Category: राप्रपा

  • क्यान्सर पीडित धवल शम्शेरले हिरासतमा उपचार नपाएको जनआन्दोलन समितिको गुनासो

    क्यान्सर पीडित धवल शम्शेरले हिरासतमा उपचार नपाएको जनआन्दोलन समितिको गुनासो

    काठमाडौं । प्रहरी हिरासतमा रहेका क्यान्सर पीडित राप्रपा महामन्त्री डा. धवल शम्शेर राणाले उपचार नपाएर पीडादायी अवस्थामा रहेको संयुक्त जनआन्दोलन समितिले जनाएको छ । उनलाई तीनकुने गोलीकाण्डका सन्दर्भमा झूटो मुद्दामा फसाउन खोजिएको आरोप पनि समितिले लगाएको छ ।

    आज समितिका प्रवक्ता स्वागत नेपालले एक विज्ञप्ति जारी गर्दै यस्तो आरोप लगाएका हुन् । संयुक्त जनआन्दोलन परिचालन समितिका संयोजकसमेत रहेका धवलशम्शेर गत चैत १५ गते तीनकुनेको आन्दोलनपछि पक्राउ परेका थिए । उनलाई भद्रकालीस्थित प्रहरी परिसरको हिरासतमा राखिएको छ ।

    राणालाई यसपूर्व नै आवधिक परीक्षणको लागि चिकित्सकले नै दिएको समयमा भारतको मुम्बईमा उपचारका लागि जानुपर्ने विज्ञप्तिमा उल्लेख छ । ‘त्यसतर्फ फलोअपका लागि जान नदिने षडयन्त्रमा सरकार लागेकोमा आपत्ति प्रकट गर्दै त्यसतर्फ उपचारका लागि पठाउन जोडदार माग गर्दछौँ,’ नेपालले विज्ञप्तिमा भनेका छन् ।

    राणाको स्वास्थ्य अवस्था गम्भीर रहेको कारण नियमित उपचार पूर्ववत् चिकित्सक र अस्पतालमै गराउने व्यवस्थाका लागि राष्ट्रिय अन्तर्राष्ट्रिय मानवअधिकार समुदायसँग पनि आवाज उठाइदिन पनि विज्ञप्तिमा आह्वान गरिएको छ ।

    ‘साथै तीनकुने गोलीकाण्डमा गोली जसले हान्यो उसैले मुद्दा चलाई पानी माथिको ओभानो बन्ने सरकारको दुष्प्रयासका क्रममा पक्राउ गरिएका सम्पूर्ण निर्दोष परिवर्तनकारी नागरिकहरूलाई रिहा नगरिए पर्न जाने क्षतिको जिम्मेवार सरकार स्वयम हुनु पर्ने समेत चेतावनी दिन चाहन्छौँ,’ विज्ञप्तिमा भनिएको छ ।

    राप्रपा महामन्त्री राणालाई केही महिना अगाडि गिजाको क्यान्सर भएको थियो । उनले भारतको मुम्बईमा गएर उपचार गराएका थिए ।

  • वैशाख ७ गते काठमाडौंको निषेधित क्षेत्रमा प्रदर्शन गर्ने राप्रपाको निर्णय (भिडिओ)

    वैशाख ७ गते काठमाडौंको निषेधित क्षेत्रमा प्रदर्शन गर्ने राप्रपाको निर्णय (भिडिओ)

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी वैशाख ७ गते काठमाडौंको निषेधित क्षेत्रमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ । राजसंस्था पुन:स्थापनाको मागसहित आफ्ना नेताहरूको रिहाइको माग सहित राप्रपाले यो प्रदर्शन गर्न लागेको हो ।

    आज बसेको कार्यसम्पादन समिति वैठकले सो निर्णय गरेको अध्यक्ष राजेन्द्र लिङदेनले जानकारी दिए । वैशाख ९ गते ७७ वटै जिल्लामा विरोध सभा गरिने पनि उनले बताए ।

    लिङदेनले भने, ‘निषेधित क्षेत्रमा प्रदर्शन गरेर हामी सामूहिकरूपमा थुनामा रहन तयार भएका छौं । राजेन्द्र लिङदेन थुनिन तयार छ ।’

    उनले आफूहरूको प्रदर्शन शान्तिपूर्ण नै हुने बताए ।

    राप्रवाले पार्टीका नेताद्वय रविन्द्र मिश्र र डा. धवलशम्शेर राणाको निशर्त रिहाइका लागि कानूनी र राजनीतिक संघर्ष गर्ने निर्णय पनि गरेको छ ।

  • धवल र रवीन्द्र मिश्रलाई ‘प्रक्रिया मिलाएर’ रिहा गर्नेबारे सरकार आन्तरिक परामर्शमा

    धवल र रवीन्द्र मिश्रलाई ‘प्रक्रिया मिलाएर’ रिहा गर्नेबारे सरकार आन्तरिक परामर्शमा

    काठमाडौं । सरकारले राप्रपा महामन्त्री तथा प्रतिनिधि सभा सदस्य डा. धवल शमसेर जबरा र सहअध्यक्ष रवीन्द्र मिश्रलाई हाजिरी जमानीमा रिहा गर्नेबारे परामर्श गरेको छ ।

    तीनकुने घटनाका मुख्य अभियुक्त दुर्गा प्रसाईँ पक्राउ परिसकेको सन्दर्भमा कांग्रेस र एमालेको शीर्ष नेतृत्व पनि राणा र मिश्रलाई रिहा गर्ने पक्षमा देखिएपछि गृह मन्त्रालयले सोही अनुसार छलफल गरेको हो ।

    गृहमन्त्री रमेश लेखकले शनिबार साँझै प्रहरी प्रमुखसहित रानीपोखरी र परिसरकार उच्च प्रहरी अधिकारीहरुलाई छलफलका लागि बोलाएका थिए । तर, त्यतिबेलै कांग्रेस सभापति शेरबहादुर देउवाले गृहमन्त्रीलाई बोलाएका कारण स्थगित भएको एक उच्च अधिकारीले बताए ।

    सभापति देउवा राप्रपाका नेताद्वयलाई प्रक्रिया मिलाएर रिहा गर्ने पक्षमा छन् । उनले प्रधानमन्त्री र गृहमन्त्रीसँग पनि कुरा गरिसकेकाले नै इन्कारी बयान गराएर हाजिरी जमानीमा रिहा गर्ने संकेत आएको ती अधिकारीले नेपाल प्रेसलाई बताए ।

    चैत १५ गते साँझ पक्राउ परेका राणा र मिश्रसँग प्रहरीले अहिलेसम्म बयान लिएको छैन । उनीहरूलाई म्याद थप गर्दै राखिएको छ । उच्च राजनीतिक नेतृत्वबाट कस्तो आदेश आउँछ सोही अनुसार बयान हुने भएकाले पनि प्रहरीले माथिको संकेत पर्खेको छ ।

    यद्यपि, जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी विश्व अधिकारी अनुसन्धानको म्यादअगावै मुद्दा बुझाउने सुरसार नभएको बताउँछन् ।

    ‘अनुसन्धान गर्ने ६० दिनको म्याद बाँकी छ, त्यसैले बयान गराइएको छैन’, उनले भने । छिटै छुटाउनुपर्ने वा मुद्दालाई विषयान्तर गर्नुपर्नेजस्ता दबाब नआएको भन्दै उनले प्रक्रियासंगत रुपमा मुद्दा अगाडि बढाइने बताए ।

    राणा प्रतिनिधिसभा सदस्य समेत रहेका र परराष्ट्र मन्त्री आरजु राणाका पारिवारिक नातेदार समेत रहेकाले दोहोरो दबाब परेको बताइन्छ । प्रधानमन्त्रीलाई धवल शमसेरकी पत्नी प्रतिमा राजे सिन्धिया (राणा)ले अंग्रेजीमा लामो पत्र लेखेर पतिको रिहाइको लागि आग्रह गरेको बताइन्छ । उनी ग्वालियरकी राजकुमारीसमेत भएकाले धवलको लागि बाह्य आग्रहसमेत बढेको छ ।

    पशुपति शसमेरको ससुराली र धवलको ससुराली एकै दरबार अर्थात मध्यप्रदेशको ग्वालियर हो । ग्वालियरकै राजकुमार ज्योतिरादित्य सिन्धिया अहिले नरेन्द्र मोदी सरकारको मन्त्री छन् ।

    धवलकी छोरी शिवाङ्गिनी राणाले भारतीय मिडियाहरुमा आफ्नो पिताको रिहाईको अपिल गरेको र राणा भारतीय दामाद –ज्वाइँ) रहेको विषय अहिले हेडलाइन बनिरहेको छ ।

    धवलकी सासू मद्मा राजे सिन्धिया ग्वालियरका अन्तिम राजा जिवाजीराव सिन्धियाकी जेठी छोरी हुन् । उनकी आमा बिजयाराजे सिन्धिया हालको भारतको सत्तारुढ दल भाजपाकी एक संस्थापक सदस्य हुन् । टाइम्स अफ इण्डियाका अनुसार बिजयाराजेका ४ छोरीमध्ये एक उषाराजे पशुपति शमसेर जबराकी पत्नी हुन् भने अर्की बसुन्धरा राजे सिन्धिया राजस्थानकी पूर्व मुख्यमन्त्री तथा बिजेपीकी प्रभावशाली नेता हुन् ।

    अर्की छोरी यशोदाराजे सिन्धिया पनि बिजेपीबाट मन्त्री बनेकी थिइन् । राजामाताका एकमात्र छोरा माधवराव सिन्धियाका छोरा ज्योतिरादित्य सिन्धिया धवल र पशुपतिका भदाहा सालो हुन् ।

  • राप्रपाले भन्यो- प्रधानमन्त्रीले जनता भिडाउने अभिव्यक्ति दिए, तीनकुने घटनाको जिम्मा उनैले लिनुपर्छ

    राप्रपाले भन्यो- प्रधानमन्त्रीले जनता भिडाउने अभिव्यक्ति दिए, तीनकुने घटनाको जिम्मा उनैले लिनुपर्छ

