्यक्षमा रहने भएका छन्।

    संयोजित संगठन समन्वय विभागको प्रमुखमा प्रवक्ता गोपाल दाहाल, सम्पर्क समाज समन्वय विभागको प्रमुखमा सहमहामन्त्री धनबहादुर बुढा र युवा विभागको प्रमुखमा सहमहामन्त्री प्रकाश रिमाल रहेका छन्।

  • गण्डकीमा राप्रपाले कांग्रेसलाई सहयोग गर्ने, पाण्डे सरकारको भविष्य फणिन्द्र देवकोटाको हातमा !

    गण्डकीमा राप्रपाले कांग्रेसलाई सहयोग गर्ने, पाण्डे सरकारको भविष्य फणिन्द्र देवकोटाको हातमा !

    काठमाडौं । गण्डकीमा कांग्रेसका सुरेन्द्र पाण्डे नेतृत्वको सरकार जोगाउन र ढाल्न तीव्र रसाकस्सी चलिरहेको छ । सत्ताको यो खेलमा नेकपा माओवादीको चुनाव चिन्हबाट विजयी डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र देवकोटा निर्णायक बन्न सक्ने देखिएको छ ।

    ६० जना सांसद रहेको गण्डकीमा बहुमतका लागि ३१ जनाको समर्थन चाहिन्छ । कांग्रेससँग २७ जनामात्रै सांसद रहेकाले पाण्डेले ४ सांसदको खोजी गरिरहेका छन् । दुई सांसद रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले कांग्रेसलाई समर्थन गर्न सक्ने जनाउ दिएको बुझिएको छ । यसबाट पाण्डेको मनोबल बढेको छ । उनी भोलि प्रदेशसभामा विश्वासको मत माग्दैछन् ।

    कांग्रेस सभापति शेरबहादुर देउवाले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई गण्डकी सरकार जोगाइदिन गुहारेका छन् । उनले लिङदेनलाई पत्र नै पठाएर समर्थन मागेका हुन् । गण्डकी सरकारपछि अन्यत्र सबैतिर सहकार्यको ढोका खुल्ने भनेर पनि देउवाले लिङदेनलाई फकाएका छन् । देउवाको आग्रहमा लिङदेन सकारात्मक बनेको स्रोतले बताएको छ ।

    केही दिनअघि राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठकले वर्तमान सत्ता गठवन्धनलाई कतै पनि समर्थन नगर्ने निर्णय लिएको थियो । कुनै पनि प्रदेशमा विपक्षी गठवन्धनको सरकार बन्ने अवस्था आएमा त्यसमा सहभागी हुन पार्टीको आन्तरिक रणनीति रहेको छ । यस विषयमा निर्णय गर्ने अधिकार लिङदेनले आफैंसित राखेका छन् । त्यही आधारमा उनले गण्डकी सरकारलाई समर्थन गर्ने तयारी गरेका हुन् ।

    राप्रपाले समर्थन गर्दा अब मुख्यमन्त्री पाण्डेलाई २ भोटमात्र अपुग हुन् । त्यसमध्ये एक भोट उनले स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङे र दोस्रो भोट नेसपाका देवकोटाबाट आशा गरेका छन् । एक थान मन्त्री पाएपछि मनाङेले मुख्यमन्त्री पाण्डेलाई समर्थन गर्ने पक्का नै छ । उनले बहुमत पुग्ने अवस्था आएको खण्डमा आफूले भोट हाल्ने भनेर प्रत्याभूति गराइसकेका छन् । तर, देवकोटाको समर्थन भने पक्का भएको छैन ।

    २०७९ को निर्वाचनमा बाबुरामको नेसपाले नेकपा माओवादीसँग सहकार्य गरेको थियो । नेसपाले माओवादीकै चुनाव चिन्हबाट आफ्ना उम्मेदवारहरू उभ्यायो । त्यसमध्ये संघीय संसदमा महिन्द्रराय यादव प्रत्यक्ष निर्वाचित भए भने उमरावती देवी समानुपातिक सांसद बनिन् । प्रदेशमा गंगानारायण श्रेष्ठ र फणिन्द्र देवकोटा विजयी भए ।

    अहिले नेसपाको दुई अध्यक्ष बाबुराम र महिन्द्रा पनि अलग भइसकेका छन् । विभाजनका क्रममा गंगानारायण महिन्द्रातिर लागे भने फणिन्द्रले बाबुरामलाई साथ दिए ।

