Category: राप्रपा

  • राप्रपाको निष्कर्ष- सरकारले डराएर निषेधित क्षेत्र तोक्यो, एमालेको प्रदर्शन गणतन्त्र कमजोर भएको प्रमाण (भिडिओ)

    राप्रपाको निष्कर्ष- सरकारले डराएर निषेधित क्षेत्र तोक्यो, एमालेको प्रदर्शन गणतन्त्र कमजोर भएको प्रमाण (भिडिओ)

    काठमाडौं । राप्रपाले राजा फर्काउनको लागि १५ गतेबाट थालेको आन्दोलन उत्साहप्रद रहेको निष्कर्ष निकालेको छ।

    राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आन्दोलनबारे गम्भीर समीक्षा गरेको अध्यक्ष राजेन्द्र लिङ्देनले बताए।

    उनले आन्दोलन समितिको निर्देशन अनुसार परिचालित हुने निर्णय बैठकले गरेको पनि बताए।

    उनले भने, ‘हिजोसम्म निषेधित क्षेत्र नभएको ठाउँलाई राजावादीहरूको प्रदर्शन हुन्छ भनेर निषेधित क्षेत्र तोक्नाले सरकार डराएको र कमजोर भएको पुष्टि हुन्छ। हाम्रो आन्दोलन उत्कर्षतर्फ गइरहेको छ। यसले हामीलाई दुखी भन्दा पनि उत्साह पैदा गरेको छ।’

    उनले राजसंस्था पक्षधर र गणतन्त्रका पक्षधरहरूको शक्ति मूल्याङ्कन आम जनताले गरिरहेको बताए। ओलीको आह्वानमा १५ गते एमालेको कार्यक्रममा उपस्थिति हेरेपछि गणतन्त्र कमजोर हुँदै गइरहेको निष्कर्ष निकालेको उनले बताए।
    बैठकले आन्दोलनलाई प्रभावकारी, अझ व्यवस्थित, अझ जनसहभागितामूलक र परिणाममुखी बनाउने निर्णय पनि गरेको छ।

  • राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक धुम्बाराहीमा सुरु

    राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक धुम्बाराहीमा सुरु

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ।

    पार्टीको केन्द्रीय कार्यालय, धुम्बाराहीमा अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बैठक सुरु भएको हो। हाल जारी राजावादी आन्दोलनको समीक्षा गर्न तथा भावी रणनीति तय गर्न बैठक बसिरहेको प्रवक्ता मोहन श्रेष्ठले बताए ।

    बैठकमा हाल भइरहेका प्रदर्शन, नारायणहिटीलगायत निषेधित क्षेत्रहरूमा गरिएको प्रशासनिक निर्णय, राप्रपाको राजनीतिक भूमिका तथा आगामी आन्दोलनका कार्यक्रमहरूबारे छलफल हुने बताइएको छ।

    पार्टी स्रोतका अनुसार बैठकमा आन्दोलनको मूल्याङ्कन गर्दै आगामी रणनीति तय गर्ने र सम्भावित संघर्षका कार्यक्रमहरू तय गर्ने तयारी भइरहेको छ।

  • दबाब बढाउँदै राजावादी, भोलि नारायणहिटी अगाडि नै प्रदर्शन गर्ने

    दबाब बढाउँदै राजावादी, भोलि नारायणहिटी अगाडि नै प्रदर्शन गर्ने

    काठमाडौं । राजसंस्थाको पक्षमा सुरु गरिएको ‘संयुक्त जनआन्दोलन’ विस्तारै संवेदनशील स्थानहरुमा प्रवेश गर्न थालेको छ । सरकारमाथि दबाब बढाउँदै राजावादीहरुले भोलि नारायणहिटी दरबारकै अगाडि जनप्रदर्शनको तयारी गरेका छन् ।

    हिजो पहिलो दिनको आन्दोलन रत्नपार्क केन्द्रित भएको थियो । दोस्रो दिन आज माइतीघरमा सर्यो । भोलि भने नारायणहिटी दरबारको नाकैमा प्रदर्शन गरिने राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताए । आन्दोलन शान्तिपूर्ण नै हुने उनको भनाइ छ ।

    ‘हाम्राे हिंसा भड्काउने रणनीति अहिले छैन, सरकारबाट पनि त्यस्तै व्यवहारको अपेक्षा गरेका छौं’, उनले भने ।

    नारायणहिटी भित्रै पस्ने योजना त छैन नि भन्ने प्रश्नमा श्रेष्ठले जवाफ दिए, ‘अहिले त्यस्तो छैन । हामी शान्तिपूर्ण माध्यमबाटै नविन समझदारीका लागि दवाव दिइरहेका छौं । सरकारले शान्तिपूर्ण आन्दोलनलाई वेवास्ता गरिरह्यो भने चाहिँ हामीले पनि कठोर निर्णय लिनुपर्ने हुन सक्छ ।’

     

  • ओलीलाई ज्ञानेन्द्रले भने- तपाईँको काठमाडौं कब्जा हिजो देखियो, भाग्न हेलिकप्टर तयार गर्नू (भिडिओ)

    ओलीलाई ज्ञानेन्द्रले भने- तपाईँको काठमाडौं कब्जा हिजो देखियो, भाग्न हेलिकप्टर तयार गर्नू (भिडिओ)

    काठमाडौं । राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री केपी ओलीलाई नवीन समझदारीमा नआए भाग्न हेलिकप्टर खोज्न चेतावनी दिएका छन्।

    राजा फर्काउन हिजोदेखि थालेको अनिश्चितकालीन आन्दोलनलाई सम्बोधन गर्दै प्रधानमन्त्रीको काठमाडौं कब्जा हिजो नै देखिसकेको टिप्पणी गरे।

    उनले भने, ‘तपाईँले हिजो काठमाडौं कब्जा गर्ने भन्नुभएको थियो, तपाईँको कब्जा त देखियो, ४ सय जना मान्छे जम्मा गर्न नसक्ने मान्छे देशको प्रधानमन्त्रीको कुर्सीमा बस्न लायक छैन। यो त हाम्रो सुरुआत हो, अन्तिम होइन, यो राष्ट्रवादीको आन्दोलन हो।’

    उनले राष्ट्रिय झन्डाको आन्दोलन सफल हुने दाबी गर्दै भ्रष्टाचारीहरूको अन्त्य गर्ने बताए।

  • गणतन्त्रको पक्ष र विपक्षमा हिजो जनमत संग्रह भयो,अब राजासहितको नवीन समझदारी–लिङ्देन (भिडिओ)

    गणतन्त्रको पक्ष र विपक्षमा हिजो जनमत संग्रह भयो,अब राजासहितको नवीन समझदारी–लिङ्देन (भिडिओ)

    काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले गणतन्त्र र राजतन्त्रको पक्षमा जनता कता छन् भन्ने बारेमा जेठ १५ गते रत्नपार्कमै जनमत संग्रह भएको दावी गरेका छन् ।

    राजसंस्था फर्काउने अनिश्चितकालीन आन्दोलनको दोस्रो दिन बिजुलीबजार पुलमा उभिएर पत्रकारसँग कुरा गर्दै लिङ्देनले अब राजासहितको नवीन समझदारीको विकल्प नरहेको दावी गरे ।

    उनले भने–राजतन्त्र र गणतन्त्रको बारेमा हिजो एक प्रकारले जनमत संग्रहजस्तै भयो । प्रधानमन्त्रीले नै आह्वान गर्नुभएको गणतन्त्र पक्षको प्रदर्शनमा कुन प्रकारको उपस्थिति थियो र गणतन्त्रको विपक्षमा कुन प्रकारको उपस्थित थियो भन्ने देखियो । म प्रधानमन्त्री र दलका नेताहरुलाई कब्जा गर्छु,नियन्त्रण गर्छु,निस्तेज पार्छु भन्ने जस्ता शब्द प्रयोग गर्नुको साटो वार्ता र सहमति खोज्न आग्रह गर्छु ।

    अध्यक्ष लिङ्देनले राजासहितको नवीन समझदारीमा आउन सरकार र दलहरुलाई आग्रह गर्दै आन्दोलन त्यतिन्जेल जारी रहने बताए ।

  • राजावादी समर्थकहरूले आज माइतीघरमा प्रदर्शन गर्ने

    राजावादी समर्थकहरूले आज माइतीघरमा प्रदर्शन गर्ने

    काठमाडौं । राजावादी समर्थकहरुको प्रदर्शन आज पनि जारी रहने भएको छ । आज उनीहरुले माइतीघर क्षेत्रमा प्रदर्शन गर्न लागेका हुन् ।

    राजसंस्था र हिन्दुराष्ट्रको पुनर्स्थापनाको मागसहित उनीहरुले बिहीबार
    शान्तिबाटिका क्षेत्रमा प्रदर्शन गरेका थिए । ।

    यस्तै उनीहरुले संघीयता खारेजीको माग राखेका छन् । अनिश्चितकालीन आन्दोलन गरिरहेका राजावादी समूहमा राप्रपा, राप्रपा नेपालसहितका हिन्दुवादी र राजावादी संघसंगठन रहेका छन् ।

  • राप्रपाको पार्टी स्थापना दिवस आजै, लिङदेनलाई भ्याइनभ्याइ

    राप्रपाको पार्टी स्थापना दिवस आजै, लिङदेनलाई भ्याइनभ्याइ

    काठमाडौं । राजसंस्था पक्षधर प्रमुख राजनीतिक दल राष्ट्रिय प्रजातन्त्र पार्टीले आज आफ्नो ३५ औं स्थापना दिवस मनाउँदैछ । संयोगले राप्रपाको स्थापना दिवस गणतन्त्र दिवसकै दिन पर्छ ।

    प्रजातन्त्र पुनस्र्थापना पश्चात २०४७ साल जेठ १५ गते एकैदिन पूर्वपञ्चहरुका दुई पार्टी जन्मिएका थिए । राप्रपा (थापा) र राप्रपा (चन्द) नाममा जन्मेका दुई पार्टीको नेतृत्व सुर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दले गरे ।

    त्यसयता कम्युनिष्टहरुमा जस्तै राजावादीहरुमा पनि अनेकपटक टुटफुट, एकता, पुनर्गठन हुँदै आएको छ । अहिले राजेन्द्र लिङदेन नेतृत्वको मुलधारको राप्रपाले जेठ १५ लाई नै स्थापना दिवस मनाउने गरेको छ ।

    स्थापना दिवसका अवसरमा आज पार्टी कार्यालयमा झण्डोत्तोलनको कार्यक्रम राखिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । पार्टी कार्यालयमा आयोजिक एक समारोहमा अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीको झण्डोत्तलन गरेका हुन् ।

