Category: राप्रपा

  • राप्रपाले गण्डकीमा एमाले सरकारलाई नसघाउने, सत्ता गठवन्धनसँग दूरी यथावत

    राप्रपाले गण्डकीमा एमाले सरकारलाई नसघाउने, सत्ता गठवन्धनसँग दूरी यथावत

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले वर्तमान सत्ता गठवन्धनसँग दुरी राख्ने रणनीतिलाई निरन्तरता दिने भएको छ । बाहिर चर्चा भएजस्तो गण्डकीमा एमाले नेतृत्वको सरकारलाई समर्थन गर्ने कुनै पनि सम्भावना नरहेको पार्टी स्रोतले बतायो ।

    आफ्नो आगामी कार्ययोजना तय गर्न राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको वैठक दुई दिन देखि बसिरहेको छ । सो वैठकमा उपचुनावको निराशाजनक नतिजादेखि पार्टीले गर्ने भावि आन्दोलनका विषयसम्म छलफल भइरहेको स्रोतले बतायो ।

    राप्रपाले राजसंस्था पुनस्र्थापनको माग राख्दै गरेको सडक आन्दोलनको पहिलो चरण पूरा भएको छ । अब दोस्रो चरणमा आन्दोलनको स्वरुप फेर्ने तयारी गरिएको स्रोत बताउँछ ।

    राप्रपा वर्तमान सत्ता गठवन्धनलाई कतै पनि सहयोग नगर्ने आफ्नो निर्णयमा अडिक रहने भएको छ । गण्डकीमा राप्रपा संसदीय दलका नेता पञ्चराम तमुले एमाले नेतृत्वको सरकारलाई समर्थन गर्न सक्ने अभिव्यक्ति दिएका थिए । तर, पार्टी नेतृत्वले उनलाई त्यस्तो निर्णय नलिन सचेत गराइसकेका छन् ।

    स्रोतले भन्यो, ‘सत्ता गठवन्धनसँग कुनै पनि हालतमा सहकार्य हुँदैन । गण्डकीमा पनि त्यस्तो सम्भावना शून्य छ ।’

    गण्डकीमा खगराज अधिकारीको सरकारविरुद्ध परेको रिटमा सर्वोच्चले उनको पक्षमा निर्णय सुनाएको थियो । ३० जनाले नै बहुमत पुग्ने भनेर सर्वोच्चले ब्याख्या गरेपछि गण्डकी सरकार जोगिएको छ । यद्यपि, विश्वासको मत लिँदा ३१ जनाकै समर्थन चाहिने कांग्रेसले बताइरहेको छ । राप्रपाले समर्थन गरेको खण्डमा खगराज सरकार सुरक्षित रहनेछ । तर, राप्रपा अहिले सत्ता गठवन्धनभन्दा पनि कांग्रेससँग सहकार्यको मुडमा छ ।

    केन्द्रीय सरकारमा राप्रपा सहभागी हुने कुरा झन् कल्पनाभन्दा बाहिरको भएको स्रोतले बतायो । ‘हामीलाई सरकारमा जाने भए पहिल्यै गइसक्थ्यौं । यो सरकारमा नजाने भनेरै बसेका हौं । यतिबेला सरकारमा सहभागी हुने हाम्रो नीति नै छैन,’ स्रोतले भन्यो ।

    राप्रपा बैठकमा इलाम २ को चुनावी परिणाम बारे पनि विमर्श भइरहेको छ । त्यहाँ निकै दयनीय मत आएपछि राप्रपा गम्भीर बनेको पनि स्रोत बताउँछ । ‘हामीले सोचेको भन्दा धेरै नै कम भोट आयो,’ स्रोतले भन्यो, ‘इलाममा हाम्रो संगठन कमजोर हुनुलाई नै मुख्य कारक मानेका छौं ।’

  • इलाममा राप्रपा जनमतभन्दा पछि, नेकपा एसका जीतबहादुरलाई २८७ मत ‌

    इलाममा राप्रपा जनमतभन्दा पछि, नेकपा एसका जीतबहादुरलाई २८७ मत ‌

    काठमाडौं । इलाम २ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) डा. सीके राउत नेतृत्वको जमनम पार्टीभन्दा कम मत ल्याएको छ । पछिल्लो मत परिणामअनुसार राप्रपाका उम्मेदवार लक्ष्मी गुरुङले ५९ मत ल्याएका छन् । त्यहाँ जनमतका प्रेमकुमार थाम्सुहाङले ६७ ल्याएका छन् ।

    माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका जीतबहादुर राई २८७ मतमै रोकिएका छन् । त्यहाँ एमालेका उम्मेदवार सुहाङ नेम्वाङले १३,०६९ मत ल्याएर अग्रता कायमै राखेका छन् ।

    नेपाली कांग्रेसका डम्बर खड्काले ८,३८६ मत ल्याएका छन् । पहिचानवादी उम्मेदवार डकेन्द्र थेगिमले ८,०९८ मत ल्याएर पछ्याइरहेका छन् ।

    रास्वपाका मिलन लिम्बू १,७१३ मत ल्याएर चौथो स्थानमा रोकिएका छन् ।

  • उपनिर्वाचको नतिजाबारे राप्रपा प्रवक्ता श्रेष्ठको टिप्पणी- संकेत सकारात्मक भएनन्, रणनीतिमा समीक्षा गर्छौँ

    उपनिर्वाचको नतिजाबारे राप्रपा प्रवक्ता श्रेष्ठको टिप्पणी- संकेत सकारात्मक भएनन्, रणनीतिमा समीक्षा गर्छौँ

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता मोहन श्रेष्ठले इलाम र बझाङका चुनावी संकेतहरु सकारात्मक नभएको टिप्पणी गरेका छन् । इलाम र बझाङमा राप्रपाका उम्मेदवारहरुले अपेक्षित मत कटाउन नसकेपछि प्रवक्ता श्रेष्ठले यथास्थितिमा देश अघि बढ्न नसक्ने बताए ।

    उनले भनेका छन्, ‘तथापि परिणामको प्रारम्भिक संकेतहरुबाट यथास्थितिमा देश अघि बढ्न सक्दैन, बदलिनैपर्छ र बदल्छौं भन्ने हाम्रो संकल्प कमजोर भएको छैन । यो उपचुनावले हामीलाई हाम्रो रणनीति र कार्यनीतिको समीक्षा र पुनरावलोकन गर्ने मौका दिएको छ । हाम्रा प्रयत्नहरु जारी रहनेछन्, कुनै क्षेत्र विशेषमा भएको चुनावबाट निराश हुने कुरै छैन ।’

    जनता जनार्दन मतदाताबाट व्यक्त अभिमतलाई स्वीकार गरेर अघि बढ्ने उनको भनाइ छ ।

    उनले थपेका छन्, पछिल्ला जुनसुकै चुनावहरुमा मतदाताको ठूलो संख्याले मतदान नगर्ने अवस्था यसपटक पनि देखिएको छ । यो वर्तमान राजनीतिक प्रणालीप्रति मतदाताहरुको निराशाको सामुहिक अभिव्यक्ति हो, यसलाई नजरअन्दाज गर्न मिल्दैन ।

    देशको सुदुर भविष्य, दीर्घकालीन हित, एकता र समृद्धि राप्रपाले लिएको बाटोबाट मात्रै सम्भव रहेको उनको दाबी गरे ।

  • राप्रपा कार्यालयमा ठाकुरमोहनमाथि आक्रमणमा संलग्न बम पक्राउ, छुटाउन नेताहरूको दौडधुप

    राप्रपा कार्यालयमा ठाकुरमोहनमाथि आक्रमणमा संलग्न बम पक्राउ, छुटाउन नेताहरूको दौडधुप

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता ठाकुरमोहन श्रेष्ठमाथि पार्टी कार्यालयभित्रै आक्रमण गरिएको घटनामा संलग्न एक जना पक्राउ परेका छन् ।

    प्रहरी वृत्त महाराजगन्जको टोलीले कालिकोट घर भई निलोपुल बस्ने नीराजन बमलाई हिजो पक्राउ गरेको हो । उनलाई आज म्याद थपका लागि अदालत लगिएको छ ।

    गत २७ फागुनमा पार्टी अध्यक्ष राजेन्द्र लिङदेनको कार्यकक्षको ढोका अगाडि नै श्रेष्ठमाथि पार्टीभित्रकै एउटा समूहले कुटपिट गरेको थियो । श्रेष्ठले पार्टीका उपाध्यक्ष विक्रम पाण्डेसहित पाँच जनाविरुद्ध किटानी जाहेरी दिएका थिए । घटनाको झण्डै दुई महिनामा एक आरोपी पक्राउ परेका हुन् ।

    राप्रपाले श्रेष्ठमाथि आक्रमणमा संलग्न पार्टीका सहमहामन्त्री प्रेम बलायर, काठमाडौं ४ का क्षेत्रीय अध्यक्ष रिधिप्रताप राणा र राष्ट्रिय प्रजातान्त्रिक युवा संघठन सदस्य सचिव रहेका बमलाई ४ वर्षका लागि निलम्बन गरिसकेको छ । यद्यपि, घटनाको योजनाकार मानिएका उपाध्यक्ष पाण्डेबारे कुनै निर्णय गरिएको छैन ।

    हिजो बम पक्राउ परेपछि राप्रपाका केही नेताहरूको प्रहरी कार्यालयमा दौडधुप सुरु भएको छ । उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री डा. धवलशम्शेर राणा र महामन्त्री कुन्ती शाही महाराजगञ्ज प्रहरीमा पुगेर मिलापत्रका लागि प्रयास गरेको स्रोतले बतायो ।

    उनीहरूले घटनामा संलग्नहरु दोषी भए पनि यसलाई तन्काउँदा पार्टीको छविमा असर पर्ने भन्दै बमलाई छुटाउने प्रयास गरेका हुन् । पार्टी कार्यसम्पादन समितिको बैठकले निलम्बनको निर्णय लिँदा भने कसैले पनि असहमति जनाएको थिएन ।

    आज प्रहरीले जाहेरीकर्ता श्रेष्ठलाई पनि बोलाएको थियो । तर, उनले मिलापत्र गर्न अस्वीकार गरेका छन् । बरु अन्य आक्रमणकारीलाई अहिलेसम्म पक्राउ नगरिएकोमा प्रहरीसँग असन्तुष्टि पोखे । प्रहरीले अरूको पनि खोजी भइरहेको बताएको छ ।

    नेपाल प्रेससँग कुरा गर्दै श्रेष्ठले आफू प्रहरी कार्यालय गएर पक्राउ परेका एक जनाको सनाखत गरेको बताए । उनले अहिलेसम्म पार्टी कार्यालयको सीसीटीभी फुटेज प्रहरीले आफूलाई हेर्न नदिएको गुनासो पनि गरेका छन् ।

  • कोशीमा सङ्कल्प प्रस्ताव आजै पास गर्ने तयारी, जसपा पक्षमा राप्रपा तटस्थ

    कोशीमा सङ्कल्प प्रस्ताव आजै पास गर्ने तयारी, जसपा पक्षमा राप्रपा तटस्थ

    विराटनगर । कोशी प्रदेश सभामा बिहीबार पेस भएको सङ्कल्प प्रस्तावको छलफल पछि आज पारित गर्ने तयारी भएको छ।

    बिहीबारदेखि सुरु भएको प्रदेश सभाको विशेष अधिवेशनमा नेकपा एमालेको प्रस्ताव र नेकपा माओवादी केन्द्रको समर्थनमा सङ्कल्प प्रस्ताव पेस भएको हो ।

    सङ्कल्प प्रस्तावमाथि आजै छलफल हुने तथा उठेका विषयमा मुख्यमन्त्रीले जवाफ दिने तयारी गरिएको छ।

    मुख्यमन्त्रीको जवाफ पछि सङ्कल्प प्रस्ताव आजै पारित गरेर विशेष अधिवेशन अन्त्य गर्ने तयारी प्रदेश सभा सचिवालयको छ । नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक रेवती रमण भण्डारीको प्रस्ताव तथा एमाले संसद् किशोरचन्द्र दुलाल र माओवादी केन्द्रका सांसद गणेश उप्रेतीको समर्थनमा प्रदेश सभामा सङ्कल्प प्रस्ताव पेस भएको छ।

    सङ्कल्प प्रस्तावमा चैत्र ‘२६ को मितिले संविधानको धारा १८८ को उपधारा २ बमोजिम प्रदेश सभाको बैठकमा आफूमाथि विश्वास छ भन्ने प्रस्ताव राखी विश्वासको मत लिन प्रदेशसभाको बैठकबाट माननीय मुख्यमन्त्री ज्यूलाई निर्देशन गरियोस्’ भन्ने उल्लेख छ ।

    मुख्यमन्त्रीलाई दिएको समर्थन बहुमत सांसदले फिर्ता लिइसकेको अवस्थामा सरकारको नियमित कार्यबाहेक दीर्घकालीन महत्त्वका कुनै निर्णय नगर्न नगराउन प्रदेश सरकार र सरकार सम्बद्ध अधिकारीलाई प्रदेशसभाको बैठकबाट निर्देशन गरियोस् भन्नेसमेत उल्लेख छ ।

    सङ्कल्प प्रस्तावमा नेपालको संविधानको धारा १८८ (२) बमोजिम मुख्यमन्त्रीले वैकल्पिक सरकारका लागि मार्ग प्रशस्त नगरेमा, विश्वासको मत नलिएमा वा विश्वासको मत प्राप्त नगरेमा त्यसपछिका दिनमा सरकारको वैधानिकता समाप्त हुने हुँदा प्रदेश प्रमुखले नेपालको संविधान बमोजिम नयाँ वैकल्पिक सरकार गठनको प्रक्रिया प्रारम्भ गर्नुहुने तथ्यसहितको सन्देश प्रदेश प्रमुखलाई प्रदेशसभाको बैठकबाट प्रवाह गर्न प्रदेशसभा सचिवालयलाई निर्देशन दिने उल्लेख छ ।