    डा. भट्टराई अहिले माओवादीसँग चिढिएका छन् । प्रधानमन्त्री प्रचण्डले गत फागुनमा काँध फेर्दै एमालेसँग नयाँ समीकरण बनाएपछि भट्टराई रुष्ट बनेका हुन् । त्यसैले गण्डकीमा वर्तमान सत्ता गठबन्धनलाई साथ नदिने रणनीति उनको छ । तर, गण्डकी संसद सचिवालयमा देवकोटा माओवादी सांसदका रूपमा दर्ता छन् । उनले माओवादी संसदीय दलको बैठकमा नियमित भाग लिँदै आएका पनि छन् । यसअघि उनले एमालेका खगराज अधिकारीलाई विश्वासको मत दिएका थिए ।

    अब देवकोटाले के गर्छन् भन्ने कौतुहल छन् । उनी खुलिसकेका छैनन् । आफूले स्थायित्वको पक्षमा मत हाल्ने बताउँछन् । वर्तमान सत्ता गठबन्धन उनले पाण्डेलाई भोट नहाल्नेमा ढुक्क छ । तर, पाण्डे उनीप्रति निकै आशावादी छन् ।

    चेपुवामा परेका पाण्डेले विश्वासको मत हालेको खण्डमा कारबाही भोग्नु पर्छ कि पर्दैन भन्ने प्रश्न पनि छ । राजनीतिक दलसम्बन्धी ऐनमा एउटै चुनावचिन्ह लिएर लडेका सांसदहरू एउटै संसदीय दलमा हुने व्यवस्था गरेको छ । यस्तोमा सचेतकले संसदीय दललाई ह्वीप लगाउन सक्छन् । त्यसैले माओवादीले लगाउने ह्वीप देवकोटालाई पनि लाग्छ ।

    तर, सम्भावित कारबाहीको प्रश्न भने अन्योलपूर्ण छ । सचेतकले ह्वीप लगाउँदा नमानेको अवस्थामा कारबाहीका लागि सम्बन्धित दलमा सिफारिस गर्ने व्यवस्था राजनीतिक दलसम्बन्धी ऐनमा छ । देवकोटाको ‘सम्बन्धित दल’ कुन त ? उनी माओवादीको संसदीय दलका सदस्य हुन् । तर, प्रदेशसभाको रेकर्डमा नेसपाको एक सांसद रहेको उल्लेख छ । त्यसैले कारबाहीको सिफारिस माओवादीमा जान्छ कि नेसपामा भन्ने विषयमा संवैधानिक जटिलता देखिएको छ ।

  • राप्रपामा ‘एक व्यक्ति एक पद’को अभ्यास, सचिवालय प्रमुख भएपछि गुरुङले दिए विभाग प्रमुखबाट राजीनामा

    राप्रपामा ‘एक व्यक्ति एक पद’को अभ्यास, सचिवालय प्रमुख भएपछि गुरुङले दिए विभाग प्रमुखबाट राजीनामा

    काठमाडौं । एक व्यक्ति एक पदको मान्यतालाई आत्मसात गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीको संयोजित संगठन विभाग प्रमुखबाट महामन्त्री राजेन्द्र गुरुङले राजीनामा दिएका छन् । पार्टी अध्यक्ष राजेन्द्र लिङदेनसमक्ष उनले आज राजीनामा बुझाएका हुन् ।

    अध्यक्ष लिङदेनले एक महिना अगाडि गुरुङलाई सचिवालय प्रमुखमा मनोनयन गरेका थिए । राप्रपामा महामन्त्रीहरुमध्ये एकजनालाई अध्यक्षले सचिवालय बनाउन सक्ने प्रावधान छ । एकसाथ दुई जिम्मेवारी खप्टिएपछि गुरुङले एउटाबाट पदत्याग गरेका हुन् ।

    नेपाल प्रेससँग कुरा गर्दै गुरुङले एक व्यक्ति एक पदको नीतिलाई व्यवहारमा उतार्न खोजेको बताए ।

    उनले भने, ‘सचिवालय प्रमुखको जिम्मेवारी पाइसकेपछि मैले संयोजित संगठन विभाग प्रमुखबाट पछि हट्ने निर्णय गरेको हुँ । एकैसाथ दुवै पद ओगट्नु वाञ्छनीय लागेन ।’ राप्रपा अध्यक्ष लिङदेनले गुरुङको निर्णयप्रति सम्मान व्यक्त गरेका छन् ।

