Category: राष्ट्रिय स्वतन्त्र पार्टी

  • चुनौतीका बाबजुद गणतन्त्र नै सर्वोत्तम व्यवस्था हो : रास्वपा

    चुनौतीका बाबजुद गणतन्त्र नै सर्वोत्तम व्यवस्था हो : रास्वपा

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चुनौतीका बाबजुद पनि गणतन्त्र नै सर्वोत्तम व्यवस्था भएको बताएको छ । पार्टी कार्यवाहक सभापति डोल प्रसाद अर्यालले गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै गणतन्त्र नेपालले रोजेको र स्थापित गरेको सर्वोत्तम शासन व्यवस्था भएको बताए ।

    उनले यसको मर्म र मूल्यमाथि भइरहेको प्रहारप्रति भने गहिरो चिन्ता व्यक्त गरेका छन् । विज्ञप्तिमा भनिएको छ, “नागरिक सर्वोच्चता, विधिको शासन र समावेशी लोकतन्त्र गणतन्त्रका आधारभूत स्तम्भ हुन् तर दलतन्त्रको एकाधिकार र सीमित नेताहरूको वरिपरि केन्द्रित शक्ति अभ्यासले ती स्तम्भहरू कमजोर बनेका छन्।”

    नागरिकको असन्तुष्टि र निराशा बढ्दै जाँदा त्यसले व्यवस्थाको स्थायित्वमा समेत नकारात्मक असर पार्ने चेतावनी पार्टीले दिएको छ।

    रास्वपाले प्रमुख दलहरूले संविधान संशोधनको मुद्दालाई रणनीतिक रूपमा ओझेलमा पारेको आरोप लगाएको छ।

    गणतन्त्र दिवसकै सन्दर्भमा रास्वपाले आफ्ना सभापति रवि लामिछानेमाथि भएको ‘राजनीतिक प्रतिशोध’को घटनालाई गणतान्त्रिक मूल्य-मान्यतामाथिको गम्भीर प्रहारका रूपमा चित्रण गरेको छ। ‘राज्यका तीनै अंगबाट रवि लामिछानेमाथि भएको संगठित हमला राज्य संरचनामाथि नै चरम अविश्वास पैदा गर्ने कार्य हो,’ विज्ञप्तिमा भनिएको छ।

    कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाबीचको सन्तुलनलाई बेवास्ता गर्दै झुटा मुद्दाहरू लगाइनु र तिनको आडमा न्यायालयबाट कार्यपालिकाको अभिष्ट अनुसार निर्णय हुनु विधिको शासनमाथिको आक्रमण भएको रास्वपाको ठहर छ। पार्टीले यस्ता घटनाले राजनीतिक प्रतिस्पर्धालाई धरापमा पार्ने र नागरिकमा भय सिर्जना गर्ने उल्लेख गरेको छ।

  • रास्वपा प्रवक्ता भन्छन्- राजनीतिक सुझबुझ देखाउँछौँ, बजेट भने रोक्दैनौँ

    रास्वपा प्रवक्ता भन्छन्- राजनीतिक सुझबुझ देखाउँछौँ, बजेट भने रोक्दैनौँ

    काठमाडौं । गृहमन्त्रीको राजीनामाको अडानमा रहेको रास्वपाले भोलि बजेट भने नरोक्ने बताएको छ । रास्वपा प्रवक्ता मनिष झाले संसद् भवनबाहिर सञ्चारकर्मीमाझ बजेट भने नरोक्ने बताए ।

    उनले भने, ‘प्रश्न उठेपछि त्यही सदस्यले जवाफ दिँदैन । त्यसको जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्छ । जवाफ दिनुपर्छ । उहाँहरूले हामीलाई यो कुरा माग राख्न पाउनुहुन्न भन्न मिल्दैन । भोलि राजनीतिक रूपमा संवैधानिक प्रक्रिया हो बजेट त्यसलाई हामी रोक्दैनौँ । त्यति राजनीतिक सुझबुझ हामी देखाउँछौँ ।’

    उनले बजेट नरोकेर आफूहरू राजनीतिक संस्कार देखाउने बताए ।

  • रास्वपा सांसदको आरोप- सभामुखले हामीसँग बार्गेनिङ गरे (भिडिओ)

    रास्वपा सांसदको आरोप- सभामुखले हामीसँग बार्गेनिङ गरे (भिडिओ)

    काठमाडौं । रास्वपा सांसद गणेश पराजुलीले सभामुखले सदनमा सत्तापक्षलाई बोल्न दिनको लागि विपक्षी दलसँग बार्गेनिङ गरेको आरोप लगाएका छन्।

    भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै विपक्षी दलले अवरोध गरेपछि सभामुखले आज दलीय आधारमा बोल्न तयार भए मात्रै बोल्न समय दिने नभए नदिने बताएका थिए।

    आज प्रतिपक्षलाई पनि बोल्न दिएनन्। बैठक स्थगित भएपछि संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, ‘सार्वभौम सदनमा जनताको आवाज लिएर उपस्थित भएको प्रतिपक्षलाई बोल्न समय उपलब्ध गराइएन। सत्तापक्षलाई बोल्न दिने भए दिने नत्र नदिने भनेर सभामुखले पनि बार्गेनिङ गर्नुभयो। त्यसले लज्जाबोध भएको छ।’

    उनले सदनमा प्रतिपक्षले बोल्न पाउनुपर्ने भएपनि नदिएको बताए। उनले थपे, ‘हाम्रो माग यथावत् छ। गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानबिन आयोगको नभई सदन चल्न दिँदैनौँ।’

  • गृहमन्त्रीमाथि मानव तस्करीमै छानबिन हुनुपर्छ : सांसद पराजुली (भिडिओ)

    गृहमन्त्रीमाथि मानव तस्करीमै छानबिन हुनुपर्छ : सांसद पराजुली (भिडिओ)

    काठमाडौं । रास्वपा सांसद गणेश पराजुलीले भिजिट भिसा प्रकरण भ्रष्टाचारको मात्रै नभई मानवतस्करीको विषय भएकाले गम्भीर भएर छानबिन हुनुपर्ने बताएका छन् ।

    मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै पराजुलीले मानवतस्करी भइरहेको उजुरीको अनुसन्धान नगरेर गृह प्रशासनले त्यसलाई प्रश्रय दिएको आरोप लगाए ।

    अध्यागमनबाट भिजिट भिसामार्फत नेपालीहरूलाई बेच्ने प्रकरणमा राज्यको निकायहरू नै जोडिएकाले गृहमन्त्री रमेश लेखकको राजीनामा केबल नैतिकताको विषयमात्रै हुन नसक्ने उनको जिकिर छ ।

    ‘भिजिट भिसामार्फत मानवतस्करीको विषयमा अख्तियारले छानबिन प्रक्रिया अघि बढाएर अध्यागमनका कर्मचारीलाई पक्राउ गर्न खोज्दा गृह मन्त्रालयले दोषी देखिएका कर्मचारी बचाउन रातारात सरुवा गरेको छ’, उनले भने ।

    गृहमन्त्री लेखकमाथि प्रशस्त शंका गर्ने ठाउँ भएकाले अनुसन्धानको घेरामा ल्याउनुपर्ने उनको भनाइ छ । पराजुलीले उक्त प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने पनि दोहोर्‍याए ।

  • ‘प्रधानमन्त्रीले जवाफ दिनुपर्छ, छानबिनमा रहनुपर्ने गृहमन्त्रीले राजीनामा दिने हो सदनमा बोल्ने होइन’

    ‘प्रधानमन्त्रीले जवाफ दिनुपर्छ, छानबिनमा रहनुपर्ने गृहमन्त्रीले राजीनामा दिने हो सदनमा बोल्ने होइन’

    काठमाडौं । रास्वपा सांसद शिशिर खनालले भिजिट भिसा प्रकरणमा प्रधानमन्त्री केपी ओलीले जवाफ र गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने बताएका छन्।

    प्रतिनिधि सभाको बैठक स्थगित भएपछि संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै गृहमन्त्री अनुसन्धानको घेरामा आउनुपर्ने बताए।

    उनले भने, ‘अब उहाँले नै स्थापित गर्नुभएको संसदमा बोलेको कुरा हो, कुनै पनि प्रकरणमा कुरा उठेपछि राजीनामा दिनुपर्छ भनेर, अब यसमा प्रधानमन्त्रीले जवाफ र गृहमन्त्रीले अनुसन्धानमा सघाउनुपर्छ। हामी गृहमन्त्रीलाई जवाफ दिन दिँदैनौँ। उहाँ अब छानबिनमा रहनुपर्छ।’

    उनले सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा जोडिएको विषय भएकाले उच्चस्तरीय आयोग बनाउनुपर्ने अडान दोहोर्‍याए।

  • गृहमन्त्रीमाथि उच्चस्तरीय छानबिन आयोग नबनेसम्म संसद चल्न नदिने रास्वपाको घोषणा (भिडिओ)

    गृहमन्त्रीमाथि उच्चस्तरीय छानबिन आयोग नबनेसम्म संसद चल्न नदिने रास्वपाको घोषणा (भिडिओ)

    कठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्रीमाथि छानविन गर्न उच्चस्तरीय छानबिन आयोगको माग गरेको छ । आज संसद वैठकमा रास्वपाले सो माग गरेको हो ।

    रास्वपा सांसद शिशिर खनालले आयोग गठन नभएसम्म संसद चल्न नदिने घोषणा गरे ।

    खनालले राजनीतिक संरक्षणमा नै विमानस्थलमा लुटको धन्दा चलाइएको आरोप लगाए ।

    उनले विवादित पृष्ठभूमिको सहसचिवलाई गृहमन्त्रीले किन अध्यागमनमा पठाएको ? त्यहाँ गृहमन्त्रीको पनि स्वार्थ जोडिएको हुनसक्ने भएकाले अनुसन्धान हुनुपर्ने बताए ।

    उनले भने, ‘कुनै निकायले प्रमाण जुटाउँदैछ भने प्रमाण जुटाउन दिने कि प्रमाण नष्ट गर्न उसलाई सरुवा गर्ने ? अनुसन्धान कर्मचारीमात्रै नभई गृहमन्त्रीको पनि गर्नुपर्छ । तर, प्रहरीबाट हुने अनुसन्धानमा हामीलाई शंका छ । विगतमा नक्कली भुटानी शरणार्थी प्रकरण दबाइएको छ । सहकारीको मुद्दामा रवि लामिछानेलाई तीन महिनामा हिरासतमा राखियो तर सत्ता पक्षका सांसदहरूलाई बोलाएर चिया खुवाएर पठाएको छ। अनि हामीले कसरी विश्वास गर्ने निष्पक्ष हुन्छ भनेर ?’

  • गृहमन्त्रीको राजीनामा नआएसम्म सदन चल्न नदिने रास्वपाको सङ्केत, बजेट भाषण के होला ?

    गृहमन्त्रीको राजीनामा नआएसम्म सदन चल्न नदिने रास्वपाको सङ्केत, बजेट भाषण के होला ?

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आज बस्ने संसद बैठकमा गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै सदन अवरोध गर्ने तयारी गरेको छ । अन्य प्रतिपक्षी दलहरूले समेत गृहमन्त्रीको राजीनामाको माग चर्काउने भएका छन् ।

    रास्वपाको हिजो बसेको संसदीय दलको बैठकले आजको संसद बैठकमा गृहमन्त्री लेखक विरुद्ध कडा रुपमा प्रस्तुत हुने निर्णय गरेको थियो । यसबमोजिम आजको संसद बैठक अवरोध गर्ने तयारी रहेको पार्टी स्रोतले बतायो ।

    स्रोतले भन्यो- ‘गृहमन्त्रीको राजीनामा हाम्रो बटमलाइन हो । राजीनामा नआएसम्म सदन सुचारु हुँदैन ।’

    रास्वपाको यो अडानले जेठ १५ मा हुने बजेट भाषण पनि प्रभावित बन्न सक्ने देखिएको छ । सत्ता गठबन्धन दलहरूले गृहमन्त्री लेखकको राजीनामाको विषय उछालेर विपक्षी दलहरूले बजेट रोक्न खोजेको आशंका गरेका छन्।

    संवैधानिक बाध्यताअनुसार सरकारले बिहीबार बजेट ल्याउनै पर्छ। तर, विपक्षी दलहरूले गृहमन्त्री नै मानव तस्करीमा संलग्न भएको भन्दै राजीनामा मागेका हुन ।

    यसअघि रास्वपाका सभापति रवि लामिछाने गृहमन्त्री हुँदा सहकारीको विषय उठाउँदै लेखकले ‘प्रश्न उठेपछि नैतिकताको आधारमा राजीनामा दिनुपर्ने’ बताएका थिए। त्यो आफ्नो अभिव्यक्ति उनलाई अहिले भारी परेको छ।

    रविमाथि छानबिनको माग राख्दै कांग्रेस सदनमा जुन हदसम्म गएको थियो भोलिबाट सुरु हुने बैठकमा रास्वपाले त्यसको बदला लिने तयारी गरेको छ।

    गृहमन्त्री भने यसबारे सदनमा जवाफ दिँदै सबै दोष कर्मचारीलाई थोपरेर पन्छिने दाउमा छन्। त्यसको प्रतिवाद रास्वपाले कडा रूपमा गर्दै छ। तर बजेट ल्याउनुपर्ने बाध्यताले सरकार दबाबमा छ।

    रास्वपाले प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० सहित सबै विपक्षी दलहरूलाई पनि आफूहरूको अडानमा साथ दिन आग्रह गरेको छ ।

    प्रवक्ता मनिष झाद्वारा विज्ञप्तिमा भनिएको छ, ु।।।प्रश्न उठेपछि राजीनामा दिएर छानबिनमा सघाउनु पर्छ भन्ने दृष्टान्त अनुरूप यथाशीघ्र गृहमन्त्रीको पदबाट राजीनामा दिएर निष्पक्ष अनुसन्धानलाई सघाउन माग गरेको सम्बन्धमा सदनमा यसको कार्यान्वयनका लागि आवश्यक प्रभावकारी कदम चाल्न संसदीय दललाई निर्देशन दिने निर्णय गरेको छ ।ु

    माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले आफ्नो पार्टीले पनि गृहमन्त्रीको राजीनामा मागिसकेको बताए।

    उनले भने, ‘प्रश्न उठेपछि राजीनामा दिनुपर्छ भनेर हामीले भनिसकेका छौँ। अब भोलिको बैठकमा कसरी प्रस्तुत हुने छलफलमा छौँ।’

    गृहमन्त्रीको विषयलाई लिएर सदनमा प्रस्तुत हुनेबारे सबै प्रतिपक्षसँग सल्लाह गरेर निष्कर्षमा पुग्ने माओवादीका सचिव देवेन्द्र पौडेलले बताए।

    उनले भने, ‘विपक्षी दलहरूसँग कुरा हुँदैछ, भोलि बैठक बस्नुअघिसम्म हामी निष्कर्षमा पुग्छौँ।’