    आजैबाट राप्रपाको नेतृत्वमा राजसंस्था पुनस्र्थापनाका लागि आन्दोलन सुरु हुँदैछ । साथै, बजेट भाषण पनि आजै हो । लिङदेन आन्दोलनमा सहभागी भएपश्चात बजेट भाषण सुन्न संसद जानेछन् । एकै दिन दिनवटा सन्दर्भहरु जुध्दा उनलाई चटारो परोके छ ।

    आज गणतन्त्र दिवस पनि हो । हरेक वर्ष गणतन्त्र दिवसकै दिन राप्रपाले स्थापना दिवस मनाउने गर्छ । यस बारेमा श्रेष्ठ भन्छन्, ‘हाम्रो पार्टी स्थापना दिवसकै दिन उनीहरुले गणतन्त्र ल्याए । हामीले पनि यही दिन पारेर गणतन्त्र फाल्ने आन्दोलन सुरु गर्दैछौं ।’

  • उपत्यकामा ३८ सय प्रहरी परिचालित, २ बजेअघि राजावादीहरूलाई जहाँको त्यहीँ रोकिने

    उपत्यकामा ३८ सय प्रहरी परिचालित, २ बजेअघि राजावादीहरूलाई जहाँको त्यहीँ रोकिने

    काठमाडौं । आजको सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गर्दै प्रहरीले उपत्यकामा ३८ सय जनशक्ति परिचालित गरेको छ ।

    गणतन्त्र दिवस, मूल समारोह समितिको कार्यक्रमका लागि राष्ट्रपति रामचन्द्र पौडेल सैनिक मञ्च, टुँडिखेलमा पुगे लगत्तै उक्त संख्याको प्रहरी जनशक्ति तोकिएका स्थानमा तैनाथ भइसकेको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।

    प्रहरी जनशक्ति नपुग भएपछि मकवानपुरस्थित विशेष सुरक्षा गण रातोमाटेबाट इन्स्पेक्टरको कमान्डमा थप टोली काठमाडौं उपत्यकामा परिचालित छ ।

    त्यसबाहेक उपत्यकामा रहेका १ नम्बर, २ नम्बर, दंगा र पहरा गण, विभिन्न गुल्म, हेडक्वार्टरसहितका टोली सडकमा परिचालित भएका छन् । प्रहरी तैनाथीको कूल संख्या ३८ सय पुगेको प्रहरी स्रोतले जनायो ।

    उच्च निगरानीमा राजावादीहरु

    प्रहरी परिचालनको नीतिअनुसार ललितपुर र भक्तपुर जिल्लाका प्रहरी युनिटका हकमा सोही जिल्लाबाट काठमाडौंतर्फ जाने प्रदर्शनकारीको व्यवस्थापन जिम्मेवारी दिइएको छ ।

    राजावादी समर्थक प्रदर्शनकारीलाई दिउँसो २ बजे अगाडि जहाँको त्यहीँ रोकिने र त्यसपछि रत्नपार्कस्थित शान्तिबाटीका प्रवेश गर्न दिइने भएको छ । तर, त्यसक्रममा निषेधित क्षेत्रमा प्रदर्शन गर्न नदिइने भएको छ । निषेधित क्षेत्र घोषणा नगरिए पनि गौशालाबाट सिनामंगल, तीनकुने क्षेत्रमा भिड जम्मा हुन नदिने सुरक्षा नीति छ ।

    ललितपुरका प्रहरी प्रमुख एसएसपी श्यामकृष्ण अधिकारीका अनुसार लुभु, लामाटारबाट राप्रपा कार्यकर्ता भक्तपुर हुँदै कोटेश्वरमा जम्मा हुने तयारीमा छन् । दक्षिणी ललितपुरका विभिन्न स्थानबाट चापागाउँ हुँदै जावलाखेलमा जम्मा हुने उनीहरूको योजना प्राप्त भएका कारण सोहीअनुसार प्रहरी परिचालित भएका छन् ।

    भक्तपुरबाट पनि कोटेश्वर हुँदै उनीहरू काठमाडौं प्रवेश गर्ने कारण उनीहरूलाई २ बजेसम्म मनोहरा पुलमै रोकिने भएको छ ।

    एमाले प्रदर्शनकारी भने विभिन्न स्थानबाट बागबजार, पुतलीसडक, भृकुटीमण्डप, सुन्धारा, टेकु र त्रिपुरेश्वरतिर जम्मा हुन थालिसकेका छन् । उनीहरूलाई पनि निषेधित क्षेत्रमा प्रवेश गर्न नदिने गरी प्रहरी टोली परिचालित छ ।

    राजावादी समर्थकका प्रदर्शनकारीलाई सामान्यतया २ बजेभन्दा अगाडि चक्रपथ सडकबाट अगाडि बढ्न नदिइने, यदि चक्रपथभित्रका विभिन्न स्थानमा उनी जम्मा भएमा २ बजेसम्मका लागि जहाँको त्यहीँ रोकिने गरी प्रहरी परिचालित भएको छ ।

    प्रहरी उपकरण तयारी अवस्थामा

    प्रहरीले आफूसँग रहेको वाटर क्यानन, अश्रु ग्यास तथा गोलीगठ्ठाहरु तयारी हालतमा राखेको छ । आजको सुरक्षा व्यवस्थाअनुसार सम्पूर्ण प्रहरी परिचालनको नेतृत्व गर्न काठमाडौं जिल्ला प्रहरी परिसरका एसएसपी विश्व अधिकारी तोकिएका छन् ।

    विमानस्थलमा थप टोली

    चैत १५ मा भएको राजावादी समूहको अराजकतापूर्ण प्रदर्शनका क्रममा देखिएका सुरक्षा चुनौतीलाई दृष्टिगत गर्दै आज विमानस्थल सुरक्षाका निम्ति नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी संयुक्त रूपमा परिचालित भएका छन् ।

    प्रहरीको विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरले विमानस्थल प्रवेश गर्ने मूलद्वार (गोल्डेनगेट), आयल निगम डिपो र कोटेश्वरस्थित अवतरण विन्दुलाई उच्च सतर्कतामा राखिएको बताए ।

  • ज्ञानेन्द्र शाही भन्छन्- हाम्राे पीएसओ सरकारले खोस्यो, अति गरे खति हुन्छ

    ज्ञानेन्द्र शाही भन्छन्- हाम्राे पीएसओ सरकारले खोस्यो, अति गरे खति हुन्छ

    काठमाडौं । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सरकारले आफूहरूको पीएसओ फिर्ता गरकेो बताएका छन् । उनले त्यसलाई आफूहरूले सामान्यरूपमा लिएको बताए ।

    संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग भने, ‘सरकारलाई यतिमात्रै भन्छु, अति नगर्नू, अति गर्‍यो भने खति हुन्छ ।’

    तपाईँहरूको पीएसओ किन खोसियो भन्ने प्रश्नमा उनले भने, ‘त्यो सरकारलाई नै सोध्नुहोस् ।’

  • एमालेलाई टुँडिखेल आसपास कार्यक्रम गर्न अनुमति, राजावादीलाई रिंगरोड बाहिरै राख्ने रणनीति

    एमालेलाई टुँडिखेल आसपास कार्यक्रम गर्न अनुमति, राजावादीलाई रिंगरोड बाहिरै राख्ने रणनीति

    काठमाडौं । गणतन्त्र दिवसका अवसरमा भोलि बिहीबार नेकपा (एमाले) ले काठमाडौंको टुँडिखेल वरिपरि कार्यक्रम गर्न अनुमति पाएको छ ।

    जिल्ला प्रशासन कार्यालयबाट टुँडिखेल आसपासका सुन्धारा, भृकुटीमण्डप, रत्नपार्क लगायतका क्षेत्रका सांस्कृतिक कार्यक्रमहरू गर्न भनेर अनुमति लिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले नेपाल प्रेससँग बताए ।

    गणतन्त्र दिवसकै दिनबाट राजावादीहरूको संयुक्त मोर्चाले पनि राजसंस्थाको पक्षमा आन्दोलन गर्दैछ । नवराज सुबेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले घोषणा गरेको संयुक्त जनआन्दोलन काठमाडौं केन्द्रित हुनेछ । तर, समितिले अहिलेसम्म कुनै पनि ठाउँमा प्रदर्शन गर्नका लागि अनुमति नमागेको प्रमुख जिल्ला अधिकारी तिवारीले जानकारी दिए ।

    राजावादीहरूले भोलिबाट हुने आन्दोलन व्यवस्था उल्टाउने जनविद्रोह भएकाले अनुमति लिइराख्नु नपर्ने बताएका छन् । यद्यपि, प्रशासनलाई जानकारी भने गराइने राप्रपा नेपालका एक प्रवक्ता राजाराम बर्तौला बताउँछन् । उनले भने, ‘हामी सम्भवतः लिखित रूपमा नै जानकारी गराउने छौँ । यसमा अनुमति पर्खेर चाहिँ बस्दैनौं ।’

    संयुक्त जनआन्दोलन समितिले यसअघि नै रत्नपार्कबाट आन्दोलन उठाउने घोषणा गरिसकेको छ । गत शनिवार आयोजित जागरण सभामा १५ गते दिउसो १२ बजे रत्नपार्कमा भेला हुन आह्वान गरिएको थियो ।

    यता, प्रहरी उच्च स्रोतले भने राजावादीलाई रिङरोडभित्र कार्यक्रम गर्न नदिने रणनीति रहेको बतायो । स्रोतले भन्यो, ‘राजनीतिक तहबाट भएको निर्देशन अनुसार राप्रपालाई रिंगरोड बाहिरका लागि मात्रै अनुमति दिने तयारी छ ।’

    केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी रमेश थापाले उपत्यकाका विभिन्न प्रहरी युनिटसँग समन्वय भइरहेको बताए । उपत्यका प्रहरी कार्यालयको सुरक्षा योजनाबारे प्रधान कार्यालयलाई रिपोर्टिङ भएपछि मात्रै प्रहरीले आफ्नो योजना सार्वजनिक गर्ने उनको भनाइ छ ।

  • जेठ १५ को प्रदर्शन शान्तिपूर्ण, अहिंसात्मक र सत्याग्रहपूर्ण हुन्छ : राजेन्द्र लिङदेन (भिडिओ)

    जेठ १५ को प्रदर्शन शान्तिपूर्ण, अहिंसात्मक र सत्याग्रहपूर्ण हुन्छ : राजेन्द्र लिङदेन (भिडिओ)

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले जेठ १५ गतेको कार्यक्रम शान्तिपूर्ण हुने बताएका छन् ।्

    उनले गत चैतमा गरेको प्रदर्शन जस्तै जति नै ठूलो भिड भएपनि कार्यक्रम आयोजकको नियन्त्रणमा हुने बताएका छन् ।

    प्रदर्शनकाे विषयमा सम्पादकहरुसँगको अन्तरक्रिया गर्दै उनले भने, ‘हाम्रो आन्दोलन पूर्णरुपले शान्तिपूर्ण, अहिंसात्मक र सत्याग्रहपूर्ण हुन्छ । हाम्रोतर्फको हिंसा भड्काउने कुनै पनि क्रियाकलाप हुँदैन ।’

