Category: राप्रपा

  • पूर्वराजालाई दोस्रोपटक भेटेपछि मिश्रले भने- उहाँमा ‘मेलमिलाप’ बाहेक अरु भावना पाइनँ

    पूर्वराजालाई दोस्रोपटक भेटेपछि मिश्रले भने- उहाँमा ‘मेलमिलाप’ बाहेक अरु भावना पाइनँ

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले दुई महिनामा दोस्रोपटक पूर्वराजा ज्ञानेन्द्रसँग भेट गरेका छन् । झापामा रहेका पूर्वराजासँग हालै भएको भेटबारे उनले सामाजिक सञ्जालमार्फत आज जानकारी दिएका हुन् ।

    राजा ज्ञानेन्द्रमा विगतका घटनाक्रम र देशको वर्तमान अवस्थाप्रति असन्तुष्टि रहे पनि आफ्नो भद्रता र राजकीय गरिमालाई उनले कहिल्यै कम हुन नदिएको मिश्र बताउँछन् ।

    ‘मेरा पछिल्ला दुई भेटमा उनमा निरंकुशता होइन, यो देशको दूरगामी हितका लागि ‘मेलमिलाप’ बाहेक अन्य कुनै भाव पाइनँ,’ उनले लेखेका छन् ।

    भेटमा पूर्वराजाको भनाइ उद्धृत गर्दै मिश्र भन्छन्, ‘मैले त विज्ञप्तिमा नै देश जोगाउन प्रजातन्त्रका लागि अपरिहार्य राजनीतिक दल र राजसंस्था एक ठाउँमा आउनैपर्छ भनेर भनिसकेँ नि !’

    राजसंस्थालाई विगतका गल्तीप्रति क्षमा दिएर अभिभावकीय भूमिकामा पुनःस्थापित नगर्ने हो भने यो देशमा संकटका बेला सहारा लिने कुनै संस्था बाँकी नरहने मिश्रको निष्कर्ष छ ।

    ‘समयमै विचार गरौं, ढिलो गरी आएको चेतना विध्वंशपछि प्राप्त विवेकजस्तै अर्थहीन हुनेछ’, उनले लेखेका छन् ।

  • राप्रपाको युवा संगठनको संयोजकमा सुजित केसी चयन

    राप्रपाको युवा संगठनको संयोजकमा सुजित केसी चयन

    काठमाडौं । राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको केन्द्रीय संयोजकमा सुजित केसीलाई सर्वसम्मत चयन गरिएको छ ।

    काठमाडौंमा फागुन १३ र १४ गते आयोजित संगठनको राष्ट्रिय भेलाले महाधिवेशन आयोजक समितिको केन्द्रीय संयोजकको रूपमा काठमाडौंका केसीलाई चयन गरेको हो । संगठनको महाधिवेशन सम्पन्न गर्ने गरी अधिवक्ता समेत रहेका केसीलाई नेतृत्वको रूपमा चयन गरिएको बताइन्छ ।

    संगठनको केन्द्रीय पदाधिकारीमा रहेर केसीले ९ वर्ष काम गरिसकेका छन् । केसीले राजनीति शास्त्र, कानून तथा समाज शास्त्रमा स्नातकोत्तर अध्यनरत गरिसकेका छन् भने अन्तर्राष्ट्रिय सम्बन्ध तथा कुटनैतिक विषयमा विद्यावारिधि अध्यनरत छन् ।

  • राप्रपाको समर्थन फिर्तापछि सरकारले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने, प्रधानमन्त्री कानूनी परामर्शमा

    राप्रपाको समर्थन फिर्तापछि सरकारले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने, प्रधानमन्त्री कानूनी परामर्शमा

    कैलाली । सातदलीय गठबन्धनको समर्थनमा पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले उछिट्टिएर आठदलीय गठबन्धनमा पुगेका छन् । उनलाई प्रधानमन्त्री नियुक्त गर्दा समर्थन गरेको नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी नयाँ गठबन्धनमा समावेश छैनन् ।

    कांग्रेससहितको गठबन्धन बन्दा एमाले, राप्रपा र रास्वपा बाहिर परेका हुन् । यीमध्ये रास्वपाले सरकारबाट मन्त्री फिर्ता बोलाएको छ भने राप्रपाले सरकारबाट हट्नुका साथै प्रधानमन्त्रीलाई दिएको समर्थनसमेत फिर्ता लिएको छ । एमालेले भने कुनै निर्णय गरेको छैन ।

    समर्थन गरेको कुनै दलले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले फेरि विश्वासको मत लिनुपर्ने कानूनी व्यवस्था रहेको छ । यद्यपि, संविधानको धारा १०० लाई कानूनविद्हरूले फरक–फरक व्याख्या गरिरहेका छन् ।

    संविधानविद् डा. भीमार्जुन आचार्य राप्रपाले समर्थन फिर्ता लिएपछि प्रचण्ड सरकारले विश्वासको मत लिनुपर्ने बताउँछन् । संविधानमा यस्तो अवस्थामा विश्वासको मत लिनुपर्ने स्पष्ट उल्लेख भएको उनको भनाइ छ ।

    ‘संविधानको धारा १०० को उपधारा २ मा प्रधानमन्त्रीको दल विभाजन हुँदा वा सरकार गठन गर्दा सहभागी भएको दलले समर्थन फिर्ता लिँदा विश्वासको मत लिनु पर्ने व्यवस्था छ’, उनले नेपाल प्रेससँग भने ‘यो सरकार सात दलले समर्थन गरेर बनेको हो । यी सात दलमध्ये जुनले पनि समर्थन फिर्ता लिए विश्वासको मत लिनु पर्छ ।’

    संविधानमा सरकारलाई समर्थन गरेको दलले समर्थन फिर्ता लिँदा विश्वासको मत लिनुपर्ने व्यवस्था भएपनि यसअघि पनि यो प्रावधानको उल्लंघन भएको उनको भनाइ छ । उनले बहुमत नगुमेको अवस्थामा विश्वासको मत दिनु नपर्ने चर्चा आइरहे पनि त्यो छुट संविधानले नदिएको बताए ।

    ‘अघिल्लो पटक ओलीले पनि यो उल्लंघन गरे । त्यही नजिर मानेर अहिले पनि गएको अवस्थामा कानून नमान्ने कुरा भयो, नत्र त लिनु पर्छ’ उनले भने, ‘बहुमत हुँदा लिन हुँदैन भन्छन्, त्यो कुरा संविधानमा लेखेको छैन ।’

    कानून व्यवसायी पदमबहादुर कार्की पनि संविधानअनुसार सरकारले तीस दिनभित्र विश्वासको मत लिनुपर्ने बताउँछन् ।

    राष्ट्रियसभाका पूर्वसदस्य तथा वरिष्ठ अधिवक्ता रामनारायण विडारी भने अहिलेको अवस्थामा प्रचण्डले विश्वासको मत लिनु नपर्ने तर्क गर्छन् । प्रधानमन्त्रीले विश्वासको मत लिन आवश्यक ठानेमा वा सरकारसँग बहुमत नरहेको ठानेमा मात्र विश्वासको मत लिन सक्ने उनको भनाइ छ ।

    ‘राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिँदैमा प्रचण्ड सरकार ढल्दैन । संसद्मा बहुमत गुमाएको अवस्थामा मात्र प्रधानमन्त्रीले विश्वासको मत लिने हो’, उनले भने, ‘प्रधानमन्त्रीसँग आवश्यक बहुमत कायमै रहेकाले फेरि विश्वासको मत लिनु पर्दैन ।’

    त्यसो त राप्रपाले मात्र होइन, अहिले गठबन्धनभन्दा बाहिर रहेका एमाले र स्वतन्त्र पार्टीले समर्थन फिर्ता लिँदा पनि वर्तमान सरकार ढल्ने अवस्था छैन ।

    १० पुसमा प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त हुँदा एमाले, माओवादीसहित १६९ सांसदको समर्थन रहेको थियो । २६ पुसमा प्रतिनिधिसभाबाट प्रधानमन्त्रीले सत्ता गठबन्धनबाहेक विपक्षी कांग्रेस, एकीकृत समाजवादी र लोसपासमेत गरी २६८ सांसदको समर्थन पाएका थिए ।

    संविधानमा के छ ?

    नेपालको संविधानको धारा १०० मा ‘विश्वासको मत र अविश्वासको प्रस्ताव’ सम्बन्धी प्रावधान उल्लेख छ । संविधानको धारा १०० को उपधारा (२) लाई हेर्ने हो भने प्रचण्डले विश्वासको मतका लागि ३० दिनभित्र प्रतिनिधिसभामा प्रस्ताव पेस गर्नुपर्ने हुन्छ ।

    संविधानको धारा १०० (२) मा स्पष्टसँग भनिएको छ, ‘प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभासमक्ष प्रस्ताव राख्नुपर्नेछ ।’

    त्यसबाहेक धारा १०० को उपधारा १ मा भनिएको छ, ‘प्रधानमन्त्रीले कुनै पनि बखत आफूलाई प्रतिनिधिसभाको विश्वास छ भन्ने कुरा स्पष्ट पार्न आवश्यक वा उपयुक्त ठानेमा विश्वासको मतका लागि प्रतिनिधि सभा समक्ष प्रस्ताव राख्न सक्छन् ।’

    माओवादीका वरिष्ठ उपाध्यक्ष तथा सरकारका उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ अहिले प्रधानमन्त्री कानूनी परामर्शमा रहेको बताउँछन् ।

    उनले भने, ‘बहुमत भइरहेको अवस्थामा विश्वासको मत लिनुपर्दैन होला भन्ने पनि छ , अर्को एउटाले छोडे पनि लिनुपर्छ भन्ने पनि छ । सायद लिनेतिरै जानुहुन्छ होला जस्तो लाग्छ मलाई । तर, उहाँ आफ्नो कानूनी परामर्शमा हुनुहुन्छ ।’

  • बागमतीमा राप्रपाका मन्त्रीहरूले बुझाए राजीनामा

    बागमतीमा राप्रपाका मन्त्रीहरूले बुझाए राजीनामा

    हेटौँडा । राप्रपाको तर्फबाट बागमती प्रदेश सरकारमा सहभागी भएका तीनजना मन्त्रीहरूले राजीनामा दिएका छन् ।

    शनिवार बागमती प्रदेशसभाको बैठक सकेर मुख्यमन्त्री शालिकराम जम्मकट्टेल समक्ष तीनैजना मन्त्रीले सामूहिक राजीनामा बुझाएका हुन् ।

    राप्रपाबाट ऊर्जा तथा सिँचाइ मन्त्री उद्धव थापा, पर्यटन, उद्योग तथा सहकारी मन्त्री डम्बर तामाङ र वन तथा वातावरण मन्त्री राजु विष्ट सरकारमा सहभागी थिए ।

  • राप्रपाले केन्द्रदेखि प्रदेशसम्मका सरकारबाट समर्थन झिक्यो (भिडिओ)

    राप्रपाले केन्द्रदेखि प्रदेशसम्मका सरकारबाट समर्थन झिक्यो (भिडिओ)

    काठमाडौं । सरकारबाट बाहिरिने निर्णय लिएको राप्रपाले सरकारलाई दिएको समर्थन समेत फिर्ता लिने निर्णय गरेको छ ।

    आज बसेको कार्यसम्पादन समिति र संसदीय समितिको संयुक्त बैठकले केन्द्रदेखि प्रदेशसम्मका सरकारहरुलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

