Category: राप्रपा

  • राप्रपा प्रवक्ताको असन्तुष्टी– पार्टीका साथीहरु भष्मासुर भए

    राप्रपा प्रवक्ताको असन्तुष्टी– पार्टीका साथीहरु भष्मासुर भए

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहन श्रेष्ठले आफ्नै पार्टीका केही नेताहरुलाई ‘भष्मासुर’ संज्ञा दिएका छन् । राप्रपाले चुनावमा पराजय भोगिरहँदा ती नेताहरुले जित्नेलाई उत्साहित हुँदै बधाई दिएको उनको आरोप छ ।

    राप्रपाले उपचुनावमा उल्लेख्य मत प्राप्त गर्न सकेको छैन । तर, केही नेताहरुले राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने र स्वर्णिम वाग्लेलाई सामाजिक सञ्जालबाट बधाई दिएका छन् ।

    पार्टी महामन्त्री शरदराज पाठक, नेता प्रेमकुमार श्रेष्ठलगायतले सामाजिक सञ्जालमा लामिछाने र वाग्लेलाई बधाई दिएका थिए । श्रेष्ठले लामिछानेसँगको फोटोसमेत राखेर उनलाई ट्याग गरेका थिए ।यसै विषयमा श्रेष्ठले असन्तुष्टि व्यक्त गरेका हुन् ।

    उनले फेसबुकमा लेखेका छन्, ‘राप्रपाका साथीहरु राप्रपाका साथीहरू (कार्यसम्पादन र पदाधिकारी समेत रहेका केही) यति भष्मासुर किन भएका होलान्, आफ्नो पार्टीले पराजय भोग्दै गर्दा र अर्को पार्टीले चुनाव जित्दा पनि उत्साहित हुँदै दुनियाँलाई ट्याग गरेर पोस्ट गर्दैछन् । आफ्नो पदीय हैसियत र दायित्व नबुझ्ने मान्छेलाई सम्हाल्नै गार्हो ।’

  • राप्रपा संसदीय दलको सचेतकमा विना लामा मनोनीत

    राप्रपा संसदीय दलको सचेतकमा विना लामा मनोनीत

    काठमाडौं । राप्रपा संसदीय दलको सचेतकमा विना लामा मनोनीत भएकी छन् । राप्रपा विधानबमोजिम संसदीय दलका नेता राजेन्द्र लिङदेनले उनलाई सचेतकमा मनोनीत गरेका हुन् ।

    धादिङबाट समानुपातिक प्रतिनिधत्व गर्ने लामा यसअघि रुबी भ्याली गाउँपालिकाको उपाध्यक्ष थिइन् ।

    राप्रपा दलको प्रमुख सचेतकमा ज्ञानेन्द्र शाही छन् ।

  • संसदमा ज्ञानेन्द्र शाहीको घोषणाः मासिक पारिश्रमिकबाट ३ हजार रूपैयाँ खेलाडीका लागि छुट्याउने (भिडिओ)

    संसदमा ज्ञानेन्द्र शाहीको घोषणाः मासिक पारिश्रमिकबाट ३ हजार रूपैयाँ खेलाडीका लागि छुट्याउने (भिडिओ)

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता तथा सांसद ज्ञानेन्द्रबहादुर शाहीले आफ्नो मासिक पारिश्रमिकबाट तीन हजार रूपैयाँ खेलाडीका नाममा जम्मा गर्ने घोषणा गरेका छन् । उनले आजको संसद बैठकमै सो घोषणा गरेका हुन् ।

    शाहीले प्रदेश सांसदहरूलाई पनि मासिक तीन हजार रूपैयाँ खेलाडीको नाममा जम्मा गर्न आग्रह गरे । यदि ८८४ जनाले खेलाडीका लागि ३ हजार जम्मा गर्ने हो भने २६ लाख ५२ हजार रुपैयाँ उपलब्ध हुने र यसले देशको नाम संसारभर चिनाउन सहयोग पुग्ने उनको भनाइ थियो ।

    शाहीले प्रदेश संरचना खारेज गर्न पनि संसद बैठकमा आग्रह गरेका छन् । साथै प्रत्यक्ष सांसदहरूको संख्या १६५ बाट १०५ मा झार्न पनि उनले प्रस्ताव गरे ।

  • हिन्दू राष्ट्र माग्दै राप्रपा सांसद विना जैसवालले संसदमा गुन्जाइन् गायन्त्री मन्त्र र जय श्रीरामको नारा (भिडिओ)

    हिन्दू राष्ट्र माग्दै राप्रपा सांसद विना जैसवालले संसदमा गुन्जाइन् गायन्त्री मन्त्र र जय श्रीरामको नारा (भिडिओ)

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद विना जैसवालले प्रतिनिधिसभा बैठकमा हिन्दू राष्ट्र माग्दै गायन्त्री मन्त्र र जय श्रीरामको नारा लगाएकी छन् ।

    मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले हिन्दू राष्ट्र माग्दै गायत्री मन्त्र वाचन गरेकी हुन् ।

    उनले देश र जनताप्रति इमानदार र निष्ठावान् बन्न सदनमा ईश्वरको नाममा शपथ खान सकिन्छ भने देशको वातावरण सुधार होस् भ्रष्टाचार कम होस् भनेर भन्न पाइने बताइन् ।

    उनले भनिन्, ‘आइ स्ट्रोङली विलिभ इन अल द रिलिजन आर सेम । इन फ्याक्ट माइ ड्यु रेस्पेक्ट अल द रिलिजन बट माई रिलिजन इज माई प्राइड । कुनैपनि धर्ममा भेद छैन, मान्छेको मनमा भेद छ । सर्वधर्म सम्पन्न हिन्दू राष्ट्र नेपाल कायम होस, जय श्रीराम ।’

  • लिङदेनको चेतावनी- मिटरव्याजपीडितको समस्या समाधान नगरे राप्रपा पनि सँगै सडकमा जान्छ (भिडिओ)

    लिङदेनको चेतावनी- मिटरव्याजपीडितको समस्या समाधान नगरे राप्रपा पनि सँगै सडकमा जान्छ (भिडिओ)

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले मिटरज्याजपीडितमाथि सरकारले गरेको दमनप्रति आपत्ति जनाएका छन् ।

    प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारको आलोचना गरे ।

    उनले भने, ‘देशमा कसैले पनि अन्यायमा पर्नु पर्दैन । कसैले पनि हेपिनु पर्दैन राज्य अभिभावक छ निमुखाहरूप्रति राज्य उभिनुपर्ने ठाउँमा न्यायको माग गर्दै आएको मिटरव्याजपीडितहरूलाई सरकारको हिजो जुन ढंगले आक्रमण गरेको छ । त्यसको निन्दा र भर्त्सना गर्छु ।’

    उनले सरकारले मिटरव्याजपीडितको समस्या समाधान नगरे सडक संघर्षमा जाने घोषणा गरे ।

    उनले भने, ‘यतिबेला यस्तो सरकार छ जसले समाजमा गरिबहरूको अथवा सर्वहारा वर्गको अधिनायकत्व स्थापना हुनेछ भनेर सपना बाँड्ने पार्टीको नेतृत्वमा सरकार छ । तर, यतिनै बेलामा गरिबमाथि किन प्रहार भइरहेको छ । हामी भन्न चाहन्छौं सरकारले मिटरव्याजपीडितहरू र तराईमा आन्दोलनमा रहेकाहरूको माग सम्बोधन गरोस् । अन्यथा राप्रपा उनीहरुको साथमा सडकमा जाने घोषणा गर्छु ।’

  • राप्रपाले गर्‍याे १० संसदीय समितिहरुमा आफ्ना सांसदहरूको सिफारिस (सूचीसहित)

    राप्रपाले गर्‍याे १० संसदीय समितिहरुमा आफ्ना सांसदहरूको सिफारिस (सूचीसहित)

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले १० वटा संसदीय समितिहरुमा समावेश गर्न पार्टीका सांसदहरुको नाम सिफारिस गरेको छ ।

    प्रतिनिधिसभा नियमावली २०७९ को परिच्छेद २१ को दफा १७२ र ७३ अनुसार राप्रपाले संघीय संसद सचिवालयका महासचिवलाई सिफारिस गरेर पठाएको हो ।

    राप्रपाले अर्थ समितिमा ज्ञानबहादुर शाही र दीपक सिंहलाई समावेश गर्न अनुरोध गरेको छ । अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन र विक्रम पाण्डेलाई सार्वजनिक लेखा समितिमा सिफारिस गरिएको छ ।

    यस्तै उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा गीता बस्नेत, कानून न्याय तथा मानव अधिकार समितिमा ध्रुवबहादुर प्रधान, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा अनिशा नेपालीको नाम सिफारिस गरिएको छ ।

    यसैगरी महिला तथा सामाजिक मामिला समितिमा रोशन कार्की, राज्य व्यवस्था तथा सुशासन समितिमा बुद्धिमान तामाङ, पूर्वाधार विकास समितिमा दीपक बोहोरा र वीना लामा तथा शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विना जैशवाल सिफारिसमा परेका छन् ।

    राप्रपाले दुईवटा संसदीय समितिको सभापति दाबी गरेको छ । तर, दलहरुबीच सहमति भएको छैन ।

  • राप्रपाले भन्यो- सरकारले विकास बजेट रोकेर ब्याज खायो, ७ दिनभित्र मन्त्रीको जवाफ चाहिन्छ (भिडिओ)

    राप्रपाले भन्यो- सरकारले विकास बजेट रोकेर ब्याज खायो, ७ दिनभित्र मन्त्रीको जवाफ चाहिन्छ (भिडिओ)

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का सचेतक तथा प्रवक्ता ज्ञानेन्द्र शाहीले वास्तविक मिटरब्याज सरकार भएको टिप्पणी गरेका छन्।
    बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सरकारले भएभरको पैसा बैंकमा राखेर ब्याज खाएको आरोप लगाए।

    उनले भने, ‘सरकारले अहिलेसम्म चालू खर्च ५१ दशमलब ४६ प्रतिशत, पूँजीगत खर्च २२ दशमलब १५ र व्यवस्थापन खर्च ३७ दशमलब ४१ प्रतिशत मात्रै गरेको छ। भयभएरको असारमा मात्रै खर्च गर्ने, सरकारले अझै ७८ प्रतिशत पूँजिगत खर्च गर्न बाँकी छ। भएभरको पैसा बैंकमा राख्ने र ब्याज खानेरु यसले गर्दा वास्तविक मिटरब्याजी कोही छ भने सरकार हो।’

