विराटनगर । कोशी प्रदेशसभामा पूर्वराजा ज्ञानेन्द्र शाहलाई ‘श्री ५ महाराजधिराज’ भनेपछि रेकर्डबाट हटाउन माग गरिएको छ । कोशी प्रदेशसभाको आजको बैठकमा राप्रपाका प्रदेशसभा सदस्य गोपाल विश्वकर्माले पूर्वराजालाई ‘श्री ५ महाराजधिराज’ भन्दै सम्बोधन गरेको विषयमा नेकपा एमालेका प्रमुख सचेतक विदुर लिङ्थेपले रेकर्डबाट हटाउन माग गरेका हुन् ।
उनले भने, ‘नेपालको संविधानले श्री ५ भनेर चिन्दैन । उहाँ ज्ञानेन्द्र शाहमात्रै हो । संविधानले नचिन्ने कुरा रेकर्डबाट हटाइ पाऊँ ।’
एमालेका प्रमुख सचेतक लिङथेपले रेकर्डबाट हटाउन माग राखे पनि सभामुख अम्बरबहादुर विष्टले बोल्नै नपाउने भन्ने नहुने बताए ।
उनले भने ‘बोल्नै नपाउने भन्ने छैन । संविधानमा छ त्यहीअनुसार हुन्छ । ठिकै छ, माननीयज्यू तपाईँको कुराको ध्यानाकर्षण भएको छ, अब यसलाई बोल्नै नपाउने भन्ने त त्यहाँ छैन क्यारे, उहाँले जे भनेको भए पनि संविधानले जे भन्छ त्यो मात्रै कायम भएर जाने कुरा हो ।’
लिङ्थेप फेरि प्रतिवाद गर्दै भन्छन् ‘हामी संविधानभित्रै छौँ, संविधानभित्रै रहूँ भन्ने मेरो आग्रह हो ।’
उनको यो भनाइ नसकिँदै सभामुख विष्टले संविधानभित्रै रहन्छ धन्यवाद ! भन्दै प्रदेशसभाको बैठक अघि बढाउँछन् ।
यसअघि पनि बैठकमा ‘श्री ५ महाराजधिराज’ भनेको विषय रेकर्डबाट हटाइएको थियो । राप्रपाबाट चुनाव जितेका विष्ट अहिले कोशीको सभामुख छन् । राप्रपाले सङ्घीयता र प्रदेश खारेजीलाई मूल मुद्दा बनाउँदै आएको छ । उनी यसअघि पनि प्रदेश सरकारका विभिन्न कार्यक्रम साथै गणतन्त्र दिवसका कार्यक्रममा पनि अनुपस्थित हुँदै आएका थिए ।
गणतन्त्र दिवस मनाउनेबारे जेठ १० को अन्तरक्रियामा सहभागी नभई उनी झापा गएका थिए । सरकारले विशेष अवसरमा मनाउने दिवस, कार्यक्रम, उत्सव र स्थापना दिवसहरूमा सभामुखलाई अतिथिका रूपमा निमन्त्रणा गर्ने चलन रहँदै आएको छ ।
काठमाडौं । राप्रपाका सांसद दीपकबहादुर सिंहले बहुमतको बलमा सदनमा नचलाउन चेतावनी दिएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै आफूहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र छानबिन समितिको माग गर्दा पनि सरकारले नसुनेको आरोप लगाए ।
उनले भने, ’त्यो प्रकरणमा प्रधानमन्त्रीदेखि तल्लो तहका कर्मचारी समेत मुछिएका छन्, संसारभरि नेपालीहरूको बदनाम भइरहेको विषयमा किन संसदीय छानबिन समिति गठन भएन । अरू जस्तै यसको पनि छानबिन समिति तत्काल गठन होस् ।’
उनले आज पनि राप्रपाले सदन बहिस्कार गर्ने चेतावनी दिए ।
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समिति बैठक सुरू भएको छ । पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा बैठक जारी रहेको प्रवक्ता मोहन श्रेष्ठले बताए ।
बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, पार्टीको आन्तरिक सांगठनिक विषयमा केन्द्रित रहेको उनले बताए । त्यस्तै रुपन्देही-३ मा हुने उपनिर्वाचनलगायत पनि एजेण्डा छ ।
राप्रपाबाटै जितेका सांसद दीपक बोहराको निधन भएपछि हुन लागेको उपचुनावलाई राप्रपाले साख जोगाउने रणनीतिको रूपमा लिएको छ ।
रुपन्देही । प्रतिनिधि सभामा निर्वाचनमा रुपन्देही क्षेत्र नं ३ बाट ०७९ को निर्वाचनमा निर्वाचित राप्रपाका वरिष्ठ नेता दीपक बोहराको मृत्युपछि कार्तिक १७ गते यहाँ उपनिर्वाचन तय भएको छ ।
राप्रपाले आफूले जितेको यो सीट सुरक्षित बनाउने र उम्मेदवारको विषयमा बुधवारबाटै छलफल थालेको छ । नेकपा एमालेको साथमा २०७९ मा निर्वाचन जितेको राप्रपाको तुलनात्मक हिसाबले यो क्षेत्र बलियो भए पनि त्यो समयमा आएको समानुपातिक मतले चौथो स्थानमा थियो । पहिलोमा नेपाली कांग्रेस, दोस्रोमा नेकपा एमाले र तेस्रोमा रास्वपा रहेका थिए ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले रुपन्देही ३ को उपनिर्वाचनका सन्दर्भमा रुपन्देही सम्बद्ध पार्टीका अगुवाहरूसँग छलफल थालेको बुधवार राती जनाएका छन् ।
राप्रपा केन्द्रीय सल्लाहकारसमेत रहेका नेता निरञ्जन थापा, लुम्बिनी प्रदेश अध्यक्ष प्रदीप उदय, स्व नेता दीपक बोहोराकी नातिनीसमेत रहेकी केन्द्रीय सदस्य स्वाती थापासहितका नेताहरू यो बैठकमा सहभागी रहेका छन् । काठमाण्डौंमा सुरु भएको यो बैठकले उम्मेदवारको टुंगो लाग्ने अपेक्षा गरिएको छ ।
एमालेसँग सहकार्य गरेर मैदानमा गएका दीपक बोहोरा निर्वाचनमा मत माग्दा पनि बोल्न नसक्ने अवस्थामा थिए । नेता निरञ्जन थापा, प्रदीप उदय, नेतृ स्वाती थापाले उनका प्रतिवद्धताहरु मतदातालाई सम्बोधन गरेर सुनाएका थिए ।
उनी निर्वाचित भएपछि पनि सदनमा एकपटक बोल्न सकेका थिएनन् । स्वर्गीय दीपक बोहराको निधनपछि रिक्त रहेको क्षेत्र फिर्ता ल्याउने रणनीतिसहित राप्रपाले बोहोराका दुई छोराहरू प्रज्वल र गौरव तथा नातिनीसमेत रहेकी केन्द्रीय सदस्य स्वाती थापामध्येलाई अगाडि सार्ने तयारी चर्चामा छ ।
छोरा प्रज्वल बोहोरा हाल क्षेत्रमै खटिएर सक्रियता बढाएका छन् भने जेठा छोरा गौरव बोहोरालाई स्वतन्त्र उम्मेदवार बनाएर साना दलको समर्थन जुटाउने प्रयास भइरहेको छ । तर, उम्मेदवारको टुंगो पार्टीले आधिकारिक रूपमा घोषणा गरेको छैन ।
नेतृ स्वाती दीपक बोहराको निर्वाचनको समयमा मुख्य कमाण्डर भएर जिम्मेवारी सम्हालेको र सबै अनुभव भएकाले पनि उनलाई अगाडि सार्नुपर्ने दबाबमा राप्रपा छ ।
बैठकमा सहभागी भएका राप्रपा लुम्बिनीका अध्यक्ष प्रदीप उदयले पार्टीको तर्फबाट योग्य र निर्वाचनलाई आफ्नो पक्षमा पार्न सक्ने उम्मेदवारको लागि औपचारिक छलफल सुरु भएको जनाएका छन् ।
‘रुपन्देही क्षेत्र नं ३ को प्रतिनिधि सभाको निर्वाचनमा स्व। दीपक बोहरा निर्वाचित हुनुभएको थियो । उहाँको निधनले हामी मर्माहित छौ । हामी शोकमा छौ । र कार्तिक १७ गते हुने निर्वाचनमा हामी शोकलाई शक्तिमा बदल्ने प्रयासरत छौँ । फलस्वरूप आजबाट राप्रपाको तर्फबाट योग्य र निर्वाचनलाई आफ्नो पक्षमा पार्न सक्ने उम्मेदवारको लागि औपचारिक छलफल शुरु गरेका छौँ । हामी सबैलाई मान्य हुने उम्मेदवार प्रस्तुत गर्ने छौ । धैर्य राख्नुस् । आदरणीय स्व।दीपक दाइको आत्माको सन्तुष्टि हुने निर्णय गर्नेछौ । अहिले कसैको नाम उल्लेख नगर्नु होला ।’ उनले भनेका छन् ।
यो क्षेत्रको समानुपातिक मत अनुसार २०७९ सालको निर्वाचनमा नेपाली कांग्रेसले २० हजार २७८ मत पाएको छ । एमालेले १६ हजार ९८६ मत पाउँदा रास्वपाले १४ हजार १५४ मत पाएको छ । राप्रपाले भने जम्मा ९ हजार १८३ मत पाएको थियो ।