    काठमाडौं । राप्रपाका सांसद ध्रुवबहादुर प्रधानले पूर्वराजा ज्ञानेन्द्र शाहले फागुन ७ गते गरेको आह्वानलाई मन पराएर २५ गतेको स्वागतमा जनताहरू उपस्थित भएको दाबी गरेका छन्।

    कानून समितिको बैठकमा बोल्दै पूर्वराजाको स्वागतमा जनता मात्रै नभई केही राजावादीहरूको समर्थनको कारणले ठूलो संख्यामा जनता उपस्थित भएको बताए।

    उनले भने, ‘स्वागतको बेलामा सुरक्षा निकायले गरेको व्यवस्थापन सह्रानीय छ। त्यो स्वागतको घटनालाई अतिरञ्जित र त्रसित बनाउनुपर्ने कुनै कारण थिएन। त्यस्तो स्वागत त प्रदेश जिल्ला र मन्दिरमा जाँदा भइरहेकै थिए।’

    उनले प्रधानमन्त्री केपी शर्मा ओलीले युवा संगठनको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाए।

    उनले भने, ‘युवा संघको कार्यक्रममा प्रधानमन्त्रीले जुन अभिव्यक्ति दिनुभयो। त्यो कार्यकारी प्रमुखले गर्ने अभिव्यक्ति पटक्कै होइन भन्ने लाग्छ। संविधान र नागरिकको रक्षा गर्ने भन्ने पढ गरेर शपथग्रहण गर्नुभएको छ। त्यसैको मौलिक अधिकारलाई हनन गर्नको लागि उहाँले आफ्ना युवा संगठनलाई जनताजनताबीचमा लडाइँ गरेर अशान्त वातावरण सिर्जना गर्ने अभिव्यक्तिहरू जगजाहेर नै छ।’

    उनले २५ गतेको घटनालाई लिएर गृह प्रशासनको सुरक्षा व्यवस्थापनबारे प्रश्न उठाए। तीनकुने घटनाको सम्पूर्ण जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्ने बताए।

  • रवीन्द्र र धवललाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति

    रवीन्द्र र धवललाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति

    काठमाडौं । तीनकुनेको आन्दोलनलाई भड्काएको आरोपमा पक्राउ परेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र सांसद एवं महामन्त्री धवलशमशेर राणालाई अदालतले तेस्रोपटक म्याद थपको अनुमति दिएको छ ।

    काठमाडौं जिल्ला अदालतले ४१ जनामध्ये मिश्र र राणासहित राज्यविरुद्धको कसुर लगाइएकालाई थप १५ दिन र अरुको हकमा २० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले नेपाल प्रेसलाई जानकारी दिए ।

    अघिल्लो शुक्रबार पक्राउ परेका उनीहरूमध्ये आपराधिक उपद्रव र संगठित अपराधमा ३० जना र राज्यविरुद्धको कसुरमा ११ जना गरी ४१ जनालाई पहिलो पटक अघिल्लो आइतबार ५ दिन, बुधबार दोस्रो पटक ६ दिन म्याद थप भएको थियो ।

  • बल्खुमा सभा सकिएपछि राप्रपाले आफैँ सफा गर्‍यो सडक (तस्बिरहरु)

    बल्खुमा सभा सकिएपछि राप्रपाले आफैँ सफा गर्‍यो सडक (तस्बिरहरु)

    काठमाडौं । राप्रपाका नेता कार्यकर्ताहरुले सभा सकिएपछि बल्खुमा आफैँ सडक सफा गरेका छन् । राप्रपाले आज बल्खुमा बृहत खबरदारी सभा आयोजना गरेको थियो ।सोही सभा सकिएपछि नेता कार्यकर्ता  र स्वयमसेवकहरुले सडकमा भएको फोहोर सफा गरेको हो ।

    काठमाडौं महानगरपालिकाले सडक फोहोर गरेवापत जरिवाना तिराउन सक्ने भन्दै उनीहरु स्वयमले सडक सफा गरेका हुन् ।

    राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई आफ्नो पार्टीले आयोजना गरेको सभामा फोहोर नगरिएको सन्देश दिएका छन् । राप्रपाले फोहोर गरेको भनेर पत्र नकाट्न उनले चेतावनी दिएका थिए ।

    उनले भने, हाम्रो बालेनजीलाई।। यो काठमाडामैं महानगरभित्र पर्छ होइन रु बालनजीलाई आजको कार्यक्रमका बारेमा धेरै हिरो भएर पत्र नकाट्न म आग्रह गर्छु र हाम्रो साथीहरुलाई आफैं सफा गरेर जान आग्रह गर्छु । एउटा केही फोहोर रहनेवाला छैन । पत्रकार नागरिक समाजले अनुगमन गर्नुहोला, भोलि फोहोर गरेवापत भनेर चिठी नआओस ।’

  • लिङदेनले बालेनलाई भनेः धेरै हिरो भएर पत्र नकाट्नू, केही पनि फोहोर रहनेवाला छैन (भिडिओ)

    लिङदेनले बालेनलाई भनेः धेरै हिरो भएर पत्र नकाट्नू, केही पनि फोहोर रहनेवाला छैन (भिडिओ)

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई आफ्नो पार्टीले आयोजना गरेको सभामा फोहोर नगरिएको सन्देश दिएका छन् । राप्रपाले फोहोर गरेको भनेर पत्र नकाट्न उनले चेतावनी दिए ।

    आजको सभामा आफ्नो भाषण सिध्याइसकेका लिङदेन एउटा कुरा भन्न छुटेछ भन्दै माइकमा फर्किएका थिए ।

    उनले भने, ‘एउटा सुचना दिन बिर्सिएछ । हाम्रो बालेनजीलाई।। यो काठमाडामैं महानगरभित्र पर्छ होइन रु बालनजीलाई आजको कार्यक्रमका बारेमा धेरै हिरो भएर पत्र नकाट्न म आग्रह गर्छु र हाम्रो साथीहरुलाई आफैं सफा गरेर जान आग्रह गर्छु । एउटा केही फोहोर रहनेवाला छैन । पत्रकार नागरिक समाजले अनुगमन गर्नुहोला, भोलि फोहोर गरेवापत भनेर चिठी नआओस ।’

  • लिङदेनको सुझावः जेल सुविधाजनक बनाएर राख्नुस्, पछि तपाईँहरू नै बस्ने हो (भिडिओ)

    लिङदेनको सुझावः जेल सुविधाजनक बनाएर राख्नुस्, पछि तपाईँहरू नै बस्ने हो (भिडिओ)

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले देशका कारागारहरू सुविधाजनक बनाएर राख्न गणतन्त्रवादी नेताहरूलाई सुझाव दिएका छन् । आफ्ना पार्टीका नेताहरूलाई फरक मत राखेकै कारण जेल हालिएकोलाई इखको रुपमा लिएको बताए ।

    आज आयोजित राप्रपाको आमसभामा बोल्दै लिङदेनले थुनामा रहेका नेताहरूलाई निशर्त छोड्न आग्रह गरे । राजा चाहिन्छ भनेकै आधारमा थुन्ने हो भने लाखौं मानिसहरु थुननि तयार रहेको भन्दै जेलहरु खाली गर्न सुझाव दिए ।

    लिङदेनको भनाइको एक अंशः

    केपी ओली र रमेश लेखकजी, हाम्रा नेताहरू पक्राउ गरिएकोलाई हामीले ईखको रूपमा लिएका छौं । चुनाव जितेको जनताको प्रतिनिधिलाई खोरमा अपमानित ढंगले राख्नुभएको छ, हाम्रो उपाध्यक्षलाई हत्कडी लगाएर दुनियाँलाई देखिस् भनेर हिँडाउनुभएको छ । यसले हामी होचिएका छैनौं । ईखको रूपमा लिएका छौं ।

    राजा चाहिन्छ भनेका कारण मानिसहरू थुन्ने हो भने हामी लाखौं थुनिन तयार छौं । हाम्रा लागि जेल खाली गर्नुस् । यो सँगसँगै याद राख्नुस्, तपाईंहरूले देशमा लुटतन्त्र मच्चाएर राख्नुभएको छ, त्यसलाई राम्रोसँग हेरेका छौं । तपाईंहरू जेल राम्रो बनाएर राख्नुस, पछि आफू नै बस्ने हो । त्यो दिन आउँछ आउँछ । तपाईंहरु जीवनको उत्तरार्द्धमा जेल बस्ने नै हो । मन्त्री, प्रधानमन्त्री भएर बस्ने सुविधासम्पन्न क्वाटरमात्र होइन जीवनको उत्तरार्द्धमा बस्ने जेल पनि सुविधाजनक बनाएर राख्नुस् ।

    म भन्न चाहन्छु सत्ता सँधैभरि तपाईंहरूको हातमा हुँदैन । जनता तपाईंको गोठको गाइवस्तु होइन । हाम्रा नेताहरूलाई निशर्त छोड्नुस । दु:ख दिएँ, चाखिस् भन्नुहोला । जति दिन थुन्नुहुन्छ यो जनमत दिन दुईगुना रात चौगुना बढेर जान्छ । राजा चाहिन्छ हिन्दू, राष्ट्र चाहिन्छ भन्नु संगठित अपराध हो ?

