Category: राप्रपा

  • गणेश थापाका छोरा अभिषेकले छाडे राप्रपा

    गणेश थापाका छोरा अभिषेकले छाडे राप्रपा

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्यबाट अभिषेक थापाले राजीनामा दिएका छन् । उनी गणेश थापाका छोरा एवं राप्रपा नेपालका अध्यक्ष कमल थापाका भतिजा हुन् ।

    अभिषेकले बुधबारबाट साधारण सदस्यसमेत नरहने गरी राप्रपा सदस्यबाट राजीनामा दिएका हुन् । राजीनामा पत्रमा थापाले ‘पार्टीमा बढ्दै गरेको विचलनका कारण बसिरहन अप्ठ्यारो महसुस भएको’ उल्लेख गरेका छन् ।

    गत मंसिरमा सम्पन्न महाअधिवेशनबाट उनी सदस्यमा निर्वाचित भएका थिए ।

     

  • चैत २५ गते खुलामञ्चमा राप्रपाको शक्ति प्रदर्शनको तयारी

    चैत २५ गते खुलामञ्चमा राप्रपाको शक्ति प्रदर्शनको तयारी

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चैत २५ गते काठमाडौंको खुलामञ्चमा शक्ति प्रदर्शनको तयारी गरेको छ । आमसभालाई भव्य, व्यवस्थित र विशाल बनाउन तयारीमा जुटेको हो ।

    पार्टीको बागमती प्रदेश समितिले आज काठमाडौंमा उपलब्ध केन्द्रीय पदाधिकारी तथा सदस्यहरु, उपत्यकाका तीन जिल्लाका अध्यक्षहरु, तीनवटै जिल्ला अन्तर्गतका महानगर, नगर, संघ र प्रदेश क्षेत्रीय समिति एवं भातृ संगठनको संयुक्त बैठक गरेर आमसभा तयारीको बारे समिक्षा गरेको छ ।

    बैठकमा आमसभाका लागि गठित जनपरिचालन समितिका संयोजक पार्टीका उपाध्यक्ष बुद्धिमान तामाङले देशभरि उर्लिएको जनलहर र पार्टी प्रवेश कार्यक्रमलाई काठमाडौंमा हुने आमसभामा पनि निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याउदै पार्टीले शक्ति प्रदर्शनको तयारी गर्नुपर्नेमा जोड दिए ।

    उपाध्यक्ष एवं सचिवालय प्रमुख हेमजङ गुरुङले आमसभाका लागि पार्टीको तर्फबाट गरिनुपर्ने तयारी बैठकलाई जानकारी गराउनु भएको थियो ।

    देशका अधिकांश जिल्लामा आमसभा गरिसकेको राप्रपाले बैशाख ९ गतेसम्मको आमसभाको मिति तय गरिसकेको र सबै सभामा अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी हुने प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिएका छन् ।

    लामो समय देशको नेतृत्व गरेका राजनीतिक दलको असफलता, भ्रष्टाचार नियन्त्रण, रोजगारीको सिर्जना, जनजीविकाको सवालमा ति दलको उदासीनता र राष्ट्रिय राजनीतिमा राप्रपाको स्पष्ट दृष्टिकोण एवं राप्रपाले पार्टीको नेतृत्व परिवर्तन गरेको अवस्थामा राप्रपा प्रति जनताको आशा, विश्वास र भरोसा बढिरहेको प्रवक्ता श्रेष्ठ दाबी गर्छन् । हामी चैत २५ गते काठमाडौंमा शक्ति प्रदर्शन गर्छौं, श्रेष्ठ भन्छन्, ‘तयारी त्यहि अनुसार भइरहेको छ ।’

    आजको आमसभा तयारी बैठकमा उपत्यकाको प्रतिनिधित्व गर्ने उपाध्यक्ष रोशन कार्की र महामन्त्री भुवन पाठकले काठमाडौंका जनता परिवर्तनको पक्षमा रहेको र राप्रपालाई साथ दिने पक्षमा रहेको बताएका छन् । हामी क्षेत्र र नगरमा मात्रै होइन टोल टोल र घर घरमा मा पुग्न सक्नुपर्छ, जनताले साथ दिनेछ, महामन्त्री राजेन्द्र गुरुङले भने ।

    पार्टीको बागमती प्रदेश कार्यसमितिका अध्यक्ष विक्रम बहादुर थापा, काठमाडौं जिल्लाका अध्यक्ष नवराज सिंखडा, ललितपुर जिल्ला अध्यक्ष अष्ट महर्जन, भक्तपुरका अध्यक्ष रामशरण लामिछानेले आफ्नो तयारी बारे बैठकलाई अवगत गराएका थिए ।

    झापा, मोरङ, सुनसरी, उदयपुर, रुपन्देही, कपिलवस्तु, बाँके, कैलाली, कञ्चनपुर, कास्की, लमजुङ, तनहुँ, गोरखा, बागलुङ, सुर्खेत, दाङ, नवलपुर, धनुषा, नुवाकोट, ललितपुर, भक्तपुर, सिन्धुली, लमजुङ, बर्दियामा आमसभा गरिसकेको राप्रपाले चैत २५ गते काठमाडौंको खुलामञ्चमा आमसभा गर्ने भएको हो ।

    स्थानीय तहको निर्वाचनको सरगर्मी बढ्दै जाँदा राप्रपाले आक्रामक ढंगबाट सभा गरिरहेको र पार्टी प्रवेश गराउने कामलाई तिव्रता दिइएको श्रेष्ठले बताएका छन् । काठमाडौंमा हुने आमसभालाई अध्यक्ष राजेन्द्र लिङ्देन, संस्थापक अध्यक्ष, पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, पूर्व अध्यक्षहरु पशुपतिशमशेर जबरा र डा।प्रकाशचन्द्र लोहनी लगायत पार्टीका वरिष्ठ नेताहरूद्वारा सम्बोधन हुने कार्यक्रम रहेको पनि आमसभाका लागि गठित प्रचार समितिका संयोजक, प्रवक्ता श्रेष्ठले बताएका छन् ।

  • कमल थापाको जिल्लामा लिङ्देन जाँदै

    कमल थापाको जिल्लामा लिङ्देन जाँदै

    हेटौंडा । राप्रपा मकवानपुर जिल्ला कार्यसमितिको अध्यक्षमा शिवराम थापा चयन भएका छन् । हेटौंडामा बसेको पार्टीको बैठकले थापालाई अध्यक्षमा चयन गर्दै नयाँ कार्यसमिति बनाएको हो ।

    राजसंस्था र हिन्दु राष्ट्रको पुनःस्थापना लगायत पार्टीको नीति, विचार र सिद्धान्त प्रति प्रतिबद्ध रहने साथै सैद्धान्तिक रुपमा विचलित हुने पलायनवादलाई मकवानपुरले साथ दिन नहुने बैठकको निश्कर्ष रहेको प्रवक्ता विशभ अधिकारीले बताए ।

    बैठकले २७ चैतमा हेटौंडामा बृहत आमसभा गर्ने निर्णय समेत गरेको छ । आमसभालाई अध्यक्ष राजेन्द्र लिङ्देनले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

    बैठकमा राप्रपाका नेता मधु अधिकारीले ठूला दलको अकर्मण्यताले जनता निरास भएको अवस्थामा राप्रपा प्रति भरोसा र विश्वास जागृत भएको बताउँदै राप्रपा अब वैकल्पिक शक्तिको रुपमा स्थापित हुने दाबी गरे । मकवानपुर राप्रपा नेपालका अध्यक्ष कमल थापाको गृहजिल्ला हो ।

     

  • किशोर गुरुङको गोरक्ष संरक्षण अभियान राप्रपामा समाहित

    किशोर गुरुङको गोरक्ष संरक्षण अभियान राप्रपामा समाहित

    काठमाडौं । स्थानीय निर्वाचन नजिकिँदै गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी देशव्यापी संगठनको सञ्जाल विस्तारमा आक्रामकरूपमा जुटेको छ । यसै क्रममा समान विचार भएका व्यक्ति, समूह र संगठन समाहित भइरहेका छन् ।

    यसैक्रममा किशोर गुरुङ नेतृत्वको गोरक्ष संरक्षण अभियान संस्थागत रूपमै राप्रपामा समाहित भएको छ । यसअघि ज्ञानेन्द्र शाही नेतृत्वको हाम्रो नेपाल हामी नेपाली अभियान, नेपालका लागि नेपाली अभियानको अधिकांश हिस्सा, मिसन नेपाल लगायतका संगठन राप्रपामा समाहित भइसकेका छन् ।

    सहकार्य र एकताका लागि अन्य समूहसँग पनि औपचारिक अनौपचारिक संवाद चलिरहेको प्रवक्ता मोहन श्रेष्ठले बताए ।

    यसैगरी राप्रपाले नेतृत्व लगायत पार्टीको सम्पूर्ण सुरक्षा हेर्ने गरी गठन गरेको राष्ट्रिय युवा मोर्चाको नेतृत्वमा हेरफेर गरेको छ । मोर्चाको अध्यक्षमा काठमाडौंका सुरज पाण्डे ‘कालो बाहुन’ लाई चयन चयन गरिएको छ । अध्यक्ष लिङ्देनले मोर्चालाई आवश्यक कार्ययोजना बनाइ पेस गर्न निर्देशन दिएका छन् । यसअघिका अध्यक्ष रहेका केदार धमला काठमाडौं महानगर समितिको अध्यक्ष भएकाले मोर्चामा नेतृत्व फेरिएको हो ।

