Category: राप्रपा

  • हेटौँडामा दीपक सिंहको ‘इन्ट्रि’ पछि असन्तुष्ट मधुले छाडे राप्रपा

    हेटौँडामा दीपक सिंहको ‘इन्ट्रि’ पछि असन्तुष्ट मधुले छाडे राप्रपा

    हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वकेन्द्रीय समिति सदस्य तथा हेटौँडाका नेता मधु अधिकारीले पार्टी परित्यागको घोषणा गरेका छन् ।

    स्थानीय तहको निर्वाचनमा हेटौँडा उपमहानगरपालिकामा भएको टिकट वितरणमा अन्याय गरेको भन्दै रुष्ट रहेका अधिकारीले शुक्रबार विज्ञप्ति प्रकाशित गर्दै पार्टी परित्यागको घोषणा गरेका हुन् ।

    सकिन लागेको राप्रपालाई स्थापित गर्ने क्रममा आफूले निकै मेहनत गरेको, रगत पसिना बगाएको तर पार्टीमा ‘काम गर्ने कालु, मकै खाने भालु’ को नीति अख्तियारी भएको भन्दै राप्रपा परित्याग गरेको अधिकारीले बताएका छन् । दीपकबहादुर सिंहलाई उम्मेद्वार बनाएपछि उनले असन्तुष्टि जनाएका थिए ।

    अधिकारीले विज्ञप्तिमा भनेका छन् ‘पार्टीभित्र काम गर्ने कालु, मकै खाने भालु प्रवृत्ति मौलायो । पछिल्लो समय अनुकुलताको राजनीति, मौसमी राजनीति, सामन्ती र सर्वसत्तावादी चिन्तन अनि प्रवृत्ति हाबी भयो । प्रवृत्तिसङ्ग केन्द्रीय नेतृत्व नतमस्तक भयो । नयाँ पुस्ताको भजन गाएर नथाक्ने पार्टीका नेतृत्व र शीर्ष नेताको निर्णय अदूरदर्शी, अपरिपक्व र अन्यायपूर्ण देखियो । नेतृत्वले गर्ने मूल्य, मान्यता र आदर्शको कुरा ढोंग सिवाय केही होइन भन्ने घटनाक्रमले चरितार्थ गरेको छ ।’

    अधिकारीले राप्रपा छाडेको स्टाटस सामजिक सञ्जालमा राखेपछि कार्यकर्ताले निर्णय पुनर्विचार गर्न अनुरोध गरेका छन् । अधिकारी २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा राप्रपा नेपालको तर्फबाट हेटौँडा उपमहानगरपालिकाको नगर प्रमुखमा उम्मेद्वार बनेको थिए ।

    अधिकारीले ६ हजार ८ सय ५७ मत प्राप्त गरेका थिए । लामो समय मकवानपुरमा राप्रपाको नेतृत्व गरेका अधिकारीको पार्टी परित्यागले पार्टीमा क्षति पुग्ने चर्चा हुन थालेको छ ।

  • एमाले र गठबन्धनको प्रतिस्पर्धामा राप्रपाका दिपक सिंहको आक्रामक इन्ट्री

    एमाले र गठबन्धनको प्रतिस्पर्धामा राप्रपाका दिपक सिंहको आक्रामक इन्ट्री

    हेटौंडा । वागमती प्रदेशको एकमात्र उपमहानगरपालिका र नेकपा एसले गठबन्धनमा पाएको एकमात्र मेयरको चुनावी रेसमा एकाएक राप्रपाका दिपकबहादुर सिंहको आक्रामक इन्ट्रीसँगै यहाँको चुनावी माहोलमा उथलपुथलका संकेत देखिएका छन् ।

    स्थानीय तहको निर्वाचनको लागि उम्मेदवार मनोनयनको अन्तिम दिन वैशाख १२ गतेसम्म हेटौंडामा एमाले र गठवन्धनका उम्मेदवारबीच प्रतिस्पर्धा हुने आँकलन गरिएको थियो । तर एकाएक हेटौंडाका लिजेन्ड भन्दा हुने राप्रपाका पुराना नेता दिपकबहादुर सिंहले मेयरमा उम्मेदवारी दिएसँगै त्यो आँकलन फेल खाने अवस्थामा पुगेको छ ।

    राप्रपा नेपालका अध्यक्ष कमल थापाको साथ छोडेर सिंहले योपटक राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाबाट हेटौँडाको मेयरमा उम्मेद्वार भएसँगै यहाँ प्रतिस्पर्धा एमाले र राप्रपाको हुने विश्लेषण गरिँदैछ ।

    नेकपा एमालेले योपटक प्रभावशाली नेता तथा संविधानसभा सदस्य अनन्तप्रसाद पौडेललाई मेयरको उम्मेदवार बनाएको छ । एमालेका लाल किल्लाको रुपमा रहेको हेटौंडामा अबको भिडन्त २०७० सालमा भएको दोश्रो संविधानसभाको निर्वाचनको झल्को दिनेगरी अघि बढेको छ ।

    दोस्रो संविधानसभामा हेटौंडा नगरपालिका रहेको तत्कालीन मकवानपुरको क्षेत्र नंबर ३ मा अहिले मेयरको प्रतिस्पर्धामा रहेका पौडेल र सिंहको चर्को प्रतिस्पर्धा भएको थियो । सो प्रतिस्पर्धामा पौडेल (१४२५६) मतसहित विजयी बन्दा सिंहले (११४६१) मत प्राप्त गर्दै दोस्रो स्थान हासिल गरेका थिए ।

    २०७० सालको निर्वाचन ताका ११ वडाको हेटौंडा नगरपालिका हाल १९ वडा रहेको उपमहानगरपालिकामा रुपान्तरण भएको छ । यहाँ मतदाताको पनि उल्लेख्य वृद्धि भएको छ । निर्वाचन आयोगले दिएको तथ्यांकलाई हेर्दा अहिले हेटौँडा उपमहानगरपालिकामा १ लाख ४ हजार ५ सय १३ जना रहेका छन् ।

    २०७४ सालको स्थानीय तहको निर्वाचनमा आएको मतपरिणमलाई विश्लेषण गर्ने हो भने हेटौँडाको पहिलो शक्ति एमाले, देश्रोमा कांग्रेस देखिएको छ । माओवादी र राप्रपा करिब बराबरीको अवस्थामा देखिन्छ ।

    हेटौंडामा एमालेका लागि गठबन्धको सामना गर्नुपरेको यो पहिलोपटक होइन । २०७४ मा पनि कांग्रेस र माओवादीबीच गठबन्धन भएको थियो । त्यसबेला एमालेले प्रमुख–उपप्रमुखसहित १२ वटा वडामा विजयी हुँदा कांग्रेसले ५ वटा वडा र माओवादी केन्द्रले २ वटा वडामा जित हासिल गरेको थियो ।

    त्यसबेला कमल थापा नेतृत्वको राप्रपा नेपाल भने ६५ सय मत ल्याएर तेस्रो स्थानमा खुम्चिएको थियो ।

    गठवन्धनमा बेमेल

    योपटक एमालेविरुद्ध गठबन्धन गरेका पाँच दल छरपस्ट अवस्थामा देखिन्छन् । कांग्रेस र माओवादीले प्रमुख पदको दाबी गरिरहेको सन्र्दभमा केन्द्रीय भागबण्डाले नेकपा (एकीकृत समाजवादी)लाई प्रमुख पद दिने निर्णयसँगै यहाँका कांग्रेस–माओवादीमा असन्तुष्टि प्रकट भइरहेका छन् ।

    केन्द्रले आम कार्यकर्ताको भावना नबुझेको, बढीमा ३ हजार मतदाता रहेको अनुमान गरिएको समाजवादीलाई मेयर दिएको भन्दै कांग्रेसमा चरम असन्तुष्टि छ । कांग्रेसको बहुमत जिल्ला पदाधिकारी, १९ वटै वडा सभापतिसहित नगर समितिले पत्रकार सम्मेलन नै गरेर आफूहरुले मेयर नपाए गठबन्धन तोड्ने चेतावनी दिएका थिए ।

    केन्द्रले तलको कुरा नसुनेको भन्दै कार्यकर्तामा निरासा छाएको अवस्थामा सिंहको इन्ट्रीले कांग्रेसका कार्यकर्ताको भोट कम्युनिष्ट र राप्रपालाई जाने आँकलन भइरहेको छ । त्यसो भएको अवस्थामा एमालेका पौडेल र राप्रपाका सिंहबीच तीव्र प्रतिस्पर्धा हुनेछ ।

    गठबन्धनमै आबद्ध नेकपा माओवादी केन्द्र पनि केन्द्रीय गठबन्धनको निर्णयमा सन्तुष्ट छैन् । कम्तिमा उपमेयरसहित बहुमत वडा दाबी गरेको माओवादीले प्रमुख–उपप्रमुख दुवै पद प्राप्त गर्न सफल भएन । माओवादीमा अर्को पीडा पनि छ– वडा तहमा गठबन्धन गर्दा आफूले नेपाली कांग्रेसलाई १० वटा वडाध्यक्षमा समर्थन गर्दा कांग्रेसले जम्मा एउटा वडामा मात्र माओवादीलाई छाडेको छ ।

    यसअघि माओवादीले जितेको वडा पनि कांग्रेसले नछाड्दा गठबन्धन नाम मात्रको रहेको माओवादी कार्यकर्ताले खुल्ला रुपमै बताइरहेका छन् । माओवादी हेटौँडा उपमहानगरपालिकाका अध्यक्ष तिर्थबहादुर थापा कांग्रेस नेता कार्यकर्ता ‘चेनअफ कमाण्ड’मा नबस्दा समस्या भएको बताउँछन् ।

    मेयर–उपमेयर दुवै पदमा आफ्नो उम्मेदवार नहुँदा माओवादी मतदान गर्न स्वतन्त्र रहेको नेताहरु बताउँछन् । यसअघि कांग्रेससँगको गठबन्धनबाट उपमेयरमा हारेका बलराम बलसहितको एउटा समूह माओवादी छाडेर एमालेमा गइसकेको छ ।

    पौडेल र सिंह दुवै ढुक्क, गठबन्धनलाई दबाब

    गठबन्धनमा देखिएको बेमेल, आरोप–प्रत्यारोप तथा शंका–उपशंकाले योपटक हेटौँडा उपमहानगपालिकामा एमाले र राप्रपाबीच नै प्रतिस्पर्धा हुने आँकलन गर्न थालिएको छ । एमाले एक्लैले गठबन्धनलाई हराएको इतिहास छ र सोही इतिहास दोहरिनेमा एमाले ढुक्क छ ।

    एमालेबाट मेयर पदका उम्मेदवार पौडेल भन्छन्– टालाटुली झुम्रा बटुलेर बनाइएको गठबन्धन योपटक पत्तासाफ हुनेवाला छ, हेटौँडामा सहजै ढंगबाट एमालेले विजयको झण्डा गाड्नेमा हामी विश्वस्त छौं । सकिएका पन्चहरु फेरि उठ्न सक्दैनन् ।

    तर राप्रपाबाट मेयरका उम्मे्वार बनेका सिंह पनि आफू जित्नेमा विश्वस्त छन् । दुईपटक संसदीय निर्वाचन तथा एकपटक मेयरमा पराजित भएका सिंहले योपटक आफूलाई सबै पार्टीका मान्छेको सहयोग हुने बताउँछन् । उनको यो भनाइबाट पनि योपटकको निर्वाचनमा गठबन्धनको असन्तुष्ट मत सिंहले पाउने संभावना देखिन्छ ।

    एमालेको १९ वटै वडामा रहेको मजवुत संगठन, सर्वसम्मत मेयर–उपमेयर उम्मेदवार छनोट, गठबन्धनलाई समेत पराजित गरेको इतिहास र पछिल्लो समय युवापुस्तामा एमालेप्रति बढेको क्रेजले एमाले उत्साहित छ । त्यसमाथि पनि नेकपा एस जिल्ला अध्यक्ष श्रीधर पोखरेलसहित तीन दर्जन बढी प्रभावशाली नेता निर्वाचनको मुखैमा एमाले प्रवेश गर्दा गठबन्धनकी उम्मेदवार मिना लामालाई थप संकट परेको छ ।

    थोरै मत मात्र रहेको आरोप खेप्दै आएको समाजवादीले मतदातालाई प्रभाव पार्नसक्ने नेतालाई चुनावको मुखैमा गुमाउनु परेको छ । राप्रपा र एमाले जति आक्रामक र उत्साही छन्, गठबन्धनमा त्यो देखिन्नँ । अझ कतिपयले त मेयरमा राप्रपा र उपमेयरमा कांग्रेस जिताउन इन्द्र बानियाँ र दिपक सिंहबीच भित्री गठबन्धन हुने अनुमान पनि लगाइरहेका छन् ।

    उपमेयरमा रोचक प्रतिस्पर्धा

    उपमेयरमा भने एमाले र गठबन्धनकै प्रतिस्पर्धा हुने देखिएको छ । उपमेयरमा एमालेबाट अखिल नेपाल महिला संघ मकवानपुरकी अध्यक्ष समेत रहेकी सुमित्रा काफ्ले र हेटौँडा–५ का वडाध्यक्ष सम्हालीसकेका राजेश बानीयाँबीच प्रतिस्पर्धा हुने देखिएको छ । बानियाँ गठवन्धनबाट उम्मेदवार बनेका हुन् । उपमेयरमा भने राप्रपा कमजोर हुने संभावना देखिएको छ ।

    कांग्रेसको मत दोस्रो रहेको हेटौंडामा उपमेयरमा आफ्नै चुनाव चिह्नमा मतदान गर्न पाउने हुँदा एमालेकी काफ्लेसँग बानियाँको भिडन्त करिब पक्कापक्की नै हो । तर उपमेयरको सन्र्दभमा पनि कांग्रेसमा विवाद भने नभएको हैन ।

    कांग्रेसले उपमेयरको लागि सिफारिस गरेका तीनै जना महिलालाई टिकट नदिएर नेपाली कांग्रेस वागमती प्रदेश सभापति इन्द्रबहादुर बानीयाँले आफ्नो भाइलाई टिकट दिएको आरोप छ ।

    यसअघिको स्थानीय तहको निर्वाचनमा कांग्रेस–माओवादी गठबन्धन हुँदा आफूहरुले कांग्रेस उम्मेदवारलाई इमान्दारपूर्वक मत हालेको तर कांग्रेसले एमालेलाई सघाएको आरोप माओवादीको थियो । निर्वाचनको परिणामले पनि त्यहीं देखाएको थियो ।

    एमालेसँग जम्मा ६१५ मतान्तरले मेयरमा कांग्रेस पराजित भएको अवस्थामा हाल गठबन्धनबाटै मेयरकी उम्मेदवार मिनाकुमारी लामा भने तत्कालीन अवस्थामा माओवादीको उपमेयरका उम्मेदवारभन्दा ६ हजार ४ सय २६ मत धेरै ल्याएर विजयी भएकी थिइन् ।

  • राप्रपाको लिङ्देन एक्सप्रेस- गठबन्धन र एमालेको सवारीलाई ओभरटेक गर्दै

    राप्रपाको लिङ्देन एक्सप्रेस- गठबन्धन र एमालेको सवारीलाई ओभरटेक गर्दै

    काठमाडौं । स्थानीय तह निर्वाचन पाँच दलीय गठबन्धन भर्सेस एमालेको रूपमा मात्र प्रचार भइरहेको छ । काठमाडौं लगायतका केही महानगरमा बागी र स्वतन्त्र उम्मेदवारको चर्चा भइरहँदा २०७४ का तीनै तहका चुनावमा फ्लप खाएको राप्रपालाई धेरैले बेवास्ता गरिरहेको छन् । तर राजेन्द्र लिङ्देन गएको ठाउँमा देखिएको भीड भोटमा परिणत हुँदै गर्दा यस पटक धेरैका हिसाबकिताब बिग्रिने सम्भावना देखिँदै छ ।

    सहरी क्षेत्रका फ्रस्टेटेड मत जसरी अघिल्लो चुनावमा विवेकशील र साझाका उम्मेदवारतिर गएको थियो त्यसैगरी यस पटक त्यस्ता मत लिङ्देनले लपेट्दै छन् । अघिल्लो चुनावमा ठूला सहरमा विवेकशील र साझाले ल्याएको मतले ठूला दलको हिसाबकिताब तलमाथि पारेको थियो तर गाउँमा उसको प्रभाव थिएन ।

