Category: राप्रपा

  • जेन जीको आन्दोलनमा राप्रपाको ऐक्यबद्धता, स्वतःस्फूर्त सहभागी हुन लिङदेनको आह्वान

    जेन जीको आन्दोलनमा राप्रपाको ऐक्यबद्धता, स्वतःस्फूर्त सहभागी हुन लिङदेनको आह्वान

    काठमाडौं । आज सेप्टेम्बर ८ मा काठमाडौंमा आयोजना हुने जेन जीको आन्दोलनमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले ऐक्यबद्धता जनाएको छ ।

    अध्यक्ष राजेन्द्र लिङदेनले जेन जी पुस्ताले भ्रष्टाचार र सामाजिक सञ्जालमाथि सरकारको गैर जिम्मेवार प्रतिबन्धको विरुद्धमा आयोजना गर्ने स्वतःस्फूर्त प्रदर्शनलाई समर्थन रहने जनाएका हुन् ।

    उनले भनेका छन्- ‘भ्रष्टाचार आजको नेपाललाई ध्वस्त बनाउने सबैभन्दा ठूलो रोग हो। नवयुवाहरूले उठाएको आवाज केवल उनीहरूको मात्र होइन, सम्पूर्ण नेपाली जनताको साझा पीडा हो। हामीलाई पूरा विश्वास छ, प्रदर्शनका माध्यमबाट नव युवा पुस्ताले प्रष्ट सन्देश दिनेछन्- यो देश अब पुरानै ढर्राले चल्दैन।’

    उनले प्रदर्शनमा स्वतःस्फूर्त रूपमा सहभागी भएर भ्रष्टाचार र कुशासन विरुद्धको आन्दोलनमा ऐक्यबद्धता व्यक्त गर्न पनि आह्वान गरेका छन् ।

    साथै प्रदर्शनमा कुनै प्रकारको दमन र हस्तक्षेप नगर्न र तत्काल नव युवा पुस्ताको आवाजलाई सम्बोधन गर्न सरकारसँग अपिल पनि गरेका छन् ।

  • जीएसआईबारे राप्रपाले माग्यो प्रधानमन्त्री जवाफ (भिडिओ)

    जीएसआईबारे राप्रपाले माग्यो प्रधानमन्त्री जवाफ (भिडिओ)

    काठमाडौं । राप्रपाले चीनको ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जीएसआई) बारे प्रधानमन्त्री केपी ओलीको जवाफ मागेको छ।

    प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद धवल शमशेर राणाले जीएसआईबारे प्रधानमन्त्रीले सदनमा आएर जवाफ दिनुपर्ने बताए।

    उनले भने, ‘यो हाम्रो देशको नीति विपरीत छ। यसमा समर्थन गरेको भए नेपाललाई घातक हुनसक्छ। यसबारे प्रधानमन्त्रीले सदनको अगाडि आएर प्रस्ट भन्नुपर्‍यो। किनकि हामी परराष्ट्र नीतिबाट अलग हुन लाग्यौँ भने सदनलाई जानकारी हुनुपर्छ।’

  • प्राइमरी इलेक्सन गर्ने राप्रपाको निर्णयमाथि विवाद, ध्रुवबहादुरको टोली रुपन्देही पुग्यो

    प्राइमरी इलेक्सन गर्ने राप्रपाको निर्णयमाथि विवाद, ध्रुवबहादुरको टोली रुपन्देही पुग्यो

    रुपन्देही । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा रुपन्देही जिल्ला समितिले रुपन्देही क्षेत्र नं ३ को उपनिर्वाचनका लागि आकांक्षी उम्मेदवार सिफारिस गरेको ५२ दिनपछि केन्द्रीय समितिले आन्तरिक प्रारम्भिक निर्वाचन गरी उम्मेदवार छान्ने निर्णय गरेपछि विवाद सृजना भएको छ ।

    प्रदेश समिति र रुपन्देही जिल्ला समितिकै मुख्य जिम्मेवारीमा रहेका नेता कार्यकर्ताले केन्द्रीय समितिको यो प्रक्रिया गलत भएको जनाएका छन् भने कतिपय नेता कार्यकर्ताहरूले बहिस्कार गर्ने चेतावनी दिएका छन् ।

    असार २९ गते नै जिल्ला समितिले रुपन्देही ३ मा कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि राप्रपाले जिल्ला तथा क्षेत्रीय कार्यसमितिबाट ६ जनाको नाम सिफारिस गरिसकेको छ ।

    केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले उम्मेदवार सिफारिस भएका ४ जना आकांक्षीसँग सामूहिक छलफल गरी जसले टिकट पाए पनि एकअर्कालाई सहयोग गरेर जाने सहमति पत्रमा हस्ताक्षरसमेत गराइसकेका थिए तर, मङ्गलवार संसदीय समिति बैठक राखेर प्राइमरी इलेक्सनबाट उम्मेदवार छान्ने निर्णय सार्वजनिक गरेपछि पार्टी भित्रैबाट यसको विरोध भएको छ ।

    अध्यक्ष लिङ्देन पक्ष प्राइमरी इलेक्सनको पक्षमा उभिँदा विक्रम पाण्डे र धवल शमशेर लगायतको संस्थापन इतर पक्ष भने विरोधमा देखिएको हो । अध्यक्ष लिङ्देनले विधान विपरीत संसदीय समिति बैठकको अध्यक्षता गरेर प्राइमरी इलेक्सनबाट उम्मेदवार छनोट गर्ने निर्णय गरेको भन्दै विरोध भएको हो ।

    विधानले भनेअनुसार संसदीय समितिमा रहने सबैलाई जानकारीसमेत नदिई अध्यक्ष लिङ्देनले प्राइमरी इलेक्सनमा जाने निर्णय गरेको आरोप संस्थापनइतर पक्षले लगाएको छ । राप्रपा लुम्बिनी प्रदेश अध्यक्ष प्रदीप उदयले यो विधि नराम्रो नभए पनि अहिले समय अनुकूल नभएकोले सम्भव नभएको नेपाल प्रेसलाई जनाए ।

    ‘विधि नराम्रो होइन, समय मिलेन, यसै त आकांक्षीहरुकै समस्या छ, जिल्लाले सिफारिस गरेको यति धेरै दिन भयो, पारिवारिक विवाद छ उम्मेदवारबीच नै, यो प्राइमरी इलेक्सनले तल्लो तहसम्म विभाजन हुन्छ पार्टीलाई समस्या हुन्छ भन्ने प्रदेश र जिल्लामा रहेका नेता कार्यकर्ताको चिन्ता हो’ उनले भने ‘तल्लो कमिटीको भावना नबुझी केन्द्रले यस्तो निर्णय गरेकोजस्तो लायो, केन्द्रले भन्दा जिल्ला र स्थानीय तहमा रहेका नेताले अवस्था बुझेका छन्, ती कमिटीको सल्लाहमा अघि बढ्नु जरुरी हुन्छ ।’

    संसदीय समितिमा पदेन सदस्य रहेका उदयले सामाजिक सञ्जालमै लिङ्देनको अध्यक्षतामा संसदीय समिति बैठक विधानअनुसार बस्न नसक्ने र कुनै निर्णय लिन नसक्ने उल्लेख गरेका छन् । प्राइमरी इलेक्सनबाट उम्मेदवार तय गर्न लागेपछि राप्राभित्रैबाट यसलाई बहिस्कार गर्ने चेतावनीसहित विज्ञप्तिहरू जारी हुन थालेको छ ।

    राप्रपा ओमसतिया २ रुपन्देहीका अध्यक्ष तथा जिल्ला सदस्य ज्ञानेश श्रेष्ठले मङ्गलवार विज्ञप्ति जारी गर्दै प्राइमरी इलेक्सनबाट उम्मेदवार छान्ने तयारीको विरोध गरेका छन् । श्रेष्ठले राप्रपाको विधि र विधानमा प्राइमरी इलेक्सन गर्ने व्यवस्था नै नरहेको जनाए । रुपन्देही ३ (२) का राप्रपा अध्यक्ष प्रेमबहादुर कुँवरले पनि विज्ञप्ति निकालेर पार्टीले गर्ने भनेको प्राइमरी इलेक्सन बहिस्कार गर्ने चेतावनी दिएका छन् । क्षेत्र नम्बर ३ क्षेत्रीय कार्यसमितिका सचिव शंकर कार्कीले विज्ञप्ति निकालेर प्राइमरी इलेक्सनको नाममा क्षेत्रीय समितिमा विभाजन ल्याउन खोजिएको भन्दै विरोध गरे ।

    क्षेत्रीले क्षेत्र नं. ३ राप्रपाका नेता दीपक बोहराको विरासत भएको क्षेत्र भएकोले प्राइमरी इलेक्सनका नाममा विरासत भत्काउने प्रयत्न भएको भन्दै जिल्ला पार्टीलाई उक्त कुरा स्वीकार्य नहुने बताए । यसअघि साउनको पहिलो साता नै पार्टी केन्द्रबाट भने बमोजिम ६ जना आकाङ्क्षीहरुको नाम सिफारिस गरेर पठाएको उल्लेख गर्दै पहिले पठाएका नामहरूबाटै उम्मेदवार छनोट गर्नुपर्ने जनाए ।

    राप्रपाले रुपन्देहीबाट पार्टीका केन्द्रीय सदस्यद्वय स्वाती थापा र वसन्तविक्रम शाही, रुपन्देही अध्यक्ष सागरप्रताप राणा, स्व. दीपक बोहराका छोराहरू गौरव बोहरा, प्रज्ज्वल बोहरा र जिल्ला नेता दिलीप मल्लिकको नाम सिफारिस गरेको छ । यसै गरी रुपन्देही क्षेत्र नं ३ को क्षेत्रीय कमिटीले पनि प्राइमरी इलेक्सनमा भाग नलिने जनाएको छ ।

    राप्रपा रुपन्देहीका सहसचिव शंकर क्षेत्रीले प्राइमरी इलेक्सन सम्भव नभएको भन्दै राप्रपा रुपन्देही जिल्ला कमिटीले बहिस्कार गर्ने निर्णय गरेको बताए। रुपन्देहीको क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित दीपक बोहराको गएको चैत्र १९ गते निधन भएपछि रिक्त रहेको उक्त क्षेत्रमा आगामी कार्तिक १७ गते उपनिर्वाचन हुँदैछ ।

    प्राइमरी इलेक्सन गर्ने निर्णय गरेलगत्तै राप्रपा नेता प्रोज्ज्वल बोहोराले रुपन्देही क्षेत्र नं ३ बाट उम्मेदवारी दिने घोषणा गरेका छन्। बोहोराले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफूले उम्मेदवारी दिने निर्णयमा पुगेको जानकारी दिएका हुन्।

    उनले लेखेका छन् ‘मेरो पूजनीय बुबा स्व. दीपक बोहराज्यूको दुःखद निधनपछि उहाँले अपुरो छोड्नु भएको सपना र जनताप्रतिको समर्पणलाई निरन्तरता दिनका लागि आफूले उम्मेदवारी दिन निर्णय गरेको छु।’ प्रोज्ज्वल दीपक बोहोराका कान्छा छोरा हुन्। बोहोराले अगाडि लेखेका छन्- ‘समग्र क्षेत्रबासीको आग्रहलाई स्वीकार गर्दै, मैले उम्मेदवारी दिने निर्णय गरेको छु। क्षेत्रको विकास र समृद्धिको साझा लक्ष्य पूरा गर्न, तपाईहरूको अमूल्य साथ, माया र सहयोगको अपेक्षा गर्दछु। कोही पनि विचलित नभई सत्यको पक्षमा उभिन हार्दिक अपिल गर्दछु।’

    प्रज्वलले भने पार्टीले अगाडि बढ्न भनेकोले आफूले उम्मेदवारी घोषणा गरेको बताए। ‘मलाई जिल्लाले सिफारिस गरेको छ केन्द्रले पनि मलाई संकेत गरेपछि अगाडि बढेको हु’ प्राइमरी इलेक्सन हुँदा पनि मलाई नै मत आउँछ भन्ने लाग्छ’ उनले भनेका छन् ।

    राप्रपा केन्द्रको निर्णयअनुसार प्राइमरी इलेक्सन भएमा रुपन्देही-३ को प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूले मतदान गर्न पाउनेछन्। यस्तै, रुपन्देही-३ अन्तर्गतका प्रदेशसभा (क) र (ख) कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू, रुपन्देही-३ अन्तर्गतका सबै उपमहानगर, नगर, गाउँपालिका र वडा कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूले मतदान गर्न पाउनेछन्।

    रुपन्देही-३ बाट प्रतिनिधित्व गर्ने प्रदेश कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू, जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू, त्यहाँबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य तथा पदाधिकारीहरू, २०८२ भदौ १७ गतेसम्म कायम रहेका रुपन्देही–३ भित्रका केन्द्रदेखि जिल्ला तहसम्मका भातृ संगठनका पदाधिकारी तथा सदस्यहरू र २०८२ भदौ १७ सम्ममा सक्रिय सदस्य भइसकेका रुपन्देही-३ अन्तर्गतका सक्रिय सदस्यहरू मतदाताका रूपमा रहनेछन्।

    राप्रपाले उपनिर्वाचनका लागि वरिष्ठ नेता रहेका उपाध्यक्ष ध्रुवबहादुर प्रधानको संयोजकत्वमा उपनिर्वाचन परिचालन समिति गठन गरेको छ । समितिमा निरञ्जन थापा, प्रदीप उदय, ताहिर अली सदस्य रहेका छन् । प्रधान नवलपरासीका हुन् भने थापा, उदय र अली रुपन्देहीकै हुन् । ०७९ मा नेकपा एमालेको साथ पाएर निर्वाचन जितेको राप्रपा समानुपातिक मतमा भने चौथो स्थानमा रहेको थियो ।