  • राप्रपालाई पेल्दै गए चुनावी प्रक्रिया त्यागेर विद्रोहको राजनीति गर्ने बुद्धिमानको चेतावनी

    राप्रपालाई पेल्दै गए चुनावी प्रक्रिया त्यागेर विद्रोहको राजनीति गर्ने बुद्धिमानको चेतावनी

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष बुद्धिमान तामाङले आफ्नो पार्टीलाई पेलानमा पार्न खोजिएमा विद्रोह गर्ने चेतावनी दिएका छन् । पत्रकार सम्मेलन गरेर चुनावी प्रक्रिया नै त्यागेको घोषणा गर्न सक्ने उनको भनाइ छ ।

    आज आयोजित राप्रपाको आमसभालाई सम्बोधन गर्दै तामाङले राष्ट्रिय सहमतिबाट एजेन्डा स्थापित होस भन्ने पार्टीले चाहेको उल्लेख गरे । राप्रपाले शान्तिपूर्णरूपमा आन्दोलन गर्ने र ‘जेल भर’ अभियान चलाउन समेत तयार हुने उनले बताए ।

    तामाङले थपे, ‘सदन र सडक दुवैबाट पार भएन भने राप्रपाले सोच्नुपर्ने दिन आइसक्यो । हामीले यो संविधानसँग सहकार्य गर्ने बाटो अख्तियार गरेकोमा अब यो बाटो छोडेर पूरा संघर्ष र विद्रोहको बाटो लिनुपर्ने अवस्था आउनेछ । यही मञ्चबाट भन्न चाहन्छु, राप्रपालाई यस्तै पेल्ने हो भने विधिवत प्रेस सम्मेलनमार्फत चुनावी प्रक्रिया त्यागेको घोषणा गरेर विद्रोहको राजनीतिक सुरु गर्छ ।’

    पार्टीका नेताहरूलाई झूटो मुद्दा लगाएर नफसाउन उनले चेतावनी दिए । फरक विचार र संविधानमा नभएको कुरा बोल्दैमा हत्कडी लगाउने हो भने केपी ओली र प्रचण्डलाई लगाउनुपर्ने तामाङले बताए ।

    ‘ओलीले संविधानमा नभएको प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री चाहिन्छ भन्नुभएको छ । प्रचण्डले कार्यकारी राष्ट्रपतिको माग गरेर हिँड्नुभएको छ । उहाँहरूलाई पनि गिरफ्तार गरेर थुन्नुपर्छ,’ उनले भने, ‘हाम्रा साथीहरूलाई राजसंस्था पुन:स्थापनाको कुरा गर्दा संविधानविपरित भनेर मुद्दा लाग्ने, उनीहरूलाई नलाग्ने किन ?’

  • राप्रपा सभामा सूचनाः बोतल जथाभावी नफ्याँक्नुस्, एकजना पत्र काट्न बसेको छ (भिडिओ)

    राप्रपा सभामा सूचनाः बोतल जथाभावी नफ्याँक्नुस्, एकजना पत्र काट्न बसेको छ (भिडिओ)

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज बल्खुमा गरेको आमसभामा फोहोर नगर्न सहभागीहरुलाई अनुरोध गरिएको छ । मञ्चबाट उद्घोषकले नै यस्तो आग्रह गरेका हुन् ।

    पार्टी उपाध्यक्ष रोशन कार्कीको भाषण सकिएपछि उद्घोषकले पार्टीको सन्देश सुनाएका थिए । पानीको बोतल जथाभावी नफ्याँक्न उनले सहभागीहरुलाई निर्देशित गरे ।

    उनको सन्देश यस्तो थियो

    ‘एउटा सूचना प्राप्त भएको छ । अलिअलि गरम छ । साथीभाइहरुले पानी पिइराख्नुभएको होला । बोतललाई व्यवस्थित ढंगले राखिदिनुहोला । जथाभावी नफ्याँकिदिनु होला । फेरि एकजना पत्र काट्न तयार भएर बसेको छ । त्यो पत्र आउँछ । पानीको बोतल तपाईंले बोक्नुभएको भए पनि तपाईंको नाम थाहा नभएर राप्रपामा पत्र आउँछ । किन राप्रपालाई पत्र काट्ने बनाउनुहुन्छ ? राष्ट्रवादी कसरी कार्यक्रम गर्छन् भन्ने दृष्टान्त पनि दिनुछ ।’

  • माओवादीले गरेको ५ खर्बको भौतिक क्षति प्रचण्डको सम्पत्तिबाट ब्याजसहित असुल्नुपर्छः ज्ञानेन्द्र शाही (भिडिओ)

    माओवादीले गरेको ५ खर्बको भौतिक क्षति प्रचण्डको सम्पत्तिबाट ब्याजसहित असुल्नुपर्छः ज्ञानेन्द्र शाही (भिडिओ)

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका युवा नेता ज्ञानेन्द्र शाहीले माओवादी जनयुद्धमा भएको भौतिक क्षतिको रकम प्रचण्डको सम्पत्तिबाट असुल्नुपर्ने माग राखेका छन् । प्रचण्डले आफ्नो परिवारलाई पदमा पुर्‍याउन देशले १५ खर्बको भौतिक क्षति व्यहोरेको उनको दाबी छ ।

    आज आयोजित राप्रपाको आमसभामा बोल्दै शाहीले भने, ‘१० वर्षको युद्धमा देशले १ खर्ब ३० अर्ब, जुन आजको मूल्य ५ खर्ब हुन्छ, को भौतिक सम्पत्ति ध्वस्त पारेका छन् । त्यसको ब्याजसहित प्रचण्डको सम्पत्तिबाट असुल्नुपर्छ । के परिवर्तन भयो ? प्रचण्डकी बुहारी मन्त्री, छोरी मेयर, भाइ, ज्वाइँ, छोरो, नाति सबैलाई पदमा पुर्‍याउन यो देशले ३०५ खर्ब, आजको मूल्यमा १५ खर्ब १५ अर्बको भौतिक क्षति भोग्यो । त्यसको एक-एक हिसाब माओवादीले तिर्नुपर्छ ।’

    शाहीले देशका ११ सय ठूला साना उद्योग माओवादीले बन्द गराएको तथा एक लाखभन्दा बढी घरेलु उद्योग सखाप पारेको आरोप लगाए । ६ लाखभन्दा बढीलाई बेरोजगार बनाएर बेल्चा हाल्न विदेश पठाइएको उनले बताए ।

    कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले संसदमा राजतन्त्र र गणतन्त्रको गलत डाटा प्रस्तुत गरेको आरोप पनि शाहीले लगाए ।

    उनले भने, ‘विश्वप्रकाशजीले राजाका पालामा देश गरिब थियो, अहिले धनी भयो भन्नुभयो । उहाँको कानमा बज्नेगरी सुनाइदिनुहोला । २०४४ सालमा नेपालको प्रतिव्यक्ति आय १४६ डलर थियो भने चीनको २८४ डलर थियो । आज चीनको प्रतिव्यक्ति २४,३६० डलर छ भने नेपालको एक हजार ४ सय ५६ डलर । पहिले ९८ डलरले धनी थियो चीन, आज २२ हजार ९०४ डलरले नेपालभन्दा धनी छ । अनि यी भ्रष्टहरूले देश बर्बाद पारेका हुन् कि होइनन् ?’

  • राप्रपा सांसद दिपक सिंहको खबरदारी- सरकार सुध्रिएन भने बंगलादेश र श्रीलंकाको अवस्था जनताले ल्याउनेछन् (भिडिओ)

    राप्रपा सांसद दिपक सिंहको खबरदारी- सरकार सुध्रिएन भने बंगलादेश र श्रीलंकाको अवस्था जनताले ल्याउनेछन् (भिडिओ)

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा सांसद दिपक सिंहले नेपालमा बंगलादेश र श्रीलंकाजस्तो अवस्था आउने चेतावनी दिएका छन् । उनले कांग्रेस, एमाले र माओवादीका समर्थकहरुलाई पनि देश जोगाउनका लागि राजसंस्थाको पक्षमा उभिन आह्वान गरे ।

    आज आयोजित राप्रपाको आमसभामा बोल्दै सिंहले भने, ‘यो सभामा मैले कांग्रेस, एमाले र माओवादीका पनि धेरै राष्ट्रवादी साथीहरु देखिराखेको छु । देश र जनता बचाउन सबै एकजुट हुनुपर्ने अवस्था आएको छ । यो तस्करले चलाएको भ्रष्ट सरकारलाई जडबाट उखेलेर फ्याकिदिउँ । अहिले पनि यो सरकार सुध्रिएन भने बंगलादेश र श्रीलंकाको अवस्था नेपाली जनताले ल्याउने छ ।’

    सिंहले गत चैत १५ गते सरकारले नै पत्रकार सुरेश रजकको हत्या गरेको उनले दाबी गरे ।

    सिंहको थप भनाइः

    म एउटा सभासदको हैसियतले आज यो मञ्चमा उभिएको छु । मेरो लागि सबैभन्दा पहिले राष्ट्र र जनता हुन्छ । मेरो धर्म, परम्परा र संस्कृति बनाउनका लागि राजसंस्था अपरिहार्य छ । सबैलाई एउटै धागोमा उन्नका लागि राजावाहेक अरु विकल्प छैन ।

    १५ गते छानीछानी जनताको छातिमा गोली हाने । पत्रकारलाई बन्दूकले हानेर कुटीकुटी घाइते बनाएर आगो लगाएको यही सरकारले हो । यो सरकारको भिजिलान्ते परिचालन गरेर कयौं मान्छेलाई अंगभंग बनाएका छन् । यो आन्दोलनमा हाम्रा डाक्टर धवलशम्शेर राणा, महामन्त्री रविन्द्र मिश्रलाई पक्राउ गरिएको छ । उनीहरू आतंक गर्ने मान्छे हो ? म ओली र गृहमन्त्रीलाई भन्छु तपाईंहरू त आठ क्लास पास गर्नुभएको हो । यी विद्वान मान्छेहरूलाई उग्र बनाएको तपाईंहरुले हो । त्यसैले निशर्त छोड्नुपर्छ, महंगो मूल्य चुकाउनुपर्छ । यदि जनता यसरी नै सडकमा आए भने दुई तिहाइको दम्भ तोडिनेछ । बंगलादेशमा सत्ता पल्टाएर भागेर जानुपरेको जस्तै यी कम्युनिष्टहरु देश छोडेर जानुपर्ने छ ।

  • घरको छतमा चढेर आमसभा हेर्नेहरूप्रति चनाखो हुन राप्रपाको घरधनीहरूलाई आग्रह

    घरको छतमा चढेर आमसभा हेर्नेहरूप्रति चनाखो हुन राप्रपाको घरधनीहरूलाई आग्रह

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले बल्खुमा आफ्नो सभास्थल नजिक रहेका घरधनीहरूलाई चनाखो रहन आग्रह गरेको छ । आमसभा हेर्न भनेर घरको छतमा चढेकाहरु घुसपैठिया पनि हुन सक्ने भन्दै पार्टीले सो आग्रह गरेको हो ।

    आमसभाका क्रममा कार्यक्रमका उद्घोषकले भने, ‘यहाँ घरको छतहरूबाट कार्यक्रमलाई हेरिरहेको भन्ने सूचना आएको छ । घरको छतमा बसेर हेर्नेहरू घरकै सदस्य हो होइन, घुसपैठिया पनि हुन सक्छ । त्यसैले सतर्कता अपनाउन अनुरोध गर्दछौं ।’