त्यस्तै नागरिक उन्मुक्ति पार्टीले ६ हजार दब र जसपाले ५ हजार २९१ मत, लोसपाले ५ हजार ०५३, जनमत पार्टीले ३ हजार ७३२, माओवादी केन्द्रले २ हजार ६ सय, जनमुक्ति पार्टीले १ हजार ९००, हाम्रो नेपाली पार्टी लौरोले १ हजार ३४७ र नेकपा एसले ७८१ मत पाएका थिए ।
यसबारे छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ। रास्वपाले रुपन्देही क्षेत्र नम्बर ३ को उपनिर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न पार्टी सचिवालय बैठक डाकेको जनाइएको छ ।
रास्वपाका कार्यवाहक सभापति डीपी अर्यालको अध्यक्षतामा बिहान साढे ११ बजे, पार्टी केन्द्रीय कार्यालय वनस्थली, काठमाडौंमा बोलाइएको हो। पार्टीले सबै सचिवालय सदस्यहरूलाई बैठकमा अनिवार्य उपस्थितिका लागि आग्रह गरेको छ।
बैठकको कार्यसूचीमा समसामयिक पार्टी र राजनीतिक गतिविधि, रुपन्देही ३ उपनिर्वाचन र विविध विषयहरू रहेका छन्। रुपन्देही क्षेत्र नम्बर ३ मा उपनिर्वाचनको मिति घोषणाको चर्चा भइरहेका बेला रास्वपाले सचिवालय बैठक आह्वान गर्नुले राजनीतिक रूपमा अर्थपूर्ण मानिएको छ।
रास्वपा सभापति रवि लामिछाने अहिले रुपन्देही कारागारमा छन् । रुपन्देही ३ मै रहेका उनको हरेक दिनजसो भेटघाटका विषय यसमै केन्द्रीत हुन थालेको नेताहरुले बताएका छन् । लामिछानेले ०८४ लाई सन्देश दिनगरी यो निर्वाचनबाट नतिजा निकाल्नेगरी रणनीति बनाउन निर्देशन दिइरहेका छन् ।
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले निजामती विधेयकमा भएको हेरफेरले संसद् र सांसदको अपमान गरेको बताएका छन् ।
प्रतिनिधिसभाबाट पारित विधेयकको कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा छेडखानी गरेपछि अध्यक्ष लिङदेनले यस्तो बताएका हुन् ।
उनले भनेका छन्, ‘निजामती सेवा विधेयकको सबैभन्दा बेसी छलफल भएको र छलफलपछि सर्वसम्मतिले पारित भएको दफामा हेरफेर गरेर सार्वजनिक हुनु सामान्य विषय होइन । संसद् र सांसदको अपमान हो ।’
अध्यक्ष लिङदेनले सामसुम पार्ने विषय नभएको भन्दै गम्भीर छानबिनको माग गरेका छन् ।
काठमाडौं । राप्रपाकी सांसद रोशन काकीले भिजिट भिसा प्रकरणमा जोगिने गरी गृहमन्त्री रमेश लेखकले छानबिन समिति गठन गरेको दाबी गरेको छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै नैतिकताको आधारमा राजीनामा दिएर छानबिनलाई सघाउन माग गरिन्।
उनले भनिन्, ‘गृहमन्त्री त सोझो नै हुनुहुन्छ जस्तो लागेको थियो। उहाँ त चम्फु बाटो हुनुहुँदो रहेछ। उहाँले आफू फुत्किन धेरै सजिलो हुने समिति बनाउनुभयो। र कमाइलाई पनि बचाउन सजिलो छ।’
उनले गृहमन्त्रीकै संलग्नतामा नागरिकहरूलाई भिजिट भिसाको आवरणमा बेचेको आरोप लगाइन्।
काठमाडौं । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले भिटिज भिसा प्रकरणमा दोषीलाई उन्मुक्ति दिने उद्देश्यले छानबिन समिति गठन गरेको आरोप लगाएका छन् । हिजो सरकारले पूर्वमुख्य सचिव शंकरदास वैरागीको नेतृत्वमा छानबिन समिति बनाउने निर्णय गरेको थियो ।
त्यसबारे प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले अपराधलाई ढाकछोप गर्ने, यो प्रकरणमा मुछिएका १४ गृहमन्त्रीलाई उन्मुक्ति दिने भन्ने उद्देश्यले नयाँ षड्यन्त्र गरिएको जिकिर गरे ।
उनले भने, ‘यो छानबिन समितिले न्याय दिन सक्दैन । त्यसले हामी सडक र सदनमा एकजुट हुन्छौं ।’
सांसद शाहीले सङ्ख्याको आधारमा यो मुद्दालाई निस्तेज नपार्न चेतावनी दिए ।
काठमाडौं । सरकारले अध्यागमन र भिजिट भिसा प्रकरणमा छानबिन गर्न गठन गरेको समितिलाई अमान्य घोषणा गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले सदन बहिष्कार गरेका छन् ।
दुइटै पार्टीले गृहमन्त्रीकै प्रस्तावमा गठन भएको यो समितिले निष्पक्ष छानबिन गर्न नसक्ने बताए ।
संसद बैठक सुरु भएपछि गृहमन्त्री लेखकले छानबिन समिति गठनबारे जानकारी गराएका थिए । सोपश्चात रास्वपाका डा. स्वर्णिम वाग्ले र राप्रपाका ज्ञानेन्द्र शाहीले बोल्दै असहमति जाहेर गरे ।
यो समिति गृहमन्त्रीलाई चोख्याउन बनाइएको उनीहरुको भनाइ थियो । वाग्लेले बोलेपछि रास्वपा र शाहीले बोलेपछि राप्रपाका सांसदहरु संसद बैठकबाट बाहिरिएका छन् ।
सरकारले हिजो पूर्वमुख्य सचिव शंकरदास वैरागीको नेतृत्वमा छानबिन समिति बनाउने निर्णय गरेको थियो, तर उनीहरुले अस्वीकार गरेका छन् ।
काठमाडौं । प्रतिनिधि सभाको बैठकमा भिजिटि भिसा प्रकरणबारे सांसदहरूले उठाएको प्रश्नको जवाफ गृहमन्त्री रमेश लेखकले दिएका छन्। अहिले उनी बैठकमा बोलिरहेका छन्।
बैठक सुरु हुनासाथ रास्वपा र राप्रपाका सांसदहरू उठेर अवरोध जनाएको भए पनि सभामुखले गृहमन्त्रीलाई बोल्न दिएपछि अहिले बसेका छन्।
हिजो सरकारले पूर्वमुख्य सचिव शंकरदास वैरागीको नेतृत्वमा छानबिन समिति बनाउने निर्णय गरेको थियो। उनले दुई बुँदे सहमति अनुसार नै सरकारले हिजो गठन गरेको बताए।
काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले अहिले देशमा भइरहेको जनप्रतिनिधि देशले धान्न नसक्ने बताएका छन् ।
विद्यार्थीसँग विचार विमर्श कार्यक्रममा बोल्दै उनले झन्डै ४० हजार जनप्रतिनिधि देशमा रहेको भन्दै धान्न नसक्ने बताए ।
उनले भने, ‘तीन तहको संरचना छ, भारतको एउटा प्रान्त जस्तो जनसङ्ख्या छैन । यति धेरै जनप्रतिनिधिको सङ्ख्या छ । वडा सदस्यदेखि लिएर राष्ट्रपति, उपराष्ट्रपतिमात्रै होइन, पूर्वराष्ट्रपति र पूर्वउपराष्ट्रपतिलाई समेत जनताको कर र विदेशीसँग ऋण लिएर तलबभत्ता खुवाएर पाल्नुपरेको छ । यस्तो व्यवस्थालाई देशको अर्थतन्त्रले धान्न सक्दैन ।’
उनले राज्य संरचना, निर्वाचन प्रणाली पनि परिवर्तन गर्नुपर्ने बताए । देशमा भ्रष्टाचार भए पनि अख्तियार, अदालत सबैतिर पार्टीको कार्यकर्ता भर्ती केन्द्र भएकै कारणले रोक्न नसक्ने उनको भनाइ छ ।
अध्यक्ष लिङदेनले भने, ‘अख्तियारमा नेताले नियुक्ति गरेका मान्छे हुन्छन्, न्यायाधीश पनि नेताहरूले भागबन्डा गर्छन्, जिल्लाको न्यायाधीशको अगाडि राम्रो बहस गर्न जानेको हुँदैन, एउटा पार्टी पक्रेर सर्वोच्चको न्यायाधीश भइदिन्छ । अनि त्यो न्यायाधीशले आफूलाई नियुक्ति गर्नसक्दैन । त्यसैले नेता र व्यवस्था नै परिवर्तन गर्नुपर्छ ।’