    परिवर्तिन सन्दर्भमा राप्रपा सरकारमा रहनु उपयुक्त नहुने ठहर वैठकले गरेको पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    वर्तमान सत्ता सहकार्यमा आकस्मिक परिवर्तन भई मुलुक पुन सत्ताकेन्द्रित अस्थिरतातर्फ धकेलिएको राप्रपाले निष्कर्ष निकालेको छ ।

    ‘यो हाल देखिएको सत्ता परिवर्तनको प्रवृत्ति र प्रक्रिया वर्तमान संविधानको संरचनामा निहित अस्थिरताको स्वाभाविक चरित्र हो भन्ने हाम्रो ठहर रहेको छ,’ विज्ञप्तिमा भनिएको छ ।

    राप्रपाले केन्द्र र प्रदेश सरकारहरुबाट आफ्ना मन्त्रीहरू फिर्ता बोलाउने पनि निर्णय गरेको छ ।

  • राप्रपाले बोलायो आकस्मिक बैठक

    राप्रपाले बोलायो आकस्मिक बैठक

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आकस्मिक बैठक बोलाएको छ । पार्टी मुख्यालय धुम्बाराहीमा बिहान ८ बजे आकस्मिक बैठक बोलाएको हो ।

    गठबन्धन परिवर्तनसँगै राप्रपाको कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त एवं आकस्मिक बैठक बोलाएको प्रवक्ता माेहन श्रेष्ठले जानकारी दिए ।

    नयाँ गठबन्धन बनेसँगै सरकारमा रहिरहने या बाहिरिने भन्ने पनि बैठकमा छलफल हुनेछ ।

     

  • राष्ट्रपति चुनावमा प्रस्तावक-समर्थक नबस्ने राप्रपाको निर्णय

    राष्ट्रपति चुनावमा प्रस्तावक-समर्थक नबस्ने राप्रपाको निर्णय

    काठमाडौं । राप्रपाले राष्ट्रपति निर्वाचनमा प्रस्तावक र समर्थक नबस्ने निर्णय गरेको छ ।

    जारी राप्रपाको कार्यसम्पादन समितिको बैठकको राप्रपा राष्ट्रपति निर्वाचनमा प्रस्तावक र समर्थक नबस्ने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले बताए ।

    निर्वाचनमा भोट हाल्ने वा नहाल्ने विषयमा छलफल भइरहेको भन्दै फागुन २५ अघि फेरि बैठक बस्ने उनले बताए ।

    राष्ट्रपति निर्वाचनसम्बन्धी अन्य विषयमा छलफल जारी रहेको श्रेष्ठले जानकारी दिए ।

  • रेखा थापाको प्रश्न : राष्ट्रपतिको चुनावमा भाग लिएर जनतालाई कसरी मुख देखाउने ? (भिडिओ)

    रेखा थापाको प्रश्न : राष्ट्रपतिको चुनावमा भाग लिएर जनतालाई कसरी मुख देखाउने ? (भिडिओ)

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)को केन्द्रीय सदस्य रेखा थापाले राष्ट्रपतिको चुनावमा आफ्नो पार्टी सहभागी हुन नहुने राय व्यक्त गरेकी छन् ।

    राष्ट्रपतिबारे निर्णय लिन बसेको राप्रपाको कार्यसम्पादन समितिको बैठकका क्रममा उनले यस्तो बताएकी हुन् ।

    राष्ट्रपतिको चुनावमा सहमति जनाएलगत्तै आफूहरुले एजेण्डा छाड्नुपर्ने थापाको भनाइ छ । हिन्दू राष्ट्र कायम गर्ने, राजसंस्था पुर्नस्थापना गर्ने र प्रदेश खारेज गर्ने जस्ता एजेण्डासहित राप्रपाको स्थापना भएको उल्लेख गर्दै उनले राष्ट्रपतिको चुनावमा सहभागी जनाउँदा राप्रपाले आफ्ना उक्त एजेण्डाहरुमाथि सम्झौता गरेर अघि बढ्न नहुने भन्दै थापाले असन्तुष्टि जनाएकी हुन् ।

    ‘हामी एउटा सिद्धान्त बोकेर जमिनमा गएको मान्छे । जनताको घरआँगनमा गएको मान्छे । अहिले ठ्याक्कै व्यवहार अलग हुँदाखेरि भोलि कुन मुख लिएर जनतामाँझ जाने ? जनतालाई के जवाफ दिने ?’, थापाले प्रश्न गरेकी छन् ।

    उनले दुई चारजना व्यक्तिको चाहनाअनुरुप देश र पार्टी नचल्ने तात्पर्यसमेत राखेकी छन् । पार्टीको सिद्धान्तलाई मध्यनजर गरेर अघि बढ्नुपर्ने उनको आशय छ ।

    उनले भनिन्, ‘पार्टीको सिद्धान्त विपरीत व्यक्तिगत इच्छा र व्यक्तिगत चाहनाअनुसार अघि बढन हुन्छ जस्तो मलाई लाग्दैन ।’

    राष्ट्रपतिको विषयमा पार्टीभित्रै दुई मत भइराख्दा पार्टी नै दुई टुक्रा हुने त होइन भन्ने संचारकर्मीको प्रश्नमा उनले त्यस्तो नहुने बताइन् ।

    ‘हामी पार्टीलाई दुई टुक्रा हुन दिदैनौँ । जीर्ण अवस्थामा भएको पार्टीलाई हामीले महाधिवेशनपछि एउटा राम्रो अनि सशक्त १४ सिटे पार्टी बनाएका छौं । त्यतिकै्र फुट्न दिदैनौं ।’, उनले थपिन् ।

    उनले जनताकोे जनादेशलाई निर्णायक बनाएर अघि बढ्ने अपेक्षासहित राप्रपालाई एकल हिसावले लिड गरेर अघि बढ्ने पार्टी बनाउने चाहना भएको भावसमेत प्रकट गरिन् ।

     

  • राज्यमन्त्री सिंह भन्छन्- राजसंस्थाको एजेण्डाका लागि सरकारभित्रै संघर्षरत छौं (भिडिओ)

    राज्यमन्त्री सिंह भन्छन्- राजसंस्थाको एजेण्डाका लागि सरकारभित्रै संघर्षरत छौं (भिडिओ)

    काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री दीपकबहादुर सिंहले राजसंस्थाको एजेण्डा पारित गर्न सरकारभित्रै बसेर सरकारसँग संघर्ष गरिरहेको बताएका छन् ।

    राप्रपा कार्यसम्पादन समितिको बैठकका क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले जनताका बीचमा जाँदा आफूहरुले राष्ट्रपतिमा भोट हाल्छु या हाल्दिन केही नभनेको बताए ।

    राप्रपाले राष्ट्रपतिलाई भोट हाल्न आफ्नो एजेण्डा छाड्नुपर्ला नि भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, ‘पर्दैन यसअघि पनि राप्रपाले राष्ट्रपतिलाई भोट हालेको थियौं । जनताका बीचमा जाँदा हामीले राष्ट्रपतिमा भोट हाल्छु पनि भनेको छैन हाल्दिनँ पनि भनेको छैन ।’

    उनले आफ्नो एजेण्डाका लागि सरकारभित्रै बसेर संघर्ष गरिरहेको बताए । ‘हिजोपनि गणतन्त्रवादीहरु गिरिजा नेतृत्वको सरकारमा जाँदा ढाडमा टेकेर टाउकोमा हान्छु भनेर प्रचण्डजी सरकारमा जानुभयो। अहिले हाम्रो एजेण्डा पारित गर्नको लागि सरकारभित्र बसेर संघर्ष गरिहेका छौं’ उनले भने ।

  • राप्रपा कार्यसम्पादन समिति बैठक : राष्ट्रपति निर्वाचन मुख्य एजेण्डा

    राप्रपा कार्यसम्पादन समिति बैठक : राष्ट्रपति निर्वाचन मुख्य एजेण्डा

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रपति निर्वाचनका विषयमा निर्णय गर्न बोलाएको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ ।

    बैठकमा राष्ट्रपति पदमा उम्मेदवार छनोट गर्ने तथा निर्वाचन प्रक्रियामा सहभागी हुने वा नहुने भन्ने विषयमा छलफल सुरु भएको नेता राजाराम श्रेष्ठले जानकारी दिए ।

    पार्टीले लिएका मुद्दा स्थापित गर्न राष्ट्रपति निर्वाचन प्रमुख चासो र प्राथमिकताको विषय नभएकाले तटस्थ हुनुपर्ने केही नेताले मागगरेपछि सो विषयमा विवाद र मतभेद बढेको छ ।

    निर्वाचन आयोगले यही फागुन १३ गते राष्ट्रपति पदको मनोनयन गर्न समय तय गरेको छ ।

  • राष्ट्रपतिबारे छलफल गर्न राप्रपाले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

    राष्ट्रपतिबारे छलफल गर्न राप्रपाले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । शुक्रबार दिउँसो साढे १२ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्नेगरी बैठक बोलाएको प्रवक्ता मोहन श्रेष्ठले बताए ।

    बैठकमा राष्ट्रपतिको निर्वाचनलगायत समसामयिक राजनीतिक परिस्थितिको समिक्षा र आगामी रणनीतिबारे छलफल हुने उनले बताए ।

    राजतन्त्रको पक्षमा वकालत गर्ने राप्रपाले राष्ट्रपति निर्वाचनबारे ठोस निर्णय गरेको छैन ।

     

  • दुर्गा प्रसाई लक्षित लिङ्देनको आक्रोशः बैंक ठग्नेले राजतन्त्र ल्याइदिन्छ भनेर कुद्ने ?

    दुर्गा प्रसाई लक्षित लिङ्देनको आक्रोशः बैंक ठग्नेले राजतन्त्र ल्याइदिन्छ भनेर कुद्ने ?

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पूर्वराजासँग नजिकिएका चर्चित व्यवसायी दुर्गा प्रसाईंविरुद्ध आक्रोशितरुपमा प्रस्तुत भएका छन् । आफ्ना नेता–कार्यकर्तासमेत प्रसाईंको लहैलहैमा लागेको भन्दै उनले चिन्ता व्यक्त गरे ।

    हालै इलाममा आयोजित एउटा कार्यक्रममा लिङ्देनले व्यवसायी प्रसाईलाई ‘ठग’को संज्ञा दिए । पाँच अर्बभन्दा बढी ऋण लिएर ब्याज र किस्ता नतिर्ने ‘बैंक ठग’का पछि नलाग्न उनले उनले कार्यकर्तालाई आग्रह गरे ।

    लिङदेनले भने, ‘पाँच अर्बभन्दा बेसी ऋण लिएर, व्याज नतिरेर, किस्ता नतिरेर अहिले ८ अर्ब पुग्न आँटेको छ । त्यो मान्छेले अब बैंकको व्याज नतिर्ने र ऋण नतिर्ने भन्दा ताली बजाउने ? अनि उसैले राजा ल्याइदिन्छ भनेर कुद्छन् ल, यस्तो पनि कार्यकर्ता, यस्तो पनि नेता भइन्छ ? यसरी पनि पार्टी चल्छ ? यसरी अघि बढिन्छ ? यति सामान्य कुरा त बुझ्नुपरो हाम्रो नेता कार्यकर्ताहरुले ।’

    उनले थपे, ‘हाम्रो अध्यक्ष किन आएन, हाम्रो राप्रपाले किन समर्थन गरेन भन्छन् उल्टै । बैंक ठगलाई म समर्थन गरेर हिँडु ? राप्रपाले समर्थन गरेर हिँडोस् ? बैंकको पैसा बैंकको होइन, तपाईं–हामीले बचत गरेको पैसा हो । जनताको पैसा हो । बैंक डुब्दा तपाईं–हामी बचतकर्ता डुब्ने हो । बैंकबाट पैसा लिएर चोरबाटोबाट विदेश लैजाने, अनि यहाँ बैंकले लिएको ऋण नतिर्ने भन्दा साँच्चै तिर्न नपर्ने हो कि, साह्रै राम्रो कुरा हो भनेर कुदिहाल्ने ?’