    राजीनामा दिन आएका गुरुङलाई उनले भने, ‘सबै पार्टीले एक व्यक्ति एक पदको कुरा गर्छन् । त्यसको व्यवहारिक कार्यान्वयन चाहीँ राप्रपाले गर्नेछ । यसको सुरुवात तपाईंले गर्नुभएकोमा उच्च प्रशंसा गर्छु ।’

    राप्रपाको संयोजित संगठन विभागले पार्टी निकट १७ वटा संगठनहरुलाई हेर्छ । यो राप्रपाको एउटा महत्वपूर्ण विभाग हो । गुरुङले राजीनामा दिएपछि लिङदेनले अर्को नेतालाई जिम्मेवारी दिने तयारी गरेका छन् ।

     

  • बजेटको छलफलमा लिङ्देनले खोजे अर्थमन्त्री, बोल्न नमानेपछि उपसभामुखसँग सवालजवाफ  (भिडिओ)

    बजेटको छलफलमा लिङ्देनले खोजे अर्थमन्त्री, बोल्न नमानेपछि उपसभामुखसँग सवालजवाफ (भिडिओ)

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री वर्षमान पुन खोजेका छन् । अर्थमन्त्री पुनलाई नदेखेको भन्दै उनले बोल्न मानेनन् ।

    उपभामुख इन्दिरा रानाले अर्थमन्त्री राष्ट्रियसभामा गएको जवाफ दिएपनि आफ्नो कुरा कसलाई सुनाउने ? भन्दै प्रतिप्रश्न गरे ।

    उनले भने, ‘सत्तापक्षले त छलफल गरेरै ल्याएको होला । हामीले त सुनाउने यहीँ हो । त्यसैले उहाँ आएपनि मात्रै मेरो कुरा राख्छु ।’

    खानेपानीमन्त्री सदनमै उपस्थित रहेको भन्दै उपसभामुखले आफ्नो कुरा राख्न लिङ्देनलाई अनुरोध गर्दै उनल‍े मानेनन् ।

    उनले भने ‘अर्थमन्त्री नै चाहिन्छ नि ! खानेपानीमन्त्रीले म सक्छु भन्नुभयो भने ठीक छ । अर्थमन्त्री आएपछि सुरू गरौं अहिलेलाई ब्रेक गरौं ।’

  • सन्दीपलाई भिसा नदिएको विषय सदनमा प्रवेश, ज्ञानेन्द्र शाहीले भने- सिंगो नेपालमाथिको अपमान हो (भिडिओ)

    सन्दीपलाई भिसा नदिएको विषय सदनमा प्रवेश, ज्ञानेन्द्र शाहीले भने- सिंगो नेपालमाथिको अपमान हो (भिडिओ)

    काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले सन्दीप लामिछानेलाई विश्वकप खेल्न अमेरिकाले भिसा नदिएकोमा संसद मौन देखिएको भन्दै आपत्ति जनाएका छन्।

    प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले अमेरिकाले सन्दीप र नेपालीको मात्र नभएर सिंगो देशको अपमान गरेको उल्लेख गरेका छन्।

    ‘विश्वले रुचाएको र विश्वका ठूल्ठूला खेलाडीलाई पछारेको सन्दीप लामिछानेको भिसा लाग्दैन । यसबारे सम्पूर्ण संसद् मौन देख्छु । संसारमा नेपाललाई कसैले चिनाउँछ भने कि त खेलाडीले हो की त कलाकारले, हो नेताले होइन । सन्दीपले भिसा नपाउनु भनेको उनी र सम्पूर्ण नेपालीको मात्र अपमान होइन यो त सिङ्गो देशमाथि भएको अपमान हो’, उनले भने ।

    उनले पञ्चशीलको सिद्धान्तविपरीत अमेरिकाले आन्तरिक मामलामा चासो दिएको पनि उल्लेख गरे। उच्च अदालतले सन्दीपलाई निर्दोष ठहर गरेको अवस्थामा अमेरिकाले सन्दीपलाई भिसा अस्वीकृत गर्नु पञ्चशीलको सिद्धान्तविपरीत हुने बताए।

    ‘जुन देशले विश्वकप आयोजना गर्छ त्यही देशले हाम्रो खेलाडीलाई अगाडि जान दिँदैन। आज हामीले के का आधारमा परराष्ट्र नीति बनाएका छौँ। परराष्ट्र नीति पञ्चशीलका आधारमा बनाएको हो की पार्टीको कार्यकर्ताको मेनोफेस्टोको आधारमा’, उनले भने ।