    कोशी प्रदेश सभामा बहुमत पुग्न ४७ सदस्यको आवश्यकता पर्दछ । ९३ जना प्रदेश सभा रहेको कोशी प्रदेशमा कोशी प्रदेशमा नेकपा एमालेका उप सभामुख सहित ४० जना प्रदेश सभा सदस्य छन् । कोशी प्रदेश सभामा माओवादीका १३ प्रदेश सभा रहेका छन् ।

    राप्रपा तटस्थ बस्ने, जसपा पक्षमा उभिने

    कोशी प्रदेश सभामा सभामुख सहित ६ सिट रहेको राप्रपा भने सङ्कल्प प्रस्तावका विषयमा तटस्थ रहने भएको छ । राप्रपा संसदीय दलका नेता भक्ति प्रसाद सिटौलाले संसदीय दलले तटस्थ बस्ने निर्णय गरेको बताए । उनले भने, ‘हामीले पक्षमा या विपक्षमा रहँदा कुनै फरक नपर्ने भएकाले तटस्थ बस्ने निर्णय गरेका हौं ।’ प्रस्ताव पास या फेल हुने अवस्था आए तत्काल निर्णय गर्ने सिटौलाले बताए ।

    यस्तै जनता समाजवादी पार्टी जसपाले भने सङ्कल्प प्रस्तावको पक्षमा उभिने निर्णय गरेको छ । जसपाको कोशी प्रदेश सभामा एक सिट रहेको छ । जसपाका प्रदेश सभा सदस्य निर्मला सुब्बाले पार्टीको निर्देशन अनुसार पक्षमा बोल्ने पक्षमा उभिने बताइन् ।

  • ट्राफिक आइल्यान्ड बिगारेको भन्दै राप्रपालाई दण्डित गर्ने बालेनको प्रयास, २२२ रुपैयाँको क्षति पुगेको दाबी

    ट्राफिक आइल्यान्ड बिगारेको भन्दै राप्रपालाई दण्डित गर्ने बालेनको प्रयास, २२२ रुपैयाँको क्षति पुगेको दाबी

    काठमाडौं । गत चैत २७ गरेको जनप्रदर्शनलाई लिएर काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टीमाथि ‘एक्सन’ लिने तयारी गरेको छ । जनप्रदर्शनका क्रममा भृकुटीमण्डपमा फोहोर गरेको र ट्राफिक आइल्यान्ड भत्काएको भन्दै महानगर प्रमुख बालेनले ‘कारबाही’ गर्न खोजेका हुन् ।

    राप्रपाले गणतन्त्र खारेजी लगायतका मागहरू राख्दै काठमाडौं केन्द्रित जनप्रदर्शन गरेको थियो । उक्त जनप्रदर्शनलगत्तै मेयर बालेन्द्र साहको निर्देशनमा महानगरले राप्रपालाई चिठी काट्यो । उक्त पत्रमा भृकुटीमण्डपबाहिर फोहोर गरिएको र ट्राफिक आइल्यान्डमा क्षति पुर्‍याएको आरोप लगाइएको छ । यस विषयमा तीन दिनभित्र महानगर कार्यालयमै उपस्थित भएर जवाफ दिन भनिएको थियो ।

    उक्त पत्रको जवाफ समेत लिएर कानून व्यवसायीसमेत रहेका राप्रपा केन्द्रीय सदस्य राजु बस्नेत हिजो महानगर पुगेका थिए । महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार, वातावरण विभाग प्रमुख रवीन्द्रमान श्रेष्ठ, कानून तथा मानवअधिकार विभाग प्रमुख वसन्त आचार्य र नगर प्रहरी प्रमुख राजु पाण्डेले उनीसँग छलफल गरे । छलफलका क्रममा आफूले आरोप अस्वीकार गरेको बस्नेतले बताए ।

    ‘राप्रपाले आन्दोलनका क्रममा भएको फोहोर भोलिपल्ट आफैँले सफा गरेको हो । ट्राफिक आइल्यान्डमा खासै क्षति केही भएको छैन । अरु पार्टीले आन्दोलन गर्दा केही नगर्ने र राप्रपालाई मात्रै निशाना बनाउन खोज्नु पूर्वाग्रह हो,’ उनले छलफलमा भनेका थिए ।

    बस्नेतका अनुसार छलफलका क्रममा महानगरका कर्मचारीहरूले ट्राफिक आइल्यान्डको तीनवटा ईंट्टा निस्किएको र २२२ रुपैयाँ बराबरको क्षति भएको विवरण प्रस्तुत गरेका छन् । यसबापत राप्रपाले जरिवाना तिर्नुपर्ने बताएपछि बस्नेतले अस्वीकार गरेका थिए ।

    ‘उहाँहरूकै भनाइबाट पनि नगण्य क्षति पुगेको देखिन्छ । तर, जरिवाना तिराएर राप्रपालाई तर्साउन खोजिएको छ । यो हामी मान्दैनौँ । यदि कुनै पनि खाले कारबाहीको निर्णय भयो भने अदालत जानेछौँ,’ बस्नेतले नेपाल प्रेससँग भने ।

    महानगरका वातावरण प्रमुख रविनमान श्रेष्ठले राप्रपामाथि कारबाहीको निर्णय हुन सक्ने बताए ।

    उनले भने, ‘उहाँहरूले फोहोर गरेको छैनौँ भन्नुभएको छ । तर कारबाही प्रक्रिया अगाडि बढ्दैछ । माथिबाट निर्णय हुन्छ । मैले फाइल उठाएर पठाइसकेँ ।’

    ट्राफिक आइल्यान्डमा के कति क्षति भएको हो भन्ने उनले बताउन चाहेनन् । साथै, राप्रपाले कति रकम जरीविना तिर्नुपर्छ भन्ने प्रश्नमा पनि उनी तर्किए ।

    ‘जरिवाना मैले तोक्न मिल्दैन, माथिबाटै तोकिन्छ । निर्णय भएपछि आफैँ थाहा पाउनुहुन्छ,’ उनले भने ।

    महानगर र राप्रपाको टसल यो पहिलो होइन । बालेनले राप्रपाको केन्द्रीय कार्यालय भवन मापदण्ड विपरीत बनेको भन्दै भत्काउनका लागि पटक–पटक प्रयास गरेका थिए । तर, अदालतले स्टे अर्डर दिएपछि उनी रोकिन बाध्य हुनुपरेको थियो । त्यसैको रिस साँध्न सानो कुरालाई इस्यू बनाउन खोजिएको राप्रपा नेताहरुको आरोप छ ।

  • लिङ्देनको ब्रिफिङ- राप्रपा अब कसैले नजरअन्दाज गर्न नसक्ने शक्तिको रूपमा स्थापित भइसक्यो

    लिङ्देनको ब्रिफिङ- राप्रपा अब कसैले नजरअन्दाज गर्न नसक्ने शक्तिको रूपमा स्थापित भइसक्यो

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसिरहेको छ।

    पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसिरहेको बैठकमा हालै काठमाडौं केन्द्रित जनप्रदर्शनको समीक्षा भइरहेको प्रवक्ता मोहन श्रेष्ठले बताए।

    बैठकको सुरुआत गर्दै अध्यक्ष राजेन्द्र लिङ्देनले प्रदर्शनमा प्रशासनिक दमनबाट केही घाइते हुने दुखद घटना भए पनि समग्रमा प्रदर्शन सफल भएको भएको ब्रिफिङ गरे।

    पार्टी र एजेन्डाको पक्षमा सकारात्मक सन्देश गएको र राप्रपा अब कसैले नजरअन्दाज गर्न नसक्ने शक्तिको रूपमा स्थापित भएको जिकिर उनले गरे।

    अहिले कार्यसम्पादन समिति सदस्यहरूले आफ्नो धारणा दिने क्रम जारी रहेको बताए।

  • शान्त लिङदेनको ‘विद्रोही’ अवतार : आफैं प्रहरी ब्यारिकेडमा पसेर निषेधाज्ञा पार (भिडिओ)

    शान्त लिङदेनको ‘विद्रोही’ अवतार : आफैं प्रहरी ब्यारिकेडमा पसेर निषेधाज्ञा पार (भिडिओ)

    काठमाडौं । पुरातनवादी वा पश्चगामी भनेर चिनिँदै आएको राष्ट्रिय प्रजातन्त्र पार्टीको छवि पछिल्ला दिनहरुमा फेरिँदै गएको छ । राजेन्द्र लिङदेन नेतृत्वमा आएसँगै राप्रपाभित्र युवाहरु हावी हुँदै गएका छन् भने ‘पुराना’ हरु किनारा लाग्न थालेका छन् ।

    रवीन्द्र मिश्रदेखि ज्ञानेन्द्र शाही र खुश्बु ओलीसम्मको प्रवेशले राप्रपाको अनुहार बदलिएको हो । अनुहारमात्र होइन, पार्टीको चरित्र पनि फेरिँदै गएको महसुस हुन्छ । राप्रपाले अहिले अहिलेसम्म कुनै पनि ठूलो आन्दोलनमा भाग लिएको छैन । तर, अहिले राप्रपा आन्दोलनकारी शक्तिका रुपमा उदाउने प्रयासमा छ ।

    हिजो राप्रपाले काठमाडौंमा जनप्रदर्शन गर्‍यो, जहाँ पार्टीको प्रस्तुति परम्परागतभन्दा निकै भिन्न थियो । राप्रपाको जुलुस सरकारको निषेधाज्ञा तोडेर अघि बढ्यो, त्यो पनि अध्यक्ष लिङदेनकै नेतृत्वमा । कार्यकर्तालाई प्रहरीसँग भिड्न अगाडि सारेर आफू सुरक्षित तरिकाले प्रदर्शन गर्ने अन्य दलका प्रमुख नेताहरुभन्दा फरक देखिँदै लिङदेन आफैं निषेधाज्ञा तोड्न अघि बढे । यस क्रममा प्रहरीसँग उनको प्रत्यक्ष घम्साघम्सी पनि भएको थियो ।

    त्यसो त लिङदेनले अघिल्लो दिन नै पत्रकार सम्मेलन गर्दै आन्दोलनमा निषेधाज्ञा नमान्ने घोषणा गरेका थिए । उनले शान्तिपूर्ण आन्दोलन गर्न संविधानले नै अधिकार दिएको र प्रहरीले अवरोध वा दमन गरेको खण्डमा प्रतिकार गर्ने चेतावनीसमेत दिएका थिए । त्यही घोषणाअनुसार उनी आफैं निषेधाज्ञा तोड्न अगाडि देखिए ।

    भद्रकालीमा ब्यारियर लगाएर प्रहरीले राप्रपाको जुलुसलाई सिंहदरबारतर्फ जान रोकिरहेको थियो । जुलुसको सबैभन्दा अग्रभागमा रहेका लिङदेन आफैं प्रहरीको ब्यारिकेडमा रहेको तारमुनि घुस्रिए । कार्यकर्ताहरु पछि लागे । प्रहरीले रोक्न खोज्यो । लिङदेनलाई झांगलझुंगल पनि गरियो । तर, उनी पछि हटेनन् । बरु पछाडि रहेको जुलुसलाई पनि आफू सँगसँगै आउन इशारा गरे । लिङदेनको यो भिडियो फुटेज अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

    लिङदेनसँगै जुलुसमा पार्टीका अरु सिनियर नेताहरु पनि थिए । तर, अरुलाई छोडेर लिङदेन प्रहरीको ब्यारिकेडतर्फ बढेका थिए । उनको पछि पछि राप्रपाको युवा मोर्चाका अध्यक्ष कैलाश कटुवाल आए । प्रहरीले लिङदेनलाई धकेल्दै गर्दा कटुवालले छेकेका थिए ।

    लिङदेनले निषेधाज्ञा तोडेपछि दबाबमा परेको प्रहरीले पानीको फोहोरा फ्याँकेर राप्रपाको भीडलाई तितरबितर पार्‍यो । अँश्रुग्यास प्रहार र लाठीचार्ज पनि गरियो । राप्रपा उपाध्यक्ष बुद्धिमान तामाङ र प्रवक्ता ज्ञानेन्द्र शाहीमाथि पनि प्रहरीले बल प्रयोग गर्‍यो । शाहीको कोट च्यातिएको थियो । उनले गृहमन्त्रीकै आदेशमा आफूलाई डीएसपीले लाठी हानेको आज संसदमा दाबी गरेका छन् ।

    प्रहरी दमनका बीच हिजोको जनप्रदर्शन पूर्ण रुपमा सफल भएको राप्रपाको निष्कर्ष छ । पार्टी प्रवक्ता मोहन श्रेष्ठले प्रदर्शनमा भएको जनसहभागिताले आफूहरुलाई उत्साहित बनाएको बताए । तर, शान्तिपूर्ण प्रदर्शनमा बल प्रयोग गर्दै सरकारले अलोकतान्त्रिक चरित्र देखाएको उनको टिप्पणी छ ।

    ‘राप्रपा हिंसाको पक्षधर होइन र छैन । हामीले शान्तिपूर्ण रुपमा कार्यक्रम आयोजना गरेका हौं । तर, प्रहरीले बल प्रयोग गर्दा पार्टीका ३६ जना कार्यकर्ता घाइते भएका छन्’, श्रेष्ठले भने ।

    यो आन्दोलनमा देशभरबाट स्वःस्फुर्त रुपमा कार्यकर्ताहरु काठमाडौं आएका थिए । प्रवक्ता श्रेष्ठका अनुसार कार्यकर्ता ओसार्न पार्टीले एक रुपैयाँ पनि खर्च गरेन ।

    ‘सबै जना आफ्नै हिसाबले आउनुभयो । खानपिन बसोबासको प्रवन्ध आफैंले मिलाउनुभयो । पार्टीले आह्वानमात्रै गरेको हो’, उनले भने ।

    निषेधाज्ञा तोडिएको विषयमा पनि श्रेष्ठले प्रतिरक्षा गरे । उनले एउटा विशेष परिस्थितिमा लगाइएको निषेधाज्ञा अनन्तकालसम्म लागू हुन नसक्ने जिकिर गरे ।