काठमाडौं । राप्रपाकी सांसद रोशन कार्कीले भिजिट भिसाको आवरणमा बेचिएका युवाहरूको कुरा उठाउँदा सरकारले नसुनेको आरोप लगाएकी छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै आफूहरू गृहमन्त्रीको राजीनामा र छानबिन समितिको मागसहित आन्दोलनरत रहेको बताइन्।
उनले भनिन्, ‘हाम्रो मागलाई नाजायज कसैले भन्न सक्दैन। भिजिट भिसाको नाममा गरिबहरूलाई एक दिनमा करोड उठाउने ?एकै दिनमा मान्छे बेचेर ५० लाख कमाउने? पैसा पाइन्छ भनेर देश पनि बेच्ने रु त्यसैले उच्चस्तरीय छानबिन समिति गठन हुनुपर्छ र गृहमन्त्रीसँग नैतिकता छ भने राजीनामा दिनुपर्छ। प्रधानमन्त्रीले सुशासन आयोग गठन गर्नुभएको छ। गृहमन्त्री त्यसको सदस्य हुनुहुन्छ। उहाँ त्यसको सदस्य हुनुहुन्छ? ’
उनले आफ्नै सुशासन आयोगको सदस्यमाथि यतिठूलो आरोप लाग्दा सरकारले मौन बसेकोप्रति आपत्ति जनाइन्। उनले थपिन्, ‘एक करोड वा ५० लाख आम्दानीको दैनिक हिस्सा गठबन्धन सरकारका टाउकेहरूले पनि खाएका छन्रु’
काठमाडौं । रास्वपा र राप्रपाले आज पनि प्रतिनिधि सभाको बैठकमा अवरोध गरेका छन्। भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखक र छानबिन समितिको माग गर्दै सदन अवरोध गरेका हुन्।
बैठकको सुरुआतमा बोल्दै रास्वपा सांसद सुमना श्रेष्ठले आफूहरू उठाएको यतिठूलो मुद्दा सरकारले नसुनेको भन्दै आक्रोश पोखिन्। जनताले भोगिरहेको यतिठूलो समस्याको मुद्दा आफूहरू त्यसै नछाड्ने अडान सुनाइन्।
सभामुखले रास्वपा र राप्रपालाई बोल्न दिएर सदन अगाडि बढाउन खोजेपछि सत्तापक्षकै सांसदहरुले होहल्ला गरेका छन्।
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई तीन लाख धरौटीमा छोड्न अदालतले आदेश गरेको छ ।
न्यायाधीश तारादेवी महर्जनको इजलासले उक्त आदेश दिएको हो ।
तीनकुनेमा चैत १५ गते भएको हिंसात्मक आन्दोलनपछि मिश्रलाई पक्राउ गरिएको थियो । उनी पछि सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट हालेर छुटेका थिए । छुटेयता प्रहरीमा उपस्थित नभएका मिश्र आजै बयानका लागि अदालत गएका हुन् ।
यसअघि उनीसँगै पक्राउ परेका राप्रपाका महामन्त्री डा. धवलशमशेर राणा ३ लाख धरौटीमा छुटिसकेका छन् ।
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको थुनछेक बहस जिल्ला अदालत काठमााडौंमा सकिएको छ । न्यायाधीश तारादेवी महर्जनले आदेशको तयारी गरेकी छन् ।
तीनकुनेमा चैत १५ गते भएको हिंसात्मक आन्दोलनपछि मिश्रलाई पक्राउ गरिएको थियो । उनी पछि सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट हालेर छुटेका थिए । छुटेयता प्रहरीमा उपस्थित नभएका उनी आजै अदालत गएका हुन् ।
यसअघि उनीसँगै पक्राउ परेका राप्रपाका महामन्त्री डा. धवलशमशेर राणा ३ लाख धरौटीमा छुटेका छन् ।
काठमाडौं । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र काठमाडौं जिल्ला अदालत हाजिर भएका छन् । तीनकुनेको आन्दोलनलाई लिएर पक्राउ परेका मिश्र सर्वोच्च अदालतको आदेशले हाजिरी जमानीमा छुटेका थिए ।
अदालतमा हाजिर भएसँगै उनको थुनछेक बहस सुरू भएको छ ।
न्यायाधीश तारादेवी महर्जनको इजलासमा मिश्रको थुनछेक बयान हुनेछ । बयानपश्चात पुर्पक्षमा जेल चलान गर्ने वा धरौटीमा रिहा गर्ने वा साधारण तारेखमा छाड्ने मध्येको एक आदेश हुनेछ ।
हिजोमात्र अदालतमा उपस्थित भएर बयान दिएका राप्रपाका सांसद धवलशमशेर राणा भने ३ लाख धरौटी तिरेर छुटेका छन् ।
काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आफूहरूलाई सरकारले बजेटमा भाग लिने वातावरण नै नबनाएको आरोप लगाएको छन् ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्रीमाथि छानबिन गर्न सरकारले अटेर गरेको भन्दै प्रतिनिधि सभाको बैठक बहिष्कार गरेपछि संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभामुखले विरोधमा रहेका दलहरूलाई वार्तामार्फत मिलाउन लाग्नुको सट्टा जबरजस्त अगाडि बढाएको बताए ।
उनले सभामुखले भद्रगोल अवस्थामा सदन चलाएर संसदीय मर्यादा र परम्पराविपरीत गएको बैठक अघि बढाएको आरोप लगाए ।
उनले भने, ‘सभामुखबाट अनुचित काम भइरहेको छ, यस्तो बैठकमा हामी बस्दैनौँ जबसम्म संसद्मा एउटा थिति बस्दैन, शान्तिपूर्ण ढङ्गले संसद् चल्ने वातावरण नभएसम्म हामी बैठक बहिस्कार गरिराख्छौँ। हामीले सभामुखलाई त्यसबारे जानकारी गराएका छौँ ।’
उनले रास्वपासँग आफूहरू इस्युमा एक ठाउँमा रहेको बताए। उनले थपे, ‘इस्युमा एक ठाउँमा छौँ । आवश्यक परे छलफल गरेर सहकार्य गरेर जान पनि सक्छौँ। अहिले हामी आआफ्नै ढङ्गले जोडिएका छौँ ।’
काठमाडौं । रास्वपाले आज पनि प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्रीमाथि छानबिनको माग गर्दै आज पनि सदन अवरोध जारी राखेको हो ।
हिजो पनि रास्वपाको नाराबाजी र राप्रपाको बहिष्कारपछि सभामुखले बैठक अघि बढाएका थिए । बैठकअघि सभामुखले राखेको छलफलमा कुनै सहमति हुन सकेन ।
आज पनि राप्रपाले बैठक बहिष्कार गरेको छ भने रास्वपा वेल घेराउमा आएको छ । आज रास्वपाबाट सन्तोष परियार र राप्रपाबाट राजेन्द्र लिङ्देनले बोलेका थिए ।
काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले दुई पार्टीले सदनमा विरोध जनाइरहेको बेलामा सभामुखलाई बैठक अघि नबढाउन आग्रह गरेका छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै सभामुखले जबरजस्ती संसद अघि बढाउनु संसदीय दृष्टिकोणले पनि उचित नहुने बताए । उनले सदनमा उपस्थित सबै दलको भूमिका संख्या जतिभएपनि उतिकै हुने भन्दै अवरोधकाबीच चलेको बैठक बहिस्कार गर्ने बताए ।
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद धलवशमशेर जबरा काठमाडौं जिल्ला अदालतमा हाजिर भएका छन् । फरार सूचीमा रहेका उनी सोमबार जिल्ला अदालतमा हाजिर भएका जिल्ला अदालतका सूचना अधिकारी दिपककुमार श्रेष्ठले नेपाल प्रेसलाई बताए ।
उनले भने, ‘उहाँ हाजिर हुनुभएको छ । अब बयान लिने काम हुन्छ । सम्भवत: आजै थुनछेक बहस सकियो भने पुर्पक्षमा जेल चलान गर्ने वा धरौटीमा रिहा गर्ने वा साधारण तारेखमा छाड्ने मध्येको एक आदेश हुनेछ ।’
राप्रपा वरिष्ठ उपाध्यक्ष भने बयानका लागि अदालतमा हाजिर भएका छैनन् ।
उनीहरूमाथि तीनकुनेमा चैत १५ गते भएको राजावादी आन्दोलनमा हिंसात्मक बनाउन उकासेको आरोप छ ।
काठमाडौं । राप्रपाका सांसदले बहिष्कार गरेको संसद बैठकको हिजोको भत्ता नलिने भएको छ ।
प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले संसदीय दलले असार १ गतेको बैठक भत्ता लिनु नैतिक र सैद्धान्तिकरूपमा उचित नहुने निर्णय गरेको जानकारीसहितको पत्र संसद सचिवालयमा पठाएका छन् ।