    तर यस पटक परिदृश्य फरक छ । राप्रपाले सहरी जनमतमा जसरी प्रभाव बढाउँदै छ,गाउँमा उसले पञ्चायतकालीन पुस्ता होइन नयाँ पुस्ताबाट ठूला दलमाथि हस्तक्षेप गर्दै छ । समकालीन राजनीतिमा ठूला दलमा केपी ओली र साना दलमा राजेन्द्र लिङ्देन व्यक्तिगत रूपमा मासलाई प्रभावित पार्ने नेताका स्थापित भएका छन् । त्यसैले यो चुनावमा राप्रपाले नतिजा आफ्नो पक्षमा कति पार्छ ठ्याक्कै भन्न सकिन्न,तर धेरैको नतिजामा तलमाथि पार्न सक्ने प्रस्टै देखिन्छ ।

    लिङ्देन युगको उदय

    जति बेला पञ्चायती व्यवस्था अन्त्य भएर बहुदलीय व्यवस्था स्थापनासँगै पूर्व पञ्चहरूले राप्रपा स्थापित गरे, त्यसबेला उनीहरू छि छि दूर दूरको अवस्थामा थिए । त्यही बेला पञ्चायती व्यवस्थाको फल खान पाइ नसकेको राजेन्द्र लिङ्देन राप्रपाको विद्यार्थी संगठनको अध्यक्ष भए । राप्रपाको महाधिवेशन सकिएको पाँच महिना मात्रै भएको छ । लिङ्देन राप्रपाको पञ्चायती लिगेसी र पञ्चायत युगपछि जन्मिएको पुस्ताको पुल बनेर अध्यक्ष निर्वाचित भए ।

    अध्यक्ष पदमा कमल थापालाई पराजित गरी नयाँ नेतृत्वको रूपमा उदाएका लिङ्देनका सामुन्ने चुनौतीका पहाड थिए । पुरानो नेतृत्वलाई विस्थापित गरी राष्ट्रिय राजनीतिलाई नै तरंगित बनाएका लिङ्देन त्यति बेला दबाबमा आए जति बेला स्थानीय तहको निर्वाचन घोषणा भयो ।

    नेपाली कांग्रेसको महाधिवेशनमा अतिथि वक्ताको रूपमा पुगेका लिङ्देनले “संसद् संसद् जस्तो छैन, अदालत अदालत जस्तो छैन, सबै चिजलाई ठेगान लगाउने राजनीतिले हो राजनीति ठिक छैन, राजनीतिलाई ठिक ठाउँमा ल्याउने नेताले हो, नेताले जनताको विश्वास गुमाएको अवस्था छ, गाउँमा नेता आएछ भन्दैनन् कुन चोर आएछ भन्ने अवस्था छ’ भनेर दिएको अभिव्यक्तिले उनलाई राष्ट्रिय राजनीतिको बहसको केन्द्रमा ल्याइदियो ।

    भनिन्छ लिङ्देनसँग त्यही अभिव्यक्तिका कारण केपी ओली चिढिए । एमालेले कमल थापासँग चुनावी तालमेल गर्नु र राप्रपा र एमालेबिच तालमेल नहुनुको एउटा कारण त्यो पनि थियो । तर कमल थापासँगको तालमेलले एमालेलाई भोट नबढ्ने त्यस पार्टीका नेताहरूले बुझिसकेका छन् ।

    लिङ्देनले बोलेका कुराहरू बारे टोल टोलमा चर्चा हुन थाल्यो । देश स्थानीय तहको निर्वाचनको माहौलमा प्रवेश ग¥यो, राप्रपामा नेतृत्व नयाँ भए पनि पार्टीको परम्परागत संरचना चुनाव जित्नका लागि पर्याप्त थिएन, लिङ्देन सबैभन्दा समयको दबाबमा थिए । अध्यक्ष लिङ्देनले फागुनको १८ र १९ गते काठमाडौंमा पार्टीको केन्द्रीय समितिको बैठक बोलाए ।

    केन्द्रीय समितिबाट सम्पूर्ण शक्ति स्थानीय तहको निर्वाचनमा परिचालन गर्ने, सबै स्थानीय तहमा आफ्नै उम्मेदवार खडा गर्ने निर्णय गराएर लिङ्देन फागुन २२ देखि देश दौडाहामा निस्किए । लिङ्देन जहाँ पुग्छन् जनताको सहभागिता उल्लेख्य हुँदै गयो ।

    उनले विशेष गरी कांग्रेस, एमाले, माओवादीले अवसर पाउँदा देश बनाउन नसकेको, राष्ट्रिय भावना र स्वाभिमान झन् कमजोर हुँदै गएको, भ्रष्टाचारले देश चुर्लुम्म भएको, आफूले भ्रष्टाचार नगर्ने संकल्प लिएको, भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह मानेर देश र जनताको सेवामा समर्पित हुन राजनीतिमा सक्रिय रहेको जस्ता विषय उठाउँदै गए । यथास्थितिमा परिवर्तन चाहने तप्काले लिङ्देनलाई सुन्न चाहे, जनसमुदाय लिङ्देनको सभामै पुगेर उनलाई साथ दिन थाले ।

    राप्रपाले देशभर दिनहुँ सभाहरूको आयोजना गर्दै गयो, हरेक सभामा केन्द्रीय नेताहरू लिङ्देन आफैँ पुग्न थाले, राप्रपाको सभामा उपस्थिति बढ्दै गयो । काठमाडौंमा जनताको ‘रेस्पोन्स’परीक्षण गर्न चैतको २५ गते काठमाडौंमा राप्रपाले सभाको आयोजना ग¥यो, अध्यक्ष लिङ्देनले चैतको २४ गते इलामको फिक्कलमा आमसभाका लागि समय दिए ।

    पार्टीका अन्य नेताहरूले काठमाडौंको सभालाई सफल र भव्य बनाउन अध्यक्ष लिङ्देनलाई इलामको सभा रद्द गर्न र काठमाडौं केन्द्रित हुन सुझाव दिए । पूर्वनिर्धारित कार्यक्रम रहेको र इलाममा तयारी भइरहेकाले रद्द नगरी लिङ्देन इलाम पुगे । साँझ अबेर फर्किएका लिङ्देन सिधै पार्टी कार्यालय पुगेर तयारीको ब्रिफिङ्ग लिए, काठमाडौंको सभा पनि कमजोर भएन ।

    चैत २६ गते लिङ्देनले वैशाख १० गतेसम्मको आफ्नो तालिका सार्वजनिक गरे । लिङ्देनको प्रमुख आतिथ्यमा देशका ५२ जिल्लामा ८० भन्दा बढी सभाहरू भइसकेका छन् । काठमाडौं, पोखरा, वीरगन्ज, भरतपुर, विराटनगर, सुर्खेत, नेपालगन्ज, धनगढी, महेन्द्रनगर लगायत देशका अधिकांश जिल्लामा सभा गरेको राप्रपाले उम्मेदवारी दर्ता पछि पनि सभाहरूलाई निरन्तरता दिइरहेको छ ।

    कैलालीमा एकै दिन आठ वटा सभाहरू भए, नुवाकोटमा दुई, वीरगन्जमा दुई, लमजुङ, तनहुँमा साना ठूला कोणसभा र सभाहरू भए । आज बुधवार लिङ्देन झापामा हुने विभिन्न सभाहरूमा सहभागी हुन झापा पुगेका छन् । मेचीनगर, हल्दिबारी, भद्रपुर, शिव सतासीमा हुने सभामा सम्बोधन गर्न झापा पुगेका लिङ्देन तीन दिनअघि कचनकवलको घेराबारी सभामा पुगेका थिए ।

    कचनकवल र हल्दिबारी अघिल्लो निर्वाचनमा राप्रपाले जितेको स्थानीय तह हुन् । कचनकवलमा राप्रपाका विरुद्ध कांग्रेस, एमालेको गठबन्धन बनेको छ । सबै पालिकाहरूमा कांग्रेस एमाले आमनेसामने भइरहँदा कचनकवलमा कांग्रेस एमालेको गठबन्धन बन्नुले लिङ्देनको तागत कमजोर छैन भन्ने देखिएको छ । राप्रपाको तागत बुझेरै सत्ता गठबन्धनले ओलीको गृह नगर दमकमा राप्रपालाई मेयर दिएका छन् ।

    मौन अवधि हुन दिनसम्म लिङ्देनले सभाका लागि विभिन्न जिल्लामा समय दिएका छन् ।

    राप्रपाको प्रचार विभाग प्रमुख रहेका प्रवक्ता मोहन श्रेष्ठ पार्टीको पक्षमा देखिएको जनलहरलाई भोटमा रूपान्तरण गर्न अध्यक्षको देशव्यापी दौडाहा भएको बताउँछन् ।

    श्रेष्ठ भन्छन्- ‘जताततै अध्यक्षको माग भइरहेको छ, समय व्यवस्थापन गर्न कठिन भइरहेको छ तथापि सकेसम्म बोलाएको ठाउँमा पुग्ने प्रयास गरिरहनु भएको छ, साथीहरूको गुनासो आइरहेको छ तर चुनाव आइसक्यो । हामीले राम्रो परिणाम ल्याउँछौ, कांग्रेस र एमाले नेतृत्वका गठबन्धनसँग एक्लै प्रतिस्पर्धा गर्न सजिलो छैन भन्ने हामीलाई थाहा छ तर हामी उच्च मनोबलका साथ चुनावमा गइरहेका छौँ, प्रवक्ता श्रेष्ठ भन्छन्– ’हामी धेरै स्थानमा जित्दै छौँ, एक एक भोटको महत्त्व छ, नजित्ने ठाउँमा पनि मत खेर पाल्दैनौँ, लोकप्रिय मत जुटाउँछौ, लोकप्रिय मतको जगमा उभिएर प्रादेशिक र संघीय निर्वाचनको रणनीति बनाउँछौँ ।’

  • ‘राप्रपाको राजधानी’ बाट लिङ्देनले भने- राष्ट्रिय राजनीतिको सन्तुलन अब फेरिन्छ

    ‘राप्रपाको राजधानी’ बाट लिङ्देनले भने- राष्ट्रिय राजनीतिको सन्तुलन अब फेरिन्छ

    झापा । चुनावी अभियानका क्रममा गृहजिल्ला झापा पुगेका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा मूल राजनीतिक शक्तिको रूपमा उदाएको दाबी गरेका छन् । राप्रपाले जितेको कचनकवल घेराबारीमा आयोजित आमसभालाई सम्बोधन गर्दै लिङ्देनले राप्रपालाई नजरअन्दाज गरेर अब राष्ट्रिय राजनीतिक शक्ति सन्तुलन नहुने बताए ।

    राप्रपाले अघिल्लो निर्वाचनमा कचनकवल गाउँपालिकामामा विजय हासिल गरेको थियो । लिङ्देन स्वयंले पनि कचनकवललाई राप्रपाको राजधानी बताउँदै आएका छन् । यसपटकको निर्वाचनमा पनि राप्रपाले सम्पूर्ण सिट जित्ने उनको दाबी छ ।

    देशलाई भ्रष्टाचारमुक्त बनाउने काम सजिलो नभएको भन्दै अध्यक्ष लिङ्देनले यसमा सबैको सामूहिक सङ्कल्प, दृढ इच्छाशक्ति आवश्यक रहेको उल्लेख गरे ।

    ‘यो सजिलो काम होइन, समाज यति भ्रष्ट भइसक्यो कि यसलाई सानोतिनो सङ्कल्पले हटाउन सकिँदैन’, उनले भने, ‘तर भ्रष्टाचारलाई निर्मूल नपारेसम्म देश उँभो लाग्दैन ।’

    स्थानीय निर्वाचनमा आफ्ना उम्मेदवारले नगरपालिका र गाउँपालिकामा चुनाव जिते कक्षा १२ सम्म निशुल्क शिक्षा प्रदान गर्ने र सबै बालबालिका र विद्यार्थीलाई शिक्षाको पहुँचमा जोड्ने उनको भनाइ छ ।

    आमसभामा नेतृ रेखा थापाले पनि सम्बोधन गरिन् । कचनकवलका अध्यक्ष एवं हालका उमेदवार अञ्जार आलमले पाँच वर्षमा गरेको काम हेरेर पुन: विजय गराउन अनुरोध गरे ।

  • बचनमा बाँधिएका निधि, भक्तपुरमा राप्रपाको लागि भोट माग्ने

    बचनमा बाँधिएका निधि, भक्तपुरमा राप्रपाको लागि भोट माग्ने

    भक्तपुर । नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले भक्तपुर पुगेर राष्ट्रिय प्रजातन्त्र पार्टीको लागि मत माग्ने भएका छन् ।

    नेता निधिले भक्तपुरको चाँगुनारायण नगरपालिका पुगेर कांग्रेस नेता तथा कार्यकर्ताहरूलाई समेत राप्रपाका उम्मेदवारलाई मत दिन आह्वान गर्ने भएका हुन् ।

    यहाँ न राप्रपा र कांग्रेसबीच चुनावी तालमेल भएको छ न त गठबन्धन । धेरैलाई लागेको होला, कहीं कांग्रेस नेताले राप्रपाको लागि भोट माग्लान् ? तर, २०७६ साल मंसिर १४ गते भएको लिखित सहमतिले निधिलाई बाँधेको हो ।

    २०७६ साल मंसिर १४ गते भक्तपुर क्षेत्र नं. १ क प्रदेशमा उपनिर्वाचन भएको थियो । २०७४ सालमा भएको प्रदेश निर्वाचनमा विजयी हरिशरण लामिछानेको मृत्यु भएपछि यहाँ उपनिर्वाचन भएको थियो । जुन उपनिर्वाचनको लागि मंसिर ८ गते नेपाली कांग्रेस र पशुपतिशमशेर राणा नेतृत्वको तत्कालीन राप्रपा संयुक्तबीच २ बुँदे लिखित सहमति भएको थियो । यसबीच राणाको राप्रपा संयुक्तसँग डा. प्रकाशचन्द्र नेतृत्वको राप्रपा र त्यसपछि कमल थापा नेतृत्वको राप्रपा नेपालबीच पार्टी एकता भइसकेको छ । महाधिवेशनबाट राजेन्द्र लिङ्देन राप्रपा अध्यक्ष निर्वचित भएपछि पराजित कमल थापाले पुनः राप्रपा नेपाल व्युँताइसकेका छन् ।

    कांग्रेसका सभापति शेरबहादुर देउवा र तत्कालीन राप्रपा संयुक्तका अध्यक्ष पशुपतिशमशेर राणाको प्रत्यक्ष निर्देशनमा २०७६ साल मंसिर ८ गते तत्कालीन कांग्रेस उपसभापति विमलेन्द्र निधिको निवासमा उक्त सहमति भएको थियो । जुन सहमतिमा निधिसँगै, केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत र कांग्रेस भक्तपुरका जिल्ला सभापति दुर्लभ थापाले हस्ताक्षर गरेका थिए ।

    त्यस्तै राप्रपाबाट उच्चस्तरीय कार्यसम्पादन समितिका सदस्यद्वय हरिबहादुर बस्नेत र दिनेश श्रेष्ठ, कार्य सम्पादन समिति सदस्य रवीन्द्रप्रताप शाह र भक्तपुर जिल्ला अध्यक्ष रामशरण लामिछानेले हस्ताक्षर गरेका थिए ।

    उनले कांग्रेसको वर्तमान नेतृत्व, स्थानीय तह निर्वाचनका कमाण्डर उपसभापति पूर्णबहादुर खड्का, सत्ता गठबन्धनको निर्वाचन अनुगमनका प्रमुख एवं कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसम्मलाई विगतको लिखित सहमति पालना गर्न आग्रह र ध्यानाकर्षण गरे । तर, कसैले त्यसको सुनुवाइ गरेनन् । नेपाली कांग्रेस भक्तपुरका जिल्ला सभापति दुर्लभ थापा त नेता निधिको सम्पर्कमै आउन चाहेनन् ।

    जसले गर्दा स्थानीय तह निर्वाचनको उम्मेदवारी फिर्ता लिने दिनसम्म कांग्रेसले भक्तपुरको चाँगुनारायणमा राप्रपासँग भएको लिखित सहमति कार्यान्वयन गर्नेतर्फ कुनै चासो दिएन । भक्तपुर कांग्रेसले एकतर्फी उक्त सहमति तोडेपछि हस्ताक्षरकर्ता नेता निधिमाथि राप्रपाका नेताहरुले नैतिक प्रश्न तेर्स्याएका थिए ।

    आफ्नो प्रयास विफल भएपछि उनी भक्तपुरको चाँगुनारायणमा राप्रपाका उम्मेदवारको लागि भोट भागिदिने बचन दिन बाध्य भएका हुन् । राप्रपा भक्तपुरका जिल्ला अध्यक्ष रामशरण लामिछानेका अनुसार कांग्रेस नेता निधिले राप्रपाको चुनावी सभालाई सम्बोधन गर्न आउने वचन दिइसकेका छन् ।

