Category: राप्रपा

  • राप्रपाको विधान आफैं तोडमोड गरी प्रमाणीकरण गर्ने आयोगको तयारी, ‘गाई’ बारे यस्तो छ प्रष्टीकरण

    राप्रपाको विधान आफैं तोडमोड गरी प्रमाणीकरण गर्ने आयोगको तयारी, ‘गाई’ बारे यस्तो छ प्रष्टीकरण

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले विधान संशोधन गर्न अस्वीकार गरेपछि निर्वाचन आयोगले एकतर्फी निर्णय लिने जमर्को गरेको छ । राजतन्त्र र हिन्दू राष्ट्रको एजेन्डा विधानबाट आफैंले हटाइदिएर प्रमाणीकरण गर्ने तयारी गरिएको आयोग उच्च स्रोतले बतायो ।

    आयोगले गत २ माघमा राप्रपालाई विधान सच्याउन सात दिनको अल्टिमेटम दिँदै पत्राचार गरेको थियो । विधानमा उल्लेखित राजतन्त्र र हिन्दू राष्ट्रको एजेन्डा नेपालको संविधान अनुकूल नभएको तर्क आयोगले गरेको छ । साथै पार्टीको झण्डामा ‘गाई’ चिन्ह प्रयोग नगर्न पनि आयोगले निर्देशन दिएको थियो ।

    तर, दुई दिनअघि बसेको राप्रपा पदाधिकारीको बैठकले आयोगले दिएको निर्देशन नै गैरसंवैधानिक रहेको निष्कर्ष निकाल्यो । यस विषयमा राजनीतिक र कानूनी उपचार खोज्ने समेत बैठकले निर्णय लिएको छ । यद्यपि, पार्टीले निर्वाचन आयोगलाई जवाफ पठाइसकेको छैन ।

    यस विषयमा हामीले निर्वाचन आयोगको उच्च स्रोतसँग कुरा गर्दा राप्रपाको विधानलाई लिएर २०७३ सालमा नै आयोगले निर्णय लिएको बुझियो । त्यसबेला राप्रपाको प्रस्तावित विधानबाट आयोग आफैंले राजतन्त्र र हिन्दू राष्ट्रसम्बन्धी एजेन्डा हटाइदिएको थियो । त्यसमा राप्रपाले कुनै कानूनी उपचारको खोजी गरेको थिएन ।

    हालै सम्पन्न महाधिवेशनपछि राप्रपाको नयाँ नेतृत्वले पार्टीको विवरण अद्यावधिक गर्नका लागि आयोगमा पत्र पठायो । त्यसमा संलग्न गरिएको विधानमा ‘राजतन्त्र र हिन्दू राष्ट्रको पुन:स्थापना नै पार्टीको मुख्य एजेन्डा हुने’ उल्लेख गरिएको छ । ५ वर्षअगाडि नै विधानबाट हटाइएको विषयवस्तु फेरि थपिएको भन्दै आयोगको सचिवालयले राप्रपालाई पत्र लेखेको स्रोतको भनाइ छ ।

    ‘कानूनविद्हरूसँग पनि सरसल्लाह गर्दा नेपालको संविधानसँग मेल नखाने विषयहरु उल्लेख भएको विधानलाई आयोगले प्रमाणीकरण गर्न नमिल्ने राय आएपछि त्यस्तो निर्णय लिइएको थियो । राप्रपाको हकमा नभएर अन्य धेरै पार्टीको हकमा यसरी पत्राचार गरिएको छ,’ स्रोतले भन्यो ।

    राप्रपाको विधानसम्वन्धी विवादबारे आयोग उच्च स्रोतको पूरा प्रष्टीकरण यस्तो छ :

    राप्रपाको विषयमा आयोगले कुनै नयाँ निर्णय लिएको होइन । यसमा यत्रो कोकोहोलो मच्चाउनुपर्ने थिएन । २०७३ सालमा नै विधानबाट राजतन्त्र र हिन्दू राष्ट्रको विषय हटाउन निर्देशन दिइएको थियो । तर, पार्टीले नमानेपछि आयोग आफैंले हटाएर विधान स्वीकृत गरिएको हो ।

    निर्वाचन आयोगका दुई पक्ष हुन्छन् । एउटा सचिवालय र अर्को पाँच जना पदाधिकारीसहितको बोर्ड । आयोग भनेर बोर्डलाई बुझ्नुपर्छ । अर्को पक्ष भनेको आयोगको सचिवालय वा प्रशासन हो । सुरूमा प्रशासनले डकुमेन्ट हेरेर त्यो कानूनसम्मत भएको रायसहित बोर्डमा प्रमाणीकरणका लागि पठाउने प्रावधान छ । यदि कानूनसम्म छैन भने राजनीतिक दलहरूलाई सचिवालयले नै सच्याउन आग्रह गर्छ ।

    अहिले राप्रपाको महाधिवेशनपछि दर्ता गर्न आउँदा प्रशासनले डकुमेन्ट हेर्‍यो । त्यसमा आयोगले पाँच वर्षअघि निर्णय गरेभन्दा विपरितका कुराहरू देखिएपछि पार्टीलाई पत्राचार गरेको हो । संविधान र कानूनअनुकूल बनाउनु भनिएको हो । यो प्रशासनिक काम हो । अब उहाँहरूले सच्याएर पठाउनुभयो भने तुरुन्तै प्रमाणीकरण हुन्छ । होइन भने आयोगले आफ्नो निर्णय लिनुपर्छ ।

    विधान सच्याउनुस् भन्नुको अर्थ ती एजेन्डामा राजनीति नै गर्न नपाइने भन्ने होइन । अहिलेको कानूनअनुसार राजनीतिक दलले आयोगमा दुई किसिमका डकुमेन्ट पेस गर्नुपर्छ । एउटा डकुमेन्ट भनेको विधान हो, त्यसलाई आयोगले प्रमाणीकरण गर्नुपर्छ र छाप लाग्छ । अर्को डकुमेन्ट भनेको उहाँहरुको प्रतिबद्धतापत्र, घोषणापत्र, कार्यक्रम आदि हुन् । त्यसमा आयोगको छाप लाउनुपर्दैन ।

    नेपालको संविधानले राष्ट्रिय सार्वभौमसत्ता तथा अखण्डतामा खलल नपुग्ने कुनै पनि एजेन्डामा पार्टी खोल्न र राजनीति छुट दिएको छ । त्यसैले पार्टीका घोषणापत्र वा कार्यक्रममा संविधानसँग मेल नखाए पनि अपरिवर्तनीय नभनिएका विषयवस्तु हुन सक्छन् । त्यो केवल आयोगमा दस्तावेजको रूपमा रहन्छ, तर आयोगको छाप लाग्दैन । जुन डकुमेन्टमा छाप लाग्छ, त्यसमा संविधान प्रतिकूलका विषयहरु हुनु भएन ।

    देशमा गणतान्त्रिक संविधान कार्यान्वयनमा भएको अवस्थामा ‘राजतन्त्र’ को एजेन्डा उल्लेख भएको विधानमा आयोगका आयुक्तले कसरी सही गर्ने ? कानूनविद्सँग सल्लाह गर्दा पनि यो मिल्दैन भन्ने देखियो । त्यसैले हटाउन निर्देशन दिइएको हो । यसको अर्थ पार्टीको गतिविधिमा रोक लाग्ने वा दर्ता नै खारेज हुने भन्ने होइन । राप्रपाले राजतन्त्र र हिन्दू राष्ट्रलाई समातेर राजनीति गर्न पाउँछ, तर विधानमा त्यसलाई उल्लेख गर्न पाउँदैन ।

    जहाँसम्म अब के गर्ने भन्ने प्रश्न छ, हामी पार्टीको जवाफ पर्खिरहेका छौं । हामीले दिएको सात दिनको समय गुज्रिसकेको छ, तर अहिलेसम्म जवाफ आएको छैन । यदि पार्टीले हाम्रो निर्देशन मानेर विधानबाट ती चिजहरु हटाएन भने हामी आफ्नो निर्णय लिन स्वतन्त्र छौं । आयोग आफैंले विधानबाट संविधानसँग मेल नखाने कुराहरु हटाइदिन सक्छ । त्यसैले राप्रपाको विधानबाट हामीले नै राजतन्त्र र हिन्दू राष्ट्रसम्बन्धी विषयलाई हटाएर प्रमाणीकरण गर्नुपर्ने हुन्छ । त्यसमा चित्त नबुझे उहाँहरूले कानूनी उपचार खोज्न सक्नुहुन्छ ।

    यो एउटा अमूक पार्टीको कुरा होइन । यस्तो विवाद थुप्रै पार्टीको विधानमा भएको छ । एउटा पार्टी ‘आत्मनिर्णयको अधिकारसहित स्वराज्य स्थापना गर्ने अधिकार हुने छ’ भनेर लेखिएको विधान बोकेर आएको थियो । हामीले झिक्नुस भन्यौं र उसले झिक्यो । अर्को पार्टी ‘बहुराष्ट्रिय राज्यको परिकल्पनालाई साकार पार्ने’ भनेर आयो । त्यसलाई पनि सच्याउन लगायौं । कुनै पार्टी संघीयता र संघीय प्रणाली खारेज गरी एकात्मक केन्द्रीकृत राज्यव्यवस्था कायम गर्ने भनेर आएका हुन्छन् । यस्ता कुराहरूलाई हामीले कसरी प्रमाणीकरण गर्ने ?

