Category: राप्रपा

  • ३५ दिन समय माग्दै महानगरमा राप्रपाको लिखित पत्र, कार्यालयनजिक डोजर ‘स्ट्यान्डबाइ’

    ३५ दिन समय माग्दै महानगरमा राप्रपाको लिखित पत्र, कार्यालयनजिक डोजर ‘स्ट्यान्डबाइ’

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो केन्द्रीय कार्यालय खाली गराउन काठमाडौं महानगरपालिकासँग ३५ दिन समय माग गरेको छ । राप्रपाका केही नेताहरु आजै महानगर पुगेर प्रमुख कार्यकारी अधिकृत बसन्त अधिकारीलाई पत्र बुझाएका हुन् ।

    महानगरले धुम्बाराहीस्थित राप्रपाको कार्यालय खाली गराउन सोमबारसम्मको अल्टिमेटम दिएको थियो । राप्रपाले भने कानून बमोजिम ३५ दिनको समय मागेको हो ।

    राप्रपाका मुख्यसचिव केदारबहादुर अधिकारीले भने, ‘हामीले भवन खाली नगर्ने भनेका छैनौं । तर, कानूनअनुसार सूचना जारी गरेको मितिले ३५ दिन समय चाहिन्छ भन्ने हाम्रो माग हो ।’

    महानगरका प्रमुख कार्यकारी अधिकृत बसन्त अधिकारी भने थप ३५ दिन समय उपलब्ध गराउन नसकिने बताउँछन् । गत वर्षको असोजमा नै महानगरले माइकिङ गरेको तर, राप्रपाले त्यसलाई गम्भीरतापूर्वक नलिएको उनको भनाइ छ ।

    ‘पब्लिकले हाइटेन्सनमुनि घर बनाउनै नपाउने, तर राजनीतिक दलले छुट पाउने कुरा कुनै पनि लजिकले मिल्दैन । नक्सापास बिना त्यहाँ घर बनाउन पाउने कुनै आधार नै छैन । विद्युत प्राधिकरणले त यो घर एक सेकेन्ड पनि रहन दिनुहुँदैन भनेको छ । पानी परेको बेला मान्छे छतमा गएको बेला मर्ने सम्भावना हुँदो रहेछ,’ उनले भने ।

    उनले घर भत्काउनुपर्ने विषयमा राप्रपाका नेताहरु पनि सहमतिमा आएको बताए ।

    ‘उहाँहरुले हामीलाई खाली गर्न मौका दिनुपर्यो भन्नुभएको छ । तर, हामीले असोजमा नै माइकिङ गरेका हौं । त्यो बेलामा पनि यही कुरा भन्नुभएको थियो । त्यसैले हामीले समयमा सुचना पाएनौं भन्न मिल्दैन’, उनले भने ।

    महानगरले राप्रपालाई लिखित पत्र भने अहिलेसम्म दिएको छैन । अधिकारी भने गोरखापत्रमा तीन महिना अगाडि सार्वजनिक सूचना जारी गरिएकाले लिखित पत्र दिइरहनु नपर्ने बताउँछन् ।

    ‘अहिले पनि सामान सार्न एक हप्ता-दश दिन समय माग्नु हुन्छ भने सोच्न सकिन्छ भनेका छौं’, उनले भने ।

    महानगरको डोजर स्ट्यान्डबाइ

    आजै राप्रपाको भवन भत्काउने योजनाका साथ महानगरबाट ३०० नगरप्रहरीसहित डोजर परिचालन भइसकेको छ । अहिले राप्रपाको कार्यालयबाट करिब ३०० मिटर दुरीमा डोजर राखेर नगरप्रहरीहरु बालेनको आदेश पर्खेर बसिरहेका छन् । टोलीको नेतृत्व नगर प्रहरी प्रमुख राजु पाण्डेले गरेका छन् ।

    नगर प्रहरी स्रोतले भन्यो, ‘हामी यहाँ स्ट्यान्ड बाइ छौं । जतिबेला आदेश आउँछ, तत्काल भवन भत्काउन कुनै समस्या छैन ।’

    तस्बिरहरू: गाैरव पाैडेल

  • महानगरको टोली आउने हल्लापछि राप्रपा पार्टी कार्यालयमा कार्यकर्ताहरू भेला

    महानगरको टोली आउने हल्लापछि राप्रपा पार्टी कार्यालयमा कार्यकर्ताहरू भेला

    काठमाडौं । काठमाडौं महानगरको टोली आउने हल्लापछि राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्यालयमा कार्यकर्ताहरूको भिड लागेको छ ।

    कार्यालय हटाउन सोमबारसम्मको अल्टिमेटम दिएको महानगरको टोलीले धुम्बाराहीस्थित कार्यालय हटाउन जाने तयारी गरेको छ ।

    अटेरी गरे डोजर नै चलाउने तयारी महानगरले गरेको चाल पाएपछि राप्रपा समर्थकहरू पार्टी कार्यालयमा भेला हुन लागेका हुन् ।

  • हृदयन्द्रलाई जन्मदिनको शुभकामना दिँदै रवीन्द्र मिश्रले भने- भविष्यमा राजगद्दीको भार बोक्न शक्ति मिलोस्

    हृदयन्द्रलाई जन्मदिनको शुभकामना दिँदै रवीन्द्र मिश्रले भने- भविष्यमा राजगद्दीको भार बोक्न शक्ति मिलोस्

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पूर्वनवयुवराजधिराज हृदयन्द्रलाई भविष्यमा देशको राजगद्दी सम्हाल्न शुभकामना दिएका छन् । हृदयन्द्रको जन्मदिनका अवसरमा सामाजिक सञ्जालमार्फत उनले यस्तो शुभकामना दिएका हुन् ।

    मिश्रले ट्वीट गरेका छन्, ‘मानसिक, बौद्धिक, चारित्रिक, राजनीतिक, सबै दृष्टिकोणबाट– आफ्ना पुर्खाबाट भएका राम्रा कामबाट प्रेरणा लिँदै र गल्तीबाट पाठ सिक्दै- यो देशको दिर्घकालीन हित, शान्ति, स्थिरता, भौगोलिक अखण्डता र अन्तर्राष्ट्रिय प्रतिष्ठाका लागि– भविष्यमा राजगद्दीको भार बोक्न बहुसंख्यक नेपाली जनता र ईश्वरले विवेक र शक्ति प्रदान गरून् !’

    आफू ‘दुर्गन्धित’ भएर अरूमा ‘सुगन्ध’ खोज्ने समाजमा ‘छवि’ जोगाउन सहज नभएको भन्दै उनले हृदयन्द्रलाई सचेत गराएका छन् ।

    ‘कहाँनिर मौका पाऊँ र धज्जी उडाऊँ भन्नेहरूको संख्या कम छैन । विचार पुर्याउन विनम्र आग्रह गर्दछु’, उनले भनेका छन् ।

    मिश्रले राजनीतिक दलहरूलाई न्यूनीकरण गर्ने काम कहिल्यै नगर्न हृदयन्द्रलाई सुझावसमेत दिएका छन् । राजनीतिक दलहरूलाई न्यूनीकरण गर्दा राजसंस्था र प्रजातन्त्र दुवै संकटमा पर्ने गरेको भन्दै उनले यो देश ढिलोचाँडो नराम्रो संकटमा फँस्ने भविष्यवाणीसमेत गरेका छन् ।

    ‘हामी राजनीतिक, सामाजिक र संस्थागत रूपमा यति पतित भइसकेका छौँ कि गम्भीर संकट आइपर्दा राजसंस्थाबाहेक अन्य कुनै संस्थाले त्यो सङ्कटबाट देशलाई पार लगाउन सक्दैन’, उनी भन्छन्, ‘डर के हो भने जुन गतिमा ‘राष्ट्र र राज्य’ क्षयीकृत भएर गइरहेको छ, भोलि गएर राजसंस्थाले समेत सम्हाल्न नसक्ने स्थिति सृजना हुन सक्छ । त्यसको सबैभन्दा घातक असर यो देशका युवाहरूमा पर्ने छ ।’

    देशको लागि आ–आफ्ना विचारलाई थाँती राख्दै एउटा ‘नवीन समझदारी’मा पुगेर राजसंस्था पुनर्स्थापना गर्न अब धेरै समय नलागोस् भन्ने मिश्रको शुभेच्छा छ ।

    पूर्वनवयुवराज हृदयन्द्र आज २२ औं वर्षमा प्रवेश गरेका छन् । उनी पूर्वयुवराज पारस र पूर्वयुवराज्ञी हिमानीका एक मात्र छोरा हुन् । उनको जन्म २०५९ साल साउन १४ गते भएको थियो ।

  • राप्रपाको कार्यालयमा महानगरले डोजर चलाउला ? लिङदेनको फोन बालेनले उठाएनन्

    राप्रपाको कार्यालयमा महानगरले डोजर चलाउला ? लिङदेनको फोन बालेनले उठाएनन्

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको धुम्बाराहीस्थित केन्द्रीय कार्यालय डोजर लगाएर भत्काउने तयारी काठमाडौं महानगरपालिकाले गरेको छ । नगर प्रहरी प्रमुख राजु पाण्डेले घर खाली नगरिए डोजर लगाउनुको विकल्प नभएको बताए ।

    गत शुक्रबार नगर प्रहरीले राप्रपाको कार्यालयमा गएर घर खाली गर्न माइकिङ गरेको थियो । उनीहरुले सोमबारअघि घर खाली नगराए डोजर चल्ने चेतावनी दिएर गएका थिए ।

    राप्रपा मुख्यसचिव केदारबहादुर अधिकारीले नगर प्रहरीले माइकिङ गरेर गए पनि महानगरबाट कुनै लिखित सूचना वा पत्र नआएको बताए ।

    ‘के कारणले भवन खाली गर्नुपर्ने हो भन्ने हामीलाई कुनै आधिकारिक जानकारी दिनुभएको छैन । हामीले लिखित पत्र मागेका छौं । तर, महानगरबाट कुनै रेस्पोन्स भएको छैन’, उनले भने ।

    स्रोतका अनुसार पार्टी अध्यक्ष राजेन्द्र लिङदेन स्वयंले महानगरका प्रमुख बालेन्द्र शाहसँग कुरा गर्न खोजे पनि सफल भएका छैनन् । अस्ति लिङदेनले गरेको फोन बालेनले रिसिभ गरेनन् भने म्यासेजको पनि रिप्लाइ गरेनन् ।

    नगर प्रहरी प्रमुख पाण्डेले हाइटेन्सनमुनि निर्माण भएकाले घर भत्काउनुपर्ने बताए ।

    उनले भने, ‘हाइटेन्सनमुनि घर बनाउन पाइँदैन । त्यसैले हामीले खाली गर्न भनेका हौं । आजसम्म पर्खिन्छौं । नत्र भोलि डोजर चल्छ ।’

    राप्रपाले भने घर खाली गर्न कुनै तयारी गरेको छैन । पार्टीभित्र यो विषयमा औपचारिक छलफल नभएको मुख्य सचिव अधिकारी बताउँछन् ।

    ‘के गर्ने भनेर अहिलेसम्म मलाई कुनै स्पष्ट निर्देशन आइसकेको छैन । हामीले महानगरको मनसाय बुझ्न सकेका छैनौं । यही स्थानमा थुप्रै घरहरु हाइटेन्सन मुनि बनेका छन् । तर, राप्रपाको घरलाई मात्रै टार्गेट गरिएको छ’, उनले भने ।