    बैंक र वित्तिय संस्थाले गरेका कतिपय काम नाजायज पनि रहेको र यसबारे अहिले सरकारमा छलफल भइरहेको लिङदेनले बताए ।

  • रवीन्द्र मिश्रको सुझाव- राष्ट्रप्रमुखका रूपमा राजा ज्ञानेन्द्रलाई अघि सारौं

    रवीन्द्र मिश्रको सुझाव- राष्ट्रप्रमुखका रूपमा राजा ज्ञानेन्द्रलाई अघि सारौं

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले भावी राष्ट्रप्रमुखमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई अघि सार्नु उपयुक्त हुने सुझाव दिएका छन् । राष्ट्रपतिका लागि ‘होलीवाइन’ देखि ‘विदेशी एजेन्ट’ सम्मका नाम चर्चामा आइरहेको भन्दै उनले बरु ‘राजा’ लाई नै राष्ट्रप्रमुखको भूमिका दिन सकिने विकल्प सुझाएका हुन् ।

    सामाजिक सञ्जालमा स्टाटस लेख्दै मिश्रले राष्ट्रपतिलाई राजनीतिभन्दा माथिको पद भनिए पनि राष्ट्रपतिको भूमिका सदा पार्टीग तबनेको बताएका छन् । सेनाबाहेक देशका सबै संस्था क्षयीकृत भएको, धर्मसंस्कृतिमाथि धावा बोलिएको र देश अन्तर्राष्ट्रिय भूराजनीतिको चपेटामा परेको उनको निस्कर्ष छ ।

    मिश्रले लेखेका छन्, ‘यस्तो अवस्थामा कहिले ‘होली वाइन’, कहिले ‘विदेशीका एजण्ट’, कहिले ‘नातावादमा लिप्त’, कहिले ‘भ्रष्ट’ र ‘राष्ट्रघातमा अभ्यस्त’हरूको नाम राष्ट्रपतिको पदका लागि चर्चामा छ । राष्ट्रपतिको संस्था भनेको संकटको घडीमा आड दिने ‘कुशन’ हुनु पर्ने हो। तर त्यो कुशासनको केन्द्रविन्दू बनेको छ। देश नै निरन्तर कमजोर, वदनाम र संकटउन्मुख बन्दै गएको अवस्थामा राजा ज्ञानेन्द्रलाई ‘राष्ट्रप्रमुख’ का रूपमा किन अघि नसार्ने ?’

    यो पनि पढ्नुस् : पूर्वराजाका सचिवको प्रस्तावः यही व्यवस्थामा सर्वसम्मतिबाट ‘राजा’ लाई राष्ट्रप्रमुख बनाऊँ

    अरुले दशकौंसम्म दिनदिनै राष्ट्रघात गर्दा क्षम्य हुने तर अहिले पनि व्यापक स्वीकार्यता भएको र देशको दिर्घकालीन शान्ति, स्थिरता, सम्मान र सार्वभौमिकताका लागि राजा ज्ञानेन्द्रले एकपटक गरेको ‘गल्ति’ सुधार्ने मौका किन नपाउने भन्ने उनको प्रश्न छ ।

    ‘राजा ज्ञानेन्द्रले भने झैँ, “अब यो देश जोगाउन प्रजातन्त्रको लागि अपरिहार्य राजनीतिक दलहरू र लामो समय देशभक्तिपूर्ण एतिहासिक विरासत बोकेको राजसंस्था आएर आपसी विश्वासका साथ सहकार्यको लागि विलम्ब गर्नु हुँदैन’, मिश्रले लेखेका छन् ।

    मिश्रको पार्टी राप्रपाले भने भावी राष्ट्रप्रमुखका विषयमा कुनै औपचारिक धारणा सार्वजनिक गरेको छैन । मिश्रले पार्टीभित्र पनि कुनै प्रस्ताव लगेका छैनन् ।

    प्रजातन्त्र दिवसका अवसरमा सन्देश जारी गर्दै पूर्वराजाले दलहरुसँग सहकार्यको प्रस्ताव गरेका थिए । पूर्वराजाका संवाद सचिव फणिराज पाठकले नेपाल प्रेससँग कुरा गर्दै ‘राजा’ लाई राष्ट्रप्रमुख बनाउँदा राम्रो हुने प्रस्ताव गरेका छन् ।

  • सोच परिवर्तन नभएसम्म व्यवस्था परिवर्तन हुँदैन : ज्ञानेन्द्र शाही

    सोच परिवर्तन नभएसम्म व्यवस्था परिवर्तन हुँदैन : ज्ञानेन्द्र शाही

    सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता एवम् प्रतिनिधिसभाका सदस्य ज्ञानेन्द्र शाहीले सोच परिवर्तन नभएसम्म कुनै पनि व्यक्तिले व्यवस्था परिवर्तन गर्न नसक्ने बताएका छन् ।

    कर्णाली राजधानी सुर्खेतको वीरेन्द्रनगरमा आइतबार कर्णाली उत्सवमा शाही रुपान्तरण नभइकन पुस्तान्तरणको कुनै पनि काम नभएको बताएका हुन् ।

    उनले व्यवस्था परिवर्तन भएन भने अवस्था परिवर्तन गर्न हुन नसक्ने तर्क गरे ।

    ‘व्यवस्था परिवर्तन भएन भने अवस्था परिवर्तन गर्न सकिन्न’, शाहीले भने, ‘त्यसैले व्यक्तिले अवस्था परिवर्तन गर्न सकिँदैन । अवस्थामात्रै परिवर्तन भएको भए यस्तो अवस्था हुँदैन थियो । युवालाई नेपालको राजनीतिमा स्वीकार गर्न सक्ने अवस्था नै छैन । त्यसैले, पहिले रुपान्तरण अनि बल्ल पुस्तान्तरण हुन्छ ।’ कुनै पनि व्यक्ति योजनाबिना राजनीतिमा नआउने बताउँदै शाहीले पहिले आफू सुर्खेत आउँदा मान्छेहरुले कुट्न आउने र पत्रकारहरुले क्यामेरा उल्टो फर्काएर बस्ने गरेको स्मरण गरे ।

    ‘कुनै पनि व्यक्ति योजनाबिना राजनीतिमा आउँदैन । मेरै उदाहरणलाई लिएर हेरे हुन्छ । म बोल्दै गर्दा कुट्न आउँथे, क्यामेरा उता फर्किन्थे । आज यही मञ्चमा उभ्याइदिनुभएको छ, यही हो रुपान्तरण भनेको,’ शाहीले भने, ‘सोचबिना र लक्ष्य बिनाको मान्छे त मान्छे नै होइन नि ।’

    कार्यक्रममा रास्वपा नेतृ एवम् सांसद सोविता गौतमले आफूहरुको मूल एजेण्डा रुपान्तरण नै रहेको बताइन् । तर नयाँ रुपान्तरणलाई बोक्न सक्नेगरी नयाँ पुस्ता आउनुपर्ने तर्क उनको थियो ।

    ‘हाम्रो मूल एजेण्डा रुपान्तरण नै हो रुपान्तरणलाई बोक्ने फेरि नयाँ पुस्ता हो । रुपान्तरणलाई बोक्न पुस्ता आवश्यकता पर्छ,’ उनले भनिन्, ‘नेपालको अहिलेको जनसंख्याको ४२ प्रतिशत हिस्सा युवा पुस्ताले ओगटेको छ । युवाको मुद्दा हजुरबुबा हजुरआमा उमेर समूहकाले बोक्न सक्नुहुन्न । त्यसैले सुरुमा रुपान्तरण जरुरी छ, त्यसपछि बल्ल पुस्तान्तरण हुन्छ ।’ उनले अहिलेको युवा पुस्ताको विद्रोह पनि रुपान्तरणका लागि भएको बताइन् ।

     

  • राप्रपा प्रवक्ता श्रेष्ठ भन्छन्- राष्ट्रप्रमुख राजा हुनुपर्छ

    राप्रपा प्रवक्ता श्रेष्ठ भन्छन्- राष्ट्रप्रमुख राजा हुनुपर्छ

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रपतिको विषयमा पार्टीले आफ्नो धारणा ल्याउने बताएको छ ।

    राष्ट्रपति निर्वाचनको विषयलाई लिएर दलहरूबीच दौडधुप चलिरहेको बेला राप्रपा प्रवक्ता मोहन श्रेष्ठले राष्ट्रप्रमुख राजा हुनुपर्ने बताएका हुन् ।

    उनले फेसबुकमा लेखेका छन्, ‘हामी राप्रपा त राष्ट्रप्रमुखको रूपमा राजा हुनुपर्छ भन्ने पक्षमा निरन्तर आवाज उठाइरहेका मात्रै छैनौं दस्तावेजमै उल्लेख गरेका पार्टी हौं, के हाम्रा दलहरू आफ्नो देशको राष्ट्रप्रमुख छान्न सक्षम छैनन् वा सक्षम नभएकै हुन् ?’

    उनले राष्ट्रपतिमा बाह्य हस्तक्षेपको विषयमा आइरहेको चर्चालाई लिएर दलहरूले राष्ट्रप्रमुख छान्न सक्षम नभएको भन्दै आलोचना गरेका छन् ।

    उनले भनेका छन्, ‘आसन्न राष्ट्रपति निर्वाचनका सम्भावित उमेदवारमा अमुक राष्ट्रको यो रुचि र यो लबिङ छ भन्ने खालका पात्रसमेत तोकिएका समाचारले हाम्रो निर्णायकत्व कमजोर रहेको प्रत्याभूत गराउँदछ ।’

    राष्ट्रपतिको निर्वाचनलाई लिएर आन्तरिक मामिलामा वैदेशिक हस्तक्षेपलाई स्वीकार गरेको मात्रै नभएर हस्तक्षेपलाई आमन्त्रण गरेको उनको भनाई छ।

    ‘संविधान र संवैधानिक व्यवस्थासंग सहकार्य गर्ने पार्टीको घोषित नीति छ । राष्ट्रपतिको निर्वाचनमा हाम्रो धारणा उपयुक्त समयमा सार्वजनिक गर्नेछौं’ उनले लेखेका छन् ।

    राप्रपा अहिले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी छ । प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्नुपर्ने अडान राख्दैगर्दा राजाको पक्षमा वकालत गर्ने राप्रपाले के गर्छ भन्ने अझै ठोस निर्णय लिन सकेको छैन ।

  • उद्धव पौडेल राप्रपाको उपाध्यक्षमा मनोनीत

    उद्धव पौडेल राप्रपाको उपाध्यक्षमा मनोनीत

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको उपाध्यक्षमा उद्धव पौडेल मनोनीत भएका छन् ।

    राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले आज केन्द्रीय कार्यसम्पादन समितिका सदस्य पौडेललाई उपाध्यक्षमा मनोनयन गरेको राप्रपा प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

    यसअघि चार निर्वाचित र दुई मनोनीत गरी राप्रपामा ६ जना उपाध्यक्ष थिए ।
  • दुर्गा प्रसाईँको महाअभियानले राप्रपालाई चस्का, पूर्वराजा खासमा कस्का ?

    दुर्गा प्रसाईँको महाअभियानले राप्रपालाई चस्का, पूर्वराजा खासमा कस्का ?