    ‘त्यो नारायणकाजी श्रेष्ठको पालामा लगाइएको निषेधाज्ञा हो । अहिले काठमाडौंमा निषेधाज्ञा लगाउनुपर्ने कुनै पनि परिस्थिति छैन । यसले शान्तिपूर्ण आन्दोलनको अधिकारलाई खण्डित गर्छ । त्यसैले हामीले निषेधाज्ञा तोड्ने रणनीति लिएका हौं’, उनले भने । यसैलाई लिएर राप्रपाको चरित्र फेरिएको भनेर निष्कर्षमा पुग्न नहुने उनको भनाइ छ ।

    ‘हामी आज पनि शान्तिपूर्ण राजनीतिमै विश्वास गर्छौं । हिजो पनि मुठभेड चाहेका थिएनौं । सरकारले अनावश्यक बल प्रयोग गरेर तनाव निम्त्याएको हो’, उनले भने ।

    राप्रपामा बढ्दो लिङदेनको वर्चश्व

    राप्रपा अध्यक्ष लिङदने हिजोको जनप्रदर्शनमार्फत पार्टीमा आफ्नो वर्चश्व थप बलियो बनाउन सफल भएका छन् । अहिलेसम्म काठमाडौंमा राप्रपाले यो स्तरको आन्दोलन गर्न सकेको थिएन, जुन लिङदेनले गरेर देखाए ।

    उनी निकट स्रोत भन्छ, ‘राप्रपामा लिङदेनको चुनौतीविहीन नेतृत्व स्थापित भएको सन्देश हिजोको प्रदर्शनले दिएको छ ।’

    राप्रपाभित्र कडा र नरम राजावादीहरुको दुई धार रहेको बताइन्छ । कडा राजावादीको धारको नेतृत्व डा. प्रकाशचन्द्र लोहनी र रवीन्द्र मिश्रले गर्दै आएका छन् । लिङदेनसहितको संस्थापन समूहलाई नरम राजावादी बताउने गरिन्छ । यद्यपि, हिजोको प्रदर्शनमा राप्रपा एकजुट भएर उत्रिएको थियो । डा. लोहनी र मिश्र पनि लिङदेनको नेतृत्वमा गोलबन्द भएका थिए ।

    राप्रपामा लामो समयसम्म पुराना पञ्चहरुको राज थियो । लिङदेनले झापामै बसेर लो प्रोफाइलमा राजनीति गर्दै आएका थिए । उनी २०७४ सालको चुनावमा राप्रपाको एक्लो विजयी उम्मेदार बनेपछि हाइलाइटमा आएका हुन् । त्यसपछि बल्ल उनको काठमाडौं बसाइ सुरु भएको थियो । यो छोटो समयमा उनले लामै छलाङ मारिसकेका छन् । निर्विकल्प मानिएका अध्यक्ष कमल थापालाई महाधिवेशनमा पराजित गर्न लिङदेन सफल भए । अहिले उनी आफैं राप्रपामा निर्विकल्प बनेको निकटस्थहरुको दाबी छ ।

    ‘हिजोको प्रदर्शनको सन्देश यतिमात्र होइन’, लिङदेन निकट स्रोत भन्छ, ‘पार्टी बाहिर राष्ट्रिय राजनीतिमा पनि उहाँले आफूलाई उपेक्षा गर्न नसकिने नेताको रुपमा स्थापित गर्न सफल हुनुभएको छ ।’

  • ज्ञानेन्द्र शाहीको आक्रोश- हिजो मलाई गृहमन्त्रीको आदेशमा डीएसपीले कुटे, लुगा च्याते

    ज्ञानेन्द्र शाहीको आक्रोश- हिजो मलाई गृहमन्त्रीको आदेशमा डीएसपीले कुटे, लुगा च्याते

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सहकारी ठगी प्रकरणको छानबिनका लागि संसदीय समिति आवश्यक रहेको बताएका छन् ।

    बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सहकारीमा लाखौँ मानिस पीडित भएको बताए । मंगलबार राप्रपाले गरेको शान्तिपूर्ण आन्दोलनमा गृहमन्त्रीको निर्देशनमा आफूमाथि कुटपिट भएको उनको आरोप थियो । गृहमन्त्री रवि लामिछानेलाई विगतमा चितवन प्रहरीले पक्राउ गर्दा आफूले साथ दिएको स्मरण गराउँदै उनले अहिले उनै गृहमन्त्रीले कुटपिट गराएको जिकिर गरेका हुन् ।

    उनले भने, ‘रवि लामिछाने यो देशको गृहमन्त्री हुँदै गर्दा माइतीघर मण्डला निषेधित गराउनुभएको छ । यो देशको संविधान ठूलो कि गृहमन्त्री ठूलो ? नेपालको संविधानले स्पष्ट भनेको छ, शान्तिपूर्णरूपमा कुनैपनि मान्छेले, कुनैपनि समूहले, कुनैपनि दलले आफ्नो मत राख्न पाउँछन् । निषेधाज्ञा कहाँ गर्ने भन्ने थाहा छ कि छैन ? भोलि सभामुख र हामी सांसदहरूको घर पनि निषेधाज्ञा बन्देला । बाथरुम पनि निषेधाज्ञा बन्देला । सिंहदरबार निषेधाज्ञा हो, संसद भवन, राष्ट्रपति कार्यालय निषेधाज्ञा हो ? पूर्वगृहमन्त्री बुद्धिमान तामाङलाई कुटपिट गरिएको छ । हिजो मलाई गृहमन्त्रालयको आदेशमा डीएसपीले पक्रेर कुटपिट गर्न र मेरो लगाएको कपडा च्यात्नसम्म लगाउनुभयो । यसलाई कालो दिनमा रूपमा हामीले हेरेका छौँ । सुशासन मुखमा होइन व्यवहारमा गर्नुस् ।’

    प्रमुख सचेतक शाहीले २०४७ सालपछिका सार्वजनिक व्यक्तिहरूको सम्पति छानबिन गरेर देखाउन गृहमन्त्रीलाई चुनौती दिए ।

  • कांग्रेस र राप्रपाको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित

    कांग्रेस र राप्रपाको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससहित विपक्षी दलहरूको अवरोधपछि प्रतिनिधिसभाको बैठकमा स्थगित भएको छ ।

    कार्यसूची अनुसार बैठक अगाडि बढाउन सहयोग गर्न सभामुखले आग्रह गर्दा पनि नमानेपछि वैशाख २ गतेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।

    प्रतिनिधिसभाको बैठकमा विशेष समयपछि कांग्रेस र राप्रपाका सांसदहरूले उठेर विरोध जनाएका थिए ।

    कांग्रेसले सहकारी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नको लागि संसदीय छानबिन समितिको माग गर्दै आइरहेको छ। तर, सरकार समिति बनाउने पक्षमा छैन।

    सदनको अवरोध हटाउन सभामुखले प्रधानमन्त्रीसहित शीर्ष नेताहरूसँग पटक पटक वार्ता गर्दा समेत कुरा मिल्न सकेको छैन।

  • लिङदेनको आरोप- प्रधानमन्त्री विदेशीकै चाकडीमा व्यस्त छन्, दलहरू पनि बाहिरकै इसारामा चल्छन्

    लिङदेनको आरोप- प्रधानमन्त्री विदेशीकै चाकडीमा व्यस्त छन्, दलहरू पनि बाहिरकै इसारामा चल्छन्

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले प्रधानमन्त्री विदेशीको चाकडीमा लिप्त भएको आरोप लगाएका छन् ।

    काठमाडौंमा आज राप्रपाले गरेको जनप्रर्दशनलाई सम्बोधन गर्दै उनले नेपालका राजनीतिक दलहरु विदेशीको इसारामा चलिरहेको बताए ।

    उनले भने, ‘अहिले पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुनुहुन्छ । तर, उहाँलाई देशको भन्दा गोरखा २ को चिन्ता छ । अहिलेको प्रधानमन्त्री एउटा निर्वाचन क्षेत्रको हुन्छ । तर, सिंगो देशवासीले चुनेको प्रधानमन्त्री भयो भने त्यो प्रधानमन्त्रीले देशको बारेमा चिन्ता गर्छ । त्यो देशप्रति उत्तरदायी प्रधानमन्त्रीले विदेशीहरुसँग कुरा गर्दा पनि हैसियतमा कुरा गर्छ । अहिले कुन पार्टी कुन विदेशीहरुले चलाइदिएको छ भन्ने कुरा भन्ने थाहा हुँदैन । कुन पार्टीलाई कहाँ छुटाइदेला, सरकारबाट लडाइदेला भनेर प्रधानमन्त्री विदेशीको चाकडीमा व्यस्त हुनुहुन्छ ।’

    उनले राजसंस्था हुँदा जस्तो गौरव राष्ट्रपति हुँदा नभएको दाबी गरे ।

    लिङदेनले भने, ‘राष्ट्रपति न राष्ट्रिय एकताको प्रतीक हुनुहुने रहेछ न त हामी सबैको अभिभावक हुने रहेछ । दलबाट निर्वाचित हुने राष्ट्रपति दलकै कारिन्दा हुने रहेछ भन्ने घटनाक्रमले देखाएको छ ।’

    आफू लिम्बूको छोरा भएर पनि हिन्दू राष्ट्रको पक्षमा हिँडेको उनले बताए ।

  • राप्रपा प्रदर्शनमा दमन भएको भन्दै राजेन्द्र लिङ्देनले मागे गृहमन्त्रीको राजीनामा

    राप्रपा प्रदर्शनमा दमन भएको भन्दै राजेन्द्र लिङ्देनले मागे गृहमन्त्रीको राजीनामा

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेका छन् । आज पार्टीको जनप्रदर्शनमा प्रहरीमार्फत व्यापक दमन गरिएको भन्दै उनले गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताए ।

    प्रदर्शनकै क्रममा गरिएको कोणसभामा बोल्दै लिङ्देनले गृह प्रशासन र मन्त्रीको भत्र्सना गरेका थिए ।

    उनले भने, ‘म गृहमन्त्री रवि लाछिानेलाई चेतावनी दिएर भन्न चाहन्छु, आजको दिनलाई हामी सम्झनामा राख्छौं । अब हामी गृहमन्त्रीको राजीनामा माग्छौं । ४० बुँदे मागमा एउटा यो बुँदा थपिएको छ ।’

    प्रहरीको बल प्रयोगबाट आफ्ना थुप्रै नेता कार्यकर्ता घाइते भएको लिङ्देनले बताए । उनले कार्यकर्ताहरुलाई विचलित नभइ जुलुसमा अगाडि बढ्न आग्रह गरे । राप्रपाको जुलुस वानेश्वर पुगेर आमसभामा परिणत हुने भएको छ ।

     

     

  • राप्रपा आन्दोलनमा प्रहरीको बल प्रयोग, स्थिति तनावग्रस्त (लाइभ)

    राप्रपा आन्दोलनमा प्रहरीको बल प्रयोग, स्थिति तनावग्रस्त (लाइभ)

    काठमाडौं । सरकारलाई राखेको ४० बुँदे माग पूरा गर्न दबाब दिँदै राप्रपाले काठमाडौंमा निकालेको जुलुसले निषेधित क्षेत्र तोडेको छ । सिंहदरबारअगाडिबाट माइतीघरतर्फ जानेक्रममा प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको छ ।

    प्रहरीले सांसद ज्ञानेन्द्र शाहीलाई नियन्त्रणमा लिएको छ ।

    तस्बिरहरू : उमेश कार्की । 

  • राप्रपाको जुलुसबाट ज्ञानेन्द्र शाहीलाई प्रहरीले नियन्त्रणमा लियो

    राप्रपाको जुलुसबाट ज्ञानेन्द्र शाहीलाई प्रहरीले नियन्त्रणमा लियो

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्ने क्रममा भद्रकालीबाट शाही लगायत केही कार्यकर्ता पक्राउ परेका हुन् । केहीबेरपछि उनलाई छाडिएको थियो ।

    प्रहरीले राप्रपाको आन्दोलनमा बल प्रयोग गरिरहेको छ ।

    प्रहरीको बल प्रयोगबाट एक कार्यकर्ता गम्भीर घाइते भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बताए ।

    प्रहरीले अश्रुग्याँस र पानीको फोहोरा प्रहार गरेपछि जुलुस तितरबितर भएको  छ।

    राप्रपाको जनप्रदर्शन अवरोध छिचोल्दै राप्रपा जुलुस भद्रकालीबाट सिंहदरबार पुगेको थियो ।

  • राप्रपा जुलुस निषेधित क्षेत्र तोडेर सिंहदरबार नजिक पुग्यो, प्रहरीको लाठीचार्जमा एक प्रदर्शनकारी गम्भीर घाइते

    राप्रपा जुलुस निषेधित क्षेत्र तोडेर सिंहदरबार नजिक पुग्यो, प्रहरीको लाठीचार्जमा एक प्रदर्शनकारी गम्भीर घाइते

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज काठमाडौंमा जनप्रदर्शनका क्रममा निषेधित क्षेत्र तोडेको छ । प्रहरीको अवरोध छिचोल्दै राप्रपा जुलुस भद्रकालीबाट सिंहदरबार अगाडि रहेको पृथ्वीनारायण शाहको सालिकनजिक पुगेको हो ।

    राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले नेतृत्व गरेको जुलुसले राजसंस्थाको पक्षमा नाराबाजी गर्दै अघि बढेको छ । त्यसक्रममा प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेका थिए । प्रहरीको बल प्रयोगपछि जुलुस तितरबितर भएको छ ।

    प्रहरीको बल प्रयोगबाट एक कार्यकर्ता गम्भीर घाइते भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बताए । श्रेष्ठका अनुसार प्रहरीले लाठी हान्दा झापाका चक्र फुँयाल गम्भीर घाइते भएका हुन् । अन्य केही प्रदर्शनकारी पनि घाइते भएको उनले बताए । प्रदर्शनलाई जारी राख्ने उनको भनाइ छ ।