    तर सत्तापक्षले विपक्षी दल बजेट रोक्न लाग्यो भनेर आरोप लगाउँदैछन् नि ? भन्ने नेपाल प्रेसको जिज्ञासामा उनले भने, ‘हामीले बजेट रोक्ने भनेका छैनौँ। प्रश्न उठेपछि राजीनामा दिनुपर्छ भनेर गृहमन्त्री आफैँले बोल्नुभएको छ नि। त्यो अरूलाई लागू हुने भएपनि उहाँलाई चाहिँ नहुने भन्ने हुँदैन।’

    उनले आफूहरूले गृहमन्त्री संलग्न नै हुनुहुन्छ नभनेको भन्दै प्रश्न उठेपछि छानबिन सहजीकरण गर्नको लागि राजीनामा दिनुपर्छ भन्ने अडान राखेको सुनाए।

    राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले गृहमन्त्री लेखकको र प्रधानमन्त्री केपी ओलीको राजीनामा माग्दै सदन अवरोध गर्ने जनाएका छन्।
    गोकर्णेश्वरमा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनेका थिए, ‘हामी भ्रष्टाचारविरुद्धमा एकजुट छौँ। एकजुट भइसकेपछि चाहे जोसुकैलाई होस् हाम्रो साथ रहन्छ। भिजिट भिसा प्रकरणबारे हामी पनि १३ गतेको संसदमा जवाफ माग्छौँ। गृहमन्त्री मात्र होइन, प्रधानमन्त्रीको पनि राजीनामा माग्छौँ।’

    यद्यपि, पार्टीका उपाध्यक्ष बुद्धिमान तामाङले भने अहिलेसम्म पार्टीमा भोलिको सदनमा प्रस्तुत हुने रणनीतिबारे औपचारिक निर्णय नभएको बताए। उनले भने, ‘कुरा उठेका छन्, यद्यपि, अहिलेसम्म कुनै निर्णय भएको छैन।’

    गृहमन्त्रीलाई कांग्रेसको ‘क्लिनचीट’

    विपक्षी दलहरूले गृहमन्त्री राजीनामा माग्दै यो प्रकरणलाई चर्काउने तयारी गरिरहेको बेलामा कांग्रेसले भने क्लिनचिट दियो। सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता डा। प्रकाशशरण महतले विपक्षले संसद् अवरोध गर्नुपर्ने कुनै आधार नरहेको जिकिर गरे।

    उनले भने, ‘गृहमन्त्रीको विषयलाई लिएर संसद् अवरोध गरिराख्नुपर्ने कुनै आधार नै छैन । न उहाँ छानबिनको दायरामा हुनुहुन्छ न कसैले उहाँलाई ठोस रूपमा आरोपित गरेर आरोप दर्ता गरेको अवस्था छ । केही पनि छैन । विनाआधार अफवाहकै आधारमा संसद् अवरोध हुन थाल्यो भने त कुनै अर्थ हुँदैन ।’

    प्रवक्ता डा।महतले यस्ता अफवाहको सिकार कांग्रेसकै नेताहरू समेत भएको बताए । बैठकमा गृहमन्त्री रमेश लेखकले उक्त प्रकरणको सविस्तार व्याख्या गर्दै कुनै संलग्नता नरहेको प्रष्टीकरण दिएपछि कांग्रेस गृहमन्त्रीले राजीनामा दिनु नपर्ने निष्कर्षमा पुगेको थियो।

    त्यति मात्रै होइन, गृहमन्त्रीले राजीनामा दिनुपर्छ भन्ने शेखर कोइराला, राजेन्द्र बजगाईँ र सुनिल शर्मालाई स्पष्टीकरण सोध्नसम्मको प्रस्ताव बैठकमा भयो।

    एमाले भन्छ- राजीनामा माग्नु हतारो हुन्छ

    एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतम अहिले गृहमन्त्रीलाई सार्वजनिक रूपमा अभियोग मात्रै लागेको भएकाले विपक्षीले राजीनामा माग्नु उपयुक्त नहुने बताउँछन्।

    उनले भने, ‘संवैधानिक निकायहरूको अनुसन्धान र अभियोजनको क्रममा जारी छ। छानबिनलाई कमजोर बनाउने गरी अगाडि बढ्नु मनासिब देखिँदैन। त्यसबारे कोको संलग्न छन्, को छानबिनमा तानिन्छन् भन्ने अनुसन्धान हुन दिनुपर्छ।’

  • सर्वोच्चको फैसला अन्यायपूर्ण रहेको रास्वपाको निष्कर्ष, रविमाथि सरकारले नै संगठित अपराध गरेको आरोप

    सर्वोच्चको फैसला अन्यायपूर्ण रहेको रास्वपाको निष्कर्ष, रविमाथि सरकारले नै संगठित अपराध गरेको आरोप

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सर्वोच्च अदालतले सभापति रवि लामिछाने सम्बन्धी मुद्दामा दिएको पछिल्लो आदेशको कानूनी पालना गर्न बाध्य भएपनि विवेकका दृष्टिले अपूर्ण र अन्यायपूर्ण रहेको निष्कर्ष निकालेको छ ।

    प्रवक्ता मनिष झाले विज्ञप्ति जारी गर्दै सर्वोच्च अदालतबाटै स्थापित नजिरहरुको नजरअन्दाज गरी थुनामै राख्नुपर्ने आदेश दिइनु विधिको शासनप्रति आस्था राख्ने नागरिकहरुका लागि चिन्ताको विषय बनेको बताएका छन् ।

    विज्ञप्तिमा भनिएको छ, ‘मौलिक अधिकारसँग जोडिएको बन्दी प्रत्यक्षीकरणको निवेदनको सार्थक सम्बोधन नहुनु, ‘बेल सुनुवाई’ मा सीमित हुनपर्ने विषय मुद्दाको गुणदोषमै केन्द्रित हुनगई प्रमाण ऐन २०३१ को दफा २५ को प्रतिकुल हुने गरी प्रमाणको भार प्रतिवादीले नै बोक्न पर्ने आशय व्यक्त हुनु एवं सर्वोच्च अदालतबाटै स्थापित नजिरहरुको नजरअन्दाज गरी थुनामै राख्नुपर्ने आदेश दिइनु विधिको शासनप्रति आस्था राख्ने नागरिकहरुका लागि चिन्ताको विषय बनेको छ ।’

    सरकारद्वारा सहकारीको राष्ट्रव्यापी समस्याको समाधान नखोजी सम्बन्धित मुद्दाहरूमा चयनात्मक अभियोजन, फरक व्यवहार र समान प्रकृतिका मुद्दामा दलीय आबद्धत्ताको आधारमा विभेद भइरहेको यथार्थलाई राष्ट्रिय स्वतन्त्र पार्टीले ‘राजनीतिक प्रतिशोध’ को रुपमा चित्रित गर्दै आएको उल्लेख छ। रवि लामिछानेले संगठित अपराध गरेको नभई राज्यले नै लामिछानेमाथि संगठित अपराध गरिरहेको रास्वपाको निष्कर्ष छ ।

    दलतन्त्रको दोहन, राज्य संयन्त्रको अस्त्रीकरण लगायतका बेथिति एवं ‘प्रतिशोध विरुद्ध न्यायका लागि वृहत अभियान’ को अवधारणा पत्र अनुमोदन गर्दै अबका राजनीतिक मुद्दा देशविदेशमा रहेका आम नेपालीहरु माझ नै स्थापित गर्ने गरी अघि बढ्न बैठकले निष्ष्कर्ष निकालेको छ। उक्त अभियानका संयोजक सहकोषाध्यक्ष दीपक बोहरालाई तोकिएको छ।

  • रविविरुद्धको आदेशः सर्वोच्चको कथ्यमा लुकाइएका तथ्य

    रविविरुद्धको आदेशः सर्वोच्चको कथ्यमा लुकाइएका तथ्य

    पृष्ठभूमि

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मुद्दामा आदेश सुनाउने क्रममा सर्वोच्च अदालतले न्यायाधीशहरूको मानमर्दन हुनेखालका टिप्पणीहरू नगर्न ‘पूर्वसूचना’ दियो । सम्भवतः यो आदेशलाई जनमानस (खासगरि रविका समर्थक) ले सहज रूपमा ग्रहण गर्न नसक्नेप्रति न्यायमूर्तिहरू चिन्तित थिए, अन्यथा ‘हामीलाई गाली नगर है’ भनेर पहिल्यै डण्डा उज्याउनुपर्थेन ।

    न्यायालयबाट हुने कुनै पनि आदेश वा फैसलाले एकैचोटी सबैलाई खुशी बनाउन सक्दैन । हार्ने पक्ष नाखुस हुन्छ नै । आफ्नो पक्षमा फैसला आए ‘न्याय जीवित छ’ भन्ने र विपक्षमा आए ‘झोले न्यायाधीश, अदालत पैसामा बिक्यो…’ ह्यानत्यान भनेर कमेन्ट ठाेकिहाल्ने गलत परिपाटी सामाजिक सञ्जालमा झांगिइरहेको यथार्थ हो । फैसला चित्त नबुझ्दा न्यायाधीशहरूउपर तल्लोस्तरको गालीगलौज र ‘रिप’ को बौछारसमेत हुने गर्छ । फलतः अत्यधिक जनचासो भएको बहुचर्चित मुद्दाहरूबाट न्यायाधीशहरू नै पन्छिन वा भाग्न खोज्ने प्रवृत्तिसमेत देखिन थालेको छ । सम्भवतः यही माहोलले सर्वोच्चलाई न्यायाधीशको ‘मानमार्दन नगर्ने’ फर्मान जारी गर्न बाध्य पारेको हुनसक्छ ।

    सर्वोच्चले रविमाथि जे आदेश गरेको भए पनि सर्वस्वीकार्य नहुने निश्चित नै थियो । रविलाई थुनामा पठाउँदा अहिले जसरी विरोध र असन्तुष्टिका स्वरहरू सुनिएका छन्, यदि थुनामुक्त गरिदिएको भए अर्को तप्का (मूलत: कांग्रेस-एमाले निकट साइबर फौज) बाट आलोचनाकाे विष्फाेट हुन सक्थ्याे । यसप्रकार न्यायाधीशहरु खुकुरीकाे धारमा थिए ।

    यसको अर्थ अदालतले गर्ने आदेशमा कसैले असहमति नै जनाउन नमिल्ने भन्ने होइन । आखिर सबै आदेश त्रुटिहीन र न्यायसम्मत हुन्छन् भन्ने पनि छैन । अदालतमा न्यायको तराजु लिएर बस्नेहरू पनि भगवान होइनन्, मान्छे नै हुन् । उनीहरू पनि दबाब वा प्रभावमा पर्न सक्छन् । त्यसमा सबैभन्दा चनाखो भएर औंला उठाउने भनेको मिडियाले हो । एउटा जिम्मेवार मिडियाको हिसाबले अदालतका हरेक आदेशको हामी सम्मान गर्छौं, तर आदेशको अन्तर्वस्तुमा पसेर तार्किक एवम् तथ्यपरक विश्लेषण गर्ने दायित्व पनि हाम्रै हो ।

    झन् नेपालको न्याय प्रणाली यति विकृत भइसकेको छ कि न्यायाधीशहरूसमेत राजनीतिक पार्टीको कोटामा नियुक्त गर्ने परिपाटी सुरु भइसक्यो । फलानो न्यायाधीश फलानो पार्टीको भनेर सहजै कित्ताकाट गर्न सकिन्छ । एउटा अमूक पार्टीले ‘अवसर दिएका’ न्यायाधीशहरू कालान्तरसम्म सोही पार्टीप्रति बफादार नहोलान् भनेर कसरी ढुक्क हुने ? त्यो पनि यस्तो बेला, जब ‘आफ्नो पार्टी’ सत्ताको नेतृत्व गरिरहेको छ र आरोपी एक विपक्षी दलका प्रमुख हुन् ।

    अहिले रविको मुद्दामा फैसला गर्ने न्यायाधीशहरु पनि सत्तानिकट रहेको चर्चा छ । उनीहरुमध्ये एकजना त राजनीतिक भाडबण्डामा परेरै (अहिलेकाे एक सत्तारुढ पार्टीकाे काेटाबाट)  न्यायाधीस भएका हुन् । त्यसैले पनि रवि लामिछानेको मुद्दामा अदालतले ‘दूधको दूध, पानीको पानी छुट्यायो कि छुट्याएन’ भनेर न्यायिक विवेचना गरिनु अत्यावश्यक बनेकाे छ । यसो गर्दा न्यायमूर्तिहरूले आफ्नो मानहानि भएको पक्कै ठान्नु हुनेछैन । आखिर लोकतन्त्रमा प्रश्नभन्दा माथि कोही हुँदैन । कोही हुन खोज्छ भने त्यसलाई प्रश्नले नै बढार्छ ।

    परिदृश्य

    रवि-छविको मुद्दामा आदेश लेख्न न्यायाधीशहरूले ‘अस्वाभाविक’ ढिलाइ गर्दा विभिन्न शंका उब्जिए । शुक्रबार दिउँसो ३ बजे नै सुनुवाइ सकिएको थियो । आदेश आउँदा राति ९ बज्यो । करिब चार घन्टा त दुई न्यायाधीश (नहकुल सुवेदी र बालकृष्ण ढकाल) ढोका थुनेरै बसे ।

    यत्रो समय लगाएर न्यायाधीशहरू लम्बेतान आदेश लेख्नतिर लागे कि भन्ने अनुमान थियो, तर त्यस्तो पनि होइन रहेछ । आदेश संक्षिप्तमै आयो । नियमित अदालती अभ्यासमा ६ पेज आदेश लेख्न दुई न्यायाधीशलाई ६ घन्टा नलाग्ने अदालत स्रोत बताउँछ ।

    ‘आदेश बदर गर्दाको हकमा लामो व्याख्या गर्नुपर्ने भएकाले कहिलेकाहीँ अलि धेरै समय लाग्छ, तर सदरमा चाहिँ चाँडै नै हुन्छ’, स्रोतले भन्यो, ‘त्यसमाथि हेर्दाहेर्दैमा रहेको केसमा न्यायाधीशले पहिल्यै तयारी गरिसकेका हुन्छन् ।’

    आदेशकाे पर्खाइमा अदालत बाहिर बाक्लै भीड जम्मा भएको थियो । त्यो भीडलाई न्याय सम्पादनमा दबाब दिन गरिएको प्रदर्शनका रूपमा पनि अदालतले हेर्नसक्छ । उनीहरूले चाहेभन्दा फरक आदेश गर्नुपर्ने भएपछि न्यायाधीशहरूले ‘रात पार्न खोजेको’ एउटा आशंका गर्न सकिन्छ । तर रविका कानून व्यवसायीहरू यो मान्न तयार छैनन् ।

    ‘जति राति भए पनि आदेश नआइकन भीड  घट्नेवाला त थिएन’, एक वरिष्ठ अधिवक्ताले भने, ‘या त न्यायाधीशलाई सही आदेश लेखिरहेको छु भन्ने आत्मविश्वास नभएर हात काम्यो वा उनीहरू दबाब र द्विविधामा परे ।’