    नगर प्रमुख पाण्डे भने हाइटेन्सन मुनि बनेका सबै घरहरु भत्काइने बताउँछन् ।

    ‘नियम-कानून सबैलाई बराबर हुन्छ । त्यसमाथि देशको नेतृत्व गर्छु भन्ने राजनीतिक पार्टीकै कार्यालय अवैध छ भने त्यसले कस्तो सन्देश जान्छ ? त्यसैले यसमा कुनै कम्प्रोमाइज गर्न सकिँदैन’, उनले भने ।

    आफू राप्रपासँग कुरा गर्न तयार रहेको उनले बताए । ‘उहाँहरु आज कुरा गर्न आउँछौं भन्नुभएको छ । कस्तो कुरा गर्नुहुन्छ, त्यहीअनुसार कदम चाल्ने हो । तर, घर खाली गर्ने कुरामा सम्झौता गर्ने कुनै सम्भावना छैन’, उनले भने ।

    धुम्बाराहीमा करिब १० रोपनी क्षेत्रफलमा रहेको २ तल्ले घर राप्रपाले २०६९ सालदेखि प्रयोग गर्न थालेको हो । यो घरको नक्सापास नभएको बुझिएको छ । दाताहरुले राप्रपालाई यो घर–जग्गा प्रयोग गर्न दिएका थिए । मुख्य सचिव अधिकारीका अनुसार नक्सापासका लागि निवेदन दिएको वर्षौं हुँदा पनि गरिएको छैन ।

    यो घर अहिले कल्याण राजभण्डारी र प्रज्ञा चापागाईंको नाममा छ । घरमा डोजर चल्नबाट रोक्न अदालत गएर अन्तरिम आदेश ल्याउने विकल्प छ । तर, राप्रपाको नाममा घर नभएकाले घरधनीहरुले नै यसका लागि निवेदन दिनुपर्ने हुन्छ । तर, घरधनीहरुले चासो नदिँदा कतै उनीहरु आफैं घर खाली गराउन चाहिरहेका छन् कि भन्ने आंशमा पैदा भएको एक नेताले बताए ।

  • राप्रपाको केन्द्रीय कार्यालय भवन सोमबारसम्म खाली गराउन महानगरको माइकिङ

    राप्रपाको केन्द्रीय कार्यालय भवन सोमबारसम्म खाली गराउन महानगरको माइकिङ

    काठमाडौं । काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टीको धुम्बाराही स्थित केन्द्रीय कार्यालय भवन खाली गर्न आदेश दिएको छ । महानगरका कर्मचारीहरुले कार्यालय भवन अगाडि पुगेर आज माइकिङ गरेका थिए ।

    राप्रपाका मुख्यसचिव केदारबहादुर अधिकारीले महानगरका कर्मचारीहरुले भवन खाली गर्न भने पनि कारण नखुलाएको बताए ।

    ‘उहाँहरुले माइकिङ गर्नुभएको थियो, तर लिखितरुपमा केही पनि दिनुभएको छैन । हामीले केकति कारणले खाली गर्नुपर्ने भनेर लिखित पत्र मागेका छौं,’ अधिकारीले भने ।

    उनले हाइटेन्सनमुनि थुप्रै घरहरु रहेकाले राप्रपाको मात्रै खाली गराउने कुरा उपयुक्त नरहेको बताए ।

    ‘हाम्रै वरिपरी धेरै घरहरु हाइटेन्सनमुनि छन्, तर किन हो हाम्रोमा मात्रै माइकिङ गरेर जानुभयो,’ अधिकारीले भने ।

    धुम्बाराहीमा करिब १० रोपनी क्षेत्रफलमा रहेको २ तल्ले घर राप्रपाले २०६९ सालदेखि प्रयोग गर्न थालेको हो । यो घरको नक्शापास नभएको बुझिएको छ । दाताहरुले राप्रपालाई यो घर-जग्गा प्रयोग गर्न दिएता पनि नक्शापास नहुनाले राप्रपाको नाममा आएको छैन । नक्सापासका लागि निवेदन दिएको वर्षौं हुँदा पनि नगरिएको अधिकारीले बताए ।

    यो घर अहिले कल्याण राजभण्डारी र प्रज्ञा चापागाईंको नाममा छ ।
  • संघमा दुई सदन काम छैन, राष्ट्रिय सभा खारेज गरौँ : राजेन्द्र लिङ्देन (भिडिओ)

    संघमा दुई सदन काम छैन, राष्ट्रिय सभा खारेज गरौँ : राजेन्द्र लिङ्देन (भिडिओ)

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले प्रदेश संरचना र राष्ट्रिय सभा खारेज गर्नुपर्ने बताएका छन् ।

    कृषकलाई प्रोत्साहन गर्न दोलखा जिल्लास्थित सैलुङको आलु उच्चस्तरीय राजनीतिक दलहरुलाई उपहार दिने क्रममा दोलखाबाट आएको टिमलाई बिहीबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा भेट गर्ने क्रममा सञ्चारकर्मीहरुले राखेका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।

    उनले नेपालको स्थायित्वका तीन पिल्लरमध्ये राजसंस्था र हिन्दूराष्ट्र हटाइएको र अन्तिम खम्बाको रुपमा रहेको नेपाली सेनामाथि पनि आक्रमणको प्रयास भइरहेको बताए ।

    उनले सेना बिनाको राज्य बनाउने प्रस्तावसमेत कतिपयले गरिरहेको भन्दै यो दुःखको कुरा भएको बताए । उनले वडा तहदेखि प्रतिनिधि सभासम्मका सदस्यहरु कटौति गरेर खर्च कम गर्नुपर्ने बताए । उनले प्रतिनिधि सभा भइसकेपछि राष्ट्रिय सभाको औचित्य नभएको र प्रदेश संरचनाको पनि काम नरहेको जिकिर गरे ।

    उनले नेपाली सेनाको योगदानलाई बिर्सिन नहुने भन्दै अझै सशक्त, आधुनिक र हतियारसम्पन्न नेपाली सेना बनाउनु अहिलेको आवश्यकता रहेको बताए ।

    ‘नेपालको स्थायित्वका तीन पिल्लरहरु थिए, राजसंस्था, सनातन हिन्दु राज्य र नेपाली सेना । जसमध्ये दुई राजसंस्था र सनातन हिन्दु राज्य मासिसके भने अब अहिले आएर नेपाली सेनामाथि आक्रमण भइरहेको छ । खर्च कटौतीको नाममा सेनाको संख्या घटाउनुपर्ने, कसैले सेना बिनाको राज्य बनाउने मोडल प्रश्ताव गरिरहेको छ । यो दुर्भाग्यको कुरा हो । नेपाल जस्तो सानो देशमा वडा सदस्यदेखि राष्ट्रपतिसम्मलाई जनताले कर तिरेर ऋण काडेर तलव भत्ता खुवाउनुपर्ने परिस्थिति छ । यो जनप्रतिनिधिहरुको संख्या कटौति गर्नुपर्छ । अनावश्यक तह जस्तो प्रदेश कुने काम नै छैन, प्रतिनिधि सभा र राष्ट्रिय सभा दुई वटा काम नै छैन, कुनै औचित्य छैन, राष्ट्रिय सभा खारेज गर्ने प्रतिनिधि सभा सदस्य घटाउनुपर्छ’, उनले भने, ‘त्यसैले सेनालाई छुनु, चलाउनु हुँदैन, सेना भनेको सीमाको रक्षा,विपद् व्यवस्थापन, विकास निर्माणमा दिएको योगदानलाई बिर्सनु हुँदैन । सेनाको मनोबल घटाउने कुरा गर्नु देशको लागि दुर्भाग्य हो । यसलाई सशक्त, प्रभावकारी बनाउनुपर्छ । सेनाको हात हतियारहरु बलियो बनाएर राख्नुपर्छ । सेनालाई कमजोर पार्ने कल्पना गर्नु भनेको राष्ट्रिय हीत विपरित हो, राष्ट्रघात हो ।’

    अध्यक्ष लिङदेनले सय किलो सुन तस्करी प्रकरणको अनुसन्धान जरैसम्म पुग्नुपर्ने र अनुसन्धानका लागि उच्चस्तरीय छानबिन आयोग नबनाए १५ गते बस्ने प्रतिनिधि सभामा बिरोध गर्ने चेतावनी दिए ।

    उनले सामान्य मानिसले एक अर्ब बढीको सामान एकै पटकमा ल्याउने कल्पना नगर्ने भन्दै सामान्य नागरिकलाई समाएर कम्पनी मालिकलाई समाएँ भन्ने फुर्ति नलगाउन उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई चेतावनी दिए । उनले सुन तस्करी प्रकरणमा ठूलो तहका मानिसको संलग्नता रहेको सहजै कल्पना गर्न सकिने भन्दै अनुसन्धान पूर्ण रुपमा हुनुपर्ने बताए ।

    ‘सुन काण्डमा संलग्न मानिसको जरासम्म नै पुग्नुपर्छ । दोलखाको २१ वर्षीय केटो जसको घरमा बिहान बेलुका खानको राम्रो बन्दोबस्ती छैन । उसले एक अर्बको सामान एकैदिनमा ल्याउने कल्पना गर्न सकिँदैन’, उनले भने, ‘कम्पनी मालिकलाई पक्राउ गरेँ भनेर जुँगामा ताउ लगाउने भनेर ठूलै काम गरेँ भनेर भन्दा कसैले पत्याउँदैन, ठूला मान्छेको नाम आएको छ, अनुसन्धानको दायरामा आउनुपर्छ । सुन छिराउने कामको प्रकृतिलाई हेर्दा सामान्य मानिसबाट भएको काम होइन, माथिल्लो तहका मानिसको हात छ, यसमा उच्चस्तरीय छानबिन आयोग गठन हुनुपर्छ । आम नागरिकले पनि माथिल्लो तहको संलग्नता छ भन्छन् । यसमा सानाबाट हुँदै हुँदैन ।’

    अध्यक्ष लिङदेनले सुन काण्डसँग सम्बन्धित विषयमा सबै दलले छानबिन समितिको माग गरेकाले छानबिन समिति नभएसम्म १५ गतेको संसद बैठकमा पनि बिरोध हुने चेतावनी दिए । कृषकलाई प्रोत्साहन गर्न दोलखा जिल्लास्थित सैलुङको आलु उच्चस्तरीय दलका नेताहरुलाई आलु उपहार दिएको र यो कृषकलाई प्रोत्साहनका लागि दिइएको हो ।

     

  • राजेन्द्र लिङदेनको प्रस्ताव- खर्च कटौती गर्न सेना होइन जनप्रतिनिधि घटाऔं

    राजेन्द्र लिङदेनको प्रस्ताव- खर्च कटौती गर्न सेना होइन जनप्रतिनिधि घटाऔं

    काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले नेपाली सेनाको औचित्यमाथि प्रश्न उठाउन नमिल्ने बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै सेनाको संख्या घटाउने कुरा बहसमा ल्याउन नहुने उनको भनाइ छ ।