    तस्बिरहरू : उमेश कार्की । 

  • राप्रपा जुलुसले निषेधित क्षेत्र तोड्यो, प्रहरीद्वारा अश्रुग्यास र पानीको फोहोरा प्रहार (तस्बिरहरू)

    राप्रपा जुलुसले निषेधित क्षेत्र तोड्यो, प्रहरीद्वारा अश्रुग्यास र पानीको फोहोरा प्रहार (तस्बिरहरू)

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको जुलुले निषेधित क्षेत्र तोडेको छ । काठमाडौंको विभिन्न ठाउँबाट र्‍यालीसहित केन्द्रिकृत जुलुस अध्यक्ष राजेन्द्र लिङदेनको नेतृत्वमा माइतीघरतर्फ अघि बढेको हो ।

    सिंहदरबारको मूल गेट अगाडि भद्रकालीबाट माइतीघर मोडिने क्रममा प्रहरीले केही सेल अश्रुग्यास साथै पानीको फोहोरा प्रहार गरेको छ ।

    गत फागुन ९ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ४० बुँदे मागपत्र बुझाएर आन्दोलनमा होमिएको राप्रपाले आफ्नो माग पूरा गर्न दबाब सिर्जनाका लागि जनप्रदर्शन गरेको हो ।

  • काठमाडौंमा आज राप्रपाको जनप्रदर्शन गर्दै, निषेधित क्षेत्र तोड्ने

    काठमाडौंमा आज राप्रपाको जनप्रदर्शन गर्दै, निषेधित क्षेत्र तोड्ने

    काठमाडौं । राजावादी प्रमुख दल राप्रपाले निकै महत्व दिएको काठमाडौं केन्द्रीत बृहत जनप्रदर्शन आज आयोजना हुँदैछ । गत ९ फागुनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष ४० बुँदे माग राखेर आन्दोलनमा होमिएको राप्रपाले यसको उत्कर्षस्वरुप आज काठमाडौंमा शक्तिप्रदर्शन गर्न लागेको हो ।

    पार्टी आबद्ध विभिन्न संघ–संगठनले जस्तै आन्दोलन उपत्यका परिचालन समितिले पनि तयारीलाई तीव्रता दिएको संयोजक विक्रमबहादुर थापाले जानकारी दिए । राप्रपा बागमती प्रदेश अध्यक्षसमेत रहेका थापाका अनुसार आज हुने जनप्रदर्शनमा गत निर्वाचनमा काठमाडौं उपत्यकाबाट प्राप्त समानुपातिक मत बराबर जनता उतार्ने गरी तयारी भइरहेको छ । उनले काठमाडौंवासीको समर्थन प्राप्त हुने दाबी समेत गरेका छन् ।

    जनसहभागीता र जनपरिचालनका लागि काठमाडौं, ललितपूर र भक्तपुरमा दिनहुँजसो बैठक, घरदैलो र कोणसभाहरु भइरहेका छन् । उपत्यकाका सबै नगरपालिकामा आन्दोलन कमाण्डर तोकिएका थिए । वडामा समिति गठन गरिएको छ । राप्रपाले आफ्ना विभिन्न संगठन, भ्रातृ तथा शुभेच्छुक संस्थालाई पनि परिचालन गरेको छ । काठमाडौंको निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्ने राप्रपाको तयारी छ ।

    जिल्लाका प्रतिनिधिहरूलाई आन्दोलनसम्बन्धी प्रशिक्षणसमेत दिएको राप्रपाको जनप्रदर्शनमार्फत आफ्नो मागमा सरकारलाई घुँडा टेकाउने दावी गरेको छ ।

    राप्रपाले सरकारसमक्ष पेश गरेको ४० बँदे मागपत्रमा अभिभावकीय भूमिकामा संवैधानिक राजसंस्था हुनुपर्ने, हिन्दू अधिराज्य घोषणा गर्नुपर्ने, प्रदेश संरचनाको खारेजी, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, कार्यकारी पदहरुमा एक व्यक्ति दुई कार्यकालभन्दा बढी बस्न नपाउने संवैधानिक, कानुनी सुनिश्चितता गर्नुपर्ने लगायत विषय छन् ।

    मागपत्रमा भनिएको छ, ‘राष्ट्र र राज्यका रूपमा नेपालको यति तीव्र क्षयीकरण इतिहासमा कहिल्यै भएको थिएन । राष्ट्रका रूपमा आज देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र अन्तर्राष्ट्रिय अस्मिता तथा देशलाई एक सूत्रमा बाँध्ने धर्म–संस्कृति सबै नराम्रोसँग क्षयीकृत भएको छ ।’
    राप्रपाले राखेको ४० बुँदे मागपत्रमा गैरराजनीतिक मागहरु पनि छन् ।

    मागपत्रमा सरकारी कर्मचारी तथा पेशागत दलीय भ्रातृ संगठनहरूको खारेजी हुनुपर्ने, संवैधानिक नियुक्तिहरूमा दलीय भागबन्डा नहुने संवैधानिक सुनिश्चितता हुनुपर्ने, शिक्षा र स्वास्थ्य सुधार हुनुपर्ने, ०४६ सालपछि उच्चपदस्थ नेता, कर्मचारी तथा परिवारको सम्पत्ति छानबिन गर्नुपर्ने उल्लेख गरेको छ । सहकारी तथा लघुवित्तको समस्या समाधान हुनुपर्ने, ललितानिवास, वाइडबडी, नक्कली भुटानी शरणार्थी, ठूलो सुनकाण्डलगायतको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाहीलगायतको माग गरेको छ ।

    राप्रपाले जनप्रदर्शनमा सहभागी हुन उपत्यकाबाहिरबाट पनि मानिसहरु ओसारिरहेको छ । कम्तिमा ५० हजार मानिसहरु काठमाडौंका सडकमा उतार्ने राप्रपाले तयारी गरेको छ । यसअघि व्यवसायी दुर्गा प्रसाईंले एक्लै हजारौंको भिड जम्मा गरेकाले पनि राप्रपा महत्वाकांक्षी बनेको हो ।

    विरोध र सभा सम्मेलन गर्न पाउने संवैधानिक अधिकारलाई कुण्ठित गर्दै घोषणा गरिएको निषेधित क्षेत्र राप्रपाले नमान्ने अध्यक्ष राजेन्द्र लिङदेनले घोषणा गरेका छन् । ‘निषेधित क्षेत्र तोडेर अगाडि बढ्छौं, सरकारले दमन गरेर मुठभेडको स्थिति निर्माण नगरोस,’ उनले भनेका छन्, ‘अन्यथा प्रतिवाद गर्न वाध्य हुनेछौं ।’

  • काठमाडौंमा भोलि राप्रपाको जनप्रदर्शनः निषेधित क्षेत्र तोड्ने, दमन नगर्न चेतावनी

    काठमाडौंमा भोलि राप्रपाको जनप्रदर्शनः निषेधित क्षेत्र तोड्ने, दमन नगर्न चेतावनी

    काठमाडौं । राजावादी प्रमुख दल राप्रपाले निकै महत्व दिएको काठमाडौं केन्द्रीत बृहत जनप्रदर्शन भोलि आयोजना हुँदैछ । गत ९ फागुनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष ४० बुँदे माग राखेर आन्दोलनमा होमिएको राप्रपाले यसको उत्कर्षस्वरुप काठमाडौंमा शक्तिप्रदर्शन गर्न लागेको हो ।

    पार्टी आबद्ध विभिन्न संघ–संगठनले जस्तै आन्दोलन उपत्यका परिचालन समितिले पनि तयारीलाई तीव्रता दिएको संयोजक विक्रमबहादुर थापाले जानकारी दिए । राप्रपा बागमती प्रदेश अध्यक्षसमेत रहेका थापाका अनुसार २७ चैतमा हुने जनप्रदर्शनमा गत निर्वाचनमा काठमाडौं उपत्यकाबाट प्राप्त समानुपातिक मत बराबर जनता उतार्ने गरी तयारी भइरहेको छ । उनले काठमाडौंवासीको समर्थन प्राप्त हुने दाबी समेत गरेका छन् ।

    २०७९ सालमा भएको निर्वाचनमा राप्रपाले थ्रेस होल्ड कटाउँदै आफूलाई राष्ट्रिय दलको मान्यता दिलाउन सफल भएको थियो । समानुपातिकमा देशभरबाट ५ लाख ८६ हजारभन्दा बढी मत ल्याएको राप्रपाले काठमाडौं उपत्यकामा पनि सम्मानजनक मत प्राप्त गरेको थियो ।

    जनसहभागीता र जनपरिचालनका लागि काठमाडौं, ललितपूर र भक्तपुरमा दिनहुँजसो बैठक, घरदैलो र कोणसभाहरु भइरहेका छन् । उपत्यकाका सबै नगरपालिकामा आन्दोलन कमाण्डर तोकिएका थिए । वडामा समिति गठन गरिएको छ । राप्रपाले आफ्ना विभिन्न संगठन, भ्रातृ तथा शुभेच्छुक संस्थालाई पनि परिचालन गरेको छ । काठमाडौंको निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्ने राप्रपाको तयारी छ ।

    जिल्लाका प्रतिनिधिहरूलाई आन्दोलनसम्बन्धी प्रशिक्षणसमेत दिएको राप्रपाको जनप्रदर्शनमार्फत आफ्नो मागमा सरकारलाई घुँडा टेकाउने दावी गरेको छ ।

    राप्रपाले सरकारसमक्ष पेश गरेको ४० बँदे मागपत्रमा अभिभावकीय भूमिकामा संवैधानिक राजसंस्था हुनुपर्ने, हिन्दू अधिराज्य घोषणा गर्नुपर्ने, प्रदेश संरचनाको खारेजी, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, कार्यकारी पदहरुमा एक व्यक्ति दुई कार्यकालभन्दा बढी बस्न नपाउने संवैधानिक, कानुनी सुनिश्चितता गर्नुपर्ने लगायत विषय छन् ।

    मागपत्रमा भनिएको छ, ‘राष्ट्र र राज्यका रूपमा नेपालको यति तीव्र क्षयीकरण इतिहासमा कहिल्यै भएको थिएन । राष्ट्रका रूपमा आज देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र अन्तर्राष्ट्रिय अस्मिता तथा देशलाई एक सूत्रमा बाँध्ने धर्म–संस्कृति सबै नराम्रोसँग क्षयीकृत भएको छ ।’
    राप्रपाले राखेको ४० बुँदे मागपत्रमा गैरराजनीतिक मागहरु पनि छन् ।

    मागपत्रमा सरकारी कर्मचारी तथा पेशागत दलीय भ्रातृ संगठनहरूको खारेजी हुनुपर्ने, संवैधानिक नियुक्तिहरूमा दलीय भागबन्डा नहुने संवैधानिक सुनिश्चितता हुनुपर्ने, शिक्षा र स्वास्थ्य सुधार हुनुपर्ने, ०४६ सालपछि उच्चपदस्थ नेता, कर्मचारी तथा परिवारको सम्पत्ति छानबिन गर्नुपर्ने उल्लेख गरेको छ । सहकारी तथा लघुवित्तको समस्या समाधान हुनुपर्ने, ललितानिवास, वाइडबडी, नक्कली भुटानी शरणार्थी, ठूलो सुनकाण्डलगायतको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाहीलगायतको माग गरेको छ ।

    राप्रपाले जनप्रदर्शनमा सहभागी हुन उपत्यकाबाहिरबाट पनि मानिसहरु ओसारिरहेको छ । कम्तिमा ५० हजार मानिसहरु काठमाडौंका सडकमा उतार्ने राप्रपाले तयारी गरेको छ । यसअघि व्यवसायी दुर्गा प्रसाईंले एक्लै हजारौंको भिड जम्मा गरेकाले पनि राप्रपा महत्वाकांक्षी बनेको हो ।

    सत्ता अफर छोडेर सडकमा

    राप्रपालाई वर्तमान सत्तारुढ गठवन्धनमा समेट्नका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रयास गरेका थिए । तर, राप्रपाले प्रधानमन्त्रीको प्रस्ताव अस्वीकार गरेको छ । पार्टीको ध्यान अहिले सत्तामा नरहेको राप्रपा प्रवक्ता मोहन श्रेष्ठ बताउँछन् । उनले २७ गतेको आन्दोलनलाई सरकारले कसरी रेस्पोन्स गर्छ भन्ने हेरेर आगामी रणनीति तय गरिने उल्लेख गरे ।

    श्रेष्ठले भने, ‘अहिले हामी पूर्णरुपमा भोलिको जनप्रदर्शनमा केन्द्रित छौं । यो जनप्रदर्शनपछि पनि राप्रपाले पेश गरेका ४० बुँदे माग पूरा गर्न सरकार सकारात्मक भएन भने पार्टीले थप आन्दोलनको योजना बनाउँछ । सत्ता हाम्रो प्राथमिकतामा छैन ।’

    राप्रपा अध्यक्ष राजेन्द्र लिङदेलनले हिजो पत्रकार सम्मेलन गर्दै पार्टीले पेश गरेका ४० बुँदे मागलाई सरकारले उपेक्षा गरिरहेकाले वृहद जनप्रदर्शन गर्न लागिएको बताएका थिए । आन्दोलन शान्तिपूर्ण र अहिंसात्मक हुने पनि उनले प्रष्ट पारेका छन् ।

    ‘आन्दोलनमा हिंसा र तोडफोडका कामहरु हुने छैनन्,’ उनले भने, ‘सरकारले जुलुसलाई उत्तेजित तुल्याउने र अवरोध सिर्जना गर्ने काम नगरोस भन्ने हाम्रो आग्रह छ ।’

    विरोध र सभा सम्मेलन गर्न पाउने संवैधानिक अधिकारलाई कुण्ठित गर्दै घोषणा गरिएको निषेधित क्षेत्र राप्रपाले नमान्न लिङदेनले घोषणा गरेका छन् । ‘निषेधित क्षेत्र तोडेर अगाडि बढ्छौं, सरकारले दमन गरेर मुठभेडको स्थिति निर्माण नगरोस,’ उनले भनेका छन्, ‘अन्यथा प्रतिवाद गर्न वाध्य हुनेछौं ।’