    राप्रपाले चैत २५ गते काठमाडौंमा स्थानीय तहको निर्वाचन केन्द्रित आमसभा गर्दैछ । यो आमसभालाई राप्रपाले शक्ति प्रदर्शनको रुपमा तयारी गरिरहेको प्रवक्ता श्रेष्ठले बताए ।

  • लिङ्देनले बनाए राप्रपाको हाइकमाण्ड – नवराज सुवेदीदेखि दिपक बोहोरासम्म (सूचीसहित)

    लिङ्देनले बनाए राप्रपाको हाइकमाण्ड – नवराज सुवेदीदेखि दिपक बोहोरासम्म (सूचीसहित)

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीका पदाधिकारी र वरिष्ठ नेताहरु सम्मिलित कार्य सम्पादन समिति गठन गरेका छन् ।

    पार्टीको हाइकमाण्डकारुपमा गठित २० सदस्यीय समितिमा राष्ट्रिय पञ्चायतका पूर्वअध्यक्ष नवराज सुवेदीदेखि दिपक बोहोरासम्मका नताहरु समेटिएका छन् ।

    राप्रपाको विधानमा ३३ जनाको केन्द्रीय कार्यसम्पादन समिति रहने व्यवस्था छ । अब बाँकी १३ जना पनि छिट्टै मनोनयन गरिने प्रवक्ता मोहन श्रेष्ठले बताएका छन् ।

    निवर्तमान अध्यक्षद्वय पशुपतिशमशेर जबरा, डा.प्रकाशचन्द्र लोहनी र संस्थापक अध्यक्ष पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द स्वत:कार्यसम्पादन समितिको सदस्य हुने व्यवस्था छ ।
    आज भएको मनोनयनबाट कार्यसम्पादन समितिको सदस्य संख्या २३ पुगेको छ ।
    समितिका अरु को को छन् ? हेर्नुस् सूची :

     

  • विकास र समृद्धिको दृष्टिले राप्रपाले देशलाई पाँच वर्षमा कायापलट गर्छः राजेन्द्र लिङ्देन (भिडिओ)

    विकास र समृद्धिको दृष्टिले राप्रपाले देशलाई पाँच वर्षमा कायापलट गर्छः राजेन्द्र लिङ्देन (भिडिओ)

    काठमाण्डौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले विकास र समृद्धिको दृष्टिले देशलाई पाँच वर्षमा कायापलट गर्ने दाबी गरेका छन् । एमाले, कांग्रेस र माओवादीप्रति आक्रोशित हुँदै उनले यी तीन दलले धेरै वर्षदेखि देशलाई विकसित र समृद्ध नगर्न नसकेको र राप्रपालाई पाँच वर्ष काफी हुने बताएका हुन् ।

    राजधानीमा शनिबार पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले राप्रपालाई एकपटक ठूलो पार्टी बनाएर सत्तामा पुर्‍याइदिन जनतासँग आग्रह गरेका छन् । राप्रपाप्रति जनलहर आएको र त्यस आधारमा राजनीतिक शक्ति जनताबाट राप्रपाको हातमा आउने देखिएको पनि उनको भनाइ छ ।

    उनले जनताबाट राजनीतिक शक्ति आएको अवस्थामा राप्रपाले देश विकासमा पूर्ण रूपले सदुपयोग गर्नुपर्ने धारणा राख्दै एमाले, कांग्रेस र माओवादीबाट देश बन्ने सम्भावना नभएको ठोकुवा समेत गरे ।

    ‘शेरबहादुर देउवालाई कति पटक वा कति वर्ष थपिदियौँ भने देश बनाउन सक्षम हुनुहोला? कोही कांग्रेसीजनले भन्न सक्छ? शेरबहादुर देउवालाई ५ वर्ष दियौँ भने यो देश बन्छ? अथवा केपी ओली, प्रचण्ड?’, लिङ्देनले प्रश्न गरे, ‘उहाँहरूलाई कति वर्ष र कति कार्यकाल दिँदा यो देश बन्छ होला? यसकारण मैले भन्छु तपाईंहरूलाई कि अब बेला आयो ।’

    उनले तीन दलबाट देश बन्ने कुराको आशा राख्नु साँडेको टाङमुनि बाल्टी थापेर दुधको चाहनु जस्तै भएको उनले टिप्पणी गरे ।

  • पार्टीको नाममै अल्झियो राप्रपा-साझा एकता प्रयास, संवैधानिक राजतन्त्र मान्न मिश्र ‘सकारात्मक’

    पार्टीको नाममै अल्झियो राप्रपा-साझा एकता प्रयास, संवैधानिक राजतन्त्र मान्न मिश्र ‘सकारात्मक’

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी र विवेकशील साझा पार्टीबीच एकताका लागि भइरहेको गृहकार्य पार्टीको नाम र चुनाव चिह्नमै अल्झिएको छ । विवेकशील-साझा संवैधानिक राजतन्त्र मानेर जाने विषयमा सकारात्मक देखिए पनि ‘राप्रपा’ नाममा एकता गर्न भने तयार छैन ।

    राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा निर्वाचित भएलगत्तै राजेन्द्र लिङ्देनले विवेकशील साझासँग एकताको प्रयास अघि बढाएका थिए । पार्टीका महामन्त्री डा. धवलशम्शेर राणालाई लिएर विवेकशील अध्यक्ष मिश्रको निवासमै पुगी उनले एकता प्रस्ताव राखेका थिए । मिश्र पनि समान विचार भएकाहरु ध्रुवीकृत भएर बलियो शक्ति निर्माण गर्नुपर्नेमा सकारात्मक देखिए । यद्यपि, सिद्धान्तभन्दा संगठनात्मक तथा प्राविधिक विषयहरुले एकतामा अड्चन पैदा गरेको छ ।

    स्रोतका अनुसार एकताका विषयमा शीर्षतहमा केही चरण छलफल भएका छन् । एकतापछि पार्टीको नयाँ नाम राखेर जानुपर्ने मिश्रले प्रस्ताव गरेका छन् । लिङ्देनले चाहिँ राप्रपा नाममै सहमति गर्न जोड दिएका छन् ।

    ‘राप्रपा पुरानो र स्थापित नाम हो, त्यसैले हामीलाई नाम फेरेर जान अफ्ठेरो छ,’ लिङ्देनको भनाइ उदृत गर्दै स्रोतले भन्यो ।

    वार्ताका क्रममा मिश्रले चाहिँ नयाँ नाम नराख्दा एकताभन्दा समायाेजित भएको सन्देश जाने भएकाले राप्रपा स्वीकार्न नसक्ने बताएका छन् ।

    ‘हामी एउटा पार्टी अर्कोमा समायाेजन हुने नभइ आपसमा मिलेर नयाँ शक्ति निर्माण गर्ने हो । त्यसैले नाम र चुनाव चिन्हबारे सहमति नभइकन अरु कुरा अगाडि बढ्न सक्दैन,’ मिश्रलाई उदृत गर्दै स्रोतले भन्यो ।

    त्यसो त राप्रपा र विवेकशीलबीच सिद्धान्तमा पनि केही अन्तराल छ । राप्रपा संवैधानिक राजतन्त्रको हिमायती पार्टी हो । विवेकशील चाहिँ गणतन्त्रलाई नै सुधारेर लैजानुपर्ने पक्षमा छ । विवकेशीलले संसदबाट निर्वाचित गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउनुपर्ने वकालत गरेको छ । यद्यपि, यसलाई छलफलको विषय बनाउन भने विवेकशील तयार छ ।

    ‘राजतन्त्रको विषयमा छलफल नै हुन सक्दैन भन्नेमा हामी छैनौं,’ विवेकशील साझाका प्रवक्ता शरदराज पाठकले भने, ‘तर अहिले हाम्रो एजेन्डा राजतन्त्र होइन ।’

    अध्यक्ष मिश्रको चर्चित दस्तावेज ‘विचारभन्दा माथि देश’ मा राजतन्त्रप्रति सहानुभूति दर्शाइए पनि राजा फर्काउनुपर्ने कुरा गरिएको छैन । जबकि राप्रपाको मुख्य एजेन्डा भनेको नै राजतन्त्रको पुन:स्थापना हो । राप्रपाले चुनावमा यसैलाई मुख्य एजेन्डा बनाइरहेको छ । केही दिनअघि बसेको राप्रपा वैठकले राजतन्त्र पुनस्र्थापनाका लागि आन्दोलन गर्ने निर्णयसमेत लिएको थियो ।

    स्रोतका अनुसार साझा विवेकशीलका अध्यक्ष मिश्र संवैधानिक राजतन्त्र मानेर जान सकिनेमा सकारात्मक छन् । तर, पार्टीभित्र यस विषयमा उनले औपचारिक छलफल गराएका छैनन् । त्यसो त राप्रपासँग एकता गर्ने विषयलाई नै उनले आन्तरिक वैठकमा प्रवेश गराउन बाँकी छ । अहिलेसम्म मिश्रले नै राप्रपाका लिङदेन र डा. राणासँग कुरा गरिरहेका छन् ।

    प्रवक्ता पाठक भन्छन्, ‘यदि एकता प्रयास अघि बढ्न सक्ने आधारहरु देखिए भने बल्ल पार्टीमा छलफल हुने हो । त्यसपछि वार्ता टोली गठन हुन सक्छ । अहिलेसम्म त्यो बिन्दुमा पुगिसकेको अवस्था छैन ।’

    राप्रपा र विवेकशीलका अरु एजेन्डाहरु भने मिल्छ । संघीयता खारेज गर्नुपर्नेमा दुवै दल सहमत छन् । हिन्दू राष्ट्रबारे जनमत संग्रह गर्नुपर्ने विवेकशीलको एजेन्डा छ भने राप्रपाले सिधै हिन्दू राष्ट्र पुनस्र्थापनको माग गरेको छ । यसमा पनि मिलनबिन्दु भेट्न कठिन छैन । यस्तै, दुवै दलले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारीको वकालत गरेका छन् ।