    प्राइमरी इलेक्सनको विवाद भएपछि राप्रपाले आज जिल्ला, क्षेत्रमा रहेका कमिटीको धारणा बुझ्न निर्वाचन परिचालन कमिटीलाई रुपन्देही पठाएको छ । संयोजक ध्रुवबहादुर प्रधानको नेतृत्वमा गठित उपनिर्वाचन परिचालन समितिले क्षेत्र, जिल्ला र प्रदेशको नेतृत्वसँग यसबारे धारणा बुझेर केन्द्रमा छलफल गरेपछि मात्रै यो प्रक्रियामा जाने वा नजाने निधो हुने प्रदेश अध्यक्ष प्रदीप उदयले जानकारी दिए । ‘आज निर्वाचन परिचालन कमिटीका संयोजक सहितको टोली जिल्लामा पुगेको छ, स्थानीय कमिटीको धारणापछि मात्रै यसबारे निधो हुन्छ,’ उनले भने ।

  • सदनको दृष्य: सभामुखको अपिलका बाबजुद राप्रपा-रास्वपाको बहिस्कार

    सदनको दृष्य: सभामुखको अपिलका बाबजुद राप्रपा-रास्वपाको बहिस्कार

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले आज पनि सदन बहिस्कार गरेका छन्।

    प्रतिनिधिसभाको बैठकमा रास्वपाबाट गणेश पराजुली र राप्रपाबाट ज्ञानेन्द्र शाहीले बोलेपछि बैठक छाडेर हिँडे। त्यसअघि संसद सुरु हुनेबितिकै दुई दलका सांसदहरुले उठेर जनाएका थिए ।

    त्यसपछि सभामुख देवराज घिमिरेले आफ्ना केहि कुरा राखेर रास्वपा सांसद गणेश पराजुलीलाई बोल्न दिए । सांसद पराजुलीले भिजिट भिसा प्रकरणमा संसदीय छानविन समिति गठन भएसम्म आन्दोलन जारी रहने बताए ।

    उनले प्रधानमन्त्रीको चीन भ्रमणअघि सदनबाट राष्ट्रियताका सवालमा साझा अपधारणा बनाउन आग्रह गरे । साझा अवधारणकै आधारमा छिमेकी दुवै राष्ट्र प्रमुखसँग केबल शिष्टाचार मात्रै नभई दृढ परिणाममुखी, शान्तिपूर्ण र कूटनीतिक प्रभावकारी संवाद गर्नुपर्ने उनले बताए । उनले अन्तर्राष्ट्रिय सीमा र राष्ट्रियताको मुद्दामा जनताले मौनता नभइ सरकारको स्पष्ट जवाफ माग गरेको बताए ।

    त्यस्तै राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले भारत र चीनबिच लिपुलेकलाई समेटेर भएको सहमतिप्रति आपत्ति जनाउदै संयुक्त राष्ट्र सङ्घमा कुरा राख्न माग गर्नुभयो । शाहीले भारत र चीनसंग प्रधानमन्त्रीस्तरीय वार्ता गर्न अपिल गरे । उनले भिजिट भिसा प्रकरणमा सरकारले संसदीय छानबिन समिति गठन नहुँदासम्म आन्दोलन जारी राख्ने जिकिर गरे ।

    पराजुली र शाहीले धारणा राखेपछि दुबै दलका सांसदहरुले सदन बहिष्कार गरेका थिए । भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानविन समिति गठन गर्नुपर्ने माग राख्दै रास्वपा र राप्रपाका सांसदहरुले जेठ १३ गतदेखि सदनमा निरन्तर विरोध जनाउदै आएका छन् ।

     

  • राप्रपाका चार आकांक्षीले गरे सहमतिपत्रमा हस्ताक्षर, पार्टीले जसलाई उठाए पनि साथ दिने

    राप्रपाका चार आकांक्षीले गरे सहमतिपत्रमा हस्ताक्षर, पार्टीले जसलाई उठाए पनि साथ दिने

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देही ३ को उम्मेदवार छनोट गर्ने अन्तिम तयारीमा जुटेको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङदेनले स्थानीय कमिटीबाट सिफारिस भएका चारैजना आकांक्षीहरुलाई बोलाएर छलफल गरेका छन् ।

    रुपन्देही ३ राप्रपाका दिवंगत नेता दिपक बोहराले जितेको क्षेत्र हो । त्यसबेला एमालेसँगको सहकार्यमा उनी विजयी भएका थिए । यसपालि सम्भवतः एक्लै लडेर बिरासत जोगाउनुपर्ने चुनौति राप्रपासामू छ । त्यसैले उम्मेदवार चयनमा पार्टीले पर्याप्त सावधानी अपनाइरहेको देखिन्छ ।

    उपनिर्वाचनमा स्वर्गीय बोहराको परिवारबाट तीन आकांक्षीहरू छन् । बोहराका दुई छोरा गौरब बोहरा र प्रज्ज्वल बोहरा तथा नातिनी स्वाती थापा चुनाव लड्न कस्सिएका छन् । परिवारभित्रै मतैक्यता हुन नसकेपछि तीनैजनाको नाम सिफारिस गरेर पठाइएको थियो । उनीहरुबाहेक बसन्त विक्रम शाहीको नाम पनि सिफारिस भएको छ ।

    अध्यक्ष लिङदेनले चारजना आकांक्षीहरुलाई गत ८ गते काठमाडौं बोलाएर सामूहिक छलफल गरेका थिए । सो छलफलका क्रममा आकांक्षीहरु पार्टीले जसलाई रोजे पनि समर्थन गर्ने र सघाउने कुरामा प्रतिवद्धता दर्शाएका छन् । जो उम्मेदवार भए पनि आफूहरू बागी नबन्ने भनेर लिखित सहमतिपत्रमा चारैजनाले हस्ताक्षर गरेको स्रोतले बतायो ।

    पार्टीले अहिलेसम्म कसलाई अगाडि सार्ने भनेर निधो गरिसकेको छैन । स्रोतका अनुसार राप्रपाले बोहराकै परिवारभित्रबाट उम्मेदवार खडा गरिने लगभग निश्चित छ । दुई छोरा गौरव र प्रज्ज्वल एकजनालाई अघि सार्ने सम्भावना बलियो रहेको पार्टी स्रोतले बतायो ।

    स्व. बोहराका दुई श्रीमती, दुई छोरा र एक छोरी छन् । गौरव दिपक बोहराका जेठी पत्नी (मञ्जु) पट्टिका छोरा हुन् भने प्रज्ववल कान्छी पत्नी (उन्नतीशिला) पट्टिका हुन् । अमेरिकामा बिहे भएकी छोरी जेनीको गत फागुन २ गते निधन भएको थियो । त्यसको दुई महिनापछि बोहरा बितेका हुन् ।

    बोहराका दुवै छोरा प्रज्ज्वल र गौरव उपनिर्वाचनमा राप्रपाबाट उम्मेदवार बनेर बुवाको विरासत जोगाउन चाहन्छन् । गौरव पेशाले पाइलट हुन् । उनी बुद्ध एयरमा क्याप्टेनका रुपमा कार्यरत छन् । अब राजनीतिमा मोडिने उनको इच्छा छ । गत आम निर्वाचनमा उनी बुवालाई जिताउन खटिएका थिए ।

    बोहराको पारिवारिक ‘लिगेसी’ लाई धान्दै आएका कान्छी श्रीमती उन्नतीपट्टिका छोरा प्रज्ववल भने आइटी इन्जिनियर हुन् । अमेरिकाको नागरिकता त्यागेर गएको निर्वाचनमा बुवालाई सघाउन आएदेखि उनी यतै बसेका छन् । प्रज्ज्वल राप्रपाभित्र सक्रिय पनि छन् । छोटो समयमा पार्टीमा राम्रो पकड बनाएका उनलाई उम्मेदवार बनाउँदा चुनाव जित्न सहज हुने राप्रपाका स्थानीय नेताहरूको बुझाइ छ ।

    निर्वाचनपछि बिरामी अवस्थामा रहेका बुवालाई बोलाइने कार्यक्रममा प्रज्ज्वल जान थालेका थिए । बोहरा जीवित छँदा नै उनको उत्तराधिकारीका रूपमा प्रज्ज्वललाई अघि सार्ने गरी परिवारले तयारी गरेको छनक मिलेको थियो । राप्रपाका धेरै कार्यकर्ताले इलाममा सुवास नेम्वाङको छोरा सुहाङलाई जस्तै यहाँ पनि प्रज्ज्वललाई जिताउन सकिने ठानेका छन् ।

    बोहरा परिवारकी तेस्रो आकांक्षी हुन् स्वाती थापा । राप्रपाकी केन्द्रीय सदस्यसमेत रहेकी उनी दीपक बोहराकी नातिनी हुन् । उनी हजुरबुवाको चुनावी अभियानमा निकै खटिएकी थिइन् । उनी पार्टीका हरेक कार्यक्रममा सक्रिय सहभागी हुने गरेकी छन् । अमेरिकामा अध्ययन गरेर फर्केकी स्वातीले सामाजिक क्षेत्रमा पनि विभिन्न कार्यक्रम गर्दै आएकी छन् ।

    बोहराका दुई छोरामध्ये एकलाई रास्वपाले पनि उम्मेदवार बनाउन खोजेको थियो । जेठा छोरा गौरवसँग पटकपटक कुराकानी भयो । गौरवले रास्वपा अध्यक्ष रवि लामिछानेलाई हिरासतमै भेटेर छलफलसमेत गरेका थिए । तर, त्यो सार्थक भएन । रास्वपा अहिले उम्मेदवार छनोटका लागि प्राइमरी इलेक्सनको प्रक्रियामा छ ।

  • आज संसदमा प्रधानमन्त्रीको सम्बोधन, रास्वपा-राप्रपाले बहिष्कार गर्ने

    आज संसदमा प्रधानमन्त्रीको सम्बोधन, रास्वपा-राप्रपाले बहिष्कार गर्ने

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज १ बजेको संसद बैठकमा सम्बोधन गर्दै छन् । चीन भ्रमणमा जानुपूर्व उनले प्रतिनिधिसभा बैठकमा मन्तव्य राख्ने भएका हुन् ।

    चिनियाँ राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणमा प्रधानमन्त्री ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार प्रस्थान गर्ने कार्यक्रम छ । साङघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा भाग लिन उनी त्यसतर्फ जान लागेका हुन् । चीनपछि भारत भ्रमणमा जाने तालिका रहेको छ ।

    आजको सम्बोधन प्रधानमन्त्रीले आसन्न चीन र भारत भ्रमणबारे जानकारी गराउने छन् । पछिल्लो समय उब्जिएको लिपुलेक-कालापानी विवादबारे पनि सरकारको धारणा राख्ने अपेक्षा गरिएको छ ।

    प्रधानमन्त्रीको सम्बोधनलाई दुई प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भने बहिष्कार गर्ने भएका छन् । भिजिट भिसाको दुरुपयोगसम्बन्धी प्रकरणमा गृहमन्त्रीको राजीनामा माग्दै दुई दलले लामो समयदेखि गरिरहेको संसद बहिष्कारलाई आज पनि निरन्तरता दिने भएका हुन् ।

    आज रास्वपाले प्रधानमन्त्रीलाई बोल्न दिने भनेर केही सञ्चारमाध्यममा आएका समाचारलाई प्रवक्ता मनिष झाले इन्कार गरे ।

    उनले नेपाल प्रेससँग भने, ‘हाम्रो अवरोध निरन्तर छ, र आज पनि रहन्छ । हाम्रो मागको सम्बोधन नभएकाले प्रधानमन्त्रीको सम्बोधन सुनेर बस्दैनौं ।’

    रास्वपाको तर्फबाट गणेश पराजुलीले बोलेर सबै सांसदहरू बाहिरिने तयारी गरिएको छ ।

    यस्तै राप्रपाले पनि संसद बहिष्कार गर्ने सो पार्टीका उपाध्यक्ष ध्रुवबहादुर प्रधानले जानकारी दिए ।

    उनले भने, ‘प्रधानमन्त्रीको सम्बोधनका विषयमा कुनै नयाँ निर्णय भएको छैन । बहिष्कार जारी रहन्छ ।’

  • महाधिवेशन प्रभावित पार्ने खालका क्रियाकलाप नगर्न लिङ्देनलाई राणाको आग्रह (भिडिओ)

    महाधिवेशन प्रभावित पार्ने खालका क्रियाकलाप नगर्न लिङ्देनलाई राणाको आग्रह (भिडिओ)

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का महामन्त्री धवलशम्शेर राणाले पार्टीको आगामी महाधिवेशनलाई प्रभावित पार्ने कुनैपनि काम नगर्न पार्टी नेतृत्वलाई आग्रह गरेका छन् ।

    आइतबार काठमाडौंमा सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री राणाले आगामी मंसिरमा पार्टीको महाधिवेशन गर्ने समय आएकाले त्यसलाई प्रभावित गर्ने कुनैपनि काम नगर्न पार्टी नेतृत्वलाई आग्रह गरे हो ।

    महाधिवेशन समयमा निष्पक्ष रूपमा हुनुपर्ने उल्लेख गर्दै राणाले सवै पक्षलाई बाधा अवरोध नपारि सहज रूपमा महाधिवेशन प्रतिनिधि छनोट गर्न दिनुपर्ने बताए ।

    राणाले महाधिवेशनको मुखमा एकलौटी रूपमा नेता कार्यकतालाई हटाउने र स्पष्टीकरण माग्ने कार्यले देशभरका राप्रपा कार्यकर्ता चिन्तित रहेको धारणा राखे । उनले पार्टी विधि विधानविपरीत नेतृत्वले एकपक्षीय ढंगले निर्णय गर्दा केहि समस्या देखिएको जिकिर गरे ।

    त्यस्तै उनले कुनै हालतमा राप्रपालाई फुट्न नदिने स्पष्ट पार्नुभयो । नेतृत्वका विषयमा केही फरक मत भएपनि पार्टी फुटाएर अघि बढ्ने सोच आफूहरूको नरहेको राणाले प्रष्टीकरण दिए ।

    महामन्त्री राणाले अध्यक्ष पार्टीको अभिभावक रहेकाले सबैलाई मिलाएर अघि बढ्न खोजे सबै कुरा मिल्ने तर एकलौटी निर्णय गरे मान्य नहुने चेतावनी दिए । उनले आगामी महाधिवेशनको मिति तोक्न ढिलाइ गर्न नहुनेमा समेत जोड दिए ।