    अस्ति भर्खर हामीले ४१ वटा पार्टी खारेज गर्‍यौं । ४० वटा पार्टी चुप लागेर बसे । एउटा अदालत गयो । अहिले अदालतले हामीलाई अन्तरिम आदेश दिएको छ । त्यसैले हाम्रो निर्णयमा अदालत जाने ढोका खुल्ला नै छ ।

    गाई चुनावचिन्हमा रोक

    निर्वाचन आयोगले राप्रपालाई गाई चुनाव चिन्ह झण्डामा प्रयोग नगर्न पनि भनेको छ । यो अर्को विषय हो । झण्डामा मात्र नभएर चुनावचिन्हको रूपमा पनि गाई अब कसैले प्रयोग गर्न पाउँदैन ।

    हामीले २०७७ सालमा नेपालको नक्शा, निशान छाप, राष्ट्रिय झण्डा, विभूतिहरु, राष्ट्रिय चिन्हलगायतलाई कुनै दलको चिन्हका रूपमा प्रयोग गर्न नदिने निर्णय लिएका हौं । त्योभन्दा अघि जजसले गरे-गरे, अब प्रयोग गर्न पाउँदैनन् । मानौं कुनै दलले पृथ्वीनारायण शाहको औंलो ठड्याएको फोटो चुनाव चिन्ह चाहियो भनेर माग्ला दिने त ?

    गाईलाई धार्मिक हिसाबले भन्दा पनि राष्ट्रिय जनावर भएको हिसाबले हामीले प्रयोगमा रोक लगाएका हौं । राष्ट्रिय चिज भनेका सबैका साझा हुन्छन् । त्यसलाई कुनै पार्टीले आफ्नो पेवा बनाउन सक्दैन । यसर्थ राप्रपाले अब झण्डामा गाई राख्न पाउँदैन ।

  • राष्ट्रियसभा निर्वाचन- प्रदेश १ बाहेकमा राप्रपाको ‘नो भोट’

    राष्ट्रियसभा निर्वाचन- प्रदेश १ बाहेकमा राप्रपाको ‘नो भोट’

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रियसभाका निर्वाचनमा प्रदेश १ बाहेक अन्य प्रदेशका मतदान प्रक्रियामा सहभागी नहुने निर्णय गरेको छ ।

    राप्रपाका केन्द्रीय पदधिकारीहरूको बैठकले प्रदेश १ मा पार्टीका उम्मेदवार अम्बरबहादुर विष्ट र रन्जु प्याकुरेललाई मत दिन पार्टीका मतदातालाई निर्देशन गरेको छ ।

    अरु प्रदेशमा भने राप्रपाका उम्मेदवार नभएकाले मतदान प्रक्रियामा सहभागी नहुने निर्णय गरेको महामन्त्री भुवन पाठकले बताएका छन् । राप्रपाका वागमती प्रदेशमा दुई प्रदेशसभा सदस्य र दुई जना गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष मतदाता छन् ।

    ,गण्डकीमा दुई उपमेयर, कर्णालीमा एक प्रदेशसभा सदस्य छन् । अन्य प्रदेशमा राप्रपाका मतदाता छैनन् ।

     

  • निर्वाचन आयोगको निर्देशन संविधान विपरीत : राप्रपा

    निर्वाचन आयोगको निर्देशन संविधान विपरीत : राप्रपा

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले निर्वाचन आयोगले गरेको पत्राचार नेपालको संविधानको मर्म र भावना विपरीत भएको ठहर गरेको छ ।

    राप्रपाको पदाधिकारी बैठकले गत माघ २ गते निर्वाचन आयोगद्वारा प्रेषित पत्रबारे कानुनी र राजनीतिक उपचार खोज्ने निर्णय गरेको हो ।

    आयोगले राप्रपालाई पार्टी विधानको प्रस्तावनामा रहेको ‘सनातन हिन्दु राष्ट्र एवं राजसंस्था सहितको प्रजातन्त्र’ सहितको वाक्यांश हटाउन पत्राचार गरेको थियो । त्यस्तै राप्रपाको झण्डाको मध्य भागमा गाई चिन्ह भएको भन्ने वाक्यांश समेत हटाउन आयोगले निर्देशन दिएको थियो ।

    राप्रपा पदाधिकारी बैठकले आयोगको निर्देशन संविधान विपरीत र पूर्वाग्रहरी भएको ठहर गरेको बैठकपछि जारी विज्ञप्तीमा उल्लेख छ ।

    ‘निर्वाचन आयोगले पार्टीलाई पठाएको पत्रको जवाफ उपयुक्त समयमा दिने तथा आयोगको पत्रका सम्बन्धमा कानुनी र राजनीतिक उपचार खोज्ने समेत निर्णय गरेको छ’, बैठकपछि महामन्त्री भुवन पाठकद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

  • अध्यक्ष लिङदेनले बोलाए राप्रपाको पदाधिकारी बैठक

    अध्यक्ष लिङदेनले बोलाए राप्रपाको पदाधिकारी बैठक

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको पदाधिकारी बैठक आज बस्दैछ । निर्वाचन आयोगले राप्रपाको विधान र झण्डा सच्याउन निर्देशन दिएपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले पदाधिकारी बैठक बोलाएका हुन् ।

    १ बजेपछि राप्रपा केन्द्रीय कार्यालयमा बस्ने बैठकमा निर्वाचन आयोगको पत्र, राष्ट्रिय सभा निर्वाचन लगायतका विषयमा छलफल हुने बताइएको छ । राप्रपा केन्द्रीय सदस्य मोहन श्रेष्ठले निर्वाचन आयोगले विधानबाट राजसंस्था, हिन्दूराष्ट्र लगायतका शब्द हटाउन तथा झण्डा परिमार्जन गर्न पत्र काटेको बारे बैठकमा छलफल हुने बताए ।

    आयोगमा दलको विवरण अद्यावधिक गर्दा यसअघि पनि त्यसखालका पत्रहरु आउने गरेको श्रेष्ठले बताए । ‘आयोगले दललाई पत्र लेख्नु सामान्य हो । पहिले पनि यस्ता पत्र धेरै आएका छन् । यद्यपि यसबारे पार्टीमा छलफल हुन्छ’, श्रेष्ठले नेपाल प्रेससँग भने ।

    राप्रपाले ‘संवैधानिक राजसंस्थासहितको हिन्दू राष्ट्र नेपाल’ को पक्षमा वकालत गर्दै आएको छ । राप्रपाका केही नेताहरुले आयोगको निर्णयप्रति सार्वजनिक प्रतिक्रिया दिदैं आपत्ति जनाइसकेका छन् । आजको बैठकमा माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनबारे पनि छलफल हुने बताइएको छ ।

  • निर्वाचन आयोगको निर्देशनमा लिङदेनको आपत्ति, विधान नसच्याउने अडान

    निर्वाचन आयोगको निर्देशनमा लिङदेनको आपत्ति, विधान नसच्याउने अडान

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीको विधानबाट राजसंस्था र हिन्दू राष्ट्र हटाउन निर्वाचन आयोगले दिएको निर्देशनप्रति आपत्ति जनाएका छन् । पार्टीको मुल सिद्धान्तबाट पछि हटेर विधान संशाेधन गर्न नसकिने उनले स्पष्ट पारे ।

    आयोगले गत २ माघमा राप्रपालाई पत्राचार गर्दै एक हप्ताभित्र विधान संसोधन गरेर पठाउन भनेको छ । यस विषयमा आज पार्टीमा छलफल गरेर आयोगलाई जवाफ दिइने अध्यक्ष लिङ्देनले बताए ।

    उनले नेपाल प्रेसलाई भने, ‘म उपत्यकाबाहिर थिएँ, हिजो आइपुगेँ । आजै पदाधिकारी वैठक बसेर यसको टुंगो लगाउँछौं ।’

    आयोगले संविधानको मर्म र भावना विपरित पूर्वाग्रही ढंगले आयोगलाई पत्र पठाएको भन्दै उनले दुख व्यक्त गरे । नेपालको संविधानले गणतन्त्र र धर्मपनिरपेक्षतालाई अपरिवर्तनीय नमानेको लिङदेनले आयोगलाई स्मरण गराए ।

    उनले भने, ‘राष्ट्रिय सार्वभौमिकता विपरितका र हिंसात्मक राजनीतिबाट सत्ता प्राप्त गर्ने एजेन्डाबाहेक सबै विषयवस्तु संविधानले खुल्ला राखेको छ । दुईतिहाई बहुमतले संसदबाटै राजसंस्था र हिन्दू राष्ट्र फर्काउन सकिन्छ । हामी यही एजेन्डालाई लिएर राजनीति गरिरहेका छौं, चुनाव लडिरहेका छौं । हाम्रो विधान कसरी संविधानविपरित भयो ?’