    दुईमध्ये एक न्यायाधीशको चेम्बरमा बसेर आदेश लेखिएको थियो । चेम्बरभित्र न्यायाधीशबाहेक एक इजलास अधिकृतमात्र थिए । यसरी आदेश लेख्न बस्दा न्यायाधीशले मोबाइल बोक्न नहुने वा अफ गर्नुपर्ने त्यस्तो कुनै आचारसंहिता छैन । इजलास अधिकृतलाई उनीहरूले यस्तो आदेश दिनसक्छन्, तर उनीहरू स्वयम्लाई मोबाइल प्रयोग गर्न कुनै रोकटोक नहुने अदालत स्रोतको भनाइ छ ।

    न्यायाधीशहरूले भनेबमोजिम इजलास अधिकृतले आदेश टाइप गरेका थिए । आदेश लेखिसकेर पनि अरु बेला जस्तो प्रवक्ताले तत्कालै सुनाएनन् । अदालत बाहिर रास्वपा समर्थक र मिडियाकर्मी व्यग्र पर्खाइमा थिए । सुरक्षाकर्मी बाक्लो संख्यामा तैनाथ गरिएको थियो । उनीहरूले समर्थकलाई अदालत परिसमा ढिम्किन नदिइकन बाटोपारि रोकेका थिए भने मिडियाकर्मीहरू सर्वोच्चको गेटको दुई साइडमा उभिएका थिए । सर्वोच्चको पास बोकेर आएका सीमित सञ्चारकर्मीहरू प्रेसमिटका लागि प्रवक्ता अच्युत कुइँकेलको कार्यकक्षमा ढुकिरहेका थिए ।

    राति साढे ८ तिर आदेश लेखिसकिएको सन्देश आएपछि प्रवक्ता न्यायाधीशको चेम्बरतिर घस्रिए । त्यसपछि १५–२० मिनेटसम्म उनी आएनन् । योबीचमा दुवै न्यायाधीश अदालतबाट भीड छिचोल्दै बाहिरिए । उनीहरू सुरक्षित तरिकाले निस्किएको एकिन भइसकेपछि मात्रै प्रवक्ताले आएर आदेश वाचन गरेका थिए ।

    मुद्दाको अन्तर्य

    अब मूल विषय अर्थात् आदेशको अन्तर्यमा जाऔं । त्योभन्दा पहिले मुद्दालाई राम्ररी बुझौं ।

    धेरैले अहिलेको आदेशलाई बन्दी प्रत्यक्षीकरणसँग सम्बन्धितमात्रै ठानेका छन् । त्यसो होइन । बन्दी प्रत्यक्षीकरणसँगै उच्च अदालत बुटबलले गरेको थुनछेक आदेशको पुनरवलोकन पनि भएको हो । बन्दीको रिट त खारेज भयो नै, पुनरावेदनमा पनि रवि हारे । उनले अब मुद्दाको फैसला नहुँदासम्म थुनामा बस्नैपर्छ । साथै सर्वोच्चको यो नजिरले अन्यत्र रविविरुद्ध दायर भएका मुद्दाहरू पनि प्रभावित बन्ने स्थिति देखिन्छ ।

    अहिले आदेश भएको मुद्दा बुटवलको सुप्रिम सहकारी संस्थामा भएको रकम अपचलनसँग सम्बन्धित हो । यस सहकारीबाट १० करोड ९९ लाख ३६ हजार रूपैयाँ गैरकानूनी रूपमा गोर्खा मिडियामा लगिएको आरोपमा रविलाई समेत प्रतिवादी बनाइएको छ । रवि गोर्खा मिडियाका प्रवन्ध निर्देशक थिए ।

    यो मुद्दामा सुरुमा रवि जोडिएका थिएनन् । उनीविरुद्ध कुनै उजुरी पनि थिएन । एमाले सांसद सूर्य थापाको संयोजकत्वमा बनेको संसदीय छानबिन समितिले रविलाई पनि दोषी देखाएर प्रतिवेदन दिएपछि उनीमाथि प्रहरीले नयाँ उजुरी माग गरी पूरक मुद्दा हालेको हो ।

    यस प्रक्रियामा प्रहरीको कार्य निर्विवाद छैन । प्रहरी प्रतिवेदनमा उजुरीकर्ताको रूपमा नाम उल्लेख गरिएका तीन जनाले आफूहरूले रविविरुद्ध कुनै उजुरी नदिएको बताएका छन् । आदेश आइसकेपछि पनि एकजनाले आफ्नो नाम मुछिएकोमा आपत्ति जनाएका छन् ।

    थुनछेक बहसपछि जिल्ला अदालत रूपन्देहीले रविलाई १ करोड धरौटीमा रिहा गरेको थियो, तर यो आदेशलाई दुवै पक्षले चित्त बुझाएनन् । धरौटी धेरै भएको भन्दै रवि र थुनामै राख्नुपर्ने भन्दै सरकारी पक्षले उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा पुनरावेदन गरे । उच्चले जिल्लाको फैसला उल्टाउँदै रविलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश गर्‍यो ।

    उच्चको आदेशविरुद्ध रविले चैत २९ गते सर्वोच्चमा ‘पुनरावेदन’ (७३ नम्बर अन्तर्गतको निवेदन) दिए । फेरि वैशाख ७ गते उनकी पत्नी निकिताले बन्दी प्रत्यक्षीकरणको रिट हालिन् । यहाँनेर बन्दी प्रत्यक्षीकरणको रिटको रणनीतिकरूपमा उपयाेग गरिएकाे देखिन्छ । बन्दी प्रत्यक्षीकरण भनेको कोही व्यक्तिलाई प्रहरीले गैरकानूनी रूपमा थुनामा राखिएको अवस्थामा तत्काल रिहाइका लागि हालिने हो ।

    हालै राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र बन्दी प्रत्यक्षीकरणको रिटबाट छुटेका थिए । रविका हकमा उच्च अदालतले नै उनलाई थुनामा राख्न आदेश दिइसकेकाे हुँदा बन्दी प्रत्यक्षीकरण रिट बलियो थिएन । सरकार र प्रहरीले रविलाई प्रक्रिया नपुर्याइ पक्राउ गरिएकाे भन्दै उनलाई रिहाइकाे माग निकिताले गरेकी थिइन् । पक्राउ गर्न अस्वाभाविक हतारो अवश्य देखाएका हुन्, तर एक–दुई दिन ढिला भए पनि उनी थुनामा त जानैपर्थ्यो ।

    बन्दी प्रत्यक्षीकरणबाट रवि छुट्दैनन् भन्ने उनका वकिलहरूलाई थाहा नभएको अवश्य होइन । यसको रणनीतिक उद्देश्य चाहिँ उच्चकाे आदेशमाथि गरिएकाे पुनरावेदनको सुनुवाइ अगाडि सार्ने थियो । माथिल्लाे अदालतमा पुनरावेदनमा गएपछि त्यसको छिनोफानो हुन लामो समय लाग्छ । पेशी तोक्न ढिलाइ र तोकिए पनि स्थगित हुने श्रृंखला लामो जानसक्छ । बन्दी प्रत्यक्षीकरणमा जाँदा भने तत्कालै पेशी तोकेर सुनुवाइ गरिहाल्नुपर्छ । बन्दीमा गइसकेपछि ७३ नम्बरको निवेदन (पुनरावेदन) लाई पनि सँगै राखेर हेरिन्छ । यस्तोमा बन्दी प्रत्यक्षीकरण खारेज भए पनि उच्चले गरेको आदेश सर्वोच्चले बेरितको ठहर्यायो भने आरोपी स्वतः थुनामुक्त हुनसक्छ ।

    रविलाई हतारिएर पक्राउ गर्दा प्रहरीले केही प्रक्रियागत त्रुटि गरेकाले अदालतले बन्दी प्रत्यक्षीकरणको रिट स्वीकार गरेको हो । अन्यथा यस्तोमा रिट दरपीठ हुनसक्थ्यो ।

    आदेश- असहमति

    सर्वोच्चको आदेशमा १९ बुँदा छन्, जसमध्ये ७ देखि १४ बुँदासम्ममा रविलाई थुनामै राख्नुपर्ने आधार र तर्कहरू पेश गरिएका छन् । ती कति बलिया छन् त ? बुँदागत रूपमै चर्चा गरौं ।

    सातौं बुँदा

    यस बुँदामा प्रतिवादीहरू (रविसमेत) ले सहकारी ठगी तथा संगठित अपराध गरेकाले कानूनबमोजिम कारबाही गरी पाउँ भनी किटानी जाहेरी परेको उल्लेख छ । यसो भनिरहँदा दुइवटा कुरालाई अदालतले नजरअन्दाज गर्‍यो ।

    पहिलो- उजुरी स्वतःस्फुर्त थिएन । संसदीय छानबिन समितिको प्रतिवेदन आइसकेपछि सरकारको निर्देशनमा प्रहरीले उजुरी दिन लगाएको हो । अर्थात् मुद्दाको उठान नै कृत्रिम ढंगबाट भएको थियो ।

    दोस्रो- जाहेरीकर्ता भनिएका तीनजनाले आफूहरूले रविको नाम कतै किटान नगरेको र सहकारीमा डुबेको पैसा फिर्ताका लागि दिएको सादा उजुरीलाई प्रहरीले रविविरुद्ध दुरूपयोग गरेको भनेर सार्वजनिक रूपमा नै बयान दिएका छन् । न्यायाधीशहरूले यसलाई नोटिसमा लिएनन् । प्रहरीले रविविरुद्ध मुद्दा हाल्न कागजात किर्ते गरेको आरोप लागेको छ, तर न्यायमूर्तिले किन हो यसलाई महत्व दिएनन् । रविका कानून व्यवसायीले पनि बहसमा यो विषयलाई त्यति चर्काउन सकेका थिएनन् ।

    आठाैं बुँदा

    यस बुँदामा गोर्खा मिडिया स्थापना भएकै दिन रवि र कम्पनीबीच एमओयू भएको र त्यसमा उनले १५ प्रतिशत शेयर धारण गर्ने व्यहोरा उल्लेख गरिएको हुँदा उक्त कम्पनीको व्यवस्थापनमा स्थापनाकालदेखि नै रविको संलग्नता पुष्टि हुने उल्लेख छ । रवि सुरुदेखि गोर्खा मिडियाको व्यवस्थापनका हिस्सा थिए भन्ने नयाँ वा विवादित तथ्य होइन । उनी ‘स्वेट शेयर’ लिएर व्यवस्थापनमा सहभागी भएका हुन् । कागजी रूपले गोर्खा मिडियाको व्यवस्थापनमा रहे पनि गोर्खा मिडियामा उनको कुनै पनि आर्थिक लगानी भएको थिएन ।

    रविले गोर्खा मिडियाबाट निस्किँदा आफ्नो सेयर फिर्ता गरिदिए ।  उनले आपसी नेगोसिएसनमा तय भएको मासिक तलबबाहेक गाेर्खा मिडियाबा६ कुनै पनि अतिरिक्त व्यक्तिगत आर्थिक लाभ लिएका थिएनन् । यो महत्वपूर्ण तथ्यलाई न्यायाधीशहरुले बेवास्ता गरेका छन् ।

    नवौं बुँदा

    २०७७/०७/०२ देखि २०७९/०३/०१ सम्म रवि गोर्खा मिडियामा रहँदा उक्त कम्पनीमा सहकारी संस्थाबाट विभिन्न मितिमा पटक-पटक गरी विभिन्न परिमाणमा रकम गएको आदेशको नवौं बुँदामा उल्लेख छ । सोमध्ये रवि लामिछानेकै नाममा सहकारी संस्थाबाट दुई करोड रूपैयाँ कर्जा प्रवाह भएको पनि जनाइएको छ ।

    सहकारीबाट रविका नाममा पैसा जानु उनको खिलाफको एउटा महत्वपूर्ण तथ्य हो, तर उत्तिकै महत्वपूर्ण विषय भनेको रवि आफैंले निवेदन दिएर वा माग फाराममा हस्ताक्षर गरेर निकालेका हुन् कि उनको नाममा रकम निकासामात्र गरिएको हो भन्ने पनि हेरिनुपर्थ्यो । कांग्रेस महामन्त्री गगन थापाले रवि आफैंले सहकारीबाट रकम निकाल्न माग फारम भरेको प्रमाण आफूसँग रहेको संसद बैठकमै बताएका थिए, तर कहिल्यै देखाउन सकेनन् ।

    रविले नै निवेदन दिएर पैसा निकालेको प्रमाण फेला नपरेको भनेर संसदीय समितिको प्रतिवेदनमा नै स्वीकार गरिएको छ । समितिका सभापति सूर्य थापाले रविले सहकारीबाट पैसा ननिकालेको भनेर विभिन्न मिडियामा अन्तर्वार्ता दिएका छन् । यदि कुनै व्यक्तिले माग नगरिकन उसको नाममा ऋण प्रवाह गरिएको छ भने दिने पक्ष (सहकारीको सञ्चालक समिति) भागीदार पूर्ण हुनुपर्ने होइन र ?