    चुनाव अगाडि नै एकता गर्न सकिए राजनीतिक तरंग उत्पन्न हुने र चुनावमा पार्टीको पक्षमा ह्वीम आउन सक्ने दुवै पक्षका नेताहरुको विश्वास छ । तर, जटिलताहरु धेरै छन् । एकीकृत पार्टीको नेतृत्व पनि अर्को मुख्य विषय हो । लिङ्देनले पार्टीको नेतृत्व गर्ने र सेकेन्ड म्यानका रुपमा मिश्र रहने राप्रपाको प्रस्ताव छ ।

  • लिङ्देनको प्रशंसा गर्दै पूर्वडिनदेखि माटोविज्ञसम्म राप्रपामा प्रवेश

    लिङ्देनको प्रशंसा गर्दै पूर्वडिनदेखि माटोविज्ञसम्म राप्रपामा प्रवेश

    काठमाडौं । यतिबेला राजनीतिक दलहरू अरु पार्टीका नेता कार्यकर्ता तान्ने होडमा छन् । दिनदिनै विभिन्न राजनीतिक दलका ‘पार्टी प्रवेश कार्यक्रम’ भइरहेका छन् ।

    तर, मंगलबार राप्रपाको केन्द्रीय कार्यालयको दृश्य भने अलि फरक थियो । लामो समयदेखि विभिन्न क्षेत्रमा कार्यरत विज्ञहरू हुल बाँधेर राप्रपाको कार्यालय आए । अध्यक्ष लिङ्देनसँग भेटेर कुराकानी गरेपश्चात राप्रपामा औपचारिक प्रवेश गरे । उनीहरू यसअघि कुनै राजनीतिक दलका सदस्य थिएनन् ।

    उनीहरूको भनाइ थियो, ‘राप्रपाका अध्यक्ष लिङ्देन समकालीन राजनीतिमा इमानदार छवि बनाएका नेता हुन्, यस्तो बेला पर बसेर मात्रै होइन साथ दिएर हिड्नुपर्छ भनेर आएका हौं ।’

    कृषि क्षेत्रमा माटो विज्ञको रूपमा लामो समय काम गरेका, पूर्वडिन लमजुङका प्रा.डा. केशवराज अधिकारी, वन विभागमा ३७ वर्ष सेवा गरी निवृत्त भएका चितवनका वनविज्ञ बलराम पौडेल, सिभिल इन्जिनियरबाट सेवानिवृत्त भइ वातावरण संरक्षण क्षेत्रमा काम गरिरहेका तनहुँका ठाकुर पण्डित राप्रपामा औपचारिक प्रवेश गरे ।

    यस्तै, महालेखा नियन्त्रण कार्यालयमा बडालेखापालको रूपमा सेवा गरेका, असहायहरुको संरक्षण गरिरहेको संस्था वसन्त फाउन्डेसनका ललितपुरका रवीन्द्र केशरी पौडेल, ललितपुरका आइटी इन्जिनियर सुचना प्रविधि विज्ञ आशिष पौडेल लगायतले पनि राप्रपा रोजेका छन् ।

    राप्रपाका अध्यक्ष लिङ्देनले विज्ञहरूलाई पार्टी प्रवेश गराउदै नेतृत्व एकजना मात्रै इमानदार हुने हो भने राजनीति शुद्ध हुने बताए ।

  • चैत २५ गते राप्रपाले काठमाण्डौंमा शक्ति प्रदर्शन गर्ने

    चैत २५ गते राप्रपाले काठमाण्डौंमा शक्ति प्रदर्शन गर्ने

    काठमाण्डौं । यतिबेला राजनीतिक दल स्थानीय तहको चुनावमा केन्द्रित भएका छन् । वैशाख ३० मा तय भएको स्थानीय तहको निर्वाचनका लागि साना तथा ठूला राजनीतिक दलका शीर्ष नेताहरु देश दौडाहामा रहेका छन् ।

    निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न पार्टीका केन्द्रीय नेतृत्व नै जिल्ला जिल्लामा पुग्ने क्रम चलिरहेको बेला राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पनि चुनावी दौडाहमा छ ।

    पछिल्लो एक महिनामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको पनि देश दौडाहा चलिरहेको छ, उनले फागुनबाट सुरु गरेको दौडाहा सिन्धुलीसम्म पुग्दा ४१ वटा सभालाई सम्बोधन गरिसकेका छन् ।

    लिङ्देनले आइतबार मात्रै भक्तपुर, काठमाडौं र ललितपुरमा आयोजित छुट्टाछुट्टै तीनवटा सभालाई सम्बोधन गरेर सोमबार सुनसरीको चक्रघट्टीमा हुने सभामा सहभागी हुन त्यसतर्फ लागेका छन् ।

    राप्रपाले चैत २५ मा काठमाडौंको खुलामञ्चमा शक्ति प्रदर्शन गर्ने भएको छ । पार्टीको बागमती प्रदेश समितिको आयोजनामा हुने आमसभालाई राप्रपाले शक्ति प्रदर्शनको रुपमा तयारी गर्ने प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताए ।

    आमसभाका लागि प्रदेश अध्यक्ष विक्रमबहादुर थापाको संयोजकत्वमा ५ सय ५५ सदस्यीय आयोजक समिति गठन भएको उनको भनाइ छ । काठमाण्डौं, ललितपुर र भक्तपुरका अध्यक्ष सहसंयोजक रहेको समितिमा केन्द्रीय सदस्य आशा लामा सदस्य सचिव छन् ।

    उनका अनुसार समितिमा बागमती प्रदेश अन्तर्गतका १३ जिल्लाका अध्यक्ष, बागमती प्रदेश कार्यसमितिका पदाधिकारी, सदस्य, प्रदेशभित्रका भातृ संगठनका केन्द्रीय तथा जिल्ला समितिका पदाधिकारी, सदस्य, प्रतिनिधिसभा, प्रदेशसभा, महानगर, नगर र गाउँपालिकाका अध्यक्ष पनि रहेका छन् ।

    आमसभालाई प्रभावकारी बनाउन उपसमिति पनि गठन गरिएको प्रवक्ता श्रेष्ठले बताए । उपाध्यक्षहरु ध्रुबबहादुर प्रधान, रोशन कार्की र हेमजङ्ग गुरुङको उपस्थितिमा आइतबार मुल समितिको पहिलो तयारी बैठक बसेको थियो ।

     

  • चुनाव लक्षित राप्रपाको ‘जनताको माझमा राप्रपा’ घरदैलो कार्यक्रम

    चुनाव लक्षित राप्रपाको ‘जनताको माझमा राप्रपा’ घरदैलो कार्यक्रम

    काठमाण्डौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले स्थानीय तहको चुनावलाई दृष्टिगत गर्दै यही चैत २८ गतेदेखि ‘जनताको माझमा राप्रपा’ भन्ने मूल नाराका साथ घरदैलो कार्यक्रम गर्ने भएको छ ।

    देशैभर एकैपटक सञ्चालन गरिने उक्त कार्यक्रम सबै जिल्ला सदरमुकाममा आमसभा तथा कोणसभा गरी शुभारम्भ गरिने महामन्त्री भूवन पाठकले जानकारी दिए ।

    उक्त कार्यक्रमका लागि पार्टीले केन्द्रीय पदाधिकारीका साथै केही अग्रज नेतालाई ७७ जिल्लामा प्रतिनिधिका रुपमा खटाएको र ती प्रतिनिधिको अध्यक्षतामा चैत २७ गते सबै जिल्लामा विस्तारित बैठक बस्ने जनाइएको छ ।

    बैठकले घरदैलोका लागि समूह निर्माण, आसन्न चुनावमा जिल्लामा संगठनको अवस्था, उम्मेदवार छनोटका विधि, स्थानीय तहको आवश्यकताअनुसार अन्य राजनीतिक दलसँगको तालमेलको सम्भावनाबारे छलफल गरी टुङ्गो लगाएपछि २८ गते घरदैलो कार्यक्रम शुभारम्भ गरिने र निर्वाचनको प्रचारप्रसार आचर संहिता लागू नहुन्जेलसम्म घरदैलो गरिने राप्रले जनाएको छ ।

    पार्टीले अहिलेसम्म पाँच प्रदेशमा विस्तारित बैठकका साथै आमसभा सम्पन्न गरिसकेको नेता सुन्दर पाण्डेको भनाइ छ । विस्तारित बैठक गर्न बाँकी रहेका प्रदेश नं १ र बाग्मती प्रदेशमा यही महिनामभित्र कार्यक्रम गरिने बताइको छ ।

  • अर्थतन्त्रमा योगदान गर्ने विदेशस्थित नेपालीलाई मतदान अधिकार चाहिन्छः राप्रपा प्रवक्ता

    अर्थतन्त्रमा योगदान गर्ने विदेशस्थित नेपालीलाई मतदान अधिकार चाहिन्छः राप्रपा प्रवक्ता

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवक्ता सगुनसुन्दर लावतीले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित गर्नुपर्ने बताएका छन् ।

    उनले विदेशमा श्रम, सीप र ज्ञानको उपयोगमार्फत आर्जन गरी पठाएको रेमिट्यान्सले देशको अर्थतन्त्रमा ठूलो योगदान पुगेको र योगदानकर्ता उनीहरूको मताधिकार सुनिश्चित गर्नुपर्ने बताएका हुन्  ।

    लावतीले अर्थतन्त्रमा योगदान गर्ने विदेशस्थित नेपालीहरूको भूमिका देशको शासन व्यवस्थामा मताधिकारबाट हुनुपर्ने बताएका छन् । ‘विदेशमै रहेर पनि मतदान गर्ने अधिकार उन्नत प्रजातान्त्रिक मुलुकहरूमा छ, देशको शासन व्यवस्था सञ्चालनमा भूमिका छ र नेपालमा पनि हुनुपर्छ’, लावतीले भने ।

    वर्तमान निर्वाचन प्रणालीअनुसार विदेशमा रहेका नेपालीहरूलाई मतदान अधिकार छैन ।

  • रेखा थापाको प्रश्न- निरंकुश प्रचण्ड, ओली, देउवा हुन् कि राजतन्त्र ?