    त्यस्तै, उनले चक्रपथबाहिर सरकारले आन्दोलन गर्न भनेको विषयमा प्रष्टीकरण दिँदै बाहिर गर्दा प्रभाव र दबाब सिर्जना नहुने भएकाले रत्नपार्कमा गर्ने घोषणा गरिएको बताए ।

    यस्तो छ लिङदेनको भनाइः

    हामीले यो कार्यक्रमको लागि स्वीकृति किन लिइराख्नु पर्दैन भने हामीले कुनै मञ्च खडा गरेर सभा गर्दैनौं । हामीले शहरभरी प्रदर्शन गर्ने हो । तर हामीले केन्द्र रत्नपार्कलाई किन बनाएका छौँ भने त्यहाँ गर्यौँ भने धेरै आवागमनलाई पनि असर गर्दैन । हामीले भित्रै गर्नुपर्छ । बल्खुमा गरेर, बालाजुमा प्रदर्शन गरेर विरोध पनि हुँदैन दबाब पनि सिर्जना हुँदैन । मुख्य शहरभित्रै गर्नुपर्छ र रत्नपार्कमा गर्ने भनेर घोषणा गरेका छौं ।

    हामीले त्यहाँ कार्यक्रम गर्ने भनेर घोषणा गर्यौँ । र त्यसपछि प्रधानमन्त्रीले आफ्ना कार्यकर्ताहरुलाई पनि त्यही नजिकै भेला हुुनु भनेर जुन मुठभेड निम्त्याउने क्रियाकलाप अगाडि बढेको छ । गलत छ ।

    २०४६ सालमा पनि परिवर्तन आउँदा पनि चुनावबाट भएको होइन । ०६२÷६३ मा पनि परिवर्तन आउँदा चुनावबाट होइन । जनताबाटै आएको हो । त्यसैले आधारभूत तहमै परिवर्तन ल्याउन आन्दोलन नै चाहिने भएकाले हामीले जनआन्दोलनको घोषणा गरेका हौं । यो जनआन्दोलन विगतका आन्दोलन भन्दा फरक हुन्छ । अघिल्ला आन्दोलनहरुमा हिंसात्मक भए । धेरैको ज्यान गयो । यो सत्याग्रहको रुपमा हुनुपर्ने भनेर सडकको बाटो पक्रेका छौं ।

    कतिपयले यो व्यवस्थाको विरोध गर्ने र दोहोरो सुविधा पनि लिने भनेर सोधिरहनुभएको हुन्छ । यसलाई पनि आन्दोलनकै एउटा पार्टको रुपमा लिन पनि आग्रह गर्छौं । यो पनि आन्दोलनको पार्ट हो भनेर कसरी भन्न सक्छु भने यदि हामी संसदमा थिएनौ भने यसरी यो तहको आन्दोलन गर्न सक्ने अवस्था आउन सक्ने थिएन ।

    हाम्रो आन्दोलनमा विश्व समुदायले निरपेक्ष भएर अवलोकन गरोस् । र कुनै पनि प्रकारको हस्तक्षेप नगरोस् भन्ने हाम्रो चाहना राख्छौं । स्वभाविकरुपमै हिजो विदेशीकै संलग्नतामा भएको १२ बुँदे सहमति र त्यसको जगमा उठेको आन्दोलन र त्यसपछि मुलुकमा भित्रिएको संघीयता र धर्म निरपेक्षताका रुपमा भनिराख्नु पर्दैन । उनीहरुले आफ्नो गल्ती सुधारे भने हामी खुशी हुन्छौं ।

  • राजावादीको संयुक्त जनआन्दोलन रत्नपार्क केन्द्रित गर्ने तयारी, एमालेको कता ?

    राजावादीको संयुक्त जनआन्दोलन रत्नपार्क केन्द्रित गर्ने तयारी, एमालेको कता ?

    काठमाडौं । राजसंस्था पुनर्स्थापनाको मागसहित काठमाडौंमा राजावादीले जेठ १५ मा संयुक्त आन्दोलनको थालनी गर्दै छन् । यही दिन एमालेले पनि जनप्रदर्शन गर्ने भएपछि सुरक्षा अवस्था संवेदनशील बन्ने देखिएको छ ।

    नवराज सुबेदीले नेतृत्व गरेको संयुक्त जनआन्दोलन समितिको अगुवाइ र सबै राजावादी घटकहरूको सहभागीमा वृहत आन्दोलन हुन लागेको हो । उपत्यका बाहिरबाट समेत मानिसहरू उतारेर काठमाडौंमा शक्ति प्रदर्शन गर्ने राजावादीहरूको तयारी छ । राजसंस्था पुनर्स्थापना नभएसम्म आन्दोलन निरन्तर जारी राख्ने उनीहरूले बताइरहेका छन् ।

    यता, प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो आफ्नो पार्टी पङ्तिलाई गणतन्त्र दिवस मनाउन सडकमा उत्रिने निर्देशन दिए । उनले त्यस दिन काठमाडौं एमालेको नियन्त्रणमा हुनुपर्ने भनेर समेत भाषण गरेका छन् । यसबाट एमाले र राजावादीबीच सिधा टकराबको जोखिम उत्पन्न भएको छ ।

    संयुक्त जनआन्दोलन समितिले आफ्नो कार्यक्रम रत्नपार्क केन्द्रित गर्ने तयारी गरेको छ । गत शनिवार आयोजित जागरण सभामा १५ गते दिउँसो १२ बजे रत्नपार्क आउन आह्वान गरिएको थियो । यद्यपि, अहिलेसम्म समितिले रत्नपार्कमा प्रदर्शनका लागि प्रशासनसित अनुमति लिएको छैन ।

    आन्दोलनको तयारीमा सक्रिय एक राजावादी नेताले यसपालि कसैसँग अनुमति लिइरहनु नपर्ने तर्क गरे । उनले भने, ‘यो सामान्य खालको आन्दोलन नभएर व्यवस्था उल्टाउने जनविद्रोह हो । फलानो ठाउँमा गरौँ ? भनेर सोधिराख्नु पर्दैन । हाम्रो अहिलेसम्मको तयारी रत्नपार्कमा गर्ने भन्ने छ ।’

    एमालेले भने काठमाडौंको कुन ठाउँमा प्रदर्शन गर्ने भनेर निश्चित गरेको छैन । गत चैत ११ गते बसेको एमाले सचिवालय बैठकले गणतन्त्र दिवसलाई उत्सवका रूपमा मनाउने निर्णय गरेको थियो । हिजो एमाले केन्द्रीय कार्यालयमा बसेको जनसंगठन अध्यक्ष, इन्चार्ज र काठमाडौं उपत्यकाका वडा तहसम्मका पदाधिकारीको भेलाले जनप्रदर्शन प्रभावकारी बनाउन विभिन्न नेताहरूलाई जिम्मेवारी बाँडफाँडसमेत गरेको छ । तर, जनप्रदर्शन कहाँ गर्ने भन्ने औपचारिक निर्णय र घोषणा भएको छैन ।

    पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भृकुटीमण्डपमा गर्ने योजना रहेको बताए । यद्यपि, कार्यक्रमको मोडालिटी तय हुन बाँकी रहेको उनको भनाइ छ । ‘अहिलेसम्मको छलफलमा भृकुटीमण्डपको कुरा भएको छ, आज बेलुकासम्म सबै मोडालिटी तय हुन्छ,’ उनले भने ।

    जिल्ला प्रशासन कार्यालय काठमाडौं स्रोतले भने एमाले र राजावादी दुवैतर्फबाट कार्यक्रमका लागि अहिलेसम्म अनुमतिका लागि कुनै पनि पत्र नआएको जानकारी दियो ।

  • प्रधानमन्त्रीले हिंसा भड्काउने अभिव्यक्ति दिएको भन्दै राजसंस्था पु:स्थापना आन्दोलन समितिको विरोध

    प्रधानमन्त्रीले हिंसा भड्काउने अभिव्यक्ति दिएको भन्दै राजसंस्था पु:स्थापना आन्दोलन समितिको विरोध

    काठमाडौं । राजतन्त्र पुन:स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन परिचालन समितिले प्रधानमन्त्री केपी शर्मा ओलीबाट पटकपटक हिंसा भड्काउने अभिव्यक्ति आएको भन्दै ध्यानाकर्षण जनाएको छ ।

    हिजो ओलीले राजावादी आन्दोलनलाई निस्तेज पार्न १५ गते दिनभर काठमाडौं नियन्त्रणमा हुनुपर्ने भन्दै एमाले पंक्तिलाई हिजो निर्देशन दिएका थिए ।

    आन्दोलन परिचालन समितिका प्रवक्ता स्वागत नेपालले एक विज्ञप्ति निकाल्दै तीनकुनेको प्रदर्शनअघि पनि प्रधानमन्त्रीले आफ्ना कार्यकर्तालाई राजसंस्थावादीलाई ‘बाघले झम्टिएजस्तो झम्टिनू’ भनेको स्मरण गरेका छन् ।

    राजसंस्था पुनर्स्थापनाको आन्दोलन शान्तिपूर्ण हुने भन्दै अशान्ति मच्चाउन खोजिए सत्ताधारीहरूलाई नेटो कटाउने शक्ति जनतासँग रहेको विज्ञप्तिमा चेतावनी दिएको छ ।

  • आन्दाेलनमा साथ खोज्दै उपत्यकावासीको घरदैलोमा राजावादी नेताहरु ( तस्विरहरू/भिडिओ)

    आन्दाेलनमा साथ खोज्दै उपत्यकावासीको घरदैलोमा राजावादी नेताहरु ( तस्विरहरू/भिडिओ)

    काठमाडौं । राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले जेठ १५ गते सुरु हुने जनआन्दोलनको निम्तो दिन घरदैलो कार्यक्रम सुरु गरेको छ।

    आन्दोलनमा काठमाडौंवासीको सक्रिय सहभागिताको लागि आग्रह गर्दै जमलबाट घरदैलो कार्यक्रम सुरु गरेको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताए । उनका अनुसार घरदैलो कार्यक्रम तीन दिनसम्म चल्नेछ ।

    घरदैलो कार्यक्रममा संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन, राप्रपा नेपालका अध्यक्ष कमल थापा, राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशरबहादुर विष्टलगायत शीर्ष नेताहरू सहभागी छन् ।

    घरदैलो कार्यक्रममा शीर्ष नेताहरुले काठमाडौं, ललितपुर र भक्तपुरका स्थानीय जनसमुदायसँग प्रत्यक्ष संवाद गर्ने प्रवक्ता श्रेष्टले बताए ।