    काठमाडौं । व्यवसायी दुर्गा प्रसाईँले पूर्वराजपरिवारलाई नै उतारेर तामझामका साथ ‘महाअभियान’ घोषणा गरेपछि देशको सबैभन्दा ठूलो राजावादी शक्ति राष्ट्रिय प्रजातन्त्र पार्टी तरंगित बनेको छ । पूर्वराजालाई साक्षी राख्दै राप्रपालाई आरोपित गरिएको भन्दै सो पार्टीका नेताहरूले असन्तुष्टि जनाउन थालेका छन् ।

    प्रसाईँले अस्ति मेची पुलमा गरेको कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र, पूर्वयुवराज पारस, पूर्वअधिराजकुमारी प्रेरणा लगायत उपस्थित थिए । कार्यक्रममा बोल्दै प्रसाईँले राप्रपा अध्यक्ष लिङ्देनले आफ्ना समर्थक र कार्यकर्ताहरुलाई यो भेलामा नजान उर्दी जारी गरेको आरोप लगाए । यस्तै अर्का वक्ता केशरबहादुर विष्टले पनि प्रसाईँको भेलपछि राप्रपाका नेता अब कसरी मुख देखाउँछन् भन्ने प्रश्न गरे ।

    स्रोतका अनुसार प्रचण्ड नेतृत्वको सरकारमा राप्रपा सहभागी भएपछि पूर्वराजा ज्ञानेन्द्र र राप्रपा अध्यक्ष लिङदेनको सम्बन्ध चिसिएको छ । पूर्वराजाले उनलाई सरकारमा अहिले नजान र सडकबाटै राजसंस्था फर्काउने माहोल बनाउन सुझाव दिएका थिए । राप्रपासँग दुखी बनेका ज्ञानेन्द्र प्रसाईँको कार्यक्रममा परिवारका सदस्यहरूसहित उपस्थित भए । यसलाई राप्रपा नेताहरूले त्यति रुचाएका छैनन् ।

    राप्रपाका एक उपल्लो क्रमका नेताले विचार र अडानको टुंगो नभएका व्यक्तिले महाअभियानका नाममा सुरु गरेका फन्डामा आकर्षित हुनु पूर्वराजाको भुल भएको बताए ।

    ‘उहाँ हिजो प्रचण्डको भक्त हुनुहुन्थ्यो । त्यसपछि केपी ओलीको भक्त हुनुभयो । अहिले फेरि राजाको भक्त हुन थाल्नुभएको छ । यस्ता ठेगान नभएका व्यक्तिको पछि लागेर पूर्वराजाले ठीक गर्नुभएन । सौताको रिसले केजाति भनेजस्तो भयो,’ उनले भने ।

    त्यसो त प्रसाईँले खुलेर आफूलाई राजसंस्थाको पक्षमा उभ्याएका पनि छैनन् । उनले वैदिक सनातन राष्ट्रको स्थापना, संघीयता खारेजी, व्यवसायिक वातावरण बनाउनुपर्ने लगायत एजेन्डा अघि सारेका छन् । अस्तिको कार्यक्रममा उनी देशका वाणिज्य बैंक र लघुवित्तहरूमाथि खनिएका थिए । उनले बैंक लघुवित्तका सञ्चालकहरूलाई भेटेमा कालोमोसो दल्न अराजक निर्देशन समेत दिए ।

    राप्रपा प्रवक्ता मोहन श्रेष्ठ प्रसाईँको अभियान मूलतः व्यवसायिक विषयसँग सम्बन्धित रहेको बताउँछन् । उनले राजसंस्थाको नाम बेचेर आफ्नो व्यवसायिक स्वार्थ पूरा गर्न खोजिएको हो भने त्यो गलत हुने टिप्पणी गरे ।

    ‘उहाँले स्पष्टरुपमा राजसंस्थाको वकालत गर्नुभएको छैन । हिन्दूराष्ट्र र राजसंस्था भन्दा पनि बैंक र व्याजदरका कुराहरूमा उहाँको बढी रुचि देखिन्छ,’ श्रेष्ठले भने, ‘राजाले कहाँ जान हुने र नहुने हामीले भन्ने कुरा होइन । तर, वक्ताहरूले राप्रपालक्षित जुन अभिव्यक्ति दिए त्यो आपत्तिजनक छ ।’

    उनले दुर्गा प्रसाईँको कार्यक्रममा राप्रपाका समर्थक र कार्यकर्ता उपस्थित हुनु अस्वभाविक नभएको बताए ।

    ‘राजपरिवार नै उपस्थित रहेको कार्यक्रममा राजसंस्थाको अनुयायी पार्टीका नेता कार्यकर्ता उपस्थित हुनु स्वभाविक हो । हामीले त्यहाँ नजान पनि भनेका थिएनौँ, जान पनि भनेका थिएनौँ,’ श्रेष्ठले भने ।

    देशमा राजसंस्था र हिन्दू राष्ट्रको पक्षमा निरन्तर आवाज उठाइरहेको एक मात्र शक्ति भनेको राप्रपा मात्रै रहेको उनी बताउँछन् ।

    ‘सडकदेखि संसदमा राजसंस्थाको पक्षमा आवाज उठाउने शक्तिलाई राजाकै सामुन्नेमा लाञ्छित गर्नु दुर्भाग्यपूर्ण हो । राप्रपालाई गाली गरेर राजसंस्था पुनर्स्थापना हुने होइन,’ उनले भने ।

  • ‘जनयुद्ध दिवस’ प्रति सत्ता साझेदार दलहरूमा असन्तुष्टि, माओवादीमा उत्सव

    ‘जनयुद्ध दिवस’ प्रति सत्ता साझेदार दलहरूमा असन्तुष्टि, माओवादीमा उत्सव

    काठमाडौं । पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकारले माओवादीको ‘जनयुद्ध दिवस’ मनाउन सार्वजनिक बिदा दिने निर्णय लिएपछि यसको चौतर्फी आलोचना भइरहेको छ । स्वयम् सत्ता साझेदार दलहरू नै सरकारको यो निर्णयमा असन्तुष्ट देखिएका छन् ।

    हिजो बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री प्रचण्डले आफैँ ठाडो प्रस्ताव लगेर जनयुद्ध दिवसमा बिदा दिने निर्णय गराएका थिए । यो प्रस्ताव लगिँदैछ भन्ने सुइँको पाएर सत्ता साझेदार दल राप्रपाका मन्त्रीहरू मन्त्रिपरिषद् बैठकमा सहभागी नै भएनन् । सरकारको यो निर्णयलाई लिएर सबैभन्दा बढी राप्रपामै असन्तुष्टि देखिएको छ ।

    राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले सामाजिक सञ्जालमा स्टाटस लेखेर आक्रोश प्रकट गरेका छन् । उनले यसलाई ‘निभ्न लागेको बत्ती चम्किन खोजेको’ भन्दै कटाक्षसमेत गरेका छन् ।

    ‘नेपालीले नेपाली मारेकोमा दिवस मनाउने ?’ मिश्रको आक्रोशित प्रश्न छ, ‘ठीक छ, यति तल गिर्नै थियो’ गिर्दैछौं । रसातलमा नै पुग्न आँटेका छौँ । त्यसपछि यो राष्ट्रघाती विकृत अग्रगमनको प्रदूषणकारी बत्ती आफैँ निभ्नेछ ।’

    मिश्रले ४/५ हजार मान्छेले लुकेर मान्छे मार्दा त्यसलाई जनयुद्ध भन्न नमिल्ने तर्क गरेका छन् । त्यो केवल सशस्त्र विद्रोह मात्र भएको उनको भनाइ छ ।

    यसअघि राप्रपाको जोडबलमा सरकारले पुस २७ गते पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिएको थियो । त्यसबेला आफ्नो इच्छाविपरीत बिदा दिन बाध्य भएका प्रचण्डले अहिले त्यसको साटो फेर्न खोजेको राप्रपा नेताहरूको बुझाइ छ । पार्टीका प्रवक्ता मोहन श्रेष्ठले एउटा हिंसात्मक आन्दोलनलाई ‘दिवस’ को मान्यता दिएर सार्वजनिक बिदा दिनु गलत भएको बताए ।

    पार्टी अध्यक्ष तथा उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले भने कुनै प्रतिक्रिया जनाइसकेका छैनन् ।

    यता सबैभन्दा ठूलो सत्ता साझेदार दल एमाले पनि सरकारको निर्णयप्रति बेखुस देखिएको छ । हिजोको बैठकमा एमालेबाट प्रतिनिधित्व गर्ने केही मन्त्रीले सार्वजनिक बिदा दिन नहुने राय व्यक्त गरेका थिए । आज एमाले महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालमा स्टाटस लेख्दै सरकारको निर्णयमा घुमाउरो असहमति जनाएका छन् ।

    ४६ सालपछिका सबैखाले जनसंघर्षको उच्चतम उपलब्धि गणतन्त्रको स्थापना भएको पोखरेलको भनाइ छ ।

    ‘गणतन्त्र दिवसले ती सबैको यथोचित सम्मान भएको थिएन र ?’ उनले प्रश्न गरेका छन् ।
    एमालेकै नेता गोकुल बास्कोटाले पनि सार्वजनिक बिदाको निर्णयलाई लिएर प्रधानमन्त्री प्रचण्डमाथि कटाक्ष गरेका छन् ।

    उनी लेख्छन्, ‘अस्तिसम्म बिदा बढी भो भन्थे प्रम पुष्पकमल दाहाल । किन रै’छ भनेको त पूर्व देखाएर पश्चिम हान्न रहेछ । तैं चुप मै चुप । मौकामा हिरा फोर्नु बेमौकामा कौडी नछुनु भनेको त्यसै होइन रहेछ पुर्खाले ।’

    यता सार्वजनिक बिदाको निर्णयपछि जनयुद्ध लडेको पार्टी माओवादीमा भने उत्सवको माहौल देखिएको छ । सो पार्टीका नेता कार्यकर्ताहरू आपसमा खुशी साटासाट गरिरहेका छन् ।

    उनीहरूले सामाजिक सञ्जालमा पनि सरकारलाई धन्यवाद दिएका छन् । आज माओवादी मुख्यालय पेरिसडाँडामा जनयुद्ध दिवसका कार्यक्रम राखिएको छ । सरकारी स्तरबाट भने कुनै कार्यक्रम छैन ।

  • राजा ज्ञानेन्द्रसँगको रिसले पार्टी ‘प्रचण्डीकरण’ गर्दा कांग्रेसलाई घाटा लाग्यो : रवीन्द्र मिश्र

    राजा ज्ञानेन्द्रसँगको रिसले पार्टी ‘प्रचण्डीकरण’ गर्दा कांग्रेसलाई घाटा लाग्यो : रवीन्द्र मिश्र

    काठमाडौं । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले नेपालको हकमा हिन्दू राष्ट्र भनेको राजसंस्थाको पुनस्र्थापना पनि भएको तर्क गरेका छन् ।

    कांग्रेस नेता शशांक कोइरालाले नेपाललाई हिन्दूराष्ट्र बनाउन जनमत संग्रह गर्नुपर्ने अभिव्यक्ति दिएपछि उनले यस्तो जिकिर गरेका हुन् ।

    उनले कांग्रेस नेता कोइरालाको भनाइबारे फेशबुकमा लेखेका छन्, ‘पछिल्ला महिनाहरूमा नेपाली काँग्रेसका धेरै वरिष्ठ नेताहरूमा राजा ज्ञानेन्द्रसँगको क्षणिक रिसले पार्टीको ‘प्रचण्डिकरण’ गर्दा पार्टीलाई निरन्तर घाटा भएको अनुभूति प्रष्ट महशूस गर्न सकिन्छ ।’