    विधान संसोधन गर्न दबाब दिएर आयोगले राप्रपामाथि पूर्वाग्रही र ज्यादतीपूर्ण व्यवहार गरेको लिङदेनले बताए ।

    उनले थपे, ‘हामीले झण्डामा गाई राख्नु संविधानविपरित हुन्छ भने अर्को पार्टीले सुर्य राख्नु संविधानविपरित हुन्छ कि हुँदैन ? हाम्रो विधान योभन्दा अगाडि कसरी संविधानअनुकुल भयो र अहिले कसरी संविधानविपरित भयो भन्ने जवाफ हामी खोज्छौं ।’

    राप्रपाले विधान सच्याउने प्रश्नै नआउने बताउँदै उनले भने, ‘विगतमा पनि यस्तै प्रकारले पत्र पठाउँदै आएको थियो । तर, हामीले सच्याएका थिएनौं । अहिले पनि सच्याउने कुनै आउँदैन ।’

    आयोगको दिएको हदम्यादको पनि कुनै तुक नभएको लिङदेनले बताए । उनले भने, ‘यस्तो हदम्यादले केही अर्थ राख्दैन । तर, पनि हामी आज वैठक बसेर आयोगलाई जवाफ पठाउने छौं ।

  • राप्रपाको विधानबाट राजसंस्था र हिन्दू राष्ट्र हटाउन निर्वाचन आयोगको निर्देशन

    राप्रपाको विधानबाट राजसंस्था र हिन्दू राष्ट्र हटाउन निर्वाचन आयोगको निर्देशन

    काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई ‘हिन्दु राष्ट्र एवं राजसंस्थाको मान्यता’ लाई आफ्नो विधानबाट हटाउन निर्देशन दिएको छ । उक्त मान्यता नेपालको संविधानको प्रस्तावना एवम् भावनाको प्रतिकूल भएको आयोगको जिकिर छ ।

    राप्रपाले पार्टीको महाधिवेनश सम्पन्न भएपछि दलको संशोधित विधान तथा केन्द्रीय कार्यसमितिको विवरण अद्यावधिकका लागि गत पुस १० गते आयोगमा निवेदन दिएको थियो । सो निवेदनका साथमा दलबाट पेश भएका विधान लगायत कागजात जाँचबुझ एवम् अध्ययन गर्दा केही विवरण संसोधन गर्नुपर्ने वा हटाउनुपर्ने देखिएको आयोगले जनाएको छ । यस विषयमा आधिकारिक निकायबाट निर्णय गरी संशोधिन विधान र नियमावली ७ दिनभित्र पेश गर्न आयोगले भनेको छ ।

    आयोगले दिएको ४ बुँदे निर्देशनको पहिलो बुँदामा विधानको प्रस्तावनाको बुँदा ४ मा उल्लेखित ‘सनातन हिन्दू राष्ट्र तथा राजसंस्था सहितको प्रजातन्त्रको मान्यता अभिवृद्धि गर्न र कायम गर्न’ भन्ने वाक्यांश नेपालको संविधानको प्रस्तावना एवम् भावनाको प्रतिकूल देखिएको उल्लेख छ । सो वाक्यांश हटाई धारा २६९ तथा राजनीतिक दल सम्वन्धी ऐन २०७३ अनुकूल हुने गरी उल्लेख गर्न आयोगले भनेको छ ।

    आयोगले राप्रपालाई आफ्नो झण्डाबाट गाईको चिन्ह हटाउन समेत निर्देशन दिएको छ । नेपालको झण्डा तथा राष्ट्रिय चिह्नहरु कुनै दललाई प्रदान नगर्ने र गरिसकिएको भए सोको पुनरावलोकन गर्ने आयोगबाट गत वर्ष निर्णय भएको भन्दै पत्रमा विधानको धारा ४ (क) मा उल्लेखित ‘झण्डाको मध्य भागमा गाई चिह्न भएको’ भन्ने वाक्यांश हटाउन भनिएको छ । यस्तै आयोगले विधानको धारा ५.२ मा उल्लेखित ‘सम्वर्द्धनवाद’ भन्ने शब्दलाई परिभाषित गर्न पनि निर्देशन दिएको छ ।

    आयोगले गत २ माघमा नै पठाएको पत्रका सम्वन्ध राप्रपाले औपचारिक प्रतिक्रिया दिइसकेको छैन । पार्टीका पूर्वअध्यक्ष कमल थापाले भने सामाजिक सञ्जालमार्फत आपत्ति जनाएका छन् । आयोगको निर्देशन नेपालको संविधान तथा प्रजातान्त्रिक व्यवस्थाको खिलाफमा भएको उनको टिप्पणी छ । विगतमा आयोगले यस्तै निर्णय गर्दा संघर्षमार्फत उल्टाइएको दावी थापाले गरेका छन् । साथै, उनले आयोगको पत्र ७ दिनसम्म लुकाएर राखिएको भन्दै पार्टी नेतृत्वप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

    पार्टी संस्थापनका एक नेताले भने आयोगबाट कुनै पनि दललाई पत्र आउनु सामान्य विषय भएको बताए । यस विषयमा आयोगसँग कुराकानी भइरहेको उनले जानकारी दिए । ‘यो ठूलो कुरा होइन, कमल थापाजीले हाउगुजी बनाउन खोज्नुभएको मात्र हो,’ उनले भने ।

    विगतमा कमल थापाले नै आयोगमा बुझाएको विधानमा पनि राजसंस्था र हिन्दू राष्ट्रसम्वन्धी वाक्यांश नरहेको ती नेताको जिकिर छ । नेपालको संविधानले गणतन्त्र र धर्मनिरपेक्षतालाई अपरिवर्तनीय मानेको छैन । 

     

                                 

  • कालापानी, लिपुलेक नेपाली भूमि हो, गठबन्धनको मौनता रहस्यमय : राप्रपा

    कालापानी, लिपुलेक नेपाली भूमि हो, गठबन्धनको मौनता रहस्यमय : राप्रपा

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले भारतले कालापानी क्षेत्रमा एकतर्फी रुपमा सडक निर्माण गर्नु आपत्तिजनक भएको जनाएको छ ।

    सो पार्टीका महामन्त्री भुवन पाठकले एक विज्ञप्ती जारी गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नै नेपाली भूमिमा सडक निर्माण भइरहेको खुलासा गर्नु गम्भिरु विषय भएको जनाएको छ ।

    विज्ञप्तीमा भनिएको छ, ‘नेपाली भूमि लिपुलेक, कालापानी क्षेत्रमा भारतले एकतर्फी रुपमा सडक निर्माण गरिरहेको र केही दिनअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सो कुराको खुलासा गर्नुभएको विषय गम्भीर, आपत्तिजनक र नेपाली सार्वभौमिकताको विरुद्धमा छ ।’

    कालापानी, लिपुलेक नेपाली भूमि भएको र आफ्नो भूमिमाथि भइरहेको अतिक्रमण र हस्तक्षेपका विरुद्ध सरकारले प्रतिवाद गर्नुपर्नेमा सरकार र गठबन्धनको मौनता दुःखद र रहस्यमय भएको राप्रपाको भनाई छ ।

  • राप्रपामा कसैलाई विभेद हुँदैन, समावेशिता पालना गरिन्छः लिङ्देन

    राप्रपामा कसैलाई विभेद हुँदैन, समावेशिता पालना गरिन्छः लिङ्देन

    काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था, हिन्दू राष्ट्रको पुनःस्थापनाका लागि पार्टी एकताबद्ध भएर अघि बढ्नुपर्ने बताएका छन् ।

    काठमाडौंमा उपलब्ध केन्द्रीय कार्यसमितिका मनोनीत सदस्यहरूलाई सपथ गराउँदै अध्यक्ष लिङ्देनले पार्टीमा कोही असन्तुष्ट हुनु नपर्ने र सबैलाई समेटेर अघि बढ्ने दाबी गरे ।