  • चैत २७ गते काठमाडौंमा ५० हजारभन्दा बढीलाई उतार्ने राप्रपाको दाबी

    चैत २७ गते काठमाडौंमा ५० हजारभन्दा बढीलाई उतार्ने राप्रपाको दाबी

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले चैत २७ गतेको जनप्रदर्शनमा ५० हजारभन्दा बढीको उतार्ने दाबी गरेको छ ।

    जनप्रदर्शनको तयारीका बारेमा जानकारी दिन आइतबार पार्टी कार्यालय धुम्वाराहीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रदर्शनको सबै तयारी पूरा भएको जानकारी दिए । आफूहरूको प्रदर्शन शान्तिपूर्ण हुने भन्दै उनले सुरक्षाको उचित प्रवन्धका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।

    पछिल्लो दिनमा विरोध प्रदर्शन गर्न पाउने अधिकारलाई कुण्ठित गर्न निषेधाज्ञा जारी गर्ने, लाठीचार्ज गर्ने काम भएको भन्दै लिङ्देनले त्यसको निन्दा गरेका छन् । भृकुटीमण्डपबाट सुरू हुने जनप्रदर्शनले काठमाडौंका विभिन्न स्थानको परिक्रमा गरेर सभामा परिणत हुने राप्रपाले जनाएको छ । आफूहरूको एजेण्डमा सहमत जनाउनेलाई राप्रपाले सहभागिताको लागि आव्हान गरेको छ ।

    राप्रपाले विभिन्न माग राख्दै प्रधानमन्त्रीलाई ४० बुँदे मागपत्र बुझाएको थियो । जसमा अभिभावकीय भूमिकामा संवैधानिक राजसंस्था हुनुपर्ने, सर्वधर्म समभाव, पूर्ण धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन धर्मसापेक्ष हिन्दू अधिराज्य घोषणा गर्नुपर्ने, संगठित, योजनाबद्ध, प्रलोभन तथा छलकपटपूर्ण धर्मान्तरणमा तत्काल रोक्नुपर्ने, प्रदेश संरचनाको खारेजी र दुई तहको सरकार केन्द्र र अधिकारप्राप्त स्थानीय तह बनाउनुपर्ने लगायतका छन् ।

  • सरकारले तोकेका कथित निषेधित क्षेत्रहरू स्वीकार्य छैन, तोडेर प्रदर्शन गर्छौं : अध्यक्ष लिङदेन (भिडिओ)

    सरकारले तोकेका कथित निषेधित क्षेत्रहरू स्वीकार्य छैन, तोडेर प्रदर्शन गर्छौं : अध्यक्ष लिङदेन (भिडिओ)

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले चैत्र २७ गतेको पार्टीको विरोध प्रदर्शनमा सरकारले तोकेका निषेधित क्षेत्रहरू तोडेर अघि बढ्ने बताएका छन् ।

    आइतबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा पत्रकार सम्मेलन गरी उहाँले सरकारले कथित रूपमा तोकेका निषेधित क्षेत्रहरू राप्रपालाई मान्य नहुने बताएका हुन् ।

    उनले राप्रपाले शान्तिपूर्ण विरोध प्रदर्शन गर्ने बताउँदै सरकारले जुलुसलाई उत्तेजित बनाउन र अवरोध सिर्जना नगर्न आग्रह गरे ।

    संविधानले दिएको प्रजातान्त्रिक क्रियाकलाप अन्तर्गत विरोध गर्न पाउने अधिकारलाई सरकारले कुण्ठित पार्दै लगेको उल्लेख गर्दै अध्यक्ष लिङदेनले निषेधित क्षेत्र घोषणा गरेर प्रदर्शनहरूलाई साँघुरो बनाउने प्रयत्नहरू राप्रपालाई स्वीकार्य नरहेको बताए ।

    प्रदर्शन शान्तिपूर्ण हुने, सर्वसाधारणलाई असुविधा पुग्ने कुनै क्रियाकलाप नगर्ने उनले स्पष्ट पारे । कथित निषेधित क्षेत्र घोषणा गरेर सरकारले अवरोध गर्न खोजे राप्रपाले प्रतिवाद गर्ने चेतावनी दिए ।

    शनिवारको प्रदर्शनमा राजनीतिक दलहरूको प्रदर्शनका क्रममा प्रहरीले लाठी चार्ज गरेको र भिक्षुहरूमाथि लात्ती प्रहार गरेको भन्दै भर्त्सना गरे । शनिवार भद्रकाली मन्दिर परिसर क्षेत्रमा नेता राजेन्द्र महतो नेतृत्वमा भएको प्रदर्शनका क्रममा प्रहरीले भिक्षुहरूमाथि लात्ती प्रहार गरेको थियो । सोही विषयलाई लिएर सरकारको चर्को आलोचना भइरहेको छ ।

    अध्यक्ष लिङदेनले राष्ट्रिय प्रजातन्त्र पार्टीसँग समान विचार राख्ने पार्टी र व्यक्तिहरूलाई एकताबद्ध भई आन्दोलनमा होमिन आग्रह गरे । उनले देश बचाउने र बनाउने मुद्दामा सबै एक हुनुपर्ने बताए ।

  • पूर्वराजाको स्वागतमा भिड उराल्न सफल ज्ञानेन्द्र शाही भन्छन्- जुम्ली जनता राजतन्त्रको पक्षमा जागे

    पूर्वराजाको स्वागतमा भिड उराल्न सफल ज्ञानेन्द्र शाही भन्छन्- जुम्ली जनता राजतन्त्रको पक्षमा जागे

    काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह हिजो नागरिक अभिनन्दनका लागि खलंगामा उत्रिदा नसोचेको भिड जम्मा भयो । यो जनप्रदर्शनका पछाडि मुख्य भूमिका थियो राप्रपाका जल्दाबल्दा नेता तथा जुम्लाका सांसद ज्ञानेन्द्र शाहीको ।

    शाहीकै पहल र संयोजनमा पूर्वराजाको जुम्ला भ्रमण तय भएको हो । यद्यपि, चलाखीपूर्वक उनले नागरिक अभिनन्दन आयोजक समितिमा आफू नबसेर अन्य पार्टीका मान्छेहरू राखेका थिए । कांग्रेस नेताको संयोजकत्वमा गठन गरिएको समितिमा एमाले मात्र होइन, माओवादीका मान्छे पनि अटाए ।

    स्थानीय प्रशासन भने यो भ्रमणलाई लिएर अलि सशङ्कित थियो । जुम्लाका प्रमुख जिल्ला अधिकारीले कार्यक्रम गर्न अनुमतिसमेत दिएका थिएनन् । नगरपालिकाले पनि नगर्न भनेको थियो । तर, जनता उर्लिएपछि कसैले रोक्न सक्ने अवस्था रहेन ।

    शाही पूर्वराजाको भ्रमण सफल पारेकोमा निकै उत्साहित देखिएका छन् । करिब ५० हजार मानिसहरू पूर्वराजाको अभिनन्दन कार्यक्रममा उपस्थित भएको उनको दाबी छ ।

    शाहीले भने, ‘यति संख्यामा मान्छेहरू अहिलेसम्म जुम्लामा कुनै पनि राजनीतिक दलले जुटाउन सकेका थिएनन् । यो अहिलेसम्मकै ठूलो जनप्रदर्शन हो ।’

    ५० हजार मान्छे अट्ने ठाउँ थियो र ? भन्ने नेपाल प्रेसको प्रश्नमा उनले जवाफ दिए, ‘किन नअट्नु ? त्यो ठाउँको लम्बाइ मात्रै ३ सय मिटर बराबर छ । काठमाडौंका दुईवटा टुँडिखेलभन्दा ठूलो छ । स्थानीय प्रशासनको असहयोगका कारण राम्रोसँग तयारी पनि गर्न नपाएकाले यति धेरै मान्छे आउने हामीले नै सोचेका थिएनौँ ।’

    जुम्लाको प्रदर्शनले देशभरमा ठूलो सन्देश गएको शाहीको भनाइ छ । जुम्ली जनताले अहिलेको गणतन्त्रभन्दा राजतन्त्र ठिक हो भन्ने बुझिसकेको उनले बताए ।

    ‘जुम्लामा राजतन्त्रकालमा नै धेरै विकासका कामहरू भएका थिए । २९ सालमै त्यहाँ एयरपोर्ट बनेको हो । राजा ज्ञानेन्द्रको सक्रियतामा २०५९ सालदेखि कर्णाली राजमार्ग बनाउन थालिएको हो । विद्युतदेखि शिक्षा र स्वास्थ्यसम्ममा धेरै कामहरू भएका थिए । १० वर्षे युद्ध र राजनीतिक दलहरूको कुशासनले जुम्लालाई पछाडि पारेको यहाँका जनताले बुझिसकेका छन् । त्यसैले उनीहरू राजतन्त्रको पक्षमा जागेका हुन्,’ शाहीले व्याख्या गर्दै भने ।

    शाहीले पूर्वराजालाई जुम्ला लैजाने प्रयास पोहोर साल पनि गरेका थिए । त्यसबेला सबै तयारी भइसकेर पनि मौसमको खराबीले जहाज उड्न नसकेपछि भ्रमण स्थगित भएको उनको भनाइ । त्यही थाँती रहेको कार्यक्रम अहिले गरिएको उनले बताए ।

  • राजसंस्था पुन:स्थापनाको मागसहित राप्रपानिकट भूपू सैनिकको मार्चपास (तस्बिरहरू)

    राजसंस्था पुन:स्थापनाको मागसहित राप्रपानिकट भूपू सैनिकको मार्चपास (तस्बिरहरू)

    काठमाडौं । गणतन्त्र खारेजी र राजसंस्था पुन:स्थापनको मागसहित राप्रपाले आज भूपू सैनिकलाई सडकमा उतारेको छ । राप्रपानिकट राष्ट्रिय प्रजातान्त्रिक भूतपूर्व सैनिक संगठनले काठमाडौंमा मार्चपास गरेको हो । सरकारलाई ४० बुँदे मागपत्र बुझाएर राप्रपा आन्दोलनमा होमिएको थियो ।

    यही चैत २७ मा राप्रपाले काठमाडौंमा वृहत जनप्रदर्शन गर्दैछ । त्यसकै पूर्वसन्ध्यामा आज राप्रानिकट पेन्सनर सैनिकको प्रदर्शन गरिएको हो ।

    भृकुटीमण्डपबाट सुरू भएको मार्चपासमा भूपू सैनिकहरू दौरासुरुवाल र ढाका टोपी लगाएर मार्चपासमा उत्रिका छन् । भृकुटीमण्डपबाट सुन्धारा, रत्नपार्क, पुतलीसडक परिक्रमा गरेको थियो ।

    प्रदर्शनकारीले १६ वर्षे पेन्सन सुनिश्चित गर्नुपर्ने, राष्ट्रियता, सार्वभौमिकताको रक्षा गरिनुपर्ने, हिन्दू राष्ट्र, राजसंस्था पुन:स्थापनालगायतका प्लेकार्ड बोकेका थिए ।

  • राप्रपाको जनप्रदर्शनः आज ३ हजार भुपु सैनिकलाई सडकमा उतार्ने, भृकुटीमण्डपबाट मार्चपास

    राप्रपाको जनप्रदर्शनः आज ३ हजार भुपु सैनिकलाई सडकमा उतार्ने, भृकुटीमण्डपबाट मार्चपास

    काठमाडौं । गणतन्त्र खरोजी र राजसंस्था पुनस्थापनको एजेन्डासहित आन्दोलनरत राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज भुतपुर्व सैनिकहरुलाई सडकमा उतार्ने भएको छ ।

    राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक भुतपुर्व सैनिक संगठनले काठमाडौंमा मार्चपास गर्न लागेको हो । सरकारलाई ४० बुँदे मागपत्र बुझाएर राप्रपा आन्दोलनमा होमिएको थियो ।

    आउँदो २७ चैतमा पार्टीले काठमाडौंमा वृहत जनप्रदर्शन आयोजना गर्दै छ । त्यसकै पूर्वसन्ध्यामा आज राप्रा निकट सेवानिवृत्त सैनिकहरु सडकमा निस्किने भएका हुन् । राजनीतिक मुद्दाका लागि भुपु सैनिकहरु पहिलोपटक यसरी निस्किन लागेको सगठनका अध्यक्ष अवकाशप्राप्त महासेनानी प्रकाशजंग कार्कीले बताए । मार्चपासमा कम्तिमा पनि ३ हजार  भुपु सैनिक सहभागी हुने उनको दावी छ ।

    भुपु सैनिकको मार्चपास भृकुटीमण्डपबाट ११ बजे सुरु हुने छ । भुपु सैनिकहरु दौरासुरुवाल र ढाका टोपी लगाएर मार्चपासमा उत्रिनेछन् । भृकुटीमण्डपबाट सुन्धारा, रत्नपार्क, पुतलीसडक हुँद पद्मोदय स्कुल अगाडि सभामा परिणत हुने कार्कीले जानकारी दिए । सभालाई राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले सम्वोधन गर्नेछन् ।

    राप्रपाले २७ गतेको जनप्रदर्शनलाई सफल बनाउन सबै शक्ति लगाइरहेको छ । वृहत जनप्रदर्शनको अघिल्लो दिन सोमबार नेपाल सनातन धर्म संस्कृति संगठनले शंख जुलुस निकालिने राप्रपाले जनाएको छ ।

    काठमाडौं उपत्यकाका हरेक पालिकामा कमाण्डर तोकेको छ भने ति कमाण्डरले पनि वडा कमाण्डर तोकेर कार्यक्रम सफल बनाउने गरी काम गरिरहेका छन् । ती कमाण्डरको नेतृत्वमा काठमाडौं उपत्यकाको दर्जनौँ स्थानबाट झाँकीसहितको र र्‍याली निकाल्ने तयारी राप्रपाको छ ।