    ‘हामीलाई उहाँ (विमलेन्द्र निधि) ले राप्रपाको चुनावी सभालाई सम्बोधन गरेर कांग्रेस नेता तथा कार्यकर्ताहरुलाई समेत राप्रपाका उम्मेदवारको पक्षमा मत दिन आह्वान गर्ने वचन दिइसक्नुभएको छ’, उनले भने, ‘हामी चुनावीसभाको तयारीमा छौं । निश्चित भएपछि उहाँलाई आमन्त्रण गर्छौं ।’

    उनका अनुसार राप्रपासँग भएको लिखित सहमति कार्यान्वयन गर्न र गराउन नेता निधिले धेरै पहल र प्रयास गरेका थिए । तर, कांग्रेस भक्तपुरका जिल्ला सभापति थापा, राप्रपाको सहयोगमा प्रदेश उपनिर्वाचनमा विजयी भइ वागमती प्रदेशको भौतिक पूर्वाधारमन्त्री हुन सफल कृष्णलाल भँडेलको राजनीतिक बेइमानी र धोखाघडीले निधिको प्रयास विफल भयो ।

    उपनिर्वाचनका क्रममा उक्त सहमतिपत्र गोप्य राखियो । त्यस्तै कांग्रेस जिल्ला सभापति दुर्लभ थापाको विशेष आग्रहमा जिल्ला अधिवेशन तथा केन्द्रीय महाधिवेशनसम्म पनि उक्त सहमति सार्वजनिक गरिएन ।

    ‘जिल्ला अधिवेशन र महाधिवेशन भाँडिने डरले त्यसबेलासम्म पनि लिखित सहमति सार्वजनिक नगर्न जिल्ला सभापति थापाले विशेष आग्रह गर्नुभयो’, सहमतिपत्रमा हस्ताक्षरकर्ता राप्रपा नेता दिनेश श्रेष्ठले भने, ‘यसरी धोखा दिने थाहा भएको भए उहिल्यै सहमति सार्वजनिक गर्ने थियौं । विश्वासमा परियो अहिले धोखा खाइयो ।’

    दुई दलबीच भएको सहमतिपत्रमा २ बुँदा र बुँदा नम्बर २ भित्र थप ४ बुँदा छन् । सहमतिको पहिलो बुँदामा २०७६ साल मंसिर १४ गते हुने भक्तपुर जिल्ला क्षेत्र नं १ प्रदेशसभा (क) को उपनिर्वाचनमा राप्रपाले कांग्रेसका उम्मेदवार कृष्णलाल भँडेललाई सहयोग गर्ने र भक्तपुरमा कांग्रेस र राप्रपाबीच जिल्लास्तरीय लोकतान्त्रिक गठबन्धन गठन गर्ने उल्लेख छ । उक्त गठबन्धन आगामी तीनवटै तहको निर्वाचनसम्म कायम रहने सहमतिपत्रमा उल्लेख गरिएको छ ।

    त्यस्तै बुँदा नम्बर २ (क) मा स्थानीय तह निर्वाचनअन्तर्गत चाँगुनारायण नपामा राप्रपाले मेयरसहित अनुकूल ४ वटा वडामा अध्यक्षको उम्मेदवारी दिने र ती उम्मेदवारलाई कांग्रेसले समर्थन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

    बुँदा नं २ (ख) मा चाँगुनारायण नपाको स्थानीय निर्वाचनमा कांग्रेसले उपमेयरसहित पाँचवटा वडामा अध्यक्ष उम्मेदवारी दिने र ती उम्मेदवारहरुलाई राप्रपाले समर्थन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

    कांग्रेस र राप्रपाबीच पहिल्यै लिखित सहमति भएकाले यहाँ सत्ता गठबन्धनका अन्य दलले समय कांग्रेसलाई एकलौटी छाडेका थिए । जसअनुसार यहाँ सत्ता गठबन्धनबीच कुनै भागबन्डा गरिएन । तर, कांग्रेसले चाँगुनारायणमा राप्रपा देखाएर आफूहरुलाई पनि धोखा दिएको गठबन्धनका अन्य दलहरुले गुनासो गरेका छन् । यहाँ कांग्रेसले सत्ता गठबन्धनका दलहरुलाई एउटा वडा सदस्यसमेत भाग दिएन ।

    तर, राप्रपासँगको सहमति कार्यान्वयन नभएपछि वडा नं ६ नगरकोटमा पार्टीले टिकट पठाएर पनि कांग्रेसका कुनै पनि नेता कार्यकर्ताले पार्टीको तर्फबाट उम्मेदवारी दिएनन् । बरु कांग्रेसका दुई स्थानीय नेताले राप्रपाको हलो चिन्ह लिएर उम्मेदवारी दर्ता गराएका छन् । अन्य वडाकाे तुलनामा यहाँ कांग्रेस धेरै कमजाेरसमेत रहेकाे छ ।

    कांग्रेसले एकतर्फी लिखित सहमति भंग गरेपछि शनिबार राप्रपा भक्तपुरले पत्रकार सम्मेलन गरी चाँगुनारायणमा कांग्रेसविरुद्ध आफूहरुले अभियान नै सञ्चालन गर्ने जानकारी दिएको छ ।

    राप्रपा भक्तपुर अध्यक्ष लामिछानेले आफूहरुसँग गरिएको लिखित सहमति पालना नगर्ने कांग्रेसले चुनावमा दिने आश्वासनमा विश्वास नगर्न मतदाताहरुलाई आह्वान गर्ने स्पष्ट पारे । ‘केही पदमा लोभ गर्ने कांग्रेसले भोलि स्थानीय तहको अर्बौं बजेटमा र्‍याल चुहाउँदैन, भ्रष्टाचार गर्दैन भनेर विश्वास गर्न सकिन्छ ?’, नेता भने, ‘हामी जनतालाई यहीं प्रश्न गर्नेछौं र हिजो राष्ट्रघात गर्ने, अहिले राप्रपालाई धोखा दिने कांग्रेसले भोलि चाँगुवासीलाई घात गर्दैन भन्ने के ग्यारेन्टी ?’

    राप्रपाले चाँगुनारायणमा पार्टीका सहायक महामन्त्री रवीन्द्रप्रताप शाहलाई प्रमुख र केन्द्रीय सदस्य मञ्जु कार्कीलाई उपप्रमुखको उम्मेदवार बनाएको छ । त्यस्तै यहाँका नौवटै वडामा अध्यक्षसहित सबै पदमा उम्मेदवारी दिएको छ ।

    पत्रकार सम्मेलनमा प्रमुख उम्मेदवार शाहले चाँगुनारायणमा जिल्लाका नेताहरुले घात गरे पनि कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ताहरुले राप्रपालाई नै मत दिने विश्वास व्यक्त गरे ।

    ‘नेताहरु विश्वासघाती र धोखेबाज निस्के पनि कांग्रेसका स्थानीय कार्यकर्ताहरु नैतिकवान, इमानदार र असल छन् भन्ने मलाई विश्वास छ’, उनले भने, ‘त्यसैले उहाँहरुले मलाई भोट दिएर गुणको बदला गुण तिरेर विजयीसमेत बनाउनुहुन्छ भन्नेमा पूर्ण आशावादी छु ।’

    सहायक महामन्त्री शाहले भक्तपुरको चाँगुनारायणमा कांग्रेसले दिएको धोखाले राप्रपालाई घाटा हुनुभन्दा कांग्रेसले भक्तपुरसँगै देशभर घाटा व्यहोर्नुपर्ने औंल्याए ।

  • रुपन्देही राप्रपाका क्षेत्रीय अध्यक्ष खानसहित ६० जना एमालेमा प्रवेश

    रुपन्देही राप्रपाका क्षेत्रीय अध्यक्ष खानसहित ६० जना एमालेमा प्रवेश

    रुपन्देही । रुपन्देहीको मायादेवी गाउँपालिकाका मुस्लिम अगुवा तथा राष्ट्रिय प्रजातन्त्र पार्टी रुपन्देही क्षेत्र नम्बर ४ ‘ख’ का अध्यक्ष रियाजुद्धिन खान एमालेमा प्रवेश गरेका छन् । पञ्चायतकालमा बर्सौली प्रधानपञ्च स्व.काशिम खानका छोरा उनी यसअघि २०७४ सालको स्थानीय तह निर्वाचनमा राप्रपाबाट गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिइ ५ सय ८० मात्र मतले पराजित भएका थिए ।

    उनको नेतृत्वमा मोहम्मद मुस्ताफा, जितेन्द्र धरिकार, जोखु यादव, तुलसी चाई, समिम खान लगायत करिब ६० जनाको संख्यामा पार्टी प्रवेश गरेको पार्टीको गाउँपालिकाका सचिव लाला लोधले बताए ।

    मायादेवी गाउँपालिका वडानम्बर ५ निवासी खानसहितको टीमलाई पार्टीका केन्द्रीय सचिव छविलाल विश्वकर्मासहित जिल्ला अध्यक्ष तेजेन्द्र केसी तथा केन्द्रीय नेताहरुले स्वागत गरेका हुन् ।

    मुस्लिम समुदायको हक अधिकारको लागि अन्य पार्टीको तुलनामा एमालेको भूमिका महत्वपूर्ण रहेकाले आफुले नेकपा एमाले रोजेको रियाजुद्धिन खानले बताए ।

    एमाले सचिव छविलाल विश्वकर्माले मायादेवी गाउँपालिकामा खानको पार्टी प्रवेशले एमाले थप बलियो भएको बताए । तराईमा एमालेको जनलहरले सबैतिर उत्साह आएको उनको भनाइ थियो ।

    गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार लाला लोधले यसअघि यहाँको स्थानीय सरकारले सम्झनलायक एउटा पनि काम नगरेको बताउँदै आफुले निर्वाचन जिते जनताले अनुभव पाउनेगरी काम गर्ने दावी गरे ।

    यसअघि एमाले अध्यक्ष केपी ओली आफै रुपन्देहीको लुम्बिनीमा आएर ठूलो संख्यामा एमाले प्रवेश गराएका थिए भने एमाले उपाध्यक्ष विष्णु पौडेलले भैरहवामा प्रवेश गराएका थिए ।

  • कांग्रेस परित्याग गरेर राप्रपाका उम्मेदवार बनेका आर्याललाई ज्यान मार्ने धम्की

    कांग्रेस परित्याग गरेर राप्रपाका उम्मेदवार बनेका आर्याललाई ज्यान मार्ने धम्की

    काठमाडौं । नेपाली कांग्रेस परित्याग गरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गरेका सन्तोष अर्याललाई ज्यान मार्ने आएको छ । आर्याललाई परिचित व्यक्तिले धम्की दिएका हुन् ।

    उनलाई ज्यान मार्ने धम्की आएपछि राप्रपाले प्रेस विज्ञप्ति जारी गरी धम्कीप्रति सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ।

    राप्रपाका प्रवक्ता मोहन श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ,‘केही समयअघि नेपाली कांग्रेस परित्याग गरि राप्रपा प्रवेश गरेका र हाल गोकर्णेश्वर५ मा वडा अध्यक्षका उम्मेदवार रहेका सन्तोष अर्याललाई परिचित व्यक्तिले कांग्रेस हराउन हिँडेको भन्दै ज्यान मार्ने धम्की दिएको घटनाप्रति दुःख व्यक्त गर्दछौँ ।’

    अर्याललाई परिचित व्यक्तिले कांग्रेस हराउन हिँडेको भनी ज्यान मार्ने धम्की दिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
    राप्रपालेराजनीतिक दल छान्ने व्यक्तिको निजी अधिकारमाथि धावा बोल्ने काम लोकतन्त्रमा सह्य नहुने बताउँदै दोषीलाई कारबाही गर्न सरकार र निर्वाचन आयोगलाई आग्रह गरेको छ।

    विज्ञप्तीमा उल्लेख गरेको छ,‘राजनीतिक दल छान्ने व्यक्तिको निजी अधिकारमाथि धावा बोल्ने काम लोकतन्त्रमा सह्य हुँदैन । यसबारे स्थानीय प्रशासनलाई जानकारी गराइएको बत्ताइएको छ ।’

    अर्याल काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ का राप्रपाका वडाध्यक्षका उम्मेदवार हुन्।

  • महानगर र उपमहानगरका राप्रपा उम्मेदवारलाई राजेन्द्र लिङदेनले दिए यस्तो निर्देशन

    महानगर र उपमहानगरका राप्रपा उम्मेदवारलाई राजेन्द्र लिङदेनले दिए यस्तो निर्देशन

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले उपत्यकाका उम्मेदवारहरुलाई उच्च मनोबलका साथ चुनावमा होमिन निर्देशन दिएका छन् ।

    काठमाडौं, ललितपुर, भक्तपुर अन्तर्गतका महानगर, उपमहानगर, नगरपालिकाका उमेदवारको भेलालाई सम्बोधन गर्दै लिङदेनले जितका लागि शुभकामना समेत दिए ।

    आगमी स्थानीय तह निर्वाचन राप्रपाका लागि शक्ति देखाउने अवसरका रुपमा आएको उल्लेख गर्दै उनले राप्रपा बन्द कोठामा सीमित हुने पार्टी भएर जनताको मन मस्तिष्कमा बसेको पार्टी हो भने ।

    राप्रपा हुन्छु भनेर जीवनभरी कल्पना समेत नगरेका व्यक्तिहरु अहिले पार्टीमा आउन तँछाडमछाड गरिरहेको बताए ।

    अहिलेको जनलहर कायम राख्दै अकल्पनीय परिणाम निकाल्ने विश्वास व्यक्त गर्दै उनले राप्रपाले नेपालको विकृत राजनीतिमा सुधार ल्याउने अठोट लिएको बताए ।

    उम्मेदवारहरुलाई दिएका निर्देशन यस्ता छन्

    देशमा विद्यमान राजनीतिक विकृतिको कुरा उठाउनु

    राप्रपाले भ्रष्टाचारको जरैदेखि अन्त्य गर्न चाहन्छ, मतदातालाई विश्वास दिलाउनु ।

    घोषणापत्र बारे स्पष्ट भएर जानु

    अन्य दलको भन्दा स्मार्ट घोषणापत्र राप्रपाको छ । नसक्ने हावादारी कुरा गरेको छैनौं ।

    आकाशको तारा झार्ने कुरा गरेका छैनौं, यथार्थपरक, गर्न सकिने र विगतमा चुनाव जितेका स्थानीय तहमा प्रयोग गरेको र अनुभवका आधारमा तयार पारिएको घोषणापत्र छ राप्रपाको

    भ्रष्टाचार गर्दिन, बेइमानी गर्दिन भनेर मानसिक रुपमा तयार हुनुस्

  • नेपाल सरकारका पूर्वसचिव केदार न्यौपाने राप्रपामा प्रवेश

    नेपाल सरकारका पूर्वसचिव केदार न्यौपाने राप्रपामा प्रवेश

    काठमाडौं । नेपाल सरकारका पूर्वसचिव केदार न्यौपाने राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका छन् । निजामती सेवामा लामो समय बिताएका न्यौपाने भूमिसुधार मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सचिव हुँदै युवा तथा खेलकुद मन्त्रालयबाट हालै अवकास भएका थिए ।

    गृह, स्थानीय विकास जस्ता मन्त्रालयको समेत अनुभव संगालेका न्यौपानेलाई मंगलबार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको सदस्यता प्रदान गरी राप्रपामा प्रवेश गराएका हुन् ।

    सो अवसरमा राप्रपाका पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनी, दीपक बोहरालगायतका नेताले न्यौपानेको राप्रपा प्रवेशले पार्टीलाई महत्त्वपूर्ण योगदान पुग्ने बताए ।

    न्यौपानेभन्दा अघि पूर्वसचिव केदारबहादुर अधिकारी पनि राप्रपामा प्रवेश गरिसकेका छन् ।

  • धरानमा कांग्रेस छाडेर राप्रपाबाट उम्मेदवार बनेका अधिकारीको आरोप- टिकटमा ५ लाख मागे

    धरानमा कांग्रेस छाडेर राप्रपाबाट उम्मेदवार बनेका अधिकारीको आरोप- टिकटमा ५ लाख मागे

    इटहरी । २०७४ को स्थानीय चुनावमा नेपाली कांग्रेसबापट धरान उपमहानगरपालिका-१ को वडाअध्यक्ष जितेका रोशन अधिकारी अहिले राप्रपाबाट उम्मेदवार बनेका छन् ।