    खर्च कटौती गर्ने भए सेना नभएर जनप्रतिनिधि घटाउनुपर्ने उनले बताए ।

    लिङदेनको भनाइ जस्ताको तस्तै

    बेमौसमी ढंगले संसद र बाहिर पनि नेपाली सेना संख्या कटौतीको विषय चर्चामा आइरहेको छ । सेनाको औचित्वमाथि प्रश्न उठाउने काम भइरहेको छ । के प्रयोजन र कसको खुसीको लागि यो भइरहेको छ । यो जानेर भएको हो कि कसैको उक्साहटमा भएको हो ? नेपालको एकीकरण विश्वमा शान्ति स्थापना, आन्तरिक सुरक्षा, प्राकृतिक प्रकोपमा सहयोगलगायतको सम्पूर्ण आयाममा सहयोग पुर्‍याएको सेनामाथि किन प्रश्न उठिरहेको छ ।

    खर्च कटौतीको नाममा सेनाको संख्या कटौती गर्ने अथवा सेनाविहीन राज्यको परिकल्पना गर्ने कुराहरू किन प्रवेश गरिरहेका छन् ? रक्षामन्त्रीले संसदमा स्पष्ट पार्नुपर्‍यो यो छलफलको विषय हो कि होइन ? हामीले सेनालाई खर्च गर्न रकम अभाव भएको भएपनि खर्च कटौती गर्ने अर्को उपायहरू छन् ।

    यति सानो देशमा ४० हजार जनप्रतिनिधि किन चाहियो ? प्रदेश किन चाहियो ? माथिल्लो तहमा राष्ट्रिय र प्रतिनिधिसभा किन चाहियो ? एउटा संसद राखौं केन्द्र राखौं बलियो स्थानीय तह राखौं । र खर्च कटौती हामीबाट सुरू गरौं । तर, खर्च कटौतीको नाममा सेनाको औचित्यमा प्रश्न उठाएर बहसमा नल्याऔं । अहिले सेनालाई बलियो बनाउन जरुरी छ ।

  • आयोग बनाएर सुन तस्करीको छानबिन गर्न राप्रपाको माग (भिडिओ)

    आयोग बनाएर सुन तस्करीको छानबिन गर्न राप्रपाको माग (भिडिओ)

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले नेपाल सुन तस्करको ट्रान्जिट बनिरहेको दाबी गरेका छन् ।

    प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने, ‘डेढ क्वीटल सुन विमास्थलबाट बाहिरिनु सामान्य विषय होइन । समाजलाई ठीक दिशामा ल्याउनको लागि यसको जरासम्म पुग्नुपर्छ । भुटानी शरणार्थी र ललिता निवास प्रकरणमा पनि सरकार जरासम्म पुग्न उद्धत छैन ।’

    सुन तस्करीको सूचना दिने स्रोतले कोको संलग्न छ भन्ने खुलाउन सक्ने बताए । उनले कसैलाई देखाउनकै लागि यो सुन पक्राउ गरेको आरोप लगाए ।

    उनले भने, ‘नेपाल सुन तस्करको ट्रान्जिट बनिरहेको छ । सम्बन्धित अरु देशको दबाबले यो पक्राउ परेको कुरा आएको छ । भरियालाई पक्रेर नाइकेलाई जोगाउने काम नगरोस् । अनुसन्धानलाई सशक्त ढंगले अगाडि बढाओस् । यसबारे छानबिन आयोग बनाउनुपर्छ ।’

  • राप्रपाले ९ सय नेतालाई तोक्यो भूगोलको जिम्मेवारी, कसले कहाँको कमाण्ड सम्हाल्ने ? (सूचीसहित)

    राप्रपाले ९ सय नेतालाई तोक्यो भूगोलको जिम्मेवारी, कसले कहाँको कमाण्ड सम्हाल्ने ? (सूचीसहित)

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले संगठन विस्तारका लागि केन्द्रदेखि जिल्ला तहका ९ सय नेतालाई स्थानीय स्तरमा खटाउने भएको छ । अध्यक्ष राजेन्द्र लिङ्देनले समेत भूगोलको जिम्मेवारी लिएका छन् ।

    देशका ७५३ स्थानीय तह र ६ हजार ६४३ वडा तथा प्रवासमा समेत राप्रपाले नेताहरू तोकेर जिम्मेवारी प्रदान गरेको हो ।

    जिम्मेवारी प्राप्त गर्ने नेताहरूले आफूलाई तोकिएको भूगोलमा ६ महिनासम्म संगठन विस्तार र सुदृढीकरणका काम गर्नुपर्ने छ ।

    उनीहरूले गरेका कामको अनुगमन तथा मूल्यांकन पार्टीका प्रदेश संयोजक र सह-संयोजकहरुले गर्नेछन् ।

    राप्रपाले राजसंस्था, हिन्दू राष्ट्र र संघीयता सम्बन्धी पार्टीको अवधारणालाई जनताको घरदैलोमै पुर्‍याउने लक्ष्य लिएको छ ।

    जिम्मेवारी तोकिएका नेताहरूले भ्रष्टाचार र भ्रष्टाचारविरुद्ध पार्टीका अवधारणाहरूलाई प्राथमिकताका साथ राख्ने तथा नयाँ पुस्तालाई पार्टीमा जोड्ने विशेष अभियान सञ्चालन गर्ने काम गर्नेछन् । तोकिएको भूगोलको जिम्मेवारीमा नजाने नेताहरू स्वतः पदीय जिम्मेवारीबाट मुक्त हुने राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बताए ।

    भूगोल केन्द्रित जिम्मेवारीमा रहेका नेताहरूले आफ्नो दैनिक क्रियाकलाप विद्युतीय माध्यमबाट सचिवालयमा नियमित पेश गर्नुपर्ने छ । ६ महिनापछि भूगोलको जिम्मेवारी हेरफेर हुन सक्ने जनाइएको छ ।

    को कहाँ खटिने ?

    राप्रपाका तीन वरिष्ठ नेता लोकेन्द्रबहादुर चन्द, डा. प्रकाशचन्द्र लोहनी र पशुपति शमशेर राणालाई भूगोल केन्द्रित जिम्मेवारी दिइएको छैन । बाँकी सबैले जिम्मेवारी पाएका छन् ।

    पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले धरान उपमहानगरपालिकाको जिम्मेवारी लिएका छन् । वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले काठमाडौं १ पाएका छन्, जुन उनले चुनाव लडेको क्षेत्र पनि हो ।

    यस्तै, डा. धवलशम्शेर राणाले नेपालगञ्ज, उद्धव पौडेलले विराटनगर, विक्रम पाण्डेले भरतपुर मोहन श्रेष्ठले गोरखा (भीमसेन, सहिद र लखन), ज्ञानेन्द्र शाहीले जुम्ला (तातोपानी, चन्दननाथ), रेखा थापाले सुन्दर हरैचा बेलबारीको जिम्मेवारी पाएका छन् ।

    हेर्नुस पूरा सूची

  • सेनाबारे बेमौसमी बहस रहस्यमय, अनुचित र दुर्भाग्यपूर्ण : राप्रपा

    सेनाबारे बेमौसमी बहस रहस्यमय, अनुचित र दुर्भाग्यपूर्ण : राप्रपा

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेपाली सेनाको बारेमा भइरहेको बहसप्रति आपत्ति जनाएको छ ।

    राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले एक विज्ञप्ति जारी गर्दैै योजनाबद्ध ढंगबाट बुद्धिजीवि तथा केही राजनीतिक दलका जिम्मेवार नेताहरुबाट सेनाको संख्या घटाउनुपर्ने र सेनाविहीन राज्यको परिकल्पना जस्ता विषयमा श्रृखलाबद्ध रुपमा उठाउनु रहस्यमय, अुनचित र दुर्भाग्यपूर्ण रहेको बताएका छन् ।

    उनले भनेका छन्, ‘राज्यको आर्थिक भार घटाउने प्रशस्तै उपायहरू विद्यमान छन् र यसबारे राप्रपा बहस गर्न तयार छ । नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाभिमान र एकताको पक्षमा इतिहासको कठिनतम कालखण्डमा समेत प्रतिबद्ध रहेको नेपाली सेनालाई कमजोर बनाउने गरी बहस केन्द्रित गरिनु हुँदैन ।’

    नेपालको एकीकरणदेखि विश्वमा शान्ति कायम गर्ने कार्यमासमेत अलग पहिचान बनाएको, विकास निर्माण, सिमानाको रक्षा, सामरिक महत्व, वन्यजन्तु संरक्षण, हिमाली पर्वतमालाहरूलाई स्वच्छ राख्ने चूनौतीपूर्ण कार्यदेखि आन्तरिक सुरक्षा र विपद्को समयमा समेत प्रभावकारी ढंगबाट आफ्नो जिम्मेवार भूमिका निर्वाह गरिरहेको नेपाली सेनालाई अस्थिर राजनीतिबाट सिर्जित घरेलु परिवेश र सामाजिक अराजकताका कारण राज्य कमजोर हुँदै गइरहेको विज्ञप्तिमा उल्लेख छ ।

    वर्तमान अवस्थामा सेनाको भूमिका उपर बेमौसमी बहस गरिनु दुःखद र आपत्तिजनक भएको राप्रपाको ठहर छ ।

     

  • जनताले साथ दिए राजा र हिन्दू राष्ट्र सम्भव छ : राजेन्द्र लिङ्देन (भिडिओ)

    जनताले साथ दिए राजा र हिन्दू राष्ट्र सम्भव छ : राजेन्द्र लिङ्देन (भिडिओ)

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले हिन्दू राष्ट्रको मुद्दा उठाउनु स्वार्थ र सत्तासँग केन्द्रित विषय नभएको बताएका छन् ।

    नेपाल सनातन धर्म, संस्कृति, संगठनद्वारा आयोजित सनातन हिन्दू राष्ट्रको लागि पदयात्रा कार्यक्रममा सहभागी हुनुभएका अध्यक्ष लिङदेनले यस्तो बताएका हुन् ।

    उनले हिन्दू राष्ट्रको मुद्दा बहुसंख्यक नेपालीहरुले उठाएको मुद्दा भएकाले उनीहरुलाई बुझाउनका लागि पदयात्रा गरेको बताए ।

    उनले राप्रपाले सनाधन, धर्म, संस्कृतिको रक्षार्थ जनचेतना जगाउने र हिन्दू राष्ट्र अभियान सञ्चालनका लागि जनचेतना फैलाउने उद्देश्यले पदयात्रा कार्यक्रम गरेकाले आगामी दिनमा थप कार्यक्रम गर्दै जाने बताए ।

    उनले शान्तिपूर्ण बाटोबाट हामी नेपालमा हिन्दू राष्ट्र पुनः स्थापना आफूले चाहेको बताए । उनले विगतमा भावावेश र विदेशीको दबाबमा आएर हिन्दू राष्ट्र हटाइएपनि अब सच्चिन राजनीतिक दलहरुलाई आग्रह गरे ।

    राजतन्त्र फर्किने कुरा जनतामा निर्भर हुने भएकाले जनता राप्रपाको मुद्दामा समर्थन गरिरहेको बताए ।

    यस्तो छ लिङ्देनको भनाइ:

    हामीले उठाइरहेको हिन्दु राष्ट्रको मुद्दा बहुसंख्यक नेपालीहरुले उठाएको मुद्दा हो । जसको मुद्दा हो उसैलाई बुझाउन नसकिएको, उसैले नबुझेको अवस्था हो । राप्रपाले सनाधन, धर्म, संस्कृतिको रक्षार्थ जनचेतना जगाउने र हिन्दू राष्ट्र अभियान सञ्चालनका लागि जनचेतना फैलाउने उद्देश्यले गरेका हौँ ।