बैठकबापत प्राप्त हुने भत्ता राजस्वमा फिर्ताको व्यवस्था मिलाउन आग्रह गरिएको छ ।
भिजिट भिसा प्रकरणलाई लिएर विपक्षीले सदन अवरोध गरिरहेको बेला जबर्जस्ती बैठक चलाइएको भन्दै राप्रपाले आइतबारको बैठक वहिष्कार गरेको थियो । प्रतिनिधिसभामा राप्रपाका १३ सांसद छन् ।
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रतिपक्षी दलको विरोधकाबीच संसद चलाएर ‘दादागिरी’ देखाएको आरोप लगाएका छन् ।
आइतबार बसेको प्रतिनिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै उनले प्रतिपक्षी दलको विरोधकोबीच संसद चलाउनु संसदीय अभ्यास नभएको भन्दै दादागिरी बन्द गर्नुहोस् भन्दै आक्रोस पोखे ।
उनले भने,‘संसदमा यसरी विरोध भइरहँदा संसद चलाउनु उचित हुन्छ ? भिजिट भिसा प्रकरणमा दोषीलाई कारबाही गर्ने भन्ने मागमा साथ दिनुहोस् । यसरी संसद चलाउनु संसदीय अभ्यास होइन् । यो दादागिरी हो । यो दादागिरी बन्द गर्नुहोस् ।’
काठमाडौं । सभामुख देवराज घिमिरले सदनको अवरोध खुलाउने विषयमा रास्वपा कार्यवाहक अध्यक्ष डीपी अर्याल र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग छुट्टा-छुट्टै छलफल गरेका छन् ।
माओवादीले सत्ता पक्षसँग २ बुँदे सहमति गरे पनि रास्वपा-राप्रपा भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र छानबिन समितिको अडानमै छन् ।
अर्यालसँग सभामुख घिमिरेसँग संवैधानिक सीमाका कारण बजेटमाथिको छलफल सुरू गर्नैपर्ने बाध्यता बताउँदै अवरोधको स्वरुप बदल्न र सदनलाई मर्यादित बनाउन समेत ध्यानाकर्षण गराए ।
अर्यालले आफूहरूको अवरोध जारी रहने बताउँदै संसदलाई मर्यादित बनाउने प्रतिबद्धता जनाएको सभामुखको सचिवालयले जनाएको छ ।
गत शुक्रबारको बैठकमा अवरोधका क्रममा संसदीय मर्यादाविपरीतका गतिवधि भएको भन्दै आज बिहान प्रमुख दलका सचेतकहरूले सभामुखको ध्यानाकर्षण गराएका थिए ।
सभामुखले अध्यक्ष लिङ्देनसँग पनि टेलिफोन गर्दै संवैधानिक बाध्यता बुझिदिन आग्रह गर्दै आफ्ना विषयलाई राखेर सदन सुचारू गर्ने वातावरण बनाउन सहयोग गर्न आग्रह गरेका छन् ।
काठमाडौं । हाजिरी जमानीमा छुटेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र सांसद धवलशमशेर राणालाई फेरि पक्राउ गरिने भएको छ ।
उनीहरू बयानका लागि उपस्थित नभएपछि अदालतले पक्राउ पुर्जीको प्रक्रिया अघि बढाएको हो । आजै उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी हुने काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दिपककुमार श्रेष्ठले नेपाल प्रेसलाई बताए ।
गत चैत १५ मा तीनकुनेमा भएको राजावादीको आन्दोलन हिंसात्मक बनाएको आरोपमा उनीहरू पक्राउ गरिएको थियो ।
विहीबार दुर्गा प्रसाईंसहित ३९ जनाको थुनछेक आदेश भएपनि उनीहरूको थुनछेक बहस नभएका कारण अहिले केही आदेश भएको छैन ।
मुद्दाको अनुसन्धान प्रक्रियाका लागि हाजिर नभएपछि खोजी कार्य सुरू भएको प्रहरीले बताएको छ । जिल्ला प्रहरी परिसर, काठमाडौका प्रवक्ता एसपी अपीलराज बोहराले पनि मिश्र र राणालाई कार्यालयमा उपस्थित गराउने प्रक्रिया शुरू भएको बताए ।
काठमाडौं । राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले कांग्रेस निकट तरुण दलको भवन निर्माणमा राज्य कोषबाट बजेट विनियोजन गरेकोप्रति आपत्ति जनाएको छ ।
राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका प्रचार संयोजक कल्याणविक्रम आचार्यले विज्ञप्ति जारी गर्दै राष्ट्रिय सम्पत्तिको संरक्षणको पक्षमा र स्रोतसाधनको दुरुपयोग गर्ने प्रवृत्तिको विरुद्ध आफूहरू रहेको बताएका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘दलको वा सङ्गठनको कार्यालय उसको सदस्यहरूबाट वा शुभेच्छुकहरूबाट चन्दा उठाएर बनाउने हो, राज्य कोषबाट रकम विनियोजन गर्नु सर्वथा गलत र अनुपयुक्त हुन्छ । सत्तारुढ दलको, दलको भ्रातृ सङ्गठनको, दल आबद्ध पेशागत सङ्गठनको भवन निर्माणमा राज्य कोषको रकम दुरुपयोग गर्ने प्रवृत्ति कार्यान्वयन हुँदै जाने हो भने भोलिका दिनमा सबै दल सत्तामा जालान्, ती दल, सङ्गठनहरूको पनि भवन बनाउने गलत परम्परा बस्दै जानेछ ।’
दलको नेतापिच्छेका स्मृति भवन बनाउँदै जाने हो भने त्यसको होडबाजी नै नचल्ला भन्न नसकिने विज्ञप्तिमा उल्लेख छ । संगठनले यस्ता अनुचित र अलोकप्रिय कदम अविलम्ब संशोधन गर्न माग गरेको छ ।
तरुण दलको भवन निर्माण गर्न शहरी विकास मन्त्रालयले तीन करोड विनियोजन गरेपछि त्यसको सामाजिक सञ्चालमा चर्को टीकाटिप्पणी भइरहेको छ ।
काठमाडौं । राजसंस्था पुन:स्थापनाको महत्वाकांक्षी लक्ष्य बोकेर सुरू भएको ‘संयुक्त जनआन्दोलन’ एक सातामै असफलताउन्मुख बनेको छ । आन्दोलनकारी शक्तिहरू थाकेर सुस्केरा हाल्न थालिसकेका छन् र यो विन्दुबाट फेरि ठूलो आन्दाेलन उठाउन सहज देखिँदैन ।
नयाँ चरणको आन्दोलन तय गर्ने भन्दै अस्ति संयुक्त जनआन्दोलन समितिले आयोजना गरेको ‘बृहत् बैठक’ मा भाँडभैलो मच्चियो । राजावादी गठबन्धनको सबैभन्दा ठूलो घटक राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन नै बैठकमा अनुपस्थित बनेपछि सहभागीहरू आक्रोशित बनेका थिए । समितिका संयोजक नवराज सुवेदीले बैठक यत्तिकै स्थगित गर्नुपर्यो । साँझ उनले एउटा विज्ञप्ति फालेर ‘नयाँ आन्दोलन कार्यक्रम’ त घोषणा गरे, तर त्यसले कुनै पनि तरंग ल्याउन सकेन ।
सुवेदीले अघि सारेको आन्दोलन कार्यक्रम झारा टार्ने खालको मात्र छ । यसमा कुनै समयतालिका छैन । आन्दोलन काठमाडौबाहिर बिस्तार गर्ने भनिएको छ, तर कहिले-कहाँ भन्ने केही उल्लेख छैन । त्यसैले यो केबल ‘फेस सेभिङ’ का लागि मात्रै ल्याइएको प्रतीत हुन्छ । तर, खासमा यसले ‘फेस सेभिङ’ पनि गर्न सक्दैन ।
यो आन्दोलन कार्यक्रमसँग राप्रपा संस्थापन पक्ष असन्तुष्ट छ । आआफूहरूसँग कुनै सल्लाह नगरिकन बनाइएको आन्दोलन कार्यक्रममा सहभागी हुन नसक्ने नेताहरूले बताइरहेका छन् । स्थानीयस्तरसम्म नै जनआन्दोलन समिति बनाउने घोषणामा पनि उनीहरूको आपत्ति छ । राप्रपामा विभाजन कोर्ने हेतुले संस्थापन इतर नेताहरूको चाहना अनुसार यस्तो निर्णय गरिएको एक पदाधिकारी बताउँछन् ।