    गत चैत १५ गते तीनकुनेको आन्दोलनमा प्रहरीले घरको छतबाट सभास्थलमा अश्रुग्यास प्रहार गरेको आरोप आन्दोलनकारीहरुले लगाउँदै आएका छन् । सोही आरोपमा थुप्रै घरमा तोडफोड र आगजनीसमेत गरिएको थियो ।

  • मधेश प्रदेशसभामा प्रधानमन्त्री ओलीको सम्बोधन

    मधेश प्रदेशसभामा प्रधानमन्त्री ओलीको सम्बोधन

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले मधेश प्रदेशसभाको बैठलाई विशेष सम्बोधन गरिरहेका छन् ।

  • बल्खुमा राप्रपाको शक्ति प्रदर्शन (तस्बिरहरू)

    बल्खुमा राप्रपाको शक्ति प्रदर्शन (तस्बिरहरू)

    काठमाडौं । बल्खुमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को खबरदारी सभाको तयारी भइरहेको छ ।

    आमसभाका लागि नेता कार्यकर्ता, समर्थकहरू जम्मा हुने क्रम बढेको छ । उनीहरू विभिन्न ब्यानर र नाराअंकित प्लेकार्ड बोकेर कार्यक्रम स्थल पुगेका छन् । बल्खु चोकमा हुने आमसभामालाई अध्यक्ष राजेन्द्र लिङदेन लगायत पार्टीका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।  बागमती प्रदेशस्तरीय वृहत् प्रदर्शन तथा आमसभामा हुनसक्ने सम्भावित घुसपैठका लागि राप्रपाले आफ्नो संयन्त्र र स्वयंसेवक परिचालन भइसकेको प्रवक्ता मोहन श्रेष्ठले बताए ।

    राजसंस्था पुन:स्थापना र हिन्दूराज्यका पक्षमा राप्रपाले प्रदर्शन गर्दै आएको छ ।  यसअघि दुर्गा प्रसाईंले नेतृत्व गरेको तीनकुनेको राजवादी समर्थकको प्रदर्शन हिंसात्मक बनेपछि आज सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ ।

    सभाका लागि बल्खु पुगेकी राप्रपा केन्द्रीय सदस्य खुस्बु ओलीले आम सर्वसाधारणलाई विद्रोहमा उत्रिन आह्वान गरिन् । उनले कांग्रेस, एमाले र माओवादीमा आबद्धहरूलाई दासभन्दा माथि उठ्न आग्रह समेत गरिन् । ओलीले राप्रपा नेताहरूलाई पक्राउ गरेर थुनेकोमा आपत्ति जनाउँदै कारवाही राष्ट्रवादीहरूलाई होइन अहिलेको दलका नेताहरूमाथि हुनुपर्ने माग राखिन् ।

  • ५ हजार मार्ने प्रचण्ड र बाघजस्तो झम्टेऊ भन्ने केपी ओलीलाई कारवाही हुनुपर्छ : खुस्बु ओली

    ५ हजार मार्ने प्रचण्ड र बाघजस्तो झम्टेऊ भन्ने केपी ओलीलाई कारवाही हुनुपर्छ : खुस्बु ओली

    काठमाडौं । राप्रपा केन्द्रीय सदस्य तथा राजसंस्था फर्काउने आन्दोलनकी ‘पब्लिक फेस’ खुस्बु ओलीले आम सर्वसाधारणलाई विद्रोहमा उत्रिन आह्वान गरेकी छन् । उनले कांग्रेस, एमाले र माओवादीमा आबद्धहरूलाई दासभन्दा माथि उठ्न आग्रह समेत गरेकी छन् ।

    राप्रपाले मंगलवार काठमाडौंमा आयोजना गरेको जनप्रदर्शनका क्रममा बल्खुमा पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रवादी नेता कार्यकर्तालाई बोल्न नदिएर देशमा लोकतन्त्र होइन दासहरू मात्र बाँच्न पाउँछन् भन्ने सन्देश दिइएको बताइन् ।

    ओलीले राप्रपा नेताहरूलाई पक्राउ गरेर थुनेकोमा आपत्ति जनाउँदै कारबाही राष्ट्रवादीहरूलाई होइन अहिलेको दलका नेताहरूमाथि हुनुपर्ने बताइन् ।

    ओलीले भनिन्- ‘५ हजार मैले मारेको हुँ भनेर स्वीकार गर्ने प्रचण्डलाई कारबाही गर्नुपर्छ । राष्ट्रवादीहरूमाथि बाघ बनेर झम्टिन आह्वान गर्ने केपी शर्मा ओलीमाथि कारबाही हुनुपर्छ । बालसेना प्रयोग गरेर हत्या हिंसा मच्चाएको स्वीकार गर्ने बाबुराम भट्टराईमाथि कारबाही हुनुपर्छ ।’

  • राप्रपा जनप्रदर्शन- आन्दोलनकारी नआउँदै बल्खुमा सुरक्षाकर्मीको घुइँचो

    राप्रपा जनप्रदर्शन- आन्दोलनकारी नआउँदै बल्खुमा सुरक्षाकर्मीको घुइँचो

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको जन प्रदर्शनमा सरकारले कडा सुरक्षा प्रबन्ध गरेको छ । हजारौँ संख्यामा सशस्त्र र नेपाल प्रहरी बल्खु र आसपासका क्षेत्रमा खटिएका छन् ।

    राप्रपाले गर्ने आमसभाको सुरसार नहुँदै सुरक्षा परिचालन गरिएको हो । राप्रपा कार्यकर्ताहरू स्टेजको निर्माण र व्यवस्थापनमा जुटिरहेका छन् । पार्टीका नेताहरूको इन्ट्री भएको छैन । एकाध भारतीय मिडिया पनि आन्दोलनको रिपोर्टिङ गर्न आएका छन् ।

    राप्रपाले गर्ने आन्दोलनलाई संयुक्त जनआन्दोलन समितिले समर्थन जनाएको छ । यस्तै, दुर्गा प्रसाईँको अभियानबाट पनि साथ र समर्थन हुने भनिएपछि सुरक्षा निकाय चनाखो बनेको बुझिएको छ ।

  • आज काठमाडौंका तीन स्थानमा प्रदर्शन

    आज काठमाडौंका तीन स्थानमा प्रदर्शन

    काठमाडौं । आज काठमाडौंका तीन स्थानमा प्रदर्शन हुने भएको छ ।

    मंगलवार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपाल शिक्षक महासंघ र सहकारी तथा लघुवित्त पीडितले काठमाडौंका विभिन्न स्थानमा प्रदर्शन गर्ने भएका हुन् ।

    राप्रपाले बल्खुमा विरोध कार्यक्रम गर्दा नेपाल शिक्षक महासंघले माइतीघर मण्डलामा भेला भई बानेश्वर र माइतीघर सडक खण्डको बिचमा कार्यक्रम गर्ने भएका छन् ।

    यस्तै, सहकारी तथा लघुवित्त पीडितले शान्तिवाटिकामा कार्यक्रम गर्नेछन् । सवारी आवागमनलाई सहज बनाउन प्रहरीले आवश्यकता अनुसार सवारी साधनलाई डाइभर्सनको व्यवस्था मिलाएको जानकारी दिएको छ ।

  • बल्खुमा राप्रपाको आमसभा, लिङदेन लगायतका नेताहरूले सम्बोधन गर्ने

    बल्खुमा राप्रपाको आमसभा, लिङदेन लगायतका नेताहरूले सम्बोधन गर्ने

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज बल्खुमा आमसभाको आयोजना गर्दैछ ।

    बल्खु चोकमा हुने आमसभामालाई अध्यक्ष राजेन्द्र लिङदेन लगायत नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

    बिहान साढे ११ बजेबाट हुने आमसभामा सहभागिताका लागि राप्रपाले सबैलाई आह्वान गरेको प्रवक्ता मोहन कुमार श्रेष्ठले बताए ।

    बागमती प्रदेशस्तरीय बृहत् प्रदर्शन तथा आमसभामा हुनसक्ने सम्भावित घुसपैठका लागि राप्रपाले आफ्नो संयन्त्र र स्वयंसेवक परिचालन गर्ने जनाएको छ ।

    राजसंस्था पुनर्स्थापना र हिन्दूराज्यका पक्षमा राप्रपाले प्रदर्शन गर्दै आएको छ । यसअघि दुर्गा प्रसाईंले नेतृत्व गरेको तीनकुनेको राजवादी समर्थकको प्रदर्शन हिंसात्मक बनेपछि राप्रपाले आफ्नै नेतृत्वमा अभियान अगाडि बढाउने निर्णय गरेको हो ।

  • भोलि मलाई थुनियो भने आन्दोलन झन् निर्णायक भएर जान्छ : राजेन्द्र लिङदेन

    भोलि मलाई थुनियो भने आन्दोलन झन् निर्णायक भएर जान्छ : राजेन्द्र लिङदेन

    काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले आफ्नो पार्टीको आह्वानमा भोलि शान्तिपूर्ण प्रदर्शन हुने बताएका छन् । राप्रपाले हिंसा र अराजकतामा आफ्नो भविष्य नदेखेको उनको भनाइ छ ।

    आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै लिङदेनले भद्र अवज्ञा र सत्याग्रहका रुपमा आन्दोलन अघि बढाउने बताए । कांग्रेस, एमाले र माओवादीका समर्थकहरुलाई समेत आन्दोलनमा आउन उनले अपिल गरे ।

    ‘आफ्नो जीवनकालमै देशमा परिवर्तन देख्न चाहने सबैलाई आन्दोलनमा सहभागी हुन अनुरोध गर्दछु । आफ्नो पार्टीको झण्डा लिएर आउन मन लागे ल्याउन सक्नुहुन्छ, नत्र राष्ट्रिय झण्डा बोकेर आउनुस । कांग्रेस, एमाले, माओवादीमा पनि देशलाई माया गर्नेहरु हुनुहुन्छ । तपाईंहरु आफ्नो पार्टीको झण्डा लिएर आउनुस्’, लिङदेनले भने ।