    ‘हाम्रो मुख्य कार्यभार पार्टीको हालै सम्पन्न महाधिवेशनले तय गरेको राजनीतिक कार्यदिशाको सफल कार्यान्वयन हो,’ लिङ्देनले भने, ‘सिद्धान्तबाट विचलित भएर लक्ष्य प्राप्ति हुन सक्दैन ।’

    लिङ्देनले केन्द्रीय सदस्य मनोनयन गर्दा अनुभवी, पार्टीको लागि आवश्यक, पार्टीमा योगदान दिएका व्यक्तिलाई मनोनयन गरिएको बताए । मनोनीतको संख्या अझै बाँकी रहेको र संविधानले व्यवस्था गरेबमोजिमको समानुपातिक समावेशितालाई पूर्णरुपले पालना गरिने उनको भनाइ छ ।

    अध्यक्ष लिङ्देनले पार्टीको विधानअनुसार केही दिनअघि ३१ जनालाई केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेका थिए । राप्रपाको विधान अनुसार १९९ जनाको कार्यसमिति हुने र त्यसमध्ये १४९ जना महाधिवेशनबाट निर्वाचित हुने व्यवस्था रहेको छ भने ५० जना अध्यक्षले मनोनीत गर्न पाउँनेछन् ।

  • राप्रपाले मनायो पृथ्वीजयन्ती, कमल थापा अनुपस्थित (तस्विरहरू)

    राप्रपाले मनायो पृथ्वीजयन्ती, कमल थापा अनुपस्थित (तस्विरहरू)

    काठमाडौं । पृथ्वी जयन्तीका अवसरमा सिंहदरबार मुलगेट अगाडी रहेको शालिकमा राष्ट्रपतिदेखि पूर्वराजासम्मले माल्यार्पण गरेका छन् ।

    राष्ट्रिय प्रजातन्त्र पार्टीले शाहको शालिकमा माल्यार्पण गरेर पृथ्वीजयन्ती मनाएको छ । राप्रपाका नेता कार्यकर्ताहरु सिंहदरबार पुगेका थिए ।

    राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेता कार्यकर्ताहरुले सिंहदरबारको मुल गेटमा पुगेर उनको शालिकमा माल्यार्पण गरेका थिए ।

    कमल थापाले भने पार्टीको कार्यक्रममा बहिस्कार गरेका थिए ।

    तस्बिरहरु : गाैरव पाैडेल

  • कमल थापाको टिप्पणी : पृथ्वीनारायण शाहको सालिकमा पूर्वराजाको उपस्थितिले सुनमा सुगन्ध थप्यो

    कमल थापाको टिप्पणी : पृथ्वीनारायण शाहको सालिकमा पूर्वराजाको उपस्थितिले सुनमा सुगन्ध थप्यो

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष कमल थापाले पार्टीको चुनावमा पराजित भएयता पहिलोपटक पूर्वराजा ज्ञानेन्द्रबारे सकारात्मक टिप्पणी गरेका छन् ।

    पूर्वराजाले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेकोमा उनले प्रशंसा गरेका छन् ।

    पार्टीको कार्यक्रम बहिष्कार गरेर थापा आज छुट्टै सिंहदरबार गेटअघि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न पुगेका थिए ।

    नीभन्दा अघि राष्ट्रपति विद्यादेवी भण्डारीले र उनीभन्दा पछि पूर्वराजाले माल्यार्पण गरेका थिए ।

    थापाले पृथ्वीजयन्तीका अवसरमा राष्ट्रपतिले राष्ट्रनिर्माताको शालिकमा माल्यार्पण गर्नु रनेपाली सेनाले सम्मान अर्पण गर्नु प्रशंसनीय रहेको टिप्पणी गरेका छन् । साथै राजा ज्ञानेन्द्रको उपस्थितिले सुनमा सुगन्ध थपेको उनको भनाइ छ ।

    उनले फेसबुकमा लेखेका छन्, ‘आमजनताको स्वस्फूर्त सहभागिता उत्साहजनक रह्यो । प्रधानमन्त्रीको अनुपस्थिति ठीक लागेन ।’

  • कमल थापाले स्थगित गरे समानान्तर अभियान

    कमल थापाले स्थगित गरे समानान्तर अभियान

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष कमल थापाले आगामी २७ पुसबाट सुरु गर्ने भनेको समानान्तर अभियान स्थगित गरेका छन् ।

    राप्रपाका जिम्मेवार पदाधिकारी र सदस्यबाट प्राप्त भएको सुझाव तथा कोरोना महामारीलाई ध्यानमा राखेर अभियान स्थगित गरेको उनको भनाइ छ ।

    महाधिवेशनमा अध्यक्षको चुनाव हारेपछि थापाले एकता दिवसको अवसर पारेर ‘राष्ट्रिय एकता अभियान’ सुरु गर्ने तयारी गरेका थिए । तर, पार्टीमा उनकै पक्षधरले पनि अभियानमा साथ नदिएपछि थापाले हाललाई स्थगित गरेका हुन् ।

  • कमल थापाको उत्तेजना ! गीता छोएर खाएको कसम तोड्ने बाटोमा

    कमल थापाको उत्तेजना ! गीता छोएर खाएको कसम तोड्ने बाटोमा

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा व्यहोरेको अनपेक्षित पराजयले विक्षिप्त बनेका कमल थापा पार्टी विभाजनको औपचारिक कसरतमा लागेका छन् । पृथ्वीजयन्तीको अवसर पारेर पुस २७ गते आफ्नै नेतृत्वमा नयाँ अभियान घोषणा गर्ने उनको तयारी छ ।

    पार्टीमा लामो समय आफैंले ओत दिएका नेता राजेन्द्र लिङ्देनबाट चुनावमा मात खाएदेखि थापा राम्रो सुरतालमा छैनन् । हार निश्चित भएपछि चुनावी परिणाम नआउँदै उनले सामाजिक सञ्जालमार्फत सिधै निर्मल निवासलाई आरोपित गरेका थिए । निर्मल निवासले नांगो हस्तक्षेप गरेर आफूलाई चुनाव हराएको भन्दै उनको रोइलो अहिले पनि रोकिएको छैन । यहीं बहानामा थापाले चाँडै नै भेष बदलेर नवगणतन्त्रवादीमा रुपान्तरित हुने टड्कारो सम्भावना छ ।

    थापाले तत्काल राजतन्त्रको एजेन्डा त्यागेको घोषणा भने गर्ने छैनन् । अहिले हिन्दू राज्यको एजेन्डालाई काखी च्याप्दै पार्टी विभाजनको माहोल बनाउने उनको रणनीति छ । यसैका निम्ति उनले राष्ट्रिय एकता दिवसको अवसर पारेर अभियान सुरु गर्न थालेका हुन् । राप्रपाको आधिकारिक एजेन्डा नै हिन्दूराज्य रहेको अवस्थामा संस्थापनको भन्दा बेग्लै आफ्नै नेतृत्वमा अभियान सुरु गर्नुको तात्पर्य पार्टीलाई विभाजनतर्फ लैजानेभन्दा अर्को देखिँदैन ।

    यिनै कमल थापा हुन्, जसले आजभन्दा करिब दुई वर्षअगाडि मात्रै गीता समातेर ‘अब आइन्दा आफूले कहिल्यै पार्टी नफुटाउने’ किरिया खाएका थिए । २०७६ साल फागुन २८ गते तत्कालीन राप्रपा नेपाल र राप्रपा संयुक्तबीच पार्टी एकीकरण समारोहमा भाषण गर्ने क्रममा उनले राप्रपामा कहिल्यै विभाजन नआउने दाबी गरेका थिए ।

    सानो डायरी आकारको गीता पुस्तिका देखाउँदै थापाले भनेका थिए, ‘तपार्ईंहरुलाई विश्वास लागेन, मैले गीता ल्याएको छु । हामी हिन्दू धर्म चाहने सनातन धर्मका पक्षपातीहरु हौं । यो गीतालाई हातमा राखेर भन्छु- म भविष्यमा राप्रपालाई कहिल्यै पनि फुट्न दिने छैन ।’

    थापाले खाएको कसम दुई वर्ष पनि नटिक्लाजस्तो भएको छ । त्यसो त उनी अहिले पनि पार्टी नफुटाउने भनिरहेकै छन् । हालै योहो टेलिभिजनका जिवराम भण्डारीलाई दिएको अन्तरवार्तामा उनले फेरि भने, ‘म राप्रपालाई कहिल्यै पनि फुटाउँदिन ।’