    मंगलबार हुने वृहद जनप्रदर्शनमा व्यापक जनसहभागिता हुने राप्रपाका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठ बताउँछन् ।
    ‘राप्रपाले अग्रसरता लिएको हो, तर अहिलेको यथास्थितिबाट मुक्ति चाहने सबै जनता स्वस्फूर्त सडकमा निस्कने छन्,’ श्रेष्ठले भने ।

    राप्रपाले सरकारसमक्ष पेश गरेको ४० बँदे मागमा अभिभावकीय भूमिकामा संवैधानिक राजसंस्था हुनुपर्ने, सर्वधर्म समभाव, पूर्ण धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन धर्मसापेक्ष हिन्दू अधिराज्य घोषणा गर्नुपर्ने, संगठित, योजनाबद्ध, प्रलोभन तथा छलकपटपूर्ण धर्मान्तरणमा तत्काल रोक्नु्पर्ने, प्रदेश संरचनाको खारेजी र दुई तहको सरकार– केन्द्र र अधिकारप्राप्त स्थानीय तह बनाउनुपर्ने, जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री रहने शासकीय व्यवस्था गर्नुपर्ने, कार्यकारी पदहरुमा एक व्यक्ति दुई कार्यकालभन्दा बढी बस्न नपाउने संवैधानिक, कानुनी सुनिश्चितता गर्नुपर्नेलगायत उल्लेख छ ।

  • राप्रपालाई ‘तिरस्कार’ गर्दा गठबन्धनलाई आत्मघात ! केन्द्रदेखि प्रदेशसम्म नपाउने भो साथ

    राप्रपालाई ‘तिरस्कार’ गर्दा गठबन्धनलाई आत्मघात ! केन्द्रदेखि प्रदेशसम्म नपाउने भो साथ

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ गठबन्धन फेरबदल गर्दा संसदको पाँचौं ठूलो शक्तिका रूपमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीलाई उपेक्षा गरे । त्यसको मूल्य अहिले सत्तारुढ गठबन्धनले चुकाउनु परिरहेको छ ।

    कांग्रेससँगको गठबन्धन तोडेर एमालेसँग घाँटी जोड्ने निर्णय गरेपछि उनले बालुवाटारमा विभिन्न दलका प्रमुखहरूलाई बोलाएर भेटेका थिए । तर, राप्रपालाई उनले भाउ दिएनन् । नयाँ गठबन्धनको गृहकार्यमा कतै पनि राप्रपालाई समावेश गरिएन । जबकि गत वर्ष एमाले–माओवादी गठबन्धनको एउटा घटक राप्रपा पनि थियो ।

    यसपालि भने प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले राप्रपालाई गठबन्धनमा स्थान नदिने आपसी सहमति नै गरेका थिए । नेताद्वयले राप्रपालाई ‘प्रतिगमनकारी शक्ति’ भन्दै बाइपास गर्नुको कारण थियो, उ बिना पनि सहजरुपमा बहुमत पुर्‍याउन सक्ने आँकलन । तर, अहिले आएर केन्द्रदेखि प्रदेशसम्म गठबन्धनलाई राप्रपाको खाँचो परेको छ ।

    अहिलेको संसदीय गणित हेर्दा एमाले–माओवादी गठबन्धन आफैँमा ‘धराप’ देखिएको छ । यो गठबन्धन अल्पायुमै भत्काएर फेरि सत्तामा फर्किने आशा र प्रयास कांग्रेसले छोडेको छैन ।

    दक्षिणी छिमेकीको डिजाइनमा माधव नेपाललाई प्रधानमन्त्रीमा अघि सारेर वैकल्पिक गठबन्धन निर्माणको भगीरथ प्रयास भइरहेको बताइन्छ । गणितीय रूपमा त्यो असम्भव पनि छैन । यदि नेकपा एस सरकारबाट निस्कियो भने जसपा पनि सँगसँगै निस्किने निश्चित छ । र, सरकारबाहिरका अन्य सबै दलहरू आपसमा मिल्दा झिनो बहुमत पुग्छ ।

    राप्रपासमेत यो खेलमा सामेल रहेको सूचना पाएपछि प्रधानमन्त्री भित्रभित्रै आत्तिएका छन् । त्यसैले उनी राप्रपालाई समेत सरकारमा ल्याएर ‘सुरक्षित’ महसुस गर्न चाहन्छन् । यही मेसोमा गत १५ चैतमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनलाई बालुवाटारमै बोलाएर सहयोग मागेका थिए ।

    उनले संघीय सरकारमा सहभागी भएमा पहिले लिएका मन्त्रालयहरू नै दिने भनेर फकाउन खोजे । प्रदेश सरकारहरूमा पनि सहकार्यको प्रस्ताव गरे । तर, लिङ्देनले प्रधानमन्त्रीको प्रस्ताव ठाडै अस्वीकार गरेका छन् । उनले आफ्नो पार्टी अब सडक आन्दोलनमा उत्रिसकेको भन्दै कतै पनि सरकारमा नजाने प्रष्ट पारे ।

    सत्तारुढ गठबन्धनलाई धक्का लाग्ने गरी हिजो राप्रपाको बैठकले निर्णय लियो । उसले स्पष्टरुपमा केन्द्रदेखि प्रदेशसम्म कतै पनि यो गठबन्धनलाई सहयोग नगर्ने भएको छ । यो मात्र होइन, कांग्रेस नेतृत्वका प्रदेश सरकार जोगाउन भूमिका खेल्ने पनि राप्रपाको आन्तरिक रणनीति छ ।

    राप्रपाको यो निर्णयले गण्डकीमा गठबन्धनको सरकार नबन्ने करिब निश्चित भयो । त्यहाँ राजीनामा दिएका मुख्यमन्त्री सुरेन्द्र पाण्डेलाई नै राप्रपाले समर्थन गर्ने छ । राप्रपाको समर्थनले पाण्डे फेरि मुख्यमन्त्री बन्ने सम्भावना बलियो बनेको छ । यो प्रदेशमा राप्रपाका २ सांसद निर्णायक पोजिसनमा छन् ।

    व्यवस्था परिवर्तनको एजेन्डा सहित आन्दोलनमा होमिएको राप्रपाले आउँदो २७ गते काठमाडौंमा विशाल जनप्रदर्शनको तयारी गरिरहेको छ । पार्टी अहिले यसैमा केन्द्रित रहेको प्रवक्ता मोहन श्रेष्ठ बताउँछन् ।

    ‘हामी आन्दोलनमा छौँ, सत्तामा नजर छैन,’ श्रेष्ठले भने, ‘कुनै प्रदेशमा हाम्रो मत निर्णायक रह्यो भने सरकारमा नगईकन कांग्रेसलाई सघाउन सकिन्छ, तर यो गठबन्धनसँग हाम्रो सहकार्य हुँदैन ।’

  • प्रदेशमा सत्ता गठबन्धनलाई सहयोग नगर्ने राप्रपाको निर्णय, सरकारमा पनि नजाने

    प्रदेशमा सत्ता गठबन्धनलाई सहयोग नगर्ने राप्रपाको निर्णय, सरकारमा पनि नजाने

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेश सरकारको गठनमा सत्ता गठबन्धनलाई साथ नदिने औपचारिक निर्णय गरेको छ । आज राप्रपाको पदाधिकारी बैठकले सो निर्णय गरेको हो ।

    केही दिनअघि राप्रपाको कार्यसम्पादन समितिले तत्काल सरकारमा सहभागी नहुने निर्णय लिएको थियो । साथै, कुनै दललाई समर्थन दिनुपर्ने अवस्था आएमा सम्वन्धित प्रदेश कमिटीसँग समन्वय गरी अध्यक्षले निर्णय लिन सक्ने भनिएको थियो । आज बसेको पदाधिकारी बैठकले भने सत्ता गठबन्धनलाई समर्थन नगर्ने ठोस निर्णय लिएको छ ।

    लुम्बिनी र गण्डकी प्रदेशमा पुरानो र नयाँ सत्ता गठबन्धनले राप्रपाको साथ खोजिरहेका छन् । तर, कुनै पनि प्रदेशमा राप्रपाले सत्ता गठबन्धनलाई सहयोग नगर्ने पार्टी प्रवक्ता मोहन श्रेष्ठले बताए । कुनै प्रदेशमा कांग्रेसलाई सहयोग गर्नुपर्ने अवस्था आए सम्बन्धित प्रप्रदेश कमिटीसँग समन्वय गरेर अध्यक्षले निर्णय लिन सक्ने उनको भनाइ छ ।

  • लुम्बिनीका मुख्यमन्त्रीको सत्ता संकट: राप्रपा काँध थाप्न तयार, तर बहुमत पुर्‍याउन फलामको च्यूरा

    लुम्बिनीका मुख्यमन्त्रीको सत्ता संकट: राप्रपा काँध थाप्न तयार, तर बहुमत पुर्‍याउन फलामको च्यूरा

    रुपन्देही । केन्द्रीय सत्ता गठबन्धनमा फेरबदलसँगै अल्पमतमा परेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीमाथि राजीनामाको दबाब बढिरहेको छ । बहुमत पुर्‍याउने अवस्था अहिलेसम्म नदेखिएको भन्दै आफ्नै दलका मन्त्री तथा सांसदहरुले पनि विश्वासको मतमा जानुभन्दा राजीनामा गर्न सुझाव दिइरहेका छन् ।

    मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले बिहीबार दिउँसो ४ बजे विश्वासको मत लिनेगरी विशेष अधिवेशन आह्वान गर्ने निर्णय गरेको थियो । यद्यपि त्यसको औपचारिक पत्र बुधबार बिहान १० बजेसम्म प्रदेश प्रमुखको कार्यालयले नपाएको जनाइएको छ । मुख्यमन्त्री चौधरीले बिहीबारको सदनमा आफ्ना कुरा राखेर राजीनामा दिने अड्कलबाजी पनि भइरहेका छन् ।

    प्रदेशमा सरकार अस्थिर बनेपछि कर्मचारीले समेत राम्रोसँग काम नगरेको भन्दै मुख्यमन्त्री चौधरीले सरकारको स्थायित्वबारे निराशा व्यक्त गरेको स्रोतले जनायो ।

    ‘विश्वासको मत प्राप्त नहुने भयो भने मुख्यमन्त्रीले बिहीबारको सदनमा सम्बोधन गरेर राजीनामा दिने अवस्था आउनसक्छ । तर, राजनीति हो, कुनै एक पक्ष रातारात परिवर्तन भएर नआउला भन्न सकिन्न । अहिलेसम्म सकारात्मक संकेत देखिएको छैन’, मुख्यमन्त्री निकट स्रोतले भन्यो ।

    कांग्रेसका प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले बहुमत नपुग्ने अवस्थाना राजीनामा दिएर नै जानु राम्रो हुने भए पनि त्यो विषयमा मुख्यमन्त्रीसँग औपचारिक कुराकानी नभएको बताए ।

    ‘यो यहाँको कारणले बिग्रेको होइन, संसदमा गणित पूरा नहुने भएपछि सबै प्रक्रियामा जानुपर्छ भन्ने होइन । यो विषयलाई मुख्यमन्त्रीज्यूले सकारात्मक रुपमै लिनुहोला । तर, औपचारिक कुराकानी केही भएको छैन’, उनले भने ।

    बैशाख १४ गते ८ दलका ५३ सांसदको समर्थनमा मुख्मन्त्री बनेका चौधरी ११ सांसद रहेको नेकपा माओवादी केन्द्रले फागुन २३ गते समर्थन फिर्ता लिएपछि अल्पमतमा छन् । मंगलबार बिहान बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले विश्वासको मत लिन बिहीबार दिउँसो ४ बजे विशेष अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोषकुमार पाण्डेले जानकारी दिए । तर, बुधबार बिहानसम्म प्रदेश प्रमुख कार्यालय र प्रदेशसभालाई औपचारिक जानकारी भएको छैन ।

    चौधरीभन्दा अगाडि नेकपा एमाले, नेकपा माओवादी केन्द्रसहित आठ दलको समर्थनमा एमालेका लीला गिरी मुख्यमन्त्री नियुक्त भएका थिए । तर, उनले सय दिन पनि कटाउन सकेनन् । राजनीतिक समीकरण फेरिएपछि कांग्रेस-माओवादी नेतृत्वमा बनेको गठबन्धन सरकार अघि बढ्यो । फेरि केन्द्रीय राजनीतिमा आएको बदलाबका कारण एमाले-माओवादीसहितको सरकार बन्ने अवस्था देखिएको छ ।

    गत वैशाख १९ मा मुख्यमन्त्री चौधरीले विश्वासको मत पाएका थिए । चौधरीलाई ८७ प्रदेशसभा सदस्यमध्ये ५३ जनाले विश्वासको मत दिएका थिए भने विपक्षमा २९ मत परेको थियो । चौधरीलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी (नाउपा), जनता समाजवादी पार्टी (जसपा) नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादी र एक जना स्वतन्त्र सांसदले समर्थन गरेका थिए ।

    नयाँ गठबन्धनबाट प्रदेशको नेतृत्व माओवादीले पाउने केन्द्रमा सहमति भए पनि कर्णालीमा बढेको माओवादी विवादले यहाँ असर गरिरहेको छ । मंगलबार एमाले र माओवादीका नेताहरुबीच अनौपचारिक कुराकानी भएको थियो । तर, एमालेको केन्द्रीय सर्कुलर केही नआएको र कर्णालीको विवाद नमिलेकाले बुधबार पुनः बस्ने गरी नेताहरु उठेका थिए ।

    लुम्बिनी प्रदेशमा ८६ जना प्रदेशसभा सदस्य छन् । बहुमतका लागि ४४ सांसद चाहिन्छ । कांग्रेससँग २७, नागरिक उन्मुक्ति पार्टीसँग ४, जनमत पार्टीसँग ३, राप्रपासँग ३ र लोसपासँग ३, जनमोर्चासँग १ र स्वतन्त्र १ जना प्रदेशसभा सदस्य छन् ।

