Category: राप्रपा

  • बाबुरामको नजरमा राजनीतिक दल- राप्रपाको चर्चा गर्न चाहेनन्, रास्वपा ‘राइट-अफ सेन्टर’

    बाबुरामको नजरमा राजनीतिक दल- राप्रपाको चर्चा गर्न चाहेनन्, रास्वपा ‘राइट-अफ सेन्टर’

    काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले देशको पुरानो पार्टी नेपाली कांग्रेस उदारवादी लोकतान्त्रिक धारका पार्टी भएको निष्कर्ष निकालेका छन्।

    पार्टीको केन्द्रीय समितिको बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमा कांग्रेसले आफूलाई प्रजातान्त्रिक समाजवादी’ भने पनि यसको मूल चरित्र पुँजीवादी उदारवादी लोकतान्त्रिक भएको बताए।

    उनले अन्तर्राष्ट्रिय साम्यवादी आन्दोलनकै कडीका रूपमा २००६ सालमा स्थापना भएको नेपाल कम्युनिस्ट पार्टी’का विभिन्न चिराहरू विभाजित भएको उल्लेख गरेका छन्।

    प्रतिवेदनमा भनिएको छ, ‘एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, मसाल, नेमकिपा, वैद्य समूह, विप्लव समूह आदि उल्लेखनीय छन्। विचार र व्यवहारमा केही अन्तर भए पनि सबैले मार्क्सवाद–लेनिनवाद’ र केहीले माओवाद/विचार’लाई आफ्नो मार्ग निर्देशक सिद्धान्त, जनवादी केन्द्रीयता’लाई संगठनात्मक सिद्धान्त र जनवाद’बाट वैज्ञानिक समाजवाद’ हुँदै साम्यवाद’सम्म पुग्ने आफ्नो राजनीतिक अभीष्ट मान्दछन्।’

    भनाइ र गराइ तथा बाटो र लक्ष्यको अन्तर्विरोधले भएका लामो समयसम्म टिक्न नसकेको उनको बुझाइ छ। बेलैमा नयाँ प्रगतिशील, लोकतान्त्रिक, समाजवादी शक्तिमा रूपान्तरित भएर बृहत् ध्रुवीकरण नगर्ने हो भने अहिलेकै साम्यवादी’रूपमा लामो समय अघि बढ्न कठिन रहेको उल्लेख गरेका छन्।

    उनले राजतन्त्र र हिन्दूराज्यको पुनर्स्थापनालाई मुख्य मुद्दा बनाउने राप्रपा पुनरुत्थानवादी धारको भएकाले चर्चा गर्न आवश्यक नभएको उनको भनाइ छ।

    मधेसी, आदिवासी जनजाति, थारू आदि हिजोदेखि वञ्चितीकरणमा परेका जातिरक्षेत्रको पहिचान र अधिकारको मुद्दा केन्द्रित राजनीति गर्ने मधेशकेन्द्रित दल पनि लामो समय नटिक्न दाबी गरेका छन्।

    २०७९ को प्रतिनिधिसभा निर्वाचनको पूर्वसन्ध्यामा गठित राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलो निर्वाचनमै राष्ट्रिय पार्टी र चौथो ठूलो पार्टीको हैसियत प्राप्त गरेपनि संवैधानिक समाजवाद, योग्यता र कर्मशीलता, भ्रष्टाचारमा शून्य सहनशीलता, प्रत्यक्ष लोकतन्त्र आदि विषयलाई आफ्नो दर्शन र प्रतिबद्धता’ बनाएको उल्लेख गर्दै पार्टीको वैचारिक धार अझै प्रस्ट नभएको बताएका छन्। अनौपचारिक कुराकानीमा ‘राइट–अफ सेन्टर’ ९मध्य दक्षिण० धारको भन्ने गरेको दाबी गरे।

  • मोबाइलमा ‘रिङ ब्याकटोन’ बजाउँदैमा छुवाछुत अन्त्य हुँदैन : अनिशा नेपाली (भिडिओ)

    मोबाइलमा ‘रिङ ब्याकटोन’ बजाउँदैमा छुवाछुत अन्त्य हुँदैन : अनिशा नेपाली (भिडिओ)

    काठमाडौं । राप्रपाकी सांसद अनिशा नेपालीले जातीय छुवाछुत अन्त्य गर्न सदनबाट ठोस निर्णय गर्न माग गरेकी छन् । प्रतिनिधिसभाको बुधबार बसेको बैठकको शून्य समयमा उनले दलित समुदायका हक र अधिकार संविधानको धारा र नारामै सीमित भएको गुनासो गरिन् ।

    शून्य समयमा बोल्दै उनले भनिन्, ‘सम्माननीय सभामुख महोदय, भर्खरै जेठ २१ गते जातीय छुवाछुत तथा उन्मुलन दिवस मोबाइलमा ‘रिङ व्याकटोन’ बजाइयो । भन्दा जातीय छुवाछुत सामाजिकरूपमा निन्दनीय र कानूनीरूपमा दण्डनीय छ भनेर भनिन्छ । तर, दलित समुदायका हक र अधिकार संविधानको धारा र नारामै सीमित छन् । अहिलेसम्म समाजमा जातीय विभेदको अन्त्य भएको छैन । संविधानको धारा २४ र ४० को उपधारा १ देखि ६ र धारा ४२ सम्म दलित हक भनेर मौलिक हक भनेर उल्लेख भए पनि जातकै कारण धेरैले ज्यान गुमाउनुपरेको छ । ऐन अनुमोदन भएपछि छुवाछुतविरुद्धको कानून बलियो हुन सकेको छैन । र, दलित समुदायले छुवाछुतको युगिन दासत्व र अन्यायको चपेटामा बाँचिरहनुपरेको छ । त्यसैले जातीय छुवाछुत अन्त्य गर्न अहिलेकै सदनबाट ठोस निर्णय गर्नका लागि अनुरोध गर्न चाहान्छु ।’

  • करका दर हेरफेरमा सरकारले टार्न खोज्यो, संसदीय छानबिन समिति बनाइयोस् : राजेन्द्र लिङदेन (भिडिओ)

    करका दर हेरफेरमा सरकारले टार्न खोज्यो, संसदीय छानबिन समिति बनाइयोस् : राजेन्द्र लिङदेन (भिडिओ)

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले करका दर फेरफेर प्रकरणमा सरकारले गतसाल झैं टार्न खोजेको आरोप लगाएका छन् ।

    प्रतिनिधिसभाको बैठकअघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, ‘गतवर्ष अनधिकृत मानिसलाई बजेट निर्माण प्रक्रियामा सामेल गराइयो भन्ने कुरा उठ्यो तर, निष्कर्षमा पुग्न सकेन । यो वर्ष पनि बजेटको अघिल्लो दिन ठूलो संख्यामा गाडीहरू भित्रिएका छन् र भोलिपल्ट बजेट आउँदा करका दरमा हेरफेर भएको छ । यो शंकास्पद अवस्थामा बजेट निर्माण प्रक्रियामा सेवा निवृत्त मान्छेलाई सामेल गरिएको भन्ने कुरा आएको छ । र, सरकारले त्यो होइन । करारमा राखिएको थियो । सधैँ राख्ने गरिएको थियो भनेर टार्ने कोसिस गरिरहेको छ ।’

    उनले संसदीय छानबिन समिति गठन गरेर टुंगोमा पुर्‍याउन माग गरे ।

  • करका दर हेरफेर प्रकरण- विपक्षीको एकस्वर, संसद् बैठक प्रभावित

    करका दर हेरफेर प्रकरण- विपक्षीको एकस्वर, संसद् बैठक प्रभावित

    काठमाडौं । बजेट निर्माणमा करको दर हेरफेरमा अनधिकृत व्यक्तिको संलग्नता भएको आरोप लागेपछि संसद् बैठक प्रभावित भएको छ।

    प्रतिपक्ष नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले आजको बैठकमा पनि विरोध गर्ने जनाएपछि बैठक बस्न ढिलाइ भएको हो। ११ बजेका लागि बोलाइएको बैठक अहिलेसम्म बस्न सकेको छैन।

    परामर्श समितिको बैठकमा करको दरको विषयमा कुरा उठेको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले बताए।

    उनले भने, ‘बैठक केही समयमा सुरु हुन्छ। उहाँहरूले आआफ्नो कुरा राख्नुहुन्छ।’

    सोमबारको बैठकमा पनि करको दर हेरफेरमा बाहिरको व्यक्तिलाई संलग्न गराएको भन्दै भन्दै राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रश्न उठाएका थिए।

    त्यसो त यसअघि पनि सरकारको सिफारिसमा राष्ट्रपतिबाट संसद् छलेर असंवैधानिक रूपमा विवादास्पद नागरिकता विधेयक प्रमाणीकरण गरेको तथा प्रधानमन्त्रीले विदेशी भूमिमा गएर देशको भूभाग साटफेर गर्ने भनी दिएको अभिव्यक्तिको विरुद्ध प्रतिपक्षी दलहरू एक ठाउँमा उभिएका थिए।

  • कोशीमा एमालेलाई राप्रपाको साथ यथावत्, हिक्मत सरकारको निरन्तरताबाहेक अरु नसोचेको प्रष्टोक्ति

    कोशीमा एमालेलाई राप्रपाको साथ यथावत्, हिक्मत सरकारको निरन्तरताबाहेक अरु नसोचेको प्रष्टोक्ति