    उनले एमालेभित्र पनि धेरैको दृष्टिकोण बदलिँदै गएको बताएका छन् ।

    ‘कोही सार्वजनिकरूपमा भन्छन्, कोही भन्दैनन्। फरक त्यत्ति हो। कोही शशांकजी जस्तो हिन्दू राष्ट्रको मात्र कुरा गर्छन्। तर नेपालको हकमा हिन्दू राष्ट्र भनेको राजसंस्थाको पुनस्र्थापना पनि हो भन्ने बुझ्न जरूरी छ’ उनले भनेका छन्, ‘एमालेभित्र पनि धेरैको दृष्टिकोण बदलिँदै गएको छ। तलको फोटो एमाले आवद्ध नेताले नै मलाई पठाइदिनु भएको हो। एकदमै राम्रोसँग माहोल बनेर आएको छ।’

     

  • राप्रपाले राष्ट्रपति चुनावमा भाग लिन नहुने प्रवक्ता शाहीको तर्क, पार्टीमा प्रस्ताव लैजाने

    राप्रपाले राष्ट्रपति चुनावमा भाग लिन नहुने प्रवक्ता शाहीको तर्क, पार्टीमा प्रस्ताव लैजाने

    काठमाडौं । सत्तारुढ गठबन्धनको एक घटक राष्ट्रिय प्रजातन्त्र पार्टीका एक उच्च तहका नेताले भावी राष्ट्रपतिको चुनावमा पार्टी सहभागी हुन नहुने मत सार्वजनिक गरेका छन् । यस विषयमा पार्टीभित्र आफूले औपचारिक प्रस्ताव लैजाने उनको भनाइ छ ।

    राप्रपा प्रवक्ता तथा कार्यसम्पादन समिति सदस्य ज्ञानेन्द्र शाहीले यस्तो बहस सुरु गरेका हुन् । राजावादी पार्टीले राष्ट्रपतिको चुनावमा भोट हाल्नु विरोधाभासपूर्ण हुने तर्क उनले गरेका छन् ।

    नेपाल प्रेससँग कुरा गर्दै शाहीले आफू व्यक्तिग रुपमा राष्ट्रपतिको चुनावमा भाग नलिने पक्षमा रहेको बताए । उनले भने, ‘व्यक्तिगत हिसाबले म मतदान नगर्ने पक्षमा छु । तर, पार्टीले के निर्णय गर्छ त्यसमा भर पर्छ । मेरो आफ्नो रिजर्भेसन रहे पनि पार्टीको निर्णय मान्नै पर्छ ।’

    उनले पार्टीको संसदीय दल र केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा आफूले राष्ट्रपति निर्वाचन ‘बहिष्कार’ को मुद्दा लैजाने पनि बताए ।
    ‘म अवश्य प्रस्ताव लैजान्छु । हामी राजसंस्था मान्छेले राष्ट्रपतिको चुनावमा सहभागी हुन नैतिक रुपमा मिल्दैन,’ उनले भने ।

    त्यसो त राप्रपा संघीयताको खिलाफमा भए पनि प्रदेश चुनाव लडिरहेको छ । अहिले केही प्रदेशमा राप्रपा सरकारमा समेत गएको छ ।

    यस विषयमा प्रश्न गर्दा शाहीले भने, ‘चुनाव लड्नु, सरकारमा जानु भनेको यही संविधानको परिधिभित्र रहेर हामी यो सिस्टम बदल्छौँ भन्ने हो । मैले देशमा भएको राष्ट्रपति नमान्ने भनेको होइन, राष्ट्रपति छान्ने प्रक्रियामा चाहिँ सहभागी नहोऊँ भनेको हो ।’

    अस्ति वीर अस्पताल अगाडिको घटना लगत्तै अन्तरवार्ता दिँदै शाहीले नेपालको ‘राष्ट्रपति’ राख्नुको औचित्य नै नरहेको बताएका थिए । उनले सो घटनाका सन्दर्भमा राष्ट्रपतिले क्षमा याचना गर्नुपर्ने माग पनि गरेका छन् ।

  • लुम्बिनीमा दलको नेतालाई मन्त्री नबनाएको भन्दै राप्रपामा असन्तुष्टि

    लुम्बिनीमा दलको नेतालाई मन्त्री नबनाएको भन्दै राप्रपामा असन्तुष्टि

    रुपन्देही । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लुम्बिनी प्रदेशमा दलका नेता मन्त्री नबनाइएपछि असन्तुष्टि देखिएको छ । रुपन्देही १ को १ बाट प्रत्यक्ष निर्वाचित आशिषकुमार चौधरी संसदीय दलका नेता हुन् । उनी नभई कपिलवस्तुका जानकी यादवलाई मन्त्री बनाएको भन्दै राप्रपाको असन्तुष्टि बाहिरिएको हो ।

    राप्रपा रुपन्देहीका कार्यवाहक अध्यक्ष अजयकुमार गुप्ताले सबै पार्टीबाट दलको नेता मन्त्री बनेको अवस्थामा आफ्नो पार्टीमा त्यसो नभएको भन्दै असन्तुष्टि जाहेर गरेका छन् । पार्टीले कपिलवस्तुका जानकीप्रसाद यादवलाई मन्त्री बनाउने निर्णय गरेपछि रुपन्देहीका राप्रपा नेताहरूले पार्टीभित्र लिखितरूपमा र सार्वजनिकरूपमै असन्तुष्टि जाहेर गरेका छन् । उनले संसदीय दलको नेता नै सरकारमा जाने अभ्यासविपरीत लुम्बिनी प्रदेश सरकारमा पार्टीबाट मन्त्री छनोट हुँदा किन अर्कै व्यक्तिलाई गराइएको ? भनेर प्रश्न गरेका हुन् ।

    राप्रपाले लुम्बिनी प्रदेशभर प्राप्त गरेको मतको करिब २७ प्रतिशत मत रुपन्देहीबाट मात्रै पाएको, बहालवाला गृहमन्त्री पराजित गरी पार्टीको शाख जोगाई जिल्लालाई महत्वपूर्ण स्थानमा राखेको जिल्लालाई केन्द्र एवं प्रदेश दुवै सरकारको मन्त्रीमण्डलमा सहभागिता नहुँदा रुपन्देहीबासीलाई दु:खी तुल्याएको गुप्ताको तर्क छ ।

    राप्रपा लुम्बिनी प्रदेश अध्यक्ष प्रदीप उदयले केन्द्रीय नेतृत्वले गरेको निर्णयलाई कार्यान्वयन गरेको बताएका छन् ।

    मन्त्री छनोटमा प्रदेशले समन्वयकारी भूमिकामात्र निभाएको बताउँदै उनले सहमति र सम्झौताको कार्यान्वयन, बहुमत सांसदहरूको निर्णयअनुसार कपिलवस्तुका जानकीप्रसाद यादव मन्त्री नियुक्त भएको जनाए ।

    राप्रपाबाट उपसभामुख बनेकी सांसद मेनुका खाण केसीले केन्द्रीय नेतृत्वले गरेको निर्णयलाई कार्यान्वयन गरिएकाले सोहीअनुसार बुझ्न आग्रह गरेकी छन् ।

  • राप्रपाको विद्यार्थी र युवाको राष्ट्रिय भेला हुँदै

    राप्रपाको विद्यार्थी र युवाको राष्ट्रिय भेला हुँदै

    काठमाडौं । राप्रपा निकटका दुई महत्वपूर्ण संगठन विद्यार्थी र युवा संगठनको राष्ट्रिय भेला काठमाडौंमा हुने भएको छ ।

    यही माघ २८ र २९ गते राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको र फागुन १३ र १४ गते राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको राष्ट्रिय भेलाको मिति तय गरिएको छ ।

    पार्टीका संयोजित संगठनका प्रमुख, महामन्त्री राजेन्द्र गुरुङका अनुसार विद्यार्थी संगठनको भेलामा ३०० भन्दा बढी र युवा संगठनको भेलामा २४२ जना प्रतिनिधिको सहभागीता रहनेछ ।

    भेलाले संगठनको विधान संशोधन गर्ने, महाधिवेशन आयोजक समिति गठन गर्ने र संगठनको आगामी कार्यदिशा तय गर्ने गुरुङले बताएका छन् । दुवै संगठनको राष्ट्रिय भेलाको उदघाटन राप्रपा अध्यक्ष एवं उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले गर्ने बताइएको छ ।

     

     

  • पूर्वअध्यक्ष डा. लोहनीको अध्यक्षतामा राप्रपाले गठन गर्‍यो केन्द्रीय निर्देशन समिति

    पूर्वअध्यक्ष डा. लोहनीको अध्यक्षतामा राप्रपाले गठन गर्‍यो केन्द्रीय निर्देशन समिति

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीको अध्यक्षतामा केन्द्रीय निर्देशन समिति गठन गरेको छ ।

    प्रवक्ता मोहन कुमार श्रेष्ठले केन्द्रीय कार्यसम्पादन समितिको निर्णयअनुसार केन्द्रीय निर्देशन समितिको गठन गरिएको जानकारी दिए ।

    समितिमा विधान बमोजिम सबै पदेन सदस्य रहनेछन् । पार्टीका सबै वरिष्ठ उपाध्यक्ष र महामन्त्रीहरु, वरिष्ठ नेता दीपक बोहरा, सल्लाहकार समितिका अध्यक्ष निरञ्जन थापा पनि समितिमा रहनेछन् ।

    त्यस्तै, अन्य सदस्यहरुमा केन्द्रीय नेताहरु रामकुमार सुब्बा, जयन्त चन्द र उद्दव पौडेल तथा आमन्त्रि सदस्यहरुमा कोषाध्यक्ष निलकण्ड काफ्ले र ऋषिबाबु परियार रहने प्रवक्ता श्रेष्ठले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

     

  • राप्रपा बैठक : सरकारसँग समन्वय गर्न कार्यविधि बनाउनेदेखि केन्द्रीय निर्देशन समिति गठनसम्म

    राप्रपा बैठक : सरकारसँग समन्वय गर्न कार्यविधि बनाउनेदेखि केन्द्रीय निर्देशन समिति गठनसम्म

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टी र सरकारबीच समन्वय गर्न कार्यविधि बनाउने निर्णय गरेको छ ।

    बिहीबार काठमाडौंमा बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठकले पार्टी र सरकारबीच समन्वय गर्न वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको संयोजकत्वमा कार्यविधि समिति गठन गर्ने निर्णय गरेको हो । त्यस्तै, बैठकले पार्टीको विधान बमोजिम पूर्व अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीको संयोजकत्वमा बढीमा १७ सदस्यीय हुने गरी केन्द्रीय निर्देशन समिति गठन गर्ने निर्णय गरिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । बैठकले आगामी २०८० बैशाख १ गतेदेखि सक्रिय सदस्य वितरण अभियान सञ्चालन गर्ने निर्णय गरेको उनले बताए ।

    बैठकमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले पछिल्लो राजनीतिक घटनाक्रममा विषयमा जानकारी गराएका थिए ।

  • राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

    राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ ।

    दिउँसो ३ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्ने बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षासँगै पार्टीको आगामी कार्यक्रमका बारेमा छलफल हुनेछ ।

    प्रवक्ता मोहन श्रेष्ठले पार्टीको आसन्न केन्द्रीय कार्य समिति बैठकका विषयमा पनि छलफल हुने बताए ।

    पछिल्लो समय गठबन्धनमा खटपट बढ्दै गएपछि राप्रपाले बैठक बोलाएको हो ।

    गृह मन्त्रालयबाट रवि लामिछाने बाहिरिएपछि अहिले गठबन्धनमा नेताहरुबीच दुरी बढ्दै छ । माओवादीले गृह मन्त्रालय स्वतन्त्र पार्टीलाई दिन नसकिने बताइरहेको छ ।