    सरकारी पैसा ढुकुटीमा राखेर विकास निर्माणका काम ठप्प पारिएको उनको भनाइ छ। ‘बैंकमा पैसा राखेर जनतालाई अलमल पार्ने काम नगरियोस्। कर्मचारीले तलब खान पाएका छैनन्। निर्माण व्यवसायीले पैसा पाएका छैनन्। संघीय नियमावली अनुसार ७ दिनभित्र मन्त्रीबाट जवाफ चाहिन्छ, नत्र हामी संसदमा खडा हुन्छौं’ उनले भने।

  • दुईवटा संसदीय समिति सभापतिमा राप्रपाको दाबी (भिडिओ)

    दुईवटा संसदीय समिति सभापतिमा राप्रपाको दाबी (भिडिओ)

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले दुईवटा संसदीय समितिको सभापतिमा दाबी गरेको छ ।

    संघीय संसद सचिवालयले संसदीय समिति गठनको प्रक्रिया अगाडी बढाएसँगै राष्ट्रिय प्रजातन्त्र पार्टीले दुईवटा समितिको सभापतिमा दाबी गरेको हो । आइतबार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै राप्रपका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले आफ्नो पार्टीले दुईवटा सभापतिमा दाबी गरेको बताए ।

    उनले दुई सभापति आफुहरुले अनिवार्य पाउनैपर्ने बताए । राप्रपा प्रतिनिधि सभाको पाँचौ ठूलो दल र दोस्रो ठुलो प्रतिपक्षी दल भएको भन्दै उनले दुई सभापति पाउनु आफूहरुको अधिकार भएको बताए ।

    ‘राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट दुईवटा समितिमा हाम्रो दाबी रहन्छ । हामीले दुईवटा पाउनैपर्छ । दशवटा समितिमध्ये हामीले दुईवटा पाउनुपर्छ । त्यो हाम्रो अधिकार पनि हो । किनकी प्रतिनिधि सभामा हामी सिट संख्याको हिसावमा पाँचौ ठूलो दल हौँ । राष्ट्रिय दल पनि हो । राष्ट्रिय दल र पाँचौ ठुलो दल भएका हिसावले दुईवटा समितिमा हाम्रो दाबी हुन्छ । अर्को, लोकतन्त्रको मान्यता के हो भने, सरकार सत्तापक्षको हो । सदन प्रतिपक्षको हुन्छ’, उनले भने, ‘सदनमा जहिल्यैपनि प्रतिपक्षको आवाज सुनिनुपर्छ । बल्ल प्रजातन्त्र दिगो रुपमा टिकाउ हुन्छ । विषयगत समितिमा विषयगत ज्ञान हुनुपर्छ । राप्रपाले विषयगत रुपमा नै व्यक्तिको छनोट गर्छ । जस्तै हामीले भोली लेखा समिति पायौँ भने लेखा सम्बन्धी ज्ञान भएको मान्छे त्यहाँ जान्छ । राज्य व्यवस्था समिति भयो भने प्रशासनसँग सम्बन्धित ज्ञान भएको मान्छेलाई हामीले त्यहाँ नियुक्ति गर्छौं । विषयगत ज्ञान भएका मान्छे हामी चयन गर्छौं ।’

    उनले समितिमा सदस्यहरुलाई विषयगत ज्ञानको आधारमा पठाउनुपर्ने बताए । राप्रपाले आफ्ना प्रतिनिधि सभा सदस्यहरुलाई विषयगत ज्ञान र दक्षताको आधारमा सम्बन्धित समितिमा पठाउने पनि उनले उल्लेख गरे ।

     

  • विदेशबाट युवाले नपठाएको भए सांसदहरुले तलबभत्ता खाने पैसा सरकारसँग हुँदैनथ्यो : सांसद सिंह (भिडिओ)

    विदेशबाट युवाले नपठाएको भए सांसदहरुले तलबभत्ता खाने पैसा सरकारसँग हुँदैनथ्यो : सांसद सिंह (भिडिओ)

    काठमाडौं । राप्रपा सांसद दिपकबहादुर सिंहले देशलाई वैदेशिक रोजगारमा जानेहरुले श्रीलंक हुनबाट जोगाइरहेको बताएका छन् ।

    बिहीबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले विदेशबाट पैसा नआएको भए सांसदहरुले पनि तलब भत्ता खान नपाउने बताए ।

    उनले भने, ‘आज ती भाइबहिनीहरुको सुरक्षाको लागि सरकारले के दिएको छ ? के गरेको छ ? सरकारले त्यो पक्षमा के सोचेको छ । सरकारले अयोग्य लडाकुलाई करोडौं बाँड्न थालेको छ । त्यो पैसा जो बाकसमा आएका छन् । त्यो परिवारलाई राहत बाँडे सरकारको जयजयकार हुन्थ्यो ।’

    सरकारले एक सय दिन कटाउँदा समेत केही गर्न नसकेपछि विरोध भएको बताए । उनले भने, ‘अब जनताले विकल्प खोज्ने बेला आएको छ ।’

  • प्रतिनिधिसभा : ज्ञानेन्द्र शाहीको अभिव्यक्तिप्रति माओवादीको नियमापत्ति (भिडिओ)

    प्रतिनिधिसभा : ज्ञानेन्द्र शाहीको अभिव्यक्तिप्रति माओवादीको नियमापत्ति (भिडिओ)

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीको अभिव्यक्तिप्रति माओवादी केन्द्रले नियमापत्ति जनाएको छ । संसदको आकस्मिक समयमा नेता शाहीको अभिव्यक्तिप्रति माओवादीका प्रमुख सचेतक हितराज पाण्डले नियमापत्ति जनाएका हुन् ।

    शाहीले संघीयता र प्रदेश देश ठूलो भएको अवस्थामा मात्रै चाहिने बताएका थिए ।

    उनले भने, ‘आज संघीयता कार्यकर्ता भर्ती गर्ने कहीँ नअटेको व्यक्तिलाई सांसद बनाउने प्रवृत्ति बढ्यो । देश विदेशबाट ऋण ल्याएर संघीयता पाल्न सकिँदैन ।’

    उनले देशको बढ्दो ऋण र युवा पलायनको विषयमा सरकारले जवाफ दिनुपर्ने बताएका थिए । तर, शाहीको अभिव्यक्ति संसदको आकस्मिक समयसँग मेल नखाएको माओवादी सांसद पाण्डको भनाई छ ।

    संसदको आकस्मिक समयमा यसअघि बसेको प्रतिनिधिसभा बैठकपछि अहिलेसम्म भएगरेका गतिविधि राख्नको लागि आजैबाट लागू गरिएको छ ।

  • कर्णाली प्रदेशसभाको प्रमुख प्रतिपक्षमा राप्रपाको दाबी, सन्तोषीले मागिन् विपक्षी दलका नेताको सीट

    कर्णाली प्रदेशसभाको प्रमुख प्रतिपक्षमा राप्रपाको दाबी, सन्तोषीले मागिन् विपक्षी दलका नेताको सीट

    सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद सन्तोषी शाहीले कर्णाली सभामा प्रतिपक्षको दाबी गरेकी छन् । केन्द्रमा सत्ता समीकरण फेरिएसँग यहाँ राप्रपाले माओवादी सरकारमाथिको समर्थन फिर्ता लिएको छ । मुख्यमन्त्री राजकुमार शर्माले दोस्रोपटक विश्वासको मत लिँदा राप्रपाबाहेक सबै दलका सांसदले मत दिएका थिए ।

    बुधबार प्रदेशसभाको बैठकले सांसद शाहीले जनता र राष्ट्रको हितविपरीत आफ्नो दलगत स्वार्थमा कर्णाली प्रदेश सरकारको काम कारबाहीमाथि निगरानी गर्ने बताइन् । उनले सकारात्मक काममा रचनात्मक सहयोग सँगै कमजोरीमा खबरदारी गर्ने बताएकी छन् ।

    सरकारको पक्षमा मतदान गरेको हुँदा सत्ता पक्षलाई मतदान गर्ने र सरकारको मन्त्री भइरहने दलहरू प्रतिपक्ष दलको रूपमा कसरी रहन्छन् सांसद शाही प्रश्न गरेकी छन् ।

    सत्ता पक्ष पनि प्रतिपक्ष हुने भन्ने कुरा नेपालको संविधान ऐन कानूनविपरीत मात्रै नभएर यस्तो परिदृश्य देखिनु संविधानको ठाडो उल्लंघन भएको टिप्पणी गरिन् ।

    उनले भनिन्,` देश विधि र संविधानले चलाउन सक्नुपर्छ । कर्णाली प्रदेशको प्रतिपक्ष दल राप्रपा हो । राप्रपालाई प्रतिपक्ष दलको रूपमा यो सदनमा सीटको व्यवस्था होस् ।’

    उनले भनिन्, `कर्णाली प्रदेशमा चरम भ्रष्टाचार बेथिति प्रदेश सरकारले सुशासन गर्नुको साटो झन भ्रष्टाचार बेथितिलाई प्रशय दिइरहेको छ । यसले गर्दा नागरिकमा चरम निराशा र वितृष्णा पैदा भएको छ । प्रदेश सरकारले यसलाई रोक्न कुनैपनि संरचनाको विकास गरेको छैन र कुनै न्यूनीकरणका कार्यक्रम पनि सञ्चालन गरेको छैन । सुशासन कायम गर्न प्रदेश सरकारको प्राथमिकता रहेको छैन । यस्तो अवस्थामा राप्रपाले सरकारलाई सुझाव दिन चाहान्छ ।’

    सांसद शाहीले भनिन्,` सांसद संख्या कम देखिए पनि ढिलोचाँडो राप्रपाको सिद्धान्तमा नआइ सुखै छैन । राष्ट्र निर्माण र देश विकासको लागि सत्यको बाटो नै राप्रपाले लिएको हो ।’

  • मन्त्रीले लगाएको कोट फेर्न नपाउँदै सरकार परिवर्तन हुन थाल्यो: शाही

    मन्त्रीले लगाएको कोट फेर्न नपाउँदै सरकार परिवर्तन हुन थाल्यो: शाही

    गुल्मी । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता तथा सङ्घीय सांसद ज्ञानेन्द्र शाहीले संसद भवन झगडा गर्ने थलो बनेको टिप्पणी गरेका छ्न् ।