  • मध्यावधि निर्वाचन हुनसक्ने राप्रपाको अनुमान

    मध्यावधि निर्वाचन हुनसक्ने राप्रपाको अनुमान

    काठमाडौं । राप्रपाले राजनीतिक अस्थितरताको बीचमा मध्यावधि निर्वाचन हुनसक्ने आंकलन गरेको छ ।

    केन्द्रीय समितिको बैठकको निर्णय सार्वजनिक गर्दै अध्यक्ष राजेन्द्र लिङ्देनले हुनसक्ने मध्यावधि निर्वाचनलाई ध्यानमा राखेर पार्टीको संगठन सुदृढ गर्ने निर्णय भएको बताए ।

    उनले भने, ‘कमजोर संगठन संरचना र आगामी दिनमा हुनसक्ने मध्यावधि निर्वाचन स्थानीय तहको निर्वाचनलाई समेत ध्यानमा राखेर पार्टीको संगठन र संरचनालाई सुदृढ गर्ने, २०८२ वैशाख मसान्त सम्ममा ७७ वटै जिल्ला अधिवेशन गरिसक्ने निर्णय भएको छ ।’

    राप्रपाले नवीन राप्रपा अन्र्तगत सञ्चालन गर्दै आएको भूगोल केन्द्रित कार्यक्रमलाई निरन्तरता दिने, जिम्मेवारीमा रहेको क्रियाशिल सदस्यहरुलाई थप क्रियाशील हुन र निष्क्रियहरुलाई पनि क्रियाशील हुन र नखट्नेलाई जिम्मेवारी मुक्त गने निर्णय भएको बताए ।

    सहकारी प्रकरणमा विपक्षी दले संसदीय छानबिन समितिको माग गर्दा सरकारले बहुमतले सदन चलाएकोप्रति आपत्ति जनाए ।

     

  • सरकारलाई बुझाएको ४० बुँदे माग सम्बोधन नभएसम्म आन्दोलन नरोक्ने राप्रपाको निर्णय (भिडिओ)

    सरकारलाई बुझाएको ४० बुँदे माग सम्बोधन नभएसम्म आन्दोलन नरोक्ने राप्रपाको निर्णय (भिडिओ)

    काठमाडौं । राप्रपाले सरकारलाई बुझाएको ४० बुँदे माग सम्बोधन नभएसम्म आन्दोलनको कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेको छ ।

    केन्द्रीय समितिको बैठकको प्रधानमन्त्रीलाई बुझाएको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय भएको अध्यक्ष राजेन्द्र लिङ्देनले बताए ।

    उनले आन्दोलनको स्वरूप र कार्यक्रम निर्धारण गर्न आन्दोलन परिचालन कमिटीले जिम्मेवारी दिने निर्णय भएको बताए।  साथै भ्रष्टाचार लगायतका जनजीविकाको मुद्दामा समेत आन्दोलन गर्ने निर्णय भएको बताए ।

  • ठाकुरमोहनमाथि हातपात गर्नेहरूलाई राप्रपाले दियो माफी, असन्तुष्ट ज्ञानेन्द्र शाही बैठक छोडेर हिँडे

    ठाकुरमोहनमाथि हातपात गर्नेहरूलाई राप्रपाले दियो माफी, असन्तुष्ट ज्ञानेन्द्र शाही बैठक छोडेर हिँडे

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले केन्द्रीय सदस्य ठाकुरमोहन श्रेष्ठमाथि हातपात गर्ने तीनजनालाई माफी दिएको छ । उनीहरूलाई चार वर्षका लागि गरिएको निलम्बन तीन महिना नपुग्दै फुकुवा हुने भएको छ ।

    राप्रपाको जारी केन्द्रीय समिति बैठकको पहिलो दिन उनीहरूको निलम्बन फुकुवा गर्नुपर्ने माग उठेको थियो । पार्टी अध्यक्ष राजेन्द्र लिङदेनले आफ्नो राजनीतिक प्रतिवेदन वाचन गर्दै गर्दा दुई महामन्त्रीसहित ८-९ जना केन्द्रीय सदस्य उठेर सांकेतिक विरोध जनाएका थिए । विरोध जनाउने महामन्त्रीमा डा. धवलशम्शेर राणा र कुन्ती शाही रहेको स्रोतले जानकारी दियो ।

    त्यसपछि अध्यक्ष लिङ्देनले कार्यसूचीविपरीतको विषय उठाइएको भन्दै बस्न आग्रह गरे । उनीहरू बसे । तर, अधिकांश केन्द्रीय सदस्यले यो प्रकरणले पार्टीको बदानामी भएको धारणा राखेका थिए । अध्यक्षले पनि माफी गर्ने संकेत गरेका थिए ।