    उम्मेदवार बन्न ५ लाख मागेकाले आफू राप्रपा प्रवेश गरेको उनले बताए ।

    अधिकारीले नेपाल प्रेससँग भने, ‘२५ दिन अगाडि मलाई पाँच लाख दिएमा मात्रै पुनः वडा अध्यक्ष टिकट निश्चित हुने भन्दै एक श्रेष्ठ थरका मान्छे आएर म र श्रीमतीसग कुरा गरे । मैले पैसा दिने कुरा अस्वीकार गर्दा टिकट दिएनन् ।’

    अधिकारीलाई मात्रै आउट गरेर बाँकी सेटलाई कांग्रेसले टिकट दिएको थियो । वडा सदस्य विवेक प्रसाईंले पनि अधिकारीलाई नै साथ दिएका छन् । यस्तै धरान १४ का नेपाली कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष कृष्णप्रसाद भट्टराईले समेत राप्रपाबाट वडाध्यक्षको टिकट लिएका छन् ।

    आफूलाई आम नागरिकले रुचाए पनि पार्टीले दोहोराउन टिकट नदिएपछि अघिल्लो कार्यकालका बाकी काम पुरा गर्न उमेदवार बनेको भट्टराईले बताए । आफू अध्यक्ष हुँदा पञ्जिकरणदेखि नागरिकता सिफारिसको पैसा नलिएको देखि साप्ताहिक मोतिबिन्दुको शिविर राख्नेजस्ता धेरै जनमैत्री काम भएको भन्दै भट्टराईले त्यही निरन्तरताको लागि नागरिकले आफूलाई चाहेको बताए ।

    ‘जुन पार्टीबाट भएनि उमेदवार भएर आउनुस जिताउँछौं भनेपछि म राप्रपा उमेदवार बनेको हो’, भट्टराईले भने ।

  • वरिष्ठ कलाकार मदनदास श्रेष्ठले दिए राप्रपाबाट काठमाडौंको मेयरमा उम्मेदवारी (तस्बिरहरु)

    वरिष्ठ कलाकार मदनदास श्रेष्ठले दिए राप्रपाबाट काठमाडौंको मेयरमा उम्मेदवारी (तस्बिरहरु)

    काठमाडौं । वरिष्ठ कलाकार मदानदास श्रेष्ठले राप्रपाबाट काठमाडौं महानगरपालिकाको मेयरका लागि उम्मेदवारी दिएका छन् । बाजागाजासहित उम्मेदवारी मनोनयन दर्तास्थल राष्ट्रिय सभागृह पुगेर वरिष्ठ कलाकार श्रेष्ठले मेयरमा उम्मेदवारी दर्ता गराएका हुन् । त्यस्तै राप्रपाबाट उपमेयरमा विनिया मगैयाले पनि उम्मेदवारी दर्ता गरेकी छन् ।

    स्थानीय तह निर्वाचन कार्यतालिकाअनुसार राप्रपासँगै अन्य दलले पनि धमाधम उम्मेदवारी दर्ता गरिरहेका छन् । काठमाडौंसँगै अहिले देशैभर उम्मेदवारी दर्ता भइरहेको छ ।

    हेर्नुहोस् वरिष्ठ कलाकार श्रेष्ठ काठमाडौंको मेयरमा उम्मेदवारी दर्ता गर्न जाँदै गर्दाका तस्बिरहरु

  • विराटनगरको मेयरमा राप्रपाबाट महामन्त्री प्रल्हाद साह उम्मेदवार

    विराटनगरको मेयरमा राप्रपाबाट महामन्त्री प्रल्हाद साह उम्मेदवार

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले विराटनगर महानगरपालिकाको मेयरका लागि पार्टीका महामन्त्री प्रल्हाद साहलाई उमेदवार बनाउने निर्णय गरेको छ । त्यस्तै उपमेयरमा वविता आचार्यलाई उठाउने निर्णय भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

    साह विराटनगरका पूर्वमेयर हुन् ।

    विराटगरमा एमालेले पनि उम्मेदवार टुंगो लगाएको छ । महानगरको मेयरका लागि एमालेले सागर थापा र उपमेयरमा शिल्पा कार्कीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

     

  • ओली र प्रचण्डको गृहनगरमा लिङदेनको ‘क्रस कनेक्सन’

    ओली र प्रचण्डको गृहनगरमा लिङदेनको ‘क्रस कनेक्सन’

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को गृहनगरमा राप्रपाले ‘क्रस तालमेल’ गर्ने भएको छ । दुवै नेताको गृहनगरमा राप्रपाको शक्ति बलियो मानिन्छ । यही शक्तिलाई उपयोग गरेर राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले दुवै नेतालाई कमजोर पार्ने रणनीति लिएका छन् ।

    यसअन्तर्गत एमाले अध्यक्ष ओलीको गृहनगर झापाको दमक नगरपालिकामा राप्रपाले पाँचदलीय सत्तागठबन्धनसँग तालमेल गरेको छ । यसअघि झापामा नेपाली कांग्रेस र माओवादी केन्द्रले तालमेल गरेर १५ वटा पालिकामध्ये १४ मा कांग्रेस र दमकमा माओवादी लड्नेगरी सहमति गरेका थिए ।

    तर, यति गर्दा पनि जित निश्चित नदेखिएपछि सत्ता गठबन्धन दमकमा राप्रपालाई नेतृत्व छोड्न सहमत भइसकेको छ । सहमतिअनुसार अब राप्रपाले नगरप्रमुख पदमा एमालेसँग प्रतिस्पर्धा गर्नेछ भने सत्ता गठबन्धनले उपप्रमुखमा उम्मेदवारी दिनेछ ।

    २०७४ को स्थानीय तह निर्वाचनमा दमक नगरपालिकामा एमाले जितेका थियो । एमालेका रोमनाथ ओलीले १० हजार ८ सय ६ मत ल्याएर विजयी हुँदा दोस्रोमा राप्रपाका रामकुमार थापाले ७ हजार ६ सय ५५ मत ल्याएका थिए । यस्तै माओवादी केन्द्रमा रेवतराज पुरी ६ हजार ८ सय ९८ मतसहित तेस्रो हुँदा कांग्रेसका ढुण्डीराज भण्डारी ५ हजार ५ सय ३९ मतसहित चौथो भएका थिए ।

    यही कारण दमकमा एमाले हराउन सत्ता गठबन्धन पनि दोस्रो शक्ति राप्रपालाई मेयरमा सहयोग गर्न तम्सिएको छ । झापा राप्रपा अध्यक्ष लिङ्देनको पनि गृहजिल्ला हो ।

    राप्रपाबाट अघिल्लोपटक उम्मेदवार भएका थापा नै प्रमुखमा उम्मेदवार भएका छन भने, एमालेले उपमेयर जितेकी गीताकुमारी पौडेललाई उम्मेदवार बनाएको छ ।

    यहाँ माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको गृहनगर भरतपुर महानगरपालिकामा राप्रपाले एमालेलाई सहयोग गर्नेगरी छलफल अगाडि बढाइरहेको छ । यसबाहेक प्रचण्डकै निर्वाचन क्षेत्र पर्ने माडी नगरपालिकामा पनि एमालेसँग तालमेल गरेर जाने राप्रपाको प्रस्ताव छ । चितवन राप्रपाका उपाध्यक्ष विक्रम पाण्डेको जिल्ला हो । प्रचण्ड र उनी एउटै क्षेत्रबाट निर्वाचन लड्ने गर्दछन् ।

    यही कारण राप्रपाले दुवै नगरमा तत्काल प्रमुखमा एमाले उम्मेदवारलाई सघाउने र उपमेयर आफू पाउनुपर्ने र संसदीय निर्वाचनमा सो क्षेत्रमा आफूलाई सघाउनुपर्ने प्रस्ताव राखेको छ ।

    भरतपुरमा सत्तारूढ गठबन्धन दलबाट प्रचण्डपुत्री रेनु दाहाल नै उम्मेदवार बन्ने पक्कापक्की छ, भने एमालेले तर्फबाट विजय सुवेदी उम्मेदवार बनाएको छ ।

    यता राप्रपा अध्यक्ष लिङ्देनको गृहपालिका कचनकवल गाउँपालिकामा राप्रपा हराउन एमाले-कांग्रेस गठबन्धन भएको छ । यहाँ एमालेले अध्यक्षमा कांग्रेसलाई सघाउने भएको छ भने, उपाध्यक्षमा एमालेका उम्मेदवारलाई कांग्रेसले सघाउने भएको छ ।

    २०७४ निर्वाचनमा यहाँ राप्रपाले जितेको थियो । राप्रपाका उम्मेदवार अन्जरा आलमले ५ हजार ८ सय १६ मत ल्याएर विजयी हुँदा कांग्रेसका कालेन्द्र प्रसाद सिंह राजवंशी ५ हजार ३ सय ५३ मतसहित दोस्रो भएका थिए ।

    एमालेका शेरबहादुर खत्रीले ३ हजार ९ सय ७२ मत ल्याएर तेस्रो हुँदा माओवादी केन्द्रका हंसनारायण राजवंशीले एक हजार २ सय ७० मत पाएका थिए ।

  • झापादेखि दार्चुलासम्म- यी हुन् राप्रपाका नगर हाँक्न तम्सिएका उम्मेदवार (सूचीसहित)

    झापादेखि दार्चुलासम्म- यी हुन् राप्रपाका नगर हाँक्न तम्सिएका उम्मेदवार (सूचीसहित)

    काठमाडौं । राजेन्द्र लिङ्देनको नेतृत्वमा देशव्यापी माहौल निर्माण गरिरहेको राप्रपाले विराटनगर र भरतपुरबाहेक चारवटै महानगरपालिकासहित प्रमुख नगरहरूमा उम्मेदवार तय गरेको छ ।

    विराटनगरमा महामन्त्री प्रल्हाद साहलाई उम्मेदवार बनाउने तयारी छ भने भरतपुरमा उपमेयर लिएर एमालेसँग तालमेलको तयारी भइरहेको राप्रपा स्रोतले जनाएको छ । यसपटक राप्रपाले अधिकांश स्थानीय तहमा एक्लै चुनाव लड्ने तयारी गरेको छ ।

    हालसम्म तय भएका राप्रपाका उम्मेदवार यसप्रकार छन् :

    महानगरपालिका

    १. काठमाडौं

    मेयरः मदनदास श्रेष्ठ

    उपमेयर : विनित मगैया

    २. ललितपुर

    मेयरः अष्ट महर्जन

    उपमेयरः स्वर्णिमा शाक्य

    ३. पोखरा

    मेयरः शंकर खराल

    उपमेयरः रञ्जु सेन

    ४. वीरगञ्ज

    मेयरः गिरिश गिरी

    उपमेयरः बिना जयसवाल

    उपमहानगरपालिका

    ५. बुटवल

    मेयरः मृगेन्द्र शेरचन

    ६. घोराही

    मेयरः सरिता देवकोटा

    नगरपालिका

    ७. शुक्लाफाँटा (कन्चनपुर)

    मेयरः जितबहादुर भण्डारी

    उपमेयरः लक्ष्मी चन्द

    ८. बिर्तामोड (झापा)

    मेयरः ध्रुव उप्रेती

    उपमेयरः रन्जु प्याकुरेल

    ९. सिद्धार्थनगर (रुपन्देही)

    मेयरः सागरप्रताप राणा

    १०. देवदह (रुपन्देही)

    मेयरः माधव रिमााल

    ११. तिलोत्तमा (रुपन्देही)

    मेयरः भुवन खनाल

    १२. सैनामैनामा (रुपन्देही)

    मेयरः मीनप्रसाद घिमिरे

    १३. तानसेन (पाल्पा)

    मेयरः सुदीप रेग्मी

    उपमेयरः बिर्जु खाती

    १४. दमक (झापा)

    मेयरः राम थापा

    १५. गौरादह (झापा)

    मेयरः गोपाल पौड्याल

    उपमेयरः भरिपूर्ण राई

    १६. जिरी (दोलखा)

    मेयरः किरण खड्का

    उपमेयरः श्रृष्टी न्यौपाने

    १७. गोदावरी (ललितपुर)

    मेयरः राजकुमार महर्जन

    उपमेयरः रञ्जिता श्रेष्ठ

    १८. मेचीनगर (झापा)

    मेयर :रमेश दाहाल

    उपमेयरः सबिना बजगाई

    १९. बाह्रदशी (झापा)

    मेयरः रामकुमार सिंह राजवंशी

    उपमेयरः निमसरी राजवंशी

    २०. भीमदत्त (कन्चनपुर)

    मेयरः गजेन्द्र चन्द

    उपमेयरः हेलेन श्रेष्ठ

    २१. बेलौरी (कन्चनपुर)

    मेयरः अभिशेक जोशी

    २२. गोकुलेश्वर (दार्चुला)

    मेयरः रामानन्द सरस्वती स्वामी

    २३. मधुवन (बर्दिया)

    मेयरः गिरिराज पुरुष

    २४. ब्यास (तनहु)

    मेयरः दौलत अधिकारी

    २५. भानु (तनहुँ)

    मेयरः शेरजंग अधिकारी

    २६. भिमाद (तनहु)

    मेयरः बिष्णुभक्त खनाल

    २७. शुक्लागण्डकी (तनहु)

    मेयरः बिष्णु थापा

    २८. निजगढ (बारा)

    मेयरः सावित्री देवी भारती

    उपमेयरः बासुदेव तिमल्सिना

    २९. चापाकोट (स्यांजा)

    मेयरः मुन शाह

    ३०. उपमेयरः जीवन पंगेनी

    पुतलीबजार (स्याङजा)

    मेयरः तुलसिंह ठकुरी

    ३१. गोरखा

    मेयरः रुद्रराज पाण्डे

    उपमेयरः सम्झना लामिछाने

    ३२. बूढानीलकण्ठ (काठमाडौं)

    मेयरः निनादेवी भेटवाल

    ३३. कोहलपुर (बाँके)

    मेयरः प्रदीप शाह

    उपमेयरः सावित्रा घिमिरे

    ३४. घोडाघोडी (कैलाली)

    मेयरः निरज मल्ल

  • रुपन्देही समन्वय समिति उपप्रमुख राप्रपामा प्रवेश

    रुपन्देही समन्वय समिति उपप्रमुख राप्रपामा प्रवेश

    रूपन्देही । जिल्ला समन्वय समिति रुपन्देहीका उपप्रमुख पशुपतिनाथ यादव राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेका छन् ।

    तत्कालीन संघीय समाजवादी फोरम, नेपालबाट जिल्ला समन्वय समितिको उपप्रमुखमा निर्वाचित यादव यसअघि जसपा परित्याग गरी नेकपा (एमाले) मा प्रवेश गरेका थिए ।

    एमाले रुपन्देहीका जिल्ला कमिटी सदस्यसमेत रहेका उनी एमाले परित्याग गरी आइतबार राप्रपामा प्रवेश गरेका हुन् ।
    उनलाई नेता दीपक बोहरासहितका नेताहरूले राप्रपामा स्वागत गरेका थिए ।

  • ४ महानगरपालिकामा राप्रपामा उम्मेदवार टुंगिए, वीरगन्जमा पत्रकार गिरिश गिरी

    ४ महानगरपालिकामा राप्रपामा उम्मेदवार टुंगिए, वीरगन्जमा पत्रकार गिरिश गिरी

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले ६ वटा महानगरपालिकामध्ये चारवटाको मेयर उम्मेदवार टुंगो लगाएको छ । राप्रपाले काठमाडौं महानगरको मेयरमा वरिष्ठ कलाकार मदनदाश श्रेष्ठलाई उम्मेदवार बनाउँदा वीरगन्जमा पत्रकार गिरिश गिरीलाई उम्मेदवार बनाएको छ ।

    त्यस्तै ललितपुरमा अष्ट महर्जन, पोखरामा शंकर खराल मेयर पदको उमेदवार तय भएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । उपमेयरमा विनिता मगैया काठमाडौं, स्वर्णिमा शाक्य ललितपुर, बिना जयसवाल वीरगन्ज, रञ्जना सेन पोखरा तय भएका छन् ।

    बिरगन्जको मेयरका उम्मेदवार बनेका पत्रकार गिरीका बुबा बरिष्ठ पत्रकार गोपाल गिरी तत्कालीन बिरगन्ज उपमहानगरपालिकाको मेयर थिए । मागजेति चन्दा नदिएको आरोपमा माओवादीले उनको हत्या गरेका थिए ।