    राज्य पक्षले हिंसा भड्काउन सक्नेमा आफूहरु सचेत रहेको भन्दै उनले जनप्रदर्शनमा हजारौं भोलिन्टियर्सलाई खटाइसकेको जानकारी दिए । कार्यक्रमस्थल ९ बजेबाटै स्वयम्सेवकको नियन्त्रणमा रहने र घुसपैठीहरुलाई ठाउँको ठाउँ आयोजकको तर्फबाट कारवाही गरिने उनले चेतावनी दिए ।

    ‘यदि मलाई थुनियो भने मबिना पनि आन्दोलन बढेर जान्छ । हाम्रा पार्टीका नेताहरु थुनिँदा आन्दोलनलाई बल पुगेको छ । मलाई राखियो भने झन् आन्दोलन निर्णायक भएर जान्छ,’ लिङदेनले भने ।

  • राप्रपाको आन्दोलनमा राप्रपा नेपाल सहभागी हुन्छ ? प्रवक्ता भन्छन्- राष्ट्रिय झण्डा बोक्ने भए मात्र

    राप्रपाको आन्दोलनमा राप्रपा नेपाल सहभागी हुन्छ ? प्रवक्ता भन्छन्- राष्ट्रिय झण्डा बोक्ने भए मात्र

    काठमाडौं । प्रमुख राजावादी दल राष्ट्रिय प्रजातन्त्र पार्टीले राजसंस्था पुनर्स्थापनाको एजेन्डासहित भोलि काठमाडौंमा प्रदेशस्तरीय आमसभा गर्दैछ । यही आमसभामार्फत राप्रपाले आफ्नो नयाँ आन्दोलनको शंखघोष गर्न लागेको हो ।

    राप्रपाले गर्ने आन्दोलनलाई नवराज सुबेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले समर्थन जनाइसकेको छ । समितिका कार्यवाहक अध्यक्ष डा. जगमान गुरुङले आन्दोलनमा राष्ट्रिय झण्डा बोकेर सक्रिय सहभागी हुनसमेत सबैलाई अपिल गरेका छन् ।

    जुनसुकै पार्टी र समूहले पनि राजसंस्थाको एजेन्डा बोकेर गर्ने आन्दोलनमा सहभागी हुने समितिको घोषित नीति नै छ । अर्को राजावादी दल राप्रपा नेपालले भने अहिलेसम्म राप्रपाको आन्दोलनका विषयमा कुनै पनि प्रतिक्रिया दिएको छैन । यसअघि दुर्गा प्रसाईँको नेतृत्वमा भएको तीनकुने आन्दोलनमा राप्रपा नेपालले समर्थन जनाएको थियो । तर, राप्रपाको आन्दोलनमा सहभागी हुने नहुनेमा पार्टी अनिर्णीत छ ।

    राप्रपा नेपालका प्रवक्ता राजाराम बर्तौलाले यो विषय आज बस्ने कार्यसम्पादन समितिको बैठकबाट टुंगो लाग्ने बताए ।  उनले भने, ‘अहिले हामी बैठकमा छलफल गरेर निर्णय लिनेछौँ ।’ राजसंस्थाको एजेन्डाका लागि राष्ट्रिय झण्डा सहित हुने कुनै पनि प्रदर्शनमा सहभागी हुने राप्रपा नेपालको घोषित नीति रहेको बर्तौलाले स्मरण गराए ।

    अन्य पार्टीको झण्डा बोकेर हुने आन्दोलनमा भने भाग लिन नसकिने उनको भनाइ छ । ‘यदि उहाँहरूले राष्ट्रिय झण्डा नै बोक्ने हो भने हाम्रो पार्टीको पनि सक्रिय सहभागिता हुन सक्छ । पार्टीको झण्डा बोकेमा हामीले साथ दिन मिल्दैन । त्यस्तो अवस्थामा हामी नैतिक समर्थन भने गर्नेछौँ,’ उनले भने ।

    राप्रपाका बाग्मती प्रदेश अध्यक्ष विक्रम थापा भने भोलिको प्रदर्शनमा राष्ट्रिय झण्डा र पार्टीको झण्डा दुवै बोकिने बताउँछन् । उनले भने, ‘हाम्रो पहिलेदेखिकै अभ्यास यही नै हो । राष्ट्रिय झण्डा पनि हुन्छ, पार्टीको झण्डा पनि हुन्छ ।’

    अरू पार्टीका मानिसहरू आफ्नै झण्डा बोकेर आएमा पनि नरोकिने उनको भनाइ छ । थापाले भने, ‘कांग्रेसका कार्यकर्ताहरू चारतारे झण्डा बोकेर आउँछन् भने पनि हामी स्वागत गर्नेछौँ । मुख्य कुरा एजेन्डा हो, झण्डा होइन ।’

    यसअघि चैत १५ गतेको तीनकुने आन्दोलनमा सहभागी भए पनि त्यसको आयोजक राप्रपा थिएन । यस्तै, पूर्वराजा ज्ञानेन्द्र शाहलाई काठमाडौंमा स्वागत गर्दा भएको विशाल जनप्रदर्शनलाई पनि राप्रपाले अगुवाइ गरेको होइन । भोलिको प्रदर्शन भने राप्रपाकै हो, जसले काठमाडौंमा उसको वास्तविक शक्तिपरीक्षण हुने छ ।

  • राप्रपाको आमसभास्थल सर्‍यो, भृकुटीमण्डपको साटो बल्खुमा

    राप्रपाको आमसभास्थल सर्‍यो, भृकुटीमण्डपको साटो बल्खुमा

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भोलिको आमसभा बल्खुमा गर्ने भएको छ । प्रशासनले सुरक्षा कारण देखाउँदै भृकुटीमण्डपमा अनुमति नदिएपछि बल्खुमा गर्ने भएको हो । प्रशासनले बल्खु वा सिफलमा आमसभा गर्न भनेको थियो ।

    चैत २२ गते राप्रपाले भृकुटीमण्डपमा सभा गर्नका लागि अनुमति मागेको थियो । प्रवक्ता मोहनकुमार श्रेष्ठले आन्दोलनलाई योजनाबद्ध ढंगबाट क्रमिक रुपमा अघि बढाउन आग्रह गरेका छन् ।

    उनले भनेका छन्, ‘भोलि चैत २६ गते भृकुटीमण्डपमा हुने भनिएको राप्रपाको बागमती प्रदेश स्तरीय प्रदर्शन र आमसभा बल्खुमा हुनेछ। प्रशासनले सुरक्षाको कारण देखाउॅदै भृकुटीमण्डपमा अनुमति नदिएपछि स्थान परिवर्तन गर्नुपरेको हो । सरकारको रवैयाबाट बुझौं- हाम्रो आन्दोलनले उचाई लिदैंछ । आन्दोलनलाई योजनाबद्ध ढंगबाट क्रमिक रुपमा अघि बढाऔं ।

  • आन्दोलनलाई दबाउने कोसिस भए ‘जेल भर’ अभियान चलाउँछौं: शाही

    आन्दोलनलाई दबाउने कोसिस भए ‘जेल भर’ अभियान चलाउँछौं: शाही

    दाङ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले नेपाली कांग्रेस कुन कित्तामा उभिने हो भन्ने स्पष्ट गर्नुपर्ने बताएका छन् ।

    राप्रपा दाङ क्षेत्र नम्बर १ ले लमहीमा आयोजना गरेको बृहत् आमसभालाई सम्बोधन गर्दै उनले कांग्रेसलाई राष्ट्रवादी कि आतंकवादी कुन कित्ता रोज्ने हो भनेर प्रश्न उठाए ।

    ‘कांग्रेस कुन कित्तामा उभिने हो, कांग्रेसले क्लियर गरोस्’, उनले भने, ‘देशमा राष्ट्रवादी र आतंकवादी दुई कित्ता छन् । कुन रोज्ने हो, कांग्रेसले रोजोस् ।’

    शाहीले कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालाई चुनौती पनि दिए । शान्तिपूर्ण आन्दोलनमा सहभागी भएको निहुँमा झूटा मुद्दा लगाउने प्रयास भए आफूहरू चुप नबस्ने उनले चेतावनी दिए ।

    ‘झूटा मुद्दा लगाए हामी चुप लाग्दैनौं । नभए ‘जेल भर’ अभियान चलाउँछौं’, शाहीले भने ।

    उनले अब जनताले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री छान्न पाउनुपर्ने धारणा पनि राखे । ‘प्रधानमन्त्रीलाई सबैले भोट हाल्ने व्यवस्था चाहिन्छ’, उनले भने ।

  • बीपीको शिरमा कसरी बेरियो जुटको बोरा ? झूटो अफवाह फैलाउँदै कांग्रेस

    बीपीको शिरमा कसरी बेरियो जुटको बोरा ? झूटो अफवाह फैलाउँदै कांग्रेस

    रुपन्देही । नेपालगञ्जमा रहेको बीपी कोइरालाको शालिकमा कालो कपडा बेरिएको तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यो विषयलाई लिएर कांग्रेस र राप्रपा समर्थकहरू आपसमा आरोप-प्रत्यारोप गरिरहेका छन् ।

    कांग्रेसले महामानव मान्ने गरेका बीपीको शालिक नेपालगञ्ज उपमहानगरपालिका-१२ स्थिति बीपी चोकमा ठडिएको छ । यो राप्रपा महामन्त्री तथा प्रतिनिधिसभा सदस्य डा. धवलशमशेर राणाको निर्वाचन क्षेत्रमा पर्छ । नेपालमा लोकतन्त्र आएपछि राजा-महाराजाहरूको शालिक तोडफोड गर्ने श्रृंखला चलेको थियो । त्यसैको सिको गर्दै राजावादीहरूले पनि शालिकलाई निशाना बनाएका हुन् त भन्ने प्रश्न उठेको छ ।

    कांग्रेसका स्थानीय नेताहरूले राप्रपाका कार्यकर्ताले उग्रता देखाउँदै बीपीको शालिकमाथि दुर्व्यवहार गरेको आरोप लगाएका छन् । शालिकको अनुहारमा कालोमोसो दलिएको समेत उनीहरूको दाबी छ । राप्रपाले भने स्थानीयदेखि केन्द्र स्तरबाटै खण्डन गरेको छ । बीपीप्रति आफूहरूको पनि सम्मान रहेकाले यस्तो दुर्व्यवहारको कल्पनै गर्न नसकिने उनीहरूको भनाइ छ ।