    थापालाई पार्टी विभाजनमा राप्रपाका धेरै नेताहरुले साथ दिने अवस्था देखिँदैन । थापाले २७ गते घोषणा गर्ने कार्यक्रममा उनको प्यानलबाट चुनाव जितेर पार्टी नेतृत्वमा पुगेकाहरु अनुपस्थित रहने भएका छन् । थापा स्वयम्ले आफ्नो पक्षबाट पार्टी पदाधिकारी र केन्द्रीय समितिमा निर्वाचितहरुलाई अभियान घोषणामा नबोलाउने बताएका छन् ।

    गीता छोएर खाएको कसमको इज्जत राख्न थापाले सिधै पार्टी विभाजनको घोषणा गर्ने छैनन् । अरु तरिकाहरु अपनाउने छन् । सुरुमा आफू एक्लै पार्टीबाट निस्किने, नयाँ पार्टी दर्ता गर्ने, त्यसपछि राप्रपामा रहेका आफ्नो समूहका नेताहरुलाई विस्तारै नयाँ पार्टीमा तान्ने उनको रणनीति रहेको बुझिन्छ । यसप्रकार प्राविधिकरुपमा उनले राप्रपा नफुटाए पनि अन्तत्वगत्वा उनी विभाजनतर्फ नै लम्किएकोमा दुईमत छैन ।

    वैचारिक कारणले पनि राप्रपामा थापा अब अटाउन सक्दैनन्। राजालाई यस्तरी लाञ्छना लगाइसकेपछि उनी फेरि राजतन्त्रको एजेन्डा बोकेर हिँड्न सुहाउँदैन । उनको लहैलहैमा लागेर राप्रपाले राजतन्त्रको एजेन्डा त्यागेर गणतन्त्रमा हामफाल्न सक्दैन । संस्थापनसँग मुख्य सिद्धान्त नै बाझिएपछि थापाको अवस्था विवेकशील साझा पार्टीका मिलन पाण्डेको जस्तो हुनेछ । अनि, ढिलो-चाँडो बहिर्गमनको विकल्प छैन ।

    तर, थापालाई पार्टी विभाजनमा राप्रपाका धेरै नेताहरुले साथ दिने अवस्था देखिँदैन । थापाले २७ गते घोषणा गर्ने कार्यक्रममा उनको प्यानलबाट चुनाव जितेर पार्टी नेतृत्वमा पुगेकाहरु अनुपस्थित रहने भएका छन् । थापा स्वयम्ले आफ्नो पक्षबाट पार्टी पदाधिकारी र केन्द्रीय समितिमा निर्वाचितहरुलाई अभियान घोषणामा नबोलाउने बताएका छन् ।

    राजसंस्थाविरुद्ध कमल थापाको आर्तनादले न पार्टीभित्र उनको पक्षमा माहोल बनेको छ, न जनमानसबाट सहानुभूति उनले पाएका छन् । उनको रोदन वास्तवमा औधि कर्कश सुनिएको छ । यसले कसैको मन पगालेको छेन । बरु आजका दिनसम्म थापाले स्थापित गरेको राजनीतिक छवि र प्रतिष्ठा धुलिसात भएकाे छ । आफू चुनाव हार्नासाथ जीवनभर बोकेर हिँडेको सिद्धान्त र निष्ठालाई सहजै विसर्जन गर्न तयार हुनुले उनी समर्थक र शुभचिन्तकहरुकै नजरबाट स्खलित बनेका छन् ।

    गत मंसिर १५ गते भएको राप्रपाको एकता महाधिवेशन उद्घाटन समारोहमा थापाले सडक आन्दोलनका बलमा राजालाई नागार्जुनबाट नारायणहिटीमा सार्ने उद्घोष गरेका थिए । उनको त्यो उद्घोष केवल भोट पाउनका निम्ति मात्रै थियो भन्ने चार दिनपछि नै पुष्टि भयो । अध्यक्षको चुनावी परिणाम आउनासाथ उनको राजतन्त्रप्रतिको निष्ठा हल्लिन पुग्यो । ‘अब आफूले राजतन्त्रको एजेन्डा बोकेर हिँड्ने नैतिक धरातल नै समाप्त भएको’ भन्दै उनले विज्ञप्ति जारी गरे ।

    अध्यक्षमा विजयी उम्मेदवार राजेन्द्र लिङदेनलाई सामाजिक सञ्जालमार्फत बधाईको औपचारिकता निभाए पनि उनले यो पराजय स्वीकार्न नसकेको स्पष्ट छ । नयाँ नेतृत्वको सपथग्रहण समारोह उनले बहिष्कार गरे । त्यसपछि पार्टीको पहिलो केन्द्रीय समिति बैठकमा उपस्थित भएनन् । ठ्याक्कै विवेवकशीलका मिलन पाण्डेकोझैं सामाजिक सञ्जालमा पार्टीका नीति–निर्णयहरुको विरोध गर्दै दिन कटाइरहेका छन् थापा ।

    तर, यहाँ पनि उनलाई राहत मिलेको छैन । सामाजिक सञ्जालमा आएका ९९ प्रतिशत प्रतिक्रियाहरु उनको खिलाफमा देखिन्छन् । कुनै समय बाबुराम भट्टराईलाई आउने स्तरका गालीहरु अहिले उनले सहनुपरेको छ । तर, पनि उनी उही सुगारटाइ गरिरहेका छन्- निर्मल निवासले नांगो हस्तक्षेप गर्यो ।

    देशलाई परिवर्तनको नशा चढेका बेला थापाले कथित ‘प्रतिगमनकारी एजेन्डा’ को निरन्तर वकालत गरिरहे । त्यसबापत अनेकन लाञ्छना र भौतिक आक्रमणसमेत उनले सहनुपरेको थियो । मूलधारका पार्टी र नेताहरुबाट बहिष्करणमा परेका थिए थापा । उनीसँग लसपस हुँदा समेत बिटुलो भइएला झैं गर्थे परिवर्तनकामी नेताहरु ।

    नवनिर्वाचित अध्यक्ष लिङदेनलाई पत्र लेख्दै थापाले निर्मल  निवासमाथि पार्टीले छानविन गर्नुपर्ने माग गरेका छन् । यो पनि पार्टी विभाजनको चाँजोपाँजोका निम्ति मात्रै हो । उनलाई राम्ररी थाहा छ, जुन संस्थालाई शीरमा बोकेर राजनीति गरिरहेका छन् लिङदेन, त्यसमाथि नै छानबिन गर्न कदापी तयार हुने छैनन् । पार्टीले आफ्नो माग सुनुवाई नगरेको भन्दै बहिर्गमनको बाटो खोल्ने थापाको योजना छ ।

    ‘यो विषयको निरूपण नभएसम्म राप्रपाले गति लिन सक्दैन,’ लिङदेनलाई पठाएको थापाले पत्रमा थापाले भनेका छन् ।

    जसले ‘राजावाद’को धुकधुकी बचाए

    २०६२/६३ को जनआन्दोलनले नेपालमा २४० वर्ष पुरानो राजसंस्थाको जरोकिलो उखेल्यो । उक्त आन्दोलन ‘अर्गानिक’ थिएन भनेर अहिले धेरैले प्रश्न उठाउन थालेका छन् । तर, त्यसबेलाको क्रान्तिकारी माहोलमा ‘राजावाद’को धुकधुकी बचाउने कमल थापा नै थिए ।

    देशलाई परिवर्तनको नशा चढेका बेला थापाले कथित ‘प्रतिगमनकारी एजेन्डा’ को निरन्तर वकालत गरिरहे । त्यसबापत अनेकन लाञ्छना र भौतिक आक्रमणसमेत उनले सहनुपरेको थियो । मूलधारका पार्टी र नेताहरुबाट बहिष्करणमा परेका थिए थापा । उनीसँग लसपस हुँदा समेत बिटुलो भइएला झैं गर्थे परिवर्तनकामी नेताहरु । अहिले तीनै नेताहरु राप्रपाको महाधिवेशन उद्घाटनमा लाइन लागेर भाषण गर्न पुगे । पार्टीलाई यहाँसम्म ल्याइपुर्याउन सबैभन्दा ठूलो भूमिका कमल थापाकै छ ।

    ‘प्रतिगमनकारी’ एजेन्डाको बलमा नै थापाले आफूलाई स्थापित गरेका हुन् । राजसंस्था पुनस्र्थापनासँगै उनले धर्मनिरपेक्षता र संघीयताको खारेजीका पक्षमा पनि आवाज उठाए । छोटो समयमै देशमा संघीयता फ्लप हुन थाल्दा, धर्मनिरपेक्षता अलोकप्रिय बन्दा यसको फाइदा कमल थापा र तत्कालीन राप्रपा नेपाललाई मिल्यो । २०७० सालको संविधानसभा चुनावमा उनको पार्टीले समानुपातिकका २५ सिट जित्दै चौथो ठूलो शक्तिका रूपमा उदायो ।