    स्रोतका अनुसार हातपात गर्ने तीनैजनाले शीर्ष नेताको उपस्थितिमा ठाकुरमोहनसँग माफी मागेका छन् । त्यसपछि आजको बैठकमा ठाकुरमोहनले आफूमाथि हातपात गर्नेहरूलाई माफी दिएको घोषणा गरेको स्रोतले बतायो ।

    तर, पार्टी प्रवक्ता ज्ञानेन्द्र शाही भने यसबाट असन्तुष्ट बनेका छन् । उनी केही बेरअघि बैठक छोडेर हिँडेको स्रोतले बतायो । ठाकुरमोहनलाई महामन्त्री विक्रम पाण्डेले दबाबमा राखेर माफी दिन लगाएको उनको आशंका छ ।

    गत फागुन २७ गते आइतबार राप्रपा केन्द्रीय कार्यालय धुम्बाराहीमा पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक चलिरहेको समयमा कार्यालय हाताभित्र श्रेष्ठमाथि कुटपिट भएको थियो ।

    घटनाको आवश्यक छानबिन गरी केन्द्रीय अनुशासन समितिले कार्यसम्पादन समितिलाई सिफारिस गरेको थियो । सोही बमोजिम अध्यक्ष लिङदेनले कारबाहीको निर्णय लिएका थिए ।

    सो घटनामा संलग्न पार्टीका सहायक महामन्त्री प्रेम बलायर, काठमाडौं क्षेत्र नं. ४ का क्षेत्रीय अध्यक्ष रिद्धीप्रताप राणा र राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका सदस्य सचिव निराजन बमलाई निलम्बन गरिएको थियो । बलायर राप्रपा उपाध्यक्ष विक्रम पाण्डेका स्वकीय सचिव पनि हुन् ।

    पाण्डेको योजनामा डा. श्रेष्ठमाथि आक्रमण गरिएको आरोप छ । यद्यपि राप्रपाले उनको विषयमा कुनै निर्णय लिएको थिएन । श्रेष्ठले घटनालाई लिएर प्रहरीमा उजुरी गरेका थिए । केही दिनअघि एकजनालाई पक्राउ गरिए पनि पार्टीका नेताहरूको दबाबमा छोडिएको थियो ।

  • ज्ञानेन्द्र शाहीको माग- गृहमन्त्रीज्यू ! देशको सूचना बेच्नेलाई तत्काल पक्राउ गर्नुहोस् (भिडिओ)

    ज्ञानेन्द्र शाहीको माग- गृहमन्त्रीज्यू ! देशको सूचना बेच्नेलाई तत्काल पक्राउ गर्नुहोस् (भिडिओ)

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले गृहमन्त्री रवि लामिछानेले मुलुकको सूचना बाहिर बेच्नेलाई तत्काल पक्राउ गर्नुपर्ने बताएका छन् ।

    आइतबार संसद बाहिर सञ्चारकर्मीहरूसँग बोल्दै गृहमन्त्री लामिछानेलाई सूचना बेच्ने मानिसलाई पक्राउ गर्न आग्रह गरेका हुन् ।

    उनले गृहमन्त्रीले संसदमा उभिएर मुलुकको सूचना बेच्ने व्यक्तिको बारेमा जानकारी रहको अभिव्यक्ति दिरेको भन्दै उक्त व्यक्तिलाई तत्काल पक्राउ गरी कारबाही गर्न आग्रह गरे । उनले गृहमन्त्रीले काम गर्न संंसद कुर्नु नपर्ने बताए ।

    उनले संसदमा बोल्दै ४ वटा फाइल खोल्ने भनेको विषय कहाँ पुग्यो तत्काल फाइल खोल्न आग्रह गरे । उनले सहकारी छानबिन समिति पनि तत्काल बनाएर काम गर्न समेत आग्रह गरे ।

  • राप्रपा बैठक – यी प्रतिवेदनमाथि भइरहेका छन् छलफल

    राप्रपा बैठक – यी प्रतिवेदनमाथि भइरहेका छन् छलफल

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसमितिको बैठक आज पनि बसिरहेको छ।

    हिजोबाट सुरु भएको भएको बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक परिस्थिति र पार्टीको भावी कार्यदिशा सम्बन्धि राजनीतिक प्रतिवेदनमाथि छलफल भइरहेको प्रवक्ता मोहन श्रेष्ठले बताए।