    शुक्रबार सदरमुकाम तम्घासमा जिल्ला पार्टी राप्रपाले आयोजना गरेको पत्रकार सम्मेलनमा शाहीले संसद भवनमा जनताको समस्या समाधान गर्ने विषयमा छलफल नभई झगडा गर्ने थलो बनेको बताएका हुन् ।

    देशमा पछिल्लो अवस्था राजनीति अवसरवादी भएको उनले बताए । मन्त्रीहरूले लगाएको कोट परिवर्तन गर्न नपाउँदै सरकार परिवर्तन हुने गरेको बताउँदै शाहीले राजनीति राज्यको निम्ति नभई अवसरका निम्ति भएको र राजनीति घीनलाग्ने खालको भएको टिप्पणी गरे ।

    देशमा राजनीतिक अस्थिरताका कारण आर्थिक अवस्था संकटमा रहेको उनको भनाइ छ । प्रवक्ता शाहीले राज्यको करले कर्मचारीलाई तलब पनि खुवाउन नसक्ने भन्दै राज्यको नाममा २० खर्बभन्दा बढी आर्थिक भार रहेको बताए ।

  • राजसंस्था पुनर्स्थापन र संघीयता खारेजीका लागि ‘वार कि पारको आन्दोलन’ मा होमिने राप्रपाको तयारी

    राजसंस्था पुनर्स्थापन र संघीयता खारेजीका लागि ‘वार कि पारको आन्दोलन’ मा होमिने राप्रपाको तयारी

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले राजसंस्था र हिन्दू राष्ट्र पुनर्स्थापना तथा संघीयता खारेजीको मुद्दालाई चर्काउन सडक आन्दोलनमा होमिने तयारी गरेको छ । पार्टीका राजनीतिक एजेन्डाहरुलाई सडक र सदन दुवै मोर्चाबाट चर्काएर ‘वार कि पार’ गर्ने नेताहरुले दाबी गरेका छन् ।

    दुई दिनअघि बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठकले ६ बुँदे निर्णय गरेको थियो । त्यसको पाँचौं बुँदामा ‘पार्टीको राजनीतिक लक्ष्यप्राप्ति र जनजीविकासँग सम्बन्धित विषयमा आन्दोलनमा केन्द्रीत हुने गरी छलफल चलाएको’ उल्लेख छ ।

    आन्दोलनका विषय र स्वरुप निर्धारण गर्न महामन्त्री डा. धवलशम्शेर राणाको संयोजकत्वमा महामन्त्री शरद पाठक र सहमहामन्त्री झनक प्याकुरेल रहेको समिति समेत गठन गरिएको थियो ।

    समितिका सदस्य पाठक परिणाम नै हासिल हुने किसिमले पार्टीका राजनीतिक एजेन्डाहरुको पक्षमा संघर्ष गर्ने तयारी भएको बताउँछन् ।

    ‘सडकमा आफ्नो उपस्थिति देखाउनलाई होइन, हामीले आफ्ना एजेन्डाहरु हासिल गर्नका निम्ति निर्णायक आन्दोलनको गृहकार्य गरेका हौं,’ उनले नेपाल प्रेससँग भने, ‘बरु गृहकार्यमा धेरै दिन लाग्न सक्छ, तर यो आन्दोलन बृहद र प्रभावकारी हुन्छ । यसलाई ‘वार कि पार’ को आन्दोलन भन्न सकिन्छ ।’

    पाठकले राजसंस्था र हिन्दूराष्ट्रको पुनस्र्थापना र संघीयताको खारेजीलाई प्रमुख राजनीतिक एजेन्डाका रुपमा अघि सारिने र जनजिविकाका सवालहरु पनि उठाइने जानकारी दिए ।

    गत चैत ८ गते राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसहित ४ जना शीर्ष नेताहरुले झापाको दमकमा पुगेर पूर्वराजा ज्ञानेन्द्र शाहसँग सामूहिक भेट गरेका थिए । उक्त भेटमा पनि राजसंस्था र हिन्दू राष्ट्र पुनस्र्थापनाको विषयमा छलफल भएको थियो । राप्रपाले गरेको निर्णयलाई सोही भेटघाटको विकासक्रमका रुपमा पनि लिन सकिन्छ । यद्यपि, पाठकले भने त्यसलाई नकारे ।

    ‘राप्रपाभित्र पहिल्यैबाट सदन र सडक दुवै मोर्चाबाट आफ्ना एजेन्डाहरुको प्राप्तिका निम्ति संघर्षमा जानुपर्छ भन्ने आवाज उठिरहेको थियो । अस्तिको बैठकमा पनि धेरै नेताहरुले त्यस्तै धारणा राखेपछि हामीले यो निर्णय लिएका हौं । पूर्वराजासँगको भेटघाटले पक्कै पनि केही बल मिल्यो होला, तर मुख्य कारण यो होइन,’ उनले भने ।

    कार्यसम्पादन समितिका सदस्यहरुले नेताहरुलाई पूर्वराजासमक्ष भएको भेटवार्ताका विषयवस्तुहरुबारे जिज्ञासा राखेका थिए । अध्यक्ष लिङ्देनले सो वैठकमा पूर्वराजाबाट देशको समसामयिक अवस्थाप्रति असन्तुष्टि व्यक्त गरेको व्रिफिङ गरे । यद्यपि, पूर्वराजाले राप्रपालाई आन्दोलनमा उत्रिन निर्देशन नदिएको उनको भनाइ थियो ।

    पार्टीका एक पदाधिकारी भन्छन्, ‘हामी राजसंस्था पक्षधर पार्टी हौं, तर पूर्वराजाले बनाएको पार्टी यो होइन । उहाँले हाम्रो पार्टीलाई यो गर त्यो गर भन्न मिल्दैन । त्यस्तो भन्नुभएको पनि छैन ।’

    पूर्वराजा स्वयम् व्यवस्था परिवर्तनका निम्ति निकै गम्भीर देखिएका छन् । उनले फागुन ७ गते प्रजातन्त्र दिवसका अवसरमा जारी गरेको सन्देशमा अब मौन नबस्ने संकेत गरेका थिए । दलहरुलाई सहकार्यका निम्तिसमेत उनले आह्वान गरेका छन् । तर, मुख्य राजनीतिक दलहरुले पूर्वराजाको आह्वानलाई गम्भीररुपमा नलिएपछि उनी आफ्नो तयारीमा लागेका हुन् । पूर्वराजाले केही दिनअघि भारत भ्रमणसमेत गरेका थिए ।

    राप्रपाले हालै प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिएर प्रधानमन्त्रीलाई दिएको विश्वासको मतसमेत फिर्ता लिएको छ । पार्टीले सडक संघर्षको बाटो खोल्नका लागि पनि यो कदम चालेको स्रोतको भनाइ छ ।

    राप्रपा सरकारमा जाँदा पूर्वराजा असन्तुष्ट बनेका थिए । यसबीचमा उनी दुर्गा प्रसाईंको कार्यक्रममा सपरिवार सहभागी हुन गए । यसबाट पूर्वराजा र राप्रपाको सम्वन्ध चिसिएको थियो । राप्रपा सरकारबाट बाहिरिएसँगै फेरि विश्वासको वातावरण बनेको छ ।

    राप्रपाले गठन गरेको समितिले आन्दोलनका लागि सैद्धान्तिक प्रस्ताव तथा आन्दोलन कार्यक्रमका खाकाहरु मस्यौदा गर्नेछ । समितिको वैठक भने बसिसकेको छैन ।

  • मिटरब्याज पीडितको आन्दोलनमा राजनीतिक घुसपैठ ! ‘राजावादी’ भन्दै ज्ञानेन्द्र शाहीविरुद्ध नाराबाजी (भिडिओ)

    मिटरब्याज पीडितको आन्दोलनमा राजनीतिक घुसपैठ ! ‘राजावादी’ भन्दै ज्ञानेन्द्र शाहीविरुद्ध नाराबाजी (भिडिओ)

    काठमाडौं । विभिन्न माग राखेर धर्ना बसिरहेका मिटरब्याजीहरुप्रति ऐक्यवद्धता जनाउन राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्रबहादुर शाही आज मध्यान्न माइतीघर पुगे । तर, उनीहरुले त्यहाँ शाही धर्नास्थलमा पुग्दा धर्नामा बसेकाहरूमध्ये केहीले उनीविरुद्ध नाराबाजी र होहल्ला गरेका थिए । उनीहरूले शाहीलाई ‘राजावादी’ र ‘सामन्तवादी’ भन्दै विरोध गरे ।

    ‘हामीलाई राजावादीको समर्थन चाहिँदैन’ भन्दै नाराबाजी भएपछि शाहीले आफ्नो भनाइ राखेका थिए । उनले आफू जनप्रतिनिधि भएको नाताले पीडितहरूको समस्या सुन्न र ऐक्यबद्धता प्रकट गर्न आएको बताए । यो राजनीतिक मुद्दा नभएकाले राजनीतिकरण नगर्न पनि उनले आग्रह गरे । तर, भिडमा रहेका केही उत्तेजक व्यक्तिहरूले झन् चर्को नाराबाजी गरेपछि शाही त्यहाँबाट पन्छिए ।

    शाही भिडबाट निस्केपछि केही वास्तविक पीडितहरू उनीसँग पुगेर दु:ख व्यक्त गरेका थिए । ‘हामीलाई राजनीति मतलब छैन, तपाईँ समर्थन गर्न आउँदा नाराबाजी भएकोमा दुखी छौँ,’ एक पीडितले भनेका थिए ।

    यस विषयमा नेपाल प्रेसलाई प्रतिक्रिया दिँदै शाहीले आफूविरुद्ध नाराबाजी गर्नेहरू वास्तविक पीडित नभएको बताए ।

    ‘पीडितहरूले नाराबाजी गरेकै होइनन्, जसले गरे उनीहरू राजनीतिक कार्यकर्ता थिए,’ उनले भने, ‘मिटर ब्याज पीडितहरूको धर्नामा माओवादी कार्यकर्ताको घुसपैठ भएको रहेछ ।’

    शाहीको आरोपबारे हामीले क्रस चेक गर्दा माओवादी केन्द्र तथा वैद्य र विप्लवनिकट माओवादी कार्यकर्ताहरूले यो आन्दोलनको अगुवाइ गरिरहेको पाइएको छ । साथै, नेकपा एकीकृत समाजवादीका व्यक्तिहरू पनि धर्नामा देखिएका छन् । शाहीविरुद्ध उनीहरूले नै आक्रामक नाराबाजी गरेका हुन् ।वास्तविक मिटरव्याज पीडितलाई ज्ञानेन्द्र शाही कुन पार्टीका हुन् भन्ने पनि सायदै थाहा होला ।