नवदुर्गा पार्टी प्यालेसमा भएको बैठकमा राजेन्द्र लिङदेन नआउनुमा उनको ‘कार्यव्यस्तता’ भनियो । नवदुर्गा पार्टी प्यालेसमा राजावादीको जमघट भइराख्दा उनी संसद बैठकमा सहभागी थिए । व्यवस्था नै उल्टाउने भनेर सडकमा उत्रेको अगुवा नेताले आन्दोलनभन्दा संसदलाई प्राथमिकता दिएपछि कार्यकर्ता रुष्ट हुनु स्वाभाविक भइहाल्यो । यदि यही संसद प्यारो छ भने आन्दोलन केका लागि भन्ने उनीहरूले उठाएको प्रश्न जायज नै थियो ।
तर, लिङदेन संसद बैठककै चटारोले गर्दा त्यहाँ नगएका भने होइनन् । गत जेठ १५ मा बजेट भाषण नै हापेर उनी आन्दोलनमा सहभागी बनेका थिए । खासमा अहिले आएर जनआन्दोलन समितिसँग उनको लय मिलिरहेको छैन । नवराज सुवेदीको नेतृत्व उनले वाध्यतामा स्वीकार गरेका हुन् । यसको आफ्नै अन्तरकथा छ, जुन सुरू हुन्छ गत फागुन ७ मा पूर्वराजा ज्ञानेन्द्रले जारी गरेको भिडिओ वक्तव्यबाट ।
फागुन ७ देखि जेठ १५ सम्म
प्रजातन्त्र दिवसका अवसरमा जारी गरिएको भिडिओ सन्देशमा पूर्वराजा ज्ञानेन्द्रले भनेका थिए- अब समय आयो, राष्ट्र जोगाउने हो भने हामीलाई साथ दिनुस् ।
पूर्वराजाले यसरी आफैँ मैदानमा आउन खोजेको भाव व्यक्त गरेपछि राजावादी जुर्मुराए । दुर्गा प्रसाईँले पूर्वराजा फागुन २५ गते पोखराबाट काठमाडौं फर्किँदा एयरपोर्टमा भव्य स्वागत-अभिनन्दन गर्ने चलाखीपूर्ण योजना बनाए । त्यस दिन माहोल गर्माउने देखेपछि राप्रपाले पनि आफ्नो पूर्वघोषित कार्यक्रम रद्ध गरेर पूर्वराजालाई स्वागत गर्न जुट्यो ।
स्वागत कार्यक्रम अभूतपुर्व नै भयो । अरु बेला पूर्वराजा अन्य देशबाट महत्वपूर्ण भ्रमण गरेर फर्किँदा पनि सुनसान हुने विमानस्थल परिसरमा त्यस दिन त्यहीँ पर पोखराबाट आएका उनलाई स्वागत गर्न मानवसागर नै उलिएको थियो । हजारौं हजारको जुलुसले उनलाई एयरपोर्टदेखि निर्मल निवाससम्म स्कर्टिङ गर्यो । यो दृष्य देखेर गणतन्त्रवादीहरूको मुटु काँप्यो भने भने राजावादीहरूको महत्वाकांक्षा ह्वात्तै चुलियो । गणतन्त्रवादीहरू छट्पटाउन थाले भने राजावादीहरू भोलिपर्सि नै राजा फर्किहाल्नेजस्तो उत्साह देखाउन थाले ।
त्यसपछि सुरू भयो अब कसले राजा ल्याउने भन्ने होडबाजी । राजा आइसकेपछि को प्रधानमन्त्री बन्ने भन्नेसम्मका छलफल बहसहरू सुरू भए । यही मेसोमा एकाएक उत्खनन् गरेर निकालिए एकजना नयाँ पात्र नवराज सुवेदी । ८७ वर्षीय सुवेदी एक पञ्चायतकालीन राजनीतिज्ञ हुन् ।
लामो समयदेखि राजनीतिमा निष्क्रिय रहेका सुवेदी राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति सदस्य थिए । चैत ३ गते बसेको राप्रपा बैठकमा उनले भने- श्री ५ महाराजधिराजले मलाई तिमी आन्दोलनको नेतृत्व गर भनेर हुकुम भयो । त्यसैले अब म सबै राजावादी शक्तिहरूलाई संयोजन गरेर संयुक्त जनआन्दोलनको नेतृत्व गर्नतिर लाग्छु ।
राजाकै नाम लिएर यति भनिसकेपछि कसैले विरोध गर्ने कुरा आएन । अध्यक्ष लिङदेनसहित संस्थापन पक्षका नेताहरू उनको प्रस्तावमा सहमत थिएनन् । यता, महामन्त्री डा. धवलशम्शेर राणा नेतृत्वको संस्थापनइतर पक्षले भने तुरुन्तै समर्थन जनाइहाल्यो । खासमा उनीहरूकै डिजाइनमा नवराज अघि सारिएका थिए ।
त्यसको भोलिपल्टै नवराजले सबै राजावादी समूहहरूको एउटा भेला डाके । आफूलाई संयुक्त जनआन्दोलन समितिको संयोजक घोषणा गरे र रवीन्द्र मिश्रलाई सदस्य सचिव बनाए । बैठकले ११ जनाको आन्दोलन निर्देशक समिति गठन गर्यो, जसमा राजेन्द्र लिङदेनसहित राप्रपाका ४ जना नेता (पशुपति शम्शेर राणा, डा. प्रकाशचन्द्र लोहनी र हरिबहादुर बस्नेत) लाई सदस्य राखिएको थियो ।
यस्तै, राप्रपा नेपालका अध्यक्ष कमल थापा र अर्का पुराना राजावादी नेता केशरबहादुर बिष्ट पनि समितिमा अटाए । तर, उनीहरू तिनैजना (लिङदेन, थापा र विष्ट) ले समितिमा बस्न अस्वीकार गरे । खासमा सुवेदीले कसैलाई पनि नसोधिकन आफूखुशी ११ जनाको सूची बनाएका थिए । जब भेलामा नाम पढियो, तबमात्र थाहा पाएको समितिका एक सदस्य बताउँछन् । लिङदेन र थापा त बैठकमै गएका थिएनन् ।
बल्खुको आन्दोलनमा लिङ्देन ।
राप्रपाजस्तो वैधानिक राजनीतिक शक्ति हुँदाहुँदै यही पार्टीका एकजना ‘डेट एक्स्पायर्ड’ नेतालाई अघि सारिनु स्वभाविक थिएन । आफैं आन्दोलनको नेतृत्व गर्न तत्पर रहेका लिङ्देनले संयुक्त जनआन्दोलन समितिलाई मान्यता दिएनन् । तर, कमल थापा भने सुवेदीको नेतृत्व स्वीकार गर्न तयार भए । खासमा उनी जसरी पनि आफूलाई कट्टर राजावादी बनाउन चाहन्थे । विगतमा राजालाई गाली गर्दै राप्रपा त्यागेपश्चात थापाको राजनीतिक अस्तित्व नै संकटमा परेको थियो । त्यसैले आफूलाई राजावादी आन्दोलनको मूलधारमा पुन:स्थापित गर्ने हेतु उनी जुनसुकै सम्झौता गर्न तत्पर थिए ।
नवराज सुवेदीले आन्दोलनको लगाम लिएपछि यता लिङदेन र राप्रपाको बेचैनी बढ्यो । राजसंस्था पुन:स्थापनाको पक्षमा माहोल उर्लिएको बेला राप्रपा कसैगरि पनि आफ्नो हातबाट यो एजेन्डा फुत्काउन चाहन्थेन । चैत ५ मा बसेको राप्रपा कार्यसम्पादन समितिको बैठकले आफ्नै नेतृत्वमा आन्दोलन गर्ने निर्णय लियो ।
यता धुन्धुकारी छविका दुर्गा प्रसाईं पनि नवराजको समितिमा समेटिएका थिए । उनै प्रसाईं नेतृत्वको नागरिक बचाउ महाअभियानले काठमाडौंमा चैत १५ गते आन्दोलन गर्ने घोषणा पहिल्यै गरिसकेको थियो । त्यसको अघिल्लो दिन १४ चैतमा प्रसाईं निर्मल निवासबाट निस्किएको समाचार र तस्बिर नेपाल प्रेसले प्रकाशित गर्यो । त्यसलगत्तै संयुक्त जनआन्दोलन समितिले पत्रकार सम्मेलन गर्दै प्रसाईंको महाअभियानले गर्ने आन्दोलनको अपनत्व लिनुका साथै उनलाई जनकमाण्डर बनाउने घोषणा गरियो ।
यो घोषणा अन्तत्वगत्वा घातक साबित भयो । चैत १५ मा तीनकुनेमा भएको आन्दोलन हिंस्रक उद्दण्डतामा परिणत भयो । सर्वसाधारणका घरहरूमा तोडफोड, जुलटाट र आगजनी गरिए । एक पत्रकार घरभित्रै जले । अन्यत्र पनि विभिन्न ठाउँमा आगजनी भए । राजावादीको ठूलो बदनामी भयो ।
प्रसाईंलाई कसले किन जनकमाण्डर बनायो भन्ने अहिलेसम्म रहस्यमै छ । त्यही दिन निर्मल निवासबाट निस्किएको हुँदा उनलाई पूर्वराजाले नै यो जिम्मेवारी सुम्पिएको अनुमान धेरैले गरेका छन्, जुन सत्य नहुन सक्छ । पछि पूर्वराजाले पछि राप्रपाका शीर्ष नेताहरूसँगको एक सामूहिक भेटमा नवराज सुवेदीलाई जनआन्दोलनको संयोजक र दुर्गा प्रसाईंलाई जनकमाण्डर बनाउन आफ्नो हात नरहेको बताएका थिए । यतिमात्र होइन, प्रसाईंलाई आफूले भेट्दै नभेटेको समेत पूर्वराजाको भनाइ थियो । निर्मल निवासमा आएर आफ्ना सचिवलाई भेटेर गएको हुनसक्ने आशय उनले व्यक्त गरेका थिए ।