    रेखा थापाको प्रश्न- निरंकुश प्रचण्ड, ओली, देउवा हुन् कि राजतन्त्र ?

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की नेतृ रेखा थापाले देशको यो अवस्था आउनुमा नेता मात्रै नभएर जनता पनि दोषी भएको बताएकी छन् ।

    ललितपुरमा राप्रपाले आयोजना गरेको एक कार्यक्रममा सम्बोधन गर्दै थापाले जनताले पटक-पटक एउटै व्यक्तिलाई जिताइराख्ने परिपाटीले देशको यो अवस्था आएको टिप्पणी गरिन् ।

    उनले प्रश्न गरिन्, ‘जहिले देउवा, ओली र प्रचण्ड नै आइरहने हो भने बाहिर बसेर व्यवस्था ठिक भएन । नेताले देश डुबाए भनेर किन झगडा गर्ने ?’

    उनले अब जनताले आत्मसमीक्षा गरेर निर्णय लिनुपर्ने बेला आएको बताइन् । युवापुस्ता राजनीतिमा आएन भनेर गाली गर्नेहरुले एकपटक स्थानीय तहदेखि संघसम्मको निर्वाचनमा राप्रपालाई साथ दिनुपर्ने थापाको भनाई थियो ।

    उनले भनिन्, ‘जनता अहिलेको नेतृत्वप्रति निराश हो भने तीनै तहको चुनावमा तपाई हाम्रो अग्नीपरीक्षा सुरु भएको छ ।’

    राप्रपा देश र विचार बेच्ने पार्टी नभएको उल्लेख गर्दै नेतृ थापाले हिजो राजतन्त्र निरंकुश भयो भनेर नारा लगाउनेहरु नै अहिले निरंकुश सावित भएको टिप्पणी गरिन् ।

    उनले भनिन्, ‘हिजो गणतन्त्र ल्याउँछौँ भन्नेले राजतन्त्र निरंकुश शासन भयो ढाल्नुपर्छ भन्थे । एकपल्ट दिमाग लगाउनुस त । प्रचण्ड ३४, ३५ वर्ष भयो हैन माओवादी अध्यष बनेको ? ओलीलाई हेर्नुहोस वा देउवालाई नै हेर्नुहोस् । अहिले त उनीहरुले पार्टीलाई विचारको बन्दी बनाएका छन् ।’

    शीर्ष दलका नेताहरु जत्तिकै कमल थापा पनि यो अवस्था आउनुमा जिम्मेवार रहेको उनको भनाई थियो ।

    कमल थापाले गाई बेचेको आरोप लगाउँदै उनले भनिन्, ‘उस (कमल थापां ले गाई बेचेको हो । आज कमल थापाको कारण हाम्रो पार्टी जिर्ण भएको छ । हाम्रै पार्टीभित्र खराब नेता थियो त कमल थापा । आज पार्टीको ओ अवस्था हुनुको श्रेय गाई बेच्ने कमल थापालाई जान्छ ।

  • नेताहरुले राजनीतिलाई पेशा बनाएका कारण विश्वास घट्दै गयो : अध्यक्ष लिङ्देन(भिडिओ)

    नेताहरुले राजनीतिलाई पेशा बनाएका कारण विश्वास घट्दै गयो : अध्यक्ष लिङ्देन(भिडिओ)

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले केहि दलका नेताले राजनीतिलाई पेशा व्यवसाय बनाएका कारण यसप्रतिको विश्वास घट्दै गएको बताएका छन् ।

    शुक्रबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष लिङ्देनले राजनीतिलाई पेशा व्यवसाय बनाउनेहरु नराम्ररी परााजित हुने पनि बताए ।

    उनले अब राजनीतिलाई कमाई खाने भाँडो बनाउनेहरु कांग्रेस, एमाले माओवादीको कित्तामा हुने र देश यथास्थीतिमा राख्नुहुँदैन भन्नेहरु आफ्नो पक्षमा रहने धारणा राखे । त्यस्तै उनले नेपालमा उत्पादन हुने बिजुली बिदेशमा बेच्ने नभई मुलुकमा नै खपत गर्नुपर्ने उल्लेख गरे ।

    विजुलीको अधिकतम प्रयोग गर्न सक्ने मुलुक बिकासको बाटोमा अघि बढ्ने र रोजगारी पनि बढ्ने उनको भनाई छ । उनले मुलुकको हितमा काम गर्न सक्ने राप्रपा बाहिरका व्यक्तिलाई पनि स्थानीय तहको निर्वाचनमा अवसर दिइने बताए ।

    कार्यक्रममा विभिन्न दलबाट आएका कार्यकर्ताहरुलाई अध्यक्ष लिङ्देनले राप्रपा प्रवेश गराएका थिए ।

  • राप्रपाले बनायो भूतपूर्व सैनिकहरूको बेग्लै संगठन, राष्ट्रवादी शक्तिको तागतबाट ‘कोर्स करेक्सन’ गर्ने लिङदेनको घोषणा

    राप्रपाले बनायो भूतपूर्व सैनिकहरूको बेग्लै संगठन, राष्ट्रवादी शक्तिको तागतबाट ‘कोर्स करेक्सन’ गर्ने लिङदेनको घोषणा

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टीनिकट भूतपूर्व सैनिकहरुको बेग्लै संगठन निर्माण गरेको छ । अवकाशप्राप्त महासेनानी प्रकाशजङ्ग कार्कीको अध्यक्षतामा भूतपूर्व सैनिक परिषद् (राप्रपा) गठन गरिएको हो ।

    आज उक्त परिषदको १०१ सदस्यीय कार्यसमिति घोषणा गरियो । परिषद्को सहअध्यक्षमा अप्रा प्रसे डिबि थापा रहेका छन् । यस्तै, सातवटा प्रदेशको प्रतिनिधित्व रहने गरी उपाध्यक्ष तथा इन्चार्जहरू तोकिएका छन् । जसअनुसार प्रदेश नं १ मा अप्रा प्रसे चन्द्रप्रसाद चापागाईं, मधेस प्रदेसमा अप्रा प्रसे रामबहादुर थापा, वागमती प्रदेशमा अप्रा प्रसे लवराज थापा मगर, गण्डकी प्रदेशमा अप्रा प्रसे रामकाजी राना मगर, लुम्बिनी प्रदेशमा अप्रा सेनानी इश्वरीप्रसाद पाण्डे, सुदूरपश्चिम प्रदेसमा अप्रा प्रसे ईश्वर थापा छन् ।

    यसैगरी सचिवमा अप्रा क्याप्टेन केवेन्द्रजङ्ग गुरुङ, अप्रा प्रसे सानुराम कटवाल, अप्रा सुक सुवर्ण रोक्का, अप्रा सुक तानास शर्मा, रामबहादुर कार्की र कोषाध्यक्षमा अप्रा सुक विष्णुबहादुर गिरी रहेका छन् ।

    घोषणा कार्यक्रममा बोल्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले २०६२/६३ पछि तय गरिएको राजनीतिक मार्गचित्र पूर्णरूपले असफल भएकाले देशभक्त र राष्ट्रवादी शक्तिको तागतबाट’ कोर्स करेक्सन’ गरिनुपर्ने बताए । नेपाली सेनामा काम गरेका राष्ट्रसेवकहरू देशभक्ति र राष्ट्रवादी भावनाले ओतप्रोत हुने र सेवाबाट निवृत्त भएपछि राष्ट्र निर्माणमा योगदान दिनुपर्नेमा उनले जोड दिए ।

    लिङ्देनले भने, ‘प्रजातान्त्रिक बाटोबाट देशमा परिवर्तन सम्भव छ, आसन्न स्थानीय तहको निर्वाचनलाई आन्दोलनको रूपमा उपयोग गरौं ।’

  • हलो चिन्ह नपाए स्थानीय चुनाव हुन दिँदैनौं : राजेन्द्र लिङ्देन

    हलो चिन्ह नपाए स्थानीय चुनाव हुन दिँदैनौं : राजेन्द्र लिङ्देन

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टीलाई निर्वाचन आयोगले हलो चिन्ह प्रदान नगरेको खण्डमा स्थानीय चुनाव नै हुन नदिने दावी गरेका छन् ।

    बर्दियामा आज आयोजित आमसभालाई सम्वोधन गर्दै उनले राप्रपालाई राष्ट्रिय राजनीतिको मूलधारबाट पर धकेल्ने कुरा स्वीकार्य नहुने बताए ।

    लिङदेनले भने, ‘राप्रपालाई आगामी स्थानीय तहको निर्वाचनमा दलको चुनाव चिन्ह ‘हलो’ दिइएन भने चुनाव नै हुँदैन, हामी हुन दिदैनौं । द्वन्द्व र मुठभेडतर्फ मुलुकलाई नधेकेल्न सरकार र निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण गराउँदछु ।’

    उनले राप्रपाका कार्यकर्ता तथा मतदाताले हलो चुनाव चिन्हमा नै भोट हाल्न पाउने दावी पनि गरे ।