    यो अब निरन्तर चलिरहन्छ । हामीले कसैको सिको गर्नुपर्ने छैन, हामीले नितान्त आफ्नै संस्कृति, परम्पराको रक्षा गर्न यो कार्यक्रम अघि बढाएका हौँ । शान्तिपूर्ण बाटोबाट हामी नेपालमा हिन्दू राष्ट्र पुनः स्थापना चाहन्छौँ । हामीले अन्य राजनीतिक दलसँग पनि कुरा गरिरहेका छौँ की विगतमा भावावेशमा आएर अथवा विदेशीको दबाब र प्रभवमा परेर गरेको निर्णय गलत छ, गलत बाटोले देशलाई कुनै निष्कर्षमा लैजान सक्दैनौँ ।

    जुनसुकै बाटोबाट भएपनि हिन्दू राष्ट्र कायम हुनुपर्छ भनिरहेका छौँ । राजनीतिले धर्ममाथि हस्तक्षेप गरेपछि, राजनीतिले हिन्दू राष्ट्र समाप्त गरेपछि यो रामनामी ओढेर मात्रै फर्किंदैन, यसमा राजनीतिक दृष्टिकोणमा हिन्दू राष्ट्र पुनःस्थापनालाई राखेको छ । हिन्दू राष्ट्रको मुद्दा उठाउनु स्वार्थ र सत्तासँग केन्द्रित विषय होइन । राजतन्त्र फर्किने कुरा जनतामा निर्भर हुने कुरा हो, धेरै जनता हाम्रो मुद्दामा सहमत हुनुहुन्छ, पुनः स्थापना हुन सम्भव छ ।

     

  • मैतीदेवीबाट पशुपतिनाथसम्म राप्रपाको धार्मिक पदयात्रा (तस्बिरहरू / भिडिओ)

    मैतीदेवीबाट पशुपतिनाथसम्म राप्रपाको धार्मिक पदयात्रा (तस्बिरहरू / भिडिओ)

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले धार्मिक पदयात्रा निकालेको छ । सोमबार दिउँसो काठमाडौंको मैतीदेवीबाट पशुपतिनाथ मन्दिरसम्म भएको पदयात्रामा राप्रपाका शीर्ष नेता र कार्यकर्ता सहभागी थिए ।

    राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, नेताहरू बुद्धिमान तामाङ, रवीन्द्र मिश्र, दीपकबहादुर सिंहलगायत पदयात्रामा उपस्थित थिए ।

    शिव सृष्टि र शून्यका प्रतीक हुन् भन्ने मान्यतालाई आत्मसात् र अनुसरण गर्दै धार्मिक जागरण फैलाउने, हिन्दूराष्ट्रका पक्षमा जनमत सिर्जना गर्ने अभियान अन्तर्गत पदयात्रा गरिएको राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठले बताए ।

    आयातित धर्म, संस्कृति, परम्पराको अतिक्रमणबाट देशलाई जोगाउने, समान विचार भएका शक्तिहरूलाई गोलबद्ध गर्दै जाने उद्देश्यसाथ धार्मिक पदयात्रा गरिएको आयोजक नेपाल सनातन धर्म संस्कृति संगठनका अध्यक्ष पुष्पराज पुरुषले जानकारी दिए ।

  • आज राप्रपाले धार्मिक यात्रा गर्दै

    आज राप्रपाले धार्मिक यात्रा गर्दै

    काठमाडौं । राप्रपा निकट नेपाल सनातन धर्म संस्कृति संगठनले आज मैतीदेवी-पशुपतिनाथ धार्मिक पदयात्रा गर्दै छ । अघिल्लो वर्षदेखि संगठनले साउनको पहिलो दिन धार्मिक पदयात्रा गर्ने गरेको छ ।

    राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा राप्रपाका नेताहरू, धार्मिक क्षेत्रका अगुवाहरू, सामाजिक जीवनका विशिष्ट व्यक्तिहरु, समान विचार भएका व्यक्ति, समूह, संस्थाहरू समेतको सहभागितामा मैतीदेवीदेखि पशुपतिनाथसम्म धार्मिक पदयात्रामा रहने राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

    उनले भने, ‘हामी अपराह्न १२ः३० बजे मैतीदेवी मन्दिरमा भेला भई विभिन्न धार्मिक गतिविधि गर्दै पशुपतिनाथ मन्दिरसम्म पदयात्रा गर्छौँ, यो शान्ति पदयात्रा हुनेछ ।’

    शिव सृष्टि र शून्यका प्रतीक हुन् भन्ने मान्यतालाई आत्मसात् र अनुसरण गर्दै धार्मिक जागरण फैलाउने, हिन्दुराष्ट्रका पक्षमा जनमत सिर्जना गर्ने अभियान अन्तरगत यो कार्य हुन लागेको उहाँले जानकारी दिए ।

    आयातित धर्म, संस्कृति, परम्पराको अतिक्रमणबाट देशलाई जोगाउने, समान विचार भएका शक्तिहरूलाई गोलबद्ध गर्दै जाने उद्देश्यबाट धार्मिक पदयात्रा गर्न लागिएको आयोजक नेपाल सनातन धर्म संस्कृति संगठनका अध्यक्ष पुष्पराज पुरुषले जानकारी दिए ।

  • कुन्तीसँग महामन्त्री पराजित भएकी रेखा थापा बनिन् उनकै विभागको उपप्रमुख

    कुन्तीसँग महामन्त्री पराजित भएकी रेखा थापा बनिन् उनकै विभागको उपप्रमुख

    काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले गत महाधिवेशनबाट महामन्त्री निर्वाचित कुन्तीकुमारी शाहीलाई महिला विभाग प्रमुख र कुन्तीसँग पराजित रेखा थापालाई उपप्रमुख मनोनयन गरेका छन् ।

    राप्रपा विधानअनुसार महामन्त्री शाहीलाई प्रमुख र रेखालाई उपप्रमुख मनोनयन गरिएको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए । महाधिवेशनमा कमल थापा पक्षबाट उम्मेदवार बनेकी कुन्तीसँग लिङ्देन पक्षकी उम्मेदवार रेखा पराजित भएकी थिइन् ।

    रेखा गत निर्वाचनमा मोरङ ३ बाट प्रत्यक्ष उम्मेदवार बनेर तेस्रो भइन् । राप्रपा महिला विभागको सदस्य सचविमा सावन्ता थापा र सदस्यमा नानु लामा, सरस्वती लामा, बबिता शाही, इन्दिरा शाही र रिता कुँवर मनोनीत भएका छन् ।

  • राप्रपामा विद्युतीय माध्यमबाटै साधारण र सक्रिय सदस्य बन्न पाइने

    राप्रपामा विद्युतीय माध्यमबाटै साधारण र सक्रिय सदस्य बन्न पाइने

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले विद्युतीय माध्यमबाटै साधारण र सक्रिय सदस्य बन्ने तथा आर्थिक सहयोग गर्न सक्ने व्यवस्था मिलाएको छ ।

    पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीमा अब काम नगरी नेता हुन नपाइने व्यवस्था गरिएको बताए ।

    उनले तोकिएको भूगोलको जिम्मेवारीमा नजाने नेता स्वतः पदीय जिम्मेवारीबाट मुक्त हुने बताए ।

    एक वर्षभित्र सक्रिय सदस्यको संख्या दुई लाख पु¥याउने, ६ महिनाभित्र १६५ निर्वाचन क्षेत्रसम्म प्रशिक्षण कार्यक्रम सम्पन्न गर्ने, ६ महिनापछि भूगोलको जिम्मेवारी हेरफेर हुने, भूगोल केन्द्रित जिम्मेवारीमा रहेका नेताले आफ्नो दैनिक क्रियाकलाप विद्युतीय माध्यमबाट सचिवालयमा नियमित रुपमा पेस गर्नुपर्ने व्यवस्था लागू गरेको उनले बताए ।

    अध्यक्ष लिङदेनले जिम्मेवारीमा रहेका सबैका लागि एकबाट तीन सदस्यता अभियान सञ्चालन गर्ने, ६ महिनाभित्र पार्टीका सबै तहमा ३३ प्रतिशत महिलाको संख्या सुनिश्चित गर्ने, पार्टीको सबै तहमा ४० वर्षसम्मका युवाहरुको अनिवार्य सहभागिताको व्यवस्था मिलाउन केन्द्रीय कार्यसमितिमा ४० तथा कार्यसम्पादन समितिमा कम्तिमा ७ जना विभिन्न प्रक्रियाबाट अनिवार्य प्रतिनिधित्व गराइने, आगामी दिनमा विभिन्न तहमा उम्मेदवार बनाउँदा ५० प्रतिशत प्राइमरी छनोट प्रक्रिया अपनाउने निर्णय भएको जानकारी दिए ।

    अध्यक्ष लिङदेनले बिहीबार नवीन राप्रपा कार्ययोजना सार्वजनिक कार्यक्रम २०८० अन्तर्गत भ्रष्टाचार र भ्रष्टाचारका विरुद्ध पार्टीको अवधारणालाई प्राथमिकताका साथ राख्ने, राजसंस्था, हिन्दू राष्ट्र र संघीयतासम्बन्धी पार्टीको अवधारणालाई जनतासमक्ष पु¥याउने, पार्टी प्रवेश तथा छोराछोरी पुस्तालाई राप्रपामा जोड्ने विशेष अभियान सञ्चालन गर्ने निर्णय केन्द्रीय कार्यसमितिको बैठकले गरेको बताए ।

  • ‘नवीन राप्रपा’ को कार्ययोजना घोषणाः युवा-महिलालाई पार्टीमा महत्वपूर्ण हिस्सा, नेताहरू भूगोलमा खटिने

    ‘नवीन राप्रपा’ को कार्ययोजना घोषणाः युवा-महिलालाई पार्टीमा महत्वपूर्ण हिस्सा, नेताहरू भूगोलमा खटिने

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले ‘नवीन राप्रपाको कार्ययोजना’ सार्वजनिक गरेका छन् । आज आयोजित पत्रकार सम्मेलनमा उनले पार्टीको सबलीकरणका लागि ६ महिने अभियानको समेत घाषणा गरे ।

    राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति तथा पदाधिकारी बैठकले ‘नवीन राप्रपा’ सम्बन्धी प्रतिवेदन पारित गरेका थिए । उक्त प्रतिवेदनले पार्टीमा थुप्रै संरचनात्मक तथा अवधारणागत परिवर्तनको प्रस्ताव गरेको छ । आजैबाट प्रतिवेदन कार्यान्वयनमा गएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

    राप्रपाले अब पार्टीका सबै तहमा ३३ प्रतिशत महिलाको उपस्थिति सुनिश्चित गर्ने भएको छ । ६ महिनाभित्रैमा यो लक्ष्य हासिल गरिने लिङदेनले बताए । यसैगरी, पार्टीका सबै तहमा ४० प्रतिशत युवाको अनिवार्य सहभागिताको व्यवस्था मिलाउन केन्द्रीय कार्यसमितिमा ४० र कार्यसम्पादन समितिमा कम्तीमा ७ जना युवाहरूको प्रतिनिधित्व गराइने भएको छ । राप्रपाले ४० वर्ष मुनिका पुरुष वा महिला नेताहरूलाई युवाका रूपमा परिभाषित गरेको हो ।