  • पूर्वराजा-राप्रपा संवाद: २०६३ सालको ‘भद्र सहमति’ कार्यान्वयन हुनुपर्ने निष्कर्ष

    पूर्वराजा-राप्रपा संवाद: २०६३ सालको ‘भद्र सहमति’ कार्यान्वयन हुनुपर्ने निष्कर्ष

    काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रिय प्रजातन्त्र पार्टीका चार शीर्ष नेतालाई हिजो झापाको दमकस्थित आफ्नो निवासमा डाकेर ‘लञ्च मिटिङ’ गरे । केही समयदेखि राजनीतिक सक्रियता देखाउन खोजिरहेका पूर्वराजासँग राजावादी पार्टीको शीर्ष नेतृत्वको यो भेटवार्ता अर्थपूर्ण थियो ।

    पूर्वराजाको बोलावटमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन, वरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनी, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा. धवलशमशेर राणा दमक पुगेका थिए । राप्रपा प्रचण्ड नेतृत्वको सरकारमा गएपछि पूर्वराजासँग बढेको दूरी घटाउन यो भेटघाटको चाँजो मिलाइएको थियो भने कुराकानीको मुख्य एजेन्डा राजसंस्थाको पुनःस्थापना नै थियो ।

    दुई घन्टा लामो भेटवार्ताका क्रममा पूर्वराजाले देशको वर्तमान राजनीतिक तथा भूराजनीतिक अवस्थालाई लिएर चिन्ता व्यक्त गरे । आफूले लामो समयसम्म धैर्य गरेर बसेको तर, दलहरुले देशलाई ठीक दिशामा नलगेको गुनासो उनको थियो । देशको जर्जर अर्थतन्त्र, कूटनीतिक असन्तुलन, राजनीतिक अस्थिरता, साम्प्रदायिक विग्रहलगायतका विषयमा उनले राप्रपा नेताहरुसँग मन्थन गरे ।

    राजसंस्था पुनःस्थापनाको मार्गचित्र के हुन सक्छ भन्नेमा पनि छलफल भएको थियो । दोस्रो जनआन्दोलनका क्रममा राजा र तत्कालीन सात दलबीच भएको भनिएको ‘भद्र सहमति’ कार्यान्वयन हुनुपर्नेमा आफूहरुले जोड दिएको बैठकमा सहभागी राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले बताए । मिश्रका अनुसार पूर्वराजाले दलहरुसँग आफ्नो भद्र सहमति भएको स्वीकारेका थिए ।

    पूर्वराजाले राप्रपा प्रचण्ड नेतृत्वको सरकारमा सहभागी भएकोप्रति असन्तुष्टि व्यक्त गरेको भेटमा सहभागी अर्का एक नेताले बताए । राप्रपा अध्यक्ष लिङदेनले आफूहरु सरकारमा जानुको औचित्य पुष्टि गर्ने प्रयास गरे पनि पूर्वराजा त्यसमा कन्भिन्स्ड नदेखिएको ती नेताको भनाइ छ । अहिले सरकारमाथिको समर्थन फिर्ता लिएको विषयमा भने पूर्वराजाले सकारात्मक प्रतिक्रिया दिएका थिए ।

    राजसंस्था पक्षधर शक्तिहरु तितरबितर र असंगठित भएकोमा पूर्वराजाले गुनासो गरेको पनि ती नेता बताउँछन् ।

    ‘म सबैको साझा हुँ, मेरो लागि सबै बराबर हुन्’, पूर्वराजाको भनाइ उद्धृत गर्दै उनले भने, ‘मैले कसैसँग टाढा र कसैसँग नजिक हुन मिल्दैन । तर, राजसंस्था चाहने शक्तिहरु नै आपसमा झगडा गर्नु ठीक भएन । मिलेर जानुपर्‍यो ।’

    राजसंस्था र हिन्दू राष्ट्रको एजेन्डा राप्रपाले नै अझ बुलन्द ढंगले उठाओस् भन्ने पूर्वराजाको संकेत थियो । राप्रपा नेताहरुले भने हालै व्यवसायी दुर्गा प्रसाईंको सभामा पूर्वराजपरिवार सहभागी भएकोमा गुनासो गरेका थिए ।

    स्रोतका अनुसार पूर्वराजाले जवाफमा भने, ‘म सबैको साझा हुँ । मैले कसैप्रति पनि पूर्वाग्रह राख्नु हुँदैन ।’

    के थियो भद्र सहमति ?

    पूर्वराजा ज्ञानेन्द्र १० वर्ष अगाडि पत्रकार प्रेम बानियाँलाई दिएको अन्तर्वार्तामा पहिलोपटक भद्र सहमतिको कुरा गरेका थिए । सो अन्तर्वार्तामा उनले बोलेका कुराहरु यस्ता थिएः

    ‘त्यो समयमा धेरैपटक तत्कालीन सात दलसँग लिखित आदानप्रदानको दोहोरी चलेको थियो । शब्द-शब्दमा केलाइकेलाइकन कागज आदानप्रदान भए । कतिपय हाम्रा नेताहरु अहिले पनि जीवितै हुनुहुन्छ, त्यो कागजमा उहाँहरुको हस्तलिपि छ । बुँदाहरु धेरै थिएनन् । तर, स्पष्ट थिए । जे-जे उहाँहरुले माग्नुभएको थियो, मैले गरें । कतिले मलाई दोष पनि लगाए, त्यो गर्नु पनि हुने थिएन, गर्नै नहुने काम गर्‍यो भनेर । तर, देशमा जसरी भए पनि शान्ति आओस् र दलहरुले नै त्यो बोझ र दायित्व लिन्छ भने हामीलाई केही अप्ठेरो थिएन । त्यहीअनुसारले त्यो सम्झौताबमोजिम मैले काम गर्दै गएँ । त्यसमा राजसंस्थाको बहिर्गमन गर्ने कुरै थिएन । कसरी, यो कहाँबाट कुरा उठ्यो, त्यो हामीसँग भएको सम्झौतामा कतै पनि त्यस्तो थिएन ।’

    सात दलबाट आठ दल (माओवादी थपिएपछि) भएपछि यो सहमतिबाट दलहरु विमुख भएको पूर्वराजाले सो अन्तर्वार्तामा बताएका थिए । त्यसपछि पनि उनले विभिन्न वक्तव्यहरुमा यो विषय उठाउँदै आएका छन् । तर, दलहरुले स्वीकार गरेका छैनन् ।

    स्रोतका अनुसार जनआन्दोलन उत्कर्षमा पुगेका बेला तत्कालीन सात दलका शीर्ष नेताहरु र पूर्वराजाबीच ५ बुँदे समझदारी भएको हो । तर, त्यो लिखित थिएन । उक्त सहमतिका पाँच बुँदा यस्ता थिएः

    १. संसद पुनःस्थापना गर्ने

    २. जनआन्दोलन स्थगन गर्ने

    ३. संवैधानिक राजसंस्था कायम राख्ने

    ४. कार्यकारी अधिकार मन्त्रिपरिषदमा रहने

    ५. सार्वभौमसत्ता जनतामा रहने ।

    राप्रपा वरिष्ठ उपाध्यक्ष मिश्र त्यही सहमतिका आधारमा पूर्वराजाबाट संसद पुनःस्थापना भएको बताउँछन् । साथै यही सहमतिमा टेकेर पुनःस्थापित संसदको पहिलो बैठकले छोरी पनि राजाको उत्तराधिकारी बन्न सक्ने निर्णय लिएको उनको दाबी छ ।

    मिश्रले भने, ‘त्यसबेला राजाको उत्तराधिकारी तोक्ने अधिकार राजपरिषदलाई थियो । पुनःस्थापित संसदको पहिलो बैठकले नै राजाको उत्तराधिकारी तोक्ने तथा छोरी पनि उत्तराधिकारी बन्न सक्ने निर्णय लिएको हो । यसको आशय भनेको राजसंस्थालाई निरन्तरता दिने नै थियो । तर, दलहरुले यसमा राजासँग बेइमानी गरे ।’

  • झापामा पूर्वाराजासँग राप्रपा नेतृत्वको सामूहिक भेट, राजसंस्था पुनर्स्थापनाबारे छलफल

    झापामा पूर्वाराजासँग राप्रपा नेतृत्वको सामूहिक भेट, राजसंस्था पुनर्स्थापनाबारे छलफल

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका शीर्ष नेताहरुले झापा पुगेर पूर्वराजा ज्ञानेन्द्र शाहसँग सामूहिक भेटवार्ता गरेका छन् । भेटमा देशको समसामयिक परिस्थिति र राजसंस्था पुनर्स्थापनाको विषयमा छलफल भएको थियो ।

    राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, वरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनी र महामन्त्री डा. धवलशम्शेर राणा पूर्वराजालाई भेट्न झापा पुगेका थिए । पूर्वराजाकै प्रस्तावमा यो भेटघाट भएको बुझिएको छ ।

    राप्रपाका वरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनीले भेटवार्ताका क्रममा पूर्वराजाबाट देशको अवस्थाबारे चिन्ता प्रकट भएको बताए ।

    ‘अहिले नेपालको विग्रदो आर्थिक स्थिति, राजनीतिमा देखिएको अस्थिरताले राष्ट्रमा पर्न सक्ने असरबारे उहाँको चिन्ता थियो,’ डा. लोहनीले भने । सबै राजनीतिक शक्तिहरुले देशको समस्या समाधानका लागि मिलेर काम गरुन् भन्ने पूर्वराजाको चाहना रहेको उनले उल्लेख गरे ।

    डा. लोहनीले राजसंस्था र हिन्दू राष्ट्र पुनस्र्थापनाको विषयमा पनि छलफल भएको बताए ।

    ‘मुख्य एजेन्डा यही नै थियो । उहाँबाट समग्र राजनीतिक विश्लेषण भयो, तर कसरी जाने भन्ने चाहीँ राजनीतिक दलहरुले निर्णय गर्ने विषय हो भन्ने धारणा व्यक्त गर्नुभयो,’ उनले भने ।

    पूर्वराजा लामो समयदेखि झापामा रहेको आफ्नो निजी निवासमा छन् । केही दिनअघि उनी त्यतैबाट भारत भ्रमणमा गएर फर्किएका हुन् । उनी झापामा नै राजनीतिक भेटघाटहरु गरिरहेका छन् ।