  • एमसीसीलाई गठबन्धन दलहरुले सरकारमा बसिराख्ने अस्त्रको रुपमा प्रयोग गरेको लिङदेनको आरोप

    एमसीसीलाई गठबन्धन दलहरुले सरकारमा बसिराख्ने अस्त्रको रुपमा प्रयोग गरेको लिङदेनको आरोप

    सुर्खेत। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले प्रतिनिधि सभाबाट एमसीसी पारित गर्दा गरिएको ब्याख्यात्माक टिप्पणीलाई लाज ढाग्ने टालो भएको बताएका छन् ।

    शनिबार सुर्खेतमा राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्न जिल्ला आएका अध्यक्ष लिङदेनले राजनीतिक दलहरुले एमसीसी पारित गर्दा गरेको ब्याख्यात्माक टिप्पणीलाई लाज ढाक्ने टालो भएको बताएका हुन् ।

    उनले एमसीसीलाई गठबन्धन दलहरुले सरकारमा बसिराख्ने अस्त्रको रुपमा प्रयोग गरेको आरोपसमेत लगाए । ‘देशका प्रमुख राजनीतिक दलहरुले वैदेशिक सम्बन्धलाई सत्ता आरोहरणको सिँढीको रुपमा प्रयोग गर्ने चेष्टा गरेका छन् ’, उनले भने, ‘यस्तो आलोकाँचो व्यवहारले नेपाल शक्ति राष्ट्रहरुको रणनीतिक प्रतिस्पर्धास्थलमा परिणत भएको छ ।’

  • ५२ जना केन्द्रीय सदस्य थप्ने राप्रपाको निर्णय, राजसंस्था फर्काउन आन्दोलन गर्ने

    ५२ जना केन्द्रीय सदस्य थप्ने राप्रपाको निर्णय, राजसंस्था फर्काउन आन्दोलन गर्ने

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले केन्द्रीय समितिको आकार बढाएको छ । आज सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले केन्द्रीय सदस्य संख्या २५१ पुर्याउने निर्णय लिएको हो ।

    राप्रपामा १९९ जना केन्द्रीय सदस्य रहने प्रावधान थियो । त्यसमध्ये महाधिवेशनबाट ९ वपदाधिकारी र १४१ जना केन्द्रीय सदस्य निर्वाचित भइसकेका छन् । यस्तै अध्यक्षले ५० जना मनोनित गर्न सक्ने व्यवस्था थियो । त्यसमध्ये लिङदेनले ४६ जना मनोनित गरिसकेका थिए ।

    आज बसेको वैठकले पार्टीको वृहत्तर हितलाई ध्यानमा राख्दै केन्द्रीय सदस्य र आवश्यकताअनुसार विभागहरुको संख्या थप गर्ने निर्णय लिएको छ । पार्टीका वरिष्ठ नेता तथा पदाधिकारीहरुको परामर्शमा अध्यक्षले निर्देशन समिति, कार्य सम्पादन समिति र सल्लाहकार समितिमा मनोनित गर्ने अख्तियारी पनि केन्द्रीय कार्यसमितिले दिएको छ ।

    यस्तै राप्रपाले निर्वाचन आयोगले ६ वटा मात्रै दललाई निर्वाचन चिन्ह दिने व्यवस्था सर्वसत्तावादी र विभेदारी रहेको भन्दै विरोध जनाएको छ । स्थानीय तह निर्वाचनमा राप्रपाले चुनाव चिन्ह प्राप्त गर्नका लागि आयोगलाई ध्यानाकर्षण गर्ने र जनसंघर्ष गर्ने निर्णय पनि पार्टीले गरेको छ ।

    राप्रपाले राजसंस्था र हिन्दू राष्ट्रको पुन:स्ठापना, भ्रष्टाचार विरुद्ध र जनजीपिवकाको लागि संघर्ष गर्न महामन्त्री डा. धवलशम्शेर राणाको संयोजकत्वमा आन्दोलन तयारी समिति गठन गर्ने निर्णय पनि गरेको छ ।

  • राप्रपाको निष्कर्ष-  व्याख्यात्मक घोषणा एमसीसीको अंग होइन

    राप्रपाको निष्कर्ष-  व्याख्यात्मक घोषणा एमसीसीको अंग होइन

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्ने क्रममा सँगसँगै पारित गरिएको व्याख्यात्मक घोषणा सम्झौताको अंग नरहेको निष्कर्ष निकालेको छ ।

    फागुन १८ र १९ गते बसेको पार्टीको केन्द्रीय कार्यसमिति वैठकले सो निष्कर्ष निकालेको हो ।

    बैठकपछि प्रवक्ता मोहन श्रेष्ठद्वारा जारी गरिएको विज्ञप्तिमा व्याख्यात्मक घोषणा एमसीसीको कानूनी अंग नभएको राप्रपाको निष्कर्ष रहेको उल्लेख छ । एमसीसी यथास्थितिमा पारित गरिनु हुँदैनथ्यो भन्ने राप्रपाको अडान कायम रहेको विज्ञप्तिमा जनाइएको छ ।

    राप्रपाको कार्यसमिति बैठकमा निवर्तमान अध्यक्षहरू पशुपतिशम्शेर जबरा र डा. प्रकाशचन्द्र लोहनी पनि सहभागी थिए । बैठकले अध्यक्ष राजेन्द्र लिङदेनद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन पारित गरेको छ ।

  • राप्रपा नेपालमा ६ उपाध्यक्ष र ४ महामन्त्री, यस्तो छ पदाधिकारी टिम

    राप्रपा नेपालमा ६ उपाध्यक्ष र ४ महामन्त्री, यस्तो छ पदाधिकारी टिम

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले पार्टीको विधानबमोजिम पदाधिकारी टिम तयार गरेका छन् ।

    पार्टीमा ६ जना उपाध्यक्ष र ४ जना महामन्त्री नियुक्त गरिएको छ ।

    पार्टीद्वारा जारी विज्ञप्ति अनुसार राजीव पराजुली, उद्धव पौडेल, जयकुमार खड्का, राजेन्द्रवीर राय, विष्णु भण्डारी र लाक्पा तामाङ उपाध्यक्षमा मनोनित भएका छन् ।

    यस्तै महामन्त्रीमा भाष्कर भद्रा, सुशील श्रेष्ठ, इन्द्र चित्रकार र राजाराम बर्तौला मनोनित भएका छन् ।

    राप्रपा नेपालले ६ जनालाई सहायक महामन्त्री बनाएको छ । जसमा हरिकृष्ण श्रेष्ठ, धरम गुरुङ, अम्बिकाप्रसाद ढकाल, शिवकुमार बास्तोला, ममता राई र शशिरञ्जन यादव छन् ।

  • राप्रपामा १५ जना केन्द्रीय सदस्य मनोनित, रेखा थापा पनि परिन्

    राप्रपामा १५ जना केन्द्रीय सदस्य मनोनित, रेखा थापा पनि परिन्

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधानबमोजिम १४ जनालाई केन्द्रीय कार्यसमिति सदस्यमा मनोनित गरेका छन् । महाधिवेशनमा महामन्त्रीको प्रत्यासी बनेर पराजित भएकी रेखा थापा पनि केन्द्रीय सदस्य बनेकी छिन् ।

    राप्रपामा १९९ जनाको केन्द्रीय कार्यसमिति रहने प्रावधान छ । महाधिवेशनबाट ९ पदाधिकारी र १४१ जना केन्द्रीय सदस्य निर्वाचित भएका थिए । ५० जना अध्यक्षले मनोनित गर्न पाउँछन् । त्यसअनुसार यसअघि अध्यक्ष राजेन्द्र लिङ्देनले ३२ जना यसअघि मनोनित गरिसकेका छन् भने आज थप १४ जना मनोनित गरेका हुन् ।

    राप्रपा प्रवक्ता मोहन श्रेष्ठले दिएको जानकारी अनुसार मनोनित केन्द्रीय सदस्यहरुमा लिलादेवी श्रेष्ठ इलाम, विन्दु पौडेल नवलपुर, रेखा थापा काठमाडौं, प्रेक्षा मल्ल धनुषा, मीना झा सर्लाही, सन्तोषी शाही ठकुरी सुर्खेत, स्वाती थापा रुपन्देही, पुष्पा रजौरिया कपिलवस्तु, लक्ष्मी तण्डुकार काठमाडौं, समृद्धि राणा उदयपुर, मीना न्यौपाने चितवन, शान्ति माया गुरुङ धादिङ, जयाकुमारी महतो सप्तरी र सावित्रा थापा काठमाडौं रहेका छन् ।

  • राप्रपाको केन्द्रीय समिति बैठक आजदेखि, अध्यक्ष लिङ्देनले तीन प्रतिवेदन पेस गर्ने

    राप्रपाको केन्द्रीय समिति बैठक आजदेखि, अध्यक्ष लिङ्देनले तीन प्रतिवेदन पेस गर्ने

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमिति बैठक आजदेखि बस्दैछ । बैठक दिउँसो १ बजे धुम्बाराहीस्थित एसआर ब्यांक्वेटमा तय भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

    उनका अनुसार बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, स्थानीय तहको निर्वाचनको तयारी, भावि कार्ययोजना र विविध विषयमा छलफल हुनेछ ।

    आजको बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिक, उपाध्यक्ष तथा सचिवालय प्रमुख हेमजंग गुरुङले सचिवालयको प्रतिवेदन, महामन्त्री तथा स्थानीय तहको निर्वाचन परिचालन समितिका संयोजक भुवन पाठकले स्थानीय तहको निर्वाचन सम्बन्धि प्रतिवेदन पेस गर्ने कार्यक्रम छ ।