    बाँकी २ महानगर भरतपुर र बिराटनगरका उम्मेदवारको टुंगो आजै अबेरसम्म लाग्नेछ ।

  • सहमति पालना नभए चाँगुनारायणमा कांग्रेस खरानी हुन्छ : राप्रपा

    सहमति पालना नभए चाँगुनारायणमा कांग्रेस खरानी हुन्छ : राप्रपा

    भक्तपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी भक्तपुरले प्रदेशसभाको उपनिर्वाचनका क्रममा आफूसँग गरिएको सहमति पालना नगरे चाँगुनारायणमा नेपाली कांग्रेस खरानी हुने चेतावनी दिएको छ ।

    राप्रपा भक्तपुरका जिल्ला अध्यक्ष रामशरण लामिछानेले हिजो गरिएको सहमति पालना नगरे चाँगुनारायणमा कांग्रेसलाई खरानी बनाइने चेतावनी दिएका हुन् ।

    उनले हिजोको सहमति पालना गर्न कांग्रेस इमानदार हुनुपर्ने र त्यसको लागि आफूहरु प्रतीक्षामा रहेको बताए । ‘दुईतीन चरणमा छलफल गरेका छौं । तर, सहमति पालनामा कांग्रेस इमानदार देखिएको छैन । हामी कांग्रेसको निर्णय कुरिरहेका छौं’, अध्यक्ष लामिछानेले भने, ‘सहमति पालना नगरे चाँगुनारायणमा कांग्रेस खरानी बन्छ । यसले जिल्लाको राजनीतिक दृश्यमै उथलपुथल हुनेछ ।’

    उनले कांग्रेसले घात गरे चाँगुनारायणमा मात्रै होइन जिल्लाका चारै नपाका उसविरुद्ध राप्रपाले अन्य दलसँग चुनावी तालमेल गर्ने स्पष्ट पारे । यसको लागि एमाले र नेपाल मजदुर किसान पार्टीसँग संवाद भइरहेको अध्यक्ष लामिछानेले जानकारी दिए ।

    त्यस्तै सहमतिमा हस्ताक्षर गर्ने राप्रपाका सहमहामन्त्री रवीन्द्रप्रताप शाहले कांग्रेसलाई शनिबारसम्म कुर्ने जानकारी दिए । कांग्रेसले निर्णय नदिए राप्रपाले अरु दलहरुसँग चुनावी तालमेल गर्ने उनले स्पष्ट पारे ।

    प्रदेशसभा उपनिर्वाचनमा एमाले र नेमकिपालाई हराउन कांग्रेसलाई सहयोग गरेको सुनाउँदै सहमहामन्त्री शाहले अहिले कांग्रेस र सत्ता गठबन्धनलाई हराउन एमाले र नेमकिपासँग चुनावी तालमेल गर्नपर्ने अवस्था नआउनेमा आफूहरु विश्वस्त रहेको बताए ।

    कांग्रेससँगको सहमति पालना भए राप्रपाले सहमहामन्त्री शाहलाई नै चाँगुनारायण नगरपालिकाको मेयरमा अघि सार्ने तयारी गरेको छ ।
    यता कांग्रेस जिल्ला सभापति दुर्लभ थापा राप्रपामा फुट आएकाले उससँग चुनावी तालमेल गर्न समस्या भएको बताउँछन् । राप्रपासँग चुनावी तालमेल गर्दा पनि सत्ता गठबन्धनका उम्मेदवार पराजित भए राम्रो सन्देश नजाने उनको भनाइ थियो ।

    ‘राप्रपामा फुट आएको छ । त्यसैले राप्रपाको मत निर्णायक देखिन्न’, सभापति थापाले भने, ‘राप्रपासँग चुनावी तालमेल गर्दा पनि गठबन्धनका उम्मेदवार पराजित भए देशमै राम्रो सन्देश जाँदैन ।’

    कांग्रेसका अरु जिल्ला नेताहरुले राप्रपासँग प्रदेशसभा उपनिर्वाचनमा सहमति–सम्झौता भएको अस्वीकार गरे पनि सभापति थापाले सहमति भएकोलाई भने इन्कार गरेनन् । उनले उम्मेदवारी मनोनयन गर्ने अघिल्लो दिनसम्म एउटा निकास निस्कने बताए ।

    कांग्रेस चाँगुनारायण नगर समितिका सभापति शिवहरि केसीले सत्ता गठबन्धनमै कुरा नमिलेकाले राप्रपासँग पनि सहमति पालनाबारे टुंगोमा नपुगेको जानकारी दिए ।

    उनी विभिन्न चरणमा छलफल र संवाद भए पनि अन्तिम सहमति भइनसकेको बताउँछन् । कांग्रेसबाट चाँगुनारायण नपाको मेयरमा आकांक्षी केसी हाल चाँगुनारायण नपा २ नम्बर वडाका अध्यक्ष हुन् ।

    के छ सहमतिमा ?

    २०७६ साल मंसिर १४ गते भएको भक्तपुर क्षेत्र नं १ प्रदेशसभा (क) को उपनिर्वाचनमा राप्रपाले कांग्रेसका उम्मेदवार कृष्णलाल भँडेललाई सहयोग गर्ने सहमति गरेको थियो । उक्त सहमतिअनुसार राप्रपाको सहयोगमा कांग्रेस उम्मेदवार भँडेल प्रदेशसभा सदस्य निर्वाचितमात्रै भएनन्, सत्ता गठबन्धन बनेपछि बागमती प्रदेशको भौतिक पूर्वाधारमन्त्रीसमेत बन्न सफल भएका छन् ।

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र तत्कालीन राप्रपा संयुक्तका अध्यक्ष पशुपतिशमशेर राणाको उपस्थितिमा २०७६ साल मंसिर ८ गते भएको सहमतिपत्रमा कांग्रेस तत्कालीन उपसभापति विमलेन्द्र निधि, केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत र कांग्रेस भक्तपुरका जिल्ला सभापति दुर्लभ थापाले हस्ताक्षर गरेका छन् ।

    त्यस्तै राप्रपाबाट उच्चस्तरीय कार्यसम्पादन समितिका सदस्यद्वय हरिबहादुर बस्नेत र दिनेश श्रेष्ठ, कार्य सम्पादन समिति सदस्य रवीन्द्रप्रताप शाह र भक्तपुर जिल्ला अध्यक्ष रामशरण लामिछानेले हस्ताक्षर गरेका छन् ।

    उपनिर्वाचनका क्रममा उक्त सहमतिपत्र गोप्य राखिएको थियो । आसन्न स्थानीय तह निर्वाचनको क्रममा कांग्रेसले उक्त सहमति कार्यान्वयनमा उदासीनता देखाएपछि मात्र राप्रपाका नेताहरुले हालै उक्त सहमतिपत्र सार्वजनिक गरेका हुन् ।

    दुई दलबीच भएको सहमतिपत्रमा २ बुँदा र बुँदा नम्बर २ भित्र थप ४ बुँदा छन् । सहमतिको पहिलो बुँदामा २०७६ साल मंसिर १४ गते हुने भक्तपुर जिल्ला क्षेत्र नं १ प्रदेशसभा (क) को उपनिर्वाचनमा राप्रपाले कांग्रेसका उम्मेदवार कृष्णलाल भँडेललाई सहयोग गर्ने र भक्तपुरमा कांग्रेस र राप्रपाबीच जिल्लास्तरीय लोकतान्त्रिक गठबन्धन गठन गर्ने उल्लेख छ । उक्त गठबन्धन आगामी तीनवटै तहको निर्वाचनसम्म कायम रहने सहमतिपत्रमा उल्लेख गरिएको छ ।

    त्यस्तै बुँदा नम्बर २ (क) मा स्थानीय तह निर्वाचनअन्तर्गत चाँगुनारायण नपामा राप्रपाले मेयरसहित अनुकूल ४ वटा वडामा अध्यक्षको उम्मेदवारी दिने र ती उम्मेदवारलाई कांग्रेसले समर्थन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

    बुँदा नं २ (ख) मा चाँगुनारायण नपाको स्थानीय निर्वाचनमा कांग्रेसले उपमेयरसहित पाँचवटा वडामा अध्यक्ष उम्मेदवारी दिने र ती उम्मेदवारहरुलाई राप्रपाले समर्थन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

    हेर्नुस् दुई दलबीच भएको सहमतिपत्र

  • देश बचाउन राप्रपालाई मत दिने समय आयो : राजेन्द्र लिङ्देन

    देश बचाउन राप्रपालाई मत दिने समय आयो : राजेन्द्र लिङ्देन

    रुपन्देही । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा जनताको भविष्यको पार्टी भएको बताएका छन् ।

    राप्रपाले बुटवलमा बिहीबार आयोजना गरेको चुनावी सभामा बोल्दै अध्यक्ष लिङ्देनले देश बचाउने र बनाउने मुद्दामा राप्रपा प्रतिबद्ध रहेकाे बताएका हुन् ।

    ‘देशभन्दा ठूलो र माथि कोही नभएकाले देश बचाउन कांग्रेस, एमाले र माओवादीका विरुद्ध राप्रपालाई मत दिने समय आयो’, उनले भने, ‘गएको चुनावमा ठीक पार्टी र ठीक नेता चुन्न नसकेकाले देश र जनताले दुर्गति भोग्नुपरेको छ । नेपाली जनताले त्यो विषय प्रष्ट बुझेका छन्, अहिलेको जनलहरले त्यो प्रस्ट पारेको छ ।’

    कांग्रेस, एमाले र माओवादीले पाएसम्म ऋण ल्याई भत्ता खाएर देश चलाएको आरोप लगाउँदै लिङ्देनले भने, ‘राजनीतिक दलको विकल्पमा राप्रपा आएको हो । हुँदा खाँदाको राजतन्त्र र हिन्दू राष्ट्र फाल्ने निर्णय गलत भएकाले राप्रपा जनतासँग सही एजेण्डा लिएर चुनावमा मत माग्न आएको छ । कांग्रेस, एमाले र माओवादीका कारण देश असफल राष्ट्रको बाटोतर्फ गएको छ । नेपाली जनताले बुझेका छन् । नबुझेकालाई हामी बुझाउने छौं ।’

    संघीयताले देशको ऋण र कर बढेको बताउँदै उनले कर तिरेर पनि जनताले केही नपाएको औंल्याए । राष्ट्रघातीहरुलाई हराउन बाउबाजेको पार्टी राप्रपालाई भोट दिन उनले आग्रह गरे ।

    राप्रपाका केन्द्रीय उपाध्यक्ष ध्रुवबहादुर प्रधानले देशको नेतृत्व गर्ने असल नेतृत्व नहुँदा देश र जनताले दुःख पाएको बताए । उनले राष्ट्रवादी शक्ति राप्रपा भएकाले राप्रपाको नेतृत्वलाई विश्वास गर्न आग्रह गरे ।

    राष्ट्रिय प्रजातन्त्र पार्टीका सल्लाहकार समिति अध्यक्ष निरञ्जन थापाले चुनावमा राप्रपाबाहेक अन्य पार्टीहरुलाई जनतासँग भोट माग्ने अधिकार नभएको दावी गरे । मुलुकका लागि राजा र राजतन्त्र चाहिने उनको तर्क थियो ।

    कार्यक्रममा राप्रपाका सहायक महामन्त्री ताहिर अली, केन्द्रीय सदस्य रेखा थापा, राप्रपा लुम्बिनी प्रदेश अध्यक्ष प्रदीपकुमार उदय, पुनराम पोखरेललगायतले भ्रष्टाचारको अन्त्य, मुलुकको राष्ट्रिय स्वाधीनता र एकताका लागि राप्रपालाई एकपटक अवसर दिनका लागि मत दिन आग्रह गरेका थिए ।

  • राप्रपाबाट मृगेन्द्रकुमार शेरचन बुटवल उपमहानगरकाे प्रमुख उम्मेदवार

    राप्रपाबाट मृगेन्द्रकुमार शेरचन बुटवल उपमहानगरकाे प्रमुख उम्मेदवार

    रुपन्देही । राष्ट्रिय प्रजातन्त्र पार्टीले रुपन्देहीको बुटवल उपमहानगरपालिकाको प्रमुखमा मृगेन्द्रकुमार शेरचनलाई उठाउने घोषणा गरेको छ।

    राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन सहभागी जनसभामा लुम्बिनी अध्यक्ष प्रदीप उदयले बिहीबार सञ्चार उद्यमी शेरचनलाई बुटवल उपमहानगरपालिकाकाे प्रमुख उठाउने सार्वजनिक घाेषणा गरेका हुन् ।

    सभामा नेता उदयले तिलोत्तमा नगरपालिकामा युवा नेता तथा व्यवसायी भुवन खनाललाई उठाउने सर्वसम्मत निर्णय गरिएको छ। खनाल भलवारीस्थित होटल हिडन प्यालेसका सञ्चालक हुन् ।

    त्यसैगरी उनले सिद्धार्थनगरमा सागरप्रताप राणा र देवदहको प्रमुखमा व्यवसायी माधव रिमाललाई नगर प्रमुखकाे उम्मेदवार बनाउने घोषणासमेत गरे ।

  • राप्रपाबाट काठमाडौंको मेयर उम्मेदवारमा मदनदास श्रेष्ठ लगभग फाइनल, ललितपुरमा दुई दावेदार

    राप्रपाबाट काठमाडौंको मेयर उम्मेदवारमा मदनदास श्रेष्ठ लगभग फाइनल, ललितपुरमा दुई दावेदार

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंको मेयरमा दिग्गज कलाकार मदनदास श्रेष्ठलाई टिकट दिने तयारी गरेको छ । अन्तिम निर्णय हुन बाँकी रहे पनि श्रेष्ठको नाममा करिब सहमति जुटेको पार्टी प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

    ‘घोषणा भइसकेको अवस्था होइन, तर ९० प्रतिशत सम्भावना मदनदासजीको छ’, उनले भने ।

    मदनदास राप्रपाका सक्रिय नेता भने होइनन् । उनी राप्रपा शुभेच्छुकका रुपमा पार्टीको चियापान समारोहमा सहभागी हुने गर्थे । देशको कलाकारितालाई पनि सम्मान गर्ने तथा पार्टीको दायरा फराकिलो बनाउने सोचले उनलाई मेयरमा उठाउन लागिएको हो ।

    श्रेष्ठका अनुसार राप्रपाले भोलि देशभरका सबै महानगरपालिकाका उम्मेदवारहरु टुंगो लगाउने छ । ललितपुर महानगरपालिकामा दुई दावेदार देखिएका छन् । जिल्ला अध्यक्ष अष्ट महर्जन र केही दिनअघि माओवादी केन्द्र छोडेर राप्रपामा प्रवेश गरेकी हसिना शाक्यले मेयरमा दावेदारी प्रस्तुत गरेका छन् । उनीहरुमध्ये एकजनाको नाममा भोलि निर्णय हुनेछ ।

    बुटबल उपमहानगरपालिकामा राप्रपाको मेयर उम्मेदवारमा बुधबार मृगेन्द्र शेरचनको नाम घोषणा गरिएको छ । यस्तै भैरहवामा सागरप्रताप राणा र पोखरामा विश्व हिन्दू महासंघका उपाध्यक्षसमेत रहेका शंकर खनालको नाम फाइनल भएको छ ।

  • सिद्धार्थनगरको मेयरमा राप्रपाबाट राणा सर्वसम्मत

    सिद्धार्थनगरको मेयरमा राप्रपाबाट राणा सर्वसम्मत

    रूपन्देही । रूपन्देहीको सिद्धार्थनगर नगरपालिकाको मेयरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट सागर प्रताप राणा सर्वसम्मत सिफारिस भएका छन् । उनी २०५४ सालमा सोही नगरपालिकामा मेयर बनेका थिए ।

    राप्रपा रुपन्देहीका अध्यक्षसमेत रहेका राणालाई सिद्धार्थनगर नगर समिति समितिले सर्वसम्मत रुपमा नगर प्रमुखको उम्मेदवारमा सिफारिस गरेको पार्टीका रुपन्देही जिल्ला उपाध्यक्ष तथा जिल्ला निर्वाचन परिचालन समितिका संयोजक अजयकुमार गुप्ताले बताए ।

    राप्रपा नेता दीपक बोहोराको निर्वाचन क्षेत्रमा रहेको यो नगरपालिकामा कांग्रेस र जसपाले अलग अलग उम्मेदवार खडा गरेका छन् । अघिल्लो पटक एमालेले जितेको यो पालिकामा एमाले, कांग्रेस, जसपा, राप्रपाको बलियो प्रतिस्पर्धा छ ।

  • राप्रपाको घोषणापत्र : सुत्केरीलाई ३ हजार भत्तादेखि छात्रालाई सेनिटरी प्याडसम्मका आश्वासन (भिडिओ)

    राप्रपाको घोषणापत्र : सुत्केरीलाई ३ हजार भत्तादेखि छात्रालाई सेनिटरी प्याडसम्मका आश्वासन (भिडिओ)