    १० औं बुँदा

    यो बुँदामा रविले गोर्खा मिडियामा सहकारी संस्थाबाट आएको रकमका बारेमा आफूलाई थाहा नभएको बताए पनि उनको हस्ताक्षरबाट सहकारीलाई ४० लाख ९२ हजार रूपैयाँ भुक्तानी गरेको प्रमाण भेटिएको जनाइएको छ । यो पहिले नै मिडियाले बढाइचढाइँ गरेर लेखेको विषय हो । आफूले हस्ताक्षर गरेर राखेको चेकमा रकम उल्लेख गरेर सहकारीलाई ऋण तिरिएको हुनसक्ने बयान रविले दिएका थिए ।

    एउटा कम्पनीको प्रवन्ध निर्देशकले आवश्यक ठाउँमा चेक काटेर भुक्तानी गर्ने नियमित काम र जिम्मेवारीमा पर्छ । आफू अनुपस्थित हुने अवस्थामा चेकमा सही गरेर छोडिदिने चलन पनि हुन्छ । साथै कम्पनीको प्रमुखले ‘फलानो ठाउँमा तिर्नु छ, चेक काटिदिनुस् है’ भनेपछि प्रवन्ध निर्देशकले नाइनास्ती गर्न व्यावहारिक रूपमा मिल्दैन ।

    रकम भुक्तानी गरेकै कारण ठगी प्रमाणित नहुने एक तटस्थ कानून व्यवसायी बताउँछन् ।

    उनी भन्छन्, ‘रविले सहकारी ठगेकाे आशंका गर्नलाई त पैसा निकालेको प्रमाण चाहिन्छ, भुक्तानी गरेको होइन । रविलाई सहकारीबाट ऋण लिइएको थाहा थियो भन्ने यसबाट अनुमान गर्न सकिएला, तर कानूनी रूपमा उनलाई दोषी मान्न भने यसले केही पनि मद्दत गर्दैन ।’

    मुद्दालाई नजिकबाट अध्ययन गरेका ती कानून व्यवसायीले थपे, ‘जीबीले सहकारीबाट ल्याएको पैसा गोर्खा मिडियामा मात्र होइन, अरु कैयौं ठाउँमा खर्च गरेका छन् । उनका अरु कम्पनीमा पनि पैसा गएको छ । अन्य कम्पनीमा छानबिनै नहुने, तर रविलाई चैं मुख्य अपराधी झैं जेल कोच्ने कुरा नै स्वाभाविक देख्दिनँ ।’

    ११ औं बुँदा

    रविले कम्पनीमा नियुक्ति पाउनु अगाडि नै सञ्चालक समितिको बैठकमा कार्यकारी निर्देशकको हैसियतले उपस्थित भएको र उनीसहित तीनजना (जीबी र छवि) मध्ये कुनै एकको हस्ताक्षरबाट खाता सञ्चालन गर्ने भनी निर्णय गरेको यस बुँदामा उल्लेख छ । सोहीअनुसार खोलिएको खातामा सहकारीबाट पटक-पटक रकम आएको देखिँदा सहकारी संस्थाबाट रकम लैजाने गरी भएको आर्थिक कारोबारमा रवि प्रवन्ध निर्देशक हुनुपूर्वदेखि नै संलग्न भएको ठहर गरिएको छ ।

    सञ्चालक समितिले तीनजनाको सही चल्ने गरी खाता खाेल्ने निर्णय गर्नु कुनै गैरकानूनी काम भएन । यदि सहकारीबाट गाेर्खा मिडियामा रकम ल्याउने भनेर सञ्चालक समितले निर्णय गरेकाे भए त्याे गैरकानूनी हुन्छ । गोर्खा मिडियाको सञ्चालक समितिको कुनै पनि बैठकले सहकारीबाट पैसा ल्याउने निर्णय गरेको पाइ‌दैन । रवि आफैंले एकपटक पत्रकार सम्मेलनमा आफू गोर्खा मिडियामा हुँदा बोर्ड बैठकले गरेको निर्णयहरूको ठेली नै बोकेर आएका थिए । बोर्ड बैठकले निर्णय नगरेको विषयहरूमा रविलाई के आधारमा जिम्मेवार ठहर्याउने भन्ने प्रश्न उठ्छ । रवि प्रवन्ध निर्देश हुनुपूर्व नै गाेर्खा मिडियाकाे आर्थिक काराेवारमा संलग्न थिए भनेर मात्रै केही पनि प्रमाणित हुँदैन । मुख्य कुरा सहकारीबाट पैसा ल्याउने कुनै पनि निर्णयमा उनले हस्ताक्षर गरेकाे भेटिनुपर्याे । जुन अहिलेसम्म भेटिएकाे छैन ।

    १२ औं बुँदा

    यस बुँदामा भनिएकाे छ कि गोर्खा मिडियामा जाँदा रविले १ करोड ८० लाख रूपैयाँ बराबरको शेयर खरिद थिए । यो शेयर आफ्नो गुडविलबापत निःशुल्क (जसलाई प्रचलित भाषामा स्वेट शेयर भन्ने गरिएको छ) रूपमा पाएको रविले बताउँदै आएका छन् । यसमा  अदालतले विश्वास गरेन ।  निःशुल्क शेयर प्राप्त गरेको भन्ने रविको भनाइलाई मिसिलमा संलग्न प्रमाणको हवाला दिँदै इजलासले अस्वीकार गरेको छ ।

    आदेशमा भनिएको छ, ‘निज प्रतिवादीले शेयर खरिद गर्न सहकारी संस्थाबाट कर्जा लिएको देखिन आउँछ । सो कर्जा लिँदा सहकारी ऐन-नियम र संस्थाको विनिमावलीलगायत प्रचलित कानूनबमोजिम कुनै प्रक्रिया पूरा गरेको प्रथम दृष्टिमा नै देखिन आएन ।’

    तर अदालतको प्रथम दृष्टि अलिकति धमिलो भएको पो हो कि ? विचारणीय कुरा के छ भने नेपालमा ‘स्वेट शेयर’ वा ‘गुडविल शेयर’ सम्बन्धी कुनै पनि कानूनी प्रावधान छैन । शेयर हस्तान्तरणका लागि कागजी रूपमा पैसा लेनदेन भएको देखाउनैपर्छ । कुनै पनि कम्पनीले एउटा नाम चलेको व्यक्तिलाई हायर गर्दा उसलाई विभिन्न आकर्षणहरू देखाएर लोभ्याउँछ, त्यसमध्ये ‘निश्चित प्रतिशत निशुल्क सेयर दिने’ चलिआएको अभ्यास हो । जीबीले यही अभ्यासलाई पछ्याएर रविलाई कम्पनीमा भित्र्याएका भएका थिए । रविको अनुहार हेरेर होइन, उनको क्रेजले गर्दा जीबीले यस्तो आकर्षक प्रस्ताव गरेका हुन् ।

    रविले ‘निशुल्क शेयर पाएको’ भन्ने गोर्खा मिडियामा काम गरेका र रविलाई नजिकबाट चिनेका जोसुकैलाई थाहा छ । कानूनले निःशुल्क किनबेच स्वीकार नगर्ने भएकाले जीबीले नै पैसा ल्याइदिएर ‘शो’ गरेकोमा कुनै शंका छैन । आदेशमा रविले नै सेयर खरिद गर्न सहकारी संस्थाबाट कर्जा निकालेको भन्ने भान पार्न खोजिएको छ । जबकि त्यो पैसा रविले नभएर जीबीले निकालेको हो ।

    १४ औं बुँदा

    यस बुँदामा कम्पनीका विभिन्न व्यक्तिहरूको बयानबाट प्रतिवादी कसुरदार रहेनछन् भन्ने विश्वास गर्न सकिने मनासिब आधार देखिन नआएको उल्लेख छ । अनुसन्धानमा तानिएको व्यक्तिहरूले आफूलाई चोखो देखाएर एकअर्कालाई आरोप थोपर्न खोज्नु सामान्य हो । यतिबेला जीबी राईसँग निकट व्यक्तिहरू रविसँग रुष्ट छन् । त्यसैले उनीहरूले रविविरुद्ध दिएको बयानलाई लिएर धेरै भावुक हुनु आवश्यक होइन ।

    राजनीतिक चक्रव्यूह

    रविविरुद्धको मुद्दा स्वतस्फुर्त होइन, कृत्रिम रूपमा सिर्जना गरिएको भन्नेमा कुनै  । यसमा यत्रतत्र राजनीतिक प्रतिशोधको गन्ध आउँछ । कांग्रेसले संसदमा बबण्डर गरेपछि उसको चित्त बुझाउन एउटा संसदीय छानबिन समिति गठन गरियो, जतिबेला प्रचण्ड प्रधानमन्त्री र रवि आफैं गृहमन्त्री थिए ।

    खासमा पहिल्यै अदालत पुगिसकेकाे एउटा फौजदारी विषयमा संसदीय छानबिन गरिनु नै असंवैधानिक अभ्यास हाे। प्रहरीले अनुसन्धान गर्नुपर्ने विषयमा संसदले हात हाल्ने नै होइन । प्रहरी र अदालतकाे अधिकारक्षेत्रमा ठाडाे हस्तक्षेप गरियाे। संविधानले सरकारका काम-कारबाहीको निगरानी गर्न संसदीय छानबिन समिति गठनको व्यवस्था गरेको छ । यसलाई दुरूपयोग गरेर एक नवोदित राजनीतिज्ञको करिअर सिध्याउन खोजिएकै हो ।

    त्यसो त समितिले प्रतिवेदन लेख्दासम्म यदि त्यसबेलाकै सत्ता समीकरण थियो भने रविले सय प्रतिशत क्लीन चिट पाउने थिए । संसदीय समिति गठनका बेला रविको पार्टी रास्वपा र एमाले सत्ता सहयात्री थिए भने कांग्रेस प्रतिपक्षमा थियो । हालका प्रधानमन्त्री केपी ओलीले रविलाई निरन्तर काँध थापिरहेका थिए । यता, रविलाई जसरी पनि डाम्नैपर्छ भन्ने कांग्रेस संसदीय समितिभित्र अल्पमतमा थियो ।

    तर बीचमै सत्ता समीकरण उल्टियो । दुई ठूला दल एमाले र कांग्रेस मिले भने रास्वपा र माओवादी प्रतिपक्षमा धकेलिए । यससँगै संसदीय समितिभित्रको समीकरण पनि फेरियो । रविलाई डाम्ने कांग्रेसको लाइनमा एमाले उभिनपुग्याे भने रास्वपा-माओवादी अर्को कित्तामा पुगे । रविको बचाउमै संसदमै बोलेका ओली कांग्रेसँग मिलेसँगै रविलाई ठग भन्न थाले ।

    कांग्रेस र एमाले सत्ता सहयात्री बन्नासाथ नै तय थियो कि संसदीय समितिले के प्रतिवेदन दिनेछ भन्ने । रविले सहकारीबाट रकम निकालेको प्रमाण भेटिएन भन्दाभन्दै पनि समितिले उनलाई ‘प्रचलित कानूनबमोजिम कारबाही गर्न’ सिफारिस गर्याे । यही प्रतिवेदनका आधारमा गृह मन्त्रालयले प्रहरी परिचालन गरेर रविविरुद्ध नयाँ चरणको अनुसन्धानको खेती सुरु गरेको हो ।

    सिकारु राजनीतिज्ञ रवि राजनीतिक चक्रव्यूहमा नराम्ररी फँसेका छन् । उनीमाथि एउटा-दुइटा होइन, पाँचवटा जिल्ला अदालतमा मुद्दा चल्दैछ । काठमाडौं, कास्की, रूपन्देही र चितवनमा मुद्दा विचाराधीन छ भने पर्सामा अभियोगपत्र दायर भइसकेकाे छैन । चितवनवासीले अत्यधिक मत दिएर जिताएका रविकाे याे कार्यकाल अड्डा–अदालत र थुनामै व्यतित हुने भयाे ।  सर्वोच्चको आदेशपछि रूपन्देही जिल्ला अदालतको फैसला नआउञ्जेल थुनामा बस्नैपर्ने छ। अनि, वकिलहरूको डफ्फा बोकेर कहिले यो जिल्ला, कहिले त्यो जिल्ला धाउनुपर्ने अर्को सकसमा छन् उनी । एउटा अदालतले छोडे अर्कोले समात्छ भन्ने किसिमले नै याेजना बुनिएकाे थियाे ।

    ठाउँठाउँमा मुद्दा हाल्न लगाउनुमा गृहमन्त्रीको बदनियत देखिन्छ, जसलाई प्रहरीले पनि नकार्न सकेन । सीआइबीमार्फत एकीकृतरुपमा  सबैतिरकाे अनुसन्धान र एकै अदालतमा अभियाेजन गरेको भए मुद्दा प्रक्रिया सरल र छिटो हुनसक्थ्यो । रविले एउटै अदालतमा धराैटी बुझाए पुग्थ्याे । तर सरकारकाे रणनीति मुद्दा लम्ब्याउने थियाे । त्यसमा सफल पनि भइरहेकाे छ ।

    न्यायालय पनि यसमा चुकेकै मान्नुपर्छ ।  जिल्ला अदालतहरुले रविलाई नै सहकारी ठगीका मुख्य आराेपी जसरी ठूलाे ठूलाे रकम धराैटी मागे । पहिलो अदालतले धरौटी मागिसकेपछि अरुले त्यसैमा टेकेर  तारेखमा छोडेको भए त्यो विवेकपूर्ण हुने थियो ।

    रविमाथि सहकारी ठगीमात्र होइन, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्मको मुद्दा थोपरिएको छ । अनुसन्धानका नाममा रविमात्र हाेइन, उनकी पत्नी निकिताकाे समेत पुस्तैनी सम्पत्तिकाे पनि विवरण मागेर टर्चर दिन खाेजिएकाे छ । यो ज्यादतीपूर्ण हो । यसमा अदालतले पनि विवेक नपुर्‍याउँदा एक व्यक्तिलाई सिध्याउन सिंगो राज्य संयन्त्र लागिपरेको सन्देश गएको छ । २०८४ को चुनावमा रविलाई जसरी पनि रोक्ने रणनीति यदि बुनिएको हाे भने त्यसमा अदालत भागीदार बन्नु हुँदैन ।

    र अन्त्यमा

    यो आलेख रविलाई ‘चोख्याउने’ प्रयासमा लेखिएको होइन । हामी अदालत होइनौं, कसैलाई निर्दाेषिताकाे प्रमाणपत्र दिने ! अदालतले  लुकाउन खाेजेका वा नजरअन्दाज गरेका विषयवस्तुहरु उजागर गरेका मात्रै हौं । याे एउटा पहरेदारी मात्र हाे ।

    मुद्दाकाे अन्तिम फैसला भएकाे छैन । याे थुनछेक आदेश मात्र हाे । हाम्राे आशय चाहिँ यति हाे कि रविलाई अनुसन्धानका लागि थुनामा राख्नुपर्ने अवस्था थिएन । सामान्यतया यस्ता मुद्दामा आरोपीहरूलाई अदालतले थुन्नेभन्दा धराैटी असुल्नेमा जाेड दिने गर्छ । बचतकर्ताको रकम अपचलनमा सिधा मुछिएका सहकारीका सञ्चालकहरूसमेत धरौटीमा छुटिरहेका छन् ।

    रवि सहकारीका सञ्चालक त के सदस्यसमेत थिएनन् । उनलाई पनि बाहिर राखेर अनुसन्धान गर्दा प्रहरीलाई कुनै जोखिम थिएन । आखिर मुद्दा प्रभावित बनाउन उनी अहिले सत्तामा पनि छैनन् । सुप्रिम सहकारीको मुद्दामा प्रहरीले रविविरुद्ध खोज्नसक्ने जति प्रमाण खोजिसकेको छ । अदालतमै पुगिसकेको प्रमाण अब उनी बाहिर हुँदैमा नष्ट गर्नसक्ने होइनन् । न उपप्रधान तथा गृहमन्त्रीसमेत रहिसकेका उनी भाग्ने वा लुक्ने अनुमान नै कसैले गर्न सक्छ।

    रवि अनुसन्धानमा तानिनु नै हुँदैनथ्यो भन्ने पंक्तिकारको मत छैन । उनीबाट केही मानवीय कमजोरी अवश्य भएका छन् । रविको सबैभन्दा ठूलो कमजोरी भनेको उनले कानून राम्ररी बुझेनन् वा बेवास्ता गरे । पछि गएर कहाँ कसरी फँस्न सकिन्छ भन्ने हेक्का राखेनन् । जीबी राईले कहाँबाट पैसा ल्याइरहेका छन् भन्नेमा सुरुबाटै चनाखाे हुनुपर्थ्याे । लगानीकाे स्राेत सही छ कि छैन भन्ने बेलैमा एकिन गर्नुपर्थ्याे । त्यसमा उनी चुकेका हुन् । यसबाहेक उनलाई ‘सहकारी ठग’ को ट्याग भिराउन चाहिँ हतार नगरौं । अन्तिम फैसलासम्म कुरौं ।

    जेहाेस, रविको उदाउँदो राजनीतिक जीवन ठूलो दलदलमा परिसकेकाे छ ।  उनी कतिञ्जेलमा कसरी यो दलदलबाट निस्किन सक्छन् भन्न सकिन्न । उनको यो हविगतबाट कोही पनि खुशी हुनु आवश्यक छैन । पाकिस्तानको जस्तो ‘प्रतिशोध-पथ’ मा राजनीति गइसकेपछि एकपछि अर्को गर्दै सबैको पालो आउँछ नै ।

  • रास्वपाले बोलायो संसदीय दलको बैठक

    रास्वपाले बोलायो संसदीय दलको बैठक

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक बोलाएको छ । रास्वपा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठको समन्वय आज ४ बजे बस्नेगरी बैठक बोलाएको प्रवक्ता मनिष झाले बताए ।

    उनका अनुसार भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री रमेश लेखकमाथि उठेको प्रश्न, पार्टीको आगामी दिनमा सदनमा निभाउनुपर्ने भूमिकाको बिषयमा छलफल हुनेछ ।

    रास्वपाले गृहमन्त्री लेखकको राजीनामा मागेको छ । भोलि बस्ने प्रतिनिधि सभाको बैठक अवरोध गर्नेसम्मको चेतावनी रास्वपाले दिइसकेको छ । रास्वपा मात्रै नभई माओवादीसहित विपक्षी दलहरु भोलि सदनमा कडा रूपमा प्रस्तुत हुने रणनीति बनाउँदैछन् ।

  • रास्वपाले ५१ दिनपछि स्वीकृत गर्‍यो सुमनाको राजीनामा, अनिलले पनि किन गरे पद त्याग ?