    विराटनगर । कोशी प्रदेश सरकारमा रहेको राप्रपाले एमाले नेतृत्वको सरकारको विकल्पबारे अहिले नसोचेको प्रष्ट पारेको छ ।

    मुख्यमन्त्री हिक्मत कार्की, राप्रपा संसदीय दलका नेता तथा उद्योग कृषि तथा सहकारीमन्त्री भक्ति सिटौलासहितको छलफलमा कार्की नेतृत्वको सरकारको निरन्तरताको विकल्प नभएको निष्कर्ष निकालेको हो ।

    बैठकमा राप्रपाका अरू प्रदेश सांसदसमेत सहभागी थिए । एमालेबाट प्रदेश मन्त्री, एमाले संसदीय दलका सचेतक र विराटनगरमा उपलब्ध केही प्रदेश सभा सदस्य सहभागी थिए । बैठकले बजेट नीति तथा कार्यक्रम ल्याउने बेलामा सरकार परिवर्तन गर्नु ठीक नभएको निष्कर्ष निकालेको हो ।

    माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट मन्त्रीहरू फिर्ता गराउने तयारी गरिरहँदा माओवादीबाहेक सरकारमा रहेका दलहरूको बैठक बसेको हो ।

    राप्रपा संसदीय दलका नेता तथा मन्त्री भक्ति सिटौलाले राप्रपाले यो सरकारको निरन्तरताबाहेक अरू नसोचेको बताए ।

    उनले भने, ‘हामीले अहिले सरकार परिवर्तनका बारेमा सोचेका छैनौं । अरूले सरकार छाडे पनि नछाडे पनि राप्रपाले सरकार छाड्दैन । दिएको समर्थन पनि फिर्ता लिँदैन ।’

    छलफलमा सहभागी सामाजिक विकासमन्त्री बुद्धिकुमार राजराजभण्डारीले सरकारको निरन्तरताका विषयमा राप्रपा सकारात्मक भएको बताए ।

    कोशी प्रदेश सरकारमा एमालेसहित राप्रपा, माओवादी सहभागी छन् । सत्ता साझेदार माओवादीलाई सोमबार सरकारलाई दिएको समर्थन फिर्ता गर्न माओवादी केन्द्रले निर्देशन दिइसकेको छ । तर, माओवादी प्रदेश संसदीय दलको बैठकले सरकारबाट बाहिरिने औपचारिक निर्णय गरिसकेको छैन ।

    सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट बाहिरिने विषयमा हिजो बसेको माओवादी संसदीय दलको बैठक विनानिष्कर्ष सकिएको थियो ।

  • राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध प्रतिपक्षीहरू एकठाउँ, माफी नमागे संसद चल्न नदिने अडान

    राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध प्रतिपक्षीहरू एकठाउँ, माफी नमागे संसद चल्न नदिने अडान

    काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरण र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अभिव्यक्तिप्रति प्रतिपक्ष दलहरू एकजुट भएका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहित राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको विरोधपछि राष्ट्रियसभामा र प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।

    प्रतिपक्षी दलको अवरोधपछि स्थगित भएको राष्ट्रिय सभाको अर्को भोलि दिउँसो १:०१ बजेलाई बोलाइएको छ । भने एक घण्टाको लागि स्थगित भएको प्रतिनिधि सभाको बैठक अझै बस्न सकेको छैन ।
    सरकारको सिफारिसमा राष्ट्रपतिबाट संसद् छलेर असंवैधानिक रूपमा विवादास्पद नागरिकता विधेयक प्रमाणीकरण गरेको तथा प्रधानमन्त्रीले विदेशी भूमिमा गएर देशको भूभाग साटफेर गर्ने भनी दिएको अभिव्यक्तिको विरुद्ध प्रतिपक्षी दलहरू एकठाउँमा उभिएका हुन् ।

    प्रतिपक्ष दलहरूले एकजुट भएर प्रधानमन्त्रीले माफी नमागेसम्म संसद चल्न नदिने अडान राखेका छन् ।

    एमालेका प्रमुख सचेतक पदम गिरीले गिरीले राष्ट्रपतिले प्रमाणीकरण गरेको विधेयक निष्क्रिय बनाई एक हप्ताभित्र सरकारले संसदले अर्को विधेयक नल्याएसम्म बैठक चल्न नदिने चेतावनी दिए ।
    यस्तै, उनले फूलबारी बन्दरगाहाको रुट प्राप्तका निम्ति नेपालको पश्चिम कालापानी, लिम्पियाधुरा लिपुलेक क्षेत्र दिन तयार रहेको भन्ने कुराले नेपालको शीर निहुरिएको बताए ।

    उनले भने, ‘हामीलाई अपमान बोध भएको छ । राष्ट्रियताप्रति एउटा गम्भीर प्रश्न उब्जाउने कुरा भएको छ । यस्ता कुरा प्रधानमन्त्रीबाट आउनु भनेको निकै दुःखद कुरा हो, उहाँले त्रुटि च्याउनुपर्छ । सदनका अगाडि माफी माग्नुपर्छ ।’

    यस्तै, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले पनि भारत भ्रमण गर्नुभन्दा एक-दुई घण्टाअघि मात्रै किन त्यसलाई प्रमाणीकरण गर्नुपर्‍ यो? कसको स्वार्थको लागि र कसको खुशीका लागि यो काम गरियो ? भन्दै प्रश्न गरे ।

    उनले भने, ‘जुन प्रक्रियाबाट, जुन समयमा नागरिकता विधेयक प्रमाणीकरण गरियो त्यसको राष्ट्रिय प्रजातन्त्र पार्टी घोर भर्त्सना र विरोध गर्छ । यसलाई संसदबाट यसलाई अगाडि बढाउन ढिलाई नगरियोस् । गल्ती गरिएको छ, त्यसलाई सच्याइयोस् ।’

    उनले रेशम चौधरीको रिहा, भारतले नयाँ संसद भवनमा राखेको अखण्ड भारतको नक्सा, भारतीय प्रधानमन्त्रीसँगको भेटमा भएको कुराबारे सदनलाई जानकारी नगराएसम्म बैठक चल्न नदिने चेतावनी दिए ।

    यस्तै, रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले सरकारले रवैया आफूहरू हेरेर नबस्ने चेतावनी दिए । राष्ट्रपतिले प्रमाणीकरण गरेको नागरिकता विधेयकको विरोध गर्दै बेतिथिको भारी आफूहरूले बोक्न नसक्ने उनको भनाइ छ ।

    उनले भने, ‘संसदमा आएको बेथितिविरुद्ध आएको रास्वपाले यो कर्मको भारी बोक्ने छैनौं । हाम्रो यसमा समर्थन छैन । यो राजनीतिक, नेपालको सुरक्षासँग जोडिएको विषय हो । संसदमा हामीलाई खास काम छ भनेर बोल्न दिइरहने अनि सरकार लुसुलुसु आफ्नो काम गर्ने ? यो रवैयालाई स्वीकार्दैनौं ।’

    नेपाली नागरिकलाई नागरिकता प्रदान गर्न रास्वपा सदन र सडकबाट संघर्ष गर्न तयार रहेको उनले प्रष्ट्याए ।

  • राजेन्द्र लिङदेनको प्रश्न- भ्रमणअघि नागरिकता विधेयक कसलाई खुशी पार्न प्रमाणीकरण गरियो ? (भिडिओ)

    राजेन्द्र लिङदेनको प्रश्न- भ्रमणअघि नागरिकता विधेयक कसलाई खुशी पार्न प्रमाणीकरण गरियो ? (भिडिओ)

    काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले राष्ट्रपति संस्था सैद्धान्तिक रुपमा पनि निष्पक्ष हुन नसक्ने टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको बैठकमा नागरिकता विधेयक प्रमाणीकरण गरेकोप्रति उनले आपत्ति जनाए ।

    अध्यक्ष लिङदेनले भने, ‘यसलाई चाँडोभन्दा चाँडै प्रक्रियामा ल्याऔं, संसदबाटै अगाडि बढाउनुपर्‍यो । यसलाई कुनै ढिलाइ नगरियोस् । राष्ट्रपति मन्त्रिपरिषद्को कारिन्दा होइन । हामीले बारम्बार भनिरहेका छौं । राष्ट्रपति संस्था सैद्धान्तिक रुपमा अभिभावक हुन सक्दैन । हामीले जति पनि निष्पक्ष भने पनि दलको निर्देशन चल्छ । अहिले त्यही भयो।’

    भारत भ्रमणको एकदुई घण्टा अगाडि किन प्रमाणीकरण गरियो भनेर उनले प्रश्न गरे । उनले भने, ‘कसको स्वार्थ र खुशीको लागि प्रमाणीकरण गरियो ।’

  • एमाले, रास्वपा र राप्रपाको अवरोधपछि संसद बैठक स्थगित

    एमाले, रास्वपा र राप्रपाको अवरोधपछि संसद बैठक स्थगित

    काठमाडौं । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । एमालेसहित प्रतिपक्षी दलको अवरोधपछि सभामुख देवराज घिमिरेले एक घण्टाको लागि बैठक स्थगित गरेका छन् ।

    राष्ट्रपतिबाट संसद् छलेर असंवैधानिक रूपमा विवादास्पद नागरिकता विधेयक प्रमाणीकरण गरेको तथा प्रधानमन्त्रीले विदेशी भूमिमा गएर देशको भूभाग साटफेर गर्ने भनी दिएको अभिव्यक्ति राष्ट्रघाती रहेको भन्दै एमालेले जवाफ मागेको छ । प्रधानमन्त्रीले माफी नमागेसम्म संसद चल्न नदिने प्रमुख सचेतक पदम गिरीले अडान राखेका छन् ।