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय चुनावलाई लक्षित गर्दै आफ्नो प्रतिबद्धता सार्वजनिक गरेको छ ।

    ‘हाम्रै जीवनकालमा सबल समृद्ध र नवीन नेपाल निर्माण गर्न सम्भव छ’ भन्ने नारासहितको प्रतिबद्धता पत्र आज पार्टी अध्यक्ष राजेन्द्र लिङदेनले सार्वजनिक गरेका हुन् ।

    परम्परागत रूपमा चलिआएका मूल्यमान्यतालाई निरन्तरता दिँदै समयानुकूल सुधार गर्ने राप्रपाको प्रतिबद्धता पत्रमा उल्लेख छ । शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधारलगायतमा उच्च प्राथमिकता दिने तथा भ्रष्टाचारमा शून्य सहनशीलता अपनाइने भनिएको छ ।

    राप्रपाले आफूले जितेका स्थानीय तहमा ६ महिनाभित्र विपन्न परिवारको पहिचान गर्ने तथा सबै स्थानीय ऐनको निर्माण तथा परिमार्जन गरिसक्ने जनाएको छ ।

    यस्तै, हरेक वडामा स्वास्थ्य चौकी, तथा प्रसूति सेवा दिने, हरेक स्थानीय तहमा न्यूनतक एक सुलभ औषधि पसल खोल्ने, किशोरीहरूलाई पाठेघरको क्यान्सरविरुद्ध खोप दिने लगायतका कार्यक्रम समेटिएका छन् । निम्न आय भएका हरेक सुत्केरीलाई तीन महिनासम्म ३ हजार रुपैयाँ मासिक भत्ता दिने आश्वासन राप्रपाले दिएको छ ।

    छात्राहरूलाई निशूल्क सेनिटरी प्याड उपलब्ध गराउने तथा छात्रा शौचालय अनिवार्य गर्नेजस्ता योजनाहरू पनि छन् ।

    राप्रपाले १२ कक्षासम्म पूर्ण निःशुल्क बनाउने तथा सबै स्थानीय तहमा प्राविधिक विद्यालय खोल्ने जनाएको छ । १–१ प्रतिभाशाली विद्यार्थीलाई चिकित्सा शास्त्र र इन्जिनियरीमा छात्रवृत्ति दिने भनिएको छ ।

    अध्यक्षले लिङदेनले आफ्नो पार्टीको प्रतिबद्धता पत्र ठूलाठूला आश्वासनहरूले भरिएको लम्बेतान नभएर पार्टीले पूरा गर्न सक्ने विषयहरू मात्र समेटेर छोटो छरितो बनाइएको बताए । उनले राजतन्त्र र हिन्दू राष्ट्र पुनर्स्थापनाको एजेन्डा पार्टीको आधार स्तम्भ रहेको उल्लेख गरे ।

  • लिङदेनको नेतृत्वमा उत्साहित राप्रपा, आमसभामा देखिएको भिड भोटमा बदलिएला ?

    लिङदेनको नेतृत्वमा उत्साहित राप्रपा, आमसभामा देखिएको भिड भोटमा बदलिएला ?

    काठमाडौं । भन्ने गरिन्छ कि, राजनीतिक दलहरूप्रति जनतामा चरम वितृष्णा छ । सामाजिक सञ्जालमा नेताहरूलाई गाली गरेर मानिसहरू थाक्दैनन् । तर, तीनै दलले आयोजना गर्ने सभामा तीनै नेताका भाषण सुन्न भने जता पनि भीड नै देखिन्छ ।

    कांग्रेस, एमाले माओवादीजस्ता ठूला दलले आयोजना गर्ने सभामा भीड जम्मा हुनु त्यति ठूलो कुरा होइन । तर, गत चुनावमा राष्ट्रिय दलको हैसियतसमेत गुमाएको राष्ट्रिय प्रजातन्त्र पार्टीले समेत ठूला दलहरूकै हाराहारीमा भीड जम्मा गरिरहेको छ । पछिल्लो समय राप्रपाले गरेका सभाहरूको उपस्थिति यदि स्वतःस्फूर्त हो भने आगामी चुनावहरूमा यो पार्टीले ठूला दलहरूको टाउको नदुखाउला भन्न सकिन्न ।

    दुई महिनाअघि सम्पन्न भएको केन्द्रीय महाधिवेशनबाट नेतृत्व परिवर्तन भएसँगै राप्रपामा नयाँ रक्तसञ्चार भएको थियो । जनजाति नेता राजेन्द्र लिङदेन अध्यक्ष बनेका छन् भने पुराना हस्ति कमल थापा पाखा लागेका छन् । राप्रपाले बोकेका एजेन्डाहरू भने पुरानै छन् । राजसंस्था र हिन्दू राष्ट्रको पुनर्स्थापना तथा संघीयताको खारेजी यो पार्टीको मूल एजेन्डा हो जसलाई परिवर्तन पक्षधरहरू प्रतिगामी मान्छन् ।

    चुनाव घोषणा भएसँगै राप्रपाले पछिल्लो समय देशव्यापीरुपमा आमसभाहरू गर्दै आएको छ । अध्यक्ष लिङदेन आफैँ सभाहरूमा भाषण गर्न पुगिरहेका छन् । ती सभामा हजारौँको उपस्थिति देखिने गरेको छ । यद्यपि, मूलधारका सञ्चारमाध्यममा राप्रपाले विवेकशील साझाको जति पनि महत्त्व पाउँदैन ।

    प्रतिगामी एजेन्डा बोकेर पूर्वपञ्चहरुको पार्टी भनेर चिनिन्छ राप्रपा । देशमा गणतन्त्र स्थापनापछि लामो समय त यो पार्टी राजनीतिक बहिष्करणमा नै पर्‍यो । अत्यन्त प्रतिकुल अवस्थामा तत्कालीन अध्यक्ष कमल थापाले राजसंस्था पुनर्स्थापनाको एजेन्डालाई जीवित राखेका थिए । तर, अहिले उनी नेपालमा राजा फर्किन नसक्ने लाइनमा उभिएका छन् र गणतन्त्रवादीको लाइनमा उभिएका छन् । उनले खोलेको पार्टी राप्रपा नेपालले एमालेको सूर्य चुनाव लिएर चुनाव लड्ने तयारी गरेको छ ।

    दुई महिनाअघि सम्पन्न भएको केन्द्रीय महाधिवेशनबाट नेतृत्व परिवर्तन भएसँगै राप्रपामा नयाँ रक्तसञ्चार भएको थियो । जनजाति नेता राजेन्द्र लिङदेन अध्यक्ष बनेका छन् भने पुराना हस्ति कमल थापा पाखा लागेका छन् । राप्रपाले बोकेका एजेन्डाहरू भने पुरानै छन् ।

    राप्रपाले पनि एमालेसँग हात मिलाउन खोजेको थियो । तर, एमाले र कमल थापाको सहकार्यले त्यो सम्भावनालाई टाढा धकेलेको छ । त्यसैले सम्भवतः राप्रपा एक्लै चुनावमा जानेछ । एक्लै लड्दा पनि सुखद नतिजा ल्याउनेमा राप्रपा नेताहरू आशावादी देखिन थालेका छन् । कमल थापा निस्कँदा पार्टीलाई तात्त्विक असर नपरेको उनीहरूको बुझाइ छ ।

    २०७० सालको संसदीय चुनावमा राप्रपा नेपालको पक्षमा सानोतिनो लहर आएको थियो । त्यस बेला समानुपातिकतर्फ २५ सिट जितेको राप्रपा नेपालले २०७४ सालको चुनावमा भने धक्का खायो । स्थानीय तह, प्रदेश र संघीय कुनै पनि चुनावमा उल्लेख्य नतिजा ल्याउन सकेन ।

    प्रतिनिधिसभामा नेकपा एमालेको सहयोगले झापा–३ मा लिङदेन निर्वाचित हुनुबाहेक थप सिट जित्न त परै जाओस्, राप्रपाका उम्मेदवार प्रतिस्पर्धामै देखिएन । समानुपातिकतर्फ ३ प्रतिशत मत नपुर्‍याउँदा राष्ट्रिय पार्टीको हैसियत बनाउन पनि चुक्यो ।

    यही राप्रपाले पछिल्ला गतिविधिमा भने भीड उतार्न थालेको छ । जनआन्दोलनबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी तथा समानुपातिक प्रणाली, संविधानमार्फत बद्लिएको राजनीतिक परिवेशमा राजतन्त्रको वकालत गर्ने पार्टीका कार्यक्रममा देखिएको भीडले धेरैलाई सोच्न बाध्य बनाएको छ ।

    राप्रपाको यो भीडमा पूर्व राजसंस्थाको पनि हात रहेको कतिपयले बताउने गर्छन् । पूर्वराजसंस्था आर्थिक लगानीसमेत गरेर आरोप लगाउने जमात पनि व्यापक छ ।

    पार्टीका प्रवक्ता मोहन श्रेष्ठ मुख्य तीन कारणले राप्रपामा जनताको आकर्षण बढेको बताउँछन् । पहिलो कारण भनेको २०६२/०६३ पछि मुलुकले कोरेको मार्गचित्रलाई ‘रिभ्यू’ गर्ने बेला भएकाले यस्तो भीड आफ्नो पार्टीतिर आइरहेको उनको बुझाइ छ ।

    ‘नेपालमा बेलाबेला जनताको मनोविज्ञान परिवर्तन भइरहन्छ । २०६२/०६३ मा देशले जुन मार्गचित्र अबलम्वन गर्‍यो, त्यो गलत थियो भन्ने जनताले बुझ्न थालेका छन्,’ उनले भने, ‘त्यही भएकाले त्यसको रिभ्युका लागि जनताले राप्रपालाई रोज्न थालेका छन् ।’

    दोस्रो कारण भनेको जनतामा हिन्दुराष्ट्र र राजतन्त्रप्रतिको आस्था बढ्नु रहेको प्रवक्ता श्रेष्ठको धारणा छ ।

    ‘माओवादीको हिंसात्मक आन्दोलनले त्रस्त भएका जनताले यदि देशमा शान्ति र स्थिरता कायम हुनेभए गणतन्त्र र धर्मनिरपेक्षता भएपनि सही भनेर त्यसमा जान तयार भएका हुन्,’ उनी भन्छन्, ‘डेढ दशकमा त्यो सबै देखियो । तर न शान्ति भयो र स्थिरता । त्यसैकारण जनताले आफ्नो प्यारो राजतन्त्रतर्फ नै ध्यान फर्काएका छन् ।’

    यस्तै, राप्रपाको पछिल्लो नेतृत्व परिवर्तनले पनि नयाँ उभार आएको श्रेष्ठ बताउँछन् । वर्षौसम्म एउटै व्यक्तिले नेतृत्व सम्हाल्दा उत्पन्न वितृष्णा लिङ्देन अध्यक्षमा निर्वाचित भएर आउँदा हटेको उनको भनाइ छ ।

    श्रेष्ठले भने, ‘उहाँले दुई कार्यकाल अध्यक्ष, दुई कार्यकाल देशको नेतृत्व भनेर एजेण्डा अघि सार्नुभएको छ । जसमा परिवर्तन चाहने जनताको कुरा छ ।’

    राप्रपा नेपालले एमालेसँग चुनावी तालमेल गर्दैछ । एमालेकै चुनाव चिन्ह सूर्य लिएर राप्रपा नेपालका उम्मेदवारहरु मैदानमा उत्रिने छन् । जबकि एजेन्डाका हिसाबले एमाले र राप्रपा नेपाल फरक धारका पार्टी हुन् ।

    स्थानीय तह निर्वाचनमा राप्रपाले उल्लेख्य सिट जित्ने र लोकप्रिय मत हासिल गर्ने उनले दाबी गरे । अहिलेकै अवस्थामा संसदीय चुनाव भए पहिलो दल नै बन्नेसमेत उनको दाबी छ ।

    राप्रपाको यो भीडमा पूर्व राजसंस्थाको पनि हात रहेको कतिपयले बताउने गर्छन् । पूर्वराजसंस्था आर्थिक लगानीसमेत गरेर आरोप लगाउने जमात पनि व्यापक छ । राप्रपामा लिङ्देनसँग अध्यक्षमा पराजित भएका पूर्वअध्यक्ष कमल थापाले शितलनिवासका कारण आफू हारेको बताएका थिए ।

    कतिपय विश्लेषकहरु चाहिँ पुराना दल र नेताहरुको प्रवृत्तिबाट आजित भएको ‘फ्रस्टेड’ जनमत राजा नै ठीक भन्ने मनस्थितिमा पुगेको छ । त्यही मनस्थितिले राप्रपालाई फाइदा मिलेको उनीहरु तर्क गर्छन् ।

    वरिष्ठ पत्रकार जीवराम भण्डारीले लामो समय शासन गरेका नेपाली कांग्रेस र कम्युनिष्टको विकल्प खोज्नेहरूको भीड अहिले राप्रपामा देखिन थालेको बताए ।

    ‘३१/३२ वर्षदेखी कि कांग्रेस कि कम्युनिष्टले देशको शासन सञ्चालन गरे, तर जनतालाई खुशी पार्न सकेनन् । उनीहरुसँग दिक्क भएका जनता अहिले विकल्पको खोजीमा छन्,’ भण्डारीले भने, ‘यसका लागि तत्कालको जल्दोबल्दो बिकल्प राजेन्द्र लिङ्देन देखिएका हुन् । राप्रपाप्रति आकर्षणको मूख्य कारण यही हो ।’

    यद्यपि, देशमा विकल्प नखोज्ने जनमत नै प्रभावशाली रहेको उनी बताउँछन् ।

    ‘सत्ता चलाएका पार्टीसँग लाभ लिएर बसेकाहरू विकल्प खोज्दैनन् । अन्धभक्त हुन्छन् । जो तटस्थ छ, फाइदा लिएको छैन, उसले विकल्प खोज्छ,’ उनले भने ।

    यसबाहेक अर्को मुल आकर्षण हिन्दू धर्मको एजेण्डा पनि रहेको वरिष्ठ पत्रकार भण्डारीको बुझाई छ ।

    उनले भने, ‘नेपालमा हिन्दू धर्मालम्बीको संख्या ठूलो छ । यसबाहेक ओमकार परिवार झन् भयानक छ । उनीहरूका लागि यो मुद्दा प्रियकर हुनु स्वभाविक हो ।’

    हिन्दू राष्ट्र ब्राह्मण/क्षेत्रीको मात्र एजेन्डा हो भन्ने बुझाइ रहेका बेला राप्रपा अध्यक्ष लिङ्देनले एक लिम्बुको छोरो भएर पनि यो मुद्दा उठाएकाले उनीप्रति बाहुन–क्षेत्रीकै आकर्षण बढेको भण्डारीले बताए । अर्को कारण चाहिँ प्रमुख दलहरूबीचमा अप्राकृतिक गठबन्धन पनि एक रहेको उनी बताउँछन् ।

    ‘अहिले कम्युनिष्ट र कांग्रेस मूल प्रतिस्पर्धी नै हुन् । उनीहरूबीचमै गठबन्धन हुँदा त्यसको असन्तुष्टीको फाइदा राप्रपा वा विप्लवजस्ता शक्तिलाई पुग्छ नै,’ उनले थपे ।

    विभाजनको असर कति ?