  • संसदमा ज्ञानेन्द्र शाहीको गर्जनले माओवादीमा आक्रोश, सामाजिक सञ्जालबाट खनिँदै नेता-कार्यकर्ता

    संसदमा ज्ञानेन्द्र शाहीको गर्जनले माओवादीमा आक्रोश, सामाजिक सञ्जालबाट खनिँदै नेता-कार्यकर्ता

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद तथा प्रवक्ता ज्ञानबहादुर शाहीले दुई दिनअघि संसदमा गरेको आक्रामक भाषणले माओवादी पङ्ति तरंगित बनेको छ । माओवादीका युवा नेता तथा कार्यकर्ताहरूले शाहीविरुद्ध सामाजिक सञ्जालमा उत्तेजित प्रतिक्रियाहरू दिइरहेका छन् ।

    सरकारले अघि सारेको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरूपण तथा मेलमिलाप आयोग तेस्रो संसोधन विधेयक २०७९ लाई संसदमा प्रस्तुत गर्ने प्रस्तावका विरुद्ध शाहीले विरोधको सूचना दिएका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले उनलाई आफ्नो विरोधको सूचनाबारे बोल्न पाँच मिनेटको समय दिए । संसदको रोष्ट्रममा उभिएर शाहीले उक्त विधेयकको धज्जी उडाए ।

    शाहीको भनाइको सार यस्तो थियो :

    देशमा न्यायको शासन कायम गर्ने कि अराजकता र दण्डहीनता सिर्जना गर्ने भन्ने महत्वपूर्ण प्रश्न छ । (यस विधेयकका) कतिपय विषयवस्तु ठीक भए पनि यसले पीडकलाई उन्मुक्ति दिने तथा पीडितलाई मिलापत्रका बहानामा अलपत्र पार्ने बाटो लिएको छ, जुन आपत्तिजनक हो । फौजदारी अपराधमा मिलापत्र गर्न मिल्दैन भन्ने विधिशास्त्रको सिद्धान्तविपरीत यस्तो विधेयक ल्याउन पाइँदैन ।

    मानवअधिकार उल्लंघनका गम्भीर प्रकृतिका घटनामा महान्यायाधिवक्तालाई कम सजाय माग गर्न सक्ने असीमित अधिकार विधेयकमा प्रदान गरिएको छ । यो प्राकृतिक न्यायको सिद्धान्तविपरीत हो । महान्यायधिवक्ता प्रधानमन्त्रीले नियुक्ति गर्ने प्रावधान छ । अहिलेका प्रधानमन्त्रीविरुद्ध पनि सर्वोच्चमा फौजदारी कसुरको मुद्दा विचाराधीन छ । प्रधानमन्त्रीले महान्यायाधिवक्ता नियुक्त गर्ने अनि उसले कम सजायको माग गर्दै दोषीहरूलाई उन्मुक्ति दिने प्रावधानले न्याय र विधिको शासनमाथि धब्बा लाग्छ । विधेयकमा उल्लेखित प्रावधानले फौजदारी अभियोगमा मुद्दा दर्ता गर्न खोजिएका प्रधानमन्त्रीलगायतलाई उन्मुक्ति दिने चेष्टा गरेको छ । यो विधेयक फिर्ता हुनुपर्छ ।

    २०७१ साल फागुन १४ गते सर्वोच्च अदालत विद्रोही पक्षबाट अमानवीयरूपमा हत्या गरिएका शिक्षक मुक्तिनाथ अधिकारीको घटनामा सर्वोच्चले मानवअधिकारको गम्भीर उल्लंघनलाई क्षमा दिन सकिँदैन भनेर फैसला सुनाएको थियो । त्यसको अर्थ हो, फौजदारी कसुरको मुद्दामा मेलमिलाप हुँदैन । विधेयकमा राखिएको क्षमायाचनाको विषयमा सर्वोच्चको उक्त फैसलाविपरीत छ ।

    म संविधान देखाउन चाहन्छु । यो संविधानको कुन धारा, कुन उपधारामा लेखिएको छ कि फौजदारी कसुरलाई पनि मेलमिलापबाट क्षमादान गर्न सकिन्छ भनेर ? यो विधेयक संविधानको मर्मभन्दा विपरीत पनि छ ।

    हिजो स्कुल पढ्दै गरेका, पढाउँदै गरेका, खेतमा हलो जोत्दै गरेका निहत्था व्यक्तिलाई जघन्य हत्या गरियो । युद्धमा संलग्न भएको कारणले होइन, सरकार पक्षमा लागेको कारण होइन, कांग्रेस वा अन्य कुनै दलको विचार बोकेकै आधारमा नागरिकको हत्या गरिन्थ्यो । अनि यस्ता मृतकको पार्थीव शरीरमा कांग्रेस र एमालेको झण्डा ओढाइन्थ्यो र वाचा गर्दै भनिन्थ्यो कि हामी तपाईंलाई न्याय दिलाएर छोड्नेछौं । आज म कांग्रेस र एमालेका माननीयज्यूहरूलाई भन्न चाहन्छु, अब तपाईंले गरेका वाचा फुकाउने दिन आयो । मलाई आशा छ, कांग्रेसका माननीयज्यूले कार्यकर्तासँग गरेको वाचा सत्तासँग साट्ने छैनन् ।

    यसरी हत्या-हिंसा गर्दै उन्मुक्ति दिँदै जाने हो भने यस्तो अवस्था र प्रथा सिर्जना हुन्छ कि भोलि कुनै पनि व्यक्तिले सडकमा उभिएको व्यक्तिको हत्या गर्ने छ र त्यसलाई राजनीतिक रंग दिएर उन्मुक्ति पाउनेछ ।

    यति बोलेर शाही आफ्नो आसनमा फर्किए । त्यसपछि सभामुखले उनलाई आफ्नो विरोधको सूचना फिर्ता लिनका लागि समय दिए । तर, शाहीले फिर्ता लिन चाहेनन् । उनले आफ्नो विरोधमा अडिग रहँदै कुर्सीबाटै केही कुराहरू थपे ।

    विधयेकलाई उद्धृत गर्दै उनले भने, ‘प्रचलित कानूनमा जुनसुकै कुरा लेखेको भए पनि मानव अधिकारको गम्भीर उल्लंघनमा संलग्न व्यक्तिलाई विशेष अदालतले त्यस्तो घटना हुँदाको प्रकृति, कारण, संक्रमणकालीन न्यायसम्बन्धी सिद्धान्तलाई ध्यान दिएर कानूनबमोजिम सजाय घटाउने’ भनिएको छ । यस्ता फौजदारी घटनामा सजाय घटाउन पाइँदैन । संसारका कुनै पनि देशमा फौजदारी कसुरमा माफी हुँदैन, सजाय हुन्छ ।’

    शाहीले यस्तो भनिरहँदा माओवादीका केही संसदहरूले विरोध जनाएका थिए । केहीले टेबुल ठटाए भने केही कुर्सीबाट उठे । तर, शाहीले आफ्नो प्रस्ताव फिर्ता लिन चाहेनन् ।

    शाहीले संसदमा गरेको भाषण टिकटक र फेसबुकमा भाइरल बनिरहेको छ । धेरैले उनलाई समर्थन गरेका छन् । तर, माओवादी पंति भने शाहीविरुद्ध खनिएको छ ।

    वाईसीएलका अध्यक्ष सुवोधराज शेर्पालीले संसदमा ज्ञानेन्द्र शाहीले छनोट गरेका शब्द र अभिव्यक्तिले द्वन्द्वलाई न्यूनीकरण नभएर थप विवादास्पद बनाउने उल्लेख गरेका छन् ।

    ‘माननीयजस्तो व्यक्तिको यस्तो लज्जापूर्ण अभिव्यक्तिीको जति निन्दा गरे पनि अपुग हुन्छ । गणतन्त्रको तलब भत्ता खाएर र्‍याल चुहाउँदै आफ्नो जिम्मेवारी र हैसियतभन्दा बाहिर बोल्न तिमीलाई लाज लाग्दैन ?’ शेर्पालीको प्रश्न छ ।

    उनी थप्छन्, ‘गणतन्त्र नचाहिने, गणतन्त्रका पिता नचाहिने, तर युद्ध र आन्दोलनबाट स्थापित यही संविधानअनुसार माननीय बन्न चाहीँ कुनै अप्ठेरो नहुने ?’

    सीमा नाघेर बोले समयअनुसारको जवाफ मिल्ने चेतावनी पनि शेर्पालीले दिएका छन् ।

    यसैगरी माओवादी केन्द्रीय सदस्य तथा वाईसीएल इन्चार्ज रामप्रसाद सापकोटा (दीपशिखा) ले पनि शाहीविरुद्ध आक्रोश पोखेका छन् ।

    उनले फेसबुकमा लेखेका छन्, ‘सदनमा प्रधानमन्त्रीका अघि तिमी अन्टसन्ट चिच्याइरहेका छौं नि यो तिमीले भगवान् मानेका राजाले दिएको अधिकार होइन, छातीमा गोली थापेर लडी ल्याएको अधिकार हो । जो तिमीले पनि उपभोग गरिरहेका छौं । तिम्रा राजाले त बोलेवापत गोली ठोक्थे ।

    हामीले लडी ल्याएको गणतन्त्रमा सबै निर्धक्क बोल्न पाउँछन्, राजनीतिमा प्रतिस्पर्धा गर्न पाउँछन् ! यसका लागी रत्तिभर योगदान नभएका तिमीहरूले इमान छ भने लाज मानि-मानि बोल्नुपर्छ ।

    कुन मानवाधिकारको कुरा गरेको ? नमिता, सुमिता कि वीरेन्द्रको वंशनाशको ? कि मैना सुनुवारको ? हुती छ नमिता, सुमिताको मानवाधिकारबारे बोल्ने ?