    राप्रपा नेपाल हुँदासम्म त्यसमा थापाको एकल आधिपत्य थियो । २०७६ सालमा पशुपतिशम्शेर र डा. लोहनीसँग एकतापछि राप्रपामा तीन अध्यक्ष भए । कार्यकारी अधिकार थापामा भए पनि अन्य दुई अध्यक्षहरुलाई मिलाएर लैजानुपर्ने बाध्यतामा उनी थिए । फलतः उनले चाहेबमोजिम पार्टी हाँक्न सकेनन् । पछिल्लो समय तीन अध्यक्षहरुबीच तिव्र मनमुटाव र असमझदारी थियो ।

    यस महाधिवेशनमा अध्यक्षको चुनाव जितेर शक्तिशाली एकल अध्यक्षका रुपमा पार्टी सञ्चालन गर्ने व्यग्रतामा थिए थापा । तर, त्यो सपना चकनाचुर बन्यो । यसले उनमा चरम निराशा पैदा गरेको छ । तार्किक, चतुर  र शालिन नेताको छवि बनाएका थापा अहिले ठीक उल्टो छविमा प्रस्तुत भइरहेका छन् ।

    विगतमा लामो समय थापानिकट रहेका एक केन्द्रीय सदस्यका अनुसार आवेशमा प्रतिक्रिया जनाउने उनको पुरानै स्वभाव हो ।

    ‘पहिले पनि यसैगरि तातो प्रतिक्रिया जनाउनुहुन्थ्यो र चाँडै कुल डाउन पनि भइहाल्नुहुन्थ्यो । तर, यसपाली देखाउनुभएको व्यवहार चाहिँ हाम्रोनिम्ति पनि अनपेक्षित छ ।’

    अझै पनि थापाले राजतन्त्रको एजेन्डा छाड्न नसक्ने उनको दाबी छ ।

    ‘केही समयमा कुल डाउन भएर आफ्नो धरातलमा फर्किने आशा लिएका छौं,’ उनले भने, ‘राप्रपामा उहाँको अझै खाँचो छ ।’

    राजासँगको सम्बन्ध र हारको कारण

    राजतन्त्र बोकेर हिँडेका कमल थापाको राजासँग सम्बन्ध बिग्रेको अहिले आएर होइन । जब थापाले गणतान्त्रिक संविधानमा हस्ताक्षर गरे, अनि सरकारमा सहभागी भए, त्यसपछि राजसंस्था उनीसँग असन्तुष्ट बनेको थियो ।

    राप्रपा स्रोतका अनुसार राजसंस्थाले २०७२ सालमा बनेको संविधानलाई स्वीकार नगर्न थापालाई सुझाव मात्र होइन, दबाबसमेत दिएको थिए । तर, थापाले त्यसलाई नकारे । उनले संविधानमा हस्ताक्षर मात्रै गरेनन्, त्यसपछि केपी शर्मा ओलीको नेतृत्वमा बनेको सरकारमा उपप्रधानमन्त्री खान गए । त्यहाँदेखि नै राजसंस्थाले राप्रपामा थापाको विकल्प खोज्न थालेको हो ।

    राप्रपा संस्थापन पक्षका एक नेताका अनुसार पार्टीको निर्वाचनमा निर्मल निवाससँग जोडिएका पात्रहरुले लिङदेनका पक्षमा सक्रियता देखाएकै हुन् । तर यसमा सिधै पूर्वराजालाई आरोपित गर्नु र उनकै कारण हारेको भन्नु अतिरञ्जना हो । यसले पार्टीका प्रतिनिधिहरुकै अपमान हुने उनको भनाइ छ ।

    राजतन्त्र बोकेर हिँडेका कमल थापाको राजासँग सम्बन्ध बिग्रेको अहिले आएर होइन । जब थापाले गणतान्त्रिक संविधानमा हस्ताक्षर गरे, अनि सरकारमा सहभागी भए, त्यसपछि राजसंस्था उनीसँग असन्तुष्ट बनेको थियो ।

    पक्कै पनि, पार्टीको महाधिवेशनमा निर्णायक भनेका देशभरबाट छानिएर आएका प्रतिनिधिहरु हुन् । यदि थापाले प्रतिनिधिहरुको मन जितेको भए निर्मल निवासको कुनै जोर चल्थेन । सत्य यही हो कि, यसपालि राप्रपामा चुनावी माहोल लिङदेनकै पक्षमा थियो । विगतमा कमल थापानिकट धेरै हस्ती नेताहरुले लिङदेनलाई साथ दिएका थिए । पार्टीबाहिर पनि उनीप्रति सहानुभूति देखिएको थियो । सामाजिक सञ्जाल लिङदेनको जित हेर्न आतुर थियो ।

    लिङदेनको पक्षमा माहोल बन्नुका दुई कारण थिए । पहिलो, पार्टीका कार्यकर्ताले राप्रपाको नेतृत्वमा ताजगीपनको खोजी गर्नु । कमल थापाप्रति पार्टीमा उच्च सम्मान हुँदाहुँदै पनि थापाले अब पार्टीलाई यहाँभन्दा माथि उठाउन सक्दैनन् भन्ने मत पार्टीपंक्तिमा प्रबल बनिरहेको थियो । दोस्रो कारण चाहिँ लिङदेनको आफ्नै छवि । उनले राजनीतिमा जेजस्तो विचारधाराको वकालत गरिरहेका छन्, त्यसले जनमानसमा उनको उचाइ बढिरहेको छ । खासगरी, जातीय संकिर्णताबाट माथि उठेर गरेको राजनीति गरेका कारण लिङदेन बढ्दोरूपमा लोकप्रिय बनिरहेका छन् ।

    यदि थापाले भनेजस्तो राप्रपाको चुनावमा निर्मल निवासले हस्तक्षेप गरेकै थियो भने पनि यो कुनै अनौठो विषय चाहिँ होइन । राजतन्त्रको एजेन्डा बोक्ने मुख्य पार्टीमा आफूले चाहेको व्यक्ति नेतृत्वमा ल्याउन खोज्नुलाई राजसंस्थाको अस्वभाविक हर्कतका रुपमा लिन सकिन्न । यसैलाई लिएर जीवनभरको निष्ठा बदल्न खोज्नु थापाको अराजनीतिक रियाक्सन हो ।

    यदि थापाले भनेजस्तो राप्रपाको चुनावमा निर्मल निवासले हस्तक्षेप गरेकै थियो भने पनि यो कुनै अनौठो विषय चाहिँ होइन । नांगो‍रुपमा होस वा लुगा लगाएर गरिएको हस्तक्षेप होस , राजतन्त्रको एजेन्डा बोक्ने मुख्य पार्टीमा आफूले चाहेको व्यक्ति नेतृत्वमा ल्याउन खोज्नुलाई राजसंस्थाको अस्वभाविक हर्कत ठान्न सकिन्न । यसैलाई लिएर जीवनभरको निष्ठा बदल्न खोज्नु थापाको अराजनीतिक रियाक्सन हो ।

    आफूलाई राजाले साथ दिँदासम्म त्यो सहयोग र सदासयता हुने, अर्कोलाई साथ दिँदा हस्तक्षेप हुने थापाको कुतर्कले कसैलाई छुँदैन । हुन त उनले हालैको अन्तरवार्तामा भनेका छन्- राजाले राप्रपालाई गरेको सहयोग भनेको अघिल्लो महाधिवेशनमा एक करोड दिइबक्सेको हो । त्योभन्दा अर्को सहयोग केही छैन । तर, उनले यो भुलेका छन् कि राजाकै अनुहार बेचेर, राजसंस्थाकै एजेन्डा भजाएर उनले आफ्नो शक्ति आर्जन गरेका हुन् । योभन्दा अगाडिसम्म राजाकै निगाहमा उनले पटक–पटक सत्ताको तर मार्ने अवसर पाएका हुन् ।

    अबको विकल्प

    कमल थापाको राजनीतिक जीवन यतिबेला वास्तवमै कठिन बिन्दूमा उभिएको छ । यदि पराजयलाई सहजरुपमा स्वीकारेर पार्टीमा क्रियाशील रहेको भयो यो अप्ठेरो अवस्था आउने थिएन । उनी आफैंले आफूलाई अप्ठेरो मोडमा पुर्याएका छन् ।