  • राजावादीले खोजे उपत्यकावासीको साथ- १५ गतेको आन्दोलनमा सहभागी हुन निम्तो दिँदै

    राजावादीले खोजे उपत्यकावासीको साथ- १५ गतेको आन्दोलनमा सहभागी हुन निम्तो दिँदै

    काठमाडौं । राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले जेठ १५ गते सुरु हुने जनआन्दोलनको निम्तो दिनको लागि आजबाट घरदैलो कार्यक्रम गर्ने भएको छ।

    आन्दोलनमा काठमाडौंवासीको सक्रिय सहभागिताको लागि आग्रह गर्दै आज साँझ जमलबाट घरदैलो कार्यक्रम सुरु गर्न लागेको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताए।

    उनका अनुसार घरदैलो कार्यक्रम तीन दिनसम्म चल्नेछ। जमल हुँदै असन, इन्द्रचोक भोटाहिटी, वसन्तपुरलगायतका क्षेत्रमा पुगेर आन्दोलनमा सहभागी हुन आग्रह गर्ने कार्यक्रम रहेको उनले बताए।

    घरदैलो कार्यक्रममा संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी, राप्रपाका अध्यक्ष राजेन्द्र लिंङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा, राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशरबहादुर विष्टलगायत शीर्ष नेताहरू सहभागी हुनेछन्। घरदैलो कार्यक्रममा शीर्ष नेताहरुले काठमाडौं, ललितपुर र भक्तपुरका स्थानीय स्थानीय जनसमुदायसँग प्रत्यक्ष संवाद गर्नेछन्।

    उपत्यकावासी मात्रै नभई विभिन्न कारणले राजधानीमा आइ बसेका नागरिकलाई समेत १५ गतेको आन्दोलनमा सहभागी हुन आह्वान गरेको उनले बताए। यो आन्दोलन राजावादीको मात्रै नभई अहिले भ्रष्ट व्यवस्था र शासकबाट मुक्ति चाहन सबै नागरिकको भएको उनले बताए।

    १५ गते गणतन्त्रवादीहरुले राजतन्त्र अन्त्य भएको दिनको अवसरमा गणतन्त्र दिवस मनाउने तयारी गर्दै गर्दा राजावादीहरूले काउन्टर दिन व्यवस्था फालेर राजा फर्काउने लक्ष्यसहित आन्दोलन सुरु गर्दैछ।

  • आन्दोलनको पूर्वसन्ध्यामा ४० वर्षमुनिका युवासँग अन्तरसंवाद गर्दै राप्रपा अध्यक्ष लिङ्देन

    आन्दोलनको पूर्वसन्ध्यामा ४० वर्षमुनिका युवासँग अन्तरसंवाद गर्दै राप्रपा अध्यक्ष लिङ्देन

    काठमाडौं । जेठ १५ गतेदेखि आन्दोलनमा होमिने तयारी गरेको राजसंस्थावादीहरूको प्रमुख घटक राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आन्दोलनको पूर्वसन्ध्यामा ४० वर्ष भन्दा मुनीका विभिन्न पेशा व्यवसायमा लागेका युवा र विद्यार्थीसँग अन्तरसंवाद गर्ने भएका छन् ।

    जेठ १२ गते राजधानीको राष्ट्रिय सभागृहमा आयोजना गर्ने उक्त कार्यक्रमको नाम अवस्था बदल्न व्यवस्था परिवर्तन किन ? युवासँग राप्रपा दिइएको छ । सो कार्यक्रममार्फत युवाहरूमा रहेको राप्रपासम्बन्धी जिज्ञासा र प्रश्नहरूको समाधान गरिने राप्रपाका युवा विभागका प्रमुख प्रकाश रिमालले बताए ।

    राप्रपाले भनेको व्यवस्था परिवर्तन के हो ? अवस्था बदल्न व्यवस्था परिवर्तन गर्नै पर्ने आवश्यकता किन हो ? राप्रपाले भनेको राजसंस्था कस्तो हो , हिन्दू राष्ट्र पुनर्स्थापना र संघीयताको खारेजी गर्नुपर्ने कारण के हो ? आन्दोलनमा युवा किन सहभागी हुने भन्नेजस्ता युवाका जिज्ञासालाई प्रत्यक्ष रूपमा अध्यक्ष लिङ्देनले जवाफ दिन लागेका हुन् ।

    राप्रपाले बोकेका राजनीतिक एजेन्डाका साथै अन्य आर्थिक, सामाजिक एजेन्डा र नीति के के हुन् ? आन्दोलनपछिको मार्गचित्र के हो ? भन्ने बारेमा पनि युवाहरूले जिज्ञासा राख्न सक्ने गरी कार्यक्रमको ढाँचा तय गरिएको विभागका प्रमुख रिमालको भनाइ छ ।

    ‘राप्रपाले राजाको मुद्दा मात्र बोक्छ, राजा भनेको कस्तो राजा हो ? दैनिक जनजीविकासँग सम्बन्धित राप्रपाका एजेन्डा र नीति के हुन् भन्ने बारेमा आजको पुस्तालाई बुझाउनुपर्ने आवश्यकता छ । यो व्यवस्था विरुद्ध सडकमा किन आउने भन्ने बारेमा युवाहरूलाई जागृत गराउने प्रयास हो,’ प्रमुख रिमालले भने ।

    राप्रपाले उक्त दिन राजनीतिक र गैरराजनीतिक सबै क्षेत्रका युवाहरूलाई आमन्त्रित गरेको छ । राप्रपा भन्ने बित्तिकै पुरानो पुस्ताको पार्टी हो भन्ने भ्रम चिर्नका लागि यो कार्यक्रम सहयोगी हुने राप्रपाले विश्वास लिएको छ।

    यसअघि पनि राप्रपाले प्रबुद्ध वर्ग, उपत्यकाका नेवाः समुदाय लगायतसँग छलफल गरिरहेको छ भने १५ गतेको आन्दोलनलाई लिएर उपत्यकाव्यापी कार्यकर्ता भेलाहरू आयोजना गरिरहेको छ ।

    यसक्रममा संयुक्त जनआन्दोलन समितिले आबद्ध दलहरूसँग निरन्तर बैठक, आ-आफ्ना मातहतका कमिटीहरूसँग छलफल र लक्षित वर्गहरूसँग तयारी बैठक गरिरहेको छ।

  • नयाँ गभर्नरको नियुक्ति कानून विपरीतः ज्ञानेन्द्र शाही

    नयाँ गभर्नरको नियुक्ति कानून विपरीतः ज्ञानेन्द्र शाही

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले नेपाल राष्ट्र बैंकको गभर्नर कानूनविपरीत नियुक्ति गरिएको जिकिर गरेका छन् । बुधबार अर्थ समितिमा बोल्दै उनले विश्व पौडेल गभर्नर बन्न अयोग्य रहेको दाबी गरे ।

    उनले राष्ट्र बैंक ऐनमा गभर्नर बन्न कुनै पनि राजनीतिक पार्टीको सदस्य हुन नहुने व्यवस्था रहेको स्मरण गराए ।

    गभर्नर पौडेलसँग मौद्रिक नीतिको ज्ञानसमेत नभएको भन्दै शाहीले पौडेलको पढाइ कृषि विषयमा रहेको टिप्पणी गरे ।

  • पोखरा विमानस्थलको प्रतिवेदनमा चिनियाँ ठेकेदार कम्पनीले भ्रम छरेको भन्दै लिङदेनले जनाए आपत्ति

    पोखरा विमानस्थलको प्रतिवेदनमा चिनियाँ ठेकेदार कम्पनीले भ्रम छरेको भन्दै लिङदेनले जनाए आपत्ति

    काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सम्बन्धी लेखा समितिको प्रतिवेदन त्रुटिपूर्ण र हचुवा भएको परियोजनाको ठेकेदार कम्पनी चाइना सीएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेडले जारी गरेको विज्ञप्तिमा संसदीय उपसमितिका सभापति राजेन्द्र लिङदेनले आपत्ति जनाएका छन् ।

    प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले समितिका सदस्य लिंङदेनको संयोजकत्वमा गठित उपसमितिले बुझाएको पोखरा विमानस्थलमा भएको भ्रष्टाचार सम्बन्धी प्रतिवेदनमा बुधवार भएको समितिको छलफलमा उपसमितिका संयोजक लिङदेनले आपत्ति जनाएका हुन् ।

    समितिको बैठकको सुरुमा नै उपसमिति सभापति लिङदेनले भने, ‘निर्माण कम्पनीले भर्खरै जुन विज्ञप्ति जारी गरेको छ, यसमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । यसमा सार्वजनिक लेखा समितिको पनि ध्यानाकर्षण होस् । एउटा सार्वभौम संसदले तयार गरेको प्रतिवेदनमाथि यसरी विज्ञप्ति निकालेर एकदमै भ्रमपूर्ण भाषा प्रयोग गरेर विज्ञप्ति निकाल्नु उचित हुन्छ कि हुँदैन, प्रतिवेदन विचाराधीन भएको अवस्थामा प्रभाव पार्नु हुन्छ कि हुँदैन, यसमा समितिले गम्भीर रूपमा सोच्नुपर्छ । यसको म कडा रूपमा प्रतिवाद गर्दछु ।’

    राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष समेत रहेका उपसमिति सभापति लिङदेनले प्रतिवेदन सम्बन्धित निकायले थप अध्ययन अनुसन्धान गरेर कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिए ।

    उनले भने, ‘उपसमितिले पेश गरेको प्रतिवेदनमा भित्र र बाहिर गरेर दुई प्रकारका चर्चा भइरहेका छन् । कुनै दफावार वा कुनै विषयमाथि विषय उठ्यो भने छलफल गरिने नै छ । तर, व्यापक आर्थिक र राजनीतिक रूपमा अनियमितता भएको निष्कर्ष निकालिएको छ । यसमा सम्बन्धित निकायले थप अनुसन्धान गरेर कार्यान्वयनमा लिनुपर्छ । कतिपयले प्रतिवेदन अध्ययन नगरेर नै हचुवाको भरमा प्रतिवेदन ल्यायो, स्वार्थमा बन्यो भन्ने भनाइमा मेरो आपत्ति छ । यसमा पटक–पटक छलफल भएको छ, अध्ययन गरिएको छ । खास गरी यो ठेक्का प्रक्रियाको सुरुवातामा नै ठुलो मात्रामा तलमाथि गरियो । त्यसलाई पुष्टि गर्नका लागि जुन प्रक्रिया अपनाइयो त्यो अहिलेसम्मकै नीतिगत रूपमा ठुलो भ्रष्टाचार हो भन्ने हामीले औँल्याएका छौ । यो आफैले टुंगो लगाउने निकाय पनि होइन । औला उठाउने र अध्ययन तथा कारबाहीका लागि सिफारिस गर्ने निकाय हो । यो प्रतिवेदनलाई पारित गरेर सम्बन्धित निकायमा अघि बढाउनका लागि अनुरोध गर्दछु । यसलाई धेरै विवादित नबनाइयोस् ।’