    यसर्थ प्रत्येक बिहान उठेर गणतन्त्रका लागी लड्नेहरूलाई सम्झ मनदेखि किनभने यो बोल्ने अधिकार प्राप्तीका लागी छातीमा गोली खाएका हजारौं योद्दाको सम्मान गर्दा मात्रै तिम्रा सन्तानहरूले तिमीप्रति गर्व गर्छन् ।

    राप्रपाले भने शाहीको अभिव्यक्ति पार्टीको आधिकारिक धारणा भएको बताएको छ । पार्टीका प्रवक्ता मोहन श्रेष्ठले शाहीको अभिव्यक्तिप्रति वाईसीएल अध्यक्षले गरेको टिप्पणी उच्छृंखल, अराजनीतिक र अशोभनीय भएको प्रतिक्रिया दिएका छन् ।

    ‘प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले अभिव्यक्त गर्नुभएको धारणा पार्टीको धारणा हो । राजनीतिक ढंगबाट उठाइएको राजनीतिक विषयलाई राप्रपाले अपनत्व लिन्छ र यसका विपरित हुने हर्कतहरूको प्रतिवाद गरिन्छ ।’ उनले लेखेका छन् ।

  • अयोग्य लडाकुलाई राहत अकुत रकम जम्मा पार्ने माओवादीको नियत : राप्रपा प्रवक्ता श्रेष्ठ

    अयोग्य लडाकुलाई राहत अकुत रकम जम्मा पार्ने माओवादीको नियत : राप्रपा प्रवक्ता श्रेष्ठ

    काठमाडौं । अयोग्य लडाकुलाई राहत उपलब्ध गराउने सरकारको पछिल्लो निर्णयप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीले आपत्ति जनाएको छ ।

    राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठले राज्यकोषमा सञ्चित रकमको अभाव भइरहेको बेला गरिएको यो निर्णयले अर्थतन्त्रमा दुरगामी असर पर्ने भन्दै आलोचना गरेका छन् ।

    मन्त्रिपरिषद बैठकले यही सोमबार अयोग्य लडाकुलाई जनही २ लाख राहत दिन कार्यविधि बनाउने निर्णय गरेको थियो ।

    प्रवक्ता श्रेष्ठले लडाकुहरूलाई विगतमा गरिएको अर्बौं भत्ता दुरुपयोग र पारदर्शी नभएको भन्दै माओवादी नेतामाथि प्रश्न उठिरहेको बेला पुरानो हिसाब नदेखाई फेरि ठूलो रकम वितरणले आर्थिक अराजकताको पराकाष्ठा भएको सामाजिक सञ्जालमा लेखेका छन् ।

    अयोग्य भनिएका लडाकुको अभिलेखबारे प्रश्न उठाउँदै श्रेष्ठले लेखेका छन्, ‘प्रधानमन्त्री स्वयंले गृह र अर्थ मन्त्रालय सम्हालेको, सरकारमा एकजना बाहेक माओवादीका मात्रै मन्त्री रहेको, राप्रपाको फरक मतका बाबजुद संक्रमणकालीन न्याय सम्बन्धी विधेयक संसदमा पेश गरेको सरकारले राज्यकोषमा सञ्चित रकमको डरलाग्दो ढंगबाट अभाव हुँदै गएको समयमा गरिएको यो निर्णयबाट अर्थतन्त्रमा दूरगामी असर पर्ने निश्चित छ ।’

    उनले थपे, ‘अयोग्य भनिएका लडाकु को, कहाँ र कुन अवस्थामा छन् भन्ने एकिन हुनसक्ने अवस्था छैन र यसको अभिलेख पनि छैन । यो फेरि पनि कुनै पार्टी विशेषले अकुत रकम जम्मा पार्ने र हिसाब नदेखाउने विगतको अभ्यासकै निरन्तरताको दोस्रो भाग हुनेछ ।’

  • टीआरसी विधेयकबारे प्रतिनिधिसभामा गरमागरम, सांसदहरू आरोप-प्रत्यारोपमा (भिडिओ)

    टीआरसी विधेयकबारे प्रतिनिधिसभामा गरमागरम, सांसदहरू आरोप-प्रत्यारोपमा (भिडिओ)

    काठमाडौं । प्रतिनिधिसभाको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयकबारे चर्चाचर्की परेको छ ।

    विधेयकको विपक्षमा राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले विरोधको सूचना पेश गरे । तर, त्यो बहुमतले अस्वीकृत गर्‍यो । उनले फौजदारीसम्बन्धी अपराधको सजाय घटाउन नपाउने भन्दै आपत्ति जनाए ।

    विधेयकबारे उनले भने, ‘संक्रमणकालीन न्यायको विषयलाई ध्यान दिई कानूनबमोजिम सजाय घटाउने भनिएको छ । यस्ता फौजदारी कसुरको घटनामा सजाय घटाउन पाइँदैन । यो प्राकृत्तिक न्यायको सिद्धान्तको विरुद्धमा छु । यसरी अपराध गर्न पाइँदैन ।’

    उनले विधेयकको विरोध गरेपछि माओवादीका सांसद माधव सापकोटा ‘सुवोध’ लगायतले आपत्ति जनाए । सांसद सापकोटा शाहीको अभिव्यक्तिको जवाफ दिन बोल्न खोजेपछि सभामुख देवराज घिमिरेले छलफल पछि गर्न पाइन्छ भनेर रोकेका छन् । तर, शाहि रोकिँदैन । उनलाई सभामुख घिमिरेले पनि छलफलपछि हुन्छ भन्दै रोक्न खोज्दै अटेर गर्छन् ।

    उनी भन्छन्, ‘संसदको कुनै देशमा छैन फौजदारी कसुरमा माफी हुँदैन । सजाय हुन्छ ।’ शाहीको अभिव्यक्तिप्रति माओवादीको केही सांदहरूले आपत्ति जनाएर उठेपछि सभामुखले बस्न आग्रह गर्छन् ।

  • राप्रपा संसदीय दलको उपनेतामा बुद्धिमान तामाङ (भिडिओ)

    राप्रपा संसदीय दलको उपनेतामा बुद्धिमान तामाङ (भिडिओ)

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले संसदीय दलको उपनेतामा बुद्धिमान तामाङलाई चयन गरेको छ ।आज बसेको दलको बैठकले तामाङलाई दलको उपनेता चयन गरेको प्रवक्ता ज्ञानेन्द्र शाहीले बताए ।

    यस्तै राप्रपाले संसदीय दलको विधान पूरा गरेको उनले बताए । बैठकमा लघुवित्त, सहकारी, विदेशमा अलपत्र परेका नागरिक, कृषि मलमा अनुदान घटाएको लगायतका विषयमा छलफल भएको उनले बताए ।

    सरकारले संसदमा लैजाने तयारी गरेको सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएको व्यक्तिको छानबिन सम्बन्धि विधेयक संशोधन गर्ने तयारी प्रति आपत्ति जनाएको छ ।

    उनले राप्रपा अहिलेको विधेयकको विपक्षमा रहेको उनले बताए ।

  • राप्रपा उपराष्ट्रपति चुनावमा पनि तटस्थ बस्ने

    राप्रपा उपराष्ट्रपति चुनावमा पनि तटस्थ बस्ने

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी उपराष्ट्रपति चुनावमा पनि तटस्थ बस्ने भएको छ । धुम्वाराहीस्थित केन्द्रीय कार्यालयमा बसेको कार्यसम्पादन बैठकले उपराष्ट्रपति निर्वाचनको मतदानमा कसैलाई पनि मत नदिने निर्णय गरेको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

    फागुन २५ मा सम्पन्न राष्ट्रपति चुनावमा पनि राप्रपा मतदान प्रक्रियामा सहभागी भएको थिएन ।

    किसानले रासायनिक मलमा पाउँदै आएको अनुदान घटाउने र मूल्यवृद्धि गर्ने निर्णय अदूरदर्शी, अमानवीय र अनुचित भएको पनि राप्रपाको ठहर छ ।

    यो निर्णय तत्काल फिर्ता लिन, सुलभ ढंगले समयमै मल आपूर्तिको व्यवस्था मिलाउन र मल आपूर्ति समस्याको दीर्घकालीन समाधानका लागि देशभित्रै मल कारखाना स्थापनाको प्रक्रिया प्रारम्भ गर्न बैठकले सरकारको ध्यानाकर्षण गराएको छ ।

    राप्रपाले रासायनिक मल सम्बन्धमा पार्टीको ७७ वटै जिल्ला समितिले एक हप्ता भित्र प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई ज्ञापनपत्र बुझाउने, धर्ना दिने र सभा गर्ने निर्णय पनि गरेको छ ।

  • कमल थापाको पार्टीका केन्द्रीय प्रवक्ता आचार्य राप्रपामा प्रवेश

    कमल थापाको पार्टीका केन्द्रीय प्रवक्ता आचार्य राप्रपामा प्रवेश

    काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपालका केन्द्रीय प्रवक्ता सुरेश आचार्य राप्रपामा प्रवेश गरेका छन् ।

    उनलाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी कार्यालयमा आयोजित समारोहमा आचार्य, विश्व ह्विलचेयर यात्री सन्देश रम्तेल लगायतका ४२ जनालाई राप्रपामा स्वागत गरे ।

    आचार्य राप्रपा नेपालमा प्रवक्ता, कार्यसम्पादन समिति सदस्य र प्रचार प्रसार विभाग प्रमुखको जिम्मेवारीमा थिए । उनले राजनीति, सामाजिक लगायतका विभिन्न विषयमा पुस्तक प्रकाशन गरेका छन् ।

  • राष्ट्रपतिको दुवै उम्मेदवार राजनीतिमा सक्रिय छन्, निष्पक्षताको परिकल्पना गर्न सकेनौँ : राजेन्द्र लिङ्देन (भिडिओ)

    राष्ट्रपतिको दुवै उम्मेदवार राजनीतिमा सक्रिय छन्, निष्पक्षताको परिकल्पना गर्न सकेनौँ : राजेन्द्र लिङ्देन (भिडिओ)

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राष्ट्रपतिको दुवै उम्मेदवारबाट निष्पक्षताको परिकल्पना गर्न नसकेको कारणले तटस्थ बस्ने निर्णय गरेको बताएका छन् ।

    पार्टी कार्यालय धुम्वाराहीमा बसको कार्यसम्पादन समितिको बैठकपछि सर्वसम्मत रुपमा मतदानमा सहभागी नहुने निर्णय गरेको बताए ।

    उनले भने, ‘सैद्धान्तिक रुपमा राष्ट्रपति भन्ने संस्थासँग हाम्रो फरक मत छ । त्यो आफ्नो ठाउँमा छ । तर, त्यो भन्दापनि राष्ट्रपतिलाई संविधानले संवैधानिक, सेरोमोनियल, अभिभावकीय, निष्पक्ष संस्थाको परिकल्पना गरेको छ ।’

    अहिले उम्मेदवार बनेका दुवैजना सक्रिय राजनीतिमा रहेको उनको भनाइ छ ।

    ‘उहाँहरु हालै मात्रै प्रतिनिधि सभामा फरक फरक राजनीतिक दलबाट निर्वाचित हुनुभएको छ। उहाँहरुबाट अभिभाविकय भूमिका र निष्पक्षता हामीले परिकल्पना गर्न सक्दैनौँ। त्यसैले यो निर्वाचनमा तटस्थ बस्न उचित हुन्छ भन्ने निष्कर्ष निकालेका हौं’ अध्यक्ष लिङ्देनले भने ।

