Category: राप्रपा

  • मकवानपुर-१ मा जिततर्फ दीपक सिंह

    मकवानपुर-१ मा जिततर्फ दीपक सिंह

    हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को तर्फबाट मकवानपुर क्षेत्र नम्बर १ का उम्मेदवार दीपकबहादुर सिंहको जित निश्चित भएको छ ।

    गणनाको पहिलो दिनबाट तेस्रो स्थानमा रहँदै आएका सिंह हेटौँडा उपमहानगरपालिका क्षेत्रमा प्रवेश गरेसँगै आक्रमकरूपमा अघि बढेका छन् ।

    हालसम्म गणना भएको ८४ हजार ५ सय ६८ मतमा सिंहले २५ हजार ६५ मत प्राप्त गर्दा नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्यय डिनाले २४ हजार ३ सय ३० मत ल्याएकी छिन् ।

    एमालेका कमल थापाले २३ हजार ७ सय १४ मत प्राप्त गरेका छन् । अहिले वडा नम्बर हेटौँडाको ९ र १२ मा गणना भैरहेको छ । यहाँ पनि दीपकले अग्रता बढाउँदै लगेका छन् । १० नम्बरको गणना बाँकी छ ।

  • प्रदेश १ : प्रतिनिधिसभातर्फ जित र अग्रता दुवैमा एमाले पहिलो, पछ्याउँदै कांग्रेस (सूचीसहित)

    प्रदेश १ : प्रतिनिधिसभातर्फ जित र अग्रता दुवैमा एमाले पहिलो, पछ्याउँदै कांग्रेस (सूचीसहित)

    विराटनगर । प्रदेश १ का प्रतिनीधि सभाका २८ निर्वाचन क्षेत्रमध्ये ६ वटाको नतिजा आइसकेको छ ।

    अन्तिम परिणाम आइसकेकामध्ये एमालेले ४ र कांग्रेसले २ सीट जितेको छ ।

    एमालेबाट अध्यक्ष केपी ओली झापा ५ बाट, झापा २ बाट देवराज घिमिरे, उदयपुर २ बाट अम्बरबहादुर रायमाझी र ताप्लेजुङबाट योगेश भट्टराई विजयी भएका छन् ।

    कांग्रेसबाट झापा १ बाट विश्वप्रकाश शर्मा र ओखलढुंगाबाट रामहरी खतिवडा विजयी भएका छन् ।

    गणना भइरहेका २२ क्षेत्रमध्ये १० ठाउँमा एमालेका उम्मेदवारले लिड गरेका छन् ।

    नेपाली कांग्रेसका उम्मेदवार ५ क्षेत्रमा अगाडि हुँदा माओवादी केन्द्र ३ ठाउँमा अगाडि छ । राष्ट्रिय स्वतन्त्र पार्टी २, राप्रपा र स्वतन्त्र उम्मेदवार एक-एक ठाउँमा अगाडि छन् ।

    कहाँ को अगाडि ?

    एमाले

    १. लालप्रसाल साँवा झापा ४

    २. महेश बस्नेत इलाम १

    ३. सुवास नेम्वाङ्ग इलाम २

    ४. वसन्त नेम्वाङ्ग पाँचथर

    ५. राजेन्द्र राई धनकुटा

    ६. मानवीर राई सोलुखुम्बु

    ७. भगवती चौधरी सुनसरी ३

    ८. जगदिशप्रसाद कुसियैत सुनसरी ४

    ९. घनश्याम खतिवडा मोरङ १

    १०. ऋषिकेश पोखरेल मोरङ २

    नेपाली कांग्रेस

    १. सीता गुरुङ तेह्रथुम

    २. डा. नारायण खड्का उदयपुर १

    ३. दीपक खड्का संखुवासभा

    ४. डा. शेखर कोइराला मोरङ ६

    ५. डा. सुनिल शर्मा मोरङ ६

    माओवादी केन्द्र

    १. अमनलाल मोदी मोरङ ४

    २. सुदन किराती भोजपुर

    ३. रामकुमार राई खोटाङ

    राष्ट्रिय स्वतन्त्र पार्टी

    १. गोमा तामाङ सुनसरी १

    लालविक्रम थापा सुनसरी १

    राप्रपा

    राजेन्द्र लिङदेन झापा ३

    स्वतन्त्र

    योगेन्द्र मण्डल मोरङ ५

  • प्रदेशमा घन्टी नहुँदा काठमाडौंमा राप्रपालाई फलिफाप: प्रत्यक्षमा ५ सीट, समानुपातिकको अग्रतामा दोस्रो

    प्रदेशमा घन्टी नहुँदा काठमाडौंमा राप्रपालाई फलिफाप: प्रत्यक्षमा ५ सीट, समानुपातिकको अग्रतामा दोस्रो

    काठमाडौं । काठमाडौंको प्रतिनिधिसभा चुनावमा घन्टीको ओझेलमा परेको राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेशसभा चुनावमा भने उत्साहजनक प्रदर्शन गरेको छ । अघिल्लो निर्वाचनमा काठमाडौंमा प्रत्यक्षतर्फ ‘नील’ रहेको राप्रपा (तत्कालीन राप्रपा नेपाल) ले यसपालि प्रदेशसभामा पाँच सीट जित्दै सुखद नतिजा ल्याएको हो ।

    काठमाडौंको क्षेत्र नं २ (१) र २ (२) मा राप्रपाका उम्मेदवारहरु विजयी भएका छन् । २ (१) मा सुनिल केसीले हिजो जीत हासिल गरेका थिए । आज राति सकिएको २ (२) को मतगणनामा राजु विष्ट विजयी भएका छन् । यसैगरी क्षेत्र नम्बर ५ (१) मा राप्रपाका राजेन्द्र प्रजापति, ८ (२) मा उद्धव थापा र क्षेत्र नम्बर ९ (१) मा नुरज बज्राचार्य विजयी बनेका छन् ।

    अघिल्लो चुनावमा राप्रपा नेपालले प्रत्यक्षतर्फ संघीय र प्रदेशसभा दुवैमा एक सीट पनि जित्न सकेको थिएन । यसपालि पार्टीमा नेतृत्वको अनुहार फेरिएसँगै काठमाडौंवासीमा यस पार्टीप्रति आकर्षण देखिएको छ । प्रतिनिधिसभातर्फ कुनै सीट जित्न नसके पनि प्रदेशसभामा राप्रपाले कांग्रेस र एमालेपछि तेस्रो सर्वाधिक सीट जितेको हो ।

    प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिकमा राप्रपालाई राष्ट्रिय स्वतन्त्र पार्टीले ठूलो असर पुर्‍याएको छ । तर, सो पार्टीले प्रदेशसभा चुनावमा भाग नलिँदा त्यसको फाइदा राप्रपालाई मिलेको देखिन्छ । प्रतिनिधिसभामा स्वतन्त्र पार्टीलाई भोट दिने धेरैले प्रदेशमा राप्रपा रोजेका छन् । काठमाडौं २ मा स्वतन्त्र पार्टी विजयी हुँदा दुवै प्रदेशमा राप्रपाका उम्मेदवार जित्नुले त्यही संकेत गर्छ ।

    राप्रपाका प्रवक्ता मोहन श्रेष्ठ स्वतन्त्र पार्टीले यस आम चुनावमा राप्रपालाई असर पुर्‍याएको स्वीकार्छन् । उनले भने, ‘खासगरी समानुपातिकतर्फ राप्रपालाई आउन सक्ने सम्भावित मतको ठूलो हिस्सा घन्टीमा गएको देखिन्छ ।’

    प्रदेशमा घन्टीका उम्मेदवार नहुँदा पार्टीलाई फाइदा भएको हो भन्ने प्रश्नमा उनले भने, ‘घन्टीले हामीलाई प्रतिनिधिसभामा प्रत्यक्ष र समानुपातिक दुवैतर्फ असर गरेको छ । संघमा घन्टीलाई हाल्नेले प्रदेशमा हामीलाई हालेको काठमाडौंमा देखिन्छ ।’

    समानुपातिकतर्फ हालसम्मको मतगणनाले पनि यसलाई पुष्टि गर्छ । प्रतिनिधिसभाको समानुपातिकतर्फ काठमाडौंमा स्वतन्त्र पार्टी एक नम्बरमा रहेको छ भने राप्रपा पाँचौंमा छ । तर, प्रदेशसभातर्फ भने कांग्रेसपछि राप्रपा दोस्रो स्थानमा छ ।

    अहिलेसम्मको गणनामा प्रदेश समानुपातिकतर्फ काठमाडौंमा कांग्रेसले ५५१७ मत ल्याउँदा राप्रपालाई ५२५५ मत आएको छ । तेस्रो स्थानमा एमालेले ४९६६ मत ल्याएको छ ।

    समग्र बाग्मती प्रदेशमा राप्रपाले तेस्रो सर्वाधिक मत ल्याइरहेको छ । अहिलेसम्मको गणनामा बाग्मती प्रदेशमा एमालेले सर्वाधिक ३१ हजार ७२६ ल्याउँदा कांग्रेसले २९ हजार ८४३ र राप्रपाले १७ हजार ६५३ मत ल्याएका छन् ।

    प्रदेशसभाको समानुपातिकतर्फ समग्रमा भने राप्रपा पाँचौं स्थानमा छ । राप्रपाभन्दा अगाडि एमाले, कांग्रेस, रास्वपा र माओवादी छन् । अहिलेसम्मको रुझान हेर्दा राप्रपाले समानुपातिकमा ३ प्रतिशत मत कटाएर राष्ट्रिय पार्टीको हैसियत फर्काउनेमा नेताहरु आशावादी देखिएका छन् ।

    अघिल्लो चुनावमा निराशाजनक परिणाम भोगेको राप्रपा नेपालले राष्ट्रिय पार्टीको हैसियत गुमाएको थियो । प्रत्यक्षतर्फ प्रतिनिधिसभामा सो पार्टीले एक सीटमात्र जितेको थियो भने समानुपातिकमा ३ प्रतिशत मत कटाउन सकेको थिएन ।

  • मोरङ–३ मा सुनील शर्मालाई दोब्बर मतको अग्रता, रेखा थापा तेस्रो

    मोरङ–३ मा सुनील शर्मालाई दोब्बर मतको अग्रता, रेखा थापा तेस्रो

    काठमाडौं । मोरङ– ३ मा नेपाली कांग्रेसले अग्रता लिएको छ । सो पार्टीका उम्मेदवार सुनील शर्मा एमालेका प्रतिस्पर्धी भानुभक्त ढकालभन्दा दोब्बर मतले अगाडि छन् ।