  • कोशीमा सभामुख फेर्ने कांग्रेस-एमालेको कसरत, विष्टमाथि गणतन्त्रविरोधीको आरोप

    कोशीमा सभामुख फेर्ने कांग्रेस-एमालेको कसरत, विष्टमाथि गणतन्त्रविरोधीको आरोप

    विराटनगर । कोशीमा कांग्रेस-एमाले गठबन्धन सभामुख अम्बरबहादुर विष्टलाई हटाउने कसरतमा लागेका छन् । दुई दलीय संयन्त्रको बैठकमा भने यो विषयले प्रवेश पाएको छैन । एमाले र कांग्रेसका शीर्ष नेता सम्मिलित संयन्त्रको निर्णयका आधारमा यस्ता महत्वपूर्ण विषय टुंगिने गरेको छ ।

    राजतन्त्रको वकालत गर्ने गरेको, गणतन्त्रलाई अस्वीकार गरेको लगायतका आरोपमा उनलाई हटाउन लागिएको हो । विष्टको माउ पार्टी राप्रपा हो ।

    गएको जेठ १४ गते प्रदेश सरकारद्वारा आयोजित गणतन्त्रसम्बन्धी छलफल कार्यक्रममा अतिथि निम्त्याएका विष्ट उपस्थित भएका थिएनन् । कार्यक्रम चलिरहँदा उनी प्रदेशसभामै थिए । प्रदेश सरकारले गणतन्त्र दिवसका दिन आयोजना गरेको प्रभात फेरीमा पनि गयल देखिए ।

    गणतन्त्र दिवसको कार्यक्रममा नआएको विषयमा आलोचना भयो । गणतन्त्र दिवस वहिष्कार गरेको टिप्पणी गरेपछि उनले मान्छेको ‘काम पर्दैन त ?’ भनेर जवाफ दिएका थिए ।

    नेकपा एमालेका एक नेताले सभामुख फेर्नुपर्ने निचोडमा दुई दल पुगेको बताए । ‘छलफल भइरहेको छ । प्रक्रियामा कहिलेदेखि छिर्ने भन्ने टुंगिएको छैन’, उनले भने ।

    यहाँ एमालेबाट सिर्जना दनुवार उपसभामुख छिन् । सभामुख फेर्दा कांग्रेसले मौका पाउनेछ ।

    कोशीमा एमालेका उपसभामुख सहित ४१ जना र कांग्रेसका २९ जना सांसद छन् । ९३ सदस्यीय प्रदेश सभामा सभामुख फेर्न चाहिने संख्या दुई दलसँग पर्याप्त छ । विष्ट २०८० पुस २४ गते निर्विरोध निर्वाचित भएका थिए ।

    तत्कालीन गठबन्धनमा रहेका नेपाली कांग्रेस र नेकपा माओवादीको सरकार गठनमा बहुमत पुर्‍याउन माओवादीबाट सभामुख बनेका बाबुराम गौतमले भोट हालेका थिए । अदालतले उनको हस्ताक्षरलाई मान्यता नदिएपछि राजीनामा दिन तयार भए । २०८० साउन १६ बाट ५ महिना सभामुख पद रिक्त भयो ।

    पछि एमाले र राप्रपाको बहुमतबाट विष्ट सभामुख चुनिएका थिए । उनका प्रतिद्वन्द्वी कसैले खडा गरेनन् । प्रदेश सभामा राप्रपाको ६ सिट रहेको छ ।

  • काठमाडौंबाटै राप्रपामा फुटको बीजारोपण, पार्टी प्यालेसमा बत्ती निभे पनि रोकिएनन् ज्योति

    काठमाडौंबाटै राप्रपामा फुटको बीजारोपण, पार्टी प्यालेसमा बत्ती निभे पनि रोकिएनन् ज्योति

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र फुटको बीजारोपण भएको छ । महामन्त्री डा. धवलशम्शेर राणा पक्षधर युवाहरूले काठमाडौंमा समानान्तर समिति गठन गरेका छन् ।

    राप्रपाको भातृसंगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको काठमाडौं अधिवेशन आज चाबहिलमा आयोजना गरिएको थियो । तर, अधिवेशन उद्घाटन समेत नभई कोलाहल सिर्जना भयो । राणा पक्षका युवा ज्योति लामाले कार्यक्रम सुरु हुनुअघि मञ्चमा पुगेर माइकमा बोलिरहेका थिए । त्यही बेला अध्यक्ष लिङदेन कार्यक्रम स्थल आइपुगे ।

    लिङदेनले लामालाई अधिवेशन औपचारिकरुपमा सुरु नभएको भन्दै बन्द सत्रमा आफ्नो कुरा राख्न सुझाव दिएका थिए । यही क्रममा लामा पक्षका एक युवाले लिङदेनसामु आएर विवाद गर्न खोजे । उनलाई संस्थापन पक्षका अध्यक्ष आकांक्षी अमित ठकुरीले प्रतिवाद गरेपछि दुई पक्षबीच हात हालाहालको अवस्था आएको थियो ।

    कार्यक्रमस्थलमा सुरुबाटै बाक्लो संख्यामा प्रहरी परिचालित थिए । उनीहरूले स्थितिलाई नियन्त्रणमा लिए । त्यसपछि अध्यक्ष लिङदेनले अधिवेशन स्थगनको घोषणा गरे ।

    अध्यक्ष आइपुगेपछि अर्को पक्षले उनलाई बोल्न रोकेको थियो । सोपश्चात दुई पक्षबीच झडपको स्थिति उत्पन्न भयो । झडपपश्चात अध्यक्ष लिङदेन अधिवेशन स्थगित भएको घोषणा गरेर हिँडे । जाँदा जाँदै उनले नेपाल प्रेससँग कुरा गर्दै अधिवेशनमा आयातित व्यक्तिहरूको घुसपैठ भएको दाबी गरे । यसको छानबिन हुने पनि बताए ।

    लिङदेन हिँडेपछि असन्तुष्ट पक्षका युवा ज्योति लामाले आफूलाई स्वतः अध्यक्ष निर्वाचित भएको घोषणा गरे । उनले बोल्दा बोल्दै पार्टी प्यालेसभित्र लाइन काटेर बत्ती निभेको थियो । उनले अँध्यारोमै २५ जना सदस्यहरूको पनि नाम घोषणा गरे । असन्तुष्ट पक्ष आज समानान्तर समिति बनाउने तयारीका साथ नै आएको बुझिएको छ ।

    यसअघि असन्तुष्ट समूहले सात बुँदे मागसहित राप्रयुसंघका केन्द्रीय संयोजकलाई ध्यानाकर्षण पत्र पनि पठाएका थिए ।ध्यानाकर्षण पत्रमा हाल गठित निर्वाचन समिति विधिसम्मत नरहेको जनाइएको छ । सहमतिका आधारमा विधिसम्मत अधिवेशन नभएमा आफूहरूले विद्रोह गर्ने पत्रमा उल्लेख थियो । अवैध निर्वाचन समिति विघटन गरी नयाँ निर्वाचन समिति गठन गर्नुपर्ने असन्तुष्ट पक्षको माग थियो । पत्रको बोधार्थ राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनलाई पनि पठाइएको थियो ।

    बुझिए अनुसार असन्तुष्ट समूहले अधिवेशनमा उपस्थित २०० जना प्रतिनिधिहरूलाई यो कार्यसमितिको पक्षमा हस्ताक्षर गराएको छ ।

    ज्योति लामाले घोषणा गरेको समानान्तर समिति यस्तो छ:

    अध्यक्ष: ज्योति लामा

    सदस्यहरु:

    उदय घिसिङ,

    रिकेश खत्री

    विजय मोक्तान

    काले थिङ

    विवेक पाण्डे

    अनिता बानिया सिलवाल

    सरोज घिसिङ

    विक्की भाई मोक्तान

    रामप्रसाद श्रेष्ठ

    मनिष थापा मगर

    राजकुमार नेपाल

    उदय ठकुरी

    कृष्ण कार्की

    नवराज ठकुरी

    सन्देश पराजुली

    नवराज थापा

    प्रशान्त काफ्ले

    सुमन श्रेष्ठ

    अजय कुमार श्रेष्ठ

    अरुण न्यौपाने

    बुद्धवीर नगरकोटी

    सुशील सत्याल

    दिपेश सिम्खडा

  • युवाहरू झडपमा उत्रिएपछि लिङदेनको कडा चेतावनी- गुण्डागर्दी र बाहुबली चल्दैन (भिडिओ)

    युवाहरू झडपमा उत्रिएपछि लिङदेनको कडा चेतावनी- गुण्डागर्दी र बाहुबली चल्दैन (भिडिओ)

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको काठमाडौं जिल्ला अधिवेशनमा झडप निम्तिएपछि अध्यक्ष राजेन्द्र लिङदेन आक्रोशित बनेका छन् । उनले असन्तुष्ट पक्षका युवाहरूलाई बाहुबली प्रदर्शन नगर्न कडा चेतावनी दिए ।

    चाबहिलको एक पार्टी प्यालेसमा आयोजित अधिवेशनमा संस्थापन निकट र धवलशम्शेर राणा निकट युवाहरुबीच झडप भएको हो । अध्यक्ष राजेन्द्र लिङदेन कार्यक्रम स्थलमा आइसकेपछि हात हालाहाल भएको थियो । त्यसपछि लिङदेनले मञ्चबाटै सम्झाउन खोजे ।

    उनले भने, ‘कृपया सबै अनुशासित भएर बस्नुस् । के विषयमा चित्त बुझेको छैन, त्यो विषयमा छलफल अवश्य हुन्छ । पार्टीमा अधिवेशन प्रारम्भ हुँदा नै डिस्टर्व गर्ने काम ठिक होइन । यदि अधिवेशन हुन नदिने र बाहुबली प्रदर्शन गर्ने प्रयास कसैले गर्छ भने टुलुटुलु हेरेर बसिँदैन ।’

    लिङदेनले पार्टीको भविष्यसँग युवाहरूको भविष्य जोडिएको भन्दै गम्भीर बन्न निर्देशित गरे ।

    उनले भने, ‘तपाईँ युवाहरू नै पार्टीको भविष्य हो । पार्टीको भविष्यसँग तपाईँ हाम्रो भविष्य गाँसिएको छ । तपाईँहरू कसैको केटा होइन । हतियार होइन । मेरो आग्रह छ कसैलाई प्रक्रियामा चित्त बुझेको छ भने बन्द सत्रमा छलफल हुन्छ । प्रक्रियामा छलफल हुन्छ । चित्त नबुझेको कुराहरू छलफलबाट टुंगो लाग्छ । सहमति हुन नसके मतदान हुन्छ । तर गुण्डागर्दी र बाहुबली चल्दैन । त्यो काममा अग्रसर नहुन म आग्रह गर्छु ।’

  • लिङदेन सहभागी राप्रपा युवाको भेलामा दुई पक्षबीच हात हालाहाल

    लिङदेन सहभागी राप्रपा युवाको भेलामा दुई पक्षबीच हात हालाहाल

    काठमाडौं । राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको काठमाडौं अधिवेशनमा दुई पक्षबीच हात हालाहाल भएको छ । अध्यक्ष राजेन्द्र लिङदेनकै सामुन्ने हात हालाहाल भएको हो ।

    कार्यक्रम सुरु नहुँदै असन्तुष्ट पक्ष (धवलशम्शेर राणा पक्ष) का युवा ज्योति लामाले माइकमा गएर आफ्ना कुरा राखिरहेका थिए । त्यही बेला लिङदेन कार्यक्रम स्थल आइपुगे । त्यसपछि लिङदेन पक्षका युवाहरुले उनलाई मञ्चबाट उतार्ने क्रममा झडपको स्थिति आएको हो ।

    कार्यक्रम स्थलमा सुरुबाटै बाक्लो संख्यामा सुरक्षाकर्मी तैनाथ छन् । अहिले उनीहरुले स्थिति नियन्त्रणमा लिएका छन् ।

  • बत्तिसपुतलीमा राप्रपाको भेला, असन्तुष्ट पक्षलाई बोलाइएन

    बत्तिसपुतलीमा राप्रपाको भेला, असन्तुष्ट पक्षलाई बोलाइएन

    काठमाडौं । पार्टीभित्र विवाद र अन्तरद्वन्द्व चर्किँदै गएपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले आफूलाई मजबुत पार्न आन्तरिक कसरत सुरु गरेका छन् ।

    उनले आज काठमाडौंको एक होटलमा एउटा अनौपचारिक वैठक राखेका छन्, जसमा असन्तुष्ट पक्षका नेताहरुलाई खबर गरिएको छैन ।

    लिङदेनले पार्टीमा एकलौटी गर्न खोजेको भन्दै महामन्त्री डा‍‍. धवलशम्शेर राणा नेतृत्वको समूहले प्रतिवाद जारी राखेपछि संस्थापन पक्षको रणनीति तय गर्न भेला बोलाइएको हो ।

    संस्थापन पक्षका एक नेताका अनुसार काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यहरुलाई भेलामा बोलाइएको छ । खुलेर डा। राणाको गुटमा लागेकाहरुलाई भने खबर गरिएको छैन ।

    ती नेताले भने, ‘निर्वाचन आयोग धाउने र नेतृत्वविरुद्ध वक्तव्यबाजी गरिरहेका १०–१५ जनाबाहेक सबैलाई खबर गरिएको छ ।’
    आज दिउसो ३ बजेबाट भेला सुरु हुने बताइएको छ ।

    अध्यक्ष लिङदेनले संस्थापन इतर पक्षका नेताहरुलाई छानिछानि कारवाही गर्न थालेपछि राप्रपाभित्र अन्तरद्वन्द्व चर्किएको छ । इतर पक्षले सामूहिकरुपमा नै अध्यक्षविरुद्ध जेहाद छेडिरहेका छन् ।

    तीन दिनअघि डा. राणाको नेतृत्वमा हात्तिसारमा असन्तुष्ट पक्षको भेला आयोजना गरिएको थियो, जसमा केही पदाधिकारीसहित ७० जना सहभागी थिए ।

  • सुवास नेम्वाङलाई सम्झिँदै राप्रपा सांसदले भनिन्- सदनमा एकजना उठ्दा पनि चलाउन मिल्दैन भन्नुहुन्थ्यो (भिडिओ)