    गिरीले राष्ट्रपतिले प्रमाणीकरण गरेको विधेयक निष्क्रिय बनाई एक हप्ताभित्र सरकारले संसदले अर्को विधेयक नल्याएसम्म संसद बैठक चल्न नदिने चेतावनी दिए ।

    त्यस्तै रास्वपा र राप्रपाले संसद छलेर गरिएको नागरिकता विधेयक प्रमाणीकरणको विरोध गरेका छन् ।

  • राप्रपाद्वारा संसद बैठक स्थगनको प्रस्ताव पेश

    राप्रपाद्वारा संसद बैठक स्थगनको प्रस्ताव पेश

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधिसभा नियमावली २०७९ को नियम ७४ बमोजिम आजको संसद वैठकको कार्यक्रम स्थगत गर्न प्रस्ताव पेश गरेको छ । अत्यन्त जरुरी सार्वजनिक महत्वको विषयमाथि छलफल गर्न राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीका तर्फबाट प्रस्ताव पेश गरिएको हो ।

    राष्ट्रपतिले नीति र नियमविपरित नागरिकता विधेयक प्रमाणीकरण र प्रधानमन्त्रीले भारत भ्रमणमा मुलुकको हितविपरीत कार्य गरेको कुरा उठेकाले यस विषयका छलफल नगरी संसद नियमित रुपमा अगाडि नबढ्ने भएकाले निर्धारित सबै कार्यक्रम स्थगित गर्न शाहीले माग गरेका छन् ।

  • ‘अखण्ड भारत’को नयाँ नक्सामा सरकारको धारणा सार्वजनिक गर्न राजेन्द्र लिङ्देनको माग

    ‘अखण्ड भारत’को नयाँ नक्सामा सरकारको धारणा सार्वजनिक गर्न राजेन्द्र लिङ्देनको माग

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ‘अखण्ड भारत’ को नयाँ नक्सामा नेपालको भूमि समेटेकोप्रति आपत्ति जनाएका छन् ।

    भारतको नयाँ संसद भवनमा राखिएको अखण्ड भारतको नक्शामा कपिलवस्तु, लुम्बिनी पनि उल्लेख हुनु आपत्तिजनक रहेको सामाजिक सञ्जालमार्फत बताएका छन् ।

    उनले तत्काल सरकारको धारणा सार्वजनिक गर्न माग गरेका छन् ।

     

  • ज्ञानेन्द्र शाहीको प्रश्न- छलफलको विषय नसमेटिने भए लाखौँ खर्च किन ? (भिडिओ)

    ज्ञानेन्द्र शाहीको प्रश्न- छलफलको विषय नसमेटिने भए लाखौँ खर्च किन ? (भिडिओ)

    काठमाडौं । राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले नीति तथा कार्यक्रममा छलफल भएका विषय नसमेटिने भए बैठक रोक्न माग गरेका छन्।

    प्रतिनिधि सभामा नीति तथा कार्यक्रममाथि छलफलको क्रममा उनले छलफलको विषय नसमेटिने भए लाखौँ खर्च किन गरेको भनेर प्रश्न गरे।

    उनले भने, ‘नीति कसले बनाउने ? एलियन आएर बनाउने त होइन होला। त्यसैले यो छलफलमा उठेको विषयलाई समेट्नुपर्छ।

  • शरणार्थी प्रकरणमा ज्ञानेन्द्र शाहीले भने- आईजीपीलाई निलम्बन गरेर छानबिन गर्नुपर्छ (भिडिओ)

    शरणार्थी प्रकरणमा ज्ञानेन्द्र शाहीले भने- आईजीपीलाई निलम्बन गरेर छानबिन गर्नुपर्छ (भिडिओ)

    काठमाडौं । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले नक्कली भुटानी शरणार्थी प्रकरणमा तीन दलका शीर्ष नेताहरू बालुवाटारमा खुसुखुसु बसेर मिलाउन खोजेकोप्रति आशंका व्यक्ति गरेका छन्।

    प्रतिनिधिसभाको बैठकमा बोल्दै नेपाल प्रहरीका आईजीपीलाई निलम्बन गरेर छानबिन गर्न माग गरे।

    उनले भने, ‘आज नेपाल प्रहरीका आईजीपीका बारेमा पनि पत्रपत्रिकामा आइरहेको छ। एउटा कर्मचारीलाई निलम्बन गरेर छानबिन गर्ने कि नगर्ने ? त्यति मात्र हैन, अन्य नेताहरूको आइरहेको छ। तिनीहरूलाई के गर्ने उम्काइदिने ? त्यसो भए कानुन २ वटा लेखौँ।’

    सरकारले ल्याएको नीति तथा कार्यक्रमले अहिलेको समस्या सम्बोधन गर्न नसक्ने बताए। नीतिगत सुधारका धेरै काम गर्नुपर्ने उनको भनाइ छ।

  • ओलीले झैँ राजेन्द्र लिङ्देनले भने- यो देश तपाईँहरूको मात्रै होइन, नीति तथा कार्यक्रम पुनर्लेखन गर्नुस् (भिडिओ)

    ओलीले झैँ राजेन्द्र लिङ्देनले भने- यो देश तपाईँहरूको मात्रै होइन, नीति तथा कार्यक्रम पुनर्लेखन गर्नुस् (भिडिओ)

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारको नीति तथा कार्यक्रमले प्राथमिकता नै पहिचान गर्न नसकेको टिप्पणी गरेका छन्।

    प्रतिनिधि सभामा छलफलको क्रममा उनले समस्या पहिचान गर्न नसकेको बताए। उनले यो परम्परागत र पहिलेकै कपी भएको जिकिर गरे।

    उनले भने, ‘अहिलेको आर्थिक संकटलाई यसले सामना गर्न सक्दैन। आगामी संकटलाई सामना गर्ने कुरा आउनुपर्थ्यो। यो सामान्य अवस्थामा ल्याउने जस्तो छ। हामीले ल्यायौँ हामीसँग बहुमत छ। पास गर्छौं भन्न पाउनुहुन्छ। तर, यो देश सरकारमा बस्नेको मात्रै होइन। हाम्रो पनि हो हाम्रो पनि यस्तै भइरहे देश बिग्रिन्छ।’

    उनले पुनर्लेखन गर्न जरुरी रहेको बताए। त्यसो त प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुनर्लेखन गर्न माग गरेका थिए।

    उनले भने, ‘तपाईँहरू जनयुद्ध लेख्यौँ भनेर आत्मरतिमा रमाउनुस्। हामीले घुसायौं शेरबहादुरजीलाई पनि बोकायौँ भनेर भन्नुस्। तर, त्यसले केही फरक पर्दैन।’

  • राप्रपा नेपाल कार्यसम्पादन समितिमा उठ्यो प्रदेश संरचना खारेज गर्ने प्रस्ताव

    राप्रपा नेपाल कार्यसम्पादन समितिमा उठ्यो प्रदेश संरचना खारेज गर्ने प्रस्ताव

    काठमाडौं । राप्रपा नेपाल कार्य सम्पादन समितिको बैठकले केन्द्रीय समितिमा प्रस्तुत हुने राजनीतिक कार्यपत्र र प्रतिवेदनहरु अनुमोदन गरेको छ ।

    पार्टी अध्यक्ष कमल थापाद्वारा प्रस्तुत व‘र्तमान परिस्थिति एवं राप्रपा नेपालको वैचारिक, सांगठनिक तथा रणनीतिक कार्यदिशा र कार्ययोजना’, महामन्त्रीहरु भाष्कर भद्रा, सुशील श्रेष्ठ, राजाराम बर्तौला र केशवराज श्रेष्ठद्वारा प्रस्तुत सचिवालय, प्रशिक्षण,संगठन र युवा स्मार्ट पार्टी निर्माणसम्बन्धी प्रतिवेदन तथा कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीद्वारा प्रस्तुत आर्थिक प्रतिवेदनमाथि छलफल गरी केन्द्रीय समितिमा प्रस्तुत गर्न अनुमोदन गरेको हो ।

    बैठकमा संघीयता मुलुकले धान्न नसक्ने भन्दै केन्द्रमा बलियो सरकार र तल्लो तहमा अधिकार सम्पन्न स्थानीय निकाय भए पुग्ने भएकाले बीचको प्रदेशको संरचना खारेज गर्नुपर्ने बहस भएको छ । प्रदेश संरचना खारेज गर्नुपर्ने माग राख्ने पार्टीले पार्टीको प्रदेश कार्यसमिति पनि हटाउनुपर्नेमा बैठकले जोड दिएको छ ।

    यसबारेमा केन्द्रीय समितिमा थप विस्तृत छलफल भई निर्णय हुने पार्टीका महामन्त्री बर्तौलाले जानकारी दिए । बैठकले जनवर्गीय संगठन, विभाग र समितिहरुको ६ महिने कार्ययोजनालाई पनि केन्द्रीय समितिमा प्रस्तुत गर्ने गरी अनुमोदन गरेको छ ।

    राप्रपा नेपालको केन्द्रीय समितिको बैठक जेठ ९ र १० गते काठमाडौंमा बस्दैछ ।

  • अमेरिकी विदेशमन्त्रीको प्रतिवेदनमा राप्रपाको आपत्ति, धवलशमशेर भन्छन्- आर्थिक लेनदेनको कुरा झूट हो