प्रसाईंलाई जनकमाण्डर घोषणा गरिँदैछ भन्ने १४ चैतको पत्रकार सम्मेलनमा उपस्थित जनआन्दोलन समितिकै व्यक्तिहरूलाई थाहा थिएन । हठात उनको नाम घोषणा भएपछि समितिका दुई महिला सदस्य बैठकबाटै जुरुक्क उठेर हिँडे । त्यसको भोलिपल्ट तीनकुनेमा सभाका लागि बनाइएको मञ्चमा टाँगिने ब्यानरमा प्रसाईंले राजाकै साइजमा आफ्नो फोटो राख्न लगाएका थिए । सभामा जाने तयारीमा रहेका राप्रपा अध्यक्ष लिङदेन त्यहाँको माहोल र ब्यानरमा प्रसाईंको फोटोबारे सूचना पाइसकेपछि रोकिए । त्यहाँ आएका राप्रपा संस्थापन पक्षका केही नेता पनि टाप ठोके ।
सोपश्चात राप्रपाले चैत २६ गते काठमाडौंमा जनप्रदर्शन गर्यो, जुन त्यति प्रभावकारी भएन । त्यहाँ सोचेजस्तो संख्यामा मान्छे आइदिएनन् । यसले राप्रपालाई अलिकति दबाबमा पार्यो । यता राप्रपाको सहभागिताबिना ठूलो आन्दोलन गर्ने ल्याकत नवराज सुवेदीसँग पनि थिएन । उनले नेतृत्व गरेको जनआन्दोलन समितिसँग कुनै देशव्यापी संगठन छैन । त्यसैले उनी जसरी पनि राप्रपालाई आफ्नो नेतृत्वमा तान्न चाहन्थे ।
अन्ततः राजाले नै राजावादीहरूलाई मिलाउन निर्णायक पहल गरे । उनले तारन्तार राप्रपाका नेताहरू र अन्य राजावादीहरूलाई भेट्दै मिल्न ‘सुझाव’ दिए । पूर्वराजाको आग्रहपछि नै लिङदेन नवराज सुवेदीको नेतृत्व स्वीकार्न बाध्य बनेको बताइन्छ ।
राप्रपाको मूल नेतृत्व मिसिएपछि संयुक्त जनआन्दोलन समिति बलियो बनेको थियो । अन्य ४५ वटा ठूलासाना राजावादी घटकहरू यसमा जोडिए । र, वैशाख २५ गते संयुक्त बैठक बसेर जेठ १५ बाट अनिश्चितकालीन जनआन्दोलन गर्ने घोषणा भयो । त्यसअघि वैशाख १५ मा नै कमल थापाले चतुरतापूर्वक आफूसहित चार राजावादी प्रमुख नेतालाई एक ठाउँ उभ्याउन सफल भइसकेका थिए ।
जेठ १५ मा भएको पहिलो दिनको आन्दोलन औसत रह्यो । देशभरबाट राजावादीहरू काठमाडौं आएका थिए । रत्नपार्कमा ठूलै जनप्रदर्शन भयो । नजिकै भृकुटीमण्डपमा एमालेले गणतन्त्रको उत्सव मनाउने कार्यक्रम राखेको थियो, जहाँ उल्लेख्य जनसहभागिता थिएन । गणतन्त्रको उत्सव मनाउने भन्दा राजसंस्था चाहनेहरूको भीड ठूलो देखिँदा राजावादीहरूको छाति चौडा भयो । लिङदेनले यसैलाई जनमतसंग्रहको संज्ञा दिए । त्यसको भोलिपल्टदेखि भने आन्दोलन खिईंदै गयो । दुई-तीन दिनदेखि त सुनसान नै छ ।
असफलताका कारणहरू
राजावादीहरू मिलेजस्तो देखिए पनि उनीहरूबीच कहिले पनि भावनात्मक एकता हुन सकेन । राप्रपाको संस्थापन पक्षले नवराज सुवेदीबाट आन्दोलनको नेतृत्व हुन नसक्ने निष्कर्ष निकालिसकेको छ । सम्भवतः समितिले गर्ने आगामी आन्दोलन कार्यक्रममा राप्रपा सहभागी नहुने र भए पनि त्यो औपचारिकताका लागि मात्र हुने सम्भावना रहेको पार्टीका नेताहरू बताउँछन् ।
सतहमा हेर्दा राजेन्द्र लिङदेन र नवराज सुवेदीबीच जुंगाको लडाइँ देखिन्छ । तर, वास्तविक समस्या चाहिँ राप्रपाभित्रै छ । राप्रपाभित्रको दुई गुटको संघर्षले गर्दा समग्र राजावादी आन्दोलन प्रभावित बनिरहेको बताउँछन् जनआन्दोलन समितिका व्यक्तिहरू । राप्रपाको महाधिवेशन आउन ८ महिना जति मात्र बाँकी छ । राजेन्द्र लिङदेन अध्यक्षमा दोहोरिन चाहन्छन् भने डा. धवलशम्शेर राणा उनलाई चुनौती दिने योजनामा छन् । जबकि अघिल्लो महाधिवेशनमा राणाले लिङदेनकै प्यानलबाट चुनाव जितेका थिए ।
राप्रपाभित्र अहिलेसम्म लिङदेनकै पकड बलियो छ । उनलाई कमजोर बनाउनकै लागि राणाले नवराज सुवेदीलाई अगाडि सारेको राप्रपाका संस्थापन पक्षीय नेताहरूले दाबी गर्ने गरेका छन् । थुनामुक्त भइसकेपश्चात पनि राणाले नवराज सुवेदीसँग मिलेर चलखेल गरिरहेको उनीहरूको आरोप छ ।
अर्कोतिर संस्थापनविरोधी नेताहरू भने लिङ्देनले भित्रीरूपमा आन्दोलन नै नचाहेको दाबी गर्छन् । पार्टीमा लोकप्रिता र आफ्नो भोट बैंक गुम्ने डरले मात्रै उनी आन्दोलनमा लतारिएर आएको बुझाइ यो खेमाभित्र छ । साथै, जनआन्दोलन समितिभित्रका नेताहरूको बुझाइ पनि यस्तै यस्तै छ ।
समितिका एक पदाधिकारीले भने, ‘उहाँले खासमा आन्दोलन चाहेको होइन । तर, आन्दोलन कथंकदाचित सफल भइहाल्यो भने पछि परिन्छ पर्छु भन्ने डरले मिसिन आउनुभएको हो ।’
आन्दोलनकारीको बैठकलाई भन्दा संसद बैठकलाई महत्व दिनुले पनि यसको पुष्टि हुने ती पदाधिकारीको तर्क छ ।
जे भए पनि यदि राप्रपा समितिबाट अलग भएको खण्डमा राजावादी आन्दोलन भेन्टिलेटरमा पुग्ने खतरा देखिन्छ । दुर्गा प्रसाईं जेलमा रहेको र रवीन्द्र मिश्र, धवलशम्शेरहरू सम्पर्कबाहिर रहेको अवस्थामा भीड जुटाउन सक्ने र दरिला नेता समितिसँग छैनन् ।
चैत १५ को आन्दोलन भड्काएर हत्या/आगजनीमा उत्रिएको अभियोगमा पक्राउ परेका दुर्गा ।
जनतामा राजसंस्थाप्रति रुझान नभएको होइन, व्यापक छ । राजा र राजपरिवारका सदस्यहरू युवापुस्तामा ठूलो ग्ल्यामर देखिन्छ । खासगरी पूर्वनवयुवराज हृदयन्द्र युवायुवतीहरूमाझ निकै लोकप्रिय बनिरहेका छन् । यदि जनमत संग्रह नै गर्ने हो भने गणतन्त्रभन्दा राजसंस्थाको पक्षमा धेरै मत नआउला भन्न सकिन्न । त्यही डरले गर्दा नै गणतन्त्रवादीहरू जनमत संग्रहको नामै लिन चाहँदैनन् । जबकि संविधानमा जनमत संग्रहको व्यवस्था उनीहरूले नै राखेका हुन् ।
तर, कथंकदाचित राजा फर्किहाले भने त्यसपछिको मार्गचित्र राजावादीहरूले देखाउन सकेका छैनन् । देशको बौद्धिक जमातलाई यो आन्दोलनले आकर्षित गर्न नसक्नुको एउटा प्रमुख कारण यो पनि हो ।
एयरपोर्टमा देखिएको भीड दुर्गा प्रसार्इं वा राप्रपाले जुटाएको भन्ठानु गलत हुन्छ । यो भीड स्वतस्फूर्तरूपमा उर्लेको थियो । त्यहाँ तीन-चारथरि मानिसहरू थिए । पहिलो परम्परागत राजावादीहरू, जो देशमा राजा चाहिन्छ भनेर विश्वास गर्छन् । दोस्रो राजनीतिकरूपमा तटस्थ युवापुस्ता, जसले राजाको शासन देखेका र भोगेका थिएनन् । राजाले देश चलाउँदा कस्तो हुन्छ भनेर उनीहरूलाई हेर्न मन छ । पहिलेका राजाहरूको शान शौकत र अन्तर्राष्ट्रिय स्तरमा पाएको मानसम्मानहरू फोटो/भिडिओमा देखेर उनीहरू लोभिएका छन् ।
तेस्रो अहिलेका नेताहरूको कार्यशैली र अकर्मन्यताबाट वाक्क दिक्क भएका मानिसहरू, जो बरु राजतन्त्र नै ठीक थियो भन्ने निष्कर्ष पुगेका छन् । देशभरी राजै राजा हुनुभन्दा एउटै राजा ठीक भन्ने भाष्यले यो जमातलाई दह्रोसँग अँठ्याइरहेको छ । यीमध्ये कतिपय कांग्रेस, एमाले वा माओवादीकै समर्थक पनि हुन सक्छन् । चौंथो चाहिँ रमितेहरू हुन्, जसलाई राजा आए पनि नआए पनि मतलब छैन, बस रमिता हेर्नु छ ।
आन्दोलनको अन्योलः अबको बाटो के ?