    उक्त कम्पनीले मङ्गलवार विज्ञप्ति जारी गर्दै प्रतिवेदनमा आफूमाथि गरिएको टिप्पणीलाई तथ्यहीन, हचुवा र पूर्वाग्रही भएको जनाएको थियो । गोरखापत्रमा एक विज्ञप्ति जारी गर्दै कम्पनीले भनेको छ, ‘प्रतिवेदनमा हाम्रो कम्पनीसम्बन्धी उल्लेख गरिएका विषयवस्तुहरू पूर्ण रूपमा तथ्यसँग मेल खाँदैनन्। त्यसले परियोजनाको सम्पूर्ण कार्यान्वयन प्रक्रियाको गहिरो अनुसन्धान र वस्तुगत विश्लेषणको अभाव देखाउँछ, जुन हामीलाई अत्यन्तै आश्चर्यजनक र चिन्ताजनक लागेको छ।’

  • देउवापुत्रबारे स्टाटस लेख्दा राप्रपाका युवानेता हिरासतमा, बन्दी प्रत्यक्षीकरणको सुनवाइ आज

    देउवापुत्रबारे स्टाटस लेख्दा राप्रपाका युवानेता हिरासतमा, बन्दी प्रत्यक्षीकरणको सुनवाइ आज

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका संयोजक सुजित केसी ६ दिनदेखि प्रहरी हिरासतमा छन् । उनलाई साइबर क्राइमको कसुरमा गत शुक्रवार पक्राउ गरेको थियो ।

    सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका पुत्र जयवीरसिंह देउवाको विरुद्ध स्टाटस लेखेको आरोपमा केसीलाई पक्राउ गरिएको हो ।

    केही दिनअघि केसीले फेसबुकमा लेखेका थिए, ‘कालो धनलाई सेतो बनाउने प्रपञ्च, शेरबहादुर देउवा र आरजु देउवाका सुपुत्र जयवीरसिंह देउवाले हिल्टन होटल किनेका छन् ।’

    देउवापुत्रले हिल्टन होटल किनेको भनेर केही मिडियामा समाचारहरू आएका थिए । त्यसैका आधारमा केसीले आलोचनात्मक स्टाटस लेखेका हुन् । पछि हिल्टनका सञ्चालकले यो समाचारको खण्डन गरेका छन् । समाचार सही हो वा गलत भन्ने स्वतन्त्र पुष्टि भएको छैन ।

    सञ्चारमाध्यममा आएका समाचारमा लेखिएको सामान्य आलोचनात्मक टिप्पणीमा पक्राउ गरेर सरकारले अधिनायकवादी शैली देखाएको भन्दै राप्रपाले विरोध जनाइरहेको छ ।

    केसी पत्रकार समेत हुन् । उनी राष्ट्रिय समाचार नाम अनलाइन सञ्चालन गर्छन् । पत्रकार महासंघले पक्राउको निन्दा गरेको छ ।
    महासंघका महासचिव रामप्रसाद दाहालले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘अर्कै प्रयोजनका लागि बनेको कानुन प्रयोग गरेर पत्रकारलाई पक्राउ गरिनेलाई महासंघले अत्यन्न निन्दनीय र प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेपका रूपमा लिएको छ ।’

    यसैबीच केसीलाई गैरकानूनी थुनाबाट मुक्त गर्न भन्दै दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनवाइ हुने भएको छ । न्यायाधीशद्वय बालकृष्ण ढकाल र नित्यानन्द पाण्डेको संयुक्त इजलासमा सुनवाइ हुन लागेको हो । हिजो पेशी तोकिएको भए पनि सुनवाइ स्थगित भएको थियो ।

    यसअघि केसीलाई पक्राउ गर्नाका कारण, प्रतिवेदन र कागजाजसहित २४ घण्टाभित्र सशरीर भौतिक रूपमा उपस्थित गराउन सर्वोच्च अदालतले विपक्षीका नाममा आदेश जारी गरेको थियो ।

  • राजा फर्काएरै छाड्छौँ, प्रधानमन्त्रीलाई भाग्न हेलिकप्टरको सुविधा दिन्छौँ : राजेन्द्र लिङ्देन (भिडिओ)

    राजा फर्काएरै छाड्छौँ, प्रधानमन्त्रीलाई भाग्न हेलिकप्टरको सुविधा दिन्छौँ : राजेन्द्र लिङ्देन (भिडिओ)

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापनाको जेठ १५ गतेदेखि सुरु हुने आफूहरूको आन्दोलन आन्दोलन हिंसात्मक नहुने र सरकारी पक्षलाई पनि गर्न नदिने बताएका छन्।

    राजतन्त्र पुनर्स्थापनाका संयुक्त जनआन्दोलन समिति र घटक दलहरूको तयारी बैठकलाई सम्बोधन गर्दै आफूहरूको आन्दोलनको अनुगमन गर्नको लागि मानवअधिकार आयोगहरूलाई पनि आग्रह गरे।

    सरकारलाई पनि कुनै पनि प्रकारको दमन गर्ने वा हिंसा भड्काउने मौका नदिने उनले बताए। अध्यक्ष लिङ्देनले भद्र अवज्ञा वा सत्याग्रहबाटै आफ्ना मान्यताहरू स्थापित गरिने बताए। यस पटकको आन्दोलनलाई टुङ्गोमा पुराएरै छाड्ने भन्दै जिकिर गरे।

    उनले भने, ‘हाम्रै छिमेकमा १९० वर्ष पुरानो ब्रिटिस शासनलाई सत्याग्रहको बाटोबाटै अन्त्य गरिएको थियो। हामी यो गणतन्त्रलाई पनि सत्याग्रहको बाटोबाटै अन्त्य गर्छौँ। अस्ति भर्खरै प्रधानमन्त्रीले संसदमा भन्दै हुनुहुन्थ्यो। प्रधानमन्त्रीले भन्नुभयो अब उमेरको हिसाबले पनि भाग्न सकिँदैन, भाग त भन्नुभएन नि हो भन्नुभयो। भाग्न सकिन्न भने पनि सम्झौता नगर्ने हो भने उहाँहरूलाई हेलिकोप्टरबाट जाने मौका दिनुपर्छ हामीले। हेलिकोप्टरको सुविधा प्रयोग गर्न छुट दिने। त्यसरी हामीले हाम्रो आन्दोलन अगाडि लाने हो। लाने हो यसपालि टुंग्याएर छाड्ने हो।’

    उनले इमान्दार भएर आन्दोलनरतलाई सफल बनाएर छाड्न लागि अपिल गरे।

  • राप्रपा सांसद रोशन कार्कीको आरोप- सरकारले प्रहरी प्रशासनको मण्डलेकरण गर्दैछ

    राप्रपा सांसद रोशन कार्कीको आरोप- सरकारले प्रहरी प्रशासनको मण्डलेकरण गर्दैछ

    काठमाडौं । मण्डले शब्द पञ्चायतकालमा बहुदलवादी हालका कांग्रेस कम्युनिष्टहरुले पञ्चहरुलाई गाली गर्दा सम्बोधन गरिन्थ्यो । बहुदलीय व्यवस्था स्थापनाको लामो समयसम्म पनि पूर्वपञ्च विशेषगरी राप्रपालाई मण्डले भन्थे उनीहरु ।

    तर अब समय फेरिएछ । प्रतिनिधि सभाको आइतवारको बैठकमा राप्रपा सांसद तथा राजाको शाही शासन कालकी मन्त्री रोशन कार्कीले कांग्रेस एमालेको सरकारलाई मण्डलेको संज्ञा दिइन् । उनले नेपाल प्रहरीको मण्डलेकरण गरिएको आरोप समेत लगाइन् ।

    सांसद कार्कीले भनिन्– प्रहरी प्रशासनको प्रशासन मण्डलेकरण गरिएको छ । सरकार मण्डलेकरण भइरहेको छ । प्रहरीले सत्तापक्षको कुर्सीमा बसेकाहरु प्रतिपक्षमा आउन सक्छन् र प्रतिपक्षमा रहेकाहरु सत्तामा आउन सक्छन् भन्ने ख्याल नगरेर दमन गरेको छ ।

    सामाजिक संजालमा लेखेको कारण राप्रपाका युवा नेताहरु पक्राउ परेको तथा राजा पक्षधरलाई गैरकानूनी थुनामा राखिएको भन्दै सांसद कार्कीले सरकार मण्डलेकरणमा गएको आरोप लगाएकी हुन् ।

  • सर्वाेच्चद्वारा रवीन्द्र मिश्रलाई थुनामुक्त गर्न आदेश

    सर्वाेच्चद्वारा रवीन्द्र मिश्रलाई थुनामुक्त गर्न आदेश

    काठमाडौं । राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

    मिश्रको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै आज सर्वोच्चले सो आदेश दिएको हो । यससँगै मिश्र हिरासत मुक्त हुने भएका छन् ।

    न्यायाधीशद्वय तीलप्रसाद श्रेष्ठ र कुमार चुडालको संयुक्त इजलासमा बन्दी प्रत्यक्षीकरण मुद्दाको सुनुवाइ भएको थियो ।

  • सर्वोच्चको इजलासमा रवीन्द्र मिश्रको प्रश्न- अब मेरो छाती चिरेर मुटु हेर्ने ?

    सर्वोच्चको इजलासमा रवीन्द्र मिश्रको प्रश्न- अब मेरो छाती चिरेर मुटु हेर्ने ?