    आजको बैठकमा प्रतिवेदन माथि छलफल सुरु हुनेछ । बैठक बिहीबारसम्म चल्नेछ ।

  • लिङ्देनको प्रस्ताव : एमसीसी स्थगन गरौं, जनतालाई आश्वस्त बनाऔं (भिडिओ)

    लिङ्देनको प्रस्ताव : एमसीसी स्थगन गरौं, जनतालाई आश्वस्त बनाऔं (भिडिओ)

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले एमसीसी अनुमोदन प्रस्ताव स्थगन गर्न माग गरेका छन् ।

    प्रतिनिधिसभा बैठकमा एमसीसीमाथिको छलफलमा भाग लिदै अध्यक्ष लिङदेनले जनता आश्वस्त नभएसम्मका लागि एमसीसीलाई स्थगन गर्नुपर्ने बताएका हुन् ।

    ‘यो केबल आर्थिक सहायताको विषयमात्रै होइन । नेपाली जनता यस विषयमा विभाजित भएकोले यसलाई स्थगन गरेर नयाँ ढंगले जान सरकारसँग प्रस्ताव गर्छु’, लिङदेनले भने ।

    उनले एमसीसीलाई संसदको प्राविधिक प्रक्रियामात्रै पुर्‍याएर पारित गर्ने हतारो गर्न नहुनेमा जोड दिए ।

    ‘यथास्थितिमा यसलाई पारित गर्नु भनेको देशलाई अझ द्वन्द्वमा लैजाने विषय हो । संसदका सबै निर्णय ठीक हुन्छ भन्ने हुँदैन । त्यसैले यस विषयमा सबै राजनीतिक दलहरु गम्भीर बन्नुपर्छ’, उनले भने ।

  • एमसीसीको पक्षमा मत दिँदैनौं : राप्रपा अध्यक्ष लिङ्देन (भिडिओ)

    एमसीसीको पक्षमा मत दिँदैनौं : राप्रपा अध्यक्ष लिङ्देन (भिडिओ)

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राप्रपाले एमसीसीको पक्षमा मतदान नगर्ने बताएका छन् ।

    संसद भवन परिसरमा पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष लिङदेनले देश र जनतालाई विभाजित गर्ने सम्झौताको पक्षमा राप्रपा नउभिने बताए ।

    ‘हामी जनताको चाहनाविपरीत जाँदैनौं । राप्रपाले एमसीसीको पक्षमा मत दिदैन’, लिङदेनले भने ।

  • निर्मल निवासको हस्तक्षेपबारे छानबिन नभएपछि राप्रपा केन्द्रीय सदस्यबाट बर्तौलाको राजीनामा

    निर्मल निवासको हस्तक्षेपबारे छानबिन नभएपछि राप्रपा केन्द्रीय सदस्यबाट बर्तौलाको राजीनामा

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य राजाराम बर्तौलाले पार्टी परित्याग गरेका छन् ।

    केन्द्रीय समिति बैठकमा महाधिवेशन दौरान निर्मल निवासबाट भएको हस्तक्षेपबारे छानबिन गर्नुपर्ने विषय उठान गरेकोमा नेतृत्वले बेवास्ता गरेको भन्दै बर्तौलाले साधारण सदस्यसमेत नरहने गरी केन्द्रीय सदस्य पदबाट राजीनामा दिएका हुन् ।

    ‘पार्टीभित्र गम्भीर सैद्धान्तिक विचलन र स्वेच्छाचारिता मौलाएको हुँदा यो अवस्थामा नैतिकरूपमा पार्टीभित्र बस्न सक्ने आधार समाप्त भएकोले नैतिकताको आधारमा औका मितिदेखि साधारण सदस्य समेत नरहने गरी केन्द्रीय सदस्य पदबाट राजीनामा दिएको छु’, बर्तौलाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

    राप्रपा त्यागेका बर्तौला कमल थापा नेतृत्वको राप्रपा नेपालमा प्रवेश गर्ने सम्भावना रहेको छ ।

  • ज्ञानेन्द्र शाहीको अभियान आज राप्रपामा समाहित हुँदै

    ज्ञानेन्द्र शाहीको अभियान आज राप्रपामा समाहित हुँदै

    काठमाडौं । ज्ञानेन्द्र शाहीले चलाएको ‘हाम्रो नेपाल, हामी नेपाली’ अभियान आज राप्रपामा समाहित हुँदैछ । आज साढे ११ बजे राप्रपा पार्टी कार्यालय धुम्बाराहीमा राप्रपा र उक्त अभियानबीच समायोजन घोषणासभा राखिएको छ ।

    दुई पक्षबीच यसअसघ नै समझदारीपत्रमा हस्ताक्षर भइसकेको छ ।

    राप्रपाले समान विचार भएका व्यक्ति, समूह र दलसँग एकता, मोर्चा वा सहकार्य गर्ने नीति लिएर यस कार्यका लागि महामन्त्री डा.धवल शमशेर राणाको संयोजकत्वमा वार्ता समिति बनाएको थियो ।

    उक्त वार्ता समितिले ज्ञानेन्द्र शाही नेतृत्वको हाम्रो नेपाल हाम्रो नेपाली अभियानलाइ राप्रपामा समाहित गर्न गरेको प्रस्तावलाई आज राप्रपाको पदाधिकारी बैठकले अनुमोदन गरेको छ ।

  • कमल थापाले भने- बाटो बिराएका थियौं, आफ्नो घरमा फर्कियौं

    कमल थापाले भने- बाटो बिराएका थियौं, आफ्नो घरमा फर्कियौं

    काठमाडौं । राप्रपा त्यागेर राप्रपा नेपालको अध्यक्ष बनेका कमल थापाले केही समयको अलमलपछि आफ्नो घर फर्केको बताएका छन् । राप्रपा नेपालले अब ‘हिन्दूराष्ट्र, सुशासन र समृद्धिलाई आफ्नो मुल एजेन्डा बनाउने उनको भनाइ छ ।

    आज एक अपिल जारी गर्दै उनले राप्रपा नेपालको घोषणासभा आगामी फागुन ७ गते हुने जानकारीसमेत दिएका छन् । विगतमा सँगै काम गरेका साथीहरुलाई विना कुनै द्विविधा राप्रपा नेपालमा आवद्ध हुन उनको आह्वान छ ।

    ‘हिन्दू राष्ट्र, सुशासन र समृद्धिको मान्यताप्रति विश्वास गर्नुहुने स्वतन्त्र बुद्धिजिवि, नागरिक समाज, तथा विभन्नि दलमा आवद्ध रहेकाहरुलाई पनि राप्रपा नेपालमा साथ दिन सविनय अनुरोध गर्दछु,’ उनले भनेका छन् ।

    थापाले २०७३ सालदेखि आफूहरुले बाटो बिराएको भन्दै पश्चातापसमेत गरेका छन् ।

    ‘पार्टी ठूलो बनाउने नाममा अति महत्वाकांक्षा र सत्ता केन्द्रित रणभुल्लमा पर्यौं । गम्भीर राजनीतिक भुलका श्रृंखलाहरु शुरु भए । असहज र गलत प्रवृत्तिहरुसँग् सम्झौता गर्न थाल्यौं । फलस्वरुप हामी करिब पाँच वर्ष राष्ट्रिय राजनीतिमा करिब करिब निस्क्रिय र प्रभावहिन हुन पुग्यौं,’ अपिलमा भनिएको छ ।

    देशको धरातलीय यथार्थ र सहयोगी तथा शुभचिन्तकको सुझावलाई मध्यनजर गर्दै राप्रपा नेपाललाई पुनर्जागृत गर्ने निर्णय लिएको थापाले बताएका छन् ।

    राप्रपा नेपाललाई आजसम्म जिवन्त तुल्याइराख्न महत्वपूर्ण योगदान दिएको भन्दै उनले यसअघिका अध्यक्ष लाक्पा तामाङप्रति आभार प्रकट गरेका छन् ।

  • (यस समाचारमा उद्धृत गरिएको ट्वीट राजेन्द्र लिङ्देनको फेक ह्यान्डलबाट पोष्ट भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएकाले समाचार हटाइएको छ । असावधानीका लागि क्षमाप्रार्थी छौं ।)
  • स्थानीय चुनावमा सबै शक्ति लगाउने राप्रपाको निर्णय, राजसंस्था र हिन्दू राष्ट्रमा सम्झौता नहुने अडान

    स्थानीय चुनावमा सबै शक्ति लगाउने राप्रपाको निर्णय, राजसंस्था र हिन्दू राष्ट्रमा सम्झौता नहुने अडान

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीको सम्पूर्ण शक्ति परिचालन गर्ने भएको छ । आउँदो फागुन मसान्तभित्र स्थानीय चुनावका लागि उम्मेदवार छनोट गर्ने निर्णयसमेत पार्टीले लिएको छ ।

    आज बसेको पदाधिकारी बैठकले सो निर्णय लिएको हो । बैठकमा महामन्त्री तथा स्थानीय तह निर्वाचन परिचालन समितिका संयोजक भुवन पाठकले निर्वाचन विशेष कार्ययोजना प्रस्तुत गरेका थिए । जसअनुसार राप्रपाले सबै स्थानीय तहमा उम्मेदवार खडा गर्ने तथा फागुन महिनालाई प्रशिक्षणको महिना बनाउने भएको छ ।

    बैठकले समान विचार भएकाहरूसँग एकता तथा सहकार्यका लागि भइरहेका प्रयासको समीक्षासमेत गरेको थियो । जारी वार्तालाई निरन्तरता दिँदै थप समूह, व्यक्ति वा दलसँग एकता र सहकार्यका लागि बैठकले आह्वान गरेको छ ।