    थापा अब राप्रपामा रहन सक्दैनन् । अर्को कुनै पार्टीमा प्रवेश गर्नु भनेको पनि उनको राजनीतिक पतन नै मानिनेछ, त्याे विकल्प उनले नराेज्लान् पनि । अन्तिम विकल्प भनेको राप्रपा छोडर अर्को पार्टी बनाउनु हो । उनले ढिलोचाँडो आफूलाई गणतन्त्रको पक्षमा उभ्याउँदै नयाँ पार्टीको पसल थाप्नेछन् । त्यो भनेको देशमा दक्षिणपन्थि धारका अर्काे चित्रबहादुर केसी जन्मिनु मात्र हो । देशमा गणतन्त्रवादी पार्टी र नेताहरु वालछ्याल छन् । यो भिडमा थापालाई आफ्नो अस्तित्व जोगाउन सजिलो हुनेछैन ।

    राप्रपाको निर्वाचित कार्यसमितिमा अहिले पनि थापाको राम्रो पकड छ । निर्वाचित पदाधिकारीमा उनी पक्षको वर्चश्व छ । त्यसैले धैर्यपूर्वक वरिष्ठ नेताको हैसियतमा राप्रपामै रहँदा उनको कल्याण हुने शुभचिन्तकहरुले ठानेका छन् । महाधिवेशन  त फेरि पनि आउनेनै छ ।

    खैर, यो सबै उनको निजी निर्णयको विषय हो ।

  • प्रदेश १ को चुनावमा निर्णायक मानिएको राप्रपाले उठायो आफ्नै उम्मेदवार

    प्रदेश १ को चुनावमा निर्णायक मानिएको राप्रपाले उठायो आफ्नै उम्मेदवार

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रियसभा सदस्यका लागि प्रदेश १ बाट दुईजना उम्मेदवारको मनोनयन गराएको छ ।

    राप्रपाले मंगलवारमात्र मनोनित भएका केन्द्रीय सदस्य अम्बरबहादुर विष्ट र रन्जु प्याकुरेललाई उम्मेदवार बनाएको हो ।

    प्याकुरेल राप्रपाको विर्तामोड नगर कमिटी अध्यक्ष हुन् । विष्ट पनि झापाकै नेता हुन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनको गृहजिल्ला झापामा राप्रपाले दुईवटा गाउँपालिका जितेको छ ।

    प्रदेशसभामा समेत एक सदस्य रहेको राप्रपासँग कुल ३ सय मतभार छ ।

    राप्रपाले यसपटक आफ्नै उम्मेदवार खडा गरेर अन्य दलसँग सौदा गर्न खोजेको छ । एमाले र सत्ता गठबन्धनको मत लगभग हाराहारीमा रहेकाले राप्रपाको निर्णायक मत छ।

  • राप्रपामा ३१ केन्द्रीय सदस्य मनोनीत, नवराज सुवेदीदेखि दीपक बोहरासम्म (सूचीसहित)

    राप्रपामा ३१ केन्द्रीय सदस्य मनोनीत, नवराज सुवेदीदेखि दीपक बोहरासम्म (सूचीसहित)

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राष्ट्रिय पन्चायतका पूर्व अध्यक्ष नवराज सुवेदी र पूर्व मन्त्री दीपक बोहरासहित ३१ जनालाई केन्द्रीय कार्य समितिको सदस्यमा मनोनीत गरेका छन् ।

    महाधिवेशनको निर्वाचन प्रक्रियामा भाग नलिएका बरिष्ठ र युवा नेताहरुलाई कार्य समितिमा मनोनयन गरिएको हो ।

    मनोनयन हुनेमा पूर्व अध्यक्ष रविन्द्रनाथ शर्माकी पत्नी सरोजा शर्मा समेत छन् । विधान अनुसार अध्यक्षले पहिलो चरणमा सबै पुस्ता र समावेशी मिलाएर मनोनयन गरेको केन्द्रीय सदस्य मोहन कुमार श्रेष्ठले बताए ।

  • राप्रपा र विवेकशील साझाबीच एकताको पहल सुरु, तर पार लाग्न कठिन

    राप्रपा र विवेकशील साझाबीच एकताको पहल सुरु, तर पार लाग्न कठिन

    काठमाडौं । राजसंस्थाको वकालत गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी र राजतन्त्रका विषयमा नरम दृष्टिकोण राख्ने विवेकशील साझा पार्टीबीच सम्भावित एकताको पहल सुरू गरिएको छ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र विवेकशील पार्टीका अध्यक्ष रवीन्द्र मिश्रबीच आज भएको भेटवार्तामा एकताका विषयमा छलफल भएको थियो ।

    लिङदेन नेतृत्वमा आएपछि राप्रपाले विचार मिल्नेहरूसँग सहकार्य र एकता गर्ने नीति लिएको छ । यसका लागि पार्टीको पहिलो केन्द्रीय समिति बैठकले महामन्त्री डा. धवलशम्शेर राणाको नेतृत्वमा वार्ता समिति समेत बनाएको थियो । यही सिलसिलामा लिङदेन र राणा आज मिश्रलाई भेट्न उनको निवासमै पुगेका थिए ।

    भेटघाटपछि नेपाल प्रेसलाई प्रतिक्रिया दिँदै मिश्रले दुई पार्टीबीच सम्भावित एकताको विषयमा अनौपचारिक कुराकानी भएको बताए । यद्यपि, यो सहज विषय नभएको उनको प्रतिक्रिया छ ।

    ‘राप्रपा विवेकशील साझामा आएर मिल्न सक्दैन, विवेकशील राप्रपामा मिल्न सक्दैन,’ मिश्रले भने, ‘तर, दुवै मिलेर नयाँ विकल्प सिर्जना गर्ने सम्भावनाको बारेमा हामी खुला छौं ।’

    राप्रपा महामन्त्री डा. राणाले एकताको लागि पहल सुरू भएको बताए ।

    उनले भने, ‘सामान विचार भएकाहरू एक ठाउँ उभिनुपर्छ भन्ने हाम्रो धारणा हो । विवेकशील-साझासँग यस विषयमा छलफलको सुरूआत भएको छ । तर, एकतासम्म पुग्न धेरै कुराहरू मिलाउनुपर्ने हुन्छ । हेर्दै जाउँ ।’

    डा. राणाले एकताका विषयमा आफ्नो पार्टीभित्र छलफल हुने बताए । मिश्रले पनि ठोस प्रस्ताव आएको खण्डमा पार्टीमा छलफल हुनसक्ने उल्लेख गरे ।

    विवेकशील साझाका अध्यक्ष मिश्रले केही समयअघि ‘विचारभन्दा माथि देश’ भन्दै नयाँ दस्तावेज सार्वजनिक गरेका थिए । उक्त दस्तावेजमा संघीयता उल्टाउनुपर्ने र धर्मनिरपेक्षतामाथि जनमतसंग्रह गर्नुपर्ने मिश्रले बताएका छन् । राजसंस्थाको विषयमा पनि सहानुभूति दर्शाइएको यो दस्तावेजलाई विवेकशील साझाको केन्द्रीय समितिले पारित गरिसकेको छ । यससँगै राप्रपा र विवेकशील साझा विचारधारात्मकरूपमा नजिकिएका हुन् ।

    संघीयता उल्टाउनुपर्नेमा राप्रपा र विवेकशीलको मत मिलेको छ । यस्तै, धर्मनिरपेक्षताका विषयमा पनि उनीहरू नजिक भएका छन् । राप्रपा धर्मनिरपेक्षता पनि उल्टाएर हिन्दू राज्यमा फर्किनुपर्ने पक्षमा छ भने विवेकशील साझाले सोझै त्यसो नभने पनि यसको निर्णय जनतालाई गर्न दिनुपर्ने भनेको छ ।

    राजसंस्थाको विषयमा भने दुई पार्टीमा अझै अन्तराल देखिन्छ । विवेकशील साझाले खुलेर राजसंस्थाको पक्षपोषण गरेको छैन । मिश्रको दस्तावेजमा नेपालमा गणतन्त्र आउनुमा विदेशीको हात रहेको औंल्याइए पनि गणतन्त्रलाई नै सुधारेर लैजानुपर्ने उल्लेख छ ।

    राप्रपा र विवेकशीलको एकतामा धेरै जटिलता छन् । राप्रपा पुरातनपन्थी र पूर्वपञ्चहरूको पार्टीका रूपमा परिचित छ । याे घाेषितरूपमा राजावादी पार्टी हाे  । विवेकशील साझामा भने शिक्षत र शहरीया युवापुस्ताको बढी झुकाव देखिन्छ । सानो आकारका बाबजुद सञ्चारमाध्यम र सामाजिक सञ्जालमा यस पार्टीले निकै स्पेस पाउने गरेको छ ।

    संगठनको हिसाबले राप्रपा देशव्यापी सञ्जाल रहेको पुरानो पार्टी हो । यसको नेतृत्वमा पनि हस्ति नेताहरु भरिभराउ छन् । विवेकशील तुलनात्मकरुपमा नयाँ भएकाले यसको सांगठनिक संरचना निर्माणाधीन छ । पार्टीमा राष्ट्रिय छवि बनाएका नेता मिश्र मात्रै हुन् । पार्टीमा उत्पन्न पछिल्लो विवादले एउटा समूह अलग्गिने क्रममा पनि छ ।

