Category: राप्रपा

  • फागुन २५ को राप्रपाको आमसभा स्थगित, ‘राजा’ को स्वागतका लागि एयरपोर्टमा उत्रिन आह्वान

    फागुन २५ को राप्रपाको आमसभा स्थगित, ‘राजा’ को स्वागतका लागि एयरपोर्टमा उत्रिन आह्वान

    काठमाडौं । राप्रपाले फागुन २५ गते काठमाडौंमा गर्ने भनेको आमसभा स्थगित गरेको छ । आज बसेको केन्द्रीय पदाधिकारीको बैठकले पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा विमानस्थलमा उत्रिन आह्वान गरेको हो ।

    बैठकले गत फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा देशबासीका नाममा गरेको सम्बोधनको स्वागत गरेको प्रवक्ता मोहन श्रेष्ठले बताए ।

    उनले भने, पोखराबाट राजाको उक्त सन्देश पछिको पहिलो काठमाडौं फिर्ती सवारीमा नागरिक समाजबाट हुने स्वागत कार्यक्रमलाई ध्यानमा राख्दै यही फागुन २५ गते काठमाडौँमा पार्टीले आयोजना गरेको पूर्वनिर्धारित आमसभा स्थगित गर्ने र राजाको स्वागतार्थ त्रिभुवन विमानस्थलमा भेला हुन पार्टीपंक्ति र आम जनसमुदायलाई आह्वान गरिएको छ ।’

  • राप्रपा छाडेर राप्रपा नेपालमा प्रवेश गरिन् अन्जना रावल, कमल थापाले बनाए सहमहामन्त्री

    राप्रपा छाडेर राप्रपा नेपालमा प्रवेश गरिन् अन्जना रावल, कमल थापाले बनाए सहमहामन्त्री

    काठमाडौं । पछिल्लो समय राप्रपाको महिला संगठनको अध्यक्ष पदबाट राजीनामा दिएर राजावादी अभियानमा क्रियाशिल अन्जना शाह रावल राप्रपा नेपालमा प्रवेश गरेकी छिन् ।

    आज राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टी कार्यालय सिफलमा आयोजित कार्यक्रममा रावललाई स्वागत गरे ।

    थापाले सबै राजाबादी , हिन्दुबादी र संघीयता बिरोधी एक ठाउँमा आएर भ्रष्ट व्यवस्था र शासकको विकल्प खोज्न सडकमा आउनुपर्नेमा जोड दिए ।

    दलहरुकै असक्षमता र असफलताको कारण अब संघीय, धर्मनिरपेक्ष , गणतन्त्रको आयु सकिएको र धराशायी भएको उनको टिप्पणी थियो ।

    प्रबेशी अन्जना शाह रावलले राजसंस्था र हिन्दुराष्ट्रको एजेन्डाको सुत्रधार कमल थापा भएको र कमल थापालाई कमजोर बनाएर घेराबन्दी गराएर एजेन्डा स्थापित हुन नसक्ने हुँदा कमल थापा नेतृत्वको राप्रपा नेपाललाई सहयोग गर्न, एजेन्डा स्थापित गर्न राप्रपा नेपालमा आबद्ध भएको बताइन् ।

    रावललाई सहमहामन्त्रीको जिम्मेवारी दिइएको पार्टी केन्द्रिय सचिवालयले जनाएको छ ।

  • राजा माग्दै राप्रपाको विशाल मोटरसाइकल र्‍याली, नारायणहिटी अगाडि प्रदर्शन (१० तस्बिर)

    राजा माग्दै राप्रपाको विशाल मोटरसाइकल र्‍याली, नारायणहिटी अगाडि प्रदर्शन (१० तस्बिर)

    काठमाडौं । राजसंस्था पुन:स्थापनाको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले विशाल मोटरसाइकल र्‍याली निकालेको छ । अध्यक्ष राजेन्द्र लिङदेनले र्‍यालीको नेतृत्व गरेका छन् ।

    राप्रपाले राजसंस्था पुन:स्थापना, प्रदेश खारेजी, हिन्दू राज्य र भ्रष्टाचार अन्त्यको माग गर्दै र्‍याली आयोजना गरेको हो । बबरमहलबाट निस्किएको र्‍याली दरवारमार्ग पुगेको छ । नारायणटिही दरवारको दक्षिण गेट अगाडि राप्रपाले प्रदर्शन गरिरहेको छ ।

    अध्यक्ष राजेन्द्र लिङदेन राष्ट्रिय झण्डा ठड्याएको मोटरसाइकल आफैंले चलाएर दरवारमार्ग पुगे । मोटरसाइकलको पछाडि उनले एक कार्यकर्तालाई चढाएका थिए । र्‍यालीमा राप्रपाका अन्य शीर्ष नेता पनि सहभागी छन् ।

  • रास्वपा प्रवक्ताको जिम्मेवारीमा फर्किए मनिष झा

    रास्वपा प्रवक्ताको जिम्मेवारीमा फर्किए मनिष झा

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झा कार्यवाहक प्रवक्ताको जिम्मेवारीमा फर्किएका छन् ।

    केही समयलाई अध्ययन बिदा बसेका झा आजदेखि पुनः जिम्मेवारीमा फर्किएका हुन् ।

    उनले भनेको छन्, ‘म केही सप्ताहको अध्ययन बिदा पश्चात आजबाट राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवक्ता (कार्यवाहक)को जिम्मेवारीमा फर्किएको छु ।’

    झा बिदामा बसेपछि कार्यवाहक प्रवक्ताको भूमिका सहप्रवक्ता प्रतिभा रावललाई दिइएको थियो ।

  • अहिलेको राजनीतिक व्यवस्थाले देशलाई असफल बनायो : राप्रपा अध्यक्ष लिङ्देन

    अहिलेको राजनीतिक व्यवस्थाले देशलाई असफल बनायो : राप्रपा अध्यक्ष लिङ्देन

    रुपन्देही । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान राजनीतिक व्यवस्थाले देशलाई असफलतातर्फ धकेलेको आरोप लगाएका छन् ।

    आज बुटवलमा राप्रपाले आयोजना गरेको बृहत् आमसभालाई सम्बोधन गर्दै मुलुकलाई अध्यादेशको भरमा चलाउन खोजिएको, तर जनताको असन्तोषलाई बेवास्ता गरिएको बताए ।

    “देशमा उजुरी गर्न पाइन्छ, तर कारबाही हुँदैन । यस्तो व्यवस्थाले अब कुनै हालतमा काम गर्ने छैन,” उनले टिप्पणी गरे । उनले नेपालका लागि वर्तमान संघीयता असफल रहेको भन्दै प्रदेश व्यवस्था खारेज गर्नुपर्ने, संसदलाई पुनः समानुपातिक बनाउने, तथा निर्वाचित प्रधानमन्त्रीलाई दुई कार्यकालसम्म सीमित गर्नेजस्ता प्रस्ताव अघि सारे । “नेपाल जस्तो सानो देशमा यति धेरै जनप्रतिनिधि पाल्न सकिँदैन, अन्य तहहरूमा कटौती गर्नुपर्छ,” उनले जोड दिए ।

    अध्यक्ष लिङ्देनले भ्रष्टाचार संस्थागत भएको, राजनीतिक दलहरू स्वार्थमा लिप्त भएको, तथा जनताको अवस्था झनै दयनीय बनेको बताएका छन्। “देशमा हिजोदेखि नै भ्रष्टाचार थियो, तर अहिले झन् संस्थागत बनाइएको छ,” उनले भने ।

    बिदेसिएका युवाको अवस्था दर्दनाक रहेको उल्लेख गर्दै उनले सरकारले युवाहरूलाई स्वदेशमै रोजगारी सिर्जना गर्न नसकेको आरोप लगाए । “हामीले पर्खेर बस्नु भनेको देश बरबादीतर्फ जानु हो,” उनले चेतावनी दिए। साथै, उनले वैदेशिक रोजगारीमा जाने नेपालीहरूको मृत शरीर स्वदेश फर्कँदा राजनीतिक दलहरूले जस लिने प्रवृत्तिको आलोचना गरे ।

    अध्यक्ष लिङ्देनले पार्टी संगठन विस्तार गर्दै आगामी दिनमा देशभर शक्ति प्रदर्शन गर्ने तयारी गरिरहेको संकेत दिए ।

    अध्यक्ष लिङ्देनले नेपालमा राजसंस्थाको पुनः स्थापना हुनुपर्ने तर कार्यकारी अधिकार निर्वाचित प्रधानमन्त्रीलाई दिनुपर्ने धारणा राखे। “राजा रहनुपर्छ, तर प्रधानमन्त्री जनताबाट निर्वाचित हुनुपर्छ, जसलाई दुई कार्यकालभन्दा बढी बस्न नपाइने व्यवस्था ल्याउनुपर्छ,” उनले बताए ।

    नेपालको परराष्ट्र नीतिबारे बोल्दै उनले कुनै पनि देशको प्रभावमा नपरी स्वतन्त्र नीति अवलम्बन गर्नुपर्नेमा जोड दिए। “प्रधानमन्त्री चीन जाओस् या अमेरिका, उनीहरू कुनै देशका कालिन्दा होइनन्,” उनले स्पष्ट गरे। सभामा राप्रपाका अन्य नेताहरूले पनि आ(आफ्ना विचार राखेका थिए ।

  • पूर्वराजाको आह्वानपछि जोशिएको राप्रपा- बुटबलमा शनिबार शक्ति प्रदर्शन गर्ने

    पूर्वराजाको आह्वानपछि जोशिएको राप्रपा- बुटबलमा शनिबार शक्ति प्रदर्शन गर्ने

    रूपन्देही । राष्ट्रिय प्रजातन्त्र पार्टी लुम्बिनीले फागुन १७ गते शनिबार प्रदेशस्तरीय आमसभा बुटवलमा गर्ने भएको छ । ट्राफिक चोकमा गरिने यो कार्यक्रममा राप्रपाले शक्ति प्रदर्शनसमेत गर्ने भएको छ ।

    बिहीबार बुटवलमा पत्रकार सम्मेलन गरेर राप्रपाले शनिबार आयोजना गर्ने कार्यक्रमबारे जानकारी दिएको छ ।

    प्रदेश अध्यक्ष प्रदीप उदयले सातै प्रदेशमा यस्तो जनसभा गरिरहेको र बुटवलमा प्रदेशको शक्ति प्रदर्शन गरिने र पार्टीका सबै शीर्ष नेताहरूले सम्बोधन गर्ने जनाए ।

    ‘सरकारविरूद्वको खबरदारी हो, विभिन्न क्षेत्रबाट मोटरसाइकल र्याली पनि गरिने छ, देशमा बढेका विकृति र विसंगतिविरूद्वको अभियान राप्रपाले सुरू गरेको ।

    यसलाई जनजागरणका रूपमा लिएका हौं’, उनले भने, ‘मुलुकले निकास खोजेको छ, सबै अट्ने नयाँ समझदारी गरेर अगाडि जानुपर्छ । राष्ट्रियता संकटमा परेकोले सबै जाग्न जरुरत छ ।’

    उदयले अहिलेको गणतन्त्र र प्रदेश संरचना नै नमानेको तर यही संविधानलाई मानेर आन्दोलन गरेको बताए ।

    कार्यक्रममा केन्द्रीय सल्लाहकार समिति अध्यक्ष तथा पूर्वमन्त्री निरन्जन थापाले देशमा अहिलेको अवस्थाले धेरैलाई चिन्ता थपेकोले पार्टीले यस्तो अभियान थालेको बताएका छन् ।

    ‘राजा ज्ञानेन्द्र शाहबाट सम्बोधनका क्रममा मेलमिलापको स्पष्ट कुरा आएको छ, प्रष्ट कुरा बाहिर ल्याएको समयमा केही गलत व्याख्या भएको तर देशलाई निकास दिन तयारी । राजासहितको व्यवस्था देशमा जरुरत रहेको छ’, उनले भने । थापाका अनुसार ज्ञानेन्द्र शाहलाई जनमतका आधारमा नहटाइको उनको तर्क थियो ।

    ‘यो मुलुकमा राजसंस्था चाहिन्छ, हिन्दू राज्य चाहिन्छ भनेर हामीले पहिलेदेखि नै भन्दै आएका छौ, त्यसैलाई आधार बनाएर काम गरेका छौ’, उनले भने ।