    सुवास नेम्वाङलाई सम्झिँदै राप्रपा सांसदले भनिन्- सदनमा एकजना उठ्दा पनि चलाउन मिल्दैन भन्नुहुन्थ्यो (भिडिओ)

    काठमाडौं । राप्रपाकी सांसद रोशन कार्कीले रास्वपा र आफ्नो पार्टीले सदनमा लामो समयदेखि विरोध गर्दा पनि सरकारले वेवास्ता गरेको भन्दै आपत्ति जनाएकी छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले पूर्वसभामुख सुवास नेम्वाङलाई सम्झिइन्।

    उनले भनिन्, ‘उहाँले संसदीय व्यवस्थाबारे जानकारी दिँदा भन्नुभएको थियो। सदनमा एक जना मात्रै उठेपनि सभामुखले त्यसको समाधान गरेर सदन चलाउनुपर्छ। हामी लामो समयदेखि भिजिट भिसा प्रकरणलाई लिएर आन्दोलनरत छौँ।’

    उनले सरकार संसद्प्रति उत्तरदायी हो कि संसद् सरकारप्रति उत्तरदायी होरु भन्दै प्रश्न गरिन्।

    उनले भनिन्, ‘हामी भिजिट भिसाको विरोधी होइनौँ। तर, भिजिट भिसाको नाममा नेपालीहरूलाई मार्ने काम भएको छ त्यसको विरोध गरेका हौँ। यो प्रकरणमा ५० हजारदेखि एक लाख बुझ्ने सरकार र सरकारको गृहमन्त्रीको मुटु काम्दैन। आफ्नो दाजुभाइ दिदिबहिनीहरुको लास देख्दा पनि।’

  • इजलासमा कविता सुनाउँदै रवीन्द्र मिश्रले भने- यो भावना होइन, तथ्य हो

    इजलासमा कविता सुनाउँदै रवीन्द्र मिश्रले भने- यो भावना होइन, तथ्य हो

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र आज फेरि एकपटक अदालतको इजलासमा उभिए । जिल्ला अदालतले उनलाई ३ लाख धरौटीमा छोड्न आदेश दिएपछि सरकारी पक्षले उच्च अदलातमा पुनरावेदन गरेकोमा आज अन्तिम बहस भएको थियो ।

    न्यायाधीशद्वय टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासमा वकिलहरुको बहस सकिएपछि मिश्रले थोरै समय लिएर बोलेका थिए । उनले राज्यबाट आफूमाथि प्रतिशोधपूर्ण व्यवहार जारी राखेको गुनासो सुनाए । आफू हिंसात्मक घटनामा संलग्न रहेको प्रमाण देखाउन उनले चुनौती दिए ।

    मिश्रको भनाइको सार यस्तो थियो:

    लोकतान्त्रिक गणतन्त्रमा राज्यले प्रतिशोाध लिन चाह्यो भने कसरी जेरी घुमाएको जसरी घुमाउँदो रहेछ भन्ने मैले यो क्रममा अनुभव गरे । यहाँ राज्यको तर्फबाट, सरकारको तर्फबाट प्रयोग भएका वाक्यहरु सुनेर छक्क परेको छु । क्रियापदलाई प्रयोग गर्दा हुन सक्छ भन्नु र गर्छौं भन्नुमा आकाश पातालको फरक छ । यो यो भयो भने राज्य ग्रे लिस्टमा पर्न सक्छ भन्नु कुनै अपराध होइन । अर्थशास्त्रीले नेपाल ‘फेलिङ स्टेट’ हुन लाग्यो’ भनेर भनिसकेका छन् ।

    अहिलेको बदलिएको भूराजनीतिमा युक्रेन जस्तो देश हुन सक्छ भनेर अन्तर्राष्ट्रिय रुपमा भनिएको छ । ‘हुन सक्छ’ भन्छु र ‘बनाइदिन्छु’ भन्नुमा अन्तर छ । उहाँहरु आएर सिधै वाक्य बिगारेर ‘बनाइदिन्छु’ भनेको छ भन्नुहुन्छ । कहाँ छ मैले भनेको ? देखाउनु पर्यो।

    मलाई हिजो आएर एकजना पीडित पक्षले, म उहाँसँग सहानुभूति (सिम्पेथाइज) राख्छु, उहाँले भन्नुभयो, ‘प्रहरीले भनेपछि मैले त्यहाँ रविन्द्र मिश्र घरमा पस्नुभयो भनेर भनेँ ।’ म कहाँ घरमा पसेको छु? मलाई देखाइदिनु पर्यो ।

    मैले ‘एयरपोर्ट कब्जा गर्न जाउँ’ भनेँ भनेर यहाँ हिजो सरकारी पक्षका वकिलहरुले भन्नुभयो । मैले कहाँ बोलेको छु ? देखाइदिनु पर्यो । श्रीमान्, म आन्दोलनमा गएको हो, तर कुनै हिंसात्मक शब्द मैले प्रयोग गरेको छैन । कहीँ कतै हिंसामा संलग्न भएको छैन । यो पवित्र ठाउँमा आएर यसरी झुठो कुराहरु, विशेषण जोडेर, नभएका क्रियापद प्रयोग गरेर निर्दोष मान्छेलाई जेल हाल भनेर बहस (आग्र्युमेन्ट) गर्ने ? र जेल गएपछि ‘हामीले आफ्नो दायित्व पूरा गर्यौँ’ भनेर भन्ने ? दायित्व पूरा गर्दाखेरि विवेकको पनि प्रयोग हुनुपर्छ श्रीमान्, र विवेक बन्दक राखेर यसरी गर्न हुँदैन भन्ने मेरो आग्रह छ ।

    र म एक मिनेट मात्रै समय लिएर यो राज्यले कस्तो किसिमको व्यवहार गरिरहेको छ भन्ने सन्दर्भमा चार लाइनको कविताको अंश भन्छु । यो भावना होइन, तथ्य हो:

    उसले घुँडामुनि हान्नु पर्ने गोली
    छातिमैँ हान्यो
    उसलाई कानून ‘लाग्दैन’
    किनभने ऊ ‘राज्य’ हो

    साथीको छातिमैँ गोली लागेको देखेर
    आक्रोशित पुष्करले ढुङ्गा हान्यो
    उसलाई कानून ‘लाग्छ’
    किनभने ऊ ‘नागरिक’ हो।

    राज्यको दृष्टिकोणमा नागरिक र राज्य फरक हुन सक्दैन । राज्यको जति अधिकार छ, हाम्रो पनि त्यति नै अधिकार छ । घुँडामुनि हान्ने गोली छातीमा हानेर अनि यहाँ आएर ढुंगा हान्नेलाई जेलमा हाल भनेर बहस गर्न मिल्दैन श्रीमान् । हामीमाथि न्याय होस् । मैले चाहेको त्यत्ति हो ।

  • मिश्र र राणालाई थुनामै राख्ने मागसहित सरकारले गरेको पुनरावेदनमा बहस सकियो, फैसला आजै

    मिश्र र राणालाई थुनामै राख्ने मागसहित सरकारले गरेको पुनरावेदनमा बहस सकियो, फैसला आजै

    काठमाडौं । राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री डा. धवलशमशेर राणालाई थुनामै राख्नुपर्ने मागसहित सरकारले उच्च अदालतमा गरेको पुनरावेदनमाथिको बहस सकिएको छ । न्यायाधीशहरुले आजै फैसलाको तयारी गरेका छन् ।

    गत चैत १५ गतेको राजावादी आन्दोलनलाई लिए मिश्र र राणा पक्राउ गरेर हिरासतमा राखिएको थियो । जिल्ला अदालत काठमाडौंले उनीहरु दुवैलाई ३–३ लाख रुपैयाँ धरौटीमा छोडेपछि सरकारले उच्च अदालत पाटनमा पुनरावेदन गरेको हो । उक्त पुनरावेदनमा चार दिनदेखि बहस भइरहेको थियो ।

    न्यायाधीशद्वय टंकप्रसाद गुरुङ र डिल्ली रत्न श्रेष्ठको इजलासमा भएको बहस केहीबेरअघि सकिएको छ । मिश्र र राणाका तर्फबाट डा. भीमार्जुन आचार्य, गोविन्द बन्दी, सतिशकृष्ण खरेल लगायतका कानून व्यवसायीले बहस गरेका थिए ।

    उनीहरुले नेताद्वयलाई थुनामा राख्ने कुनै पनि आधार र कारण नभएको बताए । मिश्र र राणाले न्यायाधीशसँग अनुमति लिएर बोलेका थिए ।

    सरकारी वकिलहरुले भने जिल्ला अदालतको आदेश उल्टाउन माग गरे । गम्भीर अपराधिक आरोपमा मुछिएको हुँदा उनीहरुलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने उनीहरुको भनाइ थियो ।

    दुर्गा प्रसाईं लगायतको सुनवाइ पनि सँगै

    मिश्र र राणाको पुनरावेदनसँगै मिलान गरेर दुर्गा प्रसाईं लगायत तीनकुने घटनापछि पुर्पक्षका लागि थुनामा राखिएका आरोपिहरुको पनि सुनवाइ गरिएको छ । उनीहरुले आफूहरुलाई थुनामै राख्ने जिल्ला अदालतको आदेश बदर गर्न माग गर्दै उच्चमा पुनरावेदन गरेका थिए ।

    एउटै घटनासँग सम्वन्धित भएकाले मिश्र र राणामाथि सरकारको पुनरावेदन र प्रसाईं लगायतको पुनरावेदनलाई सँगै राखेर हेरिएको हो ।

  • राप्रपाका निर्वाचित केन्द्रीय सदस्य किशोर कार्कीद्वारा पार्टी परित्याग

    राप्रपाका निर्वाचित केन्द्रीय सदस्य किशोर कार्कीद्वारा पार्टी परित्याग

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य किशोर कार्कीले साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेका छन् ।

    लामो समयदेखि राप्रपामा आबद्ध र महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य कार्कीले विहीवार प्रेस विज्ञप्ति जारी गर्दै अब स्वतन्त्र नागरिकको भूमिकामा रहने बताएका छन् ।

    उनले राप्रपाले संस्थागतरुपमा लिन नसकेको,अध्यक्षले अभिभावकीय भूमिका निर्वाह नगरेको तथा गुटहरुमा विभाजित भएको पार्टीलाई सम्हाल्ने सोच नदेखाएको जस्ता आरोप लगाएका छन् । अनेक प्रयत्न गर्दा पनि पार्टीलाई सही दिशामा फर्काउन नसकेको उनको दाबी छ ।

    राप्रपाको निर्वाचित केन्द्रीय सदस्य रहेका कार्की यसअघि मेश प्रदेश संयोजक,उच्चस्तरीय कार्य सम्पादन समिति सदस्य,केन्द्रीय अनुशासन समितिको सदस्य सचिवलगायतका जिम्मेवारीमा थिए ।

  • लिङदेनका स्वकिय सचिवले राप्रपाकै कार्यकर्तालाई हेलमेटले हाने

    लिङदेनका स्वकिय सचिवले राप्रपाकै कार्यकर्तालाई हेलमेटले हाने

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनका स्वकीय सचिव छत्र खडायतले पार्टीकै एक कार्यकर्तामाथि हातपात गरेका छन् । अध्यक्षविरुद्ध सामाजिक सञ्जालमा जथाभाबी लेखेको भन्दै उनले पाल्पाका राजु गैरेमाथि भौतिक कारबाहीको प्रयास गरेका हुन् ।

    हिजो धुम्बाराहीस्थित राप्रपा कार्यालय नजिकै रहेको छाप्रो रेस्टुरेन्टमा गैरे केही व्यक्तिहरूसँग चिया खाएर बसिरहेका थिए । त्यही बेला मोटरसाइकलमा आएर खडायतले गैरेलाई हेलमेटले हानेको आरोप छ । गैरेले हिजो महाराजगन्ज प्रहरीमा खडायतविरूद्ध ठाडो निवेदन दिएका छन् ।

    गिरीमाथि हेलमेट प्रहार गरिएको दृश्य छाप्रो रेस्टटुरेन्टको सीसीटीभी फुटेजमा कैद भएको छ । फुटेजमा उक्त रेस्टुरेन्टको प्राङ्गणमा घटना भएको देखिन्छ ।

    गैरैसहितका व्यक्तिहरू गफ गरेर बसिरहँदा खडायत अर्का एक व्यक्तिसहित मोटरसाइकलमा आएर रोकिन्छन् । उनीहरूले त्यहाँ बसिरहेका गैरेबाहेक अरूसित हात मिलाउँछन् । त्यसपछि खडायतले गैरेलाई उठाएर काँधमा हात राख्दै अर्को साइडमा लैजान्छन् । त्यहाँ उनीहरूबीच वादविवाद चल्छ । त्यो देखेर बसिरहेका अरू व्यक्ति पनि जान्छन् ।

    विवादकै क्रममा खडायतले गैरेमाथि २-३ चोटि हेलमेट प्रहार गरेको देखिएको छ । त्यसपछि अन्य व्यक्तिहरूले छुट्याउँछन् । अनि, खडायत फेरि आफूसित आएका व्यक्तिसँगै मोटरसाइकलमा फर्किन्छन् ।

    यो घटनालाई लिएर गैरेले सिधै पार्टी अध्यक्ष लिङ्देनलाई आरोपित गरेका छन् । आफूलाई कुट्न लिङदेनले नै स्वकीयलाई खटाएको दावी उनको छ ।

    ‘अध्यक्षले त कुटेर आउनु भन्नुभएको थियो, तर म तँलाई यहीँ मारिदिन्छु भन्दै बुलेटको हेलमेटले हाने’ गैरेले फेसबुकमा लेखेका छन् ।

    आफूले न्याय नपाएमा पार्टी कार्यालयमा नै पासो लगाएर मरिदिने उनको चेतावनी छ ।

    गैरे राप्रपाका महामन्त्री डा. धवलशम्शेर राणाा पक्षधर कार्यकर्ता हुन् । उनले प्रदेशसभा चुनावमा राप्रपाबाट उम्मेदवारीसमेत दिएका थिए। हाल उनले सामाजिक सञ्जालमा अध्यक्ष लिङदेनविरूद्ध टीकाटिप्पणी गर्ने गरेका छन् ।