  • राप्रपालक्षित राजकिशोरको चेतावनी- संविधानविरुद्ध बोलिरहे सदन घेर्छौं (भिडिओ)

    राप्रपालक्षित राजकिशोरको चेतावनी- संविधानविरुद्ध बोलिरहे सदन घेर्छौं (भिडिओ)

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का सांसद राजकिशोर यादवले राष्ट्रिय प्रजातन्त्र पार्टीका मन्त्रीहरुलाई कारबाही गर्न माग गरेका छन् ।

    वुधबारको प्रतिनिधिसभा बैठकमा उनले संविधानविरुद्ध बोल्दै हिँड्ने मन्त्रीहरुलाई कारबाही गर्न माग गरेका हुन् । संविधानविरुद्ध बोलिरहे आफूहरू सदन घेर्ने बाध्य हुने चेतावनी समेत दिए ।

    उनले भने, ‘प्रधानमन्त्रीजीले मन्त्रीहरुलाई स्पष्टीकरण सोध्छु भन्नुभएको थियो । त्यो के भयो ? यदि यही रवैया रह्यो भने हामी सदन घेर्न बाध्य हुन्छौं होइन भने यस्ता अनुशासनहीन र संविधान नमान्ने मन्त्रीलाई बर्खास्त गर्न गर्नुपर्छ ।’

    संविधान नमान्ने मन्त्रीलाई प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने बताउँदै उनले संघीयता कसैको कृपाले, गणतन्त्र कसैको आशीर्वाद र दाइजोबाट नआएको बताए ।

    ‘कसैको रहरले संघीयताविरुद्ध जान सकिँदैन । सरकार जाने, कार्यकारी जिम्मेवारीमा बस्ने अनि मन्त्री पदको दुरुपयोग गर्दै संघीयता र गणतन्त्रको विरोधमा बोल्यो भने जसपा चुप लागेर बस्न सक्दैन’, उनले चेतावनी दिए ।

     

  • सदनबाट राप्रपाको उद्घोष- हिन्दू राष्ट्र र राजासहितको प्रजातन्त्र पुन:स्थापना गर्छौं (भिडिओ)

    सदनबाट राप्रपाको उद्घोष- हिन्दू राष्ट्र र राजासहितको प्रजातन्त्र पुन:स्थापना गर्छौं (भिडिओ)

    काठमाडौं । प्रतिनिधिसभाको बैठकमा राप्रपा सांसदहरूले नेपाललाई हिन्दू राष्ट्र कायम गरेर राजा फर्काउने दाबी गरेका छन् ।

    बुधबारको बैठकमा बोल्दै राप्रपा महामन्त्री एवं सांसद धवलशमशेर राणाले भने, ‘राप्रपा सानो होला तर जनताको मनमा भिजेको छौं । हामीले नेपालमा सनातन हिन्दू राष्ट्र कायम गर्नको लागि आएका छौं । हामी राजासहितको प्रजातन्त्र पुन:स्थापना गर्न आएका छौं । त्यो कुरा संविधानले रोक्दैन । हामी बोल्छौं र समयमा कार्यान्वयन गर्छौं ।’

    उनले संविधान र व्यवस्थालाई मानेर नै संसदमा आएको बताए ।

    उनले थपे, ‘हामी यो व्यवस्था नमान्ने भए जंगल गएर बन्दुक उठाउथ्यौं । यही संविधानलाई हाम्रो मूल्य र मान्यतामा परिवर्तन गर्नको लागि जनताले भोट दिएका छन् । हामीलाई हेप्ने र होच्याउने काम आइन्दा यो सदनबाट नहोस् ।’

    नेकपा एमालेका सांसद रघुजी पन्तले राप्रपाका मन्त्रीहरूले संविधानअनुसार मन्त्री पदमा शपथ लिएपछि व्यवस्थामाथि प्रश्न उठाउन नमिल्ने बताएका थिए । राप्रपा सांसद राणाले नेता पन्तको सोही भनाइको जवाफ दिएका हुन् ।

    राप्रपाका अर्का सांसद ज्ञानेन्द्र शाहीले पनि एमाले सांसद पन्तको अभिव्यक्तिप्रति असन्तुष्टि जनाएका थिए ।

  • राप्रपाका मन्त्रीलाई लक्षित गर्दै सांसद पन्तले भने- संविधानअनुसार शपथ लिएपछि व्यवस्थामाथि प्रश्न उठाउन मिल्दैन (भिडिओ)

    राप्रपाका मन्त्रीलाई लक्षित गर्दै सांसद पन्तले भने- संविधानअनुसार शपथ लिएपछि व्यवस्थामाथि प्रश्न उठाउन मिल्दैन (भिडिओ)

    काठमाडौं । नेकपा एमालेले संविधानमाथि नै प्रधानमन्त्री र मन्त्रीहरूको अभिव्यक्ति बाझिएकोप्रति असन्तुष्टि जनाएको छ।

    बुधवारको प्रतिनिधि सभाको बैठकमा बोल्दै एमाले सांसद रघुजी पन्तले संविधानअनुसार मन्त्रीमा शपथ लिएका मन्त्रीहरूले व्यवस्थामाथि प्रश्न उठाउन नमिल्ने बताए।

    उनले भने, ‘प्रधानमन्त्री र मन्त्रीहरूको सार्वजनिक विवाद आएको राम्रो होइन। त्यसबारेमा छलफल आवश्यक भए क्याबिनेटमा गर्नुहोस्। तर, संविधानको आधारभूत संरचनाको बारेमा प्रधानमन्त्री र मन्त्रीहरूको धारणा बाझिने कुरा मुलुकको लोकतन्त्रको लागि राम्रो लक्षण होइन।’

    केही समय अघि राप्रपाका मन्त्रीहरूले संघीयताविरुद्ध बोलेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारमा बसेर संघीयताको विरोध गर्ने छुट नभएको बताएका थिए।

  • बालुवाटारमा ओली र लिङ्देनसँग प्रचण्डको भेटवार्ता

    बालुवाटारमा ओली र लिङ्देनसँग प्रचण्डको भेटवार्ता

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले अध्यक्ष केपी शर्मा ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग भेटघाट गरेका छन् ।

    प्रधानमन्त्रीको निवास बालुवाटारमा ओली र लिङ्देनलाई प्रचण्डले पालैपालो भेटेका हुन् ।

    स्रोतका अनुसार लिङ्देनले भेटेर निस्केपछि ओली बालुवाटार पुगेका थिए ।

    गृहमन्त्री कसलाई बनाउने भन्नेमा तीव्र विवाद भइरहेका बेला गठवन्धनका तीन प्रमुख नेताबीच भेट भएको हो ।

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले हिजो ओलीलाई भेटेर आफूलाई गृहमा फर्काउन सहयोग मागेका थिए भने ओलीले पनि सकारात्मक जवाफ दिएका थिए ।

    प्रधानमन्त्री प्रचण्ड भने गृह आफ्नै पार्टीसँग राख्न चाहिरहेका छन् ।

  • गुरु पण्डितहरुले समेत बोल्न नसकेको बेला हिन्दू राष्ट्र हुनुपर्छ भनेर उभिएको मान्छे हुँ : राजेन्द्र लिङ्देन

    गुरु पण्डितहरुले समेत बोल्न नसकेको बेला हिन्दू राष्ट्र हुनुपर्छ भनेर उभिएको मान्छे हुँ : राजेन्द्र लिङ्देन

    रूपन्देही । उपप्रधानमन्त्री तथा उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री राजेन्द्र लिङ्देनले असाध्यै कष्टकर दिनहरुमा पनि नेपाल हिन्दू राष्ट्र कायमै हुनुपर्छ भनेर आफू उभिएको बताएका छन् । रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नम्बर ४ स्थित डण्डा नदीको किनार (ठूलो बालापुर) स्थित नवदुर्गा मन्दिर क्षेत्रमा आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा बिहीबार बोल्दै यस्तो बताएका हुन् ।

    लिङ्देनले भने, ‘गुरु पण्डितहरुले समेत बोल्न नसकेको बेला नेपाल हिन्दू राष्ट्र कायमै हुनुपर्छ भनेर उभिएको मान्छे हुँ । त्यसकारण हिन्दूत्वसँग सम्बन्धित कार्यक्रमहरु जहाँ आयोजना गरिए पनि आफ्नै कार्यक्रम जस्तो लाग्छ ।’

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय अध्यक्ष लिङ्देनले धार्मिक कार्यक्रममा सहभागी हुन पाउँदा आफू आनन्दित भएको बताए । उनले नेपालको ऐतिहासिक जगदगुरु पीठ निर्माण भएपश्चात यो क्षेत्रको धार्मिक पर्यटन प्रवद्र्धनमा योगदान पुर्याउने बताए । उनले भने, ‘नेपालका एक मात्र जगतगुरुको चार वटा क्षेत्र पीठमध्ये ३ स्थानमा भएको र एउटा शुभारम्भ हुन थालेको छ ।’

    उनले जगदगुरु पीठ निर्माणका लागि सरकारबाट हुने सम्पूर्ण सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले यो कार्यमा पवित्र मनले सहयोग गर्न अपील गरे । उनले भने, ‘राजनीतिक दलका नेता कार्यकर्ता तथा प्रतिनिधिलाई सक्रिय सहयोग र सहभागिताको लागि अपील गर्दछु । ’

    उपप्रधानमन्त्री लिङ्देनले लुम्बिनी क्षेत्र आफैमा धार्मिक पर्यटनको महत्वपूर्ण क्षेत्र भएको र जगदगुरु पीठ निर्माणले धर्म संस्कृतिको संरक्षण र धार्मिक पर्यटनमा समेत टेवा पुर्याउने उल्लेख गरे ।

    जगदगुरु मोहनशरण देवाचार्यले माघ ४ गतेदेखि सुरु भएको महायज्ञमा सहयोग गर्ने सबैलाई धन्यवाद दिए । उनले नेपाललाई हिन्दू राष्ट्र कायम गर्न सबै आ–आफ्नो क्षेत्रबाट अघि बढ्नुपर्नेमा जोड दिए ।

    कार्यक्रममा श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञमा सञ्चार क्षेत्रबाट योगदान पुर्याएको भन्दै पत्रकार राधेश्याम विश्वकर्मा, रबिन्द्रप्रताप गुप्ता र मनोज क्षेत्रीलाई सम्मान गरिएको थियो । त्यस्तै महायज्ञमा सहयोग गर्ने विभिन्न व्यक्तित्वलाई पनि सम्मान गरिएको थियो ।

    सुनसरीको चतराधाममा वि.सं. २०५९ सालमा महाकुम्भ मेला प्रारम्भ गरी धार्मिक, साँस्कृतिक र वेदका आधारमा विश्व माझ नेपालमा कुम्भ मेला स्थापित गराउन सफल महाराजले भैरहवामा जगदगुरु दक्षिणपीठको स्थापना गर्न लागेको महायज्ञ मूल आयोजक समितिका संयोजक विष्णु बहादुर रायमाझीले बताए ।

    पूर्वमा चतराधाम बराहक्षेत्रमा प्रथम जगदगुरुपीठ, दोस्रो शारदा पीठ महाकाली, तेस्रो निलाद्री पीठ मुक्तिनाथ क्षेत्र जोमसोम स्थापना भइसकेको र चौथो भैरहवा पीठ स्थापना हुने चरणमा रहेको बताइएको छ । यो पीठ जगदगुरुको अन्तिम पीठ पनि भएको महायज्ञ आयोजक समितिका सदस्य कमल रायमाझीले बताए ।