    अमेरिकी विदेशमन्त्रीको प्रतिवेदनमा राप्रपाको आपत्ति, धवलशमशेर भन्छन्- आर्थिक लेनदेनको कुरा झूट हो

    काठमाडौं । संयुक्त राज्य अमेरिकाले भारतको सत्तारुढ दल भाजपासँग नजिक रहेका धार्मिक समुहले नेपालका प्रभावशाली नेताहरुलाई हिन्दू धर्मको पक्षमा बोल्न पैसा दिने गरेको दाबी गरेको छ । अमेरिकी विदेशमन्त्री एन्थोनी जे ब्लिंकेनद्वारा सार्वजनिक गरिएको अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता प्रतिवेदन’ ले यस्तो दाबी गरेको हो ।

    अमेरिकाले १९९८ मा पारित गरेको कानुनअनुरुप अमेरिकी विदेश मन्त्रालयले अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रतासम्बन्धी यो प्रतिवेदन तयार पार्दै आएको छ ।

    काठमाडौंस्थित अमेरिकी दूतावासले सरकारी अधिकारी, धार्मिक समूह, गैरसरकारी संस्था, पत्रकार, मानवअधिकारकर्मी, प्राज्ञ, सञ्चार माध्यम तथा अन्य स्रोतबाट प्राप्त गरेको सुचनाको आधारमा उक्त प्रतिवेदनमा नेपालको धार्मिक स्वतन्त्रताको अवस्थाबारे टिप्पणी गरिएको जनाइएको छ ।

    प्रतिवेदनको १३ औँ पृष्ठमा नेपालको धार्मिक स्वततन्त्रताबारे टिप्पणी गर्दै भारतको सत्तारुढ दल तथा अन्य हिन्दुवादी धार्मिक समुहले नेपालका प्रभावशाली नेता र त्यसमा पनि राप्रपालाई हिन्दु राष्ट्र कायम गर्नका निमित्त दबाब दिदै आएको दाबी गरिएको छ ।

    राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवल शमशेर राणाले आफूले पनि उक्त प्रतिवेदनको बारेमा सूचना प्राप्त गरेको बताए । राप्रपा वा पार्टीका नेताहरु भाजपा वा भाजपा निकट संस्थाहरुबाट आर्थिक लाभ लिएको भन्ने दाबी शतप्रतिशत गलत रहेको भन्दै उनले आपत्ति जनाएका छन् ।

    ‘मैले पनि विभिन्न माध्यमबाट उक्त प्रतिवेदनमा गरिएको दाबीको बारेमा थाहा पाएको छु । तर, राप्रपाले वा राप्रपाका कोही पनि नेताहरुले भाजपा र उसका कुनै पनि संस्थाबाट आर्थिक सहयोग लिएको छैन । यस्तो भएको छैन र हुनेपनि छैन’, उनले भने ।

    नेपाल हिन्दू धर्म पुनस्र्थापनाका निमित्त राप्रपाले मात्र नभई अन्य धार्मिक संघ संस्थाले पनि वकालत गर्दै आएको हुनाले अन्य कुनै धार्मिक संस्थाहरु यस् किसिमको आर्थिक लेनदेनमा संलगन भएको भए सो बारेमा भने आफू अनविज्ञ रहेको उनको भनाई छ ।

    राजनैतिक पार्टीको रुपमा राप्रपा र भाजपाको केही सम्बन्ध हुनसक्ने भए तापनि कुनै पनि किसिमको आर्थिक लेनदेनमा भने भाजपा र राप्रपाको सम्बन्ध नरहेको राणाले प्रष्ट पारे ।

    ‘राजनैतिक पार्टीको रुपमा भाजपा र राप्रपाको केही सम्बन्ध हुनसक्छ । अहिले त्यो पनि खासै छैन । तर, आर्थिक लेनदेनको कुरा झूट हो,’ उनले भने ।

  • राजेन्द्र लिङदेनको आरोप- भ्रष्टाचार गर्न ठूला दलका नेताहरुबीच सर्वदलीय सहमति छ (भिडिओ)

    राजेन्द्र लिङदेनको आरोप- भ्रष्टाचार गर्न ठूला दलका नेताहरुबीच सर्वदलीय सहमति छ (भिडिओ)

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले ठूला भ्रष्टाचारको काण्डमा सबै दलको ठूला नेताहरुको संलग्नता रहेको आरोप लगाएका छन् ।

    वसन्तपुरमा भ्रष्टाचारविरोधी प्रदर्शनलाई सम्बोधन गर्दै उनले भ्रष्टाचारमा ठूला दलहरुको सर्वदलीय सहमति जस्तो रहेको जिकिर गरे ।

    उनले भने, ‘ठूला भ्रष्टाचारका काण्डहरुमा सबै दलका ठूला दलका नेताहरुको संलग्नता भएकै कारण जतिसुकै भ्रष्टाचार मुद्दा सार्वजनिक भए पनि आयोग गठन गर्ने, अनुसन्धान गर्ने नाममा फासफुस बनेर गएका छन् । त्यसैले अहिलेसम्म सबै भ्रष्टाचारका काण्डहरुमा ठूला दलको संलग्नता छ । सर्वदलीय सहमति जस्तो छ भनेर हामीले भन्दै आएका थियौं । अहिले यो प्रमाणित भएको छ ।’

    उनले गाउँघरतिर नेता आउँदा चोर आए भन्छन् भनेर दिएको अभिव्यक्ति अहिले पुष्टि भएको जिकिर गरे ।

  • वसन्तपुरमा राप्रपाको भ्रष्टाचारविरोधी प्रदर्शन (तस्बिरहरू)

    वसन्तपुरमा राप्रपाको भ्रष्टाचारविरोधी प्रदर्शन (तस्बिरहरू)

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले भ्रष्टाचारको विरोधमा प्रदर्शन गरेको छ ।

    नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकालाई कारबाही प्रक्रिया चलिरहेको बेला सो अनुसन्धानलाई प्रभावकारिता बनाउन दबाबस्वरूप राप्रपाले प्रदर्शन गरेको हो ।

    वसन्तपुरमा आयोजित प्रदर्शनमा अध्यक्ष राजेन्द्र लिङदेन, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, ज्ञानेन्द्र शाहीलगायतका नेता र कार्यकर्ता सहभागी छन् । राप्रपाले नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष छानबिनको माग गरेको छ । त्यस्तै कसैको प्रभाव र दबाबमा नपरी दोषीमाथि कारबाही गर्न भनेको छ ।

    २०४६ सालयता सार्वजनिक पद धारण गरेकाको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने र अहिलेसम्मका भ्रष्टाचारका काण्डको छानिबन गर्न माग गरेको छ ।

     

  • भ्रष्टारविरुद्धको आन्दोलन सडक होइन सदनबाट थालौं : ज्ञानेन्द्र शाही  (भिडिओ)

    भ्रष्टारविरुद्धको आन्दोलन सडक होइन सदनबाट थालौं : ज्ञानेन्द्र शाही (भिडिओ)

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाही भ्रष्टाचारविरुद्धको सडक आन्दोलनको विपक्षमा उभिएका छन् ।

    बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले भ्रष्टाचार नियन्त्रण गर्नका लागि सडक आन्दोलन भन्दा संसदमा आन्दोलन गर्नुपर्ने बताए । राष्ट्रिय प्रजातन्त्र पार्टीले यही जेठ ४ गते भ्रष्टाचारविरुद्ध काठमाडौंमा आमसभा गर्दैछ ।

    प्रमुख सचेतक शाहीले भने भ्रष्टाचारलाई न्यूनीकरण गर्न, भ्रष्टाचार गर्नेहरुको तीनपुस्ते सम्पत्ति हरण गरी आजीवन काराबास भोग्ने कानून यही संसदबाट बन्ने हुनाले संसद आन्दोलन गर्न उपयुक्त हुने तर्क गरे ।

    उनले भ्रष्टाचारविरुद्ध लड्नका लागि पार्टी पंक्ति, दल र सिद्वान्त भन्दामाथि उठेर कानून बनाउने काममा एकजुट हुन पनि सबै राजनीतिक दलहरुलाई आग्रह गरे ।

    ‘तपाईहरु साँच्चै भ्रष्टाचारको विरुद्धमा लडने हो भने पार्टी पंक्ति, दल, सिद्धान्त भन्दामाथि उठेर कानून बनाउन तयार हुनुहुन्छ ? हुनुहुन्छ भने ल म आज हेर्न चाहन्छु-हात खडा गर्नुस् ल । ल गर्नुस् खडा । हुनुहुन्छ कोही ? त्यही भएको हुनाले मैले अहिले पनि भन्न चाहन्छु–यसो नगरौं’, शाहीले भने, ‘कृपया, तिमी हेरेजस्तो गर्नू, म देखेजस्तो गर्छु । तिमी खेदेजस्तो गर्नु, म दौडेजस्तो गर्छु । यस्तो प्रवृत्तिले भ्रष्टाचारलाई नियन्त्रण गर्दैन । भ्रष्टाचारलाई न्यूनीकरण गर्ने, भ्रष्टाचार गर्नेहरुलाई तीनपुस्ते सम्पत्ति हरण गर्ने, आजीवन कारवास भोग्ने कानून यही सदनबाट आजका दिनबाट पार्टी पंक्ति, सिद्धान्त नभनेर लागू गरौं । हामीलाई कानुन बनाएर कारबाही गर्न कसले रोक्छ ? कसैले रोक्दैन । त्यही भएर सडक आन्दोलन भन्दा संसद आन्दोलन गरौं । संसदमा एकजुट भएर अगाडि बढौं । म यही भन्न चाहन्छु ।’