    १७ गतेको कार्यक्रममा केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देन, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान, धवलशमशेर राणा, ज्ञानेन्द्र शाही सहितका शीर्ष नेताहरूले सम्बोधन गर्ने राप्रपाले जनाएको छ ।

     

  • संसदमा राप्रपा- राजालाई स्पेस दिउँ, गणतन्त्रमा भइरहेको लुटतन्त्रको विरोध गरिराख्छौं (भिडिओ)

    संसदमा राप्रपा- राजालाई स्पेस दिउँ, गणतन्त्रमा भइरहेको लुटतन्त्रको विरोध गरिराख्छौं (भिडिओ)

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले गणतन्त्रको विरोध गर्नु प्रजातन्त्रको विरोध गर्नुजस्तो भाष्य बनाउन खोजिएको बताएका छन् ।

    आइतबार प्रतिनिधिसभा बैठकमा लिङ्देनले आफू निरन्तर गणतन्त्रको विरोधमा उभिरहने भन्दै गणतन्त्रको विरोध गर्नु प्रजातन्त्रको विरोध गर्नुजस्तो भाष्य बनाउन खोजिएको बताए । पूर्वराजालाई कुनै नै कुनै स्पेस दिनुपर्ने र राजासहितको प्रजातन्त्र हुनुपर्छ भन्ने मान्यता राप्रपाको रहेको उनले बताए ।

    राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले विदेशीको बुई चढेर ल्याएको गणतन्त्र लुटतन्त्रमा परिणत हुन्छ भने निरन्तर विरोध गरिराख्ने बताए ।

    त्यस्तै लिङदेनले पाथीभरामा केबलकार निर्माणको विषयलाई लिएर ताप्लेजुङको फुङलिङ क्षेत्र अशान्त रहेको भन्दै राजनीतिक दलले अन्देखा गरिरहेको र व्यापारिक स्वार्थका लागि भाइ–भाइ लडाउने काम भएको आरोप लगाए ।

    उनले पाथीभरामा केबलकार निर्माणलाइ रोक्दै समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराए ।

  • पूर्वराजाको आह्वानपछि जाग्यो राप्रपा, पोखरामा विशाल सभा (भिडिओ)

    पूर्वराजाको आह्वानपछि जाग्यो राप्रपा, पोखरामा विशाल सभा (भिडिओ)

    काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले गरेको आह्वानलाई साथ दिँदै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सडकमा निस्किएको छ । आज पोखरामा राप्रपाले राजसंस्था पुन:स्थापनको मागसहित विशाल र्‍याली आयोजना गर्‍यो ।

    राप्रपाको आजको विरोधसभा पूर्वनिर्धारित नै थियो । तर, पूर्वराजाले प्रजातन्त्र दिवसको अवसरमा गरेको सम्बोधनपछि यो आमसभाको महत्व र सान्दर्भिकता बढेको नेताहरूले बताएका छन् । राजाले खोजेको साथ दिन आफूहरू तयार रहेको उनीहरूको भनाइ छ ।

    आमसभापूर्व अध्यक्ष राजेन्द्र लिङदेनले नेतृत्व गरेको विशाल र्‍यालीले नगरपरिक्रमा गरेको थियो । र्‍यालीमा पार्टीका हस्ती नेताहरूको सहभागीता रह्यो । र्‍यालीका क्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै अध्यक्ष लिङदेनले राप्रपा अब सडकमा आएको र नयाँ चरणको आन्दोलनको सुरूवात भएको उद्घोष गरे ।

    उनले भने, ‘यो भर्खरै सुरुवात भएको छ । कास्टिङ मात्र हो । अब हामी निर्णायक संघर्षमा होमियौं ।’

    राजाको आह्वानलाई मजबुत बनाएर लैजाने निर्णय पार्टीले निर्णय गरेको उनले उल्लेख गरे ।

    ‘राजाको आह्वानले हामीलाई अझ उत्साह प्रदान गरेको छ । सरकारलाई साथ दिएर जाने निर्णय गरेका छौं । यो कार्यक्रमले राजाको आह्वानलाई मुर्तरुप दिन बाटो खुला गर्छ । आन्दोलन प्रारम्भ भयो,’ उनले थपे ।

    राजाको आह्वानपछि बल प्राप्त भएको उनले बताए ।

    पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले अवस्था र व्यवस्था परिवर्तनको सुरूवात भएको घोषणा गरे ।

  • राप्रपाले सातै प्रदेशमा भण्डाफोर सभा गर्ने

    राप्रपाले सातै प्रदेशमा भण्डाफोर सभा गर्ने

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले सातै प्रदेशमा व्यवस्था र सरकारविरुद्ध भण्डाफोर सभा गर्ने भएको छ।

    महामन्त्री राजेन्द्र गुरुङ सातै प्रदेशमा भण्डाफोर सभा गर्ने मिति तय भएको बताएका छन्।

    फागुन ९ गते पोखरा, १७ गते बुटवल र १८ गते धनगढी, २१ गते जनकपुर, २५ गते काठमाडौँ र २७ गते सुर्खेतमा प्रदेशस्तरीय भण्डाफोर सभा गर्न लागिएको बताए।

    कोशी प्रदेशमा भने मिति टुंगो लाग्न बाँकी रहेको जनाएको छ।

  • पूर्वराजाको आह्वानपछि जुर्मुराए राजावादी, ज्ञानेन्द्र शाही भन्छन्- अब जनमत संग्रहका लागि संघर्ष

    पूर्वराजाको आह्वानपछि जुर्मुराए राजावादी, ज्ञानेन्द्र शाही भन्छन्- अब जनमत संग्रहका लागि संघर्ष

    काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसका सन्दर्भमा दिएको शुभकामना सन्देशले राजावादी वृत्तमा सकारात्मक तरंग फैलिएको छ । अब राजतन्त्र पुन:स्थापनका लागि निर्णायक संघर्ष हुने भन्दै उनीहरू जुर्मुराएका छन् ।

    आफ्नो शुभकामना सन्देशमा पूर्वराजाले ‘देश जोगाउका लागि आफूलाई साथ दिन’ आह्वान गरेका थिए । आफूले गरेको त्यागलाई कमजोरी नठान्न पनि उनले दलहरूलाई चेतावनी दिएका छन् ।

    पूर्वराजाको शुभकामना सन्देशमा भनिएको छ, ‘हामीले पहिले पनि राष्ट्रिय समस्या सुल्झियोस् भनेर त्याग गरेका हौं । नेपालको उन्नतिका लागि हामीबाट अरु के-के त्याग गर्नुपर्ने हो, हामी तयार छौं । अब समय आयो । राष्ट्र जोगाउने हो भने, राष्ट्रिय एकता कायम राख्ने हो भने देशको समृद्धि र उन्नतिका निमित्त हामीलाई साथ दिन सबै देशवासीहरूलाई आह्वान गर्छौं ।’

    पूर्वराजाबाट देशको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै आफू फेरि शक्तिमा फर्किने चाहना अभिव्यक्त भएको यो पहिलोपटक भने होइन । विभिन्न शुभकामना मन्तव्यहरूमा उनले घुमाउरो तरिकाले यस्तो चाहना मुखरित गरिरहेका हुन्छन् । तर, अरुबेला मौन बस्छन् । यिनै वक्तव्यवाजीभन्दा बाहेक राजतन्त्र पुन:स्थापनाका लागि उनले आफ्नोतर्फबाट कुनै ठोस प्रयास अघि बढाएको पाइँदैन ।

    यसपालिको वक्तव्यमा भने उनले मुर्तरूपमा नै आफूलाई साथ दिन आह्वान गरेकाले राजावादी क्याम्प उत्साहित बनेको छ । ‘अब राजाले केही गर्दैछन्’ भन्ने भाव राजावादीहरूमा पैदा भएको छ ।

    पूर्वराजाको यो अभिव्यक्तिलाई साहसिलो सम्बोधनको रूपमा लिन्छन् राप्रपाका पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनी ।

    उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘फागुन ७ नेपालीहरूको लागि ऐतिहासिक महत्व र उपलब्धिको दिन हो । यस सन्दर्भमा राजा ज्ञानेन्द्रबाट राष्ट्रियता, प्रजातन्त्र र जनताको पक्षमा भएको साहसिलो सम्बोधन प्रशंसनीय र सबै पक्षबाट मननीय छ ।’

    पूर्वराजाको यो अभिव्यक्तिपछि राष्ट्रियता, प्रजातन्त्र, जनताको हित र सर्वोच्चतालाई केन्द्रबिन्दुमा राखेर गम्भीर छलफल गर्न चाँडै राप्रपा कार्यसम्पादन समितिको बैठक राख्नुपर्ने उनको माग छ ।

    राप्रपा महामन्त्री डा. धवलशम्शेर राणाले पनि पूर्वराजाको सम्वोधनलाई समर्थन जनाउँदै स्टाटस लेखेका छन् ।

    ‘राष्ट्रिय एकता सुदृढ गरी देश बचाउने र बनाउने महत्वपूर्ण अभिभारा आजको पुस्ताको कॉधमाथि इतिहासले सुम्पिएको छ,’ उनी लेख्छन्, ‘यसै क्रममा प्रजातन्त्रलाई सुदृढ गर्ने र प्रजातन्त्रको सार्थक प्रतिफल जनतासमक्ष पुर्‍याउने उद्देश्यसाथ देशलाई संकटबाट निकास दिन राजाबाट सम्पूर्ण नेपालीको साथ खोजिबक्सेको छ, त्यसप्रति हाम्रो पार्टी राप्रपा र मेरो पनि पूर्ण समर्थन छ ।’

    राप्रपाको केन्द्रीय कार्यसमितिले ‘अवस्था बदल्न व्यवस्था बदलौं’ भन्ने मूल नारासहित निषेधको राजनीतिलाई अन्त्य गर्दै युगानुकूल नेपालको पहिचान र गौरव कायम गरौं भने लक्ष्य लिई आन्दोलनको थालनी गरिसकेको र यसलाई निरन्तररूपमा चलाइने उनको भनाइ छ ।

    राणा थप्छन्, ‘राजाको पछिल्लो आव्हानप्रति संवेदनशील हुँदै देशलाई गम्भीर संकटबाट बाहिर निकाल्न आजकै दिनबाट सबै पार्टी, समुह र नेपालीले मिलेर अघि बढौं ।’

    राप्रपा नेपालका अध्यक्ष कमल थापाले पनि देश बचाउन र बनाउनका निम्ति भएको आह्वानप्रति विनाआग्रह र पूर्वाग्रह सहयोगको हात बढाउन सबैसँग आग्रह गरेका छन् ।

    उनले भनेका छन्, ‘नेपालको एकीकरण, प्रजातन्त्रको स्थापना र आधुनिकीकरण राजा र जनताको साझा प्रयासबाट हुँदै आएको इतिहास साक्षी छ । १८ वर्षअघि षड्यन्त्रपूर्वक टुटाइएको राजा र जनताबीच एकताको धागोलाई पुनः जोडेर देश बचाउन र बनाउन आजको दिनले प्रेरणा देओस् ।’

    पछिल्लो समय नवराजावादीका रूपमा उदाएका व्यवसायी दुर्गा प्रसाईंले पनि पूर्वराजालाई समर्थन जनाउँदै स्टाटस लेखेका छन् । ‘राजा आफैंले समेत तदारुकता देखाएको बेला’ सबै जुट्नुपर्ने उनको मत छ ।

    प्रसाईंले लेखेको स्टास यस्तो छः

    अब भएन भनेर बस्ने होइन, राजा आफैँले समेत तदारुकता देखाएको यो क्षण हामी सबै जुट्ने बेला हो । हेर्दा सुन्दर लागेर मिठो होला भनेर टिपेको फल विषाक्त निस्किएको थाहा पाएपछि पनि खायौं भने असर गर्छ नै । त्यस्तै यो व्यवस्था पनि मिठो, पौष्टिक सोचेको तर विषाक्त फल निस्कियो । यो बिशाक्त व्यवस्था फालेर सारा नेपाली अट्ने, सिङ्गो नेपाल देखिने, राजा र बैद्दिक सनातन हिन्दू धर्मसहितको संवैधानिक राजसंस्था र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, जनतालाई सेतो हात्ती बनेको प्रदेश खारेज, समानुपातिक खारेज, धर्मनिरपेक्षता खारेज गरी हिन्दूराष्ट्रसहित को सुन्दर शान्त परिस्कृत नेपाल निर्माणको महाअभियानमा सबै जोडिन म सबै नेपाली नागरिक हरूलाई पुनः आव्हान गर्न चाहान्छु ! जय देश !’

    राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले हिजै फेसबुकमार्फत सबैलाई तयारी अवस्थामा रहन आह्वान गरेका छन् ।

    उनी लेख्छन्, ‘प्रजातान्त्र दिवसको उपलक्ष्यमा शुभ सन्देश प्राप्त जो- जहाँ छौं त्यतै स्थानमा रहनका साथै तयारी अबस्थामा रहन अनुरोध गर्दछौं । यो सन्देश सबैमा पुर्‍याउन अपील गर्दछौं ।’

    शाहीको यो स्टाटसको आशय के हो त ? हामीले उनैलाई सोध्यौँ । जवाफमा उनले अब राजतन्त्र र गणतन्त्रको छिनोफानोका लागि जनमत संग्रह गराउन निर्णायक दबाब दिइने बताए ।

    ‘पूर्वराजाको अभिव्यक्ति यत्तिकै हचुवामा आएको होइन । पूर्वराजालाई साथ दिन अब हामी अगाडि बढ्ने हो । संसददेखि सडकसम्म हामी जनमतसंग्रहको आवाज उठाउँछौं । यसको छिनोफानो हुनैपर्छ,’ उनले नेपाल प्रेससँग भने ।

    उनले राजावादी सबै शक्ति र गणतन्त्रवादी पार्टीहरूमा रहेका राजाका शुभेच्छुकहरू एक ठाउँमा आएर आन्दोलनको आँधिबेहेरी ल्याउने उद्घोष गरे ।

  • राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीको अभिव्यक्तिप्रति राष्ट्रिय सभाबाट खेद प्रस्ताव पारित (भिडिओ)

    राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीको अभिव्यक्तिप्रति राष्ट्रिय सभाबाट खेद प्रस्ताव पारित (भिडिओ)

    काठमाडौं । प्रतिनिधि सभाका सदस्य एवम राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)को अभिव्यक्तिप्रति राष्ट्रिय सभाले खेद प्रस्ताव पारित गरेको छ ।

    आइतबार दिउँसो बसेको राष्ट्रिय सभा बैठकले शाहीले राष्ट्रिय सभाको कामकारवाहीबारे सामाजिक सञ्जाल फेसबुकमा दिएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै खेद प्रस्ताव पारित गरेको हो ।

    पारित खेद प्रस्तावमा भनिएको छ, ‘पारित भएको विधेयकको सम्बन्धमा यथार्थ अवस्था अध्ययन नै नगरी निज माननीय सदस्यले कपोकल्पित, झुठ र यथार्थ भन्दा बाहिर गई एक सभाको सदस्यले अर्को सभाको कामकारबाही र सभाका माननीय सदस्यहरूको योग्यता, क्षमता र उमेरको सम्बन्धमा समेत अत्यन्त गैरजिम्मेवारपूर्ण ढङ्गले आफ्नो धारणा व्यक्त गर्नुभएको देखिएकोले उक्त अभिव्यक्तिप्रति यो सभा खेद प्रकट गर्दछ । आइन्दा आफ्ना विचार सम्प्रेषण गर्दा सुझबुझपूर्ण, वस्तुनिष्ठ र तथ्यपरक हुन निज माननीय सदस्यलाई यो सभा निर्देशनसमेत दिन्छ ।’

    बैठकले सांसद शाहीलाई आगामी दिनमा अभिव्यक्ति दिदाँ गम्भिर भएर दि पनि निर्देशन दिएको छ । निर्देशनमा भनिएको छ, ‘आइन्दा आफ्ना विचार सम्प्रेषण गर्दा सुझबुझपूर्ण, वस्तुनिष्ठ र तथ्यपरक हुन निज माननीय सदस्यलाई यो सभा निर्देशनसमेत दिन्छ ।’

    ‘राप्रपाका प्रमुख सचेतक शाहीले सामाजिक सञ्जाल फेसबुकमा ‘राष्ट्रिय सभा वृद्धाश्रम भएपछि कसको के नै लाग्छ र’ भन्दै अभिव्यक्ति दिएका थिए । उनले राष्ट्रिय सभाको कुनै औचित्य नरहेको भन्दै वृद्धाश्रम जान लागेका बाजेलाई धन्काउने थलो भएकाले राष्ट्रिय सभाको अन्त्य गर्नु नै अबको आवश्यकता भएको टिप्पणी गरेका थिए ।

    फेसबुकमा शाहीले यस्तो लेखेका थिए-

    राष्ट्रिय सभा नै वृद्धाश्रम भएपछि कसको के नै लाग्छ ? वृद्धाश्रममा जानुपर्ने आदरणीय बाजेहरू राष्ट्रिय सभामा भत्ता खान गएकाले कसैले पनि लाइक सेयर र सरकारले गरेका गलत गतिविधिहरूको कमेन्ट गर्न नपाउने मिडिया काउन्सिल विधेयक पढ्दै नपढी हुबहु पास गरेका छन् ।

    यो धर्तीका लागि केही दिनका पाहुना भएका बाजेहरूले आउने पुस्ताहरूको उज्वल भविष्य कहाली लाग्दो अन्धकार बनाइदिए । श्रीपेच फुकालेर सडकमा गएका राजा त्रिभुवन र राणा शासनका विरुद्धमा लडेका शहीदहरूको यिनीहरूलाई पाप लाग्छ। बोल्न र लेख्न पाउनुपर्छ भन्दै बलिदान दिएका शहीदहरुको पाप लाग्छ ।

    जीवनभरि स्वतन्त्रताका लागि लड्ने विश्वश्वर प्रसाद कोइरालाको पाप लाग्छ। जनताले लेख्न र बोल्न पाउनुपर्छ भन्दै त्रिशुलीमा हत्या गरिएका मदन भण्डारीको यिनीहरूलाई पाप लाग्छ । यो राष्ट्रिय सभा को कुनै औचित्य छैन । वृद्रा आश्रम जान लागेका बाजेहरु थन्काउने र पार्टीका कार्यकर्ताहरुलाई मनाउने थलो बन्यो राष्ट्रिय सभा। त्यसैले राष्ट्रिय सभाको अन्त्य गर्नु नै अबको आवश्यकता हो।

     

  • राप्रपाको आरोप- ओली सरकारको ट्याग लाग्यो भने बलात्कार गरे पनि खुलमखुला हिँड्न पाइन्छ (भिडिओ)

    राप्रपाको आरोप- ओली सरकारको ट्याग लाग्यो भने बलात्कार गरे पनि खुलमखुला हिँड्न पाइन्छ (भिडिओ)

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाही ड्युटीमा रहेका प्रहरीलाई कुट्ने अनेरास्ववियुका नेता र बालिकालाई घरेलु कामदार बनाइ शोषणा गरेकी लुम्बिनी प्रदेशका सांसद रेखा शर्मालाई उन्मुक्ति दिएकोप्रति आपत्ति जनाएका छन् ।

    प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले एमाले अध्यक्ष ओली नेतृत्वको सरकार आफ्नालाई जोगाउन केन्द्रित भएको आरोप लगाए ।

    उनले भने, ‘कानून दुई वटा बनाउनुस्, एउटा ओली सरकारको कानून, ओली सरकारको ट्याग लाग्यो भने बलात्कार गरे पनि यो देशमा खुलमखुला हिँड्न पाइन्छ । अर्को बोलेकै आधारमा कारबाही हुन्छ भन्ने ।’

    उनले मानव तस्करीमा जोडिएका एमाले सांसद लीलाबल्लभ अधिकारीलाई पनि उन्मुक्ति दिएकोप्रति आपत्ति जनाए ।

    सांसद शाहीले ओली सरकारको ट्याग लाग्नासाथ अदालतभन्दा पनि ठूलो भएको टिप्पणी गरे ।

  • रविको बचाउ गर्दै लिङ्देनले प्रधानमन्त्रीलाई सोधे- तपाईंको पार्टीको मान्छेले एक दिन पनि हिरासत बस्न नपर्ने ? (भिडिओ)

    रविको बचाउ गर्दै लिङ्देनले प्रधानमन्त्रीलाई सोधे- तपाईंको पार्टीको मान्छेले एक दिन पनि हिरासत बस्न नपर्ने ? (भिडिओ)

    काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले रवि लामिछानेलाई ८४ दिन हिरासतमा राखेर सत्ता निकटलाई जोगाएकोप्रति असन्तुष्टि जनाएका छन्।

    प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सत्ताको दुरुपयोग नगर्न माग गरे।

    उनले भने, ‘एउटा पार्टीको अध्यक्ष ८४ दिन प्रहरीको हिरासतमा बस्नुपर्यो। त्यही प्रकृतिको मुद्दामा सहकारीको सञ्चालक भएको तपाईंको पार्टीको मान्छेले एक दिन पनि हिरासत बस्न नपर्ने, मैले रवि लामिछानेले हिनामिना गर्नुभएको छैन भनेर वकालत गर्दिनँ। कानून त सबैलाई बराबरी लाग्छ होला नि। उहाँले ८४ दिन हिरासत बस्नु पर्ने, अरु अदालतमा हाजिर भएर घर जानुपर्ने कस्तो व्यवस्था हो? ‘

    उनले रवि लामिछाने मात्रै नभइ प्रधानमन्त्रीसहित सबैको सम्पत्ति छानविन गर्न माग गरे।

    उनले भने, ‘सरकारले उहाँमाथि सम्पत्ति शुद्धिकरणको मुद्धा चलायो। छानविन हुनु हुन्न भन्ने कुार होइन। तर अरु गर्नुपर्ने कि नगर्नेरु प्रधानमन्त्री र प्रधानमन्त्री वरपरको मान्छेको गर्नुपर्ने कि नपर्नेरु गरौं न। मेरो पनि गरौं। अहिले प्रहरी प्रमुखमाथि पनि छानविन हुनुपर्छ सत्ताको कुन प्रकारको दुरुपयोग हो भन्नेकुरा नमूना पनि हो। छानविन भन्दापनि सोध्नुपर्यो। उहाँले रवि लामिछाने गृहमन्त्री हुँदा राज्यव्यवस्था समितिमा आएर उहाँमाथि कुनै उजुरी र मुद्दा छैन भन्नेभएको होइन। अहिले मुद्दा चलायो कुन कुरा सत्य हो।’

  • राप्रपामा रेखा थापाले बदलिन् गुट, लिङ्देनबाट फड्केर धवलको कित्तामा

    राप्रपामा रेखा थापाले बदलिन् गुट, लिङ्देनबाट फड्केर धवलको कित्तामा

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को पछिल्लो केन्द्रीय समिति वैठकका क्रममा पार्टीभित्रको गुटबन्दी छताछुल्ला भयो । महामन्त्री डा. धवलशम्शेर राणाले अध्यक्ष राजेन्द्र लिङ्देनलाई आरोपित गर्दै लिखित विचार राखेपछि वैठक तरंगित भएको थियो ।

    राणा राप्रपाको आगामी महाधिवेशनमा अध्यक्षका आकांक्षी हुन् । त्यसका लागि वातावरण बनाउन उनले अहिल्यैबाट कसरत सुरू गरेको संस्थापनपक्षीय केन्द्रीय सदस्यहरूको बुझाइ छ । यद्यपि, पार्टी वैठकमा औंलामा गन्न सकिने केन्द्रीय सदस्यहरूमात्र धवलको पक्षमा खुले । उनीहरूमध्ये एक थिइन् रेखा थापा । पार्टीको कार्यसम्पादन समिति सदस्यसमेत रहेकी रेखाले आफूले गुट बदलेको स्पष्ट जनाउ बैठकमा दिइन् ।

    राप्रपाभित्र खासै हाइप्रोफाइल नभए पनि चर्चित अभिनेत्री भएका कारण रेखाको विषयमा चासो हुने गर्छ । उनले गत महाधिवेशनमा लिङ्देनको प्यानलबाट महिला महामन्त्रीमा उम्मेदवारी दिएकी थिइन् । तर, कमल थापाको प्यानलबाट उठेकी कुन्ती शाहीसँग पराजित भइन् । कुन्तीले २००८ मत ल्याएर चुनाव जित्दा रेखा १६४० मत ल्याएर दोस्रो भएकी थिइन् । कालान्तरमा अहिले कुन्ती र रेखा दुवै लिङदेनविरोधि एउटै कित्तामा खडा हुन पुगेका छन् ।

    लिङ्देनसँग रेखाको सम्बन्ध बिग्रिएको चाहीँ ठीक एक वर्ष भयो । गत वर्ष माघमा रेखा आफ्नो पहिलो सन्तानलाई जन्म दिनका लागि अमेरिका उडिन् । अमेरिका जाने विषयमा उनले पार्टीलाई जानकारी दिएकी थिइनन् । यो खबर मिडियामा आएपछि लिङ्देनले सार्वजनिक कार्यक्रममै टिप्पणी गरेका थिए ।

    उनले भनेका थिए, ‘एक जना चर्चित कलाकारले बेबी प्लान भनेर पोस्ट गर्नुभयो, प्लेन उडेको देखाएर अमेरिका भन्नुभयो । नानी जन्माउन अमेरिका । जीवनमा एउटा महिलाले पहिलोचोटि प्राप्त गर्ने सन्तान यो धर्तीमा जन्माउन चाहँदैन । ऊ नेपाली नहोस्, नेपाली नहुनुमा आफ्नो सन्तानको भविष्य देख्छ भने देश र राष्ट्रियताको अवस्था कहाँ छ ?’