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले देशमा राजनीतिक हुकुमप्रमांगीबाट आफूमाथि अत्याचारपूर्ण व्यवहार भइरहेको महसुस भएपछि सर्वोच्च अदालतको ढोका ढक्ढकाएको बताएका छन् । आफ्नो बन्दी प्रत्यक्षीकरणको मुद्दाको सुनवाइमा समय लिएर बोल्दै उनले इजलाससमक्ष आफूलाई थुनामा राख्ने कुनै आधार बाँकी नरहेको बताए ।

    ‘अब हिरासतमा राखेर के हेर्न बाँकी छ ? मेरो छाती चिरेर मुटु हेर्ने ?’ मिश्रले प्रश्न गरे ।

    मिश्रको भनाइको पूर्णपाठ यस्तो छः

    श्रीमान् ! म छोटकरीमा केही कुरा राख्न चाहन्छु । यस किसिमको इजलासमा पहिलोचोटि बोलिरहेका हुँदा केही तलमाथि पर्यो भने क्षमा गर्नुहोला । म आज ५० औं दिनमा बन्दी प्रत्यक्षीकरणको मुद्दा लिएर आएको छु ।

    सुरुदेखि प्रहरीलाई सघाउँछु भन्दै आएको छु । तेस्रोपटक म्याद थप हुँदा मैले छानबिन गर्दा जति चाहिन्छ एकैचोटि लिनुस् भनेको थिएँ । त्यसपछि १५ दिन म्याद थप भयो । चैत ३१ र वैशाख २ मा मेरो बयान सकियो । सकिएपछि चौथो बयानमा वैशाख १० गते लिखित आदेश भयो, जुन इजलासमा पेश भइसकेको छ ।

    फेरि ४२ औं दिनमा आएर मलाई जबरजस्ती पूर्जि दिइयो आपराधिक उपद्रवको । अनि फेरि ५ दिनको म्याद थपियो । त्यसमा बयान लिइएन । मैले नै बन्दी प्रत्यक्षीकरणको सुनवाइअघि बयान लिइदिनुस् भनेपछि हिजो साँझ बयान लिइयो ।

    मलाई पछिल्लो आठौ चरणसम्म म्याद थप हुँदा के अनुभूति भयो भने यो देशमा राजनीतिक हुकुम प्रमाङ्गीबाट सबै भइरहेको छ । राज्यको अधिकार हुने, नागरिक अधिकार नहुने भन्ने अनुभूति भइसकेपछि अन्तिम घडीमा भए पनि बन्दी प्रत्यक्षीकरणमा जाने निर्णय लिएँ । उहाँहरूले  (अनुसन्धान अधिकारी) ले ‘अब त दसै दिन त हो नि के भयो र भन्दाभन्दै मैले एक घन्टा पनि अन्यायपूर्वक ढंगबाट हिरासतमा बस्न चाहन्नँ भनेँ । ४०/५० दिनसम्म तपाईंहरूलाई सघाएँ, अब सर्वोच्चको ढोका ढक्ढकाउँछु भनेर म यहाँ आइपुगेँ ।

    मेरो फोन उहाँहरूसँगै छ । बैंक खाता बन्द गरिएको छ । फेसबुकमा लेखेरै डिटेल मगाउनुभाको छ । अझै हिरासतमा राखेर मेरो छाति चिरेर मुटु हेर्ने ? के हेर्नुहुन्छ ? म भागेर जान्छु ? म आजसम्म नाक ठाडो पारेर हिँडेको मानिस हुँ । यो देशको कानून निगरानीमा नभएर पनि मान्दै आएको नागरिक हुँ । आज पनि म मान्छु । चौथो बहसमा मैले भनेको कुरा यहाँ दोहोर्‍याउन चाहन्छु । श्रीमान्, म आफ्नी ८२ वर्षिया डिमेन्सियाबाट पीडित आमाको नाममा कसम खाएर भन्छु, मैले यो देशमा राज्यविरुद्धको कसुरजन्य, संगठित अपराधजन्य वा आपराधिक उपद्रवजन्य कुनै काम गरेको छैन । छ भने प्रमाणित गरेर देखाइदिनुस् ।

    म कानूनको विद्यार्थी होइन । तर, हरेकपटक बयान दिँदा अनुसन्धान अधिकारीले सबै कुरा झूट बोलिराख्नुभएको छ । सीडीओले कार्यक्रम गर्न स्वीकृति दिएको राष्ट्र, राष्ट्रियता धर्म-संस्कृति अभियानलाई हो, तर उहाँहरू हाम्रो पार्टीले आयोजना गरेको भन्दै हुनुहुन्छ । रवीन्द्र मिश्रले सिरिया, बंगलादेश बनाइदिन्छु भन्यो भन्दै हुनुहुन्छ । कहाँ लेख्या छ मैले त्यस्तो ? मैले यो देश यस्तो बाटोमा गएन भने विफल राष्ट्र हुन सक्छ, ग्रे लिस्टमा पर्न सक्छ भनेको हुँला । यस्तो हुन सक्छ भन्नु र यस्तो बनाइदिन्छु भन्नुमा ठूलो अन्तराल छ श्रीमान् ! त्यति फरक पनि विचार नगरिदिने ?

    मलाई हिरासतबाहिर राख्दा अनुसन्धानमा ब्रेक लाग्छ भन्नुभयो । म यहाँबाट छुटेर कसरी अनुसन्धानमा ब्रेक लाग्छ ? ‘निवेदक रवीन्द्र मिश्र’ भन्नुभयो बोल्दाबोल्दै सिनियर अथोरिटीले । म निवेदक हो तीनकुनेको कार्यक्रमको ? म सदस्य सचिव हुँ । सदस्य सचिव भनेको मुलत प्रशासनिक जिम्मेवारी हो । नेतृत्वकर्ता भनेर भनेर कसरी भन्नुभयो ? हरेक कुरामा ढाँटेर बयान दिनुभएको अनुसन्धान अधिकारीले दिलु घलेको केसमा हामीले ढाँटेका छैनौं भन्न मिल्छ श्रीमान् ?

    मलाई चित्त दुखेको, पीडित पक्ष भएकाले अलिकति यसरी बोलेँ होला । त्यो दिन पनि नाकै अगाडि अश्रुग्यास खस्यो । मैले जिन्दगीमा त्यति आवेगजन्य कहिल्यै बोलेको छैन । त्यो दिन बोल्दा पनि हिंसाजन्य शब्द कतै छैन । कतै बोलेको भए ल्याएर देखाउनुस् । म आफैँले प्रेसित गरेको हो सामाजिक सञ्जालमा ।

    नवराजजीलाई छोडियो, धवलजीलाई छोडियो, अर्को एकजनालाई म्याद थप बहसमै छोडेको छ । मलाई चैँ राखेको राख्यै गर्नुपर्ने ? यो राजनीतिक प्रतिशोध होइन ? जबकि बयान सबै सकिइसक्यो । त्यसैले श्रीमान, राज्यको जति नै अधिकार नागरिकको पनि छ । केही नलागेपछि यो ढोका ढक्ढडकाउन आएको हुँ । मलाई न्याय दिनुस श्रीमान् ।

  • रवीन्द्र मिश्रको बन्दी प्रत्यक्षीकरण मुद्दामा बहस सकियो, आजै आदेशको तयारी

    रवीन्द्र मिश्रको बन्दी प्रत्यक्षीकरण मुद्दामा बहस सकियो, आजै आदेशको तयारी

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको बन्दी प्रत्यक्षीकरण मुद्दामा आज बहस सकिएको छ । आजै आदेश आउने तयारी रहेको अदालत स्रोतले बतायो ।

    सर्वोच्च अदालतको ५ नम्बर इजलासमा न्यायाधीशद्वय कुमार चुडाल र तिलप्रसाद श्रेष्ठको इजलासमा मुद्दाको सुनवाइ भएको हो । मिश्रका तर्फबाट कानून व्यवसायीहरू भीमार्जुन आचार्य, सतिश खरेल, गोविन्द्र बन्दी, राजु बस्नेत र विष्णु भट्टराईले बहस गरेका थिए । उनीहरूले मिश्रलाई हिरासतबाहिरै राखेर अनुसन्धान गर्न माग गरे ।

    नियतवस प्रहरीले गैरकानूनीरुपमा थुनावास लम्ब्याइरहेको उनीहरूको गुनासो थियो ।

  • रवीन्द्र मिश्र यसकारण गैरकानूनी थुनामा नरहेको भन्दै महान्यायाधिवक्ताले दिए यी तर्क (पूर्णपाठ)

    रवीन्द्र मिश्र यसकारण गैरकानूनी थुनामा नरहेको भन्दै महान्यायाधिवक्ताले दिए यी तर्क (पूर्णपाठ)

    काठमाडौं । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई गैरकानूनी थुनामा राखिएको भन्दै पत्नी सारिकाले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट उपर सर्वोच्चलाई महान्यायाधिवक्ता रमेश बडालले लिखित जवाफ पठाएका छन् ।

    तीनकुनेको राजावादी आन्दोलनको घटनालाई लिएर चैत १५ मा पक्राउ परेका मिश्रलाई मुलुकी फौजदारी कार्यविधि संहिताको प्रावधानअनुसारको प्रक्रिया पूरा गरिएको साथै मुद्दा हेर्ने अधिकार निकायको आदेश बमोजिम न्यायिक हिरासतमा राखिएकाले गैरकानूनी थुनामा भन्न नमिल्ने जिकिर गरिएको छ ।

    हेर्नुस् महान्यायाधिवक्ताले सर्वोच्चलाई पठाएको जवाफको पूर्णपाठ

  • सदनमा लिङ्देन- निषेध गरेर जान खोजेको भए सरकारले जंगल पस भन्नुपर्‍यो (भिडिओ)

    सदनमा लिङ्देन- निषेध गरेर जान खोजेको भए सरकारले जंगल पस भन्नुपर्‍यो (भिडिओ)

    काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले सरकारले संविधानको उल्लंघन गरिरहेको दाबी गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै सरकारले फरक विचार राख्नेहरूलाई निषेधको राजनीति गर्न खोजेको भए आफूहरू विद्रोहमा जान तयार रहेको बताए ।

    उनले करिब दुई महिनादेखि रवीन्द्र मिश्रलगायत आस्थाका बन्दीहरूलाई फरक विचार भएकै कारणले, राजसंस्था मान्छु, हिन्दू राष्ट्र मान्छु संघीयता मान्दिनँ भनेकै कारणले अपमानपूर्वक खोरमा राखिएको दाबी गरे ।

    उनले भने, ‘आज फेरि राप्रपा सम्बद्ध युवा संघका केन्द्रीय अध्यक्षलाई साइबर ब्युरोले पक्राउ गरिएको छ । आस्थाकै आधारले एकपछि अर्को मानिसलाई पक्राउ गर्दै लाने हो भने प्रधानमन्त्री र गृहमन्त्रीलाई भन्न चाहन्छु निषेध गरेर लाने हो भने औपचारिक रूपमै भनिदिओस्, हामी विद्रोहमा जाऔँ । जङ्गल पस भन्नुपर्‍यो ।’

    उनले सरकारको गतिविधि दु:खद, मानव अधिकार र संविधानविरुद्ध भएको बताए ।

  • रवीन्द्र मिश्रको बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ, कुमार र तिलप्रसादको इजलासमा पर्‍यो

    रवीन्द्र मिश्रको बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ, कुमार र तिलप्रसादको इजलासमा पर्‍यो

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) उपाध्यक्ष रवीन्द्र मिश्रको बन्दी प्रत्यक्षीकरण रिटमा आज सर्वोच्च अदालतमा सुनवाइ हुँदैछ । मिश्रको तर्फबाट उनकी पत्नी सारिका कार्कीले रिट दायर गरेकी थिइन् ।

    मिश्रलाई हिजो सर्वोच्चमा शशरीर उपस्थित गराएर फर्काइएको थियो । आज सो मुद्दा इजलास नम्बर ५ मा परेको छ । न्यायाधीसद्वय कुमार चुडाल र तिलप्रसाद श्रेष्ठले मुद्दाको सुनवाइ गर्नेछन् ।

    मिश्रलाई गैरकानूनीरूपमा प्रहरीले थुनामा राखिरहेको भन्दै रिट दायर भएको हो । उनलाई हिरासतबाहिर राखेर मुद्दाको अनुसन्धान गर्न मिश्रका कानून व्यवसायीहरुले माग गरेका छन् ।