  • प्रधानमन्त्रीको उर्दी राप्रपालाई अस्वीकार्य, महामन्त्री पाठक भन्छन्- एजेन्डा त्यागेर सरकारमा गएका होइनौं

    प्रधानमन्त्रीको उर्दी राप्रपालाई अस्वीकार्य, महामन्त्री पाठक भन्छन्- एजेन्डा त्यागेर सरकारमा गएका होइनौं

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मंगलबार राष्ट्रियसभामा सम्बोधन गर्दै आफ्नो सरकारमा सहभागी कोही पनि मन्त्रीले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताजस्ता परिवर्तनका एजेन्डामाथि असहमति राख्न नपाउने उर्दी जारी गरे । कसैले फरक विचार राखेको खण्डमा आफूले स्पष्टीकरण लिने उनको चेतावनी थियो ।

    प्रचण्डको सो भनाइ राष्ट्रिय प्रजातन्त्र पार्टीतर्फ लक्ष्यित हो भनेर बुझ्न कठिन छैन । सरकारमा सहभागीमध्ये राप्रपामात्रै यस्तो पार्टी हो, जो ‘परिवर्तनका एजेन्डा’ हरूमा फरक विचार राख्छ । राप्रपाबाट कानूनमन्त्रीका भएका ध्रुवबहादुर प्रधानले हालै एक टेलिभिजन अन्तर्वार्तामा संघीयताबारे आलोचनात्मक टिप्पणी गरेका थिए । सम्भवतः प्रधानमन्त्रीको अभिव्यक्ति त्यसैमाथि लक्ष्यित हो ।

    संसदमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिबाट राप्रपा भने रुष्ट बनेको छ । सो पार्टीका नेताहरु प्रधानमन्त्रीको आदेश आफूहरुका लागि स्वीकार्य नहुने बताउँछन् ।

    नेपाल प्रेससँग कुरा गर्दै राप्रपा महामन्त्री शरदराज पाठकले प्रधानमन्त्रीको अभिव्यक्ति संविधानसम्मत नभएको बताए । राप्रपा सरकारमा जाँदैमा आफ्ना एजेन्डा नछोड्ने उनको भनाइ छ ।

    ‘हामी आफ्ना मुलभुत एजेन्डा र आस्था नै परित्याग गरेर सरकारमा सहभागी भएका होइनौं । यो त एउटा विशिष्ट परिस्थितिमा गरिएको सहकार्य हो । खासमा यो सरकारका योजनाकारमध्ये राप्रपा पनि एक हो । हाम्रो पार्टी अध्यक्ष नै सरकारमा हुनुहुन्छ । यस्तो बेलामा आफ्ना एजेन्डाहरुमाथि नबोल्ने वा मौन बस्ने भन्ने प्रश्न नै आउँदैन ।’ उनले भने ।

    नेपालको संविधानले गणतन्त्र र संघीयताजस्ता एजेन्डाहरूलाई अपरिवर्तनीय नमानेको पनि पाठकले सम्झाए ।

    उनी भन्छन्, ‘नेपालको संविधानले सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधिनता र जनतामा निहित सार्वभौमसत्तालाई मात्रै अपरिवर्तनीय मानेको छ । यीबाहेक अन्य कुनै पनि धाराविरुद्ध बोल्नेमात्र होइन, संसोधन वा खारेज गर्न सदनमा विधेयक नै पेस गर्न सकिन्छ ।’

    यस्तै कुरा गर्ने हो भने प्रधानमन्त्री प्रचण्डले पनि संसदीय व्यवस्थाको विषयमा फरक धारणा राख्न नपाउने पाठक बताउँछन् ।

    ‘उहाँ यही व्यवस्थामा तेस्रोपटक प्रधानमन्त्री बन्नुभएको छ । तर अहिले पनि उहाँलाई संसदीय व्यवस्थामा टिप्पणी गर्न भनियो भने यो व्यवस्थामा आफूहरुको विश्वास नरहेको बताउनुहुन्छ । संसदीय व्यवस्था उहाँको पार्टीको एजेन्डाभित्रै पर्दैन । उहाँहरुले चाहीँ यो प्रणालीमा असहमति राख्न मिल्ने, हामीले नमिल्ने भन्ने कसरी हुन सक्छ ?’

    प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर पार्टीमा औपचारिक छलफल हुने पनि पाठक बताउँछन् ।

    ‘पार्टीको वैठक बस्दा यो विषयमा स्वभाविकरूपमा छलफल हुन्छ । सम्भवत: अध्यक्षले पनि आफ्नो धारणा बाहिर ल्याउनुहोला,’ उनले भने ।

    मन्त्रीका रुपमा केही सीमाहरु हुन सक्ने भएपछि अध्यक्ष नै सरकारमा सहभागी भएको स्थितिमा पार्टीको विचार र सिद्धान्तलाई प्रवर्द्धन गर्ने कुरामा कुनै सम्झौता गर्न नसकिने पाठक बताउँछन् ।

  • वागमतीमा राप्रपाले टुंग्यायो थप दुई मन्त्री

    वागमतीमा राप्रपाले टुंग्यायो थप दुई मन्त्री

    हेटौंडा । वागमती प्रदेशमा राप्रपाको तर्फबाट मन्त्री हुनेहरूको नाम टुंगो लागेको छ ।

    तीनवटा मन्त्रालय पाएको राप्रपाका संसदीय दलका नेता उद्धवबहादुर थापाले यस अघि विनाविभागीय मन्त्रीको रूपमा सपथ लिएका थिए ।

    आज हुने मन्त्रीपरिषद् विस्तारमा राप्रपाबाट डम्बरबहादुर तामाङले पर्यटन तथा उद्योग र राजु विष्टले वन तथा वातावरण मन्त्रालय सम्हाल्नेछन् । थापालाई ऊर्जा तथा जलस्रोत मन्त्रालय दिइने बताइएको छ ।

  • कर्णालीमा उपसभामुख छोडेको राप्रपाले सरकारमा गर्‍यो दाबी, को-को बन्लान् नयाँ मन्त्री ?

    कर्णालीमा उपसभामुख छोडेको राप्रपाले सरकारमा गर्‍यो दाबी, को-को बन्लान् नयाँ मन्त्री ?

    सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले भोलि विश्वासको मत लिने भएका छन् । उनले भोलि बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिनेछन् । शर्माले वुधबार विश्वासकाे मतकाे प्रस्ताव दर्ता गराइसकेका छन् ।

    सत्ता गठबन्धनका प्रमुख घटक माओवादी केन्द्र र नेकपा एमालेबीच कर्णालीका मन्त्रालयको भागवण्डामा मुख्यमन्त्रीसहित माओवादीलाई ४ र एमालेलाई ३ मन्त्रालय दिने टुंगो लागेको थियो । पुस २७ गते प्रदेशका क्याबिनेटबारे दुई पार्टीबीच ४ बुँदे सहमति भएको थियो । माओवादी केन्द्रबाट मुख्यमन्त्री राजकुमार शर्मा र एमालेका प्रदेश इन्चार्ज यामलाल कँडेलले सहमतिमा हस्ताक्षर गरेका थिए ।

    ४० सदस्यीय कर्णाली प्रदेश सभामा नेपाली कांग्रसेका १४, माओवादी केन्द्रका १३, एमालेका १०, नेकपा एकीकृत समाजवादी, राप्रपा र स्वतन्त्रबाट एक/एक जना सांसद रहेका छन् । जसमा सत्तारुढ दलबाट मन्त्रीको अपेक्षा गर्नेहरु धेरै छन् ।

    केन्द्रकै निर्णयअनुसार मुख्यमन्त्री माओवादी र सभामुख एमालेले पाउने टुंगो लागेको थियो । जसअन्तर्गत एमालेकी नन्दा गुरुङ सभामुख बन्दा माओवादी केन्द्रबाट यशोदा न्यौपाने उपसभामुख बनिन् ।

    काे-को बन्लान् मन्त्री ?

    कर्णालीमा बिनाविभागिय मन्त्री एमालेका नेता विनोदकुमार शाह र माओवादी केन्द्रका नेता मंगल शाहीले शपथ लिइसकेका छन् । अब चार मन्त्रालयले मन्त्री टुंगिन बाँकी छ । जसमा कुन पार्टीले बाजी मार्ला भन्ने चासो विषय बनेको छ ।

    एउटा मन्त्रालय राप्रपाको भागमा हुनुपर्ने राप्रपाका नेताहरुको दाबी छ । ‘एउटा मन्त्रालय राप्रपाको भागमा हुनु पर्छ’, राप्रपाकी सांसद सन्तोषी शाहीले नेपाल प्रेससँग भनिन्, ‘सत्ता सठबन्धनको सरकारमा हामी अगाडि लम्कीरहेका छौं, माओवादी केन्द्रका पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) प्रधानमन्त्री भएका बोध सबैलाई छ । त्यसमा राप्रपाको सहमति, सहकार्य, समर्थन भएको हुँदा कर्णाली प्रदेशमा राप्रपाले मन्त्री पाउनुपर्छ भन्ने हाम्रो निर्णय र माग हो ।’

    प्रधानमन्त्री प्रचण्ड, एमालेका अध्यक्ष केपि शर्मा ओली र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देल बसेर कर्णालीमा राप्रपाले मन्त्री पाउने निर्णय गरेको उनको दाबी छ । तर कर्णालीमा दुईदल बसेर गरेको निर्णयलाई अस्वीकार गर्ने शाहीले बताइन् । अहिले सरकारले राप्रपालाई जानेर राम्रो मन्त्रालय दिनुपर्ने दाबी गर्छिन् । जनतासँग जनमुखी भावना बनाएर काम गर्नका लागि एउटा राम्रो मन्त्रालय छुट्याउनु पर्नेमा जोड रहेको शाहीको अडान छ ।

    केन्द्रको निर्णयले राप्रपालाई उपसभामुख दिने भनिएपनि राप्रपाले नलिएकाे त्यसैले मन्त्रालय घटाए पनि राप्रपाको भागमा एउटा मन्त्रालय पाउनु पर्ने सांसद शाही दाबी गर्छिन् ।

    त्यस्तै, कर्णालीकाे मन्त्रीमा माओवादीका कृष्णबहादुर जि.सी., रनसिंह परियार र भीमप्रकाश शर्माको चर्चा छ भने एमालेबाट टेकराज पछाई र जीतबहादुर मल्ल मन्त्री बन्ने सम्भावना रहेको छ ।

    कर्णाली प्रदेशसभा सदस्य तथा नेकपा एमाले कर्णाली प्रदेश उपसचिव टेकराज पछाई भन्छन्, ‘पार्टीले जिम्मेवारी दिए मन्त्री बन्छु । जनताले अपेक्षा गरेर पठाएका छन्’, उनले भने, ‘मन्त्री हुने सम्भावना छ । गठबन्धन भएको ठाउँमा पार्टी नै नहुँदा जनताले जिताएर पठाएको हुँदा पार्टीले निर्णय गरेपछि मन्त्रीमा जान्छु ।’

     

  • पार्टी कार्यकर्तालाई लिङदेनले भने: मन्त्रालयभित्र भीड नलाग्नुस्, सरुवा-बढुवाको चिट नबोक्नुस्

    पार्टी कार्यकर्तालाई लिङदेनले भने: मन्त्रालयभित्र भीड नलाग्नुस्, सरुवा-बढुवाको चिट नबोक्नुस्

    काठमाडौं । उपप्रधानमन्त्री एवं राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले आफ्नो कार्यकालमा कुनै पनि प्रकारको भ्रष्टाचार नगर्ने र हुन नदिने प्रतिबद्धता जनाएका छन् । कसैले भ्रष्टाचार गरेको प्रमाणित भएमा उसको सामाजिक जीवन नै ध्वस्त हुने गरी कारबाही गर्ने उनले चेतावनी दिए ।