    लिङदेनको यो टिप्पणीले रेखा आक्रोशित बनिन् । अमेरिकाबाटै उनले सामाजिक सञ्जालमार्फत पार्टी अध्यक्षलाई कडा जवाफ फर्काएकी थिइन् । उनले लिङदेनकी छोरी पनि अमेरिकामा बसिरहेको भन्दै लेखेकी थिइन्, ‘देशको माया हुनेहरुले आफ्नो सन्तालाई फिर्ता बोलाए हुन्थ्यो । किन अमेरिकामा राखेको ?’

    यही सवाल जवाफपछि बिग्रिएको सम्बन्धमा अहिलेसम्म सुधार आउन सकेन । अमेरिकाबाट फर्किएपछि रेखा पार्टीमा त्यति सक्रिय पनि छैनन् । उनी यदाकदा मात्रै बैठकहरूमा आउने गर्छिन् । स्रोतकाअनुसार अस्ति तीन दिनसम्म चलेको केन्द्रीय समिति बैठकमा रेखा ३५ मिनेटमात्रै बसेकी थिइन् । अध्यक्षको आलोचना गरिन् र फर्किइन् ।

    रेखाले लिङ्देनको कार्यशैलीमाथि प्रश्न उठाएकी थिइन् । साथै, समानुपातिक सांसद बनेका र लिङदेनले पार्टीको विभन्न निकायमा मनोनयन गरेका नेताहरुले उनीप्रति अनावश्यक भक्तीभाव देखाउने गरेको समेत आरोप लगाइन् । संगठन विभाग प्रमुखबाट धवल शम्शेरलाई हटाइएकोप्रति आलोचना गरिन् । आफू सन्तान जन्माउँदा अमेरिका गएको भनेर गरिएको टिप्पणी र बिरामी अवस्थामा धवलशम्शेरलाई जिम्मेवारीबाट हटाउने काम उस्तै भएको रेखाको टिप्पणी थियो ।

    ‘म बच्चालाई जन्म दिन अमेरिका जाने बेला आएको अभिव्यक्ति दु:खद थियो, तर मैले माइन्ड गरको छैन,’ उनले थपिन् ।

    अध्यक्ष लिङ्देन आफैँले रेखालाई लक्षित गरेर बैठकमा कुनै टिप्पणी गरेनन् । तर, संस्थापनपक्षीय केन्द्रीय सदस्य खुस्बु ओलीले रेखालाई जवाफ दिएकी थिइन् । उनले ३५ मिनेट बैठकमा बसेर नेतृत्वलाई मनलाग्दी भन्ने प्रवृत्ति ठिक नभएको भन्दै रेखालाई कटाक्ष गरिन् । खुस्बु पछिल्लो समय राप्रपामा उदाएकी युवा नेतृमा पर्छिन् ।

  • राप्रपा बैठक- अध्यक्ष लिङ्देनसहितको प्रतिवेदनमाथि छलफल जारी

    राप्रपा बैठक- अध्यक्ष लिङ्देनसहितको प्रतिवेदनमाथि छलफल जारी

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसमितिको बैठक आज पनि जारी छ।

    काठमाडौंको धुम्बाराहीस्थित एस.आर बैङ्क्वेटमा चलिरहेको बैठकमा हिजो पेस भएका सबै प्रतिवेदनमाथि छलफल चलिरहेको प्रवक्ता मोहन श्रेष्ठले बताए।

    हिजोबाट सुरु भएको बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देन राजनीतिक प्रतिवेदन, महामन्त्री एवं सचिवालय प्रमुख राजेन्द्र गुरुङले सचिवालयको प्रतिवेदन, कोषाध्यक्ष नीलकण्ठ काफ्लेले आर्थिक प्रतिवेदन पेश गरेका थिए।

    यस्तै, बैठकमा महामन्त्री डा.धवल शमशेर राणाले आन्दोलनसम्बन्धी कार्ययोजना पेश गरेका छन्। उनले अध्यक्षको चर्को आलोचनासहित १६ बुँदे राजनीतिक विचार पेस गरेका थिए।

    हिजोकै बैठकमा प्रदेश अध्यक्षहरुबाट आ-आफ्नो प्रदेशको प्रतिवेदन र केन्द्रीय निर्वाचन समितिको प्रतिवेदन पेश गरेका थिए।

  • राप्रपा बैठकमा महामन्त्री राणाको प्रश्न- गणतन्त्र सुदृढ गर्ने स्वीकारोक्तिसहित सरकारमा किन गयौं ?

    राप्रपा बैठकमा महामन्त्री राणाको प्रश्न- गणतन्त्र सुदृढ गर्ने स्वीकारोक्तिसहित सरकारमा किन गयौं ?

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समिति बैठकमा महामन्त्री डा. धवलशमशेर राणाले १६ बुँदे ‘आलोचनात्मक’ राजनीतिक धारणा प्रस्तुत गरेका छन् । राप्रपालाई यसअघि प्रचण्ड नेतृत्वको सरकारमा सहभागी गराइएको विषयमा उनले कडा टिप्पणी गरे ।

    बैठकमा लिखित रूपमै महामन्त्री राणाले राखेको प्रस्तावमा भनिएको छ, ‘राप्रपाको आस्था र विश्वास, एकता महाधिवेशनको म्याण्डेट बर्खिलाफ ‘संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढीकरण’ गर्ने भन्दै राप्रपा प्रचण्ड सरकारमा सहभागी भयो, सरकारमा सहभागी दलहरुको न्यूनतम साझा कार्यक्रमको भागीदार बन्यो । स्मरण रहोस्, न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार गर्न गठित कार्यदलले भने प्रस्तावनामा ‘लोकतन्त्रको सुदृढीकरण’ गर्ने भन्ने मस्यौदा मात्र प्रस्ताव गरेको थियो ।’

    सरकारमा भएको बेलामा पृथ्वी जयन्तीको दिन सरकारको तहबाट सार्वजनिक बिदा दिने निर्णय गर्नु गराउनु उपलब्धि भए पनि गणतन्त्र सुदृढीकरण गर्ने स्वीकारोक्तिसहित सरकारमा किन सहभागी भयौं ? भन्ने उनको प्रश्न थियो ।

    राप्रपाको आधारभूत मान्यता एवं महाधिवेशनको निर्णय लत्याएर किन पदमा गयौं ? आफैंले अनुमोदन गरेको न्यूनतम साझा कार्यक्रमबारे पार्टीलाई किन अन्धकारमा राख्यौं ? पार्टीको वैधानिक र औपचारिक निकायमा साझा कार्यक्रम प्रस्तुत र छलफल किन भएन ? यी र यस्ता गम्भीर प्रश्नहरु अनुत्तरित रहेको राणाले बताएका छन् ।

    पार्टी सरकारमा सहभागी हुन केन्द्रीय कार्य समितिले निर्णय गर्नुपर्ने वैधानिक व्यवस्था भए पनि गणतन्त्र सुदृढीकरण गर्ने निर्णयबारे निर्देशन समिति र केन्द्रीय कार्य समिति बेखबर बनाइएको उनको भनाइ छ ।

    ‘पूर्वको पाथीभरा देवीदेखि मठमन्दिर, देवीदेवता, धार्मिक ग्रन्थहरु समेत छोएर, आमाको रगतको कसम खाने उच्च नैतिक धरातलमा उभिएको हाम्रो दल, राजसंस्था पक्षधर दलको नेतृत्व कुर्सीकै बहानामा गणतन्त्रको समर्थक बन्छ र जनयुद्ध दिवसलाई मौन समर्थन गर्छ भन्ने अवस्था सपनामा पनि चिताउन नसकिने नियति हो’ उनले भनेका छन्, ‘रगत पसिना, यौवन र पार्टीको आदर्शका लागि जीवनसमेत उत्सर्ग गर्ने देशभरीका लाखौं नेता कार्यकर्ता तथा शुुभेच्छुकहरुको अगाडि अब हामी के बोल्ने ?’

    उनले सरकारमा गएपछि पार्टीको लोकप्रियता खस्किएको उल्लेख गर्दै स्थानीय तह उपनिर्वाचनको असफलता हासिल गरेको कुरालाई पनि जोडेका छन् । उनले आफू बिरामी हुँदा हठात संगठन विभाग प्रमुखबाट हटाइनु मानवीय, राजनीतिक र वैधानिक कुनै पनि दृष्टिबाट न्यायोचित नभएको गुनासो पोखेका छन् ।

    अबको बाटो

    समान विचारधारा भएका सबै व्यक्ति, समूह, संस्था, संगठन र दलहरुको एकतामा, सडक र सदनमध्ये अवस्था र आवश्यकता अनुरुप सडकको प्रभावकारी बाटो रोज्दै राजसंस्था, हिन्दु अधिराज्य पूनस्र्थापना गर्नअघि बढ्नुपर्दछ ।

    बेथिति, भ्रष्टाचार, नैतिकपतन र नैराश्यताबीच सुशासन कुन चरीको नाम भन्ने परिवेश छ । दैनिक २,६०० नागरिक विदेशिने क्रम जारी छ, पात्र र प्रणाली दुबै असफल छ ।

    देश बनाउन र बचाउन सडक तताउनुपर्छ भन्ने जनमत व्यापक छ । अन्य राजनैतिक दल, बुद्धिजीवी, पेशाकर्मीलगायत आम नागरिकबीच राजा र धर्मको पक्षमा समर्थन बढ्दो छ ।

    पार्टीभित्र सत्तत्तरै जिल्ला र आम नागरिकको तहमा ढिला नगरी सडक आन्दोलन गर्नुपर्दछ भन्ने हुटहुटी छ, निर्णायक आन्दोलनको पक्षमा निस्वार्थ समर्थन छ ।

    २०८० चैत २७ गते काठमाडौंमा सम्पन्न आन्दोलनको अनुभव र सफलताले समेत सोही दर्शाउँछ । पार्टीको एक आह्वानमा मेचीदेखि महाकाली सम्मका कर्मठ साथीहरु स्वतःस्फूर्त काठमाडौं जम्मा भएको विदितै छ ।

    पार्टीको लक्ष्य प्राप्त गर्न उत्साह, उर्जा र समर्पणभावका साथ देशभरीबाट जम्मा भएका सहयोद्धा साथीहरु आन्दोलन निर्णायक तहसम्म निरन्तर जानुपर्छ भन्ने पक्षमा स्पष्ट थिए । सरकारको ज्यादतीविरुद्ध जाइलाग्दा हाम्रा सार्थीहरु घाइते भए भने ठाकुरप्रसाद डाँगीले सहादत प्राप्त गर्नुभयो । तर, डाँगीलाई शहीद घोषणा गर्न न त सदनमा आवाज उठाइयोन त पार्टीबाट कुनै पहल नै भयो ।

    सडकमा राप्रपाको माग र खोजी भइरहेको बेला, राप्रपा निर्णायक नबने इतिहासले धिक्कार्ने छ । चिचीको पनि लोभ र पापाको पनि लोभ गर्ने बेला छैन, फलाम तात्तिएको बेला दत्तचित्त भएर सडककेन्द्रीत आन्दोलनमा होमिनुको विकल्प छैन ।