    प्राप्त मत परिणामअनुसार शर्माले ३ हजार १ सय ३२ मत ल्याएका छन् । एमालेका ढाकालले १५ सय ७९ मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उठेकी अभिनेत्री रेखा थापालाई ९०५ मत आएको छ । यस क्षेत्रमा कांग्रेसका बागी उम्मेदवारले १५७ मत ल्याएका छन् ।

  • राप्रपाले खाता खोल्यो, काठमाडौंको प्रदेशमा सुनील केसी विजयी

    राप्रपाले खाता खोल्यो, काठमाडौंको प्रदेशमा सुनील केसी विजयी

    काठमाडौं । आम निर्वाचन २०७९ मा राप्रपाले जितको खाता खोलेको छ । काठमाडौंको क्षेत्र नम्बर २ प्रदेशसभा (१) बाट राप्रपाका सुनील केसी विजयी भएका छन् ।

    प्राप्त मत परिणामअनुसार केसीले ६ हजार ५९८ मत ल्याएका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवारको ५ हजार ७६ मत ल्याए । एक हजार ५२२ मतको अन्तरले केसी विजयी बनेका हुन् ।

    यस क्षेत्रमा संघीय निर्वाचनमा पनि राप्रपा प्रतिस्पर्धी बनिरहेको छ । सो पार्टीकी उम्मेदवार कुन्ती पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमलाई पछ्याइरहेकी छन् ।

     

  • गृहमन्त्री खाणलाई पछि पार्दै राप्रपाका बोहराको अग्रता

    गृहमन्त्री खाणलाई पछि पार्दै राप्रपाका बोहराको अग्रता

    रुपन्देही । गृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणलाई पछि पार्दै राप्रपाका वरिष्ठ नेता दीपक बोहोराले पहिलो पटक अग्रता लिएका छन् ।

    रुपन्देही क्षेत्र नं ३ बाट प्रतिनिधि सभा सदस्यका लागि भएको निर्वाचनमा खाण र बोहोरा दुई गठबन्धनबाट चुनावी मैदानमा छन् । सत्तारुढ दल तथा लोसपा, नेसपा र जनमुक्ति पार्टीको बलियो समर्थनमा मैदानमा रहेका गृहमन्त्री खाण मतगणनाको सुरुवातदेखि नै अगाडि थिए ।

    नेकपा एमाले, जसपाको तालमेलमा प्रतिस्पर्धामा रहेका राप्रपाका नेता बोहाराले प्रतिस्पर्धीलाई मतगणनामा पहिलोपटक उछिनेका हुन् ।
    पछिल्लो मत परिणामअनुसार बोहोराले ४१७० मत ल्याउँदा खाणको ३९१९ आएको छ ।

  • बाँकेमा धवलशमशेरले बनाए फराकिलो अग्रता

    बाँकेमा धवलशमशेरले बनाए फराकिलो अग्रता

    रुपन्देही । बाँकेको क्षेत्र नं २ मा राप्रपाका महामन्त्री धवलशमशेर राणाले फराकिलो मतान्तर बनाउँदै लगेका छन् । पछिल्लो मत परिणामअनुसार उनले १२६५२ मत ल्याएर अग्रता कायम राखेका छन् । यहाँ एमालेले उनलाई समर्थन गरेको छ ।

    जसपाका इस्तियाक राईले ७४६२ मत ल्याएर दोस्रो स्थानमा रहेका छन् भने कांग्रेसका सुदीपनरसिंह राणाले १६४३ मत र रास्वपा विनोद अग्रहरीले ६०२ मत ल्याएका छन् ।

    प्रदेशसभा २ को १ मा जसपाका भण्डारी लाल अहिर ५२३६, एमालेका विजय यादव ४०३७ कांग्रेसका राजकुमार कुर्मी ३४३८ मत पाएका छन् ।
    २ को २ मा कांगेसका सुरेन्द्र हमाल १५२८, जसपाका अदृश अग्रहरी १४२५ एमालेका निरक गुरुङ १२६५ मत ल्याएका छन् ।

  • तटस्थ मत तीनतिर छरिँदा रवीन्द्र मिश्र दोस्रोपटक ‘अनलक्की’

    तटस्थ मत तीनतिर छरिँदा रवीन्द्र मिश्र दोस्रोपटक ‘अनलक्की’

    काठमाडौं । काठमाडौं–१ बाट रवीन्द्र मिश्रले लगातार दोस्रो चुनावमा साँघुरो हार व्यहोरेका छन् । पुरानै प्रतिस्पर्धीबाट फेरि झिनो अन्तरले पराजित हुनु मिश्रका लागि अर्को राजनीतिक चोट हो ।

    कांग्रेसका प्रकाशमान सिंहले १२५ मतको अन्तरले मिश्रलाई पछि पारे । तर, यो जितमा उनले आफूलाई यस अर्थमा भाग्यशाली ठान्नुपर्छ कि यसपालिको चुनावी समीकरण नै उनका लागि अनुकूल बनिदियो । यदि कुनै दलप्रति आस्था नराख्ने काठमाडौं–१ ‘तटस्थ जनमत’ तीनतिर नबाँडिएको भए सिंह राम्रै मार्जिनले हार्न सक्थे भन्ने अहिलेको नतिजाबाट देखिन्छ ।

    काठमाडौं १ मा मिश्रसँगै सुशासन पार्टीका रमेश खरेल र राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमको उम्मेदवारी परेको थियो । ‘राम्रा मान्छे’ हरू एकै क्षेत्रबाट भिडेर अमुक उम्मेदवारलाई सजिलो बनाइदिएको चर्चा पहिल्यैदेखि चल्दै आएको हो । अन्ततः त्यही सत्य भएको छ । पुकार र रमेशले पनि उल्लेख्य मत ल्याएका छन् । यदि उनीहरू प्रतिस्पर्धामा नभएको भए त्यो मत आफूलाई आउन सक्थ्यो भन्ने मिश्रको आँकलन छ ।

    प्रकाशमान सिंहले ७ हजार १४३ मत ल्याएर चुनाव जिते भने मिश्रले ७ हजार १८ मत पाएर पराजित भए । तेस्रोमा राष्ट्रिय स्वतन्त्र पार्टीका बमले ४ हजार ११५ मत ल्याएका छन् भने एमालेका किरण पौडेलको ३ हजार ५ सय ३२ मत छ । सुशासन पार्टीका रमेश खरेलले ३ हजार १२४ मत ल्याएका छन् ।

    यदि मिश्र, बम र खरेलको मत एक ठाउँमा राखेर जोड्ने हो भने झण्डै १५ हजार हुन्छ । लोकतन्त्रमा सबैले चुनावमा प्रतिस्पर्धा गर्न पाउँछन् । त्यसैले फलानो नउठेको भए हुन्थ्यो भन्नु आफैँमा अलोकतान्त्रिक तर्क हुन सक्छ । तर, तीन जनाले आपसी सहमति गरेर कोही एकलाई समर्थन गरेको भए अवश्य नतिजा उल्टिन सक्थ्यो भन्ने देखिन्छ । परिवर्तनको एउटै नारा र उस्तै एजेन्डा बोकेकाहरू आपसमा मिल्न नसक्दा नयाँ अनुहारको खोजीमा रहेका मतदाताहरू भने निराश बनेका छन् ।

    मिश्र अघिल्लो चुनावमा सात सयभन्दा बढी मतान्तरले हारेका थिए । त्यसबेला अहिलेकोजस्तो ‘तटस्थ मत’ बाँडिएको थिएन । अहिले तीन तिर भोट बाँडिदा पनि हारको अन्तर कम हुनु उनको लागि सान्त्वनाको विषय बन्न सक्छ । तर, विचार र पार्टी परिवर्तन गर्दै आफूलाई जनतामाझ परीक्षामा उतारेका मिश्रलाई यो हारले अवश्य निराश तुल्याउने छ ।

  • काठमाडौं १ मा चौथो पटक प्रकाशमान विजयी, रवीन्द्र मिश्र १२५ मतले स्तब्ध

    काठमाडौं १ मा चौथो पटक प्रकाशमान विजयी, रवीन्द्र मिश्र १२५ मतले स्तब्ध

    काठमाडौं । काठमाडौं क्षेत्र नम्बरमा १ मा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह चौथो पटक विजयी भएका छन् ।

    राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई १२५ मतले पराजित गर्दै सिंह विजयी भएका हुन् ।

    सिंहले ७ हजार १४३ मत प्राप्त गर्दा मिश्र ७ हजार १८ मतमा रोकिएका हुन् ।

     

  • स्याङ्जा २ मा बुथ कब्जाको आरोप, एमाले र घण्टीसहितका दलले मागे पुनः मतदान (भिडिओ)

    स्याङ्जा २ मा बुथ कब्जाको आरोप, एमाले र घण्टीसहितका दलले मागे पुनः मतदान (भिडिओ)

    काठमाडौं । स्याङ्जाको क्षेत्र नम्बर २ अन्तर्गत चापाकोट नगरपालिकाका चारवटा बुथमा सत्ता गठबन्धनको नेपाली कांग्रेसले एकलौटी कब्जा गरेर फर्जी मत खसालेको भन्दै एमाले, राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीले पुनः मतदानको माग गरेका छन् ।

    स्याङ्जामा सोमबार अपरान्ह पत्रकार सम्मेलन गरी गठन्धनबाहेकका उम्मेदवारले पुन: मतदान गर्न मागसहित निर्वाचन आयोगमा निवेदन दिएका छन् । निवेदनमा कार्यकर्ताले बुथ कब्जा गरेर एकै व्यक्तिले सयौं पटक मतदान गरेको  उल्लेख छ । नेकपा एमालेकी उम्मेदवार पद्मा अर्याल, राष्ट्रिय स्वतन्त्र पार्टीका टीकाराज गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका लालगोपाल अर्याल लगायतले संयुक्त निवेदन दिएका हुन् ।

    चापाकोट नगरपालिकाका ४ वटा बुथमा अप्रत्यासित मत खसेको र प्रहरी प्रशासन पनि गठबन्धनकै मतियार बनेको उनीहरूको आरोप छ ।

    ‘स्याङ्जामा सरदर खसेको मत ५६ देखि ६१ छ, तर यहाँ ९९ प्रतिशतसम्म खसालिएको छ । नेपालको इतिहासमा यसरी मत खसेको कुनै अवस्थामा देखिएको छैन,’ पत्रमा भनिएको छ ।

    गठबन्धनको धाँधलीले प्रहरी प्रशासनलाई पनि निकम्मा बनाएको र जनताले आफ्ना प्रतिनिधि छान्ने अधिकारबाट वञ्चित गराइएको आरोप छ ।

  • अब हाम्रो भेट संसद भवनमै हुन्छ : रवीन्द्र मिश्र (भिडिओ)