    त्यसबाहेक महामन्त्री, सचिवालय प्रमुख राजेन्द्र गुरुङले सचिवालय सम्बन्धि र महामन्त्री डा. धवल शमसेर राणाको संगठन सम्बन्धि प्रतिवेदन र कोषाध्यक्ष निलकण्ठ काफ्लेले आर्थिक प्रतिवेदन पेश गरेका थिए।

    बैठकमा विभिन्न प्रदेश कार्यसमितिका अध्यक्षहरुले आफ्नो प्रदेशको प्रतिवेदन प्रस्तुत गरेका थिए त्यसमा अहिले छलफल चलिरहेको छ।

    बैठकमा भुगोल केन्द्रित जिम्मेवारी प्राप्त केन्द्रीय कार्यसमितिका सदस्यहरुले कार्य प्रगतिबारे संक्षेपमा जानकारी दिने र प्रस्तुत प्रतिवेदनहरुमाथि आफ्नो धारणा राख्ने क्रम जारी रहेको प्रवक्ता श्रेष्ठले बताए।

    बैठकमा पेश भएका प्रस्तावहरु परिमार्जनसहित भोलि टुंग्याउने राप्रपाको तयारी छ।

  • राप्रपा कार्यसम्पादन समितिको बैठक बस्दै, यस्ता छन् एजेण्डा

    राप्रपा कार्यसम्पादन समितिको बैठक बस्दै, यस्ता छन् एजेण्डा

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ। पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बैठक दिउँसो १ बजेबाट सुरु हुने प्रवक्ता मोहन श्रेष्ठले बताए।

    उनका अनुसार बैठकमा देशको समसामयिक परिस्थितिको समीक्षा हुनेछ।

    बैठकले आगामी शुक्रबारदेखि सुरू हुने पार्टीको केन्द्रीय समिति बैठकमा प्रस्तुत गरिने प्रतिवेदनहरूमाथि छलफल र एजेण्डा तय गरिने बताए।

  • ज्ञानेन्द्र शाहीको आरोप- सभामुखको कुर्सिमा पार्टीको कार्यकर्ता देख्यौं (भिडिओ)

    ज्ञानेन्द्र शाहीको आरोप- सभामुखको कुर्सिमा पार्टीको कार्यकर्ता देख्यौं (भिडिओ)

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सभामुख देवराज घिमिरे सभामुखको रूपमा नभई पार्टीको कार्यकर्ताको रुपमा प्रस्तुत भएको आरोप लगाएका छन् ।

    सोमबार संसद बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले घिमिरेले सभामुखको रूपमा भूमिका निर्वाह नगरेको टिप्पणी गरे । सभामुखलाई सभामुख हो वा अमुक पार्टीको कार्यकर्ता हो ? भनी उनले प्रश्न गरे ।

    शाहीले भने, ‘आज हामीले सभामुख देखेनौँ । कुर्सिमा बसेको मान्छे देख्यौँ । तर, कुनै पार्टीको कार्यकर्ता देख्यौँ । सभामुखले आज ठूलो गल्ती के गर्नु भएको छ भने, संसदमा उपस्थित भएको संख्याको पनि गलत टिप्पणी सार्वजनिक गर्नुभएको छ । संसदमा नेपालको इतिहासमा नै पहिलोपल्ट होला कि संसदमा यसरी प्रमुख प्रतिपक्षलगायत अन्य प्रतिपक्षले हामीले आजको विश्वासको मत मान्दैनौँ भन्दै गर्दा सभाबाट जर्बजस्ती गरेको । अर्को कुरा मर्यादापालक कहाँ बस्ने हो ? मर्यादापालकले सभामुखलाई रक्षा गर्ने हो कि ? सांसदलाई रक्षा गर्ने हो ? वा सत्तापक्षका प्रधानमन्त्री र मन्त्रीलाई रक्षा गर्ने हो ? हाम्रो नियमावलीमा स्पष्ट के छ भने कुनैपनि मन्त्रीपटी, कुनैपनि मान्छेपटी अगाडी फर्केर मर्यादापालकहरु बस्न मिल्दैन भन्ने हाम्रो नियमावलीमा स्पष्ट लेखेको छ ।’

    प्रतिपक्ष दलहरूको साझा निष्कर्ष नै सभामुखको भूमिका सभामुखको जस्तो नभएको उनको भनाइ थियो ।

  • ज्ञानेन्द्र शाहीको दाबी- ओली संसद विघटनको लाइनमा छन् (भिडिओ)

    ज्ञानेन्द्र शाहीको दाबी- ओली संसद विघटनको लाइनमा छन् (भिडिओ)