    महाधिवेशन लगत्तै राप्रपा विभाजित बनेको छ । कहिल्यै पार्टी नफुटाउने भन्दै गीता छोएर कसम खाएका पूर्व अध्यक्ष कमल थापा राप्रपाबाट अलग्गिएर नयाँ पार्टी खोलेका छन् । उनले बनाएको राप्रपा नेपालले माउ पार्टीलाई कति हानी गर्ला भन्ने प्रश्न पनि ।

    राप्रपा नेपालले एमालेसँग चुनावी तालमेल गर्दैछ । एमालेकै चुनाव चिन्ह सूर्य लिएर राप्रपा नेपालका उम्मेदवारहरु मैदानमा उत्रिने छन् । जबकि एजेन्डाका हिसाबले एमाले र राप्रपा नेपाल फरक धारका पार्टी हुन् ।

    मकवानपुर लगायतका एकाध जिल्लामा बाहेक अन्यत्र राप्रपा नेपालको उपस्थिति नरहेको राप्रपा नेताहरु बताउने गर्छन् । राजसंस्थाको एजेन्डा त्यागिसकेकाले सो पार्टीले राप्रपालाई कुनै असर नपुर्याउने उनीहरुको तर्क छ ।

    ‘हाम्रो मुख्य एजेन्डा राजसंस्था पुनर्स्थापना हो । उहाँहरुले यो एजेन्डा त्यागिसक्नुभएको छ । त्यसैले हाम्रो भोट बैंक प्रभावित हुँदैन,’ राप्रपाका एक नेताले भने ।

  • स्थानीय तह निर्वाचन : घोडाघोडीमा राप्रपाका यी हुन् उम्मेदवार

    स्थानीय तह निर्वाचन : घोडाघोडीमा राप्रपाका यी हुन् उम्मेदवार

    कैलाली । राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी स्थानीय तह निर्वाचनमा कैलालीको घोडाघोडी नगरपालिकामा उम्मेदवारको टुङ्गो लगाएको छ ।

    राप्रपाबाट घोडाघोडी नगरपालिका प्रमुखमा निराज मल्ल सर्वसम्मत भएका छन् । मल्लकै नेतृत्वमा सोमबार वडाध्यक्षहरुको पनि उम्मेदवारी सार्वजनिक गरिएको हो ।

    १२ वडामध्ये केही वडामा उम्मेदवार घोषणा गरिएको छैन । बाँकी रहेका वडाध्यक्ष र वडा सदस्यहरुको नाम वैशाख ८ गतेसम्म टुङ्गो लगाउने राप्रपा कैलालीले बताएको छ ।

    घोषणा गरिएअनुसार वडा नम्बर ३ मा रामनाथ चौधरी अध्यक्ष उम्मेदवार बन्ने भएका छन् । अन्यमा सहमति हुन सकेको छैन । ४ नम्बरको अध्यक्षमा बमबहादुर बुढा, महिला सदस्यमा गौरा कठायत, दलित सदस्यमा सीता बिक र सदस्यहरुमा गणेश रतौकी, देवराज बुढा रहेका छन् ।

    ५ को अध्यक्षमा देवबहादुर नेगी र दलित महिलामा भजना पार्की रहेका छन् । ८ को अध्यक्षमा खडकबहादुर बम, महिला सदस्यमा पवित्रा ओली र सदस्यहरुमा गङ्गाराम जैसी र गोविन्द बम रहेका छन् ।

    वडा नं १० को अध्यक्षमा सुरेशकुमार कठायत, सदस्यमा चेतराम चौधरी र दीपक बमले उम्मेदवारी घोषणा गरेका छन् । ११ को वडा अध्यक्षमा नवीनप्रकाश उपाध्याय र १२ को अध्यक्षमा डेबिट कठरिया, सदस्य राजेश बखरिया, कालीचरण चौधरी र महिला सदस्यमा फागुनीदेवी चौधरी हुने भएका छन् ।

    नगर प्रमुखको उम्मेदवारी घोषणा गर्दै मल्लले शिक्षा १२ कक्षासम्म निःशुल्क गर्ने बताए । स्वास्थ्यतर्फ निःशुल्क एम्बुलेन्स र नगर बसको व्यवस्था गर्ने उनले जानकारी दिए । किसानका लागि मलको सहज व्यवस्थापन, बजारीकरण र कृषि समस्या समाधान गर्ने मेयरका प्रत्यासी मल्लले बताए ।

  • लिङदेन भन्छन्- राप्रपा आफ्नै बुतामा लड्छ, मौका पाउनासाथ राजसंस्था र हिन्दू राष्ट्रको घोषणा गर्छ (भिडिओ)

    लिङदेन भन्छन्- राप्रपा आफ्नै बुतामा लड्छ, मौका पाउनासाथ राजसंस्था र हिन्दू राष्ट्रको घोषणा गर्छ (भिडिओ)

    जनकपुर । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले स्थानीय तहको निर्वाचनमा कुनैपनि दलसँग तालमेल नहुने प्रष्ट्याएका छन् ।

    आइतबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष लिङ्देनले आसन्न स्थानीय चुनावमा राप्रपा आफ्नै बलबुतामा लड्ने बताए ।

    अगाामी निर्वाचनमा पार्टीले अधिकांश स्थानमा जित्ने उनको दाबी छ ।

    ‘राप्रपाले मौका पाउनेबित्तिकै नेपालमा राजसंस्था ल्याउने र हिन्दू राष्ट्र समेत घोषणा गर्नेछ । नयाँ सम्झौताअन्तर्गत राष्ट्रप्रमुख वा अभिभावकीय संस्थाको रूपमा राजसंस्था रहने र जनताबाट निर्वाचित जनप्रतिनिधिले देशको शासन व्यवस्था चलाउने नीति राप्रपाको छ’, लिङदेनले भने ।

    धनुषाको विरेन्द्रबजारमा पार्टी प्रवेश एवम् स्थानीय तह निर्वाचन केन्द्रित कार्यक्रमलाई सम्बोधन कार्यक्रममा सहभागी हुन अध्यक्ष लिङ्देन र पार्टीकी केन्द्रीय सदस्य एवम् नायिका रेखा थापा जनकपुर आइपुगेका हुन् ।

  • चितवनमा शक्ति प्रदर्शन गर्दै राप्रपा, पारस बसपार्कमा ५० हजार बढी मान्छे उतार्ने दाबी

    चितवनमा शक्ति प्रदर्शन गर्दै राप्रपा, पारस बसपार्कमा ५० हजार बढी मान्छे उतार्ने दाबी

    भरतपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीले शुक्रबार चितवनको भरतपुरमा आमसभा गर्दैछ । केन्द्रीय बस टर्मिनल (पारस बसपार्क) मा हुने आमसभामा ५० हजार बढी सर्वसाधारण सहभागी हुने राप्रपा चितवनले दाबी गरेको छ ।

    आमसभास्थलमा चितवन र छिमेकी जिल्लाबाट नेता, कार्यकर्ता तथा सर्वसाधारण आउने क्रम सुरु भएको छ ।

    आमसभामा राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनसहित शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । केन्द्रीय उपाध्यक्ष विक्रम पाण्डे बिहीबार नै चितवन आइसकेका छन् । केन्द्रीय अध्यक्ष लिङदेन, उपाध्यक्ष हेमजंग गुरुङ, महामन्त्री डा. धवलशमशेर राणा, ज्ञानेन्द्र शाही, केन्द्रीय सदस्य रेखा थापा बिहान ११ बजे चितवन आइपुग्ने कार्यक्रम छ ।

    आमसभाको औपचारिक कार्यक्रम दिउँसो साढे १२ बजे सुरु हुने राप्रपा चितवनका अध्यक्ष रुद्रप्रसाद ढकालले जानकारी दिए । आमसभास्थल बसपार्कको खुला चौरलाई ५ दिन लगाएर सफा गर्ने, सम्याउने काम भएको थियो । आमसभा हुने भएपछि राप्रपाले चोक तथा बसपार्क आसपास क्षेत्रमा राप्रपाका झण्डाहरु राखेर सजाइएको छ ।

    आमसभामा आदिवासी, जनजातिहरुको मौलिक नृत्य, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरुको प्रस्तुतिसमेत हुने जनाइएको छ । स्थानीय पञ्चेबाजा, झाँकी, र्‍यालीसहित स्वःस्फुर्त सहभागी हुँदैछन् ।

  • लिङ्देनको टिप्पणी- कमल थापा एमालेमा विलय हुनुभयो, राप्रपालाई फाइदा हुन्छ

    लिङ्देनको टिप्पणी- कमल थापा एमालेमा विलय हुनुभयो, राप्रपालाई फाइदा हुन्छ

    काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा नेपालका अध्यक्ष कमल थापाले सूर्य चिन्ह बरण गरेर एमाले प्रवेशको थालनी गरेको भन्दै यसबाट राप्रपालाई फाइदा हुने दाबी गरेका छन् ।

    राप्रपा नेपालले आगामी स्थानीय चुनावमा सूर्य चिन्हबाटै लड्ने र उम्मेदवार नभएका ठाउँमा सूर्य चिन्हमै मतदान गर्ने सहमति गरेकोमा लिङ्देनले यसलाई एमाले प्रवेशको तयारी भनेका छन् ।

    नेपाल प्रेससँग कुरा गर्दै अध्यक्ष लिङ्देनले भने– उहाँको यो एमाले प्रवेशको पूर्व तयारी हो ।

    सूर्य चिन्हमा मतदान गर्ने र सूर्य चिन्हबाटै उम्मेदवार उठ्ने भनेपछि एमाले भइसक्नुभयो । यसले राप्रपालाई फाइदै गर्छ,राप्रपाकै नाममा अर्को राजनीतिक सकिन्छ ।

    थापाले गणतन्त्र स्वीकार गरेर एमालेसँग विलय गरेको सन्दर्भमा राप्रपा नेपाललाई नोक्सान नहुने उनको भनाइ छ ।

    लिङ्देनले राप्रपाले तालमेलको ढोका खुला राखे पनि अहिलेसम्म कसैसँग कुरा नभएको बताएका छन् ।

  • राप्रपाको निर्वाचनलक्षित देशव्यापी घरदैलो अभियान आजदेखि, हेर्नुस् कहाँ कसलाई खटाइयो

    राप्रपाको निर्वाचनलक्षित देशव्यापी घरदैलो अभियान आजदेखि, हेर्नुस् कहाँ कसलाई खटाइयो

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आजदेखि स्थानीय निर्वाचनलक्षित देशव्यापी घरदैलो अभियान सुरू गर्दैछ ।

    हरेक जिल्ला सदरमुकाममा सानाठूला आमसभा, कोणसभा गरेर अभियान शुभारम्भ गरिने राप्रपा प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । राप्रपाले निर्वाचनकेन्द्रित अभियानमा ‘जनजागरणका लागि आफ्नो टोलमा पुगौं’ भन्ने नारा तय गरेको छ ।

    चुनावलक्षित कार्यक्रम सञ्चालन गर्न, जिल्ला कार्य समितिको बैठक गराउन, जिल्लाको संगठनात्मक अवस्था, उमेदवार छनौट एवं विभिन्न अभियान सञ्चालनका लागि केन्द्रीय प्रतिनिधि खटाइएको राप्रपाले जनाएको छ ।

    पार्टीको केन्द्रीय पदाधिकारी र सदस्यहरूमध्ये विक्रम पाण्डे झापा, भुवन पाठक बारा, राजेन्द्र गुरुङ्ग उदयपुर, राम थापा मोरङ्ग, भक्तिप्रसाद सिटौला इलाम, मोहन श्रेष्ठ र दिनेश कार्की तनहुँ, हरिप्रसाद घिमिरे तेह्रथुम, ज्ञानेन्द्र शाही कालिकोट, मुकुन्द श्याम गिरी दैलेख, कुन्तीकुमारी शाही सुर्खेत, सगुनसुन्दर लावती ताप्लेजुङ्ग, गोपाल दाहाल धनकुटा, प्रल्हाद प्रसाद साह सुनसरी, दिनेशकुमार साह संखुवासभा, मोहन प्रसाद यादव धनुषा, शत्रुघन महासेठ सप्तरी, रामप्रताप साह (भोला) रौतहट, मनोज मल्ल ठकुरी महोत्तरी, भरत गिरी सर्लाही, अर्जुन राई ओखलढुङ्गा खटिएका छन् ।

    यसैगरी विरेन्द्र प्रसाद लाल कर्ण सिराहा, राजनारायणप्रसाद साह पर्सा, राजेन्द्र प्रसाद श्रेष्ठ भक्तपुर, रोशन कार्की काठमाडौं, प्रकास रिमाल धादिङ्ग, विक्रम बहादुर थापा ललितपुर, रविन्द्र प्रताप शाह सिन्धुपाल्चोक, दिपक कुमार राई रसुवा, भरत प्रसाद पाठक दोलखा, रेखा थापा चितवन, रिना गुरुङ्ग मकवानपुर, रविन चाम्लिङ्ग सोलुखुम्बु, प्रविणकुमार थोकर रामेछाप, हेमजंग गुरुङ्ग नवलपुर, डा. महेन्द्र बहादुर कार्की गोरखा, भीमप्रसाद गौचन बाग्लुङ्ग, रामराजा कोइराला लमजुङ्ग, पञ्चराम गुरुङ्ग कास्की, प्रमोद विष्ट अर्घाखाँची, हिकमत जङ कार्की पाल्पा, ध्रुब बहादुर रायमाझी गुल्मी, निलकण्ठ काफ्ले नवलपरासी, प्रदीपकुमार उदय कपिलवस्तु, जयलाल पुन स्याङजा, प्रेम बहादुर भण्डारी बर्दिया, डा. धवल शम्शेर राणा दाङ, गीता बस्नेत बाँके, दिपक कुवँर क्षेत्री म्याग्दी, धन बहादुर बुढा जुम्ला, गोपाल प्रसाद पौडेल पाँचथर, धनसुर शाही जाजरकोट, जनक बहादुर सिंह रुकुम पश्चिम, धर्मराज जोशी कैलालाी, जयन्त चन्द कञ्चनपुर, तीर्थराज चटौत दार्चुला, पूर्ण बहादुर चन्द बैतडी, बसन्ती शाही अछाम, प्रेम बलायर डडेल्धुरा, गोविन्द खडायत डोटी, विजय खडका सिन्धुली, उदय पोखरेल पर्वत, ऋषिराज देवकोटा सल्लान, मिना स्वर्णकार रुकुम पूर्व, दामोदर भण्डारी रोल्पा, ध्रुब बहादुर प्रधान रुपन्देही, देवी पौडेल घिमिरे प्यूठान, जेम्स हिराचन मुस्ताङ, भुजुङ गुरुङ्ग मनाङमा केन्द्रीय प्रतिनिधि खटिएको श्रेष्ठले बताएका छन् ।

    राप्रपाले उम्मेदवार छनौटका लागि सम्बन्धित कमिटीलाई निर्देशन पनि दिइसकेको छ । उमेदवार छनौट गर्दा सम्बन्धित तहमा लोकप्रिय, उच्च नैतिक चरित्र भएको, सामाजिक क्षेत्रमा क्रियाशील, विकास निर्माण र रचनात्मक कार्यमा सक्रिय रहेको, विगतका निर्वाचनमा पार्टी र पार्टीका उमेदवारका पक्षमा सक्रियतापूर्वक कार्य गरेको, पार्टीद्वारा सञ्चालन गरिएका विभिन्न कार्यक्रम, अभियान र आन्दोलन लगायतका गतिविधिमा सक्रिय भूमिका निर्वाह गरेको, प्रचलित कानूनले उम्मेदवार हुन योग्य भएको र सुशासनमा प्रतिबद्धता हुनुपर्ने मापदण्ड तय गरेको छ ।

    पार्टीको सक्रिय सदस्य नरहेको तर कुनै राजनीतिक दल राप्रपामा समाहित भएको, एकीकरण भएको, अन्य राजनीतिक दलमा सक्रिय भइ निर्वाचनका बेला राप्रपामा प्रवेश गरी निर्वाचनमा उमेदवार बन्न चाहेको अवस्थामा सम्बन्धित स्थानीय तह परिचालन समितिले निर्णय गरेबमोजिम हुने यसअघि नै राप्रपाले निर्णय गरिसकेको छ ।

    उम्मेदवार छनौट गर्न वडा तहको सम्बन्धित जिल्ला अध्यक्षको अध्यक्षतामा गठित उम्मेदवार छनौट समितिले, नगरपालिकाका प्रमुख, उपप्रमुख र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष पदको उम्मेदवारको निर्णय सम्बन्धित प्रदेश अध्यक्षको अध्यक्षतामा गठित उमेदवार छनौट समितिले र उपमहानगरपालिका, महानगरपालिकाका प्रमुख, उपप्रमुख केन्द्रले छनौट गर्नेछ र केही दिनभित्रै सबै तहमा उमेदवारको टुंगो लगाउने तयारी गरिरहेको प्रवक्ता श्रेष्ठले बताएका छन् ।

    राप्रपाका महामन्त्री एवं स्थानीय तह निर्वाचन परिचालन समितिका संयोजक भुवन पाठक नेतृत्वको समितिले तयार पारेको निर्देशिकाबमोजिम स्थानीय तहको निर्वाचनको तयारी, अनुगमन र परिचालन गरिरहेको सो पार्टीले जनाएको छ ।

  • देउवा र प्रचण्डलाई डा.लोहनीको प्रश्न–यहि हो अग्रगमनको उदाहरण ?

    देउवा र प्रचण्डलाई डा.लोहनीको प्रश्न–यहि हो अग्रगमनको उदाहरण ?