    अब हाम्रो भेट संसद भवनमै हुन्छ : रवीन्द्र मिश्र (भिडिओ)

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले आफ्नो जित सुनिश्चित भएको दाबी गरेका छन् ।

    काठमाडौं १ का उम्मेदवार समेत रहेका मिश्रले ललितपुर वडा १८ को वडा कार्यलयमा मतदान गरेपछि आफूले जित्नेमा ढुक्क रहेको बताए।

    बिहानदेखि ११ वटा बुथमा अवलोकन गर्दा जनतालाई परिवर्तनका लागि आफूले जित्नुपर्ने बताए।

    उनले भने, ‘मैले जित्नेमा म विश्वस्त भएको छु। ०७४ को निर्वाचनमा थोरै मतले पराजित भएको थिए। अहिले राम्रोसँग विजयी हुन्छु। अब हाम्रो भेट संसद भवनमै हुन्छ।’

  • प्रकाशमानसँग जम्काभेट पछि मिश्रले भने : अर्को चुनावमा हाम्रो भेट हुँदैन

    प्रकाशमानसँग जम्काभेट पछि मिश्रले भने : अर्को चुनावमा हाम्रो भेट हुँदैन

    काठमाडौं । काठमाडौंमा सबैभन्दा पेचिलो प्रतिस्पर्धा रहेको निर्वाचन क्षेत्र मानिएको छ क्षेत्र नम्बर १ । यहाँका मुख्य दुई प्रतिस्पर्धी प्रकाशमान सिंह र रविन्द्र मिश्रको आज मतदान केन्द्रमा जम्काभेट भयो ।

    कांग्रेस उम्मेदवार सिंह र राप्रपाका उम्मेदवार मिश्र मतदानको अवलोकनका लागि रत्नराज्य महादेवस्थान केन्द्र पुगेका बेला भेट भएका हुन् । त्यस क्रममा उनीहरुबीच सामान्य घोचपेच पनि चल्यो ।

    आआफ्ना समर्थकहरुसहित दुवै नेता मतदान केन्द्र पुगेका थिए । सिंहलाई देखेपछि मिश्रले नमस्ते गर्दै बोलाएका थिए । त्यसपछि उनीहरुबीच छोटो संवाद भएको हो ।

    सिंहले भने, ‘मनोनयन दर्तामा भेट भएको थियो, आज पनि भयो । अब ५ वर्षपछि फेरि भेटौंला ।’

    उनको कटाक्षमा मिश्रले जवाफ फर्काए, ‘अर्काे पटक उम्मेदवारका रुपमा हाम्रो भेट नहोला । किनकी तपाईंलाई विश्राम चाहिएको छ । काठमाडौं १ का मतदातालाई अब म चाहिएको छ ।’

    मिश्रको जवाफमा सिंह हाँसे मात्र । भेटमा दुवै नेता सौहार्दपूर्णरुपमा प्रस्तुत भएको प्रत्यक्षदर्शी मिश्रनिकट नेता शरदराज पाठकले बताए । उनले भेटघाटको तस्वीर सामाजिक सञ्जालमा पोस्ट गरेका छन् ।

     

     

  • राप्रपा अध्यक्ष लिङ्देनले गरे मतदान

    राप्रपा अध्यक्ष लिङ्देनले गरे मतदान

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मतदान गरेका छन् ।

    उनले झापाको हल्दिबारी गाउँपालिका १ गोल्धापस्थित वडा कार्यालय परिसरमा निर्माण गरिएको मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

    एमालेसँग चुनावी तालमेल गरेका अध्यक्ष लिङ्देन झापा ३ बाट प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवार छन् ।

    उनीसँग गठबन्धनको तर्फबाट कांग्रेस नेता कृष्णप्रसाद सिटौला प्रतिस्पर्धामा छन्। ०७४ को निर्वाचनमा पनि लिङ्देनले एमालेको बलामा सिटौलालाई हराएका थिए ।

  • राप्रपा काठमाडौं-५ को कार्यालयमा तोडफोड

    राप्रपा काठमाडौं-५ को कार्यालयमा तोडफोड

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ को कार्यालयमा तोडफोड भएको छ ।

    राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार कार्यालयमा बिहीबार मध्यराति तोडफोड भएको हो । ‘कसले र किन तोडफोड भएको हो अहिलेसम्म खुल्न सकेको छैन,’ श्रेष्ठले भने । राप्रपाको झण्डा, ब्यानर च्यातिएको छ ।

    राप्रपाले पराजित मानसिकता भएका उच्छृङ्खल समुहबाट गएराति महाराजगन्जस्थित राप्रपा काठमाडौं क्षेत्र नं ५ को सम्पर्क कार्यालय तोडफोड गरिएको भन्दै घटनाको निन्दा गरेकाे छ।

    निर्वाचनलाई स्वच्छ, विश्वसनीय र भयरहित बनाउन सरकारसँग माग गरेकाे छ । प्रभावकारी अनुगमनका लागि निर्वाचन आयोग र निर्वाचनको पर्यवेक्षण गरिरहेका संघसंस्थाको ध्यानाकर्षण गराएकाे प्रवक्ता श्रेष्ठले  बताए ।

    काठमाडौं-५ मा राप्रपाबाट प्राध्यापक डा रामप्रसाद उप्रेती, एमालेबाट इश्वर पोखरेल र कांग्रेसबाट प्रदीप पौडेल उम्मेदवार छन् ।

  • मौन अवधि अघि मत माग्दै लिङ्देनले भने- निर्वाचनलाई विगतको त्रुटी सच्याउने अवसरको रुपमा सदुपयोग गरौं

    मौन अवधि अघि मत माग्दै लिङ्देनले भने- निर्वाचनलाई विगतको त्रुटी सच्याउने अवसरको रुपमा सदुपयोग गरौं

    काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आसन्न प्रतिनिधि र प्रदेशसभाको निर्वाचनलाई केवल आवधिक निर्वाचनको रुपमा मात्रै नभई विगतका त्रुटी कमीकमजोरी सच्याउने अवसरको रुपमा सदुपयोग गर्नुपर्ने बताएका छन् ।

    निर्वाचन प्रचारप्रसारको मौन अवधि सुरु हुनु केही घण्टाअघि आम मतदातालाई सम्बोधन गरी जारी गरिएको भिडिओ सन्देशमा अध्यक्ष लिङ्देनले सो कुरा व्यक्त गरेका हुन् ।

    अध्यक्ष लिङ्देनले हाम्रै जीवनकालमा समृद्ध नेपाल बनाउने र नेपाल बनेको हेरेर मर्ने आमचाहना परिपूर्ति गर्ने संकल्पका साथ राप्रपा निर्वाचनमा होमिएको बताए ।

    लिङ्देनले राष्ट्रिय राजनीतिमा राप्रपा नवीन सोच र दृष्टिकोणका साथ जनताको माझमा आएकाले आफ्नो पार्टीका प्रतिनिधि र प्रदेशसभाका उममेदवारलाई मत दिइ विजयी गराउन आम मतदातालाई अपीलसमेत गरेका छन् ।

    यसैगरी, लिङ्देनले अर्को भिडिओ सन्देशमार्फत जीवनमा पहिलोपटक भोट हाल्न तम्तयार लाखौं नवयुवा र युवालाई आगामी निर्वाचनलाई देशको भाग्य र भविष्य बदल्ने निर्वाचनको रुपमा सदुपयोग गर्न आग्रह गरेका छन् ।

    अध्यक्ष लिङ्देन झापा क्षेत्र नं ३ मा प्रतिनिधिसभाका उमेदवारसमेत छन् ।

     

     

     

     

     

     

     

  • निर्णायक चौथो दल बन्ने राप्रपाको आकांक्षा, प्रत्यक्षमा यी हुन् ‘टप टेन’ उम्मेदवार

    निर्णायक चौथो दल बन्ने राप्रपाको आकांक्षा, प्रत्यक्षमा यी हुन् ‘टप टेन’ उम्मेदवार

    काठमाडौं । यस पटक थ्रेसहोल्ड कटाएर निर्णायक राष्ट्रिय पार्टी बन्ने तयारीसहित आक्रामक चुनावी अभियानमा रहेको राप्रपाले प्रत्यक्षमा १० सीट जित्ने महत्वाकांक्षी प्रक्षेपण छ । राप्रपाले समानुपातिकबाट पनि ८ देखि १० सिट जित्ने  आँकलन छ । यद्यपी सो पार्टीले भने समानुपातिकमा पहिलो मत पाउने दावी गरेको छ ।

    २०७० सालमा कमल थापा नेतृत्वको राप्रपा नेपालले प्रत्यक्षमा एक सीट पनि नजित्दा समानुपातिकबाट २४ सीट पाएको थियो । २०७४ सालमा प्रत्यक्षमा राजेन्द्र लिङदेन जित्दा समानुपातिकमा थ्रेसहोल्ड कटाउन नसकेको पार्टी यस पटक कमल थापा बाहिरिएको बेला २० सीटको लक्ष्य लिएर अघि बढेको छ ।

    राप्रपाले प्रत्यक्षमा पाउने मतमा स्वतन्त्र पार्टीले समेत धावा बोलेकाले अपेक्षा गरेभन्दा कम हुने चिन्ता नेताहरूले व्यक्त गरेका छन् । यद्यपि ८ लाखभन्दा तल नहुने दाबी उनीहरूको छ ।

    देशभरिको रिपोर्टका आधारमा राप्रपा समानुपातिकमा पहिलो शक्ति हुने र प्रत्यक्षमा पनि राम्रो नतिजा आउने राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठको दाबी छ । उनले भने, ‘हामी समानुपातिकमा पहिलो हुन्छौैं ।’

    समानुपातिकमा एमाले, कांग्रेस र माओवादीपछिको चौथो शक्ति बन्ने कतिपयकाे आँकलन छ । श्रेष्ठले  भने प्रत्यक्ष र समानुपातिकसहित समग्रमा बलियाे शक्ति बन्ने तयारी रहेको बताए ।

    केही दिनअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाल प्रेससँगको अन्तर्वार्तामा राप्रपा पाँचौँ दल बन्ने सम्भावना आँकलन गरेका थिए । ओलीले एमाले पहिलो,कांग्रेस दोस्रो,माओवादी तेस्रो,जसपा चौथो र राप्रपा पाँचौँ बन्न सक्ने बताएका थिए । राप्रपाले भने जसपालाई जित्न सकिने आँकलन गरेको छ ।