    अर्को महत्वपूर्ण परिर्वतन भनेको उम्मेदवार छनोट प्रक्रियामा गरिएको छ । राप्रपाले विवभिन्न तहमा उम्मेदवार बनाउँदा ५० प्रतिशत प्राइमरी छनोट प्रक्रिया अपनाउने भएको छ । यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीले प्राइमरी छनोट प्रक्रियालाई व्यवहारमा अवलम्बन गरिसकेको छ ।

    राप्रपाले पार्टीका करिब ९०० जना नेतालाई एकैसाथ संगठन विस्तारका लागि भूगोल केन्द्रित जिम्मेवारी प्रदान गरेको छ । केन्द्र, प्रदेश, जिल्लास्तरीय नेता तथा जनवर्गीय संगठनका प्रतिनिधिहरूले भूगोलको जिम्मेवारी पाएका हुन् । एकैसाथ ७५३ वटा स्थानीय तह र ६,७४३ वटा वडा तथा प्रवासमा समेत यो जिम्मेवारी तोकिएको छ । भूगोलमा जिम्मेवारी प्राप्त नेताहरूले आफूलाई तोकिएको भूगोलमा ६७ महिनासम्म तोकिएअनुसार संगठन विस्तार र सुदृढीकरणका काम गर्नुपर्ने छ । अध्यक्ष राजेन्द्र लिङदेन स्वयम्‌ले धरान उपमहानगरपालिकाको जिम्मेवारी पाएका छन् ।

    यसरी भूगोलमा जिम्मेवारी प्राप्त नेताहरूले आफूलाई तोकिएको भूगोलमा ६ महिनासम्म तोकिएअनुसारको संगठन विस्तार र सुदृढीकरणका काम गर्नुपर्नेछ । यसअन्तर्गत राजसंस्था, हिन्दूराष्ट्र र संघीयता सम्बन्धित पार्टीको अवधारणालाई जनसमक्ष पुर्‍याउने बताइएको छ । तोकिएको भूगोलको जिम्मेवारीमा नजाने नेता स्वतः पदीय जिम्मेवारीबाट मुक्त हुने लिङदेनले बताए ।

    भूगोलकेन्द्रित जिम्मेवारीमा रहेका नेताहरूले आफ्नो दैनिक क्रियाकलाप विद्युतीय माध्यमबाट सचिवालयमा नियमितरूपमा पेश गर्न निर्देश गरिएको छ । ६ महिनापछि भूगोलको जिम्मेवारी भने हेरफेर हुनेछ ।

    भूगोलकेन्द्रित जिम्मेवारीमा रहेका नेता तथा विभिन्न तहका कार्यसमितिका क्रियाकलापको समन्वय तथा अनुगमनका लागि सातवटै प्रदेशमा संयोजक तथा सह संयोजकको व्यवस्था मिलाइएको छ ।

    राप्रपाले अब विद्युतीय माध्यमबाटै साधारण, सक्रिय सदस्य बन्नसकिने तथा आर्थिक सहयोग पनि गर्न सकिने व्यवस्था मिलाएको छ । एक वर्षभित्रमा सक्रिय सदस्य संख्या दुई लाख पुर्‍याउने लक्ष्यसहित यो व्यवस्था गरिएको हो । ६ महिनाभित्रमा १६५ निर्वाचन क्षेत्रसम्म प्रशिक्षण कार्यक्रम सम्पन्न गर्ने पनि पार्टीको योजना छ ।

    राप्रपाले सरकारी वेतनधारीहरूको भ्रातृ संगठनलाई शुभेच्छुक संगठनमा परिणत गर्ने भएको छ । विधार्थी संगठनलाई राजनीतिक कम शैक्षिक बढी क्रियाकलापमा संलग्न गराइने पार्टीले जनाएको छ ।

  • राप्रपाको लक्ष्य- छोराछोरी पुस्तालाई पार्टीमा जोड्दै एकवर्षमा दुई लाख सक्रिय सदस्य पुर्‍याउने (भिडिओ)

    राप्रपाको लक्ष्य- छोराछोरी पुस्तालाई पार्टीमा जोड्दै एकवर्षमा दुई लाख सक्रिय सदस्य पुर्‍याउने (भिडिओ)

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ‘राप्रपाः अब नवीन राप्रपा’ कार्ययोजना २०८० सार्वजनिक गरेको छ । अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरि कार्ययोजना सार्वजनिक गरेका हुन् ।

    राप्रपाले ६ महिना भित्रमा पार्टीको सबै तहमा ३३ प्रतिशत महिलाको संख्या सुनिश्चित गर्ने, पार्टीको सबै तहमा ४० वर्षसम्मका युवाहरूको अनिवार्य सहभागिताको व्यवस्था मिलाउन केन्द्रीय कार्यसमितिमा ४० तथा कार्यसम्पादन समितिमा कम्तिमा ७ जना विभिन्न प्रक्रियाबाट अनिवार्य ४० वर्षसम्मका युवाहरूको प्रतिनिधित्व गराईने बताए ।

    पार्टीले आगामी दिनमा विभिन्न तहमा उम्मेद्वार बनाउँदा ५० प्रतिशत प्राइमरी छनौट प्रक्रिया अपनाइने, केन्द्र, प्रदेश, जिल्ला स्तरीय नेता तथा जनवर्गीय संगठनका प्रतिनिधिहरू समेत गरेर करिब ९ सय जना नेताहरूलाई एकैसाथ संगठन विस्तारका लागि भूगोल केन्द्रीत जिम्मेवारी प्रदान गरिएका बताए ।

    उनले भने, ‘एकैसाथ ७५३ वटै स्थानीय तह र ६७४३ वटै वडा तथा प्रवासमा समेत यो जिम्मेवारी तोकिएको छ। यसरी भूगोलमा जिम्मेवारी प्राप्त नेताहरूले आफूलाई तोकिएको भूगोलमा ६ महिनासम्म तोकिए अनुसारको संगठन विस्तार र सुदृढिकरणका काम हुन्छ । यसले राजसंस्था, हिन्दुराष्ट्र र संघीयता सम्बन्धित पार्टीको अवधारणालाई जनसमक्ष पुर्‍याउन सहयोग पुग्छ ।’

    राप्रपाले भ्रष्टाचार र भ्रष्टाचारका विरुद्ध पार्टीको अवधारणालाई प्राथमिकताका साथ राख्ने योजना बनाएको छ ।
    यस्तै, पार्टी प्रवेश तथा छोराछोरी पुस्तालाई पार्टीमा जोड्नेदेखि अब काम नगरि नेता हुन नपाईने व्यवस्था गरेको छ ।

    विद्युतीय माध्यमबाटै साधारण, सक्रिय सदस्य बन्न साथै आर्थिक सहयोग पनि गर्न सकिने व्यवस्था गर्दै एकवर्ष भित्रमा सक्रिय सदस्य संख्या दुई लाख पुर्याइने लक्ष्य लिएको छ ।

  • प्रधानमन्त्रीलाई राजेन्द्र लिङ्देनको सुझाव- अलिकति नैतिकता भए राजीनामा दिनुस् (भिडिओ)

    प्रधानमन्त्रीलाई राजेन्द्र लिङ्देनको सुझाव- अलिकति नैतिकता भए राजीनामा दिनुस् (भिडिओ)

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिप्रति आफूहरुलाई बोल्न दिएकोप्रति आपत्ति जनाएका छन् ।

    प्रतिनिधि सभाको बैठकमा बोल्दै सभामुखलाई आफ्नो विचार राख्न किन समय नदिएको भन्दै प्रश्न गरे । उनले सभामुखले प्रमुख प्रतिपक्षीलाई बोल्न दिएपछि आफूहरुलाई बोल्न नदिइ सभामुखले पद्धति मिचेर सत्तापक्षलाई दिएको आरोप लगाए ।

    उनले प्रधानमन्त्रीको अभिव्यक्ति आपत्तिजनक भएकाले राजीनामा दिनुपर्ने बताए ।

    उनले भने, ‘तपाईंमा नैतिकता भन्ने चिज अलिकति भए राजीनामा दिनुपर्छ। यो दबाबले मागिने कुरा होइन ।’

  • कोशीमा गठबन्धनले दाबी गर्नुअघि नै प्रदेश प्रमुखलाई एमालेको ध्यानाकर्षण, सभामुखलाई गनिए अमान्य

    कोशीमा गठबन्धनले दाबी गर्नुअघि नै प्रदेश प्रमुखलाई एमालेको ध्यानाकर्षण, सभामुखलाई गनिए अमान्य

    विराटनगर । नेकपा एमालेले कोशी प्रदेशले सभामुख बाबुराम गौतमलाई समेत जोडेर गठबन्धनले बहुमत सिद्ध गर्न खोजेको भन्दै प्रदेश प्रमुखको ध्यानाकर्षण गराएको छ । सभामुख गौतम हाल कुनै पनि दलको सदस्य नभएको र सरकार गठनमा गणना गरिए कानून, संसदीय मूल्य मान्यता र अन्तर्राष्ट्रिय सिद्धान्तविपरीत हुने भन्दै एमालेले प्रश्न उठाएको हो ।

    सभामुख गौतमलाई माओवादी गनेर ४७ सांसदको हस्ताक्षर लिएर गठबन्धन दल साढे ४ बजे सरकार गठनका लागि दाबी गर्न जाँदैछन् । त्यसअघि एमाले संसदीय दलका नेता हिक्मत कार्की र राप्रपाका नेता भक्ति सिटौला प्रदेश प्रमुख परशुराम खापुङ्गकोमा पुगेका छन् ।

    नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले हस्ताक्षर गरेको ज्ञापनपत्रमा सभामुख बाबुराम गौतमले २०७९ पुस २८ गते सदनमै माओवादी त्यागेको घोषणा गरेको स्मरण गराइएको छ ।

    ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘यसले स्वयम् सभामुखको गरिमामा समेत प्रश्न उठ्नेछ ।’

    संसद्‍मा भएको अंकगणित तथ्य, प्रमाण र विश्लेषणको आधारमा सभामुख कुनै निश्चित दलको संख्यामा गणना गरी सोही आधारमा प्रदेश सरकार गठन प्रक्रियामा बहुमत देखाए संविधानका मर्मविपरीत हुने ध्यानाकर्षण पत्रमा उल्लेख छ । पत्रको बोधार्थ सभामुखलाई पनि दिइएको छ ।

     

  • गण्डकी सभामा पनि एमाले र राप्रपाका सांसदले मागे प्रधानमन्त्रीको राजीनामा (भिडिओ)

    गण्डकी सभामा पनि एमाले र राप्रपाका सांसदले मागे प्रधानमन्त्रीको राजीनामा (भिडिओ)

    पोखरा । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजीनामा माग गर्दै गण्डकी प्रदेशसभा अवरुद्ध गरेको छ ।

    बिहीबारको बैठक सुरू भएलगत्तै एमाले र राप्रपाका सांसद उठेर विरोध गरेका हुन् ।

    एमालेका प्रमुख सचेतक गोविन्दबहादुर नेपालीले सार्वभौमिकता र स्वाधीनताविरुद्ध अभिव्यक्ति दिएकाले राजीनामा नदिएसम्म प्रदेश सभा चल्न नदिने बताए ।