    प्रमुख सचेतक शाहीले त्यस अवसरमा भ्रष्टाचार नियन्त्रण गर्नका लागि तयार हुने सांसदहरुले हात उठाउन पनि आग्रह गरेका थिए । उनले ‘तिमी हेरेजस्तो गर्नू, म देखेजस्तो गर्छु । तिमी खेदेजस्तो गर्नु, म दौडेजस्तो गर्छु’ भन्ने खालको प्रवृत्तिले भ्रष्टाचारलाई नियन्त्रण गर्न नसकिने बताए ।

     

  • प्रधानमन्त्री प्रचण्ड विदेशीको इसारामा चल्दा सरकार छाड्यौं : राजेन्द्र लिङदेन (भिडिओ)

    प्रधानमन्त्री प्रचण्ड विदेशीको इसारामा चल्दा सरकार छाड्यौं : राजेन्द्र लिङदेन (भिडिओ)

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रमुख राजनीतिक दलहरूका सत्ता केन्द्रित क्रियाकलापका कारण मुलुक गम्भीर संकटतर्फ उन्मुख भएको टिप्पणी गरेको छ ।

    सोमबारबाट सुरू केन्द्रीय समितिको बैठकमा पार्टीको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै पार्टी अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले प्रमुख राजनीतिक दलहरूका सत्ता केन्द्रित क्रियाकलापका कारण मुलुक गम्भीर संकटतर्फ उन्मुख भएको उल्लेख गरेका हुन् ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल विदेशीको इसारामा चल्दा सरकार छोडेर प्रतिपक्षमा बस्नुपरेको उनको भनाइ थियो ।

    उनले मुलुकका तीन प्रमुख अंगहरूका बीच रहनुपर्ने शक्ति नियन्त्रण र सन्तुलनको व्यवस्था ध्वस्त भएको जिकिर गरे । कमजोर अर्थतन्त्र, बढ्दो युवा बेरोजगारी, राज्यका सबै अंगमा भ्रष्टाचार र भ्रष्टाचारमा प्रायः सबै प्रमुख राजनीतिक दलहरूको संलग्नता, वैदेशिक नीतिमा आएको असन्तुलन सामान्य अवस्था नरहेको राप्रपाको ठहर छ । वैदेशिक सम्बन्धलाई सत्ता आरोहणको रूपमा प्रयोग गर्ने आलोकाँचो व्यवहारका कारण नेपालको वैदेशिक सम्बन्ध पूर्णरूपमा खल्बलिन पुगेको लिङदेनको प्रतिवेदनमा उल्लेख छ ।

    उनले भने, ‘प्रमुख राजनीतिक दलहरूका सत्ताकेन्द्रित क्रियाकलापका कारण मुलुक गम्भीर संकटतर्फ उन्मुख छ । मुलुकका तीन प्रमुख अंगहरुका बीच रहनुपर्ने शक्ति नियन्त्रण र सन्तुलनको व्यवस्था ध्वस्त भएको छ । कमजोर अर्थतन्त्र, बढ्दो युवा बेरोजगारी, राज्यका सबै अंगमा भ्रष्टाचार र भ्रष्टाचारमा प्रायः सबै प्रमुख राजनीतिक दलहरुको संलग्नता, वैदेशिक नीतिमा आएको असन्तुलन सामान्य अवस्था होइन । आफूभन्दा कमजोर छिमेकी युक्रेनमाथि रुसको आक्रमण जति भर्त्सनायोग्य छ, त्यत्तिकै हामीले यस घटनाबाट शिक्षा पनि लिनुपर्नेछ । वैदेशिक सम्बन्धलाई सत्ता आरोहणको रुपमा प्रयोग गर्ने आलोकाँचो व्यवहारका कारण हाम्रो वैदेशिक सम्बन्ध पूर्णरूपमा खल्बलिन पुगेको छ । नेपाल शक्ति राष्ट्रहरुको रणनीतिक स्थलमा परिणत भएको छ । सत्ता पक्ष र प्रमुख राजनीतिक दलका क्रियाकलापका कारण हुने नोक्शानीको मूल्य केवल राजनीतिक दल र नेताले मात्रै चुकाउनु पर्दैन, सिंगो देशले चुकाउनु पर्छ ।’

    अध्यक्ष लिङदेनले केही राजनीतिक दलका कारण देश संकटको भुमरीमा फसिरहेको दाबी गरे । अकर्मण्य नेतृत्व, गलत नीति अदूरदर्शिता र सत्ता लिप्साको प्रतिफल नेपालको राष्ट्रियता, राष्ट्रिय एकता अखण्डता, सार्वभौमिकता संकटग्रस्त बनेको लिङदेनको टिप्पणी छ ।

    विदेशीको आग्रहमा सम्पन्न १२ बुँदे सहमतिको मार्गचित्र गलत भएको प्रमाणित भएको उनको जिकिर थियो ।

    उनले भने, ‘आफूलाई अग्रगमनका संवाहक, लोकतन्त्रको पर्याय ठान्ने केही राजनीतिक दलका कारण देश संकटको भुमरीमा फस्दैछ । अकर्मण्य नेतृत्व, गलत नीति अदूरदर्शिता र सत्ता लिप्साको प्रतिफल नेपालको राष्ट्रियता, राष्ट्रिय एकता अखण्डता, सार्वभौमिकता संकटग्रस्त छ । कहिले पराधीन नभएको देशमा वाह्य शक्तिको चलखेल र प्रभाव तीव्र रूपले बढेर गएको छ । भ्रष्टाचारको चंगुलमा देश फसेको छ । लोकतन्त्रको आवरणमा नव सामन्तवाद र सर्वसत्तावाद हाबी छ । विदेशीको आग्रहमा सम्पन्न १२ बुँदे सहमतिको मार्गचित्र गलत थियो भन्ने राप्रपाको ठहर देशमा विकसित घटनाक्रमले स्वतः प्रमाणित गरिदिएको छ । यस पटक पहिलो पटक नेपालका राजनीतिक दलले आफ्नै बलमा सरकार निर्माण गर्न सक्छन् भन्ने सन्देश प्रवाह गर्नु सकारात्मक हो, तर सरकारको नेतृत्व गरेका प्रधानमन्त्री स्वयं पुरानै अवस्थामा फर्किएर गोलचक्करमा परेपछि हामीले तत्त्काल सहकार्य छोडेका थियौँ ।’

  • राप्रपाले जेठ ४ गते काठमाडौंमा भ्रष्टाचारविरुद्ध आमसभा गर्ने (भिडिओ)

    राप्रपाले जेठ ४ गते काठमाडौंमा भ्रष्टाचारविरुद्ध आमसभा गर्ने (भिडिओ)

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी जेठ ४ गते काठमाडौंमा भ्रष्टाचारविरुद्ध आमसभा गर्ने भएको छ ।

    आइतबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नक्कली भुटानी शरणार्थी प्रकरणलगायत सबै भ्रष्टाचारका काण्डलाई छानबिन गर्न दवाव दिने उद्देश्यका साथ काठमाडौंमा पार्टीले आमसभा गर्न लागेको जानकारी दिएका हुन् ।

    शरणार्थी प्रकरणको छानबिनलाई सशक्त बनाउनुपर्ने र छानबिनको कामलाई कमजोर बनाउन नहुने उनले बताए । उनले राप्रपा शसक्त प्रतिपक्षमा बसेर भ्रष्टाचार, सुशासन र राष्ट्रियताको पक्षमा आवाज उठाउने धारणा राखे ।

    भ्रष्टाचारका विषयमा आवाज उठाउने नैतिक क्षमता भएको एकमात्रै पार्टी राप्रपा भएको उनले बताए । उनले प्रहरीले राम्रो काम गरिरहेको भन्दै स्वतन्त्रतापूर्वक काम गर्ने वातावरण बनाउनुपर्ने जिकिर गरे ।

    त्यस्तै, लिङ्देनले सोमबारबाट सुरु हुने पार्टीको केन्द्रीय समितिको पूर्ण बैठकमा समसामयिक राजनीतिक अवस्था, निर्वाचनको समीक्षा, प्रदेश तथा जिल्लामा भएका साङ्गठनिक गतिविधिको समीक्षा लगाएतका बिषयमा छलफल हुने जानकारी दिए ।

  • प्रधानमन्त्रीलाई राप्रपाको प्रस्ताव- २०४६ पछिका सबै उच्च पदस्थ व्यक्तिको सम्पत्ति छानविन गरौं

    प्रधानमन्त्रीलाई राप्रपाको प्रस्ताव- २०४६ पछिका सबै उच्च पदस्थ व्यक्तिको सम्पत्ति छानविन गरौं

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएको छ। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको टोलीले सिंहदरबार पुगेर प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाएको हो।

    राप्रपाले देशको अन्तरराष्ट्रिय छवि नै धुमिल गराउने गरि नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउँन संगठितरूपमा राज्यशक्तिको दुरुपयोग प्रकरणले सारा नेपालीलाई अन्तरराष्ट्रिय जगतमा शीर निहर्याउनु पर्ने परिस्थिति सिर्जना गरेको उल्लेख गरेको छ।