    यी हुन् राप्रपाका टप टेन उम्मेदवार

    राप्रपा एमालेभन्दा पछि सबैभन्दा बढी उम्मेदवार उठाउने दल हो । उसले देशभर १४० क्षेत्रमा उम्मेदवार उठाएको छ । झापाका ४, रुपन्देहीका ४, बाँकेका २, कञ्चनपुरका ३ निर्वाचन क्षेत्रमा राप्रपाले एमालेलाई सघाएको छ । त्यसबापत राप्रपाले झापा ३, बाँके २ र रुपन्देही ३ मा प्रतिनिधिसभा तर्फ एमालेको साथ पाएको छ भने झापा, रुपन्देही, धादिङ २, कञ्चनपुरलगायत केही ठाउँमा प्रदेश सभामा एमालेले सघाएको छ ।

    राप्रपाले जित सुनिश्चित ठहर गरेका उम्मेदवारमध्ये अध्यक्ष राजेन्द्र लिङ्देन पहिलो नम्बरमा छन् । राप्रपा उसै पनि बलियो रहेको सो क्षेत्रमा एमालेको मत थपिएकाले चुनाव जित्न कुनै समस्या नरहेको र विगतको भन्दा फराकिलो मतान्तरले जित्ने स्थिति बनेको उनले बताए ।

    त्यस्तै मोरङ ३ मा रेखा थापा राप्रपाले जित्न सक्ने उम्मेदवारको सूचीमा राखेको छ । रेखाको इन्ट्रीले मोरङ ३ मा त्रिपक्षीय प्रतिस्पर्धा भने भएको छ । एमालेका भानुभक्त ढकाल र कांग्रेसका सुनिल शर्माबीच दुईपक्षीय मानिएको प्रतिस्पर्धामा पछिल्लो समय रेखा थापाको अभियानसँगै त्रिपक्षीय बनेको छ ।

    मकवानपुर १ का दीपकबहादुर सिंह राप्रपाले जित्ने उम्मेदवारको सूचीमा राखेको छ । व्यक्तिगत रूपमा लोकप्रिय नेता सिंह गत स्थानीय निर्वाचनमा हेटौँडा उपमहानगरपालिकाको मेयर उम्मेदवार बनेर एमाले बराबर मत पाएका थिए । झिनो मतले मेयरमा पराजित सिंहले कांग्रेसकी डिना उपाध्यय र एमालेबाट उठेका आफ्नै पूर्व नेता कमल थापालाई कडा चुनौती दिएका छन् ।

    राप्रपाले चुनाव जित्ने सूचीमा राखेका अर्का उम्मेदवार हुन् रवीन्द्र मिश्र । ५ वर्षअघि विवेकशील साझा पार्टीबाट उम्मेदवार बनेर काठमाडौं १ मा प्रकाशमान सिंहसँग करिब ७ सय मतले पराजित भएका मिश्रले यस पटक जित्नका लागि निकै मेहनत गरिरहेका छन् ।

    राप्रपाले पनि उनको जितलाई प्रतिष्ठाको विषय बनाएको छ । मिश्रले यस पटक चुनाव जित्ने आँकलन राप्रपाको छ । उनको लागि मत माग्न बलिउड अभिनेत्री मनीषा कोइराला समेत घरदैलोमा गएकी छन् ।

    काठमाडौं २ बाट राप्रपाले कुन्ती पोखरेललाई चुनाव जित्न सक्ने सशक्त उम्मेदवारको सूचीमा राखेको छ । युवा नेता कुन्तीले चुनाव प्रचारलाई आक्रामक र आकर्षक बनाएकी छन् । उनको प्रतिस्पर्धा एमालेका मणिराम फुयाँल, गठबन्धनकी ओनसरी घर्ती र स्वतन्त्र पार्टीकी सोबिता गौतमसँग छ । राप्रपाले सो क्षेत्रमा पर्ने संखरापुर नगरपालिका जितेको र पहिले देखि नै राप्रपाको प्रभाव क्षेत्र रहेकाले कुन्ती बलियो उम्मेदवार हुन् । स्थानीय तहको निर्वाचनको मत अनुसार पनि राप्रपाको सबैभन्दा बढी मत करिब ८ हजार आएको क्षेत्र हो २ नम्बर । कुन्ती आफ्नै प्रभाव,युवा महिला भएका कारण तटस्थ मत समेत तान्ने अपेक्षा छ ।

    त्यसो त राप्रपाले काठमाडौं ८ का प्रकाश रिमाललाई पनि चुनाव जित्न सक्ने उम्मेदवारको सूचीमा राखेको छ । राप्रपा प्रवक्ता श्रेष्ठले काठमाडौंमा ३ सीट जित्न सकिने आँकलन रहेको बताए । प्रदेशतर्फ १० नम्बर क्षेत्रका उमेशराज सापकोटा बलियो प्रतिस्पर्धामा छन् । उनले जित्न सक्ने राप्रपाको आँकलन छ ।

    राप्रपा वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे चितवन ३ बाट चुनाव जित्न सक्ने उम्मेदवारको सूचीमा छन् । एमालेको उम्मेदवार नरहेको र कांग्रेसका स्वतन्त्र उम्मेदवारलाई सबै एमालेको मत नजाने भएकाले विक्रम पाण्डेलाई फाइदा हुने आँकलन छ । चितवन ३ मा कांग्रेस उम्मेदवार नभएको फाइदा पनि आफूले उठाउने पाण्डेको योजना छ । पाण्डे चुनाव जित्ने सम्भावित राप्रपा उम्मेदवार मानिएका छन् ।

    एमालेको साथ पाएका दीपक बोहोरा यस पटक रुपन्देही ३ बाट नतिजा उल्ट्याउने तयारीमा छन् । उनी गृहमन्त्री बालकृष्ण खाँणसँगको प्रतिस्पर्धाबाट उत्रिने दाबी राप्रपाको छ ।

    त्यस्तै महामन्त्री धवल शमशेर जबरालाई पनि एमालेले साथ दिएकाले बाँके २ बाट जित्ने उम्मेदवारको सूचीमा छन् । उनीबाहेक राप्रपाले जुम्लामा ज्ञानेन्द्र शाही पनि चुनाव जित्ने सूचीमा राखेको छ । शाहीले एकाएक माहौल बनाएका कारण सत्ता गठबन्धनमा खैलाबैला छ ।

    त्यस्तै नवलपरासी पश्चिम क्षेत्र नम्बर २ मा ध्रवबहादुर प्रधानले यसपटक जित निकाल्ने आँकलन राप्रपाको छ । पटकपटक असफल भएका प्रधान यसपटक पनि कांग्रेसका देवेन्द्रराज कँडेलसँग प्रतिस्पर्धामा छन् । स्थानीय तहमा समेत राम्रो मत आएकाले यसपटक प्रधान उम्किन सक्ने अनुमान राप्रपाको छ ।

  • रविन्द्र मिश्रलाई भोट माग्न मनिषा कोइराला घरदैलोमा (तस्बिरहरु)

    रविन्द्र मिश्रलाई भोट माग्न मनिषा कोइराला घरदैलोमा (तस्बिरहरु)

     

    काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ मा राप्रपाबाट उम्मेदवारी दिएका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई भोट माग्दै नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा कांग्रेसका संस्थापक बीपी कोइरालाकी नातिनी बलिवुड अभिनेत्री मनिषा कोइराला घरदैलोमा पुगेकी छन्।

    उनले मंगलबार बिहान काठमाडौं क्षेत्र नम्बर १ का विभिन्न ठाउँमा मिश्रसँगै घरदैलोमा पुगेर भोट मागेकी हुन्। घरदैलो कार्यक्रम बबरमहलबाट शुरु भएको थियो ।

    उनले आइतबार राप्रपाले काठमाडौंको बसन्तपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गरेकी थिइन् ।

  • अहिलेको व्यवस्था असफल भइसक्यो, अब राप्रपाको विकल्प अरू हुँदैन : राजेन्द्र लिङ्देन (भिडिओ)

    अहिलेको व्यवस्था असफल भइसक्यो, अब राप्रपाको विकल्प अरू हुँदैन : राजेन्द्र लिङ्देन (भिडिओ)

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले तीन दशकदेखि सीमित नेताहरूको अघोषित सिन्डिकेटमा देश फसेको टिप्पणी गरेका छन्।

    काठमाडौंमा वसन्तपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले अहिलेको व्यवस्था असफल भएको जिकिर गरे।

    अहिलेको व्यवस्था र मत नबदलेसम्म देश नबन्न दाबी गरे। उनले भने, ‘तीन दशकदेखि केही सीमित राजनीतिक दलका नेताहरूको अघोषित सिन्डिकेटको बन्धक बनेको छ। उनीहरूको चक्रब्युहमा देश फसेको छ।’

    संघीयता कार्यान्वयनपछि देशको ऋण बढेको आरोप लगाए। ऋणबाट जनप्रतिनिधि र कर्मचारीलाई तलब खुवाउनुपर्ने अवस्था बनेको बताए।

    उनले भने, ‘लाखौँ युवा विदेशी भूमिमा गएका छन्। राजाको पालमा रहेको राष्ट्रिय ऋण २९ थियो। त्यो घटेर पाँच वर्षअगाडि आइपुग्दा ८ अर्ब भएको थियो। जस संघीयता कार्यान्वयन भयो। अहिले २० खर्ब भएको छ। ऋण बढेको बढ्यै छ। देश र जनतालाई ऋण बोकाएको छ।’

    भ्रष्टाचार संस्थागत रूपमा विकास भएको उनको बुझाइ छ। सानातिना भ्रष्टाचार गर्नेहरूलाई कारबाही भएपनि मन्त्री र सत्तामा बसेकाले खुलेआम गरिरहेका छन्।

    राजनीतिक दलहरूको मिलेर भाग लिएकै कारणले न्यायालय बिग्रिएको बताए। विदेशप्रति लम्पसार पर्ने सरकार बनाउनतिर लागेपछि वैदेशिक हस्तक्षेप बढेको बताए।

    अहिलेको दलहरूको विकल्प नै राप्रपाबाहेक अरू कुनै हुन नसक्ने जिकिर गरे। अहिलेकै नेताहरूलाई भोट हाल्नु भनेको देश बर्वादितर्फ लानु भएको उनले टिप्पणी गरे।

  • बीपी बा र श्री ५ महेन्द्रले सहकार्य गर्न नपाउँदा मुलुकले ठूला मौका गुमायो : मनिषा कोइराला (भिडिओ)

    बीपी बा र श्री ५ महेन्द्रले सहकार्य गर्न नपाउँदा मुलुकले ठूला मौका गुमायो : मनिषा कोइराला (भिडिओ)

    काठमाडौं । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा कांग्रेसका संस्थापक बीपी कोइरालाकी नातिनी बलिवुड अभिनेत्री मनिषा कोइरालाले राप्रपालाई जिताउने अवसर नगुमाउन आग्रह गरेकी छन् ।