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले एमाले अध्यक्ष केपी शर्मा ओली संसद विघटनको लाइनमा रहेको दाबी गरेका छन् । संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सहकारी प्रकरणमा गृहमन्त्री लचिलो भएपनि ओलीले संसद विघटन गर्ने लाइनमा भूमिका खेलेको आरोप लगाए ।

    उनले भने, ‘हामीले गृहमन्त्रीले बोल्न पाउनुपर्छ भनेका छौं । कांग्रेसहरुले छलफल गर्दैछन्, सत्तापक्षले छलफल नै नगर्ने, विशेषगरी एमालेका अध्यक्ष ओली संसद विघटन गर्ने लाइनमा हुनुहुन्छ । उहाँ पहिला आफूले विघटन गरेको संसद त्यही सही हो भन्ने लाइनमा जान चाहनुहुन्छ । उहाँलाई स्पष्ट थाहा छ, अहिले संसद अवरुद्ध भएर बजेट आएन भने विघटन हुन्छ भन्ने थाहा छ त्यसैको भूमिका खेल्नुभएको छ । गृहमन्त्री लचिलो देखिनुभएको छ ।’

    उनले गृहमन्त्री रवि लामिछानेलाई पनि फाइल खोल्छु भनेर मिडियामा बोल्दै हिँड्नुअघि काम गरेर देखाउन आग्रह गरे ।

  • विपक्षी मोर्चाको बैठकमा राप्रपाको प्रस्ताव- गृहमन्त्रीलाई बोल्न दिउँ

    विपक्षी मोर्चाको बैठकमा राप्रपाको प्रस्ताव- गृहमन्त्रीलाई बोल्न दिउँ

    काठमाडौं । नयाँ बानेश्वरस्थित संसद भवनमा बसेको विपक्षी दलको संयुक्त बैठकले संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष निकालेको छ । सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नको लागि समिति गठन गर्नुपर्ने आवश्यकता रहेको निष्कर्ष निकालेको राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले बताए ।

    शाहीका अनुसार बैठकमा सभामुख देवराज घिमिरेको भूमिकालाई लिएर पनि छलफल भयाे ।  बैठकमा राप्रपाले गृहमन्त्रीलाई सदनमा बोल्न दिनुपर्ने प्रस्ताव राखेकाे थियाे । तर, यस प्रस्तावमा ठाेस सहमति भएन ।

    बाेल्न दिने विषयमा कांग्रेसले सकारात्मक प्रतिक्रिया जनाएकाे तर, निर्णय नभइसकेकाे शाहीले बताए । केही दलले भने यथास्थितिमा बाेल्न दिन नहुने भनाइ राखेका थिए ।

    हिजोको बैठकमा कांग्रेस र एमाले सांसदहरूबीच हातहालाहालको स्थिति भएपछि आज कांग्रेस संसदीय दलको बैठकलगत्तै कांग्रेस सभापति शेरबहादुर देउवाले राप्रपा, जसपा नेपाललगायतका नेतासँग छलफल गरेका थिए ।

    बैठकमा कांग्रेसबाट सभापति देउवासहित, उपसभापतिद्वय पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्री गगन थापा, प्रमुख सचेतक रमेश लेखक, नेता शशांक कोइराला, जसपामा अध्यक्ष उपेन्द्र यादव, नेता राजकिशोर यादव, राप्रपाका नेताद्वय धवलशम्शेर राणा र ज्ञानेन्द्र शाही, लोसपा अध्यक्ष महन्थ ठाकुर र शरदसिंह भण्डारी सहभागी थिए ।

  • राजेन्द्र लिङदेनले गरे ८९औं पटक रक्तदान

    राजेन्द्र लिङदेनले गरे ८९औं पटक रक्तदान

    काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले ८९ औं पटक रक्तदान गरेका छन् । पार्टी सम्बद्ध राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन उपत्यका विशेष कमिटीद्वारा शनिबार आयोजित कार्यक्रममा अध्यक्ष लिङदेनले ८९ औं पटक रक्तदान गरेका हुन् ।

    उनले हरेक तीन महिनामा रक्तदान गर्ने गरेका छन् । अध्यक्ष लिङदेनले कोरोनापछि चिकित्सकको सल्लाहअनुसार आफूले रक्तदान गर्न थालेको बताउँदै आजसम्म गरेर ८९ औं पटक भएको बताए ।

    उनले बिरामीलाई रगतको अभाव हुन नदिन रक्तदानलाई निरन्तरता दिनुपर्ने र राप्रपाको युवा संगठनले समय समयमा यस्तो कार्य गर्ने गरेकोमा प्रशंसासमेत गरे ।