आन्दोलनलाई अब कसरी चर्काउने वा सेफल्यान्डिङ गराउने भन्नेमा मुल नेतृत्वकर्ता नै अन्योलग्रस्त बनेको पाइन्छ । यही तरिकाबाट राजतन्त्र फर्काउन सकिन्छ भन्ने विश्वास उनीहरूमा मर्दै गएको छ ।
चानचुने आन्दोलनले व्यवस्था परिवर्तन हुन पनि सक्दैन । यसका लागि विशाल जनलहर नै सिर्जना गर्न सक्नुपर्छ । जनप्रदर्शनले जनआन्दोलनको रूप लिनुपर्छ । भद्र र शिष्ट तरिकाको र्याली निकाले व्यवस्था उल्टिएका उदाहरण संसारमा विरलै छन् । नेपालमा पनि छैन । २०६२/६३ को जनआन्दोलनमा कर्फ्यू र निषेधाज्ञाको व्यापक उल्लंघन भएको इतिहास ताजै छ ।
राजावादीहरू आन्दोलनलाई निरन्तरता दिइने त बताइरहेका छन्, तर कुनै बलियो खाका उनीहरूसँग छैन । राजावादी शक्तिहरूभित्रै दुईथरि अभिमत देखिएको छ । एकथरि यस्तो भलाद्मी तरिकाले नहुने भन्दै आन्दोलनलाई आक्रामक बनाउनुपर्नेमा जोड दिइरहेका छन् । सरकारले घोषणा गरेको निषेधाज्ञा तोड्नुपर्ने र ढुंगामुढासमेत गर्न तयार हुनुपर्ने उनीहरूको दबाब छ । तर, मुख्य नेताहरू यसका लागि तयार भइसकेका छैनन् । खासगरी, राप्रपा अहिलेसम्म शान्तिपूर्ण आन्दोलनकै कुरा गरिरहेको छ । राप्रपाका सांसदहरू आफ्नो पद त्यागेर आन्दोलनमा होमिन तयार छैनन् ।
प्रतिनिधिसभाको पहिलो बैठकका दिन सामूहि तस्बिर खिचाउँदै राप्रपाका सांसद ।
त्यसो त राजावादी नेताहरू आ-आफ्नै स्वार्थको डम्फु बजाइरहेका छन् । उनीहरूलाई राजा ल्याउने भन्दा पनि राजसंथाको एजेन्डा भजाएर आफ्नो राजनीतिको रोटी सेक्नु छ । राजेन्द्र लिङदेन यही एजेन्डा बेचेर ०८४ को चुनावमा पार्टीको सीट थप्न चाहन्छन् । उनलाई राजसंस्था फर्काउन कुनै हतारो छैन । धवलशम्शेर राणा निर्मल निवासको बुइ चढेर राप्रपाको नेतृत्व हत्याउने चेष्टामा छन् ।
कमल थापा विगतमा राजालाई गाली गर्दा गुमेको आफ्नो साख र लोकप्रियता राजाकै स्तुति गाएर फिर्ता ल्याउने धुनमा छन् । नवराज सुवेदीलाई आफ्नो नेतृत्वमा राजसंस्था फर्काएको भनेर इतिहासमा नाम लेखाउनु छ । जीवनकै उत्तरार्द्धमा रहेका उनको अर्को कुनै राजनीतिक महत्वाकांक्षा भने सायद छैन ।
खासमा आन्दोलन चर्काउने सूत्र नै भेटिरहेका छैनन् राजावादी नेताहरूले । यस्तो आन्दोलनमा उनीहरू खासै अनुभवी पनि होइनन् । उनीहरू २०६२/६३ कै जनआन्दोलनको मोडालिटीमा जाने गफ त गर्छन्, तर त्यसका लागि दरिलो आधार दिन सक्दैनन् । २०६२/६३ को आन्दोलनमा राष्ट्रिय र अन्तर्राष्ट्रिय माहोल फरक थियो । छिमेकी देश भारतले त्यस आन्दोलनलाई खुलेर साथ दिएको थियो । भारतीय नेताहरू आएर तत्कालीन सात दलका सभामा भाषणसमेत गर्थे । अर्को अनुकूलता भनेको त्यतिबेलाका राष्ट्रिय मिडियाहरू पनि राजनीतिक दलभन्दा बढी आक्रामकरूपमा व्यवस्था परिवर्तनका लागि परिचालन भएका थिए ।
अहिलेको राजावादी आन्दोलनलाई भारतले समर्थन गरेको छैन । भारत र चीनबीच तनाव बढेका बखत भाजपाका नेताहरू नेपाल आएर राजावादी आन्दोलनलाई आफूहरूले समर्थन नगर्ने भन्दै नेताहरूलाई भारतको पक्षमा बोलिदिन फकाएका थिए । त्यहीअनुसार नेपालको सरकारदेखि राजनीतिक दलहरूले समेत भारतलाई समर्थन गर्दै विज्ञप्ति निकाले । त्यसैले वर्तमान सरकार र गणतन्त्रवादी दलहरूसँग अनुग्रहित रहेको भारतीय संस्थापन पक्षले राजावादी आन्दोलनलाई साथ दिने सम्भावना न्यून छ ।
यसर्थ, राजावादी आन्दोलन यत्तिकै तुहिनेमा गणतन्त्रवादीहरू ढुक्क बन्न थालेका छन् । हिजो कांग्रेस सभापति शेरबहादुर देउवाले बोले नै- कहाँ छन् राजावादी ? आन्दोलन तुहिसक्यो ।
काठमाडौं । आन्दोलनको नयाँ कार्यक्रम बनाउन आज डाकिएको राजावादी भेलामा होहल्ला भएको छ । राजावादी मोर्चाको सबैभन्दा ठूलो घटक राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन अनुपस्थित बनेपछि कार्यकर्ताले विरोध गरेका थिए ।
राप्रपा नेपालका अध्यक्ष कमल थापालाई बोल्न समय दिइएपछि होहल्ला सुरू भयो । त्यसपछि संयुक्त जनआन्दोलन समितिका अध्यक्ष नवराज सुवेदीले आफैँ माइक लिएर सम्बोधन गरे । उनले सानो कमिटी बनाएर आजै नयाँ आन्दोलन कार्यक्रम बनाइने भन्दै भेला स्थगित भएको घोषणा गरेका छन् ।
भेला सुरु भएलगत्तै लिङदेनको कार्यव्यस्तताका कारण आउन नसकेको जानकारी गराइएको थियो । लिङदेन अहिले संसदमा छन् । कार्यकर्ताहरुले भने यही संसद चाहिने भए आन्दोलन केका लागि भन्दै असन्तुष्टि पोखे ।
अर्काथरि कार्यकर्ताले चाहिँ नवराज सुबेदीले आन्दोलनको नेतृत्व गर्न नसकेको भन्दै आक्रोश पोखे । कार्यक्रम भद्रगोल र अव्यवस्थित बनेको गुनासो पनि सुनिएको थियो ।
भेलामा पत्रकारलाई भित्र पस्न अनुमति दिइएकोप्रति पनि कार्यकर्ताले विरोध जनाएका थिए ।
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भ्रमजालबाट मुक्त भएर सुध्रिन आग्रह गरेका छन् । आन्दोलनस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै हिजो माओवादी युद्धकालको जस्तो समय अब नरहेको बताए ।
हिजो राजावादी र वाईसीएलबीच भएको घम्साघम्सीबारे उनले भने, ‘वाईसीएलका भाइहरू भ्रममा हुनुहुन्छ, उहाँहरूले भन्ने गरेको जनयुद्धताकाको समय अब छैन। अब त्यो भ्रममा नरहन आग्रह गर्छु । भ्रमबाट मुक्त हुनुस् ।’