    काठमाडौंको बसन्तपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष राजेन्द्र लिङ्देनले बीपीबालाई नबिर्सिएको बताइन् ।
    उनले भनिन्, ‘तपाईंहरुलाई थाहा छ कि छैन । बीपी बा र श्री ५ महाराज महेन्द्र सरकार दुवै जना एकअर्कामा आदर राख्नुहुन्थ्यो । तर, उहाँहरुले कहिल्यैपनि सहकार्य गर्न पाउनुभएको थिएन । मुलुकले ठुलो मौका गुमाएको थियो । अहिले फेरि त्यस्तै मौका आएको छ । त्यो मौकालाई हामीले गुमाउनु हुँदैन । त्यसैले राप्रपालाई धेरै भोट दिएर जिताउनुस् ।’

  • मतदातालाई कुन्तीको आग्रह- तपाईंको भोट नेपाल आमा बेच्नेहरुलाई नदिनुस् (भिडिओ)

    मतदातालाई कुन्तीको आग्रह- तपाईंको भोट नेपाल आमा बेच्नेहरुलाई नदिनुस् (भिडिओ)

    काठमाडौं । राप्रपा केन्द्रीय सदस्य तथा काठमाडौं क्षेत्र नम्बर २ की उम्मेदवार कुन्ती पोखरेलले अझै पनि गठबन्धन र एमालेजस्ता पुराना पार्टीहरुलाई मत दिनु भनेको नेपाल आमालाई बेच्नुसरह हुने टिप्पणी गरेकी छन् ।

    राप्रपाले शुक्रबार काठमाडौंको बसन्तपुरमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै युवा नेता पोखरेलले जनताले अझै पनि नेपाल आमालाई बेच्न ठूला पार्टीलाई मत दिन नहुने बताइन् ।

    पोखरेलले माओवादीले एमालेभित्र छिरेर एमालेलाई भत्ताभुंग पारेको भन्दै अब कांग्रेसमा छिरेर कांग्रेस सिध्याउने मिसनमा रहेको आरोपसमेत लगाइन् । गठबन्धनबाट सो क्षेत्रमा माओवादीकी ओनसरी घर्ती उम्मेदवार छिन् ।

    पोखरेलले भनिन्म, ‘अरु दललाई गाली नगरौं भन्छु । तर, नगरी हुन्न । माओवादी छिरेर एमाले सिध्यायो । अब कांग्रेसभित्र छिरेको छ । कांग्रेसलाई पनि सिध्याएर निस्किन्छ । यिनीहरुले नेपाल आमालाई बेच्दैछन्, त्यसमा सजग हुनुपर्छ । मेरो उम्मेदवारी नेपाल आमालाई जोगाउन, क्षेत्र नम्बर २ को विकास गर्न र युवाको प्रतिनिधित्वको लागि हो ।’

    राप्रपा उम्मेदवार पोखरेलले काठमाडौं २ लाई पर्यटक उम्मेदवारहरुले रोल्पा रुकुम बनाएको टिप्पणी गर्दै बाहिरबाट आएका पर्यटक उम्मेदवारले चुनाव जितेपछि विकास नगर्ने र त्यसपछि भागेर हिँड्ने गरेको आरोपसमेत लगाइन् ।

  • राप्रपालाई भोट माग्दै मनिषाले भनिन्- बीपी बुबाको बाटोमा राजेन्द्र लिङ्देन हिँड्नुभयो, अरुले बिर्से (भिडिओ)

    राप्रपालाई भोट माग्दै मनिषाले भनिन्- बीपी बुबाको बाटोमा राजेन्द्र लिङ्देन हिँड्नुभयो, अरुले बिर्से (भिडिओ)

    पोखरा । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा कांग्रेसका संस्थापक बीपी कोइरालाकी नातिनी बलिवुड अभिनेत्री मनिषा कोइरालाले बीपीको बाटोमा राप्रपा रहेकाले उक्त पार्टीलाई जिताउन आह्वान गरेकी छन् ।

    शुक्रबार पोखरामा आयोजित राप्रपाको जनसभालाई सम्बोधन गर्दै मनिषाले तत्कालीन राजा महेन्द्र र बीपी कोइरालाबीच अत्यन्त राम्रो सम्बन्ध हुँदाहुँदै पनि मुलुकले ठूलो अवसर गुमाएकाले बीपीलाई सम्झेर राप्रपालाई भोट दिन आग्रह गरिन् ।

    उनले जनतालाई ढाँटेर आश्वासन दिने नेताहरुलाई जनताले चोर आयो भनेर राजेन्द्र लिङ्देनले दिएको अभिव्यक्तिले आफू प्रभावित भएको समेत बताएकी छन् ।

    मनिषाले भनिन्- कांग्रेसले सबैले बीपीलाई बिर्सेलान् तर उहाँ राजेन्द्र लिङ्देनले बिर्सनुभएको छैन । राजसंस्था र बहुदलीय व्यवस्थाले मुलुकलाई सुदृढ गर्छ भनेर बीपी बाले देखाएको राष्ट्रिय मेलमिलापको बाटो नै उहाँले अहिले उठाउनुभएको छ । त्यसकारण म उहाँसँग उभिएकी छु । उहाँका सबै कुरा मन परेको छ । भ्रष्टाचार गरेमा आमाको रगत खाए सरह हो भन्ने कुरा र नेताहरु चोर भन्ने कुरा मन परेको छ ।

    मुम्बइमा फिल्म सुटिङ स्थगित गरेर नेपाल आएकी मनिषाले विपी र महेन्द्रले पूरा गर्न नसकेको सहकार्य राप्रपाको नेतृत्वमा राजसंस्था र हिन्दूराज्य फर्काएर पूरा गर्ने समय आएको दाबीसमेत गरिन् । उनले राप्रपालाई जिताउँन र मौकालाई व्यर्थ खेर जान नदिन आह्वानसमेत गरेकी छन् ।

    विपी कोइरालाका तीन छोरामध्ये जेठा प्रकाशकी छोरी हुन् मनिषा । बीपीका अर्का छोरा सशांक कांग्रेसबाट उम्मेदवार छन् । तर मनिषा भने राप्रपाको चुनावी अभियानमा लागेकी छन् ।

  • राप्रपामय वसन्तपुर (तस्बिरहरू)

    राप्रपामय वसन्तपुर (तस्बिरहरू)

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजधानीको बसन्तपुरमा चुनावी सभाको आयोजना गरेको छ । सभामा पार्टी अध्यक्ष राप्रपा लिङ्देन, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र लगायतले सम्बोधन गरेका छन् ।

    आसन्न मंसिर ४ गतेको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि राप्रपाले विभिन्न स्थानमा चुनावी प्रचारप्रसार तीव्र बनाइरहेको छ । यसै क्रममा बसन्तपुरमा पनि वृहत सभाको आयोजना गरिएको हो । यसो हेर्दा वसन्तपुर राप्रपामय बनेको देखिएको थियो ।

    हेर्नुस् तस्बिरहरुः

  • राप्रपाको आमसभामा ‘कम्युनिष्ट गीत’ घन्किएपछि…(भिडिओ)

    राप्रपाको आमसभामा ‘कम्युनिष्ट गीत’ घन्किएपछि…(भिडिओ)

    काठमाडौं । पञ्चायतविरोधी संघर्षका क्रममा कम्युनिष्ट कार्यकर्ताहरुबीच अत्यधिक लोकप्रिय बनेको गीत हो- गाउँ-गाउँबाट उठ बस्ति बस्तिबाट उठ.. । प्रगतिशील श्याम तमटको सिर्जना एवम् रामेश र रायनद्वारा गाइएको यो क्रान्तिकारी गीतलाई नेपालको ‘कम्युनिष्ट गान’ भन्दा फरक पर्दैन । पछि चलचित्र ‘बलिदान’ मा समेत यो गीत समावेश गरिएको थियो ।

    पञ्चायती व्यवस्थाको विरोधमा जनतालाई जागरुक गराउन रचिएको यही चर्चित गीत आज पूर्वपञ्चहरुको पार्टी राप्रपाको आमसभामा गाइएको छ ।

    बसन्तपुरमा भएको पार्टीको चुनावीसभामा एक महिला कलाकारले ¥याप शैलीमा गिटार बजाउँदै ‘गाउँ-गाउँबाट उठ’ गीत गाएकी हुन् । आमसभामा उपस्थित राप्रपा कार्यकर्ताहरुले ताली बजाउँदै उनलाई साथ दिए ।

    उनले ‘रातो र चन्द्र सुर्य..’, ‘रेशम फिरीरी’ लगायत गीत पनि गाइन् । रेशम फिरीरी गाउँदा राप्रपाका नेताहरु मञ्चमै छमछमी नाचेका थिए ।

    राप्रपाको आमसभामा अभिनेत्री मनिषा कोइराला पनि सहभागी हुने भनिएको छ । यो समाचार लेख्दासम्म उनी कार्यक्रमस्थलमा आइपुगेकी छैनन् ।

  • रवीन्द्र मिश्रको दाबी- गणेशमानजीको राजनीतिक उत्तराधिकारी म हुँ (भिडिओ)

    रवीन्द्र मिश्रको दाबी- गणेशमानजीको राजनीतिक उत्तराधिकारी म हुँ (भिडिओ)

    काठमाडौं । राप्रपा नेपालका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले नेपाली कांग्रेसमा प्रचण्डीकरण भएको टिप्पणी गरेका छन्। काठमाडौंमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले कांग्रेसका नेता गणेशमान सिंहको राजनीतिक उत्तराधिकारी आफू भएको दाबी गरेका छन्।

    उनले भने, ‘कांग्रेस गणेशमानजीको सुपुत्र आज प्रकाशमान जी आज मेरो १५ वर्ष सांसद भएपछि मेरो प्रतिस्पर्धी हुनुभएको छ। मलाई यहाँ उभिएर दाबी गर्न अप्ठ्यारो छैन। गणेशमानजीका सुपुत्र प्रकाशमान जी रगतले उहाँको उत्तराधिकारी हुनुहुन्छ। राजनीतिक रूपमा यो देशको लागि संवैधानिक राजसंस्था र यो देशलाई शिरमा राखेर दृढताको साथ अघि बढ्ने राजनीतिक उत्तराधिकारी म हुँ।’

    उनले आफूले भोट तान्नको लागि गणेशमानजीको उत्तराधिकारी आफू भएको नबताएको जिकिर गरे। उनले गणेशमानको राजनीतिको प्रशंसा र र कांग्रेसको प्रचण्डीकरण भएको आलोचना गर्न थालेको धेरै भएको बताए।

    उनले कांग्रेस बीपीकरण र गणेशमानकरण हुनुपर्नेमा प्रचण्डीकरण भएकै कारणले आफू राजनीतिमा आएको बताए।