  • राप्रपाभित्र चर्किएको अन्तरसंघर्षबीच रवीन्द्र मिश्रको शालीन तटस्थता

    राप्रपाभित्र चर्किएको अन्तरसंघर्षबीच रवीन्द्र मिश्रको शालीन तटस्थता

    काठमाडौं । राजावादी प्रमुख दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र दुई गुटबीचको अन्तरसंघर्ष चर्किँदै जाँदा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको खोजी हुन थालेको छ । उनी अहिलेको गुटगत लडाईंमा कतै पनि सामेल भएका छैनन् ।

    पदीय हिसाबले मिश्र राप्रपामा अध्यक्ष राजेन्द्र लिङदेनपछिको ‘सेकेन्ड म्यान’ हुन् । अहिले राप्रपामा लिङदेन नेतृत्वको संस्थापन पक्ष र महामन्त्री डा. धवलशम्शेर राणा नेतृत्वको असन्तुष्ट समूहबीच चर्को अन्तरविरोध छ । मिश्र भने दुवै गुटका पक्षमा खुलेका छैनन् ।

    अध्यक्ष लिङदेनले एकपछि अर्को गर्दै संस्थापनइतरका नेताहरुलाई कारवाहीको डण्डा हान्न थालेपछि अन्तरद्वन्द्व चर्किएको हो । उनले संस्थापन इतरका नवराज सुबेदीलाई अनुशासन समितिबाट र सगुन सुन्दर लावतीलाई प्रवक्ताबाट एकैदिन हटाएका थिए ।

    उक्त कारवाहीको विरोधमा निकालिएको वक्तव्यमा हस्ताक्षर गरेको उपाध्यक्ष मुकुन्दश्याम गिरीलाइए पनि लिङदेनले बर्खास्त गरे । यसले पार्टीभित्र ठूलै खल्बली पैदा गरेको छ ।

    असन्तुष्ट पक्षहरु कारवाही अवैधानिक रहेको भन्दै निर्वाचन आयोग धाइरहेका छन् । लिङदेन भने रोकिने मुडमा छैनन् । अझै पनि थप नेताहरु कारवाहीमा पर्न सक्ने संस्थापन पक्षको चेतावनी छ ।

    राप्रमा सबै प्रमुख नेताहरु कारवाहीको पक्षमा विपक्षमा खुलिसकेका छन्, शिवाय रविन्द्र मिश्र । वैचारिक हिसाबले मिश्र महामन्त्री डा. धवलशम्शेर राणासँग निकट मानिन्छन् । उनीहरुबीच व्यक्तिगत सम्वन्ध पनि सुमधुर छ ।

    तीनकुनेको आन्दोलनपछि उनीहरु एकसाथ पक्राउ परेर सँगै हिरासतमा समेत बसेका थिए । तर राणाले बोलाएको असन्तुष्ट पक्षको वैठकमा मिश्र सहभागी भएनन् । त्यसयता पनि असन्तुष्ट पक्षका कुनै पनि गतिविधिमा उनी संलग्न छैनन् ।

    त्सो तर अध्यक्ष लिङदेनसित पनि मिश्रसँग सम्वन्ध बिग्रेको छैन । राप्रपा प्रवेश गरेयता मिश्रले लिङदेनको विषयमा नकारात्मक टिकाटिप्पणी गरेको अहिलेसम्म सुनिएको छैन । यद्यपि, मिश्रप्रति लिङदेन सँधै सशंकित देखिन्छन् । निर्णायक समयमा उनले संस्थापन इतर समूहलाई साथ दिन सक्ने त्राश उनलाई छ । यता संस्थापन इतर समूह मिश्रको भौतिक नभए पनि भावनात्मक साथ पाउनेमा आशावादी देखिन्छ ।

    मिश्रका निकटस्थहरु भने उनी पार्टीको आन्तरिक एकताको पक्षमा रहेको बताउने गर्छन् । राप्रपाको इतिहासमा पटकपटक टुटफुट र बिग्रहबाट गुज्रिँदै आएकाले फेरि त्यो अवस्था नदोहोरियोस भन्नेमा उनको प्रमुख चिन्ता भएको निकटस्थहरुको भनाइ छ ।

    ‘कम्तिमा ८४ को चुनावसम्म सबै मिलेर जाउँ भन्ने उहाँको मनशाय देखिन्छ । राजसंस्थाको पक्षमा राम्रो माहोल भएकाले ८४ को चुनावमा एकतावद्ध भएर जाँदा राम्रो नतिजा आउन सक्ने तर अन्तरकलह वा विभाजन भएको खण्डमा फेरि धक्का खानुपर्ने हुन सक्ने उहाँको निस्कर्ष हो,’ ती नेताले भने ।

    मिश्र अहिले राजनीतिक रुपमा त्यति सक्रिय पनि छैनन् । हिरासतबाट निस्केयता उनी लगभग निस्क्रिय अवस्थामै देखिन्छन् । पार्टीका वैठकहरुमा बाहेक अन्य गतिविधिहरुबाट उनी टाढै छन् ।

    तीनकुने आन्दोलनपछि सँगै पक्राउ परेका राणा र मिश्रमध्ये सरकारी निकायहरुले मिश्रप्रति बढी कठोरता देखाएका थिए । उनलाई हिरासतमा लैजाँदा हरेकपटक हातमा हत्कडी लगाइएको थियो । यस्तै पुर्पक्षका लागि भएको बहसमा राणाको तर्फबाट दुई जना जुनियर सरकारी वकिलहरुले बहस गरेका थिए भने मिश्रको विरुद्ध सहन्यायाधीवक्ताकै नेतृत्वमा ८ जना सरकारी वकिलहरु लर्को लागेका थिए ।

    मिश्रलाई जसरी पनि जेलमै सडाउने षडयन्त्रसहित राज्य संयन्त्र नै लागेको उनका वकिलहरुको बुझाइ छ । त्यही भएर वकिलहरुले उनलाई मुद्दा चलुञ्जेल सकेसम्म राजनीतिक भूमिका र अभिव्यक्तिहरुलाई न्यूनीकरण गर्न दवाव दिइरहेका छन् ।

    तर, पार्टीको आन्तरिक राजनीतिमा नबोल्नुको कारण भने उनको तटस्थतावादी लाइन नै हो । राष्ट्रिय राजनीतिका मुद्दाहरु, खासगरि राजसंस्थाको वकालतमा अरु नेताभन्दा बढी नै मुखर भएर सामाजिक सञ्जालमा सक्रिय हुने गरेका भए पनि पार्टीको आन्तरिक विवादमा भने प्राय उनी मौन नै बस्ने गरेका छन् ।

    मिश्र भन्छन्- मेरो जुँगा धेरै नतान्नुस् न

    आफ्नो मौनतालाई लिएर प्रश्नहरु उठ्न थालेपछि मिश्रले हिजो सामाजिक सञ्जालबाटै जवाफ दिए ।

    उनले आफ्नो पुरानो भिडिओ सेयर गर्दै लेखेका छन्, ‘मेरो जुँगा धेरै नतान्नोस् न, कृपया !’ प्रमुख नेताहरुले देशमा धेरै विवाद र संकट भएमा सार्वजनिकरुपमा बोल्नुपर्ने तर पार्टीभित्रको विवाद र संकटमा धेरै बोल्नु नहुने आफ्नो मान्यता उनले दोहोर्याएका छन् ।

    उनी लेख्छन्, ‘म देशको प्रमुख नेता होइन तर पदीयरूपमा पार्टीको एकजना प्रमुख नेता हुँ । त्यसैले म अत्यावश्यक नभई बोल्दिन। सबैले एकै पटक बोल्नु पर्दैन। नबोल्नुलाई डराएको भनेर कसैले सोचेको छ भने त्यसको मुल्य महंगो पर्न सक्छ।’

  • कांग्रेस-एमालेले देश लुट्नलाई टेन्डर पारेजस्तो गर्दैछन्, मन्त्रीहरूको कमाउन प्रतिस्पर्धा छ : लिङदेन (भिडिओ)

    कांग्रेस-एमालेले देश लुट्नलाई टेन्डर पारेजस्तो गर्दैछन्, मन्त्रीहरूको कमाउन प्रतिस्पर्धा छ : लिङदेन (भिडिओ)

    काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले भिजिट भिसा प्रकरणको मुद्दा आफूहरूले दुई महिनादेखि उठाउँदा पनि सरकारले नसुनेको बताएका छन्।

    प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने, ‘कांग्रेस र एमाले जस्तो दुई ठुला पार्टी मिलेको सरकारले देश लुट्नलाई टेन्डर पारेजस्तो व्यवहार भइरहेको छ। कुन मन्त्रीले कुन मन्त्रीभन्दा छिटो कसले धेरै कमाउने भन्दै प्रतिस्पर्धा चलिरहेको छ।’

    उनले सरकारका एक दर्जन मन्त्रीहरू विवादमा आएका भन्दै तिनीहरूको छानबिन गर्नुपर्ने अवस्था आएको बताए। उनले भ्रष्टाचार कहाँ कहाँ छ भन्दा पनि कहाँ छैन भनेर खोज्नुपर्ने अवस्था आएको बताए ।

    उनले भने ‘भिजिट भिसामात्रै होइन, दर्जनौँ मन्त्रीहरूको विषय आइरहेको छ । बजार भाउ बढाएर कमिसन खाइरहेको कुरा आइरहेका छन् । ती सबैको छानबिनको लागि उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन हुनुपर्छ । त्यस बेलामा सम्म हाम्रो विरोध जारी राख्छौँ ।’

    उनले सदनमा सङ्ख्याको बलले पेलिरहे सडकबाट टुङ्गो लगाउनेतिर जाने सरकारलाई चेतावनी दिए ।

  • पाँच नेताहरूमाथि कारबाहीबारे निर्वाचन आयोगले राप्रपासँग माग्यो जवाफ

    पाँच नेताहरूमाथि कारबाहीबारे निर्वाचन आयोगले राप्रपासँग माग्यो जवाफ

    काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पाँच जना नेताहरूमाथि कारबाहीको विषयलाई लिएर सो पार्टीलाई पत्राचार गरेको छ ।

    ती पाँच नेताहरूले आफूहरूलाई अवैधानिक तरिकाले कारबाही गरिएको भन्दै निवेदन दिएका दिएपछि आयोगले छानबिन थालेको हो ।

    राप्रपा अध्यक्ष लिङदेनले हालै पार्टीको अनुशासन समिति अध्यक्षबाट नवराज सुवेदीलाई हटाएका थिए भने सगुनसुन्दर लावतीलाई प्रवक्ताबाट बर्खास्त गरेका थिए । यस्तै उपाध्यक्ष मुकुन्द श्याम गिरीलाई पनि उनले पदमुक्त गरेका छन् ।

    त्यसअघि लिङदेनले महामन्त्री डा. धवलशम्शेर राणाको संगठन विभाग प्रमुख पद खोसेका थिए भने संयोजित संगठन विभागका सदस्य सचिव धनशुर शाहीलाई पनि पदमुक्त गरेका थिए ।

    आफूहरूमाथि विधान विपरीत कारबाही गरेको भन्दै पाँचै जना नेताहरूले निर्वाचन आयोग गुहारेका छन् । उनीहरूले लिखित निवेदन दिएपछि आयोगले राप्रपामा पत्राचार गरेको आयोगकी प्रवक्ता सीता पोखरेलले जानकारी दिइन् ।

    उनले भनिन्, ‘आयोगमा पाँच जनाको उजुरी आएपछि यस विषयमा सोध्नलाई पत्राचार गरिएको हो ।’

    राप्रपाका महामन्त्री राजेन्द्र गुरुङले पनि पत्र आएको पुष्टि गरे । पत्रको ब्यहोरा भने आफूले राम्ररी पढ्न नभ्याएको उनको भनाइ छ ।

  • गिरीलाई उपाध्यक्षमा पुनर्स्थापित गर्न राप्रपाका ३ पदाधिकारीको ध्यानाकर्षण

    गिरीलाई उपाध्यक्षमा पुनर्स्थापित गर्न राप्रपाका ३ पदाधिकारीको ध्यानाकर्षण

    काठमाडौं । राप्रपाका उपाध्यक्ष मुकुन्दश्याम गिरीलाई विधानविपरीत पदबाट हटाइएको भन्दै तीन जना पदाधिकारीहरुले पुनर्स्थापित गर्न ध्यानाकर्षण गराएका छन् ।

    वरिष्ठ नेता उपाध्यक्ष विकक्रम पाण्डे, महामन्त्रीद्वय धवलशमशेर राणा र कुन्ती कुमारी शाहले अध्यक्ष राजेन्द्र लिङ्देनलाई स्पष्टकीकरणको मौकासमेत नदिइ गिरीलाई पदमुक्त गर्ने कुरा प्रजातान्त्रिक छविमा आँच ल्याउने स्वेच्छाचारिता भएको उनीहरुले उल्लेख गरेका छन् ।

    ‘जीवनको उर्जाशील समय पार्टी हितमा व्यथित गरेर गत एकता महाधिवेशन र महाधिवेशन यता महत्वपूर्ण भूमिका र जिम्मेवारी निर्वाह गर्नु हुने नेता मुकुन्द श्याम गिरीलाई विधान विपरीत पदमुक्त गर्ने गल्ती सच्याएर, देशभरीका पार्टीका साथीहरुको भावना समेत मध्यनजर गरेर उहाँलाई पुर्ववत् पदमा कायम राख्न पार्टी नेतृत्वको ध्यानाकर्षण गर्दछौं’, संयुक्त अपीलमा भनिएको छ ।

    गिरीलाई शुक्रबार अध्यक्ष लिङ्देनलाई उपाध्यक्षबाट हटाएका थिए ।

     

  • लिङदेनले बर्खास्त गरेका उपाध्यक्ष गिरी निर्वाचन आयोगमा, कर्णाली र इतर पक्षका नेताको साथ

    लिङदेनले बर्खास्त गरेका उपाध्यक्ष गिरी निर्वाचन आयोगमा, कर्णाली र इतर पक्षका नेताको साथ