    राप्रपाले राजसंस्था, हिन्दू राष्ट्रको पुनःस्थापना, संघीयताको खारेजी तथा सुदृढ स्थानीय तहलगायतका सैद्धान्तिक अवधारणामा पार्टी अविचलित रहेको जनाएको छ ।

    ‘यसमा जुनसुकै अवस्थामा समेत कसैसँग सम्झौता हुन सक्दैन भन्ने राप्रपाको प्रष्ट धारणा रहेको छ । यस सम्बन्धमा भ्रममा नपर्न राप्रपा सबैमा अनुरोध गर्दछ,’ वैठकपछि प्रवक्ता मोहन श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

    पार्टीलाई अनुशाशित बनाउन र पार्टी हितविरुद्धका कामलाई निरुत्साहित गर्न नवराज सुवेदीको संयोजकत्वमा ३ सदस्यीय अनुशासन समिति गठन गरिएको छ । पार्टीको केन्द्रीय कार्यसमितिको वैठक फागुन ११ मा बस्ने भएको छ ।

    पूर्वअध्यक्ष कमल थापाले राप्रपा छोडेपछि पहिलोपटक पदाधिकारी बैठक बसेको हो । बैठकमा पूर्वअध्यक्षद्वय पशुपतिशमसेर राणा र डा. प्रकाशचन्द्र लोहनीका साथै सबै पदाधिकारी उपस्थित थिए ।

  • राप्रपाको पदाधिकारी बैठक जारी, पशुपतिशमसेर पनि सहभागी

    राप्रपाको पदाधिकारी बैठक जारी, पशुपतिशमसेर पनि सहभागी

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको पदाधिकारी बैठक केन्द्रीय कार्यालय धुम्वाराहीमा सुरू भएको छ ।

    कमल थापाको बहिर्गमनपछि बोलाइएको बैठकमा समसामयिक राजनीतिको समीक्षा र स्थानीय चुनावको तयारीबारे छलफल हुने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

    बैठकमा पार्टीका पूर्वअध्यक्ष पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनीको पनि सहभागिता रहेको छ । यस्तै प्रदेश समितिका अध्यक्षहरूले पनि बैठकमा भाग लिएका छन् ।

    पूर्वअध्यक्ष थापाले नयाँ पार्टी गठनको तयारी गरिरहँदा राणाबाट समर्थनको आशा राखेका छन् । यद्यपि, आजको बैठकमा सहभागी भएर राणाले राप्रपा संस्थापनप्रति नै झुकाव देखाएका छन् ।

  • कमल थापापछि गुरुङ र पौडेलले पनि गरे राप्रपा त्यागेको घोषणा

    कमल थापापछि गुरुङ र पौडेलले पनि गरे राप्रपा त्यागेको घोषणा

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कमल थापा अलग भएसँगै उनका पक्षधर नेताहरूले पनि पार्टी परित्याग गर्ने क्रम सुरू भएको छ ।

    संस्थापक नेताद्वय चन्द्र गुरुङ र उद्धव पौडेलले पनि राप्रपा छोडेको घोषणा गरेका छन् ।

    सामाजिक सञ्जालमार्फत उनीहरूले कुनै कारण नखुलाइ पार्टी त्याग गरेको घोषणा गरेका हुन् ।

    गुरुङलले लेखेका छन्, ‘राप्रपामा बस्दाको पल सदैव अविस्मरणीय रहनेछ । आजैदेखि राप्रपासँगको संलग्नतालाई अन्त्य गर्दछु । सबैलाई शुभकामनासहित धन्यवाद व्यक्त गर्दछु । सबैको जय होस् ।’

    पौडेलले राप्रपा छोड्दा दु:खी र भावुक बनेको बताएका छन् ।

    उनको स्टाटस यस्तो छ, ‘राप्रपालाई एकताबद्ध बनाउने मेरो भगीरथ प्रयास असफल भएको छ । असफल विद्यार्थीको रुपमा अत्यन्तै दु:खी र भावुक छु । राप्रपामा बस्दाको पल सदैव अविस्मरणीय रहनेछ । आजैदेखि राप्रपासँगको संलग्नता अन्त्य गरेको छु । सबैलाई शुभकामनासहित धन्यवाद व्यक्त गर्दै बिदा हुन्छु । जय होस् ।’

    अरु पनि केही नेताहरु राप्रपाबाट अलग्गिने तयारीमा रहेको बुझिएको छ । तर, कमल थापा पक्षधरले सामूहिकरुपमा भने पार्टी छाड्ने छैनन् । यसो गर्दा पार्टी फुटाएको र गीताको कसम तोडेको आरोप लाग्ने भएकाले व्यक्तिगतरुपमा अलग हुने रणनीति अपनाइएको हो ।

  • कमल थापालाई निर्णयमा पुनर्विचार गर्न राप्रपाको आग्रह

    कमल थापालाई निर्णयमा पुनर्विचार गर्न राप्रपाको आग्रह

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले पूर्वअध्यक्ष कमल थापालाई पार्टी छाड्ने निर्णयमा पुनर्विचार गर्न आग्रह गरेको छ ।

    अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा आज केन्द्रीय कार्यालयमा उपलब्ध पदाधिकारीको बैठकले उक्त आग्रह गरेको हो । राप्रपाले अनपेक्षित तथा अप्रत्यासितरूपमा व्यक्तिगत तवरले थापाले पार्टीबाट अलग हुने भनी घोषणा गरेको भन्दै दु:ख जनाएको छ ।

    ‘पार्टीबाट अलग हुने उहाँको निर्णयमा पुनर्विचार गर्न राप्रपा अनुरोध गर्दछ । राप्रपा पार्टी स्थापनाको उद्देश्य, हालै सम्पन्न महाधिवेशनले तय गरेको राजसंस्था, हिन्दूराष्ट्रको पुनःस्थापना लगायतका सैद्धान्तिक अवधारणा र कार्यदिशामा अविचलित छ’, प्रवक्ता मोहन श्रेष्ठको हस्ताक्षरमा जारी विज्ञप्तिमा भनिएको छ, ‘यस घटनाबाट सवै तहका नेता, कार्यकर्ता र शुभेच्छुकहरुलाई दुविधामा नपर्न र विचलित नहुन राप्रपा आग्रह गर्दछ । साथै आसन्न स्थानीय तहको निर्वाचनको तयारीमा जुट्न पार्टीका सबै तहका साथीहरूलाई हार्दिक आह्वान गर्दछ ।’

  • कमल थापाले आज दिएको डेडलाइन आजै सकियो, लिङदेन भन्छन्- विवाद समाधान गर्छौं

    कमल थापाले आज दिएको डेडलाइन आजै सकियो, लिङदेन भन्छन्- विवाद समाधान गर्छौं

    काठमाडौं । एकता महाधिवेशन सम्पन्न भएको तीन महिना नबित्दै राष्ट्रिय प्रजातन्त्र पार्टी ‘विभाजन’ को संघारमा पुगेको छ । पूर्वअध्यक्ष कमल थापाले आज आफ्नो पक्षको भेला बोलाएर अलग पार्टी गठन गर्न लागेको सन्देश दिए ।

    भेलामा थापाले सरकारले स्थानीय चुनावको मिति घोषणा गर्दासम्म आफ्नो मागको सम्वोधन नभएको खण्डमा अर्को विकल्पमा जाने जानकारी दिएका थिए ।

    आज बसेको मन्त्रिपरिषदको वैठकले स्थानीय चुनावको मिति घोषणा गरेपश्चात थापाको सो अल्टिमेटम आजै सकिएको छ । तर, थापाको माग पूरा भएको छैन । यसर्थ उनले कुनै पनि क्षण राप्रपाबाट बहिर्गमनको घोषणा गर्न सक्ने आशंका भइरहेका छन् ।

    मन्त्रिपरिषदको निर्णयलगत्तै थापाले ट्विट गर्दै स्थानीय चुनाव घोषणाको स्वागत गरेका छन् । यद्यपि, पार्टीको विवादबारे भने केही उल्लेख गरेका छैनन् ।

    राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन थापाले पार्टी विभाजन नगर्नेमा अझै आशावादी देखिन्छन् । आफूसँगको भेटवार्ताका क्रममा थापाले पार्टीका कार्यकता र शुभेच्छुकलाई निराश तुल्याउने गरी कुनै निर्णय नलिने विश्वास दिलाएको उनले बताए । लिङ्देनले गत शनिबार थापालाई बुढानिलकण्ठस्थित उनकै निवासमा पुगेर भेट गरेका थिए । उक्त भेटघाट सकारात्मक र सौहार्दपूर्ण भएको उनले बताएका छन् ।

    थापाले उठाएको निर्मलनिवासमाथि छानविन गर्नुपर्ने मागका सम्वन्धमा भने लिङ्देन खुलेनन् । सबै विषयहरु आपसी समझदारीमा समाधान गरिने उनको भनाइ छ ।

    अध्यक्ष लिङ्देनसँग नेपाल प्रेसले गरेको संक्षिप्त कुराकानी :-

    पूर्वअध्यक्ष कमल थापाले आज छुट्टै भेला बोलाएर नयाँ पार्टी गठन गर्न लागेको संकेत गर्नुभयो । यसलाई कसरी लिनुभएको छ ?

    मलाई त्यस्तो लाग्दैन । हाम्रो कुराकानी भइराखेको छ । सबै कुरा सहमतिमा नै टुंग्याएर पार्टी एकता चाहने कार्यकर्ता तथा शुभेच्छुकलाई निराश हुन नदिने आपसी समझदारी भएको छ । आजको भेला वा वैठकले पार्टी एकतालाई असर गर्दैन भन्ने लाग्छ ।

    भेलाले पार्टी एकतालाई असर पुर्याउँदैन भनेर कसरी ढुक्क हुनुहुन्छ ?