  • मोरङ ३ : भानुभक्त र सुनिलविरुद्ध रेखाको ‘स्टार पावर’

    मोरङ ३ : भानुभक्त र सुनिलविरुद्ध रेखाको ‘स्टार पावर’

    विराटनगर । यतिवेला सिंगै देश चुनावी माहोलमा रंगिएको छ । तर, मोरङको क्षेत्र नम्बर ३ को माहोल भने अन्यत्रभन्दा अलिक बेग्लै छ । अभिनेत्री रेखा थापाको उम्मेदवारीका कारण यहाँको चुनावी परिदृश्य फरक बनेको हो ।

    नेपाली फिल्म क्षेत्रकी ‘हिम्मतवाली’ हिरोइन रेखा थापा पहिलो पटक प्रत्यक्ष चुनाव लड्दैछिन् । उनी यस क्षेत्रका स्थानीयवासीका लागि स्वतः ‘आकर्षण’ बनेकी छन् । पछि मतपत्रमा प्रतिविम्बित होला, नहोला, तर अहिले भीड जुटाउन चाहिँ रेखालाई कठिन छैन । पार्टीका हस्ती नेताहरुभन्दा रेखा उपस्थित कार्यक्रममा सहजै भीड जुट्छ ।

    थापाको चुनावी कार्यक्रम र घरदैलो छ भन्ने सुनेपछि गर्दागर्दैको काम छाडेर उनीसामु पुग्ने गर्छन् । धान थन्क्याउन खेत र खलिहानमा भएकाहरु पनि रेखा हेर्न मरिहत्ते गर्छन् । जसले यस क्षेत्रको चुनावी सरगर्मीलाई रमाइलो बनाएको छ ।

    आफूलाई हेर्न र सुन्न आएका मतदाता र सर्वसाधारणसँग रेखा आफ्ना कुरामात्रै भन्दिनन्, अंगालो हाल्दै सेल्फी पनि खिच्न भ्याउँछिन् । यस क्षेत्रका चोक–चोकमा हुने कोणसभामा नाचेर पनि मनोरञ्जन गराइदिन्छिन् । उनीसँगै मतदाता पनि छमछमी नाच्ने गर्छन् । उनको कार्यक्रममा ज्येष्ठ नागरिक र युवाको विशेष सहभागिता रहने गरेको छ ।

    रेखाले मनोनयन दर्ता गर्ने मितिभन्दा दुई साताअघि नै यस क्षेत्रमा उम्मेदवार बन्ने घोषणा गरेकी थिइन् । अहिले चुनावी मैदानमै रहेकी रेखाको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीको यहाँ सांगठनिक मत भने कम छ ।

    स्थानीय तह निर्वाचनमा वडा तहमा राप्रपालाई २ हजार १२१ मत आएको छ । तर, रेखाको चुनावी चर्चा र चहलपहल भने ३७ हजार ४१० मत आएको एमाले र ३६ हजार ९१६ मत आएको कांग्रेसको भन्दा कम छैन ।

    यस क्षेत्रमा सत्ता गठबन्धनका सुनिल शर्मा र एमालेका भानुभक्त ढकाल चुनावी प्रतिस्पर्धामा छन् । २०७४ को निर्वाचनमा पनि यी दुई मुख्य प्रतिस्पर्धी थिए ।

    अहिलेकै अवस्था र माहोल रेखाले निर्वाचनको दिनसम्म कायम राख्ने हो भने १ लाख ४९ हजार ८३३ मतदाता रहेको यस क्षेत्रमा त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिन्छ ।

    उम्मेदवारमाझ घरदैलोमा रहेका तीनै जनाले आफूले नै जित्ने दाबी गरिरहेका छन् । पूर्वमन्त्री एमालेका ढकालले आफूले गरेको कामका कारण पुनः निर्वाचन जित्ने दाबी गरेका छन् ।

    उनी २०७४ को निर्वाचनमा कांग्रेसका शर्मालाई हराएर सांसद भएका थिए । उनले आफू यस क्षेत्रबाट निर्वाचन जितेपछि विकास निर्माणको काम गरेको मतदातासमक्ष बताउँदै आएका छन् । ढकालले अघिल्लो निर्वाचनमा सुकुमबासी समस्या समाधान गर्ने वचन दिएका थिए ।

    यस पटक पनि चुनावी प्रचारमा जाँदा उनी एमाले सरकारले भूमिसम्बन्धी समस्या समाधान गर्न आयोग बनाएको र त्यही आयोगले गरेको कामका कारण सुकुमबासी समस्या समाधानतर्फ गएको सुनाउँदै आएका छन् ।

    उनले भने, ‘पार्टीले सुकुमबासी समस्या समाधान आयोग गठन गरेर काम सुरु भएको छ । केहीले जग्गा धनीपुर्जा नै पाइसक्नुभयो ।’

    तर, उनको सुकुमबासी समस्या समाधान गर्ने वचन नै उनका लागि चुनौती बनेको छ । सुकुमबासी समस्या समाधान नभएको भन्दै मतदाता रिसाएको स्थानीय भीम राई बताँउछन् । यो क्षेत्रमा ३० हजार बढी सुकुमबासी रहेको अनुमान छ ।

    सत्ता गठबन्धनका उम्मेदवार शर्मा विराटनगरको नोवेल मेडिकल कलेजका सञ्चालक हुन् । शर्मा २०७४ मा निर्वाचन हारेपछि पनि निरन्तर यही क्षेत्रमा छन् । यस क्षेत्रका नागरिकको स्वास्थ्य उपचारमा विशेष ख्याल राखेका शर्मा निर्वाचनमा यही जस लिन लागिरहेका छन् ।

    क्षेत्र नम्बर ३ का मतदाताको उपचारमा नोवेल अस्पतालले विशेष छुटसहित सेवा दिँदै आएको छ । शर्मा भन्छन्, ‘मैले यस क्षेत्रमा गरेको कामका कारण यस पटक मैले जित्ने हो ।’

    उनले यस क्षेत्रका नागरिकको उपचारमा नोवेल अस्पतालमा ५० प्रतिशतसम्म छुटको व्यवस्था गरेका छन् । बितेका ५ वर्षमा शर्माले विभिन्न स्वास्थ्य शिविरहरु यस क्षेत्रमा गराएका छन् । यही कामका कारण निर्वाचन जित्ने बेलबारीका कांग्रेस कार्यकर्ता सञ्जय बस्नेत दाबी गर्छन् ।

    भावनात्मक कुरा गर्दै मत माग्दै

    ढकाल र शर्माले आफूले गरेका कामको जस लिन खोजे पनि थापाले भने आफू यही माटोमा जन्मिएको भन्दै मत माग्न थालेकी छन् । अघिल्ला चुनावमा जितेका सांसदले काम नगरेपछि आफू जन्मभूमि फर्किएर उम्मेदवार बनेको थापाले बताउँदै आएकी छन् ।

    ‘हाम्रा दाजुभाइ किन खाडी र मलेशिया गए ? तपाईं चेलीबेटीहरुले किन एक्लै घाँस दाउरा गर्नुपर्ने भयो ?’ माझीटारमा भएको चुनावी सभामा बोल्दै रेखाले भनेकी थिइन्, ‘कांग्रेस र एमालेले काम र रोजगारी दिएनन् ? स्कुल र अस्पताल खोलेनन् । हामीले विकास पाएनौं ।’

    उनले स्वरोजगारको मुद्दालाई चुनावी एजेण्डा बनाएकी छन् । बक्राहा, चिसाङ, डाँस खोलालगायतको कटान समस्या समाधान गर्ने बताउने गरेकी छन् ।

    यस्तो छ विगत

    मोरङ क्षेत्र नम्बर ३ लाई वामपन्थीहरुको आधार इलाकाका रुपमा लिइन्छ । यस क्षेत्रमा एमालेले निर्वाचन जित्दै आएको छ ।

    निर्वाचन क्षेत्र फरक परेको भए पनि यो भूगोलबाट २०४८ सालदेखि २०७४ सम्म वामपन्थी उम्मेदवारले निर्वाचन जित्दै आएका छन् ।

    यसअघि यो निर्वाचन क्षेत्रबाट भरतमोहन अधिकारी, लालबाबु पण्डित, गोपी अछामी, लालबहादुर मगर विजयी भएका थिए ।

    २०७४ सालको निर्वाचनमा वाम गठबन्धनबाट उम्मेदवार भएका भानुभक्तले ४२ हजार ४१३ मत ल्याएका थिए । कांग्रेसका सुनिलले ४० हजार ५०६ मत ल्याएका थिए । तर, यस पटक राजनीतिक समीकरण फेरिएको छ । अघिल्लो निर्वाचनमा भानुभक्तसँग रहेको माओवादी मत यस पटक सुनिलको पक्षमा छ ।

    यस्तै एमाले विभाजन भई एकीकृत समाजवादी हुँदा एमालेको मत पनि सत्ता गठबन्धनलाई नै थपिने छ । यस क्षेत्रमा दलका ९ र ६ स्वतन्त्र गरी १५ जना उम्मेदवार प्रतिनिधिसभा सदस्यका लागि चुनावी प्रतिस्पर्धामा छन् ।

    यो निर्वाचन क्षेत्रमा पथरी शनिश्चरे नगरपालिकाको वडा १, २, ३, ४, ७, ८, ९ र १० वडा पर्छन् । बेलबारी नगरपालिकाको वडा १, २, ३, ४, ८, ९, १० र ११ वडा यसै क्षेत्र पर्छ ।

    सुन्दरहरैंचा नगरपालिकाको वडा १, ८, ९, १०, ११ र १२ वडा यसै निर्वाचन क्षेत्रमा पर्दछ । कानेपोखरी गाउँपालिकाको ४, ५, ६ र ७ गरी यो निर्वाचन क्षेत्रमा २६ वटा वडा छन् ।

    स्थानीय तहमा वडमा आएको मत हेर्दा सत्तापक्षीय गठबन्धन अगाडि छ । यो निर्वाचन क्षेत्रमा स्थानीय तहको वडागत मतअनुसार जसपा-एमाले गठबन्धनको ३७ हजार ८७३ पुग्छ । सत्ता गठबन्धनको मत ४६ हजार १४१ देखिन्छ ।

    सुनिललाई बागीको पीर

    मोरङ क्षेत्र नम्बर ३ मा कांग्रेसका जयराम संयोग लिम्बू कांग्रेसका बागी उम्मेदवार छन् । उनी नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि हुन् । उनलाई पार्टीले कारबाही गरिसकेको छ । उनी विजय गच्छदार निकट नेता मानिन्छन् ।