    राप्रपा सचिवालयले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै लिङदेन खरो रुपमा पेश भएका थिए । पार्टीका नेता–कार्यकर्तालाई आफ्नो मन्त्रालयमा भीड लिएर नआउन उनले निर्देशन दिए । साथै कुनै कर्मचारीको सरुवा–बढुवाको चिट बोकेर पनि आफूकहाँ नधाउन उनको आग्रह थियो ।

    ‘मबाट कुनै पनि लेनदेनका कुराहरु हुँदैनन् । कसैले लेनदेन गरेको प्रमाणित भयो भने पनि म सहन्न’, उनले भने ।

    कार्यकर्तालाई लिङ्देनले गरेको सम्बोधन यस्तो थियोः

    हामी एउटा विशेष परिस्थितिमा सरकारमा सामेल भएका छौं । हाम्रो सहभागितालाई लिएर थुप्रै प्रश्न पनि उठेका छन् । हामी स्वयम् पनि सरकारमा प्रत्यक्ष सहभागी हुँदा ठीक हुन्छ कि बाहिरै बसेर समर्थन गर्दा ठीक हुन्छ भन्नेमा थियौं । दुईथरि कुराहरु आइरहेका थिए । मैदानमा बसेर काम गर्ने तथा विपक्षीसँग प्रतिस्पर्धामा होमिने भन्नेमा साथीहरुले सरकारमा जानुपर्ने पक्षमा वकालत गर्नुभयो । राप्रपाले कसैलाई निवेदन हालेर सरकारमा जानु हुँदैन । तर, हाम्रो हैसियत भएको अवस्थामा किन नजाने भन्ने उहाँहरुको कुरा थियो ।

    हामी मिलेरमात्रै सरकार बन्न सक्ने अवस्था भनेको हाम्रो पनि हैसियत बन्यो भन्ने हो । सम्मानजनक वातावरण बन्यो भने सरकारमै गएर काम गर्नुपर्छ भन्ने विचार बलियो ढंगले आयो । सबैभन्दा बलियो तर्क के भने हामीले सम्मानजनक वातावरण पाउँदा पनि नजाने हो भने कहिले जाने त ? कि कहिल्यै सरकारमा नजाने भनेर घोषणा गर्ने हो ? सरकारमा नजाने हो भने जनताको काम कसरी गर्ने ? त्यसैले बरु गएर काम गरेर देखाउँ भन्ने भयो । मौका पायौं भने काम गर्न सकिन्छ भन्ने प्रमाणित गर्ने मौका हो भन्ने साथीहरुको बलियो दबाब थियो ।

    हामीले भ्रष्टाचार र सुशासनको कुरा उठाउँदा विगतमा खिल्ली उडाउँथे । पार्टीकै साथीहरुले पत्याउँदैन थिए । ‘भ्रष्टाचार गर्नु भनेको आमाको रगत खानु हो’ भन्ने कुरा गर्दा कतिले अत्यन्त महत्वका साथ लिनुभयो भने कति हाम्रै साथीहरुले केवल नाराको रुपमा लिनुभयो । विपक्षीले हँसीमजाकका रुपमा पनि लिए । धेरै मान्छेहरुले यिनीहरुले पाएकै छैन, पाएपछि थाहा हुन्छ खान्छ कि खाँदैन भनेर भने । मेरो मनमा पनि के आयो भने यो अग्निपरीक्षामा होमिनुपर्छ र खरो उत्रिनुपर्छ । अबको राप्रपाले ‘भ्रष्टाचार गरेर खानु भनेको आमाको रगत खानु हो’ भन्ने प्रमाणित गर्नुपर्छ भनेर सरकारमा जाने निर्णय लियौं ।

    अहिले हामी सरकारमा सहभागी भएका छौं । विपक्षीले केही प्रश्न उठाउने चेष्टा गरेका छन् । हाम्रै शुभेच्छुकमा केही आशंका छन् । म सबै साथीहरुलाई र आम देशवासीलाई विश्वास दिलाउन चाहन्छु कि यो अग्निपरीक्षामा हामी खरो उत्रिनेछौं । भ्रष्टाचार गरेर खानु आमाको रगत खानु हो भन्ने प्रमाणित गरेर देखाउनेछौं ।

    मैले मन्त्रालयको ब्रिफिङमा पनि भनेको छु, भ्रष्टाचारलाई शत्रु ठानेर काम गर्नुस् । म कुनै पनि भ्रष्टाचारजन्य क्रियाकलाप गर्नेछैन र अरु कसैले गरेको थाहा पाएँ भने सहन्न । भ्रष्टाचार गर्नेलाई कारबाही गर्नेमात्र होइन, सामाजिक जीवन ध्वस्त हुने गरी कारबाही गर्छु । त्यो कुरा मैले हाम्रो मन्त्रिपरिषदमा जाने साथीहरुलाई पनि भनेको छु । प्रदेश सरकारमा सहभागी हुने मन्त्रीहरुलाई पनि भनेको छु ।

    कुनै पनि लेनादेना चाहे घोषित वा अघोषित किन नहोस् म सहन्न । हल्लाको भरमा, पत्रिकाले लखेको भरमा, कसैले भनेको भरमा होइन, भ्रष्टाचार प्रमाणित भयो भने एकक्षण पनि सोच्नेवाला छैन । कुनै पनि प्रकारको दबाब सामना गर्न तयार छु । म ठीक रहन्छु र अरु साथीलाई पनि ठीक राख्छु । सरकारमा सहभागी भएर राप्रपा फरक छ भन्ने प्रमाणित गर्नेछौं ।

    भर्खर यात्रा प्रारम्भ भएको छ । हो कि होइन कि जस्ता मोडहरु आउनेछन् । शुभेच्छुकलाई धैर्य रहन आग्रह गर्छु । राप्रपा जस्तो पार्टीमा लिङदेनले अध्यक्ष हुन्छु भन्दा धेरै मान्छेलाई पत्यार लागेको थिएन । चुनावमा यति परिणाम ल्याउँछु भन्दा पत्यार थिएन । सम्मानजनक परिणाम प्राप्त गरिसकेपछि पनि अहिलेको संसदीय संरचनामा यस्तो निर्णायक पार्टी हुन्छौं भन्ने हामीभित्र साह्रै थोरै मान्छेको कल्पनामा थियो । अब आगामी यात्रा पनि सफलतापूर्वक पार गर्छौं ।

    सरकारमा जाँदा पार्टीप्रतिको जिम्मेवारी पनि बिर्सिनुहुँदैन । केही दिनभित्र सबै कुरा मिलाउँछौं । सरकारमा नगएका पदाधिकारीले पार्टीको जिम्मेवारीलाई ध्यान दिनुपर्छ । सबैसँग यहीबाट अपिल गर्छु । कार्यकर्ता तथा साथीहरुले पार्टीको गौरव बढाउने र देशको अवस्थामा परिवर्तन गर्ने काममा बाहेक सरुवा-बढुवा तथा नियुक्तिको धेरै अपेक्षा नराख्नुस् । मन्त्रालयमा धेरै भेटघाटको कुरा हाम्रो प्राथमिकताको विषय हुँदैन । दिनभरि कार्यकर्ता भेटेर बस्ने हो भने कसरी काम गरेर देखाउने ? केही दिन अध्ययन गर्नुपर्नेछ । भित्रको सञ्जाल र संरचनामा छिर्नुपर्नेछ । चाँडोभन्दा चाँडो सकारात्मक निर्णय लिनुछ ।

    विशेष काम र अवस्थामा समय लिएरबाहेक एकैपटक भीड लिएर नआइदिनुस् । नेता-कार्यकर्ताहरु आउँदा नभेटौं पनि मिलेन । भेट्दा अन्य महत्वपूर्ण कुराहरु छुट्छन् । अब तपाईंहरु सत्तारुढ पार्टीको हुनुभयो । सरुवा-बढुवा भनेर अनेक मान्छे आउँछन् । तर, यो तपाईंहरुको काम होइन । सरुवा-बढुवामा हाम्रो हस्तक्षेप र चासो हुँदैन । हामीलाई काम चाहिन्छ । रिजल्ट चाहिन्छ । सरुवा-बढुवाको चिट अहिले पनि कतिको गोजीमा नै होला । त्यो बोकेर नआउनुहोला । एउटा-एउटा कर्मचारी चेपेर नहिँड्नुस् । मेरो छोराछोरी, कार्यकर्ता कतै न कतै नियुक्ति गरिदिनुपर्‍यो भन्ने जस्तो कुरा नल्याउनुस् । त्यहाँ नियुक्ति गर्न सकिन्न । योबाट हाम्रो नेता-कार्यकर्ता मुक्त हुनुपर्छ ।

    हाम्रो राजेन्द्र लिङदेन उपप्रधानमन्त्री भयो, अब विद्युतको डीजी, सिंचाइको डीजी सार्न म सक्छु भनेर गाउँमा नहिँड्नुहोला । बरु कुनै गाउँमा बिजुली पुगेको छैन भने मेरो जिम्मा भो भनेर हिँड्नुस् । कहीं नदी कटानका समस्या छन्, सिंचाइका समस्या छन् भने हाम्रो जिम्मा भो भन्नुस् । राजेन्द्र लिङदेनले जतिवेला भन्यो त्यतिवेला मेरो फोन उठाउँछ, एउटा डीजी त सरुवा गरिहाल्छु नि भनेर काठमाडौं प्लेनमा आउनुभयो भने तपाईं र मेरो भेटै नहोला । यो काम अरु मन्त्रालयबाट पनि हुँदैन ।

    हामीले लिएको मन्त्रालयमा कुनै लेनादेना गरेको थाहा पाएमा खबर लिएर आउनुस् । यदि म आफैंले लेनादेना गरेको प्रमाणित कसैले गर्‍यो भने टुँडिखेलमा गएर झुण्डिन तयार छु ।

    सचिवालयले स्वागत गर्ने भनेर बोलाउनुभयो । यसो एउटा-एउटा माला लगाइदिने होला भनेको धुमधाम भइगयो । तपाईंहरुको अध्यक्ष यस्तोमा रमाउँदैन । हामीले गरेका वाचाहरु पूरा गरेपछि माला लगाइदिनुस् । अहिले के गरेको छु र ? पैसा पनि खर्च हुन्छ, लुगा पनि मैलो हुन्छ । सामाजिक रुपमा अरुले पनि मन पराउँदैनन् । यो परम्परा तोडौं ।

  • उपप्रधानमन्त्री बनेको तेस्रो दिनमा लिङ्देनलाई कमल थापाको शुभकामना

    उपप्रधानमन्त्री बनेको तेस्रो दिनमा लिङ्देनलाई कमल थापाको शुभकामना

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले आफ्नो पूर्वपार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानमन्त्री बनेकोमा बधाई दिएका छन् । लिङ्देन उपप्रधानमन्त्री नियुक्त भएको तेस्रो दिनमा सामाजिक सञ्जालमार्फत थापाले बधाई ज्ञापन गरेका हुन् ।

    ‘केही असहमति, मतभिन्नता र केही चित्त दुखाइका बाबजुद मैले धेरै आडभरोसा र विश्वस गरेका राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन देशको उपप्रधानमन्त्रीजस्तो गरीमामय पदमा नियुक्त हुनुभएकोमा खुशी लागेको छ,’ उनले लेखेका छन् ।

    थापाले राप्रपाबाट मन्त्री र राज्यमन्त्री नियुक्त भएका विक्रम पाण्डे, धु्रवबहादुर प्रधान र दिपक सिंहलाई पनि बधाइ र शुभकामना दिएका छन् ।