    रास्वपाले ५१ दिनपछि स्वीकृत गर्‍यो सुमनाको राजीनामा, अनिलले पनि किन गरे पद त्याग ?

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको सहमहामन्त्री पदबाट सुमना श्रेष्ठले दिएको राजीनामा झण्डै दुई महिनापछि स्वीकृत भएको छ । हिजो बसेको केन्द्रीय समिति बैठकले उनको राजीनामा स्वीकृत गर्ने निर्णय लिएको हो ।

    सुमनाले विभिन्न विषयमा असन्तुष्टि दर्शाउँदै गत चैत १८ गते सभापति रवि लामिछानेसमक्ष राजीनामा बुझाएकी थिइन् । आफू पार्टीभन्दा संसदको जिम्मेवारीमा केन्द्रित हुन चाहेको उनको भनाइ छ । उनको राजीनामालाई अहिलेसम्म होल्डमा राखिएको थियो ।

    हिजैको बैठकले पार्टीको प्रशिक्षक विभाग प्रमुखबाट अनिलकेशरी शाहले दिएको राजीनामा पनि स्वीकृत गरेको छ । शाहले २८ वैशाखमा दिएको राजीनामा हिजो स्वीकृत भएको हो । बैठकमा उनले आफूले राजीनामा दिनुको कारण प्रष्ट्याएका थिए । प्रशिक्षक विभागको प्रमुख पद आफूलाई ‘सुट’ नगरेको भन्दै उनले अर्को विभागको जिम्मेवारी दिए स्वीकार्ने मनसाय व्यक्त गरेको एक केन्द्रीय सदस्यले बताए ।

    अब श्रेष्ठ र शाह दुवै पार्टीको केन्द्रीय सदस्यको हैसियतमा रहनेछन् । सुमना प्रतिनिधिसभा सदस्यको जिम्मेवारी पनि छिन् । उनले हिजोको बैठकमा सभापति रवि लामिछानेमाथि भइरहेको ज्यादतीपूर्ण कारवाहीको पार्टीले एक ढिक्का भएर प्रतिरोध गर्नुपर्नेमा जोड दिएको स्रोतले बतायो ।

  • गृहमन्त्रीबारे रास्वपा- नयाँलाई मुद्दा दर्ता हुनासाथ थुन्दिने, पुराना दललाई प्रमाणित हुनुपर्ने ?

    गृहमन्त्रीबारे रास्वपा- नयाँलाई मुद्दा दर्ता हुनासाथ थुन्दिने, पुराना दललाई प्रमाणित हुनुपर्ने ?

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले कांग्रेस-एमालेको गठबन्धनको औचित्य पुष्टि हुँदै गएको टिप्पणी गरेको छ । केन्द्रीय समितिको बैठकमा रविको मुद्दामा हालैको सर्वोच्चको आदेश, भिजिट भिसा प्रकरण, पार्टीको आगामी रणनीतिलगायतको विषयमा छलफल भएको प्रवक्ता मनिष झाले बताए ।

    अहिलेको सरकार भ्रष्ट र तस्करले चलाएको भन्दै झाले एकअर्कालाई बचाउन र खुलेको फाइल बन्द गर्न यो गठबन्धन बनेको आफूहरूले त्यहीबेला भनेको र भिजिट भिसा काण्डले त्यसलाई पुष्टि गरेको दाबी गरे ।

    गृहमन्त्रीले प्रमाणित भए भने राजनीतिक छाड्छु भनेको सम्झिँदै उनले पुराना र नयाँ दलको हकमा किन फरक भन्दै प्रश्न गरेका छन् ।

    ‘अरु दलकालाई प्रमाणित नगरेरै थुनिरहनुभएको छ । पुरानो दललाई प्रमाणित हुनुपर्ने नयाँलाई चाहिँ दर्ता हुनासाथ थुन्दिने ? कर्मचारीले बदमासी गरेको स्वीकार्नुभयो । गृहमन्त्री नै गएर टाँचा लाउन बस्ने त होइन । मन्त्री नै गएर सबै विन्डोमा बस्ने हो र ? कसको पालामा भयो त्यहाँ कसले सरुवा गरेको । विधिअनुसार सरुवा गरेको थियो ? प्रश्न त त्यो हो नि !’

    उनले सुशासनको पक्षमा आन्दोलनमै जानुपर्ने पनि अवस्था हुनसक्ने भन्दै त्यसबारे पनि छलफल भएको बताए ।

    पर्सिको संसद सामान्य हुने छैन भन्दै रास्वपाले चेतावनीसमेत दिएको छ ।

    सर्वोच्चको आदेशले रविलाई थुनामा पठाउने उच्चको आदेश सदरलाई कानूनीरूपमा मान्ने तर प्रक्रियागत त्रुटिमाथि सार्वजनिक बहस गर्ने झाको भनाइ छ ।

    ‘सर्वोच्च आफैँले त्रुटि भएर सच्याइसक्यो । बन्दी प्रत्यक्षीकरणको मुद्दामा कतै त्यो कुरा उल्लेख भएको छैन । अदालतको बारेमा कतै नबोल्नु भन्दा पनि अदालतले कतै त्रुटि, असन्तुलन हुन नदिएर आफ्नो सम्मान आफैँ कायम राख्नुपर्ने हो नि !’, उनले भने ।

  • रास्वपा केन्द्रीय समिति बैठक आज बस्दै, यी हुन् चार एजेन्डा

    रास्वपा केन्द्रीय समिति बैठक आज बस्दै, यी हुन् चार एजेन्डा

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक बस्दैछ ।

    बैठक आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।

    रास्वपाको केन्द्रीय समितिको आकस्मिकभर्चुअल बैठक हिजो ४ बजे बसेको थियो भने त्यसको निरन्तरता स्वरूप केन्द्रीय समितिको बैठक आज बस्न लागेको हो ।बैठकमा  मुख्य ४ एजेण्डामा  छलफल हुने प्रवक्ता झाले बताए ।

    बैठकमा पार्टी सभापति रवि लामिछाने माथि लगाइएको प्रतिशोधपूर्ण झुठा मुद्दाको आगामी प्रक्रिया बारे,भिजिट भिसा काण्ड र गृहमन्त्रीको संलग्नताबारे, पार्टीको आगामी कार्यदिशा र महाधिवेशन लक्षित क्यालेन्डरबारे र  तेस्रो स्थापना दिवस (असार७)को कार्यक्रमबारे पनि छलफल हुने उनले  जानकारी दिए।  साथै विविध विषयमा पनि छलफल हुनेछ ।

  • रास्वपाद्वारा गृहमन्त्री लेखकको राजीनामा माग

    रास्वपाद्वारा गृहमन्त्री लेखकको राजीनामा माग

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसामार्फत मानव तस्करीमा संलग्न रहेको आरोप लागेका गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेको छ ।

    रास्वपाको शनिबार सचिवालयल बैठकले विगतमा सांसद रमेश लेखकले नै सदनमा ‘प्रश्न उठेपछि राजीनामा दिएर छानबिनमा सघाउनुपर्छ’ भनेर विभिन्न दृष्टान्त सम्झाएको प्रसंग स्मरण गराउँदै यथाशीघ्र गृहमन्त्रीको पदबाट राजीनामा दिएर यस विषयमा निष्पक्ष अनुसन्धानलाई सघाउन माग गरेको हो ।

    बैठकले पार्टी सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको हकमा सर्वोच्च अदालतले तुलसीपुर उच्च अदालतको फैसलालाई सदर गर्ने आदेश कानूनी रूपमा स्वीकार गरेको छ ।

    तर सहकारीको बोर्डमा रहेका, सहकारी बचतकर्ताको अर्बौं रकम अपचलनमा संलग्नलाई गरिएको व्यवहार र कम्पनी ऐनअनुसार हेरिनुपर्ने मुद्दालाई जबरजस्ती सहकारीसँग जोडिएर आधारहीन, तथ्यहीन तर्कको आधारमा निर्णय भएछ कि भन्ने आशङ्काको यथेष्ट सम्भावना रहेकोमा पार्टीको सरोकार र चिन्ता रहेको रास्वपाका कार्यबाहक प्रवक्ता मनिष झाले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

    विज्ञप्तिमा भनिएको छ, ‘राजनीतिक प्रतिशोध र राज्यले अनावश्यक पीडा दिइरहँदा अदालतबाट न्याय पाइन्छ भने जनविश्वास कमजोर नबनोस् भन्नेप्रति समेत चिन्ता व्यक्त गर्दछौं ।’

    रास्वपाले दुई ठूला दलको १० महिने गठबन्धन सरकार बनेको ७ बुँदे आधारमा फिटिक्कै केही काम नगरेर देशमा व्याप्त निराशा थप्ने, सुशासनको धज्जी उडाउने, काम गर्नेहरूलाई लखेट्ने र हरेक संवैधानिक निकाय र राज्य संयन्त्रलाई दलीयकरण गर्ने गैरराजनीतिक अभ्यास गरिरहेको बताएको छ ।

    कार्यबाहक प्रवक्ता झाका अनुसार आजै पार्टीको केन्द्रीय समितिको आकस्मिक भर्चुअल बैठक बसेको थियो । बैठकको निरन्तरतास्वरूप अर्को बैठक जेठ ११ गते अपराह्न २ बजे वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बस्ने उनले जनाएका छन् ।

  • रास्वपाको सचिवालयको बैठक सुरु

    रास्वपाको सचिवालयको बैठक सुरु

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालयको बैठक सुरु भएको छ ।

    रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले पार्टीको सचिवालयको ‘भर्चुअल’ बैठक सुरु भएको जानकारी दिए । रास्वपाले आजै केन्द्रीय समितिको आकस्मिक बैठकसमेत डाकेको छ ।

    पार्टी सभापति रवि लामिछानेका विषयमा शुक्रबार सर्वोच्चको आदेशपछि रास्वपाले आज सचिवालय र केन्द्रीय समितिको बैठक डाकेको हो ।

    सर्वोच्च अदालतले सभापति लामिछानेलाई थुनामा राख्न उच्च अदालत तुलसीपुर बुटवल इजलासका आदेशलाइ सदर गरेको थियो ।

  • रास्वपाका नेताले भने- संसदीय दलको नेता फेरौं

    रास्वपाका नेताले भने- संसदीय दलको नेता फेरौं

    काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका नेता यज्ञमणि न्यौपानेले लामिछाने तत्काल जेलबाट नछुट्ने अवस्थामा संसदीय दलको अर्को नेता चयन हुनुपर्ने धारणा सार्वजनिक गरेका छन् ।

    पार्टीको शुभेच्छुक संस्था स्वतन्त्र कानुन व्यवसायी संघका अध्यक्षसमेत रहेका न्यौपानेले पार्टीले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको लागि जनमत संग्रहको माग राख्नुपर्ने उल्लेख गरेका छन् ।

    उनले सामाजिक सन्जालमा आफ्नो धारणा राखेका हुन् ।

    हेर्नुहोस् उनका धारणा जस्ताको तस्तै-

    मिति २०८२/२ /१२गतेको सर्वोच्च अदालतको आदेशले अब पार्टी सभापति रवि लामिछाने बाहिर आउने सम्भावना केही समयको लागि गाह्रो छ ।पार्टीलाई अगाडि बढाउन देहाएका काम गर्नु उपयुक्त हुन्छ भन्ने मेरो बुझाइ रहेको छ।

    संगठित रूप

    १. रिक्त पार्टी उपसभापति ,महामन्त्री, सहमहामन्त्री र केन्द्रीय सदस्य- सम्पूर्ण जातजाति लिङ्ग समुदायबाट प्रतिनिधित्व हुनेगरी )महाअधिवेशनसम्मका लागि तत्काल पूर्ति गर्ने।

    २. शुभेच्छुक संगठन सबै निकायमा अभिलम्ब निर्माण गर्ने र ती शुभेच्छुक संगठनहरु भातृ संगठनको रुपमा नरही स्वेत्त प्रकृतिका रहने

    ३.संसदीय दलको नेता चयन गर्ने

    ४.सम्पूर्ण विभाग तथा समितिलाई पूर्णता दिने

    ५. ७९ सालमा प्रतिनिधिसभाको निर्वाचन लडेका उम्मेदवारहरूलाई प्राथमिकताका साथ उचित प्रतिनिधित्व गराउने ।

    सैद्धान्तिक रूप

    १. प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको माग संसद तथा सरकारमा राख्ने र जनमत संग्रह माग गर्ने जनमत संग्रहका लागि सदन तथा सडकबाट संघर्ष सुरु गर्ने।

    २. वैकल्पिक राजनीतिक दलहरूर नयाँ राजनैतिक दलर वैकल्पिक राजनीतिक सोच भएका सम्पूर्ण शक्तिहरूसँग गोलमेच सम्मेलन गरी साझा एजेन्डा तय गर्ने र जनआन्दोलन भाग ३ को घोषणा गर्ने ।

    ३. विदेशमा रहेका नेपालीलाई राजदूतावास मार्फत मतदान गर्ने अधिकारको लागि सार्वजनिक महत्वको प्रस्ताव संसदमा पेश गर्ने , र पास गराउन सडक आन्दोलन गर्ने, सामाजिक सञ्जाल आन्दोलनको समेत घोषणा गर्ने ।

    ४.देशका विविध विषयमा ज्ञान भएका विज्ञहरुलाई राखी खुल्ला विचार गोष्ठी आयोजना गरी प्राप्त सुझाव अनुसार पार्टीले लिने सैद्धान्तिक दृष्टिकोण तय गर्ने।