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को उपाध्यक्ष पदबाट हटाइएका मुकुन्दश्याम गिरी निर्वाचन आयोगमा उजुरी गर्न पुगेका छन् । उनलाई पार्टीको संस्थापनइतर समूह र कर्णाली प्रदेशका नेताहरुको साथ छ ।

    राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले गिरीलाई उपाध्यक्ष तथा केन्द्रीय सदस्यबाट शुक्रबार बर्खास्त गरेका थिए । सो निर्णय पार्टीको विधानविपरीत भएको भन्दै गिरीले उजुरी गर्न लागेका हुन् । आजै राप्रपाको कर्णाली प्रदेशका नेताहरुले  उनलाई हटाउने निर्णयप्रति असहमति जनाउँदै विज्ञप्ति जारी गरेका छन् ।

    निर्वाचन आयोगमा गिरीलाई साथ दिँदै राप्रपाका महामन्त्री डा. धवलशमशेर राणा र कुन्ती शाहीलगायत संस्थापन इतर पक्षका नेताहरू उपस्थित भएका छन् ।

  • राप्रपाको उपाध्यक्ष र केन्द्रीय सदस्यबाट मुकुन्दश्याम गिरी पदमुक्त

    राप्रपाको उपाध्यक्ष र केन्द्रीय सदस्यबाट मुकुन्दश्याम गिरी पदमुक्त

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले उपाध्यक्ष मुकुन्दश्याम गिरीलाई उपाध्यक्ष र केन्द्रीय सदस्यको जिम्मेवारीबाट पदमुक्त गरेको छ ।

    राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले उपाध्यक्ष गिरीलाई पदमुक्त गरेको प्रवक्ता मोहन श्रेष्ठले बताए ।

  • दलबलसहित राप्रपा टोली टंगालमा- सबै फाइलको छानबिन गर्न अख्तियारलाई लिङदेनको पत्र

    दलबलसहित राप्रपा टोली टंगालमा- सबै फाइलको छानबिन गर्न अख्तियारलाई लिङदेनको पत्र

    काठमाडौं । राप्रपाले सबै भ्रष्टाचारको छानबिन र कारबाहीको माग गर्दै अख्तियार पुगेर ज्ञापनपत्र पेस गरेको छ।

    लिङ्देन नेतृत्वको टोलीले नेपालमा भ्रष्टाचार महामारीको रूपमा फैलिँदै गएको आयोगको वार्षिक प्रतिवेदन अनुसार मात्र पनि भ्रष्टाचारको उजुरी,मुद्दाको सङ्ख्या र दाबी रकम बढ्दै गएको अवस्थाले पुष्टि गरेको बताए।

    उनले बुझाएको पत्रमा भनिएको छ, ‘सरकारका मन्त्रीहरूको भ्रष्टाचारमा संलग्नताका तथ्यहरू एकपछि अर्को सार्वजनिक भइरहेका छन् । यस्तो अवस्थामा लाग्छ मन्त्रीहरू एक अर्कामा कसले छिटो र धेरै कमाउने प्रतिस्पर्धा चलाइरहेका छन् । अझ प्रमुख आयुक्त स्वयंको भ्रष्टाचारको रकमको डिल विदेशमा नै हुने गरेको भन्ने भनाइले पनि नेपालमा हुने भ्रष्टाचारको तह र व्यापकता प्रस्ट हुन्छ ।

    भ्रष्टाचारका विषयमा छानबिन र मुद्दा दर्ताका कामहरू प्रशस्त हुँदै गर्दा पनि ठुला भ्रष्टाचारका काण्डहरू जस्तै सुडान घोटाला, ललिता निवास, वाइडबडी, क्यान्टोन्मेण्ट, ओम्नी, एनसेल लगायतका ठूल्ठूला भ्रष्टाचार काण्डहरूमा राजनीतिक नेतृत्व छानबिनको दायरा बाहिर पर्नुले आयोगको निष्पक्षता तथा प्रभावकारितामा गम्भीर प्रश्नहरू उठेको ज्ञापन पत्रमा उल्लेख छ।

    राजनीतिक नेतृत्वको संरक्षण र संलग्नता बिना यस प्रकारका ठुला भ्रष्टाचारहरू कर्मचारी संयन्त्रबाट मात्र हुनसक्छन भन्ने कुरामा विश्वास गर्न नसकिने उल्लेख छ। भ्रष्टाचारको मुख्य जरो र छाता राजनीतिक क्षेत्रलाई छानबिन र कारबाहीको दायरामा नल्याएसम्म सानातिना कारबाहीले मात्र सेवा प्रवाह, सुशासन र भ्रष्टाचारमा सुधार हुन सक्दैन भन्ने राष्ट्रिय प्रजातन्त्र पार्टीको ठहर छ ।

  • नवराज सुवेदीलाई प्रश्न- तपाईंलाई जनआन्दोलन समितिबाट पनि हटाउने रे त ?

    नवराज सुवेदीलाई प्रश्न- तपाईंलाई जनआन्दोलन समितिबाट पनि हटाउने रे त ?

    काठमाडौं । राजसंस्था पुनर्स्थापनका लागि संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले आन्दोलनलाई टुंगोमा पुर्याउन सकेनन् । उनले नेतृत्व गरेको आन्दोलन यत्तिकै तुहिएको छ र सुवेदी अहिले फेरि राप्रपामा फर्किन प्रयासरत छन् ।

    समितिको नेतृत्व लिएलगत्तै सुवेदीले राप्रपा परित्याग गरेको घोषणा एक पत्रकार सम्मेलनमा गरेका थिए । त्यही घोषणालाई आधार मान्दै राप्रपा अध्यक्ष लिङदेनले सुवेदीलाई पार्टीको अनुशासन समितिको अध्यक्षबाट हटाइदिए । राप्रपाको संस्थापन पक्षले सुवेदी अहिले पार्टीको साधारण सदस्यसमेत नरहेको बताइरहेको छ ।

    अर्कोतर्फ संयुक्त जनआन्दोलन समितिभित्र पनि सुवेदीप्रति असन्तुष्टि बढेको छ । समितिको नेतृत्व गरिरहेका व्यक्ति फेरि राप्रपामा फर्किन खोजेपछि केही सदस्यहरु उनलाई संयोजकबाट हटाउनुपर्ने पक्षमा देखिएका छन् । प्रवक्ता स्वागत नेपालले हिजो एक विज्ञप्ति नै निकालेर यसको छनक दिए ।

    विज्ञप्तिमा सुवेदीलाई अहिलेसम्म खेलेको भूमिकाप्रति धन्यवाद ज्ञापन गरिएको छ । नेपाल प्रेससँग कुरा गर्दै नेपालले सुवेदी अब समितिको संयोजक नरहने र उनलाई मार्ग प्रशस्त गर्न भनिने बताएका थिए ।

    यस विषयमा नेपाल प्रेससँग कुरा गर्दा सुवेदीले इन्कार गरे । आफू समितिको संयोजक छोड्ने पक्षमा नरहेको उनको भनाइ छ ।

    ‘मलाई समितिबाट कसैले हटाएको छैन र हटाउन पनि मिल्दैन । मैले छाडिहाल्न मिल्ने स्थिति पनि छैन’, उनले भने ।

    हिजो समितिको नाममा जारी भएको विज्ञप्तिप्रति उनले अनभिज्ञता दर्शाए ।

    सुवेदीले भने, ‘त्यो विज्ञप्ति स्वागत नेपालजीले लेखेर जारी गर्नुभएको हो । यो विषयमा उहाँलाई नै सोध्नुहोला । समितिमा मलाई कसैले पनि राजीनामा दिनुपर्छ भनेको छैन ।’

    अब चाँडै आफूले संयुक्त जनआन्दोलन समितिको बैठक राख्ने र भावी कार्ययोजना बनाउने उनले बताए । यता प्रवक्ता नेपालले भने समिति नै पुनर्गठन हुने दाबी गरे । आफूले समितिमा आवद्ध ४४ वटै संस्थाका प्रतिनिधिहरुसँग कुरा गरेको र सबैले नयाँ संयोजक चयन गरेर जानुपर्ने पक्षमा रहेको उनको भनाइ छ ।

    ‘मैले नवराज सुवेदीजीसँग पनि कुरा गरेर समिति पुनर्गठन गरौं भनेको छु । डा. धवलशमशेर राणालाई पनि भनेको छु । उहाँले बैठक बसेर छलफल गरौंला भन्नुभएको छ । बैठकमा म आफैं पुनर्गठनको प्रस्ताव लैजान्छु’, उनले भने ।

  • ज्ञानेन्द्र शाहीको बोलेको कुरा रेकर्डबाट हटाउन सुनिताको माग (भिडिओ)

    ज्ञानेन्द्र शाहीको बोलेको कुरा रेकर्डबाट हटाउन सुनिताको माग (भिडिओ)

    कठमाडौं । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले घुस प्रकरणको अडिओ सार्वजनिक भएका मन्त्रीको राजीनामाले मात्रै नपुग्ने भन्दै पक्राउ गरि छानबिन गर्न माग गरेका छन् । उनले ओली क्याविनेटले भ्रष्टाचारीको संरक्षण गरेको आरोपसँगै नेपालले विश्वमै कीर्तिमान राखेको टिप्पणी गरे ।

    उनले भने, ‘पहिले एउटा भनाइ थियो, ज्ञान नपाए काँशी जानू, न्याय नपाए गोरखा जानू । भ्रष्टाचार गर्न नपाए केपी ओली सरकारको क्याबिनेटमा आउनू ।’

    सांसद शाहीको भनाइमा एमाले सचेतक सुनिता बरालले नियमापत्ति गरिन् । प्रधानमन्त्रीमाथि शाहीले तथ्यहीन आरोप लगाएको भन्दै रेकर्डबाट हटाउन उनले माग गरिन् । समग्र सरकार र सरकारको नेतृत्वमाथि बदनाम गर्ने प्रयास भएको भन्दै बरालले आपत्ति जनाइन् ।

    सभामुख घिमिरेले सांसदहरूले उठाएका विषय र नियमापत्तिहरूप्रति आफ्नो ध्यानाकर्षण भएको बताउनुभयो । भिजिट भिसा प्रकरणको उच्चस्तरीय छानबिन हुनुपर्ने माग राख्दै रास्वपा र राप्रपाका सांसदहरूले सदन बहिष्कार गरे ।

  • स्वागत नेपाल भन्छन्- नवराज सुवेदी अब जनआन्दोलन समितिको संयोजक रहनु भएन

    स्वागत नेपाल भन्छन्- नवराज सुवेदी अब जनआन्दोलन समितिको संयोजक रहनु भएन

    काठमाडौं । राजसंस्था पुन:स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समिति प्रवक्ता स्वागत नेपालले आज मध्यरातमै एउटा विज्ञप्ति जारी गरेका छन्, जसको आशय घुमाउरो देखिन्छ । विज्ञप्ति समितिका संयोजक नवराज सुवेदीप्रति लक्षित छ ।

    सुवेदीले हालै आफूलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अनुशासन समितिको अध्यक्षबाट हटाइएको विषयमा निर्वाचन आयोगमा उजुरी गरेपश्चातको सन्दर्भमा नेपालले यो विज्ञप्ति निकालेका हुन् । विज्ञप्तिमा जनआन्दोलन समितिमा अहिलेसम्म निभाएको भूमिकाका निम्ति सुवेदीलाई धन्यवाद दिइएको छ ।

    विज्ञप्तिमा भनिएको छ, ‘समितिका संयोजकज्यूलाई सबैका साझा व्यक्तित्वका रूपमा उहाँले पार्टीको आबद्धता परित्याग गर्नुभएको घोषणापश्चात ४४ वटा पार्टी, अभियान, र संघसंस्थाहरुले स्वीकार गर्नुभएको थियो । तर, पुनः पार्टीकै जिम्मेवारीमा रहन चाहनु भएपछि आन्दोलनले पुनः स्वतन्त्र संयोजनकारी भूमिका निर्वाह गर्ने सामूहिक प्रयास खोजेको छ । उहाँले आफू आफ्नो पूर्ववत् पार्टीको जिम्मेवारीमै रहन चाहनु भएको अभिव्यक्ति दिनु पूर्वसम्मको भूमिकाका लागि उहाँमा हार्दिक आभार तथा धन्यबाद ज्ञापन गर्न कसैले कञ्जुस्याइँ गर्नु हुँदैन ।’

    विज्ञप्तिबाट अब सुवेदीको ठाउँमा नयाँ संयोजक बनाउने आशय बुझिन्छ । जबकि सुवेदीले आफू समितिबाट अलग भएको भनेर घोषणा गरेका छैनन् । यता राप्रपाले पनि स्पेस नदिने र अर्कोतिर समितिबाट पनि बाहिरिनुपर्यो भने सुवेदी बीचमै अलपत्र पर्ने अवस्था आएको छ ।

    – विज्ञप्तिको भावमा अझै प्रष्ट हुन हामीले प्रवक्ता नेपाललाई सोध्यौं, ‘के नवराज सुवेदीलाई समितिको संयोजकबाट हटाइएको हो ?’

    उनले जवाफ दिए, ‘बैठक बसेर औपचारिक निर्णय नभइसकेको हुँदा कानूनी हिसाबले त भन्न मिलेन । तर, उहाँ राप्रपामै फर्किने भइसकेपछि अब जनआन्दोलन समितिको संयोजक रहनुभएन । सबैको भावना यही छ ।’

    – यो विज्ञप्ति समितिको बैठक बसेर निकालिएको हो कि तपाईंले स्वतस्फुर्त निकाल्नु भएको हो ?

    मैले समितिमा आवद्ध सबै संघ-संस्थाहरूसँग अनौपचारिक छलफल गरेको छु । औपचारिक बैठक चाहिँ बसेको छैन । चाँडै बैठक बसेर माइन्यूट गर्ने कुरा भएको छ ।

    – तर उहाँले त समितिबाट अलग भएको भन्नुभएको छैन नि ?