    प्रदेशसभा बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ । यसअघि बिहान ११ बजे बस्ने बैठक १ बजेका लागि सारिएको थियो ।

  • प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर विपक्षीको हंगामा, प्रतिनिधिसभा आधा घण्टा स्थगित (भिडिओ)

    प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर विपक्षीको हंगामा, प्रतिनिधिसभा आधा घण्टा स्थगित (भिडिओ)

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई लिएर संसदमा हंगामा भएको छ । असार १८ गतेको कार्यक्रममा आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक-पटक दिल्ली धाएको बताएका थिए ।

    त्यही अभिव्यक्तिलाई लिएर विपक्षी दलहरुले सदनमा अवरोध गरेका हुन् । प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै एमाले, रास्वपा र राप्रपा सांसदहरूले अवरोध गरेका हुन् । विपक्षीको अवरोधपछि सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि बैठक स्थगित गरेका छन् ।

  • कोशी मुख्यमन्त्रीमा कांग्रेसलाई समर्थन गर्न राप्रपा उदासीन, काठमाडौं आएका भक्ति सिटौला यसो भन्छन्

    कोशी मुख्यमन्त्रीमा कांग्रेसलाई समर्थन गर्न राप्रपा उदासीन, काठमाडौं आएका भक्ति सिटौला यसो भन्छन्

    काठमाडौं । कोशी प्रदेशमा नयाँ सरकार गठनको रस्साकस्सी चलिरहँदा ६ सिट भएको राष्ट्रिय प्रजातन्त्र पार्टी निर्णायक पोजिसनमा देखिएको छ ।

    सत्तारुढ गठबन्धनबाट प्रस्तावित कांग्रेसका उद्धव थापालाई मुख्यमन्त्री बन्न राप्रपाको समर्थन अनिवार्य बनेको हो ।

    एक भोट अपुग भएर कोशीमा एमाले नेतृत्वको सरकार ढलेको थियो । अब कांग्रेस नेतृत्वमा नयाँ सरकार बनाउन पनि एक भोट नै अपुग हुने देखिन्छ । बहुमतका लागि ४७ सांसदको समर्थन चाहिनेमा गठबन्धन दलहरू कांग्रेस माओवादी, एकीकृत समाजवादी र जसपासँग ४६ सिट छ ।

    सभामुख माओवादीका भए पनि संसदीय दलमा उनको गणना नहुने भएकाले गठबन्धनलाई थप एक सिटका निम्ति राप्रपाको मुख ताक्नु परेको हो ।

    अब राप्रपाले के गर्छ भन्ने कौतूहल छ । कोशी प्रदेशका राप्रपा संसदीय दलका नेता भक्ति सिटौला पार्टीसँग परामर्शका लागि काठमाडौं आएका छन् ।

    उनले अध्यक्ष राजेन्द्र लिङ्देनसँग भेटघाट गरिसकेका छन् । नेपाल प्रेससँगको कुराकानीमा सिटौलाले अहिलेसम्म पार्टीले निर्णय लिइनसकेको बताए ।

    ‘अध्यक्षज्यूले अन्य पार्टीहरूसँग आफैँले संवाद गरिरहनु भएको छ । उहाँको निर्देशन बमोजिम नै हामी आफ्नो पोजिसन क्लियर गर्छाैँ,’ सिटौलाले भने ।

    हिजो कांग्रेस सभापति शेरबहादुर देउवाले राप्रपा अध्यक्ष लिङ्देनलाई भेटेर कोशी सरकार गठनमा समर्थन मागेका थिए । सिटौलाले ठोस जवाफ दिएनन् । निकट स्रोतका अनुसार उनी कांग्रेसका थापालाई समर्थन नगर्ने मुडमा छन् ।
    स्रोतले भन्यो, ‘अहिलेसम्मको स्थितिमा राप्रपाले कांग्रेसलाई समर्थन गर्ने सम्भावना कम देखिन्छ ।’

    राप्रपाको एमालेसँग निकटता तथा भक्ति सिटौलाको कांग्रेसका उद्धव थापासँगको पुरानो प्रतिद्वन्द्वीताले गर्दा कांग्रेसलाई समर्थन नगर्ने सम्भावना बढेको हो । सिटौला विगतमा कांग्रेसमै थिए । कांग्रेसले उनलाई अवसरबाट वञ्चित गरेपछि राप्रपा प्रवेश गरेका हुन् ।

    सिटौला भने आफ्नो कसैसँग व्यक्तिगत आग्रह–पूर्वाग्रह नरहेको बताउँछन् । यद्यपि, गठबन्धनले आफूखुसी निर्णय गरेर समर्थन माग्ने प्रवृत्ति ठीक नभएको उनको गुनासो छ ।

    ‘उहाँहरूले निर्णय प्रक्रियामा हामीलाई सहभागी गराउनु भएको छैन । पहिले आफैँ व्यक्ति तोकेर त्यसपछि हामीसँग समर्थन गर भन्दा हामीलाई चित्त नबुझ्नु स्वभाविक हो,’ उनले भने ।

    राप्रपाले आफैँ मुख्यमन्त्रीमा दाबी गर्छ ? भन्ने प्रश्नमा उनले भने, ‘विगतमा पनि हामीले मुख्यमन्त्रीमा दाबी गरेका होइनौँ । अहिले पनि छैन । तर, अलग पार्टी भएको हिसाबले आफ्नो हिसाबले निर्णय लिन स्वतन्त्र छौँ । प्रतिपक्षमा बस्नुपर्दा पनि हामीलाई आपत्ति छैन ।’

  • ‘नवीन राप्रपा २०८०’ सफल पार्न लिङदेनले तोके सातै प्रदेशमा संयोजक

    ‘नवीन राप्रपा २०८०’ सफल पार्न लिङदेनले तोके सातै प्रदेशमा संयोजक

    काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले नवीन राप्रपा २०८० अभियान कार्यान्वयन गर्न सातै प्रदेशमा संयोजक तोकेका छन् ।

    राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठले मंगलबार वक्तव्य जारी गर्दै केन्द्रीय समितिबाट पारित योजना कार्यान्वयन गर्न सातवटै प्रदेशमा संयोजक तोकिएको जनाएका छन् ।

    यी हुन् प्रदेश संयोजक

  • कोशीमा बहुमत पुर्‍याउने गृहकार्यमा कांग्रेस, राजेन्द्र लिङदेनसँग देउवाले मागे सहयोग

    कोशीमा बहुमत पुर्‍याउने गृहकार्यमा कांग्रेस, राजेन्द्र लिङदेनसँग देउवाले मागे सहयोग

    काठमाडौं । सोमबार बसेको सत्तागठबन्धनको बैठकले कोशी प्रदेशको मुख्यमन्त्री कांग्रेसको भागमा परेपछि सभापति शेरबहादुर देउवाले राप्रपालाई फकाउन थालेका छन् । गठबन्धनको बैठकले कोशीमा कांग्रेस प्रदेश संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउने निर्णय गरेपछि राप्रपाको सहयोग मागेका हुन् ।

    देउवाले गठबन्धनको बैठकलगत्तै सोमबार साँझ राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनसँग सहयोग मागेका हुन् । गठबन्धनको बैठकले सरकार गठनको गणित पुर्‍याउने जिम्मा कांग्रेसलाई नै दिएको छ ।

    राप्रपाविना सरकार गठन सम्भव नभएपछि देउवाले लिङ्देनको सहयोग मागेका हुन् । कोशी सरकार गठनको विषयमा देउवासँग छलफल भएपनि अहिलेसम्म कुनै ठोस सहमति नभएको अध्यक्ष लिङ्देनले नेपाल प्रेसलाई बताए । देउवाले सहयोग मागेपनि अब कसरी अगाडि बढ्ने भन्नेबारे आफूहरूले अहिलेसम्म कुनै निर्णय लिइनसकेको उनको भनाइ छ ।

    कोशी प्रदेशमा ९३ सदस्य रहेका छन् । बहुमत पुर्‍याउन ४७ सीट चाहिन्छ । राप्रपाले एमालेसँगको गठबन्धन नछोडेको अवस्थामा विपक्षी गठबन्धनको बहुमत पुग्न सक्ने अवस्था छैन ।

    एमालेको ४० र राप्रपाको ६ गरी ४६ सांसद छन् । नेपाली कांग्रेसको २९, माओवादीको सभामुखबाहेक १२ सीट, नेकपा एसको ४ र जसपाको १ गरी गठबन्धनसँग पनि ४६ नै सीट छ ।

    नयाँ सरकारलाई लागि गठबन्धनमा पनि सहजै गणित पुग्ने अवस्था छैन । यहाँ गठबन्धनलाई सरकार गठनको लागि राप्रपाको साथ चाहिन्छ । एमालेका हिम्मत कार्की नेतृत्वको सरकार ढलेपछि प्रदेश प्रमुखले असार २१ गतेसम्म नयाँ सरकारको दाबी पेश गर्न आह्वान गरेका छन् ।

  • कोशीमा एक-एक वर्ष पालो गरेर मुख्यमन्त्री चलाउन राप्रपालाई गठबन्धनको प्रस्ताव

    कोशीमा एक-एक वर्ष पालो गरेर मुख्यमन्त्री चलाउन राप्रपालाई गठबन्धनको प्रस्ताव

    विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी कोशी संसदीय दलका नेता भक्ति सिटौलाले नयाँ गठबन्धनमा मिसिने या नमिसिने निर्णय गठबन्धनको रणनीति र योजनाका आधारमा गर्ने बताएका छन् । तर, भागबण्डामा आफू मुख्यमन्त्री बन्ने पक्षमा भने नभएको उनको भनाइ छ ।

    ‘साथीहरू ४ वटा पार्टीबाट एक-एक वर्षका लागि मुख्यमन्त्री बनौं भन्दै हुनुहुन्छ । राप्रपा यस्ता कुराको पछि लाग्दैन । यसरी भागबन्डा गरेर मुख्यमन्त्री बन्ने दौडमा म छैन । म लामो समयको लागि राजनीति गरेर लामै समय राजनीतिमा रहन आएको हो । मुख्यमन्त्री पाउँदैमा सरकारमा जान्न’, सिटौलाको प्रष्टोक्ति छ ।

    राप्रपालाई पाच्य हुने योजना र रणनीति लिएर आए स्थिरताका लागि राप्रपा गठबन्धनमा सहभागी हुनसक्ने उनले बताए ।

    ‘अहिलेसम्म बजार हल्ला र उचाल्ने कुरामात्रै आएकाले अहिले नै राप्रपा एमालेको साथ छाडेर गठबन्धनमा सामेल हुँदैन । हामी अहिले नै यसै गर्छौं भन्ने अवस्थामा छैनौं । हामी प्रदेशमा राजनीतिक अस्थिरता नहोस् भन्ने चाहन्छौं, यसका लागि हामी सवैसँग खुल्ला छौ गठबन्धनको प्लान र योजना त आउनु पर्‍यो नि ‘, सिटौलाको भनाइ थियो ।

    फेरिएको परिस्थितिबारेमा एमालेको पनि आधिकारिक धारणा पर्खिएर बसेको भन्दै सिटौलाले राप्रपासँग गठबन्धनको औपचारिक कुरा नभएको बताएका छन् ।