    राप्रपा सत्ताको फोहरी खेलमा लाग्दैन भन्ने आदर्श छाँटे पनि दोहोरो मापदण्ड, अन्तरविरोध, सत्य र इमान्दारीको अभावमा जनताको मनमा हामी स्थापित हुन सकेका छैनौं । मुद्दाको लोकप्रियता भोटमा परिणत गर्न सकेका छैनौं । त्यस मानेमा संघ, प्रदेश र स्थानीय तहका उपनिर्वाचनका असफलताहरु गम्भीर सूचक हो । जनताको मनमा बस्ने कि ? संग्रहालयको सजावट बन्ने भन्ने जनताको जनाउ हो ।

    जनता बद्लिएनन्भन्दै जिम्मेवारीबाट भाग्ने, जनतामाथि दोष थोपरेर गल्तीमाथि गल्ती गर्ने हामीसँग समय र सुविधा छैन । भनाइ र गराइ बीचको अन्तर मेटेर आफैं सच्चिनुको विकल्प छैन । समयको सन्देश आत्मसात गर्नु नै बुद्धिमानी हुनेछ । यसकारण नीति, सिद्धान्त र लक्ष्यप्रति कटिवद्ध कार्यकर्तालाई पार्टीको गहना मानेर सिर्जनात्मक सुझाव र आलोचनाको सम्मान गर्नु जरुरी भएको छ ।

    खुला बहस, फरक मत, असहमति बीचको सहमति प्रजातान्त्रिक अभ्यासका सार्थक आधार व्यवहारमा रुपान्तरण गर्नु आवश्यक भएको छ ।

    राजा र धर्मको माहोल बनेको बेला, सडकमा राप्रपाको नेतृत्वदायी भूमिका माग भएको बेला, अवसर र जिम्मेदारीबाट चुक्ने सुविधा राप्रपासँग छैन । त्यसैले केन्द्रीय कार्य समिति, कार्यसम्पादन समितिको निर्णयबमोजिम योजनावद्ध तवरले सडकको लक्ष्य तय गर्न ढिला गर्न हुन्न । आन्दोलनको बलमा संगठन, आन्दोलनको बलमा परिवर्तन, यही नै समयानुकूल रणनीतिक मार्गचित्र हो ।

    अतएव महाधिवेशनबाट प्राप्त अभूतपूर्व लोकप्रियता खस्किएको चिन्ता र संकटको घडीमा संस्थागत हित, विकास र लक्ष्यतर्फको क्रियाशीलता अत्यावश्यक बनेको छ । महाधिवेशनको विवेकबाट अपार संभावना उपलब्ध भए पनि हामी प्रभावकारी हुन नसक्दा समग्र पार्टी र कार्यकर्ताको भविष्य मात्र होइन, हामी र हाम्रा मुद्दा एवं लक्ष्यमाथि प्रश्न उठेको छ ।

    यसर्थ बाँकि रहेको दश महिनाको कार्यकालमा विधान र महाधिवेशनको कार्यादेश पूर्ण पालना गर्दै आन्दोलनमा अर्जुनदृष्टि राखेर पार्टी संरचनाको सशक्त परिचालन गर्नु उपयुक्त हुनेछ । यही रणनीतिबाट मात्र पार्टीलाई एकतावद्ध गर्दै हाम्रो मूल्य र मान्यता स्थापित गर्न सफल हुनेछौं ।

  • लिङ्देनको प्रतिवेदन- सरकार यही शैलीमा चले देश भू-राजनीतिक चक्रव्यूहमा फस्नसक्छ

    लिङ्देनको प्रतिवेदन- सरकार यही शैलीमा चले देश भू-राजनीतिक चक्रव्यूहमा फस्नसक्छ

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सामान्यतया संसदको पहिलो र दोस्रो दल मिलेर सरकार निर्माण गर्ने परिकल्पना संसदीय व्यवस्थामा नहुने तर नेपालमा अनौठो अभ्यास गरिएको टिप्पणी गरेका छन् ।

    काठमाडौंको धुम्बाराहीस्थित एस.आर.बैङ्क्वेटमा जारी बैठकमा केन्द्रीय कार्यसमितिको बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समिक्षा र भावी कार्यदिशा सम्बन्धि राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै कांग्रेस एमाले बहुदलीय व्यवस्था मास्न र दुईदलीय व्यवस्था कायम गर्ने षडयन्त्रमा लागेको आरोप समेत लगाए ।

    हिउँदे अधिवेशन छलेर अध्यादेशबाट शासन चलाउने सरकारको रवैया बढेको भन्दै उनले प्रतिवेदनमा कटाक्ष गरेका छन् । वैदेशिक सम्बन्ध विस्तार र सञ्चालनमा सरकारको शैलीले देश भूराजनीतिक चक्रव्युहमा फस्न सक्ने खतरा रहेको पनि उल्लेख गरेका छन् ।

    अध्यक्ष लिङ्देनले आन्दोलनका लागि संगठन र चुनावका लागि संगठन भनेर संगठन निर्माणलाई आफ्नो प्रतिवेदनमा जोड दिएका छन् । समान विचार भएका व्यक्ति, समूह र दलसँग एकता, सहकार्य वा मोर्चा बनाउने विषयमा केन्द्रीय समिति बैठकका सहभागीसंग सुझाव मागेका छन् ।

    बैठकमा महामन्त्री एवं सचिवालय प्रमुख राजेन्द्र गुरुङले सचिवालयको प्रतिवेदन र कोषाध्यक्ष नीलकण्ठ काफ्लेले आर्थिक प्रतिवेदन पेश गरेका छन् । बैठकमा महामन्त्री डा. धवल शमशेर राणाले आन्दोलनसम्बन्धी कार्ययोजना पेश गरेका छन् ।

  • राप्रपाको बैठक- ओली सरकारको समीक्षा गर्ने, व्यवस्था बदल्ने आगामी रणनीति बनाउने

    राप्रपाको बैठक- ओली सरकारको समीक्षा गर्ने, व्यवस्था बदल्ने आगामी रणनीति बनाउने

    काठमाडौं । राप्रपाको केन्द्रीय समितिको बैठक सुरु भएको छ । धुम्बाराहीस्थित एसआर बैंङ्क्वेटमा बैठक चलिरहेको छ ।

    बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा र भावी कार्यदिशा, संगठन सुदृढीकरण, पार्टीको स्थानीय तहको अधिवेशन, सचिवालय सम्बन्धी र पार्टी जीवनका विविध पक्षमा छलफल गर्ने तयारी छ ।

    बैठकअघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष राजेन्द्र लिङदेनले सरकारको पछिल्ला गतिविधिको बारेमा छलफल हुने बताए ।

    उनले भने, ‘सरकारले संसदलाई छलेर अध्यादेशबाट शासन गर्न खोजेको छ। नियमित संसद् बोलाउन पनि प्रतिपक्षहरूले दबाब दिनुपर्ने स्थिति छ । सरकार कदमबारे छलफल गर्छौँ ।’

    उनले बैठकमा पार्टीको आन्तरिक विषयमा छलफल हुने बताए। पार्टीले वैशाख मसान्तसम्म सबै जिल्ला अधिवेशन सम्पन्न गर्ने गरी काम गरिरहेकाले त्यसको समीक्षा हुने बताए ।

    देश र जनताको अवस्था परिवर्तन व्यवस्था नै परिवर्तन गराउने आन्दोलनको विषयमा पनि छलफल हुने बताए ।

    उनले भने, ‘आन्दोलन गर्न र चुनाव जित्न पनि संगठन चाहिन्छ । संगठन मजबुत बनाउनेमा केन्द्रित हुन्छौँ ।’

    उनले संसदको पार्टीको भूमिका प्रभावकारी बनाउने विषयमा पनि छलफल हुने बताए ।

  • लिङ्देनलाई थापाको काउन्टर जवाफ- कमजोर भएर एकता गरौँ भनेको होइन

    लिङ्देनलाई थापाको काउन्टर जवाफ- कमजोर भएर एकता गरौँ भनेको होइन

    हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) का केन्द्रीय अध्यक्ष कमल थापाले आफूहरू कमजोर भएर पार्टी एकताको पहल नगरेको स्पष्ट पारेका छन् ।

    गत शनिवार राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले थापाको गृह नगर हेटौँडा आएर अब राप्रपा कुनै दलसँग एकीकरणको चरणमा नरहेको बताएपछि थापाले आज सामाजिक सञ्जाल मार्फत आफूहरू कमजोर भएर पार्टी एकताको पहल नगरेको स्पष्ट पारेका हुन् ।

    थापाले विभिन्न फोरममा राजेन्द्र लिङ्देनले चाहेमा एक हप्तामा नै दुवै राप्रपा एकीकरण हुने अभिव्यक्ति दिएपछि लिङ्देनले हेटौँडामा भएको कार्यक्रम मार्फत अहिले राप्रपा कुनै दलसँग एकीकरणको लागि खुला नभएको स्पष्ट पारेपछि थापाले एकताको कुराले आफू कमजोर भएको भन्ने भ्रम नपाल्न सन्देश दिएका हुन् ।

    लिङ्देनले हेटौँडा आएर भनेका थिए ‘तपाईँहरू ढुक्क हुनुस्, अब राप्रपा टुट्ने, फुट्ने, एकीकरण हुने कुनै पक्षमा छैन, अहिले सिङ्गो एकीकृत राप्रपा छ । अब कोहीसँग एकीकरण हुने भन्ने बजार हल्लाको पछाडि राप्रपा लाग्दैन ।’ पहिले पहिले राप्रपामा कोही सूर्यबहादुर पक्ष, कोही लोकेन्द्रबहादुर चन्द पक्ष हुने गरेको भन्दै अध्यक्ष लिङदेनले भने, ‘त्यसपछि कोही जबरा पक्ष, कोही थापा पक्ष भए, तर अहिले राप्रपामा सबै राप्रपा पक्ष मात्र छन् ।’

    लिङ्देनले अभिव्यक्ति दिएको दुई दिनपछि थापाले सामाजिक सञ्जाल मार्फत अहिले सबै राष्ट्रवादी शक्ति एक हुनुपर्ने बताएका हुन् ।

    उनले लेखेका छन् “मैले पार्टी एकताको प्रस्ताव गरेको पार्टी चलाउन नसकेर वा कमजोर छौँ भनेर होइन।हाल विद्यमान भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट देशलाई मुक्त तुल्याउने तथा राजसंस्था र हिन्दूराष्ट्र स्थापना गर्ने अहिले सर्वाधिक अनुकूल परिस्थिति भएको हुँदा सबै राष्ट्रवादी शक्ति मिलेर अन्तिम धक्का दिऊँ भनेर हो।यो समय फेरि नआउन सक्छ ।”

    २०७८ मंसिरमा भएको महाधिवेशनमा अध्यक्षमा पराजित भएसँगै थापाले माघमा राप्रपा छाडेका थिए। फागुन ७ मा राप्रपा नेपाल ब्युँताएर उनी अध्यक्ष बनेका थिए। त्यसयता थापा र लिङदेनले एक अर्कालाई पटक–पटक आरोप प्रत्यारोप गर्दै आएका छन् ।

    राप्रपा नेपाललाई ब्युँताए पनि थापाको पार्टीले संघ, प्रदेश र स्थानीय तहको निर्वाचनमा लज्जास्पद पराजय बेहोरेको थियो । स्वयम थापा एमालेको चुनाव चिन्हबाट प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका थिए ।

    निर्वाचनमा लज्जास्पद पराजय भोगेपछि थापाले आत्मसमीक्षा गर्दै पार्टीको नीतिमा पुनः राजतन्त्रलाई समावेश गरेपछि उनी पछिल्लो समयमा पुनः पार्टी एकीकरणको प्रयासमा रहेका छन् । तर उनको प्रयासलाई लिङ्देनले खारेज गरिदिएपछि थापाको यस्तो स्टाटस आएको हो ।

    लिङ्देनले अहिलेको राप्रपामा कुनै पक्ष या गुट नरहेको बताउँदै अहिले सशक्त राप्रपा निर्माण भएको सन्दर्भमा राप्रपाले कोहीसँग एकीकरण गर्नुपर्ने अवस्था नरहेको बताइदिएपछि थापा खेमा झस्केको बताइएको छ । यही कारण पनि थापाको यस्तो खाले स्टाटस आएको राजनीतिक वृत्तमा चर्चा सुरु भएको छ ।

    तर लिङ्देनले बाँडफाँडको आधारमा राप्रपामा कुनै पनि दल एकीकरण हुने नभए पनि विचार मिल्ने समूह या व्यक्तिहरू विना “बार्गेनिङ” राप्रपामा समाहित हुनसक्ने बताएका थिए ।