  • रवीन्द्र मिश्रलाई हत्कडी खोलेर सर्वोच्च लगियो, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने

    रवीन्द्र मिश्रलाई हत्कडी खोलेर सर्वोच्च लगियो, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई बन्दी प्रत्यक्षीकरणको सुनुवाइका लागि सर्वोच्च अदालतमा उपस्थित गराइएको छ । सर्वोच्चको आदेशअनुसार आज उनलाई शशरीर उपस्थित गराइएको हो ।

    मिश्रलाई काठमाडौं प्रहरी परिसरबाट हत्कडी लगाएर न्यायाधिवक्ताको कार्यालय पुर्‍याइएको थियो । त्यहाँबाट सर्वोच्च लैजाँदा भने खोलियो ।

    न्यायाधिवक्ताको कार्यालयको पछाडिको गेटबाट निकालेर भित्री बाटोबाट उनलाई सर्वोच्च पुर्‍याइएको थियो । सर्वोच्चको गेटमा छिराउनुअघि हत्कडी फुकालिएको हो ।

  • रवीन्द्र मिश्रलाई सक्कल मिसिलसहित इजलासमा उपस्थित गराउन सर्वोच्चको आदेश

    रवीन्द्र मिश्रलाई सक्कल मिसिलसहित इजलासमा उपस्थित गराउन सर्वोच्चको आदेश

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्रलाई अनुसन्धानको मिसिलसहित अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ ।

    रवीन्द्रपत्नी सारिकाले दिएको बन्दी प्रत्यक्षीकरणको रिटउपर सुनुवाइ गर्दै न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले उक्त आदेश दिएको हो । सर्वोच्चले आदेश प्राप्त भएको २४ घण्टाभित्र मुद्दाको सक्कल मिसिल इजलाससमक्ष देखाई बन्दीसहित लिखित जवाफसाथ उपस्थित गराउन भनेको छ ।

    मिश्रलाई तीनकुने आन्दोलनसँग जोडेर गत १५ चैत पक्राउ गरिएको थियो । उनलाई हिजोसहित ८ पटक पटक म्याद थप गरिसकिएको छ । प्रहरीले उनीमाथि राज्य विप्लव, संगठित अपराध र आपराधिक उपद्रव गरी तीनवटा कसुरमा अनुसन्धान भइरहेको जनाएको छ ।

  • ‘यस पटक राष्ट्र बैंकको नेतृत्व महिलालाई दिऊँ’ (भिडिओ)

    ‘यस पटक राष्ट्र बैंकको नेतृत्व महिलालाई दिऊँ’ (भिडिओ)

    काठमाडौं । सांसद रोशन कार्कीले नेपाल राष्ट्र बैंकको नेतृत्व यस पटक महिलालाई दिन आग्रह गरेकी छिन् । राष्ट्र बैंकमा गभर्नर पद खाली भइरहेको बेला उनले गभर्नरमा महिलालाई नियुक्त गर्न भनेकी गरेकी हुन् ।

    बुधबार संसद्को शून्य समयमा बोल्दै सांसद कार्कीले भनिन्, ‘कार्यवाहक गभर्नर निलम ढुङ्गानालाई नै राष्ट्र बैंकको नेतृत्व दिऊ । निलम ढुङ्गानालाई गभर्नर नियुक्त गरी ५२ प्रतिशत महिलामाथि न्याय गरौँ । अब यता र उता योग्य र अयोग्य मान्छ खोज्नतिर नलागौँ । यसले देशको स्थिति अत्यन्त हास्यास्पद भइरहेको छ । राष्ट्र बैंकको नेतृत्व यस पटक महिलालाई सुम्पिऊ ।’

    यस्तै, उनले गभर्नर पद लिलामीका चढेको समेत बताएकी छिन् । ‘राष्ट्र बैंकको गभर्नरको पद लिलामीमा चढेको छ रे । लिलामीको बढाबढमा तीन करोड रूपैयाँ नाघि पनि सक्यो रे’, उनले भनिन् ।

    विगतमा महिला राष्ट्रपति, सभामुख र प्रधानन्यायाधीश पाएको र उनीहरूको कार्यकाल सफल र प्रशंसायोग्य रहेको उनले सुनाइन् ।

  • रवीन्द्र मिश्रको बन्दी प्रत्यक्षीकरण सुनुवाइ सकियो, पत्नी सारिकाले गरिन् न्यायको याचना

    रवीन्द्र मिश्रको बन्दी प्रत्यक्षीकरण सुनुवाइ सकियो, पत्नी सारिकाले गरिन् न्यायको याचना

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रको बन्दी प्रत्यक्षीकरण मुद्दामा सुनवाइ सकिएको छ । न्यायाधीस सुनील पोखरेलको इजलास नम्बर १० मा सुनवाइ भएको हो ।

    मिश्रका तर्फबाट भीमार्जुन आचार्य, सतिशकृष्ण खरेल, बिष्णु भट्टराईसहित करिब एक दर्जना वकिलहरुले बहस गरेका थिए । उनीहरुले मिश्रलाई मिश्रलाई ४८ घण्टाभित्र शशरीर सर्वोच्चमा उपस्थित गराउन माग गरेका छन् ।

    बन्दी प्रत्यक्षीकरण निवेदन दिने मिश्रकी पत्नी सारिकाले आफ्नो श्रीमानमाथि राजनीतिक पूर्वाग्रह साँधेर अनावश्यक थुनामा राखिएको गुनासो न्यायाधीससमक्ष गरिन् । आफूहरुलाई जिल्ला अदालतले न्याय नदिएकाले सर्वोच्च आउनु परेको उनले बताइन् ।

    ‘जिल्ला अदालतबाट हामीलाई न्यायको आशा थियो । १० गतेको आदेशमा ३ दिनभित्र थप प्रमाण पेश नभएमा थुनामुक्त गर्न सकिने भनियो तर, अर्कोपटक त्यस अनुसार भएन,’ उनले भनिन्, ‘राज्यले नै पूर्वाग्रह साँधेपछि हाम्रो अन्तिम आशा भनेको सर्वोच्च नै हो ।’

    सारिकाले अदालतबाट निस्किँदा पत्रकारहरुसँग भने प्रतिक्रिया दिन चाहिनन् ।

  • गगन र विश्व प्रकाशलाई ज्ञानेन्द्र शाहीको कटाक्ष- नखाऊँ भने दिनभरीको शिकार, खाउँ भने कान्छाबाउको अनुहार (भिडिओ)

    गगन र विश्व प्रकाशलाई ज्ञानेन्द्र शाहीको कटाक्ष- नखाऊँ भने दिनभरीको शिकार, खाउँ भने कान्छाबाउको अनुहार (भिडिओ)

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले नीति तथा कार्यक्रममा नेपाली कांग्रेसमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा उपस्थित नभएको भन्दै कटाक्ष गरेका छन् ।

    विनियोजन विधेयकको सिद्धान्त तथा प्राथमिकतामाथि छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् ।

    ‘मेरो पार्टीभन्दा पर नेपाली कांग्रेसतिर गएँ म । यहाँ दुई जना सशक्त नेता हुनुहुन्छ । उहाँ नीति तथा कायर्उक्रमममा कहीँ पनि देखिनँ । किन आउनुभएन ?’, शाही भन्छन्, ‘हुन सक्छ उहाँहरूलाई यो नीति तथा कार्यक्रम नखाऊँ भने दिनभरीको शिकार खाउँ भने कान्छाबाउको अनुहार भनेजस्तो भएको छ । विरोध गरौँ आफ्नै पार्टी सरकारमा छ नगरौँ आफ्नै पार्टी सरकारमा छ ।’

     

  • तीनकुने घटनामा मुद्दा खेपिरहेका सबैको कानूनी प्रक्रियामा राप्रपाले जिम्मेवारी लिने

    तीनकुने घटनामा मुद्दा खेपिरहेका सबैको कानूनी प्रक्रियामा राप्रपाले जिम्मेवारी लिने

    काठमाडौं । तीनकुने घटनामा पक्राउ परेका सबैको जिम्मेवारी राप्रपाले लिने घोषणा पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले गरेका छन् । नाजायज रूपमा हिरासतमा राखिएका देशभक्त-राष्ट्रवादी बन्दीहरूको कानूनी प्रक्रियामा राप्रपाले सघाउने उनले बताए ।

    हिजो राप्रपाको कार्यालयमा संयुक्त जनआन्दोलन समितिको बैठक बसेको थियो । सो बैठकमा लिङदेनले यस्तो घोषणा गरेसँगै सबै स्वागत गरे । राजसंस्था पक्षधर सबैभन्दा ठूलो दलका रूपमा राप्रपाले गरेको यो जिम्मेवारीबोधको राजावादी नेताहरूले प्रशंसा गरेका छन् ।

    राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलगायत तीनकुने घटनामा पक्राउ परेका सबैको कानूनी प्रक्रियामा लाग्ने आर्थिक दायित्वसमेत राप्रपाले व्यहोर्नेछ ।

    ‘अहिलेसम्म सबैले आआफ्नो व्यक्तिगत हिसाबले गरिराख्नुभएको थियो, अब सबैको जिम्मेवारी राप्रपाले लिएको छ,’ उनले नेपाल प्रेससँग भने ।

    अध्यक्ष लिङदेनले यसका लागि आवश्यक तयारी गर्न राप्रपा सम्बद्ध कानून व्यवसायी संगठन र अधिवक्ताहरूलाई आग्रह समेत गरेका छन् । निःशुल्क कानूनी सहायता प्रदान गरिरहेका कानून व्यवसायीलाई बैठकले धन्यवाद र आभार प्रकट गरेको थियो ।

    स्मरणीय छ कि तीनकुनेमा १५ चैतमा भएको राजावादी आन्दोलनको आयोजक राप्रपा थिएन । दुर्गा प्रसाईँ नेतृत्वको नागरिक बचाउ महाअभियानले यो कार्यक्रमका आयोजना गरेको हो, जसको अपनत्व संयुक्त जनआन्दोलन समितिले समेत लिएको थिए । राप्रपा अध्यक्ष लिङदेन उक्त आन्दोलनमा सहभागी थिएनन् ।

    मुख्य आयोजक दुर्गा प्रसाईँ पनि प्रहरी हिरासतमा छन् । राप्रपाले सबैको जिम्मेवारी वहन गर्ने निर्णय गर्दा दुर्गा पनि त्यसभित्र पर्छन् वा पर्दैनन् भन्ने चाहिँ अस्पष्टता देखिएको छ । राप्रपा स्रोतले यो विषयमा अनभिज्ञता दर्शायो ।

    स्रोतले भन्यो, ‘अध्यक्षज्यूले कसैको पनि नाम तोक्नुभएको छैन । सबैको जिम्मेवारी लिने भन्नुभएको हिसाबले उहाँ पनि त्यसमा अटाउनु पर्ने हो ।’