    कांग्रेस बाँकेका सभापति नारायणप्रसाद पौडेलले यस्तो घृणित कार्यको विरोध गर्दै आगामी दिनमा यस्ता गल्ती नदोहोराउन चेतावनी दिएका छन् । उनले लोकतन्त्रका लागि बीपीको योदान स्मरण गराउँदै यस्तो दुस्साहस नगर्न सुझाएका छन् ।

    पार्टीको तर्फबाट जारी गरिएको विज्ञप्तिमा इतिहास बनाएका व्यक्तिको शालिकमा कालोमोसो लगाउने, कालो कपडा बेर्ने र तोडफोड गर्न तयार हुने व्यक्तिलाई अविलम्ब कारबाही गर्न माग गरेका छन् पौडेलले ।

    नेपालगञ्जकी पूर्वउपप्रमुख तथा कांग्रेस महासमिति सदस्य उमा थापाले शनिबार साँझ प्रहरीको ठूलो घेराबन्दीको बीचमा निस्केको राँके जुलुसमा सहभागीहरूले बीपीको शालिकमा दुर्व्यवहार गरेको बताइन् ।

    ‘यो बीपी र प्रजातन्त्रमाथिको प्रहार हो, दुर्व्यवहार हो, अराजकता हो, यस्तो कामले कसैलाई राम्रो गर्दैन’ उनले नेपाल प्रेससँग भनिन्, ‘प्रहरीको निगरानी नभएको भए उनीहरुले तोडफोड पनि गर्ने थिए, निकै अराजक बनेको थियो त्यो समूह ।’

    भएको के थियो ?

    शनिबार राति राजावादीहरूको समूहले पार्टीका नेताद्वय रवीन्द्र मिश्र र डा. धवलशमशेर राणाको रिहाइको माग गर्दै राँके जुलुस निकालेका थिए । प्रहरीले प्रदर्शनकारीले बोकेको राँको निभाउन जुटको बोराहरू पानीमा भिजाएर ल्याएका थिए । यो अभ्यास पहिले पनि हुने गर्थ्यो ।

    प्रहरीले जुलुसमा हस्तक्षेप गरेर मसाल खोस्न खोज्दा जुटको बोरा तानातान भयो । यही क्रममा बोरा पुत्किएर शालिकको टाउकोमा पुगेको प्रहरीले बताएको छ । प्रहरीले तत्कालै शालिकमा चढेर उक्त बोरा निकालेको थियो । त्यसमा प्रदर्शनकारीले कुनै अवरोध गरेनन् । प्रहरीले उक्त बोला निकालेको भिडिओ पनि सार्वजनिक भएको छ ।

    राप्रपाका सहमहामन्त्री ऋषि देवकोटाले कांग्रेसले भ्रामक प्रचार गरिरहेको बताए ।

    उनले भने, ‘कांग्रेस नेताहरुले राप्रपालाई बदनाम गराउनका लागि भ्रामक प्रचार गरिरहेका छन् । एमाले महासचिव शंकर पोखरेलले पनि यसमा मद्दत गरे । खासमा बोरा उछिट्टएर त्यहाँ पुगेको मात्र हो । त्यसमा हाम्रा कार्यकर्ताको कुनै हात छैन ।’

    प्रहरीको भनाइ पनि राप्रपाको दाबीसँग मेल खान्छ । भवितव्यले भएको घटनालाई अनावश्यक प्रचार गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी दिपक पातलीले बताए ।

    उनले भने ‘हिजो साँझ राँके जुलुसको समयमा म पनि त्यहाँ नजिकै थिएँ । कसैले जानेर गरेको होइन । जुलुसको मसाल निभाउने क्रममा कपडा वा बोरा उछिट्टिएर गएको हो । यो एक्सिडेन्टली भएको हो, अनावश्यकरूपमा यसलाई प्रचार गरियो । अनावश्यक फण्डा गरिएको हो,’ उनले नेपाल प्रेससँग भने ।

    राप्रपा नेपालगन्जले आफ्नो तर्फबाट यस्तो नभएको प्रष्टीकरण दिएको छ । नगर अध्यक्ष हुकुम जीसीले इतिहास बनाएका सबै नेताहरुप्रति पार्टीको उच्च सम्मान भएको भन्दै विज्ञप्ति जारी गरेका छन् ।

    राप्रपाका केन्द्रीय प्रवक्ता मोहनकुमार श्रेष्ठले पनि आफ्नो पार्टीको यस्तो नीति नरहेको यदि आन्दोलनमा घुसपैठ भएर यस्तो गरिएको भए छानबिन हुने बताएका छन् ।

    कालो पोतिएको छैन

    बीपीको अनुहारमा कालो कपडामात्रै नभएर कालो पोतिएको प्रचार पनि कांग्रेसले गरेको छ । तर, यथार्थमा कालो पोतिएको छैन । प्रहरीले पनि कालो पोतिएको कुरा झूटो भएको बताएको छ ।

  • राप्रपाको आन्दोलनलाई जगमानको समर्थन, राष्ट्रिय झण्डासहित भाग लिन अपिल

    राप्रपाको आन्दोलनलाई जगमानको समर्थन, राष्ट्रिय झण्डासहित भाग लिन अपिल

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले राजसंस्था पुन:स्थापनाका लागि गर्ने आन्दोलनलाई संयुक्त जनआन्दोलन समितिले समर्थन जनाएको छ । समितिका कार्यवाहक संयोजक जगमान गुरुङले एक विज्ञप्ति जारी गर्दै राप्रपाको आन्दोमा सक्रिय सहभागी हुन अपिल समेत गरेका छन् ।

    राप्रपाले ‘अवस्था बदल्न व्यवस्था बदलौं’ भन्ने मूल नाराका साथ २६ गते काठमाडौंको भृकुटीमण्डमा थनप्रदर्शन तथा आमसभा गर्दैछ । उक्त कार्यक्रमलाई समितिले अपनत्व प्रस्तुत गरेको हो ।

    विज्ञप्तिमा गुरुङले राप्रपाको कार्यक्रममा राष्ट्रिय झण्डासहित शान्तिपूर्णरुपमा सक्रिय सहभागिता जनाउन सबै राष्ट्रवादी देशभक्त नागरिकहरूमा आह्वान गरेका छन् ।

    समितिले यसअघि दुर्गा प्रसाईंले चैत १५ मा आह्वान गरेको जनप्रदर्शनलाई सघाएको थियो । उक्त आन्दोलनमा राप्रपाको पनि समर्थन र सहभागिता रहेको थियो । राजावादी शक्तिहरुले एक-अर्काको आन्दोलनलाई समर्थन र सहयोग गरे पनि सबै एक ठाउँमा आएर एकीकृत आन्दोलन गर्न भने सकेका छैनन् ।

  • राप्रपा आज पनि सडकमा, ८३ वर्षीय राणा र ८१ वर्षीय लोहनीको अगुवाइ आन्दोलनमा (तस्बिरहरुसहित)

    राप्रपा आज पनि सडकमा, ८३ वर्षीय राणा र ८१ वर्षीय लोहनीको अगुवाइ आन्दोलनमा (तस्बिरहरुसहित)

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्ना नेता-कार्यकर्ताको रिहाइ मागसहित आज काठमाडौंमा जुलुस निकालेको छ । जुलुसको अगुवाइ पार्टीका दुई वयोवृद्ध नेताहरु पशुपतिशमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीले गरे ।

    आजको प्रदर्शन राप्रपाको उपत्यकाका तीन जिल्ला समितिले गरेका हुन् । पार्टीकै झन्डा बोकेर गरिएको प्रदर्शनमा सरकारविरोधी नाराहरु लगाइएको थियो ।

    ८३ वर्षीय राणा र ८१ वर्षीय डा. लोहनी जुलुसको अग्रभागमा थिए । राप्रपाले मृतकहरुलाई शहीद घोषणा गर्नुपर्ने तथा घाइतेहरुको निःशुल्क र प्रभावकारी उपचारको व्यवस्था गर्नुपर्ने मागसमेत अघि सारेको छ ।

  • चैत १५ को घटनाको निष्पक्ष छानबिन गर्न मानव अधिकार आयोगलाई राप्रपाको ध्यानाकर्षण

    चैत १५ को घटनाको निष्पक्ष छानबिन गर्न मानव अधिकार आयोगलाई राप्रपाको ध्यानाकर्षण

    काठमाडौं । राप्रपाले चैत १५ गतेको तीनकुने घटनाका सम्बन्धमा सरकारको तर्फवाट भएको दमन, घुसपैठ र झुठा मुद्धामा आफ्नो पार्टीका नेताहरु पक्राउ गरिएको विषयमा राष्ट्रिय मानवअधिकार आयोगको ध्यानाकर्षण गराएको छ ।

    राप्रपाको प्रतिनिधिमण्डल आज आयोगको केन्द्रीय कार्यालय पुगी आयोगका अध्यक्ष तपबहादुर मगर, सचिव मुरारी खरेल लगायतसंग छलफलसमेत गर्यो ।

    राप्रपाको प्रतिनिधिमण्डलमा महामन्त्रीद्वय राजेन्द्र गुरुङ्ग र शरदराज पाठक, प्रबक्ता मोहनकुमार श्रेष्ठ, मुख्य सचिव केदारबहादुर अधिकारी, केन्द्रीय नेताहरु अमृत पुडासैनी, निरुपमा यादव, खुस्बु ओली, उद्धबराज भेटवाल, सजिना कार्की, रविकिरण हमाल रहेका थिए ।

    अध्यक्ष लिङदेनले हस्ताक्षर गरेको ध्यानाकर्षण पत्रमा राज्यले निहत्था नागरिकमाथि अत्याधिक बल प्रयोग गरेको उल्लेख छ । प्रदर्शनमा सहभागी भएको आधारमै राप्रपा नेता रविन्द्र मिश्र र धवल शमशेर राणा लगायतलाई ‘राज्य विरुद्धको अपराध’ जस्तो गम्भीर प्रकृतिको मुद्दा लगाइएकोमा लिङदेनले आपत्ति जनाएका छन् ।