    काठमाडौं । पूर्व अर्थमन्त्री तथा राप्रपा नेता डा.प्रकाशचन्द्र लोहनीले अवैध भनेर अमेरिकाले जफत गर्न भनेको कालो धन छुटाउने अर्थमन्त्रीको आदेश नमान्ने राष्ट्र वैंकका गभर्नरलाई निलम्वन गरेकोमा प्रधानमन्त्री शेरवहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डसँग जवाफ मागेका छन् ।

    लोहनीले अवैध भनी अर्को राष्ट्रले रकमबारे अनुसन्धान गर्ने गभर्नर निलम्बन गर्ने कि अर्थमन्त्री बर्खास्त हुने ? भन्ने प्रश्न समेत गरेका छन् । लोहनीले राष्ट्र बैंकले छानविन गरिरहेको रकम छाड्न आदेश दिने अधिकार अर्थमन्त्रीसँग नहुने समेत बताएका छन् ।

    लोहनी भन्छन्–अवैध भनी अर्को राष्ट्रले भनेको कमबारे अनुसन्धान गर्ने गभर्नर निलम्बन हुने कि अर्थमन्त्री बर्खास्त हुने रु मेरो प्रश्न कमरेड प्रचण्ड र प्रधानमन्त्रीसँग के उत्तर छ रु के यही हो अग्रगमनको उदाहरण ?

  • खुलामञ्चबाट लिङदेनको गर्जन : साँढेले दूध दिँदैन, चुनावमा कांग्रेस कम्युनिष्टको बाकस खालि गरिदिनुस् (भिडिओ)

    खुलामञ्चबाट लिङदेनको गर्जन : साँढेले दूध दिँदैन, चुनावमा कांग्रेस कम्युनिष्टको बाकस खालि गरिदिनुस् (भिडिओ)

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले कांग्रेस र कम्युनिष्टलाई भोट दिएर देश बन्छ भन्ने भ्रम नपाल्न आह्वान गरेका छन् । अबको चुनावमा जनताले विवेक नपुर्‍याए नेपाल श्रीलङ्का वा युक्रेन बन्न सक्ने उनले चेतावनी दिए ।

    पार्टीले खुलामञ्चमा आयोजना गरेको जनसभामा बोल्दै लिङदेनले चुनावमा कांग्रेस, एमाले र माओवादीको बाकस खालि गरिदिन आह्वान गरेका थिए । ती दलहरूलाई ‘साँढे’ को संज्ञा दिँदै उनले तिनीहरूबाट दूधको आशा नराख्न सुझाव दिए ।

    लिङदेनले भने, ‘साढेको टाङमुनि बाल्टी थापेर के दूधको आशा गर्नु ? जति सिर्कना हाने पनि, जति सुमसुम्याए पनि, जति दाना हाले पनि आउँदैन । किनकि साँढेको धर्म नै दूध दिने होइन । यी पार्टीहरू पनि यस्तै बाँझे भइसके ।’

    एक वा दुई कार्यकालमा काम देखाउन नसकेकाले तेस्रोमा पनि नसक्ने उनको दाबी छ । नयाँ सोचका साथ देशलाई अगाडि लैजानका लागि राप्रपालाई भोट दिन लिङदेनले आग्रह गरे ।

    आफ्नो पार्टीले जितेका स्थानीय तहमा १२ कक्षासम्म निशूल्क शिक्षा दिने उनले घोषणा गरे । महिनाको एक चोटि ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण घरमै गएर गर्ने आश्वासन पनि उनले दिए ।

    ‘हामीले जितेको पालिकामा सुशासन कायम हुन्छ, आजको काम भोलि भन्ने हुँदैन,’ उनले भने, ‘मैले भ्रष्टाचार गरेर खानु आमाको रगत खानु बराबर हो भनेर मैले अतिरिक्त शपथ खाएको छु ।’

    नेपाल अहिलेकै अवस्थामा अघि बढिरहे असफल राष्ट्र बन्न सक्ने लिङदेनले चेतावनी दिए ।

    उनले भने, ‘ऋण लिएर देश चलाउने नेताहरूले देशलाई कहाँ पुर्‍याए ? १ केजी टमाटरको १८ सय पुग्यो रे । नेपाल पनि त्यही बाटोमा छ । यो ३१ वर्षमा देश बेरोजगार उत्पादन गर्ने कारखानाजस्तो बन्यो ।’

    लिङदेनले तीन तहको निर्वाचनमा ठूला पार्टीहरूको बाकस खाली गरिदिन आह्वान गरे ।

    ‘यिनीहरूले बेइमानी गरे, तर यिनीहरूको बाटो छेक्नुस्, ढुङ्गा हाल्नुस्, कालो मोसो दल्नुस् भन्दैनौँ । यत्ति भन्छौँ, यो एक वर्षभित्र यिनीहरूको बाकस खालि गरेर देखाइदिनुस् । जनता कुनै पार्टीको गोठको गाई वस्तु होइन, सार्वभौम हुन् भन्ने प्रमाणित गरिदिनुस् । कति भाग्यलाई दोष दिएर बस्नुहुन्छ ?’

  • ज्ञानेन्द्रकै कारण अब राजसंस्था फर्किदैन: महामन्त्री बर्तौला

    ज्ञानेन्द्रकै कारण अब राजसंस्था फर्किदैन: महामन्त्री बर्तौला

    हेटौंडा । राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले ज्ञानेन्द्र कै भुमिकाको कारण अब नेपालमा राजा नफर्किने बताएका छन् ।

    शुक्रबार राप्रपा नेपाल मकवानपुरद्वारा हेटौंडामा आयोजित कार्यक्रममा बोल्दै बर्तौलाले अभिभावक बन्न पर्ने राजा एउटा दल भित्र पनि गुट, समूह, ब्यक्ति खोज्दै हिड्न थालेपछि उनको सकृय राजा बन्ने सपना अब सदाको लागि समाप्त भएको बताए ।

    ‘हामीले मुलुक भित्रका सबै दल र शक्तिले स्वीकार्ने सेरेमोनियल राजाको कुरा गर्दा उनले अस्थिरता र अराजकता मार्फत सकृय राजाको भुमिकामा आउने रहर गरेपछि राजा कै एजेन्डा छोड्न बाध्य भयाैं ।” उनले भने ।

    राप्रपा र कमल थापालाई कमजोर बनाउने खेलमा निर्मल निवास प्रयोग भएको भन्दै बर्तौलाले आक्रोश समेत पोखे ।अहिले पनि राप्रपा नेपाल र कमल थापालाई राजनैतिक रुपमा समाप्त पार्ने षड्यन्त्र जारी रहेकोे भन्दै त्यो दिवास्वप्न मात्र हुने उनको दाबी थियो । कार्यक्रममा राप्रपा नेपालका नेताहरु बालकृष्ण कार्की , अम्बिका ढुंगाना , गुरु सापकोटा लगायतले बोलेका थिय ।

  • जनमतसंग्रह गरौं, नेपाल हिन्दू राष्ट्र बन्छ, बन्छः पशुपतिशम्शेर राणा (भिडिओ)

    जनमतसंग्रह गरौं, नेपाल हिन्दू राष्ट्र बन्छ, बन्छः पशुपतिशम्शेर राणा (भिडिओ)

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता पशुपति शम्शेर राणाले नेपाललाई हिन्दू राष्ट्र बनाइछाड्ने अठोट व्यक्त गरेका छन् । उनले अपवित्र सम्झौताबाट नेपाललाई धर्मरिपेक्ष राष्ट्र घोषणा गरिएको आरोप लगाए ।

    राप्रपाको खुलामञ्चमा आयोजित जनसभालाई सम्भोधन गर्दै राणाले हिन्दू राष्ट्र पुनस्र्थापनाका लागि जनमतसंग्रहमा जान तयार रहेको बताए ।

    उनले भने, ‘अपवित्र सम्झौताबाट यो मुलुकलाई जसले हिन्दू राष्ट्र बनायो, त्यसले सम्पूर्ण नेपालीलाई धोका दियो । यही मञ्चबाट घोषणा गर्छौं कि हामी यो मुलुकलाई हिन्दू राष्ट्र बनाइछाड्छौं । जनमत संग्रह गर्नुपर्छ भने गराउँछौं ।’

    राणाले जनमतसंग्रह भएको खण्डमा ८१ प्रतिशतभन्दा बढी हिन्दू र ९४ प्रतिशत सनातन धर्माबलम्बिहरुले हिन्दू राष्ट्रका पक्षमा भोट हाल्ने बताए ।

    ‘हिन्दू राष्ट्र नेपालको पहिचान हो । धर्मनिरपेक्षता ल्याउनेहरुले यो मुलुकको पहिचान मेटिदिए । तर, अब यो पुण्यभूमि अमर र अजय हिन्दू राष्ट्र बन्छ ।’ राणाले भने ।

  • भुवन पाठकको प्रस्ताव : सहमतिमा राजसंस्था पुनर्स्थापना गरौँ, लिङदेनलाई प्रधानमन्त्री बनाऊँ

    भुवन पाठकको प्रस्ताव : सहमतिमा राजसंस्था पुनर्स्थापना गरौँ, लिङदेनलाई प्रधानमन्त्री बनाऊँ

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री भुवन पाठकले अब राप्रपाको नेतृत्वमा मात्रै मुलुकमा परिवर्तन सम्भव रहेको दाबी गरेका छन् । उनले राजनीतिक दलहरुबीच सहमति गरेर राजसंस्था पुनर्स्थापना गर्नुपर्ने प्रस्ताव अघि सारे ।

    राप्रपाले काठमाडौंको खुलामञ्चमा आयोजना गरेको जनसभामा बोल्दै पाठकले यस्तो प्रस्ताव गरेका हुन् । उनले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता असफल साबित भइसकेको टिप्पणी गरे ।

    पाठकले भने, ‘गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता पनि असफल भइसके । अब सबै दलहरू बसौँ र सहमतिबाट यो व्यवस्था परिवर्तन गरौँ ।’

    आफ्नो आग्रह स्वीकार नगरेर आन्दोलनको आँधिबेरी ल्याएर राजालाई नागार्जुनबाट नारायणहिटीमा ल्याउने उनले चेतावनी दिए ।

    ‘यो आग्रह स्वीकार गर्नुहुन्न भने आन्दोलनको आँधिबेरी ल्याएर नागार्जुनबाट राजालाई नारायणहिटीमा ल्याउनेछौँ,’ उनले भने ।

    कांग्रेस र कम्युनिस्ट असफल भइसकेकोले अब राप्रपाको नेतृत्वमा सरकार बन्नुपर्ने पाठकले बताए ।

    ‘राप्रपा अध्यक्षको नेतृत्वमा सरकार बनेपछि मात्रै यो मुलुकको परिवर्तन सम्भव छ,’ उनले भने ।

  • काठमाडौंमा राप्रपाले देखायो शक्ति (तस्बिरहरु)

    काठमाडौंमा राप्रपाले देखायो शक्ति (तस्बिरहरु)

    काठमाडौं । चुनावी माहौल तताउँदै राष्ट्रिय प्रजातन्त्र पार्टीले राजधानी काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ ।

    घोषित स्थानीय चुनावको पूर्व सन्ध्यामा काठमाडौंमै ठूलो सभा गर्ने राप्रपा पहिलो दल हो ।

    राजतन्त्रको वकालत गर्ने पहिलो पार्टी राप्रपाले आजको आमसभामा पनि राजतन्त्र र हिन्दू राष्ट्रको पुनर्स्थापनालाई एजेन्डा बनाएको छ । सभामा पार्टी अध्यक्ष राजेन्द्र लिङदेन लगायतका वरिष्ठ नेताहरूले सम्बोधन गर्दै छन् ।

    राप्रपाले विभिन्न जिल्लाहरूमा सभा गरेपश्चात् काठमाडौंमा आमसभा आयोजना गरेको हो । पार्टीबाट हालै पूर्व अध्यक्ष कमल थापा बाहिरिएपछि पार्टीमा नयाँ रक्तसञ्चार गराउन अध्यक्ष लिङदेन प्रयासरत छन् ।

    विचार मिल्ने अन्य दल र समूहहरूसँग उनले एकता प्रयास पनि गरिरहेका छन् ।

     

  • चुनावी तालमेलका लागि ओलीको जवाफ कुर्दै राप्रपा महामन्त्री राणा

    चुनावी तालमेलका लागि ओलीको जवाफ कुर्दै राप्रपा महामन्त्री राणा

    कैलाली । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी ओली र राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवल शमशेर राणाबीच भेटवार्ता भएको एक सातासम्म पनि तालमेलको विषय अघि बढ्न सकेको छैन । गत बिहीबार राति नेपालगन्जमा स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने प्रस्ताव लिएर राणाले ओलीलाई भेटेका थिए । दुवै जनाबीच करिब १ घण्टा एक्लाएक्लै छलफल भएको थियो ।

    नेपालगन्ज उपमहानगरपालिकाका प्रमुखसमेत रहेका राणाले आगामी निर्वाचनमा एमाले र आफूहरू मिलेर जाँदा उपयुक्त हुने भन्दै ओलीलाई प्रस्ताव पेस गरेका थिए ।

    ‘ठिकै छ छलफल गरौँ, कुरा राखौँ भन्नुभयो’ ओलीको कुरालाई उदृत गर्दै राणाले भनेका थिए, ‘उहाँले मैले पनि मेरो पार्टीमा कुरा राख्छु भन्नु भयो । मैले पनि यस विषयमा पार्टीमा छलफल गर्छु भनेँ ।’

    स्थानीय तहमा तालमेल गर्ने विषयमा पनि दुवै दलका नेताहरूले आन्तरिक छलफल गर्ने भन्दै टुंगिएको बैठक फेरि बस्न सकेको छैन । अहिले राप्रपा एमालेसँग तालमेल गर्ने मनसायमा रहे पनि एमालेको आधिकारिक प्रतिक्रिया नआएको राप्रपा महामन्त्री राणाले बताए ।

    ‘पाँच दलीय गठबन्धन हुँदा हामीलाई पनि केही समस्या हुन्छ । अहिले एमालेलाई पनि तालमेल गर्न आवश्यक देखिन्छ । राम्रो मान्छे जिताउन तालमेल गरौँ भनेको थिएँ’, उनले नेपाल प्रेसलाई भने, ‘अहिले उताबाट (एमालेबाट) कुनै जवाफ आएको छैन । जवाफ आएपछि हामी फेरि छलफलमा जुट्छौँ ।

    समान विचारधारा भएका व्यक्ति, समूह, संस्था, संगठन, पार्टी र धार्मिक क्षेत्रसँग एकता र सहकार्यका लागि आवश्यक वार्ता एवं संवाद समितिका संयोजक पनि हुन् राणा । उक्त समितिमा राणासहित ऋषिबाबु परियार, दिलविकास राजभण्डारी, पुष्पराज पुरुष सदस्य रहेका छन् ।

    राप्रपामा अहिलेसम्म एमालेसँग चुनावी तालमेल गर्ने वा नगर्ने भन्ने नीतिगत निर्णय भने भइसकेको छैन । पहिले एमालेको धारणा बुझेपछि पार्टीभित्र आन्तरिक छलफल गरेर यस विषयमा निर्णयमा पुग्न सकिने राणाले बताए ।

    बिहीबार राति करिब १ घण्टाको छलफलपछि ओली र राणाले नम्बरसमेत आदान प्रदान गरेका थिए । उनले भने, ‘उहाँले (ओलीले) मेरो नम्बर लिनुभएको छ । तर, फोन गर्नुभएको छैन । उहाँले फोन गरेपछि थप विषयमा छलफल प्रारम्भ हुन्छ ।’

    छलफलै भएन एमालेमा

    आसन्न स्थानीय तह निर्वाचनमा पाँच दलीय गठबन्धनविरुद्ध अर्को गठबन्धन बनाएर जाने राप्रपा महामन्त्रीको प्रस्तावबारे एमालेमा छुट्टै छलफल सुरु भएको छैन । एमालेले राष्ट्रियस्तरमा कुनै पनि दलहरूसँग चुनावी तालमेल नगर्ने भन्दै यसअघि नै निर्णय नै गरिसकेको छ । उक्त निर्णयमा स्थानीयस्तरमा तालमेल गर्न सकिने बताइएको छ ।

    राप्रपासँग पनि राष्ट्रियस्तरमा नभइ स्थान विशेषमा तालमेल हुनसक्ने एमालेका प्रमुख सचेतक विशाल भट्टराई बताउँछन् ।

    ‘राष्ट्रियस्तरमा नभए पनि स्थानीय आवश्यकताको आधारमा सहमति र छलफलका माध्यमबाट हुनसक्छ’, उनी भन्छन्, ‘तर, अहिलेसम्म यस विषयमा ठोस छलफल भएको छैन ’

    एमाले एक्लै निर्वाचनमा होमिने योजनामा रहेको समेत उनले बताए ।