    राप्रपा र दुर्गा प्रसाईंबीच सुमधुर सम्बन्ध थिएन । प्रसाईँले सार्वजनिक फोरममै राप्रपाको आलोचना गर्ने गरेका थिए ।

  • तीन वर्ष ७ महिनापछि राप्रपा कार्यालय फर्किए कमल थापा

    तीन वर्ष ७ महिनापछि राप्रपा कार्यालय फर्किए कमल थापा

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा राप्रपा कार्यालय पुगेका छन् ।

    तीन वर्ष ७ महिनापछि थापा राप्रपा पार्टी कार्यालय धुम्बाराही फर्केका हुन् ।

    उनले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग भेट गरेका छन् । भेटपछि समसामयिक विषयमा छलफल भएको बताइएको छ । केही समय यता थापा र लिङ्देन नजिकिएका छन् ।

    थापा धुम्बाराही पुगेको तस्बिर सेयर गर्दै लिङ्देनले आजको तस्बिर भन्दै आफूसहित थापाको फोटो राखेका थिए ।

    एउटै लक्ष्य र गन्तव्य बोकेर हिँडिरहे पनि राजावादी हस्ति नेताहरू एक ठाउँमा उभिन सकिरहेका थिएनन् । लिङदेन र थापाबीच त झन् पानी बाराबारकै अवस्था थियो । राप्रपालाई नै फुटाएर थापाले राप्रपा नेपाल गठन गरेको हुँदा यी दुई पार्टीबीच तिक्तताको अवस्था कायम थियो ।

    वैशाख १५ को राप्रपा नेपालको विरोध सभामा कमल थापाको निम्तो मान्न लिङदेन पुगेपछि यी दुई नेताको सम्बन्धमा ‘ब्रेक थ्रू’ भएको हो ।

  • नवराजले बोलाएको बृहत् भेलामा छुटे जगमान, प्राविधिक कारण कि जानाजान ?

    नवराजले बोलाएको बृहत् भेलामा छुटे जगमान, प्राविधिक कारण कि जानाजान ?

    काठमाडौं । नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले आज डाकेको बृहत् बैठकमा डा. जगमान गुरुङ अनुपस्थित बनेका छन् । बैठकले जेठ १५ बाट हुने जनआन्दोलन सफल पार्ने सन्दर्भमा थुप्रै महत्वपूर्ण निर्णयहरू गरेको छ ।

    सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा आयोजना गरिएको कार्यक्रममा राजसंस्था समर्थित राजनीतिक दलसहित ४४ वटा संघ–संस्थाको सहभागिता थियो । बैठकको अध्यक्षता जनआन्दोलन समितिका अध्यक्ष सुवेदीले गरेका थिए भने उनको दायाँबायाँ राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन र राप्रपा नेपालका अध्यक्ष कमल थापा बसेका थिए । राजावादी अभियानमा लागेका सबैजसो चर्चित अनुहारहरू सहभागी बैठकमा यसअघि जनआन्दोलन समितिका कार्यबाहक अध्यक्ष रहेका जगमान कसरी छुटे त ? हामीले उनैलाई सोध्यौं ।

    नेपाल प्रेससँग कुरा गर्दै गुरुङले आफूलाई निम्ता नआएको बताए । उनले भने, ‘आज बैठक रहेछ भन्ने थाहा पाएँ, तर मलाई बोलाइएको छैन । नबोलाएको ठाउँमा लुते कुकुर जस्तै पुच्छर हल्लाउँदै जाने कुरा पनि आएन । जगमान गुरुङ पो हो त ! जेठ १५ गते राजालाई सिंहासनमा स्थापित गराउँछु भन्ने मान्छे लुरुलुरु बैठकमा जान्छ ?’

    गुरुङ जनआन्दोलन समितिका सल्लाहकार हुन् । यसअघि नवराज सुवेदी नजरबन्दमा रहँदा उनले केही समय समितिको कार्यबाहक संयोजकको जिम्मेवारीसमेत निभाएका थिए । नवराज नजरबन्द मुक्त भएर संयोजकको भूमिकामा फर्किएसँगै गुरुङ अलिकति ओझेलमा परेका छन् ।

    आफूलाई बैठकमा नबोलाइनुको कारण थाहा नभएको गुरुङ बताउँछन् ।

    ‘म सल्लाहकारमात्रै हो, कार्यसमितिमा छुइनँ । यसको सल्लाह चाहिँदैन भनेर नबोलाइएको पो हो कि ?’, उनले ठट्टा मिश्रित स्वरमा भने ।

    यस विषयमा जनआन्दोलन समितिका प्रवक्ता स्वागत नेपालसँग जिज्ञासा राख्दा उनले प्राविधिक कारणले गुरुङलाई निम्तो नपुगेको बताए ।

    नेपालले भने, ‘उहाँलाई फोन गर्ने कुरा थियो । समितिबाट फोन गएको, तर रिसिभ नभएको भन्ने पनि सुनेको छु । उहाँ समितिको सम्मानित सल्लाहकार र पूर्वकार्यबाहक अध्यक्ष हुनुहुन्छ । हामीले अवमूल्यन गर्ने कुरै आउँदैन । उहाँबाट समितिले निरन्तर सल्लाह प्राप्त गरिरहेको छ ।’

    गुरुङले पनि घोषित आन्दोलनमा आफ्नो असहमति नरहेको स्पष्ट पारेका छन् ।

    ‘मैले आन्दोलनको विरोध गरेको छैन र गर्दिनँ । जेठ १५ को कार्यक्रममा बोलाइयो भने जान्छु । यद्यपि मेरो सोच चाहिँ अलिकति फरक छ’, उनले भने ।

    गुरुङले केही दिन अगाडि एउटा सार्वजनिक कार्यक्रममा जेठ १५ गते नै गणतन्त्र फाल्ने र राजालाई सिंहासनमा राख्ने घोषणा गरेका थिए, तर जनआन्दोलन समितिले भने सोही मितिमा आन्दोलन थाल्ने मात्रै बताएको छ । यसबाट गुरुङको घोषणा र समितिको आन्दोलन कार्यक्रमबीच तालमेल नमिलेको देखिन्छ ।

    यसबारे गुरुङ भन्छन्, ‘यो आन्दोलन समितिले घोषणा गरेको हो । म सल्लाहकार मात्रै हुँ । मेरो भनाइ चाहिँ राजा फर्काउन आन्दोलन गरिराख्नै पर्दैन । सडकमा ढुंगा हान्नैपर्दैन । जेठ १५ मै शान्तिपूर्ण तरिकाले श्री ५ लाई सिंहासनमा आसिन गराउन सकिन्छ ।’

    त्यो कसरी त ?

    उनले यस्तो आइडिया सुनाएः

    जेठ ११ गते श्री ५ ले ७ दल (तत्कालीन) लाई बोलाउनुपर्छ । सात दल र श्री ५ ज्ञानेन्द्रबीच भएको सहमति देखाउने, टेबल टक गर्ने । यो सहमति के हो र अहिले नेपालको अवस्था के छ भनेर कुरा राख्ने । दलहरू कुरा गर्न आए भने आए । नत्र भने श्री ५ ले नै देशभरका जनतालाई आह्वान गरेर जेठ १५ मा काठमाडौं बोलाउने । मौसुफबाट म अगाडि बढेँ, साथ देऊ भनिबक्सेकै हो । त्यसैले अब श्री ५ नै अगाडि हाइबक्सिनु पर्‍यो । त्यस्तो आह्वान गरेपछि जनता आउँछन् र शान्तिपूर्ण रूपमा नारायणहिटी लगेर गद्दीमा राख्छन् । कुनै तनाव नै छैन ।

    तपाईंले कहिलेको कुन सहमतिको कुरा गर्नुभएको हो ?

    २०६२/६३ सालको जनआन्दोलनपछि राजा र तत्कालीन सात दलबीच लिखित सहमति भएको थियो । त्यो सहमतिमा २०४७ सालको संविधानलाई टेकेर अगाडि बढ्ने, संवैधानिक राजसंस्था र हिन्दू अधिराज्य मान्नेलगायत बुँदाहरू छन् ।

    त्यो सहमति कोसित छ त ? अहिलेसम्म किन बाहिर आएन ?

    राजासित पनि छ, सात दलसित पनि होला । कुरा कसो हो भने तास खेल्दाखेरि तुरूप त लास्टमा पछार्ने हो नि ! पहिले नै मसित यस्तो छ भनेर देखाइहाल्ने होइन । सरकारले पहिले नै अन्तर्वार्तामा यो सहमति भएको थियो भनेर संकेत पनि गरिबक्सेको छ । यदि जेठ ११ गते राजाले आह्वान गर्दा दलहरू आएनन् भने जनतालाई त्यो सहमति देखाउनुपर्छ । अनि उहाँ सीधै नारायणहिटी जानुपर्छ ।

    नारायणहिटी गएर फेरि राजद्दीमा बस्न तपाईंले भने जस्तो सजिलो होला र ? सरकारले बल प्रयोग गर्दैन ?

    राजाले जेठ १३ गते दलहरूसँग संवादमा यस्तो भयो भनेर जनतालाई सुसूचित गरिबक्सन्छ । दलहरू आएनन् भने सहमति यस्तो थियो भनेर देखाइबक्सन्छ र जनतालाई काठमाडौं आउन आह्वान गरिबक्सन्छ । त्यसपछि जनता आउँछन् ।

    जनता खुशी भयो भने जनार्दन हुन्छ, जनता रुष्ट भए भने नरसिंह हुन्छ । नरलाई जनार्दन बनाउने मेसोमेलो मिलाउन राजा हुने मान्छेले पनि रंगढंग पुर्‍याउनु पर्‍यो नि ! श्री ५ ज्ञानेन्द्रले ‘जनताको सदिच्छाअनुसार राजा हुन्छु, कुनै पनि नेपालीलाई घाउचोट नलागोस्’ भनिबक्सेको छ । मैले त सजिलो ठान्या छु ।

    तपाईंको राजासित यो विषयमा सरसल्लाह भएको छ र ?

    मेरो राजासित अहिले भेटघाट भएको छैन । यति भन्नलाई भेटघाट गरिरहनै पर्दैन ।

    राजाले सबै राजावादी नेताहरूलाई बोलाएर दर्शन भेट दिइराख्नुभएको छ, तपाईंलाई बोलावट आएन ?

    छैन छैन । जो चाहिँ राजासित नेपरिएका छन्, बाउँठिएका छन्, उनीहरूलाई बोलाएर सम्झाउनुपरेको होला । मलाई त्यो गरिराख्नु पर्दैन । म त सँगै राजाको आँतमै छु । मलाई बोलाएर भात ख्वाउने, चिया खुवाउने गरिबक्सनै पर्दैन । हामी राजाको सदिच्छामै चल्ने मान्छे हो ।