    राप्रपाको ज्ञापनपत्रमा भनिएको छ, ‘यस्तो राष्ट्रघाती र देशद्रोही काम गरेर आफ्ना नागरिकलाई नै बेच्ने कार्यमा सरिक जुनसुकै तहका नेतृत्वलाई कुनै वहानामा पनि छुट दिन हुँदैन। वहालवाला सचिव र तात्कालीन गृहमन्त्रीको गिरफ्तारीले केही आशा जगाएको भएपनि विगतका ठूलठूला भ्रष्टाचार काण्डहरू समयक्रमसंगै सेलाएर जानका साथै ठूलाहरू खासगरी राजनैतिक नेतृत्वले घुमीफिरी उन्मक्ति पाउने नजिरका कारण पूर्णरूपमा आश्वस्त हनसक्ने अवस्था सिर्जना भईसकेको छैन।’

    राष्ट्रिय प्रजातन्त्र पार्टीले यस प्रकरणलाई कुनैपनि बहानामा लम्ब्याएर अलपत्र पार्ने कोसिसको गर्न नदिने बताएका छन्।

    ‘अहिलेको छानविन कार्यलाई निरन्तरता दिँदै नेपाल प्रहरीलाई स्वतन्त्र, निष्पक्ष र दवावरहित वातावरणमा काम गर्न दिन र यस प्रकरणमा संलग्न जोसुकैलाइ कारवाहीको दायरामा ल्याउन राष्ट्रिय प्रजातन्त्र पार्टी जोडदार माग गर्दछ विज्ञप्तिमा भनिएको छ।

    दोषीलाई उम्काउन खोज्ने कुनै पनि योजना वा चलखेल विरुद्ध दृढतापूर्वक सदन र सडकबाट आन्दोलन गर्न पछि नहट्ने उल्लेख गरेको छ। विगतका ठूलठूला भ्रष्टाचार काण्डका फायलहरू खोल्न र २०४६ पछिका सबै उच्च पदस्थ नेता कर्मचारीको सम्पत्ति छानविन गरी अवैध सम्पत्ति जफत गरेर भविष्यमा कसैले पनि भ्रष्टाचार गर्ने आँट गर नसक्ने वातावरण निर्माण गर्न माग गरेको छ।

  • राजेन्द्र लिङदेनले भने- शीर्ष नेताको बैठकमै आशंका देखियो, दोषीलाई उन्मुक्ति दिने काम नहोस् (भिडिओ)

    राजेन्द्र लिङदेनले भने- शीर्ष नेताको बैठकमै आशंका देखियो, दोषीलाई उन्मुक्ति दिने काम नहोस् (भिडिओ)

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले नक्कली शरणार्थी प्रकरण ठगीमात्रै नभएर जघन्य अपराध भएको बताएका छन् ।

    प्रतिनिधिसभाको बैठकमा बोल्दै राज्यविरुद्धको अपराध, सरकारी कागज कीर्तेसम्बन्धी जघन्य अपराध भएको बताए ।

    उनले भने, ‘यो प्रकरणमा संलग्नलाई छुट दिने त कुरै नगरौं कुनै पनि बहानामा कमजोर बनाउने र उन्मुक्ति दिने काम सरकारले गर्न हुँदैन ।’

    दुनियाँको अगाडि शिर निहुरिने गरी उपप्रधानमन्त्री र गृहमन्त्रीको नाम जोडिएपछि सरकारले जानकारी गराउनुपर्ने बताए । शीर्ष नेताहरूको बैठकले समेत अनुसन्धानमा प्रश्न उठेको उनको भनाई छ ।
    अहिलेसम्म भएको प्रगति सरकारले संसदलाई जानकारी गराउन माग गर्दै सरकारले संसदमा प्रतिबद्धता जनाउनुपर्ने बताए ।

  • राप्रपाको अवरोधपछि प्रतिनिधिसभाको बैठक १५ मिनेटलाई स्थगित

    राप्रपाको अवरोधपछि प्रतिनिधिसभाको बैठक १५ मिनेटलाई स्थगित

    काठमाडौं । प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ ।

    आकस्मिक समयको मागसहित राप्रपा सांसदहरूले सदन अवरोध गरेपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका हुन् ।

    बुधबारको बैठक शुरू हुनासाथ राप्रपा दलका नेता राजेन्द्र लिङ्देनसहितले उभिएर आकस्मिक समय मागेका थिए । तर, सभामुखले कार्यं व्यवस्था परामर्श समितिको बैठकमा शून्य समयअघिको कुनै आकस्मिक समय नदिने सहमति भएको स्मरण गराएर बैठक अघि बढाउन खोज्दा रोष्टम घेराउ गरेर अवरोध गरेका हुन् ।

  • आकस्मिक समय नपाएपछि राप्रपाद्वारा संसद बैठकमा अवरोध (भिडिओ)

    आकस्मिक समय नपाएपछि राप्रपाद्वारा संसद बैठकमा अवरोध (भिडिओ)

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभाको बैठकमा अवरोध सिर्जना गरेको छ ।

    बुधबारको बैठक शुरु हुनासाथ राप्रपा दलका नेता राजेन्द्र लिङ्देनसहितले उभिएर आकस्मिक समय मागेका थिए । तर, सभामुख देवराज घिमिरले कार्यं व्यवस्था परामर्श समितिको बैठकमा शून्य समयअघिको कुनै आकस्मिक समय नदिने सहमति भएको स्मरण गराएर बैठक अघि बढाउन खोज्दा रोष्टम घेराउ गरेर अवरोध गरेका हुन् ।

  • राजेन्द्र लिङ्देनको दाबी- प्रदेश खारेज नगरेसम्म अर्थतन्त्रमा सुधार आउँदैन

    राजेन्द्र लिङ्देनको दाबी- प्रदेश खारेज नगरेसम्म अर्थतन्त्रमा सुधार आउँदैन

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रदेश सरकार खारेज नगरेसम्म देशको अर्थतन्त्रमा सुधार नआउने दाबी गरेका छन् ।

    प्रतिनिधि सभाको बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकताबारे छलफलको क्रममा बोल्दै उनले देशले यति धेरै जनप्रतिनिधि धान्न नसक्ने बताए ।

    उनले भने, ‘यति ठुलो जनप्रतिनिधिको संख्या कटौती नगरेसम्म र प्रदेश खारेज नगरेसम्म हाम्रो अर्थतन्त्र ठिक ठाउँमा आउँदैन । सबैभन्दा अनुत्पादक क्षेत्र यो हो । हामीले अब आँट गरौं हिजो कुनै सुविचारको साथ ल्यायौं होला। तर, आज यो ठिक भएन भन्ने हरेकको मनमा छ ।’

    सरकारले बजेटका लागि प्रस्तुत गरेको सिद्धान्त र प्राथमिकताले अर्थतन्त्र सुधार नआउँने बताए । देशको अर्थतन्त्र सुधारको लागि सरकारलाई आफूहरुले आवश्यक सहकार्य गर्न तयार रहेको उनको भनाइ छ ।

     

  • राप्रपाको महिला संगठनको अध्यक्षमा अञ्जना सर्वसम्मत

    राप्रपाको महिला संगठनको अध्यक्षमा अञ्जना सर्वसम्मत

    काठमाडौं । राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको अध्यक्षमा अञ्जना शाह रावल चयन भएकी छन् ।

    काठमाडौंमा भएको महाधिवेशनबाट रावल अध्यक्षमा सर्वसम्मति चयन भएको राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहन श्रेष्ठले बताए ।

    उनका अनुसार उपाध्यक्षहरुमा संगीता मल्ल (धनुषा), सिजन श्रेष्ठ (काठमाडौं) र सरस्वती श्रेष्ठ (रामेछाप), महासचिवमा कुमारी स्याङ्तान (सिन्धुपाल्चोक) र रञ्जु सेन (कास्की) तथा सचिवमा चम्पा अधिकारी (काठमाडौं) चयन भएका छन् ।

    उनले नवनिर्वाचित कार्यसमितिलाई बधाई दिँदै सबल भ्रातृ संगठनको जगमा उभिएर नवीन राप्रपा निर्माण गर्न आग्रह गरेका छन् ।

  • देश कुनैपनि बेला दुर्घटनामा जान सक्छ : सांसद जबरा (भिडिओ)

    देश कुनैपनि बेला दुर्घटनामा जान सक्छ : सांसद जबरा (भिडिओ)

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति शमशेर जबराले सरकार जोखिमपूर्ण अवस्थामा रहेको टिप्पणी गरेका छन् । पार्टी निकट महिला संघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले देश कुनैपनि बेला दुर्घटनामा जानसक्ने बताए ।

    ‘सरकार कहाँ जाने, के हुने कसैलाई थाहा छैन, कुनैपनि बेला जे पनि हुनसक्छ । तर यो बिडम्बनापूर्ण परिस्थितिमा हामी ढुक्क हुने आधार छैन’, उनले भने, ‘यो मुलुकमा जस्तो जे स्थिति आउँछ, राष्ट्रिय प्रजातन्त्र पार्टी राजेन्द्र लिङदेनको अध्यक्षतामा त्यो परिस्थितिलाई सामना गर्न तयार छ ।’

    देश राम्रोसँग सञ्चालन भइरहेको छ भनेर ढुक्क हुने अवस्था नरहेको उनको भनाइ छ ।

     

  • ज्ञानेन्द्र शाहीलाई पार्टीको कार्यक्रममा बोल्न नदिएको भन्दै समर्थकले गरे विरोध (भिडिओ)