    गएको चुनावमा राप्रपाले भन्दा विवेकशीलले बढी मत ल्याएको थियो । संघीयता र धर्मनिरपेक्षताको विपक्षमा उभिएपछि पार्टीको जनमत ह्वात्तै बढेको र आगामी चुनावमा सुखद नतिजा आउने विश्वास विवेकशील साझाका नेताहरूले लिएका छन् । यद्यपि, एक्लैले ठूलो धक्का दिन सम्भव नभएकाले समान विचार भएकाहरू ध्रुवीकृत हुँदै जानुपर्ने पक्षमा मिश्र छन् ।

    यता राप्रपाले पनि लिङदेनको रूपमा युवा नेतृत्व पाएको छ । कमल थापालाई हराएर लिङदेन निर्वाचित हुँदा पार्टीबाहिर पनि सकारात्मक तरंग देखिएको थियो । यसले पार्टीपंतिमा उत्साह बढाएको छ । यद्यपि, महाधिवेशनपछि असन्तुष्ट बनेका कमल थापाले पार्टी फुटाउन सक्ने चर्चा पनि सुरू भएको छ ।

    वैचारिकरूपमा केही समानता भए पनि दुवै पार्टीकाे  आ–आफ्नै लिगेसी, अलग–अलग राजनीतिक धरातल तथा पुस्तान्तारणका कारण पनि याे एकता प्रयासले सार्थकता पाउन कठीन नै देखिन्छ । खासगरि राप्रपासँग एकताकाे विषय विवेकशीलकाे पार्टीपंतीलाइ रूचीकर नलाग्छ सक्छ ।

    राप्रपाले रवीन्द्र मिश्रको दस्तावेज पारित गरेपछि आलोचकहरुले उनलाई ‘बरू राप्रपासँग एकीकरण गर्न’ सुझाव दिएका थिए । व्यंग्यात्मकरुपमा यस्तो सुझाव दिइएको भए पनि राप्रपा र विवेकशील साझा साँच्चै एकताका लागि प्रयास हुनु नेपाली राजनीतिको रोचक प्रसंग हो ।

     

  • टेनिसको सेमिफाइनल हारेपछि कमल थापाले भने- स्वस्थ प्रतिस्पर्धामा हारजित सामान्य हो

    टेनिसको सेमिफाइनल हारेपछि कमल थापाले भने- स्वस्थ प्रतिस्पर्धामा हारजित सामान्य हो

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष तथा लनटेनिसका दिग्गज खेलाडी कमज थापाको राजनीतिमा दिन राम्रो चलिरहेको छैन । राप्रपाको अध्यक्ष प्रतिस्पर्धामा पराजित भएका उनले परिणामलाई सहजरुपमा स्वीकारेका पनि छैनन् ।

    थापा अहिले राजनीतिक प्रतिस्पर्धाबाट निस्केर खेलकुदको प्रतिस्पर्धामा व्यस्त छन् । पोखरामा जारी लन टेनिस प्रतियोगितामा भिडिरहेका उनी आज सेमिफाइनलमा पुगेर रोकिए । पोखरा रंगशालामा जारी १८ औं पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिताअन्तर्गत ५५ वर्ष उमेर समूहको सेमिफाइनलमा उनलाई पूर्वराष्ट्रिय च्याम्पियन कृष्ण राईले हराएका हुन् ।

    यसअघि उनले एकैदिन दोहोरो जित निकालेका थिए । सिंगल्स र डबल्स दुवै इभेन्टमा जित हासिल गरेपछि उनको सेमिफाइनलमा स्थान सुरक्षित भएको थियो । सिंगल्सको सेमिफाइनलमा हारेका थापा आजै डबल्सको सेमिफाइनलमा भिड्दैछन् ।

    सेमिफाइनल हारेपछि थापाले फेसबुकमा ‘लाक्षणिक’ अभिव्यक्ति दिएका छन् । आफूलाई हराएका राईलाई बधाई दिँदै उनले लेखेका छन्, ‘स्वस्थ प्रतिस्पर्धामा हारजित सामान्य र स्वभाविक हो ।’

    राप्रपा अध्यक्षको चुनावमा हारेयता आक्रोशित प्रतिक्रियाहरू दिइरहेका थापामाथि प्रतिस्पर्धाको परिणामलाई सहजरूपमा ग्रहण गर्न नसकेको आरोप लाग्दै आएको छ । सम्भवतः त्यसैलाई ईंगित गर्दै थापाले ‘स्वस्थ प्रतिस्पर्धा’ को कुरा गरेका हुन् ।

    निर्मल निवासको हस्तक्षेपका कारण राप्रपा चुनावमा स्वस्थ प्रतिस्पर्धा हुन नसकेको उनले दाबी गर्दै आएका छन् ।

  • राप्रपाको प्रदेशस्तरीय विस्तारित बैठक आजदेखि

    राप्रपाको प्रदेशस्तरीय विस्तारित बैठक आजदेखि

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रदेशस्तरीय विस्तारित बैठक आजदेखि सुरू हुँदैछ ।

    पार्टीको महाधिवेशनले तय गरेको राजनीतिक कार्यदिशाबारे अगुवा कार्यकर्तालाई जानकारी गराउने, संगठन विस्तारलाई प्राथमिकता दिने र आगामी स्थानीय तहको निर्वाचनको तयारीको लागि प्रदेश तहमा विस्तारित बैठक गर्न लागिएको सो पार्टीका नेता मोहन श्रेष्ठले जानकारी दिएका छन् ।

    राप्रपाको प्रदेशस्तरीय विस्तारित बैठक विहीबार लुम्बिनी प्रदेशअन्तर्गतको दाङमा हुने भएको छ । गण्डकी प्रदेश अन्तर्गतको विस्तारित बैठक नवलपुरमा पुस १२ मा हुने भएको छ ।

    अन्य प्रदेशको छिट्टै मिति घोषणा हुने र पुस महिनामा विस्तारित बैठक गरिसक्ने पार्टीको योजना रहेको नेता श्रेष्ठले बताएका छन् ।

    विहीबार दाङमा हुने लुम्बिनी प्रदेशको विस्तारित बैठक र आमसभामा पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्ष ध्रुवबहादुर प्रधान, महामन्त्रीद्वय डा. धवल शमशेर राणा, भुवन पाठकलगायतका नेताहरू सहभागी हुँदै छन् ।

  • कमल थापाको टिप्पणी- विदेशी गुहारेर, सडकमा अस्थिरता सिर्जना गरेर राजसंस्था फर्किँदैन

    कमल थापाको टिप्पणी- विदेशी गुहारेर, सडकमा अस्थिरता सिर्जना गरेर राजसंस्था फर्किँदैन

    काठमाडौं । राप्रपाका पूर्वअध्यक्ष कमल थापाले राजसंस्था पुनःस्थापनाको लागि राजनीतिक दल र आम जनताको विश्वास हुनुपर्ने भन्दै अहिले निर्मल निवासबाट भइरहेका गतिविधि त्यसका लागि सहयोगी नरहेको टिप्पणी गरेका छन् ।

    राप्रपा महाधिवेशनमा आफूविरुद्ध पूर्वराजा ज्ञानेन्द्रसहित निर्मल निवासबाट अवाञ्छित गतिविधि भएको भन्दै छानबिनको माग गरिरहेका थापाले दलको आन्तरिक मामिलामा राजसंस्थाले हस्तक्षेप गरेको आरोप लगाएका छन् ।

    राजासहितको हिन्दू राज्यको पक्षमा सडक र सदनमा आवाज उठाउन अग्रमणी भूमिका खेलेका पूर्वउपप्रधानमन्त्री थापाले विदेशी गुहारेर,दलको आन्तरिक मामिलामा हस्तक्षेप गरेर राजसंस्था फर्काउन नसकिने बताएका छन् ।

    थापाले सामाजिक सन्जालमार्फत भनेका छन्, ‘राजनीतिक दल र आम जनताको बिश्वास नै राजसंस्था पुन:स्स्थापनाको एकमात्र बाटो हो।बिदेशी गुहारेर, दलको आन्तरिक मामिलामा हस्तक्षेप गरेर र राजनीतिक दलहरूविरुद्ध घृणा फैलाएर राजसंस्था फर्कँदैन । सडकमा अस्थिरता खडा गरेर राजसंस्था फर्काउन सकिन्छ भन्ने निर्मल निवासको सोचाइ गलत र प्रत्युत्पादक छ ।’