    प्रदेशमा फेरिएको राजनीतिक अवस्थाका विषयमा अध्यक्ष राजेन्द्र लिङ्देनसँग छलफल भएको र समन्वय र सहकार्य गर्ने अधिकार अध्यक्षलाई दिएको बताए ।

    संसदीय दल र प्रदेश कमिटीका पदाधिकारीसहित अध्यक्षसँग बैठक बसेको जानकारी दिँदै उनले भने, ‘सबै कुराको निर्णय केन्द्रले नै गर्ने चलन हाम्रो पार्टीमा पनि छ उनले भने, फेरिएको परिस्थितिको विश्लेषण गरी निर्णयमा पुग्न पार्टी अध्यक्षलाई जिम्मेवारी सुम्पेका छौं ।’

  • प्रधानमन्त्रीलक्षित लिङ्देनको टिप्पणी- भ्रष्टाचारको डंगुरमा बसेर शुद्धताको मन्त्र उच्चारण गर्नुभयो (भिडिओ)

    प्रधानमन्त्रीलक्षित लिङ्देनको टिप्पणी- भ्रष्टाचारको डंगुरमा बसेर शुद्धताको मन्त्र उच्चारण गर्नुभयो (भिडिओ)

    काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले ठुला भनिएका सबै दलका शीर्ष नेताहरु भ्रष्टाचार लिप्त रहेको आरोप लगाएका छन्।

    काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भ्रष्टाचारमा ठुला काण्डहरुमा शीर्ष नेताहरुको संलग्नता रहेको दाबी गरे।

    उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गर्दै भ्रष्टाचारको डंगुरमा बसेर शुद्धताको मन्त्र उच्चार गरेको बताए।

    उनको भनाइ जस्ताको तस्तैः
    अहिले भ्रष्टाचार बढेर गएको छ। वैदेशिक हस्तक्षेप बढेर गएको छ। तपाईंहरु ज्युदो साँची हुनुहुन्छ। भ्रष्टाचारको डंगुरमाथि बसेर देशका शासकहरु शुद्धताको मन्त्र उच्चारण गरिरहेका छन्। भुटानी शरणार्थी प्रकरणलाई मात्रै हेर्नुभयो भने पनि हामीले बारम्बार भनेको कुरालाई पुष्टि हुन्छ। हामीले भन्यौं नेपालमा हुने सबै भ्रष्टाचारको काण्डहरुमा अहिलेका ठुला हुँ भन्ने सबै दलहरु संलग्न छन्। त्यो कुरा प्रमाणित भयो। कुनै दल चोखो छैनन्। ललिता निवास, नक्कली भुटानी शरणार्थी प्रकरण होस्, अहिले फाइल खोल्न बाँकी रहेको वाइटबडी प्रकरणमा होस्, प्रहरीले अनुसन्धान बढाएर जनदबाब बढेपछि सरकारमा बस्नेहरु यकातिर ठुल्ठुला कुरा गरिरहेका छन्। हामीले सुरु गर्यौं भने। अर्कोतिर ठुला मान्छे र आफ्ना मान्छेलाई कसरी जोगाउँने भन्ने योजनामा लागिरहेका छन्।

  • कोशी राप्रपा संसदीय दलका नेता भन्छन्- हिक्मत कार्कीलाई विश्वासको मत दिन्छौं, हाम्रो सरकार टिक्छ

    कोशी राप्रपा संसदीय दलका नेता भन्छन्- हिक्मत कार्कीलाई विश्वासको मत दिन्छौं, हाम्रो सरकार टिक्छ

    विराटनगर । कोशी प्रदेश सरकारको सत्ता साझेदार राप्रपाले मुख्यमन्त्री हिक्मत कार्कीलाई विश्वासको मत दिने बताएको छ ।

    राप्रपा कोशी प्रदेशका संसदीय दलका नेता तथा तथा प्रदेश सरकारका कृषि उद्योग सहकारी तथा पूर्वाधार मन्त्री भक्ति सिटौलाले मुख्यमन्त्रीलाई आफ्नो पार्टीले विश्वासको मत दिने बताए ।

    उनले नेपाल प्रेससँग भने , हामी हाम्रो सरकार टिकाउन लाग्नेछौ । यो सरकारले विश्वासको मत पाउँछ ।

    उनले मुख्यमन्त्री कार्कीले आजको कोशी प्रदेश सभाको बैठकमा विश्वासको मत पाउने बताए ।

    उनले भने, ‘हामी सत्ता साझेदार दलका रूपमा छौं । चुनावअघिदेखिकै सहमति भएकाले यो सरकार ५ वर्ष टिकाउनु हाम्रो कर्तव्य हो ।’

    कोशी प्रदेश सरकारमा रहेको जसपाले जेठ १९ गते यो सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएको थियो । यस्तै माओवादीले पनि जेठ २३ गते हिक्मत कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

    कोशी प्रदेश सभामा ९३ सिट रहेको छ । विश्वासको मत लिन ४७ सिट आवश्यक पर्दछ । सत्ता साझेदार राप्रपासँग ६ र एमालेसँग ४० गरेर ४६ सिट रहेको छ ।

    कोशी प्रदेश सभामा नेपाली काँग्रेसको २९, माओवादीको सभामुख सहित १३ एकीकृत समाजवादीको ४ र जसपाको १ सिट रहेको छ ।

    कोशी प्रदेश सभाले विश्वासको मत लिने प्रयोजनका लागि आज १ बजे प्रदेश सभा बोलाएको छ ।

  • राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले गरे अष्ट्रेलियाका पूर्वसभामुख र सांसदसँग भेट

    राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले गरे अष्ट्रेलियाका पूर्वसभामुख र सांसदसँग भेट

    काठमाडौं । असार ७ देखि अष्ट्रेलिया भ्रमणमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक एवं प्रवक्ता ज्ञानेन्द्र शाही र दक्षिण अष्ट्रेलियाका पूर्वसभामुख र सांसदबीच भेटवार्ता भएको छ ।

    एडिलेडस्थित संसद भवनमा लिवरल पार्टीका तर्फबाट विधान परिषद् सदस्य जिङ्ग ली र लेवर पार्टीका पूर्व अध्यक्ष, विधान परिषद सदस्य रसेल वर्ट्लीबीच भएको भेटघाटमा शाहीले १९६० मा तत्कालीन राजा महेन्द्र र १९८५ मा राजा वीरेन्द्रले अष्ट्रेलियाको भ्रमणपछि दुई देशबीचको सम्बन्धनमा आयाम थपिएको बताए ।

    नेपाली विद्यार्थीको वृद्वि विकास, शिक्षा र सीप विकासको लागि अष्ट्रेलियाले प्रदान गरेको अवसरप्रति उनले आभार व्यक्त गरेका छन् । शाहीले ‘एक पटकका लागि नेपाली सधैँका लागि नेपाली भन्दै अष्ट्रेलियामा रहेका नेपाली दक्ष जनशक्तिलाई नेपाल फर्काउने नीति निर्माणमा आफूहरू लाग्ने पनि बताए ।

    शाहीसमक्ष अष्ट्रेलियामा रहेका नेपाली समुदायले त्यहाँको अनुभवसँगै त्यहाँ जाने नेपालीहरूको पक्षमा नीति निर्माण तहमा गर्नुपर्ने कामबारे जानकारी गराएको भ्रमणको संयोजन सदस्यमध्येका एक केदार श्रेष्ठले बताए ।

    भेटमा अष्ट्रेलियाका अधिकारीले नेपालीहरू मिहेनती, इमानदार र बफादार रहेको साथै अष्ट्रेलियाको व्यापार व्यवसाय र आर्थिक विकासमा महत्वपूर्ण भुमिका रहेको भन्दै खुसी व्यक्त गरेका छन् । शाहीलाई समाजसेवी दीपक विष्ट नेतृत्वमा रहेको नेपाली समुदायले च्यारिटी रात्रिभोजको आयोजना गरी सम्मानसमेत गरेका छन् ।

  • लिङ्देनको प्रश्न- यस्तो बजेट बनाउने बुद्धि कसले दियो ? सत्तापक्षकै रुवाबासी छ (भिडिओ)

    लिङ्देनको प्रश्न- यस्तो बजेट बनाउने बुद्धि कसले दियो ? सत्तापक्षकै रुवाबासी छ (भिडिओ)

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अर्थमन्त्री प्रकाशशरण महतलाई यस्तो बजेट बनाउने बुद्धि र ज्ञान कसले दियो ? भन्दै प्रश्न गरेका छन् । प्रतिनिधिसभामा विनियोजन विधेयकबारे छलफलको क्रममा बोल्दै सत्तापक्षकै सांसदहरूको रुवाबासी देखेर आफ्नो क्षेत्रमा थोरै बजेट परेपनि धेरै गुनासो नभएको बताए ।

    लिङदेनको भनाइ जस्ताको तस्तै

    बजेटमाथिको छलफलमा सत्तापक्षका सांसदहरूले समर्थन गर्ने, प्रतिपक्षकाले विरोध गर्ने प्रवृत्ति आइरहेको थियो । तर, अन्त्यमा कम फुलिस्टप पनि चेन्ज नहुने जे छ ताली ठोक्ने अगाडि बढ्ने भन्ने कुराहरु भइरहेको थियो । तर, अहिले त सत्तापक्षको सांसदहरूको पनि दुईवटा प्रवृत्ति देखियो । एकथरी साथीहरूको हाम्रोभन्दा बेसी रुवाबासी ।

    बजेटमा पहुँज पुग्ने सत्तापक्षका सांसदहरूको सबैभन्दा सुन्दर छ भन्ने । सत्तापक्षबीच पनि विभाजन देखियो । मेरो यसपालि बजेट परेन भनेर धेरै गुनासो छैन । मन्त्रीज्यूले आफू भएको बेलामा आफ्नो ठाउँमा नदेखिने गरी बेसी हाल्ने नै हो भनेर भनिसक्नुभएको छ । त्यो प्रवृत्ति विगतदेखि नै चलेर आएको छ। परेन भनेर भन्नुको अर्थ छैन ।

    तर, बजेट बनाउँदा जुन प्रवृत्ति हाबी भएको छ जस्तो हामीले भ्रष्टाचारको विरोध गर्दा, काम भएन, पहिलेको भन्दा भ्रष्टाचार कम भयो भन्दा अहिले धेरै किलोमिटर बाटो बन्यो भनिराख्नुभएको छ । के त्यसो भए हामी पछाडि फर्किने । अहिले जुन प्रवृत्तिको विकास भएको छ त्यसले तपाईंहरूले भनेको व्यवस्थालाई नै कमजोर बनाउँछ ।

    केन्द्रबाट बाटोको लागि छुट्याइएको रकम एकलाख दुई भएपनि हुने । यसले कस्तो संघीयता ल्याइरहेको छ बनाइरहेको छ ? यही हो तपाईंहरूले ल्याएको संघीयता ? २० किलोमिटर बाटोका लागि ७० लाख ५ लाख २ लाखपनि छुट्याउनुभएको छ । यस्तो बुद्धि र ज्ञान मन्त्रीहरुलाई कसले दियो ?