    यो समितिमा ४४ वटा राजावादी संघ/संस्थाहरू आवद्ध छन् । सबैको धारणा के छ भने समितिको संयोजक ‘स्वतन्त्र’ व्यक्ति हुनुपर्छ । नवराज सुवेदीले राप्रपा त्याग्नु भएपछि स्वतन्त्र व्यक्तिको रुपमा सबैले साझा मानेका थिए । तर, उहाँ राप्रपामै फर्किन खोजेपछि त्यो अवस्था आएन । अब नयाँ ढंगले अघि बढ्ने कुरा भएको छ ।

    – तपाईंले यो विषयमा नवराज सुवेदीजीसँग कुरा गर्नुभयो ?

    उहाँसँग सीधै त कुरा गरेको छैन । आजभोलिमा गर्छु ।

    – त्यसो भए अब बस्ने बैठकले नयाँ संयोजकको चयन गर्छ ?

    हो । त्यही तयारी छ ।

    – अब को हुन्छ त संयोजक ?

    त्यो बैठकपछि नै थाहा हुन्छ ।

    – डा. जगमान गुरुङलाई नै फेरि जिम्मेवारी दिने तयारी हो ?

    अहिल्यै भन्न सक्दिनँ । मैले उहाँसित पनि फोनमा कुराकानी गरेको छु । धेरै कांग्रेस-एमालेका साथीहरू पनि यो अभियानमा जोडिन चाहनुभएको छ । म सबैसित संवादमा छु ।

    – नवराज सुवेदी राप्रपामा फर्किनुभयो भने पनि समितिको संयोजक बन्न अयोग्य भइहाल्नु हुन्छ त ? आखिर समितिका धेरै मानिसहरू त विभिन्न पार्टी र अभियानमा जोडिएकै छन् नि ?

    हो, समितिमा सबैलाई स्थान हुन्छ । उहाँलाई पनि समितिको सल्लाहकार वा अरु सम्मानित हैसियतमा राख्न सकिन्छ । तर, संयोजक चाहिँ स्वतन्त्र र साझा व्यक्ति नै चाहिन्छ भनेका हौं । अहिले उहाँको चाहना चाहिँ दलमै रहने देखियो ।

    – यो तपाईंको व्यक्तिगत धारणा होला नि, सबैले मान्छन् त ?

    होइन, यो त सामूहिक धारणा नै हो । म सबैसित अनौपचारिक छलफलमा छु । अब कुनै पनि पार्टीमा नभएको व्यक्तिलाई नै संयोजक बनाउनेमा सबै सहमत छौं ।

    – उहाँजस्तो बयोवृद्ध नेतालाई नसोधिकन हटाइदिँदा त अपमानजनक होला नि ?

    म सकेसम्म आजै उहाँलाई भेटेर जानकारी गराउँछु ।

    – राप्रपाले उहाँलाई अब स्पेस नै नदिने कुरा गरिरहेको छ । यदि राप्रपामा फर्किन पाउनुभएन भने चाहिँ समितिको संयोजकमा बहाल रहन सक्नुहुन्छ ?

    त्यस्तो नहोला । अब उहाँलाई मार्ग प्रशस्त गरिदिनुस भनेर अनुरोधै गर्ने हो । समिति अब साँच्चिकै सबैको साझा हुनुपर्छ ।

  • रास्वपा र राप्रपाले आफ्नो धारणा राखेपछि प्रतिनिधिसभा बैठक बहिस्कार

    रास्वपा र राप्रपाले आफ्नो धारणा राखेपछि प्रतिनिधिसभा बैठक बहिस्कार

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बुधवारको प्रतिनिधिसभाको बैठकमा आफ्नो धारणा राखेर बहिस्कार गरेका छन् ।

    भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय विशेष छानबिन वा उच्चस्तरीय न्यायिक छानबिन समिति गठन नगरिएको भन्दै दुवै पार्टीले आफ्नो धारणा राखेर बैठक बहिस्कार गरेका हुन् ।

    सभामुख देवराज घिमिरेले सभा सुरु भएको जानकारी गराए लगत्तै रास्वपा र राप्रपाका सांसदले उठेर विरोध जनाएका थिए । लगत्तै सभामुख घिमिरेले रास्वपा सांसद अशोक चौधरीलाई धारणा राख्न समय दिए ।

    आफ्नो धारणा राख्दै रास्वपा सांसद चौधरीले भिजिट भिसा प्रकरणमा आफूहरूको माग अनुसार छानबिन गर्न समिति नबनाइएकोले नबन्दासम्म विरोध जारी राख्ने बताए ।

    लगत्तै सभामुख घिमिरेले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई धारण राख्ने समय दिएका थिए ।

    राप्रपाका अध्यक्ष लिङदेनले पनि भिजिट भिसा प्रकरणमा आफूहरूले उठाउँदै आएको माग अनुसार समिति गठन नभएसम्म आफूहरूको विरोध जारी रहने बताए ।

    दुवै दलका तर्फबाट आफ्नो धारणा राखिसकेपछि दुवै पार्टीका सांसद संसद बैठकबाट बाहिरिएका हुन् ।

  • सभामुखको आलोचना गर्दै लिङदेनले भने- यो संसदीय इतिहासकै कालो समय हो

    सभामुखको आलोचना गर्दै लिङदेनले भने- यो संसदीय इतिहासकै कालो समय हो

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले दुई प्रतिपक्षी दलहरूको विरोधका बाबजुद निरन्तर सदन चलाइरहेकोमा सभामुख देवराज घिमिरेको आलोचना गरेका छन् । उनले यसलाई संसदीय इतिहासकै कालो समयको संज्ञा दिए ।

    आज संसद् बैठकको सुरुवातमा समय लिएर बोल्दै लिङदेनले भिजिट भिसाको विषयमा राप्रपा र रास्वपाले गरिरहेको विरोधलाई सभामुखले नजरअन्दाज गरेकोप्रति असन्तुष्टि जनाएका हुन् ।

    उनले भने, ‘संसदका दुई महत्त्वपूर्ण राजनीतिक पार्टीले डेढ महिनादेखि विरोध जनाइराख्दा जबरजस्ती संसद् चलाउने प्रयास भइरहेको छ । यो केवल सरकारको अकर्मण्यता र उदासीनता मात्र होइन, तपाईँको कार्यकालको सबैभन्दा कालो समय हो । सभामुखले प्रयास र पहल गर्नुपर्‍यो । प्रतिपक्षी दलहरूले उठाएको आवाजलाई सम्बोधन गराउने प्रयास गर्नुपर्‍यो ।’

    उनले मन्त्रीहरू एकपछि अर्को लेनदेन काण्डमा मुछिँदा प्रधानमन्त्रीको सुशासन आयोग कहाँ छ भन्दै प्रश्न उठाए ।

    ‘जनताले प्रधानमन्त्रीको सुशासन आयोग खोजिरहेका छन् । यदि नैतिकता छ, सुशासनप्रति अलिकति मात्रै प्रतिबद्धता छ भने मन्त्रीहरूको राजीनामा मागिनुपर्ने होइन ? उनीहरूलाई बर्खास्त गर्नुपर्ने होइन ? राजावादीलाई, गणतन्त्र विरोधीलाई तह लगायौँ भनेर डंका पिटेर जनतालाई भ्रम छरेको त छट्टु स्यालको कथा पो रहेछ । चिल आयो भन्ने अनि तल चल्ला टिप्ने अनि जनताको ध्यान एकातिर लगेर ठूला पार्टी मिलेर देश लुट्ने,’ उनले थपे ।

  • निर्वाचन आयोगमा नवराज सुवेदीले भने- मैले राप्रपा त्यागेको छैन, पार्टीले अन्याय गर्‍यो (भिडिओ)

    निर्वाचन आयोगमा नवराज सुवेदीले भने- मैले राप्रपा त्यागेको छैन, पार्टीले अन्याय गर्‍यो (भिडिओ)

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अनुशासन आयोगबाट हटाइएका नवराज सुवेदीले निर्वाचन आयोगमा उजुरी दिएका छन् । उजुरी पश्चात पत्रकारसँग कुरा गर्दै उनले आफूमाथि अन्याय भएको बताए ।

    सुबेदीले आफूमाथि नसोधीकन यो निर्णय लिइएको भन्दै चित्त दुखाएका थिए ।

    उनले भने, ‘प्राकृतिक न्यायको सिद्धान्त अनुसार पनि निर्णय लिनु अगाडि मलाई सोध्नुपर्थ्यो । मलाई सोधिएको छैन । चिठी लेखेर दिएको पनि छैन । मैले मिडियाबाट थाहा पाएँ, मलाई निकाल्नुभयो र अर्को मान्छे राख्नुभयो रे भनेर ।’

    आफूलाई कारबाही गर्दा केन्द्रीय समितिबाट निर्णय नगरी अध्यक्षले स्वेच्छाचारिता प्रदर्शन गरेको सुबेदीले बताए ।

    पत्रकारले उनलाई ‘तपाईँले त आफैँ राप्रपा त्यागे भनेर सार्वजनिक रूपमा घोषणा गर्नुभएको होइन र ? भनेर सोधेका थिए ।
    त्यसको प्रत्युत्तर सुवेदीले यसरी दिए, ‘तपार्ईंले ठिक प्रश्न सोध्नुभयो । तर त्यो भाषणको अगाडि र पछाडि हेर्नुपर्छ । मैले भनेको थिएँ, संवैधानिक राजसंस्था, बहुदलीय प्रजातन्त्र र हिन्दू राष्ट्रको निम्ति जुनसुकै सेक्रेफाइस गर्न पनि तयार छु, पार्टीबाट राजीनामा दिनुपर्‍यो, छोड्नुपर्‍यो भने पनि तयार छु, तर यो पद म छोड्दिन भनेको थिएँ । तर अगाडि, पछाडिको सबै हटाइयो । जे सुविधा लाग्छ त्यही काटेर त्यो पोर्सन मात्रै हाल्नुभयो । ममाथि पार्टीमा अन्याय भएको छ । त्यसको खिलाफमा आवाज उठाएको हो ।’

    उनले यो विषयले पार्टीमा फुट भने नआउने स्पष्ट पारे ।

  • राप्रपामा किचलो: पार्टी त्यागेको घोषणा गरिसकेका सुबेदीलाई फेरि स्पेस नदिने पक्षमा लिङदेन

    राप्रपामा किचलो: पार्टी त्यागेको घोषणा गरिसकेका सुबेदीलाई फेरि स्पेस नदिने पक्षमा लिङदेन

    काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीको अनुशासन समिति अध्यक्षबाट नवराज सुबेदीलाई हटाएर रोशन कार्कीलाई मनोनयन गरेपछि नयाँ किचलो उत्पन्न भएको छ । संस्थापन इतर पक्षधरले यसमा कडा आपत्ति जनाउँदै निर्वाचन आयोगमै उजुरी गर्न लागेपछि द्वन्द्व चर्किएको हो ।

    राप्रपामा संस्थापन इतर खेमाको नेतृत्व डा. धवलशम्शेर राणाले गर्छन् । उनी पार्टीको आगामी महाधिवेशनमा अध्यक्षका आकांक्षी हुन् । उनले अहिल्यैबाट महाधिवेशनलक्षित गतिविधिहरू गर्दै अध्यक्षलाई अप्ठेरोमा पार्न खोजेको संस्थापन पक्षको बुझाइ छ ।

    राप्रपा अध्यक्ष लिङदेनले अनुशासन समितिमा नवराजलाई हटाएर सोही समितिको वरिष्ठ सदस्य रहेकी कार्कीलाई नियुक्त गरेका हुन् । साथसाथै, पार्टीका प्रवक्ता सगुन लावतीलाई उनले बर्खास्त गरेका छन् ।

    पार्टीको विधान अनुसार अध्यक्षले सिधै अनुशासन समितिको नेतृत्व यसरी फेरबदल गर्न नसक्ने संस्थापन इतर पक्षको भनाइ छ । यसका लागि अध्यक्षले पार्टीको कार्यसम्पादन वा कार्यसमिति बैठकमा प्रस्ताव लगेर पारित गराउनुपर्ने व्यवस्था राप्रपाको संशोधित विधानमा रहेको छ ।

    संस्थापन पक्षले भने सुबेदीले स्वइच्छाले पार्टी परित्याग गरेकाले अनुशासन समितिको अध्यक्ष पद खाली रहेको र त्यसमा वरिष्ठ सदस्यलाई जिम्मेवारी दिइनुलाई अन्यथा लिनु नपर्ने बताएको छ ।

    सुबेदीले राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिको संयोजक बनेपछि एक पत्रकार सम्मेलनमा आफू अब राप्रपाको साधारण सदस्य नरहेको घोषणा गरेका थिए । त्यही घोषणालाई आधार बनाएर राप्रपाले उनी पार्टीमा नरहेको निष्कर्ष निकालेको हो । यद्यपि, सुबेदीले लिखित राजीनामा बुझाएका छैनन् र उनी अब फेरि राप्रपामै रहन चाहन्छन् ।

    राप्रपाको संस्थापन पक्ष भने सुबेदीलाई अब पार्टीमा स्पेस दिने पक्षमा छैनन् । हिजो राप्रपालाई अप्ठेरो पारेर समानान्तर गतिविधि गरेको तथा अध्यक्षको समेत बदनाम गरेको आरोप संस्थापन पक्षले उनीमाथि लगाएको छ ।

    राप्रपा प्रवक्ता मोहन श्रेष्ठले आफैँ पार्टी परित्याग गरिसकेपछि फेरि अहिले निर्वाचन आयोग गुहार्नुको औचित्य नहुने बताए ।

    उनले भने, ‘उहाँले संयुक्त जनआन्दोलन समितिको घोषणा कार्यक्रममै राप्रपाको साधारण सदस्यता त्यागेको घोषणा गर्नुभएको छ । त्यति भनिसकेपछि पार्टीले फेरि राजीनामा मागिरहने कुरा आउँदैन । अहिले आएर आफूलाई हटाइएको भन्दै आयोग धाउनु आफैँमा हास्यास्पद हो । उहाँ जतिको उचाइ भएको नेताको लागि यो शोभनीय देखिएन ।’

    श्रेष्ठले सामाजिक सञ्जालमा सुबेदीले पार्टी छोडेको घोषणा गरेको भिडिओ क्लिपसमेत राखेका छन् ।

    त्यसमा उनले लेखेका छन्, ‘आदरणीय नवराज सुवेदी बा, सार्वजनिक रूपमा चैत ४ गते राप्रपा परित्याग गरेको घोषणा गर्नुभएको तपाईँ राप्रपामै छु भन्न आज निर्वाचन आयोग जाँदै हुनुहुन्छ रे ! लोकलाजको ख्याल गर्नुस् बा, जीवनको उत्तरार्द्धमा इमान नछाड्नोस् ! तपाई राप्रपामा फेरि सक्रिय हुन सक्नुहुन्छ तर बाटो त्यता होइन है !