    हेर्नुस पत्र

    मितिः २०८१।१२।२१
    माननीय अध्यक्ष ज्यू,
    राष्ट्रिय मानव अधिकार आयोग
    ललितपुर ।

    विषयः ध्यानाकर्षण सम्बन्धमा ।

    गत चैत १५ गते तिनकुने, कोटेश्वर क्षेत्रमा भएको प्रदर्शनलाई हिंसात्मक बनाउन राज्यपक्षबाट भएको क्रियाकलापप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी गम्भीर दुःख व्यक्त गर्दछ।
    प्रदर्शनकारीहरूले आफ्नो सभा सुरु गर्ने क्रममा राष्ट्रियगान गाउन सुरु गरेको बेला प्रशासनले मञ्चलाई लक्षित गरेर सर्वसाधारणको घरको छतबाट अन्धाधुन्द म्याद सकिएका अश्रु ग्यासका सेलहरूको वर्षा गर्नु, सबिन महर्जनलाई ताकेर गोलिहानी हत्या गरिनु, आँखै अगाडि घर आगलागी हुँदा र उक्त घरमा मानिस रहेको जानकारी पाउँदा पनि नियन्त्रण र उद्दार गर्न नसकेर पत्रकार सुरेश रजकको ज्यान जानु, कार्यक्रमसँग कुनै सम्बन्ध नरहेका र कार्यक्रम स्थलबाट धेरै टाढा रहेका रेविका खत्री र उनका दाइलाई गोली हान्नु, प्रहरीले अलग अलग ठाउँमा चलाएको गोलीबाट दुई दर्जनभन्दा बेसी मानिसहरू घाइते हुनु असामान्य अवस्था हो। अझ प्रहरीले नै पत्रकारलाई उपलब्ध गराएको विवरण अनुसार निहत्था प्रदर्शनकारीहरू माथि एकै दिन ७४६ राउन्ड अश्रुग्यास, १९२ ब्ल्याङ्क राउन्ड फायरिङ, ५८ राउन्ड हवाई फायर, कार्टिज ९छर्रा० २३९ र पेस्तोलबाट २ राउन्ड गोली चलेको विवरण सार्वजनिक गरेको छ। उक्त विवरणबाट पनि राज्यले निहत्था नागरिक माथि अत्याधिक बल प्रयोग गरेको पुष्टि हुन्छ। यो नेपाल प्रहरीको मात्र विवरण हो। सशस्त्र प्रहरीबाट चलेको गोलीको विवरण अझै सार्वजनिक भएको छैन। चैत्र १५ गते यति धेरै फायरिङ गर्नुपर्ने अवस्था किन आयो रु प्रदर्शनकारी पछि हटिरहेका बेला पनि किन गोली चल्यो रु गल्लीमा रहेका आमनागरिक पनि कसरी घाइते भए रु सभामा भाग लिएको, प्रदर्शनमा सहभागी भएको जस्ता आधारमै राप्रपा नेता रविन्द्र मिश्र, धवल शमशेर राणा लगायतलाई “राज्य विरुद्धको अपराध“ जस्तो गम्भीर प्रकृतिको मुद्दा किन लगाइयो रु यस्ता प्रश्नको निष्पक्ष छानवीनको आवश्यकता रहेको छ। कतै सरकार स्वयं उक्त दिनको प्रदर्शनलाई हिंसामा परिणत गर्न योजनाबद्ध तयारीमा त थिएन भन्ने प्रश्न पनि टड्कारो रूपमा देखिएको छ। सरकारको उक्त क्रियाकलाप प्रजातन्त्र मानव अधिकार र विचार अभिव्यक्तिको स्वतन्त्रताका विरुद्ध देखिन्छ। हामी यस प्रकारको विचार अभिव्यक्ति स्वतन्त्रता मानव अधिकार र प्रजातन्त्र विरुद्धको सरकारी क्रियाकलापको भत्सर्ना गर्दछौं र भविष्यमा यस प्रकारका घटनाहरू नदोहोरिनका लागि उक्त दिनको घटनाको निष्पक्ष र स्वतन्त्र छानबिन तथा राप्रपा नेताद्वय एवं अन्य व्यक्तिमाथि लगाइएका झुट्टा मुद्दा उपर त्यस सम्मानित आयोगको ध्यानाकर्षण गराउँछौं।

    राजेन्द्र लिङ्देन
    अध्यक्ष

  • सक्रिय राजसंस्थाको एजेण्डा बोक्नेलाई बहुलाको संज्ञा दिँदै राप्रपा उपाध्यक्षले भने- अभिभावकको रूपमा राखौँ

    सक्रिय राजसंस्थाको एजेण्डा बोक्नेलाई बहुलाको संज्ञा दिँदै राप्रपा उपाध्यक्षले भने- अभिभावकको रूपमा राखौँ

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष बुद्धिमान तामाङले आफू सक्रिय राजसंस्थाको पक्षमा नरहेको बताएका छन् । प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले २०१७ सालको जस्तो सक्रिय राजसंस्था बोक्नेलाई ‘बहुला’ को संज्ञा दिए ।

    त्यसबारे उनको भनाइ जस्ताको तस्तै,

    सुरक्षाकर्मीले सुरक्षाको पूर्ण रणनीति र कार्यनीति अपनाएको देखिएन । जनपथले गोली चलाएको आयो तर, एपीएफले कति गोली चलायो ? यसको पनि जवाफ चाहियो । हाम्रो पार्टीको महामन्त्री धवल शमसेरलाई थुनेर राख्नुपर्ने त्यस्तो अपराध गरेको हो त ? माननीयलाई हतकडी लिएर लानुपर्छ ? रवीन्द्र मिश्र भागेर जान्छ त ? यस विषयमा पनि के हो, हाम्रा साथीहरूलाई थुन्ने काम भएकोले उहाँहरूलाई बिना शर्त रिहाइ गर्नुपर्छ ।

    राष्ट्रिय गान बजिरहेकै बेला प्रहरीले मञ्चमा टेयर ग्याँस हानेको भिडिओ आइरहेको छ । आन्दोलनकर्मीलाई चारैतिर भाग्नै नदिने गरी घेरिएको छ । सुरू-सुरू हिँडिरहेको सविन महर्जनलाई किन गोली हानियो ? सत्तापक्षले पनि संलग्नता भएको भनिएको छ । न्यायिक छानबिन आयोग गठन हुनुपर्‍यो ।

    यो संविधान परिवर्तनशील छ । यो संविधान निर्विकल्प होइन, जनताले चाहेमा सबै व्यवस्था परिवर्तन हुन्छ । यो साध्य होइन साधन हो । म नै गृहमन्त्री भएको भए के गर्न सक्थ्यो भन्ने हुन्थ्यो, तपाईँ त कानून जानेको मान्छे हो, त्यसैले तपाई शालीन व्यक्ति भएकाले यस्तो व्यक्तिबाट शालीनता देखिएन । तपार्ईंको निर्देशन नभएको हो कि ? विपक्षीको हैसियतले भनेको होइन, यसमा राज्यको पुर्णरुपमा गल्ती छ ।

    यो बुद्धिमान तामाङले मात्रै भनेको होइन, राजामा किन भूत देख्नुहुन्छ ? फोटो खिचेर देखाउँदैमा किन तर्सिनुहुन्छ ? म राजसंस्था हुनुपर्छ भन्ने मान्छे त्यसमा विमति छैन । मेरो छोराछोरीलाई म जिउँदो रहँदासम्म राजसंस्थाको विरोध नगर, म मरेपछि जे गर गर भन्छु । कतिपयले २०१७ साल पछिको राजसंस्थाको कुरा गर्छन्, त्यस्तो होइन, हामीले राजसंस्थालाई अभिभावकको रूपमा राख्ने एजेण्डा बोकेर हिँडेका हौँ नि यो २१ औँ शताब्दी हो। २०१७ सालको जस्तो सक्रिय राजसंस्था बोक्ने बहुलाहा हो। त्यस्तो सम्भव छैन। म त स्पष्ट रूपमा भन्छु। म झूट बोल्ने मान्छे पनि होइन।

  • प्रदर्शनकारीसँग एउटा लाठीसमेत थिएन, अन्धाधुन्ध गोली चलाएर राज्यले हिंसा भड्कायो : राजेन्द्र लिङ्देन

    प्रदर्शनकारीसँग एउटा लाठीसमेत थिएन, अन्धाधुन्ध गोली चलाएर राज्यले हिंसा भड्कायो : राजेन्द्र लिङ्देन

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्दनेले चैत १५ गते तीनकुनेमा हिंसा भड्काउन सरकारको हात रहेको दाबी गरेका छन् ।

    सरकारलाई पाँच बुँदे ध्यानाकर्षणपत्र बुझाएर बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै तीनकुनेको प्रदर्शनमा सरकारले नै हिंसा भड्काएको दाबी गरे ।

    उनले भने, ‘हिंसा भड्काउन सरकार नै संलग्न भएको पाइन्छ, मञ्चमा राष्ट्रिय गान बजिरहेको छ, कार्यक्रम सुरु हुन लागिरहेको छ । त्यहाँ अन्दाधुन्दा अश्रुग्याँस प्रहार गरिन्छ । बाटोमा हिँडिरहेका मान्छेहरूलाई गोली हालिएको छ । कार्यक्रम स्थलबाट धेरै टाढा रहेका कुनै सम्बन्ध नरहेका, मानिसहरूलाई घरमा पस्दै गर्दा पनि गोली हानिएको छ, सरकारले यतिधेरै हिंसात्मक भयो भनिरहँदा प्रदर्शनकारीहरूसँग एउटा लाठी पनि फेला नपारेको स्थितिमा सरकारले यतिधेरै गोली किन चलायो । झण्डै २५० राउण्ड गोली चलाइएको छ ।’

    उनले राज्य पक्ष सुनियोजित रूपमै हिंसा भड्काउन लागिपरेको देखिएको भन्दै निष्पक्ष छानबिन गरेर दोषीलाई कारबाही हुनुपर्ने बताए ।

     

  • तीनकुने घटना- छानबिन आयोग गठन गर्न सरकारलाई राप्रपाको ध्यानाकर्षण, गृहमन्त्रीको राजीनामा माग (भिडिओ)