    ज्ञानेन्द्र शाहीलाई पार्टीको कार्यक्रममा बोल्न नदिएको भन्दै समर्थकले गरे विरोध (भिडिओ)

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीलाई पार्टीले आयोजना गरेको कार्यक्रममा बोल्न नदिएको भन्दै उनका समर्थकहरुले विरोध जनाएका छन् ।

    आइतबार राप्रपा निकट राष्ट्रिय प्रजातन्त्रीक महिला संगठनले काठमाडौंको प्रज्ञा भवनमा आयोजना गरेको एकताको प्रथम महाधिवेशन उद्घाटनमा शाहीलाई बोल्न नदिएको भन्दै समर्थकहरुले विरोध जनाएका हुन् ।

    कार्यक्रममा दौरान शाहीलाई मञ्चमा बोल्न नबोलाएको भन्दै सहभागीहरुले होहल्ला सहित नारावाजी गरेका थिए । उनीहरुले आफुहरु ज्ञानेन्द्र शाहीको भाषण सुन्न आएको बताइरहेका थिए ।

    नाराबाजीपछि पनि शाहीले बोल्न नपाएपछि कार्यक्रमको अन्त्यसम्म पनि उनीहरु आक्रोशित भएका थिए । यता शाहीले पनि आफूलाई बोल्न नदिएको बताए । राप्रपालाई युवामा रुपान्तरण गर्नुपर्छ भन्दै आएको तर युवाहरुलाई नै निषेध गर्न खोजेको उनले बताए ।

     

  • सरकारको कदमको समर्थन गर्दै लिङदेनले भने- प्रचण्डजी ! क्यान्टोनमेन्टको फाइल पनि खोल्नुस् (भिडिओ)

    सरकारको कदमको समर्थन गर्दै लिङदेनले भने- प्रचण्डजी ! क्यान्टोनमेन्टको फाइल पनि खोल्नुस् (भिडिओ)

    काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एकपछि अर्को गर्दै ठूला भ्रष्टाचारको फाइल खोले आफूले समर्थन गर्ने जनाएका छन् ।

    राप्रपानिकट महिला संगठनको एकता महाधिवेशनलाई सम्बोधन गर्दै उच्च पदस्थको नाम आइरहे पनि प्रधानमन्त्री रोकिन नहुने बताए ।

    उनले भने, ‘नक्कली शरणार्थी बनाएर विदेश पठाउने व्यापारमा लागेका रहेछन् । केही मानिस पक्राउ परेका छन् । एकपछि अर्को गर्दै उच्च पदस्थका व्यक्तिहरुको नाम आइरहेका छन् । म सरकारलाई भन्न चाहन्छु यो कारबाही र छानबिनको क्रम जसरी अगाडि बढेको छ । विगतका वाइडबडी काण्ड, ललितानिवास काण्ड, एनसेल काण्डजस्तै सेलाएर जान हुँदैन । देखाउनमात्रै गर्न हुँदैन ।’

    यदि प्रधानमन्त्रीले सुनियत र सुविचारको साथ यो कदम चालेको भए आफ्नो पार्टीले समर्थन गर्ने लिङदेनले प्रष्ट्याए ।

    ‘प्रधानमन्त्रीको कदममा कुनै राजनीतिक गन्ध छैन भने राप्रपाले समर्थन गर्छ । उहाँले यो मात्रै होइन वाइडबडी काण्ड, एनसेलको फाइल खोल्नुपर्रछ । ललिता निवासको फाइल खोल्नुपर्‍यो प्रचण्ड कतिवर्ष सरकारमा बस्ने हो राप्रपाले समर्थन गर्छ ।’

    लिङदेनले माओवादी लडाकु शिविर (क्यान्टोनमेन्ट) को विषय पनि उठाएका छन् ।

    ‘क्यान्टोनमेन्ट घोटाला काण्ड उहाँकै शिरमा लागेको छ त्यो के हो ? फाइल खोलेर आफू चोखो छु भनेर देखाइदिनुपर्‍यो तर, भ्रष्टचारको डंगुरमा शुद्धताको मन्त्र उच्चारण गर्‍यो भने लामो समय पत्याइँदैन’ उनले भने ।

  • राजतन्त्रबारे ओलीको टिप्पणीप्रति राप्रपाको प्रश्न- ६३ सालसम्म तपाईं पनि फटाहा, मूर्ख र अज्ञानी हुनुहुन्थ्यो ?

    राजतन्त्रबारे ओलीको टिप्पणीप्रति राप्रपाको प्रश्न- ६३ सालसम्म तपाईं पनि फटाहा, मूर्ख र अज्ञानी हुनुहुन्थ्यो ?

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिप्रति राप्रपाले आपत्ति जनाएको छ । आइतबार ओलीले पार्टी निकट किसान महासंघको कार्यक्रममा ओलीले राजसंस्था मान्ने स्वार्थी, फटाहा र बुद्धि नभएको हुने टिप्पणी गरेको थिए ।

    राप्रपा प्रवक्ता मोहन श्रेष्ठले ओलीको अभिव्यक्तिले राजसंस्था पक्षधर ठूलो पंक्तिको आस्था र भावनामा चोट पुग्ने पुगेका भन्दै आपत्तिजनक र दुर्भाग्यपूर्ण रहेको बताए ।

    उनले भने, ‘राजसंस्था मान्नेहरु फटाहा, मूर्ख र अज्ञानी हुन्छन् भन्ने उहाँको अभिव्यक्ति असहिष्णु र विद्वेषपूर्ण छन् । आफ्नो अभिव्यक्ति फिर्ता लिन अनुरोध गरिन्छ ।’

    उनले ओलीलाई ०६३ सालसम्म तपाईंहरु पनि फटाहा, मुर्ख र अज्ञानी हुनुहुन्थ्यो ? भन्दै प्रश्न गरेका छन् ।

     

  • राजेन्द्र लिङ्देनको प्रश्न- पूर्वलडाकुलाई पैसा बाँड्ने सरकारले महावीर पुनको माग किन सुन्दैन ? (भिडिओ)

    राजेन्द्र लिङ्देनको प्रश्न- पूर्वलडाकुलाई पैसा बाँड्ने सरकारले महावीर पुनको माग किन सुन्दैन ? (भिडिओ)

    काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनको आन्दोलनलाई राप्रपाले ऐक्यबद्धता जनाएको छ। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले माइतीघर पुगेर पुनको आन्दोलनमा समर्थन जनाएका हुन्।

    यो व्यक्ति र क्षेत्रको कुरा नभएर अनुसन्धान, नवप्रवर्धन र आविष्कार प्रवर्द्धनको विषयमा सरकार गम्भीर बन्नुपर्ने अध्यक्ष लिङ्देनले बताए।

    उनले भने, ‘उहाँहरूले उठाएको कुरामा सरकारले सम्बोधन गर्नुपर्छ। तर, उहाँ जस्तो मान्छे सडकमा आएर धर्ना बस्न बाध्य बनाएको छ। सरकारले माग पुरा नगरेसम्म हाम्रो साथ रहन्छ। यो कुनै तर्कबाट टाल्नुपर्ने होइन।’

    प्रधानमन्त्रीले आएर पुनसँग तत्काल सम्झौता गर्नुपर्ने बताए। संसदबाट कानुन बनाएर भए पुनको माग सम्बोधन गर्नुपर्ने उनको भनाइ छ।

    ‘पूर्व लडाकु र स्वास्थ्य उपचारको लागि करोडौँ पैसा बाँड्न सक्नेले आविष्कारको लागि किन खर्च गर्न सक्दैन’ उनले प्रश्न गरे।

    पुनकाे आन्दोलनलाई समर्थन गर्न डा. गोविन्द केसी लगायत पनि माइतीघर पुगेका छन् ।

    तस्बिरहरु : उमेश कार्की

  • उप निर्वाचनबारे लिङ्देनको विश्लेषण- मतदाताले विकल्प खोजे, तर रास्वपाको रंग अझै स्पष्ट छैन

    उप निर्वाचनबारे लिङ्देनको विश्लेषण- मतदाताले विकल्प खोजे, तर रास्वपाको रंग अझै स्पष्ट छैन

    रुपन्देही । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले उपनिर्वाचनको मत परिणामले मतदाता विकल्पतर्फ र व्यक्ति केन्द्रित हुँदै गएको भन्ने प्रष्ट देखिएको बताए । तर चुनावमा राम्रो नतिजा ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टीको अझै रङ्ग स्पष्ट नभएको उनको टिप्पणी छ ।

    वैकल्पिक शक्तिका रूपमा उदाएको रास्वपाले उपनिर्वाचनमा राम्रो मतान्तरले २ सीट जितेर राम्रो नतिजा ल्याए पनि अरू दलको जस्तै अझै उसको रङ्ग भने स्पष्ट हुन नसकेको लिङ्देनले बताए ।

    शनिवार राप्रपाको लुम्बिनी प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलालाई कपिलवस्तुमा सम्बोधन गर्न आएका उनले पत्रकारसँग कुरा गर्दै सो कुरा बताएका हुन ।

    राप्रपासहितका कांग्रेस, एमाले, माओवादीजस्ता पार्टीहरूको रङ प्रष्ट भइसकेको तर रास्वपाको रङ प्रष्ट भई नसकेको उनको भनाइ छ ।

    ‘कांग्रेस, एमाले, माओवादी, राप्रपा के हो, रङ प्रष्ट छ,त्यसलाई मन पराउने नपराउने छान्ने अधिकार जनतामा छ, तर रास्वपाको रङ प्रष्ट छैन’ उनले भनेका छन् ।