    नपुर्याउनुपर्ने हो । उहाँले मलाई त्यसै भन्नुभएको छ । त्यही हिसाबले हाम्रो कुराकानी भएको थियो ।

    उहाँले उठाउँदै आउनुभएको मागलाई पार्टीले सम्वोधन गर्छ कि गर्दैन त ?

    हाम्रो विभिन्न तहमा कुराकानी भइराखेको छ । उहाँसँग फेरि पनि कुराकानी गर्छौं । सम्वोधन कसरी गर्ने भन्ने अनेक बाटोहरु हुन्छन् । तर, हामी समस्या समाधान गर्छौं । हाम्रो पार्टीका कार्यकर्ता र शुभेच्छुकहरूको भावना ठेस पुर्याउने कुनै काम हुनेछैन भन्नेमा म विश्वस्त छु ।

    अस्ति आफैं गएर भेट्नु भयो । कत्तिको सकारात्मक कुराकानी भएको थियो ?

    विल्कुल सकारात्मक छ । उहाँको आजको वैठक पनि पूर्वनिर्धारित थियो । आजको वैठकमा खासै त्यस्तो नकारात्मक कुरा भएको मैले सुनेको छैन ।

    उहाँले त स्पष्ट शब्दमा स्थानीय चुनाव घोषणासम्मको डेडलाइन दिनुभएको थियो नि ?

    हो । तर, त्यो डेडलाइन त आजै सकियो । चुनावको मिति घोषणा भइसक्यो । यसरी समयसीमा तोकेर कुनै कुराको समाधान हुँदैन । चाँडै हामी बस्छौं । उहाँसँग पनि सल्लाह गर्छौं । मलाई विश्वास छ, नकारात्मक परिणाम आउँदैन ।

    पार्टीको महाधिवेशनयता कमल थापाले कुनै पनि वैठकमा भाग लिनुभएको छैन । कुनै कार्यक्रममा आउनुभएको छैन । यसलाई कसरी लिनुभएको छ ?

    वैठकमा भाग नलिने अरु पनि नेताहरु हुनुहुन्छ । विस्तारै सबै कुराहरु सहज बन्दै जानेछन् । यसलाई अन्यथारुपमा लिनुपर्दैन । हामी सँधै गम्भीर छौं, उहाँलाई पार्टीभन्दा बाहिर जान नदिनका लागि । पार्टीलाई, शुभेच्छुकलाई र आफू स्वयम्लाई घाटा हुने काम उहाँले गर्नु हुनेछैन ।

    पार्टीको वैठक कहिले डाक्नुहुन्छ ?

    तत्काल, चाँडोभन्दा चाँडो, यो हप्ताभित्रै पदाधिकारी वैठक बस्नेछौं । कोभिडका कारण केन्द्रीय समितिको पूर्ण वैठक बस्न समय लाग्छ । त्यसैले पहिले पदाधिकारी वैठक बस्छौं । त्यस वैठकले आगामी केन्द्रीय समितिको वैठकबारे निर्णय गर्छ ।

    निर्मल निवासमाथि छानविन हुनुपर्ने मागका विषयमा वैठकमा छलफल हुन्छ त ?

    कुरा यस्तो छ । हामी मिल्नेतर्फ गइराखेको हुनाले, मिल्ने र मिलाउने अवस्थामा सबै कुरा अगाडि बढिराखेको हुनाले छलफल हुन सक्छ वा सक्दैन भन्ने विषय गौण हुन्छन् । छलफल गर्ने कि नगर्ने भन्ने पनि हामी आपसी समझदारीबाट टुंगो लगाउँछौं ।

    कमल थापाले विगतमा गीतालाई छोएर राप्रपा कदापी नफुटाउने कसम खानुभएको थियो । त्यसलाई सम्झिएर पनि कसमले पनि तपाईं पार्टी एकताप्रति आशावादी बन्नुभएको हो ?

    कसम त छँदै नै छ । कसम खानुभएको हुँदा त्यो काम गर्नुहुन्न । सँगसँगै उहाँको आफ्र्नै राजनीतिक भविष्यका लागि र पार्टीको कार्यकर्ता शुभेच्छुकको चाहना इच्छाविपरित गलत काम गर्नुहुन्न भन्ने मेरो विश्वास छ ।

  • लिङदेनले गरे दुई उपाध्यक्ष र दुई महामन्त्रीसहित २४ पदाधिकारी मनोनयन (सूचीसहित)

    लिङदेनले गरे दुई उपाध्यक्ष र दुई महामन्त्रीसहित २४ पदाधिकारी मनोनयन (सूचीसहित)

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीको विधान अनुसार दुई महामन्त्री र दुई उपाध्यक्षसहित २४ पदाधिकारीको मनोनयन गरेका छन् । साथै पार्टीका विभिन्न ६ वटा विभागका प्रमुखहरुमा पनि उनले जिम्मेवारी बाँडफाँड गरेका छन् ।

    पार्टीमा दुई महामन्त्री र दुई उपाध्यक्ष अध्यक्षले मनोनित गर्ने प्रावधान छ । उपाध्यक्षमा लमजुङका हेमजंग गुरुङ र सुर्खेतका मुकुन्दश्याम गिरी मनोनित भएका छन् । यस्तै महामन्त्रीमा ओखलढुगाका राजेन्द्र गुरुङ र मोरङका प्रल्हाद प्रसाद साहलाई नियुक्त गरिएको छ ।

    लिङदेनले ४ जना नेताहरुलाई पार्टीको प्रवक्ता तोकेका छन् । जसजमा झापाका भक्तिप्रसाद सिटौला, गोरखाका मोहन श्रेष्ठ, पाँचथरका सगुनसुन्दर लावती र मोरङका गोपाल दाहाल छन् ।

    यस्तै सहमहामन्त्रीमा सात जना, सहायक मन्त्रीमा ६ जना मनोनित गरिएको छ भने सहायक प्रवक्तामा चारजना मनोनित भएका छन् ।

    यसअघि राप्रपाकाे महाधिवेशनबाट २ महामन्त्री, २ उपाध्यक्षसहित ८ जना निर्वाचित भएका थिए । मनाेनयनसँगै राप्रपाकाे जम्बाे पदाधिकारी टिम बनेकाे छ ।

  • लिङ्देनलाई कमल थापाको पत्र– मलाई भित्तामा पुर्‍याएर पार्टीलाई दुर्घटनामा नलैजानुस् (पूर्णपाठ)

    लिङ्देनलाई कमल थापाको पत्र– मलाई भित्तामा पुर्‍याएर पार्टीलाई दुर्घटनामा नलैजानुस् (पूर्णपाठ)

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्व अध्यक्ष कमल थापाले आफूले उठाएका सैद्धान्तिक, राजनीतिक र सांगठनिक विषयलाई उपेक्षा गरेर भित्तामा पुर्‍याउन खोजिएको भन्दै यसले पार्टीलाई दुर्घटनामा लैजाने चेतावनी दिएका छन् ।

    अध्यक्ष राजेन्द्र लिङ्देनलाई लिङ्देनलाई सम्बोधन गर्दै थापाले आइतबार लिखित ध्यानकर्षण पठाएका छन् । उनले पार्टीका कुनै पनि कार्यक्रममा आफूलाई सहभागी र जानकारी नगराएर योजनाबद्ध रुपमा अलग्याउने प्रयास भइरहेको बताएका छन् ।

    थापाले भनेका छन्– मैले २०७८ मंसिर २७ गते पठाएको पत्रमा उल्लेखित विषयलाई तत्काल केन्द्रिय कार्यसमितिको बैठकमा पेश गर्न तथा त्यसवारे आबश्यक सम्बोधन गर्न आग्रह गर्दै यो स्मरण पत्र पुनः पठाएको छु । फेरी पनि मेरो मागलाई उपेक्षा गरेर मलाई भित्तामा पुराउने तथा पार्टीलाई दुर्घटना तर्फ धकेल्ने कार्य तपाईंबाट हुने छैन भन्ने अपेक्षा गरेको छु ।

  • संविधानमा छिद्र खोजेर चुनाव टार्नु प्रतिगामी कार्य : कमल थापा

    संविधानमा छिद्र खोजेर चुनाव टार्नु प्रतिगामी कार्य : कमल थापा

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष कमल थापाले कुनै पनि बहानामा चुनाव सार्न नहुने बताएका छन् । संविधानमा छिद्र खोजेर चुनाव टार्नु संविधानविपरीत प्रतिगामी कार्य हुने उनको भनाइ छ ।

    नेपालको संविधानले कुनै पनि तहको सरकार निर्वाचित प्रतिनिधिविहीन हुने परिकल्पना नगरेको भन्दै सामाजिक सञ्जालमा थापाले लेखेका छन्, ‘संविधानमा तिनतहको सरकारको व्यवस्था छ । कुनै पनि तहको सरकार निर्वाचित प्रतिनिधिविहीन हुने परिकल्पना संविधानमा छैन । यही मान्यताअनुसार पदावधि समाप्त हुनुअगावै नयाँ चुनाव गर्ने कानून बनेको हो । कुनै पनि बहानामा वा संविधानमा छिद्र खोजेर चुनाव टार्नु संविधानविपरीत प्रतिगामी कार्य हुनेछ ।’

    सत्तारुढ गठबन्धन स्थानीय तहको निर्वाचन आगामी असोजमा गर्ने गरी कानून संशोधन गर्ने तयारीमा लागिरहेको बेला नेता थापाले खबरदारी गरेका हुन् ।