    राप्रपाले देशैभर आन्दोलनको तयारी गरिरहेको सन्दर्भमा यही समयमा पार्टी एकीकरण गरेर थापाले आन्दोलन मार्फत पुनः स्थापित हुने चाहाना स्वरूप पछिल्ला अभिव्यक्ति दिएको हुनसक्ने राप्रपा श्रोतको दाबी छ ।

    हेटौँडामा भएको एक कार्यक्रममा नेपाल प्रेससँग कुरा गर्दै थापाले अब सम्पूर्ण राष्ट्रवादी शक्ति एक भएर लाग्नुको विकल्प नभएको बताएका थिए ।

    देशको अहिलेको शासन व्यवस्थाबाट जनताहरू वाक्क भएको भन्दै अब यो व्यवस्थाको विकल्पको लागि राजा र हिन्दु राज्य पक्षधरका शक्तिहरू एक हुनुको विकल्प नरहेको उनले बताएका थिए ।

  • नयाँ दलहरु पनि भ्रष्टाचार गर्न पाउनुपर्छ भन्ने विन्दुमा पुगे: लिङ्देन

    नयाँ दलहरु पनि भ्रष्टाचार गर्न पाउनुपर्छ भन्ने विन्दुमा पुगे: लिङ्देन

    हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले नयाँ भनिएका दलहरु पनि अरुलाई देखाएर आफूहरुले पनि भ्रष्टाचार गर्न पाउनुपर्छ भन्ने विन्दुमा पुगेको बताएका छन् ।

    राप्रपा मकवानपुरले हेटौंडामा गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै अध्यक्ष लिङ्देनले नयाँ भनिएका दलका नेता कार्यकर्ताहरु अरु दलका नेताले त्यति धेरै खाए हामिले चै यति खादा पनि थुनिनु पर्ने भन्ने विन्दुमा पुग्नु लज्जास्पद विषय भएको बताए ।

    कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले काङ्ग्रेस-एमालेको गठबन्धनको सरकार भ्रष्टाचारको आरोपबाट मुक्त हुनको लागि निर्माण भएको प्रमाणित भएको बताए । यो सरकार निर्माण भएको छ महिनाको अवधिले काङ्ग्रेस-एमाले किन मिलेको भन्ने प्रमाणित भएको बताए ।

    आज देशको राष्ट्रिता कमजोर भएको बताउँदै देश अहिले भू-राजनीतिक चक्रब्युमा परेको बताए । हाम्रो देशमा विदेशी चलखेल बढेको बताउँदै अध्यक्ष लिङ्देनले यो अवस्थाको निर्माण तिनै दलहरुले गरेको दावी गरे ।

    देश अहिले निकै अप्ठेरो अवस्थामा रहेको बताउँदै अध्यक्ष लिङ्देनले देशमा अहिले चरम निराशा बढेको, युवाहरुले देश छाड्ने दर ह्वात्तै बढेको बताउदै देश गम्भीर मोडमा पुगेको बताए ।

  • प्रचण्ड- माधवलाई भेटेपछि राजेन्द्र लिङ्देनको प्रतिक्रिया: यो नेतृत्व र व्यवस्थाले देश बन्दैन (भिडिओ)

    प्रचण्ड- माधवलाई भेटेपछि राजेन्द्र लिङ्देनको प्रतिक्रिया: यो नेतृत्व र व्यवस्थाले देश बन्दैन (भिडिओ)

    काठमाडौं । नेकपा माआवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एसका अध्यक्ष माधव नेपाललाई भेटेर बाहिरिएका राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन अहिलेको नेतृत्व र व्यवस्थाले देश नबन्ने बताएका छन्।

    सिंहदरबारमा भएको भेटपछि बाहिरिने क्रममा सञ्चाकर्मीहरुसँग कुरा गर्दै संविधान संशोधन गरेर अहिलेको व्यवस्था परिवर्तन गर्नुपर्ने बताए।

    उनले भने, ‘यो नेतृत्व र व्यवस्थाले देश बन्दैन। हामीले संविधान संशोधनको बिषय उठाइरहेका छौं। दुई ठूला दलले संविधान संशोधनको बिषय भन्नको लागि मात्रै भनिएको रहेछ भन्ने प्रमाणित भएको छ।’

    उनले देशलाई भ्रष्टाचार मुक्त बनाएर समृद्ध बनाउनको लागि अहिलेको नेतृत्व र व्यवस्था फ्याक्नुपर्ने बताए।

  • राप्रपाको स्थानीय तह विभागमा मनोनीतलाई लिङ्देनले दिए मनोनयन पत्र

    राप्रपाको स्थानीय तह विभागमा मनोनीतलाई लिङ्देनले दिए मनोनयन पत्र

    काठमाडौं । राप्रपाको स्थानीय तह परिचालन विभागमा मनोनयन भएकाहरूलाई अध्यक्ष राजेन्द्र लिङ्देनले मनोनयन पत्र प्रदान गरेका छन् ।

    विभागका प्रमुख वरिष्ठ नेता उपाध्यक्ष ध्रुवबहादुर प्रधानको सिफारिसमा केन्द्रीय सदस्य केदार कोइरालालाई कोशी प्रदेश संयोजक, केन्द्रीय सदस्य विनोद भारतीलाई मधेश प्रदेश संयोजक, केन्द्रीय सदस्य पूर्वमन्त्री परशुराम तामाङलाई बागमती प्रदेश संयोजक, केन्द्रीय सदस्य ताहिर अलीलाई लुम्बिनी प्रदेश संयोजक, केन्द्रीय सदस्य शंकर खराललाई गण्डकी प्रदेश संयोजक, केन्द्रीय सदस्य तिर्थराज चटौतलाई सुदूरपश्चिम संयोजकको जिम्मेवारी प्रदान गरिएको प्रवक्ता मोहन श्रेष्ठले बताए ।

    प्रदेशगत मनोनयनमा परेकाहरू विभागको सदस्यमा पनि मनोनयन भएका छन् ।

    यसअघि विभागमा केन्द्रीय सदस्य भरत पाठक सदस्य सचिव र केन्द्रीय सदस्य रामहरि थापा, केन्द्रीय सदस्य देवकुमारी पराजुली (देबु), र विनोद कुमार यादव सदस्य रहेका थिए ।

    त्यस अवसरमा विभागले तयार पारेको स्थानीय तह विभागको कार्यविधि विभागीय प्रमुख प्रधानले अध्यक्ष लिङ्देनलाई हस्तान्तरण गरे ।

  • प्रधानमन्त्री ओलीसँग लिङ्देन र थापाको भेट

    प्रधानमन्त्री ओलीसँग लिङ्देन र थापाको भेट

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाले बेग्लाबेग्लै भेट गरेका छन् । दुवै नेताहरू प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका थिए ।

    राप्रपाका अध्यक्ष लिङ्देनले प्रधानमन्त्री ओलीलाई पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको निमन्त्रणा दिए । राप्रपाले हरेक वर्ष पुस २७ गते पृथ्वी जयन्तीलाई उत्सवका रूपमा मनाउँदै आएको छ ।

    प्रधानमन्त्रीसँगको भेटको फोटो राख्दै लिङ्देनले फेसबुकमा लेखेका छन्, ‘राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीका अवसरमा पुस २७ गते राप्रपाद्वारा भृकुटी मण्डपमा आयोजना हुने चियापान कार्यक्रममा निमन्त्रणा दिने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसँग लामो समयपछि हिजो साँझ भेटघाट भयो ।’

    उनले भेटका क्रममा प्रधानमन्त्रीसँग विविध पक्षमा लामै कुराकानी भएको उल्लेख गरेका छन् । राप्रपाले पृथ्वी जयन्तीमा आयोजित चियापान कार्यक्रममा प्रधानमन्त्री ओलीसहित सबै शीर्ष नेताहरूलाई निमन्त्रण दिएको छ । यसअघि लिङ्देन कांग्रेस सभापति शेरबहादुर देउवाकहाँ पनि पुगेका थिए ।

    त्यसो त प्रधानमन्त्रीसँग लिङ्देनले भेटेको भोलिपल्टै राप्रपा नेपालका अध्यक्ष थापा पनि बालुवाटार पुगे । भेटघाटको क्रममा प्रधानमन्त्री ओली र थापाबीच देशको समसामयिक विषयमा छलफल भएको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले बताए ।

    प्रधानमन्त्री ओलीद्वारा सहमतिको आधारमा संविधान संशोधन गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

    आफूले २०८७ मा संविधान संसोधनको कुरा गरेको विषयमा स्पष्ट पार्दै प्रधानमन्त्री ओलीले संसदमा रहेका कतिपय दलहरूले संशोधन गर्न नदिने बताइरहेको सन्दर्भमा सहमति बनाउन समय लाग्ने देखिएको र त्यस्तो अवस्थामा संशोधन पछि धकेलिन सकिने प्रधानमन्त्री ओलीको भनाइ थियो ।

    सो अवसरमा राप्रपा नेपालका अध्यक्ष कमल थापाले देश अहिले गम्भीर संकटबाट गुज्रिरहेकोबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गरेको बताए ।

    गएको महाधिवेशनमा लिङ्देनसँग पराजित भएपछि थापाले पार्टी फोडेर राप्रपा नेपाल गठन गरेका थिए । यद्यपि, अहिले फेरि एकताको लागि लचक बनेका छन् ।

  • राजेन्द्र लिङ्देनको आरोप- ठूला दलहरूले मधेशलाई भोट बटुल्ने माध्यम मात्रै बनाए

    राजेन्द्र लिङ्देनको आरोप- ठूला दलहरूले मधेशलाई भोट बटुल्ने माध्यम मात्रै बनाए

    जनकपुरधाम । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले तराई मधेशलाई उपेक्षा गरेर समृद्ध नेपालको परिकल्पना नै असम्भव हुने बताएका छन्।

    धनुषाको जनकपुरधाममा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले जनसंख्याको ठूलो हिस्सा ओगट्ने तराई मधेशलाई ठूला भनिने दलहरूले भोट बटुल्ने माध्यम मात्र बनाएको तर तराई मधेशको विकास, निर्माण र महत्त्वपूर्ण आयोजनाहरूलाई प्राथमिकता नदिने गरेको आरोप लगाएका छन् ।

    २०८१ साललाई पार्टी प्रवेश वर्षको रूपमा अभियान चलाउने निर्णय गरेको राप्रपामा पार्टी प्रवेश गर्ने, गराउने क्रम जारी छ । राजसंस्था र हिन्दु राष्ट्र पुनः स्थापनाको एजेन्डा बोकेको राप्रपा राष्ट्रिय राजनीतिमा अलग धारको प्रतिनिधित्व गर्दै आइरहेको छ।

    हिन्दूत्व र सनातन धर्मको मूल एजेन्डा अघि सारेको राप्रपाले पछिल्लो समय देशव्यापी संगठन विस्तार अभियानलाई तीव्र बनाएको छ। यही अभियानका क्रममा धनुषामा युवा नेता रीतेश सिंह सहित थुप्रै नेता–कार्यकर्ता पार्टीमा प्रवेश गरेका छन्।

    राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन स्वयं जनकपुर आइपुगेर रीतेश सिंहलाई पार्टीमा स्वागत गरे। विगत एक दशकभन्दा बढी समयदेखि सक्रिय राजनीतिमा लागेका र मधेसमा चिर परिचित व्यक्तित्व सिंहको पार्टी प्रवेशले राप्रपाको धनुषा संगठनलाई थप बलियो बनाउने छ।

    हिन्दुत्व र सनातन धर्मको रक्षा गर्न अब राप्रपाले थप सक्रिय भूमिका निर्वाह गर्ने बताइएको छ।

    नवप्रवेसी नेता रीतेश सिंहले हिन्दूत्वमाथि भइरहेका आक्रमणको प्रतिवाद गर्नु र सनातन धर्मको संरक्षण गर्नु अहिलेको आवश्यकता रहेको बताए।
    उनले आफ्नो राजनीतिक यात्रालाई हिन्दू धर्म र संस्कृतिको प्रवर्धन तथा राष्ट्रिय एकता एवम् अखण्डता तर्फ अघि बढाउने प्रतिबद्धता व्यक्त गरे। आफू राप्रपामा प्रवेश गर्नु यसै दिशामा गरिएको ठोस कदम भएको उनको भनाइ छ।