    दलको भ्रातृ संगठनले दलीय गतिविधिमा मात्रै होइन, सिर्जनशील र रचनात्मक कार्यमा सहभागी हॅुदै सामाजिक दायित्व निर्वाह गर्नुपर्ने उनको भनाइ थियो ।

    कार्यक्रममा ६३ जनाले रक्तदान गरेको संगठनको उपत्यका विशेष कमिटीका अध्यक्ष सञ्जय कार्कीले जानकारी दिए ।

  • कर्णालीलाई बजेट दिन नसक्ने भए सरकार छोड्नोसः ज्ञानेन्द्र शाही

    कर्णालीलाई बजेट दिन नसक्ने भए सरकार छोड्नोसः ज्ञानेन्द्र शाही

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले कर्णालीका जनतालाई रेल र सुरुङ मार्ग नभई सडक चाहिएको बताएका छन् ।

    बिहीबारको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले बजेट दिन नसके सरकारबाट हटेर मार्ग प्रशस्त गर्न आग्रह गरे । उनले कर्णालीको नाग्म हुँदै रारा जाने बाटो पिच गर्न माग गरे।

    उनले सरकारको कुर्सीमा बसेर बजेट छैन र दिन्न भन्न नमिल्ने बताए ।

    शाहीले भने, ‘अहिले अब बजेट माग्यो भने बजेट छैन भन्छन् । सरकार छोड्नुस् न त हामी चलाउँछौँ । छैन भने सरकार छोड्नुपर्‍यो नि त । बजेट छैन भनेर हामीलाई गाली गरेर हुन्छ ? कहाँबाट ल्याउनुपर्ने हो, के गर्नुपर्ने हो, सरकारको कुर्सीमा बस्ने अनि बजेट नदिने हुन्छ ?’

    सांसद शाहीले सुर्खेतबाट नाग्म हुँदै जुम्ला सदरमुकाम जोडिने बाटो बन्नुपर्ने बताए ।

  • पार्टीको सांसद सहकारीको रकम अपचलनमा जोडिएको विषयको निष्पक्ष छानबिन गर्न राप्रपाको माग

    पार्टीको सांसद सहकारीको रकम अपचलनमा जोडिएको विषयको निष्पक्ष छानबिन गर्न राप्रपाको माग

    काठमाडौं । राप्रपाले प्रतिनिधिसभा सदस्य गीता बस्नेतको कम्पनीबाट सहकारीको रकम अपचलन भएको भन्ने विषयको छानबिन गर्न माग गरेको छ । पार्टीकी सांसद सहकारीको रकम अपचलनको बिषयमा जोडिएपछि पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले छानबिन गर्न माग गरेको प्रवक्ता मोहन श्रेष्ठले बताए ।

    उनले भने, ‘सञ्चारमाध्यममा सार्वजनिक भएकोमा सो सम्बन्धी छानबिनमा सघाउ पुर्याउन निजलाई निर्देशन दिइयो । साथै, उक्त घटनाका विषयमा नेपाल सरकारको जिम्मेवार निकायबाट निष्पक्ष छानबिन गर्न र सहकारीको रकम अपचलन सम्बन्धी त्यस्तै प्रकारका घटनामा संलग्न अन्य व्यक्तिहरुमाथि पनि स्वतन्त्र छानबिन गर्न राप्रपा सरकारसँग माग गर्दछ ।’

    बैठकले उपनिर्वाचनको उपनिर्वाचनको परिणाम पार्टीका लागि अनपेक्षित हुन पुगेको निष्कर्ष निकालेको छ । निर्वाचनको परिणाम पार्टीको पक्षमा नहुनुमा कमजोर संगठन प्रमुख कारण रहेकाले आगामी दिनमा संगठन सुदृढीकरण अभियान सन्चालन गर्ने निर्णय गरेको उनले बताए ।

    आन्दोलन र निर्वाचन दुवैका लागि संगठन आधारभूत विषय भएकाले आगामी दिनमा पार्टीलाई थप जागरुक र क्रियाशील बनाउन ४० बुँदे माग, पार्टीको नीति, विचार सिद्धान्त र जनजीविकाका विषयलाई आन्दोलनकै रुप दिइ आवश्यकता अनुसार कार्यक्रम तय गर्न र आ–आफ्नो क्षेत्रमा संगठन सुदृढीकरणको अभियान सन्चालन गर्न सबै प्रदेश र जिल्ला कार्यसमितिलाई निर्देश गरेको बताए ।