    तीनकुने घटना- छानबिन आयोग गठन गर्न सरकारलाई राप्रपाको ध्यानाकर्षण, गृहमन्त्रीको राजीनामा माग (भिडिओ)

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले तीनकुने घटनाको सर्वोच्च अदालतका पूर्वन्यायाधीशको अध्यक्षतामा मानवअधिकार आयोग, नागरिक समाज सम्मिलित स्वतन्त्र छानबिन आयोग गठन गर्न माग गरेको छ।

    अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा गएको राप्रपाको प्रतिनिधिमण्डलले आज कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई ध्यानाकर्षणपत्र बुझाएको हो।

    यस्तै, राप्रपाले छानबिनका लागि गृहमन्त्रीको राजीनामा, चेत १५ गतेको दमनमा नेतृत्व गर्ने प्रहरी प्रमुख र प्रशासनिक नेतृत्वको निलम्बन गर्न, मृतकहरूलाई शहीद घोषणा गरिनुपर्ने पनि माग गरेका छन्।

    राप्रपा नेताहरू रवीन्द्र मिश्र र डा. धवल शमशेर राणा लगायत अन्य बन्दीहरूको रिहाइ, घाइतेहरूको निःशुल्क र प्रभावकारी उपचारको व्यवस्था गरिनुपर्ने पनि राप्रपाको माग छ।

  • दिपकको प्रारब्धः ईसाराले भोट मागेर चुनाव जिते, छोरी गुमाएको डेढ महिनामै बिते

    दिपकको प्रारब्धः ईसाराले भोट मागेर चुनाव जिते, छोरी गुमाएको डेढ महिनामै बिते

    रुपन्देही । छोरी गुमाएको ४७ दिनमा राप्रपाका वरिष्ठ नेता तथा प्रतिनिधिसभा सदस्य दिपक बोहराको मंगलबार निधन भएको छ । त्यसअघिबाटै दिपक बोहराले मृत्युसँग संघर्ष गरिरहेका थिए । रुपन्देही-३ बाट प्रत्यक्ष सांसद लडेका पूर्वमन्त्रीसमेत रहेका दिपकको घाँटीमा चुनावताका गम्भीर समस्या थियो । त्यसयता उनी लगातार उपचारमा थिए ।

    गएको फागुन २ गते उनकी छोरी चाँदनी जेनी बोहराका ४६ वर्षको उमेरमा हृदयघातबाट काठमाडौंमा निधन भएको थियो । दिपककी एकमात्र छोरी चाँदनी जेनी बोहरा ग्यारेटको ४६ वर्षको उमेरमा हृदयघातका कारण मृत्यु भएको हो । अमेरिकन नागरिकसँग बिहे गरेकी जेनीका दुई छोरी र एक छोरा छन् । दिपकको रुपन्देही घर भएपनि अहिले काठमाडौंमै बसेका थिए ।

    दिपकको स्वास्थ्य कमजोर बन्दै गएपछि छोरी जेनी पनि श्रीमान र बच्चाबच्चीसहित काठमाडौं बालुबाटारस्थित घरमा बसेको बेला एक्कासी बिरामी परेर मृत्यु भएको थियो । उनको काठमाडौंमा अन्त्येष्टि गरिएको थियो । छोरीको मृत्यु भएको ४७ दिनमा मंगलबार दिपकको पनि मृत्यु भएको हो ।

    घाँटीमा क्यान्सर भएपछि प्रतिनिधिसभा निर्वाचनअन्तर्गत रुपन्देही-३ बाट निर्वाचित राप्रपाका दिपक बोहरा चुनाव प्रचार प्रसारभर ‘भ्वाइस रेस्ट’मा थिए । तर, उनले टिकट मागे र पार्टीले पनि पत्यायो । संयोग नेकपा एमालेको बलियो क्षेत्र रहेको ठाउँमा गठबन्धनका कारण एमालेले उनलाई साथ दियो ।

    एकपटक नबोली निर्वाचन जिते, सदनमा पनि सम्बोधन नगरी बोहरा अस्ताए । सामान्यतया निर्वाचनमा उम्मेदवारहरू मतदाताको घरदैलोमा पुगेर आफ्नो लागि मत माग्ने गर्दछन् । तर, आम निर्वाचन २०७९ मा एकजना यस्ता उम्मेदवार बने जो बोल्दै नबोली विजयी भए । उनले बहालवाला गृहमन्त्री कांग्रेस नेता बालकृष्ण खाणलाई पराजित गरेर झन् चर्चामा आएका थिए ।

    घरदैलोका क्रममा घरदैलो गरेपनि बोहराले मतदातासँग दोहोरो कुराकानी गरेनन् । उनले इसाराले नै मत मागे । उनको चुनावी सभामा निरञ्जन थापा, राप्रपाका जिल्ला अध्यक्ष प्रदीप उदय, स्वाति थापा, केन्द्रीय सदस्य तोयनाथ लम्साल, सागरप्रताप राणालगायतले सम्बोधन गर्दथे र उनले छेऊमा बसेर सुनेजस्तै गर्दथे ।

    निर्वाचन आउनु ६ महिनादेखि बोहरा बोल्न छाडेका हुन् । पोस्टकोभिडका कारण समस्या देखिएपछि उनी चिकित्सकको सल्लाहमा ‘भ्वाइस रेस्ट’ मा बसेको भनिए पनि उनलाई क्यान्सर लागेको थियो । उनी पटक-पटक उपचारका लागि देशबाहिर गइरहेका थिए ।

    दिपककी दुई श्रीमती, दुई छोरा र एक छोरी हुन् । जेठी श्रीमती मन्जुतर्फबाट गौरव बोहरा पाइलट छन् र कान्छी श्रीमती उन्नतितर्फ छोरा प्रज्वल व्यापारसँगै अहिले राजनीतिमा जोडिएका छन् । बुवा बिरामी भएपछि राप्रपाका कार्यक्रममा उनी सकृय हुन थालेका थिए । प्रज्वललाई दिपकको क्षेत्रमा अघि सार्नेगरी नै परिवारले यसअघि तयारी गरिसकेको छ ।

  • सांसद दिपक बोहराको निधनमा शोक प्रस्ताव पारित (भिडिओ)

    सांसद दिपक बोहराको निधनमा शोक प्रस्ताव पारित (भिडिओ)

    काठमाडौं । प्रतिनिधिसभाको बैठकले सांसद दिपक बोहराको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।

    मंगलबार बसेको बैठकमा सभामुख देवराज घिमिरेले प्रस्तुत गरेको शोक प्रस्तावलाई बैठकको सर्वसम्मतले पारित गरेको हो । बैठकले स्वर्गीय बोहराको निधनप्रति शोक व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गर्नुका साथै परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ । बैठकमा मौनधारणसमेत गरिएको थियो ।

    बोहरा राप्रपाका तर्फबाट रुपन्देही-३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद हुन् । पूर्वमन्त्रीसमेत रहेका बोहराको ७४ वर्षको उमेरमा मंगलबार ओम अस्पतालमा निधन भएको हो ।

  • संघीयता खारेजी र हिन्दू राष्ट्र माग गर्दै बझाङमा राप्रपाको प्रदर्शन

    संघीयता खारेजी र हिन्दू राष्ट्र माग गर्दै बझाङमा राप्रपाको प्रदर्शन

    बझाङ । संघीयता खारेजी, हिन्दू राष्ट्र, राजसंस्था पुनःस्थापनाको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बझाङमा प्रदर्शन गरेको छ ।
    सोमबार दिउँसो बझाङको सदरमुकाम चैनपुरमा राप्रपा कार्यकर्ताले प्रदर्शन गरेका हुन् ।

    उनीहरुले हिन्दू राष्ट्र कायम हुनुपर्ने, राजसंस्था स्थापना हुनुपर्ने, संघीयता खारेज हुनुपर्ने, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, पूर्ण समानुपातिक निर्वाचन पद्धति कायम गर्नुपर्नेलगायतका माग राखेका छन् ।

    प्रदर्शनका क्रममा ‘हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ’, ‘संघीयता खारेज गर’लगायतका नारा लगाएर बजार परिक्रमा गरेका छन् ।

  • माइतीघरमा राप्रपाको प्रदर्शन- नेताको रिहाइ र तीनकुने घटना छानबिनको माग (तस्बिरहरू / भिडिओ)

    माइतीघरमा राप्रपाको प्रदर्शन- नेताको रिहाइ र तीनकुने घटना छानबिनको माग (तस्बिरहरू / भिडिओ)

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरूलाई रिहाइको माग गर्दै माइतीघरमा प्रदर्शन भएको छ । राप्रपा र निकटका संगठनले नेताहरूमाथि झूटो मुद्दा लगाएर कारवाही थालिएको भन्दै विरोध जनाएका छन् ।

    उनीहरूले सबैलाई तत्काल रिहा गर्न माग गरेका छन् । पक्राउ परेका नेताहरू छाड्नुपर्ने, तीनकुने घटनाका मृतकहरूलाई शहीद घोषणा, घटनाको छानबिन हुनुपर्ने उनीहरूको मुख्य माग छ ।

    राजावादी आन्दोलनको क्रममा शुक्रबार तोडफोट र लुटपाटमा उक्साएको भन्दै राप्रपाका वरिष्ठ नेता रवीन्द्र मिश्र, महामन्त्री धवलसमशेर राणालगायत नेता कार्यकर्ता पक्राउ परेका थिए ।

  • राप्रपा सांसद राणा पक्राउको सूचना सदनलाई जानकारी

    राप्रपा सांसद राणा पक्राउको सूचना सदनलाई जानकारी

    काठमाडौं । सभामुख देवराज घिमिरेले राप्रपाका सांसद डा. धवल शमशेर राणा पक्राउ परेको सूचना संसदलाई जानकारी गराएका छन् ।

    आज बसेको प्रतिनिधिसभाको बैठकमा प्रहरीले संघीय संसद सचिवालयमा पठाएको पत्र सदनमा पढेर सुनाएका हुन् ।

    तीनकुने घटनामा घटाउन उक्साएको आरोपमा राणालाई शुक्रबार नै प्रहरीले पक्राउ गरेको थियो । राणा पक्राउ परेको सूचना प्रहरीले शनिबार संसद सचिवालयमा पठाएको थियो ।