    दुई राष्ट्रपतिको कार्यकाल विवादित रहेकाले अहिलेको उम्मेदवाबाट पनि त्यही निरन्तरता हुने बुझेको बताए ।

  • राष्ट्रपति चुनावमा तटस्थ बस्नुपर्ने मत राप्रपामा बलियो, बैठक लम्बियो

    राष्ट्रपति चुनावमा तटस्थ बस्नुपर्ने मत राप्रपामा बलियो, बैठक लम्बियो

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को कार्यसम्पादन समितिको दिउँसो २ बजेदेखि जारी बैठक लम्बिएको छ । राष्ट्रपतिमा भोट हाल्ने वा नहाल्ने भन्ने विषयमा मतभेद हुँदा बैठक लम्बिएको हो ।

    जारी बैठकमा अहिले २१ जनाले धारणा राखिसकेका छन् । राजसंस्थाको पक्षमा वकालत गर्ने पार्टी भएकाले अधिकांशले तटस्थ बस्न सुझाव दिएका छन् ।

    राष्ट्रपतिमा नौ दलीय गठबन्धनबाट रामचन्द्र पौडेल र एमालेबाट सुवास नेम्वाङ प्रतिस्पर्धामा छन् । दुवैले यसअघि नै भेटेर भोट मागिसकेका छन् ।

  • बैठकमा रवीन्द्र मिश्रले भने- हाम्रो पार्टीको केन्द्रमा राजसंस्था छ, राष्ट्रपति होइन

    बैठकमा रवीन्द्र मिश्रले भने- हाम्रो पार्टीको केन्द्रमा राजसंस्था छ, राष्ट्रपति होइन

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले राष्ट्रपतिका दुवै उम्मेदवार देशका लागि याेग्य नभएको बताएका छन् ।

    राष्ट्रपतिबारे निर्णय लिन जारी कार्यसम्पादन समितिको बैठकमा राष्ट्रपतिमा भोट हाल्न नहुने पक्षमा उभिएका हुन् ।
    बैठकमा मिश्रको भनाइलाई उधृत गर्दै एक नेताले भने, ‘अहिले यी दुवै उम्मेदवार देशको लागि याेग्य उम्मेदवार होइनन्, रिजेक्ट गर्नुपर्छ । हाम्रो पार्टीको केन्द्रमा राजसंस्था छ ।’

    उनले राप्रपा सरकारमा गएकोप्रति पनि असन्तुष्टि पोखेका छन् ।

     

  • राष्ट्रपतिमा भोट हाल्ने/नहाल्ने विषयमा राप्रपामा मतभेद

    राष्ट्रपतिमा भोट हाल्ने/नहाल्ने विषयमा राप्रपामा मतभेद

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा राष्ट्रपतिमा भोट हाल्ने वा नहाल्ने भन्ने विषयमा मतभेद देखिएको छ । पार्टी कार्यालय धुम्बाराहीमा जारी कार्यसम्पादन समितिको बैठकमा राष्ट्रपतिको विषयमा मतभेद भएको हो।

    बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनसहित केही नेताहरू मतदान गर्नुपर्ने भन्ने पक्षमा देखिएका छन्। भने महामन्त्री डा. धवलशम्शेर राणालगायत तटस्थ बस्नुपर्ने अडानमा छन्।

    तर, प्रवक्ता मोहन श्रेष्ठले छलफल जारी रहेकाले पार्टी र कार्यकर्ताको चाहनाअनुसार पार्टीले निर्णय लिने बताए।

    उनले भने, ‘संविधान र संवैधानिक व्यवस्थासँग सहकार्य गर्ने नीति लिएकै कारण निर्वाचनमा सहभागी भएका छौँ । सरकारमा सहभागी भएका छौँ । राष्ट्रपतिबाट शपथ ग्रहण गरेका छौँ। राजा मान्ने पार्टी, राष्ट्रपति निर्वाचनमा भोट हाल्ने ? भन्न मिल्दैन ।’

    अध्यक्ष लिङ्देनसहित अधिकांश नेता भोट हाल्ने पक्षमा भएकाले बैठकले त्यही अनुसारको निर्णय गर्न सक्ने संकेत पनि गरे।

    राष्ट्रपतिमा नौ दलीय गठबन्धनबाट रामचन्द्र पौडेल र एमालेबाट सुवास नेम्वाङ प्रतिस्पर्धामा छन्। दुवैले यसअघि नै भेटेर भोट मागिसकेका छन्।

  • राष्ट्रपतिबारे निर्णय लिन राप्रपा कार्यसम्पादन समिति बैठक धुम्बाराहीमा

    राष्ट्रपतिबारे निर्णय लिन राप्रपा कार्यसम्पादन समिति बैठक धुम्बाराहीमा

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ। राष्ट्रपति निर्वाचनका बारेमा कसलाई समर्थन गर्ने भन्ने विषयमा निर्णय लिन पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बैठक बसेको हो।

    बैठकमा छलफलमा राष्ट्रपति निर्वाचनबारे छलफल भइरहेको प्रवक्ता मोहन श्रेष्ठले बताए। उनका अनुसार समसामयिक राजनीतिक विषय पनि बैठकका एजेन्डा छन् ।

    पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएको राप्रपाले राष्ट्रपतिमा कसलाई मत दिने भन्ने निर्णय गरिसकेको छैन ।

    यसअघि नौ दलीय गठबन्धनका रामचन्द्र पौडेल र एमालेका सुवास नेम्वाङले छुट्टाछुट्टै भेटेर लिङदेनसँग भोट मागिसकेका छन् ।

  • राप्रपा प्रवक्ताको प्रश्न- चुनावबाट स्थापित पाँचौ शक्तिलाई किन निशाना बनाइँदैछ ?

    राप्रपा प्रवक्ताको प्रश्न- चुनावबाट स्थापित पाँचौ शक्तिलाई किन निशाना बनाइँदैछ ?

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले चुनावमार्फत् स्थापित भएको शक्तिलाई निशाना बनाइएको भन्दै टिप्पणी गरेका छन् ।

    फेसबुकमा लामो स्टाटस लेख्दै उनले राप्रपाको जस्तै विचार बोक्नेहरू सधैँ प्रतिपक्षीजस्ता देखिएको उल्लेख गरेका छन् ।

    ‘एकाथरि मान्छेहरू राप्रपाको जस्तै विचार बोक्छन्, बोल्छन् तर राप्रपाका लागि सधैँको प्रतिपक्षी जस्ता देखिन्छन् । संगठित रूपमा राप्रपालाई अर्ती उपदेश दिन्छन्, भए नभएको प्रचार, दुष्प्रचार गर्छन्, आवश्यक परे तल्लो स्तरको टिप्पणी पनि गर्छन्, चुनावको बेला तिनले राप्रपालाई होइन कांग्रेस कम्युनिस्टलाई भोट दिन्छन् भन्ने हाम्रो आरोप छ ‘, श्रेष्ठले लेखेका छन् ।

    उनले रवीन्द्र मिश्रको हारमा राजावादी भनिनेहरू नै कारक रहेको पनि बताएका छन् ।

    श्रेष्ठले लेखेका छन्, ‘एकाध राजावादी छन् तिनले आफैं उम्मेदवार बनेर राप्रपाका उमेदवारलाई हराइदिए । रवीन्द्र मिश्रको हारमा राजावादी भनिनेहरू नै हारको कारण बन्न पुगेका होइनन् र ? हामीलाई जान्न मन छ, हिन्दूराष्ट्र र राजसंस्थाको मुद्दा लिएर राजनीतिक समूह बनाएका, आफ्नै उम्मेदवार खडा नगरेका १०० भन्दा बढी दल र समूहले गएको निर्वाचनमा कहाँ भोट हाले ?’

    आफूहरूको साझा लक्ष्य राजसंस्था, हिन्दूराष्ट्रको पक्षमा र संघीयताको विपक्षमा जनमत बटुल्ने हुनुपर्ने भन्दै आफूलाई राम्रो बनाउने र आफ्नो अभियान सञ्चालन गर्ने क्रममा अर्कोलाई दोषी देखाउने प्रवृत्ति राष्ट्रवादी आन्दोलनको सबैभन्दा कमजोर पक्ष भएको श्रेष्ठको भनाई छ ।

    ‘निशाना बनाउनुपर्नेहरू अरु नै छन् तर लामो इतिहास भएको, समान विचार बोकेको, यही एजेन्डा लिएर निर्वाचनमार्फत वैधानिक रुपमा स्थापित भएको, संसदको पाँचौ र यो एजेन्डाको प्रमुख शक्ति राप्रपालाई किन निशाना बनाइँदैछ ?’, उनको प्रश्न छ ।

    राजनीतिक दलमा आफ्नै सीमा र मर्यादा हुने भन्दै उनले ३३ वर्षे इतिहास भएको पार्टीमा ३३ दिनमा नेता हुने रहर गर्नेहरूको कुरा सुनेर आफूलाई बदल्ने भूल नगर्न आग्रहसमेत गरेका छन् ।

  • राष्ट्रपतिमा राप्रपाको साथ कसलाई ? कार्यसम्पादन समिति बैठक आज

    राष्ट्रपतिमा राप्रपाको साथ कसलाई ? कार्यसम्पादन समिति बैठक आज

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ ।

    राष्ट्रपति निर्वाचनका बारेमा कस्लाई मत दिने भन्नेलगायतका विषयमा निर्णय गर्नका लागि बैठक बोलाइएको हो । बैठक केन्द्रीय कार्यालय धुम्बाराहीमा १ बजे बस्नेछ ।

    ‘राष्ट्रपतिको निर्वाचनका बारेमा पनि बैठकमा छलफल हुनेछ,’ प्रवक्ता मोहन श्रेष्ठले भने । उनका अनुसार समसमायिक राजनीतिक विषय पनि बैठकका एजेण्डा छन् ।

    पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएको राप्रपाले राष्ट्रपतिमा कसलाई मत दिने भन्ने निर्णय गरिसकेको छैन ।

    यसअघि ९ दलीय गठबन्धनका रामचन्द्र पौडेल र एमालेका सुवास नेम्वाङलले छुट्टाछुट्टै भेटेर लिङदेनसँग भोट मागिसकेका छन् ।