    नयाँ गठबन्धनमा आवद्ध एमालेसँग २९, माओवादीसँग १० (सभामुखबाहेक), जसपासँग ३ र नेकपा एकीकृत समाजवादीसँग १ प्रदेशसभा सदस्य छन् । नयाँ गठबन्धन एकजुट भए सरकार बनाउन एक सांसदको कमी हुने देखिन्छ । तर, जसपाले निर्णय लिइसकेको छैन । गठबन्धनले स्वतन्त्र, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र राप्रपामध्येबाट एक भोट तान्नुपर्छ ।

    राप्रपाले नयाँ गठबन्धनलाई साथ नदिने

    हाल प्रतिपक्षमा रहेको राप्रपाले कुनै पनि प्रदेशमा नयाँ सत्ता गठबन्धनलाई साथ नदिने नीति लिएको छ । लुम्बिनीमा पनि राप्रपाले एमाले–माओवादी गठबन्धनलाई साथ दिनेछैन । बरु निर्णायक अवस्थामा कांग्रेसकै मुख्यमन्त्रीलाई समर्थन जनाउन सक्ने रणनीति राप्रपा केन्द्रले बनाएको छ ।

    पार्टी स्रोतले भन्यो, ‘कुनै पनि प्रदेशमा हाम्रो भोट कांग्रेस नेतृत्वको सरकार जोगाउन निर्णायक हुने भयो भने जोगाइदिने रणनीति छ । तर, एमाले-माओवादी गठबन्धनमा हामी समावेश हुँदैनौं ।’

    राप्रपा संसदीय दलका नेता आशिष चौधरीले आफ्नो दल पुरानो तथा नयाँ कुनै पनि गठबन्धनमा नरहेकोले विपक्षमा नै बस्ने बताए । अहिले विश्वासको मत दिने विषयमा पनि तटस्थ बस्न सकिने उनको भनाइ छ ।

    ‘अहिलेसम्म कुनै औपचारिक निर्णय भएको छैन, हामी कुनै गठबन्धनमा छैनौं र सम्भवतः तटस्थ बस्ने योजनामा छौं । बुधबार दिउँसो बसेर केही निर्णय हुन्छ होला’, उनले भने ।

    राप्रपाका सांसद मीना श्रेष्ठले अहिलेसम्म प्रदेशसभाबाट कुनै सूचना नआएको र दलको सामूहिक निर्णयअनुसार नै अगाडि बढ्ने बताइन् । लुम्बिनीमा ४ सांसदसहित राप्रपा चौथो शक्ति हो । यद्यपि अहिले एक सांसद अख्तियारमा मुद्दा परेकाले निलम्बनमा छन् ।

    दुवैतिर बार्गेनिङमा जसपा

    केन्द्रको नयाँ गठबन्धनमा रहेको जसपाले लुम्बिनीमा पुरानो र नयाँ गठबन्धन दुइटैलाई आश्वासन दिँदै कुनै औपचारिक निर्णय नगरी बसेको छ । ३ सांसद रहेको जसपा दलका नेता तथा कृषिमन्त्री भण्डारीलाल अहिर माथिको निर्णयअनुसार अघि बढ्ने बताउँछन् ।

    ‘हाम्रो केही निर्णय चल्दैन, माथिबाट आएको निर्णय प्रदेश कमिटीले जे सुनाउँछ, त्यहीअनुसार अघि बढ्ने हो, कुन गठबन्धनलाई समर्थन गर्ने अझै निधो छैन । अहिलेका मुख्यमन्त्रीले पनि साथ चाहियो भन्नुभएको छ, नयाँ गठबन्धनबाट पनि कुरा आइरहेको छ’, उनले भने ।

    जसपा लुम्बिनी अध्यक्ष अशोक यादव पनि केन्द्रको औपचारिक निर्णय केही नआएकाले रोकिएको र यहाँ दुवै पक्षसँग कुराकानी भइरहेको बताउँछन् ।

    ‘केन्द्रको निर्णय बिहीबार बल्ल आउनेछ, हामी संघीयता कार्यान्वयन गर्ने पार्टी भएकाले पनि यहाँको निर्णय प्रदेशबाट गर्नसक्छौं, बुधबार दिउँसो बैठक बसेर कसरी जाने रणनीति बनाउँछौं’, उनले भने ।

    नाउपा विभाजित

    ४ सांसदसहित चौथो दल रहेको नाउपा आन्तरिक विवादका कारण यहाँ अनिर्णित छ । अहिले सरकारमा रहे पनि यसका दुई सांसद नयाँ गठबन्धनलाई साथ दिने पक्षमा छन् ।

    सो पार्टीका संरक्षक रेशम चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठबीचको विवादले प्रदेशलाई पनि प्रभावित बनाएको हो । यही प्रदेशमा रहेको बर्दियामा रेशमको विशेष प्रभाव रहेकाले यहाँका सांसदहरुलाई मंगलबारदेखि बर्दियामै राखेर रेशमले रणनीति बनाइरहेका छन् । सांसद राजकुमार चौधरीले आफू नेताहरुसँग बर्दियामा रहेको स्वीकार गरे । नाउपाका दलका नेता धर्मबहादुर चौधरी प्रदेशको भौतिक योजनामन्त्री छन् ।

    तानातानमा स्वतन्त्र सांसद

    माओवादीबाट टिकट नपाएर स्वतन्त्र उठेर पश्चिम नवलपरासी २ को १ बाट जितेका स्वतन्त्र सांसद खड्कबहादुर बस्नेत अहिले दुवै पक्षको तानातानमा छन् । दुवै पक्षबाट मन्त्रीको आश्वासन पाएका उनी नयाँ गठबन्धनका लागि पनि निर्णायक रहेकाले बलियो भएका हुन् ।

    नेपाल प्रेससँग कुरा गर्दै बस्नेतले सरकार बनाउन आफू निर्णायक भए बाधक नबन्ने प्रतिक्रिया दिए ।

    ‘अहिलेसम्म औपचारिक सहमति कसैसँग भएको अवस्था छैन, मेरो कारणले सरकार बन्न रोकिने अवस्था आउँदैन । अस्थिरतातर्फ लैजाने विषयमा मेरो सहमति हुँदैन’, उनले भने ।

  • प्रदेश सरकार निर्माणमा सहयोग गर्न प्रधानमन्त्रीको आग्रह लिङदेनद्वारा अस्वीकार

    प्रदेश सरकार निर्माणमा सहयोग गर्न प्रधानमन्त्रीको आग्रह लिङदेनद्वारा अस्वीकार

    काठमाडौं । व्यवस्था परिवर्तनको एजेन्डा लिएर सडक संघर्षमा होमिएको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनलाई हालै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केन्द्रदेखि प्रदेश सरकारमा सहभागी हुन अफर गरेको खुलासा भएको छ ।

    नयाँ गठबन्धन निर्माण गर्दा राप्रपालाई उपेक्षा गरेका प्रधानमन्त्री आफैँले बोलाएर लिङ्देनलाई भेटेको स्रोतले बतायो ।

    राप्रपा स्रोतका अनुसार गत १५ चैतमा प्रधानमन्त्री प्रचण्ड र लिङ्देनबीच भेटवार्ता भएको थियो । उक्त वार्तामा प्रधानमन्त्रीले राप्रपालाई केन्द्र सरकारमा सहभागी हुन ढोका खुला रहेको बताए । राप्रपा सरकारमा आउन तयार भएमा पहिले लिएकै मन्त्रालयहरू दिन सक्ने उनको आश्वासन थियो ।

    तर, लिङ्देनले प्रधानमन्त्रीको अफर अस्वीकार गरेका छन् । उनले आफ्नो पार्टी आन्दोलनमा रहेकाले सरकार प्राथमिकतामा नरहेको स्पष्ट पारेका थिए ।

    ‘हामी अहिले सरकारमा जाँदैनौँ । सरकारलाई बाहिरबाट समर्थन गर्ने स्थिति पनि छैन,’ लिङदेनको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।

    नयाँ सत्ता गठबन्धन बन्ने बेला प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच राप्रपा प्रतिगामी शक्ति भएकाले गठबन्धनमा समावेश नगर्ने सहमति भएको समाचार सार्वजनिक भएको थियो ।

    प्रधानमन्त्रीसँगको भेटमा लिङदेनले सो प्रसङ्ग कोट्याएका थिए । प्रधानमन्त्रीले भने त्यस्तो सहमति नभएको जिकिर गरे ।
    ‘त्यस्तो समाचार कसरी आयो म अचम्मित छु,’ दाहालले भने, ‘त्यो बिल्कुल झूटो हो । केपीजी र मबीच त्यस प्रकारको कुराकानी भएकै छैन ।’

    प्रधानमन्त्रीले लिङ्देनलाई भेट्नुमा उनको मुख्य स्वार्थ चाहिँ प्रदेश सरकार थियो । कम्तीमा दुई वटा नयाँ गठबन्धनको सरकार निर्माणका लागि राप्रपा निर्णायक पोजिसनमा देखिन्छ । ती प्रदेश हुन् गण्डकी र बाग्मती ।

    गण्डकीमा ६० प्रदेशसभा सदस्य रहेकोमा सरकार गठनका लागि ३१ सांसद आवश्यक पर्छ । यहाँ एमालेका २२ र माओवादीका सभामुखसहित ८ सांसद छन् । त्यसैले उनीहरूलाई दुई सिट अपुग हुन्छ । त्यहाँ राप्रपासँग २ सिट छ, जुन निर्णायक हो । राप्रपाले काँध थापे कांग्रेस नेतृत्वको सरकार जोगिन सक्छ । नयाँ गठबन्धनलाई साथ दिए अर्को सरकार बन्न सक्छ ।

    बाग्मतीमा हाल ११० जना प्रदेशसभा सदस्य छन् । सरकार गठनका लागि ५६ सांसद चाहिन्छ । यहाँ एमालेको २७, माओवादीको २१, नेकपा एसको ७ सिट छ । राप्रपा १२ सिट सहित बाग्मती प्रदेशको बलियो शक्ति हो । त्यसैले राप्रपाले नयाँ गठबन्धनलाई साथ दिए आरामसँग नयाँ सरकार बन्न सक्छ ।

    तर, राप्रपाले यो गठबन्धनलाई साथ दिने सम्भावना नरहेको पार्टी स्रोत बताउँछ । लिङदेनले पनि प्रधानमन्त्रीलाई असमर्थता जाहेर गरेका छन् । उनले आफ्नो पार्टी कुनै पनि तहको सरकारमा तत्काल सहभागी नहुने जनाउ दिए ।

    स्रोतका अनुसार राप्रपा अहिले एमाले–माओवादी गठबन्धनभन्दा कांग्रेससँग दूरी घटाउने रणनीतिमा छ । जसअनुसार कांग्रेस नेतृत्वको गण्डकी सरकार जोगाउन पार्टीले भूमिका खेल्न सक्ने स्रोतले बतायो ।

    ‘यो गठबन्धनले नेतृत्व गरेका प्रदेश सरकारमा राप्रपा सहभागी नहुने मात्र होइन, समर्थन पनि गर्दैन,’ स्रोतले भन्यो ।

  • विश्वासको मत लिने बैठकमा सहभागी नहुन दवाव आएको सभामुख पाठकको दावी

    विश्वासको मत लिने बैठकमा सहभागी नहुन दवाव आएको सभामुख पाठकको दावी

    हेटौंडा । बागमती प्रदेशका सभामुख भुवन पाठकले बागमती प्रदेश सरकारको विश्वासको मत लिने बैठकमा आफूलाई सहभागी नहुन दवाव आएको खुलासा गरेका छ्न् ।

    चितवनको सौरहामा भएको संचारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै सभामुख पाठकले आफूलाई शालिकराम जम्कट्टेल सरकारको विश्वासको मत लिने दिनको बैठकमा सहभागी नभएर सरकारलाई अप्ठेरोमा पार्नको लागि विभिन्न शक्तिहरुबाट दवाव आएको उल्लेख गरे ।

    गत फागुन २३ गते नेपाली काङ्ग्रेसले आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाएर सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेको सरकारले चैत्र १९ मा विश्वासको मत लिने कार्यक्रम तय भइसकेको अवस्थामा विभिन्न ठाउँबाट आफूलाई दवाव आएको तर आफू उक्त दवावबाट प्रभावित नहुने उनको भनाइ रहेको छ ।

    सभामुख स्वतन्त्र हुनुपर्ने र आफू अम्पायरको भुमिकामा मात्र रहेको उनले स्पष्ट पारे । उनले भने,‘ मलाई सभामुख बनाउने पार्टिबाट दवाव आएपनि म त्यो मान्दिन, म खेलाडी हैन रेफ्री हु, म निष्पक्ष ढंगबाट बैठक अगाडि बढाउछु । ’

  • इलाम २ मा लक्ष्मी गुरुङलाई उम्मेदवार बनाउने राप्रपाको निर्णय

    इलाम २ मा लक्ष्मी गुरुङलाई उम्मेदवार बनाउने राप्रपाको निर्णय

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले इलाम २ मा हुने उपनिर्वाचनमा उम्मेदवारको टुंगो लगाएको छ ।

    आज बसेको संसदीय समितिको बैठकले युवा नेता लक्ष्मी गुरुङलाई उम्मेदवार छनोट गरेको हो ।

    गुरुङ राप्रपानिकट विद्यार्थी संगठन राप्रविसंघका पूर्व केन्द्रीय उपाध्यक्ष हुन् । हाल उनी राप्रपा शिक्षा विभागका सदस्य छन् ।

    इलाममा आउँदो वैशाख १५ उपनिर्वाचन हुँदैछ ।

  • राप्रपा अध्यक्ष लिङ्देनसँग अमेरिकी राजदूतको भेट- नास्तिकता फैलाउन लगानी नभएको जिकिर

    राप्रपा अध्यक्ष लिङ्देनसँग अमेरिकी राजदूतको भेट- नास्तिकता फैलाउन लगानी नभएको जिकिर

    काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले भेट गरेका छन् ।

    राजदूत थम्पसनले राप्रपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा पुगेर भेट गरेका हुन् । भेटमा राजदूतले नेपालमा अमेरिकाले नास्तिकता फैलाउन कुनै लगानी नगरेको जिकिर गरेका थिए ।

    अमेरिकी सदनमा नेपालमा नास्तिकता फैलाउन लगानी भएको बारेमा भएको सवाल-जवाफको विषयमा लिङ्देनले सोधेको प्रश्नमा राजदूतले त्यस्तो नभएका जिकिर गरेका हुन् ।

    राप्रपा अध्यक्षसँगका भेट भन्दा अगाडि पनि अमेरिकी दूतावासले नेपालमा नास्तिकता फैलाउन लगानी नभएको सार्वजनिक जानकारी सार्वजनिक गरेको थियो ।

    नास्तिकताका सवालबाहेक नेपालमा अमेरिकी लगानीबारेमा पनि छलफल भएको राप्रपाले बताएको छ ।

    राजदूतले नेपालको धार्मिक सद्भाव, एकता उत्कृष्ट रहेको विचार राख्दै नेपालबाट चोरी भई अमेरिका पुर्‍याइएका मूर्तिहरू नेपाल फिर्ता गरी सम्बन्धित मठ मन्दिरमा पुनः स्थापना गर्ने अमेरिकी नीति रहेको जानकारी गराएका थिए ।

    यस्तै राप्रपाले ४० बुँदे माग सरकारसँग राखेर काठमाडौं केन्द्रित प्रदर्शनको तयारीमा रहेको विषयमा समेत कुराकानी भएको राप्रपाले बताएको छ ।

  • अमेरिकाले नेपालमा धार्मिक अनास्था फैलाउन करोडौं खर्च गरेको विषयमा छानबिन गर्न राप्रपाको माग

    अमेरिकाले नेपालमा धार्मिक अनास्था फैलाउन करोडौं खर्च गरेको विषयमा छानबिन गर्न राप्रपाको माग

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहन श्रेष्ठले नेपालमा सनातन हिन्दू र बौद्ध धर्मप्रति अनास्था फैलाउन अमेरिकाले करोडौं खर्च गरेको भन्ने विषयमा अनुसन्धान थाल्न सरकारसँग माग गरेका छन् ।

    अमेरिकाले नेपालमा धार्मिक अनास्था फैलाउन पाँच लाख अमेरिकी डलर अर्थात ६ करोड ६५ लाख बढी रकम खर्च गरिएको तथ्य उजागर भएपछि उनले संवेदनशीलतालाई ध्यान दिइ उच्च प्राथमिकताका साथ छानबिन थाल्न सरकारकालाई ध्यानाकर्षण गराएका हुन् ।

    उनले भनेका छन्, ‘नेपालमा सनातन हिन्दू र बौद्ध धर्मप्रति अनास्था फैलाउन लाखौं डलर खर्च गरिँदै आएको डरलाग्दो खुलासा भएको छ । फ्लोरिडाबाट प्रतिनिधित्व गर्ने सांसद ब्रिआन म्यास्टले अमेरिकी संसदमै यसको खुलासा गरेका छन् । नास्तिकता फैलाउन र पारम्परिक आस्था कमजोर पार्न विदेशी पैसा नेपालमा कहाँ, कसरी, कुन माध्यमबाट कसले परिचालन गरिरहेको छ भन्ने विषयमा आवश्यक छानबिन आवश्यक छ ।’

    प्रवक्ता श्रेष्ठले सनातन धर्म संस्कृतिविरुद्ध गतिविधि गर्ने व्यक्ति र संस्थाको पहिचान गरी कानूनबमोजिम कारबाही गर्न सरकारसँग माग गरेका छन् ।

    उनी भन्छन्, ‘विषयको संवेदनशीलतालाई ध्यान दिइ उच्च प्राथमिकताका साथ छानबिन थाल्न सरकारको गम्भीर ध्यानाकर्षण गराउँछु ।’

  • राप्रपाबाट चार वर्षका लागि निलम्बित तीन नेताले मुख खोले- कारबाही अस्वीकार गर्ने घोषणा !

    राप्रपाबाट चार वर्षका लागि निलम्बित तीन नेताले मुख खोले- कारबाही अस्वीकार गर्ने घोषणा !

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट चार वर्षका लागि निलम्बित तीन नेताले पार्टीको कारबाही नमान्ने घोषणा गरेका छन् । उनीहरूले संयुक्त विज्ञप्ति जारी गर्दै सो घोषणा गरेका हुन् ।

    केही दिनअघि राप्रपा कार्यसम्पादन समिति सदस्य डा. ठाकुर मोहन श्रेष्ठमाथि पार्टी कार्यालयभित्रै हातपात भएको थियो ।

    हातपातमा संलग्न देखिएका सहायक महामन्त्री प्रेम बलायर, काठमाडौं ४ का क्षेत्रीय अध्यक्ष रिद्दिप्रताप जबरा र राप्रपा युवक संगठनका सदस्य सचिव नीराजन बमलाई अध्यक्ष राजेन्द्र लिङदेनले अनुशासनको कारबाही गर्दै निलम्बन गरेका थिए ।

    आज विज्ञप्ति जारी गर्दै तीन जनाले सो घटनामा आफूहरूको संलग्नता नरहेको दाबी गरेका छन् । उक्त घटनालाई लिएर आफूहरू स्वयम् चिन्तित बनेको विज्ञप्तिमा उल्लेख छ ।

    ‘२७ गतेका दिन खानाका लागि बैठक रोकिएको समयमा एक नेतामाथि कसले धकेलाधकेल गर्‍यो र हातपात गर्‍यो सो विषय हामीलाई जानकारी छैन । हामी बैठक चलिरहँदा सदा झैँ पार्टी अफिस पुगेका हौँ । त्यहाँ अनियन्त्रित भिडले हाम्रो नेतामाथि धकेलाधकेल गरिरहँदा मौन बस्न वा हेरिरहन हाम्रो नैतिकताले दिएन । तसर्थ हामी भीडलाई पन्छाउन गएका हौँ र पन्छाएका पनि हौँ ।’

    सो विषयलाई लिएर फागुन २९ गते पार्टीको अनुशासन समितिबाट स्पष्टीकरण सोधिएको र ३० गते नै आफूहरूले स्पष्टीकरण बुझाएको विज्ञप्तिमा उल्लेख छ ।

    स्पष्टीकरणमा उल्लेख गरेका विषयलाई गम्भीर अध्ययन र छलफल नगरिएको तथा श-शरीर उपस्थित गराएर थप जानकारी नलिईकन अनुशासन समितिको सिफारिसका आधारमा भन्दै निलम्बन गरेको सूचनाले आश्चर्यमा परेको उनीहरूले बताएका छन् ।

    ‘हामी यो निर्णयलाई अस्वीकार गर्छौँ,’ विज्ञप्तिमा भनिएको छ, ‘राप्रपा हाम्रो रगत र पसिनाले सिर्जित दल हो । हामीमाथि पूर्वाग्रही, एकाधिकार सोचका साथ गरिएको कारबाहीको हामी प्रतिरक्षामा उत्रिने कुरामा कतै शंका नरहोस् ।’

  • कुटपिट प्रकरण : विक्रम पाण्डेका पीए प्रेम बलायरसहित ३ जना राप्रपाबाट ४ वर्षका लागि निलम्बित

    कुटपिट प्रकरण : विक्रम पाण्डेका पीए प्रेम बलायरसहित ३ जना राप्रपाबाट ४ वर्षका लागि निलम्बित

    काठमाडौं । राप्रपा केन्द्रीय कार्यसम्पादन समितिका सदस्य ठाकुरमोहन श्रेष्ठमाथि आक्रमणमा संलग्न तीनजनालाई राप्रपाले निलम्बन गरेको छ ।

    राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी अनुशासन समितिको सिफारिसका आधारमा चार वर्षका लागि निलम्बित गरेका हुन् ।

    गत फागुन २७ गते आइतबार राप्रपा केन्द्रीय कार्यालय धुम्बाराहीमा पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक चलिरहेको समयमा कार्यालय हाताभित्र श्रेष्ठमाथि कुटपिट भएको थियो ।

    घटनाको आवश्यक छानबिन गरी केन्द्रीय अनुशासन समितिले कार्यसम्पादन समितिलाई सिफारिस गरेको थियो । सोही बमोजिम अध्यक्ष लिङदेनले आज कारबाही गरेको राप्रपा स्रोतले बतायो ।

    सो घटनामा संलग्न पार्टीका सहायक महामन्त्री प्रेम बलायर, काठमाडौं क्षेत्र नं. ४ का क्षेत्रीय अध्यक्ष रिद्धीप्रताप राणा र राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका सदस्य सचिव निराजन बमलाई निलम्बन गरिएको राप्रपाले जनाएको छ। बलायर राप्रपा उपाध्यक्ष विक्रम पाण्डेका स्वकीय सचिव पनि हुन् ।

    पाण्डेको योजनामा डा. श्रेष्ठमाथि आक्रमण गरिएको आरोप छ । यद्यपि राप्रपाले उनको विषयमा कुनै निर्णय लिएको छैन । श्रेष्ठले घटनालाई लिएर प्रहरीमा उजुरी पनि गरेका छन् ।
  • ज्ञानेन्द्र शाहीदेखि खुस्बु ओलीसम्मलाई लिएर मधेश झर्दै लिङ्देन, यस्तो छ पाँच दिनको कार्यक्रम

    ज्ञानेन्द्र शाहीदेखि खुस्बु ओलीसम्मलाई लिएर मधेश झर्दै लिङ्देन, यस्तो छ पाँच दिनको कार्यक्रम

    काठमाडौं । सरकारसमक्ष ४० बुँदे माग अघि सार्दै आन्दोलनमा होमिएको राप्रपाले आउँदो चैत २७ गते काठमाडौंमा वृहद जनप्रदर्शन गर्दैछ ।

    उक्त जनप्रदर्शनलाई भव्य र प्रभावकारी बनाउने उद्देश्यले राप्रपाका नेताहरू पाँच दिन तराइ यात्रामा निस्किने भएका छन् ।

    आफ्ना मागहरूबारे जनतालाई जागरूक तुल्याउन र जनमत सिर्जना नेताहरूको मधेश यात्रा तय गरिएको हो ।

    चैत ५ गतेदेखि ८ गतेसम्म तराई–मधेशका आठ जिल्लामा राप्रपाको आमसभा र कार्यकर्ता भेलाको आयोजना गरिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

    राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनको नेतृत्वमा हुने तराई–मधेशस्तरीय अभियानमा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, उपाध्यक्ष बुद्धिमान तामाङ, महामन्त्री डा. धवलशमसेर राणा, प्रवक्ता ज्ञानेन्द्र शाही, मधेश प्रदेशका अध्यक्ष भरत गिरी, प्रतिनिधिसभा सदस्य बिना जयसवाल, नेतृ खुस्बु ओली र पार्टी सम्बद्ध युवा, विद्यार्थी, महिला संगठनका अध्यक्षहरू रहनेछन् ।

    चैत ५ गते जनकपुरको जानकी मन्दिरमा पूजाआजा गरी मधेश प्रदेश यात्रा प्रारम्भ गर्ने राप्रपाका नेताहरू सोही दिन धनुषामा अगुवा कार्यकर्ता भेला र सर्लाहीको बरहथवामा हुने आमसभामा सहभागी हुनेछन् ।

    राप्रपाले चैत ६ गते रौतहटको गौरमा कार्यकर्ता भेला र वीरगन्जमा आमसभा गर्नेछ भने साँझ उद्योग वाणिज्य संघको सभाकक्षमा वीरगन्जका उद्योगी–व्यवसायीसँग छलफल र अन्तरक्रिया राखिएको छ ।

    चैत ७ गते बाराको निजगढमा आमसभा र बर्दिबासमा महोत्तरीको अगुवा कार्यकर्ता भेलाको आयोजना गरिएको छ ।

    यसै गरी चैत ८ गते सिराहाको लाहानमा कार्यकर्ता भेला गरेर सप्तरीको बोधेबसान नगरपालिकामा आमसभा गर्ने तालिका रहेको प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन् ।

  • प्रधानमन्त्रीलाई लिङ्देनको चेतावनी- गल्ती सच्याउँछु भन्दा पनि नपाउने परिस्थिति आउन सक्छ (भिडिओ)

    प्रधानमन्त्रीलाई लिङ्देनको चेतावनी- गल्ती सच्याउँछु भन्दा पनि नपाउने परिस्थिति आउन सक्छ (भिडिओ)

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजा र धर्मलाई गाली गरेर वाहवाही कमाउने समय सकिसकेको बताएका छन् ।

    प्रतिनिधि सभाको बैठकमा बोल्दै आफूहरू सानो संख्या भए पनि गणतन्त्रको नाममा लुटतन्त्र मच्चाइरहेको बताए ।

    उनले यो व्यवस्थाको सदन र सडकबाट विरोध गर्दै बहुमत पुगेको बेलामा पल्टाउने दाबी गरे । अहिले आफूहरू सत्ताको खेलमा नरहेको प्रष्टीकरण दिए ।

    उनले प्रधानमन्त्री प्रचण्डलाई भने, अघिल्लो पटक गठबन्धन फेर्दा मैले प्रधानमन्त्रीलाई तपाईँको जीवनको अन्तिम गल्ती पनि हुनसक्छ भनेको थिएँ। अहिले यहाँसम्म आएर नयाँ चाल चाल्नुभएको छ। म फेरि पनि भन्छु प्रधानमन्त्रीको जीवनको अन्तिम गल्ती यो नहोस्। मानिसहरूको जीवनमा गल्ती हुन्छन्। गल्ती सच्याउने मौका पनि हुन्छ। तर, कहिलेकाहीँ यस्तो समय आउँछ गल्ती सच्याउँछु भन्दा मौका आउँदैन। त्यस्तो नहोस्।