  • विघटित तीन जिल्लाको नेतृत्व चयन गर्न राप्रपाद्वारा अनलाइन आवेदन खुल्ला

    विघटित तीन जिल्लाको नेतृत्व चयन गर्न राप्रपाद्वारा अनलाइन आवेदन खुल्ला

    काठमाडौं । राप्रपाले हालै विघटन गरेको तीन जिल्लामा नयाँ संयोजक चयन गर्न अनलाइन आवेदन आह्वान गरेको छ ।

    पार्टीको गत शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले लामो समयदेखि निष्क्रिय, विवादित र गतिविधि शुन्य रहेको भन्दै दाङ, मोरङ र रौतहट जिल्ला कार्यसमिति विघटन गर्ने निर्णय गरेको थियो ।

    विघटन भएका पार्टीको ति तीन जिल्लाको नेतृत्व गर्न पार्टी भित्र सक्रिय, अन्य पार्टीमा रहेका र कुनै पार्टीको सदस्य नभएपनि नेतृत्व गर्ने क्षमता भएकालाई आवेदन खुल्ला गरेको हो ।

    नवीन राप्रपा निर्माण गर्ने हालै सम्पन्न केन्द्रीय कार्यसमिति बैठकको स्पिरिट अनुसार नयाँ ढंगबाट जिल्ला नेतृत्व चयन गर्ने अभ्यास प्रारम्भ भएको र राप्रपाको इतिहासमा यस्तो अभ्यास पहिलोपटक गरिएको प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठ बताउँछन् ।

    अनलाइन फाराममा नाम, स्थायी ठेगाना, हालको ठेगाना, जन्म मिति, लिङ्ग, शैक्षिक योग्यता, सम्पर्क नम्बरका अलावा तीन सय शब्दमा नबढाइ कार्यानुभव र आगामी कार्ययोजना खुलाएर फाराम भर्नुपर्ने व्यवस्था राप्रपाले गरेको छ ।

     

     

  • हिन्दू राष्ट्रको पक्षमा हामीले ल्याएको प्रस्तावमा प्रधानमन्त्रीको अग्निपरीक्षा हुन्छ: राजेन्द्र लिङ्देन (भिडिओ)

    हिन्दू राष्ट्रको पक्षमा हामीले ल्याएको प्रस्तावमा प्रधानमन्त्रीको अग्निपरीक्षा हुन्छ: राजेन्द्र लिङ्देन (भिडिओ)

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले प्रधानमन्त्री पुष्पकमल दाहालले जनतालाई देखाउनमात्रै पशुपतिनाथको दर्शन गरेको टिप्पणी गरेका छन् ।

    प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले देशको प्रधानमन्त्री, मन्त्री, प्रतिनिधिले हिन्दू राष्ट्रको मुद्दालाई अन्तरहृदयबाट नै स्वीकार गरेको भए स्वागतयोग्य रहेको बताए ।

    ‘धर्म भन्ने चिज नराम्रो होइन । हामीले धर्मको नाममा राजनीति गर्छन् भने अरुले अधर्मको राजनीति गर्छन् ? धर्म कहीं गलत र नकारात्मक अर्थमा प्रयोग हुन्छ ? धर्म भन्ने नै सत्य हो, न्याय हो । राम्रो अर्थमा मात्रै प्रयोग हुन्छ’, अध्यक्ष लिङदेनले भने, ‘धर्मरहित राजनीति कसैले गर्छ भनेर उसमाथि सबैले शंका व्यक्त गर्नुपर्ने हुन्छ । हामीले हिन्दू राज्यको कुरा गरेको केवल पूजा अराधनामात्रै होइन । उपयुक्त समयमा हामीले संविधान संशोधनको प्रस्ताव लान्छौं । त्यसबेला प्रधानमन्त्रीको अग्निपरीक्षा हुन्छ ।’

    प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणमा भारतीयहरुले गेरुवस्त्र लगाइदिएपछि पशुपतिनाथमा पहिलो पटक पुगेर नेपालीहरुलाई देखाउन खोजेको उनको भनाइ छ ।

    प्रचण्डले पशुपतिनाथको दर्शन गर्नुको रहस्य राप्रपाले हिन्दू राष्ट्र बनाउन ल्याएको प्रस्तावबाट पत्ता लाग्ने लिङदेनले जिकिर गरे ।

  • प्रधानमन्त्रीले युद्ध अपराधको मुद्दामा जवाफ दिन अदालत जानुअघि राजीनामा दिनुपर्छ : ज्ञानेन्द्र शाही (भिडिओ)

    प्रधानमन्त्रीले युद्ध अपराधको मुद्दामा जवाफ दिन अदालत जानुअघि राजीनामा दिनुपर्छ : ज्ञानेन्द्र शाही (भिडिओ)

    प्काठमाडौं । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले युद्ध अपराधको मुद्दामा प्रधानमन्त्रीलाई सर्वोच्च अदालतले जेठ ३० गते बोलाएको भन्दै अदालत जानुअघि प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्ने माग गरेका छन् ।

    प्रतिनिधिसभाको आइतबारको बैठकमा बजेटमाथि छलफल सकिएलगत्तै सभामुखसँग समय लिएर शाहीले व्यक्तिगत रुपमा प्रचण्ड युद्ध अपराधमा दोषी भए पनि देश हुन नसक्ने भन्दै प्रधानमन्त्री पदबाट राजीनामा दिएर अदालतमा जानुपर्ने जिकिर गरे ।

    उनले भने, ‘प्रतिनिधिसभा नियमावलीको २०६९ को नियम २६ अन्तर्गत प्रधानमन्त्रीज्यू यो संसदको सदस्य पनि हो । तर, प्रधानमन्त्रीको विरुद्धमा सर्वोच्च अदालतमा युद्ध अपराज जस्तो जघन्य अपराधमा मुद्दा दर्ता भएको छ । सर्वोच्चले ३० गते हाजिर हुनु भनेर पत्र काटिसकेको छ । म सोध्न चाहन्छु ३० गते प्रधानमन्त्री अदालत जाँदै गर्दा यो देशको प्रधानमन्त्री भएर जानुहुन्छ कि पुष्पकमल दाहाल भएर जानुहुन्छ युद्ध अपराधजस्तो कुरामा अदालतमा जानेजस्तो कुरामा देशले अपराध गरेको होइन, व्यक्तिले गरेको हो । प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ । नैतिकताको आधारमा पनि पदमा बस्न मिल्दैन ।’

    प्रधानमन्त्रीले राजीनामा दिएर मुद्दामा प्रभाव पार्न नमिल्ने उनको भनाइ छ । प्रधानमन्त्री प्रचण्डविरुद्ध आजै सर्वोच्चमा युद्ध अपराधको मुद्दा दर्ता भएको छ ।

  • गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको माग गर्दै राप्रपा सांसदले गरिन् सदन बहिस्कार

    गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको माग गर्दै राप्रपा सांसदले गरिन् सदन बहिस्कार

    कैलाली । राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रदेश सभा सदस्य खेमादेवी विष्टले दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको माग राख्दै प्रदेश सभा बैठक बहिस्कार गरेकी छन् ।

    कैलालीको गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाका लागि माग गर्दै प्रदेश बन्दको आह्वान गरिएकै दिन प्रदेश सभा बैठक राखिएको भन्दै उनले बैठक स्थगित गर्दै आन्दोलनलाई समर्थन गर्न समेत अपिल गरेकी थिइन् ।

    ‘नेपाल सरकारले सुदूरपश्चिमका जनतालाई हेप्नु भनेको सुदूरपश्चिम सरकारलाई हेप्नु हो । अहिले स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाका लागि प्रदेशवासी आन्दोलित छन्। आज बन्दको घोषणा पनि गरिएको छ। यस्तो समयमा प्रदेश सभा बैठक सञ्चालन हुनु उचित होइन ’ उनले भनिन्, ‘आजको सदन स्थगितको लागि जोडदार माग गर्दछु र म राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट आजको सदन बहिस्कार गरेको घोषणा गर्दछु । ’

    सरकारले गेटामा शहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेको थियो तर, १०० शय्याको मेडिकल कलेज सञ्चालन गर्ने भन्दै बजेट विनियोजन गरेका प्रति उनले आपत्ति जनाइन् ।

  • राप्रपाको दाबी- संघीयताबारे जनमत संग्रह गर्दा ७० प्रतिशत मान्छे हाम्रो पक्षमा हुनेछन् (भिडिओ)

    राप्रपाको दाबी- संघीयताबारे जनमत संग्रह गर्दा ७० प्रतिशत मान्छे हाम्रो पक्षमा हुनेछन् (भिडिओ)

    काठमाडौं । राप्रपाले निष्क्रिय र विवादित रहेका केही जिल्लाका कार्यसमितिलाई विघटन गरेको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको अध्यक्ष राजेन्द्र लिङदेनले बताए ।

    उनले बैठकमा गत जेठ ३ को केन्द्रीय कमिटीको बैठकको निर्णय कार्यान्वयनबारे छलफल भएको बताए ।

    उनले केन्द्रीय नेताहरुलाई भूगोल केन्द्रित गराउन ७ दिनभित्र कार्यक्षेत्र तोक्नेसमेत बताए ।

    आफ्नो मुद्दा स्थापित र जनजीविका मुद्दाबारे शान्तिपूर्ण आन्दोलनको लागि महामन्त्री धवलशमशेर राणा नेतृत्वको कार्यदलले पेश गरेको कार्ययोजना परिमार्जनसहित पारित गरेको अध्यक्ष लिङदेनले बताए ।

    उनले सरकारले ल्याएको बजेटले कुनै पनि उपलब्धि हुन नसक्ने बताए ।

    उनले भने, ‘अनुदान, अनुमान र ऋणमा आधारित बजेट लक्ष्यअनुसारको छैन । राप्रपाको कोही कसैको एजेण्डामा होइन । मुर्रा भैंसी हाम्रो प्राथमिकताको एजेण्डा होइन ।’

    उनले राष्ट्रपति देशको अभिभावक हुनै नसक्ने जिकिर गरे ।

    त्यस्तै प्रवक्ता ज्ञानेन्द्र शाहीले पार्टीको सिद्धान्त र विचारसँग जोड्नेबारे छलफल भएको बताए ।

    उनले भने, ‘अहिले पनि देशभर हाम्रो समर्थक हुनुहुन्छ । संघीयता चाहिँदैन । प्रदेश खारेज गर्नुपर्छ । यो व्यवस्थाले देशलाई फाइदा गर्दैन भन्नेमा ठूलो जनमत छ । जनमतसंग्रह गर्ने हो भने ७० प्रतिशत मान्छे हाम्रो पक्षमा छन् । तर, यो मुद्दा बोक्ने पार्टीलाई सोचे जस्तो मत आएको छैन । त्यसबारे हामीले गम्भीर समीक्षा गर्नुपर्छ ।’

  • राप्रपाले बोलायो कार्यसम्पादन समिति बैठक

    राप्रपाले बोलायो कार्यसम्पादन समिति बैठक

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

    बिहान साढे ११ बजेबाट धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा बैठक बस्ने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

    श्रेष्ठका अनुसार बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, हालै सम्पन्न केन्द्रीय समिति बैठकका निर्णय कार्यान्वयन र सांगठानिक गतिविधिबारे छलफल हुनेछ । साथै हालै सरकारले ल्याएको बजेट र पार्टीको धारणा पनि बैठबाट तय गरिनेछ ।