    पछिल्लो समय हिन्दूत्वको मुद्दाले देशभर प्राथमिकता पाइरहेको छ। धार्मिक सहिष्णुता र सनातन परम्पराको रक्षा गर्न पार्टीको भूमिका महत्त्वपूर्ण रहेको भन्दै सिंहले आफूले राप्रपाको झण्डामुनि हिन्दू धर्मको प्रवर्धनमा काम गर्ने बताए।

    तराई मधेशका जनता राप्रपाले अवलम्बन गरेको एजेण्डाको पक्षमा भएपनि कमजोर संगठनका कारण जनमत भोटमा रुपान्तरण हुन नसकेको र आगामी दिनमा मधेश केन्द्रीत कार्यक्रम सञ्चालन गरिनुपर्ने सिंहको भनाइ रहेको छ।

    अध्यक्ष लिङ्देनले रीतेश सिंह र ठूलो समूहलाई पार्टीमा भित्र्याउँदै, हिन्दू धर्मको संरक्षणका लागि स्थानीयस्तरदेखि राष्ट्रिय स्तरसम्म व्यापक अभियान सञ्चालन गर्ने योजना रहेको बताए। उनले पार्टीका नयाँ सदस्यहरूलाई जिम्मेवारीसहित परिचालन गरिने बताएका छन्। पार्टीमा युवाहरुको प्रवेशले पार्टीलाई थप मजबुत र ऊर्जावान् बनाउने उनले बताए।

  • राप्रपाको नयाँ पहल : सामाजिक सञ्जाल सदुपयोगका लागि ल्यायो कार्यविधि

    राप्रपाको नयाँ पहल : सामाजिक सञ्जाल सदुपयोगका लागि ल्यायो कार्यविधि

    काठमाडौं । देशको पहिलो राजावादी शक्ति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आफ्नो पार्टी पंक्तिभित्र लागू हुने गरी सामाजिक सञ्जाल कार्यविधि जारी गरेको छ । कार्यविधिमा पार्टी पदाधिकारीदेखि सदस्यहरुसम्मले सामाजिक सञ्जालमा गर्नुपर्ने र गर्न नहुने विषयहरु समावेश गरिएका छन् ।

    नेपालमा कुनै पनि राजनीतिक दलले सामाजिक सञ्जाल सञ्चालनार्थ कार्यविधि बनाएको पहिलोपटक हो । सामाजिक सञ्जाललाई पार्टीको हितमा अधिकतम उपयोग गर्न र नेता कार्यकर्तालाई थप जिम्मेवार बनाउन यो कदम चालिएको प्रवक्ता मोहन श्रेष्ठको भनाइ छ ।

    ‘सामाजिक सञ्जाल अहिलेको सबैभन्दा सशक्त र प्रभावकारी सञ्चारमाध्यम हो । त्यसैले यसलाई अधिकतम सदुपयोग गर्ने तथा पार्टी पंतिलाई अनुशासनमा राख्ने सोचअनुसार कार्यविधि बनाएका छाैं’, श्रेष्ठले भने ।

    पार्टी सदस्यबाट सार्वजनिक हुने विचार, बहसलाई व्यवस्थित गर्न वाध्छनीय देखिएकाले कार्य सम्पादन समितिले यो कार्यविधि बनाइ जारी गरेको प्रस्तावनामा उल्लेख छ ।

    राप्रपाले केन्द्रीय प्रचार विभागको मातहतमा रहने गरी एक सामाजिक सञ्जाल इकाईको निर्माण गर्ने भएको छ । इकाईमा एक संयोजक र बढीमा चार सदस्य रहनेछन् । केन्द्रीय अध्यक्षको निर्देशन र प्रचार विभागको समन्वयमा चल्ने यस इकाईलाई ११ वटा काम–कर्तव्य र अधिकार तोकिएको छ ।

    इकाइले पार्टीको सामाजिक सञ्जाल रणनीति तर्जुमा र कार्यान्वयन गर्ने, सामाजिक सञ्जालका प्रचार सामग्री तयारी गरी सम्प्रेषण गर्ने, पार्टीका सदस्यले गर्न हुने र नहुने विषयको आचार संहिता तयार गर्ने, अध्यक्ष र नेताहरुको विचार, मन्तव्य, भाषणको मूल अन्तर्यमा फरक नपर्ने गरी सन्देश सम्प्रेषण गर्ने लगायत काम गर्ने छ ।

    यस्तै, पार्टी र सदस्यलाई अन्य पक्षबाट भएको प्रतिक्रियात्मक कार्यको प्रतिरक्षा गर्ने, गराउने, सदस्यले पार्टी हित विपरित गरेका सञ्जालको सामग्रीको स्क्रिन सट वा कपी राख्ने पार्टीका काम कारवाहीको विद्युतीय अभिलेख राख्ने लगायतका जिम्मेवारी पनि दिइएको छ ।

    प्रचार विभागको सिफारिसमा अध्यक्षले इकाइको संयोजक नियुक्त गर्नेछन् भने संयोजकको सिफारिसमा अध्यक्षले सदस्यहरु नियुक्त गर्नेछन् ।

    कार्यविधिमा पार्टीका सदस्यहरुले पालना गर्नुपर्ने पाँचवटा विषय उल्लेख छ । जसअनुसार अब कुनै पनि सदस्यले पार्टीको संवेदनशील सूचना, निर्णय वा सामग्री अध्यक्षको अनुमति लिएर मात्र प्रशारण, प्रेषण र सार्वजनिक गर्न सक्ने छन् ।

    सदस्यले अर्को कुनै सदस्य वा अन्य व्यक्तिका बारेमा धारणा राख्दा सम्मानजनक शब्द, आचरण र व्यवहार प्रदर्शन गर्नुपर्ने भनिएको छ । पार्टी र नेतृत्वका काम कारवाहीका बारेमा सकारात्मक बहस गर्ने गरी धारणा राख्न सकिने कार्यविधिमा उल्लेख छ ।

    यस्तै, पार्टीको आधिकारिक निर्णय भएको विषयमा सोही बमोजिम राख्नुपर्ने र प्रष्ट निर्णय नभएको विषयमा सकभर धारणा प्रकट नगर्ने तर गर्नुपर्ने अवस्थामा ‘मेरो विचारमा’ भन्नुपर्ने छ ।

    यसैगरी, पार्टीका सदस्यले गर्न नहुने पाँचवटा क्रियाकलाप यस्ता छन्ः

    –सदस्यले नकारात्मक शब्द, भाव, प्रतिक्रियात्मक फोटो सम्प्रेषण(पोस्ट) गर्नु हुँदैन ।

    –सदस्यले कुनै अर्को सदस्य वा व्यक्तिलाई होच्याउने, बद्नाम गर्ने, चरित्रमा आँच पुर्याउने वा व्यक्तिगत प्रतिष्ठामा हानी हुने गरी सार्वजनिक रुपमा आलोचना गर्न वा फोटो, भिडियो शेयर गर्न हुँदैन ।

    –सदस्यले प्रतिस्पर्धी पार्टी, व्यक्ति वा समुहले पार्टीलाई हित नहुने विषयको सामग्री शेयर गर्ने, लाइक गर्ने, रिट्वीट गर्न हुदैन ।

    –सदस्यले आफ्नो कार्य क्षेत्रभित्र नपर्ने विषयमा प्रतिक्रिया वा सामाग्री प्रसारण वा प्रेषण गर्न हुँदैन ।

    –सदस्यले पार्टीको सदस्य वा अन्य कुनै व्यक्ति, समाज, समुदाय, लिङ्ग, वर्ग, धर्म, समुदाय प्रति विद्वेष फैलाउने गरी सामग्री सम्प्रेषण गर्न हुँदैन । तर स्वस्थ आलोचना गर्न बाधा पुगेको मानिने छैन ।

    सदस्यले असल मनसायसाथ सम्प्रेषण गरेको सामग्री भए पनि त्यसले पार्टीको वृहत हितलाई असर पुग्ने देखिएमा तत्काल त्यस्तो सामग्री हटाउनु पर्ने र त्यसको जानकारी इकाईलाई तत्काल दिनु पर्ने कार्यविधिमा उल्लेख छ ।

  • सरकारविरुद्ध देशैभर भण्डाफोर कार्यक्रम गर्ने राप्रपाको निर्णय (भिडिओ)

    सरकारविरुद्ध देशैभर भण्डाफोर कार्यक्रम गर्ने राप्रपाको निर्णय (भिडिओ)

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारविरुद्ध देशैभर भण्डाफोर कार्यक्रम गर्ने निर्णय गरेको छ ।

    पार्टी कार्यालय धुम्वाराहीमा मंगलबार बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठकले वर्तमान सरकारका कारण भ्रष्टाचार संस्थागत हुनुका साथै मुलुक अस्तव्यस्त भएको निष्कर्ष निकाल्दै देशभरका सातवटै प्रदेशका साथै अन्य तहमा सरकारबिरुद्ध भण्डाफोर र विरोध कार्यक्रम गर्ने निर्णय गरेको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए ।

    ठूला दल मिलेर बनेको सरकारले जनतामा आशा जगाउन नसकेको उनले बताए ।

    त्यस्तै, उनले सरकारले अर्थतन्त्र चलाउनमान गराउन नसकेको, अन्तराष्ट्रिय सम्बन्धमा समेत असन्तुलित परराष्ट्र नीतिका कारण नेपाल भूराजनीतिक चक्रव्युहमा फस्न जाने खतरामा पुगेको निष्कर्ष बैठकले निकालेको जानकारी दिए ।

    बैठकमा पार्टीको आन्तरिक जिल्ला अधिवेशन तयारीको समिक्षा गरिएको लिङ्देनले बताए ।

    बैठकले सहकारी पीडितहरुको बचत फिर्ताको सुनिश्चितता गर्न र बचत फिर्ताको माग गर्दै आन्दोलन गरेकामाथि सरकारले गरेको दमन तुरुन्त रोक्न पनि माग गरेको छ ।

  • राप्रपा बैठक- अध्यक्ष लिङदेनद्वारा प्रस्तुत एजेण्डामा आज पनि छलफल

    राप्रपा बैठक- अध्यक्ष लिङदेनद्वारा प्रस्तुत एजेण्डामा आज पनि छलफल

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बैठक अहिले जारी रहेको प्रवक्ता मोहन श्रेष्ठले बताए ।

    अध्यक्ष राजेन्द्र लिङदेनको अध्यक्षतामा पुस ५ र ६ गते बसेको बैठकमा प्रस्तुत बाँकी एजेण्डाहरुमाथि छलफल गर्न आज पनि बैठक बसेको उनले बताए ।

    यसअघि दुई दिन बसेको बैठकले स्थानीय तहको उपनिर्वाचनको समीक्षा, पार्टीको आगामी रणनीतिलगायत १० बुँदे निर्णय गरेको थियो ।

  • रविलाई भेटेपछि ज्ञानेन्द्र शाहीले भने- चितवनमा उहाँलाई अमानवीय व्यवहार गरिएकै हो

    रविलाई भेटेपछि ज्ञानेन्द्र शाहीले भने- चितवनमा उहाँलाई अमानवीय व्यवहार गरिएकै हो

    पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भेटेका छन् । उनले शनिबार दिउँसो कास्की प्रहरीको हिरासतमा पुगेर रविलाई भेटेका हुन् ।

    भेटपछि उनले रविलाई चितवनमा अमानवीय व्यवहार गरिएको बताए । उनले प्रतिशोध साँधेर रविलाई पक्राउ गरेको संकेत गरे ।

    ‘प्रतिशोध नभइदिएको भए अरु मान्छेलाई पनि थुन्नुपर्थ्यो । किनभने अरु पनि छन् सहकारीमा । कानूनी राज्यको सबैले पालना गर्नुपर्छ’, उनले भने, ‘अहिले जुन हिरासतमा अमानवीय व्यवहार गरिएको छ । यो चाहिँ खेद प्रकट गर्छु ।’

    सहकारी ठगी प्रकरणमा पक्राउ परेका रवि गत कात्तिक ३ गतेदेखि कास्की प्रहरीको हिरासतमा छन् । उनलाई बयानका लागि रुपन्देही, काठमाडौं र चितवन लगिएको थियो । केही दिनमा पर्सा लग्ने तयारी छ ।

    शुक्रबारमात्रै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले हिरासतमै पुगेर रविलाई भेटेका थिए ।

  • बीआरआई अन्तर्गत सहुलियतपूर्ण ऋण लिन सकिन्छ भन्नु एमसीसीको व्याख्यात्मक टिप्पणी जस्तै: राजेन्द्र लिङ्देन