उनले जनता सचेत भइसकेको भन्दै हिजोजस्तो दबाएर राख्न सकिन्छ भन्ने नसोच्न प्रचण्डलाई सुझाव दिए ।
लिङदेनले भने, ‘जनयुद्धको बेलाजस्तो तपाईँको समय छैन । जनता जागरूक भइसकेका छन्, तपाईँको भ्रमजालबाट मानिसहरू मुक्त भइसकेको अवस्था छ । हिजोको जस्तै मान्छेलाई तर्साएर मुनि राख्न सकिन्छ भन्नेबाट अलग हुनुस् र सुध्रिनुस् । कुनै व्यक्तिको विरुद्ध होइन, गणतन्त्रको नाममा लुटतन्त्रको विरुद्ध लडिरहेका छौँ । त्यसमा जो अगाडि आउँछ त्यसको जनताले प्रतिवाद गर्छन् ।’
उनले भ्रष्ट र भ्रष्टतन्त्रविरूद्ध जीवनभर लडिरहने भन्दै भ्रष्टहरूलाई खोरमा नहाली विश्राम नलिने बताए ।
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राजसंस्था पुनस्र्थापनाको वास्तविक लडाईं भोलिबाट सुरु हुने उद्घोष गरेका छन् ।
आज नारायणचौरबाट पक्राउ परेका राप्रपा नेपालका अध्यक्ष कमल थापालाई तुरुन्तै रिहा गरे त्यहीँ ल्याइदिन उनले सरिकारलाई सुझाव दिए ।
लिङदेनले भने, ‘भर्खरै राप्रपा नेपालका अध्यक्ष कमल थापालगायतलाई पक्राउ गरिएको सुनेको छु । म नेपाल सरकार, गृहमन्त्री वा यहाँ कमाण्ड गरिराखेका प्रहरी प्रमुखसँग भद्रतापूर्वक मेरो आग्रह छ, तपाईंहरुले कमल थापालाई यहीँ ल्याइदिनुस । होइन भने अरु साथीभाइलाई पनि काठमाडौं बाहिरबाट बोलाउँछौं । खास लडाईं यहीँबाट सुरु हुन्छ ।’
राजावादीहरुको भद्रतालाई कमजोरी नठान्न लिङदेनले चेतावनी दिए ।
‘अब हामी एक ठाउँ भेला भएर होइन ५० ठाउँ बाट निस्किन्छौं । कहाँ कहाँ रोक्नुहुन्छ रु कमल थापालाई अहिल्यै यहाँ ल्याएर ससम्मान फिर्ता नगर्ने हो भने भोलिबाट काठमाडां बल्न सुरु हुन्छ,’ उनले भने, ‘घर फर्किन लाग्नुभएकाहरु फिर्ता हुनुस्,एक्लै होइन परिवारसहित आन्दोलनमा आउनुस । अब हामी डराउनेवाला छैनौं ।’
काठमाडौं । राजावादी मोर्चाको आन्दोलन आज काठमाडौंको नारायणचौरमा सुरु भएको छ । यहाँबाट प्रधानमन्त्री निवास बालुवाटारतिर सोझिने तयारी आन्दोलकारीले गरेका छन् ।
नारायण चौरमा आयोजित कोणसभालाई सम्बोधन गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले निषेधित क्षेत्र तोड्ने योजना नरहेको तर प्रहरीले अनावश्यक नियन्त्रण गर्न खोजे प्रतिकार गर्ने बताए ।
उनले भने, ‘एउटा जिम्मेवार नेतृत्वको हिसाबले मैले भनिराखेको छु, हामीले आजै निषेधित क्षेत्र तोडिहाल्ने कुनै योजना बनाएका छैनौं । तर, तपाईंहरुले कान खोलेर सुन्नुस, तपाईंहरुले जहाँ भन्यो, त्यहाँ जाने यताबाट हिँड उताबाट हिँड् भनेर नियन्त्रण गर्न खोज्नुभयो भने हामी मान्दैनौं ।’
लिङदेनले थपे, ‘प्रशासनबाट आदेश आउनुपर्ने हो कि, यहाँको कमाण्ड गरिराखेकोले निर्णय लिने हो कि, गृहमन्त्रीलाई सोध्नुपर्ने हो कि प्रधानमन्त्रीलाई सोध्नुपर्ने हो सोध्नुस् । हामी कुनै पनि प्रकारको मुठभेड चाहँदैनौं । तर तपाईंले तोकेको निषेधित क्षेत्रसम्म जान चाहन्छौं । कम्तिमा हिजो गएको ठाउँसम्म हामीले जान पाउनुपर्छ ।’
काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई जवाफ फर्काएका छन् । प्रचण्डले आज नुवाकोट पुगेर राजावादीहरूले भाडामा मान्छे ल्याएर चुरीफुरी देखाएको टिप्पणी गरेका थिए ।
प्रचण्डले भनेका थिए, ‘भाडामा मान्छे ल्याएर कहिलेकाहीँ जुलुस गर्ने कुरा सामान्य हो । राजावादीहरूले चुनाव लडेर बहुमत ल्याएर सरकार बनाउने स्वतन्त्रता उनीहरूलाई छ । राजावादीको पक्षमा एउटा पनि नजित्ने यत्रो उपनिर्वाचन नजित्ने राप्रपा संविधान नै खारेज गर्ने तुक कुनै अर्थ छैन । उहाँहरूसँग अलिकति पैसा छ । त्यही पैसाले मान्छे ल्याउने हो ।’
त्यसको जवाफमा लिङदेनले आन्दोलनस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले आफ्नो अनुभव सुनाएको बताए ।
उनले भने, ‘प्रचण्डजी राम्रो भए पनि नभए पनि उहाँ गणतन्त्रको संस्थापक हो । उहाँको नेतृत्वमा नेपालमा गणतन्त्रको मुद्दा उठेको हो । त्यसैले गणतन्त्र हल्लिँदा सबैभन्दा ठूलो पिर उहाँलाई पर्नु स्वाभाविक हो । त्यसैले पिर परेको बेलामा केके बर्बराउनुहुन्छ, त्यसलाई अन्यथा मान्दिनँ । उहाँले गणतन्त्रको पक्षमा प्रदर्शन गर्न टाढा–टाढाबाट मान्छेहरू बोलेर ल्याउनुभएको थियो । पार्टी प्यालेसमा कुन प्रकारको भोज गर्नुभएको थियो । उहाँहरूलाई थाहा छ– खुवाएर पैसा वितरण गरेर मान्छे ल्याउने र जुलुस गर्ने कुरा उहाँले आफ्नो अनुभव सुनाउनुभएको होला । त्यसमा मेरो टिप्पणी छैन ।’
लिङदेनले जनताको मद्दत यसैगरी पुग्यो भने सरकारलाई झुकाइछाड्ने बताए । अहिले जनसमर्थन नपुगे पनि आफूहरू निरन्तर लागिराख्ने उनले बताए ।
काठमाडौं । राजा फर्काउने र व्यवस्था फाल्ने लक्ष्यसहित राजावादीहरूले थालेको आन्दोलन जारी छ। आन्दोलनको तेस्रो दिन पनि राजावादीहरूले काठमाडौंमा शक्ति प्रदर्शन जारी राखेका छन्।
राजावादीहरूले आज नारायणहिटी दरबारमा आसपास प्रदर्शन र सभा गर्ने तयारी गरेका थिए। तर, हिजो काठमाडौैं प्रशासनले क्षेत्रलाई निषेधित क्षेत्र तोक्यो।
निर्धातिर स्थानमा सभा गर्न नपाएपछि राजावादीहरूले शान्तिबाटीकामा भेला भएर प्रधानमन्त्री निवास बालुवाटारतर्फ अघि बढेका छन्।