    ५.भारत ,चीन ,अमेरिका , युरोपियन युनियन भित्रका देशहरू लगायतका शक्ति राष्ट्रहरूसँग कुटनैतिक सम्बन्ध कायम गर्न छायाँ राजदूतको रुपमा प्रतिनिधित्व तोकी सम्बन्ध विस्तार गर्ने।

  • रास्वपाले बोलायो सचिवालय र केन्द्रीय समितिको भर्चुअल बैठक

    रास्वपाले बोलायो सचिवालय र केन्द्रीय समितिको भर्चुअल बैठक

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले  सचिवालय  र केन्द्रीय समितिको भर्चुअल बैठक बोलाएको छ ।

    पार्टी सभापति रवि लामिछानेलाई सर्वोच्च अदालतले थुनामुक्त गर्न अस्वीकार गरेपछि रास्वपाले सचिवालय बैठक र केन्द्रीय समितिको बैठक बोलाएको हो ।

    शुक्रबार राति अदालतले लामिछानेको सम्बन्धमा आदेश जारी गरे पश्चात उत्पन्न परिस्थितिकाबारे छलफल गर्न रास्वपाले सचिवालयको आकस्मिक भर्चुअल बैठक बोलाएको थियो ।

    सोही बैठकले आज दिउँसो ३ बजे पार्टी सचिवालयको भर्चुअल बैठक र ४ बजे केन्द्रीय समितिको भर्चुअल बैठक गर्ने निर्णय गरेको हो । त्यस्तै
    भोलि आइतबार दिउँसो २ बजे पार्टी कार्यालयमा केन्द्रीय समितिको बैठक बोलाएको छ ।

    लामिछानेलाई सर्वोच्च अदालतले पुर्पक्षका लागि थुनामा राख्न उच्च अदालत बुटबलले गरेको आदेश शुक्रबार सदर गरिदिएपछि रास्वपा नेताहरुले बैठकमा अबको रणनीति तय गरिने बताइएको छ।

  • रवि लामिछाने थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

    रवि लामिछाने थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने थुनामुक्त नहुने भएका छन् । सर्वोच्च अदालतले उनलाई पुर्पक्षका लागि थुनामा राख्न उच्च अदालत बुटबलले गरेको आदेश आज सदर गरिदिएको छ ।

  • रवि लामिछानेको मुद्दामा बहस सकियो, आदेश लेख्न जुटे न्यायाधीश

    रवि लामिछानेको मुद्दामा बहस सकियो, आदेश लेख्न जुटे न्यायाधीश

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको सहकारीसम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा बहस सकिएको छ । न्यायाधीशहरू आदेशको तयारीमा जुटेका छन् ।

    न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले रविको बन्दी प्रत्यक्षीकरण मुद्दा र उच्च अदालतले गरेको थुनछेक आदेशमाथिको पुनरावेदन उपर सुनवाइ गरेको हो । पूर्वडीआइजी छविलाल जोशीको पुनरावेदनमा पनि सँगसँगै सुनवाइ भएको छ ।

    आज जाहेरीकर्ताका तर्फबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र सुरेन्द्र भण्डारीले बहस गरे । त्यसपछि रविका तर्फबाट रमण श्रेष्ठ र सुशील पन्त एवं छविका तर्फबाट सतिशकृष्ण खरेलले जवाफी बहस गरे । जवाफी बहस सकिएसँगै इजलास बन्द भएको छ ।

  • रविको रिहाइ रोक्न दिनेश त्रिपाठीले आज बहस गर्दै, सुरेन्द्रको पनि साथ

    रविको रिहाइ रोक्न दिनेश त्रिपाठीले आज बहस गर्दै, सुरेन्द्रको पनि साथ

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडीआइजी छविलाल जोशीको मुद्दामा आज पनि सुनवाइ जारी रहनेछ । न्यायाधीशद्वय नहकुल सुबेदी र बालकृष्ण ढकालको इजलासमा हिजो भएको सुनवाइ समय अभावले हेर्दा हेर्दैमा परेको थियो ।

    रविका तर्फबाट पत्नी निकिता पौडेलले दिएको बन्दी प्रत्यक्षीकरण तथा रवि र छविले उच्च अदालतको थुनछेक आदेशविरुद्ध गरेको पुनरावेदनलाई एकै ठाउँ राखेर बहस भइरहेको हो । रविका वकिल, छविका वकिल र सरकारी वकिल सबैले बहस सिध्याइसकेका छन् । आज जाहेरवालाको तर्फबाट बहस हुने छ ।

    जाहेरवालाको तर्फबाट बहस गर्न वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र सुरेन्द्र भण्डारीले हिजो नाम टिपाएका छन् । त्रिपाठीको कुरा गर्ने हो भने उनी पहिल्यैदेखि रविविरुद्ध निरन्तर बहस गरिरहेका वकिल हुन् । रविमाथि मुद्दा परेका सबैजसो अदालतमा पुगेर उनले बहस गर्दै आएका छन् । गत माघमा काठमाडौं जिल्ला अदालतमा रवि विरुद्ध बहस गरेर फर्किँदा उनीमाथि अदालत परिसरमा कुटपिट समेत भएको थियो ।

    यदि सर्वोच्चले उच्च अदालतको फैसला उल्टायो भने रवि आजै रिहा हुन पनि सक्छन् । तर यदि त्यसलाई सही ठहर्‍याएको खण्डमा उनी थुनामै बस्नुपर्ने छ । रविको बन्दी प्रत्यक्षीकरण रिट भने खारेज हुने सम्भावना छ ।

    जाहेरीकर्ताको तर्फबाट बहस सकिएपछि निवेदक रवि र छविका तर्फबाट जवाफी बहस हुनेछ । दुवैका एक–एक वकिलले बहस गर्न पाउनेछन् । छविका तर्फबाट जवाफी बहस गर्न हिजै सतिशकृष्ण खरेलले नाम टिपाइसकेका छन् । यदि समयमै बहस सकियो भने आजै न्यायाधीशले आदेश लेख्न सक्छन् ।

  • राजसंस्था फर्काउने ‘संयुक्त जनआन्दोलन’ मा सहभागी हुन रास्वपालाई नवराज सुवेदीको पत्र

    राजसंस्था फर्काउने ‘संयुक्त जनआन्दोलन’ मा सहभागी हुन रास्वपालाई नवराज सुवेदीको पत्र

    काठमाडौं । संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले संसदको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई राजसंस्थाप पुनस्र्थापनाका लागि हुने जनआन्दोलनमा सहकार्यका निम्ति पत्र पठाएका छन् । संवैधानिक राजसंस्था, सनातन हिन्दू राष्ट्र र बहुदलीय प्रजातन्त्र पुनःप्राप्तिका लागि मिलेर अघि बढ्न उनको प्रस्ताव छ ।

    सुवेदीले रास्वपाका कार्यवाहक सभापति डोल प्रसाद अर्याललाई सम्बोधन गर्दै हिजो पत्र लेखेका हुन् । उनले संयुक्त जनआन्द्योलन समितिले जेठ १५ गतेदखि आन्दोलन प्रारमभ गर्न लागेको अवगत गराएका छन् ।

    पत्रमा भनिएको छ, ‘तपाईंको पार्टीका सभापति श्री रवि लामिछानेज्यूले पनि हालको व्यवस्था अन्तर्गत निष्पक्ष न्याय पाउन सकिनेमा शंका व्यक्त गर्नुभएको तथ्य सर्वविदित छ । राज्यका प्रमुख संवैधानिक तथा न्यायिक अंगहरू दलिय हस्तक्षेप र दलीयकरणको गम्भीर शिकार बनिसकेको सन्दर्भमा यस व्यवस्थाबाट तपाईंहरू पनि सन्तुष्ट हुनुहुन्न भन्ने हाम्रो बुझाइ छ । यसैले वर्तमान व्यवस्था परिवर्तन गर्नु आजको ऐतिहासिक आवश्यकता हो भन्ने कुरामा हामीबीच साझा समझदारी हुन सक्ने आशा लिएको छु ।’

    उनले रास्वपाको मूल सैद्धान्तिक चिन्तन र वर्तमान व्यवस्थाप्रतिको आलोचनालाई दृष्टिगत गर्दै आन्दोलनमा सहकार्य र सहभागिताको लागि अनुरोध गरेका छन् ।

    ‘आउनुहोस्, यो चरम दलीयकरण र अव्यवस्थाको अन्त्य गरी राष्ट्रिय पहिचान, न्याय, धर्म र लोकतन्त्र पुनःस्थापित गर्ने हाम्रो साझा लक्ष्यका लागि संयुक्त रूपमा अघि बढौं, संवैधानिक राजसंस्था, सनातन हिन्दू राष्ट्र, बहुदलिय प्रजातन्त्र पुुनःर्स्थापना गरौं’, पत्रमा भनिएको छ ।

  • पोखरा विमानस्थलबारे चिनियाँ ठेकेदार कम्पनीको विज्ञप्ति गोरखापत्रमा छापेकोमा रास्वपाको आपत्ति (भिडिओ)

    पोखरा विमानस्थलबारे चिनियाँ ठेकेदार कम्पनीको विज्ञप्ति गोरखापत्रमा छापेकोमा रास्वपाको आपत्ति (भिडिओ)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय उपसमितिको प्रतिवेदनमाथि चिनियाँ कम्पनीले जारी गरेको विज्ञप्ति गोरखापत्र दैनिकले छापेकोमा आपत्ति जनाएको छ । प्रतिनिधि सभा अन्तर्गत रहेको सार्वजनिक लेखा समितिको बुधबारको बैठकमा पोखरा विमानस्थल निर्माणमा भएको भ्रष्टाचार प्रकरणबारेको संसदीय उपसमितिले पेश गरेको प्रतिवेदनमाथिको छलफलमा भाग लिँदै समितिका सदस्य एवम् रास्वपाका सांसद मनिष झाले आपत्ति जनाएका हुन् ।

    उनले भने, ‘नेपाली जनताको करले सञ्चालित एउटा राष्ट्रिय दैनिकमा यो विज्ञप्ति निक्लिनु यसका प्रधान सम्पादक र सम्पादकलाई हामीले स्पष्टीकरण सोध्नुपर्छ । यो सार्वभौम सदनको एउटा सम्मानित समितिको बारेमा यस्तो चुनौतीपूर्ण भाषा प्रयोग गरेको विज्ञप्ति तिमीले किन निकाल्यौ ? यसलाई के विज्ञप्ति प्रकाशित गर्ने पैसा मात्रै चाहिएको हो ? हामीले जस्तोसुकै तस्बिर पठाइदिन सक्छौ भोलि ? के छापिदिन्छ पैसा नै चाहिएको हो भने ? त्यसमा करदाताको पैसाले सञ्चालित एउटा सञ्चार गृहले जिम्मेवार हुनुपर्दैन कि, यो कस्तो भाषा प्रयोग गरिएको छ, को प्रति लक्षित छ भनेर ?’

    सांसद झाले ठेकेदार चिनियाँ कम्पनी र गोरखापत्र संस्थान दुवैलाई स्पष्टीकरण सोध्न माग गरे । उनले भने, ‘यसमा मेरो गम्भीर र आपत्तिसहित म दुवैलाई तिमीले यस्तो भाषा प्रयोग गर्ने शक्ति कहाँबाट प्राप्त गर्यौ ? नभए माननीय सभापति ज्यू भोलि गएर जुनसुकै देशको जुनसुकै ठेकेरदार कम्पनीले हामीलाई जस्तोसुकै गाली गरेर पनि जान सक्छन् है । आज हामी सचेत भइएन भने । त्यसको जिम्मेवारी अहिलेको यो समितिले लिनुपर्छ । त्यो बेला तिमी किन बोलेनौ भनेर आउँछ । त्यसैले म यसमा सबै जनाको ध्यानाकर्षण गराउन चाहान्छु ।’

    ठेकेदार कम्पनीले उठाएको समितिमाथिको प्रश्नमा आपत्ति जनाउँदै धारणा सार्वजनिक गर्न रास्वपाको माग

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले एक चिनिया ठेकेदार कम्पनी सीएमसीले संसदीय उपसमितिको प्रतिवेदनमाथि उठाएको प्रश्नमा संसदीय समितिको धारणा सार्वजनिक गर्न माग गरेको छ । प्रतिनिधि सभा अन्तर्गत रहेको सार्वजनिक लेखा समितिमा पोखरा विमानस्थल निर्माणका क्रममा भएको भ्रष्टाचार प्रकरणमा संसदीय उपसमितिले पेश गरेको प्रतिवेदनमाथिको छलफलमा भाग लिने क्रममा रास्वपाका सांसद मनिष झाले यस्तो माग गरेका हुन् ।

    उनले भने, ‘हिजोको गोरखापत्र राष्ट्रिय दैनिकमा यो प्रक्रिया, यो प्रतिवेदनप्रति आएको सीएएमसीको विज्ञप्तिप्रति सबैको ध्यानाकर्षण गराएर यसप्रति आधिकारिक धारणाको पनि माग गरे । कुनै एउटा विदेशी ठेकेरदार कम्पनीले देशको सार्वभौम सदनको एउटा सम्मानित समिति आज हामी सदस्य छौ, भोलि कोही अरु सदस्य होला । आज यो ठेकेदार कम्पनीले विज्ञप्ति निकाल्यो, भोलि कुनै अर्को ठेकेदार कम्पनीले विज्ञप्ति निकाल्ला । त्यति हल्कारुपमा हामीले यसलाई लिनु हुँदैन । यसमा जुन किसिमको भाषा प्रयोग गरिएको छ, त्यो चुनौतीपूर्ण छ । त्यसले हामीलाई चुनौती दिएको छ ।’

  • रविको मुद्दा ‘हेर्न मिल्यो’, आजै थुनामुक्त होलान् ?

    रविको मुद्दा ‘हेर्न मिल्यो’, आजै थुनामुक्त होलान् ?