    बीआरआई अन्तर्गत सहुलियतपूर्ण ऋण लिन सकिन्छ भन्नु एमसीसीको व्याख्यात्मक टिप्पणी जस्तै: राजेन्द्र लिङ्देन

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले बीआरआई अन्तर्गत सहुलियतपूर्ण ऋण सहायता लिन सकिने भनि गरिएको सम्झौता एमसीसी पास गर्ने बेला गरिएको व्याख्यात्मक टिप्पणी जस्तै भएको टिप्पणी गरेका छन्।

    प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा बीआरआई फ्रेमवर्कमा हस्ताक्षर भएपछि अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन्।

    उनले भनेका छन्, ‘बीआरआई अन्तरगत सहुलियतपूर्ण ऋण सहायता लिन सकिने भनि गरिएको सम्झौता एमसीसी पास गर्ने बेला गरिएको व्याख्यात्मक टिप्पणी जस्तै हो। सरकारमा बस्नेहरूको आलोकाँचो व्यवहारले देश भूराजनीतिको गहिरो चक्रव्युहमा फस्ने खतरा ।’

    उनले सरकारमा बस्नेहरूको आलोकाँचो व्यवहारले देश भूराजनीति चक्रव्युहमा फस्ने खतरा बढेको विश्लेषण गरेका छन्।

  • उपनिर्वाचनको मतपरिणामबारे राप्रपाको प्रतिक्रिया- हामीले जितेनौं तर निराश र विचलित छैनौं

    उपनिर्वाचनको मतपरिणामबारे राप्रपाको प्रतिक्रिया- हामीले जितेनौं तर निराश र विचलित छैनौं

    काठमाडौं । स्थानीय तहको उपनिर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीले अपेक्षित मत ल्याउन नसकेपछि स्थानीय तहको उपनिर्वाचनको परिणामले फेरि पनि असफल दलहरुलाई मतदाताले छनौट गरेको देखिएको प्रतिक्रिया दिएको छ।

    राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले निर्वाचन नजितेपनि राजनीति नहारेकोको बताए।

    उनले भनेका छन्, ‘स्थानीय तहको अघिल्लो निर्वाचनमा अहिले उपनिर्वाचन भएको अधिकांश स्थानमा राप्रपाका उमेदवार समेत थिएनन्, यसपटक सबै ठाऊँमा उमेदवार खडा गर्नु, अनेकौं प्रतिकुलताका बाबजुद विगतमा उमेदवारी भएको अधिकांश ठाऊँमा यसपटक मत बढाउनु सकारात्मक छ। अहिले प्राप्त परिणाम आलोचक र ईर्ष्यालुलाई त आलोचनाको विषय बन्नसक्छ तर परिणाम अपेक्षित नभएपनि लगभग हाम्रो सर्वेक्षण र अनुमानको वरिपरि नै छ।’

    झुट, लुट, कुशासनको विकराल पहाड भत्काउन एउटा चुनाव पर्याप्त नहुने भन्दै देशको केही स्थानमा भएको उपचुनावको परिणामबाट निराश र विचलित हुन नहुने बताए।

    उनले थपे, ‘परिणामले दिएको सन्देश बुझ्न र तदअनुरुपको योजना बनाउने मौकाको रुपमा लिँदै हामीले यो परिणामलाई स्विकार गर्नुपर्दछ। अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा राप्रपाको गुणात्मक रुपान्तरण र आगामी निर्वाचनको तयारीमा विलम्ब नगरौं।’

    यो निर्वाचनको परिणामले निर्वाचन दौरानका परिदृश्यहरु, प्रतिस्पर्धी दलका रवैयाहरु, मतदाताको मनोविज्ञान, हाम्रो कार्यशैली लगायतका समग्र विषयको समिक्षा गर्दै, सुधार गर्नुपर्ने विषयको पहिचान गरी सुधार गर्दै आवश्यक रणनीति तय गर्ने अवसर दिएको उनले बताए। राप्रपाले अवलम्बन गरेको नीति र मार्गचित्र बाहेक अर्को बाटोबाट देशको भविष्य सुरक्षित नभएको जिकिर गरे।

  • सुदुरपश्चिम यात्रामा राजेन्द्र लिङ्देन- देश बचाउने र बनाउने योजना लिएर आएका छौं, साथ दिनुस्

    सुदुरपश्चिम यात्रामा राजेन्द्र लिङ्देन- देश बचाउने र बनाउने योजना लिएर आएका छौं, साथ दिनुस्

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मंसिर ३ गते बाजुराबाट थालेको सुदुरपश्चिम यात्रा कैलाली पुगेर टुंग्याएको छ। अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा भएको यात्राको क्रममा सुदरपश्चिमका पाँच जिल्लामा राप्रपाले आमसभा गरेको थियो।

    बाजुरा, अछाम, डोटी, कञ्चनपुरका हजारौँ जनतासँग प्रत्यक्ष संवाद गर्दै कैलालीको साँढेपानीमा पुगेर यात्रा सम्पन्न गरेको अध्यक्ष लिङ्देनले बताए।

    उनले यात्राको क्रममा पार्टीप्रति जनताको विश्वास बढेको भन्दै अन्य पार्टीका नेता कार्यकर्ता पनि पार्टी प्रवेश गरेको बताए। कैलालीमा भएको अन्तिम सभालाई सम्बोधन गर्दै लिङ्देनले देशलाई सही बाटोमा लैजाने कामको नेतृत्व राप्रपाले मात्रै गर्नसक्ने जिकिर गरे।

    उनले भने, ‘अब देश बचाउनको लागि यो पुरानो नेतृत्व र व्यवस्थालाई विस्तापित गर्न हामी तयार हुनुपर्छ। हाम्रो देश मात्रै नबन्ने होइन। धेरै लामो समय लाग्दैन। इमान्दार नेतृत्व हुने हो भने १० वर्षभित्र देशले मुहार फेरिसक्छ।’

    देशमा गलत नेतृत्वकै कारण अहिलेसम्म विकास हुन सकेको जिकिर गर्दै कृषि, विजुली, पर्यटन, सूचना प्रविधिको विकास गर्न सकिएमा विकासले फड्को मार्न सक्ने सुनाए।

    उनले अभिभावकीय भूमिकामा राजा र जनताले प्रत्यक्ष निर्वाचित गर्ने कार्यकारी प्रमुख हुनुपर्ने व्यवस्थाको माग गरे।

    उनले भने, ‘सबै जनताको भोट चाहिने भएपछि प्रधानमन्त्री आफैं उत्तरदायी हुनुपर्छ। प्रधानमन्त्रीले सबै जिल्लाको सबै जनताको बारेमा सोच्छन्, देशप्रति उत्तरदायि प्रधानमन्त्री बनाउनको लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुनुपर्छ।’

    उनले प्रदेश कटौती गरेर जनप्रतिनिधिको संख्या घटाउनुपर्ने बताए। उनले आफूहरुले देश बचाउने र बनाउने योजना लिएर आएको भएकाले सबै जनतालाई साथ दिन आह्वान गरे।यसअघि कर्णांली प्रदेशको यात्रा गरेपछि उत्साहित भएर राप्रपाले सुदुरपश्चिम यात्रा गरेको हो।

  • ज्ञानेन्द्र शाहीको टिप्पणी- पहिले कार्यकर्ता भिडाए, अहिले देउवा ओलीकाे जुँगामा ताउ लगाएर बसेका छन्

    ज्ञानेन्द्र शाहीको टिप्पणी- पहिले कार्यकर्ता भिडाए, अहिले देउवा ओलीकाे जुँगामा ताउ लगाएर बसेका छन्

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले जनता भिडाएर एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा मिलेर सरकार बनाएको बताएका छन् ।

    सुदूरपश्चिमको बाजुराको कोल्टीमा आयोजित आमसभालाई सम्बोधन गर्दै सत्ताको लागि कुनै सिद्धान्तविनै मिलेको जिकिर गरे ।

    उनले भने, ‘बाजुरामा एमाले भनेपछि कांग्रेसले कुट्ने, कांग्रेस भनेपछि एमालेले कुट्ने, ठोकाठोक गर्ने, प्रत्येक चुनावमा मान्छेको हत्या हुन्छ । अहिले माथि सबै मिलेर सरकार बनाएका छन् । केपी ओलीको जुँगामा शेरबहादुरले ताउ लगाइदिन्छन्, अनि बाजुराका जनता आपसमा लड्छन् । उनीहरुलाई सिद्धान्त चाहिएको छैन । अनि यहाँ आपसमा किन लड्ने ?’

    सांसद शाहीले राप्रपा देशको प्रधानमन्त्री जनताले प्रत्यक्ष चुन्न पाउने व्यवस्था गर्ने मागसहित जनताकहाँ आएको बताए ।

    उनले थपे, ‘अहिलेको संविधान हामीलाई झुलाउन बनाएका हुन् । ओली र देउवा आलोपालो प्रधानमन्त्री बनिरहेका छन् । जनताबाट जित्न नपर्ने, माधव नेपाल चुनाव हारेको मान्छेलाई पनि यो देशको प्रधानमन्त्री बनाइयो । माथि आफैं मिलेर जोडघटाउ गर्ने, फेरि प्रधानमन्त्री हुने, त्यसैले राप्रपा आफैं जनताले देशको प्रधानमन्त्री चुन्ने अधिकार दिनुपर्छ भनेर लागेको छ ।

  • राप्रपाको सुदूरपश्चिम यात्रा बाजुराको कोल्टीबाट सुरू

    राप्रपाको सुदूरपश्चिम यात्रा बाजुराको कोल्टीबाट सुरू

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सुदूरपश्चिम प्रदेशको यात्रा सुरू भएको छ । अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा आजबाट बाजुराको कोल्टीबाट यात्रा प्रारम्भ भएको हो ।

    उक्त यात्रा कैलालीको साडेपानीमा पुग्ने सकिनेछ । कर्णाली यात्रापछि उत्साहित भएर अहिले सुदूरपश्चिम यात्रा गर्न लागेको हो ।

    सुदूरपश्चिमको कुरा सुन्न र आफ्ना कुरा भन्न राप्रपाले यात्रा तय गरेको प्रवक्ता मोहन श्रेष्ठले बताए ।

  • कीर्तिपुरको मेयरमा राप्रपाबाट ध्रुव महर्जनले दिए उम्मेदवारी

    कीर्तिपुरको मेयरमा राप्रपाबाट ध्रुव महर्जनले दिए उम्मेदवारी

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले कीर्तिपुरमा रिक्त मेयर र २ वडाध्यक्षमा उम्मेदवारी दिएको छ ।

    निर्वाचन अधिकृतको कार्यालय पुगेर मेयरमा ध्रुव महर्जनले उम्मेदवारी दर्ता गराए । त्यस्तै वडा नम्बर १ मा सुरेन्द्रप्रसाद उप्रेती र ४ को अध्यक्षमा विजेश बस्नेतले मनोनयन दर्ता गराएका छन् ।

    यसअघि एमाले, नेमकिपा, नेपाल समाजवादी नयाँ शक्ति पार्टी र स्वतन्त्रले उम्मेदवारी दिइसकेका छन् ।

  • लिङ्देनको नेतृत्वमा सुदूरपश्चिम यात्रा गर्दै राप्रपा

    लिङ्देनको नेतृत्वमा सुदूरपश्चिम यात्रा गर्दै राप्रपा

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सुदूरपश्चिम प्रदेशको यात्रा गर्ने भएको छ । अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा राप्रपाका शीर्ष नेताहरु सुदूरपश्चिम प्रदेशको ५ जिल्लामा पुग्न लागेका हुन् ।

    यात्रा सोमबार बाजुराबाट सुरु हुने राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताए । राप्रपाका शीर्ष नेताहरु सोमबार बाजुराको बोल्टी, मंगलबार अछामको मंगलसेन, बुधबार डोटी, बिहीबार कञ्चनपुर र शुक्रबार कैलाली साडेपानीमा पुग्नेछन् ।

    कर्णाली यात्रापछि उत्साहित भएर अहिले सुदूरपश्चिम यात्रा गर्न लागेको प्रवक्ता श्रेष्ठले बताए ।

    सुदूरपश्चिमको कुरा सुन्न र आफ्ना कुरा भन्न राप्रपाले यात्रा तय गरेको हो । यसअघि राप्रपाले कर्णाली प्रदेशको यात्रा गरेको थियो ।