    नेपाल प्रेससँग थप कुराकानी गर्दै श्रेष्ठले सुबेदी फेरि राप्रपामा आउन चाहेमा अरूले जस्तै प्रक्रियाबाट सदस्यता लिनुपर्ने बताए ।
    ‘यो बाटो (निर्वाचन आयोगमा उजुरी) बाट उहाँ राप्रपामा फर्किन सक्नुहुन्न । यदि फेरि राप्रपामा सक्रिय हो भने सदस्यताको प्रक्रियाबाट आउनुपर्छ,’ श्रेष्ठले भने ।

    संस्थापन इतर पक्षले संगठित भएर निर्वाचन आयोगमा उजुरी दिन गएको विषयलाई पार्टीले गम्भीर रूपमा लिएको श्रेष्ठ बताउँछन् । यो विषयमा पार्टीभित्र छलफल हुने उनको भनाइ छ ।

  • राप्रपाको अनुशासन आयोगबाट हटाइएपछि नवराज सुवेदी लठ्ठी टेक्दै निर्वाचन आयोगमा

    राप्रपाको अनुशासन आयोगबाट हटाइएपछि नवराज सुवेदी लठ्ठी टेक्दै निर्वाचन आयोगमा

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अनुशासन समितिबाट हटाइएका वरिष्ठ नेता नवराज सुवेदी निर्वाचन आयोगमा उजुरी गर्न पुगेका छन् । राप्रपाको संस्थापन इतर खेमाले उनलाई साथ दिएको छ ।

    राप्रपा अध्यक्ष लिङदेनले सुवेदी पार्टीमा नरहेको निष्कर्ष निकाल्दै अनुशासन समितिबाट उनलाई हटाएका थिए । उनको स्थानमा रोशन कार्कीलाई अध्यक्ष बनाइएको छ । तर सुवेदीले आफू राप्रपाबाट अलग नभएको दाबी गर्दै अध्यक्षको कदमविरुद्ध आयोगमा उजुरी गर्न पुगेका हुन् ।

    सुवेदीले राजसंस्था पुन:स्थापनाका लागि गठिन संयुक्त जनआन्दोलन समितिको नेतृत्व लिए लगत्तै पत्रकार सम्मेलनमा राप्रपाको साधारण सदस्यता त्यागेको घोषणा गरेका थिए । तर, उनले राप्रपामा लिखित राजीनामा भने बुझाएका छैनन् । उनले सार्वजनिकरुपमा गरेको घोषणालाई नै राप्रपाले पार्टी परित्यागको रुपमा लिएको छ ।

    राप्रपाको विधान अनुसार अनुशासन समितिको अध्यक्ष नियुक्त गर्दा पार्टी अध्यक्षले केन्द्रिय समिति वा कार्यसम्पादन समितिमा प्रस्ताव लैजानुपर्छ । उक्त प्रावधानको उल्लंघन गरेको भन्दै संस्थापनइतर खेमाले निर्वाचन आयोग गुहार्ने निर्णय गरेको थियो । सगुन लावतीलाई प्रवक्ताबाट हटाउने निर्णयको पनि यो खेमाले विरोध जनाएको छ ।

    निर्वाचन आयोगमा अहिले नवराजलाई साथ दिँदै डा. धवलशम्शेर राणालगायतका नेताहरू पनि पुगेका छन् ।

    लठ्ठी टेक्दै निर्वाचन आयोगमा आएका सुवेदीले पत्रकारसँग बोल्न मानेनन् । उनले भित्रबाट काम सकेर निस्किएपछि प्रतिक्रिया दिने बताए ।

    ‘हामी निस्किएपछि बोल्छौं, तपाईंहरू पनि नियममा हिँड्नुस,’ उनले पत्रकारलाई भने ।

    तस्बिरहरू : उमेश कार्की । 

  • बालाराम बितेकै दिन पशुपतिशमशेरको चौरासी, शोकको बेला उत्सव मनाएकोमा परिवारजनको चित्तदुखाइ

    बालाराम बितेकै दिन पशुपतिशमशेरको चौरासी, शोकको बेला उत्सव मनाएकोमा परिवारजनको चित्तदुखाइ

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दिग्गज नेता बालाराम घर्तीमगरको हिजो ८७ वर्षको उमेरमा निधन भयो । संयोगले हिजै उनका समकालीन नेता पशुपतिशमशेर राणाको ८४ औं जन्मदिन थियो ।

    शोक र उत्सव एकै दिन पर्न गएपछि नमिठोपना महसुस गरेका छन् कतिपय राप्रपाजनले । यद्यपि, राणाको जन्मदिनमा आयोजित कार्यक्रम रद्द गरिएन । हिजो दिउँसो २ बजे प्रज्ञा भवन कमलादीमा राणाको जनसम्मान कार्यक्रम राखिएको थियो ।

    त्यसमा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनसहित थुप्रै नेता–कार्यकर्ता उपस्थित भए । अध्यक्ष लिङदेनलाई कार्यक्रमको प्रमुख अतिथि बनाइएको थियो ।

    कार्यक्रमको आयोजना भने राणाका हितैषी संघसंस्थाले गरेका हुन् । पूर्वनिर्धारित कार्यक्रम भएकाले स्थगित गर्न नमिलेको राप्रपाका एक नेताले बताए ।

    उनले भने, ‘यो राप्रपाले गरेको कार्यक्रम होइन, अध्यक्षज्यू आमन्त्रण स्वीकार गरेर उपस्थित भइदिनुभएको मात्र हो ।’ तर, बालारामका भाइ भुपनारायण घर्तिमगरले राप्रपाका नेताहरुलाई फोन गरेर गुनासो पोखेको बुझिएको छ ।

    पार्टीका एक पदाधिकारीले नेपाल प्रेससँग भने, ‘मलाई उहाँको भाइले हिजो फोन गर्नुभएको थियो । मेरो दाइले आजीवन योगदान गर्नुभएको पार्टी राप्रपाका नेताहरु नै उहाँको निधनकै दिन यस्तो उत्सवमा सहभागी भएको शोभनीय लागेन भन्ने उहाँको भनाइ थियो ।’

    हिजो बिहान निधन भएका बालारामको अझै अन्त्येष्टि भएको छैन । उनको शव बीएन्डबी अस्पतालमा आइसमा हालेर राखिएको छ । विदेशमा रहेका दुई छोरी आउने प्रतीक्षामा शव अस्पतालमै राखिएको हो । घर्तीमगरका ७ छोरीमध्ये एक जना अमेरिका र अर्की अष्ट्रेलियामा छन् । उनीहरु भोलि आउने बुझिएको छ ।

    राप्रपा नेताहरुका अनुसार भोलि शव अस्पतालबाट निकालेर केहीबेर पार्टी कार्यालयमा श्रद्धान्जलीका लागि राखिनेछ । त्यसपछि अन्त्येष्टि गरिने कार्यक्रम छ ।

    पञ्चायतकालदेखि राजनीतिमा सक्रिय बालाराम ११ पटक मन्त्री बनेका थिए । उनी पशुपतिशमशेरभन्दा पनि पुराना नेता हुन् ।

  • नवराज र सगुनलाई जिम्मेवारीबाट हटाइएकोप्रति राप्रपा संस्थापनइतरको आपत्ति, आयोगमा उजुरी दिने

    नवराज र सगुनलाई जिम्मेवारीबाट हटाइएकोप्रति राप्रपा संस्थापनइतरको आपत्ति, आयोगमा उजुरी दिने

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को संस्थापनइतर बैठकले पार्टीको अनुशासन समिति संयोजकबाट नवराज सुबेदीलाई र प्रवक्ताबाट सगुन लावतीलाई हटाइएको प्रति कडा असहमति जनाएको छ । आज बसेको संस्थापन इतरको भेलाले अध्यक्षको सो निर्णय विरुद्ध निर्वाचन आयोगमा उजुरी दिने निर्णय लियो ।

    राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीको विधानले दिएको अधिकार बमोजिम भन्दै अनुशासन समितिको अध्यक्षबाट सुबेदीलाई हटाएर रोशन कार्कीलाई मनोनित गरेका छन् । यस्तै, प्रवक्ताबाट लावतीलाई पदमुक्त गरिएको छ । तर, सो निर्णय विधान विपरित रहेको निस्कर्ष आजको भेलाले निकाल्यो ।

    भेलाले अध्यक्ष लिङदेनले गरेको कारवाही विधान विपरित रहेको निस्कर्ष निकालेको एक केन्द्रीय सदस्यले जानकारी दिए । पार्टीको संशोधित विधानमा अध्यक्षले सिधै कारवाही गर्न पाउने व्यवस्था नरहेको ती नेताको भनाइ छ ।

    उनले भने, ‘अहिलेको व्यवस्था अनुसार अध्यक्षले कारवाहीका लागि अध्यक्षले केन्द्रीय समितिमा प्रस्ताव लैजानुपर्छ र केन्द्रीय समितिले निर्णय गर्नुपर्छ । अध्यक्षले सिधै कसैलाई पनि पदमुक्त गर्न सक्नुहुन्न ।’

    संस्थापन पक्षले भने नवराज सुबेदीलाई हटाइएको उनले आफैं पार्टी परित्याग गरेको हुँदा अनुशासन विभाग अध्यक्ष पद खाली रहेको तर्क गरेको थियो । संस्थापनइतर पक्षले भने उनी राप्रपामै रहेको दावी गरेको छ ।

    सुबेदीले राजसंस्था पुनस्र्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिको नेतृत्व लिने भएपछि आफू अब राप्रपामा नरहेको एक पत्रकार सम्मेलनमा बताएका थिए । उनले राप्रपामा लिखित राजीनामा भने दिएका छैनन् । सुबेदीले पत्रकार सम्मेलनमै बोलेको कुरालाई नै संस्थापन पक्षले उनको पार्टी परित्यागको अर्थमा बुझेको हो ।

    यद्यपि, आफूले नेतृत्व गरेको जनआन्दोलन निस्कर्षमा पुर्याउन नसकेपछि सुबेदी अहिले राप्रपामै रहने मनस्थितिमा रहेको स्रोत बताउँछ । राजीनामा नदिएको र पार्टीले उनलाई हटाउने निर्णय पनि नगरेकाले सुबेदी राप्रपाको केन्द्रीय कार्यसम्पदन समितिको बैठकमै उपस्थित हुन वाधा नरहेको संस्थापन इतर पक्षको तर्क छ ।

    सुबेदी र लावतीमाथ गरिएको कारवाही विरुद्ध भोलि निर्वाचन आयोगमा उजुरी गर्न जाने संस्थापन इतर पक्षका केन्द्रीय सदस्यले जानकारी दिए ।

    पार्टी महामन्त्री डा. धवलशम्शेर राणाको संयोजनमा उनकै टंगाल स्थित सचिवालयमा संस्थापन इतर नेताहरु भेला भएका हुन् । भेलामा १० पदाधिकारीसहित र ५० केन्द्रीय सदस्यको सहभागीता रहेको एक नेताले जानकारी दिए ।

    पार्टीका पूर्व अध्यक्ष तथा निर्देशक समितिका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीको भेलामा सहभागीता थियो । यस्तै, उपाध्यक्षहरु विक्रम पाण्डे, मुकुन्दश्याम गिरी, महामन्त्री डा. राणा, कुन्ती शाही, प्रवक्ता (हटाइएका) सगुनसुन्दर लावती, सहायक प्रवक्ता प्रवीनकुमार थोकर तामाङ, सहायक महामन्त्री प्रेम बलायर, ऋषिराज देवकोटा, सैरेन्द्र बहादुर शाह लगायत भेलामा सहभागी थिए ।

    संस्थापन इतरले आफ्नै पक्षमा रहेको ठानेका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र भने आजको भेलामा सहभागी भएनन् । उनी पार्टीको गुट बैठकहरुमा प्राय अनुपस्थित रहने गरेका छन् । वैचारिक रुपमा भने मिश्र डा. धवलसम्शेर राणासँग नजिक छन् ।

    याे पनि पढ्नुहाेस् ।

    राप्रपाको अनुशासन आयोगमा नवराजको स्थान रोशनले लिइन्, सगुन लावती प्रवक्ताबाट हटाइए

  • राप्रपाको अनुशासन आयोगमा नवराजको स्थान रोशनले लिइन्, सगुन लावती प्रवक्ताबाट हटाइए

    राप्रपाको अनुशासन आयोगमा नवराजको स्थान रोशनले लिइन्, सगुन लावती प्रवक्ताबाट हटाइए

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अनुशासन आयोग अध्यक्षमा रोशन कार्की नियुक्त भएकी छन् । पार्टी अध्यक्ष राजेन्द्र लिङदेनले उनलाई आज आयोग अध्यक्षमा मनोनयन गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

    यसअघि अनुशासन आयोग अध्यक्ष नवराज सुबेदी थिए । उनी राप्रपा परित्याग गर्दै राजसंस्था पुनस्र्थापनका लागि संयुक्त जनआन्दोलनको नेतृत्व गर्न गएपश्चात यो पद खाली रहेको थियो । सुबेदीले राप्रपामा औपचारिक राजीनामा भने बुझाएका छैनन् । उनले पत्रकार सम्मेलनमा आफू राप्रपाबाट अलग भएको बताएका थिए ।

    यस्तै, अध्यक्ष लिङदेनले पार्टीको प्रवक्ताबाट सगुन लावतीलाई बर्खास्त गरेका छन् । उनले निरन्तर पार्टीको हित विपरितका क्रियाकलापहरु गर्दै आएको आरोप लगाइएको छ ।