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सुनवाइ सुरू भएको छ । न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको एकल इजलासमा मुद्दाको सुनवाइ सुरू भएको हो ।

    यसअघि यो रिटमाथिको सुनवाइ पटक-पटक हेर्न नमिल्नेमा परेर स्थगित हुँदै आएको थियो । आज भने हेर्न नमिल्नेमा परेन । एक महिनाअघि दायर भएको रिटमा बल्ल दोस्रो सुनवाइ भएको हो । सम्भवतः आजै आदेश आउनेछ ।

    अदालत स्रोतकाअनुसार बन्दी प्रत्यक्षीकरण रिट खारेज हुने सम्भावना प्रबल छ । उच्च अदालतले गरेको आदेशका आधारमा थुनामा राखिएको हुँदा यसलाई अदालतले ‘गैरन्यायिक’ ठहर गर्ने अवस्था छैन । तर, बन्दी प्रत्यक्षीकरण रिटसँगै इजलासले उच्च आदेशलाई पनि न्यायिक परीक्षण गर्ने स्रोतले बतायो ।

    बन्दी प्रत्यक्षीकरणमा भएको पहिलो सुनवाइमा न्यायाधीश टेकप्रसाद ढुंगानाको एकल इजलासले उच्च अदालत तुलसीपुर बुटबलले दिएको आदेशको आधार र कारणसहित कैफियत प्रतिवेदन १५ दिनभित्र मगाउने आदेश गरेको थियो । उक्त प्रतिवेदन अदालतलाई प्राप्त भइसकेको छ । त्यसपछि अदालती प्रणालीअनुसार यो मुद्दा संयुक्त इजलासमा गएको हो । तर, त्यसयता ६ पटक संयुक्त इजलास तोकिए पनि विभिन्न कारणले हेर्न नमिल्नेमा पर्दै आएको थियो ।

    अदालत स्रोतका अनुसार बन्दी प्रत्यक्षीकरण रिटकै साथमा राखेर ७३ नम्बर अन्तरगत उच्चको आदेशको न्यायिक परीक्षण पनि गरिने छ ।

    यदि अदालतले उच्चको आदेश सही ठहर्‍याएको खण्डमा रवि थुनामै रहेछन् । तर, त्यसलाई बदर गरेर जिल्लाले गरेको आदेशलाई अदालतले सदर गर्न पनि सक्छ । त्यसो भएमा रवि धरौटीमा छुट्नेछन् ।

    रविका कानून व्यवसायीहरू भने सर्वोच्चले जिल्लाको फैसला सदर गर्ने भन्दै उत्साहित देखिएका छन् । यस विषयमा अदालत स्रोतले नेपाल प्रेससँग कुरा गर्दै भन्यो, ‘न्यायिक हिसाबले हेर्दा उच्चभन्दा जिल्लाकै फैसला सदर हुने सम्भावना बढी देखेको छु ।’

  • रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट आज पनि हेर्न नमिल्ने, न्यायाधीश र वकिल नातेदार परे

    रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट आज पनि हेर्न नमिल्ने, न्यायाधीश र वकिल नातेदार परे

    काठमाडौं । राष्ट्रिय स्वातन्त्र पार्टीका सभापति रवि लामिछाने र छविको बन्दी प्रत्यक्षीकरण रिटमा आज पनि सुनवाइ स्थगित भएको छ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीस नित्यानन्द पाण्डेको संयुक्त इजलासमा परेको सो रिट ‘हेर्न नमिल्ने’ सूचीमा राखिएको हो ।

    यसअघि पनि यो रिट पाँच पटक हेर्न नमिल्नेमा परेको थियो । एक महिनाअघि दायर भएको रिटमा अहिलेसम्म एकपटक मात्रै सुनवाइ भएको छ ।

    अदालत स्रोतका अनुसार रवि लामिछानेको पक्षबाट बहस गर्ने वकिल नातेदार परेपछि न्यायाधीशले सुनवाइ नगर्ने निर्णय लिएका हुन् ।

  • रास्वपाको आशंका- न्यायालयले न्याय देला कि भन्ने विश्वास गर्ने ठाउँहरू कमजोर हुँदैछ (भिडिओ)

    रास्वपाको आशंका- न्यायालयले न्याय देला कि भन्ने विश्वास गर्ने ठाउँहरू कमजोर हुँदैछ (भिडिओ)

    काठमाडौं । रास्वपाका सांसद मनिष झाले पछिल्लो समय न्यायालयप्रति विश्वास कमजोर हुँदै गइरहेको बताएका छन्।

    प्रतिनिधिसभाको बैठकमा बोल्दै न्यायालयले न्याय देला कि भन्ने विश्वास गर्ने ठाउँहरू कम हुँदै गएको आशंका व्यक्त गरे।

    रास्वपाका प्रवक्ता समेत रहेको उनले अगाडि भने, ‘पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले केही महिनाअगाडि भन्नुभएको थियो, नेपाली कांग्रेसको वर्तमान गृहमन्त्रीले न्यायाधीश सिफारिसमा मेरो पार्टीको यो यो व्यक्ति परेनन् भने मलाई गाह्रो हुन्छ, भन्न जानुभएको थियो। न्यायालयले राजनीतिक संरक्षण गरेकै कारणले न्यायालयप्रतिको विश्वास कमजोर हुँदै गएको छ।’

    उनले पार्टी सभापति रवि लामिछाने गृहमन्त्री हुँदा चोरी तस्करी नियन्त्रण लिनको लागि ठूलो सफलता मिलेको भए पनि अहिलेको सरकारको ध्यान त्यता नगएको दाबी गरे।

  • रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट प्रधानन्यायाधीश सहितको संयुक्त इजलासमा

    रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट प्रधानन्यायाधीश सहितको संयुक्त इजलासमा

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट आज पनि पेशीमा चढेको छ । प्रधानन्यायाधीस प्रकाशमान सिंह राउत स्वयंले रिटको सुनवाइ गर्ने भएका छन् ।

    राउतसहित न्यायाधीश नित्यानन्द पाण्डेको संयुक्त इजलासले सुनवाइ गर्ने भएको छ । यसअघि पटक-पटक हेर्न नमिल्नेमा परेर सुनवाइ स्थगित हुँदै आएको थियो । ६ पटक पेशीमा चढेकोमा ५ पटक हेर्न नमिल्नेमा परेको थियो भने एक पटकमात्रै सुनवाइ भएको छ ।

    बन्दी प्रत्यक्षीकरणजस्तो सम्वेदनशील मुद्दामा पनि ढिलासुस्ती भइरहेको भन्दै रविका कानून व्यवसायीले आपत्ति जनाउँदै आएका छन् ।

  • सोविताको प्रश्न- हाम्रो न्यायपालिकाले संविधान र नागरिक हकको रक्षा गर्न सक्छ ? (भिडिओ)

    सोविताको प्रश्न- हाम्रो न्यायपालिकाले संविधान र नागरिक हकको रक्षा गर्न सक्छ ? (भिडिओ)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले पछिल्ला केही घटनाक्रमले नेपालको न्यायपालिकाले संविधानको रक्षा र नागरिक न्यायको हक सुनिश्चित गर्न सक्छ भन्नेमा प्रश्न उठेको बताएकी छन् ।

    प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै सांसद गौतमले रवि लामिछाने सम्बन्धित मुद्दामा थाहै नदिई पोखराको उच्च अदालतले एकफर्ती सुनुवाई गरेको सन्दर्भ गम्भीर रहेको बताइन् । उनले अदालतको निष्पक्षतामाथि प्रश्न उठेको बताएकी छन् ।

    सांसद गौतमले न्यायपालिकाप्रति जनताको विश्वास गुम्दैगएको,अदालतले कानूनको प्रक्रिया मिच्न थालेको गम्भीर अवस्थामा संविधानको रक्षा गर्न अदालत कति सक्षम छ भन्ने प्रश्न खडा भएको बताइन् ।

    सांसद गौतमले पूर्वन्यायाधीश फोरमले समेत नेपालको न्यायपालिकको पछिल्लो क्रियाकलाप र न्याय सम्पादन प्रक्रियाप्रति प्रश्न उठाएको भन्दै यस्तो अवस्थामा मौन बस्ने कि जागरुक ढंगले प्रतिवाद गर्ने भन्ने विषयमा संसद र प्रेस पनि चुप लाग्न नमिल्ने बताइन् ।

    उनले भनिन्, ‘व्यक्तिको बारेमा फरक फरक धारणा हुन सक्छन्,तर विधि मिचिएको विषय सबैको साझा सरोकार हुनुपर्छ । मुद्दाको एउटा पक्षले विपक्षीको जिकिर सुन्न नपाउने कस्तो खाले सुनुवाइ हो ? विपक्षीलाई जानकारी दिएर पेशी तोक्नुपर्नेमा त्यसो किन गरिएन ? यसरी न्यायपालिकाबाटै गैरकानूनी तरबारबाट व्यक्तिको हत्या भयो भने के अवस्था आउला ?’

    सांसद गौतमले न्यायपालिका पछिल्लो समय कार्यपालिकाकै शैलीमा अघि बढेको आशंका भइरहेको समेत बताइन् ।

  • बत्ती झ्याप-झ्याप भएकोमा अशिम साहको कटाक्ष- धन्यवाद मन्त्रीलाई कि नयाँ एमडीलाई दिने ? (भिडिओ)

    बत्ती झ्याप-झ्याप भएकोमा अशिम साहको कटाक्ष- धन्यवाद मन्त्रीलाई कि नयाँ एमडीलाई दिने ? (भिडिओ)

    काठमाडौं । रास्वपाका सांसद अशिम साहले देशभर बेला बेला बत्ती झ्याप्प झ्याप्प जानु नयाँ दैनिकी बनिसकेको टिप्पणी गरेका छन्।

    प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने, ‘सरकार आफैँ पनि डार्क मोडमा अपरेट भई रहेको छ र बत्ती झ्याप झ्याप निभाएर पुरा देशलाई पनि डार्क मोडमा पुर्‍याइरहेछ, सेटिङ चेन्ज गरेर लाइट मोड गर्नुपर्‍यो सरकार। संसदमा गम्भीर विषयमा बहस गरिरहेका हुन्छौ झ्याप्प बत्ती जान्छ ,संसदमा त इनभर्टर, जेनेरेटर, सबै छ, केही रोकिन्न। तर, आम नागरिकको घरमा यस्तो विशेष सुविधा छ र?’

    बत्ती जानासाथ, खाना आधा पाकेर रोकिन्छ, मोबाइल चार्ज हुँदैन, व्यापार ठप्प, जताततै अन्धकार हुने बताए।

    उनले थपे, ‘हिजो साँझ मात्र देशका धेरै ठाउँमा एकाएक बत्ती गयो। कसैको हस्पिटलको अपरेसन रोकियो होला, कसैको परीक्षा तयारी बिग्रियो होला। बेला बेला झ्याप्प झ्याप्प लाइट जानू नयाँ दैनिकी बनिसकेको छ धेरै हावा चल्यो, बिजुली जान्छ, पानी पर्‍यो बिजुली जान्छ। अहिले त न हावा न पानी तैपनि झ्याप्प बिजुली जान्छ।’

    उनले अब धन्यवाद ऊर्जामन्त्रीलाई दिने कि नयाँ एमडीलाई भन्ने कुरा स्पष्ट पार्नुपर्‍यो भन्दै व्यङ्ग्य गरे।

    उनले थपे, ‘यदि यो बिजुलीको लुकामारी यस्तै चलिरह्यो भने, जनताले सरकारको बत्ती निभाइदिने दिन पनि धेरै टाढा छैन। अन्धकारमा सरकारको अनुहार झलझली याद गरिरहेका छन् जनताले ८४ मा बिजुली बाल्दा पनि नदेखिएला। सरकारले गम्भीर रूपमा लियोस्।’

  • रविबारे सदनमा रास्वपा- सरकारले किर्ते जाहेरी खडा गरेर फौजदारी मुद्दा तयार पार्‍यो

    रविबारे सदनमा रास्वपा- सरकारले किर्ते जाहेरी खडा गरेर फौजदारी मुद्दा तयार पार्‍यो

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछानेविरुद्ध राज्यले किर्ते जाहेरी खडा गरेर फौजदारी मुद्दा तयार पारेको दाबी गरेको छ।

    प्रतिनिधि सभाको बैठकमा बोल्दै रास्वपाकी सांसद सोविता गौतमले सभापति लामिछानेको मुद्दामा आजभोलि जाहेरीकर्ता बनाइएकाहरूले सार्वजनिक रूपमा नै आफूहरूले कुनै किटानी जाहेरी दिएको बताउन थालेको बताइन्।

    त्यसबारे उनको भनाइ जस्ताको त्यस्तै

    आजभोलि रवि लामिछानेको मुद्दामा जाहेरीकर्ता बनाइएकाहरूले सार्वजनिक रूपमा नै मैले रवि लामिछानेविरुद्ध कुनै किटानी जाहेरी दिएको थिएन। मलाई थाहा नै नदिई अभियोग पत्रमा नाम लेखियो। कसैविरुद्ध किटानी जाहेरी नै नहालेको व्यक्तिलाई उजुरीकर्ता बनाइयो भन्दै सार्वजनिक रूपमा प्रश्न गरिरहेका छन्।

    भोलि यो विषयमा अदालतले भोलि आफ्नै ढङ्गबाट निराकरण गर्ला नै। तर सामाजिक र राजनीतिक वृत्तमा राज्यले किर्ते जाहेरीको निर्माण गरी एक जना राजनीतिक नेतृत्वका विरुद्ध फौजदारी मुद्दा खडा गरेको कुरा गम्भीर चासोको रूपमा आएको छ।

    शक्तिको दुरुपयोग आफैँमा संविधान विपरीतको कार्य हो र जब सत्ता र शक्ति राजनीतिक प्रतिशोधको साधन बन्छ। त्यो संस्थागत भ्रष्टाचारको चरम रूप हो। पक्राउ पुर्जीविना गरिएको पक्राउ, पूर्वाग्रहपूर्ण अनुसन्धान र बिना किटानी जाहेरी, नाम लेखेर अभियुक्त बनाउने कार्य सबै मानव अधिकारसम्बन्धी राष्ट्रिय, अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लङ्घन हुन्।

  • रविविरुद्ध ‘फेक’ जाहेरीको तेस्रो केस, प्रहरी अनुसन्धानमाथि नै अनुसन्धान गर्नुपर्ने अवस्था !

    रविविरुद्ध ‘फेक’ जाहेरीको तेस्रो केस, प्रहरी अनुसन्धानमाथि नै अनुसन्धान गर्नुपर्ने अवस्था !

    रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेमाथि सहकारी ठगीको विषयमा रुपन्देही प्रहरीले गरेको अनुसन्धानलाई लिएर सन्देह बढ्दै गएको छ । आफ्नो सादा उजुरीलाई प्रहरीले रविविरुद्ध दुरुपयोग गरेको भन्दै तेस्रो बचतकर्ता सार्वजनिक भएकी छन् ।

    जाहेरीकर्ताको पहिलो नम्बरमै नाम रहेकी रुपन्देही तिलोत्तमाकी पूजा न्यौपानेले आफूले रविविरुद्ध जाहेरी नदिएको बताएकी हुन् । आफूलाई अहिलेसम्म यो विषयमा प्रहरी प्रशासनले कहिल्यै बोलावट र सोधखोज समेत नगरेको उनको भनाइ छ । यसअघि दुईजना बचतकर्ताले पनि यस्तै गुनासो सार्वजनिकरुपमा गरेका थिए, जसले गर्दा प्रहरी दबाबमा परेको छ ।

    पूजाले पनि बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्था केही रकम बचत गरेकी थिइन् । सो रकम फिर्ता नआएपछि आफूले निवेदन दिएको उनले फेसबुकमा लेखेकी छन् ।

    उनको स्टाटस जस्ताको त्यस्तैः

    ‘म सुप्रिम सहकारीको बचतकर्ता र सहकारी पीडित हुँ । मैले आफ्नो व्यापारबाट आएको आम्दानीलाई धेरथोरै बचत गर्दै केही रकम सहकारीमा जम्मा गरेकी थिएँ । जब सहकारी डुब्यो भन्ने थाहा पाएँ, त्यसपछि धेरैपटक पैसा पाइन्छ कि भनेर सहकारी कार्यालय गएर लाइनमा बसेँ, । पछि इलाका प्रहरी कार्यालय बुटवलबाट पैसा फसेकाहरुले निवेदन दिनु भनेपछि मैले पनि पैसा फिर्ता पाउँ भनेर निवेदन र पासबुकको फोटोकपी लगेर बुझाएको हो ।

    मैले कुनै ब्यक्ति विशेषलाई किटानी जाहेरी वा उजुरी दिएकी छैन । तर रवि लामिछानेसहितलाई उजुरी दिएको भन्दै मेरो नाम उजुरीकर्ताको पहिलो नम्बरमै राखिएको रहेछ । मैले ढिला मात्रै थाहा पाएँ ।

    कसैलाई उजुरी नै नदिएको मान्छेलाई उजुरीकर्ता बनाइरहँदा प्रहरीले एकपल्ट जानकारीसम्म दिएन । मैले उजुरी दिएकै हैन, पैसा फिर्ता पाउँ भनी निवेदन मात्रै दिएकी हुँ । म आज पनि भन्छु, हामीले दुख गरेर जम्मा गरेको पैसा फिर्ता पाउनुपर्छ, तर कसैलाई राजनीतिक रूपमा प्रतिशोध गरेर फसाउन खोजिरहँदा हामी सोझा जनतालाई प्रयोग नगरियोस् ।

    प्रहरीले रविविरुद्ध मुख्य जाहेरीकर्ता बनाएका नारायण पहराईले आफूले रास्वपा सभापति रवि लामिछानेविरुद्ध जाहेरी नदिएको खुलासा गरेका थिए । त्यसको ११ दिनपछि अर्की जाहेरीकर्ता गीता आचार्यले पनि रकम फिर्ताका लागि दिएको उजुरीलाई प्रहरीले अनुमतिविना रविविरुद्ध प्रयोग गरेको बताइन् । गीतापछि पुजा खुलेकी हुन् । यसरी एकपछि अर्का जाहेरीकर्ताले गम्भीर आरोप लगाएपछि प्रहरी अनुसन्धानमाथि नै अनुसन्धान गर्नुपर्ने स्थिति देखिएको छ ।

    प्रहरी-प्रशासनले कागजात किर्ते गरेर रविविरुद्ध मुद्दा हालेको रास्वपा नेता–कार्यकर्ताहरूले बताउन थालेका छन् ।

    सहकारी पीडितहरूले नै आफ्नो उजुरी र नामको दुरुपयोग भइरहेको बयान किन र के कारणले लामिछानेलाई थुनिएको छ भन्ने प्रष्ट भएको रास्वपा अर्घाखाँचीका सभापति हरिप्रसाद भुसालले बताए ।

    सुप्रिम सहकारी ठगी प्रकरणमा सुरुमा रवि लामिछानेविरुद्ध जाहेरी परेकै थिएन । प्रहरीले पछि रविविरुद्ध पूरक जाहेरी आह्वान गरेर रविलाई प्रतिवादी बनाएको हो । पूरक जाहेरीमा प्रहरीले नारायण पहराईसहित बुद्धबहादुर गुरुङ, पूजा न्यौपाने पाण्डे, मदन भुसाल, हुमलाल गैरे, बेलकुमारी घर्ती र मनरूपा पौडेलको नाम सार्वजनिक गरेको थियो ।

    रविविरुद्ध जिल्ला अदालत रुपन्देहीमा मुद्दा दायर हुँदा इलाका प्रहरी कार्यालय बुटवलमा डीएसपी विजयराज पण्डित प्रमुख थिए । अहिले उनको सरुवा भइसकेको छ । उनको ठाउँमा डीएसपी इन्द्रबहादुर राना आएका छन् ।

    रुपन्देही प्रहरी प्रमुख एसपी प्रदीपबहादुर क्षेत्रीले यति लामो समय अनुसन्धान भएको विषयमा अन्तिम समयमा उजुरीकर्ताले यसो भन्नु अनौठो भएको बताए ।

    ‘म रुपन्देही आएको त धेरै भएको छैन । तर जाहेरीमा र अनुसन्धान प्रतिवेदनमा उहाँहरूको औँठाछापसहितको विवरण सबै छ । अनुसन्धानको यति लामो समय किन बोल्नुभएन, अहिलेसम्म किन यो विषय बाहिर आएन भन्ने कुराहरू छन् । अनुसन्धानमा प्रहरी, अदालतमा पक्कै बोलाइयो होला । यो विषय पनि जोडिएको छ ।’

    बचतकर्ता तीनैजनाले भने आफूहरूलाई प्रहरी प्रशासनले केही पनि खबर नगरेको र बयानसमेत नलिएको बताएका छन् ।

    एसपी क्षेत्रीले थपे, ‘मुद्दा अदालतमा भएकोले अहिले कसैको विषयमा हामी केही बोल्ने, उहाँहरूलाई थप कुरा सोध्ने कुरा हुँदैन, वास्तविकता पक्कै बाहिर आउला ।’

    सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीबाट १ करोड धरौटीमा छाडिएका लामिछाने उच्च अदालतको आदेशमा पुर्पक्षका लागि रुपन्देही कारागारमा छन् ।

  • सरकारले जातीय विभेद छैन भनेर सत्यलाई लुकाउन खोजेको रास्वपा सांसद परियारको आरोप (भिडिओ)

    सरकारले जातीय विभेद छैन भनेर सत्यलाई लुकाउन खोजेको रास्वपा सांसद परियारको आरोप (भिडिओ)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले  सरकारले जातीय विभेद छैन भनेर सत्यलाई लुकाउन खोजेको आरोप लगाएका छन् ।

    प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै सांसद परियारले यस्तो आरोप लगाएका हुन् । उनले भने, ‘जातीय विभेद छैन भन्दै सत्यलाई लुकाउन खोजिएको छ । हामी दिउँसै रात पार्न खोजेका छौँ । सत्यबाट भाग्न खोजिरहेका छौँ ।’

    विभेद छैन भनेपछि न्याय दिन पर्दैन भनेर  सरकार भाग्न खोजेको पनि उनकाे आराेप छ ।

    उनले थपे,’विभेद छैन भनेपछि न्याय दिन पर्दैन भनेर भाग्न खोजेको देखिन्छ । राज्यले अहिलेसम्म नेपाली समाजको वास्तविक समस्याको पहिचान गर्न सकेको छैन । समाजको वास्तविक समस्या राज्यले बुझ्न नसक्दा नागरिक र राज्यबिच सम्बन्ध बलियो हुन सकेको छैन ।’

     

  • मिटरब्याज पीडितले कारागारमा रवि लामिछानेलाई भेटे, पोखे यस्तो वेदना

    मिटरब्याज पीडितले कारागारमा रवि लामिछानेलाई भेटे, पोखे यस्तो वेदना

    काठमाडौं । मिटरब्याज पीडित किसान-मजदुरहरुले रास्वपा सभापति रवि लामिछानेसँग कारागारमा भेटेका छन् ।

    मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका संयोजक अवधेश कुशवाह र निर्घ नविनसहितको टोलिले भैरहवास्थित रुपन्देही जिल्ला कारागारमा भेट गरेको हो ।

    भेटमा टोलीले किसानका समस्यामा सरकार अनुदार बनेको गुनासो सुनाएको थियो । गृहमन्त्रीका रुपमा रवि लामिछानेले गरेका सम्झौता नयाँ सरकार बनेपछि कार्यान्वयन नगरिएको उनीहरुले बताए ।

    निर्घ नविनले भने, ‘पहिला जुन तदारुकताका साथ काम भएको थियो, अहिले त्यो छैन । त्यति लामो छलफल र गृहकार्यपछि भएको सम्झौता अहिले कार्यान्वयन हुनै सक्दैन भन्ने कुरा भइराखेको छ । एक हिसाबले भन्ने हो भने सरकारले हामीलाइ चिन्न छोडिसक्यो ।’

    संघर्ष समितिका संयोजक अवधेश कुशवाहले जिल्लाहरुमा प्रहरी र सिडिओहरु फेरिएसँगै मिटर व्याज पिडितमाथि नै मुद्दा चलाइएको र पक्राउ गरिएको बताए ।

    ‘सरकार साहुकारहरु जोगाउन लागिराखेको छ । अन्याय भयो भनेर कहाँ जाने ? गृह मन्त्रालयको ढोका बन्द जस्तै छ अहिले पिडितका लागि’, उनले भने ।

    जवाफमा रवि लामिछानेले नआत्तिन र एक भएर अघि बढ्न आग्रह गरेका छन् । पिडितहरुबीच राजनीति हुन नहुने भन्दै उनले न्यायको लडाइँ एकदिन अवश्य जितिने बताए ।

    लामिछानेले भने, ‘धनी र गरिबबीचको लडाइँ लामो चल्छ । जित न्यायको हुन्छ, तर धैर्य गर्नु, जनताको कुरा सरकारले नसुनेर कहाँ हुन्छ ? सुन्नुपर्छ, सुन्छ । यो नभए अर्कोले सुन्छ । त्यतिन्जेल तपाइँहरुबीच फाटो आउन भएन । एक भएर लड्नुपर्छ । मलाई हेर्नुस् त मेरो स्वार्थ के छ ? जनताकै लागि लड्दा यो दुःख पाएको छु । न्याय पाउनुअघि दुःख हुने रहेछ । यसपछि न्याय हुन्छ । तपाइँहरुले पाएको दुःख न्याय पाउनुअघिको हो । नआत्तिनु ।’

     

  • रास्वपाले भन्यो- सुशासन कस्तो हुन्छ, २०८४ पछि देखाउँछौं

    रास्वपाले भन्यो- सुशासन कस्तो हुन्छ, २०८४ पछि देखाउँछौं

    काठमाडौं । रास्वपाका कार्यबाहक सभापति डीपी अर्यालले अहिलेको जस्तो प्रदेश संरचना देशले धान्न नसक्ने बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रदेशको हालको ढाँचालाई यो रुपमा राख्न नहुने बताए ।

    उनले स्थानीय तहलाई बलियो बनाउने नीति तथा कार्यक्रम आउनुपर्नेमा जोड दिए ।

    कार्यबाहक सभापति अर्यालेले भने, ‘जनताले खोजेको प्रमुख कुरा सुशासन हो, नेपाली जनता भोक खप्न सक्ने, तर अन्याय र बेथिति खप्न सक्दैनन् । यो नीति तथा कार्यक्रमले सुशासन कायम गर्ने कुरा उल्लेख त गरेको छ, तर कसरी भन्ने कुरा उल्लेख छैन ।’

    उनले सुशासनको झल्को आफूहरुले दिएको जिकिर गरे । सुशासनको अभियानमा हिँडेको आफूहरुमाथि राजनीतिक प्रतिशोध राखेको भन्दै उनले २०८४ बाट क्रान्तिकारी तरिकाले अगाडि बढाउने बताए ।

  • रास्वपाले गर्‍यो आतंकवादविरुद्ध सरकारको अडानको स्वागत

    रास्वपाले गर्‍यो आतंकवादविरुद्ध सरकारको अडानको स्वागत

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले एक नेपालीसहित २६ जनाको ज्यान लिने गरी पहलगाम, कश्मीरमा भएको आतंकवादी हमलाको निन्दा गरेको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै रास्वपाका सांसद शिशिर खनालले आतंकवादले कसैको पनि हित नगर्ने बताए ।

    उनले भने, ‘पहलगाम आक्रमणपछि भारत र पाकिस्तानबीच तनावको अवस्था देखिएको छ। आफ्नो छिमेकी मात्र हैन सार्कको अध्यक्षको नाताले यो क्षेत्रको शान्ति र स्थिरतामा नेपालको स्वभाविक चासो हुनु पर्दछ।’

    परराष्ट्र मन्त्रालयले ढिलै गरेर भएपनि हिजो साँझ वक्तव्य मार्फत सार्वजनिक गरेको आतंकवादकाविरुद्धको अडानको स्वागत गरे।

    उनले भने, ‘भारत–पाकिस्तानबीच युद्धको स्थिति बन्न गएमा नेपाललाई पर्ने सक्ने सुरक्षा, आर्थिक र आपूर्ति शृङ्खलाको असरका साथै पश्चिम भारतमा र पाकिस्तानमा रहेका नेपालीहरूमाथि पर्न सक्ने प्रभाव सम्मको आकलन गरी योजना निर्माण गर्न माग गर्दछु।’

    पाकिस्तानमा अध्ययनरत ८० जना विद्यार्थीहरूले उद्धार र सुरक्षाको लागि सरकारको ध्यानाकर्षण गराए। समग्र परिस्थितिको मूल्याङ्कन र नेपाल सरकारको तयारीबारे जानकारी गराउन रूलिङको समेत माग गरे।

  • नीति तथा कार्यक्रमबारे अशिम साह- यी सबै काल्पनिक हुन्, जनताको जीवनमा मेल खाए संयोग मात्र मानिनेछ (भिडिओ)

    नीति तथा कार्यक्रमबारे अशिम साह- यी सबै काल्पनिक हुन्, जनताको जीवनमा मेल खाए संयोग मात्र मानिनेछ (भिडिओ)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशिम साहले सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई एउटा वार्षिक कर्मकाण्डको संज्ञा दिएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै नीति तथा कार्यक्रम काल्पनिक भएको भन्दै जनताको जीवनमा मेल खाए संयोग मात्र मानिनेछ भनेर व्यङ्ग्य गरे।

    उनले भने, ‘हामी नयाँ दल नयाँ सांसद पहिलो वर्ष थाहा भयो फुल स्टप कमा केही संशोधन नहुने रहेछ। व्यर्थको बहस गरिराखेका छौँ भनेर आवाज उठायौँ फेरि त्यही पुरानो पारा । सरकारलाई सोध्न पर्ने भयो कता हिँडेको सरकार कपी गरेर, पेस्ट गरेर, सांसद हेरेको हेर्‍यै।’

    उनले भ्रष्टाचारमा शून्य सहनशीलताको ढोल हरेक वर्ष पिटिन्छ, तर ठूला भ्रष्टाचारका काण्डहरू सेलाउँदै जाने गरेको बताए।

    उनले भने,‘म ढुक्क छु यो सरकारले भ्रष्टाचार को कुनै फाइल खोल्दैन। किन भने सरकार फाइल खोल्न हैन बन्द गर्न बनेको छ भनेर १० महिनामा पुष्टि भइसक्यो।’

    बेरोजगारी नियन्त्रणले हरेक वर्षको दस्तावेजमा प्राथमिकता पाएको भएपनि युवाहरू आज पनि काम खोज्दै विदेशिन बाध्य भएको बताए।

    उनले थपे, ‘महँगी नियन्त्रणका नारा बेलाबेलामा आइरहन्छन्, तर बजारमा दैनिक उपभोग्य वस्तुहरूको मूल्य जनताको पहुँच बाहिर छ। स्वास्थ्यमा सुधारका वाचा दोहोरिँदै आइरहेका छन्, तर गाउँका स्वास्थ्य चौकीमा आज पनि सिटामोल अभाव छ। पूर्वाधार विकासको चर्चा भइरहे पनि राजधानीसहितका सहरहरूमा खाल्डाखुल्डी सडकहरू अझै सामान्य भएका छैनन्।’