  • राप्रपा प्रवक्ता शाही भन्छन्- सरकार र पार्टीले अदालतलाई धम्क्याउन बन्द गरुन्

    राप्रपा प्रवक्ता शाही भन्छन्- सरकार र पार्टीले अदालतलाई धम्क्याउन बन्द गरुन्

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्रबहादुर शाहीले अदालतलाई निष्पक्षरूपमा काम गर्न दिनुपर्नेमा जोड दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालमाथि दायर भएको मुद्दा र त्यसमा सरकार तथा पूर्वमाओवादी नेताहरूको प्रतिक्रियाका सन्दर्भमा उनले यस्तो टिप्पणी गरेका हुन् ।

    कानूनी प्रक्रियामा आएका मुद्दाहरू अदालतले दर्ता गर्नु उसको कर्तव्य हुने शाहीको भनाइ छ ।

    ‘पार्टीका नेता र सरकारले अदालतलाई धम्काउने काम कसरी विधिको शासन हुन सक्छ ? यस्ता अनैतिक क्रियाकलाप तत्काल बन्द गरियोस्,’ उनले फेसबुकमा लेखेका छन् ।

    विधिको शासन चाहिन्छ भनेर नै हिजो नेपाल आमाका सपुतहरूले अकालमै ज्यान गुमाएको उनको भनाइ छ । अदालतलाई धम्काउनु भनेको राष्ट्रको लागि बलिदान दिने शहीदहरूको अपमान गर्नु भएको उनले उल्लेख गरेका छन् ।

    ‘अदालतलाई धम्काउनेलाई अब जनताले र यो राष्ट्रले माफी दिन्छ जस्तो लाग्दैन, समय बलवान् हुन्छ सत्यको ढिलो हुन्छ तर विजय निश्चित छ,’ शाहीले लेखेका छन् ।

  • राष्ट्रपतिमा राप्रपाको समर्थन कसलाई ? निर्णय लिन बोलायो बैठक

    राष्ट्रपतिमा राप्रपाको समर्थन कसलाई ? निर्णय लिन बोलायो बैठक

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले कार्यसम्पादन समितिको बैठक बोलाइएको छ ।राष्ट्रपति निर्वाचनबारे निर्णय लिन बैठक बोलाएको हो।

    बैठक बुधवार दिउँसो १ बजे पार्टी कार्यालयमा बस्ने प्रवक्ता मोहन श्रेष्ठले बताए ।

    राष्ट्रपति निर्वाचन, विकसित राजनीतिक घटनाक्रम र समसामयिक राजनीतिक विषयमा बैठकमा छलफल हुने उनले बताए।

    बिहीबार हुने राष्ट्रपति निर्वाचनमा नौ दलीय गठबन्धनको तर्फबाट कांग्रेसका रामचन्द्र पौडेल र एमालेका सुवास नेम्वाङ प्रतिस्पर्धामा छन् । तर, राप्रपाले अहिलेसम्म कसलाई समर्थन गर्ने भन्ने निर्णय गरेको छैन ।

  • पूर्वकुमारी समिता राप्रपा प्रवेश, लिङदेनले गरे स्वागत

    पूर्वकुमारी समिता राप्रपा प्रवेश, लिङदेनले गरे स्वागत

    काठमाडौं । पूर्वकुमारी समिता बज्राचार्य राप्रपा प्रवेश गरेकी छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले समितालाई खादा र सदस्यता प्रदानसहित पार्टीमा स्वागत गरे ।

    समिता २०६७ देखि २०७१ सालसम्म जीवित देवी कुमारीको रूपमा पुजिएकी थिइन् ।

    ‘पूर्वकुमारीलाई राप्रपामा स्वागत गर्न पाउँदा हर्षित छौं’, लिङदेनले लेखेका छन् ।

  • राप्रपाद्वारा कर्णाली सरकारमाथिको समर्थन फिर्ता

    राप्रपाद्वारा कर्णाली सरकारमाथिको समर्थन फिर्ता

    सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पार्टीले कर्णाली सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

    बिहीबार राप्रपा कर्णाली प्रदेशसभा सदस्य सन्तोषी शाहीले मुख्यमन्त्री राजकुमार शर्मालाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएकी हुन् ।

    प्रदेशसभा सदस्य शाहीले प्रदेश प्रमुख तिलक परियारसामु माओवादीबाट मुख्यमन्त्री बनेका शर्मालाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएकी छन् ।

    केन्द्रमा भएको सत्ता समीकरणमा आएको फेरबदलका कारण प्रदेशमा पनि राप्रपाले समर्थन फिर्ता लिएको हो ।

  • लुम्बिनी प्रदेशसभामै राप्रपा सांसदले गरे प्रदेश खारेजको माग

    लुम्बिनी प्रदेशसभामै राप्रपा सांसदले गरे प्रदेश खारेजको माग

    रुपन्देही । लुम्बिनी प्रदेश सभाको छैठौं बैठकमा राप्रका सांसदले प्रदेश खारेको माग गरेका छन् ।

    वुधबारको बैठकमा विशेष समयको माग लिएर बोल्दै राप्रपाकी सांसद मिनाकुमारी श्रेष्ठ देश आर्थिक मन्दीको चपेटामा परेको भन्दै अब संघीयताको खारेजको विकल्प नभएको बताइन् ।

    उनले आर्थिक भारको चपेटाबाट देशलाई निकासको बाटोमा ल्याउन संघीयता नै खारेज गर्नुपर्ने बताइन् । ‘प्रदेश संरचनाले अबको खर्च धान्न सक्दैन, अब सबै मिलेर प्रदेश खारेज गर्ने अभियानमा लागौं, हाम्रो पार्टीले यही मागलाई लिएर अगाडि बढ्छ’, उनले भनिन् ।

    बैठकमा संघीयताप्रतिको वितृष्णा बढेको र संघीयता खारेज गर्नुपर्ने धारणासमेत सांसदले राखेका छन् । बैठकमा सांसदहरुले जनजीविकाका सवालबारे सभामा आफ्नो धारणा राखेका छन् ।

    सांसदहरुले स्वास्थ्य बीमाबापतको रकम अस्पताललाई प्रदान नभएको, किसानले समयमा मल नपाएको तथा अधुरा विकासे आयोजनाका कारण जनताले सास्ती पाएको बताएका थिए ।

    नेपाली कांग्रेसका सांसद विरबहादुर रानाले संघीयताका संरचनाभित्र धमिरा लाग्न थालेको र आमजनतामा संघीयताप्रति वितृष्णा जागेको बताए । उनले संघीयताको मर्म जनतालाई बुझाउनुपर्ने र त्यसका लागि प्रदेश सरकारले औचित्यपूर्ण कार्य गर्नुपर्ने बताए ।

    नेकपा एमालेका सांसद भोजप्रसाद श्रेष्ठले संसदका सबै बैठकमा मन्त्रालयका सचिवहरुलाई अनिवार्यरुपमा सहभागिता बनाउनुपर्ने प्रस्ताव राखेका छन् । पटक पटक सरकार गठनका लागि फेरिने गठबन्धनले विकासको गति अगाडि जान नसकेको बताउँदै उनले सरकारमा जाने र आफ्नो दायित्व पूरा नगर्ने जिम्मेवारीमा बस्न नहुने बताए ।

    राष्ट्रिय जनमोर्चाकी सांसद तारा थापाले स्थायी राजधानी देउखुरीका १४ वटा वडामा भएको जग्गा फुकुवाका लागि सरकारको ध्यानआर्कषण गराइन् । त्यस्तै उनले जग्गा रोक्का हुँदा स्थानीयको जनजीविका सञ्चालनमा कठिनाई भएको भन्दै जमिन फुकुवाको माग सरकारसंग गरिन् ।

    अर्का सांसद खेमबहादुर सारुले लुम्बिनी प्रदेशको गौरवको आयोजना रहेको रामपुर-कपुरकोट सडक अन्तर्गत पर्ने पाल्पाको आर्यभर्याजन-रामपुर सडक लामो समय देखि ममर्त नहुँदा जीर्ण भएको बताए ।

    साथै उनले उक्त आयोजनालाइ बहुवर्षीय योजनामा राख्न मागसमेत गरे । उनले पाल्पा नुवाकोटगढीमा रहेको सांस्कृतिक डवली सञ्चालनका लागि जिम्मेवारी प्रदान गर्न सरकारलाई आग्रह गरे ।

    सभामा सांसदहरु यमबहादुर नेपाली, अम्बिका काफ्ले, राजकुमार चौधरी, राजुप्रसाद श्रेष्ठ, भगवती अधिकारी, यमुना रोका तामाङलगायतले बोल्दै किसानको समस्यामा सरकार गम्भीर बन्नुपर्ने बताए । बुधबार एक बैठक बसेर अनिश्चितकालका लागि पुनः स्थगित भएको छ ।

  • केन्द्र सरकारबाट बाहिरिएसँगै कर्णालीमा समर्थन फिर्ता लिने राप्रपाको निर्णय

    केन्द्र सरकारबाट बाहिरिएसँगै कर्णालीमा समर्थन फिर्ता लिने राप्रपाको निर्णय

    सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पार्टीले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

    शनिबार बसेको केन्द्रीय कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले सरकारबाट बाहिरिने र समर्थन पनि फिर्ता लिने निर्णय गरेसँगै कर्णालीमा त्यसको प्रभाव परेको हो ।

    केन्द्रीय समिकरणमा आएको फेरबदलका कारण कर्णालीमा राप्रपाले समर्थन फिर्ता लिने निर्णय गरेको प्रदेश सभा सदस्य सन्तोषी शाहीले जानकारी दिएकी छन् ।

    उनले भनिन्, ‘केन्द्रका अनुसार यहाँ समर्थ फिर्ता लिएकै त भनौ । तर लिखित रुपमा फिर्ता लिएको छैन । केन्द्रमा सरकारबाट बाहिरिए सँगै कर्णाली प्रदेशमा हामी बाहिरिँदै छौं ।’

    उनले समर्थन फिर्ता लिन केही प्रोसेस गर्नुपरे त्यो गर्ने बताइन् । ‘केन्द्रको त्यही निर्णयलाई प्रदेशले मानेपछि ठीकै छ, नत्र भोलि नै प्रदेशसभामा गएर समर्थनका लागि बुझ्छु केहि लेखेर दिन परे दिन्छु’, उनले भनिन् ।

    तर राप्रपा केन्द्रमा बाहिरिएसँगै कर्णाली पनि बाहिरिएको भनेर भनिसकिएको शाहीको भनाइ छ ।