    यहाँका अर्का प्रभावशाली नेता राजकुमार लिम्बूसमेत कांग्रेसलाई चुनौती हुन सक्छन् । उनी प्रदेशसभामा उम्मेदवार बन्न नपाएपछि असन्तुष्ट बन्दै पार्टीबाट राजिनामा दिएर बसेका छन् । उनी बेलबारी नगरपालिकामा समेत मेयरका आकांक्षी थिए ।

  • भोट दिने भन्ने कुरा छोरी दिने भन्दापनि ठुलो कुरा हो : राजेन्द्र लिङ्देन

    भोट दिने भन्ने कुरा छोरी दिने भन्दापनि ठुलो कुरा हो : राजेन्द्र लिङ्देन

    बकैया । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले चुनावमा भोट दिने कुरा बिहेमा छोरी दिने भन्दा पनि महत्वपूर्ण कुरा भएको बताएका छन् । मकवानपुरको बकैया गाउँपालिकामा आज भएको चुनावी सभालाई संवोेधन गर्दै अध्यक्ष लिङ्देनले चुनावमा दिईने मतले जनताको भाग्य र भविष्य निर्धाराण गर्ने बताए ।

    लिङ्देनले भने, ‘तपाईले अनेक बिचार गरेर दिएको छोरी पनि कहिलेकाँकी गलत मान्छेको हातमा पर्छ, छोरी गलत मान्छेको हातमा परेपनि त्यहि एउटा छोरीले मात्र दुख पाउँछ तर तपाईले दिएको एउटा भोट पुरै समाज, पुरै देशले दुख पाउँछ, त्यसैले भोट दिनु अघि हजार पटक सोचेर दिनुहोस् ।’

    अध्यक्ष लिङ्देनले आफुले पाँच वर्ष अघि सांसदमा भ्रष्ट्राचार गर्नु भनेको आमाको रगत खाए सरह हुने बताएको र सोहि अनरुपको काम गरेको भन्दै नेपालमा भ्रष्ट्राचाररहित राजनीतिको नमुना राप्रपाबाट अन्य दलले सिक्ने बताए । देशलाई भ्रष्ट्राचारमुक्त गरि शुसासन कायम गर्न राप्रपाको शक्ति आवश्यक रहेको भन्दै उनले यो पटक राप्रपालाई बहुमत दिलाएर देशलाई शुसासन तर्फ अघि बढाउन अनुरोध गरे ।

    मकवानपुरबाट दिपकबहादुर सिंहल राप्रपाको विचारको नेतृत्व गरेको भन्दै शुसासन र भ्रष्ट्राचारमुक्त समाज स्थापनाको लागि उनलाई जिताउन अनुरोध गरे । भ्रष्ट्राचारमुक्त समाजको लागि प्रतिनिधिसभामा आफुलाई दिपक सिंहजस्तो साथी चाहिने भन्दै उनले यो पटक अनिवार्य रुपमा उनलाई विजयी गराउन अनुरोध गरे ।

     

  • लिङदेन भन्छन्- विदेशीलाई सजिलो हुने सरकार बनाउनबाट गठबन्धनलाई रोक्नुपर्छ (भिडिओ)

    लिङदेन भन्छन्- विदेशीलाई सजिलो हुने सरकार बनाउनबाट गठबन्धनलाई रोक्नुपर्छ (भिडिओ)

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले विदेशीलाई सजिलो हुने सरकार बनाउनबाट गठबन्धनलाई रोक्नुपर्ने बताएका छन् ।

    बिहीबार उदयपुरको बेल्टारमा आयोजित राप्रपाको चुनावी सभालाई सम्बोधन गर्दै उनले मुलुकमा वैदेशिक हस्तक्षेप बढ्दै गएको र सत्ता गठबन्धनले विदेशीलाई सजिलो हुने सरकार बनाउँछु भन्दै हिँडेको बताए ।

    अहिले नेपालमा प्रधानमन्त्री वा मन्त्रीहरू को हुने भन्ने पनि विदेशीले तय गर्न थालेको उनको भनाइ छ । मुलुकमा देखिएको बेथिति, विकृति र विसंगतिको विकल्प बनेर राप्रपा आएको भन्दै लिङदेनले अहिलेको व्यवस्था नै असफल भएकाले व्यवस्था परिवर्तनको एजेण्डालाई प्राथमिकतामा राखेको बताए ।

    सुकुम्बासी समस्या समाधानका मुद्दालाई चुनावमा भोट बटुल्ने औजार बनाउन नहुने उनको भनाइ छ । चुनावी प्रसारको क्रममा लिङदेनले बिहीबार सिन्धुपाल्चोक, सिन्धुली, उदयपुर, मकवानपुरलगाएयका स्थानमा सम्बोधन गरेका थिए ।

    विदेशीलाई सजिलो हुने सरकार बनाउनबाट गठबन्धनलाई रोक्नुपर्छ : राजेन्द्र लिङदेन बताउनुभएको छ ।

  • मनिषा कोइरालाले राप्रपाको चुनावी सभालाई सम्बाेधन गर्ने

    मनिषा कोइरालाले राप्रपाको चुनावी सभालाई सम्बाेधन गर्ने

    काठमाडौं । चर्चित बलिउड अभिनेत्री मनिषा कोइरालाले राष्ट्रिय प्रजातन्त्र पार्टीको चुनावी कार्यक्रममा सहभागी हुने घोषणा गरेकी छन् । मनिषा कांग्रेसका संस्थापक एवम् पूर्वप्रधानमन्त्री बिपी कोइरालाकी नातिनी हुन् ।

    कोइरालाले राप्रपाको कात्तिक २५ गते काठमाडौंको बसन्तपुरमा दिउँसो १ बजे, त्यसअघि पोखरा र स्याङ्जामा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

    त्यस्तै, कोइरालाले ट्वीटरमार्फत आफ्नो व्यस्त कार्यतालिकाबाट विश्राम लिएर राप्रपाको चुनावी सभामा सहभागी हुन घर जान लागेको उल्लेख गरेकी छन् ।

    उनले राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनलाई गतिशील, दूरदर्शी एवम् युवा नेताको रुपमा चित्रण गरेकी छन् । लिङदेनको राष्ट्रियता र देशको इतिहास र सांस्कृतिक बुझाइले समकालीन नेताहरुभन्दा माथि राखेको मनिषाले बताएकी छन् ।

  • कांग्रेस र कम्युनिष्टले देशलाई अरबियनको नोकर उत्पादन थलो बनाए: राजेन्द्र लिङ्देन

    कांग्रेस र कम्युनिष्टले देशलाई अरबियनको नोकर उत्पादन थलो बनाए: राजेन्द्र लिङ्देन

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी मंसिर ४ को निर्वाचनलाई सीमित राजनीतिक दलको चक्रब्युबाट देशलाई मुक्त गराउने अवसरको रुपमा लिनुपर्ने बताएका छन्।

    मेलम्चीमा आयोजित राप्रपाको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले देश र जनताका भविष्य बनाउने भएकाले मंसिर ४ को निर्वाचनलाई गम्भिर रुपमा लिन आग्रह गरेको छन्।

    उनले भने, ‘भोट दिने भन्ने कुरा छोरी दिने कुराभन्दा ठुलो कुरा हो। तपाईंले छोरी दिनेकुरा हजारचोटी सोच्नुहुन्छ। केटाको बारेमा अनेक लगाएर खोज्नुहुन्छ। सोचेर बुझेर दिएको छोरीपनि कहिलेकाहिँ लफङ्गाको हातमा पर्छ। त्यो निर्णयले तपाईंको एउटा छोरीले मात्रै दुख पाउछ। तर, तपाईंले दिएको एउटा गलत पार्टी र नेतालाई परेमा पुरै देश र जनताले दुख पाउँछन्।’

    तीन दशकदेखि बहुदलीय व्यवस्था आएपछि तीनै पार्टी र नेताहरुको बन्दकमा देश परेको आरोप लगाए। अहिले पनि पुरानै अनुहार अघि आएको बताए।

    कांग्रेस र कम्युनिष्ट पार्टीले देश अरबियनको नोकर उत्पादन थलो बनाएको टिप्पणी गरे। तीन दशक अर्थात् एउटा युग कांग्रेस र कम्युनिष्टले खेर फालेको आरोप लगाए।

    सिन्धुपाल्चोकमा पशुपतिशम्शेर राणाहरुले सिन्धुपाल्चोकको विकास गरेको स्मरण गरे।

  • राप्रपाको आक्रामक अभियान, कात्तिक २५ गते बसन्तपुरमा उपत्यकास्तरीय आमसभा

    राप्रपाको आक्रामक अभियान, कात्तिक २५ गते बसन्तपुरमा उपत्यकास्तरीय आमसभा

    काठमाडौं । यो निर्वाचनमा थ्रेसहोल्ड कटाएर राष्ट्रिय पार्टी बन्ने आक्रामक अभियानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले कात्तिक २५ गते काठमाडौंमा आमसभा गर्ने भएको छ ।

    राप्रपाले वसन्तपुरमा गर्ने उपत्यकास्तरीय आमसभालाई अध्यक्ष राजेन्द्र लिङ्देन र पार्टीका वरिष्ठ नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

    आमसभामा उपत्यकाका तीन जिल्लाका १५ प्रतिनिधि सभाका र ३० प्रदेश सभाका उमेदवारहरुले मतदानका लागि सामुहिक अपिल गर्ने कार्यक्रम समेत रहेको छ ।

    देशका १४२ प्रतिनिधिसभा र २८६ प्रदेश सभा क्षेत्रमा उमेदवारी दिएको राप्रपा सबैभन्दा बढी उमेदवार उठाउने एमाले पछिको दोस्रो दल हो ।
    राप्रपाले यसअघि गोरखाको पालुङटार, नवलपुरको डण्डा, नवलपरासीको सुनवल र पाल्ही नन्दनमा चुनावी सभा गरिसकेको छ। राप्रपाले कार्तिक २४ गते एकदिन मै ६ वटा सभाको आयोजना गरेको छ ।

    अध्यक्ष लिङ्देन र पूर्व अध्यक्ष पशुपतिशमशेर जबराले सिन्धुपाल्चोक, सिन्धुली, सिराहा, मकवानपुर, उदयपुर र सुनसरीको धरानमा हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको प्रवक्ता एवं प्रचार विभाग प्रमुख श्रेष्ठले जानकारी दिएका छन् ।

    यथास्थितिमा परिवर्तनको नारा दिएर राप्रपाले मतलाई मनसँग जोड्न मतदातासँग मत मागिरहेको छ । अध्यक्ष लिङ्देन झापा क्षेत्र नं ३ मा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार छन् । अध्यक्षको झापाको चुनावी अभियानलाई दृष्टिगत गर्दै अन्य जिल्लामा चुनावी सभा तय गरिएको र कार्तिक २९ गतेसम्म चुनावी सभा गरिने राप्रपाले जनाएको छ ।