    उपनिर्वाचनमा रास्वपाको सफलतालाई राप्रपाले सकारात्मक रूपमा लिएको बताउँदै उनले भने, ‘रास्वपाले २ वटा सीटमा राम्रो मतान्तरसहित जित हात पार्‍यो, यसले आमजनता परिवर्तनको पक्षमा जान थाल्यो भन्ने कुरालाई प्रमाणित गरेको छ ।’

    उनले रास्वपासँग डराउनुपर्ने स्थितिमा राप्रपा नभएको दाबी गरे । उनले राप्रपाका मूल एजेण्डालाई केही वर्षभित्रै कांग्रेस, एमालेसहितका प्रमुख राजनीतिक दलले लिएर अघि बढ्ने परिस्थितिको सिर्जना गर्ने दाबी गरे ।

    अध्यक्ष लिङ्देनले छोटो समय सरकारमा रहँदा ४ वर्षदेखि हुन नसकेको विद्युत् सम्झौता खुल्ला गरेको बताउँदै तमोर, बुढी गण्डकी, दुधकोशीजस्ता जलाशययुक्त आयोजनाहरू बन्ने सुनिश्चित गरेको दाबी गरे ।

    उनले आगामी २०८४ मा हुने चुनावबाट संघीय सांसदमा हालको प्रतिनिधित्व १४ औँ गुणा बढ्ने र सोही अनुरूपमा काम गर्न पार्टी नेता, कर्यकर्तालाई निर्देशनसमेत दिए ।

  • राजेन्द्र लिङदेनले भने- राष्ट्रपतिको वैदेशिक उपचार यात्रा सत्ता दुरुपयोगको चरम नमूना (भिडिओ)

    राजेन्द्र लिङदेनले भने- राष्ट्रपतिको वैदेशिक उपचार यात्रा सत्ता दुरुपयोगको चरम नमूना (भिडिओ)

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रपति रामचन्द्र यादवलाई सरकारी खर्च र सुविधामा विदेश उपचार गर्न लगिएकोप्रति असन्तुष्टि प्रकट गरेका छन् । उनले संसदमा बोल्दै यस कार्यलाई सत्ताको दुरुपयोग संज्ञा दिए ।

    लिङ्देनले देशको राजश्वले चालु खर्च समेत धान्न नसकिरहेको अवस्थामा राष्ट्रपतिको उपचार यात्रा अस्वभाविक र महंगो बनेको बताए । साथै, अयोग्य लडाकुलाई रकम बाँड्न खोजिएको विषयमा पनि उनले विरोध जनाए ।

    ‘निर्माण व्यवसायीलाई ८० अर्ब राज्यले तिर्न सकेको छैन । । राजश्वले चालु खर्च धान्न नसकेको अवस्थ छ । यस्तोमा अस्वभाविक ढंगको राष्ट्रपतिको वैदेशिक उपचार यात्रा र अयोग्य लडाकुलाई रकम वितरणको तयारी सत्ता दुरुपयोगको चरम नमूना हो,’ उनले भने ।

    लिङ्देनले अयोग्य लडाकुलाई पैसाको साटो स्वास्थ्य उपचारमा सुविधा, सीप र रोजगारी दिन सरकारलाई सुझाव दिए ।
    राज्यले उच्चपदस्थको स्वास्थ्योपचारका विषयमा नीति बनाउनुपर्नेमा उनको जोड थियो । आफूले अहिलेसम्म राज्यबाट कुनै उपचार खर्च नलिएको र भविष्यमा पनि नलिने उनले घोषणा गरे ।

    लिङ्देनले भने, ‘म स्वयम् कोभिडका बेला असाध्यै बिरामी भएँ । त्यसबेला अघिल्लो संसदमा थिए । तर एक रुपैयाँ पनि उपचार खर्च राज्यबाट लिइनँ । द्वन्द्वको बेला ठूलो क्षति भोग्ने मान्छेमध्ये म पनि एक हो । तर, पनि मैले क्षतिपूर्ति मागिनँ । आज एउटा जिम्मेवार पार्टीको अध्यक्षको हिसाबले सार्वजनिक प्रतिवद्धता गर्दछु कि भविष्यमा आमनागरिकले भन्दा फरक स्वास्थ्य उपचारको सुविधा सरकारबाट लिने छैन । यहाँको डाक्टरले नेपालको प्रविधि र डाक्टरले सक्दैनन् नभनेसम्म विदेश उपचार यात्रामा जाने छैन ।’

  • उपनिर्वाचनले संसदीय गणितमा फरक नपार्ने भएकाले प्राथमिकतामै राखेका थिएनौं: राजेन्द्र लिङ्देन

    उपनिर्वाचनले संसदीय गणितमा फरक नपार्ने भएकाले प्राथमिकतामै राखेका थिएनौं: राजेन्द्र लिङ्देन

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले उपनिर्वाचनको मत परिणामले आत्तिनुपर्ने कुनै कारण नभएको बताएका छन्।काठमाडौंमा भएको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उपनिर्वाचनको मतपरिणामका कारणले निराशा हुन नपर्ने बताए।

    उनले भने, ‘हामीले प्रारम्भदेखि नै उपनिर्वाचनलाई प्राथमिकतामा राखेका थिएनौं। गएको निर्वाचनमा पनि ती निर्वाचन क्षेत्रमा हाम्रो मत राम्रो थिएन। अहिले पनि यो उपनिर्वाचनमा आउने एकदुई सीटले राष्ट्रिय राजनीतिमा कुनै फरक पर्दैन। संसदीय गणितमा फरक पार्दैन भनेर प्राथमिकतामै राखेका थिएनौं। हामीले राम्रो मत प्राप्त गर्न सकेनौँ।’

    अहिलेको व्यवस्था र व्यवस्था परिवर्तन गरे भन्ने दलहरुको विकल्पको खोजीमा जनता रहेको सन्देश उपनिर्वाचनले दिएको बताए। तीनवटा क्षेत्रमा भएको उपनिर्वाचनमा राप्रपाले उम्मेदवारी दिएपछि जमानत जफल भएको थियो।

  • उपचुनावमा राप्रपालाई निराशा- तीनैजना उम्मेदवारले पानी भन्न पाएनन् !

    उपचुनावमा राप्रपालाई निराशा- तीनैजना उम्मेदवारले पानी भन्न पाएनन् !

    काठमाडौं । गत संसदीय चुनावमा सन्तोषजनक नतिजा ल्याएको राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन क्षत्रेमा भएको उपचुनावमा भने निराशा हात पारेको छ । पार्टीका तीनैजना उम्मेदवारले उल्लेख्य मत ल्याउन सकेनन् ।

    उपचुनावमा राप्रपाले कसैसँग तालमेल नगरी एक्लै लडेको थियो । बारा-२ मा सोनालाल प्रसाद साह तेली, चितवन २ मा जीवलाल पुरी र तनहुँ १ मा शोभा गुरुङ राप्रपाबाट उम्मेदवार बनेका थिए । उनीहरू कसैको पनि जमानत नजोगिएको मात्र होइन, लज्जास्पद मत आएको छ ।

    चितवन र तनहुँमा राष्ट्रिय स्वतन्त्र पार्टीको आँधीमा ठूला पार्टी त बढारिए भने राप्रपाले अस्तित्व जोगाउनसक्ने कुरै थिएन । अघिल्लो संसदीय चुनावमा राप्रपालाई खसेका भोटहरू पनि अहिले घन्टीतिर सोहोरिएको देखिन्छ ।

    तनहुँ १ मा गुरुङले २१८ भोट मात्र ल्याउन सकिन् । जबकि मंसिर ४ को चुनावमा राप्रपाका विनोद घर्तिले २ हजार ४ सय ८३ मत ल्याएका थिए ।

    चितवनमा भने अघिल्लोपटक पनि राप्रपाको मत न्यून थियो । यसपालि त्योभन्दा पनि खस्केको छ । राप्रपाका उम्मेदवार जीवलाल पुरीले ३७५ मत ल्याए । अघिल्लो चुनावमा रविन अधिकारीले ९५५ मत ल्याएका थिए ।

    बारा २ पनि राप्रपाको कमजोर उपस्थिति भएको क्षेत्र हो । सो क्षेत्रमा पार्टीका उम्मेदवार सोनालाल साह तेलीले केवल ११९ भोट ल्याए । मंसिर ४ को चुनावमा पनि तेली नै उम्मेदवार थिए । त्यसबेला उनले ४५९ भोट ल्याएका थिए ।

    चितवन र तनहुँमा राप्रपाका उम्मेदवारहरू चौंथो स्थानमा छन् । बारामा भने १० औं स्थानमा ।

    राप्रपा प्रवक्ता मोहन श्रेष्ठले उपचुनावमा आफ्नो पार्टीले राम्रो नतिजा ल्याउन नसक्दा पार्टीकै जिम्मेवार नेताहरुले उत्साहपूर्वक अन्य दलका विजयी उम्मेदवारलाई सामाजिक सञ्जालबाट बधाई दिइरहेको भन्दै असन्तुष्टि पोखेका थिए ।

    नेपाल प्रेससँगको कुराकानीमा श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टीको लहरका कारण राप्रपा उम्मेदवारहरू आझेलमा परेको बताए । यद्यपि, चुनावी नतिजाका विषयमा पार्टीमा समीक्षा हुने उनको भनाई छ ।