  • गृहमन्त्री खाडले शक्तिको दुरुपयोग गरेको राप्रपा नेता राणाको आरोप

    गृहमन्त्री खाडले शक्तिको दुरुपयोग गरेको राप्रपा नेता राणाको आरोप

    रुपन्देही । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वअध्यक्ष पशुपति शमशेर राणाले गृहमन्त्री बालकृष्ण खाणले शक्तिको दुरुपयोग गरिरहेको आरोप लगाएका छन् ।

    उनले शक्तिको दुरुपयोग गरिरहेको भनेर आफूले विभिन्न माध्यमबाट थाहा पाएको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण समेत गराए ।

    उनले भने, ‘सरकारका वर्तमान गृहमन्त्री पनि प्रतिस्पर्धीको रूपमा छन् रे, उनले प्रहरी प्रशासनको दुरुपयोग गरेको भन्ने सूचना आएको छ । म उहाँलाई चेतावनी दिन चाहन्छु, राज्य शक्तिको दुरुपयोग नहोस् ।’

    रुपन्देही क्षेत्र नम्बर ३ बाट दीपक बोहरालाई जिताउन उनले आग्रह गरेका छन् । सोमबार भैरहवामा आयोजना गरिएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘दीपक बोहरा विकासको लागि जरुरी छ, यो ठाउँ, यहाँको गाउँले चिनेको व्यक्ति हुन् । उनलाई मंसिर ४ गतेको निर्वाचनमा मत दिनुस् हामी उहाँलाई गृहमन्त्री बनाएर पठाउँछौँ ।’

    राणाले दीपक बोहराको जित सुनिश्चित रहेको दाबी गर्दै आफ्नो मत सदुपयोग गर्न पनि आग्रह गरे ।

    उनले भने, ‘दीपकले जितिसकेका छन् । केवल औपचारिकता पूरा गर्न बाँकी छ, दीपकको जीत राष्ट्रियता र अखण्डताको लागि पनि आवश्यक छ । ’

    राणाले रुपन्देही क्षेत्र नम्बर ३ को सवालमा सबै राप्रपाका सदस्यहरूले प्रतिनिधिसभा सदस्यमा हलोमा र प्रदेशमा छाता र सूर्यमा मतदान गरेर इमान्दारिता देखाउन पनि आग्रह गरे । उनले भने, ‘प्रतिनिधिसभामा हलोमा, प्रदेशको ३ (१) मा छाता र ३ (२) मा सूर्यमा मतदान गर्ने हो ।’

    उनले कांग्रेसको कारण देश संकटमा परेको बताउँदै मुलुकको निकासको लागि निर्वाचनमा सबै राष्ट्रवादीहरु एक भएर लाग्ने समेत बताए ।

    राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय नेतृत्वले दीपकको विजयीको लागि कुनै कमी नराख्ने बताउँदै एमाले र जसपाको राजनैतिक इमान्दारितासँगै विजयीको सुनिश्चितता रहेको समेत बताए ।

  • कास्की २ मा राप्रपाका पन्तको प्रतिबद्धता: टेक सिटी र निःशुल्क स्वास्थ्य परीक्षण

    कास्की २ मा राप्रपाका पन्तको प्रतिबद्धता: टेक सिटी र निःशुल्क स्वास्थ्य परीक्षण

    पोखरा । कास्की क्षेत्र नम्बर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रतिनिधिसभा उम्मेदवार हुन्, सुभर्णराज पन्त । राप्रपा कास्की जिल्ला सहसचिवसमेत रहेका ३२ वर्षीय पन्त युवाको साथ र मतले चुनाव जित्ने भन्दै चुनावी मैदानमा छन् । आफू ठूला एजेन्डा नबोकेको र जनताका सेवाका लागि साना तर महत्वपूर्ण एजेन्डा लिएर चुनावमा होमिएको पन्त बताउँछन् ।

    पोखरालाई टेक सिटीका रुपमा विकास गर्ने लक्ष्य बोकेका पन्तले पोखरालाई डिजिटल पर्यटनको हब बनाउने सपना देखेका छन् । पन्त भन्छन्, ‘पोखरा पर्यटनको हब हो, अब यसलाई डिजिटल पर्यटनको हब बनाउन म टेक सिटीको नारा लिएर आएको हुँ ।’

    सांसद निर्वाचित भए आफ्नो सचिवालय पोखरामा नै राख्ने र जनतासँग नजिक भइराख्ने उनको प्रतिबद्धता छ । ‘मेरा मतदाता मलाई खोजेर काठमाडौं जानुपर्ने अवस्था हुँदैन । पोखरामै सचिवालय खोलेर जनतासँग नजिक भएर बस्छु’, उनले भने ।

    भ्रष्टाचारविरोधी कानून बनाउन आफ्नो जोड रहने पन्त बताउँछन् । स्वास्थ्यकर्मीसमेत रहेका पन्तले वर्षमा १ पटक सुगर, किड्नी र फोक्सोको निःशुल्क परीक्षण गर्ने व्यवस्था मिलाउने प्रतिबद्धता जनाएका छन् ।

  • प्रत्येक नागरिकको स्वास्थ्य प्रोफाइल तयार गर्ने राप्रपाको घोषणा

    प्रत्येक नागरिकको स्वास्थ्य प्रोफाइल तयार गर्ने राप्रपाको घोषणा

    काठमाडौं । राप्रपाले सुत्केरीलाई तीन महिनासम्म तीन हजार भत्ता उपलब्ध गराउने प्रतिबद्धता जाहेर गरेको छ । आगामी निर्वाचनको लागि अध्यक्ष राजेन्द्र लिङ्देनले घोषणापत्र सार्वजनिक गर्दै आधारभूत स्वास्थ्य सेवा सबै नागरिकलाई निःशुल्क गर्ने घोषणा गरेको हो ।

    काठमाडौंको वीर अस्पतालस्तरको अस्पताल सातै प्रदेशमा स्थापना गर्ने, सबै नागरिकलाई स्वास्थ्य बीमाको पहुँचमा ल्याउने, वडा स्वास्थ्य केन्द्रमार्फत प्रत्येक नागरिकको स्वास्थ्य प्रोफाइल तयार पार्ने घोषणापत्रमा उल्लेख छ ।

    ज्येष्ठ नागरिक र अशक्तलाई घरदैलोमै स्वास्थ्य सेवा, किशोरीलाई पाठेघर क्यान्सरविरुद्धको खोपलगायतको योजना अघि सारेको छ ।

  • राप्रपाको घोषणापत्र : शान्ति क्षेत्रको प्रस्ताव ब्युँताउने, ०४६ पछिका नेताको सम्पत्ति छानबिन गर्ने

    राप्रपाको घोषणापत्र : शान्ति क्षेत्रको प्रस्ताव ब्युँताउने, ०४६ पछिका नेताको सम्पत्ति छानबिन गर्ने

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी निर्वाचनका लागि आफ्नो ‘स्मार्ट घोषणापत्र’ तयार गरेको छ । भर्खरै सार्वजनिक गरिएको घोषणापत्रमा राप्रपाले आफ्ना परम्परागत एजेन्डाहरूलाई समावेश गर्नुका साथै केही मौलिक र नयाँ विषयहरू पनि उठान गरेको छ ।

    अन्य पार्टीहरूभन्दा भिन्न तरिकाले राप्रपाले पावरप्वाइन्ट भर्सनमा बुँदागत टिपोट गरिएको छरितो घोषणापत्र ल्याएको हो । राप्रपाको घोषणापत्रमा सवल र समुन्नत नेपालको दीर्घकालीन सोच लिइएको छ भने २०८७ सालसम्ममा नेपाललाई मध्यम आयस्तर भएको मुलुकका रूपमा स्तरोन्नति गर्ने दीर्घकालीन मार्गचित्र प्रस्तुत गरिएको छ ।

    राप्रपाले देशको अभिभावकीय भूमिकामा राजा रहनुपर्ने तथा जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री रहने गरी शासकीय व्यवस्थाको वकालत गरेको छ । पूर्णसमानुपातिक संसदको पक्षमा उभिएको राप्रपाले प्रदेशको खारेजी गर्नुपर्ने पक्षमा पनि आफूलाई उभ्याएको छ । नेपाललाई सर्वधर्म समभाव पूर्णधार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन धर्मसापेक्ष हिन्दू राष्ट्र बनाउनुपर्ने राप्रपाको मत छ ।

    राप्रपाले नेपालको शान्ति क्षेत्र प्रस्तावलाई पुनर्जीवित गर्नुपर्ने नयाँ विषयको उठान गरेको छ । यसअघि पञ्चायतकालमा राजा वीरेन्द्रले अघि बढाएको प्रस्तावलाई राप्रपाले अहिले पुनर्जीवित गर्न चाहेको हो । यसैगरी, २०४६ सालयताका नेता तथा कर्मचारीको सम्पत्ति खोजबिन गर्न नागरिक आयोग बनाउने राप्रपाको घोषणा छ ।

  • तीन पार्टीले आज घोषणापत्र सार्वजनिक गर्ने

    तीन पार्टीले आज घोषणापत्र सार्वजनिक गर्ने

    काठमाडौं । आसन्न मंसिर ४ को निर्वाचनका लागि आज तीनवटा पार्टीले घोषणापत्र सार्वजनिक गर्दैछन् ।

    सत्तागठबन्धनको घटकमध्ये एक नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि घोषणापत्र तयार पारिसकेको छ ।

    सोमबार दिउँसो ३ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा घोषणापत्र सार्वजनिक गरिने केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए ।

    नेकपा एकीकृत समाजवादीले पनि आजै चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ ।

    केन्द्रीय कार्यालय आलोकनगरमा दिउँसो १ बजे घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम तय गरेको पार्टीले जनाएको छ ।

    नेकपा एसले ‘राष्ट्रिय स्वाभिमान, संविधानको रक्षा र स्थिरता हाम्रो सरोकार, आर्थिक सामाजिक रूपान्तरण समृद्धि समाजवादको आधार’ नारा तय गरेको छ ।

    त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीले थापागाउँस्थित बानेश्वर बैङ्क्वेटमा बिहान ११:३० बजे घोषणापत्र सार्वजनिक गर्दैछ

    अध्यक्ष राजेन्द्र लिङदेनले घोषणा पत्र सार्वजनिक गर्ने राप्रपाले जनाएको छ ।

    सत्तागठबन्धनको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले शनिबार घोषणापत्र सार्वजनिक गरिसकेको छ । प्रमुख प्रतिपक्ष नेकपा एमालेले घोषणापत्र लगभग सकिएको भन्दै केही दिनमा सार्वजनिक गर्ने बताएको छ ।